Category: समाचार

  • भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

    भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

    ७ भदौ, काठमाडौं । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ ।

    गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए ।
    सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए । गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाएको बताउँछन् । डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकी गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउँछन् । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ”, उनले भने ।


    मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो । शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाएको धेरै भक्तजन बताउँछन् ।

    यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए । बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास समेत गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ ।

    आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ ।

  • आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै

    आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै

    ७ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।


    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ । यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

    बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ ।

    मन्दिरमा लाग्ने मेलाका सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्ने गर्छ । बेत्रावतीमा पनि पिता दिवङ्गत भएका तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् । ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

  • सङ्खुवासभामा भूकम्प : क्षतिको विवरण छैन

    सङ्खुवासभामा भूकम्प : क्षतिको विवरण छैन

    ७ भदौ, काठमाडौं । पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

    भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा कुनै विवरण भने प्राप्त हुन सकेको छैन । विसं २०७२ बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्प जानेक्रम रोखिएको छैन ।

  • नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

    नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

    चितवन । यहाँस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा एक डेण्टल क्लिनिक बन्द गराइएको छ । नेपाल मेडिकल काउन्सिलले हेल्दी स्माईल डेण्टल केयर सेन्टरमा अनुगमन गर्दा दर्ता नभएको पाइएपछि बन्द गराएको हो । नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष तथा काउसिन्लका सदस्य डा. अनिलविक्रम कार्कीका अनुसार विषम चौधरीले सञ्चालन गरेको डेण्टल क्लिनिक कुनै पनि निकायमा दर्ता भएको पाइएन । अनुगमनका क्रममा उक्त क्लिनिकमा कोही चिकित्सक नभेटिएको कार्कीले जानकारी दिए । सञ्चालक चौधरीले आफूले भारतको छत्तिसगढबाट बिडिएस र कान्तिपुर डेण्टलबाट सिडिएस अध्ययन गरेको दाबी गरेको उनको भनाइ छ । डा कार्कीका अनुसार चौधरी काउन्सिलमा दर्ता भएका छैनन् ।

    नेपाल डेण्टल एशोसिएशनका अध्यक्ष एवं काउन्सिलका सदस्य अजयकुमार साह, नेपाल मेडिकल काउन्सिलका सदस्य डा विक्रान्त ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधिसहितले अनुगमन गरेका थिए । काउन्सिलमा परेको उजुरीका आधारमा अनुगमन गरिएको जनाइएको छ । अनुगमनपछि क्लीनिकमा रहेको सिसी टिभीको हार्डडिस्क जफत गरेर काउन्सिलमा पठाइएको छ । उक्त हार्डडिस्को अध्ययन गरेपछि थप विषय थाहा हुने उनले बताए । उक्त क्लिनिकमा उपचारको क्रममा फलोअप गर्न आएका बिरामीसँग सोधपुछ गर्दा निज चौधरीले ‘म चिकित्सक हुँ’ भन्दै उपचार गर्ने गरेको पाइएको छ । चौधरीसहित अन्य दुई कर्मचारी त्यहाँ कार्यरत थिए ।

  • काठमाडौँ महानगरमा विपद्का घटनामा कमी

    काठमाडौँ महानगरमा विपद्का घटनामा कमी

    ६ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विपद्का घटनामा कमी आएको जनाएको छ । आर्थिक वर्ष २०८०–८१ मा कामपामा ४३१ विपद्का घटना घटेका थिए । गत आर्थिक वर्ष २०८१–८२ मा ४२५ विपद्का घटना घटेको कामपाले जनाएको छ । कामपा नगर प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार सङ्ख्यात्मक रूपमा विपद्का घटनामा गत आवमा कमी आए पनि शीर्षकगत रूपमा भने बढेको छ ।

    उनका अनुसार शीर्षकगत रूपमा रूख कटान र जल उत्पन्नसम्बन्धी विपद्का घटना बढेका छन् । आगलागीका कारण अघिल्लो आर्थिक वर्षमा ३११ घटना घटेकामा गत आवमा १५२ मात्र आगलागीजन्य घटना घटेको तथ्याङ्क कामपासँग छ । उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी छन् । जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेका हुन् । यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापन गरिरहेको उनले जानकारी दिए ।


    बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ । त्यसैगरी थोत्रा ग्यास सिलिण्डरको प्रयोग, ग्यास पाइप र रेगुलेटरको नियमित परीक्षण नगर्दा आगोजन्य विपद्का घटनामा कमी आउन नसकेको उपरीक्षक जोशीको भनाइ छ ।

  • एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली

    एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली

    ६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराएका छन् । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका साहसहितका नेता तथा कार्यकर्तालाई उनले एमाले पार्टीमा प्रवेश गराए ।

    सो अवसरमा आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु पनि एमालेमा प्रवेश गरे ।

    अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै गलत बाटो देखाउनेको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएकोमा सबैलाई धन्यवाद दिए । “हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौँ । अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपाइंहरु मुक्त भएका छन् । अध्यक्ष ओलीले भने, “एमालेको ठूलो परिवार भएर काम गरौँ । मिलेर देश बनाउँ । गलत काम नगरौँ ।”

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुनु नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने । “अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएका छन् । खासमा राष्ट्रपति भएपछि उहाँले पार्टी सदस्यता त्याग्नुभएको हो । कर्मचारीलाई झुक्याएर हुँदै नभएको सदस्यता रसिद काट्दैमा कायम हुँदैन ।”

    अध्यक्ष ओलीले भने, “पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसङ्गठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ ।” कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताका लागि काम गर्छ भन्नु भ्रम रहेकोे भन्दै देश र जनताका पक्षमा काम गर्ने पार्टी एमाले नै हो भन्ने विश्वाससहित आजपाका नेता तथा कार्यकर्तासहित आफू एमाले पार्टीमा प्रवेश गरेको बताए ।

  • जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

    जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

    ६ भदौ, चितवन । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका आनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजाअनुसार आज थप एक जनाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार आज आएको नतिजा अनुसार भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्धको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो । उनले भने, “जिल्लामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने १३ जनामा यो रोगको सङ्क्रमण देखिएको छ ।”

    कार्यालयका कीट नियन्त्रक राम केसीले यसअघि मृत्यु हुनेमा कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका जानकारी दिए । उनीहरुको गत साउनयता मृत्यु भएको जनाउँदै उनले गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको बताए ।


    जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका नागरिकामा देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कालिका नगरपालिकामा दुई जनालाई सङ्क्रमण देखिएको छ भने भरतपुरका चार, राप्तीका दुई, खैरहनी र माडी नगरपालिकाका एक\एक जनामा सङ्क्रमण देखिएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिए ।


    उनका अनुसार यो रोग ‘क्युलेक्स’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । “यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर हुँदा नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धानखेतीमा यो लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने हुँदा बाहिर काम गर्दा विशेष सर्तकता अपनाउनु पर्दछ”, उनले भने ।

  • लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत

    लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत

    ६ भदौ, काठमाडौं । लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि रु आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आज सम्पन्न बोर्डको ६५औँ बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी, वित्तीय ढाँचालगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेस गर्ने कार्यका लागि प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

    प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालनसम्बन्धी परियोजना र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गर्न तथा सर्वेक्षण अनुमतिपत्र प्रदान गर्ने अख्तियारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई दिने निर्णय गरेको छ ।

    त्यसैगरी, नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको विद्युत् प्रसारण लाइनको नयाँ रुट ‘अलाइनमेन्ट’को सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्नका लागि प्रवर्द्धक कम्पनी कर्णाली ट्रान्समिसन कम्पनी प्रालिलाई सहमति प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

  • सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल

    सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल

    ६ भदौ, कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन कायम गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् । तीजका अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आजदेखि सुरु भएको ऐतिहासिक टुँडिखेल तीज महोत्सवको तेस्रो संस्करण उद्घाटन गर्दै उनले आफू सरकारमा रहँदा सुशासन अभियान सुरु गरेको र अहिले पनि निरन्तरता दिइरहेकोले सबैको साथ सहयोग आवश्यक रहेको बताए ।

    अध्यक्ष दाहालले भने, “हामी सबै खालका आर्थिक पछौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडि बढेका छौँ । देशमा समृद्धि हासिल गर्न सुशासन अपरिहार्य छ ।”

    अध्यक्ष दाहालले तीज पर्व नेपाली महिलाहरूको सम्मानको पर्व रहेको उल्लेख गरे । उनले तीजलाई मौलिक पर्वका रूपमा मनाउन समेत आग्रह गरे । कार्यक्रममा स्रष्टा सम्मानतर्फ गोविन्द कोइराला र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिएबापत स्वर्गीय सिद्धी गौचनका परिवारलाई सम्मान गरिएको थियो ।

    इन्द्रेणी एकीकृत विकास समाजको आयोजनामा सुरु भएको महोत्सव आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दैनिक उपभोग्य, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ताकपडासँगै अन्य विभिन्न गरी १५० व्यापारिक स्टल, १२ रेष्टुरेन्टका स्टल, बाल उद्यान रहेका आयोजक संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

  • अवैध वन्यजन्तु व्यापारविरुद्ध नेपाललाई अमेरिकी सहयोग

    अवैध वन्यजन्तु व्यापारविरुद्ध नेपाललाई अमेरिकी सहयोग

    ६ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालका निकुञ्ज रक्षक, स्वयंसेवी शिकारीविरोधी कार्यकर्ता तथा स्थानीय समुदायलाई सात लाख अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको उपकरण सहयोग गरेको छ । यहाँस्थित अमेरिकी दूतावासका उप–मिशन प्रमुख जेसन मिक्सले अन्तरराष्ट्रिय लागुऔषध तथा कानुनी कार्यान्वयन मामिलासम्बन्धी अमेरिकी विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले उक्त सामग्री बुझेका छन् । सहयोग सामग्रीमा ल्यापटप, वाकी–टकी, हेडलाइट, सर्चलाइट, दुरबिन, क्यामेरा तथा औषधि उपचार किटजस्ता सामग्रीहरू रहेका दूतावासले आज जनाएको छ ।

    यस किसिमको सहयोगले नेपालका राष्ट्रिय निकुञ्जभित्र गस्ती कार्यलाई सुदृढ गर्ने, अन्तरदेशीय वन्यजन्तु अपराधलाई निरुत्साहित गर्ने तथा जैविक विविधताको संरक्षणमा योगदान पु¥याउने विश्वास लिइएको छ । यसले नेपाल मात्र नभई अमेरिका पनि थप सुरक्षित हुने अमेरिकी दूतावासले जनाएको छ ।

  • साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो

    साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो

    ६ भदौ, काठमाडौं । सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित निकालेको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ । पहिलो खेलमा भारतसँग नेपाल ७–० ले पराजित भएको थियो । यता भुटानको भने यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो ।

    आज खेलको पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले खेलको ५८औँ मिनेटमा बराबरी गोल फर्कायो । नेपालको लागि साहरा लिम्बूले गोल गरिन् । त्यसअघि खेलको ४२औँ मिनेटमा भुटानका लागि कुन्डेन सोनाम शेगेलले गोल गरेकी थिइन् । खेलको ७७औँ मिनेटमा साहराले नै गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल विजयी भयो ।

  • कोइकाको नेपालमा ३० वर्ष, २९ मिलियन डलर अनुदानका नयाँ सम्झौतामा हस्ताक्षर

    कोइकाको नेपालमा ३० वर्ष, २९ मिलियन डलर अनुदानका नयाँ सम्झौतामा हस्ताक्षर

    ६ भदौं, काठमाडौं । कोरिया अन्तरराष्ट्रिय सहयोग एजेन्सी ९कोइका०ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको छ । यही अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा तीनवटा महत्त्वपूर्ण परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ । पहिलो सम्झौताअनुसार गण्डकी प्राविधिक संस्थान स्थापना गर्न सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुनेगरी नौ मिलियन अमेरिकी डलर सहयोगमा कार्यक्रम अघि बढाइने छ । उक्त सम्झौतामा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालस्थित दक्षिण कोरियाली राजदूत महामहिम पार्क ते–यङ्गले हस्ताक्षर गरे ।


    त्यस्तै ‘फ्रुट्स एण्ड भेचिटेबल भ्यालु चेन डेभलपमेन्ट प्रोजेक्ट’ दोस्रो चरण हस्ताक्षर भएको छ । सन् २०२५ देखि २०३१ सम्म सञ्चालन हुने यस परियोजनाको बजेट १० मिलियन डलर रहेको छ । सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा हरिबहादुर केसी र कोइका नेपालका देशीय निर्देशक मूहन कोङले हस्ताक्षर गरे ।


    सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट स्थापनाको अर्को परियोजनामा पनि हस्ताक्षर भएको छ । सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुने यस परियोजनाको बजेट १० मिलियन डलर छ । सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र कोइका नेपालका निर्देशक मूहनले हस्ताक्षर गरे ।
    समारोहमा निर्देशक मूहनले नेपाल र कोरियाबीचको दीर्घकालीन साझेदारी, समावेशी र दिगो विकासप्रतिको दृढ प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि र सुशासनजस्ता क्षेत्रमा कोइकाको प्राथमिकता रहेको बताए । कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोइकाले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै नेपालका दिगो विकास लक्ष्य हासिल गर्न यसले खेलेको भूमिकाको प्रशंसा गरे ।


    नेपालका लागि कोरियाली राजदूत महामहिम पार्क ते–यङ्गले कोइकाको ३० वर्षे यात्रा नेपाल–कोरिया मित्रताको प्रतिविम्ब भएको बताउँदै नयाँ परियोजना सम्झौतालाई साझेदारी र प्रगतिका प्रतीकका रूपमा औँल्याए । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कोइकालाई यस ऐतिहासिक अवसरमा बधाई दिँदै नेपाल सरकार आगामी कार्यक्रमहरूको पहुँच र दिगोपन विस्तारमा सहकार्य गर्न तत्पर रहेको बताए ।


    सन् १९९१ देखि कोइकाले नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । हालसम्म कोइकाले दुई हजार ९२१ जना स्वयंसेवकलाई नेपालमा परिचालन गरेको छभने दुई हजार २३० जना नेपाली निजामती कर्मचारीले क्षमता अभिवृद्धि कार्यक्रममा सहभागिता जनाएका छन् ।

    सन् २०१० मा नेपाललाई प्राथमिकतामा राखेपछि दक्षिण कोरियाली सरकारमार्फत नेपालमा सहयोग उल्लेख्य रूपमा बढेको छ । सन् २०२५ सम्म आइपुग्दा कोइकाको कुल सहयोग २०० मिलियन अमेरिकी डलर नाघेको छ । विकास सहयोगसम्बन्धी नयाँ रूपरेखा सम्झौता प्रक्रियामा रहेको र यसले नेपाल–कोरिया मित्रतालाई अझ सबल बनाउने अपेक्षा गरिएको छ ।

  • कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

    कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

    गुल्मी, ६ भदौः राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार बाटो खोल्न डोजरलगायत उपकरण प्रयोग गरिएको छ । सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन् । रासस

  • शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

    शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

    कञ्चनपुर, ६ भदौ । हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन । यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ । निकुञ्जमा चार सय ६५ प्रजातिका चरा पाइने भए पनि तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छन् ।

    जसमा विश्वमै दुलर्भ सीमतित्रा, सारस, भुँडीफोर गरुड, खर मजुर, सानो खरमजुर, सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, बोक्सी चिल, जीवहारा महाचिल, लघु महाचिल, सानो बौडाइ, राज लहाँचे, सेतो कण्ठे धिप्सी, कासेघाँसे, बरी, नरक भ्याकुर, सुनौलो तोप चरा, बगाल बगेडीलगायत चरा निकुञ्जमा पाइन्छन् ।

    नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौराका अनुसार ती दुर्लभ प्रजातिमध्ये सबैभन्दा सङ्कटापन्न अवस्थामा खरमजुर रहेको छ । निकुञ्जमा यस चराको सङ्ख्या निकै कम छ । घाँसेमैदानमा बासस्थान बनाउने यो चरा शुक्लाफाँटाको पहिचानसँगै जोडिएको छ ।

    यस्तै सुनौलो तोप चरा त शुक्लाफाँटामा मात्र पाइन्छ । घाँसेमैदानदेखि लालपानी, मोहनपुर, सिंहपुरजस्ता क्षेत्रमा यसको उपस्थिति देखिन्छ । घाँसेमैदान र सिमसार क्षेत्र नजिकका काँटेदार रुखहरूमा यस चराले गुँड लगाउने गर्छ । एउटै रुखमा यस चराका दर्जनौँ गुँड रहने गर्दछन् ।

    ठूलो धनेस र राजलहाँचेजस्ता प्रजाति भने निकुञ्जको घना सालको जङ्गलमा पाइने चराविज्ञ डगौरा बताउँछन् । हिउँदमा बसाइँ सर्ने क्रममा आउने सेतो कण्ठे धिप्सी, ताल–तलाउ वरिपरि बस्ने सारस तथा विभिन्न किसिमका गिद्धहरू पनि यहाँ पाइन्छन् ।

    निकुञ्जमा गिद्धका आठ प्रजाति पाइन्छन् । जसमध्ये चार प्रजाति डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र सेतो गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । डङ्गर गिद्धको सङ्ख्या केही बढेको भए पनि बाँकी प्रजातिहरूको सङ्ख्या अत्यन्तै न्यून रहेको चराविज्ञ डगौरा बताउँछन् । निकुञ्जमा पाइने गिद्धका प्रजाति अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आइयुसिएन०को रातो सूचीमा सूचीकृत रहेका छन् ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हिउँदमा बसाइँ सारेर आउने चराहरूको गन्तव्यका रूपमा रहेको छ । कैले टाउके हाँसजस्ता दुर्लभ जलपन्छी हिउँदयाममा यहाँको तालतलाउमा आउने गर्दछ । नेपाल पन्छी संरक्षण सङ्घले गरेको पछिल्लो सर्वेक्षणअनुसार निकुञ्ज र आसपासका सिमसार क्षेत्रमा करिब पाँच हजार ८८२ जलपन्छी पाइएका थिए । हिउँदयाममा सिमसार क्षेत्र चराले भरिभराउ हुने हुँदा यो निकुञ्ज पन्छी अवलोकनकर्ताका लागि पनि आकर्षण केन्द्र बनेको छ । तीन सय पाँच वर्गकिलोमिटरमा फैलिएको निकुञ्जमा ७१ प्रतिशत भाग वनले ढाकेको छ, जसमा सालको वन ८० प्रतिशतभन्दा बढी छ । यिनै वन र घाँसेमैदान चराको मुख्य बासस्थान हुन् ।

    चराविज्ञ डगौराका अनुसार तालतलाउ जलकुम्भी र नरकटले ढाकिँदै गएर चराको खेल्ने ठाउँ साँघुरिँदै गएको छ । घाँसेमैदानमा चराको प्रजनन हुने बेला वैशाख–जेठतिर डढेलो लाग्दा गुँड र बासस्थान नष्ट हुने गर्दछन् । निकुञ्ज बाहिरका सिमसार क्षेत्र अतिक्रमण, खेतीपाती र संरचनात्मक विकासका कारण झन् सङ्कुचित बन्दै गएका छन् ।

    सामुदायिक वनमा हुने वृक्षरोपण पनि अर्को चुनौती बनेको छ । विज्ञहरूका अनुसार घाँसे फाँटमै प्रजनन गर्ने चरालाई यो कार्यले नोक्सान पुर्याइरहेको छ । “घाँसको फाँटमै धेरै चराले गुँड बनाउँछन्, त्यहाँ रुख लगाइएपछि उनीहरूको बासस्थान हराउँछ”, डगौराले भने ।


    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लेका अनुसार निकुञ्जभित्र दुर्लभ चराको संरक्षणका लागि कार्य अगाडि बढाइँदै आएको छ । घाँसेमैदानमा बासस्थान भएका चराको बासस्थानलाई डढेलोले बढी क्षति पुर्याउने गरेको देखिएको छ । कहिलेकाहीँ हुरीबतासले गर्दा लाग्ने ठूलो डढेलोले रुखमा गुँड बनाउने चरालाई पनि समस्यामा पार्ने गरेको छ । चोरी–सिकारी नियन्त्रण गर्न १४ वटा निकुञ्ज पोष्ट र नेपाली सेनाका १९ वटा पोष्ट स्थापना गरिएको छ ।

    अहिलेसम्म दुर्लभ चराको चोरी–सिकार भएको आधिकारिक तथ्याङ्क नभएको उनको भनाइ छ । स्थानीय बासिन्दालाई चरा संरक्षणसम्बन्धी तालिम, गोष्ठी र छलफलमार्फत सङ्घसंस्थाको सहयोगमा तथा निकुञ्ज आफैँले पनि चेतना फैलाउने कार्य गर्दै आएको छ । चराको प्राकृतिक बासस्थानमा खलल नपुगोस् भन्ने लक्ष्यसहित स्थानीय सरोकारवाला र निकुञ्ज प्रशासनले सहकार्य गर्दै आएका छन् ।

    शुक्लाफाँटा केवल चरामात्र होइन, पाटेबाघ, एकसिङ्गे गैँडा, जङ्गली हात्ती, बाह्रसिङ्गा, नीलगाई, घडियाल गोही, चितुवालगायत दुर्लभ वन्यजन्तुको बासस्थान पनि हो । यही जैविक विविधता र चराचुरुङ्गीको समृद्धिले गर्दा यो निकुञ्ज विश्वभरिका अनुसन्धानकर्ता र पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

    rss

  • यस्तो छ आजको मौसम, गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा

    यस्तो छ आजको मौसम, गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा

    काठमाडौँ, ६ भदौः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका तराई एवं पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । साथै पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान भिड्दै

    टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान भिड्दै

    ६ भदौ, काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । जित मात्र पर्याप्त भने हुने छैन । अन्य टोलीको खेल समेत नेपाल अनुकूल आउनु पर्छ ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् एजेण्डा ?

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् एजेण्डा ?

    ६ भदौ, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यसैगरी, गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।


    बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


    त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    राष्ट्रियसभाको बैठक १२ः१५ बजे बस्दैछ । आजको बैठकमा गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
    गृहमन्त्री रमेश लेखकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सो प्रस्तावमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

  • बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ

    बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ

    ६ भदौ, म्याग्दी । जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । आर्थिक वर्ष २०८१–८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन् । आव २०८०–८१ मा दुई सय ५२ परिवार बसाइसराइ गरेर जाँदा आउने परिवारको सङ्ख्या एक सय भएको स्थानीय तहको पञ्जीकरण शाखाको अभिलेखमा उल्लेख छ ।

    गत वर्ष बसाइँसराइ गरेर आउनेहरूको परिवार सङ्ख्या बेनी नगरपालिकामा ४५, धवलागिरिमा तीन, मालिकामा आठ, मङ्गलामा १९, रघुगङ्गामा चार र अन्नपूर्णमा १० छ । बेनीबाट ६५, धवलागिरिबाट २३, मालिकाबाट ३९, मङ्गलाबाट ५५, रघुगङ्गाबाट २१ र अन्नपूर्णबाट ४४ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका छन् । म्याग्दी बहुमुखी क्याम्पस समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लाको बसाइँसराइ उल्टो रहेको बताए । “गाउगाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन”, उनले भने, “रोजगारी र आयआर्जन अवसरको खोजीमा गाउँबाट सहर र सुविधा भएको ठाउँमा मानिस बसाइँसराइ गर्ने क्रम बढेको हो ।”

    विसं २०७८ मा भएको जनगणनाको नतिजाअनुसार म्याग्दीको २५ हजार ३७४ घरमा २९ हजार २४२ परिवारका एक लाख सात हजार ३७२ जनसङ्ख्याको बसोबास छ । विसं २०६८ मा म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ जना थियो । विशेषगरेर ग्रामीण क्षेत्रमा युवा उमेर समूहका उत्पादनशील जनशक्ति नहुँदा विवाहमा जन्ती, मृत्युमा मलामी जानेहरू प्रौढ र वृद्धहरू बढी देखिन थालेका धवलागिरि गाउँपालिका–४ का चित्र पुनले बताए । “खेतीबाली लगाउन अर्मपर्म गर्ने चलन हरायो”, उनले भने, “खेतीयोग्य जमिन बाँझिएको छ । आयातित खाद्यान्नमा निर्भरता बढेको छ ।”

    जन्मदर कम भएको र गाउँमा भएकाले पनि आर्थिक हैसियत बढेपछि छोराछोरी पढाउन बजार झर्ने क्रमसँगै विद्यार्थी सङ्ख्या घटेको अन्नपूर्ण गाउँपालिका–७ को टिकोट माविका प्रअ प्रदीप पुनले बताए । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा करिब ५० जनामात्र विद्यार्थी छन् । म्याग्दीबाट कास्कीको पोखरा, हेम्जा, काठमाडाँै, चितवन, बुटवल र तनहुँमा बसाइँसराइ गरेर जाने गरेका छन् । सम्पन्नहरूले बजारमा घरघडेरी किनेर झरेका छन्भने विपन्नहरू काम र मामका लागि बजार झर्ने क्रम देखिएको प्राध्यापक जिसीले बताए । “शिक्षालाई उत्पादन र रोजगारीमा नजोड्ने हो भने म्याग्दीको जनसङ्ख्या घट्ने र बसाइँसराइ बढ्ने दर अझै बढ्दै जानेछ”, उनले भने, “विकासलाई रोजगारी र सम्भावनालाई आयआर्जनसँग जोड्न आवश्यक छ ।”

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विकास गाउँतिर केन्द्रित भएको समयमा त्यसको उपभोग गर्ने जनसङ्ख्या भने सहरबजार झर्ने र विदेशिने अवस्था चुनौती रहेको बताए । विकास आयोजनामार्फत रोजगारी सृजना, कृषि र पर्यटनमा जोड दिएको उनले बताए ।

  • वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

    वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

    ६ भदौ, काठमाडौं । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

  • गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

    गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

    एजेन्सी
    ६ भदौ, काठमाडौं । गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र प्यालेस्टाइनको घेराबन्दीमा रहेको हमासका बाँकी गढलाई लक्षित गरी गरेको विस्तारित आक्रमण ‘असहनीय’ भएको रेडक्रसले बिहीबार जनाएको छ । इजरायली सेनाको योजनामा सेनाको लागि लगभग ६० हजार ‘रिजर्भिस्ट’हरूको लागि आवेदन माग गरिएको छ । यस अभियानले अवरुद्ध तटीय क्षेत्रमा पहिले देखि नै रहेको विनाशकारी मानवीय सङ्कटलाई अझ खराब बनाउने डरलाई गम्भीर बनाएको छ।

    “गाजामा शत्रुता तीव्र हुनुको अर्थ थप हत्या, अधिक विस्थापन, अधिक विनाश र थप आतङ्क हो,” रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आईसीआरसी० का प्रमुख प्रवक्ता क्रिश्चियन कार्डनले एएफपीलाई बताए । “गाजा एक बन्द ठाउँ हो, जहाँबाट कोही पनि उम्कन सक्दैन र यहाँ स्वास्थ्य सेवा, खाना र सुरक्षित पानीको पहुँच घट्दै गएको छ,” कार्डनले भने । प्रवक्ताले भने, “यसबीच मानवीय सहायताकर्मीहरूको सुरक्षा दिन प्रतिदिन बिग्रँदै गइरहेको छ। यो असहनीय छ।”

    आइसिआरसीले गाजाको जमीनमा सक्रिय भूमिका खेलिरहेको छ र प्यालेस्टिनी लडाकू समूहको सन् २०२३ अक्टोबर ७ को आक्रमणमा हमासले लिएका इजरायली बन्धकहरूको हरेक आदानप्रदानमा संलग्न रहेको छ। सरकारी निकायबाट प्राप्त तथ्याङ्कका आधारमा एएफपीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गाजामा युद्ध भड्काउने उक्त आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएको थियो। हमासले अपहरण गरेका २५१ बन्धकमध्ये ४९ जना अझै पनि गाजामा बन्धक बनाइएका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले विश्वास गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ६२ हजार १२२ प्यालेस्टिनीको मृत्यु भएको छ। गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रमा पहुँचमा कठिनाइको कारण नागरिक सुरक्षा एजेन्सी वा इजरायली सेनाले उपलब्ध गराएको सङ्ख्या र विवरणलाई एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव हुन सकेन ।

  • विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

    विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

    ६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । समिति बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको फरकमतकाबीच उक्त विधेयक पारित भएको हो ।लामो समयदेखि संसदीय समितिमा छलफलमा रहेको सो विधेयक अब बस्ने संसद् बैठकमा पेस हुनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयक लामो समयसम्म उपसमिति र समितिमा छलफल भई आज पारित भएको हो ।


    माओवादी केन्द्रले विधेयकका सम्बन्धमा पाँच बुँदे फरकमत समितिमा दर्ता गराएको छ । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, महिन्द्रराय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले विद्यालय शिक्षा सुधारका लागि आफूहरुले उठाएका विषय विधेयकमा सम्बोधन हुन नसकेकाले फरक मत राखिएको जनाए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका विना जयसवालले फरक मत राखेका छन् ।

  • अरनिको राजमार्ग सञ्चालनमा

    अरनिको राजमार्ग सञ्चालनमा

    ५ भदौ, काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नेपाल र चीन जोड्ने तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो । सो स्थानमा नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम भई रहेको सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिए । “पहिरोका कारण माथिल्लो भागमा रहेको मानव बस्ती जोखिममा रहेको हुँदा कठिनाइ भएको थियो । सडक डिभिजन चरिकोटबाट खटिएको यन्त्र, उपकरणसहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो”, उनले भने, “पहाडी धरातल र लेदो बगी रहने गरेका कारण सो स्थानमा समयसमयमा समस्या आउने गरेको छ ।”

    ग्याविन पर्खाललगायतका अन्य संरचनाको निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशील रहेको जैसीले बताए । सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन जारी राखेको सडक विभागले जनाएको छ । पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारीसाधन सञ्चालन गरिएको र आज अपराह्नदेखि ठूला सवारीसाधनसमेत सञ्चालन हुन थालेको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानले जानकारी दिए ।


    यातायात सहज रुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरु अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उनले जनाए । दीर्घकालीन समाधानका लागि केही समय लाग्ने भए पनि चाडपर्वहरु नजिकिँदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरी प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन रहेको थियो ।

  • एनपीएल दोस्रो संस्करण मङ्सिरमा

    एनपीएल दोस्रो संस्करण मङ्सिरमा

    ५ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्ति जनाएको छ । उक्त प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ ।

    गत वर्ष मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपिएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ । एनपिएलमा हाल आठ वटा टोली छन् । जसमा विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खान, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स छन् ।

    एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्ले जितेको थियो । एनपिएलको दोस्रो संस्करणको तयारी स्वरुप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ । हाल प्याराफिट निर्माण भइरहेको छ ।

  • उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु

    उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु

    ५ भदौ, गोरखा । उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो । चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने ठाउँको भीरबाट करिब एक सय मिटर तल स्यारखोलामा खसेर उनीहरुको मृत्यु भएको मृतकका आफन्त नुर्बु दोर्जेले बताए ।

    “आइतबार चुम्लिङमा विद्युत् समितिको बैठक भएको थियो, बैठकबाट फर्कने क्रममा रिञ्जिन लामा हराएका थिए, उनको शव आज विहान गाउँलेले भेटेका थिए”, उनले भने । रिञ्जिनको शव हिसेदोर्जेले भेट्टयाएका थिए । उनको शव लिएर लिएर खोलातर्फ जाने क्रममा आज विहान ९ बजेतिर सोही ठाउँबाट खरेस हिसेदोर्जेको मृत्यु भएको हो । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

  • निजी विद्यालय सञ्चालक सडकमा : शिक्षा विधेयक सच्याउन माग

    निजी विद्यालय सञ्चालक सडकमा : शिक्षा विधेयक सच्याउन माग

    ५ भदौ, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा केही प्रावधान सच्चाउन माग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) को आयोजनामा माइतीघर मण्डलामा आज गरिएको प्रदर्शनमा सहभागीहरुले ‘अभिभावकको पहिलो रोजाइ निजी विद्यालयको पढाइ’, ‘निजी विद्यालयको योगदान मजबुद अर्थतन्त्रको निर्माण’ र ‘सधैँ विभेद खप्नुपर्ने हामी निजी विद्यालय किन ?’ लेखिएका प्ले कार्ड बोकेका थिए ।

    शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने र कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने प्रावधान हटाइनुपर्ने उनीहरुको माग छ ।

    छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने तथा स्थानीय तहका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने निजी विद्यालय सञ्चालकहरुको माग छ । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिमा छलफलका क्रममा रहेको शिक्षा विधेयक आज समितिबाट पारित भएको हो ।

  • एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’

    एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’

    ५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका छन् । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो । निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ । साथै, जुनसुकै ठाउँबाट सेवा लिनका लागि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जीपीएस प्रणालीमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ ।

    सेवाको गुणस्तरमा एकरूपता ल्याउन र नियमन गर्न निर्देशिकाले एम्बुलेन्सको वर्गीकरण गरेको छ । निर्देशिकाले एम्बुलेन्स सेवावापत लाग्ने शुल्कमा एकरूपता र नियमनको व्यवस्था गरेको छ । गरिब, असहाय तथा विपद्मा परेका बिरामीलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने प्रावधान निर्देशिकामा राखिएको छ । आकस्मिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन यो निर्देशिका जारी गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

    उनले भने, “छरिएर प्रदान गरिने एम्बुलेन्स सेवालाई एकद्वार प्रणालीमा ल्याउने, आकस्मिक उपचार सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने तथा आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले यो निर्देशिका ल्याइएको हो ।” निर्देशिका स्वीकृत भएसँगै देशभरका एम्बुलेन्स सेवाहरू एकीकृत सञ्जालमा आउने छन् ।

  • संसदमा उठ्यो लिपुलेक विवाद : नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य

    संसदमा उठ्यो लिपुलेक विवाद : नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य

    ५ काठमाडौँ, ५ भदौस् मुलुकका सबै राजनीतिक दलका नेताहरुले त्रिदेशीय समझदारीबिना भारत र चीनबीच भएको सीमा व्यापार सम्झौता नेपाललाई अस्वीकार्य भएको बताएका छन् । नेताहरुले परिपक्व कूटनीतिक प्रयास र सर्वपक्षीय सहमतिका साथ सोसम्बन्धी समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । भारत र चीनबीच भएको सो सहमतिले नेपालको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डतामाथि प्रहार गरेको उल्लेख गर्दै नेताहरूले राष्ट्रिय हितका पक्षमा तत्काल राजनीतिक र कूटनीतिक पहल थाल्न सरकारलाई सुझाव दिए ।
    प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको भूमि लिपुलेकका सम्बन्धमा भारत र चीनले गरेको सहमति अस्वीकार्य रहेको बताए ।

    उनले सम्पूर्ण राजनीतिक दलको सहमतिबाट सो सम्बन्धमा नेपाल सरकारले उचित कदम चाल्नुपर्नेमा जोड दिए । “यो विषयमा नेपालका सबै राजनीतिक दलहरू विगतमा जस्तै एक ठाउँमा उभिनुपर्छ । म नेपाली कांग्रेस पार्टीका तर्फबाट सबै दललाई एकढिक्का हुन आग्रह गर्दछु, मतमतान्तर र प्रतिस्पर्धा आआफ्ना ठाउँमा छन्, यसलाई घरेलु राजनीतिको विषय नबनाउँ, उग्र राष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौँ,” कांग्रेस महामन्त्री थापाले भने, “हाम्रो भूमिमाथि आँखा लगाउने कुरा कसैलाई पनि स्वीकार्य छैन, नेपालले यसको प्रतिवाद गर्छ । हामीले यो ‘पोजिसन’ बनाउनुपर्ने छ ।”

    यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सचिव योगेश भट्टराईले नेपालको सहमतिबिना छिमेकी मुलुक भारत र चीनले नेपाली भूमि लिपुलेकको सम्बन्धमा गरेको सम्झौता नेपाली जनता, सरकार र संसद्लाई अस्वीकार्य रहेको बताए । “सो सम्बन्धमा सरकारको तत्कालको प्रतिक्रियाले मात्रै पुग्दैन”, उनले भने, “उक्त भूमि नेपालको हो, यसको रक्षार्थ सम्पूर्ण नेपालीको एक स्वर हुनुपर्छ ।”

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले पूर्खाले बलिदान गरेर कायम गरेको भूमि जोगाउन सिङ्गो नेपाल एक हुनुपर्नेमा जोड दिए । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको स्पष्ट गर्दै उनले सो सम्बन्धमा सर्वपक्षीय समझदारी गरेर सरकारले कूटनीतिक पहल थाल्नुपर्ने धारणा व्यक्त गरे ।


    “उत्तेजनात्मक अभिव्यक्तिको तरिकाले होइन, परिपक्व कूटनीतिक प्रयास गरियोस्”, सचिव पौडेलले भने, “प्रधानमन्त्रीको आसन्न भारत र चीन भ्रमणका क्रममा यो विषय स्पष्टसँग राखिनुपर्छ ।”

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रकाश ज्वालाले भारत र चीनले नेपालको सहमति नलिई लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि खोल्ने एकतर्फी सौदावाजी अस्वीकार्य भएको बताए । “यो सम्झौता अन्तरराष्ट्रिय कानुन र पञ्चशीलको सिद्धान्त विपरीत पनि छ, यो मिचाहा र हैकमवादी प्रवृत्ति भएन र रु”, उनले प्रश्न गरे, “महाकालीपूर्वका कालापानी, लिपुलेक र लिम्पियाधुरालगातका क्षेत्र नेपालको अभिन्न भूभाग हुन्, यो सहमतिलाई अस्वीकार गर्दै राष्ट्रियताको रक्षाका लागि जोडदार आवाज र दबाब दिन आवश्यक छ ।”


    जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले राष्ट्रिय मुद्दामा सिङ्गो मुलुक एकताबद्ध हुनुपर्नेमा जोड दिँदै नेपालको सहमतिबिना भारत र चीनबीच भएको व्यापार सम्झौताप्रति आपत्ति जनाए । उनले प्रधानमन्त्रीको आसन्न भारत र चीन भ्रमणका क्रममा उक्त विषयलाई स्पष्टसँग राख्नुपर्नेमा जोड दिए । “यो राष्ट्रको विषय हो, सिङ्गो संसद्मा यसबारे ध्यानाकर्षण भएको छ, सरकारले आवश्यक कूटनीतिक पहलकदमी लिनुपर्छ”, उनले भने ।


    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि समेटिएको नेपालको नयाँ नक्सा अन्तरराष्ट्रिय समुदायलाई जानकारी नगराउँदा अहिले समस्या देखिएको बताए । उक्त भूभाग नेपालकै भएको सप्रमाण रहेकाले यससम्बन्धमा कुनै पनि मुलुकले गर्ने सहमति, सम्झौता नेपाललाई अस्वीकार्य हुने उल्लेख गरे । सरकारले नेपालको संविधानमा नै आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा स्पष्ट रहेको जनाएको छ ।

    नेपाली भूमि लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापारका विषयमा आमसञ्चारमाध्यममार्फत सार्वजनिक प्रश्नका सम्बन्धमा परराष्ट्र मन्त्रालयले बुधबार स्पष्ट पार्दै भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण÷विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

    उक्त क्षेत्र नेपाली भू–भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धिसम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहिआएको मन्त्रालयले स्पष्ट गरेको छ ।

  • सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    ५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट गरे ।

    “यो कार्यक्रम कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ, तर भएका विकास र प्रगतिका कुरा अझै आएनन् । कर्णालीमा हामीले विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रङ्गशाला आदि बनाइसकेका छौँ”, उनले भने, “कर्णालीको स्याउले अब बजार पाउँछ । अब सबै सदरमुकमासहित हुम्लामा कालोपत्र बाटो पनि जान्छ । हामी सबैले सकारात्मकता र आशा जगाउनुपर्छ । ‘मोटरबाटो चढी जाउँला रारा घुम्न’ जस्ता गीतहरु अब यथार्थ भइसकेका छन् ।”

    कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा विशिष्ट व्यक्तिहरु र दर्शकहरुबीच भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोनन्ति हुने तयारी भएको स्मरण गराए । उनले सरकारले गच्छेअनुसार कर्णालीको विकासका लागि उच्च प्राथमिकता दिने विश्वास दिलाए ।


    “मैले पहिला ग्यास र खानीको उत्खनन्को कुरा गर्दा उडानेहरुले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन्, तर कर्णाली त्यतिसारो वैगुनी हुन सक्दैन । अब हामी यार्सागुम्बा निर्यात गर्नतिर पनि लाग्नेछौँ”, उनले भने, “निरकुंश राजतन्त्रको अँध्यारो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ । नेपाल बन्छ, बन्दैछ । कर्णाली बन्छ, बन्दैछ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।”

  • अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार

    अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार

    ५ भदौ, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तान यात्रा नगर्न पुनः आग्रह गर्दै गम्भीर सुरक्षा खतरा र अनुचित रूपमा पक्राउ पर्ने सम्भावना रहेको स्पष्ट पारेको छ । गलबार जारी विज्ञप्तिमा अमेरिकी परराष्ट्र मन्त्रालयले अफगानिस्तानलाई उच्च जोखिमयुक्त देशहरूको सूचीको शीर्ष स्थानमा राखेको छ । मन्त्रालयले अफगान नागरिकमा अमेरिकीहरूलाई मनपरीरूपमा नियन्त्रणमा लिइने सम्भावना उच्च रहेको भन्दै विशेष खतरा सूचक (डी जोखिम संकेत) प्रयोग गरेको हो । यससँगै बर्मा, इरिट्रिया, इरान, निकारागुवा, उत्तर कोरिया, रुस र भेनेजुएला पनि त्यस्ता देशहरूमा परेका छन्, जहाँ अमेरिकाका नागरिकहरू जोखिममा पर्ने सम्भावना रहेको जनाइएको छ ।


    खामा प्रेसका अनुसार, तालिबान पक्षद्वारा केही अमेरिकी नागरिकहरूलाई पक्राउ गरिएको घटनापछि अमेरिकाको चिन्ता झन् बढेको छ । अमेरिकाले आफ्ना नागरिकलाई कुनै पनि हालतमा अफगानिस्तान नजान आग्रह गर्दै, यात्रा योजनामा पुनर्विचार गर्न भनिएको छ । मन्त्रालयले यसअघि नै अफगानिस्तानमा आतङ्कवाद, अपहरण, गृह अशान्ति र मनपरी गिरफ्तारी जस्ता बहुपक्षीय खतरा रहेको उल्लेख गर्दै यात्रा चेतावनी जारी गरिसकेको थियो । सन् २०२१ यता अमेरिकाको काबुलस्थित दूतावास बन्द भएकाले त्यहाँ कन्सुल सेवा उपलब्ध नभएको पनि स्मरण गराइएको छ । यसका साथै, अमेरिकाले केन्यामा पनि आतङ्ककारी हमला हुन सक्ने भन्दै आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । ती समूहहरूले होटल, बजार, धर्मस्थल, विद्यालयलगायत विदेशीहरूको आवतजावत हुने स्थानहरूमा कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिइएको छ ।

  • कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप

    कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप

    ५ भदौ, सुदूरपश्चिम । कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए । उनले भने, “घटनास्थलको अध्ययन गरी घाइते कैदीबन्दी, कारागारको वस्तुस्थिति, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, प्रशासकसँग कुराकानी ग¥यौँ, बन्दीगृहभित्र रहेको ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको आन्तरिक प्रशासनबीच मतभेद सिर्जना भएको देखिन्छ ।”


    घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिनको आवश्यकता देखिएको जोशीको भनाइ छ । उनले भने, “घटनास्थलको अध्ययनका क्रममा ‘सिसिटिभी फुटेज’ स्पष्ट देखिएन, घाइतेले भनेबमोजिमका व्यक्तिले घटनामा संलग्नता अस्वीकार गरेको र उनीहरूसँगको कुराकानीका आधारले मात्रै पुष्टि हुने आधार नदेखिएकाले विशेषज्ञसहितको उच्चस्तरीय समिति आवश्यक देखिएको छ ।”

    समितिलाई १० दिनको समय दिइएकामा अध्ययन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको छ । गत साउन २३ गते कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ४९ कैदीबन्दी घाइते भएका थिए । गम्भीर घाइते तीन जनाको काठमाडौँमा अझै उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेकामध्ये ४१ जना ‘डिस्चार्ज’ भइसकेका छन् । उनीहरूमध्ये तीन जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ । अस्पतालले डिस्चार्ज भने पनि धेरै कैदीबन्दी अस्पतालमा नै बसिरहेका छन् । उनीहरूले इच्छाएको कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जनाइएको छ ।

    घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाएर कृष्णप्रसाद लम्साललाई खटाएको छ । यसैगरी, कारागार शाखा प्रमुखमा पनि नयाँ व्यक्ति खटाइएको छ । १५० जना अटाउने कैलाली कारागारमा हाल ६९७ कैदीबन्दी रहेका छन् ।