Category: विज्ञान प्रविधि

  • शनिबार देशभर ठूलो वर्षाको सम्भावना, सचेत रहन आह्वान

    शनिबार देशभर ठूलो वर्षाको सम्भावना, सचेत रहन आह्वान

    काठमाडौं । शनिबार देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । प्रदेश१, प्रदेश २ र काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । काठमाडौंमा भने भिषण वर्षा जारी छ । दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाई छ । दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । आगामी तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भावना रहेको बताइएको छ ।

    पहाडी भू–भागमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने भएकाले बाढीको जोखिम हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापाको चन्द्रगढी विमानस्थल आसपासमा धेरै पानी परेको र थप पानी पर्ने सम्भावना रहेको छ । चन्द्रगढी विमानस्थलमा रहेको वर्षामापन केन्द्रको विवरण अनुसार पछिल्लो १२ घण्टामा झण्डै एक सय ५२ मिलीमिटर पानी परिसकेको छ । अझै पानी पर्ने सम्भावना रहेको शाखाको विवरणमा उल्लेख छ ।

  • आजबाट पुनः लगातार तीन दिन वर्षा

    आजबाट पुनः लगातार तीन दिन वर्षा

    काठमाडौं । नेपालमा आजबाट लगातार तीन दिन वर्षा हुने भएको छ । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज सूचना जारी गरि यसबारे जानकारी गराएको हो । नेपालको दक्षिण भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको प्रभावले पानी पारेको हो ।

    यसको प्रभावले आज देशका अधिकांश भूभागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ । पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घन्टामा प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

    ती प्रदेशको पहाडी भू भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले चेतावनी महाशाखाले दिएको छ ।

  • फास्टट्रयाक्कमा सुरुङमार्ग बनाउने कम्पनीका प्राविधिक नेपाल आए

    फास्टट्रयाक्कमा सुरुङमार्ग बनाउने कम्पनीका प्राविधिक नेपाल आए

    काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत प्याकेज नम्बर २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का प्राप्त गरेको चिनियाँ पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका प्राविधिक नेपाल आएका छन् । कोरोना महामारीका बीच प्राविधिक नेपाल आउन पाएका थिएनन् । राससका अनुसार परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आएको हो ।

    यो परियोजना निर्माणको जिम्मा नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ । नेपाली सेनाको समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली बुधबार काठमाडौँ आएको बताइएको छ । सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा सुरुङ, पुल र सडक इञ्जिनीयर सहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेललाई उदृत गर्दै राससले लेखेको छ ।

    मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग रु २८ अर्ब ५३ करोड लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ मा सम्झौता भएको हो । टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिने छ। सम्झौता भएको छ महिनाभित्र डिजाइनको काम पूरा गर्ने लक्ष्य छ ।

    डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। सेनाले द्रुतमार्गको प्याकेज नम्बर १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र प्याकेज नम्बर २ का लागि पोली च्याङ्दा इञ्जिनीयरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो।

  • नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ पुग्यो

    नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ पुग्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेको छ । पेट्रोल तथा डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

    हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८२ रुपैयाँ पुर्याइएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर २० अमेरिकी डलर वृद्धि भएको छ । नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम भएको छ । यसअघि निगमले गत जेठ २२ मा मूल्य बढाएको थियो ।

  • कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्र, संक्रमण घटेको सरकारको निष्कर्ष

    कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्र, संक्रमण घटेको सरकारको निष्कर्ष

    काठमाडौं । नेपालमा अब कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र हुने भएको छ । कोरोना संक्रमण कम भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार अब निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन गरिने छैन ।


    निजी अस्पताललाई कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भए अनुसार अस्पतालमा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको शोधभर्ना सरकारले गर्नेछ । तर, अब सङक्रमितले आफूले निजी अस्पताललाई उपचार गराउन चाहेको खण्डमा आफ्नै खर्चमा उपचार गराउन सक्नेछन्।

    यसरी निजी अस्पतालमा उपचार गराउँदा सरकारले तोकेको भन्दा बढी शुल्क भने अस्पतालले लिन पाउने छैनन् । सरकारले गम्भीर प्रकृतिका बिरामीलाई दैनिक १५ हजार रुपैयाँसम्म लिएर उपचार गराउन सक्ने गरि मूल्य तोकेको छ ।

  • गरिब देशमा खोपको चरम अभाव रहेको डब्लूएचओद्धारा स्वीकार

    गरिब देशमा खोपको चरम अभाव रहेको डब्लूएचओद्धारा स्वीकार

    काठमाडौं । विश्वमा धनी मुलुकले आफ्ना नागरिकलाई धमाधम खोप लगाइरहेका छन् । तर, गरिब मुलुकले खरीद गर्छु भन्दा पनि खोप पाएका छैनने । विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड १९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।

    बीबीसीका अनुसार डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको जानकारी दिए । तर, यो निकै सानो अंश हो । उनले विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण गर्न यो अपर्याप्त भएको उल्लेख गरे ।

    अफ्रिकी मुलुकमा खोप नपुगेकै कारण सङ्क्रमणको तेस्रो लहर देखा परेको डब्लूएचओको भनाई छ । सोमवार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले धनी देशहरूले खोपलाई जम्मा गरेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका थिए। महादेश स्तर अनुसार हालसम्म अफ्रिकामा ४ करोड मानिसहरूलाई मात्र खोप दिइएको । यो त्यहाँको जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम हो ।

    अघिल्लो वर्ष धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्ने सहितको प्रतिबद्धता जनाएका थिए । सोही अनुसार विश्वभर खोपको पहुँच पुर्‍याउन कोभ्याक्स अभियान थालिएको हो । डब्ल्यूएचओको नेतृत्वमा अरू सङ्गठनहरू पनि सहभागी रहेको उक्त अभियानले सन् २०२१ भित्र दुई अर्ब मात्रा खोप उपलब्ध गराउने लक्ष्य लिए पनि ठूला मुलुकले सहयोग नगर्दा यो अभियान सफल हुनेमा शंका छ । कोभ्याक्समा ८० न्यून आय भएका देश आबद्ध छन् ।


    धनी राष्ट्रहरू सम्मिलित जी सेभेनको सम्मेलनमा बाइडनले अमेरिकाले ५० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए । उक्त समूहका देशहरूले कुल १ अर्ब खोपको मात्रा दिने घोषणा गरेका छन् । तर, यो घोषणामा मात्र सिमित हुने आंशका छ ।

  • ११ हजार परीक्षणबाट २४०१ मा देखियो कोरोना

    ११ हजार परीक्षणबाट २४०१ मा देखियो कोरोना

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कुल २४०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो अवधिमा कुल ११ हजार ६ सय ९६ वटा परीक्षण भएको थियो । अब नेपालमा कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३६६० जनाले कोरोनालाई जित्न सफल भएका छन् । यससँगै कोरोनालाई जित्नेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ रहेको छ । नेपालमा निको हुनेको दर ८९.३ प्रतिशत रहेको पाइएको छ ।
    ्र

  • मुस्ताङको भिडियो ट्वीटरमा राख्दै डब्लूएचओ प्रमुखले गरे स्वास्थ्यकर्मीको प्रशंसा

    मुस्ताङको भिडियो ट्वीटरमा राख्दै डब्लूएचओ प्रमुखले गरे स्वास्थ्यकर्मीको प्रशंसा

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोसले नेपालको मुस्ताङमा एक नदीबाट कोरोना विरुद्धको खोप तार्न गरिएको प्रयासलाई लिएर स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् । साथै यो भिडियोमार्फत शक्ति सम्पन्न मुलुकहरुले देखाएको रवैयाप्रति उनले चिन्ता समेत व्यक्त गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप वितरणमा स्वास्थ्यकर्मी खटिरहेको उदाहरणका रुपमा यो भिडियो प्रस्तुत गर्दैस्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्।

    खासगरी खोप अहिले पनि धनी मुलुकको कब्जामा छ । उनीहरुले आफ्नो जनसंख्यालाई वितरण गरेर बाँकि रहेको खोप समेत बाँकि विश्वलाई दिने ठोस प्रक्रिया थालेका छैन् । खोप निर्माण गरिरहेका मुलुकले खरीद गर्न चाँहदा समेत उपलब्ध गराएका छैनन् । ट्वीटमा उनले कोरोना विरुद्धको खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

    उनले भनेका छन्, ‘मानिसको जीवन बचाउन स्वास्थ्यकर्मी कसरी खटिन्छन् भन्ने यो भिडियोले देखाएको छ। अझ पनि धेरै ठाउँमा यस्ता हिरोहरूलाई भ्याक्सिन नलगाइने कतिसम्म न्यायोचित हो ?’ डा. टेड्रोसले सेयर गरेको भिडियोमा बाढी आएको खोलामा लठ्ठी सहायताले खोप राखेको बाकस तारिएको छ ।

  • शनिबार पनि नेपालमा ठूलो वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम

    शनिबार पनि नेपालमा ठूलो वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम

    काठमाडौं । नेपालमा शनिबार समेत देशभर ठूलो वर्षा जारी रहने छ । अहिले मनसुन सक्रिय भएको छ । जसको प्रभावले देशभर वर्षा भइरहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन वटा प्रदेशमा ठूलो वर्षाको सम्भावना छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा जारी छ । शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित भारी वर्षा हुने छ ।

    शनिबार राति प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम हुने छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ ।

  • प्राकृतिक विपत्तिसँग लड्न सबै संयन्त्र ‘हाई अलर्ट’मा रहन गृहको निर्देशन

    प्राकृतिक विपत्तिसँग लड्न सबै संयन्त्र ‘हाई अलर्ट’मा रहन गृहको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले मनसुनका दौरान आउन सक्ने बाढी पहिरो र डुवानको समस्याका कारण उच्च सतर्कतामा रहन आफ्नो मातहतका सबै निकायलाई निर्देशन दिएको छ । उच्च जोखिममा रहेका बस्तीमा आवश्यक सतकर्ता अपनाउन समेत गृहले सम्वन्धित जिल्ला प्रशासन कार्यालयलाई सचेत गराएको छ ।

    विभिन्न नदी किनारा, खोला, खहरे तथा खोल्सा नजिकका वस्तीहरु बाढीपहिरो र डुवानको उच्च जोखिममा रहेको भन्दै गृहले वस्तीमा सम्भावित विपद् सम्वन्धी पूर्वसूचना ‘हाइ अलर्ट’ गर्न निर्देशन दिएको हो ।

    डुबान हुने, बाढीपहिरो आउने र खोल्सा नजिकको बस्ती भासिने समस्या देखिने भन्दै गृहले जोखिममा रहेका वस्ती सार्न समेत निर्देशन दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय प्रमुखलाई सम्भावित मनसुन जन्य जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन भनेको छ ।

    सो क्रममा आवश्यक सूचना तथा सुुरक्षा, उद्धार तथा उपचार, राहत र पुनस्र्थापना कार्य तयारी थाल्न समेत गृहले निर्देशन दिएको छ । पश्चिम नेपालको सुर्खेत, मध्यपश्चिमा पोखरा, काठमाडौँ, तराई मधेशको जनकपुर र विराटनगर गरी पाँचस्थानमा हेलिकप्टर सहितको उद्धार टोली खटिएको बताइएको छ ।

  • मनसुनको शुरुवातमै बाढी र पहिरोबाट देशभर ठूलो क्षति

    मनसुनको शुरुवातमै बाढी र पहिरोबाट देशभर ठूलो क्षति

    काठमाडौं । नेपालमा मनसुन सक्रिय भएको पहिलो सातामै देशभर प्राकृतिक विपत्तीले ठूलो क्षति निम्तिएको छ । एकसातायता देशका अधिकांश भेगमा वर्षा भएको छ । यसले पहाडी भेगमा पहिरोको जोखिम बढेको छ भने तराई भेगका नदीहरुका बहाव बढेको छ । यसले एकसाथ बाढी, पहिरो र डुबान शुरु भएको छ । सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परि कम्तिमा ७ जनाको मृत्यु भएको खबर आएको छ ।

    बाजुरामा बड्डीगाड खोलाले बगाएर सोमबार एक जनाको मृत्यु भएको छ । बाजुरामै किन्नी खोलाले बगाउँदा एक जना बेपत्ता छन् । गोरखामा बाढीले एक जनालाई बगाएर वेपत्ता पारेको छ । उता, सल्यानमा समेत एक साता भित्रै खोलाले दुई जनाको ज्यान लिइसकेको छ । मनाङमा बाढी र पहिरोले वितण्डा मच्याएको छ । यहाँ पाँच सय मानिस विस्थापित भएका छन् । मनाङको चामेमा तीन सय जना र तालगाउँका दुई सय जना गरी पाँच सय स्थानीयवासी बाढीका कारण विस्थापित भएका हुन् । यहाँ राहत पुर्याउने तयारी भइरहेको छ ।

    मस्र्याङ्दी नदी, घट्टेखोला र स्याफ्रुखोलामा आएको बाढीले मनाङ, मुस्ताङ रलमजुङमा क्षति गरेको हो । बाढी पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली भेगमा अधिक वर्षा भएकाले ठूला नदीको बहाव बढेको छ । नारायणी नदीले खतराको चिन्ह पार गर्दा नारायणगढ र गैँडाकोटको तटीय क्षेत्रमा जोखिम बढेको छ । लुम्बिनी प्रदेशको पश्चिम राप्ती, बबई, तिनाउलगायत नदीमा बहाव बढेको छ । यसले लुम्बिनीका जिल्लाहरुमा समेत पहिरोले सडक अवरुद्ध बनाएको छ ।

  • ठूलो वर्षासहित नदीहरुमा बाढी आउने सम्भावना, सतर्क रहन आह्वान

    ठूलो वर्षासहित नदीहरुमा बाढी आउने सम्भावना, सतर्क रहन आह्वान

    काठमाडौं । आज मुलुकका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना छ । यसले नदीहरुमा बाढी आउने र नदी किनारमा असर गर्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ । नेपालमा आइतबारबाट नै विभिन्न स्थानमा अविरल वर्षा जारी छ । लगातारको पानीले देशका विभिन्न नदी र खोलामा बाढी आएको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको छ । गण्डकी नदीमा पानीको बहाव बढ्दा म्याग्दीको घोरेपानी तथा नवलपरासीको अरुण नदी र आसपासका क्षेत्रमा जोखिम बढेको हो । कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्नसक्ने अनुमान महाशाखाको छ ।

    यी नदीमा बिहीवारसम्म नै यी नदीका तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ । यो साता मनसुन सक्रिय भइ देशभर पानी पर्ने हुँदा बाढी र पहिरोको जोखिम रहेको हो । मंगलबार देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

  • काठमाडौंमा आज र भोली चिनियाँ खोप लगाईंदै

    काठमाडौंमा आज र भोली चिनियाँ खोप लगाईंदै

    काठमाडौं । काठमाडौं महानगरपालिकामा आज र भोली (सोमबार र मंगलबार) चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । यसअघि २५ जेठबाट शुरु भएको खोप अभियानमा खोप नै सकिएपछि तोकिएको समय भन्दा अगाडी नै रोकिएको थियो । थप खोपको जोहो भएपछि आज र भोलि महानगरपालिका भित्र खोप लगाउने तयारी गरिएको हो ।

    काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागका अनुसार जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप लगाइने भएको हो ।

    काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा जेठ ३१ र असार १ गते खोप लगाइने छ ।

    पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीले खोप लगाउन सक्ने छन् ।

  • देशभर वर्षा, पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

    देशभर वर्षा, पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

    पोखरा । मनसुन सक्रिय भएसँगै अहिले देशभर वर्षा भइरहेको छ । कुनै स्थानमा मध्यम र कुनै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । अविरल वर्षापछि राजमार्गहरुमा पहिरो जाने र अवरुद्ध हुने क्रम समेत बढेको छ । सोहीक्रममा स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनाएको छ । शनिबार रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको स्थानीयवासीको भनाई छ ।


    राति २ बजे ठूलो पहिरो गएकाले राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन्। सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सिद्धार्थ राजमार्गमा सिद्धबाबा पहिरो क्षेत्रबाटै जोखिम अत्यधिक रहेको छ ।

  • ३३८४ जनामा संक्रमण पुष्टी, ६२९५ ले जिते कोरोना

    ३३८४ जनामा संक्रमण पुष्टी, ६२९५ ले जिते कोरोना

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको तुलनामा निको हुने दोब्बर भएका छन् । यस अवधिमा देशभर ८ हजार ५०६ नमुना पीसीआर परीक्षणबाट २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षणबाट १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षण भएको छ । यो परीक्षणबाट ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    यो अवधिमा ६ हजार २९५ जनाले कोरोनालाई जितेका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । जसमध्ये ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख २७ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ । उनीहरुमध्ये ६५ हजार ९५३ जना होम आइसोलेसनमा रहेका छन् भने ५ हजार ३४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । जसमध्ये १ हजार २०६ जनाको आईसीयू र ३७३ जनाको भेन्टिलेटरमा उपचार जारी रहेको सरकारको तथ्यांक छ ।

  • नेपाल भित्रियो मनसुन, अधिकांश स्थानमा पानी पर्ने

    नेपाल भित्रियो मनसुन, अधिकांश स्थानमा पानी पर्ने

    काठमाडौं । नेपालमा यो सिजनको मनसुन भित्रिएको छ । यसको प्रभावले देशका अधिकांश स्थानमा पानी परेको छ । मनसुनको सुरुवातमै पानी पर्न थालेको र यो वर्ष बढी पानी पर्ने पूर्वानुमान समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश एक, दुई र वाग्मती प्रदेशमा भित्रिएको मनसुन यसपालि अलि छिट्टै देशभर फैलिने भएको हो ।

    यस वर्षको मनसुनमा पूर्वमा प्रदेश एक र दुईको तराई क्षेत्रबाहेक धेरैजसो ठाउँमा मौसम प्रतिकूल रहने अनुमान छ । अहिले पूर्वका एक, दुई ठाउँमा पानी परिरहेको छ । आज पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण बद्ली तथा सुदूरपश्चिम र लुम्बिनीमा आंशिक बद्लीको अवस्था रहेकाले धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ ।

    गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ । का कारण कापूर्वी र मध्य क्षेत्रमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव तथा पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण वर्षा शुरु भएको महाशाखाले जनाएको छ

  • बेलायतले १० करोड खोप बाड्ने, नेपाल पर्ला प्राथमिकतामा ?

    बेलायतले १० करोड खोप बाड्ने, नेपाल पर्ला प्राथमिकतामा ?

    लण्डन । बेलायतले आफुसँग अतिरिक्त भण्डारमा रहेको १० करोड खोप गरिब मुलुकहरुलाई अनुदानमा वितरण गर्ने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने बताएका हुन् । बीबीसीका अनुसार धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप अर्को वर्षसम्म वितरण गरिने बताएका छन् ।

    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी सङ्घलाई ५० करोड फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेका थिए। यूकेले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गर्ने जनाएको छ ।

    प्रधानमन्त्री जोनसनले यूकेको खोप कार्यक्रमको सफलताका कारण अतिरिक्त सङ्ख्यामा रहेका खोप आवश्यकता रहेकाहरूलाई दिनसक्ने अवस्थामा रहेको समेत बताए । उनले शुक्रवार कोर्नवालमा सुरु हुने जी सेभेनको शिखर बैठकमा आफ्ना सहकर्मी नेताहरूले पनि यस्तै प्रतिबद्धता जनाउने अपेक्षा गरेका छन् ।

    अर्को वर्षको अन्त्यसम्म विश्वलाई नै खोप लगाइसक्नुपर्ने आवश्यकता रहेको उनले बताए । नेपालले बेलायतबाट खोपको अपेक्षा गरेको छ । भारतबाट खरीद गरेको खोप नआएपछि करीव १४ लाख मानिसले पहिलो खोप लगाएपनि दोस्रो खोप लगाउन सकेका छैनन् ।

  • शनिबारबाट मनसुन सक्रिय हुँदै, यो वर्ष धेरै वर्षा हुने सम्भावना

    शनिबारबाट मनसुन सक्रिय हुँदै, यो वर्ष धेरै वर्षा हुने सम्भावना

    काठमाडौं । नेपालमा शुक्रबार साँझ वा शनिबारबाट मनसुन सक्रिय हुने भएको छ । मौसमविद्ले यो वर्ष औसतमा बढी पानी पर्ने चेतावनी यसअघि नै दिएका छन् । पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको समेत प्रभावका कारण बिहीबारबाटै वर्षा भने हुने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसोपख धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

    मनसुनी प्रणाली नेपाल नजिकै आइसकेको छ । यसले भोलि बेलुकीपख वा पर्सिसम्म मनसुन भित्रने छ । यो वर्ष बाढी, पहिरोलगायत मनसुनजन्य विपदबाट मात्र १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान सरकारी निकायको छ । गएको वर्ष औसत बराबर पानी पर्दा समेत ठूलो मानवीय क्षति भएको थियो । त्यसको तुलनामा यो वर्ष अझै ठूलो पानी पर्दैछ । बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान छ ।

  • भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’

    भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’

    काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतसँग नेपालमा कोरोना भाइरस विरुद्धको खोप निर्यात सहजिकरण गर्न आग्रह गरेका छन् । उनले बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटका क्रममा यस्तो आग्रह गरेका हुन् । उपप्रधानमन्त्री महासेठलाई बधाई ज्ञापन गर्न पुगेका राजदूतसँग उनले कोरोना विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् ।


    भेटमा भारतीय राजदूत क्वात्राले महासेठलाई परराष्ट्रमन्त्री बनेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरको बधाई सन्देश सुनाएका थिए । परराष्ट्र मन्त्रालयले खोपका सम्बन्धमा राजदूतले के भन्ने बारे चाँही खुलाएको छैन । मन्त्रालयका अनुसार सो अवसरमा खोप आपूर्तिसहित विभिन्न आपसी हितका विषयमा छलफल भएको छ ।

  • आजबाट नेपालमा चिनियाँ खोप लगाउन शुरु

    आजबाट नेपालमा चिनियाँ खोप लगाउन शुरु

    काठमाडौं । नेपालमा आजबाट चीनले अनुदानमा दिएको खोप लगाउनु शुरु भएको छ । सरकारले विभिन्न उमेर समूह तोकेर सोही अनुसार खोप लगाउन थालेको हो । स्वास्थ्य सेवा विभागका अनुसार सात वटै प्रदेशमा खोप लगाइने छ । चीनको सीमाना जोडिएका जिल्लामा १८ वर्षमाथिका मानिसहरुले यो खोप पाउने छन् ।

    सबै हिमाली जिल्लामा भने ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी व्यक्तिले यो खोप लगाउन पाउने छन् । अन्य जिल्लाको हकमा भने ६२–६४ वर्ष उमेर समूहले मात्र खोप पाउने छन् । आवश्यकता र उपलब्ध भएसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले समेत खोप पाउने छन् ।

    काठमाडौं उपत्यकामा ६२ देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन भनिएको छ । सम्बन्धित स्थानीय तहले तोकेको स्थानमा गएर खोप लगाउन सकिने छ । खोप लगाउने समयमा सरकारले उपलब्ध गराएको फोटोसहितको परिचय पत्र साथमा हुनुपर्छ । चीनले १० लाख डोज खोप अनुदानमा दिएको थियो । सोही खोप नेपालमा लगाउन शुरु भएको हो । ५ लाख मानिसले यो खोप पाउने छन् ।

  • अनलाइन खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न सर्वोच्चको आदेश

    अनलाइन खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले अनलाइन माध्यमबाट हुने सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। निषेधाज्ञाको समयमा अनलाइन खरीद बिक्रि र डेलिभरी हुने काममा प्रहरीले अवरोध गरिरहेको छ । काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुको खरीद बिक्रि अनलाइनमाध्यमबाट गर्न निकै सहज भइरहको समयमा यस्तो अवरोध भएपछि सर्वोच्चले नरोक्न आदेश गरेको हो ।

    सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अनलाइन माध्यमबाट खरिद बिक्री भएको सामानको होम डेलिभरी गर्न दिन र ई कमर्स सेवा प्रदान गर्ने काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

    गत वर्ष काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवाको होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गरेको थियो ।

    तर उक्त मापदण्ड बमोजिम पनि सामान होम डेलिभरी गर्न दिएको थियो । तर यस वर्ष भने रोक लगाइएको थियो । निकेत अग्रवालसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

  • डेनमार्कबाट आउला नेपाललाई कोरोना खोप ?

    डेनमार्कबाट आउला नेपाललाई कोरोना खोप ?

    काठमाडौं । नेपाल सरकारले डेनमार्क सरकारसँग खोप उपलब्ध गराउन आग्रह गरेको छ । डेनमार्क सरकारले कोरोना खोप उपलब्ध गराउन सकारात्मक देखिएसँगै स्वास्थ्य सेवा विभागले समेत पत्र लेखेको नेपाली संचारमाध्यमले लेखेका छन् । डेनिस सरकारसँग स्वास्थ्य सेवा विभागले एस्ट्राजेनेकाको खोप १४ लाख डोज उपलब्ध गराउन आग्रह गरेको हो ।

    खोपको उपलब्ध गराउन सहजीकरणका लागि समेत सरकारले युनिसेफसँग आह्वान समेत गरेको छ । यो खोप कोभ्यासको अनुदान नभएको बताइएको छ । पछिल्लो समय अमेरिकाले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत खोप उपलब्ध गराउने घोषणा गरेको छ । यद्दपी यसको संख्या र मिति तय भएको छैन ।

    नेपालमा पहिलो खोप लगाएका करीव १४ लाख जेष्ठ नागरिक खोपको पर्खाइमा छन् । दोस्रो खोप समयमा नआउँदा उनीहरुमा मानसिक तनाव बढेको छ । भारतले खोप निर्यात रोकेपछि नेपालले पैसा पठाएपनि खोप आउन सकेको छैन ।

  • अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

    अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

    काठमाडौं । अष्ट्रेलियाले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपाललाई उपलब्ध गराएको ती स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको छ । अष्ट्रेलियाको रक्षा मन्त्रालयको एयरक्राफ्टमा ल्याइएका ती सामग्रीलाई अष्ट्रेलियाली राजदूत फेलोसिटी भल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छिन् कोभिड–१९ प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत ल्याइएको जंगी अड्डाले जनाएको छ ।

  • ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आयो

    ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आयो

    काठमाडौं । ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आएको छ । यसअघि यो औषधी नेपालमा थिएन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कालो ढुसीका नामबाट चिनिने ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन बी नेपाललाई पठाएको हो ।


    नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन बी नेपाल आएको बताइएको छ । नेपालमा कालो ढुसीको बिरामी देखिन थालेपछि सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग जति सक्दो छिटो औषधिको सहयोग पठाउन आग्रह गरेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    डब्ल्यूएचओले पठाएको यो औषधि भुसुनाको टोकाइका कारण लाग्ने कालाजार रोग विरुद्ध समेत प्रयोग हुन्छ । स्वास्थ्य सेवा विभागबाट थप १० हजार भाइल यो औषधिको खरिदको तयारी समेत भएको छ ।

    भारतले कालो फङ्गसका कारण यसको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधि अभाव भएको हो । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसी पुष्टि भइसकेको छ । कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौंमा पुष्टी भएको छ ।

  • नेपालमा तेस्रो र चौथो लहर आउने र बालबालिका संक्रमित हुने सरकारको चेतावनी

    नेपालमा तेस्रो र चौथो लहर आउने र बालबालिका संक्रमित हुने सरकारको चेतावनी

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाको तेस्रो र चौथो लहर आउने भन्दै चेतावनी दिएको छ । सो बेला बालबालिका बढी संक्रमित हुने चेतावनी समेत सरकारले दिएको छ । सरकारले एक सूचना प्रकाशित गरि आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन समेत अस्पतालहरूलाई भनेको छ ।

    सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई पत्र पठाएर मन्त्रालयले २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न भनेको निर्देशन दिएको हो । पहिलो र दोस्रो लहरमा प्रौढ तथा युवा व्यक्तिहरू बढी सङ्क्रमित भएको र तेस्रो वा त्यसपछि आउने लहरहरूमा बालबालिका बढी प्रभावित हुन सक्ने सम्भावना रहेको चेतावनी मन्त्रालयको छ ।

  • कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

    कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

    काठमाडौं । अमेरिकाले जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वभर बाँड्ने योजना सार्वजनिक गरेको थियो । यसमध्ये पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण हुने भएको छ ।

    बीबीसीका अनुसार संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिनेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड १९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका हुन् ।

    यसरी आउने खोप अनुदानमा आउने छ । त्यसका अतिरिक्त ६० लाख मात्रा भारत तथा क्यानडा लगायतका देशलाई प्रत्यक्ष दिने घोषणा समेत बाइडेनले गरेका छन् ।
    विश्वलाई आठ करोड मात्रा खोप वितरण गर्ने अमेरिकी योजनाको यो पहिलो एक तिहाइ हिस्सा हो। खोप बाँडिने देशहरूको सूचीमा नेपाल पनि रहेको छ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् कुल ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ। यसमध्ये कति नेपालमा आउने छ भन्ने चाँही दुतावासले पनि खुलाएको छैन । अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने उल्लेख गरेका छन् ।

  • नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी

    नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी

    न्यूयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासा अब शुक्रग्रहको मिसनमा केन्द्रित हुने भएको छ । यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने योजना नासाले सार्वजनिक गरेको हो । बीबीसीका अनुसार पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ।

    शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने घोषणा नासाले गरेको हो । ती मिसन प्रत्येकका लागि ५० करोड डलर बजेट प्राप्त हुने समाचारमा उल्लेख छ । ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिने बताइएको छ । यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो।

    त्यसपछि उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा नगरेको बीबीसीले लेखेको छ । नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्त्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ।
    ूयी दुई मिसनहरूले शुक्रग्रह कसरी आगोको गोलाजस्तो संसार बन्न पुग्यो जहाँको सतहमै पनि सिसासमेत पग्लन्छ भनेर जान्न खोज्ने बताइएको छ । सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो।

  • चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति

    चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति

    काठमाडौं । चीनले बनाएको कोरोना विरुद्धको सिनोभ्याक्स खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओका अनुसार दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनले मंगलबार आपतकालिन प्रयोगको अनुमति पाएको हो । चीनसहित संसारका मुलुकले यो खोप अहिले लगाइरहेका छन् ।

    तर, डब्लुएचओको अनुमति आइसकेको थिएन । यो चीनमा उत्पादित अनुमतिप्राप्त दोस्रो खोप बनेको छ । यसअघि चिनियाँ कम्पनी सिनोफार्मले निर्माण गरेको खोपलाई समेत डब्लुएचओले प्रयोगको अनुमति दिइसकेको छ । सो खोप नेपालमा समेत प्रयोग भइरहेको छ ।

    सिनोभ्याक खोप भने चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ मुलुकले प्रयोग गरिसकेका छन् । यो खोप १८ वर्षभन्दा माथिका मानिसहरूका लागि प्रयोगको अनुमति दिइएको छ ।

    साथै डब्लुएचओ फाइजर, बायोएनटेक, मोडेर्ना, जोनसन एन्ड जोनसन र अष्ट्राजेनेकाले भारत, दक्षिण कोरिया र युरोपियन युनियनमा उत्पादन गर्ने खोपलाई समेत अनुमति दिएको छ । यसले विश्वभर खोप सप्लाईमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

  • स्थान विशेषमा विरोध हुन थालेपछि कोरोनाका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिइयो

    स्थान विशेषमा विरोध हुन थालेपछि कोरोनाका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिइयो

    जेनेभा । कोरोनाभाइरसका नयाँनयाँ प्रकार देखिएका छन् । यसले सबैभन्दा पहिले कुन मुलुकमा देखियो भन्ने आधारमा स्थान विशेषको नामबाट उच्चारण गर्ने गरिएको छ । यसमा हुने नामाकरणमा विवाद भएपछि विश्व स्वास्थ्य संगठनले नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ।

    बीबीसीका अनुसार अबदेखि यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरको प्रयोग गरेर चिनाइने छ । जहाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो।

    जसअनुसार आइन्दा यूके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ।

    भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गर्दै आएको छ । उसले सामाजिक संजालबाट समेत यस्तो पोष्ट हटाउन भनेको छ । त्यसो त यो नाम डब्ल्यूएचओले दिएको होइन ।

    तर, संचारमाध्यमले सोही आधारमा स्थापित गराएका हुन् । विश्व स्वास्थ्य सङ्गठनकी कोभिड १९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै भेरियन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनु नहुने उल्लेख गरेकी छिन् । उनले सङ्क्रमण विस्तार रोक्न भेरियन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको समेत उल्लेख गरेकी छिन् ।

    अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरियन्टलाई जनाउने भएको छ । नामहरूको पूर्ण विवरण डब्ल्यूएचओको वेबसाइटबाट समेत सार्वजनिक भएको छ ।

  • चीनबाट अनुदानमा आएको खोप ५५ देखि ६५ वर्षको उमेर समुहले पाउने

    चीनबाट अनुदानमा आएको खोप ५५ देखि ६५ वर्षको उमेर समुहले पाउने

    काठमाडौं । चीनले नेपाललाई अनुदानस्वरुप दिएको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले पाउने भएका छन् । यो खोप मंगलबार काठमाडौं आउँदैछ । सो प्रयोजनका लागि सोमबार राती जहाज चीन जाँदैछ । स्वास्थ्य सेवा विभागले ५५ वर्षभन्दा माथि ६५ वर्षको बीचको उमेर समुहमा यो खोप वितरण गर्ने निर्णय गरेको हो ।

    यो उमेर समूहमा पनि मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गर्ने तयारी सरकारको छ । यो खोप शिक्षक र सवारी चालकले समेत पाउने छन् । यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिएको छ । उनीहरुले दोस्रो डोज खोप भने पाएका छैनन् ।

    पहिलो डोज भारतीय लगाएका जेष्ठ नागरिकले चिनियाँ खोप भने लगाउन मिल्दैन । अहिले ६५ वर्षका माथि ९ लाख भन्दा बढी र कुल साढे १४ लाख ज्येष्ठ नागरिकसहित दोस्रो डोज खोप लगाउनु पर्ने अवस्थामा छन् ।