Category: बिचार

  • एमाले नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन

    एमाले नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन

    १८ असार, काठमाडौं । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका छन् । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बागमती प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसहितको बैठकलाई आज ‘भर्चुअल’ रुपमा सम्बोधन गर्दै उनले अहिले नेतृत्वको विषयमा छलफल नगरी विधि र विधानका बारेमा बहस गर्न आग्रह गरे । “राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ” महासचिव पोखरेलले भने, एमालेले यही आगामी भदौ २०–२२ गतेसम्म दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।

    उनले विधान महाधिवेशनको मिति तय भइसकेको अवस्थामा सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन आग्रह गरे । महासचिव पोखरेलले राजनीतिक र साङ्गठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधैँ बिधान महाधिवेशनमा प्रस्तुत हुने र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइने बताए । बैठकमा बागमती प्रदेशका जिल्ला अध्यक्षहरुले सदस्यता नवीकरण, नयाँ सदस्यता, टोल कमिटी गठन, पार्टीका अन्य गतिविधिका बारेमा ‘रिपोर्टिङ्ग’ गरेका थिए । सो अवसरमा एमाले सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी, बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराई र अध्यक्ष कैलाश ढुङ्गेललगायत सहभागी थिए ।

  • नेवानिका लागि पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गर्न प्रक्रिया अघि बढेको छ : पर्यटन मन्त्री

    नेवानिका लागि पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गर्न प्रक्रिया अघि बढेको छ : पर्यटन मन्त्री

    १७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषय प्राथमिकताका साथ अघि बढेको जानकारी दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सभा सदस्यहरूको जिज्ञासाको जवाफ दिँदै उनले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यावसायिक संस्थामा रूपान्तरण गर्न व्यवस्थापन सुधारको कामसमेत प्राथमिकताका साथ अघि बढेको समेत बताए ।

    “नेपाल एयरलाइन्समा अन्तरराष्ट्रिय तथा आन्तरिक उडानका लागि अन्तरराष्ट्रिय लिज तथा प्रदेशसँगको सहकार्यमा पारदर्शी र खुला प्रक्रियाद्वारा जहाजहरू थप गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ”, मन्त्री पाण्डेले भने । मन्त्री पाण्डेले देशभरका विभिन्न विमानस्थलको अवस्थाबारे सभालाई जानकारी दिए । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्रमशः अन्तरराष्ट्रिय उडानको सङ्ख्या वृद्धि भइरहेको र आन्तरिक उडान सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको उनको भनाइ थियो ।

    “दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नति तथा विकासका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अध्ययन तथा पूर्वतयारी भइरहेको छ”, मन्त्री पाण्डले भने, “निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण तथा सञ्चालन ढाँचा स्पष्ट गरी कार्य अघि बढाइने छ ।”

    सुर्खेत विमानस्थलको स्तरोन्नति तथा विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अध्ययन तथा पूर्वतयारी भइरहेको उनले जानकारी दिए । त्यसका लागि प्राधिकरणमार्फत आवश्यक बजेट परिचालन भई कार्य अघि बढ्नेसमेत मन्त्री पाण्डले बताए । यसैगरी उनले सबै धर्मावलम्बीका आस्थाका प्रतीकको संरक्षण र सम्भारमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । बृहत्तर लुम्बिनी गुरुयोजनाअनुरूपका कार्यहरू सम्पन्न गर्न मन्त्रालय र कोषको सहकार्यमा कार्य भइरहेको मन्त्री पाण्डले जानकारी दिए ।


    सगरमाथा हेरिटेज ट्रेलमा बजेट विनियोजन भई निरन्तर कार्य भइरहेको जानकारी दिँदै उनले दोलखा पदमार्ग, मन्दिर तथा गुम्बाहरूको संरक्षणलगायत पूर्वाधारमा बजेट विनियोजन भएको उनले जानकारी गराए । पर्यटकीय गन्तव्यलाई गुणस्तरीय र आकर्षक बनाउन रु तीन करोडमाथिका योजनालाई प्राथमिकता दिई कार्यान्वनयनमा लगिनेसमेत मन्त्री पाण्डेको भनाइ थियो ।

    कैलालीको गौरीफन्टालगायत सबै नाकाबाट आउने पर्यटकीय सेवाका सवारीसाधनलाई सहज आगमनको व्यवस्था मिलाउन गृह मन्त्रालय र अर्थ मन्त्रालयलगायत निकायसँगको समन्वयमा काम भइरहेको उहाँले सभालाई जानकारी दिए ।

  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री

    १७ असार, सेभिया । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिएको राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाहसम्बन्धी उच्चस्तरीय साइड इभेन्टमा सहभागी भएका छन् ।

    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सरसफाइ आधारभूत मानव अधिकारको विषय भएकाले यसलाई विकासको लक्ष्य मात्र नभइ मानवीय सम्मान र सभ्यतासँग जोडेर हेर्न आह्वान गरे । विश्वका अबौँ मानिस खानेपानी र सरसफाइको अभावमा जनस्वास्थ्यका समस्या भोगिरहेको उल्लेख गर्दै उनले साझा प्रयासबाट यसको समाधान गर्न सकिने बताए ।

    “विश्वलाई स्वच्छ खानेपानी र सरसफाइपूर्ण बनाउन सकिन्छ । यसका लागि नेपाल पूर्ण प्रतिबद्ध छ । हामीले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँचलाई संविधानको मौलिक हकका राखेका छौँ । यो हकको कार्यान्वयन चुनौतीपूर्ण भए पनि समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ हामीले यसलाई प्रमुख प्राथमिकतामा साथ पूरा गर्ने छौँ ।”, उनले भने ।

    प्रधानमन्त्री ओलीले नेपालको अनुभवका आधारमा पानी र सरसफाइ अभियान (वास) लाई राष्ट्रिय सफलताको विषय बनाउने बलियो आधार तय भएको पनि उल्लेख गरे ।

  • निजामती विधेयकमा छेडखानी, कांग्रेस नेता कोइरालाको आक्रोस

    निजामती विधेयकमा छेडखानी, कांग्रेस नेता कोइरालाको आक्रोस

    १७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान भएको उल्लेख गरे ।


    यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान आग्रह गर्दै नेता कोइरालाले कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढाउन नहुने बताए ।

  • अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्ः प्रम ओली

    अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्ः प्रम ओली

    १६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेका बताएका छन् । स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनलेआफूहरू नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट पार्दै यसबाट सबै देशहरूले लाभ प्राप्त गर्नसक्ने उल्लेख गरे ।

    अतिकम विकसित देशहरूको समूहको अध्यक्षको हैसियतमा सम्बोधन गर्दै उहाँले एक दशकअघि ‘अदिस अबाबा’मा विश्वले अतिकम विकसित देशहरूप्रति ऐक्यबद्धता जनाउने वाचा गरेको उल्लेख गर्नुभयो । उक्त प्रतिबद्धता सन् २०३० को कार्यसूचीमा पनि प्रतिविम्बित भएको जनाउँदै उनले भने, “हामीले कसैलाई पनि पछाडि नछोड्ने वाचा गर्‍यौँ र सबैभन्दा पछाडि परेकालाई पहिले माथि उठाउने प्रतिबद्धता जनायौँ । दश वर्षपछि विश्वले प्रगति गरिरहेको छ ।”

    यस अवधिमा विश्वको कूल गार्हस्थ्य उत्पादन बढेर लगभग ७५ ट्रिलियनबाट ११५ ट्रिलियन पुगेको जनाउँदै प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरूबीच र राष्ट्रभित्रै असमानता बढिरहेको उल्लेख गरे । जुन समयमा ऐक्यबद्धताको सबैभन्दा बढी आवश्यकता छ, त्यहीबेला आधिकारिक विकास सहायता (ओडिए) घटिरहेको उल्लेख गरे ।


    उनले ऋणले दक्षिणी गोलार्ध निसास्सिएको र विशेषगरी अतिकम विकसित देशहरूको ऋण पछिल्लो दशकमा तीनगुणाले बढेको जानकारी गराए । प्रधानमन्त्री ओलीले भने, “व्यापार खण्डित छ । वृद्धि असमान छ । लगानी कमजोर छ र गरिबी यथावत छ । विकसित देशमा प्रविधि र नवप्रवर्तनले तीव्र गतिमा फड्को मारिरहेको छ । तर अतिकम विकसित देशहरूले भने गहिरो प्राविधिक र डिजिटल खाडलको सामना गरिरहेका छन् ।” यसले उनीहरूको आर्थिक र सामाजिक प्रगतिमा गम्भीर बाधा पुर्‍याएको उनले बताए ।


    प्रधानमन्त्री ओलीले कमजोर र अपर्याप्त पूर्वाधारले अतिकम विकसित मुलुकको सम्भावनालाई निरन्तर बाधा पुर्‍याइरहेको बताउँदै विश्वव्यापी विकास मञ्चमा, अतिकम विकसित देशहरू सीमान्तकृत हुनुका साथै आवाज उचित रूपमा सुनुवाइ नभएको उल्लेख गरे । “जलवायु परिवर्तनले अतिकम विकसित देशहरूलाई सबैभन्दा बढी असर गरिरहेको छ, यद्यपि उनीहरूले एक प्रतिशतभन्दा कम हरितगृह ग्यास उत्सर्जन गर्छन् । ‘अदिस अबाबा’पछि केबल चार वटा अतिकम विकसित देशहरू मात्र स्तरोन्नति भएका छन्”, उनले भने ।


    बहुआयामिक चुनौतीहरूको बाबजुद अतिकम विकसित देशहरू आफ्ना जनताको शक्ति र सिर्जनशीलताका साथै विकास साझेदारहरूको सहयोग र ऐक्यबद्धताबाट चुनौतीहरूलाई पार गर्न दृढ रहेको उनको भनाइ छ । यो कुरा स्तरोन्नतितर्फ अघि बढिरहेका १४ वटा अतिकम विकसित देशहरूले पनि देखाएका उहाँले जानकारी दिए । यस पृष्ठभूमिमा, आज पारित गरेको ‘सेभिया प्रतिबद्धता’ले सबैलाई मार्ग परिवर्तन गर्ने अवसर दिएको उनले बताए ।


    यसले सन् २०३० को दिगो विकास कार्यसूचीको कार्यान्वयनका लागि एक नवीकृत विश्वव्यापी वित्तीय ढाँचाको वाचा गरेको उल्लेख गर्दै विकासशील देशहरू, विशेषगरी अतिकम विकसित देशहरू, यसको पूर्ण कार्यान्वयनका लागि सद्भाव र उच्च भावनाका साथ दृढतापूर्वक आग्रह गर्दछन्, प्रधानमन्त्री ओलीले भने ।
    उनले विश्वव्यापी आर्थिक तथा वित्तीय प्रणालीमा न्याय र निष्पक्षताको माग गर्दै आफूहरू विश्वव्यापी वित्तीय संरचनाको सुधारका पक्षमा रहेको बताए । “हामी हाम्रा विकास साझेदारहरूलाई विकासशील देशहरूका लागि शून्य दशमलव सात प्रतिशत ओडिए प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछौँ र अतिकम विकसित देशहरूका लागि शून्य दशमलव दुई प्रतिशतको लक्ष्य पूरा गरी सोभन्दा माथि जान अनुरोध गर्दछौँ”, प्रधानमन्त्री ओलीले भने ।


    उनले आफूहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेको बताउँदै नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट पार्नुभयो । साथै उहाँले यसमा सबै देशहरूले लाभ प्राप्त गर्नसक्ने उल्लेख गरे । “हामी यस्तो जीवन्त निजी क्षेत्रको पक्षमा छौँ जसले विश्वको उत्तरी र दक्षिणी गोलार्धलाई मूल्य शृङ्खलामार्फत जोड्दै सबैका लागि साझा समृद्धि ल्याओस् । हामी संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा करसम्बन्धी महासन्धिको पक्षमा छौँ । हामी पर्याप्त जलवायु वित्तको माग गर्दछौँ जुन सहुलियतपूर्ण, अनुमानयोग्य र पहुँचयोग्य होस्”, प्रधानमन्त्री ओलीले भने, “सेभिया प्रतिबद्धता सबै अति कम विकसित देशहरूको विकास र प्रगतिका लागि एक महत्त्वपूर्ण उत्प्रेरक बन्नुपर्छ । यसले सहज, अपरिवर्तनीय र दिगो स्तरोन्नति पनि सुनिश्चित गर्नुपर्छ ।”

    सो अवसरमा उहाँले नेपाल सन् २०२६ मा अतिकम विकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको अवगत गराउँदै हाम्रो सङ्कल्प दृढ भए पनि हाम्रा विकास आकाङ्क्षा साकार पार्न विकाश साझेदारबाट बलियो सहयोगको आवश्यकता औँल्याए । “नेपाल ‘सेभिया प्रतिबद्धता’ को सहसहजकर्ताका रूपमा नर्वे, जाम्बिया र मेक्सिकोसँगै काम गर्न पाएकामा गर्व गर्दछ । हामी सबै सदस्य राष्ट्रहरूलाई उहाँहरूको विश्वासका लागि धन्यवाद दिन्छौँ”, उनले भने ।

    प्रधानमन्त्री ओलीले निराशालाई जित्न र आशालाई पुर्नजागृत गर्न ‘सेभिया कार्यसूची’लाई तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै यसले सबैको आवाजलाई सम्मान गर्ने एक निष्पक्ष विश्वव्यापी शासन प्रणालीको स्थापना हुने बताए। उनलेयसबाट ऐक्यबद्धतामा आधारित साझेदारी, जनता र पृथ्वीमा विवेकपूर्ण लगानी तथा कुनै पनि देश पछाडि नछुट्ने एक उत्कृष्ट संसारको आशा जाग्ने उल्लेख गरे ।

  • विद्या भण्डारीलाई अगाडी राखेर ओलीले भने : नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छ

    विद्या भण्डारीलाई अगाडी राखेर ओलीले भने : नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छ


    १४ असार, काठमाडौँ, १४ असारः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउने नसक्ने बताएका छन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित जबजका तीन दशक कार्यक्रममा उहाँले एमाले टुक्रयाउने सपना नदेख्न चेतावनी दिए । अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले धुलो पार्न सकिने शक्ति होइन ।” उनले एमाले एक रहेको र एक रहने उल्लेख गरे ।
    प्रधानमन्त्री ओलीले एमालेले सुरु गरेको मिसन–८४ सफल पार्न आग्रह गर्दै नेकपा (एमाले) माक्र्सवादी चिन्तन र बहुदलीय जनवादलाई आत्मसात् गरेकाले निकै बलियो रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले राष्ट्रिय राजनीतिमा पु¥याएको योगदान र गर्नुभएको दिशानिर्देश नेपालको राजनीतिक विकासक्रमको इतिहासमा एउटा विशेष कालखण्ड भएको बताए । “जतिबेला विश्वमा वामपन्थी र समाजवादी आन्दोलनमाथि भयानक सङ्कट पैदा भएको थियो, त्यसबेला मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले)ले नयाँ विचार अगाडि सारेको थियो”, उनले भने, “तत्कालनि परिस्थिति कसरी सामना गर्ने भन्ने अवस्थामा मदन भण्डारीले सोचबुझका साथ समयानुकूल ढङ्गले पार्टीलाई अगाडि बढ्नुभएको थियो ।” आफूहरुले पछिल्ला तीन दशकमा जबजका सिद्धान्त अगाडि बढाउँदै कार्यान्वयन गर्दै आएकोसमेत उल्लेख गरे ।
    मदन भण्डारीले आफूलाई समयानुकूल ढङ्गले अगाडि बढाउँदै जनताको बहुदलीय जनवाद (जबज)को विचार निर्माण गर्नुभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आज पनि नेपाल सोही विचारलाई मियो मानेर अगाडि बढेको बताए । आफूहरुले एमालेको पाँचौँ महाधिवेशनमा जबज सूत्रीकृत गरे पनि यसका सम्पूर्ण आधार भने चौथो महाधिवेशमै बनाएको उल्लेख गरे । “एमालेको चौथो महाधिवेशनले नेपालको राजनीतिक आन्दोलनमा दुई वटा असाधारण योगदान पु¥याएको थियो, ती जबजको बाटो आत्मसात् र मदन भण्डारीलाई महासचिव बनाउने निर्णय थिएँ”, उनले भने ।
    प्रधानमन्त्री ओलीले एमालेको चौथो महाधिवेशनले लिएको नीतिले पञ्चायती व्यवस्था ढालेकोसमेत उल्लेख गरे “चौथो महाधिवेशनले लिएको नीतिले वाममोर्चा निर्माण भयो, नेपाली कांग्रेससँग सहकार्यको नीति अगाडि सघन वार्ता भयो, फलस्वरुप संयुक्त आन्दोलन भई छ महिनामा पञ्चायती व्यवस्था ढल्यो, निरंकुश राजतन्त्र संवैधानिक भयो”, उनले भने । कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू आज स्पेनको औपचारिक भ्रमणमा जान लागेको उल्लेख गर्दै त्यहाँबाट फर्किएपछि हुम्ला सदरमुकाम सिमकोट जोड्ने सडक सञ्जाल उद्घाटन गर्ने बताए । “कर्णालीमा पुल बनेको छ, म स्पेनबाट फर्किएपछि पुल उद्घाटन हुन्छ, त्यसपछि हुम्लाको सदरमुकाम मोटर चढेर जान सकिन्छ, अब नेपालका कुनै पनि सदरमुकाम दुर्गम रहँदैनन्, यो पनि जबजको सफलता हो”, उनले भने ।
    उहाँले महाकाली सन्धी पक्षमा अहिले पनि एमाले रहेको उल्लेख गर्दै सम्झौता कार्यान्वयन गरिने बताए । “यो सम्झौता कार्यान्वयन गर्नुपर्नेछ, सोही सम्झौताअनुसार हामीले बिजुलीको पैसा र पानी लिएका छौँ, अब पनि दोधारा–चाँदनीबाट थप पानी ल्याउनेछौँ”, उनले भने ।

  • एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

    एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

    १४ असार, काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले एसइईमा ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलताको अर्को दिन आउने बताए । प्रधानमन्त्री ओलीले एसइई परीक्षाको नतिजा सुधार गर्न आफूले गरेको मेहिनतले काम लागेको बताए । “यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ ।

    गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनुपरेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहिनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन आउने छ । सबै भाइबहिनीहरूलाई बधाई ” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् प्रधानमन्त्री ओलीले विद्यार्थी नानीबाबुको मेहिनत सफल भएको र अब भविष्य निर्माणको अर्को यात्रा सुरू गर्न आग्रह गरेका छन् ।

  • ट्रम्पको दाबी : इरान र इजरायलबीच युद्धविराम भयो

    ट्रम्पको दाबी : इरान र इजरायलबीच युद्धविराम भयो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरेल र इरान सिङ्गो र पूर्ण युद्धविरामका निम्ति सहमत भएको दाबी गरेका छन्। उनले अबको केही घण्टामा त्यस्तो युद्धविराम कार्यान्वयनमा जाने पनि बताए । इरान र इजरेलको तर्फबाट उनको त्यस्तो घोषणाको पुष्टि हुन बाँकी नै छ।

    डोनाल्ड ट्रम्पले युद्धविराम सहमतिको बारेमा घोषणा गर्दै दुवै देशले आफ्ना सैन्य कारबाहीहरूलाई अन्त्य गर्नेू काम थालेपछि अबको लगभग छ घण्टापछि त्यो लागु हुने बताएका थिए। ट्रम्पको घोषणामा सैन्य गतिविधिहरूका बारेमा समयबद्ध विवरणहरू भएता पनि त्यसमा युद्ध औपचारिक रूपमा अन्त्य हुने कुरा समावेश छ।

    अमेरिकी राष्ट्रपतिले इजरेल इरान द्वन्द्वलाई १२ दिनको युद्धू पनि भने। उनले आफ्नो सन्देशमा यो युद्ध वर्षौँसम्म चल्न सक्ने र सम्पूर्ण मध्यपूर्वलाई ध्वस्त पार्न सक्ने खालको भएपनि त्यसो नभएको र अब कहिल्यै त्यस्तो नहुने दाबी पनि गरेका छन्।
    बीबीसीका संवाददाता बर्न्ड डेबुस्मन जूनिअर ह्वाइटहाउसबाट पठाइएको उनको समाचार विवरणमा भन्छन् कि ट्रम्पको युद्धविराम घोषणका बारेमा इजरेल र इरानको प्रतिक्रिया थाहा पाउनै बाँकी छ। फेरि उनको यो घोषणपछि लडाइँ रोकिन्छ वा युद्धविराम लागु भएमा त्यो कायमै रहन्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन।

    अमेरिकी सञ्चारमाध्यमहरूले नाम उल्लेख नगरिएका सरकारी अधिकारीहरूलाई उल्लेख गर्दै कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले युद्धविरामका निम्ति भूमिका खेलेको जनाएका छन्। तर ट्रम्पले गरेको युद्धविरामसम्बन्धी घोषणाप्रति इरानबाट औपचारिक प्रतिक्रिया आइनसकेको बीबीसी पर्सिअन सेवाकी पत्रकार घोनशेह हबिबिआजादले बताएकी छन्।

    इरानको सरकारी लगायतका सञ्चारमाध्यमहरूले त्यसलाई ट्रम्पको दाबी मात्रै भनेर जनाएका छन्, जुन हालका निम्ति घटनालाई सावधानीपूर्वक लिइएको सङ्केत हो। यसैबीच इजरेली सेना आईडीएफले तेहरानका विभिन्न जिल्लालाई लक्ष्यित गर्दै त्यहाँ हमला हुन सक्ने भनी मानिसहरूलाई अन्यत्र जान तीनवटा सूचनाहरू जारी गरेको छ। देशका विभिन्न भागमा विस्फोटका आवाज सुनिएको विवरण प्राप्त भएको छ।
    बीबीसीबाट

  • द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री

    द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री

    ९ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गतको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले भनिन्, “मन्त्रालयले जुन १५ मा विस्तृत सम्पर्क विवरणसहितको यात्रासम्बन्धी जानकारी जारी गरी हाल इजरायल तथा इरानमा रहेका नेपालीलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन अनुरोध गरिएको छ ।”

    मन्त्री डा राणाले सम्बन्धमा समृद्ध मुलुकमा रहेका नेपाली राजदूतहरूलाई नेपाली नागरिकको सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिइएको बताइन् । यही जुन १७ तारिखमा ‘अनलाइन पोर्टल’ खोलेर नेपालीहरूको विवरण लिन सुरू गरिएको उल्लेख गर्दै उनले उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गर्नुभएको र विवरण दर्ता गर्ने क्रम बढ्दै गएको जानकारी गराइन् ।


    मन्त्री डा राणाले भनिन्, “यही जुन १८ तारिखमा ती मुलुकहरूमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई अनलाइन भिषा उपलब्ध गराउनेलगायता काममा सहजीकरण गरिदिनका लागि खाडीस्थित सबै नेपाली नियोगहरूलाई निर्देशन दिइएको छ ।” यस सन्दर्भमा जोर्डन सरकारले १९ जुन २०२५ मा एक नोट लेखी इजरायलबाट आफ्नो सीमामा आउने विदेशी नागरिकहरूलाई आवश्यक सहयोग गर्ने व्यहोरा उल्लेख गरेको उनले बताइन् । साथै आएएलओ र आएओएमसँग पनि यस विषयमा सहजीकरणका लागि नेपाली राजदूतावासद्वारा पत्राचार भएको उनले बताइन् ।


    मन्त्री डा राणाले इरानमा रहेका १६ जना नेपालीलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकामा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरू भएको जानकारी गराइन् । बाँकी पाँचजना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन मन्त्रालयले नेपाली राजदूतावास, दोहामार्फत पहल गरिरहेको जनाएको छ । साथै उनले सरोकारवाला निकायहरूसँग समन्वय एवं द्रूत सुनुवाइ समूहको गठनमार्फत इजरायल र इरानबाट शीघ्र उद्धार तथा स्वदेश फिर्तीको पहल भइरहेको बताइन् ।


    मन्त्री डा राणाले विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले सुरूदेखि नै उच्च तहमा द्विपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहललाई निरन्तरता दिइआएको बताइन् । यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमार्फत अपिल गर्नुभएको थियो । त्यस्तै, सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई अनुरोध गर्दै पत्र लेखेका थिए । मन्त्री डा राणाले कतार र संयुक्त अरब इमिरेटसका परराष्ट्र राज्यमन्त्रीहरू तथा इजिप्ट, टर्की र इरानका परराष्ट्रमन्त्रीहरूलाई पत्र लेखी अनुरोध गरेकी थिइन् ।

    त्यस्तै, ओमानमा आयोजित इन्डियन ओसन कन्फरेन्समा कतार र संयुक्त अरब इमिरेटसका परराष्ट्र राज्यमन्त्री र इरानका समकक्षीसँग भेटघाट गरी अनुरोध गरेको उनले जानकारी गराइन् । मन्त्री डा राणाले सीमासम्बन्धी समस्याका सन्दर्भमा द्विपक्षीय उच्चस्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानका पहल जारी रहेको र सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय हुँदै आएको बताइन् ।

    उनले भनिन्, “भारतमा बन्दी अवस्थामा रहेका नेपालीको उद्धार सम्बन्धमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ सामाजिक संस्थाको सहयोगमा हालसम्म ३६ जना नेपालीको उद्धार गरिएको छ । उक्त घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको र सम्भावित थप नेपालीहरूको खोजी कार्य जारी रहेको छ ।”

  • इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने : ट्रम्प

    इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने : ट्रम्प

    ८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेका छन् । “हामी इरानसँग कुरा गर्नेछौं र के गर्ने भनेर निर्णय लिनेछौँ”, ट्रम्पले भने, “इरानका बारेमा अमेरिकाले के गर्ने भन्ने निर्णय अहिले नै गर्न सकिँदैन।”

    ट्रम्पले गत जुन १३ देखि इरानविरुद्ध इजरायलले सुरु गरेको कारबाहीमा आफ्नो देशको सहभागिताबारे दुई हप्ताभित्र निर्णय गर्ने घोषणा गरेका हुन् । उनले भने, “इरान युरोपसँग होइन, संयुक्त राज्य अमेरिकासँग कुरा गर्न चाहन्छ, तेहरानले आणविक हतियार राख्ने वा नराख्ने भन्ने निर्णय लिन थप केही समय (दुई हप्ता) को समय पाउनेछ ।”

    इजरायलले इरानमाथिको हवाई आक्रमण रोक्नुपर्ने मागलाई अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले परिस्थितिले अनुमति दिएमा इरान र इजरायलबीच युद्धविरामको समर्थन गर्न सक्ने स्पष्ट पार्दै भने, “इरानीहरू होशमा आउँछन् कि आउँदैनन् भनेर हेर्नका लागि दुई हप्ता उपयुक्त समय हो।” (

  • देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री

    देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री

    ६ असार, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित फ्लाई ओभरको उद्घाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे । काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा निर्मित ग्वार्को फ्लाई ओभरको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण गरेको हो ।

    इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्मित् उक्त फ्लाई ओभर नेपालको पहिलो हो । कुल पाँच सय मिटर ‘अप्रोच’ सडक रहेको यसमा ३५ मिटर स्पानको चार लेन पुल निर्माण भएको छ । ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।

    “हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीनवटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खननको सुरुआत गरेका थियौँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमा फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने छ”, प्रधानमन्त्री ओलीले भने, “यसरी विकास हुँदा विदेश जाने मुद्रा स्वदेशमा रहन्छ । ठूलो आर्थिक लाभसहित रोजगारी सृजना हुन्छ । अरु खनिजको उत्खनन, कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ ।”

    सुनकोशी–मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची–महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले पूर्वाधार विकासका क्षेत्रमा गति लिँदै गएको बताए । उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गलगायत अन्य आयोजनाले पनि गति लिइरहेका उल्लेख गरे ।

  • इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी

    इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी

    एजेन्सी
    ५ असार, काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुसार इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन् । ट्रम्पले संयुक्त राज्य अमेरिकाले खामेनीको कहाँ लुलेका छन् भन्ने अमेरिकालाई थाहा भएको र चाहेमा उनको हत्या गर्न सक्ने दावी गर्दै इरानले तत्काल ‘बिनाशर्त आत्मसमर्पण’ गर्नुपर्ने बताएको केही घण्टापछि इरानी सवोच्च नेता खामेनीको उक्त प्रतिक्रिया आएको हो । इजरायलले शुक्रबार ठूलो बम बारी अभियान चलाएपछि इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत जवाफी कारबाही सुरु गरेको थियो ।

    “यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्नेछैन, खामेनीले सरकारी टेलिभिजनमा गरेको लिखित सम्बोधनमा ट्रम्पको अल्टिमेटमलाई ‘अस्वीकार्य’ शर्त भनेका छन् ।
    “कुनै पनि सैन्य हस्तक्षेपले अपूरणीय क्षति पुर्‍याउँछ भन्ने कुरा अमेरिकाले बुझ्नुपर्छ,” उनले भने । सन् १९८९ देखि सत्तामा रहेका र इरानका सबै राज्यका मामिलाका अन्तिम मध्यस्थ खामेनीले यसअघि नै इरानले इजरायली नेताहरूप्रति कुनै दया नदेखाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


    तेहरान नजिकै इरानको आणविक कार्यक्रमका लागि ‘सेन्ट्रिफ्युज कम्पोनेन्ट’ बनाउने दुई वटा भवनलाई इजरायली आक्रमणले ध्वस्त पारेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय आइएइएले पुष्टि गरेपछि खामेनीले इरान अमेरिकासँग नझुक्ने बताएका हुन् ।

  • ट्रम्प भन्छन् : इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको छु

    ट्रम्प भन्छन् : इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको छु

    एजेन्सी
    ५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा नयाँ झण्डाको पोल राखिएको अवलोकन गर्दै ट्रम्पले इरानसँग आफ्नो धैर्य ‘समाप्त भइसकेको’ र इस्लामिक गणतन्त्र इरानको ’निःशर्त आत्मसमर्पण’ का लागि आफ्नो आह्वान दोहोर्‍याए ।

    “इरानमा प्रत्यक्ष संलग्न हुने वा नहुने के गर्ने भन्ने बिषय केबल मलाइ मात्र थाहा छ अरू कसैलाई थाहा छैन र हुँदैन,” इरानमा अमेरिकी हवाई आक्रमण गर्ने कि नगर्ने भन्नेबारे सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने । उनले भने, “म तपाईंलाई यो भन्न सक्छु, इरानले धेरै पिडा भोगिसकेको छ र उनीहरू वार्ता गर्न चाहन्छन्।”

    ट्रम्पले इरानले इजरायलको हवाई आक्रमण अन्त्यका लागि तेहरानको आणविक कार्यक्रमबारे वार्ता गर्न ह्वाइट हाउसमा अधिकारी पठाउन सुझाव दिएको तर धेरै ढिला भइसकेको बताए । उनले भने, “मेरो विचारमा वार्ता गर्न धेरै ढिला भइसकेको छ । हामी छलफल गर्न सक्छौँ । अहिले र एक हप्ता अघिको बीचमा ठूलो भिन्नता छ । हैन ? ठूलो भिन्नता छ।” “उनीहरूले ह्वाइट हाउसमा आउने सुझाव दिएका छन्। तपाईंलाई थाहा छ यो साहसी कदम हुनेछ तर अहिले तिनीहरूलाई यसो गर्न सजिलो छैन।”

    मङ्गलबार सामाजिक सञ्जालमा इरानको ‘बिनाशर्त आत्मसमर्पण’ का लागि आग्रह गर्नुको अर्थ के हो भनी सोधिएको प्रश्नमा ट्रम्पले इरानसँग आफ्नो धैर्य समाप्त भएको बताए । “बिना शर्त आत्मसमर्पण उनीहरूका लागि धेरै सरल उपाय हो । यसको मतलब मैले उनीहरूलाई सहज तरिकाले वार्ताका लागि आग्रह गरेको हुँ । तर, अहिले म पर्खाइका लागि हार मानिसकेको छु अब हामी इरान जान्छौं र सबै ठाउँमा भएका आणविक सामग्रीहरू ध्वस्त पारिदिन्छौँं,” ट्रम्पले भने । वार्ताका लागि धेरै ढिला भएको हो कि भनेर सोधिएको प्रश्नमा उनले भने, “अझै केही गर्न सकिन्छ । बितिसकेको छैन। समयलाई बसमा लिन सकिन्छ।”

  • ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ

    ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ

    ३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कदम’ चाल्न आवश्यक रहेको निर्णय गर्न सक्ने उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताएका छन् । भान्सले एक्समा लेखेका छन्, “राष्ट्रपतिले हाम्रो सेनाको ध्यान हाम्रा सेनाको सुरक्षा र हाम्रा नागरिकको सुरक्षामा केन्द्रित गर्न उल्लेखनीय संयम देखाएका छन्, उनले इरानी युरेनियम संवद्र्धन अन्त्यका लागि थप कदम चाल्न आवश्यक रहेको निर्णय लिन ससक्छन् ।”

    यसैबीच, तेहरानबाट प्राप्त सूचना अनुसार इरान र इजरायलबीच लगातार पाँचौं दिन पनि हवाई आक्रमण भइरहँदा मङ्गलबार तेहरानमा ठूलो विस्फोटका आवाजहरू सुनिएका इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

    इजरायली आक्रमणका कारण इन्टरनेट सेवा अवरुद्ध भएको र यसले सूचना र समाचारको पहँचमा कठिनाई भइरहेको इरानी सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । “धेरै प्रान्तका इन्टरनेट प्रयोगकर्ताहरूले व्यापक रूपमा इन्टरनेट अवरुद्ध भएको रिपोर्ट गरिरहेका छन्,“ हाम मिहान पत्रिकाले समाचारमा उल्लेख गरेको छ । मङ्गलबार अन्य सञ्चारमाध्यमले पनि यस्तै समाचार सम्प्रेषण गरेका छन् ।

    के कारणले अवरोध भएको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन । इजरायलले शुक्रबार इरानी सेना र आणविक केन्द्रविरुद्ध अभूतपूर्व हवाई अभियान सुरु गरेसँगै इरानमा व्यापकरूपमा इन्टरनेट सेवा अवरूद्ध बनेको छ ।

  • विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

    विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

    २ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिए । विश्वविद्यालयका निमित्त उपकुुलपति प्रा डा खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरु रिहा गरिएकामा चिन्ता व्यक्त गरे ।

    असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको अवगत गराए । निमित्त उपकुुलपति केसीले कुलपति ओलीको पहलबाट आफूहरुलाई सुरक्षाको प्रत्याभूतिको आशा जागेको राससलाई जानकारी दिए । गत फागुन २१ गते कीर्तिपुरस्थित विश्वविद्यालयका शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय तथा प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा र गत जेठ १४ गते कीर्तिपुुरस्थित उपकुलपतिको कार्यालयमा तोडफोड भएको थियो ।

  • ’इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ’: ट्रम्प

    ’इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ’: ट्रम्प

    २ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि ‘खुला’ रहने बताएका छन् । एबीसी न्यूजका अनुसार रिपब्लिकन राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहेको बताउँर्दै एबिसी न्युजका वरिष्ठ राजनीतिक संवाददाता रचेल स्कटलाई दिएको अफ–क्यामेरा अन्तर्वार्तामा ट्रम्पले मध्यपूर्वका कट्टर शत्रुहरुबीच जारी लडाइँमा ‘हामी संलग्न हुन सक्छौं’ भने । उनले संयुक्त राज्य अमेरिका अहिले सैन्य कारबाहीमा संलग्न नभएको बताए ।


    अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “पुटिन द्वन्द्वमा सम्भावित मध्यस्थकर्ता हुनसक्नुहुन्छ र उहाँ तयार हुनुहुन्छ। उहाँले मलाई यसबारे फोन गर्नुभएको छ । यस विषयमा हामीले लामो छलफल गरेका छौँ ।” इरानको आणविक तथा सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले इजरायलले गरेको ठूलो आक्रमणपछि इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन भीषण हवाई आक्रमण भएको छ ।

    आणविक मामिलामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको ओमानले इरान र संयुक्त राज्य अमेरिकाबीच यसै साता हुने भनिएको छैटौँ चरणको वार्ता रद्द भएको जनाएको छ तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने दुवै पक्षले छलफल जारी राखेको बताए । तेहरानलाई वार्ताको टेबलमा आउनका लागि समयसीमा तोकिएको छ कि छैन भनेर सोधिएको प्रश्नमा उनले एबीसीसँग भने, “अहँ, वार्ताको कुनै समयसीमा तोकिएको छैन।”

    “उनीहरू छलफल गरिरहेका छन् र सम्झौता गर्न चाहन्छन्। कुराकानी जारी छ्,” स्कटले ट्रम्पलाई उद्धृत गर्दै भने । ट्रम्पले इजरायल र इरानबीचको द्वन्द्वले आणविक सम्झौताका लागि वार्तालाई गति दिन ‘आवश्यक’ रहेको बताए । ट्रम्पले भने, “यसले वास्तवमा सम्झौतालाई छिटो अघि बढाउन बाध्य पार्न सक्छ।”

  • माओवादी लचक भएपछि चल्यो संसद, गृहमन्त्रीले दिए यस्तो जवाफ

    माओवादी लचक भएपछि चल्यो संसद, गृहमन्त्रीले दिए यस्तो जवाफ

    ३० जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसदमा आफ्नोबारे उठेका प्रश्नको जवाफ दिएका छन् । संसदमा उनले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपको नाराबाजीका बीचमा बोलेका हुन् । राप्रपाले समेत संसद अवरोधमा साथ दियो । प्रमुख विपक्षी दल भने संसद खोल्न सहमत भएसँगै अन्य विपक्षी दलको अवरोधका वावजुत आज संसद चलेको हो ।

    संसदमा गृहमन्त्री लेखकले नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्न आफू हरदम कटिबद्ध रहेको बताए । उनले आफूले गर्ने काम कारबाहीसँग असम्बन्धित विषयलाई स्वार्थवस् उठाइएको कुप्रचार भन्दै खेद प्रकट गरे । उनले सो विषयमा आफ्नो संलग्नता नरहेको बताए । सेवा प्रवाहको प्रभावकारिताका लागि संस्थागत र भौतिक पूर्वाधार सुधार महत्त्वपूर्ण रहेको जनाउँदै गृहमन्त्री लेखकले आफूले जिम्मेवारी सम्हालेपश्चात अध्यागमन प्रणाली सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरिएको जिकिर गरे । “अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेस्क’ थप गरी सूचना प्रविधिको प्रयोग गरी ‘भिसा स्क्यानिङ’ गर्ने र सुरक्षा प्रबन्धलाई थप मजबुत बनाइएको छ”, उनले भने ।


    गृहमन्त्रीले विमानस्थल अध्यागमनसँग जोडिएको घटनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रारम्भ गरिसकेको उल्लेख गर्दै अनुसन्धानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “केके गर्दा राज्यमा सुशासन स्थापित हुन्छ, त्यसका लागि तयार छु भन्ने विषय पुनः दोहोर्याउन चाहन्छु”, उनले भने
    आयोगको अनुसन्धानबाट दोषी देखिएकालाई कानुनबमोजिम कारबाही हुने जनाउँदै मन्त्री लेखकले आयोगको निर्णयभन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतार नगर्न आग्रह गरे । स्वतन्त्र र सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकाले यसमा थप प्रष्टीकरण दिइरहनु नपर्ने उनको भनाइ छ ।

    मन्त्री लेखकले भने, “कुनै पनि राष्ट्रसेवकले गर्ने भ्रष्टाचारजन्य कामको अनुसन्धान, अभियोजनलगायत कार्य गर्न सक्षम संवैधानिक निकाय छ । उसले गर्ने कामकारबाहीलाई कमजोर पार्ने र स्वयं आयोगलाई समेत अनुसन्धानमा प्रभावित पार्ने कार्य कतैबाट गरिनुहुन्न भन्ने विषयमा म स्पष्ट छु ।” उनले सार्वजनिक निकाय एवं पदाधिकारी लक्षित गरी राज्यका संरचनालाई कमजोर तुल्याउने र व्यक्तिगत चरित्र तथा संस्थागत प्रतिष्ठालाई कमजोर पार्ने कार्यलाई पूर्ण रूपमा निरुत्साहित गर्न अनुरोध गरे ।


    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत सहसचिव आफ्नो पालामा अर्को मन्त्रालयबाट सरुवा गरी ल्याएको अधिकारी नभई गृह मन्त्रालयमै कार्यरत भएकाले जिम्मेवारी हेरफेरमात्र गरिएको बताए । गृहमन्त्रीले अनुसन्धानलाई कमजोर पार्न अख्तियारमा कार्यरत प्रहरी नायब महानिरीक्षक सरुवा गरेको भन्ने विषय सत्य नभएको दावि गरे । आफूले गृह प्रशासन सुधारको योजना अघि बढाइरहेको जानकारी दिँदै उनले पदभार सम्हालेदेखि सार्वजनिक प्रशासनको थप प्रभावकारिताको प्रयास गर्दै आएको बताए ।

    “मन्त्रालयको नेतृत्व वा विभागीय प्रमुखको हैसियतले गृहमन्त्री नीति निर्माण र सरकारको राजनीतिक संयोजनमा बढी केन्द्रित हुनुपर्छ, कानुनले तोकेको प्रशासनिक कार्यदेखि बाहेक अन्य कार्यमा मन्त्रीको संलग्नता रहँदैन”, गृहमन्त्री लेखकले प्रश्न गरे, “तसर्थ, यस्तो अवस्थामा कुनै कार्यालयमा घटित कुनै घटनासँग मन्त्रीको प्रत्यक्ष भूमिका वा संलग्नता कसरी हुन्छ ?”

  • अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

    अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

    २८ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका हुन् । प्राथमिकताका आधारमा कामको सहजीकरण गरेर शीघ्र सम्पन्न गर्ने वातावरण तयार पार्न अर्थमन्त्री पौडेलको निर्देशन थियो । परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै उहाँले निर्धारित लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्यसम्पादन गर्न पनि कर्मचारीलाई निर्देशन दिए ।


    अर्थमन्त्री पौडेलले व्यवहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरू निर्धारण गर्नुपर्नेमा जोड दिए । आगामी बजेट कार्यान्वयनमा जाँदा कानुनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले सबै मन्त्रालय र निकायसँगको परामर्शमा संशोधनको गृहकार्य गरिने बताए । बैठकमा अर्थसचिव घनश्याम उपाध्याय र राजस्वसचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत गरेर राजस्व सङ्कलन र पुँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूलाई आग्रह गरे ।

  • देउवा भन्छन् : सरकारले व्यापार होइन, नियमन गर्ने हो

    देउवा भन्छन् : सरकारले व्यापार होइन, नियमन गर्ने हो

    २७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताएका छन् । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आयोजना गरेको अन्तक्र्रियामा उनले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।


    सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई खुला छोड्नुपर्ने बताउँदै यसले चोरी तस्करी नियन्त्रण हुने धारणा व्यक्त गरे । फरक प्रसङ्गमा उहाँले नेपाल अहिले जलवायु परिवर्तनको असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको बताउँदै यस्तो प्रभावबाट जोगाउन नेपालको प्रयाससँगै विश्वको सहयोगको आवश्यकता औँल्याए । कार्यक्रममा पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेस र नेकपा (एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारको प्राथमिकतामा आर्थिक सुधार, सुशासन, लगानी अभिवृद्धि र संविधान संशोधनको विषय रहेको बताए ।


    उनले कांग्रेसले जनजिविकाका सवालमा छलफल तथा वकालत गर्नका लागि विभिन्न विभागमार्फत काम गरिरहेको जानकारी गराउँदै पुँजीवादी व्यवस्थामा व्यवसायीका हितका विषयका साथै उपभोक्ताको अधिकारको छनोट पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले आपूर्ति शङ्खलाका कुनै पनि चरणमा समस्या भएमा उपभोक्ता मारमा पर्ने बताउँदै त्यसको सम्बोधनका लागि सरकार लागिपरेको बताए ।

    साथै उनले बजारलाई नियमन र सहजीकरण गर्न सरकारसँग उपभोक्ताको पनि जिम्मेवारी हुने उल्लेख गरे । कृषि तथा पशुपन्छीमन्त्री एवं कांग्रेस नेता रामनाथ अधिकारीले मुलुकको ठूलो जनसङ्ख्या कृषिमा आधारित रहेको परिवेशमा सरकारले कृषिमा परिवर्तनका लागि बजेटमा सुधारका थुप्र्रै कार्यक्रम ल्याएको जानकारी गराउँदै आफ्नो मन्त्रालयले बजेट कार्यान्वयन ध्यान केन्द्रित गर्ने बताए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले राजनीतिक दलहरूले राजनीतिमात्र होइन जनजिविकाका सवालमा एकमतका साथ काम गरेमा मात्र मुलुक समृद्ध हुने बताए ।


    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रमेशजङ्ग रायमाझी, अलिन रुङ्गटा, दिनेश कोइराला, पार्टीको उपभोक्ता विभागका संयोजक एवं केन्द्रीय सदस्य गुरु बराल, पूर्वगभर्नर डा चिरञ्जीवी नेपाल, नेपाल सरकारका पूर्वसचिव केवल भण्डारीलगायतले बजेटले उपभोक्ता आपूर्ति शृङ्खलामा पार्ने प्रभाव र उपभोक्ताका हकहितका विषयमा आफ्ना धारणा व्यक्त गरे ।

  • मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी

    मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी

    एजेन्सी
    २४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताएका छन् । विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ । ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार ट्रम्पले मस्कसँग वार्ता गर्ने सोचलाई त्यागिसकेको बताएका छन् ।

    ट्रम्पले एयर फोर्स वानमा आफ्नो न्यूजर्सी गल्फ क्लबजाने क्रममा पत्रकारहरूसँग भने, “इमानदारीपूर्वक भन्नुपर्दा म चीन, रूस, इरानसँगको छलफलमा व्यस्त भएको छु । म एलन मस्कको बारेमा सोचिरहेको छैन । म उहाँको राम्रो कामको लागि कामना गर्दछु।” यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी प्रसारणकर्ताहरूसँग भनेका थिए, “अब म आफ्नो ‘ठूलो र उत्कृष्ट’ बिललाई कङ्ग्रेसबाट पारित गर्नमा ध्यान केन्द्रित गर्छु । यसबारे मस्कको कठोर आलोचनाले विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको टकरावलाई बढावा दिएको थियो।”

    रिपब्लिकन नेतासमेत रहनुभएका ७८ वर्षीय राष्ट्रपति ट्रम्पले निकट मित्रबाट शत्रु बनेका दक्षिण अफ्रिकी मूलका आफ्ना पूर्र्व सहयोगीलाई निशाना बनाउनबाट आफूलाई टाढा राख्न सकेका छैनन् । मस्कको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले एबीसीसँगको कुराकानीमा भने, “तपाईको मतलब ‘सोच्ने शक्ति गुमाएको मान्छे’, म मस्कसँग कुरा गर्न ‘खासै’ इच्छुक छैन।”

    ट्रम्पले पछि फक्स न्यूजसँग भने, मस्कले सोच्ने शक्ति गुमाएका छन् । ’ उनीहरुबीच विवाद चुलिएपछि तथाकथित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डिओजिई)’ मा चार महिना काम गरेपछि आफ्नो लागत कटौतीको भूमिकाबाट मस्कले एक साताअघि मात्र बिदा लिने निर्णय गरेका थिए । व्यापार तनावका समाचारहरू आइरहेका बेला उहाँहरूको सम्बन्ध जुन तीव्र गतिमा बिग्रियो, त्यसले वासिङ्टनलाई स्तब्ध बनाएको छ ।

    मस्कले गत मङ्गलबार ट्रम्पको खर्च विधेयकलाई ‘घृणित’ भनेपछि ट्रम्पले बिहीबार आफ्नो कार्यालय (ओभल अफिस) बाट एक टिप्पणीमार्फत् जवाफ दिँदै मस्कबाट आफू ‘धेरै निराश’ भएको बताए । ट्रम्पको खर्च विधेयकले कंग्रेसमार्फत कठिन मार्गको सामना गरिरहेको छ यसले अमेरिकी घाटा बढाउने र लाखौं गरिब अमेरिकीहरूको स्वास्थ्य सेवामा कटौती गर्ने आलोचकहरूले बताएका छन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेस एक्सका प्रमुखको अर्बौं डलरको रकेट र स्याटेलाइट सम्झौता रद्द गर्न सक्ने बताएका छन् । मस्कको सम्झौता कटौती गर्नेबारे कत्तिको गम्भीरतापूर्वक विचार गरिरहनुभएको छ भनी सोधिएको प्रश्नमा ट्रम्पले शुक्रबार राति यसबारे भने, “यो धेरै पैसा हो, यो धेरै अनुदान हो, त्यसैले हामीले एक नजर लगाउनेछौँ र यो देशको लागि उचित हुन्छ भने मात्र अघि बढाइनेछ।” सामाजिक सञ्जालमा शत्रुतालाई कम गर्ने प्रयास गर्दै नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष केन्द्रसम्म पु¥याउनका लागि आवश्यक पर्ने आफ्नो कम्पनीको ड्रागन अन्तरिक्ष यानलाई रद्द गर्ने चेतावनीलाई मस्कले शुक्रबार फिर्ता लिएका थिए ।

  • प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ

    प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ

    २४ जेठ, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिका(२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    “जीवन विकास सामुुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्था हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । संसारमा कमै मात्र यस्ता अस्पताल हुन्छन्,” प्रधानमन्त्री ओलीले भने, “दुई सय शय्याबाट तीन सय शय्यामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा होस् । सरकार आवश्यक सहयोग गर्न तयार छ ।”

    अस्पतालका अध्यक्ष एवं सङ्घीय सांसद योगेन्द्र मण्डलको सृजनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारी वृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिए । उनले अनुकूल प्रतिफल नहुने र तिर्न नसक्ने ऋण लिएर लगानी खेर फाल्नुभन्दा यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेतालाई पनि आग्रह गरे ।

  • बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति

    बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति

    २४ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व इद दल अज्हा (बकर इद) को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेकानेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरेका हुन् ।

    मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई इद उल अज्हाको नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।

    उनले भने, “विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आ–आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु ।” उनले इद उल अज्हा (बकर इद) को माध्यमबाट सबै नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

  • उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : गगन थापा

    उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : गगन थापा

    २३ जेठ, धरान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताएका छन् । धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम महाधिवेशनमा आज उहाँले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताए । उनले संविधान निर्माणको संवैधानिक प्रक्रियामा मात्र नभएर त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीमा कांग्रेस अग्रमोर्चामा उभिएको धारणा राखे ।

    राजनीति उक्सावट लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठ्न सक्ने भएकाले पार्टी शान्ति स्थिरता र संस्थागत सुधारका लागि जिम्मेवार भूमिका खेल्दै आएको बताए । उनले भने, “लोकतान्त्रिक मूल्य, बहस सहमतिदेखि नीति नै कांग्रेसको राजनीति आधार हो । राजनीतिमा भावना हुन्छ तर भावनालाई हामीले बेचेर राष्ट्र बन्दैन । परिवर्तनको प्रक्रिया शान्त र स्थायी र सवलीकरणको मार्गबाट अघि बढ्नुपर्छ ।”

    कांग्रेसले विवेकपूर्ण बहस र नीति निर्माणका कामलाई बलियो बनाउँदै अघि बढ्ने बताउँदै महामन्त्री थापाले राजनीतिमा लोकमत र भावनाभन्दा विचार नीति र पहुँचमुखी संवादलाई महत्त्व दिनु आजको आवश्यकता रहेको बताए । राष्ट्रवादको बहानामा कुनै पनि बहुकालीन व्यवस्थामा फर्किन नहुने धारणा राख्दै उहाँले नेपालको आर्थिक सामाजिक परिवर्तनमा प्रजातन्त्रले अतुलनीय योगदान दिएको बताए । उनले भने, “अहिले दुई दलको सरकार र राजनीतिलाई नै शक्तिशाली बनाउनु हाम्रो पहिलो आवश्यकता हो ।”

  • प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

    प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

    २२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले प्रकृतिमुखी जीवनशैली अवलम्बनमा जोड दिए ।

    “प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय दृष्टिले चुनौतीपूर्ण बन्दै गएको, विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणा बमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु”, राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन् ।

    ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्व वातावरण दिवस मनाइरहेको सन्दर्भमा आजको दिन हामी सबैले आ–आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवजन्तुबीच पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई देशको संविधानले दिएको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिन भएको उनले सन्देशमा उल्लेख गरेका छन् ।


    वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्ने तर्फ हामी सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा प्लाष्टिकको प्रयोगबाट हुने प्रदूषणलाई न्यूनीकरण गर्दै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई एकजुट भएर लाग्न राष्ट्रपतिले अनुरोध गरेका हुन् ।


    वातावरण संरक्षण तथा सम्वद्र्धनको गहन अभिभारामा संलग्न सरकारी तथा गैरसरकारी निकाय एवं विकास साझेदारलगायत सम्बद्ध सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको वातावरणीय असरलाई कम गर्न नेपालले विभिन्न राष्ट्रिय एवं अन्तरराष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयनका लागि आजको दिनले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

  • जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री

    २१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताए । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताए ।

    “आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ । आँसु सबैको उस्तै वेदनाले बग्छ । हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ”, प्रधानमन्त्री ओलीले भनेका छन् ।

  • पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री

    पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री

    म्याग्दी २० जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए ।

    “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,” प्रधानमन्त्री ओलीले भने, “अन्नपूूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ ।”

    प्रधानमन्त्री ओलीले म्याग्दी हुदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको बताए । कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागिपरेको बताए । पचहत्तर वर्षअघि फान्सका मौरिस हर्जोगको टोलीले अन्नपूूर्ण आरोहण गरेर नेपालको पर्वतारोहणको सम्भावनाको ढोका खोलिदिएको स्मरण गर्दै उनले पर्वतीय पर्यटनको विकासमा शेर्पा समुदायले गरेको योगदानको प्रशंसा गरे ।

    प्रधानमन्त्रीले भने, “मौरिसले लेखेको अन्नपूूर्ण पुस्तकले नेपाल र यहाँका हिमाललाई विश्वमा चिनाउन योगदान गरेको छ ।” सन् १९५० जुन ३ मा आरोही हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण आरोहण गरेका हुन् । हीरक महोत्सव समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजा उपस्थित थिए ।

  • राजावादी आन्दोलनमा प्रचण्ड–लिङ्देन जुहारी

    राजावादी आन्दोलनमा प्रचण्ड–लिङ्देन जुहारी

    काठमाडौं केन्द्रित राजावादीको आन्दोलनबारे माओवादी केन्दैका अध्यक्ष प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनबीच वाकयुद्ध चलेको छ । प्रचण्डले शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा राजावादी आन्दोलनमा भाडाका मान्छे आएको टिप्पणी गरेका थिए । उनले यो आन्दोलन धेरै दिन नटिक्ने समेत बताएका थिए ।

    जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले आफुले आन्दोलनमा भाडाका मान्छे ल्याउने गरेको प्रचण्डलाई स्मरण भएको प्रतिक्रिया दिए । शनिबार बालुवाटारमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । राप्रपाले शुक्रबारबाट काठमाडौं केन्द्रित आन्दोलन थालेको हो । राप्रपाका नेताहरुले आन्दोलन अझै चर्काउने बताएका छन् । उनीहरुले राजसंस्था पुनस्र्थापनाको माग गरिरहेका छन् ।

  • गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री

    गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री

    १७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने दावि गरे ।

    “म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ । गृह मन्त्रालय मातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नुपर्दैन”, प्रधानमन्त्री ओलीले भने, “पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृह मातहतको सिआइबीले छानबिन गरिरहेको थियो ।

    अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।” उनले बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेउभन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेउभन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए ।


    कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकाङ्क्षा–धु्रवीकरणहरू हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई ‘डिष्टर्ब’ हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो ।

    संसद्मा प्रस्तुत बजेटका सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले बजेट यथार्थपरक र सम्भव हुने हिसाबले यस पटकको बजेट आएको जवाफ दिए । “हामीलाई त्यसै पपुलिष्ट हुनु छैन । राम्रा काम गर्नु छ । यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो । गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको थियो । माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको थियो ।

    हामी त्यस्तो गर्दैनौँ”, उनले भने,“हामीले पहिला पूर्वाधार विकासमा जोड दियौँ । पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौँ ।” प्रधानमन्त्री ओलीले खेल क्षेत्रले हरेक मानिसलाई जोड्ने र क्रियाशीलता बढाउने बताउँदै हाफ म्याराथनको आयोजनाका लागि कान्तिपुरलाई धन्यवाद दिए ।

  • विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

    विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

    १६ जेठ, काठमाडौँं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरुबीच समझदारी वृद्धि आवश्यक रहेको बताएकी छिन् । चीन भ्रमणका क्रममा गान्सु प्रान्तको डुन्ह्वाङमा आयोजित सभ्यताहरुबीचको आदान प्रदान र पारस्परिक सिकाइ सम्बन्धी चौथो संवाद कार्यक्रमलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनलेविभिन्न संस्कृतिहरुको सुन्दर बगैँचा रहेको संसारमा विविध जातीय समूह, भाषा र संस्कृतिक संगम सहअस्तित्व रहेको उल्लेख गरिन् ।


    पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक, सुरक्षात्मक, आर्थिक, वैचारिक, जातीय र सांस्कृतिक कारणहरु बोकेको विभिन्न प्रकारका द्वन्दहरुले संसारलाई ग्रसित बनाएको विश्व सन्दर्भमा आयोजित संवाद महत्त्वपूर्ण रहेको बताउनुभएको उनको सचिवालयले जनाएको छ । चिनियाँ अन्तरराष्ट्रिय समझदारी सङ्घ तथा गान्सु प्रान्त जनसरकारद्वारा संयुक्त रुपमा आयोजित ‘सिल्क रोड’को मूल भावनालाई आत्मसात गर्दै विश्व सभ्यता कार्यान्वयनलाई गति प्रदान गर्न आयोजित चौथो संवादलाई उनले सम्बोधन गरेकी थिइन् । सो अवसरमा उनले उत्तर दक्षिण सिल्क रोड शाखाहरुको संगमविन्दु डुन्ह्वाङ सभ्यताहरुसम्बन्धी संवाद आयोजनका लागि उत्तमस्थल रहेको उल्लेख गरिन् ।


    पूर्वराष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङको दूरदर्शी दृष्टिकोण र अग्रगामी पहलबाट ‘बेल्ट एण्ड रोड इनिसियटिभ्स’ (बीआरआई) ले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचिन सिल्क रोडलाई पुनर्जिवित, विस्तार र नविकृत गर्ने लक्ष्य राखेको बताइन् । एसिया, अफ्रिका र युरोपभर सडक, रेल, बन्दरगाह, पाइपलाइन र डिजिटल पूर्वाधार विस्तार गर्नु बीआरआई पहलको मुख्य लक्ष्य भएको उल्लेख गरिन्।

    पूर्वराष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपति सी को ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै त्यस बखत दुई मुलुकहरु विकास र समृद्धिका लागि नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमा रुपान्तरण गर्न सहमत भएको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि नेपालका तर्फबाट संवाद आयोजक र सहभागीलाई बधाइ र शुभकामना व्यक्त गरिन् ।

  • अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

    अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

    १६ जेठ, काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्नु सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उल्लेख गरेका छन् ।
    यस्तै पहिलो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त भएको उत्साहजनक नतिजालाई बाह्य पुँजी परिचालनका लागि उपयोग गर्दै माथिल्लो रेटिङ प्राप्त गर्न आर्थिक सुधारका थप कार्यक्रम अघि बढाउने योजनासमेत उनले बताए । निजी क्षेत्रको मनोबल बढाउन र लगानीको वातावरण सृजना गर्न अध्यादेशमार्फत कानुनहरूमा गरिएको सुधारबाट निजी क्षेत्र उत्साहित भएको सन्दर्भमा सार्वजनिक लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्रको पुँजी र प्रविधि आकर्षित गर्दै आर्थिक क्रियाकलापमा गुणात्मक वृद्धि गरिने भएको छ ।

    आर्थिक वृद्धिका लागि उच्च योगदान गर्ने क्षेत्रमा थप नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्दै निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको भूमिकामा स्थापित गर्ने र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को प्रतिवेदन क्रमशः कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न र सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति भएपश्चात हुनसक्ने लगानीको न्यूनता पूरा गर्न स्रोतको विविधिकरण गर्ने, राजस्व प्रशासनलाई व्यावसायिक र राजस्व प्रणालीलाई सुदृढ बनाउने सरकारको योजना छ । सार्वजनिक ऋणलाई उच्च प्रतिफलयुक्त क्षेत्रमा परिचालन गरिने छ । अनुपयुक्त आयोजना कटौती गरी प्राथमिकताप्राप्त र नतिजामूलक आयोजना कार्यान्वयनलाई उच्च महत्व दिने तथा विकास वित्तको न्यूनता पूर्ति गर्न वैकल्पिक वित्तका नवीन र सम्भाव्य उपकरणको उपयोग गर्ने सरकारको योजना छ ।

    प्रतिस्पर्धी वस्तु तथा सेवाको निर्यात वृद्धि र उपभोग्य वस्तुको आन्तरिक उत्पादन प्रवर्द्धनमार्फत व्यापार सन्तुलनमा जोड दिने एवं वैदेशिक रोजगारीमा रहेका विशेषज्ञ र सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने एवं नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गरी युवा लक्षित रोजगारी सृजना गर्न उच्च प्राथमिकता दिने योजनासमेत बजेटमा समेटिएको छ । “वर्तमान सरकार गठन भएपछि हासिल भएका सकारात्मक परिणामको जगमा थप उपलब्धि हासिल गर्न, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन, सबै प्रकारका निराशा चिर्न र आम जनतामा आशा जगाउन सरकार दृढ सङ्कल्पित छ”, अर्थमन्त्रीले भने ।