Category: समाचार

  • सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २५ जनाको मृत्यु

    सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २५ जनाको मृत्यु

    २९ चैत, काठमाडौं । सुडानको उत्तर दारफुर राज्यमा रहेको जमजम नामक विस्थापितहरूको शिविरमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले आक्रमण गर्दा कम्तीमा २५ जना सर्वसाधारणको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका समेत परेको स्थानीय स्वयम्सेवी समूहहरूले जनाएका छन् । उत्तर दारफुरको घेरामा परेको राजधानी अल–फासेरमा क्रियाशील स्थानीय प्रतिरोध समितिका अनुसार यो आक्रमण शिविरको दक्षिण र पूर्वतर्फबाट भारी गोलीबारी गर्दै गरिएको थियो ।

    झण्डै दुई वर्षदेखि सुडानको सैनिक बल र अर्धसैनिक समूहबीच चलिरहेको सशस्त्र द्वन्द्वका कारण जमजमसहितका अन्य भीडभाडयुक्त विस्थापित शिविरहरू अत्यन्तै प्रभावित भएका छन् । गत महिनामा राजधानी खार्तुममा नियन्त्रण गुमाएपछि अर्धसैनिक समूहले सुडानको पश्चिमी भूभाग दारफुरमा आफ्नो पकड जमाउन आक्रमण तीव्र पारेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार, उक्त समूहका सशस्त्र सवारी साधनहरू गोलीबारीको आडमा शिविरभित्र पसेका थिए ।

    स्थानीय प्रतिरोध समितिका अनुसार आक्रमणको केही जवाफी प्रतिकार पनि गरिएको थियो, तर संचार माध्यम र इन्टरनेट बन्द भएकोले क्षतिको सम्पूर्ण विवरण प्राप्त हुन सकेको छैन । गत वर्ष संयुक्त राष्ट्रसङ्घको सहकार्यमा भएको एक अध्ययनले जमजम क्षेत्रमा भोकमरीको स्थिति घोषणा गरेको थियो ।
    सन् २०२३ अप्रिल १५ बाट सुरु भएको सैनिक नेताहरूबीचको सत्ताको सङ्घर्ष गृहयुद्धमा रूपान्तरण भएपछि अहिलेसम्म दशौँ हजार मानिसको ज्यान गइसकेको छ र एक करोडभन्दा बढी नागरिकहरू घरबारविहीन भइसकेका छन् ।
    (((

  • जापानमा मेघगर्जन र तीव्र हावाहुरीको चेतावनी, पश्चिम र पूर्वी क्षेत्र प्रभावित

    जापानमा मेघगर्जन र तीव्र हावाहुरीको चेतावनी, पश्चिम र पूर्वी क्षेत्र प्रभावित

    २९ चैत, टोकियो । जापानको मौसम विभागले शुक्रबार पश्चिमी र पूर्वी क्षेत्रहरूमा वायुमण्डलीय अवस्था अस्थिर रहेको जनाउँदै मेघगर्जन, चट्याङ र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । हाल शिकोकु, किन्की क्षेत्र र इजु टापुहरूमा वर्षा हुने बादलहरू विकसित भइरहेका छन् र शिकोकुका केही स्थानहरूमा चट्याङसमेत देखिएको जनाइएको छ । यो अस्थिर अवस्था शुक्रबार रातिसम्म पश्चिमी जापानमा र शनिबार बिहानैसम्म पूर्वी जापानमा जारी रहने मौसम विभागको अनुमान छ ।

    कान्तो–कोशिन क्षेत्रका तटीय भागहरूमा प्रति घण्टा ३० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने, साथै चट्याङ र तीव्र हुरीको पनि सम्भावना रहेको छ । मौसम विभागले चट्याङ, डढेलो समान हावाहुरी (टोरनाडो), तेज हावा र असिना (हिउँको डल्ला) का सम्भावित जोखिमहरूको चेतावनी दिएको छ ।

  • प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

    प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

    २९ चैत, काठमाडौं । तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ । झापाको भद्रपुरबाट आज नियन्त्रणमा लिई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईँमाथि अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्याद दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । सोही इजलासले उनका सुरक्षासहयोगी दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अनुमति दिइएको उनले जानकारी दिए ।

    पूर्वराजाका समर्थकहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही कसुरमा राप्रपाका नेताहरु रवीन्द्र मिश्र र डा धवलशम्शेर जबरा पनि अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

  • डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल

    डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल

    २९ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलसम्बन्धी विवादमा उद्योगीसँग छलफल सुरु गरेको छ । लामो समयदेखि विवादका रुपमा रहँदै आएको डेडिकेटेड तथा ट्रंकलाइनको वक्यौता रकम उठाउनका लागि प्राधिकरणका कार्यकारी हितेन्द्रदेव शाक्यले आज व्यवसायीसँग छलफल गरेका छन् । विद्युत् प्राधिकरणले गरेको पहललाई उद्योगी व्यवसायीले सकारात्मक सुरुवातका रूपमा लिएका छन् । प्राधिकरणमा आज भएको छलफलमा कार्यकारी निर्देशक शाक्यले राखेको प्रस्तावअनुसार विवाद समाधानका लागि महसुल पुनरावलोकन प्रक्रियामा जान उद्योगी व्यवसायी तयार देखिएका हुन् ।

    प्राधिकरणको विद्युत् वितरण विनियमावली २०७८ मा पुनरावलोकन गर्नका लागि आवश्यक धरौटी रकम २५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको निर्णयलाई उद्योगीले स्वागत गरेका छन् । छलफलमा कार्यकारी निर्देशक शाक्यले लामो समयदेखि विवादका रुपमा रहँदै आएको डेडिकेटेड तथा ट्रंकलाइन वक्यौता विवाद समाधान गर्न सम्भव भएको बताए । आफूले उद्योगी व्यवसायीलाई रोजगारदाता र महत्वपूर्ण ग्राहकका रूपमा लिने नीति अवलम्बन गरेको उनको भनाइ छ ।

    प्राधिकरणले २०८१ सालमा देशभर सबैभन्दा बढी विद्युत् खपत गर्ने १० ग्राहकलाई ‘सर्वाधिक महत्वपूर्ण ग्राहक’ प्रदेशस्तरमा बढी खपत गर्ने १० ग्राहकलाई ‘अत्यन्त महत्वपूर्ण ग्राहक’ तथा वितरण केन्द्रअनुसार बढी खपत गर्ने १० ग्राहकलाई ‘महत्वपूर्ण ग्राहक’ को सूचीमा राखेर विशेष प्राथमिकता दिइने जनाएको छ । यद्यपि, सूचीमा पर्न दुई महिनाभन्दा बढी बक्यौता नहुने शर्त तोकिएको छ ।

    प्राधिकरणका उपकार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले यस छलफललाई प्राधिकरण र औद्योगिक ग्राहकबीच विश्वास निर्माणको अवसरका रूपमा लिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योगीहरू सधैँ कानुनी प्रक्रियामा रहने पक्षमा रहेको भन्दै पुनरावलोकनको माध्यमबाट समाधानमा सहयोग गर्न तयार रहेको बताए ।

    सिमेन्ट उद्योगका प्रतिनिधि ध्रुव थापाले सरकारका विभिन्न निकायको निर्देशनअनुसार महसुल तिर्न उद्योगी तयार रहेको र लाल आयोगले तोकेको अवधिको विद्युत महसुल टाइम अफ डेका आधारमा तिर्न सकिने बताए । छलफलले औद्योगिक क्षेत्रमा विश्वासको वातावरण सिर्जना गर्नुका साथै दीर्घकालीन समाधानको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

  • भन्सार प्रक्रिया कागजविहीन बनाउन नेपाल–भारत भन्सार महानिर्देशक सहमत

    भन्सार प्रक्रिया कागजविहीन बनाउन नेपाल–भारत भन्सार महानिर्देशक सहमत

    काठमाडौं । नेपाल र भारत भन्सार प्रशासनबीच सन् १९९५ मा पहिलो पटक महानिर्देशक स्तरीय बैठक आयोजना भएपछि आलोपालो बैठक गर्ने परम्परा अनुसार २१औं बैठक सम्पन्न भएको छ । २८ देखि २९ चैतमा काठमाडौंमा सम्पन्न बैठकमा नेपाली टोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराई र भारतीय टोलीको नेतृत्व डाइरेक्टोरेट अफ रिभिन्यु इन्टिलिजेन्सका महानिर्देशक अभयकुमार श्रीवास्तवले गरेका थिए ।

    बैठकमा व्यापार सहजीकरण र अनधिकृत व्यापार नियन्त्रणका विविध विषयमा गहन छलफल भएको थियो । दुवै पक्षले भन्सार प्रक्रियालाई कागजविहीन (पेपरलेस) बनाउँदै व्यापार सहजीकरण गर्न, लजिस्टिक लागत घटाउन तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमति जनाएका छन् ।

    बैठकमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने, आयात–निर्यात सम्बन्धी पूर्वसूचना आदान–प्रदानका लागि समझदारी गर्ने, भन्सार सम्बन्धी आपसी सहयोगबारे सम्झौता अगाडि बढाउने, सीमावर्ती क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण गरी व्यापार प्रवद्र्धन गर्ने र नेपाल–भारत सीमा क्षेत्रमा क्वारेन्टिन सुविधा विस्तार गर्ने सहमति भएको छ ।

    त्यसैगरी तेस्रो मुलुकबाट भारत हुँदै नेपाल आउने र जाने रेलमार्ग व्यापारमा प्रयोग हुँदै आएको ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम’ (ईसीटीएस) लाई सडकमार्ग (ट्रक) मा समेत विस्तार गर्ने र लागत घटाउने, भैरहवा र चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँचचौकी (आईसीपी)हरू शीघ्र निर्माण गरी सञ्चालनमा ल्याउने, विराटनगरमा रेल कार्गो सेवा सञ्चालन गर्ने लगायत विषयमा पनि सहमति भएको छ ।

    बैठकमा नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक भट्टराईको नेतृत्वमा अर्थ, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि एवं प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभागका महानिर्देशकहरूको सहभागिता थियो ।

    भारतका तर्फबाट डाइरेक्टोरेट अफ रिभिन्यु इन्टिलिजेन्स महानिर्देशक श्रीवास्तवको नेतृत्वमा विभिन्न भन्सार कार्यालयका अधिकारीहरू, काठमाडौंस्थित भारतीय दूतावास तथा अन्तर्राष्ट्रिय व्यापार सम्बद्ध निकायका प्रतिनिधि सहभागी थिए । नेपाल–भारत भन्सार प्रशासनबीच आगामी २२औं महानिर्देशक स्तरीय बैठक भारतको नयाँदिल्लीमा आयोजना हुनेछ ।

  • अर्थतन्त्र सुधारमा खनाल आयोगले बुझायो प्रतिवेदन, यस्ता छन् सुझाव ?

    अर्थतन्त्र सुधारमा खनाल आयोगले बुझायो प्रतिवेदन, यस्ता छन् सुझाव ?

    २९ चैत, काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले नेपाल सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । सरकारले २०८१ कात्तिकको दोस्रो हप्ता देखि अध्ययनको काम प्रारम्भ गरी शुक्रबार अन्तिम प्रतिवेदन बुझाएको हो । आयोगको संयोजक पूर्वअर्थसचिव रामेश्वर खनाल छन् । उनले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिवेदन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष बुझाएका हुन् । यस अघि आयोगले २०८१ पुस २४ गते तत्काल गर्न पर्ने विषय समेटेर अन्तरिम प्रतिवेदन दिएको थियो ।

    आर्थिक वर्ष २०७८–७९ देखि आयोगले अध्ययन प्रारम्भ गरेको समयसम्मको तथ्यांकहरूको विश्लेषण गर्दा समग्र माग पक्ष कमजोर भएकोले आर्थिक वृद्धि दर सुस्त रहेको देखिएको छ । निजी क्षेत्रका संघ संस्थाहरू, सबै भौगोलिक क्षेत्रका व्यवसायीहरू, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि र विज्ञहरूसँगको अन्तरक्रियामा पनि उपभोगको वृद्धि दर घट्नु र लगानीमा ह्रास आउनु अर्थतन्त्रको वर्तमान चरित्र रहेको विषय मुख्य रूपमा उठाइएको थियो ।

    कर्जा वृद्धि कम हुनु, घरजग्गाको कारोबारमा ह्रास आउनु, सहकारी वित्तीय प्रणालीमा लाखौँ मानिसको बचत फस्नु, सरकारले गर्नु पर्ने कतिपय भुक्तानी समयमा नगर्नू र व्यापारिक उधारो असुलीमा समस्या आउनु र निर्माण क्षेत्र संकटग्रस्त बन्न गएकाले उपभोग र लगानीमा ह्रास आएको देखिन्छ।

    समग्र माग पक्ष कमजोर भए पनि अर्थतन्त्रका तत्कालका समस्या समाधान गर्न माग(पक्षीय नीतिहरू मात्र पर्याप्त छैनन् भन्ने आयोगको निष्कर्ष रहेको छ। तत्काल माग पक्षमा सुधार ल्याउने नीतिगत हस्तक्षेप आवश्यक छ, तर सम्मानजनक आर्थिक वृद्धि हासिल गर्न आपूर्ति पक्षबाट पनि संरचनात्मक सुधार गरेर लगानीयोग्य वातावरण बनाउन र उत्पादनको लागत घटाएर प्रतिस्पर्धी आवश्यक छ।


    आयोगले सुधारका प्रस्तावहरू तर्जुमा गर्दा केही मान्यताहरू लिएको छ । जसमा तत्काल विद्यमान आर्थिक शिथिलता अन्त्य गरी अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्ने, आर्थिक अवसरहरू सिर्जना गर्ने, विश्वासमा आधारित प्रणाली निर्माण गर्ने, उपलब्ध प्राकृतिक स्रोतको दिगो तथा सर्वोत्तम उपयोग गर्ने, सीमारहित अर्थतन्त्र निर्माण गर्ने, र समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक वृद्धि दर बढाउने रहेका छन् ।
    संरचनात्मक अवरोधहरूलाई कम गर्दै आर्थिक अवसरहरू सिर्जना गर्ने, सिर्जना गर्न प्रोत्साहन गर्ने र अवसरमा सबैको पहुँच पुर्याउने दिशामा सरकारका नीति र कार्यक्रमहरू लक्षित हुन आवश्यक रहेको आयोगले भनेको छ ।

    नियन्त्रणको अवधारणामा आधारित प्रणालीले अवसर सिर्जना गर्न सहयोग पुर्याउँदैन भन्दै आयोगले सिर्जनालाई कुण्ठित गर्ने र समग्र अर्थतन्त्र संचालन गर्न तर्जुमा गरिने कानुन, विधि र प्रक्रियाहरू विश्वासमा आधारित हुनुपर्ने सुझाव दिएको छ । प्रत्येक नागरिकमा क्षमता छ, र त्यो क्षमता प्रयोग गर्न दिँदा व्यक्तिलाई मात्र होइन पुरै समुदाय र राष्ट्रलाई लाभ पुग्छ भन्ने दृष्टिकोण आवश्यक रहेको आयोगको सुझाव छ ।


    अवसर सिर्जना गर्ने, विश्वासमा आधारित प्रणाली निर्माण गर्ने र आर्थिक गतिविधि संचालन गर्न स्वतन्त्रता दिने मान्यतामा आयोगले एक दर्जन बढी ऐनहरू खारेज गर्ने एक दर्जन बढी ऐनहरू परिमार्जन गर्ने र केही नयाँ कानुन जारी गर्ने प्रस्ताव गरेको छ ।

    सार्वजनिक निकायहरूको संस्थागत क्षमता र विश्वसनीयतामा सुधार नल्याई क्षेत्रगत आर्थिक नीतिहरूले काम गर्न नसक्ने भएकोले आयोगले यसमा सुधारका लागि सुझाव दिएको छ। आर्थिक वृद्धिका क्षेत्र हरू कृषि, वन, जमिन, खानी, जलस्रोत, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा रहेका अवरोध कम गर्न र ती क्षेत्रमा अवसर विस्तार गर्न आयोगले सुधारका सुझाव प्रस्तुत गरेको छ। आर्थिक वृद्धिका क्षेत्रहरूमा अवसर सिर्जना गर्न भौतिक पूर्वाधार विकास, शहरी विकास, ऊर्जा सुरक्षा, शिक्षा तथा दक्षता विकास, स्वास्थ्य र अनुसन्धान तथा विकास आवश्यक पर्ने भएकोले यी विषयमा गर्नु पर्ने नीतिगत तथा कार्यक्रमिक हस्तक्षेपको पहिचान गर्ने काम पनि आयोगले गरेको छ ।


    मुलुकको भूराजनीतिक अवस्थितिले सिर्जना गरेका सीमाहरूलाई चिर्दै विश्व अर्थतन्त्रबाट लाभ लिन दृढ इच्छाशक्ति सहित नवीन ढंगले काम गर्नु पर्ने र सीमारहित अर्थतन्त्र निर्माणमा जोड दिनु पर्ने आयोगको धारणा रहेको छ ।
    सार्वजनिक वित्तका कतिपय विषयमा नेपाल सरकारले पछिल्लो समयमा गठन गरेका उच्चस्तरीय सार्वजनिक खर्च पुनरावलोकन आयोग र उच्चस्तरीय कर सुधार समितिले सार्वजनिक खर्च, राजस्व नीति र प्रशासनका विषयमा दिएका सुधारका सुझाव नै कार्यान्वयन गर्न उपयुक्त देखेकाले आयोगले सार्वजनिक वित्तका सीमित विषयमा मात्र अध्ययन गरेको छ।

    यसै गरी नेपाल सरकारका कतिपय निकायहरूले आवधिक सुधारका रणनीति पत्र तर्जुमा गरेका र परिणाम देखिने गरी सुधार गरेकाले त्यस्ता विषयमा पनि आयोगले सुधारलाई समर्थन जनाउँदै थप केही उल्लेख गरेको छैन। प्रत्येक निकायले निकायगत र कार्यगत सुधारका योजना बनाइ कार्यान्वयन गर्नु पर्छ र सुधारलाई संगठनको नियमित काम बनाउनु पर्छ भन्ने आयोगको सुझाव रहेको छ।


    छ महिनाको निर्धारित अवधिभित्र काम सम्पन्न गर्नु पर्ने भएकोले कतिपय आर्थिक विषयमा आयोगले पर्याप्त अध्ययन गर्न नभ्याएकोले प्रतिवेदनमा समावेश गरिएको छैन। नेपाल सरकारले विश्वास गरी सुधारका प्रस्ताव तर्जुमा गर्ने महत्वपूर्ण काम सुम्पेकोमा आयोग नेपाल सरकारलाई धन्यवाद दिएको छ ।

  • आजदेखि तेस्रो अन्तरराष्ट्रिय यातायात सम्मेलन आयोजना हुँदै

    आजदेखि तेस्रो अन्तरराष्ट्रिय यातायात सम्मेलन आयोजना हुँदै

    २९ चैत, काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि यहाँ तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुनेभएको छ । सम्मेलन आगामी चैत २९ देखि ३१ गतेसम्म चल्ने छ । सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ ।

    सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष डा हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको जानकारी दिए । यातायातका विज्ञ, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल गरिने छ ।

    सार्वजनिक यातायात सुधार यातायात सेवालाई सर्वसुलभ, प्रभावकारी र वातावरणमैत्री बनाउन पहल गर्ने, स्मार्ट यातायात प्रणालीको प्रवर्द्धन कृत्रिम बुद्धिमत्ता र बौद्धिक यातायात प्रणालीको प्रयोगद्वारा स्मार्ट यातायात सेवा विस्तार गर्ने, उत्थानशील पूर्वाधारको विकास प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा अन्य विपद्हरूको सामना गर्न सक्ने यातायात प्रणालीको निर्माण गर्नु सम्मेलनको प्रमुख ध्येय छ ।

    अन्तरराष्ट्रिय सम्मेलनले यातायात क्षेत्रलाई सुरक्षित, दिगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ । विभिन्न सरोकारवालासँग सहकार्य गरी प्रभावकारी नीति निर्माण, प्रयोग र यातायात सञ्चालनमा सुधारका उपायहरू खोजिने र सम्मेलनले नेपालको यातायात प्राणालीलाई अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन योगदान गर्ने अपेक्षा लिइएको छ ।

  • ५ तस्वीरमा बिहीबार नेपालका मूख्य समाचार

    ५ तस्वीरमा बिहीबार नेपालका मूख्य समाचार

    २८ चैत, काठमाडौं । बिहीबार नेपालमा देशभर हल्कादेखि मध्यम वर्षा भएको छ । यसले मुलुकको संघीय राजधानी काठमाडौंदेखि देशैभरी राहत महसुस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा सहभागी भएका छन् । देशका विभिन्न स्थानमा सडक दुर्घटनामा मानिसहरुको ज्यान गएको छ । यी समाचारहरुको साथमा आजका प्रमुख समाचार पाँच तस्वीरमा प्रस्तुत गरिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलसँग काभ्रेको पाँचखालमा बिहीबार अन्समिल मिसन लिवियामा जाने नयाँ भैरवीदल गुल्म सातौं डफ्फाका सकलदर्जा सामूहिक तस्बिर खिचाउँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको कार्यालय/रासस
    दिङ्बोचे गाउँ सुलुखम्बु, २८ चैतः खम्बु पासाङलाम्हु गाउँपालिका– ४ को दिङ्बोचे गाउँ । सगरमाथा आधार शिविर पुग्ने पर्यटकहरुका लागि सुविधासम्पन्न होटल रहेकाले पर्यटकहरु यहाँ वास बसेर आधार शिविरतर्फ यात्रा गर्छन् । तस्बिरः हरि परियार\रासस
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा छलफल । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस
    पानी परेर रोकेपछि काठमाडौँ,२८ चैतः काठमाडौँमा बिहीबार पानी परेर रोकेपछि घाम लाग्दा मनमैजुबाट देखिएको घर बस्ती र सौसम सुधार भएको दृश्य। तस्बिरः हरिराम भेटुवाल\रासस
    भैरवनाथ रथ तान्दै स्थानीय बासिन्दा भक्तपुर, २८ चैतः हरेक वर्ष भक्तपुरमा मनाइने बिस्का जात्राअन्तर्गत जात्राको पहिलो दिन भैरवनाथ रथ टौमढीबाट तान्दै स्थानीय बासिन्दा। रथ माथिल्लो स्थान र तल्लो स्थानतर्फ लान अगाडि र फछाडिबाट तान्ने गरिन्छ । तस्बिरः रत्न श्रेष्ठ\रासस
  • नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान

    नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान

    २८ चैत, म्यानमार । नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । नाय पिटाव अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् ।

    सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो । सोह्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र पत्रकारलगायत थिए । त्यसअवसरमा सहसचिव अधिकारीले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै म्यानमार सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

    उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपालमा २०७२ सालको भूकम्पको समयमा म्यानमार सरकारले गरेको सहयोग स्मरणसमेत गरे । “म्यानमारमा भूकम्पले ठूलो क्षति गरेको छ, यस्तो अवस्थामा नेपाल सरकार र निजी क्षेत्रबाट प्राप्त २७ टन बराबर राहत सामग्री यहाँको सरकारलाई उपलब्ध गराइएको हो”, सहसचिव अधिकारीले भने, “नेपाल सरकारले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिनेछ, यसप्रकारको सहयोग आदानप्रदानले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्नेछ ।”

    त्यस अवसरमा म्यानमारका सरकारी प्रतिनिधि हेयू वाई लुविनले उक्त सहयोगका लागि नेपाल सरकारलाई धन्यवाद दिए । उनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे संक्षिप्त जानकारी दिए । उनका अनुसार भूकम्पमा परी हालसम्म तीन हजार ५९० भन्दा बढीको मृत्यु भइसकेको छभने चार हजार ८०० भन्दा बढी घाइते र १४८ बेपत्ता छन् ।

    म्यानमार लागि नेपाली राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा करिब एक लाख ५० हजार नेपालीभाषी म्यानमारमा रहेको उल्लेख गर्दै भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको जानकारी दिए । म्यानमारको सघाइ प्रान्तलाई केन्द्रविन्दु बनाएर यही मार्च २८ मा सात दशमलव सात रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको थियो । “भूकम्पका कारण अझै १५ जना नेपाली नागरिक बेपत्ता छन्, उहाँहरुको खोजी भइरहेको छ, घाइतेहरुको उपचार जारी छ”, राजदूत घिमिरेले भने ।


    म्यानमारस्थित नेपालीहरूको छाता सङ्गठन अखिल म्यानमार गोर्खा हिन्दू धार्मिक संस्थामा करिब २५० जना भूकम्प प्रभावित नेपालीहरूले आश्रय लिएको पनि उहाँले जानकारी दिए । नेपाली सेनाको चिकित्सकको टोलीले विगत सात दिनदेखि म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा पुगी सेवा दिइरहेको छ । नेपाली सेनाको टोलीले हालसम्म एक हजार ३०० भन्दा बढीको उपचार गरिसकेको उनले जानकारी दिए । उनका अनुसार उक्त टोलीले आठ जना जटिल अवस्थाका घाइतेको सफल शल्यक्रिया गरिसकेको छ ।
    रासस

  • उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

    उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

    २८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्नेगरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा उनले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्नेमा जोड दिए ।

    शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहज रूपमा सेवा दिएर सुशासन कायम गर्ने विषयलाई प्रामथिकतामा राख्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरू पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोतसाधनको तयारी गर्नुपर्ने बताए । सङ्घीय सरकारले हरेक जेठ १५ गते सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछ । सोअघि बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुन्छ ।

    सोको तयारीका लागि प्रधानमन्त्री ओलीले आज सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गरेका हुन् । “सुशासन कायम गर्ने विषयमा कसैसँग कुनै सम्झौता गर्नुहुँदैन । राजस्व सङ्कलनमा बदमासी पाइएमा संलग्न जोकोहीलाई तुरुन्त कारबाही गर्नुपर्छ । पर्याप्त राजश्व उठेपछि जनता केन्द्रत विकासमा खर्च गर्न सकिन्छ”, प्रधानमन्त्री ओलीले भने, “स्रोतको आधारविना बजेट ल्याउने हालको प्रवृत्ति अन्त्य गर्नुपर्छ । आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन । बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्नेगरी ल्याउनुपर्छ ।”

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितताविना धेरै योजना राखिने, भएको पुँजीगत खर्च गर्न नसक्ने तर थप बजेट माग्नेलगायत अवस्था सुधारेर विधि र मापदण्डमा आधारित रही बजेट तर्जुमा गरिने बताए । सोका लागि मन्त्रालयले आवश्यकता अनुसार सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरिरहेको उनको भनाइ छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व सङ्कलन ५५ प्रतिशत, कूल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत भएको छ ।

  • उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत

    उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत

    २८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    केही दिन अघि उपकुलपति प्रा डा बरालले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएका थिए । उनी २०८० फागुनमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएका थिए । उनको राजिनामासँगै विश्वविद्यालयमा सरकारको हस्तक्षेप पुनः एक पटक सतहमा आएको छ ।

  • चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते

    चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते

    २८ चैत, बाजुरा । बुढीगङ्गा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ । चट्याङ लागेर बुढीगङ्गा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर मृतक नाबालिकाकी आमा २८ वर्षीया सञ्जिता सार्की घाइते भएकी छिन् । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार घाइते सञ्जिताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

  • कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध

    कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध

    २८ चैत, सुर्खेत । कर्णालीका चार जिल्लाका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । रुकुम पश्चिमको मुसिकोट–११ मा स्थित पृतिबाङ खोलामा बाढी आएपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको पचालझर्ना गाउँपालिका–८ मा पहिरोका कारण कालीकोट–हुम्ला खण्ड अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

    कालीकोटको खाडाचक्र–८ सिम्लाघार्डमा ढुङ्गा खसेका कारण सुर्खेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । कालीकोटकै सन्नीत्रिवेणी–३ सिस्नेगाड, रास्कोट– ८ भार्तडीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । भेरीगङ्गा–११ साधिकोखोला पहिरो जाँदा जाजरकोट सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

  • डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

    डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

    २८ चैत, डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो ।

    मृतक नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शङ्कर नागरी घाइते भएका हुन् । यसैगरी, सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएकी प्रहरी उपरीक्षक शर्माले बताए ।

  • मेक्सिकोमा ११ जनाको हत्या

    मेक्सिकोमा ११ जनाको हत्या

    काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुएरेरोमा ११ जनाको शव फेला परेको स्थानीय अभियोजक र मिडिया स्रोतहरूले बुधबार जानकारी दिएका छन् ।
    अभियोजकहरूले बताएअनुसार यी शवहरू मङ्गलबार राति टेकोआनापाको नगरपालिका क्षेत्रमा फेला परेका थिए । यी हत्या आपसमा प्रतिस्पर्धा गर्ने सङ्गठित अपराध समूहहरू बीचको झडपमा भएको हो ।

    गुएरेरो मेक्सिकोको दक्षिणी तटमा स्थित छ । यहाँको ६ राज्यले मेक्सिकोका आधा हत्याहरूको जिम्मेवारी लिन्छ, जुन मुख्यतः ड्रग तस्करीसँग जोडिएका छन् । अक्टोबर महिनामा, यहाँ राज्यको राजधानी चिलपांसिङ्गोका मेयरलाई पदभार सम्हालेको केही दिनमै सिर टुक्राएर मारेको थियो ।

  • काठमाडौं उपत्यकामा एकाबिहानै वर्षा

    काठमाडौं उपत्यकामा एकाबिहानै वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने आकलन छ । मौसमविद ग‍ोविन्द झाका अनुसार लगातार भने पानी पर्ने छैन् । केहीबेर रोकिने अनि फेरि पर्ने हुन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । त्यसैले पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ ।

    अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । तर मोरङको केराबारीमा गत २४ घण्टामा २५७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा देखिन्छ । लामो समयको सुक्खा र खडेरीले आहत भएकाहरुलाई यो वर्षाले केही राहत दिएको छ । तर कतै कतै असिना पानी, चट्याङ र पहिरोले भने दुःख दिएको छ ।

    बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मौसमविद झाले पर्सिदेखि मौसममा क्रमिक सुधार हुने बताए । आजको तुलनामा भोलि र भोलिको तुलनामा पर्सि कम पानी पर्ने उनको भनाइ छ ।

  • माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

    माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

    २८ चैत, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गरे ।

    प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, माओवादी केन्द्रको अन्तरराष्ट्रिय विभाग, स्कुल विभाग, मजदूर तथा बुद्धिजीवी सङ्गठन, अखिल (क्रान्तिकारी)लगायत विभागका सदस्य सहभागी छन् ।
    चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहेका चार सहरमध्ये एक हो ।

  • डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १०० माथि

    डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १०० माथि

    काठमाडौं । डोमेनिकन रिपब्लिकनमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किँदा करिब एक सय जनाको मृत्यु भएको तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा मृत्यु हुनेमा उहाँका प्रबन्धकसमेत रहेको जनाइएको छ । मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ ।

    उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए । स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए । पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताइन् । राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरी तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनलका अनुसार मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाको गभर्नर नेलसी क्रुज पनि थिए ।

  • काठमाडौंमा हल्का वर्षा, प्रदूषण हट्ने आशा

    काठमाडौंमा हल्का वर्षा, प्रदूषण हट्ने आशा

    २७ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् गोविन्द झाका अनुसार उपत्यकालगाायत विभिन्न स्थानमा वर्षा भएको हो । उनका अनुसार बिहीबार बिहान र दिउँसो पनि वर्षा हुने सम्भावना छ । यसपालिको वर्षाले वायुु प्रदूषण घटने र किसानलाई राहत पुग्ने उनले बताए ।

    नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा मुलुकको लुम्बिनी प्रदेशसम्मका अधिकांश भूभागमा वर्षा हुने मौसमविद् झाको भनाइ छ । उनका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी भूभाग मात्रै वर्षाको सम्भावना छ । धेरै समयपछिको वर्षाले सुक्खाको अवस्था हट्ने उनले बताए ।

    वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हावाको गति बढ्दा र आकाशबाट पानी पर्दा वायु प्रदूषण पनि कम हुने बताए । “काठमाडौँ कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ”, उनले भने । एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्कअनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सय ७७ एक्युआई रहेको छ ।

  • नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला

    नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला

    काठमाडौं । मङ्गलबार साँझ नारायणी नदीमा डुबेर बेपत्ता भएका दुईजना दिदीभाइको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिश क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका उनीहरुको शव आज दिउँसो सोही स्थानमा फेला परेको हो । नदीमा बेपत्ता भएका गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी १३ वर्षीया छोरी दीक्षा र नौ वर्षीय छोरा स्वपनिलको शव आज सशस्त्र प्रहरी बल १७ नम्बर गण भरतपुरबाट खटिएको गोताखोरको टोलीले फेला पारेको हो ।

    इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले उनीहरु डुबेको ठाउँ नजिकै दिदीभाइको शव फेला परेको जानकारी दिउ । “आज बिहानैबाट दुवै जनाको खोजी गरिएको थियो”, उनले भने, “दुवै जनाको शव दिउँसो १२ः३० बजेतिर फेला पार्न सफल भयौँ ।” उनीहरुको शव पोष्टमार्टमका लागि भरतपुरस्थित भरतपुर सङ्घीय अस्पतालमा पठाइएको विष्टले जानकारी दिनुभयो । दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग मङ्गलबार साँझ नारायणी नदीमा गइ घर फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा बेपत्ता भएका थिए ।

  • ५ तस्वीरमा बुधबार नेपालका मूख्य खबर

    ५ तस्वीरमा बुधबार नेपालका मूख्य खबर

    काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली अर्घाखाँची भ्रमणमा पुगे । आजै राजधानीसहित पूर्वी नेपालमा हल्का वर्षा भयो । यसले लामो प्रदूषण भोगिरहेका उपत्यकाबासीले केही राहत पाएका छन् । काठमाडौंमा बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । कृषि मन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । यी नै घटनाक्रमसँग सम्बन्धित तस्वीरहरुको श्रङ्खला यहाँ प्रस्तुत गरिएको छ ।

    तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठकमा सहभागी हरु । बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकलेमा बिम्स्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डारण स्थापना, क्षेत्रीय बीउ भण्डारण स्थापना गर्ने लगायत विषयमा सहमति भएको छ ।
    प्रधानमन्त्रीद्वारा पाणिनि तपोभूमि सम्मेलन उद्घाटन लुम्बिनी, २७ चैतः प्रधानमन्त्री केपी शर्मा ओली अर्घाखाँचीको पाणिनि गाउँपालिकामा बुधबार ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन गदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय
    उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह बुधबार तेह्रथुमको लालीगुराँस नगरपालिकामा पर्ने तीनजुरे क्षेत्रस्थित आरआर गार्डेनमा कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को शुभारम्भ गदै । तस्बिरः बविता राई
    प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले शिष्टाचार भेटवार्ता गदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस
    नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रमा सहभागीहरू । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस
  • बिम्स्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न, कृषि क्षेत्रको विकासका लागि सहकार्यमा जोड

    बिम्स्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न, कृषि क्षेत्रको विकासका लागि सहकार्यमा जोड

    काठमाडौं । तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकलेमा बिम्स्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डारण स्थापना, क्षेत्रीय बीउ भण्डारण स्थापना गर्ने लगायत विषयमा सहमति भएको छ । यसैगरी क्षेत्रीय कृषि व्यापार प्रवर्द्धन, सदस्य राष्ट्र बीच कृषि क्षेत्रको क्षमता विकास लगायत क्षेत्रमा विशेष पहल गर्ने सहमति भएको छ । बैठकमा सदस्य राष्ट भारतले कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्नका लागि बिम्स्टेक सेन्टर अफ एक्सिलेन्स र कृषि विकासमा डिजिटल सार्वजनिक पूर्वाधारको स्थापनाबारे अवधारणा प्रस्तुत गरेको थियो ।

    बैठकले पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्यका लागि नयाँ कार्ययोजनाको अनुमोदन गरिएको छ । बैठकमा कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि बिम्स्टेक सदस्य राष्ट्रहरूबीच सहकार्यको आवश्यकता औंल्याएका थिए । जलवायु परिवर्तन, विषादीको बढ्दो प्रयोगले बिम्स्टेक अन्तर्गतका राष्ट्रहरूमा चुनौती थपेको उल्लेख गर्दै मन्त्री अधिकारीले यसको सामना गर्न सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको बताए ।

    भारतका कृषिमन्त्री शिवराज चौहानले बिम्स्टेक राष्ट्रहरूमा कृषि, पशुपन्छी तथा मत्स्यपालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य राष्ट्र बीचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिएका थिए । यसअघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । आज बसेको मन्त्रिस्तरीय बैठकले यसलाई अनुमोदन गरेको हो । बैठकमा तीन देशका मन्त्रीहरूको प्रत्यक्ष सहभागीता रहेको थियो भने ४ सदस्य राष्ट्रका मन्त्री तथा प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी भएका थिए ।

    आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री शिवराज चौहानबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिएका थिए । भारतीय कृषिमन्त्री चौहानले दुई देशको आयात निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरी सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सो सँग पनि दिपक्षिय भेटवार्ता भएको छ ।

    भेटवार्तामा कृषिमन्त्री अधिकारीले भुटान र नेपालबीच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै नेपाल र भुटान बीच याकको विकासमा सहकार्य गर्न सकिने बताए । भुटानका मन्त्रीले दुई देशका प्रयासहरू समान र साझा रहेकाले नेपाल र भुटानबीच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको बताएका थिए ।

  • ८ महिनामै साढे १० खर्ब भित्रियो रेमिट्यान्स

    ८ महिनामै साढे १० खर्ब भित्रियो रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ८ महिना (साउन–फागुन) अवधिमा साढे १० खर्बमाथि रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आव २०८०–८१ को तुलनामा ९.४ प्रतिशत बढी हो । रेमिट्यान्स बढी भित्रिए पनि वृद्धिदरमा भने यस वर्ष कमी आएको छ । गत आव यसै महिना १८.३ प्रतिशतले विप्रेषण आप्रवाह बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ६।९ प्रतिशतले बढेको छ । डलरमा ७ अर्ब ७४ करोड रेमिट्यान्स आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

    यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । राष्ट्र बैंकका अनुसार ८ महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ छ । गत वर्ष यो संख्या २ लाख ८५ हजार ३ सइ ५२ थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या यस वर्ष २ लाख १७ हजार ४ सय ३ छ । गत वर्ष यो संख्या १ लाख ८२ हजार ७ सय ८३ थियो । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म खुद द्वितीय आय ११ अर्ब ४८ अर्ब १२ करोड छ । अघिल्लो वर्ष यस अवधिमा यो आय १० खर्ब ४१ अर्ब थियो ।

  • नेपालबाट विदेशमा अध्ययनमा जाने विद्यार्थीले लगे ८९ अर्ब रुपैयाँ

    नेपालबाट विदेशमा अध्ययनमा जाने विद्यार्थीले लगे ८९ अर्ब रुपैयाँ

    काठमाडौं । नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँगै ८ महिना (साउन–फागुन) अवधिमा ८९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म ८८ अर्ब ९८ करोड रुपैयाँ विद्यार्थीले विदेश लगेका छन् । यस अवधिमा मुलुकको कुल भ्रमण व्यय १ खर्ब ४८ अर्ब रुपैयाँ छ । यसमध्ये शिक्षामा ८९ अर्ब विदेशिएको हो ।

    अघिल्लो वर्ष यो अवधिमा भ्रमण व्यय १ खर्ब २२ अर्ब ८१ करोड थियो । जसमध्ये शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड थियो । मुलुकले भ्रमण आयबाट भने ८ महिनामा ५६ अर्ब ७० करोड रुपैयाँ मात्र आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९।७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष भ्रमण आय ५१ अर्ब ६९ करोड थियो । यसरी आयको तुलनामा व्यय धेरै हुँदा सेवा आय ७५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको समेत देखिएको छ । अघिल्लो वर्ष सोही अवधिमा सेवा आय ४३ अर्ब ६३ करोडले घाटामा थियो ।

  • नेपालमा विदेशी मुद्राको सञ्चिति २४ खर्ब माथि, १७ महिनाको आयात धान्ने क्षमता

    नेपालमा विदेशी मुद्राको सञ्चिति २४ खर्ब माथि, १७ महिनाको आयात धान्ने क्षमता

    काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणअनुसार असार मसान्तको तुलनामा यस्तो सञ्चिति १८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने १३.१ प्रतिशत बढेको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति १७ अर्ब २७ करोड पुगेको छ । आर्थिक वर्ष २०८१–८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रका बाह्य सूचक संतोषजनक अवस्थामा रहेको देखिन्छ ।

  • अब विदेशमा रहेका नेपालीले बैंक खाता खोल्दा राष्ट्रिय परिचय पत्र नचाहिने

    अब विदेशमा रहेका नेपालीले बैंक खाता खोल्दा राष्ट्रिय परिचय पत्र नचाहिने

    काठमाडौं । विदेशमा रहेका नेपालीलाई बैंक खाता खोल्दा तत्कालै राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ ।

    ‘तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत इजाजतपत्र प्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन्,’ नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको निर्देशनमा उल्लेख छ ।

    यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने छ । त्यसैगरी आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।

  • नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द

    नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द

    काठमाडौं । नारायणगढ–बुटवल सडक योजना अन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुँदैछ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ ।

    चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ । वर्षाअगाडी नै आयोजनालाई तिब्रता दिने उद्देश्यले सडक बन्द गराउन लागिएको हो । दाउन्ने खण्डमा अहिले यात्रुले बढी सास्ती भोगिरहेको छ ।

  • दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

    दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

    काठमाडौं । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उनलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो । पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गरेका थिए । तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको र पदबाट निलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको छ ।

    गत हप्ता अदालतले उनको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उनलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो । सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले मङ्गलबार बताए । यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उनले बताए ।

    फलस्वरूप ‘दक्षिण कोरियाको २१औँ राष्ट्रपति निर्वाचनको मिति जुन ३ तोक्ने निर्णय गरेको’ भन्दै उनले मतदानलाई सहज बनाउन त्यस दिनलाई अस्थायी सार्वजनिक बिदाका रूपमा तोकिने जानकारी दिए । प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान गरे । नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।

    अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहेका छन् । संवैधानिक अदालतले उहाँको आफ्नै महाभियोगलाई खारेज गरेपछि उनले भर्खरै पुनः काम सुरु गरेका छन् । राष्ट्रपति निर्वाचन सामान्यतया बुधबारहरूमा गरिन्छ तर रिक्त पदपूर्तिका लागि आयोजित आकस्मिक मतदानका लागि कुनै विशेष दिन तोकिएको छैन । आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ । विपक्षी नेता ली जे–म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा रहेका थिए । पछिल्लो ग्यालप सर्वेक्षण अनुसार उनको समर्थन दर ३४ प्रतिशत रहेको छ ।

  • गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

    गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

    काठमाडौं । इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजा पट्टीमा करिब चार लाख प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । अनादोलु समाचार एजेन्सीका अनुसार राष्ट्रसङ्घीय प्रवक्ता स्टेफान दुजारिकले गाजामा इजरायली आक्रमण निरन्तर जारी रहँदा व्यापक नागरिक हताहती गराइरहेको बताए । “गाजामा धेरै बालबालिकासहित मानिसहरू मारिइरहेका छन्, घाइते भइरहेका छन् र जीवनभरका लागि अपाङ्ग बनाइँदैछन्”, उनले भने, “गाजाभरका बाँचेकाहरू पटक–पटक विस्थापित भइरहेका छन् र झन्झन् सानो हुँदै गएको स्थानमा धकेलिएका छन् जहाँ उनीहरूको आधारभूत आवश्यकताहरू पूरा हुन सक्दैन ।”

    शान्ति सम्झौता भङ्ग भएपछि करिब चार लाख मानिस अर्थात गाजाको जनसङ्ख्याको १८ प्रतिशत विस्थापित भएका छन् भन्दै दुजारिकले कब्जा गर्ने शक्तिका रूपमा इजरायलले विस्थापित जनसङ्ख्याको सुरक्षा र जीवित रहनका लागि कुनै व्यवस्था नगरेको बताए । मानवीय प्रयासहरू टुट्ने विन्दुको नजिक पुगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आवश्यक वस्तु र आपूर्तिको वितरणका लागि क्रसिङ तुरुन्त फेरि खोल्न आग्रह गरे ।

    साथै मानवीय सामग्री भित्र्याउने प्रयास अवरुद्ध भएको र सहयोग आवागमन समन्वय गर्ने अधिकांश प्रयास रोकिएको उनले बताए । इजरायली सेनाले आकस्मिक चिकित्सकहरूको हत्या विषयलाई सम्बोधन गर्दै दुजारिकले राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरेस विचलित गर्ने भिडियो फुटेजका बारेमा जानकार रहेको र घटनाको स्वतन्त्र र पारदर्शी अनुसन्धानका लागि आह्वान गरिरहेको समेत पुष्टी गरे ।

    जारी मानवीय सङ्कटका सम्बन्धमा उहाँले एक महिनाभन्दा बढी समयदेखि कुनै पनि खोप, खाद्यान्न, इन्धन वा अन्य आपूर्तिहरू गाजामा प्रवेश नगरेको र पोलियो खोपका लागि पनि कुनै अपवाद नबनाइएको बताए । विशेष गरी गाजाबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कार्यान्वयन गर्ने प्रयासहरू जारी रहेको बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सैन्य अभियानलाई तीव्र पार्ने प्रतिज्ञा गरेका हुन् ।

  • देशका विभिन्न भेगमा छिटपुट वर्षा, डडेलो र प्रदुषणबाट राहत

    देशका विभिन्न भेगमा छिटपुट वर्षा, डडेलो र प्रदुषणबाट राहत

    काठमाडौं । आज देशका विभिन्न स्थानमा छिटपुट वर्षा हुँदा डडेलो र प्रदुषणबाट राहत मलिेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको देखिएको छ । कोशी प्रदेशका संखुवासभा, सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका रोल्पा, प्युठान र पाल्पामा हल्कादेखि मध्यम खालको वर्षा भएको छ ।

    कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम खालको वर्षा मापन भएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा म्याग्दीको मुनामा भएको छ । मुना स्टेसनमा ३२.६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ । त्यसपछि धेरै वर्षा सिन्धुपाल्चोकको चन्द्रखु क्षेत्रमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा २२ मिलमिटर वर्षा रेकर्ड भएको छ ।

    सिन्धुपाल्चोककै गुम्थाङमा १९.४, दुवाचौरमा १२.८, ढुंगेमा १२.४, भोताङमा १०.८, बाहुनेपाटीमा १०.६, बोल्देमा ८.८ र मेलम्चीघ्याङमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ । झापाको बाहुनडाँगीमा पनि मध्यमखालको वर्षा भएको छ । त्यहाँ गत २४ घण्टाको अवधिमा २१.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    त्यसपछि धेरै वर्षा कर्णाली प्रदेशको जाजरकोटस्थित दल्ली स्टेसनमा भएको छ । दल्लीमा १९.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली प्रदेशको रुकुमपश्चिममा पर्ने मुसिकोट नगरपालिका वडा नं ९ चौखाबाङमा असिना–पानी परेको छ । असिनाले काट्न ठिक्क भएको गहुँ र अन्य तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको छ । यसैगरी काभ्रेको रोशीखोला पनौतीमा ७.६ मिलिमिटर वर्षा भएको छ । तर काभ्रेको छिमेकी काठमाडौं उपत्यकाका जिल्ला भने सुक्खा नै रहे । साँखुमा हल्का छिट्याउने बाहेक अन्य स्थानमा वर्षाको रकेर्ड देखिएन ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविदले मंगलबार अपराह्नदेखि काठमाडौंमा पनि वर्षा हुने पूर्वानुमान गरेका थिए । तर पूर्वानुमान गरेअनुसार वर्षा भएन । बुधबार र विहीबार दुई दिन भने काठमाडौंमा पनि पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । अहिले बिहान काठमाडौंमा डम्म बादल लागेको छ । अपराह्न वा साँझतिर भने मेघगर्जनरचट्याङसहित पानी पर्ने सम्भावना छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । त्यसैले मौसमविदले वर्षा, हिमपात र बदलीको पूर्वानुमान गरेका हुन् ।