Category: विज्ञान प्रविधि

  • सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    भक्तपुर । भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका २ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेका दोलखा मेलुङ गाउँपालिका ५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । करेन्ट लागेर एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको खबर स्थानीयले प्रहरीलाई गरेका थिए ।


    त्यसपछि सो टोलको लाइन काट्न लगाएर प्रहरी एम्बुलेन्स लिएर घटनास्थलमा खटिएको थियो । घटनामा दुबै जना गम्भीर घाइते भएका थिए । भक्तपुर अस्पतालमा बुढाथोकीको मृत्यु भएको हो । घाइते सिन्धुली कमलामाई नगरपालिका ११ का २७ वर्षीय विक्रम मोक्तानको कीर्तिपुर अस्पताल उपचार जारी रहेको छ । टप्सन इनर्जी सानोभर्‍याङ, काठमाडौंबाट खटिएका कामदारले सिमेन्टको पोलमा सडकबत्ती जडान राख्ने क्रममा करेन्ट लागेको बताइएको छ ।

  • गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने

    गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने

    काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ पर्यटकीय क्षेत्रको भिडियो बनाएर प्रचार प्रसारमा ल्याउने उत्कष्ट टिकटक भिडियोलाई पुरस्कृत गर्ने भएको छ । निश्चित शर्त पुरा गरी अपलोड भएका टिकटक भिडियोलाई हरेक १५ दिनमा उत्कृष्ट छनोट गरी एक जनालाई २० हजार नगद पुरस्कार दिने घोषणा बोर्डले गरेको हो । यसअघि तनहुँको मानहुँकोट टिकटककै कारण भाइरल बनेको थियो ।

    नेपाल पर्यटन बोर्डले युवापुस्तालाई गन्तब्य प्रवर्द्धनमा आकषिर्त गर्ने उद्देश्यले यस्तो अफर ल्याएको जनाएको छ । ‘देशदर्शन टिकटक कम्पिटिसन’ नाम दिइएको यो अभियान १ जनवरीबाट शुरु भएको छ । ३१ मार्चसम्म जारी रहने भएको छ । अहिलेसम्म बोर्डले प्रवर्द्धन नगरेका नयाँ गन्तब्यहरुको भिडियो टिकटकरले ल्याउनु पर्नेछ ।

    अहिले नै चर्चित बनेका पर्यटकीय गन्तव्यको भिडियोले मान्यता पाउने छैनन् । टिकटिक भिडियोको विषयवस्तुमा लुकेका सांस्कृतिक विषयवस्तुलाई समेत समेट्न सकिनेछ । टिकटक यूजर्सले नेपाल पर्यटनको बोर्डको टिकटक आइडीलाई फलो गर्नुपर्छ । त्यसपछि आफ्नो भिडियोमा बोर्डको आइडीमा ट्याग गर्नुपर्छ । यसबाहेक भिडियो पोष्ट गर्दा हृयासट्याग ‘नेपालटूरिजमबोर्ड’ र हृयासट्याग ‘देशदर्शन’ समेत राख्नु पर्ने भएको छ । भिडियो १५ सेकेन्डदेखि १ मिनेटसम्मको हुनुपर्ने शर्त छ । अंग्रेजी र नेपाली मध्ये एक भाषामा गन्तब्य प्रवर्द्धन सम्बन्धी भ्वाइस राख्न सकिनेछ ।

  • काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित, बाहिर ननिस्किन विभागको अपिल

    काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित, बाहिर ननिस्किन विभागको अपिल

    काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको छ।

    वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले मंगलबार विज्ञप्ति जारी गर्दै बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको जनाएको हो ।

    सोमबार बिहान हल्का वर्षा भएपछि धुम्मिएको काठमाडौंको आकाश मंगलबार पनि राम्रोसँग खुलेको छैन् ।

    विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार सोमबार बेलुकी काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो ।

    सोमबार काठमाडौंको एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो । मंगलबार पनि वायु प्रदूषण अर्थात एक्यूआई ३१५ को हाराहारीमा छ ।

    सरकारले निर्धारण गरे अनुसार एक्यूआई तीन सय भन्दा बढी भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिन्छ ।

    बिहीबारबाट मात्रै मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायु प्रदुषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकले सुझाव दिएका छन् ।

    वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुको समस्या भएकाहरु बढी प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले अपिल गरेको छ।

  • विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी

    विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी

    काठमाडौं । नेपालबाट विदेश जाने क्रममा नक्कली पिसिआर परीक्षण रिर्पोट बन्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित ७ जना पक्राय परेसँगै यस्तो रहस्य खुलेको हो । यसअघि नेपालबाट विभिन्न मुलुक पुगेका नेपालीमा पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएपछि एयरलाइन्सले प्रतिवन्ध भोगेका थिए । त्यसबेला नेपाल एयरलाइन्सले गरेको गुनासोलाई गम्भीर रुपमा लिइएको थिएन । तर, नक्कली रिर्पोटसहित नै व्यक्ति पक्राउ परेपछि भने यसको रहस्य खुलेको हो ।

    प्रहरीका अनुसार किर्ते कागजपत्र तयार पार्ने गिरोहको खोजी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार शंकास्पद रिपोर्टसहित नियन्त्रणमा लिइएका ७ जना महानगरीय प्रहरी वृत्त, गौशालामा छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

    पक्राउ परेका व्यक्तिको साथमा ह्याम्स अस्पताल र सेन्टर डायगोनस्टिक प्रयोगशालाको नक्कली पीसीआर रिपोर्ट थियो । प्रहरीका अनुसार नक्कली रिपोर्ट बनाउने काममा अस्पताल र प्रयोगशालाको संलग्नता भने देखिएको छैन । तर, अस्पतालको नाममा अन्य गिरोहले किर्ते गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।


    रिपोर्ट नक्कली भएको पुष्टि भएपछि प्रहरीले सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ पक्राउ परेका छन् ।

  • काठमाडौंमा अधिक प्रदुषण, खुलेन आकास

    काठमाडौंमा अधिक प्रदुषण, खुलेन आकास

    काठमाडौं । काठमाडौं उपत्यकाको प्रदुषण लेवल मापदण्डभन्दा माथि पुगेको छ । जसले गर्दा काठमाडौंबासीले भारतको नयाँ दिल्लीबासीले भोगे जस्तै अनुभूति गर्नु परेको छ । कम भिजिविलिटीका कारण सडकमा चर्को जाम समेत भएको छ । सोमबार दिनभर काठमाडौंबासीले घाम पनि देख्न पाएनन् । कतिपयमा आखाँ पोल्ने समस्या समेत देखिएको गुनासो आएको छ ।

    काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम बढ्नु अत्यधिक वायु प्रदूषणका कारण वातावरण धुमिल भएको मौसम विद्हरुले जानकारी दिएका छन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका अनुसार सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वालीटी इन्डेक्स (एक्युआई) ४०३ रहेको छ ।

    यो आइतबारको तुलनामा दोब्बर हो । अर्थातः अकस्मात काठमाडौंको आकास प्रदुषित बनेको छ । आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो । यसबाट काठमाडौंको प्रदुषण घातक विन्दुमा पुगेको संकेत गरेको छ । खतरा जनाउने सूचक रंगमा काठमाडौं खैरे स्थानमा पुगेको छ । काठमाडौंको प्रदूषणले खासगरी बिरामी र संक्रमितलाई बढी जोखिम देखाएको छ ।

  • राहदानीमा राख्ने तस्वीरलाई मन्त्रीपरिषद्को स्वीकृति

    राहदानीमा राख्ने तस्वीरलाई मन्त्रीपरिषद्को स्वीकृति

    काठमाडौं । सरकारले राहदानीमा राख्ने विभिन्न तस्वीर स्वीकृत गरेको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद बैठकले राहदानीको भित्री पानामा राख्ने गरी विभिन्न तस्वीरलाई स्वीकृति दिएको छ । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार राहदानीको पहिलो कभर पेजको भित्री पृष्ठमा डाँफे र राष्ट्रिय झण्डा रहने भएको छ । पृष्ठ १ मा सगरमाथाको तस्वीर राखिने भएको छ ।

    त्यसपछिका पृष्ठमा पोलिकार्बोनेट डाटा पेज, लुम्बिनी, राष्ट्रपति भवन, एक सिंगे गैंडा, चाँगु नारायण मन्दिर, इलामको कन्याम चिया बगान, लालीगुराँस, पशुपतिनाथ मन्दिर, मिथिला आर्ट, धान रोपाईं, कुमारी, माथिल्लो मुस्ताङ, बाघ, जुम्लाको सिञ्जा उपत्यका, देशेमरु झ्याँ र जानकी मन्दिर रहने गरी निर्णय भएको उनले जानकारी दिए ।

    करुवा, हात्ती, रानीपोखरी, हनुमानढोका दरबार, धरहरा, भुर्तिका देवल, पाटन दरबार स्क्वायर, पुतली, वौद्धनाथ, भक्तपुर दरबार स्क्वायर, महाकाली पुल, कृष्णसार, सगरमाथा जाने लोबुचे क्षेत्रको ट्रेकिङ, रानीमहल, राराताल, माथिल्लो तामाकोशी र सिंहदरबार पनि राहदानीका पानाहरुमा हटाउने भएका छन् । राहदानीको अन्तिम पृष्ठको भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा राखिने भएको छ ।

  • भारतमा यसै सातादेखि कोरोना खोप वितरणको तयारी, भारतकै आशमा नेपाल

    भारतमा यसै सातादेखि कोरोना खोप वितरणको तयारी, भारतकै आशमा नेपाल

    काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले यसैसाताबाट कोरोना खोपको वितरण शुरु गर्ने तयारी गरेको छ । सम्भवतः यसबारे आज विशेष निर्णय हुन सक्ने भारतीय संचारमाध्यमले लेखेका छन् । केही संचारमाध्यमले शनिबारबाटै खोप वितरणको निर्णय हुने संकेत समेत गरेका छन् । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाका भिजी सोमानीले बिहीबार आयोजना गरिएको एक वेबिनारमा अनुमति दिने अन्तिम तयारी भइरहेको जानकारी दिए ।

    उनका अनुसार सन् २०२१ को प्रारम्भ नै विशेष बनाउने प्रयासस्वप कोरोना खोपको अनुमति दिने तयारीमा भारत जुटेको हो । शुक्रबार सोही सम्बन्धी महत्वपूर्ण बैठक बस्दैछ । भारतमा सेरम इस्टिच्युट अफ इन्डिया र भारत बायटेकले आपतकालिन प्रयोगका लागि अनुमति माग्दै यस अगाडि नै दुई पटक निवेदन दिइसकेका छन्।
    सेरमले आष्ट्राजेनिकासँग अक्सफोर्डले निर्माण गरेको खोप ल्याउन साझेदारी गरिसकेको छ । यो खोप अहिले बेलायतमा प्रयोग भइरहेको छ ।

    भारतमा अनुमति पाएपछि भारत हुँदै खोप नेपाल ल्याउने आश नेपाली अधिकारीहरुको रहेको छ । नेपालमा समेत पहिलो चरणमा आपतकालिन अवस्थाका बिरामी र स्वास्थ्यकर्मीले पहिले खोप पाउने छन् । यद्दपी भारत सरकारमार्फत नेपालको कम्तिमा २० प्रतिशत जनसंख्यालाई पुग्ने बराबरको खोप ल्याउने तयारी भएको सरकारी अधिकारीले जनाएका छन् ।

  • नेपालमा लोडसेडिङ नहुने प्राधिकरणको स्पष्टिकरण

    नेपालमा लोडसेडिङ नहुने प्राधिकरणको स्पष्टिकरण

    काठमाडौं । पछिल्लो एक साता काठमाडौंसहितका शहरी इलाकामा विद्यूत आपूर्तिमा समस्या देखिएको छ । अकस्मात लाइन जाने र निकै बेर नआउने समस्याले उपभोक्ता हैरानीमा छन् । संचारमाध्यमले यस प्रकारको समस्यालाई अघोषित लोडसेडिङको उपमा दिएसँगै प्राधिकरण स्पष्टिकरण सार्वजनिक गर्न बाध्य भएको छ ।

    प्राधिकरणले नेपालमा औपचारिक रुपमा लोडसेडिङ हटेको भन्दै अब त्यस्तो अवस्था नआउने बताएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाका अनुसार अहिले बत्ती जाने समस्या हुनुका पछाडि पुराना संरचनाको मर्मत सम्भार र कहिलेकाहीँ अचानक आउने समस्या मूख्य कारण हो । तर, विजुली जाने अन्य कारण भने छैन ।

    विभिन्न कारणले विद्युतका पोलहरू सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचना मर्मत सम्भार तथा बदलीजस्ता प्रिभेन्टिभ (निरोधात्मक) साथै सञ्चालन र विद्युत प्रवाह भैरहेका संरचनाहरूमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरूको समाधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्कालै मर्मत सम्भार गरी विद्युत आपूर्ति सुचारू गर्ने गरिएको उनले जनाएका छन् ।

    प्राधिकरणले विगत ३ वर्षअघि देखि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको र देहायको अवस्थामा छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुन गएको भन्दै स्पष्ट पारिएको छ ।

    प्राधिकरणले पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोध प्रणालीमा आएको प्राविधिक समस्याले भएको समेत स्पष्ट पारेको छ । यो समस्या तत्पश्चात भारप्रेषण केन्द्र र ग्रीड सञ्चालन विभागमार्फत् निराकरण गरिसकिएको प्राधिकरणको भनाई छ ।

  • भोलीदेखि पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने, नेपाल आउन नपर्ने

    भोलीदेखि पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने, नेपाल आउन नपर्ने

    काठमाडौं । पुनः श्रम स्वीकृति लिनका लागि विदेशबाट नेपाल आउनै पर्ने बाध्यता हटेको छ । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गर्ने भएको छ ।

    वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनमार्फत आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

    शुक्रबारदेखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिएका छन् । यो सेवा लागू भएपछि पुनःश्रम स्वीकृति लिन विभागको कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।

    यसले विदेशमा काम गरिरहेका कामदार प्रत्यक्ष लाभान्वित हुने भएका छन् । एकपटक विभागबाट आईडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

    नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको बताएको छ । अवको दुई महिना भित्रमा नयाँ श्रम स्वीकृति समेत अनलाइन मार्फत दिन सक्ने गरी योजना बनेको छ ।

    वैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फारम भर्न सक्ने भएका छन् ।

  • अमेरिका र भारतमा समेत देखियो कोरोनाको नयाँ भाइरस

    अमेरिका र भारतमा समेत देखियो कोरोनाको नयाँ भाइरस

    काठमाडौं । बेलायतबाट पहिलो पटक पुष्टी भएको कोरोना भाइरस कोभिड १९ को नयाँ जिवाणु अमेरिका र भारतमा समेत पुष्टी भएको छ । अमेरिकाको कोलोराडोमा एक व्यक्तिमा नयाँ जिवाणु पुष्टी भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ती व्यक्तिको ट्राभल हिष्ट्री सार्वजनिक गरिएको छैन । उनलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

    सरकारी अधिकारीहरुका अनुसार उनको सम्पर्क र अमेरिकामा अन्य नयाँ केसको बारेमा थप अध्ययन जारी रहेको छ । यता, भारतमा भने बेलायतबाट आएका ६ जनामा नयाँ भाइरस पुष्टी भएको हो । नेपालमा समेत १ पुसयता बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी भएको छ । तर, उनीहरुमा कुन प्रकारको भाइरस छ भन्ने चाँही खुलिसकेको छैन । बेलायतबाट आएका सबैजना होटेल आइसोलेसनमा छन् ।

  • पठाओ कार्यालयमा तोडफोड गर्ने युवालाई आजिवन प्रतिवन्ध लगाउने कम्पनीको तयारी

    पठाओ कार्यालयमा तोडफोड गर्ने युवालाई आजिवन प्रतिवन्ध लगाउने कम्पनीको तयारी

    काठमाडौं । सोमबार राइड सेयरिङ कम्पनी ‘पठाओ नेपाल’को मध्यबानेश्वरस्थित कार्यालयमा राइडरहरुले तोडफोड गरे । पछिल्लो केही दिनयता राइडरहरुले पठाओ नेपालको व्यवस्थापन विरुद्ध आन्दोलन गरिरहेका थिए । यसरी तोडफोडमा उत्रने राइडरलाई भने आफ्नो प्लेटफर्ममा आजिवन प्रतिवन्ध लगाउने तयारी कम्पनीले गरेको छ ।

    खासगरी पठाओ प्लेटफर्म स्वच्छिक रोजगारीको माध्यम भएको र कम्पनीका नियम चित्त नबुझे यसमा भाग नलिन पाउने अधिकार हुँदाहुँदै भौतिक आक्रमणमा उत्रनु गलत भएको भन्दै कम्पनीले प्रतिवन्ध लगाउने तयारी गरेको हो ।

    सोमबार प्रहरीले कार्यालय तोडफोडमा उत्रिएका ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी समेत छ । पठाओमा करीव ७५ हजार राइडर आवद्ध छन् ।

    प्रयोगकर्ता भने करीव १२ लाख हाराहारी रहेका छन् । राइडरहरुले कम्पनीले ठूलो रकम कमिसनवापत लिने गरेको भन्दै घटाउन माग गरेका छन् । अहिले कम्पनीले कमिसन २० प्रतिशत लिने गरेको छ ।

    कम्पनी कमिसन ८ प्रतिशतमा झार्नुपर्ने राइडरहरुको माग छ । कम्पनीले तोकेका नियम उल्लंघन गर्दा कम्पनीले गर्ने कारबाहीबारे पूर्व जानकारी दिनुपर्ने, कस्टमर केयर सेन्टरको फोन निशुल्क हुनुपर्नेसहित ११ बुँदे माग राख्दै राइडर आन्दोलनमा उत्रिएका हुन् ।

    उता, कम्पनीले भने केही माग पुरा गर्ने नसकिने प्रकृतिको रहेको भन्दै इच्छा नहुने राइडर प्लेट फर्म नै नआउनु राम्रो विकल्प रहेको स्पष्ट पारेको छ ।

  • बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?

    बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?

    काठमाडौं । बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । तर, उनीहरुमा देखिएको भाइरसको प्रकृति पुरानै हो वा बेलायतमा देखिएको नयाँ भाइरस हो भन्ने चाँही खुलेको छैन । सरकारले ७ पुसदेखि बेलायतबाट यात्रु नेपाल ल्याउन रोक लगाएको छ ।

    त्यसअगाडी १ पुसबाट ७ पुसको बीचमा आएका यात्रुलाई अनिवार्य होटेल क्वारेन्टिनमा बस्न निर्देशन दिएको छ । अध्यागमन विभागका अनुसार एक सातामा कुल २६३ जना यात्रु बेलायतबाट नेपाल आएको खुलेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले संक्रमण देखिएका यात्रुहरु राजधानीका विभिन्न होटेलमा क्वारेण्टिन बसेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न सरकारले भनेको थियो ।

    यसरी बसेलाई अलग्गै निःशुल्क परीक्षण गरिएको थियो । त्यसक्रममा ५ जनालाई पोजेटिभ आएको हो । उनीहरुमा कुन प्रकारको भाइरस छ भन्नेबारे भने अलग्गै परीक्षण गरिने भएको छ ।

  • निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो

    निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो

    काठमाडौं । नेपालमा सरकारले निजी क्षेत्रका अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाएको छ । यससँगै अब कोरोना संक्रमितको उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ ।

    कोरोना भारइसको संक्रमण उच्च दरमा घटेको र सरकारी अस्पतालकै बेड खाली भएको भन्दै सरकारले निजी अस्पताललाई कोरोना अस्पतालको सूचीबाट हटाउने निर्णय लिएको हो । अब निजी क्षेत्रका अस्पतालले अन्य रोगको सहजै उपचार गर्न सक्ने भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय संक्रमण कम भएको छ । सोहीकारण निजी अस्पताललाई तत्काल कोभिड अस्पतालको सूचीमा राख्ने काम स्थगन गरिएको छ । मन्त्रालयले संक्रमितको उपचारका लागि देशभर ३० वटा भन्दा बढी निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा घोषणा गरेको थियो । ती सबै अस्पताल अब उक्त सूचिबाट हटेका छन् ।

    संक्रमण नबढेमा यो व्यवस्था निरन्तर रहने र बढेमा भने पुनः सेवा थाल्नेगरी तत्कालका लागि हटाइएको प्रवक्ता गौतमले बताए । उनका अनुसार मेडिकल कलेजहरूलाई भने कोभिड अस्पतालको सूचीबाट हटाइएको छैन ।

    उनका अनुसार यो सूचिबाट हटेसँगै अब निजी अस्पतालमा कोभिड संक्रमितको उपचार भएमा त्यसको खर्च सरकारले व्यहोर्ने छैन। अस्पतालहरूमा मात्र उपचार गराइएका संक्रमितहरूको भने उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

  • १.३ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम

    १.३ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम

    काठमाडौं । आज यस हिउँदकै सबैभन्दा चिसो दिनका रुपमा तापमान मापन भएको छ । काठमाडौं उपत्यकाको तापक्रम आज १.३ डिग्री मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार भने काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो।

    यसअघि ३ पुसमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्रीसम्म झरेको थियो । त्यसपछि केही बढेको तापक्रम आज भने ह्वात्तै घटेको छ । काठमाडौंको तापक्रम अझै कम हुने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान छ ।

    सोहीकारण दिउँसो चर्को घाम लाग्दा काठमाडौंबासीलाई राहत भने पुगेो छ । महाशाखाका अनुसार तराईमा हुस्सु र कुहिरोको प्रभाव रहनेछ । यसले तराई क्षेत्रमा भने जनजीवन प्रभावित बनेको छ ।

    देशका अन्य भूभागको मौसम भने सामान्य रहने भएको छ । काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने गरिएको छ ।

  • चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा

    चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा

    काठमाडौं । प्रहरीले चर्को आवाज निकाल्ने गरी मोडिफाइ गरेका मोटरसाइकलविरुद्ध कारवाही अभियान चलाएको छ । एक महिना चलाएको यो अभियानका दौरान कुल ३ सय ४२ मोटरसाइकल कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार एक महिनामा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी चलाउनेलाई कारबाही गर्न विशेष अभियान चलाइएको थियो । सो अभियानका दौरान ३ सय ४२ वटा मोटरसाइकल प्रहरीको फन्दामा परेका हुन् ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार यस प्रकारका मोटरसाइकलका कारण दुर्घटना निम्तिने खतरा हुन्छ । त्यसले सर्वसाधारणलाई अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदूषण समेत गर्छ ।

    साइलेन्सरलाई मोडिफाई गरी, फिल्टर निकालेर वा कम्पनीबाटै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलको संचालनमा प्रहरीले कडाई गरिरहेको छ । महाशाखाका अनुसार यस प्रकारका मोटरसाइकलको नम्बर संकलन गरी निरन्तर निगरानी गरिदै आएको छ ।

  • नेपालमा थप ६१३ जनामा कोरोना पुष्टी, ५ जनाको मृत्यु

    नेपालमा थप ६१३ जनामा कोरोना पुष्टी, ५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणदर उल्लेख्य घटेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ६ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यससँगै अब नेपालमा संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा ७३९ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । नेपालमा कोरोनालाई जित्नेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ५५१० जनामा कोरोना परीक्षण गरिएको हो ।

  • भारतमा कोरोना खोप अनिवार्य नहुने, इच्छुकलाई मात्र दिइने

    भारतमा कोरोना खोप अनिवार्य नहुने, इच्छुकलाई मात्र दिइने

    नयाँ दिल्ली । भारतले कोरोना भाइरसविरुद्धको खोपलाई अनिवार्य नगर्ने भएको छ । भारतमा खोप वितरणको अन्तिम चयारी भइरहेको छ । यसै सन्दर्भमा त्यहाँको स्वास्थ्य मन्त्रालयले खोप वितरण अनिवार्य नगर्ने स्पष्ट पारेको छ । कुनै व्यक्तिले आफुले कोरोना खोप लिन नचाहेमा उनीहरुका लागि स्वतन्त्र छाडिने भएको हो ।

    सरकारले कुनै पनि व्यक्तिलाई जवर्जस्ती खोपका लागि नगर्ने मन्त्रालयको भनाई छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा उपलब्ध खोप विश्वका अन्य मुलुकमा जत्तिकै प्रभावकारी हुने छ । भारतमा आम सर्वसाधारणको स्तरमा अहिले पनि खोपबारे विभिन्न अफवाह जारी छन् ।

    यसबाट सकारात्मक सन्देश प्रवाह गर्न भारतले खोपलाई ऐच्छिक बनाउने भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार भारतमा जनवरीको पहिलो साताबाटै खोप वितरण थालिने भएको छ । यस्तो खोपले कोरोना भाइरसलाई मार्ने नभई शरीरमा एन्टिबडी उत्पादनमा सहयोग गर्नेछ ।

    चिकित्सकहरुका अनुसार क्यान्सर, डाइविजिटजस्ता घातक रोगका बिरामीले समेत कोरोना खोप लिन भने सक्नेछन् । भारतले पहिलो चरणमा स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्ने कर्मचारी, वृद्ध र गम्भीर बिरामीमा लगाउने भएको छ । त्यसपछि मात्र अन्यको पालो आउने छ ।

  • अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

    अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

    वासिंगटन डिसी । अमेरिकी नवनिर्वाचित राष्ट्रपतिमा जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले फाइजर–बायोएनटेकले बनाएको कोरोना भाइरस विरुद्धको खोप लगाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

    खोपबारे सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । उनले डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले निर्धक्क भई खोप लगाउन आह्वान गरेका छन् ।

    बाइडेन दम्पत्तिले नै खोप लगाएका हुन् । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । यहाँ अहिलेसम्म पाँच लाखभन्दा धेरै मानिसमा कोरोना खोप लगाइसकिएको छ । अमेरिकाले अघिल्लो सोमबारबाट सर्वसाधारणमा खोप वितरण थालेको हो ।

  • आज पनि काठमाडौंका विभिन्न स्थानमा विद्यूत कटौती हुने

    आज पनि काठमाडौंका विभिन्न स्थानमा विद्यूत कटौती हुने

    काठमाडों । आज शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा विद्यूत काटिने भएको छ ।

    बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले विद्युत अवरूद्ध गर्न लागिएको हो । दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । यसको काम छिटो सम्पन्न भए अगाडी समेत बत्ति आउन सक्नेछ ।

  • अमेरिकाले दियो कोरोनाविरुद्धको दोस्रो खोपलाई समेत मान्यता

    अमेरिकाले दियो कोरोनाविरुद्धको दोस्रो खोपलाई समेत मान्यता

    काठमाडौं । अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोपलाई समेत प्रयोगको अनुमति दिएको छ। कोरोना खोप अध्ययन गर्न बनेको विज्ञहरुको टोलीले मोडर्ना खोपलाई तत्काल प्रयोग गर्न सकिने गरी खाद्य तथा औषधि प्रशासन एफडीएलाई अनुमति प्रदान गरेको हो।

    मोर्डना खोपलाई विज्ञहरुको समूहले अनुमति दिएपछि अमेरिकाले अब एक साता पछि दोस्रो खेप समेत प्रयोगमा ल्याउन पाउने भएको छ । यसअघि बेलायती कम्पनी फाइजर बायोएनटेकले अमेरिकामा बनाएको खोपले अनुमति पाई प्रयोग भइरहेको छ ।

    कोरोना भाइरसविरुद्ध मोर्डनाले तयार गरेको खोपलाई अनुमति दिने नदिनेबारे विज्ञहरुको टोलीमा मतदान भएको थियो । जसमा दिने पक्षमा अधिकांश सदस्यको राय थियो । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार मोडर्नाको खोप १८ वर्ष माथिका व्यक्तिलाई मात्र दिइने छ । मोडर्ना खोप यसअघिका परीक्षणमा ९४ प्रतिशत प्रभावकारी पाइएको छ।

    विज्ञको टोलीले अनुमति दिनासाथ अमेरिकाले २० करोड डोज खरिद गर्ने तयारी गरेको छ। मोडर्नाले तयार गरेको ६० लाख डोज आयातका लागि पानी जहाजमा लोड गरिसकिएको बीबीसीले उल्लेख गरेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । यहाँ कोरोना भाइरसबाट ३ लाख १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पौने २ करोड मानिसमा संक्रमण भएको छ।

  • आज ३ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

    आज ३ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

    काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । जसले गर्दा उपत्यकामा चिसो बढेको छ । सोमबार ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो । तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको छ । तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले महाशाखाले उल्लेख गरेको छ ।

    आज प्रदेश नं. १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने भएको छ ।

  • अमेरिकामा सोमबारबाट सर्वसाधारणलाई कोरोना खोप लगाइने

    अमेरिकामा सोमबारबाट सर्वसाधारणलाई कोरोना खोप लगाइने

    काठमाडौं । अमेरिकामा सोमबारबाट सर्वसाधारण्को स्तरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोनाबाट संसारमा सबैभन्दा बढी मानवीय क्षति भएको यो मुलुकमा आफ्नै कम्पनीले निर्माण गरेको खोप लगाउने अनुमति सरकारले दिएको हो ।

    अमेरिकाले फाइजर-बायोएनटेक खोप दिन लागेको छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भन्दै खोप लगाउने अनुमति दिएको हो ।

    एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिइसकेको छ । खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीको भनाई छ । बीबीसीका अनुसार यसले मानवीय क्षति कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

  • आज राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती हुने

    आज राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्दैछ ।
    प्राधिकरणका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मतको काम जारी रहेका कारण त्यसअन्तर्गत वितरण भएको विजली कटौती हुन लागेको हो । शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् आपूर्ति नहुने प्राधिकरणले जनाएको छ ।

    यसबाट धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायत स्थानमा विद्युत् कटौती हुन लागेको हो । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको जनाएको छ ।

    प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जानकारी दिएको छ ।

  • काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान हुने भएको छ ।

    सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच बिहिबार हस्ताक्षर भएको छ ।

    सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरे ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    सहमति अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, लाजिम्पार्टलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने छ ।

    काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत रहने सहमतिपत्रमा उल्लेख छ ।

    यस कार्यका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्ने । यस आयोजनाको निर्माण कार्य पश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले गर्ने,’ सहमतिपत्रमा भनिएको छ,’

    सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने ।’

    सडक बत्ती जडान, सञ्चालन लगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने, सोही संयन्त्रले सडक बत्तीहरुको संम्भाव्य विस्तार स्थलहरुको पहिचान, अध्ययन गरी ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने, नयाँ सडक बत्तीहरुको जडान पश्चात जगेडा हुने सोलार प्यानल लगायत सामानहरुको जगेर्ना गर्दै पुर्नप्रयोगको व्यवस्था गर्ने लगायतका कुरा पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।

  • मिथुन उल्का वर्षा सक्रिय, आइतबार राति अत्यधिक सक्रिय हुने

    मिथुन उल्का वर्षा सक्रिय, आइतबार राति अत्यधिक सक्रिय हुने

    काठमाडौं । मंसिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मंसिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

    अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार २०० फेथनले अन्तरीक्षामा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिने जनाइएको छ ।

    उल्का वर्षाको समयमा उल्का मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामाकरण गरिएको हो । उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बीर खिच्न सक्नेछन् । अवलोकनका लागि मङ्सिर २८ गते आइतबार राति ८ बजेदेखि भोलिपल्ट बिहान ५ः३० सम्मको समय अनुकूल हुने अध्यक्ष भट्टराईले बताए ।

    मौसमले साथ दिएमा उल्का वर्षा हेर्नका लागि यो सन् २०२० कै उत्कृष्ट समय हुनेछ । यो उल्का वर्षा पुस २ गतेसम्म जारी रहने जनाइएको छ । उल्का वर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन । उल्का वर्षा अवलोकन गर्न र आफ्नो क्यामेरामा कैद गर्ने प्रयासका लागि सोसाइटीको टोली पोखरामा जाने जनाइएको छ ।

    देशका अन्य भागमा रहेका सोसाइटीका सदस्यले आफ्नै स्थानबाट हेर्ने र तस्वीर लिनेछन् । अवलोकनकर्तालाई आफ्ना तस्वीर सोसाइटीलाई पठाउनसमेत आह्वान गरिएको छ । सोसाइटीमा प्राप्त तस्वीरलाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिने जनाइएको छ ।

  • कार्यकालको पहिलो १ सय दिनमै १० करोडलाई खोप लगाउने बाइडेनको घोषणा

    कार्यकालको पहिलो १ सय दिनमै १० करोडलाई खोप लगाउने बाइडेनको घोषणा

    डेलावर । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १ सय दिन भित्रै १० करोड नागरिकले कोरोना खोप प्राप्त गर्ने बताएका छन् । मंगलबार डेलावरमा पत्रकारहरुसँग बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले सो अवसरमा आफ्ना स्वास्थ्यमन्त्रीको नाम समेत सार्वजनिक गरेका थिए ।

    आफ्नो कार्यकालको १०० दिन भित्रै कोभिड–१९ को कोर्ष चेन्ज हुने भन्दै महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चालिने बताएका छन् । यसअघि उनले सोही १ सय दिनका लागि अनिवार्य मास्क लगाउने अभियान थाल्ने जानकारी दिएका थिए ।

    अमेरिकी नियामक निकायबाट फाइजर, बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि भंगलबार नै भएको छ । अब उक्त खोप आपतकालिन अवस्थामा अमेरिकाले प्रयोग गर्न सक्छ । अहिले बेलायतले आफ्ना नागरिकलाई औपचारिक रुपमा खोप वितरण शुरु गरेको छ ।

    उनले बालबालिकालाई पुनः विद्यालय फर्काउनु पनि आफ्नो प्राथमिकतामा रहेको समेत जानकारी दिए । बाइडेनले स्वास्थ्यमन्त्रीको रुपमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरा तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को प्रमुखमा रोचेल वालेन्स्कीलाई नियुक्ति दिने घोषणा गरेका हुन् ।

  • सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

    सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

    काठमाडौं । सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

    यो नयाँ उचाइ हिउँसहितको भएको नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रममा जानकारी गराइएको हो ।

    नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् ।

    मंगलवार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेसंगै सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको हो ।

    हिउँको सतहलाई पनि उचाइको आधार मान्नुपर्ने नेपालको प्रतावलाई चीनले यसअघि स्विकार नगरेपनि पछिल्लो समय हिउँको सतहलाई उचाइको आधार मान्ने विषयमा सहमति भएसंगै नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका थिए ।

    सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको हो ।

    सगरमाथाको उचाइ मापनको कार्य सबैभन्दा अघि सन् १८४७ मा अघि बढाउने तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो ।

    विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका थिए ।

    चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार झुमालाङ्माको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको थियो ।

    चिनियाँ निकायले सगरमाथाको चट्टान सहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो ।

    नेपालको विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर उचाइ मापन सम्बन्धी काम गरेका थिए ।

  • आज सगरमाथाको नयाँ उचाई घोषणा

    आज सगरमाथाको नयाँ उचाई घोषणा

    काठमाडौं । आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा हुँदैछ । सरकारले एकवर्ष अगाडी टोली खटाएर चुचुरो सम्मै पुगेर नापजाँच गरेको सगरमाथाको उचाई आज नापी विभागले सार्वजनिक गर्न लागेको हो । यस पटक चीन र नेपालले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्न लागेका छन् । सोहीकारण नयाँ उचाई सहजै विश्वव्यापी मान्य हुने भएको छ ।

    सगरमाथा चुचुरो नेपालमा पर्छ । अहिले सगरमाथाको उचाई ८८४८ मिटर रहेको छ । २०७२ सालमा आएको भूकम्पले गराएको हलचलका कारण सगरमाथाको उचाईमा परिवर्तन आएको भन्दै यसको नयाँ उचाई घोषणाको माग उठेको थियो ।

    त्यसपछि नेपाल र चीनले छुट्टाछुट्टै टोली खटाएर उचाई नाप गरेका थिए । आज संयुक्त रुपमा नेपालमा उचाई घोषणा गरिदैछ । सगरमाथाको उचाईलाई संसारभरबाट चासोका साथ हेरिएको छ । मंगलबार दिउँसो साढे १ बजे उचाई घोषणा गरिने भएको छ ।

  • लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना पक्राउ

    लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना पक्राउ

    काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना ह्याकर पक्राउ परेका छन् । उनीहरुले सिस्टम ह्याक गरी परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोप प्रहरीको छ ।

    प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ९ सानोगाउँका २५ वर्षका विवेक महर्जन, कास्कीको पोखरा महानगरपालिका छोरेपाटनका १७ वर्षका युवक र घारीपाटनका १५ वर्षिय युवक पक्राउ परेका हुन् ।

    उनीहरुमाथि सरकारी सूचना प्रवाहको आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसूर लागेको छ ।

  • देशका केही ठाउँमा वर्षासहित उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    देशका केही ठाउँमा वर्षासहित उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण नेपालको धेरै ठाउँको मौसम बद्ली भएको छ ।

    जल तथा मौसम विज्ञान विभागको अनुसार उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागको एक/ दुई स्थानमा हल्का हिमपात पनि सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को थोरै स्थान साथै वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार प्रदेश १ को थोरै स्थान साथै वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षासहित देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

    मंसिर २१ गते (आइतबार)

    दिउँसो : प्रदेश नं १ तथा बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली, कर्णाली र सुदुर पश्चिमी प्रदेशका पहाडि भू-भागमा र प्रदेश नं २ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    राती : प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना हुनुका साथै प्रदेश नं १ का १-२ स्थानहरुमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।

    मंसिर २१ गते (सोमबार)

    दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

    मंसिर २३ गते (मंगलबार)

    दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।