Category: समाचार

  • आप्रवासी शरण प्रणालीमा आमूल परिवर्तन गर्दै बेलायत

    आप्रवासी शरण प्रणालीमा आमूल परिवर्तन गर्दै बेलायत

    ९ भदौ, लण्डन । बेलायत सरकारले आप्रवासीहरु बस्ने होटलमा सप्ताहन्तमा भएको विरोध प्रदर्शनपछि आइतबार आफ्नो शरण प्रणालीमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले तथाकथित शरणार्थी बसेको होटलहरूको महँगो प्रयोगलाई अन्त्य गर्ने प्रयास गर्दै शरण नपाएका आवेदकहरूको अपील छिटो सुन्नको लागि एक नयाँ स्वतन्त्र निकाय स्थापना गर्ने बताएको छ । यो बेलायती नागरिकको ठूलो समूहमा असन्तोषको विषय बनेको छ।

    लेबर सरकारले दक्षिणपूर्वी इङ्ल्यान्डको एक केन्द्रमा होटलमा शरण खोज्नेहरूलाई राख्न रोक लगाउने अदालतको फैसलाविरुद्ध अपिल गर्ने शुक्रबार जनाएको छ । अदालतको यो आदेशले देशभरका शरणार्थीलाई राख्ने होटलबाहिर विरोध प्रदर्शन र प्रतिवादको लहरको घोषणा गरेको थियो। बेलायतको ब्रिस्टल, एक्सेटर, ट्यामवर्थ, क्यानोक, नुनेटन, लिभरपुल, वेकफिल्ड, न्यूक्यासल, एबरडिन, पर्थ र मध्य लण्डनमा ‘शरण प्रणालीको अन्त्य’ को विरोधमा शनिबार प्रदर्शन गरिएको थियो ।

    प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारी समूहहरूलाई तितरवितर पारेको थियो भने अधिकारीहरूले आन्दोलन दबाउने क्रममा प्रदर्शनकारीहरूसँग व्यापक सङ्घर्ष गर्नुपरेको थियो । एभोन र समरसेट हेर्ने प्रहरी अधिकारी किथ स्मिथले भने, “हाम्रा अधिकारीहरूले वास्तवमै चुनौतीपूर्ण परिस्थितिको सामना गरेका छन्।” उनले भने, “अशान्तिका क्षणहरू भएपनि हामी यो भन्न पाउँदा खुसी छौँ । दुई विरोध प्रदर्शनहरू कुनै अप्रिय घटना बिना नै सकिएका छन्।”

    लिभरपूलको प्रदर्शनमा मादक पदार्थ सेवन गरी उच्छृङ्खल व्यवहार गरेको र आक्रमण गरेको आरोपमा ११ जनालाई पक्राउ गरिएको थियो । दक्षिणपूर्वी इङ्ल्यान्डको एपिङस्थित एक होटलबाहिर १४ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि प्रदर्शनको पछिल्लो लहर सुरु भएको छ । आइतबार र सोमबारका लागि थप कार्यक्रमहरूको योजना बनाइएको थियो । आइतबार बेलायतमा साप्ताहिक सार्वजनिक बिदा हो।

    पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार मार्चको अन्त्यसम्ममा ३२ हजार ३४५ शरणार्थीलाई बेलायतका होटलमा अस्थायी रूपमा राखिएको थियो ।
    सरकारले प्रारम्भिक शरण दावीहरूको काम घटाउन सङ्घर्ष गरिरहेको छ । पछिल्लो समय, सरकारको अपीलमा अदालतको सुनुवाईमा भएको ढिलाइले शरण आवास प्रणालीमा दबाबको सबैभन्दा ठूलो कारण बनेको छ । गृहमन्त्री यवेट कूपरले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै भने, “हामीले शरण प्रणालीलाई पूर्ण अराजकताको अवस्थामा विरासतका रूपमा पाएका छौँ । यसलाई सफलतापूर्वक व्यवस्थापन गर्नु हाम्रो कर्तव्य हो ।

  • ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

    ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

    ९ भदौ, ढोरपाटन । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई । जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना भए पनि बत्ति मुनीको अँध्यारो बनेको छ ।

    गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ । तर विकास र प्रचारप्रसार अभावमा यो गाउँ ओझेलमै छ । ढोरपाटन नगरपालिका–९ स्थित दिज गाउँ प्राकृतिक सुन्दरताले भरिएको छ । ढोरपाटन–निसेलढोर सडक खण्डको पारी पट्टी रहेको दिज गाउँमा विस्तारै विकासले गति लिन थालेको छ । तर प्रचारप्रसार कत्ति पनि हुन सकेको छैन । प्रकृति र मौलिकतासँग साइनो गाँस्न चाहनेका लागि त योभन्दा अरु गन्तव्य बिरलै छन् ।

    गाउँको मौलिकता र सुन्दरतालाई बाहिर प्रचार गर्न नसक्दा आगन्तुक दिज गाउँ पुग्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताए । लामो समयसम्म स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्लगायतका पूर्वाधार नजोडिएको यस गाउँमा स्थानीय सरकार आएपछि विस्तारै विकास हुन थालेको उनको भनाइ छ ।

    दिजलाई पर्यटकीय गाउँ बनाउनका लागि नगरपालिकाले नीति बनाएर काम सुरु गरेको अध्यक्ष घर्ती मगर बताउँछन् । “यो पर्यटनका लागि भर्जिन गाउँ हो, पर्यटकसँग जोड्न नगरपालिकाले नीति बनाउँदै छ, गाउँलाई घरबास (होमस्टे)का रूपमा विकास गर्ने र स्थानीयलाई आय आर्जनसँग जोड्ने प्रयास गरिरहेका छौँ,” अध्यक्ष घर्तीमगरले भने, “स्थानीय उत्पादनलाई बढाउने र बजारीकरणलाई ध्यान दिएका छौँ ।”

    दिज गाउँमा अहिलेसम्म सडक पुगेको छैन । स्थानीयले बजारबाट बोकेरै उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । ढोरपाटन सिकार आरक्षले अवरोध गर्दा गाउँमा सडक नजोडिएको स्थानीय बताउँछन् । यो गाउँमा अहिलेसम्म काठैकाठका बाहेक अन्य वस्तुले बनेका घर छैनन् । विस्तारै विकासले गति लिन थालेको स्थानीय मनबहादुर घर्तीले बताउनुभयो । पहिलेदेखिनै समय–समयमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि धेरै सङ्ख्यामा भित्र्याउन नसकेको उनको भनाइ छ ।

    यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समयमा पर्यटक आउने गर्छन् । पछिल्लो समय निसेलढोर जाने पर्यटक दिज गाउँ पस्ने गरेका छन् । गर्मी छल्न ढोरपाटन आउने पर्यटक घुम्दैफिर्दै दिज गाउँ आउने गरेका छन् । गाउँमा आइपुग्न उत्तरगङ्गा नदीमा काठे साँघु बनाइएको छ । यो पुल हेर्नका लागि पनि पर्यटक दिज आउने गर्छन् । गाउँ निकै सुन्दर भए पनि बास बस्न व्यवस्थित ठाउँ नहुँदा ढोरपाटनमै आउनु परेको भैरहवादेखि आएका कुशलराज बेलवासेले बताए ।

    “हाम्रो नेपालमा पनि यति सुन्दर ठाउँ छन्, तर यी ठाउँमा अहिलेसम्म विकास नपुग्दा ओझेलमा परेका छन्, मलाइ त ढोरपाटनभन्दा दिज गाउँ धेरै राम्रो लाग्यो तर बस्नका लागि समस्या रैछ,” उनले भने, “राज्यले सडकलगायत अन्य पूर्वाधार विकास गरेमा भविष्यमा पर्यटकीय सम्भावना छ, गाउँका नागरिकलाई शिक्षित र व्यावसायिक बनाउनु पर्ने जरुरी देखियो, यहाँ आउँदा साँच्चिकै गाउँघरमा आएको महशुस भयो ।”

  • विद्यार्थीसँगै एक वर्षमा विदेशियो १ खर्ब ३८ अर्ब

    विद्यार्थीसँगै एक वर्षमा विदेशियो १ खर्ब ३८ अर्ब

    ९ भदौ, काठमाडौं । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१\८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ ।

    अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो । केन्द्रीय बैङ्कका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।


    आव २०८१\८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा थियो ।
    सेवा खाताअन्तर्गत समिक्षा वर्षमा भ्रमण आयत ७।७ प्रतिशतलृ वृद्धि भई ८८ अर्ब ६६ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो ।

  • जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    ९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकाअनुसार आगामी असोज मसान्तभित्र ऋणको पुनः संरचना गरिसक्नुपर्ने छ । त्यस्तो कर्जालाई आगामी चैत्र मसान्तमा जुन वर्गमा वर्गीकरण गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।

    एकीकृत निर्देशिका अनुसार, पुनः संरचना गरिएको कर्जा नोक्सानी व्यवस्था ‘राइट ब्याक’ गर्न नपाइने प्रबन्ध छ । जग्गा विकास तथा भवन निर्माणको अनुमतिका लागि सम्बन्धित निकायमा पेस गरेको प्रमाणसमेत लिनुपर्नेछ । कृषि कर्जाको भुक्तानीको तालिकाका सम्बन्धमा पनि नयाँ व्यवस्था गरिएको छ । इजाजत प्राप्त संस्थाले कृषि उपज कृषियोग्य जमिन, कृषि व्यवसाय संरचनाको धितो आफैँले मूल्याङ्कन गरी १० लाख रुपैयाँसम्मको खाद्यान्न बाली, पशुपन्छी, माछापालानलगायतका कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्नेछन् ।

    कर्जा सुरक्षणको रुपमा राखिएको धितो मूल्याङ्कन बैंक तथा वित्तीय संस्थाका कर्मचारी वा अन्य धितो मूल्याङ्कनकर्ताबाट गर्न सकिनेछ भने सो मूल्याङ्कन गरेबापत् ऋणीसँग धितो शुल्क लिन पाइने छैन । किसानले तरकारी खेतीका लागि कर्जा माग गरेमा किसानले उत्पादन गरी बजारमा ल्याउन चार महिनाको समय लाग्ने भएमा कर्जाको किस्ता चार÷चार महिनामा हुने गरी कायम गर्नुपर्नेछ ।

    त्यसैगरी त्यस्तो कर्जाको पर्याप्त मात्रामा ग्रेस अवधि प्रदान गर्नुपर्नेछ । ग्रेस अवधि प्रदान गरेको पहिलो वर्ष असल कर्जाका लागि ०।२५ प्रतिशत र दोस्रो वर्ष ०।५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने निर्देशनमा उल्लेख छ । संस्था स्वयम्ले धितो मूल्याङ्कन गरी प्रवाह भएको कर्जालाई प्राथमिकतामा राखी सम्बन्धित संस्थाको आन्तरिक लेखापरीक्षणमार्फत नियमित अनुमगन तथा मुल्याङ्कन गर्नुपर्नेछ ।

    नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका जातका कृषि उपज उत्पादनका लागि बढीमा १.५ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी कर्जाको ब्याजदर तोक्नुपर्नेछ । ग्रेस अवधि प्रदान गरेको पहिलो वर्ष असल कर्जाका लागि कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था ०.२५ प्रतिशत र दोस्रो वर्ष ०.५ प्रतिशत मात्रै कायम गर्नुपर्नेछ । कर्जामा आवश्यक ग्रेस अवधि प्रदान गर्न वा ब्याज पुँजीकरण गर्न सकिनेछ ।

    हुलाकी राजमार्ग, मध्य पहाडी लोकमार्ग आसपासका क्षेत्रमा सञ्चालनमा रहेका तीन करोड रुपैयाँसम्मका उत्पादनमूलक उद्योग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छताका आधारमा होटल , रेष्टुरेन्ट स्तरीकण गर्नेसम्बन्धी निर्देशिका बमोजिम खाद्य स्वच्छता स्तरीकरणसम्बन्धी प्रमाणपत्र लिएका होटल तथा रेष्टुरेन्टलाई आधार दरमा बढीमा दुई प्रतिशतसम्म थप गरी कर्जाको ब्याजदर तोक्नुपर्नेछ ।

  • पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा

    पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा

    ९ भदौ, कास्की । पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिव चार हजार ५०० सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ । कालिखोलादेखि काँहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरू गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

    पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक रहेको बताए । उनका अनुसार फुट ट्रय्याकका लागि चालू आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । “पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास गरेका छौँ । स्थानीय विशेषता झल्कने र पहिचानसहितको अग्र्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनको स्वाद लिन सकिनेछ,” नगर प्रमुख आचार्यले भने ।


    निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुङ्गा काटेर विच्छ्याइएको छ । पदमार्गका विभिन्न चार स्थानमा विश्राम स्थल हुनेछन् भने १० स्थानमा ‘भ्युपोइन्ट’ निर्माण हुनेछ । पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए । पोखराको प्राकृतिक ‘भ्युपोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ ।

    ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँबायाँ करिव ४०० फलफूलका बिरुवासमेत रोपिएको छ । पोखरा महानगरको दुई लाख २६ हजार विरुवा लगाउने ‘मेगा ’अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरुवखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका विरुवा रोपिएका छन् ।

  • पर्सामा महामारी : स्वास्थ्यकर्मीको अत्यावश्यक बाहेकका बिदा कटौती

    पर्सामा महामारी : स्वास्थ्यकर्मीको अत्यावश्यक बाहेकका बिदा कटौती

    ९ भदौ, वीरगञ्ज । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो । सो बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो ।

    निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए । सोही बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय गरेको छ ।

    हाल फैलिरहेको महामारीको ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’का लागि महामारीको अनुसन्धान, सम्बन्धित स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय भएको जनाइएको छ ।

  • इरान अमेरिका सामु झुक्दैन : खामेनी

    इरान अमेरिका सामु झुक्दैन : खामेनी

    एजेन्सी
    ९ भदौ, तेहरान । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानलाई वशमा पार्ने अमेरिकी प्रयासको सामना गर्न संयुक्त राष्ट्रिय मोर्चा गठन गर्न आह्वान गरेका छन् । राजधानी तेहरानको एक मस्जिदमा दिइएको र खामेनीको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको यो टिप्पणी इरान र उसको कट्टर शत्रु इजरायलबीचको युद्धमा युद्ध रोकिएको दुई महिनापछि आएको हो । युद्धमा इरानसँगै संयुक्त राज्य अमेरिकाले इरानी प्रमुख तीन युरेनियम भण्डारण केन्द्रमा आक्रमण गरेको थियो ।

    तेहरान आफ्नो आणविक कार्यक्रमको बारेमा विश्व शक्तिहरूसँग वार्तामा व्यस्त छ। खामेनीले गत जुनमहिनामा इजरायल र अमेरिकाले गरेका दुर्लभ आक्रमणले प्रमुख आणविक स्थलहरूलाई लक्षित गरेको र यसले इरानी प्रतिशोधलाई उत्प्रेरित गरेको बताए । उनले यसलाई इस्लामिक गणतन्त्र (इरान)लाई अस्थिर गर्न गरिएको योजनाका रूपमा व्याख्या गरे । युद्धको सुरुवातमा इजरायलले इरानमाथि आक्रमण गरेको एक दिनपछि ‘अमेरिकी एजेन्टहरू’ युरोपमा भेला भएका र इरानमा आक्रमणपछि कस्तो सरकारले शासन गर्ने भन्ने विषयमा छलफल गरेको उनले बताए ।
    खामेनीले अमेरिकाले अन्ततः इरानलाई ‘आज्ञाकारी’ बनाउन खोजेको दाबी गरे । उनले भने, “गत जुनमा भएको १२ दिने युद्धबाट यो देश बलियो बनेको छ, जुन इजरायल र संयुक्त राज्य अमेरिकासँगको इतिहासकै सबैभन्दा तीव्र प्रत्यक्ष भिडन्त हो।” खामेनीले भने, “इरानी राष्ट्रले सशस्त्र बल, सरकार र प्रणालीको साथमा दृढताका साथ उभिएर आफ्ना शत्रुहरूलाई कडा प्रहार गरेको छ ।” राज्यको प्रशासनमामिलामा अन्तिम निर्णय गर्ने सर्वोच्च नेता खामेनीले विदेशी शक्तिले उक्साइरहेको भन्दै आन्तरिक विभाजनविरुद्ध पनि चेतावनी दिएका थिए । “शत्रुका लागि अगाडिको बाटो भनेको इरानमा कलह सिर्जना गर्नु हो”, उनले भने, “इजरायललाई सङ्केत गर्दै अमेरिका र यहूदी शासनका एजेन्टहरू विभाजनको बीउ छर्न खोजिरहेका छन्।”

    तेहरान र वासिङ्टनबीच सन् १९७९ को इस्लामिक क्रान्ति र त्यसपछि अमेरिकी दूतावासमा बन्धक सङ्कट उत्पन्न भएपछि सम्बन्ध विच्छेद भएको थियो । वासिङ्टनले इरानको आणविक कार्यक्रमलाई लिएर तेहरानमाथि लगातार प्रतिबन्ध लगाएको छ । संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले इरानले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लगाउँदै आएका छन्, तर तेहरानले यो दाबीलाई बारम्बार अस्वीकार गर्दै आएको छ।

    तेहरान र वासिङ्टनबीच इरानको आणविक कार्यक्रमबारे छैटौँ चरणको वार्ता हुन लागेको बेला युद्ध सुरु भएको हो । हप्तौँअघि सुरु भएको वार्ता द्वन्द्वका कारण रद्द भएको थियो । युरोपेली शक्तिहरूले कुनै सम्झौता नभए पुनः प्रतिबन्ध लगाउने धम्की दिएपछि इरानले आणविक वार्ताका लागि मङ्गलबार बेलायत, फ्रान्स र जर्मनीसँग बैठक गर्ने कार्यक्रम तय भएको छ।

  • खाद्य वस्तुमा उच्च मूल्यवृद्धि

    खाद्य वस्तुमा उच्च मूल्यवृद्धि

    ८ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८१\८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव शून्य छ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिए पनि गैरखाद्य वस्तुमा भन्दा दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १० दशमलव ७१, घ्यू तथा तेलको आठ दशमलव ७२, दाल तथा गेडागुडीको सात दशमलव ९० र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव १३ प्रतिशतले बढेको छ ।

    मरमसला उपसमूहको मूल्य सूचकाङ्क दुई दशमलव ६२ प्रतिशत र माछा तथा मासुको शून्य दशमलव ३४ प्रतिशतले घटेको देखिएको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको मूल्यवृद्धि नौ दशमलव ३९, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव शून्य नौ, मदिराजन्य पेय पदार्थको पाँच दशमलव ६५, फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ७८ र सुर्तीजन्य पदार्थको चार दशमलव ३७ प्रतिशत रहेको छ ।

    त्यस्तै, गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव ६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति छ दशमलव ४७ प्रतिशत रहेको थियो । गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७१ प्रतिशत रहेको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति चार दशमलव ६४ प्रतिशत थियो ।

    गत आवमा काठमाडौँ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७७, तराईको चार दशमलव १४, पहाडको तीन दशमलव ८६ र हिमालको चार दशमलव ८९ प्रतिशत रहेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ । ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ४० प्रतिशत र सहरी क्षेत्रको तीन दशमलव ९४ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा कोशीको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ४६, मधेशको चार दशमलव १४, बागमतीको तीन दशमलव ५७, गण्डकीको तीन दशमलव ३२, लुम्बिनीको तीन दशमलव ७०, कर्णालीको तीन दशमलव ३१ र सुदूरपश्चिम प्रदेशको पाँच दशमलव शून्य दुई प्रतिशत रहेको छ ।

  • चालु खाता चार खर्ब नौ अर्ब र शोधनान्तर पाँच खर्ब ९४ अर्ब बचतमा

    चालु खाता चार खर्ब नौ अर्ब र शोधनान्तर पाँच खर्ब ९४ अर्ब बचतमा

    ८ भदौ, काठमाडौँ । गत आर्थिक वर्ष २०८१–८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकमा सुधार हुँदै गएको देखिएको हो । प्रतिवेदनअनुसार गत आवमा सरकारको चालु खाता रु चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको छ । आव २०८०–८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो ।

    गत आवमा शोधनान्तर स्थिति रु पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । आव २०८०–८१ मा शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब अर्ब ४९ करोडले बचतमा थियो । गत आवमा खुद पुँजीगत ट्रान्सफर रु नौ अर्ब ८४ करोड छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु १२ अर्ब दुई करोड बराबर भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आवमा आर्थिक वृद्धि चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । जसमध्ये कृषि क्षेत्रको वृद्धि तीन दशमलव २८, उद्योग क्षेत्रको चार दशमलव ५३ र सेवा क्षेत्रको वृद्धि चार दशमलव २१ प्रतिशत रहेको अनुमान छ । गत आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५ दशमलव १६, १२ दशमलव ८३ र ६२ दशमलव शून्य एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, गत आवमा कूल गार्हस्थ्य बचत कूल गार्हस्थ्य उत्पादनको छ दशमलव ५५ प्रतिशत रहेको छ । कूल स्थिर पुँजी निर्माण र कूल राष्ट्रिय बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २४ दशमलव शून्य सात र ३६ दशमलव २४ प्रतिशत रहेको छ । गत आवमा कूल विद्युत्को जडित क्षमता वृद्घि भई तीन हजार ५९१ मेगावाट पुगेको छ । जडित क्षमतामध्ये जलविद्युत् तीन हजार ३९० मेगावाट रहेको छ । त्यस्तै, कूल पर्यटक आगमन एक दशमलव सात प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुई दशमलव ६६ प्रतिशतले अवमूल्यन भएको छ ।

  • जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराउने होटल सञ्चालक पक्राउ

    जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराउने होटल सञ्चालक पक्राउ

    ८ भदौ, जनकपुर । आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन् । प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

    राइनविरुद्ध मानव बेचविखन र यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन् । “प्रमाण सङ्कलनको काम भइरहेको छ”, प्रहरी नायब उपरीक्षक सिंहले भने । राइनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेको छ । आयोगका जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले उक्त घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको बताए । “आयोगले प्रारम्भिक तथ्य जाँच सुरु गरेको छ”, उनले भने ।

  • ‘नाडा अटो शो’ एक लाख ६० हजार जनाले गरे अवलोकन

    ‘नाडा अटो शो’ एक लाख ६० हजार जनाले गरे अवलोकन

    ८ भदौ, काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गर्नुभएको उक्त प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष रहेका छन् । यस वर्षको प्रदर्शनीमा विगतका तुलनामा ३० नयाँ उत्पादनलाई समेटिएको आयोजक संस्था नाडाले जनाएको छ । प्रदर्शनीको पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, युवा व्यवसायी तथा सर्वसाधारणले अभिरुचिका साथ अवलोकन गरेका थिए ।

    यस पटकको प्रदर्शनीमा अवलोकनकर्ताको मुख्य आकर्षण उड्ने कार र रोबर्टप्रति रह्यो । प्रदर्शनी समापनका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उत्कृष्ट प्रदर्शनीकक्ष सञ्चालन गर्ने उत्पादनकर्तालाई प्रशंसापत्र प्रदान गरे । समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मुलुकमा सबैभन्दा बढी राजस्व प्राप्त गर्ने र उपभोक्ता जोडिएको क्षेत्र अटोमोबाइल रहेको बताए । नेपालले अटोमोबाइल क्षेत्रमा उत्पादन बढाउन र आत्मनिर्भर बन्नेतर्फ पाइला अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्री पौडेलले सडक यात्रालाई दुर्घटनारहित तुल्याउन तथा वातावरण मैत्री अटोमोबाइलका सामान उत्पादन गर्नेतर्फ ध्यान पु¥याउनुपर्छ भने ।
    नाडाका अध्यक्ष करणकुमार चौधरीले नाडाका हरेक संस्करण स्मरणयोग्य भइरहेको दाबी गर्दै नेपालले पनि नयाँ प्रविधि र उपकरण उत्पादन गरी समृद्धिको यात्रामा अघि बढनुपर्नेमा जोड दिए । उनले भने, “भविष्यको नयाँ नेपालको विश्वासको ढोका यस वर्षको प्रदर्शनीले खोलेको छ ।” प्रदर्शनीमा पछिल्लो समय उत्पादन भएका विभिन्न प्रकारका विद्युतीय सवारीसाधन, पाटपुर्जा, टायर र लुब्रिकेटजस्ता सामग्री राखिएका थिए ।

  • संविधान घोषणाको दशकलाई विशेष रूपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

    संविधान घोषणाको दशकलाई विशेष रूपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

    ८ भदौ, काठमाडौं । नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ । यस वर्ष संविधान जारी भएको १० वर्ष पुगेकाले दिवसलाई थप हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले आगामी असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोग र जनस्तरमा समेत दीपावलीलगायत विभिन्न कार्यक्रम गरी दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो । मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्री र राज्यमन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनुहुनेछ । बैठकले विषयगत उपसमिति पनि गठन गरेको छ ।

    दिवसका अवसरमा असोज ३ गते काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा आमनागरिकको उपस्थितिमा मूल समारोह हुनेछभने प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम प्रस्ताव गरिएका छन् । यसैगरी, दिवसका अवसरमा राष्ट्रिय गान र राष्ट्रभक्तिको साङ्गीतिक महोत्वस (नेसनल डे कन्सर्ट) आयोजना, झाँकी प्रदर्शनीलगायत कार्यक्रम प्रस्ताव गरिएको छ । दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्त्व, संविधानमा अन्तरनिहित पक्षमा केन्द्रित विशेष संवाद, परिसंवाद तथा सन्देशमूलक नाटकजस्ता सृजनात्मक र रचनात्मक कार्यक्रम निर्माण तथा सञ्चालन गरी रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक वा निजी क्षेत्रसमेतका विद्युतीय तथा छापा माध्यम एवं सामाजिक सञ्जालमा प्रसारण र प्रकाशनको व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ ।

    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान घोषणाको १० वर्ष पुगेको अवसरलाई राष्ट्रिय र जनस्तरमा विशेष रूपमा मनाउन आग्रह गरे । उनले संविधानसँग विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तीकरण, समावेशिताका चरित्र, लोककल्णयकारी राज्य, संस्कृति आदि पक्षसँग जोड्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले वडा र विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्ने र अधिक रूपमा जनतालाई संविधानको उपलब्धि र महत्त्वसँग एकाकार गराउन आग्रह गरे ।

  • तीजको तयारीः पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन

    तीजको तयारीः पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन

    ८ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ । पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एकदेखि डेढ घण्टाभित्र दर्शन गरेर फर्की सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए । पशुपति क्षेत्रमा तीजको तयारी लगभग सकिएको जानकारी दिँदै उनले तीजमा पशुपतिको बाहिरी भागमा मात्र स्वयंसेवक खटाइने बताए ।


    कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले लाइनमा बस्न उचित व्यवस्था मिलाइएको उल्लेख गर्दै मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिने बताए । कोषका संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले तीजका अवसरमा पशुपति क्षेत्रमा समाचार सङ्कलन गर्न आउने पत्रकारका लागि सूचना विभाग र सम्बन्धित सञ्चारगृहकै परिचयपत्रले मन्दिरको मुख्य क्षेत्रसम्म जान दिइने बताए ।

    तीजका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, ट्राफिक एवं पार्किङ व्यवस्था, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ता–चप्पल कक्षको व्यवस्थापन एवं सञ्चालन गरिने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् ।
    यस वर्ष तीज सोमबारदेखि सुरु हुँदैछ । पहिलो दिन सोमबार व्रतालु महिलाले दर खान्छन् । दोस्रो दिन मङ्गलबार तीजको मुख्य दिन हो । यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् । बुधबार गणेश चौथी पर्व मनाइन्छ । अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि चारदिने तीज पर्व समापन हुन्छ ।

  • नेपाल बङ्गलादेशसँग पराजित

    नेपाल बङ्गलादेशसँग पराजित

    ८ भदौ, काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशसँग नेपाल ३–० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अङ्क जोडेको बङ्गलादेश दोस्रो स्थानमा छ । पराजित नेपाल समान खेलबाट तीन अङ्कका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई भने २–१ गोलले हराएको थियो ।

    यसैगरी भुटानलाई ३–१ ले हराएको बङ्गलादेशले भारतसँग २–० को पराजय बेहोरेको थियो । बङ्गलादेशको जितमा थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे । खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलको इन्जुरी समयमा चक्माले गोल गर्दै बङ्गलादेशलाई सहज जित दिलाइन् ।

  • प्रधानसेनापति सिग्देल थाइल्याण्ड जाँदै

    प्रधानसेनापति सिग्देल थाइल्याण्ड जाँदै

    ८ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले थाइल्याण्डको हुआ हिनमा आयोजना हुने रक्षा प्रमुख सम्मेलनमा भाग लिन जाने भएका छन् ।
    शाही थाई सशस्त्र बलको सहकार्यमा अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डद्वारा यही भदौ १० देखि १२ गतेसम्म हुने उक्त सम्मेलनमा भाग लिन उनी सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    विसं २०५६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको उक्त सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तरराष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोचलगायत समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुने निर्देशनालयले जनाएको छ ।

    सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध विस्तार भई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई सकारात्मक योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । प्रधानसेनापति सिग्देललाई थाइल्याण्ड प्रस्थान गर्नुपूर्व आज नेपाली सेनाको एक टुकडीले जङ्गी अड्डामा सम्मान गारत अर्पण गरेको पनि निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मलकुमार थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

  • बागमती र कर्णाली प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षा हुने

    बागमती र कर्णाली प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षा हुने

    ८ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतासको पनि सम्भावना छ ।

    त्यसैगरी, आज राति मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • थारू समुदायले आज अटवारी पर्व मनाउँदै

    थारू समुदायले आज अटवारी पर्व मनाउँदै

    ८ भदौ, देउखुरी । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।

    घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्”, उहाँले भन्नुभयो, “थारू समुदायमा यो पर्वको छुट्टै महत्व छ ।”

    व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको घोराही उपमहानगरपालिकाका–३ का सुरज चौधरीले बताए । “यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ”, उनले भने । उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ ।

    पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउनुहुन्छ । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।

    दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द«ोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

    यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सर्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो । थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो ।

  • त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

    त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

    ८ भदौ, गाईघाट । त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिकासहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

    जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार निरन्तर पानी पर्न थालेपछि सामान्य जमिनको पानीमा प्रदूषण र पिउने पानीको प्रदूषणका कारण पनि भाइरलको प्रकोप बढ्न थालेको हो । जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अहिले दैनिक चार सय ५० देखि पाँच सय सयको सङ्ख्यामा भाइरलका बिरामी उपचार गर्न अस्पताल आउने गरेका छन् । अस्पतालमा आकस्मिक, ओपिडीसहित अन्य कक्षमा गरेर दैनिक पाँच सयका हाराहारीमा बिरामी बढ्दै गएपछि उनीहरूलाई बेडमा राखेर उपचार गर्न पनि समस्या हुन थालेको अस्पताल प्रशासनले जनाएको छ ।

    साउनको अन्तिम हप्तादेखि फाटफुट्ट भाइरलका बिरामी अस्पतालमा उपचारमा आउन थालेका र भदौ सुरु हुनासाथ वृद्धि भएर चार सय ५० देखि दैनिक पाँच सयको सङ्ख्यामा बिरामी वृद्धि भएको सूचना अधिकारी पाण्डेले बताउनुभयो । भदौ लागेसँगै भाइरलको प्रकोप बढ्न थालेपछि जिल्ला अस्पतालसहित स्थानीय निजी अस्पताल, क्लिनिक र स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामी उपचारमा आउने सङ्ख्या बढ्दै जान थालेको स्थानीय निजी अस्पताल तथा क्लिनिकले जनाएका छन् ।

    वर्षासँगै मौसम प्रदूषण भएपछि अहिले त्रियुगा नगरपालिका क्षेत्रका वडा नं १ जोगीदह, ३ मोतिगडा, २ खैजनपुर, ७ चुहाडे, ८ शाहीखोला, राजाबास, असारी, पोर्ताह, गाईघाट, लक्ष्मीपुरसहितका क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेपछि विद्यालय जाने उमेरकालाई समेत प्रभाव पार्न थालेको त्रियुगा–१२ का वडाध्यक्ष नवीनकुमार राईले बताए ।
    त्यसैगरी बेलका नगरपालिकाको भागलपुर, परनदह, आम्बासी, तपेस्वरीसहित चौदण्डीगढी नगरपालिकाका हँढिया, सुन्दरपुर, सिवाई बेलही देवधार क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेको हँडियाका समाजसेवी युवा देवनारायण चौधरीले बताए । रासस

  • छपन्न वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

    छपन्न वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

    रासस
    ८ भदौ, गोदावरी । कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२–६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो । गुर्गी सिँचाइ आयोजना निर्माणका लागि बर्सेनि बजेट विनियोजन हुँदै आए पनि निर्माण अघि बढ्न सकेको छैन । पानीको स्रोत सुनिश्चितता नभएका कारण बजेट फ्रिज हुँदै आएको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले आयोजनाका लागि आव २०७५–७६ मा रु २० लाख र प्रशासनिक खर्चका लागि कैलारी गाउँपालिका कार्यालयले रु एक लाख ५० हजार विनियोजन गरेको थियो । आव २०७९–८० मा योजना निर्माणको प्रक्रिया अघि बढाउन प्रदेश सरकारले रु छ करोड विनियोजन गरे पनि खर्च हुन नसकेर फ्रिज गएको थियो । आव २०८०–८१ मा रु १२ करोड विनियोजन गरेको प्रदेश सरकारले २०८१÷८२ मा रु पाँच करोड रकम विनियोजन गरिए पनि खर्च हुन नसकेर फ्रिज भएको जनाइएको छ ।

    आयोजना अघि बढाउन हरेक वर्ष बजेट विनियोजन गरिँदै आए पनि पानीको स्रोत सुनिश्चितता नभएकाले आयोजना निर्माणका लागि पुनः डिपिआर तयार गर्नुपर्ने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर टेकराज विनाडीले बताए । उनले आव २०८१–८२ मा कार्यालयले आयोजनालाई ठेक्का प्रक्रियामा लैजान रु ४४ करोड लागत अनुमानको प्रतिवेदन तयार गरी आर्थिक मामिला मन्त्रालयमा पेस गरेको भए पनि मन्त्रालयले रु ३० करोड लागत अनुमानको प्रतिवेदन स्वीकृत गर्दा ठेक्का सम्झौता कार्य अघि बढ्न नसकेको बताए । उनले आयोजनाको डिपिआरका लागि बजेटको माग गरिएको बताउँदै बजेटको सुनिश्चितता भएपछि डिपिआरको काम अघि बढ्ने जानकारी दिए ।

    झण्डै दुई दशकअघि भत्केको बाँध अहिलेसम्म बन्न नसकेपछि किसान नहरको पानी उपभोग गर्नबाट वञ्चित हुँदै आएको स्थानीय दयाराम चौधरीले बताए । वर्षौँ पुरानो सिँचाइ आयोजनामध्ये गुर्गी सिँचाइ आयोजनाको बाँध २०२६ सालमा तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत बनाएको बताइन्छ । आव २०६२–६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सो आयोजना निर्माणको काम अहिलेसम्म अघि बढ्न नसकेको चौधरीको गुनासो छ ।

    आयोजना बन्द भएर नहरसमेत अतिक्रमण भएपछि कैलारीका वडा नं १, २, ५ र ७ वडाका किसानले सिँचाइ अभावमा सो क्षेत्रका किसानले अकासे पानी र बोरिङको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता छ । जिल्लाकै नमूना रहेको सो योजनाबाट झण्डै छ हजार बढी किसान लाभान्वित हुँदै आएका थिए । बाढीले योजनाको बाँध भत्काएछि अकासे पानीको भर पर्नुपरेको किसानको गुनासो छ । उक्त सिँचाइ योजनाबाट एक हजार चार सयभन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको जनाइएको छ ।

    सिँचाइ विकास डिभिजन कार्यालयको सर्भेअनुसार योजनाको लागत रु ४४ करोड अनुमान गरिएको छभने एक हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । योजनाबाट कैलारी–१ का बिसनपुर, लवलपुर, मनाउ, हरिनगर, डम्मरा गाउँ, वडा नं ५ का सडकपुर, पबेरा, गोब्रैला, जग्दहवा, मनिकापुर, बैसपुर गाउँ र वडा नं ७ का रतनपुर, सिउपुर, नारायणपुर, वसन्ता, छटकपुर वसन्ता, भुँइयाफाटा, रामपुर गाउँका किसान लाभान्वित हुने जनाइएको छ ।

    यसैगरी सुदूरपश्चिम प्रदेशसभाअन्तर्गतको संसदीय उपसमिति अर्थ, विकास तथा प्राकृतिक समितिले एक हप्ताअघि सो बाँधको स्थलगत अनुगमनपश्चात सार्वजनिक सुनुवाइ गरेको थियो । आयोजना ढिलाइ सम्बन्धमा समितिले सो क्षेत्रका किसानसँग सुनुवाइ कार्यक्रम सुरु भएलगत्तै स्थानीय किसानले कार्यक्रम नै बहिष्कार गरेको प्रदेशसभा सदस्य शिवसिं वलीले जानकारी दिए ।

  • पाँच वर्षदेखि पुल निर्माण अधुरै

    पाँच वर्षदेखि पुल निर्माण अधुरै

    रासस
    ८ भदौ, चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रु आठ करोडमा उक्त पुल निर्माण गर्न सूर्य जेभी निर्माण कम्पनीले जिम्मा पाएको थियो । विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको शिलान्यास गरेका थिए ।


    जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकारले पटकपटक निर्माणकार्य अघि बढाउन आग्रह गरे पनि निर्माणमा संलग्न व्यवसायीले बेवास्ता गरिरहेको छ । उनका अनुसार पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका बासिन्दा लाभान्वित हुनेछन् । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर ठेकेदार सम्पर्कविहीन हुँदै आएको उपाध्यक्ष श्रेष्ठ बताउँछन् ।


    निर्माणको जिम्मा पाएको सूर्य जेभी निर्माण कम्पनीका प्रोपाइटर गणेश आर्चाय ‘ड्रइङ डिजाइन’को ‘एप्रुभ’ भइसके पनि चरिकोट डिभिजन कार्यालयले भिओ नबनाइदिएको कारण काम सुरु नभएको बताउँछन् । “हामी पुलको काम तत्कालै गर्न चाहन्थ्याँै तर सडक डिभिजन कार्यालय चरिकोटले भिओ नबाइदिएको कारण काम गर्न गाह्रो भयो”, उनले भने । सडक डिभिजन कार्यालय चरिकोटले दुई वर्षदेखिको बिल भुक्तानी नगरेको उनको दाबी छ ।

    पुलको बीचको पिलर १० इन्च फरक परेको र सोको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेकाले भिओ र बिल भुक्तानीको काम नरोकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठ बताउँछन् । जुगल गाउँपालिका–५ का वडाध्यक्ष रवीन्द्र घिमिरे पुल निर्माण अघि नबढ्दा जनताले सास्ती भोग्नुपरेको बताउँछन् । नदी वारिपारि गर्न झोलुङ्गे पुल भए पनि जीर्ण भएकाले जोखिम रहेको उनी बताउँछन् ।

  • इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

    इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

    एजेन्सी
    ८ भदौ, काठमाडौं । गाजामा खाद्य संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघको शरणार्थी सहायता निकायले चिन्ता व्यक्त गर्दै यो अवस्था मानवनिर्मित भएको संकेत गरेको छ । शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लुए) का आयुक्त फिलिप लाजरिनीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजा सहरमा भोकमरीको अवस्था पुष्टि भइसकेको जनाउँदै यसलाई रोकथाम गर्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए । ‘हामीले पटकपटक चेतावनी दिएका थियौं । अहिले स्थिति गम्भीर छ र यसलाई मानव निर्मित संकटको रूपमा हेर्न सकिन्छ,” उनले लेखेका छन्, लाजरिनीका अनुसार गाजामा आधारभूत राहत सामग्री लामो समयदेखि पर्याप्त रूपमा आपूर्ति हुन सकेको छैन ।

    खाद्य सुरक्षासम्बन्धी चरणगत मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको समूहले हालै प्रकाशित प्रतिवेदनमा गाजा सहरसहितको क्षेत्रमा भोकमरी पुष्टि भएको जनाएको छ । सो प्रतिवेदनमा देइर अल–बलाह र खान युनिस क्षेत्रमा पनि संकट फैलन सक्ने चेतावनी दिइएको छ । प्रतिवेदनअनुसार अगस्त महिनाको अन्त्यसम्म करिब ६ लाख ४० हजार मानिस गम्भीर खाद्य अभावको स्थितिमा पुग्न सक्नेछन र ११ लाखभन्दा बढी व्यक्तिहरू आपतकालीन खाद्य असुरक्षाको अवस्थामा रहने अनुमान गरिएको छ ।

    लाजरिनीले संकटको थप विस्तार रोक्नका लागि तुरुन्त युद्धविराम र निर्वाध मानवीय सहायता आपूर्तिको आवश्यकता रहेको उल्लेख गरे । इजरायली प्रधानमन्त्रीको कार्यालयले भने उक्त आरोपलाई अस्वीकार गर्दै गाजामा भोकमरी फैलाउने कुनै नीति नरहेको स्पष्ट पारेको छ । इजरायलले आफूले “भोकमरी रोक्ने नीति“ अपनाएको र सहायता आपूर्तिमा सन्तुलन कायम गर्न प्रयासरत रहेको जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुपोषण र भोकका कारण २७३ जनाको निधन भइसकेको छ, जसमा ११२ बालबालिका रहेका छन् । सन् २०२५ मार्च २ मा युद्धविराम समाप्त भएपछि गाजामा राहत सामग्रीको आपूर्ति उल्लेखनीय रूपमा घटेको जनाइएको छ ।

  • अफगान शरणार्थीहरूको घरफिर्ती जारी, पाकिस्तान र इरानबाट व्यापक आगमन

    अफगान शरणार्थीहरूको घरफिर्ती जारी, पाकिस्तान र इरानबाट व्यापक आगमन

    एजेन्सी
    ७ भदौ, काठमाडौं । अफगान शरणार्थी समस्यासम्बन्धी उच्च आयोगले जानकारी दिएको अनुसार, शुक्रबारको दिनमा मात्रै एक हजार ६९३ अफगान शरणार्थी परिवार—कुल ६ हजार २०२ जना व्यक्ति छिमेकी मुलुकहरू इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन् । उनीहरूले अफगानिस्तानको विभिन्न सीमा नाकाहरूबाट प्रवेश गरेका छन्, जसमा पश्चिम हेरातस्थित इस्लाम कला नाका, पूर्व ननगहारस्थित तोर्खम नाका, दक्षिण कन्धारस्थित स्पिन बोल्दक नाका र पश्चिम निमरोजस्थित अब्रीशम नाका रहेका छन् ।

    संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले सन् २०२५ को सुरुदेखि अगस्ट महिनासम्म मात्रै २० लाख भन्दा बढी अफगान नागरिक इरान, पाकिस्तान तथा अन्य देशहरूबाट अफगानिस्तान फर्किएको जानकारी दिएको छ । अफगानिस्तानको शरणार्थी तथा पुनःस्थापना मन्त्रालयका अनुसार हाल करिब ६० लाख अफगान नागरिक विदेशमा शरणार्थीको रूपमा बसोबास गरिरहेका छन्, जसमध्ये अधिकांश अवैध रूपमा इरान र पाकिस्तानमा छन् ।

  • जापान र दक्षिण कोरियाबीच सम्बन्ध विस्तार गर्ने सहमति

    जापान र दक्षिण कोरियाबीच सम्बन्ध विस्तार गर्ने सहमति

    एजेन्सी
    ७ भदौ, टोकियो । जापान र दक्षिण कोरियाली नेताबीच शनिबार टोकियोमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग बढाउन सहमति भएको छ । जापानद्वारा २० औँ शताब्दीमा कोरियाली प्रायद्वीपमा दशकौँ लामो कब्जाका क्रममा जबर्जस्ती श्रमको प्रयोग र भूगोलसम्बन्धी विवादले दुई छिमेकीबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । उत्तर कोरियाको आणविक खतराको सामना गर्न ऐतिहासिक गुनासाहरूलाई पन्छाउँदै हालैका वर्षहरूमा छिमेकी देशहरू नजिकिएका छन्।

    बैठकपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “दुई देशबीचको बढ्दो चुनौतीपूर्ण रणनीतिक वातावरणका बीच जापान–दक्षिण कोरिया सम्बन्ध र टोकियो, सियोल र वासिङ्टनबीच सहयोगको महत्व बढ्दै गएको छ । सन् १९६५ मा कूटनीतिक सम्बन्ध सामान्य भएपछि पहिलो पटक दक्षिण कोरियाली राष्ट्रपतिले आफ्नो पहिलो द्विपक्षीय भ्रमणका लागि जापानलाई रोज्नुभएको हो ।

    दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले भने “मलाई विश्वास छ, यसले दक्षिण कोरिया–जापान सम्बन्धलाई कत्तिको महत्व दिन्छ भन्ने देखाउँछ ।” इशिबाले अगाडी भने “हामी छिमेकी देशहरूको रूपमा त्यहाँ कठिन मुद्दाहरू विद्यमान छन्, अझै पनि निरन्तर नीतिहरू पछ्याउने कुरालाई हामीले जारी राख्नेछौँ।”
    भेटवार्तामा दुई नेताले प्रतिरक्षा, आर्थिक सुरक्षा र कम जन्मदरजस्ता दुवैले सामना गर्नुपरेका सामाजिक मुद्दाहरूबारे छलफल गरेका छन्।

    लीका पूर्ववर्ती युन सुक योलले दुई देशलाई नजिक ल्याउने प्रयास गरेका थिए । उनको प्रयासका कारण दुई छिमेकीलाई उनीहरूको साझा सहयोगी संयुक्त राज्य अमेरिकासँग त्रिपक्षीय वार्तामा सामेल गर्न सफल भएको थियो । गत अप्रिलमा सैनिक शासनको घोषणासँगै पदबाट हटाइएपछि युनमाथि महाभियोग लगाइएको थियो भने त्यसपछि गत जुनमा भएको मध्यावधि निर्वाचनमा लीले बिजय प्राप्त गरेका थिए ।


    यसअघि जापानप्रति युनभन्दा कडा अडान लिनुभएका लीले शनिबार भने, “मैले सत्ता सम्हालेदेखि नै मैरो जोड जापान र दक्षिण कोरिया अविभाज्य साझेदार हुन् । छिमेकीहरूले अगाडिको आँगन साझा गर्छन् र शान्ति र समृद्धिका लागि नजिकबाट सहयोग गर्नुपर्छ।” अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हालै भएको व्यापार सम्झौताको विस्तृत विवरण तयार पार्न ली आइतबार अपराह्न टोकियोबाट वासिङ्टन उड्ने कार्यक्रम छ । जापान र दक्षिण कोरिया दुवैले वासिङ्टनसँग व्यापार सम्झौता गर्न सहमत भएका छन् र संयुक्त राज्य अमेरिकामा ठूलो लगानीको घोषणा गरेका छन्।

  • पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

    पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

    ७ भदौ, वीरगञ्ज । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिए । उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताए । यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको बताइएको छ । स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ ।

    जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई यहाँका सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गर्न निर्देशन दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले हैजाको सङ्क्रमण बढेको अवस्थामा उपचारका लागि पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्याई उपचार गर्न र जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको हो ।

    बैठकले झाडापखाला रोकथामका लागि सबै सरोकार भएका निकायको समन्वयमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुुरु गर्ने निर्णय गरेको निमित्त प्रजिअ कार्कीले जानकारी दिए । सरसफाई प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला निकायलाई प्रभावकारी परिचालन गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरेको पनि उनले बताए ।


    झाडापखाला, हैजाका लागि जिम्मेवार मानिएको भिब्रिओ कोलेरा जीवाणु रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्थालगायतको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन गरी जागरण अभियानसमेत सञ्चालन गरिने जनाइएको छ ।

  • न्यूयोर्कमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

    न्यूयोर्कमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

    ७ भदौ, न्यूयोर्क । न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटना बफेलो शहरबाट करिब ४० किलोमिटर पूर्वमा पेमब्रोक नजिकै भएको हो । पर्यटकहरू नियाग्रा जलप्रपातको भ्रमण सकेर न्यूयोर्क सहर फर्कंदै थिए ।

    प्रहरीका अनुसार, बसमा रहेका यात्रुहरू भारत, चीन र फिलिपिन्स मूलका थिए । “चालकको ध्यान केही समयका लागि अन्यत्र गएको, त्यसपछि गाडीको सन्तुलन गुमेको र सुधार गर्ने प्रयासमा गाडी झनै अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ,” न्यूयोर्क राज्यका प्रहरी प्रमुख आन्द्रे रेले घटनास्थलमा जानकारी दिए ।


    बसमा ५४ जना सवार थिए। प्रारम्भिक विवरणमा बालबालिकाको मृत्यु भएको भनिए पनि पछि त्यसको पुष्टि भएको छैन । बालबालिकाको ज्यान गएको छैन । छ जनाजना चिनियाँ नागरिक पनि बसमा सवार थिए । पाँच जनालाई सामान्य चोट लागेर उपचारपछि घर पठाइएको छ भने एक जना अझै उपचारमा छन् । बसले सोही दिन सीमामा रहेको नियाग्रा जलप्रपातको यात्रा गरेर फर्कने क्रममा दुर्घटना भएको हो ।

    प्रहरीले गाडीमा कुनै यान्त्रिक खराबी वा चालकले मादक पदार्थ सेवन गरेको प्रमाण नभेटिएको स्पष्ट पारेको छ । हालसम्म कसैलाई कारबाही गरिएको छैन । घटनास्थलमा विभिन्न भाषा बोल्ने यात्रुहरू रहेका कारण सञ्चारको सहजताका लागि अनुवादकहरू समेत पठाइएको थियो । उद्धार कार्यका लागि आठवटा हेलिकप्टर प्रयोग गरिएको थियो । उद्धारकार्यमा सहयोग गर्ने सबै टोलीलाई सराहना गरिएको छ । राज्यकी प्रमुख अधिकारी केथी होचुलले राज्य प्रहरी र स्थानीय तहसँग समन्वय गरेर पीडितहरूलाई आवश्यक सहयोग प्रदान भइरहेको जनाइन् ।

    “ज्यान गुमाएका तथा घाइते यात्रुहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिन चाहन्छु,” न्यूयोर्कका वरिष्ठ जनप्रतिनिधि चक शुमरले बताए । नियाग्रा जलप्रपात अमेरिका र क्यानाडाको सिमानामा पर्ने एक प्रमुख पर्यटकीय स्थल हो ।

  • भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

    भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

    ७ भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमणमा छिन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी आज काठमाडौँ आएकी हुन् । भियतनामका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओली उच्चस्तरको यस भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गर्छन् । नेपाल र भियतनामबीच १९७५ मे १५ मा औपचारिक दौत्य सम्बन्ध स्थापना भएको थियो ।

    त्यसयता दुवै मुलुकबीच पारस्परिक सद्भाव र विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ । दुई देशबीच यसप्रकारका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारीस्तरमा मात्रै नभइ व्यापार, व्यवसाय र जनस्तरमा समेत द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ । राजदूत ओलीले भने, “दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको सन्दर्भमा भियतनाका उपराष्ट्रपतिबाट नेपाल भ्रमण भएको छ, यो उच्चस्तरीय भ्रमणबाट नेपाल र भियतनामबीच व्यापार, लगानी, पर्यटन र सांस्कृतिक आदान–प्रदानलगायत आपसी सहकार्यका विविध क्षेत्रलाई नयाँ आयाममा लैजान पहल गर्नुपर्छ ।”

    भियतनामका उपराष्ट्रपति सुआनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र स्वयम्भूनाथको भ्रमण गर्ने कार्यक्रम छ । दुई देशबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा यसवर्ष दुवै मुलुकमा विविध कार्यक्रम आयोजना गरिएका छन् ।

    नेपालले आउँदो अक्टोबरमा भियतनामको हनोइमा विशेष कार्यक्रम आयोजना गर्ने राजदूत ओलीले जानकारी दिनुभयो । कार्यक्रममा कृषि, पर्यटन, लगानी, व्यापार र सांस्कृतिक आदान–प्रदानलाई प्राथमिकताका साथ अघि बढाइने योजना छ । त्यस कार्यक्रममा नेपालका तर्फबाट पनि उच्चस्तरीय भ्रमणको सम्भावना छ ।

    दुई मुलुकबीच कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा (भिसा) छुट दिने तथा लगानीसम्बन्धी सम्झौताको तयारी भइरहेको राजदूत ओलीले जानकारी दिए । “नेपालले लगानीमैत्री वातावरण बनाउन सकेमा भियतनामसँग संयुक्त लगानी गर्ने प्रशस्त सम्भावना छ । विशेषगरी कृषि, पर्यटन, ‘एग्रो–प्रोसेसिङ’, हर्बल उत्पादन र कफी प्लान्टेशनजस्ता क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना छन्”, उनले भने । भियतनामले उत्पादन र निर्यात क्षमतामा ठूलो प्रगति गरिसकेको छ ।

    विशेषगरी कफी, धान, फलफूल र अन्य उत्पादनमा सफलता हासिल गरेको भियतनामसँग नेपालले अनुभव आदान–प्रदान गर्न सक्ने उहाँको भनाइ छ । कृषि मूल्य श्रृङ्खला विकास, आधुनिक प्रविधि प्रयोग र उत्पादन वृद्धिमा सहकार्य गर्न सकिने सम्भावना रहेको राजदूत ओलीले बताए ।

    दुई देशबीच पर्यटन अर्को सम्भावित क्षेत्रका रूपमा देखिएको छ । नेपाल र भियतनामबीच हालसम्म प्रत्यक्ष हवाई सम्झौता नभए पनि त्यसको प्रक्रिया सुरु गरिएको छ । यसलाई निष्कर्षमा पु¥याउन सकेमा दुवै देशबीच पर्यटक आदान–प्रदानमा सहजता हुने अपेक्षा गरिएको थाइल्याण्डका लागि नेपाली आवासीय राजदूत ओलीले बताए ।


    विशेषगरी लुम्बिनीलाई केन्द्र बनाएर ‘चार्टर फ्लाइट’ सुविधा उपलब्ध गराएमा भियतनाममार्ग हुँदै कोरिया, जापानलगायत मुलुकका पर्यटकलाई नेपाल भित्र्याउन सकिने विश्वास गरिएको छ । यसले बौद्ध पर्यटनलाई अझ प्रवर्द्धन गर्नेछ । “बौद्धमार्गी मुलुक भियतनामले नेपाललाई बुद्ध जन्मभूमि र हिमालको देश भनेर चिन्ने गर्छ । त्यसैले बौद्ध पर्यटन प्रवर्द्धनमा दुवै देशले संयुक्त रूपमा काम गर्न सक्छौँ”, राजदूत ओलीले भने ।


    शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानमा पनि दुई देशबीच सहकार्यको प्रशस्त सम्भावना छ । विशेषगरी लुम्बिनीमा स्थापित बौद्ध विश्वविद्यालय तथा अध्ययन केन्द्रलाई लक्षित गरेर विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्न सकिनेछ । यसले दुई देशका युवापुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । त्यसैगरी, नेपाल–भियतनाम मैत्री सङ्घ सक्रिय रूपमा लागिरहेको र यसले दुवै देशका नागरिकस्तरीय सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पु¥याइरहेको छ ।

    नेपाल र भियतनाम दुवै मुलुक बुद्ध धर्मसँग सम्बन्धित भएकाले सांस्कृतिक नाता गहिरो छ । अन्तरराष्ट्रिय मञ्चमा पनि दुवै देश शान्तिप्रिय राष्ट्रका रूपमा परिचित छन् । जलवायु परिवर्तन, हरित विकास र बहुपक्षीय सहकार्यका विषयमा दुवै देशको साझा दृष्टिकोण रहेको राजदूत ओलीको भनाइ छ । उनले भने, “नेपाल र भियतनामले अन्तरराष्ट्रिय मञ्चमा प्रायः समान खालका आवाज राख्ने गरेका छन् । हामीले एकअर्कालाई निरन्तर सहयोग गर्दै आएका छौँ । वातावरणीय विषय, क्षेत्रीय सहकार्य, दिगो विकासलगायत कुरामा हाम्रा समान धारणा छन् ।”

    नेपाल–भियतनाम दौत्य सम्बन्धको ५०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धलाई अझ नजिक ल्याउने महत्त्वपूर्ण अवसर मानिएको छ । राजदूत ओलीका अनुसार भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध थप मजबुद तुल्याउने महत्त्वपूर्ण कडीका रूपमा रहने छ । यस अवसरलाई प्रयोग गरेर दुई देशबीच व्यापारिक साझेदारी, लगानी प्रवर्द्धन, पर्यटन विकास र सांस्कृतिक आदान–प्रदानलाई नयाँ ढङ्गले अघि बढाउने योजना रहेको छ ।

    “भियतनामका उपराष्ट्रपतिको यो भ्रमण सद्भावको सुरुआत हो । भविष्यमा सहकार्यका प्रशस्त सम्भावना छन् । जति द्विपक्षीय सम्बन्धलाई बढाउँदै लगिन्छ, त्यति नयाँ अवसर खुल्दै जानेछन् । यस भ्रमणको मूल सन्देश भनेकै सम्बन्धलाई अझ मजबुत बनाउने हो”, राजदूत ओलीले भने ।

  • साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

    साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

    ७ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गत महिना रु एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई रु एक खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबर व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ ।

    साउनमा छिमेकी मुलुक भारतसँग रु ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र रु १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले रु ६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहारेको छ । चीनसँग रु २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र रु पाँच करोड ४८ लाखको निर्यात गर्दा रु २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ । जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।

    साउनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । विभागका अनुसार रु पाँच अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल, रु पाँच अर्ब ८८ करोड ७७ लाखको डिजेल र रु चार अर्ब ६६ करोड ६४ लाख बराबरको एलपी ग्यास आयात भएको छ । देशमा रु १० अर्ब ८० करोड ९५ लाख बराबरको कच्चा सोयाबिन तेल, रु तीन अर्ब ४१ करोड ९२ लाखको स्मार्टफोन, रु एक अर्ब ७४ करोड ४८ लाखको मोटरसाईकल, रु तीन अर्ब सात करोडको फलामजन्य वस्तु र रु एक अर्ब ५२ करोड ६३ लाख बराबरको सुन आयात भएको छ ।

    मुलुकबाट निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ । साउनमा रु १० अर्ब ६९ करोड ५८ करोड बराबरको भटमासको तेल निर्यात भएको हो । समीक्षा अवधिमा प्लाईउड, फलफुल जुस, धागो, गलैँचा, अलैँचीलगायत उत्पादन निर्यात भएका हुन् ।

  • नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

    नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

    ७ भदौ, काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१–८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत प्रगति हासिल भएको रक्षा मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय चुरे–तराई-मधेस संरक्षण र बङ्कर टु व्यारेक कार्यक्रममा पनि सोहीअनुसार नतिजा प्राप्त भएको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।


    राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक महत्वको ‘काठमाडौँ–तराईरमधेस द्रूतमार्ग सडक आयोजना’को प्रगति भने उक्त आर्थिक वर्षमा ६७ दशमलव ५ मा सीमित भएको छ । दु्रत मार्गको प्रस्थान विन्दुदेखि ६.५ किमीसम्म पर्ने प्याकेज नं ११ मा जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको तथा प्रस्थान विन्दु र सवारी अवागमन सम्बन्धमा निर्णय नहुँदा आयोजनाको भौतिकतर्फ वार्षिक लक्ष्य प्राप्त हुन नसकिएको मन्त्रालयले जनाएको छ । कोशी करिडोरअन्तर्गत खाँदबारी–किमाथाङ्का (च्याम्ताङ्ग–घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत १० दशमलव ५१, कर्णाली करिडोरको (घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला) सडक आयोजनाको दुई दशमलव पाँच र लाँलीबगर–दुल्लीकुनाको ११ किलोमिटर सडकको ट्रयाक खोलिसकिएको छ ।

    कर्णाली करिडोरको बोक्चे गौडा र भीर गौडामा दुईरदुई सय मिटर तथा याङ्चु भीरमा ४०० चार सय मिटर लम्बाइको सडक निर्माण र खार्पुनाथस्थित चुवाखोलामा बेलिब्रृज निर्माण सम्पन्न भएको छ । यस्तै बेनीघाट–आरुघाट–लार्केभञ्जयाङ् सडक आयोजनामा दुई दशमलव पाँच किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ । सोही सडक खण्डको तातोापनी भीरमा सडक चौडा पार्ने कार्य पनि लक्ष्यअनुसार सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

    महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडक आयोजनाअन्तर्गत गत आवसम्ममा १७ दशमलव ५ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ । गत आवमा सो सडकमा एक दशमलव आठ किलोमिटत नयाँ ट्रयाक निर्माण र एक दशमलव दुई किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने वार्षिक लक्ष्य लिएको थियो । यस्तै दार्चुला–टिङ्कर सडकखण्डमा दुई दशमवल तीन किलोमिटर नयाँ ट्रयाक निर्माण भएका मन्त्रालयले जनाएको छ ।

    भौगोलिक कठिनाइ भएका स्थानमा सडक पूर्वाधार निर्माणमा संलग्न नेपाली सेनाका एक सय आठ सकल दर्जाले वीरगती प्राप्त गरेका छन् । निर्माण सम्पन्न भएका त्रिशुली–सोमदाङ सडक आयोजनामा १२, कटारी–ओलखढुङ्गा सात, बेनी–जोमसोम १८, कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला) ६२, नाग्मा–गमगढी एक, बेशिसहर–चामे तीन र जाजरकोट–डोल्पा एक गरी एक सय चार जनाले वीरगती प्राप्त गरेका छन् । ती सडक आयोजना निर्माणका क्रममा गैरसैनिकतर्फ २४ जनाले ज्यान गुमाएका छन् ।

    हाल निर्माणाधीन सडक आयोजनातर्फ कर्णाली करिडोरमा चार जना सैनिक र निर्माणाधीन विभिन्न सडक आयोजनामा २८ जना गैर सैनिकको क्षति भएको छ । बङ्करदेखि व्यारेक कार्यक्रमअन्तर्गत गत आवमा विभिन्न ७३ वटा संरचना निर्माण भएका छन् । सोही कार्यक्रमअन्तर्गत एक हजार नौ सय ९५ संरचना निर्माण गर्न बाँकी रहेको सेनाले जनाएको छ ।

    यस्तै रणनीतिक महत्वको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणमा पनि गत आवमा शतप्रतिशत सफलता प्राप्त भएको वार्षिक प्रगतिमा उल्लेख छ । विश्वविद्यालयको भौतिक संरचनाको निर्माणलाई निरन्तरता दिने लक्ष्य राखिएको आयोजनाको समष्टिगत भौतिक प्रगति ७४ दशमवल ०४ प्रतिशत र वित्तीय प्रगति ७४ दशमलव ०२ प्रतिशत रहेको छ ।

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा निर्माण भइरहेको उक्त विश्वविद्यालयको भौतिक पूर्वाधार, कानुन र पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको छ ।

    प्रकृति संरक्षण कार्यमा पनि नेपाली सेनाले असरदार भूमिका निर्वाह गर्दै आएको छ । सोही क्रममा उक्त आर्थिक वर्षमा दुई लाख ५४ हजार एक सय ३३ पट्रोल, ३७ हजार आठ सय ६७ एम्बुस, नौ हजार दुई सय २४ आकस्मिक छड्केलगायतका गतिविधि सञ्चालित गरिएको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ । प्रकृति संरक्षणको सिलसिलामा हालसम्म एक सय १६ सैनिकले आफ्नो ज्यान गुमाएका छन् ।

    आर्थिक वर्ष २०८१–८२ मा रक्षा मन्त्रालयतर्फ तीन अर्ब ४५ करोड ८३ लाख ४० हजार बेरुजु रहेकामा त्यसको ६१ दशमलव ३९ प्रतिशत फछ्र्योट भएको मन्त्रालयले जनाएको छ । सो वर्ष ६० प्रतिशत बेरुजु फछ्र्योट गर्ने लक्ष्य राखिएको थियो ।

  • परारष्ट्रमन्त्री डा राणा र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

    परारष्ट्रमन्त्री डा राणा र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

    ७ भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गरेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरुमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राखिन् ।

    मन्त्री डा राणले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन् । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन् ।


    पछिल्ला वर्षहरुमा नेपाल र भियतनामका पर्यटकहरुको सङ्ख्या उल्लेखनीय रुपमा बृद्धि भएको जानकारी दिँदै मन्त्री डा राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् । मन्त्री डा राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरिन् । उनले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गरिन् ।


    भेटमा मन्त्री डा राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
    नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै दक्षिण-दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा सो भेटमा छलफल भएको थियो । जी ७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम)का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरुको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको सो अवसरमा उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री डा राणाले बताइन् ।

  • बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

    बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

    ७ भदौ चितवन । ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

    पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलत्तिएर यहाँ आएका छन् । कतिपय आफ्नो साहारा कोही नभए पनि आश्रय लिन यहाँ आइपुगेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन ९माता तीर्थ औँसी० र कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन त्यहाँ बस्ने वृद्ध बा र आमाहरू भने कोही दाता आएर बा आमाको सम्मान देला भनेर पर्खिरहेका छन् ।

    देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका बाहरूको अवस्था अझै दयानीय छ । नुवाकोटबाट आएर बस्नुभएका ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भए पनि चाडपर्वमा नसम्झँदा मन अमिलो भएर आउने गरेको बताउँछन् । औँसीको दिन भएका दुई भाइ छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछन् भन्ने भान भएको उनले बताए ।


    श्रीमतीको निधनपछि छोराहरूलाई आफ्नो खुट्टामा उभिने बनाएर छाडेका भट्ट छोराहरूको सम्झनामा निकै निरास बन्ने गर्छन् । उनले भने, “वृद्धावस्थामा निकै समस्या हँुदोरहेछ, छोराहरूको साहरा चाहिने समयमा उनीहरूनै सम्पर्कमा छैनन् कसरी साहारा पाउनु ।” अहिले त भगवान्को भरोसामा जीवनलाई छाडेको उनको भनाइ छ । उनले थपे, “अहिले त जो सम्झेर आउँछन् तीनै छोराछोरी हुन् ।” अहिले आश्रममा आएर जस्ले बा भन्छ र मीठो खान दिन्छ तीनै छोराछोरी हु जस्तो लाग्ने गरेको उनले बताए । उनी विगत आठ वर्षदेखि यही आश्रममा आश्रय लिएर बस्दै आएका छन् ।


    दुई पटकसम्म वैवाहिक सम्बन्धमा बाँधिएर पनि श्रीमती र छोरा÷छोरी नभएपछि निकै उदास भएर आश्रममा दिन काट्दै आएका छन् । भरतपुर महानगरपालिका–६ गीतानगरका ८६ वर्षीय शमशेरबहादुर विश्वकर्मा । उनको वैवाहिक जीवन सफल हुन नसकेपछि उनी आश्रममा आएर बस्न थालेका हुन् । जन्मिएका छोराछोरीहरू नबचेपछि श्रीमतीले पनि उनलाई छाडिन् ।

    एक्लो जीवन बिताउनका लागि आश्रममा आएका विश्वकर्मा अहिले आश्रममा आउने जति सबैलाई छोराछोरीको रूपमा लिँदै आएका छन् । उनले भने, “आफ्ना त छैनन् । जो आउँछ त्यसैलाई छोराछोरीको रूपमा लिनुपर्ने बाध्यता छ,” उनले भने, “बाबुको मुख हेर्ने दिन जो आउँछ त्यो नै आफ्नो छोराछोरीजस्ता लाग्छ । बा खुवाउने दिन भन्छन् आफ्नो त कोही छैन जसले दिन्छ त्यही छोराछोरी हुन् ।”

    बागलुङबाट आएर देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्दै आउनुभएका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित हुन् । उनका भाइ र बहिनी बागलुङमा नै छन् । समाजमा देखेर आफूलाई विवाह गर्न मन नलागे पनि वृद्धावस्थामा कोही आइदिएहुन्थ्यो भन्ने आभास हुने गरेको उनले सुनाए । परिवारका सदस्य नहुँदा चिन्ता नभए पनि अहिले कसैले बा भनेर बोलायो भने पनि मन फुलेर आउने गरेको सुनाउँदै उनले भने, “जसले आफूलाई बा भन्छ त्यसको दुःख जति मलाइनै परोस् भनेर भन्ने गरेको छु”, उनले भने, “सबै आफ्नै हुन् । जसले बा भन्छन् सबै सन्तान आफ्नै हुन् ।”

    देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र तीन वटा आश्रममा ८० जना वृद्धवृद्धा रहेका छन् । यस क्षेत्रमा रहेको कल्पबासमा ३० जना कल्पबासी र १० वटा आश्रममा आश्रित वृद्धवृद्धाहरूको हरेक वर्ष आउने चाडपर्व यस्तै हुने गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा अहिले ३५ जना वृद्धवृद्धा छन् । जसमा १७ जना वृद्ध र १८ जना वृद्धा रहेका छन् । उनीहरूको व्यवस्थापनमा दाताहरूको भर पर्नुपरेको उनले बताए ।
    सुरुआती समयमा समाज कल्याण कार्यालयबाट केही बजेट आए पनि अहिले बजेट नहुँदा भवन मर्मतदेखि आश्रितहरूको दैनिकीमा समेत दाताको भर पर्नुपरेको उनको भनाइ छ । उनले भने, “जन्मोत्सव, वैवाहिक उत्सव, पितृकार्यलगायतमा सहयोग गर्ने दाताको भरमा अहिले दैनिकी चलाउनुपरेको छ ।”

    सरकारी कुनै पनि निकायबाट बजेट प्राप्त नहुँदा अहिले दाता खोज्नुपर्ने अवस्था आएको उनले बताए । क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले असहाय वृद्धवृद्धाको बसोबास, खानपानी र उपचारको व्यवस्था गरिएको भए पनि बजेट पर्याप्त हुन नसकेको बताए । दाताहरूको सहयोगमा भए पनि यहाँ रहनुभएका वृद्धवृद्धाको उचित व्यवस्थापन गर्न सकिएको भन्दै उहाँले कुनै कमीकमजोरी नहोस् भन्ने गरी काम गरिएको बताए । उनले भने, “समस्याका बीच पनि वृद्धवृद्धाहरूको स्वभावअनुसार सेवा दिएका छौँ । यसलाई निरन्तर राख्न सक्नुपर्छ ।”

    यसैबीच प्रेस चौतारी नेपाल चितवन शाखाले देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा दरखाने कार्यक्रम गरेको छ । शाखाले शुक्रबार साँझ वृद्धवृद्धाहरूलाई भोजन गराएर दरखाने कार्यक्रम गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए । उनका अनुसार शाखाले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।