Category: बिचार

  • मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ र राष्ट्रवाद

    मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ र राष्ट्रवाद

    पीपलमणि सिग्देल / न्यूयोर्क

    मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसीले नेपाललाई दिने भनिएको ५० करोड डलर अर्थात् करिब ५५ अर्ब नेपाली रुपैंया अनुदान सम्झौता गर्न आवश्यक पर्ने संसदीय अनुमोदनको घडी नजिकिंदै गर्दा यस विषयलाई लिएर तर्कवितर्क मौलाएका छन् । अमेरिकामा सन् २००४ मा एमसीसी स्थापना गरी विदेशको आर्थिक उन्नतिमा सहयोग गर्ने हेतुते कार्य थालेपछि अर्मेनिया, घाना, होण्डुरस, मंगोलिया, सेनेगल, जाम्बिया, फिलिपिन्स लगायत ६० भन्दा बढी देशमा काम गरिसकेको छ । एमसीसीकै विषयमा सामाजिक संजाल तथा पत्रपत्रिकामा धेरै खैलाबैला भएपछि नेपालस्थित अमेरिकन दूतावासले गत शुक्रबार यसै कम्प्याक्ट परियोजनाको विषयमा १० बुँदे जानकारीपत्र सार्वजनिक गर्दै परियोजनामा सैन्य गतिविधि लगायत अन्य कुनै अदृष्य प्रावधान नरहेको र नेपालको प्राथमिकता अनुसार नेपालकै नेतृत्वमा आर्थिक विकासका लागि कार्यान्वयन गरिने परियोजना रहेको जनाएको छ । अमेरिकी दूतावासले एमसीसीसम्बन्धि अमेरिकी कानुनले नै सैनिक संलग्नतालाई निषेध गरेको जनाकारी दिइसकेको छ ।

    सन् २०१२ बाट नै तयारी गरी विगतको नेपाली कांग्रेसको सरकारले अनुमोदन गरेको र संसदीय अनुमोदनको प्रतीक्षामा रहेको एमसीसी परियोजना नेपालमा सडक तथा बिजुली लाइन बिस्तार गर्ने सम्झैता हो । यस परियोजनाले समयमै कार्य सम्पादन नभए म्याद नबढाउने, नेपालको कानुनसँग बाझिनगए पनि सम्झौता कार्यान्वयन हुने, बत्तीको लाइनका विषयमा भारतसँग समेत सहमति लिने लगायत भ्रष्टाचारलाई अंकुश लगाउँदै पारदर्शिताका अन्य शर्तहरु रहेकाले अनुशासनको सीमामा बाँधेको छ । तर, नेपालको संविधानसँग बाझिने शर्त र सीमाहरू कार्यान्वयन नहुने यथार्थतासँग अमेरिकी सरकार जानकार रहेकाले नै यस परियोजनामा संसदीय अनुमोदनको समेत अपेक्षा राखिएको देखिन्छ ।

    एमसीसी कम्प्याक्ट कार्यान्वयन भएका अन्य देशको नालीबेली हेर्दा त्यहाँ गएर अमेरिकी सेनाले डेरा जमाएको या अरु कुनै राजनीतिक, सामरिक या हस्तक्षेपकारी नीतिको अभ्यास गरेको देखिंदैन ।

    सबैखाले सहयोग या अनुदानलाई राजनीतिक चस्माले हेर्नु कदापि उपयुक्त हुँदैन । हो विदेशबाट अनेक समयमा अनेकखाले सहायता आउने गर्दछन् । समय र परिस्थितिले वैदेशिक सहायताको भाकामा अनेक ताल र लय हुनसक्छन् । कतिपय सहायता दैविक विपत्तिको समयमा मानवीय भावनाले ओतप्रोत भएर आउँछ । सन् २०१५ को प्रलयकारी महाभूकम्पले विपत्ती लिएर आउँदा अमेरिका, युरोप, भारत, चीन लगायतका देशले मनवताको उच्चतम उदाहरण प्रस्तुत गर्दै मलम लगाएका थिए, अरबौं रुपैंयाको आपत्कालीन एवं पुनर्निमाणको सहायता मिलेको थियो । यो पहिलो प्रकारको सहायता हो । यस्ता सहायतामा प्रायः स्वार्थ लुकेको हुँदैन, स्वार्थ त केवल पिडितसम्म पुगोस् भन्ने हुन्छ । विदेशबाट आर्थिक एवं सामाजिक उन्नयनका लागि प्राप्त हुने एमसीसी जस्ता सहायता दोश्रो श्रेणीका सहायता हुन् । यस्ता सहायतामा आइएनजिओका गतिविधिहरु समेत पर्दछन् । यस्ता सहायतामा कार्यान्वयनका लागि केही सीमा र शर्त पनि हुने गर्दछन् । एमसीसीमा अमेरिकी सरकार आइएनजिओ तथा नेपाल सरकार एनजिओको भूमिकामा देखिन्छन् । यसै प्रकारका सहायतामा धर्म परिवर्तनका होली वाइन जस्ता पर्दाभित्रका गतिविधि पनि पर्दछन् । तेश्रो श्रेणीको सहायतामा सैन्य सहायता, गृहयुद्ध नियन्त्रण सहायता जस्ता केही विषय र अन्तर्राष्ट्रिय हस्तक्षेपको विशेष परिस्थितिमा प्रवेश तथा आक्रमणको गतिविधि हुने गर्दछन् । अमेरिका धेरै देशमा सैन्य क्याम्पको रुपमा पनि रही तेश्रो प्रकारको भूमिकामा समेत रहेको यथार्थ सबैलाई जानकारी नै छ । एमसीसीको यो विकाससँग सम्बन्धित दोश्रो प्रकारको परियोजनामा पर्दा पछाडिका अदृश्य गतिविधि या सैनिक प्रवेशका आशंका देखिंदैन । तर, नेपाली राजनेताको भेनेजुएलामा कलम चिप्लिएजस्तो नचिप्लिए हुन्थ्यो भन्ने आग्रह भने हुनसक्छ । अतः यो परियोजना संसदबाट परित गराउन सके एक चरणको उपलब्धि प्राप्त हुने र नेपालका सडक एवं बस्तीको विस्तारमा केही आयाम थपिने कुरामा कुनै द्विविधा लिनुहुँदैन । करिब ५५ अर्बको परियोजनामा नेपालीले कार्य गर्दा र त्यो रकम नेपालमा परिचालित हुँदा नेपाललाई केही राहत त पुग्ने नै छ । सत्य त के भने, भन्ने बेलामा मह काट्नेले हात चाट्छ भन्ने तर व्यवहारमा मह सबै आफै हसुरेर जनतालाई हातमात्र चटाउने भ्रष्टाचारले युक्त नेपाली योजना तथा परियोजना भन्दा एमसीसीमा केही नियमको लेपन जरmर छ । यसमा आफुखुसी टेन्डर खोली आफन्तलाई नै पार्ने र अनुगमन पनि आफैं गरेर ब्रम्हलुट गर्न भने त्यति सहज छैन । काम गर्ने मान्छेमा आफन्त भर्ना गर्न पनि कठिन नै होला । नेपालमा चलेका अधिकांश योजना अपारदर्शीरुपमा चलेका छन् या चुस्दाचुस्दा खोक्रो पारेर थन्क्याइएका छन् । यो दारुण अवस्था हाम्रो नेतृत्वको नसानसामा घोलिएको छ भन्ने यथार्थ अमेरिकाले पनि राम्रोसँग बुझेको छ । अतः अनुदान बालुवामा पानी हालेको जस्तो गर्न अमेरिका तयार छैन नै ।

    एनसीसीसँगै नेपालको विदेशनीतिमा पनि ध्यान दिनुपर्ने देखिन्छ । सयौं वर्षदेखि नेपालका महत्वपूर्ण परिवर्तनदेखि अति सामान्य विषयमा पनि भारतको हस्तक्षेपकारी भूमिका रहिआएको देखिन्छ । २००७ को परिवर्तन होस् या २०६२ तथा २०६३ को आन्दोलनका लागि दिल्लीमा गरिएको १२ बुँदे सम्झौता होस् सबैमा भारतले प्रमुख भूमिका खेलेको पाइन्छ । युरोप तथा अमेरिकाले पनि नेपाललाई भारतकै चस्माले हेरिरहेका थिए । अब समय परिवर्तित हुँदैछ विदेशनीतिको मामिलामा पनि । विशेषतः भारत, युरोप, अमेरिका र चीनको फरकफरक प्रभाव र चाहना प्रतिध्वनित भइरहेको हेखिन्छ । यी विदेशी चाहनाहरुलाई सन्तुलित र व्यवस्थित गर्दै अघि बढे नेपालले फाइदा पनि लिन सक्छ या नेतृत्वले खुट्टा कमाउँदा र आफ्नै डम्फुमात्र बजाउँदा काठ चिर्ने ठाउँमा गएको बाँदरको गति पनि हुनसक्छ ।

    एमसीसी योजनालाई नेपालको वर्तमान परिवेशमा अवसरको रुपमा लिनुपर्छ र निर्धारित समयमै कार्यसम्पादन गरी सहयोग गरेवापत अमेरिकालाई साधुवाद पनि दिनुपर्छ । अनि प्रतिज्ञा गर्नुपर्छ । अबको १० वर्षमा नेपाललाई माथि उल्लेख गरिएका कुनैपनि साहयता चाहिंदैन भनेर, आवश्यक पर्नेछैन भनेर । नेपाललाई अनुदानको आवश्यकता पनि नपरोस्, ऋण सहायताको पनि आवश्यकता नपरोस्, कहिल्यै कसैसँग भिखको कचौरा देखाउँदै घुम्न नपरोस्, हामी पनि परिआउँदा विदेशीलाई सहायता गर्न सकौं, कतै युद्ध या विपत्ती हुँदा मलम र राहत लिएर हामी पुग्न सकौं । अनुदान र रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई स्वतन्त्र, स्वाधीन, दरिलो अर्थतन्त्रको जग बसाल्न सकौं । विश्वलाई शान्ति र सम्वृद्धिको सन्देश दिन सकौं । यी सबै सम्भव गर्न दृढ इच्छाशक्ति एवं इमान्दार चरित्रको आवश्यकता पर्छ । उच्च राष्ट्रवादको नारा उराल्ने र समाजलाई विभाजित गरी; म खाउँ मै लाऊँ सुखसयल वा मोज म गरु,

    म हाँसू मै नाचूँ अरु सब मरुन् दुर्बलहरु भन्ने भावनालाई नै राज्य संचालनको मुख्य मन्त्र बनाएर त्यसैमा तानातान र हानाहान गर्ने सच्चा कार्यकर्ता उत्पादन गरिरहुञ्जेल हाम्रो अधोगति चलिरहन्छ । अनि अधोगतिर्मा दालमे कुछ काला है’ भन्दाभन्दै सबकुछ काला भइसकेको हुन्छ । आफूले गरे सबै सेतो देख्ने र डाडुपन्यौं चलाउन नपाए सबै कालो देख्ने दृष्टिभ्रम जबसम्म रहिरहला तबसम्म प्रगतिको फड्को मार्न कठिन छ । नेपाली विकास र चरित्रमा स्थिर र सक्षम हुनसकेमात्र राष्ट्रियता बलियो हुन सक्छ । अनि एमसीसी परियोजनाबाट पनि लामोछोटो हात नभएको शुद्ध ५५ अरब अनुदान भित्रिनेछ ।

  • फाईभजी, क्वान्टम कम्प्युटिङ र क्वान्टम टेलिपोर्टेसनको युग

    फाईभजी, क्वान्टम कम्प्युटिङ र क्वान्टम टेलिपोर्टेसनको युग

    धन लामा / कनेक्टिक्ट

    भर्खरै हामी ईस्वी संवतको नयाँ वर्ष २०२० मा प्रवेश गरेका छौं । सामान्य रुपमा हेर्दा यो प्रवेश पुरानो वर्षहरुमा जस्तै देखिन्छ तर विज्ञान र प्रविधिको दृष्टिले यो अत्यन्त महत्वपूर्ण छ । संख्याको दृष्टिले यो एउटा दशकको अन्त्य र नयाँ दशकको शुरुवात हो भने, विज्ञान र प्रविधिको विकासको दृष्टिमा यो अत्यन्त ठूलो छलांग हो । विज्ञान र प्रविधिको विकासको कुरा गर्दा कम्प्युटरलाई त्यसको बीचमा राखिएन भने त्यो सर्वथा अपुरो हुन्छ । कम्प्युटरको कुरा गर्दा पुस्ताको हिसाबले अहिलेको कम्प्युटरको प्रविधी र संचालन विधि पाँचौं पुस्तामा चलिरहेको छ । कम्प्युटर विज्ञानमा दश वर्षको अन्तराललाई प्रविधि विकासको दृष्टिले महत्व पूर्ण दशकको रुपमा हेरिन्छ । कम्प्युटरको विकासमा सन् १९४० देखि सन् १९५६ बीचको अवधिलाई कम्प्युटरको पहिलो पुस्ताको रुपमा लिईन्छ । यो दशक आफैमा दोस्रो विश्व युद्धको शुरुवात र अन्त्यको युग हो । शक्ति राष्ट्रहरुको बीचमा आफूलाई शक्तिशाली सावित गर्न र युद्धमा जीत हासिल गर्न पनि प्रविधी विकासको अनिवार्यता बोध भएको हुनुपर्दछ । भ्याकुम ट्युवद्वारा निर्मित सर्किटबोर्ड र मेमोरीको लागि म्याग्नेटिक ड्रमहरु प्रयोग गरेर बनाईएको कम्प्युटर नै पहिलो पुस्ताको कम्प्युटर थियो । एउटा विशाल कोठा नै भरिने  यो कम्प्युटर निक्कै भद्दा र ठूलो हुन्थ्यो । आकारको दृष्टिले विशाल, कार्य सम्पादनको दृष्टिले धेरै ढिलो र छिट्टै तातो हुने समस्या विद्यामन भएता पनि कम्प्युटर विकासको ईतिहाँसमा यो एउटा कोशेढुंगा नै थियो ।

     

    सन् १९५६ देखि १९६३ को बीचमा भ्याकुम ट्युबलाई विद्युतीय ट्रान्जिस्टरहरुले प्रतिस्थापन गर्यो । कम्प्युटर विकासको यो चरणमा कम्प्युटर प्रोग्रामको बाइनरी कोडमा आधारित कम्प्युटरको हार्डवेरसंग अन्तरक्रिया गर्ने भाषाको ठाउँ एसेम्बली ल्याङ्ग्वेजले लियो, त्यसपछि कम्प्युटरका प्रोग्रामिङ कोडहरु मानिसले बुझ्ने भाषामा लेख्न सम्भव भयो । यसैको आधारशिलामा कोबोल र फोर्ट्रान जस्ता हाई लेभेल प्रोग्रामिङ ल्याङ्ग्वेजहरुको जन्म भयो । यो चरणमा कम्प्युटरको मेमोरीमा  म्याग्नेटिक ड्रमको ठाउँ म्याग्नेटिक कोरमा आधारित मेमोरीले लियो । यो चरणमा आईपुग्दा कम्प्युटरको आकार भ्याकुम ट्युब कम्प्युटरको तुलनामा धेरै गुणा सानो भैसकेको थियो भने धेरै तातिने समस्यामा प्रशस्त सुधार भएको थियो तथापि कम्प्युटर भएको ठाउँमा एअरकन्डिसन राख्नु पर्ने समस्याबाट भने छुटकारा मिलिसकेको थिएन । सन् १९६४ देखि १९७१ को अवधिलाई कम्प्युटर विकासको तेस्रो पुस्ता मानिन्छ । यो अवस्थामा आईपुग्दा सयौं ट्रन्जिस्टरहरुलाई एउटा सानो इण्टिग्रेडेड सर्किट बोर्डमा आवद्ध गर्न सकियो र यसले गर्दा कम्प्युटर ‘डेस्कटप-कम्प्युटर’ को आकारमा ल्याउन सम्भव भयो । आकारमा सानो, कार्य सम्पादनको दृष्टिले तेज र किबोर्ड तथा मनिटर डिस्प्लेसंग अन्तरक्रिया गर्नसक्ने क्षमता भएको हुनाले कम्प्युटरको यो पुस्ता कम्प्युटरको विकासमा एक महत्वपूर्ण छलांग थियो । सन् १९७१ देखि २०१० को अवधिलाई कम्प्युटरको चौथो पुस्ता मानिन्छ, यो कम्युटरको ईतिहाँसमा माईक्रोप्रोसेसरको युग पनि भनिन्छ ।  कम्प्युटर चिप निर्माता कम्पनी इन्टेलले इन्टेल ४०००४ माईक्रोकन्ट्रोलर चिपको निर्माण संगै कम्प्युटर विकासको ईतिहाँसमा आमुल परिवर्तन ल्याईदियो । एउटा सिंगल चिपमा केन्द्रीय प्रशोधनशाला (CPU), मेमोरी इनपुट र आउटपुट कन्ट्रोलर समाहित गर्न सम्भव भएकोले १९४० को दशकमा एउटा सिंगो कोठामा भरिने कम्प्युटरको उपकरणहरु हत्केलामा अट्ने भयो । जसरी एउटै इण्टिग्रेटेड सर्किट्मा हजारौं ट्रन्जिस्टरहरु समाहित गर्न सम्भव भयो त्यस्तै गरी एउटै चिपमा हजारौं  इण्टिग्रेटेड सर्किटहरु अटाउन सकिएकोले कम्प्युटर निर्माता कम्पनी आई बि एम (IBM) ले सन् १९८१ मा घरायसी व्यक्तिगत प्रयोजनको कम्प्युटरको उत्पादन शुरु गर्यो सन् १९८४ मा कम्प्युटर निर्माता कम्पनी एपलले पहिलो Macintosh कम्प्युटर प्रस्तुत गर्यो । माईक्रोप्रोसेसर या माईक्रोकन्ट्रोलरको विकासले कम्प्युटरको विकासलाई मात्र आमूल परिवर्तन गरेन कि मानवीय जीवनका अनेक आयामहरुलाई प्रभावित पार्यो । जसै माईक्रोकन्ट्रोलर/माईक्रोप्रोसेसर आकारमा सानो हुँदै गयो हातमा बोक्न मिल्ने मोबाईल फोन, झोलामा बोक्न मिल्ने ल्यापटप, ट्याबलेट, ई-रिडर किन्डल लगायत अनगिन्ती उपकरणहरुको विकासमा यसले मार्ग प्रसस्त गर्यो ।  सन् २०१० देखि हाल सम्मको अवधि कम्युटरको विकासमा आर्टिफिसियल ईण्टेलिजेन्सको दशक मानिन्छ, यसै अवधिमा विश्व संचारको क्षेत्रमा इन्टरनेट (सामाजिक) संजाल र कम्प्युटर हार्डवेर र सफ्टवेरको चरम विकासले सिंगो विश्वलाई नै एउटा सानो भर्च्युअल गाउँ बनाई दिएको छ । कम्प्युटर विज्ञानले आजको अवस्थासम्म आउन धेरै कठिन र अप्ठ्यारा मोडहरु पार गरेको छ, भनिन्छ नी ! आवश्यकता नै आविष्कारको जननी हो, हो त्यस्तै गरी केही आवश्यकताले, केही जिज्ञासा र कौतुहलताले नवीनतम वैज्ञानिक आविष्कारहरुको जन्म दिएको छ । 

     

    माईक्रोप्रोसेसरको विकास संगै हरेक वर्ष यो आधुनिक र जटिल हुने क्रममा छ । जत्ति जत्ति यो परिस्कृत र जटिल हुँदै छ त्यति नै धेरै व्यवस्थापनका चुनौतीहरु पनि थपिंदै गएका छन् । प्रसिद्ध हवाईजहाज कम्पनी बोईङको एउटा मोडेल बोईङ ७३७ म्याक्सको  Maneuvering Characteristics Augmentation System (MCAS) भन्ने फ्लाईट कन्ट्रोल सिस्टममा आएको सफ्टवेरको समस्यालाई लिन सकिन्छ । जुन समस्याको भरपर्दो समाधान हाल सम्म पनि ननिस्केकोले गत वर्षको मार्च ११ देखि बोईङ ७३७ म्याक्स मोडेलका हवाई जहाजहरु हाल सम्म ग्राउण्डेड रहेका छन । ढिलो वा चाँडो कम्प्युटर विज्ञ र सफ्टवेर ईञ्जिनियरहरुले समस्याको समाधान निकाल्ने छन भन्ने कुरामा त शंका छैन तर जत्ति ढिलो हुँदै जान्छ उत्तिनै कम्पनीको विश्वसनियतामा ह्रास आउँछ भने, कम्पनीले ठूलो आर्थिक घाटा व्यहोर्नु पर्ने हुन्छ । बढ्दो तथ्यांकको समय सापेक्ष प्रशोधन र भण्डारणको आवश्यकताले विश्व एकातिर कम्प्युटर विकासको सर्वथा नयाँ युग क्वान्टम कम्प्युटिङको युगमा प्रवेश गर्ने जमर्को गर्दैछ भने अर्को तिर अबको केही वर्ष भित्र नै मोवाईल डाटा कम्युनिकेसनको क्षेत्रमा 5G याने पाँचौं पुस्तामा प्रवेश गर्दैछ । द्रुत गतिको मोबाईल डाटा कम्युनिकेसनको सर्वसुलभता संगै चालक विहीन गाडी, चालक विहीन ड्रोनहरु, भर्च्युअल कार्यालय, टेलिमेडिसिन, कृतिम मानव, अग्मेण्टेड रियालिटी, भर्चुअल लर्निङ्ग लगायत मानवजीवन र व्यवहारका अनगिन्ती आयामहरुमा आमुल परिवर्तन ल्याउने छ । क्वान्टम कम्प्युटिङको कुरा साधारणत: कम्प्युटरले कसरी काम गर्छ भनेर बुझ्नु पर्ने हुन्छ । कम्प्युटर र यसको कार्यप्रणाली ब्रह्माण्ड जत्तिकै विशाल किन नहोस, कम्प्युटरले मानवीय भाषा बुझ्न सक्दैन । हाल प्रचलनमा रहेको कम्प्युटरले तथ्याङ्कहरुलाई आधारभूत इकाई बिट्समा इन्कोड गर्छ जहाँ प्रत्येक बिट्सले एक वा शुन्यलाई प्रतिनिधित्व गर्दछ । बिट भन्नाले तथ्याङ्क भण्डारणको अत्यन्त सुक्ष्म (atomic) इकाई हो । एक बिटले शुन्य ० वा १ लाई भण्डारण गर्दछ । कम्प्युटर चिप याने माईक्रोप्रोसेसरको तहमा विद्युतीय चार्ज ०/१ हुन्छ भने कम्प्युटरको हार्ड ड्राईभमा उत्तर र दक्षिण ध्रुवलाई ०/१ ले प्रतिनिधित्व गर्दछ ।  बिट अत्यन्त सानो इकाई भएको हुनाले यसको अर्थपूर्ण या व्यवहारिक प्रयोग हुँदैन र आठ वटा बिटको एक बाईट हुन्छ । यसरीप्रचलित कम्प्युटर प्रणालीले एक स्पष्ट परिभाषित सिद्धान्तमा आधारित भएर कार्यसम्पादन गर्दछ भने क्वान्टम कम्प्युटरमा एक बिटले एक, शून्य वा दुवैको एकीकृत अवस्था (combination) को प्रतिनिधित्व गर्दछ । त्यो एकीकृत अवस्था (combination) लाई क्वान्टम सुपर पोजिसन भनिन्छ ।  यही क्वान्टम प्रोपर्टी सहितको बिट्सलाई क्यूबिट्स भनिन्छ । क्वान्टम कम्प्युटरको यो लगायत अन्य प्रोपर्टिजहरुको कारणले क्यूबिटको माध्यमद्वारा अत्यन्त तेज गतिमा र असिमित सम्भावनाहरुका साथ तथ्याङ्कहरुको प्रशोधन गर्न सकिने देखिएको छ । तथापि क्वान्टम कम्प्युटर हाम्रो वर्तमानको यथार्थ भईसकेको छैन तर निकट भविष्य हो भन्ने तथ्य क्रमश: उजागर हुने क्रममा छ । एकातिर क्वान्टम कम्प्युटिङ मार्फत विश्व प्रविधीको नयाँ क्षितिज देखिरहेको छ भने अर्को तिर क्वान्टम टेलेपोर्टेसनको माध्यम द्वारा प्रचलित संचारको विधी र क्वान्टम ईण्ट्याञ्जल्मेण्टको एकिकृत उपयोगद्वारा क्वान्टम इन्फर्मेसन स्थान्तरण तर्फ विज्ञान अगाडि बढ्दै छ ।

  • रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु

    रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु

    अर्जनप्रसाद मैनाली
    विश्वरक्तदाता

    रक्तदानको सिलसिलामा रमाईला क्षणहरु अक्सर आईरहन्छन् । एकपटक रक्तदानस्थलमा थुप्रै मानिसहरु भेला भएका थिए । कतिपयले “बिगतमा गरेका पापहरु रगत दान गरेर कसैको जीवन बचाउन सहयोग गरी सबै पाप पखाल्नु पर्यो” भनि ठट्टा गर्दै थिए । केही साथीहरु ‘मलाई त उच्च रक्तचाप छ, औषधी सेवन गरिरहेको छु,’ भन्दै रक्तदान गर्न मिल्दैन भन्दै थिए । कतिपय आफुलाई ब्लडसुगर र कोलेस्ट्रोल छ भन्दै आनाकानी गर्दै थिए । अझ एकजनाले ‘कसैको मुटुमा बास बस्न मन छ भने सबैभन्दा सजिलो उपाय भनेको रक्तदान गर्नु हो’ भनेर त्यहाँ उपस्थित भएकाहरुलाई हौसला प्रदान गर्दै थिए । आपसमा रमाइलो गर्दै, रक्तदान लेखिएको ब्यानर, रक्तदाताहरुको नाम लेखेको कपी, चिया पानी, खाजा, फलफूलहरु र प्रमुख अतिथिका लागि फूलका गुच्छाहरु ईत्यादी तयार थियो ।

    उपस्थित मध्ये एकजनाले अर्जुन मैनालीबाटै आजको रक्तदान शुभारम्भ गरौं भन्ने प्रस्ताव गर्नु भयो । मैले इन्कार गर्ने कुरै थिएन् । हुन्छ भनें । स्वास्थ्य परिक्षण लगायत आधारभूत प्रकृया पुरा भएपछि मैले रक्तदान गरे । 

    रक्तदान गर्नको लागि सम्भावित रक्तदाताहरु पालो कुर्दै लाइन लागेर बसेका थिए । त्यहाँको माहोल कुनै कार्यालयमा जागिरको अन्तर्वार्ताका लागि प्रतिक्षारतहरुको जस्तै थियो । स्वास्थ्य परिक्षणमा अनुतीर्ण भएकाहरु फर्किने बेला खिन्न देखिन्थे । त्यो पनि उनीहरु अर्को पटक रगत दान गर्न मिल्ने आश बोकेर फर्किरहेका थिए ।

    त्यस दिन झन्डै १०० जना नेपालीहरु रगत दान गर्न तयार थिए । जम्मा ३९ जनाले रगत दान गर्न भ्याए । रक्तदान कार्यक्रम पश्चात त्यसै दिन रगत दान गर्ने सबैलाई सम्मान सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । यो घटना थियो, सेप्टेम्बर २५, २००८ मा न्युयोर्कको नेपाली समुदायमा किराँत याक्थुंग चुम्लुङ्ग संस्थाबाट पहिलो पटक संस्थागत रुपमा आयोजित रकतदानको ।

    यसको पनि रमाईलो प्रसंग छ । रक्तदान आयोजना गर्न संस्था त तयार थियो तर रक्तदान कार्यक्रम आयोजना गर्नु त्यति सजिलो थिएन । पहिलो त कम्तिमा ३५ जना सम्भावित रक्तदाताहरुको नाम संकलन गर्नु थियो । अर्को कुरा करिब १२ सय स्क्वायर फिट क्षेत्रमा फैलिएको उज्यालो (बिजुली बत्ति) धारा, बाथरुम, वेसमेन्ट वा दोश्रो तल्लामा भए लिफ्टको सुबिधा भएको हल चाहिने रहेछ । उक्त हल खोज्दै म लंग आइल्याण्डदेखि करिब ५-६ पटक ज्याक्सन हाइट, उडसाइड, सन्नी साइड आदि स्थानहरुका स्कुल, चर्च, लाइब्रेरीमा पुगेँ । हामीलाई सार्वजनिक यातायातको सुबिधाको पहुँच भएको र दिनभरका लागि हल आवश्यक थियो । निशुल्क रुपमा चाहिने मापदण्ड अनुसारको हल पाउन सकेनौं । अन्त्यमा पैसै तिरेर भएपनि हल बुक गर्यौं ।

    ११ देखि ४ बजेसम्मको अवधिमा हरेक ५ मिनेटको फरकमा रक्तदान गर्नेहरुको नाम संकलन गरियो । रक्तदान कार्यक्रमको ब्यानर, रक्तदाताहरुको लागि सर्ट, प्रसंसा पत्र, खाजाको ब्यवस्था, रक्तदान कार्यक्रम स्थलको लागि स्वयंसेवकहरुको बन्दोवस्त पनि भयो । रेडक्रसका प्रतिनिधिहरुले रक्तदाताहरुको नाम लेख्ने ठाउँ, रक्तदाताहरुले रक्तदानका वारेमा सामान्य जान्नैपर्ने कुरा पढ्ने ठाउँ, स्वास्थ्य परिक्षण, रक्तदान गर्ने ठाउँ अनि रक्तदान गरी सकेपछि आराम गरेर खाजा खाने ठाउँ लगायत सबै तयारी पुरा भएपछि करिब १०:३० बजे तिर रगत दान गर्न नेपालीहरुको आउने क्रम सुरु हुन थाल्यो । आयोजक लगायत हामी सबै रमाउन थाल्यौं ।

    त्यसपछि पनि अन्य संस्थाहरुलाई रक्तदानको लागि घच्घच्याईरहें । त्यसपछि अर्को रक्तदान कार्यक्रम नेपाली जन सम्पर्क समिति न्युयोर्कको आयोजनामा डिसेम्बर २८, २००८ मा सोही स्थानमा गर्ने सल्लाह गर्यौं । पछि-पछि अन्य बिभिन्न नेपाली संघसंस्थाहरुले समेत रक्तदानका कार्यक्रम आयोजना गर्न थाले । यसरी रक्तदान गर्न अभिप्रेरित गर्दै सम्भावित रक्तदाता र ब्लड डोनर सेन्टर बीच एक पुल बन्ने मेरो कोशिस सफल भएको अनुभव गरें । आज यहाँसम्म आईपुग्दा नेपाली समुदायमा रक्तदानलाई पुण्यकर्मको रुपमा लिन थालेका छन् । जन्मदिनको अवसरमा रगत दान गर्नेहरुमा मनग्य भेटिन थालेका छन् । यो सबै देख्दा मनैदेखि खुसी हुन्छु ।

  • टसमस गरिनन् शिवमाया, नेकपालाई सकस

    टसमस गरिनन् शिवमाया, नेकपालाई सकस

    काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्न नमानेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संकटमा फसेको छ ।

    उपसभामुखलाई राजिनामा गर्न लगाएर सभामुखमा आफ्नो पार्टीबाट माथिल्लो तहका नेता राख्ने र उपसभामुख विपक्षि दललाई दिने रणनीतिमा शिवमाया तगारो बनेकी छिन् ।

    उनले आफूलाई हटाएर देखाउन चूनौति दिँदै राजिनामा नगर्ने बताएकी हुन । उनको शर्त भने आफू सभामुख हुनु पर्ने रहेको छ । त्यसका लागि आफू योग्य रहेको उनको दावि छ ।

    नेकपा शीर्ष नेतृत्वले शिवमायालाई विश्वासमा लिन नसक्नु र शिवमायाले समेत पदमा अडान कायम राख्दा भने यतिबेला प्रतिनिधिसभा एक दलका कारण अनिर्णयको बन्दी बन्न पुगेको हो ।

    प्रतिनिधिसभा बैठक ६ माघसम्मका लागि स्थागित भएको छ ।

    तुम्बाहाम्फेले मंगलबार एक समाचार एजेन्सीलाइए दिएको अन्तरर्वार्तामा नेकपाले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेकाले आफू राजीनामा दिन तयार रहेको भन्दै तर राजीनामा दिँदा मैदान खाली हुन्छ भन्ने कल्पना नगर्दा हुने चेतावनी दिएकी छिन् ।

    उनले राजनीतिक दलबाट सभामुखको उम्मेदवार तय भएपछि सभामुख निर्वाचन प्रक्रिया सुरु गर्नु केही मिनेट अगाडि मात्र आफूले जेष्ठ सदस्यलाई राजीनामा बुझाउने बताएकी छिन् ।

    संसद केही मिनेटका लागि मात्र नेतृत्वविहिन हुने भन्दै उनले नेकपाले आफ्नो राजिनामा माग्न नसक्ने उल्लेख गरेकी छिन् ।

    संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक फरक दलबाट हुनुपर्छ र त्यसमा पनि एक महिला हुनुपर्छ भन्ने प्रावधान छ ।

    नेकपाले आफ्नो विवाद मिलाउन सकेन भने यो पद कांग्रेसलाई दिनुपर्ने हुन्छ ।

  • सभामुख सकस : ओली प्रचण्डको असफलता

    सभामुख सकस : ओली प्रचण्डको असफलता

    आर एल श्रमजीवी / क्यालिफोर्निया

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको १९ महिना बितिसक्दा पनि हाल सभामुखको चयन गर्न नसकेकोमा यी दुई पार्टीमा एकता भए पनि मन नमिलेको प्रष्ट हुन्छ । संसद् सचिवालयको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराको पद नै गएको थियो । अदालतको फैसलापछि महरा अहिले डिल्लीबजार खोरमा छन् । बलात्कारीको आरोपपश्चात् महराले पदबाट राजीनामा दिएपछि सभामुखको पद रिक्त भएसँगै सो पदका लागि

    पूर्व एमाले र पूर्व माओवादी केन्द्रको हानथाप छ । दुवै पक्षका नेताले आफू सभामुख बन्न पाउनु पर्ने दाबी गरे तापनि अहिलेसम्म कोही कसैले पनि नपाएको अवस्था छ । यसो हुनुमा दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचको टकराव हो । सभामुख सकसबाट उम्कन पूर्वमाओवादीलाई ओलीको भर छ, तर पूर्वएमालेलाई प्रचण्डको डर छ । त्यसैले अहिले एमाले खेमाबाट सुवासचन्द्र नेम्वाब सभामुख बनाइने जति नै चर्चा चले पनि नेम्वाब सभामुख बन्न सकेका छैनन् । पूर्व माओवादी केन्द्र भन्छ— पार्टी एकता पूर्ण नभएका बेला यो सभामुख पद हाम्रो भागको हो, हामीले पाउनुपर्छ भन्दै पूर्व माकेहरु अग्निप्रसाद सापकोटाको पक्षमा लविब गरिरहेका छन् । त्यसैले पनि ओली र प्रचण्डलाई सभामुख छान्ने काम पेचिलो भएको हो । सभामुख आफ्नो पक्षको भए आफ्ना कुरा पास हुने भन्ने विश्वास दुवै खेमाको छ । झन् अमेरिकाले सैन्य रणनीतिअनुसारको आर्थिक सहयोग एमसीसी यो सांसदबाट पास गराउने एउटा असल सेवकको खाँचो प्रम केपी ओलीले महसुस गरेका छन् । आर्थिक रणनीतिअनुसारको यो अमेरिकी सहयोगको विषयलाई लिएर नेपाली कांग्रेसमा समेत एकमत छैन ।

    संबिधान अनुसार सभामुख र उपसभामुख दुई अलग पार्टीको हुने ब्यबस्था छ । एमाले र माओवादी केन्द्र नेकपा हुनु भन्दा अघि दुई पार्टी थिए । अहिले दुइ पार्टीमा दुई पद दिनु पर्ने अर्को सकस छ । बिशेष सुत्रका अनुसार उपसभामुख शिवकुमारी तुम्बाहाम्फेले आफ्नो पदबाट राजिनामा दिन मानेकी छैनन् यो पनि महासकस नेकपा भित्र रहेको बताइन्छ । कुरा जे भएपनि नेकपा भित्र भावनात्मक एकता छैन । दुइ पार्टीको एकता सत्ता स्वार्थ भन्दा माथि केही होइन भन्ने कुरा हिउँदे  अधिवेशनलाई सभामुख नदिएर संसद नै बन्धक बनाएको कुराले स्पष्ट हुदैन र ?

    ओली–प्रचण्डको असफलता समयमै सभामुख चयन गर्न नसक्नु नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डको असफलता हो । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकार गठन भएको २५ महिना पुग्दा पूर्ण असफल भएको छ । यो असफलता छेक्न, लुकाउन धेरै उखान टुक्का भनियो, अर्कातिर मन्त्रिपरिषद् पुनर्गठनसमेत गरियो । पहिलो गठनमा सरकारमा पुगेका नराम्रा मन्त्री निकालिनु पथ्र्यो, तिनीहरुलाई निकालिएन । जसलाई निकाल्नुपर्ने हो, तिनीहरुलाई निकालियो र जो पुनर्गठनमा पर्नुपर्ने थियो, तिनीहरु पर्दै परेनन् । सरकार गठनताका ओली सरकारले गरेका प्रतिबद्धता पूरा गर्न आजसम्म पूरा गर्न सकेको छैन । ठेकेदारसँग घूस माग्ने मन्त्रीलाई हटाएको छैन । जथाभावी बोल्ने, निर्मला हत्यारालाई पक्रन नसक्ने, सुन तस्कर समात्न नसक्ने मन्त्रीलाई नहटाउने तर जनताको आँखामा प्रिय ठानिएका मन्त्रीलाई गलहत्याउने ओली सरकारको पूर्ण असफलता हो । देशको अखण्डतामा भारतले धावा बोलेका बेला जनताको ध्यान मोड्न यो हेरफेर हो भनेर सचेत नागरिकले बुझेका छन् । मेलम्चीको पानी ल्याउन सकेको छैन, काठमाडौँ धुलाम्य छ, खाल्डाखुल्डी धेरै छन् । बुढाबुढीलाई ५ हजार दिन्छु भनेको फुस्सा भएको छ । तुइन हटाउँछु भनेको पनि कति भो ? पानीजहाज र रेलका कुरा छोडौं, यो २५ महिनामा सरकारले महँगी रोक्न सकेको छैन देश झन् लथालिङ्ग भएको छ । नेकपामा बबण्डर छ । पार्टीभित्र सरकारका काम–कारबाही बारेमा छलफल भएको छैन । बल्ल ओली र प्रचण्डको शक्ति बाँडफाड भएको छ । ओली सरकार प्रमुख अनि प्रचण्ड पार्टीको कार्यकारिणी प्रमुख भएको घोषणा गरिएको छ । मन्त्रीहरुको हेरफेर होस् वा ओली र प्रचण्डको शक्ति बाँडफाडले नेकपामा भावनात्मक एकता अहिलेसम्म हुने छाँटकाट छैन । सरकार र पार्टीबीचको टकराव निम्त्याउने खतरा बढेको छ । झन् सभामुख चयन गर्न नसक्दा गलत सन्देशहरु पार्टी इकाईदेखि केन्द्र र अन्तर्राष्ट्रिय जगतमा समेत पुगेको छ ।

    ओली सरकारको अब मात्र ३ वर्ष कार्यकाल बाँकी छ । जसरी दुई वर्ष उखान टुक्का र हावा कुरामै बित्यो, अब समय बित्न केही बेर लाग्दैन । तीन वर्षमा धेरै काम गर्न सकिन्छ, तर तस्कर, भ्रष्ट कर्मचारी, बिचौलिया, ठेकेदारकै कारण यो सरकारले केही काम गर्न नसकेको प्रष्ट भइसकेको छ । सरकारले देश मिचिएको सीमा जोगाओस्, जनताका आवश्यकता पूरा गरोस्, महँगी रोकोस्, मुलुकबाट युवा पलायन हुने अवस्थाको अन्त्य गरोस्, देशमा रोजगारीको अवस्था सृजना गरोस् तब मात्र जनतालाई ओली नेतृत्वको सरकार सफल भएको महसुस हुनेछ ।

  • अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाेले दिलाएकाे क्षतिप्रति गहिराे दुखानुभूति

    अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाेले दिलाएकाे क्षतिप्रति गहिराे दुखानुभूति

    सुपेन्द्र बस्नेत / बोष्टन

    सृष्टिकाे भरपुर  ब्याख्या गर्ने सबैभन्दा पुरानाे दस्तावेज हाे – धर्मशास्त्र । अनि मानव सभ्यता बिकासकाे जग , मेरुदण्ड र ऐतिहासिक धराेहर पनि मानिन्छ, धर्मशास्रलाई । चाहे त्याे जुनसुकै धर्म किन नहाेस् । जसले मानवलाई  प्राणी जगतमा सर्वाेकृष्ट, चेतनशील, बुद्धिमानी, पराेपकारी प्राणी र प्राणी जीवन चक्रकाे सबैभन्दा उत्तम चाेला हाे भनेर ब्याख्या गर्दछ । यसलाई केही हदसम्म बिज्ञानले पनि स्विकार गरेकाे छ ।त्यसैले भनिन्छ कि मनुष्य चाेला पाउनुमा गर्व गर्नु पर्दछ। समाज र धर्मशास्त्रले  घाेटी घाेटी अजम्मरी बुटी भए झैं यस्तै शिक्षा दिलाएर धेरथाेर दिक्षीत पारेकाे पात्रहरु मध्यकै एक पात्र हुँ म पनि । तर समाजमा घटेका केही घटनाहरुले कहिले काही प्राप्त दिक्षाप्रति नै संका उब्जाउदछ र बर्गेल्ती प्रश्नहरु जन्माउदछ । अनि भगवानप्रतिकाे आस्था, विस्वास र आड भराेसा डगमगाउन पुग्दछ । जाे यतिखेर मैले अनुभूति गरिरहेकाे छु । यधपी यही र उस्तै परिवेसमा रहेर भगवानप्रतिकाे आस्था,विश्वास र आडभराेसामा तत्काल पारपाचुके गरेकाे फैसला गरेर पुर्णबिराम लगाई हाल्ने आँट भने अझै जुटिसकेकाे छैन । अस्ट्रेलियाकाे जंगलमा  त्यही सर्वाेकृष्ट मानिएकाे मानिसकै कारण लागेकाे डडेलाेले लाखाैं निरथत्था प्राणीकाे ज्यान गएकाे छ र ज्यान जाने क्रम अझै जारी नै छ । आखिर हामीले सुनेकाे र बुझेकाे झै सबै तजबिजीकाे हकदार भगवान हाे भने कसैकाे पनि भलाे नहुने यस्ताे अप्रीय घटना किन घटाइयाे वा घटी सकेपछि पनि  किन राेकिएन ?  प्राकृतिक नियम अनुसार नै बाँची रहेका जीवजन्तुहरुकाे अकालमा किन ज्यान लिइयाे ? मानवले मानवता किन गुमाउदै छ ? खाेई त भगवान ? यी र यस्ता प्रश्नहरुबाट म अनुत्तरित छु । कतैबाट टालटुले जवाफ पाइए पनि धार्मिक शास्त्रकै परिधि भित्र रहेर यथाेचित चित्तबुझ्दाे जवाफ दिन धुरन्धर धार्मिक  ब्याख्याकारहरुलाई पनि निकै ठुलाे संकट परेकाे छ। 

    मानिस स्वभावैले र सामाजिक परिवेशले हरपल सुख प्राप्तिका लागि भाैंतारी रहन्छ । तर ऊ मानसिक भन्दा पनि भाैतिक सुखमा केन्द्रित रहन्छ । भाैतिक सुख प्राप्त भए पछि मात्र मानसिक सुख प्राप्ति हुन्छ र यही सुखकाे उत्कर्षमा आनन्दानुभूति प्राप्त गर्न सकिन्छ भन्नेमा आम मानिस विश्वास गर्दछन् । जाे आनन्दमय जीवनयापन गर्ने भ्रमित मार्ग हाे भन्ने मलाई लाग्दैछ। त्यही जिन्दगीकाे अन्तिम लक्ष्य ‘आनन्दमय जीवन’का खातिर एक पछि अर्काे गरी उब्जिएका सुखकाे मृगतृष्णा मेटाउने लालसामा मानिस जानी नजानी बिनासकारी कदम चाल्न पुग्दछ। जसले गर्दा ढिलाे चाँडाे ऊ पनि समाप्त हुन्छ र अरुलाई पनि समाप्त पार्दछ । यी र यस्ता निन्दनीय कार्यहरुका कारण मानव चाेलाप्रति ढुक्क भएर गर्व गर्ने आँट आउदैन । 

    त्यसकाे ज्वलन्त उदाहरण बनेकाे छ यतिबेला अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाे । सन् २०२० काे प्रारम्भसंगै बिश्वकै लागि अत्यन्तै दुःखदायी घटनाका रुपमा चित्रण भैरहेकाे याे अकल्पनीय घटनाले अष्ट्रेलियाले त महासंकट ब्यहाेर्नु परिरहेकाे छ नै । यसकाे अलावा यसले बिश्व पर्यावरणमा पनि ठुलाे प्रभाव पार्ने निश्चत् नै छ । जाे सम्पूर्ण सृष्टिका लागि घातक शिद्ध हुने नै छ । अर्काे तिर एक नेपाली भएकाे  हैसियतले देशकाे हितार्थ साेच्नु पर्दा  देशले ठुलाे संख्यामा विदेशीहरुलाई नेपाल भित्र्याउने महत्वाकांक्षी लक्ष्य लिएकाे ”नेपाल भ्रमण बर्ष २०२०” पनि प्रभावित हुनेमा कुनै संका छैन । जाे सफल पार्नमा अष्ट्रेलियाकाे भूमिका महत्वपूर्ण रहन्छ भन्नेमा दुई मत छैन । अष्ट्रेलियासंगकाे  सुमधुर दाैत्यसम्बन्ध, त्यहाँ रहेका नेपालीहरुकाे संख्या, भ्रमण बर्ष प्रभावकारी बनाउन हुदै गरेका गतिविधिहरु लगायतले पनि यसलाई पुष्टी गर्दछ । 

    सञ्चार माध्यमहरुले जनाए अनुसार गत सेप्टेम्बर ,२०१९ मा जंगल फडानी गरेर खेतीयाेग्य जमीन बिस्तार गर्ने क्रममा असावधानीपूर्ण तरिकाले लगाइएकाे आगाे समयमै नियन्त्रण गर्न नसक्दा ५९ लाख हेक्टर जमीनलाई प्रभावित पारेकाे डडेलाेले हालसम्म २३ जनाकाे मृत्यु, झण्डै ५० कराेड बन्यजन्तुकाे बिनास, दुई हजार ६ सय बढी घर र कयाै प्रजाति बनस्पति नष्ट भै सकेका छन्। जाे क्रम अझै जारी नै छ ।याे बिश्कै लागि अत्यन्तै दु:खदायी र अपूर्णीय क्षति हाे ।सार्वजनिक भएका याे घटनासंग सम्बन्धित तस्विरहरु अत्यन्तै हृदयविदारक र करुणादायी रहेका छन् । मानवताकाे नाताले जाे काेहीलाई यस्ता तस्विरहरुले पिडाबाेध गराउनु स्वभाविक नै हाे । जसबाट म पनि अछुताे रहन सकिन । यसबाट बिश्वले पाठ सिक्नु जरुरी छ । 

    यति मात्र हैन एउटा नेपालीकाे नाताले ”जुन देशमा लाखाै नेपालीहरु सुन्दर र उज्वल भविश्यकाे खाेजिमा भाैतारी रहेका छन् ,जहाँ जान नेपालीहरु प्राथमिकताका साथ लालाहीत भै रहेका छन् र जसकाे भूमिका नेपाल र नेपालीकाे उज्वल भविश्यका लागि महत्वपूर्ण छ” त्यही ठाँऊमा घटेकाे अप्रिय घटना भएका कारण पनि तुलनात्मक रुपमा आत्मीयपनले बढी चासाे र चिन्ता लागेर दुःखी र पिडाबाेध गराएकाे छ । जाे स्वभाविक पनि हाे ।याे अकल्पनीय दुःखद घडिमा पिडादायी घटनाप्रति गहिराे दु:खानुभूति प्रकट गर्दै असामयिक दिवङ्गत मानव तथा बन्यजन्तुकाे आत्माकाे चीर शान्तिकाे कामना सहित हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु ! साथै याे विपतमा जुट्ने सबैलाई हृदयदेखि नै छड्के सलाम गर्दै घाइतेहरु (मानव तथा बन्यजन्तु )  काे सिघ्र स्वास्थ्यलाभकाे कामना सहित यथासिघ्र संकट  माेचनका लागि भगवानसंग प्रार्थना गर्दछु !

  • रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु

    रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु

    अर्जुनप्रसाद मैनाली
    विश्व रक्तदाता

    मैले सन् १९८५ र ८६ तिर कलेजमा ‘द ब्लड डोनर’ भन्ने पाठ पढेको थिएँ ।त्यो पाठमा एक जना अमेरिकी रक्तदाता थोमसले आफ्नो रगत दिएर धेरैलाई बचाएको मर्मस्पर्शी अभिव्यक्ति थियो ।मानव शरिरमा रगत समुहको नाम पनि हुन्छ भन्ने थाहा पाएपछि मेरो शरिरमा कुन समुहको रगत होला भन्ने लाग्यो । सन् १९८७ अगष्ट २० को दिन म घुम्दै काठमाडौंको विशालबजार पुगेको थिए । त्यहाँ रक्तदान कार्यक्रम रहेछ । त्यही मैले पहिलोपटक वास्तविक रक्तदान देखें । र मैले पनि १९ बर्षको उमेरमा एक पोका रगत दान गरें । ब्लड बैँकबाट एक हप्तापछि रक्तदाता कार्डमा रगत समुह ‘ओ पोजेटिभ’ भएको पाएँ ।

    त्यसपछि म समय निकालेर हप्ता वा महिनामा एक पटक जसो रक्तसंचार सेवा केन्द्र पुग्न थाले । त्यहाँ बिरामीको उपचार गर्नका लागि रगतको खोजीमा आएकाहरुको भीड हुन्थ्यो । एक दिन ब्लड बैँकका कर्मचारीले विरामी श्रीमतीलाई बचाउनका लागि एक पटक मात्र भए पनि आफ्नो रगत दिनुहोस भन्दा श्रीमानले कमजोरी पो हुने हो कि भन्ने डरले रगत दिएनन  ।  यही घटनाले मेरो मन छोयो । त्यस्तो स्थितिदेखेपछि मैले रगत जरुरी पर्नेहरुका लागि नियमित रुपमा रक्तदान गरिरहने सोचें र प्रण गरें, ‘म जरुरी पर्ने जो कोहीलाई रगत दिन्छु ।‘ 

    रक्तदानको अभियानलाई निरन्तरता दिन र अझ ब्यापक रुपमा विस्तार गर्न सन् १९८९ मा नेपालमा ब्लड डोनर्स क्लब स्थापना गर्यौं  ।  मैले संस्थापक सदस्यका हैसियतले धेरै काम गरेँ । आज त्यही संस्था ‘ब्लड डोनर्स एसोसिएसन नेपाल’ नामले परिचित छ ।

    रगतको आवश्यकता त नेपालको राजधानी काठमाण्डौमा मात्र  होइन । अस्पताल भएका विश्वका जुनसूकै स्थानमा पनि रगतको खाँचो उत्तिकै टड्कारो थियो । रगतको जोहो गर्नु आम नागरिकहरुको कर्तब्य होजस्तो लाग्यो । रक्तदानको महत्व प्रचार–प्रसार गर्नाले समुदाय र असहायका लागि सहयोग हुन्छ भन्ने भावनामा दृढ हुदै गएँ । त्यही दृढताले आम जनमानसमा रक्तदानका लागि उत्प्रेरित गराउन आवश्यक ठानेर मैलेसन १९९० डिसेम्बर ५ मा ३१ दिनसम्म लगातार नेपाल अधिराज्यव्यापी साइकल यात्रा मार्फत प्रचार प्रसार गरेँ ।

    सन् १९९१ फेबु्रअरी २३ सम्ममा मैले १७ औं पटक रक्तदान गरी सकेको थिएँ । सन् १९९१ जुलाइपछि साथीभाईहरुले मलाई एउटा रक्तदाता मात्रमा सिमित रहन दिनु भएन् । लगातार चार पदावधि लियो जिल्लापरिषद, जिल्ला ३२५ मा रक्तदान समितिको संयोजक र त्यसपछि लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५ मा रक्तदान कमिटिको सभापतिको जिम्मेवारी सुम्पिए । ती संस्थाहरुमा रहँदाको अवधिमा मैले हरेकलायन्स, लियो क्लबको नियमित भ्रमण गर्थे । स्थानीय सामाजिक संघसंस्थाहरुसँग लायन्स क्लबलाई समन्वय गराई रक्तदान कार्यक्रम राख्थे । काठमाण्डौ उपत्यकाका विद्यालयहरुमा रक्तदानप्रति उत्प्रेरणाकार्यक्रम सञ्चालन गरेँ । म स्वंम र सिङ्गै संस्थाका लागि यो गौरवको विषय थियो ।

    रक्तदानप्रति उत्प्रेरणा जगाउने अभियान छोटै समयमा स्थापित भईसकेको थियो । विभिन्न गतिविधि वारे नेपालको राष्ट्रिय समाचार पत्र गोरखापत्र मै समाचार छापिएपछि त मेरो चौतर्फी चर्चा चल्न थाल्यो । यस क्रममा मैले आफ्नो बेग्लै परिचय बन्न थालेको महसुस गर्न थाले । छरछिमेक तथा टोल र बिभिन्न संस्थाका मानिसहरु मेरो नामलाई रक्तदानको पर्यायवाचीठान्न थालेका थिए । टोलमा कोही बिरामीलाईरगत चाहिँदा अर्जुनलाई भेटे अवश्य पनि रगतको ब्यवस्था हुन सक्छ भन्थे । पछिपछि त घरमै रगत खोजी माग्न आउनेको संख्या बढ्न थालेको थियो । अफिसमा पनि रगतका लागि त्यत्ति नै फोन आउथे । लायन्सक्लबमा सबैलाई थाहा भएकाले मलाई नै बढी सम्पर्क गरिएको मेरो अनुमान थियो ।

    अमेरिकामा पहिलो पटक मर्सी अस्पताल, स्प्रिङफिल्डको ब्लड बैंकमा फेब्रुअरी ५,२००१मा ५०औं पटक रक्तदान गरे । अमेरिकामा बार्षिक ३० मिलिएन ब्लड कम्पोनेण्ट चाहिने गरेको कुरा समेत थाहा भयो ।अस्पताल जाने सात जना बिरामीहरु मध्ये एक जनालाई रगत नै संचार गर्नुपर्ने विभिन्न वेभसाइट तथा रक्तदान सम्बन्धी पर्चाहरुबाट जानकारी पाए । उक्त मागलाई म एक्लैले के नै गर्न सक्थे र ? तर पनि मैले नियमित रुपले रक्तदान गर्दै गएँ ।

    सन् २००४ मा सेन्टरिच, न्युयोर्कबाट रक्तदान गर्न ह्वाईट प्लेन्स सिटी, न्युयोर्क सिटी गई रहन्थे । ती सिटीहरुमा आवतजावत गर्दा ज्याक्सन हाइट तिर पनि घुम्न जाने गर्थे । भेटेका जति नेपाली मित्रहरुलाई आफ्नो अनुकुल भएको समयमा एक पटक मात्र भए पनि रक्तदान गर्नका लागि अनुरोध गर्थे । 

    नेपालदेखि नै रक्तदानको महत्व आफुले प्रत्यक्ष रुपमा बुझेको र जानेको हुनाले बिस्तारै–बिस्तारै अमेरिकामा बसोवास गर्ने नेपाली समुदायमा पनि रक्तदानका बारेमा जनचेतना जगाउन थाले । सम्भावित रक्तदाता र त्यहाँका ब्लड सेन्टर बीच पुलको भूमिका निर्वाह गने प्रयत्न गर्न थालेँ ।

  • नेताका छोराछोरी राजनीतिमा किन लागेनन् ?

    नेताका छोराछोरी राजनीतिमा किन लागेनन् ?

    आरएल श्रमजीवी / क्यालिफोर्निया

    कविवर केदारमान व्यथितले भनेका थिए – राजनीति शौचालय हो भने साहित्य भोजनालय हो । सायद कवि व्यथितको यही सत्य नेताकाछोराछोरीले थाहा पाएर होलान् अधिकांश उनीहरु राजनीतिमा छैनन् । हामीले अहिलेदेखि रहेका छौं कि नेपाली काँग्रेसका अघिल्लापुस्ताका नेता बिपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधी र गिरिजाप्रसाद कोइराला बाहेकका कुनै पनि नेताका छोरा छोरीराजनीतिमा लागेनन् । अघिल्लो पुस्तामा कांग्रेसका नेताका छोराछोरीको दाँजोमा नेपालका कम्युनिष्ट नेताका छोराछोरी नेपालीराजनीतिमा लागेका कम छन् । नेकपा अध्यक्ष प्रचण्डका छोरी भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल बाहेक मलाई त हेक्का छैन।

    शक्तिशाली नेताका छोराछोरीहरु अहिले के गर्दैछन त ?

    कांग्रेस सभापति शेरवहादुर देउवाका छोरा जयवीर एकमात्र सन्तान छोरा हुन । उनलाई बुवाले गरेका राजनैतिक निर्णयको कुनै असरपर्दैन । उनी बेलायतमा राजनीतिशास्त्र विषयमा विद्यावारिधि गरिरहेका छन् । त्यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तनपौडेल हुन्  । उनी हाल बेलायतमा छन् ।

    बलात्कारको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराका चार सन्तान पनि राजनीतिबाट बिमुखछन् । यी त केही उदाहरणहरु हुन् ।

    अचम्म लाग्छ हामी नेपालीको जेमा पनि नकारात्मक सोच छ । नेपाली राजनीतिमा कहिल्यै राम्रा मान्छे लाग्दैन् कि कुरा बुझ्दैनन ? सामाजिक संजाल , नेपाली सञ्चार माध्यमका समाचार सुन्दा र पढ्दा पनि वाक्क लाग्छ बा । म त भन्छु  डाक्टरको छोरा डाक्टर बन्छ, नेताको छोरा छोरी राजनीतिमा लाग्दा धेरै नकारात्मक टिप्पणी किन ? बरु हाम्रा नेताहरुले आफ्ना सन्तानलाई राजनीति फोहोरी खेल हो, यसमा गन्ध छ भनेर अरु नै पेशामा आबद्ध गराएका होलान । नत्र किन नेताका छोरा छोरी राजनीतिमा नलागेका ??  धेरै पुराना नेताकाछोरा छोरीहरु गैरराजनीतिक बाटोमा लागेको गुनासो गर्नेहरु धेरै छन् । राजनीतिमा लागेका नेताका सन्तानले बरु भ्रष्टाचार गर्दैन थिए कि? मलाई यस्तो लाग्छ । तपाइलाइ नि ? नेपाली  काँग्रेसका शीर्ष नेताहरुका छोराछोरी राजनीतिमा आएको तर कम्युनिष्ट पार्टीकाअधिकांश शीर्ष नेताका सन्तान अन्य पेशामा छन् । यो हुनु हाम्रो बिडम्बना हो । भारतकै कुरा हेरौ न, सन् १९४७ मा स्वतन्त्र भएदेखिभारतको सत्ता धेरैजसो नेहरु–गान्धी परिवारमा नै केन्द्रित छ । पहिला जवाहरलाल नेहरु, इन्दिरा गान्धी, राजीव गान्धी हुँदै अहिले राहुलगान्धीसम्म पुगेको छ । त्यस्तै भारतको सहयोगमा पाकिस्तानबाट सन् १९७१ मा टुक्रिएको बंगलादेशको छोटो इतिहासजस्तै यहाँ भनेराजनीति र सत्तामा वंश परम्पराको छोटै इतिहास छ । बंगलादेशमा सेख मुजिबुर कि छोरी सेख हसिनाले आफ्नो इतिहास बनाइन् । पाकिस्तानमा जुल्फिकर अली भुट्टोको छोरी बेनजिर भुट्टो उनको छोरा बिलाबल राजनीतिमा छन् । २००७ सालपछि नेपालकोलोकतान्त्रिक आन्दोलनमा अग्रेणी विपी कोइरालाका सन्तानमा जेष्ठपुत्र प्रकाश कोइराला, कान्छा पुत्र सशांक कोइराला, गिरिजाप्रसादकोइराला र उनकी छोरी सुजाता कोइराला त्यस्तै गणेशमानसिंह र उनका पुत्र प्रकाशमान, महेन्द्रनारायण निधि र उनका पुत्र बिमलेन्द्रनिधि राजनीतिमा छन् । पंचायती राजनीतिका खम्बा सूर्यबहादुर थापाका पुत्र सुनिल थापा  राजनीतिमा  छन्  । राजनीतिमा वंश परम्परामात्र होइन आफन्त नातेदारको लहरो  तत्कालीन माओबादीमा बढी छ कारण हो द्वन्द्वमा तत्कालिन सरकारको  दमन  ।

             पहिलाको सम्झना आउँछ मलाई । २०४६ मा प्रजातन्त्र आएपछिको पहिलो संसदीय चुनावमा काठमाडौंबाट नेपाली काँग्रेसकासर्वोच्च नेता गणेशमान सिंहकी पत्नी मंगलादेवी र पुत्र प्रकाशमान चुनावमा उठेका थिए । विपक्षी पार्टी र अरुले भने एउटै घरका आमाछोरा उठे भनेर धेरै  प्रचार गरियो । अन्त्यमा उनीहरु दुईजनै हारे । त्यस लगत्तै गणेशमानले खुल्लामञ्चमा भाषण दिए । म त्यतिबेला त्योभाषण सुन्न गएको थिएँ । गणेशमानले भनेको अहिले पनि सम्झन्छु कि – मेरो परिवारको पञ्चायतीकालमा भोगेको दुःख र हाम्रोपरिवारले  राजनीतिमा गरेको योगदान नबुझ्ने यी काठमाण्डौका जनता भेडा हुन् । यो भाषणको सकारात्मक भन्दा को चौतर्फी नकारात्मक  टिप्पणी भो  । मलाई त गणेशमानको कुरा जहिले पनि सत्य सावित लाग्छ । जनतामा  भेडाकै आनिबानी ज्यादै भो  । कुरानबुझेर नेपाली राजनीति  नकारात्मक  घेरामा परेको छ ।         विश्व राजनीतिमा धेरैका सन्तानले राजनीतिको बिडो थामेका बेलानेपालका कम्युनिस्टका छोरा छोरी अर्को पेशामा किन ? कम्युनिस्ट मात्र होइन  यो पुस्ताका कुनै पनि पार्टीका नेताका छोरा छोरीराजनीतिमा नलाग्नु , राजनीति प्रतिको बितिष्णा हो । हाम्रा नेताका छोरा छोरी हामीलाइ काम लागेनन  हेरौ अव नेता खोज्ने काम रविलामिछानेले गरेका छन्  । उनको ” द लिडर्स ” कार्यक्रमले कस्ता नेता ल्याउला ?  म त राम्रो शुरूवात मा सकारात्मक सोच्दै भन्छु योकार्यक्रमले एउटा तरंग ल्याउने छ  ।नेताका छोराछोरीले राजनीतिमा चाख नलिएको बेला रवि लामिछानेको  टिभी कार्यक्रमको बारेमापनि  हामीले जानेर बुझेर मात्र टिप्पणी गर्दा बेस होला कि ?

    छोरा जयवीरलाई बुवा शेरवहादुरले गरेका राजनीतिक निर्णयको कुनै असर पर्दैन । उनी बेलायतमा राजनीतिशास्त्र विषयमा विद्यावारिधिगरिरहेका छन् ।डडेल्धुरा असिग्राममा सम्पन्न परिवारमा जन्मिएका देउवाको बुढानिलकण्ठमा ठूलो घर छ । प्रधानमन्त्री समेत भईसकेकादेउवा र उनकी श्रीमती आरजु  गैरसरकारी संस्था चलाएर बसिरहेकी छिन् । देउवा परिवार वास्तवमै सम्पन्न छ ।त्यस्तै कांग्रेस वरिष्ठ नेतारामचन्द्र पौडेलका छोरा चिन्तन पौडेल हुन्  । पौडेलका एक मात्र छोरा चिन्तन पौडेल अहिले बेलायत भासिएका छन् । सुशिलकोईरालाको नेतृत्वको सरकारका पालामा नेता पौडेलका छोरा चिन्तन गरिब घरपरिवार पहिचान बोर्डका कार्यकारी प्रमुखमा नियुक्तभएका थिए । कोईराला नेतृत्वको सरकार हटेसँगै उनी बेलायत फर्किएका थिए  । पौडेलको चुनावी प्रचारमा खुव दौडिएका चिन्तनअहिले कहिले नेपाल  कहिले युरोप गर्छन  रामचान्द्रन्दका चार छोरी छन् । नाम किन छाप्नु ती मध्ये जेठी छोरीको चितवनमा सम्पन्नपरिवारमा विवाह भएको छ । माईली छोरी पोखरामा बस्छिन् । उनका श्रीमान पोखरामा ईन्जिनियर छन् । त्यस्तै साईली छोरी विवाहगरेर अमेरिकामा बस्दै आएकी छिन् । कान्छी छोरी माछापुच्छ्र्रे बैंकमा काम गर्छिन् ।

    नेता त्रयको छवी  बनाएका कृष्णप्रसाद सिटौलाका छोरा श्याम अमेरिकामा पढ्दैन  । झापा जिल्लामा कानुन व्यवसायबाट राजनीतिमाआएका कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । छोरा श्याम सिटौलाले ईन्जिनियरिङ संकायको अध्ययन भारतको नयाँदिल्लीमा सकेका छन् । उनी अहिले अमेरिकामा एमई तहको अध्ययन गरिसकेका  छन् । सिटौलाका दुई छोरीहरु पनि अमेरिकामैबसोवास गर्छन छन् । सधैं सत्ताको शक्तिमा छाईरहने सिटौलाले विभिन्न ठाउँमा जग्गा जमिन किनेका छन् । मधेसका काङ्ग्रेस  सम्राट   बिमलेन्द्र निधीका दुईटै छोरा ईन्जिनियर पढ्दै  ,कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिका दुई छोरा छन् । निधिका जेठा छोराअबिरल १२ कक्षासम्म जावलाखेलस्थित सेन्ट जेभियर्समा पढिसकेपछि उनी अहिले भारतको जवाहरलाल नेहरुविश्वविद्यालयमापढ़ैरहेका चां भने कान्छा पनि  त्यही  आध्याँयन  गर्दैछन ।

            उता  वरिष्ठ नेता माधवकुमार नेपालका छोराछोरी दुवै डाक्टर छन् ।नेकपा भित्र केपी शर्मा ओली र पर्चंदा  पछिका शक्तिशालीमानिएका माधवकुमार नेपाल  एक छोरा र एक छोरी छन् । तर दुवै जना नेपालको राजनीतिबाट भने टाढा बस्दै आएका छन् । उनीहरुदुवैजना डाक्टर हुन् । छोरी काठमाडौँ छालाको डाक्टर हुन्, भने छोरा अष्ट्रेलियामा बसेर विद्यावारिधी गर्दैछन् । नेकपाकै अर्का  नेता एबम पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनालका छोरा  निर्भिक चित्रकार खनाल अमेरिकाको अध्ययनपछि अहिले नेपालमै छन् ।उनले तत्कालिन एमाले निटक युवा संघका केन्द्रिय सदस्यका रुपमा राजनीतिमा रहेका थिए  । उनी आमाको नाममा रहेको माछापुच्छ्रेहर्बल नामक उद्योग सञ्चालनमा आमालाई सघाइरहेका  छन्  ।bयसबाहेक उनी विभिन्न चिनियाँ कम्पनीहरुलाई नेपालमा ल्याई लगानीगराउने र त्यसबापत उनी साझेदारी बन्ने उनको धन्दा छ । उनले विभिन्न ठेक्कामा पनि हात हालेका छन् । नेकपाका शकत्तिआलॆ नेताएबम उप प्रधानमन्त्री  ईश्वर पोखरेलका जेठा छोरा सिजन पोखरेल कृषि अध्ययन केन्द्र (नार्क) का वैज्ञानिक हुन् । उनी राजनीतिकक्षेत्रबाट टाढा रहेर वैज्ञानिक क्षेत्रको अध्ययन तथा अन्वेषणमा सक्रिय रहेका छन् । कान्छा छोरा सिसन पोखरेल अमेरिकाबाटअन्तर्राष्ट्रिय विषयमा अध्ययन गरी फर्किएर भर्खर नेपालमा फर्किएका छन् ।

  • नेपाली रामचरितमानस : रामायणको अर्को घुम्ती

    नेपाली रामचरितमानस : रामायणको अर्को घुम्ती

    आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क

    एक समय संस्कृत साहित्यका आदिकवि महर्षि वाल्मीकि प्रेमालापमा मग्न सारस पंक्षी जोडीको गतिविधि नियालिरहेका थिए । तत्क्षण सिकारी आयो, पुरुष सारसको हत्या गरिदियो । स्त्री सारस विलाप गर्न थाली । यो दृष्य देखेर महर्षि वाल्मीकिको मानसपटलमा करुणा प्रष्फुटित भयो र स्वतस्फुर्त रुपमा कवित्व जागृत हुनपुग्यो । महर्षि वाल्मीकिको मुखबाट निस्कियोः

    मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः ।

    यत्क्रौंचमिथुनादेकम् अवधीः काममोहितम्।।

    हे दुष्ट, तिमीले प्रेममा निमग्न क्रौन्च पक्षी मार्यौ तिमीलाई कहिले पनि प्रतिष्ठाको प्राप्ति हुनेछैन र वियोग सहन गर्नुपर्नेछ ।

    यस्तो उद्गार गर्दै मौलाएको आदिकवि वाल्मीकिको मौलिक रचनाको उत्कर्ष संस्कृतको आदिम महाकाव्य रामायण हुनपुग्यो । शास्त्रीय अनुष्टुप छन्दमा रचिएको रामायणको अर्थ हुन्छ रामको यात्रा । रामायणमा मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जीवनलीलाका साथ आदर्श भ्रातृत्वप्रेम, आदर्श पति, आदर्श पत्नी, आदर्श सन्तान, आदर्श प्रेम, आदर्श तथा नैतिक जीवनदर्शनको अनुपम वर्णन तथा सामाजिक, मनोवैज्ञानिक, राजनीतिक आदि विषयमा बेजोड प्रस्तुति रहेको छ । सात काण्डका रहेको रामायणमा २४ हजार श्लोक रहेका छन् ।

    लौकिक संस्कृतको महत्त्वपूर्ण काव्य रामायण नै हो । संस्कृत वाङ्मयमा लौकिक साहित्यको प्रयोग र सिर्जनाका दृष्टिले महर्षि वाल्मीकि आदिकवि हुन् र रामायण आदि काव्य हो । यस्ता कृतिले युगको नै प्रतिनिधित्व गर्दछन् । यस्ता कृतिमा आख्यानभित्र पनि आख्यान हुन्छ । संस्कृतमा रामायण र महाभारत यस्ता कृति हुन् जसभित्र संसार अटाएको छ । लय, भाषाशैली, पात्र, युगको आख्यान, बृहत् स्वरूप, खण्ड या सर्गयुक्त, कथानक, देशकाल, परिवेश जस्ता यी काव्यका तत्व रहेका छन् ।

    रामायणकै विषयवस्तुलाई अंगिकार गर्दै हिन्दीमा ११, मराठीमा ८, बंलामा २५, तमिलमा १२, तेलुगुमा १२ लगायत, अबधी, नेपाली, तिब्बती, गुजराती, मलयालम, अरबी, उर्दू, फारसी आदि भाषामा हजारौंको संख्यामा भावानुवाद तथा छायानुवादको स्वरुपमा देख्न सकिन्छ ।

    संस्कृतको रामायणलाई अबधी भाषामा अनुवाद गरी श्री रामचरितमानसको जन्म दिने गोस्वामी तुलसीदासको जन्म संवत् १५५४ को श्रावण शुक्ल सप्तमी १२ महिनाको गर्भवासपछि भएको हो । विवाहपछि एक समय माइत गएकी पत्नीको शारीरिक आशक्तिका कारण पछिपछि लागेर गएपछि पत्नीले धेरै गाली गर्दै, मेरो यो हड्डी मासुको शरीरमा जति तिम्रो आशक्ति छ, त्यसको आधा जति पनि आशक्ति भगवानमा हुन्थ्यो त तिम्रो उद्धार हुन्थ्यो, भनिन् । पत्नीको यस्तो तिरस्कारपछि गोस्वामी तुलसीदास तत्काल त्यहाँबाट हिंडेर पछि हनुमानजी र श्रीरामचन्द्रजीको दर्शन प्राप्त गरी श्रीरामाचरितमानस ग्रन्थको रचना गरेका थिए । श्री रामचरितमानसको मन्त्रवत् प्रभाव भारतीय समाजमा रहिआएको छ ।

    त्यसैगरी संस्कृतमा रचना गरिएको अध्यात्म रामायणलाई मौलिकताका साथ नेपाली भाषामा भावानुवाद गरेर नेपाली कविताको विकासमा महत्वपूर्ण योगदान नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले दिए । वि.सं. १८८९—१० को अवधिमा रामायणका सातै काण्डको अनुवाद गरिसकेका आचार्यमा पूर्ववर्ती कविका तुलनामा भाषिक परिष्कार, अभिव्यक्तिगत सरलता तथा काव्यगत वैशिष्ट्य पाइन्छ । २९ असार १८७१ मा तनहँको चुँदी रम्घामा प्रथम पटक पाइला टेकेका आदिकवि भानुभक्त आचार्यले संस्कृतका प्रकाण्ड विद्वान बाजे श्रीकृष्ण आचार्यको संसर्गमा काव्ययात्रा थालेका हुन् । परिवारभित्रको काव्यधारात्मक वातावरण र मौलिक कवित्व शक्तिका कारण भानुभक्त संस्कृत साहित्यका आदिकवि वाल्मीकिद्वारा रचित अध्यात्म रामायणको नेपालीमा अनुवाद गरी सबै नेपालीको झुपडीमा पुग्न सफल भए । भानुभक्तले वाल्मीकि रामायणको केवल अनुवादमात्र गरेनन् त्यसमा मौलिकताले सिंगार्दै सहज, सरल र मिठासयुक्त ढंगले नेपाली पाराको रंगरोगन पनि गरे । नेपाली रामायणमा कतिपय विषय थपघट गरी नेपाली परम्परा तथा संस्कृति अनुकूल थपघट पनि गरे । भानुभक्तले नेपाली रामायणमा संस्कृत छन्दको प्रयोग सहजताका साथ गरेका छन् । यस महाकाव्यमा शार्दूलविक्रीडित छन्दको अधिक प्रयोग गरिएको छ । नेपाली रामायणको ठाउँठाउँमा प्राकृतिक सौन्दर्यताको मनोरम वर्णन, उपमा तथा उत्प्रेक्षा आदि अलंकारको दिव्य संयोजन गरिएको छ । त्यसैगरी महाकाव्यमा शृंगार, वीर, हास्य, करुणजस्ता रसको कुशलताका साथ प्रयोग गरिएको छ । अध्यात्म चेतनाले समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोच भानुभक्तको जताततै छचल्किएका छन् ।

    यस्तै रामायणकै परम्परामा एक नवीन आयाम थपिएको छ : नेपाली रामचरितमानस । वर्तमानमा हिन्दू जगतमा सर्वाधिक लोकप्रिय रामचरितमानस अबधी भाषामा रहेकाले नेपाली जनमानसलाई ग्रहण गर्न सजिलो होस् भन्ने अभिप्रायले आचार्य तुलसीराम शर्माले समशैली र समछन्दमा नेपालीभाषामा छायानुवाद गरेपछि रामायणमा आधारित ग्रन्थ रचना गर्ने परम्परामा नयाँ तरंग आएको छ । आचार्य तुलसीराम शर्माको जन्म बाग्लुङ्गमा भएको हो भने हाल अमेरिकाको डालसमा बसोबास गर्नुहुन्छ । शर्माले लेख्नुभएको नेपाली रामचरितमानस ग्रन्थको प्रकाशन हरिहर सन्न्यास आश्रम देवघाटले गरेपछि केही समय पहिले हरिहर मन्दिर धापासीमा एक समारोहबीच उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकार्पण गर्नुभएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. जगमान गुरmङ्गले यो ग्रन्थको धार्मिक तथा सांस्कृतिक महत्व रहने जनाउनुभयो । अहिले यो कृति नेपाल तथा विदेशमा चर्चाको विषय बनेको छ । यो ग्रन्थ अनलाइन अमाजोनबाट विश्वभरि नै प्राप्त गर्न सकिने रचनाकार शर्मा बताउनुहुन्छ । नेपाली रामचरितमानस ग्रन्थको प्रधानसम्पादक सह प्रा डा. वासुदेव खनाल तथा सम्पादक सह प्रा. रामचन्द्र कण्डेल रहनुभएको छ भने जगत्गुरु रामभद्राचार्य, स्वामी ज्ञानानन्द सरस्वती, श्री १००८ स्वामी रमाणानन्द गिरि, महामण्डलेश्वर स्वामी आत्मानन्द गिरि, स्वामी जगन्नाथाचार्य, आचार्य पूर्णचन्द्र ढुंगेल, प्रा. हरिप्रसाद अधिकारी, प्रा.डा. कुलप्रसाद कोइराला, सह प्रा. डा निर्मलमणि अधिकारी, चिन्तक चिन्तामणि योगी, साहित्यकार नरेन्द्रराज प्रसाई लगायतका विशिष्ट व्यक्तित्वहरुको शुभेक्षाका साथ सुरु भएको छ । गोस्वामी तुलसीदासकृत श्रीचामचरितमानसको निकट रहेको आचार्य तुलसीरामकृत नेपाली श्रीरामचरितमानसमा पनि पूर्ववर्ती ग्रन्थमा जस्तै बालकाण्ड, अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, लङ्काकाण्ड, उत्तरकाण्ड गरी सात काण्ड रहेका छन् ।

    यो सम्पर्ण जगत् सीताराममय छ भन्दै ग्रन्थमा उल्लेख छः

    सियाराममय स्व जग जानी ।गर्छु प्रणाम जोडी दुइ पाणी ।

    हरि अनन्त हरिकथा अनन्ता । जो गाउँछन् सुन्छन् श्रुति सन्ता ।।

    यसरी छायानुवाद गरिएको ग्रन्थमा अन्तिममा भनिएको छः

    हेर्ने पाप र पुण्यदातृ सुख औ विज्ञान भक्ति दिने ।

    माया मोह महापहारक सफा प्रेमाम्बुले पूरित ।।

    जो यो रामचरित्रमा सभगती डुब्की सदा लाउँछन् ।

    जल्दैनन् भवसूर्य रश्मिहरुले हुन् धन्य ती मानव ।।

    ५२७ पृष्ठसंख्यामा समेटिएको यो ग्रन्थ नेपाली साहित्यको नौलो आयाम त हो नै त्यसको अतिरिक्त धार्मिक आस्थाको धरोहर पनि हो । पूर्वीय मौलिक नीति, ज्ञान, विज्ञान, दर्शन, संस्कृति, परम्परा, भाषा, साहित्य, प्रेम, धर्म, अर्थ, काम, मोक्ष आदि अनन्त विषयको ज्ञानरुपी गहिराइमा डुबुल्की मार्न यो ग्रन्थ सहायक सिद्ध हुनेछ ।  

  • ॐ बुझ्नलाई ध्यानमा डुब्नु पर्छ

    ॐ बुझ्नलाई ध्यानमा डुब्नु पर्छ

    ​विनोद रोका, न्युर्योक

    ॐ को गहिराई अनन्त रहेछ । ब्रमाण्ड जत्तिकै गहन । ॐ को चेतनामा अडिग रहन नसकेको मेरो मनको अवस्था छ । ॐ को अन्तस्करण पहिल्याउने यात्रामै छु । यस्तो मन लिएर बाँचेको मान्छेलाई विश्व सन्देशका योगेश भाईले ॐ को बारेमा एउटा लेख लेख्न आग्रह गरे । मेरो बानी कसैलाई टार्न वा नाई भन्न नसक्ने छ । त्यसैले हुदैन भन्न पनि सकिन । मैले ॐ का बारेमा शास्त्रमा लेखेको वा कसैको प्रवचनमा भनेको आधारमा लेखें भने त्यस्ले कसैलाई छुँदैन किनकि त्यहाँ प्राण हुदैन । ॐ को शाब्दिक व्याख्या मात्र गरेर खासै महत्व हुँदैन । मुख्य कुरा ॐ को अनुभुती हुनुपर्छ । जुन अध्यात्म जस्तै अनन्त छ । स्वामी विवेकानन्दले आत्मबोधका बारेमा सन १९०० तिर क्यालिफोर्नियमा दिएको प्रवचनमा भन्नु भएको छ; “बोलेको कुराको प्रभाव वक्ताको व्यक्तित्वमा तीन भाग र कुरामा एक भाग पर्दछ । त्यसैले कुनै तत्वज्ञानी साधनारत वक्ताले बोलेको थोरै कुराले पनि श्रोता वा पाठकको हृदय परिवर्तन गरिदिन्छ । अनि साधना रहित वक्ताले बोलेको लम्बेतानको त्यही कुरा श्रोता वा पाठकले बुझ्दैन । र उल्टो परिणाम निस्कन्छ ।

    तत्वज्ञानी र ध्यानीहरु बोल्दैनन् । मौन बस्छन् । ध्यानमा रहन्छन् । आफु र अरुको लागि आध्यात्मिक औरा उत्पादन गर्छन र परिवेशमा छोड्छन् । जुन औराले सत्कर्म गर्नेहरुलाई सघाई रहेको हुन्छ। बोल्नु पर्यो भने चाँहिदो मात्रामा थोरै बोल्छन् । जुन बोलीले श्रोताको जिज्ञासा मेटिन्छ। प्यासीले मरुभुमीमा शुद्धपानी पाएर आफनो प्यास मेटाए झैं । श्रोता आध्यात्मिक रतिक्रियाको चैतन्यरुपी आनन्दले तृप्त हुन्छ। श्रोतामा आध्यात्मिक गर्भाधान हुन्छ । र श्रोताहरु आध्यात्मिक साधनाको पथमा हिडछन् । अनि अरुको ऊपकार गर्नु धर्म र अरुको अपकार गर्नु पाप हो भन्ने सनातन सास्वत मान्यतालाई जिवनको मार्ग दर्शन बनाऊन सक्दछन् ” ।

    यसै मेसोमा मैले ९ बर्षीय बालज्ञानी गुरु आदित्यलाई आजको युगमा पाएको छु । जो बोल्नु हुन्न । स्कुल जानु भएको छैन । ध्यानमै रम्नु हुन्छ। ऊहाँ कलि युगमा अष्टाबक्रको अवतार जस्तो लाग्छ मलाई । आवश्यक पर्दा देब्रेहातले अरुको सहारा लिएर लेख्नु हुन्छ – अमृतबाणीहरु । बिभिन्न भाषा बोल्ने व्यक्तिलाई त्यही भाषामा जवाफ दिनुहुन्छ । अनि भन्नुहुन्छ “कुबिचारको यमराज नै ध्यान हो”। एक पलका लागि मन बाँधि हेर, तिम्रा लागि पस्केका मेरा हर भावले तिमीलाई साधक बनाऊने छ । मेरो भावसँग तिम्रो भावलाई अन्तरंग बनाऊनु छ भने तिमी भित्र साधनाको विद्युतीय धारा प्रवाहित हुनै पर्दछ ।

    बालगुरुका सयौं दिव्य बचनहरु मध्येका यी बचनहरु उहाँद्वारा लिखित “कलियुगको आदित्य ज्योतिपथ” नामक पुस्तकमा ऊल्लेखित छन् । २०६७ साल श्रावण ७ गते झापा तोपगाछी निवासी शेषराज दाहाल र ईश्वरा गुरागाई दाहालको कोखबाट २०७१ असार २५ मा जन्मनु भएका गुरु आदित्यमा – मे ९, २०१४ का दिन ज्ञान अवतरित भयो, जुन चौथौं बर्षबाट पाचौंमा प्रवेश गर्ने दिन थियो । उहाँका भनाईहरुले मेरो हृदयलाई तरंगित बनाएका छन् । तर मेरो बुद्धिले त्यो अनुभवलाई बुझेर व्यक्त गर्न सकिरहेको छैन । त्यसैले म निरन्तर ध्यानको माध्यमले यी ब्रम्ह बाक्यहरुको अनुभव गर्ने प्रयास गरिरहेको छु। अझै पनि गुरुको भावसँग लयबद्ध भएर मेरो भाव मिसिन सकिरहेको छैन ।    

    वेदमूर्ति तपोनिष्ठ पं. श्रीराम शर्मा आचार्यले तीन बर्षको मौनब्रत पछि ब्रम्हलीन हुनु भन्दा केही अगाडी दिनु भएको प्रवचनमा आफ्ना साधकहरुलाई भन्नु भयो । तिमीहरुले मैले अगाडी दिएको प्रवचनको साटो यो प्रवचनलाई सुन्नु । यसमा बढी शक्ति छ किनकि यो प्रवचनमा बर्षौको मौनव्रतको दिव्यशक्ति समाहित छ जस्ले साधकलाई साधनापथमा अगाडी बढन सहयोग गर्दछ।  

    केही बर्ष अगाडिदेखि निगुर्ण आध्यात्मिक गीतहरु मद्वारा अनायास लेखिएका छन् । ती गीतहरुमा परमात्माले मैले हिड्ने बाटोमा चेतनाको उज्यालो छरिदिएको महसुस गर्दछु । त्यसैले यी गीतहरुको भावमा सलल पानी झैं वग्न र आफै भित्रको संसारमा आनन्दित भै प्रारब्ध कर्म भोग्न खोज्दछु । यही मेसोमा मैले यो गीतलाई जानी नजानी संगीत र स्वर पनि दिन पुगे।

    म सलल पानी झैं बगी रहुँ

    म निन्द्रामा पनि जागी रहुँ

    म भित्रै पाऊ चारधाम र काशी

    म आफैलाई हेरौं बनेर साक्षी

    मेरो सँग बनोस  मेरो नै सास

    म नबनौं कहिल्यै यो मनको दास

    म आफ्नो दुःख भोग्दा दुःख नमानौं

    आफ्नो दु:खको कारण अरुलाई नठानौं ॥

  • विश्व पर्यावरण र जैविक विविधता संरक्षणमा लाग्नु पर्दछ : प्रकृति र मानिस

    विश्व पर्यावरण र जैविक विविधता संरक्षणमा लाग्नु पर्दछ : प्रकृति र मानिस

    डिल्ली वहादुर रावत / काठमाडौं 

    विश्वको राजनीतिलाई हेर्दा सोभियत संघको बिघटनपछि संसार अहिले एक ध्रुवीय बन्न पुगेको छ । जसले गर्दा शीत युद्धको अन्त्य भयो । तर पनि युद्धको कालो वादल मडारी रहेको छ । युद्ध आफैमा समाधान होइन वरु चौतर्फी समस्याको श्रोत हो । यसले पर्यावरण क्षेत्रमा पनि गम्भीर संकटहरु निम्त्याउछ । पर्यावरणको दृष्टिकोणबाट हेर्ने हो भने युद्ध प्रकृति र मानवता विरोधी काम हो । अहिले झन चिनको उदाउँदो शक्तिले कतै पुनः विश्वलाई दुई ध्रुव तिर त लादैन भन्ने आसंकाहरु बढ्दै गइरहेका छन । त्यसैले पर्यावरण प्रदुषण फैलिनबाट बच्ने हो भने सम्पुर्ण खाले घातक हतियारहरु यस धर्तीबाट सदा सदाको लागि हटाउनु पर्दछ । राष्ट्रको संरक्षण गर्न भनेर घातक हतियारहरु उत्पादन, भण्डारण गर्छाै तर पर्यावरण प्रदुषणले राष्ट्रिय सीमा भन्दैन । यो यथार्थलाई सबैले मनन गरेर पर्यावरण संरक्षणको लागि घातक हतियारहरु (आणवीक, जैविक, जस्ता)को उत्पादन र भण्डारण नष्ट गरिनु पर्दछ ।

    अहिले विश्वका विकासोन्मुख र गरिव देशहरु झन पर्यावरणीय समस्याले अक्रान्त छन । समस्यै समस्याको पहाडले थिचिएका छन । अशान्ति, गरिवी, अभाव एकातिर छ भने अर्कोतिर भ्रष्टाचार, घुसखोरी  कमीसनतन्त्र, तस्करी, मानव वेचविखन, श्रम शोसन, अर्कोतिर छ । यो मानव विकास संगसगै विरासतको रुपमा पुस्ता दर पुस्ता हुदै आईरहेको छ । यसको व्यवस्थापन गर्न अहिलेसम्म सचेत मानिस र तिनको राजनैतिक संगठनहरुले सकिराखेको छैनन् । वरु समस्या अल्झाई रहेका छन, वल्झाई रहेका छन । झन भन्दा झन जटिल मोडमा पुर्याई रहेका छन । यसो हुनुमा सम्पन्न राष्टहरुको पनि कुनै न कुनै रुपमा हात छ । त्यसैले पुराना समस्याको हल निकाल्न नसकि रहेको अवस्थामा झन नयाँ पर्यावरणीय समस्या थपिन पुगेको छ । माथि उल्लेखीत सवै समस्याहरुको हल अव पर्यावरणीय चिन्तन र कार्यदिशा विना असंभव वन्दै गईरहेको वर्तमान अवस्था छ । अप्राकृतिक रुपमा वड्दै गईरहेको जलवायु परिवर्तनले कृषिलाई चौपट वनाउदै लगीरहेको छ । जस्ले गर्दा सुद्ध खाद्यान्नको अभाव अव धर्तिभरी बढ्दै गईरहेको छ । अझ नेपाल जस्तो अल्प विकसित मुलुक त झन गम्भिर संकटमा पर्ने निश्चित छ । नेपाल जस्ता देशहरुले उद्योग नीति पर्यावरण मैत्री अझै वनाउन सकिरहेका छैनन् । झन कृषिलाई पर्यावरण मैत्री बनाउन नसक्दा बिषयुक्त खाद्यान्न खान विवश भैरहेका छन । यति मात्रै कहाँ हो र ? प्राकृतिक ईको सिस्टम खलवलिदै गई रहेको छ । पारिस्थितीकीय प्रणालीमा गिरावट हुदैं गई रहेको छ । जस्ले गर्दा प्रकृतिको सन्तुलन विग्रदै गईरहेको छ । यस्को मुल्य आउने पुस्ताले झन चर्को रुपमा चुक्ता गर्नुपर्ने हुन्छ । अर्थात मानव भविष्य अन्धकारमय खाडलमा गईरहेको छ । तैपनि नीति निर्माता र दाता राष्ट्रहरुको ध्यान त्यस तर्फ जान सकिरहेको छैन । सत्ता प्राप्तिको खेलमा दुनियाँ दौडिरहेको छ । व्यक्तिगत लाभमा दुनियाको ध्यान गईरहेको छ । यसैमा आफ्नो वौद्धीक एवं शारिरिक श्रम खर्चीरहेको छ । प्रकृतिको वारेमा हाम्रा राजनीतिज्ञहरुलाई सोच्ने फुर्सद छैन । पुराना चिन्तन र सिद्धान्त फलाकेका छन । नयाँ समस्याको पहिचान र हल गर्नेतिर सोच्ने फुर्सदै छैन । अप्राकृतिक रुपमा वढ्दै गएको जलवायु परिवर्तनले मानिस मात्र होईन वन्यजन्तुहरु पनि संकटमा पर्दै गईरहेका छन । त्यसैले अव राजनेताहरुको दाईत्व मानव लगाएत समस्त प्रकृती संरक्षण मा जानु पर्ने आवस्यकता भैसकेको छ । गरिव देशका समस्या हल नगर्ने हो भने धनी देश पनि बाच्न सक्ने अवस्था छैन । अहिलेको पर्यावरणीय समस्या ल्याउनमा धनी देशहरुको नै ठुलो भुमिका छ ।

    अप्राकृतिक जलवायु परिवर्तनले पृथ्वीको तापक्रम वढाउँदै लगिरहेको छ । वनस्पति र वन्यजन्तुहरु तातो क्षेत्रबाट चिसो क्षेत्र तिर वढ्दै छन । यस्तो अवस्थामा नेपालका निकुञ्ज, आरक्षण जस्ता संरक्षीत वन क्षेत्रहरुलाई दक्षिणदेखि उत्तरतिर वढाउनु पर्ने देखिन्छ । यस्तै गरी सबै देशहरुले आ-आफ्ना आरक्षण र संरक्षित क्षेत्रहरुलाई गर्मीदेखि ठन्डीसम्म फैलाउनु पर्दछ । जस्ले गर्दा वन्यजन्तु संरक्षणमा अहं योगदान पुग्ने छ । यसको निम्ति प्रत्येक देशले समस्त जमिनको वैज्ञानिक विभाजन गर्नुपर्ने समय भैसकेको छ । जनताको वनप्रतिको निर्भरतालाई कम गराउने नीति सरकारहरुले वनाउनु पर्दछ । मानिसलाई स्वच्छ वातावरणको लागि वन, वन्यजन्तुको दिगो संरक्षण गरौ यसको लागि तन, मन र धनले सहयोग गरौं भन्ने नाराका साथ सरकारहरु अगाडि वढ्नु पर्दछ । वनमा आश्रित जनताको जिवीकोपार्जनका लागि वनमा आधारीत उद्योगको विकासमा जनताको सहभागिता गराउदैं लाने पर्यावरणीय नीति वनाउन सक्नु पर्दछ । प्रत्येक देशको संविधानमा पर्यावरण संरक्षणको सवाललाई प्रष्ट रुपमा राखिएको देखिदैन । त्यसैले प्रत्येक देशले आ-आफ्नो संविधान संसोधन गरेर भय पनि क्षतिपूर्ति सहितको पर्यावरणीय न्यायको ग्यारेण्टी गराउनु पर्छ । २१ औं शताब्दिको संविधान पर्यावरणमैत्री वन्नु पर्नेमा त्यसो हुन नसक्नु दुर्भाग्य भएको छ । यसतर्फ नेताहरुले गम्भिर भएर सोच्नु पर्दछ । वन र वन्यजन्तुको संरक्षण विना अव मानिसको दिगो विकास संभव छैन भन्ने कुरा हाम्रा नीति निर्माताहरुले वुझ्न जरुरी भइसकेको छ । तर मानवीय समस्याहरुलाई पर्यावरणसंग जोडेर हल खोज्ने समय भई सकेको छ । यदि हामीले हाम्रा नीतिहरुलाई पर्यावरणमैत्री वनाउँदैनौ भने हामीसंग दिगो विकासको भिजन छैन भन्नेकुरा स्पस्ट हुन्छ ।

    जीव भन्नाले जो जन्मन्छ, हुर्कन्छ र मर्दछ त्यो हो । त्यसैले संसारमा विद्यमान सम्पुर्ण प्राणी, वनस्पति तथा शुक्ष्म जिवाणुमा पाईने प्रजातीय भिन्नता, प्रकार र संख्या तिनीहरु वीचको अन्तर संवन्ध नै जैविक विविधता हो । जस्ले एक आपसमा कुनै न कुनै रुपमा अन्तरकृया गरिरहेका हुन्छन् । यही अन्तरक्रियावाट नै प्रकृतिको सुन्दर सृष्टी चलिरहेको छ । यस अन्तर्गत कुनै एक पक्षको विनासले कुनै न कुनै रुपमा मानिसमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । यही तथ्यलाई वुझ्न नसकेर नै हामी पर्यावरण विनासमा निरन्तर लागि परेका छौं । जैविक विविधतालाई सामान्य अर्थमा भन्नुपर्दा तपाई हाम्रो वरपर रहेका फरक फरक प्रकारका जिव जन्तु र वोट विरुवाको उपस्थिती नै जैविक विविधता हो । जैविक विविधता अन्तर्गत आफ्नै प्रकारको विभेद हुने वन, मरुभुमी, घाँसे मैदान, ताल तलैया, खोला नाला आदी पारिस्थितिक विविधता,  धान, गहु, मकै, कोदो जस्ता जातीगत विविधता धानको मनसुली, सिमठारो, तिल्कि, पोखरेली, ढुनमुने आदी विभिन्न प्रजातीहरु जनाउने वंसगत विविधता पर्दछन । जैविक विविधताको हिसावले नेपाल विश्वको २५ औ र एसियाको ११ औं स्थानमा पर्दछ । त्यसैले हाम्रो मुलुक क्षेत्रफलको हिसावले सानो भएता पनि जैविक विविधताको हिसावले सम्पन्न छ । यसको दिगो संरक्षण, विकास र उपयोगमा नै हाम्रो सुखद वर्तमान र सुन्दर भविष्य अडेको छ । नेपाल जैविक विविधतामा धनि हुनुको कारण हो भुधरातलीय वनोट । यहाँ छोटो दुरीमा पाईने विविध भौगोलीक संरचना, भिर, पहरा, गल्छी, उपत्यका र यस्ले पारेको स्थानीय हावा पानीमा प्रभाव र यस परीस्थितीको उपजमा आएका वनस्पती तथा जनावरको विविधता नै हाम्रा अमुल्य गहना हुन । नेपालको पुर्वी भागमा वढी वर्षात हुन्छ भने पश्चिममा कम नेपालको पुर्वदेखि पश्चिम तराई, पहाड र हिमाल पर्दछ । समुन्द्री सतहदेखि न्युनतम उचाई ६० मिटर र अधिकतम उचाई ८ हजार ८ सय ४८ मिटर रहेको छ । जस्ले गर्दा जैविक विविधताको खानी वन्न पुगेको छ । हामी कहाँ जैविक विविधताको अपार भण्डार भएता पनि यकातिर यसको सहि पहिचान र उचित प्रयोग गर्न नसकेको कारण मुलुक आर्थीक तथा विकासका दृष्टिले पछाडी परेको छ । अर्कोतिर अनियन्त्रित र जथाभावि प्रयोगले कयौ प्रजाती लोप हुने अवस्थामा पुग्दै छन । जैविक प्रजातीगत विविधतामा नै हामीहरुको जिवन निर्वाह, आयआर्जन, औद्योगीक कच्चा पदार्थ, जडिवुटीको व्यापारको लागि भर पर्दछौं । मुलतः ग्रामिण वस्तिका गरिव, विपन्न वर्ग, आदीवासी र जनजाती समुदायहरुको जिवन यापनका हरेक प्रकृया तथा सामाजिक सांस्कृतिक, धार्मीक प्रचलनहरु जैविक विविधतासंग गाँसिएका छन । जैविक विविधताका कारण नै जल चक्र, कार्वन चक्र तथा नाईट्रोजन चक्रसन्तुलीत भई पर्यावरण सन्तुलन हुन्छ । सनातन खाद्य चक्र गतिशिल वन्दछ । जस्ले गर्दा स्वच्छ खाद्यान्न प्राप्त हुन्छ । आज दिनहु वढ्दो पर्यावरण विनास र प्रदुषणले अप्राकृतिक रुपमा जलवायु परिवर्तन भई रहेको छ । जस्को परिणाम पृथ्वीको तापक्रम वढ्दैछ । मौसममा प्रतिकुल प्रभाव भैरहेको छ । यस्ले जैविक विविधतालाई संकटमा पार्दै लगिरहेको छ । त्यसैले प्रत्येक देशका सरकारहरुले पर्यावरणमैत्री नियम कानून र नीति निर्माण गर्दै विकासलाई पर्यावरणसंग जोडेर लाग्नु पर्दछ । जुन सरकारले पर्यावरणका हरेक पक्षलाई आत्मसात गर्न सक्दैन त्यो सरकार सधै असफल भैरहने छ । त्यसैले राज्य पर्यावरण मैत्रीक बन्नुमा नै मानवको भविष्य अडेको छ । त्यसैले संसारका प्रत्येक देशहरुले पर्यावरण र जैविक विविधता संरक्षणमा हातेमाले गरेर अगाडि बढ्नुको विकल्प छैन ।

  • पारस्थितिकीय प्रणालीमा गिद्धको महत्व: प्रकृति र मानिस

    पारस्थितिकीय प्रणालीमा गिद्धको महत्व: प्रकृति र मानिस

    डिल्ली वहादुर रावत

    प्रकृतिले सृष्टिचक्रलाई निरन्तरता दिनका लागि पारस्थितिकीय प्रणालीमा आधारित सृष्टि गरेको छ । कुनै पनि एक पक्षको विनास भयो भने त्यसको कु-प्रभाव अर्काे पक्षमा पर्न जान्छ । त्यसैले सवैको संरक्षण गर्दा नै मानिसको अस्तित्व यो धर्तीमा दिगो रहन पुग्छ । दुर्भाग्यनै भनौं आज मानिसमा बढ्दो अहमता र म भन्ने शब्दको कारण आफ्नै अस्तित्व गम्भीर संकटमा पार्दै गइरहेको छ । मानिसले आफुलाई प्रकृतिमा सवैभन्दा सर्वाेकृष्ट मान्दै अन्य पक्षको संरक्षणमा चासो नदिने मात्र होइन आफु सम्पन्न बन्नका लागि प्रकृतिको चर्काे शोषण गरिरहेको छ । यस्को निम्ति जैविक विविधता विनास गर्दै गइरहेको कारण आज जटिल पर्यावरणीय समस्याबाट गुज्रीरहनु परेको छ । यस्तै गरी आफ्ना आवस्यकता परिपुर्ती गर्ने नाममा र विलासी जिवन विताउनको लागि पर्यावरण पक्षमा ध्यानै नदिई गरिएको औद्योगिक क्रान्तिका कारण हाम्रो पर्यावरण साह्रै प्रदुषित बन्न पुगेको छ । आज पर्यावरणको विषयले राष्टिय, जातीय, धार्मीक सवै सिमाहरु नाघिसकेकोले विशुद्ध मानवीय साझा समस्याको रुपमा हाम्रो अगाडी आइरहेको छ । यो लेखमा मैले प्रकृतिको एउटा सन्तान गिद्धको बारेमा लेख्ने जमर्काे गरेको छु ।

    गिद्ध प्रकृतिमा रहेको एउटा ठुलो मांसाहारी पंक्षी हो तर कसैलाई पनि आक्रमण गरि मार्दैन । यसले त केवल मरेको सिनो र फालेको मासुजन्य फोहर मात्र खान्छ । त्यसैले यसलाई प्रकृतिको निशुल्क कुचीकार भन्दा फरक पर्दैन । मरेको सिनो खाएर मानिस लगायत अन्य जनावरमा रोग फैलिन दिदैन यसको अनुपस्थितिमा सिनो र मासुजन्य फोहोरबाट फैलिने रोगको विगविगी बढ्न पुग्दछ । त्यसैले प्रकृतिले हाम्रो धर्तीलाई स्वच्छ र सफा राख्न गिद्धको सृष्टि गरिदिएको हुनु पर्दछ ।

    कुनैपनि संरक्षणका कामहरु कठिन हुन्छन् । अझ त्यसमा विभिन्न क्षेत्रवाट चुनौतिहरु खडा हुँदा थप समस्याहरु आईपर्दा रहेछन । ती समस्याहरुसंग दृढ भएर जुध्न नसक्ने हो भने सम्पुर्ण लगानी खेर जाने सिवाय उपलव्धि केही हुँदैन । विचारमा होस वा पैसामा, काममा होस वा सोचमा परतन्त्रमा भर पर्ने हामी नेपालीहरु आफ्नै सोच र लगानीमा काम गर्न झन कठिनाई हुनेनै भयो । कुरो हो प्रकृतीको निशुल्क कुचीकार गिद्धको संरक्षण गर्ने सवालमा । नेपाल सरकारले पहिलो पटक गिद्ध संरक्षणको लागि पञ्च वर्षीय कार्ययोजना वनाएपछि सरकारको कार्ययोजनालाई सफल पार्न जनस्तरवाट गिद्ध संरक्षण गर्ने अभियानको सुरुवात भयो । समुदाय स्तरवाट पनि संरक्षणको कठिन काम गर्न सकिन्छ भनेर पहिलो पटक नवलपरासीमा गिद्ध रेष्टुरेण्ट वनाईयो । त्यसको सफलतापछि अहिले देशभरी ७ वटा गिद्ध रेष्टुरेण्ट वनिसकेका छन । यो नेपाली सोच र विचारले सवैलाई चकित पारीदियो । यसैवाट सिक्दै अहिले भारत पाकिस्तान लगायत एसियाका सवै देशमा गिद्ध रेष्टुरेण्ट खुल्नेक्रम सुरु हुदैछ । तर नेपाल सरकारले नेपाल सरकारले गिद्ध संरक्षण सम्वन्धि कार्ययोजना त वनायो तर बजेट कुनै पनि गिद्ध रेष्टुरेण्टमा दिएको छैन । उसले कार्ययोजना त विदेशसंग जैविक विविधता संरक्षणको लागि सहयोग माग्नका लागि मात्र बनाएको देखिन्छ ।

    गिद्ध; ठुलो प्रजातीका पन्छीहरु मध्य एउटा पन्छी हो । विश्वमा २३ प्रजातीका गिद्धहरु पाईन्छन भने दक्षिण एसियामा ९ प्रजातीका गिद्ध पाईन्छन । हाम्रो नेपालमा पनि पछिल्लो समयमा लामो ठुडे गिद्ध देखापरेपछि ९ प्रजातीका गिद्ध देखिन थालि सकेको छ । गिद्धले नत खाद्यवाली खान्छ नत फलफुल नै । यसै गरेर यस्ले आफै सिकार गरेर जिउँदो प्राणीलाई मारेर खादैन । केवल मरेको सिनो र फालेको मासुजन्य फोहर मात्र खान्छ । त्यसैले यसलाई प्रकृतिको निशुल्क कुचिकार भनेर भन्ने गरिन्छ ।

    अष्ट्रेलिया र अन्टार्कटीका बाहेक संसार भर गिद्ध पाइन्छन । यसलाई दुई भागमा बाँडिएको छ । पुराने विश्वको गिद्ध र नँया विश्वको गिद्ध भनेर । नयाँ विश्व भन्नाले अमेरिकी महाद्धीपलाई बुझाउँछ भने पुरानो विश्व भन्नाले बाँकी विश्वलाई जनाउछ । नयाँ विश्वको गिद्धले सिनो सुंघेर पत्ता लगाउछ भने पुरानो विश्वको गिद्धले सिनो हेरेर पत्ता लगाउछ । गिद्धले स्वच्छ मान्छेको स्वच्छ आंखाले जति टाढा देख्न सक्छ त्यसको आठ गुणा वढी गिद्धले देख्न सक्छ ।

    पशुमा प्रयोग गरिने डाइक्लोफेनेक दवाइको कारण गिद्ध लोप भएको प्रमाणीत भै सकेको छ । डाइक्लोफेनेक प्रयोग भएको पशु एक हप्ता भित्र नै मर्याे भने उक्त सिनो गिद्धले खाएमा उसको मृगौला खत्तम भयर तत्काल मर्ने गर्दछ । अहिले यो दवाई नेपाल सरकारले उत्पादन, भण्डारण, विक्री र प्रयोगमा प्रतिवन्ध लगाइसकेको छ । तै पनि मानिसमा प्रयोग गरिने डाइक्लोफेनेक लुकीछिपी प्रयोग भै रहेको छ । यति मात्रै होइन अन्य जनावर मार्नको लागि विष खुवाउने र जथाभावी फालि दिनाले पनि गिद्ध मरिरहेका छन । बाघका प्रजातीलाई मार्नका लागि सिनोमा विष हाल्ने चलन पनि बढ्दै गइरहेको छ ।

    गिद्ध तिव्र रुपमा लोप हुदै जान थालेका छन् भने अझ केही प्रजाती त नेपालमा ९५ प्रतिसत भन्दा वढी दरले लोप हुन थाले । यो मानव उपयोगी पन्छीले वर्षमा एउटा मात्र वच्चा जन्माउँछ । यसलाई खोर वनाउँदादेखि हुर्काउँदासम्म ८–९ महिनाको समय लाग्दछ । यो दौरान भाले वा पोथीमा कोही मर्यो भने वच्चा संकटमा पर्दछ । यसरी एउटा गिद्ध प्रकृतिमा आउँदासम्म धेरै कठिनाईसंग जुध्नु पर्दछ । यति मात्रै होईन प्रकृतिमा आएपछि मानव अज्ञानताका कारण वाँच्नै नसक्ने अवस्थामा पु्ग्यो । गिद्ध समुहमा वस्ने , समुहमा खाने एउटा मिलनसार पन्छी हो । यसले मरेको सिनो मात्र खाने भएकोले सानो भन्दा सानो सिनो खान पनि धेरै संख्यामा एकैचोटी आउने गर्दछन । त्यसैले एउटा सिनो विषाक्त हुन गयो भने एकै चोटी धेरै गिद्धको एउटै चिहान हुन पुग्दछ । यसरी अरु कुनैपनि वन्यजन्तुहरुले सामुहिक आहारा खादैनन् । अझ मामसहारी वन्यजन्तुहरु आफै सिकार गर्दछन मरेको सिनो पनि सामुहिक रुपमा प्रयोग गर्दैनन् । त्यसैले उनिहरु तिव्र रुपमा लोप हुदैनन् । तर, गिद्धले सामुहिक रुपमा सिनो खाने भएकोले सामुहिक मृत्यु हुने गर्दा तिव्र रुपमा लोप हुन पुग्दछन । त्यसैले प्रकृतिको निशुल्क कुचिकार गिद्धको संरक्षण गर्नुपरेको हो । मानव उपयोगी पन्छीको संरक्षणमा राज्यदेखि आम जनतासम्म जुट्नु पर्ने समय भई सकेको छ । हाम्रा भावी पुस्ताले प्रकृतीले मानिसलाई दिएको अनुपम उपहारलाई हस्तान्तरण गर्न सक्यौ भने मात्र हामी सचेत मानिस भयएको सार हुनेछ । अन्यथा अज्ञानी र अदुरदर्शि भनेर भावी पुस्ताले सरापी रहने छन् ।

    गिद्ध रेष्टुरेण्टको अवधारणा;

    हाम्रो धर्ती गिद्धको निम्ति असुरक्षित भयपछि सामुदायिक नेतृत्वमा नवलपरासीको पिठौलीमा गिद्ध रेष्टुरेण्ट खोलियो । त्यहाँ वुढा र विमारी गाईहरुलाई पालेर राख्न पशु वृद्धाश्रम वनाईयो । त्यहाँ राखेका गाई–गोरुहरु काल गतिले मरेपछि तिनको छाला निकालेर निश्चित स्थानमा राखिन्छ । यसरी निश्चित स्थानमा सिनो राखेपछि गिद्धहरु त्यहि सिनो कुरेर वस्ने र खाने गर्न थाले । जस्लेगर्दा उनिहरुलाई आहाराको निम्ति अन्त नजानुपर्ने भयो । त्यसपछि पुर्व कोशीदेखि पश्चिम कैलालीसम्म गरी ७ वटा गिद्ध रेष्टुरेण्ट खुल्न पुगे । आज नेपालीको यही सोच र सफलतालाई देखेर अरु देशहरुले पनि गिद्ध रेष्टुरेण्टको अवधारणालाई लागू गर्दैछन । नेपाल सरकारको पहलमा चितौनको कसरामा गिद्ध प्रजनन् केन्द्र खोलिएको छ । अहिले गिद्धको विनास दरमा कमी आएको पुष्टि भयको छ । नेपालको पुर्व भन्दा पश्चिममा गिद्धको संख्या धेरै छ । अझैपनि गिद्धको निम्ति हाम्रो प्रकृति असुरक्षित छ । त्यसैले गिद्ध रेष्टुरेण्टको आवस्यकता अझैपनि छ ।

    गिद्ध रेष्टुरेण्टको अवस्था कस्तो छ ?

    गिद्ध रेष्टुरेण्टको पुर्वाधार विकास व्यवस्थापनको निम्ति विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले सहयोग गर्दै आएकोमा पछिल्लो समयमा ती संस्थाहरुले हात झिकिदिदा र नेपाल सरकारले पनि बजेट नदिदा समुदायलाई आर्थिक भार व्यहोर्नु परिरहेको छ । कुनै पनि बेला गिद्ध रेष्टुरण्टहरु बन्द हुने अवस्थामा पुगिसकेका छन । यस्तो अवस्थामा नेपाल सरकारले गिद्ध रेष्टुरेण्टहरुलाई सहयोग गर्नु पर्ने देखिन्छ । यसको लागी धेरै ठुलो रकम पनि चाहिदैन । सात वटा रेष्टुरेण्टका लागी बार्षिक रु. १५ लाख भए पुग्छ तर पनि सरकार कानमा तेल हालेर वसेको छ । पर्यावरण क्षेत्रमा काम गर्ने दातृ निकायहरु पनि चुप लागेर वसेका छन । जसले गर्दा प्रकृतिको निसुल्क कुचिकार मानिने र पारस्थितीकीय प्रणालीको अभिन्न अंग गिद्ध लोप हुने सम्भावना देखिन्छ । त्यैसैले आउनुहोस् यसको संरक्षणमा सवैले चासो दिइ प्रकृती संरक्षणमा योगदान पुर्याऔं ।

  • अमेरिका : लाहुर न ससुराल

    अमेरिका : लाहुर न ससुराल

    दधिराम खतिवडा / टेक्सस, अमेरिका

    “प्लस टु पास, युरोपअमेरिका टाप”को लक्ष्य बोकेका छोरोछोरी र यसैलाइ सामाजिक प्रतिष्ठाको उच्चतम आकांक्षा मान्ने आमअभिभावक कयौँको मुल खेत उड्यो त कतिपयको मुलघरदेखि सहरको पिलरवाले घर नै । मुख्य सहरका मुख्य सडकका दायाँबाँया दुवैपट्टी स्थापति /सन्चालित कन्सल्टेन्सी, दलाल र बिचौलियालले अधिकांशलाइ सिरीखुरी पारेका घटना बग्रेल्ति नदेखिएका होइनन् ।

    आमअभिभावकको आफ्नो सन्तानप्रतिको आशा भरोसा सुन्दर भविश्यको परिकल्पना अबश्य सबैमा हुन्छ । र, वर्तमान परिवेशको रोजाइमा अमेरिका, युरोपले ध्यान खिच्छ । मुख्य कारण शिक्षा रोजगार अवसर र स्वतन्त्रता नै हो । सामाजिक स्वतन्त्रता छ भन्दैमा शारिरिक वा बौद्दिक श्रम गर्नुपर्दैन भन्ने चाहिँ पटक्कै होइन । त्यस्ता कयौँ भ्रम र यथार्थताहरू छन् । जुन अर्धमनोबैज्ञानिक दृष्टिकोणको विकासले समाजमा बिषयवस्तुको गहिराइ नबुझि फालहाल्ने प्रबृत्ति चाहिँ अलि उदेकलाग्दो ढङगले मौलाएको छ ।

    अनेक लम्बेचौडे प्रक्रिया पुरा गरेर अमेरिकन, युरोपीयन वा अष्ट्रेलियन भिषा प्राप्त गर्यो भने खुसिको सीमा रहदैन । साथीभाइ, परिवारजन, नातागोता निमन्त्रणा गरेर गाउँ, सहर बजार थर्किने गरी बृहत पाटी र भोजभतेरको आयोजना गरिन्छ । अर्काथरिलाइ उपद्रो इर्ष्या हुन्छ । उ भन्दा म के कम देखासेखिको मनोभावना उ पनि त्यसै गर्न लालायित छ । वर्तमान परिस्थिति र समाजको चित्र । जसरी हुन्छ ड्रिम ल्यान्ड अवतरण गर्ने/गराउनेको होडबाजी ।

    कुनै बृहत अन्तराष्ट्रिय कार्यक्रममा सहभागीता पो जनाउदै छ कि । रङगीन फुलमालाका साथ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो गेट छिर्न नपाउदै तस्बिर फेसबुक्याइनछन र ट्रवीट्याइन्छन । कतिपय साथीभाइले सेल्फि हान्न नपाएको गुनासो गर्छन् कमेन्ट बक्समा, त कतिपयले प्रस्थानका अवसरमा खबर नगरेको ठुलो मान्छे पल्टेको आरोप लाउन भ्याउछन ।

    नविनताको खोजीमा बिदेसिने जोकोहि बिद्यार्थी यात कामदारलाइ अपरिचत वातावरण परिबेश र माटोमा भिज्न सजिलो पटक्कै हुदैन । जब बिदेशी भूमीको विमानस्थलमा अवतरण गरिन्छ अनि सुरू हुन्छ संघर्षका पहाड उक्लिन । बसाइ काम ब्यवस्थानपन, काममा हुने कठिनाइ दुख हण्डर, मानसिक तनाब आदि इत्यादी । तुरून्तै भटाभट डलर बर्सिहाल्दैन । अमेरिका उडेकाको हकमा परिवार र आमसमाजको दृष्टिकोण सेनाको गौरबशाली संगठनमा भर्ती भएको जस्तो कल्पना गरिन्छ । अमेरिका अवरतण गर्न नपाउदै समाजमा डरलबारे कथित जानकारहरूको बिगबिगि ह्वात्तै बढ्छ ।

    अमेरिका बसाइको दुइ महिना नबित्दै एक मित्रले म्यासेज हुर्याए “आइफोन खरिद गरियो होला नि अब त ?” जवाफ फर्काउन नपाउदै पुन अर्को म्यासेज बर्सियो “ब्याजरहित ३ लाख रकम ॠण पठाइदिनुपर्यो मलाइ तत्काल” । उनलाइ लागेको होला अमेरिकामा डलर भनेको नेपालका रानीबनमा पतकर सोहेरे जस्तै हो । डोकामा छादेर ल्याउन सकिन्छ । यी र यस्तै खालका बैचारिक दृष्टिकोण भन्दा ठिक विपरित छ अमेरिका, यहाँ काम प्राथमिकतामा पर्छ । गफ तपशिलमा । हातमा सीप र दक्षता हुनेहरूको हकमा प्रत्येक सेकेण्डको महत्व छ । चिया पसल र गफाडी केन्द्रमा छलफल गरेजस्तो होइन । अमेरिका र हामीबीच केही असमानता छन् । जस्तो कि उनीहरू काम गर्छन्, हामी गफ गर्छौं । उनीहरू काम गरेरै संसारभर चम्किएका हुन्, हामी काम नगरेर संसारमा कहलिएका हौं । हामीकहाँ बिना योजना र उद्देश्यका काम धेरै हुन्छन् । अमेरिकामा काम या कार्यस्थलमा उत्पादक खोज्दछ । नेपाल जस्तो ढिला सुस्तीले अमेरिकामा चल्दैन ।

    जीवनलाई गतिशील सुखमय र समृद्ध जीवन बनाउने सपनाका साथ आज नौजवान नेपाली युवा तथा युवतीहरु वैदेशिक यात्रामा निस्कनु परेको बाध्यात्मक परिस्थित छ । बिदेशीएकालाइ सामाजिक सन्जालको सम्पर्कमा पहिलो प्रश्न सोध्ने गरिन्छ, “घर कहाँ छ ? घडेरि कहाँ छ ॽ” हाम्रो मनोबिज्ञान यस्तो भएको छ कि सहरमा घर हाल्न सकेन भने त्यसले जीवनमा कुनै प्रगति गर्न सकेन । र, आजको मान्छे चार आना जोड्न र घर हाल्नकै लागि अनेक जुक्ति लगाउन बाध्य छ । पढ्रन, जागिर खान र विदेशिन बाध्य छ । पहाडको सयौँ रोपनी जग्गामा सिस्नो फुलाएर, सहरको चार आना जग्गा जोड्न संघर्षरत छन ।

    गाउँ समाजका वल्लाघरे, पल्लाघरे, माथ्लाघरे, तल्लाघरे, सिरानघरे पुछारघरे आलोचनात्मक छलफलमा जुट्छन । फलानालाइ पैसाको के कमी, छोरो अमेरिकामा छ । घरका पारिवारिक सदस्यका बीचमा अधिकांशले जिज्ञासा तेर्साउन थाल्छन के काम गर्छ कान्छाले अमेरिकामा ॽ कति पैसा पठायो ॽ कति कमाउछ महिनाको ॽ आमाबाबु कहिले लान्छ अब ॽ बिबाह कहिले गर्छ ॽ केटि पहिल्यै उसको सम्पर्कमा होला, अहिलेको जमना । यस खालका काल्पनिक बिषयले टाउको दुखेर हैरान छन् निज मनुवाहरू । उनीहरू सोच्लान डलर फल्ने रूख हुन्छ अमेरिकामा, जसलाइ जति चाहिन्छ त्यति टिप्न पाइने । हिउदे समयमा बडहरको रूखबाट घाँस झारेजस्तो ।

    नेपालको हिन्दु आर्यन समूदायमा प्रचलित सामाजिक बिशेषता छ । ज्वाइलाइ बडा सम्मानजनक दृष्टिकोण हेरिन्छ । मिष्ठान्न परिकार सेवन गराइन्छ । काम लगाउनु पाप मानिन्छ । ठिक यस्तै सामान्यदेखि उपल्लो वर्गका मानिसहरू अमेरिका भनेको ससुरालीमा पाइने सम्मानभन्दा बढ्ता सम्झिन्छन । यहाँ को ज्याइ, को सम्धी, को भान्जो सरोकार छैन । शारिरिक श्रम प्राथमिकतामा पर्छ ।  अमेरिकामा स्वतस्फुर्त डलर फल्छ भन्ने नेपाली परिकल्पित चिन्तन दुखदायी छ ।

    नेपालमा फोन गर्न निकै महङगो छ । आफन्जन आफुहरूलाइ बिर्सेको गुनासो पोख्छन । सामाजिक सन्जालको पहुँचाबट टाढा रहेका मातापीतासंग साप्ताहिक बलतल संवाद स्थापित हुदा रकमको विषय पहिलो प्राथमिकतामा पर्छ । क्षमताअनुसार शारिरिक श्रमबाट भएको आय बिभिन्न उपशीर्षक अन्तर्गत भुक्तानी गर्नुपर्ने अनिबार्यता र बचावट कम भएको आशयपत्र बिसाउदा सहजै बिश्वास गर्दैनन् पारिवारिक गण । अमेरिकामा डलरमै सुत्न पाइन्छ भन्ने विपरित मानसिकता कायम छ नेपाली समाजमा । वनावटी अमेरिकी बढाचढाइ गफ, फुर्ति र खुसि प्रदर्शन गर्नेको बाक्लो उपस्थिति देखेर वास्तबिकता अपत्यार लाग्छ अधिकांशलाइ । मेरूदण्ड खुस्किउनजेल काम गरेको तस्बिर फेस्बुकिदैन । काम बिश्रामको अवसर पारेर सामुद्रिक सतह र गाडि पृष्ठभूमिमा पर्ने गरि छोटा, सुन्दर चरिच्याँट्ट लुगा धारण गरेर खिचिएका तस्बिरहरू फेसबुकिन्छन् । त्यसभित्र लामा र असुन्दर पीडा जुन लुप्त छन ।  

    अमेरिकि परिबेशमा परिचयोन्मुख अग्रजहरू प्रत्यक्ष भेटघाट, सामाजिक सन्जाल र टेलिफोन संवादका क्रममा नवप्रबेशीलाइ सोध्ने गर्छन । के काम गर्ने ॽ कति घण्टा गर्ने ॽ घण्टाको ज्यालादर कति ॽ हप्तामा पुरै कि कति दिन ॽ सम्पुर्ण विवरण प्राप्त गरेपछि मोबाइलको क्याल्कुलेटर प्रगोग गरी हिसाब सुनाइदिन्छन । कमाइको गणीतिय अंक राम्रै लाग्यो भने उसको भित्रि इर्ष्याको तापक्रम उल्लेख्य बढ्छ ।  अनि अलिकति कमजस्तो देखियो भन्छन, यतिले भात खान पनि पुग्दैन, काम धेरै गर्नुपर्छ । दिमाग खलबल्याउछन । के कमाइ कम छ भने डकैत गर्न जानाढस दिनेको भन्दा मानसिकता गिराउने प्रबासी ननेपाली अग्रजहरूको उपस्थिति पनि कमि छैन ।

    अमेरिकामा संगै काम गर्ने समकक्षीले कति ज्याला पाउछ एकअर्कालाइ थाहा हुदैन । कम्पनी वा मालिकले कुन कामदारलाइ कति दिन्छन । कारोबारको गोपनीयता हुन्छ । अनि सारा आय ब्यय खोज्ने नेपाली अग्रज सल्लाहकारहरू के सम्पति शुद्रिकरण बिभागका अधिकृत वा अख्तियारका प्रतिनिधि हुन । उदेक लाग्छ । जब कि अमेरिकनहरू को के गर्छ ॽ कसले कति कमाउछ ॽ कस्को कुन पद हो ॽ वास्ता र निन्दा गर्दैनन् । तर, हामि नेपाली जनसमूदाय अरूको ज्यादा महत्व राख्छौ, जुन अवान्छनीय चासो हो । खुराफात गर्न हामी निकै खप्पिस छौँ ।

    अर्का एक नेप्लिज अमेरिकन वरिष्ठ ब्यक्तिले जिज्ञासा राखे केमा लगानी गरिदै छ नेपालमा ॽ उनको उदेश्य मलाइ सोध्ने बाहानामा आफुलाइ सोधोस् र आफ्नो प्रगति विवरण कतिबेला सुनाउ । रमक मनग्गे आम्दानी गरेको घर, गाडि ब्यवसाय सारा ब्यवस्था भएको र समाजसेवा समेत गरेको ब्यहोरा अबगत गराए । प्रगति र खुसि प्रचार गर्नेको संख्या पनि उत्तिकै बेजोड । बिबेकवानलाइ अवगत हुनुपर्ने आफ्नो प्रशंशा अरूले गरेको उत्तम । तर, सुनिदिनै पर्यो ।

    विगत केहि वर्ष अघि अमेरिका प्रबेश गरेका एक दाजुले निश्चित समयका लागि बाआमा पनि भित्र्याएछन । गाउँमा भएकि बुहारिसंग लाक्पा खेल्दा वाक्क भएकि सासु, अमेरिकामा सुत्केरि भएकी बुहारीले बच्चा स्याहारसुसार गर्न बोलाउदा फुरूक्क । झ्यालखानामा थुनेजस्तो घरमा थुनिदा औडाहा भएका बुढा बालाइ अलमलिन फेसबुक अकाउन्ट खोलिदिएछन । बुढाको खुसीयाली बेग्लै । दिनभर छपटहट भइरहेका उनले एकदिन म्यासेन्जमा भिडियो संवादमा जोडिदै तुरून्त सोधिहाले कान्छा तेरो गाडि छ ॽ उनलाइ लागेको होला अमेरिका आइपुगेका जोकोहिले घर गाडी घोडा एकैछिनमा जोडिहाल्छन ।

    अमेरिकामा स्थापित भएपछि पारिवारिक सदस्य बोलाउने, पतिपत्नीमध्ये पहिला को तर्फका आमाबाबु वा आफन्त बोलाउने भन्ने सन्दर्भमा बिवादले गृहयुद्दको स्थिति उत्पन्न भएको, आफन्तबीचमा दुरि बढेको काम पहिलो प्राथमिकतामा पर्ने भएकाले पुर्ण समय परिवारका लागि दिन नसक्दा, बैबाहिक सम्बन्ध टुट्न पुगेको, उचारचढाब, पारिवारिक सामाजिक बिखण्डित भएको कतिपय यस्ता घटनाले तिब्रता देखिन्छ ।

    अमेरिकामा घण्टा हान्ने कर्म अर्थात काम गर्नुको बिकल्प छैन । एउटा अप्रिय सत्य श्रमशोषण । अमेरिकनहरू परिश्रम गरेको न्युनतम श्रमको मूल्य भुक्तानी गर्न हिचकिचाउदैनन । तर, नेपाली व्यवसायीद्वारा सन्चालित अधिकांश ग्यास स्टेसन, स्टोरमा विद्यार्थी र नवप्रबेसीलाइ तालिम भनेर महिनौ बिनापारिश्रमिक काम लगाउँछन । यतिसम्म काम सिकाइ भनेर काम लगाउने र अन्तिममा  न्युनतम ज्यालादर दिने त टाढाको कुरा एक डलरको खाजासम्म नदिइकन कामबाट हटाउने कूप्रबृतिले नेपालीद्वारा नेपाली लुटधन्दा प्रणाली बढ्दो छ । हिजोको विगत र पृष्ठभूमी बिर्सिसकेका छन् नेपाली ब्यवासायीले । कति सम्मको निच्च अमानवीयता । अनि उनै बिशिष्ट समाजसेवीको दर्जामा उभ्याउछन । न्युनतम मानवीयता लामो खडेरी छ ।

    अमेरिकी कानुनअनुसार हरेक कामदारलाई प्रतिघन्टा ७ डलर २५ सेन्टभन्दा कम ज्यालादरमा काममा लगाउन प्रतिबन्ध छ । निशूल्क काम अबैधानिक मानिन्छ । न्यूनतम ज्यालाभन्दा कममा काम लगाउने जोकोही पनि कानुनी कारबाहीको भागीदार हुन्छन् । नबप्रबेशीको हकमा नीतिगत कानुनी ब्यवस्था थाहा नहुदा शोषिष हुन बाध्य हुन परेको छ ।

    अर्कातर्फ अधिकारका वा समाजसेवाका लागि भन्दै दर्जनौ सङ्घसंस्था खुलेका छन् । लाखौँ खर्च गरेर जोखिम मोल्दै गलत बाटोबाट अमेरिका ल्याउन खोज्ने त्यहि संस्थागत तस्करिहरू पनि छन । बाध्यताबस जे जसरी भए पनि अमेरिका छिरेका नेपालीको सहजताका लागि संस्थाहरूले कुनै काम गर्न सकेको छैन । नेपालीको सामाजिक हितका लागि सहयोग गर्नुपर्नेमा नेपाली द्वारा नेपाली नै लुट्ने र ठग्ने काम खेदजनक छ ।

    अमेरिकाको चुम्बकीय शक्तिले नेपालीहरूलाइ मात्र होइन, बिश्वका सबैलाई आकर्षित गर्दछ l ब्लग लेखिरहदा धेरैले प्रतिवाद गर्लान आफू अमेरिका जान हरेक जुक्ति लगाएर जाने तर अरुलाई दुख देखाएर नआए पनि हुन्छ भन्ने खालको सल्लाह दिन्छ । अरूलाइ गलत आरोप लगाउछ । बिल्कुल दरिद्र चिन्तन  र साँघुरो मानसिकता ब्यक्त गरेको होइन ब्यक्तिगत अनुभव र भोगाइ प्रस्तुत गर्ने प्रयास मात्र हो ।

    अमेरिकामा अति उच्चवर्गका, डीभी चिट्ठाबाट आएका, व्यवसायी, प्रोफेसनल, विद्यार्थी, नेपाली भुटानी शरणार्थी आदिको भिड छ । यथार्थमा अमेरिकामा नेपाली अति सामान्य काम गर्नेदेखि लिएर निकै उच्चतहमा समेत पुगेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको निकायसम्म नेपाली पुगेका छन् । राजनीतिमा राज्यका प्रतिनिधिसम्म पनि भइसकेका छन् । व्यापार–व्यवसाय गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ । उनीहरूको जीवनस्तर लाहुरे स्तरभन्दा माथिल्लो होला । तर, सबैको क्षमता बराबर हुदैन । शैक्षिक स्थिति, ज्ञान सीप, क्षमता न्युन भएकाहरूको हकमा अमेरिका लाहुर, सपनाको संसार, स्वर्ग वा सर्बैसर्वा होइन । कठोर शारिरिक परिश्रम गर्न सिकाउने पाठशाला चाहि हो ।

    अमेरिका पसेका नेपाली तन्नेरीहरूको साहस संघर्षको कथा मान्न लायक छ। तर त्यसका लागि उनीहरूले पाएको कथा र ब्यथाहरू पनि सतहमा आउनु र बुझ्नुपर्छ । नेपाल छोड्दैमा हाम्रो परिचय बदलिदैन । बाहिर बसेर नेपालको सरकार र नेताले यो गर्यो वा गरेन भन्दैमा आलोचनायुक्त समय खेर फाल्नुभन्दा पनि हमीले देशको उन्नत्तिको लागि के गर्न सकिन्छ वैज्ञानिक बहस जरूरी छ ।

    @drkhatiwada1

  • साली

    साली

    योगेश आदी ‘डंगोल’

    दिदीको बिवाहको दिन नै भिनाजूको जुत्ता समातेर ठट्टाको बिजारोपण गर्ने पात्र हो; साली । जुत्ता मोलमोलाईको क्रमदेखि नै हेपिन शुरुहुन्छ त्यो अनुग्रहित पात्र ।

    अन्य कसैको घरको शोभा अनि कसैको जीवनसाथी बन्नुपर्ने पात्रको नाम जोडेर “साली आधी घरवाली” “साली कस्को भेनाको” जस्ता भद्दा मजाकका बोलबोलाईमा रौसिन्छन् समाज । मनपर्ने एउटी साली छ… साली माग्दा सासुले लखेटिन्… जस्ता गीतहरु हिट खान्छन् । भिनाजूको स्वेटर जस्ता कुरितीलाई प्रश्रय दिने खालका कथाहरु पाठ्यक्रममा राखिन्छन् । शिक्षित बर्ग परिवर्तनका संवाहक हो भने यस्ता छुद्र खालका परिपाटीलाई बहिस्कार गर्नुपर्छ ।  यो परिपाटी हाम्रो संस्कारको धब्बा हो, आजैबाट रोकौं । दिदी र भिजाजूको सम्वन्ध मायाको हो भने भिनाजू र सालीको सम्वन्धमा मर्यादा हुनुपर्दछ । जुत्ता लुकाएर पैसा माग्ने नेपाली हिन्दुको सनातनी परिपाटी होईन । भारतको महाराष्ट्रको अभ्यास हो । हिन्दी सिनेमाबाट नेपाल भित्रिएको हो । 

    मेरो श्रीमती कान्छी भएकीले साली पात्रको अनुभुती छैन । ससुराबाले मेरो गोडा पनि छुनु भएन । नेवारको बैवाहिक संस्कारमा पर्दैन, हाल कसैकसैले शुरु गरेको देख्छु । त्यसै कारणले पनि म यस बिषयमा अलि फरक भएको हुनसक्छ । मलाई लाग्नु नलाग्नु भन्दा पनि अपाच्य संस्कारहरुलाई परिमार्जन गर्दै लैजानु नै कालान्तरमा हितकारी हुन्छ ।

    हाँसखेल ठट्टा क्षणिक मात्रै रमाईलो हो । मनमौजी रसरंगले जिबननै तरंगित पार्नु ठीक होईन । थोरै खेलुन्जेल रमाईलो हुन्छ, मात्रा बढे जुवा बन्छ । थोरै पिउन्जेल रम्म, बढी भएपछि वाक्क हुन्छ । क्षणभरको रमाईलो भनेर १६-१७ वर्षे केटीलाई “जाउ भिनाजूको जुत्ता लुकाऊ” भनेर नुर गिराउनुको सट्टा अलि भिन्दै खालको रमाईलो आयाम थप्दा के जान्छ र ? निहुरिएर ज्वाईको खुट्टा धुनुको सट्टा आँखामा पट्टी बाँधेर हात धोईदिए नयाँपन आईहाल्यो नि ! 

    बिरालो बाँधेर सराद्धे गरेको देखेर हुर्केकाले सराद्धे अघि बिरालो खोज्न हिडे जस्तो नगरौं । सालीलाई छोएर बोल्न खोज्ने । अधिकार जमाएर काम अह्राउने ईत्यादी उपरोक्त घटनाका बाईप्रडक्ट हुन् । वहिनीका कारण कयौं दिदीका बिग्रिएका पारिवारिक संरचनाहरु यसका उपज हुन् । यस्ता परिपाटी संस्कारका छुद्र हुन्, जहाँबाट मर्यादा चुहिन शुरु हुन्छ । बाख्राको पुच्छर काटेर बोकालाई सजिलो भएजस्तो मात्र हो, समाजले दिएका यी स्वेत धब्बाहरु । कसैको व्यक्तित्व, शरिर र चरित्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मनोरञ्जनको लाभ लिने समाजको परिकल्पना हामीले गरेका होईनौं ।
    पोखरामा एउटा बिहे झण्डै आधा दिन लम्बिएछ । भिनाजूको जुत्ता मोजा बोकेर सालीहरुले १ लाख मूल्य लगाएछन् । बिवाहको बिधि पुरा भैसकेपछि सालीहरुले बाटो छेकेर “हामी कजनहरु सहित १० जना सालीहरु छौं १ लाख घटि त कामै छैन” भनेछन् । दुलाहा पट्टीले लामो समयको  बार्गेनिङ् पछि ५० हजार दिएछन् । अझ नमाने पछि दुलाहा जुत्ता नै नलगाई गाडीमा गई बसेछन् । तर सालीहरुले भिनाजूको कार नै घेरेर जानै नदिने भएपछि ७० हजारमा दोश्रो पटक त्यै जुत्ता किनेछन् । त्यसपछि सबै साली मिलेर भिनाजूलाई उचालेछन् । भिनाजूले ७० हजारमा थुप्रै स्वतन्त्रताहरु किने ।

  • विद्यार्थी आन्दोलनको रन्को र सत्याग्रहको फन्को

    विद्यार्थी आन्दोलनको रन्को र सत्याग्रहको फन्को

    पुरुषोत्तम लम्साल
    भर्जिनिया

    गएको साउनदेखि नै शुरु भएको थियो निजी मेडिकल कलेजका विद्यार्थीको आन्दोलन, चितवन मेडिकल कलेजबाट । आन्दोलनकारी विद्यार्थीको माग थियो, सरकारले तोकेको भन्दा बढी शुल्क उठाउनु गलत हो र कलेजले अवैधानिक रुपमा उठाएको शुल्क फिर्ता गर्नपर्छ । यत्ति थियो माग । कलेज प्रशासनले उतिबेला विद्यार्थीको मागलाई बेवास्ता गर्दै लौजा भनेर कलेज नै बन्द गरिदियो । उल्टो विद्यार्थीलाई आवास (होस्टल) छाड्न सूचना निकाल्यो, विद्यार्थीलाई कलेजको अस्पताल प्रवेश गर्न प्रतिबन्ध लगायो । विद्यार्थी आन्दोलनको चाप अन्यत्र पनि सर्दै गएपछि देशभरका विभिन्न निजी कलेजले वर्षौंदेखि गर्दै आएको ठगी र शिक्षाको कालोबजारी छताछुल्ल पोखियो । गोबिन्द केसीले आफ्नो सत्याग्रहको निरन्तरको श्रृंखलामा भन्ने गरेको ‘स्वास्थ्य क्षेत्रमा माफिया’ भन्ने तत्वहरु बारे थप बल्ल भण्डाफोर शुरु भयो । सत्याग्रहबाट होइन, जागिरे जीवनबाट अनिवार्य अवकाश पाएपछि पछिल्लो विद्यार्थी आन्दोलनले गोबिन्द केसीको अभियानको औचित्य थप पुष्टी गरेको छ ।
    देशको शिक्षा प्रणालीमा स्वास्थ्य पनि एउटा विषय हुन्छ । त्यो विषयमा दक्ष जनशक्ति उत्पादन गर्न संकायसहितको संस्थानको अलग्गै संरचना हुन्छ । त्यसलाई चिकित्सा शास्त्र भनिन्छ । त्यो संरचनालाई राज्य नामको कुनै निकायले यसो गर्ने उसो नगर्ने भनेर निर्देशन दिएको हुन्छ । त्यो निर्देशन दिने निकाय सरकार हो । सरकारसँग मन्त्रालय छ, विभाग छ, परिषद् छ, विश्वविद्यालय छ । तर जहाँ नीजी क्षेत्रले हात हालेको छ ती संरचनाहरुलाई सरकारले दिएका निर्देशन बाध्यकारी हुँदैन । अर्थात् उनीहरुले सरकारको निर्देशन मान्दैनन् । किनकि, उनीहरु मनग्गे नाफा कमाउँछन् । मनग्गे पूँजी आर्जन गर्छन् । र, त्यो नाफा वा पूँजीलाई अनेक हिस्सा बनाएर राज्यका तत्तत् निकायमा आसचकपु (आर्थिक सहायता, चन्दा, कमिशन, पुरस्कार) बितरण गरिरहेका हुन्छन् । उनीहरुसँग नाफा कमाउने अनेक शुत्र छन् । त्यस्तो शुत्र जहाँ जुन शुल्क उठाउन हुँदैन भनिएको छ, उनीहरु उठाउँछन्—उठाइरहेका छन् । अझ बढी ती संरचनामा गरिब र विपन्नको पहुँच सम्भवै हुँदैन । छैन । राज्यले नै यो वातावरण बनाइदिएको छ— बकाइदा ठगी गर र ठगीको ब्यवस्थित बन्दोबस्त गर्न सहयोग गर्न परे हामीलाई (सरकारलाई) भन ।
    ती संरचनाको नियमन गर्ने अड्डाहरु छन् तर दलालीका अखडा जस्ता । ती संरचनाहरुले देशलाई दीर्घकालीन अहित गर्छ भनेर जसले राज्यलाई खबरदारी गर्छ सत्ताको दृष्टिमा ऊ बौलाहा हुन्छ र, तिनमाथि अरिंगालको गोलो झैं जाइलाग्न सत्ता उर्दी जारी गर्छ । ती संरचनाहरुमा अनियमितता भयो भनेर जहाँ उजुर गर्नपर्ने÷हुनपर्ने हो त्यही ठगहरुको हैकम कायम भइरहेको हुन्छ । र, वर्षौदेखि विद्यार्थी लुटिन अभिषप्त हुन्छन् । विद्यार्थीका अभिभावकहरु लुटिन अभिषप्त हुन्छन् । हो, यहींनेर मुठ्ठीभरका दलालहरुले राज्यमा हैकम जमाएर दोहन गरिरहेका छन् भन्दा हुन्छ ।
    विद्यार्थी बोल्छन् तर राज्य उनीहरुलाई दमन गर्नपर्छ भन्छ । विद्यार्थीहरु बोल्छन् राज्यकै आडमा उनीहरुलाई सखाप बनाइदिने धम्की शुरु हुन्छ । विद्यार्थीहरु बोल्छन्, राज्यकै मिलिभगतमा तिनका चोठाकोठामा बन्दुक प्लान्ट गरिन्छ र अबैध हातहतियार तथा खरखजानाको मुद्दा ठोक्न ल्याप्चे लाउने धन्दा खुल्छ । लुटिनु नियति किन हुन्छ भने राज्य नै लुटेराहरुको संरक्षणमा हात धोएर लागिरहेको हुन्छ । यसो भन्दा हुन्छ, राज्य लुटेराहरुकै लागि चल्दै आएको जस्तो छ । किनकि तिनीहरु राज्यकै मिलिभगतमा वर्षौदेखि हाकाहाकी ठगी धन्दा चलाउँदै आइरहेका छन् । जो जो सत्तामा आउँछन् ठगहरुकै मतियार आउँछन् । ठगहरुकै कठपुतली आउँछन् । ठगहरुकै खेताला पो आउँछन् । बुझ्ने भाषामा ‘राज्यलाई स्वास्थ्य क्षेत्रका ठगहरुले च्याम्पट्टी झैं नचाईरहेका छन्’ र राज्य तिनै ठगहरुको ईशारामा नाचिरहेको छ । यो एकादेशको होइन, हाम्रै देशको ब्यथा हो । मेडिकल शिक्षाको ब्यथा ।
    साउनबाट शुरु भएको विद्यार्थी आन्दोलन अब परीक्षा बहिष्कारसम्म पुगेको छ । गत साता (मंसिर १८) मात्र चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतका सयौं विद्यार्थीले परीक्षा बहिष्कार गरे । केहीले प्रश्नपत्र जलाए । यो हठात् भएको विरोध थिएन, विद्यार्थीले महिनौंदेखि थालेको आन्दोलनको अर्को रुप थियो । चितवन मेडिकल कलेज, किस्ट मेडिकल कलेज एण्ड साइन्सेज, बुटवलस्थित युनिभर्सल मेडिकल कलेज, बीरगञ्जस्थित नेशनल मेडिकल कलेज, पोखरास्थित गण्डकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन् । परीक्षा बहिष्कार गर्नुको कारण स्पष्ट छ, निजी मेडिकल कलेज सञ्चालकहरुले उठाउँदै आएको गैरकानुनी शुल्क फिर्ता गर्नुपर्ने । सत्याग्रही गोबिन्द केसीको अनशनको प्रतिफल मान्दा हुन्छ, सरकारले उपत्यकाभित्रका लागि प्रतिविद्यार्थी ३८ लाख पचास हजार र उपत्यका बाहिरका लागि ४२ लाख ५० हजार शुल्क तोकेको थियो । तर कलेज सञ्चालकहरुले यो वा त्यो शीर्षकमा, सालमी र मलामी शीर्षकमा पनि विद्यार्थीहरुसँग वर्षेनी लाखौं थप असुल गर्छन् । विद्यार्थीले त्यही गैरकानुनी शुल्क फिर्ता मागेका हुन् ।
    करोडौं होइन अर्बौ ठगी
    जहाँ आठ आठवटा संकाय छन् । र, प्रत्येक संकायमा गरी सयौं विद्यार्थी हुन्छन् । ती विद्यार्थीबाट लाखौंका दरले (एमबीबीएस ८ लाख, नर्सिंग ४ लाख) उठाउँदा एक वर्षमा एउटा कलेजले कति करोडको अवैध मुनाफा आर्जन गर्ला ? अनि देशभरका निजी मेडिकल कलेजहरुले गरेको ठगीको एकमुष्ठ हिसाब कति पुग्ला ? ती शीर्षकमा शुल्क उठाउन अनुमति दिने त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको अनुहार कस्तो होला ? ति पदाधिकारीहरुले हप्ता असुलीको सट्टा मासिक असुली र वार्षिक असुली कति गरिरहेका थिए र होलान् ? तिनलाई अख्तियारबाट बचाउन हिजोका लोकमान र राजनारायण पाठक जस्ता गिरोहले कसरी सौदाबाजी गरिरहेको होला ? मन्त्रालयका उच्च पदासीनहरुका लागि पुग्ने थैली र झोलीको आकार कत्रो होला ? हिजो गोबिन्द केसीले उठाएका मुद्दामाथि राजनीतिको रंग पोतेर खिसिट्युरी गर्नेहरुले बल्ल थाहा पाएका छन् । यसैले सत्तामा बस्ने सबैले गोबिन्द केसीलाई बहूलै करार गर्न मरिहत्ते गर्छन् । अनि जो सत्ताबाट सडकमा आउँछन् फेरि तिनीहरु चिच्याउँछन् राज्य बौलाहा भो । नेपाली कांग्रेसकै बिद्रुप अनुहार हेरम्, सफा चित्र आउँछ ।
    यहाँबाट गोबिन्द केसी सम्झौं
    २०६९ असारदेखि शुरु भएको गोबिन्द केसीको सत्याग्रह (अनशन) को श्रृंखला डँडेल्धुराबाट शुरु भएको सत्रौं संस्करणबाट स्थगित छ । तर मुद्दा आज पनि त्यही छ । राज्यले जनताको स्वास्थ्यको जिम्मेवारी आफैं लिन सक्नुपर्छ, सक्दैन भने कम्तीमा माफियाको हातमा नपरोस् र उनीहरुलाई राज्यले नै नियमन गरोस् भन्ने नै हो त गोबिन्द केसीको सन्देश । विपन्नले पनि स्वास्थ्य विषयमा उच्च प्राविधिक शिक्षा प्राप्त गर्ने वातावरण बनोस् र दुर्गम क्षेत्रका जनताले अकालमा नमर्न नजिकै गुणस्तरीय स्वास्थ्य शिक्षण संस्था खुलोस् भन्ने नै त हो । तर जनताको स्वास्थ्यलाई एमाले, माओवादी, कांग्रेसले आआफैं कित्ताकाट गरेको परिणाम हो, निजी मेडिकल कलेजका नाममा मौलाएको स्वाथ्य क्षेत्रको माफियाकरण । व्यापारीहरुलाई निश्चित शुल्कमा बाँध्न भएको सहमति र सम्झौतालाई चोरढोकाबाट चढेर यो त्यो शीर्षकमा शुल्क उठाउन अनुमति दिने राज्यका हुँडारहरु को को हुन् ? गोबिन्द केसीले तिनीहरुलाई कारबाही हुनपर्छ भनेको हो हिजो ।
    पोहोर मात्रै मन्त्रीपरिषदले गैरकानुनी शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई कारबाही गर्ने भन्यो । एकवर्षपछि फेरि त्यस्तै निर्णय गर्नपर्यो । सरकार शुल्क फिर्ता नगरे कारबाही गर्छु भन्छ, मन्त्रालय चाँहि व्यापारीहसँग समायोजनमा जान करजोरी बिन्ती गर्छ । निर्णय कारबाहीको गर्ने, तर कार्यान्वयनमा जाँदा ठगहरुलाई बचाउन मरिहत्ते गर्ने । असोज ७ गतेदेखि मंसिर २२ सम्म आइपुग्दा गृह र शिक्षा मन्त्रालय कसले चलाईरहेको छ भनेर प्रश्न गर्न नपर्ने तहमा आइपुगेको छ । दुबै मन्त्रालय र मातहतका पदाधिकारीसहितको वैठकमा कारबाही थाल्ने निर्णय गरिन्छ र गृह मन्त्रालयका प्रवक्ता बाहिर बोल्दै हिंड्छन्, ‘विद्यार्थी र कलेज मिलेर आए कारबाहीको प्रक्रिया अगाडि बढाईदैन ।’ ‘कलेजसँग मिलेर उजुरी नगर्न आन्दोलनकारी विद्यार्थीसँग आग्रह गर्ने’ त दलालहरु छन् । उजुरी गर्ने विद्यार्थी, उजुरी लिन नमान्ने प्रहरी, उजुरी नलिन अह्राउने हाकिम, हाकिमहरुलाई निर्देशन दिने नेता सबै जिउँदै छन्, छड्के किनाराका साक्षी ।
    त्यसैले गोबिन्द केसीले ऊबेलै माग गरेका थिए ‘समयसीमाभित्र अतिरिक्त शुल्क फिर्ता नगरे सञ्चालकहरुविरुद्ध ठगी मुद्दा चलाउन र कलेजलाई राष्ट्रियकरण’ गर्न । सत्तामा बसेपछि आँखामा फुलो परे पनि सडकमा आएपछि सबैले देख्ने र सम्झने दृष्य हो गोबिन्द केसीको अनशनको । तर यहाँ त वर्षैदेखि ठगी धन्दामा लागिरहेकालाई सकेसम्म जोगाउने, त्यसका लागि राज्यले नै सकेको हथ्कण्डा अपनाउने, संरक्षण र प्रोत्साहन गर्ने चलन छ । म भ्रष्टाचार देख्दिन, सुन्दिन भन्ने शक्तिशाली प्रधानमन्त्रीकै नाकैमुनी कहलिएका ठगहरुले नाचिरहेको ठगीको ताण्डव कहिले पो देख्ने हुन् ! नदेख्ने पो हुन् कि ! कि ठगहरुका अगाडि निरुपाय विद्यार्थीहरु सडकमा रोइरहन मात्र पर्ने हो कि !

  • डाहालाग्दो इलिनोइको एकता

    डाहालाग्दो इलिनोइको एकता

    कल्पना घिमिरे
    स्टेजमा पफरमेन्स देख्ने बित्तिकै उनीसंग कतिबेला कुरा गरौं भन्ने भयो । पफरमेन्स सकिन नपाउँदै बिबाहको पार्टीको भिडभाड र गानाबजाना भन्दा पर लगें । बिज्ञा पौडेल खड्का, उमेरले खै कति पुगिन् थाहा छैन । सोध्न मिलेन । तर, उनको पातलो, फुर्तिलो शरिर र दमदार नृत्य देख्दा लाग्थ्यो उनी भर्खरै कलेज जान थालेकी युवती हुन् । तर, कहिलेकाँही अनुमान ठ्याक्कै उल्टो हुने रहेछ । उनकी त कलेज पढ्ने छोरी छन् रे । मेहेन्दी रसमको दिन राती बिज्ञासंग दुरुस्तै अनुहार मिल्ने एउटी युवतीले दुलहीका सबै साथीहरुलाई मेहेन्दी लगाइदिदैं थिइन् । दीदी बहिनी होलान् भन्ने सोचें । तिनै बंशिका खड्का उनकी छोरी भन्ने थाहा पाउँदा एकछिन त म अवाक नै भएँ । अनि सोचे महिलाले यतिसम्म ‘बडी मेन्टेन’ कसरी गर्छन् ?


    इलिनोइ राज्यको नेपाली बस्तीबारे कुरा गर्दै गर्दा मैले किन उनको प्रसंग जोडे भन्ने लाग्ला । इलिनोइमा मैले अलिक नजिकबाट कुरा गरेकी उनै थिइन् । हुन त अरु थुप्रै नेपालीहरुसंग भेट भयो । संगै बसियो गफगाफ गरियो तर, इलिनोइको एकताबारेका केही कुरा बिज्ञाले बताएकी थिइन् । बिबाह, भोज भत्तेरमा पाहुना पासा फस्र्याउने देखि सबै बन्तोबस्ती मिलाउने काम आफ्नै सम्झेर गर्ने त्यहाँको चलन देख्दा हामी न्यूयोर्क बाट जानेलाई अलिक अनौठो नै लाग्यो ।


    न्यूयोर्कबाट ९११ माइल (झण्डै १५ सय किलोमिटर) दुरी बसमा यात्रा गरेपछि इलिनोइको राज्यको सेन्ट लुइस शहरको फेयरभ्यु हाइट्स भन्ने ठाउँमा पुगिने रहेछ । एउटा बिबाहमा सहभागी हुनका लागि अघिल्लो साता न्यूयोर्क देखि इलिनोइ राज्य सम्मको यात्रा गर्ने अवसर मिल्यो । १४ जनाको लामो दुरीको यात्रा, यात्राको गाना बजाना, खानपान, गफगाफ र रमाइलोलाई यहाँ जोड्न चाहान्न ।
    फेयरभ्यु हाइट्समा १२÷१५ घर परिवार मात्रै नेपाली रहेछन् । थोरै मात्रै नेपाली भएको बस्ती भएपनि उनीहरु बिचको एकता चै बलियो लाग्यो । बिज्ञाले भन्दै थिइन्, ‘सारो गाह्रो अफ्ठेरो जे सुकै परोस, एकजुट हुन्छौं । सुत्केरी हुँदा होस या बिवाह भोज भतेर वा कुनै पूजा आजाका कार्जे, सबै मिलेर फस्र्याउछौं ।’ परिवारमा कुनै दुःख् बिमार भयो । अस्पताल पु¥याउनु प¥यो भने आफ्नै परिवारको सदस्यलाई परेको अफ्ठेरो सम्झेर जसले समय निकाल्न सक्छ ऊ नै पहिले दौडिन्छ ।’

    सबै काममा जान्छन् ब्यस्त छन् । तर, बिहान बेलुका सघाएर भए पनि जे सुकै होस काम सम्पन्न गर्ने उनीहरुको चलन जस्तै रहेछ । ‘म सुत्केरी हुँदा एउटी छिमेकी बिहानै आएर सुत्केरीको खाना, ज्वानुको झोल पकाएर खान दिन्थिन् र दिउसोलाई पनि केही खानेकुरा राखिदिएर काममा जान्थिन्, अनि बेलुका काम सकेर अर्की छिमेकी आइपुग्थिन् र बेलुकाको लागि खाना तयार गरिदिन्थिन्’ उनी सुनाउँदै थिइन् ‘म पनि अहिले अरुलाई पर्दा त्यसरी नै सहयोग गर्छु ।’
    उनले हरेक वर्ष नव रात्रीमा पण्डित बोलाएर घरमा रुद्री पुजा लगाउने छिन् । ‘मेरा सबै साथीहरु आएर कसरी फस्र्याइदिन्छन् थाहा नै हुँदैन’ ढुक्कसंग कुराकानी गर्दै उनी भन्दै थिइन्, ‘हाम्रो गाउँको जस्तो मिलेमतो र एकता त कतै छैन होला । कुन दिन पत्रिकामा निस्कन बेर छैन ।’


    कसैकोमा सारो गाह्रो पर्दा आफ्नै सम्झेर गर्नु चाहिँ त्यहाको निकै राम्रो पक्ष लाग्यो । नेपालबाट आमा बुवा वा आफन्त आउँदा त्यो सोसाइटिमा जसको बिदा छ उसैले घुमाउन लाने गर्छन् रे । छोरा बुहारी काममा गए भनेर बाबु आमाले दिनभर घरमा एक्लै बिताउनु पर्ने रहेनछ । पालैपालो जस्ले भ्याउँछ उसैले घुमाउँछ । तेरा बा आमालाई घुमाउन लान्छु है भनेर सोधिरहनु नै पर्दैन रे । फलानोलाई यस्तो समस्या परेको छ रे भन्ने सुन्ने बित्तिकै सम्बन्धित ब्यक्तिले बोलाइरहनै पर्दैन आफै पुगेर सकेको सहयोग गर्ने चलन एकदमै राम्रो लाग्यो ।
    इलिनोइको अर्को राम्रो पक्ष लेख्न छुटाए भने अन्याय नै होला । त्यँहाका महिलाहरु निकै खुसी र सक्रिय लाग्यो । कुनैपनि कामको ब्यवस्थापन गर्नदेखि रमाइलो गर्नमा पनि निकै एक्टिभ थिए । अर्की प्रनिता शर्माले पार्टीको पुरै जिम्मा लिएकी थिइन् । कार्यक्रम सञ्चालन गर्नदेखि स्टेजमा पफरमेन्स सम्म प्रस्तुत गरेको देख्दा लाग्यो कसरी यस्तो जाँगर र उर्जा बटुल्ने ? हिन्दी गीत डोला रे डोला…मा उनी र उनकी साथीको पफरमेन्सले सबैको ध्यान केन्द्रित गरिदियो ।


    नाजगानमा त उनीहरु निकै अगाडि । ब्यस्त दैनिकीमा पनि कसरी समय मिलाएर प्राक्टिस गर्न पनि भ्याए ? प्रश्न सोध्न नपाउँदै बिज्ञाले जवाफ दिइहालिन्, ‘सोसाइटिमा केही कार्यक्रम हुने भयो भने हामी सबै नाच्छौं । जतिबेला समय मिल्छ उतिबेलै ल्यापटप खोलेर फेसटाइम गरेर डान्सको स्टेप प्राक्टिस गर्छौं । ता कि स्टेजमा पफरमेन्स गर्दा एउटै स्टेप हु बहु होस । घर घरमा भेला भएर प्राक्टिस गर्न त सम्भव नै छैन नि ।’
    त्यँहाका महिलाले आ–आफ्नो पफरमेन्स देखाउँदै थिए । कसैको सिङ्गल डान्स त कसैको कपल डान्स अनि ग्रुप डान्स । हेर्दा लाथ्यो उनीहरु प्रोफेसनल डान्सर हो ।
    त्यँहाका बालबालिकालाई नेपाली भाषा संस्कृति सिकाउनका लागि सकेसम्म कल्चरल प्रोगामहरुमा लाने रहेछन् । १५ घरपरिवार भित्रका बालबालिकाले आफन्तलाई फुपु, मामा, माइजु, काका काकी, दिदी भिनाजु जे पर्छ त्यही भनेर सम्बोधन गर्ने रहेछन् । ‘आफ्नो नेपाली साइनो नबिर्सिउन भनेर हामीले यस्तो सिकाएका हौं’ उनी सुनाउँदै थिइन् ।

  • सबै पुरानो खराव र नयाँ असल भन्ने हुँदैन

    सबै पुरानो खराव र नयाँ असल भन्ने हुँदैन

    – डा. बद्री पोख्रेल
    [email protected]

    असल र खराव समय, सन्दर्भ, कालक्रम र ठाँउ अनुसार सावित हुन्छ । कुनै कुरा कुनै वेला ठीक भए पनि अर्को सन्दर्भमा वेठीक पनि ठहर्न सक्तछ । कतै हास्नुको महत्व हुन्छ भने कुनै सन्दर्भमा हास्नु अशिष्टता देखाउनु हुन्छ । महत्व नवुझ्दा श्रीखण्ड पनि हसियाको वींड वरावर महत्वहीन हुन पुग्छ भने महत्व वुझेर कामगर्दा पीठोले पनि चामलकै भाउ पाउँन सक्तछ । विवेकसाथ काम गर्नुपर्दछ । यसै सन्दर्भमा यहाँ पुराणलाई पुरानो कुरा भनेर वेवास्ता गर्नेकुरालाई लिएर पुरानो र नयाँवारे छोटो चर्चा वर्ने प्रयास गरिएको छ ।

    धेरैले पुराणलाई सांस्कृतिक इतिहास, धर्मको आधार, वेदको व्याख्या र सृष्टिदेखिको संसारको एकमुष्ट इतिहासका रुपमा लिंदै जीवनलाई हरभरा वनाउने प्राचीन शास्त्रका रुपमा मान्ने गर्दछन् । कसैकसैले भने पुराणलाई पुराना कुरा भनेर बुढाबुढीका मनोविनोद, समय कटाउने विद्या, बाहुनवादी आख्यानका रुपमा लिने गर्छन् । मानिसका बुद्धिपिच्छेका सोचहुने भए पनि पुराण पढेपछि मात्र पुराण भित्रका विषयवस्तु थाहा हुन्छ, नभए अन्धोले हात्ती छामे जस्तो मात्र हुन्छ । मानिसको आयु निश्चित हुन्छ । आयु सकिएपछि सबैले मर्नुपर्छ । मर्नु भन्दा अगाडि गरिएका कामबाट मानिसको मूल्यांकन हुनेगर्छ । असल भनेर मूल्यांकन भए नाम रहन्छ, नभए जन्मने र मर्नेहरुको सूचीमा मात्र पर्छ । कीर्तिमानहरुमा गनिंदैन । स्वर्ग र नरकको अस्तित्वमा विश्वास नगर्नेहरु पनि यो मान्यतालाई स्वीकार्दछन् र जीवनमा थाहापाउँने गरेर आपराधिक कामगर्न डराउँछन् । यसैले विद्वान्, बुद्धिजीवी, लेखक, चिन्तकहरुको चिन्तन र मेहनत मानिसलाई सत्कर्मतिर प्रवृत्त गराउँनमा लागेको हुनु पर्दछ ।  

    पूर्वीय दर्शन परम्परामा पराणको चर्चा प्रसस्तै हुनेगरेको छ । महापुराणहरु १८ वटा छन् भन्ने मान्यता छ । यसैगरी उपमहापुराण र उपपुराण पनि १८/१८ भएको उल्लेख छ । सवै पुराणका आआफ्नै महत्व छन् । उदाहरणको लागि व्यास–शिष्य जैमिनिले तपस्वी मार्कण्डेयसंग मायाका सम्बन्धमा जिज्ञासा राख्दा द्रोणका पक्षीरूप चार छोराहरूले वताएका महाभारतदेखि मोक्षशास्त्रसम्मका विषयवस्तु समेटिएको मार्कण्डेय भएको पौराणिक इतिहास पाइन्छ । शक्तिको महत्व दर्शिएको मार्कण्डेय पुराणको अनुशीलन देवीको उपासनासंग पनि जोडिन्छ । अधिकांश नेपाली, भारतीय र देवीका उपासक जो सुकैका घरमा नित्यपूजाका अतिरिक्त पनि हरेक चैत्र र आश्विनका नवरात्रमा देवीको सामान्य पूजागर्ने (देवीको नित्यपूजागर्ने, जमरा राखेर देवीको पूजागर्ने, देवीको मन्दिर दर्शनगर्न जाने, देवीका कथा-गाथा सुन्ने, प्रसाद स्वरूप वलिदिने, मासु खाने आदि) देखि विशेषपूजा (नौ दिनसम्म जाग्राम वस्ने, आफ्नै छातीमा जमरा उमार्ने, देवी भागवत, मार्कण्डेय पुराण लगाउने, तीर्थ यात्रामा निस्कने, देवीको नाममा गाईदान, भूमिदान आदि) गर्ने सम्मका काम गरेर परम्परा, संस्कृति, धार्मिक मान्यता पुरागर्ने चलन पनि चलाएको पाइन्छ । किन देवीको पूजा गर्नेदेखि पूजाका प्रकार, विधि र फलका सम्बन्धमा पनि धेरैको जिज्ञासा रहेको देखिन्छ । तिनै जिज्ञासा शान्तगर्न मार्कण्डेय पुराणको श्रवण र अनुशीलन आवश्यक हुन्छ ।

    ​इतिहास पुराणाभ्यां वेदं समुपवृंहयेत्

    ​विभेत्यल्पश्रुताद् वेदो मामयं प्रहरेदिति

     

    वेदको अर्थलाई इतिहास र पुराणका प्रसङ्गहरूबाट संवर्धन र व्याख्या गर्नु पर्दछ भन्ने मान्यता छ । इतिहास र पुराणका कुरा कम सुनेवुझेका मानिसदेखि वेदको अर्थलाई नै प्रहार (अपव्याख्या) गरिदिने त होइन भनेर वेद स्वयं सशङिकत हुन्छ । त्यसवेलामा वेद–पुरुष (ज्ञानस्वरुप परमेश्वर डराउनु हुन्छ भनिन्छ । यसको आशय के भने इतिहास र पुराणको समेत परिशीलन गरेर वेदको व्याख्यागर्नु पर्दछ । आर्य अर्थात् सनातन धर्मका जन्मदेखि मृत्यु पर्यन्तको संस्कार र मृत्यु पछिका काजक्रिया श्राद्ध एवं तिथिपर्व, मेला, महोत्सव, जात्रा, रितिथिति लगायतका सम्पूर्ण धर्मकर्महरु प्रायः वेदकै पावन मन्त्रद्वारा सम्पन्न गरिन्छन् ।  संस्कार र धर्मकर्मका मूल श्रोत वेद नै हुन् । वेदले सूक्ष्मरुपमा उल्लेखगरेका कुरालाई उपनिषद, पुराण, धर्मशास्त्र, कर्मशास्त्र, नीतिशास्त्र, आचारशास्त्र, व्यवहारशास्त्र आदिले विस्तृत रुपमा वुझाउने गर्दछन् । प्राचीन घटना, विधिविधान, परम्परालाई समाजोपयोगी उदाहरण सहित रोचक रुपमा कथा, उपकथा, आख्यायिका, परिसंवाद आदिका माध्यमले अगाडि राखिदिएर समाजलाई समुन्नत, सभ्य, सुन्दर वनाउँदै आपसी समन्वय, सद्भाव, सहअस्तित्व र समझदारीपूर्ण सहयोग एवं सहजीवनको प्रेरक वनाउने पुराण नै हुन् । पुराण साहित्यलाई विश्वकै उत्कृष्ट सामाजिक, साहित्यिक समुन्नयको दृष्टिले समेत साझा सम्पदा मानिन्छ । ४ वेदका उपवेदहरु अङ्गहरु र उपाङ्गहरु सबैजसोमा कतै न कतै सूत्र रुपमा पुराणका कथा वा सृष्टिका पुरा कथाहरुको प्रसङ्ग पाइन्छ । यसैले वेदका ४ भागहरु मन्त्र, ब्राह्मण, आरण्यक र उपनिषदहरुमा सूक्ष्मरुपमा उल्लेख भएका कतिपय प्रसङ्गहरुलाई नै पुराण र इतिहास ग्रन्थको वीज मानिन्छ ।

    ब्राह्मण ग्रन्थमा इतिहास पुराणलाई वेदका अभिन्न अर्थात् वेदकै रुपमा लिएको देखिन्छ । इतिहास र पुराणलाई वेद नै भनिएकोले ‘इतिहास पुराणं च पञ्चमो वेदमुच्यते’ पनि भन्ने गरिन्छ । ऋग्वेदको दशौं मण्डलको ३९औं सूक्तको चारौं मन्त्र ‘युयं च्यवानां’ मन्त्रमा सुकन्या र च्यवनको कथाको संकेतका साथै शुक्ल यजुर्वेदमा देवासुर संग्रामको प्रसङ्ग पहिलो अध्यायको ‘पुरा क्रूरस्य’ भन्ने मन्त्रले ‘देवस्यत्वा र वृत्रतूर्ये प्रोक्षितास्थ कुक्कुतो सि’ आदि अनेकौं मन्त्रले संकेत गरेकोबाट वेदले इतिहास पुराणका कुरा पनि सूत्र रुपमा समेटेकै पाइन्छन् । त्यसैले पनि इतिहास र पुराणद्वारा वेदार्थ विस्तार र व्याख्या थरिएको हो भन्ने तथ्यको पुष्टि हुन्छ । यसक्रममा कृष्णयजुर्वेदको मैत्रायणी संहिताले पुराण र नवशब्दलाई एकै मन्त्रमा समेटेर पुरानो कुरालाई नयाँ कुराको प्रयोगगरी  आदानप्रदान वा अदलवदल गर्दै रहुँ भन्ने सन्देश समेत दिएको देखिन्छ । यसरी पुराणको महत्व भएतापनि –

    पुराण मित्येव न साधु सर्वं, नचापि सर्वे नवमित्यवद्यम्

    सन्तः परीक्ष्यान्यतरद् भजन्ते मूढाः पर प्रत्ययनेयबुद्धिः ।। भर्तृहरि

     

    अर्थात् पुरानो भन्दैमा सवै राम्रो हुन्छ भन्ने हुँदैन । मान्छे बुढो भयो भन्दैमा असलै हुन्छ भन्न मिल्दैन । हो, कैंयौं कुरा पुरानो भएपछि राम्रो हुँदैन । तर, नयाँ भन्दैमा नराम्रो नै हुन्छ भन्ने पनि छैन । यस्ता विषयलाई सन्त र सज्जन मान्छेले परीक्षणको आधारमा मात्रै छुट्याउनु पर्ने हुन्छ ।

    श्रीमद्भागत्को चतुर्थस्कन्ध १।४३–४५ अनुसार;  कर्दम र देवहुतीकी छोरी ख्यातिलाई महर्षि भृगुले विवाह गरे । भागवत्कै तृतीयस्कन्ध ३।२४।२३ अनुसार महर्षि भृगुका २ चोरा १ छोरी गरी ३ सन्तान भए । छोराहरु धाता र विधाताले महर्षि मेरुकी छोरीहरु क्रमशः आयाती र नियातीसंग विवाह गरे । आयातीबाट धाताले मृकण्ड नामका पुत्र र विधाताले नियतीबाट प्राण नामका पुत्र जन्माए । भृगुकी छोरी श्री (रमा)ले तपस्यागरी श्रीविष्णुलाई भजेर उनकै पत्नी वनिन् । श्रीले कामदेव नामका छोरा पाइन् । पछिल्लो जन्ममा पनि उनले भगवान् नारायणले जुन अवतार लिए सो वेलामा क्रमशः रामावतारमा सीता र कृष्णावतारमा रुक्मिणी भएर उनकै पत्नी वनिन् । उनै मृकण्डुका पुत्र मार्कण्डेय बालक कालमा नै आयु सकिने थाहा पाएर भगवान् महामृत्युञ्जयका कृपाले चिरञ्जीवी भएका थिए ।

    मानिसलाई असल कर्मतिर प्रवृत्त गराउन (क) ऐन कानूनको डर वा (ख) प्रेरक नैतिक प्रसङ्गहरु, असल मान्छेका इतिहास र कर्तव्याकर्तव्यका विषय वुझाउँनु पर्नेहुन्छ । आधुनिक भौतिक हू भन्नेलाई ऐन कानूनको डर देखाएर असत्कार्यतिर नलाग्न सूचित गरी वाध्य वनाइन्छ । नैतिक व्यक्तिलाई नीति, दर्शन र प्रासङ्गिक उदाहरणबाट ठीक बाटामा ल्याउन सकिन्छ । मनुष्यत्व वुझेको मानवलाई धर्म अर्थ काम मोक्ष र कर्तव्याकर्तव्यको उपदेशबाट सामाजिक महत्व वुझाउन सकिन्छ । पहिलो, संगतले व्यक्तिलाई महामानव वनाउन सकिन्छ । संगतको महत्व वुझ्ने वित्तिकै ऊ कहिल्यै पनि असंगत र अकर्तव्यतिर लाग्दैन । अकर्तव्यमा नलाग्नु नै अमरत्व र देवत्वतिरको यात्रा थाल्नु हो । दोश्रो बाटो भनेको पुराणको श्रवण, अनुशीलन र मनन हो ।

    अन्तमा, के वुझ्नु बुद्धिमानीु हो भने पराम्परा र शास्त्रीय मर्यादाको पालना त्यसै चलेको होइन, यसका पछाडि वैज्ञानिक, व्यावहारिक, नैतिक आधारहरु हुन्छन् । आधार नवुझिकन लहैलहैमा लागेर परम्परा, विद्या र संस्कार छोड्दा जीवनमै ठूला दुर्घटना हुनसक्ने प्रबल सम्भावना हुन्छ ।

    (लेखक जयतु संस्कृतमका अध्यक्ष हुन्)

  • आस्था र श्रद्धा राष्ट्रकाे अमुल्य पुँजी हाे

    आस्था र श्रद्धा राष्ट्रकाे अमुल्य पुँजी हाे

    सुपेन्द्र बस्नेत / बोष्टन

    आज भन्दा १६ बर्ष अगाडिकाे कुरा हाे । जतिबेला म पश्चिम नेपालकाे कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा सञ्चालित जिडब्लुपी / सेभ द चिल्ड्रेनकाे परियाेजनामा कार्यरत थिए । परियाेजना अन्तरगत हरेक जिल्लामा युनिट कार्यालयहरु र त्यस अन्तर्गत लक्षित समुदायलाई लक्षित गरी ड्रप ईन सेन्टरहरु पनि रहेका थिए र क्षेत्रीय कार्यालय (जाे मेराे मुख्य कार्यथलाे थियाे) नेपालगञ्जमा थियाे।जहाँबाट कार्यक्रमकाे याेजना तर्जुमा, सञ्चालन, अनुगमन, मुल्याङ्कन र पृष्ठपाेषण गरिन्थ्याे । परियाेजना तर्जुमा गरिदा नै तय गरिएकाे एक मुख्य कार्ययाेजना थियाे’ भारतकाे तमिलनाडु राज्यकाे चेन्नाईमा सञ्चालित एउटै प्रकृतिकाे कार्यक्रमकाे अध्ययन अवलाेकन भ्रमण गर्ने र एक आपसमा अनुभव आदान प्रदान गर्ने । साेही मुताविक चेन्नाई सहर स्थित सम्बन्धित संस्थासंग समन्वय गरी कार्यक्रमकाे मिति तय गरीयाे । मलाई भने उक्त भ्रमणमा जाने खास ईच्छा त थिएन तर पदीय जिम्मेवारीका कारण उक्त भ्रमणकाे जिम्मेवारी लिनै पर्ने भयाे र क्षेत्रीय कार्यालय नेपालगञ्जबाट म र निर वाग्ले सर अनी परियाेजनाकाे कार्यक्षेत्र कपिलबस्तुदेखि कञ्चनपुरसम्म कार्यरत १० सहकर्मी सहित १२ जनाकाे टाेली १५ दिनका लागि चेन्नाई भ्रमणमा निस्कियाै । भ्रमणका दाैरानका संझन लायक धेरै महत्वपूर्ण क्षणहरु छन् । तर ति मध्यबाट सुन्दा सामान्य लागे पनि गहिरिएर साेच्दा निकै घत लागेकाे एउटा घटना यहाँ सुनाउने अनुमति चाहन्छु ।

    भारतकाे उच्च साक्षरता भएका राज्यहरु मध्य तमिलनाडु एउटा यस्ताे राज्य हाे जसलाई आफ्नाे अस्तित्व र स्वाधिनताकाे सन्दर्भमा निकै अडिक र कठाेर मानिन्छ। तमिलहरु कि त आफ्नाे भाषा बाेल्छन् कि त अंग्रेजी।बुझ्न र बाेल्न सके पनि सम्भव भएसम्म हिन्दी बाेल्दैनन् । याे उनीहरुकाे बर्षाैदेखि चल्दै आएकाे केन्द्रीय सरकारसंगकाे सम्बन्ध र भूमिकाका बिरुद्धकाे सांकेतिक तर खतरनाक लडाई थियाे।भ्रमणकै क्रममा कार्यतालिका अनुसार चेन्नाई सहरकाे बिल्लुपुरममा आफ्नाे संस्था र त्यहाँ सञ्चालित कार्यक्रमका बारे एक आपसमा जानकारी सहित परिचयात्मक कार्यक्रम सकिए पछि त्यहाँ स्थित संस्थाले खाना खाने ब्यवस्था मिलाएकाे थियाे । साेही मुताविक आथित्यता ग्रहण गर्दै खानाका लागि त्यहाँकाे राम्रै हाेटलमा पुगियाे ।तमिलनाडुकाे पहिचान सहित केराकाे पातमा नेपाली खाना भन्दा भिन्न स्वादकाे खाना ईच्छा भाेजन गर्याै । खाना खाइसकेपछि हातमुख चुठ्ने बेलामा एक महिला सहकर्मी साथीले मासुकाे भिन्न स्वादका बारेमा कुरा उठाउनु भयाे।तमिलीपन झल्काउने नरिवल मिसाइएकाे मसलेदार ग्रेभी मासु नेपालीपन र स्वाद भन्दा निकै भिन्न् थियाे नै । यस बिषयमा हात मुख चुठ्न धारामा उपस्थित भएका ४/५ जना सबैले आआफ्नाे प्रतिक्रिया दिदै थिए । यतिकैमा एकजना पुरुष साथीले फ्याट्ट भन्नु भाे ‘त्याे मासु त गाईकाे हाे नि ।त्यही भएर त्यस्ताे स्वाद भएकाे हाे ”

    याे वाक्य सुन्ने बितिकै मासुकाे भिन्न स्वादका बारेमा कुरा उठाउने महिला साथीले हातमुख चुठ्न नभ्याउदै भरखरै खाएकाे सम्पूर्ण कुराहरु वान्ता गरी जस्ताकाे तस्तै बाहिर निकाल्नु भयाे।एक छिन निकै तनावपूर्ण अवस्था श्रृजना भयाे । हाम्राे टिमका अन्य साथीहरु, स्वागत् गर्ने संस्थाका प्रतिनिधिहरु र हाेटेवाला पनि त्याे दृश्य देखेर निकै चिन्तित् भए। बास्तवमा के कारणले त्यस्ताे भएकाे हाे भन्ने कुरा हामी ४/५ जना बाहेक अरुकसैले पनि थाहा पाएका थिएनन्। हामीले तत्काल वास्तविक कुरा भनेनाै र भन्ने कुरा पनि भएन।वास्तविकता थाहा नपाउनेहरुले आआफ्नै ढंगबाट घटना घट्नुकाे कारण अनुमान लगाइरहेका थिए र तारन्तार वान्ता गरिरहेकाे देखेर आत्तिरहेका थिए ।अधिकांसकाे खानामा कैफित रहेकाले वान्ता भएकाे अनुमान थियाे । वास्तविकता थाहा पाउनेहरुलाई पनि दृश्य हेर्दा स्वास्थ्यका बारेमा साेच्न बाध्य पार्दै थियाे भने वास्तविकता थाहा नपाउने जाे काेही पेटमा निलेकाे पानी समेत नरहने गरी पिडाबाेध गरी सकसपूर्ण तरिकाले वान्ता गरेर बाहिर निकाल्दै गरेकाे घटनाकाे दृश्य हेर्दा आत्तिनु स्वभाविक नै थियाे। खासमा पुरुष मित्रले खसीकाे मासु भए पनि ति महिला साथीलाई जिस्किएर उक्त कुरा भन्नु भएकाे थियाे ।थाहा पाउनेले साेही रुपमा लिए तर ती महिला साथीले चाही साच्चै ठान्नु भएछ।भिन्न स्वाद,भिन्न परिवेश, भिन्न रहन सहन,भिन्न लवाई खुवाई,भिन्न बाेली चाली,भिन्न रितिरिवाज आदिईत्यादिले पनि त्यहाँकाे बारेमा बास्तबिकता थाहा नपाएकालाई भन्नेले गाईकाे मासु हाे भन्दा सत्य ठान्न मलजल गर्याे। वास्तबमा भगवानकाे प्रतिकका रुपमा निधारमा लामाे राताे टिका लगाउने हिन्दु धर्मावलम्मी तमिलहरु धार्मिक आस्था र विश्वासका आधारमा निकै कट्टर हुन्छन्।यहाँ झण्डै ८८% जनता हिन्दु धर्मावलम्वी रहेका छन्। भगवानप्रति गहिराे आस्था र श्रद्धा भएकाे एक हिन्दु नारी भएका नाताले धर्म बिरुद्ध गाईकाे मासु खाएर निकै ठुलाे पाप गरेकाे मानसिक साेचले मनमा उत्पन्न गरेकाे प्रतिक्रियात्मक परिणाम् थियाे त्याे।तर अरुलाई झट्ट सुन्दा र हेर्दा खाना मन नपरेकाे,स्वादिलाे नभएकाे, खानाकाे अपमान गरेकाे… आदिइत्यादि जस्ताे लाग्न सक्छ।हिन्दु धर्मावलम्वीका लागि ‘गाई’ ईष्ट लक्ष्मीमाता हाे।त्यसैले गाईलाई झुक्किएर लात्ता लाग्दा पनि माफी मागेर ढाेग्ने हिन्दुलाई गाईकाे मासु खाईनुलाई अनर्थ र पाप मानिनु अस्वभाविकै हाेइन।जसबाट हर हिन्दु दिक्षित हुन्छन् नै । बस ब्यवहारमा कसले कति कसरी उतार्छ भन्ने कुरा मात्र हाे । याे घटनाले निकै महत्वपूर्ण पाठ सिकायाे । जाे अहिले पनि बेलाबखत मानसपटलमा ताजा भएर याद आउछ ।याे प्रसंगसंग मिल्दाे जुल्दाे छ, अहिले नेपाली जनताले ब्यक्त गरिरहेकाे प्रतिक्रियाहरुकाे अवस्था।पछिल्लाे समयमा नेपाली जनताले चाहे बुझेर हाेस् या अरुकाे विश्वासमा परेर सरकार,नेताहरु र बिदेशीहरुप्रति वकली रहेका असन्तुष्टिहरु आफ्नाे देशप्रतिकाे आघात प्रेम, आस्था, श्रद्धा र देश भक्तिकाे परिणाम नै हाे ।

    चाहे देशीका कारण हाेस् या परदेशीका कारण, दिन प्रतिदिन आफ्नाे देशकाे सुरक्षा, स्वाधिनता,स्वतन्त्रता र उज्वल भविश्यमा पुग्दै गरेकाे ठेश र उठ्दै गएकाे प्रश्नप्रति गरिएकाे गहिराे चिन्ता हाे याे । स्वाधिनताकाे रक्षा र समृद्धिकाे अपेक्षा गर्ने जाे काेही राष्ट्रप्रेमीले चिन्तित भएर प्रतिक्रिया जनाउनुलाई किमार्थ अन्यथा मानिनु हुन्न ।तर असन्तुष्टि पाेख्दा भने त्यसले आफु र आफुले आघात प्रेम गरेकाे देशलाई पर्न सक्ने अल्पकालीन तथा दुरगामी प्रभावहरुका बारेमा गहिराे चिन्तन मनन् गरिनु जरुरी छ । सरकार र नेताहरुले पनि जनताले पाेखिरहेका असन्तुष्टिहरुकाे यथार्थ नबुझी किमार्थ आफु बिरुद्धकाे गतिविधि संझेर बचावट गर्ने,जवाफी कारवाही गर्ने वा बेवास्था गर्ने गर्नु हुदैन । राज्य सञ्चालन गर्नेहरुले परिवर्तनका लागि जनताले पुर्याएकाे याेगदानलाई नजरअन्दाज गर्नु कदाचित हुदैन।वर्तमान पुस्ता र भावी सन्न्ततिकाे उज्वल भविश्यका लागि राज्य सञ्चालक र जनताका बिच देखिएकाे असमझदारीकाे खाडललाई यथासिघ्र मिलेर पुर्नु अपरिहार्य छ ।जसले जनताकाे मनमा रहेकाे देश प्रेम, देश भक्ति,राष्ट्रप्रतिकाे आस्था र श्रद्धा अझ माैलाएर बलियाे बनाउन मलजल गर्न सकाेस्। जाे एक सार्वभाैम राष्ट्रकाे दिर्घायु र समृद्धिकाे लागि अपरिहार्य र अमुल्य पुँजी हाे ।

  • बिदेशिएका नेपालीको आक्रोस

    बिदेशिएका नेपालीको आक्रोस

    मिनबहादुर पण्डित (दुबई)
    घर परिवार बाट टाडा २० बर्ष बिदेश बसेर अरबको तातो गर्मीमा काम गरी खाइ नखाइ बनाएको जम्मा एउटा घर छ । त्यसमा पनी नगरपालिका कर, तिरो आदि बाहेक १०५ मासिक घर बाहाल कर पनि तिर्नु पर्ने रे । तिर्छु यदी मैले तिरेको पैसाले देश विकास हुन्छ भने । तिर्छु यदी मैले तिरेको कर भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टि हुन्छ भने । मेरो घर अगाडी सडकमा परेको खाल्टो सरकारले पुरिदिन्छ भने । तिर्छु यदी मेरो घरमा बर्खामा ढल भरिएर पानी पस्न रोकिन्छ भने । मेरो घर अगाडीको फोहोर उठाऊन मैले निजी कम्पनीलाई पैसा नतिरी नगरपालीका नै फोहोर लिन आउँछ भने । फोहोर पानीका कारण बिरामी हुँदा हस्पिटलमा लागेको हजारौं खर्च सरकारले तिरी दिन्छ भने । तिर्छु यदी खाने पानीको बिल तिरे पछी जारको पानी किनेर खान पर्दैन भने । तिर्छु यदि मेरो घरमा भाड़ा नतिरी भाग्ने डेरावालालाई सरकारले समाई दिन्छ भने । तिर्छु यदी मैले घर बनाउँदा लिएको बैंकको लाखौ ऋणमा १०५ थपेर सरकारले साँवा, ब्याज तिरि दिन्छ भने । तिर्छु यदी मैले तिरेको १०५ करको भार तिनै मजदूरी गरेर खाने डेरा वालाको थाप्लोमा थपिन्न भने । तिर्छु यदी मेरो घर भूकम्पले भत्कीदा सरकारले बनाई दिन्छ भने । तिर्छु यदी मेरो अरु आम्दानी नहुँदा र घर बाहालले नपुग्दा मेरो बच्चाको फी सरकारले तिरीदिन्छ भने । त्यहि घरको निर्माण सम्पन्न प्रमाण पत्र लिन नगरपालिकालाई तिरेको एक लाख ऋण सरकारले तिरि दिन्छ भने । चाडबाड र बिहे ब्रतबन्ध खर्च घर बाहालबाट जोगाएर राख्न नपरी सरकारले ब्यहोर्छ भने । म र मेरो श्रीमती काम गर्न नसक्ने उमेरमा बिरामी हुँदा सरकारी अस्पतालमा सम्पूर्ण उपचार खर्च सरकारले नै ब्यहोर्छ भने । माथी उल्लेखित मध्य कुनै सुविधा सरकारले दिन सकेको छ ?
    मानौ महिनाको ५ हजार घर बाहाल आयो । त्यतीले काठमाँडौको महँगीमा घर खर्च एक छेउ पनि पुग्दैन । अनि ५ हजार कर चाहीं कहाँ बाट ल्याएर तिर्ने ? कर लिने भनेको त खर्च कटाएर बचेको मुनाफामा हो । सम्पूर्ण आम्दामीमा कर लाउनु जायज हुदैं होईन । केको लागी लिने १०५ कर ? अनि किन तिर्ने कर ? हामी जनता करदाता र मतदाता मात्र थियौ, अब त सरकारलाई अन्नदाता पनि भयौ । बिदेशी दाताले दिएको दानले नपुगेर जनतालाई पनि पो दाता बनाईयो त । अब सास फेरेको हिसाबले ‘स्वासप्रसास कर’ लिन पनि बेर छैन । यो एक जनाको मात्र होईन, यो त रोजगारीका लागि बिदेशिने आम नेपाली ब्यथा हो । कहिले सम्म भोग्नुपर्ने यस्तो ब्यथा ?

  • नारायण गोपाललाई सम्झिन पुण्यतिथि नै चाहिन्छ र ?

    नारायण गोपाललाई सम्झिन पुण्यतिथि नै चाहिन्छ र ?

    प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

    नारायण गोपाललाई उदृत गर्दै दाहाल थरका एक प्रशसकले हालै फेसबुकको भित्तोमा लेखे– यो धर्तीमा नारायण गोपालको गीत छ र मेरो जीवन छ । तिनै नारायण गोपाल हुनु, जस्ले कालिप्रसाद, दिनेश अधिकारी, नागेन्द्र थापा र भैरवनाथ रिमालजस्ता त्यतिबेलाका मसिना गीतकारलाई स्थूल बनाए । जस्ले एउटा जाती भन्दा सिङ्गो देशको लागि सुमधुर स्वर अंकित आफ्नो गला चढायो । धेरै अवसर सृजना हुँदाहुँदै पनि, जस्ले हिन्दी गीत एउटा पनि नगाई राष्ट्रियता निभाए । जो आफै नेवार भएर पनि नेवारी गीत जीवनमा विरलै गाए । उनी एक जातिमा खुम्चिएको गायक थिएन तर पनि उनलाई एक जातीको गायकलाई जस्तो उपेक्षित गरेको हो कि जस्तो महसुस कहिलेकाहीँ हुन्छ । कटुसत्य हो, नारायण गोपालको अन्तिम बिदाइको लागि जसरी जनलहर उठ्यो सम्भवतः राजनीतिमा त्यस्तै लहर एउटा व्यवस्था नै फेर्नका लागि मात्र उठेको देखिन्छ । राज्यले पनि स्वरसम्राटलाई एउटा आम ब्यक्तिजस्तो चितामा सेलाएपछि बिर्सदै जानु दुखदायी पाटो हो ।

    नेपाली संगीत इतिहासमा कहिल्यै मेट्न नसक्ने एक अमिट नाम हो – नारायण गोपाल । नारायण गोपालको भौतिक कायाले बिश्राम लिएको आज तीस बर्ष पुगिसकेको छ तर पनि उनको गलाको सुमधुर आवाज अझै पनि उतिकै कर्णप्रिय छ । हुन त नारायण गोपालद्वारा संख्याको हिसाबमा थोरै गाइएका छन्, परन्तु प्रत्येक गीतको आफ्नै अमरता छ । यसैले त उनी भन्छन् – मेरो गीत मेरै प्रतिबिम्व होइन । जो टुटिजाने हैन, फुटिजाने हैन । आकाश जस्तो अमर गीत यो मेरो । म जस्तो दुईदिनको पाहुना हैन ।

    नारायण गोपाललाई जे जसरी बिश्लेषण गरुन् । तर जिउँदा हुञ्जेल राज्यबाट उपेक्षित उनी पनि एक कलाकार हुन् । स्वरसम्राटको उपाधि पनि मृत्युपश्चात मात्र पाए । मृत्यु पछि मात्र कदर गर्ने परिपाटीको उनी पनि शिकार भए । जीवनभरि संगीतमा साधना गरी, भौतिक रुपमा नष्ट भइसकेपछि सालिकमा चुलाइयो । फूलको मालाले बर्षमा एकपटक सिंगारिन्छ । नारायण गोपाललाई मंसिर १९ ले मात्र संस्मरण गर्ने श्रृंखला अझै पनि टु्टेको छैन । यस्ता महान् श्रष्टालाई अव सँधै सम्झिने परिवेश बुन्नुपर्छ । यस्का लागि उनका कालजयी गीतहरुलाई सवै एफएमले अनिवार्य प्रशारण गर्ने पनि नियम पनि बनाउन सकिन्छ । अझ, हरेक रेडियोका च्यानलहरुले पहिलो गीत नै नारायण गोपालको गीतबाट शुभारम्भ गर्नु पर्दछ भनेर नीति नै बनाए नारायण गोपालप्रतिको सम्मान अझ उच्च हुन्छ । साथ साथै, उनको योगदानको चर्चा दिनहुँ गर्न सकिन्छ ।

    नारायण गोपाल नै हुन, जसले गीतकार कालीप्रसाद रिजाललाई गोरखापत्रको शनिवारीय परिशिष्टांकबाट रेडियो नेपालसम्म पुर्याए ।क्षेत्रप्रतापको लालीगुँरास देशभरि उनैले फुलाए । ईश्वर बल्लभको बेहोशी पनि उनैले चिनाए । रत्नशम्शेर थापाको ठठ्ठामा बैँश जान लागेको सुइँको पनि उनैले लाए । यतिमा मात्र सिमित नभई, प्रवासी मित्र गोपाल योञ्जनसँग मित लाएर उनले उनको संगीतमा दर्जनौं सुमधुर स्वर दिए । गोपाल योञ्जनको कला र नारायण गोपालको गलाले नेपाली संगीतमा थुप्रै कालजयी गीतहरु प्रवाह गरेका छन् । जातीयताको घेराभन्दा माथि उठेर, संगीतमा कुनै बाहुन, क्षेत्री, नेवार, राई हुँदैन भनी नारायण गोपालले उहिल्यै चरितार्थ गरेका हुन् ।

    यदि नेपाली संगीतको इतिहासमा दुई गोपालको संयोजन नभएको भए, नेपाली संगीतको इतिहासले अर्कै रुप धारण गर्थ्यो होला । आज नेपाली संगीतको जुन गौरवशाली इतिहास छ, ती दुई गोपालको त्यस्मा अथक योगदान छ । यस्को लागि मितेरीको आगो बालिदिने गीतकार ईश्वर बल्लभलाई पनि उतिकै श्रेय जान्छ । अलग – अलग भूगोलमा सास फेर्ने ती दुई गोपालको मित्रताले, मित्रतामा भूगोल र जाति छेकबार नहुने पाठ दिन्छ । यीनै दुई गोपाल, नारायण गोपाल र गोपाल योञ्जनले छोडेका पाइलाको डोब पछयाउनु अहिलेको नयाँ पुस्ताको कर्तव्य हुनुपर्छ ।

    नारायण गोपाल यही काठमाडौँको खाल्टोमा जन्मे, हुर्के । यसैले नेपाल भाषा उनको मातृभाषा हुन गयो । सामान्य बोलिचालीमा, उनी नेपाली भाषा बोल्दा त्यस्मा नेपाल भाषाको चियो पर्न आउँछ, तर तीनै सरस्वतीका पुत्र जव सरगममा लिप्त हुन्छन् जस्तै मै हुँ भन्ने क्लिष्ट शब्दहरु पनि शुद्ध उच्चरित हुन्छ । यो एउटा अर्को चमत्कार थियो, नारायण गोपालको । यसैको ज्वलन्त उदाहरण हो, कवि सिद्धिचरण श्रेष्ठको ओखलढुंगा । तरु, लतिका, कुसुमाकर र मृगसावकजस्ता कठिन भन्दा कठिन शब्दहरु कति मृदु सुनिएका छन, उनको गलाबाट । त्यस्तै एक प्रसंग, भैरवनाथ रिमालले लेखेको एक गीत ‘जुन फूल मैले चाहेको थिएँ’ मा एक ठाउँमा शब्दअनुसार ‘चाह’ हुनुपर्ने तर नारायण गोपालले रेकर्डमा ‘चाहि’ गाइदिँदा कालान्तरमा त्यही चाहिँ पनि गीतभित्र गैरअर्थ दिने भए पनि अमर बनेको हामी बिर्सन सक्दैनौ ।

    नारायण गोपालले जीवनमा अन्तरजातीय विवाह गरे । त्यो बेलाको समाजको लागि यो अपाच्य बिषय थियो । तर उनी आफ्नो प्रेममा अडिग बने । उनको र पेमला लामाको चिठ्ठीका भावनाबाट पुष्पित भएको प्रेम आजको समयमा कल्पनामा पाउन पनि मुश्किल छ । शारीरिक आकर्षण र रुपै रुपको चर्चामा रुमलिएको आजको पुस्ताको प्रेम नारायण गोपालको आदर्श प्रेमसामु निकै होचो छ । पेमला लामाले एकपटक भनेकी थिई – आज पनि नारायण गोपालको सालिक भएर जाँदा, उनको सालिक पानीले रुझेको रहेछ भने छाता ओढाइदिन मन लाग्छ । यस्ता संस्मरणलाई अंगीकार गर्दा आज पनि हामीभित्र, स्वदेशभित्रै एक महान् कलाकारको महान् प्रेमलाई बिर्सेर हामी भारतमा गई आगराको माटो त खोस्री बसेका छैनौ ? जस्ता थुप्रै प्रश्न सृजित हुन्छ । यसैले नारायण गोपाल प्रेमको पनि प्रतीक हो, जुन उनको बिर्सिएको पाटो हो ।

    मेरो वैयक्तिक प्रभावको हिसावमा, नारायण गोपाल जति देशभक्त गायक कोही छैन उनले जति पनि गीत गाए कि देश गाए कि देशको लागि गाए । आमा तिमीलाई होस् कि म मरे पनि मलाई मेरो देशको माया नै किन नहोस्, त्यति राष्ट्रियता घुलेकोे विश्वमा अरु कुनै गान छ जस्तो लाग्दैन । हामीले नजिकको तिर्थ हेला भन्या जस्तो नारायण गोपालको स्वरको मिठास नचिनेका हौँ, राष्ट्रको गीत गाउँदा स्वरमा उर्लेको प्रेम नचिनेका हौँ । नारायण गोपालको गीतको विरहलाई हृदयबाटै चिन्ने हो भने साँच्चै आँसुका बुँद उत्सर्ग नगरी हामी कदापि बस्नै सक्दैनौँ ।

    नारायण गोपाल आफैमा थुप्रै सौखहरुको थुप्रो थियो । उनी चेस खेल्छन् । राती रातीसम्म फुटबल हेर्छन । मिष्ठान्न परिकार पकाउँछन् । गीत साधना गर्छन् । मदिरा पिउँछन् । जीवनका यस्ता सुन्दर र असुन्दर रुचिहरुले गर्दा उनको जीवनमा उतारचढाव धेरै नै आए । मदिरा पिउने बानीले उनको आयु पुड्कियो तर संगीत साधनाले अग्लिए पनि । के उनी जस्ता गायक फेरि जन्मिएलान ? जन्मिँदै जन्मिँदैन भनी अड्कल गर्न त सकिन्न तर युगौयुग नै भुक्तान गर्नुपर्नेछ । यस्ता महान् गायकलाई दिनहुँ सम्झौँ, उनका वारेमा लेखौँ । मंसिर उन्नाइस र नारायण गोपाल परिपूरक हुने सिक्काको दुई पाटाको शैलीलाई घृणा गरौँ । उस्को मृत्यु दिवशलाई मात्र कल्पने परिपाटी नै गलत छ । नारायण गोपाल मरेको छैन र कैल्यै मर्दैन पनि । बरु उनीमाथि अझै पनि अन्यायको भार छ । न्याय नै गर्ने हो भने आऔँ उनका गीतलाई सँधै प्रेम गरौँ, र उनलाई पनि दिनहुँ लेखौँ र सम्झौँ । के नारायण गोपालजस्ता महान गायकलाई सम्झिन् पुण्यतिथि नै चाहिन्छ र ? थाहा छ, मंसिर उन्नाइसमा कलम चलाए आममानिसको सहानुभूति बढी नै आउँछ, तर मसिर उन्नाइस उनको पुण्यतिथि दिवश मात्र हो, तर बाँकी ३६४ दिन उनको स्मृति दिवश बनाउन सक्छौं ।

  • आयो विवाहको मौसम

    आयो विवाहको मौसम

    आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क

    श्रावण, भाद्र, आश्विन र कार्तिक महिनाको चार महिने विश्रामपछि मंसीर महिना लाग्ने वित्तिकै हिन्दु धर्म परम्परा अनुसार विवाहको मौसम आएको छ । गरगहना, लत्ताकपडाको जोहो गर्दै वाक्दान आदि विधिले केटाकेटी तयार पारी शालको पातको टपरी गास्ने, सेल पकाउने, कसर बाट्ने, यज्ञ तयार गर्ने र शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले विवाह गर्ने हाम्रो सनातन परिपाटी रहेको पाइन्छ । विवाह गर्ने परम्परामा समयानुकूल केही परिवर्तन भइरहेको हुन्छ नै ।

    हिन्दू विवाह संस्कार धेरै प्रकार रहेका छन् । दुबै पक्षको सहमतिमा समान वर्गको सुयोग्य वरसँग परिवारले विवाह गरिदिने प्रचलनलाई व्रह्म विवाह अर्थात् मागी विवाह भनिन्छ । धार्मिक अनुष्ठानको पूर्ण फलका लागि कन्यादान गरिएमा देव विवाह भनिन्छ । त्यसैगरी कन्या पक्षलाई गौदान आदि मूल्य दिएर विवाह गरिएमा आर्श विवाह भनिन्छ । कन्याको सहमति विना कुनै अभिजात्य वर्गसँग विवाह गरिदिएमा प्रजापत्य विवाह भनिन्छ भने परिवारको सहमतिविना रीतिरिवाज या विधि पनि पूरा नगरी भागेर गरिने विवाहलाई गन्दर्भ विवाह भनिन्छ । यसलाई मौलिक भाषामा पोइला जानु भन्ने पनि गरिन्छ । कन्यालाई नै किनेर गरिने विवाह असुर विवाह हो । कन्याको अपहरण गरी जबर्जस्ती विवाह गरेमा राक्षस विवाह भनिन्छ । कन्या निदाएको या मानसिक दुर्बलता भएको बेलामा बतात्कार जस्तै शारीरिक सम्पर्क गरी पछि विवाह गरेमा पैशाच विवाह भनेर चिनिन्छ ।

    यसरी विवाहको अनेक प्रकार बताइए पनि समयको तिब्र बेग तथा विश्वव्यापीकरणको प्रभावले विवाहको तरिका र प्रकारमा अनेकन मिश्रित घटनाहरु देख्न सकिन्छ । वर्तमानमा मूलतः मागी विवाह, प्रेम विवाह, प्रेममागी विवाह धेरै चले पनि विदेश जाने चटारोले अस्थार्यी भिसाविवाह’ स्थार्यी भिसाविवाहर्, पिआर तथा ग्रीनकार्ड विवाह र सक्कली एवं नक्कली विवाह’ आदि इत्यादि विवाहका अनेक स्वरmप देख्न पाइन्छ । त्यसका अतिरक्त बहुप्रेम पछि थाकेर गर्ने विवाह अनि बहुसन्तान प्राप्तिपछि अनेकौं वर्षसँगै बसेर अनि छोराछोरीसँगै जन्ती बनी गर्ने विवाह पनि आजभोलि चल्तिमा आएको छ । स्वजाति विवाह, अन्तर्जातीय विवाह, अन्तर्धार्मिक विवाह, अन्तर्देशीय विवाह, महिलामहिला बीच र पुरुष-पुरुष बीचको समलिङ्गी विवाह आदि विवाहसमेत हुनेगरेका छन् । हरेक प्रकारका विवाहमा केही न केही अशल र खराव पक्ष भने देख्न पाइन्छ नै । समस्या र समाधानको चक्र दिनरात घुमेजस्तै, कुमालेको चक्र घुमेजस्तै घुमिरहन्छ । समस्या पहिले पनि थियो आज पनि छ ।

    नेपाली सनातन हिन्दू परम्परामा परिवार या लमी मार्फत् केटाकेटीको विषयमा कुरा चलाउने र धेरै कुरा मिलेमा पहिले चिना मिलाउने परिपाटी रहेको पाइन्छ । केटा र केटीको जन्म समय अनुसार तयार भएको चिनामा वर्णको १, वश्यको २, ताराको ३, योनिको ४, मैत्रीको ५, गणको ६, भकूटको ७ र नाडीको ८ गरी जम्मा ३६ गुण मध्ये १७ भन्दा धेरै प्रप्तांक आएमा ज्योतिषको परामर्षमा विवाह गर्ने निश्चय हुन्छ । गुणका अतिरिक्त केटाकेटीको मांगलिक स्थिति समेत हेर्नुपर्ने हुन्छ । लग्नकुण्डलीको १, ४, ७, ८ तथा १२ स्थानमा मंगल ग्रह विराजमान भए मांगलिक हुने र मांगलिक केटाको मांलिक केटीसँगमात्र विवाह गर्नुपर्ने शास्त्रीय मत रहेको छ, अन्यथा वैवाहिक सुखमा कमी आउने शास्त्रीय मत रहेकाले कुम्भ विवाह, कलश विवाह, तुलशी विवाह आदि विधिले दोष निवारण गरी विवाह गर्ने गरिन्छ । सामाजिक परिस्थिति अनुसार केटाकेटीको केही लक्षण मिलाएर विवाह गर्ने गरेको राय कवितामा पनि भेटिन्छ ।

    त्रिकाल जन्मकुण्डलीमा वर तथा कन्याको लक्षण कवितामार्फत् यसरी गरिएको छ ।

    उत्तम कन्या:

    राम्रा दाँत मुहार कान मसिनु बोली कटी बारुले,

    हात्तीझैं हिंडने नपारी दमको लामा नयन नम्रले ।

    बाबा आदि रिझएकी कुच ठुला राता दुबै ओठ छन्

    काला केश र हातपाउ मसिना कन्या अशल भन्दछन् ।।

    उत्तम वर:

    विद्या शील शरीर शाहस शुचि सौन्दर्यशाली कुल,

    शान्ति सम्पत्तिवान् आफू सरहको सच्चा नगर्ने छल ।

    ज्वाईंको गुण हेरी छोरी दिनु है साह्रै नजिकै पर,

    वृत्तिहीन गरीब धेर धनवान् रोगी बुढो छाडेर ।

    त्रिकाल जन्मकुण्डलीमा यस्तो बताए पनि संस्कृतमा अर्कै भनाई छ:

    कन्या कामयते रूपं माता वित्तं पिता श्रुतम् ।

    बान्धवाः कुलमिच्छन्ति मिष्टान्नमितरे जनाः ।।

    अर्थात् विवाहका लागि छोरी सुन्दर रुपवान् केटाको चाहना गर्छिन्, माता छोरीलाई पाल्न सक्ने सम्पत्तिवान् केटा हेर्छिन्, पिता केटाको ज्ञान हेर्छन्, बन्धुबान्धव राम्रो कुलघरान हेर्छन् र बाँकी आउने निम्तालुको मिठोमिठो खानेकुरामै ध्यान हुन्छ । यसरी हेर्दा विवाहमा सबैको फरकफरक अभिलाषा र योजना हुने गर्दछ ।

    जेजस्तो तरीकाले विवाह भएपनि यो पवित्र र अटूट मायाको बन्धन हो । विवाहरुपी नियमले परिवार, समाज, देश र विश्वलाई नै व्यवस्थित सूत्रमा बाँधेको हुन्छ र्। खुट्टा भए जुत्ता कति कति ‘भन्ने मूल मन्त्र लिएर सम्बन्धहरुलाई अस्थाई बनाउनतिर लागी परस्त्री एवं परपुरुषतिर गिद्देदृष्टि बढाउने हो भने समाज झनै अव्यवस्थित हुँदै जान्छ । त्रिकालदर्शी प्राच्य ऋषिमुनिहरुले प्रतिपादन गरिएका नियमहरुलाई पुरातन सम्झेर तथाकथित आधुनिक हुने नाममा आफ्नो मौलिकतालाई छोडी आयातीत संस्कृतिलाई अंकमाल गर्दै गयौं भने हामी नेपाली नराम्रो पारिवारिक संकटरुपी भूमरीमा जाकिने निश्चतप्राय छ । भनिएको छः

    आहार निन्द्रा भय मैथुनञ्च,

    सामान्यमेतत् पशुभिर्नराणाम् ।

    धर्मो हि तेषामधिको विशेषः

    धर्मेण हीनाः पशुभिः समानाः ।।

    अर्थात् आहार, निन्द्रा, भय र मैथुन त पशु र मानिसमा समान हुन्छ, मानिसमा विशेष हुने भनेको धर्म हो । धर्मले हीन भयो भने पशु समान भइन्छ नै ।

    यहाँ धर्म भनेको नियम हो, व्यवस्था हो, अनुशासन हो, कर्तव्य हो, दायित्व बोध हो । क्षणिक आवेग थाम्न नसकी रीष, राग, द्वेष, लोभ, अहंकार आदिको बसमा परेर वर्तमान समयको मिथ्या मनोरञ्जनमात्र हेर्ने हो भने हामी मानव भएर पनि मानवजस्तो हुन सक्दैनौं । विवाह एक धर्म हो, त्यसैले धार्मिक हुनुपर्छ । त्यसैले त पत्नीलाई धर्मपत्नी भनिन्छ । घरको मियो, धर्मको मियो पत्नी नै हो त्यसैले गृहमन्त्री समेत भन्ने गरिन्छ, त्यो सामर्थ नारीमा भएर नै हो । सम्बन्ध बलियो बनाउन पतिपत्नी दुबैको समान र जिम्मेवारपूर्ण व्यवहार हुनुपर्छ ।

    न्यूयोर्कको नेपाली महावाणिज्य दूतावासको कार्यालयबाट कार्यकाल सकेर स्वदेश फर्कने बेलामा वाणिज्यदूत कवि कृसु क्षेत्रीले आफ्नो कार्यकालमा धेरै नेपालीको सेवा गर्न पाएकोमा खुसी भएपनि नेपालीको डिभोर्स पेपरमा हस्ताक्षर गर्नुपर्दा हात काटिएजस्तै भएको नमिठो अनुभव भावुकमुद्रामा सुनाउनुभएको थियो । त्यस्तै एक अर्को कार्यक्रमा वर्तमान कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले पनि विदेशमा डिभोर्सको घटना बढेको तीतो यथार्थ सुनाउनुभयो । यी त प्रतिनिधि अनुभवमात्र हुन्, हरेकदिन वैवाहिक सम्बन्धमा चिरा परेका अनेकौं समाचार सुन्न हामी बाध्य भएका छौं । यस्ता गतिविधिले हाम्रो समाज झनै अन्धकारतिर धकेलिन सक्छ । छोरी विदाई गर्दा ‘मारे पाप पाले पुण्य’ भनी जिम्मेवारीको बोध गराउनुको साटो ९११ (प्रहरीको नम्बर) पनि याद गराउनुपर्ने स्थिति आएमा पूजा गरी लगनगाँठो कसेर परिवार जोड्ने पण्डित साइकलमात्र चढ्छन् अनि डिभोर्स गर्न सिकाउने वकिल विलासी कारमा हुँइकिन्छन् ।

    यो वर्षको झ्याई पार्ने मौसममा घरबार बस्ने सबैलाई शुभकामना । एकता नै बल हो । प्रेम, समर्पण र विश्वासको वाटिकामा मात्र शान्तिको फूल फुल्छ ।

  • प्रधानमन्त्रीको परीक्षा

    प्रधानमन्त्रीको परीक्षा

    पुरुषोत्तम लम्साल / भर्जिनिया

    शुरुमा एउटा दन्त्यकथा सापटी लिन्छु ।

    चिसो मौसम थियो । एक राजा सुती र मलमलमा बेरिएर दिनभर सयरमा थिए । साँझपख दरबार फर्कंदै गर्दा उनले दरबारको ढोकामा पहरा दिइरहेको सैनिकको बर्दी ज्यादै पातलो देखे ।

    राजाले सोधे; “बाहिर यस्तो चिसो छ तिमीलाई जाडो भएको छैन ?”

    सिपाहीले भन्यो, “विल्कूल महाराज । तर मसँग न्यानो कपडा छैन, त्यसैले सहनु परेको छ ।”

    राजाले आश्वासन दिए, “म अहिल्यै दरबारमा गएर तिम्रो लागि न्यानो कपडाको व्यवस्था गर्छु ।”

    सैनिकले पूर्ण जोशका साथ बुट बजारेर राजालाई सलाम ठोक्यो ।

    राजा जसै दरबार प्रवेश गरे, उनले सैनिकलाई दिएको आश्वासन बिर्सिए ।

    भोलीपल्ट दरबारको ढोकामा ती सैनिक मृत भेटिए । सबैतिर हल्ला भयो । मर्नु अगाडि उनले लेखेका रहेछन्, “महाराज मैले पातलो कपडामै वर्षौ चिसो सहेर आफ्नो कर्तव्य पूरा गरेको थिए । तर हिजो साँझ तपाईको आश्वासनले मैले चिसो सहने सामर्थ गुमाएँ ।”

    आफ्नो सामर्थ, आफ्नो बलमा भरोसा गरेर कठोर चिसो थेगिरहेको सैनिक राजाको झुठो आश्वासनको शिकार भयो । न्यानो कपडाको मोहमा चिसो सहने आत्मबल गुमायो । आश्वासनले आत्मविश्वासको घाँटी कसरी थिच्छ भन्ने सन्देश माथिको कथाले दिन्छ ।

    भय र साहस बीच आत्मविश्वास महत्वपूर्ण हुन्छ ।

    प्रधानमन्त्रीको आत्मविश्वास

    भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको समेत भूभाग गाभिएपछि शुरु भएको सीमा बहस क्रमशः राष्ट्रियताको मुद्दा बन्यो । निर्विवाद नेपालको भूमि अतिक्रमण गरेर भारतले विवाद र व्यवधान खडा गरेको निश्कर्षमा देश लगभग एकमतमा छ । यसैले नेपालको भूभागमा भारतको अतिक्रमण र हस्तक्षेप राष्ट्रिय र राष्ट्रियता दुबै मुद्दाभित्र पर्नु स्वभाविक छ । सरकारले सरकारी निकायमार्फत आफ्नो धारणा त सार्वजनिक गरेको थियो तर प्रधानमन्त्रीले नै औपचारिक रुपमा के भन्छन् भन्ने चासो सबैमा थियो । शनिबार प्रधानमन्त्रीले सबैको त्यो चासोको संक्षिप्तमा तर स्पष्ट उत्तर दिए । प्रधानमन्त्रीले नक्सा र भूमी फरकफरक विषय रहेको भन्दै देशको एक ईंञ्च पनि सीमा कसैलाई मिच्न नदिन आफू र सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्रीले राष्ट्रिय हितको पक्षमा अड्ने र लड्ने भन्दै सीमामा तैनाथ गरिएको बिदेशी फौजलाई पनि सम्बन्धित देशमा फिर्ता पठाउने वाचा बाँधे ।

    जनताले खोजेको पनि त्यत्ति मात्र त हो ।

    राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति र एकता देखिएपछि स्पष्टसँग बोल्न प्रधानमन्त्रीलाई सजिलो बनाइदिएको छ । देशभित्रको एकता सरकारको बल भएको छ । वाक्यमा यदि, यद्यपि, किन्तु, परन्तु प्रयोग गर्दा त्यसबाट उत्पन्न हुने घर्षणको अनुमान अरुलाईभन्दा प्रधानमन्त्रीलाई बढी छ । अर्थात्, राष्ट्रको सीमाको विषयमा सार्वजनिक भएका प्रमाणहरुले प्रधानमन्त्रीलाई जीब्रो चपाउने वा ल्यांगल्यांग गर्ने छुट दिएको छैन । पछाडि फर्कने बाटो नभएको अवस्थामा हेर्ने अगाडि नै हो । यही अगाडिको बाटोमा उभिएर प्रधानमन्त्रीले अतिक्रमित भूमि फिर्ता ल्याउने र नेपाली भूमीमा तैनाथ बिदेशी सुरक्षाकर्मी फिर्ता पठाउने बाचा बाँधेका होलान् भन्ने अपेक्षा गरौं ।

    सीमा मामिलामा सरकारले कूटनीतिक संवाद जारी रहेको बताइरहेको छ । पहिले मन्त्रीस्तरीय संवाद र त्यसपछि हेड टू हेड संवादको रटान पनि उस्तै छ । देशभित्र दबावको पारो बढिरहेको छ । प्रदर्शन उत्तेजक बनाउन हुनसक्ने झेल र खेल पनि उस्तै छन् । भारतविरोधी स्थायी मनोविज्ञानमा अझ बढी स्थायी बन्दै जाँदा त्यहीं चीनविरोधी आवाजहरु पनि सुनिन थालेका छन् । प्रदर्शनहरु राष्ट्रियताको मुद्दाबाट भड्कने सम्भावना टारेर तत्काल दुई देशीय संवादको बाटो खोज्न सरकारले जति बिलम्ब गर्छ उति प्रधानमन्त्रीको परीक्षाको समय पनि सकिंदै जान्छ ।

    विचारलाई स्वतन्त्रता दिन आत्मविश्वास महत्वपूर्ण साधन हो । यसैले प्रधानमन्त्रीको अभिव्यक्तिमा देखिएको आत्मविश्वास देशभित्रको दवावका कारण मात्र होइन भनेर ठम्याउन सहज हुन्छ । अर्थात् सरकारले महत्वपूर्ण तयारी गरेर नै आत्मविश्वासपूर्ण अभिव्यक्ति दिएको मान्नपर्दछ । आत्मविश्वासले व्यक्तिको क्षमतालाई पनि ईंगित गरिरहेको हुन्छ । यो मानेमा प्रधानमन्त्री भारतसँग संवाद गर्न, अडान लिन र उसबाट अतिक्रमित नेपाली भूभाग फिर्ता लिन नेपाल सरकार सक्षम रहेको अनुमान लगाउनु अन्यथा हुँदैन । प्रधानमन्त्रीको आत्मविश्वासले शंका र सन्देह दुबै नगर्न आग्रह गरेको छ । ठीकै छ, तत्कालका लागि नगरौंला ।

    तर माथिको दन्त्यकथामा झै आश्वासन र प्रलोभनले प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मबल र आत्मविश्वास क्षय हुन्छ कि ! प्रक्रियागत ढिलाई वा सुस्तताले यस्ता सन्देह पैदा गरि नै रहन्छन् ।

    प्रमाणपत्र जनताले बनाउँछन्

    प्रधानमन्त्रीले दोहोर्याएर भनेका छन् अहिलेको सरकार जनताको सरकार हो । सरकारका धेरै काम र कुराप्रति बिमति राखेर तत्कालका लागि प्रधानमन्त्रीको अभिव्यक्तिलाई शर्तसहित स्वीकार गरौं । तर जनताको आवाज प्रधानमन्त्रीले कसरी सम्बोधन गर्छन् ? त्यो सीमा विवादको विषयमा देखिने नै छ । ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा भारतीय सरकारसँग बलियोसँग उभिन सके प्रधानमन्त्री उत्तीर्ण हुने हो । उभिनु मात्रले उपलब्धी दिंदैन, परिणाम जनताले परीक्षण गर्ने हो । किनकि, जनता निरीक्षक र परीक्षक दुबै हुन् । ‘हामीले सकेको दावी गर्यौं तर उनीहरुको दावी बलियो देखियो’ भन्ने छुट न सरकारलाई छ न प्रधानमन्त्रीलाई । सम्भवतः कात्तिक २३ गतेको सर्वदलीय वैठकको निश्कर्षलाई प्रधानमन्त्री र सरकारले यही रुपमा लिएको हुनपर्छ ।

    सरकारी निशाना छापमै त्रुटी रहेको भन्ने विज्ञहरुको निश्कर्षलाई सँच्याए प्राप्ताङ्क प्राप्त हुने हो । नापी विभागले तयार गरेको तर पूर्ववर्ती सरकारहरुले गुपचुप राखेको नेपालको पूर्ण नक्सा सार्वजनिक गरेर अघि बढे अलि बढी प्राप्ताङ्क आउने हो । सीमाको पीलो दशकौंदेखि दुखिरहेको छ । सुस्तादेखि सन्दकपुरसम्म चहर्याइरहेको छ । सीमास्तम्भ हराउने र सीमा क्षेत्रका नेपालीले सास्ती खेप्नपरिहेका समाचार दैनिकजसो आइरहेका छन् । प्रधानमन्त्रीले थप ‘ग्रेड’ प्राप्त गर्न यता पनि ध्यान नदिइ सुख्खै छैन ।

    नेपालका पूर्व सत्ताधारी र शाषक बर्गले कुन कुन स्वार्थका कारण सीमिा मामिलामा भारतसँग सम्झौता गरे भनेर अहिले नयाँ नयाँ तथ्यहरु सार्वजनिक हुन थालेका छन् । तिनै तथ्यका आडमा टेकेर राष्ट्रिय हित र राष्ट्रिय स्वार्थमाथि खेलबाड गर्नेहरुलाई जनताकै अदालतमा उभ्याइदिए प्रधानमन्त्रीले प्रथम श्रेणीबाट विशिष्ट श्रेणीको प्राप्तांक प्राप्त गर्नेछन् । प्रधानमन्त्रीका लागि विवाद पनि ऐतिहासिक छन्, चुनौती पनि ऐतिहासिक छन् र अवसर पनि ऐतिहासिक छन् । जनता त निरीक्षक मात्र हुन्, परीक्षा त प्रधानमन्त्री र सरकारकै हो ।

    मौसम चीसो छ । यो चीसोमा नेपाल भारतको सम्बन्ध चिसिन नदिनु पनि छ । तर सयौं वर्षदेखिको समस्या समाधान गर्न दुबै देश तात्नु पनि छ । यसैले प्रधानमन्त्रीको परीक्षा सहज छैन ।

    धेरैलाई अहिले ग्रेटर नेपालको भूत सवार भएको छ । राष्ट्रियता भावनासँग जोडिएको विषय हो र हामी चाँडै भावुक हुन्छौं, त्यो हाम्रो चरित्र नै हो । त्यसैले केही सन् १९५० को सन्धीले नेपाल र इष्ट इण्डिया कम्पनीसँग गरेका सबै खाले सन्धी खारेज गरिसकेकाले अब टिष्टा र काँगडासम्म हकदावी गर्नपर्छ भन्ने पनि छन् । लौ तुरुन्त हेगमा गएर मुद्दा हालौं भन्ने अराजक विचारधारा पनि उस्तै छन् । अहिलेका लागि हामीलाई सन् १८१५ पूर्वको ग्रेटर नेपाल चाहिएको होइन, वर्तमान नेपालकै लुटिएको अंश चाहिएको हो भन्दा अराष्ट्रवादी भइदैन । अहिलेका लागि सीमाको स्थायी लिखत मात्रको अपेक्षा गर्नु पनि बढी हुँदैन । अतः प्रधामन्त्रीज्यू ! हामीले नालापानी उहिल्यै दिइसकेका छौं तर लिम्पियाधुरादेखि कालापानीसम्मको झण्डै चार सय बर्ग किलोमिटर क्षेत्रफल हाम्रो हो, फिर्ता लिइदिए मात्र पुग्छ । परीक्षामा उत्तीर्ण हुन शुभकामना ।

    अन्त्यमा,

    सामाजिक सञ्जालमा विक्रम तिमल्सिना ‘केपीले विपीले जस्तै गरून्’ भन्दै लेख्छन् ः

    “अनुसन्धाता एम् टेलर फ्रावेलका अनुसार सन् १९६० मा विपी कोइराला चीन नेपाल सीमा विवाद टुङ्ग्याउन भनी माओसँग छलफल गर्न बेइजिङ गएका थिए । ११ दिनमा अधिकांश विषयमा प्रारम्भिक सहमति भएछ र बाँकी विवाद मिलाउन संयुक्त सीमा आयोग बनाउने निर्णय भएछ । त्यही बेला माओले विपीसँग सगरमाथामाथि दुबैको बराबरी अधिकारको प्रस्ताव राखेका रहेछन् । त्यो भेटघाट र छलफलको करीब डेढ बर्षमा नेपाल र चीनले सीमा सम्झौतामा हस्ताक्षर गर्यो । फ्रावेलका अनुसार एघार विवादित क्षेत्रमध्य १० वटा नेपालको भयो, जसको कूल क्षेत्रफल २३३१ वर्ग किलोमिटर थियो । अहिले विपीका ठाउँमा केपी छन् । तसर्थ विपीले चीनका माओसँग जस्तै भारतका मोदीसँग वार्ता र सहमति गर्ने जिम्मेवारी प्रम केपीको हो, र चीनले जस्तै सानो छिमेकीलाई खुसी बनाउने काम भारतको हो ।”

  • कालापानी विवाद के हो ?

    कालापानी विवाद के हो ?

    आर एल श्रमजीवी / क्यालिफोर्निया

    भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका केही भू–भागलाई समेटिएपछि नेपालबाट चौतर्फी रुपमा विरोधकास्वरहरू उठिरहेका छन् । नेपाली प्रिन्ट मिडिया, टेलिभिजनहरु सामाजिक संजाल र युट्युबमा निक्कै हल्ला छ । बिदेशमा रहेकानेपालीहरु पनि आफ्नो मातृभूमिको सिमा मिचिदा दुखित र चिन्तित छन् । भारतको विदेश मन्त्रालयले बिज्ञप्ति जारी गर्दै हामीले सिमानामिचेको छैन भनेको बेला सरकार मौन छ । केवल सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्रीले औपचारिकता निभाएका छन् । भारतीय  विदेशमन्त्रालयले गत हप्तानै आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गरे। सीमामा बाँकीकेही समस्या समाधान गर्न भारत तयार रहेको उनको भनाइ छ ।‘नेपालसँग दुईपक्षीय सम्बन्धको मर्ममा अडेर सीमा समस्या समाधानगर्नेछ,’ उनले भनेका छन्, ‘हाम्रो नक्साले भारतको सार्वभौम भूमिमात्र देखाउँछ । नक्सा मिचिएको संकेत छैन।’ उनले दुई देशबीचकासीमा समस्या उच्चस्तरीय संयुक्त आयोगको बैठकबाट समाधान हुन बाँकी रहेको बताए । यतिका समय बितिसक्दा पनि दुइ देशकाबीच कुटनीतिक संवाद भएको छैन । भारतसंग यो बिषयमा कुरा गर्नु मुसाहरूले बिरालोको घाटीमा घन्टी बाँध्नु सरहको सकस शासकमादेखिन्छ । नत्र देशको अखण्डता माथि यत्रो धावा हुँदा ओली सरकारलाई किन प्राथमिकताको बिषय बन्दैन ?

    कालापानीको इतिहास

    सन् १८१५ मा इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार ‘नेपालका राजा तथा तिनका उत्तराधिकारी वावारेसले काली नदीको पश्चिममा पर्ने देशहरूसितका सम्बन्ध र सबै दाबीहरू परित्याग गर्ने तथा ती देशहरू वा तिनका बासिन्दासित कुनैचासो नराख्ने‘ भन्ने सहमति अनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदीको पूर्व कायम भएको विज्ञहरुको भनाइ छ । २०१८सालमा कालापानी र लिम्पुराधुरामा जनगणना गरेका भैरव रिसालले ए पी वान टेलिभिजनमा एक अन्तर्वार्ता दिदै भनेका छन् – कालापानीहाम्रो हो, भारतको यो कदम हेपाह प्रबृति हो ।

    सन्धिका कारण महाकाली नदीको सिरानीमा रहेको १२ ब्यास र १४ चौदासका अर्थात् व्यास प्रगन्नाका नामले चिनिने ब्यास क्षेत्रका १२वटा गाउँहरू दुईतिर बाँडिन पुगेको भण्डारीले बताए । जसमध्ये गुञ्जी, नाभी, कुटी, टिङ्कर र छाङ्ग्रुलगायतका ६ वटा गाउँहरूनेपालतिर पर्न गए भने बाँकी ६ वटा गाउँ भारततिर परे । सुगौली सन्धिपछि भारतले बनाएको नक्सामा भने सन्धिमा भएको सम्झौतामिचिएको भण्डारी दाबी गर्छन् । भण्डारीद्वारा लिखित ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक‘ भन्ने पुस्तकमा कालापानी कसरीभारतको कब्जामा गर्‍यो भन्ने विस्तृत उल्लेख गरिएको छ ।

    भण्डारी लेख्छन्– भारत स्वतन्त्र भइसकेपछि सन् १९६२ को भारत–चीन युद्धताका सो क्षेत्रमा नेपाली सुरक्षाकर्मीको अनुपस्थितिको फाइदाउठाउँदै भारतले उक्त नेपालीभूमि चीनविरुद्ध प्रयोग गर्‍यो । भारत–चीन युद्धमा भारतीय सेनाको एउटा मोर्चाले नेपालको लिम्पियाधुराक्षेत्रअन्तर्गत लिपु भञ्ज्याङबाट चीनसँग युद्ध लड्यो । त्यसपछिका दिनहरूमा भने नेपाली भू–भाग लिम्पियाधुरा क्षेत्रमा नै ब्यारेक जमाएरबस्न थाल्यो ।शुरूमा सीमाचौकी स्थापना गरी केही प्रहरी जवान राखेको भारतले त्यसपछि त अर्धसैनिक बल इण्डो–टिबेटियन बोर्डरपुलिस फोर्स (आईटीबीपी) को ब्यारेक नै स्थापना गर्‍यो । सैन्यबलका आधारमा भारतले यतिबेला नेपालको महाकाली नदीको उद्गमलिम्पियाधुरादेखि लिपु भञ्ज्याङसम्मको ३७२ बर्ग किलोमिटरभन्दा बढी भू–भाग अतिक्रमण गरेको छ । उक्त अर्धसैनिक बलआईटीबीपीलाई तुल्सीनुराङ, कुटी, नाभी र गुन्जी सबै नेपाली गाउँहरूमा ब्यारेक संरचनासहित ठूलो सङ्ख्यामा तैनाथ गरेको छ ।अत्याधुनिक सुविधासम्पन्न ती सबैतिरका ब्यारेकहरूमा सीसीटीभी क्यामेराहरू जडान गरेको छ । कोही छाङग्रु, माथिल्लो कावा, लिपु, टिङ्कर भञ्ज्याङ, पङ्खागाड, गुञ्जी र नाभीदेखि आएगएको दृश्य ब्यारेकभित्रैबाट हेर्नसक्ने व्यवस्था गरेको छ ।नेपालले आफ्नोप्रशासनिक नक्सामा नेपालमा पर्ने सबै भू–भागहरू समेटेको भएपनि ३ सय ७२ वर्गकिलोमिटर भू–भागमा भारतीय सेनाले कब्जा गरेको हो। आफ्ना सेनाले कब्जा गरेर राखेको भूभागलाई भारतले आधिकारिकता प्रदान गर्दै आफ्नो नयाँ राजनीतिक नक्सामा समावेश गरेकोदेखिन्छ ।

    के भन्छ नापी विभाग ?

    नापी विभागले देशका अन्य ठाउँमा विवाद समाधान गरेर सीमास्तम्भ गाड्ने र नक्साङ्कन गर्ने लगायतका कामहरू भइरहेका भए पनिसुस्ता र कालापानीबारे विवादलाई मिलाउने जिम्मेवारी परराष्ट्रसचिव स्तरीय संयन्त्रको रहेको बताएको छ ।विभागका महानिर्देशकप्रकाश जोशी भन्छन्, “परराष्ट्रसचिव स्तरीय संयन्त्रलाई चाहिने भए हामीले प्राविधिक सहयोग दिन सक्छौँ । “केही महिनाअघि भने नापीविभागले देशकै निसान छाप र कतिपय सरकारी निकायले कालापानी क्षेत्रको आफ्नो भूभाग नदेखिएको नक्सा प्रयोग गरेको भन्दैसच्याउन पत्राचार गरेको थियो । नापी विभागले ‘सही नक्सा‘ पहिचानको गर्न “दार्चुला जिल्लाको माथिल्लो भाग चुच्चो भएकोनक्सालाई सही र डाडुजस्तो भएको नक्सा गलत” भनेर बुझाएको थियो

    नक्कली काली नदी बनाएर भू–भाग हडप्दै

    ‘पहिला लिपुलेकबाट आउने काली नदीलाई अन्तर्राष्ट्रिय सीमा मानिएको थियो तर यिनीहरूले अहिले नक्कली काली नदी बनाएर जालसाँजी गरिरहेको जस्तो देखिन्छ ।‘नक्कली सुरक्षा क्याम्प राखेर भारतीय पक्षले नक्कली सीमा बनाउने काम गरिरहेकोछ । त्यहीनक्कली सीमालाई भारतीय गृहमन्त्रालयले सदर गरेको छ ।  द्वीपक्षीय रूपमा वार्ता गरेर पूरानो र नयाँ नक्सासँग भिडाउनु पर्‍यो । त्यहाँनेपाली पक्षबाट तिरो तिरिरहेका मानिस छन्, नेपालको आधिकारिक भू–भाग कति छ त्यो स्पष्ट छ । त्यही अनुसार राज्यले कदमचाल्नुपर्छ ।

  • जताततै हस्तिनापुर

    जताततै हस्तिनापुर

    विनोद रोका, न्युर्योक

    बिद्युतीय माध्यमबाट सम्प्रेषण हुने सामाजिक संजालदेखि भुभागहरुमा जताततै आजकाल हस्तिनापुर, कौरव, पाण्डव, र यदाकदा कृष्ण भेटिन्छन् । त्यसैले कुनबेला कहाँ पुगिन्छ र मनले कस्तो मनोदसा बनाऊछ अनि बुद्धिले  के निर्णय लिन्छ भन्न सकिन्न । सनातम धर्ममा विश्वास गर्नेहरु भन्छन मान्छेले बिगतमा जानी नजानी आफ्नो मनमा आऊन दिइएका र बुद्धिमा संचित गरिएका संस्कारहरुको परिणाम भोगाऊनका लागि यस्ता ठाउँहरुमा व्यक्तिहरु अनायास पुग्ने गर्दछन । भौतिकबादी अर्थात प्रत्यक्ष सवुद र प्रमाणमा विश्वास गर्नेहरु पनि भन्छन जस्तो प्रोग्रामिङ गरिएको हुन्छ त्यस्तै परिणाम जिवनमा आऊँछ । र यस्तो परिणाम आऊनका लागि पनि कुनै अब्जेक्ट वा ठाऊँ नै चाहिन्छ ।

    हाम्रा दिनचर्यामा प्राय: नराम्रा र राम्रा परिणामहरु आऊने ठाऊँ, समय र पात्रहरु आइरहन्छन् । यस्ता परिणामहरु पाऊने अवस्थामा हामी कुनै ठाऊँमा पुग्दछौ र व्यक्तिहरुलाई भेट्दछौ। र परिणाम घटनुमा हामी पुगेका ठाऊँ, समय र व्यक्तिको विशेष महत्व हुने गर्दछ । त्यसैले सनातनदेखि हामीले सुन्दै पनि आएका छौं कि; ठाऊँ, व्यक्ति, र अवसर हेरेर मात्रै बोल्नु पर्छ । जानु पर्छ । खानु पर्छ । अनि असल मान्छेहरुको सत्संघ गर्नु पर्दछ आदि ।

    आजकाल मान्छेका धेरै जस्तो समय फेसवुक, युट्युव, मेसेन्जर, हवाट्सअप, ईमेल, गुगल, आदिमा नै वित्ने गर्दछ । यी सामाजिक संजालमा सामेल नभई मान्छेको चित्तै बुझ्दैन। यी माध्यमहरुको कुलत यस्तो लाग्यो कि छाड्छु भनेर कसम खानेले पनि छाड्न सक्दैनन् । जब पसिन्छ, त्यँही फसिन्छ । बेहोसिमै लाइक गरिन्छ । केमा लाइक गरियो कतिपय अवस्थामा थाहा पनि हुँदैन। किनकि एउटाले पोष्ट गरेकोमा लाइक गरेर अर्कोमा नगर्ने हो भने त्यो व्यक्ति रिसाउँछ कि भन्ने डर मनमा लाग्छ । यद्यपि त्यो व्यक्ति फेसबुकमा आएर हेरिरहेको भने हुँदैन।

    अनि पढ्न थालिन्छ नसा दिने पोष्टहरु । किनकि यस्तै पोष्टहरु भाईरल भएका हुन्छन् र शेयर गरिन्छन् । अनि आफुलाई विद्धान भन्नेहरुले पनि पढेर वा हेरेर यस्तो विषयलाई पोष्ट गर्न र शेयर गर्न हुदैन भनेर आफनो कमेण्ट लेख्छन् । अरुलाई अर्ति दिन्छन् । पढी सकेपछि पानी माथिको ओभानो बन्छन् ।

    म पनि कहिले काँही असमन्जस्यमा पर्छु । किनकि आफै पनि यी सामाजिक संजालमा पस्नु हुदैन । पस्यो कि फसिन्छ भन्ने मान्यता राख्दछु । तर बहाना के निकाल्छु भने केही असल मान्छेहरुले कहिले काँहि राम्रा कुराहरु पनि पोष्ट वा शेयस गर्छन र यस्ता पोष्टहरु भने छुटाऊन हुदैन । मेरो पनि सामाजिक संजालमा पस्ने बानी छ । त्यसैले मलाई पनि भाईरल भएका हस्तिनापुरे पोष्टहरुले फसाउँछन र केहीबेर नसामा डुबाउँछन् ।

    केही दिन अगाडि डा. राजु अधिकारी, सन्तोषी, म र मेनुकालाई परिता र  प्रभातजीकोमा दिउँसोको खाना बोलाईएका थियौं, ऊनीहरुकै निवासमा । परिता र प्रभातको आथित्य सत्कार आत्मिय र लोभलाग्दो हुन्छ । बिषेश गरेर न्युर्योकमा रहने केही नेपाली परिवारमा परिताले जमाएको दही र प्रभातले सर्भ गरेको सोमरस भएन भने पार्टी वा भोज खल्लो मान्छन् साथीहरुले । आजको खानामा हामी पाहुनाहरु सात्विक थियौं । परिताको मन प्रसन्न भएपनि प्रभातको मन खुल्न सकेन । केवल फुल्यो मात्रै । किनकि प्रभातको सोमरसले आज सिक्वेन्स मिलाउन पाएन ।

    सन्तोषी र राजुजीको डेढ बर्षकी छोरी आपालालाई प्रभातजीले कार्टुन खोलीदिन चाहे । तर बच्चालाई केवल आध्यामिक हिन्दी कार्टुन मात्रै देखाऊने गरेको कुरा थाहा पाएपछि अर्को च्यानल हेर्ने कुरा हुन थाल्यो । र डा.राजुजीले गायत्री परिवारका संस्थापक तपस्वी पं.श्रीरामशर्मा आर्चायद्वारा संस्थापित शान्तिकुन्ज हरिद्धारद्वारा संचालित देव संस्कृत विश्वविद्यालयका डा. चिन्मयले मन्त्रविज्ञानको बारेमा दिएको प्रवचन युट्युवमा खोल्न अनुरोध गरें । किनकि उनी पनि त्यही विश्वविद्यालयका विद्यार्थी हुन् । त्यो प्रवचन १ घण्टाको थियो र मैले त्यहाँ करिब ४५ मिटन जति हेर्ने मौका पाए। र बाँकी घरमा आएर फेरी दोहोर्याएर हेरें । मलाई त्यो प्रवचनले राम्ररी प्रभाव पार्यो । डा. चिन्मय लण्डनमा अध्ययन पुरा गरेका मेडिकल डाक्टर भएतापनि आध्यात्म र गायत्री मन्त्रको बैज्ञानिकताको बारेमा पुष्टि गर्ने प्रमाणहरु पस्किरहेका थिए । र यी प्रमाणस्वरुप पस्किएका उदाहरणहरु सनातन धर्ममा रचिएका र सुनिएका कथाहरुमा आधारित थिए । मैले यो भिडियो फेसबुकमा शेयर पनि गरें । यो शेयर गरेको भिडियोमा दुईजना मलाई माया गर्नेले लाइक गरेको देखें ।

    उदाहरणमा दिएका कथाहरु मध्ये श्रवण कुमारले आफ्ना बृद्ध मातापितालाई काँधमा बोकेर तीर्थयात्रा गराएको प्रसंगको थियो । तर यो कथामा यो भन्दा अगाडि नसुनेको हस्तिनापुर भन्ने ठाउँमा पुग्दा श्रवणकुमारको मनमा घटेको घटनाले मलाई छोयो । किनकि ठाउँ र समय अनुसार हामीमा घटने शुभ र अशुभ घटनाहरु घट्दा रहेछन । जुन हामीलाई थाहा हुँदो रहेनछ। तर यसरी अनायास ठाऊ र समयमा पुग्दा संयोगले एक पटक घटेको घटनालाई मान्छेले जिन्दगीभरी नबिर्सने गरी मनमा राखिदो रहेछ । र कालान्तरमा यही मनमा बसेका केही संस्कारले जन्म र मृत्युको चक्रमा घुमाउँदा रहेछन् । वैदिक सनातन धर्ममा मातापिताको सेवा गरेर एउटा सुपुत्रको ईतिहास बनाएका श्रवण कुमारको सोचाईमा पनि मातापिताका प्रति हस्तिनापुरमा पुग्दा नराम्रो बिचार आयो भन्दा आश्चर्य लाग्दछ। मैले बुझेको कथा अनुसार; श्रवणकुमार तिर्थयात्राको क्रममा हस्तिनापुरको बाटो हुदै मातापितालाई काँधमा बोकेर अगाडि बढी रहेका थिए । हस्तिनापुरमा पुगेपछि उनले सोचेछन्; ‘मैले यी मातापितालाई किन काँधमा बोकेर तिर्थयात्रामा हिडेको हुँला ? यिनीहरु आफै पनि त हिडेर जान सक्छन नि ! अनि उनले रिसाउँदै मातापितालाई भनेछन् । अब तपाईहरु आफै हिडेर जानुहोस् । म यसरी दुईदुई जनालाई काँधमा बोकेर हिडन सक्दिन ‘। मातापिता छक्क परेछन् – श्रवणको कुरा सुनेर । अनि सोचेछन्; ‘हाम्रो छोरो त यस्तो बचन बोल्ने मान्छे होईन ? आज यस्लाई के भएछ ?’ केहीबेरपछि थाहा पाएछन् त्यो ठाउँको नाम हस्तिनापुर रहेछ । जहाँ कौरव र पाण्डवहरुका बीचमा महाभारतको युद्ध भएको थियो । जहाँ भाईचारा, प्रेम र सदभाव जस्ता भावहरु मरेर क्रोध र ईर्स्या जस्ता विसाक्त औराहरु वरिपरको बातावरणमा मिसिएका थिए ।

     

    उमेरले मात्र होईन ज्ञानले पनि परिपक्व भएका मातापिताले थाहा पाए कि यस बेला श्रवणको मनमा ठाऊँ विशेषको कारणले कुबिचार आयो। सायद ऊनीहरुले यो पनि बुझेका होलान् कि आफ्ना पनि केही संचित कर्महरु थिए जस्को कारणले छोराबाट यस्ता अप्रिय बचन यसरी सुन्नु पर्यो । तत्पश्चात मातापिताले नम्र भएर भनेछन् “ठिक्कै छ छोरा हामी आफै जान्छौ तिर्थयात्रा । कृपया यो गाउँ त कटाईदेऊ” । श्रवणले पनि मातापिताको यो बचनलाई मानेर हस्तिनापुरबाट अगाडि बढेछन् । तर हस्तिनापुर कटेपछि श्रवणले यो कुरा बिर्सिए । मातापिताले पनि ठाऊँ बिशेषको कारणले मनमा ऊब्जिएको क्षणिक बिचारलाई कोट्याएनन। श्रवणले काँधमा बोकेर मातापिताको तिर्थयात्रालाई पुरा गरे । र यो कथाले एउटा नैतिक शिक्षा समाजमा छोडेर गयो ।

  • पुराणको विषय र अनावरणको प्रसङ्ग

    पुराणको विषय र अनावरणको प्रसङ्ग

    डा. बद्री पोख्रेल
    अध्यक्ष, जयतु संस्कृतम् नेपाल

    हिजोआज पुराणलाई पुरानो कुरा भनेर वेवास्ता गर्ने गरिन्छ । बुढावुढीले मात्र पढ्ने र सुन्ने विषय भनेर पनि पुराणलाई उपेक्षा र अपहेलना गर्ने चलन छ । त्यसमाथि अमेरिका, बेलायत, जापान, जर्मन जस्ता आधुनिक विज्ञानमा तरक्की गर्न सफल भएका देशमा त पुराण पढ्ने, सुन्ने, लेख्ने इत्यादि विषय सोचमा पनि आउँदैन । यस्तो परिवेश र मासिकतालाई चिर्दै हालै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा तीनवटा महापुराणको अध्यायगत सारांश लेखिएका ग्रन्थहरुको विमोचन भएको छ । संस्कृतमा लेखिएको अग्नि महापुराण, मार्कण्डेय महापुराण र वामन महापुराणको समग्र अध्ययनपछि हरेक अध्यायको नेपालीमा सारांश मैले तयार पारेपछि विश्व स्वतन्त्र सञ्चार नामक संस्थाले पुस्तक प्रकाशन र वितरणको भूमिका स्वीकार गरेको हो । यसरी तयार भएको कृतिहरु नोभेम्बर ८ का दिन न्यूयोर्कको ज्याक्सन हाइट स्थित थकाली किचेन रेष्टुरेन्टमा जयतु संस्कृतम्को अमेरिका शाखा र विश्व अध्यात्म केन्द्रको आयोजनामा एकैसाथ जन्मिन पुगे । त्यसै पनि चिसो हुने न्यूयोर्कमा अत्यधिक जाडो भएकाले मुटु हल्लाउँदै र सवारीजाम छिचोल्दै सहभागीहरु उत्साहका साथ समयमै उपस्थित भएका थिए ।

    नेपाली काग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा पुराणहरुको विमोचन संयुक्त राष्ट्र संघका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, पूर्वमन्त्री नवीन्द्रराज जोशी र कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले छुट्टाछुट्टै गर्नुभयो । पुराणको महत्व, ग्रन्थको विषयवस्तु, संस्कृतको महत्व र जयतु संस्कृतम्का क्रियाकलाप सम्बन्धमा पुस्तकका लेखकका हैसियतले मैले पनि राख्ने अवसर पाएँ । वास्तवमा संस्कृत वाङ्मय ज्ञानको भण्डार हो । विज्ञान, दर्शन, कर्मकाण्ड, योग समेत संस्कृतमा पाइन्छन् । संस्कृत सबैले नवुझ्ने भएकाले संस्कृतमा भएका महत्वपूर्ण विषय नेपालीमा अनुवाद गरेर ज्ञान पस्कने प्रयास स्वरूप यी कृतिकहरु लेखिएका हुन् । आधुनिकताको नाममा समाज वेलगाम बनेको, पारिवारिक सम्बन्ध विग्रदै गएको, श्रीमान श्रीमतीका बीच विश्वास घट्दै र टुट्दै गएको, अनुशासन ह्रास हुँदै गएको र धर्म, संस्कृति र संस्कारको नाश हुँदै गएको कारणले हाम्रो अस्तित्व नै संकटमा पर्ने अवस्था देखापरिरहेको छ । मानव मानव नभएर दानव बन्ने स्थिति देखापरेको छ । यसको समाधान पूर्वीय दर्शनको अध्ययन र मननमा नै सुनिश्चित छ । मानवलाई मानव बनाउने क्रममा पूर्वीय दर्शनका ग्रन्थहरुले ‘सर्वे भवन्तु सुखिनः’ देखि विश्ववन्धुत्वको धारणा फैलाएका थिए । परोपकार नै पुण्यको एकमात्र मार्ग हो भन्ने सन्देश १८ पुराण लेखिसकेपछि व्यासले बताएका थिए । विग्रदै गएको समाजको अवस्थालाई हेर्दा पूर्वीय दर्शनको अध्ययन अपरिहार्य भएको छ । यसै आवश्यकता र दृढताको प्रतीक पुराणको अनुवाद गरी प्रकाशित गरिएको हो । १८ पुराण मध्ये १३ वटा पुराणको अनुवाद सम्पन्न गरिसकेको र बाँकी पुराणहरुको अनुवाद लेखन निरन्तर चलिरहेको छ । अनुवाद गरी तयार भएका पुराणहरु प्रकाशकको प्रतीक्षामा रहेका छन् ।

    कार्यक्रममा नेपाली भाषाको मानक तयार गर्न र संरक्षण गर्न लागिपर्नुभएका समालोचक प्रा. डा. खगेन्द्र प्रसाद लुइटेलले भाषा संरक्षणमा लाग्दाका पीडाहरु बताउँदै यस्तै कृतिहरुले भाषाको मात्र नभै संस्कृति, सदाचार, मानवीय मूल्य–मान्यताको समेत जगेर्ना गर्ने बताउनुभएको थियो । उहाँको योगदानको उच्च कदर गर्दै न्यूयोर्कका साहित्यकारहरुको तर्फबाट सम्मान समेत गरियो । यसैगरी कार्यक्रमलाई सञ्चालनगर्ने सन्दर्भमा विश्व अध्यात्म केन्द्रका संयोजक एवं जयतु संस्कृतम् अमेरिका शाखाका उपाध्यक्ष पीपलमणि सिग्देलले जयतु संंकृतम् संस्थाको इतिहास केलाउँदै लोकार्पण भएका कृतिहरु हिजोसम्म लेखकका सम्पत्ति भएपनि आजदेखि सामाजिक सम्पत्तिमा रुपान्तरित भएको बताउनुभयो । पुराणको मात्र चर्चा नभएर जयतु संस्कृतम् संस्थाको पृष्ठभूमि कोट्याउँदै नेपालमा एकतन्त्रीय राणा शासनले आम जनता पीडित भएको अवस्थामा प्रजातन्त्रको स्थापनाको माग गरी राणाको विरुद्धमा गरिएको आन्दोलन थियो भन्दै स्मरण गरियो । यो आन्दोलनकै प्रभावले वि सं २००७ मा नेपालमा प्रजातन्त्रको स्थापना भएको इतिहास छ । जयतु संस्कृतम् आन्दोलनकै उद्देश्य र गतिलाई निरन्तरता दिने उद्देश्यले वि सं २०५५ मा विधिवत् संस्था दर्ता भएको थियो । हालसम्म अमेरिका र भारतमा समेतगरी संस्थाका १४ वटा शाखा स्थापना भई संस्कृतको प्रचार, प्रसार भइरहेको छ । विभिन्न संस्कृतमा लेखिएका दर्शन, पुराण लगायतका ग्रन्थहरुको अनुवाद गर्नेदेखि संस्कृतमा के छ जस्ता किताब तयार गर्ने, संस्कृतमा लेखिएको उत्कृष्ट एउटा कृतिको प्रकाशन गर्ने, संस्कृतको विकासमा जीवन समर्पण गर्ने उत्कृष्ट एकजनालाई जयतु संस्कृतम् पुरस्कारबाट सम्मानित गर्ने, उत्तर महाभारत ग्रन्थ तयार गर्ने जस्ता काम पनि जयतु संस्कृतम् संस्थाले गर्दै आएको छ ।

    साहित्यकार कमला प्रसाईको स्वागत भाषणबाट सुरु गरिएको विमोचन कार्यक्रममा नेपाली काग्रेसका नेता नवीन्द्रराज जोशी, महामहिम अमृतबहादुर राई, महावाणिज्यदूत पुष्पराज भट्टराई, प्रा.डा. खगेन्द्र प्रसाद लुइटेल, अनेसास बोर्ड अफ ट्स्टकी अध्यक्ष गीता खत्री, अनेसास न्यूयोर्क च्याप्टरकी अध्यक्ष शकुन ज्ञवाली, कानुनविद् विनोद रोका, साहत्यिकार डा. गोविन्द कोइराला, कवि डा. मधु माधुर्यलगायतका अतिथिहरुले अपार शुभकामनाको शब्दगुच्छा दिंदै लोकार्पण भएका ग्रन्थहरुले सच्चा मानव बनाउन मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सभापतित्व गर्नुभएका जयतु संस्कृतम् शाखा अमेरिकाका संस्थापक सदस्य विष्णुप्रसाद सापकोटाले अरु पुराणहरु पनि छिट्टै प्रकाशन हुन सकून् भनी शुभकामना प्रकट गर्नुभयो । वक्ताहरुको गहन विचार सुन्दासुन्दै दुई घण्टा बितेको पत्तै भएन । समालोचक लीला लुइटेल, अनेसास न्यूयोर्कका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, साहित्यकार किशन धामी, पत्रकार बद्री गौतम, पत्रकार योगेश डंगोल, पत्रकार आकुर लुइटेल, रक्तदाता अर्जुन मैनाली तथा लंगआइल्यान्ड नेपाली समाजका सदस्य नरेन्द्र सुवेदीलगायत थुर्पै अतिथिको विचार सुन्न अर्को कुनै समारोह पर्खनुपर्ने भयो । सो अवसरमा नेपालका ७७ वटै जिल्ला भ्रमणगरी तयार पारिएको मेची–काली लगायत व्यवस्थापनका पाँच आयाम, अक्षरदेखि अक्षरसम्म, म भित्र अर्कै छ नामका कृतिहरू र पीपलमणि सिग्देलको कृति आँकुरापुञ्जको समेत प्रदर्शन गर्ने मौका जुट्यो ।

    अन्त्यमा अहिले संस्कृतको विकासमा पश्चिमी विद्वानहरु नै लागिपरेकाले संस्कृतको महत्वलाई झनै उजागर गरेको छ । युरोप र अमेरिकाका विश्वविद्यालयहरुमा खुलेका संस्कृत अध्ययन अध्यापनका छुट्टै विभाग, केन्द्र र संस्थानहरुले यसलाई प्रमाणित गरेका छन् । हिन्दुत्व, आर्यु संस्कृति र मानवीय मूल्यको सम्वर्धनमा लाग्न प्रेरणा दिने वेद, उपनिषद्, पुराण आदिको उद्गम थलो हिमालयको देश नेपालमा भए पनि यसको उचित संरक्षण र प्रवद्र्धन हुन नसकेकाले यसको संरक्षण र विकासको निमित्त जो जहाँ बसेको भए पनि तुरुन्त थालिहाल्नुपर्ने यथार्थ हामी सबैको मस्तिष्कमा छचल्कियो । यसरी तीन महापुराणले एउटा खुड्किलो पार गरे, बाँकी यात्रा पाठकको रुचिमा निर्भर रहनेछ ।

  • अन्तरजातीय विवाहको पक्षमा : बाबुराम हिंसिला एक उदाहरण

    अन्तरजातीय विवाहको पक्षमा : बाबुराम हिंसिला एक उदाहरण

    प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

    त्यतै आफूले रोजेकी कथित सानो जातकी महिलासँग विवाह गर्न रुढिवादी परिवारले अस्वीकार गरेपछि अमेरिकामा बस्ने काठमाडौंको केटाले आफ्नै बाबुआमाले खोजेको विरगञ्जकी सजातीय केटीसित विवाह गर्ने पक्कापक्की भइसकेपछि केटी कस्ती रहिछिन् भनी चरित्र मापन गर्नको लागि ब्यवसायिक ‘हेकर’ लगाएर केटीको फेसबुकको पासवर्ड तोडेर हेरे । जहाँ केटीको आफ्नै केटा साथीसँगको चेट देख्दा ऊ छाङ्गाबाट खसेसरि भयो । अमेरिकामा ग्रिनकार्ड भएको केटासँग विवाह गरेर जाने, अनि सेटल भइसकेपछि श्रीमानसँग डिभोर्स लिई, केटोसाथीलाई उतै तान्ने प्रयोजनका खाका मज्जैले बुनिएको थियो, संवादमा । अनि फेरियो केटाको बोली चौवीस घण्टाको अवधिमै ‘हुन्छ,’ ‘हुँदैन’मा । विवाहअघि नै धोकाको खाका बुन्ने केटीसँग विवाह गरेको भए उस्को आज के विजोग हुन्थ्यो ? यो सोचेर पनि उस्को मन आज पनि सिरिङ्ग हुन्छ रे । यो त भयो प्रतिनिधि एक घटना । यस्को अर्थ यो होइन कि सवै सजातीय विवाहको क्लाइमेक्स छल हो, प्रपञ्च हो । यो लेख, अन्र्तजातीय विवाहको पक्षमा लेखकको ब्यक्तिगत दुईचार तर्कसहितको वकालत मात्र हो ।

    ​विवाह स्वीकृत सामाजिक ढांचा हो, जसद्वारा दुई वा धेरै ब्यक्तिहरुले परिवारको निर्माण गर्दछन् । यस्मा पनि अहिले अन्तरजातीय विवाह बढ्दो क्रममा छ । यो समाज रुपान्तरणका लागि सुखद पाटो हो । अन्तरजातीय विवाह गर्नु कुनै अपराध होइन, न कि दोष नै । संसारमा नारी र पुरुषको दुई जाती सिवाय अरु जातिलाई निषेध गरी विवाह गर्नु नै अन्तरजातीय विवाह हो । तर पुरानो पुस्ता, जस्का विचारधारा संकीर्ण छन्, उनीहरुको लागि यस्तो विवाह अस्वीकार्य मात्र हैन, अपाच्य नै देखिएको छ । समाजमा आफ्नो जाति र वंश कलंकित होला भनेर नयाँ पुस्तामाथि पुरानो पुस्ताले दवाव थोपर्ने गर्दछन् । उनीहरुलाई यो चेतना छैन कि यस्तो विवाहलाई प्रोत्साहित गर्ने हो भने परिवारको माधुर्य दुईगुणा बढ्छ । यस्तो विवाहमा परिवारभित्र भित्रिने बूहारीलाई परिवारको वारेमा पूर्व जानकारी हुने हुनाले जुन कुरा पनि उनको लागि सहज लाग्छ । गृहस्थ जीवनको पहिलो उषामै ससुरोलाई डायबिटिज छ भनेर बुझेकी बूहारीले अवश्य पनि चियामा चिनी हाल्ने काम गर्दिनन् । त्यस्तै गरी सासूले पनि बूहारीको माइतीको आर्थिकस्तरको बारेमा राम्ररी बुझेको हुने हुनाले ‘दाइजो किन कम ल्याइस्’ भनेर प्रश्न गर्दिनन् । यस्तो समझदारीको धरातलमा हुर्किने शान्त परिवेशमा परिवारको माधुर्य मात्र घुल्दैन, परिवारमा नयाँ सदस्यको आगमन भयो भन्ने कुराको छनक पनि नपाई पुर्ववत गृहस्थ जीवनको निरन्तरता कायमै रहन्छ ।

    थियोडर पार्करले भनेका छन्, दुई भिन्न जातीको विवाह नै सर्वश्रेष्ठ विवाह हो । अन्तरजातीय विवाह गर्नेहरु प्राय सुखी नै देखिएका छन्, दाम्पत्य जीवनमा । यस्तो विवाह प्रायजसो प्रेमबाट प्रारम्भ हुने भएकाले अरु विवाहमा जस्तो प्रेम तरंगीत हुन बर्षौं लाग्दैन । एक अर्काको इज्जत हुन्छ, श्रीमान् र श्रीमतीको बीचमा । विवाह पछिको दाम्पत्य जीवन सुखद हुने हुनाले, कुनै अपराधले टाउको पनि उठाउँदैन । विवाहको पहिलो रातमा पनि एकअर्कालाई बुझेका श्रीमान् र श्रीमतीको बिचमा भावनात्मक समागम हुन्छ । मेरो श्रीमान् कस्तो, कुन चरित्रको र उनको विगत कस्तो भनी प्रश्नै प्रश्नमा प्रारम्भ हुने यौनजीवन भावी दिनमा पनि डर र त्रासमै डोरिन सक्ने खतरा हुन्छ । श्रीमतीले श्रीमानलाई शंका गर्ने, श्रीमानले श्रीमतीलाई शंका गर्ने दुखदायी जीवन भन्दा पनि समाजवाट अपमानित हुनु परेता पनि अन्तरजातीय विवाह सुखदायी हुने मनोबैज्ञानिक सत्य हो ।

    हाम्रो समाजमा अझ पनि अन्तरजातीय विवाहलाई अपराधको रुपमा हेरी, बिश्लेषण गर्ने परिपाटी छ । सजातीय विवाह नै हुनुपर्छ भनी कुनै शास्त्रमा लेखिएको छैन । क्षेत्रीसँगको क्षेत्रीनीको विवाह पनि आपसी वैमनस्यका कारण पारपाचुकेसम्म पुगेका नजीर थुप्रो छ । त्यस्तै कतिपय क्षेत्रीहरु नेवार्नीसँग सुखद जीवन बिताएका नजीर पनि खोजिटोपल्दा चाङ्गै लाग्छ । यस्बाट पुष्टि हुन्छ, आजको समयमा यो दुई अक्षरको जात हैन, भावना ठूलो कुरा हो । जस्ले आफूलाई बुझ्न सक्छ, त्यस्लाई जीवनसाथी बनाउनु अपराध हैन । यो त अभिजात र दलितबिचको शताब्दीदेखि चुलिएको बलियो पर्खालको संरक्षणको अभिष्ट मात्र हो, ठूलाठालुको । जस्ले कैले पनि सार्कीलाई खुट्टा र नापितलाई टाउको बाहेक अरु दिनै चाहेका छैनन् । यस्तै ब्यक्तिहरुले बुनेको छल, कपट र षडयन्त्र नै हो यो अन्र्तजातीय विवाहको निषेध पनि । कोही अन्र्तजातीय विवाह गर्ने सामाजिक वहिष्कारमा परेको, समाजसँग संघर्ष गर्ने हिम्मत नभएर आत्महत्या गरेको, विदेश पलायन भएको र घरेलु हिंसामा परेको जस्ता थुप्रै विकृति र विसंगतिलाई क्रमशः चिर्दै आज यस्तो विवाहलाई पनि सम्मानित विवाहमा रुपान्तरण गर्नु समयको माग हो । नयाँ पुस्ताले पुरानो पुस्तालाई जनचेतना दिनुका साथै, क्रमश । यस्तो विवाहलाई बढावा दिई सामाजिक क्रान्ति गर्न युवाहरु अग्रसर हुनुपर्छ ।

    अन्र्तजातीय विवाह गर्नेलाई सामाजिक भता दिने प्रथाले सरकारले यस्तो विवाहलाई प्रोत्साहित त गरेको देखियो । परन्तु, सरकारले अन्र्तजातीय विवाहलाई मोटो रकमले जोख्नु भन्दा पनि, प्रष्ट सामाजिक रेखा खिँचेर ‘अन्र्तजातीय विवाह गर्ने जोडीलाई वहिष्कार गर्नेलाई वहिष्कार गर्ने’ जस्ता कानूनी प्रावधान ल्याउन सकेमा यस्तो जोडीलाई राहत पुग्थ्यो ।

    यसै परिप्रेक्ष्यमा, बामदेव गौतम र तुलसा थापा, अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, अशोककुमार राई र सुशीला श्रेष्ठ, झलनाथ खनाल र रविलक्ष्मी चित्रकार, ईश्वर पोखरेल र मिरा ध्वजु , शंकर पोखरेल र सुजाता शाक्य, सुरेन्द्र्र पाण्डे र पूर्णशोभा चित्रकार, केपी ओली र राधिका शाक्य, गोकर्ण बिष्ट र प्रतिमा श्रेष्ठ, मोहनचन्द्र अधिकारी र बालकुमारी खनाल, मुकुन्द न्यौपाने र पवित्रा भट्टराई, मदन भण्डारी र बिद्यादेवी पाण्डे, प्रदीप नेपाल र झुमा देवान र माधवकुमार नेपाल र गायत्री आचार्य, बाबुराम भट्टराई र हिसिला यमीका राजनैतिक अन्र्तजातीय विवाह प्रेरणादायी छन् । सवैले सुखद यी अन्र्तजातीय विवाहबाट केही न केही पाठ सिक्नैपर्छ । इतिहासमा पनि महाराजाहरुले अन्र्तजातीय विवाह गरेको् प्रसंग उल्लेख भएको पाइन्छ । यसै सन्दर्भमा, राणा प्रधानमन्त्री जंगबहादुरको राजबंशीकी छोरीसँग विवाह सान्दर्भिक नै छ ।

    अन्र्तजातीय विवाह गर्नेहरुको कुनै आधिकारिक तथ्याकं त राखिएको छैन । तर, यो बढोत्तरी क्रममा छ । सबैले यस्तो विवाहलाई प्रोत्साहित गर्नुपर्छ । पुरानो पुस्ताले पनि जरा गाडेको संकीर्ण अन्धविश्वासलाई अव परित्याग गर्नुपर्छ । अन्र्तजातीय विवाह एक सामाजिक क्रान्तिको रुप हो, सवै युवाले यो क्रान्तिमा भाग लिएर एकाइसौ शताब्दीमा ‘अभिजात र दलित’ शब्दलाई शब्दकोषबाटै धूमिल पार्नुपर्छ ।

  • महरा मेनिया : ज्योति मा तमसोगमय

    महरा मेनिया : ज्योति मा तमसोगमय

    पुरुषोत्तम लम्साल / भर्जिनिया

    आजको दिनमा हिजोका मितिको कुरा नगरौं, भनेर मात्र हुँदैन । किनकि, आजको कुरा हिजोको मितिसँगै जोडिएर आउँछ । आजको दिनमा न कृष्णबहादुर महराले मलाई चिन्छन् न म नै उनलाई व्यक्तिगत रुपमा चिन्दछु । तर कृष्णबहादुर महरालाई ‘महरा सर’को नाममा सुनेको अढाई दशक नाघिसकेको छ ।

    उतिबेला गाउँमा हुलाक, प्राधीकरण थिए । कमेरो र रातो माटोले लिपिएको विद्यालयका चौडा र फराकिला भित्ता थिए । गाउँमा मोटो मशाल भित्रिएको बेला मेरो उमेर दश वर्ष पनि कटेको थिएन । रमाइलोका लागि अरुको ब्रस (कुची) र बाल्टीन बोकेर हिंड्ने त्यही ‘वातावरण’ आज आएर महरा सरको कहानीसँग जोडिने रहेछ ।

    सामन्तवाद के जाती, भूमि कसको जोत्नेको, जनसङ्घर्ष…, के के जाती संघर्ष इत्यादी नारा रङ्गाउन त्यो बेला अरुको कुची र बाल्टीन नबोकिदिएको भए …। गेरु घोलिएको टिनको बाल्टीन बोकेर ‘मशाल’का दाईहरुको लैलैमा नलागिएको भए आज को कहाँको महरा सर ? के मतलव रहन्थ्यो र ?

    सानो गोठको माथिल्लो कोठामा कसले महरा सरको कुरा गरे दिमागले खुट्याउँदैनथ्यो ।  तर कट्टुको ईंजार राम्रोसँग बाँध्न नजान्ने बेलामा अग्रजहरुले गरेको तिनै ‘महरा सर’ को चर्चा गिदीमा गड्यो । फेरि गाउँमा संयुक्त जनमोर्चा भित्रियो । पुरानो नारामाथि नयाँ नारा पोत्न फेरि उनीहरुलाई रातोमाटोको जोहो पनि बालखैले गर्दिने त हुन् । हुलाकमुनीको ढिस्कोको माटो कोतरेर जनमोर्चाको बाल्टी भरिएपछि तिनर्ले कतिबेला नयाँ नारा रंगाउँथे, थाहा हुने कुरा भएन केरे । जनमोर्चा सल्बलाएको बेला जनवादी नाम दिइएको साँस्कृतिक कार्यक्रम वर्षेनी जसो हुन्थ्यो । बाबुराम भट्टराई र महरा सरबारे अरुले गरेको कुरा सुनेर कलिलो गिदीमा तस्वीर खिच्ने कुरा रह्यो । अर्र्थाेक केही होइन । यो २०४९/५० ताककै कुरा हो ।

    ‘महरा सर’ लाई ‘अमरसिंह’को रुपमा पढेको अलि पछि हो । ५३/५४ देखि । तर फलानो ‘अमरसिंह’ त्यही रोल्पाको विज्ञान शिक्षक, त्यही बेला चुनाव जितेका जनमोर्चाका नेता नै पक्का हो भन्नेमा चाँहि सन्देह थिएन ।

    शसस्त्र विद्रोहको एउटा कालखण्डमा महरा सर र उनका विद्यार्थीहरुको लीला सुनेर, पढेर हुर्कने क्रम जारी रह्यो ।

    वार्ताटोलीको संयोजक भएर काठमाडौं झरेको बेला महरा सरलाई देखें । सूचना तथा संचारमन्त्री हुँदा, पार्टीको प्रवक्ता हुँदा संयोगले फेरि भेट भए । आफ्नै टिमले दुःखले तयार गरेको समाचार सामग्री वृत्तचित्रको रुपमा सार्वजनिक हुने तय भएपछि फेरि भेट भयो । कुनै बेला माओवादीबाट एमाले प्रवेश गरेका अमर गिरी (पछि प्राज्ञ) को डेरामा पुग्दा सुनेको तिनै महरा सर र मैले भेटेको महरा सरमा तात्विक फरक थिएन । मलाई लाग्थ्यो अरुले जे जसरी चित्र र चरित्र उतारेका थिए, महरा सर हूबहू उस्तै रैछन् । अर्थात् असन्तुष्टीलाई, उग्रतालाई, आक्रोशलाई, रिसलाई पनि शिष्ट, शान्त, नम्र भएर अभिव्यक्ति दिनसक्ने । र, विपक्षलाई चाहिने तर्क तयार गरेर राख्ने ।

    यसैले मान्छेहरुले महरा सर जस्तो भन्ने गरेका रहेछन् ।

    शिक्षा लिन समयको विश्वविद्यालय अचम्मको छ ।

    कारागारको फलामे बारभित्र कान्तिक्षय भएको अनुहारमा टोलाइरहेका महरा सरको तस्वीरको सन्देश पुस्तक र विद्यालयबाट पाइने भन्दा धेरै छ ।

    ठूलो पनि छ ।

    र, गम्भीर पनि छ ।

    हामी आफैं सबै जिन्दगी बाँच्ने अलौकिक हैनौं र छैनौं । त्यसैले अरुले भोगेको समयबाट सिक्न मज्जाले पाइन्छ । सिक्नका लागि यो पनि ठूलो विकल्प हो । अरुका जिन्दगीका पाना पल्टाएर सिक्न पाउने अवसर सबैसँग उत्तिकै छ ।

    मान्छे कति निरीह छ भने उसले आफ्नो जिन्दगीको भोगाईको प्रतिलिपि अधिकार वा सर्वाधिकार कहिल्यै आफूसँग सुरक्षित राख्न सक्दैन । भोगाईको ‘ट्रेडमार्क रिजर्भ’ गरेर राख्न सकिने होइन रहेछ । सकिन्थ्यो त महरा सरले पनि जिन्दगीको अहिलेको अँध्यारो काखीमुनी राखेरै लुकाइदिने थिए । जहाँ लेखियो त्यही पाना च्यातिदिने थिए । तर, सक्दैनन् ।

    आफ्नो नियति मान्छे आफैंले लेख्ने हो ।

    भावी र भाग्यको कर्ता दैव हैन, मान्छे आफैं हो ।

    आफ्नो प्रारब्धको निर्माण पनि मान्छे आफैंले गर्ने हो ।

    उचाईमा पुग्नु र फेदीमा झर्नुबीच एउटै खराब चालको अन्तर त हो । हावाको वेग र कामको वेगमा अन्तर छ । हावाको वेगमा आवेग हुन्न । कामको वेग आवेगहरुकै संकलित रुप त हो । यो आवेग वा धक्कामा चिप्लिएपछि फेदीमा पुग्नु के आश्चर्य भो र ?

    आवेग र संवेग पनि न्यूटनको चालको दोस्रो नियम जस्तो । जब दुई विपरीत वस्तु एक आपसमा ठक्कर खान्छ त्यो बेला एउटाले अर्कामाथि लगाएको धक्काले वस्तुको संवेग परिवर्तन हुन्छ । व्यक्तिगत जीवनमा महरा सरको व्यवहारमाथि ‘आकर्षणको सिद्धान्त’ र ‘यौनको सिद्धान्त’ लगाएर भइरहेको व्याख्याले त्यही आवेग र संवेगको गति निर्देश गर्छ ।

    कामको आवेगको त्यो तीब्रता थेग्न नसकेर, इन्द्रिय र जनेन्द्रीयउपर नियन्त्रण गुमाएरै तपाई फेदीमा पुग्नुभएको हो ? हो भने त यो फगत अफसोच भो ।

    महरा सर ! हामीले समयबाट सिकेको पाठ हो र तपाई अध्यापक ।

    विश्वाशका गाताले मोरिएको पुस्तकमै सबैभन्दा धेरै घातको ब्याख्या हुन्छ ।

    र त्यो नमिठो हून्छ । ज्यादै नमिठो ।

    मैले भोजन गरिरहेको आहाराले मलाई जीवित राख्छ भन्ने मेरो विश्वास हो । पानीसँग मेरो विश्वास के हो भने म तिर्खा मेट्छु । उर्जा प्राप्त गर्न हावामाथि मेरो विश्वास छ । विश्वासका यस्तै टुक्रा जम्मा गरेर मान्छेले बनाउने हो आस्थाको धरहरा ।

    महरा सरले धेरैको विश्वास र आस्थाको पत्रमाथि अनायाश ‘व्यभिचारको एसिड’ खन्याइदिए झै भयो होला । अरुलाई पनि । व्यभिचारको अर्थ कुमार्ग एवम् निकृष्ट आचरण नभइदिएको भए महरा सरलाई चिन्नेले उस्तो चासो देखाउँदैनथे पनि कि ! धेरै जन छाँगाबाट खसेको जस्तो हुँदैनथे कि ? अब त यस्ता अनुमानका अर्थ पनि रहेनन्, सबैले सबै पचाइसकेका छन् । सान्त्वनाका ओखती पनि आलोचनाका बिष पनि ।

    पात्रगत सम्बन्धमा ईख र बिषको घोल तयार भएपछि त्यही मसीले लेखिने हो नियति भने त्यो न रुचिकर हुन्छ न प्रियकर । त्यो श्रवणीय पनि हुँदैन दर्शनीय पनि हुँदैन । समयले दिने यो शिक्षा विश्वविद्यालयरुपी संस्थाबाट कहाँ मिल्छ ? मिल्दैन ।

    अंगुलीमाल भन्ते भएर भीक्षा ग्रहण गर्न निःसङकोच समाजको द्वारमा पुग्दा गौतम बुद्धले भनेथे, ‘एक पुण्यको काम पनि समग्रतापूर्वक गरियो भने त्यसले दोष पखाल्छ ।’ अंगुलीमाल परिनिवृत हुनुअघि बुद्धले उनलाई दिएको महत्व देखेर बेखुसी अजातशत्रुसँग बुद्ध थप्छन्, ‘अंगुलीमालको  जागृत सोच नै त्यो तत्वबोध हो जसले मान्छेलाई अचेतनबाट चेतन स्थितिमा रुपान्तरण ल्याउँछ ।’

    तर महरा सर ‘ज्योति मा तमसोगमय’ भए । ‘तमसो मा ज्योतिर्गमय’को विपरीत । उज्यालोबाट अँध्यारोतिर । बोधबाट स्खलनतिर । समग्रताबाट शून्यतिर ।

    समय त शून्यतामा डुबेर निर्बाण प्राप्तीको बाटो खोज्ने थियो । बेला थियो काम र आशक्तिभन्दा टाढा पुगेर केश कसरी फूल्यो भन्ने बारे चिन्तन गर्ने । तीन बीसको डाँडो काटेपछि भोगाइका पोकापन्तुरा खोल्नुको साटो भोगकै अभियोगमा दण्डित हुनपर्ने जिन्दगीको यो पटकथा बडो दुरुह छ ।

    कामहरुमध्ये पनि श्रेष्ठ काम चेतना बाँड्नु हो ।

    त्यो कामले सङ्गत समाजको निर्माण हेतु योगदान गर्ने हुँदा त्यो श्रेष्ठ भयो । यसका लागि चाहिने बुद्धिमता, अभय, संयम र न्यायिक कोण महरासरले चार दशकसम्म बाँडिरहे । सबै आर्कबाट । सबै मोर्चाबाट ।  

    तर यो कामको भूमिका निभाएर महरा सर वासनाजनित कामसँग ठक्कर खाए । यो ठक्कर माथि भनिए जस्तै उचाईमा पुगेर वेग र आवेग थेग्न नसकी हठात् फेदीमा झरेको जस्तो । काम र वासनासँग जोडिएको यो मनोविकारले महरा सर मात्र खण्डित भएनन् अरु धेरै पनि खण्डित भएको हुनपर्छ ।

    महरा–रोशनी प्रकरणमा लतपत भएको ‘अनिमा र अनिमस’को कथ्य र कहानी प्रहरी, अदालतको बाटो हुँदै कारागारको फालामे डण्डीले घेरिएको अँध्यारो चौघेरामा पुगेको छ ।  

    र, मेरो युगका श्रेष्ठ शिक्षक नैतिक पतनको कसुरमा कठघराको बाटो हुँदै कारागारको फलामे डण्डीको पछाडि नुर गिराएर यताउता गरिरहेछन् ।

    उज्यालो देखेर हुत्तिएको पुतली कसरी तातोको शिकार हुन्छ ?

    सबै वासनामा सुगन्ध कहाँ हुन्छ ?

    वासनाको कालो दाग लिएर कठघराको बाटो हुँदै कारागारको फलामे बारभित्र शिर निहुर्याएर यताउता टहलिरहुनु भएका महरा सर हेरे हुन्छ ।

     

  • उद्देश्य के लिनु उडी छुनु चन्द्र एक : महाकवि देवकोटा

    उद्देश्य के लिनु उडी छुनु चन्द्र एक : महाकवि देवकोटा

    आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क

    महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली कविताको क्षेत्रमा स्वच्छन्दतावादको धारालाई भित्र्याएर विकासको उत्कर्षमा पुर्याउने मूर्धन्य नक्षत्र हुन् । वि. सं. १९६६ कार्तिक २७ गते काठमाडौं, डिल्लीबजारमा लक्ष्मीपूजाको दिन यस धर्तीमा पदार्पण गरेका देवकोटाले २०१६ सम्मको अवधिमा अधिकांश समय काव्यलेखनमा व्यतीत गरे, तन्नामा लेखे, कपडामै लेखे, जे पाए त्यसैमा लेखे । देवकोटा लक्ष्मीपूजाको दिन जन्मिए पनि जीवनभर धनको चरम अभाव झेल्दै सरस्वती माताका पुत्रको रmपमा प्रख्यात भए । १० वर्षकै उमेरमा कविता लेख्न प्रारम्भ गरेका देवकोटाले शाकुन्तल, सुलोचना, प्रमिथस, महाराणाप्रताप, वनकुसुम, पृथ्वीराज चौहान जस्ता महाकाव्य तथा मुनामदन, लूनी लगायत दर्जनौं खण्डकाव्य, थुप्रै निबन्ध तथा कविताका रचनाकार देवकोटा गौतम बुद्धपछिका नेपालका प्रबुद्ध हस्ताक्षर हुन् भनेर समीक्षकहरुले चर्चा गरेका छन् । मेरा सबै कृति जलाए पनि हुन्छ मुनामदको रक्षा गर्नू भन्ने अभिव्यत्ति दिने देवकोटाको कलम बिजुली जस्तै चम्कियो, प्रकाश देशविदेश पुग्यो ।

    क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन

    मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

    भन्ने उद्गार गर्ने देवकोटाले प्रकृति चित्रण, बौद्धिक विन्यास, भावनात्मक शैली, आत्मपरक अनुभूतिका विशेषताका साथ कवितायात्रामा संलग्न हुँदै महाकाव्य, खण्डकाव्य तथा फुटकर कविताको गुणात्मक तथा परिमाणात्मक सघनता अद्वितीय बनाएको पाइन्छ । पूर्वीय तथा पाश्चात्य संस्कृतिसँग परिचित देवकोटाले आफ्ना रचनामा सांस्कृतिक पुनर्जागरण र अन्धविश्वासप्रतिको विद्रोह गरेका छन् । सहज र स्वतस्फूर्त भाषावेगमा स्वच्छन्दता, हार्दिकता, कल्याणकारिता, हृदयस्पर्शिता, सत्यता र सौन्दर्य जस्ता तत्व कवितामा समावेश गर्ने देवकोटा यान्त्रिक सिर्जनाको विपक्षमा उभिएका छन् ।

    वि. सं. १९९१ मा देवकोटाले प्रारम्भ गरेको स्वच्छन्दतावादी धारामा सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, माधव घिमिरे आदि कविहरूले कलम चलाएका छन् । कोमल हार्दिकता, कल्पनाको प्रचूरता, प्रकृतितर्फ उन्मुख, मानवप्रेम, देशप्रेम र विश्वप्रेम आदि विशेषताले स्वच्छन्दतावाद मौलाएको पाइन्छ ।

    पागल कविता कहाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता हो ।

    जरुर साथी ! म पागल !

    यस्तै छ मेरो हाल !

    म शब्दलाई देखदछु, दृश्यलाई सुन्दछु, बास्नालाई स्वाद लिन्छु

    आकाशभन्दा पातला कुरालाई छुन्छु…..

    ती कुरा जसको अस्तित्व लोक मान्दैन,

    जसको आकार संसार जान्दैन ।

    यसरी समाजका अन्यपक्षको कमजोरीलाई व्यड्ड्ग्य गरिएको छ । यसरी हेर्दा व्यञ्जनायुक्त ढङ्गमा शीर्षकले नै कविताको समग्र अर्थ बोक्न सकेको छ । यस कवितामा अन्य समाजको अवस्था र कवि दृष्टिको चर्चा गरिएको छ । तत्सम र आगन्तुक शब्दको प्रयोगले कतैकतै दुरुह जस्तो देखिए पनि भावलाई श्रृङखलावद्ध हुनबाट रोकेका छैनन् । ढुङ्गालाई पनि फूल देख्दै र पहाडलाई पनि बाचाल सम्झिने कवि मूर्खले ठिंगुरा हालेको र राँची पठाएकोप्रति असहमत छन् । अन्याय र अत्याचार सहन नहुने कुरा व्यक्त गर्दै शक्तिशालीले कमजोरलाई दबाएको कत्ति पनि मन पराउँदैनन् । यसरी विप्रौडोक्ति शैलीमा तयार भएको कविता देवकोटाको सशक्त रचना भन्दा अत्युक्ति नहोला । देवकोटाको अर्को साँढे कवितामा पनि हाँसो मिश्रित व्यङ्ग्यमा साँढेलाई प्रतिनिधि पात्रका रुपमा उतारी सामन्ती र हैकमवादी मिचाहा प्रवृत्तिको भण्डाफोर गरिएको छ । कविताको केन्द्रीय भाव बहन गर्न शीर्षक सक्षम देखिन्छ । यस कवितामा श्रृङ्खलाबद्ध भावानुभूति पस्किएको पाइन्छ । स्वच्छन्दतावादी काव्यधारामा कलम चलाउँदै कवि प्रौढोक्ति शैलीमा विशिष्ट भाषाशैलीका साथ प्रस्तुत यस कवितामा व्यञ्जनाको सशक्त प्रयोग गरिएको छ । समाजको मिचाहा र हेपाहा प्रवृत्तिलाई साँढेको स्वभावसँग तुलना गरी कवितालाई सबल तुल्याइएको छ । यसैगरी मानिस विराट् शीर्षकको कवितामा मानिसको प्रवृत्ति विराट् र वृहत् रहेको सन्दर्भ उठाइएको छ । मानिसको अहं प्रवृत्तिलाई आत्मसात गर्न सफल भएकाले कविताको शीर्षक कविको विचार बहन गर्न सक्षम देखिन्छ । यस कवितामा देशको गौरवगान पनि गरिएको छ । स्वच्छन्दतावादी धारामा शसक्त भाषाशैलीमा व्यञ्जना तत्वको प्रयोग गर्दै रचिएको यस कविताले मानिसको अहमताको सोचलाई चित्रण गरेको छ । त्यस्तै सन्ध्या पनि देवकोटाको प्रभावकारी कविता हो । सन्ध्यालाई प्रतीक बनाएर नारीपात्रको वर्णन र नारीलाई सन्ध्यासँग तुलना गरिएको यस कविताको शीर्षक पनि प्रतीकात्मक रहेको छ । आदि, मध्य र अन्त्यको श्रृङ्खलामा भावनात्मक उद्वेग मौलाएको यस कवितामा सन्ध्यालाई प्यार गर्ने युवक अमर र कीर्तिशाली हुने कुरा उल्लेख गरिएको छ । व्यञ्जना र दृष्टान्तको प्रयोग गरिएको यस कवितामा सशक्त एवं मौलिक भाषाशैलीको प्रयोग भएको छ ।

    परिष्कारवादपछि नेपाली कवितामा स्वच्छन्दतावादको प्रयोग प्रारम्भ भएको हो । स्वच्छन्दतावाद पाश्चात्य साहित्यको रोमान्टिसिजमबाट नेपालीमा भित्रिएको वाद हो । यस वादलाई नेपाली कवितामा भिœयाउने महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा नै यो वाद विकसित भएको हो । परिष्कारवाद र स्वच्छन्दतावादका बीच स्पष्ट भिन्नता देख्न सकिन्छ । यथार्थमा स्वच्छन्दतावादी कविहरूले स्वतस्फुर्त अनुभूतिको आत्मपरक अभिव्यक्तिलाई अङ्गीकार गरी नयाँ धाराको निर्माण गरेको प्रतीत हुन्छ । देवकोटा जस्ता कविहरू सहज हृदयबाट प्रस्फुटित हुने भावुक अभिव्यक्ति र प्राकृतिक विषयवस्तुमा बढी जोड दिन्छन् । विराट् प्रकृतिको भण्डारमा आकर्षित भएर यिनीहरू काव्य सिर्जना गर्दछन् । परिष्कारवादी कवितामा आवेगलाई विवेकले नियन्त्रण गरिन्छ भने स्वच्छन्दतावादी कवितामा अतीतको गौरव, कृत्रिम र सहरी सभ्यताको खिल्ली उडाउँदै प्राकृतिक सभ्यताकै पक्षमा अभिव्यक्ति दिइएको हुन्छ । यसरी साहित्यको भन्डार भर्न देवकोटाको अतुलनीय योगदान रहेको छ । नेपाली साहित्यमा कलम चलाउने कसैले पनि देवकोटालाई भुल्न सक्दैनन् । नेपाली साहित्यको उत्थान गर्न सकेमात्र नेपाली साहित्यका उज्वल नक्षत्र देवकोटाप्रति सच्चा सम्मान र सम्झना हुनेछ ।

  • प्रचण्डको ‘ओरिजिनल’ स्वीकारोक्ती

    प्रचण्डको ‘ओरिजिनल’ स्वीकारोक्ती

    पुरुषोत्तम लम्साल, अमेरिका

    १८ महिनाअघि भारतमा एकजना माओवादी नेताले प्रहरीसमक्ष आत्मसमर्पण गरे । प्रहरीको आँखामा तिनी टाउकाको मूल्य तोकिएका कुख्यात अपराधी थिए र विद्रोहीको आँखामा कमाण्डर । माओवाद र विद्रोहको नाममा भोगेका, देखेका र अनुभव गरेका दृष्य जब तिनले प्रहरीसमक्ष बयान गर्न थाले भारतीय माओवादीको असली अनुहार छताछुल्ल भयो । मुखुण्डो खुल्यो । पर्दा च्यातियो ।

    उनले भने ‘लेबीको नाममा कार्यकर्ताबाट उठाइएको पैसा, न्याय र मुक्तिका नाममा सर्वसाधारणबाट लिइएको चन्दाको ठूलो हिस्सा विद्रोही नेताको मनोरञ्जनको नाममा दुोग भइरहेको छ । अधिकांश नेता भ्रष्ट र उनकै शब्दमा ‘औरतखोर’ भएका छन् । कतिपय नेता आफ्नै छापामारसँग सामूहिक यौन सम्बन्ध राख्नपर्ने लतमा छन् । नेता र तिनका परिवार रंगीन जिन्दगीमा अभ्यस्त हुँदै गइरहेका छन् । कतिसम्म भने महिलामाथिको यौन हिंसा पार्टीमै स्वभाविक बन्दै गएको छ र नेताहरु नारीमुक्तिको नारा लिएर निःसंकोच महिला छापामारहरुलाई बलत्कार गरिरहेका छन् ।’ यो कुन्दन पाहन नाम गरेका माओवादी नेताको साबिती बयान हो ।

    त्यति नै बेला प्रहरीले पक्राऊ गरेका र प्रहरीसमक्ष आत्मसमर्पण गरेका दर्जनौं महिला छापामारसँग बयान लिएको थियो । बयानमा उनीहरुले एक स्वरमा ‘पुरुष कामरेडहरुले गरेका जबरजस्ती शारीरिक शोषण’का दर्जनौं उदाहरण दिइएको थियो । बयान दिनेमध्येकी एकजना किशोरीले भनिन्, नेताहरुले दार्जिलिङ, गोवालगायतका स्थानमा रहेका विलासी होटलहरुमा धरै रात बन्धक बनाएर बलत्कार गरेका छन् । उनीद्वारा आरोपित नेताको सूचीमा माथि उल्लेख गरिएको कुन्दन पाहनको नाम पनि उपल्लो सूचीमा थियो ।

    भाग्य चम्काउन र रंगीन जीवनशैली बिताउन माओवादी भएका प्रमोद मिश्रा त्यसतै अर्का पात्र हुन् जसले माओवादीको आन्दोलनबाटै उठाएको द्रव्य लगानी गरेर आफूलाई नामूद रियलटर (घरजग्गा कारोबारी) बनाएका छन् । भारतमा ती नेताले बैंकपिच्छे नगद जम्मा र शहरपिच्छे गरेको लगानीको कन्दैया भलारीको खोजमूलक समाचार सार्वजनिक भएको एक वर्ष पनि पुगेको छैन ।

    भारतीय माओवादीको यो पछिल्लो तस्वीरलाई नेपाली सन्दर्भमा तुलना गर्ने जिम्मा पाठकलाई छाडें । तर यो बीचमा मैले पनि नेपाली माओवादीका केही कुरुप अनुहार सम्झिएँ । सर्वहारा सत्ताको नाममा कुलीन, सभ्रान्त र नवपूँजीपति बनेका दर्जनौं नयाँ अनुहार सम्झिएँ । साँस्कृतिक क्रान्तिको खोलभित्र भएका उनीहरुकै भाषामा ‘साँस्कृतिक विचलन र पतन’का दृष्टान्त सम्झिएँ । गमेर ल्याउँदा ठहर गरें, मुहानले नै म नक्कली हूँ भनिसकेपछि बगेको पानी सङ्लो खोज्ने मै मुर्ख हूँ ।

    प्रचण्डको स्वीकारोक्ति

    भर्खरै तात्कालीन नेकपा माओवादीका प्रमुख, माओवादी विद्रोहका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा आत्मस्वीकारोक्ती सार्वजनिक गरे । माओवादी विद्रोहको पतन भएको १४ वर्षपछि उनले भने, ‘म पनि ओरिजिनल (सक्कली) माओवादी होइन ।’ पूर्वमा आयोजित एउटा सभामा उपस्थित जनतर्फ फर्किएर उनले दोहार्याए –‘कमरेडहरु ! भ्रममा नपर्नुहोला म पनि सक्कली माओवादी होइन ।’ र, त्यसपछि उनी आफूलाई मदन भण्डारीसँग तुलना गर्नतिर लागे ।

    सभामा उपस्थित धेरैले प्रचण्डको भनाईलाई हाँसेर टारे । हाँसोमै उडाए । तर प्रचण्डको आत्मस्वीकारोक्तिले तात्कालीन माओवादीको वैचारिक दिवालियापनलाई पनि प्रष्ट पार्दछ र राजनीतिक भ्रमहरुको पनि निवारण गर्दछ भनेर ठम्याउने कष्ट उठाएनन् । माओवादको आवरणले ढाकेर संसदीय जनवादको उत्कर्षमा पुग्ने बेलामा प्रचण्डले ‘म पनि माओवादी होइन र थिइन’ भन्नुको तात्पर्य र सँगै आफूलाई मदन भण्डारीसँग तुलना गर्नुको औचित्य भोलीको अभिष्टसँग जति जोडिएको छ त्यति नै जुन विरासतबाट प्रचण्ड उठेका थिए त्यसबाट अलगाव हुन सहज भएको छ ।

    हिजो माओवादीइतरको सिंगो पंक्तिले शसस्त्र विद्रोहलाई लेनिनको शब्द सापटी लिएर ‘वामपन्थी भड्काव’ भनेकै हुन् । ऊ बेला प्रचण्डविरुद्ध लगाइएका आरोपहरुलाई उनी आफैं विस्तारै एकएक गर्दै स्वीकार गर्दै गइरहेको स्थिति छ । जनताका बीच क्रान्तिकारी मनोदशाको निर्माणविना एवम् उक्त मनोदशालाई सुविधाजनक बनाउने क्रान्तिकारी कार्यनीति कहिल्यै व्यवहारतः विकास हुनसक्दैन । खरिपाटीसम्म आइपुग्दा त्यो ठहर भएकै थियो । भलै संसद्मा सहभागिता अस्वीकार गर्न वा संसदीय अवसरवादलाई आलोचना गरेर क्रान्तिकारिता प्रदर्शन गर्न सजिलो छ तर संसदीय सरलतालाई क्रान्तिरुपमा बदल्न वा विद्यमान समस्याको समाधान खोज्न त्यत्ति नै कठीन छ । त्यो कठीन अवस्था चिर्न नसक्दा ‘म पनि नक्कली थिएँ’ भनेर उम्कन सबैभन्दा सजिलो हुन्छ ।

    भएको त्यही नै हो । जहाँ छिन्नभिन्न मजदुर आन्दोलन एकीकृत हुने कुनै गुञ्जायस छैन, जहाँ भूमिहीन, विपन्न र किसानका दैनिक जीवनसँग सम्बन्धित कुनै कार्यक्रम र आन्दोलन छैन, जहाँ ग्रामीण क्षेत्रको बर्गीय सन्तुलन निम्न पुँजीवादी चिन्तनबाट उठाउन कुनै अगुवाई छैन, जहाँ बजार साम्राज्यवादको कठपुतली मात्र भएर राष्ट्रिय अन्तर्राष्ट्रिय पूँजीपतिकै मात्र ताबेदारी र पक्षपोषण गर्न परिरहेको छ, जहाँ क्रान्तिको आवरणबाट उठेका नवसामन्त, नवसभ्रान्त, नवकूलीन बर्गकै मात्र संरक्षण र भरणपोषणमा आफूलार्य अभ्यस्त बनाउन परिरहेको छ त्यहाँ प्रचण्डले हिजो पनि आफू माओवादी थिइन र आज पनि होइन भन्नुमा कुनै आश्चर्य मान्नपर्दैन । यो अवस्थामा सांसारिक कर्म छाडेर हवनाज्ञादी, गोठपूजा, यज्ञ उद्घाटन र चरु होम गरेर बसिभूत र द्रविभूत हुनु कसरी आश्चर्य हुन्छ ?

    प्रचण्ड झापा विद्रोहको जगमा उभिएको पार्टीको रखवाला गर्ने मुख्तियारी पाएकोमा दंग थिए र छन् पनि । चारु मजुमदारको नक्सली आन्दोलन र झापा विद्रोहको नियति लगभग उस्तै थियो । मजुमदारले गिरफ्तारीपूर्व नै लिखित दस्तावेजको रुप दिएको एउटा अंशमा ‘विनाशको सन्दर्भमा आवश्यकताभन्दा बढी काम भयो, हामीले गरेका गल्तीहरु सयौं छन्, त्यसलाई सँच्याएनौं भने हामी पतनको बाटो उन्मुख हुन्छौं’ उल्ल्ेख छ ।

    एकदिन प्रचण्डले मजुमदारको यही शब्द सापटी लिएर ग्लानीपूर्ण भावमा अर्को स्वीकारोक्ती सार्वजनिक गर्लान् नै । किनकि, संकीर्णतावाद नेपाली माओवादी आन्दोलनले धेरै ठाउँमा स्वीकार गरिसकेको विषय हो (तर, सुधार गरेको होइन) । परिणामतः हिजोदेखि भन्दै आएको क्रान्तिकारी आन्दोलन फर्जी थियो किनकि हामी आफैं फर्जी विचारधाराबाट ‘गाइडेड’ थियौं भन्नपर्ने नियतिसँग प्रचण्ड ठोक्किएका छन् । म पनि सक्कली होइन, वा म पनि ‘ओरिजिनल’ होइन भन्नुको अर्थ अरु के हुन्छ ?

    नेतृत्वकारी शक्तिको विचारधारात्मक भड्काव वा कमजोरीको गम्भीर फाइदा पुँजीवादी तप्काले उठाएको अवस्थामा क्रान्तिको प्रयास वा विद्रोहको अवस्थिति गलत, फर्जी वा नक्कली थियो भन्ने अभिव्यक्ति आउने गर्दछ । यहाँ त तात्कालीन बैचारिक सांगठनिक नायकले नै भनिदिएका छन् ‘म पनि सक्कली चाँहि होइन है’ भनेर ।

    तात्कालीन पार्टीपंक्तिलाई मेरो तर्फबाट हार्दिक बधाई ! तपाईहरुले हिजोका विषयमा जवाफ दिन सबैभन्दा सजिलो ‘जार्गन’ प्राप्त गर्नुभएको छ ।

    हो, प्रचण्डको अभिव्यक्तिबाट पूर्वमाओवादीहरुलाई उनीहरुले भन्दै आएको ‘अग्रगामी आन्दोलन’को सारतत्व लाज नमानी ग्रहण गर्न सजिलो बनाइदिएको छ । लेनिन भन्छन्, ‘माक्र्सवादी विचारधारा यसकारण समाजमा जीवित रहन्छ किनकि एक समय त्यो क्रान्तिकारी र वैज्ञानिक दुबै थियो ।’ तर प्रचण्ड सारतः त्यसलाई अस्वीकार गर्ने बाटोउन्मूख देखिन्छन्, ‘कमरेडहरु ! भ्रममा नपर्नुहोला हामी ओरिजिनल थिएनौं’ भन्दै । हामी नक्कली थियौं भन्नुको अर्थ माओवादी आन्दोलन फगत बौद्धिक विलास थियो भन्नु पनि हो । आरोप लगाउनेहरुलाई प्रचण्डले सजिलो बनाइदिएका छन् । उनीहरुलाई पनि बधाई !

    प्रचण्डले आफूलाई अरुसँग तुलना गर्न हम्मेसी छाड्दैनन् । कुनैबेला लेनिनले पूर्णता दिन नसकेको संविधानसभाको नारालाई आफूले पूर्णता दिएको भनेर आफूलाई लेनिनभन्दा माथि देखाउने धृष्टता भएकै हो । रणनीतिक शक्ति सन्तुलनको अवस्थामा भएको अन्तरिम सम्झौता र संविधानसभाको चुनावलाई अक्टोबर क्रान्तिको तहमा राखेर व्याख्या गर्ने प्रयासमा ताली बजाउने तात्कालीन पार्टीपंक्ति अहिले झ्याङऽऽऽग भएका होलान् ।

    देब्रेतिर मुन्टो बटार्दै प्रचण्डले भनेका छन् ‘म पनि चौमको मदन भण्डारी हूँ ।’ समकालीन राजनीतिमा अवसर खोज्ने उच्चतम रुप र पूजिन खोज्ने मोह सजिलै अनुमान लगाउन सकिन्छ । गत वर्ष फागुन २१ गते प्रधानमन्त्री केपी ओलीले शब्दमा जे जे राखिए पनि ‘मदन भण्डारीप्रदत्त भनिएको जनताको बहुदलीय जनवाद स्वीकार गर्ने कि पतन रोज्ने ?’ प्रश्न तेस्र्याएपछि मदन भण्डारीसँग आफ्नो व्यक्तिगत एकीकरण गराउन पनि प्रचण्डले अथक प्रयत्न गरेको सहजै बुझ्न सकिन्छ ।

    मुख्य कुरो आफूले आफैंलाई नक्कली करार गरेर ‘भँडुवा विकृति’ लाई प्रश्रय दिनु र ‘मौकापरस्त’ को आरोप लगाउनेहरुलाई तिमीहरुको ठीक थियो भनिदिनु अचम्म छ । हाइपोथेटिकल नै भन्नुहोला तर ठट्टैठट्टामा एकदिन प्रचण्डले जनयुद्धकारी घटकलाई ‘अविवेकपूर्ण सैन्यवादमा फसेका’ थियौं नभन्न के बेर ?

    अन्त्यमा,

    जुनवेला माओवादी संसदीय राजनीति गर्न सुकिलामुकिलाको दैलो प्रवेश गरेको थियो त्यो बेला एउटा स्थायी आत्मरती थियो–जताततै वाम, जताततै जनवाद, जताततै साम्यवाद, जताततै सत्ताकब्जा, जताततै सर्वहारा अधिनायकत्व । उफ् !

    हिन्दीभाषी कवि शमशेर बहादुर सिंहले कतै लेखेका छन्ः

    दिशा वाम वाम वाम

    समय साम्यवादी

    नेपाली सन्दर्भमा यसलाई प्रचण्डकृत गरौंः

    दिशा दक्षिण दक्षिण दक्षिण

    समय पूँजीवादी ।

  • समय – मापन

    समय – मापन

    ​​प्रा. डा. कुलप्रसाद कोइराला​​

    समय अविभाज्य र अखण्ड पनि छ । समयलाई काल, बेला, घडी पनि भनिन्छ । यस प्रकारका समयलाई पनि हाम्रा पौरस्त्याचार्यले तिथि, वार, नक्षत्र, योग र करणसमेत पाँच प्रकारमा विभाजन गरेका छन् । कुनैले भने कुनैले चाहिं वर्तमान, भूत र भविष्यत् गरी मूलतः त्रिधा विभाजन गरेको पनि देखिन्छ । यिनै कालका पनि पक्षहरू छन् । प्रत्येकका कम्तिमा पनि तिन त भए नै भूतका प्रथम दुई अनि तिनका पनि चार गर्दा कति भए ? यस प्रकारको विभाजन पनि सबै व्याकरणमा एक नासका तवरले गरिएको छैन । यो विभाजन भनेको हाम्रो (मानवमात्रको) काम गर्ने क्षमताका आधारमा निर्धारण गरिएको हो । मान्छे सबैसँग एक समानको कार्य क्षमता छैन । यस पृथ्वीका छातीमा रहेका २९५ वटा राज्यमा बस्ने सबैले काम चलाउनका निमित्त समयको व्यवस्था मिलाएका हुन्छन् ।
    यो समय सबै देशमा झुल्कने सूर्यलाई नै केन्द्रविन्दुमा राखेर मिलाईएको देखिन्छ । हाम्रा गते वार एक प्रकारले चल्ने, तिथि र नक्षत्र अर्को प्रकारले चल्ने भनेर हामीले व्यवस्था मिलाएका छौं । चन्द्रमाको र सूर्यको गति समान छैन । मलमास, अधिक मास, क्षयमास जस्ता कुरा चन्द्रसँग सम्बद्ध हुन्छन् चन्द्रमा भनेको मृत ग्रह हो । त्यसको आफ्नै प्रकाश छैन, त्यसैले चन्द्र देखिने ठाउँमा सबैतिर चन्द्रग्रहण देखिन्छ भने सूर्य ग्रहण चाहिं कतै देखिने कतै नदेखिने हुन्छ । हिजोको ज्ञान समय–क्रममा संशोध्य साबित भयो भने हिच्किचाउने किन ? विज्ञानले बनाएको यन्त्र (घडी) पनि त देशैपिच्छेका समयमा मिलाउनुपर्छ । पात्रो पनि एक प्रकारको घडीकै काम गर्ने वस्तु हो । यसलाई पनि देशदेशका समय अनुसारको न बनाए या नगरे काम गर्न अप्ठ्यारो पर्दछ । सिद्धान्त ज्योतिषले समस्या खडा गर्दैन । अलिअलि समस्या ल्याउने फलित ज्योतिषले होला भन्छु । नेपालमा राजा महेन्द्रले एक देश, एक भेष, एक नेता, एक संस्कार–संस्कृति, एक व्यक्ति–एकैव्यक्तित्वको नीति चलाएका थिए । अहिले पन्चा¨मा पनि त्यही बखेडा हामी निकाल्न लाग्यौं भने हामी जहाँ पुगेर जे काम गर्ने, गर्न–गराउन सक्ने भए पनि “पुच्छ शुनो नैव जहाति वक्रताम्” बन्यौ कि बनेनौ ? नेपालमा भएकै हुनुपर्ने भए अमेरिका किन बनो पनि त भनिएला ? एकछिन् अझै बरालिऔं आर्य भट्ट ती पहिला व्यक्ति हुन् जसले अचला, स्थिरा भनिएको पृथ्वीलाई सबै भन्दा पहिले पृथ्वी चला, गतिमतिश्च भनेर दुनिया“लाई छक्याएका थिए । उता तिमीहरूले जति नै भने पनि म मान्दिन अर्थ ईज ग्लोब राउण्ड भनेर भन्दा ग्यलिलियो मारिएका थिए । जसरी देवी देउरालीका कुरा बेकारका हुन् भन्दा दार्शनिक शुकरातले “ह्यामलक” नामको विष सत्यका खातिर प्युनु परेको तियो । एकलव्यले पनि त बुढी औंलो गुरुदक्षिणामा चढाएका थिए शैक्षिक स्वतन्त्रताका निमित्त । न हतारई नआत्तिई अभियानमा लागे एक दिन सफल भइन्छ ।

    ​तपाईका पत्रमा पन्च¨कै बाहिरपट्टि यो यो देशका लागि भन्ने कुरो लेख्ने गर्नु पर्छ भन्ने सल्लाह देखिन्छ । के रस्सिया, अमेरिका, भारत आदिले बनाएका घडी अथवा उपभोग्य सामग्री कुनै निश्चित देशमा मात्र चल्ने या लाउन पाइने हुन्छ र ? पन्चा¨ बनाउने सीप भएकाले यसलाई उद्योगका रूपमा चलाउन किन नपाउने ? तपाईले भनेको जस्तो गर्ने हो भने ठ्याक्कै राजा महेन्द्रको नीति शास्त्रमा पनि कायम हुँदैन र ? ऊ त राजा थियो, आफ्ना राज्यमा लायो, हामीले कहाँ लाउने ? कस्ले मान्ने ? ज्ञानविज्ञानका कुरामा प्रभुसम्मत सम्मति त्यति राम्रो मानिदैन । अल्बर्ट आईन्स्टाईनले प्रतिपादन गरेका सापेक्षतावादमाथि पनि विद्वान् वैज्ञानिकले अनेक पक्ष विपक्षका सम्बन्धमा बताई सकेका छन् । तिनले अल्बर्टलाई निषेध गरेका छन् र ? हाम्रो देश नेपालमा पखाला लाग्दा पानी खान नदिने चलन थियो । आजको औषधिविज्ञानले शरीरबाट पानीको मात्रा जतिजति जान्छ त्यतित्यति नै मदौरुलाई पानी खान दिनुपर्छ भनो । त्यो कुरो मान्दा हामीलाई फाईदा भएन र ? हिजो बुहारीले जेठाजुलाई नांगो टाउको देखाए भने मरेपछि कपाल जल्दैन भन्थे । लोकले नै त्यसलाई हटाइ दिएको पनि त देखियो । यस कुरालाई परिहार गर्न कुनै विद्वानले अभियान चलाएको त देखिएन । हिजोका दिनका कुरा धेरै फेरिएका छन् । नेपालकै तराईमा पातलो लुगा लाउनु वातावरणीय दृष्टिले राम्रो छ । आज पनि महेन्द्रकै पालामा झैं टोपी खोई ? भन्ने सूचना पाटी राख्न मिल्ला ? के भन्ला दुनियाँले ? किन ल्याएको प्रजातन्त्र ? हिजो नेपाली नेपाल र भारतमा सीमित थियो आवश्यकता थिएन, कुरो चलेन । आज नेपाली उल्लेख्य सङ्ख्यामा अमेरिका लगायत धेरै देशमा बसोबास गर्न,आवश्यक्ता बोध भयो, कुरा उठे, समाधान पनि हुन्छ । वादेवादे जायते तत्व बोध । आज विरुद्धमा उभिने पनि भोली समर्थनमा आउन विवश बन्छन् ।

    ​ज्ञानका क्षेत्रमा आलोचना टीकाटिप्पणी आह्वान् गरिन्छ, निषेध गरिंदैन । विद्वानहरु आफ्ना कुरा टिप्पणी र समीक्षाका निमित्त गोष्ठीको आयोजना गर्छन् । एकै पिताका चारभाई पुत्रका घरमा पनि भिन्नता देखापर्न सक्छ । सानातिना भिन्नता त पिता र पुत्रमा नै देखिन थाल्दछ । हाम्रा पुर्खा त्यति अज्ञानी थिएनन् र त भनें “मुन्डेमुन्डे मतिर्भिन्ना,कुन्डेकुन्डे नवं पयः” । देशभेदेन धर्मा अपि भेद्यन्ते भन्ने कुरामा पनि ध्यान पुर्याउनैपर्छ । शास्त्रले “यद्यपि सिद्धं नाचरणीयं लोकबिरुद्धम्” पनि त भनेको छ । कुनै नयाँ काम गर्न लाग्दा अनेक बाधा व्यवधान आउनु पनि स्वाभाविक हो, त्यसले दृष्टि खारिन्छ, कामको सफलताका लागि दृष्टि परिपक्व बन्नु अति नै जरुरी हुन्छ । त्यसो भएकाले आगामी गोष्ठीमा यस विषयमा व्यापक छलफल गरौं गोष्ठीमा सहभागी विद्वत समुहले जे निर्णय गर्छ त्यसैलाई प्रस्थानविन्दु मानेर अगाडि लागौंला । किमधिकम् ? इत्यलम् । शुभास्ते पन्थान सन्तु ।​