Category: विज्ञान प्रविधि

  • कोरोना परीक्षणमा स्पेनको एडभान्स प्रविधि, १५ मिनेटमै पिसिआर नतिजा

    कोरोना परीक्षणमा स्पेनको एडभान्स प्रविधि, १५ मिनेटमै पिसिआर नतिजा

    स्पेन । स्पेनले कोरोना भाइरसको परीक्षणमा सबैभन्दा एडभान्स प्रविधि भित्राएको छ । बीबीसीका अनुसार अब यो मुलुकमा पिसिआर परीक्षणको नतिजा १५ मिनेटै आउनेछ । कतिपय मुलुकमा नतिजा ढिला आउँदा समेत संक्रमण फैलिरहेको सन्दर्भमा यो प्रविधि संक्रमणको फैलावट रोक्न फलदायी हुने विश्वास लिइएको छ ।

    स्पेनमा दोस्रो पटक कोरोनाको लहर प्रारम्भ भएको छ । १५ मिनेटमा आएको नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीहरुको दावि छ । यो मुलुकमा अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको छ ।

    ३२ हजारको ज्यान गइसकेको छ । यहाँ २४ घण्टामा साढे ३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । यसबीचमा १ सय १३ जनाको ज्यान गएको तथ्यांक छ ।

  • पपुवा न्यूगिनीमा ठूलो भूकम्पको धक्का

    पपुवा न्यूगिनीमा ठूलो भूकम्पको धक्का

    पपुवा न्यूगिनी । भूकम्पबाट धेरै पिडित हुने मुलुकमध्ये एक पपुवा न्यूगिनीमा आज बिहान ठूलो भूकम्पको धक्का महसुश गरिएको छ । यहाँ ६.१ म्याग्नीच्युडको भूकम्प मापन गरिएको अधिकारीहरुले जनाएका छन् ।

    स्थानीय समयअनुसार बिहीबार बेलुका ४ बजेर ४६ मिनेटमा ठूलो भूकम्पको धक्का महसुस गरिएको थियो । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रका अनुसार ९० किलोमिटर गहिराइबाट भूकम्प आएको छ । भूकम्पका कारण मानवीय तथा भौतिक क्षतिको विवरण अझै आइसकेको छैन ।

  • रसियाबाट साढे २ करोड खोप नेपाल आउने खबरले तातियो विश्वबजार

    रसियाबाट साढे २ करोड खोप नेपाल आउने खबरले तातियो विश्वबजार

    काठमाडौं । मंगलबार विश्वभर एक खबर सनसनिपूर्ण रुपमा फैलियो, रसियाले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालले साढे २ करोड डोज खरीद गर्न सम्झौता गरेको छ । त्यो सम्झौता पनि सरकारी निकायले होइन, निजी कम्पनीले ।

    धेरैका लागि अपत्यारिलो लाग्ने यो खबर वास्तविक भएको पुष्टी त्यति बेला भयो, जब रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले यसको घोषणा गर्यो र भन्यो, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका छौं ।’ ‘स्पुतनिक–भी’ रसियाले बनाइरहेको नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो ।

    यस खबरबारे विश्वभर प्राथमिकताका साथ समाचार बनेका छन् । रोयटर्सदेखि भारतीय मिडियासम्मका समाचारमाध्यमले यसलाई समाचारमा समेटेका छन् । तर, यता सरकारी नियका भने यो सम्झौताबारे बेखर देखिएका छन् ।

    महामारीविरुद्ध खोप ल्याउने र जनतालाई वितरण गर्ने दायित्व सरकारको हो । तर, खोपको अन्तिम परीक्षण नहँदै नेपालका लागि यो खोपको आयातकर्ताका रुपमा एक निजी कम्पनीले सम्झौता गरिसकेको छ । तर, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभागलगायत नेपालका सरकारी आधिकारी निकायलाई भने यसबारे खबरै नभएको पाइएको छ ।

    अहिले ‘स्पुतनिक–भी’को तेस्रो चरणका परीक्षण भइरहेको छ । मध्यअक्टोवरसम्म यसको परीक्षण पुरा हुने अपेक्षा गरिएको छ । त्यसो भएमा छिट्टै खोप बजारमा आउने तथ्य भने पक्का भएको छ । तर, खोपको उत्पादन थालिएपछि नेपालमा ल्याउन र प्रयोग गर्न पनि नेपाल सरकारको अनुमति अनिवार्य हुन्छ ।

    विश्वभर १ सय ४० भन्दा बढी खोपको परीक्षण भइरहेको छ । यसमा मुलुकहरुले अर्बौ रुपैयाँ खर्च गरिरहेका छन् । उनीहरु त्यो खर्च खोप बेचेरै उठाउन चाहन्छन् । सोहीकारण अब मुलुकहरुले आफ्नो बजारको खोजी शुरु गरिसकेका छन् ।

    त्यसक्रममा रुसले नेपालको निजी कम्पनीमार्फत नेपाल छिर्न खोजेको स्पष्ट भएको छ । यसमा अप्रत्यक्ष रुपमा सरकारी मान्छेहरुले समेत साथ दिएका छन् । किनकी ट्रिनिटी नामक कम्पनी तत्कालीन एमाले निकट स्वास्थ्य सामाग्री आपूर्तिकर्ता विशाल पण्डित संलग्न रहेको कम्पनी हो ।

  • गरिब मुलुकलाई कोरोना परीक्षण छिटो गर्ने प्रविधि, टेस्टको नतिजा २० मिनेटमै

    गरिब मुलुकलाई कोरोना परीक्षण छिटो गर्ने प्रविधि, टेस्टको नतिजा २० मिनेटमै

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ ले केही मिनेटभित्रै कोरोना भाइरस संक्रमण पत्ता लगाउने परीक्षण विधि विस्तार गर्ने भएको छ । न्यून र मध्यम आय भएका मुलुकलाई सहजता होस् भन्नको लागि उक्त प्रविधि विस्तार गर्न लागेको हो ।

    पाँच डलर मात्र लागत पर्ने सो परीक्षण प्रविधि स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा पठाउन लागिएको डब्लुएचओले जनाएको छ ।

    डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यो परीक्षणले न्यून र मध्यम आय भएका मुलुकलाई कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने बताए ।

    गेब्रेयेससको अनुसार नयाँ प्रविधिले १५ देखि २० मिनेटमा कोरोना परीक्षणको नतिजा दिनेछ । औषधि निर्माता एबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनसँग मिलेर १२ करोड टेस्ट्स तयार पार्ने सहमति जनाइसकेको छ ।

    यसले प्रयोगशालाको सुविधा र पर्याप्त स्वास्थ्यकर्मी नभएका क्षेत्रमा परीक्षणको दायरा बढाउने डब्लुएचओको भनाइ छ । उत्पादकहरूसँग सम्झौता गरेर डब्लुएचओले छ महिनाभित्र १२ करोडवटा त्यस्ता परीक्षण उपलब्ध हुनेछ ।

    सम्झौताले १ सय ३३ देशमा सहायता पुग्नेछ । त्यसमा हाल महामारीले धेरै असर पारेका र मृत्यु भएका मुलुकहरु पर्दछन् ।

    परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्दा धेरै देशमा कोरोनाभाइरस फैलिन नदिन गाह्रो हुने गरेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेमध्ये आधाभन्दा धेरैको मृत्यु अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा भएको छ । एजेन्सी

  • थप ९ कम्पनीको स्यानिटाइजर बिक्रि र प्रयोगमा प्रतिवन्ध

    थप ९ कम्पनीको स्यानिटाइजर बिक्रि र प्रयोगमा प्रतिवन्ध

    काठमाडौं । सरकारले पछिल्ला दिनमा स्यानिटाइजरको गुणस्तर मापन तिब्र बनाएको छ । त्यस क्रममा थप ९ वटा कम्पनीको स्यानिटाइजर बिक्रिमा प्रतिवन्ध लागेको छ । बजारमा प्रयोग हुँदै आएका नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको
    पाइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ।

    विभिन्न कम्पनीका ह्यान्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा हानिकारक रसायन मिसाइएको भेटिएको हो । यसअघि पनि विभागले करीव एक दर्जन कम्पनीका उत्पादनमा यस्तै हानिकारक रसायन भेटिएपछि बिक्री र प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

    विभागका अनुसार ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे र साधना सप्लायर्स काठमाडौंको ह्याण्ड स्यानिटाइजरमा रसायन भेटिएको छ ।

    यसैगरी कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेडका उत्पादनमा समेत प्रतिवन्ध लागेको छ । यस्तो रसायनबाट वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्नेसम्मको खतरा हुन्छ ।

  • आजबाट मौसममा सुधार, कुन क्षेत्रमा कस्तो रहला मौसम ?

    आजबाट मौसममा सुधार, कुन क्षेत्रमा कस्तो रहला मौसम ?

    काठमाडौं । आइतबारबाट काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसममा व्यापक सुधार हुने भएको छ । आज बिहानैदेखि घाम लागेको छ । प्रदेश १ र २ का केही स्थानमा बाहेक धेरैजसो स्थानमा आज घाम लागेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र २ मा न्यून चापीय क्षेत्रको प्रभाव अझै रहेकाले मौसम बदली भएको छ । त्यस क्षेत्रमा हल्का वर्षाको समेत सम्भावना छ । यसबाहेक देशका धेरैजसो स्थानमा आज मौसम सफा रहनेछ ।

    महाशाखाका अनुसार पश्चिम नेपालबाट क्रमशः मौसम अनुकुल हुँदै आउनेछ । आज बागमती प्रदेशदेखि पश्चिममा सामान्य मौसम बदली हुन सक्ने छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने रहेको छ ।

    आज राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

  • शुक्रबार पनि थामिने छैन वर्षा, कुन कुन क्षेत्रमा छ जोखिम ?

    शुक्रबार पनि थामिने छैन वर्षा, कुन कुन क्षेत्रमा छ जोखिम ?

    काठमाडौं । नेपालमा मनसुन लम्बिएको छ । यसले देशभर निरन्तर वर्षा समेत गराइरहेको छ । पछिल्लो तीन दिनदेखि जारी वर्षा शुक्रबार समेत थामिने छैन । मौसम पुर्वानुमान महाशाखाका अनुसार शुक्रवार देशका विभिन्न स्थानमा पानी पर्नेछ । यसले तराईमा जलस्तर बढाउने भएको छ । पहाडमा पहिरोको जोखिम उत्तिकै रहनेछ ।

    भारतको मध्य प्रदेशको पुर्वी भूभागमा न्यून चापीय क्षेत्र उत्तर पुर्व सरेका कारण त्यसको प्रभावले नेपालमा वर्षा निम्त्याएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    दिउँसो देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने भएको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

    शुक्रवार राती पनि देशभर सामान्यदेखि अधिकांश बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षा हुने देखिएको छ ।

    आगामी २४ घण्टामा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १(२ स्थानहरुमा भारी वर्षाको सम्भावना छ । यसले नदीमा पानीको बहाव बढाउने छ । पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै विभागले सचेत बनाएको छ ।

  • हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा

    हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा

    काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा उपलब्ध गराएको छ । यसअघि नेपाल एयरलाइन्सले मात्र नेपालमा ग्राउन्ड ह्यान्डलिङको सेवा गर्न पाउने गरी अनुमति पाएको थियो । सरकारले दिएको अनुमतिसँगै अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालयले आफ्ना जहाज र यात्रुको व्यवस्थापन कम्पनीले स्वयमःले गर्न पाउने छ ।

    कम्पनीले आवश्यक पर्ने उपकरण र जनशक्ति समेत आफैं राख्न सक्नेछ । यसले निगमको आम्दानी भने खुम्चिने छ । हिमालयले निगमलाई बुझाउनु पर्ने रकम जोगिने छ ।

    ग्राउन्ड ह्यान्डलिङअन्तर्गत विमानमा यात्रु लैजाने, विमान रोकिएपछि विमानबाट यात्रु ओराल्ने भर्‍याङ हाल्ने, बस लिएर जाने, यात्रुलाई टर्मिनलसम्म ल्याएर छोड्ने, विमानमा ब्यागेज हाल्ने र झार्ने, ब्यागेज बेल्टमा व्यवस्थापन गर्ने, टिकेटिङसहितका काम कम्पनी अब आफैले गर्न सक्नेछ ।

    सातामा ३५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिन सकिने प्रावधान अनुसार हिमालयले अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ ।

  • कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

    कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्हिगमन भएको छ । सँगै नेपालमा विजुलीको आपूर्ति समेत अनियमित बनिरहेको छ । यसै त कुलमानको पुननियुक्ति माग गरिरहेक जनता सरकारप्रति रुष्ट छन् । त्यसमाथि पुनः विजुली जाने क्रम बढेसँगै उर्जा मन्त्रालयलाई भने तनाव थपिदिएको छ ।

    सोहीकारण उर्जा मन्त्री वर्षमान पुनःले बिहीबार मन्त्रालयमा प्राधिकरणका अधिकारीहरुसँग आकष्मिक बैठक राखेका छन् । कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङका कारण ६ दिनको होम आइसोलेसन पुरा गरी मन्त्री पुनः आज मन्त्रालयमा हाजिर भएका थिए ।

    हाजिर भएकै दिन उनले मन्त्रालयमा प्राधिकरणका अधिकारीलाई निमन्त्रणा गरे । उनले विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गरी गुनासो व्यवस्थापन गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।

    मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकलाई नै मन्त्रालयमा डाकेका थिए । उनले आलोचनालाई कामबाट जवाफ दिन समेत आग्रह गरे ।

    मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी गराउन समेत निर्देशन दिएको उर्जा मन्त्रालयले जनाएको छ ।

    मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकबिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा बताएको छन् ।

    मन्त्री पुनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएको विषय भएको भन्दै त्यस्तो संवेदनशील निकायमा एक मिनेटको पनि ठूलो महत्व हुने उनले बताए । कोभिड१९ को महामारी न्यूनिकरणका उपाय अनुसार विद्यालय बन्द छन् ।

    सोहीकारण अहिले अनलाइन कक्षाबाट पठनपाठन भइरहेको छ । विद्युती आपूर्तिमा हुने अनियमितताले उनीहरुको पठाईमा समेत असर पुग्ने मन्त्री पुनको भनाई छ ।

  • शनिबारदेखि मात्र मौसममा सुधार

    शनिबारदेखि मात्र मौसममा सुधार

    काठमाडौं । बिहीबार र शुक्रबार नेपालमा अविरल वर्षा जारी रहने भएको छ । मौसममा शनिबारदेखि मात्र क्रमिक सुधारको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारबाट भने मौसममा क्रमिक सुधारको सम्भावना छ ।

    देशका अधिकांश स्थानमा आगामी दुई दिन वर्षा जारी रहने भएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानमा भने अति भारी वर्षा भएको विभागको भनाई छ ।

  • ८ कात्तिकबाट क्लिन फिड लागु, विदेशी च्यानल विज्ञापनरहित

    ८ कात्तिकबाट क्लिन फिड लागु, विदेशी च्यानल विज्ञापनरहित

    काठमाडौं । ८ कात्तिकबाट नेपालमा प्रशारण हुने सबै प्रकारका विदेशी च्यानलको विज्ञापन हट्नेछ । विज्ञापन हटाउन नमिल्ने विदेशी च्यानल भने सरकारले बन्द गराउने छ । सोहीअनुसार तयारी शुरु भएको सूचना तथा संचार प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

    विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ ले ७ कात्तिक २०७७ सम्म विदेशी च्यानल नेपालमा विज्ञापनरहित बनिसक्नु पर्ने नियम ल्याएको छ । यो व्यवस्थ कार्यान्वयनका लागि सेवा प्रदायकले तयारी थालेका छन् । नेपालमा प्रशारण होस भन्ने चाहना राख्ने र यहाँ ग्राहक देख्ने च्यानलले क्रमशः उपकरण ल्याएर जडान थालिसकेका छन् ।

    अनिच्छुक कम्पनीहरुले भने नेपालमा प्रशारण बन्द गर्नेछन् । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित भएको ऐनले क्लिन फिडमा जान सेवा प्रदायकलाई एक वर्ष समय दिएको हो ।

    भारतीय प्रसारकले नेपालमै क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिने भएको छ । सरकारले २०७४ साउन १ गतेदेखि नै ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको हो ।

  • नेपालमा उच्च वर्षा, सतर्क रहन आह्वान

    नेपालमा उच्च वर्षा, सतर्क रहन आह्वान

    काठमाडौं । नेपालमा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा अहिले उच्च वर्षा भइरहेको छ । यसले नदी किनारका वस्तीमा क्षति पुग्ने र पहाडी भेगमा पहिरोका डर हुने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । अहिले देशभरको मौसम बदली भई पानी परिरहेको हो ।

    मुलुकको धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केहि स्थानमा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार आज भरेसम्मै मौसम प्रतिकुल नै रहनेछ ।

    भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र बनेपछि त्यसको प्रभाव नेपाली आकासमा समेत परेको हो । यसले वर्षा निम्त्याउन भूमिका खेलेको छ । वर्षा भने आगामी शुक्रबारसम्म नै रहि रहनेछ ।

  • केरुङ–काठमाडौं रेलमार्ग : चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न

    केरुङ–काठमाडौं रेलमार्ग : चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न

    काठमाडौं । केरुङ–काठमाडौं जोड्ने रेल्वे आयोजनाको चीनको भूभागमा पर्ने क्षेत्रमा भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । अध्ययन टोलीले स्थलगत रुपमा गरेको अध्ययन पुरा भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् । यो अध्ययनको निष्कर्ष के आयो भन्ने बारेमा भने खुलाइएको छैन । रेल मार्ग निर्माणको यो प्रारम्भिक अध्ययन मात्र हो । यसमा थप अध्ययन आवश्यक रहेको चिनियाँ पक्षले जनाएको छ ।

    चिनियाँ सरकारी संचारमाध्यममा यसबाट पुष्टी गरिएको छ । समाचार अनुसार अग्ला हिमालहरु छिचोल्नुपर्ने भएकाले केरुङ–काठमाडौं रेल परियोजना एक कठिन परियोजना हुनेछ । अघिल्लो असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

    सो सहमतिको कार्यान्वयन अगाडी बढाउन काठमाडौंमा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले सम्भाव्यता अध्ययनको काम बाडेको थियो । त्यसअनुसार चीनले आफ्नो खर्चमा म्यापिङ सर्वे, भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ भने नेपालले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)का साथै चिनियाँ टोलीलाई सुरक्षालगायतका सहयोग उपलब्ध गराउने सहमति भएको थियो ।

    यो आयोजना नेपालले अनुदानमा बनाइदिन चीनलाई अनुरोध गरिरहेको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार यो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ लागत लाग्छ । करिब ७३ किलोमिटर लामो रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुनेछन् ।

  • अब विदेशबाट डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सकिने

    अब विदेशबाट डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सकिने

    काठमाडौं । अब विदेशमा रहेका श्रमिक र नेपालीले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स कम्पनीलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न सक्ने भएका छन् ।

    राष्ट्र बैंकको निर्देशनपछि अब विदेशमा रहेका नेपालीहरुले डिजिटल पेमेन्टमार्फत सिधै रेमिट्यान्स पठाउन सक्ने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यो व्यवस्था लागू भएपछि विदेशमा रहेका नेपालीले घरमा पैसा पठाउन बैंक वा रेमिट्यान्स कम्पनीमा भौतिक रुपमै उपस्थित हुनु बाध्यता समेत हटेको छ ।

    नेपाल पैसा पठाउनका लागि मोवाइल बैंकिङ, यन्टरनेट बैंकिङ, इलेक्ट्रिक कार्ड, डिजिटल वालेट आदीको प्रयोग गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    यसरी विदेशबाट पठाएको रकमको नेपालमा रेमिट्यान्स कम्पनीहरुले नेपाली रुपैयाँमा भुक्तानी गर्ने भएका छन् ।
    यसका लागि नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ को साविकका व्यवस्थाका अतिरित्त तोकिएका शर्त भने पुरा गर्नुपर्ने भएको छ ।

  • श्रेष्ठले लगाए कोरोनाविरुद्धको खोप, बने पहिलो नेपाली

    श्रेष्ठले लगाए कोरोनाविरुद्धको खोप, बने पहिलो नेपाली

    काठमाडौं । सल्यानका डा. महेश श्रेष्ठ कोरोना भाइरस विरुद्धको खोप लगाउने पहिलो नेपाली बनेका छन् । उनी रुसको मस्कोमा कार्यरत छन् । गैरआवासीय नेपाली संघ रुसका अनुसार उनले मस्कोमा यो खोप लगाउने अवसर पाएका हुन् ।

    रुसमा अहिले कोरोना भाइरसको खोप परीक्षण धमाधम भइरहेको छ । सोहीक्रममा नेपाली डाक्टर श्रेष्ठले समेत खोप लगाउने अवसर पाएका हुन् ।

    ६१ वर्षिय डाक्टर नेपालीले कोरोनाविरुद्धको खोप लगाएको एनआरएनले जानकारी दिएको हो । शनिबार खोप लगाएका उनको नाम अनलाइन लक्की ड्रबाट छनोटमा परेको थियो ।

  • युट्युव तथा सामाजिक संजाल बाट हुने आम्दानीलाई बैधता

    युट्युव तथा सामाजिक संजाल बाट हुने आम्दानीलाई बैधता

    काठमाडौं । सरकारले युट्युवसहित सामाजिक सञ्जालबाट हुने आम्दानीलाई वैधता दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब यस्तो रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सकिने भएको छ । यसअघि यस्तो रकम आइएमईबाट आउने गरिरहेको छ ।

    राष्ट्र बैंकले ईकमर्स लगायत कारोबारवापत अनलाइन वित्तीय सेवामार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था समेत गरेको छ ।

    बैंक तथा वित्तीय संस्था, अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरुका लागि राष्ट्र बैंकले सूचना जारी गर्दै विशेषतः सूचना प्रविधि सम्बद्ध दक्षता विज्ञताको निकासी बिक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिकरव्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुने समेत उल्लेख गरेको छ ।

    राष्ट्र बैंकको यो व्यवस्थापछि स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात् भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सक्नेछन् ।

  • करेन्ट लागेर चितवनमा दुई सैनिकको ज्यान गयो

    करेन्ट लागेर चितवनमा दुई सैनिकको ज्यान गयो

    भरतपुर । चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ । चितवनको कालिका नगरपालिका–८ शक्तिखोरमा रहेको सिंहनाथ गणमा रुख काट्ने क्रममा करेन्ट प्रवाह हुँदा ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ । कार्यालय कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेको र त्यसक्रममा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका क्रममा अस्पताल लैजादै मृत्यु भएको हो ।

    घटनामा सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही राजन कुमालको ज्यान गएको हो । आज बिहान ११ बजेतिर रुखको हाँगा काट्दा बिजुलीको नांगो तारले रुखमा छुँदा उनीहरुलाई करेन्ट लागेको बताइएको छ । चितवनमा अघिल्लो साता पनि एक माछा पोखरीको डिलमा लगाइएको तारमा छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको थियो ।

  • ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगका उत्पादनमा हानिकारक रसायन

    ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगका उत्पादनमा हानिकारक रसायन

    काठमाडौं । नेपालमा ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगले स्वास्थ्यमा गम्भीर असर गर्ने रसायन मिसाएको फेला परेको छ । यस्तो उद्योगबाट उत्पादन भएका उत्पादन प्रयोगमा समेत सरकारले रोक लगाएको छ । औषधि व्यवस्था विभागले आज उद्योगको सूचि सार्वजनिक गर्दै यस्तो आह्वान गरेको हो ।

    यस्ता ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको छ । विभागका अनुसार यी उद्योगले आफ्ना उत्पादनमा मेथानोल मिसावट गरेका छन् । ती स्यानिटाइजर बिक्रीमा रोक लगाइएको छ । काठमाडौंका चार र भक्तपुरको एक उद्योगले उत्पादन गरेका ह्यान्ड स्यानिटाइजर हानिकारक पाइएको छ ।

    भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाडौंको हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको विभागले जानकारी गराएको छ ।

  • सगुनले फेरि खुलायो मिनी आइपिओ, ठूला लगानीकर्ता भित्र्याउने दावी

    सगुनले फेरि खुलायो मिनी आइपिओ, ठूला लगानीकर्ता भित्र्याउने दावी

    न्यूयोर्क

    नेपालीको प्रवर्धनमा अमेरिकामा खुलेको कम्पनी सगुनले दोस्रो पटक मिनी आइपिओ जारी गर्ने अनुमति पाएको छ । प्रतिकित्ता ३० अमेरिकी डलरका दरले कम्तिमा ३० कित्ता शेयरमा लगानी गर्नुपर्ने नियम राखिएको छ ।

    अहिले सर्वसाधारण लगानीकर्ताबाट पाँच लाख डलर हाराहारी लगानी जुटाउने लक्ष रहेको कम्पनीका प्रेसिडेन्ड गोविन्द गिरीले अनलाइन पत्रकार सम्मेलन मार्फत जानकारी दिए । आफ्नो कम्पनीमा ठूला लगानीकर्ता आकर्षित भइ रहेको कारण तत्काल यो रकम जुटाएपछि ठूला लगानीकर्ताको रकम भित्र्याउने उनको दावी छ । आइपिओमा लगानी गर्ने म्याद सेप्टेम्बर भरि मात्र रहेको छ ।

    सगुनले तीन बर्ष अघि पनि मिनी आइपिओ जारी गरेको थियो । त्यसबेला मध्यपूर्व एवं दक्षिण कोरियामा कामका लागि गएका नेपालीहरुले ठूलो रकम लगानी गरेका थिए । नेपालबाट विदेशमा पैसा लैजान नपाइने कानूनी प्रावधानका कारण नेपालमै रहेका नेपालीले भने यो आइपिओमा लगानी गर्न पाउने छैनन् ।

    अहिले कम्पनीको सामाजीक सञ्जाल एप सगुन सञ्चालनमा आइ सकेको छ । अमेरिका र दक्षिण एसियामा आफ्नो एप धेरै प्रयोग हुने कम्पनीको प्रक्षेपण छ । सन् २०२० को अन्त्यसम्ममा ८० लाख प्रयोगकर्ता पुर्याउने कम्पनीले जनाएको छ । भारतमा टिटटक लगायत चिनियाँ एप बन्द भएपछि सगुनका प्रयोगकर्ता बढेको पनि गिरीले दावी गरे । सन् २०२१ भरिमा दुई करोड ८० लाख प्रयोगकर्ता पुर्याउने र ७५ लाख डलर बराबरको आय समेत गर्ने लक्ष राखिएको छ ।

    २०२१ भित्र कम्पनीलाई अमेरिकी शेयर बजारमा सूचीकृत गर्ने एवं २०२३ भित्र उच्च कोटीको न्यूयोर्क स्टक एक्सचेञ्ज या नास्डाकमै सूचिकरण गर्ने गिरीले पत्रकार सम्मेलनमा बताए । सन् २०१४ मा सुरु भएको कम्पनी सगुनले सामाजीक सञ्जाललाई सोसियल स्मार्ट कार्डसँग एकाकार गरेर प्रयोगकर्तालाई गुणात्मक लाभ दिने दावी गर्दै आएको छ ।

  • अक्सफोर्डले किन रोक्यो कोरोना भ्याक्सिनको परीक्षण ?

    अक्सफोर्डले किन रोक्यो कोरोना भ्याक्सिनको परीक्षण ?

    लण्डन । अक्सफोर्ड विश्व विद्यालयले कोरोना भाइरस विरुद्धको खोप परीक्षणको काम स्थगित गरेको छ । पहिलो र दोस्रो चरणमा उत्साहजनक नतिजा आएको परीक्षण तेश्रो चरणमा पुगेपछि रोकिएको छ । बीबीसीका अनुसार परीक्षणका दौरान एक जना व्यक्ति विरामी भएपछि तत्कालका लागि परीक्षण रोक्ने निष्कर्षमा विश्वविद्यालय पुगेको छ ।

    अक्सफोर्डले एस्ट्राजेनेसँग मिलेर खोप निर्माणको काम गरिरहेको छ । विश्वभर परीक्षणका काम भइरहँदा यहाँ प्राप्त सफलताले उत्साह थपेको थियो । एस्ट्राजेनेकै सल्लाहमा रोकिएको र यो नियमित काम भएको बताइएको छ । परीक्षणमा सामेल व्यक्ति विरामी हुनुको कारण पत्ता लागेपछि पुनः परीक्षणको काम अगाडी बढ्ने बताइएको छ ।

    अक्स्फोर्डको खोप विश्वका अन्य स्थानको तुलनामा छिटो बजारमा आउने अपेक्षा समेत गरिएको छ । अक्स्फोर्डको खोपको तेस्रो चरणको परीक्षण ३० हजार मानिसमा भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यो संसारका थुप्रै मुलुकमा एकै पटक हुने गर्छ ।

    सोहीकारण अहलिे संसारभर नै परीक्षण रोकिएको छ । अन्य कारणले मानिस बिरामी भएपनि परीक्षण भइरहेको मानिस बिरामी पर्दा परीक्षण रोकिनुलाई विज्ञहरुले भने सामान्य प्रक्रिया मानेका छन् ।

  • रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति

    रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति

    काठमाडौं । रुसले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो चरणको परीक्षणको नतिजा उत्साहजनक आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसले रुसमा कोरोनाविरुद्धको लडाईमा विज्ञान एक कदम अगाडी बढेको वैज्ञानिकहरुको प्रतिक्रिया छ । उता, रुस र इरान खोप उत्पादनमा सहकार्य गर्न समेत सहमत भएका छन् ।

    तेहरानमा कोभिड १९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने विषयमा सहमति जुटेको छ । मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानी संचारमाध्यमले यो विषयको खुलासा गरेका छन् ।

    ‘फार्स न्यूज एजेन्सी’ का अनुसार सो सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भिडियो बैठकबाट यस्तो सहमति जुटेको हो । इरानी राजदूतले ‘कोभिड १९ को खोप उत्पादनमा मिलेको सफलताका लागि रुसलाई बधाई ज्ञापन गरेका थिए ।

    जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रुससँग आग्रह गरिएको समेत जानकारी गराएका छन् । दिमित्रीभले दुई देशबीच कोभिड १९ विरूद्धको खोपको ठूलो मात्र उत्पादन गर्न तयार रहेकोमा रूस उत्साहित रहेको बताएका थिए ।

    रुसका अनुसार छिट्टै यो खोप बजारमा आउने गरी तिब्र गतिमा काम भइरहेको छ । रुस कोरोनाबाट बढी प्रभावित मुलुकमध्ये एक हो ।

  • बालबालिकामा डायरिया, उल्टी र पेट दुख्नु पनि कोरोनाको लक्षण

    बालबालिकामा डायरिया, उल्टी र पेट दुख्नु पनि कोरोनाको लक्षण

    काठमाडौं । कोभिड १९ संक्रमण र यसबारे संसारभर अनेक प्रकारका अध्ययन भइरहेका छन् । जसले नयाँ नयाँ तथ्य पत्ता लाग्ने क्रम जारी छ । यसै सन्दर्भमा बालबालिकामा कोरोना भाइरसको लक्षणका सम्बनधमा नयाँ तथ्य सार्वजनिक भएको छ ।

    अब डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएमा समेत त्यो कोरोना भाइरसको संक्रमणको लक्षण हुने निष्कर्ष अध्ययनले निकालेको छ । बेलायती अध्ययनमा यस्तो पाइएको बीबीसीले लेखेको छ । कोरोना भाइरसको आधा भन्दा बढी मानिसमा लक्षण नै देखिएको छैन । उनीहरुले सहजै यसलाई पचाइरहेका छन् ।

    तर, संसारभर ८ लाख मानिसको मृत्युको कारण समेत यही भाइरस बनेको छ । डायरीया, उल्टी र पेट दुख्ने लक्षण भने खासगरी बालबालिकामा बढी देखिने गर्छ । क्विन्स युनिभर्सिटीको बेलफास्ट टिमको अनुसन्धानका लागि एक हजार बालबालिकालाई समावेश गरिएको थियो ।

    मेडआरकाइभमा प्रकाशित यस अनुसन्धानका अनुसार ९९२ बालबालिका मध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । ६८ मध्ये १३ बालबालिकाले डायरीया, उल्टीम पेट दुख्ने समस्या सुनाएका छन् । ६८ मध्ये २१ बालबालिकामा ज्वरो आउने समान लक्षण देखिएको छ ।

  • पिसिआरको शुल्क कटौती, निःशुल्क परीक्षणमा भने कडाई

    पिसिआरको शुल्क कटौती, निःशुल्क परीक्षणमा भने कडाई

    काठमाडौं । सरकारले कोरोना भाइरसको सशुल्क पिसिआरको शूल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाइएको हो । अब शूल्क तिरेर गरिने पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ कायम भएको छ ।

    यसअघि यो मूल्य ५५ सय थियो । यो शूल्क सेवा शुल्क समेत जोडेर तोकिएका कारण कुनै पनि ल्यावले यो भन्दा बढी रकम दिन नपाउने मन्त्रालयले जनाएको छ । उता, सरकारले निशुल्क हुने पिसिआर परीक्षणमा भने अब कडाई गर्ने भएको छ ।

    अब सरकारले तोकेको मापदण्डमा नपर्ने मानिसले भनसुको भरमा पिसिआर निशुल्क गर्न पाउने छैनन् । अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी गरिएको छ ।

  • कन्चनपुरमा उच्च ज्वरोले ६ को मृत्यु, अनुसन्धान गर्न टोली फिल्डमा

    कन्चनपुरमा उच्च ज्वरोले ६ को मृत्यु, अनुसन्धान गर्न टोली फिल्डमा

    महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको ज्यान गएको छ । यसबारेमा अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्यकर्मीको टोली फिल्डमा पुगेको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको निर्देशनालयले जनाएको छ ।

    पछिल्लो दुई हप्तामा उच्च ज्वरोकै कारण ६ जनाको ज्यान गएपछि अनुसन्धानका लागि टोली परिचालन भएको हो । यहाँ जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको संक्रमण भएको आशंका गरिएको छ ।

    फिल्डबाट १० जनाको रगतको नमूना संकलन गरी जाँच गर्न काठमाडौं पठाइएको निर्देशनालयले जनाएको छ । उच्च ज्वरो आएर बिरामी परेका अन्य ६ जनाको भने उपचार भइरहेको छ । कोरोना महामारीका बीच उच्च ज्वरोले मानिसहरुको ज्यान जान थालेपछि यस भेगमा त्रास बढेको हो ।

  • सरकारले भन्यो : ‘कोरोनासँग नडराऔं, पिसिआर मात्र उपचार होइन’

    सरकारले भन्यो : ‘कोरोनासँग नडराऔं, पिसिआर मात्र उपचार होइन’

    काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट डर होइन, सचेत हुने आह्वान गरेको छ । पछिल्लो समय भनसुनमा पिसिआर गर्ने, एकै व्यक्तिले पहुँचको आधारमा धेरै पटक परीक्षण गर्ने सम्मका घटना बढेपछि सरकारले सरकारले पीसीआर परीक्षणमा मात्र दबाब नदिन आग्रह गरेको छ ।
    पीसीआर परीक्षण महँगो विधि भएको र त्यस क्रममा सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेले मात्र परीक्षण गर्नुपर्ने मन्त्रालयको भनाई छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआरलाई मात्र कोरोना रोगको अचुक औषधी नमान्न आग्रह गरे ।


    सरकारले आवश्यक ठानेका, लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले मात्रै पीसीआर परीक्षण गर्नुपर्ने उनको भनाई छ । पीसीआर परीक्षण नै कोरोनाको औषधि जस्तो नगर्न तथा शंका लागेका र कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएकाहरु घरमै आइसोलेशनमा बस्दा सबैभन्दा उत्तम हुने उनले बताए । घरमा बस्दा मानिसमा आत्मविश्वाससमेत बढ्ने भएकाले संक्रमणलाई छिटो जित्ने सकिने उनले बताए ।

  • ६४९ स्थानीय तहमा ५\५ बेडको अस्पताल संचालनमा ल्याइने

    ६४९ स्थानीय तहमा ५\५ बेडको अस्पताल संचालनमा ल्याइने

    काठमाडौं । देशभर अस्पतालबिहिन ६४९ वटा स्थानीय तहमा कम्तिमा ५ बेडको अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको छ। कोभिड – १९ को उपचार तथा रोकथाममा उपयोग गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यस्तो निर्णय भएको हो । यी अस्पतालमा एमबिबिएस डाक्टर एक जना र नर्स दुईजनाको दरवन्दी राखिने भएको छ ।

    आवश्यकताका आधारमा स्वाथ्यकर्मी समेत थप हुने गरी व्यवस्थापन मिलाइने भएको छ । स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अस्पताल संचलनमा ल्याउने भएको हो । उक्त प्रयोजनका लागि मन्त्रालयले शुक्रबार ६४ करोड रुपैयाँ बजेटसमेत निकासा गरिसकेको जनाएको छ । स्थानीय तहमा संचलन हुने अस्पतालको स्थान भने स्थानीय तहबाटै निर्णय हुनेछ ।

    अस्पतालको व्यवस्थापन समेत स्थानीय तहबाट हुनेछ । उता, मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार २०२ बेड तत्काल थप गर्ने निर्णय समेत गरिसकेको छ । मन्त्रालयका अनुसार संघ मातहतका अस्पतालमा १ हजार बेड, प्रदेश अन्तरगर्तका अस्पतालमा १ हजार ९५७ र एउटा पनि अस्पताल नभएका ६४९ वटा गाउँपालिकामा तत्काल ५ बेडका दरले अस्पताल ल्याउँदा थप ३ हजार २४५ वटा बेड थपिने भएका हुन् । यी बेड कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिनेछ ।

  • उपत्यकामा थप १८६ जनाका कोरोना पुष्टी, सबैभन्दा धेरै काठमाडौंमा

    उपत्यकामा थप १८६ जनाका कोरोना पुष्टी, सबैभन्दा धेरै काठमाडौंमा

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८४ जना संक्रमित थप भएका छन् । त्यसमध्ये जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा यस अवधिमा १ सय ५५ जनाका कोरोना पुष्टी भएको छ ।

    ललितपुरमा १९ र भक्तपुरमा १२ जनाका कोरोना देखिएको छ । २४ घण्टामा कुल १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । देशभर अहिलेसम्म ६ लाख ६९ हजार ६ सय २६ वटा पिसिआर परीक्षण भइसकेको छ ।

  • नेपालमा कोरोना भाइरसको उपचारमा प्रभावकारी बन्दै प्लाज्मा थेरापी

    नेपालमा कोरोना भाइरसको उपचारमा प्रभावकारी बन्दै प्लाज्मा थेरापी

    काठमाडौं । नेपालमा कोरोनाबाट गम्भीर रुपले बिरामी भएका व्यक्तिको उपचारमा प्लाज्मा थेरापी विधि प्रभावकारी बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस विधिको उपचारबाट अहिलेसम्म २० जना कोरोना संक्रमितले स्वास्थ्य लाभ प्राप्त गरेका छन् । यो विधि पछिल्लो समय भारत र अमेरिकामा समेत उपयोग भइरहेको छ ।

    नेपालमा महिला र पुरुष दुबैमा प्रभावकारी रुपमा यो विधिले काम गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ४२ जना व्यक्तिले प्लाज्मा दान गरेका छन् ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवल र काठमाडौंमा गरी अहिलेसम्म ४२ जनाले आफ्नो प्लाज्मा दान गरेका हुन् । कोरोनाबाट गम्भीर बिरामी हुने व्यक्तिमा प्लाज्मा थेरापी विधिबाट उपचार हुन थालेको हो ।

    नेपालमा यस विधिबाट सफल उपचार हुन थालेपछि सरकारले १५ वटा अस्पतालमा यो विधिबाट हुने उपचार बिस्तार गरिसकेको छ । कोरोनालाई जित्न सफल स्वस्थ व्यक्तिको रगत गम्भीर बिरामीमा ट्रान्सफर गरी उपचार गरिन्छ ।

  • सन् २०२० भित्रै कोभिड विरुद्धको खोप उपलब्ध हुन्छ : डब्लूएचओ

    सन् २०२० भित्रै कोभिड विरुद्धको खोप उपलब्ध हुन्छ : डब्लूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०२० भित्रै कोभिड १९ विरुद्धको खोप उपलब्ध हुने बताएको छ । संगठनका नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले धेरै मुलुकमा औषधि र खोपमा लागि द्रुत गतिमा काम भएको भन्दै त्यो काम अब अन्तिम चरणमा पुगेको बताएका छन् । सन् २०२० को अन्त्य या सन् २०२१ को प्रारम्भ र्मै खोप बजारमा उपलब्ध हुने उनको भनाई छ । उनले कोभिडसँगै जिउनु पर्ने समयमा संक्रमित कसैमाथि पनि दुर्व्यवहार गर्न नहुने बताए ।

    त्यसमाथि कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि यस्ता घटना हुनु दुखद पक्ष भएको उनको भनाई छ । स्वास्थ्यकर्मीमा दुर्व्यवहारका घटना बढ्दा भोली स्वास्थ्यकर्मी नै अस्पतालमा नहुने अवस्था आउन सक्ने चेतावनी समेत उनले दिए । अग्रपंक्तिमा रहेर काम गर्ने जनशक्ति संक्रमित हुनु स्वाभाविक भएको समेत उनको भनाई छ । संक्रमित हुनु कसैको दोष र रहर नहुने भन्दै सामुहिक लडाईबाट मात्र यो भाइरसविरुद्ध जीत हाँसिल गर्न सकिने उनको भनाई छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने हो भने कोही पनि व्यक्ति संक्रमित हुनु नपर्ने उनको भनाई छ ।

    कोभिड १९ विरुद्धको खोप गरिब मुलुकमा समेत सहजै उपलब्ध हुने गरी व्यवस्थापन मिलाइने भान्देलारले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा खोप स्वास्थ्यकर्मीलाई उपलब्ध हुनेछ । त्यसपछि संक्रमणका कारण ज्यान गुमाउने जोखिममा रहेका बिरामीमा उपलब्ध हुनेछ । त्यसपछि मात्र आम मानिसमा खोप उपलब्ध हुने उनले जानकारी दिए ।

  • कोरोना निको भएका व्यक्तिमा पुनः संक्रमण भेटियो, वैज्ञानिक अनुसन्धानमा

    कोरोना निको भएका व्यक्तिमा पुनः संक्रमण भेटियो, वैज्ञानिक अनुसन्धानमा

    हङकङ । कोरोना भाइरसको संक्रमण लागेर निको भइसकेका एक व्यक्तिमा हङकङमा संक्रमण भेटिएको छ । हङकङमा एक व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण भएको पहिलो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो दुर्लभ घटना भएको भन्दै वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् ।

    ३० वर्षभन्दा बढी उमेरका संक्रमित पुरूषमा पहिलो पटक साढे चार महिना अगाडी कोरोनाबाट संक्रमित भएका थिए । वैज्ञानिकका अनुसार यो पहिलो घटना हो । उता, विश्व स्वास्थ्य संगठनले भने एउटै संक्रमितका आधारमा कुनै निष्कर्ष निकाल्न नहुने प्रतिक्रिया दिएको छ । विशेषज्ञका अनुसार भाइरसबाट पुनः संक्रमित हुनु दुर्लभ हो, तर यो अधिक गम्भीर छ भन्नु ठीक भने हतार हुने बताउँछन् ।

    हङकङ विश्वविद्यालयले सार्वजनिक गरेको रिपोर्टमा संक्रमणबाट ठीक हुनु पहिले ती व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेका थिए । विमानस्थलमा गरिएको जाँचका क्रममा उनमा संक्रमण देखिएको छ ।

    तर लक्षण भने छैन। लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेनले पुनः संक्रमित हुनु एकदमै दुर्लभ घटना भएको प्रतिक्रिया दिन्छन् । सोहीकारण पनि खोप अत्यावश्यक भएको उनको भनाई छ । संक्रमित व्यक्तिमा भाइरससँग लड्ने क्षमता विकास हुने र त्यसले पुनः संक्रमित हुनबाट जोगाउने चिकित्सकहरुले बताउँदै आएका छन् ।