Category: समाचार

  • हिले–जलजलेमा कृत्रिम ताल निर्माण

    हिले–जलजलेमा कृत्रिम ताल निर्माण

    १८ भदौ, धुलिखेल । यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो । सोही स्थानमा अब उद्यान निर्माण गरिने र तालमा डुङ्गा सञ्चालन गर्ने योजना बनाइएको छ । घिमिरेगाउँका स्थानीय बासिन्दा केशवप्रसाद घिमिरेले ताल निर्माणसँगै सो स्थान पर्यटकीय गन्तव्य बनेको बताए । “पर्यटकीय क्षेत्र बनेपछि टाढाटाढाबाट मानिस आउँछन्, त्यसरी आउनेले यहीँका उत्पादन सागसब्जी र फलफूल बिक्री गरेर आम्दानी लिने बाटो खुल्छ भन्ने आशामा गाउँले छौँ”, उनले भने, “सुरुआती अवस्थाले उत्साह थपिएको छ, उद्देश्य नै बहुउद्देश्यीय पर्यटकीय ताल भएकाले सुविधायुक्त बन्नेमा विश्वस्त छु ।”

    सोही ठाउँका अर्का स्थानीय बासिन्दा कृष्णप्रसाद दाहालले पर्यटकीय ताल बनेसँगै यहाँबाट बगेको पानीले तलतिर रहेको पाखो खेतबारी सिञ्चित भई उत्पादन वृद्धि हुने आशामा रहेको बताए । हिले जलजले पर्यटकीय ताल संरक्षण समितिका संयोजक गोपाल घिमिरेका अनुसार सुरुआती चरणमा ताल निर्माणका लागि बाँधको संरचना निर्माण गरी पानी जमाउने काम भएको छ । बाँध निर्माणसँगै बाँधस्थलमा घेराबार गर्ने र मानिस हिँडडुल गर्न स्टिलको रेलिङ निर्माण गरिएको छ ।

    बागमती प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पूर्वाधार निर्माणको जिम्मा पाएको विजय\लोटस\तेजस्वी जेभीले २०८० साल मङ्सिरदेखि काम थालनी गरी हाल अन्तिम चरणमा पु¥याएको छ । पहिलो चरणमा बाँध निर्माणका लागि निर्माण कम्पनीले रु पाँच करोड ८७ लाख लागतमा काम सम्पन्न गरेको हो । विस्तृत परियोजना प्रतिवेदनअनुसार सो तालमा डुङ्गा सञ्चालन गर्ने र आसपासका क्षेत्रमा पर्यटकका लागि मनोरञ्जन गर्ने उद्यान निर्माण गर्ने योजना छ । विस्तृत परियोजना प्रतिवेदनअनुसार करिब रु १७ करोड लागतमा यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने उल्लेख छ ।

  • मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी

    मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी

    १८ भदौ, काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको र राजनीतिक दलसम्बन्धी ऐनअनुसार भदौ १९ देखि २५ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आयोगमा निवेदन दिन सूचना जारी गरेको हो ।

    दल दर्ताका लागि निवेदन दिँदा निवेदनमा राजनीतिक दलसम्बन्धी नियमावलीको ढाँचामा निवेदन, राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेललगायत विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

    त्यसैगरी दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्य सङ्ख्या, पछिल्लोपटक आयोगसमक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र उम्मेद्वारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपिसमेत पेस गर्नुपर्ने उल्लेख छ ।

  • श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ

    श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ

    १८ भदौ, अर्घाखाँची । यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा मंगलबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४ वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए ।

    छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा सडेको शव फेला परेको हो । घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् । अभियुक्त प्युठानको नौबहिनी गाउँपालिका– १ स्थायी बासिन्दा हुन् ।

  • बाढीमा बगेर दुई युवकको मृत्यु

    बाढीमा बगेर दुई युवकको मृत्यु

    १८ भदौ, रसुवा । दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो । गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि खोजी थालिएको थियो । शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • एमालेले सचिवालय बैठक बोलायो

    एमालेले सचिवालय बैठक बोलायो

    १८ भदौ, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने बताए ।


    महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदैछन् ।

  • वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

    वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

    रासस
    १७ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा परेको रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि संवैधानिक विषय भएकाले पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश गरेको हो ।

    “निवेदनमा उठाइएको विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा प्रस्तुत निवेदनको पूर्ण सुनुवाइ भई छिटो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत निवेदनमा सबै विपक्षीहरुबाट लिखित जवाफ परेको वा पर्ने अवधि भुक्तान भएको सात दिनभित्र निवेदनको सुनुवाइलाई अग्राधिकार दिई सोअगावै देहायका कार्यहरू सम्पन्न गर्नु”, आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनमा नेपालको संविधानको धारा १००९२० को व्याख्याको जटिल संवैधानिक प्रश्न समावेश भएको देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३९२० ग बमोजिम पूर्ण इजलासमा पेस गर्नु ।”

    अदालतले वर्तमान सरकार गठन हुँदाको २०८१ असार ३१ मा गठन हुँदाका बखत पेस भएको दलहरूको समर्थन पत्र राष्ट्रपति कार्यालयबाट झिकाउन भनेको छ । आदेशमा २०८१ साउन ६ गते वर्तमान सरकारलाई विश्वासको मत दिने राजीतिक दलहरूपिच्छेको मतसङ्ख्या देखिने विवरण सङ्घीय संसद् सचिवालयबाट झिकाउन भनिएको छ ।

    अदालतले २०८१ साउन ६ मा वर्तमान सरकारलाई विश्वासको मत दिने सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (अशोक राई) र समाजवादी पाटी (उपेन्द्र यादव) बाट भएको निर्णयसम्बन्धी राजनीतिक दलको कार्यालयबाट कागजात झिकाउन भनिएको छ । अधिवक्ता वीरेन्द्र केसीले जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेमा नलिएको उल्लेख गर्दै गत सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

  • जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

    जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

    १७ भदौ, काठमाडौं । न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। परिषद्को बैठकबाट सिफारिस हुने जिल्ला न्यायाधीशमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल रहेको न्याय परिषद्का सूचना अधिकारी सुमन पाण्डेले जानकारी दिए ।

    त्यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी, सर्वोच्च अदालतका उपरजिस्ट्रार अनुपमा पन्त र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विश्वदीप वेस्रा रहेका छन् । जिल्ला अदालतमा २७ न्यायाधीशका पद रिक्त छ । तीमध्ये २१ जना न्याय सेवा आयोगको खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् ।

  • रतुवाको मासुसहित पक्राउ

    रतुवाको मासुसहित पक्राउ

    १७ भदौ, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–२ पूर्णागिरि टोलका अन्ताजी ५६ वर्षीय राजेन्द्र सिंह भाटलाई आज प्रहरीले रतुवाको मासुसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार भाटलाई सोही नगरपालिका–३ शान्ति टोलबाट गोप्य सूचनाका आधारमा रतुवाको मासुसहित पक्राउ गरिएको छ । बरामद रतुवाको मासुसहित भाटलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाइएको छ । निकुञ्जले भाटमाथि आवश्यक कारबाही प्रक्रियासँगै थप अनुसन्धानको कार्य अगाडि बढाएको छ ।

  • अदालतको अवहेलनासम्बन्धी मुद्दामा श्रेष्ठलाई लिखित जवाफ माग

    अदालतको अवहेलनासम्बन्धी मुद्दामा श्रेष्ठलाई लिखित जवाफ माग

    १७ भदौ, काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ माग गर्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उनीसँग लिखित जवाफ आएको सात दिनभित्र सुनुवाइका लागि अग्राधिकारसमेत दिएको छ । मोरङ जिल्ला स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले उपाध्यक्ष श्रेष्ठले यही भदौ ६ गते श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै अवहेलनासम्बन्धी निवेदन दायर गरेका थिए ।

    निवेदनमा उपाध्यक्ष श्रेष्ठले भनसुन र घुसबिना अदालतबाट न्याय नपाउने भनी सामाजिक सञ्जालमार्फत अदालतप्रति अविश्वास फैलाउने खालको सामग्री पोस्ट गरेको उल्लेख छ । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका उपाध्यक्ष श्रेष्ठलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) बमोजिम हदैसम्मको सजाय माग गरिएको छ । कसुर ठहरिए श्रेष्ठलाई एक वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

  • प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता

    १७ भदौ, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
    बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेष्टहाउसमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भेटमा चिनियाँ पक्षले दुईपक्षीय कूटनीतिक सम्बन्ध विस्तारका साथै दुवै देशलाई लाभ हुने आयोजना अघि बढाउने विषयमा छलफल गरेको थियो । त्यसैगरी नेपाली पक्षले औपचारिक भ्रमणका लागि आमन्त्रण गरेकामा र उच्चस्तरीय भेटवार्ताका लागि चीन सरकारप्रति आभार व्यक्त गरेको थियो । प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग सङ्गठन (एससिओ) बैठक उपलब्धिमूलक भएको धारणा व्यक्त गरे ।


    भेटमा नेपाली पक्षले एक चीन नीतिप्रति स्पष्ट रहेको दोहो¥याउँदै चीनकाविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो । आजै उपराष्ट्रपति हानले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा रात्रिभोज आयोजना गरे । थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री ओली आजै बेइजिङ पुगेका हुन् ।

  • तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

    तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

    १७ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट रु तीन करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गारखा जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनले भनिन्, “करिब रु तीन करोडभन्दा बढी रकम र ठूलो परिमाणमा सुनका गहना पनि भेटिएका छन् । रकमको सङ्ख्या यकिन गर्न मेसिन मगाएर गन्ने कार्य सुरु भएको छ ।” आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको थियो ।

  • मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    १७ भदौ, मुस्ताङ । जिल्लामा सन् २०२५ को आठ महिनामा एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन् । यहाँ सन् २०२५ को जनवरीदेखि अगस्टसम्म सार्क राष्ट्रबाट एक लाख एक हजार १६१ जना र अन्य देशबाट १५ हजार ६२६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले जनाएको छ ।

    यहाँ कूल विदेशी पर्यटक सङ्ख्याको ८६ दशमलव ६२ प्रतिशत सार्क राष्ट्रबाट र १३ दशमलव ३७ प्रतिशत अन्य राष्ट्रका पर्यटक यहाँ भित्रिएका एक्याप कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।

    यहाँ सन् २०२५ को जनवरीमा सार्कका तीन हजार ८३० र अन्य राष्ट्रका ५१६ गरी चार हजार ३४६ जना, फेब्रुअरीमा सार्कका चार हजार ५१० र अन्य ७९३ गरी पाँच हजार ३०३, मार्चमा सार्कका १६ हजार ५०७ र अन्य दुई हजार ५८८ गरी १९ हजार ९५, अप्रिलमा सार्कका अठार हजार ३०४ र अन्य चार हजार ८४८ गरी २३ हजार १५२ जना, मेमा सार्कका २१ हजार ९४६ र अन्य तीन हजार ७८१ गरी २५ हजार ७२७, जुनमा सार्कका १९ हजार ६४९ र अन्य एक हजार २०९ गरी २० हजार ८५८, जुलाइमा सार्क नौ हजार ७९४ र अन्य ८२५ गरी १० हजार ६१९ र अगस्टमा सार्कका छ हजार ६२१ र अन्य एक हजार ६६ जना गरी सात हजार ६८७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्याङ्क छ ।

    यहाँ सन् २०२४ को सोही अवधिभन्दा २०२५ मा विदेशी पर्यटकको सङ्ख्या २१ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यसपटक २५ हजार ६७८ जना विदेशी पर्यटक बढी आएको कार्यालय प्रमुख गुप्ताले जानकारी दिए । सन् २०२४ को सोही अवधिमा सार्क राष्ट्रबाट ७८ हजार ७६० जना र अन्य राष्ट्रबाट १२ हजार ३४९ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेको उनले बताए ।


    अघिल्लो वर्षको सो अवधिभन्दा हाल सार्क राष्ट्रमा २२ हजार ४०१ अर्थात् ९२२ दशमलव १४० प्रतिशत र अन्य विदेशी पर्यटकमा तीन हजार २७७ जना अर्थात् ९२० दशमलव ९७० प्रतिश पर्यटक वृद्धि भएको देखिन्छ । मुस्ताङमा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख २५ हजार ७१९ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये सार्कका एक लाख एक हजार १६१ जना र अन्य राष्ट्रका १५ हजार ६२६ जना पर्यटक थिए ।

    कार्यालयको विवरणअनुसार मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशत भारतीय पर्यटक रहेका छन् । यहाँ भित्रिने अधिकांश भारतीय पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेको जनाइएको छ । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको यात्रा सहज हुँदै जान थालेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संस्था बर्सेनि वृद्धि भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नुपर्ने सूचीमा सूचीकृत गरेसँगै यहाँ विदेशी पर्यटकको सङ्ख्या अनपेक्षित रूपमा वृद्धि हुन थालेको जानकारहरू बताउँछन् ।

    यो जिल्ला धार्मिक, सांस्कृतिक र जैविक विविधतासँगै यहाँको पृथक भूगोलका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै जान थालेको हो । यहाँ सदियाँै पुराना गुम्बा, माने, छोर्तेन, गुफा, परम्परागत सांस्कृतिक घरका संरचना, तालतलैया, लोमान्थाङ ऐतिहासिक दरबार, कोरलानाकालगायत पर्यटकीय गन्तव्य भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

  • लहानमा आमा र छोरा मृत फेला

    लहानमा आमा र छोरा मृत फेला

    १७ भदौ, सिरहा । यहाँको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन् । रञ्जितासँगै रहेका नौ महिनाका अर्का छोरा भने अचेत अवस्थामा भेटिएको र उपचारका लागि प्रादेशिक अस्पताल, लहानमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट रञ्जिताले आफ्ना दुई छोरालाई विष सेवन गराई आफूले आत्महत्या गरेको आशङ्का छ । उनले भने, “शवको अवस्था हेर्दा विष सेवनपछि रञ्जिताले आत्महत्या गरेजस्तो देखिन्छ । यद्यपि, थप अनुसन्धान र परीक्षणपछि मात्रै घटनाको यथार्थ स्पष्ट हुनेछ ।”

    स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि उक्त घरमा चहलपहल नदेखिएपछि खुला रहेको झ्यालबाट भित्र हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक रञ्जिताको श्रीमान् प्रवीण चौधरी भने पछिल्ला तीन\चार दिनदेखि डेरामा नदेखिएका स्थानीयको भनाइ छ । उनी हालसम्म पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

    लहान–१२ का वडाध्यक्ष बद्रीनारायण चौधरीका अनुसार प्रवीण र रञ्जिता विगत दुई वर्षदेखि लहान बजारमा डेरामा बस्दै आएका थिए । प्रवीणले दैनिक मजदुरी गर्दै आएका थिए । शवबाट दुर्गन्ध आउन थालेकाले घटना केही दिनअघि घटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

  • दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

    दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

    अशोक घिमिरे / रासस

    १७ भदौ, जलजले । पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन् । दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ ।

    खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे कम्पनीले थालेको अन्वेषणबाट जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको विशाल भण्डारणस्थल रहेको पुष्टि भइसकेको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो । यसबाट सङ्कलन गरिएका नमूनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पाइएको छ ।

    यो जम्मा चारवटा सम्भावित कुवामध्ये पहिलो कुवाको मात्र प्रारम्भिक नतिजा हो । बाँकी तीन कुवाको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कुल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना देखिएको छ ।

    नेपालमै यति ठूलो पेट्रोलियम भण्डारण भेटिएपछि त्यसको उत्खनन र व्यावासयिक उत्पादनको काम कहाँ पुगेको छ भनेर सर्वत्र चासो व्यक्त भइरहेको छ । पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी एवं भूगर्भविद् प्रकाश लुइँटेल पेट्रोलियम नमूनाको विस्तृत प्रतिवेदनको पर्खाइमा नेपाल रहेको बताउँछन् । चिनियाँ टोलीले अहिले नमूनाको विश्लेषण र अन्तिम प्रतिवेदनको तयारी गरिरहेको छ ।

    सन् २०२५ को डिसेम्बरसम्म पेट्रोलियम अन्वेषणको अन्तिम प्रतिवेदन प्राप्त हुने उनको भनाइ छ । अन्तिम प्रतिवेदनबाट पेट्रोलियम पदार्थको परिणामसहित विभिन्न तथ्य तथ्याङ्क प्राप्त हुनेछ । “जियोफिजिकल र जियोलोजिकल अध्ययनको विस्तृत तथ्याङ्कसहित अन्तिम प्रतिवेदनको पर्खाइमा छौँ”, विभागका भूगर्भविद् लुइँटेलले भने, “अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्रै अन्य काम अघि बढ्छ ।”

    सरकारले पनि उक्त स्थानमा पेट्रोलियम अन्वेषणको कामलाई तीव्रगतिमा अघि बढाउने दृढता व्यक्त गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त पेट्रोलियम परियोजनाबाट व्यावसायिक उत्पादन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । सरकारले पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन र पूर्वतयारी गर्न नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको मन्त्रिस्तरीय निर्णयबाट गठित समितिमा खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिष्ट धर्मराज खड्का, परियोजनाका मनिष कर्ण र निगमका सहायक प्रबन्धक दिप्ती पौडेल छन् ।


    निगमकै पहलमा मन्त्रालयले उक्त समिति निर्माण गरेको हो । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट प्राकृतिक ग्यासको सदुपयोगको सम्भाव्यताबारे उक्त समितिले अध्ययन गर्ने बताउँछन् । “जलजले क्षेत्रमा देखिएको ग्यास कुनकुन प्रयोजनमा प्रयोग गर्न सकिन्छ, त्यसलाई सदुपयोग कसरी गर्ने भन्नेलगायत विषयमा समितिले अध्ययन गरिरहेको छ”, उनले भने । निगम अध्ययन प्रतिवेदनका आधारमा सरकारले दिने निर्देशनको पर्खाइमा छ ।

    समितिले पेट्रोलियम अन्वेषण क्षेत्रको स्थलगत अवलोकन सम्पन्न गरिसकेको छ । “मन्त्रालयले दिएको क्षेत्राधिकारभित्र रहेर समितिले अध्ययन थालेको छ, ‘साइट भिजिट’का सिलसिलामा समितिका सम्पूर्ण सदस्य दैलेख पुगेका हौँ”, समिति संयोजक उपाध्यायले रासससँग भने। समितिले दैलेखसँगै सुर्खेतमा रासायनिक मल कारखाना स्थापनाको सम्भावनाबारे पनि अध्ययन गरेको छ ।

    “कतिपय विषय पूर्ण प्राविधिक भएका कारणले पनि धेरै कुरा पछि थाहा हुनेछ”, उनले भने, “तर प्रारम्भिक रूपमा हामीलाई दिएको जिम्मेवारीको सिलसिलामा केके गर्न सकिन्छ भनेर अध्ययन गर्दैछौँ ।” समितिले प्राकृतिक ग्यासको व्यावसायिक उत्पादनको सम्भाव्यताबारे पेट्रोलियम विज्ञ, अध्येतालगायतसँग पनि छलफल गर्ने तयारी गरेको छ । समितिलाई ग्यासको सदुपयोग, व्यावसायिक उत्पादन, आवश्यक पूर्वाधारको आवश्यकता र लागतलगायत बारेमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

    नेपाल र चीनबीच सन् २०१९ मा भएको सरकार–सरकारबीचको सम्झौतापछि पेट्रोलियम अन्वेषणको काम सुरु भएको थियो । जलजले क्षेत्रमा ४५ रोपनी जग्गा अन्वेषण प्रयोजनका लागि छुट्याएर परियोजना सञ्चालन गरिएको हो । यो नेपालमा अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण परियोजना हो ।

    स्थानीयका लागि जमिनबाट आफँै बल्ने ग्यास र तेलजस्तै पदार्थ चुहिने विषय नौलो भने होइन । दैलेखका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ रहेको अनुमान पहिलेदेखि नै भए पनि वैज्ञानिक रूपमा यसको पुष्टि गर्न २०३६ सालदेखि प्रयास हुँदै आएको हो । विसं २०७२ मा भारतीय अघोषित नाकाबन्दीले मुलुकभर इन्धन सङ्कट भएपछि सरकारले स्वदेशकै ऊर्जा स्रोतको उत्खननको प्रक्रिया अघि बढाएको हो ।

    विसं २०७५ माघमा नेपाल–चीनबीच पेट्रोलियम अन्वेषणका लागि सम्झौता भएको थियो । प्रारम्भिक अन्वेषणमा नेपाली तथा चिनियाँ प्राविधिकले दैलेखको शिरस्थान र नाभिस्थान क्षेत्रमा निरन्तर बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए । दैलेखका छसात ठाउँमा पेट्रोल तथा ग्यास खानी रहेको प्राविधिकहरूको अनुमान छ ।

    धेरै पहिला गरिएको सर्भेबाट पनि यहाँ पेट्रोलियम पदार्थ वा ग्यास हुनसक्ने सम्भावना पाइएको थियो । अहिलेको परियोजना चीनको पूर्ण अनुदानमा सञ्चालित नमूना ९पाइलट० परियोजना हो । यो चिनियाँ सरकारको जियोलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित छ । त्यसको प्रारम्भिक लागत अनुमानित रु दुई अर्ब ५० करोड रहेको थियो । कोभिड–१९ महामारीलगायत विविध कारणले कार्यान्वयनमा ढिलाइ हुँदा लागत पनि बढेको थियो ।

    खानी तथा भूगर्भ विभागले ‘पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना’ स्थापना गरी जग्गा अधिग्रहण, सडक र विद्युत् पहुँच विस्तार तथा प्रशासनिक समन्वयको काम सहजीकरण गरेको थियो । पेट्रोलियम अन्वेषणको प्रक्रियामा स्थानीय जनप्रतिनिधि, प्रशासनिक संयन्त्र र आमनागरिकको पूर्ण सहयोग र समर्थन रहेको थियो । परियोजनाले सफलता पाउँदै गएपछि दैलेखवासी मात्र नभई सिङ्गो मुलुक नै उत्साहित बनेको छ । उत्खनन, प्रशोधन, आपूर्ति शृङ्खला तथा प्राविधिक काममा संलग्न जनशक्तिका कारण स्थानीयस्तरमा रोजगारीको अवसर वृद्धि हुने र उद्योगमैत्री वातावरण बन्ने अपेक्षा गरिएको छ ।

  • महाकाली नदीको कटानले बस्ती जोखिममा

    महाकाली नदीको कटानले बस्ती जोखिममा

    १७ भदौ, दोधारा चाँदनी । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा(चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ । बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि नदीको कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीय टेकबहादुर सुनारले बताए । उनका अनुसार डुबान र कटानका कारण यहाँबाट अधिकांश बसाइँ सरेर अन्यत्र गइसकेका छन् ।

    “नदीले निरन्तर कटान गरिरहेकाले नदी बस्ती छेउमा पुगिसकको छ । सरकारले यहाँ तटबन्ध निर्माण गर्नुपर्नेमा हालसम्म नगर्दा बस्ती साघुँरिदै गएको छ”, उनले भने, “नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । हामीलाई त बस्ती नै नदीमा समाहित हुने चिन्ता बाढ्दै गएको छ ।” विसं २०२२ देखि बस्ती बसेको कुतियाकवरमा यसअघि १५० परिवारको बसोबास थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि १०० परिवार विस्थापित भएका छन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेर नगरसँग जोडिएपछि स्थानीयलाई केही राहत भएको थियो । त्यसअघि स्थानीयलाई नगरपालिका पुग्न ढुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

    “विगतका वर्षमा आउने बाढीबाट धेरै दुःख पायौँ”, स्थानीय खडक बुढाले भने, “विसं २०७८ को बाढीले गाईभैँसी, बाख्रा सबै बगायो । घरमा रहेको अन्न पनि बचेन ।” यसवर्ष जोगबुढा नदीमा तटबन्ध निर्माण सुरु भएपछि डुबानबाट सुरक्षित हुने आशा गरिएको बताउँदै उनले निर्माण सम्पन्न नहुँदा निरन्तर कटान भइरहेको उल्लेख गरे । उनका अनुसार केही वर्षअघिसम्म बाक्लो बसोबास रहेको कुतियाकवर बाढीका कारण धेरै बसाइँ सरेर अन्यत्र गएपछि बस्ती पातलिँदै गएको हो ।

    दोधारा–चाँदनीका नगरप्रमुख किशोर लिम्बूले कुतियाकवरमा महाकाली नदीले कटान गरिरहेकाले बस्तीको सुरक्षाका लागि दुई वटा ‘सेफहाउस’ (सुरक्षित आवास) निर्माण गरिएको बताए । “महाकाली नदीले बस्तीको भूभाग कटान गरिरहेको छ, हामीले पानी घटेको स्थानमा ग्राभेल हालेर सुरक्षाको उपाय अपनाइरहेका छौँ”, उनले भने, “मानवीय क्षति हुन नदिन पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ ।” उनले महाकाली र जोगबुढा नदीका विभिन्न स्थानमा जलमापन यन्त्र जडान गरेर त्यहाँको सूचना सिधैँ नगरपालिकामा आउने व्यवस्था मिलाइएको उल्लेख गरे ।


    बाढीबाट कुतियाकवर बस्ती जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण सुरु गरेको थियो । ढिलोगरी ठेक्का सुरु भएकाले नदीमा पानी बढेपछि निर्माण व्यवसायीले काम नगर्दा पूर्ण हुन नसकेको नगरप्रमुख लिम्बूले जानकारी दिए । तटबन्ध निर्माणका लागि कार्यालयले गत चैत २५ गते रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।

    सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध आगामी चैत २५ भित्र सम्पन्न गरिसक्नु पर्नेछ । “करिब ५० बिघा क्षेत्रफलमा रहेको बस्ती हरेक वर्षको कटानले साघुँरिदै गएको छ । कटानका कारण सीमास्तम्भ नं २२ लामो समयदेखि हराइरहेको छ । २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ”, लिम्बूले भने ।

  • कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

    कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

    १७ भदौ, गलकोट । नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो । जिल्ला समन्वय समितिको सक्रियतामा बागलुङ नगरपालिकाभित्र अवैध रूपमा कालीगण्डकी दोहन गरेर सङ्कलन गरिएको बालुवा जफत गरेर रु १५ लाख राजस्व राजस्व सङ्कलन गरिएको छ । दोहन भइरहेको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र बागलुङ नगरपालिकास्थित भाटेखोला बगरबाट सङ्कलन गरिएको चार हजार ९७२ घनमिटर बालुवा जफत गरेर राजस्व सङ्कलनका लागि नगर कार्यालय पठाइएको थियो ।

    बागलुङ नगरपालिकाले भाटेखोला बगर, दब्ल्याङ बगरलगायत बगरबाट अवैध रूपमा उत्खनन गरी बालुवा सङ्कलन गर्ने विभिन्न व्यक्तिलाई कारबाही गरी रु १५ लाख राजस्व सङ्कलन गरिएको नगरपालिकाका राजस्व शाखा प्रमुख सरस्वती रेग्मीले जानकारी दिइन् । उनका अनुसार नगरले जरिवानास्वरुप विभिन्न क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेलाई कारबाही गरेको हो ।

    गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि रातिको समयमा दोहन गरी नदी छेउमा राखिएको सामग्री जफत गरी राजस्व सङ्कलन गरिएको रेग्मीको भनाइ छ । नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले अनुगमन गरेर नगरपालिकालाई कारबाहीका लागि पठाएको हो । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छली अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुवाको परिणाम मूल्याङ्कन गरी बागलुङ नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइरहेको बताए ।


    “अहिले कालीगण्डकीबाट बालुवा निकाल्न पाइँदैन, ठेक्का लगाएपछि मात्रै मापदण्डअनुसार निकाल्न मिल्छ । तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ”, प्रमुख थापाले भने ।

  • जिल्ला प्रशासन कार्यालय बैतडीले किन भन्यो ‘उच्च सतर्कता अपनाउनु’ ?

    जिल्ला प्रशासन कार्यालय बैतडीले किन भन्यो ‘उच्च सतर्कता अपनाउनु’ ?

    १७ भदौ, बैतडी । लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आकस्मिक अवस्थाबाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, “अविरल रूपमा वर्षा भइरहेको छ । यस्तो अवस्थामा यात्रा नगर्न र विपद्जन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन जिम्मेवार निकाय तथा सरोकारवाला सबैलाई भनेका छौँ ।”

    मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यकबाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरिएको छ । यसका साथै बाढीपहिरोको जोखिम हुनसक्ने भएकाले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक पनि लगाइएको छ ।

    विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ पौडेलले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले पनि अविरल वर्षाका कारणले बाढीपहिरो आई बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले बाहिर निस्कँदा र लामो तथा छोटो दूरीका सवारीसाधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ ।

    बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले विपद्बाट बच्नका लागि सावधानी अपनाउन र आआफ्नो गाउँघर छरछिमेकीमा बाढीपहिरोसम्बन्धी क्षति हुन वा सक्ने सम्भावित क्षेत्रबारे नजिकको प्रहरी एकाइमा जानकारी दिन अनुरोध गरे । यसका साथै महाकाली नदीको सतह बढेकाले नजिकका बस्तीमा जोखिम बढी हुने भएको हुँदा सुरक्षा सावधानी अपनाउन पनि आग्रह गरिएको छ । गत तीन दिनदेखिको लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

  • प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

    प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

    १७ भदौ, थियानजिन । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

    भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।

  • गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

    गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

    १७ भदौ, गोरखा । काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले राससलाई जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • पाकिस्तानमा सरकारी हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    पाकिस्तानमा सरकारी हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    एजेन्सी
    १७ भदौ, काठमाडौं । पाकिस्तानको उत्तर क्षेत्रमा रहेको गिलगिट–बल्तिस्तानको दिआमेर जिल्लामा सोमबार बिहान एक सरकारी हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ । दिआमेरका वरिष्ठ प्रहरी अधिकारी अब्दुल हमिदका अनुसार, उक्त हेलिकप्टर एक पहाडी पर्यटकीय क्षेत्रमा नयाँ प्रस्तावित हेलिप्याडमा परीक्षण अवतरण गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो । मृतकमध्ये दुई जना पाइलट र तीन जना प्राविधिक कर्मचारी रहेका छन् । दुर्घटना स्थानीय समयअनुसार बिहान करिब १० बजे भएको जनाइएको छ । यो हेलिकप्टर गिलगिट–बल्तिस्तान सरकारको स्वामित्वमा रहेको थियो ।

    यस घटनाले केही साता अघिको अर्को दुर्घटनालाई पुनः स्मरण गराएको छ, जसमा खैबर पख्तुनख्वा प्रान्तमा बाढी राहत कार्यमा खटिएको एक एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा पाँच जना चालक दलका सदस्यको ज्यान गएको थियो । पछिल्ला वर्षहरूमा पाकिस्तानमा हेलिकप्टर दुर्घटनाका धेरै घटना भएका छन्। सन् २०२२ मा बाढी राहत कार्यकै क्रममा बलुचिस्तानमा भएको अर्को दुर्घटनामा पाँच जना सैनिक र एकजना उच्च सैनिक अधिकारीको मृत्यु भएको थियो ।

  • प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति पुटिनबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति पुटिनबीच भेटवार्ता

    १६ भदौ, थियानजिन । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।

  • चितवनका दुई हात्ती कतार पठाइँदै

    चितवनका दुई हात्ती कतार पठाइँदै

    १६ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ ।

    उनले भने, “हात्ती राख्ने खोर निर्माणको प्रक्रिया अघि बढाइएको छ । खोर बनेपछि हात्ती पठाउँछौ ।” भैरहवा विमानस्थलबाट पठाइने भएकाले खोर निर्माणपछि दाउन्नेको बाटोको अवस्था हेरेर चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उनले बताए । कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली ७ वर्ष र खगेन्द्र प्रसाद ६ वर्षका छावा हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले खोर निर्माणको काम अघि बढाएको छ ।

    कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार कोष र नेपालका लागि कतार राजदूतावासका बीचमा खोर निर्माण गरी भैरहवा विमानस्थल पु¥याएर जहाज चढाउने सम्मको कामका लागि सम्झौता भइसकेको छ । उनका अनुसार ‘कोटेसन’ मार्फत खोर निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । उनले भने, “दसैँअघि सम्ममा खोर बनाउने गरी तयारी गरेका छौँ ।”

    राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माणको प्रक्रिया अघि बढाएको हो । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरी बताए । खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पूजा कली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् ।

    यसअघि नेपालले विभिन्न मित्रराष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ । विसं २०४४ सालमा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ वटा हात्तीलाई जन्म दिई सकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये ६ वटाको मृत्यु भएको छ । यहाँ जन्मिएका हात्ती उपहार दिन लागिएको यो पहिलो हो ।

    यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो ।

  • प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

    १६ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको हो ।

    उनीहरुबीच जलवायु परिवर्तनबाट परेको असर र त्यसका ठूला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत रहेको थियो । प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा मिलेर काम गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।

  • विदेशको मोह त्यागेर भैँसीपालनमा

    विदेशको मोह त्यागेर भैँसीपालनमा

    १६ भदौ, कैलाली । गोदावरी नगरपालिका— २ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय सुरु गरेका छन् । उनी पहिला नेपाली सेनामा कार्यरत थिए । अवकासपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) मा काम गरे । हाल उनी स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त छन् । साउदले गोदावरीको तेघरीमा भैँसीपालन व्यवसाय सुरु गरेका हुन् ।

    उनले वार्षिक रु तीन लाख ६० हजारको दरले दश वर्षका लागि एक बिघा १५ कठ्ठा जमिन भाडामा लिएका छन् । गोठ निर्माण र भैँसी खरिदमा रु २६ लाख खर्च भएको साउदले बताए । मासिक रु एक लाखको कारोबार हुने गरेको र त्यसमा सबै खर्च कटाएर रु ६० हजार फाइदा हुने गरेको साउदको भनाइ छ ।

    उनले भने, “भैँसीपालन गर्न कामदार राखेको छैन, आफै खटिने गरेको छु, बचत राम्रै भइरहेको छ ।” प्रतिलिटर रु ९० का दरले उनले दैनिक ४० लिटर दूध बिक्री गर्छन् । ग्राहकलाई दूध पु¥याउनै नसकेको साउदले बताए । साउदको गोठमा अहिले मुर्रा, स्थानीय जातको भैँसी र पाडापाडी गरी आठ भैँसी छन् । भविष्यमा विभिन्न जातका ४० भैँसी खरिद गरी व्यवसायलाई विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । भैँसीको आहारको जोहो नभएकाले अहिले केही भैँसीबाट व्यवासाय सुरु गरेको साउदले बताए ।


    विदेशी भूमिमा काम गरेको अनुभव बटुलेका साउदले त्यहाँ नेपालीले काम गर्दा पाएको दुःखलाई सम्झिदै स्वदेशमै भैँसीपालन सुरु गरेका छन् । “नेपालीले विदेशमा बहुत दुःखका साथ काम गर्ने गर्दछन्, नेपालबाट जाँदा म्यानपावरसँग एक किसिमको सम्झौता भएर विदेशीएका हुन्छन्, तर पुगेपछि भनेको अनुसारको काम र तलब हुँदैन्, दुःख, कष्ट निकै झेल्ने गरेका आफ्नै आँखा अगाडि देखेको छु”, साउदले भने ।

  • बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    १६ भदौ, ढोरपाटन ।कालापैराखोलामा आएको भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो । आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो ।

    रातिदेखि अवरुद्ध लोकमार्ग खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का वडा अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरा जाने सवारी साधन कालापैरामा ठप्प भएका छन् । बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा यातायातका साधान कानाबगरमा रोकिएको अध्यक्ष पौडेलको भनाइ छ ।

    सडक खुलाउन निरन्तर प्रयास भइरहेको उनको भनाइ छ । निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्ने गर्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको अध्यक्ष पौडेलले बताउँछन् । वर्षा हुने वित्तिकै माथिदेखि लेदो झरेर सडकमा थुप्रिँदा यातायात सञ्चालनमा कठिनाइ भएको पौडेलले बताए ।

    अध्यक्ष पौडेलले भने, ‘यसपाली ठूलो बाढी आयो, त्यसले गर्दा सवारी साधन आवागमन ठप्प भएका छन्, लोकमार्गमा काम गर्ने मेसिन मगाएर खुलाउने प्रयास गरेका छौँ, एकतर्फी भए पनि खुलाएर यात्रुलाई गन्तव्यमा पठाउनुपर्छ भनेर लागेका छौँ, सबै सडक सफा गर्न त धेरै समय लाग्छ, सडक त पूरै बगरमा परिणत भएको छ ।”

  • सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाको दुई लाख पाँच हजार तीन सय

    सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाको दुई लाख पाँच हजार तीन सय

    १६ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिररहेको छ । आइतबार स्थानीय बजारमा प्रतितोला रू दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू एक हजार सात सय बढेको हो ।

    आज सुन प्रतितोला रू दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४७० पुगेको छ । आइतबार चाँदी प्रतितोला रू दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

  • काठमाडौंको चन्द्रागिरि–१ ‘बाल श्रममुक्त वडा’ घोषणा

    काठमाडौंको चन्द्रागिरि–१ ‘बाल श्रममुक्त वडा’ घोषणा

    १६ भदौ, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । यस क्रममा आइतबार चन्द्रागिरि–१ लाई बाल श्रममुक्त घोषणा गरियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम रानामगरलाई ‘बाल श्रममुुक्त वडा घोषणा’ प्रमाणपत्र हन्तान्तरणसँगै चन्द्रागिरि–१ लाई बाल श्रममुक्त वडा घोषणा गरिएको थियो ।

    हालसम्म नगरका १५ वडामध्ये विभिन्न १४ वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा भइसकेका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बाल श्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित नगरका वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गरिएका हुन् । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्यअनुसार बाल श्रम निवारणको लागि बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गरेको छ । साथै नगरपालिकाले बाल श्रम निवारणसम्बन्धी कार्ययोजना बनाइ बाल श्रममुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगर प्रमुख गिरीले आइतबार आयोजित कार्यक्रममा चन्द्रागिरि–१ लाई ‘बाल श्रममुक्त वडा घोषणा’ गर्दै बाल श्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको जानकारी दिए । उनले घोषणा पछिको दिगोपनमा काम गर्न आग्रह गरे ।

    बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बाल श्रममुक्त बनाउँदै लगिएको उनले जानकारी दिए । उनका अनुसार चालु आवमा नगरका सबै वडा बाल श्रममुक्त वडा घोषणा भइसक्ने छन् । यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने जनाएको छ । सो अवसरमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, जनप्रतिनिधिलगायत विभिन्न नगरपालिकाका विषयगत शाखाका प्रमुख, विभिन्न बाल क्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासीको सहभागिता थियो ।

    बाल श्रममुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठनका (आइएलओ) को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बाल श्रममा संलग्न छन् । १३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्छ ।

  • विश्व शान्तिको रक्षा र विश्व विकासका लागि एससीओ महत्वपूर्णः राष्ट्रपति सी

    विश्व शान्तिको रक्षा र विश्व विकासका लागि एससीओ महत्वपूर्णः राष्ट्रपति सी

    १६ भदौ, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले क्षेत्रीय शान्ति र स्थायित्वको रक्षा गर्न साङ्घाई सहयोग सङ्गठन (एससीओ) ले ठूलो जिम्मेवारी वहन गरिरहेको बताएका छन् । उनले बढ्दो अनिश्चितता र तीव्र परिवर्तनको संसारमा विकासलाई बढावा दिनु महत्वपूर्ण भएको बताए । आइतबार र सोमबार हुने एससीओ शिखर सम्मेलन २०२५ मा भाग लिन चीनको बन्दरगाह शहर थ्यानचिनमा आएका अन्तर्राष्ट्रिय पाहुनालाई स्वागत गर्न आयोजित रात्रिभोजमा सीले सो कुरा बताएका हुन् ।

    सीले सबै पक्षको संयुक्त प्रयासबाट शिखर सम्मेलन पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गर्दै एससीओले अझ ठूलो भूमिका खेल्ने र थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे । उनले सम्मेलन सदस्य राष्ट्रहरूबीच एकता र सहयोग बढाउन, ग्लोबल साउथको शक्ति एकत्रित गर्न र मानव सभ्यताको थप प्रगतिका लागि कोशेढुङ्गा बन्ने बताए ।

  • प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

    १६ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन ९एससिओ० प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ ।

    चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

    आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।

  • हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

    हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

    १६ भदौ, ढोरपाटन । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन ।

    ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा पर्यटकका सवारीसाधान ढोरपाटन पुग्न हम्मेहम्मे पर्छ । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जिपमा आउने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारीसाधन बीचबाटोमै बिग्रिने गरेको छ । वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको छ ।

    रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै सडक ढोरपाटन जोडिएको छ । सडक साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउ र मान्छेलाई लेकवेंसी गर्नै सकस हुने ढोरपाटन नगरपालिका–९ का वडाअध्यक्ष खीमबहादुर घर्तीमगरले बताए । उनले भने, “यो सडकका कारण यस क्षेत्रका हजारौँ नागरिक र आगन्तुकले दुःख पाउनुपरेको छ, निर्माण कम्पनीले समयमै काम गरी दिएको भए अहिलेसम्म सकिने थियो, हामीहरुले बारम्बार काम गर्नका लागि आग्रह ग¥यौँ तर कार्यान्वन भएन ।”

    नवलपुरबाट ढोरपाटन घुम्न आउनुभएका तुफान सापकोटाले फल्लेघरभन्दा तल पट्टीको सडकमा गाडी बिग्रिँदा दुईदिन अलपत्र परेको गुनासो पोखे । सामाजिक सञ्जालमा ढोरपाटनको मनमोहक तस्बिर र भिडियो देखेर घुम्न आएको सुनाउँदै सडकका कारण दुःख पाएको उनको भनाइ छ । “ढोरपाटन यति सुन्दर छ, तर यहाँसम्म आउने सडकको अवस्था निकै खबरा रहेछ, हामीहरु यहाँको सुन्दरता देखेर आएका थियौँ, यस्तो सडक छ भन्ने थाहा पाएको भए आउने थिएनौँ”, उनले भने ।


    विसं २०७१ मा बागलुङ खण्डमा सडक ट्रयाक खुलेको थियो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि चार वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । हालसम्म काम हुन नसकेको हो ।