Category: समाचार

  • प्रधानमन्त्रीको राजिनामापछि प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुखको आह्वान सार्वजनिक

    प्रधानमन्त्रीको राजिनामापछि प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुखको आह्वान सार्वजनिक

    २४ भदौ, काठमाडौं । प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा अंगका प्रमुखहरुले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् । मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रुपमा समाधान निकाल्न आह्वान गरेका हुन् ।

    उनीहरुले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौं । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौं ।’

    आह्वान पत्रमा मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको हस्ताक्षर छ ।

  • प्रदर्शनमा संयमित हुन बालेनको आग्रह

    प्रदर्शनमा संयमित हुन बालेनको आग्रह

    २४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् । ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तयार रहनुहोला ।’ अहिले देशैभरी प्रदर्शन उग्र बनेको छ । नेताका घरहरुलाई लक्षित गरी आन्दोलन गरिएको छ ।

  • रास्वपाका सांसदहरुद्वारा राजीनामा

    रास्वपाका सांसदहरुद्वारा राजीनामा

    २४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको छ ।

    यसअघि, सोमबार जेनजी प्रदर्शनपछि रास्वपाका सभापनि रवि लामिछानेले नक्खु कारागारबाट जारी गरेको सन्देशमा आफ्ना मागहरु पूरा नभए राजीनामा दिन तयार रहन सांसदहरुलाई आह्वान गरेका थिए । प्रतिनिधिसभामा रास्वपाका तर्फबाट उपसभामुखसहित २१ जना सांसद छन् ।

  • प्रदर्शन उग्र बनेसँगै प्रधानमन्त्री ओलीले दिए राजिनामा

    प्रदर्शन उग्र बनेसँगै प्रधानमन्त्री ओलीले दिए राजिनामा

    २४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ । सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्ततः प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

    सो क्रममा युवाहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन लगायतमा समेत आगजनी गरे । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेताका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् । देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।

  • कांग्रेस अब एक दिन पनि सरकारमा साझेदार हुन सक्दैन : गगन

    कांग्रेस अब एक दिन पनि सरकारमा साझेदार हुन सक्दैन : गगन

    २४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दैन नसक्ने उल्लेख गरेका छन् ।

    ‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’

  • भक्तपुरमा आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

    भक्तपुरमा आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

    २४ भदौ, भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आज बिहान ८ः३० बजेदेखि लागू हुने निषेधाज्ञा अर्को आदेश जारी नभएसम्मका लागि जारी गरिएको आदेशमा तोकिएको निर्धारित क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा जारी गरिएकोे आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र सूर्यविनायक नगरपालिकाभित्रको निर्धारित चार किल्लाभित्रका क्षेत्रमा कोही पनि मानिस आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलु, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी आदेश जारी गरिएको छ ।”

    कार्यालयले जडीबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रलाई सिमाना मान्दै ती क्षेत्रभित्रको जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म २०० मिटर वरपरको क्षेत्र, पेप्सीकोला मनोहर पुलदेखि निकोसेरा चोकसम्म, कौशलटार बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म, राधेराधेचोकदेखि निकोसेरा चोकसम्म, बाखाबजार, नेपाल कोरियन मैत्री नगर अस्पताल हुँदै चारदोबाटो चोकसम्म, सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म, च्यामासिंह, ताथली हुँदै नाला (काभ्रे जिल्लाको सिमाना)सम्म, दुवाकोट मोडदेखि नेपाल इञ्जिनियरिङ कलेज क्षेत्र र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको हो । स्थानीय सुरक्षा अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै आदेश जारी गरिएको बताउँदै प्रजिअ घिमिरेले अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको बताए ।

  • जेन–जी आन्दोलन : ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँचको खुल्यो पहिचान

    जेन–जी आन्दोलन : ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँचको खुल्यो पहिचान

    २४ भदौ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो । अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा बद्री रिजालले जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन् । काठमाडौँको सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसीमा दुई, त्रिवी शिक्षण अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको थियो । सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरिसकेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

  • कास्कीमा जारी भयो अनिश्चितकालिन निषेधाज्ञा

    कास्कीमा जारी भयो अनिश्चितकालिन निषेधाज्ञा

    २४ भदौ, गण्डकी । कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८।०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैंक चोक, दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको हो ।

    त्यस्तै गण्डकी प्रदेशसभा आसपासको क्षेत्र उत्तरतर्फ भीमकाली पाटन बगर, दक्षिणतर्फ अधिकारी टोल, पूर्वतर्फ नदीपुर हाइवे र पश्चिमतर्फ बागबजार ट्याक्सीचोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको निषेधाज्ञामा उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । यस अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने\गराउने कार्यमा अवरोध गर्ने जोसुकैउपर प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

  • काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो

    काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो

    २४ भदौ, सुरुङ्गा । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो ।

    काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिए ।

    जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५ः०० बजेसम्मका लागि दमक र बिर्तामोडका निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा आज बिहानबाट हटाइएको प्रमुख जिल्ल अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

  • ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश

    ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश

    २४ भदौ, ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् । कर्फ्यु आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

    कर्फ्यु आदेश जारी भएका क्षेत्र

    भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५ः पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म ।

    सानेपा क्षेत्र (वडा नं २) पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म ।

    च्यासल क्षेत्र (वडा नं ९) पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म ।

    प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको बताएका छन् ।

  • काठमाडौंको चक्रपथ भित्र कर्फ्यु

    काठमाडौंको चक्रपथ भित्र कर्फ्यु

    २४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो ।

    प्रजिअ रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।

  • जेन जी आन्दोलन : इटहरीमा मत्यु भएका युवकको पहिचान खुल्यो

    जेन जी आन्दोलन : इटहरीमा मत्यु भएका युवकको पहिचान खुल्यो

    २४ भदौ, इनरुवा । सुनसरीको इटहरीमा सोमबार जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए ।

    उनका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा चिकित्सककले मृत घोषणा गरेका थिए । मृतक श्रेष्ठको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । अर्का एक युवकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • जेन-जी’ प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

    जेन-जी’ प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

    २४ भदौ, काठमाडौं । सरकारले जेनजी युवाले सोमबार आयोजना गरेको प्रदर्शनमा भएको जनधनको क्षतिको न्यायिक छानबिन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
    उनका अनुसार सोमबारको प्रदर्शनमा ज्यान गुमाएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचारको प्रबन्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    जेनजी युवाको शान्तिपूर्ण प्रदर्शनमा आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यका साथ घुसपैठ गर्दै उछृङ्खल कार्यमा संलग्न भई मानवीय एवं सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने अराजक एवं स्वार्थ समूहको पहिचान गर्न न्यायिक छानबिन समिति गठन गरिने सरकारका प्रवक्तासमेत रहेले दावि गरे । सरकारले जेनजी युवालाई प्रदर्शनलगायत विरोधका कार्यक्रम स्थगित गरी शान्तिसुरक्षाको प्रबन्ध गर्ने कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ ।

    बैठकले सोमबारको प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष निकाल्दै उचित छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने निष्कर्ष निकालेको उनले बताए । शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भई अराजक र प्रतिगामी हर्कत भएको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारकोतर्फबाट सोमबारको घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको उल्लेख गरे । सरकारले निष्क्रिय गराएका सामाजिक सञ्जाल सञ्चालनका लागि आवश्यक प्रक्रिया मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्री गुरुङले निष्क्रय भएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा आएको जानकारी दिए ।


    मन्त्रिपरिषद् निर्णयलगत्तै सामाजिक सञ्जाल सञ्चालनमा आइसकेको उनले बताए । भदौ १९ गतेदेखि देशभर सूचीकरण नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय गराइएको थियो । झण्डै डेढ वर्षदेखि सामाजिक सञ्जाल सूचीकरणका लागि पटकपटक छलफल भएको जनाउँदै गुरुङले सरकारकोतर्फबाट आग्रह गरिएको भए पनि उनीहरूले अस्वीकार गर्दै आएको अवस्थामा बाध्यात्मक परिस्थितिका कारण निष्क्रिय बनाउने निर्णय गरिएको उल्लेख गरे । उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएको पुष्टी गरे ।

  • मध्यरातमा प्रधानमन्त्रीको वक्तब्य, अझै उत्तेजित हुँदै जनता

    मध्यरातमा प्रधानमन्त्रीको वक्तब्य, अझै उत्तेजित हुँदै जनता

    २४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरात एक वक्तव्य जारी गरेका छन् । उनले सोमबारको घटनालाई हल्का रुपमा लिएको भन्दै ठूलो आलोचना भइरहेको छ । । उनले सामाजिक सञ्जाल बन्द विरुद्धको आन्दोलनमा भएको सरकारी दमनमा १९ जनाको ज्यान गएपछि सोमबार साँझ वक्तव्य जारी गरेका हुने । सरकारको प्रयास र जेनजी पुस्ताबीचको अस्पष्टताले अप्रिय घटना भएको उनको स्पष्टीकरण छ । उनले सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा नरहेको त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।

    ‘राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ’ प्रधानमन्त्रीले भनेका छन् । युवा पुस्तको आन्दोलन भ्रष्टाचार नियन्त्रणमा अधिक केन्द्रित छ । यसमा प्रधानमन्त्रीले कुनै सम्बोधन गरेका छैनन् ।

  • जेन-जी आन्दोलन : काठमाडौंमा मंगलबार निजी स्कुल बन्द

    जेन-जी आन्दोलन : काठमाडौंमा मंगलबार निजी स्कुल बन्द

    २३ भदौ, काठमाडौं उपत्यकाका निजी विद्यालय भोलि (भदौ २४ गते) बन्द हुने भएका छन् । सोमबार जेन(जीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरूले एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला विद्यालयहरूले मंगलबार एक दिन विद्यालय बन्द रहने सूचना अभिभावकहरूलाई पठाएका छन् । सोमबारको प्रदर्शनमा परी साँझसम्म १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने सयौं प्रदर्शनकारी घाइते भएका छन् ।
    प्रदर्शनमा केही विद्यालयका विद्यार्थीसँगै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू समेत सहभागी थिए ।

  • जेन–जीमाथि रक्तपातपूर्ण भयानक दमनपछि कांग्रेसका गृहमन्त्री लेखकले त्यागे पद, प्रधानमन्त्री ओली ओठे जवाफमै

    जेन–जीमाथि रक्तपातपूर्ण भयानक दमनपछि कांग्रेसका गृहमन्त्री लेखकले त्यागे पद, प्रधानमन्त्री ओली ओठे जवाफमै

    २३ भदौ, काठमाडौं ।, राज्यले सोमबार काठमाडौं र नेपालका अन्य शहरमा युवा तथा कलेजका विद्यँर्थीहरुको स्वतस्फूर्त आन्दोलनमाथि रक्तपातपूर्ण भयानक दमन गरेको छ । कांग्रेस र एमालेको दुई तिहाई बहुमतको सरकारले अभिव्यक्ति स्वतन्त्रता नै कुण्ठित पार्ने मनसायसहित सामाजिक संजालमा रोक लगाएसँगै युवा विद्यार्थी भड्किएका छन् । हिंसात्मक आन्दोलनमा १९ जनाको ज्यान गइसकेको छ । घटनापछि गृहमन्त्री रमेश लेखकले राजिनामाको घोषणा गरेका छन् ।

    अमानवीय रक्तपातमा जिम्मेवार गृहमन्त्रीको राजिनामाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले भने आजको मन्त्रिपरिषद् बैठकमा आन्दोलनमा घुसपैठ भएको ओठे जवाफ दिएको खबर सार्वजनिक भएको छ । यसले शान्तीपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीलाई अझ भड्काउने निश्चित छ ।

    किनकी उनीहरुले आफ्ना साथीहरुको रगतको हिसाव माग्ने बताइसकेका छन् । नाति पुस्ताका नागरिकहरुमाथि सत्ताले देखाएको उन्मादको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी दिन्छन्, त्यसमा अब उनको राजनीति केन्द्रित रहने निश्चित छ ।

  • देशैभर फैलियो जेन–नी आन्दोलन, वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी

    देशैभर फैलियो जेन–नी आन्दोलन, वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी

    २३ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुकी ९ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो । ‘जेनजी’ समूहले आज बेलुका वीरगञ्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि मङ्गलबार बिहान ९ः०० बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी भएको जानकारी दिए ।


    स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचोक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी निषेधाज्ञा आदेश जारी गरिएको उनले बताए । प्रजिअ सुवेदीले वीरगञ्ज आसपासमा प्रदर्शनी र आगजनीका घटना हुन थालेसँगै स्थिति नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपरेको बताए ।

    मङ्गलबार स्थितिलाई मध्यनजर गर्दै कफ्र्यूलाई थप बढाउन सकिने बताए । जेनजी समूहले वीरगञ्जमा साँझ टायर बालेर विरोध जनाएका छन् । जेनजी आन्दोलन देशैभरी फैलिएको छ । ठूला शहरहरुमा युवा तथा विद्यार्थीले भ्रष्टाचार नियन्त्रण गर्न र सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन माग राख्दै आन्दोलन थालेका हुन् ।

  • उपत्यकाका अस्पताल भरी आन्दोलनका घाइते, रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    उपत्यकाका अस्पताल भरी आन्दोलनका घाइते, रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    २३ भदौ, काठमाडौं । आज भएको जेन–जी प्रदर्शनका क्रममा घाइतेलाई रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न ‘हटलाइन १११५’ रातभर सञ्चालन गर्ने भएको छ । मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा फोन गरेर रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन् ।

    यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित यो हटलाइन सेवा दैनिक बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्र उपलब्ध थियो । तर, आज भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले यो सेवालाई रातभर सञ्चालन गर्ने निर्णय गरेको हो ।


    स्वास्थ्य मन्त्रालये घाइते भएकालाई निःशुल्क उपचारको व्यवस्था गर्न सबै सङ्घीय अस्पताललाई सर्कुलरसमेत जारी गरिसकेको छ । अहिले विभिन्न अस्पतालमा ३ सय भन्दा बढी घाइतेको उपचार जारी छ । आन्दोलनका क्रममा १९ जनाको ज्यान गइसकेको छ । यो पछिल्ला वर्षहरुमा सरकारले गरेको सबैभन्दा घातक दमन हो ।

  • बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी, दिनभर तनावग्रस्त

    बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी, दिनभर तनावग्रस्त

    २३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कर्फ्यू आदेश जारी गरेको छ । जेनजी पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।

    बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज भदौ २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    उता, काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाका थप विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले आजै अर्को विज्ञप्तिमार्फत शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यू आदेश जारी गरिएको जनाएका छन् ।


    त्यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

    प्रशासन कार्यालयले सिंहदरबार क्षेत्रको भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालयअगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

    प्रशासन कार्यालयले आज २३ गते अपराह्न १ः०० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको जनाएको हो । यसअघि प्रशासन कार्यालयले नयाँ बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

  • ‘जेन-जी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह, प्रधानमन्त्रीको राजिनामा माग

    ‘जेन-जी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह, प्रधानमन्त्रीको राजिनामा माग

    २३ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । जनजागरण अभियानअन्तर्गत गोरखा पुगेको माओवादी केन्द्रले भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा आज आकस्मिक पदाधिकारी बैठक राखी उक्त माग गरेको हो । बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि मङ्गलबार काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको मानवीय क्षतिको घटनाले स्तब्ध र गम्भीर बनाएको जनाएको छ । माओवादीले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र मुलुकमा सुशासन कायम गर्ने माग तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ ।

  • नेपालमा युवा- विद्यार्थीको आन्दोलन रक्तपातपूर्ण, हालसम्म १९ को मृत्यु–तीन सयभन्दा बढी घाइते

    नेपालमा युवा- विद्यार्थीको आन्दोलन रक्तपातपूर्ण, हालसम्म १९ को मृत्यु–तीन सयभन्दा बढी घाइते

    २३ भदौ, काठमाडौं । आज ‘जेन-जी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ ।

    यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ । यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्रपात् भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ ।

    यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।

    मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ । काठमाडौँ उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।

  • यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

    यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

    २३ भदौ, काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास ९पूरै ढाकिने० चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति ०१ः४१ बजे ग्रहण सकिएको थियो ।
    समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिएको जानकारी दिए ।

    नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१ः४१ बजे अन्त्य भएको पनि उनले बताए । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

  • आश्विन कृष्ण पक्षः आजबाट सुरु भयो सोह्र श्राद्ध

    आश्विन कृष्ण पक्षः आजबाट सुरु भयो सोह्र श्राद्ध

    २३ भदौ, काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।
    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

    यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउँछन् ।

    कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

    सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दुुुुुसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।

  • सरकारको दावि : उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था हुन्छ

    सरकारको दावि : उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था हुन्छ

    २३ भदौ, काठमाडौं । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने बताएको छ । मूख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकले सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन, विपद् प्रभावित राजमार्गको पूर्ववत सञ्चालन, मौसमी रोग डेङ्गु, हैजा, लम्पी स्किनलगायतको प्रकोप नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । राज्यको उपस्थिति जनताले प्रत्यक्ष महसुस हुने र तत्काल नतिजा देखिने गरी सबै तहका सरकारी निकायबाट नागरिकलाई सेवा प्रवाहको उचित प्रबन्ध गर्ने निर्णय बैठकले गरेको छ ।

    उक्त बैठकमा मुख्यसचिव अर्यालले राज्यको उपस्थिति देखिने गरी बजार अनुगमन तथा यातायात सञ्चालनलाई सहज बनाउने गरी गम्भीरताका साथ काम गर्न सम्बद्ध सबै पदाधिकारीलाई निर्देशन दिए । बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत काठमाडौँ उपत्यका तथा उपत्यका बाहिर उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन पसल सञ्चालन गर्ने निर्णय गरेको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनताका गुनासो सङ्कलनका लागि टोल फ्रि नम्बरको व्यवस्था गर्ने र प्राप्त भएका गुनासोको तत्काल सम्बोधन गर्ने निर्णय भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन खाद्य वस्तुहरूको बिक्री वितरणमा रोक लगाई खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, मासुलगायतका खाद्य सामग्रीको नमूना सङ्कलन, परीक्षण र आवश्यक नियमन प्रभावकारी तवरले गर्ने र यस प्रयोजनका लागि मोबाइल भ्यानसमेत सञ्चालनमा ल्याउने जनाइएको छ ।

    गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमार्फत बजार अनुगमन गरी वस्तु तथा सेवाको सहज आपूर्ति हुने तथा अखाद्य वस्तुको प्रयोग, बिक्री वितरण र कालोबजारी नियन्त्रण गर्ने गराउनेतर्फ थप सक्रिय गर्ने बैठकको निर्णय छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले आमनागरिकको यात्रालाई सुरक्षित तथा व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीमार्फत चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको लामो दूरीको रुट परमिटको व्यवस्था, भाडादर, यात्रुसीट क्षमताका आधारमा अनलाइन प्रणालीसमेतबाट टिकट बुकिङको व्यवस्था गरिने छ ।

    सडक विभागले सडक दुर्घटना तथा सडक सञ्जालसँग सम्बन्धित विपद् जोखिम व्यवस्थापन गर्न आवश्यक प्रबन्ध गर्ने, विभिन्न अवरुद्ध राष्ट्रिय राजमार्ग तथा मुख्य सडक आगामी असोज १० गतेभित्र पुनःसञ्चालनमा ल्याउने निर्णय गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सञ्चालन गर्ने समयावधिर उडान सङ्ख्या वृद्धि गर्न रूपमा अस्वाभाविक हवाई यात्राको भाडादरको वृद्धि हुन नदिन आवश्यक नियमन र सहजीकरण गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयले समाजमा अमर्यादित र अवान्छित गतिविधि हुन नदिई भयरहीत वातावरण र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने भनिएको छ ।

    प्रदेश तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चौपायामा फैलिएको लम्पीस्कीन रोग नियन्त्रणको उचित व्यवस्था मिलाइने छ । आन्तरिक राजस्व विभागले राजस्व छली नियन्त्रण गर्न वस्तु तथा सेवा बिक्री भएकै अवस्थामा वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी गर्न लगाउने, सो प्रयोजनका लागि बजार अनुगमनलाई सघन बनाइने भएको छ । राजस्व अनुसन्धान विभागले वस्तु तथा सेवाको अनौपचारिक कारोबारबाट हुनसक्ने राजस्व छली रूपमा गैरकानूनी कारोबार कडाइका साथ नियन्त्रण गर्न अनुगमन र निगरानीलाई सघन बनाउने बैठकको निर्णय छ । साथै बैठकका निर्णय कार्यान्वयनको प्रगति पाक्षिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विकास व्यवस्थापन क्षेत्र हेर्ने सचिव समक्ष पेस गर्ने निर्णय गरिएको छ ।

  • भीपीएनसँग समेत किन तर्सिएको छ सरकार ?

    भीपीएनसँग समेत किन तर्सिएको छ सरकार ?

    २३ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन भनेको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो ।

    मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइ सक्रिय गराइसकेको जनाएको छ । मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ ।

    नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन पुनः आह्वान गरेको छ ।

    सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सक्रिय गराइने मन्त्रालयका प्रवक्ता ठाकुरले दावि गरे ।
    नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरुलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने नभई स्वनियमको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रुपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न, सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।


    सरकारले यही भदौ २२ गतदेखि सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रय गराएको छ । सञ्चार मन्त्रालयले यही भदौ १२ गते सार्वजनिक सूचनामार्फत सात दिनको समय दिई सामाजिक सञ्जाललाई सूचीकरणका लागि आग्रह गरेको थियो । सो समयसीमा भित्र सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रय गराएको हो । यसको देशव्यापी आलोचना भइरहेको छ ।

  • सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता आज सडक प्रदर्शनमा उत्रँदै

    सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता आज सडक प्रदर्शनमा उत्रँदै

    २३ भदौ, दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ता आज सडक प्रदर्शनमा उत्रँदैछन् । उनीहरुले आज माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलनको घोषणा गरेका हुन् । सरकारले दिनयता सामाजिक सञ्जाल बन्द गरेको छ । यसको विरोधमा नयाँ पुस्ता सडक आन्दोलनमा आएको हो ।

    जेनजी सोमबार माइतीघर मण्डलामा भेला हुने छन् । टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलाइएको छ । नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ देखि सडक आन्दोलनमा जेनजीले आफ्नो सहभागीता बढाएका छन् । उनीहरुको आन्दोलनलाई काठमाडौंका मेयर बालेनदेखि कुलमान घिसिङसम्मले समर्थन गरेका छन् ।

  • इराकको बगदादमा झडप, चार प्रहरीसहित छ जनाको मृत्यु

    इराकको बगदादमा झडप, चार प्रहरीसहित छ जनाको मृत्यु

    २३ भदौ, काठमाडौं । इराकको राजधानी बगदादमा दुई स्थानीय जातबीच भएको हिंसात्मक झडपमा चार सुरक्षाकर्मीसहित छ जनाको मृत्यु भएको छ । घटनाको पुष्टि इराकको आन्तरिक मामिला मन्त्रालयले आइतबार गरेको हो । शनिबार राति बगदादको सादा क्षेत्रमा सुरु भएको विवाद निजी बिद्युत् उत्पादन गर्ने यन्त्रको शुल्क वृद्धिका कारण भएको थियो ।

    इराकमा दैनिक लामो समयसम्म सरकारी बिद्युत् सेवा अवरुद्ध हुने भएकाले अधिकांश नागरिकले निजी यन्त्रमा निर्भर रहनु परेको छ । झडप नियन्त्रणका लागि पुगेको सुरक्षाफौजमाथि आक्रमण हुँदा दुई वरिष्ठ अधिकृतसहित चार सुरक्षाकर्मी मारिएका हुन् । यसअघि दुई जनाको मृत्यु भएको उल्लेख गरिएको भए पनि उपचारको क्रममा थप दुई जनाको ज्यान गएपछि संख्या परिमार्जन गरिएको मन्त्रालयले जनाएको छ ।

    घटनामा नौ सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने समूहले नै गोली चलाएको र जवाफी कारबाहीमा दुई जना मारिएको मन्त्रालयले जानकारी दिएको छ । झडपमा संलग्न पाँच जना घाइते भएका छन् भने केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ । इराकमा जातीय तथा गुटीय झगडा सामान्यजस्तै बनेको छ । दशकौं लामो युद्ध, अशान्ति र अस्थिरताले गर्दा त्यहाँ सामान्य विवाद पनि घातक झडपमा परिणत हुने गरेको छ । स्थानीय गुटहरूले आफ्नै नियम, आचारसंहिता र न्याय प्रणाली अनुसार चल्ने गर्छन् र उनीहरूसँग ठूलो मात्रामा हातहतियार समेत रहेको हुन्छ ।

  • विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय

    विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय

    २३ भदौ, टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा गर्ने निर्णय गर्नुभएको स्थानीय मिडियाले आइतबार जानकारी दिएका छन् । सत्तारूढ पार्टीका सदस्यहरूले माथिल्लो सदनमा भएको विनाशकारी चुनावी हारपछि नयाँ नेतृत्व खोज्दै गरेको अवस्थामा इशिबाले यस्तो निर्णय गरेका हुन् । लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चालेका हुन् । त्यसयता उनले संसद्का दुवै सदनमा बहुमत गुमाएका छन् ।


    सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेको जनाएको छ भने दैनिक आसाही सिम्बुनले उहाँलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ । शनिबार राति कृषिमन्त्री र एकजना पूर्व प्रधानमन्त्रीले इशिबालाई भेटी स्वेच्छिक रूपमा पद छोड्न आग्रह गरेका थिए । गत हप्तामात्रै पार्टीका नम्बर दुई नेता हिरोशी मोरियामासहित एलडिपीका चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए ।

    जुलाईमा सम्पन्न माथिल्लो सदनको निर्वाचनपछि इशिबाका विपक्षीहरूले चुनावी हारको जिम्मेवारी लिई पदत्याग गर्न निरन्तर दबाब दिँदै आएका थिए । अब नयाँ नेतृत्वको चुनावका लागि जापानभरका एलडिपी सांसद र क्षेत्रीय अधिकारीहरूले सोमबार आधिकारिक अनुरोध पेस गर्नेछन् । आवश्यक बहुमत प्राप्त भएमा पार्टीमा नेतृत्व प्रतिस्पर्धा सुरु हुनेछ ।

  • सकियो एमालेको दोस्रो विधान महाधिवेशन

    सकियो एमालेको दोस्रो विधान महाधिवेशन

    २२ भदौ, गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, साङ्गठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् । महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्ताव सर्वसम्मत पारित भएको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

    यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आ–आफ्ना निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरे । महाधिवेशनमा तीनवटा दस्तावेज र सातवटा प्रतिवेदनमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न दशवटा समूह निर्माण गरिएका थिए । ती समूहमा खासगरी राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि घनिभूत छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


    छलफलपछि सबै समूहबाट टोली नेताहरूले सुझाव प्रस्तुत गर्नुभएको थियो । सुदूरपश्चिम समूहबाट पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, कर्णाली प्रदेश समूहबाट प्रदेश अध्यक्ष गुलावजङ्ग शाह, लुम्बिनी प्रदेश समूहबाट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, गण्डकी प्रदेश समूहबाट प्रदेशका कार्यवाहक अध्यक्ष मीनप्रसाद गुरुङ, बागमती प्रदेश समूहबाट प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, मधेस प्रदेश समूहबाट प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल र कोशी प्रदेश समूहबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा आआफ्ना समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    यस्तै, केन्द्रीय निकाय, विभाग र केन्द्रीय कार्यालय समूहबाट केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सल्लाहकार तथा आयोजक समूहबाट केन्द्रीय सदस्य चूडामणि जङ्गली र उपत्यका, जनसङ्गठन, सम्पर्क कमिटी तथा प्रवास कमिटी समूहका तर्फबाट भक्त गुरुङले समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    समूहगत प्रस्तुतिपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासा, उपाध्यक्ष पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले साङ्गठनिक प्रतिवेदनमाथिका सुझाव र जिज्ञासाबारे जवाफ दिए । प्रतिवेदनमाथि प्रतिनिधिहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज) देशलाई हरेक क्षेत्रमा बाटो देखाउने मार्गदर्शक सिद्धान्त भएको बताउनुभयो । उहाँले माक्र्सवादलाई पार्टीले जबजका रूपमा कार्यान्वयन गर्न चाहेको र गरिरहेको बताए ।


    “जबज सिद्धान्त हो, मूल कानुन होइन । यो मार्गदर्शक सिद्धान्त हो, यसको मार्गदर्शनमा समाजवादका आधार तयार गर्दै अगाडि बढ्दैछौँ । यस्तै परिस्थिति, कार्यनीति, रणनीतिसहित स्पष्ट भिजन राखेर हामी अगाडि बढ्नेछौँ”, अध्यक्ष ओलीले भने । उनले पार्टी निर्माणको काम गर्दा बिग्रेका मानिसहरूसँग एकता खोज्दै हिँड्नु आवश्यक नरहेको भन्दै सही नीति र विचारलाई जनतामा पुर्याएर पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिने विश्वास व्यक्त गरे ।
    विधान संशोधनसम्बन्धी प्रस्तावबारे प्रष्ट पार्दै उपाध्यक्ष पौडेलले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजबाट एमाले ‘डिरेल’ भयो भनी भ्रम सिर्जना गर्न प्रायोजित प्रचार गरिएको र त्यो निन्दनीय भएको बताए ।

  • हत्यापछि फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

    हत्यापछि फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

    २२ भदौ, काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँमा बस्ने जीवनाथ तिमल्सिनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट आज पक्राउ गरिएको जानकारी दिए । अदालतले २० वर्ष जरिवाना सुनाएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरेको ब्यूरोले जनाएको छ ।