Category: समाचार

  • कोशी ब्यारेजको ३१ ढोका खोलियो

    कोशी ब्यारेजको ३१ ढोका खोलियो

    १६ भदौ, धरान । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो ।

    प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् । कोशी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको प्रहरी प्रवक्ता खतिवडाले बताए ।

  • नाइजेरियामा सामूहिक हिंसापछि भाग्ने क्रममा १५ जनाको डुबेर मृत्यु

    नाइजेरियामा सामूहिक हिंसापछि भाग्ने क्रममा १५ जनाको डुबेर मृत्यु

    एजेन्सी
    १६ भदौ, काठमाडौं । नाइजेरियाको उत्तरी राज्य जाम्फारामा भएको सामूहिक हिंसाबाट भागेका कम्तीमा १५ जनाको नदीमा डुङ्गा पल्टिँदा मृत्यु भएको अधिकारी र आफूलाई प्रत्यक्षदर्शी भएको बताउने एक स्थानीय बासिन्दाले आइतबार एएफपीलाई जानकारी दिएका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा आपराधिक गिरोहले आतङ्क मच्चाइरहेका, गाईवस्तु चोरिरहेका, गाउँहरूमा लुट र आगजनी गरिरहेका र फिरौतीका लागि अपहरण गरिरहेका छन्। गुम्मी क्षेत्रका तीन वटा गाउँमा शुक्रबार गरिएको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाउनेमा मुख्यतया महिला र बालबालिका रहेको स्रोतले जनाएको छ ।

    नसरवार किर्फी गाउँका प्रमुख मोहम्मदु चिगारीले भने, “नदी तर्ने क्रममा डुङ्गा पल्टिँदा १५ जना यात्रुको डुबेर मृत्यु भएको हो ।” मृत्यु हुनेमा आठ महिला, तीन बालबालिका र चार पुरुष रहेका छन् भने तीन जनाको उद्धार गरिएको चिगारीले बताउए । डाँकुको आक्रमणपछि दमागा, तुङ्गर मैगुनिया र नसरवार किर्फी गाउँका बासिन्दा घरबाट भागेको अर्का स्थानीय सुलेमान दङ्गालादिमाले जानकारी दिए । नाइजेरियाको आपतकालीन निकाय नेमाका निर्देशक अलियु शेहुले घटनाको पुष्टि गर्दै उद्धारकर्मीहरू घटनास्थलमा गएर सूचना सङ्कलन गर्ने र बाँचेकाहरूलाई सहयोग गर्ने योजना बनाइरहेको बताए ।

  • सुनको मूल्य तोलाको दुई लाख तीन हजार छ सय पुग्यो

    सुनको मूल्य तोलाको दुई लाख तीन हजार छ सय पुग्यो

    १६ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला रू तीन हजारले बढेको हो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४२५ कायम भएको छ ।

  • दशैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था

    दशैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था

    १६ भदौ, काठमाडौं । दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो ।

    “नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयहरु (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामा भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।”

    चाडपर्वका बेला रु पाँच, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेको छ । चाडपर्वका बेला नै केन्द्रीय बैंकले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७\६८ को मौद्रिक नीति मार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको थियो ।

    आार्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैैंकलाई बुझाउने गरेका छन् । अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी विदेशमा नोट छापिने हुने गरेको छ । यसो गर्दा राज्यकोषबाट धेरै खर्च हुने भएकाले नोट सफा राख्न केन्द्रीय बैंकले अनुरोध गर्दै आएको छ ।

  • प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

    १६ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थि आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गरे । प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका निम्ति प्रेरक रहेको बताए ।

    प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरे । उनले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गरे । भेटमा भ्रमण दलमा सहभागी मन्त्रीहरु, सांसदहरु र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।

  • सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

    सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

    १५ भदौ, सिरहा । सिरहमा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको मृत्यु भएको हो भने आज एक महिला घाइते भएकी हुन् । यहाँको सिरहा नगरपालिका–४ रमौलमा बसोबास गर्ने इद महमदका १५ वर्षीय छोरा मो अम्माद र लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदायको शनिबार करेन्ट लागेर मृत्यु भएको हो । इनारबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेपछि गम्भीर घाइते भएका अम्मादको उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा निधन भएको हो ।

    सिरहा–४ रमौलमा आज सदरे आलमकी ३० वर्षीया श्रीमती अफ्रोजा खातुन पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका छन् । हाल उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । यस्तै, सदाय पनि आफ्नो घरमा सिटी रिक्सा ‘चार्ज’ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनका स्थानीय अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार, हाल सबै घटनाबारे अनुसन्धान भइरहेको छ । विद्युत् प्रयोगमा सावधानी नअपनाउँदा यस्ता घटनाको सङ्ख्या बढ्दै गइरहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।

  • प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी

    प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी

    १५ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी भए ।


    राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि यहाँ पाँचदिने भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा पहिलो दिन प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भइसकेको छ । सोमबार (भदौ १६ गते) सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

  • प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच अनौपचारिक भेट

    प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच अनौपचारिक भेट

    १५ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उनीहरुबीच अनौपचारिक कुराकानी भएको हो ।

    चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओलीसँग भएको अनौपचारिक भेटको तस्बिर समकक्षी मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन् । उनले थियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताए । नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गरेका छन् ।

  • प्रा डा केसीद्वारा सत्याग्रह सुरु

    प्रा डा केसीद्वारा सत्याग्रह सुरु

    १५ भदौ, सुदूरपश्चिम । प्राध्यापक डा गोविन्द केसीले आज कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका उनले आज पत्रकार सम्मेलन गर्दै तीनदिने २३औँ सत्याग्रह सुरु गरेको घोषणा गरे । डा केसीले सरकारले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी सङ्ख्या वृद्धि गर्न गरेको निर्णय तुरन्त फिर्ता लिन र शुल्क वृद्धि नगर्न माग गर्दै सत्याग्रह सुरु गरेको बताए ।


    यसैगरी, विगतमा भएको सम्झौताअनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना तथा गेटा मेडिकल विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न उनको माग छ ।

    यस्तै, एकीकृत स्वास्थ्य शिक्षा र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, ऐनअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गरी सेवा प्रवाह गर्नेलगायत यसअघिका सम्झौता कार्यान्वयन गर्न डा केसीले आग्रह गरे । चिकित्सा शिक्षाको सुधारको माग गर्दै विगतमा पनि उनी पटकपटक अनशन बसेका छन् ।

  • पोखरा–जोमसोम हवाई सेवा सञ्चालन

    पोखरा–जोमसोम हवाई सेवा सञ्चालन

    १५ भदौ, मुस्ताङ । पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण दुई महिनादेखि सेवा बन्द रहेको थियो । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत असार २ देखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए । जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले पर्यटकीय याम सुरु भएसँगै उडान भर्न सुरु गरिएको जानकारी दिए । उनका अनुसार यहाँ पोखरा–जोमसोम हवाई उडानका लागि समिट एयरलाइन्सको ट्विनअटर जहाजले आजदेखि उडान भर्न सुरु गरेको छ ।

    आज पहिलो दिन समिट एयरलाइन्सको जहाजले पोखरा–जोमसोम दुईवटा उडान भरेको कार्यालय प्रमुख पोखरेलले बताए । सुरुआती उडानको पहिलो दिन ३६ जना यात्रु लिएर जहाज जोमसोम विमानस्थलमा अवतरण गरेको उनले बताए । कार्यालय प्रमुख पोखरेलले आज मात्रै मुस्ताङमा तीनवटा हेली कम्पनीले आठवटा उडान भरेको जानकारी दिए । तारा एयरलाइन्सको जहाजले पनि एक हप्तापछि यहाँ उडान भर्ने जनाएको छ । तारा एयरलाइन्सका जोमसोम स्टेसन इञ्चार्ज सुजन लालचनले सेप्टेम्बर ७ तारिखमा आफ्नो एयरलाइन्सले उडान सञ्चालन गर्ने बताए ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    १५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो । पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ ।

    नयाँ बिक्री मूल्यअनुसार डिजेल\मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ तोकिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ तोकिएको छ । हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

  • कांग्रेस सभापति देउवा निवासमा मनाइयो गौरा पर्व

    कांग्रेस सभापति देउवा निवासमा मनाइयो गौरा पर्व

    १५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुदूरपश्चिमको प्रमुख गौरा पर्व मनाइएको छ ।
    पर्वका अवसरमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहेका महिलाले गौराको मूर्तिलाई पार्वतीको प्रतिकका रूपमा पूजा गरे । साथै उनीहरुले देउडा गीत गाउँदै नाच्दै एकापसमा रमाइलो गरे ।

    सो अवसरमा सभापति देउवासँग भेट गरी सङ्घीय मन्त्री, मुख्यमन्त्री, सांसदलगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहेका विभिन्न पेशा र क्षेत्रका व्यक्तित्वले शुभकामना आदानप्रदान गरे । परराष्ट्रमन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजासहित शनिबार निवासमा गौरा भित्र्याए । हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतिकका रूपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने चलन छ ।

    भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिला निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्छन् । गौरा पर्व महिलाले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ । गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रूपमा मनाउने गरिन्छ ।

    पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा रही आएको हो ।

  • रास्वपाबाट रुपन्देही–३ को उम्मेदवार लेखजङ्ग थापा

    रास्वपाबाट रुपन्देही–३ को उम्मेदवार लेखजङ्ग थापा

    १५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उम्मेदवार छनोटका लागि पार्टीमा भएको प्रारम्भिक निर्वाचनअनुसार प्रस्तावित उम्मेदवार थापालाई चयन गरिएको जानकारी दिए । यसअघि आज नौ जना उम्मेदवारले पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा गएर भेट गरेका प्रवक्ता मनिष झाले जानकारी दिए ।

  • मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    १५ भदौ, बारा । यहाँ मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    आज दिउँसो जितपुरसिमरा उपमहानगरपालिका–२ पानीट्याङ्की नजिकै सिमरादेखि पथलैयातर्फ जाँदै गरेको बा ९०प ६७९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र०६–००३ प१७५३ नंको मोटरसाइकल एकापसमा ठोकिएका थिए ।

    बा९०प ६७९४ नंको मोटरसाइकलमा चालक चौधरी र त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए । भूपेन्द्र घाइते भएकामा उनको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ । पण्डितको एल एस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।

  • सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

    सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

    १५ भदौ, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए ।

    बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् ।

    गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।

    महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।

    यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।

  • गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान गरेको छः राष्ट्रपति पौडेल

    गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान गरेको छः राष्ट्रपति पौडेल

    १५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

    गौरापर्व, २०८२ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस्ता पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी परिवार तथा समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न सहयोग गर्ने उल्लेख गरे । उनले गौरापर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।


    हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका मुलतः पश्चिमी क्षेत्रमा विशेष रूपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलले स्मरण गरे । यस पर्वमा शिव र पार्वती (गौरा) को पूजाअर्चना गरी व्रत बस्ने गरिन्छ, जसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कूलदेवता प्रसन्न भई सुख, शान्ति, दीर्घायु र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वमा पाँच वा सोभन्दा बढी प्रकारका गहुँ, धान, केराउ, मास र गहतजस्ता अन्नबाट बनेको ‘बिरुडा’ अर्पण गरी प्रसादका रूपमा ग्रहण गरेर मानवीय जीवन, कृषि संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ ।

    “यस पर्वका अवसरमा स्थानीयहरू गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एकअर्काका दुःख, सुख बाँड्ने गर्दछन् । यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पतिपत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकाले यसलाई धुमधामपूर्वक मनाउने चलन रहिआएको देखिन्छ”, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

    हाम्रो समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलले बताए । उनले गौरापर्वको महत्वका बारेमा प्रष्ट पार्दै भन्नुभएको छ, “यस्ता पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख, शान्तिका लागि सहयोग पुर्याउँदै आएका छन् भन्ने मलाई लाग्दछ ।”

  • भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

    भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

    १५ भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष भदौ २४ गते बुधबारसम्म यो व्रत गरिन्छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।

    प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एक पटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । सोह्र दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको बास भई दुःख दारिद्रय नाश भई सुख, शान्ति मिल्ने धार्मिक विश्वास छ ।

    साक्षात् भगावन् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताउनुभएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले राससलाई जानकारी दिए । यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुनेछ । देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गरेको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ । बिहान, मध्याह्न र साँझसमेत तीनपटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख, वैभव प्राप्त गर्नुका साथै शत्रुसमेत नाश हुने उनले बताए ।
    प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीनपटक विशेष रूपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि पूजा आराधना गरिन्छ ।

  • देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

    देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

    १५ भदौ, काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो केन्द्रमा एक सय १५ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै राजधानी काठमाडौँ आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ ।

    यसैगरी, गोरखाको आरुघाटमा १७ दशमलव एक मिलिमिटर, स्याङजामा १४ दशमलव दुई मिलिमिटर, सिन्धुपाल्चोकमा १५ दशमलव दुई मिलिमिटर, डोटीमा १६ दशमलव दुई मिलिमिटर र बझाङको थलारामा ११ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको विभागले जनाएको छ ।

  • अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती

    अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती

    रासस

    १५ भदौ, मुस्ताङ । घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली भालुको आतङ्कले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन गस्तीमा खटिने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको स्याउलगायत अन्नबाली भालु पसेर खाइदिएपछि चिमाङ गाउँमा पाँचपाँच जनाको सातवटा समूह बनाएर पालैपालो भालुको गस्ती गर्न थालेका छन् ।

    स्थानीय सुकबहादुर विश्वकर्माका अनुसार यहाँका किसानलाई भालुले अन्नबाली सखाप पारेर सास्ती दिएको छ । एक्याप संरक्षित क्षेत्रमा हिमाली वन्यजन्तु कालो भालु र मानवबीचको द्वन्द्व बढ्दै जान थालेको छ । समुद्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको चिमाङ गाउँ बेनी–जोमसोम सडकमार्गको कालीगण्डकी पारि अग्लो भिरालो स्थानमा अवस्थित छ । घनाजङ्गलको फेदमा अवस्थित त्यहाँका किसानलाई खेतबारीमा लगाएको अन्नबाली जोगाउन धौधौ परेको छ । त्यहाँ उवा र जौँबाहेक सबै अन्नबाली भालुले सखाप पारिदिने गरेको छ ।

    अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय मातहतमा रहेको चिमाङ गाउँमा हिमाली कालो भालुको जत्थाले किसानले उत्पादन गरेको बालीनाली सखाप पारिदिन थालेपछि किसान चिन्तित बनेका छन् । यो समस्या यहाँका किसानले वर्षौँवर्षदेखि झेल्दै आएका छन् । किसानले उत्पादन गरेको स्याउ, फापर, मकै, सिमी र हरियो ताजा तरकारीलगायत अन्नबाली कालो भालु रातको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको स्थानीय किसानको भनाइ छ ।

    घरपझोङ गाउँपालिकाले किसानको खेतबारीमा ग्याविनसहित तारजाली लगाएको थियो । तर यहाँ लगाइएको घेराबार तालजालीमाथि उक्लिएर भालुले खेतबारीमा लगाएको अन्नबाली नोक्सान पारिदिएको घरपझोङकी कार्यपालिका सदस्य मनि विश्वकर्माले जानकारी दिए । चिमाङ गाउँ कृषि उत्पादनमा निकै सम्भावना भएको गाउँ हो । यहाँका किसान कृषिमा आत्मनिर्भर छन् । तर, यहाँको मुख्य आम्दानीको रूपमा रहेको कृषि व्यवसायलाई भालुको आतङ्कले दुःख दिन थालेपछि किसान समस्यामा परेका हुन् ।

    भालुको आतङ्क रोक्न गाउँका खेतबारीमा लगाएको तारजालीले काम नगरेपछि त्यसको विकल्पमा एक्याप जोमसोमले गत वर्ष भालु धपाउने यन्त्र (साइरन) जडान गरेको कार्यपालिका सदस्य विकले उल्लेख गरे । तर, त्यस प्रकारको यन्त्रले पनि भालुको आतङ्क रोक्न असफल भएको उनले बताए । चिमाङ गाउँका खेतबारीमा तारजाली र भालु धपाउने यन्त्र जडान गरे पनि त्यसले काम नगरेपछि त्यहाँका किसानले छ–सात जनाको समूह बनाएर दैनिक हेरालो बस्न सुरु गरेका थिए ।

    एक्यापले भालु नियन्त्रण गर्न तीन जना कर्मचारीको पारिश्रमिकबापत एक लाख ३० हजार बजेट विनियोजन गरेको थियो । तर भालु नियन्त्रण गर्न तीन कर्मचारीले मात्र नपुगेपछि छ–सात जनाको समूह बनाएर पारिश्रमिक बाँडफाँट गर्यो । चिमाङकी स्थानीय कार्यपालिका सदस्य मनि विश्वकर्माले गाउँमा भालु आयोकि भनी खेतबारीमा गस्ती गर्ने गरेको बताए ।


    किसानले कृषि उपजको संरक्षण गर्न एक्याप जोमसोमले परीक्षणका रूपमा विद्युतीय तारजाली निर्माण गरेको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । सौर्य ऊर्जा प्रणालीबाट विद्युुत् प्रवाह हुनेगरी भालु नियन्त्रण गर्न एक हजार २७० मिटर क्षेत्रफलमा विद्युतीय घेराबार निर्माण गरेको कार्यालय प्रमुख गुप्तले बताए । उनले यस कार्यका लागि रु चार लाख बजेट खर्च भएको जानकारी दिए ।

    चिमाङ गाउँमा मात्र होइन, भालुले थासाङ गाउँपालिकामा बर्सेनि भालुको आतङ्कले किसानको बालीनाली सखाप पारिदिने गरेको छ । यहाँको कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउराली, सौरु, सिर्खुम र नाउरिकोटलगायत स्थानमा कालो भालुको आतङ्कले किसानलाई निकै सास्ती दिने गरेको छ ।

  • भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत

    भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत

    एजेन्सी
    १५ भदौ, काठमाडौं । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको स्पष्ट पारेको हो ।
    हाल ती शुल्कहरू तत्काल हटाउनु नपर्ने भए पनि अदालतले तिनीहरूलाई आगामी (अक्टोबर) महिनासम्म मात्र कायम रहने जनाएको छ । यसले ट्रम्पलाई सर्वोच्च अदालतमा अपिल गर्ने समय दिएको छ ।

    सन् २०२५ को जनवरीमा दोहोरिएको राष्ट्रपतिको कार्यकाल सुरु गरेपछि ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन (आइइपीए) को प्रयोग गर्दै अधिकांश व्यापारिक साझेदारहरूमाथि पारस्परिक भन्सार शुल्क लगाएका थिए । ती शुल्कको प्रारम्भिक दर १० प्रतिशत थियो भने केही मुलुकहरूमा अझ बढी दर तोकिएको थियो । मेक्सिको, क्यानडा र चीनमाथि उनले लागूपदार्थको ओसारपसार नियन्त्रण गर्न भन्दै छुट्टै शुल्कसमेत लगाएका थिए । तर अदालतको निर्णयमा भनिएको छ,“राष्ट्रपतिलाई आपतकालीन अवस्था घोषणा गरेपछि विभिन्न कदम चाल्ने अधिकार छ, तर त्यो अधिकारले भन्सार शुल्क वा कर लगाउने विषयलाई समेट्दैन ।”

    यस फैसलाले ट्रम्पको व्यापार तथा आर्थिक नीतिमा गम्भीर असर पार्ने देखिएको छ । यदि सर्वोच्च अदालतले पनि यस्ता शुल्कहरूलाई अवैध ठहर गरेमा, विगत केही वर्षमा उठाइएको अर्बौं डलर सरकारलाई फिर्ता गर्नुपर्ने अवस्था आउन सक्छ । फैसलापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियल मा प्रतिक्रिया दिँदै भन्नुभयो,“अदालतले गलत फैसला गरेको छ, तर अन्ततः अमेरिकाले जित्नेछ ।” उनले सर्वोच्च अदालतमा मुद्दा लड्ने चेतावनी दिए । विश्लेषकहरूका अनुसार यस निर्णयले युरोपेली सङ्घलगायतका प्रमुख व्यापारिक साझेदारहरूसँग भएका सम्झौतामा समेत अन्योलता सिर्जना गरेको छ ।

  • लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

    लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

    १४ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गरेको छन् ।

    थियानजिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिने क्रममा आज यहाँ आइपुगेलगत्तै थियानमिन स्टेट गेष्ट हाउसमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्वभौम नेपालको अभिन्न भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा नेपालको स्पष्ट रूपमा आपत्ति रहेको कुरा राखेको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।


    “सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ”, प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भनेका थिए, “नेपाल जसरी आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा स्पष्ट छ, त्यसैगरी आफ्नो भूमिका विषयमा अरू मुलुकले गर्ने सहमतिमा पनि उत्तिकै असहमति व्यक्त गर्दछ ।” नेपालको उक्त भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडान (दाबी) प्रति आफ्नो फरक मत नरहेको र सोबारे नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राख्नुभएको परराष्ट्र सचिव राईले जानकारी दिए ।


    सौहाद्र्रपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध तथा सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको पनि उनले जानकारी दिए । प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीका हैसियतमा यो चौथो औपचारिक चीन भ्रमण हो भने यही अङ्ग्रेजी वर्षमा दोस्रो चीन भ्रमण हो ।

    भेटका अवसरमा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) अन्तर्गतका परियोजनालाई द्रूत गति दिन र त्यसबाट नेपालको आर्थिक सामाजिक समुन्नतिमा सहयोग पुग्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चीन र भारतबीच थप नाका सञ्चालन गर्न चीन सकारात्मक रहेको र नेपालको निर्यात बढाउन गुणस्तरीय एवं व्यावसायिक कृषि उत्पादनमा सघाउन पनि तत्पर रहेको छ । नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउने प्रधानमन्त्री ओलीको सङ्कल्पमा सघाउन पनि चीन सधैँ कटिबद्ध रहेको चिनियाँ पक्षले स्पष्ट गरेको छ ।

    भेटका अवसरमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र सचिव राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।

    भ्रमणका अवसरमा बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि प्रधानमन्त्री ओलीको भेट हुनेछ । साथै उनले शिखर सम्मेलनका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

  • मौरिटानियामा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु

    मौरिटानियामा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु

    एजेन्सी
    १४ भदौ, आप्रवासी बोकेको डुङ्गा मौरिटानियाको तटमा दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार एएफपीलाई जानकारी दिएका छन् ।
    आप्रवासीहरुले मङ्गलबार राति राजधानी नौआक्चोटबाट करिब ८० किलोमिटर उत्तरमा रहेको मौरिटानियाको तटमा दुर्घटना भएको कोस्टगार्डका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए ।

    कोस्ट गार्डको एक गस्ती टोलीले १७ जनालाई उद्धार गर्न सफल भएको अधिकारीहरुले बताएका छन् । यसअघि मृत्यु हुनेको सङ्ख्या ४९ रहेको बताइए पनि तटरक्षकबलका एक वरिष्ठ अधिकारीले यो सङ्ख्या ६९ पुगिसकेको बताएका छन् ।


    सेनेगल र गाम्बियाली नागरिकसहित करिब १६० जना सवार रहेको उक्त डुङ्गा एक साताअघि गाम्बियाबाट हिँडेको थियो । अफ्रिका र युरोपबीचको खतरनाक यात्रामा बारम्बार डुङ्गा डुब्ने गरेका छन् । समुद्रको तीव्र बहाव र अत्यधिक भारसहित लामो यात्राका कारण डुङ्गा यात्रा जोखिमपूर्ण रहने गरेको छ ।


    उदाहरणका लागि, सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा कम्तीमा १० हजार ४५७ आप्रवासीको मृत्यु भएको गैरसरकारी संस्था ‘क्यामिनान्डो फ्रन्टेरास’ले जनाएको छ । अधिकारीहरूले मङ्गलबारको दुर्घटनामा परेका आप्रवासीहरू कहाँ जाँदै थिए भन्ने बारे केही बताएका छैनन्।

  • प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

    १४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ भेटवार्ता भएको छ । उनीहरुबीच चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका हुन् ।

    मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे ।

  • प्रधानमन्त्री चीनमा, राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता

    प्रधानमन्त्री चीनमा, राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता

    १४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन् । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे ।

  • इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड

    इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड

    १४ भदौ, काठमाडौं । इरानमा यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सन् २०२५ को पूर्वाद्र्धमा तेहरानमा मृत्युदण्डको सङ्ख्यामा ठूलो वृद्धि भएको जनाएको छ । प्रवक्ता रविना शमदासानीले जेनेभामा पत्रकारसँग भनिन्, “इरानी अधिकारीहरूले यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिएका छन् ।”

    “पारदर्शिताको अभावका कारण यहाँको वास्तविक अवस्था अझ खराब हुन सक्छ, उनले भनिन् । सन् २०२४ को जुलाईमा मात्रै इरानले कम्तीमा ११० जनालाई मृत्युदण्ड दिएको थियो । सन् २०२४ को जुलाईमा मृत्युदण्ड दिइएको भन्दा यो दुई गुणाले बढी हो । शमदासानीले भनिन्, “मृत्युदण्डको उच्च सङ्ख्याले मृत्युदण्डलाई इरानले राज्यमा नागरिकहरूलाई तर्साउने औजारको रूपमा प्रयोग गर्ने व्यवस्थित ढाँचालाई सङ्केत गर्दछ र यसबाट जातीय अल्पसंख्यक र आप्रवासीहरूलाई असमान रूपमा लक्षित गरिएको छ।”

    उनले मृत्युदण्ड भएका व्यक्तिहरूमध्ये अधिकांश अफगानी, बलुच, कुर्द र अरब नागरिक रहेको उल्लेख गरिन् । इरानमा सन् २०२५ को पहिलो छ महिनामा लागूऔषधसम्बन्धी कसुरमा कम्तीमा २८९ जनालाई मृत्युदण्ड दिइएको छ । शमदासानीले भनिन्, “धेरै देशहरूमा देखिएको ढाँचाले के देखाउँदछ भने जब उनीहरूका सरकारहरूले सार्वजनिक व्यवस्थामा उनीहरूको पकडमा खतरा महसुस गर्छन्, उनीहरू बढ्दो दमनकारी हुन्छन् र असहमतिप्रति कम सहनशील हुन्छन्।

    प्रवक्ताले विशेष गरी इरानमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएकोमा आलोचना गरेका थिए । मानव अधिकार कार्यालयले यस वर्षको सुरुदेखि हालसम्म यस्ता सात वटा घटनाको अभिलेखीकरण गरेको छ। उनले भने, “सार्वजनिक मृत्युदण्डले सम्बन्धित व्यक्तिको मर्यादामा मात्र होइन, मृत्युदण्ड दिइएका व्यक्ति, साक्षीमाथि पनि मानवीय मर्यादामाथि आक्रोशको थप तह थप्छ।”

    शमदासानीले भनिन्, “सार्वजनिक स्थानमा, विशेष गरी केटाकेटीहरूका लागि कसैलाई फाँसी दिइएको छ भनेर साक्षी दिनुको मनोवैज्ञानिक आघात विल्कुल अस्वीकार्य छ।” संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले मृत्युदण्डको मुद्दामा उचित प्रक्रियाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ । “धेरै मृत्युदण्डहरू परमेश्वरविरुद्ध शत्रुताको आरोपजस्ता अस्पष्ट कानूनको आधारमा लगाइएका छन्,” यसएनएचसीआरका प्रवक्ताले भने ।


    शमदासानीका अनुसार निर्वासित विपक्षी पिपुल्स मुजाहिद्दीन अर्गनाइजेसन अफ इरान (एमईके) को कथित सदस्यताका कारण ‘सशस्त्र विद्रोह’ को आरोप लागेका छ जना सहित ११ जनालाई हाल इरानमा मृत्युदण्डको सजाँय तोकिएको छ । अन्य पाँच जनालाई सन् २०२२ मा भएको ठूलो विरोध प्रदर्शनमा भाग लिएको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको उनले बताइन् । गत साता इरानको सर्वोच्च अदालतले श्रमिक अधिकारकर्मी सरिफेह मोहम्मदीलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

  • रुसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत भ्रमणमा आउने

    रुसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत भ्रमणमा आउने

    १४ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारतको औपचारिक भ्रमण गर्ने क्रेमलिनले शुक्रबार जनाएको छ। क्रेमलिनका सहयोगी युरी उशाकोभले एएफपीलगायत पत्रकारसँग कुरा गर्दै पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार चीनमा हुने क्षेत्रीय शिखर सम्मेलनका अवसरमा पनि भेटवार्ता गर्ने जानकारी दिए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमा मस्कोलाई आक्रमण अन्त्य गर्न दबाब दिने अभियानअन्तर्गत नयाँ दिल्लीले रुसी तेलको ठूलो परिमाणमा खरिद गरेको सजायस्वरुप भारतीय सामानमा कर लगाएका छन् ।

    ऊर्जा आय मस्कोको बजेटको लागि राजस्वको एक प्रमुख स्रोत हो। रूस भारतको शीर्ष हतियार आपूर्तिकर्तामध्ये एक हो र दुई देशबीचको न्यानो सम्बन्ध सोभियतकालीन हो। सन् २०२२ को फेब्रुअरीमा मस्कोले सैन्य आक्रमण सुरु गरेयता युक्रेनका पश्चिमी मित्रराष्ट्रहरूले रुसको निर्यात आयमा कटौती गर्न खोजेका छन् तर रुसले युरोपबाट भारत र चीनलगायत देशहरूमा ऊर्जा बिक्रीलाई पुनर्निर्देशित गर्न सक्षम भएको छ । इन्धन बिक्रीले अर्बौ डलरको कोषको प्रवाहलाई जारी राखेको छ।

    भारतले रुसबाट तेल आयात गरेको तर्क गर्दै आएको छ किनभने द्वन्द्व सुरु भएपछि परम्परागत आपूर्ति युरोपमा डाइभर्ट गरिएको थियो । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले पक्राउ पुर्जी जारी गरेका कारण पुटिनले युक्रेनमाथिको आक्रमणपछि आफ्नो विदेश यात्रामा उल्लेखनीय कटौती गरेका छन् । भारत आइसिसीको पक्ष राष्ट्र होइन र त्यसैले पुटिनलाई हिरासतमा राख्न बाध्य छैन ।

  • विश्वभर बेपत्ता नागरिकको सङ्ख्या बढ्दै

    विश्वभर बेपत्ता नागरिकको सङ्ख्या बढ्दै

    एजेन्सी
    १४ भदौ, रेडक्रसले १० लाखभन्दा बढी मानिस बेपत्ता भएको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । यो पाँच वर्ष पहिलेको तुलनामा करिब ७० प्रतिशतले बढी हो । बढ्दो द्वन्द्व, व्यापक आप्रवासन र युद्धका नियमहरूप्रतिको घट्दो सम्मानका कारण यो वृद्धि भएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “सुडानदेखि युक्रेनसम्म, सिरियादेखि कोलम्बियासम्म यो प्रवृत्ति स्पष्ट छ । हराइरहेका व्यक्तिहरूको बढ्दो सङ्ख्याले द्वन्द्वरत पक्षहरू र उनीहरूलाई समर्थन गर्नेहरूले युद्धको समयमा मानिसहरूको सुरक्षा गर्न असफल भएका छन् भन्ने कुराको स्पष्ट झल्को दिन्छ,” आईसीआरसीका महानिर्देशक पियरे क्राहेनबुहलले भने ।


    आईसीआरसीको फेमिली लिङ्क नेटवर्कले सन् २०२४ को अन्त्यसम्ममा करिब दुई लाख ८४ हजार ४०० व्यक्ति वेपत्ताको सूचीमा दर्ता गरेको छ, जुन सन् २०१९ को तुलनामा ६८ प्रतिशतले बढी हो । क्राहेनबुहलले चेतावनी दिँदै भने, “यो आकृति ‘हिमशैलको टुप्पो मात्र हो’।” उनले भने, “विश्वभरि लाखौं मानिस आफ्ना प्रियजनहरूबाट अलग्गिएका छन् । उनीहरू प्रायः वर्षौं वा दशकौंसम्म वेपत्ता छन्।”

    क्राहेनबुहले ’बेपत्ताको त्रासदी अवश्यम्भावी छैन । छुट्टिने क्रम रोक्न, थुनामा रहेकाहरूलाई संरक्षण गर्न र मरेकाहरूको उचित व्यवस्थापन गर्न कडा कदम चाल्दा अनगिन्ती परिवारहरू जीवनभरको पीडाबाट बच्न सक्छन्’ भने “हरेक संख्याको पछाडि आमा, बुबा, बच्चा वा भाइबहिनी छन् जसको अनुपस्थितिले एउटा घाउ छोड्छ जुन तथ्याङ्कले समेट्न पनि सक्दैन।

    आईसीआरसीले सशस्त्र द्वन्द्वका राज्य र पक्षहरू बेपत्ता हुनबाट रोक्न, बेपत्ता व्यक्तिहरूको भाग्य स्पष्ट गर्न र परिवारहरूलाई सहयोग प्रदान गर्न प्राथमिक जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिवेदनमा भनिएको छ, “राज्यहरूले हराएका व्यक्तिहरूको मुद्दालाई कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुराले हिंसा समाप्त भएको लामो समयपछि समाजलाई आकार दिन सक्छ । यसले शान्ति निर्माण, मेलमिलाप र समुदायहरूको निको पार्ने क्षमतालाई प्रभावित गर्दछ।”

    राजनीतिक दलहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्दा ‘बेपत्ता हुने जोखिम कम हुन्छ’ भन्ने कुरामा रेडक्रशले जोड दिएको छ । उदाहरणका लागि, युद्धका नियमहरूमा कब्जा गर्ने शक्तिद्वारा नागरिकहरूको स्थानान्तरण वा निकासीको क्रममा परिवारका सदस्यहरूलाई अलग्गै नराख्नुलाई कर्तव्यका रूपमा समावेश गरेको छ र तिनीहरूले पक्षहरूले कैदीहरूको बारेमा समयमै जानकारी साझा गर्नुपर्ने र उनीहरूलाई आफन्तहरूसँग सम्पर्क कायम राख्न दिइनुपर्ने उल्लेख छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ, “मृतक शत्रु लडाकुको हिसाब किताब गर्नुपर्ने बाध्यताले उनीहरूको अवस्थाबारे परिवारलाई थाहा हुन्छ तर उनीहरू बेपत्ता भएको रूपमा दर्ता नहुँदा उनीहरूको अवस्थाबारे परिवार वेखबर हुनबाध्य हुन्छन्।” आइसिआरसीले परिवारको सदस्यले मुद्दा दर्ता गर्ने बिन्दुबाट कसैलाई हराएको मान्दछ र जबसम्म परिवारले आफ्नो नातेदार फेला पारेको जानकारी दिँदैन उनीहरू सधैँ वेपत्ताको सूचीमा रहन्छन् ।

    आईसीआरसीका अनुसार गत वर्ष १६ हजारभन्दा बढी व्यक्तिहरू फेला परेका थिए र सात हजारभन्दा बढीलाई उनीहरूको परिवारसँग पुनर्मिलन गरिएको थियो। आईसीआरसीका अनुसार यो अवधिमा करिब ९० हजार ५०० रेडक्रस सन्देशहरू प्रवाह गरिएको थियो र सम्पर्कका लागि लगभग २३ लाख फोन कलहरू सुविधाका लागि उपलब्ध गराइएको थियो किनकि ‘सबैलाई आफ्ना प्रियजनको भाग्य थाहा पाउने अधिकार छ’।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    १४ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    १४ भदौ, चितवन । कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक डा विप्लव भट्ट छन् । आज बिहान १ः३० बजे भरतपुर महनानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका–२ बस्ने कार चालक भट्ट घाइते भएका थिए । घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

  • स्वीमिङ पुलमा युवा मृत फेला

    स्वीमिङ पुलमा युवा मृत फेला

    १४ भदौ, बनियानी । झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवा मृत फेला परेका छन् । बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ः०० बजे पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको भनेर पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई राति ८ः०० बजे खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको थप विवरण र डुब्नुको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।