Category: विज्ञान प्रविधि

  • अब बुटवलमा पनि विद्युतीय बस

    अब बुटवलमा पनि विद्युतीय बस

    बुटवल । काठमाडौंपछि बुटवलमा समेत विद्यूतीय बस संचालन हुने भएको छ ।

    काठमाडौंमा विद्युतीय संचलनको शुरुवात गरेको सुन्दर यातायात प्रालिले रुपन्देहीमा ६ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने घोषणा गरेको हो । त्यसका लागि शाखा कार्यालय स्थापना गरिएको कम्पनीले उल्लेख गरेको छ ।

    निकट भविश्यमा संचालनमा आउने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र बुद्धको जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरी काठमाडौं बाहिर पहिलोपटक बुटवलमा सेवा विस्तार गर्न लागेको कम्पनीको भनाई छ ।

    अन्य इन्धनको तुलनामा आरामदायी, वातावरणमैत्री र सस्तो पनि पर्ने भएकाले राम्रो विजनेश पाउने कम्पनीको विश्वास रहेको छ ।

    बुटवलमा स्थापना भएको शाखा कार्यालयको प्रदेश नं ५ का माजिक विकास मन्त्री सुर्दशन वरालले उद्घाटन गरेका छन् ।

    उनले बढ्दो ब्यापार घाटा कम गर्न र वातावरण संरक्षणका लागि पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने प्रदेश सरकारको नीति रहेको उल्लेख गरे ।

    नविकरणीय उर्जाको प्रयोगबाट चल्ने यस्ता सवारीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । सुन्दर यातायातले काठमाडौंमा भने चार वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । यो बस चक्रपथ परिश्रमा गर्छ ।

  • मौसमी सूचना प्रभावकारी बन्दै, मंगलबारबाट अत्याधुनिक राडार संचालनमा

    मौसमी सूचना प्रभावकारी बन्दै, मंगलबारबाट अत्याधुनिक राडार संचालनमा

    सुर्खेत । मौसमी सूचना प्रणालीलाई भरपर्दो बनाउने उद्देश्यले पूर्वाधार थप्ने क्रम जारी छ । यसैक्रममा जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा मौसमी राडार संचलनमा आएको छ ।

    उर्जा मन्त्री वर्षमान पुनले मंगलबार उक्त राडार उपकरणको उद्घाटन गरे । मौसम विज्ञान विभागका अनुसार यो राडार मौसमी पूर्व सूचना प्रणालीका लागि नेपालमा जडित अहिले सम्मकै अत्याधुनिक उपकरण हो ।

    सुर्खेतको रातानाङ्लामा राडार राखिएको छ । यस राडारबाट मौसमसम्बन्धी यथार्थ सूचना रियल टाइममा प्राप्त हुने बताइएको छ ।

    जसका माध्यमबाट हवाई यातायात समेत लाभान्वित हुने भएको छ । वर्षातको सम्भावनाका साथै हरिबतास र आँधीको समेत पूर्वानुमानमा यस उपकरणले सहयोग गर्ने भएको छ ।

    राडारले नेपाली आकासको वायुमण्डलको सबै भूभागमा वास्तविक समयमा तस्बिर खिच्न सक्छ ।

    सोही आधारमा मौसम वैज्ञानिकहरुले विश्लेषण गर्न सक्नेछन् । पछिल्लो समय नेपालमा मौसमको पूर्वानुमान सही हुन थालेको महसुस सर्वसाधारणले गर्दै आएका छन् ।

  • सागका पाहुनालाई टेलिकमको निःशुल्क सिमकार्ड

    सागका पाहुनालाई टेलिकमको निःशुल्क सिमकार्ड

    काठमाडौं । नेपाल टेलिकमले १३औं दक्षिण एशियाली खेलकूद (साग)मा भाग लिन आएका खेलाडी, अफिसियल तथा अन्य पाहुनालाई निःशुल्क फोरजी सीमकार्ड उपलब्ध गराएको छ ।

    यस प्रतियोगिताका लागि पार्टनर स्पोन्सर बनेको टेलिकमले सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको हो ।

    यस पटक सागका खेलहरु काठमाडौ, जनकपुर र पोखरामा हुँदैछन् । खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको बताएको छ ।

    कम्पनीले विमानस्थलमा काउन्टर स्थापना गरेर सीमकार्ड उपलब्ध गराइरहेको छ ।

    एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको यो खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको समेत व्यवस्था गरेको जनाएको छ ।

    मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरहरुबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवाहरु सहजै र तीब्र गतिमा उपलब्ध हुनेछन ।

    साथै, कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ ।

    यसका लागि ११६६ सर्ट कोड मार्फत कल गरेर यो सेवा लिन सकिने भएको छ ।

    कम्पनीले खेलस्थलहरुमा ग्राहक सेवाका साथै फोरजी लगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रबर्द्धन कार्यका लागि स्टल समेत राख्ने भएको छ । टेलिकम नेपालको सरकारी स्वामित्वको टेलिकम सेवा प्रदायक कम्पनी हो ।

  • उपत्यकामा यस वर्षकौ चिसो, हिमालमा हिउँ पर्न थाल्यो

    उपत्यकामा यस वर्षकौ चिसो, हिमालमा हिउँ पर्न थाल्यो

    काठमाडौं । नेपालमा मौसम चिसिने क्रम जारी रहेको छ । मौसमविद्हरुका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको दिन बनेको छ ।

    उता, हुम्लालगायत हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ । शुक्रबार बिहान उपत्यकाको न्युनतम तापक्रम सात डिग्री सेल्सियस कायम भएको छ ।

    बिहीबार न्युनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो । देशको पश्चिमी भेगको मौसममा केही दिनदेखि असर देखिएको पश्चिमी वायुको प्रभाव शुक्रबार बेलुकीदेखि कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    दिउँसोपख पश्चिम पहाडका एक÷दुई स्थानमा हल्का पानी पर्ने र पश्चिमी भेगका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

  • केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वेको भौगर्भिक अध्ययन हुने

    केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वेको भौगर्भिक अध्ययन हुने

    काठमाडौं । नेपाल र चीन केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वे आयोजनाको भौगर्भिक अध्ययन गर्न सहमत भएका छन् ।

    चीन सरकारले स्वय: एरियल म्यापिङ र भौगर्भिक अध्ययनको काम सुरू गर्ने सहमति जनाएको हो । मंगलबार नेपाल र चिनियाँ अधिकारीबीच काठमाडौंमा यस आयोजनाका सम्बन्धमा छलफल भएको थियो ।

    छलफलमा उक्त सहमति जुटेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् । यस आयोजनालाई अगाडी बढाउने सन्दर्भमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणकै दौरान सहमति जुटिसकेको थियो ।

    आयोजना कार्यान्वयनका लागि काठमाडौंमा बेठक बसेको हो । आयोजनाको विस्तृत सम्भाब्यता अध्ययन गर्ने सहमति समेत यस बैठकले गरेको छ । त्यस कार्यमा नेपालले सहजिकरण गर्नेछ भने सुरक्षाको जिम्मेवारी निवार्ह गर्ने भएको छ ।

    चीन र नेपाल सम्बन्धको एक कडीका रुपमा यस आयोजनालाई हेरिएको छ । चीनले सिगात्सेसम्म आएको रेल्वेलाईनलाई सन् २०२० सम्म केरुङसम्म नै ल्याउने छ । त्यहाबाट काठमाडौंसम्म बिस्तार गर्न नेपाल र चीन सहमत भइसकेका छन् ।

  • टूटल र पठायोमाथि कारवाही शुरु, व्यवसायीको दवावमा सरकार

    टूटल र पठायोमाथि कारवाही शुरु, व्यवसायीको दवावमा सरकार

    काठमाडौं । पछिल्लो समय ट्याक्सी चालकको ज्यादतीबाट क्रमशः सर्वसाधारण मुक्त हुँदै गएका थिए । किनकी मनपरी भाडा लिने, मिटरमा नजाने, भनेके स्थानमा नजाने दादागिरि ट्याक्सी चालकको थियो ।

    यस्तो अवस्थामा सर्वसाधारणको रोजाईमा परेका थिए टूटल र पठायो । निश्चित भाडा, भनेको समयमा पुर्याउने, नठगिने भएका कारण आम सर्वसाधारणले निकै रुचाएको यी दुई नविन प्रडक्ट अहिले सरकारको निशानामा परेको छ ।

    खासगरी व्यवसायीको दवावमा सरकार टूटल र पठाओलाई दवाउन लागि परेको छ । सरकारलई यसका लागि सजिलो पनि छ, किनकी उसले समसायिक कानूनमा परिवर्तन गर्नुको साटो पुराना कानूनको हवाला दिँदै निजी सवारीले यात्रु बोक्न नपाउने भन्दै कारवाही तिब्र बनाएको हो ।

    ट्राफिक प्रहरीले टुटल र पठाओ चालकमाथि कारबाही थालेको हो । प्रहरीले प्रयोजन विपरित सवारी साधन चलाएको आरोपमा चालकहरुमाथि चीट काट्न थालेको हो ।

    आइतबार बाटै कारवाही तिब्र बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रयोजन बीना सवारी साधन चलाएमा २ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

    सरकारमाथि ट्याक्सी व्यवसायीको दवाव छ । उनीहरु शक्तिशाली पनि छन् । सरकार उनीहरुको दवावमा झुक्ने गरेको छ ।

    सामान्यतया बसले सामान बोक्दा वा ट्रकले मान्छे बोक्दा प्रयोजन विपरित सवारी चलाएको आरोप लाग्छ ।

    यातायात व्यवस्था विभागले पनि केही दिन अगाडी सूचना जारी गर्दै निजी सवारीले भाडामा मान्छे बोके कारवाही हुने बताएको थियो ।

    यस सूचनापछि सामाजिक संजाल तथा आम मानिसले भने सरकारको आलोचना गरिरहेका छन् ।

    सार्वजनिक सवारी भरपर्दो बनाउन नसकेको सरकारले निजी त्यसमा पनि ट्याक्सी चालकहरुलाई भने प्रवद्र्धन गर्छ । यसले निम्न तथा मध्यमवर्गिय परिवार मारमा पर्ने गरेका छन् ।

  • अब श्रम स्वीकृति लिन लाइन बस्नु नपर्ने, इ-टोकन प्रारम्भ

    अब श्रम स्वीकृति लिन लाइन बस्नु नपर्ने, इ-टोकन प्रारम्भ

    काठमाडौं । सरकारले श्रम स्वीकृति लिन रहेको झण्झट हटाउने भएको छ । अब युवाले बिहान ३ बजेदेखि श्रम कार्यालयमा लाइन बस्नु पर्ने छैन ।

    यसको साटो इ-टोकनका माध्यमबाट आफ्नो पालोको दिन श्रम कार्यालय पुगी सहजै श्रम स्वीकृति लिन सक्ने भएका छन् ।

    वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालका अनुसार श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने बित्तिकै श्रम स्वीकृति पाउने दिन देखिने छ ।

    आफूले कुन कार्यालय पायक पर्छ, उक्त कार्यालय रोज्न समेत मिल्ने छ । जुन कार्यालयमा छिटो पालो आउँछ, उक्त कार्यालय रोजेर फारम भर्न सकिने भएको छ ।

    यो प्रणाली १ डिसेम्बर २०१९ (१५ मंसिर २०७६) बाट कार्यान्वयनमा आउने विभागले उल्लेख गरेको छ ।

    फारम भरिसकेपछि कारणवश श्रम स्वीकृति अस्वीकृत हुने अवस्था आयो भने मोवाइलमा त्यसको जानकारी एसएमएसका माध्यमबाट आउने भएको छ । श्रम स्वीकृती भएको म्यासेजसमेत मोवाइलमा प्राप्त हुने भएको छ ।

    यसले श्रम स्वीकृति भएको कन्फर्म गराउने छ । विद्यूतीय भुक्तानीका लागि समेत विभागले सम्झौताको तयारी गरिरहेको बताएको छ।

    यो प्रणाली लागू भएपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैंक जानु पर्ने छैन । यसबाट विचौलिको प्रवेशसमेत अन्त्य हुने भएको छ ।

    त्यसपछि कामदारको छनोट प्रणालीसमेत पारदर्शी बनाउन अनलाइन माध्यमको प्रयोगको प्रणाली प्रयोगका तयारी समेत भइरहेको छ । यो सबै कामको तयारी विभागले विगत ५ महिनादेखि गरिरहेको र अब रिजल्ट देखिन थालेको विभागको भनाई छ ।

  • नेपालमा ट्याक्सीको नयाँ मापदण्ड आउँदै

    नेपालमा ट्याक्सीको नयाँ मापदण्ड आउँदै

    काठमाडौं । सरकारले नेपालमा गुड्ने ट्याक्सीका लागि नयाँ मापदण्ड तोक्ने भएको छ । विद्युतीय सवारीलाई समेत ट्याक्सीका रुपमा उपयोग गर्न सकिने गरी सरकारले नयाँ मापदण्ड ल्याउने तयारी गरिरहेको छ ।

    यातायात व्यवस्था विभागका अनुसार पहिलो पटक विद्युतीय गाडीलाई ट्याक्सीका रुपमा मान्यता दिने गरी मापदण्ड बन्दैछ । त्यसका लागि भने मापदण्ड पुरा भएको हुनुपर्छ ।

    मंहगो शूल्क तिरेर यात्रा गर्नुपर्ने ट्याक्सीसमेत थोत्रा र फोहोर हुने जनगुनासो व्यापक उठ्ने गर्छ । सोहीकारण सरकारले नयाँ मापदण्ड तोक्न लागेको हो ।

    अब विद्युतबाहेक अन्य इन्धनबाट चल्ने ट्याक्सी भने सेडानको मात्र हुनुपर्ने भएको छ । यसअघि ह्याचब्याक गाडीलाई ट्याक्सीमा रुपमा प्रयोग गरिँदै आएको छ ।

    सेडानको सवारी साधन ह्याचब्याकको तुलनामा लामो हुन्छ र लक्जरी समेत हुन्छ । भित्र फराकिलो हुन्छ । सामान राख्न प्रयोग हुने डिक्कीसमेत फराकिलो हुन्छ ।

    विभागका अनुसार मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको हो । तर जारी भने यातायात व्यवस्था विभागबाट हुने प्रचलन रहेको छ ।

  • नेपालमा विद्युतको पहुँचमा उल्लेख सुधार

    नेपालमा विद्युतको पहुँचमा उल्लेख सुधार

    काठमाडौं । नेपालले विद्युतको पहुँच र गुणस्तरमा उल्लेख्य सुधार गरेको छ । विश्व बैंकले गरेको एक अध्ययन अनुसार नेपालले छोटो सयममा यस क्षेत्रमा गुणात्मक सुधार गरेको हो ।

    विश्‍व बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार प्रति १ सय घरधुरीमध्ये ९५ घरधुरीमा विद्युत पहुँच बिस्तार भइसकेको छ ।

    विद्युत भरपर्दो, किफायती र निर्बाध पहुँचमा समेत आउने थालेको प्रतिवेदनले देखाएको छ । सन् २०१७ यता नेपालले विद्यूतको क्षेत्रमा ठूलो प्रगति गरेको देखिएको छ ।

    सन् २०१८ यता लोडसेडिङ हटेको छ । यसले पनि मानिसहरुको घरमा गुणस्तरीय र विश्वसनीय उर्जाको आपूर्तिमा सहयोग गरेको भेटिएको छ ।

    बत्ती, खाना पकाउने सफा ऊर्जामा नेपालको प्रगति लोभलाग्दो रहेको पाइएको विश्वबैंकले आफ्नो प्रतिवेदनमा लेखेको छ ।

    नेपाली जनताको जीवन उकास्न समेत यो क्षेत्र सफल बन्र्द गएको प्रतिवेदनको सार छ । तर, अझै धेरै ग्रामिण भेगमा दाउरा र अन्य हानिकारिक धुवाँ फाल्ने इन्धनबाट खाना पकाउने परिवारको संख्या रहेको छ ।

  • निजी सवारीले भाडामा मान्छे बोक्न नपाउने, निसानामा टूटल र पठाओ

    निजी सवारीले भाडामा मान्छे बोक्न नपाउने, निसानामा टूटल र पठाओ

    काठमाडौं । सरकारले निजी सवारी साधनका रुपमा दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोक्ने नपाउने भन्दै त्यसो गरेको पाइए कारवाहीको चेतावनी दिएको छ ।

    यातायात व्यवस्थ विभागले बुधबार सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले सार्वजनिक प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ ।

    कानून नमानी निजी सवारीले भाडामा मान्छे बोकेमा कानून अनुसार कारवाही हुने चेतावनी समेत विभागले दिएको छ । विभागको यो कदमबाट अब टूटल र पठाओको सेवा प्रभावित हुनेछ ।

    किनकी निजी सवारीका रुपमा दर्ता भएका यस्तो सवारीले अहिले भाडामा मान्छे बोक्छन् । मोवाइल एपका माध्यमबाट दैनिक हजारौं मोटरसाइकल चालकले यो सुविधा उपयोग गरिरहेका छन् ।

    नवप्रवर्तन व्यवसायलाई प्रोत्साहन गर्ने भन्दै चालु आर्थिक वर्षको बजेटले त्यस्ता व्यवसायलाई करको दायरामा आउन पुस मसान्तसम्मको समय दिइएको छ ।

    यद्दपी निजी सवारीलाई सार्वजनिक प्रयोजनमा प्रयोग गर्न पाउने कानून भने नेपालमा छैन । त्यसकारण विभागले कडाई गर्न लागेको हो ।

    खासगरी नेपालमा यातायात व्यवसायीले टूटल र पठाओको विरोध गर्दै आएका छन् । यसको प्रयोगले ट्याक्सीको व्यापार घटाएको छ ।

    तर, यात्रुको दृष्टिकोणबाट भने ट्याक्सीको मनपरी भाडाका कारण आजित यात्रुलाई भने निकै ठूलो राहत मिलेको छ । अर्कोतर्फ सुरक्षाका दृष्टिकोणबाट पनि मोटरकसाइकले भाडामा यात्रु बोक्दा हुने जोखिमबारे प्रश्न उठ्दै आएको छ ।

  • सिद्धबाबामा सुरुङ बन्ने पक्का, अर्थले दियो स्रोत सुनिश्चितता

    सिद्धबाबामा सुरुङ बन्ने पक्का, अर्थले दियो स्रोत सुनिश्चितता

    काठमाडौं । अर्थमन्त्रालयले बहुवर्षिय ठेक्कामा लगाएर सुरुङ निर्माण गर्न सहमति दिएसँगै अब सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबामा सुरुङमार्ग बन्ने पक्का भएको छ ।

    बुटवल, तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिलोका कारण वर्षेनी धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । यस क्षेत्रको पहिरो छल्न सुरुङ मार्ग निर्माणको निकर्षमा सरकार पुगेको हो ।

    सुरुङमार्ग निर्माण गर्न मन्त्रिपरिषद्‍ले अर्थलाई स्वीकृति दिएको थियो । त्यसपछि अर्थले बहुवर्षिय आयोजनाका रुपमा यस आयोजनाका लागि १० अर्ब रुपैयाँको स्रोत सुनिश्चतता गरेको छ ।

    १ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग निर्माण गर्न प्रकिया अघि बढाउन सहमति दिएको थियो।

    १५ कात्तिक २०७६ मा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले डिजाइन निर्माण तथा संचालनको लागि आवश्‍यक १० अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्‍चितताको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो ।

    अर्थले यो प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा लगेर स्वीकृत गराएको हो । अर्थमन्त्रालयले सहमति प्रदान गरिएको पत्र सोमबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा पठाएको छ।

    चालु आर्थिक वर्षको बजेटमा सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डसहित मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माणको घोषणा गरिएको थियो ।

    सोही अनुसार सिद्धवावाको प्रकिया अघि बढेको हो। सिद्धबाबामा सुरुङ निर्माण गर्न माघ २०७५ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्गको गुरुयोजना निर्माण गर्न अध्ययन गरेको थियो ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्म करिब ४ किलोमिटर क्षेत्र पहिरोबाट अति प्रभावित
    क्षेत्र हो ।

    यही क्षेत्रमा सुरुङ बन्ने छ । पछिल्लो १० वर्षमा ७० भन्दा बढीले ज्यान गुमाएको यो क्षेत्रलाई ज्यानमारा स्थानका रुपमा चिनिन्छ । सिद्धबाबा छल्दै गुल्मी, पाल्पा, अर्घाखाँची जाने सवारी चल्ने गर्छन् ।

  • अब आन्तरिक विमानस्थलमा समेत र्याम्पको सुविधा

    अब आन्तरिक विमानस्थलमा समेत र्याम्पको सुविधा

    काठमाडौं । अन्तराष्ट्रिय उडानका जहाज चढ्न र ओर्लन प्रयोगमा आउने र्याम्प अब आन्तरिक विमानस्थलमा समेत जडान गरिएको छ । पहिलो पटक बुद्ध एयरले भैरहवाबाट यसको प्रयोग थालेको छ ।

    यसअघि जहाजमै जडित सानो भर्यांगबाट यात्रु चढ्नु र ओर्लुनु परेको छ । त्यसको साटो र्याम्प प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ ।

    भैरहवाबाट शुरु भएको यो सुविधा क्रमशः सबै आन्तरिक उडानमा बिस्तार गर्ने कम्पनीको योजना रहेको छ । यसले वृद्ध उमेरका यात्रु र अशक्त यात्रुलाई निकै सहज हुने भएको छ ।

  • संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज

    संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज

    न्युयोर्क

    नागरिक उड्डयनको ईतिहासमा नयाँ किर्तिमान  बनाउँदै बिहीबार क्वानटस् एयरलाइन्सको एक जहाजले लन्डनदेखि अस्ट्रेलियाको लागि ५० जना यात्रु लिएर १७ हजार ८ सय किलोमिटरको दुरी लगातार १९ घण्टामा तय गर्ने गरी उडान भरेको छ । बिहीवार लन्डनको स्थानीय समय बिहान ६ बजे परिक्षण उडान सुरु गरेको क्वान्टस् एयरलाइन्सको एक सय मेट्रिकटन तौलको उक्त बोईङले आफ्नो उडानको क्रममा लगातर दुई वटा सुर्योदय देख्ने छ । क्वान्टस् एयरलाईन्सको महत्वाकांक्षी “प्रोजेक्ट सनराईज” ले सन् २०२२ भित्र सिड्नी – लन्डन् र सिड्नी – न्युयोर्क बीच सिधा यात्रु बाहक उडान सुरु गर्ने योजना अन्तर्गत उक्त परिक्षण उडान गरिएको हो । क्वानटस्  एयरलाईन्सको सिड्नी – लन्डन सेक्टरपछि यो बिमान कम्पनी संसार कै सबैभन्दा लामो दुरीतय गर्ने यात्रु बाहक बिमान कम्पनी हुनेछ । तीन सय यात्रु क्षमता भएको “लङरिच” नामक बोईङ    ७८७ ले परिक्षणका लागि क्याप्टन हेलन ट्रेनेरी सहित ४ पाईलटको साथ केही संचारकर्मी सहित ५० जना लिएर लन्डनबाट उडेको हो ।

    परिक्षण उडानमा क्वान्टस् एयरलाईन्सका कर्मचारी र क्वान्टस् एयरलाईन्समा नियमित उडान गर्ने (फ्रिक्वेन्ट फ्लायर ) यात्रु समेत विश्व कै सबैभन्दा लामो दुरीको हवाई यात्राको परिक्षण उडानमा छन् । उडान अबधिभर यात्रारत यात्रुहरुको निन्द्राको ढाँचा (स्लिप प्याटर्न), खानेकुराको खपत, उडान भित्रको मनोरन्जनात्मक  सामाग्री (इन फ्लाईट इन्टर्टेनमेन्ट), को प्रयोग आदीलाई अनुगमन गरिने छ । मेल्बर्न मोनास युनिभर्सिटीको एउटा समुहले उक्त परिक्षण उडानका चालक दलका सबै सदस्यहरुको उडान अगाडि र पछाडिको अवस्थाको अध्ययन गरिहरेको समेत जनाईएको छ ।  जहाजले आफ्नो यात्रामा ईन्धन भर्नको लागि कतै अवतरण गर्ने छैन । 

    क्वान्टसले गत अक्टुबर  महिनामा न्युयोर्क स्थित जोन अफ केनेडी बिमानस्थलदेखि सिड्नी एयरपोर्टसम्मको १६ हजार किलोमिटरको परिक्षण उडान १६ घण्टा केही मिनेटमा तय गरेको थियो ।  

    एजेन्सी

  • साउनबाट विदेशी च्यानलमा विज्ञापन बन्द

    साउनबाट विदेशी च्यानलमा विज्ञापन बन्द

    काठमाडौं । अब नेपालमा प्रसारण हुने विदेशी च्यानलले विज्ञापन बजाउन पाउने छैनन् । सरकारले विज्ञापन ऐन राजपत्रमा प्रकाशित गरेको छ ।

    यस ऐन अनुसार ऐन लागू भएको एक वर्षभित्र क्लिनफिड लागू भइसक्नु पर्छ । यो ऐन १ साउन अर्थातः चालु आर्थिक वर्षबाट लागु हुने गरी बनाइएको हो ।

    सोहीकारण आगामी १ साउन २०७६ बाट सबै विदेशी च्यानलमा क्लिनफिड लागू हुने सूचना तथा संचार प्रविधि मन्त्रालयले जनाएको छ ।

    कानून अनुसार अब विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाउने छैनन् । त्यसको साटो विदेशी उत्पादनले पनि अब नेपाली विज्ञापन बजाउनु पर्ने भएको छ ।

    यसले नेपालको विज्ञापन बजार बढाउने भएको छ । इमेल र एसएमएसबाट हुने विज्ञापनमा पनि कडाई गरिएको छ ।

  • स्व. रवीन्द्र अधिकारीको ट्वीटर अब विद्याले चलाउने

    स्व. रवीन्द्र अधिकारीको ट्वीटर अब विद्याले चलाउने

    काठमाडौं । स्व. नेता रवीन्द्र अधिकारीको ट्वीटर ह्याण्डिल अब पत्नि विद्या भट्टराईले आफ्नो नाममा चलाउने भएकी छिन् । उनले शुक्रबाट यसको औपचारिक जानकारी ट्वीट गर्दै गराएकी छिन् ।

    पाथिभरा देविको दर्शन सकेर काठमाडौं फर्कने बेला हेलिकप्टर दुर्घटनामा परेपछि पर्यटन मन्त्री रहेका अधिकारीको १५ फागुन २०७५ मा निधन भएको थियो ।

    उनकी पत्नी अहिले अधिकारीले जितेको निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा सत्तारुढ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रतिस्पर्धा गर्दैछिन् । रवीन्द्रको निधनपछि यो अकाउन्ट निष्कृय थियो ।

    शुक्रबार विद्याले यस अकाउन्टलाई अपटेड गरेकी छिने । यस अकाउन्टमा ८० हजार जनाले फलो गरेका छन् । नाम परिवर्तन गरी विद्या भट्टराई राखिएको छ । अब विद्याले आफ्नो चुनावी अभियानका गतिविधि समेत यसै ह्याण्डिलमा राख्न थालेकी छिन् ।

    उनले लेखेकी छिन्, ‘प्रिय रवीन्द्र जीले व्यक्तिगत तथा सार्वजनिक रुपमा यहाँहरुसँग सामिप्यमा रहन प्रयोगमा ल्याउनु भएको यो ट्वीटर ह्यान्डललाई आजदेखि मैले प्रयोगमा ल्याएकी छु। हामीले रवीन्द्रजीलाई गुमाउँदै गर्दा उहाँले देखेका सपना र योजनालाई अगाडि बढाउँन यहाँहरुका सुझाब सल्लाह महत्वपूर्ण हुने विश्वास छ ।’

    रवीन्द्र सामाजिक संजालमा एक लोकप्रिय नेता थिए । उनी हरेक सार्वजनिक महत्वका विषयमा खुला बहसमा रहने गरेका थिए । त्यसकारण पनि उनी लोलप्रिय बनेका थिए ।

  • जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए

    जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दुई जहाज एक आपसमा ठोक्किएका छन् । तर, यसबाट ठूलो क्षति भने भएन ।

    विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्सको जहाज पार्किङ गरिराखेको यति एयरको जहाजमा ठोक्किन पुगेको थियो ।

    श्रीको जहाजले यतिको पुछारमा छोएको र घटनामा जहाजमा सामान्य क्षति हुनुबाहेक अन्य क्षति नभएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिएका छन् ।

    श्री एयरलाइन्सको जहाज विराटनगरबाट आएको थियो । यात्रुसहितको उक्त जहाज पार्किङ गर्न लैजादै गर्दा ठोक्किएको हो । त्रिभुवन विमानस्थलमा अधिक भिडभाडका कारण व्यवस्थापन निकै चूनौतिपूर्ण बन्दै गएको छ ।

  • एटीएमबाट पैसा चोर्ने चिनियाँलाई कारागार पठाइयो

    एटीएमबाट पैसा चोर्ने चिनियाँलाई कारागार पठाइयो

    काठमाडौं । एटीएम प्रणाली ह्याक गरी पैसा निकाल्दा निकाल्दै पक्राउ परेका ६ चिनियाँ नागरिकलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।

    नेपालका ७ वटा बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दै भदौमा उनीहरु समातिएका थिए । उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

    चेन विक विन, क्यु याङयिङ, लु जियालिङ, लिन जिनमि र लिओ जाइलेई नख्खु कारागार चलान भएका छन् । घटनामा अन्तर्राष्ट्रिय निकाय मास्टर कार्ड, भिसा कार्ड, युनियन पे इन्टरनेश्नल लगायतले उच्च चासो देखाएक छन् ।

    यो घटनालाई प्रहरीको समेत सफलता मानिएको छ । किनकी सामान्यतया विदेशमै प्रणाली ह्याक गरी स्वदेशमा हुने चोरी समात्नु कठिन मानिन्छ ।

    प्रहरीको अनुसन्धानलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले पनि सहयोग गरेको छ । यस घटनापछि भने नेपालको बैंकिंग प्रणालीको सुरक्षामाथि प्रश्न भने उठेको छ ।

  • विदेशी विश्वविद्यालयका कार्यक्रम चलाउने १५ कलेजमाथि कारवाही हुने

    विदेशी विश्वविद्यालयका कार्यक्रम चलाउने १५ कलेजमाथि कारवाही हुने

    काठमाडौं । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा एक लेवल कार्यक्रम चलाइरहेका १५ कलेजमाथि कारवाही हुने भएको छ ।

    खासगरी बैदेशिक कार्यक्रम संचालन गर्न लिएको अनुमति नविकरण नगर्न र धरौटीसमेत नबुझाएका १५ कलेजमाथि नेपाल सरकारले कारवाही गर्न लागेको हो ।

    अब उनीहरुको सम्बन्धन खारेज हुने भएको छ । शिक्षा मन्त्रालयले नवीकरण तथा धरौटी नबुझाइ उच्च शिक्षाका वैदेशिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजको कार्यक्रम रद्द गर्ने प्रक्रिया शुरु भएको बताएको छ ।

    विभिन्न देशका विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहे पनि नेपाल सरकारमाथिको दायित्व पुरा नगर्ने कलेजहरु कारवाहीमा पर्नेछन् ।

    मन्त्रालयका अनुसार खारेजीमा पर्नेमध्ये अधिकांश कलेज क्याम्ब्रिज युनिभर्सिटीका ए लेभल पढाउन सम्बन्धन लिएका छन् ।

    मन्त्रालयले पन्ध्र दिनभित्र नवीकरण गरी शिक्षा मन्त्रालयको मापदण्ड भित्र आउन निर्देशन दिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

    मन्त्रालयले क्याम्ब्रिज युनिभर्सिटीको एजे विल्ड इन्स्टिच्यूट अफ एडभान्स स्टडिज, ब्रिजवाटर इन्टरनेसनल कलेज, मल्पी इन्टरनेसनल कलेज, क्यापिटल कलेज एन्ड सिसर्च सेन्टर, एभरेस्ट एजुकेसन फाउन्डेसन, काठमाडौं भ्याली स्कुल, ओरिएन्ट कलेज, पेन्टागन एजुकेसन नेटवर्क, एपेक्स लाइफ स्कुल, साउथ वेस्टर्न स्टेट, कसकस इन्टरनेसनल पोखरा र गन्डकी बोर्डिङ हाइ स्कुललाई उक्त निर्देशन दिएको हो

  • दुई बर्षसम्म आकाशमा उडेर पृथ्बीमा फर्कियो यो जहाज

    दुई बर्षसम्म आकाशमा उडेर पृथ्बीमा फर्कियो यो जहाज

    न्युयोर्क

    यु एस एयर फोर्सको एक्स ३७ बि स्पेस प्लेन ७८० दिन आकाशमा उडेर गत अक्टोबर २७  तारिख आइतबार पृथ्बीमा अबतरण गरेको छ । यो जहाज रहस्यमयी सैनिक प्रयोग कार्यक्रम अन्तर्गत दुई बर्ष एक महिना २० दिन पृथ्बीको कक्षमा घुमेर फर्किएको हो । सानो “स्पेस शटल” जस्तो देखिने उक्त जहाज कक्षको परिक्रमा गरी आइतबार नासास्थित केनेडी स्पेस सेन्टरमा अवतरण गरेको यु एस एयर फोर्सले आफ्नो वेब साईटमा जनाएको छ । यो स्पेस प्लेनको प्रयोग अमेरिकी ईतिहासमा पाँचौ हो भने हरेक स्पेस प्लेन अघिल्लो भन्दा लामो समय कक्षमा रहने गरेका छन् ।

    यस्ता प्रयोगहरुको पूर्ण विवरण भने अति गोप्य राखिने गरिएको छ ।  एयर फोर्स सेक्रेटरी बारबरा बरेटले भनेकी छिन् “एक्स ३७ बिको नियमित प्रयोग स्पेस प्लेनको पुन प्रयोगको महत्वलाई देखाँउछ र प्रत्येक सफल प्रयोगले हाम्रो राष्ट्रको आन्तरिक्ष शक्तीलाई अझ अगाडि बढाउँछ ।”

    यति लामो अन्तरिक्षको यात्रा सम्पन्न गरेर फर्किएको २९ फिट लामो साँढे नौ फिट उचाई १५ फिट लामो पखेटा भएको जहाज सन् २०१७ को सेप्टेम्बरमा पृथ्वीबाट उडेको थियो ।

  • सेनाले भित्रायो कार्गो जहाज

    सेनाले भित्रायो कार्गो जहाज

    काठमाडौं । नेपाली सेनाले नयाँ जहाज भित्राएको छ । यो जहाज कार्गोको प्रयोजनमा प्रयोग गर्ने सेनाको भनाई रहेको छ । जहाज शनिबार काठमाडौं आइपुगेको हो ।

    यो जहाज इन्डोनेसियामा खरीद गरिएको सेनाले जनाएको छ । मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारमा यो जहाज प्रयोग गर्ने सेनाको योजना रहेको छ ।

    दुई वर्ष अगाडीदेखि खरीद प्रक्रिया शुरु गरेर सेनाले जहाज भित्राएको हो । सीएन २३५ २२० जहाजको मूल्य भने करीव ३ अर्ब रुपैयाँ रहेको बताईको छ । यस जहाजमा एकैपटक ५१ जनासम्म यात्रु अट्न सक्छन् ।

  • मृगौला प्रत्यारोपण सम्बन्धि रिसर्चका लागि नेपाली डाक्टरलाई १ करोड राशीको अवार्ड

    मृगौला प्रत्यारोपण सम्बन्धि रिसर्चका लागि नेपाली डाक्टरलाई १ करोड राशीको अवार्ड

    आनन्द श्रेष्ठ / न्यूयोर्क

    भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रीय प्रत्यारोपण केन्द्रमा कार्यरत डाक्टर किरण जंग कुँवरलाई १ करोड रुपैयाँ राशीको अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड मृगौला प्रत्यारोपण सम्बन्धी अनुसन्धानका लागि, दक्षिण कोरियामा अक्टोबर १७ देखि १९ गतेसम्म चलेको एसियन ट्रान्सप्लान्ट समिटमा डा कुँवरले पेश गरेको रिसर्च पेपर, सम्मेलनमा उत्कृष्ट ठहरिएपछि दिईएको हो । यो अवार्डलाई नेपालको चिकित्सा क्षेत्रको ठुलो उपलव्धिको रुपमा चर्चा गरिएको छ ।

    डाक्टर कुँवरसँग नेपालमा लामो समयदेखि मृगौला रोग सम्वन्धि उपचार र अनुसन्धानको अनुभव रहेको छ । सम्मेलनमा एसियन मुलुकका अतिरिक्त युरोप र अमेरिकाका डाक्टरहरूको समेत सहभागिता थियो ।

    युरोलोजीमा विद्यावारिधी गरेका पुरस्कृत डा.कुँवरले “यो पुरस्कारले मृगौला प्रत्यारोपण सम्बन्धी थप अध्ययन र अनुसन्धानमा निरन्तर लागिरहन थप प्रेरणा मिलेको छ” भन्नु भएको छ । 

  • साउथवेष्ट एयरलायन्सको जहाज भित्रको  शौचालयको   भिडियो पाईलटले ककपिटमा बसेर हेर्दा

    साउथवेष्ट एयरलायन्सको जहाज भित्रको शौचालयको भिडियो पाईलटले ककपिटमा बसेर हेर्दा

    साउथ वेष्ट एयरलायन्सकी एक महिला परिचारिका (फ्लाईट अटेन्डेण्ट) ले उडानका क्रममा ट्वाईलेटमा क्यामरा जडान गरी ककपिटमा बसेर पाईलटले लाइभ भिडियो हेरेको भन्दै सम्बन्धित एयरलाईन्स बिरुद्ध मुद्धा दायर गरेकी छिन् । सन २०१७ मा फिनिक्सबाट पिटर्सवर्गको लागि उडान भर्दै गरेको साउथवेष्टको पाईलट र को-पाईलटले जहाज भित्रको सौचालयमा लुकाएर क्यामरा जडान गरी ककपिटमा बसेर सौचालय भित्रको भिडियो लाईभ हेर्दै गरेको भेटेको भन्दै सोही उडानकी परिचारिका रेनी स्टेनाकरले एयरलाईन्सलाई मुद्दा (ल सुट्) गरेकी हुन् । दुई घण्टा आधा उडान समय रहेको फिनिक्सदेखि पिटर्सवर्गसम्मको उडानका क्रममा चालक टेरी गरामलाई सौचालय जानु परेपछि सम्बन्धित बिमान कम्पनीको नियम अनुसार उडान अबधिभर ककपिट भित्र दुई जना हुनै पर्ने वाध्यकारी ब्यबस्थाका कारण चालक गरामले  परिचारिकालाई ककपिट भित्र बस्न बोलाएका थिए ।

    परिचारिका ककपिट भित्र जाँदा ककपिटको विन्ड सिल्डमा टाँसिएर राखिएको आईप्याडमा सौचालयको लाईभ भिडियो आईरहेको थियो जुन भिडियोमा भर्खरै सौचालय गएका पाईलट देखिएका थिए । परिचारिका स्टेनाकरले भिडियो देखेपछि सहचालक रायन रसेल्सले सुरक्षाका कारण साउथवेष्ट एयरलाईन्सको सबै बिमानको सौचालय भित्र क्यामरा रखिएको बताउँदै बचाउ गरेका थिए । साथै  सहचालकले क्यामराको कुरा कसैलाई पनि नबताउन समेत अनुरोध गरेको मुद्दाको ब्यहोरामा जनाईएको छ । सौचालयको भिडियो देखेपछि परिचारिका स्टेनाकरले तत्काल आफ्नो फोनबाट उक्त भिडियो खिचेकी थिईन । स्टेनाकरले उडान अवतरण हुने बित्तिकै एयर्लाईन्सको सुपरभाईजरलाई घटनाको जानकारी गराएकी थिईन।

    एयरलायन्स बिरुद्ध परिचारिकाले मुद्धा हालेपछि साउथवेष्ट एयरलाईन्सले बिज्ञप्ती निकाल्दै भनेको छ “साउथवेष्ट  एयरलाईन्सले सौचालय भित्र क्यामरा राख्दैन ।” हाल मुद्दा अदालतमा बिचाराधिन छ ।  

    एजेन्सी

  • वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी

    वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी

    काठमाडौं

    इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकमा विदेशी लगानी भित्रिएको छ । कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याएको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

    यस कम्पनीमा बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपले लगानी गर्न लागेको हो । उक्त कम्पनीले सो रकम बराबरको वर्ल्डलिंकको १० प्रतिशत सेयर किन्ने भएको हो ।

    सिडिसी बेलायत सरकारको पूर्ण स्वामित्वको संस्था हो । वर्ल्डलिंकमा लगानी गर्ने सम्वन्धी दुवै पक्षबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    नेपालमा सिडिसीको सेयर लगानी पहिलो पटक भित्रिएको कार्यक्रममा बताइयो । ग्रामिण भेगसम्म इन्टरनेट सेवा बिस्तार गर्न यो साझेदारी महत्वपूर्ण सावित हुने वर्ल्डलिंकका प्रवन्ध निर्देशक दिलिप अग्रवालले बताए ।

  • प्रधानमन्त्री एक्सन रुममा, गौरवका आयोजनाको अपडेट लिए

    प्रधानमन्त्री एक्सन रुममा, गौरवका आयोजनाको अपडेट लिए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको अपडेट लिए ।

    तीन जना केन्द्रिय मन्त्री र प्रमुख सल्लाहकारसहित उनी करीव एक घन्टा एक्सन रुममा बसेका थिए । त्यसक्रममा उनले विभिन्न राष्ट्रिय गौरवका आयोजनाको अपडेट भिडियो मार्फत लिएका थिए ।

    एक्सन रुपमा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई र प्रमुख सल्लाहकार विष्णु रिमाल एक्सन सहभागी थिए ।

    त्यसक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानी जमरा र सिक्टा सिंचाइ आयोजना, हुलाकी र मध्यपहाडी लोकमार्गको कार्यप्रगतिबारे जानकारी लिइएको थियो ।

    ती आयोजनाको कार्यप्रगतिबारे चासो राख्दै प्रधानमन्त्रीले कार्यप्रगति बढाउन निर्देशन दिएका थिए ।

    राष्ट्रिय गौरवका आयोजनाले साच्चै गौरव गर्न लायक प्रगति गर्नुपर्ने भन्दै उनले आयोजना प्रमुखहरुलाई कार्य प्रगति बढाउन निर्देशन दिए ।

    राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री कार्यालयमै बसेर हेर्न तथा अपडेट लिन सकिने गरी आयोजनास्थल सम्मै सीसी क्यामरा जडान गरी एक्सन रुम संचालनमा ल्याइएको छ ।

  • अमेरिकामा मदिरा सेवन गरेर सवारी साधन चलाउन खोज्दा स्टार्ट नहुने गाडी निर्माण गर्नुपर्ने कानून बन्दै

    अमेरिकामा मदिरा सेवन गरेर सवारी साधन चलाउन खोज्दा स्टार्ट नहुने गाडी निर्माण गर्नुपर्ने कानून बन्दै

    अमेरिकी सदनका दुई जना सिनेटरले गत बुधबार आगामी दशकको मध्यसम्ममा अमेरिकामा निर्माण गरिने हरेक गाडी भित्र चालकले पिएको मदिराको मात्रा मापन गर्ने संयन्त्र जडान गर्नै पर्ने वाध्यकारी ब्यबस्था गर्ने कानून लागू गरिने बताएका छन् ।  डेमोक्र्याटिक सिनेटर टम उडाल र रिपब्लिकन सिनेटर रिक स्कटले गाडी निर्माण कम्पनीहरुले मदिराको मात्रा मापन गर्ने संयन्त्र गाडी भित्रै जडान गरेर मात्र गाडी निर्माण गर्नु पर्ने कानून सदनमा प्रस्तुत गर्ने तयारीमा रहेको बताएका हुन् । सिनेटर उडालले समाचार संस्था रेउटर्ससँग भनेका छँन् “हामीलाई विश्वास छ यो प्रबिधि लागू हुनेछ । यो बिषय अत्यन्त जरुरी भई सकेको छ ।” उनी थप्छन् “अटोमोबाईल उद्योगले गाडी निर्माण गर्दा नै यो प्रबिधि जडान गरेर सहयोग गर्ने पनि विश्वास गरेका छौं । तर सहयोग गरेपनि नगरेपनि हामीले लागू गर्नै पर्छ, किनकि यो प्रबिधि मानवीय जीवनको हिस्सा बनेर बसेको छ ।”

    अमेरिकी केन्द्रीय सरकारको एजेन्सी नेसनल हाईवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसन  (एन एच टि एस ए) ले बिगत १० बर्षदेखि गाडीमा यस्तै प्रकृतीको प्रबिधी जडानको लागि काम गर्दै आएको छ । यसको लागि एजेन्सीले ५ करोड अमेरिकी डलर खर्च गरिसकेको छ ।  मेरिल्यान्ड  र भर्जिनियाका केही क्षेत्रमा यो प्रबिधि प्रयोग समेत गरी सकिएको बताईएको छ । मदिरा सेवन गरेको चालक गाडी भित्र सिटमा बसेपछि चालकले स्टेरिङ् समाते पछि वा गाडी स्टार्ट गर्न साँचो घुसाए पछि वा चालकले फेरेको श्वास वा चालकको आँखाको चाल थाहा पाउने सेन्सर गाडीमा जडान गरिने छ । यदि चालकले कानूनी ब्यबस्था भन्दा बढी प्रतिसतमा मदिरा पिएको सेन्सरले देखाएमा गाडी स्टार्ट हुने छैन । यो ब्यबस्था गाडी दुर्घटनाको समयमा निस्किने एयर ब्याग जस्तै सुरक्षाका लागि हुने छ । भोल्भो गाडीको स्विडिस निर्माण कम्पनीले सन् २०२० को शुरुदेखि नै गाडीमा चालकले पिएको मदिराको मात्रा देखाउने क्यामेरा र सेन्सर राखेर गाडी निर्माण गरिने बताई सकेको छ ।  

    अमेरिकामा वार्षिक करिब १० हजार मानिसको ज्यान गाडी चलाउँदा अत्याधिक मदिरा सेबन गरेका कारण हुने गरेको छ ।                      

    लामो समयदेखि मदर्स अगेन्स्ट ड्रंक ड्राईभिङ (एम ए डि डि) नामक संस्थाले अत्याधिक मदिरा सेवन गरेको चालकलाई गाडी चलाउन नदिने प्रबिधि गाडी भित्रै जडान गर्नु पर्ने माग गर्दै आएको थियो ।  

    श्रोत : रेउटर्स

  • टेलिकमले ल्यायो अफरै अफर

    टेलिकमले ल्यायो अफरै अफर

    काठमाडौं । नेपाल टेलिकमले ग्राहक लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ । अटम सिजनलाई लक्षित गर्दै कम्पनीले नयाँ नयाँ सुविधा र अफर ल्याएको बताएको छ ।

    बिहीबारबाट शुरु भएको अफर अभियान आगामी ९ महिनासम्म जारी रहने कम्पनीले उल्लेख गरेको कम्पनीले मौसम अनुसार विभिन्न अफर मार्फत ग्राहक आकर्षित गरिरहेको छ ।

    अब यसअघि उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन ग्राहकमैत्री बनाइएको छ ।

    डे डाटा प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिन भर ८० एमबी डाटा चलाउन सकिने टेलिकमले उल्लेख गरेको छ ।

    डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने बताइएको छ ।

    एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य घटाइएको छ ।

    पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने गरी परिमार्जन गरिएको छ ।

    एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधा भने यथावत नै रहेका छन् ।

    फोरजी एलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधासमेत निरन्तर प्राप्त हुनेछन् ।

  • इन्स्टाग्राममा मोदी लोकप्रिय, निकै पछि छन् ट्रम्प

    इन्स्टाग्राममा मोदी लोकप्रिय, निकै पछि छन् ट्रम्प

    नयाँ दिल्ली । ट्विटरमा ५ करोड फलोअर्स पुर्याउन सफल भारतीय नरेन्द्र मोदी इन्स्टाग्राममा सबैभन्दा अगाडी रहन सफल भएका छन् ।

    अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार इन्स्टाग्राममा उनको तीन करोड फलोअर्स नाघेको छ । विश्व नेतामध्ये यो आंकडा सबैभन्दा धेरै हो ।

    इंस्टाग्राममा मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेका छन् ।

    ट्विटरमा भने पीएम मोदीका ५ करोड़भन्दा बढी फलोअर्स रहेका छन् । गत सेप्टेम्बर मै उनले ५ करोडको आंकडा पार गरेका थिए ।

    उनको फेसबुकमा भने उनको ४.४ करोड लाइक रहेको छ । उनले लामो समयदेखि ट्विटर चलाउँदै आएका छन् ।

    महत्वपूर्ण सन्देशहरु प्रवाहका लागि यो माध्यम निकै फलदायी बन्दै गएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको इंस्टाग्राममा मात्र डेढ़ करोड़ फलोअर्स रहेका छन् । बाराक ओबामाका करीब ढ़ाई करोड़ फलोअर्स रहेका छन् । ओबामा ट्विटरमा भने निकै लोकप्रिय छन् ।

    १०.९ करोड मानिसले उनलाई फलो गरेका छन् । उनी इन्स्टामा समेत निकै सक्रिय रहेका छन् ।

    एजेन्सी

  • आजदेखि ३२ जिल्लामा टेलिकमको फोरजी सेवा

    आजदेखि ३२ जिल्लामा टेलिकमको फोरजी सेवा

    काठमाडौं । नेपाल टेलिकमले बुधबारदेखि थप ३२ जिल्लामा फोरजी सेवा बिस्तार गर्ने भएको छ ।

    यसअघि काठमाडौं र पोखरामा मात्र सिमित अत्याधुनिक सेवा बिस्तारसँगै टेलिकमले ग्राहकका लागि आकर्षक प्याकेजहरुसमेत सार्वजनिक गरेको छ ।

    उच्च गतिको इन्टरनेट सेवाको नेटवर्क फैलिएसँगै ग्राहकलाई सहज हुने विश्वास टेलिकमको रहेको छ ।

    टेलिकमका अनुसार फोर जी सेवा विस्तार भएसागै ग्राहकले साविककै मूल्यमा दोब्बर डाटा पाउन सक्ने भएका छन् ।

    यसअघि नै मोबाइलका उपभोक्तालाई दिइएका अल टाइम डाटा अफरमा समेत शत प्रतिशत डाटा भोल्युम थप्ने योजना रहेको छ ।

    साविकै मूल्यमा यी सुविधा उपलब्ध हुने भएका छन् । नेपाल टेलिकम फोरजी सेवा बिस्तार गर्ने मुलुकको पहिलो टेलिकम कम्पनी हो ।

    १७ पुस २०७३ मा कम्पनीले काठमाडौं र पोखरामा फोरजी सेवा प्रारम्भ गरेको हो ।

    फोरजी सेवाले उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने विश्वास कम्पनीको छ ।

    नेपालमा सबैभन्दा तिब्र गतिमा बिस्तार भइरहेको क्षेत्र नै सूचना तथा संचार प्रविधि हो । जसले जनजीवन समेत निकै सहज बनेको छ ।

  • एक महिलालाई वाईफाईको एलर्जी हुँदा

    एक महिलालाई वाईफाईको एलर्जी हुँदा

    मानिसको शरिरमा अनेकौं खानेकुरा र बस्तुहरुको एलर्जी हुने गरेको बिषय नौलो होईन । कसैलाई कुनै बिशेष खानाको एलर्जी हुने गर्दछ भने कसैलाई धुलो धुँवा रुख बिरुवा फुल लगायत बातावरणीय बस्तुको एलर्जी हुन्छ । तर लन्डन निवासी एक महिलालाई भने बर्तमान दैनिक जीवनकै अभिन्न अंग बनिसकेको वाईफाईको एलर्जी भएर बिरामी पर्ने गरेको खबर प्राप्त भएको छ । ७० बर्षीया रोसी ग्ल्याड वेलले आफुलाई वाईफाईको एलर्जी भएको आँफैले पत्ता लगाएपछि उनी अहिले चाँदी (सिल्भर) र तामा (कपर) को स्लिपिङ् ब्याग भित्र सुत्ने गरेकी छिन् । उनलाई वाईफाईबाट आउने ईलेक्ट्रो म्याग्नेटिक रेडिएसनले एलर्जी गराएर शरिर कमजोर भएको र सास फेर्न समेत गाह्रो भएको बताएकी छिन् । सोको असरले अनुहारमा सियोले घोचे जस्तो महसुस भएपछि उनले वाईफाईबाट आउने ईलेक्ट्रो  म्याग्नेटिक रेडिएसनबाट बच्नको लागि हजारौ पाउन्ड खर्च गरेर चाँदी र तामाको लेपन भएको स्लिपिङ् ब्याग खरिद गरेकी छिन् भने वाईफाई भए नभएको पत्ता लगाउने रेडिएसन डिटेक्टर समेत खरिद गरेकी छिन् ।  बेलायतस्थित द सनको अनुसार वाईफाईको भयका कारण बेलायतको दुर्गम गाउँमा बसोबास गर्दै आएकी उक्त महिलाले त्रास ब्यक्त गर्दै भनेकी छिन्; “बर्तमानमा आफुले ईलेक्ट्रो म्याग्नेटिक रे नभएको दुर्गम ठाउँमा बसोबास गर्ने मौका पाएपनि निकट भविष्यमा यो ठाउँमा पनि जडान हुन लागेको ५ जी नेटवर्कका कारण तनाबमा रहेको छु ।”

    रोसी कहिले काँही रेस्टुरेन्टमा खाना खान जाने गरेकी छिन । उनी रेस्टुरेन्टमा गएपछि आफ्नो साथमा भएको रेडिएसन डिटेक्टरले कुन चाँही सिटमा कम रेडिएसन छ त्यो जाँच गर्द्छिन अनि त्यही सिटमा बसेर खाना  खान्छिन् । रोसी स्पेनस्थित हिमाली क्षेत्र नजिकैको आफ्नो माइतीमा पनि धेरै समय बिताउँछिन, किनकि त्यहाँ वाईफाई छैन ।  आफ्नो माईती जाँदा रोसीले ३० घण्टाको पानी जहाजको यात्रा गर्नु पर्छ । आफ्नो पतिसँग ३० घण्टाको जहाज यात्रामा पनि रोसीले तामा र चाँदीको लेपन भएको स्लिपिङ् ब्याग भित्र बसेर यात्रा गर्ने गरेकी छिन् । यदि उनी लामो समयसम्म वाईफाई भएको ठाउँमा बसिन् भने आफ्नो घरमा आएर टिभि फोन सबै बन्द गरेर दुई दिनसम्म  स्लिपिङ् ब्याग भित्र बस्ने गर्दछिन् ।  

    द सनको अनुसार ६ बर्ष अगाडि रोसी बिरामी परेपछि उनले आफ्नै घरमा भएको वाईफाई १० मिनेट बन्द गरेपछि उनको शरीरमा देखिएको समस्या निको भएपछि उनले वाईफाईको एलर्जी भएको टुँगोमा पुगेकी थिईन । बैज्ञाननिकहरुका अनुसार संसारमा ४ प्रतिशत मानिस इलेक्ट्रो म्याग्नेटिक फिल्डबाट पिडित हुने गरेका छन् ।  

    श्रोत : द सन

  • नाडीमा बाँधेको एप्पल घडीले वासिङ्टनमा एक जनाको ज्यान यसरी बचायो

    नाडीमा बाँधेको एप्पल घडीले वासिङ्टनमा एक जनाको ज्यान यसरी बचायो

    दैनिक कृयाकलापको क्रममा मानिस एक्लै हिंडडुल गर्दा एकान्त ठाउँमा अकस्मात लडेर बेहोस भयो भने एम्बुलेन्स वा चिकित्सकलाई स्वयम् लडेको ब्यक्तीले खबर गर्न सक्ने त कुरै भएन । यस्तो अवस्थामा त्यो लडेको ब्यक्तीको मृत्‍यु समेत हुन सक्दछ वा घाईते  मानिसको ज्यानमा जोखिम धेरै हुन पुग्दछ ।  अमेरिकाको वासिङ्टन राज्यमा बसोबास गर्दै आएका बब बर्डेट नामका एक ब्यक्तीले यस्तै परिस्थितीको सामना गर्नु पर्‍यो । उनी गत १५ तारिख अाईतबार एक्लै साईकल चढेर गईरहेका थिए । बाटोमा अकस्मात साईकल ठोक्किन पुग्दा उनी साईकलबाट लडे ।  उनको टाउको सडक किनारामा ठोक्किन पुग्यो र तत्काल बेहोस् पनि भए । लडेर घाईते भएका उनलाई  उपचारको लागि अस्पतालसम्म पुर्याउनका लागि खबर गर्ने वरिपरि कोही मान्छे थिएन तर उनले हातमा बाँधेको एपल कम्पनीको एपल घडीले उनी लडेको थाहा पायो र प्रहरी हण्टिङ लाईन ९११ मा तत्काल स्वचालित रुपमा फोन गर्‍यो ।  ९११ मा फोन आएपछि फोन गर्ने मानिसबाट प्रतिउत्तर नआए पनि लोकेसनमा प्रहरी र एम्बुलेन्स तत्कालनै पुगेका थिए ।  बबले हातमा बाँधेको एपल घडीले प्रहरी बोलाउने काम मात्र गरेन उसले उनको छोरा  गेब बर्डेटलाई समेत                            स्वचालित टेक्स्ट मेसेज पठाई दियो । घाइते  बबको छोरा गेब बर्डेट आफ्नो बाबुसंगै  पार्कमा माउनटेन बाईकिङ जानको लागि कतै बसेर बाटोमा आउँदै गरेका आफ्नो बाउलाई कुर्दै थिए । अकस्मात बाबुको फोनबाट लोकेसन सहित “हार्ड फल डिटेक्टेड” मतलब लडेको पत्ता लाग्यो भनेर टेक्स्ट मेसेज आयो र गेब कुदेर उक्त लोकेसनमा पुगे तर उनको बाबु बब त्यहाँ थिएनन् । त्यहाँ पुग्ने बित्तिकै छोरा गेबलाई पुनः बाबुको नम्बरबाट अर्को टेक्स्ट आयो जसमा लेखिएको थियो; लोकेसन चेन्ज्ड अनी साथमा एस एच् एम सि अस्पतालको लोकेसन समेत एप्पल वाचले पठाएको थियो । त्यस पछि छोरा गेब अस्पताल पुगेर आफ्नो बाबुलाई भेटेका थिए ।  

    गेबले गत शुक्रबार आफ्नो फेसबुकमा लेखेको अचम्म लाग्दो घटना अहिले सामाजिक संजालमा भाईरल भई रहेको छ ।  गेबले लेखेका छन् उक्त दिन २ घण्टा जती मेरो बाबुलाई अस्पातलमा राखेर एक्स रे सिटी स्क्यान गरियो । मेरो पिताको स्वास्थ  अवस्था सामान्य छ । यदि कसैले एप्पल वाच लगाएको छ भने “हार्ड फल डिटेक्सन सेट अप” गर्न नभुल्नु होला ।  

    श्रोत : न्युयोर्क पोष्ट