Category: समाचार

  • कालीगण्डकी करिडोर सडक अवरुद्ध

    कालीगण्डकी करिडोर सडक अवरुद्ध

    २६ भदौ, गुल्मी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

    सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो गएको स्थानका खटाई सकिएको प्रहरीले जनाएको छ । अहिले पनि उक्त क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सडकमा थुप्रिएको पहिरो पन्छाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए ।


    सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । वर्षा रोकिनासाथ सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सूचना अधिकारी सारुले बताए । पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।

  • देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा

    देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा

    २६ भदौ, काठमाडौं । देशभर आज साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराईका भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    मधेश प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाड र मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भु–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  • बागलुङमा कारागारबाट भागेका चार कैदी पक्राउ

    बागलुङमा कारागारबाट भागेका चार कैदी पक्राउ

    २६ भदौ, गलकोट । जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनिहरुलाई मालढुङ्गा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

    जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले देशभरी १३ हजार भन्दा बढी कैदी भागेका छन् । जसमा एमाले नेता टोप बहादुर रायमाझी समेत छन् ।

  • गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

    गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

    २६ भदौ, दोधारा चाँदनी । छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

    “हाल भारतबाट फर्किने नेपाली नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ । भारततर्फ जानेको हकमा पनि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ”, उनले भने, “नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ ।” यसैगरी बुधबार भारतीय एसएसबीले कारागारबाट भागेर त्यहाँ जान लागेका चार जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

  • अन्तरिम सरकारका लागि जेन-जीले आज पनि दिन सकेनन् साझा नाम, अनेक नाममा लफडा

    अन्तरिम सरकारका लागि जेन-जीले आज पनि दिन सकेनन् साझा नाम, अनेक नाममा लफडा

    २५ भदौ, काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा जेन जीहरुबीच नै चरम असन्तुष्टि देखिएको छ । उनीहरुले बुधबार साझा नाम टुङ्गो लगाउन सकेनन् । यसले राजनीतिक रिक्तता र अन्यौलता अझ लम्बिएको छ । विवादित जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराए । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी समेत गरे । उनीहरुलाई सो शैलीले नेतृत्व चयन नहुने भन्दै सम्झाएको छ ।
    ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’ बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरेका थिए । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका नामहरु समेत लिइरहेका छन् । कतिपयले हर्क साम्पाङलाई बनाउन जोड दिएका छन् । जेन जी समूहको भर्चुअल बैठकमा समेत कार्कीको नाममा करीव सहमती देखिएको थियो ।

  • जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, एक हजारबढी घाइते

    जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, एक हजारबढी घाइते

    २५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उहाँले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताए । यो सङ्ख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको हो ।

    निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ ।

    यस्तै अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । सचिव डा देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । सबभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भएको थियो ।

  • देशभरीका जेलबाट भागे हजारौं कैदी, कुन जेलमा कस्तो छ अवस्था ?

    देशभरीका जेलबाट भागे हजारौं कैदी, कुन जेलमा कस्तो छ अवस्था ?

    मंगलबारको हिंसात्मक आन्दोलनपछि देशभरी जेलब्रेकका प्रयास भएका छन् । विभिन्न जेलबाट हजारौं कैदी भागेको विवरण सार्वजनिक भएका छन् । आज दिनभरजसो डिल्लीबजार कारागारमा तनाव भयो । कैदीहरुले आफूहरु समेत निस्कन पाउनु पर्ने माग राख्दै आन्दोलन गरे । नेपाल प्रहरीका अनुसार अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् । त्यसैगरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५६० थुनुवा फरार भएका हुन् । सुन्धारा कारागारबाट एमाले नेता टोपबहादुर रायमाझी, बेचन झासहित तीन हजार बढी कैदी भागेका छन् ।


    उता, दार्चुलामा जेनजी’को आन्दोलनका क्रममा जिल्ला कारागारबाट गए राति भागेकामध्ये पाँच जना पक्राउ परेका छन् । कारागारबाट भागेकामध्ये आज उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । अरू कैदीबन्दीको खोजी भइरहेको जनाइएको छ ।

    उता, रौतहटमा मङ्गलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई आज बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । उनका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् ।

  • धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

    धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

    २५ भदौ, मलेखु । जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ । सात कैदीबन्दी घाइते भएका छन् । घाइते हुनेहरु सबै पुरुष छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो । घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात जना घाइते भएका छन् । घाइते प्रहरी सबैको अवस्था सामान्य छ । गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाकै सुरक्षामा उपचारका लागि काठमाडौँ पठाइएको छ ।

    मङ्गलबार नक्खु कारागारबाट पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदीबन्दी छाडेको भन्दै आफुहरुलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए । गोली चलाउनु अघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए । उनीहरुले सेनामाथी नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो । जिल्ला कारागार धादिङमा २४३ कैदीबन्दी छन् । त्यसमध्ये महिला ९ जना छन् ।

  • सडक सरसफाइमा दिनभरी खटिए ‘जेनजी’

    सडक सरसफाइमा दिनभरी खटिए ‘जेनजी’

    २५ भदौ, काठमाडौं । परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आज विगत दुई दिनभन्दा अलिक फरक देखियो । प्रदर्शनमा उत्रिएका जेनजी आज कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिएका छन् । उनीहरू हुलकाहुल सरसफाइ अभियानमा सक्रिय छन् ।

    उनीहरु बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका भेटिए । केन्द्रीय प्रशासनिक केन्द्र सिंदरबार वरिपरि उल्लेख्य सङ्ख्याका जेनजी सरसफाइ गरिरहेका छन् । सिंहदरबारको चारवटै तर्फका गेट, सर्वोच्च अदालत परिसर, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथलीलगायत क्षेत्रमा जेनजीले सरसफाइ गरिरहेका छन् । सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन् ।

    माइतीघर मण्डलासँगैको सरकारी वकिलको कार्यालय परिसरमा सरसफाइ गरिरहेका दानसिंह धामीले विभिन्न समूहमा जेनजीले सडकदेखि टोलटोलसम्म सरसफाइ अभियान चलाइएको बताए । उनका अनुसार सिंहदरबार परिसरमा मात्र चारभन्दा बढी समूहमा सरसफाइ भइरहेको छ । यस्तै केशव सिलवाल, केपी खनाललगायत जेनजीले सरसफाइ अभियानको नेतृत्व गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडीसहित सरसफाइबाट सङ्कलित फोहर सङ्कलन गरिरहेका छन् ।

    सडक, सडक किनार र सार्वजनिक निकायका गेट आसपस छरिएका प्लास्टिक, कागज, पानीका बोतललगायत फोहर उनीहरूले उठाइरहेका छन् । साथै उनीहरुले सडकमा जलाइएका गाडी, मोटरसाइकलका टायर, फलामे उपकरण आदि पन्छाइरहेका छन् । सर्वोच्च अदालत परिससरमा सरसफाइ गर्दै गरेका खगेन्द्र रोकायाले सिंहदरबार परिसरमा आफ्नो समूहले सरसफाइ गरिरहेको बताए । जेनजीले आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएका फोहरको सरसफाइ गरेका हुन् । जेनजीले नयाँ बानेश्वर, मीनभवनलगायत क्षेत्रको सडकमा पनि सरसफाइ गरेका छन् ।

  • त्रिभुवन विमानस्थल खुल्यो

    त्रिभुवन विमानस्थल खुल्यो

    २५ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलबारदेखि बन्द रहेको अन्तरराष्ट्रिय विमानस्थल तत्काल लागू हुनेगरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले सार्वजनिक सूचना जारी गर्दै विषम परिस्थितिका कारण मङ्गलबारबाट बन्द गरिएका हवाई उडानलाई आज बसेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा समितिको निर्णयानुसार पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो ।

    हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत अनुरोध गरिएको छ । यसैबीच निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बिहीबार बिहानदेखि उडान सञ्चालन हुने जानकारी गराएको छ । यती एयरलाइन्सले समेत सोही आह्वान गरेको छ ।

  • सिंहदरबार : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटियो

    सिंहदरबार : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटियो

    २५ भदौ, काठमाडौं । भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएसँगै मङ्गलबार प्रदर्शनले उग्ररूप लिएको थियो । त्यसक्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति भएको छ । गोरखा भूकम्पपछि भर्खरै पुनःनिर्माण सम्पन्न भएको सिंहदरबारस्थित पुरातात्विक महत्त्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश भाग जलेर नष्ट भएका छन् ।

    आगजनी भएको २४ घन्टासम्म पनि सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका भवनबाट धुँवा आइरहेको छ । गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बढी प्रभावित भएको देखिन्छ । यस्तै सिंहदरबारस्थित नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालय पूर्णरूपमा क्षति भएको छ ।

    सिंहदरबाभित्र पार्किङ गरिएका करिब एक हजार सवारी साधनमा आगजनी र तोडफोड भएको छ । आन्दोलनकारीले मन्त्रालयका कम्प्युटर, प्रिन्टर, ल्यापटप, कुर्सीलगायत महत्त्वपूर्ण सामग्री तोडफोड र लुटपाटसमेत भएको सम्बन्धित मन्त्रालयका कर्मचारीले जनाएका छन् । यसबाट राज्यलाई अरर्बौको क्षति भएको अनुमान गर्न सकिन्छ । प्रदर्शनकारीले राष्ट्रिय अनुसन्धान विभाग, केन्द्रीय क्यान्टिन, दूग्ध विकास संस्थानको बिक्री केन्द्रमा पनि लुटपाट, तोडफोड र आगजनी गरेका छन् । आन्दोलनकारीबाट भएको आजगनीबाट मन्त्रालयमा रहेका राज्य सञ्चालनसम्बन्धी महत्वपूर्ण कागजात छरपस्ट भएको देखिन्छ ।

    प्रदर्शनकारीको आक्रमणको निशानामा परेको प्रमुख प्रशासकीय केन्द्र आज सुनसान प्रायः रह्यो । सिंहदरबार परिसर बाहिर रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि आगजनीबाट पूर्णरुपमा ध्वस्त भएको छ । त्यहाँ आगजनीबाट कार्यालय भवन, आवास, अत्यावश्यक रासन, करिब चार सयभन्दा बढी सवारी साधन र करिब दुई लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जलेर पूर्णरूपमा नष्ट भएको कार्यालयले जनाएको छ । आगजनीबाट मेट्रो ट्राफिक एफएम स्टेसन र भवनमा पनि ठूलो क्षति पुगेको देखिन्छ ।

    यसैगरी मुलुकको न्याय प्रशासनको प्रमुख केन्द्र ‘सर्वोच्च अदालत’ पनि आगजनीबाट क्षति भएको छ । आगलागीबाट त्यहाँ रहेका महत्त्वपूर्ण अभिलेख, फैसला, मिसिल र कागजातलगायत उपकरण र भौतिक संरचना नष्ट भएको अदालत प्रशासनले जनाएको छ । आगजनी नियन्त्रण र क्षति भएका भौतिक संरचनाको व्यवस्थापन तथा सरसफाइको काम सुरु भएको छ । जेनजी पुस्ताको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज आन्दोलनका क्रममा भएको फोहर व्यवस्थापनको काममा स्वतःस्फूर्त रूपमा नागरिक पनि खटिइएका छन् ।

  • जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

    जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

    २५ भदौ, काठमाडौं । मंगलबार रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएका छन् । बुधबार विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानबाट सेनाले २७ जनालाई पक्राउ गरेको छ । विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।

    ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको समेत बताइएको छ । काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार बरामद गरिएको छ । काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।

  • सेना सडकमा खटिएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

    सेना सडकमा खटिएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

    २५ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ । हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।

  • पोखराका अधिकांश कार्यालय जलेर नष्ट, ९ सय कैदी भागे

    पोखराका अधिकांश कार्यालय जलेर नष्ट, ९ सय कैदी भागे

    २५ भदौ, कास्की । जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा आज अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए । प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेश सभाको कार्यालय, मुख्यमन्त्रीको कार्यालय तथा निवास, महानगरपालिकाका विभिन्न वडा कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् ।

    आन्दोलनकारीकै सहयोगमा कास्की कारागारमा भएका सबै कैदीबन्दी भागेका छन् । उक्त कारागारमा करिब ९०० कैदीबन्दी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । त्यस्तै प्रदर्शनकारीले यहाँस्थित भाटभटेनी सुपर मार्केट, विभिन्न सरकारी गाडीका साथै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको निवास, सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको निवासलगायतमा पनि आगजनी एवमं तोडफोड गरेका छन् ।

  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

    २५ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।

    देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरु सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराए ।


    सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरुमाथि भएको दुःखद् घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यसैबीच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरहरुबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ ।

  • काठमाडौंमा लुटपाटमा संलग्न २६ जना पक्राउ

    काठमाडौंमा लुटपाटमा संलग्न २६ जना पक्राउ

    २५ भदौ, काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।

  • अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

    अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

    २५ भदौ, काठमाडौं । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
    सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।

    देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “केही उछृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ–आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरिन्छ ।”

  • आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सेनाको आग्रह

    आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सेनाको आग्रह

    २४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’ उनले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गरेका छन्।

    प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताएका छन्। उनले भने, ‘नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ।’

    सिग्देलले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा सरोकारवालाको सुरक्षामा प्रतिकूल असर नपार्ने कुरामा जोड दिए। उनले मातृभूमि र देशको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आग्रह गरेका छन्।

  • अब सडकमा सेनाको नेतृत्वमा खटिने भयो सुरक्षा संयन्त्र, रोकिएला लुटपाट ?

    अब सडकमा सेनाको नेतृत्वमा खटिने भयो सुरक्षा संयन्त्र, रोकिएला लुटपाट ?

    २४ भदौ, काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ ।

    सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम’ गरेको भनिएको छ । यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ । ‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । आज देशभर जेन जी समूहको आन्दोलनको नाममा अराजक व्यक्तिहरुले अधिक लुटपाट मच्याएका छन् । यसको स्वयमः जेन जी समूहले समेत आलोचना गरेको छ ।

  • राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

    राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

    २४ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी एवं नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले आज विज्ञप्तिमार्फत लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरे ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृती भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मूलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

  • नेपाली सेनाको अपिल-शान्ती कायम गरौं

    नेपाली सेनाको अपिल-शान्ती कायम गरौं

    २४ भदौ, काठमाडौं । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ । सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ । देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् ।

    यसैबीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । यसबीचमा सेनाले जारी गरेको यो विज्ञप्तिलाई चासोका साथ हेरिएको छ । ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ नेपाली सेनाले भनेको छ ।

    सेनाले अघि भनेको छ, ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।

  • आज राज्यका कुन कुन भवन जले ?

    आज राज्यका कुन कुन भवन जले ?

    २४ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् । काठमाडौँ बानेश्वरसहितका स्थानमा जेनजी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् । सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरस्थित सङ्घीय संसद् आगलागीबाट ध्वस्त भएको छ ।

    प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी गरिएको छ ।

    एमालेका नेता गोकुल बास्कोटा, महेश्व बस्नेत, महेश बर्तौलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । आन्दोलनकारीले केही नेताहरूलाई पनि हातपात गरेको सूचना प्राप्त भएको छ । देशका मुख्य शहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीबाट क्षति पुर्‍याइएको छ ।
    जेन जी पुस्ताको प्रदर्शनीमा प्रहरी कारवाहीमा होनाहार १९ युवा मारिएपछि प्रदर्शनीले उग्ररुप धारणा गरेको थियो ।

  • सामाजिक संजालमा बालेनको पटक पटक आग्रह, तर रोकिएन सार्वजनिक सम्पत्तिमाथि आक्रमण

    सामाजिक संजालमा बालेनको पटक पटक आग्रह, तर रोकिएन सार्वजनिक सम्पत्तिमाथि आक्रमण

    २४ भदौ, काठमाडौं । आज जेन जी पुस्ताका नाममा काठमाडौंमा उग्र आन्दोलनसहित तोडफोड गरिएको छ । सो आक्रमण रोक्न काठमाडौंका मेयर बालेन साहले पटक पटक आह्वान गरेका छन् । तर, सार्वजनिक सम्पत्तिमाथिको आक्रमण रोकिएको छैन ।

    खासगरी नेपालीका महत्वपूर्ण तथ्यांकहरु रहेका सरकारी कार्यालयहरुमा जेनजीले आक्रमण गरी ठूलो क्षति गरेका छन् । अहिले सिंहदरबारमा भयानक आगो लागिरहेको छ । २०७२ सालको भूकम्पले भत्काएको सिहंदरबारको प्रधानमन्त्री कार्यालय दुई वर्ष अगाडी मात्र पुनर्निर्माण गरिएको थियो । अहिले सो कार्यालयका कोठा कोठा जलिरहेका छन् । तर, सडकमा उग्रता देखाइरहेका युवाहरुको जमात थामिएको छैन ।

  • सिंहदरबार र राष्ट्रपति भवनमा जेन जीको आक्रमण

    सिंहदरबार र राष्ट्रपति भवनमा जेन जीको आक्रमण

    २४ भदौ, काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।

    संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका छन् । अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । अहिले काठमाडौंका मूख्यमूख्य सबै नेताका घर जलेका छन् । नेताहरुमाथि कुटपिट गरिएको छ ।

  • सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

    सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

    २४ भदौ, काठमाडौं । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए । आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् ।

    त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् । महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत, जिल्ला अदालत काठमाडौँका मुद्दाका काजजात बाहिर निकालेर समेत आगजनी गरिएको छ । आज प्रदर्शनकारीले राज्यका तीन वटै अंगका कार्यालयमा भयानक आक्रमण गरेका छन् । उनीहरुले सोमबार राज्यले मारेका १९ सहकर्मीको बदलामा आजको हिंसात्मक आन्दोलन गरेका हुन् ।

  • देशैभर सबैजसो नेताका घरमा आगलागी र आगजनी

    देशैभर सबैजसो नेताका घरमा आगलागी र आगजनी

    २४ भदौ, काठमाडौं । जेन जी प्रदर्शनीकारीहरुले मंगलबार नेता केन्द्रित आक्रमण गरेका छन् । उनीहरुले सबैजसो दलका मूख्य नेताका घरमा आगजनी र आगो लगाइदिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा आगो लगाइएको छ । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा समेत आगो लगाइएको छ । सो क्रममा देउवा दम्पत्तिमाथि समेत कुटपिट भएको छ । भैसेपाटीस्थित मन्त्री निवासमा आगजनी गरिएको छ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको घरमा आगो लगाइएको छ ।

    पूर्वप्रधानमन्त्री प्रचण्ड निवासमा ढुंगामुडा गरिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा समेत आगजनी भएको छ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको घरमा समेत तोडफोड भएको छ । सबै एमाले नेताहरुको घरमा आक्रमण गरिएको छ । प्रचण्डपुत्री गंगा दाहालको घरमा समेत आगो लगाइएको छ । हिल्टन होटेलमा आगो लगाइएको छ । गगन थापाको घरमा आगो लगाइएको छ ।

    गोकुल बास्कोटाको घर जलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। नेपाल गुणस्तर तथा नापतौल विभागमा आगजनी भएको छ । प्रदर्शनकारीले विभागमा आगजनी गरेका हुन् ।

  • देउवा दम्पत्तिमाथि जेन-जी आन्दोलनकारीले गरे हातपात, रक्ताम्य अवस्थामा फेला

    देउवा दम्पत्तिमाथि जेन-जी आन्दोलनकारीले गरे हातपात, रक्ताम्य अवस्थामा फेला

    २४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती माथि कुटपिट भएको छ । उग्र प्रदर्शमा उत्रिएका जेन जी प्रदर्शनकारीले देउवा र उनकी पत्नी आरजु राणा देउवा माथि कुटपिट गरेको पुष्टी भएको छ । यो भिडियो समेत समाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

    जसमा देउवा दम्पत्ति रक्ताम्य अवस्थामा देखिएका छन् । प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

  • प्रदर्शनकारीले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा लगाए आगो

    प्रदर्शनकारीले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा लगाए आगो

    २४ भदौ, जेन जी प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनमा आगो लगाएका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए । प्रदर्शनीकारीले आजै सर्वोच्च अदालत र जिल्ला सरकारी वकिलको कार्यालयमा समेत आगो लगाएका छन् । नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित कार्यालयमा समेत आगो लगाइएको छ । आज सरकारी कार्यालय र नेताका घर बढी केन्द्रित छन् ।

  • रास्वपा सभापति लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

    रास्वपा सभापति लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

    २४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा भएका छन् । ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले राससलाई जानकारी दिए । सहकारी ठगीसम्बन्धी अभियोगमा उहाँ सो कारागारमा थुनामा थिए ।

  • विमानस्थल पूर्ण रुपमा बन्द

    विमानस्थल पूर्ण रुपमा बन्द

    २४ भदौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आज विमानस्थल बन्द गरेको हो । विमानस्थललाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ । वायुसेवा कम्पनीहरुले आजका सबै उडान रद्द गरेको बताएका छन् ।