Category: समाचार

  • अब पोखराबाट अष्ट्रेलिया उडान

    अब पोखराबाट अष्ट्रेलिया उडान

    सिबी अधिकारी/ रासस

    १२ भदौ, काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए ।
    आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ ।

    “सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रलिया उडान गर्ने योजना बनाएको छ । पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ । औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ । छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला”, सूचना अधिकारी भूलले भने । यो उडान भएमा अष्ट्रेलिया आवत–जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ ।

    यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो । असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो ।

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ । उता, भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई÷तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए । उनका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ ।

    भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो । “चार्टर्ड उडान दिगो भएमा काठमाडौँजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ । सुरुमा भूटान एयरलाइन्सले काठमाडौँ–पारो–काठमाडौँ उडान गर्नेछ । उडान नियमित भएको खण्डमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना छ”, सूचना अधिकारी भूलले भने । भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ ।

  • देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

    देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

    १२ भदौ, नवलपुर । यहाँको देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ । गत असार ३० गते निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी नेपाल सरकारसँग भएको सम्झौताअनुसार काम धमाधम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी इन्जिनियर द्रोण मानदेव कटुवालले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु १० करोड ३५ लाखमा निर्माणसम्पन्न गर्नेगरी चितवनको बिबिएस जेभीले निर्माणको काम गरिरहेको जानकारी दिए । “हाल जग खन्ने काम भइरहेको छ, निर्माण कम्पनीले डन्डी झार्ने, फाउन्डेसन तयार पार्ने काम गरिरहेको छ । अबको केही दिनमा जग ढलानको काम हुन्छ”, उनले भने ।


    वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्दा विभिन्न प्रजातिका ६४६ वटा रूख÷पोल कटान गर्नुपर्ने प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्बाट निर्णय भएपछि काम अगाडि बढेको कटुवालले बताए । मन्त्रिपरिषद्बाट रूख कटानको अनुमति पाएको भए पनि हाल भवन निर्माण हुने ठाउँको मात्रै रूख काटेर काम भइरहेको उनले बताए । ट्रमा सेन्टरका साइट इन्जिनियर अविशेककुमार चौरसियाका अनुसार झराही सामुदायिक वनको करिब तीन बिघा क्षेत्रफलमा ट्रमा सेन्टर निर्माण भइरहेको छ । यस्तै, १५ शय्या क्षमताको साढे दुई तलाका भवन एक हजार वर्गमिटर क्षेत्रफल ओगट्ने गरी बनाइँदैछ ।

    जसमा भुइँतल्लामा बिरामीको उपचार, पहिलो तल्लामा अस्पताल प्रशासन, बहुउद्देश्यीय सभाकक्ष तथा अस्पताल वार्ड एवम् माथिल्लो तल्लामा कर्मचारीको आवास हुनेछ । अस्पतालमा एक्स–रे कक्ष, शल्यक्रिया कक्ष (अपरेसन थिएटर), प्रयोगशालाका लागि आवश्यक पर्ने कोठाहरू निर्माण हुनेगरी नक्सा तयार भई काम अगाडि बढेको उनले बताए । पूर्वपश्चिम राजमार्गसँगै निर्माण हुन लागेको ट्रमा सेन्टरबाट नवलपुर र छिमेकी जिल्लामा हुने दुर्घटनाका बिरामीलाई फाइदा पुग्ने जनाइएको छ ।

  • ‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’

    ‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’

    कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस सरकार तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी नेपाल)को आर्थिक एवं प्राविधिक सहयोगमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा बुधबार आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना २०७९–२०८७ को मध्यकालीन समीक्षा तथा अन्तरक्रियामा यस्तो तथ्यबारे जानकारी दिइएको हो ।

    सिएमसी नेपालका निर्देशक डा पशुपति महत मानसिक स्वास्थ्य, यसको राष्ट्रिय नीति तथा रणनीतिबारे आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को तथ्याङ्कअनुसार कर्णालीमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी भएको बताए । ११ दशमलव सात प्रतिशत मानिसहरु कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको जनाउँदै उनले यसको रोकथामका लागि सबै तहका सरकारले लगानी गर्नुपर्ने धारणा राखे ।


    कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य समस्या समाधानमा साझा प्रयास आवश्यक रहेको बताए । उनले भने, “हाल रोग लाग्नेभन्दा पनि लुकाउने समस्या छ, यो सोचनीय कुरा हो । धेरै थोरै मात्र हो सबै मानिसमा मानसिक स्वास्थ्य समस्या छ । यसमा समयमै गम्भीर बनौँ”, उनले भने ।


    मन्त्री भण्डारीले कर्णाली प्रदेशले देशका सात प्रदेशमध्ये पहिलोपटक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयनस्तरमा पुर्याएको बताए । सोही मन्त्रालयका सचिव धोलकराज ढकालले मानसिक स्वास्थ्य आधारभूत अधिकार भएको बताए । स्वास्थ्यले तत्काल र शिक्षाले दीर्घकालीन प्रभाव पार्ने भएकाले जतिसक्दो मानव स्वास्थ्य संरक्षणका लागि सबै सरोकार भएकाहरू सचेत बन्नुपर्ने उनको भनाइ थियो ।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक शक्ति सुवेदीले प्रदेशका विभिन्न जिल्लाका समस्याबारे अध्ययन गरेर विभिन्न प्रकारका औषधि आपूर्तिको काम भइरहेको बताए । राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश कार्यालय प्रमुख रमेश थापाले मर्यादित जीवन जिउन पाउने अधिकार सुनिश्चितताका लागि सबै लाग्नुपर्ने बताए ।

  • प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

    प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

    १२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुुहुने कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवमा सहभागिता जनाउन यही भदौ १४ गते चीनतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रधानमन्त्री ओलले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्नेछन् । उनले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँगसमेत भेटवार्ता गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनेछन् ।


    प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कर्नेछन् ।

  • रुबी साहका हत्या आरोपी पासवानको मृत्यु

    रुबी साहका हत्या आरोपी पासवानको मृत्यु

    ११ भदौ, काठमाडौं । रौतहटको रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको आज साँझ उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको छ । आत्मदाहको प्रयास गरेका उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो ।

    उनको उपचारका क्रममा आज साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । आज बिहान आत्मदाहको प्रयास गरेको अवस्थामा उनलाई फेला पारिएको थियो । केही दिन अघि रौतहटमा सुटकेशभित्र साहको शव भेटिएको थियो । आत्मदाह गर्नु अघि उनले उक्त घटनामा आफू संलग्न रहेको स्वीकार्दै भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

    सो भिडियोका अनुसार साह पासवानका पूर्व प्रेमिका हुन् । उनीहरुबीच प्रेम भएर पनि परिवारले छुटाएकाले आफू तनावमा परेको उनले बताएका छन् । गत शनिबार रौतहटको गौर नगरपालिका–९ गौर–सिर्सिया सडक खण्डअन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा सुटकेशभित्र साहको शव फेला परेको थियो ।

  • भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने

    भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने

    ११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । यसअघि २५ हजार भारतीय रूपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीको गुनासो थियो । सङ्घीय सरकारले गत जेठ १५ मा ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन पाउने व्यवस्था गरेको हो ।

    राष्ट्र बैंकले यही भदौ १० गते सार्वजनिक सूचना जारी गरी नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी पाँच हजार डलरसम्म ल्याउने प्रावधान रहेको जनाएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले राष्ट्र बैंकले भारतीय पर्यटकलाई भन्सार घोषणा नगरीकनै पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने प्रावधानले यहाँको पर्यटन व्यवसायीलाई राहत मिल्ने बताए । वीरगञ्जमा चारवटा तारे होटेलसहित ८५ भन्दा धेरै होटल छन् । तर, अपेक्षाकृत रुपमा पर्यटकको बसाइँ लम्ब्याउन सकिएको थिएन । यहाँको पर्यटन क्षेत्र आन्तरिक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले धानिरहको व्यवसायी बताउँछन् ।

  • नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने

    नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने

    ११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो विषयमा प्रधानमन्त्रीले छिमेकी मुलुकबीच भएको सहमतिबारे कुरा उठाइने जानकारी दिए ।


    प्रधानमन्त्री ओलीले यही भदौ १४ देखि १८ गतेसम्म चीनको भ्रमण गर्ने तय भएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गुरुङले भने, “भारत र चीनका विदेशमन्त्रीबीच लिपुलेकका विषयमा भएको सहमति नेपालको सार्वभौमिकताका विरुद्धमा छ । साङ्घाई फोरमका सिलसिलामा छिमेकी शीर्ष नेतृत्वबीच हुने उच्चस्तरीय भेटघाटमा यो विषयमा कुराकानी हुन्छ ।” भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘साइडलाइन’ भेटवार्ताका लागि दुवै देशका तर्फबाट तयारी भइरहेको उनको भनाइ थियो ।

    मन्त्री गुरुङले भारत र चीनका विदेशमन्त्रीबीच नेपालको लिपुलेक भएर व्यापारिक मार्ग प्रयोग गर्ने सन्दर्भमा भएको सहमतिबारेमा नेपाल सरकारका तर्फबाट यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट जारी गरिसकेको बताए । यसैबीच, उनले सरकारले नयाँ र ठूला योजना नथप्ने र गर्नसक्ने योजनामात्रै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने नीतिलाई कडाइका साथ अवलम्बन गरिने उल्लेख गरे ।

    खस्किँदो अर्थतन्त्र वर्तमान सरकारका नीति र क्रियाकलापले लयमा फर्किएको बताउँदै उनले अन्तरमन्त्रालय समन्वयका कारण तीव्रगतिमा हुन नसकेका विकास पूर्वाधारलाई समन्वय गरी अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयका कामलाई चुस्तदुरुस्त बनाउन तथा प्रभावित हुन नदिन मन्त्रीको विदेश भ्रमणमा कडाइ गरिएको तथा मन्त्री र सचिव एकैसाथ भ्रमणमा जान नदिने व्यवस्था गरिएको उनको भनाइ छ ।

  • संवैधानिक इजलास गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

    संवैधानिक इजलास गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

    ११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नरहेको बताएका छन् । आज प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको छ । प्रधानन्यायाधीशले आफूले तोकेको चार न्यायाधीश तोक्ने पाउने संवैधानिक अधिकार प्रयोग गरेर इजलास गठन गरेको बताए । संविधानको धारा १३७ को संवैधानिक इजलासको गठनसम्बन्धी व्यवस्था रहेको छ । त्यसको ९१० मा सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेको अन्य चार जना न्यायाधीश रहने छन् भनिएको छ ।

    “संवैधानिक इजलास गठनमा कुनै विवाद थिएन, न्यायाधीश नियुक्ति, सरुवालगायतको जरुरी कामका कारणले संवैधानिक इजलास राख्न नसकिएको हो”, प्रधान न्यायाधीश राउतले आज पत्रकारसँग भने, “संवैधानिक इजलास गठन गर्न संविधानले नै प्रधान न्यायाधीशलाई संवैधानिक अधिकार दिएको छ, त्यही प्रयोग गरेर मैले इजलास गठन गरे ।”

    संवैधानिक इजलास गठनका बारेमा धेरै भ्रमहरु फैलाउने भएको उल्लेख गर्दै उनले भन्नुभयो, “संवैधानिक इजलास गठनको विषयमा संविधानमै स्पष्ट व्यवस्था गरेको छ, अदालतको गरिमा, मर्यादा, पारदर्शी र जिम्मेवार बनाउन लागिरहेको छु ।” सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)मा एक वर्षको कार्ययोजनाको छलफलका क्रममा संवैधानिक इजलासलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको भए पनि कुनै पनि विवाद नभएको उनको भनाइ थियो । बीचमा केही समय रोकिएको संवैधानिक इजलास आजदेखि सञ्चालनमा आएको छ । संवैधानिक इजलासमा २२८ मुद्दा छन् ।

  • साउनमा थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण थप

    साउनमा थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण थप

    ११ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब दुई करोड वृद्धि भई रु २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको हो । यो कूल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ९४ प्रतिशत हुन आउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव २६ प्रतिशत अर्थात् रु १४ खर्ब दुई अर्ब ४७ करोड ६५ लाख छ भने आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ७४ प्रतिशत रहेको छ । चालु आवका लागि सरकारले रु पाँच खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा साउन मसान्तसम्ममा रु ४४ अर्ब ५७ करोड ऋण उठाइसकेको कार्यालयले जनाएको छ ।

    वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति सात दशमलव ४८ प्रतिशत बराबर रहेको जनाइएको छ । आन्तरिकतर्फ रु तीन खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा पहिलो महिना ११ दशमलव शून्य पाँच प्रतिशत अर्थात् रु ४० अर्ब ऋण उठाइएको हो । बाह्यतर्फ रु दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा साउनमा एक दशमलव ९६ प्रतिशत अर्थात् रु चार अर्ब ५७ करोड ४८ लाख बराबर ऋण उठाइएको कार्यालयले जनाएको छ ।

    त्यस्तै, चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि रु चार खर्ब ११ अर्ब एक करोड बजेट विनियोजन भएकामा साउन मसान्तसम्ममा रु ३६ अर्ब ६८ करोड भुक्तानी भइसकेको छ । वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि छुट्याइएको बजेट आठ दशमलव ९३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

  • विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे

    विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे

    ११ भदौ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो ।

    घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन्भने छवटा घाइते भएका छन् । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते छन् । उनको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।

  • साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

    साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

    ११ भदौ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता ९यु–१७० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो ।

    डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छभने १५ गते भुटानसँग भिड्ने छ ।

  • सवारी दुर्घटनामा झापामा एक जनाको मृत्यु, चार घाइते

    सवारी दुर्घटनामा झापामा एक जनाको मृत्यु, चार घाइते

    ११ भदौ, बनियानी । कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एकै परिवारका चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत गए राति सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे१च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा भ्यानका चालक शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो ।

    दुर्घटनामा मारुती भ्यानमा सवार शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन् । घाइते चारै जनाको अवस्था सामान्य छ । पिकअप र त्यसका चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • आज विश्व ताल दिवस, संरक्षणमा जोड

    आज विश्व ताल दिवस, संरक्षणमा जोड

    ११ भदौ, काठमाडौं । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तरराष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय संस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवं शैक्षिक अभियन्तालाई तालको महत्वबारेमा शिक्षा प्रदान गर्दै तिनको संरक्षण गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन् । तिनले विश्वको जमिनको चार प्रतिशत भाग ओगटेका छन् । प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण वातावरणीय नोक्सानिका साथै ताजा पानीका स्रोतहरू घट्दै गएको सन्दर्भमा यो दिवस मनाउनुको सान्दर्भिकता बढेको छ । मानवका निम्ति पेयजलको आपूर्ति, कृषि र उद्योगका लागि उत्पादनको महत्त्वपूर्ण स्रोत तालहरूले जैविक विविधता कायम राख्न अनगिन्ती प्रजातिका माछा, बोटबिरुवा र वन्यजन्तुलाई जीवन दिएका छन् । बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले तालहरू सुक्दै गएका छन्भने बरफ पग्लने क्रम पनि बढिरहेको सन्दर्भमा तालतलैयाको संरक्षणलाई महत्त्वपूर्ण मानिएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    ११ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने महाशाखाले प्रक्षेपण गरेको छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने

    उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने

    ११ भदौ, काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि रु ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल रु ३५ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।


    यसअघि उखु किसानहरुले प्रतिक्विन्टल रु ७० प्रोत्साहन स्वरुप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा रु ३५ उपलब्ध गराउने निर्णय भएको थियो । यसैबीच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिहंदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ ।

    वार्तामा मन्त्रालयका तर्फवाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी थिए । उखु किसानका तर्फवाट श्यामबाबु रायलगायत सहभागी हुनुभएको थियो । यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मङ्गलबार नै उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

  • भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

    भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

    एजेन्सी
    १० भदौ, काठमाडौं । छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् । नयाँदिल्लीले इस्लामाबादलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना हालका महिनामा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीबीच भएको पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क पनि हो ।

    पाकिस्तानको राष्ट्रीय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले सतलज नदीमा बढ्दो जलस्तरबारे चेतावनी जारी गर्दै पञ्जाब प्रान्तका विभिन्न जिल्लाबाट जनतालाई स्थानान्तरण गरिएको जनाएको छ । उद्धारकर्ताहरूले मात्र कसुर जिल्लाबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा पु¥याएका छन् भने भारतीय सीमा नजिकको बहावलनगर सहरबाट ८९ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित क्षेत्रमा सारिएको छ ।

    एनडिएमएले नागरिकलाई नदी, खोल्सा र तल्लो क्षेत्रहरूबाट टाढा रहन, अनावश्यक यात्रा नगर्न र मिडिया, मोबाइल सन्देश तथा आफ्नो विपद् चेतावनी एपमार्फत प्रसारित सूचनाहरूलाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ । भारी मनसुनी वर्षा जारी रहँदा पाकिस्तानले हालै तीव्र बाढीको चेतावनी र निकासी अभियान चलाएको हो । उत्तरपश्चिमी बुनेर जिल्लामा यसै महिना आएको आकस्मिक बाढीमा तीन सयभन्दा बढी मानिसको ज्यान गएको थियो ।

    स्थानीय बासिन्दाले पूर्व चेतावनी नपाएको गुनासो गरेका थिए, तर अधिकारीहरूले आकस्मिक आरीघोप्टे पानी पर्नुका कारण बाढी अनुमान गर्न नसकिएको बताएका छन् । धेरै पीडितहरू प्राकृतिक खोल्सामा बसोबास गर्नेहरू थिए । जुन २६ यता पाकिस्तानमा मनसुनी वर्षाबाट निम्तिएको बाढीले आठ सयभन्दा बढीको ज्यान लिएको छ । विवादित काश्मीर क्षेत्रमा मात्रै दर्जनौँको मृत्यु भएको छ र भारत प्रशासित भागमा हजारौँ विस्थापित भएका छन् ।

    यसपटकको बाढी चेतावनी सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धि अन्तर्गतको स्थायी संयन्त्र (सिन्धु जल आयोग)बाट नभई प्रत्यक्ष कूटनीतिक माध्यममार्फत पठाइएको हो । भारतले अप्रिलमा काश्मीरमा २६ जना पर्यटक मारिएपछि उक्त आयोग स्थगित गरेको थियो । पाकिस्तानले भने यो सन्धि एकतर्फी खारेज गर्न नसकिने स्पष्ट पारेको छ ।

    सिन्धु जल सन्धि विगतमा सन् १९६५ र सन् १९७१ का युद्ध र सन् १९९९ को ठूलो सीमा झडपसम्म पनि कायम रहन सफल भएको थियो । तर पर्यटक हत्यापछि भारतले सन्धि निलम्बन मात्र नगरी, कूटनीतिक सम्बन्ध पनि कटौती गरेको थियो । जसको परिणामस्वरूप मे महिनामा दुवै पक्षबीच मिसाइल आक्रमणसमेत भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा युद्धविराम भएपछि मात्र आक्रमण रोकिन पुगेको थियो । त्यसयता सम्बन्ध सामान्यीकरणका प्रयास देखिएको छैन ।

    हालै पाकिस्तानले बारम्बार आरीघोप्टे वर्षाले ल्याउने बाढी र सामान्यभन्दा बढी वर्षा भोगिरहेको छ । देशमा मनसुनी मौसम जुलाईदेखि सेप्टेम्बरसम्म चल्छ ।
    विज्ञ र मौसमविद्हरूले यस क्षेत्रमा बढ्दो वर्षालाई जलवायु परिवर्तनको असर ठहर गरेका छन् । यस वर्षको वर्षाले सन् २०२२ को विनाशकारी बाढी दोहोरिने डर पैदा गरेको छ । सन् २०२२ को विनाशकारी बाढीले देशको एक तिहाइ भूभाग डुबाएको थियो र एक हजार सात सय ३९ जनाको मृत्यु भएको थियो ।

  • पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल

    पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल

    १० भदौ, काठमाडौं । पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । दुवै विमानस्थलबाट नियमित उडान गर्नेसम्बन्धी कार्ययोजनामा आज अर्थ मन्त्रालयमा छलफल भएको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको निजी सचिवालयले जनाएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भारबहन व्यवस्थापन तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा नियमित उडानका उपाय पहिचान तदनुरुप गर्ने सन्दर्भमा छलफल भएको हो ।

    छलफलमा अर्थमन्त्री पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत सहभागी थिए ।

  • राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

    राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

    १० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन सो आग्रह गरेका हुन् ।

    उनले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन् । राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतलनिवासमा आइतबार भेटेर रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

  • भोटेकोशीमा बोलेरो खस्यो  : दुई बेपत्ता

    भोटेकोशीमा बोलेरो खस्यो : दुई बेपत्ता

    १० भदौ, सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–४ हिन्दीमा आज बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । अरनिको राजमार्गअन्तर्गत हिन्दीमा दिउँसो करिब साढे ३ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

    उनका अनुसार सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए । दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल चालक तथा सहचालक दुवै जनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले खोजी कार्य अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

  • वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टियो

    वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टियो

    १० भदौ, वीरगञ्ज । वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये आठवटा नमूनामा हैजाको सङ्क्रमण पुष्टि भएको जानकारी दिए । “वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा सङ्कलन गरेर नमूना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो”, उनले भने, “प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टिएको छ ।”

    निर्देशक डा भट्टले स्थानीय अस्पतालले यसअघि नै ‘आरडिटी’ गरेर हैजा भएको पुष्टि गरे पनि थप पुष्टि गर्न नमूना परीक्षण गरिएको जानकारी दिए । “वीरगञ्जका स्थानीय अस्पतालले आरडिटी गरेर हैजा भएको त थाहा पाएका थिए । कहिलेकाहीँ त्यसमा केही रिजल्ट फरक आउन सक्ने भएकाले थप पुष्टिका लागि यहाँ कल्चर गरिएको हो,” उनले भने ।

  • अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

    अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

    १० भदौ, मध्यविन्दु । यहाँका देवचुली नगरपालिका–६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । वडा नं ६ को टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नंंको अटो दुर्घटना हुँदा भारत मोतिहारी घर भएका ३५ वर्षीय रिजुवान खातुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सडकदेखि केही तल खसेको अटोमा चालकसहित १२ जना सवार थिए ।

    घाइते सबैलाई उपचारका लागि चितवन लगिएकामा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनाका सबै घाइते भारतीय नागरिक रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । घाइते हुनेहरूमा ३५ वर्षीया सवना खातुन, १८ वर्षीया रजिया खातुन, ४२ वर्षीय मोहम्मद रजा, १५ वर्षीया मेहेक इस्तियाक, ४० वर्षीया इस्तियाक आलम, १८ वर्षीया मौजमा इमाम, १२ वर्षीया जोया इस्तियाक, ११ वर्षीय निजामुदिन हुसेन, १४ वर्षीय सावा खातुन, १२ वर्षीय उमर रजा र १६ वर्षीया कुलसुम वान रहेकी छन् ।

  • वीरगञ्जमा ९३ जनामा देखियो हैजा

    वीरगञ्जमा ९३ जनामा देखियो हैजा

    रासस
    १० भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।

    नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् ।

    त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।

  • कोशी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मध्यम वर्षाको सम्भावना

    कोशी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मध्यम वर्षाको सम्भावना

    १० भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

    कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

  • हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    १० भदौ, काठमाडौं । हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।
    केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ ।

    पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । कोषका सूचना अधिकारी अनिता भट्टल मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिइन् ।

  • भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

    भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

    १० भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरात स्वदेश फिर्ता भएकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरे ।

    त्यसअवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए । यस्तै, उपराष्ट्रपति सुआनले उहाँको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेकी थिइन् ।

    यही भदौ ७ गते नेपाल भ्रमणमा आएकी उपराष्ट्रपतिले सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै शिष्टाचार भेटवार्ता गरेकी थिइन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पनि उपराष्ट्रपति सुआनले भेटवार्ता गरिन् ।


    भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यसवर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

  • पशुपतिनाथमा तीजको तयारी पूरा

    पशुपतिनाथमा तीजको तयारी पूरा

    १० भदौ, काठमाडौं । हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा दर्शनार्थ जाने भक्तजन एवं विशेष गरी हिन्दू नारीहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, सङ्गीत, भजनकीर्तन, दिपावली, व्रतालुको गौदान गर्ने स्थानको व्यवस्थालगायत तयारी पूरा भएको पशुपतिनाथ क्षेत्र विकास कोषले जनाएको छ ।

    पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिर छिर्न चार वटा मागको व्यवस्था गरिएको छ । पहिलो मार्ग गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।
    दोस्रो मार्ग मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्ष हुँदै फर्कने व्यवस्था गरिएको छ ।
    यस्तै, पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ताचप्पल कक्ष हुँदै फर्कन तेस्रो मागको व्यवस्था गरिएको कोषले जनाएको छ ।

    चौथो मार्ग तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए ।

    दर्शनार्थीले छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले बताए । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला, जयवागेश्वरीमा वितरणको व्यवस्था मिलाइएको छ ।

    पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गणबाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् । भक्तजनबाट गौदान, पूर्णपात्रो जस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको जानकारी दिइन् ।


    बहुमूल्य गरगहना लगाएर र ससाना बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरू बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए । विगतका वर्षमा जस्तै यसवर्ष पनि तीजका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गरी सुरक्षाको प्रबन्ध मिलाइएको छ । आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिइने कोषले जनाएको छ । साथै राष्ट्रिय अनुसन्धान विभागबाट मेला क्षेत्रमा पर्याप्त अनुगमनको व्यवस्था मिलाइएको छ ।

    मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोसाकमा प्रहरी खटाइ पर्वको दुई दिन अघिदेखि नै त्यस्ता क्रियाकलापमा संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई राख्ने व्यवस्था भएको छ । यसका साथै स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, सरसफाइलगायत व्यवस्था चुस्त रूपमा गरिएको कोषले जनाएको छ ।

  • कांग्रेस शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल

    कांग्रेस शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल

    ९ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा आज बसेको बैठकमा पार्टीको तर्फबाट राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्ने विषयमा छलफल भएको हो ।

    कांग्रेसको तर्फबाट राज्य व्यवस्था समितिको सभापति बन्नुभएका रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त स्थानमा सभापति कसलाई बनाउने भन्नेबारे छलफल भएको पार्टी उपसभापति धनराज गुरुङले जानकारी दिए । बैठकमा रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिकमा हुन लागेको उपनिर्वाचनबारे पनि छलफल भएको थियो । दुवै विषयलाई टुङ्ग्याउनका लागि भोलि बिहान पुनः बैठक बस्ने उपसभापति गुरुङले जानकारी दिए ।

  • यस वर्ष घट्यो धान रोपाइँ

    यस वर्ष घट्यो धान रोपाइँ

    ९ भदौ, काठमाडौं । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष भने ९४ दशमलव ९ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार मुलुकमा धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ७६ हजार ४६६ हेक्टर रहेकामा हालसम्म १३ लाख ६ हजार २९३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ९३ दशमलव ३ प्रतिशत हो ।

    कोशी प्रदेशमा गत वर्ष शत्प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९७ दशमलव २४ प्रतिशत रोपाइँ भएको छ । यसैगरी, मधेस प्रदेशमा गत वर्ष ९७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष भने ८६ दशमलव ३५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । बागमती प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष ९७ दशमलव २७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ९६ दशमलव ६३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ९८ दशमलव ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।

    कर्णाली प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ९९ दशमलव ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा गत वर्ष शत्प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष पनि ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले यस वर्ष समयमा नै वर्षा हुन नसक्दा धान रोपाइँ कम भएको जानकारी दिए । “वर्षा कम हुँदा मधेस प्रदेशमा अझ ढिलो गरी रोपाइँ सम्पन्न भयो । वर्षा पर्याप्त नहुँदा रोपिसकेको धानलाई सिँचाइ सुविधा पुगेको छैन । यसले यस वर्ष धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ,” उनले भने ।


    मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष (विसं २०८०) को तुलनामा गत वर्ष (विसं २०८१) मा ४ दशमलव ०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो । विसं २०८१ मा कोशी प्रदेशमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन, मधेस प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिक टन, बागमती प्रदेशमा चार लाख ९८ हजार ६३२ मेट्रिक टन, गण्डकी प्रदेशमा तीन लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णाली प्रदेशमा एक लाख ३० हजार १९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

  • नेप्से परिसूचक २१ अङ्कले बढ्यो

    नेप्से परिसूचक २१ अङ्कले बढ्यो

    ९ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ३० अङ्कले बढेर दुई हजार ७६१ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ७७ प्रतिशतले बढेको हो । आज ३१७ कम्पनीको एक करोड आठ लाख ७७ हजार ९४२ कित्ता शेयर ५७ हजार १५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ दशमलव ७८ को कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव शून्य पाँच र म्युचुअफ फण्ड समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

    बैंकिङ शून्य दशमलव ५८, विकास बैंक शून्य दशमलव ९५, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव ४५, जलविद्युत् शून्य दशमलव ३२, लगानी शून्य दशमलव ३४, र जीवन बिमा समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त एक दशमलव ५०, निर्जीवन बिमा शून्य दशमलव ३१, व्यापार शून्य दशमलव शून्य पाँच र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ ।

    आजको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड–१ को शेयर मूल्य तीन दशमलव ८७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ७६ करोड ९६ लाख ७७ हजार ९५१ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सबैभन्दा बढी पाँच लाख ३७ हजार ५५० कित्ता शेयर किनबेच भएको छ ।

  • दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरिँदै

    दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरिँदै

    ९ भदौ, काठमाडौं । नेपालले दोस्रोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए । बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत्लगायतमा हासिल भएका उपलब्धिहरूलाई प्राथमिकता दिनेबारे छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, सदस्य डा प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत थिए । बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले ‘क्रेडिट रेटिङ’सम्बन्धी अहिलेसम्म गरिएका तयारी प्रस्तुत गरेका थिए । अन्तरराष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ । सोभरेन क्रेडिट रेटिङका लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले ‘बिबी माइनस’ पाएको थियो ।