Category: समाचार

  • एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन

    एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन

    ३ असोज, पाटन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन् । आज बिहान ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उहाँहरूले आवश्यक जानकारी लिए । उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलोकनमा गएका थिए ।

    उनीहरुलाई कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिको जानकारी गराए । “एउटै समूहले योजनाबद्ध रूपमा क्षति पु¥याएको हो । पहिलो, दोस्रो र तेस्रो पटकसम्म उनीहरू आएर सामग्री लुटेर लगे, चौथोपटक आएर आगो लगाइदिए”, श्रेष्ठले भने ।

  • संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपिल

    संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपिल

    ३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्ने कार्यमा एकताबद्ध हुन अपिल गरेका छन् । संविधान दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै उहाँले देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै जारी भएको संविधान नेपाली जनता आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा भएको उल्लेख गरे ।


    अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा घुसपैठ भई हिंसा मच्चाउँदा युवाको ज्यान गएकामा दुःख व्यक्त गर्दै उनले तत्कालीन सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको स्पष्ट गरे । “प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु”, उनले भने, “यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईंहरूको सम्झनामा ताजै छन् । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।”

    अध्यक्ष ओलीले संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने गरी भूपरिवेष्ठित देशलाई भू–जडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचना बनाइरहेको र उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेको स्मरण गरे ।

    “हाम्रो सार्वभौमसत्ताको सामथ्र्य विस्तार गरेका थियौँ । हाम्रा विकास संरचनाका जग बसालेका थियौँ । अर्थतन्त्र तङ्गँ्रदै थियो”, वक्तव्यमा भनिएको छ, “यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ– नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैँ बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो रु वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ?

    यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैँ महसुस गर्नेछ । विदेश जाने र आउने विमानस्थलको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउनेछ । हाम्रो नयाँ पुस्ताले आफैँ बुझ्ने छ ।” अध्यक्ष ओलीले युवाले काजी भीम मल्ल देशको सिमाना विस्तार गरेर देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रहेको घटना पनि स्मरण गरे ।

  • जेन-जी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री

    जेन-जी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री

    ३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छिन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित मूल समारोहमा उनले संविधानको मर्म र भावनाबमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएकाले पनि यो आन्दोलनको जन्म भएको कुरालाई स्वीकार गर्नुपर्ने उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्, “यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो ।”

    जेनजी पुस्ताको आन्दोलन राज्यका तर्फबाट व्यक्त गरिएको प्रतिबद्धताअनुसारको सङ्घीय गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य, सुशासनलगायतका लोकतान्त्रिक मूल्यमान्यतामा खरो उत्रन नसक्नुको परिणाम पनि भएको उनको भनाइ थियो ।

    युवापुस्ताले उठाएका रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासजस्ता सवाल यथार्थमा नै सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय ‘एजेन्डा’ भएको उल्लेख गरे । यी एजेन्डालाई आत्मसात् गर्दै जनअपेक्षाबमोजिम काम गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। “पछिल्लो आन्दोलनले हामीलाई धेरै क्षेत्रमा सुधार गर्न मार्गनिर्देश गरेको छ । युवापुस्ता आफू शासकीय प्रणालीमा सहभागी हुन चाहन्छ । विकसित देशका सफल शासकीय अभ्यासलाई आफ्नो मुलुकमा देख्न चाहन्छ । नीतिगत तहमा आफ्ना विचार प्रतिविम्बित भएको हेर्न चाहन्छ”, उनले भनिन् । “यसर्थ, संविधान दिवसको यस अवसरमा म यो सरकारले युवा, महिला, बालबालिका, फरक क्षमता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेसी, थारू, पछाडि परेको वर्ग, समुदाय र सबै पुस्ताको भावना र अपेक्षालाई सम्बोधन गर्न दृढ सङ्कल्पका साथ निरन्तर काम गर्दै जाने विश्वास दिलाउन चाहन्छु ।”

    जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनःनिर्माण गर्नुपर्ने एवं व्यावसायिक प्रतिष्ठानमा पुग्न गएको क्षतिबाट देशलाई माथि उठाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विकासको संवाहकका रूपमा रहेको निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिइन् । यस सन्दर्भमा, क्षतिको पुनःनिर्माण र विकासको महाअभियानमा सहभागी हुन उनको सम्पूर्ण युवापुस्ता, राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, निजी क्षेत्र, विकास साझेदारहरू र आमनागरिकलाई आह्वान गरिन् ।


    प्रधानमन्त्री कार्कीले शासकीय शैलीप्रति जनताका असङ्ख्य गुनासा, आक्रोश र असन्तुष्टिहरू रहेको उल्लेख गर्दै ती असन्तुष्टिलाई एकैचोटि सम्बोधन गर्न कठिन भए तापनि वर्तमान सरकारले आफ्नो स्रोतसाधन र क्षमताले भ्याएसम्म ती समस्याको समाधान गर्न इमानदार प्रयास गर्ने विश्वास दिलाइन् । वर्तमान सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिबद्धता व्यक्त गर्दै नागरिक पनि आफ्ना कर्तव्यप्रति सचेत रहनु हुनेछ भन्ने विश्वास उनले व्यक्त गरिन् ।


    “नेपालको वर्तमान संविधान नेपाली जनताले पटकपटक गरेका जनआन्दोलन, सङ्घर्ष, त्याग र बलिदानबाट निर्माण भएकाले यो नेपाल र नेपालीको भाग्य, भविष्य र आकाङ्क्षालाई प्रतिविम्बित गर्ने मार्गदशक दस्तावेज हो”, प्रधानमन्त्री कार्कीले भनिन्, “सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता आधारभूत विशेषता अँगालेको नेपालको संविधान जारी भएको दिन हामी सबै नेपालीले गौरव गर्ने दिन पनि हो ।”

    संविधान दिवस केवल उत्सव मात्र होइन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिन पनि भएको बताउँदै उहाँले यो संविधान कार्यान्वयनमा आएको विगत एक दशकको अवधिमा संविधानले मार्गदर्शन गरेको यात्रामा के हासिल ग¥यौँ, के गर्न सकेनौँ, यसबीचमा के–कस्ता कमी कमजोरी रहे र आगामी दिनमा के–कस्तो कार्यदिशा आवश्यक छ भन्ने सवालहरूको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने स्थिति रहेको उल्लेख गरिन् ।


    “संविधानले सङ्घ, प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँट, जनताको पहुँचमा गुणस्तरीय र छरितो सेवा तथा स्थानीय नेतृत्वलाई सशक्त बनाउने आधार प्रदान गरेको छ । तथापि, सेवा प्रवाहमा समान पहुँच, पारदर्शिता, सुशासन, भ्रष्टाचारको अन्त्य, साधनस्रोत र प्रविधिको उच्चतम उपयोग, सार्वजनिक सेवाको लागतमा प्रभावकारिता, प्रतिफल सुनिश्चित हुने गरी विकास व्यवस्थापनजस्ता विषयहरू तीनै तहका सरकारका लागि साझा चुनौतीका रूपमा रहेका छन्”, उनले भनिन्, “यी चुनौतीहरू सामना गर्न सरकार मात्र होइन, निजी क्षेत्र, नागरिक समाज, सामुदायिक तथा गैरसरकारी क्षेत्र, नेपालको समृद्धि र विकासमा हातेमालो गर्ने अन्तरराष्ट्रिय समुदाय र प्रत्येक नागरिकको भूमिका अपरिहार्य हुन्छ ।”

    प्रधानमन्त्री कार्कीले आफूहरु कुनै शासकीय आकाङ्क्षा बोकेर, कुनै पदको लालचा लिएर प्रधानमन्त्री नभएको बताउँदै देश सङ्कटमा रहेको बेला परिवर्तनकामी युवापुस्ताको अनुरोधसमेतका आधारमा चुप लागेर बस्न नसकी सङ्क्रमणको व्यवस्थापन गर्दै नेपालको संविधानबमोजिम छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचनमार्फत जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी अन्तरिम सरकारको प्रधानमन्त्री भएको स्पष्ट पारिन् ।

    प्रधानमन्त्री कार्कीले २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनको जगमा निर्माण भएको नेपालको संविधानले विश्वलाई ‘नेपाली जनता आफ्नो भाग्य आफैँ कोर्न सक्षम छन्’ भन्ने सन्देश दिएको बताइन् । “अहिले हामीले संविधानमा परिवर्तनभन्दा पनि संविधानको मर्म र भावनाबमोजिमको कर्मको अझ बढी अपेक्षा गरेका छौँ”, उनले भनिन् । “त्यसका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो एवं भयरहित वातावरणमा सम्पन्न गरी युवापुस्तालगायत सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सिर्जना गर्नुपर्ने आवश्यकता छ ।”

    उनले संविधान दिवसका अवसरमा विगतका जनआन्दोलन र हालैको जेनजी आन्दोलनमा जीवनको आहुति दिने सबै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरे । साथै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा घाइते व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्ति र औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा हुन गएको अकल्पनीय र अपूरणीय क्षतिप्रति दुःख व्यक्त गरिन् ।


    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी, नेपालस्थित विदेशी नियोगका प्रमुखलगायत उपस्थित थिए ।

  • बजार झरे दशैंका लागि लेकाली भेडा–च्याङ्ग्रा

    बजार झरे दशैंका लागि लेकाली भेडा–च्याङ्ग्रा

    ३ असोज, म्याग्दी । दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ । मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बिहीबारसम्म एक हजार ३०० भेडाच्याङ्ग्रा काठमाडौँ पठाइएको र थप एक हजार ७०० पठाउने क्रममा रहेको जानकारी दिए ।


    “दसैँका लागि काठमाडौँ, पोखरा, चितवन र बुटवलका बजारमा आउने भेडाच्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा हो”, बीस वर्षदेखि भेडाच्याङ्ग्राको व्यापार गर्दै आउनुभएका श्रेष्ठले भन्नुभयो, “तातोपानी र रसुवानाका बन्द भएकाले ठूला सहरमा यसपालि मुस्ताङी भेडाच्याङ्ग्रामात्र झरेका छन् ।”

    मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ नामग्यालबाट चार सय ६५ वटा भेडाच्याङ्ग्रा पैदल हिँडाएर ल्याएको श्रेष्ठको टोली बिहीबार म्याग्दीको बैसरी आइपुगेका छ । डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढाले २५ दिनको पैदलयात्रा गरेर एक सय ६० वटा च्याङ्ग्रा बेच्न पोखरा हिँडेको बताए । “समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथि उचाइमा किसानले पालेका च्याङ्ग्रा ल्याएर बेच्न आएको हो”, उनले भने, “भिर, खोल्सा, साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्याएर बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो ।”

    डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा बेच्न र देशका विभिन्न सहरबाट आएका व्यापारीको जोमसोममा चहलपहल छ । मुस्ताङमा आकारअनुसार प्रतिगोटा रु ३२ देखि ३७ हजारमा च्याङ्ग्रा बिक्री भइरहेको छ । काठमाडौँ पुग्दा गत वर्षको दरमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ३०० का दरले बिक्री गरिने व्यवसायी श्रेष्ठले बताए । मुस्ताङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष दसैँमा डोल्पा र जुम्लाका तीन हजार तथा मुस्ताङका किसानले पालेका १२ हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर बजार पठाउने व्यवस्था मिलाएको केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि अर्यालले बताए ।


    चाडपर्वका अवसरमा जडीबुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन छ । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपभोगी मानिन्छ । मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले च्याङ्ग्रापालनबाट जीविकोपार्जन गरेको बताउनुभयो । उहाँले यसपालि ५० वटा च्याङ्ग्रा बिक्री गरेको बताउनुभयो । मुस्ताङी भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा हो । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडाच्याङ्ग्राको खपत बढी हुने गरेको छ ।

    मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । हिउँचितुवा र ब्याँसोको आक्रमणबाट बचाउनु च्याङ्ग्रापालक किसानको प्रमुख चुनौती हो । त्यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिएकाले भेडाच्याङ्ग्राको लागि आहराको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकताभन्दा बढी हिउँ पर्दा भेडाबाख्रा आहराको अभावमा मर्ने समस्या पनि छ ।

  • क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि संविधान : देउवा

    क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि संविधान : देउवा

    ३ हसोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताएका छन् । संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरे । यस अवसरमा सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।


    सन्देशमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई संविधान घोषणा भएको बताएका छन् । यो संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको एक दशक पूरा भएको यो ऐतिहासिक दिनलाई सबैले गौरवसाथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महसुस गर्दै प्रत्येक वर्ष हर्सोउल्लासका साथ संविधान दिवस मनाउँदै आएको उनको सन्देशमा उल्लेख छ ।

    उनले न्याय, समानता र स्वतन्त्रता एवं बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न पटकपटक भएका राजनीतिक एवं सामाजिक क्रान्ति, सङ्घर्ष र आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्ने महान् सपुतहरूप्रति संविधान दिवसको यस पावन अवसरमा उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् ।

  • संविधान दिवसमा बृहत शान्ति र्‍याली

    संविधान दिवसमा बृहत शान्ति र्‍याली

    ३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति र्‍याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) उक्त कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीविलगायत विभिन्न पेसा र व्यवसायसँग आबद्ध नागरिकको सहभागिता थियो । र्‍यालीमा सहभागीहरुले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    विस २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिँदै आइएको छ । र्‍यालीमा सहभागीहरुले समयसापेक्ष संविधानमा संशोधन र सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । आजै राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा संविधान दिवस मूल समारोहद्वारा अहिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस कार्यक्रम भइरहेको छ ।

  • एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

    एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

    ३ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    साथै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

    परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

    ३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको बताए ।


    उनले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गर्दै अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वान गरे । यही भदौ २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माओवादीको माग छ ।

    अध्यक्ष दाहालले भने, “मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो, त्यति हुँदाहुँदै पनि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन । भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो ।”

  • नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

    नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

    ३ असोज, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका हुन् ।


    राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताए । उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गरे ।

    राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने विश्वास व्यक्त गरे । हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई संविधानले समान संरक्षण प्रदान गरेको छ । उनले यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोहीकसैबाट नहुने अपेक्षा गरे ।


    विसं २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान दिवस (राष्ट्रिय दिवस) मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरे ।

    उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । साथै उहाँले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गरे ।

  • आज संविधान दिवस, देशैभरी सार्वजनिक बिदा

    आज संविधान दिवस, देशैभरी सार्वजनिक बिदा

    ३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

    नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
    विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका हुन् ।

  • अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे

    अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे

    ३ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन् । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका उनी आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाइँ सरेका हुन् । उनको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो ।

    गुन्डुस्थित निवासमा आज अध्यक्ष ओलीसँग पार्टीका महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गरे । एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

  • पालमुनिबाटै चल्यो सर्वोच्च अदालतको इजलास

    पालमुनिबाटै चल्यो सर्वोच्च अदालतको इजलास

    २ असोज, काठमाडौं । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्को तर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ ।

    सर्वोच्च अदालतको पूर्ण बैठकले जतिसुकै विषम् परिस्थितिमा पनि इजलास बस्ने निर्णय गरेसँगै आजदेखि सञ्चालन गरिएको हो । आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा एउटा र कुमार रेग्मीको इजलासमा दुई थान बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाइ भयो । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भइ भौतिक संरचना जलेपछि इजलास राख्ने ठाउँसम्म नहुँदा पालमुनि इजलास सुरु गरिएको हो ।

    “आगजनीले इजलास सञ्चालन गर्ने स्थान छैन,” सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, “सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायिक प्रक्रियालाई अगाडि बढाउन बन्दी प्रत्यक्षीकरणको मुद्दामा सनुवाइ अगाडि बढाउने निर्णयअनुसार आजदेखि पालमुनिबाटै इजलास सुरु गरिएको हो ।”

    गत भदौ ३१ गते दुई वटा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिएको थियो । सो निवेदनमाथि सुनुवाइ प्रारम्भ गरिएको हो । “सूचना प्रविधिको उपकरण, सवारीसाधन ठूलो मात्रामा क्षति भएको छ, क्षतिको तथ्याङक सङ्कलन भइरहेको छ” उनले भने, “सर्वोच्च, विशेष र जिल्ला गरी २३ अदालत भवनमा क्षति भएका छन्, केहीमा पूर्ण र केहीमा आंशिक क्षति भएका छन्, पूर्ण विवरण आउन बाँकी छ ।”

    अदालतको भौतिक संरचना जलेर नष्ट भएसँगै मुद्दाका मिसिल पनि जलेर नष्ट भएका छन् । पूर्णरूपमा क्षति भएका अदालतका मुद्दाका मिसिल पनि पूर्णरूपमै नष्ट भएका छन् । आंशिक क्षति भएका अदालतमा केही मुद्दाका मिसिल बाँकी छन् । प्रवक्ता कोइरालाले भने, “पूर्णरूपमा नष्ट भएका मिसिलको हकमा सर्वोच्च अदालतको पूर्ण बैठकले निर्देशिका बनाउने निर्णय गरेको छ, त्यो बन्ने क्रममा छ, सोहीअनुसार कुन पक्षबाट मिसिल लिने भनेर निर्णय गर्नेछ ।” सर्वोच्च अदालतमा चालु अवस्थामा करिब २६ हजार मुद्दा थिए ।

  • दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते

    दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते

    २ असोज, इनरुवा । यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने २२ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

    सो दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको थियो भने एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको उनले बताए । घाइतेहरुको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको प्रनाउ खतिवडाले जानकारी दिए ।

  • राजनीतिक परिवर्तनबाट भयवित शेयर बजार, तेस्रो सर्किट लाग्दै बजार १२ बजे नै स्थगित

    राजनीतिक परिवर्तनबाट भयवित शेयर बजार, तेस्रो सर्किट लाग्दै बजार १२ बजे नै स्थगित

    २ असोज, काठमाडौं । राजनीतिक परिवर्तनका कारण शेयर बजारका लगानीकर्ता भयवित देखिएका छन् । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले ओरोलो लागेपछि आजका लागि बजार बन्द भएको छ । कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो । नेपाल स्टक एक्सेचञ्ज लिमिटेडले बजार २० मिनेट बन्द गरेर पुनः खोलेपछि ११ः २३ मा पुनः दोस्रो सर्किट लाग्यो ।

    त्यसबेला बजार पाँच प्रतिशतले ओरालो लागेको थियो । दोस्रो सर्किट लागेपछि पुनः ४० मिनेट कारोबार बन्द गरियो । पुनः नेप्सेले १२ः०४ मा बजार खुला गर्दा नेप्से परिसूचक छ प्रतिशतले ओरालो लाग्यो । तेस्रो सर्किट लागेसँगै आजको कारोबार बन्द भएको हो । नेप्सेको अनुसार नेप्से परिसूचक १६० दशमलव ३३ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय ११ दशमलव ९१ मा सीमित भएको छ । सीमित समयमा कूल ७२ करोड ८७ लाख दुई हजार ८३० बराबरको कारोबार भएको छ । भदौ २३ र २४ को विषम परिस्थितिका कारण बन्द भएको बजार आज खुलेको थियो ।

  • सीके राउतको पार्टी जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाले दिए सामूहिक राजीनामा

    सीके राउतको पार्टी जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाले दिए सामूहिक राजीनामा

    २ असोज, काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले बुधबार पार्टी अध्यक्ष डा चन्द्रकान्त राउत र सङ्गठन विभाग डा जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गरेका थिए । माग पुरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिए ।


    “देशको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजिनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजीले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानकर्षण भएको छ”, राजीनामा पत्रमा भनिएको छ, “त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी हामी पार्टीबाट राजीनामा गर्दछौँ ।”

  • प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

    प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

    २ असोज, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरिन् । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराइन् ।


    यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरे । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताए । छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन

    तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन

    २ असोज, मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरला नाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यसम्पादन सोमबारदेखि सुरु गरिएको थियो । चीनतर्फ भन्सार जाँचपास गरी कोरला नाकाबाट हालसम्म १६१ विद्युतीय कारसहित ८५ मालवाहक मझौला कन्टेनर कोरला नाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँचपासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।


    चिनियाँ भन्सारबाट जाँचपास भई मुस्ताङ भन्सारमा जाँचपासका लागि रोकिएका ८५ कन्टेनरमध्ये हालसम्म ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको उनले बताए । यहाँबाट जाँचपास भईसकेका ४५ मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजस्व सङ्कलन भएको हो । मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चीनतर्फ निकासका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख खड्काले बताए । चीनतर्फ निकासी भएका सामान हस्तकलाका सामग्री हुन् ।

    चीनबाट आयात गरिएका दसैँ लक्षित मालवस्तु लोड गरिएका कन्टेनरमध्ये जाँचपास भइसकेका ४५ कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरिसकेको र जाँचपास हुन बाँकी ४० कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी चीनबाट आयात गरिएका १६० विद्युतीय गाडीको पनि भन्सार जाँचपास हुन बाँकी रहेको उनले बताए ।

    चीनबाट आयात गरी मुस्ताङ भन्सारमा जम्मा भएका कुनै पनि विद्युतीय गाडीको हालसम्म जाँचपास भइनसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । भन्सार कार्यालयमा सीमित कर्मचारी हुँदा भन्सार जाँचपासमा ढिलाइ भएको उनको भनाइ छ । बैंक तथा वित्तिय संस्थाले चीनबाट आयात हुने मालवस्तुको मुस्ताङ भन्सारमा जाँचपास तथा आयात वस्तुका लागि प्रतितपत्र एससी खोल्न पर्ने व्यवस्था गरिएको छ ।

  • भारतमा जुवा प्रतिबन्ध, खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

    भारतमा जुवा प्रतिबन्ध, खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

    एजेन्सी
    २ असोज, नयाँ दिल्ली । भारतमा अनलाइन जुवामा गरिएको प्रतिबन्धले सयौँ करोड प्रयोगकर्ताहरूलाई सेवा दिने अर्बौं डलरको उद्योग बन्द गराएको छ र राष्ट्रिय क्रिकेट टोलीको प्रायोजनसमेत प्रभावित पारेको छ । तर खेलाडीहरूको भनाइमा शर्त लगाउन अडिग मानिसहरूले विदेशी र अनियमित वेबसाइटतर्फ जाने बाटो फेला पारिरहेका छन् । यद्यपि नगदका लागि नभई पुरस्कारका लागि काल्पनिक खेल अनुप्रयोगका प्रशंसकहरू अझै पनि खेलिरहेका छन् ।

    काल्पनिक खेल खेल्ने विज्ञापन व्यवसायी आदर्श शर्माले भारतीय जुवाडेहरूले वैकल्पिक बाटो खोज्दा अपतटीय साइटहरूमा ‘अचानक उछाल आउने’ दाबी गरे । “एक पटक बनेको बानी सजिलै छोडिँदैन”, उनले भने, “यो लत हो र मानिसहरूले जुवाको बाटो फेला पार्छन् ।” गत महिना भारतीय संसद्ले अनलाइन जुवामा प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । सरकारी तथ्याङ्कअनुसार कम्पनीहरूले ४५ करोड मिलियन मानिसबाट वार्षिक दुई अर्ब ३० करोड डलर उठाइरहेका थिए ।

    अधिकारीहरूका अनुसार प्लेटफर्मको तीव्र विस्तारले आर्थिक सङ्कट, लत, आत्महत्या, धोखाधडी, मनी लन्ड्रिङ र आतङ्कवादलाई वित्तपोषणसम्म निम्त्याएको छ । कानूनलाई शीर्ष अनलाइन कार्ड गेम प्लेटफर्मले अदालतमा चुनौती दिएको छ । नयाँ कानुनअनुसार कार्ड गेम र काल्पनिक खेल वेबसाइट तथा एपहरू—भारतमा लोकप्रिय काल्पनिक क्रिकेटसहित—प्रतिबन्धित छन् । अपराधीलाई पाँच वर्षसम्म जेल सजाय हुने प्रावधान छ ।

    जुवाडेहरूले अब भर्चुअल प्राइभेट नेटवर्क ९भिपिएन० र प्रोक्सी क्रेडिट कार्डमार्फत विदेशी साइटमा पुग्नुपर्नेछ । यो सामान्य प्रयोगकर्ताका लागि कठिन भए पनि खेलाडीहरू यसबारे जानकार छन् । एक प्रशंसकले नाम नखुलाउने सर्तमा भने, “हामीले यो पहिले पनि गरेका थियौँ, फेरि गर्नेछौंँ पुराना तरिकामा फर्किन्छौँ ।”

    प्रविधिमन्त्री अश्विनी वैष्णवका अनुसार, नयाँ कानूनले कानूनी इस्पोर्ट्सलाई सुरक्षित राख्दै प्रयोगकर्तालाई झुटो नाफाको वाचा गरेर शोषण गर्ने सट्टेबाजी, जुवा र काल्पनिक नगद खेलहरूलाई मात्र लक्षित गरेको हो । विश्वकै सबैभन्दा ठूलो काल्पनिक खेल प्लेटफर्म ‘ड्रिम ११८’ (२६ करोड प्रयोगकर्ता) ले ‘नगद खेल बन्द गरिएको’ घोषणा गर्दै अब कार, फोन, फ्रिज जस्ता पुरस्कार दिने बताएको छ । यसले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) सँगको चार करोड ३० लाख डलरको सम्झौता पनि तोडेको छ, जसले भारतीय खेलाडीहरूको जर्सीबाट यसको लोगो हटाएको छ ।

    दिल्लीका कसाई जमशेद नूरले आफूले पाएको ठूलो जित श्रमिकको दैनिक ज्याला छ सय रुपैयाँ (करिब सात ७ डलर) भएको बताउनुभयो । “हामी क्रिकेटको प्रेमका लागि खेल्छौँ”, उनले भने, “पैसा आकर्षण थियो, तर अब नगद नभए पनि म खेलिरहन्छु ।” यस प्रतिबन्धले इन्डियन प्रिमियर लिग (आइपिएल) जस्ता आकर्षक प्रतियोगितासहित समग्र खेल उद्योगलाई झट्का दिने देखिन्छ ।

    एलारा क्यापिटलका करण तौरानीका अनुसार फ्यान्टसी प्लेटफर्महरू आइपिएल र विश्व क्रिकेटका सबैभन्दा आक्रामक विज्ञापनदातामध्ये पर्छन्, अब उनीहरूले विदेशी बजारतर्फ मोडिन सक्छन् । डि एन्ड पी एडभाइजरीका सन्तोष एनले यस वर्ष आइपिएल प्रसारण विज्ञापन आम्दानीको ४० प्रतिशतसम्म फ्यान्टसी स्पोट्र्स र क्रिप्टो प्लेटफर्मले ओगटेको अनुमान गर्नुभयो ।

    उहाँका अनुसार प्रतिबन्धपछि उनीहरूको व्यापार मोडेल जोखिममा परेको वा नष्ट भएको छ, जसले विज्ञापन खर्च कटौती गराउनेछ । यसले प्रत्यक्ष रूपमा प्रसारणकर्ताहरूको आम्दानी घटाउनेछ । “सन् २०२७ मा जब बिसिसिआईले मिडिया अधिकार नवीकरण गर्छ, प्रसारणकर्ताले पहिले जस्तो ठूलो रकम तिर्न नसक्ने भएकाले नवीकरण प्रिमियम कम हुनेछ”, सन्तोषले चेतावनी दिए ।

  • पहिरोले महाकाली राजमार्ग अवरुद्ध

    पहिरोले महाकाली राजमार्ग अवरुद्ध

    २ असोज, बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

    सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ । राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए । यसअघि मङ्गलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

  • प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

    प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

    २ असोज, भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका छन् । प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा ९ बाट कक्षा १२ सम्म यो शिक्षा लिने व्यवस्था गरिएको छ ।

    यहाँका पञ्चकन्या मावि च्याङ्ग्रे, यशोधरा मावि टक्सार, पञ्चकन्या मावि भुल्ने, सिद्धेश्वर मावि दावालगायत अधिकांश विद्यालयले प्राविधिक शिक्षा दिँदै आएका छन् । यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले शिक्षालाई व्यावहारिक र समय सुहाउँदो बनाउन प्रविधिमैत्री अभ्यासमूलक शिक्षणमा जोड दिँदै आएको बताए । यसले हरेक विद्यार्थीलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताए ।


    राज्यको नीतिअनुसार नै जिल्लाका अधिकांश माध्यमिक तहका सामुदायिक विद्यालयले व्यावहारिक शिक्षामा जोड दिएको प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए । “सामुदायिक विद्यालयले प्राविधिकसँगै व्यावहारिक शिक्षामा जोड दिँदै आएका छौँ”, उनले भने, “समयको आवश्यकताअनुसार प्राविधिक शिक्षामा जोड दिनु अपरिहार्य छ । यस्तो शिक्षाले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नेछ ।”

    पञ्चकन्या माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकराज भट्टराईले शिक्षालाई पराम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन प्रविधिमैत्री शिक्षामा जोड दिइएको बताए । बिस्तारै विद्यार्थीहरूमा प्रविधिक शिक्षाप्रति आकर्षण बढेको छ । केही समयअघि सार्वजनिक कक्षा १२ को नजितामा परीक्षामा सामेल भएका ६० विद्यार्थीमध्ये ४९ जना प्राविधिकधार र ११ जना साधारणधारतर्फका उत्तीर्ण भएको भट्टराईले बताए ।

    विद्यार्थीलाई अभ्यासका लागि विद्यालय परिसर तथा ‘लिज’मा जग्गा लिएर विभिन्न तरकारीखेती गरिएको छ । विद्याथीले अकबरे खुर्सानी, च्याउ, टमाटरखेती, आधुनिक तरिकाबाट धान, मकैखेती, माछापालन, काउली, एभोकाडो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यासमार्फत ज्ञान लिँदै आएका छन् ।

  • कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण

    कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण

    २ असोज, गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन्भने छवटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना पाल्पाको तथ्याङ्कअनुसार बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्डकको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको उक्त खण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना सुरु भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालोपत्र गर्न र पुलहरु निर्माणका लागि रु १४ अर्ब सात करोड खर्च भएको करिडोर आयोजनाका इन्जिनियर उत्सव बस्यालले जानकारी दिए ।


    आर्थिक वर्ष २०६६\६७ मा सुरु गरिएको आयोजना र २०८३\८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । रु २० अर्ब लागत अनुमान गरिएको उक्त २९३ किमी खण्डमा हालसम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ । इन्जिनियर बस्यालले हालसम्म १४५ किमी सडक सम्पन्न भएर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए । उक्त खण्डमा पहिराको ठेक्का व्यवस्थापन, शून्य दशमलव ४२ किमी सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको उनले जानकारी दिए ।


    करिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड चार जिल्ला र कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्ड दुई जिल्लामा फैलिएको रहेको छ । करिडोरको नवलपुरमा ७७ दशमलव ९७ किमी, पाल्पामा ८६ दशमलव २७ किमी, गुल्मीमा ४१ दशमलव ०६ किमी, बागलुङमा ३४ दशमलव ७० किमी, स्याङ्जामा १० किमी र पर्वतमा ४३ किमी पर्दछ ।

  • संविधान दिवस सरकारी स्तरमै मनाइने

    संविधान दिवस सरकारी स्तरमै मनाइने

    १ असोज, काठमाडौ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतमा जस्तै यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरी देशव्यापी रुपमा मनाइँदैछ । सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ ।
    राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा यही असोज ३ गते बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना हुने गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिए । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी विभिन्न झाँकीलगायतका कार्यक्रम कम हुनेछन् ।

    नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन भनी अघिल्लो सरकारले गत भदौ ८ गते संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरेको थियो । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान, २०७२ असोज ३ गते घोषणा भएको थियो ।

    संविधान जारी भई एक दशक पुगेको यस विशेष अवसरमा संविधान कार्यान्वयनपछिको अवस्था, उपलब्धि, कमीकमजोरी, झेल्नुपरेका समस्यालगायतका विषयमा व्यापकरुपमा वहस, छलफल तथा अन्तरक्रिया हुने भनिएकामा धनजनको अपुरणीय क्षतिसहित परिवर्तित घटनाक्रमका कारण प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

    यस दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्व, संविधानमा अन्तरनिहित पक्षहरुमा केन्द्रित भई प्रदेश र स्थानीय तहहरूमा समेत कार्यक्रम आयोजना हुनेछन् ।

  • पश्चिम नेपालको रुकुमपूर्व र बागलुङ सिमाना केन्दविन्दु भई गयो भूकम्प

    पश्चिम नेपालको रुकुमपूर्व र बागलुङ सिमाना केन्दविन्दु भई गयो भूकम्प

    १ असोज, काठमाडौं । रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर आज राति ८ः२५ बजे चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महशुस भएको थियो ।

  • जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

    जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

    १ असोज, काठमाडौं । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । प्रदेश कमिटीले आज माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलनमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, पत्रकार महासंघ काठमाडौँ, ललितपुर र भक्तपुरका अध्यक्षलगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

    जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।

  • मन्त्रीद्वयद्वारा मन्त्री आवास अवलोकन

    मन्त्रीद्वयद्वारा मन्त्री आवास अवलोकन

    १ भदौ, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले आज ललितपुर–१८ भैँसेपाटीस्थित मन्त्री निवासको अवलोकन गरेका छन् । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा मन्त्री आवासमा आगजनी भएको थियो । मन्त्री घिसिङले अवलोकनपछि तत्काल निर्माण गर्न सकिने संरचनाका लागि काम सुरु गर्ने प्रतिबद्धता जनाए । उनले भने, “मन्त्री निवासमा ठूलो क्षति भएको छ । अहिले हामी क्षतिको विवरण सङ्कलन गर्दैछौँ, प्रक्रियागत रुपमा सबै हिसाबले अघि बढिरहेका छौँ ।”

    भैँसेपाटीस्थित ९६ रोपनी १० आना क्षेत्रफलमा सङ्घीयमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा प्रतिनिधिसभाका उपसभामुखका लागि बनेका २७ वटा अत्याधुनिक सुविधा सम्पन्न भवन पूर्ण रूपमा जलेका छन् । यस्तै, २७ रोपनी १२ आना क्षेत्रफलमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेका सम्पर्क कार्यालयमा पनि आगजनी भएको छ । हाल भैँसेपाटीस्थित ती सङ्घीय मन्त्री आवास र प्रदेश सम्पर्क कार्यालय क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको छ । आवास क्षेत्रमा बस्ने परिवारका सदस्यलाई मात्र परिचयपत्र देखाएर प्रवेश दिइएको छ ।

  • मन्त्रीद्वय घिसिङ र अर्यालद्वारा प्रहरी अस्पताल निरीक्षण

    मन्त्रीद्वय घिसिङ र अर्यालद्वारा प्रहरी अस्पताल निरीक्षण

    १ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले आज महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरुले आज बेलुका त्यहाँ पुगेर अस्पतालको निरीक्षणसँगै गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । हाल सो अस्पतालमा १६ प्रहरी र एक जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ । जेनजीले गरेको प्रदर्शनका क्रममा हालसम्म ७४ जना युवाको मृत्यु भएको छ ।

  • पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

    पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

    १ असोज, काठमाडौं । आज पहिरोका कारण विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकोमा बिहान साढे ८ बजेबाट सञ्चालनमा आएको छ ।


    कर्णाली राजमार्गको ‎गगनेखोला क्षेत्रमा यसअघि पनि पटकपटक पहिरो गई राजमार्ग अवरुद्ध हुँदै आएको थियो । राजमार्गको सबैभन्दा बढी जोखिम ठाउँ पनि हो । अविरल वर्षाले खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । पहिरो पन्छाउन समय लाग्ने भएको छ ।

    त्यसैगरी, मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको थियो । मङ्गलबार साँझ ८ः५० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोला स्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । सडकखण्डमा पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अबरुद्ध भएको हो ।

    यस्तै पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि पहिरोका कारण सडक एकतर्फी भएको छ । नारायणगढ मुग्लिन सडकखण्डकै नाम्सी खोलामा पहिरो खसेको पहिरो पन्छाएर सडक दुइतर्फी सञ्चालन गरिएको छ । अहिले पनि सो क्षेत्रमा पानी परिरहेको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन । पहिरोलाई अहिले हटाउने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

  • आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, के छ महत्व ?

    आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, के छ महत्व ?

    १ असोज, काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

    आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् ।


    प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।


    यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ ।

    चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्राय : भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ । यसैले गर्दा अहिले वास्तु विद्याको महत्व बढेको छ ।

  • राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

    राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

    १ असोज, काठमाडौ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।
    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

    जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

  • कोराला नाका चल्दा व्यवसायी उत्साही

    कोराला नाका चल्दा व्यवसायी उत्साही

    १ असोज, म्याग्दी । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोराला नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालन हुन थालेको हो ।

    भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । बेनी, जोमसोम हुँदै कोराला नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दसैँको सामान लिन कोराला जाने क्रममा रहेको उनले बताए । “कोराला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरु उत्साही भएका छौँ”, उनले भने, “गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरालाबाट सामान ल्याउँदा सस्तो पर्छ ।”

    कोराला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दसैँका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरु बोकेका कन्टेनरहरु रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरालामा आएका बताए । समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोराला नाकामा प्रदेश सरकारले गतवर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको प्रमुख खड्काले बताए । नाकामार्फत चीनबाट एक सय ५१ वटा विद्युतीय गाडी आयात भएका छन् ।

    नेपालबाट भने मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन् । दसैँका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ । रसुवा नाका गत असार २४ गते आएको बाढी र पहिरोका कारण बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतमा ढिलाइ हुँदा तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ । दसैँको मुखमा कच्चापदार्थ र तयारी सामान नपाउँदा समस्यामा परेका उद्योगी र व्यापारीहरूलाई कोराला नाका सञ्चालन भएपछि राहत मिलेको छ ।