Category: बिचार

  • मर्यादा र भयको न्यारेटिभ

    मर्यादा र भयको न्यारेटिभ

    पुरुषोत्तम लम्साल

     

    संकटमा सहकार्य

    अनकन्टार पहाडमा विपन्नको झुपडी थियो । ओत लाग्न मात्र मिल्ने । एकजनाका लागि सुत्न मात्र पुग्ने, ओल्टीकोल्टी गर्न मात्र पुग्ने स्थान भएको ।

    एक दिन ठूलो पानी पर्यो । पानीले निथ्रुक्क भिजेको साधुले झुपडीको ढोका ढक्ढक्याए । भने, ‘ओत लागेर आजको रात यहीं गुजार्न पाए हुन्थ्यो ।’

    बृद्धले ढोका खोले । अतिथिलाई भित्र बोलाए । बृद्धले भने, ‘यहाँ सुत्न एकजनाका लागि मात्र पुग्ने स्थान छ । तर, हामी दुईजना बसेर पनि रात काट्न सक्छौं ।’ दुबैजना बसेर रात बिताउन लागे ।

    यत्तिकैमा बाटो भुलेर अर्को बटुवा ढोकामा आइपुग्यो । ढोका खुल्लै थियो । थरथर काँपिरहेको बटुवाले भन्यो, ‘यो वर्षामा टाउको मात्र ओत लगाउन पाए म बाँच्ने थिएँ ।’

    साधुले लखतरान बटुवाको हात समाते । साधुले भने, ‘यहाँ एकजनाका लागि मात्र सुत्ने स्थान थियो । म आएँ, हामी दुईजना बसेर रात बिताइरहेका छौं । तिमी आयौ, उभिएर रात काट्ने भए खुसीसाथ भित्र आऊ ।’

    संकटको परिस्थितिमा तीनै जनाले उभिएर रात बिताए ।

    भ्रामक नै सही समाजवादको निर्धन झुपडीमा टुकी त बलेकै छ । तर, रात बिताउन खुल्ला हृदयले आमन्त्रण मागिरहेको अवस्थामा निषेध र मुठभेड निम्त्याउने अभिव्यक्ति र व्यवहार मनकारी छैन ।

    छद्यभेषीको मर्यादा

    शहरमा नामूद छद्यभेषी थियो । रुप परिवर्तन गरेर चटक देखाउँथ्यो । एकदिन ऊ दरबार पुग्यो र भन्यो ‘महाराज ! भोको पेटको गर्जो टार्न पाँच रुपैंया मात्र भने पनि पुरस्कार पाउँ ।’

    राजा कलाका पारखी थिए । तर पुरस्कारको स्थानमा दान मात्र दिने सिद्धान्तमा बाँधिएका थिए । राजाले भने, ‘तिम्रो कलाको सम्मान गर्दै म पुरस्कार त दिन्छु तर दानको रुपमा मात्र ।’

    ‘महाराजको सिद्धान्त तोड्ने अपराध म गर्दिन । मलाई केही दिनको समय दिइयोस्’ भन्दै छद्यभेषी बाटो लाग्यो ।

    अर्को दिन शहरको मुख्य चोकमा समाधिको मुद्रामा एक साधु भेटिए । आँखा बन्द थियो, ओमकार झङ्कृत थियो । लामालामा जटा भएका साधुको अनुहारमा तेज थियो । ध्यानमग्न साधुमा सबैको आँखा जान थाल्यो । साधुको अगाडि भक्तिपूर्वक बटुवाहरुले प्रश्न गर्न थाले । ‘स्वामी कहाँबाट आउनुभयो ?, आहार के चाहिन्छ ?, यो कठोर तप के का लागि ?’ यस्तै यस्तै ।

    ध्यानमुद्राको साधुलाई आफ्नो अगाडि को छ भन्ने थाहा थिएन । ऊ अविचलित ध्यानमै रह्यो । घरघरमा साधुको चर्चा हुनलाग्यो । सभ्य, शिक्षित, सरकारी, दरबारी, धनी, दानी एकएक गरेर साधुको दर्शनमा आउन थाले । फलफूल, मिष्ठान्न, भोजनादी लिएर आउनेले आहारका लागि अनुनय गर्न थाले । तर साधु डेग चलेन ।

    साधुको अद्भुत चर्चा दरबारसम्म पुग्यो । अर्कोदिन बिहानै दरबारका महामन्त्री सुनचाँदिका मुद्रा रथमा हालेर साधुकहाँ पुगे । महामन्त्रीले विनित स्वरमा भने ‘हामीसँग कुनै भौतिक लालशा छैन, कृपा गरेर आँखा खोल्नुहोस् र यो दान स्वीकार गर्नुहोस् ।’ साधु वाचाल तपस्यामै लीन, आँखा खोलेनन् । महामन्त्रीको अनुरोध पनि व्यर्थ भयो ।

    महामन्त्रीले दरबारमा पुगेर राजालाई सबै वस्तुस्थितिको जानकारी गराए । आफ्नो राज्यमा यशश्वी साधुको आगमन हुँदा पनि स्वागतमा जान नपाएकोमा राजालाई ग्लानी हुन थाल्यो । भोलीपल्ट बिहानै भाइभार, रत्न जुहारात लिएर राजा तपस्वी भएको स्थानमा पुगे । तपस्वीको पाऊमा आफुले ल्याएको सम्पूर्ण वस्तु चढाएर राजा विन्ती गर्न थाले ‘स्वामी ! मेरो राज्यमा तपाईको त्याग र तपस्याप्रति कृतार्थ छु, आँखा खोलेर आशिर्वाद पाउँ ।’

    न तपस्वी डरायो, न चल्यो । न आँखा खोल्यो, न बोल्यो । राजासामू पनि आँखा नखोली, दान ग्रहण नगरी एकाग्र ध्यानमा रहने तपस्वी अलौकिक र सांसारिक वस्तुबाट मोहभंग भएको निश्कर्ष सबैबाट निस्कियो ।

    चौथो दिन छद्यभेषी पुनः दरबारमा देखा पर्यो । र, राजाको अगाडि बिन्ती बिसायो, ‘देख्नुभयो त महाराज !, अब त मेरो कला अझ मन पर्यो होला । हजुर प्रसन्न हुनुभएको भए मलाई त्यही पाँच रुपैंया पुरस्कार प्राप्त भए म दालचामलको प्रबन्ध गर्न सक्थें ।’

    राजा जिल्ल परे । ‘हे मुर्ख ! जब राज्यको सम्पूर्ण जनता तेरा लागि सबैथोक लुटाउन तयार थिए, त्यो बेला तेरो आँखा किन खुलेन ? अहिले फेरि किन चाहियो पाँच रुपैया पुरस्कार ? तलाई राजदण्डको भय लागेन ?’ राजाले प्रश्न गरे ।

    छद्यभेषीले उत्तर दियो, ‘महाराज त्यो बेला म तपस्वी साधुको रुपमा थिएँ । सन्यासीको भेषमा थिएँ । त्यहाँ मर्यादाको प्रश्न थियो । मैले मोहमा आएर ती सबैको दानदातव्य ग्रहण गरेको भए सारा तपस्वी साधुको मर्यादामाथि प्रश्न उठ्थ्यो । साधु र सन्यासीका लागि धन दौलत र वैभव व्यर्थ र तुच्छ हुन्छन् भन्ने मर्यादा जोगाउन मैले त्यसो गरें ।’ ‘सबैखाले मोह त्याग गरेको अवस्थामा प्राणी भयमुक्त हुन्छ, उसले थप्यो ‘मेरो नजिक राजा छन् भन्ने थाहा नपाएको अवस्थामा भयको के अर्थ ?’

    निरुत्तर राजा निकैबेर गहिरो सोचमा डुबिरहे । त्यसपछि छद्यभेषी र उसको परिवारको संरक्षणको दायित्व दरबारको भयो ।

    सरकार र पार्टीको सहचालक, सञ्चालक वा उत्तोलक जे भए पनि कम्तीमा माथिको कहानीको छद्यभेषीबाट झैं मर्यादाको अपेक्षा राख्नु गलत हुँदैन ।

    भयको न्यारेटिभ्स

    भयको विलोम साहस, निर्भय, अभय आदि हुन्छ । भय अर्थात् डर, एक प्रकारको त्रासग्रस्त मनोविज्ञान । खासमा भय ज्ञात वस्तु, पदार्थ, अवस्थाबाट उत्पन्न हुन्छ । अनुभवै नगरिएको स्थितिमा भय उत्पन्न हुँदैन । अर्थात् भय वास्तविक र काल्पनिक हुन्छ । वास्तविक भयले भन्दा बढी काल्पनिक भयले मान्छेलाई भयभित बनाउँदछ । अज्ञात भएबाट मान्छे विरलै डराउँछ । जस्तो स–साना बालबालिका अँध्यारोमा किन खेल्छन् ? आगोसँग किन जिस्किन्छन् ? सर्पसँग किन डराउँदैनन् ? साधारण स्थितिमा मान्छेमा किन मृत्युको भय देखिंदैन ? किनकि, उसले अनुभव गरेको हुँदैन । मान्छे ईश्वरसँग किन डराउँछ ? किनकि ऊ कर्मको फलबारे जानकार छ ।

    जे. कृष्णमूर्तिले कहीं लेखेका थिए ‘भय वस्तुतः कायरताको प्रतिकृति हो ।’ उनको भाषामा कायरताको अर्थ आन्तरिक दुर्बलता हो । संकटको सामना गर्ने क्षमता क्षीण हुँदै जाँदा अथवा आन्तरिक दुर्बलता प्रबल हुँदै जाँदा मान्छेलाई भयले छोप्दै लान्छ भन्ने कृष्णमूर्तिको तर्क थियो ।

    फियर एण्ड फ्रिडममा फेरेज नेडेस्डी लेख्छन्ः भय त्यहाँ उत्पन्न हुन्छ जहाँ एक विशिष्ट प्रकारको जीवनप्रति मोह हुन्छ । त्यो विशिष्टता कायम राख्नु र त्याग गर्नुबीच स्वतः भयको प्रतिक्रिया देखिन्छ । लौकिक वा सांसारिक मोहबाट अलगाव नहुँदासम्म भय स्थीर रहन्छ । फेरेज आकांक्षा र भयबीच पनि उस्तै सपाट सम्बन्ध केलाउँछन् । एउटा विशिष्टताबाट अर्को विशिष्टतामा जाँदा भय नियन्त्रण त हुन्छ तर निर्मूल हुँदैन भन्ने उनको ठम्याई छ ।

    अन्तरआत्मा कलुषित भएको अवस्थामा व्यक्ति आरामको निद्रा सुत्न सक्दैन । किनकि स्थायी आशंका नै भयको कारण हो । धोकाको भय, बदलाको भय, रहस्य खुल्ने भय, असहयोगको भय इत्यादिले व्यक्तिलाई गाँजिरहेको हुन्छ । अर्थात्, संकटग्रस्त व्यक्ति स्थायी पृथकताको कल्पनाबाट पनि भयभित भइरहेको हुन्छ । यही कारण ऊ सम्झौतापरस्त भइहुन्छ, आत्मसमर्पण गर्दै गर्दै गइरहेको हुन्छ ।

    रिचर्ड गार्नेटको दृष्टिकोण सापटी लिने हो भने कुनै वस्तुसँग अति गहनतम् निकटता वा लगावले मानसिक कष्ट दिइरहँदा व्यक्तिमा भयको जोखिम बढी हुन्छ । हो पनि, शारीरिक कष्ट पो स्नायुगत हुन्छ मानसिक कष्ट कल्पनागत पनि हुन्छ, भावनागत पनि हुन्छ । भयभित के ले बनाउँछ ? संकटबाट बच्नका लागि व्यक्तिले यसअघि एकत्रित गरेको संगठित गरेको सञ्चित अनुभवले बनाउँछ ।

    मान्छे जेसँग भयभित हुनपर्ने हो ऊ वा त्योसँग डराउँदैन र जहाँ भयको कारण छैन त्यहाँ भयभित भइरहेको हुन्छ । चोर चोरी गर्न डराउँदैन । छली ठगी गर्न डराउँदैन । कपटी षड्यन्त्र गर्न डराउँदैन । ब्यभिचारी व्यभिचार गर्न डराउँदैन । बेइमान असत्य बोल्न वा झुठा मिथ्या भाषण गर्न गराउँदैन । तर सबैमा समान प्रकृतिको भय हुन्छ । ज्ञात भय । यस्तो बेलामा मान्छे माटोको पुत्लासँग पनि डराउँछ । शरीर, मन र आत्मा कमजोर भइसकेपछि अवरोधसँग संघर्षको अपेक्षाभन्दा भय घनिभूत हुन्छ । यो कर्मको फलबारे ज्ञात भय हो ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भयभित्र विचित्र संयोग भेटिन्छ । युद्धकालमा साम्राज्यवादका मतियारहरुले सिध्याइदिने भय थियो । शान्तिकालमा आएपछि प्रतिक्रियावादीहरुले नै सिध्याइदिने भय रह्यो । कहिले दरबार हत्याकाण्ड र कहिले मदन भण्डारीको उदाहरण दिएर दर्जनौं स्थानमा दर्जनौंपटक उनले आफ्नो भय प्रकट गरेका छन् । जनताको घेरामा रहँदा भन्दा सुरक्षाकर्मीको घेरामा रहँदा ‘प्रचण्ड’मा ज्यादा भय प्रकट हुने स्थिति दोहोरिइरहेको छ । हिजो विप्लवको भयले सताएको पनि देखियो । हुँदाहुँदा अब कमल थापाहरुसँग ‘प्रचण्ड’ भयभित भइरहेका छन् । ज्ञानेन्द्र शाहलाई आफैंले नारायणहिटीबाट गलहत्याएर नागार्जुनमा सीमित गरेको दावी गर्ने ‘प्रचण्ड’ तिनै ज्ञानेन्द्र शाहसँग भयभित भइरहेका छन् ।

    उनलाई थाहा छ, फरकफरक स्वार्थ समूह फरकफरक आवरणमा तर एउटै उद्देश्यका लागि काम गरिरहेका छन् । तर ती सबका विरुद्ध संगठित मुक्का प्रहार गर्ने शक्ति, साहस र सामथ्र्य क्षीण छ । यसैले भयग्रस्त अभिव्यक्ति दोहोरिने क्रम बढ्दो छ । भयमाथि विवेकले नियन्त्रण गर्ने कि आवेगले ? भयलाई मर्यादाको सीमाभित्र रहेर कज्याउने कि उत्तेजित वा अमर्यादित भएर ? प्रचण्डहरुले नै जानून् ।

  • नेपाली कवितामा मौलाएका बाद

    नेपाली कवितामा मौलाएका बाद

    आचार्य पीपलमणि सिग्देल

    नेपाली कविताको आधुनिक स्वरुप विविध घुम्ती र मोडहरू पार गर्दै विभिन्न वाद र प्रवृत्ति अँगाल्न पुगेको छ । आधुनिक नेपाली कविताले पूर्वीय र पाश्चात्य शैलीलाई अँगाल्दै अनेक वाद, नयाँ आयाम र नवीनतम प्रवृत्तिहरूलाई आत्मसात गरेको छ । नेपाली कविताको विकासक्रमको अध्ययन र विश्लेषण गर्दा पनि वाद र प्रवृत्तिका आधारमा गर्नु उपयुक्त देखिन्छ । नेपाली कविताको आधुनिक काललाई यसरी विभाजन गर्न सकिन्छ । परिष्कारवादी धारा (वि.सं. १९७५ — १९९० सम्म), स्वच्छन्दतावादी–प्रगतिवादी धारा (वि.सं. १९९१—२०१६सम्म), प्रयोगवादी धारा (वि.सं. २०१७—२०२९ सम्म) र समसामयिक धारा (वि.सं. २०३० देखि हालसम्म) परिष्कारवादलाई शास्त्रीयतावाद भनेर पनि चिनिन्छ । यो वाद पाश्चात्य साहित्यको क्लासिसिजमबाट आएको हो । क्लासिकल शब्दको अर्थ शाश्वत रुपमा पठनीय साहित्य भन्ने अर्थ अझै जीवित छ । यस वादमा जीवनको स्पष्ट दृष्टि, विवेक तथा तर्क अनि भावनाको विषय संयोजन गरी सुन्दर शिल्पका साथ विषय संयोजन गरिन्छ । परिष्कारवादी कविहरू भावना र बौद्धिकतामा ध्यान दिँदै परिष्कार र परिमार्जनलाई महत्व दिन्छन् । भावनाको परिधिलाई वास्ता नगरी बोद्धिकतामा नै विशेष अभिरुचि राख्दछन् । नेपाली कविताको आधुनिक काल पनि परिष्कारवादबाट नै प्रारम्भ हुन्छ । यस वादका केन्द्रीय प्रतिभा लेखनाथ पौड्याल हुन् । उनको परिमार्जित कलमबाट कविताको विषय कलात्मक रुपमा प्रस्तुत भएको पाइन्छ । कथ्य र शिल्पका बीच देखिने अपूर्व सङ्गमनै उनको कलमको विशेषता हो । पौड्यालले प्रारम्भ गरेको यस यात्रामा सोमनाथ सिग्द्याल, बालकृष्ण सम, धरणीधर कोइराला, महानन्द सापकोटा, भवानीप्रसाद सापकोटा, रुद्रप्रसाद सापकोटा, पूर्णप्रसाद ब्राह्मण, भरतराज शर्मा, भरतराज मन्थलिय आदि कविहरूले कलम चलाएका छन् ।

    परिष्कारवादपछि नेपाली कवितामा स्वच्छन्दतावादको प्रयोग प्रारम्भ हुन्छ । स्वच्छन्दतावाद पाश्चात्य साहित्यको रोमान्टिसिजमबाट नेपालीमा भित्रिएको वाद हो । यस वादलाई नेपाली कवितामा भित्र्याउने महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा नै यो वाद विकसित भएको हो । परिष्कारवाद र स्वच्छन्दतावादका बीच स्पष्ट भिन्नता देख्न सकिन्छ । यथार्थमा स्वच्छन्दतावादी कविहरूले स्वतस्फुर्त अनुभूतिको आत्मपरक अभिव्यक्तिलाई अङ्गीकार गरी नयाँ धाराको निर्माण गरेको प्रतीत हुन्छ । यी कविहरू सहज हृदयबाट प्रस्फुटित हुने भावुक अभिव्यक्ति र प्राकृतिक विषयवस्तुमा बढी जोड दिन्छन् । विराट् प्रकृतिको भण्डारमा आकर्षित भएर यिनीहरू काव्य सिर्जना गर्दछन् । परिष्कारवादी कवितामा आवेगलाई विवेकले नियन्त्रण गरिन्छ भने स्वच्छन्दतावादी कवितामा अतीतको गौरव, कृत्रिम र सहरी सभ्यताको खिल्ली उडाउँदै प्राकृतिक सभ्यताकै पक्षमा अभिव्यक्ति दिइएको हुन्छ । वि. सं. १९९१ मा देवकोटाले प्रारम्भ गरेको यस धारामा सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, माधव घिमिरे आदि कविहरूले कलम चलाएका छन् । कोमल हार्दिकता, कल्पनाको प्रचूरता, प्रकृतितर्फ उन्मुख, मानवप्रेम, देशप्रेम र विश्वप्रेम आदि विशेषताले स्वच्छन्दतावाद मौलाएको पाइन्छ ।  स्वच्छन्दतावादी–प्रगतिवादी कविहरूले स्वच्छन्दतावादका असल पक्षलाई अङ्गीकार गरी असान्दर्भिक र असाधारण पक्षलाई मिल्काउँदै यथास्थितिको विरोधमा काव्यधारा प्रवाह गरेको पाइन्छ । यस वादका कविहरूमा गोपालप्रसाद रिमाल अग्र पंतिमा पर्दछन् भने हृदयचन्द्र सिंह प्रधान, कृष्णचन्द्र सिंह प्रधान, भूपी शेरचन, विजय मल्ल आदि कविहरूले पनि ख्याती कमाएका छन् । शोषण, अन्याय, अत्याचारको विरोध गर्दै क्रान्ति र विद्रोहको मशाल बाल्दै परिवर्तनको स्वर बुलन्द गर्नु यस वादको मौलिक विशेषता हो । 

    चेतनाको सत्तालाई अस्वीकार गरी अवचेतन मनमा विचरण गर्दै खण्डित मनोविम्बहरूका साथ अमूर्तताको केन्द्रीयतामा अनुभूति व्यक्त गर्नु प्रयोगवादी धाराको विशेषता हो । यो धारा स्वच्छन्दतावादी–प्रगतिवादी प्रवृत्तिको विरोधमा देखापरेको हो । यिनीहरू पाश्चात्य कवि पिकासोको अमूर्त कलाबाट प्रभावित छन् । यस धारामा खण्डित भावविम्बहरूको प्रयोग, विम्ब र प्रतीकको प्रयोग, भग्न प्रयोग, लुप्त विभक्तिको प्रयोग, दुरान्वयको प्रयोग, अमूर्तता आदि विशेषता रहेको पाइन्छ । यस धाराको विकास वि.सं. २०१७ सालतिर भएको हो । यस वादका केन्द्रीय प्रतिभा मोहन कोइराला हुन् भने उपेन्द्र श्रेष्ठ, मदन रेग्मी, द्वारिका श्रेष्ठ र कृष्णभक्त श्रेष्ठले पनि कलम चलाएका छन् । दार्जलिङबाट आयमेली आन्दोलन प्रारम्भ भएपछि यो वाद झनै मौलाएको पाइन्छ ।

    यस आन्दोलनका नेतृत्वकर्ता ईश्वर वल्लभ, वैरागी काइँला र ईन्द्रबहादुर राई हुन् । यस वादले जीवनलाई चेप्टो किसिमले मात्र नहेरी लम्बाई, चौडाई र गहिराईबाट पनि हेर्नुपर्छ भन्ने मान्यता अघि सारेको पाइन्छ । नवीनतम प्रयोगको चाहना यिनीहरूमा मौलाएको पाइन्छ । 

    मोहन काइरालाको प्रयोगवाद र ईश्वर वल्लभ आदिको आयमेली आन्दोलनपछि नेपाली कवितामा कठिनता र दुरुहता थपिएको महसुस हुन थाल्यो । बौद्धिकताको खोल ओढेर जटिलताका साथ पाठकसम्म पुग्दा समस्या पैदा भई पाठक र कविबीच ठूलो खाडल पैदा हुन थाल्यो । यसै सन्दर्भमा सरलताको खोजी गर्दै नयाँ बाटो र प्रवृत्तिको खोजी भयो । यसैको परिणामस्वरुप वि.सं. २०३० देखि नेपाली कवितामा परिष्कारवाद र स्वच्छन्दतावाद मिलाएर समसामयिक धाराको जन्म भयो । यस धाराले कवि, कविता र स्रोताबीचको सम्बन्ध सुमधुर पार्न प्रयत्न गरेको देखिन्छ । यस धाराका कविहरूले राजनीतिक, आर्थिक, सामाजिक विकृति र विसंगतिप्रति तीखो व्यङ््ग्यवाण प्रहार गर्दै सुधारको आवाज बुलन्द गरेको पाइन्छ । शैली, संरचना तथा साहित्यका विविध मूल्यको अभाव कतैकतै देखिए पनि भाव, विचार र वस्तुलाई समन्वय गरी जीवनका कथा, व्यथा र समस्याहरूलाई उद््घाटन गर्ने कार्यमा यो वाद सफल देखिन्छ । यस वादका प्रमुख कविहरूमा कणाद महर्षि, अशेष मल्ल, केदार न्यौपाने, गोविन्द गिरी ‘प्रेरणा’, दिनेश अधिकारी, डा. दुबसु क्षेत्री, विष्णुविभु घिमिरे, जीवन आचार्य, विमल निभा, अविनाश श्रेष्ठ, मेघराज मन्जुल, विमल कोइराला आदि पर्दछन् । यस धाराअन्तर्गत छन्दमा कलम चलाउनेहरूमा वासुदेव त्रिपाठी, घनश्याम कँडेल, दैवज्ञराज न्यौपाने, कृष्णप्रसाद भट्टराई, प्रयागराज वाशिष्ट, गणेश विशम, भरतराज पन्त, भरतराज मन्थलीय, रमेश खकुरेल, भुवनहरि सिग्देल, भानुभक्त पोख्रेल, मोदनाथ प्रश्रित आदि पर्दछन् । वर्तमानका अनेक कविहरूले यस धारामा कलम चलाइरहेका छन् । यसरी नेपाली समहित्यमा अनेक वाद र प्रवृत्ति मौलाएको पाइन्छ । वादभित्रपनि सबै कविहरुमा केही न केही नवीनतम मौलिक छटा र बान्की देखिन्छ नै । 

  • पुँजीबादकाे पिडा बन्दैछ भविष्यको जाेहाे

    पुँजीबादकाे पिडा बन्दैछ भविष्यको जाेहाे

    याे बिचित्रकाे संसार हाे । बास्तवमै अनेक दृष्य अदृष्य चित्रैचित्र भएकाे बिचित्रकाे संसार रहेछ । श्रृष्टिकर्ताले श्रृष्टी गर्दा नै बिचित्र कै बनाई दिएका रहेछन् । प्राणी जगतकै चेतनशील मानिन्छ मानबलाई । मानब सभ्यता बिकासक्रमकाे इतिहास काेट्याउने हाे भने ढुंगे युगदेखि आधुनिक युगसम्म आईपुग्दा आमुल परिवर्तनहरु भएका छन् । जब मानिसले आगाे उत्पन्न गर्न जान्याे तब मानब सभ्यता बिकासक्रमको कायापलट भयो । हरपल सुखी र खुसी जिवन बिताउने लाेभलालसामा हाेमिएका मानब आजका मितिसम्म पनि उही अभियानमा दिनरात लागि नै रहेका छन् ।

    त्याे सुखी र खुसी जिवन कहिले भेटिने हाे अझै अत्ताेपत्ताे छैन । बर्तमानलाई सहज, खुसी र सुखी बनाउने चिन्तामा दिन प्रतिदिन 

    आफुमा भएकाे बाठाेपनकाे उपयाेग गर्दै आफ्नाे बलबुताले भ्याएसम्म सुदुर भविष्यको पनि चिन्ता गर्न थाल्याे । त्याे पनि आफ्नाे लागि मात्र होईन पुस्ताैं पुस्तासम्मका लागि । 

    सामाजिक बिकासकाे क्रममा बिभिन्न बादहरु जन्मिए र परिक्षित भए । कति हुर्कन नपाउँदै सकिए, त कति अझै अभ्यासमा छन् । कति जन्मिने क्रममै पनि छन् । जुन निरन्तर प्रक्रिया पनि हाे । यसै क्रममा जब पुँजीबादकाे जन्म भयाे, त्यसैले बिश्वमा आर्थिक क्रान्ति ल्याएकाे हाे भन्नेमा पुँजीबादीहरुकाे एक मत छ । यस कुरामा पुँजीबादकाे बिराेध गर्नेहरु पनि एकहदसम्म सहमत छन् । पुँजीबादले संसारमा यसरी गहिराे जरा गाड्दै फैलियाे कि अन्यबादहरु कति डाइनाेसर झैं लाेप भए । कति पुँजीबाद मै बिलय भए ।सामन्तबादकाे कट्टर बिराेधी र साम्यबादकाे पक्षधरहरुलाई पनि माैलाउदै गएकाे पुँजीबादका कारण मैदानमा टिकिराख्न हम्मे हम्मे परिरहेकाे छ । तसर्थ समग्रमा भन्नुपर्दा आजकाे संसार पुँजीबादकाे कब्जामा छ भन्दा अतियुक्ति नहाेला । जसले गर्दा जुनसुकै बाद कुनै न कुनै कारणले पुँजीबादबाट अछुताे रहन सकेकाे छैन । त्यही कारण बर्तमानमा समाजबादकाे पक्षधरहरु पनि भाषा र मार्ग सच्याउँदै पुँजीबाद हुदै समाजबादमा पुग्ने परिकल्पना गर्न थालेका छन् । उनीहरु पुँजीबादमा उपलब्ध श्रम, श्रोत र साधनकाे अधिकतम उपयाेग तथा उच्चतम् उत्पादन गर्ने र त्यही अधिकतम् र पुर्ण उत्पादनकाे सर्वोत्कृष्ट अवस्थामा नै समाजबाद प्राप्त हुने बिश्वास राख्दछन् । समग्रमा हेर्दा पुँजीबादलाई अन्य बादले पनि धेरथाेर उपयाेग गरेकै देखिन्छ । हुन त कुनै पनि बाद आफैमा साध्य हाेइन तर साध्य प्राप्तिका लागि उपलब्ध साधनहरुकाे अधिकतम् उपयाेग गरी पूर्ण उत्पादन गर्ने महत्वपूर्ण माध्यम भने पक्कै हाे । हरेक बादका गुण सहित धेरथाेर अवगुण पनि हुन्छन् । यसबाट  पुँजीबाद पनि अछुताे छैन । विश्वमा जसले पुँजीबादकाे प्रतिउत्पादनलाई जति न्युनिकरण गर्न सक्याे वा प्रतिउत्पादनलाई सही ब्यवस्थापन गर्न सक्याे त्याे त्यति नै सफल मानिएकाे छ । जस्तै, अहाेरात्र खटेर श्रम गर्नेकाे पिडादायी प्रसंगलाई केन्द्रमा राखेर लेखकाे सारलाई पुँजीबादकाे अवगुणको अंश पस्कने चेष्टा गरेकाे छु ।

    दुनियाले खाेरियाकाे कुनाकाप्चा खाेस्री श्रम गर्ने कृषकले छरेकाे तोरी बाली सप्रेकाे मात्र देख्छन् तर उसकाे भित्री ब्यथा कसलाई के थाहा ? कुत बुझाएर बाँकी रहेकाे तोरी पनि अर्कैले “भब्यताका साथ दशैं मनाउन पर्याे” भन्दै लगेर तेल पेल्छ । कृषकसंग भने  चाेख्यान हाल्न र भान्सामा भुटुन हाल्न समेत थाेपाे तेल हुदैन । यही अफ्ठ्याराे पिडामा मुखियाले उठाैती भन्दै दुई माना ताेरीकाे साँवा, ब्याज र ब्याजकाे स्याज समेत जाेडेर एक पाथी घ्यू नाईटाेमा लगाउनका लागि उपलब्ध गराउन उर्दी जारी गर्छन् ।

    माथि उल्लेखित प्रसंग पुँजीबादी समाजमा घटिरहेका अनेक खाले बिकृत घटनाहरुले निम्त्याएकाे दु:खद् परिणामहरु मध्यकाे एक  प्रतिनिधि घटना मात्र हो । पुँजीबादमा खास श्रम गर्नेले पाउने मुल्य तुलनात्मक रुपमा ज्यादै न्यून छ । जसका कारण उनीहरुकाे जीवनस्तर कठिन र दयनीय छ । सारा जीवन बाच्नका लागि आवश्यक आधारभूत बस्तुको जाेहाे गर्दैमा ब्यतित हुन्छ । आजकल पुँजीबादी समाजमा जानी नजानी “भबिष्यका लागि आवश्यक जाेहाे गर्न र सक्ने जति लुट्नका लागि जुट” भन्ने अभियान माैलाउदै गइरहेकाे देखिन्छ । जसका कारण गरिब र धनी बिचकाे खाडल पुरिनुकाे सट्टा झन झन बढ्दै गइरहेकाे छ ।

    भन्नलाई जे भनिएता पनि परिणाममा पुँजीबादकाे चरणमा मानिस आफुमा बढी केन्द्रिकृत भएकाे र भाैतिक सुखलाई केन्द्रमा राखेकाे देखिन्छ । जसले गर्दा मानिस आफ्नाे सुन्दर, सुखी र खुसी भबिष्यकाे खातिर सकि नसकी “जाेहाे” गर्न मै  तल्लिन हुन्छ । त्यसपछि आफ्ना इष्टमित्र, नाताकुटुम्ब, बर्ग, भुगाेल आदिलाई प्राथमिकतामा राख्छन् ।  सैद्धान्तिक रुपमा जे जस्ताे स्वच्छ र बिभेद रहित दर्शन छाँटे पनि ब्यवहारत: “जाेहाे” कै आधार सामाजिक हैसियत मापनकाे प्रमुख मापदण्ड बनेकाले सक्दाे अत्यधिक “जाेहाे” गर्ने नै जीवनकाे मुख्य लक्ष्य बन्न पुगेकाे छ। उक्त लक्ष्य प्राप्तिका लागि साम, दाम, दण्डभेद् प्रयाेग गर्न मानिस तयार रहन्छ ।पुँजीवादमा प्रारम्भताका सैद्धान्तिक रुपमा समाज पनि पराेपकार, धर्म, प्राणी जगतकाे भलाे, सर्बाेच्च चेतनशिलता, जगत भलाेका लागि दर्शन छाट्न तल्लिन हुन्छ र त्यसले निरन्तरता पनि पाइरहन्छ । तर ब्यवहारिक रुपमा भने त्यही समाजका सदस्य बिस्तारै एक अर्कासंग बिग्रह, ब्यक्तिबादी स्वार्थी र समाजले ठानेकाे उच्च हैसियत सहित अरु भन्दा भिन्न भएर बाँच्न उत्प्रेरित हुन्छ । यस्ताे परिस्थतिले समाजमा थाहा नै नपाई असमानताकाे खाडल बढाउँदै गइरहेकाे छ । धनी झन झन धनी र गरिब झन झन गरिब बन्दै जाने अवस्था श्रृजना भएकाे छ । र सर्बाेकृष्ट प्राणीमा रहेकाे प्रमुख बिशेषता “मानवता” दिन प्रतिदिन हराउँदै गइरहेकाे छ । एक हिसाबले भन्नुपर्दा पुँजीबादकाे उपयाेग गर्दै जाँदा यस्ताे दलदलमा फसिन्छ कि त्यसबाट उत्रनै गाह्राे हुन्छ र भुल भुलैयामा रमिते बनिदिदा समाजबादकाे लक्ष्यमा पुग्ने सपना सपनामा नै सिमित हुन्छ । जाे अहिलेकाे बिश्ब परिघटनाले देखाई रहेकाे छ ।  त्यसैले समाजबाद भेटाउने नै लक्ष्य हाे भने  बर्तमानमा पुँजीबादकाे पथ हुँदै अघि बढ्ने रणनीति परित्याग गरेर समाजबादका आधारस्तभ सहितकाे पृथक पथ तयार गर्न जरुरी छ । पुँजीबादकाे उपयाेगका क्रममा हुन सक्ने प्रतिउत्पादक परिणामलाई सक्दाे कम गर्ने र उब्जिएका प्रतिउत्पादक परिणामलाई समय मै सही ब्यवस्थापन गर्ने गरी यसका सिद्धान्त र ब्यवहारमा सक्दाे सामाञ्जस्यता ल्याएर अघि बढ्नु जरुरी देखिन्छ ।

    सुपेन्द्र बस्नेत

    अमेरिका

  • बिना व्यायाम चाहिए जस्तो बन्छ शरिर

    बिना व्यायाम चाहिए जस्तो बन्छ शरिर

    मेरा केही इष्टमित्रले जीवनभर मोटाउने रहर पाले । केहीले दुब्लाउने । तर सकेनन् । अझ भनौं जानेनन् । मनको एउटा कुनामा त्यो रहरले कुत्कुत्याई रहेपनि ‘हैन / छैन’ भन्न छाडेनन् । यद्यपी ‘जे छु ठीक छु’ भनेकै राम्रो । नसकेपछि चित्त बुझाउनुको बिकल्प नरहेको अवस्थामा यथास्थितिमा नै सन्तुष्ट हुनुपनि सकारात्मक ठान्दछु । मेलै केहीको सन्धर्भ उठाएको हुँ । धेरैजसो ठिकठाक देखिन्छन् । यो आलेखमा ती दबेका रहरलाई जगाउने यत्न गर्नेछु । 

    मानव शरिर संसारको सबैभन्दा अनौठो, अलौकिक, अदृष्य, आश्चार्य र अदभुत विज्ञान हो । नङले कतिसम्म बढ्ने ? दाँतले कति ? आँखी भौं र परेलाको बढ्ने सिमा कति ? जति मोटाएपनि नाक, कानले किन आकार बदल्दैन ?  कालो कोठी, रातो कोठी, खैरो कोठी किन आउँछ ? यो सबै किन हुन्छ ? अझै बिज्ञानलाई थाहा छैन । ब्रम्हाण्ड भन्दा पनि जटिल छ शरिर विज्ञान । विषयबस्तुमा प्रवेश गरौं । किन मोटाईन्छ ? किन दुब्लाईन्छ ? किन घट्दैन ? किन बढ्दैन ? इत्यादी । 

    हाम्रो शरिरका जिवित सेलहरुमा मेटाबोलिजम् भन्ने एक प्रकारको रसायनिक प्रकृया भई नै राखेको हुन्छ । यो प्रकृयाले मानिसलाई जिबित राख्न आवश्यक पर्ने पदार्थ र शक्ती उत्पादन गर्दछ । यसरी उत्पादित शक्तिले अर्को स्तरमा ताप र बल उत्पादन गर्दछ, जसलाई क्याटाबोलिजम भनिन्छ । यसै प्रकृया अन्तर्गत बिग्रिएको टिस्यु मर्मत गर्न र शरिर स्फुर्त राख्न आवश्यक प्रोटिन व्यवस्थापन गर्नको लागि एनाबोलिजम भन्ने कृया हुन्छ । मुख्यत; यो मेटाबोलिजम भन्ने प्रकृयाको गति कसैको छिटो र कसैको ढिलो हुन्छ । मेटाबोलिक स्पिड हाई हुने मान्छेको शरिरले खानाबाट प्राप्त पदार्थलाई चाँडै शक्ति, ताप र प्रोटिन लगायतका तत्वमा परिणत गर्दछ । जस्तै; चराहरु संसारको सबैभन्दा उच्च मेटाबोलिक उत्पादन दर बढी भएको प्राणी हो । चरालाई उच्च गति र उचाईमा उड्नका लागि अत्याधिक शक्ति चाहिन्छ । चरामा तातो रगत हुनु र मोटाबोलिजम् दर बढी हुनुको कारणले मात्र उचाईमा उड्न सम्भव भएको हो । उनीहरु मोटो हुँदैनन् । सामान्यतया मानिसमा मेटाबोलिजम् दर आवश्यकता अनुसार सामान्य नै हुन्छ । तर कसैकसैमा कम र कसैमा बढी हुन्छ । मेटाबोलिजम कम हुने मान्छेको शरिरले साधारण खानाको बोसो पदार्थ पनि संचित गर्न थाल्दछ । सहजै क्यालोरी बर्न गर्न सक्दैन । अर्थात ती मानिसको प्याक्रियाजले हामीले खाएको कार्बोहाइड्रेटलाई टुक्रा पार्दै ग्लुकोज नियन्त्रण गरी आवश्यक इन्सुलिन उत्पादन गर्नु पर्नेमा रगतमा भएको ग्लुकोजको आधारमा इन्सुलिन कम अथवा ढिलो बनाउँदछ । यसरी उत्पादित इन्सुलिनले नै सेलहरुमा बिभिन्न आवश्यक तत्व पठाउने काम गर्दछ । आवश्यक इन्सुलिनको अभावमा मानिसको सेलहरु मर्न थाल्दछ । धेरै सेलहरु भटाभट सिथिल भएर काम गर्न नसक्ने भएपछि मेटाबोलिक प्रकृया बन्द हुन्छ । शरिरले ताप, शक्ति र बल प्राप्त गर्दैन । अनि राम-नाम-सत्य हुन्छ । 

    यसर्थ, मोटाउनु र दुब्लाउनु भनेको हामीले खाएको कार्बोहाईड्रेटको मात्रा, प्यांक्रियाजको इन्सुलिन बनाउने कार्य क्षमता र मेटाबोलिजम प्रकृयामा निर्भर रहन्छ ।

    त्यसोभए दुब्लाउने कसरी त ? 

    मोटेहरुको शरिरमा बोसो धेरै हुन्छ । बोसो अनावश्यक तैलिय पदार्थ र संचित कार्वोहाइड्रेटको मात्रा हो । चिकित्सकको भाषामा भन्नु पर्दा ट्राईग्लिसेराईड्स, कोलेस्ट्रोल र तैलीय एसिड नै बोसो हो । मोटेहरुको समस्या भनेको कार्बोहाईड्रेट्सको अव्यवस्थापन हो । कार्ब भन्नाले भात, आलू, पाउरोटी, रोटी, मकै, मैदा पिठो अर्थात अन्नहरु हो । यी अन्नहरु र फ्राईड खाना ५ दिन खान रोक्ने हो भने शरिर संयन्त्रले आफू संचालित हुनका लागि आवश्यक पर्ने कार्बोहाइड्रेट्स अर्थात कार्ब शरिरमा संचित बोसोबाट बाध्य भएर लिन थाल्दछ । छैठौं र सातौं दिनमा बोसो गिलो र पातलो हुन थाल्दछ । तौल घट्न शुरु हुन्छ । एक हप्ता शरिरले थप कार्ब नपाएपछि बोसोमा संचित कार्व गुमाउनु परेको कारण बढी गुमाएको ठाउँमा बुरुरु डाबर निस्कन थाल्दछ । त्यस्तो अवस्थामा अलिकति खाना खाएमा तुरुन्तै डाबर हट्दछ । मसल्स बलियो र कसिलो बनाउन व्यायाम गर्न पनि सकिन्छ तर वजन घटाउन मात्रलाई ब्यायाम आवश्यक पर्दैन । 

    त्यसो भए त्यो एक हप्ता के खाने त ? भन्नुहोला । खाना प्रसस्त छ; राँगा, खसी, कुखुराको मासु, माछा, दही, दुध, अण्डा, सागपात, तरकारी, गेडागुडी, फलफुल, इत्यादी जति खाँदा पनि हुन्छ । आठौं दिनदेखि १५ औं दिनसम्म पनि कार्ब रोकेर पहिले जस्तै गर्नुस् । बीचमा डाबर आए अलिकति भात भर्दिनुस्, सफा चट हुन्छ । १६ औंदेखि ३० औं दिनसम्म अलिअलि कार्ब खान शुरु गर्नुस् । शरिर कसिलो पार्न हल्का व्यायाम शुरु गर्नुस् । ३१ औं दिनमा सबै कपडा नयाँ किन्नुपर्ने हुन्छ ।

    अब मोटाउने कसरी त ? 

    त्यसो त मोटाउन आवश्यक नै छैन । तथापी जीवनभर अन्तरमनमा लुकेको रहर पुरा गर्न र श्रीमतीले “हजुर पनि अलिकति मोटाइस्यो न”  भनेर करकर गरेको छ भने हल्का मोटाउँदा हुन्छ । तँपाईको माईण्ड र मेटाबोलिजम् स्ट्रेन्थ छिटो चलिराखेको छ । यसर्थ, शरिरलाई बेस्सरी कार्ब र प्रोटिन दिनुस् । माइण्ड र मेटाबोलिजमको गतिलाई आराम दिन ८ घण्टा अनिवार्य सुत्नुस् । छोटोछोटो समयमा केही न केही खाई राख्नुस् । पाचन रसलाई खाली रहन नदिनुस् । कस्ले भन्छ तँपाई मोटाउन सक्नुहुन्न भनेर ? जोरीपारीको मुखेन्जेल एक बर्खा पेट लगाएर देखाईदिनुस् र भन्नुस् “खान्दानी भुँडी हो” । अर्को बर्खापनि निरन्तरता दिनु भयो भने डायबिटिज र हाई ब्लड प्रेसरको दबाई खानुपर्ला ! चाँडै रहर त्यागी हाल्नुस् ।

    Yogesh Dangol ‘Aadi’

  • बिप्लव शक्ति हो, नयाँ धार हो

    बिप्लव शक्ति हो, नयाँ धार हो

    रजमान तामाङ्

    कम्युनिष्ट घोषणापत्रको शुरुको भुमिकामै मार्क्स ऐँगेल्सले कम्युनिज्मको बिचार अर्थात मार्क्सवादी दर्शनबाट आतंकित तत्कालीन युरोपेली शासकहरुको मनोदशालाइ चित्रण गर्दै लेख्नु भएको थियो “युरोप एउटा भुतद्वारा आतंकित भइरहेको छ । त्यो हो कम्युनिज्मको भुत । पोप र जार, मेटर्निक र ग्युजट, फ्रान्सेली क्रान्तिकारी र जर्मन प्रहरी जासुसहरु । पुरानो युरोपका यि सबै शक्तिहरु यस भुतलाइ भगाउने साँठगाँठमा लागेका छन।” नेपालमा अहिले त्यस्तै परिस्थिति निर्माण भएको छ र नेपाललाई एउटा भुतले आतंकित पारिरहेको छ, त्यो भुत हो बिप्लब । र उनको नेतृत्वमा रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी । नेपालका दलाल पुँजिपति वर्गदेखि तिनका राजनैतिक नोकर चाकर, भ्रष्ट कर्मचारी, सिन्डिकेटधारी ठेकेदार, राजनैतिक नेतृत्वको रुपमा रहेको बिदेशी दलाल अझै भन्दा; कम्युनिस्ट पार्टीको खोल ओढेका राष्ट्रघाती सामाजिक दलालहरु । मार्क्सले भन्नु भएझैं बिप्लब र उनले नेतृत्व गरेको पार्टीको भुतद्वारा आतंकित छन । यसलाइ समाप्त पार्न र दमन गर्न राष्ट्रिय अन्तरास्ट्रिय प्रतिक्रियावादीहरु  साँठगाँठ गरिरहेका छन ।

    यहाँ उल्लेखनीय कुरा के छ भने तत्कालिन युरोपमा पोप र जारहरु आफ्नै बर्ग भित्रका सगोत्री दलहरुलाइ समेत कम्युनिष्ट भनेर बदनाम गर्न कम्मर कसेर लागेका थिए । यहाँ परिस्थिति अलग छ। बुर्जुवाहरु अधिनायकवादको हल्ला गर्दै सत्ताधारी सामजिक दलाल पुँजिपति बर्गमा पतन भएको ओली प्रचण्ड नेतृत्वको कथित बदनाम गरिरहेका छन् । जुन नाटक हो । असलियतमा उनिहरुको बदनाम गरेका होइनन् । खास कम्युनिस्ट आन्दोलनको बदनाम हो । ओली, प्रचण्ड र शेरबहादुर देउवा बीचको भिन्नता प्रतिकृयाबादी सत्ताधारी बर्ग बीचको आपसी खिचातानी भन्दा केही होइन । सारमा सत्तारुढ बर्ग कम्युनिस्ट आन्दोलनलाइ समाप्त पार्ने दुइ हतियार प्रयोग गरिरहेका छन। पहिलो; कम्युनिस्ट खोल ओढेका आफ्नै बर्गलाइ  सत्ताको (खासमा सरकारको) नेतृत्वमा राखेर श्रमजीवी बर्ग र समाजबाद बिरोधी कार्यक्रमको अगुवाइ गर्न लगाएर। दोश्रो; खास कम्युनिस्ट आन्दोलनलाइ बलप्रयोग गरेर । त्यसका विरुद्ध दुस्प्रचार र प्रतिबन्ध लगाएर नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन समाप्त गर्न लागिपरेका छन दलाल पुँजिपती बर्ग ।

    खुसीको कुरा के छ भने मार्क्स ऐँगेल्सले घोषणा पत्रमा लेखिएको “कम्युनिज्म एउटा शक्ति हो” भन्ने कुरालाइ सबै युरोपेली शक्तिहरुले मानेका छन्, भने झैं नेपालका सत्ता-शक्तिले बिप्लबको नेकपा एउटा शक्ति हो” भन्ने  स्विकारेका छन । फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टी माथि प्रतिबन्ध लगाउने ओली प्रचण्ड कम्पनीको हर्कतले त्यसलाइ प्रष्ट पारेको छ ।

    कम्युनिस्ट क्रान्तिकारीहरुले इतिहाससँग यसको के कस्तो साइनो छ ? अध्ययन गर्नुपर्ने छ ।

    इतिहासको शिक्षा 

    नेपालको इतिहासमा दिल्ली सम्झौताको विरुद्ध रहेका डा. केआइ सिंहले बिद्रोह गरेपछी नेपाल कम्युनिस्ट पार्टी माथि २००८ मा प्रतिबन्ध लगाएको थियो। आखिर त्यो कुनै कम्युनिस्टहरुको बिद्रोह थिएन। सत्तारुढ बर्ग भित्र कै असन्तुष्टि थियो। त्यतिबेलाको क्रान्तिकारी शक्ती नै नेपाल कम्युनिस्ट पार्टी भएकोले सो विरुद्ध प्रतिबन्धको लागि मातृका सरकारले उपयुक्त अवसर ठाने । राणा शासनको अध्यारो युगलाइ मात्र होइन समग्र सामन्तबादको अन्त्य गरेर जनबाद हुँदै समाजबादसम्म पुग्ने उसको घोषित नीति थियो ।

    त्यस्तै नेपालमा पन्चायती ब्यबस्थाको उदयसँगै २०१७ मा दलहरु माथि प्रतिबन्ध लगाएर राजाले निरंकुसता लादे। त्यही निरंकुशताको विरुद्ध लडेको र समग्र सामन्तबाद अन्त्यको लागि आन्दोलनको अगुवाइ गरेको शक्ति आफ्नो बर्ग उत्थान पछि एउटा क्रान्तिकारी पार्टी माथि प्रतिबन्ध लगाउन पुगेको छ । सायद यसैकारण कार्लमार्क्सले हेगललाइ उदृत गर्दै लेख्नु भएको होला कि “इतिहास दुइचोटि दोहोरिन्छ, पहिलो चोटी वियोगान्त रूपमा र दोश्रो चोटी मजाकको रूपमा” । ओली प्रचण्ड मजाक गर्दैछन् कि आफ्नै इतिहासका गाथामाथि धावा बोल्दै छ ?

    बिश्व इतिहासमा कम्युनिस्ट पार्टीको आवरणमा सत्तामा पुगेका गद्दारहरुले कम्युनिस्ट क्रान्तिकारी विरुद्ध गरेको फाँसिबादको हर्कत हेर्न टाढा जानु पर्दैन।सिपिएम भनिने पश्चिम बंगालका कथित कम्युनिस्ट सरकारले नक्सल आन्दोलनका नेता चारु मजुमादरको निर्मम हत्या गरेको हाम्रै छिमेकको इतिहास छ । त्यसै गरी १९१९ मा जर्मनीको “जर्मन सामाजिक जनबादी पार्टी” को सरकारले जर्मन कम्युनिस्ट पार्टी (क्रान्तिकारी कम्युनिष्ट पार्टी) माथि दमन गरेर नेताहरू रोजा लक्जेम्बर्ग लगायतको कत्लेआम गरेको थियो ।

     सामाजिक दलाल पुँजीवादी सताको नेतृत्व गरिरहेको डबल नेकपा सरकारले पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी माथि त्यस्तै हर्कतको प्रयत्न गरेको छ। तर बिप्लबले भनेका छन्  “यो पानीको फोका झैं फुट्ने निश्चित छ” ।

    प्रचण्ड ओलीको प्रोपोगान्डा 

    प्रतिबन्धपछि जे जस्ता प्रोपोगान्डा बिर्लव नेकपा माथि लगाउन ओली प्रचण्ड लागिपरे । सत्ताशक्तिका अनुसार बिप्लवको नेकपा पार्टी एक अपराधिक जत्था हो र ब्यक्ति हत्याको योजनामा उद्दत छ भन्ने हो । जुन भ्रामक छ । बिप्लवशक्तिलाई अपराधीकरण गर्न राज्यको श्रोत साधन दुरुपयोग गरइरहेका छन् । बिप्लव कहिल्यै र कोही पनि ब्यक्ति हत्याको पक्षमा छैन । र उनको कार्यदिशाले ब्यक्ती हत्यालाइ अस्विकार गर्छ। ओली र प्रचण्डको अभिव्यक्ति आफ्नै इतिहासबाट आतंकित छ । ब्यक्ती हत्याको राजनीति त ओलीले नै शुरु गरेका हुन । प्रचण्डले बर्तमान काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई समेत एम्बुस हमला गर्न लगाएको इतिहास नेपालीले यति छिटै भुलेका छैनन् । (स्मरण रहोस् प्रचण्डले अहिलेसम्म गल्ती स्विकारेका छैनन् )

    प्रचण्डले पेरिस डाँडामा शहिद परिवारहरुको भेलामा बिप्लबले आफुलाइ मार्न मान्छे खटाएको पागलपुर्ण बकबास गरेका छन ।शहिद घाइते अपाङ्गहरुको सेन्टिमेन्ट लिन र आफ्नो गद्दारीलाइ ढाकछोप गर्न उनी यो अलाप गरिरहेका छन । प्रचण्डको अलिकती मात्रै पनि इतिहास खोतल्ने हो भने आफ्नै पार्टी पंतिभित्र उनले गरेका त्यस्ता अपराध कर्म सामान्य छन र ? आफुसँग असहमत हुने बादललाई मार्न योग्य आरोप लगाउने उनै प्रचण्ड होइनन? के प्रचण्डले भनेझैं बादल माओको हत्या गरेर नेतृत्व कब्जा गर्ने षड्यन्त्रमा तल्लिन लीन प्याओ नै थिए त ?किरणलाइ सिआईए र बाबुरामलाइ भारतको एजेन्ट भनेर पार्टी भित्रको आफ्नै सहयोद्दाहरुको कत्लेआम गरेर प्रचण्डको उदय भएको हो। अझ बाबुरामले ज्ञानेन्द्र शाहसँग सत्तासाझेदारी गर्ने प्रचण्डको प्रस्ताव विरुद्ध उभिएपछी उनको हत्या गर्न गरिएको प्रयत्न विभिन्न शक्तिकेन्द्रको दबाबबाट पछि हटेर अन्ततः बाबुरामकै लाइनमा समाहित भएको तथ्य सायद बाबुरामलाई बढी नै थाह हुनुपर्ने हो। र प्रचण्डको यो बकबक सुनेर बाबुराम एक्लै हाँस्दो हो ।

    ओली प्रचण्ड यी सब कर्तुत किन गरिरहन्छन भने उनिहरु एक अपराध छोप्न हजारौं अपराध गर्छन् भने झैँ आफ्नो सत्ताभित्र पैदा भएको संकट मोचनको निम्ति आफ्ना युद्ध पिपासु मालिकहरुको आदेशमा देशलाई युद्धमा धकेल्न चाहन्छन। दुइतिहाइ बहुमत सहित सत्तामा उक्लेपछी आफ्ना मालिकलाई खुसी पार्न उनिहरुले गरेका राष्ट्रघात, भ्रस्टाचार र जनबिरोधी हर्कतबाट नाङ्गिए पछि आफ्ना अपराध ढाकछोप गर्न ओली दाहाल कम्पनीले जनतामाथि युद्द थोपरेका छन।

    अर्को महत्त्वपूर्ण पक्ष चाँहि प्रचण्डले बिप्लव नेतृत्वमाथि आफ्नो नक्कल गर्न खोजेको र प्रचण्ड बन्न खोजेको आरोप लगाएका छन।यसले चाँहि गम्भिर बैचारिक बहसको माग गर्छ। निसंकोच भन्नुपर्छ कि प्रचण्डले जतिबेला नेपालमा जनयुद्ध प्रारम्भ गरे त्यतिबेलाको बिश्व राजनीति, कम्युनिस्ट आन्दोलन र नेपाली समाजको वर्गसंघर्षको स्थिति निकै प्रतिकुल थियो। सोभियत संघको बिघटन पुर्बी युरोपमा पुजीवादको पुनर्स्थापना शित युद्धको अन्त्य र त्यसैलाई आधार बनाएर साम्राज्यवादले घोषणा गरेको इतिहासको अन्त्य र पुँजीवादको दिग्बिजय घोषणा गरेको समय नेपाल जस्तो सानो भुपरिवेष्टित मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा शसस्त्र संघर्षको उठान गर्ने प्रश्न सामान्य हुँदै होइन। यो समयमा प्रचण्डले एक अद्दितिय महान पहलकदमी लिएको कुरा बिर्सिँदा इतिहास अपुरो हुन्छ नै। अर्धसामन्ती र अर्धऔपनिबेशिक नेपाली समाजमा दीर्घकालीन जनयुद्धको अगुवाइ गरेका हुन प्रचण्डले । प्रचण्ड यो युगको नायक हुन। तर नेपालमा सामन्तबादको अन्त्य भएर जब नेपाली समाज नयाँ युगमा प्रबेश गर्यो।नेपाली समाजको चरित्रमा बदलाब आयो ।भुमन्डलिकृत पुँजीवादको आँधिहुरी सामु प्रचण्ड प्रचण्ड बनिरहन नसकेको यथार्थ हो ।हामी ले के देख्यौं भने प्रचण्ड यहिनेर चिप्लिए र पुष्प कमल दाहालमा परिणत भए।

    कुनैपनि क्रान्ति कोही बेलाको र कुनै देशको नक्कल गरेर हुँदैन । पेरिस कम्युनदेखि अक्टोबर क्रान्ति चिनियाँ जनबादी क्रान्ति, भियतनाम कोरियाली र क्युबाली क्रान्ती आफ्नै विशेषतामा आफ्नै युगको परिभाषामा र बस्तुगत परिस्थितिको ठोस बिश्लेषण गरेर सम्पन्न भएको हो। एकले अर्को देशको नक्क्ल गरेर काहीं क्रान्ति सम्पन्न भएको छैन। नक्क्ल गर्नेहरु गोलचक्करमा फसेका छन कि त समाप्त भएका छ्न।

    बिप्लवले अघि सारेको कार्यदिशा एकीकृत जनक्रान्ती हो। यो पुँजीवादी देशमा गरिने रुसी मोडेलको आम शसस्त्र बिद्रोह र अर्धसामन्ती र अर्धऔपनिबेशिक मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिने दीर्घकालीन जनयुद्धको कार्यदिशाको हुबहु नक्क्ल होइन। बरु यो दुबै कार्यदिशाको सार्बभौम सच्चाइहरुलाइ आत्मसात गरेर बदलिएको समाजको उत्पादन प्रणाली र अर्थराजनैतिक चरित्र, नेपालको आफ्नै सामाजिक बनौट, उदाउँदो मध्यम बर्ग (आधुनिक श्रमिक बर्ग), देशभक्त शक्तिको उपस्थिति, जातीय क्षेत्रीय बिभेद, भुमन्डलिकृत पुँजिबादले बिकाश गरेको आर्थिक राजनैतिक र सैनिक रणनीतिको समग्र अबधारणाको अध्यन र निस्कर्षको आधारमा कार्यदिशा अघि सारिएको हो । पछिल्लो समय मानव जातीले आर्जन गरेको ज्ञान, बिज्ञान र प्रबिधिको संस्लेषन यो कार्यदिशाको मौलिकता हो। आर्थिक महाशक्तिको दौडमा रहेको दुइ छिमेकी बीच  भुपरिबेष्टित  र यसियाकै दोश्रो दरिद्र मुलुकको रुपमा हाम्रो अबस्थिती हाम्रो आफ्नो अर्को बाध्यता हो।

    जनयुद्ध र दोश्रो जनआन्दोलनपछि मुलभुत रुपमै नेपाली समाजको उत्पादन प्रणाली र अर्थराजनीतिक चरित्र पुँजीवादी भइसक्यो।त्यसैले अब कम्युनिस्ट क्रान्तिकारिहरुको कार्यभार समाजबादी क्रान्ती हो। जहाँसम्म रास्ट्रिय पुँजिको बिकास नभइ समाजबादी क्रान्ती सम्भब छैन भन्ने तर्क छ। यो बासी तर्क ल्युसाओची र संसोधनबादी गद्दारहरुको तर्क हो।

    जहाँसम्म अहिलेको संसद भित्रैबाट समाजबादमा पुग्न सकिने कुतर्क गरेर प्रचण्ड गिरोहले भ्रम सृजना गर्ने प्रयत्न गरिरहेका छन। आफ्नै इतिहास तिर फर्केर हेरे आफ्नो अनुहार छर्लङ्ग हुन्छ। संसदमा भाग लिने नेकपा एमालेलाइ नबप्रतिक्रियावादमा एमाले गुटको पत्तन भन्दै लामो आलेख लेख्ने प्रचण्डको अनुहार चिहाए पुग्छ। एमालेको कार्यकर्ता भएकै कारण प्रतिक्रियावादी बिल्ला भिराएर रेटिएका घाँटीहरु सम्झिए हुन्छ। र आफु कुनबाट हिडिरहेको छ थाहा भइहाल्छ। अरु बकबक किन ?

    के दलाल पुँजीवादको डुङ्गा चढेर समाजबदको गन्तव्यमा पुगेको इतिहास छ?समाजबाद पुँजिबादले दया र कृपाबाट प्राप्त हुन्छ ?

  • किन गर्छन् मान्छेहरु आत्महत्या ?

    किन गर्छन् मान्छेहरु आत्महत्या ?

    आर एल श्रमजिवी

    बेल्जियम

    आफ्नो जीवन स्वयंले समाप्त गर्नुलाई आत्महत्या भनिन्छ । छापाहरुमा प्रत्येक दिन पढिने, रेडियो टेलिभिजनमा सुनिने र देखिने आत्महत्याका समाचार सुन्दा यसो घोत्लन्छु, जंगली युगमा मान्छेले पक्कै पनि आत्महत्या गर्दैनन् थिए होला । जब मान्छेहरु चेतनाले चल्न थाले उनीहरुमा तनावका बीच आवेग उत्पन्न भयो अनि क्षणिक पागलपनमा आफैलाई समाप्त पारे होलान् । यो देख्ने र सुन्नेले त्यसैको सिको गरे होला । संसारमा को मान्छेले पहिला आत्महत्या कसरी गर्यो होला ? यदि मान्छेले आत्महत्या नगरेको भए अहिलेसम्मका आत्महत्याका घटनाहरु नै हुने थिएनन् कि ?

    तपाईंलाई थाहा छ मान्छे बाहेक कुनै प्राणीले पनि आत्महत्या गर्छ र ? अनि सजातीय प्राणीले आफ्नालाई हत्या पनि गर्दैनन् । बरु मान्छेले पो आफु जस्तै मान्छेको हत्या गर्छ । हामी मान्छे अरु प्राणी भन्दा पनि कति नीच छौँ हगि ! आत्महत्यालाई विभिन्न विधाबाट विभिन्न दृष्टिकोणले हेरिन्छ । सामाजिक, धार्मिक, कानुनी र स्वास्थ्यसम्बन्धी दृष्टिकोणहरु आत्महत्यालाई अलगअलग ढङ्गले व्याख्या गर्छन् । विभिन्न धर्महरु आत्महत्यालाई पापको पनि संज्ञा दिन्छन् । समाजशास्त्रीहरुले पनि आत्महत्याको बारेमा अध्ययन गरेका छन् । विगत शताब्दीमा समाजशास्त्री दुर्खाइमले आत्महत्याको सामाजिक सिद्धान्तको प्रतिपादन गरे । उनका अनुसार मानिसहरु विभिन्न कारणले आत्महत्या गर्दछन् । उनले आफू आफ्नो सामाजिक समूहसँग संलग्नता नभएको अनुभव गर्ने मानिसहरुमा आत्महत्या सम्भावना बढी हुने देखे । समाजमा एउटा निश्चित सामूहिक नियम नभएको अवस्थामा (संक्रमणकालमा गुज्रिरहेको समाजमा) पनि आत्महत्या बढी हुने तथ्यांकहरु बोल्छन् । यो कुरा हाम्रो नेपालमा द्वन्दकालमा हामीले धेरै देख्यौं ।

    हो यो जीवनको अन्त्य हुने नै छ भने किन चाँडो आफैले आफैलाई मार्नु ? नमर्ने भए पो मर्ने बारेमा सोच्नु ? जस्तै अवस्थामा पनि आत्महत्या गर्नहुन्न । जीवनलाई अन्तिमपल्टसम्म जिउनु पर्छ । जसले तपाईलाई घृणा गर्छन् तिनीहरुलाई मतलब नगरी अगाडी बढ्नुपर्छ, मेरो जसरी । सबैले थाहा पाउनु पर्ने कुरा के हो भने मान्छेका जति ठूलो समस्या, जति नराम्रो अवस्था भएपनि र जति एक्लै भए पनि हामीले कहिल्यै पनि आफ्नो विश्वासलाई मार्न हुँदैन । यो जीवन बाँच्न र बचाउनका लागि हो । नेपालीमा उक्ति छ ‘मर्नु भन्दा बौलाउन निको’ चेतनाहीन मान्छे पागल हुनु बरु चेतनाहिन भए पनि मान्छे बाँच्नु पर्छ भन्ने नेपाली उक्तिको सन्देश हो ।

    देखेको पढेको र सुनेका  आधारमा केहि कुरा यहाँ राख्न मन लाग्यो । सबैभन्दा बढी आत्महत्या गर्ने मुलुकमा पहिलो नम्बरमा जापान आउने रहेछ । हुन त्  विश्वभरि नै आत्महत्या गरेर मर्नेको तथ्यांक लेख्न गाह्रो छ । सम्पन्न मुलुक अमेरिका र युरोपमा पनि मान्छेहरु आत्महत्या गर्छन् । अमेरिका तथा युरोपमा गरिएको अध्ययनले आत्महत्या गर्नेको संख्या बढ्नुमा आर्थिक मन्दीले बढी भूमिका निभाएको उल्लेख छ । ती आत्महत्याहरु २०११ सम्म धेरै भए पछि अनुसन्धानकर्ताले के कारणले मान्छे यसरी मरे भनेर अध्ययन गरेका रहेछन् । सन् २००८ मा अमेरिकाको घरजग्गा कारोबारबाट सुरु भएको आर्थिक मन्दीबाट परेको विश्वव्यापी असरको युरोप अमेरिका र ल्याटिन अमेरिकाको ५४ देशमा अध्ययन गरिएको थियो । अध्ययन अनुसार युरोपमा १५ देखि २४ वर्ष उमेर समूहमा तथा अमेरिकामा ४५ देखि ६४ वर्ष उमेर समूहमा आत्महत्या दर बढेको पाइएको थियो । आर्थिक मन्दीका कारण मनोवैज्ञानिक रुपमा परेको दवाव र आत्महत्याबीच सम्बन्ध रहेको अनुसन्धानकर्ताले दावी गरेका थिए । त्यस बेलाको अध्ययन अनुसार संकटको प्रभाव युरोपका २७ देशमा (सेन्जेन कन्ट्रीमा) बढी देखिएको छ । यसपछिको क्रममा क्यारेबियन र ल्याटिन अमेरिकी देशहरु छन् । आत्महत्यालाई आधार मान्ने हो भने महिलाहरुमा वित्तीय संकटको प्रभाव पुरुषको तुलनामा कम देखिएको थियो । कारण युरोपमा त्यतिबेला तल्ला तहका महिला परिवारको सहमतिमै वेश्या बनेका थिए बनेर मेरा मित्र मुन्देलले बताए । यसअघिका वित्तीय संकटहरुमा ब्राजिल युक्रेनबाट आएका आप्रवासीले आत्महत्या गरेको अनुसन्धानकर्ताको भनाइ छ । जापान, हङकङ र कोरियामा १९९७ देखि १९९८ को वित्तीय संकटका बेला १० हजार मान्छेले आत्महत्या गरेका थिए  ।

    कसरी गर्छ आत्महत्या ?

    नेपालमा आफैले आफ्नो घाँटीमा पासो लगाएर झुन्डिने, बिष सेवन गर्ने र पानीमा डुबेर मर्ने जस्तो युरोप र अमेरिकामा हुने रहेनछ । अमेरिका, युरोप र ल्याटिन अमेरिकी देशमा आफैले शरीरलाइ काट्ने जस्तै गुड्दा गुड्दैको रेल वा मेट्रोमा हामफाल्ने, मेसिनमा बेरिने, ठूला भवनबाट हामफाल्ने, आफ्नो गाडीलाई अीसमित गतिमा गुडाएर ठुला कन्टेनर गाडीमा ठोक्काउने गर्दा रहेछन् । नेपालमा आत्महत्यालाई हत्या र अन्य अपराधहरुकै श्रेणीमा राखिएको छ । पश्चिमी मुलुकहरुमा भने आत्महत्यालाई राष्ट्रिय स्वास्थ्य अभिलेख अन्तर्गत उल्लेख गरिनुबाट हाम्रो र पश्चिमी समुदायहरुको आत्महत्याप्रतिको दृष्टिकोण नै फरक रहेको कुरा स्पष्ट हुन्छ । नेपालमा अझै पनि स्वास्थ्य मन्त्रालयले आत्महत्याको आँकडा नराख्नुले नेपालको स्वास्थ्यको नीति निर्माताहरुमा यस गम्भीर विषयको अज्ञानता या उदासिनता रहेको बुझिन्छ ।

    नेपालीहरुले गरेका आत्महत्या

    नेपालबाट युरोप छिरेका नेपालीहरुको कुनै न कुनै कथा हुन्छ । यहाँ धन कमाउन नसकेपछि अनेक ब्यथा निस्कन थाल्छन् । परिवारबाट विक्षिप्त भएर टाढा बस्दाका अनेकौ पीडा दुःख त हुन्छ नै खान र बस्नको समस्या पनि परेपछि धेरैमा डिप्रेसनको समस्या देखा परेका छन् । यी र यस्तै – यस्तै समस्याले पिरोलिए पनि उनीहरुले देखेको सपना युरोपमा आइपुग्दा भताभुङ्ग भएपछि युरोप आउँदा ब्याजमा लिइएको साहुको ऋण भुक्तान गर्न नसकेर आत्महत्या गरेको मैले थाहा पाएको छु । युरोपको पुर्चुगलामा  मैले देखेको  पहिलो आत्महत्या २०१३ को डिसेम्बर २० मा बाग्लुङ्ग घर भएका राजेन्द्र आचार्यले यहाको स्थानीय पार्कको रुखमा झुण्डिएर आत्महत्या गरे । मैले त्यतिबेला आफ्नो एग्रोभेट पसलबाट द्रसवान बिषादी खाएर भैसेपाटीमा २० बर्षअघि आत्महत्या गर्ने जोरकाली हाम्रा गाउँठाउँका रामबहादुर थापा, साहित्यकार भैरव अर्याल लगायत पत्रकारितामा लाग्दा आफुले लेखिएका आत्महत्याका समाचार हुन् वा कुनै पनि मान्छेले आत्महत्या गरेपछि प्रहरीले ल्याएका थुप्रै सुसाइड नोटको सम्झना आयो । सात बर्ष  अघि आत्महत्या गरेकी हाम्रो रेडियोकि प्रस्तोता विद्या विष्टलाइ सम्झी रहेको छु उनि  सामान्य परिवारकी छोरी थिई । उनका बाबु मरेको केहि वर्ष भएको थियो । दाजु पनि मरेका थिए । हजुरबा पनि मरेपछि साह्रै दुख पाए भनेकी थिई । प्राइम कलेजमा पढ्न रेडियोले व्यवस्था मिलाइदिएको थियो । आर्थिक संकट टार्न सेनामा जागिर खान जान्छु भनेर रेडियो छोडेकी थिई । अरुलाई निराशा हुन नदिने सुखमा मनोरञ्जन प्रदान गर्ने र दुःखमा सान्त्वना दिने रेडियोकर्मी विष्टले आफ्नो प्रेमीले आत्महत्या गरेको केही दिनमा नै बिष पिइछिन् । सायद उनी एक्लोपन र दिक्दारीले मानसिक रुपमा आवेगमा आएर बिष खाइन् होला । त्यस्ती रेडियोकर्मीले कसरी आत्महत्या गरी होली भनेर म स्तब्ध भएको थिएँ । यो घटनाको खबरले उनको परिवारको त्यो कहालीलाग्दो बज्रपात कसरी सहिन होला उनकी आमाले भनेर मलाई साह्रै दुखी बनायो । सुरु सुरुमा रेडियोमा बोल्न नआउँदा केबी रानामगर र मैले यसरी बोल्नु पर्छ भनेर सिकाउँथ्यौं । ती दिन पनि सम्झन पुगेँ । पछि उनी भित्रदेखि रेडियोमा नबोले पनि केहि स्रोताले सुरिलो स्वर किन्नरी भनेर भन्दा ऊ मख्ख पर्थी । रेडियो एबिसीको बिहान ८ देखि ९ बजेसम्म प्रसारण हुने ‘सुनौलो बिहानी’ कार्यक्रमकी ऊ पहिलो प्रस्तोता थिई । आत्महत्या गर्नेप्रति मेरो संवेदना जाग्दैन थियो तर उनी त मारिन् मारिन् ती आमा आज सम्म कसरी बचेकी होलिन् भनेर सोच्ने गर्छु  । उनी मायामा यति पागल भइछिन् कि आफैलाई पो समाप्त पारिछिन् । हो पागल मान्छेहरुले मात्र आत्महत्या गर्छन निडर र संघर्षशिल मान्छेले जीवन बुझ्छ आफ्नो जीवनलाई आफैले कहिले पनि समाप्त पार्दैनन  । 

  • रामराज्य, जटायु र कागभुशुण्डी

    रामराज्य, जटायु र कागभुशुण्डी

    पुरुषोत्तम लम्साल

    यो वर्ष पनि नेपाली साहित्यका ‘श्रेणीमा प्रथम अर्थात् गणनामा सर्वप्रथम कवि’ भानुभक्त आचार्यको जन्मजयन्ती धुमधामले मनाइयो । बिर्खे टोपी ट्रेडमार्क भएका भानुभक्तबारे विभिन्न कोणमा बहस भए । कतिले तात्कालीन समाजको यथार्थ मानेर उनको प्रशंसा गरे, कतिले जात, भाषा र धर्म जोडेर ठट्टा । यो पाटो अलग्गै रह्यो । भानुभक्तबारे मेरो आफ्नै धारणाले यहाँ अर्थ राख्दैन । तर भानुभक्तले नेपाली भाषामार्फत जनबोलीमा ल्याएको भनिएको रामायण कृतिको विषयमा जहिल्यै कुतूहलता हुन्छ । र, रामायण आयो कि सधैं कान ठाडो । ध्वनी र वाणी ठम्याउनसक्ने भएदेखि परिवार, समाज, विद्यालयबाटै सुनिरहेको भएकाले होला रामायण सधैं चासोको विषय हुनेगरेको । यसैले आजको बसाई भानुजयन्ती सन्दर्भमा भन्दा रामराज्य, जटायु र कागभुशुण्डीमा बस्ने यत्न गरें ।

    धर्म र राजनीतिको तन्तु

    एउटै कृतिले हजारौं वर्षसम्म समाजलाई कसरी बाँध्न सकेको होला ? रामायणको सन्दर्भमा यो प्रश्न सधैं सोधिरहेको हुन्छु । संसारको सम्पूर्ण साहित्यमा रामायणभन्दा बाहिरको कृतिले कुनै समाज र विचारलाई हजारौं वर्षसम्म बाँधेर राखेको उदाहरण छ ? भए पनि बिरलै होलान् । साहित्यिक कृति मानवधर्म, समाजधर्म र राज्यधर्म नजोडिएको भए सम्भवतः रामायणको यतिविध्न बहस, खोज नहुने पो थियो कि ! यो मेरो सन्देह हो ।

    रामलाई ईश्वर वा भगवानको अवतारको रुपमा मान्ने कि नमान्ने ? यसका लागि आआफ्नै तर्क, आस्था र विश्वास हुनसक्लान् । म यसमा अल्झन्न । मेरा लागि वाल्मिकीले रामायणमार्फत् दुई हजार वर्षभन्दा पुरानो समाजबाट एउटा लोकनायक दिए । लोकनायक अर्थात् आदर्शपुरुष । अनुकरणीय आदर्श चरित्र । मेरा लागि अवतारवादले लोकनायकको चरित्र बोक्न सक्दैन । यत्ति हो ।

    रामनवमीको प्रसाद खाएर, विजयादशमीमा उपासना गरेर, तिहारमा हल्लीखल्ली गरेर आएकाले यसो भनेको होइन, कृतिको रुपमा त्यो युगमा रामायणले परिकल्पना गरेको समाजको आधारमा भनेको हूँ । रावणको बध गरेसँगै अयोध्या आइपुगेका राम मेरा लागि राजा वा भगवानको फिर्तीभन्दा बढी नैतिक आदर्शको पुनरागमन लागेर त्यस्तो विचार पलाएको हो ।

    धर्मको अर्थ सदाचार, सद्विचार, अनुशासन र लोकहित नै हो । राजनीतिको अभिष्ट गलत कुराहरुविरुद्ध लड्दै असल मान्यता स्थापना गर्नु हो । त्यसैले मेरो बिचारमा राजनीति पनि धर्म नै हो । यसो भनौं, हुनपर्ने हो । प्रश्न सिधा छ, धर्मको आवश्यकता किन पर्यो ? समाजलाई थितिमा बाँध्न । समाजलाई अनुशासनमा राख्न । व्यक्तिलाई नैतिक चरित्रबाट विमुख हुन नदिन । अनि राजनीतिको आवश्यकता किन ? विधि बनाउन, थिती कायम राख्न, राज्यको मर्यादा स्थापना गर्न, न्यायव्यवस्था कसिलो बनाउन । त्यसो भए राजनीति र धर्म एकै हुन् ? चरित्र र विधि फरक भए पनि अभिष्ट एकै हुन् । अर्थात् राजनीतिक हुनुको अर्थ कुनै पनि रुपमा भइरहेको अधर्मको विरुद्ध बोल्नु हो, सत्य र न्यायको पक्षमा आवाज उठाउनु हो । यसो भन्दा तपाईलाई अचम्म लाग्छ ? नलाग्न पर्ने हो । यसैले कृतिको रुपमा वा कुनै ठूलो धार्मिक समुदायले प्राचीनकालदेखि धर्मग्रन्थको रुपमा स्वीकार गरेको रामायणले राजनीति र समाजव्यवस्थामा गर्ने दिशानिर्देशमा जिज्ञासु हुँदा आनन्द लाग्छ ।

    दुई पात्र र दुई चरित्र

    विद्यालय तहमा पढ्दै गर्दा भाइसाथीबीच झगडा हुन्थ्यो । कहिले कपर्दी खेल्दा, कहिले गुच्चा खेल्दा, कहिले भलिबल खेल्दा त कहिले रबरको झुप्पो खेल्दा । खेल्ने क्रममा जब कसैले झेली गथ्र्यो वा जानीजानी नियम बाहिर गएर बलजफ्ती गर्दथ्यो त्यो बेला धक्कामुक्का भइहाल्थ्यो । त्यस्तो बेला खेललाई झेल बनाउनेसँग निहुरीमुन्टी लाएर बस्नेलाई हामी ‘भुशुण्डा’ भन्थ्यौं । त्यो ‘भुशुण्डा’ शब्द चल्तीमा आएको रहेछ कागभुशुण्डी नामबाट । र, त्यो पात्र आदिरामायणसँग सम्बन्धित रहेछ ।

    एकादेशमा, कागभुशुण्डी नामको पात्रलाई कालजयी हुने आशिर्वाद प्राप्त भएको रहेछ । अर्थात्, समयक्रममा भइरहेका घटनाको प्रत्यक्षदर्शी भइरहने । तर सही र गलत के हो त्यसको पक्ष वा विपक्षमा नबोल्ने । चुपचाप हेरिरहने । प्रतिक्रियाविहीन । उदेकलाग्दो चरित्र ! कागभुशुण्डीको दशा र नियतिबारे अर्को कुनै अंकमा छलफल गरौंला ।

    अर्को पात्र जटायु । गिद्द (पंक्षी) का नायक । रामायणमा जटायु नामको बृद्ध, निर्बल पंक्षी पात्रको सन्दर्भ छ । रावण नामको दुष्ट चरित्र भएको पात्रले सीता नामकी स्त्री अपहरण गरेर लैजाँदै गर्दा जटायु र रावणको आमनेसामने हुन्छ । रावणलाई उक्त अन्यायी र अनैतिक कर्म गर्नबाट रोक्न जटायुले प्रयास गर्छ । रावण जस्तो बलशाली पात्रसँग जटायु हार्नु स्वभाविक छ । रावणले पखेटा काटिदिएपछि जटायु जमीनमा बजारिन्छ । सङ्घर्षमा रावणको कुकर्म वा अधर्मले जित्छ र जटायुको बिद्रोही चरित्र तत्कालका लागि हार्छ ।

    हामीले लिन पर्ने शिक्षा भनेको जटायुले तत्कालका लागि पराजय ब्यहोरे पनि रावणको पनि अन्त्य कुनै दिन निश्चित छ भन्ने नै हो । जटायुका लागि रावणसँग युद्धको परिणामभन्दा अधर्म वा अन्यायसँगको सङ्घर्ष महत्वपूर्ण रह्यो । शिक्षा यही हो, राजनीतिबाट जटायुको चरित्र विलुप्त भएपछि रावणको चरित्र स्थायी हुन्छ । रावणलाई रामायणको पात्रै मान्दा पनि हामीले रावणविरुद्ध जटायुको चरित्र ग्रहण गर्नुपर्दछ भन्ने हो । रावणले अराजनीतिक काम गरे, अधर्म गरे त्यसका विरुद्ध जटायु बन्नु …। त्यसैले हरेक ब्यक्ति कुनै न कुनै रुपमा राजनीतिक हुनपर्छ भनिएको हो । दार्शनिक अरस्तुले भनेकै छन् ‘हरेक ब्यक्ति प्राकृतिक रुपमा राजनीतिक हुन्छ’ भनेर ।

    इतिहासको अर्को एउटा प्रसङ्ग जोड्छुः

    कुनैबेला ग्रीक साम्राज्यको दबदबा थियो । दुनियाँका कमजोर समाजलाई उपनिवेश बनाउनु र दासताको जञ्जीरले बाँध्नु उसको चरित्र थियो । उसको शक्तिका अगाडि धेरै बलशाली राज्यले घुँडा टेके र दासता स्वीकार गरे । तर मेलोन नामको यस्तो राज्य पनि थियो जो तुलनात्मक रुपमा ज्यादै कमजोर हुँदाहुँदै पनि एथेन्स (ग्रीक)सँग झुकेन । संघर्ष गर्यो । झुकेर अन्याय सहनुभन्दा मैदानमा संघर्ष गरेरै पराजित भयो । मेलोन नामको राज्य रामायणकालीन त्यो जटायु हो जसले अन्यायको विरुद्ध अन्तिमसम्म संघर्ष गर्यो ।

    हाम्रो पुस्तालाई हामीले दिन पर्ने शिक्षा भनेको समाजका रावणहरुविरुद्ध संघर्ष गर्न कसरी जटायु बन्ने भन्ने नै हो । जटायु हुनुको अर्थ निःसन्देह राजनीतिक हुनु नै हो । जटायु हुनुको अर्थ आफूलाई त्रिलोकप्रतापी मान्ने र ठान्नेहरुविरुद्ध अन्तिमसम्म संघर्ष गर्नपर्दछ भन्ने नै हो । रावण विद्वान थिए भन्नुको अर्थ उनमा क्रुरता थिएन, घमण्ड थिएन, अहंकार थिएन भन्ने होइन । शाषकमा दम्भ, अहंकार बढ्दै जाँदा त्यसले रावण चरित्र हासिल गर्दछ । ऊ राजनीतिक चरित्रबाट निस्किएर गैरन्यायिक चरित्र प्रदर्शन गर्न थाल्दछ । न्यायको पुकारा सुन्दैन र अन्यायलाई हाकाहाकी प्रश्रय दिन्छ । ऊ थितिको मार्गबाट विचलित हुन्छ र बेथितिका बाहकलाई काखी च्यापेर आनन्दको कुम्भकर्ण निद्रामा निस्लोट सुत्छ । जटायु यही चरित्रविरुद्ध उभिने पात्र हो । रामायण पढ्नेले रामको महिमा र स्तुती गाउनुअघि जटायुको चरित्रलाई गहिरिएर बुझिदिनु पनि राजनीतिक हुनु हो ।

    ब्राम्हण बर्गका श्रेष्ठ शिवभक्त रावणले धर्म छाड्दा के भयो ? वा, रावणको राजनीतिले धर्म छाड्दा के हुने रहेछ ? यो वा त्यो रुपमा कुनै राम आउने रहेछन् । अथवा, राजनीतिले धर्म छाड्दा पनि अधर्म हुन्छ र धर्मले धर्म छाड्दा पनि अधर्मै हुने रहेछ । त्यो बेला कागभुशुण्डी बनेर बस्ने कि जटायु बनेर निस्कने ? निर्णय आफैंले गर्ने हो ।

    रामराज्य

    शासन व्यवस्थामा उत्कृष्ट नैतिक र चारित्रिक अधिकारी बर्ग, न्याय र दण्डविधानमा अक्षुण्ण विश्वास, अर्थव्यवस्थामा नमागीकन कर दिने जनता र नमागिकनै जनताको अभाव समाधान गर्ने राज्य, गरिबले पनि आफ्नो कमाईमा पेटभर खान पाउने श्रम र बजारमूल्य, समाजमा कोही भोका नरहुन, बिरामी भए बैद्यले निशुल्क उपचार गरुन्, अधिकारभन्दा कर्तव्यशील समुदाय हुन्, सबै बालबालिकालाई समान र निशुल्क शिक्षा, विद्यार्थीको रुचीअनुसार शिक्षा र शिक्षकको निशुल्क व्यवस्था, घरसमाजमा कुटुम्ब ब्यवस्था…इत्यादि ।.आहा !

    रामराज्य खासमा आदर्श राज्यको परिकल्पना हो । जुन समाज व्यवस्थित, शान्त, सभ्य, न्यायिक, समान र समृद्ध छ त्यही समाजलाई रामराज्यको नाम दिइन्छ । रामराज्यलाई धर्मको अंश वा पक्षपोषण होइन आदर्श राज्यव्यवस्थाको सपाट परिकल्पना वा राज्यको निर्देशक सिद्धान्तको रुपमा बुझे भैगयो ।

    रामराज्यबारे महात्मा गान्धीले धेरै लेखेका बोलेका रहेछन् । गान्धीको शब्दमा ‘रामराज्यको अर्थ गरिबको सुरक्षा, जनमतको सम्मान र राज्यले सबै कार्यमा अपनाउनुपर्ने संगति हो (सत्याग्रह) ।’ गान्धी पनि जाती व्यवस्था रामराज्यका लागि घातक हुने मान्दथे । रामराज्य निर्माणका लागि जातीय विभाजन र जातका आधारमा हुने भेदभावलाई बाढीमा बगाउनुपर्ने ठान्दथे (सत्याग्रह १९२८) । आर्थिक असमानता रामराज्यका लागि ठूलो खतरा भन्दै गान्धी आर्थिक असमानता कायम राखेर कुनै समाजवादको जडमा नपुगिने दावी गर्दथे । गान्धी भन्थे– राज्यलाई शासक, जमिन्दार र पुँजीपतिहरुले चलाउने र राज्यले तिनीहरुको मात्र संरक्षण गरेर रामराज्यको मर्म लत्याए समयक्रममा उनीहरुको विनाश हुन्छ (१९४७) ।  

    केही वर्षअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले रामायण र रामराज्यको सन्दर्भ निकालेर बेलायती राजनीतिकर्मीलाई असल सरकार र असल राजनीतिका रामायण पढ्न र रामायण सिक्न आग्रह गरेका थिए । राज्य, शासन, सरकार र राजनीतिलाई ‘नैतिक’ रामायण सन्दर्भग्रहन्थ हुने उनको ठम्याई थियो । उसो त संयुक्त राष्ट्रसंघको आठबुँदे असल शासनको कागज त्यही रामराज्यको मूलभुत सिद्धान्तबाट अलग छैन भन्न मलाई कत्ति असजिलो लाग्दैन ।

    अन्त्यमा, तपाई कागभुशुण्डी बन्ने वा जटायु ? रामायण पढेर फगत भक्तिको ‘हनुमान’ मात्र बन्ने कि संघर्षको जटायु पनि ? कि सत्ताको विशाक्त गोलोको रक्षा हेतु भुनभुनाउने अरिंगाल मात्र बनिरहने ?

     

  • अमेरिकी नेपालीको चासो र सरोकार

    अमेरिकी नेपालीको चासो र सरोकार

    शैलेश श्रेष्ठ

    न्यूजर्सी, अमेरिका 

    हामी सपना र सम्भावनाहरुको बिराट साम्राज्य भनिने, मानिने मात्र होइन सावित समेत गर्न सकिने मुलुक संयुक्त राज्य अमेरिकामा छौं । त्यस्ता सपनाहरुको सफल प्रक्षपणको पहिलो शर्त भनेको व्यक्तिको एकल ईच्छाशक्ति र दृढनिश्चयी वैयक्तिक चाहना नै हो । मैले आमरुपमा अमेरिकालाई पढ्दा, बुझ्दा अनि संघर्ष गर्दाका अनुभवहरुलाई सतही सारमा सम्प्रेषण गर्दा “आ-मरिखा” भनेर भन्ने अनि लेख्ने गरेको छु कैयन मान्छेहरुले मेरो आम व्यंग्यलाई नकारात्मकरुपमा समेत बुझ्ने गरेका छन । मैले त्यसरी आ-मरिखा भन्नुको आसय र अर्थ निराशा या तिक्तता पोख्नु या लेख्नु होइन अपितु ईमानर निष्ठाका साथ कर्म गर्न सके मैले “आ-मरिखा” भन्ने गरेको बिराट र अथाह सम्भावनाहरुको मुलुक “आ-गरिखा” पनि हो है भनेर आफ्नो अनुभव सम्प्रेषण गर्नु हो त्यसैले त म मेरा न्युयोर्क केन्द्रित मजदुरीका कथाहरु हरेक ठाउँ र मंचहरुमा सफेद वाचन गर्ने गर्दछु । उपदेश र आदेशले उभो नलागेको यो समाजमा म थप अर्ति, उपदेश र कर्मकाण्डी आदेशहरु होइन सर्वाङ्ग सफेद श्रमजीवी कथा भन्न चाहन्छु ।           

    म एकजना रेष्टुरेन्टमा कामगर्ने एकजना श्रमजिवी मजदुरका हैसियतमा मैले सन् २०१० देखि २०१४ सम्म कामदारहरुले न्यूनतम पाँच दिन बिरामी बिदा पाउने कानून बनाउन हरेक मोर्चामा सामेल भएँ । उता नेपालमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको पार्टीमा लागेका भन्दै सामाजिक न्यायको सुगारटानमा उदात्त रमाउने राजनैतिक कार्यकर्ताहरु कुनै दिन हाम्रो अभियानमा सामेल भएनन् । उताको नेता र मन्त्रीहरुको हेरचारमा व्यस्त हुँदा यताको राजनीति मात्र होइन समाज र सम्भावना बुझ्न अनि आफ्ना वर्गका नेता र नेतृत्वसम्म चिन्न नभ्याएका तर भात्री संगठन खोलेर अमेरिकामा रमाएका अतृप्त राजनैतिक आत्माहरुको चेत त्यति बेला खुल्यो जब तिनका छोरीछोराले स्कुल र कलेजबाट फर्कंदा बर्नी सान्डर्सका प्रचार सामग्रीहरु आफ्ना फोल्डरमा हालेर घर ल्याउन थाले । 

    मातृभूमीको माउ पार्टीका आदेश र परिपत्रहरुको परिपालन गर्दै प्रवासमा कांग्रेस बनेका केही साथीहरुले मलाई ऊ बेला भनेको म अहिले पनि झल्झली सम्झन्छु “हो रै’छ शैलेशजी, तपाईले लेख्दा बोल्दा र सान्डर्सको पक्षपोषण र समर्थन गर्दा कहिल्यै म सहमत हुन सकिन तर अहिले छोरीले भनेको कारण प्रो-बिजिनेस अप्रोचहरुमा ट्रम्पको नीति राम्रो भएपनि हाम्रो वर्गीय स्वार्थ, पर्यावरण र हाम्रा बालबच्चाहरुको नि:शुल्क शिक्षा र आम नारारिकलाई सर्वसुलभ स्वास्थ्यसेवाको पक्षपोषण गर्ने बर्नी सान्डर्सलाई समर्थन गर्दै मत दिने निर्णय समेत गरेको छु ।” अघिल्लो महिना मात्र पनि सामाजिक संजालमा सत्य-तथ्य साहसका साथ लेखेर सामाजिक तरंग ल्याउने क्षमता भएका न्यूयोकका ससंग लामाले लेखे “मैले त मेरी छोरीको सल्लाह अनुसार कुईन्स डिस्ट्रिक अटर्नीका उम्मेदवार टिफिनी कबानलाई मैले भोट हालें ।” उताको राजनैतिक दासतामा रमाएका केही कार्यकर्ता स्तरका मान्छेहरु बाहेकले अहिले हाम्रा नयाँ पुस्तालाई सुन्ने र उनीहरुको एजेन्डामा काम पनि गर्ने गरेका छन । यो हाम्रो समाजको लागि शुभ-संकेत हो र यसले हामीलाई स्पष्ट दिशानिर्देश समेत गर्दछ । तर अझै पनि उम्मेद्वारलाई पहिचान गर्ने र चिन्ने कुरामा हामीले यथेष्ट गृहकार्य गर्न सकेका छैनौं । “फेरी तल्लो टोलका पुराना मुखिया र उनका पिछलग्गु समुह मलिन्दा कार्जको प्रचार-प्रसारमा हिडेछ अब हामी उनलाई ईनकाउन्टर दिन टिफानी कबानको क्याम्पेनमा हिड्नु पर्छ” जस्ता शैलीमा हामी यताको समाज र राजनीतिमा लागे जस्तो गरेर फेरी अरुहरुको झोला बोकिरहेका छौं र हनुमान मात्र होइन कैयन अवस्थाहरुमा उनीहरुको हतियार समेत बनिरहेका छौं । “नहुनु मामा भन्दा त कानो मामा हुनु राम्रो” भनेझैं जहिले पनि जात-जाती, धर्म, गोत्र, क्षेत्र, लिङ्ग र दलगत राजनीतिको घेरामा रमाएर तामसी उत्सव मनाउनु भन्दा त नबुझीनै भएपनि यताकै मुलधारको समाज र राजनीतिसंग जोडिएको राम्रो हो । समाहित नभई परिष्कृत हुन सकिंदैन । अघिल्लो बर्ष न्यूयोर्क तिरका हाम्रा मान्छेहरु सम्पर्क, सम्बन्ध र पहुँचको आधारमा संस्थापनका प्रिय यथास्थितिबादी एवं परम्पराबादी डेमोक्रेट्स जोसेफ क्राउलीको पक्षमा जमेर लागे यसरी लागे कि उनको विपक्षमा प्राईमरी ईलेक्सनमा को उम्मेद्वार उठ्दैछ ? त्यतिसम्म पनि क्याम्पेनमा दौडने हाम्रा मान्छेलाई जानकारी भएन अन्तत: क्राउलीको सर्मनाक हार भयो । अधिकारकर्म मार्फत ग्रास मुभमेन्टको अन्तरसतहमा हुने न्युयोर्कको गहिरो स-शाक्त उदार र प्रगतिशील राजनीतिका बारेमा हामी र हाम्रो समुदायलाई निक्कै कम जानकारी छ र कति हदसम्म त कतिपय अनभिज्ञ नै छन् । उ बेला प्राईमरी हुन तीन हप्ता बाँकी हुँदा फिप्नाको कार्यालयमा भएको एउटा अन्तरक्रियामा मैले अनौपचारिकरुपमा जोसेफ क्राउलीको सम्भावित पराजयको बारेमा बोल्दा हाम्रा साथीहरु अमुक भएर झस्किएका थिए । उनको प्रतिस्पर्धीका रुपमा २८ बर्षिया रेष्टुरेन्टमा बेरा काम गर्ने अलेकसान्द्रिया ओकासियो-कोर्टेज छिन भन्नेसम्म हाम्रो समुदायलाई जानकारी थिएन । नभन्दै यताकै समाज र राजनीति बुझेका ससंग लामाकी छोरीको रोजाई अर्थात टिफिनी कबोन विजय हाँसिल गरिन यद्यपी ०५ प्रतिशत मात्र मतान्तर भएकले प्रत्यासी कार्जको माग अनुसार अहिले पुनः मतगणना सम्पन्न भएको छ र अब्ससेन्टी ब्यालेट र अफिडेभिड ब्यालेटको गणना गर्दा पराजित भनिएकी तर आफ्नो पराजयलाई औपचारिकरुपमा स्वीकार गरिनसकेकी कार्ज २० मतले अघि रहेकीछिन तर यो चुनाब अहिले नै त्यती सजिलो गरि सुल्टने अवस्था छैन । क्याम्पेनमा उम्मेदवारहरुको फ्लायर बाड्ने र प्रचार-प्रसारमा हिड्नेहरुले यस्ता घटना परिघटनाहरुको आम जानकारी राख्न सक्नु पर्दछ अन्यथा हामी उताकै कार्यकर्ता शैलीको “झोले राजनीति” गरिरहेका हुने छौं । 

    त्यसैले अब यताको राजनीति गर्दा होस् या समाज बुझ्दा हामीले सतह होइन गहिराईमै पुगेर समसामयिक घनिभूत विश्लेषण गर्दै आफ्नो अभिमत बनाउनु पर्दछ । हामीले चक सुमर र जोसेफ क्राउलीहरुलाई हाम्रो वर्गको राजनैतिक महिसा ठान्ने गल्ती मात्र गरेनौ बरु त्यस्ता गल्तीहरु निरन्तर गरिरह्यौं । आप्रवासीहरुका प्रिय र सहयोगी र मसिहा ठानिएका तिनै जोसेफ क्राउली प्राईमरीमा पराजित भएको ६ महिना पनि नबित्दै भ्रष्ट क्यापिटलहिलको “लब्बीष्ट” को जागिर खाएर अहिले आफ्नो सम्पन्न अनि समृध्द जीवन जिउने आकांक्षा र अभिष्टहरु पुरा गरिरहेका छन । डेमोक्रेट्स जत्ति सबै हाम्रा शुभचिन्तक र समर्थक हुन र उनीहरु आप्रवासी या आप्रवासनमैत्री हुन्छन भन्ने हाम्रो परम्परागत चेतना र बुझाईलाई हामीले अब ब्यबहारिकरुपमै आमुल परिवर्तन गर्नै पर्दछ । पुर्व राष्ट्रपति जर्ज डब्ल्यु बुशले प्रस्ताब गरेको बृहत आप्रवासी सुधार बिधेयकमा रेड स्टेट  भनेर जानिने राज्यहरुका कैयन परम्पराबादी डेमोक्रेट्सहरुले हाम्रो एजेन्डाको विपक्षमा मतदान गरेका थिए । यहाँ पास हुने बिधेयकहरुले हामीलाई लाभान्वित मात्र होइन हाम्रो जीवन र दैनन्दिनीहरुलाई स्पष्ट दिशानिर्देश समेत  गर्दछ त्यस अर्थमा ति बिषय र मुद्दाहरु हाम्रो प्राथमिकतामा हुनु पर्दछ । अमेरिका भरिकै उदार र प्रगतिशील भनेर जानिने न्यूयोर्क राज्यले प्रति घण्टा तलबमान बढाएको छ भने भर्खर मात्र कागजपत्र नभएका आप्रवासीहरुलाई पनि सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने बिधेयकमा गभर्नरले हस्ताक्षर गरिसकेका छन । त्यसको अतिरिक्त अबको हाम्रो प्राथमिकता तल्लो सदन हाउसले पास गरेको टीपीएस बील एचआर-६ “ड्रिम एण्ड प्रोमिस बिल अफ २०१९” हुनुपर्दछ भने सन् २०२० हुने जनगणनामा हामी क्रियाशील हुँदै सहभागी हुनुपर्दछ । कसैको दया, माया या कृपाबाट प्राप्त भएको न्याय र अधिकार चिरस्थायी हुँदैन । अहिले हामी अमेरिकी ईलेक्ट्रोलर सिस्टममा नयाँ चलायमान अनि शक्तिशाली “माईनोरिटी ब्लक” का रुपमा स्थापित भईसकेका छौं आखिर संख्या नै सामर्थ्य, शक्ति अनि ताकत हो अहिले भनिएको तीन लाख जनसंख्या मध्य एक तिहाई मात्र आउँदो जनगणनामा सुचिकृत हुन सकियो भने हाम्रा हरेक क्षेत्र लाभन्वित हुने मात्र होइन हाम्रो समुदायसंग असिमित “बार्गेनिङ्ग पावर” हुनेछ जुन अश्त्रको माध्यमबाट हामी नेपाली भाषीकारुपमा लाभान्वित हुनेछौं । तर नेपालको माउ पार्टीको भात्रीसंगठनहरुको बिस्तार गरेर हामी न समाजलाई जोड्न सक्छौं न कर्मथलोको नियम-कानुन र बिधिहरुका माध्यमबाट फाईदा नै लिन सक्छौं । अब हामीले हाम्रो आवश्यकतालाई प्रत्यक्ष सरोकार हुने बिषयमा जुझारुरुपमा एक्यबध्द हुँदै काम गर्नु पर्दछ आखिरमा भन्नलाई जे जसो भनिए पनि जीवन, जगत र दैनन्दिनीहरुलाई सम्बोधन गर्ने उत्तम क्रियानै राजनीति हो । यि र यावत विषय मुद्दाहरुनै अब हाम्रो चासो र सरोकार मात्र होइन उपल्लो प्राथमिकता हुनुपर्दछ । त्यसैले त म बारम्बार लेख्ने गर्दछु नि अबको युगको राजनीति भनेको जीवन जस्तै सरल अनि गतिशील हुनुपर्दछ जसले विचारहरुको जर्जर जड र पहाड होइन जीवन, जगत अनि दैनन्दिनीहरु होइन यथार्थका पारिला फाँटहरु बोलोस् अनि सम्बोधन गरोस् ।

  • नायकहरुको नालायकी

    नायकहरुको नालायकी

    पुरुषोत्तम लम्साल
    [email protected]

    ६० वर्ष अघिसम्म क्यूबा नामको करेबियन देश सशर्त र पोषित सार्वभौमसत्तामा थियो । ऊ केहीमा आत्मनिर्भर थिएन । स्पेन, अमेरिका, सोभियत संघदेखि भेनेजुयलासम्मले क्यूबालाई कज्याइरहेका थिए । आम किसानको उत्पादन र त्यसको बजार मात्र होइन आवादी जमीनसमेत मुठ्ठीभरका विदेशी कम्पनीको पकडमा थियो । परम्परागत खेतीलाई विदेशीहरुले उखुउद्यान बनाइसकेका थिए । मजदुरका रुपमा लाखौं ‘दास’ आयात गरिएका थिए । निर्यातका नाममा सस्तो मूल्यका चिनीको चपेटामा थियो । परम्परागत खेती र बालीमा पसेको साम्राज्यवादी सलहले आम क्यूबाली किसानलाई पनि दासैसरह बनाएको थियो ।
    यस्तो बेला आयो, क्यूबा जाग्यो । लड्यो । संघर्ष ग¥यो । बाँच्यो । कृषिमा पनि क्यूबा उठ्यो । प्राङ्गारिक र जैविक खेती प्रणालीमा क्यूबाले नसोचेको सुधार ग¥यो । साना र मझौला किसान एक सूत्रमा बाँधिए । सहकारीकरण, कृषि संघ सक्रिय भयो । उत्पादन र निर्यात दुबैको क्रमशः विविधीकरण शुरु भयो । वैचारिक ध्रुवका देशहरुले बजार दिए । क्यूबाको अर्थतन्त्र अन्ततः गतिशील बन्यो । शक्तिशाली देशको सयौं प्रतिबन्ध र नाकाबन्दीबीच उभिएर पनि क्यूबा बाँचिरह्यो ।
    सन् १९५० को दशकको क्यूबा र अहिलेको नेपाली पहाडी इलाकाको सन्दर्भ उस्तै रहेछ । सीमित क्षेत्रमा अव्यवस्थित शहरीकरणको उच्च दर उस्तै, पहाडी क्षेत्रबाट बसाइसराइको लहर पनि उस्तै । श्रमशक्तिको पलायन पनि झनै उस्तै । ग्रामीण कृषि उत्पादनमा देखिएको सुस्तता र बढ्दो बाँझो जग्गाको दर पनि उस्तै । अर्थात् तत्कालीन क्यूबाली समाजको तस्वीर अहिलेको नेपाली समाजसँग मिल्ने ।
    तर, ग्रामीण किसान जगाउन क्यूबामा थालिएको वैकल्पिक खेती प्रणाली आन्दोलनले सकारात्मक परिणाम दियो । सन् १९८० मा राष्ट्रिय खाद्य कार्यक्रमअन्तर्गत उखुलाई छाडेर तरकारी बालीको विकास कार्यक्रमले प्रभावकारी नतिजा दियो । प्रांगारिक र जैविक मलको प्रयोग आन्दोलनले संकटका वर्षमा पनि नयाँ कृषि प्रणाली बलियो बनाउने आधार दियो । बढ्दो यान्त्रिकीकरण रोक्न क्यूबाले ट्र्याक्टर थन्क्याएर हलो र गोरुको उपयोगमा समेत बढोत्तरी ग¥यो । कृषिमा आयात घटाउने र निर्यात वृद्धि गर्ने दुबै क्षेत्रमा प्रगति हासिल भयो । विपन्न आय भएका बहुसंख्यक किसानलाई कसरी आत्मनिर्भर बनाउने भन्ने विषयमा क्यूबाली प्रयास विश्वव्यापी बहसमा आइपुग्यो । उपनिपवेशविरोधी राष्ट्रवादी भावनालाई समाजवादको आकारमा ढाल्न गरिएका प्रयत्नमा क्यूबाले आफ्नै भाष्य तयार ग¥यो ।
    अफसोच ! सोभियत संघ ढलेसँगै क्यूबाको बजार पनि ढल्यो । ग्राहक पनि ढले । अर्थतन्त्र पनि ढल्यो । समाजवादी देशहरुको ध्रुवमा आएको संकटले क्यूबाको समाजवादी अभ्यास पनि थाङ्थिलो भयो ।

    अपेक्षा र नियती
    क्यूबा सन्दर्भ पढेपछि नेपाल सरकारले विषादीजन्य भारतीय तरकारी र फलफूलको आयातमा कडाई गरेर कृषीमा नयाँ दृष्टी दिन लाग्यो कि भन्ने लाग्यो । परनिर्भरता र आत्मनिर्भरताबीच सरकारले प्राप्त गरेको यो अवसर त्यत्तिकै फाल्दैन भन्ने लाग्यो । अब कृषिमा जागरण भर्न लाग्यो सरकार भन्ने प¥यो । फुरुङ्ग भएँ । तर साता नबित्दै सरकारले निहुरीमुन्टी लायो, म पनि खिस्रिक्क भएँ । प्रश्न उठ्यो, नायकहरुले कसरी नालायकी देखाउँछन् हँ ?

    आदरणीय देशवासी !
    नेपाल सरकारले छिमेकी देशहरुबाट आउने खाद्यान्न, तरकारी एवम् फलफूलजन्य वस्तुमा प्रयोग गरिने मानव स्वास्थ्यका लागि हानिकारक विषादी परीक्षणपछि मात्र आयात गर्ने विषयमा गत जेठ १० गतेको मन्त्रीपरिषद् बैठकमा गरेको निर्णय सबैलाई जानकारी नै होला । जनस्वास्थ्यका लागि नेपाल सरकारले यो दूरगामी निर्णय गरेको हो । निर्णय कार्यान्वयनमा जाँदा केही असहज परिस्थिति उत्पन्न हुनु स्वाभाविक छ । केही दिन बजारमा समस्या आइपर्छन् भन्ने हामीलाई थाहा थियो । हामीले हिजोको कस्तै संकटको सामना गरेकै हौं र यो संकटको पनि हामी डटेर सामना गर्दछौं । केही थान विषका व्यापारी र केही विदेशी कर्मचारी रोइकराई गर्दैमा नेपाल सरकार नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्दैन र गर्न दिंदैन भन्ने विश्वास दिलाउन चाहन्छु ।

    आदरणीय देशवासी !
    केही दिन विदेशी तरकारी नखाएर कोही नेपाली मर्दैनन् । हामी हाम्रा जनतालाई निरन्तर विष सेवन गराउनुभन्दा केही संकट झेलेरै भविष्यमा स्वस्थ तरकारी तथा खाद्यान्न आपूर्ति गर्न सचेत र सावधान छौं । यसका लागि तरकारी हुने र नहुने घरबीच केही दिन बरु ऐंचोपैंचो गरौं, केही दिन मिठो मसिनोको स्थानमा नमिठो र खस्रो नै खाऔं । स्थानीय उत्पादनको प्रयोगमा सबैले सहयोग र हातेमालो गरौं । कुँडार र करेसाबारी व्यवस्थापन गरौं । केही सप्ताह घरघरमा तरकारी उपयोगमा सकेसम्म कटौती गरौं । केही दिन गुन्द्रुक खाऔं, सिन्की खाऔं, तामाको तरकारी खाऔं । हुनेले नहुनेलाई सहयोग गरौं । नेपाल सरकार तदारुकताका साथ विषादी परीक्षण र व्यवस्थापन अभियानमा लागेको छ । केही दिनमै हामी हाम्रो लक्ष्यमा सफल हुन्छौं भनेर म नेपाल सरकारको तर्फबाट सबैलाई विश्वास दिलाउन चाहन्छु ।

    केपी शर्मा ओली
    (प्रधानमन्त्री) ।

    देशको प्रधानमन्त्रीबाट अपेक्षा त यस्तो थियो । प्रधानमन्त्रीले जनताको हितमा आफ्नो निर्णयको डटेर प्रतिरक्षा गर्छन् र कस्तै दबाब पनि थेग्छन् वा थेग्न उत्प्रेरित गर्लान् भन्ने थियो । देशको नायकबाट राखिने अपेक्षा यस्तै त हुन्छ ।
    दुर्भाग्य ! मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले नै विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेछन् र सबैले समवेत स्वरमा पारित गरेछन् । तल्लो तहसम्म लिखित निर्णय ‘सर्कुलर’ नै नभई विष बोकेर सीमामा पंक्तिबद्ध भारतीय सवारीसाधन विजयी गीत गाउँदै नेपाल भित्रन थाले । के लाग्छ ?
    कर्मचारी र कार्यालयको बहानामा जनहितकारी निर्णय र कार्यक्रममा कालो पोतियो । सामान्य कर्मचारीको रुपमा रहने राजदूतले नेपाल सरकारलाई नै चेतावनीको भाषा प्रयोग गर्न थाले, छिमेकी देशले दबाबको पुल बाँध्यो र भारतबाट नेपाल भित्रने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत् निर्णयबाट नेपाल सरकार लाचार, निरीह र निरुपाय भएर पछि हट्यो । कुरा त यत्ति नै हो । नायकको पहिचान कि संकटको घडीमा हुन्छ कि सुविधाको अवस्थामा हुन्छ भन्ने भनाइ सार्वभौम हो भने हामीले हाम्रा नायकबाट नालायकीको नजीर प्राप्त गरेका छौं । त्यो आफू सबल र सक्षम नभईकन निर्णय गर्ने रुपमा लिंदा पनि हुन्छ । वा, त्यो निर्णय गरिसकेपछि त्यसमा उभिन नसक्ने दुर्बल पात्रको रुपमा लिंदा पनि हुन्छ ।
    कालखण्डमा नायक हुने अवसर सबैले सधैं प्राप्त गर्दैनन् । जसले प्राप्त गर्छ त्यसलाई उपयोग नगर्ने वा गर्न नसक्नेलाई नायक मानिदैन वा मान्न सकिंदैन । आमजनताको चासो र सरोकारको मुद्दामा पनि लाचार र निरीह पात्र कसरी नायक हुन्छ ? ठ्याम्मै हुँदेन ।
    सरकारलाई थाहा छ, नेपाली बजारमा भित्रिएका भारतीय तरकारी तथा फलफूलसँगै विषको व्यापार पनि चुलीमा छ । सरकारलाई थाहा छ, नेपाली बजारको झण्डै आधा हिस्सा (४० प्रतिशत) विषादीजन्य तरकारी र फलफूल भारतबाट आयात हुन्छ र विषादी परीक्षण कुनै पनि शर्तमा आवश्यक छ । सरकारलाई यो पनि थाहा छ, त्यसको क्रियान्वयनले जनस्वास्थ्यमा दीर्घकालीन अनुकूल नतिजा प्रदान गर्छ र हामीले आफ्नो आन्तरिक बजार प्रणाली बलियो बनाउन, स्थानीय किसानलाई बजारमा स्थान दिन पनि परीक्षण अनिवार्य छ । सरकारलाई थाहा छ, झण्डै ५० अर्बको हाराहारीमा तरकारी र फलफूलसँगै भारत नेपालमा विष पनि निर्यात गरिरहेको छ, यो विष अनेक रोगहरुको आयात पनि हो र ठूलो मूल्यका ओषतीहरुको पनि आयात हो ।
    तर, सरकारलाई थाहा हुनु र सरकार लाचार हुनुबीच भेद छ । यहींनेर नायकहरुको नालायकी छताछुल्ल पोखियो । ‘तिमीहरु विष खाए खाओ, नखाए नखाओ म चाहिँ मेरो निर्णयलाई ‘लालसलाम’ गर्छु भनेर कुनै नायकले भन्छ ? पत्याउँदैनथें । तर, भन्दारहेछन् ।
    ठीक छ, क्वारेन्टाइनका लागि उपकरण र जनशक्ति तत्कालका लागि अभाव भयो, उन्नत प्रयोगशाला चाहिने रहेछ । तयारी कम थियो र त्यसैको फाइदा छिमेकीले उठायो, त्यो पनि सही । भारतीय व्यापारीको हितमा भारतले चासो देखाउनु पनि ठूलो कुरो भएन । विषादी जाँच केन्द्रका लागि तत्काल काम शुरु हुन्छ भन्ने पनि पत्याइयो । तर राष्ट्रिय हितका विषयमा सरकारले समयसीमा तोकेर काम गराउन सक्दैन ? समयसीमा घोषणा गर्नसक्दैन ? भदौ १ देखि यो यो सीमा नाकाबाट विषजन्य तरकारी र फलफूल आयात हुँदैन भनेर जनतालाई विश्वास दिलाउन पर्दैन ? विषादी परीक्षणका लागि यति दिनभित्र यो ठाउँबाट यो किसिमको प्रविधि ल्याएर हामी देखाइदिन्छौं भन्ने हुत्ती सरकारसँग छैन ? परराष्ट्रको ढोको नाघेर सरकारले गरेको निर्णयविरुद्ध चलखेल गर्ने राजदूत नामको कर्मचारीलाई नसिहत दिन सक्दैन ? जनताका नायकले भारतका व्यापारीलाई घाटा लाग्ने भयो र उनीहरुको तरकारी कुहिने भयो भनेर ‘त्वम् शरणम्’ गर्दिने ? यो त नायकले देखाएको नालायकी मात्र हो ।

    टिठलाग्दो तरकारी राष्ट्रवाद
    सीमामा भारतीय तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि केहीमा राष्ट्रवादको चर्को पीर देखियो । दूतावासकै नून हालेर तरकारी पकाउने घघडानका बुद्धिजीविले पनि दशाक्षरी ट्विट गरेर निर्णयको विरोध गरे । त्यो तरकारी राष्ट्रवाद अद्वितीय थियो । उनीहरुले जनताको स्वास्थ्यमा चासो दिएर वा स्थानीय किसानका मुद्दालाई प्राथमिकता दिएर होइन च्याँखे थाप्नै मात्र विरोध गरिरहेको पनि देखियो । प्रतिपक्षमा दर्ता भएको दलले सबै कुरा सकिएपछि पाँच बुँदाको खेस्रा यस्तै हो । राष्ट्रवादको चरित्र तरकारीसँगै उम्रिएर तरकारीसँगै कुहिने पनि हुन्छ ?
    जुनबेला नेपाल नाकाबन्दीको चपेटामा थियो त्यो बेला लेखिएको ‘कस्मेटिक राष्ट्रवाद’को विषय स्मरण भयो । तरकारी राष्ट्रवाद बोकेर केही नेता र जनप्रतिनिधि उछालकुद गरिरहँदा मलाई त्यो सन्दर्भ याद आयो । अर्गानिक राष्ट्रवादको क्यानभासमा छरपष्ट भएको तरकारी राष्ट्रवाद देखेर म हाँसे । माधवकुमार नेपालको भाषण सुनेर हाँसें । बाबुराम भट्टराईको ट्विट पढेर हाँसे । नेकपाकै केही नेताले संसदीय दलको बैठकमा गरेको राष्ट्रवादको व्याख्याले पनि हाँसे । प्रतिपक्षको विज्ञप्तीमा पनि हाँसे । तरकारी राष्ट्रवादमा माखो नमारेका ती सबै हिजो कुनै न कुनैबेला सत्ताकै प्रमुख वा मुख्य अंग थिए भन्ने बिर्सिएको देखेर हाँसें । संविधानले नै नायकहरुको नालायकीमा हाँस्न पाउने हकको व्यवस्था गरेको छ ।
    यसैले म हाँसे ।

  • अबको राजनीति पनि जीवन जस्तै सरल अनि गतिशील हुनुपर्दछ

    अबको राजनीति पनि जीवन जस्तै सरल अनि गतिशील हुनुपर्दछ

    राजनीतिलाई नीतिहरु मध्यकै सर्बोत्कृष्ट नीति भनेर परिभाषित गरेपनि समाज र राज्यले त्यसरी स्विकार्ने गरेको छैन । त्यति मात्र होइन हामी त अझ “डर्टी पोलिटिक्स” भनेर मुख लोपार्दछौं अथवा खिसी गर्दछौं तर त्यसो भनिरहँदा हामीलाई किन त्यसो भन्न लगाईयो त्यस भित्रको गहिरो अभिष्ट र नियत बुझ्दैनौं । अब कत्ति पनि ढिला नगरी बुझ्नु पर्ने यथार्थ के हो भने सत्तासिन वर्गका मानिसहरु आम जनतालाई त्यसो भन्न उकास्दै  राजनीति प्रति आम मानिसमा नैराश्यता सिर्जना गर्न चाहन्छन् किनकी त्यसो गर्न सकियो भने राजनीतिमा उनीहरुको एकछत्र पारिवारिक राज र  एकाधिकार स्थापित हुने गर्दछ । चेतनशील शिक्षित तन्नेरी पुस्तामा राजनीति प्रति विकर्षण र बितृष्णा गर्न सक्दा उनीहरुलाई चीर कालसम्म लाभ हुन्छ । हरेक दिन दसौं हजार नेपाली परदेश लाग्दा सत्तासिनहरुलाई किन रत्तिभर चिन्ता हुँदैन ? किनकी सामाजिक प्रतिकार र राजनैतिक बिद्रोह गर्ने जुझारु पुस्ता बाटो लागीदिंदा उनीहरुको बिरासतको राजनीति फलिफाप हुन्छ ।   

    यथास्थितिबादमा उन्मत्त रमाएका सत्ताधारी दलहरु र संस्थापन जहिले पनि परजीबी दासहरुको खोजी गर्दछ, जसले स्वाधिनता र स्वतन्त्रताको नैसर्गिक हक अधिकार खोज्दैन बरु पार्टीले अह्राएको खटाएको कामहरु आफ्नो जागिर अनि घर परिवारको प्राथमिकतालाई तिलाञ्जली दिएरै भएपनि “जी हजुर” को शैलीमा आधुनिक दासता स्वीकार गर्दछ । त्यही डिजाईन अन्तर्गतनै नेपालका ठुला पार्टीहरुले भात्री संगठनको कन्सेप्ट बिकास गरेका हुन् । परजिवी आधुनिक दासहरु जन्माउने त्यस्ता कारखानाहरु अहिले विदेश तिर बढोत्तरी भएको छ । नेताहरुलाई परिवार सहित विदेश घुम्न जाँदा एयरपोर्टमा लिन आउने, घरेलु भ्रमणका लागि हवाई टिकट काटी दिने, परदेशमा बसिन्जेल खानपिनको बन्दोबस्त गरिदिने, राजसी स्याहार सुसार गर्ने, कार्यकर्ता जम्मा गरेर अन्तरक्रिया गरिदिने अनि रंगरौसको उचित ब्यवस्थापन गर्दै “भईहाल्छ नि हजुर” भन्ने कार्यकर्ता चाहिएको छ जो अहिले प्रवासमा यत्रतत्र देख्न सकिन्छ ।              

    त्यस्तो दासता स्वीकार्ने चेतना र संस्कारको कारण हामीले उतै हुँदा पनि बुझेर राजनीति गरेनछौं । विचार र वर्ग बुझेर राजनीति गरेको भए यहाँ हामीले बाँचेको जीवनमा पनि जीवन दर्शनले काम गर्न सक्दथ्यो तर अहं त्यसो भईरहेको छैन । हामीले वर्ग, विचार र चेतनाको गतिशील राजनीति होइन घृणा र बदलाको राजनीति मात्र सिकेछौं । करिब करिब यो सम्भावनायुक्त अमेरिकी प्रवासमा पनि हामी त्यही अनि त्यस्तै राजनीति गरिरहेका छौं ।  

    यो अमेरिकी प्रवासमा आधुनिक दासता स्वीकार्दै भात्री संगठनको गुटपरस्त राजनीति गरिरहेको एकजना स्नेही भाईलाई मैले केही महिना अघि सोधेको थिएँ “होइन हौ भाई, अमेरिका बसेको दसकौंपछि पनि यो केको लागि भात्री संगठनको प्रत्युत्पादक राजनीति गरिरहनु भएको छ तपाईहरु ?” भन्दा उनको जवाफ थियो “दाई, कलेज पढ्दा मलाई अखिलेले मार्ने नियतले पिटेको थियो म त भाग्यले पो बाँचे हेर्नुस अझै चोटहरु छन अनि म कसरी कांग्रेस नबनी बाँच्न सक्छु?” नेबिसंघवालाको मात्र होइन पुर्व अखिलेहरुको कथा र बदलाको हिसाब किताब पनि करिब उस्तै उस्तै छ । त्यसैले त उनीहरु आफुलाई जन्मदै कांग्रेस भएको, पुर्खौली नेकपा अनि खानदानी राजाबादी भएको ठान्दछन ।      

    राजनीति बुझ्दा होस् या गर्दा हामीले पहिले आफ्नो वर्गीय स्वार्थ हेर्नु पर्दछ । अमेरिकामा बसेर बीपीको सपना या पुष्पलालको सपना भनेर बासी सपनामा आफ्ना बहुआयामिक सम्भावनाको असामयिक बलात हत्या गर्नु पहिले बीपी अथवा पुष्पलालका सपना यताका कुन विचार, बाद, चिन्तन या नेता-नेतृत्वसंग मेल खान्छ त्यसको सुक्ष्म पहिचान गर्नु पर्दछ ।

    तल्ला टोलका अमेरिकी मुखियाले हिलारी क्लिन्टनको टी-शर्टनै लगाएर क्याम्पेनमा हिंडेका छन भने अब हामीले तिनको पछि लागेर किन उनको ब्यानर उचाल्ने ? मलाई त्यो हड्सनपारीको नेपालको बामे बर्नी स्यान्डर्सको वकालत गर्दै र्यालीहरुमा उफ्रन्छ अनि मध्यरातमा त्यो सोसलिष्ट सान्डर्सको पक्षमा चर्काचर्का स्टाटसहरु पोस्ट गर्छन ऊ उसै पनि दुई दशक अघि नेपालमा हुँदा कम्निष्टनै थियो अब हामी बीपीबादी कांग्रेसहरुले किन उसको कुरो मान्ने ? बरु हामीले त उताको हाम्रै पार्टीको लाईनमा गएर डोनाल्ड ट्रम्पको “मेक अमेरिका ग्रेट अगेन” को समर्थन पो गर्नु पर्छ भनेर फुटपरस्त र बदलाकेन्द्रित दृष्टीदोष सहित नेपालीपाराकै राजनीति हुने गरेको यथार्थ हामीले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा देख्यौं । त्यति मात्र कहाँ हो र बीपीको समाजबाद अलिअलि बुझेका अनि बर्षको एक दिन बीपीको सपना साकार पार्छौं भन्दै ज्याक्सन हाईट्सको भुईंतल्लामा तीन बित्ता उफ्रन्दै भाषण गर्ने केही कांग्रेसीहरुले अनुदार दक्षिणपन्थी रिपब्लिकनकै लवजमा आम जनताको शिक्षा र स्वास्थ्यको प्रत्याभूति राज्यले दिनुपर्छ भनेर श्रमजीवी कामदारवर्गको पक्षपोषण गर्ने बर्नी सान्डर्सलाई “कम्युनिष्ट” र “समाजबादी” भन्दै गाली समेत गरे ।

    शैलेश श्रेष्ठ

    न्युजर्सी, अमेरिका 

  • हाम्रो पार्टी नेतृत्व घेराबन्दीमा प¥यो

    हाम्रो पार्टी नेतृत्व घेराबन्दीमा प¥यो

    यज्ञराज सुनुवार
    नेकपा नेता, एवम् सांसद
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु र सार्वजनिक रुपमा राजनीतिक नियुक्ती लिएर बसिरहेकाहरुको व्यवहारले आम नागरिक दिक्क बन्न थालेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले छौँडा भन्ने शब्द प्रयोग गरेर आन्तरिक राजनीतिमा आरोप–प्रत्यारोपको जुहारी चलेको छ । नेपालमा अहिले यो विषय सबैभन्दा बढी चर्चामा छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको उक्त स्टाटसका बारेमा उनले व्यक्तिगत भावना भनेर टिप्पणी गरे पनि उनी पार्टीभित्रै आलोचित बनेका छन् । सरकारको कामको गति कमजोर बनेको छ भने काममा पनि त्रुटिपूर्ण व्यवस्थापन हुन थालेको छ । यिनै विषयमा केन्द्रित भएर हामीले नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद यज्ञराज सुनुवारसँग कुराकानी गरेका छाँै ।

    तपाईंलाई विश्व न्युज र विश्वसन्देश साप्ताहिकमा स्वागत छ ।
    धन्यवाद, अमेरिकामा रहने सम्पूर्ण नेपालीमा मेरो हार्दिक नमस्कार । मेरो भावना विश्वसन्देशले अमेरिकासम्म लैजाने काम गरेको छ । त्यसैले यो पत्रिकालाई मैले विशेष आभार भन्नै पर्छ ।

    सरकारको काम गर्ने गति किन बिग्रिएको ?
    पक्कै पनि तपाईंले विभिन्न विधेयक र निर्णयमा कुरा गर्नुभएको होला । संसद्मा ल्याउने विधेयकमा सरकार स्वतन्त्र छ । तर, विधेयक ल्याउँदा बहस गर्नुपर्नेमा त्यो पर्याप्त हुन सकेको छैन । नागरिकले गरेको अपेक्षाअनुसार काम नभएको सत्य हो । कतिपय निर्णयमा जुन परिपक्वता हुनुपर्ने थियो, त्यसो हुन भने सकिरहेको छैन ।

    त्यसको अर्थ नेकपामा परिपक्व निर्णय गर्ने व्यक्ति छैनन् भन्न खोज्नुभएको ?
    संसद्मा भएका वा बाहिर भएका विज्ञहरुसँग छलफल गरेर ल्याउनुपथ्र्यो, त्यो अझै पुगेको छैन भन्न खोजिएको हो । पार्टीमा धेरै विज्ञ साथीहरु हुनुहुन्छ । कतिपय अवस्थामा संसद्मा विधेयक दर्ता गर्न पाउँदैन, प्रतिपक्षको सहमतिमा ल्याउनुपर्छ, सरकारले पेलेर ल्यायो भन्नेजस्ता कुराहरु पनि भएका छन् । हामी संसद अवरुद्ध गर्छौँ भन्ने जस्ता अभिव्यक्ति गलत हुन् ।

    विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको छ, किन ?
    निर्णय हतारमा गर्ने र फुर्सदमा पछुताउने जस्तो प्रवृत्ति पनि देखिएको छ । अहिले सरकारले विषादी परीक्षणमा लिएको निर्णय ठीक थियो । सरकारले विषादी परीक्षण गर्ने काम गरेको थियो त्यो राम्रो भएको थियो । तर, पछि हट्ने काम भयो त्यो कमजोरी भएको छ । सरकारले परीक्षण नगर्ने भन्ने निर्णय सरकारले गरेको छैन । सरकारले पहिले नै आवश्यक तयारी गरेको भएदेखि राम्रो हुन्थ्यो ।

    आम नागरिक भने निराश हुन थालिसके । तपाईंहरुले कम नगरेर ?
    सरकारले भौतिक पूर्वाधार, राष्ट्रिय महत्वका पूर्वपश्चिम मध्यपहाडी राजमार्ग लगायतका क्षेत्रमा राम्रो काम गरेको छ । सरकारको एउटा निर्णयले मूल्याङ्कन गर्नु हुँदैन । विषादीयुक्त कुरा खानेकुरा हामीले खाइरहेका थियौँ । अब भने हामीले ती खानेकुराहरु खानु हुँदैन भन्नेमा सचेत हुनुपर्छ । विषादी त हामीले वषौँदेखि खाइरहेका थियौँ ।

    भारतको दबाबले यसरी निर्णय फिर्ता लिदा राष्ट्रियताप्रतिको अडान खोक्रो रहेछ भन्ने प्रमाणित भएन ?
    नेपाल कम्युनिष्ट पार्टीको सरकार भएका कारण हामीले राष्ट्रियताका विषयमा प्रश्न गर्नु आवश्यक छैन । हामी राष्ट्रियताको विषयमा हामी अनवरत संघर्ष गर्दै आएका छौँ । त्यसैले हामीले राष्ट्रियतामा प्रश्न उठ्न दिँदैनौं । राष्ट्रियताको पक्षमा काम गरेको नेकपाको सरकारले कसैको दबाबमा निर्णय गर्दैन । कम्युनिष्ट पार्टीको सरकार भएकाले राष्ट्रियताको पक्षमा काम गर्छ । म विश्वास दिलाउन चाहन्छु आम नागरिकको मनमा ठेस लाग्न दिँदैनौं ।

    तपाईंको पार्टी नेतृत्वको सरकारले काम त राम्रो गर्न सकेन ?
    हामीले एक वर्षको अवधिमा कानुन निर्माण गर्ने काम गरेका छौँ । नीति निर्माणमा हामीले समय खर्च गरेका छौँ । अबको समय भने समृद्ध नेपाल सुखी नेपालीको अभियानमा काम गर्ने समय आएको छ । समृद्धिको यात्रामा हामी लाग्नु पर्ने अवस्था आएको छ ।

    सल्लाहकारबाटै पदीय मर्यादा विपरीतका अभिव्यक्ति आउन थाले, कसरी पत्याउने ?
    प्रधानमन्त्रीले सल्लाहकार वा राजनीतिक नियुक्ती लिएका व्यक्तिलाई परिवर्तन गर्नुपर्ने अवस्थामा पनि गर्नुपर्दछ । प्रधानमन्त्रीका सल्लाहकारले दिएको अभिव्यक्ति राम्रो छैन । सल्लाहकारहरुका विषयमा प्रश्नहरु उठेका छन् ।
    बोल्ने शब्द र गर्ने व्यवहार संस्कारयुक्त हुनुपर्छ । मैले विष्णु रिमालजीको ट्वीट हेरेँ । सार्वजनिक पदमा भएको व्यक्तिले बोल्ने र लेख्ने कुरा शब्द–शब्दमा ध्यान दिनुपथ्र्यो । तर, लागेको कुरा सार्वजनिक पद धारण गरेका व्यक्तिले राख्नु उपयुक्त हुँदैन । लागेका कुरा जहाँ पायो त्यहाँ राख्नु हुँदैन ।

    सरकारको काम मात्र होइन, पार्टी एकताका बाँकी काम राम्रोसँग भएको छ त ?
    राष्ट्रिय अभियानमा सबैले सहयोग गर्नुपर्छ । पार्टी एकताको विषयमा पनि अल्झन आएका छन् । तीन महिनामा सक्नुपर्ने काम अहिलेसम्म पार्टी एकताका बाँकी विषय टुंगो लागेको छैन । हाम्रो नेतृत्वले किन ससाना कुरामा ध्यान दियो ? मेरो पनि प्रश्न छ ।
    राम्रो काम गरेको नेतृत्वलाई सानो घेराबन्दी गर्नु राम्रो होइन । हरेक शक्तिशाली नेताको पछाडि स्वार्थ समूह हुन्छन् । नेताहरुलाई आफ्नो स्वार्थअनुसार अगाडि बढाउने उनीहरुको चाहना हुन्छन् । तर नेतृत्वले फरक तरिकाले निर्णय गर्नुपर्छ । दोष नेतृत्वलाई जान्छ । असफल हुने छुट र ढिलो गर्ने छुट सरकारलाई छैन ।

  • के हो बबल एण्ड क्र्यास ?

    के हो बबल एण्ड क्र्यास ?

    निरञ्जन फुयाल
    प्रबन्धक नेप्से
    बबल एण्ड क्र्यासको प्रमुख कारण उत्तेजना, लोभ, डर, अपेक्षाजस्ता मानवीय संवेदना र तत्कालीन समयको परिघटना नै हुन् । यसबाट बजारमा हुने उतारचढावले बजारमा बबल एण्ड क्र्यासको अवस्था सृजना गर्दछ । यसबाट अर्थतन्त्रमा ठूलो असर पर्दछ भने लाखौं मानिसले रोजगारी एवं लगानी गुमाउने अवस्था आउँछ । मानवीय संवेदनालाई नियन्त्रण गर्न नसकिने भएकैले बबल एण्ड क्र्यास दोहोरिएको देखिन्छ । अघिल्ला अंकहरुमा १९औं शताब्दीसम्मको इतिहास उल्लेख गरिएकोमा यस पटक त्यसपछिका प्रमुख बबल एण्ड क्र्यास प्रस्तुत गरिएको छ ।

    वेयरिङ क्राइसिस
    ठूला आयोजना निर्माण गर्दा दीर्घकालीन लगानीका स्रोतहरुका योजना नगरी अल्पकालीन पूँजीका आधारमा दीर्घकालका आयोजना निर्माण थालनी गर्दा निम्तिएको समस्या हो– वेयरिङ क्राइसिस । सन् १८८० मा अर्जेन्टिनी राष्ट्रपतिमा चुनिएपछि जुलियो रोकाले देशको पूर्वाधार विकासमा दीर्घकालीन आयोजनाहरुको निर्माण सुरु गरे । राजधानी शहरलाई पेरिस जस्तै भव्य र आधुनिक बनाउने रेलवेका लागि ट्र्याक निर्माण गर्नेजस्ता महत्वाकांक्षी योजनाहरु पूँजीको पर्याप्तता विचार नगरी सुरु गरियो । यसका लागि युरोपियन पूँजी बजारबाट ठूलो मात्रामा विदेशी ऋण लिइयो । तत्कालका लागि दक्षिण अमेरिका र युरोपमा (खास गरी ब्रिटेनमा) पूँजीको प्रवाहवाट लगानीकर्ताहरुलाई उत्साहको वातावरण सृजना भयो । १८८० देखि करिब १० वर्षसम्म निरन्तर रुपमा युरोपबाट अर्जेन्टिना लगायतका दक्षिण अमेरिकी मुलुकहरुमा ऋण पूँजीको प्रवाह भयो । अर्जेन्टिनाको नयाँ ऐनले लगानी योग्य रकम जुटाउनका लागि यूरोपियन ऋणपत्र वा सुन ऋणपत्रलाई सुरक्षणमा राखी स्थानीय मुद्रामा नोट जारी गर्ने अधिकार बैंकहरुलाई दियो । यसले गर्दा सरकार मात्र नभएर बैंकहरुले पनि अन्तर्राष्ट्रिय बजारमा ऋण लिन शुरु गरे र ऋणको भार अझै बढ्दै गयो ।
    तर सोचेअनुसार आयोजनाहरु समयमा नै सम्पन्न हुन सकेनन् र ब्याज एवं ऋण तिर्नका लागि त्यस्ता आयोजनाबाट आम्दानी प्राप्त हुन सकेन । सरकारको आम्दानीबाट ब्याज एवं ऋण तिर्न सक्ने अवस्था थिएन । स्थानीय स्तरमा मुद्रास्फिती बढ्दा विदेशी मुद्रामा लिएको ऋण रकम झन् धेरै हुन गयो । सन् १८९० मा अर्जेन्टिना सरकारले ४८ मिलियन पाउण्ड बराबरको ऋण तिर्न सकेन । उक्त समयमा यो रकम धेरै ठूलो मानिन्थ्यो । बेलायत लगायतका देशहरुका केन्द्रीय बैंकले दक्षिण अमेरिकी मुलुकहरुमा गरिने लगानीलाई धेरै कडाइ गरे । यी कारणहरुले गर्दा रकमको अभावमा आयोजनाहरुको प्रगति शून्य हुन पुग्यो भने प्रतिफल प्राप्त नहुँदा विश्वभरका लगानीकर्ताहरुको मनोबल कमजोर भयो ।
    यो समस्यालाई वेयरिङ क्राइसिस भन्नुको मुख्य कारण चाहिँ यो सबै कामको अन्डरराइटिङ गर्ने कार्य लण्डनको वेयरिङ ब्रदर्स नामक एक कम्पनीले गरेको थियो । अर्जेन्टिनाको अर्थतन्त्रमा आएको समस्याका कारण यो कम्पनी टाट पल्टिने अवस्थामा पुग्यो । यो कम्पनी धेरै ठूलो रहेकोले जोगाउन बेलायती सरकारले नै पहल गर्नुप¥यो । बेलायतको केन्द्रीय बैंकले फ्रान्स, रसिया लगायतका देशहरुसमेतको मद्दतले वेयरिङ कम्पनीलाई जोगाउन सक्यो । तर, यसको असर सन् १८९० को दशकभरि दक्षिण अमेरिकी देशहरु, यूरोप, अमेरिका र अष्ट्रेलियाको बजारमा समेत प¥यो । वेयरिङ क्राइसिसले विश्व अर्थतन्त्र एक आपसमा निर्भर रहेको स्पष्ट सन्देश दियो । करिब १३० वर्षअघिको यो घटना आजसम्म पनि शिक्षाप्रद छ । नेपालमा पनि रेलमार्ग, ठूला एयरपोर्ट र सामाजिक लगानी लगायतका परियोजनाहरुमा लगानी गर्ने नीति रहेकाले यसका दीर्घकालीन असरका बारेमा अध्ययन गरी अन्तिम निर्णय लिनु उपयुक्त हुन्छ ।

    द ग्रेट क्र्यास १९२९
    शेयर बजारको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो क्र्यासका सन् १९२९ को क्र्यास हो । १९औं शताब्दीसम्म यूरोप र खासगरी बेलायतमा रहेको आर्थिक एवं सामरिक शक्ति २०औं शताब्दीको सुरुवातदेखि नै बिस्तारै अमेरिकामा केन्द्रित हँुदै थियो । धेरै ठूला परियोजनाहरुमा अमेरिकामा लगानी हुन सुरु भयो र अमेरिकी पूँजी बजार एवं न्यूयोर्क स्टक एक्सचेन्ज संसारकै ठूलो बजार बन्न गयो । सन् १९२० को दशकको सुरुबाट नै न्यूयोर्क स्टक एक्सचेन्जका परिसूचकहरु निरन्तर उकालो लाग्न थाल्यो । लगानीकर्ताहरुमा क्रमिक रुपमा उत्साह बढ्दै गयो । यसै क्रममा सन् १९२४ बाट अमेरिकामा बुल मार्केटको क्रम सुरु भएको मानिन्छ । धेरै कम्पनीहरुले उत्साहप्रद रुपमा नाफा कमाउँदा लगानीकर्ताहरुले पनि बजार वृद्धिवाट उच्च प्रतिफल प्राप्त गर्दै गए र स्पेकुलेशन पनि बढ्दै गयो । त्यस बखतका प्रख्यात अर्थशास्त्री फिसरले शेयरको उच्च मूल्यलाई सधंै उच्च स्थानमा बस्ने मूल्यसमेत भनेका थिए ।
    क्र्यासको सुरुवात भने सन् १९२९ को अक्टोबर २४ बिहीबारबाट सुरु भएको थियो । सो दिन बजार शुरु हुनासाथ करिब ११ प्रतिशतले बजार घट्यो । आजसम्म पनि उक्त दिन ‘ब्ल्याक थर्सडे’का रुपमा प्रचलित छ । यसको पाँच दिनसम्म न्यूयोर्क स्टक एक्सचेन्जको शेयर मूल्य एवं परिसूचकहरु निरन्तर उच्च दरले घट्न गयो । पत्रिकाहरुले यससम्बन्धी खबर छाप्न थालेपछि लगानीकर्ता अझै डराए र अक्टोबर २८ मा १३ प्रतिशतले बजार घट्यो । यसले विश्वभरिका लगानीकर्ताहरुमा त्रास सृजना ग¥यो भने हतास भएका लगानीकर्ता शेयर बिक्री गर्न दौडिए । यसको १२ वर्षसम्म अमेरिकी लगायत विश्व अर्थतन्त्र संकटमा प¥यो र यसलाई अर्थतन्त्रको इतिहासमा ‘द ग्रेट डिप्रेशन’का नामले चिनिन्छ । यो डिप्रेशनले पूँजी बजार अर्थतन्त्रको ऐना रहेको कुरा स्पष्ट पारिदियो ।
    यसबाट अमेरिकाको कूल जीडीपीमा ३० प्रतिशतले ह्रास आयो भने नयाँ लगानीहरु शून्य भयो । १९२९ मा ३ प्रतिशत रहेको बेरोजगारी दर १९३३ मा २५ प्रतिशत भयो । लाखौंका संख्यामा फर्महरु टाट पल्टिए । प्रतिस्पर्धाले बजारलाई सन्तुलित बनाउँछ भन्ने वैचारिक धरातलबाट बजारमा सरकारको हस्तक्षेप आवश्यक छ भन्ने विचार बलियो हुँदै गयो । बजारमा सेप्टेम्बर ३, १९२९ मा कायम रहेको उच्च बिन्दु परिसूचक सन् १९५४ मा मात्र बजार सो बिन्दुमा पुग्न सक्यो ।

    जापानको ८० दशकको बबल एण्ड क्र्यास
    दोस्रो विश्व युद्धपछि निरन्तर सुधारमा रहेको जापानी अर्थतन्त्र सन् १९८० को सुरुवातमा उच्च वृद्धि हुन थाल्यो । जापानी लगानीकर्ताको मनोबलमा बढ्न गई शेयरबजार तथा घरजग्गाको मूल्यमा तेजी आयो । यसैगरी वृद्धि भएमा केही समयमा नै जापानको अर्थतन्त्रले अमेरिकी अर्थतन्त्रलाई उछिन्ने अनुमान गर्न थालियो । मूल्य यति धेरै आकासियो कि टोकियोमा एक व्यापारीले आफ्नो घर बेच्दा अमेरिकामा सानो सहर नै किन्न पुग्ने पैसा हुन्थ्यो । तर यो तेजी धेरै दिन टिकेन । सन् १९८७ वाट जापानी बजारमा क्र्यास शुरु भयो । यसको असर संसारभरिकै शेयर बजारमा प¥यो । अक्टोबर १९, १९८७ मा अमेरिकी परिसूचक २२ प्रतिशतभन्दा बढीले घट्न गयो जुन हालसम्मकै एकदिने ठूलो क्र्यास हो । त्यसपछि मन्दीमा गएको जापानी अर्थतन्त्र अझै पूर्णरुपमा सबल हुन नसकेको मानिन्छ ।

    डट कम बबल
    सन् १९९० को दशकको सुरुदेखि नै कम्प्यूटर र इन्टरनेट प्रविधिको विकाससँग सम्बन्धित कम्पनीको संख्या एवं आकारमा नाटकीय वृद्धि भयो । संसारका ठूला कम्पनीहरुमा यस क्षेत्रका कम्पनीहरु पर्न थाले भने यस्ता कम्पनीका मालिकहरु अर्बपतिमा गणना हुन थाले । यस्तो वृद्धि देखेर सबै लगानीकर्ताहरु सन् १९९४ देखि इन्टरनेटसँग सम्बन्धित डट कम कम्पनीहरुमा आकर्षित भए र त्यस्ता कम्पनीको शेयर मूल्य अझै बढ्यो । तर, सबै कम्पनीहरुले अपेक्षाअनुसार प्रतिफल दिन सकेनन् र सन् २००० को सुरुवातबाट धेरैजसो डट कम कम्पनीहरुको शेयर मूल्य ओरालो लाग्यो । वल्र्ड कम, नर्थ प्वाइन्ट कम्युनिकेशन आदि कम्पनीहरु बन्द नै भए भने सिस्को कम्पनीको करिब ८६ प्रतिशत शेयर मूल्य घट्यो । यसले गर्दा धेरै लगानीकर्ताहरुले आफ्नो लगानी गुमाए ।

    अन्तर्राष्ट्रिय वित्तीय संकट २००८
    सन् १९३० मन्दीपछिको सबैभन्दा ठूलो वित्तीय संकट सन् २००७ मा अमेरिकाबाट शुरु भयो । यसको सुरुवाती लक्षण सन् २००७ मा घर जग्गा मूल्यमा आएको तीव्र कमी थियो । सन् २००५ मा अमेरिकमा इतिहासकै सबैभन्दा धेरै घरहरुको निर्माण भयो । बैंकबाट सहज कर्जा प्राप्त गर्न सकिने भएकाले यसको बिक्री पनि सजिलै हुन्थ्यो । तर, २००७ मा घरजग्गाको बिक्रीमा कमी भयो । बैंकमा धितो रहेको एवं सेक्युरिटीकरण गरी दोस्रो बजारमा खरिदबिक्री गरिएबाट यसले सबै क्षेत्रमा जोखिम विस्तार गर्न पुग्यो । यसको प्रत्यक्ष असर बैंकिङ एवं वित्तीय क्षेत्रमा प¥यो र अन्तर्राष्ट्रिय रुपमा सबै शेयर बजार ओरालो लाग्न थाले । ठूला कम्पनीलाई जोगाउन सरकारले लगानी गर्न थाल्यो भने सरकारको खातामा पनि ऋणको भार बढ्न गयो । यसको असर यूरोपियन ऋण बजारमा १० वर्षसम्म पर्न गयो । साना धेरै कम्पनीहरु टाट पल्टिए भने बेरोजगारीको संख्या बढ्यो । यो वित्तीय संकटमा विश्वका धेरै देशका शेयर बजारमा प्रत्यक्ष असर प¥यो भने सबैजसो देशमा प्रत्यक्ष अप्रत्यक्ष असर प¥यो । नेपाली शेयर बजारमा विदेशी लगानी नखोलिएकोले यसको प्रत्यक्ष असर नदेखिए पनि रेमिट्यान्समा आधारित अर्थतन्त्र भएकोले अप्रत्यक्ष असर भने पर्न गयो ।

    (लेखक नेपाल स्थित नेप्सेका प्रबन्धक हुन् )

  • भानुभक्तलाई सलाम

    भानुभक्तलाई सलाम

    वि. सं. १८२६ देखि १९४० सम्मको समयावधि नेपाली कविताको प्राथमिक काल अन्तर्गत पर्दछ । पृष्ठभूमिकालको गीत, गाथा, लोकपद्य तथा नाट्यगाथाद्वारा प्रेरित यस समयलाई लेखोटकाल समेत भन्ने गरिएको पाइन्छ । नेपालको एकीकरण अभियान, अङ्ग्रेजसँगको युद्ध, सुगौली सन्धि, कोतपर्व, राणाकालको उदय आदि विशेष घटनाक्रमहरूले प्राथमिक कालको कविताको विकासका लागि प्रभाव पारेको देखिन्छ । त्यसो त धार्मिक, आध्यात्मिक र नैतिक धारणाले प्रभाव पार्नुका साथै शास्त्रीय छन्द तथा पद्य लेखनबाट पनि यो काल प्रभावित देखिन्छ । नेपाल एकीकरणका समयमा राजनीतिक, धार्मिक तथा सामाजिक वातावरणले प्रभाव पारेको बेला कविताको मुख्य धेय वीरताको वर्णन गर्नु नै रहेको थियो । वीरवन्दना, राजभक्ति र देशप्रेम यस चरणका कविताको आधारभूत विशेषता हुन् । कवित्वको भन्दा पनि वर्णन र विवरणको प्राधान्य बढिरहेको थियो । हाँस्य र श्रृङ्गार भावका अतिरिक्त आध्यात्मिक र नैतिक विषयवस्तु पनि यस समयमा प्रयोग भएका छन् । सुगौली सन्धि पछि उत्पन्न नैराश्य, चिन्ता एवं दमित मानसिकतासँगै यो धाराको पनि विच्छेद भएको देखिन्छ । वि. सं. १८७३ देखि १९४० सम्मको नेपाली कविताको समयावधिलाई प्राथमिक कालको उत्तराद्र्ध अर्थात् भक्तिकाल भनेर चिनिन्छ । यस अवधिलाई अङ्ग्रेजसँगको पराजयपछि विकसित आन्तरिक कलह, पदलोलुपता, हिंस्रक राजनीतिक घटनाक्रम तथा सत्तामोहले वितृष्णा पैदा गरी पृष्ठभूमिकालको धार्मिक र आध्यात्मिक प्रवृत्तिलाई उकास्न सहयोग पुर्याएको देखिन्छ । भक्तिधारालाई प्रवृत्तिगत दृष्टिकोणले सगुण र निर्गुण गरी दुई भागमा बाँड्ने गरिन्छ । सगुण भक्तिधाराअन्तर्गत कृष्णभक्तिधारा र रामभक्तिधारा गरी दुई उपभेद रहेका छन् । कृष्णभक्तिधाराका आस्थाका केन्द्र भगवान् श्रीकृष्ण हुन् । रामभक्तिधाराको प्रवृत्ति रामकै चरित्रका वर्णन र गुणगान गर्नु हो । यसरी प्राथमिक कालीन नेपाली कविता यात्रामा भक्तिधारामा मलजल गर्दै आदिकवि भानुभक्त आचार्य उदाएका हुन् ।

    संस्कृतमा रचना गरिएको अध्यात्म रामायणलाई मौलिकताका साथ नेपाली भाषामा अनुवाद गरेर नेपाली कविताको विकासमा उनले महत्वपूर्ण योगदान दिए । वि.सं. १८८९—१० को अवधिमा रामायणका सातै काण्डको अनुवाद गरिसकेका आचार्यमा पूर्ववर्ती कविका तुलनामा भाषिक परिष्कार, अभिव्यक्तिगत सरलता तथा काव्यगत वैशिष्ट्य पाइन्छ । मूलतः अनुवाद भए पनि भानुभक्तको रामायणमा मौलिकताको विन्यास रहेको पाइन्छ । रामायणका अतिरिक्त भक्तमाला, बधूशिक्षा, प्रश्नोत्तरी, रामगीता आदि कृतिले गर्दा नेपाली कविता सशक्त भएको देखिन्छ ।

    २९ असार १८७१ मा तनहँको चुँदी रम्घामा प्रथम पटक पाइला टेकेका आदिकवि भानुभक्त आचार्यले संस्कृतका प्रकाण्ड विद्वान बाजे श्रीकृष्ण आचार्यको संसर्गमा काव्ययात्रा थालेका हुन् । परिवारभित्रको काव्यधारात्मक वातावरण र मौलिक कवित्व शक्तिका कारण भानुभक्त संस्कृत साहित्यका आदिकवि वाल्मीकिद्वारा रचित अध्यात्म रामायणको नेपालीमा अनुवाद गरी सबै नेपालीको झुपडीमा पुग्न सफल भए । भानुभक्तले वाल्मीकि रामायणको केवल अनुवादमात्र गरेनन् त्यसमा मौलिकताले सिंगार्दै सहज, सरल र मिठासयुक्त ढंगले नेपाली पाराको रंगरोगन पनि गरे । नेपाली रामायणमा कतिपय विषय थपघट गरी नेपाली परम्परा तथा संस्कृति अनुकूल थपघट पनि गरे । भानुभक्तले नेपाली रामायणमा संस्कृत छन्दको प्रयोग सहजताका साथ गरेका छन् । यस महाकाव्यमा शार्दूलविक्रीडित छन्दको अधिक प्रयोग गरिएको छ । नेपाली रामायणको ठाउँठाउँमा प्राकृतिक सौन्दर्यताको मनोरम वर्णन, उपमा तथा उत्प्रेक्षा आदि अलंकारको दिव्य संयोजन गरिएको छ । त्यसैगरी महाकाव्यमा शृंगार, वीर, हास्य, कणजस्ता रसको कुशलताका साथ प्रयोग गरिएको छ ।

    अध्यात्म चेतनाले समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोच भानुभक्तको जताततै छचल्किएका छन् ।

    रामायणमा मात्र होइन उनका अन्य रचनामा पनि नैतिक पक्ष र दार्शनिक चिन्तन व्यक्त भएको छ भने आध्यात्मिक नजरले भौतिक संसारलाई अवलोकन गरेको पाइन्छ । कवितामा हुनुपर्ने कल्पना, विचार र तादात्मकताजस्ता सारभूत तत्वको उपस्थितिले भानुभक्तका रचना ओजश्वी छन् ।

    भानुभक्त अकस्मात देखिएका विषयवस्तुमा आकर्षक शैलीमा कविता रचना गर्न सक्षम थिए । उनले गर्मीको समयमा मूला, साग, केरा मोहीविना नै थालमा ल्याएको भुटेको मकै खानुपरेकोमा दुखेसो पोख्दै लेखेका छन् । 

    कि ता सेता मूला कि त बरु हवस् साग उसको,

    कि ता मुंग्रे केरा कि त बरु हवस् मोई अमिलो ।

    असल हुन्थ्यो धुप्मा नतर कसरी खानु यसरी,

    भुटी ल्यायौ थाल्मा मकइ तिमीले क्यान यसरी ।।

    यस्ता कविताले एकातिर कविको चातुर्यता झल्किएको भेटिन्छ भने अर्कोतिर व्यवहारमा देखिने घटनाक्रमलाई पनि सहजताका साथ कविताको स्वरुपमा उतार्न सफल भएका देखिन्छन् । तत्काल देखिने विषयवस्तुलाई धाराप्रवाह कविता रचना गर्ने क्षमताले उनलाई आँशुकविको उपाधि पनि समालोचकहरुले दिएका छन् ।

    मुद्दा खेप्दा काठमाडौंको जेलमा बस्नु परेपछि त्यहाँको परिवेशलाई व्यांगात्मक शैलीमा उनी लेख्छन् 

    लामखुट्टे उपियाँ उडुस् इ सँगी छन् इनकै लहड्मा बसी,

    लामखुट्टेहरु गाउँछन् यी उपियाँ नाच्छन् म हेर्छु बसी ।।

    यसैगरी भानुभक्तले भक्तमाला र बधुशिक्षाजस्ता कृतिमा पनि समाजको वास्तविक चित्रण उतारेका छन् ।

    विश्वमा नेपाली जताजता पुगे पनि मुटुभरि भानुभक्त लिएर हिंड्छन् । भानुभक्तको नेपाल भौगोलिक रेखाभन्दा धेरै फराकिलो छ । नेपालसँग अरु कुनै साइनो नभएकाहरुलाई पनि जोड्ने काम आदिकवि भानुभक्तले गरेका छन् । भानुभक्तको रामायण झुपडी झुपडी पुगेको, मेलापात जाँदा, गोठालो जाँदा गाइएको, विवाह तथा ब्रतवन्ध हुँदै सप्ताह मन्डपमा घन्किएको प्रथम महाकाव्य हो र भानुभक्त नेपाली साहित्यका शिखर पुरुष हुन् भन्दा अत्युक्ति नहोला ।

    भानुजयन्तीको सन्दर्भमा अब केही हप्ता औपचारिक समारोहहरु हुनेछन् । सालिकमा माल्यार्पण, कविगोष्ठी, प्रभातफेरि आदि आदि तर भोलि भोलि भन्दैमा सबघर बितिगो बक्सियोस् आज झोली, भन्ने भानुभक्तलाई भोलिवादी संस्कार नै बोकेर एक डोको फूल चढाए पनि उनलाई सच्चा सम्मान गरेको मान्न सकिंदैन । हाम्रो संस्कारमा आजवाद ल्याउन सकेमात्र भानुको सच्चा सम्मान हुनेछ ।

    आचार्य पीपलमणि सिग्देल

    न्यूयोर्क  

    Sent from my iPhone

  • स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा

    स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा

    समृद्धिकाे अपेक्षामा नेपाली जनताले राजनीतिक परिवर्तनका लागि लामो समयदेखि बलिदानी गर्दै आइरहेका छन् । जाे अझै पनि जारी नै छ । पटक पटककाे बलिदानी संघर्षले राजनीतिक परिवर्तन पनि भयाे । तर जनअपेक्षित निकास भने पाउन सकिएकाे छैन । पछिल्ला राजनीतिक घटनाक्रमहरुलाई मनन् गर्दा देशलाई अघि बढाउन हैन पछि हटाउन माहाेल बनाइदै गरे झैं देखिन्छ ।

    राजनीति गर्नेहरु यति बेला आफुलाई राजनेता साबित गर्ने निकै ठुलाे अवसर पाँउदा पाँउदै पनि चुकिरहेका छन् । देशमा राजनीति गतिलाे नभई दिदा निरासा र बेतिथी दुबाे झैं माैलाउदै छ भने इमान्दारिता र नैतिकता रेबीज राेग लागे झै बाैलाउदै छ । जबसम्म राजनीति ठिक हुदैन, तबसम्म सुशासन र समृद्धिकाे परिकल्पना केबल दिवा सपना मात्र साबित हुन्छ । नेपाली राजनीतिमा देशले बेला बखत महापुरुषहरु नपाएकाे त हैन तर  राजनितिक काेर्श पुरा नहुदै उनिहरुकाे जीवन यात्रा टुंगिएका कारण राजनीति पनि बिचैमा अलपत्र परेकाे जग जाहेर नै छ । यति बेला सबैलाई एकताकाे शुत्रमा बाँधेर अघि बढ्ने क्षमता भएकाे नेतृत्वकाे अभाव देखिन्छ । यस्ताे कठिन परिस्थितिले अाज अचानक बिगतलाई स्मरण गर्दा नेपाली राजनीतिका एक लाैह पुरुष स्वर्गीय गिरिजाप्रसाद काेइराला स्मृत हुन्छ । देशमा प्राप्त परिवर्नसंगै उठेकाे असन्तुष्टीका उल्झनहरुका कारण  परिवर्तनलाई संस्थागत् गर्न थप चुनाैती थपिदै गर्दा तत्कालिन प्रधानमन्त्री स्व. काेइरालाले बढाे बुद्धिमतापूर्वक आफु र आफ्नाे पार्टीकाे स्वार्थ भन्दा माथि उठेर समृद्ध नेपाल बनाउनका खातिर राष्ट्रकाे कार्यकारी प्रमुखकाे हैसियतले बढाे परिपक्कताका साथ असन्तुष्ट पक्षहरुलाई  वार्ताका लागि आव्हान गर्नु भएकाे थियाे । आैपचारिक लिखित आव्हान गर्नु अघि भूमिका बाध्दै उहाँले ब्यक्त गर्नु भएकाे भावुक मन्तब्यकाे केही अंश जाे मननयाेग्य, सान्दर्भिक र उपयाेगी हुन सक्ने ठानी जस्ताकाे त्यस्तै लिपिबद्ध गरी प्रस्तुत गरेकाे छु । 

    “याे मेराे सायद पहिलाे र अन्तिम तपाईहरुलाई मेराे सन्देश हुने छ हाेला । किनभने मेराे उमेर र मेराे हेल्थले गर्दा या अरु अन्तिम पनि हुन सक्ला । आज एउटा युगान्तकारी परिवर्तन पछि तपाईहरुलाई दिदी बहिनी दाजूभाईहरुलाई एउटा संदेश म दिदैछु । मेराे पनि आफ्नै सेन्टिमेन्ट छ । आफ्नै इमाेसन छ । आफ्नै भावना छ । आफ्नै ईच्छा छ तपाईहरुकै जस्तै । म कुनै भिन्न मानिस हाेइन । जस्ताे तपाईहरुकाे आकांक्षा छ, ईच्छा छ, भावना छ, उत्कण्ठा छ, त्यस्तै मेराे पनि छ । किनभने म पनि यही भूमिमा, यही माटाेमा लडिबुडि खेलेर यही हावा पानीमा हुर्केकाे ब्यक्ति हुँ – तपाईहरु जस्तै । त्यसकारण तपाईहरुकाे सेन्टिमेन्ट र इमाेसन, तपाईहरुकाे आकाँक्षा ईच्छासंग म पूर्णरुपबाट परिचित छु । मेराे उमेरले गर्दा पनि धेरै तपाईहरुसंग उठबस गर्दा खेरी परिचित म भएकाे हुँ । र अर्काे कुरा याे युगान्तकारी परिवर्तन त भयाे । युगान्तकरी परिवर्तन पछि एउटा जनतामा  ईच्छा, आकांक्षा र उत्कण्ठाहरु उर्लिएर आयाे । त्याे स्वभाविक कुरा हाे । त्याे हुन्छ नै । त्यसैले हामी के भन्छाै भने, राष्ट्रकाे प्रथम बेदना हाे भनेर हामीहरु भन्छाैं त्यस्लाई । किनभने त्यस बेला त्याे एउटा परिवर्तन पछि अर्काे परिवर्तन आउँदाकाे त्याे वेदना हुन्छ राष्ट्रलाई । त्याे स्वभाविक कुरा मैले ठानेकाे छु । तर मलाई एउटै कुरा अहिले तपाईहरुलाई भन्न मन लागिरहेछ कि यहाँकाे परिस्थितिलाई अध्ययन गर्दा, विश्लेषण गर्दा मलाई लाग्याे कतै प्रतिगामी शक्तिहरु, र ले  चलखेल गर्न त सुरु गरेका छैनन् ? भन्ने मलाई लागेकाे छ । त्यसकारणले म दिदीबहिनी, दाजुभाईहरुलाई सचेत गर्न चाहन्छु कि त्यस्ताे खेलबाट हामी मुक्त हुनु पर्छ र राष्ट्रलाई पनि मुक्त गराएर हामीहरु जान सक्नु पर्छ । अर्काे कुरा मलाई भन्नु के छ भने, याे राष्ट्र सबैकाे राष्ट्र हाे । एउटा ब्यक्तिकाे हाेइन । यसकाे सम्पत्ति सबैकाे हाे । एक ब्यक्तिकाे हाेइन । त्यसकारणले यसकाे समस्या पनि सबै जनताकाे समस्या हाे । त्यसकारणले कुनै समस्या छ, कुनै त्यस्ताे छ भने वार्ताबाट नै याे समस्याकाे समाधान हाेस् भन्ने म चाहन्छु । र समस्या जुन जस्ताे सुकै भएता पनि वार्ताबाट त्याे समस्याकाे समाधान हुन्छ भन्ने  विश्वास मलाई छ । त्यसकारण आज म सबैलाई आव्हान गर्न चाहन्छु । आग्रह गर्न चाहन्छु कि कुनै त्यस्ताे समस्या छ भने आउनुहाेस् वार्ता गराैं । समस्याकाे समाधान गराैं । याे किन भने आपसी समझदारीकाे कुरा हाे । याे घर भित्रकाे बिबाद हाे । या त्यल्लाई घरै भित्र हाम्ले समाधान गर्नु पर्छ । माआेबादीकाे समस्याकाे समाधान गर्दा पनि यही कुरा थियाे । त्याे घर भित्रकाे हाे । आपसका हुन् झगडा ,बिबाद । त्यल्लाई पनि कि उनीहरुलाई बाेलाएर नेपालै भित्र बाेलाएर याे समस्याकाे समाधान गरेर नेपालकाे छवीलाई उज्वल बनाउनु पर्छ भन्ने मेराे आग्रह थियाे र त्यही आधारमा अहिले उनीहरु आका हुन् ।त्यल्ले एउटा एउटा म्यासेज इन्टरनेशनल म्यासेज दियाे कि नेपालले नेपालकाे जनताले नेपालैकाे समस्या आफै समाधान गर्न सक्ने क्षमता राख्दछन् भनेर । आज म फेरी तपाईहरुलाई दाेहाेर्याउन चाहन्छु  कुनै समस्या छ, कुनै छ भने आउनुस् मेराे ढाेका जहिले पनि खुल्ला छ । त्यसमा आएर हामीहरु वार्ता गरेर समस्याकाे समाधान गराैं । मैले गृह मन्त्रीजीलाई पनि निर्देशन दि सक्या छु कि वार्ताकाे निम्ति एउटा कमिटी बनाउनुस् र वार्तालाई सुरु गर्नुहाेस् भनेर मैले निर्देशन दि सक्या छु । त्यसकारण याे समस्याकाे समाधानकाे निम्ति सबैलाई म आव्हान फेरी पनि गर्न चाहन्छु । पहिले पनि मैल एक पटक गरेकाे हुँ र आज चाही स्पेशल आव्हान मेराे छ उहाँहरुलाई, आएर वार्ता गर्नुस् र वार्ताकाे साथ साथै मेराे आग्रह याे पनि छ जुन आन्दाेलन, बन्द या यी हडताल ईत्यादिहरु भएकाे छ त्यल्लाई उहाँहरुले समाप्त गनुहाेस् । र एउटा नयाँ नेपालकाे भविष्यकाे निम्ति त्यल्लाई समाप्त गरेर सदभावताकाे वातावरण हामीले तयार गराैं भन्ने मेराे आग्रह छ”

    (यसपछि वार्ता आव्हानका लागि तयार पारिएको आैपचारिक लिखित मन्तव्य पढिएको थियो)

    सुपेन्द्र बस्नेत

    बोष्टन, अमेरिका

  • महाभारत : प्रेमका आँखाले नि हेरौं

    महाभारत : प्रेमका आँखाले नि हेरौं

    म पश्चिम एक नम्बरको ग्रामीण पहाडमा जन्में । अहिले त्यो गाउँ चोकदे, बागेश्वरी हुँदै संघीय नेपालको सूर्यगढी गाउँपालिका भएको छ । सानो छँदा गाउँमा बढो धुमधामले टेलिभिजन भित्रिएको थियो । गाउँ पञ्चायतले नै जोरजाम गरेको । विद्यालयको झ्यालमा राखेर देखाइन्थ्यो । चार गाउँका मान्छे जम्मा हुन्थे । महाभारत आउँथ्यो, रामायण आउँथ्यो । जुन दिन यी हिन्दी धारावाहिक आउँथे त्यो दिन पर्व जस्तै लाग्थ्यो । छिमेकमा वस्तुभाऊ अलि चाँडै खोरमा थुनिन्थे । घाँसदाउरा अलि सम्साँझै सकाइन्थ्यो । चुल्हो अलिक उज्यालैमा जलाइन्थ्यो । किनकि, रामायण वा महाभारत आउने दिन हुन्थ्यो । अलिक टाढाका सहपाठीहरु त्यो दिनको विद्यालय सकिएलगत्तै घर जाँदैनथे, एकैपटक कार्यक्रम हेरेर मात्र फर्कन्थे । टेलिभिजनका दर्शक घर फर्कदा डाँडाडाँडामा ‘राँकेभुत’का लस्कर जस्ता देखिन्थे । टर्चलाइट हल्लिरहेका, बाबियोको मुठोको आगो दन्किरहेको… ।

    अर्थात् म त्यो ‘सँस्कृति’बाट आएको हूँ । राजनीति, सत्ता, संघर्ष, प्रेम केही नबुझ्दा नबुझ्दै महाभारतको रस पिउने अवसर सबैले कहाँ पाउनु त्यो बेला दूरदराजको पहाडमा ।

    अहिले पनि कहीं शंखध्वनीसहित ‘यदा यदा ही धर्मस्य ग्लाननिर्भवति भारत’ बज्यो भने दिमागमा त्यही चित्र—दृष्य आउँछ । दिमागमा गडेका केही पात्रको चरित्र र तस्वीर याद आउँछ । त्यो बेला त्यो फगत ‘गीत’ थियो, गीताको चौथो अध्यायबाट लिइएको श्लोक भन्ने के थाहा …! तैपनि घोक्रो फुकाइन्थ्यो, चिच्याइन्थ्यो…!

    महाभारत जति पछि भयो उति विराट लाग्ने रहेछ । अलिकति बुझें वा बुझियो कि भन्यो केही पनि बुझिएको नहूँदो रहेछ । यो सन्दर्भ वा प्रसंग चैं गज्जब रहेछ भन्यो त्यो भन्दा अर्को सन्दर्भ झन् गज्जब हुने रहेछ । आजपर्यन्त त्यस्तै लाग्छ ।

    यद्यपि, मलाई महाभारतमा प्रेम पनि छ भनेर कसैले पढाएनन् । महाभारतलाई प्रेमले पनि गतिशील बनाएको छ भनेर न कक्षामा गुरुले सिकाए न प्रवचनमा पण्डितले सुनाए । सत्ता, षड्यन्त्र, छलकपट, संघर्ष, शस्त्र, अस्त्रको घेराबाहिर गएर कसैले महाभारतबारे सुनाएनन् औ पढाएनन् । द्वन्द्वको घेराबाट उठेर प्रेमको घेराबाट महाभारतको कहानी किन नसुनाइएको होला ? उसैपनि महाभारतको आदिपर्व दुष्यन्त र शाकुन्तलाको प्रेमले भरिएको छ । यसभित्रै बिराट कृतिहरु लेखिएका छन् । आज यता भन्दा महाभारतमै लाऔं ।

    अहिले अनुभव भएको छ, महाभारत युद्धमा जसरी सत्ता र संघर्ष प्रधान हो त्यसैगरी प्रेम पनि प्रधान रहेछ । यसो भनौं, महाभारतको उदय नै प्रेम जराबाट भएको रहेछ ।

    पत्याउनुभएन ?

    केही विमर्श गरौं ।

    सत्यवती र ऋषी परासरको प्रेम प्रसङ्ग लिऔं । महर्षी व्यास (वेदव्यास) को जन्म नै परासर ऋषी र माझीकी छोरी सत्यवतीको प्रेम आकर्षणबाट शुरु हुन्छ । उनीहरुबीच शर्तसहित विवाह र सन्तान उत्पादनको प्रक्रिया पूरा भएपछि व्यास जन्मिए । सन्तान उत्पादन भएपछि पनि कुमारित्व कायम गराउने वाचा ऋषी परासरले पूरा गरेपछि मात्र हस्तिनापुरका राजा शान्तनु र सत्यवतीको प्रेम सन्दर्भ आउने हो ।

    शान्तनु र गंगाका पुत्र हुन् देवब्रत । देवब्रत शान्तनुलाई कुरुवंश कायम राख्न गंगाबाट प्राप्त सन्तान हुन् । देवब्रतलाई हामी भीष्म भन्छौं जो पहिल्यै हस्तिनापुर युवराज घोषित थिए । तर कालान्तरमा शान्तनु र सत्यवतीबीच प्रेम अंकुरायो । आफ्नै छोरीको गर्भबाट जन्मिएको पुरुष नै हस्तिनापुरको उत्तराधिकारी हुनपर्ने माग सत्यवतीको पिताले राखेपछि आहत भएका शान्तनुलाई चित्त बुझाउन देवब्रत (भीष्म) ले प्रतिज्ञा गरे । सत्यवतीको प्रेममा बेचैन, ब्याकूल प्रेमरोगी पिताका लागि यूवराज पदसहित त्यागेर आजीवन ब्रम्हचर्यको घोषणा नै भीष्मप्रतिज्ञा हो । यही प्रतिज्ञापछि शान्तनु र सत्यवतीको विवाह भयो र महाभारतको डोब खनियो । भीष्मको त्यो प्रतिज्ञा पिताको प्रेम प्राप्तीका लागि उत्सर्ग थियो, बलिदान थियो भनेर मलाई किन कसैले नपढाएका होलान् ?

    अम्बा र शाल्वबीचको प्रेम कहानीले पूर्णता पाएको भए महाभारतमा भीष्मको पराजय कसरी सम्भव हुन्थ्यो ? उनै भीष्मले स्वयम्वर समारोहबाट अपहरण गरेका थिए तीन कन्या अम्बा, अम्बिका र अम्बालिका । अम्बिका र अम्बालिका त हस्तिनापुरका बुहारी भए तर अम्बाले शाल्वसँगको आफ्नो प्रेमका खातिर सबैखाले बिद्रोह गरिन् । यही प्रेम—द्वन्द्वले परशुराम र भीष्मबीच अनिर्णित तर भयंकर युद्ध भयो । अन्ततः पुनर्जन्ममा भीष्मको मृत्युको कारण बन्ने बरदान प्राप्त गरेर अम्बाले देहत्याग गरिन् । यहींबाट शिखण्डीको उदय र भीष्मको पतनको कथा शुरु हुन्छ । सबैलाई थाहा छ भीष्मको पतनविना महाभारतको अन्त्य सम्भव छैन । अर्थात् अम्बा महाभारतको शुरुदेखि आखिरीसम्म छिन् । प्रेमका खातिर अम्बाले गरेको बिद्रोह महाभारतको अर्को कडी हो भनेर मलाई किन पण्डितहरुले नसुनाएका होलान् ?

    महाभारतमा द्रौपदी केन्द्रिय चरित्र हुन् । खासमा द्रौपदीले पाञ्चाल नरेशको दवावमा कर्णप्रतिको आशक्तिलाई घृणामा रुपान्तरण गरेको भेटिन्छ । यही घृणाले महाभारतमा चिरहरणको बीज रोप्छ । जसरी द्रौपदी कर्णप्रति आकर्षित थिइन् उस्तै चरित्र कर्णको पनि भेटिन्छ । भीष्मसँगको संवादमा कर्णले द्रौपदीसँग आजीवन प्रेम गरेको स्वीकार गरेका छन् । हामीलाई चाँहि कर्ण र द्रौपदी सधैं विपरीत ध्रुवमा उभ्याएर प्रस्तुत गरियो । किन होला ?

    महाभारतमै बिदर्भकी राजकुमारी रुक्मिणीको विवाह शिशुपालसँग हुने भएपछि कृष्णले अपहरण गरेर भित्र्याएको अर्को प्रेमकथा छ । दुर्योधनसँग बहिनीको विवाह होस् भन्ने चाहने बलरामको इच्छाविरुद्ध कृष्णले अर्जुनलाई उक्साएर शुभद्राको अपहरण गराई बिवाह गराईदिएको अर्को प्रेम सन्दर्भ छ । हिडिम्बाको बिद्रोह र भीमसँगको प्रेम रतीरागको अर्को कहानी छ । नागकन्याका रुपमा उलुपीले गरेको अर्जुनको अपहरण र प्रेमको अर्कै कहानी छ । कृष्णपुत्र साम्ब र दुयोधनपुत्री लक्ष्मणाबीचको प्रेम र भागी बिवाहकै कारण हस्तिनापुर र द्वारिकाबीच युद्धै भएका छन् । हामीलाई चाँहि युद्धैयुद्ध मात्र पढाइयो, सत्ता संघर्षका रुपबारे मात्र घोकाइयो । प्रेमबारे नपढाइएको किन होला ?

    शकुनी ः भन्नासाथ छल, कपट र षड्यन्त्रको गन्ध आउँछ । शकुनी आफैंमा बिम्ब जस्ता, प्रतीक जस्ता लाग्छन् । शकुनी मामा—भाञ्जा प्रेमको पनि पर्याय छन् । महाभारतको कडी बनाउन र जोड्न सिद्धहस्त कालीगढझैं लाग्छन् शकुनी । कौरव र पाण्डवबीच महाभारतको सेतु बनाउने काम नै शकुनीको भाञ्जा अर्थात् दुर्योधन प्रेममा देखिन्छ । यस्तो देखिन्छ मानौं दुर्योधनका सबै कृत्य, कु—कृत्यको समर्थन गर्नु नै शकुनीको धर्म हो । बाहिरबाट हेर्दा शकुनीले कौरवका सय भाईको अभिभावकत्व लिएकै देखिन्छ । तर तथ्य के पनि हो भने शकुनीका माता, पितालगायतका परिवार धृतराष्ट्रकै हस्तिनापुरको जेलमा भोकभोकै सडेर मारिएका थिए । मर्नुअघि आफ्नो बाबु (सुबाल)को अन्तिम इच्छाको रुपमा शकुनीले धृतराष्ट्रबाट जीवनदान पाएका थिए । जेलबाट निस्किएपछि हस्तिनापुरमै रहेर शकुनीले सय भाई कौरवको मन जिते । दुर्योधनका प्रिय मामा बने । भाञ्जा प्रेमको आवरणमा शकुनीले चालेका हरेक चाल कौरवको वीपक्षमा जाँदाजाँदा महाभारत भएकै हो । यसर्थ, कौरवको विनाश खासमा शकुनीको बदलाभावको खेती पनि थियो । भनिन्छ नि, समस्याको समाधान यसमा पनि निर्भर गर्दछ कि हामीलाई सल्लाह कसले दिइरहेको छ । जस्तो कौरव उर्फ दुर्योधन शकुनीको सल्लाह लिइरहेका थिए यता पाण्डव कृष्णको ।

    महाभारतमा दुर्योधन र कर्णबीचको मित्रताको वा मित्रप्रेमबारे कमै पढाइन्छ । गुरु द्रोणाचार्यले अर्जुनप्रति गरेको एकपक्षी प्रेमले गराएको वास्तविक कर्णको जन्म प्रसंग कम रुचिपूर्ण छैन । घृणा र भेदभावको शिकार कर्णप्रति दुर्योधनले दर्शाएको प्रेम र सम्मानको बलमा महाभारतमा नयाँनयाँ अध्याय थपिएका छन् । अझ बढी त धृतराष्ट्रको पुत्रप्रेम पनि महाभारतको जड हो । पतिप्रेमका खातिर गान्धारी र पुत्रप्रेमका खातिर धृतराष्ट्रको उदाहरण सबैलाई थाहा छ । यी सबैलाई सत्तासँग भन्दा प्रेमसँग तुलना किन कम भएको होला ?

    बाँकि दर्जनौं प्रेम दृष्टान्त उल्लेख गर्न अर्को महाभारत लेखिनपर्छ जुन सम्भव छैन ।

     

    पुरुषोत्तम लम्साल

    भर्जिनिया, अमेरिका

    Sent from my iPhone

  • मेरा आँखाहरुले रोई सकेछन्

    मेरा आँखाहरुले रोई सकेछन्

    ​​​​​’मैले पनि होईन मेरा आँखाहरुले तिम्रा लागि रोई सकेछन्’ । बर्षौदेखि बच्चुकैलाशले गाएको यो सदाबहार गीत सुन्दै आएको छु । यसमा क्षेत्रप्रताप अधिकारीको शव्द र नातीकाजीको संगीत छ । गीतले पुरुष र महिलाका बिचमा हुने भावनात्मक सम्वन्धको गहिराईलाई छोएको महसुस हुन्थ्यो । अनि म पात्रको मनमा नरोईकन आँखाले मात्रै कसरी रोए होलान ? भन्ने प्रश्न उठ्थे, शव्दको सतही अर्थ गर्न खोज्दा ।

    तर ती गीतका हरफहरुले मलाई आज अर्कै अर्थ दिईरहेका थिए । जब राकेशजीले जुन ११, २०१९ का दिन बिहानै भने; “दादा अब अखिलेशजी नही रहे” !

    मैले आफ्नै आँखाहरु अनायासै रोएको देखें । म भने आँखाहरुबाट बहदै गरेका आँसुहरु हेरिरहेको थिए । मेरो घाँटीबाट रुवाईको चित्कार निस्कन खोजिरहेको थियो । केहीबेरसम्म हेरिरहें, साक्षीभावले आफनै वर्तमान अवस्थालाई । बिगत १९ बर्षदेखि मेरा पाँच ईन्द्रीयहरुले उनीसँग बिताएका पलहरुलाई शरिरका विभिन्न कोशहरुमा रेकर्ड गरेर राखेका रसहरु आँखाबाट बहदै थिए । यी वेदनाका रसहरुको अनुभुती दुखदायी भएर पनि पिडा भने मिठो दिईरहेका थिए । प्रसव वेदनाको बेलामा युवतीले सहवासको क्षणको पनि अनुभव गरेझैं । ताकि फेरी पनि यस्तो प्रकृया दोहोरियोस् । उताबाट राकेशजी रुँदै भन्दैथिए; “दादा अपनेको सम्हालो” । म राकेशलाई भन्न खोजिरहेको थिए । “मै तो ठिक हुं आप अपनेको सम्हालो” । तर मेरो आवाज निस्कीरहेको थिएन । आँखाहरु भने अझै रोई रहेकै थिए ।

    अखिलेश कृष्ण पेशाले वकिल हुन् । नयाँ दिल्लीबाट न्यूर्योक आएका थिए । डिसेम्बर १०, १९६३ मा जन्मिएका एक्ला छोरा थिए । उनी त्यहाँ पनि वकिल, चार्टर एकाउण्टेण्ट अनि जिटिभीमा समाचार बाचकको रुपमा काम पनि गर्दथे । उनका पिताजी प्रो.डा. सुरेशकृष्ण दिल्ली युनिर्भसिटीका पुर्विय दर्शन र हिन्दी साहित्यका प्राध्यापक, कवि, एवं विदेशी रेडियोका स्थानीय सम्वाददाता भई काम गरी सकेका विद्धान हुन् । र उनको दिवंगत माताजी पनि त्यहीं प्राध्यापन गर्दथिईन् । पिताजीका साथमा रही उनले विदेशी रेडियोमा समाचार सम्प्रेषणको काम पनि गरेका थिईन् ।

    उनी न्यूयोर्कको टुरो ल कलेजको एलएलएमको अन्तिम बर्षमा अध्ययनरत रहँदा म त्यहाँ विद्यार्थी हुन पुगेको थिए, सन १९९९ मा । छोटोकद र हँसिलो मुहार भएका अखिलेशलाई अव्वासीले ‘पण्डीतजी आप कैसै हो’ ? भनेर सम्वोधन गर्दथ्यो । जवाफमा उनी मुस्काऊदै भन्थे “मै ठिक हुँ सर” । अखिलेश जैन परिवारबाट आएकोले लसुन प्याज समेत नखाने शाहाकारी थिए ।  नियमित पुजापाठ गर्दथे । आफनो वकालतको साथै न्यूयोर्कको एउटा कलेजमा पार्टटाईम पढाउँथे । उनलाई साहित्य, संगीत र कला लगायतका विद्यामा उत्तिकै दखल थियो । समुहका साथीभाईलाई समस्या पर्यो भने अखिलेशलाई सम्झथे । उनी कृष्ण झैं थिए । आर्दश पति, पिता, भाई अनि गोपीनीहरुका लागि सखा । यशोदाहरुका लागि कान्हा । बाहिर खान जानु पर्यो भने साथीहरुले खाँदै गर्दा उनी क्रेडिट कार्ड बोकेर काउण्टरमा पुग्दथे । रक्सी पिंउदैनथे । तर पिउनेहरुको पार्टीमा सामेल भै अरुलाई पिलाउँथे । रमाईलो बढी उनी गर्थे, मात लागेसरी ।

    उनी एक्ली छोरी मिनाक्षीले नेपालका गरिब बालबालिकाको सहयोगार्थ, सोलुको विद्यालयमा छाना लगाउने प्रोजेक्ट, टेक्ससस्थित एचपिएनपी र क्यान्सर रिसर्चको लागि प्रत्येक बर्ष फण्ड रेजिंगका लागि आयोजना गर्ने कार्यक्रममा श्रीमती डा. कल्पनाका साथ सहभागी हुन्थे । उनको कार्यक्रममा हार्डवर, पेन, स्टानफोर्ड, येल, लगायतका कलेजहरुमा पढने भारतीयमुलका विद्यार्थीहरु सहभागी रहन्थे । मिनाक्षीले नेपालका लागि संकलन गरेको सहयोग कवि दिनेश अधिकारी, समाजकल्याण मन्त्रालयका सचिव र म मार्फत नेपाल पठाईएकी थिईन् । मिनाक्षीले हार्डवरबाट स्नातक पुरा गरिन र हाल कोलम्वियामा पढदैछिन । अहिले पनि नेपाललाई सहयोग गर्ने भाव उनीमा छ ।

    अखिलेशजीको वहुआयामीक व्यत्तित्वका बारेमा लेखेर सकिदैन । केही अविस्मरणिय कुराहरु टिपोट गर्नु उचित ठान्दछु ।

    उनी मेरो अफिसमा अफ काउन्सीलको रुपमा आई रहन्थे – मन खोलेर हाँस्नु पर्यो भने ।भाषा र अन्य जटिल समस्या अयो भने म उनको सहयोग लिने गर्दथे । एनआरएन अमेरिकाको २०१४ को निर्वाचनको लागि मैले खटेको देखेर उनले भनेका थिए; “आपको पैसे मिल्ते है क्या” ? मैले भनें “नहि सर” । “क्यु ईतने लोग उम्मेदवार बन रहे है” ? उनको थप प्रश्न थियो । मैले भनें; “सर पद पाने के लिए” । “पद के सिवाय और क्या मिलता है” ? मैले भने ‘कुछ नही’ । “हमारे भी है एनआरआई मगर ईस तरह से चुनाव नही होते है” । अनि म भन्थे; ‘सर प्लिज हेल्प मि टु ड्राफ्ट दिस नोटीस्’ । उनी मलाई सघाउन  थाल्थे ।

    अखिलेशजीले मलाई अद्यागमन सम्वन्धि अफ्ठयारो परेका मान्छेको काम पठाउँथे र पैसा आफ्नै अफिसको चेकबाट दिन्थे । मलाई लाग्थ्यो क्लाईन्टबाट पैसा लिएका होलान् तर पछि थाहा पाउँथे – कतिपय असमर्थ क्लाईन्टबाट पैसा नै लिएका हुदैनथे । मैले पनि कतिपय कामहरु उनलाई पठाउँथे । उनी सामान्यतया पैसा लिन मान्दैनथे । “रख लो दादा बादमे देखेंगे” भनेर टार्थे । म करिब दुई महिना अगाडी उनलाई भेटन गएको थिए । मेरो परिवार (मेनुका, प्रभात र परिता) पनि संगै थिए । हिडने बेलामा उनले एउटा चेक दिए । त्यो चेक मैले उनलाई निकै अगाडी दिएको थिए, एऊटा काम गरे वापत । उनले भने; “दादा ऐ चेक वापस रखलो” । अखिलेश र मेरो बिचमा भएको कारोबारको बारेमा थाहा पाएका एकजना मित्रले उनको मृत्युको खवर सुनेर सोधे ‘व्यवहार त मिलेको थियो होला नी’ ?  

    अखिलेश, उनको पिताजी र छोरी मिनाक्षीको कविता बाचन हामीले श्रृजनाका यात्राहरुमा गराएका थियौं, न्युर्योकको ज्याक्सन हाईट्समा । पिताजीबाट साहित्य र दर्शनका बारेमा सहदेवजी र मैले प्रश्नहरु पनि राखेका थियौं । पछि प्रदिप थापाजी र मैले पिताजीसंग साहित्य र दर्शनका बारेमा सम्वाद गरेका थियौं यो सबै मिलाउने अखिलेश नै थिए । उनले लंगआइल्याण्डमा अर्को नयाँ घर किने । त्यो घरमा आउन कर गरिरहेका थिए; “दादा, मेनुकाजी और आप आ जाओना विकेण्ड मै, स्वीमिंग करो, ध्यान करो, बागमे सैर करो,  बहुत अच्छी जगह है” । उनलाई थाहा थियो म ड्राईभ गर्दिन भनेर । त्यसैले भन्थे; “गाडीवाले और एक कपलको भी साथमे लेके आओ । बहुत कमरे है” । तर हामी जान सकिरहेका थिएनौं ।

    उनले एकदिन भने “पिताजी आए हैं क्यालिफोर्निया से । कुछ समय यही रहेंगे” । ८५ बर्ष नाघिसकेका अस्वस्थ पिताजी न्युर्योकको मौसमको कारणले गर्दा छोरी ऋजुसँग क्यालिफोर्निया नै बस्नु हुन्छ । पिताजीसंग साहित्य र दर्शनका बारेमा केही सत्संग गर्न पाए हुन्थ्यो भन्ने आकांक्षा जागेकोले अखिलेशजीलाई भाव व्यक्त गरें । तत्काले उनले ‘कहिले र कतिजना आउने ?जानकारी गराऊ’ भने। मैले अनेसास, न्यूयोर्कका राजेन्द्र श्रेष्ठसँग केही नामहरु मागें । मेनुका, म, राजेन्द्र, डा.तारा निरौला, डा. गोविन्द कोईराला, राम र गीता खत्री, शकुन, परिता, प्रभात, हजुरी र अन्य केही साथीहरु अखिलेशजीको घरमा शनिवारका दिन गयौं ।

    हामीलाई पिताजी, अखिलेश, भाउजू, मिनाक्षी र अन्य परिवारका सदस्यले स्वागत गर्नुभो । उनको नयाँ घर फिल्म स्टुडियो जस्तो भब्य, जंगल भित्र एकान्तमा । वरिपरीको रमणीय वातावरण हेरेर हामी मोहित भयौं । सबैजना फोटो खिच्न र खिचाउन थाले । त्यसपछि हामी कार्यक्रम हुने र खानेपान सजाएको ठाउँमा गयौं । मिठाई र खानाका परिकारहरु देखेर हामी छक्क पर्यौं । एकपछि अर्को परिकारहरु ल्याईरहेका थिए । मानौं हामी कुनै शाही भोजमा छौं । मलाई सहभागीहरु सोध्दै थिए “हैन दाई तपाईको साथी त ठुलो दिलवाला रहेछ” । मैले आफुलाई कृष्णको घरमा पुगेको सुदामा जस्तो अनुभव गरें ।

    पिताजीसँग गरिएका सत्संगको फोटो र भिडियो परिता र प्रभातले लिए । साहित्य, दर्शन र धर्मका बारेमा दिएका जानकारी पछि हामीले उहासँग धेरै प्रश्नहरु राख्यौं । चित्तबुझ्दो उत्तर पनि पायौं । पिताजीसँगका सत्संगको भिडियोलाई सम्पादन गरेर निकाल्न अखिलेशजी र म काम गर्दै थियौं । जुन पुरा भएन । आशा छ निकट भविष्यमा म निकाल्ने छु ।

    अखिलेशजी नियमित डाक्टरकहाँ गईरहने र पथ परहेजमा रहने मान्छे हुन् । करिब १६ महिनाअघि उनी अफिसमा काम गरिरहेका बेला घरमा बोलाईएछ । घर पुग्दा डाक्टर र परिवारका सदस्यहरुले रुँदै भनेछन् । उनलाई पेङ्क्रियाजको क्यान्सर भएछ । उनको उपचार सुरु भयो । मलाई उनले शुरुमै भनेका थिए – यी कुराहरु । साथमा भनेका थिए कि “दादा मेनुकाजीको ए बात मत बताना” । उनलाई थाहा थियो मेनुकाले अनावश्यक पिर लिन्छिन भन्ने ।

    म अप्रिल ३, २०१९ का दिन नेपाल हिडें – बालगुरुको कार्यक्रममा सहभागी हुन । जानु भन्दा केही दिन अघि उनीसँग कुरा हुँदा “दादा बहुत लोंगो को ए भी पता नही है कि उनकी मृत्यु कब होगी ? मगर डाक्टर ने कह दिया है मै कब तक जिन्दा रहुंगा ! मै तो निश्चित हु उसके आगे नही मरुंगा” । अखिलेशले भनेका यी भनाईले मलाई आजभन्दा करिब ३५ बर्ष अघि मृत्यु भएका मेरा सहकर्मीलाई सम्झिएँ । उनी २५ बर्षको उमेरमा वितेका थिए । उसको मृत्युले ममा मृत्युको भय पैदा भएको थियो । अनि म चिन्तामा डुब्न थालें । डाक्टर र वैद्यको दवाईले काम गरेन । सबैले मलाई डिप्रेशनमा छ भने । तर म पत्याउन्नथ्ये । आजीत भएर विपश्यना ध्यानमा गएँ १९९४ ताका ।

    त्यसपछिको निरन्तरको सत्संगले ममा एउटा पराभौतिक ज्ञान पस्यो । म मन, बुद्धि र शरिर होईन । म चैतन्यस्वरुप आत्मा हुँ । म न त जन्मन्छु नत मर्दछु । मर्ने त केवल मेरो शरिर हो । म जागृत, स्वप्न, र सुषुप्ती अवस्था भन्दा माथि रहेको र तीनै अवस्थालाई जान्ने साक्षी हुँ । अखिलेशले मृत्युलाई यसरी सहज रुपबाट स्वीकारेको सुनेर म फेरी मृत्युबाट निर्भयी भएँ । ममा वैदिक साहित्य प्रतिको श्रद्धा र विश्वास अझ बढ्यो । अनि आफ्नै रचना र संगीतमा रेर्कड गरेको तलको गीत सम्झिएँ;

    जन्मने र मर्ने, म हुँ कि मेरो शरिर ?

    गुरुजी हटाई पाऊँ, यो मनको पिर 

    भन्नुभो गुरुले सुन ज्ञानका कुरा

    पन्छाई एकछिन बुद्धिका कुरा

    तिमी चेतना हौ, कुनै वस्नु होईनौ

    तिमी सर्वत्र छौ शरिर होईनौ

    शास्वत छ चेतना शरिर नासिन्छ

    अज्ञानी तिम्रो मन, शरिरमा टासिन्छ

    न मर्दर्छाै तिमी, न मर्छन अरु

    तिम्रो अज्ञान डढाऊ, बनाई चरु ॥

    विनोद रोका

    न्युर्योक

  • हवाईमा हवाई दुर्घटना हुँदा ९ को मृत्‍यु

    हवाईमा हवाई दुर्घटना हुँदा ९ को मृत्‍यु

    अमेरिकाको पर्यटकीय राज्य हवाईमा गत शुक्रबार राती एक बिमान दुर्घटना हुँदा ९ जनाको मृत्‍यु भएको छ । बिमानलाई स्काई डाईभको लागि प्रयोग गर्ने क्रममा दुर्घटना भएको अधीकारीहरुले संचार माध्यमलाई बताएका छन् भने स्काई डाईभिङ्का लागि जहाजमा गएका कतिपय मृतकका परिवार बिमानस्थलमा कुरिरहेको समेत          बताईएको छ । दुईवटा ईन्जिन भएको किङ एयर बिमान दुर्घटना ओहु अाईल्यान्डको उत्तरी तटमा भएको हो ।  

    मृतकहरुको पारिचय समाचार  तयार पार्दासम्म खुलाईएको छैन ।  

    एजेन्सी

  • बिदेशी छायाँ स्वदेशको माया

    बिदेशी छायाँ स्वदेशको माया

    युरोप पसेको सात बर्ष लागेछ । यो सात बर्षमा सुनकोशीमा कति पानी बग्यो होला ? सात जुनीमा नभोगेको हण्डर ठक्कर यही युरोपको भुमीमा भोगेको छु । पहिले सोचेको थिए सजिलै पैसा कमाइन्छ जीवन व्यवस्थित होला तर कहाँ हुनु ? यो दलदल पो रहेछ, जति निस्कन्छु भन्छु उति भाँसिदै जान्छ । कति मान्छेले आफ्नो जीवनको समिक्षा गर्छन होला ? मलाइ लाग्छ हरेक मान्छेले आफ्नो जीवन जन्मदिनमा पक्कै नियाल्छन । मलाइ त सपनामा जन्मभुमिले सताइरहन्छ । मलाई जस्तै काम, माम र अवसरका लागि परदेश भाँसिनु परेका तमाम नेपाली युवाहरुको निन्द्रामा आफ्नै घर आँगन सपनामा नाच्दो हो ! 

    काभ्रे जिल्लाको साविक देवभूमी बालुवा गाविस ८ लुइँटेलगाउँमा जन्मिएर हुर्केको त्यो ठाउँ, त्यो घैरिनी डाँडा, खोका खोल्सो, डुडेको चौर पातालको वन, रानीपानी, चापाकोबोट, बकुल्टार, खामपुर, देवभूमी बालुवा मात्र होइन माथि धुर्पुरादेखि तल ढोट्नेसम्म मेरा कलिला पाइलाहरुले धेरैपल्ट त्यो जमीन नाप्यो । त्यही कयौं पटक ठेस लाग्दा ऐया आमा भनेर चिच्याएँ । ढोडारा र इन्द्रवानको फाँटमा दाइँ गर्दा गोरु धपाईयो । असारे रोपाइँमा हिमाम्य भईयो । टन्यौटे र ओखले कुवाको पानी खाईन्थ्यो । यसरी जम्माजम्मी आमा बाबासँग ५ हजार १ सय १० दिन बिताएछु मैले । त्यसपछि सर्वमंगलाबाट एसएलसी गर्दा मामाघरको त्यो दुलालथोक काफ्लेडी तामाघाट, तीनपिप्ले र बालुवाका सेरोफेरोमा लगभग १२ सय दिन बितेछन् । पार्टीमा संगठित हुँदा, आरआर कलेज हुँदै कालिकोट, जुम्ला, मुगु, डोल्पाका ती दुर्गम बस्तीदेखि काठमाडौंसम्म ९ सय दिनहरु र जीवनको ऊर्जाशील अवस्थामा ६ हजार ६ सय ६५ दिन बनेपालाई केन्द्र बनाउँदै म देश विदेश पुगेछु । यसै दौरानमा मबाट हामी चार भयौं । कामको दोरानमा मेरो सामिप्यतामा धेरै आए त केही पात्र खलनायक पनि भए । मित्र एग्रो भेटको त्यो मेरो दैनिकी काभ्रे टाइम्सको स्थापनादेखि रेडियो प्रसारणसम्मको संख्या र अनुहारको सम्झनामा आउने ति अनुहारहरु मैले हिसाब गर्नुपर्छ । थुप्रै अनुहारहरुको छुट्टै प्रवृत्तिसँग ति सबै बानी व्यहोरा र बेग्लाबेग्लै नाम र व्यक्तित्व र प्रवृतिका बारेमा वर्णन गरेर यहाँ साध्य छैन ।

    जव सपनाले सताउँछ  मेरा भावनाहरु जो उफ्री उफ्री मनबाट बाहिर प्रकट भइरहेका हुन्छन । तिनीहरुलाई दवाउन नसकेर धेरै पटक भावनामा भक्कानिएको छु । युरोपका फ्रान्स जर्मनी बेल्जियम नेदरल्याण्ड लग्जम्बर्ग इटाली लन्डन स्पेन पोर्चुगालका गल्लीहरुमा भौतारिएको छु । सबैले भन्ने गरेको सपनाको देश अमेरिका पुग्दा पनि मलाइ त्यस्तो आहा जस्तो यो मनमा भएन ।  

    जीवनको तथ्य उजागर गर्ने क्रममा पहिलो महान व्यक्तित्व भनेकै आमा र धर्ती रहेछन् । जसलाई जति कुल्चेपनि यो धर्तीले ऐया भन्दैन । त्यस्तै आमालाई जति सन्तानले दुःख दिए पनि उनको सन्तानप्रति कुनै पनि आमाले गुनासो गरेको मलाई थाह छैन । काभ्रेमा काभ्रे टाइम्सकै नामबाट मैले संचार संस्थालाई स्थापना गरें । काभ्रे टाइम्स प्रकाशन भएको पनि २३ बर्ष भएको छ । आम काभ्रेलीको माया त छ तर पत्रिकालाई समयानुकुल बनाउन सकिएको छैन । म प्रतिका ती विश्वासलाई डगमगाउन दिने छैन भन्ने प्रतिवद्धता गरेको छु । योजना त् धेरै छन् तर अझै समय अनुकुल छैन । साँच्चिकै देश सजिलै छिट्टै बन्ने छाटकाट मैले देखेको छैन । हाम्रो देशमा जंगबहादुरको त् जन्म भयो तर देश बनाउने कुनै बहादुर अहिलेसम्म किन जन्मिएन ?

    मेरो मोह मेरै धर्तीप्रति हो । हो, मानिसलाई अन्ततः परदेशको वैभव भन्दा स्वदेशको अभाब र झमेला नै बरु सही लाग्ला । ठुलो त आफ्नै समाज, आफ्नै संस्कृति, आफ्नै पाखा पखेरु हुँदो रहेछ । तिनलाई मृत्यु पछाडि पनि ऊ छोड्न चाँहदैन । सायद विज्ञहरुले भन्ने गरेको राष्ट्रियता, देश भक्तिको जग यस्तैबाट बन्दो हो । म भित्रको प्रतिकुलतालाई अनुकुलतामा बदल्न पराई भूमिमा छु । यहाँ भाषा, रहनसहन र भूगोल नै बेग्लै भएकोले झनै प्रतिकुलता छ तर जीवनका लागि नभई नहुने ज्ञान, सीप र अवसर यहाँ भएकोले त्यसलाई आफ्नो बर्कतले भ्याएसम्म लिने प्रयत्नमा छु । सबै परिचित प्रति गहिरो सम्झना र न्यानो माया ! 

    आर एल श्रमजीवी

    बेल्जियम

  • देश बिकास गर्नका लागि पहिला उत्पादन बढाऊ

    देश बिकास गर्नका लागि पहिला उत्पादन बढाऊ

    दिनेश प्रसाद गौतम

    नेपालमा सरकारले अहिले सम्बृद्ध नेपाल सुखि नेपाली भन्ने नाराका साथ आफनो हरेक बजेट कामहरु ग्रिरहेको छ । सरकारका धेरै कार्यक्रमहरु बिकास लक्षित भनि चलिरहेको बिभिन्न माध्यमबाट हामीहरुलाई थाहा भैरहेको हुन्छ । नेपाल देशमा कैयौ पटक सरकार परिवर्तन भए , सबै राजनितिक दलहरुले बिकासलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन् , उनिहरु जनतासगं कैयौ बाचा गरेर आएका हुन्छन तर पुरा भने गर्न सक्दैनन् किन ? नेपाल देशलाई किन बिकास गर्न सकेका छैनौ हामी ? यो बिषयमा सरकार वा भनौ सम्बन्धित निकायहरुले गम्भिर भएर किन सोचेका छैनन् , विश्वब्यापि बजारहरुमा हामी नेपालको उत्पादन किन पुगाउन सकिरहेका छैनौ ? किन नेपाली उत्पादन कम भयो ?
    यि यस्ता विषयहरुमा राज्यले नेपालको हरेक गाउ गाउमा किन छलफल वा भेल ागर्न सक्दैन ? नेपाल एसियाको दुई महान ठुला विकसित राष्टहरुको विचमा अवस्थित छ । तर पनि फाईदा किन लिन सकिरहेको छैन ? किनकी यसको मुलकारण हामी नेपालमा रहेका स्थमनिय स्रोत साधानहरुलाई सहि ठाऊमा उपयोग गर्न नजानेर हो । नेपाल जस्तो देशलाई विकास गर्न धेरै समय लाग्दैन् किनकी नेपालमा रहेका स्थानिय समानहरुलाई उत्पादन मुखि बनाउने , त्यहा रहेका बेरोजगार युवाहरुलाई बढि उत्पादनशिल क्षेत्रमा काम गर्न लगाउने , नेपालमा रहेका कृषि ब्यवसायलाई टेक्नोलोलीको माध्यमबाट सबै किसानहरुलाई सहुलियतमा प्रोत्साहन गर्नुका साथै बिदेशी लगानी कर्ता हरुलाई अवसर दियो भने समयमै नेपाल देश बिकासमा परिवर्तन हुन्छ ।
    अहिलेका अर्थ मन्त्रिको सायद भिजन यही होलाकी स्थानिय स्तरमा रहेका हाम्रा कच्चा पर्दाथलाई प्रयोग गरि नया कुराहरु उत्पादनले देशको लागि ठुलो योगदान हुन सक्छन । तर त्यसको लागि स्थानिय स्तरमा रहेका सबै भन्दा छिटो प्रतिफल दिन सक्ने कृषि क्षेत्रलाई राज्य आफैले किसानहरुसगं सिधा सम्पर्कमा रहि उनिहरुले उत्पादन गरिरहेका कच्चा पर्दाथ , दुध , धान , गहु , मकै , आदीलाई अत्याधुनिक टेक्नोलोजी प्रयोग बिधि अपनाउनका खातिर प्रशिक्षण तालिम , उनिहरुलाई समयमै सिचाईको ब्यवस्था मल खाद्य उपल्बध गराउने काम गर्न सक्नु पर्छ र तिनीहरुले उत्पादन गरेका समानहरुलाई राज्यले आफै किन्ने बेच्ने काम गर्यो भने यो क्षेत्रबाट ठुलो मात्रामा सफलता प्राप्त गरि देशको अर्थतन्त्र मजबुद गर्न सकिन्छ ।

    अर्को कुरा हाम्रो देशमा ठुलो मात्रामा बेरोजगार युवाहरु छन यसमा कोही शिक्षित होलान त कोही अशिक्षित होलान् र बेरोजगारहरुको जमात दिन प्रति दिन बढ्दै गैरहेको देखिन्छ । यि बेरोजगार युवाहरु युवतीहरुलाई सानो काम देखि लिएर ठुलो काममा राज्यले उचित पारिश्रमिक दिएर आफनै देशको बाटो घाटो , खोला नाला , खेति किसानी , आदी क्षेत्रमा परिचालन गरेर बिकासलाई उचित गति दिन सकिन्छ भने अर्को तिर हामी युवाहरु जो ब्यवसाय गर्न खोजेका छन उनिहरुलाई शुन्य प्रतिशतमा पैसा उपलब्ध गरायो भने विकास किन हुदैन ? यही नेपाली युवाहरु जो खाडी मुलुकहरुको ठुल्ठुला भवन , बाटोघाटो , होटेल , क्यासिनो आदी बनाएका छन उनिहरुले आफनो देशमै राज्यले अलि कम पैसा दिएपनि कसो काम नगर्लान् ।
    राजनितिक दलहरुले युवाहरुलाई आफनो पार्टीको झण्डा बोकाउनु भन्दा उनिहरुलाई यता रोजगार मुलक सिपहरु जुन सानो सानो कुराहरु ह्ुन्छन जस्तै मोबाईल , टेक्नोलोजी , गाउ घरमा रहेका खाली जग्गाहरुलाई पार्क बनाउने , जुत्ता सिलाउनेहरुलाई ब्वस्थीत गरि उनिहरुको पेसालाई ब्यवसायमा बदल्ने , जस्तै कि यहा युरोयिन देशहरुमा यहा हरेक नागरिकहरु क्ुनै कामलाई सानो ठुलो मान्दैनन् उनिहरु सबै काम गर्छन लाज मान्दैनन् , यहा जातपातको आधारमा विभेद आदी कहि कतै मैले सुनेको छैन , राज्यले उनिहरुलाई काम गर्नका लागि फ्रि गरिको छ , उनिहरुले जुनसुकै ठाउमा काम गरेपनि समाजिक सुरक्षाको रुपमा रोजगारदाता कम्पनी वा होटल रेष्टुरेन्ट आदीहरुले उनिहरुले गरिहेको पारिश्रमिकबाट काटेर राज्यलाई बुझाउछ । यो पैसा फेरि यही युवाहरु बु्ढेशकाल लागेपछि उनिहरुलाई पेन्सनको रुपमा उपलब्ध गराउने गर्छ ।
    युवाहरुले ब्यवसाय गर्न चाहेका जुनसुकै बैकंले उनिहरुको गर्न खोजेको ब्यवसायलाई मुल्याकंन गरि निरब्याजपैसा उपलब्ध गराउने गर्छन जसबाट यहाका युवाहरुमा आफनो राज्य प्रति वाफादार रहन प्रोत्सहान हुन अभिप्रेरित हुन्छन । उता हामी हेरौ आफनै छिमेकी देश चिनले दुनियाको दोस्रो ठुलो अर्थतन्त्रमा ठुलो योगदान पुगाउदै कत्ति छिटो बिकास गरिरहको छ , चिनका हरेक जनताहरु काम गर्छन , उनिहरुले विदेशमा बनेका हरेक समानहरु किन्छन र त्यो समान कसरी बन्यो भनेर पुरा हरेक पार्टहरु खोल्छन अनि ती पार्टहरु आफनो देशमा बनेका छन कि नाई भनि खाजतलास गरि जस्ताको त्यस्तै समानहरु बनाउनमा पछि पर्देनन् , अर्को कारण सरकारले पनि ठुला ठुला बैदेशिक मोबाईल कम्पनीहरु, उत्पादन शिल कम्पनिहरुलाई आफनो देशमा लगानी गर्न प्रोत्सान गर्छ र कामदार जत्ति सबै उसको आफनै नागरिकहरु ह्ुन्छन र त चिनका जनताहरु आफनो राज्यप्रति वफादार भएर काममा भरोश गरिे उत्पादन क्षेत्रमा बढि लगाव राख्छन ।
    अर्को कुरा के हो भने नेपालबाट हरेक बर्ष लगभग हजारौ नेपाली युवायुवती हरु बैदेशिक अध्ययनका शिलशिलामा बिदेश गैरहेका छन , उनिहरुले आफनो अभिभावकसगं बैदेशिक अध्ययनका नाममा दशौ लाख खर्चीएर अध्ययन गर्न आउछन , मान्नुस एक जना विद्यार्थीले पाच देखि सात लाख रुपैया बिदेशमा रहेका विश्वविद्यालयल ,कलेजहरुमा पठाउछन भने हरेक ६ महिनामा कत्ति विद्यार्थी बैदेशिक शिक्षाका नाममा कत्ति पैसा नेपाल बाहिर आउछ ?
    यो कुरा तपाईहरु शिक्षा बिभागबाट पत्ता लगाउन सक्नुहुन्छ , जहा सम्म मेरो अनुभव छ हरेक ६ महिनामा नेपालबाट युरोपियन देशहरुको कलेज , विश्वविद्यालयहरुमा हजार भन्दा बढि विद्यार्थीहरुले लगभग करोडौ युरो पठाउछन , यो पैसा नेपाल भन्दा बहिर आउछ त्यो सगै हाम्रो देशको जनशक्तिहरु पनि बाहिरीन्छन सरकाले यो बैदेशिक अध्ययनका नाममा रहेका एजेन्टहरुलाई बन्द गरि राज्यले नै एउटा राम्रो भरपर्दो माध्यमबाट उच्च शिक्षा लिनेहरुको लागि काउन्सेलीग गर्ने निकाय खडा गर्यो भने केही हदसम्म विदेशमा गैरहेका यो पैसा रोक्न सकिन्छ ।

    नेपाली उत्पादनलाई विश्वबजारीकरण गर्नका लागि अहिले नेपाल बाहिर रहेका सबै नेपालीहरुलाई राज्यले उनिहरुको कला शिक्षा ज्ञानलाई प्रयोग गर्दै नेपाली उत्पादनलाई जो जहा नेपालीहरु बस्छन सबैलाई पर्यटन दुतको रुपमा दर्जा दिदै उनिहरुलाई नै आफनो प्रोडक्ट लाई बिक्री बितरण गर्न लगाउन सछ । किनकी युरोपीयन देशहरुमा अहिले नेपाली कम्पनीहरु मध्ये एक मात्रै चौधरी ग्र्पको चाउचाउ बिक्री हुदा यहा रहेका प्रायः नेपालीहरु बजारबाट किने उपयोग गरेको मैले देखेको छु । यो युरोपियन देशमै उत्पादन भएको कारणले गर्दा ब्यपार पाएको होला तर युरोप अमेरिका , क्यानाडा आदी देशहरुमा हाम्रा छिमेकी देशहरुले उत्पादन गरेका साना साना समान जस्तै मसला , दाल , चामल , अदुवा , लहसुन , तेल ,मह , घ्यु , खसीको मासु आदी समानहरु निर्यात गर्छन भने चिनले सानो सियो फुड , मोबाईल देखि लिएर टेक्नोलोजिका समानहरु निर्यात गरेर धनी भैरहेका छन । यहाका बजारहरुमा हरेक नेपालीहरुले एसियन खाना वा भनौ एसियन समान भनेर सबैले किन्छन र किन्न लगाउछन ।
    त्यसकारण राज्यले मैले माथि भने अनुसार कृषिमा बढि लगानी गरेर नेपाली उत्पादनलाई निर्यात गर्नका नेपाली युवाहरुकै प्रयोग गर्न सक्यो भने नेपाल बिकास हुन बेर लाग्दैन । किनकी हामी अहिले युरोपमा बसोबास गर्ने प्रायः नेपालीहरु आफनो देशको माटो वा अरु चिज देख्यो कि जत्ति सुकै महगो किन नहोस किन्न आतुर हुन्छौ । अर्को कुरा नेपालमा बैदेशिक लगानी गर्नका लागि राज्यले बैदेशिक कम्पनीहरुलाई उचित सुरक्षा , कर प्रणाली , आदीमा सुधार ल्याउन जरुरी छ । भने नेपालमा होटल , रात्रीकालिन क्लब , रेस्टुरेन्ट आदी हरेक शहरहरुमा खोल्नका लागि युवा जमातहरुलाई प्रोत्साहन गर्न सक्यो भने सच्चिकै अबको केही बर्षमा नेपाल बिकास पनि हुन्छ र सबै नेपालीहरु रोजगारी पाएपछि सुखि पनि हुनेछन , त्यसको लागि हामीहरु जस्ता हरेक नेपालीहरु सहयोग गर्नका लागि आतुर छौ ।
    साथै नेपाल सरकारले देशका बेरोजगार युवाहरु विश्व बजारमा काम गर्न पठाउनु भन्दा बरु नेपाली युवा किसानहरुले उत्पादन गरेका कपडा , समानहरु विश्वबजारमा ब्यपारीकरण गर्न हामी सबै नेपाली जो जहाबाट छौ सबै तयार हुन जरुरी छ । सरकारमा रहेका र राज्य संचालन गरिरहेका राजनितिक दलहरुले बिकासको मुद्धामा एक भएर देशमा रहेका हरेक युवाहरुलाई पक्षपात नगरिकन सबैलाई रोजागारी श्रृजना गरि देशलाई विश्व जगतमा चिनाउनका खातिर लाग्न जरुरी छ ।
    साथै राज्यले शिक्षाका नाममा बिदेशमा गैरहेका पैसालाई रोक्नका लागि उचित कदम चाल्नुपर्ने हुन्छ किनकी त्यो रकम आफनै देशमा लगानी गर्यो भने ती युवा युवतीहरु कमसेकम रोजगारी पाउन सक्छन ।अर्को कुरा के हो भने राज्यले उत्पादन क्षेत्रमा बढि लगानी गर्नुपर्ने हुन्छ उत्पादन बढयो भने त्यसलाई ब्यपारिकरण गर्न खासै समय लाग्दैन ।

  • बबल एण्ड क्र्यास

    बबल एण्ड क्र्यास

    बबल एण्ड क्र्यास शीर्षकमा यो दास्रो आलेख हो । यस परिप्रेक्षमा अन्तराष्ट्रिय स्तरमा शेयर बजारमा भएका विभिन्न बबल र क्र्यासको ईतिहासका बारेमा चर्चा गर्दै उक्त समयमा नेपालको अर्थतन्त्रको अवस्था र त्यस्ता घटनावाट हालको नेपाली बजार तथा नीति निर्माताले सिक्नु पर्ने पाठका सम्बन्धमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

    मिसिसिपी बबल (१७१९ – १७२१)

    वेलायतको साउथ सी बबलको केही समयमा नै फ्रान्समा मिसिसिपी बबल भएको थियो । सन् १७१५ मा फ्रान्सको अर्थतन्त्र निरन्तर युद्धका कारण धारासायी हुन पुग्यो । यसवाट बच्न सरकारले स्कटिस अर्थशास्त्री जोन लको सुझाव अनुसार नोट जारी गर्ने अधिकार सहित एक सरकारी बैंक स्थापना गरेको थियो । जनताले उक्त बैंकमा सुन, चाँदी जस्ता बहुमूल्य धातु राखेर बैंकले जारी गर्ने नोट प्रयोग गर्दथे । विस्तारै उक्त बैंकले जम्मा हुने सुन चाँदी भन्दा बढी रकमको नोट जारी गर्न थाल्यो । सतहमा फ्रान्सको अर्थतन्त्र सुधार भएको देखियो भने जोन लले संचालन गरेकोे ब्यापारिक कम्पनीको शेयरको माग धेरै बढ्यो । सन् १७१९ मे महिनामा ५०० लिभ्रिस (तत्कालिन फ्रेन्च मुद्रा) मूल्य रहेको उक्त कम्पनीको शेयर मूल्य बढेर नोभेम्बर महिनामा १०,००० लिभ्रिस पुग्यो । यसवाट फ्रेन्च स्टक मार्केटमा त्यस समयमा धेरै मिल्यनियरहरु देखा परे । उक्त बबलको समयमा फ्रान्समा घर जग्गाको मूल्य र घर भाडामा २० गुणा सम्म बृद्धि हुन गयो । तर बैंकले जति पनि नोट छाप्दै जादा बजारमा मुद्रास्फिती बृद्धि भई केही समयमा नै अर्थतन्त्र गहिरो संकटमा पर्न गयो । १०,००० लिभ्रिस पुगेको उक्त कम्पनीको शेयर मूल्य सन् १७२० मा ४००० लिभ्रिस र सन् १७२१को सुरुमा ५०० लिभ्रिस भन्दा कम हुन गयो । यसवाट फ्रान्सको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्न गयो ।

    ब्रिटिस रेल वे म्यानीया

    नेपालमा विगत केही वर्षदेखि रेलमार्ग निर्माण गर्ने विषय चर्चामा छ । यसको लागि सरकारी निकायवाट कार्यालय स्थापना गरिएता पनि ठोस कार्य अघि बढ्न सकेको छैन । कति लामो रेलमार्ग निर्माण गर्ने, कुन स्थानमा गर्ने यसको लागत लाभ के हुने भन्ने सम्बन्धमा खासै चर्चामा आएको देखिदैन । रेलवे निर्माणका लागि जनतावाट पूँजी जुटाउन सकिन्छ भन्ने विषय त नीति निर्माताको दिमागमा पनि छैन होला । तर सन् १८३० मा नै वेलायतमा जनताको वचतवाट पूँजी निर्माण गरी रेल कम्पनीहरु स्थापना गरिएको थियो ।

    सन् १८३० मा लिभरपुल र म्यान्चेष्टर विच संचालन गरिएको रेलले उच्च सफलता प्राप्त ग¥यो । यसवाट हौसिएर थप रेलवे लाईन निर्माणका लागि दश प्रतिशत रकम मात्र जम्मा गरी बाँकी पछि माग गर्ने गरी शेयर लगानी गरेर कम्पनीको स्थापना गरियो । यस्तै कार्य नेपालको प्रधानमन्त्री सहितको सहभागितामा केही अघि जलविद्युतमा जनताको लगानी नाममा १० प्रतिशत रकम जम्मा गरी जलविद्युत कम्पनीमा लगानी गरिएको छ । तर व्रिटेनको उक्त मोडल केही समयमा नै असफल सिद्ध भयो । तत्कालिन समयमा ठूलो लागत सहित सुरु गरिएको उक्त परियोजनावाट धेरै प्रतिफल प्राप्त हुने आशामा शेयर तथा ऋणपत्रमा लगानी भयो । सुरुमा १० प्रतिशत रकम मात्र माग भएका कारण धेरै व्रिटिस लगानीकर्ताहरुले पछि रकम थप गर्न सक्ने वा नसक्ने विचार नै नगरी आफुसंग भएको सवै रकम उक्त १० प्रतिशत मार्जिनमा लगानी गरे । तर धेरै ठूलो रकमको लगानी आवश्यक पर्ने, निर्माण कार्य पनि सहज नभएको र वेला वेलामा कम्पनीले थप रकम माग गरिरहने कारणवाट केही वर्ष पछि लगानीकर्ताहरुको विश्वास उक्त रेलवे कम्पनीहरु प्रति कम हुदै गयो र आकासिएको शेयरको मूल्य धेरै घट्न गयो । सन् १८४५ तिर लगानीकर्ताहरुले कम्पनीहरुलाई थप रकम भुक्तानी गर्नै छाडे । फलस्वरुप योजना गरिएको भन्दा १५ प्रतिशत मात्र कार्य सम्पन्न हुन सक्यो र लगानीकर्ताहरुले धेरै ठूलो रकम गुमाउन पुगे । यसवाट  वेलायतको समग्र विकासमा नै धक्का पुग्न गयो । औद्योगिक क्रान्ती पछि मध्यम वर्गमा रहेका धेरै वेलायती जनताको वचत गुमेको कारण गरिवीको प्रतिशत समेत बढ्न गयो ।

    स्टक मार्केटमा सूचना संप्रषणको धेरै महत्व हुन्छ । उपलब्ध सूचनाका आधारमा लगानीकर्ताले लगानी निर्णय गर्ने गर्दछ । ब्रिटिस रेल वे म्यानीया बबल र क्र्यासको एक प्रमुख कारणका रुपमा त्यस वेलाका छापा पत्रिका पनि एक हुन् । सन् १८३० को दशकमा वेलायतमा अर्थतन्त्रका वारेमा लेख्ने पत्रिकाहरु प्नि प्रकाशन हुन थालिसकेको थियो । ती पत्रिकाहरुमा रेलवे कम्पनीका विभिन्न सूचना, जानकारी, वित्तीय विवरण आदि प्रकाशन हुन थाले पछि पत्रिकाको आय पनि बढेकोले यस्ता पत्रिकाहरुले सुरुका केही वर्ष रेलवे कम्पनीहरुका वारेमा असाध्यै सकारात्मक समाचार प्रकाशन गरेर बजार बढाउन योगदान गरेका थिए । तर पछिल्ला दिनहरुमा पत्रिकाहरुले त्यस्ता रेलवे कम्पनीहरुको नकारात्मक समाचार संप्रेषण गर्न थाले । तत्कालिन पत्रिकाहरु दी टाईम्सले श्रृङ्खलावद्ध रुपमा रेलवे कम्पनीहरुको विरुद्ध समाचार एवं सम्पादकीय लेखहरु लेखेका कारण नै लगानीकर्ताहरु शेयर बजार प्रति नकारात्मक हुन गई ब्रिटिस रेल वे म्यानीया बबल र क्र्यास भएको पनि विभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा उक्त समयमा भिमसेन थापाको प्रधानमन्त्रीकालको अन्तिम समय थियो भने दरवारमा थापा खलक र पाण्डे खलक विचको द्वन्दवाट देशमा विकासका विषयहरु प्राथमिकतामा नै पर्दैन थियो । पत्रिका प्रकाशन भने नेपालमा सर्वप्रथम सन् १९०१ मा गोरखापत्रवाट भएको हो ।    

    नेपाल सरकार र नियामक निकायले पनि वेलायतको करिव १८० वर्ष अघिको अनुभववाट पाठ सिक्नु पर्ने देखिन्छ । नेपालमा भरखरै सुरु गरिएको जलविद्युतमा जनताको लगानी कार्यक्रम अन्तर्गत १० प्रतिशत मात्र रकम माग गरी जलविद्युत कम्पनीमा लगानी गर्ने प्रचलन सुरु भएको छ । तर नेपालको जलविद्युत क्षेत्रले पनि त्यस्तै नियती नभोगोस भन्ने तर्फ समयमा नै ध्यान दिनु जरुरी छ । विसौ वर्षसम्म मेलाम्ची खानेपानी आयोजना सम्पन्न हुन नसकेको अवस्थामा रेल मार्गको निर्माण गर्दा लाग्ने धेरै समय र रकम, निर्माणका क्रममा भोग्नु पर्ने कठीनाई र परियोजना सम्पन्न भई सकेपछि प्राप्त हुने लाभलाई समेत मध्य नजर गरी योजना छनौट गर्नु उपयुक्त देखिन्छ । करिव ३०० वर्ष अघि नै वेलायत तथा युरोपमा जनताको वचतलाई पूँजीको रुपमा परिचालन गरी पूर्वाधारको निर्माण गरिएवाट नेपालमा पनि यस्ता महत्वपूर्ण परियोजनाहरुमा सरकारले आफै लगानी गर्ने वा विदेशी दातृनिकायको मुख ताक्ने प्रबृतिलाई कम गरी पूँजी बजारलाई अझै प्रभावकारी बनाई लगानी जुटाउन सकिने देखिन्छ ।

    क्रमशः (बाँकी अर्को अंकमा)

    निरञ्जन फुयाल

    प्रबन्धक नेप्से

    काठमाडौं 

  • यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें

    यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें

    समाजमा अनेक इकाई हुन्छन् । ती ईकाई मिलेर समूहले आकार पाउँछ । समाज र समाज व्यवस्थामा त्यस्ता समूह स्थायी प्रकृतिको हुन्छ । भन्नका लागि व्यक्तिव्यक्ति मिलेर बनेको समूहको संगठित स्वरुप नै समाज हो । तर यो समूह र समाजको प्रकृतिमा व्यक्ति मात्र प्रधान हुँदैन, व्यवहार, चालचलन, रीति, आवश्यकता, सम्बन्ध सबै आउँछन् । उनीहरु क्रिया, कर्मदेखि उनीहरुलाई कुन तत्वले व्यवस्थित र अनुशाशित बनाइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । यही व्यवस्थित बनाउने चरणमा अनेक सामाजिक संस्थाको निर्माण भइरहेको हुन्छ जसले समाज र सामाजिक ईकाईलाई व्यवस्थित, मर्यादित र धेरै हदसम्म नियन्त्रित गरिरहेको हुन्छ । समाजमा सबैले मनोमानी गर्ने वा गर्न पाउने अवस्थामा समाज संगठित र व्यवस्थित दुबै हुँदैन । त्यो बेला समाजको परिचय र पहिचान छिन्नभिन्न हुन्छ । तात्पर्य, सामाजिक उश्रृंखलताबाट बच्न व्यक्ति समुदायको साहारा लिन्छ र समुदायको यही औचित्य र प्रयत्नले शान्ति, व्यवस्था र अस्तित्व गतिशील भइरहेको हुन्छ । जुन बेला सामाजिक संगठनहरु आफैं धराशायी हुन्छन् वा तिनीहरुलाई दवाव र प्रभावले धराशायी बनाउने क्रियाले गति लिन्छ त्यो बेला सामाजिक अव्यवस्थाको प्रारम्भ हुन्छ र सामाजिक विघटनले डोब खन्छ ।

    अनुमान गर्नुहोस् गुठीमा बाँधिएका साँस्कृतिक समुदाय आफ्नो साँस्कृतिक विरासतबाट वञ्चित भए अथवा उनीहरुलाई साँस्कृति विरासतबाट जबरजस्ती वञ्चित गराइए ती समुदायको अस्तित्व कहाँ पुग्छ ? तिनीहरुको सामाजिक संरचना कसरी अलगथलग हुन्छ ? पाठकका नाताले तपाईको विमति होला तर आजको मेरो मुख्य चासो यो हो ।

    जहाँ उमेर, लिंग, नाता, व्यवसाय, आवास, सम्पत्ति, विशेषाधिकार, सत्ता र काम जस्ता कुरा विविधतामा आधारित रही समायोजन गरिएको हुन्छ त्यही सामाजिक संगठन हो । यसलाई इलियट र मेरिलले आफ्नो पूर्व निश्चित एवम् मान्य उद्देश्यअनुसार काम गर्ने सामाजिक इकाईको नाम दिएका छन् ।समाज भनेकै संगठित बानीव्यवहार, मनोभाव अथवा मतैक्यताको योग हो । यही व्यक्ति र सामाजिक सम्बन्धको अर्थपूर्ण मिलन हुन्छ । समाजप्रदत्त व्यक्तिको सामाजिक स्थान र स्थितिभित्र सामाजिक प्रथाको नियन्त्रण भइरहेको हुन्छ । यो नियन्त्रण नियमको अधीनमा रहेर हुन्छ वा गरिन्छ । यही परम्पराले सामाजिक गुण प्रदर्शन गरिरहेको हुन्छ, सामाजिक बल र सामाजिक पहिचान निर्माण गरिरहेको हुन्छ । र, विकासको प्रक्रियामा  परिवर्तन पनि समाजले आफू अनुकूल गर्दै लगिरहेको हुन्छ । समाजिक संगठन बलियो छ भने त्यो परिवर्तन यूगानुकूल स्थायी हुन्छ, कमजोर छ भने सामाजिक चरित्रमा क्षयीकरण शुरु हुन्छ ।

    प्रस्तावित गुठी विधेयक अक्षरशः अध्ययन गर्नेले सहजै अनुमान लगाउन सक्छ यो सामाजिक साँस्कृतिक चरित्र क्षयीकरण गर्ने नियतले आएको छ । यही क्षयीकरणमा सामाजिक प्रक्रियाहरु एकआपसमा छिन्नभिन्न हुन थाल्दछन् । यो वा त्यो रुपमा प्रतिस्पर्धाले स्थान पाउँदछ र द्वन्द्वले आकार लिन्छ । सामाजिक द्वन्द्व घनिभूत हुँदै जाँदा समाज पनि विघटनको बाटोमा जान्छ ।

    सामुदायिक भावनाबाट प्रेरित रहेर सामुदायिक इच्छापूर्ति उद्देश्य प्राप्तका लागि बन्ने सामाजिक इकाई गुठी हो भनेर बुझ्छु म । यसलाई परम्परागत नेपाली समाजको सामाजिक संगठनकै एउटा रुपमा बुझ्दा पनि हुन्छ । यसमा उनीहरुको आफ्नै अनुशासन हुन्छ, श्रम र श्रम विभाजन हुन्छ, आफ्नै नियम र शैली हुन्छ जुन उनीहरुले अनुभव गरेको अवस्थामा परिवर्तन पनि हुँदै जान्छन् वा गइरहेका हुन्छन् । प्रस्तावित विधेयकले त्यही थितिमाथि जबरजस्ती राजनीतिक हस्तक्षेप गर्ने ध्येय बोकेकाले त्यो सामाजिक विघटनको कडी बन्नसक्दछ भन्ने हो ।

    आध्यात्मिकता भनेको जप, तप ध्यान मात्र होइन, यो आत्मिक सम्बन्धको कोमलता पनि हो । सामूहिकताको स्वभाव पनि हो । हामी जुन भौतिकवाद भन्छौं त्यसमा धर्म, विश्वास, आस्था, सामाजिक सम्बन्धभन्दा आधुनिक सुख प्राप्ति प्रधान हुन्छ । सामाजिक जीवनबाट रीतिरिवाज, परम्परा, प्रथाहरुबाट सम्बन्ध टुट्दै जान्छ । सामाजिक दर्शन कम हुँदै जान्छ । सामाजिक दर्शनलाई टिकाइ राख्न सामाजिक संगठन असफल हुँदै जाँदा भौतिकवाद हावी हुँदै जान्छ । वैज्ञानिक दृष्टिकोण खोज्ने ध्याउन्नमा सामाजिक महत्व गौण हुँदै जाँदा सामाजिक साँस्कृतिक पहिचानको पनि दशा आरम्भ हुन्छ । हामी कति व्यवहारिक छौं वा हामी कति प्राविधिक छौं भन्ने प्रतिष्पर्धामा त्यो सामाजिक साँस्कृतिक पहिचानको स्थान हुँदैन । हो ठीक यही अवस्थामा सामाजिक विघटन र साँस्कृतिक पहिचानको संकट तीब्र हुन्छ भन्ने मेरो ठहर हो । अजासु प्रवृत्तिका एकजना मन्त्रीले गुठीलाई फगत सामन्तवादको अवशेष बताएर गुठीबारे आफ्नो ज्ञान र नियत छताछुल्ल बनाइदिएकाले यो विषयमा धेरै नलेखौं । यसैलाई एलियट र मेरिलले सम्बन्धको अभावमा हुने सामाजिक विश्रृंखलता भनेका होलान् (सामाजिक विघटन, १९५० हार्पर एण्ड ब्रोस, पृष्ठ २९)

    सामाजिक ढाँचालाई अस्थायी रुपमै सही, तोडिदिए वा छिन्नभिन्न गरिदिएपछि सामाजिक विघटन आरम्भ हुने हो । त्यसको स्थानमा नयाँ ढाँचा त ढिलो चाँडो बन्ला तर त्यसले पूर्ववत् मूल्यमान्यता आत्मसाथ गर्छ कि गर्दैन भन्ने यकीन हुँदैन । पुरानो, जीर्ण, रुग्ण घर ढल्नु र ढाल्नु पनि राम्रो हो, रुढ सामाजिक संरचना विघटन गर्नु पनि राम्रो हो तर रोगको निदान र उपचारको विधि यो हो भन्ने यकीन नै नभई घाउमाथि करौंती चलाउँदा व्यक्तिको मृत्यु निश्चित हुन्छ जो फर्केर आउँदैन । अर्थात् समाज र संस्कृतिलाई नयाँ जीवन दिन पनि त्यसको विश्वासिलो र भरपर्दो नयाँ खाका आउन पर्दछ । चिकित्सकले लहडमा वा जबरजस्ती कैंची चलाउँदा के भयो भर्खरैको ओम अस्पताल प्रकरण हेर्दा भएन ? गुठी विधेयक यस्तै जबरजस्ती कैंची चलाउन खोजिएको नयाँ दृष्टान्त हो ।

    साँस्कृतिक सामाजिक नियममा राज्यको, शाषकको हस्तक्षेप हुँदा गडबढी स्वभाविक हुन्छ । पशुपतिनाथको पूजारी प्रकरण नै यसको उदाहरण हो । अझ त्यसमा नियत पनि फोहोरी देखियो भने त्यसले संकट पैदा गर्छ । संगठित र एकीकृत सामाजिक सम्बन्ध छिन्नभिन्न बनाउन बद्नियतपूर्वक राज्य वा सत्ता वा अन्य कुनै तत्वले अग्रसरता देखायो भने त्यसभित्र सामाजिक विघटनको षड्यन्त्र छ भन्न असजिलो मान्न हुँदैन ।

    आदर्श र विचारको अन्तरभित्र रुढ र नवीनता स्वभाविक हुन्छ । द्वन्द्व हुने नै यिनीहरुको बीचमा हो । तर यो द्वन्द्वको एउटा पक्ष कहीं प्राचीनताको नामोनिशान मेटाउन पर्दछ भनेर मुखरित हुन्छ त कहीं सामाजिक संरचना खल्बल्याएपछि त्यसभित्र आफूले हैकम जमाउने प्रपञ्च लिएर उठिरहेको पनि हुन्छ । यो संघर्षमा दुबैको हार वा दुबैको जीत सम्भव छैन । यदि सामाजिक सम्बन्ध टुट्यो भने सामाजिक विघटनको चरण आश्चर्य हुँदैन । यसको फाइदा लिन ढोकामा र्याल काडेर बसिरहेका धार्मिक समूहहरु सधैं तयार छँदैछन् ।

    स्थायी सामाजिक साँस्कृतिक संगठनको हस्तान्तरणको क्रममा एउटा पुस्ताले अर्को पुस्तालाई आफ्नो अनुभवको आधारमा विद्यमान समस्या र बेथितीमा गर्नपर्ने सुधारका विषयमा मार्गनिर्देश गर्दा मात्र सामाजिक विघटनको खतरा कम हुने हो । कुनै नयाँ संस्था र तत्वले जबरजस्ती त्यसमा हस्तक्षेप गर्दा विघटनको खतरा झन् चुलिन्छ नै । एउटा जाती, बर्ग, धर्म, सम्प्रदायको संरचनामा, उसको आस्था, आदर्श र विश्वासमा फरक समूहको हस्तक्षेप र प्रवेश आफैंमा विघटनकारी प्रतीत हुन्छ । त्यो हस्तक्षेप र प्रवेश सुधारको गुञ्जायशमा आउँदैन स्वार्थसिद्दीको हेतु आउँछ ।

    सामाजिक विघटनबारे रबर्ट ई. फेरिस भन्छन् अरुको नक्कल गर्नु, समुदायको पवित्र हितलाई क्षय गरिदिनु, सामुदायिक स्वतन्त्रता र सामुदायिक अधिकारमा हस्तक्षेप गर्नु, परस्पर अविश्वास पैदा गर्नु र अशान्तिको तत्व रोप्नु वा विकास गरिदिनु पनि विघटनलाई मलजल गर्नु हो । प्रस्तावित विधेयकमा नियत यही देखिन्छ ।

    कर्तव्यभन्दा अधिकारमाथि बल, स्थिति र क्रियामा समन्वयभन्दा विग्रह, सार्वजनिक हित र रुचीमा सामाजिकताभन्दा राजनीतिक चरित्र आत्मसाथ गर्दा, सामाजिक यन्त्र र प्रतीकको व्यवस्थापनभन्दा तिनमा गड्बडी ल्याउँदा, दृढ सामाजिक नियन्त्रणको स्थानमा सामाजिक नियन्त्रणको परम्परागत व्यवस्थामा खल्बली ल्याउँदा, सामाजिक नियमको सम्मानको स्थानमा उपेक्षाभाव प्रदर्शन गर्दा, व्यक्ति र समाजबीच समन्वयको स्थानमा विरोध र संघर्ष पैदा गर्दा, सामाजिक अंकहरुलाई एकीकृत र सुदृढ गर्नुको स्थानमा विभाजन गरी कमजोर धरातल विकास गर्दा सामाजिक साँस्कृतिक विघटनलाई निमन्त्रण पुग्छ । प्रस्तावित विधेयक त्यही निमनत्रणको दस्तावेज जस्तो देखिन्छ ।

    सँस्कृति भौतिक तत्व होइन । त्यसैले यो पदार्थ जस्तो तुरुन्त रुपान्तरण वा परिवर्तन हुँदैन । सँस्कृति अपनाउनु र नयाँ मोबाइलमा अभ्यस्त हुनुबीच त्यही अन्तर हुन्छ । त्यसरी नै नयाँ मोबाइल तुरुन्त फेरेर नयाँ मोडलको नयाँ एप्पल वा एण्ड्रोइड लिएको जस्तो साँस्कृतिक रुपान्तरण वा परिवर्तन सम्भव हुँदैन । मोबाइलको उपयोग जसरी सँस्कृतिको उपयोग सम्झनु र त्यसलाई अपनाउनु सरल र सहज हुँदैन । यस्तो अभ्यासले साँस्कृतिक विलम्व पैदा गर्छ र अन्ततः तत् तत् समाज र समूहमा विघटनको खतरा निम्त्याउँछ । विधेयकको विपक्षमा उभिएको ठूलो पंक्तिले यही खतरा महशुस गरेको हुनपर्छ ।

    अहिलेको संकट आकस्मिक हो वा संचित ? कुनै भयङ्कर दुर्घटना, विपत्ति वा प्रकोप, युद्ध वा बिग्रहको अवस्थामा सामाजिक विघटन स्वभावतः हुन्छ नै । त्यो बेला समाजका लाखौं व्यक्तिको सोच, जीवनशैलीमा आकस्मिक परिवर्तन पनि हुन्छ । बाध्यकारी जस्तै हो यो जहाँ ‘एडजस्ट’ नभइ सुख्खै छैन । जस्तो गणतन्त्र, धर्मनिरपेक्षता, भूकम्प आदि । तर अहिले प्रस्तावित गुठी विधेयक संचित संकटको कडीसँग जोडिएका पर्याप्त आधार र तथ्य देखिन्छन् । सामाजिक साँस्कृति मूल्यमा आघात पार्न स्वार्थ समूहहरुको ठूलो प्रयत्न भित्रभित्र भइरहेको रहेछ भन्न विधेयकको सम्बन्धमा सामाजिक संस्थाहरुसँग संवाद र अन्तक्रिया गर्न नचाहेबाट स्पष्ट हुन्छ ।

    मुद्दा सामाजिक समस्याको सिद्धान्त होइन । भौगोलिक पनि होइन । भौतिक उत्कर्षताको परिणाम पनि होइन । यो साम्प्रदायिक, जातिवादी, क्षेत्रवादी, भाषावादी एवम् प्राचीन परम्परावादी कडीसँग जोडिएको देखिन्छ । रुढ र अव्यवस्थाको छेको लिएर ठूलो सामाजिक संरचनाको नाभीमै प्रहार गर्न विधेयक केन्द्रित देखिन्छ । पुरानो समिति, संयन्त्र र नयाँ संस्थागत संरचनामा घर्षण हुँदा नचाहेर पनि सामाजिक मूल्यमा ह्रास आउँछ र यसैले सामाजिक साँस्कृतिक विघटनको दिशा लिन्छ । ढिलो चाँढो मात्र हो, हुन्छ । अतः सामाजिक मूल्यमाथि प्रहार केन्द्रित गर्ने गरी आएको प्रस्तावित विधेयक साँस्कृतिक विघटनको कारक बन्नसक्छ ।

    पुरुषोत्तम लम्साल

    भर्जिनिया, अमेरिका

  • चुम्बन आलिङ्गन : सफा वा दोषी

    चुम्बन आलिङ्गन : सफा वा दोषी

    करिव ६ बर्ष अगाडिको एउटा परिघटनाबाट सन्धर्व सुरु गर्छु ।मेरो हजुरआमा बितेको तेश्रो दिन म काममा फर्कदा सबैलेसहानुभुती दर्शाउन आंगालो मार्दै दु:ख शेयर गरिरहेका थिए ।त्यही बेलामा एक पोर्तोरिकन महिला साथीले पनि अंगालो मारेरआफू पनि दुखी भएको भाव दर्शाइन । मैले उनले दर्शाएकोसहानुभुतीलाई धन्यबाद ज्ञापन गरें । अर्को दिन पनि ती महालाअंगालो मार्न काममा पुग्ने बित्तिकै आइपुगिन । उनले त्योक्रमलाई केही दिन जारी राखिन । उनी अलिक ठूलो ज्यानकी रम हल्का सानो ज्यानको हुनाले मलाई त झ्याप्पै छोपुला जस्तोगरेर कस्न पो थालिन् । केही दिन पछी उनी माथी मैले प्रश्नउठाउने  निर्णय गरें र भने “हेर मेरी श्रीमती पनि यँही काम गर्छिन्। यदि उनले थाहा पाइन भने मलाई ठूलो तनाव हुन्छ । मलाईयसरी अफ्ठेरो नै पर्ने गरी अंगालो मार्न छोडीदेउ“। त्यस पछीउनले मलाई कसेर होइन, अंगालो मार्न नै आँट गरिनन् ।

    नियमित उपस्थिती नभएको कारण उनको जागिर पनि गयो ।मेरो समस्या पनि संधैका लागि टर्यो । 

    चुम्बन र आलिङ्गन बिशेष गरी पश्चिमाहरुको परम्परा भए पनिबिस्तारै पुर्वियहरुले पनि प्रयोगमा ल्याइसकेका छन् । तर चुम्बनआलिङ्गन स्वाभावैले एक अर्काको सशरिर स्पर्शका साथ गरिनेअभिवादन भएपनि कहिलेकाँही बदनियत गर्नेहरुले गाल पार्ने रफाइदा उठाउने कुरा मेरो माथि उल्लेखित अनुभवबाट पनि प्रष्टहुन्छ । त्यसैले त्यस्ता आलिङ्गन वा चुम्बन सफा वा दोषी भनेरछलफल गर्नु पर्ने चरणसम्म आइपुगेको “नुन चिनी पानी“कोठम्याई छ ।

    खास गरी आलिङ्गन गर्दा मित्रता, आत्मियता, प्रेम झल्कनेहुनाले धेरै प्रयोगमा आएको देखिन्छ । तर साथी साथीको बिच, त्यसमा पनि बिपरित लिङ्गी बिच हुने कसिलो आलिङ्गन र त्योसङ्गै पछाडी ढाडमा गरिने मसाजले भने दोषी आलिङ्गनकोसंकेत गर्छ । कतिपय असजिलो अवस्था आउँदा पनि बोल्नसक्ने स्थिती रहंदैन ।आखिरी दोषी त दोषी नै हो नि होईन ? 

    आलिङ्गन गर्दा कुनै पनि पक्षबाट छातीको भाग पुरै टस्साउनु पर्छभन्ने हुंदैन । आत्मियता दर्शाउँने हो वा आनन्दको क्षण सम्झेरझुम्ने हो त्यो सफा र दोषी आलिङ्गनमा भर पर्छ । परिवार रआफन्तमा गरिने आलिङ्गनलाई यहाँ उठाउन खोजिएको पट्टक्कैहोईन ।

    चुम्बन पनि अहिले फेसनमा आइसक्यो । टाढैबाट गरिनेफ्लाईङ्ग किसहरु सजिला, निर्दोषी शिर्षकमा लेखिए जस्तैसफा हुन्छन् । कोही गालालाई स्याउ नै ठानेर टोकौं जस्तो गर्ने वाअनुहारको अग्र भाग नै जोड्नेहरु चाँहि सामाजिक परिबेशअनुसार दोषी भनेर बर्गिकरण गर्ने आँट गरियो ।

    समग्रमा खुल्लमखुल्ला सार्वजनिक स्थानमा चिनेजानेकाहरु भेटगरिने गाला जोडाई चुम्बन र आलिङ्गनको पनि नियत सफा हुनुपर्दछ । सोचाइ सुद्ध हुनुपर्छ, हेराईमा पाप हुनुहुन्न । यद्धपीआँखा लोभी र मन पापी पारेक कसैले हल्का चानस् नै मारेपनिमेरो भन्नु केही छैन ।

    अर्जुन दाहाल

    नुनचिनीपानी अभियन्ता

    कनेक्टिकट

  • साहित्यको विधागत वर्गीकरणमा कविता

    साहित्यको विधागत वर्गीकरणमा कविता

    आचार्य पीपलमणि सिग्देल
    न्यूयोर्क

    लौकिक कविताले चार हजार वर्षको यात्रा तय गरिसकेको छ । कविता समग्र साहित्यको सबैभन्दा जेठो विधा पनि हो । संस्कृत साहित्य दुई भागमा विभाजित छ स् श्रव्य र दृश्य । दृश्य विधाअन्तर्गत नाटक पर्दछ भने श्रव्य विधाअन्तर्गत गद्य र पद्य विधा पर्दछन् । जीवन र जगतका सूक्ष्म अनुभूति कविहृदयमार्फत् प्रस्फुटित हुँदा थपिने लयात्मक स्वरुपले कविता जन्माउँछ । यति, गति, लयका साथ लेखिने छन्दात्मक अभिव्यक्तिलाई पद्य कविता भनेर परिचय स्थापित गरेपनि साहित्य रचनाको विकासक्रमसँगै गद्यमा पनि लयात्मक छटा भेटिन थालेपछि गद्यकविताको विकास भएको हो । वर्तमानका गद्य कविताको रचना धेरै मात्रामा हुनेगरेको छ । गद्य साहित्यका अन्य विधा कथा, उपन्यास, निबन्ध, जीवनी आदि भन्दा गद्य कविताको पृथक पहिचान छ । लयले नै कविता र अन्य गद्य साहित्यमा भेद स्पष्ट पार्दछ । गीत, गजल र कवितामा केही समानता देखिए पनि गजल र गीतामा गायन पक्ष सबल हुन्छ भने कविता अनुभूतिको रागात्मक कथन लयबद्ध तवरले व्यक्त भएपछि जन्मिन्छ । अतः कविता नाटक, कथा, निबन्ध, उपन्यास, जीवनीका साथै गीत र गजलभन्दा पनि फरक विधा हो ।
    स्वरुपका दृष्टिले कविताका पाँच भेद रहेका छन् । कवितामा लघुतम कविता (मुक्तक, हाइकु), लघु कविता (फुटकर कविता), मध्यम कविता (खण्डकाव्य), बृहत् कविता (महाकाव्य), बृहत्तर वा बृहत्तम कविता (विकासशील वा आर्ष काव्य) रहेका छन् । मुक्तक, फुटकर कविता, खण्डकाव्य, तथा महाकाव्यको रचना धेरै संख्यामा हुने गरेता पनि आर्ष महाकाव्यको रचना भने हुने गरेको पाइँदैन ।
    लयात्मक अभिव्यक्तिको सबैभन्दा सानो रचनालाई लघुतम कविता या मुक्तक÷हाइकु भनिन्छ । यस्ता रचनामा कम्तीमा अभिव्यक्तिको केही फन्दा मारिएको हुन्छ। यसलाई कविताको सबैभन्दा सानो स्वरुप मानिन्छ । कम्तीमा दुई अनि बढीमा सात हरफको कवितालाई यस वर्गमा राख्न सकिन्छ । यिनमा वस्तुगत वर्णन र आत्मपरक अनुभवको एक झिल्का उद्गार रहन्छ र यसमा कवि चेतनाको एक खास क्षणको स्फुरण हुन्छ । कम्तीमा दुई वा सोभन्दा बढी पङ्क्ति वा हरफ भएका कवितालाई लघु कविता अर्थात् फुटकर कविता भनिन्छ । यसमा क्षण विशेषको अभिव्यक्ति हुन्छ । अनुभूतिको एक झरी यसमा बर्सिन्छ । युग्मक, कलापक, विशेषक तथा कुलक पनि यही लघुरुप अन्तर्गत पर्दछन् । फुटकर कवितामा कुनै वस्तुपरक वर्णन, आत्मपरक अभिव्यक्ति, वा कुनै सूक्ष्म आख्यान पनि आउन सक्छ । जीवन र जगतको कुनै एक पक्षको सशक्त अभिव्यक्ति दिने मझौला कवितालाई मध्यम कविता वा खण्डकाव्य भनिन्छ । अङ्ग्रेजी साहित्यको लामो कविता यस वर्गमा पर्दछ । खण्डकाव्यमा लय, भाषाशैली, जीवनको एक अंशको कथन गर्ने आख्यान, कथावस्तु, पात्रविधान, परिवेश वा देशकाल, भाव र मझौला आयामका शिल्प संरचना आवश्यक हुन्छ । यसमा अनुभूतिको सानो खोला बहन्छ । जीवन र जगतको समग्र पाटो समाविष्ट, सर्ग वा खण्डमा विभाजित, बृहत् संरचनाको अभिव्यक्तिलाई बृहत् कविता अर्थात् महाकाव्य भनिन्छ । १०० भन्दा बढी कविता भएको आठ सर्गभन्दा माथिका काव्य यस महाकाव्य अन्तर्गत पर्दछन् ।
    महाकाव्यमा लय, भाषाशैली, समग्र आख्यान, कथानक, पात्रविधान, देशकाल, परिवेश, सर्गयुक्त, धिरोदात्त नायक र कुलीन नायिका भएका बृहत् संरचना नै महाकाव्यका तत्व हुन् । वास्तवमा महाकाव्य तीन सहस्राब्दी पुरानो साहित्यिक विधा हो र साहित्यका हाल चलनचल्तिका विधाहरूमध्ये स्फुट गीत र कथाबाहेक सबभन्दा जेठो, बुढो र पुरानो विधा यही महाकाव्य हो । बृहत्तर कविता (विकासशील वा आर्ष काव्य)ले युगको नै प्रतिनिधित्व गर्दछन् । यस्ता कृतिमा आख्यानभित्र पनि आख्यान हुन्छ । संस्कृतमा रामायण र महाभारत अनि पाश्चात्य साहित्यमा इलियड, ओडिसी र गिल्गामेस यस्ता कृति हुन् । लय, भाषाशैली, पात्र, युगको आख्यान, बृहत् स्वरुप, खण्ड या सर्गयुक्त, कथानक, देशकाल, परिवेश जस्ता यी काव्यका तत्व हुन् । यसरी कविताका विविध रुप रहेका छन् । मुक्तकदेखि विकासशील वा आर्ष महाकाव्यसम्म कविताका अनेक स्वरुप रहेका छन् र हरेक स्वरुपका आ–आफ्ना विशेषता रहेका छन् ।

  • ‘ककपीट’मा बस्ने कि ‘आइडियल ल्याण्ड’मा उभिने

    ‘ककपीट’मा बस्ने कि ‘आइडियल ल्याण्ड’मा उभिने

    पुरुषोत्तम लम्साल

    [email protected]

    प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको विषयमाथि विश्वसन्देश साप्ताहिकमै ‘डाभोसको डमरु र नफेरिएको धून’ शीर्षकमा केही लेखेको थिएँ । त्यसपछि प्रधानमन्त्री ओलीले भारतदेखि भियतनामसम्मको ‘टूर’ भ्याए तर लेख्ने जाँगर पलाएन । त्यो बेला ‘वैदेशिक अनुदान र ऋणको भारले उठ्नै मुस्किल भइरहेको आश्रित मुलुकको प्रधानमन्त्रीलाई विश्वका धनाढ्यहरुको क्लबमा किन प्राथमिकताका साथ प्रस्तुत गरियो’ भन्ने विषयमा सन्देह थियो । यूरोपीय सञ्चारमाध्यमले जर्ज सोरस, ओपन सोसाइटी र नेपालका प्रधानमन्त्रीलाई दिएको प्राथमिकता संयोग मात्र नभए विचित्रको पनि थियो । त्यसैले लेखियो । यसपाली चाहिँ प्रधानमन्त्रीको यूरोप ‘टूर’मा पनि बिछट्टै गम्भीर एजेण्डा वा मुद्दा बाहिर नआएकाले समयको फुर्मासकै लागि म पनि लेख्न बसें ।
    अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेको १७ वर्षपछि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ६ महिनाअघि (पुसको पहिलो साता) अमेरिका भ्रमण गरे । सरकार—सरकारबीच उच्चस्तरीय भ्रमणको तिर्सना मेटियो । उपलब्धि र अनुपलब्धि आफ्नै स्थानमा होलान् । पर्दापछाडिका ‘छलफल र लेनदेनका प्रतिबद्धता’ पनि आफ्नै स्थानमा होलान् । तर, ज्ञवालीको भ्रमण अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको निमन्त्रणामै भएकाले त्यसलाई कूटनीतिको कसीमा नयाँ अध्यायको रुपमा व्याख्या गर्ने भरमग्दूर प्रयास चाहिँ भए । भ्रमणपछिको राजनीतिक, कूटनीतिक, सामरिक, व्यापारिक अवयव र तन्तुहरुमाथि मूर्त—अमूर्त बहस अद्यावधि छ । त्यही भेटबाट औपचारिक रुपमा प्रवेश गरेको ‘इण्डो प्यासिफिक क्षेत्र र रणनीति’बारेको तातो अस्तीभन्दा हिजो, हिजोभन्दा आज चासो र सरोकार बन्दैछ ।
    खुसीको कुरा, केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा सबैभन्दा धेरै देशको भ्रमण गर्ने व्यक्तिको सूचीमा अगाडि बढ्दै छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’का अभियन्ताका नाताले प्रधानमन्त्रीको कूटनीतिक ‘टूर’हरुलाई सकारात्मक रुपमा लिऔं । त्यसैले १७ वर्षपछि नेपालका प्रधानमन्त्रीले गर्न लागेको बेलायतको भ्रमण ‘भूतले खाजा खाने बेलामा भए पनि’ राम्रै हो भन्न पाइन्छ । किनकि, आजै (मंगलबार) प्रधानमन्त्री ओलीले बेलायतको कामचलाउ सरकारका प्रधानमन्त्री मे टेरेजासँग भेट गर्दैछन् । केन्जिङ्टन प्यालेसमा बेलायतका राजकुमार ह्यारीसँग पनि प्रधानमन्त्रीको शिष्टाचार भेट आजै हुँदैछ । ‘बेलायत भ्रमण त जंगबहादुरले पनि गरेका थिए’ भनेर टिप्पणी गर्नेहरुले दुई शताब्दी लामो नेपाल—बेलायत सम्बन्ध हेर्दा केही बिग्रदैन ।

    हिजोका कुरा

    पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ भने । कसैले दुई ढुंगाबीचको ‘बारुद’ पनि भने । कोही क्रान्तिकारीहरुले नेपाललाई दुई ढुंगाबीचको तरुल होइन ‘डाइनामाइट’ बनाउँछौं पनि भने । कसैले चीन र भारतबीचको ‘स्याण्डवीच’ पनि भने । जसले जहिले जे भने पनि हामी जहिल्यै संवेदनशील भूराजनीतिको बीचमा छौं नै भनेको हो । हाम्रो थोरै असावधानीले हामीलाई चाँडै खती गर्छ नै भनिएको हो । त्यसैले अरुको स्वार्थ पढेर आफ्नो स्वार्थ केलाउन बुद्धि र विवेक प्रयोग गर्नुमा नै हाम्रो हित हुन्छ नै भनेको हो ।
    हिजो शितयुद्ध काल थियो । अमेरिकी र सोभियत धूरीबीच कटूता र शत्रुता थियो । त्यो बेला कसैले भारत र चीन नियाल्न नेपाल ‘ककपीट’ हो पनि भने । जुनबेला चीनको तिब्बत मामिला अन्तर्राष्ट्रिय वा पश्चिमका शक्ति राष्ट्रहरुको ‘हतियार’ बन्यो त्यो बेला नेपाललाई कसैले ‘आइडियल पोष्ट फर तिब्बत’ पनि भनेका रहेछन् ।
    दृष्य सपाट छ, हिजो विश्व ध्रुवीकरण कालमा पनि नेपाल रणनीतिक महत्वको थलो थियो, आज पनि नेपालको रणनीतिक महत्व उस्तै छ । अझ बढी, जति धेरै हाम्रा छिमेकी भारत र चीन शक्तिसम्पन्न, आर्थिक रुपमा समृद्ध, विश्व शक्ति बन्दै जान्छन् नेपालको महत्व अझ बढी हुने रहेछ । हुँदो छ । अर्थात्, हामी हिजो पनि ककपिट र आइडियल ल्याण्ड, आज पनि ककपीट र आइडियल ल्याण्ड नै हौं । त्यो ककपीटमा महेन्द्र कसरी बसे भन्ने विगत भयो, आजका प्रधानमन्त्री कसरी बस्छन् भन्ने भोलिको विषय हो ।

    आजका कुरा

    भारत र चीन दुबै आर्थिक, सामरिक, राजनीतिक सबैमा उदीयमान विश्व शक्तिराष्ट्र हुन् जसले पश्चिमबाट पूर्व सरिरहेको ‘पावर सिफ्टिङ’मा खेल्न सक्छन् । यसलाई अमेरिका यूरोपबाट एसिया प्रवेश गर्दै गरेको शक्ति भने पनि भयो, एटलान्टिकबाट प्यासिफिक सर्दै गरेको शक्ति भने पनि भयो । हुन त दुबै विश्व र क्षेत्रीय राजनीतिका ‘की प्लेयर’ ।
    त्यसैले १० महिनाअघि नेपालमा पहिलोपटक विश्वका २३ देश सम्मिलित एपीसीसी (एसिया प्यासेफिक इन्टेलिजेन्स कन्फ्रेन्स) लाई लिएर केहीले सामरिक महत्वका विषय उठान गरेका थिए । अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, फ्रान्स, अस्ट्रेलियालगायतका देशहरुले उक्त कन्फ्रेन्सका लागि नेपाल सही ठहर गर्नमा नयाँ योजनाको संकेत नगरेका होइनन् । कूटनीति जसरी धर्मको बलमा विस्तार हुन्छ त्यसरी नै सैन्य क्षेत्रबाट पनि विस्तार हुन्छ भन्ने कुरा मननीय लाग्यो ।
    धेरैलाई द्विविधा होला एसिया प्रशान्त र इण्डो प्यासिफिकबीचको अन्तर । खासमा दुबै एकै हो, एउटै हो, भाषाबाहेक । नेपालीमा चाहिँ यसैलाई फेरि हिन्द प्रशान्त क्षेत्र औ रणनीति भनेर व्याख्या हुने गरेकाले के के न हो भनेर बुझिन्छ । खासमा यो एसिया प्रशान्त क्षेत्रमा चीनको गतिविधि, प्रभाव, दबदबा र पहुँच कम गर्न वा रोक्न निर्मित गठबन्धन नै हो जसमा भारतदेखि जापान, कोरिया अष्ट्रेलियासम्म छन् र नेतृत्व अमेरिकाले गरिरहेको छ । अर्थात् यो एउटा सैन्य र सामरिक गठबन्धनको एउटा इकाई मात्र हो जुन पहिला पनि थियो, अहिले पनि छ र भोली पनि रहन्छ । विश्व राजनीति र अर्थव्यवस्थामा अमेरिका—चीन आमने–सामने हुँदै गइरहेका बेला एसिया प्रशान्त क्षेत्रको रणनीतिक महत्व बढी हुन्छ । जब यी विपरीत ध्रुवका शक्ति राष्ट्र शान्त हुन्छन् उक्त इकाईको महत्व पनि गौण वा कम हुन्छ ।
    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणपछि सार्वजनिक भएको एउटा वक्तव्यमा ‘खुल्ला र स्वतन्त्र इण्डो प्यासिफिकमा नेपालको केन्द्रीय भूमिका र उत्तर कोरिया लगायतका विश्व मुद्दामा छलफल’ भएको भन्ने वाक्यांशले नेपालमा हलचल मच्चायो । नेपाललाई अमेरिकाले दिन खोजेको ‘स्पेस’मा नेपालबाट अपेक्षा गरिएको चाहिँ के हो ? यो प्रश्नको उत्तर आइसकेको छैन । स्मरणीय त के छ भने उक्त इकाईमा नेपालको केन्द्रीय भूमिकाको तरंग उठ्नु आठ महिनाअघि (सन् २०१८ अप्रिल) नै भारतलाई पनि उक्त इकाईको ‘की रोल प्लेयर’को रुपमा वासिङ्टनमा वीषद् चर्चा भइसकेको थियो ।
    एसिया प्रशान्त क्षेत्रमा चिनिया प्रभाव कम गर्नुको उद्देश्य अमेरिकी प्रभाव बढाउनु होइन भन्ने कोही छैनन् । त्यसैले नेपाल यो लहरोमा बेरिइ नै सक्यो वा बेरिनै लाग्यो भन्नु गलत हो । अब नेपाल बृहत्तर अमेरिकी नीतिको कडीमा घुसेर एसिया प्रशान्त क्षेत्रको सैन्य वा रणनीतिक गठबन्धनको अभिन्न अंग बन्छ वा ‘क्रुसियल फ्याक्टर’ बन्दैछ भन्नु तत्कालका लागि झन् ठूलो गल्ती हो । किनकि, तत्कालका लागि बाँडिएको समृद्धिको पखेटामा चीनसँगको बिआरआई, यातायात तथा पारवहन सम्झौता, रेल तथा विद्युत् खरिद तथा प्रशारण लाइनका कुरा हाम्रा लागि अझ बढी महत्वका छन् । नेपालले दुई हात उफ्रिएर अन्दमान एण्ड निकोबार टापूमा भारतीय क्रियाशीलतालाई ताली बजाउँदैन भन्ने नै अहिलेको विश्वास हो ।
    कूटनीति भनेकै शिष्टतापूर्वक स्वार्थको खेती गर्नु र फसल खोज्नु हो । यो खेती नेपालमा सैनिक कमाण्डरदेखि धर्मभिरुहरुको आडमा पनि नमौलाएको होइन । भ्रमण र स्वागतका रातो गलैंचामा खन्याइएको हार्दिकतामा नदेखिएको पनि होइन । जात र भूगोलमाथिको लगानीमा नपोखिएको पनि होइन । लगानी र भ्रमणको ओइरोले पहिरो ल्याउँछ कि भन्ने मात्र सन्देह हो । भ्रमणका दौरान कुखराको भालेले जसरी पखेटा फिंजाउँदै राष्ट्रिय स्वार्थमाथि नै जबरजस्ती धक्का लाग्छ कि भन्ने मात्र हो । मित्रको बार्दलीमा बसेर शत्रुको घरमा ढुंगा हान्ने पात्र र प्रवृत्ति किटानी छ भने प्रधानमन्त्री ओलीले अझै दश देशको ‘टूर’ भ्याए पनि फरक पर्दैन । अहिलका लागि देशको नेतृत्वले छिमेकको भात चहार्दा चहार्दै पनि आफ्नै घरको भोजनको स्वाद बिर्सदैनन् भन्नेमा विश्वास गरौं ।

  • बबल र क्र्यास

    बबल र क्र्यास

    निरन्जन फुयाल

    प्रबन्धक नेप्से

    फूलहरुको रानी मानिने आकर्षक टुलिप फूल सर्वप्रथम सन् १५५४ मा टर्कीवाट युरोप (भिएना) मा भित्रिएको थियो । यो फूलको फूलमात्र आकर्षक नभई विरुवाको स्वरुप पनि असाध्यै राम्रो थियो । यसले गर्दा यो फूल युरोपको विभिन्न देशहरुमा तुरुन्तै फैलियो । सन् १६०० देखि सन् १७२० सम्म संसारका सवैभन्दा धनी ब्यक्तीहरु बस्ने स्थानका रुपमा एम्सट्रडम शहर चर्चित थियो । यस ठाउँको मुख्या पेशा हिराको ब्यापार थियो । यस शहरका धनी हिराका ब्यापारीहरुले टुलिप फूललाई असाध्यै मन पराए र घर घरमा सजाउन थाले । यसको मागका साथै मूल्य पनि बृद्धि हुन थाल्यो । अत्याधिक मागका कारण उक्त फूल बजारमा सहजै पाउन छाड्यो । यस फूलका ब्यापारीहरुले फूल उत्पादकहरुसँग फूल फुल्नु अघि नै खरिद गर्ने सम्झौता गर्न थाले ।बिस्तारै उक्त सम्झौता समेत खरिद विक्री हुन थाल्यो । फूल खरिद गर्ने सम्झौताको मूल्य यतिसम्म बढ्यो की सन् १६३६ मा हिराको कारिगरले एक वर्षभरीमा कमाउने रकम बरावर एक टुलिप फूलको मूल्य हुन गयो । सवैले यस फूलको मूल्य भविष्यमा अझै बढ्छ भन्ने सोचमा फूल खरिद गर्ने सम्झौतामा लगानी गर्न थाले । तर सन् १६३७ को सुरुवातदेखि नै उक्त फूलको मूल्यमा कमी हुदै गयो । केही महिनामा नै यसको माग एवं मूल्य शून्य प्राय: भयो । छिट्टै नाफा कमाउने सोचका साथ लगानी गर्ने ब्यक्तीहरुले धेरै रकम गुमाए । यस घटनालाई नै वित्तीय क्षेत्रको पहिलो बबल र क्र्यास (Bubble & Crash) भन्ने गरिन्छ ।  

    उक्त समयमा काठमाडौंमा मध्य-मल्ल काल अन्तर्गत सिद्धिनरसिंह मल्ल र प्रताप मल्लले राज्य गर्दै थिए । नेपालको पनि भोटसँग ब्यापार थियो भने काठमाडौं हुदै भोटसँग ब्यापार गर्ने भारतीयहरुसंग कर उठाउने चलन थियो । आम्दानीभन्दा खर्च कम भएकोले मनग्य वचत हुन्थ्यो । वचतलाई लगानी गरी थप ब्यापार बृद्धि गर्ने भन्दा त्यस्ता वचतहरु मन्दिर, तलाउ, पाटी आदिमा खर्च गर्ने चलन थियो । अलि पछि साना तिना राज्यहरु विचको झैझगडा र लडाईले वचत हुनै छाड्यो र ब्यापार पनि सुक्यो । नेपालमा लगानीको सोचाई राणाकालको अन्त्यतिर मात्र सुरु भएको देखिन्छ । नेपालमा बबल र क्र्यास (अधिक माग र गिरावट) वारे जिज्ञासा सन् १९९३ मा नेपाल स्टक एक्सचेन्ज स्थापना भई शेयरको कारोवार थाले पश्चात मात्र सुरु भएको हो । तर यस भन्दा धेरै अघि नै युरोपमा औपचारिक धितोपत्रका बजारहरु स्थापना भई सहज रुपमा कारोवार भईसकेको थियो ।

    छिट्टै नाफा कमाउने उद्देश्यले उच्च मूल्यका धितोपत्र वा बस्तु खरिद गरी मूल्यलाई अस्वाभाविक उचाईमा पुर्याउनुलाई बबल भनिन्छ भने यस्ता बबल केही समयका लागि मात्र रहने र त्यस पश्चात मूल्य तिब्र रुपमा घट्ने हुँदा त्यस अवस्थालाई क्र्यास भनिन्छ । शेयर तथा बस्तु बजारमा कायम रहने मूल्यको देशको अर्थतन्त्रसंग स्पष्ट सम्बन्ध हुने भएकोले बबल र क्र्यासको अवस्थामा देशको अर्थतन्त्रमा पनि गम्भीर असर परेको हुन्छ ।

    शेयर बजारको पहिलो क्र्यास

    सन् १७११ मा ब्रिटेनमा पब्लिक प्राईभेट पार्टनरसिप अन्तर्गत साउथ सि कम्पनीको स्थापना भयो । दक्षिण अमेरिकी राष्ट्रहरुसंग ब्यापार गर्ने पूर्ण एकाधिकार यस कम्पनीमा निहित थियो । एकाधिकारका कारण सवै लगानीकर्ताहरुले यस कम्पनीले धेरै प्रतिफल दिने विस्वासका साथ यसको शेयर खरिद गर्न थाले । सन् १७१९ मा १२५ पाउण्ड हाराहारीमा रहेको यस कम्पनीको प्रति शेयर मूल्य बढेर सन् १९२० मा १००० पाउण्डसम्म पुग्यो । बजारका लगानीकर्ताहरुले धेरै रकम कमाए । दक्षिण अमेरिकी देशहरुमा बृद्धि हुदै गएको लगानी तथा ब्यापारका कारण लगानीकर्ताहरुले यस कम्पनीवाट उच्च प्रतिफल प्राप्त हुने अपेक्षाका साथ अझै लगानी गर्दै गए । त्यही समयमा ब्रिटेन र स्पेनको युद्ध हुन गयो र धेरै दक्षिण अमेरिकी देशहरु स्पेनको नियन्त्रणमा आए । एकाधिकार सहित ती देशहरुमा ब्यापार गर्न व्रिटेनमा स्थापना भएको साउथ सि कम्पनीले ब्यापार नै गर्न पाएन र नाफा कमाउने अवस्था नै रहेन । त्यसैले १००० पाउण्डसम्म पुगेको यस कम्पनीको शेयर मूल्य सन् १७२१ को अन्त्यसम्ममा घटेर १०० पाउण्ड भन्दा कम हुन गयो । यस घटनालाई शेयर बजारको पहिलो बबल र क्र्यासको रुपमा लिईन्छ । सुरुमा केही शेयर ब्यापारीले धेरै नाफा कमाएको देखेर बजारमा पछि प्रवेश गर्ने लगानीकर्ताहरुले ठूलो रकम गुमाउनु पर्यो ।  

    त्यस समयका प्रख्यात गणित विज्ञ एवं बैज्ञानिक सर आईज्याक न्यूटन पनि शेयर बजारमा लगानी गर्ने गरेका थिए । उनले सन् १७२० मा ७००० पाउण्डमा शेयर विक्री गरेर करिव ३५०० पाउण्ड नाफा गरेका थिए । नाफा भएको लोभले पूनः बजारमा लगानी गर्दा केही महिना पछि नै उनले २०००० पाउण्ड घाटा खाएका थिए । यस्तो अवस्थामा पनि मानिसहरु शेयरमा लगानी गर्न अघि बढेको देखेर उनको एक भनाई अहिलेसम्म पनि धितोपत्र बजारमा महत्वपूर्ण भनाईका रुपमा हेरिन्छ । उनले भनेका थिए, “एक गणितिज्ञका हिसाबमा म आकासमा टाढा टाढा रहेका ठूला साना पिण्डहरुको चाल गणना गर्न सक्छु । तर शेयर बजारमा मानिसहरुको पागलपन अनुमान गर्न सक्दिन” । हुन पनि त्यस वखतको २०००० पाउण्ड भनेको अहिलेको मूल्यमा ३० लाख डलर भन्दा बढि मानिन्छ ।  

    यस घटनावाट बेलायतको लगानी वातावरणमा नराम्रो असर पर्न गयो । लगानीकर्ताहरु लगानी गर्न हच्किए । ब्रिटिस सरकारले पनि फेरी यस्तो दुर्घटना नहोस भनेर सन् १७२१ मा संसार कै पहिलो बबल ऐन जारी गर्यो । घरजग्गाको मूल्यमा आउने उतार चढावलाई कम गर्न सन् १७४० मा उक्त कानूनमा घर जग्गा सम्बन्धी ब्यवस्थालाई समेत समेटियो । युरोपमा बस्तु तथा धितोपत्रको बजारमा यस्तो तीब्र गतिविधी हुँदै गर्दा नेपालमा शाहबंशको राज्य सुरु भएकै थिएन । ब्रिटेनमा बबल ऐन जारी हुँदा नेपाल राज्य खडा गर्ने पृथ्वी नारायण शाहको जन्म पनि भएको थिएन ।

    क्रमशः (बाँकी अर्को अंकमा)

     

     

  • कृष्णको महाभारतमा बुद्धको बुद्धत्व

    कृष्णको महाभारतमा बुद्धको बुद्धत्व

    धन लामा, कनेक्टिकट

    [email protected]

    महाभारत युद्धको प्रमुख पात्र भगवान श्रीकृष्ण हो भन्नेमा दुई मत छैन । भनिन्छ, कृष्णले चाहेको भए महाभारतको युद्ध नहुन पनि सक्थ्यो । युद्ध नभएको भए हजारौ वीर योद्धहरु मारिने थिएनन् । कुरुक्षेत्रमा मानव रगतको खोलो पनि बग्ने थिएन । अनि अर्को महत्वपूर्ण कुरा चाँहि के हो भने, महाभारतको युद्ध नभएको भए हिन्दूहरुको पवित्र धर्मग्रन्थ भागवत गीता जन्मिने थिएन । त्यो नै मानव ईतिहासको पहिलो र अन्तिम महायुद्ध थियो । महाभारत युद्ध वास्तवमा एउटा प्रतिनिधी युद्ध थियो किनभने हरेक व्यक्तिले जन्मदेखि मृत्‍युपर्यन्त अनेक भौतिक तथा मनोवैज्ञानिक  युद्धहरु लड्नु पर्दछ ।  कृष्ण त अर्जुनलाई भन्ने वहानामा हर-एक मनुष्यलाई भनिरहेको थिए कि जीवनको युद्ध डटेर लड । ईमान्दारीपूर्वक लड । मृत्‍युको भयबाट मुक्त भएर लड । हार र जीतको पर्वाह नगरी लड ।अनि के प्राप्त हुन्छ र के गुमाउँछु ? भन्ने भुलेर लड । त्यसैले यो जीवनको महाभारतलाई पनि म कृष्णको महाभारत भन्ने गर्दछु । कृष्णको महाभारतमा बुद्धको बुद्धत्व आजको बिषयवस्तु हो । यो विषय आँफैमा विरोधाभाषी देखिन्छ । जीवन र जगत आफैमा विरोधाभाषी छ । यस कारण कि दुवै द्वेतको जगमा उभिएको छ । कृष्ण त भनिरहेको छ कि “त्यहाँ एउटा महाजीवन छ जुन समस्त द्वन्द भन्दा पर छ र चरम् आनन्ददायी छ” । बुद्ध भनिरहेको छ कि “निर्वाण त्यो त्यस्तो वाण हो, जसले जीवनको सम्पूर्ण दाग र दुखहरुलाई मेटाई दिन्छ ” । म आफै माथि प्रश्न सोधीरहेको छु, कृष्णको महाभारतमा बुद्धको बुद्धत्व ? 

    एक दिन मनको आकाशमा विचारहरुको बादल बनेर म मडारिदै थिएँ । अकस्मात् एउटा विचारको मुस्लो ज्वालामुखी भएर उड्यो ! अंगुलीमालले तरवार छोडेर पाए । बुद्धले दरबार छोडेर पाए । भन्दै, घरबार छोडेर हिड्नेहरु घरको न घाटको जस्तो जीवन बाँचिरहेको पनि देखेको छु नी ! फेरी मनले प्रति प्रश्न गर्यो, वास्तवमा म को हुँ र कसैको जीवनको बारेमा बोल्ने ? कसैको उन्नति अवनतिको बारेमा चिन्तित हुने ? जब कि बुद्ध आफ्नै शिष्य भिक्षु आनन्दको निर्वाणको जिम्मा लिन सक्दैन र कृष्ण अर्जुनलाई सारथीको स्थानमा राखेर अर्जुनको तर्फबाट महाभारतको युद्ध लड्न सक्दैन ? जीवनको महाभारत हर एक व्यक्ति आफैले लड्नु पर्छ र निर्वाण साक्षात्कारको यात्रा पनि हर एक व्यक्तिको नितान्त वैयक्तिक यात्रा हो । 

    भगवान कृष्णको भाषामा हामी हरेक दिन जीवनको कुरुक्षेत्रमा आ-आफ्नो महाभारत लडिरहेका हुन्छौं । गाँस, बास र कपासको लागि भौतिक दुनियाँमा लड्नु पर्ने महाभारत त छँदैछ, त्यो भन्दा ठूलो लडाईँ अन्तरजगतमा छ त्यो मानसिक लडाईँ हो । जीवजन्तु र अन्य प्राणीको सवालमा त्यो लडाईं मुलत: जीवनको अस्तित्वगत लडाईं हो भने, मानवीय जगतमा हामी विभिन्न तह र तप्कामा अस्तित्वगत तथा अहंकारजन्य मनोवृत्तिको महाभारत अविछिन्न रुपमा लडिरहेका हुन्छौं । तर यो युग कृष्णको ऐतिहाँसिक महाभारतकालीन युग होईन । यो युग त सिद्धार्थ गौतम आफ्नो तपको बलले बुद्धमा अनुवाद भएको युग हो । ऐतिहाँसिक र शास्त्रीय युग गणनाको हिसाबले कलि भनिएको र मानिएको यो युगमा मानिसको मनोविज्ञानमा चल्ने महाभारत कुनै पनि मानेमा ऐतिहाँसिक महाभारत भन्दा कम छैन । सत युगलाई सत्व, त्रेतालाई राजासिक तर्फको संक्रमण र द्वापरलाई राजसिक युग मान्ने हो भने कलियुग गुणात्मक हिसाबले तामासिक युग हो । बुद्धको बुद्धत्वको यो २५६३ बर्षमा समाज र व्यक्तिको मनोविज्ञानमा तामासिक गुणको घनत्व तीब्र रुपमा बढ्ने क्रममा छ । सृष्टिको सिर्जनशीलतामा तमसले प्रमुख भूमिका खेलेको हुन्छ । प्रकृति त्यही तमससंगको ताण्डव आलिंगनमा नव जीव, जीवन र जीवनको सिर्जना गर्दछे ।

    तर भौतिक जगतमा विज्ञानको विकास पनि मनोवैज्ञानिक महाभारतकै एउटा अंश हो । आजको समाजमा हुने गरेका हत्या, हिंसा र  बलात्कारका घट्नाहरु महाभारत कालमा द्रौपदीको वस्त्रहरण भन्दा कम छैन बरु बढी छ । राष्ट्र भित्र र राष्ट्र-राष्ट्र बीचको शक्तिको लागि भईरहेको राजनीतिक र कुटनीतिक खिचातानीहरु हस्तिनापुरको राज्य व्यवस्था भित्र र बाहिरका राज्यहरुसंग भएका खिचातानीहरु भन्दा बढी छ तर कम छैनन् । विज्ञान र प्रविधीको विकासले भूगोल र सूचनाको पहुँचलाई सुलभ बनाईदिएको छ । जतिजति विज्ञानको ज्ञानको दायरा बढ्ने क्रममा छ उत्ति नै अध्यात्मको आत्मा मर्ने क्रममा छ । यो विश्वव्यापी समस्या हो भने आन्तरिक रुपमा वैदिक सँस्कार र संस्कृतिको जगमा उभिएको हिन्दू धर्मसंगको समिश्रणले बुद्ध शिक्षालाई धेरै हदसम्म जटिल र क्लिष्ट बनाई दिएको छ । यो हुनु थियो र भई नै रहेको छ, हुनु थियो यस अर्थमा कि ‘मेरो परिनिर्वाण पश्चातको ५०० वर्षसम्म मात्र मेरो शिक्षाको असली रुप देख्न पाईनेछ’ भन्ने बुद्धवाणी आज चरितार्थ भएको छ । बुद्ध धर्म एक होईन अनेक सम्प्रादयमा विभक्त छन् । महायान, हीनयान, वज्रयान र थेरवाद जस्ता अनेकन शाखाहरुमा विभाजित बुद्ध धर्म हाम्रो वेदीय हिन्दूपरक समाजमा साँस्कृतिक सहकार्यमा समेत सरिक छ  । बौद्ध धार्मिक ग्रन्थहरुमा वेद र पुराणहरुका प्रभाव राम्रैसंग परेको छ । यसर्थमा बौद्ध धर्मले मठ, मन्दिर र शक्ति पीठहरुको अवधारणालाई समेत सहर्ष स्वीकार गरेको छ । त्यही सर्वस्वीकार्यताको जगमा नै त हाम्रो देशमा हिन्दू, बौद्ध र अन्य धार्मिक सम्प्रदायको बीचमा सदियौंदेखि धार्मिक सौहार्दताको सुन्दर फूल फुलिरहेको छ । जब कि विशेष गरी मुस्लिम सम्प्रदायमा सुन्नी र शियाको बीचमा ठूला-साना रक्तपातपूर्ण महाभारतहरु मन्चित भईरहेका हुन्छन् । अझ भनिन्छ कि धर्मको नाममा यो संसारमा जत्ति युद्ध भएको छ, अरु कुनै पनि विषयमा भएको छैन । यस मानेमा हाम्रो देश शान्तिपूर्ण छ । बुद्धलाई शान्तिको पर्याय मान्ने गरिन्छ, शान्ति भन्ने बितिक्कै हाम्रो मानसपटलमा या त सेतो परेवा, या त सिद्धार्थ गौतम बुद्धको तस्वीर आईहाल्छ । मैले माथि कतै उल्लेख गरेको छु, फेरी पनि यो तमसको युग हो, यहाँ एक होईन अनेकन कलियुगीन शकुनीहरु सलबलाई रहेका छन्, द्वन्द उनीहरुको खेती हो । द्वन्दको खेती नै ऐतिहाँसिक महाभारतको निरन्तरताको कडी हो । भगवान कृष्ण कै भाषामा पनि यो त चलिरहन्छ, यही कली युगमा हजारौं अर्जुन जस्ता पात्रहरुले मोक्ष प्राप्त गरेता पनि र हजारौं सिद्धार्थ जस्ता पात्रहरुलाई निर्वाण उपलब्ध भएता पनि यो युग युगको महाभारत त चलिनै रहनेछ, त्यो अन्तिम महाप्रलयमा यो सृष्टी विलय नहुँदासम्म । यो सृष्टी चक्रमा मायाको चक्रव्यूह अभिमन्यू फसेको चक्रव्यूह भन्दा अनगिन्ति गुणा ठूलो र भयानक छ । यही चक्रव्यूहमा त जन्म र मृत्युको अविछिन्न चक्र चलिरहन्छ । त्यसैले त भगवान कृष्ण महाभारतमा भन्नु हुन्छ, “हे अर्जुन ! जन्म मृत्यु, मृत्यु र जन्मको त्यो अथाह सागरबाट बाहिर निस्क ! आउ मेरो शरणमा आउ ” । फेरी पनि बुद्ध भन्छ, निर्वाण त्यस्तो वाण हो जसले तिमी भित्रको संसारको महासागरलाई सुकाई दिन्छ, न जन्म न मृत्युको परम आनन्द अनन्त नव जीवन दिन्छ । तर यो कलियुगिन जीवनको महाभारतमा विना गुरु सम्यक सम्बुद्ध बन्ने सपना करिव असम्भव छ । तर सम्यक गुरु पो कहाँ खोज्ने ? कसरी खोज्ने ? कसरी चिन्ने ? धार्मिकताको महायात्रामा अहिले आएको धर्म संकट यही हो ।

     

  • ब्यभिचारी चर्च : नरकभन्दा फोहोर

    ब्यभिचारी चर्च : नरकभन्दा फोहोर

    पुरुषोत्तम लम्साल

    भर्जिनिया अमेरिका

    विश्वन्युजको अघिल्ला दुई अंकमा चर्चहरुभित्र हुने व्यभिचारका दृष्टान्त संक्षेपमा थियो । यो अंकमा यूरोपका केही देशका चर्चहरु कसरी यौन शोषणको अड्डा छन् भन्नेबारे केही उल्लेख गरिनेछ । किन चर्च, चर्च सँस्कृति र चर्चभित्रका विकृति हाम्रा लागि जान्न आवश्यक छ ? यो महत्वपूर्ण प्रश्न हो । हामी संविधानतः धर्मनिरपेक्ष देशमा छौं । यद्यपि, नेपाललाई कसले धर्म निरपेक्ष बनायो भन्ने विषयमा विवाद र बहस उस्तै छन् । आन्दोलनको एजेण्डा नै नभएको विषय कसरी संविधानमा घुस्यो ? कसैले यकीन जानकारी दिएका छैनन् । यथार्थ चाँहि धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षतालाई एउटै तुलोमा जोख्न मिल्दैन र सक्दैनौं भन्ने नै हो ।

    धर्म धर्मजस्तो मात्र भएन भने धर्मले निम्त्याउने संकट कति विकराल र भयावह हुन्छ भनेर हेर्न विश्वका कयौं देशका उदाहरण जबरजस्त छन् । धर्म परिवर्तनकै कारण नेपालमा बौद्धमार्गी, बौद्धदर्शनका अनुयायी कसरी मात्रा र गुण दुबैमा संकटमा पर्ने क्रम बढ्दैछ ? किराँत सँस्कृतिका जराजरासम्म फैलिएको धार्मिक अतिक्रमणले उनीहरुको सभ्यता, संस्कृति र पहिचानलाई कसरी संकटउन्मुख बनाउँदैछ ? यी गम्भीर प्रश्नको उत्तर खोज्न पनि विश्वका चर्चहरुभित्र भए र हुनेगरेका कृत्यबारे जान्न आवश्यक छ ।

    किन चीनले गत पौष १० गते देशकै सबैभन्दा ठूलो चर्चमा डोजर चलायो ? किन त्यहाँका चर्च सञ्चालित विद्यालयहरु बन्द गर्न आदेश दियो ? किन चीनले बाइबलको अनलाइन विक्रीमा प्रतिबन्ध लगायो ? धर्ममा चीनको यो चासोले नेपाललाई छुन्छ कि छुँदैन ? छुन्छ भने कुन हदसम्म छुन्छ ? यो प्रश्नको उत्तरका लागि पनि हामीले चर्च र चर्चले निर्माण गरेका चित्र र चरित्रबारे बहस गर्नु सान्दर्भिक हुन्छ । एक महिनाअघि बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशनको दोस्रो संस्करणमा सहभागी हुनेक्रममा राजकीय भ्रमणको दौर पूरा गर्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चीनले धर्मको विषयसमेतमा चासो देखाएको भन्ने विषय ‘नोटिस’ हुनु अर्को महत्वपूर्ण तथ्य हो ।

    भारतमा भर्खरै सम्पन्न चुनावी नतिजाले नेपालमा पनि धर्मको बहसलाई अनेक आयाम र कोणबाट उठान गरेको छ । ती बहस कति सतही छन् वा गम्भीर छन् ? भारतीय जनता पार्टीको जीतमा नेपालमा हिन्दूवादी संघसंस्थाले विजय जुलुश निकाल्नुको अर्थ के ? यो पाटोमा विमर्श हुनुअघि हामीले धर्मलाई धर्म र राजनीति दुबै सन्दर्भमा अध्ययन गर्नु वाञ्छनीय हुन्छ । यसैले विश्वसन्देशको यो तेस्रो अंकमा चर्च, चर्च सँस्कृति र चर्चभित्रका विकृतिहरुको विषय निरन्तर गरिएको हो ।

    अमेरिकाकै बाँकि अंशः सन् १९९० को दशकमा पादरीहरु पौल सान्ले र जन जियोघानको दूराचार सतहमा आएपछि फैलिएको तरंगले अमेरिकी समाजलाई पुनः एकपटक चर्चबारे परम्परागत धारणामाथि पुनविचार गर्न बाध्य बनायो । अमेरिकी चर्चहरुमा हुने अर्को दुर्दान्त शोषणलाई विस्कन्सिन राज्यको प्रकरण (सेन्ट जोन्स स्कूल नामको बहिरा तथा सुस्त श्रवण विद्यालयमा मात्र दुई सयभन्दा बढी विद्यार्थीमाथि यौनजन्य हिंसा) ले थप पुष्टी गर्र्यो । भ्याटिकनको नेतृत्व तहमा रहेका लरेन्स मर्फी यो अपराधका मुख्य आरोपी थिए । गत वर्षकै जुन महिनामा वाशिंगटन डिसिस्थित भ्याटिकन दूतावासमा कार्यरत कूटनीतिज्ञ एम सी अल्बेल्र्टो क्यापेला चाइल्ड पोर्नोग्राफी प्रकरणमा मुछिएर पाँच वर्षका लागि जेल परे ।

    पछिल्लो दशक अमेरिकामा चर्चहरुबाट भएका उत्पीडनका घटना लुकाउन र दबाउन ठूलो धनराशी खर्च भएको समाचार आइरह्यो । सन् २००३ को सेप्टेम्बरमै ८५ मिलियन डलर खर्च गरेर चर्चपीडितहरुको मुद्दाहरु सामसुम गर्ने प्रयत्न बोस्टन आर्कडियोसिज प्रकरण ९द्ययकतयल ब्चअजमष्यअभकभ क्अबलमभि० ले कुख्यात छ । यस्तै सन् २००७ मा लसएञ्जलसदेखि आर्कडियोसिजसम्मका ५०४ जना पीडित मनाउन ६६० मिलियन डलर क्षतिपूर्ति तिरेको सार्वजनिक भयो (समाचार, बीबीसी, जुलाई १६, २००७) । क्यालिफोर्नियामा सन् २००२ देखि पाँच वर्षको अवधिमा एक हजारभन्दा बढी व्यक्ति चर्चभित्र यौन हिंसाको शिकार भएको उजुरी परेको थियो । यही उजुरी सल्टाउन उक्त धनराशी खर्च भएको हो । प्रकाशित समाचारहरु अनुसार अमेरिकामा चर्चपीडितहरुका लागि अहिलेसम्म २ खर्बभन्दा बढी भुक्तानी भइसकेको चर्च पीडितहरुको सञ्जालले उल्लेख गरेको छ ।

    जर्मनीका चर्च पनि त्यस्तै;

    ९ वर्षअघि जर्मनीका ठूला २७ मध्ये १८ वटा क्याथोलिक चर्चमा भएको अनुसन्धानले ३ सयभन्दा बढी बालबालिकामाथि यौनहिंसा र शारीरिक शोषण भएको तथ्य सार्वजनिक गर्यो । जेसुईट स्कूल, क्याथोलिक स्कूल र पोपका दाजु मुनसिग्नोर जर्ज राप्जींगरले नेतृत्व गरेको रेगेन्सबर्ग स्कूलसमेत गरी १७० विद्यार्थीमाथि वर्षौदेखि शारीरिक शोषण भइरहेको पाइयो । चर्चमा कर्मचारी र पादरीहरुको उद्देश्य प्रार्थना गर्नु र गराउनुभन्दा यौन हिंसाको अवसर खोज्नु मात्र रहेको आरोप लागे । जब यस्ता सयौं घटना बाहिर आए, जर्मनीमा उच्चस्तरीय आयोगहरु गठन भए । र, आयोगले भन्यो — ‘चर्चमा धर्माधिकारीहरु यौनलिप्सामा लिप्त छन् ।’

    जर्मनीको क्याथोलिक कार्डिनल चर्चमा भएको यौन दूराचारको सिलसिलेबार घटनालाई लिएर जर्मन विसप कन्फ्रेन्स प्रमुख कार्डिनल माक्र्सले ‘चर्चमाथिको विश्वास र भरोसा नष्ट भएको’ भन्दै चर्चका पादरी र विसपहरुले लुकाएको, दबाएको र वेवास्ता गरेका हजारौं घटनाले इसाईमाथिको आस्था धराशायी बनाएको बताए (सेप्टेम्बर २५) । अध्ययनअनुसार त्यहाँको क्याथोलिक चर्चमा सन् १९४६ देखि सन् २०१४ सम्म चार हजारभन्दा बढी बालबालिकाको शोषण भएको भेटियो । चर्चका १ हजार ५ सय ७० पादरीले चार हजारभन्दा बढी नाबालक, किशोर र किशोरीको यौन शोषण गरेको पाइएको हो । पत्याउनुहुन्छ, अधिकांश पीडितको उमेर १४ वर्षभन्दा कम थियो ? विसप कन्फ्रेन्सकै आदेशमा भएको अध्ययनको नेतृत्व ह्यारोल्ड डाइसिंगले गरेका थिए । प्रतिवेदनले १४२९ चर्च इलाकाका पादरी र चर्चका कर्मचारी दूराचारी रहेको निश्कर्ष निकाल्यो । के फादर, के विशप, के कार्डिनल सबको निशाना बालयौन दुराचार रहने गरेको फेला पर्यो । दूराचारी पादरीहरुमा ४२ प्रतिशत अरु गम्भीर आरोपी छन् । पीडितमा भने ६३ प्रतिशत बालक, छात्र, किशोर र ३५ प्रतिशत बालिका, छात्रा, किशोरी छन् । अध्ययनअनुसार, चर्चमा प्रार्थना गर्न एवम् धार्मिक कक्षा लिन जाँदा सबैभन्दा बढी दूराचारको शिकार भएको पाइएको छ ।

    जर्मनीमै उक्त अध्ययनमा पीडितको संख्या लुकाइएको र अपराधीहरुलाई बचाउने उद्देश्य राखिएको आरोप लाग्यो । अर्थात् व्यभिचारको तस्वीर देखाइएको भन्दा भयावह र आततायी रहेछ । जर्मनीमा पछिल्लो एक वर्षमा मात्र झण्डै १२ हजार बाल यौन दुर्व्यवहारको घटना दर्ता भएको छ । एकिगे टिस एउटा प्रतिनिधि संगठन हो जसले चर्चमा बलत्कार, यौन शोषण र दुर्व्यवहार ब्यहोरेका पीडितको पक्षमा बोल्दै आएको छ । थप जानकारीका लागि तपाई उक्त संगठनको पृष्ठ केलाउन सक्नुहुन्छ ।

    आयरल्याण्डका चर्च झन् फोहोरी;

    आयरल्याण्डमा चर्चहरुभित्र हुने गरेका अनैतिक र अप्राकृतिक गतिविधिको अध्ययन गर्न सन् २००९ मा न्यायाधीश योभ्नी मर्फी नेतृत्वमा स्वतन्त्र जाँचबुझ आयोग गठन भयो । आयोगले त्यहाँ पछिल्लो ३० वर्षमा भएका सयौं दुराचारका बिवरण सार्वजनिक गर्यो । र, लुकाउने प्रयास भएका घटना ४४० वटा मुद्दा किटानी गर्दै लुकाइएका घटना हजारौ हुनसक्ने प्रक्षेपण गर्यो । कतिसम्म भने, चर्चहरुले यौनशोषणकै अभिप्रायले बिद्यालय र अनाथआश्रम वा आश्रयस्थल चलाउने गरेको भेटियो । प्रतिवेदन सार्वजनिक भएपछि अखबारहरुले ‘आयरल्याण्डका चर्चहरु बालबालिकाका लागि नरकभन्दा फोहोर रहेको’ टिप्पणी गरे । तात्कालीन धर्मगुरु पोप बेनेडिक्ट सोह्रौंले आयरल्याण्डका जनतासँग लिखित माफी मागे (२० मार्च २०१०) तर पोपको माफीले चर्चहरुमा भएका अपराधका घटना लुकाउन सकेन ।

    आयरल्याण्डमा गत अगष्ट २६ मा हजारौंले सडकमा विरोध प्रदर्शन भरे । सडकमा थिए चर्चका पादरी र विशपहरुबाट यौनहिंसाको शिकार भएका पीडितहरु । त्यहाँ सन् १९८० देखि नै चर्चहरुमा हुने यौन दूराचारको विषय बाहिर आउन थालेको थियो । तर घटनालाई तात्कालीन पोप जन पलले कूटनीतिक छुटको साहारा लिएर दबाएको बताइन्छ । कोल्म गर्मेन नामका पीडितले आयरल्याण्डमा पोपको भ्रमणको पूर्वसन्ध्यामा त्यतिबेला आफूजस्तै अन्य दर्जनौं बालबालिकामाथि भएका दूराचारको घटना लुकाउने पादरीहरुको बारेमा पोपबाट जान्न मन लागेको बताए । यो प्रदर्शनीलाई आइरिस टाइम्सले सर्वाधिक महत्व दिएको थियो । कारण, पत्रकार म्यारी कोलिन्स आफैं चर्चमा हुने यौनहिंसाका पीडित र साक्षी थिए (कालिन्सको व्यक्तिगत बिवरण) ।

    यसअघि चर्चमा भएका दुराचारका दस्तावेज सुरक्षाका खातिर आर्थिक भ्याटिकनले आयरल्याण्ड सरकारसँग सौदाबाजीको प्रस्ताव गरेको खुलासा भइसकेको थियो । पूर्व आइरिस राष्ट्रपति म्यारी म्याकएलिसले ‘सन् २००३ मै भ्याटिकनका तात्कालीन विदेशसचिव कार्डिनल एञ्जेलो सोदानोले सौदाबाजीको प्रस्ताव गरेको’ खुलासा गरेर चर्चबाट भइरहेका अत्याचारविरुद्ध मुख खोलेकी थिइन् । कार्डिनल सोदानोले आयरल्याण्डका पूर्व बिदेशमन्त्री देर्मोट अथेरनमार्फत सन् २००४ मा पुनः अर्को प्रस्ताव गरेको पनि समाचार आयो ।

    ‘भ्याटिकन आफैं चर्चमा हुने दुराचारका घटना लुकाउन, ढाकछोप गर्न संलग्न छ र यसका लागि ऊ सम्बन्धित देशका सरकारसँग सिधै सम्पर्क राख्छ’ चर्चपीडितहरुसँग सम्बन्धित रहेर दशकौं लामो अनुभव बटुलेका फादर थोमस डोयल भन्छन् ‘नियोजित, संगठित, अपराधहरुमा माफी मागेर चर्च जोगाउने प्रपञ्च निन्दीय छ र हजारौं पीडितको बलिदानी दिएर चर्च जोगाउनु आमअपराध हो ।’ यो भनाई पोप फ्रान्सिस्को पादरीहरुको परिवारको विश्व सम्मेलन (२४ अगष्ट, २०१८) मा सहभागी हुन आयरल्याण्ड रहँदा आएको हो ।

    यूरोपका बेल्जियम, फ्रान्स र चिलीका चर्चहरुको नारकीय बर्णन बाँकि नै छन् । विश्वसन्देशको आगामी अंक भारत र नेपाल सन्दर्भमा हुनेछ । र, क्रमशः धर्मका तन्तुलाई राजनीतिसँग जोड्ने प्रयास गरिनेछ ।

  • गोर्खालीको अपमान

    गोर्खालीको अपमान

    दधिराम खतिवडा

    झण्डै २०० वर्षको इतिहास फर्केर हेर्दा करिब १० लाख ब्रिटिश गोर्खाली सेनामा भूपू तथा सेवारत नेपाली युवाहरूलाई बेलायतले दासतापूर्वक शोषण गरेको केही अप्रिय विवरण सार्वजानिक भएका छन् । विशेषगरी पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा भारत, बर्मा, मलाया, यूरोप लगायत अनेकौं स्थानमा भएका युद्धमा मारिएका भूपू गोर्खालीहरुको बेलायतले लगभग ७ लाख युवाहरू प्रयोग गरेको छ भने करिब ५ लाख युवाहरू मारिएका वा हराएका वा घाइते भएको प्रारम्भिक अनुमान छ । तर, बेलायतले हालसम्म नेपाली नागरिकहरूको मातृभूमि देश र सम्बन्धित नेपाललाई कुनै जानकारी दिएको छैन ।

    अर्कातर्फ गोरखा भूतपूर्व सैनिक संघले बताएअनुसार बेलायती सेना र नेपाली गोरखा भूपू सैनिकबीच विभेद हुँदै आएको छ । सन् १९९७ जुलाई १ अघि सेवा निवृत्त गोरखा भूतपूर्व सैनिक माथिको तलब, निवृत्तिभरण र अन्य सुविधा बेलायती सैनिकसरह बराबरी दिएको छैन । डा. युवराज संग्रौला एक अनुसन्धानमा लेख्छन्– ‘गोर्खा सैनिकहरुले प्राप्त गर्ने पाउण्ड बेलायतले भारतको रिजर्भ बैंकमा पठाउँछ र भारतीय रिजर्भ बैंकले नेपालमा भारतीय रुपैयाँ पठाउँछ । यो अचम्मको व्यवस्थाले प्रत्यक्षतः नेपाली नागरिकको जीवनमा विदेशीको नियन्त्रण अशोभनीय शोषण कायम रहेको छ । उक्त व्यवस्था दुनियाँको कुनै कानुन र सम्झौताबाट निर्देशित पनि छैन ।

    सुगौली सन्धिपछि नेपालीहरू ‘कम्पनी बहादुर’का लागि लड्न थालेका हुन् भने अहिले पनि राज्यको औपचारिक मान्यतासहित नागरिकहरू बेलायती र भारतीय सेनामा बहादुरीका साथ लडिरहेका छन् ।

    बेलायती दस्तावेजहरूमा पाइएका तथ्याङ्कहरू भ्रमपूर्ण र झुटा छन् । उनीहरूले गोर्खा सैनिकहरूमाथिको अत्याचार ढाकछोप गर्न यथार्थ संख्याको तथ्यांकलाई लुकाएका छन् । दोस्रो विश्वयुद्धमा फ्रान्सको दक्षिण क्षेत्रमा मात्र एकै रातमा १७ हजार गोर्खालीहरू मारिएका थिए भने बर्माको माण्डलेमा मात्र एकै दिन ११ हजार मारिएका थिए । बेलायतले युद्ध क्षेत्रमा गोरा नागरिक युवाको ज्यान जोगाउन, गोराहरूको मृत्यु वा रगतका लागि गोर्खालीलाई प्रयोग गरेर हजारौं गोर्खाहरूको बलिदानबाट आफ्ना नागरिक बचायो । त्यो पनि बिना लगानी । अधिकांश नेपालीलाई विश्वयुद्ध सकिएपछि बिना पारिश्रमिक रित्तो हात फर्कायो । यो अमानवीय शोषणको निन्दनीय स्वरूप हो । जति भत्र्सना गरे पनि कम हुन्छ ।

    विभिन्न युद्धमा मारिएका, हराएका र अंगभंग भएका भूपू गोर्खा सैनिकहरुको लगत नेपाल सरकारले हालसम्म अद्यावधिक गरेको छैन । न त नेपाल सरकारले युद्धमा मरेका, हराएका र अंगभंग भएका आफ्ना नागरिकको खोजी गरेको छ, न त बेलायत सरकारले नै दिएको छ । नागरिक बेच्न उद्धत राणा सरकारको प्रवृत्ति पछिल्ला सरकारहरुमा पनि यथावत रहेको देखिन्छ । पञ्चायती शासनले गोर्खाहरुप्रति गर्ने व्यवहारमा कुनै परिवर्तन थिएन । त्यसपछिका कुनै पनि सरकारहरुले यति धेरै ठूलो क्षति भएको कुरालाई कहिल्यै गम्भीर रुपमा लिएको पाइँदैन ।

    अहिले तत्काल ब्रिटिस सेनाले महिलाहरुको गोर्खा ब्रिगेडमा भर्ना शुरु गरेको बताएको छ । यस सम्बन्धमा उसले नेपाल सरकारसँग समन्वय गरेको छैन । आफूखुसी भर्ना गर्ने यस कार्यले समेत नेपाली नागरिकको जीवनमा बेलायती रक्षा मन्त्रालयको नियन्त्रण कायम रहेको भन्ने आशय देखिन्छ । नेपाल सरकारको सार्वभौम अधिकारको उल्लङ्घन गरेको प्रष्ट देखिन्छ ।

    समाजशास्त्री डा. गणेश गुरुङ भन्छन, ‘हामीले ‘गुर्खा’ ब्राण्डको सही प्रयोग गर्नै जानेनौं । दुई सय वर्ष पुरानो यो ब्राण्ड ‘एडिडास’ र ‘नाइकी’ भन्दा पनि बलियो छ । तर, विदेसिएका हाम्रा सुरक्षा कामदारले न राम्रो तलब पाएका छन् न सेवासुविधा । यता नेपाल सरकार र सेनासमेतको अग्रसरतामा राम्रो तालिम दिने हो भने यूरोप, अमेरिका र जताततै सुरक्षा विशेषज्ञका रूपमा नेपालीले मनग्ये कमाउन सक्छन् । नागरिक र राज्य दुवैका लागि यो राम्रो हो । ‘गुर्खा’ ब्राण्डको मूल्य हामीले बुझ्नुप¥यो ।’

    नेपालको प्राकृतिक सम्पदा, सौन्दर्यता पछाडि विश्वले चिन्ने तत्कालीन नेपाली गोरखाली सेना हो । केही समय अगाडि दक्षिण कोरियाली शासक किङ जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको शिखरवार्तामा सुरक्षाको जिम्मेवारी नेपाली गोरखाली सेनाले बहन गरेको थियो । यसले झन् विश्वमा गोरखालीको बहादुरी, वीर र पराक्रमलाई थप उचाइमा पु¥याएको छ । बेलायती महारानी एलिजावेथ द्वितीयले प्रशंसा गर्दै भनेकी छन्– ‘गोरखा सैनिकले इतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन् ।’ तर, असमान विभेदबारे बेलायत सरकार मौन छन् । उसले गोरखाली सेना सुरक्षार्थ खटाई मीठो निद्रामा सुतिरहेको छ ।

    प्रतिनिधिसभामा बेलाबखत यस विषयले स्थान पाए तापनि हालसम्म कुनै सरकारी प्रयास भएको छैन । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र स्वाधिनतालाई सर्वोपरी राख्दै भूपू गोर्खा सैनिकले उठाएका माग र औंल्याएका समस्या समाधान गर्न उच्चस्तरबाट पहल र वार्ता आरम्भ गर्न समितिले सरकारलाई निर्देशन दिएको थियो । गोर्खा भर्ती सन्धिको पुनरवलोकन गरी नेपालको संविधान र लोकतान्त्रिक प्रणालीको मान्यताअनुरुप नेपालको परराष्ट्र नीति कार्यान्वयन गर्न पनि समितिले सुझाव दियो । उक्त सुझावका दस्तावेज दराज र घर्रामै थन्किए, ठोस प्रयास हुन सकेन ।

    बेलायती सेनामा कार्यरत नेपाली सैनिकले उठाउँदै आएको माग उनीहरुको व्यक्तिगत हक अधिकारको विषय नभई नेपालको स्वाभिमानको लडाइ भएकाले कूटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । ‘भूतपूर्व गोर्खा सैनिकहरूका पेन्सन, नेपाल राष्ट्र बैंकमा सीधै पैसा जानुपर्ने, ३० वर्ष कटेका सन्तानलाई पनि ब्रिटेन ल्याउन पाउनुपर्ने लगायतका विषयहरू प्रतिवेदनमा समेटिएका छन् ।’ बेलायती सरकारसमेत सहभागी भएर तयार पारिएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारले बेलायती सरकारसँग औपचारिक कूटनीतिक पहल गर्नुपर्ने देखिन्छ ।

    भूपू सैनिकहरुले पर्याप्त तलब र उनीहरु युद्धमा मत्यु भएका, घाइते भएका वा हराएका सोको क्षतिपूर्ति उनीहरुका हकदारले पाउनुपर्छ । नेपालले आफ्ना नागरिकप्रति जिम्मेवारी बहन गर्नुपर्छ । घाइते तथा अपाङ्ग भूपू सैनिकहरूका बालबालिकाका लागि सम्पन्न स्कुलहरु स्थापित गर्ने, मेडिकल कलेजसहितका विश्वविद्यालय, सांस्कृतिक पहिचान, गोर्खा बलिदानको इतिहास अभिलेखबद्ध गर्ने कम्तीमा जेहेन्दार बालबालिकालाई पठनपाठनका लागि आवश्यक छात्रवृत्ति कोषको स्थापना गर्ने व्यवस्था बेलायतले गर्नुपर्छ । नौजवान युवा गोरखालीको ऊर्जा र समय उसले उपयोग गरेको छ ।

    (प्रकाशित दस्तावेजका आधारमा)

  • छिमेकमा महानायकको पुनरागमन

    छिमेकमा महानायकको पुनरागमन

    आचार्य पीपलमणि सिग्देल

    न्यूयोर्क

    कतै लड्डु बन्दैछन्, कतै मिठाइ खाँदै छन् । फूलको वर्षा कतै त कतै ढोल अनि कतै पटाका । यसैबीच मेघको गर्जनसाथ सिमसिम पानीले मानौं इन्द्रदेव पनि स्वागतमा उत्रिएजस्तो भान हुने वातावरणमा विजयको उद्घोष आयो– ‘म आउने दिनहरूमा खराब नियतले कुनै काम गर्ने छैन । म आफ्नो लागि केही गर्ने छैन । मेरो जीवनको पलपल तथा शरीरको कणकण देशवासीका लागि समर्पित गर्छु’, विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतको महानिर्वाचनबाट महानायक बनी दोस्रो कार्यकालका लागि सत्तारोहण गर्न जनताको प्रचण्ड आशीर्वाद पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीको मुख्य कार्यालयमा आयोजित विजयसभामा यस्तो प्रतीज्ञा सुनाए । मोदी नामको सुनामी लहर तथा भाजपा अध्यक्ष अमित शाहको कुशल सांगठनिक व्यवस्थापनले ‘एक्जिट पोल’ र पूर्वानुमानभन्दा पनि धेरै राम्रो नतिजा आएपछि विश्वको नजर भारततिर खिचिएको छ । चिया बेच्ने सामान्य परिवारबाट माथि उठेर इमानदार, कर्मठ र निर्णयक्षमता भएका एक असामान्य व्यक्तित्वको छवि बनाउन मोदीका लागि यो निर्वाचन थप सहायक बन्न पुग्यो । भारतको संसदीय इतिहासमा दोस्रो कालका लागि निर्वाचित हुने कम नेताको पंक्तिमा मोदी पनि परेका छन् । विजयपछि विनम्रतापूर्वक देशवासीलाई धन्यवाद दिँदै पार्टीका अभिभावक मुरली मनोहर जोशी तथा लालकृष्ण आडवाणीको चरणस्पर्श गरेर मोदीले आफ्नो नयाँ यात्रा थाले ।
    भारतीय संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि अप्रिल ११ देखि मे १९ सम्म मतदान सम्पन्न भई २३ मे बिहीबारबाट नतिजा आउन थालेको हो । भारतका करिब एक सय ३० करोड जनतामध्ये करिब ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो । भारत स्वतन्त्र भएपछि यस वर्ष सबैभन्दा धेरै ६७ प्रतिशतभन्दा बढी मतदाताले मताधिकार प्रयोग गरेका थिए । मे २४ शुक्रबार औपचारिक घोषणा गरिएको नतिजाअनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले सन् २०१४ को निर्वाचनभन्दा पनि २२ सिट बढी अर्थात् ३०३ सिट ल्याएको छ । भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले ३५२ सिट हासिल गरेको गठबन्धनमा शिव सेनाले १८, जनता दल युनाइटेडले १६, लोक जनशक्ति पार्टीले छ, अकाली दल र अपना दलले दुई–दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रिक पार्टी, मिजो नेशनल फ्रन्ट र नेसनल पिपल्स पार्टीले एक–एक सिट हासिल गरेका छन् । त्यसैगरी भाजपाको समर्थनमा एक जना स्वतन्त्र उम्मेदवारले पनि जित्न सफल भएका छन् ।
    विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेस ५२ सिटमा मात्रै जित्न सफल भयो । काँग्रेस नेतृत्वको युपीए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रमा विजय हात पारेको छ । निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उठेका राहुल गान्धी स्वयम् पनि एक क्षेत्रबाट पराजित भएपछि पार्टीको अध्यक्षबाट राजीनामा दिने सोंचमा पुगे । यस महासंग्राममा मोदी लहरका कारण आठ प्रान्तका पूर्व मूख्यमन्त्री लगायत धेरै दिग्गज नेताले पराजयको स्वाद चाख्नुप¥यो । भारतीय राष्ट्रिय काँग्रेसलाई १७ राज्यमा शून्य विजय हात लाग्यो । २५ वर्ष सिक्किमको मुख्यमन्त्री बनेका पवन चामलिङले पनि पराजयको स्वाद चाखे ।
    निर्वाचनले जातीय, पारिवारिक तथा क्षेत्रीय आधारमा तयार गरिएका पर्खाल भत्कायो । तर, राजनीतिक समीक्षकहरुको दृष्टिमा कट्टर धार्मिक राष्ट्रवादको नयाँ पर्खाल तयार भएको छ, जुन पर्खालले जनताको मन जोड्न सक्दैन अपितु झनै विभाजनतिर धकेल्न सक्छ । भाषा, जात, क्षेत्र, धर्मका अनेकौं विविधता बोकेको भारतमा कुनै दिन अर्काे भावना बोकेको राजनीतिक ज्वारभाटा नउठ्ला भन्न सकिंदैन । यिनै जितहारको महाभारतले प्रखरवक्ता मोदीलाई नयाँ अवसरका साथ चुनौती पनि थपिदिएको छ ।
    भारतीय कम्पनीहरूमा गत आर्थिक वर्षमा करिब ४४ अर्ब अमेरिकी डलर विदेशी लगानी भित्रियो । यसका अतिरिक्त मोदी सरकारले सडकको संख्यामा वृद्धि, ग्रामीण पूर्वाधार निर्माण, सस्तोमा खाना पकाउने ग्याँस, शौचालय, सामान बिक्री कर, स्वास्थ्य बिमा योजना, बैंक खाता, नोटबन्दी आदि योजनाका माध्यमबाट परिवर्तनको झझल्को दिएको थियो । तर, खस्कँदो माग, घट्दो आय र पछिल्लो चार दशकमा सबैभन्दा खराब बेरोजगारी दरका साथ भारत अझै पनि एउटा खराब अर्थतन्त्रमा नै रुमल्लिएको छ ।
    मोदी सरकारलाई भ्रष्टाचार र अनियमितताको आरोप लगाउँदै नोटबन्दीले जनतालाई मार परेको, बेरोजगारी दर बढेको, किसान झन् गरिब बन्दै गएको, बाचा गरेझैं १५ लाख खातामा नआएको, राफेल विमान सम्झौतामा भ्रष्टाचार भएको, संवैधानिक संस्थाहरुको अवमूल्यन भएको, देशमा धार्मिक विभेद बढेको, निर्वाचनमा प्रयोग गरिएको मेशिन निष्पक्ष नरहेको, कालाधन ल्याउन कदम नचालेको, विदेशनीति फेल खाएको जस्ता अनेकौं आरोप लगाएका थिए । आगामी दिनमा पनि यिनै लाभहानिको मुद्दा निरन्तर अघि बढ्ने देखिन्छ ।
    पाँच वर्ष पहिले निर्वाचित भएपछि शपथग्रहण समारोहमा छिमेकी देशका सरकार प्रमुखलाई सम्मानका साथ निमन्त्रणा गरेर नयाँ र सकारात्मक विदेशनीति ल्याउने संकेत गरेका प्रधानमन्त्री मोदीको व्यवहारबाट भने छिमेकीहरुले तीतो अनुभव गरे । नेपाल लगायत सबै सार्क देशका सदस्यले मोदी सरकारबाट हेपाहा प्रवृत्ति बढेको महसुस गरे । यस्तो व्यवहारले गर्दा नेपाल र नेपाली धेरै सशंकित बनेका छन् । नेपालको संविधानसभामा भारतीय प्रधानमन्त्री मोदीले संम्बोधन गर्दा संविधानसभा तालीले गुञ्जिएको थियो । नेपाली जनताको जनअभिनन्दन पनि मोदीले प्राप्त गरेका थिए । तर, नेपालीहरुको मनमा उब्जिएको मोदी प्रेम संविधान ‘संशोधन गर‘ भन्दै भूकम्पको आर्तनाद घाउमा नाकाबन्दीको नुनचुक छर्किदिएपछि चकनाचुर हुन पुग्यो । यसरी नेपालमाथि नाकाबन्दी हुनुमा मोदी सरकारको विजय उन्माद एउटा कारण थियो भने आपसमा मिल्न नसकी छिमेकी गुहार गर्ने हाम्रै प्रवृत्ति पनि पनि कारक थियो । सार्वभौम नेपालको अन्तरिक मामिलामा हस्तक्षेपकारी कुदृष्टिले हेर्ने भारतीय पक्ष जति दोषी छ, त्यति नै दोषी दिल्लीलाई राजनीतिक तीर्थस्थल सम्झेर हरेक सत्ता परिवर्तनको समयमा आशीर्वादका लागि धाउने नेपाली नेतृत्ववर्ग पनि छ । संसद्मा कुनै दिन प्रदीप गिरीले भनेझैं– आफू सत्तामा पुग्दा आफैं पुगेको सोच्ने र बहिर्गमन हुँदा भारतको हात देख्ने’ सोंच व्याप्त छ । यस्तै सोंच रहेसम्म भारतसँग युद्ध गर्न सुरुङ बनाउने तयारीबाट सुरु भएर लम्पसारवादमा पुगेर टुंगिने क्रान्तिकारी राजनीतिक चक्र घुमिरहन्छ । यस्तै हो भने भारतको नयाँ सरकारबाट नयाँ आशा राख्नु पनि मुर्खता हुन सक्छ ।
    नेपाल–भारत सम्बन्ध कूटनीतिक मात्र होइन धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, सामाजिक, आर्थिक, पारिवारिक आदि सम्बन्धले विशिष्ट प्रकृतिको रहेको यथार्थ दुबै देशका नेता, दिल्ली–लैनचौरका महामहिम तथा दुबै देशका जनता जनार्दनले संवेदनशीलताका साथ हृदयंगम गर्नैपर्छ । अनि मात्र मोदी सरकारको पुनरागमनसँगै नेपालमा राजनीतिक रुपमा उठ्ने अनुमान गरिएको हिन्दूराष्ट्र, राजसंस्था, संघीयता, छिमेकी सम्बन्ध, हस्तक्षेप र विकाससम्बन्धी प्रश्नचिह्नको सहज निराकरण हुनसक्छ ।
    जितले भारतको स्वाभिमान बढाओस् तर अहंकार चकनाचुर पारोस् । नयाँ सरकारसँगै संस्कार फेरियून् । नेपाल–भारतका साझा समस्या मिलेर हल गर्ने इच्छा जागोस् । शुभकामना छ मोदीमन्त्र– ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास’का लागि । साथै बधाई छ छिमेकी महानायकलाई ।

  • शेयरमा लगानी— दीर्घकालीन हो कि अल्पकालीन ?

    शेयरमा लगानी— दीर्घकालीन हो कि अल्पकालीन ?

    निरञ्जन फुयाल
    काठमाडौ

    सन् १९८४ मा नेपालमा पहिलो निजी बैंकका रुपमा ३ करोड चुक्ता पूँजीसहित नबिल बैंक लि. (तत्कालीन नेपाल अरब बैंक) स्थापना भएको थियो । शेयरमा लगानी गर्ने प्रचलन तथा ज्ञानसमेतको अभावमा त्यसबखत उक्त कम्पनीले जारी गरेको शेयरमा सीमित व्यक्तिहरुले आवेदन दिई शेयर बाँडफाड भएको थियो । हाल उक्त कम्पनीको चुक्ता पूँजी रु. ९ अर्ब १ करोड रहेको छ । त्यस बैंकले हालसम्मको पूँजी वृद्धिको यात्रा हकप्रद वा थप शेयर जारी नगरी आर्जित मुनाफालाई बोनस शेयरका रुपमा वितरण गरी पूरा गरेको हो । यसको अर्थ त्यस समयमा रु. १००० लगानी गरी १० कित्ता शेयर खरिद गर्ने लगानीकर्ताले हालसम्म कायम राखेको भए उक्त शेयर संख्या बढेर ३००३ कित्ता पुगेको छ । वर्तमान बजार मूल्य (करिब रु. ८५० प्रति शेयर)लाई आधार मान्ने हो भने एक हजारको लगानी करिब ३५ वर्षमा रु. २५ लाख ५२ हजारभन्दा बढी भएको छ र यसबीचमा लगानीकर्ताले लाखौं रुपैयाँ नगद लाभांशसमेत प्राप्त गरेको छ । यसरी ३५ वर्षको दीर्घकालीन लगानी गर्ने लगानीकर्ताले धेरै ठूलो मात्रामा प्रतिफल प्राप्त गरेका छन् ।
    साधारणतया मानिसहरु साथीभाइ, नातागोतामा भएका व्यक्तिहरुले शेयरबजारबाट सजिलै कमाई गरेको देखेर शेयर खरिद गर्ने गर्दछन् । शेयर बजारको प्रकृति नै निरन्तर बजार मूल्य घटबढ भइरहनु हो । यस क्रममा छोटो समयमा कमाई गर्न सकिने देखेर कतिपय व्यक्तिहरु शेयरबजारमा लगानी गर्ने गर्दछन् भने आकर्षक प्रतिफलको लोभमा जोखिम पनि रहेको हुन्छ । बजार मूल्य बढ्दै गएमा केही समयमै लगानी गरेको रकममा नाफा बुक गर्न शेयर विक्री गर्नेहरु धेरै हुन्छन् । यस्ता अल्पकालीन लगानीकर्ताहरुलाई स्पेकुलेटर भनिन्छ । यस्ता लगानीकर्ताहरुले छोटो समयमा आकर्षक नाफाको लोभमा ठूलै जोखिम लिएका हुन्छन् । अब प्रश्न उठ्छ, जोखिम लिएर अल्पकालमा बढी प्रतिफलका लागि शेयर बेच्नेले बढी कमाउँछ कि दीर्घकालीन लगानीकर्ताले बढी कमाई गर्छ ?
    हालको बजार पूँजीकरणका आधारमा हेर्ने हो भने अमेरिकी बजारमा रहेका ठूला कम्पनीहरु अमेजन, माइक्रोसफ्ट, अल्फाबेट, फेसबूक, एप्पलजस्ता कम्पनीको शेयर शुरुमै खरिद गरेर दीर्घकालीन लगानी गर्ने व्यक्तिहरुको सम्पत्तिमा धेरै वृद्धि भएको पाइन्छ । शेयर बजारमा लगानी गरेरै विश्वको सर्वाधिक धनीहरुको सूचीमा पर्न सफल लगानीकर्ता वारेन बफेटले पनि दीर्घकालीन लगानी नै गर्ने गर्दछन् । माथिको नबिल बैंकको उदाहरणले पनि दीर्घकालीन लगानीमा ठूलो प्रतिफल प्राप्त गर्न सकिने देखाएको छ । नेपालका त्यस्तै प्रकृतिका अन्य कम्पनीहरुमा स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, युनिलिभर नेपाल लिमिटेड आदि रहेका छन् । जुन लगानीकर्ताहरुले यी कम्पनीमा लगानी गरी शेयरको मूल्य वृद्धि भएको देखेर केही समयमै विक्री गरी नाफा बुक गरे, उनीहरुले यति धेरै प्रतिफल प्राप्त गर्न सकेनन् ।
    छिटो–छिटो शेयरको खरिद विक्री गर्दा खर्च वृद्धि हुने, जोखिम पनि बढ्ने पटक–पटक खरिद विक्री निर्णय गर्दा अध्ययनसमेत धेरै गर्नुपर्ने हुन्छ । समय धेरै दिनुपर्ने र नयाँ सूचना प्राप्त हुनासाथ खरिद विक्रीमा सक्रिय रहनुपर्ने भएकाले यस्ता अल्पकालीन लगानीकर्ताहरुको मुख्य व्यवसाय नै शेयर बजारमा लगानी गर्नु रहेको हुन्छ । तर, संसारका धेरै लगानीकर्ताहरुको मुख्य पेशा शेयर बजार नभएर अन्य क्षेत्र रहेको हुन्छ । आपूmले बचत गरेको केही रकमबाट राम्रो प्रतिफल प्राप्त गर्ने आसमा शेयर बजारमा लगानी गरिन्छ । त्यस्ता आम लगानीकर्ताले आफू वरिपरि रहेका केही स्पेकुलेटरले अल्पकालमा नाफा कमाएको देखेर लगानी निर्णय गर्दा जोखिममा परी घाटा खाएको पनि हुन सक्छ ।
    पक्कै पनि अल्पकालमा शेयर बजारमा खेल्दा बढी नाफा भएको देखिन सक्छ तर यसमा धेरै जोखिम रहेको हुन्छ । शेयर बजारलाई मुख्य पेशा नबनाएका धेरै साधारण लगानीकर्ताहरुले दीर्घकालीन लगानी गर्नु उपयुक्त हुन्छ । दीर्घकालीन लगानीमा पनि एक कम्पनीमा मात्र लगानी नगरी विभिन्न क्षेत्रका चार पाँच कम्पनीका शेयरमा लगानी गरे जोखिम कम गर्न सकिन्छ । अध्ययनहरुले के देखाएको छ भने अन्य क्षेत्रको लगानीभन्दा शेयर बजारको दीर्घकालीन लगानीको प्रतिफल बढी हुने गर्दछ । यस्तै अध्ययनहरुको सुझावका आधारमा सन् १९६० र ७० को दशकमा अमेरिकी बजारमा दलालहरुले विभिन्न कम्पनीको शेयरलाई एक पोर्टफोलियो तयार गरे । निश्चित तलब आय भएका जागिरेहरुलाई त्यस्ता पोर्टफोलियोहरुमा हरेक महिना केही रकम लगानी गर्न अनुरोध गरियो । धेरै संगठित क्षेत्रका जागिरेहरुले यस्तो स्किममा बीसौं वर्षसम्म निरन्तर लगानी गरे । दलालहरुले हरेक दुई तीन वर्षमा पोर्टफोलियोमा रहेका कम्पनीहरुको मूल्यांकन गरी थपघट गर्ने गर्दथे । बीस वर्षपछि त्यस्तो लगानीले बजार मूल्यका आधारमा धेरै गुणा बढी प्रतिफल दिएको देखियो । त्यसैले निश्चित आय भएका सर्वसाधारणलाई शेयर बजारमा लगानी गर्दा सबैभन्दा उत्तम विकल्प भनेको आफ्नो आम्दानीबाट केही रकम एक निश्चित समयको अन्तरमा लगानी गर्दै जानु हो । यसबाट बीस तीस वर्षपछि धेरै ठूलो सम्पत्ति जम्मा गर्न सकिन्छ । लगानी गरेपछि हरेक दिन बजार मूल्यका आधारमा सम्पत्ति गणना गर्नुको सट्टा एक निश्चित समयको अन्तरालमा आफ्नो लगानी गरिएका कम्पनीहरुको विश्लेषण गरी थपघट गर्दै जानु पर्दछ ।
    मानिसले लगानी गर्दा मुख्य ध्यान प्रतिफलमा दिएको हुन्छ । प्राप्त विभिन्न सूचना एवम् जानकारी र साथीभाइको सल्लाह, अरुको देखासिकी आदिका आधारमा मानिसले लगानी निर्णय गर्दछ । मानिसको दिमाग कुनै गणितीय सूत्र होइन । विभिन्न विषय र अवस्थाले मानिसको लगानी निर्णयमा असर पर्ने गर्दछ । प्रतिफलको लोभ र जोखिमको डरले गर्दा गरिएको लगानी निर्णय गलत पनि हुन सक्छ । त्यसैले यस्ता मानवीय स्वाभाविक त्रुटीबाट बच्न र उचित प्रतिफल प्राप्त गर्न दीर्घकालीन लगानी गर्नु उपयुक्त हुन्छ ।

    (लेखक नेप्सेका प्रबन्धक हुन्)