Category: समाचार

  • किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता

    किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता


    गण्डकी, २४ भदौः कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि घटेपछि पहिरो खसेर थुनिएको हुनसक्ने आशङ्कामा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार मोदी खोला किनारका डिमुवा, अमबोटलगायत बस्तीमा माइकिङ गरी स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले स्थानीयवासीबाट पहिरोले खोला थुनिएको भन्ने खबर आएपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको बताए । “खोला थुनिएको खबर आएपछि उच्च सतर्कता अपनाइएको छ, सुरक्षित स्थानमा रहन सबैलाई सूचित गरिएको छ”, उनले भने ।

  • भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

    काठमाडौँ, २३ भदौः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ । फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन् । प्राधिकरणका अनुसार हालसम्म १०२ शवको सनाखत भई परिवारले बुझिसकेका छन् । बाढीपछि करिब पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्कविहीनमध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली र करिब ५८७ विदेशी पर्यटक रहेको प्राधिकरणले जनाकारी दिएको छ ।

    प्राधिकरणको प्रवक्ता शान्ति महतले हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको र बाढीबाट घाइते भएका छ हजार ८२७ जनाको उपचार गरिएको जानकारी दिइन् । “तीमध्ये विभिन्न दश अस्पतालमा ३२७, नेपाली सेनामार्फत तीन हजार ४०४ र सशस्त्र प्रहरी बलमार्फत तीन हजार ९६ जनाको उपचार गरिएको छ”, उनले भनिन् ।


    प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बलका चार हजार २०३ गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन् । प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी तीन हजार ५३३ जनालाई राखिएको प्राधिकरणले जनाएको छ । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका छन् ।

    उद्धार तथा राहतका लागि नेपाली सेनाले एक हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरी बलले २०३ पटक हेलिकप्टर उडान गरेका छन् । सरकारले रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ पालिकालाई रु १३ करोड ५० लाख राहत उपलब्ध गराइएको छ ।

    प्रभावित क्षेत्रमा डिजेल ५० हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको छ भने ४५७ ग्यास सिलिन्डर अनुदानमा उपलब्ध गराइएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार विद्युत् आपूर्तितर्फ रसुवाका ७८ प्रतिशत, नुवाकोटका ९६ दशमलव ७ प्रतिशत र धादिङका ९९ दशमलव ८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भएको छ । बाढी प्रभावितका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा प्रदान भइरहेको प्राधिकरणले जनाएको छ ।

  • ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

    ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ


    काठमाडौँ, २३ भदौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास र शङकास्पद गतिविधि गरिरहेको पाइएकाले प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।


    प्रहरीका अनुसार पक्राउ पर्नेमा बङ्गलादेशको गाजीपुर, पुलिस स्टेशन गदबपुर घर भई ठमेल बस्ने ४६ वर्षीय फहिमा अक्तार हसन, ४८ वर्षीय महामुद, ४५ वर्षीय महबूब हसन, ४९ वर्षीय रेपोन मेहमूद, ३० वर्षीय एमडी–केरामोत अलीखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मियाँ छन् ।

    प्रहरीले उनीहरूलाई होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमानलगायतका स्थानबाट नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

  • प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

    प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब


    काठमाडौँ, २३ भदौः प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो ।

    अहिले नौ वटा वाणिज्य बैङ्कमा रु आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ । राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    यसैगरी, हिमालयन बैङ्क लिमिटेड र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको डलर खातामा रु दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।

  • देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री

    देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री

    काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन् । जेनजी शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले भनेका छन्, “प्रिय जिनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।” प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सरकारले आज जेनजी दीवसका अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको छ।

  • बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण जारी

    बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण जारी


    भक्तपुर, २३ भदौ ः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढीबाट प्रभावित क्षेत्रलाई जोड्न तुइन, बेलिब्रिज र झोलुङ्गे पुल निर्माण गरिएको बताएका छन् । विपद्पछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारको उपस्थितिबारे जानकारी दिन आज भक्तपुरको जगातीमा आयोजित पत्रकार साक्षात्कारमा उहाँले नदी वारपार गर्न एवं खाद्यान्न र औषधी लैजान प्रदेश सरकारले तुइन जडान गरेको बताए । उनले सङ्घ र प्रदेश सरकारले बुलिब्रिज निर्माण सुरु गरेको र प्रदेश सरकारले झोलुङ्गे पुल निर्माणका लागि प्रारम्भिक कार्य सुरु गरिसकेको जानकारी दिए ।


    कृष्णभीरमा गएको पहिरो पछि वैकल्पिक सडकका रूपमा प्रदेश सरकारले भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडक खण्ड आजदेखि सञ्चालनमा ल्याएको बताउँदै उनले हेटौंडा–काठमाडौँ सडकमा पनि पहिरो जाने क्षेत्रमा डोजरले पहिरो पन्छाउने र जाम खुलाउने काम भइरहेको बताए । यही भदौ १० गते रसुवामा बाढी गएलगत्तै प्रदेश सरकारले स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापामगरको भनाइ छ ।

    उनका अनुसार विपद्का कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । रसुवाका गोसाईंकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका बाढीबाट बढी प्रभावित भएको छ । तीमध्ये गोसाईंकुण्ड र उत्तरगयामा स्वास्थ्य चौकी, अस्पताल, पालिका भवनका साथै जनप्रतिनिधि तथा सर्वसाधारण ज्यान जाने गरी ठूलो क्षति भएको उनको भनाइ छ।

    नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी, किस्पाङ र तारकेश्वर तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा पनि क्षति पुगेको जानकारी दिँदै मुख्यमन्त्री थापामगरले बाढी पहिरोका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित भएको बताए । अन्य कुनै अप्रिय घट्ना नहोस् भनेर अहिले बाढी प्रभावित क्षेत्रमा १६ जना मनोपरामर्शदाता परिचालन गरेको र आवश्यकताअनुसार महामारी फैलिन नदिन औषधि पुर्‍याउने काम भएको उनले जानकारी दिए । घरबारविहीन भएका र आफन्त गुमाएका पीडितहरूका लागि तत्काल चार वटा सेल्टर (अस्थायी बासस्थान) निर्माण गरी गाँस र बासको व्यवस्था गरिएको बताउँदै अहिले राहतको अभाव नभएको र प्रदेश सरकारले वैकल्पिक सडक खुलाउने कार्य गरिरहेको उनले बताए ।


    मुख्यमन्त्री थापामगरले अलपत्र नागरिकका लागि चारवटा होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा आवश्यक सामग्रीको व्यवस्था गरिएको जानकारी दिए । उनले भने, “रसुवा र नुवाकोटलाई रु एक एक करोड तथा धादिङ र चितवनलाई रु ५०–५० लाख राहत उपलब्ध गराउने निर्णयअनुसार व्यवस्थापन गरेका छौँ, शव व्यवस्थापन, डीएनए परीक्षण, स्वास्थ्य सेवा तथा १६ मनोपरामर्शदाता परिचालन गरिएको छ ।”

    प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रतिशव रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको बताउँदै मुख्यमन्त्री थापामगरले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताए । उनका अुनसार अवरुद्ध सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको छ । प्रदेश विपत् व्यवस्थापन कोषबाट विपत् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

  • हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ

    हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ


    ललितपुर, २३ भदौ । गृहमन्त्री सुधन गुरुङले हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा आफू रहेकाले पदको घमण्ड र स्वार्थ नभएको दावि गरेका छन् । जेनजी सहिदको सम्मान र जिम्मेवारी बहन गर्दै जनताका सपना साकार पार्न आफू राजनीतिक नेतृत्वमा आएको उनको भनाइ छ। विसं २०८२ भदौ २३ गते भएको जेनजी आन्दोलनका सहिद विनोद महर्जनको सालिक अनावरण कार्यक्रममा आज उनले नेपाल बन्छ भन्ने सपना र आशा पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताए ।

    “हामी शहिदका मात्रै हैन सम्पूर्ण नेपालीको सपना साकार पार्ने अभियानमा छौँ”, उनले भने, “म सरकारमा पद र सत्ता उपभोग गर्न नभई नेपाली जनताको सेवा गर्न आएको हुँ । गृहमन्त्रीको कुर्सीलाई पदभन्दा बढी जिम्मेवारीका रूपमा लिएको छु, सहिदको सपना र नेपाली जनताको अपेक्षा पूरा गर्न अन्तिम साससम्म काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

    मन्त्री गुरुङले जेनजी सहिदको शवलाई पशुपतिको आर्यघाटमा काँध थाप्दाको क्षण सम्झिँदै आफू राजनीतिमा आउन इच्छुक नभए पनि सहिदको सपना पूरा गर्ने र परिवार तथा देशप्रतिको जिम्मेवारीका कारण राजनीतिमा आउन बाध्य भएको धारणा राखे । उनले भ्रष्टाचार र सत्ताको मोहमा रहेका राजनीतिज्ञप्रति पनि आलोचना गरे । सबै राजनीतिज्ञ खराब नभएको उल्लेख गर्दै उनले असल नेताबाट सिक्न र सत्ताको लोभ त्याग्न आग्रह गरे । सरकार भनेको नागरिक दुःखमा पर्दा कुर्सीमा बसेर भाषण मात्र गर्ने नभई विपत्तिको समयमा आफैँ घटनास्थलमा पुग्नुपर्ने बताए ।


    “तपाईंको दुःख मेरो नै दुःख हो भनेर आफैँ फिल्डमा कुद्ने सरकार जनताले खोजेको हो”, गृहमन्त्रीले भने । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विपत्तिका समयमा गरेको उद्धार तथा सेवाको उच्च प्रशंसा गर्दै सुरक्षाकर्मीको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताए । पूर्वमन्त्री एवं ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य जगदीश खरेलले सालिकले विनोद महर्जनको सम्झना गर्ने र सत्कर्म गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सहिदलाई अमर बनाउने गरी काम गर्ने धारणा राखे । उनले जेनजी आन्दोलनपश्चात् बनेको सरकारमा प्रतिनिधित्व गरेर सकारात्मक काम गरेको जानकारी गराउँदै सिद्धान्त, आचरण र व्यवहारमा राजनीतिक इमानदारी देखाउनुपर्नेमा जोड दिए ।


    प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले सरकारले सधैँभरि जनताको सेवक बनेर काम गर्ने विश्वास व्यक्त गरे । ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले सहिद विनोद महर्जनले पुर्‍याएको योगदानको सम्मान व्यक्त गर्दै सहिदका नाममा ललितपुर महानगरपालिकाभित्र हुने काममा रचनात्मक सहयोग गर्न तत्पर रहेको धारणा राखे ।


    सहिद विनोद महर्जनका दाजु काजीरत्न महर्जनले सहिद विनोद महर्जनको सालिक निर्माण गर्न सहयोग पुर्‍याउने स्थानीय समाजसेवी प्रेमकृष्ण महर्जन र वडा नं.७ का अध्यक्ष कुलबहादुर महर्जनले पुर्‍याएको उल्लेखनीय सहयोगको स्मरण गर्दै सबैमा धन्यवाद व्यक्त गरे । टोल सुधार समितिका अध्यक्ष बाबुराजा महर्जनले देशको नागरिकको अधिकार, सम्मान र अधिकारका लागि जीवन आहुति दिने सहिदको सालिक अनावरण गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरे ।

  • इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

    इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु


    लेबनान, २३ भदौ (रासस–एएफपी) । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको छ । यसअघि भएका छुट्टाछुट्टै आक्रमणमा थप सात जनाको मृत्यु भएको जनाइएको छ । इजरायलले बिहीबार हिजबुल्लाहको नियन्त्रणमा रहेको रणनीतिक महत्वको ‘अली अल–ताहेर’ पहाडी क्षेत्र कब्जामा लिएको दाबी गरेपछि दक्षिणी नबातिह क्षेत्रमा आक्रमण तीव्र पारेको हो । इरानसमर्थित हिजबुल्लाहले भने उक्त दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन ।

    इरानको समर्थनमा रहेको हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि मार्चमा लेबनानमा पुनः द्वन्द्व चर्किएको थियो । जुनमा वासिङ्टन र तेहरानबीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनानबीच भएको रूपरेखा सम्झौतापछि लडाइँ केही मत्थर भएको थियो । तर इजरायलको विदेश मन्त्रालयले सोमबार हिजबुल्लाहले बारम्बार ड्रोन आक्रमण गरेको र दक्षिण लेबनानमा आफ्नो सैन्य क्षमता पुनःनिर्माण गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

    मन्त्रालयले हिजबुल्लाहले इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको बताएको छ । उक्त सम्झौतामा हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने प्रावधानसमेत समावेश छ । लेबनानको आधिकारिक नेसनल न्युज एजेन्सी (एनएनए)का अनुसार, नबातिह नजिकैको फार रुम्मानमा रातभर भएको आक्रमणमा तीनतले आवासीय भवन ध्वस्त हुँदा नौ जनाको मृत्यु भएको थियो ।

    आक्रमणमा लक्षित एउटा गाडीमा रहेका दुई उद्धारकर्मीको पनि मृत्यु भएको एनएनएले जनाएको छ । एएफपीका एक फोटोग्राफरका अनुसार भवन पूर्ण रूपमा ध्वस्त भएको थियो भने भग्नावशेषमा विद्यालयका किताब र फर्निचरका टुक्रा छरिएका थिए । सोमबार बिहान उद्धार टोलीहरूले भग्नावशेष हटाउँदै अन्य पीडितको खोजी गरिरहेका थिए । द्वन्द्वका कारण विस्थापित भएका फार रुम्मानका बासिन्दा जुनमा भएको युद्धविरामपछि घर फर्किएका थिए । “यहाँ फर्किएदेखि नै हामी डरको वातावरणमा बाँचिरहेका छौँ”, स्थानीय बासिन्दा फुवाद चाकारोनले एएफपीलाई बताए ।

    उनका अनुसार आक्रमणमा परेको भवनमा “कसैसँग कुनै सम्बन्ध नभएका शान्तिप्रिय मानिसहरू” बस्दै आएका थिए । आक्रमणपछि छिमेकीहरू घर छाडेर भागेका थिए । एएफपीका फोटोग्राफरका अनुसार विस्फोटका कारण आसपासका अन्य भवनमा समेत क्षति पुगेको थियो । इजरायलले फार रुम्मानमा आक्रमण गर्नुअघि कुनै चेतावनी जारी नगरेको जनाइएको छ । तर नजिकैको देइर जाहरानीमा भएको अर्को आक्रमणअघि भने बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो ।

    इजरायली सेनाका अनुसार उसका सैनिकलाई लक्षित गरी विस्फोटक बोकेको ड्रोन प्रहार गरिएको थियो । सेनाले “हिजबुल्लाहको आतङ्कवादी गतिविधिले इजरायली रक्षा बल (आईडीएफ)लाई उनीहरूविरुद्ध कडा कदम चाल्न बाध्य पारेको” बताएको छ । घटनामा कुनै इजरायली सैनिक घाइते भए वा नभएकोबारे भने सेनाले जानकारी दिएको छैन। सेनाले अरबी भाषामा जारी गरेको सन्देशमा आफूले हिजबुल्लाहको आतङ्कवादी अखडा लक्षित गरिरहेको भन्दै उक्त क्षेत्रमा रहेका मानिसहरू जोखिममा रहेको चेतावनी दिएको थियो ।

    एनएनएका अनुसार चेतावनी जारी भएको २२ मिनेटपछि इजरायली आक्रमणमा देइर जाहरानीस्थित एउटा भवन ध्वस्त भएको थियो । आइतबार लेबनानका राष्ट्रपति जोसेफ आउनले इजरायली आक्रमण रोक्न सहयोग गर्न अमेरिका र अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेका थिए । बेरुतका अनुसार मार्चदेखि लेबनानमा भएका इजरायली हवाई तथा स्थल आक्रमणमा चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । इजरायली सेनाले सीमा क्षेत्रमा लेबनानभित्र करिब १० किलोमिटर (६ माइल) सम्म फैलिएको आफ्नो स्वघोषित सुरक्षा क्षेत्रमा कारबाही जारी राखेको छ ।

  • भेडागोठमा लालबिरका सात दशक

    भेडागोठमा लालबिरका सात दशक


    म्याग्दी, २३ भदौः शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घँुडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन् । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा यही भदौ दोस्रो साता भेटिएका लालबिरलाई खर्कबाट चरन क्षेत्रमा हिँडेका भेडाबाख्राको बथानलाई पछ्याउन फुर्सद थिएन ।

    “जिजुका पालादेखि सुरु भएको भेडापालन मसम्म आउँदा चार पुस्ता भएको छ,” अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका लालबिरले भने, “छ वर्षको उमेरदेखि बस्न थालेको भेडागोठ अझै छोडेको छैन ।” हाल एक सय ६० वटा भेडाबाख्रा पालेका लालबिर हिउँदको चिसो छल्न घुम्ती गोठ लिएर बेँसीमा र गर्मीमा पोषिलो घाँस पाइने अन्नपूर्ण र बराहशिखर हिमालको फेदीमा रहेको खयरखोला क्षेत्रको बुकीमा पुग्छन् ।


    बुढ्यौली बढ्न थालेपछि भतिज टेकजित तिलिजासँग लालबिरले संयुक्त गोठ बनाएका छन् । खयरखोला र नौलोबन क्षेत्रमा पाउद्धारका तीन वटा भेडागोठ छन् । त्यहाँ करिब दुई हजार भेडा बाख्रा छन् । जेठमा लेक उक्लिएका गोठालाहरुलाई हप्ता दश दिनमा गाउँबाट आफन्तहरुले खाद्यान्न पु¥याइदिन्छन् ।

    “घरव्यवहार चलाउने र छोराछोरी पाल्ने, पढाउने आम्दानीको स्रोतनै भेडापालन हो,” लालबिरले भने, “भेडाबाख्रा बेचेरै नौ जना छोराछोरीलाई हुर्काए र पढाए ।” सहरबजारको विलाशी जीवनभन्दा स्वच्छ हावापानीमा गोठालो बस्न लालबिरलाई रमाइलो लाग्छ । दौतरीहरु भारतीय र बेलायती गोर्खा सैनिकमा भर्ती हुन गए पनि आफू वनपाखामा रमाएको उनले भने ।


    विदेशमा रहेका छोराछोरीको साथमा भेडाबाख्रा बेचेर भएको कमाइबाट पोखरामा घडेरी किनेर घर पनि बनाएको लालबिरले सुनाए । “छोराछोरीले भनेपछि एक वर्ष पोखरा गएर बस्दा कुज्जिएको जस्तो भएपछि फेरी बेचेको भेडा फर्काएर लेकबेँसी गर्न थालेको छु,” उनले भने, “शरिर र स्वास्थ्यले साथ दिदाँसम्म भेडाबाख्रासँगै बिताउने मेरो योजना छ ।”

    उहाँसँगै कुनै समय पाँच सयभन्दा भेडाबाख्रा थिए । बार्षिक ५० वटासम्म भेडाका साँड, खसी र बोका बिक्री हुन्छ । जनै पूर्णिमा पर्वमा खयरभारानी तालमा लाग्ने मेलामा भाकल पूरा भएका भक्तजनले बली चढाउन गोठबाटै साँढे र बोका किनेर लैजान्छन् । एक वटा साडको मूल्य रु २० देखि ३५ हजारसम्म पर्छ । दसँैतिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, भूमे पूजाजस्ता चाडपर्वमा पनि मासुका लागि साँढे तथा खसीबोका बिक्री हुन्छ ।

    सूचना प्रविधिको विकासले गर्दा पहिलेजस्तो महिनाँैसम्म आफन्तसँग सम्पर्कविहीन हुनुपर्ने अवस्था छैन । मनोरञ्जनका लागि रेडियो सुन्ने, मोबाइल बजाउने गर्छन् । उज्यालोका लागि घुम्ती सोलार प्यानल गोठमा राखेका छन् । चितुवा र ब्वाँसोबाट भेडाबाख्रा बचाउनका लागि भोटे जातका कुकुर पालेका छन् । एउटा गोठमा न्यूनतम तीन वटा कुकुर पालेका छन् ।

    लेकाली क्षेत्रमा विषालु घाँस पलाउन र हिउँदमा बेँसीका चरन क्षेत्रमा घाँसको अभाव मुख्य चुनौती रहेको लालबिरले बताउनुभयो । तापक्रम वृद्धिका कारण बिषालु घाँस उम्रिन थालेको र बेँसीमा चरनको अभाव हुन थालेको लालबिरको अनुभव छ । वन्यजन्तुको आक्रमण र गोठाला बस्ने जनशक्ति पाइन छाड्नु पनि भेडापालनलगायत घुम्तीगोठमा गरिने पशुपालनका लागि चुनौती बनेको छ ।

  • होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

    होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी


    कायरो, २३ भदौ (रासस–एपी) । इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै जलडमरूमध्य बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन रेजाईले आइतबार सरकारी सञ्चारमाध्यममार्फत यस्तो जानकारी दिए । उनका अनुसार आगामी केही दिन वा साताभित्र उक्त क्षेत्र घोषणा गरिनेछ । रेजाईका अनुसार निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट सुरु भएर होर्मुज जलडमरूमध्यतर्फ फैलिनेछ र त्यस क्षेत्रबाट फारसको खाडीतर्फ पनि विस्तार हुनेछ ।

    उनले होर्मुज जलडमरूमध्य पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने कुनै पनि पानीजहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी दिए । यद्यपि, इरानले उक्त क्षेत्रको सीमा कहाँबाट सुरु हुने भनेर स्पष्ट गरेको छैन । अमेरिकी नाकाबन्दी इरानी बन्दरगाहलाई लक्षित गर्दै इरानलाई तेल निर्यात गर्नबाट रोक्ने उद्देश्यले सञ्चालन भइरहेको बताइएको छ । अमेरिकी सेनाका अनुसार नाकाबन्दीलाई २० भन्दा बढी युद्धपोतले सहयोग गरिरहेका छन् ।

    आइतबारसम्म उक्त नाकाबन्दीका कारण ९२ वटा व्यापारिक पानीजहाजको मार्ग परिवर्तन गरिएको र तीनवटा पानीजहाजलाई सञ्चालन गर्न नसक्ने बनाइएको जनाएको छ । अमेरिका र इरानबीचको तनाव बढिरहेका बेला पछिल्लो घोषणा आएको हो । वार्ता विफल भएपछि अमेरिकाले इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने उपायहरू अघि बढाइरहेको छ ।

    यसैबीच, इरानले होर्मुज जलडमरूमध्य पार गर्न खोज्ने केही पानीजहाजमाथि आक्रमण जारी राखेको छ । विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक रहेको होर्मुज जलडमरूमध्य अहिले जारी युद्धमा इरानका लागि महत्वपूर्ण रणनीतिक दबाबको माध्यम बनेको छ ।

    इरानी सरकारी सञ्चारमाध्यमले आइतबार होर्मुज जलडमरूमध्य प्रवेश गर्न खोजेको एउटा मानवरहित अमेरिकी पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेको थियो । तर अमेरिकी सेनाले उक्त दाबीलाई पूर्ण रूपमा झुटो भन्दै अस्वीकार गरेको छ । इरान र अमेरिकाबीचको पछिल्लो तनाव फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धसँग जोडिएको छ ।

  • दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

    दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

    सियोल, २३ भदौ (रासस–एपी) । अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु गरेकै दिन उत्तर कोरियाले दोस्रो अत्याधुनिक नौसैनिक विध्वंसक सेवामा प्रवेश गराउँदै आणविक प्रतिरोध क्षमता थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार पूर्वी बन्दरगाह सहर वोनसनमा आयोजित समारोहमा ‘काङ कोन’ नामक विध्वंसकलाई नौसेनामा समावेश गर्नुभएको राज्य सञ्चारमाध्यमले जनाएको छ । समारोहमा उनकी किशोरी छोरी पनि सहभागी थिइन् ।

    उनकी छोरीलाई दक्षिण कोरियाली जासुसी सेवाले सम्भावित उत्तराधिकारीका रूपमा हेर्दै आएको छ । समारोहमा किमले आणविक हतियारसहितका युद्धपोतले उत्तर कोरियाको आणविक प्रतिरोधलाई अझ विविध र व्यावहारिक बनाउने बताउँदै समुद्री रक्षा तथा युद्ध प्रतिरोधका लागि शक्तिशाली र भरपर्दो आणविक क्षमता निर्माण गर्नुपर्नेमा जोड दिए । “शत्रुहरूको चिन्ता निश्चित रूपमा गहिरो हुनेछ”, उनले भने ।


    गत जुनमा सेवामा प्रवेश गरेको ‘चो ह्योन’ र नयाँ ‘काङ कोन’ दुवै करिब पाँच हजार टनका विध्वंसक हुन् । उत्तर कोरियाका अनुसार दुवै आणविक क्षमता भएका क्षेप्यास्त्रले सुसज्जित छन् । यसैबीच अमेरिका, दक्षिण कोरिया र जापानले दक्षिण कोरियाको जेजु टापुनजिक पाँचदिने ‘फ्रिडम एज’ सैन्य अभ्यास सुरु गरेका छन् । दक्षिण कोरियाले अभ्यास रक्षात्मक रहेको र उत्तर कोरियाको आणविक खतराविरुद्ध संयुक्त प्रतिक्रिया क्षमता बढाउनु यसको उद्देश्य भएको जनाएको छ ।

    उत्तर कोरियाले भने उक्त अभ्यासलाई अमेरिकाको शत्रुतापूर्ण नीतिको निरन्तरता भन्दै आलोचना गरेको छ । यसअघि अमेरिका र दक्षिण कोरियाले वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास निर्धारित समयभन्दा छ दिनअघि समाप्त गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अभ्यास ‘पर्याप्त रूपमा घटाउन’ निर्देशन दिएको बताएका थिए । तर किमकी बहिनी तथा वरिष्ठ अधिकारी किम यो जोङले अभ्यास छोट्याउँदैमा यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ नबदलिने बताउनुभएको थियो । त्यसपछि उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

    किमले अमेरिकाले आफ्नो ‘शत्रुतापूर्ण नीति’ त्यागेर उत्तर कोरियाको आणविक राष्ट्रको हैसियतलाई सम्मान गरे वार्तामा फर्कन सक्ने बताउँदै आएका छन् । सन् २०१९ मा सीमित आणविक निशस्त्रीकरणका बदलामा आर्थिक लाभ दिने विषयमा सहमति नहुँदा दुई देशबीचको कूटनीति विफल भएको थियो । अहिले उत्तर कोरियाको विकसित आणविक कार्यक्रम तथा रुस र चीनसँगको बढ्दो सम्बन्धले किमलाई वार्तामा थप लाभको अवस्थामा पुर्‍याएको विज्ञहरूको भनाइ छ ।

  • पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

    पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

    बैतडी, २३ भदौः बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो । आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भइरहेको उनले बताए । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ।

  • आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

    आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म


    काठमाडौँ, २३ भदौः एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ । हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूको आक्रोश तत्कालीन एउटा निर्णयविरुद्ध देखिए पनि त्यसको गहिराइमा वर्षौंदेखि थुप्रिएको असन्तुष्टि थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भयो ।

    आज भदौ २३ गते सोही आन्दोलनको एक वर्ष पूरा भएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । एक वर्षको अवधिमा मुलुकले राजनीतिक रूपमा ठूलो परिवर्तनको महसुस गरेको छ । यस्तै, आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ ।

    सामाजिक सञ्जालबाट सडकसम्म

    जेनजी आन्दोलनको तत्कालीन पृष्ठभूमि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएनस सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधारसमेत बनिसकेको थियो । त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै सुरु भएको विरोध केही दिनमै सडकमा पुग्यो ।

    भदौ २३ र २४ गतेको आन्दोलनमा काठमाडौँलगायत देशका विभिन्न स्थानमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो । आन्दोलनको स्वरूप र माग विस्तार हुँदै जाँदा यो केबल सामाजिक सञ्जालको स्वतन्त्रताको प्रश्न रहेन । भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय बने ।

    किन आक्रोशित थियो नयाँ पुस्ता ?

    जेनजी पुस्ताको असन्तुष्टि एकैदिन वा एउटा घटनाबाट सिर्जना भएको थिएन । लामो समयदेखि मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी, सार्वजनिक सेवा प्रवाहको सुस्तता, भ्रष्टाचारको आरोप, अवसरमा पहुँचको असमानता र राजनीतिक संरक्षणको संस्कृतिले युवामा निराशा बढाउँदै लगेको थियो । उच्च शिक्षा हासिल गरे पनि रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता धेरै युवाको साझा समस्या थियो । स्वदेशमा उद्यम गर्न खोज्दा प्रशासनिक झन्झट, पुँजीको अभाव, नीतिगत अनिश्चितता र बजारको सीमितताले चुनौती थपेको थियो ।

    युवाले राज्यबाट केबल रोजगारीको अवसर मात्र खोजेका थिएनन् । उनीहरू निष्पक्ष प्रणाली चाहन्थे । उनीहरू योग्यताका आधारमा अवसर पाउन चाहन्थे । सरकारी कार्यालयमा सेवा लिन जाँदा राजनीतिक पहुँच वा चिनजान आवश्यक नपर्ने व्यवस्था चाहन्थे । यसैले आन्दोलनको मूल भावना थियो राज्य नागरिकप्रति उत्तरदायी हुनुपर्छ । आन्दोलनले राजनीतिक दल र नेतृत्वमाथिसमेत गम्भीर प्रश्न उठायो । नयाँ पुस्ताले आफूलाई निर्वाचनका समयमा मात्र सम्झिने मतदाता नभई नीति निर्माण र शासन प्रक्रियाको सक्रिय हिस्सेदारका रूपमा स्थापित गर्न खोज्यो ।

    आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले पनि परिवर्तनको जनचाहनालाई प्रतिबिम्बित गरेको देखिन्छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नयाँ राजनीतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ । निर्वाचन परिणामलाई धेरैले पुरानो राजनीतिक कार्यशैलीप्रतिको असन्तुष्टि, नयाँ नेतृत्वप्रतिको अपेक्षा र परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा विश्लेषण गरेका छन् । यस अर्थमा जेनजी आन्दोलनले प्रत्यक्ष रूपमा मात्र नभई अप्रत्यक्ष रूपमा नेपालको राजनीतिक बहसलाई प्रभावित गरेको देखिन्छ ।

    सुशासन प्राथमिकतामा

    प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई परिणाममुखी बनाउने, सरकारी संरचनालाई चुस्त बनाउने, सार्वजनिक निकायमा नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने तथा डिजिटल प्रविधिको प्रयोग एवं विस्तारलाई प्राथमिकतामा राखेको छ । सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको छ । मन्त्रालयको सङ्ख्या घटाउँदा वार्षिक करिब रु २० अर्ब राज्यकोषमा बचत हुने अनुमान छ । मन्त्रालय घटाउने निर्णयलाई सरकारले प्रशासनिक खर्च कम गर्ने र राज्य संयन्त्रलाई प्रभावकारी बनाउने सुधारका रूपमा प्रस्तुत गरेको छ ।

    ‘अब लाइन हैन, अनलाइन’ भन्दै सरकारले ‘नागरिक एप’ लाई थप परिस्कृत गरी सञ्चालनमा ल्याएको छ । सरकारले प्रदान गर्ने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटर्फमबाट सेवाप्रवाह गर्ने लक्ष्यबमोजिम उक्त एप सञ्चालनमा ल्याइएको हो । एउटै एपबाट विभिन्न सरकारी सेवा प्राप्त गर्न सकिन्छ ।

    एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सकिने छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकमको विवरण प्राप्त गर्न सकिन्छ । सेवा प्रवाहमा अनियमितता, हिलासुस्ती आदि हटाएर नागरिकलाई द्रुत सेवा सुनिश्चित गरिएको छ । यसले बोझिलो सार्वजनिक सेवालाई सरल, सुलभ र सहज बनाइएको छ । नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० तथा मालपोत सेवालाई चुस्त र प्रभावकारी बनाइएको छ । आर्थिक मितव्ययी नीतिले आर्थिक सुशासनको जग बलियो हुदैँ गएको छ ।
    प्रशासनिक संरचनामा सुधारको प्रयास

    सरकारले अनावश्यक प्रशासनिक संरचनाको खारेजी तथा समायोजनमार्फत सार्वजनिक खर्च घटाउने र प्रशासनिक कार्यक्षमता बढाउने नीति अघि सारेको छ । राजनीतिक दल निकट मानिएका ट्रेड युनियन तथा विद्यार्थी सङ्गठनको प्रभाव घटाउने तथा सार्वजनिक संस्थालाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने प्रयास पनि सुधारको एजेन्डामा राखिएको छ । सार्वजनिक निकायमा हुने नियुक्ति प्रक्रियालाई पारदर्शी र योग्यतामा आधारित बनाउने विषय पनि जेनजी आन्दोलनले उठाएको महत्वपूर्ण सवालसँग जोडिन्छ ।

    राज्यका महत्वपूर्ण निकायमा नियुक्ति गर्दा राजनीतिक निकटताभन्दा योग्यता, अनुभव र कार्यक्षमतालाई प्राथमिकता दिनुपर्ने माग नयाँ पुस्ताको प्रमुख अपेक्षा रहँदै आएको छ । विश्वविद्यालयलाई दलगत राजनीतिबाट मुक्त गर्ने विषय पनि जेनजी आन्दोलनको व्यापक सुधार एजेन्डासँग जोडिएको छ । उच्च शिक्षाका संस्थालाई शैक्षिक उत्कृष्टता, अनुसन्धान र नवप्रवर्तनको केन्द्र बनाउने चुनौती भने अझै बाँकी छ ।

    डिजिटल अधिकार र नयाँ पुस्ताको अपेक्षा

    जेनजी आन्दोलन डिजिटल पुस्ताको आन्दोलन भएकाले डिजिटल अधिकार यसको महत्वपूर्ण पक्ष हो । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनेभन्दा त्यसलाई जिम्मेवार, सुरक्षित र पारदर्शी ढङ्गले सञ्चालन गर्ने नीति आवश्यक रहेको बहस आन्दोलनपछि थप बलियो भएको छ ।

    डिजिटल माध्यमबाट नागरिकले सरकारका निर्णयमाथि प्रश्न उठाउन, सूचना प्राप्त गर्न र सार्वजनिक बहसमा सहभागी हुन पाउने वातावरण लोकतान्त्रिक शासनको महत्वपूर्ण आधार हो ।

    सरकारले प्रशासनिक सुधार र सुशासनमा जोड दिएको छ । निजी क्षेत्रको लगानी बढाउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, स्टार्टअप र नवप्रवर्तनलाई सहज बनाउने, सीपमूलक शिक्षा विस्तार गर्ने तथा युवालाई उत्पादनसँग जोड्ने नीति आवश्यक छ ।

    सुशासनको अर्थ भ्रष्टाचार नियन्त्रण मात्र होइन । नागरिकले आफ्नो श्रम, सीप र योग्यताबाट सम्मानपूर्वक जीवनयापन गर्न सक्ने आर्थिक वातावरण सिर्जना गर्नु पनि सुशासनकै महत्वपूर्ण हिस्सा हो । राजनीतिक परिवर्तनसँगै प्रशासनिक संस्कृति परिवर्तन हुनुपर्छ । सरकारी कार्यालयमा सेवा लिन नागरिकले भोग्ने झन्झट घटेको छ । निर्णय प्रक्रिया पारदर्शी छ ।

    सत्तापक्ष र प्रतिपक्षको साझा जिम्मेवारी

    जेनजी आन्दोलनले कुनै एउटा राजनीतिक दल वा समूहलाई मात्र प्रश्न गरेको थिएन । यसले समग्र राजनीतिक संस्कारमाथि प्रश्न उठाएको थियो । त्यसैले यसको समाधान पनि सामूहिक राजनीतिक प्रतिबद्धताबाट मात्र सम्भव छ ।

    सत्तापक्षले सुशासन र संस्थागत सुधारको एजेन्डालाई निरन्तरता दिनुपर्नेछ । प्रतिपक्षले पनि सरकारका गलत कामको आलोचना मात्र नगरी आवश्यक सुधारमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेछ ।

    नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, युवा समुदाय र राज्यका सबै निकायले पनि आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने आवश्यकता छ ।

    अबको बाटो

    जेनजी आन्दोलनले एउटा पुस्ताको बेचैनीलाई आवाज दिएको छ । त्यो आवाजले राजनीतिक नेतृत्वलाई मात्र होइन, राज्यका सम्पूर्ण संस्थालाई आफ्नो काम गर्ने शैलीबारे पुनर्विचार गर्न बाध्य बनाएको छ ।

    अबको आवश्यकता आन्दोलनको भावनालाई निरन्तर राजनीतिक असन्तोषमा सीमित राख्नु होइन । त्यसलाई राष्ट्र निर्माणको ऊर्जा बनाउनु हो ।

    राज्य संरचनामा आवश्यक सुधार, प्रशासनिक झन्झटको अन्त्य, कानुनी प्रक्रियाको सरलीकरण, भ्रष्टाचार नियन्त्रण, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र डिजिटल अधिकारको सुनिश्चितता आगामी दिनका मुख्य प्राथमिकता बन्नुपर्ने देखिन्छ ।

    राष्ट्रिय स्वार्थ, सामूहिकता र बृहत्तर एकतालाई केन्द्रमा राखेर अघि बढ्नु अहिलेको आवश्यकता हो । सत्तापक्ष र प्रतिपक्ष दुवैले राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर नागरिकको सेवा र राष्ट्रिय हितलाई प्राथमिकता दिनसकेमा मात्र परिवर्तनले स्थायित्व पाउनेछ । एक वर्षअघि सडकमा उठेको आवाजले एउटा पुस्ताको प्रश्न प्रस्तुत गरेको थियो, ‘हाम्रो भविष्य कहिले बदलिन्छ रु’ अब त्यस प्रश्नको उत्तर नारामा होइन, नीति र परिणाममा दिनुपर्ने समय आएको छ ।

    युवाले खोजेको परिवर्तन त्यतिबेला मात्र सार्थक हुनेछ, जब देशमै सम्मानपूर्वक बाँच्नसक्ने अवसर सिर्जना हुनेछ, सरकारी सेवा सहज र पारदर्शी हुनेछ, सार्वजनिक संस्थामाथि नागरिकको विश्वास बढ्नेछ र राज्यका निर्णयमा नागरिकको आवाजको अर्थपूर्ण स्थान हुनेछ ।

    जेनजी आन्दोलनको वास्तविक सफलता सरकार परिवर्तनमा मात्र होइन, राज्य सञ्चालनको संस्कार परिवर्तनमा हुनेछ । सडकमा जन्मिएको असन्तोष संस्थागत सुधार हुँदै नागरिकको दैनिक जीवनमा देखिने परिणाममा रूपान्तरण भएमा मात्र एक वर्षअघि दिइएको बलिदान र उठाइएको आवाजले दीर्घकालीन अर्थ पाउनेछ ।

  • कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर


    लमजुङ, २३ भदौः पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ यात्रा प्रभावित भएको छ । नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँ जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन् । यसअघि करिब पाँच–छ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ भने यात्रुको खर्चसमेत बढेको छ ।

    भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहरबाट काठमाडौँ चल्ने माइक्रोबस तथा ठूला बस चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन् । लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ्नुका साथै सवारीसाधन तथा यात्रुको सङ्ख्या घटेको छ । बेँसीसहर–काठमाडौँ माइक्रोबसका चालक मुस्कान राईका अनुसार वैकल्पिक मार्गबाट काठमाडौँ पुग्न पहिलेभन्दा धेरै समय लाग्ने गरेको छ ।

    “बाटो लामो भएकाले समय पनि धेरै लाग्छ”, उनले बताए । बेँसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०–५० वटा माइक्रोबस काठमाडौँ जाने गरेकामा अहिले पाँच–सात वटामात्र सञ्चालनमा छन् । यात्रु पनि अत्यावश्यक काम परेका मात्रै जाने गरेका छन् । सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा रु ९०० र विद्युतीय माइक्रोबसको रु ७०० रहेकामा अहिले क्रमशः रु दुई हजार र रु एक हजार ५०० पुगेको छ ।

    यात्रु तथा सवारीसाधन घटेसँगै चालक तथा व्यवसायीको आम्दानीमा असर परेको छ । ठूला बसमा पनि यात्रुको सङ्ख्या घटेको छ । पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेँसीसहरबाट काठमाडौँ दैनिक पाँच–छ वटा ठूला बस छुट्ने गरेकामा अहिले एउटा बसमात्र जाने गरेको छ । वैकल्पिक मार्गअनुसार भाडा फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन ।

    यसअघि सवारीसाधन अनुसार रु ९०० देखि रु एक हजार २०० सम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी रहेको छ । सडक अवरोधको असर उपचारका लागि ‘रेफर’ हुने बिरामीको यात्रामा परेको छ । लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौँ, चितवन र पोखरा रेफर गर्ने गरिएको छ ।

    काठमाडौँ लैजानुपर्ने केही बिरामीलाई एम्बुलेन्समै घुमाउरो बाटोबाट लैजानुपरेको छ भने कतिपयलाई पोखरासम्म एम्बुलेन्समा पु¥याएर त्यहाँबाट हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए । यसले बिरामी र आफन्तलाई झन्झटसँगै उपचार खर्चसमेत बढाएको उनको भनाइ छ । बेँसीसहरकी प्रकृति श्रेष्ठले वैकल्पिक मार्गबाट यात्रा गर्दा समय र खर्च दुवै बढेको बताए । उनी भदौ २० गते शनिबार काठमाडौँस्थित काम सकेर बेँसीसहर फर्किएकी थिइन् ।

    काठमाडौँ जाँदा माइक्रोमा रु ९०० तिरेको उनले फर्किंदा रु दुई हजार भाडा तिरिन् । “वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ । वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ”, उनले भनिन् । नियमित मार्ग सञ्चालनमा नआएसम्म लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिमका कारण यात्रुले थप सास्ती खेप्नुपर्ने अवस्था छ ।

  • प्रचारप्रसार अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    प्रचारप्रसार अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    सुनसरी, २३ भदौः अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको आगमन भने न्यून रहेको छ । आर्थिक वर्ष २०७५\७६ देखि २०८२\८३ सम्म कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक पुगेका छन् । तीमध्ये विदेशी पर्यटकको सङ्ख्या दुई हजार २९ मात्र रहेको छ ।

    आव २०८२\८३ मा १२ हजार ८८३ पर्यटक आरक्ष पुगेकामा विदेशी पर्यटक ३०५ जना थिए । आव २०८१\८२ मा ११ हजार ६०६ पर्यटकमध्ये ३०२ जना विदेशी र २०८०\८१ मा १२ हजार ५५६ पर्यटकमध्ये ३२७ जना विदेशी पर्यटक आएका थिए । त्यसैगरी, आव २०७९\८० मा १२ हजार ४७९ पर्यटकमध्ये ३११ जना, २०७८\७९ मा ११ हजार १६७ मध्ये १३० जना, २०७७\७८ मा नौ हजार ८१८ मध्ये ७७ जना, २०७६\७७ मा ११ हजार १४ मध्ये १८९ जना र २०७५\७६ मा आठ हजार ७६३ पर्यटकमध्ये ३८८ जना विदेशी पर्यटक रहेको कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी मिथलेस महतोले बताए ।


    अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षको तुलनामा यहाँ विदेशी पर्यटकको आगमन कम रहेको छ । पर्यटन पूर्वाधार र प्रचारप्रसारको कमीका कारण पनि विदेशी पर्यटकको आगमन कम भएको हुनसक्ने सूचना अधिकारी महतोको भनाइ छ । कोशी टप्पुलाई वन्यजन्तु अवलोकन, बर्ड वाचिङ र सिमसार पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने भए पनि त्यसअनुसारका पूर्वाधार बन्न नसकेको उनले बताए । देशका अन्य निकुञ्ज र आरक्षको तुलनामा निकै कम विदेशी पर्यटक कोशी टप्पुमा आउने गरेका छन् । मुख्यतः प्रचारप्रसारकै अभाव रहेको उनको कथन छ ।

    कोशी टप्पुको मुख्य पर्यटन आकर्षण अर्ना भए पनि यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, सिमसार, नदी र घाँसेमैदान छन् । त्यसैले अर्ना अवलोकनसँगै बर्ड वाचिङ, प्रकृति पदयात्रा, नदी पर्यटन र जङ्गल सफारीलाई व्यवस्थित गर्न सके विदेशी पर्यटक आकर्षित गर्न सकिने पर्यटन व्यवसायी रमन भट्टराईले बताए । “सुनसरी र उदयपुरका बीचमा रहेको बेलका बीच रिसोर्टबाट जङ्गल सफारी सुरु गरेको छु । आरक्षभित्र जाने सडकको पूर्वाधार छैन”, उनले भने । आरक्ष क्षेत्रमा व्यवस्थित पदयात्रा तथा बर्ड वाचिङ मार्ग, पर्यटक सूचना केन्द्र तथा होमस्टे सञ्चालन गर्नसके पर्यटकको आगमन बढ्नसक्ने उनको भनाइ छ ।

    विसं २०३२ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । विसं २०४४ देखि रामसार सूचीमा सूचीकृत आरक्ष जैविक विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्र हो । सन् १९७६ को गणनामा कोशी टप्पुमा ६३ वटा अर्ना रहेका थिए भने सन् २०२१ को गणना अनुसार सङ्ख्या बढेर ४९८ पुगेको छ । कोशी टप्पुमा ४२ प्रजातिका स्तनधारी, ५३५ प्रजातिका पक्षी, १४१ प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाइन्छन् । यस्तै, ३२ वटा खरमयुर र १९ वटा डल्फिन रहेका छन् ।साथै यहाँ हिउँदमा विभिन्न विदेशी चरासमेत आउने गर्दछन् ।

  • जीवनका आधार नै सम्पर्कविहीन भएपछि….

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि….


    महेन्द्रनगर, २३ भदौः कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरहेका छन् । भोटेकोशी बाढीमा परी २२ वर्षीय छोरा क्रिकेशन राना सम्पर्कविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई गुहारिरहेका छन् उनले । छोरा सकुशल पाउने आशा क्रमशः न्यून हुँदै गएको उनको दुखेसो छ ।

    “छोराको सास कि लाश भए पनि पाउँला भनेर काठमाडौँ पुगेको छु”, उनले भने, “घरपरिवारमा सन्नाटाकाबीच यहाँँ आए तर छोराको खोजी हुँदैछ भन्ने खबरबाहेक केही पाइँन ।” माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् आयोजनामा मजदुरी गर्दै आएका क्रिकेशनको अवस्था बाढीपछि अज्ञात छ । “घरमा नाबालिक नातिनी छ । बुहारीसँगै परिवारकै जीवनयापन गर्ने भरोसाको पत्तो छैन”, रानाले भने, “छोराकै कमाइले परिवार थानिएको थियो । अब के गर्ने हो सोच्नै सकिएको छैन ।”

    उनका छोरा विगत एक वर्षदेखि रसुवामा काम गर्दै आएको बताए । “आउने जाने गरेर आयोजनामा काम गर्न थालेको एक वर्षभन्दा बढी भइसकेको थियो”, उनले भने, “हाम्रो त परिवारभित्रकै तीन जना सदस्य सम्पर्कविहीन हुँदा परिवारमा बज्रपात भएको छ ।” गाउँमा आफूसित भएको चारकट्ठा जमिनमा खेती गरेर अन्नपातको जोहो गर्दै आएका रानाले छोराको अवस्थाबारे कुनै जानकारीसम्म नपाएको दुखेसो पोखे ।


    “घरकै आर्थिक अवस्था कमजोर हुँदा छोरालाई मजदुरीका लागि यसअघि भारत पनि पठाए”, उनले भने, “बाह्र दिनदेखि छोराको स्वर सुन्न नपाउँदा आमा घरमा बिलौना गर्दै छ ।” कृष्णपुर नगरपालिका–३ का क्रिकेशन रानासँगै कालु राना र रिकेश राना सम्पर्कविहीन भएको कालु रानाका भतिजा सोहन रानाले बताए ।
    “कसैको फोन आयो कि सम्पर्कविहीन भेटियो कि जस्तो लाग्छ”, रानाले भने, “तीन जना आफन्त हराउँदा परिवारमा आँशुबाहेक केही छैन । हराएका तीन जनाकै छोरा छोरी नाबालिक छन् ।” “तीन जना नै केही समयअघि धानखेती गरेर काम गर्न गएका थिए”, उनले भने, “परिवारको खर्च चलाउने, दैनिकी सहज बनाउने घरका खम्बा नै ढलेजस्तो सन्नाटा छ ।”

    हराइरहेका कालु रानाका श्रीमती रेखाले छोराछोरी बुवा आउने आशामा बसेको बताइन्, “छोराछोरी बुवालाई फोन गर, कुरा गर्छौं भन्छन्”, रेखाले भक्कानिँदै भनिन्,“यतिकादिन भयो फोन आउँदैन । पहिले दिनमा तीन पटकसम्म फोन गर्थे ।” उनले श्रीमान् सम्पर्कविहीन हुँदा आफूहरु बिचल्ली हुने अवस्थामा पुगेको बताइन् । “अब छोराछोरी कसले पढाइदिने”, उनले भनिन्, “सरकारसँग बिन्ती छ । हाम्रा मान्छेको खोजी गरिदिनु ।”

    त्यसैगरी, शुक्लाफाँटा नगरपालिका–३ जोनापुर विनोद डगौरा सोमबार निराश हुँदै काठमाडौँबाट घर फर्किंदै छन् । पच्चीस वर्षीय छोरा दीपेन्द्र डगौरा लाङ्टाङ जलविद्युत् आयोजनामा कार्यरत रहेकैबेला यही भदौ १० गतेको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भए । “न सास भेटिने भयो न त लास नै । निकै पीडा भयो ।” बुवा विनोद डगौराले भने, “एक्लो छोरो थियो । बुढेसकालको सहारा होला भनेको युवा अवस्थामै विलिय भयो ।” मजदुरीका लागि छोरा दीपेन्द्र रसुवा पुगेको उनले बताए ।


    “अवस्थाले पढाउन सकेको भए आज रसुवामा हराउनुपर्ने थिएन”, उनले भने, “गरिबीले मजदुरीमा पुर्‍यायो । बाढीले परिवार नै बिचल्लीमा पार्‍यो भोटेकोशी बाढीमा परेर कञ्चनपुरका २६ जना अझै हराइरहेका छन् ।”

  • दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

    दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै


    भोजपुर, २३ भदौः बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’खेती भरपर्दो र आम्दानीको नयाँ स्रोत बन्न थालेको छ । स्वादिलो र पोषणयुक्त मानिने दूधे पिँडालुको स्थानीय बजारमा माग र मूल्य दिनप्रतिदिन बढ्दै गएपछि यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।

    तरकारी र खाजाका रूपमा प्रयोग गरिने भएकाले बजारमा यसको माग बढ्दो छ । हाल भोजपुर सदरमुकामलगायत आसपासका स्थानीय हाटबजारमा यो पिँडालु प्रतिकेजी रु ५० देखि ८० सम्ममा बिक्री भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाले बताए ।

    बाँदरले क्षति नगर्ने तथा अन्य बालीको तुलनामा कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय किसान पिँडालुखेतीमा जुटेको उनको भनाइ छ । “राम्रोसँग फस्टाएको एउटै बोटबाट एकदेखि तीन केजीसम्म पिँडालु उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिन्छ । अचेल गाउँमा धेरैजसोले पिँडालुलाई मुख्य वैकल्पिक बालीका रूपमा लगाउन थालेका छन् ।”

    जिल्लाका अधिकांश ग्रामीण भेगमा बाँदरको आतङ्कका कारण मकै, धान, कोदो तथा अन्य बाली जोगाउन किसानलाई निकै सास्ती छ । पिँडालु जमिनमुनि फल्ने बाली भएकाले बाँदरले क्षति पु¥याउन सक्दैन । बाँदरले नोक्सानी नगर्ने र अन्य जङ्गली जनावरबाट पनि जोगिने भएकाले बाँझो छाडिएका खेतबारीमा किसानले पिँडालु रोप्न थालेको स्थानीय किसान गीता विष्टले बताए । पिँडालुको पात र डाँठ भने बङ्गुरको चारोका रुपमा प्रयोग गरिन्छ । पिँडालुको बोट बङ्गुरपालन गर्ने किसानले खरिद गरेर लैजाने गरेको उनले बताए ।


    स्थानीय बजारमा ग्राहकले दूधे पिँडालुलाई अर्गानिक र स्वादिलो खाजाका रूपमा रुचाउने गरेको उनको भनाइ छ । बजारसम्म पु¥याउँदा सजिलै बिक्री हुने भएकाले किसानलाई बजारीकरणको समस्या नरहेको उनले बताए । बाँदर नियन्त्रण गर्न नसकेर खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यतामा रहेका किसानका लागि दूधे पिँडालुखेती गतिलो विकल्प बनेको छ । कम खर्चमा मनग्य आम्दानी हुन थालेपछि भोजपुर नगरपालिकाको बोखिमलागयत जिल्लाका अन्य गाउँमा पनि यसको व्यावसायिक खेती विस्तार गर्नेक्रम बढ्दै गएको छ ।

  • भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी

    भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी


    राँझा (बाँके), २३ भदौः एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठूलो पीडा के होला ? यस्तै पर्नु पीर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई । भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा परेका रोकायालाई वडावासीले साथ सहयोग प्रदान गरेका छन् । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्ने दाजु ५३ वर्षीय शेरसिंह रोकाय र भाउजु ५६ वर्षीया विष्णुमतिलाई भेट्न र तीर्थस्थल गोसाइँकुण्ड घुम्न गएका १९ वर्षीय छोरा दीपक रोकाय बेपत्ता हुँदा अनलाल यतिबेला असैह्य पीडामा छन् ।


    बुढेसकालको सहारा एक्लो छोरा, अभिभावकका रुपमा रहेका दाजु र भाउजु एकैपटक बेपत्ता भएपछि थपुवास्थित रोकाय निवासमा अहिले सन्नाटा र आँसु मात्र छचल्किरहेको छ । ढोकातिर हेर्दै ‘कतै फर्किहाल्छन् कि’ भन्ने आशा र मनभित्रको गहिरो निराशाबीच अनलालको परिवार वियोगको भारी थाम्न विवश छ । अकल्पनीय पीडा र शोकको घडीमा स्थानीय वडावासी भने रोकाय परिवारको घाउमा मलम लगाउन अघि सरेका छन् । स्थानीयवासीको सक्रियतामा सङ्कलन गरिएको नगद राहत बोकेर नेपालगन्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढासहितको टोली सोमबार अनलालको निवासमै पुगेको थियो ।

    “अकल्पनीय पीडाको अगाडि यो रकम धेरै सानो हो”, कार्यवाहक वडाध्यक्ष बुढाले भावुक हुँदै अनलाललाई सम्झाए । “यो रकम मात्र होइन, सिङ्गो वडावासी तपाईंको साथमा छ । आगामी दिनमा बेपत्ताको खोजी र परिवारलाई चाहिने हरेक सहयोगमा हामी निरन्तर साथमै रहनेछौँ ।” आफ्नो सिङ्गो परिवार नै बेपत्ता भएपछि शोकमा डुबेका अनलालका लागि गाउँलेको यो साथले थोरै भए पनि सहारा दिएको छ । “सहयोग सानो वा ठूलो भन्ने हुँदैन, दुःखको यो क्षणमा वडावासीले खोजी कार्यदेखि आर्थिक सहयोग गरेर हाम्रो पीडामा मलम लगाउने काम गर्नुभएको छ”, गहभरि आँसु पार्दै अनलालले वडावासीप्रति आभार प्रकट गरे ।


    आफ्ना मान्छे जीवितै फर्किने आशा मर्दै जाँदा, अन्तिम संस्कारका लागि भए पनि शव पहिचान होस् भन्ने पर्खाइमा रोकाय परिवार रहेको छ । “बाढीपछि फेला परेका शवसँग मिलान गर्न डिएनए परीक्षणका लागि नमुना पठाइएको छ”, अनलालले आशा र निराशा व्यक्त गर्दै भने, “कम्तीमा डिएनए रिपोर्ट मिलेपछि त दाजु, भाउजु र छोराको अवस्था आधिकारिक रूपमा थाहा हुन्थ्यो ।”

    भोटेकोशीको त्यो विनाशकारी बाढीले बाँके जिल्लाका मात्रै २३ जनालाई बेपत्ता बनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, हालसम्म ३२ जनाको सकुशल उद्धार गरिएको छ । यस्तै, तीन जनाको सनाखत भएको छ । बाँकी बेपत्ताका परिवारका लागि भने हरेक दिन सम्झना, पीडा र कहिल्यै नसकिने पर्खाइ बनेर बितिरहेको छ ।

  • सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

    सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम


    काठमाडौँ, २३ भदौः सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने भिडियो सामग्री प्रसारण गर्ने काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परे । बैतडी सुर्नया गाउँपालिका–७ का वीरेन्द्रलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो सामग्री बनाई फेसबुक रिलमा ‘अपलोड’ गरेका थिए ।

    पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्री प्रसारण गर्नेविरुद्ध प्रहरीले आक्रमक रुपमा कारबाही थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले संवेदनशील घडीमा पीडामा रहेका नागरिकले व्यक्त गरेका विचारमाथि अनावश्यक टिप्पणी गरी होच्याइ थप पीडा दिनेको निगरानी गरी त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको बताउँछन् ।

    “बाढीका कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दुःखद् घडीमा विभिन्न व्यक्ति, समूह तथा अराजक मानसिकता बोकेका व्यक्तिले हृदयविदारक, विभत्स तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा थप पीडा हुनेगरी त्रास फैलाउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भएको छ”, उनले भने ।


    प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार फेसबुकमा १६८, टिकटकमा चार र इन्स्टाग्राममा एक गरी कुल १७३ वटा गलत सूचना र अफवाहसहितका समाचार सामग्री प्रसारण भएको देखिन्छ । त्यसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ र टिकटकबाट चार वटा त्यस्ता सामग्री सामाजिक सञ्जालबाट हटाइएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए ।


    यसखालका गतिविधिको अनुगमन गरी ती सामग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पु¥याउने कार्यमा संलग्नउपर अनुसन्धान एवं पहिचान गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी आवश्यक कारबाही गर्नेछ ।

    प्रनाउ आचार्यले सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्री प्रसारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समितिले काम गरिरहेको जानकारी दिए । “सामाजिक सञ्जालमार्फत अञ्जानमा पोष्ट गरेका वा सेयर गरेका समाचारको गाम्भीर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ”, उनले भने ।


    विपद्का नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत सङ्कलनका नाममा हुनसक्ने ठगीलाई पनि नियन्त्रण गर्नसमेत प्रहरी सक्रिय रहेको केन्द्रीय प्रहरी प्रवक्ता काफ्ले बताउँछन् । “सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्रीप्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन प्रहरी सदैव कटिबद्ध छ”, उनले भने ।

  • इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

    इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

    काठमाडौँ, २२ भदौः यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी दिवङ्गत भएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्वलन गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल दिवसको अवसर पारी काठमाडौँको सुन्धारामा आज दीप प्रज्वलन कार्यक्रम आयोजना गरी भोटेकोशी बाढीमा दिवङ्गत भएकाको चिरशान्तिको कामना गर्नुका साथै बेपत्ताको सकुशल उद्धारको कामना गरिएको हो ।

    नेपाल सरकारले भोटेकोशी बाढी आएको १३औँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी दिवङ्गत स्वदेशी तथा विदेशी नागरिकका साथै कर्तव्यपालनाको सिलसिलामा दिवङ्गत नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्वाञ्जली अर्पण गरिएको प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ । बेपत्ताको सकुशल उद्धारको कामनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरी महानिरीक्षक कार्कीले आजै अन्तरराष्ट्रिय प्रहरी सहकार्यको व्यवहारिक पक्ष र यसको महत्त्वलाई देखाउने गरी सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गरे । विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदानप्रदान र समन्वयले अपराध अनुसन्धानमा पुर्‍याउने योगदानका बारेमा वृत्तचित्रमार्फत प्रस्तुत गरिएको उनले बताए ।
    इन्टरनेसनल डे अफ पोलिस कर्पोरेस हरेक वर्ष ७ सेप्टेम्बरमा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो । विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदानप्रदान र समन्वयलाई सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुर्‍याउनु यस दिवसको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, सञ्चारकर्मीलगायत व्यक्तिको उपस्थिति थियो ।

  • बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

    बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

    काठमाडौँ, २२ भदौः भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय सञ्चालकका छाता सङ्गठनसँगको सहकार्यमा प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको हो ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति योजना घोषणा गरे । योजनाअनुसार विद्यार्थीलाई पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास तथा खानालगायतका सुविधा उपलब्ध गराइनेछ । कार्यक्रममा मन्त्री पोखरेलले विपद्को समयमा निजी तथा संस्थागत विद्यालयले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा गरे । उनले देश तथा विदेशबाट प्राप्त सहयोगले विपद्को समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको बताए ।
    “सहयोगी हातहरू फैलिएको देख्दा राज्य एक्लो छैन भन्ने महसुस भएको छ । यस्तो बेलामा राज्य बलियो भएर उभिनुपर्छ भन्ने सन्देश यसले दिएको छ,” मन्त्री पोखरेलले भने ।


    मन्त्री पोखरेलले विपद्को समयमा शिक्षा क्षेत्रले संस्थागत जिम्मेवारीभन्दा माथि उठेर सहयोग गरेको उल्लेख गर्दै यस सहकार्यले भविष्यमा आउन सक्ने विपद् तथा दुर्घटनाका लागि दीर्घकालीन व्यवस्थापन र पूर्वतयारीमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रभावित विद्यार्थीको तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति वितरण गरिने जानकारी दिए ।


    शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विपद्मा परेका बालबालिकाको शिक्षाको निरन्तरताका लागि निजी विद्यालयका सङ्घसंस्थासँग सहकार्य गरी छात्रवृत्ति कार्यक्रम अघि बढाइएको बताए । राष्ट्रिय शोकलाई शक्तिमा रूपान्तरण गर्दै बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि तत्कालीन र दीर्घकालीन योजना अघि सारिएको उनको भनाइ थियो ।

    मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताए । प्रभावित बालबालिकाको शिक्षाका लागि आवश्यक स्रोत निजी क्षेत्रबाट जुटाउने तयारी गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), एसोसिएसन अफ प्रि–स्कुल एजुकेसन नेपाल (एपिन) र मन्टेश्वरी एसोसिएसन नेपाल लगायतसँग सहकार्य गरिनेछ ।

    त्यसैगरी, अन्य सरकारी गैरसरकारी संस्थाहरुसँग पनि सहकार्य गरिनेछ । मन्त्रालयले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैरसरकारी संस्थाहरुसँग अपिल पनि गरेको छ । छात्रवृत्ति कार्यक्रम सङ्घीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय तह तथा निजी क्षेत्र, व्यावसायिक क्षेत्र, गैरआवासीय नेपाली सङ्घलगायत संस्था र निकायसँग समन्वय गरिने मन्त्रालयले जनाएको छ ।

    शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसका आधारमा निजी विद्यालय तथा अन्य सहयोगी संस्थाले प्रभावित बालबालिकालाई छात्रवृत्ति र आवश्यक भौतिक तथा शैक्षिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरिएको छ । छात्रवृत्ति योजनाअनुसार बाढीका कारण विद्यालय जान नसकेका, आर्थिक रूपमा कमजोर, अभिभावक वा परिवारका सदस्य गुमाएका वा सम्पर्कविहीन भएका तथा विशेष सहयोग आवश्यक पर्ने बालबालिकालाई प्राथमिकता दिइनेछ ।

    विद्यार्थीलाई आवश्यकता र औचित्यका आधारमा पूर्ण वा आंशिक छात्रवृत्ति, आवासीय छात्रवृत्ति, विद्यालय शुल्क छुट वा मिनाहा, पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास तथा खानालगायतका सुविधा उपलब्ध गराउने योजना छ । हिसानका अध्यक्ष युवराज शर्माले प्रभावित बालबालिकाको शिक्षाका लागि करिब एक अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम अघि सारिएको बताउँदै करिब एक हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिए । राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाको सहयोग लिएर कार्यक्रमलाई दीर्घकालीन रूपमा अघि बढाइने उनले बताए ।

    प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी विद्यालय सञ्चालकका पाँचवटा छाता सङ्गठनको सहकार्यमा छात्रवृत्ति कार्यक्रम ल्याइएको बताउनुभयो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्त्रालयसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलसहित उच्च अधिकारी, प्याब्सन, एनप्याब्सन, हिसान, एपिन र मन्टेश्वरी एसोसिएसन नेपाललगायत निजी शैक्षिक क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

    प्रभावित विद्यार्थीको पहिचान स्थलगत सर्वेक्षण तथा विद्यालय, वडा कार्यालय र स्थानीय तहको सिफारिसका आधारमा गरिनेछ । आवश्यकता र औचित्यका आधारमा पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसहित अन्य शैक्षिक तथा भौतिक सहयोग उपलब्ध गराइनेछ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका थिए । सरकारले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेका तथा नौ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको विवरणमा उल्लेख छ । योजनाअनुसार प्रभावित विद्यार्थीलाई पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसहित शैक्षिक सामग्री र अन्य आवश्यक सहयोग उपलब्ध गराइनेछ । यो छात्रवृत्ति कार्यक्रमले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई समेट्नेछ । करिब एक हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने बताइएको छ ।

  • अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन


    २२ भदौ, काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
    बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए ।

  • कांग्रेसद्वारा उद्धार कोषमा एक करोड आर्थिक सहयोग

    कांग्रेसद्वारा उद्धार कोषमा एक करोड आर्थिक सहयोग

    काठमाडौँ, २२ भदौः नेपाली कांग्रेसले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायतका नेताहरू रहेका थिए ।


    केही दिनअघि रसुवा र नुवाकोट क्षेत्र हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीले त्यस क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो । बाढीका कारण कैयौँ घरपरिवार विस्थापित हुनाका साथै भौतिक संरचनामा व्यापक नोक्सानी भएको छ । विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बास स्थानको व्यवस्थापनमा सघाउ पु¥याउने उद्देश्यले कांग्रेसले उक्त रकम सरकारलाई उपलब्ध गराएको महामन्त्री पौडेलले बताए । रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले सङ्कटको अवस्थामा कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताउनुभयो । नेताहरुले बाढीपहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न स्थानमा फसेका नागरिकको उद्धारलाई तीव्रता दिन ध्यानाकर्षण गराए ।

    त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार तथा भत्किएका पूर्वाधारहरूको पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन महामन्त्री पौडेलले माग गर्नुभएको छ । राहत वितरण पारदर्शी बनाउन र अबको समग्र विपद् व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    विपद् व्यवस्थापन, बेपत्ताहरूको खोजी र विस्थापितहरूको दीर्घकालीन पुनस्र्थापनामा सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न पार्टी तयार रहेको महामन्त्री प्रदीप पौडेलले प्रतिबद्धता व्यक्त गरे । कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य सहयोगका लागि पार्टीका विभिन्न संरचना परिचालन गर्दै उल्लेख्य योगदान गरेको छ । सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव तथा सल्लाह दिने, दबाब दिने, ध्यानाकर्षण गराउने लगायतका कार्य भएका छन् भने सभापति थापा दुईपटक घटनास्थलको अवलोकन गरेर फर्किएका छन् ।

  • बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

    बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

    काठमाडौँ, २२ भदौः स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङमा सहज रुपमा बीमा सेवा दिइने जनाएको छ ।

    बोर्डले ती जिल्लामा स्वास्थ्य बीमा सेवा सहज रूपमा सञ्चालन गरी नागरिकलाई सहजीकरण गर्ने उद्देश्यले स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थामा तोकिएको समयावधिसम्म स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो । क्यापिङ भन्नाले कुनै निश्चित सेवा तथा उपचारमा बीमाले दिने रकमको अधिकतम सीमा बुझिन्छ ।

    बोर्डका अनुसार उक्त क्षेत्रमा बिमितको स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा समेत सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी स्वास्थ्य बीमा सेवा उपलब्ध गराइनेछ । बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा पवनकुमार साहले स्वास्थ्य बीमा बोर्डको उक्त निर्णयसँगै रुसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने बताए ।

  • मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

    मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

    रासस
    मुस्ताङ, २२ भदौः मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो । यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि टिपाइ गर्न पाइने निर्णय भएको थियो । आजदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाइ गर्न पाइने गरी खुल्ला गरिएको छ । मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिअन्तर्गत पर्छन् । अन्य जातका स्याउ केही ढिलो पाक्ने सूचीअन्तर्गत पर्दछन् ।

    मुस्ताङी स्याउको ‘ब्रान्ड’लाई जोगाई राख्न जिल्लास्तरबाट स्याउ टिप्ने पाइने कार्यतालिका सार्वजनिक गरिएको हो । जिल्ला समन्वय समिति, मुस्ताङको अगुवाइमा सराकोरवाला कार्यालय र मुस्ताङका अगुवा कृषकहरु सम्मिलित जिल्लास्तरीय बैठकले छिटो पाक्ने स्याउ र ढिलो पाक्ने स्याउको टिपाइ गर्न पाइने समय कार्यतालिका निश्चित गरेका छन् ।

    समिति प्रमुख माया गुरुङले आजदेखि मुस्ताङका सबै प्रजातिका स्याउ टिपाइ गर्न खुल्ला भएको जानकारी दिए । स्याउको गुणस्तर खस्किन नदिन, उत्पादन वृद्धि गर्न र स्याउमा पर्याप्त मात्रामा गुलियोपना कायम होस् भन्ने अभिप्रायले मुस्ताङमा जिल्लास्तरीय निर्णय गरी स्याउ टिप्ने कार्यतालिका बनाइएको हो । मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिपाइ गर्न पाइने नियम खुल्ला भएसँगै मुस्ताङका स्याउ बगैँचामा धमाधम स्याउ टिपाइ गरी हार्भेस्टको काम भइरहेको छ ।

    एक साताअघि मुस्ताङ आउनुभएका धादिङका स्याउ व्यापारी उर्चा तामाङले स्याउ टिपाइ खुल्ला भएका कारण आफूहरु मुस्ताङ आएको बताए । विगत तीन दशकदेखि स्याउको ब्यापारी गर्दै आई रहेका व्यापारी तामाङले मुस्ताङबाट एक करोड मूल्य बराबरको स्याउ बजार पठाउने तयारी गरेको बताए ।


    व्यापारी तामाङ जस्तै जिल्लाभित्र र बाहिरका दर्जनौँ सङ्ख्यामा ब्यापारी स्याउ खरिद गर्न किसानको बगैँचामा पुगिसकेका छन् । यस वर्ष कोरलानाकाबाट पनि चिनियाँ स्याउ भित्रिने सूचनाले स्याउ बिक्री नहुने पो हो कि भन्ने चिन्ता बढेको स्याउ व्यापारी तामाङले बताए । मुस्ताङमा गत वर्ष रु एक अर्ब १० करोड २३ लाख ७० हजारको स्याउ उत्पादन भएको थियो । जसमध्ये ९० प्रतिशत स्याउ जिल्ला बाहिर निकासी हुँदा रु ९९ करोड जिल्लमा भित्रिएको थियो ।

    कृषि तथा पशु विकास कार्यालयको गत वर्षको तथ्याङ्कअनुसार मुस्ताङका पाँच स्थानीय तहमा कुल ८९९ दशमलव १६ हेक्टरमा स्याउ खेती विस्तार भएको छ । कार्यालय प्रमुख डा. लालमणि अर्यालयका अनुसार स्याउ बिस्तार भएको क्षेत्रफलमध्ये ८३७ हेक्टर क्षेत्रफल स्थानीय र ६२ हेक्टर क्षेत्रफलमा उच्च घनत्वको (हाइब्रिड) स्याउ खेती गरिएको छ । यसैगरी, मुस्ताङमा गरिएको स्याउ खेतीमध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटमा उत्पादन हुने गरेको छ । प्रमुख डा अर्यालयका अनुसार मुस्ताङमा ५७२ हेक्टरमा स्थानीय र ५५ हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको छ ।

  • नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

    नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

    काठमाडौँ, २२ भदौः नेपाल हुलाकले दुर्गम क्षेत्रमा पु¥याउँदै आएको सेवाका लागि एसिया प्रशान्त हुलाक सङ्घ (एसिया प्यासिफिक पोस्टल युनियन–एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ । थाइल्याण्डको बैंककमा यही अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म आयोजित १४औँ एपीपीयू कंग्रेसमार्फत् हुलाक सेवा विभागलाई उक्त सम्मान प्रदान गरिएको महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिए । सरकारी कुरियर सेवाका रुपमा दुर्गम क्षेत्रमा समेत सेवा विस्तारका लागि नेपाल हुलाकले गरेको पहलको कदर गर्दै ‘सर्भिस इन रिमोट एरियाज’ शीर्षकमा विशेष सम्मान प्रदान गरिएको हो ।

    शासकीय सुधारका १०० कार्यसूचीमार्फत् सरकारले हुलाक सेवालाई परम्परागत हुलाक सेवाबाट सरकारी कुरियर सेवातर्फ रूपान्तरण गर्ने नीति लिएसँगै हुलाकले महत्वपूर्ण सरकारी कागजात नागरिकको घरदैलोसम्म पु¥याउने गरी सेवा विस्तार गरिरहेको छ । राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी रिपोर्टलगायत कागजात नागरिकको घरमै पु¥याउने कामलाई अवार्डका लागि महत्वपूर्ण आधार मानिएको विभागका महानिर्देशक पङ्गेनीले जानकारी दिए ।


    चौधौँ एपीपीयू कंग्रेसमा महानिर्देशक पङ्गेनीको नेतृत्वमा नेपालबाट तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । नेपाली प्रतिनिधिमण्डलले विभिन्न सत्रहरुमा नेपालको तर्फबाट सहभागी भई आगामी दिनको हुलाक प्रणालीको अवस्था यसको आधुनिकीकरण, हालसम्म भएका काम र सरकारका प्राथमिकताबारे जानकारी गराएको थियो ।

    हुलाक सेवा विभागका महानिर्देशक पङ्गेनीले नेपालको कठिन भौगोलिक अवस्थाका कारण हुलाक सेवा सञ्चालनमा विभिन्न चुनौती रहेको उल्लेख गर्नुहुँदै सडक तथा सञ्चार पूर्वाधार कमजोर भएका दुर्गम क्षेत्रमा समेत भरपर्दो हुलाक सेवा पु¥याउन पूर्वाधार निर्माणसहित सुधारका कामहरु भइरहेको बताए । सरकारी सेवा नागरिकको घरसम्म पु¥याउने र प्रत्येक सेवा सरल, छिटो तथा भरपर्दो बनाउने उद्देश्यसहित हुलाकको भूमिका विस्तार भइरहेको उनको भनाइ छ ।

    त्यस्तै, एपीपीयूअन्तर्गत सीमापार विद्युतीय व्यापार र क्षेत्रीय हुलाक ढुवानी सञ्जाल विस्तारका विषयमा पनि नेपालले धारणा राखेको थियो । नेपालका स्थानीय तथा मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन हुलाक सञ्जाललाई प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने बारे एपीपीयू कंग्रेसमा आवाज उठाइएको हो ।

    विशेषगरी साना उद्यमी, किसान तथा ग्रामीण समुदायका उत्पादनलाई बजारसँग जोड्न हुलाकले ढुवानीको सेतुका रूपमा काम गर्न सक्ने र क्षेत्रीय विद्युतीय व्यापार तथा हुलाक ढुवानी मार्गमार्फत नेपालका साना उत्पादकलाई एसिया प्रशान्त क्षेत्र हुँदै विश्व बजारसम्म पु¥याउन सदस्य राष्ट्रबीच सहकार्य आवश्यक रहेको विषय नेपालले महत्वका साथ उठाएको महानिर्देशक पङ्गेनीले बताए ।

    कंग्रेसको पूर्ण बैठकमा नेपाललाई विशेष समय उपलब्ध गराइएको थियो । सो अवसरमा महानिर्देशक भट्टराई पङ्गेनीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको क्षतिबारे समेत जानकारी गराएका थिए । उनले विपद्का समयमा सडक, पुल र दूरसञ्चार सेवा अवरुद्ध हुँदा हुलाक तथा सञ्चार सञ्जालको महत्व अझ बढ्ने बताए । विपद्का समयमा सूचना, राहत सामग्री, औषधि तथा आवश्यक सरकारी सेवा नागरिकसम्म पु¥याउन हुलाकको पहुँच महत्वपूर्ण हुने उनको भनाइ छ ।

    एपीपीयू कंग्रेसमार्फत् नेपालले आधुनिक, भरपर्दो, समावेशी र नागरिककेन्द्रित हुलाक प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पनि औँल्याएको छ । प्रविधि हस्तान्तरण, कर्मचारीको क्षमता विकास, डिजिटल प्रणाली, विद्युतीय व्यापार तथा वातावरणमैत्री प्रविधि र विपद् प्रतिरोधी हुलाक पूर्वाधार निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग नेपालले आग्रह गरेको छ ।

    चौधौँ एपीपीयू कंग्रेसमा एसिया प्रशान्त क्षेत्रका ३२ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी भएका थिए । कंग्रेसमा क्षेत्रीय हुलाक सेवा आधुनिकीकरण, डिजिटल रूपान्तरण, सीमापार व्यापार, हुलाक ढुवानी तथा सदस्य राष्ट्रबीच सहकार्यका विषयमा छलफल भएको थियो ।

  • भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग

    भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग


    तौलिहवा (कपिलवस्तु), २२ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि कपिलवस्तुका छ स्थानीय तहले रु दुई करोड २५ लाख १३ हजार सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । केही पालिकाले रकम जम्मा गरिसकेका छन् भने केहीले जम्मा गर्ने निर्णयमात्र गरेका छन् ।

    कपिलवस्तु नगरपालिकाले रु ५१ लाख ११ हजार, वाणगङ्गा नगरपालिकाले रु ४५ लाख, बुद्धभूमि नगरपालिकाले रु ४३ लाख ४५ हजार, महाराजगञ्ज नगरपालिकाले ३७ लाख र शिवराज नगरपालिकाले रु ३८ लाख ५७ हजार सहयोग गर्ने निर्णय गरेका छन् । विजयनगर गाउँपालिकाले १० लाख रुपियाँ कोषमा जम्मा गरिसकेको जनाइएको छ ।

    पालिकाहरूले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकसमेतको सहभागितामा सहयोग रकम जुटाएका हुन् । विपद्का बेला स्थानीय तहले आफ्नो क्षेत्रभन्दा बाहिरका प्रभावित नागरिकका लागि सहयोग गर्ने क्रम बढेको छ । बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बाढीपीडितको उद्धार, घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको पुनःस्थापनामा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।


    कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले स्थानीय सरकारले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उनको भनाइ छ । कपिलवस्तुका अन्य चार स्थानीय तहले बाढी प्रभावितका लागि सहयोग गर्ने तयारी गरेका छन् । यसैगरी जिल्लाका उद्योगी, व्यवसायी, सामुदायिक वन, विद्यालय तथा समाजसेवीले समेत उद्धार कोषमा रकम जम्मा गरी सहयोग गर्ने क्रम जारी राखेका छन् । जिल्लाको अन्य संघ संस्था एवम् व्यपारी तथा व्यक्तिहरुले सहयोग गर्ने क्रम जारी नै रहेको छ ।

  • भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

    भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग


    सुनसरी, २२ भदौः घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्छु । कामअनुसार पारिश्रमिक पाइन्छ । वराहक्षेत्र नगरपालिका–५ की बबिता बस्नेत भन्छिन्, “प्लाइ उद्योग स्थापना भएदेखि नै यहाँ काम गर्दै आएकी छु ।” उद्योगले गाउँमै रोजगारी दिएपछि परिवारको आर्थिक आवश्यकता पूरा गर्न सहज भएको उनी बताउँछिन् । “यहाँ आएर काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा गाडीमा सामान राख्ने तथा झार्ने काम गर्छु । यहाँबाट कमाएको पैसाले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहयोग पुगेको छ”, उनले भने ।

    जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा भेनियर उत्पादनसँगै गाउँमै रोजगारी बढाउने उद्देश्यले २०८१ साल माघमा स्थापना गरिएको प्लाइउड उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो । उद्योगका व्यवस्थापन तथा लेखा प्रमुख दीपक रानामगरका अनुसार, स्थानीय रोजगारीका लागि उद्योग प्रभावकारी देखिएको छ । वराहक्षेत्र–५ कालाबन्जरमा ७२ कट्ठा जग्गा लिजमा लिएर रु एक करोड ५० लाख बराबरको लगानीमा सञ्चालित उद्योगमा हाल वराहक्षेत्रका ६० देखि ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    उद्योगमा अधिकांश श्रमिक महिला छन् । स्थानीयस्तरमा पुरुष श्रमिक पाउन कठिनाइ भएपछि महिलाको सङ्ख्या बढी रहेको मगरले बताए । उद्योगले दैनिक ८० हजारदेखि एक लाख स्क्वायरफिटसम्म भेनियर उत्पादन गर्दै आएको छ । श्रमिक रोशन चौधरी भन्छन्, “गाउँमै उद्योग खुलेपछि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको छ । यहीँ बसेर काम गर्न पाउँदा परिवारसँगै बस्न पाइएको छ । यहीँबाट कमाएको आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको छ ।”

    श्रमिकलाई कामअनुसार प्रतिघण्टाका दरले पारिश्रमिक दिने गरिएको छ । उत्पादन सुरु गर्दा दक्ष प्राविधिक जनशक्तिको अभाव भएपछि भारतबाट प्राविधिक ल्याएर मेसिन सञ्चालन गर्नुपरेको मगरले बताए । “अहिले नेपाली श्रमिकले पनि मेसिन सञ्चालनलगायतका काम सिक्दै गएकाले सहज भएको छ, हाम्रो चाहना यहीँका स्थानीयलाई रोजगार दिन सकौ भन्ने हो”, मगरले भने ।


    उद्योगले भेनियर उत्पादनका लागि उत्तिस, कटुस र केही चिलाउने जातका गोलिया काठ प्रयोग गर्दै आएको छ । आवश्यक काठमध्ये अधिकांश तेह्रथुमबाट ल्याइन्छ भने खोटाङ, भोजपुरलगायत पहाडी जिल्लाबाट पनि काठ ल्याउने गरिएको मगरले जानकारी दिए । गोलिया काठलाई मेसिनमार्फत पातलो तहमा काटेर भेनियर तयार गरिन्छ । तयार भेनियर इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुरलगायतका प्लाइउड उद्योगमा बिक्री हुँदै आएको छ । भारतको उत्तर प्रदेश, राजस्थान र सिलीगुडीसम्म पनि भेनियर पठाउने गरिएको मगरले बताए ।


    उद्योगले हाल वार्षिक रु पाँच करोड बराबर कारोबार गर्दै आएको छ । भेनियर उत्पादनका क्रममा निस्कने दाउरा, काठका टुक्रा तथा अन्य खेर जाने सामग्री बिक्री गरेर उद्योगले थप आम्दानी गर्दै आएको छ । ठूला दाउरा एक ट्रकको रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । यस्तै साना तथा सडेर जाने प्रकृतिका काठका टुक्रा प्रतिकिलो रु तीनदेखि पाँचसम्म बिक्री हुने गरेको उद्योगले जनाएको छ ।

  • मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

    मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा


    मुस्ताङ, २२ भदौः मुस्ताङको घरपझोङ गाउँपालिका–३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले परम्परागत रूपमा मनाउने फालो पर्व आइतबारबाट सुरु भएको छ । हरेक वर्ष भदौ महिनामा मनाइने भएकाले स्थानीय थकाली भाषामा यस पर्वलाई ‘फालो’ भनिन्छ । थकाली समुदायको उद्गमस्थलका रूपमा परिचित ठिनी गाउँ ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । स्थानीयका अनुसार थकाली राजाले शासन गरेको यस गाउँमा पुस्तौँदेखि फालो पर्व मनाइँदै आएको छ ।

    फालो पर्वका अवसरमा ठिनी गाउँमा दुई दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन् । पर्वको पूर्वसन्ध्यामा गाउँका लामाले प्रकृतिको विशेष पूजा गरेपछि स्थानीयवासीले उनीहरूबाट आशीर्वाद लिने परम्परा छ । प्रकृति पूजा गर्न जाने क्रममा स्थानीय महिलाले लामालाई खादासहित फूलमाला लगाएर सम्मानका साथ बिदाइ गर्ने परम्परा छ ।

    स्थानीय लामा श्यामप्रसाद थकालीका अनुसार फालो पर्वमा हिमाललाई साक्षात् भगवानका रूपमा मानेर पूजा गरिन्छ । गाउँमा कुनै अनिष्ट नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपत्ति नआओस् र विश्वमा शान्ति छाओस् भन्ने कामनासहित प्रकृति पूजा गरिने उहाँले बताउनुभयो ।

    पछिल्लो समय विपद्का घटना बढ्दै गएको र रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट ठूलो जनधनको क्षति भएको स्मरण गर्दै उहाँले यस्ता घटना नदोहोरिउन् भन्ने कामनासमेत प्रकृति पूजामा गरिने बताए । ठिनी गाउँका स्थानीयवासी फालो पर्वको पूर्वसन्ध्यामा घोडामा सवार भएर प्रकृति पूजाका लागि नमखुलेक क्षेत्रमा पुगेका छन् । पर्वमा सहभागी हुने लामालाई गाउँका महिलाले परम्परागत रूपमा सम्मानसहित बिदाइ गरेका छन ।

    प्रकृति पूजा गर्न गएको टोली दुई दिनपछि गाउँ फर्कनेछ । टोली फर्किएपछि मात्र फालो पर्व औपचारिक रूपमा सुरु हुने स्थानीय बताउँछन् । पर्वमा याक नाच, जोगी नाच, तमाया नाचलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ । दुई दिनसम्म सञ्चालन हुने पर्व धार्मिक विधि तथा परम्पराअनुसार समापन गरिनेछ ।

  • महिलाको सक्रियतामा तरकारीखेती

    महिलाको सक्रियतामा तरकारीखेती


    बागलुङ, २२ भदौः बागलुङ नगरपालिकाले ग्रामीण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले स्थानीय महिला तरकारीखेतीमा अग्रसर भएका छन् । बागलुङ नगरपालिकाका विभिन्न वडामा सञ्चालित ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत महिलाले ११२ रोपनी जग्गामा प्लाष्टिक टनेल तथा खुला जग्गामा तरकारी उत्पादन गर्न थालेका छन् । उनीहरूले गत आर्थिक वर्षमा रु ३० लाखको तरकारी उत्पादन गरी बजारीकरण गर्न सफल भएका हुन् ।

    बागलुङ नगरपालिका स्थानीय सङ्घसंस्थाको सहकार्यमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता कार्यक्रमअन्तर्गत महिला किसानले ६५ हजार ६६ किलो तरकारी उत्पादन गर्न सफल भएका हुन् । तरकारीको बिक्रीबाट रु ३० लाख पाँच हजार आम्दानी भएको परियोजनाका म्यानेजर ममिता पुनले जानकारी दिइन् ।


    पुनका अनुसार बागलुङ नगरपालिकाका–५ देखि १४ नम्बर वडासम्मको ७१ वटा तरकारी महिला समूह गठन भएका छन् । समूहमा एक हजार ७४३ घरपरिवार आबद्ध छन् । “नगरपालिकाको आर्थिक सहयोगमा परियोजनाको मुख्य उद्देश्य विपन्न, दलित तथा जनजातिसहितका परिवारलाई स्वावलम्बी समूहमा आबद्ध गराई कृषि तथा पशुपालनमार्फत आयआर्जन बढाउनु रहेको छ”, पुनले भनिन्, “७१ महिला समूहले प्लाष्टिक टनेलमार्फत तरकारीखेतीका लागि अनुदान दिइएको हो, उनीहरूलाई बीउबिजनदेखि कृषि उपकरण सहयोग गरी बचत गर्ने बानीको विकास गरिएको छ ।”

    परियोजनाले तरकारी उत्पादन तथा जलवायुमैत्री पशु व्यवस्थापन तालिम, प्लास्टिक पोखरी सहयोग, समूह व्यवस्थापन तथा सहकारी सुशासनसम्बन्धी तालिम, कृषि उपकरण तथा मिनिटेलर सहयोग गरिएको छ । यस्तै, मासु व्यवसायीलाई अभिमुखीकरण गरिएको छ । बानपा–१२ को ३० महिला परियोजनाअन्तर्गत तरकारीखेती, बाख्रापालनमा सहभागी भएको बागलुङ नगरपालिका–१२ तल्लो सराङ्गीका शर्मिला आचार्यले बताइन् ।


    परियोजनाअन्तर्गत हालसम्म ३६१ वटा बाख्रा तथा बोका वितरण गरिएको छ । जसमा ६१ वटा बीउबोका र ३०० वटा बीउपाठी रहेका छन् । किसानलाई वातावरणमैत्री खोर निर्माण, पशु बीमा, उन्नत बीउ, मल्चिङ प्लास्टिक तथा विभिन्न प्राविधिक तालिममा सहयोग गरिएको छ । परियोजनाअन्तर्गत पाँचवटा आधारशिला तालिममा १२८ जना, सातवटा जलवायुमैत्री पशु व्यवस्थापन तालिममा १४० जना र तरकारी उत्पादन तालिममा ५५ जना सहभागी भएका छन् ।

    समूहमा आबद्ध किसानले बचत तथा ऋण परिचालनसमेत गर्न थालेका छन् । समूहको बचत रु १२ लाख ८४ हजार ३८७ पुगेको छ । रु ११ लाख ६१ हजार १३० ऋण लगानी भएको परियोजनाले जनाएको छ । उक्त ऋण मुख्यगरी कुखुराका चल्ला तथा दाना खरिद र किराना पसल सञ्चालनमा लगानी गरिएको छ । बागलुङ नगरपालिकाले आत्मनिर्भर बागलुङ कार्यक्रमलाई कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि, व्यावसायीकरण र किसानको आयआर्जनसँग जोडेर निरन्तरता दिइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।