काठमाडौं । चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच मङ्गलवार भएको टेलिफोन वार्ताका क्रममा चीनले यस्तो घोषणा गरेको हो । चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप नेपाललाई दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनले नेपाललाई यसअघि २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनोभ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको छ ।
आज भएको एक घण्टा लामो फोन वार्तामा द्विपक्षीय सहयोग, वाणिज्य, व्यापार, विकास निर्माण लगायतका क्षेत्रमा मिलेर अघि बढ्ने र यसका लागि चीनले सहयोग गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री खड्काले चीनमा पढ्न जाने विद्यार्थी जान नपाएको, चीनबाट नेपालमा सामान कम मात्रामा ढुवानी भइरहेको, नाका सहज बनाउनुपर्ने, चीनसँग नियमित हवाई उडान हुनुपर्ने लगायतका विषय उठाएका थिए । सबै विषयमा मिलेर अघि बढ्न सकिने चिनियाँ विदेश मन्त्री वाङको भनाइ थियो ।
Category: विज्ञान प्रविधि
-

परराष्ट्र मन्त्री र चिनियाँ समकक्षीबिच वार्ता, थप २० लाख डोज खोप अनुदान दिने
-

नेपालले ८ महिना अगाडी किनेको कोभिशिल्ड भारतबाट बल्ल आयो
काठमाडौं । नेपालले गत फागुनमा किनेको १० लाख डोज कोभिसिल्ड खोप शनिबार मात्र नेपाल आएको छ । नेपालले कुल २० लाख खोप किनेको थियो । जसका लागि रकम समेत बुझाइएको थियो । तर, भारतमा कोरोना महामारी फैलिएको भन्दै निर्यात रोकिएपछि नेपालले खरीद गरेको खोप आउन सकेको थिएन । सो खोप शनिबार मात्र काठमाडौं आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज बल्ल आएको हो । खरिदको खोप आएपछि मन्त्रालयले कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिइने भएको छ ।
-

नेपालमा ७६० जनामा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ३१ जनाको नमुना परीक्षण गरेकोमा सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख एक हजार ६ सय ३३ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९२ हजार नौ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ सय ९९ जना निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ७२ जना पुगेको छ ।
थप ११ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय २१ जना पुगेको छ । अहिले नेपालमा १५ हजार तीन सय ४० जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय १७ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९० हजार नौ सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६४ लाख ४६ हजार नौ सय ५७ जना पुगेको छ । ८१ लाख २७ हजार दुई सय ६२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
-

अफ्रिकाका एक शताब्दी लामो प्रयासपछि मलेरिया विरुद्धको खोप तयार, वितरणको अनुमति दिइयो
काठमाडौं । अफ्रिकी मुलुकमा एक शताब्दीभन्दा लामो प्रयासमा तयार भएको मलेरिया विरुद्धको खोप वितरणको अनुमति प्राप्त भएको छ । यो ऐतिहासिक उपलब्धी भएको बीबीसीले लेखेको छ । धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप दिन लागिएको हो । खासगरी बालबालिका र शिशुहरूको ज्यान लिने मलेरिया हजारौँ वर्षदेखि मानवताका लागि एउटा ठूलो सङ्कटको रूपमा छ।
चिकित्सा क्षेत्रकै ठूलामध्येको उपलब्धि ठानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने ऐतिहासिक अभियानमा ठूलो फड्को ठानिएको छ। लामखुट्टेबाट फैलने यस रोगले विश्वभर बर्सेनि झण्डै चार लाख मानिसहरूको ज्यान लिनेगर्छ। आरटीएस, एस भनिने खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भएको थियो। परीक्षणका रूपमा घाना, केन्या र मलावीमा वितरण गरिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अब त्यसलाई सब सहारा अफ्रिका र मध्यमदेखि उच्च प्रकोप भएका अन्य क्षेत्रमा वितरण गरिने जनाएको छ।
ती तीन देशमा आठ लाख बालबालिकामा गरिएको मानव परीक्षणमा यस खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले कमी ल्याएको देखाएको थियो। यस खोपले प्रत्येक १० जनामध्ये ४ जनालाई मलेरिया रोग लाग्नबाट जोगाउने र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट बचाउने बताइएको छ। यसले प्रभावकारी रूपमा काम गर्न चारवटा मात्रा लगाउनुपर्छ।
पहिलो तीन मात्रा एक(एक महिनाको फरकमा पाँच, छ र सात महिनाका शिशुलाई दिइन्छ भने अन्तिम बुस्टर मात्रा १८ महिना आसपासमा आवश्यक पर्नेछ। यसको व्यापक वितरणका लागि आर्थिक सहायताको पाटो भने अझै अस्पष्ट छ। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले यसलाई ऐतिहासिक क्षण भएको बताएका छन्।
-

६ घण्टाको सटडाउनपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम सूचारु
काठमाडौं । फेसबुक मानिसको जिवनशैली जस्तै बनेको छ । सोमबार रातीदेखि अवरुद्ध भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम करीव ६ घण्टा लम्बियो । यस्तो अवरोध लामो समयसम्म रहेपछि फेसबुकले आफ्नो ट्वीटर ह्याण्डिलबाट माफी माग्नु परेको छ । विश्वव्यापी अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले लेखेको छ । यी तीनवटै सामाजिक सञ्जाल फेसबुक कम्पनी मातहत छन् । वेबसाइट र स्मार्टफोन एपका माध्यमबाट यी संजाल चल्छन् ।
फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताएको छ । साथमा उसले प्रयोगकर्तासँग माफी समेत मागेको छ । समस्या समाधान गरि डिजिटल मञ्चलाई सामान्य अवस्थामा फर्काउन टीमले कुशलतापूर्वक सक्दो छिटो काम गरेको समेत फेसबुकको भनाई छ । साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठानेका छन् ।
कतिपय संचारमाध्यमले करोडौं मानिसको सूचना ह्याक भएको समेत लेखेका छन् । कतिपयले भने कम्पनी भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्था भएको आंशका गरेका छन् । बीबीसीका अनुसार बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ। फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले १०० प्रतिशत काम गर्न भने केही समय लाग्ने बताएका छन्।
केही मानिसहरूले फेसबुकको भर्चुअल रियालिटी हेडसेट प्लेटफर्म अक्युलुस र फेसबुक लगइन चाहिने पोकेमोन गो सहितका एपहरूमा समेत सेवा प्रभावित भएको भनेर उजुरी गरेका थिए। यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो त्यसले देखेको अहिलेसम्मकै ठूलो अवरोध हो। जसबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए। यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो।
-

बुद्ध एयरको जहाज अवतरण हुन नसक्नुमा पाइलटको कमजोरी ?
काठमाडौं । गत साता काठमाडौंबाट विराटनगर पुगेको बुद्ध एयरको जहाज काठमाडौं फर्काइएको विषयमा कम्पनीले पाइलटको कमजोरी रहेको निष्कर्ष निकालेको छ । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै पाइलटले विराटनगरमा पुगेर पनि जहाज काठमाडौं फर्काएका थिए । तर, इण्डिकेटरले संकेत गर्दा गर्दै जहाज अवतरण नगराएर बाह्य स्रोतमा भर पर्दा पाइलट अलमलमा परेको बुद्ध एयरले आन्तरिक रुपमा गरेको जाँचबुझ रिर्पोटले देखाएको छ ।
सोमबार यो रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको बुद्ध एयरले जनाएको छ । कम्पनीका अनुसार जहाजमा प्राविधिक समस्या देखिएको छैन । जहाजमा ल्याण्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इण्डिकेटरले स्पष्ट रुपमा काम गरेको थियो । चालक दलले जहाजका लागि तोकिएको प्रोटोकलको पालना गर्नुपर्नेमा त्यसो नगरी बाह्य स्रोत (एयर ट्राफिक कन्ट्रोलर)मा बढी भर परेको देखिएको रिर्पोटको निष्कर्ष छ ।
अघिल्लो साता काठमाडौंबाट विराटनगर पुगेको जहाजमा इण्डिकेटरले ल्याण्डिङ गियर नखुलेको देखाएपछि पाइलट एजी शेर्पाले एटीसीलाई सोधेका थिए । तर, एटीसीले पाङ्ग्रा खुलेको नदेखेपछि सोही रिर्पोटिङ गरेका थिए । त्यसपछि जहाज पाइलटले काठमाडौं फर्काएका थिए । काठमाडौंमा समेत करीब आधा घण्टा फन्को मारी जहाज सुरक्षित अवतरण गरेको थियो । काठमाडौंबाट बाह्य रुपमा हेर्दा पाङ्ग्रा खुलेको देखिएपछि पाइलटलाई जहाज अवतरणको अनुमति दिइएको थियो ।
-

इन्टरनेट र केवल टिभीको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरण इन्टरनेट (अप्टिकल फाइबर) र केबल टेलिभिजनको तार काट्ने निर्णयबाट पछि हटेको छ । इन्टरनेट सेवा प्रदायकले सेवाशुल्क नतिरेको भन्दै प्राधिकरणले देशका विभिन्न स्थानमा तार काट्न थालेको थियो । यसले उपभोक्ता मारमा परेको भन्दै आलोचना शुरु भएपछि प्राधिकरणले आफ्नो निर्णय सच्याएको हो ।
तर, उपभोक्ताबाट उठाएपनि इन्टरनेट सेवा प्रदायक र केबल टेलिभिजन व्यवसायीले भने प्राधिकरणलाई तिर्नुपर्ने ठूलो रकम तिरेका छैनन्। यो समस्यामा दूरसञ्चार प्राधिकरणले पनि सहजीकरण गर्ने उल्लेख गरेको छ । केही समय तार नकाट्ने र छलफलबाट समस्या समाधानको पहल गर्ने निर्णयमा प्राधिकरण पुगेको हो ।
समस्या नसुल्झिएमा भने बाध्य भएर ता काट्नु पर्ने प्राधिकरणको स्पष्टिकरण छ । प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच २०७५ भदौयताको पोल भाडादरमा विवाद छ । प्राधिरणले एकतर्फी रुपमा साविकको तुलनामा भाडा दर बढाएको उनीहरुको गुनासो छ । प्रािधकरणले भने छलफलमा बोलाउँदा नआएको बताएको छ ।
-

मनसुन अझै सक्रिय, हल्कादेखि भारी वर्षाको सम्भावना
काठमाडौं । भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभावका कारण नेपालमा मनसुन लम्बिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापिय क्षेत्रको प्रभावले नेपालको अधिकांस स्थानको मौसम बद्ली भएको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ । प्रदेश १, २ र बागमतीका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
राति प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। सोमबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ, जसमा प्रदेश १ का एकरदुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।
मौसमविद्का अनुसार यो हप्ताभरि नै मनसुन रहने सम्भावना छ । परिमार्जन गरिएको नयाँ तालिका अनुसार मनसुन अक्टोबर २ तारिख अर्थात हिजो नै बाहिरिनु पर्ने थियो । तर मनसुन भित्रिने र बाहिरिने समय तोकिएको मिति भन्दा एक\दुई दिन छिटो र एक\दुई दिन ढिलो हुने गर्छ । यसपालि गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ असोज १७ गते (आइतबार)
दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।
२०७८ असोज १८ गते (सोमबार)
दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।
राती देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन- चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ असोज १९ गते (मंगलबार)
दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन- चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
-

पोल भाडा नतिर्ने कम्पनीको तार काट्न थालेसँगै दुई सरकारी प्राधिकरणबीच टकराव
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो पोल उपयोग गर्ने तर भाडा नतिर्ने कम्पीको तार काट्न थालेसँगै विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबीच टकराव शुरु भएको छ । दूरसञ्चार प्राधिकरणले इन्टनेटको तार काटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रभावित भएको भन्दै प्राधिकरणले विज्ञप्ति निकालेर छलफलबाट समस्या समाधान गर्नुपर्नेमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने इन्टरनेट सेवा नै बन्द हुने गरी तार काटिनु दुखद् विषय भएको जनाएको छ ।
पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल भैरहेको अवस्थामा अचानक तार काट्नु गलत भएको र दूरसञ्चार ऐन, २०५३ अनुसार यो दण्डनीय क्रियाकलाप भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
राज्यको अति आवश्यक सेवाको बन्द गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ । हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुदा सबै पक्ष बसेर आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने, गराउने व्यवस्था मिलाउन प्राधिकरणले अनुरोध गरेको छ ।

-

६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई नेपाल टेलिकमको निःशुल्क सिम
काठमाडौं । नेपाल टेलिकमले शुक्रवारदेखि २५ असोजसम्म ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिम कार्ड निःशुल्क वितरण गर्ने भएको छ । संयुक्त राष्ट्र सङ्घको आयोजनामा विश्वव्यापी रूपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप निःशुल्क सिम प्रदान गर्ने बताएको छ । सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले निःशुल्क पाउने छन् ।
यो सिममा १० रुपैयाँ ब्यालेन्स हुनेछ । साथै, ४० मिनेट कुराकानी गर्नए र २० वटा सन्देश पठाउन सक्ने सुविधा दिइएको छ । साथै ६० एमबी डाटा समेत प्रयोग गर्न सकिनेछ । यो सुविधा एक महिनासम्म उपयोग गरिसक्नु पर्नेछ । निःशुल्क सिम कार्डका लागि लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र) को प्रतिलिपि साथमा बोक्नु पर्ने भएको छ ।
-

जहाजमा समस्या दोहोरिन थालेपछि सरकारले बनायो अध्ययन समिति
काठमाडौं । आन्तरिक उडानका जहाजहरुमा समस्या दोहोरिन थालेसँगै सरकारले अध्ययन समिति बनाएको छ । सरकारले नेपालमा सञ्चालनमा रहेका जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी गराएका छन् ।
समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव तोकिएका छन् । यो समितिले आइकाओबाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको, नगरेको बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको समेत पुनरावलोकन गर्ने भएको छ वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएको बारेमा पनि समितिले परीक्षण गर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाइ सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव पनि दिने मन्त्रालयको भनाइ छ । यो कामका लागि समितिलाई तीन महिनाको समय दिइएको छ । सरकारले यस्तो परीक्षणपछि मापदण्ड पालना नभएको पाइए जहाज ग्राउण्डेड गर्नेछ । मापदण्ड पूरा गरेपछि मात्र चलाउन पाइने गरी जहाजहरु ग्राउण्डेड गरिने मन्त्रालयको भनाइ छ ।
नेपालमा सञ्चालित वायुसेवा कम्पनीका हवाइजहाज र हेलिकप्टरमा समस्या देखिएका बेला सरकारले वायुयानहरुको अध्ययन गर्न समिति बनाएको हो । सोमबार मात्र बुद्ध एयरको जहाज अवतरण गर्न नसक्दा यात्रुले डर र सास्ती भोग्नु परेको थियो ।
-

प्राविधिकले ‘समस्या छैन’ भनेपछि बुद्धको जहाज व्यवसायिक उडानमा
काठमाडौं । सोमबार करीव २ घण्टा आकासमा फन्को मारेर अवतरण भएको बुद्ध एयरको एटीआर जहाजले मंगलबार भने बिहानैबाट व्यवसायिक उडान गरेको छ । जहाजमा कुनै पनि प्राविधिक समस्या नदेखिएपछि यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरका प्राविधिले उड्ने अनुमति दिएका हुन् । बुद्ध एयरका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए ।
चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको हो । सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।
-

विश्व तापमान वृद्धिदर १.५ प्रतिशत भित्रै राख्न नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वकोे प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा उनले विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न त्यहीरुपमा अन्तर्राष्ट्रिय प्रतिबद्धताको समेत आवश्कता रहेको उनले बताए ।
प्रधानमन्त्री देउवाले जलविद्युत्, वनक्षेत्रलगायतका अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पु(याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पारे । राष्ट्रिय समाचार समितिका अनुसार सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाल पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका उच्च जोखिम रहेको र यसबाट हुने हानि तथा नोक्सानीको अन्तर्राष्ट्रियरुपमा सम्बोधन हुनुपर्ने बताए ।
कोप–२६ का प्राथमिकता, जलवायु वित्त र अनुकूलनलगायत विषयमा छलफल गर्नुका साथै उनले अनुकूलन कार्यक्रममा नेपाललाई थप सहयोगको खाँचो औँल्याए । प्रधानमन्त्री देउवाले कोभिड–१९ का सन्दर्भमा बेलायतले नेपाललाई ‘रेडलिष्ट’मा राखेको सम्बन्धमा सूचीबाट हटाउन समेत आग्रह गरे ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ का सन्दर्भमा बेलायतले नेपाललाई ‘रेडलिष्ट’मा राखेको सम्बन्धमा सूचीबाट हटाउन समेत आग्रह गरे ।
जवाफमा राजदूत ओफ्लाहेर्टीले ‘रेडलिष्ट’ बाट हटाउने सम्बन्धमा बेलायत सरकारको छुट्टै निकायले बेलाबेला विभिन्न विषयको विश्लेषण गरी पुनरावलोकन गरिरहेको जानकारी गराएका छन् । उनले कोप–२६ का सन्दर्भमा नेपालको वस्तुस्थिति, तयारीलगायत विषयमा चासो राख्नुका साथै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर १ देखि २ सम्म आयोजना गर्ने ‘ग्लोबल लिडर समिट’ र अन्य सम्मेलनमा नेपालको सक्रिय सहभागिताको अपेक्षा समेत गरेका थिए ।
कोप–२६ आगामी कात्तिक १४ देखि २६ गतेसम्म (अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म) संयुक्त अधिराज्यको ग्लास्गोमा हुँदैछ । प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डले कोप–२६ मा सहभागिता जनाउने गरी वन तथा वातावरण मन्त्रालयले तयारी गरिरहेको छ ।
-

‘प्रदुषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसले गुमाउँछन् ज्यान’
काठमाडौं । प्रदुषणका कारण विश्वभर वर्षेनी ७० लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । वायु प्रदूषणको अवस्था पहिला सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी समेत संगठनले दिएको छ । बीबीसीका अनुसार वायु प्रदूषण गराउने नाइट्रोजन डाईअक्साइडजस्ता मुख्य तत्त्वको अधिकतम सुरक्षित तह पनि घटाइदिएको संगठनको भनाई छ । डब्ल्यूएचओका अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै ज्यान जान्छ ।
आर्थिक विकासका लागि जीवाश्म इन्धनमा निर्भर हुने भएकाले अल्प र मध्यम आय भएका देशहरू वायु प्रदूषणको सर्वाधिक मारमा पर्ने गरेका समेत डब्यू्एचओको अध्ययनले देखाएको छ । डब्ल्यूएचओले वायु प्रदूषणलाई धूमपान र अस्वस्थ आहारकै श्रेणीमा राखेको छ। नोभेम्बरमा हुन लागेको कोप२६ सम्मेलनअघि डब्ल्यूएचओले आफ्ना १९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न आग्रह गरेको छ।
गत बुधवार प्रकाशित नयाँ निर्देशिकामा डब्ल्यूएचओले पीएम२.५ भनिने सूक्ष्म कणको अधिकतम मात्रा मात्रा पहिलाको भन्दा आधा घटाइदिँदै त्योभन्दा बढी भए त्यो हानिकारक हुने जनाएको छ। त्यस्ता कणहरू ऊर्जा उत्पादनका लागि इन्धन बाल्दा र सवारीसाधनका इन्जिनले उत्पादन गर्छन्। अद्यावधिक निर्देशिकामा प्रस्ताव गरिएअनुसार विद्यमान वायु प्रदूषणको मात्रा घटाउन सकिए पीएम२.५ सँग सम्बन्धित झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिन्छ ।
-

लिथुआनियामा चिनियाँ फोन प्रयोग नगर्न सिफारिस
काठमाडौं । लिथुआनियाको रक्षा मन्त्रालयले उपभोक्तालाई चिनियाँ फोन प्रयोगमा नल्याउन सिफारिस गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकको इन्टरनेट सुरक्षा सम्बन्धी निकाय न्याशनल साइबर सेक्युरिटि सेन्टरले चिनियाँ उत्पादकका फाइभजी मोबाइल फोनलाई परीक्षण गरेको थियो। सो क्रममा एक शिआओमी फोनमा पहिले नै सेन्सर गर्ने उपकरण जडान रहेको भेटिएको दावि गरिएको छ । साथै हुआवेई मोडेलको फोनमा सजिलै साइबर आक्रमण हुन सक्ने गरि कमजोर सुरक्षा प्रणाली राखिएको समेत बताइएको छ ।
हुआवेईले प्रयोगकर्ताहरूको तथ्याङ्क र जानकारी फोनबाट बाहिर पठाउने भने नगरेको जानकारी गराएको छ । लिथुआनियाका रक्षा उपमन्त्री मार्गिरिस अबुकेभिसिअसले नयाँ चिनियाँ फोन नकिन्न र आफूसँग भएको फोन पनि सकेसम्म छिटो त्याग गरिहाल्न सुझाव दिएको समाचारमा उल्लेख छ ।
अध्ययनको प्रतिवेदनका अनुसार शिआओमीको सर्वाधिक चर्चित मी टेनटि फाइभजी फोनमा यस्तो सफ्टवेअरहरू रहेको पाइयो जस्ले तिब्बती स्वतन्त्रता सम्बन्धी नारा फ्रि टिबेटू, ताइवानको स्वतन्त्रता सम्बन्धी लङ लिभ ताइवान इन्डिपेन्डेन्स वा प्रजातान्त्रिक आन्दोलन जनाउने डिमोक्रेसी मुभमेन्ट जस्ता शब्दहरूलाई पत्ता लगाउने र सेन्सर गर्ने क्षमता राख्ने बीबीसीले लेखेको छ । उक्त फोनमा रहेका प्रणालीगत एप र ब्राउजरले ४४९ भन्दाबढी शब्दावलीहरू सेन्सर गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त प्रतिवेदनको विवरणबारे टिप्पणीका लागि गरिएको बीबीसीको प्रयासमा शिआओमीले प्रतिक्रिया जनाइसकेको छैन।
शिआओमीका फोनहरूले फोन प्रयोग सम्बन्धी डेटा सिंगापुरस्थित सर्भरमा पठाउने गरेको पनि अध्ययनका क्रममा पत्ता लागेको जनाइएको छ। हुआवेइको पीफोर्टी फाइभजी फोनमा रहेको खराबीको बारेमा पनि उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त कमजोरीका कारण प्रयोगकर्ताको फोनमा साइबर हमला हुनसक्ने जोखिम रहन्छ। यो पछिल्लो विवरण लिथुआनिया र चीनबीच तनाव बढिरहेको समयमा आएको बताइएको छ ।
-

अमेरिकाले थप ५० करोड डोज खोप बाँड्ने
न्यूयोर्क । अमेरिकाले आगामी वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकमा बाँड्ने भएको छ । बीबीसीका अनुसार संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एक भर्चुअल कोभिड १९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरेका छन् । त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ। अमेरिकाले यसअघि नै ५० करोड खोप बाँड्ने बताएको थियो ।
राष्ट्रपति बाइडनले ५८ करोड मात्रा थप खोप बाँड्ने बाचा गरिरहंदा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप देशबाहिर बाँडिसकेको तथ्यांक रहेको बीबीसीले लेखेको छ । विज्ञहरूका अनुसार विश्वको ७० प्रतिसत जनसङ्ख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिसतले खोप लगाउने लक्ष्य राखेको छ।
बाइडनले खोप वितरणका व्यवस्थापकिय चुनौतीलाई सम्बोधन गर्न समेत थप रकमको घोषणा समेत गरेका छन्। धेरै उच्च आय भएका देशहरूले आफ्ना आधाभन्दा धेरै जनसङ्ख्यालाई कम्तीमा एक मात्रा खोप दिएको अक्सफर्ड विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ। तर, न्यून आय भएका देशमा २ प्रतिसतले मात्र पहिलो मात्रा खोप लिन सकेका छन्। धनी देशहरूले चाहिनेभन्दा धेरै खोप सञ्चय गरेको र तिमध्ये उच्च सङ्ख्या काम नलाग्ने भएर छिट्टै फ्याकिनुपर्ने अवस्था समेत आएको छ ।
-

आगामी महिनाबाट भारतले खोप निर्यात थाल्ने, नेपालको रोकिएको १० लाख डोज फुकुवा
नयाँ दिल्ली । भारतले आगामी महिना (अक्टोबर)बाट कोरोना खोप निर्यात थाल्ने भएको छ । गत फागुनमा कोरोनाको दोस्रो लहरबाट अतिप्रभावित भारतले खोप निर्यात रोकेको थियो । यसबाट नेपाल समेत प्रभावित भएको थियो । नेपालले खरीद गरि रकम समेत तिरिसकेको १० लाख डोज खोप भारतमै रोकिएपछि जेष्ठ नागरिकले करीव ६ महिनासम्म खोपको दोस्रो डोज लगाउनबाट बन्चित भएका थिए । भारतका स्वास्थ्यमन्त्री मनसुख मंडावियाले भने रोकिएको खोप निर्यात फष्ुकुवा गरिएको बताएका हुन् ।
भारतीय संचारमाध्यमहरुका अनुसार उत्पादित खोप आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने भन्दै भारत सरकारले खोप निर्यातमा अघोषित बन्देज लगाएको थियो । भारतका स्वास्थ्यमन्त्री मंडावियाले छिमेकी मुलुक र कोभ्याक्सलाई उच्च प्राथमिकतामा राखिने बताएका छन् । कोरोनाबाट अतिप्रभावित मुलुकमध्ये भारत पनि पर्छ । त्यहाँ अहिले खोप अभियान तिब्र रुपमा चलिरहेको छ ।
-

इन्टरनेटको मूल्य बढाउने व्यवसायीको निर्णय
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बढाएको भन्दै इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन्।
इन्टरनेट सेवाप्रदायकहरुको संस्था आइस्पानले इन्टरनेट सेवाको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए।
नेपाल विद्युत प्राधिकरणले पोलको शुल्क तिर्न ताकेता गर्दै आएको थियो। तोकिएको मितिमा मूल्य नतिरे तार झारिदिने भन्दै चेतावनी दिएपछि इन्टरनेट सेवाप्रदायकहरूले मूल्य बढाउने निर्णय गरेका हुन्।
प्राधिकरणले पहिला प्रतिपोल २५० रुपैयाँ लिने गरेको थियो। तर गत वर्ष प्रति किलोमिटरका दरले शुल्क लगाउने निर्णय गरेको थियो। यसो गर्दा प्रतिपोल ७५० रुपैयाँ पर्ने व्यवसायीहरूले बताएका छन्।
‘पहिलेको तुलनामा पाँच सय रुपैयाँ शुल्क बढेपछि हामीले सोहीअनुसार उपभोक्ता मूल्य बढाउने निर्णय गरेका हौँ’ पराजुलीले बिजनेस न्युजसँग भने। सहरी क्षेत्रमा प्रति महिना प्रति ग्राहक १५० र ग्रामीण क्षेत्रमा ३ सय रुपैयाँ बढाउने निर्णय गरिएको उनको भनाइ छ।
तीन सय रुपैयाँसम्म मूल्य बढाउने निर्णय गरेर नेपाल दूरसञ्चार प्राधिकरणमा अनुमतिका लागि प्रक्रिया सुरु गरिएको आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले जानकारी दिए।
संस्थाले निर्णय गरेको र त्यसलाई कार्यान्वयनमा लिनका लागि प्रक्रिया सुरु गरिएको उनले बताए।
केही दिन अघिमात्रै नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेभित्र तोकिएको शुल्क तिरेर नवीकरण गर्न आउन व्यवसायीहरूका नाममा सूचना जारी गरेको थियो। यदि तोकिएको मितिमा नवीकरण गर्नेको तार काटिदिने प्राधिकरणले चेतावनी दिएको थियो।
प्राधिकरणका विभिन्न कार्यालयहरूले यसअघि नै तार झार्न सुरु गरिसकेको पराजुलीले बताए। सेवा नै अवरुद्ध हुनुभन्दा मूल्य बढाउन उपयुक्त भएको पराजुलीको भनाइ छ।
‘ अहिले धेरैको मुख्य काम नै इन्टरनेटमा अडिएको छ। शिक्षादेखि कामसम्म इन्टरनेटबाटै हुन थालेको छ। हामीले प्राधिकरणसँग भिडेर बस्नुभन्दा मूल्य बढाउनु उपयुक्त ठान्यौँ’ उनले भने’ तर यो मूल्य बढ्नुको एकमात्र कारण विद्युत प्राधिकरणको निर्णय हो।’
-

हिमालय एयरलाइन्सका जहाजमा अब हार्ट अट्याक रोक्ने मेसिन उपलब्ध
काठमाडौं । नेपालको निजी लगानीको हिमालय एयरलाइन्समा यात्रारात यात्रुमा आकस्मिक मुटु र स्वास प्रश्वास सम्बन्धी समस्यामा आएमा पनि जहाज डाइभर्ट गर्नु नपर्ने भएको छ । हिमालय एयरलाइन्सले जहाजमै अब अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) मेसिन राखेको छ । कम्पनीका अनुसार अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदय गति सुचारु राख्न मद्दत गर्छ ।
यस्तो मेसिनसहित सेवा थाल्ने नेपालको एक मात्र कम्पनी बनेको हिमालय एयरलाइन्सले विज्ञप्ती निकाल्दै जनाएको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सका सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा यो मेसिन राखिएको हो । कम्पनीको सेवालाई सुरक्षित, विश्वसनीय र आरामदायी बनाउन यो मेसिन सहयोगी हुने बताएको छ ।
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितव्य वा कुनै यात्रुमा श्वासप्रश्वास बन्द हुने वा हृदय गति बन्द हुने जटिल समस्या आउँदा पनि निदान गरी बचाउन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यात्रुको हृदय गति बन्द भए, नाडी बन्द भए वा सास फेन नसके मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दबाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनःकायम गराउन सकिने बताइएको छ । विगत केही सातादेखि हिमालय एयरलाइन्सका सबै उडान कर्मचारीलाई यो मेसिनको प्रयोगबारे तालिम दिइएको छ ।
-

पुनर्निर्माण पुरा नभएको काम सरकारी निकायमा हस्तान्तरण, रणनीतिक महत्वका आयोजना भने प्राधिकरणमै
काठमाडौं । नेपालको पुनर्निर्माण कमजोर आयस्रोत भएका विश्वका अन्य मुलुकको तुलनामा छिटो र नमुनायोग्य बनेको छ । २०७२ सालको भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आगामी पुसबाट अवधि पुरा भई विघटन हुने छ । त्यसअगाडी नै प्राधिकरणले निजी आवासलगायतका संरचनाको पुनर्निर्माणसम्बन्धी बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण गरेको छ ।
बुधवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवम् सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बा तथा सडक एवम् पुलको काम हस्तान्तरण गरिएको छ । निजी आवास तथा बस्ती विकासतर्फका बाँकी काम सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरियो । यसका साथै सरकारी, सार्वजनिक भवन एवम् स्वास्थ्य संस्था र अहिले केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) मार्फत सञ्चालित सम्पदा एवम् गुम्बाको पुनर्निर्माणसम्बन्धी काम पनि विभागलाई हस्तान्तरण गरिएको छ ।
यसका साथै केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले गर्दै आएको निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवम् प्राविधिक व्यवस्थापनसहितका पुनर्निर्माणसम्बन्धी बाँकी काम पनि सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण भएको छ । शैक्षिक संस्थाको पुनर्निर्माणसम्बन्धी बाँकी काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र त्यसअन्तर्गतका तोकिएका जिल्लामा रहेका कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

सडक तथा पुल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण भएको छ । अब यो विभागले गुम्बा व्यवस्थापन समितिको समन्वयमा एक सय वर्ष नपुगेका पुनर्निर्माण गर्न बाँकी गुम्बाको पुनर्निर्माणसम्बन्धी काम पनि गर्नेछ । पुनर्निर्माण गर्न बाँकी रहेका कामसहित सम्बन्धित केन्द्रीय एवम् जिल्ला आयोजना कार्यान्वयन इकाइअन्तर्गत रहेका सम्पत्ति, दायित्व, श्रेस्ता कागजात, बेरुजु विवरण एवम् कार्यालयसमेत सम्बन्धित निकायमा हस्तान्तरण भएका छन् ।
हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायले तत्कालै पुनर्निर्माणका काम सञ्चालन गर्नेछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष आठ महिना २० दिनमा पुननर्निर्माण गर्नुपर्ने कुल संरचनामध्ये प्रायः सबै काम सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताए । ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आउँदो मङ्सिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको र त्यस अवसरमा ‘विपद्–जोखिमबाट सुरक्षित नेपाल निर्माणसम्बन्धी मार्गचित्रसहितको खाका’ प्रस्तुत गरिने पनि जानकारी दिए ।
यही भदौ ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको २० औँ बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका काम सम्बन्धित निकायमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । पुनर्निर्माण गर्न बाँकी रहेका काम हस्तान्तरण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आउँदो पुस १० गतेसम्म क्रियाशील रहनेछ । यसबीचमा प्राधिकरणले धरहरा, रानीपोखरी, सिंहदरबार एवम् नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको रणोद्वीप दरबारको पुनर्निर्माणको काम हेर्नेछ । यस्तै लेखा परीक्षणका साथै हस्तान्तरण गर्ने कामको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका काम पनि सम्पादन गर्नेछ ।
-

अस्पतालको शौचालयमा नक्कली बम राखेर तीन करोड फिरौती माग्ने तीन जना पक्राउ
काठमाडौं । गत साता पुराना बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । अस्पतालका डाक्टर र प्रशासनलाई मध्याएर तीन करोड फिरौती मागेको र त्यसका लागि नक्कली बमको प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नक्कली बम बनाउन भने युट्युवबाट सिकेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाण्डौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर प्रहरीको फन्दामा परेका हुन् । गत बिहीबार आशिषले त्यहाँका एक डाक्टरलाई फोन गरेरअस्पताल र घरमा बम राखेर पड्काइदिने धम्की दिएका थिए । उनले परिवार र घर सुरक्षित राख्ने भए तीन करोड लिएर नागढुंगा आउन र प्रंहरीमा खबर नगर्न भनेका थिए ।
त्यसपछि उनीहरुले अस्पतालको तेस्रो तलाको रहेको शौचालयमा बम राखेका थिए । त्यो बम नक्कली भएको सेनाले बताएको थियो । प्रहरीले अस्पतालको सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिएको बताएको थियो। फुटेज र मोबाइल ट्र्याकिङका माध्यमबाट तीन युवालाई फेला पारेको हो । उनीहरु शनिबार काठमाडौंबाट पक्राउ परेका थिए ।
प्रहरीका अनुसार आशिष कुँवरले सोही अस्पतालमा आँखाको शल्यक्रिया गराउँदा १७ लाख रुपैयाँ खर्च भएको बताएका छन् । यसका लागि आफुले ऋण लिएको उनको भनाई थियो । पैसाको लोभमा डाक्टरलाई धम्क्याएर पैसा असुल्न खोजेको देखिएको प्रहरीको भनाई छ ।
-

संसारले भुल्न नसक्ने मिति ९\११, के भएको थियो यो दिन ?
वासिंटन डिसी । कोरोना भाइरसको महामारी भन्दा अगाडी संसारभर पर्यटकीय आवागमन ठप्प बनाएको एक घटना थियो सेप्टेम्बर ११ । यो घटनाले अमेरिकालाई त धेरै सालसम्म झस्काइरहने छ नै, संसारले नै भुल्न भने सक्ने छैन । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा जोताएका थिए । सो क्रममा हजारौं मानिसले ज्यान गुमाएका थिए ।
उक्त आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई समस्त विश्वकै लागि यो शताब्दीकै सबैभन्दा पीडादायक घटना थियो । बीबीसीका अनुसार संयुक्त राज्य मेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए। त्यसपछि तीनलाई नियन्त्रित मिसाइलक रूपमा न्यूयोर्क र वाशिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइएको हो ।
दुईवटा विमानले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए। पहिलो विमानले नोर्थ टावरमा स्थानीय समयानुसार बिहान ८ :४६ मिनेटमा आक्रमण गरेको थियो। दोस्रो विमान साउथ टावरमा स्थानीय समयानुसार ९ः०३ मिनेटमा ठोक्काइएको थियो। ती भवनहरूमा आगो लागेको थियो र माथिल्ला तलामा मानिसहरू फसेका थिए ।
धूँवाको बाक्लो मुस्लोमा सहर ढाकिएको थियो। दुई घण्टाभन्दा कम समयमा ११० तले दुवै भवन ढलेर धूलोको विशाल मुस्लो र भग्नावशेषमा परिणत भएका थिए। ९ बजेर ३७ मिनेटमा तेस्रो विमानले राजधानी वाशिङ्टन डीसीभन्दा केही बाहिर रहेको अमेरिकी सेनाको मुख्यालय पेन्टगनको पश्चिमी मोहडालाई क्षति पुर्याएको थियो। यात्रुहरूले प्रतिरोध गरेपछि चौथो विमान पेन्सिल्भेनीआको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो।
अपहरणकारीहरूले उक्त विमानको प्रयोग गरी अमेरिकी संसद् भवनमा आक्रमण गर्ने लक्ष्य राखेका थिए । यी घटनाहरूमा १९ अपहरणकारीबाहेक २,९७७ जनाले ज्यान गुमाएको तथ्यांक छ । तीमध्ये अधिकांश न्यूयोर्कमा मारिएको समेत बीबीसीले लेखेको छ । चारवटा विमानमा सवार चालकदलका सदस्य र यात्रु गरी सबै २४६ जनाको मृत्यु भयो ।
ट्विन टावरमा तत्कालै र पछि चोटका कारण २६,०६ जनाको मृत्यु भयो । पेन्टगनमा १२५ जनाको मृत्यु भयो । पहिलो विमानले ठक्कर दिँदा अनुमानित १७,४०० जना उक्त टावरभित्र रहेको ठानिएको छ। नोर्थ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका कोही पनि बाँचेनन् भने साउथ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका १८ जना भागेर ज्यान जोगाउन सफल भएका थिए।

GETTY IMAGES\BBC ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए। न्यूयोर्कले ४४४ जना आपत्कालीन उद्धारकर्ता गुमाएको छ । एउटा इस्लामवादी उग्रवादी सञ्जाल अल(कायदाले अफगानिस्तानबाट ती घातक आक्रमणहरूको योजना बुनेको थियो। ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल(कायदाले मुस्लिम देशहरूमा भएका द्वन्द्वमा अमेरिका र उसका साझेदारलाई दोषी ठहर्याउने गर्थ्यो। अपहरणमा संलग्न १९ जना पाँच जनाको तीन वटा र चार जनाको एउटा समूहमा विभाजित थिए।
प्रत्येक समूहमा विमानचालकको तालिम लिएको एक व्यक्ति थिए। त्यस्तो तालिम अमेरिकाकै उड्डयन प्रशिक्षण केन्द्रहरूमा लिइएको थियो। बिन लादेनजस्तै १५ जना अपहरणकारी साउदी अरबका थिए। दुई जना संयुक्त अरब एमिरेट्स, एक जना इजिप्ट र एक जना लेबनानका थिए। आक्रमणको एक महिना नबित्दै तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यू बुशले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अल(कायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरे। सन् २०११ मा मात्र पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मार्न सफल भयो ।
-

अमेरिकी कम्पनी फोर्डले अब भारतमा उत्पादन बन्द गर्ने, नेपालसहितको सेवा के हुन्छ ?
नयाँ दिल्ली । अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले भारतमा कार उत्पादन बन्द गर्ने भएको छ । बीबीसीका अनुसार कम्पनीले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो । कम्पनीले भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने भएको हो । सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात राज्यमा रहेका प्लान्टहरू बन्द गर्ने तर निर्यातका लागि कार इन्जिन उत्पादन भने कायमै राख्ने कम्पनीले जनाएको छ । केही वर्षयता भारतबाट बाहिरिने ठूला कार उत्पादकमध्ये फोर्ड पनि परेको छ।
सन् २०१७ मा जेनरल मोटर्सले भारतीय बजारका लागि कार उत्पादन बन्द गरेको थियो। गत वर्ष विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजारमा हार्ली डेभिडसनले उत्पादन र विक्रीमा व्यापक कटौती गरेको बीबीसीले लेखेको छ । विदेशी उत्पादकहरूलाई भारतीय बजारमा आकर्षित गर्ने वा कायमै राख्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासलाई यी घटनाहरूले धक्का दिएको समेत समाचारमा उल्लेख छ ।
कम्पनीका अनुसार पछिल्लो दशकमा भारतमा उसको सञ्चालन घाटा बढेर दुई अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ र नयाँ गाडीहरूको माग पनि घटेको छ। भारतमा कारका पाँचवटा मोडल उत्पादन गर्दै आएको उक्त कम्पनीले आफ्ना ग्राहकका लागि गाडीको मर्मत सेवा, पार्टपुर्जा र वारेन्टीसम्बन्धी सहायता भने जारी नै राख्ने जनाएको छ। विगत २५ वर्षदेखि भारतमा कार उत्पादन गर्दै आएको भए पनि फोर्डले बजार प्रतिस्पर्धाका लागि भने सङ्घर्ष गर्नुपरेको बताइएको छ ।
-

साइकल स्वस्थ जीवनको पर्याय
कुमार न्यौपाने, न्युयोर्क
सन् २०१८ मा संयुक्त राष्ट्रसंघ महासभाले जुन ३ लाई साईकलको दिन अर्थात ‘साइकल डे ‘ भनेर घोषणा गरेसंगै साईकलसंगको मानव सम्बन्ध र आगामी दिनमा यसको प्रयोग अत्याधिक रुपमा बढ्दैछ भन्ने पुष्टि भएको छ । यो मानवको स्वास्थ्य, स्वच्छ वातावरण र सुगम र सहज यात्राको बिषय पनि बनेको छ । यस अर्थमा साईकलको बिश्वव्यापी मान्यताले साईकलको इतिहासको कदर भयो र यसका यात्रीहरुकालागि खुसीको खवर बन्यो । यस खबरले जीवन गुजाराका लागि साईकलमा भर पर्ने एउटा मजदुर कति खुसी भयो होला थाहा भएन तर करोडौं साईकल यात्रीहरुको प्रतिनिधि पात्रको रुपमा साईकललाई नै आफ्नो व्यवसाय बनाई टुर डे फ्रान्स जस्तो प्रतियोगीताको लगातार सातौं पटकको किर्तिमानी बिजेता लान्स आम्स्ट्रङ्ग या विश्वशान्ति नारा बनाइ साईकलबाट नै संसार घुमेका किर्तिमानी नेपाली साईकल यात्री पुष्कर शाह पनि खुसी भए होलान ।

जर्मन आविष्कारक वारोन भन ड्राइसले सन १८१७ मा प्याडल विनाको साईकल बनाएपछि फ्रेन्चहरुले साईकलको डिजाइनहरुमा परिमार्जन गर्दै लगे । क्रमिक रुपमा साईकलको आकार प्रकार र विकसीत सुबिधाहरुमा भएका परिवर्तनहरु आजपर्यन्त पनि कायमै छन । युग अनुसारको सुहाउँदो साईकलहरु बजारभरी पाइन्छ । बिश्वको उपभोग्य बस्तुहरुको उत्पादन, माग र त्यसको आपूर्तिलाई हेर्ने हो भने आज चीन बिना कल्पना गर्न नसकिने भएको छ । अन्य उपभोग्य सामानहरु जस्तै साईकलमा पनि चीनियाँ उत्पादनले बिश्वको ९.७ अरव डलरको साईकलको व्यापार मध्ये झण्डै ४०% (३.७ अरव) माग पूर्ति गर्ने रहेछ । कुनै बेला विश्वको साईकलको देश भनेर चिनिने चीन आर्थिक सम्बृद्धिसंगै साईकललाई मोटरकारले प्रतिस्थापन गर्दैछ । ठुलो जनसंख्या भएका देशहरुमा साईकलको प्रयोग घट्दै जाँदा वातावरण प्रदुषण बिन्दु चाँहि बढ्दै गएको प्रमाणहरु भेटिदैछन । पर्याबरणको संरक्षण हेतु नेदरल्याण्ड, डेनमार्क, अन्य स्केण्डीनेभियन देशहरु, जापान, कोरीया, कम्बोडिया, फ्रान्स र अन्य युरोपीय देशहरु साथै अमेरीकाले साईकल र साईकल यात्री सम्बन्धि नीति बनाई लागू गरेका छन । विश्वभरी साईकलको प्रयोगमा बिबिधता देखिएको छ । हिजोको दिनमा बाध्यताको रुपमा वा जिविकोपार्जनको लागि प्रयोग हुँदै आएको साईकल आज स्वस्थ जीवन, ओलम्पिक खेल, व्यवसायिक गतिविधि, रोमाञ्चक खेल (माउन्टेन बाईकिङ्ग) र यात्राको पर्याय बनेको छ
केही समयदेखिको बसोवासको अनुभवले यो न्युयोर्क सहरको साईकल जीवन हेर्दा मिश्रित प्रकारको देख्छु । यँहा साईकलमा रोमाञ्कता छ र अर्कोतिर नैराश्यता । नैराश्यतालाई बिषय बनाई न्युयोर्केली साईकल यात्रीहरुको टाउको दुखाई भनेर लेख नै छापेको न्युयोर्क टाइम्स भन्छ, साईकलको सुरक्षा भएन अनि पर्याप्त साईकल स्ट्याण्डहरु खै ? यस सहर र वरपर झण्डै २० लाख साईकल छन । दैनिक साईकलबाट ओहोरदोहोर गर्नेको संख्या मात्रै झण्डै ६ लाख छन तर साईकल स्ट्याण्डहरु जम्मा ५६ हजारको लागि मात्र ! भएका साईकल स्ट्याण्डहरुपनि थोत्रा र पुराना साईकलहरुको थुप्रोले भरिएका । ति जंक (फोहोर) मानिने थोत्रा साईकलहरुको उचित व्यवस्थापन नभएसम्म साईकल स्ट्याण्ड थपेपनि समस्या जहाँको त्यही हुने देखिन्छ । छाना तथा सुरक्षा नभएका कारण छोटो वा लामो समयको लागि साईकल अड्याउन पनि मुश्किल छ । केही घण्टाका लागि साईकल बिसाउँदा नै सिङ्गै साईकल वा साईकलका महत्वपुर्ण भागहरुको चोरीको विगविगीले साईकल यात्रीको टाउको दुखाएको छ । सहरका कयौं साईकल बिसौनीहरुमा ताल्चा मारिएको भाग मात्रै भेटिनुले साईकलको असुरक्षाको मापन गर्न सकिन्छ र आफु बस्ने घर, अपार्टमेण्टमा साईकल राख्ने ठाँउको अभावले ईच्छा हुँदाहुँदै पनि साईकल किन्न नसकेकाको पिडा पनि उत्तिकै छ ।
साईकलको उज्यालो पाटो पनि छ । विश्वव्यापी रुपमै साईकलको प्रयोगमा हिजो भन्दा बढोत्तरी हुदैछ । साईकलको स्वर्ण समय भनेर मानिने यो कोरोना कालले साईकलको महत्वलाई नयाँ उचाइमा पुर्याएको छ । १,३५० माइल साईकल बाटाहरु भएको न्युयोर्क सहरमा साइकलको लागी बाटाहरु थपिदै छन र साईकल बिसौनीहरु पनि व्यवस्थित र सुविधासम्पन्न बन्नुपर्छ भन्नेमा सबै जागरुक देखिन्छन । साईकलको अर्को अनौठो लाग्ने पक्ष छ त्यो हो यँहा पाईने साईकलमा प्रकारहरु । सानो ठुलो, सस्तो महँगो, होचो अग्लो, मोटो पालतो, गह्रुङ्गो, हलुङ्गो, व्यवसायिक, खेलकुदको लागी, शारीरिक फरकपन भएकाहरुको लागी, सामान बोक्नको लागी, बच्चाहरु डुलाउनको लागी, बिद्युतीय, या सोलारबाट चल्ने या दोब्र्याएर लैजान मिल्ने (फोल्डिङ्ग) साईकलहरुले साईकल यात्रीहरुलाई रौनकता थप्दो छ । सहरले व्यवस्था गरेको सिटीवाइक नाउँका साईकलहरु पनि प्रसस्त नै छन । आफैले सिटिवाइक एप डाउनलोड गरी साईकल बिसौनिबाट साईकल लिई मन लागेको ठाँउ जाने र नजिकैको बिसौनीमा छोड्न मिल्ने साईकलको सहर बनाउने योजना अनुसार हाल भएको १८ हजार सीटीबाइकको संख्यामा थप गरी ४० हजार बनाउने भन्ने योजनाले साईकल र साईकल यात्रीहरुको हितमा काम हुदैछ भन्ने देखिन्छ ।
लण्डनको भन्दा एकतिहाई कम साईकल स्ट्याण्ड भएको न्युयोर्क सहरले व्यवस्थित गर्न नसकेको अर्को पाटो सववेमा साईकल अड्याउनको लागी स्ट्याण्डहरुको अभाव । न्युयोर्कमा सववे भने झैं लण्डनका अण्डरग्राउण्ड ट्रेन सिस्टममा टाढाका जागीरे यात्रुहरुकोलागी निकै राम्रो व्यवस्था भएको पाइन्छ । यस्तो पुर्वाधारमा बेइजिङ्ग, टोकियो र सोल अव्वल मानिन्छन । युरोपका कयौं सहरहरुले साईकललाई साच्चिकै माया गरेका छन, नेदरल्याण्ड र डेनमार्कका प्रधानमन्त्रीहरु नै नियमीतरुपमा साईकल चढी कार्यालय जाने भएकोले आज ती देशहरु मोटरजन्य प्रदुषणलाई उल्लेख्यरुपमा कम गर्न सक्षम भएका छन । विश्व पर्यावरण, नागरीक स्वास्थ्य, साईकल यात्रीहरु र बटुवाहरुको हितकोलागी कोपनहेगनाइजेसन मोडलको साईकल सम्बन्धी पुर्वाधारको बिकास आजको आवश्यकता हो भनि विज्ञहरु बताउँदैछन ।
आफ्ना कुराहरु ठुला र लामा परियोजनाहरु नभएपनि काठमाडौंका केही सडकहरु, पाटनको मुख्य सडक तथा भक्तपुरको बाटोहरुमा साईकल मैत्री बाटोहरु बन्दै जानु सकारात्मक कुरा हो । पुष्कर शाह लगायत कयौं साईकल यात्री तथा सम्बन्धित संघसंस्थाहरुको बारम्वारको माग, परामर्श र आव्हनमा नेपालमा पनि साईकल मैत्री सडक बनाउन पर्ने र साईकलको सुविधाकोलागी राज्यले लगानि गर्नुपर्ने बिषय सुन्न पाईदैछ ।
साईकल चलाउन सबैलाई मनपर्छ होला । एकताका भनेको सुनिन्थ्यो कि चितवन तिर साईकल चलाउन नजान्ने छोरीमान्छेको बिहे नै हुन्न । हाम्रो तिर चितवनको जस्तो नभएतापनि दिदीहरुले सिक्नको लागि भाडामा साईकल ल्याउनुहुन्थ्यो, त्यसैको मौका छोपी साईकलसंग नजिकिन पाउँथें । १८९० ताका न्युर्योकको हार्लेमतिर महिला उत्थानको नारा संगै साईकल चलाउन सहरले नै सिकाउदै गर्दा १९९० तिर मेरो दिदीहरु चाँहि स्वतस्फुर्तरुपमा साईकल चलाउन जान्नुपर्छ भन्दै सिक्दैथिए । स्वतन्त्रता र उत्थानको आन्दोलनमा होमिएको साईकलसंगको मेरो त्यस्तो अविष्मरणीय सम्बन्ध त छैन तर केही सम्झनाहरु भने पक्कै छन ।
सानोमा दिदीहरुले सिक्नको लागी भाडामा ल्याउने फुच्चे साईकलहरु मौका पाउँदा घुमाएको भरमा सिकेको मलाई साहिँलो दाजुले रक्सौलबाट सिटिजन घडिसंगै ल्याइदिनुभएको मझ्यौलो साईकलले निकै खुसी दिएको थियो । एसएलसी परीक्षा र ट्युसनको चक्करले नयाँ साईकल जुराइदियो । हेटौंडा वरपर साईकल कुदाएको सम्झना ताजै छ, पछि काठमाण्डौंमा साईकलसंग खासै नाता रहेन । त्यसपछिको बाह्र पन्ध्र बर्षको समय मोटरसाईकल र मोटरगाडी भनेरै बित्यो । अघिल्लो महिना आल्बनि घुम्ने क्रममा छोरीको करले भाडामा लिएको साईकलको छोटो यात्रा नै उ बेलाको साईकलको यात्रा सम्झाउने माध्यम बन्यो । हरिया घाँसबीचका गोरेटो बाटोहरुमा साईकल कुदाएको गहिरो आनन्दपुर्ण सम्झनाले मन पुलकित भयो । हाल बसोवास रहेको इष्ट भिलेजको पिटर कुपर अपार्टमेण्टमा साईकलको लागी स्टोरेज छ छैन बुझ्दैछु, तिव्र गतिको यो व्यस्त सहरमा आफु र परिवार सुहाउँदो साईकल किन्ने सोच्दैछु ।
भनिन्छ नि हजारौं माइलको यात्रा पनि पहिलो पाईलाबाटै सुरु हुन्छ त्यही नै सही, यो एउटा सानो पहलले विश्व जलवायु परिवर्तनको उग्रतालाई मत्थर पार्न झिनो काम गरोस र आफ्नै वरपरको पर्यावरण र स्वास्थ्य जोगाउन साईकल किन्ने मेरो सोचाईसंग धेरैको सोचाई मिलोस । -

मेक्सिकोमा गर्भपतनलाई अब कानूनि मान्यता
काठमाडौं । मेक्सिकोमा गर्भपतनले कानूनि मान्यता पाएको छ । त्यहाँको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । गर्भपतन अपराध नभएको ठहर गर्दै अदालतले ऐतिहासिक फैसला गरेको हो । बीबीसीका अनुसार गर्भपतन गराएकालाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक हुने फैसला अदालतले गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले यस्तो फैसला सुनाए ।
उत्तरी राज्य खोवीलासँग सम्बन्धित फैसलाले अब गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्ने भएको छ। न्यायाधीश याग्वीलाले यो फैसला महिला अधिकारका दृष्टिले ऐतिहासिक भएको बताएका छन् । सर्वसम्मत गरिएको अदालतको यो फैसलापछि उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई कानुनी मान्इता दिन बाध्य बनाउने छ। मेक्सिकोका केही राज्यमा मात्रै गर्भपतनलाई कानुनी मान्यता छ। कतिपय राज्यले अझै गर्भपतनलाई अपराधको रुपमा लिँदै आएमा यो फैसलालाई ऐतिहासिक भनिएको हो ।
-

काठमाडौंमा ४० प्रतिशत मानिसले लगाए पूर्णमात्रामा खोप
काठमाडौं । काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रामा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँकाले यस्तो जानकारी गराएको हो । शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने जनसंख्या भने ४८ प्रतिशत पुगेको छ । पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको छ । ८ प्रतिशतले दोस्रो मात्रा लगाउने छन् ।
काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म ९ लाख १४ हजार ४८५ जना पुगेको छ । यहाँ पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना छ । काठमाडौं उपत्यका भित्र शङ्करापुर नगरपालिका र दक्षिणकालीमा पहिलो डोज शतप्रतिशत खोप दिइएको छ । अर्थातः यहाँ १८ वर्ष भन्दा माथिका सबैले खोप पाएका छन् ।
-

डब्चूएचओका उच्चअधिकारी सहित क्षेत्रिय कार्यकारी समितिको बैठक नेपालमा हुने
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का उच्च अधिकारी संलग्न रहने क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा आयोजना हुने भएको छ । राससले लेखे अनुसार बैठक २१ भदौदेखि २५ भदौसम्म काठमाडौंमा हुने भएको छ । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारी, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधि उपस्थिति हुने भएका छन् ।
बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुने समेत राससले लेखेको छ । बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ।
बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ । दक्षिण–पूर्वी एशिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्याण्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश छन्।
-

नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति
काठमाडौं । सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ । दक्षिण कोरियाली कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराए । कोरियाली कम्पनी एसके बायोसाइन्सले बेलायतको औषधि कम्पनी जीएसकेसँग मिलेर विकास गरेको खोपको परीक्षण नेपालमा हुन लागेको हो ।
खोपको तेस्रो चरणको ट्रायल जारी छ । यसमा एस्ट्राजेनेकाको खोपसँग तुलनात्मक अध्ययन गर्ने तयारी रहेको बताइएको छ । नेपालमा चार हजार मानिसमा खोपको ट्रायल हुने भएको हो । बाँकेको नेपालगञ्ज मेडिकल कलेज र धुलिखेल अस्पतालमा ट्रायल गरिनेछ ।
-

नेपालमा कोरोना खोप प्रभावकारी, खोप लगाएका ९० प्रतिशतमा एन्टीबडी
काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप प्रभावकारी बनेको पाइएको छ । अर्कोतर्फ सबै नेपालीको हिसाव गर्दा दुईतिहाइ मानिसमा कोभिड १९ को एन्टिबडी विकास भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनबाट यस्तो देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरो प्रोभ्यालेन्स सर्भे गरेको थियो । सर्भे अनुसार ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको छ ।
सर्वेक्षण अनुसार २१ असारदेखि ३० साउनसम्म ६ महिनाभन्दा बढी उमेरका १३ हजार १६१ व्यक्तिको नमुना संकलन गरि त्यसका आधारमा मूल्यांकन गरिएको थियो । ३ करोड जनसंख्यालाई नै प्रतिनिधित्व गर्ने गरी नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । औसतःमा २५० घरबाट १० घरको नमुना लिइ अध्ययन गरिएको हो ।
संकलिन नमुनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभर ६८.६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको निष्कर्ष निकालेको छ । कुल जनसंख्या ३ करोड (अनुमानित) मान्दा २ करोडभन्दा बढीमा कोभिड १९ एन्टिबडी देखिने भएको हो ।
खोप लगाएकामध्ये एक मात्रा मात्र कोभिड खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा लगाएकामा ९० प्रतिशतमा एन्टीबडी देखिएको छ । सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिङ्ग, उमेर, पेसा तथा सबै समूहमा लगभग समान रूपमा नै एन्टीबडी देखिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
-

नेपालमा मनसुन लम्बिने, बाढी-पहिरो र डुबानको जोखिम कायमै
काठमाडौं । नेपालमा मनसिन लम्बिनी भएको छ । अहिले जारी वर्षा अझै अझै केही दिन निरन्तर भइरहने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत हुन भनेको छ । आइतबार देशभर बदली भई वर्षा जारी छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा भइरहने सम्भावना छ ।
अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ । पहाडी क्षेत्रमा पहिरोको जोखिम छ । तराईका विभिन्न ठाउँ डुवानमा छन् । राजमार्गमा पुल भत्किएका छन् । पहाडी भूभागमा भूक्षय र साना(ठूला बाढीपहिरोका कारण नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आह्वान समेत गरेको छ । यो वर्ष नेपालमा औसातः भन्दा बढी पानी परिसकेको छ ।