Category: विज्ञान प्रविधि

  • फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण

    फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ करोड डलर (१ अर्ब १३ करोड) ऋण दिने भएको छ । शहरी फोहोरबाट विजुली उत्पादन गर्न यो रकम उपयोग गरिने भएको हो ।

    अबुधावीमा विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभा चलिरहेको छ । सभामा नेपालका तर्फबाट उर्जा मन्त्री वर्षमान पुनले भाग लिइरहेका छन् ।

    अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत नेपाललाई उक्त रकम दिने घोषणा सभामा भएको छ । मन्त्री पुनले सहयोग स्वीकार गरेको सभालाई जानकारी दिए ।

    उनले सहुलियत कर्जा स्वीकार गर्दै नेपाललाई सहयोगका लागि छनोट गरेकामा धन्यवाद दिएका थिए ।

    यो रकम विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालन गर्न र प्रांगारिक मल उत्पादनको प्रविधि जडानमा प्रयोग हुने भएको छ ।

    यस सहयोग कार्यक्रमका लागि नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा सहुलियतका लागि छानिएका थिए ।

  • युक्रेनी जहाज आफैले झारेको इरानले स्वीकार गर्यो

    युक्रेनी जहाज आफैले झारेको इरानले स्वीकार गर्यो

    तेहरान । युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज भुलवस दूर्घटनामा परेको इरानले स्वीकार गरेको छ । १७६ यात्रुको ज्यान जाने गरि भएको जहाज इरानकै कारण झरेका स्वयमः इरानी अधिकारीहरुले जनाएका छन् ।

    इरानको सेनाले क्षेप्यास्त्र प्रहार गरी जहाज खसालेको पुष्टी भएको हो ।

    राष्ट्रपति हसन रुहानीले ट्विट गर्दै सेनाको आन्तरिक छानबिनबाट मानवीय त्रुटीका कारण विमानमा मिसाइल प्रहार भएको देखिएको र भयावह दुर्घटना भएको स्वीकार गरेका छन् ।

    इरान सरकारले समेत यसप्रति माफी मागेको छ । राष्ट्रपतिले दूर्घटना माफीयोग्य नभएको भन्दै उनले यसलाई ठूलो वियोगको संज्ञा दिएका छन् ।

    इरानले अमेरिकी सेनाको जहाज भन्ने ठानेर उक्त जहाजमा मिसाइल हानेको पुष्टी भएको हो । तीन दिन अघि इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा क्षेप्यास्त्र हानेको थियो ।

    सोही दिन जहाज समेत दूर्घटनामा परेको थियो । युक्रेनी अन्तर्राष्ट्रिय वायुसेवाको यो विमान उडान भर्नासाथ बुधबार बिहान इरानको राजधानी तेहरानमा झरेको थियो ।

    दूर्घटनापछि युरोप र अमेरिकाले जहाज दूर्घटनामा इरानकै हात रहेको बताएका थिए । तर, इरानले भने स्वीकार गरेको थिएन् ।

    अहिले भने इरान आफैले यसको पुष्टी गरेको छ । इरानबाट युक्रेनको राजधानी किभतर्फ उडान भर्दै गरेको यो जहाजमा उडान दलका नौ सदस्य र १६७ यात्री सवार रहेका थिए।

    दूर्घटनामा इरानका ८२, क्यानडाका १२ र युक्रेनका ११ नागरिकको ज्यान गएको हो ।

    आकाशमा उडिरहेको विमानले संवेदनशील सैन्य क्षेत्रतर्फ अप्रत्याशित रुपमा उडान मोडेपछि अमेरिकी सैन्य विमान ठानेर आक्रमण गरेको इरानले जनाएको छ ।

    विमान रिभोल्युस्नरी गार्डको सैन्य क्षेत्रको निकै नजिक आएको र मानवीय भूलका कारण विमानमाथि मिसाइल आक्रमण भएको इरानको भनाई छ ।

  • मिसाइल लागेर झरेको हो इरानमा जहाज ?

    मिसाइल लागेर झरेको हो इरानमा जहाज ?

    काठमाडौं । बुधबार इरानमा दूर्घटनाग्रस्त भएको युक्रेन एयरलाइन्सको जहाज इरानले प्रहार गरेको मिसाइलका कारण भएको सम्बन्धमा वहस शुरु भएको छ ।

    दूर्घटनामा आफ्नो मुलुकका ६३ जना नागरिक परेपछि क्यानडाका प्राधानमन्त्री जस्टिन टुडोले यस दूर्घटनाको स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।

    संचारमाध्यमहरुका अनुसार अमेरिकी अधिकारीहरुसमेत जहाज दूर्घटनामा बाह्य कारण मूख्य दोषि रहेको पाइएको छ ।

    त्यसकारण इरानले इराकस्थित सैन्य वेशमा प्रहार गरेको मिसाइलकै कारण जहाज दूर्घटना भएकोमा अधिकारीहरुले आंशका व्यक्त गरेका छन् ।

    दूर्घटनापछि इरानले ब्ल्याक बक्ससमेत जहाज निर्माता कम्पनीलाई नदिने बताएसँगै यो दूर्घटना शंकाको घेरामा आएको हो ।

    दूर्घटनामा १ सय ८० जनाको ज्यान गएको हो । क्यानेडीयन प्रधानमन्त्री जस्टिनले घटनाको प्रारम्भिक प्रमाणका आधारमा उक्त संकेत गरेको जनाएका छन् ।

    दूर्घटनामा ६३ क्यानेडियाका नागरिकसहित ८२ इरानी, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको ज्यान गएको हो ।

    इरान र अमेरिकाबीचको तनाव चलिरहेका बेला भयानक जहाज दूर्घटना भएको हो ।

    संचारमाध्यमले प्रत्यक्षदर्शीलाई उदृत गर्दै लेखे अनुसार जहाज उडिरहेको समयमा जमिनमा ठूलो विस्फोट भएको थियो । लगत्तै जहाज दूर्घटनामा परेको थियो ।

    एजेन्सी

  • स्मार्ट टेलिकम र हेलो नेपालको लाइसेन्स खारेजीको निर्णय रद्द

    स्मार्ट टेलिकम र हेलो नेपालको लाइसेन्स खारेजीको निर्णय रद्द

    काठमाडौं । सरकारले स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)को लाइसेन्स खारेज गर्ने नेपाल दूरसंचार प्राधिकरणको निर्णय रद्द गरिदिएको छ ।

    यससँगै यी दुई कम्पनी अनुमतिपत्र (लाइसेन्स) खारेजीबाट बचेका छन् । लाइसेन्स लिएवापत प्राधिकरणलाई बुझाउनु पर्ने रोयल्टी नतिरेका यी दुई कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय प्राधिकरणले गरेको थियो ।

    तर, गत सोमबारको मन्त्रीपरिषद् बैठकले उनीहरुको लाइसेन्स रद्द नगर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

    मन्त्रिपरिषद् बैठकले यी दुई कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनी वेवसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर गरेको हो ।

    ५ पटक सम्म किस्ताबन्दीमा वक्यौता तिर्न सक्ने सुविधा दिएर लाइसेन्स रद्द गर्ने निर्णय उल्टाइएको उनले जानकारी दिए ।

    सरकारको पछिल्लो निर्णय अनुसार चालु आर्थिक वर्षको अन्तिमसम्म पहिलो किस्ता तिर्नु पर्नेछ ।

    बाँकी ४ किस्ता भने प्रत्येक आवको असार मसान्तसम्म तिर्न सक्ने गरी सुविधा दिइएको छ । लाइेसेन्स खारेज गर्ने प्राधिकरणले निर्णय गरेपछि कम्पनीहरु सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगेका थिए ।

    सर्वोच्चले पनि प्राधिकरणकै निर्णय सही भएको फैसला गरेको थियो । त्यसपछि कम्पनीहरुले प्राधिकरणको निर्णयविरुद्ध सञ्चार मन्त्रालयमा पुनरावेदन गरेका थिए ।

    मन्त्रालयले यो प्रस्ताव मन्त्रीपरिषद् लगेको हो । स्मार्ट टेलिकमले २ अर्ब ३२ करोड, हेलो नेपालले ८२ करोड र वेबसर्फरले तीन करोड ९० लाख रुपैयाँ सरकारलाई तिर्न बाँकि छ ।

  • इरान जहाज दूर्घटना शंकाको घेरामा, ब्ल्याक बक्स बोइङलाई नदिने

    इरान जहाज दूर्घटना शंकाको घेरामा, ब्ल्याक बक्स बोइङलाई नदिने

    काठमाडौं । इरानको तेहरानमा बुधबार बिहान भएको जहाज दुर्घटना शंकाको घेरामा परेको छ ।

    यो जहाजको दूर्घटना प्राविधिक कारणले भएको हो या मिसाइल प्रहारबाट भन्ने विषयले अहिले विश्वभर चर्चा शुरु भएको छ ।

    बुधबार बिहान युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दूर्घटनामा परी १ सय ८० जनाको निधन भएको छ ।

    यस दूर्घटना पछि जहाजको ब्ल्याक बक्स जहाज निर्माता कम्पनी बोइङलाई नदिने इरानले घोषणा गरेको छ ।

    यो जहाज अमेरिकी जहाज निर्माता कम्पनी बोइङले बनाएको हो ।

    ७३७-८०० मोडलको जहाज बुधबार बिहान तेहरानको इमाम खामेनी विमानस्थलबाट टेकअफ भएको केही समयमै दुर्घटनामा परेको थियो।

    जहाजमा आगो लाग्दा कुनै पनि व्यक्ति जिवित रहन सकेनन् । इरानका नागरिक उड्ययन प्राधिकरण प्रमुख अली अवेजादेहले जहाजको ब्ल्याक बक्स बोइङलाई नदिइने बताएका हुन्।

    यही ब्ल्याक बक्सका कारण दूर्घटनाको ठोस कारण पत्ता लाग्ने गर्छ । किनकी यसमा पाइलट र एटीसीबीचको कुराकानी रेकर्ड भएको हुन्छ ।

    पाइलटले के कारणले जहाज दूर्घटना परेको हो, त्यसको जनाउ दिने गर्छन् ।

    अघिल्लो शुक्रबार अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीलाई मारिदिएपछि इरान र अमेरिकाबीच तनाव शुरु भएको छ ।

    बुधबार एकाबिहानै इरानले इराकस्थित सैन्य क्याम्पमा मिसाइल हानेको थियो । त्यही क्रममा निसाना जहाज बनेको हो की भन्ने आंशकामा समेत वहस शुरु भएको हो ।

    जहाज दुर्घटनामा ८२ इरानी नागरिककै ज्यान गएको छ ।

    ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको युक्रेनका परराष्ट्रमन्त्री भ्यादाइम प्रिस्टाइकोले पुष्टी गरेका छन् ।

    यो जहाज तेहरानबाट युक्रेनको राजधानी केइभ जान लागेको थियो । यो सन् २०१६ मा बनेको ब्राण्ड न्यू जहाज थियो ।

    एजेन्सी

  • नेपालमा आकासियो सुनको भाउ, इतिहासकै धेरै मूल्य

    नेपालमा आकासियो सुनको भाउ, इतिहासकै धेरै मूल्य

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावले नेपालमा समेत नकारात्मक प्रभाव पारेको छ ।

    पछिल्लो समय इरान र अमेरिकाबीच बढ्दो युद्धको खतराका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अधिक बढेको छ ।

    त्यसको प्रभाव आइतबार नेपाली बजारमा समेत देखियो । नेपालमा सुनको मूल्य आइतबार इतिहासकै सर्वाधिक विन्दुमा पुग्यो ।

    यसअघि ७३ हजार ५ सय सबै भन्दा उच्च बिन्दुमा रहेको सुनको भाउले आइतबार ७५ हजार ५ सयको आँकडा छोएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय तोकिएको छ ।

    तेजावी सुनको मूल्य सुनको प्रतितोला मूल्य ७५ हजार २ सय रहेको छ । चाँदी प्रतितोला ९ सय रुपैयाँमा किनबेच भएको छ ।

    अघिल्लो शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार मात्र एक हजार रुपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुगेको हो ।

    तेजावी सुनमा पनि एक हजार रुपैयाँ नै भाउ बढेको छ । विश्व बजारमा अमेरिका र इरानको द्धन्द्धले नराम्रोसँग प्रभाव पारेको छ ।

    यसको मारमा नेपाली उपभोक्ता समेत परेका छन् ।

  • एलपी ग्यासमा दिइएको सरकारी अनुदान हटाइदै

    एलपी ग्यासमा दिइएको सरकारी अनुदान हटाइदै

    काठमाडौं । आयातित एलपी ग्यासमा दिँदै आएको सरकारी अनुदान हट्ने भएको छ । यसको तयारी भइरहेको जल तथा उर्जा मन्त्री वर्षमान पुनले जानकारी दिएका छन् ।

    उनका अनुसार भारतबाट आयात हुने खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने तयारी भइरहेको बताएका हुन् ।

    उनका अनुसार ऊर्जा मन्त्रालयले यसै वर्षबाट ग्यासको अनुदान हटाउन प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले भने आगामी आर्थिक वर्षको बजेटबाट यो अनुदान हटाउने संकेत गरेको छ ।

    स्वदेशमा विजुली उत्पादन बढेको र त्यसले स्वदेशको माग धान्न सक्ने अवस्था रहेका कारण ग्यासको अनुदान हटाउन लागिएको उनले जानकारी दिए ।

    उनका अनुसार ग्यासको अनुदान हटेपछि ग्यास महंगो हुन्छ । त्यस अवस्थामा विजुलीको महसुल घटाएर खाना पकाउउने प्रयोजनमा विजुलीको प्रयोगलाई बढावा दिने नीति सरकारको छ ।

    विद्युतीय चुल्होको प्रयोग बढाउन सरकारले विजुलीको महसुलमा छूट दिने भएको छ । इन्डक्सन चुल्हो प्रयोग गर्ने वर्गको विद्युत महशुल समायोजन गरी ग्राहकलाइ सहजिकरण गरिने जानकारी दिए ।

    एकातर्फ स्वदेशी विद्युत खपत बढ्ने र अर्कोतर्फ ग्यासको आयातमा बाहिरिने अर्बौ रकम स्वदेशमै अडिने सरकारको विश्वास छ । महिनामा १ सय युनिटभन्दा बढी खपत गर्ने ग्राहकको महशुल दर न्यायोचित ढंगले समायोजन गरिने भएको छ ।

    उनका अनुसार सरकारले यसैवर्ष वैकल्पिक ऊर्जा प्रवद्धृन केन्द्रमार्फत प्रवर्द्धनमा १० हजार इन्डक्सन चुल्हो सहुलियत मूल्यमा विक्री गर्दैछ ।

  • कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिस्तार हुने

    कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिस्तार हुने

    काठमाडौं । कर्णाली र सुदुर पश्चिम प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर नेटवर्क बिस्तार गरिने भएको छ ।

    यस सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच शुक्रबार सम्झौता भएको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिकामा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    शुक्रबार प्राधिकरणका अध्यक्ष पुरुषत्तोम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    फाइवर नेटवर्क विस्तारका लागि नेपाल टेलिकमले बोलपत्रबाट प्रतिस्पर्धा गराई प्राप्त हुने रकममा अधिकतम ३ अर्ब रुपैयाँ प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषबाट प्रदान गर्ने सहमति भएको छ ।

    रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी सम्झौता भएको हो ।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लासहित बाँके र बर्दिया जिल्लासमेत गरी २० जिल्लामा नेटवर्क फाइवर बिस्तार गर्न यो सहमतिले काम गर्नेछ ।

    आयोजनाअन्तर्गत करिब २४०० किलोमिटर इबर नेटवर्कमा अन्डरग्राउण्ड एडिएसएस फाइवर तथा बुरेइड क्याबल (डिबिसिसी) बिस्तार हुने भएको छ ।

    मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइवर नेटवर्क न्यूनतम ९६ कोर हुनेछ ।

    जिल्ला सदरमुकाम र नगरपालिकासम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइवर नेटवर्क बिस्तार गर्न लागिएको छ ।

    ग्रामीण दूरसञ्चार विकास कोषको रकम लगानी गरी नेपाल टेलिकमबाट निर्माण एवं सञ्चालन हुने सो अप्टिकल फाइवरमा सूचना महामार्ग निर्माण हुँदैछ ।

    यसबाट ठूला पूर्वाधारमा हुने दोहोरो लागानी न्यूनीकरण भई दूरसञ्चार सेवालगायत सस्तो, भरपर्दो र सर्वसुलभ बनाउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ ।

  • आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

    आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

    काठमाडौं । दुई साता अघि देशभर चिसो ल्याउने गरी आएको पश्चिमी वायुको प्रभावलाई दोहोर्याउने गरी चिसो बढ्ने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट तीन दिनसम्म मौसम प्रभावित हुनेछ ।

    देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका विभागले जनाएको छ । काठमाडौं उपत्यकासहित देशभर आकासमा बादल लागेको छ । घाम छोपिएको छ ।

    त्यसकारण धेरैजसो स्थानमा चिसो हुने विभागको भनाई छ । सोही कारण अधिकांश स्थानमा पानी पर्ने सम्भावना समेत देखिएको छ ।

    यो क्रम शक्रबार रातिसम्मै रहने छ । उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    शनिबार र आइतबार पनि यस्तै हुने विभागले जनाएको छ । शनिबारबाट क्रमिक सुधारको सम्भावना छ । काठमाडौंमा भने बिहीबार दिउँसो पनि वर्षा भएको थियो ।

  • मोवाइल र इन्टरनेट बैंकिङको सीमा बढ्यो, उपभोक्ता लाभान्वित हुने

    मोवाइल र इन्टरनेट बैंकिङको सीमा बढ्यो, उपभोक्ता लाभान्वित हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङका माध्यमबाट हुने कारोकारको सीमा बढाएको छ । यसले उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

    राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशिका जारी गरेको छ । जसअनुसार बैंक खाताबाट मोवाइल वालेटमा स्थानान्तरण हुने रकम प्रतिकारोबार ५ हजारबाट २५ हजार पुगेको छ ।

    बैंक खाताबाट एकै पटक २५ हजार रुपैयाँसम्म मोबाइल वालेटमा ट्रान्सफर हुने भएको छ ।

    बैंक खाताबाट वालेटमा दैनिक १ लाख रुपैयाँसम्म र मासिक ५ लाखसम्म ट्रान्सफर गर्न सकिने गरी नयाँ प्रावधान आएको छ ।

    क्लासलेस कारोवारलाई बढावा दिन यो निर्देशिकाले सहयोग गर्ने भएको छ ।

    अब एक वालेटबाट अर्को वालेटमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारसम्म पठाउन सकिने भएको समेत राष्ट्र बैंकले उल्लख गरेको छ ।

    एजेन्ट वा सबएजेन्टबाट एक दिनमा २५ हजार रुपैयाँसम्म वालेटमा पठाउन सकिने प्रावधान समेत आएको छ ।

    यसअघि यस्तो सुविधाको सीमा १५ हजार मात्र थियो । मोबाइल तथा इन्टरनेट बैंकिङबाट प्रतिदिन ५० हजार वा प्रतिमहिना अधिकतम २ लाख तथा इन्टरनेट बैंकिङ प्रतिदिन १० लाखसम्म गर्न सकिने व्यवस्था आएको छ ।

    एटिएमबाट एक पटक २५ हजार रुपैयाँसम्म र दैनिक १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था भने यथावत राखिएको छ।

    अब एटिएममा बैंकले २४ सैं घण्टा सुरक्षा गार्ड समेत राख्नु नपर्ने भएको छ ।

    सुरक्षा गार्डको सट्टा २४ सै घण्टा मोनिटरिङको व्यवस्था गर्न बैंकहरुलोई निर्देशिका ल्याइएको छ ।

  • एनसेलले तिर्यो ४ अर्ब ५० करोड कर

    एनसेलले तिर्यो ४ अर्ब ५० करोड कर

    काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको छ । मंगलबार ठूला करदाता कार्यालयमा एनसेलले कर दाखिला गरेको हो ।

    सर्वोच्च अदालतले कर तिर्न आदेश गरेअनुसार एनसेलले सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ तिर्नुपर्नेमा मंगलबार ५ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो ।

    कार्यालयले १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा एनसेललाई पत्राचार गरेको थियो ।

    एनसेलले कार्यालयमा किस्ताबन्दीमा कर बुझाउन पाउ भनी निवेदनसहित ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको कार्यालयले जनाएको छ ।

    एनसेललाई किस्तावन्दीमा कर तिर्ने सुविधा दिने या नदिने भन्ने बारेमा भने अझै निर्णय भइसकेको छैन ।

  • सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै

    सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै

    काठमाडौं । नेपालमा सामाजिक सजाल प्रयोगकर्ताका लागि कडा कानून बन्ने भएको छ । संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।

    जसमा सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानूनी प्रावधान राखिएका छन् । यसमा प्रमुख विपक्षी नेपाली कांग्रेसले विरोध जनाएको थियो । तर, बहुमत नेकपाको रहेका कारण विधेयक पारित भएको हो ।

    यो विधेयक अब प्रतिनिधिसभामा लैजान योग्य भएको छ । प्रतिनिधि र राष्ट्रिय दुबै सदनबाट पास भएमा यसले कानूनको रुप लिनेछ । त्यसपछि सामाजिक सञ्जालको ्रयोगमा सरकारले कडा निगरानी गर्ने भएको छ ।

    अब सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती गर्ने प्रकृतिका पोष्टहरु कानूनी रुपमा अपराध मानिनेछ ।

    त्यस्तो पोष्ट गर्ने मानिसलाई पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवानाको प्रावधान विधेयकमा राखिएको छ ।

    सरकारले विधेयकमा तीन वर्षसम्म कैद वा तीस हजारसम्म जरिवाना वा दुबै सजाय गर्ने प्रस्ताव गरेकोमा समिति यसमा अझै कठोर बनेको हो ।

    कसैको चरित्र हत्या गर्ने र राष्ट्रिय स्वाधीनतामा खलल पुग्ने सामाग्री सरकारले हटाउन सम्बन्धित प्रयोगकर्तालाई निर्देशन दिन सक्ने र नमाने कारवाहीको भागिदार हुनुपर्नेछ ।

    विधेयकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सहमति जनाएको छैन । फौजदारी न्यायको सिद्धान्त र अभिव्यक्ति स्वतन्त्रता विपरीत आएका प्रावधान कांग्रेसलाई मान्य नभएको नेपाली कांग्रेसले उल्लेख गरेको छ ।

    अब नेपालमा सञ्जाल दर्ताले अनिवार्य दर्ता समेत गर्नुपर्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको आफ्नो कार्यालय नेपालमा राखेर दर्ता गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ ।

  • अब औषधिको जानकारी मोवाइल एपबाटै

    अब औषधिको जानकारी मोवाइल एपबाटै

    काठमाडौं । नेपालमा सरकारी स्तरबाटै औषधिसम्बन्धी जानकारी मोवाइल एपमा उपलब्ध गराउने तयारी भएको छ । औषधी व्यवस्था विभागले मोवाइल एप बनाएको छ ।

    विभिन्न प्रकारका औषधिका सम्बन्धमा विस्तृत जानकारी सहित मोबाइल एप्स तयार भएको छ ।

    विभागले औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको जानकारी गराएको छ ।

    एप्स लगइन गरेपछि औषधिको प्रयोग, कतिपय औषधीबाट हुने नकारात्मक असर, मात्रा, नेपालमा उपलब्ध औषधीको विवरणजस्ता विषयबारे आम सर्वसाधारणले समेत जानकारी पाउने भएका छन् ।

    विभिन्न प्रकारका संक्रमण, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बेला के गर्ने, प्रजनन स्वास्थ्यसँग जोडिएका औषधिबारे समेत जानकारी राखेर विभागले एप बनाएको हो ।

    एपमा चिकित्सकले बढी मात्रामा सिफारिस गर्ने विभिन्न जेनेरिकका ६ सय बढी प्रकृतिका औषधिको विवरण समावेश गरिएको छ ।

    नेपालमा औषधिको प्रयोग र किनमेल नजान्दा उपभोक्ता बढी ठगिने गरेका छने । एपको प्रयोगबाट उपभोक्तामा समेत सचेतना बढ्ने अपेक्षा गरिएको छ ।

  • काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान

    काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान

    काजकस्तान । काजकस्तानस्थित अल्माती एयरपोर्ट नजिक भएको यात्रुवाहक विमान दुर्घटनामा कम्तिमा १५ जनाले ज्यान गुमाएका छन ।

    ६० भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । एयरपोर्ट अधिकारीका अनुसार विमानमा ९८ जना सवार रहेका थिए। त्यसमध्ये ९३ जना यात्रु र ५ जना चालक दलका सदस्य रहेको उल्लेख छ ।

    ‘बेक एयर’ को जेड ९२१०० जहाज अल्माती शहरबाट राजधानी नुर सुल्तानतर्फ जाने क्रममा दुर्घटनामा परेको हो ।

    जहाज उड्ने बित्तिकै बिहान ७ बजेर २२ मिनेटमा सन्तुलन गुमाएको थियो । त्यसपछि जहाज दुई तले ठोक्किएको थियो ।

    दुर्घटनाग्रस्त जहाजबाट दर्जनौलाई उद्दार गरिएको छ । त्यसमध्ये ८ जना बालबालिका समेत छन् ।

    दुर्घटना भएको स्थानमा बाक्लो हुस्सु र भूईमा हिँउ थियो ।

    दुर्घटनाको कारण खुलिसकेको छैन । कजाकस्तानका राष्ट्रपति कासम जोमार्टले जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेका छन् । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन्।

  • अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम

    अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम

    काठमाडौं । शुक्रबारबाट काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानबाट होर्डिङ बोर्ड हटाउन थालिएको छ ।

    महानगरले नगर प्रहरीको सहयोगमा शुक्रबारबाटै यसको थालनी गरेको हो । यसअघि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन निर्देशन दिएका थिए ।

    उनको निर्देशन लगत्तै महानगरपालिका र प्रहरीको संयुक्त टोलीले शुक्रबारबाट धमाधम होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो ।

    शुक्रबार माइतीघर, विजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, सोह्रखुट्टेसहित दर्जनौ स्थानमा टोली खटिएर होर्डिङ बोर्ड हटाइएको छ ।

    सर्वोच्च अदालतले २०७२ सालमै दिएको आदेश ४ वर्षपछि मात्र कार्यान्वयन हुन शुरु भएको छ ।

    राजधानीमा महानगरले नै कतिपय स्थानमा होर्डिङ बोर्ड अनुमति दिएका कारण हटाउन आनाकानी गरेको थियो ।

    तर, गृहमन्त्रीको आदेश र महानगरविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर भएपछि महानगर नै यसमा सक्रिय भएको हो ।

    विजुलीका पोलमा समेत विज्ञापनका बोर्ड राख्न नेपाल विद्यूत प्राधिकरणले अनुमति दिएको थियो ।

    शुक्रबार पोष्टर–पम्प्लेट टास्दै हिँडेका १० जनालाई पक्राउ परेका छन् ।

    महानगरले पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौं जब इम्प्लोइमेण्टलाई ५ हजार जरिमाना समेत तिराएको छ । यस्ता पम्प्लेटका कारण समेत शहर कुरुप बन्दै गएको छ ।

    सरकारले भ्रमण वर्ष अगाडी नै काठमाडौंलाई कुरुप बनाइरहेका होर्डिङ बोर्ड हटाउने रणनीति लिएको हो ।

  • अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

    अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा अब विज्ञापनका होर्डिङ बोर्ड देख्न पाइने छैन । काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनेका छन् ।

    यी कार्यदल सक्रिय भई अब गल्ली गल्लीमा रहेका होर्डिङ बोर्ड हटाइने भएको छ ।

    बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले तत्काल राजधानीका गल्लीगल्लीमा रहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । नजिकिएको भ्रमण वर्षको उद्घाटन अगाडी नै काठमाडौंबाट होर्डिङ बोर्ड हट्नेछन् ।

    शुक्रबारदेखि नै यसको काम थालिने भएको छ । शहरलाई कुरुप बनाइरहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो ।

    महानगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सडक, विद्युत प्राधिकरण, नेपाल टेलिकमको प्रतिनिधि रहने गरी कार्यदल बन्ने छ ।

    काठमाडौंका होर्डिङ बोर्ड हटाउन ०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले हटाउन निर्देशन दिएको भएपनि कार्यान्वयन भएको छैन ।

    महानगर क्षेत्रबाट व्यवसायिक होर्डिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउने तयारी रहेको छ ।

  • आज सूर्य ग्रहण, कुन कुन राशीले हेर्न मिल्छ ?

    आज सूर्य ग्रहण, कुन कुन राशीले हेर्न मिल्छ ?

    काठमाडौं । आज बिहान नेपालसहित विश्वका अधिकांश मुलुकमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ। उक्त अवसरमा नेपालका कतिपय स्थानीय तह र विद्यालयले सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।

    बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

    ग्रहणले बिहान ८.४२ मा स्पर्श गर्ने छ भने ११.३१ बजे समाप्त हुनेछ । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुने समितिले उल्लेख गरेको छ । बिहान १०.०१ बजे मध्य हुनेछ ।

    पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जानकारी दिएको छ । ग्रहण लाग्नुभन्दा चार प्रहर .१२ घण्टा) अघिबाटै बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको समितिले बताएको छ ।

    ग्रहणका बेलामा खानपिनसहित महत्वपूर्ण काम गर्न नहुने मान्यता रहेको छ । तर, स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनाजस्ता कर्मले भने शुभ हुने मान्यता छ ।

    ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने जस्ता मान्यता हिन्दु ग्रन्थहरुमा लेखिएको छ ।

    यस पटकको सुर्यग्रहण कर्कट, तुला, कुम्भ र मीन राशि हुनेका लागि उत्तम मानिएको छ ।

    मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने नेपाली पात्रोले उल्लेख गरेको छ ।

    शुभ फल मिल्ने राशि भएकाले पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने हेर्न हुँदैन ।

  • काठमाडौंमा वर्षकै चिसो दिन मापन

    काठमाडौंमा वर्षकै चिसो दिन मापन

    काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस वर्षकै चिसो दिन मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रममा ३ डिग्रीमा झरेसँगै यस वर्षकै चिसो दिन मापन भएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

    काठमाडौं उपत्यकासहित अहिले देशभरको चिसो बढेको छ । तराईमा शितलहर चल्न थालेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ ।

    महाशाखाका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोले छोपेको छ ।

    मध्य, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको छ। बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले उल्लेख गरेको छ ।

  • पानीजहाज चढ्ने नेपालीको चाहना पुरा हुँदै, नारायणीमा क्रुजसीपको सफल परिक्षण

    पानीजहाज चढ्ने नेपालीको चाहना पुरा हुँदै, नारायणीमा क्रुजसीपको सफल परिक्षण

    चितवन । २ सय २० यात्रु क्षमतामा यात्रु बोक्ने सक्ने क्रुजसिप (मिनीपानीजहाज) को नारायणी नदीमा परीक्षण गरिएको छ । परिक्षण सफल भएको राइनो इन्टरटेन्मेन्ट कम्पनीले जानकारी दिएको छ ।

    आइतबार बेलुका २५ जना यात्रुसहित जहाजको सफल परीक्षण गरिएको हो । भरतपुरस्थित काभ्रेघाटमा रहेको पोर्टबाट नदीमा निकालेर जहाजको परीक्षण गरिएको थियो ।

    त्यसका लागि भारतबाट प्राविधिक टोली नेपाल आएका थिए । जहाज बनाउने काम सकिएको र अब रङरोगन, टेबुल, कुर्सी राख्ने, बार र वाथरुमको काम बाँकी रहेको कम्पनीको भनाई छ ।

    क्रुज सिप राष्ट्रपतिबाट उदघाटनको तयारी कम्पनीले गरेको छ । यो नेपालकै पहिलो पानीजहाज हुनेछ ।

    यस परियोजनामा कम्पनीले १५ करोड लगानी गरेको छ । क्रुजसिप साढे दुई तलाको छ ।

    क्रुजका बीस जना कर्मचारीसहित २ सय २० यात्रुले एकै पटक यात्रा गर्न सक्नेछन् ।

  • सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा

    सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा

    काठमाडौं । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भयो ।

    त्यसपछि यस विषयले अन्तराष्ट्रिय रुपमै हंगामा मच्चियो । किनकी भारतमा नागरिकता विधेयकको विरोधमा आन्दोलन जारी छ ।

    उक्त भिडियो आन्दोलनको विरुद्धमा बोलिएको थियो । किनकी सत्तामा मोदी छने भने सोनिया विपक्षमा ।

    छिमेकी मुलुक, त्यसमाथि हिन्दु राष्ट्रका रुपमा चिनिने नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डिलबाट सोनिया गान्धीको भिडियो रिट्वीट भएपछि त्यसले चर्चा पाउनु स्वाभाविक थियो ।

    शनिबार पनि यसको चर्चा सेलाएन । किनकी शुक्रबार साँझ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पासवर्डको दूरुपयोग गर्न यस्तो भएको भन्दै स्पष्टिकरण सार्वजनिक गर्न भ्याएका थिए ।

    भारतीय कंग्रेसको आधिकारिक ट्विटरमा राखिएको भिडिओलाई ‘शिभम विज’ नाम गरेको ट्वीटर ह्याण्डलले रिट्वीट गरेकोमा सोही भिडिओलाई प्रधानमन्त्री ओलीको ह्याण्डलबाट रिट्वीट गरिएको छ ।

    जब यसले चर्चा पाउन थाल्यो, तत्काल उक्त ट्वीट डिलिट भयो । तर, मानिसहरुले स्कृनसाट राख्न भ्याइसकेका थिए । यस घटनाले नेपालका राज्य संचालकहरुको संवेदना तथा गम्भीर्यता पनि देखाउँछ ।

    किनकी उनीहरु यस्ता घटनालाई सामान्य रुपमा लिन्छन् । तर, अन्तर्राष्ट्रिय क्षेत्रमा यसको ठूलो महत्व रहन्छ ।

  • बंगलादेशले नेपालको विजुली किन्ने पक्का

    बंगलादेशले नेपालको विजुली किन्ने पक्का

    काठमाडौं । बंगलादेश सरकारले नेपालको विजुली किन्ने पक्का गरेको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट विद्युत् बंगलादेशले खरीद गर्ने सम्बन्धमा सम्झौता गर्ने निर्णय भएको छ ।

    भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले यो परियोजना निर्माण गर्नेछ । यो कूल ९०० मेगावाट क्षमताको आयोजना हो ।

    त्यसमध्ये ५०० मेगावाट विद्युत् बंगलादेशले खरीद गर्ने निर्णय भएको छ ।

    जीएमआरका निर्माण परियोजना प्रमुख केके शर्माका अनुसार बंगलादेशले जीएमआरको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी (एनभिभिएन)मार्फत खरीद गर्ने भएको छ।

    बंगलादेशको मन्त्रिपरिषद्मा हुने सार्वजनिक खरीद समितिले विद्युत् खरीद गर्ने निर्णय स्वीकृत गरेको छ। बंगलादेशले प्रतियुनिट ७.७ सेन्टमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरीद गर्ने भएको छ ।

    बंगलादेशले २५ वर्षसम्म विद्युत् खरीद गर्ने निर्णय गरेको छ।

    नेपालको विजुली भारतीय प्रसारण प्रणालीमार्फत बंगलादेश पुग्ने गरी निर्णय भएको हो ।

  • अस्ट्रेलियामा तातोले राख्यो कीर्तिमान

    अस्ट्रेलियामा तातोले राख्यो कीर्तिमान

    सिड्नी । अस्ट्रेलियामा बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित भएको छ ।

    औसतः उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस कायम भएको मङ्गलवार यस मुलुकको इतिहासकै सबैभन्दा तातो दिन रहेको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    यसअघि २७ जनवरी २०१३ मा ४०.३ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो । मंगलबार त्यसलाई पनि उछिन्दै तापक्रमले कीर्तिमान राखेको हो ।

    खासगरी अस्ट्रलियामा पछिल्ला दिनमा जंगलमा ठूलो आगलागी भएको थियो । त्यसले तापक्रम वृद्धिमा सहयोग गरेको हो ।

    सिड्नी लगायत शहरहरु उच्च प्रदुषणको चपेटामा समेत रहेका छन् ।

    मौसमविदहरुले बेलैमा सचेत नहुने हो भने स्थिती अझ भयाभह हुने चेतावनी दिएका छन् । मङ्गलवार अस्ट्रेलियाका मध्यभागका केही एरियामा ४५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । ४०.९ भने औसतः हो ।

  • अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा

    अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा

    वासिङटन । अमेरिकाका प्रमुख आइटी कम्पनीहरु विरुद्ध बालश्रम शोषणाको आरोपमा मुद्दा दायर भएको छ । एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध बाल शोषणको आरोप लागेको हो ।

    मानव अधिकारवादी संगठन इन्टरनेसनल राइट्स एडभोकेट्सले बालश्रम शोषणको मुद्दा दायर गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु विरुद्ध वासिङटन अदालतमा मुद्दा दायर भएको छ ।

    इतिहासमै पहिलो पटक धेरै कम्पनीविरुद्ध एकसाथ मुद्दा दायर भएको हो । आइटी कम्पनीहरुले अफ्रिकन मुलुक कंगोमा कोबाल्ट खानीमा बालबालिकाको अवैध प्रयोग भएको बताएका छन् ।

    बालबालिकालाई अत्यन्त कम मूल्यमा श्रममा लगाएको मानव अधिकारीवादीको आरोप छ । एक डलरभन्दा कम पारिश्रमिकमा बालबालिकाले खानीमा काम गर्नु परेको र त्यस्ता खानीमा ज्यानको समेत जोखिम रहेको बताइएको छ ।

    इन्टरनेसनल राइट्स एडभोकेट्सका अनुसार १४ पीडितका तर्फबाट मुद्दा दायर भएको छ । त्यसमध्ये ६ जना खानीमा काम गर्दागर्दै दुर्घटनामा परेर मृत्यु भएका बालबालिकाका परिवारसमेत रहेका छन् ।

    ८ परिवारका बालबालिका भने दुर्घटनाका कारण गम्भीर घाइते छन् । विश्वमा खपत हुने कोबाल्टको करीव दुई तिहाइ माग कंगोले आपूर्ति गरिरहेको तथ्यांक छ ।

    जहाँ कोबाल्ट खानीमा१० वर्षभन्दा साना बालबालिकालाई समेत काम लगाउने गरेको पाइन्छ ।

    कोबाल्ट मोबाइलसहित विद्यतीय उपकरणमा प्रयोग हुने धातु हो । यो मुद्दामा कम्पनीहरुले हारे भने ठूलो आर्थिक जरिवानाको सामना गर्नु पर्ने हुन्छ ।

    एजेन्सी

  • नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा

    नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा

    भान्छामा स्वादको लागि प्रयोग गरिने खुर्सानीमा अचम्मको गुण पत्ता लागेको छ । बढ्दो हृदयघातको समाचार आईरहँदा नियमित रुपमा खुर्सानी खाने मानिसहरुलाई हृदयघातको सम्भावना निकै कम हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । हप्तामा चार पटक पिरो खुर्सानी खाने मानिसहरुको मृत्‍यु हृदयघातका कारण हुने सम्भावनामा ४० प्रतिशतले कमी हुने गरेको तथ्य सार्वजनिक भएको हो । त्यसरी खुर्सानी खाने बानी भएकाहरुको मृत्‍युदरमा समेत खुर्सानी नखानेहरु भन्दा २३ प्रतिशतले कमी हुने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । ईटालीस्थित २२ हजार ८ सय ११ जना नागरिकमा ८ बर्ष लगाएर गरिएको परिक्षणबाट प्रकाशित उक्त तथ्य जर्नल अफ द अमेरिकी कलेज अफ कार्डियोलोजी मार्फत उक्त परिक्षणको तथ्य सार्वजनिक भएको हो । अनुसन्धान नियमित खुर्सानी खाने र नखाने मानिसहरुमा केन्द्रित थियो ।

    ईटालीस्थित मारियालौरा बोनासियो नामकी एक सरुवा रोग बिज्ञले खुर्सानी सेवनका फाईदा बारे बोल्दै भनेकी छिन् “संसारमा कोही स्वास्थबर्धक खाना खान्छन् कोही स्वास्थबर्धक खाना खाँदैनन्, ति दुबै प्रकारका मानिसका लागि खुर्सानीको अत्यन्त अत्यन्त सकारात्मक असर छ” । अनुसन्धान ईटालीको पोजिलीस्थित डिपार्ट्मेन्ट् अफ ईपिडेमियोलोजी एन्ड प्रिभेन्सन अफ आई आर सि सि एस न्युरोमेडले गरेको हो ।

    श्रोत : एजेन्सी

  • बोइङ ७३७ म्याक्सको उत्पादन बन्द

    बोइङ ७३७ म्याक्सको उत्पादन बन्द

    काठमाडौं । अमेरिकी जहाज निर्माता कम्पनी बोइङले ७३७ म्याक्स संस्करणका जहाजहरुको निर्माण तत्कालका लागि बन्द गर्ने भएको छ ।

    समस्या आएपछि संसारभर हजारौं जहाज ग्राउण्डेड अवस्थामा रहेका छन् ।कम्पनीले जहाजको निर्माण अस्थायी रुपमा बन्द गर्ने निर्णय लिएको हो ।

    बोइङले जनवरीदेखि अस्थायी रुपमा ७३७ म्याक्स मोडलका जहाज बनाउने छैन । एक वर्षको फरकमा उस्तै समस्याका कारण दुई ठूला दूर्घटना भए ।

    इन्डोनेसिया र इथियोपियामा ७३७ म्याक्स जहाज दुर्घटनामा परी ३ सय भन्दा बढीको ज्यान गयो ।

    त्यसपछि विगत ९ महिनादेखि संसारभर उडिरहेका बोइङ्ग ७३७ म्याक्स संस्करणका जहाज ग्राउण्डेड गरिएको छ ।

    यसले वायुसेवा कम्पनीहरुलाई ठूलो घाटा भएको छ । तर, बोइङले उत्पादन भने बन्द गरेको थिएन् ।

    एजेन्सी

  • अब त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन

    अब त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन

    काठमाडौं । धावनमार्ग र ट्याक्सी वे जिर्णाद्धारको काम सकिएसँगै आजबाट त्रिभुवन विमानस्थ्ल २१ घण्टा संचालनमा आएको छ ।

    यसअघि दैनिक ७ घण्टा बन्द भएको विमानस्थल अब मात्र दैनिक ३ घण्टा बन्द हुने भएको छ । जिर्णोद्धारको जिम्मेवारी पाएको कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गरेको छ ।

    यससँगै अब विमानस्थल २१ घण्टा संचालनका लागि योग्य भएको विमानस्थल कार्यालयले उल्लेख गरेको छ । नेपाल भ्रमण वर्षको मुखमा विमानस्थलमा निर्माणका गतिविधि धमाधम भइरहेका छन् ।

    विमानस्थललाई बुटिक विमानस्थलमा समेत परिणत गर्ने काम भइरहेको छ । त्यसअगाडी धावनमार्ग र ट्याक्सीवेको काम सकिएको हो ।

    यहाँ करीव ४० वर्षपछि धावनमार्गको पीच उप्काएर नयाँ राखिएको हो । अब धावनमार्गको क्षमता बढेको छ ।

    जसले गर्दा संसारभर उड्ने गह्रौं प्रकृतिका जहाज पनि त्रिभुवन विमानस्थलमा आएर अवतरण गर्न सक्ने भएका छन् ।

    त्रिभुवन विमानस्थलबाट अहिले दैनिक ७० हारहारी अन्तर्राष्ट्रिय र ४ सय हाराहारी आन्तरिक उडान हुने गरेका छन् । यो नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो ।

  • मौसममा क्रमिक सुधार

    मौसममा क्रमिक सुधार

    काठमाडौं । पछिल्लो एक साता बिग्रिएको मौसममा अब क्रमशः सुधार आउने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात गराउने गरी आएको पश्चिमी वायुको प्रभाव अब क्रमशः नेपालबाट हट्ने क्रममा रहेको छ ।

    सोमबारदेखि देशभर नै मौसम सफा हुन थाल्ने भएको छ । पश्चिमबाट प्रवेश गरेको यस्तो वायु पूर्वबाट नेपाल बाहिरन्छ ।

    पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबारयता देशभर मौसम अदल बदल भएको थियो ।

    जसले गर्दा अधिकांश स्थानमा वर्षा भएको थियो भने उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित भएको थियो ।

    सोमबारबाट अधिकांश स्थानमा घाम लागेपनि चिसोको प्रभाव भने जारी नै रहने छ । तर, अब वर्षाको सम्भावना भने तत्कालका लागि टरेको महाशाखाको भनाई छ ।

  • इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो

    इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो

    काठमाडौं । करीव दुई वर्षयता रोकिएको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने काम सूचारु गर्ने बाटो खुलेको छ ।

    सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन विरुद्ध परेको रिट खारेज गरेसँगै अब सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने बाटो खुलेको हो ।

    शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको रिट खारेजीको निर्णय गरेको हो ।

    देवनागरीको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखिएको भन्दै अभियन्ताबाट यसको विरोध भएको थियो । त्यसपछि सर्वोच्चमा रिट परेको हो ।

    रिटमाथिको प्रथम सुनुवाईमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि इम्बोस्ड नम्बर प्लेट लागु नगन अन्तरिम आदेश गरेको थियो ।

    शुक्रबार भएको फैसलाले भने बाटो खुला गरिदिएको हो । बंगलादेशी कम्पनी डेकाटुर टाइगरसगँ ५ वर्षमा २५ लाख नम्बर प्लेट छाप्नेगरी सरकारले सम्झौता गरेको थियो ।

    सरकारले ४ अर्व ९० करोड २० लाख रुपैयाँमा उक्त सम्झौता गरेको थियो । तर, करिब ४ हजार ६ सयवटा सवारी साधनमा नम्बर प्लेट राखेपछि सर्वोच्चको अन्तरिम आदेशले अन्य प्लेन जडान रोकिएको थियो ।

    यसले सरकारलाई निरन्तर घाटा भएको थियो ।

    यातायात व्यवस्था विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रे सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३६ सय रुपैँया शुल्क निर्धारण गरी नम्बर प्लेट राख्न थालेको थियो ।

  • अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता

    अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता

    काठमाडौं । कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा गाडीको एसेम्बल्ड प्लान्ट लगाउने गरी सरकारसँग सम्झौता गरेको छ ।

    लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच वुधबार प्रारम्भिक चरणको परियोजना लगानी सम्झौंता (पिआइए)मा हस्ताक्षर भएको छ ।

    मोट्रेक्सले एसेम्बल्ड प्लान्ट लगाउन करीव ११ अर्ब रुपैयाँ नेपालमा लगानी गर्ने भएको छ ।

    लगानी बोर्डका अनुसार कोरियाली कम्पनीलाई सरकारले जग्गा उपलब्ध गराउने भएको छ । एसेम्बल्ड प्लान्ट लगाउन मोतिपुर औद्योगिक क्षेत्रमा सय विघा जग्गा कोरियाली कम्पनीलाई दिने भएको छ ।

    मोतिपुरको ब्लक ‘बी’मा सय विघा जग्गा यस कम्पनीलाई दिइने भएको हो । जग्गामा एसेम्बल्ड प्लान्ट राखिने भएको छ भने गोदाम भने बुटवल औद्योगिक क्षेत्रमा रहने भएको छ ।

    बुटवल औद्योगिक क्षेत्रसँगै जोडिएको मोतिपुर औद्योगिक परियोजना ८ सय १३ रोपनी क्षेत्रफलमा रहने बताइएको छ ।

    बोर्डले गत फागुनमा कम्पनीलाई चार पाँग्रे गाडी एसेम्बल्ड गर्न स्वीकृति दिएको थियो। कम्पनीले अबको ४ वर्ष भित्र नेपालमा गाडी तयार पारिसक्ने भएको छ ।

    पहिलो वर्ष ५ हजार ८ सय २०, दोस्रो वर्ष ९ हजार ५ सय ३०, तेस्रो वर्ष १५ हजार ८०, चौथो वर्ष २० हजार थान सवारी उत्पादन गर्ने कम्पनीले आफ्नो प्रस्तावमा राखेको थियो ।

  • अनलाइनबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ

    अनलाइनबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ

    काठमाडौं । भाइबर, इमोजस्ता सामाजिक सञ्जालबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ परेको छ ।

    भाइबर, इमो, ह्वाट्सएप, फेसबुकजस्ता सामाजिक संजालबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको हो ।

    महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा दोलखाका ५२ वर्षिय रमेश खड्का, नवलपरासीका ३७ वर्षिय विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेको प्रहरीले बताएको छ ।

    उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले बतायो ।

    अनलाइन ठगीमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

    सामाजिक सञ्जाल मार्फत ठगीधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्था समेत ह्याक गरेको अनुसन्धानको निष्कर्ष छ ।

    पिटर र स्मिथले नेपालमा ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको र पक्राउ पर्नेहरु उनीहरुको एजेन्ट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

    एजेण्टले १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेको खुलेको हो ।

    उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकबाट १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरिसकेका थिए ।