Category: समाचार

  • विवादित लिपुलेकमा भारत–चीन सहमति, नेपाली प्रतिक्रियामा दिल्लीको प्रतिवाद

    विवादित लिपुलेकमा भारत–चीन सहमति, नेपाली प्रतिक्रियामा दिल्लीको प्रतिवाद

    ५ भदौ, काठमाडौं । लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्न भारत–चीनले एक सहमति गरेका छन् । यससँगै त्रिदेशीय विवाद पुनः सतहमा आएको छ । सो भूमि आफ्नो अभिन्न भूभाग रहेको नेपाल सरकारले प्रतिक्रिया दिएको छ । त्यसको केही घण्टा भित्रै भारतीय पक्षले नेपाली टिप्पणीको प्रतिवाद गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा नेपालको परराष्ट्र मन्त्रालयले भारत र चीनबीच लिपुलेक पासबाट सीमा व्यापार पुनः सुरु गर्ने भनी गरेको समझदारीप्रति व्यक्त गरेको धारणालाई आफूहरूले जानकारीमा लिएको बताएका छन् ।


    उनले भनेका छन्, यसबारेमा हाम्रो धारणा स्पष्ट र एकैनासको छ। भारत र चीनबीच लिपुलेकमार्फत सीमा व्यापार सन् १९५४ बाट सुरु भएर दशकौँदेखि चलिरहेको छ। हालैका वर्षहरूमा कोभिड र अन्य घटनाक्रमहरूका कारण व्यापार अवरुद्ध भएको थियो र दुवै देशले अहिले यसलाई पुनः सुरु गर्ने सहमति गरेका छन्।

    उनले लिपुलेकमाथिको नेपाली दाबीको जवाफ दिने क्रममा त्यसको औचित्य प्रमाणित गर्न नसकिने र त्यो ऐतिहासिक तथ्य र प्रमाणहरूमा आधारित नभएको पनि दोहोर्‍याएका छन्। उनले कुनै पनि भूभागमाथि गरिएको एकपक्षीय कृत्रिम विस्तार सम्बन्धि दाबी बचाउ गर्न नसकिने प्रकारको रहेको पनि उल्लेख गरेका छन्।

    भारतले नेपालसँग सहमति भएका विद्यमान सीमासम्बन्धी मुद्दाहरू संवाद र कूटनीतिका माध्यमबाट हल गर्न भारत सिर्जनात्मक अन्तर्क्रियाका लागि खुला रहेको बताएको छ । त्यसअघि नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै भारत–चीनबीच सीमा व्यापार गर्न भएको सहमतिप्रति प्रतिक्रिया जनाउँदै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको दोहोर्‍याएको थियो।

    चिनियाँ विदेशमन्त्री वाङ यीको दिल्ली भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा लिपुलेकसहित तीनवटा परम्परागत नाकालाई व्यापारिक प्रयोजनका लागि सञ्चालनमा ल्याउने सहमति भएको उल्लेख गरिएको थियो। उक्त सम्झदारीपछि संवाददाताहरूले सोधेको प्रश्नमा नेपालको परराष्ट्र मन्त्रालयले लिखित प्रतिक्रिया सार्वजनिक गरेको थियो। नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ, नेपालको परराष्ट्र मन्त्रालयले भनेको छ।

    ूनेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माणरविस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ । उक्त क्षेत्र नेपाली भूभाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको बेहोरा पनि अवगत नै छ। प्रधानमन्त्री केपी ओलीले निकट भविष्यमा गर्ने भनिएको भारत भ्रमणको तयारी चलिरहँदा केही वर्षयता तिक्ततापूर्ण सम्बन्धबाट गुज्रिरहेका नेपालका दुई छिमेकीबीच पछिल्लो समझदारी भएको हो। भारत जानुअघि प्रधानमन्त्री ओली शाङ्घाई कोअपरेशन अर्गाइनेजशनको बैठकमा भाग लिन चीन जाने विवरण पनि आएको छ।

    परराष्ट्र मन्त्रालयले कूटनीतिक ढङ्गले नेपाल भारत सीमा समस्या हल गर्न आफू प्रतिबद्ध रहेको दोहोर्‍याएको छ। नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ, विज्ञप्तिमा भनिएको छ।

    सन् २०२० मा पूर्वी लद्दाखमा दुई एशियाली शक्तिराष्ट्रका सैनिकहरूबीच झडप भएपछि सो नाका व्यापारिक प्रयोजनका लागि बन्द थियो। गत डिसेम्बरमा भारत र चीनले नेपालको जानकारीबिनै यो नाकाबाट कैलास मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतका लागि पुनः सुरु गर्ने समझदारी गरेका थिए। हालै भारत भ्रमणमा पुगेका चीनका विदेशमन्त्री वाङ यीसँग लिपुलेकसहित तीनवटा परम्परागत नाकालाई व्यापारिक प्रयोजनका लागि फेरि खुला गर्ने सहमति भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बताएका छन्।


    सन् २०१५ मा भारत र चीनले लिपुलेक क्षेत्रलाई व्यापारिक नाकामा विस्तार गर्ने सहमति गरेपछि नेपालले दुवै देशसँग असन्तुष्टि प्रकट गरेको थियो। तात्कालिक प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पनि त्यसबारे विमति व्यक्त गरेका थिए। नेपाली अधिकारीहरूका अनुसार त्यस बेला चीनले नेपालले पठाएको कूटनीतिक नोटको उत्तर दिएको भए पनि भारत मौन बसेको थियो।

  • एउटै खोलामा छ, जलविद्युत् आयोजना

    एउटै खोलामा छ, जलविद्युत् आयोजना

    ५ भदौ, गलकोट । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन् । सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माणसम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिसकेको छ । यो निजी कम्पनीले बनाएको पहिलो आयोजना होे । यसअघि समुदायको प्रयासमा स–साना लघु जलविद्युत् सञ्चालनमा थिए ।

    सयपत्री जलविद्युत् निर्माणपश्चात् ताराखोलामा पाँचवटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन् । जसमध्ये ताराखोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छभने अन्य चारवटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् । पाँच वर्षअघि ३८० किलोवाटको ताराखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । हाल यहाँ मध्यताराखोला मध्य दरम ‘ए’ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ । यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

    यस्तै दरम ‘ए’ जलविद्युत् आयोजनाको चार मेघावट क्षमताको पूर्वाधार निर्माणले गति लिएको छ । यहाँ ४० प्रतिशत पूर्वाधारको काम सम्पन्न भइसकेको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिए । यहाँ तीन दशमलव पाँच मेघावाट तल्लो ताराखोला जलविद्युत् आयोजना र चार दशमलव पाँच मेघावाट मध्यदरम ‘बी’ आयोजना निर्माणको प्रक्रियामा रहेको छ ।

    ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले ताराखोलामा जलविद्युत् आयोजनामा स्थानीयको समेत लगानी भएकाले यसको निर्माणले आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । “मध्ये ताराखोला र मध्यदरम ‘ए’ जलविद्युत् आयोजनाले गति लिएको छभने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ”, उनले भने, “स्थानीयको समेत करोडौँ लगानी रहेका जलविद्युत् आयोजना सम्पन्न भएमा ताराखोलाको आर्थिक विकासमा टेवा पुग्ने छ ।”

    गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले आयोजना निर्माणले गति लिएपछि स्थानीयस्तरमा उत्साह बढेको बताउँछन् । “हाम्रो गाउँपालिकामा विद्युत् उत्पादनका लागि धेरै आयोजना बन्नु गर्वको विषय हो । यसले पक्कै पनि गाउँपालिका आर्थिक उन्नयन र नागरिकको जीवनमा सकारात्मक प्रभाव पर्नेछ । यसकारण सबै उत्साहित छौँ ।”

  • पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि

    पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि

    ५ भदौ, बैतडी । जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

    वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी थिए । अभियान बुधबार सञ्चालन गरिएको हो ।

    यसैबीच, यहाँका स्थानीय तहहरुले पनि डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिए ।

  • यस्तो छ आजको मौसम

    यस्तो छ आजको मौसम

    ५ भदौ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

    गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

    ५ भदौं, काठमाडौं । नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गरे । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र रोयल थाई हस्पिटालिटीले दुवै देशका खानाको प्रस्तुत गरेका हुन् । यहाँ दुवै देशका गरी करिब एक दर्जन परिकार प्रस्तुत गरिएका छन् ।

    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्त्वलाई जोड दिँदै नेपाल र थाइल्यान्डको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तरराष्ट्रिय प्रचारप्रसारका लागि भोजनलिपि स्वाद कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपालका लागि थाई राजदूत सुवापोङ सिरिसोर्न र रोयल थाईका सञ्चालक गणेश ढकालले नेपाली र थाई खाद्य संस्कृतिबीचको सम्बन्धलाई सुदृढ बनाउन दुवै देशका तर्फबाट प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।


    यसअघि नेपाली खानाका परिकार मात्र प्रस्तुत गर्दै आएको अभियानले छैटौँ संस्करणमा नेपाली र थाई खानालाई संयुक्त रूपमा प्रस्तुत गरी दुवै देशका खाना पारखीको इच्छा पूरा गरिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । खाना प्रदर्शनीका अतिरिक्त हरितालिका तीजका अवसरमा महिलालाई दर खुवाउने विशेष कार्यक्रम पनि राखिएको थियो ।

    भोजनलिपि स्वादका सर्जक सेफ घनश्याम कँडेलले नेपाली खानालाई नेपालभित्र र नेपाल बाहिरका तारे होटलमा बिक्रीको व्यवस्था मिलाउन खानाको गुणस्तर सुधारमा लाग्ने प्रतिबद्धता जनाए । प्रस्तुत नेपाली खानाको तयारीमा सेफ टङ्कराज मगर, इङ्वा सुब्बा, मानबहादुर तामाङलगायतले सहयोग गरेका थिए । भोजनलिपि स्वाद अन्तरराष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रस्तुति हो ।

  • ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

    ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

    ५ भदौ, ढोरपाटन । यसवर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका हुन् । निसेलढोरसँगै ढोरपाटन नगरपालिका–९ को नवी, भूजी, स्यालपाखेलगायत क्षेत्रमा पनि स्याउ उत्पादनमा गिरावट आएको छ । जिल्लामा सबैभन्दा बढी स्याउ फल्ने क्षेत्रमै उत्पादनमा कमी आएको छ । स्थानीय हेमराज सापकोटाले चार रोपनी क्षेत्रमा लगाएको स्याउले यस वर्ष १० प्रतिशत पनि उत्पादन नदिएको बताए । झण्डै एक दशकदेखि स्याउखेती गर्दै आएकामा पछिल्लो तीन वर्षदेखि उत्पादन निरन्तर घट्दै गएको उनले गुनासो गरे ।


    “अघिल्लो वर्ष कम उत्पादन भए पनि यस वर्ष अधिकांश स्याउका बोट रित्तो छन् । जलवायु परिवर्तनका कारण समस्या भएको छ । पहिले समयमा नै वर्षा हुने हुँदा राम्रो उत्पादन हुने गरेको थियो । पछिल्ला केही वर्ष यता समयमा पानी पर्दैन । लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठूलो नोक्सानी भएको छ”, सापकोटाले भने, “यस वर्ष त अचम्मै भयो, रूखमा एउटा÷दुई वटा दानाबाहेक देखिँदैनन् । स्याउका बोट सबै खाली छन् । यही हिसाबले त आगामी वर्ष एउटा पनि दाना फल्दैन कि भन्ने डर छ ।”

    किसान मनबहादुर घर्तीले गत हिउँदमा लामो खडेरी पर्दा स्याउ उत्पादन हुन नसकेको बताए । स्याउ उत्पादन हुँदा किसानले लाखौँ नोक्सानी व्यहोर्नु परेको उहाँको भनाइ छ । इटालियन फुजी जातको बाहेक अन्य जातको स्याउ नफलेको घर्तीले सुनाए । “पोहोर परार सालमा एक\डेढ लाखको स्याउ बिक्री हुन्थ्यो, यसपालि त दुई हजारको पनि फलेन”, उनले भने, “हिउँदमा लामो समय खडेरी भयो, हिउँ पनि परेन । हिउँ परे त स्याउ राम्रो उत्पादन हुन्थ्यो, वर्षा नै नहुँदा यो समस्या आयो ।” जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेती हुने गरेको छभने बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले यस वर्ष उत्पादनमा ठूलो मात्रामा गिरावट आएको बताए ।

  • ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह, फेडमाथि दबाब बढ्यो

    ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह, फेडमाथि दबाब बढ्यो

    एजेन्सी
    ५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई राजीनामा दिन आग्रह गरेका छन् । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर नघटाएको भन्दै आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले उक्त निर्देशन दिएका हुन् । निर्देशनसँगै केन्द्रीय बैङ्कमाथि दबाब बढेको छ। “अब, कुकले गभर्नर पदबाट राजिनामा दिनुपर्छ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा ब्लुमबर्गको एक समाचार रिपोर्ट साझा गर्दै लेखेका छन् ।


    एफएचएफएका निर्देशक बिल पुल्टले अमेरिकी महान्यायाधिवक्तालाई पत्र लेख्दै कुकले आपराधिक काम गरेको हुन सक्ने भन्दै उनीमाथि अनुसन्धान गर्न आग्रह गर्नुभएको बिषयलाई समाचारमा उल्लेख गरिएको छ । यस्तो अनुसन्धान हुन्छ कि हुँदैन भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन । ट्रम्प प्रशासनले राष्ट्रपतिका राजनीतिक प्रतिद्वन्द्वीका रुपमा हेरिएका डेमोक्र्याटिक नेताविरुद्ध ऋण दिँदा अनियमितता र ठगीको आरोप लगाएको छ ।

    अमेरिकी नेताले केन्द्रीय बैंकको दर निर्धारण समितिमा रहेका कुकलाई लक्षित गर्दै पावेलविरुद्ध पटक–पटक लिखितरूपमा आरोप लगाएपछि यो निर्देशन आएको हो । फेडले यस वर्ष महत्वपूर्ण कर्जा दरमा कुनै परिवर्तन गरेको छैन । कुकले सन् २०२२ मेमा फेडको गभर्नरको रूपमा पदभार ग्रहण गरेका थिए । सन् २०२३ सेप्टेम्बरमा बोर्डमा पुनः नियुक्त भएका थिए । उनले सोही महिनाको अन्त्यमा सन् २०२८ मा समाप्त हुने कार्यकालका लागि सपथ लिएका थिए । कुकले यसअघि पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा आर्थिक सल्लाहकार परिषद्मा काम गरिसकेका छन् ।
    हालैका महिनाहरूमा केन्द्रीय बैङ्कले मुद्रास्फीतिमा अमेरिकी करनीतिको प्रभावको निगरानी गर्न दरहरू स्थिर राख्ने अडान लिएका छन् । ट्रम्पले पावेललाई ‘बौद्धिक रूपमा असक्षम’ र ‘मूर्ख’ व्यक्तिको संज्ञा दिएका छन् । ट्रम्पले यसअघि पनि फेडको मुख्यालयको अत्यधिक महँंगो जीर्णोद्धार नै पावेललाई पदबाट हटाउनुको कारण हुनसक्ने बताए । फेडको अध्यक्षका रूपमा पावेलको कार्यकाल सन् २०२६ मेमा समाप्त हुँदैछ।

  • चक्कु प्रहारबाट युवकको मृत्यु

    चक्कु प्रहारबाट युवकको मृत्यु

    ४ भदौ, रौतहट । यहाँस्थित यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ । आज अपराह्न ३ बजेतिर गौर नगरपालिका–३ का सोनु भन्ने सनोज रामसँग वादविवाद हुँदा रामले चक्कु प्रहार गर्दा निजको मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौर नगरपालिका–८ बाँसघारीमा गाँजा सेवन गर्ने क्रममा बादविवाद हुँदा रामले एक्कासी चक्कु प्रहार गर्दा मियाँको पेट, टाउको, छाती र खुट्टामा गहिरो चोट लागेको थियो ।

    गम्भीर घाइते भएका मियाँलाई उपचारका क्रममा प्रादेशिक अस्पताल गौर पु¥याउँदा मृत घोषणा गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रविक्रम गिरीले जानकारी दिए । लागुऔषध सेवन गरी चक्कु प्रहार गरेको अभियोगमा रामलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । मृतकको शव सनाखत भई आफन्तलाई बुझाउने प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ ।

  • नेप्से परिसूचक नौ दशमलव ७० अङ्कले घट्यो

    नेप्से परिसूचक नौ दशमलव ७० अङ्कले घट्यो

    ४ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ७० अङ्कले घटेर दुई हजार ७६७ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५३ हजार ८५३ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २० करोड सात लाख ५३ हजार ८६८ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह दुई दशमलव शून्य तीन र म्युचुअल फण्ड शून्य दशमलव शून्य छ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १९, विकास बैंक शून्य दशमलव ७६, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ५८ र लगानी समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।

    जीवन बिमा शून्य दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४०, निर्जीवन बिमा शून्य दशमलव ५८, व्यापार एक दशमलव शून्य छ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी पञ्चकन्या माईहाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव शून्य तीन प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू २५ करोड नौ लाख ७९ हजार २४० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड–१ को २६ लाख ५७ हजार ५५५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

  • लुम्बिनीमा ६ अर्ब लागतमा इन्धन डिपो बन्दै, लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने

    लुम्बिनीमा ६ अर्ब लागतमा इन्धन डिपो बन्दै, लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने

    ४ भदौ, काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब लागतमा आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेको भलबारीस्थित डिपो साँघुरो, घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सो क्षेत्रमा करिब साढे २५ बिघा क्षेत्रफलमा नयाँ डिपो निर्माण गर्न लागिएको हो । कुल रु पाँच अर्ब ७९ करोड ३० लाख (करबाहेक) लागतमा उक्त डिपो निर्माण गरिनेछ । काठमाडौँ विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागले आज निगमलाई उक्त डिपोको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) हस्तान्तरण गरेको छ ।

    सो डिपोमा कुल १८ हजार छ सय ८८ किलोलिटर इन्धन भण्डारण गर्न ट्याङ्क निर्माण गरिने निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिनुभयो । जसअन्तर्गत डिजेल भण्डारण गर्न १३ हजार पाँच सय किलोलिटर, पेट्रोलका लागि चार हजार नौ सय ६० किलोलिटर र मट्टितेलका लागि दुई सय २८ किलोलिटर क्षमताका भण्डारण ट्याङ्क निर्माण गरिनेछ । नयाँ बन्ने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने छ ।

    डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताको दुई वटा पानी ट्यांकी निर्माण हुनेछन् । जसमा कूल चार हजार दुई सय किलोलिटर पानी भण्डारण हुनेछ । इन्धन लोडिङ सेडमा आठ वटा ’वे’ र अनलोडिङ सेडमा पनि आठ वटा ‘वे’ निर्माण हुनेछ । पूर्ण रुपले अटोमेसनमा आधारित डिपोमा भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण, विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृहलगायत संरचना निर्माण गरिने निगमले जनाएको छ ।

    असोजमा बोलपत्र आह्वान गरी मङ्सिरबाट निर्माण गरिने निगमले जनाएको छ । निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । डिपिआर हस्तान्तरण कार्यक्रममा भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख यादवले हालको भलबारी डिपो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको नरहेको तथा भण्डारण क्षमता विस्तार गर्न ठाउँ साघुँरो भएकाले रोहिणी क्षेत्रमा डिपो स्थान्तरण गर्न लागिएको जानकारी दिए । काठमाडौँ विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागका प्रमुख डा विवेक बरालले पेट्रोलियम पूर्वाधार डिजाइन र निर्माण गर्न नेपाली इञ्जिनियर सक्षम रहेको बताए ।


    काठमाडौँ विश्वविद्यालयका पेट्रोलियम विज्ञ एवं निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भलबारीमै भण्डारण क्षमता विस्तार गर्ने अवस्था नरहेकाले उक्त डिपो स्थान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । “भलबारीमा दुई÷तीन दिनको माग धान्ने भण्डारण छ, अहिले अमलेखगञ्जबाट भैरहवा इन्धन ढुवानी हुँदै आएको छ, केही कारणले राजमार्ग अवरुद्ध भएको अवस्थामा लुम्बिनी प्रदेशको आपूर्ति शृङ्खलामा प्रभाव पर्न सक्छ”, उनले भने, “भण्डारण क्षमता विस्तार गर्न नयाँ डिपो निर्माण गर्नुपरेको हो ।“

    निगमले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको जग्गामा नयाँ इन्धन डिपो निर्माणका लागि डिपिआर तयार गर्न गत मङ्सिरमा काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको थियो । डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरेको छ । सो क्षेत्रमा रहेको थप साढे ८ विधा पर्ती जग्गा निगमको स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढेको निगमले जनाएको छ ।

    उक्त स्थानमा इन्धन डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकाबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ । यस्तै पर्ती जग्गा भोगचलन गरिरहेका ९७ जना स्थानीयले डिपो निर्माणका लागि आवश्यक सहयोग र समन्वयन गर्न लिखित सहमति तथा प्रतिवद्धतासमेत व्यक्त गरेको निगमले जनाएको छ । लुम्बिनी प्रदेशमा इन्धन वितरणका लागि निगमले हाल भलवारीमा प्रादेशिक कार्यालय संचालन गरिरहेको छ । करिब साढे पाँच बिघा जमिनमा फैलिएको डिपोमा न्यून भण्डारण क्षमता रहेको छ ।

    हाल भलवारी डिपोमा पेट्रोलका लागि पाँच सय १९ किलोलिटर, डिजेलका लागि तीन हजार ४० किलोलिटर र मट्टितेलका लागि दुई सय ८० किलोलिटर क्षमताको भण्डारण ट्यांक रहेको छ । वर्तमान खपत परिमाणको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून तथा सोही स्थानमा भण्डारण क्षमता वृद्धि गर्नका लागि जग्गा अभाव भएकाले डिपो स्थान्तरण गर्नुपरेको निगमले जनाएको छ । बुटवल–भैरहवा सडकसँगै जोडिएको र घना बस्तीको बीचमा रहेको डिपोबाट पेट्रोलियम पदार्थको कारोबार हुँदा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयले डिपो स्थानान्तरणको माग गर्दै आएका छन् ।

  • हेवा खोला बेलिब्रिज सञ्चालनमा आयो

    हेवा खोला बेलिब्रिज सञ्चालनमा आयो

    ४ भदौ, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माण सम्पन्न भएको ‘मोडुलर बेलिब्रिज’को आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका छन् । गत वर्ष असोज १२ गते आएको बाढीले ‘बेलिब्रिज’ बगाएपछि निर्माण गरिएको ७० मिटर लामो ‘बेलिब्रिज’को आज मन्त्री दाहाल र राजदूत श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरे । उक्त बेलिब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराएको र संरचना निर्माण तथा जडानको काम नेपाल सरकारले गरेको सडक विभागले जनाएको छ ।

    बेलिब्रिज निर्माणपछि सहज रुपमा राजमार्ग खुला हुनुका साथै ताप्लेजुङ जिल्ला र पाँचथरको उत्तरी भेगका तीन वटा गाउँपालिकाको आवागमन सहज भएको छ । उक्त बेलिब्रिजको भार बहन क्षमता २५ टन रहेको छ । मेची राजमार्गअन्तर्गत हेवा खोलामा रहेको सडक पुल यसअघि २०८० असार २ गते आएको बाढीले बगाएको र सोही स्थानमा थियो । करिब एक महिना लगाएर निर्माण गरेको नयाँ बेलिब्रिज पनि ०८१ असोज १२ गते आएको बाढीले बगाएको थियो ।

    हेवा खोलामा ‘डाइभर्सन’का माध्यमबाट सवारीसाधन आवतजावत गर्दै आएकामा वर्षायाम सुरु भएपछिको बाढीले पटकपटक उक्त डाइभर्सन बगाउँदा यात्रु एवं स्थानीय जनताले दुःख व्यहोरिरहेका थिए । गत चैतदेखि बेलिब्रिज निर्माण कार्य थालिएको थियो । ‘दोभान–सुपरसौगात–लाइट विल्डर्स जेभी’ले जडानको कार्य अन्तिम चरणमा पु¥याएको समयमा गत जेठ ३१ गते अचानक बेलिब्रिज भाँचिएर झर्दा तीन जना कामदारको ज्यान गएको थियो ।

    यसपछि सडक विभागले बेलिब्रिजका संरचना निर्माण गर्ने भारतीय कम्पनी ‘गार्डेन रिचसिप विल्डर्स एण्ड इञ्जिनियरिङ’लाई भाँचिएका सामग्री तथा प्राविधिक पठाइदिन आग्रह गरेको थियो । भारतबाट आएका प्राविधिक र मिस्त्रीहरुले गत साउन १७ गते बेलिब्रिज जडानको काम थालेर साउन २८ गते सम्पन्न गरेका थिए ।
    बेलिब्रिजका लागि आवश्यक पहुँचमार्गसहितका संरचना निर्माण भएपछि आज उद्घाटन गरी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

    प्रमुख भट्टराईका अनुसार भारतीय पक्षले सामग्रीका अतिरिक्त पठाएको ‘लञ्चिङ सेट’ र पुल जडान गर्न इञ्जिनियर तथा प्राविधिकहरु रहेको १८ जनाको टोलीले छोटो समयमै बेलिब्रिज जडान गर्न सफल भएको हो । बेलिब्रिजका सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा नवनिर्मित बेलिब्रिजको आज उद्घाटन गर्नुहुँदै । बेलिब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराइएको र सङ्घीय सरकारको रु तीन करोड ४९ लाखको लागतमा बेलिब्रिज जडान तथा संरचना निर्माण कार्य सम्पन्न गरेको हो । तस्बिरःरवीन्द्र काफ्ले/रासस
  • माओवादी अध्यक्ष दाहालले भेटे रवि लामिछाने

    माओवादी अध्यक्ष दाहालले भेटे रवि लामिछाने

    ४ भदौ, पाटन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमासमेत चासो राख्नुभएको दाहालको सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिए ।

    थुनामा रहनुभएका पूर्वगृहमन्त्री लामिछानेले भैरहवा कारागारकोभन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गरेको दाहालको सचिवालय सदस्य भण्डारीले बताए ।

  • स्वास्थ्य मन्त्रालयले जलेश्वरस्थित प्रादेशिक अस्पतालका चार स्वास्थ्यकर्मीसँग माग्यो लिखित स्पष्टीकरण

    स्वास्थ्य मन्त्रालयले जलेश्वरस्थित प्रादेशिक अस्पतालका चार स्वास्थ्यकर्मीसँग माग्यो लिखित स्पष्टीकरण

    ४ भदौ, जनकपुर । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा कार्यरत दुई मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मीलाई लिखित स्पष्टीकरण मागेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिकाकुमारी यादव र रञ्जिता साहलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

    सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको हो । मुख्यमन्त्री सिंहलाई महोत्तरीस्थित विभिन्न सङ्घ सस्थाका प्रतिनिधि र सरोकारवालाले सो अस्पतालमा उपचार सेवा पाउन नसकी जनता अकालमा ज्यान गुमाउन बाध्य भएको व्यहोरा दर्शाउँदै गत मङ्गलबार ज्ञापनपत्र बुझाएका थिए ।

    मुख्यमन्त्री सिंहले तत्काल आवश्यक छानबिन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका थिए । स्पष्टीकरण सोधिएकामाथि सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको, आचारसंहितापालना नगरेको तथा कार्यसम्पादनमा लापरबाही गरेको आरोप लागेको छ । तीन दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले आवश्यक कारबाही अघि बढाउने पत्रमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले सेवाप्रवाहमा लापरबाही गर्ने उपर मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने बताए ।

  • माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    ४ भदौ, झापा । माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल गाउँपालिका–३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ । स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुई दिनअघि मात्र बिग्रिएको टेबल पङ्खा बनाउने क्रममा करेन्ट लागेर मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको मृत्यु भएको थियो । झापामा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरीका प्रवक्ता खगेन्द्र खड्काले बताए ।

  • भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

    भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

    ४ भदौ, भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ । यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणाअनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नवराज माङपाहाङले बताए ।

    पर्यटकलाई लक्ष्य गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको छ । पाँचधारे पोखरीको संरक्षण र सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन निर्माण भएको छ । पाँचधारे पोखरीको मौलिक स्वरूप परिवर्तन नगरी मर्मतसम्भार गरिएको छ ।

  • काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

    काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

    ४ भदौ, काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गरे । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । मङ्गलबार वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ ।

    यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोलीले काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकको सांसद एवं तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले विसं २०७६ मसिंर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको शुभारम्भ गरेका थिए । कार्यालयका अनुसार हाल दुई वडाको ४५० वटा लालपूर्जा बनेको छ भने सोही हाराहारीको सङ्ख्यामा छानविन गरी लालपूर्जा बनाउन बाँकी छ । कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नं ७ मा ३०० र वडा ८ मा ६०० लालपूर्जा बनाउनुपर्ने देखिएको जानकारी दिए ।


    साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो । तत्कालीन समयमा खेतियोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो । विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन । विसं २०३५ मा पनि काम हुन नभएपछि स्थानीयले जग्गाको लालपूर्जा पाउन सकेका थिएनन् ।

  • प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    ४ भदौ, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

    बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।


    बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।

  • ट्रकको ठक्करबाट काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

    ट्रकको ठक्करबाट काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

    ४ भदौ, काभ्रे । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ । पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।


    काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो । गम्भीर घाइते भएका उहाँलाई धुलिखेल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    ४ भदौ, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहने छ । मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भेगका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव ९डेब्रिज फ्लो०को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • कर्णालीमा बुधबार सार्वजनिक बिदा

    कर्णालीमा बुधबार सार्वजनिक बिदा

    ४ भदौ, कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।


    दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रुपमा मनाउने उनले बताए ।

  • सङ्घीय सरकारले छ स्थानीय तहलाई सम्मान गर्ने

    सङ्घीय सरकारले छ स्थानीय तहलाई सम्मान गर्ने

    ४ भदौ, काठमाडौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०\८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो । ‘

    गाउँपालिका÷नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धीको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आव २०८०\८१ को नतिजाको गुणस्तर परीक्षण’ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

    गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरी राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सम्मान गर्न लागिएको हो । यस आधारमा मन्त्रालयले खैरहनी नगरपालिका चितवन, तिलोत्तमा नगरपालिका रुपन्देही, नीलकण्ठ नगरपालिका धादिङ, अर्जुनचौपारी गाउापालिका स्याङजा, बेनीघाट रोराङ गाउँपालिका धादिङ रु रुरु क्षेत्रगाउँपालिका गुल्मीलाई सम्मान गर्ने भएको हो ।

    राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको छ ।

  • पाँचपोखरी थाङ्पालमा बन्दैछ ८४ फिट अग्लो बुद्ध प्रतिमा

    पाँचपोखरी थाङ्पालमा बन्दैछ ८४ फिट अग्लो बुद्ध प्रतिमा

    ४ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ ।
    पाँचपोखरी थाङ्पालमा गाउँपालिका–७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुङ्गा) मा निर्माण भइरहेको उक्त प्रतिमा धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गाउँपालिका अध्यक्ष टाशी लामाले बताए । पालिकाले गौरवको योजनाका रूपमा प्रतिमा निर्माण चार वर्षदेखि सुरु गरेको हो ।

    “प्रतिमा निर्माण एउटै ढुङ्गाबाट भइरहेको छ, हाल बुद्धको शिर निर्माण सकिएको छ”, उनले भने । अध्यक्ष लामाका अनुसार उक्त परियोजनाको अनुमानित लागत रु तीन करोड छ भने आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा निर्माण भइरहेको उनले जानकारी दिए ।
    “सामान्यतया प्रतिमा निर्माण ढुङ्गाका टुक्रा जोडेर निर्माण गरिन्छ, तर हामीले एउटै ढुङ्गाबाट प्रतिमा निर्माण गरिरहेका छौँ”, उनले भने, यहाँको धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीयको आर्थिक समृद्धिमा टेवा पु¥याउन र पाँचपोखरी थाङ्पाललाई आध्यात्मिक भूमि र अन्तरराष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजनाअघि सारेको उनको भनाइ छ । अध्यक्ष लामाले प्रतिमा निर्माणमा आर्थिक सहयोग गर्नेहरुको नाम शिलामा लेखिने बताए ।

  • चीनसँगका मूख्य नाका ठप्प, थप नाका खोल्न माग

    चीनसँगका मूख्य नाका ठप्प, थप नाका खोल्न माग

    ४ भदौ, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । गत असार २४ गतेको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामानको आवागमन ठप्प भएको छ ।

    बाढीपहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका दुई सातादेखि अवरुद्ध छ ।
    प्राकृतिक प्रकोपका कारण अकस्मात नाका बन्द हुँदा नेपालका लागि आयात भएका मालसामान बोकेका सयौँ कन्टेनर र ट्रकहरुबीच बाटोमै अलपत्र परेका छन् । चीनसँगको आयात–निर्यात सहज बनाउन अन्य नाकाहरु खोल्नु जरुरी रहेकाले कूटनीतिक पहलमार्फत ती नाकाहरु अविलम्ब सञ्चालनमा ल्याउन र अन्य वैकल्पिक नाकामा पूर्वाधारको व्यवस्था गर्न सङ्घले सरकारलाई आग्रह गरेको हो । व्यवस्थापिका संसद्को विकास समितिले विसं २०७२ मा उत्तरी नाकाहरुको अवस्था अध्ययन गरी कोरला र ओलाङ्चुङगोला नाका सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो ।

    नेपाल र चीन सरकारका उच्च अधिकारीहरु एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा सात वटा उत्तरी नाका खोल्न सहमत भएका थिए । ती नाकाहरुमा तातोपानी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के थिए ।

    कोरला नाका १२ महिना नै सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार छ । नेपालतर्फ कोरालासम्म सडक पुगिसकेको छ । ताप्लेजुङको ओलाङ्चुङगोला नाकाबाट दुई मुलुकबीचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ । ती नाका छिटोभन्दा छिटो व्यापारिक प्रयोजनका लागि खुला गर्न र व्यापारिक हिसाबले उपयुक्त अन्य नाका सञ्चालनमा ल्याउने वातावरण तयार गर्न सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

    आयात व्यापारमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो । पछिल्लो समय पूर्वाधार तयार भएसँगै चीनसँगको व्यापार उत्तरी नाकातर्फ सर्ने क्रम बढेको तथ्याङ्कले देखाउँछ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा तातोपानीबाट रु ५० अर्बभन्दा बढीको र रसुवागढी नाकाबाट रु ८५ अर्बभन्दा बढीको सामान आयात भएको छ ।

    चीनबाट चाडपर्व लक्षित सामान आयात हुने दुवै नाका बन्द हुँदा व्यापारिक गतिविधि अपेक्षाकृत बढ्न नसक्ने, आम उपभोक्ता सुपथ मूल्यमा वस्तु प्राप्त गर्नबाट वञ्चित हुने र सरकारले पाउनुपर्ने राजस्व गुम्ने अवस्था रहेकोतर्फ ध्यानाकर्षण गराउँदै सङ्घले उत्तरका थप नाकाहरु व्यापारिक प्रयोजनको लागि खुला गर्नेतर्फ अविलम्ब पहल गर्न माग गरेको छ ।

  • बेनीन बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो

    बेनीन बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो

    ४ भदौ, काठमाडौं । पश्चिम अफ्रिकी देश बेनीनको मध्य भागमा आइतवार बिहान बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ भने १६ जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । बेनीनी नागरिक सुरक्षा निकायका निर्देशक अब्देल अजिज बायो जिब्रिलका अनुसार दुर्घटनाको समयमा उक्त बसमा जम्मा ५२ जना यात्रु सवार थिए । सोमबार दिउँसो बसलाई नदीको गहिराइबाट सतहमा ल्याइएको थियो, जसमा २३ जनाको शव फेला परेको उनले जानकारी दिए ।


    पछिल्लो समय गरिएको नदी किनारको गस्तीमा थप तीन शव फेला परेका छन् । यससँगै प्रारम्भिक रूपमा मृतकको संख्या २७ पुगेको छ, जसमा आइतवार नै एक शव निकालिएको थियो । दुर्घटनाबाट बाँचेका नौ जना हाल अस्पतालमा उपचाररत छन् भने १६ जना अझै बेपत्ता छन् । जिब्रिलका अनुसार बेपत्ताहरूको खोजी कार्य कम्तीमा थप ४८ घण्टासम्म जारी राखिनेछ । घटनाको विवरण अनुसार बस टोगोको राजधानी लोमेबाट नाइजेरको राजधानी नियामे जाँदै थियो ।

    यात्रा क्रममा बसले पुलको पर्खाल ठक्कर दिँदा चालकले नियन्त्रण गुमाएका कारण बस ओउमे नदीमा खसेको आन्तरिक मामिला तथा सार्वजनिक सुरक्षा मन्त्री अलासाने सेइदुले जानकारी दिए । दुर्घटनापछि उद्धार तथा खोजी कार्यमा सरकारी संयन्त्र जुटाइएको छ र अधिकारीहरूले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

  • हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

    हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

    एजेन्सी
    ४ भदौ, काठमाडौं । इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि सरकार भविष्यमा गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको बताएका छन्। करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हमासले नयाँ चरणको वार्ताका लागि तयार रहेको सङ्केत गरेको एक दिनपछि मध्यस्थकर्ताहरूले यो योजनामा इजरायलको आधिकारिक प्रतिक्रियाको प्रतिक्षा गरिरहेका छन्।

    मध्यस्थकर्ता कतारले नयाँ प्रस्तावका लागि आशावादी रहेको बताउँदै यो प्रस्ताव इजरायलले सहमति गरेको पहिलेको संस्करणसँग ‘लगभग मिल्दोजुल्दो’ रहेको उल्लेख गरेको छ। नाम नबताउने शर्तमा इजरायलका एक वरिष्ठ अधिकारीले एएफपीसँग कुरा गर्दै सरकारको अडानमा कुनै परिवर्तन नआएको र कुनै पनि सम्झौता गरी बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरेका छन् ।

    यी दुई शत्रुले युद्ध अवधिभर अप्रत्यक्ष वार्ता गरेका छन् र दुई पटक छोटो समयका लागि युद्धविराम भएको छ । युद्धविरामका क्रममा दर्जनौँ इजरायली बन्धकहरूको बदलामा हजारौँ प्यालेस्टिनी कैदीहरूको रिहा गरिएको थियो तर ती युसद्धविरामले उनीहरूलाई स्थायी युद्धविरामको मध्यस्थता गर्न सफल बनाउन सकेका छैनन् । संयुक्त राज्य अमेरिकाको पहलमा कतार र इजिप्टले बारम्बार कूटनीतिक वार्ता गरी युद्धविराम मध्यस्थताका लागि पहल गरेका छन्।

    इजिप्टले सोमबार भनेको छ, “इजिप्ट र कतारले इजरायललाई नयाँ प्रस्ताव पठाएको छ र ‘बल अब उसको कोर्टमा’ छ।” कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले हमासले ‘निकै सकारात्मक प्रतिक्रिया दिएको र यो वास्तवमै इजरायली पक्षले यसअघि गरेको सहमतिसँग मिल्दोजुल्दो रहेको’ बताए ।
    उनले भने, “हामी कुनै सफलता हासिल भएको दाबी गर्न सक्दैनौं । तर यो सकारात्मक पक्ष हो भन्ने हाम्रो विश्वास छ।”

    इजिप्टको राज्यसम्बद्ध संस्था अल–काहेरा न्यूजको रिपोर्टअनुसार पछिल्लो सम्झौतामा ६० दिनको युद्धविराम, आंशिक बन्धक मुक्त, केही प्यालेस्टाइनी कँैदीलाई मुक्त गर्ने र सहायता प्रवेशका लागि अनुमति दिने प्रावधान प्रस्ताव गरिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस योजनाबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गर्नुभएको छैन तर गत हप्ता इजरायलले ‘युद्ध अन्त्यका लागि सबै बन्धकहरूलाई एकैपटक रिहा गर्ने सम्झौता’ स्वीकार गर्ने बताएका थिए ।
    हमासका वरिष्ठ अधिकारी महमुद मर्दावीले सामाजिक सञ्जालमा लेखेका छन्, “आफ्नो समूहले सम्झौताको सम्भावनाका लागि ढोका खोलेको छ, तर नेतन्याहूले विगतमा जस्तै फेरि एकपटक यसलाई बन्द गर्ने कि नगर्ने भन्ने प्रश्न कायमै छ ।” नेतन्याहूले युद्ध अन्त्यका लागि देश तथा विदेशमा बढ्दो दबाबको सामना गरिरहेका बेला हमासले यो प्रस्ताव स्वीकार गरेको हो ।

    आइतबार इजरायलको तेल अभिव शहरमा दशाँैं हजार मानिसले युद्ध अन्त्य गर्न र बन्धक बनाइएका बाँकी बन्धकहरूलाई मुक्त गर्न सम्झौताको माग गर्दै सडकमा प्रदर्शन गरेका थिए। सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका २५१ जनामध्ये ४९ जना अझै गाजामै छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

  • उत्तरी पाकिस्तानमा मनसुनी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

    उत्तरी पाकिस्तानमा मनसुनी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

    २० भदौ, काठमाडौं । पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको र अधिकारीहरूले मनसुनी वर्षा सप्ताहन्तसम्म जारी रहने चेतावनी दिएपछि उद्धारकर्ता र स्थानीयबासिन्दाले मङ्गलबारदेखि जीवित व्यक्तिहरूको खोजी कार्य पुनः सुरु गरेका छन्। पाकिस्तानको उत्तरी क्षेत्रमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण एउटा पूरै गाउँ नै बगाएको छ, धेरै बासिन्दा भग्नावशेषमा फसेका छन् भने कैयौँ बेपत्ता भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार साँझदेखि अहिलेसम्म ३५६ जनाको मृत्यु भएको छ ।

    आसपासका क्षेत्रमा दर्जनौं मानिसको मृत्यु भएपछि पछिल्लो पाँच दिनमा मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको छ । खैबर पख्तुनख्वाको अति प्रभावित दलोरी गाउँमा उद्धारकर्ताहरूले हराइरहेका मानिसहरूको शव फेला पार्ने आशामा माटो र ढुङ्गाको थुप्राहरू खनेर उद्धारप्रयासलाई निरन्तरता दिएका छन् । भीषण वर्षाका कारण खोजी कार्य रोकिएको एक दिनपछि उद्धारकर्मीहरूले काम गरिरहेको बेला गाउँलेहरू हेरिरहेका र प्रार्थना गरिरहेका थिए।

    प्रत्यक्षदर्शीहरूले भनेका छन्, “२० मिनेटभन्दा कम समयमा हाम्रो गाउँ भग्नावशेषमा परिणत भयो।” धेरै सडक क्षतिग्रस्त भएका छन् जसका कारण उद्धारकर्मीलाई बाढीले क्षति पु¥याएको क्षेत्रमा पुग्न कठिन भएको छ । बाढी प्रभावित क्षेत्रमा फोन नेटवर्क अवरुद्ध भएका कारण सञ्चार पनि कठिन छ ।
    अहिलेसम्मको सबैभन्दा खराब मनसुनी वर्षाबाट जोगिएको पाकिस्तानको दक्षिणी भागमा पनि मङ्गलबारदेखि भारी वर्षा सुरु भएको छ ।

    दक्षिणी सिन्ध प्रान्तका प्रमुख मौसमविद् अमिर हैदर लघारीले कमजोर पूर्वाधारका कारण आर्थिक राजधानी कराँचीजस्ता ठूला सहरमा शहरी बाढी आउने डर रहेको बताए । कराँचीको भत्किएको पाइप र ढल प्रणालीले वर्षाको पानी धान्न नसकेपछि सडकमा निस्किएको भलका कारण ट्रफिक बढी हुने समयमा चालकहरू सडकमा देखिएका पानीका तालमा फसेका थिए र धेरै इलाकाहरू विद्युत् कटौतीको चपेटामा परेका थिए। छिमेकी बलुचिस्तान प्रान्तका १५ जिल्लामा पनि वर्षा भइरहेको र सिन्धसँग जोड्ने मुख्य राजमार्ग भारी सवारी साधनका लागि अवरुद्ध भएको प्रान्तीय विपद् अधिकारी मोहम्मद युनिसले जानकारी दिए । उनका अनुसार प्रान्तका बढी प्रभावित दुई जिल्लामा ४० देखि ५० घरमा क्षति पुगेको छ ।

    एनडीएमएका अध्यक्ष लेफ्टिनेन्ट जनरल इनाम हैदर मलिकले वर्षा शनिबारसम्म जारी रहने र यो महिनाको अन्त्यसम्ममा पुनः भारी बर्षा हुने बताए । एनडीएमएका अनुसार जुन २६ यता मनसुनी वर्षाका कारण ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने करिब एक हजार भन्दा बढी घाइते भएका छन् । मनसुन सेप्टेम्बरको मध्यसम्म रहने अनुमान गरिएको छ । पाकिस्तानमा सन् २०२२ मा आएको बाढीका कारण पाकिस्तानको एक तिहाइ भूभाग डुबानमा परेको थियो जसका कारण करिब एक हजार ७०० जनाको मृत्यु भएको थियो ।

  • युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव : ट्रम्प

    युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव : ट्रम्प

    ४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र किएभबीचको वार्ता असफल भएमा ‘कठिन’ स्थिति उत्पन्न हुने चेतावनी दिँदै अमेरिकी हवाई सहयोग र युरोपेली स्थल सेना युक्रेनको सुरक्षा प्रत्याभूतिको हिस्सा हुन सक्ने बताएका छन् । सोमबार ह्वाइट हाउसमा भेटेका युरोपेली सहयोगीहरूलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँग भने, “सुरक्षाको कुरामा उनीहरू यूरोपेली स्थल सेनालाई युक्रेनमा राख्न तयार हुन्छन्।” ट्रम्पले भने, “हामी उनीहरूलाई विशेष गरी हवाई माध्यमबाट मद्दत गर्न इच्छुक छौं, हामीसँग भएको प्रकारको हसतियार कसैसँग पनि छैन, वास्तवमा, उनीहरूसँग छैन।”

    उनले युक्रेनमा कुनै पनि अमेरिकी सेना तैनाथ नहुने आफ्नो ‘आश्वासन’ थपे, तर युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नेटोमा सामेल गराउने कुरा अस्वीकार गरे ।
    रुसी आक्रमणको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्धपछिको सुरक्षा किएभका लागि प्रमुख चिन्ताको विषय बनेको छ । मस्कोले लामो समयदेखि युक्रेनलाई नेटोमा सामेल भएको सहन नगर्ने बताउँदै आएको छ र पूर्व सोभियत क्षेत्रमा पश्चिमी सेना तैनाथ गर्ने विचारको विरोध गर्दै आएको छ।

  • सत्रौँँ संस्करणको ‘नाडा अटो शो’ सुरु

    सत्रौँँ संस्करणको ‘नाडा अटो शो’ सुरु

    ३ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजदेखि राजधानीमा १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको भृकुटीमण्डमा आयोजना गरिएको उक्त प्रदर्शनीको आज शुभारम्भ गरे । मेलाको आकर्षणका रूपमा स्वचालित तथा कृत्रिम बुद्धिमत्ताको नयाँ युगको प्रतिकस्वरुप उन्नत चारपाङ्ग्रे रोबोट र उड्ने कार रहेका छन् । प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रे सवारीका ‘ब्राण्ड’, १३ हलुका सवारीसाधनका ब्राण्ड, चार वटा दुई पाङ्ग्रे सवारीका ब्राण्ड, पार्टपुर्जाका ३५ वटा कम्पनीले आआफ्ना उत्पादन राखेका छन् ।

    यो नेपालको हालसम्मकै ठूलो अटो शो भएको दाबी गरिएको छ । यही भदौ ८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोबाइल क्षेत्रले मुलुकको अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए । “बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता रहेको, कानुनी र नीतिगत रूपमा लगानीमैत्री वातावरण भएका कारण पनि अबको दुई वर्षभित्र ४० प्रतिशतसम्म सवारीसाधनको बिक्री बढ्ने आकलन छ”, उनले भने ।
    एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो शो प्रदर्शनी मात्रै नभएर व्यावसायिक थलोका रूपमा विकास हुँदै गएको बताए । अटो क्षेत्रले रोजगारी सिर्जना र राजस्व सङ्कलनमा ठूलो योगदान दिएको जानकारी दिँदै उनले प्रदर्शनीले वार्षिक रूपमा बिक्री हुने कुल सवारीसाधनको ४० प्रतिशत हिस्सा ओगट्ने बताए ।

  • टप एन्ड टी–ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

    टप एन्ड टी–ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

    ३ भदौ, काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको थियो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्सले १६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै ११४ रन मात्र बनायो । नेपाललाई विजयी दिलाउने क्रममा नन्दन यादव एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एक एक विकेट लिए ।

    होबार्ट हरिकेन्सका लागि ब्याटिङ गर्ने क्रममा ब्राड्ली होपले ३१ तथा चार्ली वाकिमले २८ रन बनाए । यसअघि होबार्ट हरिकेन्सविरुद्ध १८० रन बनाउने क्रममा नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे । त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे ।

    बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई÷दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए । नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपालले अब बुधबार मेलवर्न रेनेगेड्ससँग तथा शुक्रबार पाकिस्तान शाहिन्ससित खेल्ने छ ।

  • उपसभामुख हटाउने तयारीको माओवादीले गर्यो विरोध

    उपसभामुख हटाउने तयारीको माओवादीले गर्यो विरोध

    ३ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति जनअपेक्षानुसार सरकारले काम गर्न नसकेको आरोप लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको पदाधिकारी बैठकले जनताका विकासका चाहना पूरा गर्ने दिशामा सरकारले लक्ष्यित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय एवं अन्तरराष्ट्रिय परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गरेका थिए । सत्तारुढ दलमा अहिले उपसभामुख हटाउने गरी तयारी गरिएको छ । सोही क्रममा एमाले र कांग्रेसले सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । नेताहरुले सो हस्ताक्षर संसदबाट उपसभामुख इन्दिरा रानालाई हटाउने लक्ष्यका साथ गरिएको बताएका छन् । उनी रास्वपाबाट सांसद छिन् ।