Category: विज्ञान प्रविधि

  • आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

    आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

    काठमाडौँ, ५ फागुन : हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • मस्कको कम्पनी स्टारलिङ्कले भियतनाममा पायो लाइसेन्स

    मस्कको कम्पनी स्टारलिङ्कले भियतनाममा पायो लाइसेन्स

    हनोई, ४ फागुन (रासस–एएफपी) । भियतनामले स्याटेलाइट इन्टरनेट सेवा विस्तारको दिशामा महत्त्वपूर्ण कदम चाल्दै एलन मस्कको कम्पनी स्टारलिङ्कलाई देशभित्र औपचारिक रूपमा सञ्चालन अनुमति प्रदान गरेको छ । सरकारी रेडियो फ्रिक्वेन्सी नियामक निकायले कम्युनिस्ट शासन व्यवस्था भएको यस देशमा स्टारलिङ्कको स्थानीय एकाइ ‘स्टारलिङ्क सर्भिसेज भियतनाम कम्पनी’ लाई आवश्यक इजाजतपत्र जारी गरिएको जनाएको हो ।

    रेडियो फ्रिक्वेन्सी व्यवस्थापन प्राधिकरणका अनुसार कम्पनीले प्रारम्भिक चरणमा चारवटा गेटवे स्टेशन स्थापना गर्न र अधिकतम छ लाख टर्मिनल उपकरण परिचालन गर्न सक्नेछ । प्राधिकरणले विद्यमान रेडियो सञ्चार सञ्जालहरूमा कुनै किसिमको हस्तक्षेप नहोस् भन्ने सुनिश्चित गर्न लाइसेन्स अनिवार्य गरिएको स्पष्ट पारेको छ ।

    सरकारी निकायले स्टारलिङ्क प्रणालीले देशभर स्याटेलाइटमार्फत इन्टरनेट पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । विशेषतः ग्रामीण र पहाडी क्षेत्रहरूमा सेवा पहुँचको अन्तर घटाउने अपेक्षा गरिएको छ, जहाँ हालसम्म विश्वसनीय इन्टरनेट सेवा सीमित रहेको छ । स्टारलिङ्कले हजारौँ कम–पृथ्वी कक्षीय उपग्रहहरूको प्रयोगमार्फत दुर्गम र सेवा–विहीन क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । भियतनाम इन्टरनेट नेटवर्क सूचना केन्द्रका अनुसार झण्डै १० करोड जनसङ्ख्या रहेको भियतनाममा करिब ८० प्रतिशत नागरिक इन्टरनेट प्रयोगकर्ता भए पनि भौगोलिक असमानताका कारण पहुँचमा फरक देखिन्छ ।

    मस्कद्वारा स्थापित मूल कम्पनी स्पेसएक्सले यसबारे एएफपीको प्रतिक्रिया अनुरोधमा तत्काल कुनै टिप्पणी गरेको छैन । अमेरिकास्थित स्टारलिङ्कको वेबसाइटमा भियतनाममा सेवा ‘चाँडै उपलब्ध हुने’ उल्लेख गरिएको छ । यस विकासक्रमलाई भियतनाम–अमेरिका व्यापार सम्बन्धको पृष्ठभूमिसँग पनि जोडेर हेरिएको छ । गत वर्ष वासिङ्टनले भियतनामी वस्तुमा २० प्रतिशत कर लगाएपछि दुवै देशबीच व्यापार सम्झौताका लागि वार्ता चलिरहेको छ । यसै महिनामा छैटौँ चरणको वार्ता सम्पन्न भए पनि अन्तिम सहमति हुन सकेको छैन ।

    स्रोतहरूका अनुसार भियतनामका शीर्ष नेता टो लाम यसै साता राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा गठन गरिएको ‘शान्ति बोर्ड’ को बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका जाने तयारीमा छन् । बोर्ड सुरुमा गाजा पट्टीको पुनर्निर्माणको निरीक्षणका लागि स्थापना गरिएको भए पनि यसको कार्यक्षेत्र विस्तार भएको देखिन्छ । पहिलो बैठक फेब्रुअरी १९ मा वासिङ्टनमा हुने तय भएको छ ।

    लामले ट्रम्पसँग व्यापार वार्ताबारे छुट्टै छलफल गर्ने कि नगर्ने स्पष्ट भएको छैन र भियतनाम सरकारले भ्रमणको औपचारिक पुष्टि गरेको छैन । दक्षिणपूर्वी एसियाली उत्पादन केन्द्रका रूपमा उदाएको भियतनामले गत वर्ष आठ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । यद्यपि अमेरिकी करले निर्यातमुखी वृद्धि मोडेलमा दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ । हनोईले यस वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य लिएको छ र डिजिटल पूर्वाधार विस्तारलाई त्यस लक्ष्यसँग जोडिएको महत्त्वपूर्ण रणनीतिका रूपमा हेरिएको छ ।

  • एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान

    एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान

    नयाँदिल्ली, ४ फागुन (रासस\एएफपी) । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ । आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।

    आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशले एआई क्रान्ति अपरिहार्य भइसकेको बताउँदै राष्ट्रले यसलाई सक्रिय रूपमा अँगाल्ने नीति लिएको उल्लेख गरे । उनका अनुसार राज्यले ७६० परियोजनासहित करिब एक खर्ब ७५ अर्ब डलर बराबरको लगानी प्रतिबद्धता जुटाइसकेको छ । यसमा संयुक्त राज्य अमेरिका बाहिरकै सबैभन्दा ठूलो एआई पूर्वाधार हब निर्माणका लागि गुगलको १५ अर्ब डलर लगानीसमेत समावेश छ ।

    त्यस्तै, रिलायन्स इन्डस्ट्रिज, क्यानाडाको ब्रुकफिल्ड र अमेरिकी कम्पनी डिजिटल रियल्टीको संयुक्त उद्यमले सोही सहरमा ११ अर्ब डलरको एआई डाटा सेन्टर विकास गरिरहेको छ । करिब २० लाख जनसङ्ख्या रहेको विशाखापट्टनमलाई अब सिङ्गापुरसँग जोडिने पनडुब्बी इन्टरनेट केबलको अवतरण विन्दुका रूपमा विकास गरिँदैछ । लोकेशका अनुसार १०० किलोमिटर अर्धव्यासभित्र फैलिने ‘डाटा सिटी’ अवधारणा केवल डाटा कनेक्टिभिटीमा सीमित नभई सर्भर उत्पादन, कूलिङ प्रणाली, सहायक उद्योग र पूर्ण प्रविधि आपूर्ति शृङ्खलासम्म विस्तार हुनेछ ।

    उनले आन्ध्र प्रदेशले सन् २०२५ मा भारतको प्रत्यक्ष वैदेशिक लगानीको झण्डै २५ प्रतिशत आकर्षित गरेको दाबी गरे । प्रमुख लगानीकर्तालाई प्रतिस्पर्धात्मक दरमा जग्गा उपलब्ध गराउने नीति अवलम्बन गरिएको छ । मुख्यमन्त्री एन चन्द्रबाबु नायडूका पुत्रसमेत रहेका ४३ वर्षीय स्ट्यानफोर्ड शिक्षित मन्त्री लोकेशले हैदराबादलाई ‘साइबराबाद’ बनाउने अनुभवबाट प्रेरित भएको बताउँछन् ।
    प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने एआई इम्प्याक्ट शिखर सम्मेलनअघि सार्वजनिक गरिएको यस योजनाले भारतलाई विश्व एआई शक्तिको तेस्रो स्थानमा स्थापित गर्ने दाबीलाई बल दिएको छ ।

    स्ट्यानफोर्ड युनिभर्सिटीको अध्ययनअनुसार पेटेन्ट, निजी लगानी लगायत ४० भन्दा बढी सूचकमा भारत दक्षिण कोरिया र जापानभन्दा माथि रहेको छ । एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्तासहितको बजारले बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई आकर्षित गरिरहेको छ । माइक्रोसफ्टले हालै १७ अर्ब ५० करोड डलर लगानी घोषणा गर्दै यसलाई एसियामा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता भनेको थियो ।

    यद्यपि आलोचकहरूले भारत अझै उच्चस्तरीय कम्प्युटिङ क्षमता र व्यावसायिक एआई कार्यान्वयनमा पछाडि रहेको तर्क गर्छन् । डाटा सेन्टरहरूले पर्याप्त रोजगारी सिर्जना गर्ने विषयमा पनि प्रश्न उठाइएको छ । तर लोकेशले प्रत्येक औद्योगिक क्रान्तिले विस्थापनभन्दा बढी अवसर सिर्जना गरेको उल्लेख गर्दै एआई अँगालेका देशले नै फाइदा लिने धारणा व्यक्त गरे । ऊर्जा र पानीको उच्च माग सम्बोधन गर्न राज्यले दीर्घकालीन योजना बनाएको बताइएको छ ।

    बङ्गालको खाडीमा बग्ने अतिरिक्त मनसुनी पानी उपयोग गरी विशाल डाटा सेन्टर चिस्याउने अवधारणा अघि सारिएको छ । साथै, कोभवाडामा छ वटा १.२ गिगावाट क्षमताका आणविक ऊर्जा संयन्त्रका लागि केन्द्रीय सरकारबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ । छ गिगावाट डाटा सेन्टर क्षमताको लक्ष्यसहित आन्ध्र प्रदेशले तीव्र गति र ठूलो परिमाणमा कार्यान्वयन गर्ने दाबी गरेको छ । “हामी यात्रामा छौँ र देशले कहिल्यै नदेखेको गतिमा परियोजना कार्यान्वयन गर्नेछौँ”, लोकेशले भने ।

  • आजको मौसम : उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पूर्वानुमान

    आजको मौसम : उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पूर्वानुमान

    काठमाडौँ, ३ फागुन : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राती तराई भूभागका केही स्थानमा तुँवालो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अब अनलाइनबाटै टिकट

    पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अब अनलाइनबाटै टिकट

    ललितपुर, १ फागुन । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

    पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले हाल अनलाइन टिकट बुकिङ प्रणाली परीक्षण चरणमा रहेको जानकारी दिए । उनका अनुसार अहिले सङ्ग्रहालय परिसरमा रहेका दुईवटा काउन्टरमार्फत टिकट वितरण हुँदै आएको छ भने टिकट शुल्क क्यूआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था पहिले नै सुरु भइसकेको छ ।

    “हालसम्म भौतिक काउन्टरबाट टिकट काट्नुपर्ने बाध्यता थियो”, प्रमुख लाखेले भने, “अब घरबाटै अनलाइन माध्यम प्रयोग गरी टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेपछि पर्यटकहरूका लागि अझ सहज हुनेछ । हामी यो प्रणाली छिट्टै औपचारिक रूपमा सुरु गर्ने तयारीमा छौँ, अहिले परीक्षण भइरहेको छ ।”
    अनलाइन टिकट प्रणाली सञ्चालनमा आएपछि लामो लाइनमा बस्नुपर्ने झन्झट हट्ने, समयको बचत हुने तथा पर्यटक व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास सङ्ग्रहालय प्रशासनले लिएको छ । विशेषगरी पर्यटकको चाप बढी हुने सिजनमा यसले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

    पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कुल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

  • विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

    काठमाडौँ, १ फागुनः आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोले पाँचै महादेशमा ‘डिजिटल’ प्रसारणमार्फत शैक्षिक सामग्री स्रोतासमक्ष प्रस्तुत गर्ने बताएको छ ।

    युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धिका साथै निर्णयकर्ताहरूलाई सूचना पहुँच सुनिश्चित गर्न तथा रेडियोको उपयोग प्रोत्साहित गर्न एवं विश्वभरका प्रसारकहरूबीच अन्तरराष्ट्रिय सहकार्य सुदृढ तुल्याउनु यो दिवसको उद्देश्य हो । मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने सशक्त माध्यमका रूपमा रेडियोलाई लिइन्छ । लोकतान्त्रिक संवादका लागि रेडियो महत्वपूर्ण मञ्चका रूपमा स्थापित छ । विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रूपमा रेडियो रहेको छ ।

    व्यापक श्रोतासम्म पुग्ने यसको विशिष्ट क्षमताले समाजमा विविधताको अनुभूति निर्माण गर्न, सबै आवाजलाई बोल्ने, प्रतिनिधित्व हुने र सुन्ने अवसर प्रदान गर्ने सार्वजनिक चौतारीका रूपमा रेडियोले काम गरेको छ । रेडियो ‘स्टेशन’हरूले विविध समुदायलाई सेवा पु¥याउँदै विभिन्न कार्यक्रम, दृष्टिकोण र सामग्री प्रस्तुत गर्नुपर्ने तथा आफ्ना संरचना र सञ्चालनमा पनि श्रोताको विविधता प्रतिबिम्बित गर्नुपर्नेमा युनेस्कोले जोड दिएको छ ।

    कम लागतमा सञ्चालन गर्न सकिने माध्यम भएकाले रेडियो दुर्गम क्षेत्र तथा जोखिममा रहेका समुदायसम्म पुग्न विशेष रेडियो उपयुक्त मानिन्छ । यसले शैक्षिक स्तरको भेदभाव नगरी सार्वजनिक बहसमा सहभागी हुन समान अवसर प्रदान गर्दछ । आपतकालीन सूचना प्रवाह र विपद् उद्धारका सन्दर्भमा समेत रेडियोको भूमिका महत्वपूर्ण छ ।

    समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि संवाद प्रवद्र्धन गर्न रेडियो अद्वितीय रूपमा सक्षम रहेको त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक श्रीराम पौडेल बताउँछन् । श्रोताको आवश्यकतालाई सुन्दै तदनुसार सामग्री प्रस्तुत गर्दा साझा चुनौतीहरूको समाधानका लागि आवश्यक विविध दृष्टिकोण र आवाज सुनिश्चित गर्न रेडियो सेवाले सहयोग पु¥याउने उनको भनाई छ ।

    यसै अवसरमा जारी गरेको सन्देशमा युनेस्कोका महानिर्देशक खालेद एल–एनानीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग जनहितका लागि उपयोगी हुनेगरी हुनुपर्नेमा जोड दिँदै रेडियोले इमान्दारीका साथ सूचना दिन, सहानुभूतिका समुदायलाई साथ जोड्न अधिकतम कार्य गर्नुपर्ने बताए ।

    विश्व रेडियो दिवसका अवसरमा विभिन्न रेडियो स्टेशन तथा प्रसारकहरूले विशेष कार्यक्रम, विचारमञ्च, प्रतियोगिता, कथा सङ्ग्रह तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने युनेस्कोले जनाएको छ । त्यसैगरी, केही अफ्रिकी राष्ट्रमा सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा चलचित्र प्रदर्शन गरिने छ भने रेडियोको भविष्य र एआईको प्रभावबारे पनि छलफल गरिने जनाइएको छ ।
    तस्बिरः युनेस्को

  • दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

    दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

    रासस
    १ फागुन, दैलेख : यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

    यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो । थप परीक्षण र अन्तिम अध्ययनले पूर्वअनुमानभन्दा निकै ठूलो परिमाणमा ग्यास रहेको प्रमाणित गरेको उनले बताए ।
    भण्डारण पुष्टि भए पनि यसको व्यावसायिक उत्पादन र उत्खनन क्षमताको वास्तविक जानकारी भने ‘वेल टेस्टिङ’पछि मात्र प्राप्त हुने विभागले जनाएको छ ।

    प्रवक्ता खड्काले भने, “अहिले हामीले भण्डारणको आकार मात्र पत्ता लगाएका हौँ । वेल टेस्टिङ नगरी कति ग्यास बाहिर निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्नेबारे परीक्षण नगरेसम्म अन्तिम टुङ्गो लाग्दैन ।” उनका अनुसार अबको चरणमा ‘ड्रिल’ गरिएको स्थानमा अन्य उपकरण प्रयोग गरी चट्टान फुटाउने वा प्राकृतिक ग्यासलाई विस्थापित गर्ने प्रक्रिया अपनाइनेछ । त्यसपछि निस्कने ग्यासमा भएका तत्वको प्रयोगशाला परीक्षण गरिनेछ र मात्र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए ।

    नेपाल सरकार र चीनको जियोलोजिकल सर्वेबीच रु दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो । सोहीअनुसार चिनियाँ टोलीलेः सेस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोटेल्युरिक सर्वे र जियोकेमिकल सर्वे सम्पन्न गरिसकेको विभागका प्रवक्ता खड्काले जानकारी दिए ।

    उनका अनुसार हाल प्राप्त अन्तिम प्रतिवेदन माथि विभागले थप अध्ययन गरिरहेको छ भने बाँकी कामका लागि अनुदान सहयोग गरिदिन नेपाल सरकारले चीन सरकारलाई आग्रह गरेको छ । विज्ञहरूका अनुसार दैलेखमा फेला परेको ग्यास अमेरिकामा उत्खनन गरिने ‘शेल वा टाइट ग्यास’ प्रकृतिको छ । यस्तो ग्यास चट्टानका पत्रमा च्यापिएर रहने भएकाले यसलाई निकाल्न निकै कठिन हुन्छ ।

    व्यावसायिक प्रयोजनका लागि निकाल्न चट्टान फोडेर ग्यास निकाल्नुपर्ने चुनौती छ । दैलेखमा परापूर्वकालदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रलाई आधार मानेर २०७६ असोजदेखि अन्वेषण सुरु गरिएको थियो । फागुन २१ हुन लागेको निर्वाचनमा पनि दैलेखका राजनीतिक दलले यो ग्यास उत्खननलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन् ।

  • साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

    साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

    टोकियो, २९ माघ (रासस–सिन्ह्वा) । जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनधिकृत पहुँच भएको पुष्टि गरेको छ। प्रारम्भिक विवरण अनुसार करिब २८ हजार प्रयोगकर्ताको व्यक्तिगत जानकारी चुहिएको हुन सक्ने अनुमान गरिएको छ। चुहिएको जानकारीमा प्रयोगकर्ताको नाम, ईमेल ठेगाना र फोन नम्बर समावेश छ। यद्यपि, बैंक कार्ड नम्बर, पासवर्ड वा अन्य संवेदनशील विवरण चुहिएको छैन, जसले ठूलो वित्तीय क्षति हुने जोखिम कम गरेको छ।

    एयरलाइन्सले यस समस्याको समाधानका लागि बस्तु वितरण सेवा अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले यस घटनाले ग्राहक सेवामा असर नगर्ने र अन्य सेवा प्रणालीहरू सुरक्षित रहेको पनि स्पष्ट पारेको छ। घटना सार्वजनिक भएपछि कम्पनीले सुरक्षा मापदण्ड कडा गर्ने, प्रणालीको कमजोरी पहिचान गर्ने र भविष्यमा यस्ता घटना नदोहोरिन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

    विशेषज्ञहरूले यो घटनालाई व्यक्तिगत डेटा सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता भएको उदाहरणका रूपमा लिएका छन्। उहाँहरूको सुझाव अनुसार प्रयोगकर्ताले आफ्ना व्यक्तिगत विवरणहरूको सुरक्षा गर्न सतर्क रहनु आवश्यक छ। साथै, कम्पनीहरूले प्रणालीमा थप प्रविधिक सुरक्षा उपायहरू लागू गर्नुपर्ने चेतावनी पनि दिइएको छ। यो घटनाले व्यक्तिगत डेटा सुरक्षित राख्न कम्पनी र प्रयोगकर्ताबीचको जिम्मेवारीलाई पुनः स्मरण गराएको छ र डिजिटल सुरक्षा सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखाएको छ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, २९ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ ।

    तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

  • विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    काठमाडौँ, २८ माघ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेअनुरुप सन् २०१६ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

    विश्वभर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी सबै तहका विषयहरूमा लामो समयदेखि लैङ्गिक असमानता रहँदै आएको छ । महिलाहरूले उच्च शिक्षामा सहभागिता विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरे तापनि यी क्षेत्रहरूमा उनीहरूको प्रतिनिधित्व अझै पनि न्यून छ । लैङ्गिक समानता संयुक्त राष्ट्रसङ्घको प्रमुख ‘एजेन्डा’मध्ये एक रहँदै आएको छ । महिला तथा बालिकाहरूको सशक्तीकरण र लैङ्गिक समानताले विश्वको आर्थिक विकासमा मात्र नभई दिगो विकासका लागि २०३० कार्यसूचीअन्तर्गतका सबै लक्ष्य तथा उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पु¥याउने उक्त विश्व संस्थाले बताउँदै आएको छ ।

    महिलासम्बन्धी राष्ट्रसङ्घीय आयोगले सन् २०११ मार्च १४ मा सम्पन्न आफ्नो पचपन्नौँ अधिवेशनमा शिक्षा, तालिम तथा विज्ञान र प्रविधिमा महिला तथा बालिकाहरूको पहुँच र सहभागिता विस्तार तथा पूर्ण रोजगारी र सम्मानजनक काममा महिलाको समान पहुँच प्रवद्र्धन गर्ने विषयमा सहमत निष्कर्षसहितको प्रतिवेदन पारित गरेको थियो ।

    त्यसैगरी, सन् २०१३ डिसेम्बर २० मा महासभाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी प्रस्ताव पारित गर्दै सबै उमेर समूहका महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि र नवप्रवर्तनमा पूर्ण तथा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अपरिहार्य भएको बताएको थियो ।

    विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा प्रत्येक बालिकाले आफ्नो भविष्यको कल्पना गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने तथा प्रत्येक महिलाले आफ्नो वैज्ञानिक करियरमा निरन्तर प्रगति गर्न सक्ने अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वक्तव्य जारी गर्दै विज्ञान तथा प्रविधिमा महिला तथा बालिकाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

    आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

    काठमाडौँ, २८ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ ।

    देशका उच्च पहाडी र हिमाली भागमा साधारणतया बदली हुनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागको मौसम मुख्यतया सफा रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनुका साथै तत्काल वर्षाको सम्भावना नरहेकाले तराई र उपत्यकाहरूमा वायु प्रदूषण पनि कायमै रहने देखिएको बताएको छ । प्रतिकूल मौसममा सुरक्षित रहन महाशाखाले सर्वसाधारण तथा सरोकार भएका सबैलाई अनुरोध गरेको छ ।

  • आजको मौसम पूर्वानुमान : देशैभर बादल लाग्ने

    आजको मौसम पूर्वानुमान : देशैभर बादल लाग्ने

    काठमाडौँ, २७ माघ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ ।

    देशका उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरोको सम्भावना रहेको तथा तत्काल वर्षा हुने सम्भावना नरहेकाले तराई भूभाग र उपत्यकामा वायु प्रदूषण पनि रहिरहने भएकाले प्रदूषणबाट सुरक्षित रहन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अनुरोध गरेको छ ।

  • बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा-काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य

    बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा-काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य

    गलकोट (बागलुङ), २७ माघ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स÷प्लाज्मा) बनाउन थालिएको छ । धवलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोगविहीन भएका थिए भने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।

    लामो समयको प्रयास र करोड खर्च गरेर प्रयोगशाला स्थापना गरिएको छ भने आइतबारदेखि प्रयोगशालाले सेतो रगत उत्पादन गर्न थालेको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले लामो समयको प्रयास र विभिन्न निकायको सहयोगमा झण्डै एक करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न प्रयोगशाला स्थापना गरिएको छ ।

    उहाँका अनुसार प्रयोगशालामा तालिमप्राप्त प्रयोगशाला प्राविधिकको समेत व्यवस्था मिलाइएको छ । जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स÷प्लाज्मा बागलुङमै बनाउन थालेपछि धवलागिरि प्रादेशिक अस्पतालबाट रेफर हुने जटिल प्रकारका बिरामीको सङ्ख्या घट्ने अपेक्षा छ । विशेषज्ञ सेवा प्रदान तथा जटिल प्रकारका रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने अस्पतालका प्रमुख डा किरण तिवारीले जानकारी दिए ।

    रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स\प्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारका समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता आइतबारदेखि हटेको उहाँले जानकारी दिए । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दुई वर्षअघि दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) प्रयोगमा आएको छ भने प्रदेश सरकारको रु १५ लाख र बागलुङ नगरपालिकाको रु पाँच लाख, जैमिनी नगरपालिकाको रु तीन लाख, गलकोट नगरपालिकाको रु दुई लाख र बरेङ गाउँपालिकाको रु एक लाख ५० हजार गरी रु २६ लाख ५० हजार लागतमा अन्य उपकरण खरिद गरिएको थियो ।

    उपकरण आए पनि प्रयोगशालाको पूर्वाधार निर्माण गर्न नसक्दा रोकिएको काममा बागलुङ समाज जापानले रु १३ लाख ५० हजार सहयोग गरेपछि सुरु भएको थियो । रक्तसञ्चार केन्द्रको भवनमा उपकरण र अन्य सहयोग गरी झण्डै रु एक करोड लागतमा सेतो रगत उत्पादन थालिएको केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताए ।

    विशेषगरी डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका, सर्पदंश, शल्यक्रिया, अत्यधिक रक्तश्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्ने धवलागिरि अस्पतालका प्रमुख डा तिवारीले जानकारी दिए । उनले सेतो रगतकै कारण उपचार सम्भव हुने बिरामीलाई समेत पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । बिरामीको अवस्था हेरेर ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुने गर्दछ ।

  • ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का महसुस

    ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का महसुस

    काठमाडौँ, २७ माघ । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको स्थान नेपालभारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

  • सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर : प्राधिकरण

    सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर : प्राधिकरण

    काठमाडौँ, २५ माघः नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ । प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, शर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको पालना सबै कर्मचारीको दायित्व भएको स्मरण गराएको छ ।

    पछिल्लो समय सामाजिक सञ्जालमा तथ्य प्रमाणित नभएका काल्पनिक, समाज र कार्यालयको प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक प्रभाव बढाउने खालका पोष्ट र प्रतिक्रिया एवम् कार्यालयका पत्रहरु समेत राख्ने प्रवृत्ति बढेकामा प्राधिकरणले आपत्ति जनाएको छ ।

    प्राधिकरणका कार्यरत कर्मचारीमा त्यस प्रकारको प्रवृत्ति निरुत्साहित गरी सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, व्यवस्थि र रचनात्मक बनाउन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेका प्राधिकरणका सह निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए । प्राधिकरण कर्मचारी सेवा, शर्त नियमावली २०७५ मा व्यवस्था भए बमोजिमको आचरणको उल्लघंन हुने गरी सामाजिक सञ्जालमा कार्यालयको पत्र तथा अन्य अनावश्यक पोष्टहरु नराख्न सूचित गरिएको छ ।
    अनावश्यक पोष्ट राखेमा वा प्रतिक्रिया दिएमा त्यस्ता कर्मचारीको विवरण संकलन गरी विनियममा भएको व्यवस्था बमोजिम विभागिय कारवाही समेत हुने सूचनामा स्पष्ट पारिएको छ ।

  • निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

    निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

    रासस
    काठमाडौँ, २४ माघः सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिए ।

    उनले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने पनि जानकारी दिए । उनले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या÷भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उनको भनाइ छ ।

    निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए । उनले गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचनको सुरक्षामा कुनै कमीकमजोरी नगर्न र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिइसकेको बताए ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे समीक्षा गरेर प्रभावकारी व्यवस्था गर्न आवश्यक निर्देशन दिनुभएको पनि प्रवक्ता काफ्लेले बताए । मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिन अनुरोध गर्दै मित्थ्या र भ्रमपूर्ण र कसैलाई लाञ्छना लगाउने जस्ता सूचना नराख्न अनुरोध गर्दै त्यस्ता गतिविधि गरेमा कारबाही हुने जानकारी गराएको छ ।

  • इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

    इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ, २४ माघः इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर आज साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत पुुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

  • मस्कको नयाँ कदम : अन्तरिक्षमा डाटा सेन्टर र एआई

    मस्कको नयाँ कदम : अन्तरिक्षमा डाटा सेन्टर र एआई

    न्यूयोर्क,२४ माघ (रासस–एपी) । एलन मस्कले अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेका छन् । करिब एक लाख उपग्रहलाई आकाशमा राखेर सूर्यको ऊर्जाबाट चल्ने सूचना केन्द्र निर्माण गरिनेछ, जसले कृत्रिम बुद्धिमत्ता प्रणाली र संवादात्मक कार्यक्रमहरू सञ्चालन गर्दा विजुली संकट रोक्न मद्दत गर्नेछ।

    यसको लागि उनले आफ्नो अन्तरिक्ष संस्था र एआई व्यवसायलाई एकसाथ जोडेर ठूलो सार्वजनिक प्रस्ताव गर्ने योजना बनाएका छन् । तर विज्ञहरूले चेतावनी दिए, ‘अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्न धेरै प्राविधिक, आर्थिक र वातावरणीय चुनौतीहरू छन्।

    कम्प्युटर चिपहरूले धेरै तातो उत्पादन गर्छन्, र अन्तरिक्षको शून्य हावामा तातो बाहिर जान कठिन हुन्छ। यस समस्याको समाधानका लागि विशाल रेडिएटर प्यानलहरू बनाउने योजना छ, तर यस्ता संरचना अहिलेसम्म कहिल्यै निर्माण भएका छैनन्।’


    अन्तरिक्षमा उपग्रह बिग्रिनुको सम्भावना पनि उच्च छ, जसले आपतकालीन सञ्चार र मौसम पूर्वानुमानमा असर पार्न सक्छ। मस्कका अनुसार, आगामी ३०–३६ महिनाभित्र अन्तरिक्ष नै बुद्धिमत्ता प्रणालीको सबैभन्दा उपयुक्त स्थान बन्नेछ। तर विज्ञहरूले भनेका छन्,’ बिग्रेका उपकरण मर्मत गर्न मानिसहरू पुग्न नसक्ने र सूर्यको उच्च ऊर्जा कणले उपकरणमा असर पार्ने चुनौती रहन्छ।’ अन्य कम्पनीहरू पनि अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने प्रयास गर्दैछन्। विशेषज्ञहरूले यसलाई अन्तरिक्ष क्षेत्रमा शक्ति प्रदर्शनको रूपमा पनि व्याख्या गरेका छन्।

  • आज कोशी र गण्डकीको हिमाली भू–भागमा हल्का वर्षा–हिमपातको सम्भावना

    आज कोशी र गण्डकीको हिमाली भू–भागमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौँ, २४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सुकुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।

  • अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम

    अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम

    मस्को, २३ माघ (रासस–एपी) । रुस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ बिहीबार समाप्त भएको छ । यो सन्धि समाप्तिले आधा शताब्दीभन्दा बढी समयपछि दुई ठूला आणविक शक्तिमा कुनै हतियार सीमा नहुने स्थिति सिर्जना गरेको छ । सन्धि समाप्त भएपछि विशेषज्ञहरूले नयाँ अनियन्त्रित आणविक हतियार दौडको खतरा बढ्ने चेतावनी दिएका छन् ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष सन्धि सीमामा एक वर्षका लागि अडिग रहन प्रस्ताव गरेका थिए । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्तारमा प्रतिवद्धता जनाएनन् । ट्रम्पले सम्भावित नयाँ सम्झौतामा चीनलाई समावेश गर्नुपर्ने सङ्केत दिनुभएको छ, तर बेइजिङले यसलाई अस्वीकार गरेको छ ।

    पुटिनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सन्धि म्याद समाप्त भएको विषयमा छलफल गरेका छन् । तर क्रेमलिनका सल्लाहकार युरी उसाकोभका अनुसार वासिङ्टनले प्रस्तावमा प्रतिक्रिया दिएको छैन । रुसले सुरक्षा अवस्थाको गहन विश्लेषणपछि सन्तुलित र जिम्मेवार ढङ्गले कदम चाल्ने बताएको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा सन्धिको म्याद सकिएपछि रुस अब मुख्य प्रावधान वा कुनै दायित्वबाट बाध्य छैन र आफ्नो अर्को कदम स्वतन्त्र रूपमा तय गर्न सक्नेछ भनिएको छ ।

    न्यु स्टार्ट सन्धि सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रूसी राष्ट्रपति दिमित्री मेदभेदेवले हस्ताक्षर गरेका थिए । उक्त सन्धिले प्रत्येक पक्षलाई ७०० भन्दा बढी मिसाइल र बमवर्षकमा एक हजार ५५० भन्दा बढी तयार अवस्थामा रहेका आणविक हतियारमा सीमा लगाएको थियो । यो सन्धि सन् २०२१ मा समाप्त हुने थियो, तर पाँच वर्षका लागि विस्तार गरिएको थियो । सन्धिले अनुपालन प्रमाणित गर्न साइट निरीक्षणको व्यवस्था गरेको थियो, तर सन् २०२० को कोभिड–१९ महामारीपछि ती निरीक्षण रोकिएका थिए ।

    फेब्रुअरी २०२३ मा पुटिनले अमेरिकी निरीक्षण निलम्बन गर्दै युक्रेनसँगको सङ्घर्षमा वासिङ्टन र नाटोले मस्कोको हारलाई आफ्नो लक्ष्य घोषणा गरेपछि रुसले आफ्ना साइटहरू निरीक्षण गर्न अनुमति दिन नसक्ने बताएका थिए । तर क्रेमलिनले सन्धिको मुख्य प्रतिबन्धको सम्मान जारी राख्ने र पूर्ण रूपमा पछि हट्ने नभएको स्पष्ट पारेको थियो ।

    सन् २०१० को सम्झौता न्यु स्टार्टले अमेरिका–रुस बीचको लामो ऐतिहासिक आणविक हतियार घटाउने शृङ्खलालाई जारी राखेको थियो, जसका अघिल्ला सम्झौताहरू सबै समाप्त भइसकेका छन् । ट्रम्पले नयाँ सम्झौतामा चीनलाई समावेश गर्ने प्रस्ताव राख्नुभएको छ, तर बेइजिङले आफ्नो बढ्दो आणविक भण्डारमा कुनै प्रतिबन्ध मान्न अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानका अनुसार चीन वर्तमान चरणमा वार्तामा भाग लिन तयार छैन, तर अमेरिका र रूससँग चाँडै वार्ता पुनः सुरु गर्न आह्वान गर्दछ र दुवै पक्षले हालका सन्धि सीमाहरू पालन गर्न जारी राख्नुपर्छ ।

  • आज तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा

    आज तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा

    काठमाडौँ, २३ माघः मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

  • आइएसएसको अन्त्य, सहकार्यको युग

    आइएसएसको अन्त्य, सहकार्यको युग

    पेरिस, २२ माघ (रासस–एएफपी) । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा यसले करिब तीन दशक लामो शान्तिपूर्ण अन्तर्राष्ट्रिय सहकार्यको अन्त्यलाई सङ्केत गर्नेछ । साथै, अन्तरिक्ष मानव जीवन र विश्वव्यापी सहकार्यको केन्द्र बनेको एउटा महत्त्वपूर्ण युगको समाप्ति पनि यसले जनाउनेछ ।

    नोभेम्बर २००० यता, फुटबल मैदानको आकार बराबरको वैज्ञानिक प्रयोगशालामा सधैँ मानिसहरूको उपस्थिति रहँदै आएको छ । पृथ्वी वरिपरि करिब आठ किलोमिटर प्रतिसेकेन्डको गतिमा परिक्रमा गर्ने आइएसएसले वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र मानवीय सहकार्यलाई निरन्तर अघि बढाउँदै आएको छ ।

    अन्तरिक्ष यात्रीहरूको नयाँ टोली आगामी हप्तामै स्टेशनतर्फ प्रस्थान गर्न तयारी अवस्थामा रहँदा, जमिनबाट आइएसएसलाई सहयोग गर्ने धेरै व्यक्ति यसको आसन्न अन्त्यप्रति भावुक देखिएका छन् । नासाको विज्ञान तथा मिसन सिस्टम अफिसका पूर्वप्रबन्धक जोन होर्याकले आइएसएस सीमा, भाषा र संस्कृतिभन्दा माथि उठेर मानवीय सहयोग र सहकार्यको केन्द्र बनेको बताए । उनले २५ वर्षभन्दा बढी समयदेखि अन्तरिक्षमा २४ घण्टा, वर्षभरि मानिसको उपस्थिति रहनु मानव इतिहासकै असाधारण उपलब्धि भएको उल्लेख गरे । उनका अनुसार, आइएसएसले समस्या समाधानमा टकरावभन्दा सहकार्य रोज्ने मानव क्षमताको स्पष्ट प्रमाण प्रस्तुत गरेको छ ।

    शीतयुद्धपछि अन्तरिक्ष दौडका पुराना प्रतिद्वन्द्वी रुस र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यको नयाँ भावना झल्काउँदै आइएसएसको प्रस्ताव अघि बढाइएको थियो । युक्रेनमा मस्कोको युद्धका कारण रुस र पश्चिमबीच धेरै सम्बन्ध चिसिँदै गए पनि अन्तरिक्ष स्टेशनमा सहकार्य भने निरन्तर जारी रहनु उल्लेखनीय मानिएको छ । फ्रान्सको अन्तरिक्ष एजेन्सी सिएनइएसका लियोनेल सुचेतले मानव अन्तरिक्ष उडानको इतिहास पहिलो र सबैभन्दा महत्त्वपूर्ण अन्तरिक्ष दौड भएको बताए ।

    उनले आइएसएसको विकासलाई अन्तरिक्ष अन्वेषणको दृष्टिले अत्यन्तै रोचक चरणका रूपमा वर्णन गरे । सुचेतले सन् २००१ मा मिर स्पेस स्टेसनको डि–अर्बिटिङ देखेपछि आइएसएसका प्रारम्भिक परियोजनाहरूको समन्वय गरेको अनुभव पनि स्मरण गरे । यद्यपि समयसँगै आइएसएस पुरानो बन्दै गएको छ र यसका धेरै उपकरणहरू पनि म्याद सकिने चरणमा पुगेका छन् । नासाले गत वर्ष एलन मस्कको स्पेसएक्सलाई सन् २०३० मा आइएसएसलाई पृथ्वीको वायुमण्डलतर्फ सुरक्षित रूपमा फिर्ता ल्याउन सक्ने विशेष वाहन निर्माणको जिम्मा दिएको घोषणा गरेको थियो ।

    होर्याकका अनुसार, शक्तिशाली रकेट इन्जिन प्रयोग गरेर आइएसएसको गति कम गरिनेछ र यसलाई जमिन, मानिस वा अन्य कुनै सम्भावित जोखिमबाट टाढा राख्दै प्रशान्त महासागरको दुर्गम क्षेत्रमा पुनःप्रवेश गराइनेछ । यसअघि मिरसहित धेरै अन्तरिक्ष यान र टेलिस्कोपहरू पोइन्ट नेमो भनिने यही समुद्री क्षेत्रमा खसालिएका थिए ।

    सन् २०३० पछि पृथ्वीको तल्लो कक्षामा चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशन मात्र रहनेछ । भविष्यलाई लक्षित गर्दै अमेरिकाले निजी कम्पनीद्वारा निर्माण र सञ्चालन गरिने अन्तरिक्ष स्टेशनतर्फ बढी ध्यान केन्द्रित गरिरहेको छ । होर्याकले रकेट र उपग्रहमा जस्तै अन्तरिक्ष स्टेशनहरू पनि व्यावसायिक आयामतर्फ अघि बढिरहेको बताउनुभयो । यस अवस्थामा राष्ट्रिय अन्तरिक्ष एजेन्सीहरूले निजी कम्पनीलाई शुल्क तिरेर आफ्ना अन्तरिक्ष यात्री पठाउनुपर्ने अवस्था आउनेछ । जेफ बेजोसको ब्लु ओरिजिन र एक्सिओम स्पेसलगायत कम्पनीहरूले पहिलो व्यावसायिक अन्तरिक्ष स्टेशन निर्माणका योजना अघि बढाइरहेका छन् ।

    सुचेतका अनुसार यस्ता परियोजनाहरूको व्यापार मोडेल अझै पनि धेरै हदसम्म संस्थागत नै रहनेछ, किनकि देशहरू पृथ्वीको तल्लो कक्षामा अन्तरिक्ष यात्री पठाउन सधैँ इच्छुक रहनेछन् । वैज्ञानिक अनुसन्धान र अन्वेषण सम्पूर्ण मानवताको साझा उद्देश्य बनेको छ । मानव चन्द्रमामा पुगेपछि अन्तरिक्षमा राष्ट्रहरूको व्यवहार नियमन गर्ने सन्धिहरू यथावत् रहने कि नहुने भन्ने प्रश्न खुला नै रहेको छ । अमेरिका र चीन दुवैले चन्द्रमामा आधार निर्माण गर्ने योजना अघि सारेका छन् ।

    होर्याकका लागि आइएसएसको अन्त्य भावनात्मक रूपमा निकै दुःखद क्षण हो । उहाँले आफ्ना छोराछोरीले आँगनमै उभिएर आइएसएसको उडान हेर्दै हुर्किएको अनुभव सम्झिए । तर उनका अनुसार, एउटा युगको अन्त्यले अर्को युगको सुरुआत पनि जनाउँछ । मानवले अन्तरिक्ष यात्रा क्षमता, अन्तरिक्ष अन्वेषण र अन्तरिक्षको उपयोगमार्फत सामाजिक, आर्थिक, शैक्षिक तथा जीवनस्तर सुधारतर्फ अझ अघि बढ्नुपर्ने उनको धारणा छ । युरोपेली अन्तरिक्ष एजेन्सीका पूर्वप्रमुख जीन–ज्याक डोर्डेनको भनाइ उद्धृत गर्दै उनले भने, “छिटो जान चाहनुहुन्छ भने एक्लै जानुहोस् । धेरै टाढासम्म जान चाहनुहुन्छ भने सँगै जानुहोस् ।”

  • बेलायतद्वारा बोइङ–७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

    बेलायतद्वारा बोइङ–७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

    बेलायत २२ माघ (रासस–एएनआई) । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान बेलायतबाट प्रस्थान गरी सुरक्षा जाँचका लागि भारतमा अवतरण गरेपछि बेलायतको नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियासँग स्पष्टीकरण मागेको छ । रोयटर्सका अनुसार एक हप्ताभित्र पूर्ण जवाफ पेस नगरे एयर इन्डिया र यसको बोइङ ७८७ फ्लीटविरुद्ध नियमनकारी कारबाही सुरु गर्न सकिने भन्दै उड्डयन प्राधिकरणले फेब्रुअरी– ३ तारिखको पत्रमा एयरलाइनलाई सूचित गरेको जनाइएको छ ।

    एयर इन्डियाको बोइङ–७८७ मा सुरक्षा जाँचको क्रममा एयरलाइन्सले आफ्ना सबै विमानहरूमा ईन्धन नियन्त्रण स्विचहरूको निरीक्षण पूरा गरेको स्रोतहरूले जनाएको छ। एयर इन्डियाको बोइङ ७८७– विमान सोमबार एक पाइलटले इन्धन नियन्त्रण स्विचमा सम्भावित त्रुटि भएको रिपोर्ट गरेपछि ग्राउन्डेड गरिएको थियो । एयर इन्डियाका प्रवक्ताले पाइलटले यो जानकारी देशको उड्डयन नियामक, नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए)लाई सूचित गरिएको पुष्टि गरे ।

    डिजिसिएको निर्देशनपछि एयर इन्डियाले आफ्नो फ्लीटमा रहेका सबै बोइङ ७८७ विमानहरूमा इन्धन नियन्त्रण स्विचहरू जाँच गरेको थियो र कुनै समस्या फेला नपरेको जनाएको छ । एयर इन्डियामा यात्रु र चालक दलका सदस्यहरूको सुरक्षा सर्वोच्च प्राथमिकता रहेको प्रवक्ताले बताए ।


    घटनापछि भारतीय पाइलट महासङ्घ (एफआइपी) का अध्यक्ष क्याप्टेन सिएस रन्धावाले इन्धन नियन्त्रण स्विचको अनियन्त्रित आवागमनमा बारम्बार हुने घटनालाई उद्धृत गर्दै बोइङ– ७८७ विमानमा सम्भावित विद्युतीय त्रुटिको तत्काल अनुसन्धान गर्न डिजिसिए र एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो (एएआइबी) लाई आग्रह गरेका थिए ।

    क्याप्टेन रन्धावाले बोइङ – ७८७ विमानमा इन्धन नियन्त्रण स्विचको अनियन्त्रित आवागमन रेकर्ड गरिएको यो तेस्रो घटना भएको बताएका छन् । डिजिसिएले मङ्गलबार, एयर इन्डियाको बोइङ बी–७८७–८ विमानमा ईन्धन कट–अफ स्विचको खराबीको बारेमा प्रत्युत्तर जारी गरेको जनाइएको छ ।

  • देशमा पश्चिमी वायुको आंशिक प्रभाव

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव

    काठमाडौँ, २२ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ ।

    त्यसैगरी, आज राति तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

  • दायाँ इञ्जिनमा आगलागीको सङ्केत देखिएको जहाज सुरक्षित अवतरण

    दायाँ इञ्जिनमा आगलागीको सङ्केत देखिएको जहाज सुरक्षित अवतरण


    काठमाडौँ, २१ माघः दायाँ इञ्जिनमा आगलागीको सङ्केत देखिएको टर्कीस एयरलाइन्सको जहाज भारतको कोलकाततामा सुरक्षित अवतरण भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको उडान नम्बर ‘टीएचवाई ७२७’ जहाज आज दिउँसो १ः२९ बजे उडे लगत्तै ४ मिनेटमा दायाँ इञ्जिनमा आगलागीको सङ्केत दिएको थियो ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्ति अनुसार जहाजले काठमाडौँ विमानस्थलबाट उडान भरी उचाइ लिने क्रममा ‘फोर डिएमइ वेस्टमा राइट इञ्जिन अन फायर’ भनी काठमाडौँ ‘एप्रोच कन्ट्रोल’मा रिपोर्ट गरेको थियो । तत्पश्चात केही समय डार्कमा होल्ड गरी कोलकाता डाइभर्ट गरिएको थियो ।

    सो जहाजको कोलकाता पुग्ने अनुमति समय नेपाली समयअनुसार दिउँसो ३ बजेर ३ मिनेटमा सुरक्षित अवतरण गरेको केन्द्रले जनाएको छ । उक्त जहाजमा जम्मा यात्रु २२५ र चालक दलका ११ सदस्य गरी जम्मा २३६ सवार थिए । सबै यात्रु तथा चालकदल सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

  • सामाजिक सञ्जालसम्बन्धी विधेयक सङ्घीय संसद्बाट फिर्ता गर्न स्वीकृति

    सामाजिक सञ्जालसम्बन्धी विधेयक सङ्घीय संसद्बाट फिर्ता गर्न स्वीकृति


    काठमाडौँ, २० माघ: सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक सङ्घीय संसद्बाट फिर्ता गर्न स्वीकृति दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

    राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक हाल सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्था छ । बैठकले सिंहदबारस्थित निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसर गुरुयोजना संशोधन गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री अर्यालले जानकारी दिनुभयो ।

  • व्यक्तिगत डाटा संरक्षणका लागि कानुन नहुँदा चोरीका घटना बढ्दै

    व्यक्तिगत डाटा संरक्षणका लागि कानुन नहुँदा चोरीका घटना बढ्दै

    हेमन्त जोशी/रासस
    काठमाडौँ, २० माघः पछिल्ला वर्षमा नागरिकका विवरणलाई बैंकिङ सेवा, सामाजिक सुरक्षा, बिमा, सरकारी अनुदान र विभिन्न सार्वजनिक सेवासँग क्रमशः एकीकृत र अनिवार्य बनाउँदै लगिएको छ । राज्यले यसलाई ‘डिजिटल इकोसिस्टम’ एकीकरणको आधार मानेको छ । एउटै परिचयका आधारमा नागरिकले सेवा पाउने, कागजी झन्झट घट्ने र सेवा प्रवाह प्रभावकारी हुने सरकारी दाबी छ । व्यवहारमा कतिपय सेवा छिटो भएका पनि छन् । तर यस्तो प्रयोजनका लागि प्रयोग हुने व्यक्तिगत डाटा संरक्षणको विषय भने नेपालमा अझै नीति र कानुनविहीन अवस्थामा छ ।

    नागरिकका नाम, ठेगाना, उमेर, पारिवारिक विवरण, बायोमेट्रिक सूचना, स्वास्थ्य अभिलेख, वित्तीय अवस्था, सम्पत्ति विवरण, शैक्षिक प्रमाणपत्रदेखि मोबाइल नम्बर र डिजिटल गतिविधिसम्मका विवरण राज्य र निजीक्षेत्र दुवैले सङ्कलन गरिरहे पनि ती विवरण क–कसले सङ्कलन गर्‍यो ? कुन निकायसँग साझा गरियो ? कति समय राखिन्छ ? र कति सुरक्षित छन् भन्नेबारे नागरिक अनभिज्ञ छन् । सङ्कलित डाटा चुहावट वा दुरुपयोग भएमा त्यसको जिम्मेवारी कसले लिने र पीडितले कसरी न्याय पाउने भन्ने स्पष्ट कानुनी आधार बनिसकेको छैन ।

    rss

    राष्ट्रिय परिचयपत्र, राहदानी, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र, करदाता दर्ता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमालगायत अनेकौँ सेवाका लागि नागरिकका विस्तृत व्यक्तिगत विवरण सङ्कलन गरिन्छ । यस्ता विवरण केवल सरकारी निकायमा मात्र सीमित छैनन् । बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनी, अस्पताल, बिमा कम्पनी, अनलाइन प्लेटफर्म र अन्य व्यावसायिक संस्थाले पनि ठूलो मात्रामा व्यक्तिगत डाटा सङ्कलन र भण्डारण गरिरहेका छन् ।

    नागरिकको निजत्व, सम्पत्ति, तथ्याङ्क, लिखित तथा अन्य व्यक्तिगत सूचनाको गोपनीयताको हक व्यवहारमा सुनिश्चित हुन सकेको छैन । यस्ता संवेदनशील डाटा सुरक्षित नहुँदा पहिचान चोरी, आर्थिक ठगी, सामाजिक बदनामी, मानसिक आघात मात्र होइन, राष्ट्रिय सुरक्षामा पनि जोखिम उत्पन्न हुनसक्ने विज्ञहरू बताउँछन् । नीति अनुसन्धान प्रतिष्ठानका सह–अनुसन्धानकर्ता दीपेन्द्रप्रसाद पन्तले व्यक्तिगत डाटा संरक्षणलाई सामान्य प्राविधिक वा प्रशासनिक विषयका रूपमा हेर्न नहुने बताउनुभयो । उहाँका अनुसार यो विषय नागरिक अधिकार, लोकतान्त्रिक शासन र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको छ ।

    “नेपालमा व्यक्तिगत डाटा संरक्षणका लागि स्पष्ट नीति छैन भने छुट्टै कानुन र प्रभावकारी संरचना बन्न सकेका छैनन् । व्यक्तिगत विवरण खुल्दा त्यसले व्यक्तिको गोपनीयतामा मात्र होइन, राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्छ । अरू देशहरूले व्यक्तिगत गोप्यताका विषयलाई अत्यन्त गम्भीर रूपमा लिने गरे पनि हामी अझै आधारभूत तहमा अड्किएका छौँ”, पन्तले भन्नुभयो । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ र वैयक्तिक गोपनीयतासम्बन्धी नियमावली, २०७७ कार्यान्वयनमा भए पनि यसले डिटिजल डाटा प्रयोग र सुरक्षणलाई आंशिक रूपमा मात्र समेट्ने उहाँको भनाइ छ ।

    उहाँका अनुसार डाटा चुहावटको असर कुनै एक व्यक्तिको क्षतिमा सीमित हुँदैन । नागरिकको परिचय विवरण, बायोमेट्रिक सूचना, स्वास्थ्य अभिलेख वा वित्तीय तथ्याङ्क बाहिरिएर त्यसलाई सङ्गठित अपराध, साइबर अपराधलगायत अवैध गतिविधि बढ्ने जोखिम रहन्छ । “व्यक्तिगत विवरण बाहिरिँदा त्यसको दुरुपयोगबाट सामाजिक अस्थिरता, आर्थिक अपराध र राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम पैदा हुन सक्छन् । यसलाई सामान्य प्रशासनिक कमजोरी भनेर नजर अन्दाज गर्न मिल्दैन”, उहाँले भन्नुभयो ।

    व्यक्तिगत विवरण चुहावट हुँदा व्यक्तिको सामाजिक छवि, मानसिक अवस्था र व्यक्तिगत सुरक्षामा गहिरो असर पर्छ । नेपालमा यस्तो क्षतिको दायित्व कसले लिने र पीडितले कति क्षतिपूर्ति पाउने भन्नेबारे कुनै कानुनी व्यवस्था छैन । कानुनी दण्ड र क्षतिपूर्तिको प्रावधान नहुँदा डाटा सुरक्षालाई प्राथमिकतामा राख्ने संस्कार नै विकास हुन नसकेको पन्तको बुझाइ छ । नेपालको संविधानले सूचना पाउने अधिकार र गोपनीयताको हक दुवैलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । तर यी दुई हकबीच सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा स्पष्ट कानुनी मार्गनिर्देशन नभएको उहाँले उल्लेख गर्नुभयो ।

    “सूचना पाउने अधिकार र व्यक्तिको गोपनीयताबीच स्पष्टता जरुरी छ । सबै सूचना सार्वजनिक हुनुपर्छ भन्ने बुझाइले व्यक्तिगत गोपनीयता कुण्ठित गर्न सक्छ”, पन्तले भन्नुभयो । कुन अवस्थामा व्यक्तिगत विवरण लुकाउनुपर्ने, कुन सूचना सार्वजनिक हितका लागि आवश्यक हुन्छ भन्ने स्पष्टता नहुँदा विवाद र दुरुपयोगको जोखिम बढिरहेको छ । सरकारले डिजिटल नेपाल अभियानअन्तर्गत अधिकांश सार्वजनिक सेवा ‘पेपरलेस’ बनाउने घोषणा गरेको छ । डिजिटल प्रणालीमा राखिएका विवरण कति सुरक्षित छन् भन्ने प्रश्नको स्पष्ट उत्तर छैन ।

    “हामीले सबै सार्वजनिक काम पेपरलेस (कागजरहित प्रणाली) बनाउँदै जाने भनेका छौँ । तर राखिएका विवरण पूर्ण रूपमा सुरक्षित छन् भनेर भन्नसक्ने अवस्था छैन । व्यक्तिगत डाटा सुरक्षाका संयन्त्र विकास गर्न सकिएन भने हामी प्रविधिमा होइन, जोखिममा अघि बढिरहेका हुन्छौँ”, पन्तले भन्नुभयो । ‘डिजिटलाइजेसन’सँगै डाटा संरक्षण कानुन, स्वतन्त्र नियामक निकाय, प्राविधिक मापदण्ड र दक्ष जनशक्ति एकसाथ विकास हुनुपर्ने उहाँको धारणा छ । नेपालमा सेवा विस्तारको गति र सुरक्षा तयारीबीच गहिरो अन्तर देखिएको उहाँले बताउनुभयो ।

    साइबर सुरक्षाविद् विजय लिम्बूले वैयक्तिक गोपनीयतासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नभएको र डाटा सुरक्षाका लागि संस्थागत रूपमा कुनै नियामक निकाय बन्न नसकेको अहिलेको अवस्थामा सूचना प्रविधिका क्षेत्रमा नेपालमा काम गर्न चाहने विदेशी कम्पनी इच्छुक नहुने उल्लेख गर्नुभयो । डाटा सुरक्षणका लागि अन्तरराष्ट्रिय मापदण्डसहितका कानुन नभए पनि संविधानले प्रत्याभूत गरेको वैयक्तिक गोपनीयताको हक तथा यससम्बन्धी कानुन कार्यान्वयनमा रहेका उहाँको भनाइ छ ।

    “कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, नियामक निकाय बनाउन नसक्नु र डाटा सुरक्षाका विषयलाई महत्व दिएर अभ्यासमा ल्याउन नसक्नु प्रमुख समस्या हुन्”, उहाँले भन्नुभयो, “भएकै कानुन पनि कार्यान्वयनमा कमजोर हुँदा सूचना प्रविधिसँग जोडिएका अन्तरराष्ट्रिय कम्पनीहरु नेपाललाई सहजै विश्वास गर्दैनन् ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ई–गभर्नेन्स बोर्डले व्यक्तिगत डाटा संरक्षण नीति, २०८२ को मस्यौदा तयार पारेको लामो समय भइसकेको छ । उक्त नीति अझै स्वीकृत भएर कार्यान्वयनमा आएको छैन । नीति नबनेकले यससँग सम्बन्धित ऐन, कानुन पनि अघि बढ्न सकेका छैनन् ।

    ई–गभर्नेन्स बोर्डका सहसचिव अनीलकुमार दत्तले नीतिको मस्यौदा तयार भइसके पनि प्रक्रिया ढिलो भएको स्वीकार गर्नुभयो । “विभिन्न निकायसँग व्यक्तिका विभिन्न खालका डाटा छन् । त्यसमा कतिपय संवेदनशील र व्यक्तिगत गोपनीयतासँग जोडिएका पनि हुन सक्छन् । अहिले कुन डाटा दिने र कुन नदिने भन्ने स्पष्टता छैन”, उहाँले भन्नुभयो ।

    व्यक्तिगत डाटाको वर्गीकरण आवश्यक भइसकेको पनि दत्त बताउनुहुन्छ । “व्यक्तिगत विवरणसँग सम्बन्धित तथ्याङ्कको वर्गीकरण आवश्यक छ । यसले कुन निकायले व्यक्तिको कतिसम्मका विवरण सङ्कलन गर्न पाउने र अर्को निकायलाई उपलब्ध गराउँदा कतिसम्म दिने भन्ने स्पष्टता ल्याउँछ”, उहाँले भन्नुभयो । व्यक्तिगत डाटा संरक्षणसम्बन्धी कानुन नहुँदा डाटा सङ्कलन, स्थानान्तरण, वर्गीकरण र साझेदारीका लागि कुनै स्पष्ट मापदण्ड छैन । कुनकुन निकाय डाटा सङ्कलन, प्रशोधन र विश्लेषणमा संलग्न छन् भन्ने तथ्यसमेत अस्पष्ट छ । प्रविधिको प्रयोगलाई बढावा दिइरहँदा त्यसले निम्त्याउने सुरक्षाका विषयलाई नजरअन्दाज गर्न नहुने राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यालय प्रमुख मनिष भट्टराईले बताउनुभयो । त्यसका लागि डाटा संरक्षणको नीति र कानुन अपरिहार्य बनिसकेको उहाँको बुझाइ छ ।

    विद्यमान अवस्थालाई विश्लेषण गर्ने हो भने डिजिटल डाटा सङ्कलन गर्ने निकायले त्यसको सुरक्षा, भण्डारण, क्लाउड पहुँच र नियन्त्रणबारे नागरिकलाई विश्वस्त गराउन सकेका छैनन् । सङ्कलित डाटाको नियमन गर्ने कानुनी व्यवस्था, संस्थागत संरचना र पूर्वाधार बन्न सकेका छैनन् ।

    सरकारी वा गैरसरकारी निकायले व्यक्तिगत डाटा सङ्कलन गर्दा त्यसको उद्देश्य स्पष्ट गर्नुपर्ने र सोही उद्देश्यका लागि मात्र प्रयोग गर्नुपर्नेमा व्यवहारमा यस्तो अभ्यास देखिँदैन । डाटा कति समयसम्म राख्ने, कहिले नष्ट गर्ने भन्नेबारे कुनै कानुनी व्यवस्था छैन । विदेशमा भने व्यक्तिगत डाटा सङ्कलनदेखि विसर्जनसम्मको कार्यको निरीक्षण तथा अनुगमनका लागि डाटा अडिट प्रतिवेदन तयार गर्ने प्रचलन छ ।

    त्यसैगरी, संवेदनशील डाटाको पहुँचमा बहुपक्षीय प्रमाणीकरण (मल्टी–फ्याक्टर अथेन्टिकेसन) र पहुँचसम्बन्धी सूचना (नोटिफिकेसन) प्रणाली लागू हुन सकेको छैन । सूचना प्रविधि विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न २५ वटा सरकारी निकायका ३० वटा सूचना प्रणालीको सेक्युरिटी अडिट गरिएको थियो । आवको अन्त्यसम्ममा विभिन्न ३५१ वटा सरकारी निकायको ५०६ वटा प्रणालीको सेक्युरिटी अडिट सुरक्षित बनाउन आवश्यक रहेको भन्दै विभागले सुझावसहितको प्रतिवेदन दिएको देखिन्छ । यो तथ्याङ्कले पनि सरकारी निकायका सूचना प्रणाली कमजोर रहेको पुष्टि गर्छ ।

    अभिलेखविहीन आँकडा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सूचना प्रणाली तथा सम्बन्धित सर्भरमा अनधिकृत पहुँच पु¥याएर व्यक्तिगत विवरण चोरी गर्ने र सार्वजनिक गर्नेक्रम पछिल्ला वर्षमा निरन्तर बढिरहेका छन् । यस्तो प्रकृतिका घटनाको एकीकृत तथ्याङ्क कुनै पनि सरकारी निकायसँग उपलब्ध छैन । राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राजकुमार महर्जनले कुन निकायबाट कस्तो किसिमको सूचना चुहावट भयो र त्यसको गलत प्रयोग भयो भन्ने अभिलेख नरहेको बताउनुभयो ।

    “विभिन्न निकायका वेबसाइटमा अनधिकृत पहुँच, तथ्याङ्क चोरीजस्ता विषय सञ्चारमाध्यमबाट सुन्ने गरिन्छ । तीमध्ये धेरैजसोको हामीलाई औपचारिक रुपमा जानकारी आएको देखिँदैन । केन्द्रलाई जानकारी नै नआएपछि त्यसको अभिलेखसमेत राख्ने गरिएको छैन”, उहाँले रासससँग भन्नुभयो । राहदानी विभाग, उद्योग विभाग, जल तथा मौसम विज्ञान विभाग, हेलो सरकार र अर्थ मन्त्रालय गरी पाँच वटा निकायले मात्रै हालसम्म आफ्नो वेबसाइट, सर्भर तथा सूचना प्रणालीमा बाह्य आक्रमणको शङ्कासहितको जानकारी केन्द्रलाई गराएका छन् । यी निकायमा गएर आवश्यक समन्वय गरी समस्या समाधान गरेको केन्द्रका निर्देशक महर्जनले बताउनुभयो । यी निकायबाट के–कस्ता विवरण/तथ्याङ्क क्षति पुग्यो वा बाहिरियो भन्ने आधिकारिक जानकारी आइसकेको उहाँको भनाइ छ ।

    नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता हुने साइबर अपराधसम्बन्धी उजुरीको सङ्ख्या पछिल्ला वर्षमा बढिरहेको छन् । ब्युरोमा दर्ता भएका उजुरीका तथ्याङ्कअनुसार डाटा चुहावट, वेबसाइट ह्याकिङ तथा इमेल दुरुपयोगसम्बन्धी घटना उल्लेखनीय रूपमा देखिएका छन् । यस्ता सबै घटना ब्युरोसम्म आइनपुग्ने प्रवक्ता दीपकराज अवस्थीले उल्लेख गर्नुभयो ।

    आव २०७९/८० मा साइबर ब्युरोमा दुई वटा डाटा चुहावटसम्बन्धी उजुरी दर्ता भएकामा २०८०/८१ मा तीन पुगेको थियो । उक्त सङ्ख्या २०८१/८२ मा बढेर छ पुगेको छ, जसले डिजिटल सूचना सुरक्षामा बढ्दो चुनौतीलाई स्पष्ट रुपमा सङ्केत गर्छ । त्यस्तै, वेबसाइट ह्याकिङसम्बन्धी उजुरी पनि क्रमशः बढ्दै गएका छन् । विसं २०७९/८० र २०८०/८१ मा एक/एक वटा उजुरी दर्ता भएकामा २०८१/८२ मा दुई र २०८२/८३ को पछिल्लो छ महिनामा मात्र तीन उजुरी दर्ता भएका छन् । अनधिकृत पहुँच वा ह्याकिङसम्बन्धी उजुरी २०७९/८० मा छ र २०८०/८१ मा सात वटा दर्ता भए पनि २०८१/८२ मा घटेर चारमा सीमित भएको साइबर ब्युरोको तथ्याङ्कमा उल्लेख छ ।

    अनधिकृत पहुँच प्रयाससम्बन्धी उजुरी भने प्रत्येक वर्ष निरन्तर रूपमा देखिँदै आएका छन् । र्‍यान्समवेयर आक्रमणसम्बन्धी उजुरी आव २०८०/८१ र २०८१/८२ मा एक–एक वटा दर्ता भएका छन् । यस्तै, व्यावसायिक इमेल दुरुपयोग र इमेल खाता दुरुपयोगसम्बन्धी उजुरी पनि बर्सेनि ब्युरोमा आउने गरेका छन् ।

    चोरी र चुहावटका घटना गत पुस २६ र २७ गते नेपाल टेलिकमको सिमकार्ड प्रयोगकर्तालाई सडक प्रदर्शनका लागि आह्वानसहित राजनीतिक प्रकृतिको ‘बल्क म्यासेज’ पठाइएको थियो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का प्रवक्ता रविन्द्र मानन्धरका अनुसार ‘आकाशटेल’ नामक कम्पनीबाट करिब सात लाख हाराहारी नम्बरमा ‘बल्क एसएमएस’ गएको थियो । यस प्रकरणमा नेपाल प्रहरीले निर्देश सेढाईं नामका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । त्यति ठूलो सङ्ख्यामा मोबाइल नम्बर कहाँबाट उपलब्ध भए भन्ने अझै खुलिसकेको छैन । नेपाल टेलिकमले भने कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराएको भन्दै गत पुस २९ गते विज्ञप्तिसमेत जारी गरेको छ ।

    नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, निर्वाचन आयोगलगायत कार्यालयको वेबसाइटमा अधिकृत पहुँच पु¥याएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले गत पुस १८ गते सिन्धुपाल्चोकबाट एक जना र गत मङ्सिर २८ गते झापाबाट एक जना पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । यी सबै निकाय व्यक्तिगत विवरण सङ्कलन र प्रयोग गर्ने निकायभित्र पर्दछन् । यी निकायमा कार्यालयको वेबसाइट मात्र ह्याक भएको हो वा सर्भरमै अनधिकृत पहुँच पुगेर व्यक्तिगत विवरणमा छेडखानी भएको हो भन्ने स्पष्ट छैन । त्यस्तै, पछिल्ला केही महिनायता मात्र लुम्बिनी प्रदेश र नेपाल प्रहरीको वेबसाइट ह्याक गरी विभिन्न विवरण र जानकारी डार्क वेभ’मार्फत सार्वजनिक भएका थिए । सरकारी निकाय मात्र नभई निजी क्षेत्रका संस्थाबाट पनि व्यक्तिगत विवरण तथा तथ्याङ्कहरु बाहिरिने गरेका छन् । विसं २०७६ फागुनमा अनलाइन ‘फुड डेलिभरी कम्पनी’ फुडमाण्डुको सर्भर ह्याक भएर ५० हजारभन्दा बढी व्यक्तिको नाम, ठेगाना, मोबाइल नम्बर, इमेललगायत विवरण बाहिरिएको थियो ।

    त्यस्तै, २०७६ चैतमा इन्टरनेट सेवाप्रदायक कम्पनी भायोनेटका ग्राहकको व्यक्तिगत तथ्याङ्क ह्याकरले सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएका दिए । नेपाल प्रहरीको साइबर ब्युरोले फुडमाण्डु प्रकरणमा संलग्न नवलपरासी पश्चिमको सुनवल नगरपालिका घर भएका १९ वर्षीय युवक २०७७ मङ्सिरमा र भायोनेट प्रकरणमा संलग्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक युवकलाई २०७७ पुसमा पक्राउ गरेको थियो ।

    यी ह्याकिङ प्रकरणमा संलग्न व्यक्तिहरुलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेको भनी कारबाही प्रक्रिया अघि बढ्यो । तर, व्यक्तिको तथ्याङ्क सङ्कलन गरेर सुरक्षित राख्न नसकेका कम्पनीको हकमा भने कुनै अनुसन्धान र अभियोजनको प्रक्रिया अघि बढेन । अनधिकृत सार्वजनिक भएका ती विवरण अहिले पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् ।

  • आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान

    आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान


    काठमाडौँ, २० माघ : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

    देशका तराई भू–भागमा हुस्सु/कुहिरोको प्रभाव रहने साथै सबै हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेकाले ती भूभागमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनहुन महाशाखाले अनुरोध गरेको छ ।

  • वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

    वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै


    काठमाडौँ, १८ माघः फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो । आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने बाँकी क्षेत्रमा पनि आंशिक बादल लागी चिसो बढ्ने छ ।

    अघिल्लो बुधबारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद् अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रणालीले मध्यनेपालभन्दा पश्चिममा बढी असर गर्ने देखिन्छ, आज पनि कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बदली भएको छ, त्यो बदली बढ्छ । मङ्गलबार मध्यनेपालभन्दा पश्चिममा बदली भएर वर्षा र हिमपात बढाउँछ ।”

    मौसमविद् अधिकारीका अनुसार यसपालि पश्चिमबाट मध्यनेपालसम्म असर गर्ने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा गराउने छ । कोशी, बागमतीको माथिल्लो भेगमा पनि असर गर्न सक्ने तर तल्लो भाग र तराई क्षेत्रका साथै मधेस प्रदेशमा भने असर न्यून रहने उहाँले बताउनुभयो । काठमाडौँमा मङ्गलबार राति छिटपुटसम्म वर्षा हुन सक्ने छ ।

    सोमबार तराई भू–भागका केही स्थानमा हुस्सु÷कुहिरो रहने तथा देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार राति तराई भू–भागका थोरै स्थानमा हुस्सु रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।


    मङ्गलबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चि प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात÷वर्षा तथा बाँकी हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चि प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात÷वर्षा तथा बाँकी हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • उद्यमसहितको वन व्यवस्थापनले आगलागी शून्य

    उद्यमसहितको वन व्यवस्थापनले आगलागी शून्य

    हेटौँडा (मकवानपुर), १६ माघः मनहरी गाउँपालिका–७ की किसान विमला राईको सम्बन्ध केवल वन संरक्षणमा मात्र सीमित छैन, यो उनको दैनिकी, आम्दानी र सुरक्षासँग पनि गाँसिएको छ । सूर्योदयसँगै उनी सामुदायिक वनतर्फ लाग्छिन् । झाडी सफाइ, सुक्खा पात–पत्कर सङ्कलन र त्यसबाट कम्पोष्ट मल बनाउने काम उनको नियमित कर्म बनेको छ।

    पात–पत्करका लागि डिपाट सामुदायिक वनमा १५ सय फिटका तीनवटा खाल्डा बनेका छन्भने प्रत्येक खाल्डामा १५ सय ट्रयाक्टर मल उत्पादन हुने गरेको छ । यही उत्पादनमा विमला व्यस्त थिइन् । उनी भन्छिन्, “खाल्डामा मलमात्र होइन, हाम्रो जीवन नै संगालेको महसुस हुन्छ, साना नानी लिएर घरमा आगो बल्ला भनेर रातभर नसुत्ने हामीलाई यही खाल्डाले आनन्दको निद्रा दिएको छ ।” उनलाई करिब १० वर्ष अगाडिसम्म हिउँदमा वन नजिकैको घर डढेलोले जलाउँला भन्ने डर थियो । विस्तारै वनमा काम, खेती र मल उत्पादनको विकल्प ल्याइयो र डढेलो पूर्ण रूप्मा नियन्त्रण भएपछि निद्रा लागेको उनको भनाइ छ ।

    अर्धसहरी जीवनशैली भएका र राजमार्ग छेउमा घर भएका विमलाको समुदाय नै यतिबेला सामुदायिक वनभित्र भेटिन्छ । दुईतीनवटा गाईवस्तु पाल्दा अरु काम गर्न नपाइने र त्यसैमा गुजारा नहुने कारण खेती गर्न नै मलले समस्या पारेकामा अहिले भने वनबाट मल र दैनिक ज्यालादारीका रूप्मा आम्दानी दुवै पाइरहेको विमला बताउँछिन् ।

    उनी भन्छिन्, “पहिला मलका लागि अनिवार्य रूप्मा पशु पाल्नुपर्ने बाध्यता थियो, गोठ बनाउने, घाँसदाउरा जोहो गर्ने र पशु स्याहारमै धेरै समय खर्च हुन्थ्यो”, “अहिले सामुदायिक वनबाटै कम्पोष्ट मल पाइने भएपछि धेरै सहज भएको छ ।” वनमा झरेका पात–पत्कर, झाडी सफाइबाट निस्किएको जैविक पदार्थ कम्पोष्टमा परिणत भएपछि खेतका लागि पर्याप्त मल उपलब्ध हुन्छ । यसले माटोको उर्वराशक्ति बढाएको छ, बाली उत्पादन राम्रो भएको छ र रासायनिक मल किन्ने खर्च पनि घटेको छ ।

    झाडी सफाइ केवल स्वच्छताका लागि मात्र होइन, आम्दानीको स्रोत पनि बनेको छ । वन उपभोक्ता समूहले सफाइबाट सङ्कलित सामग्रीलाई व्यवस्थित रूप्मा मल उत्पादनमा प्रयोग गर्छ । सो मल बिक्री हुँदा समूहलाई आम्दानी हुन्छ, जसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाउँछन् । विमलाका अनुसार यस आम्दानीले छोराछोरीको पढाइ, घर खर्च र दैनिक आवश्यकतामा सहयोग पुगेको छ । छोराछोरी पाल्न अब पहिलेजस्तो गाह्रो छैन, उनी भन्छिन् ।


    झाडी सफाइ र पत्कर सङ्कलनले वनभित्र सुक्खा पदार्थ थुप्रिन दिँदैन । यसको व्यवस्थापनले आगलागीको जोखिम घटाएको छ । पहिले हिउँद सुरु हुनासाथ डढेलोको डरले राति निद्रा लाग्दैनथ्यो । अहिले भने वन सफा, चिस्यानयुक्त र निगरानीमा भएकाले समुदाय ढुक्क छ । विमलामात्र होइन, यस क्षेत्रका सबै सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताको दैनिकी र उपलब्धि उस्तै छ ।

    डिपाट सामुदायिक वनसँगै सीमा जोडिएको सुनाचुरी सामुदायिक वन उपभोक्ता सरिता ब्लोन बिहानै कागतीका बिरुवा स्याहार गर्न वन पुग्छिन् । उनी भन्छिन्, “पहिले वन संरक्षण भनेको पहरा दिनुमात्र होजस्तो लाग्थ्यो, अहिले वनमै खेती गर्न पाउँदा आम्दानी पनि भयो । वन हाम्रो आफ्नै खेतबारीजस्तो लाग्न थालेको छ ।”

    सुनाचुरी सामुदायिक वनकी उपभोक्ता सरिता ब्लोन आज आत्मविश्वासका साथ वनमा काम गरिरहनुभएको देखिन्छ । तर उहाँका लागि १० वर्षअघिको हिउँद अझै पनि डरलाग्दो स्मृतिका रूप्मा रहेको छ । वनको छेउमै घर भएकी उनी भन्छिन्, “राति निद्रा लाग्दैनथ्यो, डढेलोले घर भेट्ला कि भन्ने डर हुन्थ्यो ।” छिमेकीको गोठमा आगलागी भएको घटनापछि धेरै रात अनिँदो बसेको सम्झना अझै ताजा छ । तर अहिले अवस्था फेरिएको छ । वनमा झरेका पात–पत्कर सङ्कलन गरी कम्पोष्ट मल उत्पादन सुरु भएपछि आगलागीको जोखिम न्यून भएको छ । “अब ढुक्क छु”, उनी भन्छिन्, “अहिले वनको निजी सम्पत्तिजत्तिकै माया लाग्छ, माया लागेपछि आगो लाग्न नदिने प्रयास आफैँ हुन्छ ।”

    डिपाट सामुदायिक वनका अध्यक्ष डम्बरबहादुर मोक्तान उज्यालो हुनेबित्तिकै वनमा जान्छन् । उनको नेतृत्वमा उक्त सामुदायिक वनमा कम्पोष्ट मल र तेजपत्ताखेती भइरहेको छ । दिनमा खेती र रातमा पहरेदारीको काम गर्नु आफूहरुको दैनिकी भएको उनी बताउँछन् । ग्रिन फाउन्डेसन नेपालको प्राविधिक सहयोग र वन समूहको आन्तरिक कोषको करिब रु ३५ लाख लगानीबाट उक्त मल उत्पादनको काम सुरु गरिएको अध्यक्ष मोक्तानको भनाइ छ ।

    उनी भन्छन्, “पत्कर जलाउने परम्परा हटेपछि वन सफा भएको छ, आगो सल्किने सम्भावना घटेको छ र किसानका लागि जैविक मलको स्थायी स्रोत बनेको छ ।” उनका अनुसार करिब १० वर्षदेखि आगलागी नभए पनि पछिल्ला सात वर्षयता पूर्ण रूप्मा आगलागी शून्य रहेको छ ।

    डिपाट सामुदायिक वन आज दिगो वन व्यवस्थापन र स्थानीय समृद्धिको उदाहरण बनेको अध्यक्ष मोक्तानको दाबी छ । उनका अनुसार कुनै समय वनभित्र थुप्रिने पात–पत्कर डढेलोको मुख्य कारण थिए । हरेक सुक्खा मौसमसँगै आगलागीको त्रास थियो । तर उपभोक्ता समूहले ती पत्कर सङ्कलन गरी कम्पोष्ट मल बनाउने निर्णय गरेपछि वन व्यवस्थापनको सोच नै फेरियो । कम्पोष्ट मल उत्पादन र बिक्रीबाट आएको आम्दानी वन संरक्षण, सरसफाइ, आगलागी नियन्त्रण पूर्वतयारी र उपभोक्ता सचेतनामा पुनः लगानी भइरहेको छ । यसले समुदायमा वनप्रतिको अपनत्व र जिम्मेवारी भावना बलियो बनाएको उनको भनाइ छ ।

    वन जोगाउन सक्रिय उपभोक्ता

    मनहरी गाउँपालिका–७ मा अवस्थित डिपाट सामुदायिक वनसँग सिमाना जोडिएको पशुपति सामुदायिक वन क्षेत्रमा पछिल्ला वर्षहरुमा एक उदाहरणीय अभ्यास सुरु भएको छ । विद्युत् प्रसारण लाइन विस्तारका क्रममा ठूला रुख हटाइएपछि हाइटेन्सन लाइनमुनि खाली जमिन बाँकी थियो । पुनः रुख रोप्न नमिल्ने ती स्थान लामो समयसम्म प्रयोगविहीन रहे, जसका कारण झाडी बढ्ने र हिउँदयाममा आगलागीको जोखिम उच्च बन्दै गएको थियो ।

    तर अहिले ती बेवास्तामा परेका क्षेत्र महिलाका लागि आम्दानी र वन संरक्षण दुवैको आधार बनेका छन् । पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्सन लाइनमुनि जडीबुटी, अदुवा र बेसारखेती सुरु गरेपछि वन व्यवस्थापनको स्वरूप् नै फेरिएको छ । खाली जमिन उत्पादनशील बन्दा झाडी बढ्न पाएन, सुक्खा पदार्थ थुप्रिन छाड्यो र आगलागीको सम्भावना उल्लेखनीय रूमा घट्यो ।

    लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियारका अनुसार खेती सुरु भएपछि वनमा बेवास्ता हुने ठाउँ नै बाँकी रहेन । “पहिले यहाँ झाडीमात्र हुन्थ्यो, हिउँद लागेपछि आगो लाग्ला कि भन्ने डर हुन्थ्यो”, उनी भन्छन्, “अहिले खेत बनेपछि सफाइ पनि हुन्छ, निगरानी पनि बढेको छ भने आगलागीको जोखिम घटेको छ ।”

    दलित समुदायकी चम्पामायाका लागि यो अभ्यास आर्थिक आम्दानीभन्दा पनि सामाजिक परिवर्तनको कथा बनेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भएपछि उनले लेखपढ गर्न सिकेकी छन्, बैठकमा आफ्ना कुरा राख्न थालेकी छिन् र समूहको नेतृत्वसमेत गरेकी छन्, “पहिले दलित भनेर हेयको नजरले हेरिन्थ्यो, अहिले काम र क्षमताका आधारमा चिनिन थालेकी छु”, उनको अनुभव छ ।

    समूहले खेतीसँगै वन संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ । नियमित झाडी सफाइ, सुक्खा घाँस र पत्कर हटाउने, आगलागी हुनसक्ने स्थानमा सतर्कता अपनाउने र समुदायस्तरमा निगरानी गर्ने काम भइरहेको छ । यसले वन क्षेत्रमा डढेलो हुन नदिनेमात्र होइन, माटो मलिलो बनाउन पनि सहयोग पुगेको समूहको दाबी छ । जडीबुटीखेतीबाट बाँकी रहने जैविक पदार्थ कम्पोष्ट मलमा प्रयोग हुँदा माटोको उर्वराशक्ति बढेको छ ।

    वन उपभोक्ता समूहका अनुसार महिलाको सक्रिय सहभागिताले वन संरक्षण थप प्रभावकारी बनेको छ । आम्दानीसँग जोडिएपछि वन जोगाउने जिम्मेवारी पनि साझा बनेको छ । पछिल्ला वर्षमा पशुपति सामुदायिक वन क्षेत्रमा कुनै ठूला आगलागीका घटना नभएको समूहले जनाएको छ । पशुपति सामुदायिक वनको यो अभ्यासले देखाएको छ– सिर्जनात्मक सोच, महिलाको नेतृत्व र सामुदायिक सहभागिता भए वन संरक्षण र जीविकोपार्जनसँगसँगै अघि बढ्न सक्छ । बेवास्तामा परेका जमिन उत्पादनशील बनेका छन्, आगलागीको जोखिम घटेको छ र समुदायमा सामाजिक रूपन्तरणको नयाँ बाटो खुलेको छ ।

    वातावरणीय फाइदा : कार्बनदेखि जैविक विविधतासम्म

    डिभिजन वन कार्यालय मनहरीका वन अधिकृत सुरेशप्रसाद गुप्ताका अनुसार सुक्खा पत्कर, हुरीबतास र मानवीय लापरवाहीका कारण हरेक वर्ष हजारौँ हेक्टर वन क्षेत्रमा आगलागी हुने गरे पनि मनहरी गाउँपालिकाका सुनाचुरी, डिपाट, पशुपति र मनकामना सामुदायिक वनमा विगत १० वर्षदेखि आगलागी नभएको र पछिल्ला सात वर्षयता पूर्ण रूप्मा शून्यमा झरेको छ । “आगोको जोखिम उच्च मानिने क्षेत्रमा आगलागी शून्य हुनु संयोग होइन”, उनी भन्छन्, “यो सचेत योजना, सामुदायिक सहभागिता र वनलाई आम्दानीसँग जोड्ने दूरदृष्टिको परिणाम हो ।”

    डढेलो नलाग्दा कार्बनडाइअक्साइड, मिथेन र सुक्ष्म कणजस्ता हरितगृह ग्यासको उत्सर्जन घटेको छ, जसले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सहयोग पुर्याएको छ । जैविक मल प्रयोग बढेकाले माटोको गुणस्तर, चिस्यानधारण क्षमता र कार्बन सञ्चिति बढेको छ । मनहरी क्षेत्रमा निर्माण गरिएका रिचार्ज पोखरीले भूजल पुनःभरण, मुहान संरक्षण, वन्यजन्तुका लागि पानीको उपलब्धता र जल सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

    विजयसाल, सतिसाल, दार, चिउरी र नीमजस्ता स्थानीय प्रजातिको रोपाइँ तथा लोपोन्मुख सालक (प्याङ्गोलिन) संरक्षणका प्रयासले जैविक विविधता संरक्षणलाई थप मजबुत बनाएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईका अनुसार वनलाई आम्दानीसँग जोडेर आगलागीजस्तो प्रमुख विनाशकारी कारक शून्यमा झारिनु सामुदायिक वनभित्रको सुशासन र दिगो विकासको स्पष्ट उदाहरण हो ।