Category: बिचार

  • असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आग्रह

    असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् ।

    प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरे।

    लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने तथा रोज्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनले नेपाली जनता त्यस्ता कुराबाट सतर्क हुनुपर्ने बताए । ‘शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन तथा अझै पनि यसधारमा समाहित नभइसकेका वा हुन नसकिरहेको पक्षलाई म यस अवसरमा संवादका माध्यमबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्दछु’, उनले भने ।

    बृहत्तर राष्ट्रिय हित र लोकतन्त्रको पक्षमा एक भएर अगाडि बढ्नुको बिकल्प नभएको उल्लेख गर्दै उनले कुनै पनि अलमलमा नपरी विगतका बलिदानलाई सम्झेर अगाडि बढ्न अपिल गरे । ‘सानातिना मतभेदलाई छाडेर बृहत्तर हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढौँ’, राष्ट्रिय एकतामा जोड दिँदै उनले भने ।

    प्रधानमन्त्री ओलीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नेपाललाई एकजुट बनाएर आगामी दिनमा सुन्दर भविश्य रचना गर्ने साझा प्रयास अगाडि बढाउनुपर्ने र त्यसका लागि हाम्रा चिन्तन र व्यवहार राष्ट्रिय हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘जनताको आकांक्षा सम्बोधन गर्ने दिशामा आगामी कदम अगाडि बढ्नुपर्छ’, उनले भने, ‘राष्ट्रलाई एकताबद्ध बनाएर अगाडि बढ्न म सबैलाई आग्रह गर्दछु ।

    सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी ,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु,सांसदहरु, कूटनितिक नियोगका प्रमुखहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।

    नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायतका विभिन्न संघस्थाले मार्चपास, कवाज, व्याण्ड तथा विशेष झाँकीहरु प्रस्तुत गरेका थिए

  • संसद विघटन राजनीतिक नभई संवैधानिक विषय होः वरिष्ठ अधिवक्ता खरेल

    संसद विघटन राजनीतिक नभई संवैधानिक विषय होः वरिष्ठ अधिवक्ता खरेल

    काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको बताएका छन् ।

    प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट सुझाव दिँदै अधिवक्ता खरेलले संसद विघटन राजनीतिक नभई संवैधानिक प्रश्न भएको बताएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ पेस गरेका थिए । उनले सार्वजनिक अभिव्यक्तिमा पनि आफूले राजनीतिक कदम चालेकाले अदालतले त्यसमा हात हाल्न नहुने भनेका थिए ।

    ‘प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न हो । कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्रीको राजनीतिक निर्णय हुन्छ तर संसद् विघटन राजनीतिक विषय होइन । यसलाई राजनीतिक प्रश्न भन्न मिल्दैन, यो संवैधानिक विषय हो,’ अधिवक्ता खरेलले भने ।

    संसद् पुनःस्थापना भए अर्को प्रधानमन्त्री बन्ने विकल्प छ कि छैन भन्ने विषय भने राजनीतिक भएको खरेलले बताए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

    त्यस निर्णयका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा निवेदन परेका थिए । ती निवेदनमाथि माघ ४ देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ भइरहेको छ ।

  • कुन क्रान्तिको वीणा बजाउँछौ कमरेड ?

    कुन क्रान्तिको वीणा बजाउँछौ कमरेड ?

    पुरुषोत्तम लम्साल
    (राजनीतिक विश्लेषक)

    क्रान्ति सामाजिक, आर्थिक, राजनीतिक लगायतका अवयवहरुमा विद्यमान बिसंगतीहरु विरुद्धको सफलताको मानक शब्द हो भन्ने लाग्छ । क्रान्ति शब्द आफैंमा युगीन छ, सर्वकालिक छ । समाज व्यवस्थामा विद्यमान मूल चरित्रको स्थायी परिवर्तनलाई क्रान्तिको सूचक मान्ने हो भने हामीले हाम्रो सन्दर्भमा क्रान्ति कहिले, किन, कसरी भएछ भनेर केलाउनु पनि उत्तिकै अपरिहार्य हुन जान्छ ।
    हाम्रो सन्दर्भमा समाज व्यवस्था परिवर्तनका ‘टर्निंग प्वाइन्ट’ के के हुन्, ती ‘प्वाइन्ट’हरुले कति परिवर्तनकामी काम गरे, के साँच्चै ती ‘प्वाइन्ट’हरु क्रान्ति हुन् ? वा क्रान्ति सम्बोधन गर्न लायक छन् ? वा, हामीकहाँ कस्ता र कति परिवर्तनकामी, उथलपुथलकारी क्रान्ति भए जसले समाज र राज्यको मूल चरित्रमै आधारभूत परिवर्तन ल्याइदिए ? हामीकहाँ त्यस्ता क्रान्ति भए कि भएनन् जसले जनताको जीवन पद्दतिमा, सामाजिक आर्थिक साँस्कृतिक पद्दतिमा तीब्रता सहितको तात्विक परिवर्तन वा रुपान्तरण गराईदिए ? अथवा, हाम्रो सामाजिक संरचना, सामाजिक अर्थव्यवस्था र सामाजिक सँस्कृति र व्यक्तिगत मनोवृत्ति समेतमा क्रान्तिकारी परिवर्तनको बोध गराउने, अनुभव गराउने मानक क्रान्ति हामीकहाँ भए कि भएनन् ?
    माथिका प्रश्नहरु अस्वीकार गर्नेलाई पनि महत्वपूर्ण लाग्नसक्छ । वा, ती प्रश्नको उत्तर खोज्नै पर्दैन भन्नेका लागि पनि महत्वपूर्ण हुन सक्दछ । नेपाली समाजको सापेक्षमा हामी जति पनि क्रान्तिका, परिवर्तनका अभिव्यक्ति सुन्छौं, सुनिरहेका छौं, तिनलाई जाँच्ने, परख गर्ने जो कोहीका लागि माथिको प्रश्न गम्भीर हुनसक्दछ ।
    परिवर्तनका मूलतः दुईवटा विधि हुन्छन् भन्ने तथ्य सर्वस्वीकार्य हो । एउटा क्रान्तिकारी अर्को गैर–क्रान्तिकारी । क्रान्तिकारी विधिले सङ्घर्ष वा शसस्त्र विद्रोहको अनिवार्यतामा जोड दिन्छ र गैर–क्रान्तिकारी विधिले कालक्रमिक प्रगतिशीलताको पक्षपोषण गर्दछ । भन्नलाई हिंसात्मक र अहिंसात्मक भने पनि भयो तर कसले युगीन चरित्रलाई कुन मात्रामा सम्बोधन गर्यो र कसरी त्यसलाई गतिशील बनायो भन्ने सवाल महत्वपूर्ण हो ।
    केही दिनदेखि नेपालका केही सत्तापक्ष र सत्ताभित्रैका सत्ताविपक्षले एकै स्वरमा मनाउन खोजेको जनयुद्धको स्मरणको दिनमा लेख्न खोज्दा म क्रान्तिको परिभाषामै अल्मलिएँ । आजको बसाई त्यही परिभाषा खोजीको एउटा कडी हो ।
    क्रान्ति बेलायती, फ्रान्सिसी, रुसी, चिनिया, क्यूबन, कोरियाली वा भियतनामी जे होस् त्यसले समाज र राज्य व्यवस्थामा स्थापित मान्यता वा तात्कालिक अवस्थामा विद्यमान सोच, शैली, संरचनामा प्रभावकारी र परिणाममूलक हस्तक्षेप गरेर नयाँ सोच, शैली र संरचनाको निर्माण, विकास र त्यसको सम्वद्र्धन गर्नैपर्दछ । त्यसो गर्न सकेन भने क्रान्ति हुँदैन भनेर हामीलाई प्रशिक्षित गराइएको हो । यसैगरी, विद्यमान राजनीतिक सत्तामा जबरजस्ती हस्तक्षेप गरेर तात्कालिक अवस्थामा विद्यमान व्यवस्थाभित्रको व्यवस्थापकीय एवम् कानुनी ढाँचा र त्यसले अंगिकार गरेको प्रवृत्तिलाई ध्वस्त गरेर नयाँ पद्दतिको स्थापना, क्रियान्वयन र विकास क्रान्तिको सूचक र द्योतक दुबै हो, त्यो नहुन्जेल क्रान्ति हुँदैन भनेर हामीलाई पढाइएको हो ।
    अर्थात्, क्रान्तिले समाज र व्यवस्थाको राजनीतिक, आर्थिक साँस्कृतिकलगायत पक्षमा निरन्तर परिवर्तनको तीब्रता माग गर्दछ भनेर बुझियो ऊ बेला । स्थापित सामाजिक व्यवस्था र सम्बन्धभित्रका बिसङ्गतिहरु क्रान्तिको कारक मान्ने हो भने पनि त्यही कारक तत्वको मूल चरित्रमा युगीन वा नवीन परिवर्तन वा रुपान्तरण नभई क्रान्ति भएको मानिनु वा ठानिनु गलत नै हुने रहेछ । अथवा माक्र्सवादी पण्डितहरुले भन्ने गरेको उत्पादन –व्यवस्था–सम्बन्धभित्रका बिसङ्गति नामोनामेट नबनाई र नयाँ उत्पादन– सम्बन्ध– व्यवस्थाको स्थायित्वको सुदृढीकरणविना क्रान्ति हुन्छ र भयो भन्नु राजनीतिक झुठ हो । यसैले यतिबेला नेताहरुले गरेको क्रान्तिको दावी र परिभाषा देखेर फिस्स हाँस्न मन लाग्छ ।
    किनभने, कुनै शासनको वा तन्त्रको परिवर्तनलाई क्रान्तिको नाम दिएर लम्बेतान व्याख्या गर्ने परिपाटी हामीकहाँ स्थायी छ । यसो भनौं त्यो लम्बेतान व्याख्या गर्न हाम्रा राजनीतिक नेतृत्व र तत् बर्गलाई राजनीतिक जलप लगाइदिने बौद्धिक बर्ग फुर्सदिला छन् । आसनमा रहेको कुनै एउटाको शासन ढालेर नयाँ व्यक्तिले आसन जमाउँदैमा त्यसलाई क्रान्तिको वा युगीन परिवर्तनको नाम दिन अभिषप्त छौं हामी । प्रधानमन्त्रीको स्थानमा राजा, राजाको अधिकारको स्थानमा प्रधानमन्त्री वा राजाको स्थानमा राष्ट्रपति प्रतिस्थापन हुँदैमा त्यसलाई क्रान्तिको रुप र स्वरुपमा व्याख्या गर्ने, कोच्ने र त्यही व्याख्या जनतालाई ठेस्ने प्रवृत्तिको शिकार हामी भइरहेका छौं । एउटै व्यक्तिले श्रीपेच फुकालेर टोपी लाउनुलाई क्रान्ति भन्छौं हामी । र, हतारहतार उत्सव मनाउँछौं । जनताको सामाजिक जीवन पद्दतिको यावत् चरित्रलाई, प्रवृत्तिलाई जहाँको त्यहीं छाडेर क्रान्तिको अबीर दल्न दौडने भीडहरुले दशकौंदेखि क्रान्तिको मर्म वा चित्तमै प्रहार गरिरहेका छन् । सत्ताको सामान्य हस्तान्तरणलाई क्रान्तिको ईँजारविहीन सुरुवाल लगाइदिएर रमाउने आदतले उक्त क्रान्ति केही दिन, सप्ताह वा महिनामै सर्वांङ्ग देख्ने भाग्यमानी हौं हामी ।
    सामान्य विप्लव वा विद्रोह वा सुरक्षा बलको बलमा भएका, हुने गरेका शासकीय स्वरुपको परिवर्तनलाई क्रान्तिको पगरी गुथाइदिने भद्दा राजनीति ७० वर्षअघिदेखिकै हो । दिल्ली सम्झौताको बलमा राणाको अधिकार खोसेर श्री ५ ले शासनमा आसन जमाउँदैमा त्यसलाई क्रान्ति भनियो । राणाकालीन सत्ता व्यवस्थाका सबै अवयवको शेष र अवशेषलाई जस्ताको तस्तै राखेर राणाको स्थानमा राजा भित्र्याइयो र त्यसलाई क्रान्ति भनियो । अर्थात्, शासन चरित्रमा सीमित मुठ्ठीभरका राजनीतिक अनुहार आउने जाने परिवर्तन हामीकहाँ क्रान्ति हुन्छ । त्यसैले राणाको श्रीपेचले राजाको टाउको सजिंदा त्यो क्रान्ति भयो । उपनिवेश नभए पनि आफूलाई स्वाधिन बनाउन नसकेका राजाको फिर्ति समेतलाई उनीहरुले क्रान्ति भने हामीले पत्याइदियौं ।
    सत्ता परिवर्तन पनि भयो, शासक र शासकगणमा केही नयाँ अनुहार पनि थपिए तर सामाजिक संरचना, सामाजिक व्यवस्था, सामाजिक जीवन पद्दति, शासकीय चरित्र, राज्यको चरित्र उही रहनु पनि क्रान्ति हुन्छ ? अन्याय, अत्याचार, शोषण, विभेद, बर्गीय असन्तुलन, राजनीतिक अपारदर्शिता एउटाको झोलाबाट अर्कोको झोलामा हस्तान्तरण हुनु क्रान्ति हुन्छ ? समाजका उत्पीडित, उपेक्षित, सीमान्तकृत समुदायको मौजुदा चरित्रमा तात्विक परिवर्तन नल्याई कार्यकारी राजाबाट संवैधानिक राजामा भएको परिवर्तन क्रान्ति हुन्छ ?
    हामी जहाँनियाबाट बंश परम्पराको राज्यसत्ताको परिवर्तनलाई पनि क्रान्ति मानेर झुक्कियौं, हामी एक दलीयबाट बहुदलीय राजनीतिक व्यवस्था हुँदा पनि क्रान्ति ठानेर झुक्कियौं । खासमा ती फगत राजनीतिक सुधार मात्र थियो जसलाई क्रान्तिको जलप लगाइयो । जसरी पञ्चहरुले पञ्चायती व्यवस्थाको स्थापनालाई माटो सुहाउँदो क्रान्ति माने त्यसरी प्रजातन्त्र पक्षधरहरुले २०४६ सालमा बहुदलको स्थापना मात्रलाई क्रान्ति माने । शासनको रुप त फेरिएकै हो । मात्रा त फेरिएकै हो । तर, राज्य वा समाजको चरित्र उही कायम राखेर न्याय र प्रशासनमा उही गुण कायम राखिनुलाई क्रान्ति मानेर हामी ठगियौं । जनताका अधिकारका लागि, स्वतन्त्रताका लागि निःसन्देह केही वीरहरुले बलिदानी दिएकै हुन् । परिमाण धेरै थोरै जे भए पनि राजनीतिक हिंसा भएकै हो । तर ती हिंसात्मक राजनीतिपछि बदलिएको व्यवस्थाले क्रान्तिको मानक छायो कि छोएन भनेर विमर्श अझै पनि पर्याप्त भएको छैन ।
    मुठ्ठीभरको मध्यम बर्ग शासक बर्गमा रुपान्तरित भएकै हुन् । सामाजिक राजनीतिक अधिकारहरुको प्राप्तीमा मध्यम बर्गको उपस्थिति तुलनात्मक रुपमा बढेकै हो । तर, समाजका बहूसंख्याक किसान, मजदुर, विपन्न समुदायको अवस्थालाई ती राजनीतिक परिवर्तनले सम्बोधन गर्न न हिजो सक्यो न आज । ७० वर्षअघिको समाजको मूल चरित्र र विद्यमान समाजको मूल चरित्र उस्तैप्रायः छ तर हामी क्रान्तिले अनेक चरण पार गरिसकेको दावी सुन्न अभ्यस्त छौं । राज्यसत्ताको सामन्ती पात्र ढालेर सभ्रान्त बर्गकै प्रतिनिधि वा मठाधीश चुन्नुलाई हामीले क्रान्तिको रुपमा परिभाषित गर्यौं । राज्य सत्तामा उही कुलीन बर्र्गीय चरित्र, न्याय, सेवा र प्रशासन संयन्त्रमा उही प्रवृत्तिको निरन्तरता पनि कहीं क्रान्ति हुन्छ ? हामीले प्रश्न नै गरेनौं ।
    ५० को दशकमा नेपालमा एउटा तहको शसस्त्र विद्रोह भएकै हो । त्यसले बर्ग, क्षेत्र, जाती, भाषा, लिंग, उत्पीडित, सीमान्तकृत, अल्पसंख्यकसमेतलाई विद्रोहमा सहभागी गराउन आंशिक सफलता प्राप्त गरेकै हो । पुरातन राजनीतिक अवधारणामाथि धावा बोल्दै अघि बढेको विद्रोह अन्ततः संसद्वादकै सियाल तापेर छिन्नभिन्न पनि भयो । हामी शान्ति प्रक्रियामा नआएको भए समाप्त हुन्थ्यौं भन्ने विद्रोही तप्का शान्ति प्रक्रियामा आएको दश वर्षमै राजनीतिक रुपमा धराशायी भए । समाप्त नै भए । कतिसम्म भने उनीहरु टाउको उठाएर त्यो विद्रोहको जस लिने हैसियतमा पनि छैनन् । तर, उनीहरु यहाँ पनि क्रान्ति देख्छन् । सबैभन्दा अफसोचको क्रान्ति चाँहि यो हो ।
    निर्णय निर्माण प्रक्रियामा आजसम्म सर्वसाधारणको हस्तक्षेप छैन, सामाजिक कूलीन बर्गकै नियन्त्रण छ तर हामी क्रान्तिको रवाफ देखाइरहेका छौं । विशालकाय संविधानसभामा तलबै खाएर बाहिरिएका दुई तिहाई सभाषद्ले आफ्नो भूमिकाको समीक्षा गर्नै पाएनन् त्यसलाई हामी क्रान्तिको सङ्केत चिन्ह मानिरहेका छौं । हिजोको विशेषाधिकार बर्गलाई त्यही स्थानमा, त्यही भूमिकामा राखेर भएको सीमित राजनीतिक सुधारलाई लम्पटक क्रान्तिकारीहरुले क्रान्तिको उपमा दिए । जनताले पत्याइदिए । राज्यका साधन, स्रोत र पहुँचमा पुराना शासक बर्गसँगै नवविकसित साना तथा मझौला उद्योगपति, व्यापारी वा नवधनाढ्यबर्गको नियन्त्रण अझ कसिलो हुनुलाई उनीहरुले क्रान्ति भनिदिए हामीले पत्याइदियौं ।
    विद्यमान बर्गीय खाडल वा असन्तुलनलाई झन् बढी झन् फाकिलो बनाउँदै लैजाने राजनीतिक आर्थिक प्रणालीमै जोतिएर हामी क्रान्तिको मजाक उडाइरहेका छौं । विप्रेषणको वीष पिउँदै बाँचिरहेको समाजभित्रको बिसंगतिबारे मुन्टो बटारेर हामी अब समाजवादी क्रान्ति भन्ने छाडा नेतृत्वलाई हाथ थामिरहेका छौं । किसानलाई निःशुल्क होइन चर्को शुल्कै ठोकेर पनि मल दिन नसक्ने निरीह र लाचार राज्य व्यवस्था माक्र्सवादमा आधारित समाजवादको स्वैरकल्पनाको वीणा बजाइरहेको छ । परनिर्भर अर्थतन्त्रको विछ्यौनामा सुतेर आत्मनिर्भर सामाजिक एवम् राष्ट्रिय अर्थतन्त्रको दीव्य सपना देख्ने राजनीतिक नेतृत्वले क्रान्ति जपिरहेको छ हामी थपडी बजाइरहेका छौं ।
    उदारवादको लङ्गौटी समातेर सत्ताको पवित्र वैतरणी तरेको आनन्द उठाइरहेको त्यही माले, त्यही एमाले, त्यही माओवादी समाज व्यवस्थामा परिवर्तन शनैः शनै हुन्छ, संवैधानिक सुधारबाटै हुन्छ, संसद्वाटै हुन्छ भन्छ र, यहाँ अनेक क्रान्ति भइसकेको भ्रमको व्यापारमा सफल हुन्छ । नीजी अधिकार बोकेर बर्गीय अधिकारमा बिखण्डन ल्याउने यो तप्का अझ क्रान्ति गर्छु भन्छ । सम्पत्तिको अधिकारमाथि सामुहिक नियन्त्रणलाई पूर्णतः अस्वीकार गर्ने यो दस्ता अझै जनवादको झ्याली पिट्छ । बर्ग समन्यव र बर्ग सहयोगलाई मूल मन्त्र बनाएर बर्ग सङ्घर्षलाई कोक्याउने काँचो पिंडालु ठान्ने बर्ग अझै क्रान्ति जारी छ भन्छ ।
    ढुक्क हुनु्स्, हामीकहाँ खास क्रान्ति अहिलेसम्म भएको छैन र तत्काल कुनै ठोस् क्रान्ति हुने सम्भावना छैन । राजनीतिक सुधारमा क्रान्तिको सुवास लिने बर्गले अब आर्थिक, सामाजिक, केकेजाति क्रान्ति त भन्लान् तिनका सदाबहार मृगतृष्णा हेरेर आनन्द उठाऔं ।

  • ‘केपी जी सभा कस्तो हुन्छ देख्नुभयो ? प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्न नपरोस्’

    ‘केपी जी सभा कस्तो हुन्छ देख्नुभयो ? प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्न नपरोस्’

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन्।

    काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘सभा कस्तो हुन्छ ओलीले भन्नुभयो केपी जी सभा कस्तो भयो देख्नुभयो? विरोध कस्तो हुन्छ? हामी आज यहाँ साथीहरूको जानकारी अनुसार ५ लाख हाराहारी उपस्थित भएका छौँ।’

    ओलीलाई चुनौति दिँदै प्रचण्डले भने प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आन्दोलन गराउने बताए।

    ‘सर्वोच्च अदालतको न्यायधीहरूले पनि पनि जनताले के चाहेको छ भन्ने देखिसकेका छन्। जनताको शान्तिपूर्ण आन्दोलनमा गयो भने के हुन्छ भन्ने बुझे हुने चेतावनी दिए’ उनले भने, ‘आजको जनताको उपस्थितिले संविधान र जनताको पक्षमा निर्णय गर्न सहयोग पुग्छ।’

    ‘सर्वोच्चको अदालतको निर्णय जनताको पक्षमा आएन भने नेपालमा कसैले थेग्न नसक्ने आँधी-हुरी आउँछ’ उनले भने, ‘ओलीको सनकको भरमा डराएर कसैले फैसला गर्दैनन्। जनताको आवाज नसुनेर ओलीको सनकलाई कसैलाई मान्दैनन्।’

  • ‘अधर्मीलाई पशुपतिनाथले माफ गर्दैनन्’- माधवकुमार नेपाल

    ‘अधर्मीलाई पशुपतिनाथले माफ गर्दैनन्’- माधवकुमार नेपाल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले पनि माफी नदिने चेतावनी दिएका छन् ।

    पहिले मदन भण्डारीको नाम जप्ने ओलीले अहिले पशुपतिको नाम जप्न थालेको भन्दै अब उनलाई पशुपतिनाथले पनि माफी नगर्ने बताए ।

    ‘केपी ओलीजी पहिले तपाईं मदन भण्डारीको नाम जप्नुहुन्थ्यो । अहिले मदन बिर्सिएर पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ,’नेपालले भने, ‘तपाईंलाई थाहा छ, पशुपतिनाथले कसलाई माया गर्नुहुन्छ रु पशुपतिनाथले त सत्य र न्यायका पक्षमा रहेकालाई माया गर्नुहुन्छ । पापीलाई, अधर्मीलाई पशुपतिनाथले माया गर्नु हुन्न ।”

    उनले नेपाली जनताको भावना ओलीले बुझ्न नसकेको पनि आरोप लगाए । ‘बलत्कारको घटना घटिरहेको छ ।

    ओलीलाई यसले कत्तिपनि संवेदनशिलताले छुन सकेन,’ उनले भने, ‘तिमि जस्ता मान्छेलाई नेपाली आमाले जन्माइन्, जुन पार्टीले प्रधानमन्त्री बनायो त्यही पार्टी ध्वस्त बनाउँदै हुनुहुन्छ । सरकारी साधन खर्च गर्दा पनि सिंगै ओली समूह निराश भएको छ ।

  • ‘संस्थाविरुद्ध बोलेको छैन, खलपात्रको विरुद्ध बोल्न पाइन्छ’

    ‘संस्थाविरुद्ध बोलेको छैन, खलपात्रको विरुद्ध बोल्न पाइन्छ’

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै उठाइएको प्रश्नको खण्डन गरेकी छिन् ।

    राजधानीमा आज आयोजित विरोधसभामा उनले प्रधानमन्त्री र राष्ट्रपतिले गरेका गलत कार्यका विरुद्धमा बोल्न पाइने बताइन् ।

    ‘सम्मान्नीय राष्टपति यो संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शीरमाथीको संस्था हो म त्यो संस्थाविरुद्ध बोलेको छैन,’ उनले भनिन्, ‘खलपात्रको विरुद्ध बोल्न पाइन्छ कस्ले भन्यो बोल्न पाइँदैन ? भागरथी, निर्मलाकोविरुद्ध १८ वर्ष विद्या भण्डारीले नेतृत्व गरेको अनेमसंघ बोल्यो कि बोलेन ? कुनै पनि सार्वजनिक पदको लिग हुँदैन बोल्न पाइन्छ ।’

    उनले भनिन्, ओली कागजी बादशाह हुन्, सन्की प्रधानमन्त्रीका व्याधा राष्ट्रपति बनेकी छन् ।

    ‘संविधान च्याचचुत फाल्ने प्रणालीविरुद्ध बोल्छौँ । हामी बोल्न जन्मेका हौँ,’ उनले भनिन्, ‘खड्क प्रसाद ओली कागजी बादशाह हुन् ।

    ढलिसके अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाहले आफ्नो कदलाई घटाउँदै जान्छन् । कागजका अग्लाअग्ला बुख्याँचाहरु बनाउँछन् केपी ओली त्यसै गर्दैछन् ।’

    ‘संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’

    केही दिनअघि झाँक्रीले प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई कोटेश्वर नभए बालकोट जान भनेकी थिइन्।

  • तानाशाहको संकल्प पूजा

    तानाशाहको संकल्प पूजा

    महेश्वर घिमिरे, न्युयोर्क

    तानाशाहको चरित्र जहिले पनि जनप्रिय शव्द बोल्ने र समय अनुकुल जनताको तात्कालिन भावना जित्ने खालको हुन्छ । उनको कुटनैतिक लवज कुटिल शव्दजालले ओतप्रोत हुन्छ । बेनिटो मुसोलिनी, एडोल्फ हिट्लर्र, एन्जेल्वर्ट डोल्फुस्, ओलिभिएरा सालाजार, हिदेकी तोजोजस्ता तानाशाहको चरित्र अध्ययन गर्दा यसको पुष्टि हुन्छ ।
    जसको कारण भ्रममा परी करोडौं जनताहरूले दु:ख पाउनाका साथै कयौंले सदाहत प्राप्त गरेका इतिहासका दृष्टान्त छन् । माथिका सबै तानाशाहहरू सबैले ईश्वरमाथि बिश्वास गर्दथे । जसरी भ्याटिकनमा ईश्वरको नाममा कयौं बालिकाहरू बलात्कारको शिकार हुनु पर्यो । त्यस्तै ती तानाशाहका गलत अभिप्रायले गरेको संकल्पका कारण इटली, जर्मन, अष्ट्रिया, पर्चुगल र जापानजस्ता देशका लाखौं नागरिकहरूले ज्यान गुमाउनुपर्यो । करौडौं घरवार बिहिन हुनुपर्यो ।

    विश्व मानचित्रमा अवस्थित एउटा सानो दक्षिण एशियाली अविकसित र गरिव राज्य नेपालले कयौं सहिदको बलिदान पश्चात निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान एउटा छोटे तानाशाहको सनकले बिबादित बन्न पुगेको छ । अव नेपाली जनताहरूले संविधानमा यस्ता सन्की तानाशाहहरूलाई पनि अंकुस लगाउन सक्ने स्पष्ट प्रावधान राख्न जरूरी देखिएको छ । जुन कुख्यात तानाशाह जस्ले ब्यङ्ग्य, कुतर्क, गलत उदाहरण, आक्रोस र घमण्ड देखाएरै आफ्नो अभष्ट पुरा गर्ने दम्भ देखाएका छन् । आफूलाई पशुपतिनाथको संकल्प पूजा गरेको देखाएर आस्तिकताको ढोंग रच्दै धर्मभिरू जनताको मन जित्न खोज्दैछ ।आखिर यस्ता निरंकुश तानाशाहको लक्ष्य आफूले गरेको कुकृत्यलाई ढाकछोप गरी हज्जारौ पाप र झुटको सहायता लिदैं आफ्ना आभिष्ट पूरा गर्ने हुन्छ । यसका उदाहरण जापानका १९४१-१९४४ सम्मका प्रधानमन्त्री हिदेकी तोझो, जसले अमेरिकाको पर्लहार्वरमा आक्रमण गर्न लगाए । यसको परिणामले गर्दा हिरोशिमा नागासाकीका लाखौं जनताहरूले ज्यान गुमाउनु पर्यो । एउटा सनकको कारण जनताले सो बिपत भोग्नु पर्यो ।
    सन्धर्व आज नेपालमा संविधानको रक्षा अथवा संविधानको विघटन सम्वन्धि मुद्दामा आएर जोडिएको छ । वर्तमान प्रधानमन्त्री केपी ओलीको आफ्नै पार्टी भित्रको मतभेदका कारणले गर्दा संसदको बिघटन गराईएको भन्ने जुन प्रचार गराईएको छ, यो एउटा सतही र दुस्प्रचार मात्र हो । यथार्थतालाई जवरजस्त लुकाउनको निमित्त नेपाल कम्युनिष्ट पार्टीलाई लगाईएको एक झुटो आरोप मात्र हो । यहॉं केपी ओलीले एउटा गुलेलीले दुई ओटा ढुकुर मार्न खोजेको मात्रै हुन्। यथार्थमा; मलाई घेराबन्दीमा पारेर बिकासगर्न दिएनन् भनेर जनतालाई भन्ने र विदेशीलाई चै मलाई एमसिसि पासगर्न दिएनन् । ईन्डो प्यासिफिक स्ट्राटेजीलाई समर्थन् गरेनन्, भन्ने चाल रचेर जनताबाट र अमेरिका तथा ईन्डियाबाट समर्थन र सहयोग लिन खोजेको कुटनैतिक चाल हुन् । यसरी केपी ओलीले जनताबाट र बिदेशबाट आफ्नो तानाशाही प्रबृतिको समर्थन जुटाउन खोजे । यतिले नपुगेर पशुपतिनाथको संकल्प पूजा गरेर तात्कालिन धर्मसापेक्ष गराउन उफ्रिएका धर्मभिरूहरूको मन जित्न खोजेका छन् ।
    यो कटु यथार्थ नेपाली धर्मभिरूहरूलाई नराम्रो लाग्न सक्ला तर पनि उनिहरूको निमित्त यो प्रतिकात्मक रुपमा केपी ओली नाम गरेको सॉंडेको फल झर्ला र खाउंला भनेर कुर्नु समान हो ।
    माथिका स्ट्राटेजीहरू स्पष्ट रूपमा राष्ट्रको हितमा छैनन् । त्यसैकारण नेकपाले जव यो एजेण्डा संसदमा ल्याउन दिएनन् तब केपी ओली नेकपादेखि ज्यादै चिढिए । अन्त्यमा अमेरिका र ईन्डियाको आडमा के पी ओलीले संसदको भंग गरेका हुन् भन्ने सबैले महसुस गर्न थालेका छन् । यस अर्थमा राष्ट्रको सार्वभौमसत्ता नेपाली जनतामा कायम राख्ने अथवा नेपालको सार्वभौम अमेरिकी सरकार मार्फत ईन्डो पेसेफिक स्ट्राटेजीमा सिमित गराउने भन्ने देखिन्छ । यो बिवाद यतिबेला प्रमुख राजनीतिक एजेण्डा बनेको छ । यो कटु यथार्थता, एउटा तानाशाहको कमेडीपरक भाषण, नक्कली राष्ट्रवाद र ढोगी आध्यात्मिकतामा रमाएर क्षणिक मनोरन्जनमा सिटी लगाउने र रमाउने जमातलाई बुझ्न केही समय लाग्नु आश्चार्य होईन । किनभने ईतिहास यूगको भूलभूत सारतत्व हो । केपी ओली तथा उसका मतियारहरूले जतिसुकै चुनाबी नारा सहितको लोकतन्त्रको महिमा गाएपनि “जिन्दा रहोगेतो घी पिओगे” भन्ने हिन्दी उखानको सारजस्तै संविधान रहे पो चुनावको औचित्य रहन्छ । देशमा संविधानको मुल मर्म नै भंग भएको छ भने कसरी चुनाव र यसको परिणामको औचित्य रहन्छ ?
    आज जसरी एक आमाले आफूले जन्माएको बच्चालाई काखमा राखेर छुरी धस्न पनि सक्छिन् भनी कल्पना गर्दछौ; त्यो यथार्थतामा परिणत भएको छ । दुर्भाग्यवश, आज हामीले राष्ट्र माताको रूपमा पाएका राष्ट्रपति विद्या भण्डारीले भर्खर जन्मिएको संघीय गणतान्त्रिक संविधानरूपि शिशुको आफ्नै काखमा राखेर के पी ओलीको ईशारामा हत्या गरेकी छिन् । यो नेपालको ईतिहासमा कोतपर्व भण्डारखाल पर्व जस्तै संविधान हत्या पर्वको नामले ईतिहासमा लेखिन जानेछन् ।

  • सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति

    सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभा सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विरोध गरेका छन् ।

    तिमिल्सिनाले अदालतले आदेश दिएको खण्डमा बाहेक संवैधानिक परिषदले गरेको सिफारिस सभामुखले फिर्ता गर्न नमिल्ने भन्दै विरोध गरेका हुन् ।

    आइतबार सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेका थिए।

    सभामुखको पत्रमा संघीय संसद र अन्तर्गतका समितिहरुको सञ्चालन, व्यवस्थापवन समेतको व्यवस्था गर्ने अधिकार आफूमा निहित भएको भन्ने व्यहोरा उल्लेख रहेको भन्दै ‘राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा आपत्ति जनाउनु परेको बताए ।

    ‘पत्रमा उल्लिखित संघीय संसद तथा सो अन्तर्गतका समितिहरुको व्यवस्थापन, सञ्चालन समेत व्यवस्था गर्ने अधिकार सभामुखमा निहित भएको भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रिय सभाको भूमिका र गरिमामा प्रहार भएको छ,’ तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलनमा भने ।

    नेपालको संविधान र संघीय संसदको बैठक तथा संयुक्त समिति कार्यसंचालन नियमावली २०७५ ले संसदीय सुनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको भन्दै तिमिल्सिनाले दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ समितिका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको बताएका छन्।

  • शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो : प्रधानमन्त्री

    शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख भएको बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सुस्थिर राजनीति र विकासमा बाधा गर्नेहरुलाई संयुक्त रुपमा पराजित गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

    शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने उनको प्रतिवद्धता रहेको छ ।

    उनले देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएको समेत बताएका छन् । प्रधानमन्त्रीले शहीद दिवसले सबैलाई समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।

  • निरपेक्ष वामपन्थ र भिजिलान्ते प्रगतिशीलता

    निरपेक्ष वामपन्थ र भिजिलान्ते प्रगतिशीलता

    पुरुषोत्तम लम्साल, अमेरिका

    भूमिका नबाँधि विषयवस्तुमा जाऔं ।
    कार्ल मार्क्सकै शब्दमा ‘धर्म उत्पीडित प्राणीको चित्कार हो र धर्म हृदयहीन संसारको हृदय हो वा त्यो भावहीन परिस्थतिको भावना हो।’
    यसैमा जोडेर मार्क्सले ‘धर्म जनताका लागि अफिम हो’ भन्ने वाक्य लेखेका हुन् ।
    काल मार्क्स लेख्छन् – ‘धर्मलाई उत्पीडितहरु वास्तविक सुखको माग गर्ने थलो बनाउँछन् । विद्यमान ब्यवस्थाको सम्बन्धमा भ्रमको परित्याग गर्ने माग जरुरी हुन्छ, त्यसैले धर्मविरुद्ध सङ्घर्षको अर्थ मानवीय भावना र चरित्रविरुद्धको सङ्घर्ष पनि हो। ’
    उनको विचारमा पनि ’जबसम्म मान्छेको दुःख रहन्छ, जबसम्म मान्छेको आँशु रहन्छ, जबसम्म मान्छेले वास्तविक सुखको अनुभूति गर्दैन तबसम्म धर्म रहन्छ ।’ काल माक्र्स के पनि भन्छन् भने ‘धर्मको अन्त्य मान्छेको दुःखको अन्त्य पनि हो ।’
    अब हामी त्यही अफिममा मात्र अल्झिएर, त्यही अफिममा मात्र लठ्ठ परेर एउटा वाक्यको आफूअनुकूल ब्याख्यामा रमाउँछौं । रमाइरहेका छौं ।
    मलाई एउटा ठट्टा याद आइरहेको छ । ठट्टामा के हुन्छ भने भारतमा एक जना मालिकले आफ्नो सेवकलाई सधैं समाचार बताउनपर्ने काममा लगाएका छन् । एक दिन सेवक समाचार सुनिरहेको छ । समाचार अल इण्डिया रेडियोबाट बजिरहेको छ र समाचार शुरु हुन्छ ‘आज सुबह महात्मा गान्धीजी ने इन्दिरा गान्धीजी से कहा…’ (समाचारको वाक्य पूरा हुन नपाउँदै प्राविधिक गडबढी हुन्छ ।)
    केही बेरपछि पुनः प्रशारण शुरु हुन्छ ।
    (तर त्यतिबेलासम्म समाचार सकिएर गीतको कार्यक्रम शुरु भइसकेको हुन्छ ।)
    रेडियोमा त किशोर कुमारले गाएको रोटी चलचित्रको गीत बजिरहेको छ;
    ‘नाच मेरे बुलबुल, बुलबुलको पैसा मिलेगा
    कहाँ कदरदान हमें ऐसा मिलेगा’

    भोलीपल्ट बिहानै मालिकले सोधे हिजो साँझको समाचार सुनाउ ।
    सेवकले समाचार भन्न शुरु गर्यो–
    आज सुबह महात्मा गान्धीजी नें इन्दिरा गान्धीजी से कहाँ
    नाच मेरो बुलबुल, बुलबुलका पैसा मिलेगा ।
    मालिकलाई के थाहा कि त्यतिबेला प्रशारणमा प्राविधिक गडबढी थियो भन्ने कुरा ।
    सेवकलाई के थाहा कि प्राविधिक गड्बढीका कारण समाचार र गीत मिसिएर अनर्थ भइरहेको छ भन्ने कुरा ।

    हो, मार्क्सको धर्म जनताका लागि अफिम हो भन्ने कुरामा पनि धेरैजना यही प्राविधिक गड्बढीको शिकार भइरहेको देखिन्छ । धर्मलाई माक्र्सले भनेझैं अफिम ठान्ने वा बताउने जमातले कि माक्र्सले उक्त वाक्य अगाडि र पछाडि लेखेका कुरा जानिरहेको छैन कि जानेर पनि नजानेको जस्तो गरिरहेको छ । र, सन्देश ‘नाच मेरी बुलबुल बुलबुलको पैसा मिलेगा’ जस्तो भइरहेको छ ।
    माक्र्सले धर्मलाई ‘उत्पीडित मान्छेको चित्कार’ किन भने ? हामी यता प्रवेश नै गर्दैनौं । धर्म अफिम हो, अफिम हो मात्र भनिरहेका छौं तर माक्र्सले धर्मलाई किन ‘उत्पीडित मान्छेको चित्कार’ भने भन्ने प्रश्नको जवाफ कहिल्यै खोजेनौं ।
    माक्र्सले लेखेको के हो भने ‘मान्छे धर्मको रचना गर्दछ तर धर्म मान्छेको रचना गर्दैन ।’ उनी थप्छन् –’धर्म मान्छेको स्व–चेतना हो वा स्व–प्रतिष्ठा हो जहाँ मान्छेले आफूलाई नै जान्न वा पहिचान गर्न सकेको छैन, त्यसैले मान्छे भट्किन्छन् । जसले यो संसारबाहिर कदम राख्यो ऊ अमूर्त छैन वा रहन्न ।’
    यहींनेर माक्र्सले ‘मान्छे त मान्छेको संसार हो, राज्य हो र समाज हो’ भनेका हुन् वा भनेका छन्।
    माक्र्सले के लेखे भने ‘धर्म संसारको सामान्य सिद्धान्त हो । धर्मको लोकप्रचलित पद्दति हुन्छ । धर्मको आध्यात्मिक कीर्ति उच्च हुन्छ । त्यही उसको उमंग हो, त्यही उसको अंग हो, त्यही उसको अभिनन्दन हो, त्यही सन्तोष हो र औचित्य स्थापनाको त्यही सार्वभौम स्रोत हो । यही मानवीय मूल्यको सारतत्वको विलक्षण अनुभुति हो तर यो वास्तविक अनुभूति होइन ।’ माक्र्सले धार्मिक सुख वा आनन्दलाई वास्तविक सुख नरहेको कुरामा विशेष जोड दिएका छन् ।
    हो, यही हो माक्र्सले लेखेको ।
    माक्र्सले धर्मलाई पूजा वा ईश्वरको रुपमा मात्र व्याख्या गरेका होइनन् । माक्र्सले ईश्वरको आराधना नगर भनेका होइनन् इश्वरको पूजा गर्ने संस्कारले मान्छेले आफ्नो मूल्य बिर्सिरहेको छ भनेका हुन् । माक्र्सवादको दुरुपयोग गरेर स्वार्थको रोटी सेक्ने र जिविका चलाउनेले मात्र अंश अंशमा काटेर धर्म निर्वाह गरेका हुन् । मूल लक्ष्यबाट विचलित भएपछि मान्छे अंशमा सीमित हुने हुन् र रुप पक्षमा अल्झिएर सारलाई बिर्सने हुन् ।
    त्यसैले हामीकहाँ फगत अफिम मात्र बिकिरहेको छ ।
    किनकि, माक्र्सवादले धर्मलाई तर्कशास्त्रको रुपमा, संस्कारको रुपमा र मानवीय अनुभूतिको रुपमा व्याख्या गर्दछ र धर्मसृजित संसारविरुद्ध तार्किक संघर्षको आव्हान गर्दछ । जनै र टुप्पीमा, नाक र आँखामा, टोपी र धोतीमा अल्झिएर हामीकहाँ हुने र भइरहेका ब्याख्या माक्र्सवादका लम्पट चिन्तकहरुहरुको विलास मात्र हो । किनकि, माक्र्सवादले धर्मलाई अंशमा होइन समग्रतामा व्याख्या गर्दछ । र, अंशमा व्याख्या गरेर उत्तेजना फैलाउने हाम्रो वामपन्थी चरित्र तामस चरित्रको उदाहरण हो ।
    हाम्रो बामपन्थको सार चरित्र
    भारतमा जस्तै नेपालमा पनि हिन्दू धर्म, दर्शन, भाषा, सँस्कृतिको चिन्ता गर्ने वा त्योभित्रको सकारात्मक पक्षको पक्ष लिनेलाई ‘दक्षिणपन्थी’ को बिल्ला भिराइन्छ । र, नेपाली बामपन्थभित्र ‘दक्षिणपन्थ’ स्थायी शब्दावली हो जसले मूलतः सत्ता र शक्तिका लागि भारतको आशचपु (आर्थिक, सहायता, चन्दा, पुरस्कार) ताक्ने भन्ने बुझाउँछ । अर्को चाँहि आफूलाई क्रान्तिकारी दावी गर्ने एउटा स्वघोषित बर्ग छ जसले कसैले परम्परागत धर्म र सँस्कृतिको पक्षमा बोल्यो भने त्यसलाई दक्षीणपन्थी भनेर लखेट्न शुरु गर्छ ।
    विष्मय कहाँ हुन्छ भने अमेरिकाका रेड इण्डियनमाथि वा अमेरिकाका अल्पसङ्ख्यकमाथि थोपरिएको धार्मिक साँस्कृतिक प्रभुत्ववाद हाम्रा क्रान्तिकारी विचारक माक्र्सवादीहरुलाई दुख्छ । अस्ट्रेलियाका आदिवासी एबोरोजिनल समुदायको रैथाने सँस्कृतिमाथिको अतिक्रमण देखेर यिनको माक्र्सवादमा उभारै आउँछ र उनीहरु विश्वव्इापी ऐक्वद्धतामा सरिक हुन तीन बित्ता उफ्री हाल्छन् । गाँठी कुरा के भने अफ्रिका, अमेरिका वा दक्षिण अमेरिकामा आफ्नो परम्परागत, रैथाने, आदिवासी धर्म र सँस्कृतिको पक्षमा बोल्ने क्रान्तिकारी हुने, नेपालमा चैं दक्षिणपन्थी हुने भाष्य तयार भएको छ हामीकहाँ । अन्यत्रको बोलीमा साँस्कृतिक पहिचान रक्षार्थ संघर्ष हुने नेपालमा चैं दक्षिणपन्थ हुने ? यो विष्मयबाट नेपाली वामपन्थ गुज्रदै गुज्रदै गएजुज्रदै आइरहेको छ । अनौठो त अझ हाम्रो वामपन्थको मानक मापदण्डै यही बराबर छ ।
    भन्न खोजेको, हाम्रो वामपन्थी प्रगतिशीलता अमेरिकी आदिवासीलाई चाँहि उनीहरुको धर्म, सँस्कृति फिर्ता दिनुपर्छ, उनीहरुको श्रद्धास्थलमा बाह्य अतिक्रमण वा हस्तक्षेप हुनहुँदैन भन्छ। तर, नेपालका हिन्दू, अल्पसंख्यक, सीमान्तकृत समुदायमाथि धार्मिक साँस्कृतिक अतिक्रमणबारे चुप्पी साँध्छ, नबोलेरै मौन समर्थन दिइरहन्छ । र, जसले बोल्छ ऊ दक्षिणपन्थी करार हुन्छ । हो, नेपाली वामपन्थभित्र यो चरित्र दरिद्र छ । खासमा यसलाई छेपारे वामपन्थ भन्दा हुन्छ ।
    जस्तै, आफूलाई क्रान्तिकारी एवम् प्रगतिशील देखाउन चाहने एउटा बर्ग छ र अर्को सबाल्र्टन दाबी गर्ने छुपारुस्तम तप्का । उदाहरणका लागि यी दुबै पृथ्वीनारायण शाहको विद्रुपीकरण गर्न यथासक्य यत्न गर्छ । यिनीहरु कहिल्यै नेपाल नबसेका जिसेप्पीले जम्मा चार महिना नेपाल बसेर फर्किएका अर्का पादरीको मौखिक बर्णनमा आधारित रहेर लेखिएको तीन पृष्ठमा सत्र तथ्य गल्ती रहेको पाना पल्टाएर पनि होइन हल्लाको पछि लागेर दोडिन्छन् । तिनीहरुलाई नेपाल एकीकरण प्रक्रियाका क्रममा लखेटिएका इसाई पादरी र क्याथोलिक मिसनमा मिसिएका केही नेपालीको पीरले छाती पोल्छ । तर न तिनीहरु ल्हासाबाट लखेटिएर नेपाल छिरेका ती पादरीहरुको स्वार्थबारे बोल्छन् न बेतियाबाट हुलिएका पादरीको स्वार्थ केलाउँछन्। भूगोल र भावनाको यिनका ब्याख्या हेर्दा, रोदन सुन्दा समाजको, सामाजिक विकासको, सत्ता र राज्यसत्ताको सापेक्षतावाद हृदय खोलेर हाँस्छ । जस्तै, हाम्रा माओवादी क्रान्तिकारहरुले हामीले गरेको हिंसा न्यापूर्ण, वस्तुगत परिस्थितिजन्य आवश्यकता भनेको जस्तो । अर्थात्, फलानो चाँहि क्रान्तिको आवश्यकता तर ढिस्कानो चाँहि अत्याचार ।

    हो, नेपाली बामपन्थभित्र ठीक यस्तै विचारधारा छ जसले दशकौंदेखि प्रगतिशीलताको आवरण ओडेर सनातन अभ्यासविरुद्धको क्रियालाई मल र जल हालिरहेको छ । किनकि, हिन्दू वा हिन्दू सँस्कृति वा साँस्कृतिक पक्षको पक्षमा बोल्दा वा बिदेशी धार्मिक साँस्कृतिक अतिक्रमणको विपक्षमा बोल्दा उनीहरुको क्रान्तिकारिता क्षय हुन्छ । किनकि, उनीहरुको न्यारेटिभमा यो सरासर दक्षिणपन्थ हो । उनीहरु देशीय हिन्दूको विपक्षमा त बोल्छन् तर देशभित्रकै सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यकलाई बाह्य धार्मिक अतिक्रमणको दबदबे हिलो र पहिरोमा हुलिदिन्छन् । नेपाली बामपन्थभित्र त छँदैछ समाजभित्रै यो ऐंजेरु फैलदो छ । साँस्कृतिक, जातीय विविधताको पहिचानको विलोपीकरणको दीर्घकालीन मुद्दा यही वामपन्थको चरित्रसँग ठक्कर खान्छ । नेपाली वामपन्थको यो चरित्र देखेर लेनीन पनि स्वादले हाँस्दा हुन् । (अक्टोबर क्रान्ति वा रुसी क्रान्तिपछि लेनिनले रुसको शिक्षा, भाषा र सँस्कृतिको संरक्षणमा चालेको कदमबारे उल्लेख गर्न आजको बसाईमा सम्भव भएन ।)
    छल, कपट, प्रलोभनलाई हतियार बनाएर अफ्रिक, अमेरिका, अष्ट्रेलिया, अमेजन, भियतनाममा इसाई धर्मान्तरण चल्यो भने त्यहाँ धार्मिक साम्राज्यवाद हुने, अनुचित हुने नेपालमा चल्यो भने जायज हुने ? हाम्रो बामपन्थी चरित्रको यो दोहोरो भूमिका चाँहि घृणायोग्य नहुने? कहीं नभएको अजीब बामपन्थ छ हामीकहाँ ।
    नत्र सीमान्तकृत, अल्पसंख्यक समुदायको धार्मिक साँस्कृतिक पक्षमाथिको बाह्य अतिक्रमणप्रति यिनलाई चासो र चिन्ता भएको तपाइले देख्नुभएको छ ? बहूसंख्यक जनजाती समूह भनेर सूचीमा राखिएका आधा दर्जन जातजाती र भाषाभाषीभित्र पसेर उथलपुथल मच्चाइरहेको मिसिनरीविरुद्ध वामपन्थले कुनै संगठित परिणाममूलक प्रतिक्रिया जनाएको पाउनुभएको छ ? छैन । किन छैन ? किनकि, यो नेपाली वामपन्थको कुरुप विशिष्टता हो । माओ र स्टालीनको तस्वीर शिरमाथि टाँगेर मात्र क्रान्तिकारी भइने भ्रमबाट हाम्रो वामपन्थ अहिलेसम्म मुक्त छैन । अझ बढी हिन्दू धर्म, सँस्कार र सँस्कृतिको विरोध नगरी प्रगतिशील भइदैन भन्ने भ्रमले हाम्रो वामपन्थ थिचिएको थिचिएकै छ । डा. बाबुराम भट्टराइको ’टपरे मनोग्रन्थी’ यसको एउटा उदाहरण मात्र हो । यो उदाहरण पञ्चायतकालको उत्तराद्र्धमा धादिंग जिल्लाको दुर्गम वस्तीमा चर्च बनाएर इसाईलाई धर्मपरिवर्तनको लिखित अनुमति दिने बुद्दिमान तामाङ्गको ‘दक्षिणपन्थी’ प्रवृत्तिभन्दा हानिकारक र वीषयुक्त छ ।

    ओली पशुपति जाँदाको जात्रा
    माथिको सबै सन्दर्भ प्रधानमन्त्री केपी ओलीले दुई दिनअगाडि गरेको पशुपति दर्शनको सन्दर्भमा लिइएको हो । धेरैले ओली पशुपति जानुलार्य धार्मिक मुद्दा उठान गर्न लागेको अर्थमा बुझे । केहीले त भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक आवरणलाई आधार बनाएर नेपालमा अब हिन्दुवादको उदय हुन लागेको रुपमा समेत व्यख्या गर्न भ्याए । खगेन्द्र संग्रौला, सिके लाल, प्रतीक प्रधान, नारायण वाग्ले, युग पाठक मार्काका तथाकथित अभियन्ताहरुले स्वरमा स्वर मिलाएर ओलीले पशुपतिको दर्शन गरेर तानाशाही बलियो बनाउन लागेको भन्ने आशयका अभिव्यक्ति समेत दिए ।
    केही ठालुले चर्चमा गएर माक्र्सवाद र क्रिस्चियानिटी उस्तै लाग्छ भन्दा त्यो निरपेक्षता हुने, केही ठालुले क्रिस्चियानिटी नै समानताको धर्म हो भनेर भतुवा विचार राख्दा ’अहो !’ हुने, केही ठालुले एकनाथ ढकाल बोकेर कैलाश पर्वत पुग्दा धर्मनिरपेक्षताको उदाहरण र क्रान्तिकारी कदम हुने, केही ठालुले प्रचीन गुठी सँस्कृतिको बजेट काटेर बिधर्मीहरुको भतेरमा टोस्ट गर्दा, परम्परागत जात्राका लागि राज्यले गर्दै आएको भरथेग काटेर ‘ घन्टाको जात्रा’ भन्दा उत्पातको माक्र्सवाद हुने, केही लम्पटहरुले हिन्दू धर्म नै सबै समस्याको जड हो भन्दा हो मा हो मिलाउँदै तीन हात उफ्रनेहरुलाई ओली पशुपति जाँदा उत्पात भयो ।
    ती सबलाई ओली पशुपति जानु दक्षिणपन्थ भयो, ओलीले पूजा गर्नु प्रतिक्रान्ति भयो, ओलीले टीका लाउनु धर्मनिरपेक्षताविरुद्ध भयो ।
    ओली मन्दिर गए, पूजा गरे, टीका लाए । यो के अचम्म भो ? बौद्धमार्गी गुम्बा जानु अचम्म हो ? इसाई चर्च जानु अचम्म हो ? इस्लाम मस्जिद जानु अचम्म हो ? शिखहरु गुरुद्वार जानु अचम्म हो ? भर्खरै मात्र ओलीको पार्टीमा छिरेका कमानसिंह लामाहरु प्रहरीले अपराधी भनेर खोजिरहेको रामबहादुर बम्जनको गुप्त शिविरमा जानु अपराध हो ? माक्र्सको भनाईमा मान्छे यो वा त्यो रुपमा धर्मको अधीनमा बाँधिएको हुन्छ भन्ने मान्यता मान्ने हो भने यहाँ को कहाँ जान्छन् के ठूलो मुद्दा भयो र ? पशुपतिमा न ओलीले नमाज पढेर आएका हुने न त्यहाँ उनको कृष्णबहादुर महरा सरको जस्तो बप्तिष्मा भएको हो ।
    राष्ट्रपतिले कुमारी दर्शन गरेर निरपेक्षता खत्तम हुन्छ ?, प्रधानमन्त्रीले मन्दिरमा जल चढाउँदा संविधानको प्रस्तावना पखालियो ? पखालिएन । र, पखालिंदैन । जब सामान्य कुरालाई असामान्य, अतिरञ्जना गरेर तुष्टी लिइन्छ त्यो झन् डरलाग्दो अतिवाद हो र हुन्छ । यो अतिरञ्जना प्रचण्ड माधव नेपालका साइबर स्यालहरुले चलाए पनि त्यही हो, हिन्दू धर्मको विरोध गर्नकै लागि सुसज्जित गरिएका निरपेक्षतावादी सिपाहीहरुले गरे पनि त्यही हो । आवरण जे भए पनि ती दुबै अतिवादकै अलगअलग रुप हुन् ।
    फेरि दोहोर्याउँ,
    माक्सले धर्मलाई अफिम किन भने ?
    किनभने, हिजोदेखि आजसम्म मान्छेले धर्मलाई अफिम वा ’पेनलिर’को रुपमा अपनाए। अफिम भनेको दुःख पीडा, वेदना लुकाउने र भुल्ने क्षणिक नशाको रुपमा मान्छेले लिइरहेको र त्यसले सङ्घर्ष बललाई कमजोर बनाइरहेको उनको तर्क थियो । अफिम हिन्दू धर्म मात्र होइन इसाई, इस्लाम, बौद्ध, जैन, ताओ सबै हो । जब मान्छे सङ्घर्षको चरण छाडेर धर्मको शरण वा बाटो लिन्छ त्यो बेलाको स्थितिलाई अफिम वा ‘पेनकिलर’को रुपमा ब्याख्या भयो ।
    यहाँ त धर्मको विरोध पनि अफिम बनेर मौलायो । हामीकहाँ त ठेक्का लिएर, दिएर नै धर्मको, सँस्कृतिको विरोधमा लाग्न खटिने अनुहारहरु देखिए ।
    हो, यो अफिम अर्को अतिवादको नयाँ रुप हो । किनकि, यिनीहरु बाँकि सबै तपसिलमा राखेर अफिमको नशामा बिन्दास छन् । निरपेक्ष हुनुको अर्थ हिन्दू मात्र खत्तम धर्म हो, हिन्दू दर्शन नै सबै बिसंगतिको जड हो र समाजलाई मन्दिरमुक्त र हिन्दूमुक्त बनाएर मात्र असली साम्यवाद आउँछ भन्ने ‘युटोपियन कपटी’हरु अर्को अतिवादका मतियार हुन् । नेपाली समाजले वा हाम्रो समाजले यस्ता धार्मिक धमिराहरुलाई पहिचान गर्न सक्दा मात्र वामपन्थ र समाज दुबै गतिशिल हुसक्दछन् । समाजले निरपेक्ष वामपन्थ र भिजिलान्ते चरित्रको निरपेक्ष सिपाही चिन्न चाँहि सक्नु पर्दछ ।

  • ‘म कसरी तानाशाह भएँ, निर्वाचनबाटै जनताले पुरस्कृत गर्ने कि सजाय दिने टुंगो गर्छन्’

    ‘म कसरी तानाशाह भएँ, निर्वाचनबाटै जनताले पुरस्कृत गर्ने कि सजाय दिने टुंगो गर्छन्’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय कुनै हालतमा असंवैधानिक हुन नसक्ने बताएका छन्।

    अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले स्थिरताको लागि ताजा जनादेशमा जाँदा संबिधान विरोधी काम नहुने भएको बताएका छन् ।

    प्रतिनिधिसभा विघटन गरेर आफूले हातमा शासन नलिएको पनि उनले बताए। ‘मैले आफ्ना हातमा शासन लिएको भए पो तानाशाही हुन्थ्यो, जनताबीचमा लैजाँदा म कसरी तानाशाह भएँर’, ओलीले भने, ‘सांसद किनबेच र तिगडम गरेर म नै शासनमा रहन्छु भनेको छैन। मैले त जनतालाई मेरो र अरुको काम पनि मूल्यांकन गर्नुस् भनेको हो।’

    आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा भइसकेकाले अब दण्ड सजाय पनि उनीहरुले नै दिने ओलीले बताए। ‘अब निर्वाचनबाटै जनताले पुरस्कृत गर्ने कि सजाय दिने टुंगो गर्छन्’, उनले भने, ुजनताबाटै सबै कुराको हिसाब किताब हुन्छ, मेरो पनि हिसाब जनताले नै गर्नेछन्।

    ‘एकथरीले संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक, जनविरोधी भयो भनिहरेका छन्’, उनले भने, ‘संविधान विघटन गलत भन्नेहरु देशविरोधी, जनता विरोधी, लोकतन्त्र र स्थायित्व विरोधी हुन्।’

    उनले बहुमतको सरकार तोडेर अस्थिरता लाद्न खोजिएपछि आफूले बाध्य भएर उक्त कदम चालेको बताएका छन्। ‘बहुमतको सरकार तोडेर देशलाई अस्थिरतातर्फ लैजान खोजियो, त्यहीकारण ताजा जनादेशमा जाने निर्णय लिएका हौँ’, ओलीले भने ।’

    ओलीले बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुको उचित व्यवस्थापन गरिएको बताए । त्यस्ता व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य, सीप विकासका लागि सरकारले उचित सहयोग गर्ने उनले आश्वासन दिएका छन् ।

    ‘सरकारले शारीरीक अपाङ्गता भएका व्यक्तिहरुको उचित हेरविचार गर्नुपर्छ । सरकारले अभिभावक, शहारा नभएका व्यक्तिहरुका सन्दर्भमा म तपाईहरुलाई ढुक्कसँग भन्न चाहान्छु, सरकार छ,’ उनले भने, ‘हिजो खाते भनेर अपमान गरिन्थ्यो ।

    आज कुनै पनि नेपालीका छोराछोरीले खाते भन्ने सुन्नु बेहोर्नु परेको छैन् । हामी नेपालीका छोराछोरीलाई खाते हुन दिँदैनौं । अहिले सडकमा खाते छैनन् । जसलाई खाते भनेर अपमान गरिन्थ्यो । सरकार अभिभावकको भूमिका खेल्छ । सरकार छ । यसमा भूगोल, जात, भाषाको हिसाब हुँदैन ।’

    प्रधानमन्त्री अ‍ोलीले सरकारले सडक मानवमुक्त अभियान सफल पारेको बताएका छन् । उनले सडकमा अलपत्र परेका अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले खोजीखोजी खाना खुवाएको बताएका छन् ।

  • ‘प्रतिगमनविरूद्ध सबै जनता जागिसके, सुत्नेवाला छैनन्’- प्रचण्ड

    ‘प्रतिगमनविरूद्ध सबै जनता जागिसके, सुत्नेवाला छैनन्’- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार्न नसकिएको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा भएको प्रर्दशनपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीलाई सम्झाई–बुझाई गर्दा पनि उनको प्रवृत्तिलाई ठिक गर्न सकिएको बताएका छन् ।

    ‘सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो । हामीले त्यसका विरुद्ध बहस गरेका थियौ । आज के भन्न चाहन्छु भने हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं । केपीलाई सम्झाई–बुझाई गरेर उदारतापूर्व उहाँका कतिपय कुरा मान्दा देश अगाडि जाने हो कि भनेर सोच्यौं । त्यो तरिकाले केपी ओली प्रवृत्तिलाई ठिक गर्न सकिने रहेनछ’, उनले भने ।

    उनले जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेको बताउँदै राजा महाराजाको श्रीपेच झिकेर लात्तले हान्न सके पनि देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुुरा गर्न नसकेको बताएका छन् ।

    ‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेका थियौं । राजा महाराजाको श्रीपेच झिकेर लात्तले हान्न सक्छन् भन्ने प्रमाणित गरेका थियौं । तर देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुुरा गर्न सकेनौं,’ उनले भने, ‘सुरुदेखि केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपथ्र्यो, सकिएन । म आज आत्मालोचित हुन चाहन्छु । तर हाम्रो कमजोरीलाई, उदारतालाई कमजोरी ठान्ने जुन दुस्साहस उनले गरे, त्यसले हामी तपाईहरुको अगाडि आउन वाध्य भयौं ।’

    उनले प्रधानमन्त्री अ‍ोलीले गरेको संसद विघटनका विरुद्धमा जनता जागेको बताएका छन् । उनले प्रतिगमनविरुद्ध सबै जनता खडा भइसकेको बताए ।

    ‘संसद विघटनविरुद्ध अब जनता जागिसके, सुत्नेवाला छैनन् । प्रतिगमनविरूद्ध सबै जनता खडा भइसकेका छन्,’ उनले भने ।

  • प्रतिनिधिसभा पुन:स्थापना हुँदैन, देश निर्वाचनमा गइसक्यो रोक्छ कसले ?

    प्रतिनिधिसभा पुन:स्थापना हुँदैन, देश निर्वाचनमा गइसक्यो रोक्छ कसले ?

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका महासचिव विष्णु पौडेलले सरकारले निर्वाचनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न तयार रहेको बताएका छन् ।

    बिहीबार ओली निकट प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकाय र सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको बजेटले नरोकिने बताएका हुन् ।

    ‘नेपाली समाज नयाँ निर्वाचनतर्फ गइसकेको छ। प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ’, उनले भने, ‘तर अब प्रतिनिधिसभा पुन:स्थापनाको कुनै सम्भावना छैन र हुनै सक्दैन। संविधानको धारा ७६ को ७ र धारा ८५ ले पाँच वर्षअघि नै प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको छ।’

    उनले वैशाखमा निर्वाचन भएरै छाढ्ने दावी गरे। ‘आगामी वैशाखको १७ र २७ गते निर्वाचन भएरै छाड्छ, हामी ताजा जनादेशका आधारमा नयाँ जनप्रतिनिधि संस्थाको निर्माण गरेर छाड्छौँ।

    मुलुकलाई अगाडि लैजान्छौँ’, ‘सरकारले निर्वाचनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न तयार छ भने निर्वाचन हुँदैन कसरी ?, निर्वाचन रोक्छ कसले’ उनले भने।

    प्रतिनिधिसभाका बहुमत सदस्यको साथमा संसद विघटन गरिएकाले पौडेलले बताए । ‘संसद अनुशासित हुन सकेन भनेर ताजा जनादेशका लागि जान संसद विघटन गरिएको छ । तोकिएको समयमा निर्वाचनमा हुन्छ । निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन सम्मान गर्न सक्षम रहेको छ ।

    राजनीतिक दलले निर्वाचनमा जानका लागि अदालतको निर्णयको प्रतिक्षा गरिरहेको अवस्था छ । निर्वाचन हुन सक्दैन भनेर भ्रम सिर्जना गर्न खोजिएको छ । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुमतसहित देश सबैभन्दा ठूलो दल भन्ने उनको दाबी छ ।

  • रगत र प्लेट्लेट्स गरी १० महिनाको अवधिमा २३ पटक दान; इच्छाशक्ति भए सम्भव

    रगत र प्लेट्लेट्स गरी १० महिनाको अवधिमा २३ पटक दान; इच्छाशक्ति भए सम्भव

    अर्जुन मैनाली, न्यूयोर्क

    साधारणतया रक्तदानको माध्यमबाट कोरोना भाईरस सर्दैन । किनकी यो श्वास प्रश्वासको माध्यमबाट सर्दछ । सम्भावित रक्तदाता अर्कै सहर वा राज्यबाट आएको भए दुई हप्ता रक्तदान नगर्न भनिन्छ । कोरोना लागेका शंकास्पद ब्यक्तिसँग संपर्क भएकालाई पनि रक्तदान नगर्न भनिन्छ । मुखमा मास्क लगाइ राख्न र छिन-छिनमा साबुन पानीले हात धुन लगाइन्छ । यसरी भाईरस बिरुद्ध धेरै सावधानि अपनाइएको हुन्छ । कोरोना महामारी सुरु भएयता करोडौले रक्तदान गरी सकेका छन । त्यत्तिकै परिमाणमा बिरामीहरुले रक्तसन्चार गरी सकेका छन । कुनै पनि बिरामीलाई रक्तसन्चारकै कारणले कोरोना रोग लागेको भन्ने तथ्य आएको छैन ।

    रक्तदान गर्नका लागि देशै पिच्छे फरक फरक नियमहरु छन । अमेरिकामा ५० किलो तौल भएका, १६ बर्ष भएकाले अभिभावकको सहमतिमा रक्तदान गर्न सक्छन । १७ बर्षदेखि ७५ बर्षसम्मकाले स्वविवेकले रक्तदान गर्न सक्छन । ७५ बर्षभन्दा माथिकाले डाक्टरको स्विकृति लिएर रक्तदान गर्न सक्छन । नेपालमा ४५ किलो तौल भएका, १८ बर्षदेखि ६५ बर्षसम्मकाले रक्तदान गर्न सक्छन । रक्तदान गर्न जानु भन्दा अगाडि खाना खाएको हुनुपर्छ । बिगत २४ घण्टामा प्रसस्त पानी पिएको हुनुपर्छ । साधारणतया हाम्रो शरीरमा करिव ७० प्रतिशत तरल पदार्थ हुन्छ । यसलाई सन्तुलन गरी राख्न दिनहुँ आफ्नो शरीरको तौलको ४-५ प्रतिशत तरल पदार्थ पिएको हुनुपर्छ । यदि तीन प्रतिशत पनि तरल पदार्थ पिएको छैन भने, त्यस्तो अवस्थामा हाम्रो शरीरमा शुक्खा भई सकेको हुन्छ । त्यसै पनि कमजोरी महसुस हुनसक्छ । त्यस्तो अवस्थामा रक्तदान गर्दा शरीरमा थप शुक्खा हुन गई रिङ्गटा लाग्ने कमजोरी अनुभव हुनसक्छ । अनि रक्तदान गरेका कारण केही चक्कर, हल्का टाउको दुख्ने, कमजोरी भएँ भन्ने लाग्न सक्छ । यसैले रक्तदान गर्नु भन्दा अगाडि उपरोक्त कुरामा ध्यान दिनु पर्छ । तर लामो समयसम्म रक्तदान गरी राख्नुहुनेहरुलाई छोटो अबधिको लागि एनिमिया, तिर्खा लाग्ने, थाकेको महसुस हुन सक्ने खतरा हुन सक्छ ।

    रक्तदान गर्दैमा मानव शरीरको प्रतिरक्षा प्रणालिमा कमजोर हुँदो रहेनछ । किनकी शरीरले तुरुन्तै प्रतिरक्षा प्रणालिहरुलाई प्रतिसथापन गर्दछ । यो कोरोना महामारिमा रक्तदानको बिषयमा मसँग ठुलो अनुभव रहेको छ ।


    न्यूयोर्क सहर कोरोना रोगले अस्तब्यस्त भएको बेलामा एप्रिल २४, २०२० मा मैले पहिलो पटक रक्तदान गरेको थिएँ । त्यस यता जनवरी १२, २०२१ सम्मको १० महिनाको अबधिमा २३ पटक (४ पटक रगत र १९ पटक प्लेट्लेट्स) दान गरेछु । हरेक पटक रक्तदान गर्न जाँदा रक्तदाताको रक्तचाप, नाडी धड्कन, तापक्रम, रगतमा लौह तत्व जाँच गरिन्छ । यो दश महिनाको अबधिमा मेरो शरीरबाट ११.५ लिटर रगत र रक्ततत्व निकालेको छ । मेरो शरीरमा कुनै कमजोरीपन वा बिमारी भएको छैन । मेरो आफ्नो दैनिकी काममा पनि कुनै कमी छैन । हुन त यसरी रक्तदान गर्नु त्यो पनि विषम अवस्थामा, जुन चानचुने प्रयास थिएन । तर मैले यस्तो बेला रगतको अभाव हुन् भन्ने पढ्को थिएँ । मेरो अनुभवका आधारमा सम्भावित रक्तदाताहरुलाई कम्तिमा पनि बर्षको एक पटक रक्तदान गरौ भन्न खोजेको मात्र हुँ । धेरै देशका बिरामीहरुले रगत नै नपाएका कारण हामीले धेरै समाचार सुनेका छौ । विश्व स्वास्थ्य संगठनले हरेक देशमा बिरामीहरुले सजिलै रगत पाउन त्यस देशको जनसंख्याको करीब दुई प्रतिशत नागरिकले रक्तदान गर्नै पर्छ भनेको छ । यस अर्थले तपाईं सबै युवाहरुमा कम्तिमा बर्षको एक पटक रक्तदान गर्नु हुन अनुरोध गर्दछु ।

    कोरोना महामारीको चरम अवस्थामा गरिएको रक्तदान
  • आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

    आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएको छन् । प्रतिनिधिसभा विघटनपछि चौतर्फी आलोचनाको शिकार बनेका प्रधानमन्त्रीले यो कदमबारे एक्लै प्रतिकार गरिरहेका छन् । सोही सन्दर्भमा उनले यसबारे संचारमाध्यम, आमसभाबाट बोलिरहेका छन् ।

    आज उनी राष्ट्रिय सभामा बोल्ने भएका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । संसद विघटनपछि राजनीतिक रुपमै पार्टी दुई खेमामा विभाजित हुनुका साथै उक्त कदम असंवैधानिक भएको भन्दै पार्टी भित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ ।

    बैठकमा प्रधानमन्त्रीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने छन् । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

  • सरकारको कदमबारे देउवाको ढुलमुले नीति, कांग्रेस भित्रै आक्रोस

    सरकारको कदमबारे देउवाको ढुलमुले नीति, कांग्रेस भित्रै आक्रोस

    काठमाडौं । शुक्रबार जब नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्ना नेताहरुलाई संसद पुनस्र्थापना बारे नबोल्ने निर्देशन दिए, त्यसपछि सामाजिक संजालमा उनिविरुद्ध कांग्रेस पंक्तिबाट तिब्र आलोचना शुरु भयो । कतिपयले लोकतन्त्रलाई सबैभन्दा बढी खतरा यदी कोहीबाट छ भने त्यो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सम्म भन्न भ्याए ।

    किनकी उनी पदका लागि असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीलाई मौन समर्थन गरिरहेका रहेका छन् । सरकारले संसद विघटन गरेकै दिन पदाधिकारी बैठक बोलाएर कांग्रेसले एक धारणा बनाएको थियो ।

    जसमा भनिएको थियो, ‘प्रतिनिधिसभा विघटनलाई संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्र हो ।’ यसबारे औपचारिक निर्णय गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलायो ।


    पुस ७, ८, ९ र १० गते गरी चार दिनसम्म चलेको बैठकमा १७ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । संसद विघटनको विरोधमा १३ पुसमा १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन राखिएको छ । तर, कांग्रेसले केन्द्रिय कमिटी भने १९ पुससम्मका लागि स्थगित गरेको छ ।

    यसमा नेता तथा कार्यक्रता पार्टी सभापति शेरबहादुर देउवाको नियतः देख्छन् । संसद विघटनविरुद्ध कडारुपमा प्रस्तुत हुन नचाहेकै कारण उनले बैठक अनेक बाहनामा लम्याएको आरोप नेता तथा कार्यक्रताको रहेको छ ।

    शेर बहादुर देउवा भने संसद भंग भएपनि चुनावमा जाने मनसायमा छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापा लगायतका नेताहरु संसद भंग गर्नु असंवैधानिक भन्ने निष्कर्षमा पार्टी पुगिसकेकाले सडक आन्दोलनको विकल्प नभएको निष्कर्षमा छन् ।

    बैठकमा संसद पुनस्र्थापनाको माग राख्नासाथ देउवाले आफ्नै केन्द्रिय सदस्यहरुमाथि प्रतिवाद गर्न थालेसँगै पार्टी भित्रै उनको नियतबारे संका शुरु भएको हो ।

    त्यसो त, प्रधानमन्त्रीले राज्यका तीन वटै अंग र निर्वाचन आयोगलाई समेत आफ्नो पडकमा लिई चालेको कदम भएकाले तत्कालका लागि प्रधानमन्त्रीविरुद्ध कुनै पनि निकायले निर्णय नगर्ने भएको बुझेका देउवा यो निर्णयबाट लिन सकिने लाभप्रति पनि जानकार रहेको आंशका गरिएको छ ।

    पछिल्ला दिनमा प्रधानमन्त्रीले संविधानका प्रावधान कुल्चदै धमाधम निर्णय गरिरहेका छन् । त्यसकै एक पाइला उनले शुक्रबार चुनाव हारेका र चुनाव नै नलडेका नेतालाई मन्त्री उपहार दिए । जुन संविधानमा कतै परिकल्पना गरेको विषय होइन ।

  • प्रतिनिधि सभा विघटनपछि नेपाली कांग्रेसको आगामी बाटो

    प्रतिनिधि सभा विघटनपछि नेपाली कांग्रेसको आगामी बाटो

    रविन तुम्वाहाङ्फे, कनेक्टिकट

    नेपालका प्रधानमन्त्री केपी ओलीद्वारा प्रतिनिधि सभा विघटन प्रस्तावलाई राष्ट्रपतिद्वारा संबिधान संरक्षकको नाताले आवश्यक छलफल गर्नु पर्ने थियो । संविधानका ज्ञाताहरु र स्वयंम प्रधानमंत्री सहित विभिन्न पार्टीका राजनैतिक दलका नेताहरुसंग परामर्श गरी संविधान सम्मत नभएको प्रस्तावलाई घनिभुत रुपमा छलफल गर्नको लागि जनताद्वारा निर्वाचित प्रतिनिधि सभामा कम्तिमा एक पटक पठाउनु पर्नेमा त्यसो नगरि हतास मनस्थितिमा गएर सम्माननीय राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरियो । यो आँफैमा असंवैधानिक, अलोकतान्त्रिक र जनभावना विपरित छ । त्यति मात्र होईन यो ०६२/०६३ सालको जनआन्दोलनद्वारा स्थापित लोकतान्त्रिक गणतन्त्रको भावना विपरित पनि छ ।
    हुन त यसभन्दा अगाड़ि पनि नेपालको इतिहासमा प्रतिनिधि सभा विघटन नभएका होईनन्, जस्तै २०५१ मा नेपालका प्रधानमंत्री स्व. गिरिजा प्रसाद कोईराला, २०५२ मा पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारी साथै २०५९ मा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा प्रतिनिधिसभा विघटन गरिएको थियो । तर ती सबै विघटन भएको प्रतिनिधिसभामा संविधानले प्रधानमन्त्रीलाई दिएको विशेष अधिकारको प्रयोग गरेको देखिन्छ भने हाल भएको प्रतिनिधिसभा विघटनमा न त संविधानले प्रधानमन्त्रीलाई विशेष अधिकार नै दिएकोछ न संविधान सम्मत नै छ, छ त यो केवल नेकपा भित्रका नितान्त क , ख, ग नेताहरुले घेराबन्दी गरे वा काम गर्न दिईएन भनेर भनिएको छ। संसद समेत चालु नभएको अवस्थामा प्रधानमन्त्री विरुद्ध न त अविश्वासको प्रस्ताव नै पेश भएको छ, न त प्रधानमन्त्रीले ती कुनै पनि कुराको सामना नै गरेका छन । त्यसैले ती कुनै पनि कुराको सामना नै नगरीकन गरिएको वा मानौं मलाई यस्तो यस्तो गर्न सक्छन अथवा सपनामा मैले यस्तो यस्तो देखें, उस्तो उस्तो देखें भनेर गरिएको काल्पनिक उत्तेजनामा आएर गरेको विघटन नेपाली जनतालाई मान्य हुँदैन । स्मरण रहोस् राष्ट्र काल्पनिक आधारमा चल्दैन, राष्ट्र चल्छ त केवल कानुनको आधारमा । यसरी ज़बरजस्त नेकपा पार्टी बीचका नेताहरूको झगड़ाले नेपाली जनता र सिंगो देशलाई बन्धक बनाउन पाईंदैन भन्ने अडान अबको दिनमा नेपाली काँग्रेसले लिनै पर्दछ । अर्को तिर नेपाली काँग्रेस पार्टी आँफैलाई लोकतन्त्र र कानूनी शासनको हिमायति ठान्दछ त्यसैले सर्वप्रथम नेपाली काँग्रेसले अब विघटन गरिएको प्रतिनिधिसभालाई पुन:स्थापित गराउने दिशामा कदम चाल्नु पर्दछ र एकपटक फर्केर २०५२ र २०५९ मा भएको विघटित प्रतिनिधिसभालाई क्रमश: अदालतद्वारा र ०६२/०६३ को सडक आन्दोलनबाट नै पुन: स्थापित गरेको नजीरलाई गाहिरोसँग अध्ययन गरी अहिले चालु रहेको नेपाली काँग्रेसको केन्द्रिय कमिटीबाट एक मतका साथ निर्णय गरी कुनै पनि किसिमको लाभको पछाडि नलागी हिजो कांग्रेसले चाहे त्यो न्यायलयसंग गरेको महाअभियोग होस अथवा माओवादीसंग गरेको अप्राकृतिक चुनावी गठबन्धनबाट गुमाएको त्यो साख जोगाउनै पर्छ । जसबाट पार्टीलाई धेरै क्षति भएको थियो । त्यसकारण पनि नेपाली काँग्रेसले अब त्यो किसिमको गल्ति नगरी पूर्ण रुपमा संविधान र कानुनको पालना गरी अदालति प्रकिया र सडक संघर्ष दुवैलाई एकैसाथ लगेर प्रतिनिधिसभालाई पुन: स्थापित गर्नु पर्दछ ।

    त्यसो त नेपाली काँग्रेस भित्र पनि धेरै घरेलु भनौं वा आन्तरिक समस्या नभएका होईनन अब ति सबै कुराहरुलाई पनि एकातिर मिलाएर जानु पर्ने देखिन्छ भने अर्कोतिर नेपालको संविधान माथि कु गरी सरकारले जारी गरेको निर्वाचन तालिकालाई लिएर अहिले कांग्रेसको केन्द्रिय कमिटी भित्र भैरहेको छलफललाई हेर्दा कांग्रेस भित्र पनि दुई धारको बहस चलेको देखिन्छ । कोही नेताहरु चुनावमा सहभगी हुनुपर्छ र कोही यो अवस्थामा चुनावमा सहभागी हुनु हुँदैन भन्ने देखिन्छ । अब नेपाली काँग्रेसले एउटा स्पष्ट धारणा बनाउनु पर्दछ र त्यो स्पष्ट धारणा भनेको के हो भने तत्कालको लागि चुनावमा जाँदा नेकालाई फाईदा नै होला, बहुमत पनि आउन सक्ला अथवा अहिले भएको २३ सिटबाट बढेर निक्कै बढी हुन सक्ला तर संविधान विपरित गरेको प्रतिनिधिसभा विघटन पछिको चुनावी घोषणाले यसको कानुनि र संवैधानिक प्रकिया माथि नै प्रश्नहरु उठ्दैनन भन्ने कुनै ग्यारेन्टी छैन । हो प्रशस्त रुपमा उठ्न सक्छन र उठ्न सक्ने भएकोले गर्दा नै नेपाली काँग्रेसले यो सरकारले जारी गरेको निर्वाचन प्रकियामा सामेल हुनु हुँदैन भन्ने मेरो मत रहेको छ । जब प्रतिनिधिसभा पुन:स्थापित गरी बन्ने नयाँ क, ख, ग नेकपाको सरकारले अब बाँकी रहेको ५ वर्ष पुरा गरी जारी गरेको निर्वाचन प्रकृयामा मात्र सामेल हुँदा नै नेपाली कांग्रेस पार्टीको भलो हुने देखेको छु |

  • संबिधानको सम्मान गर्न नसके पनि अपमान नगरौं

    संबिधानको सम्मान गर्न नसके पनि अपमान नगरौं

    महेश्वर घिमिरे, न्युयोर्क

    लाखौं नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्र ईतिहासको सबैभन्दा महत्वपूर्ण राजनैतिक परिवर्तन हो । त्यसबाट बनेको संविधान र यसको उपलव्धि भनेको नेपालको राज्य संयन्त्रको साँचो हो । नेपाली जनताको वर्तमान र भविष्य हो । भूतपूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीदेखि स्व.गिरिजासम्मले गरेका संसद बिघटनमा आजको गणतान्त्रिक संविधानको कुनै सरोकार थिएन । तात्कालिन संसद बिघटनको मूल्य र मान्यतामा फरक थियो र संबिधान पनि फरक थियो ।
    आज नेपालमा एक तानाशाहको उदय भएको छ, जस्ले जनताबाट पूर्ण अनुमोदित संविधान र जनमतको खिल्ली उडाएर संसद भंग गरेको छ र यसको मतियार राष्ट्रपति बिद्यादेवी भण्डारीले अनुमोदन गरेकी छिन् । जुन कदमले लोकतात्रिक संबिधानको मर्ममा चोट पुर्याएको छ ।
    प्रधानमन्त्री ओलीलाई शक्तिको दम्भले बनाएको नागों वादशाह र नागैं भइसकेपछि जसरी नाँचिदिए पनि के को बेईज्जत ? भन्ने उखानको चरितार्थताले देशलाई अरबौंको भार पर्ने देखिएको छ । प्रधनमन्त्री गुटकी गणतान्त्रिक नेपालको राष्ट्रपतिले औठाछाप व्यवहार देखाएकी छिन् ।

    आज नेपालमा बिभिन्न लालबुझक्कडहरूले आ-आफ्नै तर्कहरू तानिरहेको भएतापनि बुढो गोरूले कोरली गाई ओगटेको जस्तरी के पी ओलीले सरकार र पार्टीको वागडोर ओगटिनै रहे । झण्डै दुई तिहाई जनमत बोकेको बिशाल पार्टी र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गौरवशाली सरकारको भार थेग्नसक्ने क्षमता उनिमा थिएन । अहंकारी , बिश्वासघाति , बहुलठ्ठी , स्वेच्छाचारी र हठ स्वभावका धनि केपी ओलीले पटक पटक लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनहरूको धज्जी उड़ाएकै हुन् । चाहे कॉंग्रेस पार्टी होस् चाहे मधेशवादी पार्टी र चाहे तात्कालिन माओवादी किन नहोस् यी सबैलाई केही न केही रूप तथा अवस्थामा उनको बलबुताले भ्याएसम्म धोखा दिएकै हुन् । आफ्नो अहंकार चुर हुने देखेपछि देश र जनता भाडमै गएपनि जाओस् अझै लाखौं जनताहरूको संघर्षबाट प्राप्त लोकतन्त्र उखेलिएपनि उखेलियोस् यस्ता तानाशाहलाई के मतलब हुन्छ र !
    संसद बिघटनबाट फेरी देशको संपूर्ण स्थिति बलजफ्ति तरलता तिर धकेलिएको छ । नेपालको धमिलो तरलतामा सार्है खेल्न मन पराउने उत्तरका छिमेकी अनि त्यही तरलतालाई उपभोग गरेर फाईदा लुट्न खप्पिस् दक्षिणका छिमेकी यतिबेला थप चनाखो भएका दखिन्छन् । नेपाली मष्तिस्कमा धार्मिक अफिम् छर्न सिपालु पश्चिमा दुतहरु र त्यस्तै नेपालको भौगोलिक अवस्थाको दुरूपयोग गर्न तत्पर पश्चिमाहरूको निमित्त मुख फड्काउने तथा बन्दूक पड्काउनेदेखि लिएर बुट् बजार्ने र नेपालीहरूलाई पछार्नेसम्मको खेल अव नेपालमा थप नचर्किएला भन्न सकिन्न ।

    संसारको ईतिहासलाई हेर्ने हो भने एक कालखण्डमा एक देशमा एक तानाशाहको उदय हुन्छ र त्यसले देश र जनतालाई दिनसम्म दु:ख दिन्छ । आखिर त्यस्ता तानाशाहहरूको ज्यादै दुखान्त अन्त्य हुन्छ । अव सबै नेपालीहरूले बुझ्नुपर्ने यथार्थता के हो भने बेलैमा नेपालमा उदयभएका नवतानाशाह र यसका मतियारहरूलाई शक्तिबाट नझार्ने हो भने संसद बिघटन त एउटा सानो राजनैतिक परिघटना मात्र परिणत हुनेछ । संकटकाल, सैनिक शासन र चुनावी वातावरण नभएको भन्दै कयौं साल नेपालमा तानाशाही तन्त्र चल्नसक्नेछ । देश बिकास र जीविकोपार्जन त पुन: दशौबर्ष पछाडि धकेलिने नै छ । त्यसैले सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुदै बिशाल जन-प्रदर्शन र आन्दोलनद्वारा समयमै यस्ता तानाशाहलाई गद्दीबाट झार्नु आजको अपरिहार्यता हो । संघीय लोकतान्त्रिक संविधानप्रतिको सम्मान गर्न नसकेपनि अपमान गर्ने अधिकार कसलाई छैन ।

  • प्रमुख तीन दलले भने : संसद विघटन संविधान माथिको आक्रमण

    प्रमुख तीन दलले भने : संसद विघटन संविधान माथिको आक्रमण

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन संविधानमाथिको आक्रमण भएको प्रमुख तीन दलले निष्कर्ष निकालेका छन् । आज नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा उपस्थित भएका मूख्य तीन दलले यस्तो निष्कर्ष निकालेका हुन् । सरकारको कदमबारे धारणा बनाउन आज संयुक्त बैठक बसेको थियो ।


    नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीका नेता सहभागी भएका थिए । बैठकमा नेकपा अध्यक्ष प्रचण्डसहित माधव कुमार नेपाल र झलनाथ खनाल समेत सहभागी भए ।

    बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको र यो कदम संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ ।

    ३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने निर्णय समेत निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी गराएका छन् । सरकारको उक्त कदमको प्रतिवादको मोडालिटी भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीमा छलफल गरिने छ । त्यसपछि साझा धारणा बनाएर जाने निचोडमा समेत आजको बैठक पुगेको छ ।

  • कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

    कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका मानिसहरुको ज्यान जोखिममा परेको यस समय निर्माण हुने खोप विश्वव्यापी सर्वसुलभ उपलब्धताको वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । कोभिड १९ का कारण सम्पूर्ण मानव समुदाय नै संकटमा परेको समय जीवन रक्षाका खोप अधिकतम नाफाका माध्यम हुन नसक्ने समेत उनले बताए ।

    कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई भिडियो सम्बोधन गरेका प्रधानमन्त्रीले यस्तो खोप गरिबी र अतिकमविकसित मुलुकमा समेत सहजै उपलब्ध हुनुपर्ने विषयलाई महत्वका साथ उठाएका छन् ।

    प्रधानमन्त्री ओलीले कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्ने भन्दै जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धतामा जोड दिए । प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने उल्लेख गरे

    अहिले विश्वमा सबैको पहुँचमा खोप पुर्याउन भइरहेको प्रयास सह्रानिय रहेको समेत उनको भनाई छ । कोरोना भाइरस र यसले पारेको प्रभाव साथै त्यसको न्यूनिकरणका उपाय सम्बन्धमा संयुक्त राष्ट्रसंघले विशेष महासभा बोलाएको हो ।

  • अमेरिका, म र रिपव्लिकन

    अमेरिका, म र रिपव्लिकन

    योगेश आदी

    [email protected]

    सन् २००७ मा मलाई अमेरिकी डिभी चिट्ठा पर्यो । अमेरिकाको बारेमा थप रुचि बढ्यो । जर्ज डब्लु बुस राष्ट्रपति थिए । कार्यकाल सम्हालेकै वर्ष ९११ को घटना र रस्सियन अर्थतन्त्रको विश्वब्यापि असरको कारण अमेरिकी अर्थतन्त्र पनि खस्कदो थियो । यसै कारण बुसलाई सबैले अभागी राष्ट्रपति भन्दथे । सहानुभुति स्वरुप मैले केही नबुझी रिपब्लिकनसँग भावना जोडें ।

    पछि नेपालको काँग्रेस भनेको रिपब्लिकन जस्तो निजीकरण, व्यापारी र राष्ट्रबादी बढी हुन्छन् भन्ने र डेमोक्र्याटिक भनेको नेपालको कम्युनिष्ट जस्तो साना व्यवसायीलाई हेर्ने, समाजबादी, सर्वराष्ट्रबाद सहज स्वीकार्ने जस्तो हुन्छन् भन्ने भ्रममा म पनि रुमल्लिएँ । आखिर सिद्धातत: दुबै गलत छैनन् । तथापि मैले अमेरिकी राजनीतिमा कहिल्यै खासै रुचि राखिन । किनकि गरिखाने बर्गलाई बढी राजनीति लाग्छ तर गराईखाने बर्गले राजनीतिमा पकड राख्दछ, भन्ने म बुझ्छु । गणपुरक सँख्या पुर्याउन, ताली बजाउन र आफ्नो टाउको गन्तिमा पारेर अरुको लागि सिंढी बन्न मैले सकिन । अमेरिकी चुनाव भरी म मौन रहें । केही आर्टिकल रिपव्लिकनको पक्षमा लेख्न चाहन्थे तर रिपब्लिकनको उमेदवार असल मानिस र राजनैतिक प्राणी नभएको ठहर गरी नैतिक रुपमा खुम्चिएँ । 

    नेपाली साथीहरुले आप्रबासीले डेमोक्र्याट बन्नुपर्छ । रिपब्लिकनले व्यापारी मात्र हेर्छ । अमेरिकाबाट दास प्रथाको अन्त्य गर्ने ऐतिहासिक राष्ट्रपति अब्राहम लिंकन पनि रिपब्लिकन थिए भन्ने बिर्सिएर रिपब्लिकन गोराको हो… ईत्यादि लेखेर फेसबुक भ्रममय पार्यो । कसैको कमेण्टमा एक शब्द पनि खर्चिन । राष्ट्रपति ट्रम्पको व्यवहार हेपाहा, पोजे, छुद्र, छुच्चो जस्तो देखिन्छ किनकि जे हो त्यही देखिने हो । तर यति हुँदाहुँदै पनि अमेरिकाको आधा आकाशले भोट दिएको वा सही ठानेको व्यक्ति भने निसंकोच हो । क्षमता र योग्यता नभै कुनैपनि व्यक्ति अमेरिकाको राष्ट्रपति पदको उमेदवार बन्ने हैसियतमा पुग्दैन । यसर्थ ट्रम्पले भन्दा बढ्ता नीतिहरु आफैले जानेको भ्रम त्याग्दा राम्रो । कतिपय साथीहरुले ट्रम्पको सपोर्टमा; अर्थतन्त्र सुधारेको, बेरोजगार दर घटाएको भनेर देवतुल्य नै मानेर लेखे । राष्ट्राध्यक्षको काम नै राष्ट्रको हित गर्ने हो भने कुन नौलो काम गरेको भयो र ? ट्रम्पलाई स्वाभावसँग जोडेर हेर्ने अर्को पक्ष देखिए । शौचालय बस्दा पनि ट्रम्पलाई सत्तोसराप गरेर एउटा स्टाटस लेखी मनशान्त पार्नेहरु देखें । आधा ओच्छ्यान चिसै छाडेर रातभर ‘ट्रम्प हाउगुजी’ वाला स्टाटस लेखिबस्ने पनि भेटें । ति सबैले ट्रम्प ब्यक्ति होइन संस्था हो, भन्ने भुले ।आखिर बिगत ४ बर्षमा ट्रम्पले ह्वाइट हाउसको भित्तामा कालो पोतेनन् । मेक्सिकोसँगको २००० माइल्स सिमिनामा अत्यावश्यक परेको ठाउँ हेरी ५ माइल मात्र पर्खाल लगाए । बरु सन् २०१९ मा मेक्सिकोसँग ६७७ बिलियन अमेरिकी डलरको व्यापार गरेर रेकर्ड बनाए । २९० बिलियन एक्सपोर्टको बदलामा ३८८ बिलियनको इम्पोर्ट गर्दिए । अमेरिकाको राष्ट्रपतिले अमेरिकालाई के गर्यो त्यो मुल्याङ्कन गर्नुपर्छ, नकि अन्य राष्ट्रलाई के गर्यो वा भन्यो । 

    यो हप्ता सबैभन्दा टिठलाग्दो र दरिद्री फेसबुके स्टाटस् के देखियो भने; ‘ट्रम्पलाई सपोर्ट गर्ने ट्रम्प जस्तै स्वाभाव भएकाहरु मात्र हुन्’ भन्ने । महाशय, लेनिन र प्रचण्डले जति हत्या कसले गरे ? त्यति झुठ कस्ले बोलेका होलान् । के प्रचण्डलाई भोट हाल्ने सबैलाई त्यस्तै ठान्ने ? हिन्दुको नाक काटेर फलानाको फलानो ठाउँ टाल्ने मोहनदास करमचन्द गान्धीलाई सबैले महात्मा ठान्नै पर्छ भन्ने छैन । मनको खराब त हिटलर पनि थिएन मित्रजन् ! मोरल रिलेटिभिजम्ले गलत कसैलाई पनि देख्दैन । देख्नु हुँदैन । उस्को जुत्ताको अनुभव तिमीलाई छैन भने हावामा किन माइल्स नाप्छौ ? मासु खानुलाई पाप ठान्ने र मासु खान पाउँदा उत्सव मान्ने दुबै पक्ष एउटै घरमा हुन्छन् । तर्क आ-आफ्नो, सोच आ-आफ्नो ।

    यो हप्ता आप्रबासीलाई अर्को भ्रम छरियो – रिपब्लिकनले आप्रबासीलाई खेद्छ, आप्रबासी डेमोक्र्याट्स नै बन्नुपर्छ, भन्ने ।

    दोश्रो विश्वयुद्धपछि अमेरिकामा युरोपेली आप्रबासी भित्र्याउने नीति रिपब्लिकन राष्ट्रपति आइजन हावरले ल्याएका थिए । त्यस्तै अमेरिकामा सन् १९७५ देखि शुरु भएको राजनैतिक शरणार्थी (एसाइलम) को ढोका खोल्ने कार्य रिपब्लिकन राष्ट्रपति गेराल्ड फोर्डले गरेका थिए । करिव ६० प्रतिशत एसालम केस रिजेक्ट भएको आंकडा छ । सबैभन्दा बढी रिजेक्ट डेमोक्र्याटिक राष्ट्रपति बाराक ओबामाको पालामा भएको थियो । हालसम्म २० लाख मानिस राजनैतिक शरणार्थीको रुपमा अमेरिका पसे । जसमा ४० हजार स्विकृत भएका छन् ।

    सबैभन्दा महत्वपूर्ण कुरा त अमेरिकामा समुदाय बीच सन्तुलन ल्याउन हरेक वर्ष ५५ हजार आप्रवासी भित्र्याउने डिभी चिट्ठाको शुरुवात सन् १९९० मा ईमिग्रेसन ऐन जारी गरी लागू गर्ने पनि रिपब्लिकन राष्ट्रपति जर्ज वाकर बुस नै थिए । अब कुन पार्टीले आप्रबासीको हितमा के उल्लेख्य कार्य गर्यो भनेर कुर्लनु भन्दा अगाडि सत्य तथ्य बुझौं ।

    अमेरिकी ईतिहासमा सबैभन्दा बढी आप्रबासी खेद्ने राष्ट्रपति पनि ओबामा बनेका छन् । उनको पालामा ८ वर्षमा ३२ लाख आप्रबासी अमेरिकाबाट धपाइए । ओबामाअघि रिपव्लिकन बुसको पालामा ८ वर्षमा २० लाख निकालिएका थिए । ८ वर्ष ‘होप र ड्रिम्स’ भनेर मिठो बोल्दै अल्मल्याएर असफल बैदेशिक नीतिको हिस्सेदार बनि कार्यकाल सक्ने राष्ट्रपति भन्दा ठाडो बोलेर काम गर्नेलाई आचरणकै कारण गलत मात्रै देख्नु हुँदैन । त्यसो त २ वर्ष हाउस र सिनेटमा पुरै कन्ट्रोल हुँदा ओबामाले कुन उल्लेख्य कदम आप्रबासीको हित उठाएनन् ।

    युद्ध र उत्तेजनाको कुरा; डेमोक्र्याटिकहरु युद्धको दोष रिपब्लिकनलाई दिन्छन तर जुलाई १९१४ देखि नोभेम्बर १९१८ सम्म प्रथम विश्वयुद्ध हुँदाको सम्पुर्ण समय डेमोक्र्याटिक राष्ट्रपति उड्रो विल्सन पदमा थिए । त्यस्तै दोश्रो विश्व युद्ध सन् १९३९ देखि १९४५ सम्म चल्दा पनि सम्पूर्ण समय डेमोक्र्याटिक फ्राक्लिन रुजबेल्ट नै राष्ट्रपति थिए । कसैले पनि तथ्यलाई बङ्ग्याएर भ्रम छर्ने काम नगरौं ।

    विचार बाँझिदैमा गलत भन्ने प्रबृति प्रजातान्त्रिक व्यक्तिको हुँदैन । ट्रम्प हुँदा कस्ले के पायो, के गुमायो ? अब बाइडेनको पालामा के थपिएला वा गुम्ला ? समयले देखाउने नै छ । मुल कुरा त के हो भने अमेरिका सिस्टमले चल्छ । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।

  • बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग

    बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग

    कल्पना शाक्य / अधिवक्ता

    सोह्रौं शताब्दीमा महारानी एलिजाबेथ प्रथमको शासनकालमा बेलायतमा पाकेटमारलाई सार्वजनिक स्थलमा झुण्ड्याएर मारियो । उद्देश्य थियो त्यो भयानक दृष्य देखेर अब उप्रान्त कसैले चोरी गर्ने दुस्साहस नगरोस । हजारौं मानिसहरुले पाकेटमारलाई झुण्डाइएको दृष्य त्रास मिश्रित उत्सुकताका साथ हेरे । सबैको ध्यान झुण्ड्याइएको ब्यक्तितर्फ खिचिएको मौका छोपेर त्यही भिडमा एक ब्यक्तिको पाकेट मारियो । दृष्टान्त; मृत्युदण्डको भयले मात्र पनि अपराध रोक्न सकिदैन ।

    प्राचिन समयमा अपराधिलाई बदलाको भावनाले दण्डित गरिन्थ्यो । आँखाको बदला आँखा, हातको बदला हात, खुनको बदला खुन अर्थात अरुलाई जस्तो पिडा पुर्याएको छ त्यस्तै पिडा निजलाई दिएपछि मात्र आफ्नो गल्ति महसुस हुन्छ साथै यसबाट पिडितलाई राहत महसुस हुन्छ भन्ने मान्यता थियो । 

    दण्डका यस्ता क्रुर र अमानवीय परिपाटी बिरुद्ध मानवतावादी दार्शनिक, कानुनविद, मनोवैज्ञानिक, अपराधशास्त्रीको लामो पहलसँगै दण्डमा सुधारवादी धारणहरु अगाडि बढ्दै आए । सुधारबादी धारणा नै उदारबादी अवधारणा हो । अपराध रोग हो र अपराधि रोग भएको हुँदा रोगीलाई कठोर दण्ड दिएर होईन कि उपचार गरेर सभ्य समाजमा पुनर्स्थापित गर्नुपर्छ भन्ने मान्यता उदारवादी सिद्धान्तले राख्दछ ।

    दण्डका सिद्धान्तमध्ये तुलनात्मक रुपमा सुधारात्मक सिद्धान्तलाई लोकप्रिय सिद्धान्त मानि आएतापनि पछिल्लो समयमा घटित क्रुर र अमानवीय अपराधहरुको बढ्दो तथ्याङ्कको कारण आम मानिसले कठोर दण्ड अर्थात मृत्युदण्ड प्रणालीकै माग राखी आवाज उठाईरहेको परिप्रेक्षमा दण्डको सुधारात्मक प्रणालीको औचित्य माथिनै प्रश्न चिन्ह खडा भएको छ । दिनानुदिन बृद्धि हुँदै गईरहेको बालिका बलात्कारपछि हत्याका घटनाहरुले ‘बलात्कारीलाई फाँसी देऊ’ भन्ने नारा लगाउँदै आम मानिस तथा अधिकारकर्मीहरुले यस्ता अमानविय कुकृत्य बिरुद्ध रोष प्रकट गर्न थालेका छन् । हुनत: नेपालमा २०६६ सालमा ख्याती श्रेष्ठ अपहरण र हत्याको समयमा नै पहिलो पटक मृत्युदण्डको आवश्यकताको बारेमा न्यायिक समिति हुँदै संसदीय स्तरमा समेत छलफल शुरु भएको थियो तर छलफलमै मात्र सिमीत रह्यो । 

    ऐनमा कस्तो व्यवस्था छ ?

    बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न नसकिए तापनि मु.ऐ. २०२० को एघारौं संशोधनले जबरजस्ति करणीको महलमा संशोधन गरी ३ देखि बढीमा १० वर्षसम्मको कैद व्यवस्थामा बृद्धि गरी ५ वर्षदेखि बढीमा १५ वर्षसम्म कैदको व्यवस्था गरियो । साथै सामुहिक बलात्कार, गर्भवति अपाङ्ग महिलालाई बलात्कार गर्नेलाई अर्को ५ वर्षको सजाय थप हुने व्यवस्था गरिनुका साथै यौनकर्मीलाई पनि निजको मञ्जुरी बेगर जबर्जस्ती गरेमा अपराध ठहरी समान सजाय हुने र आफ्नै पत्नीलाई समेत निजको मञ्जुरी बेगर शारीरिक सम्पर्क गरेमा ३ देखि ६ महिनासम्म कैद हुने व्यवस्था गरियो । १६ वर्ष भन्दा कम उमेरका महिलाको सहमतिमा नै सम्वन्ध स्थापित गरेतापनि बलत्कार ठहर्ने, सतित्व बचाउन ज्यान लिएमा बात नलाग्ने व्यवस्थालाई भने मुलुकी ऐन २०२० ले शुरुवात देखिनै समेटेको थियो ।

    हाल विद्यमान मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा दफा २१९ देखि २२९ सम्म जबर्जस्ति करणी सम्बन्धि व्यवस्था गरिएको छ ।१८ वर्ष भन्दा कम उमेरका महिलाको सहमतिमा नै सम्वन्ध स्थापित गरेतापनि बलत्कार ठहर्ने, न्यूनतम सजाय ७ देखि अधिकतम सजाय २५ वर्ष कायम गरिएको छ भने आफ्नै पत्नीलाई पनि जबरजस्ती करणी गरेमा मु.ऐ. २०२० को एघारौं संशोधनले गरेको ६ महिनासम्मको सजायमा बृद्धि गरी ५ वर्ष सम्म बनाईएको छ । त्यसैगरी सहमति लिएरै पनि कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गरेमा, आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग वा होस ठेगानमा नरहेको वा शारीरिक वा मानसिक रोग लागी उपचार वा पुनर्स्थापना गर्ने कुनै संस्थामा राखिएको कुनै व्यक्तिसँग त्यस्तो संस्थाका पदाधिकारी वा कर्मचाारीले करणी गरेमा ऐनले हुने सजायमा थप ३ वर्षसम्म कैद हुनेछ । त्यसैगरी पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्नेलाई ४ वर्षसम्म कैद र रु. ४० हजारसम्म जरिवाना हुनेछ र त्यस्तो करणी यस ऐन अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुने व्यवस्था गरी मुलुकी ऐन एघारौ संशोधनले समेट्न नसकेको थुप्रै पक्षहरुलाई समेटेको पाईन्छ । 

    यति हुँदाहुँदै पनि मुलुकी ऐन २०२० को जबर्जस्ती करणीको महलको ८ नं. ले बलात्कार गर्ने प्रयास गर्नेलाई आफ्नो सतित्व रक्षाको बचाव गर्दा मर्न गएमा बात नलाग्ने साथै बलात्कार भईसकेपश्चात पनि एक घण्टा भित्र पिडितले पिडकको ज्यान लिएमा बात नलाग्ने कानुनी व्यवस्थालाई व्यवस्थालाई नयाँ मुलुकी अपराध संहिता २०७४ ले खारेज गरेर पश्चागामी चरित्र प्रर्दशन गरेको प्रतित हुन्छ । अर्कोतर्फ हाल बृद्धि भईरहेको निर्दोष बालिकाहरुमाथिको पाशविक आक्रमण र हत्याका घटनाहरुले गर्दा बलात्कारीलाई मृत्युदण्डकै माग गर्न थालिरहेका छन् ।

    मृत्युदण्डको सम्बन्धमा संवैधानिक व्यवस्था कस्तो छ ?

    २०७२ सालबाट लागू भएको संविधानको धारा १६ को उपधारा (२) ले मृत्युदण्ड सम्बन्धि कानुन बनाईने छैन, भनेको छ । संविधान संशोधन सम्बन्धि धारा २७४ को उपधारा (१) ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन । उपधारा (२) उपधारा (१) र यस संविधानको अन्य धाराको अधिनमा रही यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ । तर उपधारा (१) लाई संशोधन गरिने छैन, भनिएको छ । तसर्थ मृत्युदण्ड सम्बन्धि कानुन बनाईने छैन भन्ने धारा १६ को उपधारा (२) को व्यवस्थालाई यस संविधानको संशोधन गर्ने सम्बन्धि धारा २७४ ले असंशोधनीय मानेको भने देखिदैन ।

    तर पनि नेपाल पक्ष रहेको सन् १९६६ को नागरिक तथा राजनीतिक अधिकार विषयक संयुक्त राष्ट्रसंघीय अनुबन्धसँग सम्बन्धित तथा मृत्युदण्डको खारेजीतर्फ लक्षित दोश्रो ईच्छाधिन उपलेख, १५ डिसेम्बर १९८९ मा पारित भएपछि नेपालले ४ जुन १९९८ मा अनुमोदन गरिसकेको हुँदा मृत्युदण्ड दिने व्यवस्था गरी कानुन निर्माण गर्न परिस्थिति अनुकुल देखिदैन । अर्थात अनुबन्धले दिदैन ।

    हालसालै २६ अक्टोबर २०२० मा बंगलादेशको मन्त्रीपरिषदको बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गर्यो । अरु देशका यस्ता घटनाक्रमले नेपाली समाजको मानसिकता पनि तताईरहेको छ । यस्तो अवस्थामा नेपालले मृत्युदण्डको कानुन निर्माण गर्नको लागि सर्वप्रथम उक्त सन्धिबाट पछि हट्नु जरुरी छ । जुन कार्य नेपालजस्तो विकाशोन्मुख देशको लागि सजिलो छैन ।

    नेपालमा ६०% बलात्कार पिडीत १५ वर्ष मुनिका नाबालिका छन् । यस्तो भयानक आँकडा देखिनुको तात्पर्य हामीले दण्ड व्यवस्थामा मात्र नभएर अन्य सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षहरुमा पनि ध्यान दिनु जरुरी देखिन्छ । केवल मृत्युदण्डको अभावमा मात्र बलात्कारका घटना बृद्धि भएका भने होईनन् । 

    मृत्युदण्डको बिकल्प के हुनसक्छ ?

    अन्य बैकल्पिक दण्ड व्यवस्थामा आजिवन कैद (जिवन रहेसम्म), श्रम सहितको कारावास, केमिकल तथा सर्जिकल कास्ट्रेसन अर्थात रसायनिक बन्ध्याकरण (अपराधीलाई ईन्जेक्सन लगाई वा शल्यक्रिया गरी नपुंसक बनाउने बिधि) आदि हुन सक्छ । आजिवन कैद र श्रम सहितको कारावास प्रकृया पुर्याएर संसदबाट अनुमोदन गराउन सकिन्छ तर कास्ट्रेसनको विषयमा अहिले पनि संसारभर पक्ष र विपक्षमा बहस भईरहेको छ । 

    अमेरिकाको न्यूयोर्कमा १९९६ मा जेल बसी फर्किन लागेको कैदीहरुलाई केमिकल तथा सर्जिकल कास्ट्रेसन गर्नको लागी मान्यता दिईएको थियो । त्यसैगरी रुस, इन्डोनेसिया, पोल्याण्डमा पनि यसलाई मान्यता दिईयो । त्यसैगरी द. कोरियामा २०११ देखि, टर्कीमा २०१६ देखि, अलाबामा २०१९ देखि यसलाई कानुनी मान्यता प्रदान गरियो भने भारतमा पनि हाल ३० वर्षको जेल सजायसहित केमिकल कान्स्ट्रेसन प्रस्ताव राखिएकोमा बिस्तृत कानुन निर्माणको प्रकृया अगाडि बढाईएको छ ।

    समस्या समाधानका सम्भावित उपायहरु;

    यौन तथा नैतिक तथा शिक्षा –

    दार्शनिक Victor Hugo ले भनेका छन्; He who opens a school door, closes a prison अर्थात “जसले विद्यालयको ढोका खोल्दछ उसले जेल बन्द गर्दछ” यो भनाई यहाँ सान्दर्भिक हुन आउँछ । हाम्रो समाजमा परिवारभित्र वा बाहिर खुलेर यौन शिक्षाको कुरा गरिदैन  । विद्यालयमा कक्षा ७ देखि प्रजनन स्वास्थ्य सम्बन्धि पढाई गराइन्छ तर विद्यालय जान नपाएका केटाकेटीका लागि भने सोच्न सकेको छैन। संचार माध्यायममा पनि वयस्कका लागि यौन स्वास्थ्य समस्याका कार्यक्रम भएजस्तै बालबालिकालाई लक्षित गरेर यौन सम्बन्ध, प्रजनन स्वास्थ्य, यौन अपराधको बारेका ज्ञान दिने कार्यक्रम संचालन हुन जरुरी छ ।

    कानुनी शिक्षा – 

    यौनकर्मी महिलालाई बलात्कार गर्नेलाई पनि अन्यलाई दिने सरह नै सजाय हुने व्यवस्था, पत्नीको मञ्जुरी बेगर शारीरिक सम्बन्ध राखेमा बलात्कार ठहर्ने जस्ता नयाँ प्रावधानहरुले गर्दा महिलाको आत्मसम्मानलाई स्थान दिन खोजेको पाईन्छ । यस्तो कानुनी शिक्षा पनि विद्यालयको पाठ्यक्रममा समावेश गर्न सकिएमा धेरै हदसम्म सकारात्मक परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ । बलात्कार सम्बन्धि मुद्दा सरकारवादी हुने फौजदारी मुद्दा हो र यस्तो मुद्दामा पारिवारिक तहबाट वा गाउँघरमा मिलापत्र गराउन हुँदैन भन्ने शिक्षा सबै तह तप्काका व्यक्तिहरुसम्म पुग्नुपर्दछ ।

    आत्मरक्षाको तालिम – 

    छिमेरी राष्ट्र चाईनामा विद्यालयका विद्यार्थीहरुलाई अनिवार्य रुपमा जुडो कराते लगायतका खेल सिकाईन्छ । हामीले पनि बालिकाहरुलाई सानैदेखि आत्मरक्षाको लागि आवश्यक तालिमको अनिवार्य व्यवस्था लागू गर्न सकिन्छ ।

    पिडीत महिलाको समाजमा पुनर्स्थापना – 

    बलात्कृत महिलालाई काउन्सिलिङ् गरेर मानसिक रुपमा बलियो बनाउने कार्य नेपालमा शुन्य अवस्थामा नै छ । बलात्कृत महिलाको ईज्जत गएको, सामाजिक हैसियत खस्किएको, उनलाई विवाह गर्दा गुण लगाएको मान्ने जिर्ण मानसिकताको उपचार गरिनुपर्दछ ।

    कानुनी मान्यता प्राप्त यौन व्यवसाय –

    विकसित मुलुकहरुमा यौन पर्यटन व्यवसाय कानुनी रुपमा नै खुला गरिएको छ । यौन चाहना एउटा जैविक र प्राकृतिक आवश्यकता भएको कारणले गर्दा यस्तो ईच्छालाई मार्न असम्भव भएकोले यौन व्यवसायलाई कानुनी मान्यता प्रदान गर्दा पनि बलात्कारका घटनामा धेरै कमी आउन सक्दछ । अष्ट्रिया, ब्राजिल, जर्मनी, नेदरल्याण्ड जस्ता विकसित देशहरुमा यौन पर्यटन व्यवसाय अर्थव्यवस्थाको महत्वपूर्ण हिस्सा बनेको छ ।

    कानुनको सही कार्यान्वयन –

    कानुनको उद्देश्य परिपूर्ति यसको कार्यान्वयनमा अन्तर्निहित हुन्छ । तर नेपालमा अनुसन्धान तहकिकातदेखि फैसला गर्दासम्मकै कार्यविधि निकै निराशाजनक पाईन्छ । 

    १८ वर्षभन्दा कम उमेरको महिलासँग सहमतिमै शारीरिक सम्बन्ध राखेपनि बलात्कारनै ठहरी ७ वर्षसम्म सजाय हुने कानुनी व्यवस्थाका कारण २१ वर्षिय लामा थरका युवक ७ वर्षको सजाय पाई बिगत ३ वर्षदेखि कैदमा छन् । विद्यार्थी भिसामा ८ दिनपछि अष्ट्रेलिया उड्ने टिकट समेत काटिसकेका उनी प्रेमिकाको उमेर नसोधेका कारण जेलमा बस्न बाध्य छन् ।

    २५ वर्षीय शाह थरका युवकले प्रेमीकासँग समय बिताउँदै गर्दा आईपुगेकी प्रेमिकाकी दिदीसँग भनाभन हुँदा दिदीले प्रहरी बोलाई बहिनीलाई जबर्जस्ति करणी गरेको जाहेरी दिएपछि हाल जेलमै बसेर मुद्दा खेपिरहेका छन् । मुद्दा परिसकेपछि मात्र उनलाई थाहा भयो कि प्रेमिकाको उमेर १८ वर्ष भन्दा कम रहेछ । 

    एकातिर मौजुदा कानुन अनुसार केही महिना उमेर कम भएको कारण पिडक पक्ष अन्यायमा परेको जस्तो देखिएको छ भने अर्को तर्फ साना बालिका बलात्कार गरी हत्या गर्ने जडअपराधिलाई भने सजाय कम भएको देखिन्छ । यसर्थ; सन्धि सम्झौताबाट पछि हटेर संविधान संशोधन गरी मृत्युदण्ड दिने व्यवस्था गर्दा पनि अतिशयोक्ति नहोला । तथापि बलात्कारको अन्य पक्षहरुमा ध्यान नदिई केवल सजायमा मात्र कडा अत्याधिक गरियो भने भोलिका दिनमा सतप्रतिशत बलात्कार पिडितहरुको हुने निश्चित छ । 

  • अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

    अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

    चार बर्ष अघि सबै ढुक्क थिए- अमेरिकी राष्ट्रपतिमा हिलारी क्लिन्टन बिजयी हुँदैछिन् । विपक्षी डोनाल्ड ट्रम्प समेत आफ्नो पराजयमा निश्चित थिए । न्यूयोर्क टाइम्सका अनुसार चुनाव जितेमा जनतालाई सम्बोधन गर्ने भाषणको ड्राफ्ट समेत ट्रम्पले तयार पारेका थिएनन् ।

    प्रभात भट्टराई

    तर, जब ‘रष्ट वेल्ट’ भनेर चिनिने मध्य पश्चिम अमेरिकी क्षेत्रको मतगणना हुन थाल्यो माहोल एकाएक फेरियो । लामो समय देखि डेमोक्र्याटले जित्दै आएका मिसिगन, पेन्सिलभेनिया र विसकनसन ट्रम्पले हत्याए । सवा करोड बढि मत खसेको तीन राज्यमा ट्रम्पको विजयी ‘मार्जिन’ थियो ७७ हजार भोट । यही अन्तरले उनलाई मिसिगनको १६, विसकनसनको १० र पेन्सिलभेनियाको २० गरि कुल ४६ इलेक्टोरल मत दिलायो । यी तीन राज्यमा उनले क्रमशः १० हजार, २२ हजार र ४४ हजार मतान्तरको जित निकालेका थिए । यही जितबाट कुल ३०६ इलेक्टोरल मत ल्याएर ह्वाइट हाउसको बाटो तय गरेका ट्रम्पले यी तीन राज्य गुमाएका भए इलेक्टोरल मत २६० मा खुम्चिने थियो । क्लिन्टनको इलेक्टोरल भोट २३२ बाट बढेर २७८ पुग्ने थियो र राष्ट्रपति निर्वाचित हुन चाहिने २७० इलेक्टोरल मतको ‘थ्रेसहोल्ड’ पार गर्ने थिइन् ।

    धेरैले निर्वाचन परिणामप्रति आश्चर्य माने । तर, राजनीतिक पण्डितहरुले तथ्यांकभन्दा धेरै आत्मविश्वासले हिलारी जित्ने आँकलन गरिदिएका थिए । राजनीतिक बाहिरिया त्यसमाथि अनेक विवादमा फसेका ट्रम्पलाई जनताले पत्याउँछन् भन्नेमा विश्लेषक सहमत थिएनन् । उनीहरुले आफुलाई जे लाग्छ त्यसैलाई प्राथमिकतामा राखेर बोले । अमेरिका मात्र होइन दुनियाँभरलाई नै लाग्यो- हिलारीको जित निश्चित छ । सबैभन्दा बढि आत्मविश्वास हिलारीमै देखियो । उनी ‘विसकनसन त त्यसै जितिहालिन्छ’ भनेर प्रचारका लागि समेत पुगिनन् ।

    राजनीतिक पण्डितहरुले हिलारीलाई विजेता घोषणा गर्न जस्तोसुकै होड चलाए पनि तथ्यांकले त्यसो भनि रहेको थिएन । अधिकांश मत सर्वेक्षणमा हिलारी अगाडी त थिइन् तर ठूलो संख्याका मतदाता अनिर्णित नै थिए । चुनावको एक साता अघिसम्म पनि देशब्यापी रुपमा २० प्रतिशत मतदाताले भोट हाल्ने उम्मेद्वार तय भइ नसकेको जवाफ मत सर्वेक्षकलाई दिएका थिए । क्लिन्टनले ५० प्रतिशतको थ्रेसहोल्ड छुन कहिल्यै सकेकी थिइनन् ।

    देशब्यापी सर्वेक्षणको तुलनामा प्रतिश्पर्धी राज्यका मतदाता झनै अनिर्णित थिए । अन्तिम समयसम्म अनिर्णित रहेका मतदातालाई एफबिआईका तात्कालिन निर्देशन जिम कोमीको एउटा कदमले ट्रम्पतिर धकेल्न मद्दत गर्यो । कोमीले चुनावको ११ दिन अघि क्लिन्टनले निजी सर्भरमा सरकारी इमेल चलाएको बारे अनुसन्धान नसकिएको जानकारी संसदलाई दिए । त्यो समाचारले क्लिन्टनको छवि माथि थप संशय बढायो । उनीसँग सुरु देखिनै बहुमत जनता असन्तुष्ट नै थिए । आम जनताको नजरमा क्लिन्टन र ट्रम्प दुबै लोकप्रिय उम्मेद्वार थिएनन् । रियल क्लियर पोलिटिक्सको औषत आँकडा अनुसार निर्वाचनको दिन क्लिन्टनको फेवरिबिलिटी ऋणात्मक १३ पोइन्ट थियो भने ट्रम्पको ऋणात्मक २१ पोइन्ट । अर्थात क्लिन्टनलाई ४२ प्रतिशत सर्वसाधारणले मन पराउँथे भने उनलाई नरुचाउने संख्या ५५ प्रतिशत थियो । ट्रम्पलाई मन पराउनेको संख्या ३८ प्रतिशत मात्र थियो । उनीप्रति नराकात्मक धारणा राख्ने ५९ प्रतिशत थिए । यो पृष्ठभूमीमा पटक पटक राजनीतिक अवसर पाएर विवादित भएकी क्लिन्टनभन्दा राजनीतिक बाहिरिया ट्रम्पप्रति निर्णायक राज्यका बहुमत अमेरिकीले झुकाव राखे ।

    सबैलाई थाहा छ देशब्यापी रुपमा ट्रम्पले क्लिन्टनभन्दा ३० लाख कम भोट ल्याएका थिए । यो आँकडा चुनावको मुखमा गरिएको मत सर्भेक्षणको औषत तथ्यांकसँग ठ्याक्कै मिल्छ । रियल क्लियर पोलिटिक्सको औषत तथ्यांक अनुसार चुनावको दिन बिहान हिलारी ट्रम्पभन्दा तीन प्रतिशत विन्दुले अघि थिइन् । र, उनलाई भोट हाल्न निश्चित भएका सर्वसाधारणको संख्या थियो ४७ प्रतिशत । ट्रम्प ४४ प्रतिशतमा थिए । कतिपय देशब्यापी सर्वेक्षणमा ट्रम्पले हिलारीलाई उछिनेका समेत थिए । त्यसैले दुई अलोकप्रिय उम्मेद्वारको भिडन्तमा त्यही शैलीको नतिजा २०१६ मा आएको हो ।

    २०१६ र २०२० को मत सर्वेक्षणमा फरक।

    पेन्सिलभेनिया, मिसिगन र विसकनसन कुनै पनि राज्य ट्रम्पले खसेको ५० प्रतिशत भोट ल्याएर जितेका होइनन् ।  ट्रम्प र क्लिन्टन दुबैप्रति आजित ठूलो संख्याका मतदाताले तेस्रो पक्षको उम्मेद्वारलाई भोट दिए । सोही कारण पेन्सिलभेनियामा ४८.२, मिसिगनमा ४७.३ र विसकनसनमा ४७.२ प्रतिशत मत ल्याएर पनि ट्रम्प विजयी हुन पुगे । सन् २०१२ र २००८ को दुबै निर्वाचनमा यी राज्यमा बाराक ओबामाले सहज ५० प्रतिशत माथि भोट ल्याएका थिए । यी तीन मात्र होइन फ्लोरिडा, नर्थ क्यारोलिना जस्ता राज्यमा पनि ट्रम्प ५० प्रतिशत मतको थ्रेसहोल्ड नछोइ विजयी भएका थिए । लामो समय रिपब्लकिन राज्यको रुपमा चिनिएको एरिजोनामा पनि ५० प्रतिशत मत नपुर्याई ट्रम्पले जितेका थिए । यसले पनि पुष्टि गर्छ ट्रम्पले कुनै लोकप्रियताका आधारमा २०१६ को चुनाव जितेका थिएनन् । क्लिन्टनको विवादित छवि र अलोकप्रियताको मात्र फाइदा उठाएका थिए, जहाँ उनले शंकाको सुविधा पाए ।

    यसपाली के फरक छ ?

    यसपालीको चुनावमा सबैभन्दा ठूलो फरक त उम्मेद्वारको व्यक्तित्वमा नै देखिएको छ । बाइडेन हिलारी जस्तो अलोकप्रिय छैनन् भने ट्रम्प चार बर्ष अघिकै ठाउँमा छन् । ओबामाको लोकप्रिय आठ बर्षे शासनकालमा उपराष्ट्रपति रहेका राजनीतिज्ञ बाइडेन कुनै गम्भीर विवादमा मुछिएका छैनन् । एफबिआई निर्देशकको कदमपछि २०१६ मा हिलारी क्लिन्टन पराजित भएको जस्तै घटनालाई यसपाली पनि ट्रम्प र उनका हितैषीले दोहोर्याउन नखोजेका होइनन् । बाइडेन पुत्र हन्टरले चिनियासँग ब्यापार गर्न खोजेको र त्यसमा जो बाइडेनले पनि साथ दिएको बनावटी घटना चुनावको मुखमा ट्रम्प भित्रियाहरुले तयार पारेका थिए । तर, उनीहरु सफल भएनन् किनभने अमेरिकी जनताले त्यसमा चासो दिएनन् ।

    सबैभन्दा ठूलोकुरा ट्रम्प अहिले २०१६ जस्तो राजनीतिक बाहिरिया होइनन् । उनी बहालवाला राष्ट्रपति हुन् र कोरोना भाइरसप्रति उनको हेलचेक्राइँको परिणाम स्वरुप दुई लाख ३० हजार अमेरिकीले ज्यान गुमाइ सकेका छन् । संक्रमितको संख्या एक करोड पुग्न लागेको छ । भाइरसले सिर्जना गरेको आर्थिक मन्दीका कारण दशौँ लाखले रोजगारी गुमाइ सकेका छन् । सरकारी तथ्यांक अनुसार नै आठ प्रतिशत अमेरिकी बेरोजगार छन् । यी सबै तथ्यांक उपर जनताले ट्रम्पको जवाफ खोज्छन् ।  

    अर्कोतर्फ बाइडेनप्रति बहुमत अमेरिकीको सकारात्मक धारणा देखिएको छ । रियल क्लियर पोलिटिक्सको औषत आँकडा अनुसार उनीप्रति ५१ प्रतिशत अमेरिकीले सकारात्मक धारणा राखेका छन् । जस अनुरुप उनको फेवरिबिलिटी सात पोइन्टले धनात्मक छ । ट्रम्पको फेवरिबिलिटी १३ पोइन्टले ऋणात्मक छ । उनलाई मन पराउने अमेरिकी ४२ प्रतिशत छन् भने ५५ प्रतिशत उनीप्रति सकारात्मक छैनन् । देशब्यापी रुपमा भएका अधिकांश गुणस्तरीय सर्वेक्षणमा बाइडेन ट्रम्पभन्दा दोहोरो अंकले अघि छन् । सबै सर्वेहरुको औषत तथ्यांक निकाल्ने फाइफ थर्टी एटको विवरण अनुसार देशब्यापी रुपमा बाइडेन आठ अंकभन्दा ठूलो अग्रतामा छन् र उनलाई ५२ प्रतिशत अमेरिकीले भोट हाल्ने निधो गरि सकेका छन् । यो अग्रता सन् २००८ को चुनावमा बारक ओबामाले लिएको भन्दा पनि ठूलो हो । कुन्निपियाक विश्वविद्यालय, एनबिसी न्यूज /वालस्ट्रिट जर्नल, लस एन्जलस टाइम्स, सिएनएन जस्ता उच्च कोटीका सर्वेमा बाइडेन दोहोरो अंकको अग्रतामा छन् । फक्स न्यूज, सर्भे युएसए, सुफोल्क विश्वविद्यालय, न्यूयोर्क टाइम्स आदीको सर्वेमा आठ अंकको अग्रता बाइडेनलाई छ र प्रष्ट ५० प्रतिशत माथिको समर्थन पाएका छन् । चुनावको मुखमा चार बर्ष अघि प्रायः यी सबै सर्वेमा क्लिन्टनको अग्रता दुई देखि पाँच प्रतिशत हाराहारी मात्र थियो । लस एन्जलस टाइम्सको सर्वेमा त ट्रम्पले अग्रता लिएका थिए ।

    भर्जिनियाको फेयरफ्याक्स काउन्टीका मतदाता अर्लि भोट खसाउँदै, तस्वीरः फेयरफ्याक्स काउन्टी

    अति प्रतिश्पर्धी १० राज्यमध्ये आठ वटामा बाइडेनको अग्रता छ । सन् २०१६ मा हिलारीले जितेका राज्यमा उनी सहज अवस्थामा यथावत छन् । ती राज्य जितेको खण्डमा राष्ट्रपति चुनिन चाहिने पेन्सिलभेनिया, मिसिगन र विसकनसनमा बाइडेनलाई ५० प्रतिशत माथिको समर्थन छ भने छ देखि १० अंकसम्मको अग्रता लिएका छन् । सबै राज्यमा चार बर्ष अघि जस्तो तेस्रो पक्षको उम्मेद्वारलाई भोट हाल्ने मतदाता नगन्य छन् । फ्लोरिडा, जर्जिया, एरिजोना, नर्थ क्यारोलिना जस्ता ट्रम्पले जितेका राज्यमा पनि बाइडेनको निरन्तर अग्रता छ । लामो समय रिपब्लिकनको एकछत्र रहेको टेक्सासमा समेत बाइडेन र ट्रम्प बराबरको प्रतिश्पर्धामा देखिएका छन् ।  त्यसैले बाइडेन क्लिन्टनको तुलनामा धेरै सहज निर्वाचन लड्दैछन् ।

    कोरोना भाइरस महामारी, अन्तर्राष्ट्रिय जगतमा गिर्दो अमेरिकी छवी जस्ता कारणले आजित अमेरिकी ट्रम्पप्रति क्रुद्ध छन् । निर्वाचनको मुख्य दिन (नोभेम्बर ३) अघि नै २०१६ को तुलनामा दुई तिहाइ मत खसाएर अमेरिकी जनताले यो चुनावप्रतिको चासो पुष्टि गरि सकेका छन् ।

    बाइडेन अमेरिकी कामकाजी बर्गको प्रतिनिधित्व गर्छन् । क्लिटनलाई अभिजात बर्गको आक्षेप थियो । कामकाजी वर्गसँगको निकट सम्बन्धकै कारण रिपब्लकिनको आधार भनेर चिनिने कलेजको शिक्षा नलिएका गोराहरुको समेत उनलाई क्लिन्टनभन्दा धेरै समर्थन देखिएको छ । त्यसबाहेक महिला र बृद्धहरु पनि ठूलो संख्यामा बाइडेनसँग छन् । २०१६ को चुनावको पूर्व सन्ध्यामा क्लिन्टनलाई महिलाको साथ ट्रम्पभन्दा १४ पोइन्टले धेरै थियो । अहिले बाइडेन २१ पोइन्टले अघि छन् । ६५ बर्षमाथिका बुढापाका पाँच पोइन्ट बढि ट्रम्पसँग थिए । अहिले १० पोइन्ट बढिले बाइडेनको साथ दिएका छन् । कोरोना भाइरस प्रतिको वेवास्ताकै कारण धेरै बुढापाका र महिला ट्रम्पप्रति रुष्ट हुन पुगेका हुन् ।

    यो यथार्थबीच चार बर्ष अघिजस्तै चमत्कारी जित निकाल्ने दावी ट्रम्पले अहिले पनि दोहोर्याएका त छन् तर सबै घटनाक्रमले पुष्टि गरि सकेको छ यो चुनाव २०१६ को भाग दुई अवश्य होइन ।

  • आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख

    आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख

    राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर कोरोना भाइरसको उपचार हुने बताएको समेत देख्नु/सुन्नु पर्यो । दिनमा सयवटासम्म ट्विट गर्छन् । यस्तो लाग्छ- उनी ट्विटरबाटै देश चलाइ रहेका छन् ।

    प्रभात भट्टराई

    यी अनेक प्रहशनबीच आठ महिना देखि अमेरिकालाई गाँजेको कोरोना भाइरसले ट्रम्पको नेतृत्व कौशल उदाङ्गो पारिदिएको दिएको छ । ८५ लाख बढि संक्रमित र सवा दुई लाख बढिको मृत्यु सहित भाइरस संक्रमणमा अमेरिकाले विश्वलाई उछिनेको छ । विश्वको पाँच प्रतिशत जनसंख्या रहेको अमेरिकामा भाइरसबाट ज्यान गुमाउने भने विश्वभरी मृत्यु हुनेको संख्यामा २० प्रतिशत हाराहारी छन् । संसारको सबैभन्दा शक्तिशाली एवं सम्पन्न मुलुकको हविगत कसरी यस्तो हुन पुग्यो ?

    उत्तर सहज छ- नेतृत्वको हेलचेक्राँइ । ट्रम्प राष्ट्रसामु कहिल्यै भाइरस बारे गम्भीर रुपमा प्रस्तुत भएनन् । बन्द कोठामा गरिएका पुराना वार्ताको अडियो सुनेपछि थाहा भयो उनी आफुलाई भाइरस सर्ला कि भनेर चरम त्रासमा थिए । तर, मुलतः आफ्ना समर्थक माझ भाइरस गम्भिर छ भन्ने सूचना पुर्याउँदा आफूलाई राजनीतिक वेफाइदा पुग्ने आँकलनले सधैँभरि झूठ बोलिरहे ।

    गत शुक्रबार र शनिबार अमेरिकामा सर्वाधिक दैनिक संक्रमणको नयाँ रेकर्ड कायम भएर ८० हजार नाघ्दा पनि ट्रम्प भाइरस नियन्त्रणमा रहेको दावी दोहोर्याइ नै रहेका थिए । मिडियाले कोरोना भाइरसको अधिक चर्चा गरेर आफुलाई चुनाव हराउन खोजेको आरोप लगाएका छन् । हुँदा हुँदा दैनिक मृत्युदर ५०० मा झरि सकेको झूठो विवरण दावी गर्दै मिडियाले संक्रमितको संख्यालाई अनावश्यक उछालेर हल्ला गरेको तर्क समेत गरेका छन् । दैनिक हजार हाराहारीमा अमेरिकीको मृत्युलाई ट्रम्पले मजाकको विषय बनाएका छन् । त्यति मात्र होइन अरु रोगबाट मृत्यु भएकाहरुलाई समेत कोरोनाका कारण मरेको बताएर स्वास्थ्यकर्मी र अस्पतालले पैसा कमाउन खोजेको आरोप समेत ट्रम्पले लगाएका छन् ।  

    अर्थतन्त्रको भ्रम

    ट्रम्प सन् २०१६ मा निर्वाचित हुँदासम्म अमेरिकी अर्थतन्त्र निरन्तर उकालो लागेको थियो । बाराक ओबामा र जो बाइडेनले अन्तिम तीन बर्षमा निरन्तर बढेको अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । ओबामाको अन्तिम तीन बर्षमा जति रोजगारी अमेरिकामा सिर्जना भयो ट्रम्पले त्यसलाई भेट्टाउन सकेनन् । तर, उनी आफुले इतिहासकै उत्कृष्ठ अर्थतन्त्र सिर्जना गरेको दावी गरिरहे । एउटै झूठ सय पटक बोलेपछि सत्य हुन्छ भन्ने नेपाली उखान जस्तै ट्रम्पको उक्त दावी पत्याउने अमेरिकीको संख्या ठूलै छ ।

    सन् २०१४, २०१५ र २०१६ मा ओबामाले क्रमशः मासिक औषत २ लाख ५० हजार,  २ लाख २७ हजार र १ लाख ९५ हजार रोजगारी सिर्जना गरेका थिए । ट्रम्पले ओबामाको यो कुनै पनि अंक छुन सकेनन् । सन् २०१७ मा मासिक औषत एक लाख ७६ हजार रोजगारी सिर्जना भयो । त्यही बेला ट्रम्पले धनी वर्गलाई भारी कर छुट दिने कानून पारित गराउन सफल भए । कम्पनीहरुले नाफा बापत तिर्नु पर्ने कर्पोरेट आयकर ३५ प्रतिशतबाट २१ प्रतिशतमा झारियो । कर बापतको ठूलो रकम बचाउन सफल भएपछि कम्पनीहरुले केही रोजगारी बढाएजस्तो पनि गरे ।

    ओबामाले महामन्दी पार लगाएर सहज बढ्दो अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । स्केचः वासिंटन पोष्ट

    फलस्वरुप २०१८ मा मासिक औषत १ लाख ९३ हजार रोजगारी सिर्जना समेत भयो । तर, २०१९ मा यो १ लाख ७८ हजारमा झरि सकेको थियो । यसरी ओबामा सरकारको अन्तिम तीन बर्षभन्दा ट्रम्पको सुरुवाती तीन बर्षको रोजगारी सिर्जनामा १५ लाखले कमी आएको थियो । २०२० को सुरु देखिनै ट्रम्पले भाइरस संक्रमणमा वेवास्ता गर्दा मार्च दोस्रो साता यता अमेरिकामा भयावह अवस्था आयो । परिमाण स्वरुप दुई करोड बढिले एकै पटक रोजगारी गुमाए । अहिले आधा हाराहारी काममा फर्किए पनि आठ प्रतिशत काम गर्ने उमेरका अमेरिकी बेरोजगार छन् ।

    यति हुँदा पनि ट्रम्प आफुले अर्थतन्त्र फिर्ता ल्याउने दावी गर्न छोड्दैनन् । त्यसको कुनै प्रष्ट खाका र एजेन्डा उनीसँग छैन । प्रतिश्पर्धी जो बाइडेन र मिडियालाई व्यक्तिगत आक्षेप र गालीगलौजको भरमा आफ्नो राजनीतिक उठानको सपना देखि रहेका छन् ।

    घृणाको जगमा उठान

    ट्रम्पको राजनीतिक उदयनै घृणा र रंगभेदको बलमा भयो । चुनाव जितेर ह्वाइट हाउस छिरेपछि पनि उनी त्यही चरित्र निभाइ रहे । सन् २०११ मा उनले पहिलो पटक राष्ट्रपति ओबामा अमेरिकामा नजन्मिएको दावी सुरु गरे । अमेरिकी आमा र केन्याका आप्रवासी पिताबाट हवाइमा जन्मिएका ओबामाले त्यही बर्ष आफ्नो जन्मदर्ता सार्वजनिक गरिदिए । त्यतिले मात्र नपुगेर हवाइ राज्य सरकारले नै ओबामाको जन्मदर्ता सार्वजनिक गर्यो । तर, ट्रम्पले ओबामा अमेरिकामा नजन्मिएको दावी गर्न छोडेनन् । उनलाई तर्कहरु जुटाउन सहज थियो, किनभने ओबामा काला जातिका थिए । कुनै स्वेत पुरुष विरुद्ध अमेरिकामा यस्तो मुद्दा कहिल्यै उठ्दैन । फरक छाला हुने वित्तिकै पहिलो आक्रमण उसको नागरिकताबाट सुरु हुन्छ ।

    मुस्लीमलाई अमेरिकामा यात्रा प्रतिबन्धको कार्यकारी आदेश जारी गर्दै ट्रम्प । तस्वीर: सिएनएन

    ट्रम्पले त्यहि रणनीति अपनाए । पछि थाहा भयो ट्रम्पले २०१२ कै राष्ट्रतपिय चुनावमा ओबामालाई चुनौती दिने महत्वाकांक्षा पालेका थिए । राजनीतिक एजेन्डा या प्रतिबद्धता नभइ व्यक्तिगत आक्रमण र घृणाको बलमा चुनाव लड्ने रणनीति अनुरुप ट्रम्पले उक्त तुरुप फ्याँकेका थिए । राष्ट्रपति चुनाव लड्ने ट्रम्पको तयारी भित्र भित्रै तुहिए पनि ट्रम्पले ओबामा विरुद्धको घृणात्मक प्रचार रोकेनन् । किनभने उनी २०१६ को चुनावमा उदाउने त्यो भन्दा ठूलो अस्त्र अरु हुन सक्दैन भन्नेमा प्रष्ट थिए । ट्रम्पलाई यो आधार दिएको थियो ‘कन्जरभेटिभ’ मिडिया ‘होष्ट’लाई विश्वास गर्ने जमातले । सन् २००८ मै कन्जरभेटिभ मिडियालाई पत्याएर ओबामालाई मुस्लिम ठान्ने एवं अमेरिकालाई उनले माया नगर्ने बताउने ठूलै जमात तयार भइ सकेको थियो । मुद्दाका आधारमा राजनीति गर्ने त्यसबेलाका रिपब्लिकन राष्ट्रपतिय प्रत्याशी जोन म्याकेनले यस्ता घृणात्मक दावीलाई आफ्नो क्याम्पेनमा ठाउँ दिएनन् । उल्टो समर्थकहरुलाई ओबामाले जितेमा राष्ट्रिय सुरक्षामा खलल पुग्ने कुनै सम्भावना नरहेको तर राष्ट्रपतिका रुपमा आफुले राम्रो काम गर्ने विश्वासका साथ चुनावमा उठेको जवाफ दिएर साम्य पार्ने प्रयास गरेका थिए ।

    ट्रम्पले त्यही घृणाको पोखरीमा हाम फाले । रिपब्लिकन प्राइमरी जितेर अन्तिम चुनावको तयारीका बेला भने ओबामा अमेरिकामै जन्मिएको मान्न आफु अब तयार रहेको भन्दै बोली फेरे । कारण थियो रिपब्लिकन प्रति झुकाव राख्ने काला जातिका मतदाताको भोट तान्नु ।

    ट्रम्प कुनै दर्शन र सिद्दन्तबाट प्रेरित व्यक्ति होइनन् । उनी जे बन्छन् या गर्छन् सिर्फ फाइदा र नाफाका लागि गर्छन् । यस्ता मान्छेसँग संगत गर्छन् जो कुनै न कुनै विवादमा मुछिएकै होस् । सोही कारण ट्रम्प राष्ट्रपति निर्वाचित भएयता दर्जन हाराहारी उनका निकट सहयोगी अदालतबाट बिभिन्न मुद्दामा दोषी प्रमाणित भइ सके । जब आफ्ना कोही निकटतमको अपराध छताछुल्ल हुन्छ ट्रम्प उनीहरुलाई नचिनेझैँ गर्न थाल्छन् । यसरी नै उनको राष्ट्रपतिसम्मको यात्रा तय भएको छ ।

    हामी र ट्रम्प

    ट्रम्पको प्रहसनले अमेरिकालाई दीर्घकालका लागि पारेको असर त भोलीका दिनमा थप सतहमा आउँदै जाला । यो आलेखको मूल ध्येय ट्रम्पका रंगभेदी हर्कतले अमेरिकी समाजमा सिर्जना गरेको विभाजन र त्यसले हामी आप्रवासीको जीवनमा पार्ने प्रभाव माथिको चर्चा गर्नेछ । उनले लिएका गोरो छाला भएका बाहेक अरु जाति र मूलका मानिस लक्षित नीति नियमले हामी सबै नराम्रोसँग प्रभावित भएका छौँ । हामीमध्ये कतिपयलाई भ्रम छ- ‘ट्रम्पले अमेरिकी नागरिक भइ सकेका व्यक्तिलाई त समान व्यवहार गर्छन् । आप्रवासीप्रति जुन रुखो व्यवहार छ, त्यो त केवल नयाँ आउनेहरुका लागि मात्र हो ।’ यो बुझाइ सरासर एउटा भ्रम मात्र हो ।

    सबैभन्दा पहिले चर्चा गरौँ ट्रम्प हावी भइ सकेपछिको रिपब्लिकन पार्टीको । सन् २०१९ को सुरुवातमै टेक्सास स्थित टेरान्ट काउन्टीको रिपब्लिकन पार्टी उपाध्यक्षमा शहिद साफी चयन भए । उनको चयन काउन्टीका चल्तापुर्ता रिपब्लिकन नेतालाई खपिसाध्ये भएन । ‘मुस्लिम पनि हाम्रो पार्टीको नेता ? चर्च नजाने मान्छले रिपब्लिकन पार्टी हाँक्ने?’ शाफी माथि यहि शैलीको आक्रमण सुरु भयो । भारतीय आप्रवासी एवं पेशाले ३० बर्ष देखि चिकित्सक रहेका शाफि सन् २००९ मा ‘न्याचुरलाईजेसन’ विधीबाट अमेरिकी नागरिक बनेका थिए । उनलाई विरोध गर्नेहरुले उनको योग्यताको पाटो उधिन्नै मानेका थिएनन् । धर्मकै कारण रिपब्लिकन पार्टीको नेता बन्न निमल्ने तर्क गर्नेहरुलाई बल दिएको थियो ट्रम्प निर्णयले । राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्पले मुस्लिमहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने नीति लिएका थिए । त्यसले उनका धेरै समर्थकमा ‘मुस्लिम जति सबै अपराधी हुन्’ भन्ने पर्न गयो ।

    अन्ततः शाफीले पदमा बस्न काउन्टीका सकृय रिपब्लिकन कार्यकर्ताबाट विश्वासको मत लिनै पर्ने निर्णय गरियो । त्यहाँ उनको पक्षमा १३९ र विपक्षमा ३९ मत आयो । यसले पुष्टि गर्यो कि रिपब्लिकन पार्टीभित्र सहिष्णुता सम्पुर्ण रुपले मरि नसके पनि ट्रम्प हावी हुन्जेल असहिष्णुहरुकै बोली हावी भइ रहनेछ । किनभने शाफीको पक्षमा गोप्य रुपले त्यति धेरै मत खस्ने अवस्था हुँदा पनि सार्वजनिक रुपमा भने उनको बचाउ गर्ने भन्दा विरोधी आवाज नै चर्को थियो ।

    आप्रवासी, फरक छाला र रंग माथिको आक्रमणमा शाफी त एक बिम्ब मात्र हुन् । ‘ट्रम्पिजम’ अन्तर्गत चल्ने समाजको मूल चरित्र नै यही हो । मिडिया रिपोर्टहरुका अनुसार गोरा बाहेक अरु रंगका आप्रवासीलाई अमेरिका छिर्न नदिन ह्वाइट हाउसबाटै विषेश नीति र कार्ययोजना तइ भइ रहेका छन् । ट्रम्पले आप्रवासीप्रति व्यक्त गर्ने चरम घृणा त्यही नीतिको एउटा अंश हो । ट्रम्पले सुरु देखिनै चर्को विरोध गरेको आप्रवासी नीति हो- पारिवारिक आप्रवासन । ‘चेन माइग्रेसन’ नाम दिएर ट्रम्प यो व्यवस्था उल्टाउन हरसंभव प्रयास गरि रहेका छन् । आफ्ना सासु ससुरालाई यहि नीति अन्तर्गत अमेरिका ल्याएर नागरिकता दिलाएका ट्रम्प आम आप्रवासी अमेरिकीलाई यो सुविधा नहोस् भन्ने चाहन्छन् । हुनतः उनका लागि आफ्ना दाजु भाइ दिदी बहिनीको कुनै महत्व छैन । पैसा र पावर नै उनका लागि सबैथोक हो । त्यही भएर उनकी दिदीले सबैभन्दा निर्दयी पुरुषको रुपमा टिप्पणी गरेको हामीले केही समय अघि सुन्न पायौँ । भतिजीले ट्रम्पले आफ्नो परिवार कसरी भत्काए भनेर किताब नै लेखिन् ।

    ट्रम्पले निरन्तर आक्रमण गरेको पारिवारिक आप्रवासन नीतिबाट हामी पहिलो पुस्ताका आप्रवासी नै सबैभन्दा धेरै प्रभावित हुने हौँ । आफ्ना दाजु भाइ दिदी बहिनीलाई बर्षौँको प्रतिक्षापछि भए पनि अमेरिका ल्याएर सँगै बस्ने अवसर हामीलाई यही नीतिले दिएको छ । एक जिम्मेवार अमेरिकी नागरिको पारिवारिक मिलन गराउने यो नीति अमेरिकाको राष्ट्रिय सुरक्षाका दृष्टिले पनि भरपर्दो र सुरक्षित छ । तर, ट्रम्प यहि भत्काउन चाहन्छन् । मुखले कानूनी प्रकृयाबाट आउने आप्रवासीलाई आफुले स्वागत गर्ने बताए पनि व्यवहारमा त्यस्ता कानूनी सुविधा सबै भत्काउन ट्रम्प लालायित छन् । आखिर किन? ट्रम्पलाई थाहा छ हामी जस्ता तेस्रो मुलुकका मान्छेलाई जति आफ्ना दाजु भाइ दिदी बहिनीको महत्व अरुलाई छैन । र, ट्रम्प प्रष्टसँग चाहन्छन् हामीजस्ताको संख्या यो देशमा नबढोस् । उनले मुखै फोरेर गरिब एवं अश्वेत नागरिकको बहुमत भएका देशलाई ‘सिटहोल’ भनेकै छन् । नर्वेजस्ता गोरा प्रधान देशबाट आप्रवासी ल्याउन जोड गर्नु पर्छ पनि भनेकै हुन् ।

    नेपाली अमेरिकीको संख्या बढ्दै जाँदा राजनीतिक बहस हाम्रो समाजमा पनि तातिन थालेको छ । केही नेपालीले ट्रम्प जिताउन संगठित प्रयासकै घोषणा गरेका छन् । अहिलेसम्म हाम्रो संख्या कसैलाई जिताउन या हराउन पुग्ने त भइ सकेको छैन । तर, यो अमेरिकी इतिहासकै संगिन मोडमा हामी कहाँ उभिएका थियौँ भनेर भोली आफैँले समिक्षा गर्ने दिन अवश्य आउनेछ । छोरा छोरी नाती नातिनालाई जवाफ दिने दिन अवश्य आउनेछ ।

    अमेरिकी सीमामा शरण माग्न आइपुगेका आप्रवासी । अहिले यस्ता शरणार्थी ट्रम्प प्रशासनको तारोमा छन् । तस्वीर: एनबीसी न्यूज

    ट्रम्प विजयको कामना गर्दै गर्दा पल्लो कोठमा बस्ने हाम्रै नेपाली दाजुभाइलाई एक पटक सम्झौँ । ट्रम्पले उनलाई टिपिएस खारेज गरेर डिपोर्ट गरेका दिन हामी खुच्चिङ मनाउने कि एकछिन दुःखी अनुहार बनाएर गोहीको आँशु झार्ने ? सीमानामा बाबु आमाबाट छुट्याएर जेलमा कोचिएका तोते बोल्ने उमेरका लालाबालाको चित्कार सुनौँ र आफैँलाई सोधौँ तिनको रोदनमा नभक्कान्निने हाम्रो हृदयमा आखिर अहिले के भरिन पुग्यो? आफ्ना बाबु आमा एवं दाजु भाइ दिदी बहिनीलाई कुनै दिन अमेरिका ल्याएर सँगै बस्ने सपना ट्रम्प उदयसँगै हामीले भुल्यौँ ? हामी यति चाँडै यति बिघ्न नृशंश कसरी बन्न सक्यौँ ?

    ल यी केहीले पनि हामीलाई छोएनछ रे । एक पटक आफ्नै छोरा छोरी नाती नातीनालाई सम्झौँ । ट्रम्पले निरन्तर मलजल गरेको स्वेत सर्बोच्चतायुक्त समाजमा तिनले आत्मसम्मानको दिन बिताउन पाउलान् ? ट्रम्पले वकालत गरेको जथाभावी बन्दुकको सान दिन पाइने वातावरणमा तिनले सुरक्षित सास फेर्न सक्लान् ? हरेक दिन उनीहरु स्कुलबाट सुरक्षित घर फर्केलान् नफर्केलान् भनेर हाम्रो हृदय नपोली समय बित्ला ? ट्रम्प राष्ट्रपति भएयता बन्दुकको हिंसाबाट कम्तिमा एक लाख अमेरिकीको ज्यान गइ सकेको छ । छ वटा हृदयविदारक ‘मास सुटिङ ‘बाट कम्तिमा १४३ जना मारिए । तर, ट्रम्प मेसिन गनजस्ता आम बिनासकारी हतियार नियमनको कानून बनाउन समेत कहिल्यै तयार भएनन् ।

    हामी यो देशमा सपना देखेर आप्रवासी भएका जरुर हौँ । सहिष्णुता सहितको सम्बृद्धि हाम्रो सपना थियो । तर आज ट्रम्पले दिनहुँ सहिष्णुताको हत्या गर्दा ताली बजाउने अवस्थामा हामी कसरी पुग्यौँ ? जन निर्वाचित सांसदले ट्रम्प नीतिको विरोध गर्दा मन नपरे देश छोडेर जाने धम्की आउँछ । यो देशमा ट्रम्पका हजुरबा जुन सपना देखेर आएका थिए, सबै आप्रवासी त्यसैगरि आएका हुन् । कुनै एक शासकसँग असहमत हुने नागरिकलाई देश छोडेर जाउ भन्ने राष्ट्रप्रमुखको धम्की लोकतन्त्रमा कल्पना पनि गर्न सकिँदैन । हुँदाहुँदा १७ बर्षे गोरा तन्नेरीले रंगभेद विरुद्धको प्रदर्शनमा शान्तिपुर्ण तवरले उत्रिएका नागरिक माझ बन्दुक बोकेर गएर ठ्यांङठ्याङ गोली हानी तीन जनालाई ढालिदिने र राष्ट्रपतिले भोलीपल्ट उनलाई स्यावास भनेको पनि देख्नु पर्यो । हामीले सपना देखेको नेतृत्व र समाज कदापी यस्तो होइन ।

    ट्रम्प आफ्नो व्यापारमा १० पटक ‘ब्यांक्रप्ट’ भइसके । देश त्यसरी चल्दैन । हरेक अफ्ठ्यारा र विरोधहरुलाई नेतृत्वले संगेलेर लैजान सक्नु पर्छ । तर, ट्रम्पका लागि नागरिक ती मात्र भए जो उनको भजन गाउन तयार छन् । ‘ट्रम्पिजम’को रंगभेदी आक्रमणको पछिल्लो शिकार भइन्, डेमोक्रेटिक उपराष्ट्रपतिकी उम्मेद्वार कमला ह्यारिस । अमेरिकाकी जन्मसिद्ध नागरिक ह्यारिसलाई ट्रम्प र उनका भित्रियाहरुले उपराष्ट्रपतिका लागि योग्यता नपुगेको भनेर विरोध गरे । त्यसका लागि उनीहरुसँग कुनै प्रमाण थिएन मात्र कमलाको कालो छालाप्रतिको द्वेष थियो । ट्रम्प अहिले ह्यारिस पहिलो महिला राष्ट्रपति बने राष्ट्रिय लज्जा बन्ने बताउन थालेका छन् । आफ्नी छोरी मात्र त्यसका लागि लायक रहेको उनको दलिल छ । हुँदा हुँदा ह्यारिसलाई ‘मोन्सटर(कुरुप)’को संज्ञा दिएर व्यक्तिगत आक्रमण सुरु गरेका छन् ।

    भारतीय आमा र जमैकन आप्रवासी पिताकी अमेरिकी छोरी कमलाको कहानी हाम्रै सन्तानसँग मिल्छ । एकछिन उनको स्थानमा आफ्ना सन्तालाई राखेर हेरौँ त । ‘ट्रम्पिजम’ कामय रह्यो भने हाम्रा सन्तानले अमेरिकामा केही गर्छु भन्दा भोली पाइलै पिच्छे राष्ट्रियताको परिक्षा दिनुपर्छ । त्यो पनि मात्र गोरो छाला नभएको कारणले मात्र । त्यसैले हामी आ -आफ्नो आत्मालाई जति झूठ बोलेर ट्रम्प भक्तिमा लागौँ, तर उनका लागि हामी ‘सिटहोल कन्ट्री’ कै नागरिक हौँ ।

  • रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ

    रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ

    योगेश आदी / [email protected]

    मेरो अधिकार कति ? मलाई के के भन्न मिल्दैन । कुन सम्बोधन मेरो अपमान हो ? मेरो बारेमा के के कुरा खोल्न म बाध्य छैन ? यो सबै व्यक्तिको कानूनन: अधिकार हो ।

    चेतना र विवेकको स्तरले आफ्नो महत्व बोध गराएपछि आत्मसम्मानित जीवनको शुरुवात हुन्छ । आशय गलत नभएपनि कतिपय अवस्थामा हामीले गलत विशेषणको प्रयोग गरिरहेका हुन्छौं – मख्ख पार्न वा फाइदा लिन ।

    एउटा सत्य दृष्टान्त; (साभार: युट्युब) माइकबाट आवाज आयो; ‘अब कविता वाचन गर्न मञ्चमा आउँदै हुनुहुन्छ, दृष्टि बिहिन भाइ रमेश प्रसाई’ । रमेश प्रसाईले माइकमा फुकेर आफू र माइकको दुरी कन्फर्म गर्यो ।

    सबलाङ्ग र अपाङ्ग व्यक्तिको नामसँग जोडेर सम्बोधन गरिने विषय होइन, त्यो अपमान हो । त्यस्तै नामको अगाडि भएभरको विशेषण जोड्नु चाप्लुसी हो ।

    रमेश; “धन्यबाद, दृष्टि सम्पन्न उद्घोषकज्यू । आज मलाई साह्रै रमाइलो लागिराको छ । मेरो दृष्टि छैन, उहाँले मलाई दृष्टि बिहिन भाइ भन्नु भो । मेरो नाम भन्दा पहिला मेरो शारीरिक विशेषता बताउनु भो । अब मलाई पनि सजिलो हुने भो, म त देख्दिन । यहाँ कोही कपाल झरेको आयो भने उहाँले आदरणीय ताक्लू कवि फलानो भनेर भन्नु हुनेछ । कोही दाँत झरेको आयो भने आदरणीय थोते फलानो भन्नुहुन्छ होला” । 

    रमेश प्रसाईको भनाईको आसय थियो, सबलाङ्ग र अपाङ्ग व्यक्तिको नामसँग जोडेर सम्बोधन गरिने विषय होइन, त्यो अपमान हो । त्यस्तै नामको अगाडि भएभरको विशेषण जोड्नु चाप्लुसी हो । काम र योगदानको आधारमा एकापसप्रतिको दृष्टिकोण बनाई सकेका हुन्छन् । आदरको लागि एउटा मुख्य पद जोड्दा पुग्छ । काम र प्रस्तुतिले नै व्यक्तिको परिचय दिइरहेको हुन्छ ।

    राजनैतिक र आर्थिक परिवर्तनले मात्र समाज र देश बदलिदैन । देश भनेको जनता हो । जनता – जनता बीचको पारस्परिक समझदारी र सामुदायिक अमन चयन बिना सभ्य समाजको निर्माण हुदैन ।

    अर्को दृष्टान्त; हरेकदिन फेसबुकमा समवेदना – श्रद्धाञ्जलीहरु देख्ने गर्छु । कसैकसैले मृत्युसँग जोडिएको भावात्मक उद्धरणमा समेत चाप्लुसी प्रदर्शन गर्छन् । जस्तै; “हाम्रो लायन्स क्लवका संस्थापक सदस्य तथा अमेरिका – रसुवा समाजका अध्यक्ष आदरणीय बरिष्ठ समाजसेवी अनन्य मित्र अधिवक्ता श्री हरिदास लुईटेलज्यूका ममतामयी सासुआमा स्व. चन्द्रमाया कुईंकेलको निधनले मर्माहत भएको छु । यो शोकको घडीमा परिवारजनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु” । यति धेरै नतमस्तक कसैले कसैप्रति हुनु पनि चाप्लुसी हो । मृतकको नाममा जिउँदोको पदको विज्ञापन सिवाय केही होइन । मुर्गी भन्दा मसला महंगो पर्यो भने पच्दैन ।

    एकदिन मैले क्षतिपूर्ति दिलाउने वकिलसँग पत्रिकामा विज्ञापन पाउने आशामा बातैपिच्छे सर सर प्रयोग गरेर बिनम्रता देखाएँ । अलिक बढी नै फ्लाटरिङ् (चिप्लो घस्ने) भएछ कि सायद उनले भन्यो; मलाई ‘ब्रस’ भने पुग्छ, मेरो नाम ब्रस हो । मैले ‘मिस्टर ब्रस’ भन्न थालें । पुन: भन्यो; “म तेरो साथी जस्तै हुँ, ब्रस भने पुग्छ” । मैले मरिगए ‘ब्रस’ मात्र भन्न सकिन । हामी मख्ख पारेर काम लिन सकिन्छ भन्ने परिवेश र सिकाईमा हुर्केका रहेछौं । 

    हामी अधिकाँश फाइदा हुने अवस्था परे; म पुरेत, म दलित, म क्षेत्रीय, म घरानीया ठकुरी, म उत्पिडित, म राणा परिवार इत्यादी भन्न पर्दैनौं । जातसँग जोडेर आफूलाई फाइदा हुने अनुकुल प्रतिकुल नापेर प्रस्तुत हुन्छन् । चेतनाको स्तर जतिसुकै बढेको जस्तो देखाएपनि क्षमता र योग्यताले भन्दापनि जातलाई विशेषणको रुपमा नामको अगाडि थपेर भन्न समेत पछि पर्दैनौं । एउटै थरका वरिपरी छन् भने, ‘हामी सबै फलानो थरका हौं ‘भनेर मानवीय भन्दापनि जातीय भावनामा हराउँछौं ।

    राजनैतिक र आर्थिक परिवर्तनले मात्र समाज र देश बदलिदैन । देश भनेको जनता हो । जनता – जनता बीचको पारस्परिक समझदारी र सामुदायिक अमन चयन बिना सभ्य समाजको निर्माण हुदैन । सभ्य समाजको लागि आपसी सम्बोधन र जायज मानवीय सम्मानको जरुरी पर्दछ ।

  • प्रचण्डको विलोपिकरण र अविश्वासको विकेन्द्रिकरण

    प्रचण्डको विलोपिकरण र अविश्वासको विकेन्द्रिकरण

    पुरुषोत्तम लम्साल / हाल: अमेरिका

    वर्तमान नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ साल पौष १८ गतेको एउटा सार्वजनिक भाषणमा भनेका थिए, ‘माक्र्सवाद भनेको हो पनि र होइन पनि ।’ प्रचण्डको भनाईको आशय ‘माक्र्सवाद ब्यावहारिक प्रयोग हुन पनि सक्छ र सन्दर्भ अनुसार परिवर्तन पनि हुनसक्छ’ भन्ने थियो । यो भनाईको आशय र अर्थ ‘माक्र्सवाद नै अन्तिम सत्य होइन र यो परिस्थितिअनुसार परिवर्तन भइरहन सक्छ’ भन्ने नै थियो ।

    आफ्ना निकटतम र विश्वासिला कार्यकर्ताको अगाडि स्वच्छन्द बगिरहेका प्रचण्डको उक्त भाषण उहिले ‘भाइरल’ भयो । अहिले त्यसको महत्ता बाबुराम भट्टराई नामका अर्का एकजना पूर्व माओवादी र पूर्वमाक्र्सवादीले ‘नेपालकै एउटा जलविद्युत् आयोजनामा वर्तमान नेकपामा दुईजना अध्यक्ष केपी ओली र प्रचण्ड एवम् प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले करोडौं कमिशन हसुरेको’ दावी गरेपछि अलि बढी देखिन थालेको छ ।

    बाबुरामको दावीको सत्यता परीक्षण अहिले सम्भव छैन । प्रमाण दिने दावी गर्ने बाबुराम भट्टराईसँग के के प्रमाण छन् ? दैव जानून । उसै पनि बाबुरामको यस्तो प्रकृतिको बोली नयाँ होइन । हिजोका दिनमा पनि उनले माओवादी लडाकूको शिविरमा भएको घोटालाको विषयमा बोलेका अभिव्यक्ति कर्कलाको पातमा बगेको शितको थोपा भएकै हुन् ।

    अझै पनि जातीय राज्यको पक्षमा अभिव्यक्ति दिएर, नेपालको धार्मिक जातीइ सहिष्णुताको मर्ममा प्रहार गर्ने गरी एकपक्षीय र पूर्वाग्रही अभिव्यक्ति दिंदादिंदै राजनीतिको किनारामा पुगिसकेका भट्टराईको अभिव्यक्तिको अन्तर्य केलाउनु बुद्धिमतापूर्ण कार्य हुन सक्दैन । यसैले यो बसाईलाई नेकपाकै सन्दर्भमा केन्द्रित गरेर अगाडि बढौं ।

    राजनीतिक विचारले लैस भएको ‘३ हजार सेनाले ९५ हजार नेपाली सेनालाई खान्छ’ भन्ने प्रचण्डको परिकल्पना धुलिसात भएको दिन नै प्रचण्ड आफ्नै राजनीतिक सहकर्मीहरुसँग टाडिए, एक्लो हुन पुगे ।

    प्रचण्ड भन्थे ‘हामी भाले (सभाकक्षमा हाँसो गुञ्जिएपछि प्रचण्डले अन्यथा नलिनुहोला भनेका थिए…) भइसकेपछि वा हाम्रो हात माथि परिसकेपछि नियम र कानून भनेको संशोधन हुन्छन् । हामी गर्छौ’ भनेका थिए । यो सन्दर्भ सत्ता कब्जाको सन्दर्भमा मुखरित भएको थियो । संविधानसभाको पक्ष वा विपक्षमा आएको थियो । अर्थात् अनुकूल संविधानको पक्ष वा विपक्षमा आएको थियो ।

    तर, संविधानसभा र संविधानको पटकथा प्रचण्डले अनुमान गरे जसरी अगाडि बढेन । हेटौंडा महाधिवेशनमा राजनीतिक कार्यदिशालाई नै एमालेकरणको बाटोमा अगाडि बढाइसकेपछि त्यहीबाट खिलराज रेग्मीको नेतृत्वमा सरकारको प्रस्ताव आइसकेपछि नै टेडिएको बाटो पुनः कहिल्यै सिधा भएन । यो बाटोमा पहिलो संविधानसभासम्म लक्षित माओवादी रणनीति पूर्णतः सफल भयो तर कटुवाल प्रकरणमा चुकेपछि ढलेको माओवादी पुनः कहिल्यै उठ्न नसक्नेगरी थला पर्यो ।

    राजनीतिक विचारले लैस भएको ‘३ हजार सेनाले ९५ हजार नेपाली सेनालाई खान्छ’ भन्ने प्रचण्डको परिकल्पना धुलिसात भएको दिन नै प्रचण्ड आफ्नै राजनीतिक सहकर्मीहरुसँग टाडिए, एक्लो हुन पुगे । परिणामतः विचार र राजनीतिमा एक्लिंदै, खुम्चदै गर्दा उनी एमाले जसलाई ‘पार्टी नै होइन’ भनेर पटकपटक सार्वजनिक अभिव्यक्ति दिएका थिए उनैसँग घाँटी र मेरुदण्ड जोडेर हामी ‘विचार राजनीतिमा एउटै हूँ’ भन्नपर्ने थितिमा पुगे । यी दृष्टान्त पस्कनुको कारण छ ।

    त्यो कारण के भने अझै पनि र कालगतिले ठगेन भने अबको दशक पनि नेपाली राजनीतिमा प्रचण्ड नै शिखर पुरुष हो र उनैलाई केन्द्र बनाएर वा प्रचण्डकै पेरिफेरिमा नेपाली राजनीति गतिशील हुने निश्चितप्रायः छ । र, प्रचण्डको अन्तर्यभित्र नेपालको केन्द्रीय शासन प्रणाली, राजनीतिक अस्थीरता, संघीयताको अभ्यास र स्थायीत्व निहित छ ।

    भन्दा नमिठो लाग्ला । माओवादी शसस्त्र विद्रोह (जनयुद्ध शब्दलाई माओवादीले नै विस्तारै अस्वीकार गर्दै गइरहेको छ), त्यसैको आडमा भएको जनविद्रोह (२०६२/६३ को जनआन्दोलन) र परिरिस्थतिजन्य कारणबाट अगाडि बढेको संघीय नेपालको परिकल्पनामा बर्तमान सत्तारुढ नेकपाभित्र कठोर अन्तरविरोध थियो र सम्भवतः अहिले पनि छ । किनकि पूर्ववर्ती एमाले र माओवादी अहिले आपसमा घुलन भएको अवस्था छ । यही अवस्थाको परिणाम दुई पार्टी एक भए पनि व्यवहारतः सिद्धान्ततः उनीहरुबीच एकताको कुनै रुपरंग देखिंदैन, देखिएको छैन भन्ने स्पष्ट देखिन्छ ।

    पछिल्लो दुई वर्षको एकतापछिको राजनीतिक अभ्यास केलाउने हो भने पनि माओवादी केन्द्र र एमालेबीच कागजी एकता मात्र भएको हो भन्न सकिने दर्जनौं तथ्य, कारण र आधारहरु छन् । एकतापछिका चरणमा एउटा निश्चित अवधि उनीहरुबीचको कटूताले राजनीति अस्थीरता पैदा गरेको छ । उनीहरुबीचको गुटगत संघर्षले राजनीति अस्थीरता पैदा गरेको छ । उनीहरुबीचको सांगठनिक वा सत्ता संघर्षले अस्थीरता पैदा गरेको छ । स्थीर सरकार र स्थीर राजनीतिक संंस्कारको जनताको परिकल्पना असफभएको अवस्था हो अहिले ।

    भन्नका लागि उनीहरुले यसलाई दुई लाइन संघर्षको जलप लगाउने प्रयत्न नगरेका होइनन् । भन्नका लागि उनीहरुले यो अस्थीरता र मनमुटावलाई बैचारिक लाइनको रुपमा व्याख्या गर्ने भरमग्दूर प्रयत्न नगरेका होइनन् । भन्नका लागि उनीहरुले विवादलाई सिद्धान्तको जलप लगाईदिएर कार्यकर्तालाई भुलभुलैयामा राख्ने प्रयत्न नगरेका होइनन् । भन्नका लागि उनीहरुले यही नै महान बहस हो पनि नभनेका होइनन् । तर ब्यवहारमा उनीहरुबीचमा फगत सत्ता संघर्ष, शक्ति संघर्ष र भागबण्डाको राजनीति मात्र ज्यूँदो रहेको र त्यसैले पार्टीको प्राण धानिरहेको न छिपेको छ न लुकेको छ । मान्नुहोस् यही त एकताको घोषणापछिको सार्वभौम सत्य र तथ्य दुबै हो ।

    नेकपा अझै एक छैन भन्नुको प्रमाण के पनि हो भने अझै पनि त्यहाँ प्रचण्ड गुटको नाममा भागबण्डा हुन्छ, ओलीको गुटको नाममा भागबण्डा हुन्छ र माधव नेपाल गुटको नाममा भागबण्डा हुन्छ । यही त्रिकोणीय भागबण्डाको शिकार हँदाहुँदै नेकपा नामको पार्टीको नेतृत्वमा रहेको भनिएको दुई तिहाई बहूमतको सरकार देशलाई अस्तव्यस्त बनाएर हाँकिरहेको छ ।

    पछिल्लो तीन महिनाको अन्त्यहीन विवाद र त्यसपछिको सहमति वा सम्झौताको कसीमा जाँच्दा पनि यो तथ्य पुष्टि हुन्छ । भदौ २६ गतेको स्थायी समितिको वैठक संघीय मन्त्रीपरिषद् र प्रदेश सरकार पुनर्गठन आपसी सहमतिमा गर्ने निर्णमा टुंगिएकै हो । यही थियो तीन महिने विवादको टुंगो । यही थियो फुट्यो फुट्यो, आजको भोली नै पार्टी फुट्यो भनेर दूधलाई दही बनाउने जोर्डनको टुंगो ।

    भयो के ?

    भयो के भने एउटै सिटमा बसेर एउटै विमान हाँकिरहेका दुई पाइलटबीच फेरि कुरा मिलेन । न राजदूत नियुक्तिमा कुरा मिल्यो र मन्त्रीपरिषद् विस्तारमा । न कार्यकारी प्रधानमन्त्रीमा कुरा मिल्यो न कार्यकारी अध्यक्षमा । पार्टीमा प्रचण्ड सरकारका ओली, तर सरकारले गर्ने महत्वपूर्ण निर्णयमा पार्टीको निर्णयको मर्म जहाँबाट धोती लाग्यो त्यहीबाट पुनः नेकपा एमाले र माओवादी केन्द्र ब्यूँझन्छ र ब्यूँझियो ।

    नेकपा अझै एक छैन भन्नुको प्रमाण के पनि हो भने अझै पनि त्यहाँ प्रचण्ड गुटको नाममा भागबण्डा हुन्छ, ओलीको गुटको नाममा भागबण्डा हुन्छ र माधव नेपाल गुटको नाममा भागबण्डा हुन्छ । यही त्रिकोणीय भागबण्डाको शिकार हँदाहुँदै नेकपा नामको पार्टीको नेतृत्वमा रहेको भनिएको दुई तिहाई बहूमतको सरकार देशलाई अस्तव्यस्त बनाएर हाँकिरहेको छ । यसमाथि कहिले थापा गुटको संख्या थपिन्छ त कहिले रावल गुटको । झोलाभित्र झोला, झोलाभित्र झोला र झोलाभित्र खोला भनेजस्तो नेकपाको गुटगत, समूहगत, स्वार्थगत राजनीतिको भेऊ पाउन कस्तै राजनीतिक पण्डितलाई पनि हम्मे पर्नसक्छ ।

    पछिल्लो दृष्टान्त हेरौं न,

    कर्णालीबाट सोहोरिएको राजनीतिक मतविभाजनको व्यवहारले आकार लिंदैछ । भएको केही होइन, पूर्व एमालेका दुई गुट र माओवादी केन्दैकै असन्तुष्ट एउटा समूहले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध प्रदेश संसदमा अविश्वास प्रस्ताव दता गराएका त हुन् । पार्टीगत हिसाबमा बहुमतमा रहे पनि गुटगत हिसाबमा मुख्यमन्त्री अल्पमतमा छन् । यत्ति न हो । प्रचण्ड गुटका मुख्यमन्त्री विरुद्ध ओली र नेपाल गुट एक भए त्यसमा प्रचण्ड गुटका केही सदस्य थपिए । यत्ति हो कुरा ।

    तर यसको प्रभाव बाग्मती प्रदेशतिर सोझिंदैछ । ३ नम्बर प्रदेशका मुख्मन्धी डोरमणी पौडेललले आफूविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर भएको बताएको अहिले होइन, उहिले हो । प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यलगायतका पूर्व माओवादी र नेपाल गुटले डोरमणीको कठालो तान्न थालेको अहिले होइन उहिले हो । हस्ताक्षर लिएकै तीन महिना भइसकेको छ ।

    शिकारमा प्रदेश १ का शेरधन राई पनि हुन सक्छन् । नाम मात्र शेर भएर भएन, पार्टी लाइनमा विभाजन भए भने उनी पनि बिरालोको अनुहार बाहिरिन पर्ने हुनसक्छ । किनकि, उनी पनि नेकपाकै मुख्यमन्त्री हुन् । अनुहार बाघको भए पनि बिरालोका भए पनि पार्टीमा विभाजन देखिएपछि लाग्ने कसैको केही होइन ।

    सारमा, नेकपाभित्रको गुटगत राजनीतिले गति लिएकै हो । चाहे त्यो कर्णाली प्रदेशमा होस् वा बाग्मति प्रदेशमा होस् वा बेनामे एक नम्बर प्रदेशमा । आगामी महाधिवेशनमा पार्टीको अध्यक्ष बन्ने घोषणा गरेका माधवकुमार नेपाल र सकेसम्म सर्वसम्मतिमा अध्यक्ष बन्नुँला भन्ने पुष्पकमल दाहालबीचको युद्ध केपी ओलीलाई बीचमा राखेर छेडिएको छ । यही युद्धकको परिणाम संघीयता विद्रूप अभ्यास भएको हो ।

    पार्टीभित्रको अविश्वासको यो विकेन्द्रीकरण हेर्दा रमाइलो लाग्ला तर व्यवहारमा यो संघीयताको नयाँ अभ्यासको प्रतिकूल छ । यहाँ बैचारिक दुई लाइनको संघर्ष र बैचारिक अन्तरविरोध कर्हीं कतै छैन भनेर कार्यकर्ता पंक्ति स्पष्ट हुन आवश्यक छ । पार्टी एकता सिद्धान्ततः होइन र बैचारिक रुपमा पनि होइन रहेनछ भन्ने भन्ने यो भन्दा बलियो प्रमाण खोज्न अन्त जानै पर्दैन । राजनीतिक अस्थीरताको बीऊ खोज्ने नारायण दाहालको भनाई र महेन्द्र शाहीविरुद्धको अविश्वासको प्रस्तावले ठीक गर्दैन भन्ने प्रचण्डको धम्की एउटै सिक्काको एकापटिको भाग मात्र हुन् । बुझ्नेले नेकपाभित्र शक्ति र संघर्षको यो विकेन्द्रीकरणलाई बुझिदिए भैगो ।

    सारमा,

    केपी ओली र प्रचण्ड दुबैले बराबरको प्रतिस्पर्धी पाएका छन् । राजनीतिक शतरञ्जमा ओली वाह हुनु र प्रचण्ड बिचरा हुनुमा यहाँ केही छ । तर प्रचण्ड बुहारी बिना मगरका लागि आफ्नो अस्तित्वको जोखिम मोल्न पनि सक्दैनथे र ओली बिना मगरका खातिर मात्र मौन सम्मति प्रचण्डम् गर्न पनि सक्दैनथे । नत्र प्रचण्ड उहिल्यै क्रमभंग भन्दै राजनीतिको अर्को मैदानमा हाम्फली सकेका हुन्थे ।

  • शेयर बजार र पम्प एण्ड डम्पको खतरा

    शेयर बजार र पम्प एण्ड डम्पको खतरा

    सरोज सिग्देल

    शेयरबजार अर्थात् पूँजी बजारलाई अर्थतन्त्रको प्रतिविम्व र तरलता सन्तुलन गराउने वित्तीय औजारको रूपमा विकास गर्ने उदेश्यले नेदरल्याण्डमा सन् १६०२ मा आम्स्टरडम स्टक एक्सचेञ्ज स्थापना भई सन् १६०६ मा डच ईस्ट इन्डिया कम्पनी Dutch East India Company (VOC) को धितोपत्र जारी गरेर धितोपत्र बजारको सुरू भएको विश्व इतिहास छ । आम्स्टरडम स्टक एक्सचेञ्ज नेदरल्याण्ड पछि (सन्१७२४) फ्रान्स, (सन् १७९०) अमेरिका , (सन् १८०१) बेलायत, (सन् १८०८) ईटाली, (सन् १८२०) जर्मनी, (सन् १८१३) स्पेन, (सन् १८६१) क्यानडा, (सन् १८७२) अष्ट्रेलिया र (सन् १८७५) भारतमा स्यापना भएका हुन ।

    नेपालको इतिहास हेर्ने हो भने सन् १९९३ मा स्थापना भएको नेपाल स्टक एक्सचेञ्ज नै  हो, यद्यपि सन् १९३७ मा विराटनगर जुट मिल्सले शेयर जारी गरी सर्वसाधारणबाट पूँजी सङ्कलन गरेको पाईन्छ। कम्पनी ऐन २०२१ अनुसार वि.सं. २०३३ असार २२ गते सेक्युरिटी खरिदबिक्री केन्द्र (SMC) को स्थापना भएको थियो भने वि.सं. २०३८ देखिमात्र विविध रूपमा दोश्रो बजारमा धितोपत्रको कारोबार शुरु भएको पाईन्छ। धितोपत्र कारोबार सम्बन्धि ऐन भने सर्वप्रथम २०४९ मा जारी भई त्यसको पहिलो संशोधन पश्चात वि.सं. २०५० जेष्ठ १३ गते सेक्युरिटी एक्सचेञ्ज सेन्टर (SEC) स्थापना भएको र त्यसैको नाम परिवर्तन भई हालको नेपाल स्टक एक्सचेञ्ज लि. (NEPSE) भएको हो र यसले धितोपत्र कारोबारमा बजारको संगठनात्मक विकास र औपचारिक दोश्रो बजारको रूपमा कारोबार शुरू गरेको हो।

    पम्प एण्ड डम्प

    पुँजी बजारलाई आफ्नो महत्त्वाकांक्षा पूर्ति गर्ने खुड्किलाका रुपमा परिभाषित गर्ने लगानीकर्ताहरुले निकै चलाखीपूर्ण तरिकाले  धोकेवाजी गर्ने गर्दछन् र यसलाई व्यक्तिगत रुपमा लिइँदैन अर्थात  कुनै पनि व्यक्ति, समूह वा संगठित संस्थाहरुले कुनै निश्चित कम्पनीको शेयरलाई अत्याधिक उचाईमा पुर्याउने र आफूसँग भएको शेयर उच्च विन्दुमा  अतिरञ्जित तरीकाले बेचेर मुनाफा कमाउने प्रक्रियालाई ‘पम्प एण्ड डम्प’ भनिन्छ । यसमा विभिन्न समूहहरु जोडिएका हुन्छन् । सर्वप्रथम (Risk of resume) समय परिस्थिति सुहाउने गरी उपलब्ध शेयरहरु मध्येबाट केही शेयरहरूको छनौट गरिन्छ, ती शेयरहरूको बारेमा बजारमा हल्ला फैलिन्छ (यस्तै हुँदैछ रे है ?) अनि ब्लगहरु लेख्न थालिन्छ, तत्पश्चात त्यसले समाचारको रुप लिन्छ र त्यस समाचारलाई धेरैभन्दा धेरै लगानिकर्ता समक्ष पुर्याइन्छ जसको कारण बजारमा अत्याधिक मागको सृजना हुन्छ l सुरुमा तिनै समूहले खरिद गर्छन् र तुरुन्त विक्रि गरिन्छ यसबाट यो समूहले ठुलो मुनाफा आर्जन गर्दछन् । सामान्यतया यसको अवधि ३ देखि ५ दिनसम्म रहन्छ ।

    ठूला मानिएका कम्पनीहरुको जस्तै: वालमार्ट, माईक्ररोसफ्ट, एप्पल र टेस्ला सर्वाधिक उचाइको बिन्दुमा पुगे । त्यसै समयमा एप्पलका कार्यकारी प्रमुखले आफूसँग रहेको शेयर ठूलो मात्रामा बिक्री गरेका थिए त्यसको लगत्तै बजारले ठुलो करेक्सन लिएको थियो

    गतहप्ता अमेरिकी शेयरबाजारमा पनि ठूलो उतारचढाव देखिएको थियो । ठूला मानिएका कम्पनीहरुको जस्तै: वालमार्ट, माईक्ररोसफ्ट, एप्पल र टेस्ला सर्वाधिक उचाइको बिन्दुमा पुगे । त्यसै समयमा एप्पलका कार्यकारी प्रमुखले आफूसँग रहेको शेयर ठूलो मात्रामा बिक्री गरेका थिए त्यसको लगत्तै बजारले ठुलो करेक्सन लिएको थियो तसर्थ यसलाई पनि पम्प एण्ड डम्प भएको अनुमान गरिएको छ । बजारले करेक्सन लिनु भनेको नियमित प्रक्रिया नै हो तर चितुवा कराउनु र बाख्रा हराउनु  एकैसाथ भएको देखिन्छ ।

    शेयर बजार एक लडाइको मैदान हो जहाँ  मुनाफा आर्जन गर्नेहरु मात्र बजारमा टिकिरहन सक्दछन्  भन्ने यो समूह उचित मौकाको पर्खाइमा बसिरहेका हुन्छन् जब लाग्छ बजार अनुकूल छ तब यो समूहले आफ्नो कार्य थालनि गर्दछ सर्वप्रथम सस्तो मूल्यको शेरहरुलाई बढाउने कार्यको थालनि हुन्छ  साथै दैनिक कारोबार रकम उच्च भएको, तरलता अधिक भएको, नयाँ लगानिकर्ताहरु आकर्षित भएका र आफूले छनौट गरेका सेयरहरुलाई  तल-माथि गर्नसक्ने समयलाई मौका छोपि आफ्नो योजनाहरु सफल पार्न लागि परिरहेका हुन्छन् । यसको ताजा उदाहरण सम्झने हो भने हामीले February 27/2020 फर्केर हेर्न सकिन्छ ।

    यसबाट हामीहरु कसरी बच्न सकिन्छ त भन्ने प्रश्न तपाईंको मनमा आयो होला ? जुन स्वभाविकै पनि हो । रातारात धनी हुने सुरमा आफुले गरेको अध्यन, विश्लेषणलाई थाति राखी हल्लाको भरमा नपर्न नै यसको मुख्य समाधान हो । सारा विश्व दिनरात केही नभनि यति लामो समयदेखि कोरोना भाइरसको भ्याक्सिनको खोजीमा छ तर आजसम्म पनि सफलता हासिल हुन सकेको छैन उदाहरण हाम्रो सामु नै छ l रातारात केही पनि परिवर्तन हुँदैन र जसरी पनि कमाउने  हो भन्ने सोच भन्दापनि कम्पनीको उचित विश्लेषण गरी दीर्घकालिन लगानिका योजनासाथ अगाडि बढ्ने लगानिकर्ताहरु नै सफल हुने गर्दछन् ।  

  • नेपालमा लघुवित्त क्षेत्रका चुनौति र समाधानका प्रयास

    नेपालमा लघुवित्त क्षेत्रका चुनौति र समाधानका प्रयास

    सुर्य नारायण पुरी, काठमाडौं

    नेपाल राष्ट्र बैंकमा दर्ता भएर आधिकारिक वित्तीय कारोबार गर्ने सँस्थाहरु मध्ये ‘लघुवित्त वित्तीय संस्था’ राष्ट्र बैंकको वर्गिकरण अनुसार ‘घ’ वर्गमा पर्ने वित्तीय संस्था हो । लघुवित्त वित्तीय संस्थाहरुको सेवा-लक्ष भनेको पिछडिएका समुदाय र दुर्गम क्षेत्र जहाँ बैंक तथा वित्तीय पहुँच कम हुने गर्दछ । यसले खासगरी सानो पुँजी सम्बन्धि कारोवारो गर्ने गर्दछ । प्रत्येक आर्थिक वर्षमा राष्ट्र बैंकद्वारा प्रकाशित मौद्रिक नीतिमा उल्लेखित लघुवित्त सम्बन्धि व्यवस्था अनुसार महिला दिदीबहिनीहरुको सामुहिक जमानीमा कर्जा लगानि तथा ब्याज बचतको कारोवारो गर्ने गर्दछ ।
    हाल नेपालमा कुल जनसंख्याको मध्ये २५.२ प्रतिशत जनता चरम गरिबीको रेखामुनी रहेका छन् । यिनै न्युन आय भएका परिवारलाई लक्षित गरेर लघुवित्त वित्तीय संस्थाहरुले आ–आफ्नो कार्यक्रमहरु सञ्चालन गरिरहेका हुन्छन् । देशको आर्थिक वृद्धि दरको चित्र हेर्दा आर्थिक वर्ष २०७५/७६ मा ७ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल भएकोमा कोरोना महामारीले यो आर्थिक वर्ष २०७७/७८ मा २.२८ प्रतिशतमा सिमीत रहन पुग्यो ।

    लघुवित्त क्षेत्रका वर्तमान चुनौतिहरु :

    वर्तमान समयमा लघुवित्तहरुको मुनाफा घटदो दरमा रहेको छ । शेयरको मुल्य समेत गिरावट हुदैछ । लघुवित्तसँग स्वयम् सञ्चालित हुने पुँजी कम छ । ग्राहकहरु कर्जा लिन डराईरहेका छन अर्थात कर्जा लगानि पर्याप्त हुन सकिरहेको छैन ।ग्राहकहरुलाई मासिक बचत गर्नको लागि समेत अप्ठेरो महसुस भईरहेको छ । कोरोनाभाइरसको महामारीले गर्दा वैदेशिक रोजगारबाट फर्किने क्रम बढिरहेको छ । नेपालमै ज्यालादारी काम समेत पाउने अवस्था छैन । नेपालको निजी क्षेत्रमा काम गर्ने सुचिकृत भएको कर्मचारीहरुको झण्डै २२ प्रतिशतको रोजगार गुमेको छ । वित्तीय क्षेत्रमा खराब कर्जा बढेको दिनदिनै प्रतिवेदनहरु आईरहेका छन । आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित मौद्रिक नीतिले लघुवित्तहरुलाई दिइएको १८ प्रतिशत कर्जा ब्याजदरलाई ३ प्रतिशत कटौती गरी १५ प्रतिशतमा झारेको छ । वित्तीय संस्थाले कर्जा लगानी गरेको शिर्षकमा ग्राहकले कर्जा लगानि गरे-नगरेको अनुगनम प्रभावकारी हुन सकिरहेको छैन । 

    समुदायमा एउटै ग्राहक धेरै लघुवित्तमा बसेकोले कर्जा सुरक्षित हुने वातावरण कम रहेको छ । यस्ता ग्राहकहरुको मासिक आम्दानी भन्दा तिर्ने रकम बढी हुने हुदा कर्जा तथा ब्याज समेत उठाउन हम्मे हम्मे भईरहेको छ भने लगानि गर्नलाई चुनौति बढी रहेको छ ।

    नेपालमा झण्डै ३३ लाख महिला दिदीबहिनी लघुवित्त क्षेत्रमा आवद्ध रहेका छन । यो प्रक्रिया हरेक दिन बढ्दो दरमा हुने गर्दछ । तथ्यांक विभाग अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ३८ हजार पुगेको छ । कुल नेपालको ऋणलाई जनसंख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४२ हजार ६ सय सरकारी ऋण पुगेको छ । यो नेपालको लागि ठुलो चुनौतिको विषय हो । 

    विशेषगरी वित्तीय क्षेत्रले कर्जा लगानी गर्दा ध्यान दिनु पर्ने कुरा पनि हो । कुल जनसंख्याको २५.२ प्रतिशत चरम गरिवीको रेखामुनि रहेकोले वित्तीय संस्थामा आवद्ध ग्राहकको वास्तविक आम्दानी र ऊसंग भएको विशिष्ट सीपका आधारमा कस्तो प्रकृतिको ग्राहक हो भनेर लुघवित्तसंग कुनै आधिकारिक मान्यता प्राप्त तथ्याँक हुदैन । कोरोना रोग माहामारीको निदान कहिले हुने कुनै टुङगो छैन । यि विविध बाहिर देखिने चुनौतीहरु हुन् । यस समयमा लुघुवित्त संस्थाहरुको कर्जा लगानि गर्ने, नयाँ ग्राहक बनाउने वा समुदायमा कार्यक्रम लैजादा बिद्यमान रणनीतिमा अवश्य पनि परिर्वतन हुन आवश्यक देखिन्छ ।  

    कस्ता रणनीतिहरु अपनाउने:

    १.कर्मचारीहरुको क्षमता अभिवृद्धि; लघुवित्त क्षेत्रमा आवद्ध कर्मचारीहरुलाई वाणिज्य बैंकलाई दिइए जस्तो जिम्मेवारी दिइएको हुदैन । सोही अनुसार कर्मचारी नियुक्ति गरिएको हुन्छ तसर्थ कर्मचारीहरुलाई समाजिक उत्प्रेरणाको बारेमा पर्याप्त ज्ञान-सीप दिनु पर्दछ । यसलाई वित्तीय संस्थाले लगानिको रुपमा बुझ्नु पर्दछ । जसले वित्तीय क्षेत्रको उद्देश्य पुरा गर्न र ग्राहकको आम्दानि विस्तार गर्नमा प्राविधिक पक्षहरु सजिलै ग्राहकलाई सन्तुष्ट हुने गरी सिकाउन र भन्न सकोस ।

    २. समुदायमा कार्यक्रम विस्तार; लघुवित्तको मर्म अनुरुप वित्तीय पहुचसंग पछाडि परेका समुदाय भनेका पक्कै पनि गरीवीको रेखामुनि रहेका हुनसक्छन । उनिहरुको आम्दानीको श्रोतको आधारमा र वित्तीय साक्षरताको महत्वका बारेमा समुदायका सबै अभिभावक तथा महिलाहरुसँग महिनाको एक वा दुई दिन छलफल गर्ने गर्नु पर्दछ । वित्तीय साक्षरता बारेमा पर्याप्त ज्ञान भए पश्चात वित्तीय संस्थाको महत्व बारे बुझ्न सजिलो हुनेछ र कार्यक्रम लागू गर्न सजिलो हुनेछ । वित्तीय संस्थाले संस्थाकाो मुनाफाको आधारमा ग्राहक संरक्षण गर्ने उद्देश्यले समुदाय स्तरमा नै समस्या पहिचान गरेर खानेपानी धाराहरु, माछापालन पोखरीहरु, कृषि उत्पादन, सिलाईकटाई मेशिन, होमस्टे, सिचाई कुलो आदि जस्ता प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्दछ । यि मार्फत समुदायमा जोडिदा निर्जीवन बीमा कम्पनीलाई विर्सनु हुदैन । यस्ता कुराहरुले समुदायको आर्थिक आम्दानि वृद्धि हुने र लघुवित्तको प्रभाव पनि बढ्न सक्छ ।

    ३. कर्जा लगानि; कर्जा ग्राहकले विभिन्न उद्देश्यले कर्जा माग गर्दछ, लिन्छ । तर के कर्जा लिनु पूर्व पारिवारिक सल्लाह भएको छ ? भन्ने कुराको हेक्का नराखेर नै कर्जा लगानि भयो भने त्यो ठुलो चुनौति हुनेगर्दछ । यद्यपी ग्राहकले कर्जा लगानि गर्ने क्षेत्र, वर्तमान परिस्थितिमा कस्तो छ वा जोखीम कत्तिको रहेको छ ? यि विविध प्राविधिक पक्षहरुलाई आँकलन गरेर ग्राहकलाई कर्जा लगानि गर्न सक्नु लघुवित्तहरुको मुख्य क्षमता हो ।

    कोरोना रोग महामारीको समयमा ग्राहकहरुले कर्जा लिन खोज्दा लघुवित्तले कोरोना रोग माहामारी भन्दा पहिलेकै मापदण्ड अपनाएर लगानी गर्यो भने कर्जा कम लगानि हुने वा ग्राहक कर्जा लिन डराउने समस्या हुने गर्दछ । यद्यपी ग्राहकलाई कर्जा तिर्न सक्ने र लगानि क्षेत्रदेखि मुनाफा हुने व्यवसायिक योजना बनाउन सिकाउने, कृषि क्षेत्रमा कर्जा दिदा ग्राहकलाई कृषि सम्बन्धि सीप दिने वा वित्तीय संस्थादेखि ग्राहकले कर्जा लिएर लगानि गरिसकेपछि किस्ता ब्याज मात्र तिर्ने भन्दा आम्दानी पनि गर्न सक्छु भन्ने हेक्का वित्तीय संस्थाले दिन सक्नु पर्दछ ।

    ४. बचत : समुदाय स्तरमा बचतको कुरा गर्दा सहकारीहरुको नाम अगाडि लिने गर्दछन । वास्तवमा बचतको बारेमा लघुवित्तले वित्तीय साक्षरता कार्यक्रम पर्याप्त बुझाउन सकेन भने बचतमा पक्कै पनि समस्या हुने गर्दछ । तसर्थ बचत किन, कसरी, कति आदी विभिन्न कुराहरु सहकारी भन्दा लघुवित्त क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रमहरु बढी हुने भएकोले समुदाय स्तरमा पर्याप्त जानकारी दिनु पर्दछ ।

  • न्यायाधिशको स्वविवेकीय प्रयोगको अभ्यास; रञ्जन कोइराला काण्ड

    न्यायाधिशको स्वविवेकीय प्रयोगको अभ्यास; रञ्जन कोइराला काण्ड

    कल्पना शाक्य  (अधिवक्ता)

    २०६८ सालमा गीता ढकालको नियोजित हत्या गरी लुकाएर लास जलाइयो भनि निजकै पति पूर्व डिआईजी रञ्जन कोईरालाको मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालतले सर्वस्व सहित जन्म कैदको फैसला सुनाएको थियो । हाल सो फैसला चर्को पर्ने देखिएकोले भनि उच्च न्यायालयबाट सजायावधि घटाएर साढे आठ वर्ष कैद सुनाई तत्कालै उनलाई रिहाई गरियो । 

    उपरोक्त परिदृष्यले अदालतप्रतिको अविश्वासको वातावरण झाँगिएको छ । जनमानसले न्यायालयउपर प्रश्न उठाएका छन् । विवादित रञ्जन कोईरालाको मुद्दामा बुझ्नुपर्ने तथ्यगत तथा कानूनी प्रश्न के हो ? किन र कसरी निर्णय गरियो ? जस्ता प्रश्नको कानूनी उत्तर चाहिएको छ । निज अपराधि रञ्जन कोईरालाले योजनाबद्ध ढंगले श्रीमतीको हत्या गरी जंगलमा लगी लुकाएर लास जलाएको कुरामा कसैको दुई मत देखिएको थिएन । हत्या गरेको कुरा न्यायलयले ठहर गरी सर्वस्व सहित जन्म कैद गर्दा यतिबेला चर्को पर्ने देखिएकोले भनि स्वविवेकको प्रयोग गरि सजाय कम गरिदिएको अवस्थाले यो अन्यौलको अवस्था श्रृजना भएको हो ।

    कानूनशास्त्रका बिभिन्न सम्प्रदायहरु मध्ये प्रत्यक्ष कानूनी सम्प्रदायले विधायिकाबाट निर्मित कानून तथा न्यायपालिकाबाट प्रतिपादित फैसला र कार्यपालिकाद्वारा लागू गरिने कार्यान्वयन प्रकृयालाई मात्र कानूनको विषयबस्तु मान्दछ । सो बाहेक अन्य सबै सम्प्रदायले कानूनको अध्ययनलाई कुनै न कुनै शास्त्रसँग अन्तरसम्बन्धित गरेर अध्ययन गर्दछ । न्याय सम्पादन गर्दा कुन कानून र अवधारणाको जगमा गरिएको हो सो स्पष्ट हुनुपर्दछ । जस्तो कि प्राकृतिक सम्प्रदायले प्राकृतिक न्यायको सिद्धान्त विपरित हुन हुने कुरामा जोड दिन्छ भने, धार्मिक सम्प्रदायले धर्म बिपरित कानून निर्माण हुन नसक्ने तथ्यमा जोड दिन्छ । ऐतिहासिक सम्प्रदायले कानूनको निर्माण गर्ने क्रममा कानूनको ईतिहासलाई समेत अध्ययन गरिनुपर्ने तर्क अगाडि सारेका छन् । अदालतबाट केवल फैसला मात्र नभएर न्याय सम्पादन होस भन्नाका खातिर कानूलाई यी सबै सम्प्रदायसँग तुलनात्मक तथा विश्लेषणत्मक अध्ययन गरिनु जरुरी हुन्छ । उपरोक्त फैसला स्वविवेक बाहेक कुनैपनि न्यायिक आधारसँग सम्वद्ध छैन ।

    नेपालको कानुनी इतिहासलाई फर्केर हेर्दा लिखित कानून निर्माण हुनु अगावै धर्मशास्त्र, नैतिकता, परम्परा, प्राकृतिक न्याय आदिलाई आधार मानेर विवादित विषय सुल्झ्याईन्थ्यो । विषयलाई यसरी बुझौं; बि.सं. १९१० मा पहलो पटक नेपालमा लिखित कानूनको निर्माण भयो । कानूनको लागि समाज नभई समाजको लागि कानून भएको हुँदा सामाजिक, राजनीतिक परिवर्तन सँगसँगै कानूनमा पनि संशोधन, थपघट हुनु स्वभाविक प्रकृया हो । तसर्थ बि.सं. २०२० सालमा नयाँ मुलुकी ऐनको जन्म भयो । मुलुकी ऐन २०२० ले थुप्रै पटक संशोधित हुँदै कानूनी राज्य स्थापनार्थ अहम भुमिका खेलिरहेको थियो । समाजमा राजनैतिक, आर्थिक, बैज्ञानिक आदि जस्ता हरेक क्षेत्रमा भएको तिब्र परिवर्तनलाई मु.ऐ. २०२० को संशोधनले मात्र थेग्न नसकेपछि ब्यापक परिवर्तन र नयाँ अवधारण सहित मुलुकी देवानी संहिता, २०७४ र मुलुकी अपराध संहिता, २०७४ अस्तित्वमा आयो । तर जतिनै पटक कानून निर्माण र संशोधन भएता पनि धर्म र परम्परालाई नजर अन्दाज गरिएको छैन बरु उचित स्थान दिईएको छ ।

    न्यायाधीशले न्यायको मान्य सिद्धान्तमा रहेर फैसला गर्नुपर्छ भन्ने स्थापित मान्यता बिद्यमान छ । न्यायाधीशले कानूनको प्रयोग र ब्याख्या गर्दा विधायिकी मनसायलाई बुझ्ने गर्दछ भन्ने मान्यता र अवधारणाको आधारमा न्यायाधीशलाई तजविजी अधिकार प्रदान गरिएको हुन्छ । पछिल्लो समयमा अदालतबाट यस्ता फैसलाहरु प्रतिपादन हुने क्रम बढ्दो छ जसले गर्दा न्यायाधीशबाट न्याय होईन फैसलाधिशबाट फैसला सम्पादन भयो भन्ने भनाईले ब्यापकता पाउन थालेको छ । यसले गर्दा अदालतप्रतिको जनआस्था झन् झन् कमजोर हुँदैछ ।

    यसरी स्वविवेकको प्रयोग गर्न सकिने वा नसकिने सम्बन्धमा कानूनी व्यवस्थालाई हेर्दा मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको महलको १८८ नं. मा ‘ऐनले सर्वस्व सहित जन्म कैद वा जन्म कैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गर्नेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन बमोजिमको सजाय दिंदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई चित्तले देखेको कारण सहितको खुलासा पनि साधक तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ’ । भन्ने स्पष्ट व्यवस्था थियो भने हालको मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ४ र परिच्छेद ५ ले यस्तै किसीमको व्यवस्था समेट्न खोजेको पाईन्छ । परिच्छेद ४ को दफा ३८ ले कसूरको गम्भीरता बढाउने तथा घटाउने अवस्थाहरुको बारेमा व्यवस्था गरेको छ । त्यसैगरी मुलुकी अपराध संहिता , २०७४ को परिच्छेद  ५ को दफा ४७ ले सजाय छुट दिन सकिने व्यवस्था गरेको छ । कोईरालाले अपराध गरेको समयमा मुलुकी ऐन २०२० लागू भएको अवस्था हुँदा मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको १८८ नं. प्रयोग गरिएको छ । कार्यविधि कानूनका हकमा प्रचलित कानूनी व्यवस्था आकर्षित हुन्छ भने सजाय के कति गर्ने भन्ने सारवान कानुनको विषयमा प्रचलनमा रहेको कानूनले सजाय घटाएको वा सजाय नहुने व्यवस्था गरेको बाहेक साबिक कानून अनुसार नै सजाय निर्धारण गर्नुपर्ने कानूनी सिद्धान्त रहे अनुसार यस मुद्दामा मु.ऐ. अबं. १८८ नं. प्रयोग गरेको देखिन्छ ।

    अ.बं. १८८ को प्रयोग गर्दा सामान्यतया सर्वोच्चको फैसलामा ग्रहण गर्ने गरिएका आधारहरु; मार्ने मनसाय नभएको । मार्ने पूर्व योजना नबनाएको । तत्काल उठेको रिसबाट आवेशमा आई मारेको । क्रुरता र यातनापूर्वक हत्या नभएको । अपराधको प्रकृति र मात्रा । अपराध गर्ने व्यक्तिको उद्दश्य र सामाजिक पृष्ठभूमि । अपराध हुनुपर्ने परिस्थिति । अपराध गर्ने व्यक्तिको उमेर, शारीरिक, मानसिक, आर्थिक अवस्था र पारिवारिक स्थिति आदि ।

    रञ्जन कोईरालाको हकमा  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ४ को दफा ३८ अनुसार निजको कार्य कसूरको गम्भिरता बढाउने किसिमको छ । उक्त मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकका लागि निस्सा दिइसकेको अवस्था छ र सम्मानित सर्वोच्च अदालतद्वारा प्रस्तुत मुद्दा उल्टी हुन्छ हुदैन भन्नेतर्फ बहस गर्नुभन्दा पनि यसले माननीय न्यायाधीशहरुमाथि नैतिक प्रश्न उठाएको छ ।

    मुद्दामा फैसला गर्दा फैसलाले न्यायको अनुभुति दिन सक्नु पर्छ । न्याय दिनाको लागि न्यायाधीशको मनमा हरि (भगवान) को वास हुनुपर्दछ भन्ने मान्यता नेपाली समाजमा रहिआएको हो । मुलुकी ऐन, २०२० को १८८ नं. र मुलुकी अपराध संहिता २०७४, को दफा ३८, ३९ र ४७ ले गरेको व्यवस्थाको मर्म रञ्जन कोईरालाको मुद्दामा सजाय घटाउने न्यायाधिशद्वयले बुझेको रहेछ भनेर विवेक भएको मानिसदेखि कानूनबेत्ता समेतले चित्त बुझाउने ठाउँ देखिएन । 

    प्रेमिकासँग विवाह गर्नको लागि बिहान भर्खर भेटेर कुराकानी गरेर फर्किएका रञ्जनले मार्ने योजना अनुसार फर्केर आई क्रुरतापूर्वक हत्या गरी, प्रहरीले पाउने सुविधा अन्तर्गतको पेट्रोल खरिद गरी जंगलमा लगेर आगो लगाई प्रमाण नष्ट गर्न खोजेको दसी प्रमाणहरु देखिन्छ । आपसी मनमुटाव रहेको र मुद्दा मामिला परेको भएता पनि निजले श्रीमतीलाई मार्नै पर्नेसम्मको बाध्यात्मक परिस्थितीको सामना निजले गर्नुपरेको भनि मान्न सकिदैन । किनकी निज आफै डिआईजी पदमा बहालवाला थिए ।

    रञ्जन कोईरालाको तात्कालिन उच्च सामाजिक, आर्थिक, पदीय हैसियतमा महाभारतको एउटा प्रसंगले मेल खान्छ; हस्तिनापूरको राजकुमारहरु गुरुकुलबाट शिक्षा आर्जन गरी जब दरबारमा फर्किए तब राजा धृतराष्ट्रले मुलुकको युवराज चयन गर्नका निम्ति युधिष्ठीर र दूर्योधनलाई एउटा मुद्दामा सजाय सुनाउन भने । एउटै हत्याका ४ जना अपराधिहरु ब्राम्हण, क्षेत्रीय, बैष्य र शुद्र थिए । दूर्योधनले एउटै अपराध गरेका हुनाले चारैजनालाई मृत्यूदण्डको सजाय  सुनाए । जब युधिष्ठरको पालो आयो तब उनले शुद्रलाई ४ वर्ष कैद, बैश्यलाई ८ वर्ष कैद, क्षेत्रीयलाई १६ वर्ष कैद र ब्राम्हणको अपराध क्षम्य नहुने हुँदा निजलाई सजाय सुनाउनको लागि स्वयं महाराज धृतराष्ट्रसँग अनुरोध गरे । जब एउटै अपराधमा छुट्टा छुट्टै सजाय सुनाउनुको कारण सोधियो । उनको जवाफ थियो; “शुद्रको अपराध एउटा अज्ञानीको अपराध थियो, बैष्यले थोरै ज्ञान हुँदाहुँदै पनि अपराध गरेको थियो । क्षेत्रीयले आफुले रक्षा गर्ने कर्तव्य भएकोमा उल्टो हत्या गरेकोले निजको अपराधको गम्भीरता बढेको र ब्राम्हण ज्ञानी हुँदाहँदै पनि अपराध गरेकोले उनको अपराध अक्षम्य रहेको” जिकीर युधिष्ठरले गर्यो । सो सजाय सुनाउनमा उनले जुन बिद्धता, न्यायीक भावना, दूरदर्शिता प्रदर्शन गरे सोबाट धृतराष्ट्र आफ्नो छोरा दूर्योधनको सट्टामा भाई पाण्डुका छोरा युधिष्ठीरलाई युवराज घोषित गर्न बाध्य बनेका थिए । महाभारतको यस प्रसंगलाई अनुशरण गरेर अहिलेको आधुनिक युगमा पनि जातियता अनुसार सजाय निर्धारण गर्नुपर्छ भन्न खोजिएको कदापी होईन । तर उक्त तोकिएको सजायले अपराधीको मानसिक, सामाजिक, शैक्षिक, पदीय हैसियतको बारेमा मनन गरेर अपराध घटाउँदा मनसायको विद्यमानताको अवस्थाको शुक्ष्म बिश्लेषण गरिएको छ । साथै सक्षम, शिक्षीत, कर्तव्य परायण व्यक्ति स्वयंले अपराध गरेमा अपराधको गाम्भीर्यता बढ्ने सन्देश दिएको छ । जुन सन्देश हाम्रो हालसम्मकै लिखित कानुनी दस्तावेजहरुमा र फैसलाहरुमा प्रत्यक्ष, अप्रत्यक्ष रुपले समावेश भएको पाऊन सकिन्छ । तर विवादीत रञ्जन कोईरालाको कर्तव्य ज्यान मुद्दामा अपराधको गम्भीरता बढाउने तत्वहरुमात्र समावेश भएको अवस्थामा ठिक उल्टो तरिकाबाट सजाय कम गराउने फैसला निस्किएपछि गर्भदेखिनै महाभारत ग्रन्थ सुनेर हुर्किएका नेपाली जनमानसमा अदालत, न्यायाधिश, वकिलहरुप्रति आस्था घट्न गएकोमा त्यसको जिम्मेवारी स्वयं कानूनसँग आबद्ध व्यक्तिहरुले लिनपर्दछ ।

    अदालतमा बिचाराधिन मुद्दामा मिडियाबाजी चर्कियो, जो कोहिले बोल्न थाल्यो भनेर दोष जति अरुको थाप्लोमा पन्छाई आफु चोखिन खोज्नु भन्दा पनि कतै आफै त आफ्नो कर्तव्यबाट च्यूत भईन ? भन्ने प्रश्न आफैसँग गर्नुपर्ने बेला आईसकेको छ । न्यायाधिशले फैसलाधिश होईन साँच्चीकै न्यायाधिश बनेर देखाउनु पर्दछ ।

  • प्रवीण गिरी सरको सम्झनामा

    प्रवीण गिरी सरको सम्झनामा

    पुरुषोत्तम लम्साल 

    “हुत्तिनपर्ने ठाउँमा हुत्तिन पर्छ, बत्तिन पर्ने ठाउँमा बत्तिन पर्छ, जहाँ अडिन पर्ने हो त्याँ अडिन पर्छ, ठूलो फ्रेमवाला चश्माबाट तीखा दृष्टी मतिर फालेर प्रवीण सरले थपे – लय खोज्दा भाव पोलेर खाने बानी हटाइदेऊ, जहाँ ठोक्नपर्ने हो त्यहाँ घनै ठोक्नपर्छ।”

    गिरी सरका ‘यार’ कमल प्रधान सर छेऊमा हुनुहुन्थ्यो। ‘यार’कै शैलीमा कमल सरले अलि कडा प्रहारबाट मलाई संरक्षण गर्नुभएको छ।

    ‘ए पुरु ! ठीक भएपछि एकदिन तिम्ले भनेको ठाउँमा माछा मार्न जानुपर्छ है?’, कलेजोको क्यान्सर गाडा हुँदै जाँदा पनि प्रवीण सरको अलग्गै सौख दुरुस्त थियो।

    त्रिशुली गएर फर्कदा गेर्खुटारका रामहरी पाण्डे सरबाट गँड्यौलाको एउटा पोको ल्याएँ। त्यो कोशेलीपछि प्रवीण सरले भन्नुभएको थियो– लुभुघाटमा दिउंसै ‘क्याम्पफायर’ गर्नुपर्दछ ।’ बिन्दास हुनु, यायावर झैं डुल्ने लतलाई हौस्याउँथे प्रवीण सर।

    अन्तिमपटक ओम अस्पतालमा ‘केमो’ लिन गएका बखत पनि भेट हुंदा पुरानै शैलीमा प्रवीण सरले भन्नुभएको थियो, ‘गड्यौलाको थुप्रो भइसक्यो, खोइ कहिले जाने’ बिदेशबाट उपलब्ध बल्छीले माछा शिकार खेल्ने त्यो योजना अर्को महिनासम्म त्यस्तै भयो।

    प्रवीण सरसँग हाकिम र कारिन्दाबीचको सम्बन्ध मैले अनुभवै गरिन। ‘हावाले रुखबाट कुन भित कतिबेला झार्छ त्यस्लाई भुईमा खस्न नदिएर समाउनु’ भन्दा पनि तयार हुने शिष्य झैं थिएँ म, त्यसभित्रको शिक्षा र अर्थ पछि ब्यवहारिक बन्यो।

    ठमेलका गल्लीहरुमा हिप्पीहरुको जगजगी हुँदाका अल्लारे प्रवीण गिरी पनि धुँवा र मदिरामा नझुमेका -नरमेका -नजमेका होइनन्। “त्यसलाई ‘इनर्जी’ बनाउने हो क्या, प्रवीण सर भन्थे – जागिरमा काम गर्ने हो, किताब समाएपछि पढ्ने हो बाँकि आफ्नो बाँच्ने हो।”

    हो त, प्रवीण गिरीको स्वभावले न अर्थशास्त्रको सह’प्राध्यपक हुन रोक्यो, न ‘स्किलफुल कम्युनिकेटर’ हुन छेक्यो न ब्यावसायिक उचाई नै काट्न सक्यो।

    भाइसाथी माझ मात्र होइन कहिलेकाँहि असजिलो ठाउँमा समेत प्रवीण सरको “तामसी शैली”को चर्चा हुन्थ्यो। यो शैलीलाई धेरैले रुखो तीखो भनेर ब्याख्या पनि गरे। तर त्यो शैली पकड्नेलाई प्रवीण गिरी घीऊ थिए-खुदो थिए। त्यही शैलीका कारण समाचार कक्षमा धेरै “प्रवीण सरको अगाडि पर्न नपरे हुन्थ्यो” समेत भन्थे।

    काँडा पन्छाएर फूल टिप्न नजान्दा धेरैले वासना लिने अवसर जानीजानी गुमाएको रुपमा बुझ्छु म यसलाई। यसो भनौं, प्रवीण सर एकचोटी रिसाउँदा वा झनक्क तात्दा एउटा नयाँ शिक्षा मिल्यो भनेर बुझ्थें म।

    हिमालय टेलिजिनको सुरुवाती दिनमा मलाई टेलिभिजन पत्रकारिताको यावत् विषयमा जानकारी दिंदै तीखो, रुखो र ठाडो शैलीमा बाटो केलाइदिने गुरु प्रवीण गिरीको पार्थीव शरीरको अन्तिम दर्शन गर्न पशुपतिस्थित वनकालीमा पुग्दा उही शैलीमा ‘ए पुरु!’ पो भन्ने हुन् कि जस्तो लागेको थियो । तर त्यसो भएन ।

    ‘चिप्लो घसेर आग्रह देखाउने भए सरकारी जागिर खाउ’ भनेर मलाई फेरि आग्रहमुक्त बनाउलान् कि भनेर वनकालीमा कुर्नुको पनि अर्थ मैजारो भइसकेको थियो।

    झोंछेको गल्लीदेखि मिनभवनको कक्षासम्म, दरबारको दबदवादेखि संगतको आकाशसम्म रिठ्ठो नबिराई ‘लौ गोदेर लेख’ भन्ने गुरु महाप्रस्थान गर्दा लहरै उभिएका धेरै सहकर्मीको शिर जमीनतिर ढल्किएको थियो।

    समाचारमा ध्वनी, लवज र शैलीको एउटा ‘ब्राण्ड’ जसले ममाथि सीमित अवधिमा असाध्य गाढा प्रभाव पारे, तिनको महाप्रस्थानको साक्षी भएर फर्किएको आज नौ वर्ष भएछ।

    प्रवीण सर!
    जिन्दगीमा व्यवधानको पहिरो आउँदा आफ्नै मनको बगैंचामा
    निस्फिक्री, वेपरवाह डुल्छु अहिले पनि तपाई जस्तै।
    तपाइका लागि ‘टाउको नदुखाई गाँठो फुकाउने’ ‘ए पुरु!’ आज पनि तपाइलाइ सम्झिरहेको छ।
    श्रद्धाञ्जली🙏