Category: विज्ञान प्रविधि

  • नेपालमा ३७ हजारमा कोरोना परीक्षण, ४२ पुष्टी

    नेपालमा ३७ हजारमा कोरोना परीक्षण, ४२ पुष्टी

    काठमाडौं । नेपालमा ४२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । त्यसमध्ये मंगलबार मात्र १२ जना थपिएका छन् ।

    यी संक्रमित पत्ता लगाउने क्रममा कूल ३७ हजार मानिसमा कोरोनाको परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार सम्म आजसम्म पीसीआर र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट गरी ३६ हजार ७ सय १९ वटा परीक्षण गरिएको छ ।

    आरडिटी विधिबाट मात्र हालसम्म २७ हजार ९५६ वटा परीक्षण गरिएको छ ।

    जसमध्ये प्रदेश नम्बर १ मा २ हजार ६२०, प्रदेश नम्बर २ मा ३ हजार ५९८, बागमती प्रदेशमा ५ हजार १५७, गण्डकी ४ हजार १८३, प्रदेश नम्बर ५ मा २ हजार ४८३, कर्णाली प्रदेशमा ३ हजार ७३८, सुदुरपश्चिम प्रदेशमा ६ हजार १७७ वटा रहेको छ।

    आजसम्म देशभर ७ हजार ६७ क्वारेन्टाइनमा छन् । आइसोलेसनमा १ सय ७ जना रहेको मन्त्रालयको तथ्यांक छ ।

    काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिर १०१ जना आइसोलेसनमा रहेका छन्। ५ जना भने निकोभएर घर फर्किएका छन् ।

  • आज दिनभरजसो वर्षाको सम्भावना, नदीमा जल प्रवाह बढ्ने चेतावनी

    आज दिनभरजसो वर्षाको सम्भावना, नदीमा जल प्रवाह बढ्ने चेतावनी

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भइरहेको वर्षा आज दिनभर जसो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सोमबार रातीदेखि जारी वर्षा मंगलबार बिहान केही सुस्ताएको छ । प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका अधिकांश स्थानमा बर्षा जारी रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

    ती स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भैरहेको विभागले जनाएको छ । पानी पार्ने प्रणाली उत्तर पूर्वतिर सर्दै गएको र यसले निरन्तर वर्षा जारी रहने भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।

    खासगरी पहाडी भागमा भएको वर्षाले नदी तथा खोलामा जलसतह बढ्ने भएकाले तटीय क्षेत्रमा सचेत रहने विभागले आग्रह गरेको छ ।

    अहिले प्रिमनसुन गतिविधि सक्रिय भएको छ । स्थानीय वायु र पश्चिमी निम्न चापीय प्रणाली मिसिएका कारणले यसले वर्षा गराइरहेको छ ।

    केही मात्रामा बंगालको खाडीबाट निस्किएको जलवाष्पयुक्त हावा समेत नेपाली आकासमा मिसिएको हो ।

  • नेपालको ७५ जिल्लामा शुरु भयो कोरोना परीक्षण

    नेपालको ७५ जिल्लामा शुरु भयो कोरोना परीक्षण

    काठमाडौं । नेपालको ७७ जिल्लामध्ये ७५ वटा जिल्लामा कोरोनाको परीक्षण शुरु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्‍यापिड डायग्नोस्टिक विधिबाट ७५ जिल्लामा परीक्षण शुरु भएको छ ।

    अब सोलुखुम्बु र डोल्पा जिल्लामा मात्र यस्तो परिक्षण शुरु हुन बाँकि रहेको छ ।

    र्‍यापिड डायग्नोस्टिक विधिबाट पोजेटिभ आएको व्यक्तिको स्वाव संकलन गरी थप परीक्ष्णका लागि काठमाडौंसहित देशभर रहेका एक दर्जन ल्यावमध्ये पायक पर्ने ल्यावमा पठाउने गरिन्छ ।

    मन्त्रालयका अनुसार प्रदेशहरुमा थप ३० हजार यापिड डायग्नोस्टिक किट पठाइएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार र्‍यापिड टेष्ट सोलखुम्बु र डोल्पामा समेत शुरु गर्ने तयारी छ ।

    नेपालमा अहिलेसम्म भएका परीक्षणबाट ३० जनामा कोरोना पुष्टी भएको छ । शुक्रबार मात्र १४ जना थप संक्रमित भेटिएका हुन् ।

  • लगातार दोस्रो दिन नेपालमा देखिएनन् कोरोना संक्रमित

    लगातार दोस्रो दिन नेपालमा देखिएनन् कोरोना संक्रमित

    काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाको नयाँ संक्रमण फेला परेन । कुल ६ हजार भन्दा बढी मानिसमा भएको परीक्षणमा कोरोन संक्रमण भेटिएन ।

    यससँगै नेपालमा अहिले मात्र १६ जनामा कोरोना पुष्टी भएको छ । विभिन्न जिल्लामा र्यापिड टेस्टमा पोजेटिभ आएका रिपोर्ट पनि स्वाब परीक्षणमा नेगेटिभ आएको छ ।

    पछिल्लो २४ घण्टामा स्वाब परीक्षण विधि र र्‍यापिड डाइग्नोस्टिक विधिबाट ३ हजार ६ सय ३२ वटा नमुना परीक्षण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार स्वाब परीक्षण (पीसीआर) विधिबाट ३ सय ६९ जना र र्‍यापिड डायग्नोस्टिक (आरडीटी) विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको हो ।

    विरगञ्जको छपकैयामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय र्‍यापिड परीक्षण भएको छ । अहिलेसम्म दुवै विधिबाट १९ हजार ३ सय ३२ परीक्षण भएको छ ।

    जसमा पीसीआर विधिबाट ७ हजार २ सय ४० र आरडीटी विधिबाट १२ हजार १ सय ९२ परीक्षण भएका छन् ।

    देशभरी नै सरकारले आरडीटी परीक्षणको दायरा बढाएको छ । ८ जिल्लाबाहेक सबै जिल्लामा आरडीटी परीक्षण सुरु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण भएको छैन ।

  • नेपालमा रेकर्ड ब्रेक परीक्षण, थपिएनन् संक्रमित

    नेपालमा रेकर्ड ब्रेक परीक्षण, थपिएनन् संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र अहिलेसम्मकै बढी मानिसमा कोरोना परीक्षण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो ।

    तर, यस परीक्षणबाट कुनै पनि मानिसमा कोरोनाको संक्रमण पुष्टी भएन । यसअघि मंगलबार दुई जनामा कोरोना पुष्टी भएसँगै नेपालमा कूल संक्रमित १६ पुगेको छ । तर, बुधबार भने नयाँ संक्रमित नभेटिएको मन्त्रालयले जानकारी दिइको छ ।

    अहिलेसम्म नेपालमा कूल १६ हजार मानिसको कोरोना भाइरस परीक्षण भएको छ ।

    मन्त्रालयका अनुसार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ८ हजार ९ सय २९ र पीसीआर विधिबाट ६ हजार ८ सय ७१ वटा गरी कुल १५ हजार ८ सय वटा परीक्षण गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४ घण्टामा २ हजार ८ सय ९४ वटा परीक्षण गरीएको हो ।

    अहिले देशभर ५ हजार ६१४ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा भने कुल ११७ जना रहेको तथ्यांक छ ।

    अहिले देशका अधिकांश जिल्लामा आरडीटी टेस्ट भइरहेको छ । पीसीआर विधिबाट भने देशका विभिन्न एक दर्जन ल्यावमा परीक्षण भइरहेको छ ।

  • सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ

    सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ

    काठमाडौं । भक्तपुरको पेप्सिकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा आज करीव ३ जना व्यक्तिमा कोरोनाको परीक्षण भएको छ ।

    कोरोना संक्रमण पुष्टी भएका दुई जना नागरिक बस्ने ब्लकमा आज र्यापिड टेस्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गरिएको हो ।

    परीक्षणमा नतिजा नेगेटिभ आएको छ । यसले उक्त क्षेत्रमा दुई दिनदेखि व्याप्त डर केही हदसम्म कम भएको छ ।

    कागेश्‍वरी मनोहरा नगरपालिकाका अनुसार बेलायतको लण्डनबाट आएका परिवार बसेको ब्लक ए टावरमा रहेका सबै अपार्टेमन्टका करिब ३ सयजनाको परीक्षण बुधबार सम्पन्न भएको छ ।

    सबै व्यक्तिमा कोरोना नेगेटिभ देखिएको हो। त्यहाँ पाँचवटा ब्लक छन्। सबै ब्लकमा बस्ने मानिसलाई परीक्षणको तयारी छ ।

    परीक्षण गरिएकामध्ये कोरोना संक्रमित परिवारको फ्ल्याटमा सहयोगीको काम गर्दै आएका दुईजनाको भने पिसिआर प्रविधिबाट परीक्षण गरिने भएको छ ।

    त्यसका लागि उनीहरुको स्वाब जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

    चैत ५ मा बेलायतबाट आएका एकै परिवारका आमा र छोरालाई कोरोना पोजेटिभ देखिएको छ। बुहारीमा भने कोरोना नेगेटिभ देखिएको छ । अपार्टमेन्टलाई अहिले प्रहरीले सिल गरेर राखेको छ ।

  • चट्याङको असर विद्यूत प्रसारणमा, देशभर एकै पटक गयो लाइन

    चट्याङको असर विद्यूत प्रसारणमा, देशभर एकै पटक गयो लाइन

    काठमाडौं । हावाहुरी र चट्याङले मुलुकभरको विद्यूत प्रसारण लाइनमा असर गरेको छ । बुधबार राती पौने ९ बजे देभैभर लाइन गएको हो ।

    यसले करिब १५ मिनेट देश अन्धकार बनेको छ । राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

    अवरुद्ध सेवा सूचारु गर्न तत्काल प्राविधि खटिएका थिए । करीव एक घण्टा भित्र देशभरकै प्रसारण लाइनमा विद्युत आइसकेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार केन्द्रीय प्रणाली नै अवरुद्ध भएकाले देशभर विजुली गएको हो । प्राधिकरणका अनुसार चट्याङ तथा हावाहुरीका कारण कुनै आयोजना सटडाउन भएपछि माग र आपूर्तिको सन्तुलन नमिल्दा यसरी समस्या सिर्जना हुन्छ ।

  • नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण

    नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण

    काठमाडौं । नेपालमा एकै दिन १८ सयभन्दा बढी मानिसमा कोरोनाको परीक्षण भएको छ । सरकारले पछिल्ला दिनमा कोरोना परीक्षणलाई तिब्रता दिएको हो ।

    यससँगै हालसम्म करिब १३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो । जसबाट १६ जनामा कोरोना पुष्टी भएको छ ।

    कोरोना पुष्टी भएकामध्ये १४ जना विदेशबाट आएका व्यक्ति हुने । एक जनालाई परिवारबाटै सरेको पाइएको छ । एक जनाको स्रोत भने अझै खुलेको छैन ।

    वीरगन्जमा चिया पसल चलाउने एक महिनामा कैलाली पुगेपछि कोरोना देखिएको छ । उनको मुल स्रोत भने पत्ता लाग्न सकेको छैन ।

    मंगलबारसम्म १२ हजार ९ सय ६ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६ हजार २ सय ९९ वटा र र्‍यापिड टेष्ट किटमार्फत ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् ।

    पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा मात्र नयाँ ५८४ वटा परीक्षण गरिएको छ ।

    तीमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३८७ वटा र काठमाडौंबाहिर १९७ वटा परीक्षण गरिएको हो ।

    र्‍यापिड किटबाट भने पछिल्लो २४ घण्टामा १३ सय १६ वटा परीक्षण गरिएको छ । अहिले देशभर ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा बसेका छन् । ९९ जना भने आइसोलेशनमा छन्।

  • मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना

    मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा प्रभाव पार्न थालिसकेको छ ।

    जसले गर्दा मंगलबारसमेत देशका विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    मंगलबार दिउँसो पुर्व, मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने विभागले उल्लेख गरेको छ ।

    मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो काठमाडौंमा समेत पानी पर्ने सम्भावना छ ।

    यसअघि सोमबार राती नै काठमाडौंसहित देशका विभिन्न स्थानमा ठूलो आँधिसहित वर्षा भएको छ । काठमाडौंमा गतराति २ मिलीमिटर बर्षा मापन गरिएको छ ।

    अहिले उपत्यकाको न्युनतम तापक्रम १५ डिग्री सेल्सियस रहेको छ । काठमाडौंको अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान छ ।

    पानी पर्दा मकै छर्ने तयारीमा रहेका कृषकलाई भने फाइदा पुग्छ ।

  • र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ

    र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ

    पोखरा । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङमा अहिले द्रुत परिक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) जारी रहेको छ । आइतबार र्यापिड टेस्टले पोजेटिभ देखाएको एक नमुना अन्ततः नेगेटिभ सावित भएको छ ।

    ६५ वर्षिय महिलामा पोजेटिभ देखिएको थियो । काठेखोला–६ मा कूल ५७ जनामा गरिएको परिक्षणबाट एक महिलामा पोजेटिभ देखिएको थियो ।

    र्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि उनको स्वाब थप परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो ।

    पोखरामा पिसिआर मेसिन मार्फत गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

    आइतबार नै स्वाब टेष्टका लागि पोखरा पठाइएको थियो । रिपोर्ट सोमबार दिउँसो आएको हो ।

    र्‍यापिड टेष्टमा गरिने परीक्षण ६० प्रतिशत मात्र विश्वसनीय विज्ञहरु बताउँछन् ।

    ठूलो संख्यामा टेष्ट गर्दा किट मार्फत र्‍यापिड टेष्ट गरिन्छ । र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिए पिसिआर मेसिनबाट टेष्ट गरेपछि मात्र भेरिफाई गर्ने गरिन्छ ।

  • कोरोना परिक्षण ५२ जिल्लामा बिस्तार

    कोरोना परिक्षण ५२ जिल्लामा बिस्तार

    काठमाडौं । नेपालमा कोरोनाको परिक्षण ५२ जिल्लामा बिस्तार भएको छ । सरकारले ५२ जिल्लाबाट कोभिड–१९ को परीक्षण सुरु गरेको जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण शुरु गरिएको छ ।

    अहिले पीसीआरबाट देशभर ११ स्थानमा परीक्षण हुने गरेको छ । अब बाँकी २५ जिल्लामा समेत परीक्षण शुरु गर्ने तयारी सरकारको छ ।

    सरकारले परिक्षणको दायरा बढाएसँगै संक्रमितको संख्यामा समेत वृद्धि भएको देखिएको छ । सोमबारसम्म कूल १४ जनाका संक्रमण देखिएको छ ।

    मन्त्रालयका अनुसार दुवै विधिबाट सोमबारसम्म कूल १० हजार ९८२ जनाको परीक्षण भएको छ ।

    यसमध्ये पीसीआरबाट पाँच हजार ६९१ र र्‍यापिड डाइग्नोष्टिक टेष्टबाट पाँच हजार २९१ जनाको परीक्षण भएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौँमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ ।

    प्रवक्ता डा देवकोटाका अनुसार पर्सामा आइतबार संक्रमित देखिएका तीन जना व्यक्तिका आफन्त, नातेदार र नजीकका मानिसको निगरानी गर्न शुरु गरिएको छ ।

    नेपालमा अहिलेसम्म कैलालीमा ६, बागलुङ्ममा २, काठमाडौँमा २, पर्सामा ३ र रौतहटमा १ जनामा संक्रमण पुष्टी भएको छ ।

  • एनसेलद्धारा सबै पूँजिगत लाभकर चुक्ता, एकै दिन बुझायो १४ अर्ब ३३ करोड

    एनसेलद्धारा सबै पूँजिगत लाभकर चुक्ता, एकै दिन बुझायो १४ अर्ब ३३ करोड

    काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सेयर स्वामित्व खरिद बिक्रीवापतको सरकारलाई बुझाउनु पर्ने सबै कर चुक्ता गरेको छ ।

    एनसेल प्रालिबाट आइतबार मात्र १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको ठूला करदाता कार्यालयले जनाएको छ । अब कम्पनीले सरकारलाई तिनुपर्ने लाभकर चुक्ता भएको कार्यालयले जनाएको छ ।

    ठूला करदाता कार्यालयका अनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर बुझाएको हो ।

    यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ कर बुझाएको छ । एनसेलले तीन किस्तामा कर बुझाएको छ ।

    एनसेलले कर तिरेसगै पुँजीगत लाभकर सम्बन्धी २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको ठूला करदाता कार्यालयले उल्लेख गरेको छ ।

  • मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

    मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

    काठमाडौं । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वयलाई अझ प्रभावकारी बनाइने भएको छ ।

    शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गरेका छन्।

    उक्त अवसरमा समन्वयलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री शनिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आएका थिए ।

    दोस्रो पटक मिगौला प्रत्यारोपणपछि उनी शनिबार दोस्रो पटक नै आफ्नो कार्यालय पुगेका हुन् ।

    यसअघि उनले सार्क राष्ट्रका राष्ट्र प्रमुखहरुसँग भिडियो वार्ताका लागि आफ्नो कार्यालयमा पुगेका थिए ।

    पछिल्लो समय भने प्रधानमन्त्रीले आफ्नो सक्रियता बढाएका छन् । सोहीक्रममा उनले मूख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

    सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    मुख्यमन्त्रीसँगको भिडियो संवादमा ओली क्याबिनेटका मन्त्री र सल्लाहकार सहभागी थिए ।

    भिडियो संवादमा कोभिड १९ को जोखिम, सुरक्षा रणनीति र दुवै तहका सरकारको तयारीबारेमा संवाद भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

  • अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

    अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

    काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त चिकित्सकलाई समेत सेवामा खटाउने भएको छ ।

    यसबाहेक सरकारी छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालनको योजना बनाएको छ ।

    सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवी रुपमा केही अवधिका लागि उनीहरुको सेवा लिने तयारी गरिएको हो । यसका लागि सार्वजनिक आह्वान गर्न लागिएको  छ ।

    सरकारले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई पनि सरकारी सेवामा आउन चाहेमा कार्यरत पदमै मिलान गरी ल्याउने निर्णय गरिसकेको छ ।

    यसका लागि निजीका डाक्टरले पनि सरकारी डाक्टरसरह सुविधा पाउने भएका छन् । यस्ता जनशक्ति कम्तीमा तीन महिनाका लागि खटाइने भएको छ ।

    अवकाश प्राप्तलाई सेवामा लिँदा उमेरको कुनै हद नहुने र अनुभवी तथा पाका चिकित्सकलाई अझ बढी सुविधा र सम्मान आवश्यक परे राष्ट्रलाई आवश्यक परेका बेला उनीहरुको दक्षता उपयोग गर्ने तयारीमा सरकार रहेको हो ।

    नेपालको राष्ट्रिय समाचार संस्था रासससँग कुरा गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो जानकारी दिए ।

    मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मीको अभाव हुन नदिन सबै उपाय अवलम्बन गरिएको समेत बताएका छन् ।

    अहिलेकै स्वास्थ्य क्षेत्रमा भएकै जनशक्तिको पनि उचित परिचालन नभएको र स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लकडाउनको सुरुका अवधिमा सीमित सङ्ख्यामा भएको परीक्षणलाई प्रदेश र जिल्लास्तरमा विस्तार गरिएको उनले बताएका छन् ।

    अहिले काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र काठमाडौ‌ं बाहिरका १० स्थानमा कोरोनाको भाइरसको परीक्षण भइरहेको छ ।

  • वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

    वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

    वुहान । कोरोनाको उद्गमस्थल चीनको हुबेई प्रान्तको राजधानी वुहानमा लकडाउन खुलेको छ । यससँगै चीनबाट यो रोगको संक्रमण उन्मुलन भएको छ ।

    बुधबारदेखि यहाँ यातायात सेवा सूचारु भएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन् । यहाँ लगातार ७६ दिन लकडाउन भयो ।

    सरकारले यसबीचमा व्यापक स्वास्थ्य अभियान संचालन गरेको थियो । यो शहरले करीव ३ हजार मानिस गुमायो । तर, बुधबारबाट अवस्था सामान्य भएको छ ।

    बुधबार बिहानबाटै बुहानमा बस, रेल र विमान फेरि सञ्चालनमा आए । सेवा सूचारु भएसँगै यात्रु साविकझै यात्रा गरेका थिए ।

    विमान तथा रेल चल्ने भएपछि मंगलबार राति विमानस्थल तथा रेल्वे स्टेसनबाहिर मान्छेको लाइन लागेको थियो।

    संचारमाध्यमहरुका अनुसार बुधबारमात्रै २७६ वटा रेल बुहानबाट छुटेका छन् । ती रेल ग्वाङडोङ, सिचुवानलगायत प्रान्तका शहरमा गएका हुन् ।

    एकै दिन रेलमा ५५ हजार बढी यात्रुले यात्रा गरेका छन् । यहाँ तीव्र गतिको बुलेट ट्रेन जी ४३१ पनि बुधबारदेखि सञ्चालनमा आएको छ।

    उक्त बुलेट ट्रेन बिहान ७ बजे नानिङ शहरका लागि छुटेको थियो। बुहानको अन्तर्राष्ट्रिय विमानस्थलले पनि बुधबारबाट नै संचालनमा आयो ।

    यहाँ बुधबार करीव २ सय उडान अवतरण भएका छन् । एक महिना अगाडीसम्म निकै दर्दनाक रहेको बुहान अब भने सामान्य बनेको हो ।

  • राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने

    राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने

    काठमाडौं । कोरोना संकटका कारण हरेक दिन ज्यालादारी गरेर कमाउने वर्ग समस्यामा परेको छ । उनीहरुलाई अहिले विभिन्न क्षेत्रले सहयोग गरिरहेका छन् ।

    तर, केही मानिसले सहयोगका नाममा आफ्नो प्रचारको काम बढी गरेको भन्दै गुनासो आएपछि सरकारले अब सामाजिक संजालबाट राहत वितरणको फोटो तस्वीर सार्वजनिक गर्न नपाउने निर्णय गरेको छ ।

    राहत वितरणको सस्तो प्रचार गरेर गरिबीको मजाक उडाइएको भन्दै त्यसको आलोचना भइरहेको छ । सोहीकारण सरकारले सरकारले त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको हो ।

    कोरोनाको महामारीका कारण विश्व नै संकटमा परेको छ । यसबाट बच्न सरकारले ११ चैतबाट लकडाउन घोषणा गरेको हो ।

    कतिपयले भने स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षाका लागि लगाउनु पर्ने पीपीई लगाएर फोटो सामाजिक सन्जालमा राखिरहेका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै स्थानीय तहहरुलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

    गरिब तथा विपन्न नागरिकले राहत महसुस गर्ने गरी काम गर्न तर प्रचारमा ध्यान नदिन यस्तो निर्देशन दिइएको हो ।

    केही स्थानीय तहमा स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग जनप्रतिनिधि तथा अन्य असम्बन्धित व्यक्तिहरुले समेत गर्ने गरेको तथा राहत वितरणका गतिविधिहरु समेत सार्वजनिकीकरणको लागि मात्र केन्द्रित गर्ने जस्ता गतिविधिहरु भएको बुझिएको हुँदा यसबाट जनमानसमा राम्रो सन्देश नजाने विषयलाई आत्मसात गरी यस्ता कृयाकलापहरु नगर्ने र नगराउने तथा यस्ता गतिविधिहरु निरुत्साहित गर्ने गरी सरकारले निर्देशन जारी गरेको हो ।

  • २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन

    २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन

    काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाका नयाँ संक्रमित बिरामी फेला परेनन् । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नियमित प्रेस ब्रिफिंग अनुसार आइतबार र सोमबार थप संक्रमण पुष्टी भएन ।

    २४ घण्टा भित्र कूल २२५ वटा नमुनाको परीक्षण भएको थियो । यससँगै नेपालमा कूल नमूना परीक्षणको संख्या १८९० पुगेको छ ।

    जसमध्ये ९ जनामा मात्र कोरोनाको पुष्टी भएको छ । उनीहरुमध्ये पनि एक जना भने घर फर्किसकेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १ सय ९ जनाको नमुनाको रिपोर्ट भने आउन बाँकि रहेको छ ।

    देशभर कूल ३० हजार ५ सय ६६ क्यारेन्टाइन बेड उपलब्ध रहेका े छ । जहाँ अहिले ९ हजार १ सय ६८ जना व्यक्ति बसेका छन् ।

    अझै पनि तेब्बर संख्यामा सम्भावित संक्रमितलाई राख्ने गरी क्वारेन्टाइन तयार भएको मन्त्रालयले जनाएको छ ।

    देशभर आइसोलेसन बेड भने ३ हजार २ सय ५९ रहेको छ । अहिले आइसोलेसनमा भने ९५ जना बिरामी रहेका छन् ।

    सरकारले सुदुरपश्चिम र बागलुंगमा भने र्यापिड टेस्टको तयारी गरेको छ । यसका लागि टोलीहरु खटिइसकेको मन्त्रालयले जनाएको छ ।

    र्यापिड टेस्ट भने २० हजार मानिसमा गरिने भएको छ ।

  • कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

    कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

    न्युयोर्क

    हरेक अंध्यारो पछी उज्यालो पक्का आउँछ अनी खराब समय सधैं रहदैन भने जस्तो अमेरिकामा अब बिस्तारै कोरोना भाईरसबाट बच्ने उपचार बिधी पहिल्याईदै छ।अमेरिकाको न्युयोर्क शहरमा ४ हजार जना कोभिडका बिरामीहरुलाई एन्टीमलेरियाको औषधी  हाईड्रोक्सक्लोरोकुईन दिएर उपचार सुरु गरिएको राज्यका स्वास्थ अधिकारीहरुले जनाएका छँन् ।न्युयोर्क राज्यका स्वास्थ अधिकारीहरुले बताएका छँन् -डिपार्ट्मेन्ट अफ हेल्थले न्युयोर्कका ५६ वटा अस्पातलमा उपचारत ४ हजार कोभिड -१९ का  बिरामीको उपचारको लागि पर्याप्त हुने हाईड्रोक्सक्लोरोकुईनको डोज पठाईसकेको छ । कोभिड -१९ का बिरामीको लागि आबस्यक पर्ने १० दिने औषधीको कोर्स न्युयोर्कका अस्पातलहरुमा बिरामीलाई दिन सुरु गरिएको छ । एन्टीमलेरिया औषधीको कोभिड -१९ का बिरामीमा पर्ने सकारात्मक असरका बारेमा युभर्सिटी अफ अल्बानीज स्कुल अफ पब्लिक हेल्थले निरिक्षण गरिरहेको छ । यो औषधी कोभिड -१९ का बिरामीलाई दिएर उपचार गर्न हुने वा नहुनेको निर्क्योल यसै हप्ताको अन्त्यसम्म हुने बताईएको छ ।

    यो हप्ताको अन्त्य सम्म कोभिडका बिरामीलाई निको पार्न हाईड्रोक्सक्लोरोकुईन काम लाग्ने औषधी  ठहरेको खण्डमा यो अत्यन्त महत्वपूर्ण हतियार हुने बाताईको छ । फेडरल फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन ( एफ डि ए ) ले  एक हप्ता पहिले नै हाईड्रोक्सक्लोरोकुईनको दिएर कोभिड -१९ का बिरामीलाई उपचार गर्न अस्थाई स्वीक्रिती दिएको थियो ।

    यस अगाडि लसएन्जलसस्थित मेन्ड अर्जेन्ट केयरका सि ई ओ डा एन्थोनी कार्डिलो हाईड्रोक्सक्लोरोकुईनको कोभिड-१९ बिरामीमा असर बारे भनेका थिए ” अती नै सम्बेदनसिल अवस्थामा पुगेका कोभिड -१९ का बिरामी छँन्  उनिहरुमा जिंकको साथमा हाईड्रोक्सक्लोरोकुईन चलाऊदा सम्बन्धित बिरामी ८ देखी १२ घण्न्टामा सुधारउन्मुख हुने गरेका छँन् ” ।  

    क्लोरिकुईन र हाईड्रोक्सक्लोरोकुईन संन्  १९४४ देखी मलेरिया रोकथाममा प्रयोग हुँदै  आएको औषधी हो ।  

  • एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी

    एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी

    काठमाडौं । सरकारले नेपालमा एकै पटक २० हजार व्यक्तिमा कोभिड १९ को परीक्षण गर्ने भएको छ । यो परीक्षण सुदूरपश्चिम प्रदेश र बागलुङमा गर्न लागिएको हो ।

    सुदुरपश्चिममा समुदायस्तरमा कोरोना भाइरसको संक्रमणको आंशका सहित सरकारले र्‍यापिड टेष्टको तयारी थालेको हो ।

    यसअघि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्‍यापिड डायग्नोस्टिक टेष्ट प्रविधिबाट कोभिड१९ को परीक्षण गर्ने निर्णय गरेको थियो ।

    यसरी धेरै जनामा हुने परीक्षणबाट जुन व्यक्तिको रिर्पोट पोजेटिभ आउँछ, उसको मात्र पीसीआर प्रविधिबाट परीक्षण गरी कोरोना भए नभएको निश्चित गरिने भएको छ ।

    यसको तयारी थाल्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

    कार्यालयका अनुसार अब कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको परीक्षण हुने भएको छ ।

    बागलुङका कोरोना संक्रमित व्यक्तिहरुको बासस्थान वरपर र तिनीहरुको सम्पर्कमा रहेकाको समेत परिक्षण गर्न लागिएको छ ।

    २०७६ चैत महिनामा नेपाल प्रवेश गरेका र तिनीहरुको सम्पर्कमा रहेका सबै व्यक्ति अब परीक्षणको दायरामा आउने भएका छन ।

    कैलालीमा विदेशबाट आएका एक संक्रमितबाट परिवारको सदस्यमा संक्रमण सरेको पाइएपछि सरकारले र्‍यापिड टेष्टमा जाने निर्णय गरेको हो ।

    कैलाली र कञ्चनपुरमा भारतबाट आएका दुई पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । र्‍यापिड टेष्ट गर्ने जिल्लामा बागलुङ पनि हो ।

    यहाँ दुई जना संक्रमित छन् । उनीहरु दुवैजना बेल्जियमबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएका हुन् ।

    उनीहरु विदेशबाट आएपछि होम क्वारेन्टाइनमा नबसी समुदायमा निस्फ्रिकी डुलेका थिए । त्यसकारण स्थानीय स्तरमा संक्रमण फैलिएको गएको आशंका छ । र्‍यापिड टेष्टका लागि तालिमप्राप्त एउटा टोली बागलुङ र अर्को टोली सुदूरपश्चिमतिर सोमबार प्रस्थान जाँदैछ ।

  • के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?

    के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?

    न्यूयोर्क

    टि बी (ट्युबरक्लोसिस) रोग बिरुद्धको खोप अनिबार्य गरिएका देशहरुमा कोरोना भाईरसका कारण मृत्‍यु हुनेहरुको संख्या  निक्कै कम देखिएको एक अध्ययनले देखाएको छ ।  टि बि बिरुद्धको  खोप अनिबार्य  नगरिएका देशहरुमा कोरोनाको कारण मृत्‍यु हुनेको संख्या अधिक भएपनि यो खोप अनिबार्य भएका देशहरुमा भने कोरोना संक्रमित र मृत्‍यु हुनेको संख्या निकै न्युन भएको उक्त अध्ययनले देखाएको छ ।  चिकित्सा बिषयका अप्रकाशित अनुसन्धान (अन पब्लिस मेडिकल रिसर्च ) हरुलाई   स्थान दिदै आएको मेडरिक्सभी (medRxiv) नामक न्युज साईटले उक्त अध्ययनको बारेमा लेखेको छ – हाल संसारमा महामारीका रुपमा फैलिएको कोरोना संक्रमित र मृत्‍यु हुनेको संख्या बि सि जि ( BCG ) bacille  calmette Guerin भ्याक्सिन अनिबार्य भएका देशमा निकै न्युन देखिएको  छ ।  यद्यपी  यो अध्ययनको अन्तिम निर्णय भने होईन । यो अनुसन्धानको लागि हाल विश्वका ६ वटा देश्हरुमा कोरोनाका बिरामीको उपचारमा अग्रपङ्तीमा काम गर्ने चिकित्सकहरु र बृद्धबृद्धाहरुलाई बि सि जि खोप दिएर अनुसन्धान सुरु गरिएको छ ।  यसको अन्तिम निर्णय आउन भने केही महिना लाग्ने बाताईएको छ ।

    हाल जनसंख्याको ठुलो हिस्सामा कोभिड -१९ देखिएका उच्च प्रतिब्यक्ति आय भएका अमेरिका र ईटालीजस्ता देशहरुमा बि सि जि  भ्याक्सिन आवस्यकता अनुसार मात्र लगाउने ब्यबस्था छ । यस्ता देशहरुमा बि सि जि भ्याक्सिन अनिबार्य छैन । जर्मनी, स्पेन, फ्रान्स, ईरान र बेलायतमा धेरै पहिले बि सि जि भ्याक्सिन अनिबार्य भएपनि यि देशहरुमा दसकौं पहिला बि सि जि भ्याक्सिनको ब्यबस्थालाई हटाईएको थियो । कोरोना महामारीको ऊद्गगम स्थल चीनमा बि सि जि भ्याक्सिन लगाउने ब्यबस्था भएपनि सन् १९७६ देखि यो भ्याक्सिनको पालना सही ढंगले हुने नगरेका कारण अधिकांस चिनियाहरुले बि सि जि खोप लिने नगरेको न्युयोर्क ईन्स्टिचुट अफ टेक्नोलोजीका एसिस्टेन्ट प्रोफेसर गोंजालो ओटजुले बताएका छन् । कोरोना भाईरसलाई छिट्टै ब्यबस्थापन गर्न सफल दक्षिण कोरिया र जापानमा प्रत्येक नागरिकले बि सि जि भ्याक्सिन लिनु पर्ने वाध्यकारी ब्यबस्था छ । यो अनुसन्धानको नेतृत्व हाल न्युयोर्क  ईन्स्टिचुट अफ टेक्नोलोजीका एसिस्टेन्ट प्रोफेसर गोंजालो ओटाजुले गरिरहेका छन् । चीन भन्दा बाहिर कोरोना देखिएको अर्को मुलुक जापानमा न्युन संख्यामा कोरोना संक्रमित देखिएको र बिना लक डाऊन नै ठुलो क्षती बिना नै कोरोनाको ब्यबस्थापन गर्न सफल भएको देखेपछि प्रोफेसर ओटाजुले बि सि जि खोप र कोरोना रोकथामका बिषयमा अनुसन्धान सुरु गरेका हुन् । यो बिषयमा ओटाजुले बताएका छँन् – बि सि जि भ्याक्सिनले टि बिको ब्याक्टेरिया मात्र होईन यसले अन्य सरुवा रोगबाट पनि बच्न मद्धत पुग्ने अनुसन्धानबाट देखिसकेको छ ।  

    झन्डै १२ लाख मानिस विश्वभर संक्रमित भएर ६४ हजारले ज्यान गुमाई सक्दा पनि सिंगो विश्व कोभिड -१९ सँग पौँठेजोरी खेल्दै छ ।  कोरोना बिरुद्धको भ्याक्सिन पनि बर्षौं पर छ भने उपचारमा प्रयोग गर्ने औषधी पनि अनुसन्धानको क्रममा नै छ । यस्तो अप्ठेरो परिस्थितीमा यदी बि सि जि भ्याक्सिनले कोभिड -१९ बिरुद्धको खोजी गर्नु उचित नै हुन्छ भनेका छन् । युनिभर्सिटी  अफ टोरन्टो  ईम्युनोलोजी डिपार्ट्मेन्ट्का प्रोफेसर ईलोनोर फिस ।  कोरोना भाईरस बिरुद्ध बि सि जि भ्याक्सिनको प्रभाबकारीता बारे अनुसन्धानका क्रममा नेदरल्यान्डस्थित रडबाउन्ड युभर्सिटी मेडिकल सेन्टरका सरुवारोग बिशेषज्ञ मीहाई नेतालको समुहले चार सयजना अग्रपङ्तीमा कार्यरत चिकित्सकहरुमा बि सि जि भ्याक्सिन दिई सकेको छ । यद्यपी यो अनुसन्धानको रिजल्ट आउन दुई महिना लाग्ने बताईएको छ ।

  • कोरोनाको खोप पत्ता लगाएको अमेरिकी डाक्टरको दावि कति सत्य ?

    कोरोनाको खोप पत्ता लगाएको अमेरिकी डाक्टरको दावि कति सत्य ?

    न्यूयोर्क । अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी)का डाक्टरले कोरोना भाइरस (कोभिड १९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको दावि गरेका छन् ।

    यद्दपी यसलाई कुनै आधिकारिक निकायले पुष्टी भने गरेका छैनन् । डाक्टरहरुले प्रेस विज्ञप्ती जारी गर्दै खोपको परिक्षण सफल भएको बताएका छन् ।

    उनीहरुले २१ जनवरीबाट खोपको विकास थालिएको उल्लेख गरेका छन् । डाक्टरहरुका अनुसार खोप मुसामा परीक्षण गरिएको थियो ।

    दुई साता भित्र खोपको प्रभावले मुसामा भाइरसविरुद्ध लड्ने क्षमताको विकास भएको उनीहरुको दावि रहेको छ । खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने र यो खोप लिँदा साइड इफेक्टसमेत नहुने उनीहरुको भनाई छ ।

    सार्स र मार्ससँग मिल्दोजुल्दो गरी खोप बनाइएको डाक्टरहरुले बताएका छन् ।

    यो खोप बजारमा उपलब्ध हुन भने अझै १२ देखि १८ महिनासम्म लाग्न सक्ने दावि गरेका छन् ।

    यसलाई सरकार र विश्व स्वास्थ्य संगठनले अनुमोदन गरेपछि मात्र मानिसमा परिक्षण हुने बताइएको छ । त्यसपछि मात्र यो बजारमा उपलब्ध हुने भएको छ ।

  • अब चितवनमा पनि कोरोना परिक्षण

    अब चितवनमा पनि कोरोना परिक्षण

    चितवन । अब चितवनमा समेत कोरोनाको परिक्षण सम्भव भएको छ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । यो प्रयोगशालाको काम आजबाट संचालनमा आएको हो ।

    स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बिहीबार दिनभर स्थानको अध्ययनमा जुटेको थियो ।

    प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको टोलीले निरीक्षण गरेको थियो ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति लिएर शनिबारबाट काम शुरु भएको हो । ल्यावमा दुई जना विज्ञले काम गर्नेछन् ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडिकल कलेजका डा. ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा आएको हो ।

    भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिकाकै पहलमा भरतपुरमा कोरोना विशेष (अस्थायी) अस्पताल समेत सञ्चालनमा आइसकेको छ ।

    यो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशङ्कामा बिरामीको नमूना केन्द्रीय प्रयोगशालामा पठाइने गरेको छ ।

    अब भने यो काम चितवनमै सम्भव हुने भएको हो ।

  • भारतमा ५ अप्रिलमा ब्लाकआउट, ९ मिनेट लाइट अफ गरिने

    भारतमा ५ अप्रिलमा ब्लाकआउट, ९ मिनेट लाइट अफ गरिने

    नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ब्लाकआउट घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन् ।

    उनका अनुसार ५ अप्रिलका दिन रातको ९ बजे ९ मिनेटका लागि देशभर लाइट अफ गरिने छ । त्यसक्रममा मैनवत्ति र दियो बालेर कोरोना विरुद्धको अभियानमा ऐकिवद्धता जनाउन उनले देशबासीलाई आह्वान गरेका छन् ।

    यसले यो रोगको लडाईमा १ सय ३० करोड जनता एक साथ छन् भन्ने सन्देश प्रवाह हुने प्रधानमन्त्री मोदीको दावि छ । यसले कोरोनाविरुद्ध लडिरहेका अभियन्ताहरुलाई समेत हौसला प्रदान गर्ने उनको भनाई छ ।

    भारतमा पछिल्लो समय कोरोनाको संक्रमण बिस्तार बढ्दै गएको छ । ठूलो जनसंख्या र कमजोर स्वास्थ्य प्रणाली भएका कारण भारतलाई यस रोगले चिन्तित बनाएको छ ।

    खासगरी भारतमा लकडाउन उल्लंघनको समस्या पनि उत्तिकै रहेको छ । भारतमा अहिले २१ दिनको लकडाउन चलिरहेको छ ।

    प्रधानमन्त्री मोदीले कोरोना संकटको अन्धकारबाट अझ अगाडी बढ्नुपर्ने चूनौति रहेको बताए ।

    खासगरी गरिब मानिसमा फैलिएको अनिश्चितता र अन्धकार चिर्न समेत जनताको ऐकिवद्धता आवश्यक रहेको उल्लेख गरे । मोदीले यस अभियानलाई जागरण अभियानको नाम दिएका छन् ।

  • अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने

    अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने

    काठमाडौं । नेपालमा अब कोरोनाको परिक्षण सातै वटै प्रदेशबाट हुने भएको छ । नमुना परिक्षण गर्न अब काठमाडौं आइरहनु पर्ने झण्झट हटेको छ ।

    सरकारले (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारबाट सबै प्रदेशमा प्रयोगशालाले काम गर्न थाल्नेछन् ।

    प्रदेश १ को धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबाबाट कोरोना परीक्षण शुरु भएको हो । पोखरामा बुधबार कोरोना परीक्षण सुरु भएको हो ।

    हेटौंडामा प्रयोगशालाका उपकरण तथा जनशक्ति व्यवस्थापन भइसकेको छ । यो प्रयोगशाला बिहीबारबाट संचालन हुनेछ ।

    प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर ५ को बुटवलमा पनि बिहीबारबाटै कोरोना परीक्षण सुरु हुने मन्त्रालयको भनाई छ ।

    प्रयोगशाला सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा उपकरणसहित जनशक्ति खटाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    काठमाडौंमा भने कोरोना परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ । यसअघि काठमाडौं बाहिरबाट नमुना टेकुमै ल्याउनु पर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ ।

  • कोरोना भाइरस संक्रमणबाट हुने कोभिड -१९ को उपचारमा यस्ता औषधि आउँदै छन्

    कोरोना भाइरस संक्रमणबाट हुने कोभिड -१९ को उपचारमा यस्ता औषधि आउँदै छन्

    न्युयोर्क

    कोरोना भाइरस संक्रमित तथा भाईरस संक्रमणको कारण हुने कोभिड -१९ को बिरामीको उपचार गर्ने निश्चित औषधि नबनेको कारण अहिले विश्व समुदाय आतंकित छ । झन्डै ५० हजार मानिसको ज्यान लिइसकेको भाइरस संक्रमणको जोखिममा लाखौं मानिस छन् । विश्वका शक्तिशाली मानिएका थुप्रै राष्ट्रहरु भाइरसका सामु निरिह देखिएका छन् । यद्यपी विश्वभर दर्जनौ औषधिहरुको परिक्षण उपचार भने सुरु गरिएको छ । कोरोना संक्रमणको उपचार बिधिमा प्रयोग गरिएका  कतिपय औषधिहरु भने निकै अगाडि बढी सकेका छन् । विश्वभरका बिभिन्न राष्ट्रहरुमा अहिले ७५ प्रकारका परिक्षण उपचार चलिरहेका छन् । ती परिक्षण उपचारहरु  मध्ये ७ प्रकारका औषधि र प्रयोग  कोरोना संक्रमितको सम्भावित सफल उपचारमा विश्वभर केन्द्र बिन्दुमा देखिएका छन् ।  

    रेमिडिसिभर (Remdesivir ) : 

    गिलिड नामक बायोफर्मा क्युटिकल कम्पनीको रेमिडिसिभर नामक यो औषधि प्रयोग गरेर कोभिड -१९ को परिक्षण उपचार सुरु गरिएको छ । यो औषधी सन् २०१४ देखि २०१६ सम्म अफ्रिकामा फैलिएको प्राणघातक ईबोलाका बिरामीको उपचारमा प्रयोग गरिएको एन्टी भाइरल हो । हालसम्म कोरोना संक्रमितको उपचारमा प्रयोग गरिएका दर्जनौ प्रयोग मध्ये रेमिडिसिभरको प्रयोग अग्रस्थानमा देखिएको छ । गिलिडको यो प्रयोग हाल परिक्षणको तेश्रो चरणमा रहेको मिल्केन ईन्स्टिचुटले जनाएको छ ।  रेमिडिसिभर प्रयोगको परिक्षण उपचारको  निष्कर्ष भने अप्रिल अन्तिमसम्म आउने अपेक्षा गरिएको छ । यो औषधिको क्लिनिकल ट्रायल भने चीन तथा अमेरिकाको युभर्सिटी अफ नेब्रास्कामा भै रहेको छ । यदी रेमिडिसिभरको परिक्षण सकारात्मक रुपमा अगाडि आएमा कोभिड -१९ संक्रमणको उच्च जोखिममा रहेका बिरामी बचाउनका लागि उनिहरुको नसाबाट औषधि दिइने छ ।  

    क्लोरोकुईन तथा हाईड्रोक्सीक्लोरोकुईन  (Chloroquine and Hydroxychloroquine ) :

    क्लोरिकुईन तथा हाईड्रोक्सक्लोरोकुईन हाल मलेरियाका बिरामीको उपचारमा प्रयोग गरिने औषधि हुन् । अमेरिकास्थित एफडिएले यी दुई औषधिलाई यसै हप्तादेखि अस्थाईरुपमा कोभिड-१९ को उपचारको लागि परिक्षणको रुपमा प्रयोग गर्न अनुमती समेत दिएको छ ।  गत मार्च ३० को दिन क्लोरिकुईन फोस्पेट तथा हाईड्रोक्सक्लोरोकुईन सल्फेटलाई कोरोना संक्रमणका कारण अस्पतालमा उपचार गराई रहेका युवा तथा बृद्धबृद्धाको उपचारको लागि प्रयोग गर्ने अनुमती एफडिएले दिए पनि यी दुई औषधि आँफै वा अन्य औषधिसँग मिसाएर प्रयोग गर्ने दर्जनौ क्लिनिकल ट्रायलहरु भने परिक्षण कै क्रममा छन् ।  मलेरियाको उपचार गर्ने यी दुई औषधि अहिले मानव शरिरमा प्रयोग गरेर अनुसन्धान गरिरहेको अवस्थामा छ ।  

    केभजारा ( Kevzara ) :

    गाऊटस् (Arthritis) रोगको उपचारको लागि प्रयोग गरिने केभजारा नामक यो औषधि पनि कोभिड -१९ का सिकिस्त बिरामीमा परिक्षण गर्न सुरु गरिएको छ । हालसम्म यो औषधि दुईवटा फरक फरक चरणमा परिक्षण गरी सकिएको छ । यो औषधिले कोभिड – १९ का बिरामीको फोक्सो समेत सुन्निएर मृत्‍यु हुने खतराको अवस्थामा त्यस्ता बिरामीको सुन्निएको फोक्सोलाई नर्मल गराउन मद्दत गर्दछ र कोरोनाका बिरामीलाई मृत्‍युको मुखबाट बचाँउछ भन्ने अनुसन्धानकर्ताहरुको अनुमान छ । गाऊट्स रोगको यो औषधि हाल सानोफी (Sanofi) र रिजेनेरोन (Regeneron) ले बिक्री बितरण गर्दै आएका छन् ।  

    एक्टेमरा (Actemra) :

    एक्टेमरा पनि साधारण अवस्थामा गाऊट्सका बिरामीको उपचारमा प्रयोग गरिने औषधी हो । एक्टेमरालाई पनि कोरोना संक्रमित बिरामीलाई प्रयोग गरेर अनुसन्धान गरिएको चरणमा छ । यो औषधिलाई चीनस्थित स्वास्थ्य अधिकारीहरुले कोभिड -१९ को उपचारमा प्रयोग गर्न सिफारिस गरेका हुन् । एक्टेमरा पनि केभजारा जस्तै गाउट्सको औषधि भएपनि चीनस्थित स्वास्थ्य अधिकारीहरुले एक्टेमरालाई भने कोभिड -१९ का कारण निमोनिया भएका बिरामीमा प्रयोग गर्न सिफारिस गरेका हुन् । हाल मानव शरिरमा परिक्षणको चरणमा रहेको एक्टेमरा स्विस मल्टीनेसनल हेल्थ केयर कम्पनीले बिक्री बितरण गर्दै आएको छ ।  

    कलेट्रा (Kaletra) :

    कलेट्रा सन् २००० मा एफडिएद्वारा एड्सका बिरामीको उपचारका लागि मान्यता पाएको एड्सको औषधि हो । अन्य दुईवटा एन्टीभाईरल औषधि लोपिनाभिर र रिटोनाभिरको संयोजन गरिएर कलेट्रा  बनाईएको हो । कलेट्रा प्रयोग गरेर कोभिड -१९ को उपचार गर्ने बिधि पनि हालसम्म मानव परिक्षण कै चरणमा छ । तर पूर्ण मान्यता प्राप्त गरेको भने छैन ।  

    फाभिलाभिर (Favilavir ) :

    यो औषधिलाई नेसनल मेडिकल प्रोडक्ट्स एड्मिनिस्ट्रेसन अफ चाईनाले कोरोनाको एन्टी भाईरल औषधिको रुपमा प्रयोग गर्न स्वीकृति दिएको हो । फाभिलाभिर हाल ईन्फ्लुएन्जाको उपचारमा प्रयोग गरिने गरिन्छ भने जापानमा एभिगनको नामबाट यस्को प्रयोग इन्फ्लुएन्जा बिरामीको उपचारमा प्रयोग गरिन्छ । चीनको सेन्जेन गुङडोन प्रोभेन्सका ७० जना कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिएको यो औषधिको न्युन साईड ईफेक्ट्स भएको समेत बताईएको छ ।

    रिजेनेरोन एन्टीबडी ( Regeneron antibody): 

    जब मानिसको शरिरको प्रतिरक्षा प्रणालीले भाईरसलाई जित्छ तब शरिरमा प्रोटिन निर्माण हुन्छ । भाईरससँगको लडाईंपछि निर्माण हुने प्रोटिनलाई एन्टीबडी भनिन्छ । हाल विश्वभरका दर्जनौ कम्पनीहरु कोभिड -१९ रोग लगाउने कोरोना भाईरसलाई निस्कृय गराउने त्यस्ता एन्टीबडीहरुको पहिचान गरी तिनै एन्टिबडीको प्रयोगबाट औषधि बनाउने अभियानमा जुटेका छन् । बिल्कुल यही पद्धती मार्फत बिज्ञानलाई प्राणघातक ईबोलाको औषधि बनाउने सफलता मिलेको थियो । ईबोलाको औषधि बनाउने सफलता  हासिल गरेको रिजेनेरोनले अहिले पनि कोरोनासँग जित हासिल गरेको थुप्रै एन्टिबडीहरु पहिचान गर्न सफल भएको जनाएको छ । निकट भविष्यमा दुईवटा एन्टिबडीको मिश्रणगरी ककटेल ट्रिट्मेन्टको प्रयोग गरिने समेत रिजेनेरोनले जनाएको छ ।यही अप्रिलदेखि एन्टिबडी निर्माण गरी आगामी गर्मीयामको सुरुदेखि क्लिनिकल ट्रायलमा जाने समेत रिजेनेरोनले जनाएको छ ।  

    (बरोन्स अनलाइन पत्रिकाको सहयोगमा बिजयराम पौडेलले तयार पारेको रिपोर्ट)

  • अमेरिकी कम्पनीले बनायो कोरोनाको नतिजा ५ मिनेटमै पत्ता लगाउने मेसिन

    अमेरिकी कम्पनीले बनायो कोरोनाको नतिजा ५ मिनेटमै पत्ता लगाउने मेसिन

    न्यूयोर्क । कोरोना भाइरस (कोभिड–१९) परीक्षण अब ५ मिनेटमै सम्भव हुने भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको दावि गरेको छ ।

    यसले संक्रमितको छिटो पत्ता लाग्ने र फैलावट कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । अहिले विकसित तथा विकाससिल, सबै मुलुकमा परीक्षण झण्झटिलो रहेको छ ।

    नतिजा आउन समेत लामो समय लागिरहेको छ । कम्पनीका अनुसार अब ५ मिनेटमै यस मेसिनले कोरोनाको नतिजा दिने भएको छ ।

    प्रविधिलाई अमेरिकाको फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले अनुमति समेत दिएको छ ।

    दैनिक ५० हजारका दरले यो मेसिन उत्पादन थाल्ने तयारी कम्पनीले गरेको छ । कम्पनीका अनुसार मेसिनको परिक्षण अमेरिकामा शुरु भइसकेको छ ।

    तर, विश्वसनीयताको भने नतिजा सार्वजनिक गरिएको छैन । कोरोना भाइरसको भने अझै पनि औषधी पत्ता लागिसकेको छैन ।

  • कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, इटलीमा मर्नेको संख्या १० हजार नाघ्यो

    कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, इटलीमा मर्नेको संख्या १० हजार नाघ्यो

    काठमाडौं । कोरोनाको कहर संसारभर जारी छ । यसले यूरोप र अमेरिकालाई यतिबेला सबैभन्दा नराम्रोसँग प्रभावित पारेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार साँझसम्म विश्वभर यस भाइरसका कारण करीव ३१ हजार मानिसको ज्यान गइसकेको छ ।

    शनिबार मात्र कोरोना (कोभिड १९)ले संसारभर एकै दिन ३५ सय भन्दा बढी मानिसको ज्यान लियो ।

    संगठनका अनुसार २४ घण्टा भित्र ३५ सय ७ जना मानिसले यो सुन्दर धर्ति छाड्न बाध्य भएका छन् । शनिबार पनि इटाली स्पेनमा धेरै मानिसले ज्यान गुमाए ।

    इटलीमा एकै दिन ८ सय ८९ र स्पेनमा एकै दिन ८ सय ४४ जनाको ज्यान गयो । इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३ पुगेको छ ।

    स्पेनमा ५ हजार ९ सय ४७ जनाको ज्यान गएको छ । अमेरिकामा शनिबार ५ सय १५ जनाको ज्यान गयो ।

    अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित छन् । यस देशमा १ लाख २३ हजार ४ सय २८ जनामा संक्रमण भएको छ ।

    संसारभर शनिबारसम्म ३० हजार ८ सय ५१ जनाले ज्यान गुमाएका छन् । ६ लाख ६२ हजार ९ सय ६७ जनालाई कोरोना संक्रमण भएको छ ।

    १ लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा शनिबारसम्म ५ जनामो कोरोनाको संक्रमण देखिएको छ ।

    त्यसमध्ये एक जना उपचार पछि घर फर्किएका छन् । ४ जनाको उपचार जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज

    उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज

    काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर पनि कोरोनाको परिक्षण हुने गरी सेबा बिस्तार गरेको छ । धरानमा शनिबारबाटै सेवा बिस्तार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    उनका अनुसार अब हेटौडा, पोखरा तथा नेपालगन्जमा समेत सेवा बिस्तारको तयारी छ । यसपछि नमुना परिक्षणका लागि काठमाडौं आइरहनु पर्ने छैन ।

    प्रवक्ता देवकोटाका अनुसार शनिबारबाट दुई वटा कल सेन्टर संचालनमा ल्याइएको छ । १११५, ११३३ निशुल्क कल गरेर परामर्श लिन सकिने भएको छ ।

    आजसम्म कलसेन्टरमा ६ हजार भन्दा बढीले चासो राखिसकेको मन्त्रालयको भनाई छ ।

    यसैबीच नेपाललाई आवश्यक स्वास्थ्य सामग्रीको आपूर्तिका लागि नेपाल एयरलाइन्सको जहाज शनिबार नै ग्वांझाउ गएको छ ।

    यो जहाज शनिबार बिहान काठमाडौं आइ पुग्नेछ । जहाजमा कोरोनाको परिक्षण सम्बन्धी मेडिकल सामग्री, चिकित्सकको सुरक्षाका साधन तथा किटहरु आउने बताइएको छ ।

    आज सरकारले नेपाल एयरलाइन्सलाई चार्टर्ड गरेको हो । अब यसपछि भने निजी क्षेत्रबाट जहाजको चार्टर्ड गरी मेडिकल किट ल्याइदैछ ।

  • चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट

    चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट

    काठमाडौं । सरकारले चैत महिनाका लागि विद्यूतका ग्राहकलाई छूट दिने भएको छ । यो छूट घरायसी प्रयोजनमा विद्यूत उपयोग गर्ने ग्राहकका लागि मात्र हो ।

    उर्जा मन्त्रालयका अनुसार करीव ३८ लाख ग्राहक यसबाट लाभान्वित हुने भएका छन् ।

    १ सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशत छुट दिन लागिएको हो ।

    ३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्व भने ५० करोड कम हुनेछ ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठक बसेको थियो ।

    बैठकले महसुल छूटको निर्णय मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न सरकारले लकडाउन गरेको छ ।

    यसबीचमा कमाएर खाने मानिसको रोजगारी गुमेको गुनासोका बीच सरकारले थोरै भएपनि ग्राहकलाई छूट दिने घोषणा गरेका हो ।

    यसले एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा समेत प्रोत्साहन गर्ने बताइएको छ । ग्यासलाई इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने उर्जा मन्त्री वर्षमान पुनको भनाई छ ।

  • कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ

    कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ

    काठमाडौं । देशब्यापी लकडाउन कारण अहिले सबै काम ठप्प छ । कलकारखाना बन्द भएका छन् । व्यापारिक क्षेत्र ठप्प छन् । सोहीकारण विजुलीको माग घटेको छ । लकडाउन घोषणा भएसँगै विद्युतको माग ह्वातै घटेको हो ।

    बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालय अहिले बन्द छ । घरायसी प्रयोजनमा निकै कम मात्र विद्युत प्रयोग हुने गरेको छ ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार लकडाउन सुरु हुनुभन्दा पहिले देशभरको विद्युतको अधिकतम माग १ हजार २ सय मेगावाट हाराहारीमा थियो ।

    तर, मंगलबार भने यो घटेर ९ सय ४५ मेगावाटमा सीमित छ । विद्युत् बढी खपत हुने काठमाडौंमै विद्युतको माग पनि घटेपछि घरायसी प्रयोजनपछि पनि विद्यूत बढी हुने अवस्था आएको छ ।

    लकडाउनभन्दा पहिले विद्युत्को अधिकतम माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेको उपत्यकामा माग २ सय ९० मेगावाटमा झरिसकेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्याँसको अभावमा भएमा इन्डक्सन चुलो प्रयोग गर्न सकिन्छ ।

    अब विजुलीको कुनै अभाव हुँदैन । घिसिङका अनुसार प्राधिकरणका कर्मचारी २४ सै घण्टा सेवामा रहेका कारण समस्या आउना साथ समाधान हुन्छ ।

    विद्युतको माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिमाण पनि घटाइएको छ । कुलेखानीको पावर हाउस समेत बन्द गरिएको छ ।

    माग घटेसँगै प्राधिकरणले सरकारी विद्यूत गृह बन्द गरेर निजी क्षेत्रको मात्र विजुली किन्नु पर्ने अवस्था आएको बताएको छ ।