Category: विज्ञान प्रविधि

  • नेपालमा अझै टरेन सलहको जोखिम, अर्को झुण्ड छिर्न सक्ने सम्भावना

    नेपालमा अझै टरेन सलहको जोखिम, अर्को झुण्ड छिर्न सक्ने सम्भावना

    काठमाडौं । नेपालमा सलहको अर्को झुण्ड छिर्न सक्ने जोखिम बढेको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासमा सलहका दुई झुण्ड रहेको र यी झुण्ड नेपाल छिर्ने सम्भावना रहेको सरकारले बताएको छ । दुई झुण्डले करिब १५० हेक्टर क्षेत्रफल ओगटेका छन् ।

    प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रका अनुसार हावाको वहावले यी झुण्डलाई नेपाल ल्याउन सक्ने सम्भावना रहेको छ । हावाको बहावले सलहको झुण्ड पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्रमा आउने सम्भावना रहेको बताइएको छ ।

    यसरी आएका सलहमध्ये नेपालको धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ आउन सक्ने छन् । उता, राजस्थानमा समेत ठूलो संख्यामा सलहका झूण्ड रहेको बताइएको छ ।

    यी झुण्डसमेत दक्षिण पश्चिमतर्फ बहेको वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान गरिएको छ । त्यसो भएमा समेत नेपालमा कोरोनाको दोस्रो झुण्ड आउन सक्ने भएको छ ।

  • नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द

    नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द

    काठमाडौं । नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानल नेपालमा प्रसारण नगर्ने निर्णय गरेका हुन् । बिहीबार साँझबाटै यो निर्णय कार्यान्वयनमा आउने भएको छ ।

    च्यानल वितरकहरुले बिहीबार साँझदेखि भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेका हुन् । भारतीय टिभी च्यानलमा नेपाल र नेपालका प्रधानमन्त्रीबारे तल्लो स्तरमा गिरेर सामग्रीहरु प्रसारण गरिरहेका छन् । सोहीकारण भारतीय च्यानलको प्रसारण नेपालमा रोक लगाउन माग भइरहेको थियो ।

    प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषय प्रसारण गरी भारतीय च्यानलहरुले अपमान गरिरहेका छन् । सोहीकारण अब इन्टरनेटको माध्यमबाट आउने च्यानलबाहेक अन्य माध्यमबाट आउने च्यानलहरु भने बन्द भएको हो ।

    भारतीय न्युज च्यानलमा नेपाल विरोधी गालीगलौज अति धेरै भएपछि वितरक आफैंले आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । नेपालमा इन्टरनेटका माध्यमबाट आउने च्यानलको समेत प्रसारण बन्द गर्ने तयारी सरकारले गरेको छ ।

  • आजबाट चार दिनसम्म लगातार वर्षा, सचेत रहन आह्वान

    आजबाट चार दिनसम्म लगातार वर्षा, सचेत रहन आह्वान

    काठमाडौं । आजदेखि नेपालमा चार दिनसम्म लगातार पानी पर्ने भएको छ । सोहीकारण सचेत रहन गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
    गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहने उल्लेख गरेको छ । यस्तो समयमा सर्तकता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

    प्राधिकरणका अनुसार आजदेखि आइतबारसम्म प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्ने सम्भावना रहेको छ ।

    प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई थप सर्तक रहन आग्रह गरिएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको पनि प्राधिकरणको सूचनामा उल्लेख छ ।

    ठूला नदीमा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ उपलब्ध गराएको छ ।

  • विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ

    विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ

    काठमाडौं । जंगली जनावरलाई मारिरहेमा मानिसले कोरोना भाइरसभन्दा पनि खतरनाक प्रकृतिका भाइरसको शिकार हुनुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । संयुक्त राष्ट्रसंघ मातहतका विशेषज्ञले यस्तो चेतावनी दिएका हुन् । मानिसले जंगली जनावरको ज्यान लिने र उनीहरुलाई उत्पीडन गरिरहे अझ बढी खतरनाक भाइरसको सामना समेत गर्न तयार रहनु पर्ने चेतावनी विज्ञहरुको रहेको छ ।

    महामारीबाट बच्ने हो भने पर्यावरणमा सबै जीव जन्तुको अस्तित्व रक्षा गर्नुपर्ने सुझाव समेत विज्ञले दिएका छन् । जीवजन्तुलाई नमार्न र प्राकृतिक स्रोतसाधनको दोहन नगर्न विशेषज्ञले सुझाएका छन् । पर्यावरणसँग सम्बन्धित संयुक्त राष्ट्रसंघीय इन्भाएरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्युटका विज्ञबाट यस्तो सुझाव आएको हो ।

    इन्सटिच्युटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोरोना भाइरस जस्ता महामारी आउनुमा पर्यावरणको क्षति, प्राकृतिक स्रोतसाधनमा अत्यधिक दोहन, जलवायु परिवर्तन र जंगली जनावरको उत्पीडनजस्ता कारण मुख्य हुन् । विशेषज्ञहरुका अनुसार केही वर्षयता जनावर र पक्षीबाट मानिसमा सर्ने बिरामी लगातार बढ्दै गएको छ । किनकी मानिसले प्रकृति र जीवजन्तुमाथि अधिक दोहन र उपयोग बढाएको छ ।

     

    त्यसको शिकार स्वयमः मानिस हुनुपरेको प्रतिवेदनमा उल्लेख छ । मानिसले पर्यावरण र जंगली जीवजन्तु नबचाउने हो भने महामारीको सामना गर्न समेत तयार भएर बस्नुपर्ने सुझाव विज्ञको रहेको छ । विशेषज्ञहरुका अनुसार जनावरबाट हुने अलग–अलग विरामीको कारण विश्वभर वार्षिक करिब २० लाख मानिसले ज्यान गुमाउँछन् ।

    पछिल्ला वर्षहरुमा देखिएका सबैजसो खतरनाका जंगली जनावरबाट मानिसमा सरेका हुन् । प्रतिवेदन अनुसार पछिल्लो ५० वर्षमा मासुको उत्पादन २६० प्रतिशतले वृद्धि भएको छ । कतिपय समुदाय घरपालुवा र जंगली जीवजन्तुको मासुमै आफनो जीवन निर्भर गराएका छन् । जंगली जनावरबाहेक बाँध, सिंचाइ, उद्योग कलकारखाना र खेतबारी पनि मानिसमा हुने संक्रामक रोगको लागि २५ प्रतिशत जिम्मेवार रहन्छन् ।
    एजेन्सी

  • के काठमाडौंमा समुदायमा फैलिएको हो कोरोना ?

    के काठमाडौंमा समुदायमा फैलिएको हो कोरोना ?

    काठमाडौं । केही दिन अगाडी एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाडौंको ढलमा कोरोना भाइरसको नुमना भेटियो । यो खबरले सरकारलाई झस्काएको छ । कतै समुदायमा कोरोना त फैलिएन ? सोहीअनुसार सरकारले अब समुदायमा कोरोना परीक्षणको दायरा बिस्तार गर्न लागेको छ ।

    सोहीअनुसार काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको वा नफैलिएको भन्ने पत्ता लगाउन सरकारले सुरु गरेको परीक्षणका क्रममा तीनकुने र नख्खु क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जहाँ समुदायमा संक्रमण नफैलिएको पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनकुने र नख्खु क्षेत्रबाट २२८ वटा नमुना लिएर परीक्षण गरिएको थियो । यी नमुना कुनै संक्रमितको नजिकका मानिसको नभएर समुदायमा गएर संकलन गरिएको थियो । त्यसक्रममा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

    समुदायमा कोरोना संक्रमण भएको वा नभएको पत्ता लगाउन काठमाडौं उपत्यकाको १० ठाउँबाट सर्वसाधारणको नमुना लिइएको मन्त्रालयले जनाएको छ । अन्य स्थानको रिपोर्ट भने आइसकेको छ ।

    सबै स्थानको रिर्पोट आएपछि समुदायमा कोरोना फैलिएको वा नफैलिएको पुष्टी हुने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

    जनस्वास्थ्यका विज्ञहरुले विदेशबाट आएका व्यक्तिहरुको निगरानी राम्रोसँग नभएको, काठमाडौं उपत्यका बाहिरबाट पनि मानिसहरु आइरहेका हुनाले समुदायमा फैलिएको हुन सक्ने आशंका गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सरकारले समुदायबाट नमुना संकलन गरेको हो ।

  • मेलम्चीको सुरुङमा पानी हालियो, निर्माणको अन्तिम चरणमा आयोजना

    मेलम्चीको सुरुङमा पानी हालियो, निर्माणको अन्तिम चरणमा आयोजना

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर सफल परीक्षण गरिएको छ । आइतबार २६ किलोमिटर लामो सुरुङमा पानी छाडिएको हो । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउने बहुप्रतिक्षित यो आयोजना अब भने अन्तिम चरणमा पुगेको दावी सरकारले गरेको छ ।

    आइतबार खानेपानी मन्त्री बीना मगरले आयोजना अर्को चरणमा प्रवेश गरिसकेको बताइन् । विभिन्न समस्या र चुनौतीहरू पार गर्दै काठमाडौंवासीको दुई दशकभन्दा लामो ब्यघ्र प्रतीक्षालाई सम्बोधन गर्ने क्रममा सुरुङमा पानी पथान्तरण गरिएको उनको भनाई छ । आजका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको मन्त्रालयको भनाई रहेको छ । सुरुङ परीक्षण गर्न आवश्यक सबै प्राविधिक तयारी सकिएको सरकारको भनाई छ ।

    अहिले परीक्षणमा प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी छोडिएको हो । यसरी पानी पठाउँदा २६ किलोमिटर सुरुङ भरिन करिब १५ देखि २० दिनसम्म लाग्ने भएको छ । पूर्ण रुपमा भरिएको सुरुङलाई करिब १० दिन थुनेर राखिने छ । त्यसपछि पानी भरिएकै परिमाणमा सुरुङबाट पानी छाडिनेछ । यसरी छाड्दा उत्तिकै दिन लाग्ने मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ ।

    सुरुङ खाली भएपछि सुरुङको अवस्थाबारे अध्ययन गरिनेछ । यसको र्ण परीक्षण गर्न अर्को ७ दिन लाग्ने छ । त्यसबेला केही समस्या देखिएमा समाधान गरिने भएको छ । समस्या नदेखिएको अवस्थामा भने नियमित रूपमा सुरुङमा पानी पठाउन थालिने भएको छ । यो आयोजनाको अधिकांश काम इटालियन कम्पनी सीएमसीले गरेको थियो ।

    सीएमसीले बीचमै काम छाडेपछि आयोजनाको बाँकि काम चिनियाँ कम्पनी सिनो हाइड्रोबाट भइरहेको छ । यो परीक्षण अनुसार सुन्दरीजलसम्म भने अब मेलम्चीको पानी आउने भएको छ । तर, घर घरमा भने मेलम्चीको पानी भने आइहाल्दैन । मेलम्चीको पानी वितरण गर्न सहरमा जोडिएका  लाइनमा परीक्षण गर्नुपर्ने छ । पानी जम्मा गर्न आठवटा नयाँ ट्यांकी समेत बनाइएका छन् । ती संरचनाको परीक्षण तथा सफाईको काम पानी आएपछि मात्र हुनेछ ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने समय ६ महिना सारियो

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने समय ६ महिना सारियो

    काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना पर सरेको छ । अब यो विमानस्थल आगामी डिसेम्बरसम्म सक्ने गरी समयावधी थप भएको हो । यसअघि ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य यस विमानस्थल आयोजनाको थियो । तर, कोरोना भाइरसको संक्रमणका बीच आएको अवरोधले प्रभावित भएपछि यो आयोजना पर धकेलिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी डिसेम्बरसम्म भौतिक निर्माण र तयारीको काम सकिने गरी सम्झौता भएको जानकारी गराएका छन् । उनका अनुसार त्यसपछि संचालन पूर्वको तयारीमा करीव ३ महिना समय लाग्नेछ । यसरी आगामी ९ महिनाभित्र विमानस्थल व्यवसायिक सञ्चालनमा आइसक्ने भएको छ । मन्त्री भट्टराईका अनुसार यो विमानस्थलमा अहिले उपकरण जडानको काम जारी छ ।

    लकडाउनपछि विदेशमा प्राविधिक कामदार रोकिएपछि रफ्तारमा काम गर्न नसकिएको उनले बताए । लकडाउनको अवधिमा विमानस्थल निर्माणमा ३ प्रतिशत भौतिक प्रगति देखिएको छ । गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति अहिले ९१ प्रतिशत पुगेको छ ।

    गौतमबुद्ध विमानस्थलको भौतिक संरचनाको काम करीव सम्पन्न भएको छ । मन्त्रालयका अनुसार लकडाउनकै बीच धावनमार्ग र पार्किङ जोड्ने लिंक ट्याक्सी वे निर्माणको काम सकिएको छ ।

    रनवे लाइट जडानको काम समेत अन्तिम चरणमा छ । टर्मिनल भवनमा एयर कन्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी कार्य जारी रहेको मन्त्रालयले उल्लेख गरेको छ । मार्वल, टायल राख्ने तथा रंगरोगनको काम समेत भइरहेको छ ।

    मेसिनरी र यन्त्र उपकरण आउने क्रम शुरु भएको मन्त्रालयको भनाइ छ । विमानस्थल निर्माणमा अहिले पनि २९ चिनियाँसहित २७५ कामदार खटिएका छन् । यो आयोजना नेपालको राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो ।

  • अब कोरोनाको परीक्षण निजी प्रयोगशालामा समेत, तीन अस्पतालले पाए अनुमति

    अब कोरोनाको परीक्षण निजी प्रयोगशालामा समेत, तीन अस्पतालले पाए अनुमति

    काठमाडौं । अब नेपालमा निजी प्रयोगशालाबाट समेत कोरोना परीक्षण हुने भएको छ । सरकारी प्रयोगशालालाले नमुनाको चाप धान्न नसकेपछि निजीमा जाने निर्णय सरकारले गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले तीन निजी प्रयोगशालालाई पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको अनुमति दिइएको छ ।

    अनुमति पाएका प्रयोगशालाले परीक्षणको लागि आवश्यक सरसामान र उपकरणको जोहो भने आफै गर्नपर्छ । मन्त्रालयका अनुसार काठमाडौं मेडिकल कलेज, स्टार हस्पिटल र सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरोटरीले कोरोना परीक्षणको अनुमति पाएका छन् । अब प्रयोगशालामा बढी भएका नमूनाहरू निजी प्रयोगशालामा परीक्षण गरिनेछ। कुन परीक्षण निजीमा गर्ने भन्ने निक्यौल भने मन्त्रालय आफैले गर्ने भएको छ ।

    सरकारले अन्य निजीलाई समेत अनुमति दिएर एकै दिन ठूलो संख्यामा नमुना परीक्षण गर्ने तयारी गरेको हो । अझै ७ वटा निजी प्रयोगशालालाई सरकारको अनुमति दिने तयारी गरेको छ । सरकारले करीव डेढ दर्जन प्रयोगशालाबाट परीक्षण गरिरहेको छ ।

    केही साता अघि स्वास्थ्य मन्त्रीले दैनिक १० हजार पिसीआर परीक्षणको नतिजा सार्वजनिक गर्ने बताएका थिए । अहिले दैनिक करीव ७ हजार हाराहारी मात्र नतिजा आइरहेको छ । त्यसमा औसतः ५ सय जना नयाँ संक्रमित थप भइरहेका छन् ।

  • नेपालका २४ जिल्लामा सलहको आक्रमण, मंगलबार उपत्यकामा छिर्यो

    नेपालका २४ जिल्लामा सलहको आक्रमण, मंगलबार उपत्यकामा छिर्यो

    काठमाडौं । नेपालका २४ जिल्लामा सलह पुगेको छ । मंगलबार दिउसोसम्मको तथ्याक अनुसार २४ जिल्लामा सलह पुगेको रिर्पोटिंग भएको छ । प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार मंगलबार काठमाडौं उपत्यकामा समेत सलह देखिएको छ । मंगलबार उपत्यकामा सानो झुन्ड देखिएको थियो । सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याइरहेको छ ।

    अहिलेसम्म कुल क्षतिको अनुमान भने भएको छैन । प्रारम्भिक रुपमा बालीहरूमा सलहले असर पुर्‍याउन थालिसकेको केन्द्रको भनाई छ । नेपालमा शनिबारबाट सलह छिरेको हो । रुपन्देहीको भैरहवा, बारा, पर्सा तथा सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको ठूलो झुण्ड अहिले नेपालभर बिस्तार हुने क्रममा रहेको छ ।

    बारा, पार्सा, रौतहट र सर्लाहीमा देखिएको सलहको झुण्डमा त्यहाँबाट उत्तरतर्फका पहाडी भेगमा उडिरहेको छ । महोत्तरीको बर्दिवास र मकवानपुरगढीसहित सिन्धुलीमा समेत सलह पुगिसकेको छ । उता, मकवानपुरको बकैया र हेटौंडामा पनि सलह पुगेको छ । चितवनमा समेत सलहको उपस्थिति छ काभ्रे र रामेछापमा समेत सलह पुगिसकेको छ ।

    रामेछाप, काभ्रे र काठमाडौं उपत्यकामा सानो संख्यामा सलह आएको हो । रुपन्देहीको कालीकानगर, वुटवल र सैनामैनामा ठूलो झुण्ड देखिएको हो । यसले कपिलवस्तु, पाल्पा र गुल्मीमा समेत प्रभाव पारेको छ । स्याङ्जा, दाङ प्युठान र रोल्पामा समेत सलह देखिएको छ । कास्की समेत यसबाट अछुतो छैन ।

  • टिकटक अब भारतमा नचल्ने,  ५९ चिनियाँ एपमा भारतले लगायो प्रतिबन्ध

    टिकटक अब भारतमा नचल्ने,  ५९ चिनियाँ एपमा भारतले लगायो प्रतिबन्ध

    न्यूयोर्क

    चीनसँगको दुस्मनी बढ्दै जाँदा भारतले युवा माझ लोकप्रिय टिकटक सहित ५९ चिनियाँ मोबाइल एप देश भित्र प्रतिबन्ध लगाएको छ । भारतको सूचना प्रविधी मन्त्रालयले देशभित्र चल्न रोक लगाएका अन्य लोकप्रिय एपमा सेयरआटी, युसी ब्राउजर, लाइकी, विच्याट, विगो लाइभ लगायत छन् ।

    भारतको स्वतन्त्रता, सार्वभौम सत्ता एवं राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर चिनियाँ एप प्रतिबन्धको निर्देशन जारी गरेको मन्त्रालयको भनाइ छ । लद्दाख स्थित भारत र चीनको सीमा क्षेत्र (लाईन अफ कन्ट्रोल)मा पछिल्लो समय बढ्दो विवादबीच भारतले यो कदम अघि सारेको हो । दुई देशका सेनाबीच बन्दुकको प्रयोग बिना भएको हानाहानमा २० बढि भारतीय सैनिकको मृत्यु भइ सकेको छ ।

    भारतमा चिनियाँ मोबाइल एप्लिकेशनहरुप्रतिको आक्रोश लगातार बढि रहेको थियो । यसै क्रममा सरकारले अहिलेसम्मकै ठूलो कदम चालेको हो । एक अर्ब ३० करोड भारतीयको गोपनियता रक्षा र इन्टरनेट डेटा सुरक्षाबारे लगातार प्रश्नहरु उठि रहेको कारण यो कदम चालेको मन्त्रालयको भनाइ छ । टिकटकका कुल ८० करोड प्रयोगकर्तामध्ये १२ करोड भारतमा मात्र थिए । कम्पनीको लोकप्रियता र बढ्दो बजारमा भारतीय कमदले राम्रै धक्का लाग्नसक्ने देखिएको छ ।

  • देशका अधिकांश स्थानमा फैलियो सलह, अब के हुन्छ ?

    देशका अधिकांश स्थानमा फैलियो सलह, अब के हुन्छ ?

    काठमाडौं । नेपालको तराई र पहाडका अधिकांश जिल्लामा सलह पुगेको रिपोर्ट आइतबार विभिन्न जिल्लाबाट आएको छ । सोही सन्दर्भमा आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विज्ञ समुहसँग छलफल गरेको छ । विज्ञहरुले सलह नेपालमै फैलन सक्ने सम्भावना नरहेपनि जोखिम भने कायम नै रहेको बताएका छन् ।

    यसअघि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वको कार्यदलले जेठ २३ मा एक प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको सारांश भने नेपालमा यो वर्ष सलह नआउने उल्लेख थियो । सलह नियन्त्रण गर्न विषादी प्रयोगको सुझाव कार्यदलको थियो । तर, विज्ञहरुले भने सलहलाई विषादी प्रयोग भन्दा जैविक विधिबाट नियन्त्रणको सुझाव दिएका छन् ।

    सोही अनुसार प्रदेश ५ र सुदुरपश्चिम सरकारले भने जैविक विधिको प्रयोग गर्न प्रोत्साहनको कार्यक्रम समेत ल्याएका छन् । प्रदेश ५ मा सलह समातेर लगेमा प्रतिकिलो २० रुपैयाँ र सुदुरपश्चिम प्रदेशमा प्रतिकिलो २५ रुपैयाँ मूल्य तोकिएको छ । प्रदेश ५ सरकारले त सोमबार करीव ८ किलो सलह बच्चाहरुबाट खरीद समेत गरिसकेको छ । यो किरा नियन्त्रण गर्न अपनाइएको उपाय थियो ।

    नेपालमा सलह प्रवेश गरेको भोलिपल्ट कृषि मन्त्रालय तथा पशु विकास मन्त्रालयले नेपाल आएको सलहको बथान सानो भएको भन्दै नआत्तिन आग्रह गरेपछि यसको फैलावट भने देशभर पुगिसकेको छ । यसले तराई, पहाड र हिमालको प्रमुख बाली मकैमा क्षति गर्ने अनुमान छ ।

    मन्त्रालयका अनुसार रुपन्देहीमा क्षतिको अनुमान गरिएको छ । मन्त्रालयले भने अको तीन दिनको मौसमी अवस्था हेरी सलहले लिने फैलावटबारे भन्न सकिने बताएको छ ।

  • सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार

    सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार

    काठमाडौं । शनिबारबाट नेपालमा सलह किराको प्रवेश भएको छ । फट्यांगा प्रजातिको यो किरा बालीनालीका लागि भने विनासकारी मानिन्छ । यो किराको नियन्त्रण गर्न बल्ल सरकार तातेको छ । सलह किरा नियन्त्रणबारे योजना बनाउन आज कृषि मन्त्री घनश्याम भुषालले विज्ञहरुसँग छलफल गर्दैछन् ।

    कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको मन्त्रालयले जनाएको छ । नेपालमा भारत हुँदै बारा र सर्लाहीबाट सलह छिरेको छ । रुपन्देहीबाट समेत ठूलो झुण्ड छिरेको छ ।

    आइतबार बिहान पाल्पा, मकवानपुर, सिन्धुली, काभेलगायत पहाडी जिल्लामा समेत सलह उक्लिसकेको छ । यसअघि कृषि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको थियो । तर, सरकारको अनुमान विपरित सलह नेपाल छिरेको हो ।

    पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरवितर भएको बताइको थियो । नेपालमा यो किराबाट भएको क्षतिको समेत अझै अध्ययन भइसकेको छैन । नेपालमा ६० वर्षपछि सलह छिरेको हो ।

  • सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार

    सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार

    काठमाडौं । बिनासकारी सलह किरा नेपाल छिरेको छ । सरकारी अनुमान फेल खुवाउँदै भारतबाट किराको झुण्ड नेपाल छिरेको हो । स्थानीय बासिन्दाका अनुसार बारा र सर्लाहीबाट सलहको झुण्ड नेपाल छिरेको हो । कृषि मन्त्रालयले समेत यसको पुष्टी गरेको छ । यसअघि मन्त्रालयले अब नेपालमा सलहको संक्ट टरेको बताएको थियो । तर, त्यसअनुमान विपरित सलहको झुण्ड नेपाल आएको हो ।

    भारतको बिहारबाट सलह नेपाल छिरेको छ । यससम्बन्धमा सरकारले आज समिक्षा गर्ने भएको छ । सलह नेपाल छिरेपछि यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा आज समिक्षा हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आज आकस्मिक बैठक डाकिएको छ ।

    कृषि विकासका स्थानीय अधिकारीले सर्लाही र बारामा सलहको एक झुण्ड देखिएको जानकारी कृषि मन्त्रालयलाई गराएका थिए । त्यो झुण्ड कति ठूलो समूहमा छ भन्ने बारेमा भने सोधखोज भइरहेको बताइएको छ । पूर्व अफ्रिकाबाट शुरु भएको सलहको यात्रा मध्यपूर्व हुँदै दक्षिण एसिया छिरेको हो । पाकिस्तान र भारतमा अन्न बालीमा क्षति गरेको यो किरा अब नेपालसम्म आइपुगेको हो ।

    हावाको दिशा नुसार १ सय ३० किमिसम्म समूह बनाएर उड्न सक्ने फट्यांग्रा प्रजातीको यो किरा एक समुहमा ४ देखि ८ करोडसम्म हुने गर्छ । तर, नेपालमा भने त्यति ठूो समुह नआएर हावाको बेगले बगाएको सानो समुह मात्र आउन सक्ने अनुमान छ ।

    यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको खाना नष्ट गर्ने कृषि वैज्ञानिकहरुको भनाई छ ।

  • आधिकारिक एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई समितिको निर्देशन

    आधिकारिक एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले सरकारलाई आधिकारिक तथा मान्यता प्राप्त एप्स र सामाजिक संजाल मात्र प्रयोग गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले नियमनकारी निकायले पुष्टि गरेको एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई निर्देशन दिएको हो ।

    यसअघि केही दिन अगाडी जुम एप प्रयोग गरी कार्यक्रम गर्दा पर्यटन मन्त्री सहभागी कार्यक्रममा अश्लिल भिडियो देखाइएको थियो । नेपालमा अनाधिकृत रुपमा विभिन्न एप्स र सामाजिक सञ्जाल डाउनलोड र प्रयोग गरिएका कारण साइबर अपराध बढेको समेत समितिको निश्कर्ष छ ।

    समितिले शुक्रबार साइबर अपराध र सुरक्षाबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्यूरो, राष्ट्रिय सूचना प्रविधि केन्द्रका पदाधिकारीसँग छलफल गरेको हो ।

    त्यसपछि समितिले सरकारलाई नेपालभित्र प्रयोग गरिने एप्स तथा सामाजिक सञ्जालहरु सुरक्षा, गोपनीयता र उपयोगिताका हिसाबले उपयुक्त रहेको नियमनकारी निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाइने व्यवस्था मिलाउन निर्र्देशन दिएको हो ।

    पर्यटन मन्त्री योगेश भट्टराईले मन्तव्य दिँदा अश्लिील भिडियो देखिनुले नेपालको साइबर सुरक्षामाथि प्रश्न उठेको विकास समितिको भनाई छ ।

    सरकारी वेवसाइट र सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरुको अनिवार्य सेक्युरिटी अडिट गर्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ ।

  • कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

    कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

    नयाँ दिल्ली । भारतका चर्चित योग गुरु रामदेवले कोरोना भाइरससँग लड्ने आयुर्वेदिक औषधि पत्ता लगाएको दावि गरेका छन् । उनले मंगलबार औषधी सार्वजनिक गर्दै यसको प्रयोग भइसकेको र मानिसहरु निको भएको समेत दावि गरेका थिए । यता, भारत सरकारले भने बाबाको उक्त दाविसँगै पतञ्‍जली ग्रुपलाई औषधीको प्रयोग र प्रचार प्रसार रोक्न निर्देशन दिएको छ ।

    भारतीय संचारमाध्यमहरुका अनुसार भारत सरकारले यो औषधी कोरोना विरुद्ध आधिकारिक रुपमा परीक्षण नभएको भन्दै प्रचार प्रसार र प्रयोग रोक्न निर्देशन दिएको हो । भारतीय स्वास्थ्य मन्त्रालयले औषधिको आधिकारिक परीक्षण नभएसम्म प्रचार प्रसार नगर्न निर्देशन दिएको हो ।

    उता, उत्तराखण्ड सरकारको लाइसेन्सिङ्‍ग अथोरिटीबाट यस उत्पादनको अनुमतिपत्रको प्रतिलिपि माग भएको छ । मंगलवार बिहान पतञ्‍जलि आयुर्वेदका प्रमुख रामदेवले कोरोना भाइरसबाट बच्‍न कोरोनिल नामक आयुर्वेदिक औषधि तयार भएको बताएका थिए ।

    उनले यस औषधीबाट बिरामी ठीक भएको समेत दावि गरेका छन् । यता, मन्त्रालयले भने कोरोना भाइरस विरुद्ध औषधी निर्माणका बेला अपनाइएको विधि, अध्ययनको सम्पूर्ण विवरण समेत मागेको छ ।

    पतञ्‍जलिको कोरोना ट्याब्लेट बारे वैज्ञानिक परीक्षण नभएसम्म आधिकारिक पुष्टी नहुने स्पष्ट पारेको छ । कोरोना महामारीको औषधि बनाउन कम्पनीले मन्त्रालयबाट अनुमति अनिवार्य भएको र अनुमति पछि मात्र औषधी बनाउन सक्ने मन्त्रालयले जानकारी गराएको छ । रामदेवको औषधीले ७ दिनमा कोरोना संक्रमित ठिक भएको दावि गरिएको छ ।

  • पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…

    पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…

    काठमाडौं । सोमबार सामाजिक संजाल एक रमाइलो समाचारका कारण तात्यो । त्यो थियो पर्यटन मन्त्री योगेश भट्टराईलाई कसैले अश्लिल भिडियो देखायो । सन्दर्भ हो, नेपाल पर्यटन बोर्डले आयोजना गरेको टूरिजम पोर्टोकल सार्वजनिक गर्न आयोजना भएको अनलाइन सम्मेलन ।

    जुम सफ्टवेयर प्रयोग गरी करीव २ सय जना सहभागी भएको बैठकमा जब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन थाले, त्यसपछि अकस्मात स्कृनमा अश्लिल भिडियो आइपुग्यो । भिडियो देखाउने मानिसले तथानाम म्यासेज लेख्यो, जुन सबै सहभागीले सजिलै पढ्न सक्थे । त्यसपछि आयोजकले बैठक सम्पन्न गर्यो ।

    देशको मन्त्री नै सहभागी भएको बैठकमा देखिएको यो हर्कतलाई धेरैले मजाक बनाएपनि यसले नेपालको सूचना प्रविधिमा सरकारी उदासिनताको एक उदाहरण भने पेश भएको छ । नेपाल पर्यटन बोर्डले वेवनारमा सहभागी हुन भन्दै आइतबारदेखि जुम बैठकको लिंक सामाजिक संजालमा राखेको थियो ।

    सम्भवतः सोही लिंकबाट एक्सेस लिएर ह्याकरले बैठकमा यो हर्कत गरेको हुन सक्ने आंशका गरिएको छ । बोर्डले यस घटनाप्रति माफी माग्दै छानविन प्रक्रिया शुरु भइसकेको बताएको छ ।

    पछिल्लो समय जुम सफ्टवेयरका सम्बन्धमा उपभोक्ताबाट यस प्रकारका गुनासा धेरै आएका छन् । लकडाउनका बेला यो सफ्टवेयर सामुहिक छलफलका लागि भने निकै उपयोगी सावित भइरहेको छ ।

  • नेपालमा निरन्तर भारी वर्षा, बाढी र पहिरोको जोखिम

    नेपालमा निरन्तर भारी वर्षा, बाढी र पहिरोको जोखिम

    काठमाडौं । नेपालमा मनसुन शुरु भएसँगै भारी वर्षा जारी छ । सोमबार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा ठूला वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । ठूलो वर्षाका कारण पहाडी भेगमा पहिरो तथा खोलामा पानीको वहाव बढ्ने छ ।

    तराईमा समेत नदिको स्तर बढ्न सक्ने भन्दै सतर्कता अपनाृन विभागले आग्रह गरेको छ । भारी वर्षा हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा आग्रह गरेको हो ।

    मनसुनी वायुको प्रभावका कारण नेपालमा वर्षा भइरहेको छ । यो आज दिनभर जारी रहनेछ । प्रदेश १, प्र्रदेश २, प्रदेश ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।

    राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा समान्य बदली हुनेछ । अन्य प्रदेशमा पूर्ण बदली रहने भएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही ठाउँमा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको बुलेटिनमा उल्लेख छ ।

  • सरकारी इन्डक्सन चुलो अब होम डेरीभरी

    सरकारी इन्डक्सन चुलो अब होम डेरीभरी

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको इनडक्सन चुल्हो अब होमडेरीका रुपमा घरमै प्राप्त गर्न सकिने भएको छ । कम्पनीले शनिबारदेखि काठमाडौं उपत्यकामा होम डेलीभरी सेवा थालेको हो । बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो, जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि होम डेरीभरी गरिने कम्पनीले जानकारी दिएको छ ।

    यसअघि कम्पनीले चामल, गेडागुडी लगायतका खाद्यन्नको चक्रपथभित्र मात्रै डेलिभरी सेवा दिएको थियो । अब भने सस्तो डिलसँगको सहकार्यमा सेवा विस्तार गरिएको हो । सस्तो डिलको वेबसाइटमा खाद्य कम्पनीको सामाग्री राखिने भएको छ ।

    उपभोक्ताको अर्डर आएपछि गोदाममा भएको सामान सस्तो डिलका कर्मचारीले ग्राहकको घरसम्म पुर्याउने भएका छन् । यसरी डेलिभरी दिँदा अर्डरको रकम भने खाद्य कम्पनीको बैंक खातामा जम्मा हुने गरी व्यवस्थापन मिलाइएको छ ।

    लकडाउन अवधिभर सस्तो डिलले डेलिभरीवापत कुनै शुल्क समेत नलिने भएको बताइएको छ । कम्पनीले बाल्ट्रा कम्पनीको इन्डक्सन ४ हजार रुपैयाँमा बेच्दैछ ।

  • स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक

    स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक

    काठमाडौं । सरकारले लकडाउन अवधिभर कुनै पनि प्रकारको शूल्क नलिन विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ । तर, त्यसविपरित विद्यालय संचालकहरुले भने लकडाउन अवधिको समेत शुल्क बुझाउन अभिभावकलाई दवाव दिएका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका हुन् ।

    उनीहरुले संयुक्र विज्ञप्ती जारी गर्दै २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न र २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्न अभिभावकलाई आग्रह गरेका छन् । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विज्ञप्ती जारी गरेका हुन् । कोरोना भाइरसको महामारी शुरु भएपछि ११ चैतयता सबै विद्यालय बन्द छन् । सरकारले चैत महिनाको शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

    यसबीचमा विद्यालयले अनलाइन कक्षा चलाएका छन् । उक्त अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने सरकारको निर्देशन छ । तर, त्यसविपरित विद्यालय संचालकले भने अभिभावकसँग शूल्क मागेका हुन् । लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको भन्दै यसले देशभर करिब दुई लाख शिक्षक कर्मचारीको जीवनयापन कठिन भएको उनीहरुको तर्क रहेको छ ।

    सरकारले निजी विद्यालयलाई राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउनुको विकल्प नभएको समेत उनीहरुले बताएका छन् । यस सम्बन्धमा भने सरकारले कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

  • आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने

    आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने

    काठमाडौं । नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सूर्यग्रहण सुरु हुने भएको छ । यो ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिने भएको छ । यस बेला भूसतहको तापक्रम घटेर चिसो हुने भएको छ ।

    नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद्हरुले बताएका छन् । बीपी कोइराला मोमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालय, विकास समितिका अनुसार पोखरामा विहान १० बजेर ५२ मिनेटमा, महेन्द्रनगरमा १० बजेर ५४ मिनेटमा, जनकपुरमा १० बजेर ५६ मिनेटमा र भद्रपुरमा ११ बजेर ५२ मिनेटमा सूर्यग्रहण सुरु हुने भएको छ ।

    जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, झापाको भद्रपुरबाट ८१ प्रतिशत र कन्चनपुरको महेन्द्रनगरबाट ९३ प्रतिशत सूर्य ढाकेको देखिने भएको छ । नेपालका लागि यो सूर्यग्रहण महत्वपूर्ण रहेको छ । अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण नेपालमा देखिने भएको छ ।

    सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्नु नै सूर्य ग्रहण हो । धर्मशास्त्रका अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । सूर्यग्रहण नाङ्गो आँखाले हेर्नु हुँदैन ।

  • तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

    तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

    काठमाडौं । कोरोना भाइरसको संक्रमण अब तराई भन्दा बढी पहाड र हिमाली भेगमा फैलन थालेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा नेपालमा ३ सय ३१ जना नयाँ कोरोना संक्रमित भेटिए । उनीहरु धेरैजसो पहाडी भेगका मानिस हुन् । भारतबाट आएका मानिसहरु आआफ्नो घरमा गएसँगै पहाड र हिमालमा समेत कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएकामध्ये ४९ जना महिला हुन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना र सुनसरीका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    उता, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका २४ जना र सर्लाहीका ३ जनासमेत कोरोना संक्रमित पाइएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा बाराका ३ जना समेत संक्रमित पाइएका छन्।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बाराका १, बाग्लुङका १४ जना, बैतडीका १८, गुल्मीका १८ जना, डडेल्धुरा १२ जना, डोटीका ६१ जना, कैलालीका १ जना, काठमाडौंका १, नवलपरासी पूर्वका १७ जना, नवलपरासी पश्चिमका १ जना, पाल्पाका १, रामेछापका ३ जना, रौतहटका २, सर्लाहीका ६ जना र रुपन्देहीका १ जनामा समेत कोरोना संक्रमण पाइएको मन्त्रालयको तथ्यांक छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा धादिङका ८ जना, पाल्पाका १६ जना र भक्तपुरका ७ जनामा समेत कोरोना संक्रमण पाइएको छ। भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र स्याङ्जाका १ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

    कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा रौतहटका ५ जना, त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका २ जना, पोखरा प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ६ जना, पोखराकै क्षयरोग केन्द्र प्रयोगशालामा नवलपरासी पूर्वका ११ जना र तनहुँका २३ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १६ जनासमेत संक्रमित पाइएका छन्। बाँकेको भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १४ जना र बर्दियाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्धारा जारी तथ्यांकमा उल्लेख छ ।

    नेपालमा २४ घण्टामा १ सय ७६ जना निको भए । अहिलेसम्म नेपालमा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

  • कोरोना संक्रमित बिरामी भेटिनु भन्दा धेरै पहिला नै ईटालीमा कोरोना पसि सकेको तथ्य खुलासा

    कोरोना संक्रमित बिरामी भेटिनु भन्दा धेरै पहिला नै ईटालीमा कोरोना पसि सकेको तथ्य खुलासा

    ईटालीस्थित बैज्ञाननिकहरुले स्थानीय दुई वटा सहरका ढलको पानीमा सन् २०१९ को डिसेम्बरमा नै कोरोना देखिएको बताएका छन्   । चीनको उहान प्रान्तबाट कोरोना महामारी फैलिएको र महामारी फैलाउन शंकाको सुबिधाका आधारमा चीनको हात रहेको आरोप लागि रहँदा ईटालीको मिलान र तुरिन  सहरका ढलका फोहोर पानीमा भने कोरोना भाईरस डिसेम्बर १८ तारिखमा नै देखिएको बैज्ञाननिकहरुले बताएका छन् ।

    ईटालीस्थित द नेसनल ईन्स्टिचुट अफ हेल्थ (आई एस एस) ले गत डिसेम्बर महिनाको १८ तारिखमा मिलान र तुरिन सहरको ढल भित्रको फोहोर पानीमा त्यो जैबिक भाईरस भेटिएको थियो । चीनका स्वास्थ         अधिकारीहरुले कोरोना भाईरस संक्रमित पहिलो बिरामी डिसेम्बरको अन्त्यमा पुष्टी गरेका थिए भने ईटालीमा कोरोना संक्रमित पहिलो बिरामी फेब्रुअरी मध्यमा पुष्टि भएको थियो । ईटालीका बैज्ञानिकहरुको यो खुलासा पछि विश्वका सबै देशहरुमा  बास्तबिक रुपमा ठानिएको भन्दा पहिला नै कोरोना छिरिसकेको हुन सक्ने आधार बलियो भएको छ । एक अध्ययनका अनुसार स्पेनमा पनि बार्सिलोनास्थित ढलबाट संकलन गरिएको फोहोर पानीमा जनवरीको मध्येमा नै कोरोना भाईरसको जिवाणु फेला परेको थियो जबकी त्यसको ४० दिन पछि मात्र स्पेनमा पहिलो संक्रमित बिरामी भेटिएका थिए । फ्रान्समा पनि बैज्ञानिकहरुले पेरिस नजिकैका एक ब्यक्तीलाई निमोनिया जस्तो लक्षण देखिए पछि जांच गर्दा गत डिसेम्बर २७ मा नै ती ब्यक्तीमा कोरोना संक्रमण देखिएको थियो ।

    ईटालीमा द नेशनल ईन्स्टिचुट अफ हेल्थका बैज्ञानिकहरुले गत बर्षको अक्टुबरदेखि सन् २०२० को फेब्रुअरी भित्र बिभिन्न सहरका ४० ठाँऊका वेष्ट वाटर ट्रिट्मेन्ट प्लान्टबाट पानी निकालेर अध्ययन गरेका थिए ।  अक्टुबरदेखि नोभेम्बर भित्र जाँच गरिएका ढलका पानीमा त्यस्ता भाईरस नदेखिएको बैज्ञानिकहरुले बताएका छन् । ईटालीस्थित आई एस एसका बैज्ञानिकहरुले पहिलो कोरोना संक्रमित बिरामी फेला पर्नु धेरै अगाडि नै त्यहाँको ढल भित्रका फोहोर पानीमा कोरोना भाईरस भेटिएको निस्कर्ष  भने निकाली सकेका छन् । ईन्स्टिचुटले आउदो जुलाई महिनादेखि पर्यटकहरु बसोबास गर्ने सबै होटलका फोहोर पानी माथि अनुसन्धान गर्ने पाईलट पोग्राम सुरु गर्ने बताईको छ । ईटालीमा कोरोना संक्रमणबाट ३५ हजार मानिसको मृत्‍यु भै सकेको छ ।  

    समाचार श्रोत : बिबिसी

  • पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

    पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

    न्युयोर्क

    लाखौं संक्रमित बनाएर हजारौंको ज्यान लिने कोरोना संक्रमणको बिरुद्ध दिनहुँ नयाँ नयाँ  शुभकामना समाचार आउन थालेका छन् ।  यस्तै समाचार बीच अब कोरोना संक्रमण कै कारण ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका बिरामीलाई बचाउने औषधी पत्ता लागेको छ । सस्तो मुल्य र सर्वसुलभ ‘डेक्जामेथाजोन’ ले कोरोना संक्रमणबाट झण्डै मृत्‍यु सैय्यामा पुग्न लागेका बिरामीलाई बचाउने नयाँ तथ्य पत्ता लागेको छ । बेलायतस्थित बिज्ञहरुका अनुसार ‘डेक्जामेथाजोन’ को थोरै प्रयोगले पनि यो खतरनाक भाईरसबाट बच्न्न सकिने कुरा बिबिसि न्युजले लेखेको छ । बिबिसि न्युजका अनुसार महामारी सुरु भएयता यो औषधीको प्रयोगले बेलायतमा भेण्टिलेटरमा पुगेका करिब ५ हजार बिरामीको ज्यान बचाई सकेको छ । अक्स्फोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताले करिब २ हजार बिरामीमा यो औषधीको प्रयोग गरेका थिए र उनिहरुले ‘डेक्जामेथाजोन’ डोज नपाएका अन्य ४ हजार बिरामीसँग तुलना गरेका थिए ।  अनुसन्धानकर्ताका अनुसार यो औषधीले भेण्टिलेटरमा पुगेका करिब ४० प्रतिशत बिरामी र अक्सिजन लेभल कम भएका करिब २५ प्रतिशत बिरामीलाई बचाउने उनिहरुको दाबी छ । मुख्य अनुसन्धानकर्ता पिटर हर्बीले औषधीको बारेमा भनेका छन्; “कोरोना संक्रमणको महामारी पछि विश्वभर अनुसन्धानको रुपमा प्रयोग गरिएका औषधी मध्ये मृत्‍युदर घटाऊने यो औषधी नै मुख्य साबित भएको छ” । 

    डेक्जामेथाजोन सन् १९६० देखि आर्थ्राईटिज र आज्मा जस्ता रोगहरुको उपचारमा प्रयोग गरिदै आएको औषधी हो ।

  • यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

    यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

    काठमाडौं । यो वर्ष विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)  दिनु नपर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको ग्रेड निर्धारण गरिने उनीहरुलाई यस परीक्षाको मान्यता दिइने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बुधबार राती अबेर सकिएको छ ।

    निर्णय भने बिहीबार मात्र सार्वजनिक गर्ने मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । शिक्षा मन्त्रालयले बुधबारको मन्त्रिपरिषद् बैठकमा आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिने गरी तीन वटा विकल्प राखेको छ । नेपालमा अहिले विद्यालयलाई क्वारेन्टिन बनाइएपछि परीक्षा लिन भने सम्भव थिएन ।

    बैठकले विद्यालयबाट आन्तरिक रुपमा मूल्यांकन गरी प्राप्तंक मात्र परीक्षा बोर्डमा पठाउने गरी निर्णय भएको छ । सोही आधारमा आधारमा ग्रेड निर्धारण गरी बोर्डले परीक्षाफल सार्वजनिक गर्नेछ । ६ चैतमा तोकिएको परीक्षा कोरोना भाइरसको संक्रमणसँगै रोकिएको थियो ।

    बैठकले लकडाउन खुकुलो बनाउने सन्दर्भमा पसल खोल्ने र निजी सवारी साधन जोर बिजोर प्रणालीमा खुला गर्ने समेत निर्णय गरेको बताइएको छ । औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन ।

  • गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित

    गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा आइतबार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना देखिएको हो । पोखरास्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परीक्षणले ३८ जनामा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी हुने अधिकांश भारतबाट नेपाल फर्किएका व्यक्ति हुन् ।

    उनीहरु क्वारेन्टाइनमा रहेको बताइएको छ । स्याङ्जा वालिङ र भीरकोट नगरपालिकाका १४ जना पुरुषमा कोरोना देखिएको छ । बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाकाका १० जनामा कोरोना देखिएको हो । गोरखामा पहिलो पटक सर्वाधिक संख्यामा संक्रमित थपिए । गोरखाको पालुङटार नगरपालिकाका र गण्डकी गाउँपालिकाका १० जनामा कोरोना देखिएको छ ।

    नवलपरासीको हुप्से गाउँपालिकाका ४ जनामा समेत कोरोना देखिएको छ । अब गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ। शनिबारसमेत यहाँ ठूलो संख्यामा संक्रमित थप भएका थिए ।

  • शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने

    शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने

    काठमाडौं । नेपालको अधिकांश स्थानमा शनिबार दिनभर पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर जसो नै वर्षातको सम्भावना रहेको छ । निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो वर्षात हुने महाशाखाले उल्लेख गरेको छ । अरब सागरमा बनेको चक्रवातका कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएपछि पानी पर्न लागेको हो ।

    महाशाखाका अनुसार शनिबार दिउँसो धेरै जसो स्थानमा पानी पर्नेछ । बेलुकापछि भने पानी पर्न रोकिने सम्भावना छ । आइतबारदेखि भने स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा पानी परे पनि देशैभर एकैसाथ पानी पर्ने सम्भावना नहुने महाशाखाको भनाई छ ।

    महाशाखाका अनुसार अहिले मनसुन भित्रि सकेको छैन । तर, भित्रन अहिले प्रणाली विकास हुने क्रम जारी रहेको छ । आगामी साताको शुरुवातबाटै मनसुन भित्रन सक्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा शुक्रबारबाटै जारी वर्षा निरन्तर छ ।

  • देशका विभिन्न स्थानमा २४ घण्टासम्म लगातार वर्षाको प्रक्षेपण

    देशका विभिन्न स्थानमा २४ घण्टासम्म लगातार वर्षाको प्रक्षेपण

    काठमाडौं । नेपालमा आगामी २४ घण्टासम्म देशका विभिन्न स्थानमा लगातार वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । काठमाडौं उपत्यकाका शुक्रबार रातीबाटै वर्षा जारी रहेको छ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रमा प्रभाव परेको हो ।

    यसले स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभरजसो र राति समेत मुलुकका बिभिन्न भूभागमा वर्षा गराउने महाशाखाको भनाई छ । महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश भू भागमा वर्षा जारी रहेको छ । दिउँसोसम्म बाँकी प्रदेशमा पनि वर्षा हुने सम्भावना रहेको छ । रातीसम्म वर्षा कायम हुनेछ । वर्षाले नदीको बहाव बढाउन सक्ने सम्भावना रहेको छ । पहाडी भेगमा लगातार वर्षाले ठाडो खोलाहरु बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

  • बिहीबार निको भएर घर फर्किए ३० संक्रमित

    बिहीबार निको भएर घर फर्किए ३० संक्रमित

    विराटनगर । बिहीबार मात्र नेपालमा कोरोना भाइरसका ३० जना संक्रमित निको भएका छन् । प्रदेश १ मा बिहीबार ३० जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका २७ जना कोरोना मुक्त भएक छन् । तीनजना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएका हुन् ।

    डिस्चार्ज हुनेमा उदयपुरका एक पत्रकार र धनकुटाका चार स्वास्थ्यकर्मी छन् । उदयपुरका एक महिला र दुई पुरुष, झापाका ७ पुरुष, मोरङका एक महिलासहित ६ जना, सुनसरीका ४, धनकुटाका २ महिला र दुई पुरुष, खोटाङका एक पुरुष र सप्तरीका २ जना पुरुष गरी २७ जना डिस्चार्ज भएको कोसी अस्पतालले जनाएको छ । अब उदयपुर कोरोनामुक्त बन्न सफल भएको छ ।

    प्रदेश १ मा समेत संक्रमित भई निको हुनेको संख्या ७६ पुगेको छ । यस प्रदेशमा ओखलढुंगा र इलामबाहेकका सबै जिल्लामा संक्रमित भेटिएका छन् । प्रदेश १ मा संक्रमितको संख्या २ सय १ पुगेको छ ।

  • संक्रमण पुष्टी भएका बिरामीको अन्य रोगका कारणबाट मृत्यु भए ‘कोरोना कारण’ नमानिने

    संक्रमण पुष्टी भएका बिरामीको अन्य रोगका कारणबाट मृत्यु भए ‘कोरोना कारण’ नमानिने

    काठमाडौं । अब नेपालमा अन्य रोग लागेर मृत्यु भएको व्यक्तिमा कोरोना पुष्टी भएपनि त्यसलाई कोरोनाका कारण मृुत्यु भएको नमानिने भएको छ । सरकारले कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण मृत्यु भएको स्पष्ट भए त्यसलाई कोरोनाबाट भएको नमान्ने निर्णय गरेको हो । अहिलेसम्म जुन रोग र असरका कारण ज्यान गएपनि संक्रमण पुष्टि भएमा त्यो मृत्यु कोरोनाका कारण भएको मानिदै आएको थियो ।

    तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ मा संशोधन गर्दै अन्य रोगका कारण व्यक्तिको निधन भएमा त्यसलाई कोरोनाका कारण मरेको नमान्ने निर्णय गरेको हो । कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशलाई बुझाउने गरी सरकारले परिभाषित गरेको छ ।

    कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्ने उल्लेख छ । कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको नमानिने कार्यविधिले स्पष्ट पारेको छ ।

    अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट नौं जना व्यक्तिको मृत्यु भइसकेको छ । बुधबार दोलखाका कोरोना संक्रमित पुरुषको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ज्यान गएको थियो । नेपालमा दुई जनामा पहिले नै कोरोना पुष्टी भएको थियो भने अन्यको भने निधन भएपछि पुष्टी भएको थियो ।

  • बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै

    बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै

    एजेन्सी

    बर्तमान अवस्थामा संसारभरका मानिस प्रविधिमा यति धेरै अव्यस्त भै सकेका छन्  कि हिँडदा पनि बाटोमा होइन, फोन हेरेर हिंड्न थालेका छन् । कतै तपाईंमा पनि यस्तै बानी छ भने अब सरकारले बाटो हिंड्दा फोन चलाउनेलाई बिस्तारै लगाम लगाउने कानून ल्याउन थालेको छ । बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाउने कानून जापानस्थित यामातो सहरमा ल्याउन लागिएको हो । सोरा न्युज २४ का अनुसार यामातोका दुईवटा ट्रेन स्टेसनमा हिंडेका करिब ६ हजार मानिसमा गरिएको अनुसन्धानमा १२ प्रतिशत मानिसले बाटो हिंड्दा फोन हेर्दै हिंडेका थिए । त्यही अनुसन्धान सार्वजनिक भए लगतै  यामातो सहर प्रतिनिधिहरु फोन प्रतिबन्ध लगाउने प्रस्तवको बिषयमा मतदान गर्ने निर्णयमा पुगेका छन् ।यामातो सहरका जनप्रतिनिधिले बटुवाहरु फोनमा ब्यस्त हुँदै हिंड्ने क्रम बढे पछि मान्छे- मान्छे आपसमा ठोक्किएर लड्ने जस्ता घटनामा पनि बृद्धि हुँदै गएको निचोड निकालेर यस्तो नियम लागू गर्न लागिएको हो ।  

    यदि जुन महिनामा यो नियम मतदानबाट पास भयो भने जापानको यामातो सहर बाटो हिंड्दा फोन चलाऊन प्रतिबन्ध लगाउने पहिलो सहर हुने छ । नियम पास भए जुलाई १ तारिखदेखि लागू हुने छ । हालै बैज्ञानिकहरुले बाटोमा हिड्दा बटुवाले टेक्स्ट गर्ने, फोन चलाउँदै हिंड्ने गर्दा विश्वमा बटुवाहरु बीचको दुर्घटनामा ८ सय प्रतिशत बृद्धि भएको बताएका छन् ।