Category: समाचार

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २० भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतथा बदली हुनेछ ।

    कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल निष्कृय बनाउन प्राधिकरणको निर्देशन

    सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल निष्कृय बनाउन प्राधिकरणको निर्देशन

    १९ भदौ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचीकरण नभएका विभिन्न २६ वटा सामाजिक सञ्जाललाई नेपालमा निष्किृय गराउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । प्राधिकरणले आज सबै सेवा प्रदायकलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो ।

    प्राधिरकणले फेसबुक, फेसबुक म्यासेन्जर, इन्टाग्राम, युट्युव, ह्वाटएप, टिव्टर (एक्स), लिङ्क्डिन, स्यापच्याट, वीच्याटलगायत विभिन्न सामाजिक सञ्जाललाई नेपालमा निष्किृय बनाउन निर्देशन दिएको हो । प्राधिकरणको निर्देशनसँगै सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सूचीकृत नभएको सामाजिक सञ्जाल बन्द गरिएको स्पष्ट पारेका छन् ।

  • एमाले सचिवालय बैठकः विधान महाविधेशनको कार्यतालिका स्वीकृत

    एमाले सचिवालय बैठकः विधान महाविधेशनको कार्यतालिका स्वीकृत

    १९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले दोस्रो विधान महाविधेशनको कार्यतालिका स्वीकृत गरेको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यलयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजको केन्द्रीय सचिवालय बैठकले भोलिदेखि सुरु हुने पार्टीको महाधिवेशनको कार्यकालिका स्वीकृत गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन भोलि नै दस्तावेज प्रस्तुतिकरणमा केन्द्रित हुने निर्णय गरेको छ ।

    बैठकले महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकले स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्तावेज पनि प्रस्तुत गरिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । नेता थापाले आज पार्टी कार्यालयमा फरक मतको दस्तावेज दर्ता गराएका छन् ।


    उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय महाधिवेशनमा नल्याउन सबैलाई आग्रह गरे । “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका सदस्यताका सम्बन्धमा कर्ण थापाले फरक मतमा के कुरा ल्याउनहुन्छ त्यो वेग्लै कुरा हो,” उनले भने, “पूर्वराष्ट्रपतिको जुन व्यक्तित्व र योगदानका विषय महाधिवेशको विषय नबनोस भन्ने हाम्रो आग्रह छ ।”

    त्यसैगरी बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको एमाले उपमहासचिव ज्ञवालीले बताए । उनले महाधिवेशनको दोस्रो दिन भदौ २१ गते प्रस्तुत गरिएको दस्तावेजको १० वटा समूह बनाई छलफल गर्ने जानकारी दिए । उनका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतिकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ ।

    यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए । बैठकमा सचिवालयका सदस्यले पछिल्लो समसामायिक विषयमा पनि छलफल गरेको जानकारी दिए । “जे विषय महाधिवेशनसँग सम्बन्धित छन्, ती विषयमात्र महाधिवेशनमा छलफल हुनेछन् । जुन विषय केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकसँग सम्बन्धित रहेका एजेण्डा छन् ति विषयलाई सोही कमिटीमा छलफल गरिने छ,” उनले भने ।


    एमालकोे विधान महाधिवेशन ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुँदैछ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।

  • अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

    १९ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् । उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए । यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।

  • प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    १९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बाढीपहिरो, महँगी, भ्रष्टाचार, उखु किसानलगायतका मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अब्दूल खाँनले परनिर्भरता भन्दा पनि देशलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुन राजनीतिक दल तथा दलका नेताहरुलाई अपिल गरे । उनले भने, “बाह्य देशबाट आयातित वस्तुको कारणले गर्दा नेपाली उत्पादनकर्ता समस्यामा परिरहेका छन्, अहिले केरा उत्पादनकर्ता किसानाले भारतीय बजारबाट आएको केरा बेच्नु परेको छ, त्यसैले सबैभन्दा पहिला हामी आत्मनिर्भर बन्न जरुरी छ ।”

    सांसद अम्मरबहादुर थापाले दैलेख जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण घर भत्किँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद अमरबहादुर रायमाझीले भने, “सरकारले असोज १ गतेदेखि अनिवार्य रुपमा लागू गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्बन्धमा आम नागरिकको गुनासो आइरहेको छ, यसको पर्याप्त मात्रामा तयार भएको छैन ।”

    सांसद अर्जुननरसिंह केसीले उखु किसानको भुक्तानी, सरकारी अनुदान कटौती, कम मूल्य, मलखातको अभाव लगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद आस्माकुमारी चौधरीले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्ने माग गरे । सांसद ईश्वरीदेवी न्यौपानेले सरकारले निजी विद्यालयलाई नियमन गर्नेभन्दा पनि सरकारी विद्यालयको शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।


    सांसदहरु सांसद ईश्वरी घर्ती, उर्मिला माझी, उदयशमशेर जबरा, ईश्वरबहादुर रिजाल, कान्तिका सेजुवाल, एकनाथ ढकाल, कृष्णकुमार श्रेष्ठ, डा अमरेशकुमार सिंह, कुसुमदेवी थापा, गङ्गाप्रसाद यादव, डा चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, ज्वालाकुमारी साह, कालुराम राई, अमृतादेवी अग्रहरि, जुलीकुमारी महतो, अमनलाल मोदी र अच्युतप्रसाद मैनालीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

  • सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

    सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

    १९ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताए ।

    सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पतिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो ।

    उक्त आदेश पालना गर्दै मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सूचीकृत हुन आव्हान गरेको थियो । नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका–२०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाका अनुसूची १ बमोजिमको ढाचाँमा तोकिएको कागजातहरु संलग्न गरी ७ दिनभित्र निवेदन दिन भनेको थियो ।

    मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियम परिपालनको निगरानी अधिकारीसमेत तोक्ने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । मन्त्री गुरुङले भने, “तोकिएको समयभित्र सूचीकृत गर्न नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेको क्षणदेखि पुनःसक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।”

    मन्त्री गुरुङले करिब २५ वटा सामाजिक सञ्जाल सूचीकृत हुन आउनुपर्ने र सूचीकृत गर्नका लागि कुनै पनि खर्च नलाग्ने बताए । उनले सिधा कुरा डटकमको मुद्दामा अदालतले फैसला गर्दा सबै सामाजिक सञ्जालहरु सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने र दर्ता भएर सञ्चालन दर्ता हुन नआएमा गैरकानुनीरुपमा सञ्चालन हुन नदिन भनेको छ ।

    “सात दिनभित्र दर्ता गर्न आउनु भनेका थियौँ, त्यो मिति आजसम्म थियो, आजकै मितिदेखि सामाजिक सञ्जाल निष्क्रिय गराउँछौं, मन्त्री गुरुङले भने, “मुलुकमा कर तिरेको छ कि छैन भनेर सूचीकृत गर्न खोजेको होइन, सामाजिक सञ्जालका कारण भएको अपराधीकरण, सामाजिक सांस्कृतिक क्षेत्रमा खलल पार्ने खालको काम गरेको छ, पैसा तिर्ने कुरा आएको छैन ।”

  • ‘हाम्रो पात्रो’ले दर्ताका लागि दियो निवेदन

    ‘हाम्रो पात्रो’ले दर्ताका लागि दियो निवेदन

    १९ भदौ, काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको निर्णयपछि ‘हाम्रो पात्रो’ले दर्ताका लागि निवेदन दिएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने निर्णयपछि आजै हाम्रो पात्राले सूचीकृत हुने प्रक्रियामा आउन निवेदन दिएको जानकारी दिए ।

    सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत् पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो ।

    उक्त आदेश पालना गर्दै मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सूचीकृत हुन आह्वान गरेको थियो । नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका–२०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाका अनुसूची १ बमोजिमको ढाचाँमा तोकिएको कागजातहरु संलग्न गरी ७ दिनभित्र निवेदन दिन भनेको थियो ।

    मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियम परिपालनको निगरानी अधिकारीसमेत तोक्ने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो ।

  • सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन

    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन

    १९ भदौ, काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत भएकाबाहेक सम्पूर्ण समाजिक सञ्जाल प्लेटफर्महरु क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको जनाएको छ ।

    आज मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णयानुसार नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को यही भदौ ९ गते निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सो प्रक्रिया थालेको हो ।

    सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले पटक–पटक सूचना जारी गरी जानकारी गराउँदा पनि प्लेटफर्मले अटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो । “हाम्रो उद्देश्य सधैँलाई बन्द गर्न खोजिएको होइन, उनीहरु सम्पर्कमा आउना साथ पुनः सुचारु हुनेछ”, उनले भने , “सूचीकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन ।”

    मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका तथा टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको जानकारी दिए । “मन्त्रालयले गरेको एक अध्ययनअनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्लेटफर्म बढी सक्रिय रुपमा प्रयोग भएका छन्”, उनले भने, “तर, कति वटा बन्द हुन्छन् यकिन छैन ।”

  • शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

    शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

    एजेन्सी
    १९ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा गरी स्वदेश फर्कँदै गर्दा शान्ति सम्झौता हुन नसके युक्रेनमा लडाइँ जारी राख्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना आफ्ना रुसी र युक्रेनी समकक्षीलाई भेटी युद्धविरामका लागि मध्यस्थता गरेका थिए ।

    तर राष्ट्रपति ट्रम्पको कूटनीतिक प्रयासका बावजुद साढे तीन वर्ष लामो युद्ध सुल्झाउने दिशामा हाल प्रगति रोकिएको देखिन्छ । पुटिनले ‘सुरुङको अन्त्यमा उज्यालो हुन्छ’ भन्ने आफूले सोचेको तर युद्धविरामका लागि वेवास्ता गरिए युद्ध जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना सेना ‘सबै मोर्चामा अघि बढिरहेको’ दाबी गरे ।

    “हेरौं, परिस्थिति कसरी विकसित हुन्छ । यदि त्यसो भएन भने हामीले हाम्रा सबै कार्यहरू सैन्य रूपमा समाधान गर्नुपर्नेछ,” पुटिनले बेइजिङमा पत्रकारहरूसँग सम्झौताको सम्भावनाबारे सोधिएको प्रश्नमा भने । युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग तत्काल भेट गर्न अस्वीकार गरेका क्रेमलिन प्रमुखले युक्रेनी नेताको वैधतामाथि प्रश्न उठाए । रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई मस्को आउन निमन्त्रणा दिएको बताए । पुटिनले भने, “राष्ट्रपति ट्रम्पले मलाई यस्तो बैठकका लागि आग्रह गर्नुभयो, मैले जेलेन्स्कीलाई मस्को आउन दिनुहोस् । यो सम्भव छ भने।”

    एक स्रोतले गत अगस्टमा एएफपीलाई दिएको जानकारीअनुसार जेलेन्स्कीले मस्कोमा वार्ताका लागि गरिएको पहललाई अस्वीकार गरेका थिए । पुटिनले युक्रेनसँगको शान्ति वार्तामा थप उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउन रुस तयार रहेको बताए पनि त्यो को हुने भन्नेबारे भने केही बताउन चाहनुभएन ।


    “यदि प्रतिनिधिमण्डलको स्तर बढाउन आवश्यक छ भने हामी त्यसका लागि तयार छौं,” रुसी नेता पुटिनले भने । मस्कोले बुधबार बिहान युक्रेनमा ५०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो र पछि पूर्वी युक्रेनको एक सीमा शहरमा भएको गोलाबारीमा नौ जना सर्वसाधारणको मृत्यु भएको थियो।

  • कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार

    कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार

    १९ भदौ, काठमाडौं । कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा २१ अर्ब अमेरिकी डलर लगानी गर्न तयार रहेको बताएको छ । कङ्गोको पूर्वमा वर्षौंदेखि जारी द्वन्द्व अन्त्यका लागि दोहाले मध्यस्थता गरिरहेको छ। समूहका संस्थापक तथा शाही परिवारका सदस्य शेख मन्सुर बिन जाबोर बिन जसिम अल थानीले अफ्रिकी भ्रमणका क्रममा मङ्गलबार डिआरसीको राजधानी किन्शासाको भ्रमण गरेका थिए । कतारी प्रतिनिधिमण्डलले प्रधानमन्त्री जुडिथ सुमिन्वासँगको भेटमा डिआरसीमा करिब २१ अर्ब अमेरिकी डलर लगानीका लागि ‘आशयपत्र’ पेश गरेको कतारी प्रतिनिधिमण्डलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    लगानी कृषि, वित्त, खानी, औषधि, हाइड्रोकार्बनलगायत विभिन्न क्षेत्रमा लक्षित गरिनेछ । गत महिना अल मन्सुर होल्डिङले १० दिने भ्रमणका क्रममा दक्षिण अफ्रिकाका चार देशमा ७० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । बोत्सवाना, मोजाम्बिक, जाम्बिया र जिम्बाब्वेलाई दिइने आर्थिक सहायताको प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि स्रोतसाधनले भरिपूर्ण यस क्षेत्रका गरिब देशहरूले अमेरिकी सहायतामा व्यापक कटौतीको सामना गरिरहेका छन्।

    रुवान्डासमर्थित एम–२३ सशस्त्र समूहले केही हप्ताभित्रै दुई प्रान्तीय राजधानी कब्जा गरी कडा आक्रमण गरेपछि यस वर्षको सुरुमा देशको पूर्वी भागमा व्यापक द्वन्द्व भएको थियो । रुवान्डाका राष्ट्रपति पल कागामे र उहाँका कङ्गोली समकक्षी फेलिक्स शिसेकेडीबीच मार्चको मध्यतिर दोहामा युद्धविरामका लागि भेटवार्ता भएको थियो ।

    यद्यपि, कतारले अनपेक्षित रूपमा सङ्कट समाधानका लागि भएको कूटनीतिक प्रयास सफल हुन नसकेको र प्रयासहरू निरन्तर जारी राखिएको घोषणा गरेको थियो । गत जुनमा वासिङ्टनमा दुई देशबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । समानान्तर रूपमा, कङ्गोली सरकार र एम २३ ले अप्रिलमा दोहामा पनि वार्ता गरे र जुलाईमा युद्धविरामको प्रतिबद्धता व्यक्त गरे। यद्यपि, त्यहाँ द्वन्द्व जारी छ।

  • प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त

    प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त

    १८ भदौ, काठमाडौं । भारतको सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उद्घाटन गरेका छन् । जापान र चीन भ्रमणबाट फर्किएपछि उनले भने, “त्यो दिन टाढा छैन जब विश्वले भन्नेछ—भारतमा डिजाइन, भारतमा निर्मित, विश्वद्वारा विश्वास गरिएको ।” उहाँले सेमिकन्डक्टरलाई ‘डिजिटल हीरा’ भन्दै यसको महत्त्व उजागर गरे ।

    देशको सबैभन्दा ठूलो सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स शोमा २० हजारभन्दा बढी सहभागी, ४८ देशका प्रतिनिधि, ५० भन्दा बढी ग्लोबल सिएक्सओ र एक हजार दुई सय ७५ बुथहरू प्रस्तुत थिए । प्रधानमन्त्री मोदीले उद्योगमा भारतको नवप्रवर्तन र युवा शक्ति स्पष्ट रूपमा उपस्थित रहेकोमा जोड दिए । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने, “सेप्टेम्बर २ मा प्रधानमन्त्रीलाई पहिलो मेड–इन–इन्डिया चिप प्रस्तुत गरियो । आगामी केही महिनामा थप पाइलट लाइनहरू पूरा हुने क्रममा छन् । विद्यार्थीहरूले डिजाइन गरेका २० वटा चिप पनि प्रदर्शन गरियो ।”

    एसइएमआइका अध्यक्ष अजित मनोचाले भने, “भारतीय सेमिकन्डक्टर उद्योगले प्रधानमन्त्रीको दृष्टिकोणअनुसार तीव्र वृद्धि अनुभव गरिरहेको छ । एआई र टेक्नोलोजीमा प्रगतिसँगै हामी विश्वव्यापी स्तरमा मान्यता प्राप्त गर्दैछौँ ।” एसइएमआइ इन्डिया र आइइएसएका अध्यक्ष अशोक चन्दकले १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको घोषणा गर्दै भारतलाई सेमिकन्डक्टर डिजाइन, निर्माण र प्रविधि विकासको विश्वव्यापी केन्द्र बनाउन सरकारको प्रतिबद्धता स्पष्ट भए बताए ।


    सेमिकन इन्डिया २०२५ ले ४८ देशका प्रतिनिधिहरूसँग एक हजार दुई सय ७५ बुथ र २० हजारभन्दा बढी सहभागीलाई एकै स्थानमा ल्याइदिएको छ । कार्यक्रमले उद्योगका नेताहरू, नवप्रवर्तक, नीति निर्माता, स्टार्टअप र शिक्षाविद्हरूलाई अर्धचालक क्षेत्रमा नवीनतम प्रवृत्ति, अवसर र चुनौतीहरूमा छलफल गर्न, विश्वव्यापी सहयोग प्रवद्र्धन गर्न र स्वदेशी नवप्रवर्तन समर्थन गर्न अवसर दिएको छ ।

    कार्यक्रममा एप्लाइड मटेरियल्स, एएसएमएल, आइबिएम, इन्फिनियन, केएलए, लाम रिसर्च, मर्क, माइक्रोन, पिएसएमसी, र्‍यापिडस, स्यान्डिस्क, सिमेन्स, एसके हाइनिक्स, टाटा इलेक्ट्रोनिक्स, टोकियो इलेक्ट्रोन लगायत विश्वका प्रमुख कम्पनीहरूले सहभागिता जनाएका थिए । प्रधानमन्त्री मोदीको उद्घाटनले भारतको सेमिकन्डक्टर उद्योगमा नवप्रवर्तन, विश्वसनीयता र विश्वसामु प्रतिस्पर्धी क्षमता सुदृढ गर्ने महत्त्वपूर्ण सन्देश पठाएको छ ।

  • भारी मनसुनी वर्षाका कारण भारतद्वारा पाकिस्तानलाई सीमापार थप बाढीको चेतावनी

    भारी मनसुनी वर्षाका कारण भारतद्वारा पाकिस्तानलाई सीमापार थप बाढीको चेतावनी

    एजेन्सी
    १८ भदौ, काठमाडौं । मनसुनी वर्षाबाट आएको बाढीले दुवै मुलुकमा मानवीय क्षति र व्यापक विनाश निम्त्याइरहेकाले भारतले पाकिस्तानलाई केही हप्तामै दोस्रो पटक सम्भावित सीमापार बाढीको चेतावनी दिएको छ । पूर्वी पाकिस्तानको विपद् व्यवस्थापन प्राधिकरणले मङ्गलबार यो चेतावनी जारी गरेको हो । नयाँदिल्लीले सिन्धु जल सन्धि प्रयोग नगरी, इस्लामाबादस्थित भारतीय उच्च आयोगमार्फत ‘मानवीय आधारमा’ यो जानकारी साझा गरेको भारत सरकारका एक अधिकारीले बताएका छन् । सिन्धु जल सन्धि हाल स्थगित अवस्थामा छ ।

    गत महिनाको अन्त्यतिर भारतले बाँधबाट पानी छोड्दा र नदीहरूमा उग्र बहाव आउँदा पाकिस्तानले सीमावर्ती क्षेत्रहरूमा सामूहिक रूपमा स्थानीयवासीलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्नुपरेको थियो । यी दुई देश मे महिनामा युद्धको नजिक पुगेका थिए र दुवै आणविक शक्ति भएका प्रतिद्वन्द्वीबीच बारम्बार तनाव बढ्दै गएको छ, जसले कूटनीतिक सम्पर्कलाई असामान्य रूपमा प्रभावित पारेको छ ।

    पछिल्लो चेतावनी सतलज नदीको बढ्दो जलस्तरसँग सम्बन्धित छ । यो बाढीको पानी बुधबार पाकिस्तानमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । तीव्र धारले पहिले नै कसुर, ओकारा, वेहारी र बहावलनगरका सीमावर्ती समुदायहरूलाई प्रभावित गरिसकेको छ । पञ्जाबको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भारतीय उच्च आयोगले जलस्रोत मन्त्रालयमार्फत पाकिस्तानलाई यसबारे औपचारिक जानकारी दिएको छ ।

    उत्तरी भारतका धेरै भागमा भारी वर्षा भएको छ । विगत २४ घण्टामा मात्र कम्तीमा १० जनाको मृत्यु भएको छ । यस कारण मङ्गलबार केही विद्यालय र कार्यालयहरू बन्द गर्न बाध्य भएका थिए । करिब तीन करोड मानिस बस्ने भारतको पञ्जाब राज्यमा गत महिनामा मात्र भूस्खलन, बाढी र नदीको उग्र वहावका कारण कम्तीमा २९ जनाले ज्यान गुमाएका छन् । सेनाको सहयोगमा उद्धार टोलीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।

    नयाँदिल्लीमा हिमालयबाट बग्ने यमुना नदीको जलस्तरले मङ्गलबार खतराको स्तर नाघेको छ, जसले सहरको तल्लो क्षेत्रमा बाढीको जोखिम बढाएको छ ।
    राजधानी बाहिरको गुरुग्राम सहरमा समेत भारी वर्षापछि सडक र अपार्टमेन्टहरू जलमग्न हुँदा गम्भीर यातायात अवरोध उत्पन्न भएको छ । यसैबीच पाकिस्तानको पञ्जाब प्रान्तका अधिकारीहरूले हालका महिनामा मनसुनी बाढीका कारण १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको र करिब २४ लाख ५० हजार मानिस प्रत्यक्ष रूपमा प्रभावित भएको बताएका छन् ।

  • दक्षिण-पश्चिमी पाकिस्तानमा राजनीतिक र्‍याली नजिक आत्मघाती विस्फोट, १३ को मृत्यु र ३० घाइते

    दक्षिण-पश्चिमी पाकिस्तानमा राजनीतिक र्‍याली नजिक आत्मघाती विस्फोट, १३ को मृत्यु र ३० घाइते

    एजेन्सी
    १८ भदौ, काठमाडौं । मङ्गलबार राति विद्रोह प्रभावित दक्षिणपश्चिम पाकिस्तानमा एक राष्ट्रवादी पार्टीका समर्थकहरू र्‍यालीबाट बाहिरिँदै गर्दा स्टेडियम बाहिर आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा १३ जनाको मृत्यु भएको र ३० जना घाइते भएको प्रहरी तथा अस्पताल अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

    स्थानीय प्रहरी प्रमुख मजीद कैसरानीका अनुसार बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको बाहिरी क्षेत्रमा चिहान नजिकै विस्फोट भएको हो । उनले आक्रमणकारीको शरीरका अङ्गहरू घटनास्थलबाट बरामद गरिएको बताए । सरकारी अस्पतालका प्रवक्ता वसीम बेगले १३ जनाको शव र दर्जनौँ घाइतेहरू अस्पताल भर्ना भएको उल्लेख गर्दै तीमध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिए ।

    यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले दाबी गरेको छैन । यो र्‍याली दिग्गज राष्ट्रवादी नेता तथा पूर्व प्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेङ्गलको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो । घटनामा बलुचिस्तान नेसनल पार्टीका नेता अख्तर मेङ्गल सुरक्षित छन्, तर उनका केही समर्थकहरू मारिन पुगेका वा घाइते भएका वरिष्ठ प्रहरी अधिकारी उसामा अमीनले बताए ।


    मेङ्गल सरकारका मुखर आलोचक हुनुहुन्छ र प्रायः बेपत्ता बलुच राष्ट्रवादीहरूको रिहाइको माग गर्दै र्‍यालीहरू आयोजना गर्ने गर्छन् । बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले विस्फोटलाई ‘मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य’ भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उनले घाइतेहरूलाई उत्कृष्ट उपचार उपलब्ध गराउन र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिएका छन् ।


    इस्लामाबादमा गृहमन्त्री मोहसिन नकवीले पनि आक्रमणको निन्दा गर्दै ‘भारत समर्थित आतङ्कवादीहरू र तिनीहरूको सहयोगीहरूले नागरिकहरूलाई लक्षित गर्दै देशलाई अस्थिर बनाउन खोजेको’ आरोप लगाए । तर उनले आफ्ना दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रस्तुत गर्नुभएन । हालैका महिनामा पाकिस्तान सरकार र मुख्यमन्त्री बुगतीले बारम्बार भारतले पाकिस्तानी तालिबान र बलुच पृथकतावादीहरूलाई समर्थन गरेको आरोप लगाएका छन् । उक्त आरोपलाई भारतले अस्वीकार गर्दै आएको छ ।

    बलुचिस्तान लामो समयदेखि तल्लो स्तरको विद्रोहको केन्द्र बनेको छ । त्यहाँ बलुचिस्तान मुक्ति सेना (बिएलए) जस्ता समूहहरूले केन्द्र सरकारबाट स्वतन्त्रताको माग गर्दै आएका छन् । यी पृथकतावादीहरूले विशेषगरी पञ्जाब प्रान्तका सुरक्षा बल र कामदारहरूलाई लक्षित गरेका छन् ।

    अधिकारीहरूले विद्रोह कम भएको बताए पनि यस क्षेत्रमा हिंसा भने निरन्तर जारी छ । गत जुलाईमा क्वेटाबाट पञ्जाब प्रान्ततर्फ जाँदै गरेका दुईवटा यात्रु बसलाई बलुचिस्तानको राजमार्गमा रोकेर बन्दुकधारीहरूले नौ जनालाई अपहरण गरी हत्या गरेका थिए । यस्ता अधिकांश आक्रमणहरू प्रतिबन्धित बिएलए समूहले दाबी गर्दै आएको छ ।

  • बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

    बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

    एजेन्सी
    १८ भदौ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका छन् । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राजधानीको मुटुमै आयोजना गरिएको भव्य सैन्य परेडमा सहभागिता जनाएपछि दुवै नेताले दियाओयुताई राज्य अतिथिगृहमा औपचारिक भेट गरेका थिए ।

    क्रेमलिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुटिन र किम एउटै कारमा औपचारिक स्वागतदेखि वार्तास्थलसम्म सँगै पुगेको उल्लेख गरेको छ । बैठक सुरु हुँदा पत्रकारहरूलाई सम्बोधन गर्दै पुटिनले युक्रेनसँगको युद्धमा रुसी सेनासँगै लडेका उत्तर कोरियाली सैनिकहरूको साहस र वीरताको प्रशंसा गरे ।


    दक्षिण कोरियाको अनुमानअनुसार, गत वर्षदेखि उत्तर कोरियाले करिब १५ हजार सैनिक रुस पठाइसकेको छ । यससँगै उसले ब्यालेस्टिक मिसाइल र तोपखानासहित ठूलो मात्रामा सैन्य उपकरण पनि उपलब्ध गराएको छ, जसले युक्रेनमा पुटिनको तीन वर्ष लामो आक्रमणलाई थप बल प्रदान गरेको छ ।

    प्रारम्भिक टिप्पणीमा किमले गत वर्ष जुनमा प्योङयाङमा सम्पन्न शिखर सम्मेलनपछि मस्को–प्योङयाङबीचको रणनीतिक साझेदारी उल्लेखनीय रूपमा मजबुत भएको बताए । युद्धबारे प्रत्यक्ष रूपमा उल्लेख नगरी उहाँले भन्नुभयो, “यदि म तपाईं र रुसका जनताका लागि केही गर्न सक्छु भने र त्यस्तो आवश्यक छ भने म त्यसलाई भ्रातृ कर्तव्यको रूपमा लिन्छु । यो हाम्रो साझा दायित्व हो, जसलाई पूरा गर्न म सबै प्रकारले सहयोग गर्न तयार छु ।”

    बेइजिङको वार्षिकोत्सव समारोहले किमको १४ वर्ष लामो शासनकालमा पहिलो पटक प्रमुख बहुपक्षीय कार्यक्रममा उपस्थिति जनाएको हो । यस अवसरमा पहिलो पटक किम, पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ एउटै स्थानमा भेला भएका थिए । पर्यवेक्षकहरू किमले सीसँग द्विपक्षीय भेट गर्नुहुन्छ कि वा सी र पुटिनसँग त्रिपक्षीय निजी बैठक बस्नुहुन्छ भन्ने विषयमा चासो दिइरहेका छन् । तर हालसम्म कुनै पक्षले त्यसबारे आधिकारिक पुष्टि गरेको छैन ।

  • एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

    एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

    १८ भदौ, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    मङ्गलबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

    कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

    १८ भदौ, गोरखा । कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन् । वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।

    ४२ वर्षीय बराम केही वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । “त्यहाँ शनिबार बिदा हुने रहेछ । त्यो दिन साथिभाईहरुसँग खानपिन गरेर सुतेका रहेछन्, बिहान उठ्दै उठेनन”, वडा सदस्य गोलबहादुर बरामले भने, “रातको २ बजेसम्म श्रीमती पवित्रा बरामसँग कुराकानी भएको रहेछ ।”

    बरामको एक छोरा र एक छोरी छन् । उनको आर्थिक अवस्थासमेत कमजोर रहेकाले मृतकको शव नेपाल ल्याउन हालसम्म कुनै पहल नभएको वडा सदस्य बरामले बताए । उनका बुबा र भाई शारीरिक अपाङ्ग छन् ।

  • प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    १८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको तियाञ्जिन प्रस्थान गरेका थिए ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे ।


    प्रधानमन्त्रीको स्वागतका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो ।

    स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले आजै बेइजिङमा आयोजित ८०औँ वार्षिकोत्सव तथ विशेष सैनिक परेड कार्यक्रममा सहभागिता जनाएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भदौ १६ गते चीनको तियाञ्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

    त्यस्तै उनले भ्रमणका दौरान चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्व नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

    त्यस्तै अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

    प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहेका थिए ।

  • मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

    मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

    १८ भदौ, मुस्ताङ । जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको निवास हुँदा विभिन्न खालका समस्या तथा चुनौती देखा पर्ने गरेका छन् ।

    आधा शताब्दीभन्दा धेरै पुरानो यहाँको कारागार भवन ढुङ्गा र माटोले बनेको छ । भवनको छत यहाँको सक्खर माटो बिच्छ्याएको छ । एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको आवास स्थान रहेकाले त्यहाँका सुरक्षाकर्मीलाई निकै समस्या पर्ने गरेको पाइएको छ । विसं २०३७ मा स्थापना भएको मुस्ताङ कारागार भवनको आवश्यक भौतिक संरचना निर्माण नहुँदा त्यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले सास्ती भोग्न बाध्य छन् ।

    हाल कारगार भवनमा पानी चुहिन थालेपछि जस्ताले छाइएको छ । त्यही कारागार भवनमा सुरक्षाकर्मी मात्रै होइन त्यहाँका प्रशासनिक कर्मचारीसमेत बस्ने गरेका छन् । धेरै पहिला बनेको ढुङ्गा र माटोले निर्मित कारागारको जीर्ण भवन स्तरोन्नति नहुँदा कैदीबन्दी, सुरक्षाकर्मी र त्यहाँका काम गर्ने कर्मचारीलाई समस्या पर्ने गरेको छ । पछिल्लो समय मुस्ताङमा समेत वर्षा हुने क्रम बढेकाले त्यहाँको कारागार भवन पछिल्लो समय असुरक्षित महसुस गरिएको बताइएको छ ।

    कारागारमा आठ कर्मचारीको दरबन्दी छ । यहाँ एक जना कारागार प्रशासक, एक जना सहलेखापाल, एक स्वास्थ्यकर्मी, एक खरिदार, एक जना सहायक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगीको दरबन्दी छ । यहाँका कुल दरबन्दीमध्ये कारागार प्रशासक, स्वास्थ्यकर्मी, खरिदार र एक कार्यालय सहयोगीको पद रिक्त छ । यहाँ कार्यरत सहायक कम्प्युटर अपरेटरको पनि सरुवा भइसकेकाले सो पद पनि रिक्त हुँदैछ । यहाँको कारागारमा कारागार व्यवस्थापन विभागले दरबन्दीअनुसार प्रशासनिक कर्मचारी पदपूर्ति गर्न नसक्दा कारागार व्यवस्थापनमा समस्या भइरहेको छ ।

    यसैगरी कारागारमा एक प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा ११ सुरक्षाकर्मी खटाइएको छ । यहाँको कारागारमा कूल कैदीबन्दीको क्षमता १५ जनाको रहेको छ । हाल यस कारागारमा २२ वर्षदेखि ६८ वर्ष उमेर समूहका १२ कैदीबन्दी रहेको कारागारका निमित्त प्रशासक युवराज तिमिल्सिनाले जानकारी दिए ।

    कारागार निमित्त प्रमुख तिमिल्सिनाका अनुसार कारागारमा सुरक्षाकर्मीको बेग्लै आवास भवन नरहेको, कारागारमा चाहिने सवारीसाधन नभएको, खानेपानीको समस्या रहेको, कारागारको पर्खाल मजबुत नभएको, कारागारमा पानी चुहिने समस्या रहेको र कैदीबन्दीलाई स्वास्थ्योपचार तथा अदालतमा म्याद थप गर्न लैजाँदा समस्या पर्ने गरेको छ ।

  • नेप्से परिसूचक १५ अङ्कले घट्यो

    नेप्से परिसूचक १५ अङ्कले घट्यो

    १८ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा खुम्चिएको हो ।

    आजको कारोबारमा म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ५५, विकास बैंक शून्य दशमलव ८५, वित्त शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् शून्य दशमलव ९३, लगानी शून्य दशमलव ५४ र जीवन बिमा शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

    त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ६९, निर्जीवन बिमा शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९९ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रु ३३ करोड ८० लाख २२ हजार ५२४ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको १२ लाख ११ हजार ६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

  • प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश प्रस्थान

    प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश प्रस्थान

    १८ भदौ, बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गरेका छन् । उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते त्यसतर्फ गएकोमा भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गरे ।

    साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गते चीनको तियान्जिनतर्फ प्रस्थान गरेका थिए । उनले आज बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत सहभागी भए ।


    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्वका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उनले यही भदौ १६ गते तियान्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरे । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

    प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद छविलाल विश्वकर्मालगायत उच्चस्तरीय सरकारी अधिकारी रहेका छन् ।

  • विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

    विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

    १८ भदौ, त्रिशूली । तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन् । विद्यालय छुट्टीपश्चात् आज अपराह्न ४ बजे घर फर्कने क्रममा चिलाउने खोलाले बगाउँदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङका चार वर्षीया छोरी शशिकला तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

    उनका अनुसार खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरू तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो । खोलाले बगाएर उनलाई करिब १०० मिटर तल पुर्‍याएको तादी–२ का अध्यक्ष बच्चुराम तामाङले जानकारी दिए । उनीसँगै खोला तर्ने क्रममा बाढीले बगाएका अन्य दुई जना बालिका र एक जना बालक खोलाको किनारतर्फ पुगेकाले घाइते भएका छन् । घाइते हुनेमा जोयस तामाङ, ज्योति तामाङ र सुस्मा तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरूको अहिले खरानीटार अस्पतालमा उपचार भइरहेको छ ।

  • पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

    पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

    १८ भदौ, काठमाडौं । काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । ठक्करबाट नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ की ५ वर्षीय आशिका राई घाइते भएकामा विवेक तामाङको अवस्था गम्भीर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनले भने, “आज पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको थियो । त्यसमध्येका विवेक तामाङको अवस्था गम्भीर छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।” आशिकाको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको र माइक्रो चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

    फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

    १८ भदौ, धनगढी । हरेक सहरमा चुनौती बनेको फोहर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । फोहर व्यवस्थापनका सम्बन्धमा दुवै स्थानीय तहबीच मङ्गलबार धनगढीमा भएको परियोजनाको प्रस्तुतीकरणको अनुभव साटासाटका क्रममा सहभागी वक्ताले फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।

    धनगढी उपमहानरपालिकाका प्रमुख गोपी हमालले सरसफाइलाई पालिकाको गौरवको योजनाका रूपमा अगाडि बढाएको बताए । “सडक, पुल, भवन नभई हाम्रो गौरवको योजना फोहर व्यवस्थापन र सरसफाइ हो”, उनले भने, “स्थानीय तहको कम प्राथमिकतामा पर्दै आएको फोहर व्यवस्थानलाई हामीले पहिलो प्राथमिकता दिएका छौँ, त्यहीअनुसार वार्षिक बजेट र कार्यक्रम तय गरिएको छ ।”

    उनले व्यक्ति र समुदायलाई फोहर नगर्ने बानीको विकास गर्न सकिएमा फोहर व्यवस्थापनमा देखिएको जटिलता कम हुने बताए । नगरप्रमुख हमालले प्लास्टिकजन्य फोहर फैलन नदिन गु्ट्खालगायत एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकलाई प्रतिबन्ध लगाइएको बताए । उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले फोहरबाट बायो ग्यास उत्पादनदेखि फोहर प्रशोधन गरेर विभन्न वस्तु उत्पादन गर्ने तयारी भइरहेको बताए ।

    पञ्चानब्बे प्रतिशत फोहर घरघरबाटै वर्गीकरण भएर आउने गरेको उनले जानकारी दिए । अस्पतालजन्य फोहर व्यवस्थापनका लागि बेग्लै संरचना बनाएर काम सुरू गरिएको अधिकृत अवस्थीले बताए । फोहरको सूक्ष्म वर्गीकरण केन्द्र पनि सञ्चालनमा छ । निजी क्षेत्रसँगको सहकार्यमा समुदाय, विद्यालयगायत सामाजिक सङ्घसंस्थालाई पनि फोहर व्यवस्थापनमा परिचालन गरिएको छ ।

    पोखरा महानगरपालिकामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ योजनामार्फत हरित रोजगारी सृजना परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाले उक्त परियोजनाबारे जानकारी गराए । फोहर व्यवस्थापनमा उल्लेखनीय काम गरेका स्थानीय तहहरूबीच सीप र अनुभव आदानप्रदान गर्न अवलोकन भ्रमणको आयोजना गरिएको उनले बताए । अवलोकन भ्रमणमा पोखरा महानगरपालिकाका कर्मचारी, परियोजनाका कर्मचारी, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी छन् ।

    पोखरा महानगरपालिकाले कोरिया अन्तरराष्ट्रिय सहयोग नियोगको आर्थिक तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सृजना परियोजना’ सञ्चालन गरेको छ । परियोजनामार्फत प्रयोग गर्ने र फाल्ने अभ्यासको सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङ उद्योग स्थापनामा जोड दिइएको छ ।

    हरित रोजगारी प्रवर्द्धन गर्दै ठोस फोहरमैलाबाट सृजना हुने प्रदूषण तथा नकारात्मक वातावरणीय प्रभाव न्यूनीकरणमा टेवा पुग्ने विश्वास छ । परियोजनाले फोहर सङ्कलन, ढुवानी र वर्गीकरणका लागि समुदायमा सचेतना अभियान पनि सञ्चालन गर्दै आएको सहजकर्ता तिमिल्सिनाले बताए । परियोजनाले पोखराका एक सय ३६ वटा टोलमा अभियान सञ्चालन गर्दै आएको छ ।

  • दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

    दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

    १८ भदौ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो ।

    गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । निजलाई उपचारार्थ पोखरा पठाइएको छ ।

  • अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’

    अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’

    १८ भदौ, बेनी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन् ।

    वनस्पतिबारे जानकार कमल मादेनका अनुसार हाम्रो देशमा पाइने गुराँसका ३३ प्रजातिमध्ये पोथ्रे गुराँस सानो रैथाने प्रजातिको मानिन्छ । यो प्रजातिको गुराँस तीन मिटर अग्लोसम्म हुन्छ । डढेलोको कारण यो दुर्लभ प्रजाति मासिँदै गएकामा उनी चिन्तित छन् । अन्नपूर्ण पदमार्गमा गुराँस प्रजातिको रातो, गुलाबीका साथै सेतो र बैजनी रङका फूल पनि पाइन्छन् । तिनको संरक्षणमा सम्बद्ध निकाय संवेदनशील हुनुपर्नेमा उनको जोड छ ।

  • कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षाको पूर्वानुमान

    कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षाको पूर्वानुमान

    १८ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्कदै

    प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्कदै

    १८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन ९एससिओ० शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कने छन् । प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरे । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए ।

    उनले शिखर सम्मेलनलाई सम्बोधन गरे । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

    अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग भेटवार्ता गरेका थिए । त्यसैगरी, प्रधानमन्त्री ओलीले मङ्गलबार बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुभयो ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।


    प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन् ।

  • सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

    सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

    १८ भदौ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ । तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ । जसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती खडा गरिरहेको छ ।

    हिमाललाई जलवायु परिवर्तनको असरबाट बचाउने उद्देश्यका साथ सगरमाथामा भएको फोहर ढुवानीमा पछिल्लो समय ड्रोन प्रविधिको प्रयोग गरिएको छ । विद्युतीय सवारी बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इंकले नेपालको ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर सङ्कलन गरिरहेको जनाएको छ ।

    साइमक्स इङ्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट एक हजार केजी फोहर सङ्कलनको लक्ष्यसहित काम गरिरहेको छ । बिवाइडीले विश्वव्यापी रुपमा ‘कूल द अर्थ वाइ वान डिग्री’ नाराका साथ जलवायु परिवर्तन विरुद्ध सुरु गरेको अभियानअन्तर्गत नै नेपालमा सगरमाथा क्षेत्रमा फोहर सङ्कलन अभियान सुरु गरेको हो ।

    उक्त अभियान स्वच्छ ऊर्जाको प्रवर्द्धन र शून्य कार्बन उत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले विश्वव्यापी रुपमा सुरु गरिएको हो र साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र प्राविधिक रुपमा यस अभियानमा जोडिएको बताए ।


    आफूहरुले सगरमाथालाई बचाउन र जलवायु परिवर्तनको न्यूनीकरणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले आफूहरुले उक्त अभियान सुरु गरेको उनको भनाइ छ । उनले भने, “सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो, यसको संरक्षणमा प्रविधिको उपयोग गर्दै सकारात्मक प्रभाव पार्न हामी क्रियाशील छौँ, हामी सधैँ दिगो विकास र स्वच्छ वातावरणका पक्षमा छौँ र यो अभियान त्यसकै निरन्तरता हो ।” एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार फोहर सङ्कलनमा प्रयोग हुने ड्रोनहरूले झण्डै १५ मिटर प्रतिसेकेन्डको गति र १५ डिग्री सेल्सियसको चिसोमा काम गर्न सक्छन् । यसले सगरमाथा क्षेत्रमा सफाइका लागि परम्परागत जोखिम घटाउने गरी काम गर्ने अपेक्षा गरिएको छ ।

    निर्देशक पाण्डेका अनुसार सगरमाथाको माथिल्लो क्षेत्रमा भएको फोहर ढुवानीमा छ देखि सात घण्टा लाग्ने गरेकामा अब प्रविधिको प्रयोगले भने एकदेखि दुई मिनेटमा सम्भव भएको उनको भनाइ छ । “विगतका वर्षमा खुम्बु आइफसलमा फोहर थुप्रिँदा ‘रोप फिक्सिङ’ र सामान ढुवानी गर्दा धेरैले ज्यान गुमाएको अवस्था थियो, तर अहिले प्रविधिको प्रयोगले फोहरलगायतका सामान ढुवानी सहज मात्रै भएको छैन कैयौँ मानिसहरुको ज्यान पनि जोगिएको छ”, उनले भने । उनका अनुसार सगरमाथाको छ हजार एक सय ३० मिटरको उचाइमा रहेको फोहर ड्रोनको प्रयोग गरी आधारशिविरमा ल्याउने काम भइरहेको छ ।

    सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा फोहर व्यवस्थापन पनि भइरहेको उनको भनाइ छ । “हामीले यसअघि सन् २०२४ मा सगरमाथाको क्याम्प–१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहर सङ्कलन गरेका थियौँ, यसपटक साइमेक्स इङ्कको सहकार्यमा सगरमाथा क्षेत्रबाट दुई सय ८६ केजी फोहर सङ्कलन भइरहेको छ, अब अमादब्लम र मनास्लुबाट फोहर सङ्कलनको योजना छ”, उनले भने । एयरलिफ्ट टेक्नोलोजीले सगरमाथामा फोहर सङ्कलनपछि यो अभियानलाई अन्य हिमाली क्षेत्र र राष्ट्रिय निकुञ्जमा विस्तार गर्ने योजना बनाएको छ ।

    साइमेक्स इङ्कका बजार प्रमुख समिर श्रेष्ठका अनुसार गत याममा सगरमाथाको क्याम्प–१ बाट ड्रोनको प्रयोग गरी दुई सय ८६ केजी फोहर सङ्कलन भइसकेको छ भने यस याममा थप फोहर सङ्कलन जारी छ । “एयरलिफ्ट कम्पनीले यसअघि सगरमाथा क्षेत्रमा रहेको फोहर सङ्कलन गरेको थियो”, उनले भने, “यसपटक साइमेक्स इङ्क र एयरलिफ्ट टेक्नोलोजी मिलेर एक हजार केजी फोहर सङ्कलन सुरु गरेका छौँ ।”

    जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रविधिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै बिवाइडीका बजार प्रमुख श्रेष्ठले फोहर सङ्कलनमा ड्रोनको प्रयोगले सहज भएको बताए । “रोप फिक्सिङमा पनि ड्रोनको सफल प्रयोग भएपछि फोहर सङ्कलनमा ड्रोनको प्रयोग गरेका हौँ”, उनले भने । नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष तथा आरोही मिङ्मा डेभिड शेर्पाले आरोहीहरुले सगरमाथामै फोहर छाड्ने गरेकाले समस्या भएको बताउँछन् ।

    उनले सगरमाथाबाट फोहर सङ्कलनमा ठूलो खर्च र जोखिम हुने उल्लेख गर्दै प्रविधिको प्रयोगले निकै सहज भएको बताए । उनले भने, “आरोहीहरुसँग प्रत्येक पटक फोहरका शीर्षकमा सरकारले केही शुल्क धरौटीका रुपमा राख्छ तर पछि फिर्ता पनि दिन्छ, तर पनि सगरमाथा क्षेत्रमा फोहर बढ्ने क्रम रोकिएको छैन, यसले समस्या थपिएको छ ।” उनका अनुसार अब आरोहीसँग शुल्क नै लिएर फोहर व्यवस्थापन गर्नुपर्छ ।

  • सिन्धुपाल्चोकमा भूकम्पको धक्का

    सिन्धुपाल्चोकमा भूकम्पको धक्का

    १८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमासमेत अनुभव गरिएको थियो ।

    मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

  • पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक

    पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक

    १८ भदौ, गण्डकी । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रुपमा मात्र यसको महत्व धार्मिक र ऐतिहासिक रुपमा पनि उत्तिकै छ । महाभारतकालीन समयमा पाण्डवले पचभैयामा एक रात बिताएको विश्वास छ । गुप्तवासका क्रममा पाण्डवहरु यहाँस्थित पचभैया कोट देउराली क्षेत्रमा बास बसेको जनविश्वासका कारण यो धार्मिक हिसाबले महत्वपूर्ण रहेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीनानाथ ढकालले बताए ।


    किंवदन्तीअनुसार गुप्तवासका क्रममा यही स्थानमा पाण्डवहरूले यहाँस्थित देउराली देवीको शक्ति प्राप्त गरेका थिए । सोही विश्वासकै कारण पचभैया कोट देउराली मन्दिरमा यस आसपासका दर्शनार्थीहरू अत्यन्त श्रद्धा विश्वासका पूजाआजा गर्न आउने गरेको उनको भनाइ छ । साढे दुई दशक अघिसम्म देउरालीको थानका रुपमा सामान्य ढुङ्गाको शिला मात्र रहेकोमा स्थानीयको सक्रियताका कारण यहाँ मन्दिर निर्माण गरिएको हो । नजिकै रहेको कोट मन्दिरसमेतलाई समेट्दै यहाँको संरक्षण र विकास थालिएको हो ।


    मन्दिर निर्माणका लागि विसं २०६० मा महायज्ञ गरी त्यहाँबाट सङ्कलित झण्डै रु ५० लाखको सङ्कलन गरिएको थियो । मन्दिर परिसरमा हवनकुण्ड, पुजारी आवास र कार्यालय छन् । मन्दिरभित्र प्राचीनकालदेखि कै शिला राखिएको छ । किंवदन्तीअनुसार पाण्डव एकवर्षे गुप्तवासका क्रममा हिमालयमा तपस्या गर्न पुगे । तपस्याबाट फर्कने क्रममा पचभैयामा एक रात बिताएछन् । त्यसक्रममा उनीहरूले देवीको आराधना गरेको र उक्त स्थानमा देवी उत्पति भई उनीहरूलाई शक्ति प्रदान गरेको विश्वास छ ।

    पूर्वअध्यक्ष ढकालका अनुसार पाण्डव बसेको स्थान भएका कारण उक्त समयदेखि यस स्थानलाई पञ्चभैया भन्न थालियो । पछि अपभ्रंश हुँदै यस स्थानको नाम पचभैया हुन गएको हो । यहाँबाट विश्वका आठ हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण, धवलागिरी, र मनास्लु हिम श्रृङ्खलालाई एक साथ अवलोकन गर्न सकिन्छ । यहाँबाट बेगनास र रुपा ताल पनि हेर्न सकिने होटेल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष एवं सल्लाहकार दामोदरभक्त थापाले जानकारी दिए ।


    बेगनास तालदेखि करिब डेढ किलोमिटर दूरीमा पर्ने पचभैया क्षेत्रबाट देखिने रमणीय हिमाली दृश्यका साथै तालतलैयाले यहाँको पर्यटकीय महत्वलाई अझै बढाएको उहाँको भनाइ छ । यहाँ पछिल्लो समयमा होटेल तथा रेष्टुरेण्टलगायतका पूर्वाधार निर्माण भइरहेको छ । हाल यस क्षेत्रमा १४ वटा घरवास ९होमस्टे० सञ्चालनमा आइसकेका छन् भने केही होटल पनि छन् ।

    जलपर्यटन सहित पर्यापर्यटनको पनि उत्तिकै सम्भावना रहेको यसै क्षेत्रमा निर्मित पचभैया प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो । बृहत पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र पछिल्लो समयमा यहाँको पर्यटकीय गन्तव्यका रुपमा विकास भएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले बताए ।


    गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो । खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको छ । केन्द्रमा आउने पर्यटकले चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा आदि गरी विभिन्न २२–२३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउँछन् ।

    यस क्षेत्रमा चिडियाखाना स्थापना गर्ने सोच अनुरुप युनाइटेड क्लबले विसं २०६७ देखि अभियान नै सुरु गरेको थियो । केन्द्र परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइन्छन् ।

    स्थानीय सचेतना अभिवृद्धिका लागि यहाँ सञ्चालित सिड फाउण्डेशन नेपालमार्फत विभिन्न कार्यक्रम गर्दै आइएको संस्थापक अध्यक्ष दामोदरभक्त थापाको भनाइ छ । पचभैया क्षेत्रको भौगोलिक अवस्थिति एवं यहाँबाट देखिने मनोरम दृश्यकै कारण यो पर्यटकीय रुपमा आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको हिमालय फरेष्ट रिसोर्ट पचभैयाका सञ्चालक प्रमोद भण्डारीले जानकारी दिए ।