Category: समाचार

  • जाजरकोटमा आज पनि भूकम्पको धक्का

    जाजरकोटमा आज पनि भूकम्पको धक्का

    २ वैशाख, काठमाडौं । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो । कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।

    केन्द्रका अनुसार गत चैत २१ गते साँझ ८ बजेतिर सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो । गत चैत २० गते दार्चुलामा चार म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • एमालेले सात कम्युनिष्ट योद्धालाई सम्मान गर्ने

    एमालेले सात कम्युनिष्ट योद्धालाई सम्मान गर्ने

    १ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातजना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार सम्मान गरिने व्यक्तित्वमा क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत )दाङ), हरिचरण शिवाकोटी (झापा) छन् । त्यसैगरी बैठकले तत्कालीन नेकपा (माले) र कोर्डिनेशन केन्द्र पार्टी निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको पुस्तक “सेल्टर” सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

    पुस्तकमा तत्कालीन अवस्थामा पार्टी निर्माण गर्दा नेता जनताको घरमा कसरी आश्रय लिए, पार्टी महाधिवेशन गर्ने त्यो वेला भूमिगत समयमा नेताहरुले कसरी काम गरे, कार्यकर्ताले कसरी नेताहरुलाई सुरक्षा दिए भन्ने सन्र्दभमा समेटिने जनाइएको छ ।

    उपमहासचिव ज्ञवालीले सरकार परिवर्तनको कुरा गर्नु भनेको सत्ताप्रतिको आशक्ति मात्र भएको बताए । “अहिले सरकार परिवर्तन न कतैबाट पनि सम्भव, न त कुनै सान्र्दभिकता र न त कुनै औचित्य रहेको छ”, उनले भने । उनले सरकारले अझ राम्रो काम गर्न जरुरी रहेको बताए ।

    “केही कमजोरीलाई आधार बनाएर एक थरिले प्रणाली नै उल्टाउने कोसिस गर्ने र अर्का थरिको ध्यान केवल सरकार परिवर्तनमा जाने । यी कुरा अस्थिरता निम्त्याउने प्रयत्न हो । यो सफल हुँदैन भन्ने मान्यता पार्टीको रहेको छ”, उनले भने । बैठकले लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा बैशाख ११ गते ‘युथ सेलिब्रेशन’ भव्य रूपमा मनाउने निर्णय गरेको छ ।

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुलुकको समसामयिक विकसित राजनीतिक घटनाक्रमका बारेमा संक्षिप्त जानकारी गराए । सो विषयमा सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

  • अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छ : राष्ट्रपति

    अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छ : राष्ट्रपति

    १ वैशाख, भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्ने बताएका छन् । नगरकोटको बतासे डाँडामा आज आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताए ।

    “पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हुन् । आर्थिक वृद्धिका लागि यी क्षेत्रमा विद्यमान समस्या समाधान गरेर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो । रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्द्धन गरी औद्योगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरूरी छ”, राष्ट्रपति पौडेलले भने, “न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैले भूमिका खेलौँ ।”

    सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रूपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने आवश्यकता आँैल्याउँदै राष्ट्रपति पौडेलले यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको बताए । उनले भने, “पर्यटकीय उपजहरूको व्यवसायीकरण गरी यसबाट प्राप्त लाभको समन्यायिक वितरण सुनिश्चित गर्न आवश्यक छ । पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्दछ ।”

    राष्ट्रपति पौडेलले काठमाडौँको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेका लागि नगरकोट नजिकको रोजाइस्थल भएको उल्लेख गर्दै यो क्षेत्र संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि गौरव भएको उल्लेख गरे । “जसले देश विदेशमा चिनाउन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योगदान दिएको छ । यसलाई अझै विकसित, आधुनिक र सुविधा सम्पन्न बनाउन स्थानीय बासिन्दा, उद्यमी, पर्यटन व्यवसायीसहित सङ्घ, प्रदेश र विशेषत यहाँका चारवटै नगरपालिकाको सहकार्य बढी अपेक्षित रहेको मैले ठानेको छु”, उनले भने ।
    राष्ट्रपति पौडेलले उत्तरतर्फका सुन्दर हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्त एवं सुन्दर काठमाडौँ उपत्यका अवलोकनको लागि स्वदेशी तथा विदेशी पर्यटकबीच नगरकोटको महिमा अधिक रहेको उल्लेख गरे । “यसको निकटमा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, पौराणिक प्रसङ्ग जोडिएको महादेव पोखरी, मञ्जुश्री गुफा, ऐतिहासिक भङ्गेरी र पुतली दरबार, शङ्खरापुर नगरपालिकाको प्रसिद्ध शालीनदी तथा बज्रयोगिनी माईको मन्दिर एवं साँखु बजारको ऐतिहासिक, पुरातात्विक सम्पदासँगै यसलाई केन्द्रमा राखेर विस्तार हुँदै गएको पदयात्रा मार्गले यहाँको पर्यटकीय गतिविधिलाई बढाएको छ”, उनले भने ।

    नगरकोटलाई मूलविन्दु बनाएर चारवटै नगरपालिकाले आ–आफ्नो क्षेत्रका सम्पदा एवं ऐतिहासिकस्थलको प्रवर्द्धन गर्न अगाडि बढ्नु प्रशंसनीय रहेको भन्दै राष्ट्रपति पौडेलले पर्यटन पूर्वाधारको विस्तार र सहज आवागमनका लागि सडकको स्तरोन्नति गर्नेतर्फ ध्यान दिन जरूरी रहेको बताए । उनले नगरकोट भ्रमण वर्षले विकासको प्रमुख आधारशीला पर्यटन क्षेत्रबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे ।

    राष्ट्रपति पौडेलले नयाँ वष–२०८२ को अवसरमा जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणको अभियानमाा जुट्न यो दिनले सबैलाई प्रेरणा देओस् भन्ने कामना गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोटको ऐतिहासिक, सम्पदा, पर्यटकीय स्थललगायतको महत्व अधिक रहेको चर्चा गर्दै भ्रमण वर्षले यस क्षेत्रसँग जोडिएका चार पालिकसँगै धुलिखेल, पनौती, नमोबुद्ध, शिवपुरी, चन्द्रागिरिसम्म पर्यटनको विकास हुने बताए । महाभूकम्प र कोेरोना महामारीपछि थला परेको पर्यटन क्षेत्र पछिल्लो समय सुधारोन्मुख रहेको भन्दै उनले तीन तहलाई चलायमान बनाउँदै आर्थिक वृद्धि र लगानीमैत्री वातावरण बनाउन सरकार अगाडि बढिरहेको बताए ।


    प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नगरकोट हिमाल, सूर्योदय, सूर्यास्त हेर्न मात्रै नभई ‘स्काई’ पर्यटन र काभ्रेमा जलपर्यटन सुरु गर्न लागिएको बताए । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले नगरकोटमा पर्यटक भित्र्याउन भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने बताए ।

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटलाई केन्द्रविन्दु बनाएर सुरु भएको भ्रमण वर्षले यहाँको मात्र नभई देशभरकै आर्थिक विकासलाई चलायमान बनाउने धारणा राखे । उनले नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताए । मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको भ्रमण वर्षले यहाँको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

  • बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु

    बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु

    १ वैशाख, नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जले आजदेखि जङ्गल सफारी सुरु गरेको छ । निकुञ्जको पश्चिम उत्तर क्षेत्र खडकवार, हात्तीसारबाट सुरु भएको जङ्गल सफारी तीन घण्टामा अगैयासम्म पुगेर सकिएको बाँके राष्ट्रिय निकुञ्जका रेञ्जर सुपुष्प रेग्मीले जानकारी दिए ।

    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउने विषय प्राथमिकतामा राखेर सफारी गरिएको बताए ।“यसको मुख्य उद्देश्य पर्यापर्यटनको विकास र निकुञ्जमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्दै जनतालाई पर्यापर्यटनसँग जोड्न खोजिएको हो”, उनले भने ।


    निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले जङ्गल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो ,बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गरिएको बताए । निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन जङ्गल सफारी कार्यक्रमले सघाउ पुग्ने उल्लेख गर्दै रेग्मीले वन सप्ताहअन्तर्गत मङ्गलबार पनि जङ्गल सफारीको कार्यक्रम रहेको बताए । सफारी कार्यक्रममा राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका लोकेन्द्र खत्री, नेचर गाइडलगायत सफारीमा सहभागी थिए ।

    विसं २०६७ मा बाघ संरक्षणका लागि स्थापना गरिएको सो निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको थियो । जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप निकुञ्जमा विभिन्न काम हुँदै आएका छन् ।

    करिब पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी जनावार र चराका विभिन्न प्रजाति पाइन्छन् । मुख्य गरेर बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति एक विशेषताका रुपमा देखिएको निकुञ्जको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटक पनि निकुञ्जमा आउन थालेका छन् ।

  • जाजरकोट भूकम्प : ३४ हजार निजी आवासको क्षति आँकलन

    जाजरकोट भूकम्प : ३४ हजार निजी आवासको क्षति आँकलन

    १ वैशाख, काठमाडौं । यही चैत मसान्तसम्ममा जाजरकोट भूकम्पबाट प्रभावित निजी आवासको क्षति आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आँकलन गरिएको विवरण आफ्नो प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीले अझै क्षति आँकलनको काम भने जारी रहेको बताए । अब नयाँ वर्षसँगै जाजरकोट भूकम्पबाट क्षतिग्रस्त थप निजी आवासको क्षति आँकलनका लागि प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको उनले जानकारी दिए । यसका लागि हालै मात्र प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कुल अफ इञ्जिनियरिङका डिन सहप्राध्यापक डा राजन सुवालले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित विश्वविद्यालयले २८ हजार ३५७ परिवारको निजी घरको क्षति आँकलनका लागि ८५ जना प्राविधिक बाँकी स्थानीय तहहरूमा खटाउने छ । यसअघि, विस्तृत क्षति आँकलनका लागि प्राधिकरण र पुल्चोक इञ्जिनियरिङ क्याम्पसबीच सम्झौता भई विस्तृत क्षति आँकलन भएको थियो ।

  • प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा छलाङ

    प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा छलाङ

    १ वैशाख, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृतिमा नेपालले छलाङ मारेको देखिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को ९ महिना (साउन–चैत)मा ५८ अर्ब रुपैयाँ एफडीआई स्वीकृत भएको छ उद्योग विभागले जनाएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २७ अर्ब ८८ करोडले बढी हो । यस वर्ष चैत मसान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार ५ सय रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । अघिल्लो वर्ष चैत मसान्तसम्म ३० अर्ब ९ करोड ९५ लाख १७ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको थियो । विभागका अनुसार चैत मसान्तसम्म ‘अप्रुभल रुट’ बाट ५५ अर्ब ७ करोड रुपैयाँ र ‘अटोमेटिक रुट’ बाट २ अर्ब ८९ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।

    चैत २०८१ मा मात्र १३ अर्ब १७ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । गत वर्ष चैतमा ९६ करोड रुपैयाँ बराबर मात्र एफडीआई स्वीकृत भएको विभागको तथ्यांक छ । तथ्यांक अनुसार यस वर्ष ९ महिनामा कुल ४ सय ८० उद्योग दर्ता भएका छन् । तीमध्ये चैतमा मात्र ५३ उद्योग दर्ता भएको देखिएको छ । तीमध्ये अटोमेटिक रुटबाट २ सय २४ उद्योग दर्ता भएको आँकडा छ । यस वर्ष फागुन र चैतमा अधिक एफडीआई भित्रिएको तथ्यांक छ ।

    यस वर्ष एफडीआई स्वीकृतिको ट्रेन्ड हेर्दा साना उद्योगमा लगानी केन्द्रित देखिन्छ । चैत मसान्तसम्म कुल ४ सय ६८ साना उद्योग दर्ता भएका छन् । मध्यमस्तरीय उद्योग ८ वटा दर्ता भएको देखिएको छ । ठूला उद्योग भने ४ वटा मात्र दर्ता भएको विभागले जनाएको छ । चैतमा दर्ता भएका सबै ५३ उद्योग साना प्रकृतिका छन् । एफडीआई स्वीकृत भएका उद्योगमध्ये लगानी पर्यटन क्षेत्र र सूचना प्रविधि क्षेत्रमा अधिक केन्द्रित देखिएको छ । उद्योग विभागका अनुसार पर्यटनसँग सम्बन्धित १ सय ८९ उद्योग दर्ता भएका छन् । जुन कुल दर्ता उद्योगको ३९ प्रतिशत हो ।

    त्यस्तै सूचना प्रविधि ९आईटी० सँग सम्बन्धित १ सय ८५ उद्योग दर्ता छन् । जुन ३९ प्रतिशत हो । यसबाहेक सेवा क्षेत्रमा ६३ उद्योग दर्ता भएको देखिन्छ । यो १३ प्रतिशत हिस्सा हो । उत्पादनसँग सम्बन्धित ३४ उद्योग दर्ता भएका छन् । यो ७ प्रतिशत हो । यसबाहेक कृषिमा ७, ऊर्जा १ र पूर्वाधारमा १ उद्योग दर्ता भएको विभागले जनाएको छ । रकमका हिसाबले हेर्दा सबैभन्दा धेरै सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड र पर्यटनमा १८ अर्ब ३८ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता रहेको समेत देखिएको छ ।

    आईटीमा संख्यात्मक रूपमा धेरै उद्योग दर्ता देखिए पनि लगानी प्रतिबद्धता भने १ अर्ब ११ करोड रुपैयाँमात्र रहेको देखिन्छ । यस वर्ष बिजनेस भिसा लिनेको संख्यामा समेत बढोत्तरी भएको देखिन्छ । चैतसम्म अघिल्लो वर्ष १ हजार ७ सय २० जनाले बिजनेस भिसा लिएकोमा यस वर्ष २ हजार ५ सय ५५ जनाले यस्तो भिसा लिएको देखिएको छ ।

  • निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

    निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

    १ वैशाख, वीरगञ्ज । हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यू)आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् ।

    नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको रात्रि बजार पनि निषेधआज्ञाको कारणले शनिबार र आइतबार दुई दिन सञ्चालन नपाएपछि स्थगित गरिएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साकाका अध्यक्ष हरि पन्तले वीरगञ्जमा उत्पन्न भएको विषम परिस्थितिको कारणले ‘बुकिङ’ भएका होटल पनि धमाधम खाली भएको जानकारी दिए ।


    ‘‘नयाँवर्ष मनाउन आएका भारतीय पाहुना पनि निषेधआज्ञाको कारणले होटल छाडेर फर्किएका छन्,’’ उनले भने, भने, ‘नयाँ वर्ष मनाउन आएका पाहुनापछि एकाएक छाडेर जाँदा यहाँको पर्यटन व्यवसायी झनै धरासायी हुने अवस्थामा पुगेको छ ।’’ अध्यक्ष पन्तले नेपाली नयाँ वर्षको ‘इभ’ तथा नयाँवर्षको दिन वीरगञ्जका होटल भारतीय पाहुना तथा स्वदेशी पर्यटकले भरिभराउ हुने जानकारी दिए । उनका अनुसार अहिले निषेधआज्ञा आदेशको कारणले कोही पनि व्यक्ति घरबाट निस्किन पाइरहेका छैनन् । नयाँ वर्षको पूर्वसन्ध्यामा निषेधआज्ञा चैत ३० गते बेलुका ६ः३० बजेदेखि चैत ३१ गते रातको १२ बजेसम्म निरन्तर रुपमा निषेधआज्ञा जारी भएको थियो ।

    उनले नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगञ्जका होटल ५५ प्रतिशत ‘अंकुपेन्सी’ भएको भए पनि अहिले पहुना होटल खाली गरेर छाडेर गएको दाबी गरे । वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारे होटल पनि सञ्चालनमा रहेका छन् । वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, सुरज होटल लगायतका रहेका छन् ।

    वीरगञ्ज बजार क्षेत्रमा मात्रै साना ठूला गरेर ८५ भन्दा धेरै होटल तथा लज रहेका छन् ।‘‘बन्द हड्तालको कारणले होटलमात्रै नभएर सबै खालका व्यापार व्यवसायमा प्रत्यक्ष असर पार्दै आइरहेका छन्,’’ उनले भने, ‘‘बन्द ,हड्ताल , निषेधाज्ञा लगायतका गतिविधि सधैँका लागि बन्द गर्नुपर्नेमा यस्तो गतिविधि हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित हुने गरेको छ ।’’

    एकातर्फ व्यापारिक तथा औद्योगिक सहरको छायाँ र अर्कोतर्फ पर्यटकीय गन्तव्यको प्रचारप्रसारको कमीको कारणले पनि वीरगञ्जमा अपेक्षाकृत पर्यटक भित्रिन सकिरहेका छैनन् । सीमावर्ती रक्सौल नाका हँुदै मासिक हजारौँको सङ्ख्यामा भारतीय पर्यटक नेपाल आइरहेका हुन्छन् ।

    आकर्षक गन्तव्यको अभावमा भारतीय पर्यटकलाई वीरगञ्ज आसपासको क्षेत्रमा रोक्न सकिएको छैन । जसले गर्दा यहाँको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्दै आइरहेको छ । भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले वीरगञ्जलाई केबल बाटोका रुपमा मात्रै प्रयोग गर्दै आइरहेका छन् । जसका कारणले वीरगञ्जको पर्यटन क्षेत्रले त्यसको लाभ उठाउन सकिरहेका छैनन् ।

    त्यही समस्यालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज नाका हँुदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई कम्तीमा पनि दुई रात पर्सा आसपासकै क्षेत्रमा बसोबास गर्ने वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिइरहेको जनाएको छ ।
    वीरगञ्जमा करिब १० अर्ब भन्दा धेरै लागतमा तारे तथा अन्य होटल सञ्चालनमा रहेका छन् ।

  • समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

    समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

    १ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् । नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास उनले व्यक्त गरेका छन् ।

    “नयाँ वर्षमा हामी नयाँ ऊर्जा नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गछौँ । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो ।’’

    प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहिनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ ।’’ प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रुपमा नभइ तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    मुलुकमा आज विकास केवल सपना नभइ यथार्थ बनिरहेका, यस बीचमा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री ओलीले युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमा बताएका छन् ।

    सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, “मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्दछ ।’’

  • सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति

    सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति

    १ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् । नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरे । “आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु”, उनले भनेका छन् ।

    शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उनले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।


    “हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिन्छौँ”, उनले भनेका छन्, “विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर संकल्पवद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा, नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन हो ।”

    राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जाने विश्वास व्यक्त गरेकाछन् । विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाई सुदृढ गर्दै लैजानु पर्नेमा उनले जोड दिए ।

    कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गर्न आग्रह गरेका छन् । “आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु”, जारी शुभकामना सन्देशमा भनिएको छ ।

  • पूर्वराजाले जारी गरे भिडियो सन्देश : तीनकुने घटनामा दुख व्यक्त

    पूर्वराजाले जारी गरे भिडियो सन्देश : तीनकुने घटनामा दुख व्यक्त

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने प्रतिक्रिया दिएका छन् । आइतबार नयाँ वर्षको अवसरमा भिडियोमार्फत एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उल्लेख गरेका छन् ।

    ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भनेका छन् । मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको उनले बताएका छन् ।

    ‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं,’ पूर्वराजा शाहले भनेका छन्, ‘नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ ।’ उनले तीनकुने घटनामा दुख व्यक्त गरेका छन् ।

  • ५ तस्वीरमा आइतबार नेपालका प्रमुख खबर

    ५ तस्वीरमा आइतबार नेपालका प्रमुख खबर

    ३१ चैत, काठमाडौं । २०८१ सालको अन्तिम दिन आइतबार नेपालमा सुनको भाऊले नयाँ कीर्तिमान बनायो । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विभिन्न जात्राहरु आयोजना गरिए । देशैभर मेला महोत्सवको माहोल छ । आज परराष्ट्र मन्त्रीसहित राजदूतहरु इलाममा पुगेर नेपाली पर्यटनको प्रवद्र्धन गरिरहेका छन् । वर्षा अझै् जारी रहँदा कृषकले राहत पाएका छन् । यी र यस्तै खबरबीच आजका प्रमुख तस्वीर समाचार…

    काठमाडौँ भृकुटीमण्डपमा नर्सरी व्यावसायी सङ्घ नेपालले आयोजना गरेको नेशनल हर्टिकल्चर एक्स्पो-२०८१ को अन्तिम दिन बिक्री स्टलमा राखेका फूललगाएत विभिन्न बिरुवा हेर्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/ रासस
    पाथीभरामा भक्तजनको घुइँचो ताप्लेजुङ, ३१ चैतः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा देखिएको दर्शनार्थीको घुइँचो । पछिल्लो समय पाथीभरामा आउने भक्तजनको सङ्ख्या बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तस्बिरः सन्तोष पुर्कुटी\रासस
    चर्दै गरेका याक सुनसरी, ३१ चैतः सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित मिल्के डाँडा वरपर चर्दै गरेका याक । तस्बिरः नवीन गड्तौला\रासस
    जनकपुरधामस्थित गंगासागर सरोवरको उत्तर–पूर्वी घाटबाट आइतबार देखिएको २०८१ सालको अन्तिम सूर्यास्त । तस्बिर: अमरेन्द्रकुमार यादव/रासस
  • युक्रेनको सुमीमा रुसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ८४ जना घाइते

    युक्रेनको सुमीमा रुसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ८४ जना घाइते

    ३१ चैत, काठमाडौं । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेको छ भने ८४ जना घाइते भएका छन् । सुमी सहर पछिल्ला केही सातादेखि लगातार रूसी आक्रमणको सामना गरिरहेको छ ।
    स्थानीय अधिकारीहरूले घाइतेहरूमा १० जना बालबालिका पनि रहेका जनाएका छन् । घटनास्थलमा उद्धारकर्मीहरूले भग्नावशेष हटाउने काम गरिरहेका छन् । केही सवारी साधनमा आगलागी भएको र सडकमा लासहरू देखिएको भिडियो सार्वजनिक गरिएको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमण ‘पाम सन्डे’ को दिन भएको भन्दै दुःख व्यक्त गरे । उनले युद्ध अन्त्यका लागि रुसमाथि अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताए । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों र अन्य युरोपेली नेताहरूले पनि यस आक्रमणको आलोचना गर्दै रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको बताएका छन् । यसअघि अप्रिलको सुरुमा पनि युक्रेनको क्रिभी रिह सहरमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको थियो ।

    रुसले हालै सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको दाबी गरेको छ । युद्धको सुरुआतमा पनि रुसले यही क्षेत्रबाट आक्रमण थालेको थियो तर पछि युक्रेनी सेनाले केही भागहरू फिर्ता लिएको थियो । अहिलेसम्म रुसले सुमीमा भएको यो आक्रमणबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।

  • सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाकै एक लाख ८६ हजार

    सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाकै एक लाख ८६ हजार

    ३१ चैत, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा रु एक हजार बढेको हो । आज प्रतितोला चाँदीमा रु ५५ वृद्धि भएको छ । आज एक तोला चाँदी एक हजार ९६० मा खरिदबिक्री हुनेछ ।

  • नगरकोट भ्रमण वर्ष भोलिदेखि

    नगरकोट भ्रमण वर्ष भोलिदेखि

    ३१ चैत, काठमाडौं । नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रचारप्रसार गर्ने उद्देश्यले भोलिदेखि ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुँदैछ । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ नगरकोटको ‘बतासेडाँडा’ मा हुनेछ ।

    भ्रमण वर्षभरि चल्ने र सो क्रममा एक लाख अन्तरराष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा नगरकोट भ्रमण वर्ष आयोजना गरिएको हो । भ्रमण वर्षको प्रवद्र्धकको रुपमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड छन् ।

    भ्रमण वर्ष सफल पार्न मण्डन देउपुरका नगरप्रमुख टोपबहादुर वाइबाको संयोजकत्वमा चाँगुनारायणका नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, शङ्खरापुरका नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, मण्डन देउपुरका उपप्रमुख विष्णुमणि नेपाल र चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत एक हजार १०१ सदस्यीय संयुक्त मूल आयोजक समिति र विभिन्न नौ वटा उपसमिति गठन भएका छन् ।

    नगरकोटसँग चारवटै नगरपालिकाको पर्यापर्यटन, कृषि पर्यटन, त्यस क्षेत्रका जातजाति, वेशभूषा, जात्रा, पर्व, सांस्कृतिक पहिचानलगायतको उजागर गर्र्दै होमस्टेको विस्तार गर्ने गरी भ्रमण वर्ष मनाइने चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले राससलाई जानकारी दिए ।

  • परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

    परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

    ३१ चैत, इलाम । नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आज अपराह्न कन्याम आइपुगेका हुन् । परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गरेका हुन् ।

    टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पु¥याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो । परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापानका राजदूत छन् ।

  • चीनको नयाँ उपलब्धि : विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

    चीनको नयाँ उपलब्धि : विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

    काठमाडौं । चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ । यस ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगमको अन्तर्गतमा चिनियाँ विज्ञान अकादमी तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा गरेको हो ।

    यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरणहरू जडान गरिएका छन् । कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर श्री हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ । यो ड्रोनको तौल ६०० किलोग्राम छ र यसले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ ।

    यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । यसले गर्दा बिपद् वा महामारीको बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिनेछ । हुआङले भने, “हामीले मेडिकल उपकरण, ड्रोन प्रविधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत चीनको स्मार्ट आपतकालीन उद्धार क्षमतामा ठूलो सुधार ल्याएका छौं ।”

  • वर्षान्त २०८१ : होटलमा लगानी ओइरिएको वर्ष

    वर्षान्त २०८१ : होटलमा लगानी ओइरिएको वर्ष

    सीबी अधिकारी\रासस
    ३१ चैत, काठमाडौं । गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ । त्यसअघि गत साउनमा काठमाडौँकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले रु आठ अर्ब ३५ करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएको हो ।

    साथै यही चैतको अन्तिमतिर पोखराको लेकसाइडमा टेम्पल बेल बुटिक होटल एन्ड स्पा प्रालि सञ्चालनमा आयो । पर्यटन व्यवसायी विश्वराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले रु एक अर्ब २५ करोड लगानीमा सञ्चालन भएको हो । साथै पछिल्लो समय सिद्धार्थ हस्पिटालिटीले पनि चेन होटलका रुपमा आक्रामक व्यापार विस्तार गरिरहेको छ । यस वर्ष सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा तनहुँको दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ ।

    सिद्धार्थले केही समयअघि बुटवलमा सिद्धार्थ कटेज सञ्चालनमा ल्याएको थियो भने धनगढीमा पाँचतारे होटल निर्माण सुरु गरेको छ । सिद्धार्थले व्यवसाय विस्तारलाई आक्रमक ढङ्गले विस्तार गर्दै लगेको र छिट्टै अन्य स्थानमा पनि होटल स्थापना गर्नेगरी काम भइरहेको जनाएको छ । त्यसैगरी नयाँ वर्षको सुरुआत अर्थात् वैशाख १ गतेदेखि भरतपुरमा सेन्ट्रल प्लाम होटल र साराङ वाइल्डलाइफ स्याङचुरी मेगौलीमार्फत पनि सेवा विस्तार गर्दैछ ।

    सङ्घीय राजधानी काठमाडौँमा मात्र होइन देशका विभिन्न सहरमा पाँचतारेदेखि पर्यटकस्तरीय होटल सञ्चालनमा आउने क्रम यस वर्ष पनि जारी रह्यो । त्यसमा पनि विदेशी चेन होटलका साथै स्वदेशी कम्पनीहरूले पनि होटल व्यवसाय विस्तारलाई निरन्तरता दिएका छन् ।

    साथै गत पुसमा गुण समूहले रु ६ अर्ब लगानीमा होटल रोयल टुलिप सञ्चालनमा ल्याएको छ भने गत माघमा गौशाला पिंगलास्थानमा रु एक अर्ब ५० करोड लगानीमा चार तारे स्तरको होटल वेस्ट वेस्टर्न प्लस काठमाडौँ सञ्चालनमा आइसकेको छ । त्यसैगरी शेष घलेको निर्माणाधीन होटल यस वर्ष पनि सञ्चालनमा आउन सकेन । हाल उक्त होटलको लगानी रु १२ अर्ब पुगिसकेको जानकारहरु बताउँछन् ।


    होटल सङ्घ नेपाल (हान)का अनुसार पछिल्ला केही वर्षयता होटलमा लगानी ओइरिएको छ, जुन वर्ष २०८१ मा पनि जारी रह्यो । हानका अनुसार हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्नेगरी होटल निर्माण भइसकेका छन् । होटलमा खर्बौँ रुपैयाँ लगानी भए पनि त्यसको अपेक्षित प्रतिफल भने प्राप्त नभएको व्यवसायीहरूको गुनासो छ । हानका अध्यक्ष विनायक शाहले खर्बौँ लगानी रहेको होटलमा ३५ लाख पर्यटक धान्ने पूर्वाधार भए पनि जम्मा एकतिहाइ मात्र उपयोग भएको बताउँछन् ।

    “होटलहरू बनिरहेका छन्, तर अपेक्षाकृत लाभ भने लिन सकिएको छैन”, उनले भने । उनका अनुसार लगानीका हिसाबले राम्रो वर्ष भए पनि प्रतिफल भने कम आएको छ । “एकातिर एकपछि अर्को गर्दै अन्तरराष्ट्रिय चेन होटल आउने क्रम जारी छ, विश्वप्रसिद्ध चेन होटल आउँदा नेपालबारे अन्तरराष्ट्रिय जगत्मा सकारात्मक सन्देश प्रवाह हुन्छ”, उनले भने ।
    थपिदैँ अन्तरराष्ट्रिय चेन होटल

    होटल सङ्घका अनुसार यो वर्ष मात्र झन्डै एक दर्जन पाँचतारे र चेन होटल सञ्चालनमा आए । अझै आधा दर्जन पाइप लाइनमा छन् । पछिल्लो एक दशकमा मेरियट, लेमनट्री, रमादा, दूसित थानी, सिन्तामणि, प्रिन्सिेस, अलफ्ट, ह्यात प्यालेसलगायत चेन होटल सञ्चालनमा आएका छन् । काठमाडौँ, पोखरा, लुम्बिनी, विराटनगर, बुटबल, भैरहवा, नेपालगन्जलगायत क्षेत्रमा धमाधम तारे होटल बनिरहेका छन् ।

    सरकारले हालै नयाँ कानुन ल्याएर होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रूपमा मान्यता दिएको छ । यसबाट होटल उद्योगमा लगानी गरेका व्यवसायी उत्साहित भएका छन् । सङ्घका अध्यक्ष शाहले भविष्यमा विदेशी पर्यटक बढ्ने र होटलको ‘अकुपेन्सी’ बढ्ने विश्वास व्यक्त गरे । उनले भने “सरकारले हालै ल्याएको ऐनमा होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रूपमा वर्गीकरण गरेको छ । यसले होटल व्यवसायीलाई उत्साहित बनाएको छ । पर्यटन व्यवसायीले लामो समयदेखि उठाएको विषय सरकारले सम्बोधन गरेको छ, यसले समग्र पर्यटन उद्योग र व्यवसायी उत्साहित भएका छन् ।”

    पर्यटन विभागका अनुसार हालसम्म देशभर ३३७ पर्यटकस्तरीय होटल सञ्चालनमा छन् । हाल नेपालमा पाँचतारे होटल मात्र २३ वटा सञ्चालनमा छन् । तीनवटा पाँचतारे डिलक्स होटल छन् । देशभर ४१ वटा चारतारे होटल छन् । यस्तै डिलक्समा हेरिटेज ९चार तारेस्तर० होटल चारवटा छन् भने ३७ वटा तीनतारे होटल सञ्चालनमा छन् । पचास वटाको हाराहारी दुई र एकतारे होटल छन् । साथै लज्जरी बुटिक र हेरिटेज, रिसोर्ट र साधारण रिसोर्ट गरी विभिन्न स्तरका होटल पनि सञ्चालनमा छन् । होटल व्यवसायी महासङ्घमा आबद्ध होटलको सङ्ख्या पनि उल्लेख्य छ ।

    आक्रामक अन्तरराष्ट्रिय बजारीकरण

    नेपाल पर्यटन बोर्डले होटललगायत पूर्वाधारमा लगानी बढेसँगै आफूहरूले पनि अन्तरराष्ट्रिय बजारीकरणलाई प्राथमिकताका साथ अगाडि बढाइएको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बोर्डले आक्रमक रूपमा अन्तरराष्ट्रिय प्रवर्द्धन गरिरहेको जानकारी दिए । उनले भने, “पछिल्लो चारदेखि पाँच महिनामा विदेशमा १७ वटा बि–टु–बी कार्यक्रम र नेपाल प्रवर्द्धनका कार्यक्रम गरेका छौँ, जसमा दुई सयभन्दा बढी नेपालका टूर अपरेटर, होटल व्यवसायी, एयरलाइन्सका प्रतिनिधि सहभागी भएर नेपाल गन्तव्यको प्रवर्द्धन गरेका छन् ।”

    सिइओ जोशीका अनुसार नेपालका गन्तव्यहरूमा विदेशी ‘इन्फ्लुएन्सर, मिडिया’लाई भ्रमण गराएर पर्यटन प्रवर्द्धन गरिएको छ । हालसम्म ११४ जनालाई भ्रमण गराइसकिएको छ । “नेपालमा विदेशी पर्यटक आगमन कोरोनापूर्वको अवस्थामा आइपुगेको छ, अन्तरराष्ट्रिय पर्यटन पनि ९५ प्रतिशत पुनरुत्थान भइसकेको छ, नेपालको सन्दर्भमा थप एयरलाइन्स थपिने र तीन अन्तरराष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन भएको खण्डमा आगामी दिनमा पर्यटक बढ्ने पक्का छ”, उनले भने ।

    हवाई पूर्वाधार र सडक सञ्जाल राम्रो भएमा निर्धारित लक्ष्य भेट्टाउन सहज हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ । तर, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।

    नीतिगत डिपार्चरमा पर्यटन मन्त्रालय

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षमा उल्लेखनीय नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको जनाएको छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनसम्बन्धी ऐन, कानुन निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरण विधेयक सङ्घीय संसद्मा दर्ता भएको छ । यो पास भयो भने युरोपेली सङ्घ ९इयु०को सुरक्षा सूचीबाट नेपाललाई हटाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

    कानुन निर्माण प्रक्रियालाई तीव्रताका साथ अगाडि बढाइएको पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बताए । उनका अनुसार हवाई नीतिको मस्यौदा तयार गरिएको छ । हवाई दुर्घटना जाँच आयोग गठनको मस्यौदा तयार भएको छ । पर्यटन ऐनको मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा छलफलमा रहेको र छिट्टै संसद्मा पेस गरिने छ । पर्यटन नीति, संस्कृति नीति र हवाई नीति संसद्मा लैजाने प्रक्रियामा रहेको मन्त्री पाण्डेले जानकारी दिए ।

    gulf news


    पर्यटन बोर्ड र नेपाल एयरलाइन्सलाई सक्रिय बनाउनेगरी केही कदम चालिएको मन्त्री पाण्डेले बताए । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि कार्ययोजना बनाएर काम अगाडि बढाइएको उनको भनाइ छ । वायुसेवा निगमको व्यवस्थापन सुधारका लागि विभिन्न उपायहरूको खोजी भइरहेको पनि उनले जानकारी दिए । विमानको सङ्ख्या नथपी निगमलाई फाइदामा लैजान नसकिने उल्लेख गर्दै उहाँले सँगै व्यवस्थापन सुधारका लागि उपायको खोजी भइरहेको जानकारी दिए ।
    पर्यटन क्षेत्रका उपलब्धि

    वर्ष २०८१ मा पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि सकारात्मक प्रयास भएका छन् । वायुसेवा निगमको संरचनागत सुधारका लागि काम थालिएको छ । विमान थपेर सेवालाई प्रभावकारी बनाउन पहल भइरहेको छ । क्षेत्रीय हब विमानस्थल स्तरोन्नति र आधुनिक टर्मिनल भवनको काम भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआइए) को क्षमता अभिवृद्धिको काम धमाधम भइरहेको छ । यसै वर्ष दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिना विमानस्थलको स्तरोन्नति गरिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले रु १५ अर्ब खर्चिएर विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गरिरहेको छ । हालसम्म करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । संकृतिको संरक्षण तथा प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको दिगो विकास तथा नागरिक उड्डयन क्षेत्रको उन्नयनमा मन्त्रालयले प्रभावकारी रूपमा काम गरिरहेको दाबी गरेको छ ।

    पूर्वाधार निर्माणमा तीव्रता

    सुदूरपश्चिम प्रदेशको खप्तड र कर्णाली प्रदेशको रारामा पर्यटक प्रहरीको एकाइ विस्तार गरिएको छ । प्रत्येक प्रदेशमा एउटा हिल स्टेशन निर्माण गर्ने उद्देश्यले चारवटा प्रदेशका एक–एक स्थान छनोट गरी विस्तृत परियोजना निर्माण सुरु गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

    राजविराज विमानस्थलमा रात्रिकालीन अवतरण क्षमतायुक्त बनाई सञ्चालनमा ल्याइएको छ । यससँगै १० वटा विमानस्थल रात्रिकालीन उडान सञ्चालन योग्य रहेको छ । कपिलवस्तुस्थित तिलौराकोटलाई विश्व सम्पदासूचीमा समावेश गर्न पुरातात्विकस्थल पहिचान भएको क्षेत्रको थप जमिन अधिग्रहण, युनेस्को इसिमोडको मिसनद्वारा स्थलगत अवलोकन लगायतका कार्यहरू गरिएको छ ।

    नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले समग्रमा वर्ष २०८१ आशा र निराशाको वर्ष भएको प्रतिक्रिया र्दि । “आशा पलाएको निराशा भएको वर्षको रुपमा रह्यो”, उनले भने, “भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय उडान भएको थियो तर वर्षको उत्तराद्र्धमा उडान स्थगन भएको छ । समग्रमा धेरै राम्रा काम भएका छन्, यद्यपि गर्नुपर्ने काम धेरै छन् ।”

  • यू-१९ विश्वकप एसिया छनोट आजबाट काठमाडौंमा

    यू-१९ विश्वकप एसिया छनोट आजबाट काठमाडौंमा

    काठमाडौं । आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । मुलपानीस्थित दुई मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । अघिल्लोपटक नेपालले यूएईमाथि नै रोमाञ्चक जित निकालेर विश्वकपमा छनोट भएको थियो जतिबेला दिपेश कँडेलले म्याच विनिङ ह्याट्रिक लिएका थिए ।

    यसपटक अफगानिस्तान पनि छनोटमा तानिएको छ, त्यसकारण अफगानिस्तान पनि नेपालका लागि चुनौतीका रूपमा छ । छनोटअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले अफगानिस्तानसँग ३ खेलको शृंखला खेलेको थियो जहाँ २ खेल गुमाउँदा १ खेल जितेको थियो । नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू–१९ विश्वकपमा छनोट हुने छन् ।

  • चार देशीय सिरिजको फाइनलमा आज नेपाल र कुवेत भिड्दै

    चार देशीय सिरिजको फाइनलमा आज नेपाल र कुवेत भिड्दै

    काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत भिड्दैछन् । खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले २ जित निकाल्दा १ खेल नतिजाविहीन भएको थियो । कुवेतले २ जित निकाल्दा नेपालसँग पराजित भयो ।

    पहिलो खेलमा कतार तथा दोस्रो खेलमा कुवेतलाई हराएको नेपालले शनिबार हङकङसँग खेल्दै गर्दा वर्षाले खेल रोकिएपछि त्यसपछि सुरु हुन सकेन र दुवै टोलीले अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक भयो र चार टिममा शीर्षमा रह्यो । हङकङ र कतारलाई हराएको कुवेत ४ अंकसहित दोस्रो हुँदा आयोजक हङकङ भने ३ अंकमै सीमित रहेर फाइनल पुग्न सकेन । यसै वर्ष हुने आईसीसी टी–२० विश्वकप छनोटको तयारीका रूपमा नेपालले विभिन्न शृंखला तथा अभ्यास खेलहरू खेल्ने तय भएका छन् । यस प्रतियोगिता पनि त्यही तयारीको सुरुवाती हो ।

  • ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

    ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

    ३१ चैत, भोजपुर । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु

    सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु

    काठमाडौं । सुडानको उत्तर दारफुर राज्यको राजधानी एल फासरमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा ३२ जना सर्वसाधारणको ज्यान गएको सेनाले जनाएको छ । सेनाको छैटौँ डिभिजनले जनाएअनुसार शुक्रबार उक्त समूहले आत्मघाती मानव रहित यन्त्र (ड्रोन) मार्फत आक्रमण गरेको थियो । मृतकमध्ये चार जना महिला र १० जना बालबालिका रहेका छन् भने १७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना गरिएको छ ।

    एल फासरको प्रतिरोध समितिको समन्वय समूहले पनि आक्रमणको पुष्टि गर्दै शहरको उत्तर र पूर्व भागमा मानव रहित यन्त्र र तोप प्रहार गरिएको जनाएको छ । साथै, नागरिकहरूलाई सडकमा ननिस्कन अनुरोध गरिएको छ । सुडानी चिकित्सक सञ्जालले एल फासर नजिकै रहेको जमजम नामक विस्थापित शिविरमा आरएसएफले दोस्रोपटक आक्रमण गरेको जनाएको छ । हालसम्म उक्त शिविरमा जनधनको क्षतिको पुष्टि नभए पनि यसरी ठूलो क्षमताको हातहतियार प्रयोग गर्नु हिंसात्मक गतिविधि वृद्धि भएको भन्दै सञ्जालले निन्दा गरेको छ ।

    उत्तर दारफुर राज्यको स्वास्थ्य मन्त्रालयका महानिर्देशक इब्राहिम खातिरले जमजम शिविरमा आक्रमण भएको पुष्टि गरे । तर उक्त स्थान शहरबाट टाढा रहेको र सञ्चार सम्पर्कमा समस्या भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए । सन् २०२४ मे १० देखि एल फासरमा सुडानी सेना र आरएसएफबीच तीव्र लडाइँ जारी छ ।

    यो द्वन्द्व सन् २०२३ को अप्रिलदेखि सुडानमा फैलिएको गहिरो सङ्कटको हिस्सा हो । संयुक्त राष्ट्रसङ्घद्वारा उद्धृत गरिएको एउटा अनुसन्धान संस्थाले दिएको जानकारी अनुसार सो द्वन्द्वमा हालसम्म २९ हजार ६ सयभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड ५० लाखभन्दा बढी व्यक्ति आफ्नै घरबाट विस्थापित भइसकेका छन् ।

  • कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

    कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

    इन्द्राकुमारी केसी/रासस
    ३० चैत, कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे । उनलाई कर्णाली नदी किनारमा अड्किएका काठ ट्र्याक्टरमा लोड गरेर घर ल्याउँदै गर्दा टीकापुर प्रहरीले पक्राउ ग¥यो । बर्दियाको गुलरिया घर भई टीकापुरमा दैनिक ज्यालादारीमा ट्र्याक्टर चलाउँदै आएका गोडियालाई पक्राउ गरेर प्रहरीले सबडिभिजन वन कार्यालय टीकापुरमा बुझाइदियो । उनलार्ए कर्णाली नदी किनारमा बाढीले अलपत्र पारेका काठ सङ्कलन गरेर ओसारपसार गरेको आरोप थियो ।
    सबडिभिजन वन कार्यालयले थप अनुसन्धान गरेर कारबाहीका लागि पक्राउ परेका गोडियाविरुद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । गोडिया रु १४ हजार ४३३ बिगो बराबरको धरौटी तिरेर रिहा भएको सबडिभिजन वन कार्यालयका फरेष्टर भीष्मराज ओझाले बताए । गोडिया फरक जिल्ला बर्दियाका बासिन्दा भएका कारण पक्राउ परेका होइनन् । कर्णाली नदीबाट काठ निकाल्ने जो कोहीलाई स्थानीय प्रशासनले पक्राउ गर्दै आएको छ । त्यहीँका स्थानीयले पनि नदीले बगाएर ल्याएको काठ सङ्कलन गरेर प्रयोग गर्न पाउँदैनन् ।

    हरेक वर्ष वर्षायाममा कर्णाली नदीले काठ बगाएर ल्याउँछ । अधिकांश काठ भेलसँगै बगेर भारततर्फ जान्छन् । भारतको कोडियाघाटलगायत स्थानीयले ती काठ केहीमात्रामा सङ्कलन गर्ने गर्दछन् । नेपालमा भने कर्णाली नदीबाट काठ सङ्कलनमा रोक लगाइएको छ । कानुनी जटिलताका कारण आफ्नै देशको काठ कुहिएर खेर गइरहेको छ ।

    भन्सार विभागको तथ्याङ्कअनुसार विगत छ वर्षमा रु एक खर्ब ४१ अर्ब ३८ करोड बराबरको काठ तथा फर्निचर आयात भएको छ भने रु २७ अर्ब चार करोड मूल्य बराबरको निर्यात भएको छ । चालु आर्थिक वर्षको माघसम्म रु सात अर्ब ८४ करोड आयात र रु पाँच अर्ब ८७ करोड निर्यात भएको देखिन्छ । पछिल्ला वर्षहरूमा आयात निरन्तर बढिरहेको छ । केही स्थानीय र काठ व्यवसायीले बगेको काठ सदुपयोग गर्न खोजे पनि उनीहरु सफल भएका छैनन् । वन ऐन नियमावलीअनुसार कसैले पनि वन कार्यालयको इजाजतबिना काठ दाउरा सङ्कलन, ओसारपसार तथा बिक्री गर्न पाइँदैन ।

    त्यस कारण कतिले पक्राउ परी जेल सजायसमेत भोगेका छन् भने घरायसी प्रयोजनका लागि पनि नदीका काठ दाउरा सङ्कलन गर्न पाउँदैनन् । टीकापुरस्थित फाटा गाउँका दानबहादुर चौधरीसँग काठ सङ्कलन गरेबापत प्रहरीको केरकार सहनु परेको अनुभव छ । उनले आफ्नो अनुभव सुनाउँदै भने, “गत वर्ष नदीबाट निकालेको गोलिया नजिकैको सत्ती बजारमा रहेको सःमिलबाट चिरान गरी आफ्नै घरको झ्याल ढोकाका लागि लैजाँदै थिए, सशस्त्र प्रहरीले रोकेर यसको पुर्जी, सःमिल÷फर्निचरको बिल चाहिने, नभए काठ लैजान नमिल्ने र मुद्दासम्म चल्ने भनेर रोकेका थिए, पछि आइन्दा यस्तो नगर्नु भनेर छाडिदिए ।”

    उहाँलाई नदीमा बग्दै गरेका, अड्किएका, पुरिएका र गाडिएका रुख सङ्कलन गरी प्रयोगमा ल्याउँदासमेत प्रहरी प्रशासनले अपराधी जस्तो व्यवहार गरेको अनुभव हुन्छ । त्यस कारण स्थानीय बासिन्दासँग बगेर जाने नदीका काठ हेरेर बस्नुको विकल्प हुँदैन । कर्णाली नदीमा चार दशक बढीदेखि डुङ्गा चलाइरहेका राजापुर बर्दियाका गौरीशङ्कर थारु पनि बगेर जाने काठ हेरि बस्नुहुन्छ । उहाँका आँखा अगाडिबाट वर्षात्मा बाढीसँगै कर्णाली नदीमा धेरै काठ दाउरा बगेर भारत पुग्छन् । “नदी किनारमा अड्किएका काठ पनि प्रयोगमा रोक लगाइएको छ रु, स्थानीयलाई बगेर जाने काठ सङ्कलन गर्ने अनुमति छैन भने नगरपालिका, वन कार्यालय वा अन्य कुनै निकायलेसमेत सङ्कलन गर्दैनन्”, उहाँले भन्नुभयो, “एकातिर बाढीसँगै थुप्रै काठ दाउरा बगेर जाने छँदैछ, अर्कोतिर कर्णाली नदीमा अड्किएका र गाडिएका रुख पनि आधिकारिक रूपमा सङ्कलन हुँदैनन् ।”

    नेपालको सबैभन्दा लामो कर्णाली नदी तिब्बतको मानसरोवरबाट नेपालमा हुम्ला हुँदै कर्णालीमा मिसिएपछि यसको नाम कर्णाली रहन्छ । बाजुरा, कालीकोट, दैलेख, अछाम, सुर्खेत हुँदै कैलाली र बर्दियाको सिमाना भएर यो नदी भारतको गङ्गा नदीमा मिसिन्छ । ठूली भेरी, सानी भेरी, तिला, बूढीगङ्गा र सेतीजस्ता ठूला नदी यसका सहायक नदी हुन् । कर्णाली र यसका सहायक नदी तटीय क्षेत्रमा घना वनजङ्गल रहेको छ । यहाँ विशेषगरी खयर, सिसौ, साल, हल्दु, असनालगायत मूल्यवान प्रजातिका रुख पाइन्छन् । नदी कटानले ल्याएका रुख वर्षात्मा बगेर भारत पुग्छन् तर स्थानीयलाई तिनको सदुपयोग गर्नबाट बञ्चित गरिँदै आएको छ ।

    के छ कानुनी व्यवस्था ?

    वन नियमावली २०७९ मा नदी वा खोलाले बगाइल्याएको, किनारा लागेको, अड्केको, डुबेको वा पुरिएको काठ दाउरालाई ‘दहत्तर बहत्तर’ भनेर परिभाषित गरिएको छ । वन ऐन, २०७६ को परिच्छेद–११ मा दहत्तर बहत्तर वा बेवारिसे अवस्थामा रहेको काठ अरू कसैको हक प्रमाण पुगेकाबाहेक प्रदेश सरकारको स्वामित्वमा रहने प्रावधान रहेको छ ।

    डिभिजन वन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका बेवारिसे तथा दहत्तर बहत्तर काठ, दाउरा सङ्कलन तथा घाटगद्दी गरी डिभिजनल वन अधिकृतले लिलाम बिक्री गर्नुपर्ने र लिलाम बिक्रीबाट प्राप्त रकम सम्बन्धित प्रदेशको प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने प्रावधान वन नियमावली, २०७९ मा रहेको छ ।


    त्यस्तै सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को परिच्छेद १७ को दफा ७८, ७९ र ८० मा दहत्तर बहत्तर वा बेवारिसे काठ दाउरा प्रदेश सरकारको सम्पत्ति ठहरिने र उक्त काठ डिभिजनल वन अधिकृतले सङ्कलन गरी सुरक्षित स्थानमा घाटगद्दी गराउनुपर्ने व्यवस्था रहेको छ । डिभिजनल वन अधिकृतले आफ्नो कार्यक्षेत्र भित्रबाट सङ्कलन गरी घाटगद्दी गरेको बेवारिसे तथा दहत्तर बहत्तर काठ दाउराको कुनै व्यक्ति, उपभोक्ता समूह, सङ्घ संस्था वा निकायले हक दाबीसम्बन्धी सूचना प्रकाशन, छानबिन गरी कसैको हक दाबी नपुग्ने भएमा उक्त काठ लिलाम बिक्री गर्नुपर्ने सुदूरपश्चिम प्रदेश वन नियमावली २०७८ को परिच्छेद–१३ मा व्यवस्था रहेको छ ।

    सङ्कलन गर्ने छैन इजाजत

    कर्णाली सत्ती पुलको उत्तरतर्फ पश्चिमी नदी तटीय क्षेत्रमा एउटा सानो बस्ती छ । त्यसको नाम हो फाँटा गाउँ । टिकापुर नगरपालिका–८ मा पर्ने उक्त फाँटा गाउँमा अधिकांश कच्ची घर र कमजोर आयस्रोत भएका थारु समुदायको बसोबास छ । पचासभन्दा बढी घरधुरी भएको उक्त फाँटा गाउँका मानिसको जीविकोपार्जनको प्रमुख स्रोत नै कर्णाली नदी हो । नदीमा माछा मार्ने, हिउँदमा बगरमा तरकारी खेती गर्ने र बाह्रै महिना नदीमा बग्दै गरेका, अड्किएका, डुबेका काठ दाउरा सङ्कलन गरी टीकापुर राजापुरलगायत बजारमा बिक्री गरेर गुजारा चलाउने गरेको फाँटा गाउँका राजेश चौधरी बताउँछन् ।


    फाँटा गाउँको पूर्वपट्टी नदी ढिक, गाउँको सडक किनार र घर वरिपरि गोलिया काठ तथा दाउरा सङ्कलन गरेर राखेको भेटिन्छ । सत्ती पुलबाटै पनि नदीको किनारमा काठ दाउरा किनार लगाएर राखेको देख्न सकिन्छ । ती काठ दाउरा बाढीको बेला समातेका र अड्किएका रुख स्थानीयले सङ्कलन गरेर राखेको चौधरी बताउँछन् । काठ दाउरा आफ्नै घरायसी प्रयोजनसँगै केही बिक्री गर्ने गरेको उनको भनाइ छ । चौधरीका अनुसार नदीमा बगेर जाने काठमध्ये अड्किएर बसेका २० देखि २५ प्रतिशत मात्रै गाँउलेले सङ्कलन गर्ने गर्दछन् ।

    त्यसरी सङ्कलन गरेको काठ दाउरा आफैँले प्रयोग गर्दा कोही केही गर्दैनन् तर अरूलाई बिक्री गर्दा भने समस्या हुने गरेको अर्का स्थानीय दानबहादुरले बताए । उनले भने, “बिक्री गर्नका लागि काठ दाउरा उत्पादनको स्रोत कहाँबाट हो भन्ने चाहिने रहेछ, हामीसँग नदीबाट काठ दाउरा सङ्कलन गर्ने कुनै अनुमति हुँदैन, त्यस्तो अनुमति नहुँदा वनबाट चोरेर ल्याएको भन्ने बुझिने रहेछ ।”

    राजेश र दानबहादुर जस्तै फाँटा गाउँका स्थानीय ज्यानै जोखिममा राखेर बाढीको बेला र अरू बेला काठ दाउरा सङ्कलन गर्छन् । उनीहरू सबैको एउटै गुनासो छ, “काठ दाउरा सङ्कलन गर्दा कोही कसैले केही भन्दैनन् तर जब आफ्नो ज्यानसमेत जोखिममा राखेर बगेर जाने काठ दाउरा सङ्कलन गरिन्छ तब प्रहरी र वन कर्मचारीले यो काठ दाउरा कहाँबाट ल्याएको, पूर्जी वा इजाजत छ छैन खोज्दै आउँछन् ।” ती रुखहरू सङ्कलन गर्ने कुनै अनुमति नभएको र प्रविधि पनि नभएको दानबहादुर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पनि हामी बाढीका बेला डोरीले बग्दै गरेको काठलाई अड्काएर किनारा लगाउँछौँ, गाडिएका काठ पनि निकाल्छौँ, तर यो सबै गर्न हामीसँग कुनै कानुनी अनुमति भने हुँदैन ।”

    वर्षात्मा कर्णाली नदी तटीय क्षेत्रमा भू–क्षय, पहिरो र कटानका कारण नदीले रुखसमेत बगाएर लैजान्छ । बगेर आएका अधिकांश रुख वर्षात्को भेलसँगै भारततर्फ जान्छन् भने कतिपय रुख नदीको बहाव कम भएसँगै चिसापानी पुलको दक्षिणतर्फ जानकी गाउँपालिका र टिकापुर नगरपालिकाका विभिन्न घाटमा अड्किएर नदीभित्र पुरिने गरेको जानकी–६ स्थित माँ भुवनेश्वरी सःमिल तथा फर्निचर उद्योगका सञ्चालक लोकेन्द्रबहादुर शाह बताउँछन् । सो गाउँपालिकाअन्तर्गत बलचौर घाट, पाताभार घाट र टिकापुरअन्तर्गत दौलतपुर घाट, प्रमौला घाट, सत्तीघाट, सन्कट्टी घाट तथा वनकट्टी घाटलगायत फराकिला स्थान रहेका छन् । त्यस्ता ठाँउमा बगेर आउने काठ छेउ लागेर अड्किन्छन् भने कतिपय नदीभित्र पुरिन्छन् ।

    कर्णाली नदी चिसापानीबाट तल लागेपछि धेरै भँगालोमा बाँडिन्छ । ती भँगालोको बीचबीचमा प्राकृतिक वन छन् । ती वनको संरक्षण, व्यवस्थापन तथा वन पैदावारको सदुपयोग गर्न स्थानीय समुदायलाई सामुदायिक वनका रूपमा हस्तान्तरण गरिएका छन् । सामुदायिक वनका रूपमा हस्तान्तरण गरे पनि बाढीसँगै बगेर जाने रुख सङ्कलन गर्ने अनुमति भने वन कार्यालयले नदिने गरेको गाउँपालिकास्थित छतिवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विनोद भण्डारीले बताए ।

    भण्डारीका अनुसार सामुदायिक वनको क्षेत्रभित्र पर्ने भँगालोमा अड्केका, पुरिएका रुखह भने केही मात्रामा निकाल्न मिल्छ । अड्किएका सबै रुख सङ्कलन गर्न मिल्दैन । जिल्लाको जानकी गाउँपालिकाअन्तर्गत चिसापानी कर्णाली, छतिवन, चेतना, कालिका, शिवशक्ति पाताभार, जगतपुरलगायत सामुदायिक वन कर्णाली नदीका विभिन्न भँगालोमा अवस्थित छन् । सामुदायिक वनहरूले आफ्नो वन क्षेत्रभित्र पर्ने भँगालोमा अड्किएका र पुरिएका रुख स्वीकृत वन कार्य योजनाको अधीनमा रही तोकिएको मात्रामा असोजदेखि जेठसम्म सङ्कलन गर्ने गरेको सव–डिभिजन वन कार्यालय टीकापुरका फरेष्टर भीष्मराज ओझाले बताए ।

    कानुनी मापदण्डको अभाव

    कैलालीको वन क्षेत्र व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा दुई डिभिजन वन कार्यालय रहेका छन् । जिल्लाको पश्चिमी भागको आधा क्षेत्र कैलाली र पूर्वी क्षेत्र पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत पर्दछ । कर्णाली नदी र आसपासको वन क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी डिभिजन वन कार्यालय पहलमानपुरको पर्दछ । कर्णाली नदीबाट हालसम्म दहत्तर बहत्तर काठ\दाउरा सङ्कलन नगरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताए । कँडेलका अनुसार जिल्लाका अन्य नदीभन्दा कर्णालीबाट काठ÷दाउरा सङ्कलनको प्रकृति बेग्लै छ ।

    जिल्लामा कर्णालीबाहेकका नदी, खोलाहरुको उद्गमस्थल चुरे क्षेत्र हो । त्यसमा वर्षात्को समयमा मात्र धेरै पानी हुने र हिउँदमा प्रायः सुक्ने वा एकदमै कम पानी रहने गर्छ । कर्णाली नदीमा भने बाह्रै महिना ठूलो पानी हुन्छ । अझ वर्षात्को समयमा धेरै नै रहन्छ । चुरे क्षेत्र उद्गम भएका स–साना नदी खोलाले बाढीका बेला बगाइल्याएका रुख केही तल नेपालको सीमाभित्रै अड्किने, किनार लाग्ने भए पनि कर्णालीले बगाएर ल्याउने काठ\दाउरा भने पानीको उच्च बहावका कारण सिधै भारततर्फ बगेर जाने कँडेलले बताए ।

    बग्दै गरेका रुखलाई सङ्कलन गर्न सकिने कुनै कानुनी व्यवस्था वा मापदण्ड नै नभएको कँडेलको भनाइ छ । “वन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काठ÷दाउरा सङ्कलन गर्न रुखको गोलाइ, लम्बाइ, त्यसको ‘जीपीएस लोकेसन’सहितको विवरण सव–डिभिजन वन कार्यालय मार्फत लिने र त्यस्ता रुखको डिभिजन वन कार्यालयबाट १५ प्रतिशत तथा प्रदेश वन निर्देशनालयबाट पाँच प्रतिशत जाँचपश्चात् मात्र सङ्कलन गर्ने अनुमति दिन सकिने व्यवस्था रहेको छ । यस प्रक्रियाले बग्दै गरेको काठ सङ्कलन गर्न सकिने कुरालाई सम्बोधन गर्न सक्दैन”, उनले भने ।

    कतिपय रुख नदी बगरको सतहमा गाडिएका वा पानीभित्र डुबेको अवस्थामा रहेका हुन्छन् । त्यस्ता रुखलाई स्काभेटरको सहायताले उत्खनन गरेर मात्रै सङ्कलन गर्न सकिन्छ । “बग्दै गरेका, गाडिएका, डुबेका रुख सङ्कलन गर्न डिभिजन वन कार्यालयसँग रहेको स्रोत साधन, जनशक्ति, सामथ्र्य र बजेटले भ्याउँदैन”, उनले भने ।

    काठ सदुपयोगमा सरकारी उदासीनता

    कर्णाली नदीमा अड्किएका तथा गाडिएका रुखको व्यवस्थापन गर्ने प्रयास भए पनि अन्तर सरकार विवादका कारण सफल हुन सकेको छैन । टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७५\७६ र २०७६\७७ मा ठेक्कामार्फत दहत्तर बहत्तर काठ दाउरा सङ्कलनको पहल गरेको थियो । प्रदेश सरकार र स्थानीय सरकारबीच कार्यक्षेत्रको विवादका कारण उक्त कार्यलाई निरन्तरता दिन नसकिएको टिकापुरका निवर्तमान नगर प्रमुख तपेन्द्र रावलले बताए ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–९ दफा ६२ क (२) अनुरूप, पालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गामा भएका काठ, दाउरा, जराजुरी, दहत्तर बहत्तर आदि बिक्री गर्नसक्ने कानुनी व्यवस्था रहेको छ । यही व्यवस्थाअनुसार कर्णाली नदीका दहत्तर बहत्तर काठको सङ्कलनका लागि टीकापुरले दुई वर्षको ठेक्का प्रदान गरेको थियो ।

    ठेक्का सम्झौताअनुसार उक्त काठ सङ्कलनको जिम्मा टीकापुर–१ स्थित भास्कर सःमिल तथा फर्निचर उद्योगले पनि पाएको थियो । उद्योगका सञ्चालक दिलबहादुर ठकुल्लाका अनुसार आवश्यक साधन स्रोत तथा अनुभवको अभावका कारण सो समयमा पर्याप्त काठ सङ्कलन गर्न सकिएन । “यदि अहिलेको जस्तो स्रोत, साधन र अनुभव भएको भए, एक लाख घन फिटभन्दा बढी काठ सङ्कलन गर्न सकिन्थ्यो”, ठकुल्लाले भने ।

    वन कार्यालयले उक्त सङ्कलन कार्य प्रदेश सरकारको कार्यक्षेत्रमा पर्ने भन्दै ठेकेदारका ढुवानीका साधन नियन्त्रणमा लिई काममा अवरोध गरेको थियो । त्यसयता, वन कार्यालयले र नगरपालिकाले कर्णाली नदीका दहत्तर बहत्तर काठ सङ्कलनका लागि कुनै पहल नगरेको पूर्वनगरप्रमुख रावलले बताए ।
    आँखै अगाडि करोडौ पर्ने काठ बगेर भारततर्फ गएको देखिन्छ । कतिपय रुख नदीमा गाडिएका, अड्किएका तथा डुबेका अवस्थामा छन् । बाढीसँगै बगेर जाने काठबाहेक, अड्किएका काठ सङ्कलन गर्न सकिए मात्र पनि करोडौँ आम्दानी हुनसक्ने जानकी–६ स्थित माँ भूवनेश्वरी सःमिल तथा फर्निचर उद्योगका सञ्चालक शाहले बताउनुभयो । “कर्णाली नदीमा अहिले पनि वर्षाको बाढीले बगाएर ल्याई अड्किएका तथा गाडिएका हजारौँ रुख देख्न सकिन्छ”, शाहले भन्नुभयो, “तर, यी काठ सङ्कलन नगरिँदा अर्को वर्षको बाढीले फेरि सबै बगाएर लैजान्छ ।”

    डिभिजन वन कार्यालय कैलाली र पहलमानपुरको तथ्याङ्कअनुसार कर्णाली नदी बाहेकका अन्य साना नदीबाट चालु आर्थिक वर्षमा मात्रै जिल्लामा एक हजार २६ रुख (३९ हजार ७६ क्युफिट) काठ सङ्कलनका लागि लगत लिइएको छ । लगत लिइएका ती काठ सङ्कलन भए करिब रु चार करोड बराबरको राजस्व प्रदेश सरकारलाई प्राप्त हुने वन कार्यालयको आँकलन छ । कर्णाली नदीमा मात्रै अन्य नदीको तुलनामा पाँचगुणा बढी (करिब दुई लाख क्यु फिट) भन्दा धेरै काठ बगेर जाने आकलन रहेको सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्ट बताउँछन् । यस आकलनअनुसार करोडौं बराबरको काठ बग्ने गर्दछ ।

    सङ्घीय संरचनाअनुसार संरक्षित क्षेत्रबाहेकको वन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ । प्रदेश सरकारले वन संरक्षण, व्यवस्थापन तथा वन पैदावार सदुपयोगका लागि प्रदेश वन ऐन र नियमावली जारी गरेको छ । यी कानुनी व्यवस्थाले कर्णाली नदीमा बगेर जाने, गाडिएका, अड्किएका र डुबेका रुखको सङ्कलन सम्बन्धी स्पष्ट कानुनी आधार तय गर्न सकेका छैनन् ।

    कानूनी रूपमा कर्णाली नदीमा बगेर आउने काठको स्वामित्व प्रदेश सरकारको हुन्छ । सोको व्यवस्थापनका लागि प्रदेश सरकारसँग कानुन बनाउन, कार्यान्वयन गर्न तथा आवश्यक संस्थागत संरचना स्थापित गर्ने अधिकार पनि छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालय प्रदेशभर स्थापना गरिएका छन् ।

    प्रदेश सरकारको उदासीनताका कारण कर्णाली नदीमा करोडौँ बराबरको काठ व्यवस्थापन हुन नसकेको पर्यावरण संरक्षण तथा वन पैदावार उद्योग व्यवसायी सङ्घ कैलालीका अध्यक्ष जोन शाहले बताउनुभयो । नीतिगत र प्रक्रियागत जटिलताका कारण ढलेका, सुकेका रुख तथा कर्णाली जस्ता ठूला नदीबाट सङ्कलन गर्न सकिने काठसमेत उपयोगमा आउन नसकेको अध्यक्ष शाहले बताउनुभयो । प्रदेश सरकारले सहज कानुनी व्यवस्था गरेमा कर्णाली नदीका काठ सङ्कलन गर्न सकिन्छ । यसबाट वन पैदावार आयात प्रतिस्थापनमा टेवा पुग्ने मात्र होइन नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाले रोजगारी पाउने र प्रदेश सरकारलेसमेत करोडौँ राजस्व सङ्कलन गर्नसक्ने शाहको दाबी छ ।

    प्रविधिको अभावले राजस्व गुमाउँदै सरकार

    वर्षात्को समयमा कर्णाली पुलबाट हेर्दा प्रशस्तमात्रामा काठ बगेर गएको देखिन्छ । बगिराखेकै अवस्थामा काठ सङ्कलन गर्ने क्षमता नहुँदा भारततर्फ गइरहेको प्रदेश वन निर्देशक हेमराज विष्टले बताए । “हामीसँग हालसम्म बग्दै गरेको काठ दाउरा सङ्कलनका लागि उपयुक्त प्रविधि छैन, असार, साउन, भदौमा पानीको बहाव धेरै हुँदा ठूलठूला रुख बगेर गएको देखिन्छ”, विष्टले भने । “त्यस्ता काठ सामान्य तरिकाबाट निकाल्न सकिँदैन, त्यसका लागि काठ सङ्कलन गर्ने घाट बनाएर ठूला क्रेनले तान्नुपर्छ ।”

    नीतिगत समस्याका कारण कर्णाली नदीका काठ सङ्कलन गर्न नसकेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताए । उनले भने, “हालसम्म त्यस्ता काठ सङ्कलनका लागि प्रदेश सरकारमार्फत काम गरिएको छैन, अब सङ्कलन गर्ने योजना बनाउनेछौँ ।”

  • चारदेशीय टी–२० आई सिरिजको फाइनल पुग्यो नेपाल

    चारदेशीय टी–२० आई सिरिजको फाइनल पुग्यो नेपाल

    काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आज भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो ।

    आज टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान अङ्क एकएक पाएका हुन् ।

  • नियन्त्रणमा आयो बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो

    नियन्त्रणमा आयो बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो

    ३० चैत, काठमाडौ । काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आगलागीपछि जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् । आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका हुन् । आगलागीको कारण खुलेको छैन ।

  • वीरगन्जमा कर्फ्यु आदेश जारी, दुई समूदायबीचको झडपले तनाव

    वीरगन्जमा कर्फ्यु आदेश जारी, दुई समूदायबीचको झडपले तनाव

    ३० चैत, काठमाडौं । वीरगन्जमा कर्फ्यु आदेश जारी भएको छ । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप हुँदा कर्फ्यु आदेश जारी भएको हो । अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो ।

    प्रहरीका अनुसार शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि सुरु भएको झडप तनावग्रस्त बनेको हो । अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो । झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी समेत भएको थियो । सोही ठाउँमा एउटा फ्रिज पनि पसलबाट बाहिरि निकालेर आगजनी भएको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा खटिएका ८ जना प्रहरी घाइते भएका छन् । जसमध्ये तीन जनाको नारायणी श्रेत्रीय अस्पतालमा उपचार जारी छ । अवस्था असामान्य बन्दै गएपछि करिब ६ बजेर १० मिनेटमा प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो । लगत्तै साढे ६ बजेदेखि भोलि (आइतबार) १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम मिति २०८१ साल चैत्र ३० गते साँझ ६ः३० बजेदेखि मिति २०८१ साल चैत्र ३१ गते दिउँसो १२ः०० बजेसम्म कर्फ्यु लागू गरिएको हो । प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्नेगरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ । उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

  • किन घट्यो मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन ?

    किन घट्यो मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन ?

    ३० चैत, तनहुँ\रासस । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।
    ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताए । गौतमले भने, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खडेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।”

    हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिए । केन्द्रमा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।

    सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादनमा असर परेको गौतमले जानकारी दिए । केन्द्र प्रमुख गौतमले भने, “वैशाख लागेपछि घाम चर्को लाग्ने हुँदा हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने विश्वास लिइएको छ ।”सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको हो ।

  • फेवा महोत्सव आजदेखि, होटेलमा २० प्रतिशत छूट

    फेवा महोत्सव आजदेखि, होटेलमा २० प्रतिशत छूट

    ३० चैत, कास्की । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । पोखरामा आयोजना गर्न लागेको २०औँ फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन् । आयोजक सङ्घले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

    सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ ।

    पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिने सो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् । महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने सङ्घका अध्यक्ष सुवेदीले जानकारी दिए ।

    प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रूपमा रहेको छ । लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छ । महोत्सवको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन् । –

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

    यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङ, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

  • ५ तस्वीरमा शुक्रबार नेपालका प्रमुख समाचार

    ५ तस्वीरमा शुक्रबार नेपालका प्रमुख समाचार

    २९ चैत, काठमाडौं । शुक्रबार नेपाल प्रहरीले राजावादी अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गरी काठमाडौं ल्याएको खबर सबैभन्दा चर्चामा रहन सफल भयो । समाजिक संजाल समेत यसकै वरिपर केन्द्रित भयो । शुक्रबार पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आफ्नो प्रतिवेदन बुझायो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलन तथा कुलपतिको राजिनामाबारे तिखो टिप्पणी गरेका छन् । यी र यस्तै खबरसँगै यी हुन आजका प्रमुख ५ खबर तस्वीरमा….

    प्रधानमन्त्री ओली – खुकुरी प्रदान भक्तपुर, २९ चैतः प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय\रासस
    मौसम खुलेपछि शुक्रबार खम्बु पासाङल्हामु गाउँपालिका–४ दिङ्बोचेबाट सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक । तस्बिरः हरि परियार/रासस
    बौद्धमा तेमाल जात्रामा भक्तजन काठमाडौँ, २९ चैतः काठमाडौँ बौद्धनाथ स्तुपामा शुक्रबार तेमाल जात्रामा आएका भक्तजन। यो जात्रामा विशेषगरी तामाङ समुदायका भक्तजन बौद्धनाथमा आउने गर्छन। तेमाल जात्रामा आउने भक्तजनहरुले दिवङ्गत पितृको सम्झनामा बति बाल्ने लामा गुरुद्वारा पूजापाठ गर्छन। तस्बिरः हरिराम भेटुवाल\रासस
    काठमडाैँ रामशाहपथस्थित शुक्रबार पानी परेकाे अवस्थामा सवारीसाधनमार्फत सर्वसाधारण गन्तव्य तर्फ जाँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस
  • भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

    भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

    २९ चैत, काठमाडौं । भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपैयाँ (चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गर्नुभएको छ ।

    विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको सङ्ख्या बढिरहेको सरकारले जनाएको छ । मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ । रासस