काठमाडौं । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको छ । सशस्त्र प्रहरी बल कालिका गण पोखराको विशेष विपद् उद्धार टोलीले आज बिहान देउराली चुमरुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ उनको शव फेला पारेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
अन्नपूर्ण आधार शिविर (एविसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कने क्रममा पर्यटक बेपत्ता भएपछि उनको खोजीमा प्रहरी टोली खटिएको थियो । प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार उनको शव पोखरा ल्याउने तयारी भइरहेको छ । यही चैत ११ गते दिउँसो साढे १२ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरो गएको थियो ।
बेसक्याम्पबाट फर्केका भारतीय पर्यटकले देउरालीमा गएको हिमपहिरामा एक जना पुरिएको सूचना प्रहरीलाई दिएका थिए । पर्यटक हराएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा फेला नपारेपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा यही चैत १६ गतदेखि प्रहरी टोली खटिएको थियो ।
काठमाडौं । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । आमबारीबाट उर्लाबारीतर्फ जाँदै मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो । दुर्घटना लगतै स्थानीयले दुवै जनालाई उपचारका लागि रंगेली अस्पताल पठाएका थिए । अस्पतालमा उनीहरुको मृत्यु भएको प्रहरीले हो । उनीको शव पोष्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । रातको समयमा तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।
चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो । बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।
उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।
चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । चैत्र शुक्ल प्रतिपदादेखि नै दसैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबार अन्तर्गत रहेको दसैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी नलिएरै प्रहरी पक्राउ गर्न गएसँगै रास्वपा आक्रोसित बनेको छ । उच्च अदालतको आदेशपछि शुक्रबार राति लामिछानेको घरमा पुगेको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको बताउँदै रास्वपाले त्यसलाई अनौठो अभ्यास भएको बताएको छ । सभापति लामिछाने पक्राउ परेपछि शुक्रबार राति भर्चुअल रुपमा बसेको केन्द्रीय सचिवालयको बैठकले यो विधिको शासनमा क्षम्य हुन नसक्ने निष्कर्ष निकालेको छ । बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर(संवेदनशील र गैरकानुनी भएको बताउँदै भत्सर्ना गरेको छ ।
साथै, उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध न्यायका लागि अर्को तहमा जाने निर्णय गरेको छ । पक्राउ पर्नुअघि नै रविले पनि न्यायका सबै ढोका ढकढक्याउने बताइसकेका छन् । बैठकले डीपी अर्याललाई दिइएको कार्यवहाक सभापतिको जिम्मेवारी पनि अनुमोदन गरेको छ । शुक्रबार राति पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएका लामिछानेलाई आज विमानबाट भैरहवा लगिंदैछ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका छन् । उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ । शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु,’ लामिछानेले भनेका छन्, ‘ साथै न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु ।’ उनले आफूमाथि ठूलो अन्याय भएको पनि बताएका छन् । ‘ममाथि ठूलो अन्याय भएको छ,’ उनले भनेका छन् । साथै, भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
काठमाडौं । शुक्रबार जाजरकोटमा ३ मिनेटको फरकमा दुई पटक भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताएका छन् ।
उनका अनुसार पोहोर जाजरकोटमा गएको भूकम्पकै अवशेष भए पनि पछि ठूलो जोखिम ल्याउने संकेत हो । ‘प्रहरीका अनुसार क्षतिको विवरण आउन बाँकी छ । केही घरहरु चर्किएको विवरण सार्वजनिक सञ्जालमा आएका छन् ।
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।
सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरुले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ । सभापति लामिछानेलाई थुनामा पठाउने अदालतले आदेश गरेसँगै पार्टीका नेताहरू छलफलमा जुटेका छन् । अहिले काठमाडौंमा उपलब्ध नेताहरू छलफलमा जुटेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् । शुक्रबार भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्, ‘भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।’
उनले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको जानकारी गराएका छन् । ‘हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं,’ उनले भनेका छन् । उता, प्रधानमन्त्री ओलीले समेत हिन्दी भाषामा भेटवार्ताबारे उल्लेख गरेका छन् । दुई प्रधानमन्त्रीबीचको यो भेटलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री भएको ९ महिनासम्म पनि दिल्लीले ओलीलाई भ्रमणको निम्ता दिएको छैन ।
काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् त्यहाँका व्यवसायीसँग बिहीबार बैङ्ककमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गरे ।
नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले थाई व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक थुप्रै कानुन संशोधन तथा परिमार्जन गरिएको जानकारी गराए । उनले सरकारले लगानीको सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता जनाए ।
उनले नेपालमा लगानीका अवसर र सम्भावनाबारे भ्रमणमा सहभागी निजी क्षेत्रका प्रतिनिधिसँग धारणा बुझ्न र निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताए । भ्रमण दलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीका लागि सहज वातावरण रहेको जानकारी थाई उद्यमी व्यवसायीलाई गराए ।
नेपालमा उत्पादनमूलक उद्योग स्थापना गर्दा बजारका लागि भारत र चीन जस्ता धेरै जनसङ्ख्या भएका मुलुक रहेको भन्दै नेपालमा लगानी गर्दा थाई व्यवसायीले त्यो सभावनाबाट फाइदा लिन सक्ने बताए । ढकालले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा लगानीको राम्रो सम्भावना रहेको जानकारी गराए । “पछिल्लो पटक सरकारले गरेका नीतिगत सुधारले बाह्य लगानीलाई आकर्षित गर्ने अवस्था छ । निजी क्षेत्रका तर्फबाट पनि म थाई व्यवसायीलाई लगानीका लागि आग्रह गर्दछु,” अध्यक्ष ढकालले भने ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । यसअघि बिहीबार साँझ बिमस्टेक सम्मेलनअगाडि बैंककमा आयोजना गरिएको डिनरमा उनीहर सँगै देखिएका छन् । मोदीको अर्को छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस बसेका थिए । मोदीसँग ओली र युनुसको पछिल्लोपटक सत्तासिन भएपछिको भेटको सन्दर्भ उत्तिकै दुर्लभ देखिएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएको वेला गत ७ असोजमा न्युयोर्कमा ओली र मोदीबीच भेट भएको थियो ।
त्यस्तै, बंगलादेशमा गत वर्ष अगस्टमा भएको सत्तापलटपछि मोदी र युनुसबीचको यो पहिलो प्रत्यक्ष भेट हो । त्यतिबेला प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि भारतमा शरण लिएकी थिइन्, जसले दुई देशबीचको सम्बन्धमा चिसोपन ल्याएको थियो। ओली र मोदीबीच आज अपराह्न ४ बजेदेखि ४ः२० सम्म भेटवार्ता तय भएको छ । आजको भेटसँगै ओली र मोदीबीच तेस्रो देशमा दोस्रो भेटवार्ता हुनेछ । पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने ओलीको प्रयास अहिलेसम्म सफल भएको छैन । वर्तमान सरकार बनेको अहिले नौ महिना बितिसकेको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले गरेको छ । आर्थिक आघातबीच नेपालको अर्थतन्त्र उत्थानशील रहने समेत विश्व बैंकले भनेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट’ को अप्रिल अडिसन सार्वजनिक गर्दै विश्व बैंकले यस आवमा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो । अघिल्लो आव नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंक थियो । सन् २०२४ अन्त्यतिर नेपालले ठूला प्राकृतिक विपत्ति सामना गर्नुपरेको थियो । यस वर्ष आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादन वृद्धिबाट आर्थिक वृद्धिदर उकास्न मद्दत पुग्ने विश्व बैंकले उल्लेख गरेको छ ।
आगामी आवसमेत अर्थतन्त्र अझ विस्तार हुने अनुमान छ । यसमा सेवा क्षेत्रको योगदान बढी हुने अनुमान छ । आगामी आव ५.२ प्रतिशत र त्यसपछि ५.५ प्रतिशतले विस्तार हुनेसमेत विश्व बैंकको अनुमान छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिन आवश्यक रहेको बताए ।
उनले यसलाई हासिल गर्न नेपालले आफ्नै उत्थानशील वृद्धिको प्रभावशाली इतिहासको जगमा संरचनात्मक सुधार गर्न आवश्यक रहेको समेत बताए ।
प्रतिवेदनले नेपालको आर्थिक परिदृष्यमा रहेको सम्भावित जोखिम ९अपेक्षित प्रतिफल कम भएर लगानी ह्रास० लाई औंल्याएको छ । जसमा भूराजनीतिक र व्यापार सम्बन्धी अनिश्चितता समावेश छन् । यसले नेपालको वित्तीय क्षेत्रको ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावना साथै सरकारले बारम्बार कर्मचारी सरुवा गर्दा उत्पन्न हुने नीतिगत असंगतिको जोखिम तथा पूँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइ सम्बन्धमा पनि उल्लेख गरिएको छ ।
नेपाल डेभलपमेन्ट अपडेटले पछिल्ला आर्थिक विकासबारे महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा शिवराज अधिकारी बताउँछन् । नेपालको १६औं योजनाका लक्ष्य हासिल गर्न आर्थिक वृद्धिलाई थप मजबुत बनाउनुपर्ने भएकाले प्रभावकारी पूँजीगत बजेट कार्यान्वयन एवं चालु परियोजना समयमै सक्नु आवश्यक रहेको समेत उनले बताए ।
काठमाडौं । अघिल्लो दिन सामान्य मूल्य घटेको सुन फेरि नयाँ उचाइमा पुगेको छ । बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँले सुन बढेको हो । अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँ पुगेको छ ।
काठमाडौं । थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर साइडलाइन वार्तामा व्यस्त भए । उनी थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका हुन् ।
उनले बिहीबार साँझ ५ः३० देखि ६ः२० सम्म म्यानमारका राज्य प्रशासन परिषद्का अध्यक्ष (प्रधानमन्त्री) मिन आङ ह्लाइङसँग भेट गरे । त्यसअघि आजै साँझ ५ः१० मा ओलीले भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका थिए । उनीहरूबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षमा छलफल भएको छ ।
त्यसअघि ओली र संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएनस्क्याप)का कार्यकारी सचिव अमिदा सलैहबीच भेट भएको थियो । सो अवसरमा नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतीका सहयोगका विषयमा कुरानकारी भएको सिलवालले जानकारी दिएका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेट भएको थियो । यी सबै साइडलाइन भेटवार्तामा भेटमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए । बिहान भने प्रधानमन्त्री ओलीले थाइल्यान्डको प्रतिष्ठित विश्वविद्यालय एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)ं सम्बोधन गरेका थिए ।
काठमाडौं । थाइल्यान्डको बैंककमा सुरु भएको बिम्स्टेक छैटौं शिखर सम्मेलनमा सहभागी सदस्य मुलुकका सरकार प्रमुखहरूलाई थाई प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले रात्रिभोज आयोजना गरेकी छन् । बैंककको सांग्रिला होटेलमा साँझ ७ बजे शुरु भएको रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी छन् ।
सो रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुस, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारका राज्य प्रशासन परिषद्का अध्यक्ष ९प्रधानमन्त्री० मिन आङ ह्लाइङ, श्रीलंकाका प्रधानमन्त्री डा। हारिनी अमरासुरिया सहभागी छन् ।
नेपालका तर्फबाट रात्रिभोजमा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृत बहादुर राई, थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओली, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेलगायत सहभागी छन् ।
बिम्स्टेकको शिखर सम्मेलनको औपचारिक कार्यक्रम शुक्रबार बैंककमा हुने छ । सो सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । सम्मेलनमा सबै देशका सरकार प्रमुखले सम्बोधन गरेपछि घोषणापत्र जारी हुनेछ । सम्मेलनपछि दिउँसो चार बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय साइडलाइन बैठक हुनेछ । सो बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित सात सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुल घोषणा गरे । यसलाई उनले ‘मुक्ति दिवस’ भनेका छन् । नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस सुरु भएको छ । अमेरिकाले नेपालमाथि १०) प्रतिशत मात्र महसुल लगाउने भएको छ । यस क्रममा उनले गरेको सम्बोधनका मूख्य ६ बुँदा
अटो मोवाइलमा २५ प्रतिशत महसुल : अमेरिकाले विदेशमा बनेका गाडीमा २५ प्रतिशत भन्सार महसुल लगाउनेछ। यसअघि अमेरिका अन्य देशहरूबाट आयात हुने मोटरसाइकलमा मात्र २.४ प्रतिशत भन्सार महसुल लिन्थ्यो । भारतले ६० प्रतिशत, भियतनामले ७० प्रतिशत र अन्य देशहरूले अझ बढी भन्सार महसुल लिने गरेका छन् । अमेरिका सबैभन्दा धनी देश बन्छ : ट्रम्पले नयाँ भन्सार महसुल दर सार्वजनिक समारोहमा यो निर्णयले अमेरिकालाई फाइदा हुने बताए । ‘अब अमेरिका संसारको कुनै पनि देशभन्दा धनी हुनेछ। आज हामी अमेरिकी कामदारहरूको पक्षमा उभिएका छौँ। अन्ततः हामी ‘अमेरिका फर्स्ट’ नीति लागू गर्दैछौँ,’ उनले भने ।
भन्सार महसुलबाट बच्न अमेरिका मै उत्पादन गर्नुपर्ने : अब अमेरिका भन्सार महसुलको मामलामा बराबरीको जवाफ दिने ट्रम्पले बताए । ‘जुन देशहरूले अमेरिकी बजारसम्म पहुँच चाहन्छन्, तिनीहरूले यसको मूल्य चुकाउनुपर्नेछ’ उनले भने, ‘जो कोही भन्सार महसुलबाट छुट चाहन्छ, उसले अमेरिका मै उत्पादन गर्नुपर्नेछ।’
रोजगारी र उद्योगहरू अमेरिका फर्किनेछन् : ट्रम्पका अनुसार धेरै देशहरूले अमेरिकी बजारको फाइदा उठाएर आफूलाई समृद्ध बनाए, तर अमेरिकी सामानका लागि आफ्ना बजार बन्द गरे। ‘अब अमेरिका पनि आफ्नै फाइदाबारे सोच्नेछ। रोजगारी र उद्योगहरू अमेरिका फर्कनेछन्,’ उनले भने ।
क्यानाडाको डेरी भन्सार महसुल अन्यायपूर्ण : क्यानाडाले डेरी उत्पादनहरूमा अत्यधिक भन्सार महसुल लगाएको ट्रम्पले गुनासो गरे ।’यो अमेरिकी किसानहरूका लागि अन्यायपूर्ण छ,’ उनले भने । उनले अगाडि थपे, ‘अमेरिका क्यानाडा र मेक्सिको जस्ता देशहरूलाई आफ्ना उद्योग जोगाउन अनुदान दिंदै आएको छ। अब हामी आफ्ना किसान र पशुपालकहरूको हकका लागि उभिनेछौँ।’
अमेरिकी आर्थिक स्वतन्त्रताको दिन : ट्रम्पले नयाँ भन्सार महसुल घोषणा भएको दिनलाई अमेरिकाको मुक्ति दिवसको रूपमा चित्रित गरे । ‘आजको दिन अमेरिका आर्थिक रूपमा स्वतन्त्र हुने दिन हो। हामी ‘जस्तालाई तस्तै भन्सार महसुल’ घोषणा गर्दैछौँ, जसअनुसार कुनै देशले अमेरिकामाथि जति शुल्क लगाउँछ, अमेरिका पनि उसैमाथि त्यति नै शुल्क लगाउनेछ ।’
काठमाडौं । इजरायलले गाजा क्षेत्रमा पुनः आक्रमण तीव्र पारेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले गाजा क्षेत्रमा गरेका आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा ५७ जना मारिएका छन् । ५५ जना घाइते भएका अल जजिराले जनाएको छ । उत्तरी सहर जबालियास्थित इन्डोनेसियाली अस्पतालका अनुसार विस्थापित परिवारले आश्रय लिइरहेको संयुक्त राष्ट्रसंघीय क्लिनिकमा भएको आक्रमणमा ९ बालबालिकासहित कम्तीमा १९ प्यालेस्टिनी मारिएका छन् । तर स्थानीय अस्पतालहरूले रातभर भएका आक्रमणमा मारिनेको संख्या कम्तीमा २० रहेको जनाएका छन् ।
नागरिक रक्षा विभागले बुधबार जबालियामा भएको आक्रमणमा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी (उनर्वा) ले आश्रयका रूपमा प्रयोग गर्दै आएको क्लिनिकका दुई कोठामा क्षति पुर्याएको बताएको छ । ती आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको हो । बीबीसीले प्रमाणित गरेका ती घटनाका भिडियोमा दर्जनौं मानिस तथा एम्बुलेन्स भवनतिर दौडिरहेका देख्न सकिन्छ । दुई तला भत्केको देखिने भवनबाट धूवाँ निस्किरहेको भिडियोमा देख्न सकिन्छ । उनर्वाकी प्रवक्ताले एसोसिएटेड प्रेससँग एजेन्सीको एउटा भवनमा आक्रमण भएको जनाएकी छन् । तर आक्रमण किन भएको वा त्यसमा भएको हताहतीबारे उनले केही उल्लेख गरिनन् ।
बीबीसीका अनुसार नागरिक रक्षा विभागले दक्षिणी खान युनिस क्षेत्रको एक घरबाट बालबालिका र महिलासहित १२ जनाको शव निकालेको बताएको छ । एक स्थानीय रिदा अल–जब्बौरले मृतकमध्ये एक छिमेकी र उनको तीन महिनाको बच्चा रहेको बताएकी छन् । ‘हडताल भएको क्षणदेखि हामी बस्न वा सुत्न वा केही गर्न सकेका छैनौं,’ उनले समाचार संस्था रोयटर्ससँग भनेकी छन् ।
आईडीएफले भने त्यहाँ लुकेका ‘हमास आतंककारी’ लाई लक्षित गरिएको दाबी गरेको छ । आईडीएफले एक विज्ञप्तिमा ‘आतंकवादी गतिविधि समन्वय गर्न प्रयोग गरिने र केन्द्रीय बैठकको केन्द्रका रूपमा काम गर्ने कमान्ड–एन्ड–कन्ट्रोल सेन्टर’ मा आक्रमण गरिएको दाबी गरेको छ । ‘आक्रमणअघि हवाई निगरानी र थप गुप्तचर सहयोगसहित नागरिकलाई हानि पुर्याउने जोखिम कम गर्ने उपायहरू चालिएको थियो,’ आईडीएफले भनेको छ ।
त्यस्तै, आईडीएफले इजिप्टको सीमा क्षेत्रमा पनि व्यापक आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । योसँगै इजरायलले गाजामा ठूलो स्थलगत आक्रमण गर्ने तयारी गरिरहेको देखिएको छ । आईडीएफको रेडियोले बुधबार ट्यांकसहितका इजरायली स्थल सेना दक्षिणी सहर रफाहको मध्य र पूर्वी भागमा अघि बढिरहेको जनाएको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजामा घातक इजरायली हवाई आक्रमणहरू गरिएको पुष्टि गरेका छन् । काट्जले विस्तारित कारबाहीको उद्देश्य ‘आतंककारी र आतंकवादी पूर्वाधारको क्षेत्र नष्ट र खाली गर्नु’ भएको बताएका छन् । उक्त कारबाहीका लागि प्यालेस्टिनीहरूको ठूलो संख्या स्थानान्तरण गर्न आवश्यक हुने उनको भनाइ छ ।
आईडीएफले सुरक्षा क्षेत्र कायम गर्नका लागि आफ्नो आक्रमण अझै विस्तार गर्ने र प्यालेस्टिनी क्षेत्रको ठूलो क्षेत्र कब्जा गर्ने उनले चेतावनी दिएका छन् । आईडीएफले गत साता नै रफाहका अनुमानित १ लाख ४० हजार स्थानीयलाई आफ्नो घर छाड्न आदेश दिएको थियो । त्यस्तै, उत्तरी गाजाका केही स्थान पनि खाली गर्न चेतावनी दिएको थियो । युद्धका क्रममा इजरायलले गाजाको किनारा वरिपरिको क्षेत्रमा पनि नियन्त्रण कायम गरिसकेको छ ।
इजरायलले आक्रमण तीव्र पारेसँगै जर्मनीले गाजाबाट १९ जना नागरिकको उद्धार गरेको छ । जर्मन विदेश मन्त्रालयले १९ जना जर्मन नागरिक र उनीहरूका १४ जना आफन्तलाई गाजाबाट बाहिर निकालिएको जनाएको हो । जर्मन र इजरायली अधिकारीबीचको समन्वय र सहयोगमा उनीहरूको उद्धार गर्न सम्भव भएको मन्त्रालयकी प्रवक्ता क्याथ्रिन डेस्चाउरले बताइन् ।
काठमाडौं । गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस–दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो राहत दिने निर्णय गरेको हो।
उनका अनुसार गृह मन्त्रालयले सो निर्णय र प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने जानकारी दिए । त्यसैगरी गृहमन्त्री रमेश लेखकले मिडियाको सुरक्षामा संवेदनशील हुनसमेत सुरक्षा निकायलाई निर्देशन दिए ।
काठमाडौं । शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको बताएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागेर २० जना घाइते भएको बताए । उनले भने, ‘गोली लागेकामध्ये दुई जना महिला थिए ।’
राजावादी समूहले गरेको प्रदर्शनका क्रममा गोली लागेर ललितपुरका सविन महर्जनको मृत्यु भएको थियो । कोटेश्वरस्थित शंकर मार्गमा रेविका र दिनेश खत्री घाइते भएका थिए । प्रहरीका अनुसार, गोली लागेर घाइतेमध्ये १३ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपत्यका प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार, शुक्रबार भएको प्रदर्शनमा मात्र प्रहरीले ७४६ राउन्ड अश्रुग्यास हानेको थियो भने १९२ ब्ल्याङ्क राउन्ड फायरिङ गरेको थियो ।
प्रहरीका अनुसार, ५८ राउन्ड हवाई फायर, कार्टिज (छर्रा) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको छ । यो नेपाल प्रहरीको मात्र विवरण हो, सशस्त्र प्रहरीबाट समेत शुक्रबार गोली चलेको थियो । त्यो हेर्दा प्रहरीबाट अत्यधिक बल प्रयोग भएको भन्दै कतिपय जानकारहरुले आलोचना समेत गरिरहेका छन् ।
काठमाडौं । नेपाल प्रहरीले शुक्रबारको प्रदर्शनलाई हिंसात्मक बनाउन रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको अभिव्यक्तिले मुख्य भूमिका खेलेको बताएको छ । नेपाल प्रहरीले प्रहरी क्लब भृकुटीभण्डपमा गरेको पत्रकार सम्मेलनमा मिश्र र प्रसाईंको अभिव्यक्तिपछि भिडले सबैतिर तोडफोड र आगजनी गर्ने भन्न थालेको उल्लेख छ ।
‘मञ्चबाट पनि सिंहदरबार कब्जा गर्ने, संसद् भवन कब्जा गर्ने, एयरपोर्ट कब्जा गर्ने भन्ने हिसाबले जुन हिसाबले दुई जना व्यक्तिहरुले रवीन्द्र मिश्र र दुर्गा प्रसाईंंले अभिव्यक्ति दिएपछि त्यहाँ भएको सबै भिड सबैतिर तोडफोड आगजनी गर्छौं, सबै ठाउँमा आगो लाउँछौं, व्यक्तिको घरमा आगो लगाउँछौं भनेर मञ्चबाट खुल्लम खुला बोलेको छ’, केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले भने ।
त्यसबेला प्रहरीले यो समूहमाथि कारबाही गर्नुपर्ने अवस्था ढिला भइसकेको र सबैतिर फैलिएर छिटपुट घटना समेत गराइसकेको अवस्था रहेको उनले भनेका छन् । शुक्रबार भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु र २२ जना घाइते भएका छन् । प्रहरीले चलाएको गोलीबाट मात्रै २० जना घाइते भएका छन् । तीमध्ये १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच दुईपक्षीय प्रतिनिधिमण्डलस्तरको बैठकका क्रममा यी सम्झौता भएका हुन् । सरकारी स्तरबाट दुई एवम् गैरसरकारी तथा निजी स्तरबाट ६ वटा सम्झौता–समझदारीमा हस्ताक्षर भएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा। आरजु राणाले नेपाल सरकारका तर्फबाट थाइ सरकारसँग दुई सम्झौता हस्ताक्षर गरिन् ।
दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी–पत्रमा परराष्ट्रमन्त्री राणा र थाइल्यान्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री रोसावाङ तियन्थोङ्ले हस्ताक्षर गरे । त्यस्तै, दुई देशबीचको सांस्कृतिक सम्झौतामा परराष्ट्रमन्त्री राणा र थाइल्यान्डका संस्कृतिमन्त्री सुदावान वाङ्सुफाकिज्कोसलले हस्ताक्षर गरे ।
त्यस्तै, काठमाडौं विश्वविद्यालय र थाइल्यान्डको सियाम विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य बढाउने तथा उच्च शिक्षामा नवप्रर्तनलाई प्रवर्द्धन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले र सियाम विश्वविद्यालयका अध्यक्ष प्रोच्याइ मोङ्कोन्भनितले हस्ताक्षर गरेका छन् । नेपाल नेत्रज्याति संघ र थाइल्यान्डको माहिडोल विश्वविद्यालयअन्तर्गतको रामाथिबोडी अस्पतालबीच पनि सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाइ चेम्बर अफ कमर्श एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार अभिवृद्धिका विषयमा समझदारी भएको छ । सम्झौतामा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाइ चेम्बर अफ कमर्श एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका छन् ।
त्यस्तै, नेपाल उद्योग परिसंघ ९सीएनआई० र थाइ उद्योग महासंघ ९एफटीआई० बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राइ थेननुकुलले समझदारीमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्यान्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ । समझदारी–पत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाइल्यान्डका अध्यक्ष चाइ अरुनानोनडिचाइले हस्ताक्षर गरे ।
त्यस्तै, नेपालको जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको कसेस्टार्ट विश्वविद्यालयबीच जैविक प्रविधि मार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा। कृत वोन–इनल र जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरे । नेपाल र थाइल्यान्डबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ६५ वर्षमा औपचारिक भ्रमण गर्ने ओली नेपालका पहिलो प्रधानमन्त्री हुन् । थाइ समकक्षीसँग भएको दुई पक्षीय बैठकपछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई अझ विस्तार गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको होटल व्यवसाय तथा हवाइ सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे । थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले आफूहरूबीच नेपालको प्राकृतिक स्रोतको उपयोग तथा जलविद्युत क्षेत्रको विकासका बारेमा कुरा भएको बताइन् । ‘हामीबीच व्यवसायलाई सहज बनाउने, व्यापारका अवरोध घटाउने र दुई देशको तुलनात्मक लाभका क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भयो,’ उनले भनिन् ।
नेपाल र थाइल्यान्डबीचको व्यापार बढाउन थाइ लगानीकर्ताले नेपालमा थप लगानी गर्ने विश्वास उनले व्यक्त गरिन् । बैंकक र काठमाडौंबीच हवाइ सम्बन्ध पुनःस्थापित हुनु र त्यो लुम्बिनीसम्म विस्तार हुनु महत्वपूर्ण भएको उनले बताइन् । यसले दुई देशका जनता जनताबीचको सम्बन्ध अझै सुदृढ भएको र दुवै देशमा पर्यटकको संख्यामा वृद्धि भएको कुरालाई स्वागत गरेको बताइन् । आफूहरूले शैक्षिक र स्वास्थ्य उपचार पर्यटनमा सहकार्यको कुरा गर्नुका साथै संयुक्त पर्यटन क्याम्पेन शुरु गर्ने विषयमा पनि कुरा गरेको उनले जानकारी दिइन् ।
काठमाडौं । नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका समकक्षी पेतोङत्रान सिनावात्राको उपस्थितिमा बुधबार बैंककमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल र थाई महासंघ अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरे ।
लगानी तथा व्यापार प्रवर्द्धनसँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययनरअनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदान–प्रदान लगायतमा सहकार्य गर्ने दुई संस्थाबीच समझदारी भएको हो । विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्यान्डको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघ अध्यक्ष अग्रवालले गरे । लगानी प्रवद्र्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरूमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उनले बताए ।
परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठूला देशबीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले विदेशी लगानीकर्तालाई लगानीका लागि परिसंघले आह्वान गर्दै आएको छ । दुई संस्थाबीच भएको समझदारीपत्र हस्ताक्षर समारोहमा थाइल्यान्ड भ्रमणमा रहनुभएका नेपाली प्रतिनिधि सहभागी थिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणले नेपाल र थाइल्यान्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायत क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनले नेपाल र थाइल्यान्डबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरूबीच छलफल भएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे । ‘नेपाल र थाइल्यान्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको छ । थाइल्यान्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि म आह्वान गर्दछु,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल र थाइल्यान्ड बीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको छ । अब हामी अन्तर्राष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्नेछौं ।’
काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए । त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावात्राले स्वागत गरेका थिए । उनलाई गार्ड अफ अनर दिइएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान समेत भएको छ । नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्याण्ड भ्रमण हो ।
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न सजाय भोगिरहेका १६६ जना नेपाली कैदीले आममाफी पाएका छन्। उनीहरूलाई त्यहाँको सरकारले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान र इद पर्वको अवसरमा आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आममाफीका लागि नेपाल सरकारले युएई सरकारलाई धन्यबाद दिएको छ।
‘मानवीय आधारमा दिइएको आममाफीलाई मन्त्रालय नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धमा आत्मीयताको प्रतीकका रूपमा उच्च मूल्यांकन गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ। आममाफीका लागि नेपाल सरकारले पनि युएईस्थित नेपाली दूतावासमार्फत पहल गरेको मन्त्रालयले जनाएको छ।
काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पेतोङत्रान सिनावात्राबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावात्राले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावात्राले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन् । प्रधानन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली मङ्गलबार अपराह्न थाइल्याण्ड पुगेका हुन् । रासस
काठमाडौं । मलेसियाको सरकारी ऊर्जा फर्म पेट्रोनासद्वारा सञ्चालित ग्यास पाइपलाइनमा मंगलबार आगलागी हुँदा कम्तीमा एक सय जना मानिस घाइते भएका छन् । घाइतेमध्ये ६० जनालाई अस्पताल भर्ना गरिएको अग्नि नियन्त्रण विभागले जनाएको छ । तीमध्ये अधिकांश जलेका, सास फेर्न समस्या भएका तथा चोटपटक लागेको जनाइएको छ ।
विस्फोटका कारण कम्तीमा ४९ घरमा क्षति पुगेको अग्नि नियन्त्रकहरूले बताएका छन् । राजधानी क्वालालम्पुर नजिकै भएको घटनाका कारण धेरै मानिसहरू आफ्नो घरबाट भाग्न बाध्य भएका समाचार संस्थाहरूले जनाएका छन् । सेलाङ्गोर राज्यका अग्निनियन्त्रण निकायको विज्ञप्ति अनुसार ईद मनाउने क्रममा लागेको आगो ग्यास पाइपलाइन चुहावटका कारण लगभग ५ सय मिटरसम्म फैलिएको हो ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट हेर्दाहेर्दैमा परेको छ। मंगलबार न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा यी मुद्दा परेका थिए। रिटमाथि मंगलबार दिनभर सुनुवाइ भएर अपराह्न हेर्दाहेर्दैमा राखिएको हो। रिटमाथि पुनः बुधबार सुनुवाइ हुने अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
कुलमान र हितेन्द्रदेवको मुद्दाको सुनुवाइ लम्बिएपछि बाँकी रहेका अन्य मुद्दा हेर्न नभ्याइने र हेर्न नमिल्नेमा परेका थिए। यसअघि आइतबार उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको थियो। त्यो इजलासले उक्त रिट हेर्न नमिल्नेमा राखेको थियो।
दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो। यसअघि गत चैत १५ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको थियो। उक्त इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन भनेको थियो। त्यस्तै पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जबाफको माग गरिएको छ।
घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो। घिसिङले मन्त्रिपरिषदले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन्। यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन्। गत चैत ११ गते सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
काठमाडौं । प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको उनका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए । अस्पताल स्रोतका अनुसार बोहराको अस्पताल पुग्नुभन्दा अगाडि नै मृत्यु भइसकेको थियो । उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् । पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर ९जेठ २०७७० मा संक्रमित भएका थिए ।
संक्रमणको चाररपाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ बैंकक पुगेका हुन् ।
उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरे ।
थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।
काठमाडौं । नेपालमा घुमफिरमा आउने पर्यटकमध्ये तेस्रो स्थानमा अमेरिकी नागरिक छन् । नेपाल पर्यटन बोर्डले मंगलबार मार्च २०२५ को पर्यटक आगमनको संख्या सार्वजनिक गरेको छ । जसमा पहिलो स्थानमा भारतीय छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक रहेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२५ मा १ लाख २१ हजार ६ सय ८७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो २०२४ को तुलनामा ५.१ प्रतिशत कम हो । अघिल्लो वर्ष मार्चमा १ लाख २८ हजार १ य ७१ पर्यटक आएको बोर्डको तथ्यांक छ ।
२०१९ को तुलनामा समेत यस वर्ष पर्यटक आगमन खस्किएको छ । त्यो बेला १ लाख २७ हजार ३ सय ५१ पर्यटक नेपाल आएको देखिएको थिए । भारत सहित दक्षिण एसियाली भेगकै पर्यटक आगमन खस्किएपछि त्यसको असर पर्यटक आगमनमा देखिएको हो । मार्चमा दक्षिण एसियाली देशबाट अघिल्लो वर्ष ४० हजार ७ सय २७ र यस वर्ष ३५ हजार २ सय ८७ पर्यटक आएका छन् । जुन १३।४ प्रतिशत कम हो ।
उता, युरोपबाट हुने आगमन समेत यस महिना १०.५ प्रतिशतले खस्किएको छ । मध्यपूर्वबाट आउने पर्यटक संख्यामा भने ७९ प्रतिशतको बढोत्तरी देखिएको छ । अमेरिकी पर्यटक आगमनमा समेत सामान्य सुधार देखिएको छ । यस्तै प्रवृत्ति फेब्रुअरी २०२५ मा समेत देखिएको थियो । मार्च २०२५ मा सबैभन्दा धेरै भारतीय पर्यटक आउँदा दोस्रो नम्बरमा चिनियाँ छन् ।
यस महिना ११ हजार ४ सय ४३ चिनियाँ आएका छन् । अमेरिकी पर्यटक तेस्रो स्थानमा छन् । यस महिनामा ११ हजार ९२ जना अमेरिकी आएका छन् । चौथोमा श्रीलंकन देखिएका छन् । श्रीलंकाबाट ८ हजार ८ सय ८६ पर्यटक नेपाल आएका छन् । पाँचौं स्थानमा बेलायत छ । त्यहाँबाट ५ हजार ९ सय ९५ जना आएका छन् ।