Category: बिचार

  • संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई

    संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई

    काठमाडौं । शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान नै खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । भट्टराईले यो मध्यावधि चुनाव नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको उल्लेख गरेका हुन् ।

    उनले भनेका छन् ‘भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र, सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली, विद्या कुकर्म), यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं ’

  • मौन अवधिमा बादललाई जिताउन प्रधानमन्त्री ओलीको अपिल

    मौन अवधिमा बादललाई जिताउन प्रधानमन्त्री ओलीको अपिल

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशबाट राष्ट्रियसभाका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादललाई जिताउन अपिल गरेका छन् ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा बादललाई जिताउन अपिल गरेका हुन् । उनले सर्वोच्च अदालतको फागुन २३ को निर्णयपछि नेकपा एमालेको विशेष महत्व राख्ने भन्दै बादललाई जिताउन सबैलाई अपिल गरेका हुन् ।

    ‘एकताबद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्‍याउने भएकाले बादललाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु,’ उनले भनेका छन्, ‘गत फागुन २३ गते एमाले पुनःस्थापना भएपछि हुन गइरहेको यस निर्वाचनको विशेष महत्व छ । यसले हाम्रो पार्टीको सामथ्र्य, उकता र एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ । सँगसँगै २०७५ जेठ ३ गते एकीकरण भएको तर, कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भंग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्नेछ ।’

    प्रधानमन्त्री ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय कल्पना बाहिरको कुरा भएको बताएका छन् ।

    ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो,’ उनले भनेका छन्, ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैन ।’

  • नेपालमा संकट पर्दा कहाँ हराउँछन् विकसित देशमा खटिएका नेपाली राजदूत ?

    नेपालमा संकट पर्दा कहाँ हराउँछन् विकसित देशमा खटिएका नेपाली राजदूत ?

    काठमाडौं । नेपालका दुई छिमेकी मुलुक चीन र भारतबाट नेपालले कुल १८ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा पायो । त्यसमध्ये भारतको १० लाख डोज र चीनको ८ लाख डोज खोप थियो । भारतबाट थप १० लाख डोज खोप खरीद गरि आफ्ना मुलुकका नागरिकलाई लगायो । थप १० लाख डोज खोप डेरिभरी भइनसक्दै भारत आफै कोरोनाको चपेटामा पर्यो । यहाँ दैनिक ४ हजार भन्दा माथि मृत्यु भइरहेको छ ।

    यो अवस्थामा नेपालले तत्काल भारतबाट खोप पाउने छैन । खोपको अभावमा नेपालमा मृत्युदर आकासिएको छ । नेपालले पैसा दिएर पनि खोप किन्न सक्ने अवस्था देखिएको छैन । दैनिक संक्रमण १० हजार नजिकै छ । नेपालजस्तो थोरै जनसंख्या भएको मुलुकमा यो दर निकै भयाभह अवस्था हो । तर, नेपालले यो बीचमा अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहयोग पाउन सकेको छैन । महामारी नियन्त्रणमा मुलुक भित्रको कमजोर व्यवस्थापन, स्वास्थ्य प्रणालीमा अस्तव्यस्तता एउटा पाटो हुन सक्छ, तर कूटनीतिक क्षेत्रबाट समेत निकै कमजोर बनेको छ ।

    महामारीको समयमा अन्तराष्ट्रिय समुदायको ध्यान नेपालतर्फ हुनुपर्ने थियो । यसका लागि नेपालले हरेक जसो मुलुकमा आफ्ना दूतहरु राखेको छ । उनीहरुबाट खै नेपालका लागि पहल ?

    महामारीको समयमा अन्तराष्ट्रिय समुदायको ध्यान नेपालतर्फ हुनुपर्ने थियो । यसका लागि नेपालले हरेक जसो मुलुकमा आफ्ना दूतहरु राखेको छ । उनीहरुबाट खै नेपालका लागि पहल ? संयुक्त राज्य अमेरिकामा राजदूत बनेका आएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा के गरिरहेका छन्, कसैलाई अत्तोपत्तो छैन । न उनी केही सहायताका लागि पहल गर्छन, न सहयोगकै अपिल । यस्तै अवस्था अन्य मुलुकका लागि खटिएका राजदूतहरुमा समेत देखिन्छ ।

    संयुक्त राज्य अमेरिकामा राजदूत बनेका आएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा के गरिरहेका छन्, कसैलाई अत्तोपत्तो छैन । न उनी केही सहायताका लागि पहल गर्छन, न सहयोगकै अपिल । यस्तै अवस्था अन्य मुलुकका लागि खटिएका राजदूतहरुमा समेत देखिन्छ ।

    आफ्नो मुलुक संकटमा पर्दा कुनै काम गर्न सकिन्न भने त्यस्ता राजदूतबाट देशले के अपेक्षा गर्छ ? भोली घर फर्कदा उनीहरुमाथि प्रश्न कसले गर्ने ? कि राजनीतिक कोटामा नियुक्त भएका राजदूतले कुनै सिन्को नभाची घर फर्किए पनि उनी सफल मानिन्छन् ?

  • ‘संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्,भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष दिने ?’

    ‘संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्,भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष दिने ?’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन हुनसक्ने डर भएको भए विश्वासको मत दिन आग्रह गरेका छन् ।

    सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले उक्त आग्रह गरेका हुन्।

    ओलीले आफूलाई विश्वासको मत दिए संसद जोगिने बताएका छन्। ओलीले भने, ‘संसद विघटन होला भन्ने चिन्ता छ, मत दिनुहोस् न कसरी हुन्छ ? आफैं विश्वासको मत नदिएर विघटनतिर लैजाने ?’

    ‘उनले मुद्दा लडेर फिर्ता ल्याएको संसद् बचाउनका लागि आफूलाई भोट दिन आग्रह गरे।

    ओलीले ढिलोमा पनि अबको डेढ वर्षमा चुनाव हुने बताउँदै चुनाव हुँदैमा लोकतन्त्र खतरामा नपर्ने बताए। ‘चुनाव हुँदा लोकतन्त्र खतरामा पर्दैन,’ उनको भनाइ छ, ‘बोरिस जोनसोनले अस्ति चुनाव गराउनु भयो। बेलायतमा लोकतन्त्र खतारमा परेन।’

    ओलीले भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष नदिन आग्रह गरे। उनले सरकारले असाध्यै राम्रो काम गरेको जिकिर गरे। सरकारलाई काम गरेन भनेहरुले पाप धर्मको ख्याल गर्न अनुरोध समेत गरे।

  • जीवनभरको साथ रोज्नुअघि

    जीवनभरको साथ रोज्नुअघि

    योगेश आदी

    सम्वन्ध जोडेर तोड्नु भन्दा जोड्नुअघि नै सोच-विचार गरेको वेस् । तर सोच्ने के ? वात्सल्यतामा समेत स्वार्थ हुने तथ्य अनुसन्धानले पुष्टि गरेको अवस्थामा निस्वार्थ सम्वन्धको जिकिर कसैले गर्छ भने थप सशंकित बन्नुहोस् । यसर्थ हरेक सम्वन्धमा निहित स्वार्थ हुन्छ नै । स्वार्थको मात्रा र प्रकृति भने फरक हुनसक्छ । यद्यपि कहिलेकाँही सम्वन्धमा अरुको स्वार्थले आफुलाई समेत फाइदा पुगेको हुन्छ । सम्वन्धको चर्चा गर्दा सबैभन्दा महत्वपूर्ण र विचार पुर्याउनु सम्वन्ध भनेको प्रेमिकासँगको वा जीवनसाथीसँगको सम्वन्ध हो; किनकि यो सम्वन्ध बदल्न सजिलो छैन ।
    त्यसो त सम्वन्ध टिकाउने सामान्य सुत्र हुँदैन। व्यक्तिपिच्छेको स्वरुप र स्वाभाव अद्धितीय हुन्छन् भने सम्वन्ध कसरी सत् प्रतिशत समानान्तर चल्न सक्छ ? चल्छ र चलेको छ भने एउटा तहको समझदारी र सम्झौतामा मात्र सम्भव हुन्छ । यसर्थ सम्वन्धमा सम्पूर्णता खोज्नु व्यर्थ छ । तर सम्वन्ध विना पनि जीवन निरस छ । जोन अपडाइकले भने जस्तै; “प्रेमिल सम्वन्धमा जीवन थप जीवन्त वन्दछ ।” मलाई लाग्छ, सम्वन्ध जीवनपथको पाइपलाइन हो । पाइपलाइनको अवस्था अनुसार जीवन चल्दछ । परन्तु सही सम्वन्ध शुरुवातको कसरी गर्ने ? कस्तो पाइपलाइन रोज्ने ?

    न्युयोर्कको एक छोटो भेटमा प्रा. प्रमोद ढंगेलले मननीय उद्धरण व्यक्त गरे । वास्तवमा यो लेखको प्रेरणा नै प्रा. ढुंगेल हुन् ।
    कतिपय कुरा महसुस गरेर सरल तरिकाले भन्न सकिदैन । जुन गाँठो उहाँले खोल्दिनु भो । उहाँका अनुसार – जोडी रोज्नुअघि खुसी रोज्ने कि सम्झौता रोज्ने ? सो निर्क्योल गर्नु पर्दछ । आफुलाई अगाध चाहने व्यक्ति रोज्नुभयो भने ठान्नुहोस् – तँपाईले खुसी रोज्नुभो ! तँपाई केवल खुसी बन्ने हो, तँपाईलाई खुसी राख्न ऊसले नै प्रयास गरिरहेको हुन्छ । ऊसले नै तँपाईको सबै समस्यामा सरोकार राखिरहेको हुन्छ । उसका इच्छा चाहनासँग उसैले सम्झौता गर्दछ । त्यस्तै तँपाईले आफ्नो अप्टिमम् च्वाइस अर्थात मनैदेखि मन पराएको व्यक्तिलाई पाउने प्रयास गर्नुभयो भने सम्झौताको लागि पनि तयार रहनुस् ।

    राजा रणबहादुर शाह यसका गतिलो उदाहरण हुन् । उनले कान्तिमती नाम गरेकी एक एकल महिलालाई यति मन पराएकि कान्तिमती बेगर राजगद्दी नै नचल्ने समेत भन्न थाले । कान्तिमतीले राजा रणबहादुरको कमजोरी थाहा पाएपछि विवाह प्रस्ताव स्वीकार गर्नुअघि आफु कान्छी श्रीमती भएतापनि आफुबाट जन्मने सन्तान नै राजा हुनुपर्ने शर्त राखे । राजा कान्तिमतीको सन्दर्य र अदामा यति निर्लिप्त थिए कि शर्त मञ्जुर गरे । सोही मुताविक नावालक छोरा गिर्वाणलाई राजगद्दीमा राखे । रानी कान्तिमती कै अनुसार नेपालको इतिहासमा प्रथम पटक राजाको नामको पछाडि विर विक्रम लेखाउन थालिन् । दुर्भाग्यवश कान्तिमतीको अल्पायू मै निधन
    भयो । राजा रणबहादुरले भाकल गरेको जति सबै देवस्थल भत्काउन लगाए । अन्तत; उनी डिप्रेसनमा गए । यहाँ कान्तिमतीले खुसी रोजिन्, इच्छा अनुसारको खुसीले बाँचिन् । राजाले सम्झौता रोजे, सम्पूर्ण सम्झौता मै जीवन सके ।

    मैले यो लेख लेख्दै गर्दा न्युयोर्क निवासी प्रा. ढुंगेलसँगको भेटबाट आर्जित जीवन दृष्टिकोण औसत भन्दा फरक पाएँ । सम्वन्धमा सानालाई पनि सम्मानपूर्वक सम्वोधन गर्ने । मानवीय सम्वन्धमा सहयोगको महत्व, सद्भावको औचित्य इत्यादि सिक्ने मौका पाएँ । हामी ग्रह नक्षत्र भित्रको कौतुहलता खोतल्छौं तर आँखा चिम्म गर्दा परेलामा आउने अनुहारसँगको सम्वन्धलाई खोतल्न सक्दैनौं । सामाजिक जीवन भन्नु नै विभिन्न तहका सम्वन्धको समिश्रण हो । सम्वन्ध भित्र खुसी रोज्ने कि सम्झौता त्यो फेरीपनि आफ्नै हातमा ।

  • एक वर्षसम्म तयारी नगर्दा नेपालमा कोरोनाले पुनः भयाभह अवस्था आउदैछ ?

    एक वर्षसम्म तयारी नगर्दा नेपालमा कोरोनाले पुनः भयाभह अवस्था आउदैछ ?

    काठमाडौं । ११ चैत २०७६ मा पहिलो पटक लकडाउन गरेको नेपालले कोरोना भाइरसको पहिलो लहरको चरम रुप भने असोज, कात्तिकमा सामना गर्यो । त्यसपछि क्रमशः कम हुँदै गएको कोरोना फागुन, चैतमा पुग्दा करीव शुन्य प्राय अवस्थामा थियो । तर, त्यसपछि कोरोना भाइरसको संक्रमण दरले पुनः गति लिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडा अनुसार बिहीबारसम्म देशभर १२ हजारभन्दा बढी सक्रिय संक्रमित पुगिसकेका छन् । दैनिक २५ सय हाराहारी नयाँ संक्रमण पुष्टी भइरहेको छ । यसले छिट्टै विकराल रुप लिने र मुलुकमा स्वास्थ्य संकट देखिन सक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । सरकारले एक वर्षको अवधि खेर फाल्दा पुनः भयाभह अवस्था आउन सक्ने देखिएको हो ।

    सरकारले कोरोना भाइरसको वेव कम भएको अवस्थामा पूर्वाधारमा पर्याप्त ध्यान दिन सकेन । त्यसको साटो प्रधानमन्त्रीले सत्ताका लागि संसद विघटनदेखि आफ्नै अगुवाईमा ठूल्ठूला र्याली सम्म गर्न भ्याए । दुई दिन अगाडी सितारामको मूर्ति माडीमा राख्ने प्रधानमन्त्रीकै रहर पुरा गर्न हजारौंको सहभागितामा भब्य कार्यक्रम आयोजना गरियो । यसले कोरोना संक्रमण बढाउन ठूलो भूमिका खेलेको छ ।


    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ६९० पुगेको छ । क्वारेन्टाइनमा ८१ जना रहेका छन् । विहीबारसम्म देशभरका विभिन्न अस्पतालका आईसीयूमा १७० र भेन्टिलेटरमा ५९ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ११७ पुगेको छ ।

  • राम, रामायण, राजनीति र वाल्मिकी

    राम, रामायण, राजनीति र वाल्मिकी

    पुरुषोत्तम लम्साल, अमेरिका

    वाल्मिकीले हनुमानको अनुमान कसरी गरे म जान्दिन। शरीरको आकार बदलेर विशाल हुन पनि सक्ने, मुसा जत्रो पनि हुनसक्ने मान्छे जस्तो बाँदर र बाँदर जस्तो मान्छे वाल्मिकीको परिकल्पनाभन्दा पहिला पनि थिए होलान्?

    आदिम सभ्यताअघि पनि बाली, सुग्रिव वा हनुमान जस्तै जो सूर्यको डल्लो खर्लप्पै निल्नसक्छ, जो हत्केलामा पहाड उचाल्नसक्छ, जो पुच्छर तन्काएर वस्ती बाँध्न पनि सक्छ बाल्न पनि सक्छ, पात्र थिए होलान् भनेर म पत्याउन्न। आफ्नो छाती आफैंले सर्लक्क चिरेर त्यहाँभित्र आफ्नो आस्थाको चित्र देखाउने हनुमानको अनुमान वा कल्पनाशिलता वाल्मिकीको काव्यमा भेटिन्छ। त्या काव्य रामायण हो।

    मलाई वाल्मिकीले परिकल्पना गरेको चामत्कारिक पात्र हनुमानका वर्णन सुन्दा आनन्द लाग्छ। जसले हनुमानको पूजा आराधना गर्छन् त्यो उनीहरुको आस्था, स्वतन्त्रताको कुरा भयो। विश्वाशको कुरा भयो। मलाई चाँहि त्यति शक्तिशाली ‘क्यारेक्टर’ जन्माएर समाजमा हजारौं वर्षसम्म स्थायी र जड मनोविज्ञान निर्माण गरिदिने वाल्मिकी विशिष्ठ लाग्छन्। ‘सुपर्ब’ लाग्छन्। सभ्यताको एउटा बिन्दूमा त्यत्तिको विराट ‘क्यारेक्टर’को परिकल्पना गज्जब मान्नपर्छ।

    म आस्थावादी होइन। जे भनेको वा सुनाइएको छ त्यसैमाथि निर्भर रहनु वा त्यसमाथि पूर्णत: विश्वाश गर्नु आस्थावाद हो। आस्थावादीले सन्देहलाई निषेध गर्छन्, प्रश्नलाई निषेध गर्छन्। यसैले आस्थावादीको नजरमा म पापी हूँ। किनकि उनीहरु जस्लाई ईश्वर मान्छन् म तिनलाई काव्यको पात्र वा चरित्र मान्छु र जसलाई उनीहरु धर्मग्रन्थ मान्छन् त्यसमाथि पनि म प्रश्न उठाउँछु वा पूर्णरुपेण सहमत हुन सक्दिन।

    म यो किन लेख्दैछु भने मलाई रामकथा सुन्न आनन्द आउँछ। कसैले रामायणका गाथा गाइदिए एकचित्तले त्यो सुन्छु। कसैले पत्थरलाई आकार दिएर यो राम हो, यो हनुमान हो भन्यो भने उसँगै उभिएर श्रद्धाले टाउको झुकाउँछु। र, जब हरेक वर्ष रामनवमी आँछ यसैगरी फुर्सद उपयोग गर्छु।
    ….

    महाभारतलाई चाँहि हामी राजनीतिको केन्द्रमा राखेर ब्याख्या बढी गर्छौं तर रामायणलाई चाँहि विशुद्ध धार्मिक ग्रन्थ मान्छौं। दुवै ग्रन्थले राज्यशास्त्रकै भाषा बराबर बोल्दछ भनेर केलाउनु गलत हुँदैन। भन्न खोजेको रामायणमा पनि उत्तिकै राजनीतिक चिन्तन छ जति महाभारतमा भेटिन्छ। दुबैले तात्कालीन समयको धर्मनिर्देशित समाज र राज्यको पेटबोली बोलेका न हुन्।

    कथामा कृष्ण आउन् वा राम, कंश आउन् वा रावण फरकफरक पात्रमार्फत उस्तै राजनीतिक द्वन्द्वको उठान र वैठान भएको न हो। कतै कुन्ती र द्रौपदी उभ्याइन्छन् त कतै सीता, तारा र मन्दोदरीमार्फत राजनीतिको भाषा र संघर्ष बोलिन्छ। रामायणमा हामी धर्मको रंगमा बढी रुमल्लिन्छौं यसले गर्दा वाल्मिकीको राजनीतिक चिन्तन गौण बनिरहेको छ जस्तो लाग्छ मलाई।

    महाभारतमा जस्तो राजनीतिक जटिलता, कौशल र सातपत्रे सम्बन्ध म रामायणमा देख्दिन। यो एकसुत्रीय विचारधारामा सलल बग्छ जहाँ केही पारिवारिक सम्बन्ध र राजनीति आउँछ, महिला पुरुषबीचका तात्कालीन समयका प्रभुत्व र संघर्षका कथा आउँछन्। सुर्पणखाको नाक काटिनु र सीता अपहरण हुनुबीच पनि बदलाको राजनीतिक साइनो त हो।

    रामलाई अग्नी शर्मा उर्फ वाल्मिकीकृत रामायण ग्रन्थका मूल पुरुष चरित्र मान्ने कि देवता ? त्यो तपाइको स्वभाव र चरित्रले निर्धारण गर्ने कुरा हो। म चाँहि वाल्मिकीले राममार्फत तात्कालीन समाजको राजनीतिक, सामाजिक, अर्थव्यवस्था केलाउँदै आदर्श राज्यको परिकल्पना गरेको मान्दछु।

    रामायणमा कैकेयीले कूटनीतिको साहारामा दशरथलाई परिबन्धमा पारेर वंशपरम्परामा आधारित राजतन्त्रमा ‘क्रमभंग’ खोजेकी थिइन। तर भरतले रामकै प्रतिनिधि भएर शासन चलाएपछि त्यो परम्परा क्रमभंग भएन। अर्थात राजाको जेठो छोरो राजा हुने चलनको कुरा हो यो।

    राजनीति सुग्रिवले बालीसँग पनि गरेका हुन्। कथाको ‘प्लट’ तन्काएर वाल्मिकीले निकै परसम्म पुर्याए पनि सुग्रिवले रामसँग सहकार्य गरेर सत्तापलट परेका हुन्।
    जसरी रावणले कुबेरको सत्तामाथि आफ्नो पकड जमाए त्यसले रावण चरित्र जन्मायो। यो चरित्र रुपमा रावणको देखिए पनि सारमा सत्ताको चरित्र हो। सत्ताको चरित्र दम्भ, अहंकार र घमण्डले निर्देशित भयो भने दरबारभित्रै विद्रोह जन्मन्छ भनेर विभिषणको कथा जोडिएको हो। र, विभिषणले रामको सहयोगमा रावणको सत्ता दखल गरेका हुन्।

    विश्वामित्रको दृष्टान्त दिएर वाल्मिकी ब्यक्तिको असल र खराब कर्मको आधारमा वर्ण पनि परिवर्तन हुन्छ भन्छन् अयोध्याकाण्डमा। यो त्योबेलाको चतुर्वणी समाजको चित्र होला।

    समाज चाँहि श्राप एवम् आशिर्वादको प्रभावका कारण ब्यक्तिप्रति धारण बनाउँछ र सोही अनुसार ब्यवहार गर्छ भन्छन् वाल्मिकी। यो भनेको स्वर्गको मोह, पुनर्जन्मको मोहको कथ्यमा बुनिएको हो।

    भूमिपति, जमिन्दार वा सामन्तको सेवा गर्ने मजदूरलाई वाल्मिकीले कहीं पनि मालिकको निजी सम्पत्तिको रुपमा चित्रण गरेका छैनन्। बरु पश्चिमा दार्शनिक अरस्तुले दासलाई मालिको सम्पत्ति मान्दै उनीहरुको क्रय विक्रयको ब्याख्या गर्दथे। यो गम्भीर पाटो रामायणबाट छुटाउन हुँदैन।

    रामायणमा बर्ग चिन्तन छैन?
    रामायणलाई ईश्वरवादी वा अनिश्वरवादीको दृष्टिभन्दा माथि गएर केलाउनु पनि उत्तम हुन्छ। यो मानेमा वाल्मिकीले युद्धकाण्डमा बर्गको चिन्तन र चेतना मिहीन रुपमा केलाएका छन्। उनी भन्छन् पर्वतबाट नदी उत्पन्न भए जस्तै अर्थबाट सबै बिmया उत्पन्न हुन्छ। अर्थको अभावमा समस्त क्रिया अवरुद्ध हुन्छ जसरी गृष्ममा साना छोटा नदीहरुसुख्खा हुन्छन्।

    हामी माक्र्सले के भने भनेर खोज्छौं तर वाल्मिकीले के भन्न खोजेका हुन् भनेर केलाउँदैनौ। समाजमा धनले वा सम्पत्तिले वा अर्थले कसरी बर्ग जन्माउँछ वा निर्धारण गर्दछ भनेर वाल्मिकीले सरल शब्दमा मिहीन व्याख्या गरेका छन्। युद्धकाण्डमै उनी लेख्छन् “जोसँग धन छ उसँग सबै भाइ, बन्धु र मित्र बन्छन्। त्यही व्यक्तिको गणना श्रेष्ठ पुरुषमा हुन्छ।” ‘अर्थदेतानी सर्वाणी’ भन्दै वाल्मिकीले धनी ब्यक्तिलाई सबैले बुद्धिमान, पराक्रमी, भाग्यमानी र गुणवान सम्झने सामाजक चरित्र उठाए । सम्पन्न र विपन्न बर्गबीचको तात्कालीन समयको यो चिन्तन र यसले उठान गरेको मुद्दा गज्जब मान्नपर्छ।
    रामकथामा रामराज्य भनेको देवताको राज्य हुँदै होइन। रामराज्यको मुलभुत चरित्रलाई राज्यको नीतिनिर्देशक सिद्धान्तको रुपमा बुझ्दा हुन्छ। किनकि वाल्मिकीले रामायणमा राजा, राजाको चयन मन्त्री, धर्मपालक अथवा न्यायाधीशसम्मको विवेचना दिएका हुन्।

    उदाहरणका लागि वाल्मिकी के भन्छन् भने राज्यको कोष बुद्धि गर्न मन्त्रीहरुले सामान्य जनतालाई अत्याचार हुने गरी निर्णय गर्न हुँदैन। यो भनेको संघीय नेपालका स्थानीय निकायले शव जलाउने दाउरामा समेत कर लगाएको जस्तो होइन। कौटिल्यकालीन मगधमा धनानन्दको कर प्रणालीको सिको गर्ने हाम्रा स्थानीय तहले वाल्मिकीको उक्त नीतिलाई असल शासनको बुँदा माने लोककल्याणकारी काम भइहाल्छ। किनकि लोककल्याणकारी शासन नै रामराज्यको केन्द्रीय तत्व त हो।

    रामायणमार्फत वाल्मिकी के भन्छन् भने शत्रु पनि यदि निरपराध छ भने उसको अहित गर्न हुँदैन। यो न्यायको कुरा हो। दण्डविधानको कुरा हो। धर्म कुनै बर्ग, विशेश जाती वा साम्प्रदायिक तत्वबाट प्रभावित नभै सदाचार, आत्मकल्याण, लोककल्याण आदि भावनाको स्तम्भमा आधारित हुनपर्छ भनेका न हुन् वाल्मिकीले। यही नै आदर्श राज्य हो भनेका न हुन् उनले।

    धर्मभित्रबाट पनि वाल्मिकीले केही लोकतान्त्रिक पाटो उधिनेका छन्। जस्तै राजाको चयनमा पनि सामन्तहरुसँग छलफल चलाएर सहमति लिनपर्छ भनेर। मन्त्री ब्यक्तिगत गुणको आधारमा चयन हुनपर्छ पनि भन्छन् उनी। रातको पछिल्लो प्रहरमा राजाले कोषको विषयमा मन्त्रीहरुसँग नियमित संवाद गर्नपर्छ पनि भन्छन् उनी। राम त माध्यम मात्र न हुन् वाल्मिकीले राज्य सञ्चालनको प्रक्रिया उल्लेख गरेका हुन्।

    दश वर्षअघि रामनवमीको सन्दर्भमा बेलायतमा आयोजित एक कार्यक्रमा तात्कालीन प्रधानमन्त्री डेविड क्यामरुनले “राजनीति गर्ने र सत्ता चलाउनेहरुलाई रामायण मार्गनिर्देशक ग्रन्थ” भन्दै केहीबेर रामराज्यको प्रवचन दिएका थिए। मैले पनि ग्रन्थकै रुपमा यो विचार बनाएको हुँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी के भन्छन् वा नेपालका प्रम केपी शर्मा ओली के भन्छन्, राम कहाँ जन्मिए,माडीमा प्राणप्रतिष्ठा गरिएको रामको मुर्तिको नाक किन असुहाउँदो छ भन्ने म जान्दिन।

    जो नाम मात्र नप्छन् तिनलाई पनि प्रणाम,
    जो राम मात्र जप्छन् तिनलाई पनि प्रणाम।

  • प्रधानमन्त्रीको सम्बोधन: वृद्धभत्ता बढ्छ, लकडाउन हुँदैन

    प्रधानमन्त्रीको सम्बोधन: वृद्धभत्ता बढ्छ, लकडाउन हुँदैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले वृद्धभत्ता बढाउने पुनः दोहोर्याएका छन् । सम्भवतः आगामी वर्ष मुलुकका निर्वाचन हुने छ । नयाँ वर्षको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनले
    तत्काल लकडाउन भने नहुने स्पष्ट पारेका छन् ।

    सरकार लकडाउनको पक्षमा नरहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रुपमा पालना गर्न आह्वान गरे । अब मुलुकमा लकडाउन भए त्यो अर्थतन्त्रका लागि घातक हुने चेतावनी विज्ञहरुले दिएका छन् । तर, स्वास्थ्य जोखिम भने झन बढ्दै गएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूलता परिस्थितिका बीच पनि सरकारले असाधारण काम गरेको भन्दै आफ्नो सरकारको बचाउ समेत गरेका छन् । केही भएन भनी जनतामा निराशा बढाउने काम गरिएको उनको आरोप छ । उनले प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको विषय पुनः दोहोर्याए ।

  • कांग्रेस सभापति देउवाको आह्वान : सुरक्षित भई नयाँ साल मनाऔं

    कांग्रेस सभापति देउवाको आह्वान : सुरक्षित भई नयाँ साल मनाऔं

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको भन्दै सुरक्षित भएर नयाँ साल मनाउन सबैलाई आह्वान गरेका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उनले मास्क, स्यानेटाइजरको प्रयोग अनिवार्य गर्न समेत सुझाव दिएका छन् ।

    भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षितरुपमा नयाँ वर्ष मनाउन उनले आग्रह गरेका छन् । विसं २०७७ को वर्ष सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रहेको र नेपाल पनि यसबाट प्रभावित हुन पुगेको भन्दै उनले कयौँ नेपाली दाजुभाइले स्वदेश र विदेशमा महामारीका कारण जीवन गुमाउनुका साथै ठूलो सङ्ख्यामा नागरिक प्रताडित हुनुपरेको समेत बताएका छन् ।

    कोभिड–१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पुर्‍याउनुका साथै उद्योग, व्यापार, विद्यालयलगायत धेरै क्षेत्र नराम्रोसँग प्रभावित भएको र कांग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रुपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्णरुपले सहयोग गरेको उनले भनाइ छ।

  • ‘मसँग बहुमत छ किन राजीनामा दिने, तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ’

    ‘मसँग बहुमत छ किन राजीनामा दिने, तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् ।

    सोमबार पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा आफूसँग बहुमत रहेकाले हटाउन मन भए समर्थन फिर्ता लिन चुनौती दिएका हुन् ।

    ‘मसँग बहुमत छ, किन राजीनामा दिने ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । मलाई तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ,’ उनले भने ।

    आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको भन्दै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए ।

    प्रधानमन्त्री अ‍ोलीले पटक–पटक समर्थन फिर्ता लिन आग्रह गरेपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् ।

  • जनजीवन ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ, बेसार–पानी खानूस्ः प्रधानमन्त्री

    जनजीवन ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ, बेसार–पानी खानूस्ः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

    बिहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दै गइरहेकाले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताएका हुन् ।

    ‘मास्क लगाउने, हात धुने, घरबाहिर खाना नखाने र बेसार पानी खानुपर्छ । हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ,’ उनले भने ।

    प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए। कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको बताए।

    उनले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं। पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहिंबाट फालिदिएपछि चैट। नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ।

    अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही पर्सेन्ट (प्रतिशत) सुरक्षित गर्ने हो केही पर्सेन्ट बाँकी रहन्छ त्यही केही पर्सेन्ट भित्र परियो भने गैगयो नी। त्यसकारण पूर्ण भन्ने कुरा सत प्रतिशत केहीपनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ।’

  • ‘सरकारले भन्यो होली नखेल कोरोना सर्छ, प्रधानमन्त्री हजारौँ मानिस राखेर फुटबल हेर्न मिल्ने ?’

    ‘सरकारले भन्यो होली नखेल कोरोना सर्छ, प्रधानमन्त्री हजारौँ मानिस राखेर फुटबल हेर्न मिल्ने ?’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले आफै भिडभाड गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सरकार आफैले आफ्नो नियम उल्लंघन गरिरहेको बताएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई प्रश्न गर्दै सांसद थापाले कोभिड–१९ले सरकार र जनता नछुट्याउनेसमेत प्रष्ट पारे । उनका अनुसार सरकारले आफैले स्वास्थ्य प्रोटोकल उल्लंघन गरेर जनतालाई नियन्त्रण गरिरहेको छ ।

    ‘सरकारले भन्यो होली नखेल, भिडभाड हुन्छ कोरोना सर्न सक्छ । तर, प्रधानमन्त्री त हजारौँ मानिसलाई राखेर फुटबल हेर्न जानुभयो । फुटबल खेल्न हेर्न मिल्ने होली खेल्न नमिल्ने ?’, उनले भने,‘सरकार जनतालाई भन्छ अनावश्यक सभा, सम्मेलन भिडभाड नगर तर सम्माननीय राष्ट्रिपतिबाट धारा खोल्ने, बाल्टिन थाप्ने तमासा भरहेको छ ।’

  • समाजवादको यात्रा समृद्धिको आधार समाजवाद

    समाजवादको यात्रा समृद्धिको आधार समाजवाद

    प्रकाशकुमार उपाध्याय, पर्सा

    कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन जनतालाई आर्थिक समृद्धि, सामाजिक, सांस्कृतिक रूपान्तरण र समतामूलक समाज निर्माणको सपना देखाइन्छ । कार्ल मार्क्सको वैज्ञानिक समाजवाद होस् वा बिपि कोइरालाको लोकतान्त्रिक समाजवाद, अन्ततः नेपाली राजनीतिले परिकल्पना गरेको आर्थिक रोडम्याप भनेको समाजवाद नै हो । राजनीतिको मुख्य उद्देश्य विकास र समृद्धि नै हो । जनतालाई जबसम्म आधारभूत सेवा, सुविधा र सुरक्षा प्रत्याभूति गरिँदैन र जबसम्म जनताको जीवनस्तर उकास्ने काम हुँदैन, तबसम्म भोका, नाङ्गा, बेरोजगार जनताले समाजवादको अनुभूति गर्न सक्दैनन् ।

    लोकतन्त्र केही सीमित हुनेखाने वर्गका लागि राजनीति गर्ने साधन मात्र होइन, तल्लो पंक्तिमा लामबद्ध विपन्न वर्गको घरदैलोसम्म सेवा, सुविधा, सुरक्षा र अवसरको पहुँच हुन सकेमात्र राजनीतिक उपलब्धिप्रति जनताको अपनत्व बढेर जान्छ । यसको आधारमा राजनीतिक स्थायित्व प्राप्त हुन्छ । समतामूल समृद्धिको आधारमा मात्रै समाजवादको उद्देश्यमा पुग्न सकिन्छ । धनी र गरीबबीचको खाडल पुर्दै समृद्ध समाजवादको उद्देश्यमा पुग्न तल्लो तहका जनताको आर्थिक स्तर उठाउने खालका नीति अवलम्बन गरिनुपर्छ ।

    हाम्रो संविधानको प्रस्तावनामा नै सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने आशयसहितको संविधानको प्रस्तावनाले हाम्रो अर्थराजनीतिक गन्तव्य लोकतान्त्रिक समाजवाद हो भन्ने कुरामा अब कुनै द्विविधा रहेन । राज्य सञ्चालनको तहमा यो प्रतिबद्धता अनुसारको प्रवृत्तिको भने अभाव खट्किएको छ ।

    आधुनिक अर्थशास्त्रमा नयाँनयाँ आर्थिक नीति, विचार र चिन्तनहरू नभएका होइनन् । उदारवाद, खुला बजार, पूँजीवाद आदि छन् । तथापि, हाम्रो संविधानले अँगालेको लोकतान्त्रिक समाजवादको गन्तव्यमा पुग्न हाम्रो राजनीतिक इमानदारी, प्रतिबद्धता, इच्छाशक्ति र जीवनशैलीलाई सोही अनुरूप रूपान्तरण गर्दै जानुपर्छ । अन्यथा संविधान, घोषणापत्र वा भाषणबाजी मात्रले समाजवाद आउने होइन ।

    अबको यात्रा आर्थिक समृद्धि र समुन्नतिका नै हो । बिपिकोइरालाले परिकल्पना गर्नुभएको कतिपय वस्तुगत कुरा अहिलेको अवस्थामा समय सान्दर्भिक नहोलान्, तर सारमा उत्पादन र वितरणको न्यायिक सन्तुलनसहितको समाजवाद हाम्रा लागि मार्गदर्शक सिद्धान्त बन्न सक्छ । विश्व अर्थतन्त्र खुलाबजारमा गइसकेको अवस्थामा उत्पादन, वितरण साथै सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी समाजवादको लक्ष्य पूरा गर्न सकिन्छ । त्यसका लागि संविधानले निर्दिष्ट गरेको निजी, सार्वजनिक र सहकारी अर्थनीतिलाई अवलम्बन गर्नुपर्छ । आधुनिक व्यावसायिक कृषि, आफ्नै गाउँठाउँमा पाइने कच्चा पदार्थबाट अधिकतम उत्पादन हुन सक्ने वस्तुहरूको उत्पादनका लागि साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राखिनुपर्छ । आयातमुखी अर्थतन्त्रबाट क्रमशः आत्मनिर्भरतिर अघि बढ्नुपर्छ ।

    आफ्नै शीप र साधनको प्रयोग गरी गाउँघरमै साना तथा मझौलास्तरका उद्योगहरूबाट उत्पादित वस्तुहरूको संकलन, वितरण र बजार व्यवस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने कार्यमा सरकार अगाडि आउनुपर्छ । त्यसका लागि सहकारी संस्थालाई परिचालन गर्न सकिन्छ । लगानीमैत्री वातावरण, प्रशासनिक झन्झटको न्यूनीकरण, बैंकिङ सुविधा, बजार व्यवस्थापन र श्रमिक तथा रोजगारदाताबीचको समझदारीलाई सहजीकरण गर्दै निजीक्षेत्रलाई अधिकतम प्रोत्साहन गर्दै लैजानुपर्छ । त्यसका लागि हाम्रो स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्नुपर्छ।

    आवश्यकताको सिद्धान्तअनुसार कतिपय अवस्थामा विपन्न वर्ग र आम उपभोक्ताको संरक्षण र सुरक्षाका लागि कतिपय सेवामूलक व्यवसाय, संस्थानहरूमा राज्यको लगानी होओस् वा राज्यको प्रभावकारी नियमन र रचनात्मक नियन्त्रण हुन पनि जरुरी छ । जस्तै शिक्षा, स्वास्थ, यातायात, खानेपानी, विद्युतजस्ता क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर ग्रामीण विपन्न वर्गसम्म सेवा विस्तार गर्नुपर्छ । सामाजिक सुरक्षाअन्तर्गत राज्यले बालबालिका, वृद्धवृद्धा, शारीरिक एवं मानसिक असक्त, एकल महिला, दीर्घरोगीलगायत असहायहरूलाई मासिक भत्ता, शिक्षा, स्वास्थ र सार्वजनिक यातायातमा छूटको व्यवस्था, सहुलियत दरमा खाद्यान्न, जीवन बीमा आदिको व्यवस्थालाई विस्तारित एवं व्यवस्थित गर्दै लैजानुपर्छ ।

    निजीक्षेत्रसँग सहकार्य गरेर सर्वसाधारणलाई शेयर जारी गरी जलविद्युत् उत्पादन, ऊर्जा विकास, सडक सञ्जालको विस्तार, सञ्चारको विकास, पर्यटनक्षेत्रको विकास र विस्तारजस्ता क्षेत्रमा राष्ट्रिय पूँजीलाई परिचालन गर्दै अगाडि बढ्न सकिन्छ । वनक्षेत्रको विकास, वन पैदावर वस्तु वा जडीबुटीलाई प्रशोधन वा आयुर्वेद औषधिजस्ता वस्तुहरूको उत्पादन गरी हामी विश्व बजारमा निर्यातलाई बढाउन सक्छौं ।

    अन्त्यमा, हाम्रो गन्तव्य स्पष्ट छ । अगाडिको बाटो हामी आफैले बनाउने हो । समाजवादको मूल ध्येय नै राजनीति समाजप्रति लक्षित हुनु हो । समाजलाई अधिकतम उद्यमशील बनाउन सके घरघरमा रोजगारी सृजना गर्न सकिन्छ । हाम्रो आर्थिक विकासको आधार भनेकै कृषि, पर्यटन, उद्योग व्यवसाय, जलविद्युत् आदि हो । त्यसमा पनि विशेष रूपले कृषि हाम्रो प्रमुख आधार हो । आज ६५ प्रतिशत जनता कृषिमा आबद्ध भएर पनि यो व्यावसायिक हुन नसक्दा अर्थतन्त्रको योगदान घटिरहेको छ । कृषि निर्वाहमुखी पनि बन्न सकेको छैन । आधारभूत खाद्यान्नकै आपूर्ति आयातको भरमा छ । कृषिलाई पूर्ण व्यवसायीकरण गरिनुपर्छ । विप्रेषणले हाम्रो आर्थिक विकासमा ठूलो अर्थ राखेको छ । कुल गार्हस्थ्य उत्पादनको तुलनामा यसको आकार करीब २५ प्रतिशत छ । तर, पछिल्लो समय विप्रेषणबाट हुने आयको स्थायित्वमा आशंका उत्पन्न भएको छ । यसको विकल्प भनेको स्वदेशमै रोजगारी प्रवर्धन हो । निजी लगानीको प्रवर्द्धनमार्फत स्वदेशमै रोजगारीका अवसर निर्माण गर्न सकियो भने त्यो दीर्घकालीन हुन्छ । विश्व बजारमा छरिएर रहेको हाम्रो श्रमशक्तिलाई हाम्रै गाउँघरमा उद्यमशील बनाउन सके हामी छिट्टै समृद्धिको दिशामा अगाडि बढ्न सक्छौ। विश्व बजारबाट हामीले प्रविधि र नयाँनयाँ उपकरणहरू खरीद गरौ, तर आत्मनिर्भर बन्न स्वदेशमै उत्पादन गरिनुपर्छ । यसबाट हुने मूल्य अभिवृद्धि आय आर्जनको बलियो र स्थायी माध्यम बन्न सक्छ । केवल राजनीतिका लागि राजनीति बन्द गरौं, समृद्धिको यात्रामा सहकार्य गर्दै अगाडि बढ्यौं भने मात्रै लक्षित समाजवादको गन्तव्य सहज हुनेछ ।

    (लेखक नेपाली कांग्रेस पर्साका उपसभापति हुन्)

  • बुक बिल्डिङ विधि र नेपालको पूँजी बजार

    बुक बिल्डिङ विधि र नेपालको पूँजी बजार

    सरोज सिग्देल
    टेक्सस

    बुक बिल्डिङ विधि पुँजी बजारको दायरालाई फराकिलो पार्नका हेतु राम्रा कम्पनीहरुलाई आइपीओमा आकर्षित गर्दै पुँजी बजारमा भित्र्याउने उद्देश्यले सन् १९९५ मा अमेरिकाबाट शुरु गरिएको पद्दति हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २५ ग बुक बिल्डिङबाट प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था गरी यस सम्बन्धि थप प्रकृयागत व्यवस्थाहरु निर्देशिकामा तोकिएबमोजिम हुने व्यवस्था गर्ने सन्दर्भमा बुक बिल्डिङ विधिलाई कार्वान्वयनमा ल्याउन सञ्चालक समितिको २०७७ साल श्रावण महिना बसेको बैठकले यस सम्बन्धी निर्देशिका लागू गर्दै कम्पनीहरूलाई पूँजीबजारको बाटो खोलिदिएको थियो l

    कुनै पनि कम्पनीले आफ्नो आइपीएल बिक्री गर्नका निमित्त मूल्य तोकेको हुन्छ उक्त मूल्य तोक्ने सम्बन्धमा विभिन्न विधिहरु भएता पनि मुख्य रुपमा दुईवटा विधिहरू बढी प्रचलनमा रहेको पाइन्छ ।

    पहिलो; निश्चित मूल्य बिधि र दोश्रो; बुक बिल्डिङ विधि l
    निश्चित मूल्य बिधि नेपालको बजारमा निकै प्रचलित र परम्परागत विधि हो । आईपीओ किन्दा कम्पनीले तोकेको मूल्यमा आइपीओ खरिद गर्नुपर्ने हुन्छ । सामान्यतया नेपालमा प्रतिकित्ता सेयरको मूल्य रु. १०० तोक्ने गरेको पाइन्छ तर केही कम्पनीहरुले प्रिमियममा पनि शेयर निष्कासन गर्ने गरेका छन्, जसलाई प्रिमियम निष्काशन भनिन्छ l प्रिमियममा निष्काशन गर्दा धितोपत्र बोर्डले एउटा फर्मुला दिएको हुन्छ; जस अन्तर्गत मूल्य निर्धारण हुन्छ र सोही मुल्यमा लगानीकर्ताले शेयर खरीद गर्नु पर्ने हुन्छ l यसमा विधिमा लगानीकर्ताको संलग्नता रहँदैन। उदाहरणको लागि शिवम् सिमेन्ट र रुरु जलविद्युतलाई लिन सकिन्छ l शिवम् सिमेन्टले रु. ३०० मूल्यमा निष्कासन गरेको थियो भने रुरु जलविद्युतले रु. १२० रुपयाँमा निष्काशन गर्ने तयारी गरिरहेको छ l प्रिमियम मूल्यमा निष्काशन गरिएको भएतापनि यो पनि निश्चित मूल्य विधि नै हो l

    बुक बिल्डिङ विधिमा लगानीकर्ता आफैंले मूल्य निर्धारण गर्ने हुनाले यसलाई आधुनिक र वैज्ञानिक विधि रुपमा परिभाषित गरिएको छ l अर्थात योग्य संस्थागत लगानीकर्ताको मागको आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक एवम् न्यायोचित मूल्य निर्धारण गर्ने विधि नै बुक विल्डिङ विधि हो । हालसम्म नेपालमा ७४ वटा कम्पनीहरुले संस्थापक लगानीकर्ताको मान्यता प्राप्त गरिसकेका छन् l
    बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो जसमा ७४ मध्येमा कम्तीमा पनि १० वटा कम्पनीले सहभागीता जनाउनुपर्ने हुन्छ अन्यथा मान्यता पाउँदैन । धितोपत्र बोर्डबाट मान्यताप्राप्त योग्य संस्थागत लगानीकर्ता अरुसँग भएका विज्ञ टिमले सेयर जारी गर्न चाहेको कम्पनीको वित्तीय अवस्था, भावी कार्यदिशा, रिटर्नको संभावना आदी अध्ययनको आधारमा मुल्य प्रक्षेपण गर्ने गर्दछ l यसमा कम्पनीले सार्वजनिक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये सीमित कित्ताको मात्र लिलामी गरी कट अफ मूल्य निर्धारित गरिन्छ l यसैको आधारमा बाँकी धितोपत्रको सार्वजनिक निष्कासन गरिन्छ । यस विधिमा कम्पनीले नै प्राइस रेञ्ज दिई आधारभूत विश्लेषणका आधारमा बिडिङ गराउँछ । मूल्य निर्धारण गर्ने विधिका रूपमा समेत लिइने बुक बिल्डिङ विधिमा स्वतन्त्र रूपमा रहेको बजारले नै कम्पनीको मूल्य निर्धारण गर्दछ । निष्काशनकर्ता कम्पनी र निश्कासन तथा बिक्री प्रवन्धकले आवश्यक छलफल गरी एउटा मुल्य निर्धारण गरिन्छ ।उक्त मूल्यमा २०% थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र तल्लो सीमा आधार मूल्यमा २०% घटाउँदा हुने रकमलाई पल्लो सीमा कायम गरिन्छ । त्यस मूल्यमा विडिङ गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिइन्छ । बोर्डबाट स्वीकृति पाएपछि उक्त सीमामा रहेर योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमा सहभागी गराइन्छ । बोलकबोलका आधारमा कट अफ मूल्य निर्धारण हुन्छ। तसर्थ सर्वसाधारणले पनि कम्पनीको सबै पक्ष बुझ्ने अवसर पाउँछन् र निर्धक्क भएर लगानि गर्न सक्दछन् l

    कस्ता कम्पनीले यो विधि मार्फत आइपीओ निष्कासन गर्न सक्दछन् ?

    १) आइपीओ निष्कासन गर्ने कम्पनीले विगत ३ आर्थिक वर्षमा लगातार मुनाफा आर्जन गरेको हुनुपर्दछ l
    २) कम्पनीको साधारण सभाबाट यसका विधि मार्फत आइपीओ निष्कासन गर्ने भनि पारित भएको हुनुपर्नेछ l
    ३) क्रेडिट रेटिङ कम्पनीबाट औसत वा सोभन्दा माथिको रेटिङ पाएको हुनुपर्दछ l
    ४) कम्पनीको प्रति शेयर नेटवर्थ कम्पनीको चुक्तापूँजी को १५० प्रतिशतभन्दा कायम भएको हुनुपर्दछ l

    तर यस विधिबाट जारी भएका कम्पनीहरूको आइपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था बुक विल्डिङ निर्देशिका, २०७७ गरिएको छ l ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकि ६० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन गरिन्छ जसका कारण सर्वसाधारणको पहुँचमा भन्दा माथि हुन सक्दछ भन्ने आरोप लागे तापनि नेपालको सन्दर्भमा बास्तविक क्षेत्रका कम्पनीलाई सुचिकृत गर्नका लागी बुक बिल्डिंग विधि आइसब्रेकर लिन सकिन्छ । यसका साथै संस्थापक लगानीकर्ता मूल्यमा १० प्रतिशत छुट गरिने भएकाले सर्वसाधारणले पनि ढुक्क भएर आवेदन दिन सक्दछन् l

    सर्वोत्तमले निर्धारण गरेको कट अफ मूल्य रु ७५० उचित छ त ?

    पहिलो पटक नेपालको पुँजीबजारमा बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न लागेको यस कम्पनीले आफ्नो व्यावसायिक उत्पादन सुरु गरेपछि नै नाफा कमाउँदै भएको छ भने इपीएस पनि राम्रै छ । विगत ३ वर्षको औसत मुनाफा (कर पछिको) वार्षिक १ अर्ब ४ करोड भन्दा बढी भएको कम्पनीको दाबी छ । साथै प्रतिसेयर आम्दानि ५२ रुपैयाँ रहेको र आगामी ३ वर्षको औसत प्रतिसेयर आम्दानि ४५ रुपैयाँभन्दा बढी हुने अनुमान गरेको छ ।
    अहिले वार्षिक ३० प्रतिशत मुनाफा दिने कम्पनीहरूको शेयरमूल्य हेर्नेहो भने १२ सयभन्दा माथि देखिन्छ र यस कम्पनीले आइपीओबाट प्राप्त रकममध्ये ४०% ले ऋण भुक्तानी गर्ने त्यसपछि कम्पनी शतप्रतिशत ऋण मुक्त हुनेछ । बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना रहेको कम्पनीको भनाई छ । अबको ४ वर्षपछि वार्षिक प्रतिफल ७५% भन्दा बढी हुन जाने प्रक्षेपण गरेको छ । आइपीओ जारी भएपश्चात पहिलो ३ महिना भित्रै १०% बोनस सेयर र २५% नगद लाभांश दिने निश्चित भएको कम्पनीको भनाई छ । मनन गरौं, के यो कम्पनीको मूल्य उचित छ वा छैन ?

    बजार विविधिकरण गर्ने नयाँ औजारको रूपमा बोर्डले विश्व बजारहरुमा स्थापित बुक बिल्डिङका विभिन्न मोडलको अध्ययन गरी अघिसारेको यो विधि नेपालको बजार सुहाउँदो विधि हो भन्ने उनको दाबी छ l तसर्थ यस विधिमा सरोकारवाला निकायहरुले इमान्दारितापूर्वक काम गर्ने हो भने यो पुँजी बजार बिकास र बिस्तारको क्षेत्रमा कोसेढुङ्गा सावित हुन सक्दछ l
    यतिबेला मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने एक प्रमुख क्षेत्र पुँजी बजार पनि हो तसर्थ सरकारले पनि पुँजी बजारलाई प्राथमिकताको क्षेत्र घोषणा गर्दै नयाँ आम्दानिका श्रोतका रुपमा पहिल्याउन सक्नुपर्दछ । यसैगरी अन्य वित्तीय उपकरणलाई पनि समयमै पहिचान गरी आवश्यक नीति नियम कानुन तर्जुमा गर्दै बजारको विकास र विस्तारमा लाग्न सकेको खण्डमा पुँजी बजार एक दिगो राजस्वको श्रोत बन्न सक्दछ l

    (लेखक पुँजी बजारका अध्ययेता हुन्)

  • ‘कसैलाई छटपटी लाग्छ भने लागोस् साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ’

    ‘कसैलाई छटपटी लाग्छ भने लागोस् साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गरिने बताएका छन्। रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला, छटपटी लाग्ला तर साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’

    सरकारले वृद्धवृद्धालाई हेर्न थालेको सुन्दा मान्छेहरूलाई अर्को छटपटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस्,’ उनले भने।

  • ‘सबै बितण्डाको जिम्मेवार ओली हुन्, प्रमाण चाहिए एकभारी छन्’

    ‘सबै बितण्डाको जिम्मेवार ओली हुन्, प्रमाण चाहिए एकभारी छन्’

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताएका छन्।

    काठमाडौँमा आफ्नो पक्षको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

    उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाए।

    पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यो कसको कारणले सिर्जना भयो ? यसको जिम्मेवार को हुन् ? यो प्रश्न उत्पन्‍न भएको छ,’ उनले भने, ‘विगतको धेरै चर्चा गर्न चाहन्‍नँ । यो कार्यकर्ता भेला रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको हो ।’

    ‘आजको यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन, एमालेका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीजी, उहाँ नै सबै कामका निम्ति, सबै बितण्डाका निम्ति, यो सबै अवस्थाका निम्ति, पार्टीभित्र विग्रहका निम्ति जिम्मेवार हुनुहुन्छ’, उनले भने, ‘यसका निम्ति तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण छन्।’

  • अरुका जुमा मरेपछि

    अरुका जुमा मरेपछि

    पुरुषोत्तम लम्साल
    [email protected]

    हिजोबाट संसारले एउटा आदिवासी भाषा र सँस्कृति गुमाएको छ। अर्थात् ब्राजिलको अमेजन जंगल क्षेत्रमा बसोबास गर्ने प्राचीन आदिवासी समूहका जेष्ठ अगुवा अरुका जुमाको निधन भएको छ। उनीसँगै जुमा भाषाको कथ्य -अस्तित्व पनि सकिएको छ। र, अब संसारमा जुमा आदिवासी सँस्कृति र सभ्यताबारे आधिकारिक जानकारी ग्राउण्ड जीरोबाट वा आधार स्रोतबाट प्राप्त हुनसक्ने छैन। अरुका जुमासँगै अब जुमा समुदायका सँस्कृति पनि केही कथा र केही लेखोटमा सीमित भएका छन्।

    जुमा समुदाय कसरी सकियो ? हाम्रा लागि यो महत्वपूर्ण पक्ष हो। उत्तरहरु पनि स्पष्ट छन्।

    सुन्दा अचम्म लाग्दा वसन्तपुरको नगरा बजाउने समुदाय र नुवाकोट भैंसेमा भेटिने आधुनिक दमाइ दाइहरुको साइनो सिधै डोटी हुँदै भारतको उत्तराखण्डको अल्मोडा पुग्ने रहेछ।

    आधुनिकताको नाममा राज्यले मच्चाएको आतंकले सकियो। विकासका नाममा आदिवासीमाथि राज्यले मच्चाएको नरसंहारले सकियो। विश्वबजार र उद्योगको कच्चापदार्थ आपूर्तिको नाममा मच्चाइएको आतंकले सकियो। पुँजीपति टाइकुनहरुले पालेर राख्ने तस्कर गिराहको निरन्तर आक्रमणले सकियो। आदिवासी बसोबास गर्ने क्षेत्रमा रबर निकाल्ने हामीकहाँ सल्लाको खोटो वा रोजिन निकाल्ने भनेजस्तै स्थानीय दलाल जो राज्यको संरक्षणमा थियो, तस्करीका कारण सकियो।
    अमेजन क्षेत्रभित्र खानी र खनिज उत्खननका नाममा राज्यले हुलेको बजारले जुमा समुदाय सकियो।
    अरुका जुमा सन् १९६४ मा राज्यले गरेको आदिवासी नरसंहारमा बाँच्ने छ जनामध्ये एक जना भाग्यमानी थिए।
    सन १९४३ मा त्यहाँको सत्ताले चलाएको नरसंहारमा पनि बाँचेका अरुका जुमाको उमेर त्यो बेला दश वर्ष आसपास रहेको बताइन्छ।

    यसरी विश्व मानचित्रमा हिजोसम्म उपलब्ध एउटा विविधता आजैका मितिदेखि सकियो। सय वर्षअघिसम्म बीसौं हजारको संख्यामा रहेका आदिवासी भाषा र सँस्कृति अब छैन।

    अरुका जुमाको निधनसँगै मैले नुवाकोटको इतिहास खोतल्दै जाँदा भेटिएको दुखानटार (अहिले त ठाउँको नामै लोप भइसक्यो) को अस्तित्व सम्झिएँ। माटोको गुण चिनेर गूँढ खोज्दै काल्माटा र रातमाटामा पुगेर भाषा र सँस्कृति बिसाउँदै गरेका कुमालहरु सम्झिए।

    माझीहरुको वस्तीबाट माझी लोप हुँदै गएर टार मात्र बाँचिरहेको माझीटार सम्झिएँ। माझीबेगर चमचम गरिरहेको माझीटारले जोगाउन नसकेको जातीय, भाषिक, साँस्कृतिक विविधताको अंश सम्झिएँ।

    तादीका किनारै किनार देवीघाटको ढोरदेखि कविलासको खोरभन्दा माथिसम्म भेटिने एकाध दनुवार सम्झिएँ। अति सीमान्तकृतको भत्ता बाँडेर बाँकि दायित्व सम्हाल्न नसकेका केन्द्र र स्थानीय सरकारका अनुहारहरु नै दनुवार समुदायका लागि खतरा हुन् भनेर ठम्याएँ।

    कान्तिपुरको किनारबाट नुवाकोटको भैरवी मन्दिर हुँदै पूर्वमा थानसिम र पश्चिममा भैंसे पुगेर लगभग सकिएको हुड्के उपजाती वा समुदाय ( को अंश होला तर भाषा छैन सँस्कृति पनि नहोला सायद) सम्झिए। आधुनिक समाजले उनीहरुलाई दमाइको दर्जा दिएर सीमित मात्र गरेन मन्दिर र गाउँमा जागर गाउँदै जागरण कथा गाउने अवशेष नै सक्कायो।

    सुन्दा अचम्म लाग्दा वसन्तपुरको नगरा बजाउने समुदाय र नुवाकोट भैंसेमा भेटिने आधुनिक दमाइ दाइहरुको साइनो सिधै डोटी हुँदै भारतको उत्तराखण्डको अल्मोडा पुग्ने रहेछ। अझ बढी उनीहरु सरस्वतीका कथावाचक थिए।

    थोकमा हिसाब गर्दा तीस वर्षअघिदेखि नै राउटे समाज संक्रमण गर्न दैलेख छिरेका इसाई संक्रमणकारीको पनि सम्झना भयो जसरी धादिंग र रसुवाका उत्तरी खर्क आसपास बसोबास गर्ने तामांगहरु अतिक्रमणको शिकार भए।

    म जन्मिएको गाउँमा मगर छन् तर भाषाविहीन। नेवार छन् तर भाषाविहीन। तामांग छन् अब तिनमा पनि भाषिक संक्रमण ज्याद्रो छ, उपद्रो छ।

    धादिंग र मकवानपुरमा बालबाल बाँचिरहेका चेपांग सम्झिएँ । झण्डै आठ हजार वर्षदेखि म्याग्दीको पहाड हुँदै तल्लो मुस्तांगमा आधार जमाएका रेशमी मार्गका यात्रीका अवशेष सम्झिएँ। हामी सम्पन्न थकाली र विपन्न थकालीको बर्गीकरणमै सीमित भयौं। यसको भाषिक, साँस्कृतिक तन्तुमा ध्यान नदिएर विविधताको पनि अन्त हुन्छ भनेर सोचेनौं। थकाली भनेको थाकखोलाका मान्छे वा भान्छामा स्वाद पकाउने समुदाय मात्र होइनन् तिनले तिब्बती हिमाली हुँदै पहाडी सँस्कृतिको मिश्रित अभिव्यक्ति दिन्छन् भनेर चासै दिएनौं।

    घुम्दै जाँदा भाषिक, साँस्कृतिक अतिक्रमणले सीमान्तकृत हुँदै गएका रुकुम रैन्माका खाम पनि सम्झिएँ। खाम मगरभित्रको पनि भाषिका मात्र होइन भाषा, रीति र शिल्पमा सम्पन्न र विशिष्ट उपसमुह थिए भनेर बालकृष्ण पोखरेलले भनेको सम्झिएँ। जाति त रहला तर भाषिक अतिक्रमण जारी रहँदा भोली त्यहाँ पनि अरुका जुमा मात्र बाँकि हुनसक्छन्।

    तिब्बतमाथि चिनको प्रभुत्व स्थापित भएपछि केरुंगको बाटो हुँदै हिंडेकामध्य केही बाटोमै छुटे। पछिल्लो साठी वर्षमा त्यहाँ हाँगाबिँगा फैलाएकाहरुको भाषिक साँस्कृतिक अन्तर अध्ययन गरेपछि मैले थाहा पाएको थिएँ भाषा र पहिचानको मूल्य एवम् भाषा र सँस्कृतिको सम्बन्ध। अनुमान लगाउन सकिन्छ अबको केही वर्षपछि नै स्याफ्रुमाथिको एउटा वस्तिमा पनि अरुका जुमा मात्र हुनेछन्।

    ब्राजिलका आदिवासीसँग मेरो के साइनो छ भन्नुहोला ।
    छ।
    किनकि, अरुका जुमा ब्राजिलको राजामामा कुसुण्डा जस्तै थिए। जसरी नेपालमा लोपोन्मुख कुसुण्डा जातीका राजामामा तीन वर्षअघिसम्म कुसुण्डा भाषामा परर बोल्थे त्यसरी अरुका जुमा पनि जुमा भाषा बोल्थे एक हप्ताअघिसम्म।

    राजामामाको शेषपछि कुसुण्डा भाषामा दोहोरो संवाद कठीन भएजस्तै ब्राजिलमा अरुका जुमाको निधन भएपछि जुमा भाषामा दोहोरो संवाद गर्ने मान्छे पाउन मुस्किल छ। र, त्यहाँ आफ्नै भाषामा साँस्कृतिक पक्ष, गुण अभिव्यक्त गर्ने समूह नेपालको कुसुण्डा जाती जति पनि रहेनन्। हामीकहाँ त कुसुण्डा भाषा जागरण कक्षासमेत चलेको छ, तर अरुका जुमाको शेषपछि त्यो सम्भावना पनि कम भएको बताइन्छ।

    भाषा ठूलो कि जाती ? मेरा लागि अरुका जुमाले मृत्यूपछि यो प्रश्न छाडेर गएका छन् जसरी राजामामाको निधनमा पनि यो प्रश्न आएको थियो। भाषा मरेको जातीले आफ्नो साँस्कृतिक विशिष्ठता कसरी मूल्यमा वा गुणमा अभिव्यक्ति गर्नसक्छ? सक्दैन। आफ्नो भाषा नै नभएको जातीको त महत्व गौण हुन्छ। यो स्वभाविक पक्ष हो। तर, भाषा भए पनि बोल्न नसक्ने वा बोल्न सके पनि लेख्न नजान्ने भएपछि वा बोल्न जान्ने तर लिपीमा उतार्न नजान्ने भएपछि धेरै अल्पसंख्यक, सीमान्तकृत र अति-सीमान्तकृतमा अरुका जुमा र राजामामाहरु थपिंदै जान्छन्।

  • ‘ ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ, राजनीतिक लडाइँबाट भाग्दिनँ’

    ‘ ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ, राजनीतिक लडाइँबाट भाग्दिनँ’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पुनःस्थापनासँगै एउटा ‘ब्याटल’ जितेको र अझै दुईचार ब्याटल जित्न बाँकी रहेको बताएका छन्।

    पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित नेकपा नेकपा माओवादी केन्द्रनिकट नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रनुपर्ने आवश्यक देखिएकाले आफूलाई सहयोग गर्न नेता-कार्यकर्तालाई अनुरोध गरे।

    यतिखेर आफू राजनीतिक लडाइँबाट भाग्ने मनस्थितिमा रहेको पनि उनले स्पष्ट पारे। फेरि एकपटक क्रान्ति गर्नबाट आफू कुनै हालतमा पछि नहट्ने अठोट उनले व्यक्त गरे। यसका लागि उमेरले नछेक्ने विश्वास उनले व्यक्त गरे।

    माओत्से तुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेको उदाहरण दिँदै प्रचण्डले जनयुध्द थाल्दा आफ्नाे उमेर ४२ वर्ष रहेकाे र अहिले ६२/६३ वर्षको भएकाले लडाइँ लड्ने उमेर अझै बाँकी रहेको बताए।

    अध्यक्ष प्रचण्डले सर्वोच्चको पछिल्लो फैसलाले देशलाई जटिल अवस्थामा पुर्याएको बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा प्रधानमन्त्री केपी ओलीविरुद्ध आफूले लेखेको १९ पृष्ठको प्रतिवेदनबारे चर्चा गर्दै उनले फेरि शान्तिपूर्ण जनयुद्धको तयारी थाल्नुपर्ने अवस्था आउन सक्ने बताए।

    प्रतिक्रियावादीविरुद्ध विचारको युद्ध गरेकाे उल्लेख गर्दै उनले क्रान्तिकारी साथीसँग भर परेर विगतमा जनयुद्ध सुरु गरेको स्मरण गरे। लोकतान्त्रिक गठबन्धनविरुद्ध भइरहेको हमलाविरुद्ध जनतासँग मिलेर देशव्यापी अभियान चलाउने र देशीविदेशी षड्यन्त्रलाई परास्त गर्ने उनकाे भनाइ थियाे।

  • एमाले-माओवादी: फेरी सिंगौरी खेल्ने कि हल मिलाउने ?

    एमाले-माओवादी: फेरी सिंगौरी खेल्ने कि हल मिलाउने ?

    पुरूषोत्तम लम्साल
    [email protected]

    नेकपा नामको दलको आधिकारिकताको विवाद निरुपण भएसँगै केपी ओली नेतृत्वको सरकारले तत्कालका लागि अभयदान पाएको छ। यसो भनौं, पशुपतिमा आयोजित क्षमापूजा काम लागेको छ। र, शेरबहादुर देउवाका हकमा ज्योतिषले गरेको भविश्यवाणी तत्कालका लागि केही पर सरेको छ।

    संसद् विघटन र पुनस्थापनाको एक चक्र पार भएपछि जुन दिन संसद बोलाइयो त्यही साइतमा अदालतले दिएको सरप्राइजले संसदीय ब्यवस्थाको थप बिद्रूपीकरणलाई समेत जोगाइदिएको छ। एउटा परिघटनापछिको यो अर्को राजनीतिक परिघटनाले गोलमाल र जालझेलका अनेक तानाबाना चुँडालेर दलीय अस्तित्वको आआफ्नै शास्त्र केलाउने बाटो खोलिदिएको छ।

    जति लखेटे पनि जति दपेटे पनि विघटित नेकपाको एउटा पक्ष पूर्व एमालेभित्र केपी शर्मा ओलीको पल्ला पुन एकपटक भारी भएको छ। दलसम्बन्धी सर्वोच्च अदालतको फैसलाले राजनीतिक मैदानमा सबैलाई आक्रमणको स्थानबाट ‘डिफेन्सिभ लाइन’मा पुर्याइदिएको छ। एमाले र माओवादी केन्द्र एकताको जग नै हल्लाउने गरी आएको सर्वोच्चको पछिल्लो फैसलापछि सत्ताको सुरक्षा र पार्टीको सुरक्षामा गम्भीर बहस शुरु भएका छन्। राजनीतिक अस्थीरता र कोलाहलको बीचमा आएको यो निर्णयले राजनीतिमा ल्याएको रोमाञ्चक ‘ट्विस्ट’ कम्ता चाखलाग्दो छैन।

    फैसलाले खारेज गरेको नेकपा हुनुअघिको माओवादी केन्द्रलाई त्यति आघात गरेको छैन जति आघात एमालेमा परेको छ। अझ बढी एमालेभित्रकै प्रतिपक्षी माधव नेपाल समूहलाई रन्थनाइदिएको छ। एमालेभित्रको दुईवटा अहम् पुन एकठाउँमा उभिनपर्ने, आमनेसामने हुनपर्ने र घर्षणको प्रक्रियामा जानपर्ने बनाइदिएर अदालतले राजनीतिलाई न्यायिक अंकुशमा झुण्ड्याइदिएको छ। यसलाई सकारात्मक रुपमा ग्रहण गर्दा एमालेलाई संकुचनबाट अझ ब्यापकतामा जान, सीमितताबाट अझ फराकिलो आयाममा जान, संगठन र नेतृत्वको विषयमा ठोस र मूर्त हुने अवसर दिएको छ।

    पहिलेको एमाले पुनयोग हुन्छ वा हुँदैन ? यो मूल प्रश्न हो। भए पनि त्यहाँ दुईलाइन संघर्ष सहज छैन। हिजोका ‘हेट स्पिच’का घृणित शृंखलाले एमाले शरीर र आत्मा दुबैमा विभाजित छ। असहिष्णु र निषेधको चरित्र टुप्पोदेखि फेदसम्मै फैलिएको छ। यो बेला गणित मिले पनि भावना र विचार शेष नै हुन्छ।

    अब नयाँ पार्टी बनाएर जानु माधव नेपाल समूहका लागि ढुंगाको चिउरा चपाउनुभन्दा बढी हुन्छ। माओवादी केन्द्रमा मिसिनुले नैतिक र राजनीतिक संकट झन् दोब्बर हुन्छ। उत्तम विकल्प एमालेभित्रै रहेर दुबै पक्षले आत्मसमीक्षा र आत्मालोचना गरेर मन माझ्ने हो। डुंगा कसैको पनि डुबेको छैन, किनारामा पुग्न माझीहरुले सन्तुलनका साथ पैया घोटे हुन्छ।

    एमालेभित्र घनिभुत अन्तरसंघर्ष अपेक्षित छ। अथवा, समयले त्यो माग गर्दछ। ऊसँग सेकेण्ड जेनेरेसनका प्रभावी अनुहार प्रशस्त छन् जो राजनीतिक नेतृत्वका लागि सामथ्र्यवान छन्। बैचारिक संघर्षको उदय हुँदा एमाले अझै माझिएर, खारिएर उठ्न सक्दछ।

    चार टाउको चारतिर फर्किएर बस्ने कि नबस्ने त्यो नेताहरुले मनन गर्ने विषय हो। ओली, नेपाल, झलनाथ र बामदेवको सल्लाहकार परिषदबाट नेतृत्व हस्तान्तरणको प्रक्रियामा ठोस सहमति हुने हो भने महाधिवेशनमा पुग्नपर्ने बाध्यता पनि मुठभेडमा नगई हल हुनसक्छ।

    तर, सत्तरी वर्षको आयुमा पनि तेरो जुँगा र मेरो जुँगा भन्ने हो भने एमाले विषदको घेरामा पुग्नसक्छ। राजनीतिमा सबैथोक जितिसकेको त्यो पुस्ताले अभिमान वा अहम् र त्यसले उत्पन्न गरेको घमण्ड जित्न सक्नुपर्छ भोलीका लागि। त्यो जित हासिल भए अझै पनि दोस्रो पुस्ता पुरानै माओवादी केन्द्रसँगै सहकार्य र एकताको बाटोमा जानसक्ने सम्भावना अस्वीकार गरिहाल्न मिल्दैन।

    धुम्बाराही हिजो पनि थियो र आज पनि छ। पेरिसडाँडा हिजो पनि थियो र आज पनि छ। हिजो पनि धुम्बाराही र पेरिसडाँडा जोडिएका थिएन, एक भएका थिएनन् किनकि दुबैको जग फरकफरक ईटले बनेका छन्। त्यो ईट शरीर मात्र होइन बिचार पनि हो। जोगी देखेर भैंसी तर्सने र भैंसी देखेर जोगी तर्सने आहानकै रुपमा धुम्बाराही र पेरिसडाँडाको सम्बन्ध अब पुनब्र्याख्या हुनपर्ने ठाउँमा ल्याइदिएर अदालतले पुण्य कमाएको छ।

    ककसले पोकापन्तुरो बाँध्ने र ककसले झोलीतुम्बा कस्ने भन्ने विषय राजनीतिक चरित्रविपरीतका विषय हुन्। नेकपाबाट अलगथलग भएपछिका यावत कारबाही पनि खारेज भएर दुई दलको आवरणमा आइसकेपछि जुँगा तान्ने र पुच्छर उखेल्ने चरित्र बन्द हुँदा मात्र सबैलाई फाइदा छ। सम्बन्धलाई शत्रुतामा बदल्न जति सहज हुन्छ मित्रतामा रुपमन्तरण गर्न उत्ति कठीन हुन्छ। कठीन हुनुको अर्थ असम्भव छ भन्ने होइन।

    दल विभाजनसम्बन्धी अध्यादेशका खेती बन्द गरेर सत्तारुढ घटकले लचक हुदा केही बिग्रदैन। हिजोको एकतालाई भोलीको सहकार्यमा रुपान्तरण गर्ने ढोका बन्द भइसकेको होइन बरु अझ हिजोको एकता प्रक्रियाको त्रुटीलाई यकीनसाथ सच्याउने ढोका खोलिएको हो। घृणाको खेती र एकअर्काप्रतिको तुच्छ, नीच दर्जाको टिप्पणीबाट उठेको विश्वाशको संकट हल गर्न समय घर्किसकेको छैन।

    प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले सत्ता मात्र गुमाएको हो, राजनीति गुमाएको हैन। ऊ अझै पनि दलीय राजनीतिमा मझौला हैसियतमा समीकरण बनाउने खेलाडी हो। एमालेमा जसरी माओवादी केन्द्रका कार्यकर्ता विभाजित छैनन्। राजनीतिक गठबन्धन बनाउन माओवादी केन्द्रसँग अझै प्रचूर शक्ति छ। यो शक्ति जति सहिष्णु भयो त्यति राजनीतिक सहकार्य सहज हुन्छ।

    प्रतिकूलतालाई अनुकूलतामा बदल्ने यो अर्को अवसर पनि हो। भीरमा पुगेर राम नाम जप्दाजप्दै अदालतले दुई राजनीतिक साँढेलाई पुन: राजनीतिको खेतमा नारिदिएको छ। अब सिंगौरी खेल्ने कि हल मिलाउने त्यो तिनै जानून्।

  • पहिचानको हक र नारी दिवस

    पहिचानको हक र नारी दिवस

    कल्पना शाक्य (अधिवक्ता)

    मार्च ८ – अन्तराष्ट्रिय महिला दिवस ! विशेषतः सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकारमा महिलाको पहुँच प्राप्तिको उपलक्ष्यमा महिला दिवस मनाउने दिन । महिलाहरुले मताधिकारमा प्राप्त गरेको हकलाई विजयोत्सवको रुपमा सर्वप्रथम सन् १९१४ मा जर्मनीमा मनाइएको हो । तथापि यसको बिऊ रोप्ने काम भने सन् १९०८ मा महिलाहरुलाई समान कामको लागी समान पारिश्रमिक र मताधिकारको दावि गरेर न्यूयोर्क सहरमा करिब पन्ध्रसय महिलाहरुको जुलुसले शुरुवात गरेको थियो । Clara Zetkin नामकी महिला अधिकारकर्मीको अगुवाई तथा संयोजनमा सन् १९१० मा डेनमार्कको कोपेनहेगनमा १७ देशका १०० महिलाहरु भेला भई महिला सम्मेलन सम्पन्न भएको थियो ।
    त्यसदिन संसारभर कार्यालय बिदा गरी, जुलुस, सभा, गोष्ठि, फूल उपहार साटासाट गरेर हर्षोल्लासपूर्वक मनाईदै आएको पाईन्छ । प्रत्येक वर्ष अन्तराष्ट्रिय महिला दिवसमा एउटा फरक नारा दिईने गरिन्छ । यस वर्ष सन् २०२१ मर्च ८ को नारा “Women in leadership: Achieving an equal future in a COVID-19 world” अर्थात “नेतृत्वमा नारी: कोरोनाले आक्रान्त विश्वमा समान भविष्यको तयारी” भन्ने रहेको छ ।
    नेपालमा पनि अन्तराष्ट्रिय रुपमा एक्येबद्धता जनाउँदै अघि सारिएका नारालाई समर्थन र आत्मसात गर्दै मनाइन्छ । यद्यपि केवल नाराको पछाडि दौडने औपचारिकता मात्र भन्दापनि देश काल परिस्थिति अनुसार महिलाहरुका के–कस्ता चुनौति रहेका छन्? महिलाहरुले कानुनी, आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रहरुमा के कस्ता समस्या एवम् असमानताको पिडा भोग्नु परिरहेको छ ? असमानताको जड कहाँनेर छ ? भन्ने सम्बन्धमा आफ्नै धरातलीय परिवेशमा रहेर अध्ययन अनुसन्धान गरी समस्याको गाँठो फुकाउनु श्रेयकर हुनेछ । नेपाल जस्तो पितृसतात्मक सोच भएको समाजमा महिला हिंसा र भेदभाव चरम रुपमा रहिआएको छ । त्यसको बिरुद्ध सदियौंदेखि मानव अधिकारकर्मी, महिला अधिकारकर्मीहरुको प्रयासमा लडाई लड्दै जादा क्रमीक रुपमा बिजय हासिल हुँदै आएको पनि छ । लैंगिक भेदभाव गरिने छैन भन्ने संवैधानिक व्यवस्था, भ्रुण परिक्षण बिरुद्धको कानुन, अंशमा छोरा सरह छोरीलाई समान हक, बलात्कारका बिरुद्ध बनेका कडा र सुधारोन्मुख कानुन, तेजाब आक्रमण बिरुद्धको कानुनी व्यवस्था, बोक्सी आरोपमा यातना बिरुद्धको कानुनी व्यवस्था, आमाको नामबाट नागरिकता बनाउन सकिने व्यवस्था, समान पारिश्रमिक सम्बन्धि श्रम ऐन कानुनहरु लैङ्गिक आधारमा भईरहेका भेदभाव बिरुद्ध महिलाहरुले प्राप्त गरेका विजयको प्रतिक हुन् ।


    यति हुँदा हुँदै पनि नेपाली महिलाहरुले महिला हुनुपरेको कारणले भोग्नुपरेको अन्याय समाप्त भईसकेको छैन । प्रगति उन्मुख कानुनहरु निर्माण हुँदै गईरहेको भएतापनि समाजको परम्परागत, दरिद्र सोचको कारण संविधान र ऐन कानुनले प्रदान गरेको हक अधिकार उपभोग गर्नु महिलाहरुको निम्ति अझै पनि फलामको चिउरा चपाउनु सरहकै अवस्थामा छ । जसको सबैभन्दा ज्वलन्त उदाहरण नागरिकता ऐन र यसको कार्यान्वयनमा देखिएको व्यवहारिक कठिनाईलाई लिन सकिन्छ ।
    नेपालको नागरिकता सम्बन्धि कानुनको ईतिहास हेर्दा बाबु वा आमा मध्ये एक नेपाली नागरिक भएमा त्यस्तो व्यक्ति नेपाली नागरिक ठहर्ने, नागरिकता ऐन २००९ र नेपालको संविधान २०१९ को व्यवस्थालाई, नेपाली नागरिक हुन बाबुनै नेपालको नागरिक हुनुपर्ने प्रावधान ल्याएर नेपाल नागरिकता ऐन २०२० ले प्रतिगामी कदम अघि सारेको देखिन्छ । त्यसपछि २०२० को व्यवस्थालाई नै निरन्तरता दिदै नेपाल अधिराज्यको संविधान २०४७ ले पनि बाबु नेपाली नागरिक हुनुपर्ने व्यवस्था गर्यो । त्यसपछि नेपालको अन्तरिम सविधान २०६३ र नागरिकता ऐन २०६३, नेपालको संविधान २०७२ ले कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति बंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्था गरेर लैङ्गिक समानताको हकमा सुधारात्मक कदम उठाएको पाईन्छ । तर नागरिकता ऐन २०६३ को विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिए बमोजिम अङ्गिकृत नागरिकता प्रदान गर्न सकिने, नेपालको संविधान २०७२ को नेपाली आमाबाट नेपालमा नै जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक हुनेछ तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता अंगीकृत नागरिकतामा परिणत हुनेछ भन्ने व्यवस्थाबाट नागरिकता ऐनका दफाहरु तथा संविधानका धारा उपधाराहरु एक अर्कासँग बाँझिएको प्रतित हुन्छ ।
    जब एउटा दफा अथवा धाराले कुनै व्यक्तिको जन्म हुँदा निजको आमा वा बाबु मध्ये कुनै एक नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्ति गर्ने उल्लेख भईसके पश्चात पुनः आमा नेपाली र बाबु विदेशी ठहरेमा अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था गरिनु विरोधाभासपूर्ण छ । अर्कोतर्फ आमाको नामबाट नागरिकता माग्न जानेलाई अङ्गीकृत नागरिकता समेत दिन सम्बन्धित निकायले ईन्कार गर्ने गरेकोले नागरिकता पाउँ भनि पिडीतहरु सर्वोच्च अदालत धाई रहेका छन् ।
    नेपाली नागरिक महिलाले आफ्नो सन्तानलाई नागरिकता दिलाउन पाउनुपर्ने भनि सर्वोच्च अदालतबाट धेरै मुद्दाहरुमा फैसला तथा आदेश भईसकेका छन् । ती मध्ये केहिको चर्चा यहाँ गर्नु सान्दर्भिक देखिन्छ ।
    अधिबक्ता चन्द्रकान्त ज्ञवालीले दायर गर्नुभएको रिट निवेदनमा, बंशजको आधारमा पाउने नागरिकतामा लिङ्गको आधारमा भएको विभेदलाई न्यायोचित मान्न नमिल्ने भनि मिति २०५८/१०/२५ मा फैसला भएको थियो ।
    कुनै व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने कानुनी व्यवस्था रहेबाट समेत लिङ्ग वा वैवाहिक स्थितिको आधारमा निवेदकलाई भेदभाव गरी नागरिकताको प्रमाणपत्र लिनबाट बञ्चित हुने गरी नगरपालिकाबाट सिफारिस नदिने गरी भएको कार्यलाई कानुन सम्मत भन्न नमिल्ने भनि नक्कली महर्जनको मुद्दामा मिति २०६५/०१/०४ मा आदेश भएको ।
    आफ्नो बाबुको किटानि जानकारी आमालाई नभएको हुँदा आमाको नामबाट नागरिकता पाउँ भनि सविना दमाईले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकोमा बाबुको ठेगाना र पहिचान नभएको कारणले नागरिकता दिन नमिल्ने भनि निवेदन फिर्ता पठाएपछि सर्वोच्चमा निवेदन दिएकोमा बाबु वा आमा मध्ये कुनै एक मात्र नेपालको नागरिक भए पनि त्यस्तो व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न सक्ने भनि २०६७/११/१५ मा आदेश भएको ।
    रिनेक्स बस्नेतको एकल आमाको रुपमा संरक्षण गर्दै आएकी विपना बस्नेतले रोजेको थर राख्न पाउनुपर्ने माग गर्दै अदालतमा निवेदन दिएकी थिइन् । आमाको नामबाट बंशजको नागरिकता पाउने अवस्थामा बाबुको थर लेखिएको कारणले आमाको लेख्न नपाउने नहुने भनि २०७२/१२/२२ मा आदेश भएको ।
    आफ्नो बाबु विपिन खरेल र आमा शर्मिला गौतमका बीचमा प्रेमपछि विवाह भएको तर पछि बाबु वेपत्ता भएपछि सृजन खरेल नगरिकता विहिन हुनुपरेको थियो । नागरिकता लिन जाँदा जिल्ला प्रशासन कार्यालयले बाबुको नागरिकता ल्याउन भनेपछि सर्वोच्च पुगेका थिए । २०७३/०५/१३ गते सर्वोच्चले खरेललाई आमाको नामबाट नागरिकता दिन आदेश जारी गरेको थियो ।
    बाबुको पहिचान हुन नसकेको अवस्थामा त नेपालको संविधानले नेपाल अधिराज्यभित्र फेला परेको नाबालकलाई वंशजको नागरिकताको व्यवस्था गरेको छ भने यस मुद्दामा बाबु बेपत्ता भएको घर ठेगाना पहिचान नभएको अवस्था रहेको छ । आमा वंशजको आधारमा नेपाली नागरिक र सन्तानको जन्म र बसोबास समेत नेपालमै छ । यी संवैधानिक व्यवस्थाको सन्दर्भमा आमाको नामबाट सन्तानलाई नागरिकतामा प्रतिबन्ध लगाउनु संविधानको मर्म विपरित हुने । यस मुद्दामा आमाको नामबाट नागरिकता दिन इन्कार गर्ने वा वाधा अड्चन गर्ने निकाय, सामाजिक संस्था वा कर्मचारीलाई आवश्यक कारवाही समेत गर्ने आदेश २०७४/०५/०५ मा उमा सिंह (भट्टराई) को मुद्दामा भएको थियो ।
    दिवाकर क्षेत्री र प्रभाकर क्षेत्रीका पिता रुडल क्षेत्री र सुषमा राईको २०३६ सालमा विवाह भएको थियो । तर क्षेत्रीको मृत्यु भएपछि राईले अर्कै व्यक्तिसँग दोस्रो विवाह गरेकी थिइन् । बाबुको सानैमा मृत्यु भएपछि उनिहरु आमाको नामबाट नागरिकता लिन पुगेका थिए । तर गाउँपालिकाले सिफारिस दिन इन्कार गरेपछि अदालत पुगेका थिए । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयको नाममा आवश्यक छानविन गरी तत्काल नागरिकता दिनु भनेर मिति २०७६/०१/३०आदेश जारी गरेको लामो समयपछि मात्र क्षेत्री दाजुभाईले नागरिकता पाएका थिए ।
    यसरी संविधान तथा ऐन कानुनले प्रत्याभूत गरेको जति हक अधिकार दिलाउन सर्वोच्च अदालत कटिबद्ध देखिएता पनि नागरिकता प्रदान गर्ने तथा सिफारीस गर्ने अन्य निकाय वडा कार्यालय, जिल्ला प्रशासन कार्यालयहरु उदासिन देखिन्छन् । सविना दमाईको मुद्दामा भएको फैसलापछि नै सबै जिल्ला प्रशासन कार्यालयहरुमा प्रधानमन्त्री कार्यालयले गृहलाई परिपत्र पठाएको र गृहले जिल्ला प्रशासन कार्यालयमा परिपत्र पठाएको र यस सम्बन्धमा कुनै गुनासो रहन नदिन गुनासो सुन्ने संयन्त्र गृह मन्त्रालय अन्तर्गत नै खडा गरी अनुगमन समेत गर्ने व्यवस्था मिलाउन सरकारको नाममा आदेश भएकोमा उक्त आदेश कार्यान्वयनको अवस्था हालसम्म पनि पत्राचारमै सीमीत देखिन्छ ।
    बाबुले छाडेका, बाबुको पहिचान हुन नसकेका, बाबु बेपत्ता भएका छोराछोरीहरुका लागी नागरिकता बनाउन जाने क्रममा बाबुको बारेमा सोधिने प्रसंगहरुले घाउमा नुन छर्कने कार्य गरी कलिलो मनस्थितिमा नकारात्मक प्रभाव पार्दैछ ।

    द्वापर युगमा भिन्दा भिन्दै पिता मार्फत कुन्तीको कोखबाट जन्मिएका पाँच पाण्डव पाण्डुपुत्र भनेरनै चिनिने गर्दछन् । यति बैज्ञानिक र उच्च सभ्यता बोकेको हाम्रो धर्म संस्कृति हुँदाहुँदै हामी किन आजसम्म स–सम्मान आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिरहेका छैनौ ?”

    लैङ्गिक विभेदको बिरुद्धमा महिलाहरुले प्राप्त गरेको विजयोत्सवको अन्तराष्ट्रिय रुपमा उन्नाईसौ शताब्दीदेखि मात्र महिला दिवस मनाउन शूरु गरिएको भएतापनि नेपालमा महिलाको सफलतामा अनादी काल देखिनै विजयोत्सव मनाउने गरिदै आएको हो ।

    महिशाषुर आदि दैत्यको ज्यादतिबाट मुक्ति दिलाई पाउन भगवान विष्णुले श्री दुर्गा भवानीलाई पुकारेपछि देवीले दैत्यहरुको संहार गरेको खुसीयालीमा नौ दिनसम्म देवीको नौ रुपलाई पुजा आराधना गरेर सनातन कालदेखि नै बडा दशैं धुमधामका साथ मनाउँदै आएका हामी नेपाली महिलाको हक अधिकारको सुनिश्चितताको लागी विदेशीको पिछलगु हुनुनै दुःखद बिडम्बना हो । अर्कोतर्फ द्वापर युगमा भिन्दा भिन्दै पिता मार्फत कुन्तीको कोखबाट जन्मिएका पाँच पाण्डव पाण्डुपुत्र भनेरनै चिनिने गर्दछन् । यति बैज्ञानिक र उच्च सभ्यता बोकेको हाम्रो धर्म संस्कृति हुँदाहुँदै हामी किन आजसम्म स–सम्मान आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिरहेका छैनौ ? हामीले बुझ्न सकेको भए नेपालको नक्कल विश्वले गर्नुपर्ने अवस्था हुने थियो । तर कञ्जुस्याई गरी गरी दशकौं पछि २०६३ र २०७२ को संविधान तथा नागरिकता ऐन २०६३ ले प्रदान गरिसकेको नागरिकताको हक प्राप्त गर्नको लागी दशक भन्दा बढी समय २०७६ सालसम्म पनि अदालतले निर्देशन दिईरहन पर्नु, हालका दिनसम्म पनि नागरिकताको सिफारिसको लागि पेश गरेको निवेदनमा वडा कार्यालयले सिफारिस नदिई कानुनी राय माग गर्दै केन्द्रमा निवेदन फाईल पठाउने गरीरहेको अवस्था हुँदा विभिन्न झण्झटको सामना गरी अदालत प्रवेश गरिरहनुपरेको दृष्य ज्यादै पिडादायक लाग्दछ ।
    मानिस भएर जन्मिएपछि विभिन्न मौलिक हक, सम्पत्ति सम्बन्धि हक, राजनैतिक, शैक्षिक, सांस्कृतिक हक, स्वतन्त्रताको हक, समानताको हक व्यक्तिलाई प्राप्त हुन्छ । तर यी सबैभन्दा महत्वपूर्ण र पहिलो हक भनेको पहिचानको हक हो । सर्वप्रथम पहिचान भईसकेपछि मात्र त्यस्तो पहिचानको आधारमा अन्य हक प्राप्त हुने हो । तसर्थ एउटी नेपाली महिला नागरिकले आफ्नो कोखबाट जन्माएको सन्तानलाई नेपाली नागरिकता दिलाउन गर्नुपर्ने संघर्षको लडाईमा महिलाले पूर्ण रुपमा विजय प्राप्त गरुन, आमाको नामबाट नागरिकता लिन जाँदा सामाजिक रुपमा तिरष्कृत हुन नपरोस, अब मुद्दा नै लडिरहनु पर्ने परिपाटीको अन्त्य होस ! अन्तराष्ट्रिय महिला दिवसको शुभकामना !

  • ‘पिलो उछिट्टिएर, निचोरिएर जाँदैमा शरिरको तौल घट्दैन’

    ‘पिलो उछिट्टिएर, निचोरिएर जाँदैमा शरिरको तौल घट्दैन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई शरीरमा आउने पिलोसँग तुलना गरेका छन् । बिहीबार सिन्धुलीमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपालप्रति कटाक्ष गर्दै केही पिलो उछिट्टिएरर, निचोरिएर जाँदैमा शरिरको तौल नघट्ने बताए ।

    प्रधानमन्त्री ओलीले आफूलाई मधेस विरोधी भनेर मधेस पस्न रोक लगाए पनि पानी पस्न चाहिँ नरोक्न आग्रह गरे । आफूलाई मधेस विरोधी भन्दै मधेस पस्न नदिने भनिएकोमा आक्रोश पोख्दै उनले ओलीलाई पस्न नदिए पनि तपाईंहरुका खेतमा पानी चाहिँ नरोक्न आग्रह गरे ।
    प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजनका मुख्य २ वटा उद्देश्य रहेपनि यो बहुआयामीक आयोजना भएको प्रस्ट पारे ।

  • वार्ता अर्थात् नयाँ ‘पोलिटिकल बिजनेश’

    वार्ता अर्थात् नयाँ ‘पोलिटिकल बिजनेश’

    पुरुषोत्तम लम्साल (राजनीतिक विश्लेषक)

    फागुन सातको प्रजातन्त्र दिवसकै पूर्वसन्ध्यामा एउटा सकारात्मक समाचार आयो । समाचार सरकार र विप्लव समूहबीच संवादको सम्भावना बारे थियो। दुई पक्षबीच एक महिना लामो अनौपचारिक गुफ्तगुपछि सार्वजनिक भएको समाचारले राजनीतिक रंग पाउनु स्वभाविक थियो, पायो।

    पृष्ठभूमिमा अनेक सम्भावना र परिदृष्य हुन्छन्। हल्ला र अनुमानको बजारमा खेति पनि त्यही रुप र मात्रामा हुन्छ। तत्कालका लागि सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले वार्ता समिति बनायो। प्रतिबन्धित समूहले वार्ता टोली गठन गरेर संवादको टेबलमा बस्न तयार हुनु आफैंमा राजनीतिक उपलब्धि नै हो। सरकार वा राज्यपक्षले नै इनिसियसन वा तप्परता वा अग्रसरता लिनपर्ने थियो, लियो। यो सामान्य विषय हो। भलै त्यो तत्परताभित्र अनेक राजनीतिक सन्देश निहित छ र हुन्छ नै।

    पार्टी महासचिव विप्लवले विज्ञप्तिमार्फत प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरे। सरकारले गृहमन्त्री र प्रधानमन्त्रीका विश्वाशप्राप्त परराष्ट्र सल्लाहकारको वार्ता समिति बनायो। दुबै वार्ता समितिको अनुहारले प्रारम्भिक राजनीतिक सहमतिको बिन्दू तयार भइसकेको देखाउँछ। यो अर्को उल्लेख्य पक्ष हो।

    प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल रहेकै बखत यही सरकारले नेकपामाथि २०७५ साल फागुन २८ गते प्रतिवन्ध लगाएको थियो। दुई हजारभन्दा बढी राजनीतिक कार्यकर्ता धरपकडको शिकार भएका थिए। तर दलमाथिको प्रतिबन्धको फुकुवा र संवादको थालनिले दुबै पक्ष अस्तित्वको स्वीकार गर्ने तहमा आउनु निषेधविरुद्ध निषेध नै हो।

    वार्ता कसलाई र किन चाहिएको ? भन्ने सरल सवालको सरल जवाफ छ। यो वार्ता राज्य, व्यवस्था, विधि र विधानको परिवर्तनका लागि होइन यथास्थानमै सामान्य मोलमलाईको सानो मार्ग हो राज्यको पक्ष र विपक्षमा रहेको दुई समूहबीच। यो वार्ताले दूरगामी परिवर्तनको अपेक्षा गर्दैन तर वार्ताको निश्कर्ष जे आए पनि भोलीको राजनीतिक बजारमा एउटा मूल्य वा अर्थ चाँहि पक्कै दिन्छ।

    वर्तमान सरकार अहिले अलोकप्रिय छ। संसद विघटन र सवोच्च अदालतको फैसलापछि सरकारमाथि अनेक प्रश्न उब्जिएका छन्। यो बेला सरकारलाई पोलिटिकल बिजनेशको पनि यत्तिकै आवश्यकता छ। अहिलेको वार्ता सरकारका लागि त्यही पोलिटिकल बिजनेश हो। सरकार अग्लो घरको बार्दलीमा वार्ताको रातो फरिया टाँगेर लोकलाई म पनि केही हुँ भन्ने देखाउन चाहन्छ।
    अर्थात, सरकार सरकारविरोधि घेराबन्दी कमजोर बनाउन लचक रहेको देखिन्छ। यो लचकताले परिणम दिए सरकारको विपक्षी अन्य समूहसँगको राजनीतिक संघर्ष थोरै भए पनि सहज हुने र सामाजिक मनोविज्ञानलाई कलिकति क्यास गर्नसकिने सरकारको लक्ष्य देखिन्छ। किनकि, अर्को चुनावमा यो मुद्दा पनि अनुकूलतामा उपयोग गर्नसकिने रणनीतिक विषय बन्छ नै।

    अर्कोतिर विप्लव समूह भन्दाभन्दै नेकपा राजनीतिक पार्टी वा दल नभएर व्यक्तिको समूहको रुपमा बढी चित्रण हुँदै आइरहेको छ। नेकपाले समूहको रुपमा होइन बिद्रोही राजनीतिक पार्टीको पहिचान हासिल गर्न पनि मूर्त सन्दर्भ चाहिएको थियो।

    पछिल्ला दुई वर्ष न हिंसा, न क्रान्ति, न शान्तिको अन्यौलताले थिचिएको प्रतिबन्धित नेकपा अझै पनि क्रान्तिकारी वामपन्थी शक्तिकै अवशेषमा छ। भलै उसका राजनीतिक लाइन वा दिशाबारे आमजनता स्पष्ट हुनसकेका छैनन्, उसले सकिनसकि हामी क्रान्ति बिसाउँदैनौं वा बिसाएका छैनौं भनिरहेको छ। यो अवस्थामा आफ्ना माग र आन्दोलनबारे प्रचारमा उभिन पनि वार्ताले तात्विक महत्व राख्दछ। क्रान्तिकारी शक्तिको बिरासतलाई कसरी सम्बोधन गर्ने भन्ने विषय वार्तामा निर्भर हुन पनि सक्छ।

    संयुक्त रणनीतिक मोर्चाको नाममा संगठित क्रान्तिकारी ध्रुवीकरणलाई बलियो बनाउन यो वार्ता अदृश्य पहलकदमी हुनसक्ने सम्भावना नकार्न हुँदैन। संगठन र साँगठनिक संरचनामा पुगेको क्षति गौण होला तर खुल्ला मोर्चा र प्रतिबन्धित मोर्चाको चित्र र चरित्र अलग हुन्छ। सैद्धान्तिक रुपमा वार्ता यथास्थिति र क्रान्तिकारी शक्तिबीचको घर्षण बन्नस सक्यो भने यसले नवशंशोधनवादलाई धक्का दिनसक्छ। यो अर्को महत्वपूर्ण पहलु हो।

    यसअघिका अनौपचारिक संवादमा वर्तमान प्रधानमन्त्री केपी ओलीकै एकजना सन्देशबाहकले सुनाएका थिए, ‘भोली अझ खराब ब्यक्तिको आगमन हुनसक्छ। त्यो बेला वार्ताको होइन अझ दमनको अपेक्षा गर्न तयार हुनुस्।’ उक्त पहलकदमीप्रति असन्तुष्ट राजनीतिक अनुहारहरुको नामै लिएर ‘हामीबीच वार्तामा यो यो समस्या छ’ भन्ने पनि सुनाएका थिए। त्यो सत्तारुढ नेकपाभित्रकै शक्तिसंघर्षको एउटा पाटो थियो भन्ने बुझ्नपर्छ। आज प्रधानमन्त्री त्यहीं उभिएर त्यो बेलाको जवाफ ठोस रुपमा दिन तयार भए भने विद्रोही पक्षले राजनीतिक दिशा तयार भर्न भोली सहज मार्ग पाउन सक्दछ। ‘विप्लव प्रचण्ड बन्न सक्दैनन्’ भन्नु र ‘विप्लवलाई प्रचण्ड बन्न दिइदैन’ भन्नुबीच आकाश र जमीनको अर्थभेद छ। यो अर्को मुख्य विषय हो।

    अन्तमा, यो संवादबाट अति अपेक्षा गरिन हुँदैन। बढी भए प्रतिबन्ध फुकुवासम्म होला, राजनीतिक बन्दीको रिहाई प्रक्रिया शुरुसम्म होला। र, सरकारले राजनीतिक मनोविज्ञानमा एउटा प्रचारमूलक मुद्दा पाउला। प्रतिबन्धित दल अन्ततः रणनीतिक मोर्चामा खुल्लारुपमा लाग्ला। अन्यथा भएन भने क्रान्तिकारी ध्रुवीकरणलाई यो वार्ता प्रक्रियाले थोरै सहज बनाउला। बढीमा बढी भए यत्ति हो।

    तर, वार्ता आवश्यक छ, चाहिन्छ र हुनपर्छ। सहमति हुन्छ र हुनैपर्छ भन्ने छैन र हुँदैन तर वार्ताले निषेधलाई निषेध गर्छ। वार्ता भनेको टाउको झुकाएर होइन आँखामा आँखा जुधाएर संवादमार्फत गरिने लेनदेन हो। अर्थात, वार्ता दुई अस्तित्वबीचको मोलमलाई पनि हो। रहर र वाध्यताका आफ्नै आयाम र परिधी हुन्छन्। यसलाई जसले बढी केलाउँछ उसैको पल्ला भारी हुन्छ।

  • ‘आफ्नै ज्यान जोगाउन नसक्ने प्रधानमन्त्रीले जनताको रक्षा कसरी गर्छन् ?’

    ‘आफ्नै ज्यान जोगाउन नसक्ने प्रधानमन्त्रीले जनताको रक्षा कसरी गर्छन् ?’

    सर्लाही । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आफुमाथि कुनै तलमाथि भए अचम्म नमाने हुन्छ भनेर दिएको अभिव्यक्तिको अहिले सर्वत्र आलोचना भइरहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै ज्यानको सुरक्षा गर्न नसक्ने प्रधानमन्त्रीबाट जनताको रक्षा हुन नसक्ने बताएका छन् । उनले यस्ता प्रधानमन्त्रीलाई ‘लुते’ भनिने समेत उल्लेख गरे ।

    मंगलबार सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गरेका नेता गगनले भने, ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ ?’ उनले यस्तो लुते प्रधानमन्त्री नचाहिने समेत उल्लेख गरे ।

    बालुवाटारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहँदा त डराउने प्रधानमन्त्रीले अरुको ज्यानको रक्षा गर्न नसक्ने उल्लेख गरे । अहिलेका प्रधानमन्त्रीसँग अब कुनै अपेक्षा बाँकी नरहेको भन्दै उनले दिनभित्र बिदाइ गर्ने अभिभारा पूरा गर्नुपर्ने समेत उल्लेख गरे ।

  • ‘बीएण्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिन अब कसैले रोक्न सक्दैन’- प्रधानमन्त्री

    ‘बीएण्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिन अब कसैले रोक्न सक्दैन’- प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा निर्मित बीएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिन कसैले रोक्न नसक्ने बताएका छन् । झापाको बिर्तामोडमा आज पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

    मापदण्ड नपुगेको भन्दै लामो समयदेखि रोकिएको सम्बन्धन् दिने विषयमा प्रधानमन्त्रीले घोषणा नै गरिदिएका हुन् । बिएण्डसी अस्पतालको मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढेको बताउँदै काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताए ।

    बिएण्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको काम उनै दुर्गा प्रसाईंलाई थाहा छ, अब यो शिक्षण अस्पतालको रुपमा परिचित हुनेछ, यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदैछ,’ उनले भने ।

    ओलीले मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस अनसन बस्ने र बसाइने गरेको भन्दै डा गोविन्द केसीमाथि लक्षित आलोचना गरे ।

    ‘आलोचना गर्ने गर्दै गर्छन् तर हामी काम गर्छौं ’ उनले भने, ‘नदेख्न खोजेपछि केही लाग्दैन। यहाँ मेडिकल कलेज बन्छ भनेर कोही अनसन बस्छन् र कसैलाई बसाउन लगाइन्छ।’

    नियमनअनुसार मेडिकले कलेजको सम्बन्धन राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सिफारिसमा विश्वविद्यालयले दिनुपर्ने हुन्छ।

  • फागुन ७ र क्रान्तिका भ्रमहरु

    फागुन ७ र क्रान्तिका भ्रमहरु

    पुरुषोत्तम लम्साल
    राजनीतिक विश्लेशक

    गत हप्ता २००७ फागुन ७ को सम्झनामा धेरै लेख, विचार प्रकाशित भए । धेरैले फागुन ७ मा नेपालमा क्रान्ति भएको अनैतिक दावी पनि गरे । अहिले त झन् शहीद सप्ताहको मौसम छ, क्रान्ति व्यापारको सदाबहार जिनिस बनेकाले खरिदविक्री तीब्र छ, बजार यसैको छ । म पनि यही बजारको उपभोक्ता हुँ ।
    क्रान्तिसम्बन्धि अघिल्लो हप्ता विश्वन्यूजमा प्रकाशित लेखमा केही मित्रले असहमति व्यक्त गरे । स्वभाविकै थियो । शब्दको पूर्णतामा होइन अपूर्णतामा अर्थ खोज्नेहरुले असहमति व्यक्त गर्नु जायज थियो । ‘नेपालमा अनेक क्रान्ति अनेकपटक भएको’ तिनका दावी अन्तिममा ‘अपूर्ण नै सही क्रन्ति त भएकै हो’ भनेर टुंगिन्थ्यो । तर, त्यो अपूर्णताभित्र के के थियो वा अपूर्णतामा के के पर्दो रहेछन् भनेर उनीहरुले आफैंसँग चाँहि कहिल्यै प्रश्न गरेनन् सायद । आजको बसार्य त्यही अपूर्णतामा टेकेर बस्ने यन्त गर्दैछु ।

    ६४ वर्षअघि सोभियत रुसको राजनीतिमा अचम्मको अभ्यास देखिन्थ्यो । त्यहाँ पार्टीको गोप्य दस्तावेज वा प्रतिवेदन दुई दिन नै विश्वव्यापी हुन्थ्यो । वोल्सेभिक क्रान्तिको रहलपहल ध्वस्त हुँदै जाँदा खुश्चेभको प्रतिवेदन दुई दिनमा मात्र विश्वव्यापी हुन्थ्यो तर नेपालमा ३० वर्षअगाडि पनि कम्युनिष्ट मुख्यालयको सदस्यता कार्यालयमा दर्ता हुनु अगावै विदेशी दूतावासमा दर्ता भइसकेका हुन्थे । संयोग, खुश्चेभको सत्ता र नेपालको वामपन्थी आन्दोलन क्रान्तिको पद र शब्द दुबैबाट विकृत थिए ।
    हामीले क्रान्तिलार्य झुठको विज्ञापनको रुपमा सात दशकदेखि उपयोग गर्दै आइरहेका छौं । विज्ञापनमा शर्तहरु लागू हुनेछन् भनेर मसिनो आवाजमा वा सानो अक्षरमा लेखिएको न हामीले भेऊ पाएका छौं, न त्यसबारे प्रश्न नै उठाएका छौं ।
    नेपालमा क्रान्ति भनेर फागुन ७ मा एउटा उत्सव मनाइन्छ । त्यसलाई त जनक्रान्ति कै पगरी गुथाइएको छ । क्रान्ति नै मानेर २०४६ सालको पनि स्मरण गरिन्छ । क्रान्तिकारी दावी गर्ने एउटा समूह २०५२ फागुनमा नेपालमा अर्को क्रान्ति रोपिएको भन्दै त्यसैको फसल अहिलेको व्यवस्था भएको दावीसम्म गर्छ । अर्को समूह २०६२-६३ मा पनि नेपालमा नवीन क्रान्ति भएको भन्दै उत्सव मनाउँछ । कतिले त विस्तृत शान्ति सम्झौतालाई पनि क्रान्तिको दस्तावेज मानेर फागु खेल्छन् । संविधान २००७ सालमा पनि आयो, २०४७ सालमा पनि आयो, २०६३ मा पनि आयो, २०७२ मा पनि आयो । र, जब जब संविधान आयो त्यहाँ पनि क्रान्ति क्रान्ति भन्दै दीपावली गरिन्छ । अचम्ममा पर्न अरु उदाहरण नै चाहिदैन ।
    हामीले भन्ने गरेका हरेक क्रान्तिपछिको सन्दर्भ वैचारिक पतनमा विलीन भएका दृष्टान्त चाँहि हामी केलाउँदैनौं । वा, केलाएकै छैनौं । त्यसैले म ति क्रान्तिका दावीले सज्जनहरुलाई मानसिक रुपमै भ्रष्ट बनाएको ठान्दछु । मानसिक विचलनले धेरैजसो मानसिक भ्रष्टिकरणलाई आमन्त्रित गर्दछ । र, जहाँ र जसै हामी क्रान्तिको दावीका स्वर सुन्दछौ त्यहाँ मानसिक भ्रष्टीकरण प्रखर भइरहेको हामी पाउँदछौं ।
    हामीले भन्ने गरेका क्रान्तिहरु कति स्वतःस्फूर्त र कति प्रदत्त थिए भनेर यकीनै हुनसकेको छैन र पनि हामी क्रान्तिको महारथ फलाकेर थाक्दैनौं । हामीले आफूलाई नै ति क्रान्तिहरुको ‘स्टेकहोल्डर’ स्वीकार गर्न नसकिरहेको बेलामा मलाई उनीहरुको दावि देखेर टिठ मात्र लाग्छ । राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक सबै क्षेत्रमा क्रान्तिको दावी गर्नेहरुले स्वीकार गरेको त्यो अपूर्णतासँग जोडिएको मेरो जिज्ञासा उस्तै छ ।
    माथि मैले सन्देह जनाएको ‘प्रदत्त वा स्वतःस्फूर्त क्रान्ति’ले नेपालमा पछिल्लो ७० वर्षमा भएका विभिन्न राजनीतिक परिवर्तनसँग प्रत्यक्ष सरोकार राख्दछ । २००७ सालमा राणातन्त्र हटेर राजातन्त्र स्थापना हुनु क्रान्ति हो ? हो भने कसरी हो ? त्यो पूर्ण क्रान्ति हो वा अर्धक्रान्ति हो वा सामान्य राजनीतिक सत्ता परिवर्तन वा परिघटना मात्र हो ? केही राजनीतिक शहिदको बलिदानिलाई सम्मान गर्दै हामीले त्यो परिवर्तनकारी वा आन्दोलनकारीले हतियार बुझाए, आन्दोलन रोके र एउटा महान विद्रोहको भ्रुणहत्या भयो । संविधानमा केही धारा र उपधारा थपघट गरेपछि क्रान्ति हुन्छ भन्ने २५ सय वर्ष पुरानो अरस्तुकालीन विचारधाराबाट हामी अहिलेसम्म मुक्त भएका छैनौं ।
    अरस्तु भन्दथे, ‘संविधानमा परिवर्तन क्रान्ति हो । राज्यको स्वरुप, सरकार औ सत्ताको स्वरुप एक बर्ग वा समुहबाट अर्कोमा जाने प्रक्रिया हो ।’ बुढाले गरेको पूर्ण क्रान्तिको परिकल्पना आफैंले ‘क्रस’ गर्ने गरी व्यक्त गरेको यो धारणा नै नेपालीका लागि सदाबहार क्रान्ति भएको छ । यही त दुःखद् छ । अरस्तु ‘सत्ताधारी बर्गको अन्तरसंघर्ष र अन्तरविरोधमा पनि क्रान्तिको सम्भावना’ त देख्दथे, तर उनी भन्दथे ‘महत्वाकांक्षी, लाभको पदका आकांक्षी, दण्डबाट बच्न चाहनेहरु, शासन उल्टाउन भरमग्दूर प्रयत्न गर्छन्, न्याय र कल्याणको भावनाबेगरको त्यो महत्वाकांक्षामा हिंसा र क्षतिको सम्भावना हुन्छ ।’ हामी यही अरस्तुकालीन विचारधाराको गोलचक्करमा क्रान्तिलाई घुमाउँदै आइरहेका छौं ।
    माटाको भाँडाको उत्पादन गर्ने शिल्पि समुदायले घुमाउने चक्र जस्तो ठीक त्यही बिन्दूमा हामी क्रान्तिको परिभाषा शुरु गरिरहेका छौं र त्यही बिन्दूमा समर्पण पनि गरिरहेका छौं । खासमा यो क्रान्तिको चक्र होइन दुश्चक्र हो भन्ने चाँहि भुलिरहेका छौं । किनकि, क्रान्ति स्थीर र स्थायी त हुँदै होइन, क्रान्ति यथास्थिति पनि किञ्चित होइन । र, हामी यथास्थितिको सामान्य परिवर्तनलाई क्रान्तिको विशेषण दिएर रमाउने, फागु खेल्ने, दीपावली गर्ने अध्यासमा अभ्यस्त छौं ।
    उदाहरणका लागि २००७ सालको सन्दर्भ टिपौं ।
    नेपालमा प्रजातन्त्रको स्थापना दिल्ली सम्झौताको जगमा भएको हो जसरी दिल्लीमै बनेको १२ बुँदे सम्झौताको जगमा माओवादी र तात्कालीन सात राजनीतिक दल शान्तिप्रक्रियामा संयुक्त रुपमा सहभागी भएका थिए । आधार एकै हो । शैली र प्रक्रिया पनि उस्तै नै हो । जसलाई हामी क्रान्ति देखेर भनेर अनेक दावि गरिरहेका छौं त्यहाँ समाज र व्यवस्थाको स्वतस्फूर्त हस्तक्षेप छँदै थिएन भन्ने सबैभन्दा बलिया प्रमाण हुन् दिल्ली सम्झौता भाग एक र दुई ।
    हो, सत्ता टिकाउन पनि र सत्ता ढाल्न पनि दक्षिणको आशिर्वाद चाहिने परम्पराको श्रीगणेश हो २००७ सालको दिल्ली सम्झौता । १९९७ सालका चारजना महान शहिदले परिकल्पना गरेको व्यवस्था राणाबाट राजामा सत्ता हस्तान्तरण मात्र किमार्थ थिएन । त्यो सम्झौतालाई नेपालको न्याय, प्रशासन, समाज, सँस्कृतिसँग कहिं, कुनै बुँदामा पनि क्रान्तिको छनक नदिने सम्झौता मान्नपर्ने हुन्छ । सामाजिक विभेद र असमानतालाई, सामाजिक शोषण र अन्यायलाई कहीं कतै सम्बोधन नगर्ने सम्झौता कसरी क्रान्ति हुन्छ ? प्रश्न यो हो । त्यसैले मेरो प्रश्न हो राणाको श्रीपेच राजाको टाउकोमा लगाउँदैमा त्यो कसरी क्रान्ति हुन्छ ?
    त्यो सम्झौता त स्वाधीनताको मूल्यमा गरिएको सम्झौता मात्र रहेको अहिले पनि प्रतित हुन्छ । अर्थात्, दिल्ली सम्झौता स्वाधीनताको अतिशय स्खलन थियो भन्ने पर्याप्त आधार अहिले पनि छन् । तथाकथित क्रान्तिपछिका हाम्रा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई दिल्लीले दिएको स्पेस यसको दृष्टान्त हो । तिनै कोइरालाले ‘पपेट प्राइममिनिस्टर’को दर्जामा काठमाण्डौमा स्थायी भारतीय मिलिटरी अखडा थापना गरेको पनि अर्को दृष्टान्त हो । अर्थात्, हामीले हाम्रो प्रजातन्त्रको बाटो २००७ सालमा बनाएका होइनौं, अरुले बनाइदिएको बाटोमा हामी लुरुलुरु हिंडेका मात्र हौं ।
    निश्कर्ष,
    चानचुन २५ सय वर्षअगाडि अरस्तुले पोलिटिक्समा राजनीतिक अत्याचारलाई लिएर राज्य र व्यवस्था परिवर्तनका विषयमा आफ्नो मत दिएका थिए । उनी भन्थे ‘जब राज्यको स्वरुप पूर्ण रुपमा बदलिन्छ तब पूर्ण क्रान्ति भनिन्छ, जब राज्यसत्ता वर्तमान अधिकारीको हातबाट अन्य व्यक्तिमा जान्छ त्यो अर्ध हुन्छ ।’ पफैनन् नामका अर्का विद्वान भन्छन् – ‘यदि जनताले क्रान्तिपछि यो हुन्छ र हुनपर्दछ भन्ने विषयमा ठोस मत अभिव्यक्त गर्न सक्दैनन् भन् त्यो क्रान्ति हुँदैन, लहड हुन्छ । जनताले नारामा होइन कार्यक्रममा भाग लिन नसकुन्जेल कुनै पनि क्रान्ति वा सामाजिक परिवर्तन हुने वा भएको मान्न सकिंदैन ।’
    हेर्नुहोस् त अहिले पनि नेपाली समाजको राजनीतिक चेतना र जागरणको नमूना…! तपाई यहाँसम्म आइपुग्दा नेपाली कहाँ क्रान्ति भएको मान्नुहुन्छ ? म त २०७७ सालको फागुनको तेस्रो हप्ता आइपुग्दा पनि नेपालका ग्रामीण जनतामा त्यो चेतना विकास भइसकेको मान्न तयार छैन । कुन मन्दिरको घण्ट हल्लाएर गर्छौ हामी क्रान्तिको बखान ?
    हामीकहाँ त एक वर्गबाट अर्को बर्गमा सत्ता हस्तान्तरण भएकै होइन, एउटा कुलीन बर्गले अर्को कूलीन बर्गलाई सत्ताको साँचो दिएको हो । पर पुग्नै पर्दैन, २००७ सालको समाजको चरित्र र ७० वर्षपछिको हाम्रो समाजको चरित्र अहिले पनि उस्तैप्रायः छ, भेटिन्छ र देखिन्छ भने हामीले २००७ लाई कुन रुप र अर्थमा क्रान्ति मान्ने ? त्यो त पोपविरुद्ध मार्टिन लुथरको आन्दोलन जत्ति पनि थिएन न त्यो सामन्तवादको स्थानमा पुँजीवाद स्थापना गर्ने औद्योगिक क्रान्ति जस्तो थियो । त्यो न पर्सियन संविधान विस्थापित गर्ने इरानको इस्लामिक क्रान्ति जस्तो थियो न समाजका यावत् अवयवलाई रुपान्तरणको प्रक्रियामा लैजाने वोल्सेभिक क्रान्ति जस्तो । न त्यो पूर्ववर्ती व्यवस्थाबाट विल्कुलै अलग फ्रान्सेली क्रान्तिजस्तो थियो न सामाजिक संरचनामा आमूल परिवर्तनको बिगुल फुक्ने चिनियाँ क्रान्ति जस्तो । आजसम्म हामीले ऊ बेलाको शिक्षा पद्दतिमा समेत आमूल परिवर्तन गर्न सकेका छैनौं, हाम्रो भूमी प्रणालीसमेत अहिलेसम्म ज्यूँ का त्यूँ छ, तपाई चाँहि क्रान्तिको विलासमा मखलेल हुनुहुन्छ ।
    हामीले हाम्रो शिक्षा प्रणालीलाई त २००७ सालको तुलनामा परिवर्तनकारी बनाउन सकेका छैनौं । हामीले हाम्रो भूमिसुधार प्रणालीलाई त २००७ सालको तुलनामा प्रगतिशील बनाउन सकेका छैनौं अनि हामी ऊ बेलै क्रान्ति भएको गीत गाउँछौं । वोल्सेभिक क्रान्ति वा रुसी अक्टाबर क्रान्ति, चिनियाँ क्रान्तिको गीत गाउनुअगाडि हामीले हाम्रो धरातल केलायौं भने सजिलो हुन्छ । गोबिन्द केसीको आन्दोलन समाजवादी अभियान विरुद्धको चर्को र ठूलो ब्यंग्य हो भनेर गिदीमा नघुसेसम्म बाँकि क्रान्तिको भजन नगाउँदा हुन्छ । शिक्षा मन्त्रालय प्याब्सन नामको संस्थाको कठपपुतली रहेसम्म क्रान्ति त गफै हो सम्धि भनेर बुझे हुन्छ । मोहनसम्शेर, बबरसम्शेर, सुवर्णसम्शेर, चुडाराजसम्शेर, नृपजंग राणालाई समेटेर बनाइएको तात्कालीन नयाँ सत्ता र लोकन्द्रबहादुर चन्द, सूर्यबहादुर थापालाई सत्ताको मुख्तियार मान्दै क्रमशः कमल थापालाई संघीय व्यवस्था मन्त्रालय सुम्पने हाम्रो अलौकिक गणतन्त्रको क्रान्ति एउटै वा उस्तै हो भनेर बुझ्दा हुन्छ ।
    तर, आफैंमा रमाउन पाउने अधिकार सबैसँग छ, म त्यसको सम्मान गर्दछु । आउनुहोस्, अर्को हप्ता २०४६ सालको आन्दोलन पनि किन र कसरी क्रान्ति थिएन भने विषयमा विमर्श गरौं ।

  • ‘जनतालाई सुसूचित गराउन धारणा राखेको हुँ, अवहेलना गरेको छैन’

    ‘जनतालाई सुसूचित गराउन धारणा राखेको हुँ, अवहेलना गरेको छैन’

    काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गरेका छन् ।

    आफूविरुद्ध लागेको अदालतको अवहेलना सम्वन्धी मुद्दाका सम्बन्धमा सर्वोच्चको आदेश अनुसार उनी अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् । आइतबार विहान ११ बजे सर्वोच्च अदालतमा जवाफ बुझाएर दाहाल फर्केका हुन् ।

    नेकेपा विभाजनपछि आयोजित विरोध सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्‍याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतारेर गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

    उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

    सो मुद्दामा बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दाहाललाई सात दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

  • जन-अपेक्षाको उपेक्षा

    जन-अपेक्षाको उपेक्षा

    बिष्णु सिंह (बैजु), न्युयोर्क

    विक्रम सम्बत १९१० मा राणा प्रधानमन्त्री जंगबहादुर र राजा सुरेन्द्र बिक्रम शाहले लागू गरेको मुलुकी ऐन नेपालको सबैभन्दा पहिलो, लिखित र संहिताबद्द राष्ट्रिय कानुन थियो ।वास्तवमा यो ऐन देशमा लागू भएपछि नै कानुनी रुपमा जनताहरु एक-अर्कोलाई शोषण गर्न उत्प्रेरित भएको देखिन्छ। जस्तै; प्रारम्भमा ऐनमा ब्यवस्था गरिए अनुसार उच्च जातको बाहुनले तल्लो जातको बाहुनलाई नहेपे ३ रुपिया जरिवाना गर्ने जस्तो कानुनी प्रावधानले बिभेद गर्न बाध्य पारिएको थियो ।यसैको आधारमा यो ऐनले नेपाली जनतालाई कुन हदसम्म फुटाएर शासन गरियो भन्ने सहजै बुझ्न सकिन्छ । साथै यसले देशलाई कुन स्थितिमा पुर्यायो भन्ने आजको अवस्थाबाट स्पष्ट छ ।

    २००७ सालमा क्रान्ति भयो । राणा शासन हट्यो । तर राणा प्रवृत्ति नयाँ शासकहरुमा सर्यो । पिल्सिएका, अन्याय अत्याचार र बिभेदमा परेका बहुसंख्यक नेपाली जनताको स्थितिमा कुनै परिवर्तन आएन ।

    अग्रगामी बिकास र परिवर्तनकाबाहक राजा महेन्द्रले ऐतिहासिक कदम चाली बिक्रम संबत २०२० मा बिभेद हटाउने उदेश्यले नयाँ मुलुकी ऐन ल्याएपनि प्रतिगामी जडसुत्रबादी पंन्चहरुले कानुन नबनाईदिएर राजाको परिवर्तनकारी कदमलाइ पंगु बनाईदिए । फलस्वरुप अहिले २०७७ सालसम्म पनि बिभिन्न तप्काका जनता बिभेदको शिकार भई नै रहेकाछ्न । यद्यपि जनान्दोलनबाट आएको सरकारले जातीय विभेद तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ जारी गरी कार्यान्वनमा ल्याई सकेता पनि जडसुत्रबादी सोचबाट ग्रसित जनमानसिकताको कारण यो प्रभावकारी हुन सकिरहेको छैन ।

    देश हत्या, बलात्कार्, जातीय बिभेद, बेरोजगारी, भ्रष्टाचार्, अन्याय, अत्याचार अनेकौ बिकृति, बिसंगतिले सताएर थिलथिलो भई उठनै नसक्ने गरी संसारको दरिद्र देश बनेको छ । युवापिढीले बेरोजगरिको मार र भविष्य अन्धकार देखेर देश छोडेर बिदेश पलायन भएको अवस्था छ । आफ्नो दु:ख हरणका लागि मन्दिर्, मस्जिद, चर्च, गुरुद्वारी र बिभिन्न भगवानहरुसंग दुख पुकारा गरे । तर तिनको स्थितिमा कुनै परिवर्तन आएन ।

    बिक्रम संवत २००७ सालदेखि जनता स्वंयमले आफ्नो संबिधान आफै बनाउने चाहना गरेपनि अनेक संघर्ष र आन्दोलन पश्चात बल्ल २०७२ मा नेपालको संबिधान २०७२ जनताले चुनेका प्रतिनिधिहरुले बनाए । नेपालको संबिधान २०७२ ले हिन्दु धारणामा आधारित ब्राम्हण, क्षेत्री, बैस्य, शुद्रको अवधारणालाइ हटाएर्, खस्-आर्य, दलित, महिला, आदिबासी जनजाति, मधेसी, थारु, मुस्लिम पिछडिएको बर्ग भनि उल्लेख गरिएको छ । तर व्यवहार र जनजीवनमा फरक देखिएन । त्यसैगरी धार्मिक स्वतन्त्रता प्रदान गरिएको छ । सबै पेसा ब्यवसायलाई सम्मानित गरिएको छ । जुन केवल लेखिने र पढिने विषयवस्तु बनेको छ । पटक पटकका राजनीतिक परिवर्तन पछि अब आर्थिक परिवर्तन मुल मुद्दा बन्नुपर्ने विषय नै ओझेलमा परेको देखिन्छ ।
    तर देश र जनताको गएगुज्रेको स्थितिमा सुधार र परिवर्तन गर्न सरकारले केही कार्य गर्ला भन्ने आशामा जनताले दुई-तिहाई बहुमत दिएर जिताएको पार्टी भित्र नै जनता र जनभावनालाई बेवास्ता गर्दै नेताहरुको खिचौलोले संसद बिघटन भई छ दशक लामो समय पश्चात जनप्रतिनिधिले बनाएको संबिधानमा नै प्रश्न उठेको छ ।

    बिगत दुई महिना नेपालमा जुन घटना भए, त्यो एक किसिमले नेपाली जनतालाई ‘अब चनाखो हुन जरुरी छ‘ भनि परिस्थितिले जुटाइ दिएको सचेतनारुपि चेतावनि हो । त्यसैले अब फेरी पदको लोभमा बर्तमान सरकार्, जसलाई असंबैधानिक कार्य गर्ने प्रतिगामी भनि बिरोध, र्याली र भाषणबाजी गरे, तिनैको नेतृत्वमा संलग्न हुन्छ्न कि हुदैनन जनताले हेर्न बाँकी छ ।
    बिघटन भएको संसद र पुनर्बहाली भएको संसद “कागलाइ बेल पाक्यो हर्ष न बिष्मात” बनेको छ । नेृत्वको कृयाकलापले जनता निरास छन् । बिगत सात दशकदेखि देखिरहेको “जुन जोगी आएपनि कानै चिरिएको” उखान उत्तिकै सार्थक छ ।
    कमसेकम प्रतिबद्दता जाहेर गरेका र थालिसकिएका कार्यहरु जस्तै; लिम्पियाधुराको जमिनमा नेपाली स्थानीय सरकारमा दर्ता गर्ने, रेलमार्ग, सुख्खा बन्दगाह, सुरुङ् मार्ग, ठुला जलविद्युत तथा सिंचाई परियोजना ईत्यादी सिघ्र पुरा गरी पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिनसके मात्र जनताले परिवर्तनको प्रतक्ष्य महसुस गर्नेछन् ।

  • पुरुषको हकमा

    पुरुषको हकमा

    योगेश आदी / [email protected]

    हालसालै एउटा समाचार डँढेलो झैं फैलियो; “स्वतन्त्र भारतको ७४ वर्षको ईतिहासमा पहिलो पटक महिलालाई फाँसी !” आजसम्म फाँसीमा किन पुरुष मात्र झुण्डिए ? यो बीचमा महिलाले जघन्य अपराध नै गरेनन् ? के कानुनले पनि अपराधिको लैंगिक अवस्था हेर्छ र ? के कानुनमा लैंगिक सहजताको थ्रेसहोल्ड राख्न मिल्छ ? गर्भवति अवस्थामा अपवादजन्य व्यवस्था गर्नु बाहेक कानुन समान हुनु पर्दछ । कतिपय मुद्दामा अदालतबाट फैसला हुँदा महिलाप्रति सहानुभूति देखाउने प्रचलन छ जुन विभेदकारी हो ।

    न्याय मूर्तिको आँखामा १६ औं सताब्दीदेखि पट्टी बाँध्न थालियो । सभ्यताको जननि इजिप्टबाट शुरु भएको यो प्रचलनको अनुशरण सबैले गरे । कुनै पनि किसिमको प्रभावमा परी न्याय सम्पादन प्रकृया प्रभावित नहोस् भन्ने ध्येयले आँखा छोपिएको प्रतिकात्मक प्रतिमा स्थापित गरियो । तर पट्टि भित्रबाट कसरी लैंगिक अवस्था देखियो ?

    नेपाल भारतमा मात्र होइन् संसारभर नै विभिन्न अवस्थामा नारी प्रति उदारता र सम्वेदनाको नाममा विभेदकारी फैसला भएका छन् ।
    त्यसो त यो कम चर्चा हुने विषय हो । अझ भन्नैपर्दा महसुस गरिने तर चर्चा नगरिने सामाजिक पाटो हो । किनकि पीडितको रुपमा महिला र पीडकको भुमिकामा पुरुष हुन्छ भन्ने मान्यता समाजमा अझै विद्यमान छ । पुरुष भएकै कारणले ‘आशय करणी’ मा दण्डित हुनुपर्ने, सामाजिक परिबन्धमा पर्नुपर्ने अवस्था कल्याणकारी समाजको अवधारणामा अट्दैन । यसर्थ; पुरुषको समान हक सम्वन्धि आवाज उठाइएन वा आवश्यक देखेनन् । पितृसतात्मक सामाजिक संरचनाले महिला उपर विभेद गरेको दर्पण देखाइयो तर पुरुषले निर्वाह गर्दै आएको जिम्मेवारी, कर्तव्यबोध र सुरक्षात्मक कवजको भुमिका बारे कहिल्यै आवाज उठाउन आवश्यक नै देखेनन् ।

    श्रीमानको अंशको हिस्सा स्वरुप बनारसमा ४ तल्ले घर बसुधा शर्माको नाममा आएको छ । २ छोरा र १ छोरीको हाइस्कुल नसक्दै श्रीमान बितेपछि बसुधाले ३ तला भाडामा लगाएर गृहस्थी थामिन् । छोरीलाई धुमधामले अन्माइन् । तामझामले जेठी बुहारी भित्र्याइन् । कान्छो छोरा फोटोग्राफी पढ्दै छ ।
    उनले छोरीको बिहेको कुरा छिन्ने बेलामा ४ ओटा तला हामी ४ जनालाई भनेर मुखैले भाग लगाइन् । अहिले कहिले छोरी कहिले ज्वाई आएर आफ्नो भागको भाडा उठाउन थालेदेखि पारिवारिक अपनत्व खलबलिएको छ । छोरी सम्पन्न घरको एक्लो बुहारी भएपनि माईतिको भाग छोड्दिन भन्छिन् । कानुनन् श्रीमानको सम्पतिको आधा हिस्सा श्रीमतीको हुने नै भएपछि माइतिपट्टीको हिस्सामा पनि आस गर्नु डबल स्ट्याण्डर्ड देखिएको कुरा न बसुधाले बुझिन् न छोरीले । बेकारमा भातृप्रेमको भावना कमजोर पारिन् ।

    त्यसो त मुलुकी देवानी संहिता २०७४ ले छोरीलाई पनि छोरा सरह नै जन्मसिद्ध अंशको हकदार मानिसकेको छ । पैतृक सम्पतिमा अपुताली परे २०७४ सालपछि बिवाह भएको छोरीले नै पाउनेछिन् । त्यसो त अहिले छोरी अबिवाहित छँदै अंशबण्डा भएमा बिवाहपछि पनि उसैको सम्पत्ति रहन्छ । एकातिर माइतिकोमा छोरा सरह पाउँछिन् फेरी विवाह लगतै श्रीमानको आधाको हिस्सेदार बन्छिन् । यस्तो अवस्थामा बिवाहपछि माईतिपट्टी दाजुभाईको हिस्सामा आँखा लाउनु भने उचित होईन्।

    सम्वन्ध विच्छेदको विषयमा पनि कानुनले पुरुषलाई विभेद गरेको छ । पतिले पहिलो श्रीमतीसँग वैवाहिक सम्बन्ध कायम रही रहेको अवस्थामा दोश्रो विवाह गरे बहुविवाहको मुद्दामा सजाएको भागिदार हुनु पर्छ तर महिलाले पहिलो पतिसँग वैवाहिक सम्बन्ध कायम रहेकै अवस्थामा दोश्रो विवाह गरेमा पहिलो पतिसँग स्वत: सम्बन्ध विच्छेद भएको मानिन्छ । खोई त सजाय ? यसमा विभेद स्पष्ट देखिन्छ ।

    समतामुलक समाजमा ह्युमानिजम उपर कानुन र अभ्यास हुनुपर्दछ । नारीको हकमा बोल्दा गर्वले फेमिनिष्ट भन्ने गरिन्छ तर पुरुषको हकमा बोल्दा मास्क्युलिष्ट होइन, बिद्रोही कहलिन्छ ।

    (आवश्यक कानुनी परामर्श : अधिवक्ता कल्पना शाक्य)

  • सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल

    सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल

    चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए ।

    प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उनले भने, ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।’ कहीँकतै कोहीकोही व्यक्ति, पक्षहरुले निर्वाचन विरोधी कुरा गरे पनि ती सबै हास्यापद रहेको टिप्पणी उनले गरे । उनले थपे, ‘लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरु निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।’ उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

    अर्को एक प्रसङ्गमा उपप्रधानमन्त्री पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गरे । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उनले फैसलाको प्रतीक्षा गर्नुपर्ने भनाइ राखे। सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दवाव नदिने प्रष्ट पार्दै उनले भने ‘सरकारले कुनै दवाव दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ ।’

  • आफ्नो निर्णयविरुद्ध फैसला आए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी

    आफ्नो निर्णयविरुद्ध फैसला आए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी

    विराटनगर। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने आफ्नो निर्णयको विपरित हुने गरी सर्वोच्च अदालतबाट फैसला आएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यसका लागि तयार रहन समेत उनले कार्यकर्तालाई आग्रह गरेका छन् । ‘सेटिङ फेटिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलनमा जाने उनको चेतावनी छ ।

    शनिबार आफ्नो पक्षको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । प्रतिनिधिसभा विघटन पुनर्स्थापना गर्न ‘सेटिङ’ भइरहेको आरोप समेत उनले लगाएका छन् । यसले उनीमाथि लाग्दै आएको सेटिङमा समेत केही गडबडी भएको संकेत प्रधानमन्त्री स्वयमले गरेका छन् ।

    ‘सेटिङफेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भनेका छन् । जनताले चुनाव चाहेको र त्यसमा आफ्नो दलले बहुमत ल्याउने भन्दै उनले संसद पुनस्र्थापनाको पक्षमा फैसला नआउने बताए । देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको भन्दै उनले तोकिएको समयमा निर्वाचन हुने समेत उल्लेख गरे ।