Category: समाचार

  • बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    १ असोज, काठमाडौं । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो ।

    अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो । बोर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

  • पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    १ असोज, भोजपुर । यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ । प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।

    बाघखोरका होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक दर्जनौँ पर्यटक यो क्षेत्रमा गरेका छन् । “सुन्तले–बाघखोर अहिले पर्यटकको रोजाइमा परेको गन्तव्य बनेको छ, भोजपुर आउने अधिकांश पर्यटक कम्तीमा एकपटक यो ठाउँमा आउने गर्छन् । यहाँको सुन्दरताले पर्यटकलाई लोभ्याउने गर्दछ”, उहाँले भन्नुभयो ।

    चिसो र स्वच्छ हावापानीमा रमाउँदै स्थानीय स्वादिलो परिकारको मजा लिन सकिने भएकाले पनि यो क्षेत्र पर्यटकका लागि लोभलाग्दो गन्तव्य बनिरहेको छ । तर, आवश्यक पूर्वाधारको अभावका कारण ठूलो सङ्ख्यामा पर्यटक आएमा व्यवस्थापनमा समस्या हुने गरेको तामाङ बताउनुहुन्छ ।

    भोजपुर–दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा सडक पहुँच सहज रहेको छ । सहरी व्यस्तताबाट टाढा केही समय शान्त वातावरणमा घुम्न चाहनेहरूका लागि यो उत्तम गन्तव्य हो । समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटर उचाइमा रहेको यो क्षेत्रबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशंकरलगायत हिमशृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर–खोटाङ सिमानाको चखेवाभञ्ज्याङको दृश्यावलोकन गर्न सकिन्छ ।

    पर्यटकलाई लक्षित गर्दै यहाँ भ्यू टावर तथा वनभोज स्थलको निर्माण गरिएको छ । यस क्षेत्रमा राई, शेर्पा र तामाङ समुदायको बसोबास छ । विभिन्न जातजातिका स्थानीय परिकार, रहनसहन र भेषभूषाले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । भोजपुर सदरमुकामबाट सुन्तले ठाउँ १० किलोमिटर र बाघखोर १२ किलोमिटर टाढा पर्छ ।

  • कर तिर्ने समय एक महिना थप

    कर तिर्ने समय एक महिना थप

    ३१ भदौ, काठमाडौं । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । “कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको छ । छिट्टै राजपत्रमा सूचना प्रकाशित हुन्छ”, उनले भने ।
    मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत कर हरेक महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

    यसपटक विषम परिस्थितिका कारण कर तिर्ने समय थपिएको जनाइएको छ । जेनजी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमबाट उद्योगी व्यवसायीहरूले तोकिएको समयमा कर तिर्न नपाएको भन्दै अर्थमन्त्री रामेश्वर खनाललाई आग्रह गरेका थिए । आज दिउँसो निजी क्षेत्रसँगको भेटका क्रममा अर्थमन्त्री खनालले कर तिर्ने समय एक महिना थप गर्ने आश्वासन दिएका थिए । यस्तै, सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गरिने पनि अर्थमन्त्री खनालले बताएका छन् ।

  • कर्मचारी कटौतीदेखि पुनर्निर्माणसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय

    कर्मचारी कटौतीदेखि पुनर्निर्माणसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय

    ३१ भदौ, काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ । आज यहाँ भएको बैठकले विद्यमान खरिद ऐन तथा नियमावलीले छिटो र सरल विधिबाट खरिद गर्न अप्ठ्यारो पर्ने देखिएमा ऐन नियमावलीको संशोधनको प्रक्रिया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय÷सार्वजनिक खरिद अनुगमन कार्यालयले तत्काल अगाडि बढाउने प्रस्ताव अघि सारेको छ ।

    बैठकले भनेको छ, “क्षतिग्रस्त संरचनाबारे प्रकोपपश्चात्को आवश्यकता मूल्याङ्कनका लागि राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा अघि बढाउन प्रस्ताव गर्नुपर्छ ।” सचिव बैठकले वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्ने जिम्मेवारी पाएको सन्दर्भमा तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा आम निर्वाचन गराउने कार्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको छ ।

    यस विषम परिस्थितिमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, खानेपानी, स्वास्थ्य उपचार, सार्वजनिक यातायात, खाद्यान्न तथा औषधि आपूर्ति, टेलिफोन, विद्युत्, न्याय सम्पादनलगायत अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन सम्बद्ध निकायहरूले तत्काल आवश्यक प्रबन्ध मिलाउने निर्णय गरिएको छ ।

    निर्णयमा भनिएको छ, “२३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति हुन पुगेका भौतिक संरचना, यन्त्र, उपकरण, सवारीसाधन, फर्निचर, सूचना प्रणालीलगायतको वास्तविक क्षति तथा नोक्सानीको यथार्थ विवरण सम्बन्धित मन्त्रालय÷निकायले तयार गर्नाका साथै क्षतिपूर्तिका लागि गर्नुपर्ने कार्यको विस्तृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय÷निकायले तत्कालकार्य प्रारम्भ गर्नेछ ।”


    यस्तै, हालको विषम परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने, सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने, कार्यालयले गर्ने राष्ट्रियस्तरका सबै गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रिया जस्ता कार्यक्रम सरकारी भवन तथा हलमा आयोजना गर्ने गराउने र प्रदेश तथा स्थानीय तहको हकमा समेत सोही अनुसार गर्न गराउन अनुरोध गर्ने निर्णय गरिएको छ ।

    बैठकले चालु आर्थिक वर्षमा स–साना रकम विनियोजन भएका आयोजना (टुक्रे आयोजना_ को हकमा दायित्व सिर्जना भइनसकेका आयोजना सबै मन्त्रालय तथा निकायले कार्यान्वयन नगर्ने र त्यस्ता आयोजनामा विनियोजित रकम क्षतिग्रस्त संरचनाको पुनःनिर्माण÷मर्मत सम्भार तथा यन्त्रउपकरण खरिदका लागि रकमान्तर÷स्रोतान्तर गर्ने निर्णय पनि गरेको छ ।

    आन्दोलनका क्रममा ध्वस्त भई नयाँ खरिद गर्नुपर्ने फर्निचरलगायतका सामान खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, ‘जेनजी’ युवा पुस्ताको चाहनाबमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रक्रिया चुस्त, मितव्ययी र प्रभावकारी बनाउन बाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिका तत्काल खारेजी वा संशोधनको प्रक्रिया अगाडि बढाउने र नागरिकलाई प्रत्यक्ष सेवा प्रवाह गर्नुपर्ने कार्यालयमा कर्मचारी दरबन्दी रिक्त रहेको भए सम्बन्धित कार्यालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल पदपूर्ति गर्ने बैठकले निर्णय गरेको छ ।

    सरकारले प्रदर्शनका क्रममा विभिन्न सरकारी निकाय, संस्थान र निजी घर तथा व्यावसायिक प्रतिष्ठानबाट चोरिएका÷लुटिएका सामान सम्बन्धित निकाय वा नजिकको प्रहरी चौकीमा फिर्ता बुझाउन सार्वजनिक आह्वान गर्ने निर्णय भएको बैठकपछि जारी विवरणमा उल्लेख छ ।

  • जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    ३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए ।

    आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो । सोही अनुसार, आज उनीहरूको सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ६ जनाको शव भने नेपाली सेनाले सम्बन्धित जिल्लामा लगेको छ ।

  • जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव जिल्लामा पुर्‍याइयो

    जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव जिल्लामा पुर्‍याइयो

    ३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्‍याइएको छ । यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै प्रदर्शनमा मृत्यु भएका व्यक्तिको शव घर ठेगानासम्म सरकारले पुर्‍याइदिने निर्णय गरेका थिए । प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

  • आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए प्रचण्ड, पार्टी कार्यालय सरसफाइ

    आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए प्रचण्ड, पार्टी कार्यालय सरसफाइ

    ३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको नेपाल कम्युनिष्ट माओवादी (माओवादी केन्द्र)को पार्टी कार्यालय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा सरसफाइ गरिएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको तीन तलामा छरपस्ट अवस्थामा रहेका फोहरलगायतका सामग्री एक ठाउँमा केन्द्रित गरिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

    त्यसअघि अध्यक्ष दाहालले क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन गरेका थिए । आगजनीबाट पार्टी कार्यालयमा रहेका फर्निचर, कम्प्युटरलगायत करिब रु एक करोड ३० लाख बराबरको सामग्री नष्ट भएको माओवादी केन्द्रले जनाएको छ । यही सोमबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि पार्टी कार्यालयको सरसफाइमा जुटेका थिए । भ्रष्टाचार नियन्त्रणलगायत सुशासनका पक्षमा भएको जेनजी प्रदर्शनका क्रममा माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।

  • निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

    निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

    ३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा छन् ।

    अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको हो । “चुनाव र पुनःनिर्माणका लागि केही बजेट चाहिन्छ । त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन–कुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको हो”, प्रवक्ता पाण्डेयले रासससँग भने, “बजेटका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्छ । त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।”

    सोमबार कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमा राजनीतिक दबाबमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताएका थिए । सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै निर्वाचन र पुनःनिर्माणका लागि करिब रु एक खर्ब बराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो ।

  • गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

    गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

    ३१ भदौ, चितवन । चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए । तीमध्ये दुई जनाबाहेक अरू सबै भागेका थिए । कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ । जसमध्ये ६० जना सम्पर्कमा छैनन् ।

    गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ । सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरुको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ । गैँडा तस्करीमा लागेकाहरु पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रुपमा लिएको छ ।

  • ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब

    ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब

    एजेन्सी
    ३१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ) मा प्रमुख नीतिगत बिषयमा छलफलका लागि बैठक सुरु हुनुभन्दा एक दिन पहिले बैङ्कमाथि दबाब बढाउँदै व्यापक ब्याजदर कटौतीको लागि सोमबार आह्वान गरेका छन् । आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म)मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अहिले नै ब्याजदर घटाउनुपर्ने बताए । उनले पावेलले दर घटाउन ‘धेरै ढिलो’ भएकोे भन्दै हालैका दिनहरूमा बारम्बार चर्चा गर्दै आएका छन् ।

    फेडले बुधबार आफ्नो दुई दिने बैठकको अन्त्यमा प्रमुख ऋण दर २५ आधार बिन्दुले घटाउने अपेक्षा गरिएको छ र सबैको नजरले भेलापछि आउने पावेलको घोषणालाई पर्खिरहेका छन्। दरदर घटाउने कदमले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकालाई रोजगार बजार कमजोर भइरहेको अवस्थामा आर्थिक प्रोत्साहन दिनेछ । लामो समय रोजगार बजार कमजोर हुँदा मन्दीको डरलाई बढावा दिन्छ।

    यो २०२५ को पहिलो दर कटौती हुनेछ, किनकि फेडले सन् २०२४ डिसेम्बरमा अन्तिम कटौतीपछि ब्याज दरहरू स्थिर राखेको छ । अधिकारीहरूले राष्ट्रपति ट्रम्पको व्यापक कर वृद्धिको घोषणाको प्रभावले मुद्रास्फीतिमा योगदान गर्नसक्ने भन्दै आफ्नो मौद्रिक नीतिलाई पर्ख र हेरको अवस्थामा निगरानी गरिरहेका थिए।

    अमेरिकी मुद्रास्फीति केन्द्रीय बैङ्कको दीर्घकालीन दुई प्रतिशतको लक्ष्यभन्दा उल्लेखनीय रूपमा माथि रहेको छ । कर वृद्धिको प्रभाव अहिलेका लागि सीमित हुने देखिएको छ । यसले नीति निर्माताहरूलाई श्रम बजारलाई बढावा दिन केही ठाउँ दिन्छ, किनकि, उनीहरू स्थिर मूल्य कायम राख्ने र अधिकतम रोजगारीको बीचमा कसिलो डोरीमा हिँड्छन्।

    बैठक सुरु हुनुभन्दा केही घण्टा अघि आएको राजनीतिक दबाबले नियुक्तिका लागि करिब पक्का भएको बैङ्कको ‘ह्वाइट हाउस काउन्सिल अफ इकोनोमिक एडभाइजर’का अध्यक्ष स्टेफन मिरानसँगको बैठकबारे चिन्ता सिर्जना गरेको छ । अमेरिकी सिनेटमा सोमबार उहाँको मनोनयन अघि बढाउन मतदान हुँदैछ ।

  • विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

    विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

    एजेन्सी
    ३१ भदौ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार गाजा पट्टीमा करिब दुई वर्षको आक्रमणका कारण इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान लागेको र आत्मनिर्भर बन्न आवश्यक रहेको बताएका छन् । जेरुसेलममा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै नेतान्याहूले मिडिया र सामाजिक सञ्जालमा इजरायल विरोधी बहसलाई दोष दिँदै भने, “इजरायल एक प्रकारको एक्लोपनमा प्रवेश गरिरहेको छ ।” “हामी अनुसन्धान र विकासमा मात्र होइन तर वास्तविक उत्पादनमा पनि आफैंलाई यस्तो अवस्थामा फेला पार्नेछौँ,” उनले भने ।


    उनले भने, “इजरायलले मुख्यतया हतियार उद्योगलाई ध्यानमा राख्दै नयाँ अलगावलाई अनुकूलन गर्न र आफ्नै उत्पादन क्षमताहरू विकास गर्न आवश्यक छ। हामी यस्तो अवस्थामा पुग्न सक्छौं जहाँ हाम्रा उत्पादनहरू निर्यातका लागि बन्द हुनेछन्।” उनले थपे “हामीले यहाँ हतियार उद्योग विकास गर्नुपर्नेछ । हामी एथेन्स र सुपर–स्पार्टा हुनु पर्छ।”

    “इजरायलको अन्तर्राष्ट्रिय अवस्था परिवर्तन हुँदैछ”, उनले चेतावनीको स्वरमा भने, “यसले हामीलाई आर्थिक प्रतिबन्धको सुरुवात र हतियार र हतियारका पार्टपुर्जाहरू आयात गर्ने समस्या निम्त्याउनेछ।” विपक्षी नेता याइर लापिडले नेतान्याहूको टिप्पणीलाई ‘एक अर्थहीन टिप्पणि’ को रूपमा निन्दा गरे । उनले भने, “अलगाव ‘नेतान्याहू र उनको सरकारको असफल र त्रुटिपूर्ण नीतिहरूको परिणाम हो।”

    स्पेनले इजरायलको सबैभन्दा ठूलो निजी स्वामित्वको रक्षा कम्पनी एल्बिट सिस्टम्सबाट रकेट लन्चर खरिद गर्न करिब ७० करोड युरोको सम्झौता रद्द गरेको छ । गाजा युद्धका बीच स्पेनले यसै महिना रद्द गरेको यो दोस्रो इजरायली हतियार सम्झौता हो । गाजामा इजरायलको आक्रमणले ६४ हजार भन्दा बढी व्यक्तिको ज्यान लिएको छ भने प्यालेष्टिनी भूभागलाई तहसनहस पारेको छ । त्यहाँ भोकमरी निम्त्याएको छ। गाजा द्वन्द्वको समयमा अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्भावित उल्लङ्घनको चिन्तालाई उद्धृत गर्दै धेरै राष्ट्रहरूले सन् २०२३ अक्टोबरदेखि इजरायलसँग हतियार व्यापार घटाएका छन् वा स्थगित गरेका छन्।

  • आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

    ३१ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनुका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

    साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

    ३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा मुद्रास्फीति घटेको छ । गत आवको साउन महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ०९ प्रतिशत थियो ।

    राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव २८ प्रतिशतले ऋणात्मक देखिएको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने तीन दशमलव ९५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः छ दशमलव १७ प्रतिशत र दुई दशमलव ९४ प्रतिशत थियो ।

    गत साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ९७, गैर–मदिराजन्य पेय पदार्थको चार दशमलव ६४ प्रतिशत र फलफूलको तीन दशमलव ०१ प्रतिशतले बढेको छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै १८ दशमलव ५६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । मरमसलाको चार दशमलव ८१ र माछा तथा मासुको दुई दशमलव ४१ प्रतिशतले घटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ६०, शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ८४, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ०६ र सुर्तीजन्य पदार्थको चार दशमलव ६८ प्रतिशतले बढेको छ ।

    बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २२ प्रतिशतले घटेको छ । गत साउनमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ६५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ७० प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ८४, मधेस प्रदेशको एक दशमलव ८६, बागमतीको एक दशमलव ६७, गण्डकी एक दशमलव ०३, लुम्बिनी को एक दशमलव ३५, कर्णालीको एक दशमलव ७९ र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ३१ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार गत साउनमा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव २६, तराईको एक दशमलव ३३, पहाडको एक दशमलव ५६ र हिमालको दुई दशमलव ५९ प्रतिशत रहेको छ ।

  • २८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

    २८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

    ३१ भदौ, काठमाडौं । देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चार दशमलव आठ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत साउन मसान्तमा दुई दशमलव सात प्रतिशतले वृद्धि भई २० अर्ब तीन करोड पुगेको छ ।

    कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत साउन मसान्तमा चार प्रतिशतले वृद्धि भई रु २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकामा गत साउन मसान्तमा १२ प्रतिशतले वद्धि भई रु दुई खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ ।

    गत साउन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव चार प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २० दशमलव चार महिनाको वस्तु आयात र १६ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    समीक्षा अवधिमा चालु खाता रु ७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३३ अर्ब आठ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु एक अर्ब चार करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु २२ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु ८० करोड रहेको थियो ।

    सो अवधिमा शोधनान्तर स्थिति रु ८९ अर्ब ३० करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ । रासस

  • कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

    कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

    ३१ भदौ, मुस्ताङ । यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात गरिएका छन् । भन्सार विभागको प्रक्रिया पु¥याइ चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन् । मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिव ५०० बढी बीवाइडी कम्पनीका सवारी आयात गरिने जनाएको छ । आठ दिन अघि मात्रै खुल्ला गरिएको यस नाकाबाट हालसम्म १०० बढी विद्युतीय सवारी भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।


    यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने तयारी थियो । तर, त्यहाँका नाका बाढी पहिरोका कारण अवरुद्ध भएपछि कोरलानाका वैकल्पिक रूपमा प्रयोग गरिएको हो । “भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट ५०० भन्दाबढी ईभी ल्याउने जनाइएको छ,” उनले भने, “चिनियाँ भन्सारमा जाँचपास भएपनि नेपाली भन्सारले पनि जाँचपास गर्छ ।”


    चीनबाट आयात गरिएका विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन प्रमुख समस्या रहेको मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए ।
    यस नाकाबाट गाडीसहित पर्व लक्षित लत्ता कपडा, विद्युतीय र कस्मेटिक सामग्री आयात गर्ने तयारी गरिएको छ । चिनियाँ भन्सारमा जाँचपास भई नेपाल भित्रिएका केही मझौला मालवाहक कन्टेनर न्हेचुङ आइपुगेका छन् । मालवस्तु ढुवानीका लागि ७० देखि ८० वटा मझौला कन्टेनर बेनी–जोमसोम–कोरला सडक हुँदै कोरलानाका आइपुगेको भन्सार प्रमुख खड्काले बताए ।

  • मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

    मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

    ३१ भदौ, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

    उनले आज जारी गरेको सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ ।”

  • जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

    जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

    ३१ भदौ, काठमाडौं । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
    नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले सहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।


    यसैगरी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिको सम्मानमा आगामी असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय भएको छ । सरकारले सहिदका परिवारलाई क्षतिपूर्तिबापत नियमित दिँदै आएको रु १० लाख र अन्य खर्चबापत थप रु पाँच लाख थप गरी रु १५ लाख सहयोग गर्ने निर्णय गरेको उनले बताए । उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई प्रदान गरिने छ ।

    बैठकले घाइतेको निःशुल्क उपचार, शव सम्बन्धित स्थानमा लैजानुपरेमा निःशुल्क व्यवस्था र दाहसंस्कारमा सघाउने निर्णय गरेको छ । बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षति र ज्यादतीको छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए । सोही आयोगको प्रतिवेदनका आधारमा आवश्यक काम गरिने उनको भनाइ छ ।

    यसैगरी सहादत प्राप्त गर्ने सहिदको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय भएको छ । बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा पेस भएका तर निर्णय नभएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णयसमेत गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।

  • ऊर्जामन्त्री घिसिङ्द्वारा पदभार ग्रहण, उद्योगको बक्यौता उठाउने निर्णय

    ऊर्जामन्त्री घिसिङ्द्वारा पदभार ग्रहण, उद्योगको बक्यौता उठाउने निर्णय

    ३० भदौ, काठमाडौं । नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए । ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाएका उनले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताए । अब निर्माणको अभियान सुरु भएको उल्लेख गर्दै उनले विभिन्न्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र पछिल्लो जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।


    पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङको भनाइ थियो । उनले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताए । “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उनले भने, “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो ।” मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने समेत उल्लेख गरे ।
    आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुसँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार गरेका हुन् । उनले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरे ।

  • अर्थमन्त्री खनालले गरे पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

    अर्थमन्त्री खनालले गरे पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

    ३० भदौ, काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उहाँले बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकिकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरे । आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले बजेटको कार्यान्वयन गर्न आयोजना प्रथामिकिकरणका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरे ।

    उनले बजेटमा समावेश भए पनि पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरे । आवधिक योजनाअनुसार आयोजना बजेटमा परे नपरेको यकिन गर्ने र प्राथमिकतामा नपरेका टुक्रे आयोजना पहिचान गरी खर्च कटौती गर्ने समेत उल्लेख गरे । “अब निर्वाचन गर्नुपर्नेछ, युवाका माग पू्रा गर्नुपर्ने अवस्था पनि भएकाले खर्च कटौती गर्नु परेको हो”, उनले भने । अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्ने पनि बताए ।

  • जेन-जी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

    जेन-जी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

    ३० भदौ, काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन् । मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरे ।

    आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार रु एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए ।

    मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरे ।

  • मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीले लिए शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीले लिए शपथ

    ३० भदौ, काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराए । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाइ आइतबार साँझ नियुक्त गरेका हुन् ।


    नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् ।


    खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुन् । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् । घिसिङले प्राधिकरणको जिम्मेवारीबाट हटेपछि नागरिकका आवाज उठाउँदै आएका थिए । अधिवक्ता अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको अयोग्यतासम्बन्धी मुद्दामा पुनरावेदन हालेपछि उनी चर्चामा आएका थिए ।

    नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबारमा पदबहाली गरेका छन् ।
    सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।

    ‘जेनजी’ समूहको आन्दोलन र उत्पन्न परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

  • संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह

    संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह

    ३० भदौ, काठमाडौं । सङ्घीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना जारी गरी सङ्घीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो । सचिवालयले भनेको छ, “उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ–सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।”

  • ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

    ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

    ३० भदौ, फुङ्लिङ । विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश राईले बता्रए ।

    मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ गतेसम्म फुङ्लिङ, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकासहितका विद्यालयमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र आर्ट प्रतियोगिता आयोजना गरिएको थियो । ताप्लेजुङका दश वटा विद्यालमा रेडपाण्डा इकोक्लब सञ्चलनमा छन् । क्लबको सक्रियतामा रेडपाण्डा संरक्षण र महत्वका विषयमा विभिन्न कार्याक्रमको आयोजना गरिएको हिमाली संरक्षणमञ्च संस्थाका सचिव विवश केदेमले बताए ।

    हिमाली संरक्षण मञ्चका अनुसार, विद्यार्थीलाई रेडपाण्डा संरक्षणप्रति सचेत बनाउने उद्देश्यले विभिन्न प्रतिस्पर्धामूलक कार्यक्रम आयोजना गरिएको हो । जिल्लामा लामो समयदेखि रेडपाण्डा संरक्षणका कार्यक्रम सञ्चालन भएसँगै रेडपाण्डाको सङ्ख्यासमेत वृद्धि आएको हिमाली संरक्षण मञ्चले जनाएको छ । जिल्लामा करिब ७७ देखि एक सय ३४ रेडपाण्डा छन् ।

  • आजको मौसम पूर्वानुमानः देशभर वर्षा

    आजको मौसम पूर्वानुमानः देशभर वर्षा

    ३० भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।


    त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    सिबी अधिकारी/रासस

    ३० भदौ, काठमाडौं । जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गर्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देर्खिए । तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उनी उत्तिकै आशावादी छन् । रसिलो आँखा पार्दै उनले भने, “यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन । पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु ।”

    सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ । धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनःनिर्माण पर्खिरहेका छन् । आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन् । सिंहदरबारको तस्बिर कैद गरिरहनुभएकी कानुन व्यवसायी देवमाया घिमिरेले भने, “सिंहदरबार जलेको दृश्यले मन जलायो । हृदय भारी भयो । भवनको तस्बिर कैद गर्दा आफैँलाई बिझेजस्तो भयो । यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन ।”

    अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ । सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन् । कैयौँका आँखा रसाएको हुनुपर्छ । जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो । अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए । तस्बिर कैद गर्दा अधिकांशमा मौनता देखिन्थ्यो ।

    आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा चहलपहल थियो । बाक्लो सङ्ख्यामा कर्मचारी एवं अन्य व्यक्तिहरु सिंहदरबार अवलोकन गरिरहेका थिए । सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछकी भन्ने चिन्ता छ । उनी भन्छन्, “सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो । यो देख्दा अत्यन्तै दुःख लागेको छ । यो ‘रिनोभेट’ गर्न नसकिने त हैन । मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ । फेरि आशा गरौँ सिंहदरबार उठ्नेछ ।”

    गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माणपछि निकै आकर्षक देखिएको थियो । सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनःनिर्माणपछिका दृश्य सम्झिँदै थपे, “धेरै राम्रो भएको थियो । अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ । नेपाल आफैँले ठूलठूला पूर्वाधार बनाउन कठिन छ । बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो । अहिले यो दृश्यले भावुक बनायो ।”

    सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताए । “एकदम दुःखदायी अवस्थामा देखियो । अत्यन्तै भावुक र चिन्तित बनायो । देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो । सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउदा उपयुक्त हुन्छ”, उनले भने ।


    पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताए । उनले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताए । सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो । सिंहदरबारभित्रै काम गर्ने उहाँले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाए ।


    यो राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा रु २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो ।

    विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरु तथा युरोपेली शैलीका चित्रकलाहरुले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरु युरोपबाट मगाइएको थियो ।

    आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन् । आशा गरौँ सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरी पनि उभिनेछ सिंहदरबार । जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन् ।

  • पुनःर्निर्माणमा  निःशुल्क प्राविधिक सहयोग गरिने

    पुनःर्निर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

    ३० भदौ, काठमाडौं । देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्याङ्कन र पुनःनिर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिए । “विसं १९९० र २०७२ मा गएको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनालाई नेपाली प्राविधिक जनशक्तिको परिश्रम, मेहनत, विज्ञता र दक्षताबाट पुनःनिर्माण गर्न ठूलो योगदान रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिन चाहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

    एशोसिएसनले विद्यमान जटिल र कठिन परिस्थितिमा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र नेपाल बार एशोसिएशनको भवनको आज प्रारम्भिक निरीक्षण गरी मूल्याङ्कन सुरु गरेको एशोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए । उक्त अभियानमा क्षतिग्रस्त भौतिक संरचनाको तत्काल अवलोकन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता जाँच वैकल्पिक व्यवस्थापन तथा पुनःनिर्माणको सम्भाव्यता अध्ययन एवं मूल्याङ्कन हुने अध्यक्ष बरालले बताए । उनले उक्त अभियानमा जोडिन सम्पूर्ण इञ्जिनियरलाई आग्रहसमेत गरे ।

  • जेन-जीको सुदन गुरुङ समूह कार्कीको राजिनामा माग्दै वालुवाटारमा

    जेन-जीको सुदन गुरुङ समूह कार्कीको राजिनामा माग्दै वालुवाटारमा

    ३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति यो समूह असन्तुष्ट रहेको बताइएको छ । युवाहरुले मध्यराति बालुवाटारमा नाराबाजी गरेका छन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका थिए । जेन–जी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले यो समूहमा रहेका थिए । उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाए ।


    सुदन गुरुङले ‘जनता पावरफुल हो, कसैले हामीलाई रोक्न सक्दैन, जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु,’ भन्ने अभिव्यक्ति समेत दिएका छन् । सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् । कार्कीले आइतबार तीन मन्त्री नियुक्त गरेको बताइएको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याल गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङ ऊर्जा मन्त्री नियुक्त भएको समाचार सार्वजनिक भएपछि यो समूह आक्रोसित बनेको हो ।

  • सुमनाले किन छाडिन् रास्वपा ?

    सुमनाले किन छाडिन् रास्वपा ?

    ३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’ पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको बताएकी छिन् ।

    उनले आफूलाई यस्ता गतिविधि स्वीकार्य नभएकोले पार्टी छोडेको पनि बताएकी छिन् । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?,’ उनले भनेकी छन् , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ?’ पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको भनाइ छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ’, उनले भनेकी छन् ।

    सुमना यसअघि रास्वपाको सह–महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । तर, सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएको बताएकी थिइन् । समानुपातिकबाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री पनि भएकी थिइन् । सुशीला कार्की नेतृत्वको क्याबिनेटमा उनी मन्त्री बन्ने हल्ला पार्टीभित्रैबाट चलेपछि उनले आफू त्यस दौडमा नरहेको बताएकी छिन् । जेनजी विद्रोहीसँग निरन्तर सम्पर्कमा रहेकी सुमना प्रधानमन्त्री कार्कीको शपथग्रहणमा सामेल पनि भएकी थिइन् ।

  • जेलबाट भागेका तीन हजार ७२३ कैदीबन्दी पक्राउ

    जेलबाट भागेका तीन हजार ७२३ कैदीबन्दी पक्राउ

    ३० भदौ, काठमाडौं । यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।


    उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहेको उल्लेख गरे । कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उहाँले सबैमा अनुरोध गर्नुभयो ।

    १३९ थुनुवा फर्किए, दुई हजार १०० फरार

    सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार अझै दुई हजार १०० थुनुवा फरार छन् । फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । तोडफोड, आगजनी र प्रदर्शनका कारण कैदीबन्दीहरू यही भदौ २४ गते भागेका थिए ।

  • आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

    आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

    २९ भदौ, काठमाडौं । ‘जेनजी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन् । भवनभित्रका दुई ठूला कक्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा जडान भएका सबै फर्निचर, क्यामरा, ‘साउन्ड सिस्टम’, उपकरण, ‘सर्भर’, टेलिभिजन स्क्रिनसहितका सबै सामान जलेर खरानी भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, “बानेश्वरको संसद् भवनको सबै संरचना जलेर नष्ट भएको छ । कुनै पनि समान सग्लो छैन । त्यहाँ कुनै सामान पनि पहिचान गर्नसमेत नसकिने गरी खरानी भएका छन् ।”

    सभाकक्षमा जडान गरिएका महत्त्वपूर्ण सामग्री जलेर खरानी भएकाले ती कुनै पनि वस्तु पहिचान गर्न नमिल्ने अवस्था छ । भवनभित्र दुवै सभा र वरपर अन्य कक्षको छत खसेको छ । संसद् बैठकका लागि निकै महत्त्वपूर्ण मानिएको ‘सर्भर’को कुनै पहिचान नै नरहने गरी नष्ट भएको छ । सभामुख र राष्ट्रियसभा अध्यक्षका दुवै कार्यकक्ष पूर्ण रूपमा जलेका छन् । ठाउँठाउँमा भवनको कम्पाउन्ड भत्काइएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबाट प्रतिनिधिसभा विघटन भए पनि अधिवेशन चालु नै रहेको राष्ट्रियसभाको बैठक त्यहाँबाट सञ्चालन हुन सक्ने अवस्था देखिन्न ।

    सिंहदरबारस्थित सङ्घीय संसद्का दुवै भवन भने यथावस्थामा छन् । विभिन्न समितिका स–साना घर पनि सुरक्षित अवस्थामै रहेको पाइयो । त्यहाँ भौतिक संरचनामा कुनै क्षति पुगेको छैन, तर नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको कार्यालय भने पूर्ण रूपमा क्षति भएको छ ।

    केही सवारीसाधन जलेका छन् । संसद् सचिवालयका चारपाङ्ग्रे १३ वटा, दुईपाङग्रे ४० भन्दा बढी सवारीसाधन जलेको प्रवक्ता गिरीले जानकारी दिए । तीमध्ये ३० वटा पूर्ण क्षतिग्रस्त भएका छन् । केही सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थाका पनि छन् । देशकै महत्त्वपूर्ण दस्तावेज रहेको संसद् सचिवालयको पुस्तकालय भने जोगिएको छ । जनप्रतिनिधिमूलक संस्था संसद् कानुन निर्माण, सरकारका कामको निगरानीलगायत काम गर्दै आएकामा प्रतिनिधिसभा विघटनपछि त्यस मातहतका संसदीय समिति निष्क्रिय छन् । राष्ट्रियसभा स्थायी सदन भएकाले अधिवेशन चालु अवस्थामा छ ।

    हाल सचिवालयले आन्दोलनबाट भएको क्षति मूल्याङ्कन र यसअघि गर्दै आएको दैनिक सेवा प्रवाहका काम भइरहेको पनि प्रवक्ता गिरीले बताए । उनले भने, “संसद् सचिवालयले नियमित कार्य गरिरहेको छ, सेवा दिइरहेकै छ । प्रतिनिधिसभा नभएपछि क्षतिको मूल्याङ्कन, पुनःनिर्माण योजनाबारे छलफलमा छौँ ।”
    प्रतिनिधिसभा विघटन भएसँगै त्यहाँ उत्पत्ति भएका ३० वटा विधेयक निष्क्रिय भएका छन् । नागरिकतासम्बन्धी विधेयक भने पारित गरेकाले सभामुखबाट प्रमाणित भएकाले राष्ट्रपतिसमक्ष पठाइने छ । अरू करिब पाँच वटा विधेयक मात्रै सदनमा विचाराधीन छन् ।