Category: विज्ञान प्रविधि

  • कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

    कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका मानिसहरुको ज्यान जोखिममा परेको यस समय निर्माण हुने खोप विश्वव्यापी सर्वसुलभ उपलब्धताको वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । कोभिड १९ का कारण सम्पूर्ण मानव समुदाय नै संकटमा परेको समय जीवन रक्षाका खोप अधिकतम नाफाका माध्यम हुन नसक्ने समेत उनले बताए ।

    कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई भिडियो सम्बोधन गरेका प्रधानमन्त्रीले यस्तो खोप गरिबी र अतिकमविकसित मुलुकमा समेत सहजै उपलब्ध हुनुपर्ने विषयलाई महत्वका साथ उठाएका छन् ।

    प्रधानमन्त्री ओलीले कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्ने भन्दै जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धतामा जोड दिए । प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने उल्लेख गरे

    अहिले विश्वमा सबैको पहुँचमा खोप पुर्याउन भइरहेको प्रयास सह्रानिय रहेको समेत उनको भनाई छ । कोरोना भाइरस र यसले पारेको प्रभाव साथै त्यसको न्यूनिकरणका उपाय सम्बन्धमा संयुक्त राष्ट्रसंघले विशेष महासभा बोलाएको हो ।

  • प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

    प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

    एजेन्सी । सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने ‘सफा मासु’ उपभोगका निम्ति स्वीकृति दिएको छ। उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ।

    शुरुमा यो मासु केवल नगेटका मात्र प्रयोग गरिनेछ तर कम्पनीले कहिलेदेखि त्यो बजारमा उपलब्ध हुन्छ भनेको छैन। स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण सामान्य मासुको विकल्पको माग बढिरहेका छन्।

    बार्क्लेजका अनुसार यस्ता वैकल्पिक मासुको बजार आगामी दशकमा १४० अर्ब डलरसम्म पुग्न सक्छ जुन हालको विश्वव्यापी मासु उद्योगको कुल कारोबारको १० प्रतिशत हुन आउँछ।

    वनस्पतिमा आधारित मासुका विकल्पहरू अहिले पनि सुपरमार्केटहरू तथा रेस्टुराँका मेनुहरूमा बियन्ड मिट वा इम्पसिबल फुडका नाममा उपलब्ध छन्।तर इट जस्टको उत्पादन भने नितान्त भिन्न छ।

    यो वनस्पतिमा आधारित होइन बरु प्रयोगशालामा जनावरको कोषहरूको कृत्रिम वृद्धि गराएर उत्पादित हो।

    ठूलो फड्को

    कम्पनीले पछिल्लो निर्णयलाई विश्वव्यापी खाद्य उद्योगको निम्ति ठूलो फड्को भन्दै अरू देशले पनि यसै गर्ने आशा व्यक्त गरेको छ। पछिल्लो दशकमा दर्जनौँ कम्पनीहरूले यस्ता मासु उत्पादनको प्रयास गरे।

    एउटा ‘नैतिकरूपमा असल’ उत्पादनको विकल्प दिएर उपभोक्ताहरूलाई आकर्षित गर्ने उनीहरूको प्रयास रह्यो।ती कम्पनीमध्ये सबभन्दा ठूला दुई इजरेलस्थित फ्युचर मिट टेक्नोलोजिज तथा बिल गेट्सद्वारा समर्थित मेम्फिस मिट्स हुन्।

    दुवैले प्रयोगशालामा उत्पादित सस्तो र स्वादिलो मासु बजारमा ल्याउने कोशिश गरिरहेका छन्।कैयौँले यस्ता उत्पादनले वातावरणलाई फाइदा पुग्ने भनेका छन् भने केही वैज्ञानिकले चाहिँ कुनै परिस्थितिमा वातावरणका लागि यो झन् खराब हुनसक्ने पनि बताएका छन्।

    प्रयोगशालामा उत्पादित मासुले थुप्रै चुनौती बेहोर्न बाँकी नै रहेको बताइएको छ । एक त यसको मूल्य महँगो नै छ भने अर्कोतिर आम उपभोक्ताले यसलाई रुचाउने छन् वा छैनन् भन्ने हेर्न बाँकी छ।

    सुरक्षित नौलो खाना

    सिङ्गापुर फुड एजेन्सीले एउटा विज्ञ समूहले इट जस्टका उत्पादन नियन्त्रण एवम् सुरक्षा परीक्षणबारे आँकडा अध्ययन गरेको बताएको छ।‘यो तोकिएको परिमाणमा उपभोगको निम्ति सुरक्षित पाइएको छ,’ उसले भनेको छ।

    त्यसैले सिङ्गापुरमा यसलाई इट जस्टको चिकन नगेटको रूपमा विक्री गर्न अनुमति दिइएको बताइएको छ।यो मासु उत्पादन गर्ने प्रक्रियामा एन्टीबायोटिक्सको प्रयोग नगरिएको कम्पनीले बताएको छ।

    उसले अब सिङ्गापुरमा शुरुमा सानो स्तरमा उत्पादन उद्योग खडा गरेर अघि बढ्ने जनाएको छ। -बीबीसी

  • चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुला

    चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुला

    काठमाडौं । सरकारले चाल अनुमति पत्रका लागि अनलाइन आवेदन खुला गरेको छ । यस्तो आवेदन सातै प्रदेशका लागि खुला भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका अनुसार अब अनलाइनबाटै लाइसेन्सका लागि आवेदन दिन सकिने छ ।

    विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिने भएको छ । आवेदन दिन इच्छुक व्यक्तिले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।

    त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ । ९ महिनादेखि चालक अनुमति पत्रको प्रक्रिया बन्द हुँदा हजारौं सेवाग्राही प्रभावित भएका छन् ।

  • किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?

    किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?

    काठमाडौं । अमेरिकी सुरक्षा विज्ञहरुले उत्तर कोरियाली नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको दावि गरेका छन् । जापानी जासुसी स्रोतलाई हवाला दिएर यस्तो दावि गरिएको हो । किमले केही दिन अगाडी मात्र चिनियाँ खोप लिएको बताइएको छ ।

    त्यसो त चीनले अघोषित रुपमै खोप निर्माण गरि लाखौं मानिसमा लगाइसकेको समाचार यसअघि नै सार्वजनिक भएको थियो । चीनले भने औपचारिक रुपमा यसको घोषणा गरिसकेको छैन ।

    अमेरिकी विज्ञ ह्यारी काजियानियासले एक लेखमार्फत उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले चीनमा निर्माण गरिएको खोप लगाएको सार्वजनिक गरेका हुन् ।

    लेखक वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशकका रुपमा कार्यरत रहेका छन् । चीनले सार्वजनिक रुपमा भने तीन खोपको परीक्षण जारी रहेको बताइरहेको छ ।

    उता, उत्तर कोरियाले भने कोरोना सम्बन्धी कुनै पनि सूचना सार्वजनिक गरेको छैन । यस मुलुकमा कति संक्रमित छन् र कतिको ज्यान गयो भन्ने खुलेको छैन । यद्दपी उत्तर कोरियाले सीमा नाका भने गत जनवरीबाटै कडाइ गरेको हो ।

  • अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य

    अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य

    काठमाडौं । अब सडकमा सवारी साधन चलाउँदा रातो बत्ति बलेको समयमा पनि वेवास्ता गर्नेलाई प्रहरीले कक्षा लिने भएको छ । यसअघि मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरूलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो।

    ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक सचेतना कक्षा लिन थालेको हो । यस्तो कक्षाका लागि बग्गीखाना भने जानुपर्ने छैन । अनलाइनबाट प्रहरीले लिने कक्षा अनिवार्य गरिएको छ ।

    लकडाउनअघि ट्राफिक कारबाहीमा परेका चालक स्वयम् बग्गीखाना गएर आफैं ट्राफिक कक्षामा सहभागी हुनुपर्ने नियम थियो । अब भने ट्राफिक सचेतना कक्षालाई प्रविधिमार्फत निरन्तरता दिइने भएको छ ।

    कोरोना संक्रमणको महामारीका बीचमा अनलाइनमार्फत सचेतना कक्षा सुरू गरिएको महाशाखाले उल्लेख गरेको छ ।

  • चक्रपथ बिस्तारका कारण आज काठमाडौंका विभिन्न स्थानमा दिनभर विद्युत काटिने

    चक्रपथ बिस्तारका कारण आज काठमाडौंका विभिन्न स्थानमा दिनभर विद्युत काटिने

    काठमाडौं । चक्रपथ बिस्तारको काम अहिले जारी छ । सोहीक्रममा नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्ने भएको छ । यसका लापग आज दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

    बालाजु वितरण केन्द्रका अनुसार काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द हुने भएको छ । दिउँसो ११ बजेदेखि २ बजेसम्म गोंगबु, बालुवाटार, बुढानिलकण्ठ, धापासीलगायत क्षेत्रमा विद्युत सप्लाइ बन्द हुने बालाजु वितरण केन्द्रले जनाएको छ ।

    रिङरोड विस्तार कार्यका लागि महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत रिङमेन महराजगञ्ज फिडर १ र २ भित्रको एचटि ११००० भोल्ट लाइन तथा पोल सार्ने कार्य गर्नुपर्ने भएको हुँदा काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द हुने केन्द्रको सूचनामा उल्लेख छ ।

    यता, बानेश्वर वितरण केन्द्रका अनुसार विभिन्न स्थानमा मंगलबार र बुधबार विद्युत आपूर्ति बन्द गरिने भएको छ ।

  • आज देशैभर एकै पटक ३९३ अस्पताल शिलान्यास गरिँदै

    आज देशैभर एकै पटक ३९३ अस्पताल शिलान्यास गरिँदै

    काठमाडौं । सरकारले आज स्वास्थ्य क्षेत्रमा महत्वकांक्षी योजना शुरु गर्दैछ । एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरी सरकारले एकै पटक ठूलो क्षेत्रमा स्वास्थ्य सेवा बिस्तार गर्न लागेको हो । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पताल एकै डिजाइनका हुनेछन् । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिएको छ ।

    अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

    सरकारले नीति तथा कार्यक्रम र बजेटबाटै यो योजना घोषणा गरेको थियो । अहिले कूल ७५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै विभिन्न स्तरका अस्पतालको सेवा पुगेको छ ।

  • हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आपतकालिन अवतरण

    हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आपतकालिन अवतरण

    काठमाडौं । नुवाकोटमा उडिरहेको एक हेलिकोप्टरमा चरा ठोक्किएपछि आपतकालिन अवतरण गर्नु परेको छ । चरा ठोक्किएका कारण हेलिकोप्टरको सिसा फुटेको छ । कैलाश एयरको हेलिकप्टर बागलुङबाट काठमाडौं उडेको थियो ।

    प्रहरीका अनुसार हेलिकप्टरमा ६ जना थिए । उनीहरु सकुशल छन् । एक जनालाई घुँडामा सामान्य चोट लाग्नुबाहेक सबै यात्रु सकुसल रहेका छन् । उक्त हेलिकप्टरमा रहेका यात्रुर्ला अर्को हेलिकोप्टरले रेक्स्यू गरेको छ । नेपालमा हवाई सुरक्षामा चरा ठोक्किनु एक चूनौतिका रुपमा रहेको छ ।

  • भैरहवा विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

    भैरहवा विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

    काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल सञ्चालनमा १० मेगावाटको सोलार प्लान्ट राखिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको छ ।

    शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी भए ।

    बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरुलाई बुझाउन निर्देशन दिएको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना बनाइएको छ ।

    एडिबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्ब ५ करोड रुपैयाँमध्ये झापामा ५, बुटवलमा ७, पोखरामा ४ र चनौटामा ८ मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढेको छ । जसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत खरिद, बिक्री सम्झौतासमेत गरिसकेको छ ।

    ती योजनामा एडिबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना बनेको हो । सोलार प्लान्ट निर्माण गर्न आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत प्राधिकरणलाई भाडामा दिनेछ । निजी क्षेत्रलाई सिधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको हो ।

  • सिन्धुपाल्चोकमा आजबाट भौगर्भिक अध्ययन गरिदै

    सिन्धुपाल्चोकमा आजबाट भौगर्भिक अध्ययन गरिदै

    काठमाडौं । सिन्धुपाल्चोकमा आजबाट भौगर्भिक अध्ययनको काम शुरु हुने भएको छ । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरूको भौगर्भिक अध्ययन गर्न थालिएको हो ।

    सुरूमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरूले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने भएको छ । जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनीयर सन्तोष निरौलाले यसको जानकारी गराएका छन् ।

    गत साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी र सो स्थानबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरूको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले आजदेखि काम सुरू गर्ने भएको छ ।

    सिन्धुपाल्चोकमा यस वर्ष लगातारको विपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक पहल लिने विषयमा समन्वय गरेको राससले लेखेको छ ।


    सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन गर्न जाने टोलीले सुरूमा जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलगायत सँग चौतारामा छलफल गर्ने र त्यसपछि जुगल गाउँपालिकामा बैठक गर्नेछ । जिल्लाको पहिरोग्रस्त क्षेत्र बाह्रविसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको समेत क्रमशः अध्ययन हुने भएको छ ।

  • भारतले थप ४३ चिनियाँ एप्समा लगायो प्रतिवन्ध

    भारतले थप ४३ चिनियाँ एप्समा लगायो प्रतिवन्ध

    नयाँ दिल्ली । भारतले पछिल्ला दिनमा चिनियाँ एप्स धमाधम बन्द गराइरहेको छ । सोहीक्रममा थप ४३ वटा एप्समा प्रतिवन्ध लागेको छ । प्रतिवन्ध लाग्ने एप्सहरु अधिकांश चिनियाँ छन् । भारतीय सूचना प्रविधि मन्त्रालयका अनुसार प्रतिबन्धित एप्सहरूले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको छ ।

    चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्स समेत यसै चरणमा प्रतिवन्ध लगाइएको छ । अलि एक्सप्रेस, क्याम कार्ड तथा ताओवाओ लाइभ समेत प्रतिबन्धमा परेका छन् ।

    भारत सरकारले यसअघि भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जीमा समेत प्रतिवन्ध लगाइसकेको छ । भारतमा यी दुई एप्सका प्रयोगकर्ता करोडौंको संख्यामा थिए ।

    भारत सरकारले चिनियाँ मोबाइल एप्सबाट भारतीय प्रयोगकर्ताका गोप्य विवरण चीन पुगिरहेको आरोप लगाउने गरेको छ ।

  • सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

    सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

    काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्ने भएको छ । यसका लागि मन्त्रिपरिषद्ले स्विकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणाको स्वीकृति दिएको हो । अब भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयले सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ ।

    सगरमाथाको उचाई साविकको तुलनामा केही वृद्धि भएको बताइएको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाको छ । सोहीकारण मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई पनि उचाईबारे भने जानकारी दिइएको छैन । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका दौरान संयुक्त रुपमा उचाई घोषणा गर्ने तयारी सरकारले गरेको हो ।


    सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोहीकारण सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको छ ।

    सर्वे अफ इण्डियाले सन् १९५४ मा नापेर उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ अहिले पनि मान्य रहेको छ ।

  • रियलमी ७ र ७ आई सार्वजनिक, यस्तो छ विशेषता

    रियलमी ७ र ७ आई सार्वजनिक, यस्तो छ विशेषता

    काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा दुइवटा नयाँ फोन सार्वजनिक गरेको छ । विश्वको सब भन्दा द्रुत वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड, रियलमीले युवा तीव्र तस्वीर खिच्न र छिटो चार्ज गर्न सक्षम गर्न आज रियलमी ७ र ७आई सार्वजनिक गरेको छ ।

    धेरै छिटो प्रदर्शन प्रदान गर्न, रियलमी ७ र ७आईमा ९० हर्ट्जको अल्ट्रा स्मूथ डिस्प्ले, डार्ट चार्जिंग, ५००० एमएएच ठूलो ब्याट्री, शक्तिशाली प्रोसेसर, र ६४ एमपी क्वाड क्यामेराले यसलाई अलराउन्डर बनाउँछ ।

    रियलमी ७

    सोनी ६४ एमपीको अल्ट्रा—वाइड क्वाड क्यामेरा : अधिक युवाहरूलाई फोटोग्राफीको मज्जा लिन मद्दतको लागि, रियलमीले सोनी ६४ एमपी वाइड—एंगल क्वाड क्यामेरा प्रयोग गरेको छ । ६४ एमपी प्राइमरी क्यामेरा सोनी आईएमएक्स ६८२, एफ/१.८ अपर्चर र १/१.७३ इन्चको उद्योग—अग्रणी आकारको साथ आउँदछ, र ६४ एमपी मोडको साथ ६९४४८९२४८ को उच्च रिजोलुसन फोटोहरू खिच्दछ ।

    अझ बढी, यसले स्टारी मोड, ट्राइपड मोड, पोट्र्रेट मोड, पनोरमा, आदिलाई पनि समर्थन गर्दछ । यसमा साइबरपंक, फ्लेमिंगो र आधुनिक गोल्ड सहित सबैभन्दा लोकप्रिय नाइट फिल्टरहरूको सेट पनि निर्मित छ, जसले विशिष्टताको नाइटस्केप फोटोहरू खिच्न सक्छ ।

    ८एमपी अल्ट्रा वाइड—एंगल लेन्स एक ११९डिग्री फिल्ड अफ भ्यू र एक एफ/२.३ अपर्चर को छ । ८सीएम समर्पित म्याक्रो लेन्सका साथ एफ/२.४ ठूलो अपर्चरले तपाईंलाई अल्ट्रा नजिकको वस्तुहरू शूट गर्न वा रचनात्मक माइक्रो—वल्र्ड फोटोग्राफीमा मद्दत गर्दछ । ब्ल्याक एण्ड ह्वाइट पोट्रेट लेन्स मुख्य लेन्सको लागि सहायक हुन सक्छ र तपाइँलाई केहि सृजनात्मक पोर्ट्रेटहरू खिच्न मद्दत गर्दछ ।

    ३० वाट्ट डार्ट चार्ज र ५००० एमएएच विशाल ब्याट्री

    ठूलो ब्याट्री क्षमताले कम ब्याट्रीको चिन्तालाई सजिलैसँग समाधान गर्न सक्छ । रियलमी ७ मा अल्ट्रा—लामो ब्याट्री जीवनको लागी एक ५००० एमएएच मेगा ब्याट्री छ । यसैबीच, रियलमी ७ मा ३० वाट्ट डार्ट चार्ज विशेषता छ जसले २६ मिनेटमा ५० प्रतिशत चार्ज गर्दछ । रियलमी ७ को ३० वाट्ट डार्ट चार्जले सुरक्षा र दक्षता दुबैमा कम भोल्टेज र उच्च—वर्तमान समाधान अपनाउँछ ।

    प्रकृतिमा मिरर स्पेशबाट प्रेरित, रियलमी ७ ले एक शानदार मिरर डिजाइन प्रस्तुत गर्दछ । डिजाइनको बोल्ड विभाजनले नयाँ दृश्य प्रभाव ल्याएको छ, तर आश्चर्यजनक प्रकाश प्रभावको साथ, सन्तुलित प्राकृतिक सौन्दर्य प्रकट भएको छ । क्लासिक सीडी बनावटको साथ लोकप्रिय एजी प्रोसेसिंगले फोनलाई अधिक प्रिमियम बनाएको छ ।

    ९० हर्ट्ज स्क्रीन र शक्तिशाली प्रोसेसर

    खेलहरूको लागि शक्तिशाली हुन डिजाइन गरिएको, रियलमी ७ हेलियो जी९५ अपनाउने विश्वको पहिलो हो जसले अन्टुटुमा ३००,००० स्कोर प्राप्त गरेको छ । यसमा ६.५ इन्च एपएचडी प्लस अल्ट्रा स्मूथ डिस्प्लेका साथ पंच होल छ. र ९०.५ प्रतिशत उच्च स्क्रीन—टु—बडी अनुपात रहेको छ । जसले यसलाई आफ्ना साथीहरू बीचको खेलको लागि उत्तम छनोट बनाउँछ ।

    जानकारी सुरक्षाको लागी, उपकरणमा बोर्डर बटनको साथ फिंगरप्रिन्ट पहिचान एकीकृत गर्दै साइड—फिंगरप्रिन्ट सेन्सर रहेको छ ।

    सोनी ६४ एमपी वाईड—एंगल क्वाड क्यामेरा स्मार्टफोनको साथ भित्र्याइएको पहिलो स्मार्टफोनमध्ये एकको रूपमा, रियलमी ७ले ३० वाट्ट डार्ट चार्जलाई ग्रहण गर्दछ, जसले यसलाई खेल्दा खेल्दै चार्ज गर्न सक्षम बनाउछ, ५००० एमएएच विशाल ब्याट्री जसले लामो ब्याट्री जीवन ल्याउँछ, ८—कोर प्रोसेसर जसले उत्कृष्ट प्रदर्शन गर्दछ र ९० हर्ट्ज अल्ट्रा स्मूथ डिस्प्ले छ, यसलाई “डयर टु लीप” ट्रेंडसेटिंग उत्पादन योग्य बनाउन जुन अधिकांश युवा उपभोक्ताहरूले छनौट गर्न योग्य छ, र प्रयोगकर्ताहरूमा व्यापक ताजा अनुभव ल्याउँदछ ।

    यसको मूल्य ३५ हजार ९९० रुपैयाँ रहेको छ ।

    रियलमी ७ आई

    स्न्यापड्रैगन ६६२ को साथ पावर मास्टर प्रोसेसर : रियलमी ७आईमा दैनिक उपयोगको लागि पर्याप्त शक्ति प्रदान गर्न स्नैपड्रैगन ६६२ छ । यो चिपसेट ११एनएम प्रक्रियाको प्रयोग गरी बनाईएको हो, त्यसैले यो अधिक शक्तिशाली र कुशल छ ।

    स्न्यापड्रैगन ६६२ सीपीयू र एड्रेनो ६१० जीपीयू मा त्र्रmायो २६० संरचनासंग सुसज्जित छ । एलपीडीडीआर४एक्स र यूएफएस २.१ को संयोजनको साथ, रियलमी ७आई ले ८जीबी+१२८जीबी आन्तरिक मेमोरीका साथ प्रयोगकर्ताहरूका लागि निर्बाध अनुभव प्रदान गर्दछ ।

    ६४ एमपी क्वाड क्यामेराको साथ पावर मास्टर क्यामेरा
    रियलमी ७आईमा नयाँ फ्लगशिप, अल्ट्रा—क्लियर क्वाड—क्यामेरा सेट—अप पनि छ जसले ८ एमपी ११९डिग्री अल्ट्रा—वाइड एंगल, ६४ एमपी मुख्य क्यामेरा, २एमपी पाट्र्रेट लेन्स र २ एमपी म्याक्रो लेन्स समावेश गर्दछ । रियलमी ७आई पनि तीन सबैभन्दा लोकप्रिय नाइट फिल्टरहरूसँग आउँदछ, साइबरपंक, फ्लेमिंगो र आधुनिक गोल्ड, प्रयोगकर्ताले केवल एक ट्यापमा सजिलैसँग शहरको रात्रि दृश्य परिवर्तन गर्न र अधिक प्रभावशाली रातको फोटो सिर्जना गर्न सक्दछन् ।

    सोनी आईएमएक्स ४७१ को साथ १६एमपी अल्ट्रा स्पष्ट फ्रन्ट क्यामेराले एफ २.१.अपर्चर, ५पी लेन्स, स्मार्ट सौन्दर्य मोड समर्थन गर्दै बोकेह प्रभाव आदि संग प्रमाणित सेल्फी आवश्यकताहरु पूरा गर्दछ ।

    यो विभिन्न लिंग, विभिन्न छाला प्रकार, र विभिन्न अनुहारको आकारका लागि एक फरक सौन्दर्य एल्गोरिथ्मको साथ आउँछ र यी सुविधाहरूले प्रयोगकर्तालाई सजिलैसँग सेल्फी लिन अनुमति दिदैं प्राकृतिक र धेरै राम्रो छाला देखाउँदछ । रियलमी ७ आईको फ्रन्ट क्यामेराले एचडीआर र ईआईएस स्थिरीकरणलाई पनि समर्थन गर्दछ ।

    पावर मास्टर चार्जिंग र ब्याट्रीको साथ ५००० एमएएच प्लस १८वाट्ट द्रुत

    रियलमी ७ आई को नन स्टप प्रयोगको लागि विशाल ५००० एमएएच ब्याट्री छ । रियलमी ल्याब परीक्षणमा आधारित, रियलमी ७आई स्ट्यान्डबाई मोडमा ३४ दिनसम्म रहन सक्छ जुन केही अन्य फ्ल्यागशिपहरू भन्दा राम्रो छ । विशेष ओटीजी रिभर्स चार्जको साथ, रियलमी ७आई पनि ब्याट्री सेभर हुन सक्छ । रियलमी ७आई १८ वाट्ट क्विक चार्जले सुसज्जित छ, जुन ३० मिनेट ३३ प्रतिशत सम्म चार्ज हुन्छ ।

    ९० हर्ट्ज अल्ट्रा स्मूथ डिस्प्लेको साथ पावर मास्टर प्रदर्शन

    रियलमी ७आईमा ९० हर्ट्ज रिफ्रेश रेट र १२० हर्ट्ज स्याम्पिलिंग दरको साथ ६.५ इन्च १६०० ह७२० ९० हर्ट्ज अल्ट्रा स्मूथ डिस्प्ले छ, जसले परिणामस्वरूप स्क्रिनको हरेक स्वाइपको साथ निर्बाध र स्मुथ दृश्य अनुभव प्रदान गर्दछ । एक शानदार स्क्रीन—टु—बडी अनुपातको साथ, रियलमी ७आई ले तपाईंलाई सर्वोच्च दृश्य अनुभव दिन्छ । अझ राम्रो सुरक्षाको लागि डिस्प्ले कर्निंग गोरिल्ला ग्लास ३ द्वारा कभर गरिएको छ ।

    मिररद्वारा प्रेरित पावर मास्टर डिजाइन

    प्रकृतिमा मिरर चीजहरूबाट प्रेरित हुन, रियलमी ७आई ले शानदार मिरर डिजाइनहरू समावेश गर्दछ । रियलमी ७ आई श्रृंखलाको एक विकर्ण दिशामा एक प्रतिष्ठित विभाजन रेखा छ जसले रियलमी ७आई लाई दुई भागमा विभाजन गरेको छ ।

    शीर्षमा उच्च प्रकाश परावर्तन र तल म्याट बनावटले एक धेरै तीक्ष्ण कन्ट्रास्ट सिर्जना गर्दछ, तर समग्र संयोजन धेरै सामञ्जस्यपूर्ण र सन्तुलित छ र एक आकर्षक सौन्दर्य प्रभावको परिणामस्वरूप यो निकै प्रीमियम देखिन्छ । रियलमी ७आई दुई कलर विकल्पहरूमा उपलब्ध छ— अरोरा ग्रीन र पोलर ब्लू ।

    रियलमी ७आई ले प्रमुख प्रतिस्पर्धी विशेषताहरू ल्याएको छ, जस्तै ६४एमपी अल्ट्रा—स्पष्ट क्वाड क्यामेरा, ५००० एमएएच ठूलो ब्याट्री र ९० हट अल्ट्रा स्मूथ डिस्प्ले रहेको छ ।

    यसको मूल्य २९ हजार ९९० रुपैयाँ रहेको छ ।

  • नयाँ गभर्नरले हस्ताक्षर गरेको पहिलो नोट आजबाट बजारमा

    नयाँ गभर्नरले हस्ताक्षर गरेको पहिलो नोट आजबाट बजारमा

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको पहिलो नोट आजबाट बजारमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साविककै आकार तथा रङमा १० रुपैयाको नयाँ नोट आजबाट चलनचल्तीमा ल्याइएको छ । १० को नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको भने दायाँतर्फ लालीगुराँसको छाप रहेको छ। यो साविकमा समेत थियो ।

    गभर्नर भएपछि महाप्रसाद अधिकारीको पहिलो दस्तखतसहितको नोट अब जारमा आएको हो । नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्यभागमा कृष्णसारको चित्र रहेको छ ।

  • नेपालमा कहिले आउँछ कोरोनाको खोप ?

    नेपालमा कहिले आउँछ कोरोनाको खोप ?

    काठमाडौं । विकसित मुलुकहरुले कोरोना विरुद्धको खोप निर्माणलाई अन्तिम चरणमा पुर्याएका छन् । परीक्षणहरुसमेत सफल भइरहेको खबर सार्वजनिक भइरहेको छ । खासगरी अमेरिकाले आगामी डिसेम्बर ११ बाट खोप सर्वसाधारणको प्रयोगका लागि ल्याउने घोषणा गरेको छ ।

    उता, चीनले भने अघोषित रुपमै लाखौैं मानिसलाई कोरोना भाइरसको खोप दिइसकेको समेत खबर सार्वजनिक भएको छ । यस सन्दर्भमा नेपालजस्ता कम आयस्रोत भएका गरिब मुलुकमा खोप कहिले आइपुग्छ ? आम सर्वसाधारणको चासो यसमा छ ।

    यता, नेपाल सरकारले भने कोभिड विरूद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी गरिएको बताएको छ ।

    विश्व प्रतिजैविक सचेतना सप्ताहका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशमा सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भइरहेको जानकारी दिएका छन् ।

    स्वास्थ्य मन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानुन नै संशोधन गरिएको उनले जानकारी दिए । अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिन प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रूपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत् कानुन संशोधन गरिएको उनको भनाई छ ।

    सरकारी र निजी दुबै क्षेत्रबाट खोप आयातको ढोका खुला गरिएको उनले जानकारी दिए । केही समय अगाडी सरकारले अर्थसचिवको नेतृत्वमा एक उच्चस्तरीय समिति समेत गठन गरेर खोप आयातको तयारी गर्न निर्देशन दिएको थियो ।

  • कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान

    कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान

    काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो ।

    सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि नै कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नाष्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब सङ्कलनको काम शुरुआत गरिएको जानकारी दिए ।

    नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका नागरिक र कन्ट्रयाक ट्रेसिङमा परेका शङ्कास्पद व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने कामपा लागिपरेको बताइएको छ । यसमा एक पटकमा दुई जनाको स्वाब लिन सकिने छ । लक्षित वर्गलाई उपचारबाट वञ्चित नगराउने अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैँ परीक्षण गर्न पनि कामपाले अनुरोध गरेको छ । शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमबार वडा नं १३ मा स्वाब सङ्कलन गरिएको छ भने आजदेखि अन्य वडामा हुनेछ ।

  • नेपालमा कोरोना जित्नेको संख्यामा उल्लेख्य सुधार, अब १० प्रतिशत मात्र सक्रिय संक्रमित

    नेपालमा कोरोना जित्नेको संख्यामा उल्लेख्य सुधार, अब १० प्रतिशत मात्र सक्रिय संक्रमित

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणलाई जित्ने मानिसको संख्यामा व्यापक सुधार भएको छ । यसले संक्रमितको मनोवल उकास्न समेत सहयोग पुगेको छ । केही समय अघि करीव ७० प्रतिशत हाराहारी मात्र संक्रमित निको भएको तथ्यांक थियो । अब यो बढेर ९० प्रतिशत कटेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको तुलनामा निको हुनेको संख्या ९०.३४ प्रतिशत पुगेको छ । अब सक्रिय संक्रमित १० प्रतिशतभन्दा कम छन् । पछिल्लो केही दिन यता नयाँ थप हुनेको तुलनामा निको हुनेको संख्या दोब्बरले बढी रहेको छ ।

    मन्त्रालयका अनुसार देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिएको छ । यसमध्ये अब मात्र २० हजार एक सय ६६ संक्रिय संक्रमित छन्।

    संक्रमित मध्ये एक हजार ३ सय २१ जनाको मृत्यु भइसकेको छ । विश्वमा संक्रमणमुक्त हुनेको दर ६९.२ प्रतिशत रहेकोमा नेपालबाट भने उत्साहजनक तथ्यांक आएको हो ।

  • अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाविरुद्ध खोप लगाइने

    अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाविरुद्ध खोप लगाइने

    काठमाडौं । अमेरिकाका डिसेम्बर दोस्रो साताबाट सर्वसाधारणले खोप प्राप्त गर्ने सम्भावना बढेको सरकारी अधिकारीले बताएका छन् । आगामी महिनाबाट आफ्ना नागरिकलाई कोभिड १९को खोप दिने तयारी भइरहेको अधिकारीहरुको भनाई छ ।

    अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँगको कुराकानीमा डिसेम्बर ११ बाट सर्वसाधारणका लागि खोप उपलब्ध हुन सक्ने बताएका हुन् । त्यसको तयारी तिब्र गतिमा भइरहेको उनले जानकारी दिएका छन् ।

    उनका अनुसार अमेरिकी सरकारबाट खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकस्तरमा खोप उपलब्ध हुनेछ । त्यसकै तयारीमा आफुहरु लागेको उनको भनाई छ । यसले ठूलो संख्यामा मानव जीवनको रक्षा गर्ने अपेक्षा गरिएको छ ।

    अमेरिकामा फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले खोप निर्माण गरेका हन् । यी कम्पनीले खोपलाई आकस्मिक अनुमति माग गर्दै शुक्रवार आवेदन समेत दिइसकेका छन् । अमेरिकाकै अर्को कम्पनी मोडेर्नाले समेत यहाँ खोप निर्माण गरेको छ ।

    अमेरिका संसारमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो । उनका अनुसार अमेरिकामा राज्यको जनसङ्ख्याको अनुपातमा खोप वितरण हुनेछ । प्रारम्भिक चरणमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्य आफैले गर्नेछन् ।

    उनका अनुसार स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धा तथा बढी जोखिममा रहेका समूहका मानिसलाई पहिलो चरणमा खोप दिइने भएको छ । अमेरिकामा एक करोड २५ लाखभन्दा धेरै मानिसमा सङ्क्रण भइसकेको छ ।

    यहाँ २ लाख ६२ हजार मानिसले ज्यान गुमाएका छन् । अमेरिकामा फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले खोप निर्माण गरेका हन् । यी कम्पनीले खोपलाई आकस्मिक अनुमति माग गर्दै शुक्रवार आवेदन समेत दिइसकेका छन् । अमेरिकाकै अर्को कम्पनी मोडेर्नाले समेत यहाँ खोप निर्माण गरेको छ । एजेन्सी

  • विदेश जानेका लागि ए-लेभलका ल्यावको मात्र परीक्षण मान्य

    विदेश जानेका लागि ए-लेभलका ल्यावको मात्र परीक्षण मान्य

    काठमाडौं । अब विदेश जाने यात्रुले ए-लेभल मान्यता प्राप्त प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण गराउनु पर्ने भएको छ । नेपालमा परीक्षण गरेर नेगेटिभ रिर्पोट बोकेर विदेश जाने यात्रुमा पुनः परीक्षणका दौरान कोरोना संक्रमण पुष्टी भएपछि सरकारले प्रयोगशालामा कडाई गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब विदेश जानेहरूको हकमा पिसिआर परीक्षण लेभल ए प्रयोगशालाबाट मात्र गराउन निर्देशन दिइएको छ । परीक्षण गरेपछि प्रयोगशालाहरूले त्यसको जानकारी स्वास्थ्य, पराराष्ट्र, पर्यटन मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्रलाई समेत गराउनु पर्ने भएको छ ।

    मन्त्रालयका अनुसार अहिले देशभर ७८ वटा प्रयोगशालामा कोरोनाको पिसिआर परीक्षण हुन्छ । यसमध्ये ३४ वटा प्रयोगशालाले लेभल ए मान्यता पाएका छन् । विदेश जाने सबै यात्रुले ३४ वटा प्रयोगशालामा मात्र परीक्षण गराउनु पर्ने छ । यी अधिकांश प्रयोगशाला सरकारी हुन् ।

  • मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै काठमाडौं महानगर

    मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै काठमाडौं महानगर

    काठमाडौं । कोरोना भाइरसको निःशुल्क पिसिआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन सुरू गरेको छ।

    महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरूको पिसिआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत् स्वाब संकलन सुरू गरेको हो।

    चाहेर पनि स्वाब संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरूको मोबाइल भ्यानमार्फत् स्वाब संलकनको काम सुरू भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए।

    सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफैं गर्न सक्ने क्षमता भएकाहरूलाई शुल्क तिरेरै गर्न आग्रह गरे।

    कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहेनत गरिरहे पनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए।

    उनले स्थानीय स्तरबाट नै कोरोना महामारीविरूद्ध लड्न सहयोग गर्नुपर्ने बताए।

    काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेस्ट गर्न मेयर शाक्यले आग्रह गरे।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई परीक्षणका लागि एउटा मोबाइल भ्यान हस्तान्तरण गरेको छ।सोही मोबाइल भ्यानबाट स्वाब संकलन गरिने उनले बताए।

  • फेरी उड्ने भयो ‘बोइङ ७३७ म्याक्स’

    फेरी उड्ने भयो ‘बोइङ ७३७ म्याक्स’

    काठमाडौं । अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स मोडलका जहाज पुनः आकासमा देख्न पाइने भएको छ । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले बुधबार बोइङलाई सो मोडलका जहाज जहाज उडाउने अनुमति दिएको हो ।

    बोइङले जहाजको डिजाइन, सफ्टवेयर परिवर्तन र चालक दलका सदस्यहरूलाई तालिम दिएपछि उक्त जहाजमा पहिलाको जस्तो दुर्घटना नहुनेबारे आश्वस्त पारेपछि प्राधिकरणले उडानको अनुमति दिएको हो ।

    सन् २०१८ र २०१९ मा बोइङ ७३७ म्याक्स मोडलका दुई जहाज दुर्घटनामा परेसँगै यो मोडलका जहाज ग्राउण्डेड भएका हुन् । संसारभर हजारौंका संख्यामा रहेका जहाज ग्राउण्डेड भएसँगै धेरै एयरलाइन्स कम्पनीले घाटा बेहोर्नु परेको थियो ।

    इन्डोनेसिया र इथियोपियामा भएका दुई दुर्घटनामा ३४६ जनाले ज्यान गुमाएका थिए। बोइङ कम्पनीले समेत ७३७ म्याक्स जहाजको उत्पादन नै रोकेको थियो। बोइङको ७३७ सिरिजमा म्याक्स सबैभन्दा नयाँ मोडल हो।

    यसअघिका मोडलभन्दा यो मोडलको जहाज इन्धन खपतमा किफायती रहेको कम्पनीको भनाई छ । इन्डोनेसियाको लायन र इथियोपियन एयरलायन्सका दुर्घटनाग्रस्त दुबै जहाजमा उचाइ लिँदा समस्या आएको अनुसन्धानले देखाएको थियो ।

  • कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने

    कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने

    न्युयोर्क

    कोरोनाभाइरस बिरुद्धका भ्याक्सिनहरुको लगातार सकारात्मक समाचार आउने क्रम जारी छ । यिनै समाचारहरु माझ अघिल्लो हप्ता अमेरिकी कम्पनी फाईजर र जर्मन कम्पनी बायो एन्ड टेकले सँयुक्त रुपमा निर्माण गरेको भ्याक्सिनले ९० प्रतिशत काम गर्ने घोषणा गरेको भ्याक्सिनले तेश्रो चरणको परिक्षणपछि ९५ प्रतिशत सफल हुने दाबी गरेको छ । कम्पनीले बुधवार एक बिज्ञप्ति जारी गर्दै आउँदै गरेको भ्याक्सिन सँक्रमण नियन्त्रणमा ९५ प्रतिशत प्रभावकारी हुने र बृद्धावस्थाका मानिसहरुलाई समेत निकै प्रभावकारी हुने बताएको छ ।
    भ्याक्सिन निर्माण कम्पनी फाईजर, जस्ले बायो एण्ड टेक नामक जर्मन कम्पनीसँगको सहकार्यमा भ्याक्सिन निर्माण गरेको छ उस्ले आकस्मिक स्विकृतिको लागि केही दिन भित्र नै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनमा स्विकृतिको लागि निबेदन दिने जनाएको छ । भ्याक्सिनको सफलतापछि कम्पनीका प्रमुख कार्यकारी डा अल्बर्ट बौर्लाले भनेका छन्; संसारलाई ठुलो क्षति पुर्याएको महामारीको अन्त्यको लागि ८ महिनाको यो यात्रा एतिहासिक साबित भएको छ ।

    यदि अमेरिकास्थित फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले दुई डोज वाला उक्त भ्याक्सिनलाई मान्यता दिएको अवस्थामा यो बर्षको अन्त्यसम्म कम्पनीले ५ करोड डोज भ्याक्सिन तयार पार्ने छ । सन् २०२१ को अन्त्यसम्म कम्पनीले एक अर्ब ३० करोड डोज भ्याक्सिन तयार पार्नेछ । अमेरिकामा भने उत्पादिन भ्याक्सिनको आधा मात्र दिइने छ । अमेरिकाको जनसंख्या ३३ करोड छ । अमेरिकनहरुले कोरोना बिरुद्धको उक्त भ्याक्सिन निशुल्क प्राप्त गर्ने न्युयोर्क टाईम्सले जनाएको छ । गत बर्ष डिसेम्बरमा चीनमा भेटिएको भाईरसले १३ लाख ४१ हजार मानिसको विश्व भर मृत्‍यु भै सकेको छ ।

  • औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी,कोरोना खोप लगायतका व्यवस्था गर्न थप सहज

    औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी,कोरोना खोप लगायतका व्यवस्था गर्न थप सहज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी छन् ।

    राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले बुधबार औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरेकी हुन्।

    मन्त्रिपरिषदको सिफारिसअनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘आज मिति २०७७ साल मंसिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ जारी गर्नुभएको छ।’

  • कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु

    कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको महामारीबाट एकै दिन मृत्यु हुने संख्यामा आज रेकर्ड बसेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार संसारभरको आंकडा अनुसार आज कुल १० हजार ५ सय २ जना मानिसले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । यो एक दिनमै भएको सर्वाधिक मृत्यु हो ।

    खासगरी यूरोपमा आएको नयाँ लहर र कोरोना नियन्त्रणमा नआएका अमेरिकी तथा एसियाली मुलुकमा भएको मृत्युले यो आंकडा बनेको हो । यसअघि २७ कात्तिकमा एकै दिन १० हजार ७ जनाको मृत्यु भएको थियो ।

    त्यो रेकर्ड पछिल्लो २४ घण्टामा तोडिएको हो । अब कोरोना भाइरसको संक्रमणपछि ज्यान गुमाउने मानिसको संख्या १३ लाख ४२ हजार ९४२ पुगेको छ । पछिल्लो २५ घण्टामा युरोपमा मात्रै ५ हजार २ सय जनाले ज्यान गुमाए । जसले गर्दा सर्वाधिक संख्यामा मानिसको ज्यान गएको हो ।

    कोरोनाबाट अहिलेसम्म अमेरिकाले सबैभन्दा धेरै मानिस गुमाएको छ । युरोपमा भने बेलायतमा सर्वाधिक ५२ हजारको ज्यान गएको छ । यो मुलुकमा पछिल्लो २४ घण्टामा ५९८ संक्रमितको ज्यान गयो । आज विश्वभर ५ लाख ४६ हजार ६६२ संक्रमित थपिए ।

    अब कुल संक्रमित ५ करोड ५९ लाख ३६ हजार ९०१ पुगेका छन् । उनीहरुमध्ये ३ करोड ८९ लाख ५८ हजार ८०२ जनाले संक्रमणलाई जित्न सफल भएका छन् । अझै १ करोड ५६ लाख ३४ हजार ९८३ भने सक्रिय संक्रमित छन् ।

  • अमेरिकी कम्पनी मोर्डेनाको खोप कोभिडविरुद्ध ९५ प्रतिशत प्रभावकारी

    अमेरिकी कम्पनी मोर्डेनाको खोप कोभिडविरुद्ध ९५ प्रतिशत प्रभावकारी

    काठमाडौं । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको सार्वजनिक भएको छ । बीबीसीका अनुसार कम्पनीले सोमबार आफ्नो नतिजा सार्वजनिक गरेको छ ।

    जसअनुसार खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने अपेक्षा गरिएको छ । यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको सार्वजनिक गरेको थियो । उता, रुस र भारतमा समेत कोरोनाविरुद्धको खोपको अन्तिम चरणका परीक्षणहरु भइरहेका छन् ।


    मोडेर्ना कम्पनीले सोमबार आफ्नो कोरोना खोपको परीक्षणका नतिजा सार्वजनिक गर्न पाउनु खुसीको दिन भएको समेत उल्लेख गरेको छ ।

    कम्पनीका अनुसार अबको केही सातामै नियामक निकाय समक्ष खोप अनुमोदन गर्न आवेदन दिने तयारी रहेको समेत कम्पनीले उल्लेख गरेको छ । मोडेर्नाले आफ्नो खोपको तेस्रो चरणको परीक्षणको क्रममा ३० हजार मानिसहरुमा परीक्षण गरेको बीबीसीले लेखेको छ ।

  • तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात

    तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात

    काठमाडौं । तापक्रम घट्ने क्रमसँगै हिमाली र उच्च पहाडी जिल्लामा हिमपात शुरु भएको छ । यसले जनजीवन प्रभावित बनाउन शुरु गरेको छ । सोमबार दिनभरजसो देशभर घाम लागेनन् । यसले मंगलबार हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ । उता पूर्वी रुकुममा समेत हिउँले जनजीवन प्रभावित बनाएको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । सोहीकारण आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

    अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ । उपल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्रीसम्म झरेको छ ।

    मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको महाशाखालाई उदृत गर्दै नेपालको राष्ट्रिय समाचार समिति (रासस)ले जानकारी गराएको छ । हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ पर्दा तापक्रम माइनस ९ डिग्रिसम्म झरेको छ ।

  • नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त

    नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार यस अवधिमा कुल ६ हजार ४७६ जनाको कोरोना परीक्षण भएको छ । जसमा १४७७ जनामा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६३२, ललितपुरमा १३३, रुपन्देहीमा ९१, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, कास्कीमा ३९, चितवनमा ३६, कैलालीमा ३३ र मोरङमा ३१ जनामा कोरोना संक्रमण भएको छ ।

    त्यस्तै बाँकेमा २८, सुनसरीमा २६, झापा, गुल्मी र पाल्पामा २२\२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा ९, ताप्लेजुङ र नवलपरासी पूर्वमा ८\८, तेह्रथुममा ७ र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

    इलाम, सिराहा, दोलखा र मकवानपुरमा ५\५, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुपाल्चोक, गोरखा र अर्घाखाँचीमा ४\४, बारा, रसुवा, स्याङ्जा र अछाममा ३\३ जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा २\२ र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा १र१ जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।

  • डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

    डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

    काठमाडौं । स्वास्थ्य अभियन्ता डा. गोविन्द केसी अहिले कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार टुइटमार्फत निःशुल्क उपचार गर्ने बताएका थिए । प्रधानमन्त्रीले सामाजिक चर्चाका लागि गरेको उक्त टुइटको डा. केसीले प्रतिवाद गरेका छन् ।

    आफ्नो उपचार आफै गर्न सक्ने नागरिकको व्यक्ति विशेषको उपचारको जिम्मा लिनु भन्दा आम नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन डा. केसीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । डा. केसीले आफ्नो स्वास्थ्य लाभको कामनाका लागि भने डा. केसीलाई धन्यवाद समेत दिएका थिए ।

    ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा. केसीले भनेका छन्, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’

    उनले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न समते अग्रह गरेका छन् । ‘पटकपटक भएको सम्झौता कार्यन्वयन भएको भए दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’ उनले भनेका छन् ।

  • नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण, २३४९ जना संक्रमण मुक्त

    नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण, २३४९ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार हजार २४२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३४९जना निको भइ घर फर्केका छन्। यो सँगै नेपालमा एक लाख ६२ हजार ५९३ जना संक्रमित उपचारपछि निको भएका छन्।

    हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ जना रहेका छन् ।

  • रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो

    रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो

    मस्को । रूसले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको भ्याक्सिन स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको सार्वजनिक गरेको छ । अमेरिकी र जर्मन कम्पनीले आफ्नो उत्पादन ९० प्रतिशत प्रभावकारी भएको दावि सार्वजनिक गरेसँगै रुसले आफ्नो उत्पादनबारे पछिल्लो अपडेट सार्वजनिक गरेको हो ।

    रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको सार्वजनिक गरेको छ । सोमबार अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको थियो ।

    रूसले गत अगस्ट मै स्पुतनिक फाइभ भ्याक्सिनलाई स्वीकृति दिएको हो । रूसले तेस्रो चरणको परीक्षण नसकिँदै खोपलाई स्वीकृति दिएको थियो । बुधबार सार्वजनिक गरिएको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणमा आधारित रहेको बताइएको छ ।

    रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका अनुसार भ्याक्सिनका दुई डोज लगाएका मानिसलाई कोरोना संक्रमण हुने सम्भावना ९२ प्रतिशत कम हुने नतिजा आएको छ ।