Category: विज्ञान प्रविधि

  • सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

    सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

    काठमाडौं । सरकारले बाढी र पहिरोबाट ठूलो मानवीय क्षति भएका सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यी दुई जिल्ला असोज मसान्तसम्म विपद संकटग्रस्त क्षेत्र घोषित भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए । उनका अनुसार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सरकारले गरेको हो ।

    यो वर्ष बाढी र पहिरोले यी दुई जिल्ला सबैभन्दा बढी प्रभावित भए । सिन्धुपाल्चोकमा २६ परिवारको घर पूर्णरुपमा बगेको छ । ५६९ जना विस्थापित भएका छन् । मनाङमा बाढीमा ५३ घर पूर्ण र २६ मा आंशिक क्षति पुगेको छ । यो वर्ष जारी मनसुनका कारण अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ । ३५ जना अझै बेपत्ता छन् ।

  • भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

    भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

    काठमाडौं । सामान्यतया २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम गरि निश्चित समय भित्र लगाइसक्नु पर्ने चिनियाँ खोप भेरोसिलको काठमाडौं उपत्यकामा असुरक्षित तरिकाले चुवावट हुने गरेको फेला परेको छ । काठमाडौंमा भेरोसिल खोप पत्रिकाले बेरेर प्लास्टिकको झोला भित्र केही टुक्रा आईसभित्र राखेर लगाउन हिँडेको विश्व न्युजले फेला पारेको छ । काठमाडौंको जिल्लाका एक प्राबिधिकले आफु खोप लगाउनु पर्ने प्राथमिकतामा रहेको भन्दै स्वास्थ्य मन्त्रालयबाटै खोप ल्याएको स्वीकार गरे । नाम नबताउने शर्तमा उनले यो तथ्यको खुलासा गरेका हुन् ।

    उनी जस्तै धेरै प्राबिधिक तथा औषधी व्यवसायीले यसैगरि खोप चुवाहट गरेको उनी स्वीकार गर्छन् ।आफुले यसैगरी ५० जना जतिलाई खोप लगाएको उनले जानकारी दिए । यसरी खोप लगाउनेमा आफ्नो चिनजानका रहेको उनको भनाई छ । यसरी चुहावट भएको खोप कतिपय औषधी व्यवसायीले समेत लगाउने गरेको आफ्नो जानकारीमा रहेको उनले बताए ।


    अहिले नेपालमा खोप अभियान चलिरहेको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ । चीनबाट सरकारले खरीद गरि ल्याएको पछिल्लो खोप काठमाडौं उपत्यकामा केही दिनमै सकिएको भन्दै अभियान बन्द गरिएको थियो । तर, औषधी पसलेहरु र प्राबिधिकहरुले भने स्वास्थ्य मन्त्रालयबाटै र कती पय खोप केन्द्रबाट ल्याएर सामान्य मापदण्ड समेत पुरा नगरी लगाउने गरेको खुलेको हो ।

    पालो कुर्दा सकिएको खोप झोलामा कसरी ?

    काठमाडौं उपत्यकासहित देशभर सबै नागरिकले खोप सजिलै पाउने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अगाडी एक विज्ञप्ती निकालेको थियो । मन्त्रालयले उपत्यकामा छुट्याइएको कोटा सकिएको भन्दै छिट्टै थप खोप आउने बताएको थियो । तर, विश्व न्यूजले सोमबार नै खोप वितरण गरिरहेको अवस्थामा फेला पारेको छ । यस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग प्रतिक्रिया माग्दा भने मन्त्रालयका अधिकारीले अनविज्ञता प्रकट गरेका छन् ।

    Photo : Vishwanews

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले कुनै पनि पसलमा खोप बेचविखन गर्न नपाइने बताउँछन् । उनी भन्छन्, हल्लाहरु धेरै आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारेमा सचेतना जगाउने गरी भिडियो नै बनाएको छ । त्यस्तो पाइएमा तत्काल स्वास्थ्य मन्त्रालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेका छौँ । मन्त्रालयको फेसबुकपेजमा पनि अवैधरुपमा बेचबिचन भएमा कारबाही हुने र लुकाइछिपाई गरेर बजारमा बेच्न राखेका खोप नक्कली हुनसक्ने सन्देश राखिएको छ । कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

    Photo : Vishwanews


    कहाँ पुग्यो नेपालमा खोप अभियान ?

    नेपाल आफै खोप उत्पादक मुलुक होइन । सोहीकारण उसले अन्य मुलुकसँग खोपमा भर पर्नु परेको छ । नेपाललाई भारतले पहिलो पटक १० लाख डोज कोभिसिल्ड अनुदानमा दिएको थियो । भारतबाट नेपाली सेनाका लागि थप एक लाख डोज खोप समेत अनुदानमा आएको थियो । त्यसपछि नेपाल सरकारले २० लाख डोज खरीद गर्न भारतलाई रकम दियो । भारतबाट खरीद गरेको १० लाख डोज खोप डेलिभरी भएपछि भारतबाट थप खोप आएन । त्यसबीचमा कोभ्याक्स कार्यक्रममार्फत ३ लाख डोज खोप नेपाल आएको थियो ।

    यो खोप करीव २१ लाख मानिसलाई पहिलो डोज लगाइएको थियो । त्यसमध्ये करीव १४ लाख जेष्ठ नागरिकले कोभिशिल्डको दोस्रो डोज लगाउनबाट बन्चित छन् । भारतबाट खोप आउन नपाएपछि सरकारले चीनतर्फ पहल थाल्यो शुरुमा १० लाख डोज खोप अनुदानमा दिएको चीनले ४० लाख डोज खोप बिक्रि गरेको छ । ४० लाखमध्ये पहिलो चरणमा ८ लाख डोज आएपछि सरकारले खोप अभियान चलाएको हो ।

    पछिल्लो समय अमेरिकाबाट १५ लाख ४० हजार डोज खोप नेपाल आएको छ । सो खोप लगाउने कार्य सोमबारबाट शुरु भएको छ । चीनले थप १८ लाख डोज खोप अनुदान दिने घोषणा गरेको छ । नेपाललाई जापानले समेत १६ लाख डोज खोप दिने बताएको छ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाल पठाउन बाँकि रहेको खोप पठाउने आश्वासन दिएका छन् ।

    खोप केन्द्रमा थामिनक्सनु भिड
    सरकारले प्राथमिकतामा वितरण थालेको खोप प्राथमिकता भन्दा बाहिरका मानिसले पाउँदा वितरण अव्यवस्थित बनेको छ । सरकारले उमेर र पेशा अनुसार कोरोना बिरुद्धको भ्याक्सिन लगाउने बुथहरु तोके पनि अधिकांश बुथमा टोकन लिएर भ्याक्सिन लगाउन लाईन लाग्दा लाग्दै खोप सकिएको भन्दै फर्काउने गरिएको छ । उमेरको हद बन्दी तोकेर जेष्ठ नागरिकलाई खोप लगाउन तोकिएका बुथमा युवाहरु लाइनमा देखिएका छन् । खोप वितरणको अव्यवस्थित अवस्थाबारे धेरै गुनासो आएपछि सोमबार स्वयमः प्रधानमन्त्री शेर बहादुर देउवा खोप केन्द्रको अवलोकनमा निस्किए ।

  • भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

    भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

    जनकपुर । नेपालको एक मात्र रेल्वेलाइन जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन सम्पन्न भएको छ । भारतको जयनगरबाट भारतीय रेल्वेको रेल जनकपुरधामस्थित कुर्थाको मुख्य स्टेशनसम्म ल्याइएको छ । त्यहाँ स्पिड परीक्षण र सर्टिफिकेशन गरेसँगै रेल भारत नै फर्काइएको छ । सो क्रममा जनकपुरधामस्थित कुर्था रेल्वे स्टेशनमा पूजा समेत गरियो ।

    भारतीय डव्लु डि एम थ्रीडी नामको इञ्जिन तथा दुई मालवाहक डब्बासहित ट्रेन जनकपुर आएको थियो । ट्रेन नेपाल आउँदा ६० किमि प्रतिघण्टाको गतिमा ल्याइएको थियो । फर्कदा भने १२० किमि प्रतिघण्टामा फर्काइएको छ । भारतीय रेल्वेका ड्राइभरले नै रेल नेपाल ल्याएका हुन् । अधिकारीहरुका अनुसार परीक्षण सफल भएको छ । अब बाँकि तयारी पुरा भएपछि रेल संचालनमा आउने छ ।

  • प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

    प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

    काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान जारी छ । यस क्रममा अत्यधिक भिडभाड बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र थप्न निर्देशन दिएका छन् । खोप अभियानको प्रभावकारी अध्ययन गर्न आज उनी स्थलगत अनुगमनमा जाने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले सोमबार देखि शुरु हुने जोन्सन एण्ड जोन्सननको खोप लगाउने स्थानको अवलोकन गर्नेछन् ।

    काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायत खोप केन्द्र अवलोकनमा प्रधानमन्त्री देउवा पुग्ने भएका हुन् । उनले आइतबार स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागका अधिकारीसँग छलफल गर्दै खोप खरीद प्रक्रिया चुस्त बनाउन निर्देशन दिएका थिए ।

    प्रधानमन्त्री देउवाले आगामी चैत भित्र सबै नागरिकलाई खोप दिने घोषणा गरिसकेका छन् । अहिले धमाधम खोप आउने क्रममा छ । आइतबार उनले विश्वासको मत लिने क्रममा समेत सरकारको प्राथमिकता खोप नै रहेको बताएका थिए ।

  • अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

    अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

    काठमाडौं । अमेरिकाबाट अनुदानमा आएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप आजबाट देशभर लक्षित वर्गमा लगार्इंदैछ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाबाट कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आएको छ ।

    यो खोप २८ असारमा काठमाडौं आएको हो । यो खोप एक डोज मात्र लगाए पुग्छ । सोहीकारण १५ लाख ३४ हजार मानिसका लागि यो नै पूर्ण खोप हो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी सहित पहिलो प्राथमिकतामा रहेका व्यक्तिलाई लगाइंदैछ । काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट खोप वितरण हुने छ ।

  • कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

    कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन सामाजिक सञ्जालबाट कोरोना भाइरसको महामारीबारे भइरहेका मिथ्या प्रचारप्रति भड्किएका छन् । अमेरिकामा खोप लगाउन बाँकि मानिसमा मात्र कोरोनाको जोखिम रहेको भएपनि सामाजिक संजालले आतंक फैलाएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् । उनले कोभिड १९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको समेत आरोप लगाए ।

    अमेरिकी संचारमाध्यमहरुका अनुसार उनले फेसबुक सहितका सामाजिक संजालमाथि निसाना साँधेका छन् । खोप र महामारीका सन्दर्भमा गलत सूचना फैलिरहेको बारे पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले शुक्रबार यस्तो दावि गरेका हुन् । ह्वाइट हाउसको चिन्ता मिथ्या सूचना नियन्त्रणमा सामाजिक संजालको ससहयोगप्रति रहेको उनको भनाई छ ।

    अमेरिकामा भने अब मृत्यु र सङ्क्रमण दरको जोखिम कोरोना भाइरसका सुरक्षा विधि नअपनाएका मानिसमा मात्र रहेको सरकारी अधिकारीहरुको भनाई छ । अमेरिकामा सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने भनिएको छ । तर, बजारमा भिड बढ्दा जोखिम समेत उत्तिकै बढ्ने चिन्ता अधिकारीहरुमा छ ।

    ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले समेत फेसबुक र अन्य माध्यमलाई खोपबारे मिथ्या सूचना नियन्त्रण गर्न आह्वान गरेकी थिइन् । राष्ट्रपति र ह्वाइटहाउसको पछिल्लो भनाईबारे फेसबुकले भने स्पष्टिकरण जारी गरि १ करोड ८० लाखभन्दा बढी कोभिडसम्बन्धी मिथ्या सूचना हटाएको बताएको छ ।

    अमेरिकामा ६७.९ प्रतिशतले खोपको पहिलो डोज लगाएका छन् । ५९.२ प्रतिशतले दुई डोज पुरा गरेका छन् । कतिपय मानिस भने अहिले पनि खोपमा विश्वास नभएको भन्दै लगाउन मानिरहेका छैनन् ।

  • अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

    अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

    लण्डन । अमेरिकाले अन्तरिक्षमा अन्य मुलुकले गरिरहेका गतिविधिको निगरानी बढाउने भएको छ । बीबीसीका अनुसार अमेरिकाले अन्तरिक्षका वस्तुहरूको निगरानी गर्न बेलायतमा एक ठूलो राडार प्रणाली राख्ने योजना बनाएको छ । अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित निशानालाइ पहिचान गर्न सक्ने क्षमताको भएको समाचारमा उल्लेख छ ।

    अमेरिकाले यस्तो प्रणाली टेक्सास र अस्ट्रेलियामा समेत राख्ने योजना बनाएको बीबीसीले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले नयाँ रडारको क्षमताले अन्तरिक्षलाई अझ बढी सुरक्षित गराउने बताएको छ । यद्दपी यो योजनालाई भने रुस र चिनियाँ गतिविधिको निगरानी गर्नु रहेको अनुमान गरिएको छ । अन्तरिक्षमा भूउपग्रहहरू धेरै हुँदा भिडभाड बढेको साथै शस्त्रको प्रतिस्पर्धा बढिरहेको वैज्ञानिकहरुले दावि गर्छन् ।

    अमेरिका र बेलायत दुबै मुलुक रुस र चीनसँग सशंकित छन् । उनीहरुले भूउपग्रहलाई यी दुई मुलुकले हानि पुर्‍याउन सक्ने हतियार विकास गरिरहेको आरोप समेत लगाएका छन्। गतवर्ष मात्र १,००० भन्दा धेरै नयाँ भूउपग्रह अन्तरिक्षमा पठाइएको थियो ।

  • स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

    स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा भएको अत्यधिक भिडभाडप्रति चासो व्यक्त गरेको छ । १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना अनुसार धमाधम खोप आइरहेको भन्दै मन्त्रालयले खोप केन्द्रमा आफ्नो उमेर समूहभन्दा बाहेकमा मानिसलाई भिडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने भएको छ ।

    सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोप किनेको हो । जसमध्ये ८ लाख डोज खोप आएपछि सरकारले खोप अभियान चलाएको हो । साउन ६ गतेदेखि थप खोप आउने छ । मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार सबै नेपालीले खोप लगाउन पाउने छन् । उनका अनुसार कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि समेत दोस्रो डोज खोपको जोहो भइसकेको छ । यो खोप छिट्टै नेपाल आउने छ । यो खोप जापानले अनुदानमा दिने बताएके छ ।

  • आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

    आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा आगामी तीन दिन मनसुनी वायुको प्रभावले ठूलो वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

    सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षा हुने छ । मौसम पूर्वानुमान महाशाखाले यस अवधिमा सचेत रहन भनेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    पहाडी भू भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ ।

    आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

  • आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

    आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

    काठमाडौं । आजबाट नेपालमा अवैध रुपमा भित्रने मोवाइल फोन सेट नचल्ने प्रणाली कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको हो । यो सिस्टम कार्यान्वयनमा आएसँगै बिहीबारसम्म आएका सबै सेट भने संचालनमा आउने छन् । प्राधिकरणका अनुसार देशभर यो प्रणालीले पूर्ण रुपमा काम गर्न सक्ने छैन । तर, शुरुवात गरिएका कारण क्रमशः देशव्यापी बनाइने छ ।

    कर प्रणाली छलेर भित्रिएका, नक्कल गरिएका र चोरीका मोबाइल अब दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने गरि यो प्रणालीले काम गर्नेछ । प्राधिकरणका अनुसार सफ्टवेयरले वैध मोबाइललाई ह्वाइट लिस्ट र अवैधलाई कालोसूचीमा राखिने छ । एमडिएमएसको सफ्टवेयरलाई जीएसएमएको प्रणालीमा ‘लिङ्क’ गरि हेर्नासाथ मोवाइल बैध वा अबैध के हो भन्ने पत्ता लाग्छ । दर्ता नभएका मोबाइल सेट कालोसूचिमा पर्छन् । भन्सार विभागले अब नेपाल भित्रने सबै मोवाइललाई दर्ता गर्नेछ ।

    भन्सार र सेवाप्रदायको पहुँचमा एमडिएमएस भएपछि सहजै अवैध मोबाइल, ब्ल्याक लिस्ट अथवा ह्वाइट लिस्टमा राख्ने काम हुने प्राधिकरणको भनाई छ । बिहीबारसम्म चलिरहेका बैध तथा अबैध सबै मोवाइल सेट भने यथावत चल्छन् । विदेशमा रहेका नेपालीले आफन्तलाई मोबाइल पठाएमा त्यसलाई दर्ता गर्नुपर्छ । त्यसपछि चलाउन पाइन्छ । पहिले नै नेपाल आइसकेका फोन भने बन्द हुने छैनन् । उनीहरुले पनि फोन दर्ता भने गराउनु पर्नेछ । यो प्रणालीले खासगरी भन्सारबाट भित्रने अवैध मोवाइलको व्यापार बन्द हुनेछ ।

  • विश्व स्वास्थ्य संगठनले भन्यो : विश्वभर खतरनाक भेरियन्ट फैलन्छ

    विश्व स्वास्थ्य संगठनले भन्यो : विश्वभर खतरनाक भेरियन्ट फैलन्छ

    काठमाडौं । विश्व स्वास्थ्य संगठनको इमर्जेन्सी कमिटिले विश्वभर कोरोना भाइरसको अझ खतरनाका भेरियन्ट फैलने चेतावनी दिएको छ । बिहीबार डब्यूएचओले यस्तो चेतावनी जारी गरेको हो । यो विश्वभर नै फैलने चेतावनी संगठनको छ । अअिलेसम्मका भेरियट भन्दा यो अझ बढी खतरनाक हुने चेतावनी समेत संगठनको रहेको छ । संगठनले भनेको छ, यो रोक्न समेत कठिन हुनेछ ।

    विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एडहनाम गिब्रयेससले संसारभर कोरोना नियन्त्रणमा आएको गलत बुझाई रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । अहिले केही शान्त भएको देखिए पनि कोरोना अझ बढी संक्रामक भएर आउने उनको भनाई छ । उनले भनेका छन्, कोरोना नियन्त्रण हुने तत्काल कुनै सम्भावना छैन । संगठनले स्वास्थ्य पूर्वाधारमा तयार रहन समेत मुलुकहरुलाई सचेत गराएको छ । धेरैजसो मुलुकमा एकसाथ गम्भीर प्रकृतिका बिरामी फैँलदा त्यसले ठूलो क्षति निम्त्याउने गरेको छ ।

  • वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

    वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

    काठमाडौं । गन्तब्य मुलुकमा खोप अनिवार्य भएसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने जागरिक प्रभावित भएका थिए । अब भने सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकताका आधारमा खोप लगाउने भएको छ । मंगलबार देशभर खोप अभियान शुरु हुँदैछ । मंगलबारबाट चीनबाट खरीद गरेको भेरोसेल खोप दिन लागिएको हो ।

    यो प्राथमिकतामावैदेशिक रोजगारीमा जाने नेपाली समेत परेका हुन् । खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई भोलिदेखि चीनबाट ल्याइएको भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइनेछ ।

    सरकारले चीनबाट ल्याएको भेरोसेल खोप लगाउन शुरु गर्ने बताएको छ । मन्त्रालयका अनुसार भेरोसेल ५५ वर्ष र त्योभन्दा माथिका उमेर समूहका सबैलाई वितरण गरिने छ । विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्नहरूलाई पनि भेरोसेल खोप दिइने भएको छ ।


    खोप लगाउन जाँदा आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र वा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लैजानुपर्ने मन्त्रालयले जनाएको छ । सार्वजनिक यातायातका चालक, सहचालकहरूलाई आधिकारिक परिचय पत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा खोप दिइने छ ।

    शिक्षक तथा कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप पाउने छन् । खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूले पासपोर्ट र भिसाको आधारमा खोप पाउने मन्त्रालयले जनाएको छ ।

  • एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?

    एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?

    काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज नेपाललाई उपलब्ध गराएको छ । आज नेपाल आइपुगेको यो खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ । सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको हो । मन्त्रालयका अनुसार यो खोप एक डोज मात्र लगाए पुग्ने छ ।

    खोप ५०–५४ वर्ष उमेर समूहका नागरिकलाई दिइने भएको छ । यो उमेर समूहका नागरिक करिब १३ लाख छन् । यो खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकले समेत पाउने छन् । नेपालमा बसोबास गरिरहेका शरणार्थीले समेत यो खोप पाउने भएका छन् ।

    नेपालमा करीव २५ हजार शरणार्थी रहेको अनुमान छ । यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत यो खोपमा प्राथमिकता दिइएको छ । सोमबार अमेरिकाबाट १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुगेको छ ।

  • अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो

    अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो


    काठमाडौं । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप नेपाल आएको छ । एक डोज मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत आज काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । यससँगै अमेरिकाले दिएको खोपबाट १५ लाख नेपाली लाभान्वित हुने भएका छन् । अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठको भनाई छ । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी छ । नेपालले अब खोप अभियान चलाउने तयारी गरेको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप दिएको हो । अहिले नेपालले चीनबाट खरीद गरेको खोप समेत आइरहेको छ ।

  • उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु

    उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु

    कानपुर । नेपालको सीमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु भएको छ । यो घटना आइतरबारको हो । भारतीय संचारमाध्यमहरुका अनुसार डेढ दर्जन मानिस घाइते छन् । उत्तर प्रदेशमा आइतबार भारी वर्षा भएको थियो । सो दौरान परेको चट्यांगले ठूलो मानवीय क्षति गरेको हो । यो संख्या उत्तर प्रदेशको फरक फरक स्थानबाट आएको तथ्यांक छ । मर्नेको संखया अझ बढ्न सक्ने बताइएको छ ।

    सबैभन्दा बढी मानिस प्रयासराजमा रहेको छन् । यहाँबाट मात्र १३ जनाको मृत्यु भएको खबर छ । घाइतेहरु गम्भीर अवस्थामा छन् । ती स्थानमा घरपालुवा जनवार समेत मरेको खबर छ । मुख्यमंत्री योगी आदित्यनाथले आइतबार मृतकका परिवारलाई प्रतिपरिवार ४ लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् ।

    उनले ज़िला प्रशासनलाई तत्काल घटनास्थल पुगी सहायता वितरण गर्न समेत निर्देशन दिएका छन् । प्रयागराज, कानपुर, फ़िरोज़ाबाद, कौशांबी, मिर्ज़ापुरमा यस्तो घटना भएको हो । उता, राजस्थानका विभिन्न स्थानमा समेत चट्यांग परेको खबरछ । जयपुरमा आइतबार भारी वर्षाले जनजिवन प्रभावित बनाएको छ । राजस्थानको कोटामा चार र धौलपुरमा तीन बच्चाको ज्यान गएको छ ।

  • नेपाल टेलिकमको डाटामा चिनियाँ ह्याकरको आक्रमण

    नेपाल टेलिकमको डाटामा चिनियाँ ह्याकरको आक्रमण

    काठमाडौं । नेपालको बैंकिंग प्रणालीमा निरन्तर आक्रमण गरि क्षति पुर्याइरहेको चिनियाँ ह्याकरको समूहले नेपाल टेलिकमको महत्वपूर्ण डाटा ह्याक गरेको दावि गरेको छ । डाटा ह्याक भएको चेतावनीपछि नेपाल टेलिकमले समेत आफ्नो एउटा सर्भर बन्द गरेको जनाएको छ । चिनियाँ ह्याकर समूहले सर्भरमा आक्रमण गरेर डाटा हृयाक गरेको दावी गरेपछि टेलिकमले शंकास्पद सर्भर सर्ट डाउन गरेको प्रवक्ता राजेश जोशीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् । उनका अनुसार ह्याक भएको पुष्टि भने भएको छैन । तर, उक्त समूहले आक्रमण गरेको सूचना टेलिकमलाई दिएको छ ।


    चीनको ट्याग २२ ग्रुपले नेपाल टेलिकमको सर्भरमा ‘ग्लास फिस’ सर्भरका माध्यमबाट ‘कोल्भटस्ट्राइक’ मार्फत सर्भर हृयाक गरेको दावी गरेको हो । नेपाल टेलिकमको महत्वपूर्ण डाटा यो समुहले बिक्रिमा समेत राखेको बताइएको छ । जसमा लाखौं प्रयोगकर्ताको कल डिटेल्स र अन्य विवरण छन् । साथै सूमहले ताइवान र फिलिपिन्सका टेलिकमसम्बद्ध डाटा समेत ह्याक गरेको बताएको छ ।

  • अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने

    अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने

    काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनेको कोरोना खोपको मात्रा निश्चित भएको छ । अमेरिकाले सिधै वितरण नगरी कोरोना महामारी नियन्त्रणका लागि धनी मुलुकले गरिब मुलुकलाई खोप वितरण गर्न बनाएको साझा संयन्त्र कोभ्याक्स कार्यक्रममार्फत खोप नेपाललाई दिन लागेको हो । यस्तो खोप नेपालमा १५ लाख डोज आउने भएको छ । आगामी साता काठमाडौं आइपुग्ने भएको छ । सम्भतः सोमबारसम्म खोप नेपाल आउने सम्भावना रहेको बताइएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूताबासका प्रवक्ता अन्ना रिचेलिनलाई उदृत गर्दै नेपाली संचारमाध्यमले लेखे अनुसार यसबारे छिट्टै सार्वजनिक हुनेछ । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ । सोहीकारण १५ लाख डोज खोप आउँदा पनि त्यति नै मानिसमा यो खोप लगाउँदा हुनेछ ।

  • अब आन्तरिक उडानमा माग अनुसार अनुमति

    अब आन्तरिक उडानमा माग अनुसार अनुमति

    काठमाडौं । सरकारले आन्तरिक उडान पूर्ण रुपमा खुला गरेको छ । देशभर बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको समयमा यात्रुको सुविधालाई ध्यानमा राखी सबै उडान खोल्न वायुसेवा कम्पनीले माग गरेका थिए । सोहीअनुसार सरकारले अब आवश्कयता अनुसार पूर्ण क्षमतामा जहाज उडाउन सक्ने गरि खुला गरेको हो ।

    यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गर्ने एयरलाइन्सहरुलाई जानकारी गराएको छ । यसअघि कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेको भन्दै ५० प्रतिशतमात्र उडान अनुमति दिइएको थियो । सरकारले स्वास्थ्य र पर्यटनमन्त्रालयको समन्वयमा जोखिमको अवस्था हेरि उडान अनुमति अधिकतमसम्म दिनसक्ने निर्णय गरेको हो ।

  • विदेशबाट ल्याएका मोबाइल आइएमईआइ दर्ता नगरे साउनदेखि नचल्ने,यसरी गर्नुहोस् दर्ता

    विदेशबाट ल्याएका मोबाइल आइएमईआइ दर्ता नगरे साउनदेखि नचल्ने,यसरी गर्नुहोस् दर्ता

    काठमाडौं । आगामी साउन १ गतेदेखि विदेशबाट खरिद गरी ल्याइएका मोबाइल फोनको ‘मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आइएमईआइ)’ नम्बर दर्ता नगरे नेपालमा नचल्ने भएका छन् ।

    नेपाल दूरसञ्चार प्राधिकरणले अवैध वा चोरी पैठारीबाट भित्रिने मोबाइल फोन नियन्त्रण गर्न आइएमईआइ नम्बर दर्ता अनिवार्य गरेको हो ।

    धेरै मोबाइल प्रयोगकर्ताले आफ्नो सेटको आइएमईआइ दर्ता गर्नुपर्ने हो कि भन्ने भ्रम तथा अन्यौलका कारण प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको छ । आइएमईआइ दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

    हाल दर्ता प्रणालीमै समस्या भएकोले विदेशबाट ल्याएका मोबाइल सेटमा पनि तत्कालका लागि सेवा अवरुद्ध नहुने व्यवस्था मिलाइएको जनाएको छ ।

    प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका ग्राहकले हाल पुनः आइएमईआइ दर्ता गर्नु नपर्ने जनाएको छ ।

    यस्तै, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने जनाइएको छ ।

    नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आइएमईआइ दर्ता भएका मोबाइल सेट खरिद गर्न पनि अनुरोध गरिएको छ ।

    आइएमईआइ दर्ता कसरी गर्ने ?

    हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ लाई आइएमईआइ नम्बर भनिन्छ । मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा *#06# डायल गरी आफ्नो मोबाइलको आइएमईआइ नम्बर हेर्न सक्नेछन् । यदि मोबाइलले एउटा मात्र सिम सर्पाेट गर्ने हो भने एउटा मात्र आइएमईआइ नम्बर देखाउँछ ।

    यदि दुई वटा सिम लाग्छ भने दुईवटा आइएमईआइ नम्बर हुन्छन् । यदि दुईवटा छ भने प्राधिकरणमा दुवै आइएमईआइ नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।हरेक मोबाइलका साथै सिम सल्टका आधारमा आइएमईआइ नम्बर फरक हुन्छ । मोबाइलको कभर राखिएको स्टिकरमा पनि आइएमईआइ नम्बर लेखिएको हुन्छ ।

    यदि तपाईंको मोबाइलको आइएमईआइ दर्ता भएको छैन भने त्यसलाई अनलाइनबाटै दर्ता गर्न सक्नुहुन्छ । व्यक्तिगत रुपमा आफ्नो मोबाइलको आइएमईआइ नम्बर दर्ता गर्नका लागि दूरसञ्चार प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ ।

    वेवसाइटमा रहेको आइएमईआइरईएसएनरएमईआईडी मा गएर आइएमईआइ नम्बर दर्ता गर्न सकिन्छ । प्राधिकरणका अनुसार आइएमईआइ नम्बर दर्ता गर्न कुनै शुल्क लाग्दैन ।

    हाल आइएमईआइ नम्बर दर्ता गर्ने लिंक खुल्दैन । उक्त लिंक खुलेसँगै साइनअप गर्ने बित्तिकै त्यहाँ ‘न्यु इम्पोटर’ र ‘इन्डिभिजुअल एप्लीकेशन’ अप्सन देख्नुहुने छ ।

    इन्डिभिजुअल एप्लिकेशनमा क्लिक गरी भित्र जानुपर्ने हुन्छ । त्यहाँ तपाईंलाई एउटा फर्म प्राप्त हुने छ । उक्त फर्ममा आवश्यक जानकारी भर्नुहोस् । साथै सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि बुझाउनुहोस् । यति भएपछि उपलब्ध जानकारीका आधारमा प्राधिकरणले अध्ययन गरी दर्ता गर्नेछ ।

  • पर्वतमा दुई यात्रुसवार गाडी बाढीले बगायो

    पर्वतमा दुई यात्रुसवार गाडी बाढीले बगायो

    पर्वत । पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना सवार रहेको गाडी बाढीले बगाएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नगरपालिका दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले गएराति साढे १० बजे गाडी बगाउँदा त्यसमा सबार दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् ।

    बाढीले बगाउँदा निर्माण कम्पनी लामा कन्ट्रक्सनको उक्त गाडीमा इन्जिनियर राजाराम आचार्य र गाडीका चालक बेपत्ता भएका छन् । बेपत्ता गाडीको नम्बर भने खुलेको छैन। बाढी पहिरोको कारण अहिले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीका कारण खोला किनारका चारवटा पसल समेत बगेका छन् ।

  • काठमाडौंमा मंगलबारबाट जोर-विजोर प्रणाली हट्ने, सबै सवारी साधन खुला

    काठमाडौंमा मंगलबारबाट जोर-विजोर प्रणाली हट्ने, सबै सवारी साधन खुला

    काठमाडौं । सरकारले निषेधाज्ञामा व्यापक खुकुलो नीति लिँदै सबै प्रकारका सवारी साधनको संचालन खुला गरेको छ । काठमाडौं उपत्यकामा १६ वैशाखबाट शुरु भएको निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै सबै प्रकारका सवारी साधनको संचालन खुला भएको हो । काठमाडौं उपत्यकाकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा भने मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्म थपिएको छ । थप भएको निषेधाज्ञाको समयमा सभा जुलुस गर्न रोक लगाइएको छ । पार्टी र भोजभतेर समेत बन्द छ ।


    सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । मास्क अनिवार्य गरिएको छ । काठमाण्डौ उपत्यका भित्रिने गाडीले भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आउनु पर्नेछ । स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रूपमा दैनिक निसङ्क्रमित गर्नुपर्ने सर्त समेत राखिएको छ ।

    सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटी पार्लर, मनोरञ्जनस्थल, फुटसल, जिमखाना, चिडियाखाना जस्तो क्षेत्र अझै बन्द हुने छ एउटा कोठामा बढीमा २५ जना उपस्थित हुने गरी परीक्षा सञ्चालन गर्न सकिने भएको छ । औषधिबाहेकका पसल बेलुका ६ बजेसम्म मात्रै र टेक वे वा होम डेलिभरीका लागि रेस्टुरेन्ट तथा खाजा घर बेलुकी ७ बजेसम्म खोल्न पाइने छ ।

  • दुई सय अमेरिकी कम्पनीमाथि साइबर हमला, रुसी ह्याकरको हात रहेको आशंका

    दुई सय अमेरिकी कम्पनीमाथि साइबर हमला, रुसी ह्याकरको हात रहेको आशंका

    काठमाडौं-एजेन्सी । अमेरिकामा एक साथ दुई सय कम्पनीमाथि साइवर हमला भएको छ । एक साइबर सुरक्षा फर्मलाई उदृत गर्दै अमेरिकी संचारमाध्यमले यसको जानकारी गराएका छन् । यहाँ करीव २ सय कम्पनी हमलाबाट प्रभावित भएका छन् । हन्ट्रेस ल्याव्सले सफ्टवेयरका माध्यमबाट आफ्नो कम्पनीलाई निसाना बनाएको पुष्टी गरेको छ ।

    यससँगै २ सय हाराहारी आइटी कम्पनीलाई निसाना बनाइएको छ । सम्भावित हमलाबारे जाँच शुरु गरिएको भन्दै कम्पनीहरुले हमलामा रुसी ह्याकरको हात रहेको आशंका गरेका छन् । साइबर सुरक्षाका लागि जिम्मेवार अमेरिकाको संघीय एजेन्सीले समेत यसबारे जाँच शुरु गरिएको बताएको छ ।

  • अन्ततः चीनबाट आउने भयो ४० लाख डोज खोप, सरकार आफैले किन्यो

    अन्ततः चीनबाट आउने भयो ४० लाख डोज खोप, सरकार आफैले किन्यो

    काठमाडौं । नेपाल सरकारले कोरोना खोप भेरोसेल खरीद गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार खोप किन्न सरकार स्वयमःले चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको हो । पौडेलले सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको र २४ असारबाट खोप आपूर्ति सुरु हुने जानकारी गराए । सो प्रयोजनका लागि नेपाल एयरलाइन्सको जहाज जाने छ ।

    साप्ताहिक रुपमा खोप नेपाल ल्याइने छ । कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको भन्ने बारे भने सरकारले सार्वजनिक गरेको छैन । डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको हो । सरकारले लामो प्रयासपछि खोप खरीद गर्न सफल भएको हो । सरकारले चिनियाँ खोप खरीद गरेपनि पहिलो डोज लगाएर बसेका १४ लाख जेष्ठ नागरिकलाई भने भारतीय खोप नै लगाउनु पर्छ । सो खोप भने अझै अनिश्चित छ ।

  • बुधबारबाट तीन दिन नेपालमा पुनः ठूलो वर्षाको सम्भावना

    बुधबारबाट तीन दिन नेपालमा पुनः ठूलो वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा बुधबारबाट कम्तीमा तीन दिन ठूलो वर्षा हुने भएको छ । देशका विभिन्न स्थानमा हुने वर्षाका कारण हुन सक्ने सम्भावित क्षतिप्रति सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी वर्षा जारी छ । बुधबार बिहान काठमाडौं उपत्यकासहित देशका धरै स्थानमा पानी परिरहेको छ प्रदेश १ मा समेत ठूलो वर्षा जारी छ ।

    आगामी तीन दिन देशभर मनसुन सक्रिय रहने छ । यसले धेरैजसो स्थानमा पानी पार्नेछ । जल तथा मौसम विज्ञान विभागले समेत सचेत रहन भनेको छ । प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने छ ।

    बुधबार राती प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

    बिहीबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना रहेको सूचनामा उल्लेख छ ।

  • हुलाक सेवा विभागका कार्गो र चिठी अब नेपाल एयरलाइन्सले बोक्ने

    हुलाक सेवा विभागका कार्गो र चिठी अब नेपाल एयरलाइन्सले बोक्ने

    काठमाडौं । हुलाक सेवा विभागले बोक्ने चिठ्ठीपत्र तथा कार्गो नेपाल एयरलाइन्सबाट ओसारपसार हुने भएको छ । यस्तो सामान यसअघि थाई एयरले बोकिरहेको थियो । नेपाल एयरलाइन्सबाट हुलाक सेवा विभागको सामान बोक्ने गरि मंगलबार नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता भएको छ । नेवानिका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो । नयाँ सम्झौता सन् २०२१ जुलाई १ देखि लागू हुनेछ ।

    हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुने भएका हुन् । विभागले भारतमा भने एयर इण्डियाबाट सामानहरु पठाउने गर्छ । नयाँ सम्झौताले विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ । सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिम प्रकाश पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका छन्।

  • नेपालको भिसा जारी गर्ने कार्य डिजिटल प्रणालीमा रुपान्तरण

    नेपालको भिसा जारी गर्ने कार्य डिजिटल प्रणालीमा रुपान्तरण

    काठमाडौं । नेपालको भिसा जारी गर्ने कार्य डिजिटल प्रणालीमा रुपान्तरण भएको छ । अध्यागमन विभागले विदेशी नागरीकलाई जारी गर्ने ४५ वर्ष पुरानो प्रणाली विस्थापित गरि डिजिटल प्रणाली शूभारम्भ गरेको हो । विभागले हस्तलिखित भिसा प्रणालीलाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली शुरु गरेको सोमबार जानकारी गराएको छ ।

    सोमबार अध्यागमन बिभागमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरेका छन् । उनले यो प्रणाली अनुसार पहिलो भिसा पोर्चुगलका नागरिक तेन्जिङ्ग नोर्बु लामालाई प्रदान गरे । क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणाली कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाइ गर्ने छ ।

    यसबाट हातले लेख्दा हुने त्रुटि तथा केरमेट नहुने र प्रणालीबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने छ । कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यूआर कोडमा भएको विवरणका आधारमा पत्ता लगाउन सकिने हुन्छ । विदेशी मूलुकका अध्यागमन विन्दुहरुमा पासपोर्ट हेर्ने क्रममा नेपालको भिसा अन्य देशहरुसँग मिल्दो जुल्दो हुने भएको कारण राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिईएको विभागले उल्लेख गरेको छ ।

    अब नेपालको भिसा अन्तरर्राष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय र भरपर्दो तथा विद्धुतीय भिसा लागू गर्न सकिने भएको छ । हाल बिभागबाट शुरू भएको यो सेवा निकट भविष्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देश भरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने कार्ययोजना रहेको विभागको भनाइ छ ।

  • अमेरिकामा गुड्दै गरेको जहाजबाट एक जना यात्रुले हाम फाले

    अमेरिकामा गुड्दै गरेको जहाजबाट एक जना यात्रुले हाम फाले

    लस एन्जलस । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्दै गरेको विमानको ककपिटमा छिर्ने प्रयासपछि एकजना यात्रुले जहाजबाटै हाम फालेका छन्। ती पुरुषले विमानको ढोका खोल्दै आपतकालीन अवस्थामा प्रयोग गरिने चिप्लेटीको प्रयोग गरेर भाग्न खोजेको सङ्घीय उड्डयन प्रशासन (एफएए)लाई उदृत गर्दै बीबीसीले जनाएको छ । उनलाई विमानस्थलकै ट्याक्सी वेमा पक्राउ गरेर अस्पताल पुर्‍याइएको समेत समाचारमा उल्लेख छ ।

    बीबीसीले अमेरिकामा पछिल्लो समय उडानका बेला हुने घटना बढेको समेत बताएको छ । यो वर्ष मात्र झण्डै ३ हजारवटा यस्तो घटना भएका छन् । स्थानीय समय अनुसार साँझको सात बजेर १० मिनेट जाँदा साल्ट लेक सिटी जान लागेको युनाइटेड एक्सप्रेसको फ्लाइटमा उक्त घटना भएको हो । ट्याक्सी वेबाट धावनमार्गतर्फ जाने क्रममा चालक दलले ती यात्रु आफ्नो सिटबाट उठेको देखेका थिए।

    उनीहरूका अनुसार उनी आपतकालिन ढोकातर्फ लाग्नुभन्दा पहिले ककपिटको ढोकातर्फ अघि बढेको बताइएको छ । उनको हर्कतपछि विमानलाई आफ्नो गेटमा फर्काइएको थियो। अधिकारीहरूले ती यात्रुको नियत र घटनाबारे बुझ्न अनुसन्धान सुरु गरेको समाचारमा उल्लेख छ । सन् १९९५ यता यस्ता विवरण राख्न थालिएयता गत महिना सबैभन्दा धेरै कानुन तोड्ने सम्भावित घटनाहरू देखिएको एफएएको विवरणमा उल्लेख छ । पछिल्लो दिनमा धेरै घटना यात्रुले मास्क लगाउन नमान्नु हो ।

  • अन्तरिक्षमा व्यवसायीक उडान गर्न थप एक  कम्पनीलाई अनुमति

    अन्तरिक्षमा व्यवसायीक उडान गर्न थप एक कम्पनीलाई अनुमति

    काठमाडौं । अन्तरिक्षमा भाडा लिएर यात्रुलाई व्यवसायीक उडान गर्न थप एक कम्पनीले अनुमति पाएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले सर रिचर्ड ब्रानसनको कम्पनी भर्जिन गलाक्टिकको रकेट विमानलाई पैसा लिएर अन्तरिक्षसम्म यात्रु उडाउन अनुमति दिएको बीबीसीले लेखेको छ । यसअघि अन्तरिक्षसम्म विमानको परीक्षण उडान गर्न दिइएको अनुमतिलाई शुक्रवार अद्यावधिक गरिएको छ ।

    यी व्यवसायी बेलायती हुन् । उनको कम्पनीबाट पृथ्वीबाट ९० किलोमिटर टाढा यात्रा गरेर अन्तरिक्षको छेउमा पुग्न ६०० यात्रुले पैसा बुझाइसकेको बताइएको छ । तिनीहरू धनाढ्य र चलचित्र एवम् सङ्गीतका चर्चित अनुहार छन् । भर्जिन गलक्टिकले अमेरिकाको न्यू मेक्सिको मरुभूमिमा रहेको स्पेसपोर्टबाट उडान भर्ने भएको हो । मे २२ मा युनिटी नामक रकेट विमानको सफल परीक्षण गरेपछि एफएएले सो अनुमति दिएको बीबीसीले जनाएको छ ।

    सो परीक्षण उडानको तथ्याङ्कले आवश्यक सबै प्राविधिक विकासहरू गरिएको देखाएको बताइएको छ। युनिटी रकेट विमानमा दुई चालक र छ यात्रु रहनेछन् । भर्जिन गलाक्टिकको केही उडान इटलीको सेनाले समेत बुक गरेको छ । जुलाई ४ मा सर रिचर्ड अन्तरिक्ष उडानमा जाने तयारी छ । अमेजनका मालिक जेफ बेजोस समेत आफ्नो कम्पनीबाट अन्तरिक्षमा जान तय गरिसकेका छन् ।

  • एनआरएनए र इकमर्श कम्पनी सगुनबीच समझदारी पत्रमा हस्ताक्षर

    एनआरएनए र इकमर्श कम्पनी सगुनबीच समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अमेरिकी सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुनबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्बन्धमा एक समझदारीपत्र हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्स मार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको जनाइएको छ । प्रवासमा रहेका नेपालीहरुद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने भएको छ । गैर आवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएको जनाइएको छ ।

    गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले ८२ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीले शुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउंदै आएको बताए । उनले अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफूलाई स्थापित गरेर नेपाल, भारतलगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको समेत बताएका छन् ।

    सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। उनका अनुसार अहिले ६५ लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहेका छन् । ६५ राष्ट्रबाट ४,५०० भन्दा बढी लगानीकर्ता सगुनमा जोडिएका छन् ।

  • कोरोनाबाट थप ३० जनाको मृत्यु

    कोरोनाबाट थप ३० जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९७५ पुगेको छ । यो कुल संक्रमणको तुलनामा १.५ प्रतिशत हो । नेपालमा ६ लाख ३२ हजार मानिसमा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । ४ घण्टाको अवधीमा कुल ४९१४ जनाले कोरोना जित्न सफल भएका छन् । अब निको हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ । यो कुल संक्रमितको तुलनामा ९१.९ प्रतिशत हो ।