Category: समाचार

  • नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला

    नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला

    २७ भदौ, काठमाडौं । नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की कार्यपालिका प्रमुख अर्थात् पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् । उनले लामो समयसम्म वकालत गर्दै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश भएकी थिइन् ।

    न्यायालयभित्र प्रष्ट विचार, खरो स्वभाव र इमान्दार छवी बनाएकी उनको नेतृत्वको सरकारले प्राप्त समयाधिभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराई नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी पाएको छ । उनलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

  • राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

    राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

    २७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका छन् ।
    राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।
    राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको परामर्शमा उनलाई नियुक्ति गरेका हुन् ।


    राष्ट्रपति पौडेलबाट नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिशमा छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उनलाई नियुक्त गरेका हुन् ।


    सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित थिए । जेनजीले उठाएका मागका विषयमा सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । नवनियुक्त प्रधानमन्त्रीले सानो मन्त्रिमण्डल गठन गर्ने र उक्त मन्त्रिमण्डलले गर्ने सिफारिशका आधारमा सरकारका प्राथमिकताका थप काम अघि बढाइनेछ ।

    जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको सञ्चालन सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शनी र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनापछि तत्कालिन सरकारका प्रदानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।

    मुलुकमा अचानक बदलिएको राजनीतिक परिस्थिति र अन्यौलको वातावरणमा नेपाली सेनाको पहलमा क्रमशः कानुनी राज्य र अमनचयन कायम गर्दै वार्ता र संवादका माध्यमबाट नयाँ सरकार गठनमा सफलता मिलेको हो । सेनाले इतिहासदेखि नै प्राप्त जिम्मेवारीलाइ संविधान सम्मतढङ्गबाट प्रजातान्त्रिक–मूल्य मान्यताका आधारमा जिम्मेवारी बहन गर्दै आएको छ । निकै जटिलपूर्ण अवस्थामा संयम भई छोटो समयमा परिस्थितिलाई सहजरूपमा अवतरण गराउन सफल भएको छ ।

  • जेन जी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारी

    जेन जी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारी

    २७ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा ३६ जनाको मृत्यु भएको जनाएको छ ।
    मन्त्रालयका सचिव डा विकास देवकोटाले देशभरिका अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार हालसम्म ३६ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७७१ जना घाइतेको उपचार गरिएको उनले बताए । घाइतेको अस्पतालले निःशुल्क उपचार गरिरहेका छन् ।

    सचिव डा देवकोटाका अनुसार हाल निजामती कर्मचारी अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज ३५, नेपाल पुलिस अस्पतालमा २८, झापाको बिएन्डसी अस्पतालमा ५३ जनाको उपचार भइरहेको छ । यस्तै, प्रदर्शनका क्रममा घाइते भएका एक हजार ३७९ जना बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् ।

  • धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

    धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

    २७ भदौ, धरान । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ ।
    जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मङ्गलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए । मृतकमध्ये तीन जनाको शव चौथो तलामा र एक जनाको दोस्रो तलामा फेलापरेको उनले जानकारी दिए ।

    प्रवक्ता खतिवडाले भने, “जलेको अवस्था रहेकाले शवहरूको पहिचान तत्काल सम्भव नभएको र अब डिएनए परीक्षणबाट मात्र पहिचान हुनेछ ।” सबै शवको मुचुल्का उठाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए । भदौ २४ गते बेलुका करिब ७ः०० बजे ‘जेनजी आन्दोलन’का क्रममा एक समूहले भाटभटेनी सुपरमार्केटको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए । सो आगलागी आज बिहानमात्र नियन्त्रणमा आएको थियो ।

  • ‘सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’

    ‘सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’

    २७ भदौ, काठमाडौं । सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन । जेनजी प्रदर्शनबाट तोडफोड र आगजनी भएका विभिन्न मन्त्रालयका परिसरमा सवारीसाधन ‘भग्नावशेष’ का रूपमा रहेका छन् । आफूले काम गर्दै आएको मन्त्रालय तथा कार्यालय आगजनीबाट ध्वस्त भएपछि कर्मचारीमा त्रास र निराशाको अवस्था देखिन्थ्यो । राष्ट्रका सम्पत्ति, जलेका मन्त्रालयका भवन र सवारीसाधनको भग्नावशेष देखेर आफूहरूको मन कुँडिएको कर्मचारीको दुःखेसो थियो ।

    आगजनीबाट धेरै मन्त्रालयका सवारीसाधन नष्ट भएपछि माथिल्लो तहका कर्मचारीसमेत मोटरसाइकल र स्कुटरमा कार्यालय पुगेका थिए । शिक्षा मन्त्रालयको भुँइतलामा रहेको राष्ट्रिय सतर्कता केन्द्रको आधा भाग जलेर नष्ट भएकाले भित्र प्रवेश गरी क्षतिको वास्तविक आँकडा यकिन गर्न कठिन भएको प्रवक्ता नारायणप्रसाद भट्टले बताए ।


    मूल प्रशासनिक केन्द्रका रूपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनीका कारण क्षति भएपछि गृह मन्त्रालयको नवनिर्मित भवनमा सार्ने तयारी गरिएको छ । त्यसका लागि कर्मचारीहरू बचेखुचेका कम्प्युटर, ल्यापटप, कागजातलगायत सामग्री सार्न व्यस्त देखिए । सिंहदरबारको पश्चिम खण्डको मूलभागमा चार दिनदेखि सल्किरहेको धुवाँको मुस्लो निस्किरहेको थियो भने आगो नियन्त्रणका लागि वारुणयन्त्रले पानीको फोहोरा हानिरहेको थियो । आगजनी गरिएका मन्त्रालयमा प्रवेश गर्न सुरक्षाका हिसाबले जोखिम देखिएपछि कर्मचारीहरू बाहिरै बसेर फर्किएका थिए ।

    गृह मन्त्रालयका एक कर्मचारीले भने, “निर्देशनानुसार मन्त्रालयमा उपस्थिति भइयो, पेटीमा बसेर हाजिर गरियो, मन्त्रालय ध्वस्त भएको छ, के कति क्षति भयो, यकिन हुन सकेको छैन ।” आगजनीबाट भएको क्षतिको पहिचान गर्ने, विवरण सङ्कलन तथा तथ्याङ्क बुझ्ने काम भइरहेको छ । सिंहदरबार परिसरमा सञ्चारकर्मीको प्रवेशलाई सहज तुल्याइएपछि भग्नावशेषको तस्बिर लिन पुगेका फोटो पत्रकारको सङ्ख्या उल्लेख्य देखियो । सिंहदरबारभित्रका मन्त्रालय र सडकको सरसफाइ क्रमशः सुरु गरिएको छ भने तोडफोड भएका सामग्रीको व्यवस्थापन आरम्भ भएको छ ।

    सिंहरबार बाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि आगजनीबाट क्षतिग्रस्त भएको छ । देशको एकमात्रै फरक डिजाइनको उक्त भवनमा घटना भएको चौथो दिनसम्म पनि आगो निभेको छैन । स्वास्थ्य सचिव डा विकास देवकोटाले भवन जलेर नष्ट भएकाले आफूहरूले ‘भर्चुअल’ माध्यमबाट काम प्रारम्भ गरेको बताए । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा बढी क्षति भएको छ ।

  • नयाँ प्रधानमन्त्रीको सपथ आजै, सानो आकारको मन्त्रिपरिषद् बन्ने

    नयाँ प्रधानमन्त्रीको सपथ आजै, सानो आकारको मन्त्रिपरिषद् बन्ने

    २७ भदौ, काठमाडौं । नयाँ प्रधानमन्त्री सुशीला कार्कीको आजै शपथ हुने भएको छ । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने तयारी छ । राष्ट्रपतिले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्ने र आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयार्री गरिएको छ ।

    नयाँ प्रधानमन्त्रीले आजै पदभार ग्रहण गर्नेछिन् । सिंहदरबार भित्र निर्माणाधिन गृह मन्त्रालयको भवनमा नयाँ प्रधानमन्त्रीका लागि कार्यालय बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन पुरै जलेका कारण सिंहदरबार भित्र नयाँ प्रधानमन्त्रीका लागि नयाँ भवन खोज्नु परेको हो ।

  • पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद विघटन हुने

    पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद विघटन हुने

    २७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    जेन-जी आन्दोलनकारीले संसद विघटनको अडान नछाडेपनि अन्ततः राष्ट्रपति समेत सोही अडानमा सहमत भएका छन् । अब विद्यमान संसद विघटन हुने भएको छ । नयाँ सरकारले निर्वाचन गराउने म्यान्डेड पाउने छ । २३ र २४ भदौको आन्दोलनले नेपालको राजनीतिमा नयाँ अध्याय कोरेको छ ।

  • सामान्य बन्दै पोखराको जनजीवन

    सामान्य बन्दै पोखराको जनजीवन

    २७ भदौ, गण्डकी । जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ । आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ । बिहानको समयमा आवतजावत खुकुलो पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताइन् । “दिउँसोसम्मको परिस्थिति मूल्याकङ्न गरेर निषेधाज्ञा थप कडा गर्ने या सहज बनाउँदै जाने भन्ने निर्णय हुन्छ”, उनले भनिन्, “अहिले सुरक्षा व्यवस्था चुस्त र कडा तुल्याइएको छ ।”

    अत्यावश्यक कामका लागि आवतजावत गर्न बिहान र साँझपख निषेधाज्ञा खुकुलो पारिएको उहाँको भनाइ छ । पोखरा महानगरपालिकाभित्र रातको समयमा भने कर्फ्यु लगाइँदै आएको छ । जेनजीले यही भदौ २३ र २४ गते गरेको आन्दोलन उग्र बनेपछि पोखराका अधिकांश सरकारी भवनमा आगजनी र तोडफोड भएको थियो । गण्डकी प्रदेशसभा भवनदेखि प्रदेश सरकारका मन्त्रालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, वडा कार्यालयलगायत दर्जनौँ सरकारी तथा निजी भवनमा आगजानीले ठूलो क्षति पु¥याएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २७ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागलगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

  • कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधन जले

    कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधन जले

    २७ भदौ, कञ्चनपुर । जेनजी’ आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक दलका कार्यालय, १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास, चारवटा व्यापारिक केन्द्र र १६ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र गुलरियाको गेट, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा नगरपालिका र वडा नं १ देखि १२ सम्मका कार्यालय, पुनर्वास र कृष्णपुर नगरपालिकाका कार्यालय, भीमदत्त नगरपालिका कार्यालयको गेट तथा बेलडाँडी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरी भौतिक संरचना, कागजपत्र, फर्निचर र अन्य सामग्रीमा करोडौँको नोक्सानी पुर्याइएको छ ।

    भीमदत्त र दोधाराचाँदनी नगरपालिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसका गरी पाँचवटा पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ । त्यसैगरी, निवर्तमानगृहमन्त्री रमेश लेखक, पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, पूर्वमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, पूर्वसांसद निरुदेवी पाल, प्रदेशसभा सदस्य मधु भारती, वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, भीमदत्तका पूर्वनगरप्रमुख सुरेन्द्र विष्ट, जिसस प्रमुख दुर्गादत्त बोहरा, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझालगायतका घरमा समेत आगजनी र तोडफोड भएको छ ।

    व्यापारिक क्षेत्रमा होटल ओपेरा, सीएमजी क्यासिनो, विपीन पुस्तक पसल, रोयल सिलाइ सेन्टर र डायमन्ड क्यासिनोमा तोडफोड, आगजनी र लुटपाट भएको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा पुनर्वास नगरपालिकाका प्रमुख र प्रशासकीय प्रमुख चढ्ने गाडीसहित १६ वटा सवारीसाधनमा पनि तोडफोड र आगजनी भएको छ । तीमध्ये शववाहन, दमकल, मोटरसाइकल, स्कुटर, ट्याक्टर र रोलर छन् । प्रहरीका अनुसार जिल्लाभर भएका तोडफोड र आगजनीका घटनामा ठूलो मात्रामा सरकारी तथा निजी सम्पत्ति नोक्सानी भएको छ ।

    जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म एक सय २४ जना कैदीबन्दी फिर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका चार सय ७९ कैदीबन्दीमध्ये आजमात्र एक सय तीन जनालाई कारागार फिर्ता गरिएको छ । “केहीलाई नियन्त्रणमा लिएर कारागारमा बुझायौँ, बुझाउँदैछौँ”, उनले भने, “केही आफैँ कारागारको सम्पर्कमा पुगेका हुन् ।” उनका अनुसार २१ जना कैदीबन्दी कारागारबाट भागेका थिएनन् । अझै तीन सय ५५ कैदीबन्दी फरार छन् । कारागारमा चार सय ५३ पुरुष र २६ महिला गरी चार सय ७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी एक सय ६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए ।

  • बीमा दाबी सहज बनाउन निर्देशन

    बीमा दाबी सहज बनाउन निर्देशन

    २६ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

    असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहतालाई मध्यनजर गर्दै बीमा दाबीलाई सहज बनाउन प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई आग्रह गरेको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।

    असहज अवस्थाका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीका विवरण साप्ताहिक रूपमा उपलब्ध गराउनसमेत प्राधिकरणले आग्रह गरेको छ । यही भदौ २३ र २४ गतेको प्रदर्शन तथा तोडफोडका कारण ठूलो जनधनको क्षति भएको छ ।

  • भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

    भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

    २७ भदौ, कञ्चनपुर । भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै लुटिएका छन् । पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा आएका अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेका हुन् ।

    “सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडेका थियौँ”, कलमबहादुरले भने, “तीन जना स्कुटरमा आएका अपरिचित व्यक्तिले खुकुरी देखाउँदै मेरो मोबाइल खोसे । त्यसपछि मेरो साथमा रहेको १४ हजार भारु पनि खोसे । राजमार्गमा अर्को यात्रु चढेको मोटरसाइकल नजिकै आउन थालेको देखेपछि भागे ।” कलम, नैनबहादुरसँगै सिंहराज खत्री, कलबहादुर खत्री र अभिराज धामी पनि थिए ।

    दुई जनालाई लुटेराहरूले लुटे पनि तीन जना भने लुटिनबाट जोगिएका छन् । “भारतमा मजदुरीका लागि दुई महिनाअघि मात्र गएका हौँ”, कलमबहादुरले भने, ‘भारतमा पनि गतिलो मजदुरीको काम पाइएन, काम पाइए पनि कहिले बाढी, कहिले वर्षाले काम गर्न नपाइएपछि फर्केका हौँ, बीच बाटोमै लुटिएपछि बिचल्लीमा परेका छौँ ।” लुटपाट भएकोबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको नैनबहादुरले बताए । प्रहरी निरीक्षक राजेश बस्नेतले पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजतलास भइरहेको बताए ।

  • तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन

    तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन

    २७ भदौ, दमौली । तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ । नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव फेलापरेको हो ।

    स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । शवको सनाखत गर्ने कार्यका लागि घरपरिवार तथा आफन्तका बारेमा स्थानीयवासीसँग बुझ्दा केही विवरण खुलेको छैन । त्यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा एक महिलाको शव फेलापरेको छ ।

    डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०–३५ वर्षीया महिलाको शव फेलापरेको हो । पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पातलमा राखिएको र सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

  • राष्ट्रपति र सभामुखबीच भेटवार्ता

    राष्ट्रपति र सभामुखबीच भेटवार्ता

    २७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उहाँहरूबीच छलफल भएको थियो ।

    सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताए । यही भदौ २३ गतेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपति पौडेल र सभामुखबीच छलफल भएको र उपयुक्त निकासका बारेमा विचारविमर्श भएको बताइन्छ । उहाँहरूबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ ।

  • नयाँ सरकार गठनमा रातभर छलफल, आज देशले पाउला नयाँ प्रधानमन्त्री ?

    नयाँ सरकार गठनमा रातभर छलफल, आज देशले पाउला नयाँ प्रधानमन्त्री ?

    २७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका विषयमा आज रातभर छलफल भयो । छलफल शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरे । छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा अझै सहमति जुटेको छैन । शुक्रबार बिहान ९ बजेबाट पुनः छलफल सुरु हुने भएको छ ।


    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोत बताउँछ ।
    जेन–जी युवाहरूको समूहले संसद बिघटनलाई बटमलाइन बनाएका छन् । तर विद्यमान संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन संसदको सदस्य हुनै पर्ने भएकाले राष्ट्रपति पौडेलले वैकल्पिक उपायबारे विज्ञसँग राय मागेका थिए । छलफलमा जेनजी युवाको प्रतिनिधिको रुपमा अधिवक्ता ओमप्रकाश अर्यालसमेत सहभागी थिए । अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन् ।

    राष्ट्रपति पौडेलले बिहीबार नै नेपाली कांग्रेसका नेताहरूसँग पनि परामर्श गरेका थिए । साथै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शीतल निवासमै भेटेका थिए । कांग्रेस नेताहरूले अहिलेको परिस्थितिमा पूर्वप्रधान्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सकिने राय दिएका छन् । प्रचण्डले समेत कार्कीलाई अघि बढाउने सन्दर्भमा आफूहरू सकारात्मक रहेको बताए ।

  • सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    २६ भदौ, काठमाडौं । अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने भएको छ । विभागका निर्देशक टीकाराम ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालमा पछिल्लो विकसित घटनाक्रमका कारण भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकमा पर्न गएको असुविधाप्रति विभाग संवेदनशील भएर अध्यागमन कार्यालयबाटै भिसा अनुमति दिने बताए ।
    उनका अनुसार सेप्टेम्बर ८ सम्मको भिसा मान्य भएका र कफ्र्यु आदेश लागू भएको अवधिमा प्रस्थान गर्नुपर्ने विदेशी नागरिकलाई प्रस्थान गर्ने बिन्दुमा अध्यागमन कार्यालयबाट अतिरिक्त शुल्क नलिइ भिसा नियमितीकरण र बाहिर निस्कने अनुमति दिइनेछ ।

    त्यसैगरी यस अवधिमा राहदानी हराउने र सम्बन्धित दूतावासबाट ट्राभल डकुमेन्ट वा आपतकालीन राहदानी लिइसकेका विदेशी नागरिकका लागि भिसा स्थानान्तरणको पनि आवश्यक व्यवस्था मिलाइएको छ । यस्तो अवस्थामा उनीहरुको भिसा विद्यमान नियमनअनुसार हस्तान्तरण गरिनेछ र सम्बन्धित अध्यागमन कार्यालयबाटै भिसा नियमितीकरण र बाहिर निस्कने अनुमति दिइनेछ । अध्यागमन विभागको यो सूचनालाई नेपाल पर्यटन बोर्डले अद्यावधिक गर्दै पर्यटक आवागमन सहजीकरण भइरहेको उल्लेख गरेको छ ।

    विमानस्थलबाट पर्यटकलाई होटलसम्म पु¥याउने र त्यहाँबाट विमानस्थल पु¥याउनका लागि सटल बसको व्यवस्था गरिएको बोर्डले जनाएको छ । पर्यटकलाई कुनै पनि समस्या परेका खण्डमा बोर्डले कर्मचारीलाई सम्पर्क नम्बरसहित २४सै घण्टा तैनाथ गरिएको पनि उल्लेख गरेको छ । जेनजीको प्रदर्शनका कारण यही भदौ २४ गते दिउँसो १४ः३० बजेदेखि बन्द विमानस्थल २५ गते बुधबार दिउँसो १४ः३० बजे खुलाइएको थियो । बुधबार साँझदेखि अन्तरराष्ट्रिय उडान सञ्चालन भयो भने आज बिहानैदेखि आन्तरिक उडान पनि नियमित रुपमा सञ्चालन भइरहेको छ ।

  • आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

    आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

    २६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि सोही दिनदेखि नै दर्ता गर्ने जनाएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज भएको आकष्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले यही भदौ २३ र २४ मा भएका घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    सर्वोच्चले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा सर्वोच्चसहित देशभरका अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट हुँदा भवन, उपकरण, सवारीसाधन तथा ऐतिहासिक दस्तावेजहरूमा क्षति भएको जनाउँदै देशको न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण अभिलेखहरू करिब नष्ट हुन पुगेकामा गहिरो पीडा प्रकट गरिएको छ ।

    “जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकको न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । बैठकले भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

  • राष्ट्रपतिको छोटो सन्देश : संवैधानिक दायरा भित्रैबाट निकास दिन्छु

    राष्ट्रपतिको छोटो सन्देश : संवैधानिक दायरा भित्रैबाट निकास दिन्छु

    २६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयासरत रहेको बताएका छन् । उनले आज एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् । ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उनले वक्तव्यमा भनेका छन् ।

    सामाजिक सञ्जालमा भने उनको खोजी भइरहेको छ । प्रधानमन्त्री चयनमा सेना सक्रिय भएको र राष्ट्रपति गायव भएको भन्दै उनको खोजी भएको हो । उनको भिडियो वक्तब्य आउनु पर्ने माग समाजिक संजालमा भइरहेको छ ।

  • रास्वपाको निर्णय : जेनजीसहितको सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री छानौं

    रास्वपाको निर्णय : जेनजीसहितको सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री छानौं

    २६ भदौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजीसहितको अनिवार्य सहभागीतामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयनमा समर्थन जनाएको छ । बिहीबार बसेको पार्टीको भर्चुअल केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेको उक्त प्रस्तावमा बृहत् राजनीतिक अनुमोदन हुने शुभेच्छा रास्वपाले राखेको छ । ‘सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन–जी पुस्ता सहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ,’ रास्वपाले आफ्नो प्रस्तावमा भनेको छ ।

    त्यस्तै, संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्नेगरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपाले उचित ठानेको उल्लेख छ ।

  • फरार कैदीबन्दीलाई कारागारमा फर्किन प्रहरीको अनुरोध

    फरार कैदीबन्दीलाई कारागारमा फर्किन प्रहरीको अनुरोध

    २६ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय तोकिएर भुक्तान गरिरहेका कैदीलाई कारागारको सम्पर्कमा आउन तथा थुनुवालाई सम्बन्धित प्रहरी इकाइमा आउन अनुरोध गरिएको बताए ।


    प्रहरी महानिरीक्षकको कार्यालयले आजै सूचना जारी भदौ २३ मा जेनजीका नाममा भएको प्रदर्शनपछि कारागार कार्यालय तोडफोड, आगजनी गरी फरार रहेका कैदीबन्दीलाई सम्बन्धित प्रहरी कार्यालयमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।

    कार्यालयले आज जारी गरेको सूचनामा भनिएको छ, “भदौ २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इकाईहरू तथा कारागार कार्यालयहरूमा भएको तोडफोड, आगजनीपश्चात अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरू र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दीहरू भागेकाले त्यस्ता अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, इकाईहरू वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरिएको छ ।”

    प्रहरीका अनुसार यसरी १४ हजारभन्दा बढी कैदीबन्दी र थुनुवाहरु भागेका छन् । त्यसमध्ये केही सय मात्रै फर्किएका छन् भने केही पक्राउ परेका छन् ।

  • हातहतियारसहित अन्य सामग्री फिर्ता गर्न प्रहरीको आग्रह

    हातहतियारसहित अन्य सामग्री फिर्ता गर्न प्रहरीको आग्रह

    २६ भदौ, काठमाडौं । जेनजी गरेको प्रदर्शनका क्रममा प्रहरीसहित अन्य सुरक्षा निकायका हातहतियारलगायत सामग्री फिर्ता गर्न नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै यही भदौ २३ देखि २५ गते भएको प्रदर्शनमा सुरक्षा निकायका हतियार, सञ्चार साधन, सवारीसाधन र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा फिर्ता गर्न आग्रह गरेको हो ।

    उक्त हातहतियारलगायत अन्य सामग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल रुक १०० वा टोल फ्री नं १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध गरिएको छ । यस्तै, प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीको पोसाकहरू दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई अनुरोध गरिएको छ ।

  • थप १९२ जना कैदी नियन्त्रणमा

    थप १९२ जना कैदी नियन्त्रणमा

    २६ भदौ, काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात भदौ २५ गते बेलुका ६ बजेदेखि आज बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ । नेपाली सेनाले आज विज्ञप्तीमार्फत सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    त्यसैगरी कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका सात जना कैदीलाई नियन्त्रणमा लिई सेनालाई बुझाएको छ । एक जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएको र १२ कैदी आफैँ कारागारमा हाजिर भएका छन् ।

    रामेछापस्थित जिल्ला कारागारमा कैदीले बाहिर जान पाउनु पर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि सेनाले चलाएको गोली लग्दा १२ जना कैदी घाइते हुनुका साथै दुई जनाको मृत्यु भएको छ । त्यसैगरी, काभ्रेपलाञ्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ । हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद भएको सेनाले जनाएको छ ।

  • सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २६ भदौ, काठमाडौं । सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैङ्कले सम्पूर्ण इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धीकार्य गर्ने संस्थालाई व्यवसायिक निरन्तरता दिन भनेको हो । राष्ट्र बैङ्कले आज यहाँ सार्वजनिक गरेको सूचनामा नेपाली सेनाले भदौ २५ गते जारी गरेको निषेधाज्ञासम्बन्धी व्यवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख छ ।

    सूचनामा भनिएको छ, “बैङ्क तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ । अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एसिसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ,” नेपाल राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै, सूचनामा आवश्यक सेवा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन सबै संस्थालाई आग्रह गरिएको छ ।

  • अहिलेको सङ्क्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाबाट खोजिनुपर्छः माओवादी अध्यक्ष दाहाल

    अहिलेको सङ्क्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाबाट खोजिनुपर्छः माओवादी अध्यक्ष दाहाल

    २६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई नै फाइदा पु¥याउने भएकाले अहिलेको सङ्क्रमणकालीन अवस्थाको हल संविधानसम्मत तरिकाबाट खोजिनुपर्ने बताएका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष दाहालले संविधान कार्यान्वयनमा देखिएका चुनौतीको गम्भीर समीक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सकेमात्रै समुन्नत लोकतन्त्रको विकास गर्न सकिने बताए । “यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीर रुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौँ”, अध्यक्ष दाहालद्वारा आज जारी वक्तव्यमा भनिएको छ ।

    ‘जेन–जी’ आन्दोलनका ‘एजेन्डा’ले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको उल्लेख गर्र्दै अध्यक्ष दाहालले यो स्थितिमा आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने ढृष्टता गरिरहेका बताए । “हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो”, उनले भने ।


    अध्यक्ष दाहालले सङ्क्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी षडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढ्न शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति तथा आमजनसमुदायसँग अपिल गरे । माओवादी केन्द्रका अध्यक्ष दाहालले जनताको जीउधन, सार्वजनिक संरचना र निजी सम्पत्तिमा तोडफोड, लुटपाट तथा आगजनीलगायत गतिविधि हुनसक्ने सम्भावनाप्रति सजग रहँदै जनतालाई आइपर्ने कुनै पनि खालको समस्यासँग जुध्नका लागि तम्तयार रहन पार्टीपङ्क्तिलाई निर्देशित गरेका छन् । यसैगरी, समुन्नत उहाँले लोकतन्त्रको सपना सोचेर सुशासनका पक्षमा ‘जेन–जी’ पुस्ताले आह्वान गरेको आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण युवामा श्रद्धाञ्जलि तथा परिवारजनमा संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।


    आन्दोलनका कैयन् पीडादायी पक्ष भएपनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको उनले बताए । अध्यक्ष दाहालले वक्तव्यमार्फत आन्दोलनमा क्रममा भएका हिंसात्मक गतिविधि, तोडफोड, आगजनी, लुटपाटजस्ता घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न समेत माग गरेका छन् ।

  • झापाबाट भागे ९२ थुनुवा

    झापाबाट भागे ९२ थुनुवा

    २६ भदौ, झापा । ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९२ जना थुनुवाहरू अझै सम्पर्क नआएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यही भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका ३६, इलाका प्रहरी कार्यालय दमकका ५१ र झिलझिले इलाका प्रहरी कार्यालय पाँच गरी ९२ जना थुनुवा भगेका थिए ।

    उनीहरू हालसम्म पनि सम्पर्क नआएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । प्रदर्शनकारीले जिल्लाका दमक, विर्तामोड, झिलझिले र काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा आजगनी र तोडफोड गरेका थिए । विर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा आगजनी हुनुअघि प्रदर्शनकारीले नियन्त्रणमा लिएका हतियार सेनाले फिर्ता लिइसकेको छ ।

  • चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

    चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

    २६ भदौ, चितवन । जिल्लामा लगाइएको कफ्र्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए ।

    उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए । अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।

  • ललितपुरमा जलाइएका प्रहरी एकाइ पुनःस्थापना

    ललितपुरमा जलाइएका प्रहरी एकाइ पुनःस्थापना

    २६ भदौ, ललितपुर । ‘जेनजी पुस्ता’को आन्दोलनका कारण गरी विस्थापित प्रहरी एकाइ पुनःस्थापना गरिएका छन् । बुधबारदेखि ती कार्यालयहरु सोही स्थानमै पुनःसञ्चालनमा ल्याइएको ललितपुर जिल्ला सुरक्षा समितिले जनाएको छ । पुनःस्थापना गरिएका प्रहरी कार्यालयमा वृत्त सातदोबाटो, वृत्त चापागाउँ, प्रभाग इमाडोल, प्रभाग लुभु, प्रभाग मङ्गलबजार, प्रभाग सानेपा, लगनखेल, प्रभाग पुल्चोक, प्रभाग लाकुरीभञ्ज्याङ, प्रभाग हनुमानस्थान र प्रभाग पाटनढोका रहेका छन् ।

    ललितपुर जिल्ला सुरक्षा समितिले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै जिल्लावासीलाई सतर्क रहन अनुरोध गरेको छ । सुरक्षा समितिले विशेषगरी टोलमा नयाँ वा अपरिचित व्यक्ति देखिएमा तत्काल नजिकैको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ ।

  • रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता

    रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता

    २६ भदौ, लुम्बिनी । रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले आज जारी भएको कर्फ्यू आदेशमा जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी यही भदौ २४ गते बेलुका ८ः३० बजेदेखि जारी भएको कर्फ्यू आदेशलाई आज बिहान ९ः०० बजेदेखि पुनः लागू गरिएको जनाइएको छ ।

    जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम आज बेलुका ७ः०० बजेसम्म रुपन्देही जिल्लाभर पुनः कर्फ्यू आदेश जारी गरिएको सूचनामा जनाइएको छ । यसअघि आज बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म कफ्र्यु आदेश खुला गरिएको थियो । कर्फ्यू अवधिभर आदेशको उल्लङ्घन गरी कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिने ब्यहोरा आदेशमा जानकारी गराएको छ । प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन् ।

  • सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा संगठनको आग्रह

    सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा संगठनको आग्रह

    २६ भदौ, काठमाडौं । देशका सुरक्षा सङ्गठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न÷नगराउन सबै तह र तप्कासँग आग्रह गरेका छन् ।

    देशको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले सम्हालिँदै गएको परिस्थितिलाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप नगर्न समाजका सबै पक्षको ध्यानाकर्षण गराएका छन् । अहिले देशका विभिन्न स्थानमा निषेधाज्ञा र कफ्र्यु जारी छ ।

  • आक्रमणअघि अमेरिकी चेतावनी प्राप्त नभएको कतारको दावी

    आक्रमणअघि अमेरिकी चेतावनी प्राप्त नभएको कतारको दावी

    २६ भदौ, काठमाडौं । कतारले दोहामा हमासका वार्ताकारमाथि इजरायलले गरेको आक्रमणको बारेमा सचेत गराइएको भन्ने अमेरिकी दाबीलाई खण्डन गरेको छ । कतारले विस्फोट सुरु भएपछि मात्र अमेरिकी फोन आएको बताएको हो । दोहाको आवासीय जिल्लामा इजरायली आक्रमणमा पाँच हमास सदस्य र कतारी सुरक्षा अधिकारीको मृत्यु भएको समूह र दोहाको गृह मन्त्रालयले जनाएको छ ।

    ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राजदूत स्टिभ विटकोफलाई कतारी अधिकारीहरुलाई यस कारबाही अघि नै यसबारे जानकारी गराउन निर्देशन दिएको बताइन् । उनले हमासलाई वैध लक्ष्यको रूपमा चित्रण गर्दै ‘एक सार्वभौम राष्ट्र र नजिकको सहयोगी’ भित्र भएको आक्रमणलाई प्रत्युत्पादक हुने बताइन् ।


    कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले विज्ञप्ति जारी गर्दै पूर्व चेतावनी प्राप्त नभएको भन्दै उक्त विवरणलाई पूर्ण रुपमा झुटो भन्दै अस्वीकार गरे । उनले भने, “कतारलाई आक्रमणको बारेमा पहिल्यै जानकारी दिइएको भन्ने विज्ञप्ति वितरण भइरहेका छन् । दोहामा इजरायली आक्रमणका कारण विस्फोटको आवाज आएको बेला मात्र एक अमेरिकी अधिकारीको फोन आएको हो।”