Category: बिचार

  • अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? डा.भीम रावल (पूर्णपाठ सहित)

    अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? डा.भीम रावल (पूर्णपाठ सहित)

    यस्तो छ पत्रकार सम्मेलनमा रावलले सार्वजनिक गरेको धारणाः

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को दशौं राष्ट्रिय महाधिवेशन
    अध्यक्ष पदमा मेरो उम्मेदवारी किन?

    डा.भीम रावल
    उपाध्यक्ष, केन्द्रीय कमिटी, नेकपा (एमाले)

    पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाण्डौमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो। राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाईमा नेकपा (एमाले)को कार्यक्रम जनताको बहुदलीय जनवाद पारित भयो। यस कार्यक्रमले राष्ट्रिय हित, सुरक्षा र देशभक्ति, वहुलवाद र प्रतिस्पर्धात्मक राजनीति, कानूनको शासन र सुशासनलाई विशिष्ट विशेषताका रुपमा अंगिकार गर्‍यो। यसैको राजनीतिक र संगठनात्मक मार्गनिर्देशनमा नेकपा (एमाले) निरन्तर सुदृढ हुँदैगयो।

    छैठौं राष्ट्रिय महाधिवेशन लगत्तै २०५४ मा नेकपा (एमाले) मा विभाजन भएपनि यो पार्टी, नेकपा (माओवादी) र राज्यका बीचको हिंसात्मक द्वन्द्व र निरंकुशतन्त्रद्वारा सिर्जित प्रतिकूल स्थितिमा पनि संगठनात्मकरुपमा क्रियाशील रहँदै देशव्यापीरुपमा सशक्त रुपमा सक्रिय रह्यो। २०७५ साल जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना पश्चात् भने यो पार्टी आन्तरिक अन्तरविरोध र मतभेदको भुमरीमा पर्नथाल्यो। उच्च कार्यकारी अधिकारयुक्त तथा संस्थापन पक्ष मानिने नेतृत्वदायी व्यक्तिहरु नै चरम गुटबन्दीमा निर्लिप्त भएको देखियो।

    एकीकरण हुुनु पूर्व दुई पार्टीले एकताबद्ध हुने घोषणाका साथ चुनावमा संयुक्त उम्मेदवारी दिएर केन्द्रमा झण्डै दुई तिहाईको सरकार र सात प्रदेश मध्ये ६ प्रदेशमा बहुमतको सरकार सञ्चालन गर्ने महत्वपूर्ण ऐतिहासिक अवसर प्राप्त भएपनि त्यसको पूर्ण सदुपयोग हुनसकेन। नेपाल कम्युनिष्ट पार्टीमा विगतमा देखिएका फुटका श्रृंखलाहरुलाई अब दोहोरिन दिइने छैन भन्ने नेतृत्वका बाचाहरु पानीको फोका जस्तै भए।

    जनताले ठूलो विश्वास र भरोसाका साथ दिएको मतको संरक्षण गर्दै जनआकांक्षा पूरा गर्नेतर्फ दत्तचित्तका साथ लाग्नुपर्नेमा पार्टीको उच्च तह सचिवालयमा पद र अवसरको भागबण्डाबाहेक राष्ट्रिय तथा संगठनात्मक महत्वका विषयमा गम्भीर छलफल हुने तत्समम्बन्धमा सुविचारित निर्णय लिने काम हुनसकेन।

    पार्टीको विधान, पद्धति, कार्यक्रम र सिद्धान्तलाई सत्ता र शक्तिको बलिवेदीमा आहुति दिइयो। यस्तो स्थितिमा परिवर्तन गर्दै नेताहरुको बीचमा समझदारी गरी पार्टी एकता बचाउनको लागि २०७७ साल साउन ३० गते कार्यदल गठन भयो र त्यसले भदौ ६ गते प्रतिवेदन प्रस्तुत गर्‍यो। प्रतिवेदनलाई भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले अनुमोदन गर्‍यो र त्यसको कार्यान्वयनका लागि भदौ २९ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन–५ जारी भयो। तर नेतृत्वले नै उक्त निर्देशनको अवज्ञा गर्‍यो।

    स्थायी कमिटीबाट सर्वसम्मत निर्णय भई जारी अन्तरपार्टी निर्देशनमा “हामी पार्टीभित्रको तिक्ततापूर्ण अन्तरविरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न समर्थ भएका छौं” भनी गरिएको घोषणालाई लत्याइयो। प्रतिनिधि सभा दुई–दुई पटक विघटन भई पार्टीलाई मत दिने जनतामा आघात पुग्यो।

    सत्ता स्वार्थका लागि जोसंग साठगाँठ गरेपनि हुने, जस्तो गठबन्धन गरे पनि हुने, जेगरे पनि हुने र जे भने पनि हुने अत्यन्त गलत प्रवृत्ति नेतृत्व तहमा नै झांगिदै गयो। फलस्वरुप तीन बर्ष पुग्दानपुग्दै २०७७ साल फागुन २३ गते, सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भई नेकपा (एमाले) पुनर्जीवित भएपछि यस पार्टीलाई फेरी सुसंगठित रुपमा अगाडि बढाउने दायित्व नेतृत्वमा आएको थियो। तर त्यसो नभई पार्टीमा पुुनः नयाँ चरण र स्वरुपको मतभेद, विवाद र समस्या उत्पन्न भयो र अन्तरविरोध चर्कदै गयो। त्यसको समाधानका लागि शीर्ष नेतृत्व तहको सहमति अनुसार गठित कार्यदलले २०७८ साल असार २७ गते पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन १०–बुँदे सिफारिश प्रतिवेदन तयार गरी नेतृत्व समक्ष प्रस्तुत गर्‍यो।

    सहमतिको कार्यान्वयनका लागि अनेकौं प्रयास र वार्ता भए। यी सबै प्रयास र वार्ता शीर्ष तहमा कायम नेतृत्वको टकरावका कारण सार्थक हुन सकेनन्। यसरी पटक–पटक पार्टीको विधि, पद्धति र एकता कायम गर्न गरिएका निर्णय र प्रयासलाई निरर्थक बनाइयो।

    परिणामस्वरुप पुनर्जीवित नेकपा (एमाले) बाट पनि २०७८ साल साउन १० गते एउटा पंक्ति फुटेर नयाँ पार्टी स्थापना गर्ने बाटोमा लाग्यो। संघीय सरकार र सबै प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरियो। कसैको पनि योग्यता, क्षमता र दक्षता समस्याहरुको समाधान, अन्तरविरोधहरुको व्यवस्थापन गर्दै फराकिलो सोचका साथ राष्ट्र, जनता र पार्टीलाई एकताबद्ध तुल्याउने तथा प्राप्त उपलब्धिहरुको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्नेमा प्रकट हुन्छ भन्ने कुरा विचारणीय छ।

    फुटेर गएको समूहले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) समेतसंग सहकार्य गर्दै प्रदेश सरकारमा सहभागिता कायम गर्‍यो। पाँचदलीय गठबन्धनबाट बनेको सरकार र सहकार्य निर्वाचनमा समेत जारी राख्ने कुरा गर्दै समन्वय समिति बनाइएको कुरा सार्वजनिक भएको छ। यस्ता राजनीतिक घटना र परिघटनालाई नेकपाको विघटन र नेकपा (एमाले) मा उत्पन्न समस्या र फुटको असरको सन्दर्भमा समेत राखेर विश्लेषण गर्र्नुुपर्दछ।

    कहाँ, कसको र कुन किसिमको त्रुटि, कमी र कमजोरीबाट उक्त किसिमको अप्रिय तथा देश र जनताको लागि नोक्सानदायी परिस्थितिको सिर्जना भयो भन्नेतर्फ ठण्डा दिमाग र आग्रहरहित किमिसले सोच्नु र विश्लेषण गर्नु आवश्यक छ।

    उपर्युक्त पृष्ठभूमि र परिस्थितिमा हुनगइरहेको नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशन पार्टीलाई एकताबद्ध, सुसंगठित र समयका चुनौतीहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन अत्यन्त महत्वपूर्ण छ।

    गत असोज महिनामा सम्पन्न विधान महाधिवेशनबाट पार्टीको विधान लगायतका राजनीतिक र संगठनात्मक दस्तावेजहरु पारित भएपनि त्यसमा उल्लेखित विषयहरुलाई प्राथमिकिकरण गर्दै कार्यान्वयन गर्न तद्नुकूलको नेतृत्व अपिरहार्य हुन्छ भन्ने अुनभवहरुबाट सिद्ध कुरा हो। यस अर्थमा नेतृत्व चयनको विषय दीर्घकालिन महत्व राख्दछ।

    यस्तो यथार्थलाई मनन गरी महाधिवेशनलाई पार्टीको आन्तरिक एकता, पारस्परिक विश्वास र समझदारी स्थापित गर्ने अवसरका रुपमा लिनु बुद्धिमानी हुन्छ। तर पार्टी एकताको लागि भएको १०–बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि केन्द्रीय कमिटीको निर्णय बमोजिम जारी अन्तरपार्टी निर्देशन–१२ जसरी लागु हुनुपर्ने हो त्यसरी लागु नहुँदा उक्त किसिमको एकता, विश्वास र समझदारी स्थापित हुनमा व्यवधान सिर्जना हुनसक्ने आशंका विद्यमान छ।

    यसले आगामी स्थानीय र आम निर्वाचनमा विपक्षीहरुसंगको प्रतिस्पर्धामा मात्र होइन पार्टी पंक्तिलाई सैद्धान्तिक, संगठनात्मक र भावनात्मकरुपमा एकजुट बनाई संगठनको विस्तार र सुदृढिकरण गर्दै फुट र विभाजनको दुस्चक्रबाट जोगाउने र बाञ्छित प्रतिफल हासिल गर्ने काममा समेत कुप्रभाव पार्नसक्छ।

    नेकपा (एमाले) ले आन्तरिक रुपमा उपर्युक्त प्रकारको समस्या सामना गरिरहेको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका तरंगहरु पनि प्रतिकूल प्रकृतिका देखिदैछन्। देशभित्र कार्यपालिका अस्थीर हुने, व्यवस्थापिका निस्क्रिय रहने र न्यायपालिका आन्तरिक द्वन्द्व, अराजकता र नैतिक मूल्यबाट स्खलित हुने स्थिति देखिएको छ।

    शक्ति पृथकिकरण तथा संविधान र लोकतन्त्रका कतिपय स्थापित मूल्य–मान्यताहरु भत्किदै वा भत्काइदै छन्। राज्य र राजनीतिमा भ्रष्टाचार, अनियमित र स्वेच्छाचारी क्रियाकलाप बढिरहेका छन्। राजनीतिक दलहरु मतभेद, फुट र द्वन्द्वको कुचक्रमा फँसिरहेका देखिन्छन्। कानूनी शासन र राष्ट्रिय हित अनुकूल समग्र राज्य संयन्त्र परिचालिन हुुनुपर्ने सन्दर्भमा गम्भीर विचलन र समस्या प्रकट भइरहेका छन्। जनताको दैनिक जीवन र सरोकारका विषयको सम्बोधन गर्नेभन्दा राज्य र राष्ट्रिय राजनीति स्वार्थपरक मतभेद र अन्तरविरोधमा रुमलिरहेझैं देखिन्छ। यही स्थितिमा देशका भूभागहरु वाह्य अतिक्रमणमा परेका छन्। नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक र शैक्षिक क्षेत्रमा वाह्य घुसपैठ र हस्तक्षेप बढिरहेको छ।

    नेपालको छरछिमेक र अन्तर्राष्ट्रिय राजनीति तथा परिवेशमा गम्भीर फेरबदल एवम् शक्ति संघर्षका संकेत र परिणामसमेत देखापर्न थालेका छन्। एशिया–प्रशान्त क्षेत्र सामरिक र आर्थिक दुबै दृष्टिले शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा तथा शक्ति विस्तारको क्षेत्र बन्दै गइरहेको छ। यसको प्रभाव नेपालको राजनीति, अर्थतन्त्र र सुरक्षा प्रणालीमा समेत पर्नथालेको देखिन्छ।

    शक्ति राष्ट्रहरुले आफु बीचको तीव्र प्रतिस्पर्धा र द्वन्द्वमा नेपाललाई उपयोग गर्न विकास, सुरक्षा र सहयोगका विभिन्न रणनीतिक र कार्यनीतिक तुरुपहरु प्रयोग गरिरहेको देखिन्छ।

    यसलाई नेपालको आन्तरिक राजनीतिक खिचातानी र स्वार्थपरक खेलले प्रश्रय दिइरहेको छ। फलस्वरुप नेपालको अस्मीता र हितको दीर्घकालीन सुरक्षामा समेत खतरा उत्पन्न हुनसक्ने देखिदैछ। यस्तो स्थितिमा नेपालको बारेमा नेपाल सरकार तथा नेपाली जनताले स्वयं सोच्ने एवम् निर्णय गर्ने सार्वभौम अधिकार तथा मान्यतामा धक्का लागिरहेको छ र अझ बढी आघात पुग्नसक्ने देखिदैछ। यस्तो स्थिति देश र जनताको लागि अत्यन्त हानिकारक हुने भएकोले यसप्रति गम्भीर भएर सोच्नु आवश्यक छ।

    कोरोना महामारी (कोभिड–१९) ले अर्थतन्त्र र जनजीवनमा पारेको असर, प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या, बढ्दो वेरोजगारी, महंगी जस्ता समस्यासंग जुझ्नको लागि ठोस नीति, कार्यक्रम र निर्णयका साथ राष्ट्रिय शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने चुनौती देशका सामु छ।

    उपर्युक्त परिस्थितिलाई गम्भीर रुपमा मनन गर्दै मैले नेकपा (एमाले) को एकता कायम गर्न कार्यदलमा सक्रियता र इमान्दारीका साथ काम गरें। पार्टीमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्न कार्यदलको १०–बुँदे सिफारिश प्रतिवेदनको कार्यान्वयनमा जोड दिएँ।

    मेरो यस्तो दृष्टिकोण झण्डै ५० बर्षको राजनीतिक जीवनमा विद्यार्थीकाल देखि पार्टीको बुद्धिजीवि क्षेत्र हुँदै केन्द्रीय कमिटी तथा संसदीय क्षेत्र एवम् सरकारमा जिम्मेवारी वहन गरिरहँदा जहिले पनि राष्ट्रिय एकता, पार्टीको आन्तरिक एकता, अन्तरविरोध र द्वन्द्व व्यवस्थापनमा राख्दै आएको रुचि र खेल्दै आएको भूमिकाको निरन्तरता हो।

    नेकपा (एमाले) मा पछिल्लो समय उत्पन्न अन्तरद्वन्द्वको व्यवस्थापनका लागि पनि मैले पार्टी अध्यक्ष र अन्य नेताहरुसंग अनेकौं पटक वार्ता गर्नुका साथै मध्यस्थको समेत भूमिका निर्वाह गरें। तर आफ्नो अख्तियारीको सीमाबन्धन र निर्णयाधिकारी अरु नै भएकाले बाञ्छित परिणाम हासिल गर्न सकिएन। तर पार्टीले थप क्षति व्यहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र देशको लागि गर्नुपर्ने कर्तब्य पूरा गर्न नेकपा (एमाले) सक्षम बनिरहोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरुलाई वेवास्ता गर्दै म पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु।

    यो कुनैपनि प्रकारको व्यक्तिगत स्वार्थ नराखी जनता र देशको उज्यालो भविष्य र सुरक्षाको एकमात्र लक्ष्य हृदयमा राखेर नै सम्भव भएको थियो। तर समाज र राजनीतिका कतिपय कुराहरु व्यक्तिको इच्छा वा आकांक्षाभन्दा स्वतन्त्ररुपमा अगाडि बढ्छन भनेझैं नेकपा (एमाले) भित्रका कतिपय आयामहरु देश, जनता र पार्टीको वृहत्तर हितका लागि मैले सोचे अनुरुप भएनन् र भइरहेका छ्रैनन्।

    तर यसबाट मैले उदासिन, उत्तेजित, निराश, हतोत्साही र निस्क्रिय हुने कुरा हुनसक्दैन। किनकि सिद्धान्तनिष्ट, विधि र पद्धतिसम्मत किसिमले सञ्चालित तथा जनता र देशको सर्वोपरी हितमा समर्पित सशक्त नेकपा (एमाले) केवल मेरो मात्र चाहना र सरोकारको विषय होइन, सिंगो पंक्ति र सबै देशभक्त लोकतन्त्रप्रेमी नेपालीहरुको चाहना र सरोकारको विषय हो।

    अतः यस पार्टीको सिर्जना, विकास, विस्तार र प्रगतिमा म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यहरुले बगाएको पसिना सधैं सार्थक बनिरहोस् भनेर पार्टी केन्द्रीय कमिटीको उपाध्यक्षको हैसियतले गम्भीर भएर सोच्नु र दृढ प्रयत्न गर्नु मेरो पनि कर्तब्य हो। त्यसैले देश, जनता र पार्टीका सामु आज भएका र भोलि आउनसक्ने चुनौतीहरुको सामना गर्न, सबै सकारात्मक सम्भावनाहरुलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धि विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमको लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शीर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु। मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु।

    यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु :

    क) उद्देश्य र लक्ष्य

    १) राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, एकता, स्वाधीनता, स्वाभिमान र समृद्धिको लागि समग्र राजनीतिलाई दिशा दिने र राष्ट्रिय शक्तिका सबै स्रोतहरुलाई त्यसतर्फ अभिमुख गराउने।

    २) जनताको बहुदलीय जनवादका स्वच्छ प्रतिस्पर्धा लगायत राष्ट्रियता, समाजवाद र जनजीविकासंग सम्बन्धित उद्देश्य र लक्ष्य हासिल गर्न योगदान पुर्‍याउने। नेपालको संविधानले समेत आत्मसात् गरेको समाजवाद उन्मुख प्रणालीको प्राप्तिका लागि उत्पादनका साधन र उत्पादन प्रणालीलाई तद्नुकूल तुल्याउन तथा दलाल नोकरशाही पूँजीवादको चंगुलबाट जनता र देशलाई मुक्त गर्न भूमिका निर्वाह गर्ने।

    ३) पार्टीको वैचारिक, राजनीतिक र नीतिगत धरातललाई अझ स्पष्ट र समय सापेक्ष बनाउनुका साथै आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पद्धतिसंगत संचालनमा नेतृत्व प्रदान गर्ने। पार्टी गुट र उपगुटहरुबाट ग्रस्त रहने स्थितिलाई परिवर्तन गरी विषयवस्तु तथा गुण र दोषको आधारमा धारणा र मत प्रकट गर्नसक्ने स्थिति निर्माण गर्ने। पार्टीमा देखिएका अन्तरविरोध र समस्याहरुको निराकरण गरी अन्य वामपन्थी दल, समूह र व्यक्तिहरुसंगको सहकार्यको वातावरण सिर्जना गर्ने। पार्टी एकीकरणदेखि नेकपाको विघटन, नेकपा (एमाले) मा उत्पन्न फुट तथा सरकार निर्माण र बर्हिगमन लगायतका राजनीतिक घटना र प्रभावसमेतको बस्तुनिष्ट समीक्षा गर्दै प्राप्त शिक्षालाई ग्रहण गर्ने।

    ४) राष्ट्रिय एकता तथा वामपन्थी पार्टी र समूहहरु बीचको एकता तथा पारस्परिक समझदारीमा अभिबृद्धि गरी राष्ट्रिय राजनीतिलाई देश र जनताको सर्वोपरी हितमा केन्द्रित गर्ने। लोकतान्त्रिक पार्टी र व्यक्तिहरु बीच देश र जनताको वृहत्तर हितका सम्बन्धमा समझदारी, सहकार्य र एकता कायम गर्न भूमिका खेल्ने।

    ५) पार्टीपंक्तिको सैद्धान्तिक, वैचारिक चेतना र ज्ञानलाई परिवर्तित राष्ट्रिय र विश्व परिवेश अनुरुप विस्तारित र पुनर्गठित गर्दै समस्या समाधान केन्द्रीत अध्ययन, अनुसन्धान र उपायको खोजीलाई महत्वका साथ अगाडि बढाउने।

    ६) पार्टीमा उत्पन्न आन्तरिक अन्तरविरोध, समस्या र असमझदारीलाई व्यवस्थापन र समाधान गरी पार्टीलाई विधि, पद्धति र लोकतान्त्रिक प्रक्रियाबाट सशक्त रुपमा अगाडि बढाउँदै आगामी स्थानीय तथा आम निर्वाचनमा विजयको अग्रपंक्तिमा पुर्‍याउने।

    ७) नेपालको संविधान र जनताको बहुदलीय जनवादको मार्ग निर्देशन अनुरुप संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तहरुलाई आत्मसात् गर्ने स्वतन्त्र एवम् राष्ट्रिय हितमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति सञ्चालनमा पार्टीको भूमिकालाई सशक्त बनाउने।

    ८) राष्ट्रिय र पार्टी राजनीतिलाई देशको विकास र उन्नति तथा जनताको आर्थिक समृद्धिका राष्ट्रिय हित अनुकूलका सबै सम्भावनाहरुको खोजी र सदुपयोगको दिशातर्फ डोर्‍याउने। केन्द्रदेखि स्थानीय तहसम्म भइरहेको भ्रष्टाचार र बेथिति एवम् राजनीति र राज्य सञ्चालनमा व्याप्त भ्रष्टाचारका विरुद्ध कानूनी तथा जनमत परिचालन दुबै किसिमले अभियान चलाउने।

    ९) कोरोना विषाणुको महामारीबाट सिर्जित आर्थिक समस्याको समाधान तथा आर्थिक पुनरुत्थानका लागि ठोस कार्यक्रम र योजनालाई अगाडि बढाउने।

    १०) जलवायु परिवर्तनका कारण अत्यन्त जोखिमयुक्त नेपालको अवस्थालाई गम्भीर रुपमा लिई त्यसबाट उत्पन्न हुने प्राकृतिक विपत्तिको न्यूनिकरण र सामना गर्नेतर्फ राष्ट्रिय जागरण सिर्जना गर्नुका साथै पार्टी र समग्र राष्ट्रिय राजनीतिलाई दिशा निर्देश गर्ने।

    ११) विगतमा भएका राष्ट्रिय हित प्रतिकुलका र असमान सन्धि–सम्झौताहरुको पुनरावलोकन गरी तिनको खारेजी वा विस्थापनको लागि ठोस योजनाका साथ काम गर्ने। नेपालको संविधान नागरिकतासम्बन्धी कानून ल्याउन तथा गैर नेपालीहरुलाई नागरिकता बाँडेर जनसंख्याको राजनीतिद्वारा नेपालको अस्मिता र स्वाधीनतामा आँच पुर्‍याउने कार्यलाई रोक्न अग्रसर रहने।

    १२) नेपालको कूटनीतिक क्षमता वृद्धिलाई राष्ट्रिय विकास र सुरक्षाको महत्वपूर्ण क्षेत्रको रुपमा उच्च महत्व दिई त्यसका लागि सबै सम्भव उपाय र स्रोतको सदुपयोग गर्ने।

    ख) मान्यता

    १) वर्तमान विश्वका अधिकांश सार्वभौम र स्वतन्त्र देशका राजनीतिक दल र नेताहरुले आफ्नो राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र हितलाई सर्वोपरी राखे झैं नेपाल सरकार, राजनीतिक दल र नेताहरुले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सुरक्षा र हितलाई सर्वोपरी राखेर काम गर्ने। नेपालको संविधान, मौलिक सभ्यता, संस्कृति र इतिहासको संरक्षण र संवद्र्धन गर्नेे।

    २) जनशक्ति लगायत देशको सबै साधन र स्रोतलाई राष्ट्र हितमा पूर्ण सदुपयोग र परिचालन गर्ने। आफ्नो देश र जनताको हितको पक्षमा उभिदा कोही खुसी नहोला कि भन्ने मानसिकताबाट पूर्णतः मुक्त रही क्रियाशील रहने। आफ्नो देशको पक्षपोषण गर्नु अरु कसैको विरोध गर्नु वा कसैप्रति अमैत्री हुनु होइन भन्नेमा सबैलाई स्पष्ट तुल्याउने।

    ३) इतिहासको उत्तरदानका रुपमा रहेका नेपालको स्वाधीनता, स्वाभिमान र हितमा आँच पुर्‍याउने असमान सन्धि–सम्झौताबाट मुक्त हुनुका साथै त्यस्ता किसिमका सन्धि–सम्झौता नहुने र हुन नदिने दिशामा दृढताका साथ अग्रसर रहने। सबै मित्र राष्ट्रहरुसंग सुमधुर सम्बन्ध कायम गर्न सार्वभौमिक समानता, पारस्परिक हित र सम्मानको दिशामा कुटनीति सञ्चालन गर्ने। राजनीतिक दलहरुका बीच राष्ट्र र जनताको हितका विषयमा साझा धारणाका साथ सहकार्य गर्ने वातावरण निर्माण गर्न र परराष्ट्र नीतिमा समान विचार–दृष्टिकोणका साथ प्रस्तुत हुने स्थिति सिर्जना गर्न भूमिका खेल्ने।

    ४) नेपाली जनताको कष्टसाध्य अभ्यासबाट स्थापित नेपालको संविधान लोकतान्त्रिक प्रणालीलाई जनहित, सुशासन, विकास र समृद्धिको दिशामा सञ्चालन गर्ने।

    ५) राजनीतिक दललाई देशको कानून तथा दलका घोषित सिद्धान्त, कार्यक्रम, नीति र निर्णयको आधारमा सञ्चालन गर्ने। अधिवेशन र निर्वाचनमा गरिएका बाचा र प्रतिबद्धता विपरीत राजनीतिलाई सत्ता स्वार्थको खेलमा परिणत गर्ने गलत राजनीतिक संस्कृति, आचरण र व्यवहारको अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गर्र्ने।

    ६) नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नेकपा (एमाले) क्रियाशील रहेको वर्तमानसम्म पार्टीले अंगिकार गरेको माक्र्सवाद–लेनिनवादलाई नेपालको वस्तुस्थिति अनुरुप सिर्जनात्मक रुपमा लागु गर्ने विषयलाई पुनःपरिभाषित गर्दै समयका चुनौतीहरुको सामना गर्नसक्ने तथा देशको आवश्यकता र जनताको आकांक्षा अनुरुप अगाडि बढ्ने। संसदीय निर्वाचनका सबै मोर्चामा नेकपा (एमाले) लाई राष्ट्रिय हितमा आधारित स्पष्ट दृष्टिकोणका साथ सशक्त रुपमा अगाडि बढाउँदै विजयी बनाउने र केन्द्र, प्रदेश र स्थानीय तहमा बहुमत प्राप्त गरी देशलाई निर्दिष्ट दिशामा दृढताका साथ नेतृत्व प्रदान गर्ने।

    ७) पार्टीलाई विधि, पद्धति, सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको प्रणाली अनुरुप सञ्चालन गर्ने। पार्टी कमिटी र जनसंगठनको सञ्चालन घोषित सिद्धान्त, पद्धति र लक्ष्य अनुरुप गर्ने र अन्तरविरोध तथा समस्याहरुको यथासमयमा समाधान गर्दै संगठनलाई क्रियाशील र सशक्त तुल्याउने। शीर्ष कार्यकारी तहको नेतृत्वपंक्तिबाट नै गुटबन्दी हुने कार्यले पार्टीको शक्ति र प्रभावलाई कमजोर पार्दै अन्ततः फुटको दिशामा धकेल्ने तथ्यको पुष्टि भइसकेकोले गुटबन्दीबाट पार्टीलाई मुक्त गरी यसको समग्र क्षमताको सुदपयोग हुने र विषयवस्तुमा विवेकसम्मत किसिमले छलफल हुने स्थिति निर्माण गर्ने। निर्णय प्रक्रिया संस्थागत नहुने र केही व्यक्ति–समूह हुँदै व्यक्तिमा केन्द्रित हुने स्थितिको अन्त्य गर्ने।

    ८) व्यक्तिको मूल्याङ्कन र जिम्मेवारी प्रदान गर्ने कार्य, दिइएको जिम्मेवारी बहन गरी प्राप्त गरेको सफलता र उपलब्धि, योग्यता, क्षमता र इमान्दारीको आधारमा गर्ने।

    ९) पार्टीको आम सिद्धान्त, कार्यक्रम र नीतिको आधारमा देशभक्तिको भावनका साथ समसामयिक विषयमा स्पष्ट धारणा बनाई त्यसको कार्यान्वयन गर्न अग्रसर रहने। पार्टीले विगतदेखि अवलम्बन गर्दै आएको असमान सन्धि–सम्झौताको खारेजी र परिवर्तन, नेपालको जलस्रोत लगायतका प्राकृतिक स्रोतहरुको नेपालको विकासमा सदुपयोग, नेपालका अतिक्रमित भूभाग र अन्तर्राष्ट्रिय कानून बमोजिम संरक्षण तथा नियमन गर्नुपर्ने सिमानाबारे राष्ट्रको रक्षा र सुरक्षालाई ध्यानमा राख्दै स्पष्ट धारणासहित आम राष्ट्रिय दृष्टिकोणका साथ उपयुक्त पाइला चाल्ने, प्रशासन, सुरक्षा निकाय लगायत राज्यका सबै अंगहरुले राष्ट्रिय हित र स्वाधीनतालाई उच्चस्थानमा राखेर कर्तव्य निर्वाह गर्ने स्थिति सिर्जना गर्न क्रियाशील रहने।

    १०) नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संग भएको सम्झौतामा रहेका राष्ट्रिय स्वाधीनता र हितमा आघात पुर्‍याउने प्रावधानहरु हटाउने र नहटाइने भए सम्झौता नै खारेज गर्ने। नेपालको हित, स्वाधीनता, परराष्ट्र नीति र सुरक्षामा आघात पुर्‍याउने प्रावधानहरुलाई नेपाल सरकार र जनता सामु स्पष्ट किसिमले राख्ने। मूल सम्झौता संगै भएका कार्यान्वयन सम्झौता लगायतका सम्झौताहरु संसद र जनसमक्ष पारदर्शी रुपमा ल्याउन भूमिका खेल्ने।

    ११) विशिष्ट र संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालको तत्कालीन र दीर्घकालीन हित र सुरक्षाप्रति सचेत रहँदै तद्अनुरुप राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन गर्न र त्यस प्रयोजनका लागि सबै किसिमको राष्ट्रिय शक्तिको सुदृढिकरण र परिचालनका लागि क्रियाशील रहने।

    १२) देशको समग्र राजनीति, अर्थतन्त्र (सबै क्षेत्रको विकास रणनीति समेत), संस्कृति र शिक्षालाई राष्ट्रिय विकास र हित अनुकूलको दिशामा अघि बढाउन सशक्त भूमिका निर्वाह गर्न पार्टीलाई नेतृत्व प्रदान गर्ने। पिछडिएका बर्ग, समुदाय र क्षेत्रको उत्थानलाई राष्ट्रिय विकासको महत्वपूर्ण आधारका रुपमा लिदै सबै राष्ट्रिय एकताको आधारलाई बलियो बनाउने।

    १३) सदस्यता वितरण, नविकरण र प्रतिनधि चयनमा पार्टीको विधान, पद्धति, मान्यता र असल परम्परा विपरीत सदस्यहरुको चुन्न र चुनिन पाउने सार्वभौम अधिकार कुण्ठित गर्ने क्रियाकलापहरु पुनः दोहोरिन नदिने। महाधिवेशन हुन ६ महिना अघि सदस्यता प्राप्त व्यक्तिले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने लगायतका पार्टी निर्देशन विपरीत प्रतिनिधि चयनको प्रक्रिया आरम्भ हुनु दुई दिन अघिसम्म सदस्यता वितरण गर्ने, प्रतिनिधिको निर्वाचनको प्रक्रिया आरम्भ नगर्ने, कुनै सहमति नभई र चुनावको काम नै नभई प्रतिनिधिको नाम मनपरी किसिमले घोषणा गर्ने जस्ता पार्टीको मर्यादामा आघात पुर्‍याई संगठनलाई क्षति पुर्‍याउने किमिसका क्रियाकलाप हुननदिने।

    १४) मैले कम्युनिष्ट पार्टी र निरंकुश पञ्चायत विरोधी आन्दोलनमा समाहित भएदेखि शान्ति प्रक्रिया, संविधान निर्माण र पार्टी एकताको लागि विभिन्न कार्यमा संलग्न हुँदा निश्चित विचार, आदर्श, मूल्य–मान्यता, नीति र दृष्टिकोणका साथ आफुलाई उभ्याएको छु। यस्ता विषयहरु प्रति वर्तमान पार्टी पंक्तिका साथै आम जनता तथा भविष्यको पुस्तामा चेतना र सजगताको प्रसारण हुनसकेमा मेरो उम्मेदवारीको सार्थकता रहनेछ। यही सोचका साथ म अगाडि बढेकोे छु।

    १५) पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० बर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ। यस क्रममा उहाँले देश र जनताको लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन्। उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो। उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु।

    पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु। साथै मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहने छु।

    अतः मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नहुन कमरेड केपी शर्मा ओली एवम् सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरु समक्ष हार्दिक आह्वान गर्दछु।

    माथि उल्लेखित पृष्ठभूमि, लक्ष्य, उद्देश्य र मान्यताको आधारमा नेकपा (एमाले) को नेतृत्व गर्दै यस पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरुमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रुपमा अगाडि बढाउने दृढ अठोट गरेको छु।

    मैले विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको छु तथा कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह राखेको छैन। पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन।

    कुनैपनि पनि इमान्दार पार्टी नेताले त्यसो गर्नपनि सक्दैन। यही विचार र मान्यता अनुरुप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेकोे छु। अतः केन्द्रीय कमिटीको अध्यक्ष पदमा मेरो उम्मेदवारीप्रति सहयोग र समर्थनका लागि नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गर्दछु।

    अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु।

    मितिः २०७८।८।५।१

  • राजिनामा कि महाभियोग ? हात्तीको जुधाई बाख्राको मिचाई

    राजिनामा कि महाभियोग ? हात्तीको जुधाई बाख्राको मिचाई

    कल्पना शाक्य
    अधिबक्ता

    राजविराजस्थित मानव अधिकारवादी संस्थाको कार्यालयभित्र सप्तरी जिल्लाका गाउँका मुद्दामा भएका मेलमिलापको संख्या, प्रकृति र नतिजाका बारेमा छलफल हुँदै थियो । मेलमिलाप ऐन आउनुभन्दा अगाडीनै नेपालमा स्थानीय स्तर र केही संस्थाहरुबाट दूवै पक्षलाई जितजितको अवस्थामा पुर्याउन मेलमिलापको अभ्यास शुरुवात भएको थियो । २०६० सालतिर एक गैर सरकारी संस्था मार्फत मेलमिलाप कार्यक्रमको अध्ययन अनुगमन गर्न राजविराज पुगेकी थिए । मुद्दाको गर्दैजाँदा केही मुद्दाहरुमा मिलापत्र भएको आफुलाई पटक्कै चित्त बुझेन । समाजमा पछाडि परेका समूदायका ब्यक्तिलाई उपल्लो तहको ब्यक्तिबाट सार्वजनिक रुपमा कुटपिट गरी बेईज्जत गरिएको घटनामा संस्थाको कार्यालयमा बोलाएर माफी मगाएर छाडिएको रहेछ । भरखरै पढाई सकेर पेशामा प्रवेश गरेको मैले यस्तो मिलापत्रको घटना सुनेर तत्कालै असहमति जनाई हाले, “कानुन बमोजिम दण्डनीय हुने यस्तो कठोर अपराधलाई कसरी मिलापत्र गराएर छाड्न सकिन्छ?” संस्थाको पदाधिकारीले धैर्यतापूर्वक सम्झाउँदै भन्नुभयो, “सदियौंदेखि उतपीडक र उत्पीडित बर्ग रहेको हाम्रो समाजमा एकैपटक कानुनी कारवाहिको दायरामा ल्याउनु असम्भव जस्तै हुन्छ, समाजमा जरा गाडेर बसेको कुप्रथा हटाउन बिस्तारै समय लाग्छ, एकैपटकमा खत्तम गर्न खोज्दा झन् समस्या आगोझैं सल्कीन सक्छ, सामाजिक द्वन्द्व शुरु हुन सक्छ, यहाँको समाजमा उत्पीडक वर्गले उत्पीडित वर्गको व्यक्तिसँग सार्वजनिक रुपमा माफी माग्नु भनेकै परिवर्तनको फड्को हो । कानुनी प्रकृयामै जाँदा प्रमाणको अभावमा वा पीडित वर्गको पहँचको अभावमा उत्पीडकले सफाई पाउने र यसबाट सामाजिक विभेद र अराजकता ज्यूका त्यू रहने हुँदा अहिलेको परिस्थितिमा माफी माग्न लगाएर गरिएको मिलापत्र समय सान्दर्भिक देखिन्छ । यसबाट समाजमा केही फरक सकारात्मक सन्देश त अवश्य पुगेको छ, पिछडिएको व्यक्तिहरुको पनि समान मानव अधिकार, कानुनी अधिकार छ भन्ने कुरा समाजमा पुर्याउन मद्दत गरेको छ । ”यति सुनिसकेपछि यो मिलापत्रको परिस्थितिजन्य अवस्थामा मैले चित्त बुझाए । यो एउटा उदाहरण मात्र थियो गाउँ समाजमा यस्ता घटनाहरु धेरै रहेछन् ।
    न्याय सम्पादनको सिलसिलामा देखिएको यो बाध्यता दशकौंपछि आएर न्यायको सर्वोच्च अङ्गमा देखापरेको छ ।
    तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको संसद बिघटनको बिरुद्धमा दायर भएको रिटमा संसद बिघटनको निर्णय बदर गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री तोकि सरकार गठन गर्न परमादेश जारी गरेका प्रधान न्यायाधिश चोलेन्द्र शमसेर ज.ब.रा. ले सो फैसलाको बदलामा मन्त्रीमण्डलमा आफ्नो जेठानलाई नियुक्ति दिलाएको रहस्य बाहिरिएसँगै न्यायिक क्षेत्रमा मानौ तूफान नै आएको छ । लहरो तान्दा पहरो आउँछ भने झै संसदमा साठगाठको आरोपसँगै उनका बिगतका अन्य दोषहरु कोट्याउन थालिएको छ । डि.आई.जी. रञ्जन कोईरालालाई कर्तव्य ज्यान मुद्दामा सजाय छुट दिने विवादास्पद फैसला, भ्रष्टाचारको ३६ वटा मुद्दामा फैसला गर्दा मन्त्री, सचिव, सहसचिव, आई.जी.पी. लगायत भीआईपीहरु आरोपित भएको ३५ वटा मुद्दामा आरोपितलाई सफाई दिई नायब सुब्बा बिरुद्धको एउटा मुद्दामा मात्र अभियोग ठहर गरी कसूरदारलाई सजाय सुनाएको, एन.सेल. लाई कर छुट दिने फैसला लगायतका उनका धेरै क्रियाकलाहरु मूर्दाघरबाट लाश बिउतिएसरी बिउँतिएर त्यसको भूतले उनैलाई लखेटिरहेझै आभास हँदैछ ।
    कानुन व्यवसायीको संगठन नेपाल बार एशोसिएसनले नै प्र.न्या. को राजिनामा माग गरिरहेको छ । सर्वोच्च अदालतका अन्य १९ जना न्यायाधिशहरु पनि प्र.न्या. को राजिनामाको पक्षमा उभिएर बेञ्च बहिष्कार गरिरेको जटिल अवस्था छ । राजिनामा मागको सम्बन्धमा पनि कानुन व्यवसायीहरु पक्ष र विपक्षमा उभिएका छन् । कानुन व्यवसायीको एउटा समूह प्र.न्या. को राजिनामालाई संवैधानिक हो भन्दछन् भने अर्को समूह संविधान बमोजिम प्र.न्या. लाई पदच्यूत गराउने एक मात्र बाटो महाभियोग रहेको बताउँछन् ।
    नेपालको संविधान २०७२ को धारा १०१ को उपधारा (२) अनुसार यो संविधान र कानुनको गम्भीर उल्लंधन गरेको, कार्यक्षमताको अभाव भएको वा ईमान्दारीतापूर्वक आफ्नो पदिय कर्तव्यको पालन नगरेको वा आचरण संहिताको गम्भीर उल्लंघन गरेको अवस्थामा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले नेपालको प्र.न्या. वा सर्वोच्च अदालतका न्यायाधिश, न्याय परिषदका सदस्य, संवैधानिक नियकायका प्रमूख वा पदाधिकारीका बिरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन् । त्यस्तो प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याका कम्तिमा दुई तिहाई बहूमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुनेछ । त्यसैगरी धारा १३१ को विभिन्न खण्डले प्रधान न्यायाधिशको पद रिक्त हुने अवस्थाको बारेमा व्यवस्था गरेको छ जसमध्ये खण्ड (क) मा प्रधान न्यायाधिशले राष्ट्रपति समक्ष लिखित राजीनामा दिने व्यवस्था गरेको छ । हाल राजिनामा माग गरिरहेका कानुन व्यवसायीहरुले यही धारा १३१ को खण्ड (क) को दलिल दिईरहेका छन् ।

    एउटै कुकृत्यमा सामेल भएका मध्ये एकजनालाई दोषि करार गरेर अर्कोलाई सुनपानी छर्केर सफाई दिनु कुनै पनि कानुनी राज्यलाई मान्य हुँदैन । तसर्थ न्यायपालिकासँग साँठगाँठ गर्ने दलका नेताहरुलाई पनि कठघरामा एकदिन अवश्य ल्याउनु पर्दछ ।”


    यसरी संविधान अध्ययन गर्दा राजिनामा र महाभियोग दुबै व्यवस्था गरेको पाईन्छ तर पनि प्र.न्या. चोलेन्द्र शमशेरको सत्तारुढ दलसँग चोचोमोचो मिलेको कारण उनिमाथीको महाभियोग पारित हुनै नसक्ने तितो यथार्थलाई मध्यनजर गरेर नै नेपाल बार एशोसिएसनले राजीनामा माग गर्दैछ भने प्रधान न्यायनधीस महाभियोगको सामना गर्न तयार रहेको भनि राजिनामा नदिने कुरामा अड्डि करेर बसेका छन् महाभियोग पारित हुन सक्दैन भन्ने कुरामा ढुक्क भएका हुनाले । हुन पनि जसमाथी महाभियोग लगाईनुपर्ने हो र जसले महाभियोग लगाउने हो ती दुबै पात्र एउटै नालीमा चुर्लुम्म डुबेर सँगसँगै फोहोले स्नान गरिसकेका अवस्थामा एउटा फोहोरीले अर्को फोहोरीलाई तँ तँ गनाईस भनेर स्वात्तै झिकेर फ्याक्न नसक्ने अवस्था हुँदा महाभियोग पारित हुनै नसक्ने भएकोले नेपाल बारले राजिनामाको हतियार उठाईरहेको अवस्था हो । जुन अवस्था झण्डै २० वर्षअगाडि सप्तरीको एउटा गाउँमा अपराधीलाई सजाय नदिएर आफ्नो गल्ति स्वीकार गर्न लगाई माफी मगाएर गर्नुपरेको मेलमिलापको बाध्यात्मक परिस्थितिसँग मेल खान गएको छ । महाभियोगको नाटक मञ्चन गरिएपनि कुनै हालतमा महाभियोग पारित हुन नसक्ने देखेपछि आँखा चिम्लेर बस्नु भन्दा राजिनामानै दिनु बेस भन्ने सोचाईले तत्कालको समस्याको लागी अस्थाई हल खोजिएको हो । तर अस्थाई समाधानमै चित्त बुझाएर बस्नु कदापि हुँदैन । राजिनामा दिदैमा बिगतमा गरिसकेका गल्तिबाट उन्मुक्ति पाउने भन्ने व्यवस्था कानुनले गरेको पनि छैन । त्यसकारण पदमा बस्न अयोग्य ब्यक्तिलाई पदबाट हटाएर कानुन बमोजिम सजाय समेत दिनुपर्छ । एउटै कुकृत्यमा सामेल भएका मध्ये एकजनालाई दोषि करार गरेर अर्कोलाई सुनपानी छर्केर सफाई दिनु कुनै पनि कानुनी राज्यलाई मान्य हुँदैन । तसर्थ न्यायपालिकासँग साँठगाँठ गर्ने दलका नेताहरुलाई पनि कठघरामा एकदिन अवश्य ल्याउनु पर्दछ ।
    नेपाल बार एशोसिएसनले एउटा व्यक्तिको बिरुद्ध होईन खराब पद्धतिको बिरुद्ध लड्ने हो । न्यायपालिका शुद्ध हुनको लागी बिधायीका (संसद) पनि शुद्द हुन जरुरी छ अर्थात बिधायीकाले न्यायपालिका माथि हस्तक्षेप गर्न भएन । त्यसैगरी न्यायपालिका शुद्द हुनका लागी कानुन व्यवसायीहरु पनि शुद्द हुन जरुरी छ । मिडीयामा आएर “न्यायाधिश घूस खान्छन् हामी (वकिल) घूस खुवाउँछौ” भन्न सक्ने कानुन व्यवसायी कसरी अपराधबाट अछुत रहन सक्छ ? प्रधान न्यायाधिश नियुक्तीको समयमा नै निजको योग्यता र स्वच्छ छविको विषयमा संसदमा सुनुवाई हुने गर्दछ । आजको दिनमा प्रधान न्यायाधिशद्वारा बिगतमा भएका अनगिन्ति गतल फैसलाहरु (३६ मध्ये ३५ वटा भ्रष्टाचार मुद्दामा भएका विवादीत फैसलाहरु प्र.न्या. हुनुभन्दा अगाडी २०६२ माघ देखि २०६५ असोजसम्म उनि विशेष अदालतमा रहँदा गरेका थिए) लाई उनको राजीनामाको लागी प्रमाणको रुपमा अघि सार्ने बार एशोसिएसनले उनको नियुक्तिको समयमानै किन अघि सारेन ? पुर्व प्र.न्या. शुसिला कार्की माथी महाभियोग दर्ता गराए सँगै त्यसपछिका गोपाल प्रसाद पराजुली, दिपकराज जोशीको अपमानजनक बहिर्गमन भएको अवस्थाले अब भविष्यमा पनि प्रधान न्यायाधिशहरुले डर त्रासको बीचमा स्वतन्त्र पूवर्क काम गर्ने वातावरण गुमाउने अवस्था आउने त होईन ? विधायीकाले, बारले ब्यक्तिगत ईवि साध्न राजिनामा माग गर्ने परम्परा बस्ने त होईन ? भन्ने आशंकाबाट पनि न्यायप्रेमीहरु ग्रसीत छन् तर यो सम्भावीत समस्याको कुनै समाधान या जवाफ नभएको भने होईन । नेपाल बार एशोसिएसनले आफुलाई एउटा जिम्मेवार निकायको रुपमा साबित गर्नुपर्दछ । राज्यको हरेक अंगले जवाफदेहिता बेहोर्ने, नैतिक आचरण ननाघ्ने हो भने कुनै एउटा व्यक्ति वा संस्थालाई मन नपरेको भरमा प्र.न्या. को राजिनामा माग गर्नसक्ने अवस्था रहँदैन । नेपालीहरुमा जवाफदेहिताको कमी रहेको छ सबै क्षेत्रमा । विश्वको शक्तिसाली राष्ट्र बेलायतले हालसम्म अलिखित संविधानकै भरमा सुशासनको अनुपम नमूना देखाईरहेको छ । त्यो सबै उच्च नैतिक आचरण र जवाफदेहिताको देन हो ।

    न्यायाधिश नियुक्तिको प्रकृया पारदर्शी हुनु जरुरी छ । परिक्षा उतिर्ण गरेर मात्र न्यायाधिशको पदपूर्ती गर्ने व्यवस्था हुनु पर्दछ । प्र.न्या. नियुक्तिको समयमानै बडो गम्भीरतापूर्वक छानबीन गरी स्वचछ छवि भएका विवादरहित, दक्ष व्यक्तिलाई मात्र नियुक्ति दिईनुपर्दछ ।”


    कसैको निगाहमा पदमा पुगेका न्यायाधिशले आफुलाई निगाह गर्ने व्यक्ति र उनका सन्तान दरसन्तान सम्मलाई निगाह गर्नुपर्ने हुँदा न्याय सम्पादन गर्दा तटस्थ रहन असम्भव हुन्छ । त्यसैगरी करोडौ घुस रकम बुझाएर न्यायाधिश बन्नेले पनि आफ्नो लगानी उठाउन भ्रष्टाचार नगरी सुखै नहुने, साथै कार्यसम्पादन क्षमता पनि नहुने हुँदा यस्तो गलत नियुक्तिको प्रकृया नहट्दासम्म न्यायपालिका भित्रको भ्रष्टाचार अन्त्य हुन सक्दैन । तसर्थ न्यायाधिश नियुक्तिको प्रकृया पारदर्शी हुनु जरुरी छ । परिक्षा उतिर्ण गरेर मात्र न्यायाधिशको पदपूर्ती गर्ने व्यवस्था हुनु पर्दछ । प्र.न्या. नियुक्तिको समयमानै बडो गम्भीरतापूर्वक छानबीन गरी स्वचछ छवि भएका विवादरहित, दक्ष व्यक्तिलाई मात्र नियुक्ति दिईनुपर्दछ । जबसम्म राजनैतिक दलको झोला बोकेर हिड्ने र न्यायाधिश बन्नको लागी करोड करोड रुपैया झोलामा बुझाउने झोलेन्द्रहरुले न्यायाधिशको पदमा नियुक्ती पाउने परम्परा ताोडिदैन तबसम्म एकजना चोलेन्द्रले राजीनामा दिएर न्याय क्षेत्रको बिकृति बिसंगतीको अन्त्य हुँदैन ।
    अन्य विकशित मूलुकको त के कुरा बङ्गलादेश जस्तो बिकासोन्मुख मूलुकमा समेत न्याय सम्पादनलाई बलियो र विश्वासिलो बनाउन, फैसलालाई बाह्य प्रभाव र हस्तक्षेप रहित बनाउनको निम्ति न्यायमूर्तीहरुलाई कतिसम्म नैतिक घेराबन्दीमा राखिन्छ भने न्यायाधिशहरुको घर बासको बारेमा कुनै पनि कानुन व्यवसायीहरुलाई जानकारी हुँदैन र न्यायाधिश र वकिलहरुको बिचमा व्यक्तिगत सम्बन्ध सामिप्यता राख्न पाईदैन । आफ्नो घरको बिहे ब्रतबन्धको भोजमा सम्पूर्ण न्यायाधिशहरुलाई निम्तो दिने हाम्रा कानुन व्यवसायी मित्रहरुले कहिले सिक्ने न्यायलयलाई बेदाग बनाउन निम्ती योगदान दिन ?
    अहिलेको घटनाक्रममा प्रधान न्यायाधिशको राजिनामा माग ठिक हो या उनीमाथी महाभियोग ठिक हो भन्ने सम्बन्धमा आ–आफ्नो फरक फरक बिचारधारा हुन सक्ला तर त्यो बिचारधारा कसैको पनि व्यक्तिगत स्वार्थबाट प्रभावित हुनु भएन । प्रधान न्यायाधिशले राजीनामा दिदा कुन कुन कानुन व्यवसायीहरु र तिनका श्रीमती, भाइ, छोराहरुले न्यायाधिशमा नियुक्ती पाउने, राजीनामा नदिदा कसकसले न्यायाधिशमा नियुक्ती पाउने भन्ने निहीत स्वार्थ बोकेर कानुन व्यवसायीहरुबीच घृणित लडाई हुनु भएन ।
    बार र बेञ्चबिचको राजिनामा कि महाभियोग भन्ने लडाईमा न्याय माग गर्दै बर्षैदेखि सर्वोच्च अदालत धाईरहेका सेवाग्रही पिल्सीरहेको छन् । यस्तो अवस्थामा कमसेम राजिनामा माग गर्ने सर्वोच्चका अन्य न्यायाधिशहरुले प्र.न्या. संगको बेञ्च मात्र बहिष्कार गरेर अन्य बेञ्चलाई सुचारु गरेमा सेवाग्रहीलाई धेरै राहत मिल्नेछ ।

  • न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

    न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

    भोजपुर । न्यायालयमा चर्किएको विवादबारे सत्तारुढ गठबन्धनको साझा धारणा आउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । अहिले प्रधानन्यायाधीशको राजिनामा गर्दै वकिलहरु आन्दोलनमा छन् । यस विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा आउने प्रचण्डले जानकारी गराए । माओवादी केन्द्र भोजपुरले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा दाहालले ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो नभएको समेत बताए ।

    सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुने भन्दै उनले यस विषयमा साझा धारणा छिट्टै बाहिर ल्याइने समेत बताए । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र विरोधी तथा प्रतिगामी तत्वले राजनीतिक व्यवस्था उल्ट्याउन कोसिस गरिरहेको र त्यसका लागि कहिले संसद र कहिले न्यायालयबाट प्रयास भइरहेको उनको भनाई छ ।

    जनताको चेतना र राजनीतिक नेतृत्वको विवेकका कारण यस्ता तत्व सफल हुन नसकेको उनले बताए । प्रतिगामी षड्यन्त्रमा नेकपा एमालेका नेता केपी शर्मा ओली, राजावादी र विदेशी शक्तिसँग मिलेको आरोप उनले लगाए ।

  • तिहारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?

    तिहारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी हुन् ।

    झिलिमिली बत्तीको उज्यालोले औँसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि उनले भनेकी छिन् । दीपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्ने उनको भनाई छ ।

    तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ ।

    उता, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड १९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड १९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् ।

    भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन् । सन्देशमा कोभिड१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने उल्लेख छ ।

    प्रधानमन्त्रीले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ-आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौँ भने त्यसले हामी कसैलाई सफलता र खुशी दिन नसक्ने बताएका छन् ।

  • नेपालीहरुको महान चाड तिहारको महत्व, मर्म र महिमा

    नेपालीहरुको महान चाड तिहारको महत्व, मर्म र महिमा

    सुपेन्द्र बस्नेत, बोष्टन

    तुलनात्मक रुपमा भौगोलिक क्षेत्रफल र आर्थिक हिसाबले नेपाल सानो र गरिब देशमा गनिन्छ। तर, सम्पदाको हिसाबले भने निकै धनी मानिन्छ।प्राकृतिक, धार्मिक, साँस्कृतिक, सामाजिक विविधतायुक्त सम्पदा नै नेपाल र नेपालीको अमुल्य सम्पत्ति हो । यही नै सक्कली सान र पहिचान पनि हो। नेपालको जनगणना २०६८ अनुसार नेपालमा कुल १२५ जातजातिहरु र १२३ भाषाहरु रहेका छन्। भाषा आयोगको पछिल्लो प्रतिवेदन अनुसार भने बोलीचालीका लागि प्रयोगमा आएका भाषाहरुको संख्या १३१ पुगिसकेको छ। त्यसै गरी यहाँ १० भन्दा बढी धर्मावलम्बीहरु धार्मिक स्वतन्त्रताको भरपूर उपयोग गरिरहेका छन्। यि विविध जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुका आ-आफ्नै मोलिकता झल्काउने विशेष खाले चाडबाड, रितिरिवाज, परम्परा, लवाइ खवाइ, रहनसहन, बोलीचाली रहेका छन्। यि आँकडाहरुलाई सम्पदाका दृष्टिकोण हेर्दा, नेपाल विविध सम्पदाको धनी देश हो। र, विविधता बीचको एकताको स्वर्गीय भूमि हो भन्दा अतिसंयुक्ति नहोला।


    नेपालको जनगणना २०६८ अनुसार नेपालमा ८०.६ प्रतिशत हिन्दू धर्मावलम्बीहरु रहेका छन्। आफ्नो धर्म संस्कृति अनुसार स्थापित हुदै आएका परम्परा, रितिरिवाज, चालचलनलाई समय अनुसार परिस्कृत र परिमार्जित गर्दै आफ्नो पहिचानसहितका चाड पर्वहरु परापूर्व कालदेखि नै मनाउदै आइरहेका छन्। जस मध्यको दशैं र तिहार प्रमुख बडा चाड हुन्। यि चाडबाडमा धार्मिक केन्द्रियता भएतापनि, यसको महत्व भने बहुआयामी रहेको छ। धार्मिक, साँस्कृतिक, सामाजिक, रितिरिवाज, परम्परा, रहनसहन, चालचलन आदिका दृष्टिकोणले यि चाडबाडहरुले समग्र नेपाली समाजलाई एकता, धार्मिक सहिष्णुता र भाइचाराको सुत्रमा बाँधिराख्न अहम भूमिका खेलिरहेका छन्। जसले गर्दा नेपाल र नेपालीको अमूल्य पहिचान बोकेको चाड बडा दशैं र तिहारलाई केवल हिन्दू धर्मावलम्बीहरुको चाड मात्र नठानी समग्र नेपालीहरु कै चाडका रुपमा मान्ने र मनाउने गरिदै आएको छ। त्यसैले नेपाल र नेपालीको गौरव र पहिचान बढाउने यि चाडबाडहरुलाई मर्म अनुसार बृहत रुपमा प्रचाप्रसार गर्नुका सोथै सोही अनुसार मनाउनु पनि जरुरी छ। यसै सन्दर्भमा देश विदेशमा रहेका नेपालीहरु यस वर्षको महान चाड बडा दशैंलाई विधिवत् समापन गरी, अर्को महान चाड ‘तिहार’ मनाउने संघारमा रहेकाले आवश्यक तयारीमा जुटिसकेका छन्। तिहारलाई हिजोआज धार्मिक चाड मात्र नभनि झिलिमिली उज्यालोको चाड, प्रकृति पूजनको चाड, फूलैफूलको चाड, जनावर तथा पंक्षी पूजन चाड, दिदीभाइ तथा दाजुबहिनीको चाड, दिपावलीको चाड, तिहार आदि भनेर पनि पुकारिने गरिन्छ। मुख्य गरी ५ दिनसम्म बृहत रुपमा मनाइने यो चाडको महिमा, गरिमा, महत्व, भूमिका र गरिने विविध वृहत् क्रियाकलापहरुलाई मध्यनजर गर्दा, यस महान चाडलाई ‘तिहार’ नै भनि प्रचारप्रसार गर्नु पर्दछ।र, चाडको मुल मर्म र महत्व अनुसार नै बृहत रुपमा नै मनाउनु पनि आवश्यक छ।त्यसैले यहाँ ‘तिहार’को महत्व र मर्म दर्शाउने केही संक्षिप्त धार्मिक तथा पौराणिक कुराहरु प्रस्तुत गर्ने कोसिस गर्दैछु।

    हरेक वर्ष नेपाली हिन्दू पात्रो अनुसार कार्त्तिक कृष्ण पक्ष त्रयोदशी तिथिदेखि कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्मको पाँच दिन नेपालीहरुको महान चाड ‘तिहार’ पर्दछ। जसलाई यमपञ्चक पनि भनिन्छ। पौराणिक धार्मिक आस्था र विश्वासका आधारमा पाँच दिनसम्म यमराज तथा उनका दूतहरूको पूजा, अर्चना, प्रार्थना तथा आराधना गरिने भएकाले यस चाडलाई यमपञ्चक भनिएको हो। पौराणिक धार्मिक कथन अनुसार सूर्यका यमराज र यमुना दुई छोराछोरी थिए। एकपटक यमुनाले आफ्नो दाजुलाई आफ्नो बासस्थानमा निम्तो गरेकी थिइन्। आफ्नो बहिनीले दिएको आत्मीय निम्तोलाई सहर्ष स्विकार गर्दै कार्तिक कृष्ण त्रयोदशीका दिन आतिथ्यता ग्रहण गर्नका लागि यमराज बहिनी यमुना कहाँ गएका थिए। बहिनीले पनि आफ्नो निम्तो स्विकार गरेर आएकाले आफ्नो दाजुको अतिथ्य सत्कारमा कुनै कसर बाँकी राखिनन्। यमराज पनि आफ्नो बहिनीको सत्कारमा आनन्दित भइ कामको थकान मेटाउन कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म (पाँच दिनसम्म) लामै विश्राम गरे। र, पाँचौं दिन बहिनी यमुनाको हातबाट टिका लगाएर बहिनीलाई आशिर्वाद दिइ बिदा भएका थिए। यही धार्मिक कथनको मूल मर्मलाई आधार मानेर ‘तिहार’ मनाउन लागिएको किम्बदन्ति रहेको छ। यस अर्थमा परापूर्व कालदेखि नै तिहारको पाँचैं दिनलाई उत्तिकै महत्त्वपूर्ण मानेर हरेक दिन धार्मिक महत्व र मर्मका आधारमा धार्मिक विधिहरुलाई अवलम्बन गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन चलिआएको छ। जस अनुसार तिहारका पाँचैं दिनको पहिचान, मर्म, महत्व र गरिने क्रियाकलाहरु संक्षिप्तमा यसप्रकार रहेका छन्:

    १) कार्तिक कृष्ण पक्ष त्रयोदशी अर्थात काग तिहार

    कार्तिक कृष्ण त्रयोदशीको दिन तिहारको पहिलो दिन हो। यस दिनलाई ‘काग तिहार’ भनिन्छ। मुख्य गरी कागलाई यमराजको दूत तथा सन्देश वाहक मानेर पूजा गरिन्छ। पंक्षीमा चतुर मानिने सर्वभक्षी प्राणी कागलाई समग्र पंक्षीको प्रतिनिधिका रुपमा पनि पूजा गर्ने गरिन्छ। काग तिहारका दिन चोखो नितो गरी स्वास्थ्यकर स्वादिष्ट भोजनहरु बनाएर कागलाई डाकी पूजाआजाका साथ खुवाउने गरिन्छ। यसरी पूजा तथा भोजन दिने बेलामा धार्मिक मन्त्र ‘ऐन्द्र बारुण वायव्या याम्या वै नैऋतास्तथा। वायसाः प्रतिगृह्णन्तु मयादत्तमिमं बलिम्।।’ उचारण गरिन्छ। जसको अर्थ हो, पूर्व, पश्चिम, वायव्य, दक्षिण, नैऋत्य आदि दिशामा रहेका कागहरूले यो बलि ग्रहण गरून्। यस दिनमा आयुर्वेदका भगवान धनवन्तरीको जन्म जयन्ती पनि मनाइन्छ। यस दिनलाई धन त्रयोदशी अर्थात धन्तेरस पनि भनिन्छ।यस दिन नै धनधान्य लक्ष्मी माताको विशेष पूजा गर्न आवश्यक सरसामानहरु खरिद गर्ने गरिन्छ। यस दिन कमलको फूलको पुष्पासनमा बसेकी लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर खरिद गरेर घरभित्र्याउने प्रचलन छ। यसो गर्दा लक्ष्मी माता खुसी भई घर भित्रने, बास गर्ने, आशिर्वाद दिने र धनधान्य बनाइ दिने धार्मिक विश्वास रहेको छ। यस दिन नयाँ भाँडाकुँडा तथा सुन वा चाँदीको बस्तु किनेर घरको पूर्वी-उत्तर दिशामा राखेमा फलिफाप हुने विश्वास गरिन्छ।

    २) कार्तिक कृष्ण चतुर्दशी अर्थात कुकुर तिहार

    यो तिहारको दोश्रो महत्वपूर्ण दिन हो। यो तिहार अन्तरगत पर्ने कुकुर तिहार हो। जसलाई यमपञ्चकको दोस्रो दिन पनि भनिन्छ। कुकुरलाई यमराजको दूत मानिने भएकाले यस दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ। कुकुर यमदूत भएकाले यमराजलाई खुसी बनाउन कुकुरलाई पूजा गर्ने गरिन्छ। कुकुरलाई पूजा गर्नुमा मानव उपयोगी उसका महत्वपूर्ण गुणहरु पनि हुन् भन्ने कोणबाट व्याख्या गरिने गरेको भएतापनि, धार्मिक मुल्य र मान्यताका आधारमा भने यमदूत भएकै कारण पूजा गरिएको विश्वास गरिन्छ। कुकुर तिहारका दिन यमराजको स्मरण गरी कुकुरलाई पूजा गरेर टिका तथा माला लगाइ दिएर मिष्ठान्न भोजनहरु खुवाउने गरिन्छ। कुकुरलाई पूजा गरी मिष्ठान्न भोजन गराउदा यस्तो मन्त्र उच्चारण गर्ने गरिन्छ। ‘द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ। ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ।’ जसको अर्थ हो, वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु। तिमीहरू अहिंसक बन।

    ३) कार्तिक अमावस्याका अर्थात गाई तिहार
    कार्तिक अमावस्याका दिन तिहारको तेश्रो दिन हो।यस दिनमा माताको रुपमा पूजिने गाईको विशेषरुपमा पूजा गरिन्छ। यस दिन गाई बस्ने गोठको सरसफाइ गर्नुका साथै गाईलाई पनि सफासुग्घर राखेर पूजा गर्ने गरिन्छ। गाईलाई धनधान्य माता देवी लक्ष्मीको प्रतिक मानिने भएकाले साँझपख मठ मन्दिर तथा घर आगनमा बत्ती बालेर झिलिमिली पार्दै लक्ष्मीपूजा पनि गरिन्छ। यस दिनको राति माता लक्ष्मी पृथ्वीलोकमा आउने र आशिर्वाद तथा वरदान दिने धार्मिक विश्वासका साथ घरको आगनमा रहेको तुलसीको मोठदेखि वा मुल दैलोदेखि घरभित्रका पूजा स्थल तथा कोठाहरुसम्म गाईको गोबर तथा रातोमाटोले लिपेर, आगनमा रंगोली र लक्ष्मीको पैतालाको छाप बनाएर पूजा आजा गरिन्छ। भगवान रामले कार्तिक कृष्ण औंसी अर्थात आजको दिनमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको र बहिनी यमुनाको सत्कारबाट यमराज खुसी भएका कारण नरक जान नपर्ने धार्मिक विश्वासमा झिलिमिली बत्ति बालेर खुसियाली मनाइएको धार्मिक विश्वास गरिन्छ। यस दिनको राती समूह बनी घरघरमा पुगेर महिलाहरुले धार्मिक ग्रन्थ, आस्था, विश्वास, परम्परा अनुसार यमुना-यमराज, बली राजा, भगवान राम लगायतको गाथा भट्याउदै गाउदै भैलिनी खेल्दछन्। तर, हिजोआज पुरुषहरुले पनि भैलेनी खेल्ने गर्दछन्। हिजोआज भैलिनीलाई धार्मिक क्रियाकलापका अतिरिक्त मनोरञ्जन तथा हर्षोल्लासको महत्वपूर्ण क्षण र आर्थिक सहयोग जुटाउने सुवर्ण अवसरकारुपमा पनि लिएर गीत संगितको समिश्रणसहित परिस्कृत र परिमार्जित रुपमा भैलिनी खेल्ने गरिन्छ। यस दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पनि परेकाले विभिन्न कार्यक्रम गरि लक्ष्मी जयन्ती पनि मनाइन्छ।

    ४) कार्तिक शुक्ल परेवा अर्थात गोरु तिहार

    यो कार्तिक शुक्ल प्रतिपद तिथिको दिन हो। जसलाई गोरु तिहार भनिन्छ। यस दिन धार्मिक मरम, मुल्य, मान्यता र विधि अनुसार गोरुको पूजा गरिन्छ । यस दिन गोवर्द्धन र बलि राजाको पनि पूजा गरिन्छ। यस दिनको राती मुख्य गरी पुरुषहरुले समूहमा मिलेर द्येउसी खेल्ने चलन छ। हिजोआज भने महिलाहरुले पनि महिला-महिला मिलेर वा पुरुषहरुसंग मिलेर पनि देउसी खेल्ने गर्दछन्। यस दिन नेवारी समुदायका लागि विशेष दिन हो। जसलाई नेवारहरु महःपूजा ज्यू(शरिर)पूजाको दिन भनिन्छ। यस दिन नेवारी समुदायले धार्मिक विधि अनुसार आफ्नो शरीरको विशेष पूजा गर्ने गर्दछन्। यो दिन नेपाल संवत् अनुसार नयाँ वर्ष प्रारम्भको दिन पनि भएकाले शुभकामना आदानप्रदानसहितको हर्षोल्लासको रौनक हुने गर्दछ।

    ५) कार्तिक शुक्ल द्वितीया अर्थात भाइतिहार
    यो दिनलाई तिहारको प्रमुख दिन अर्थात पाँचौं दिन हो। जसलाई भाइतिहार अर्थात भाइटिका भनिन्छ। यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई श्रध्दा र भक्तिपूर्वक टीका लगाइदिन्छन्। धार्मिक आस्था र विश्वासका आधारमा यस दिन दिदीबहिनीले यम-यमुना, यमराज, यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गर्ने गरिन्छ। पात्रो अनुसार साइतमा दिदीबहिनीले दाजुभाइको चीरायु, सुस्वास्थ्य, सुख, शान्ति, ऐश्वर्यको कामनासहितको प्रार्थना गर्दै निधारमा सप्तरंगी टीका, दूबो, मखमली, सयपत्री तथा गोदावरीको माला लगाइदिन्छन्। धार्मिक विधि अनुसार भाइटिका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई सगुन, प्रसाद, सेलरोटी, मिठाईं, फलफूल, मसला आदि प्रदान गर्ने र दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा प्रदान गर्ने प्रचलन छ। यस दिन दिदीबहिनीले हृदयदेखिकै प्रार्थना गरेका कारण खुसी भएका यमराजको आदेश अनुसार यमदूतले धर्तीबाट मानिसलाई यमलोक नलैजाने धार्मिक विश्वास रहिआएको छ। बहिनी यमुनाको निम्तो मान्न दाजु यमराज यमलोकबाट धर्तीमा आएको र कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन बसेको धार्मिक कथन छ। जसलाई यमपञ्चक पनि भनिन्छ। यही पाँच दिनलाई नेपालमा नेपालीहरुले परापूर्वकालदेखि नै महान चाड ‘तिहार’ भनेर सम्बोधन गरी, हर्षोल्लासका साथ मनाउदै आइरहेका छन्।
    यसरी धार्मिक, साँस्कृतिक, सामाजिक, पारिवारिक, परम्पार, रितिरिवाज, पहिचान र गरिने विविध क्रियाकलापहरुका दृष्टिकोणले ‘तिहार’ बहुआयामी भएको र चाडको महिमा, गरिमा, पहिचान, मर्म र महत्व वृहत रहेको पुष्टि हुन्छ। तसर्थ, यस महान चाडलाई सोही अनुसार महत्वपूर्ण रहेका पाँचैं दिनको प्रतिनिधित्व गर्ने वृहत् नाम ‘तिहार’ नै भनेर सम्बोधन गरौं ! शुभकामना आदानप्रदान गरौं ! प्रचाप्रसार गरौं ! संरक्षण र सम्वर्द्धन गरौं ! र, धार्मिक आस्था, विश्वास, मर्म, विधि र क्रियाकलापहरुलाई केन्द्रमा राखेर सक्दो वृहत रुपमा हर्षोल्लासका साथ मनाऔं भनि सबैलाई अपिल गर्दै नेपाल र नेपालीको मौलिक पहिचान बोकेको यो वृहत महान चाड ‘तिहार’ को सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !
    धनधान्य हुनुका साथै ऐश्वर्य मिलोस् !
    माता लक्ष्मीले सदा बास गरुन् !

  • एमाले महाधिवेशनमा १५३६ जना प्रतिनिधी सहभागी हुने

    एमाले महाधिवेशनमा १५३६ जना प्रतिनिधी सहभागी हुने

    काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय पार्टीले गरेको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले चितवनमा मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी गराउने पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

    शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकका लागि प्रस्ताव तयार पार्न बसेको स्थायी कमिटीले महाधिवेशनमा उक्त संख्यामा प्रतिनिधि सहभागी गराउने निर्णय गरेको हो । प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेपछि कार्यान्वयन हुनेछ । एमालेमा ७ लाख २१ हजार पार्टी सदस्य छन् । उनीहरूमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गरिने भएको छ ।

    १०औं राष्ट्रिय महाधिवेशनमा पार्टीको भूगोल कमिटीबाट ११ सय ९६ प्रतिनिधि निर्वाचित भएर आउने छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा ३ जना समावेशी रूपमा चयन हुनेछन् । महाधिवेशनको तयारीका बारेमा निर्णय लिनका लागि एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बोलाइएको छ ।

  • रुदानेप्रति दुईशब्द

    रुदानेप्रति दुईशब्द

    कुमार न्यौपाने, न्युयोर्क

    केही समयअघि “रुपचन्द्र बिष्टको वायोपिक ‘रुदाने’ नाउँको चलचित्र बन्ने भयो” भनि एउटा समाचार निस्कियो । सोही समाचार पछ्याउँदै जाँदा चलचित्रको ट्रेलर पनि हेर्न पाईयो । हेर्दा खुसी लाग्यो, यो मानेमा कि आक्कलझुक्कल भएपनि उनै रुदानेको ओजमा हुर्कन पाएको थिएँ । संगसंगै चिन्ता पनि भयो कि उनको वास्तविक जीवनको संघर्ष, थाहाको सत्यसंगको सामिप्यताको आन्दोलनको उत्कर्ष, उनको राजनैतिक निष्ठा र जिवनको उत्तरार्धमा उनि माथि छरिएका केही भ्रम र मृत्युसम्मको कथा जिवन्त लयमा पर्दामा आउँछ कि आउँदैन होला ? किनकि उनिसंग म कतैकतै, झल्याकझुलुक भएपनि ठोक्किएको छु, मिथक झैं लाग्ने गरी उनको जीवन संर्घषहरु सुनेको छु । कसैको जिवनगाथालाई कलाको माध्यमबाट जीवन्त प्रस्तुति दिनसक्ने बलिउड र हलिउडको जस्तो अनुभव हाम्रोमा कमी छ । हाम्रो चलचित्र निर्माणको अनुभव हेर्दा यो बिधामा बिगतमा गरिएका कामहरु त्यस्तै देखिन्छ । के जुन व्यक्तिमा आधारित सामग्री प्रस्तुत गर्ने हो, सोबारे यथेष्ठ अध्ययन त गरिन्छ ? चलचित्रले सो व्यक्तिको व्यक्तित्वलाई न्याय त गर्छ ?


    मकवानपुरको पर्यटकीय ठाँउ दामनमा जन्मिएका रुदाने (रुपचन्द, दामन, नेपाल) को जीवनिमा बन्न लागेको चलचित्रले हामीले बाल्यकालमा हेटौडाको सेरोफेरोमा भोगेका घटनाहरु र सुनेका कथनहरु बोक्छ कि बोक्दैन होला ? यस्तै प्रश्नहरु मनमा खेल्दै गर्दा आफैंसंग सम्बन्धित केही घटनाहरु सम्झन्छु । उनीसंगको पछिल्लो भेटका मुहारचित्र र शब्दहरुको सम्झना छ । त्यो मेरो बुवाको पाइला पच्छ्याउदै जाँदाको अवसरमा कुराकानीको सन्दर्भ हो । मेरा लागी २०५२ साल तिर कालिमाटिस्थित उनको निर्माणाधिन घरको आँगन, पुरानो कालो अनि फराकिलो मर्सीडिज गाडी, काठ र फलामका थुप्राहरु, भाँचिएका, च्यातिएका कुर्सीहरु र थाहाको प्रचारबाट जम्मा भएका जुटका बोराहरु भरीएका पाँच, दश, पच्चिस पैसे ढ्याकहरु सबै अनौठा र नौला थिए । त्यो देख्दा आज पनि आँखा ताजै भैदिन्छ । अझ उनले मप्रति प्रयोग गरेका शव्दहरु बेलाबेला मानसपटलमा आइरहन्छन । दुई हात जोडी नमस्कार साटासाट भएपछि उनले मेरो बुवालाई भनेका थिए । “दाजु, केटो त लाठे भएछ, के गर्दैछ आजकाल यो भाते ?” भातेको झटारो खाएपछि अलिपर लडिराखेको मुडा देखाउदै भने ‘थकाई लागेको भए उ त्यो उठाएर बस’ । म दंग यसैमा थिएं कि मेरो बुवालाई उनले तपाई भनेर सम्बोधन गरे र मलाई बस्न अनुरोध गरे । तर जेमा बस भनेका थिए, त्यसमा बडेमानको भ्वाङ्ग थियो, मैले यस्तो उस्तो भन्न सकिन र चुपचाप आफुलाई सम्हाल्दै बसें । आज लाग्दैछ, उनले हरेक नागरिकलाई सिकाउन खोजेको पनि यही होला, कि तिम्रो लागी कसैले गरिदिदैन । जे गर्नुछ आफैं गर । बुवासंगको दोहोरो गफगाफमा यही कुरा याद छ कि ति थुप्रा सिल्वरे ढ्याक पैसाको सटहीबाट केही थान विद्यालयहरु त बन्लान नि ? त्यो बनाउनु छ । जिवनको उत्तरार्धमा समेत रुदानेमा देखिएको नम्र भावमा पनि उही बेलाको जस्तो परिवर्तनकारी विचार नै थियो । युवाकालको जस्तो कुदाइ थिएन होला, भाषण थिएन होला, उत्तेजना नहोला, तर समाज (काम गर्नु भन्दा पहिला थाहा पाएर) यसरी नै बदल्न सकिन्छ भन्ने सोच भने बरावरी थियो । अझ उच्च थियो ।
    हेटौंडा सिमेन्ट रोडको कच्चीबाटोमा धुलो उडाउदै कुदेको रातो भेस्पा स्कुटर, गाँउटोल थर्काउने त्यसको आवाज, स्कुटर अगाडी ठुलो सेतो अक्षरको थाहा चिन्ह, खैरो/कालो रङ्गको खुकुलो ओभरकोट, गह्रुगों आवाज र आँखाभरी एउटा जागरणको भोक । यी सबै मानसपटलमा नाच्छ आज र भन्छ त्यो मान्छे गज्जवको थियो र त्यो आवाजले बालक, युवा, बृद्धहरुको सामाजिक, आर्थिक समानता र न्याय बोल्थ्यो ।

    उनी जति बजोडले भाषण गर्थे उस्तै बेजोडको लेखाई थियो । आफ्नो माटोको सुगन्ध बोल्ने उनको साहित्यिक कृतिहरुले एउटा सुन्दर सपना बोक्ने गरेको पाइन्थ्यो । त्यसले सदा परिवर्तन र विचार बोल्थ्यो, क्रान्ति बोल्थ्यो । उनी लेख्थे, “चारमाना माटोसंग तेरो नाता पर्यो भनेर
    ​​​​माटाको भाँडाले तँ सित दोस्ति गर्यो भनेर
    ​​​​बसिस कैद गमलामा सारा पृथ्वी छोडेर” ।
    रुदाने नै नेपालको राजनैतिक इतिहासमा आफुले लेखेको पर्चा बिक्री गरी चुनाव लड्ने पहिलो नेपाली नेता बने । उनको राष्ट्रप्रेम र जनताको दुख प्रतिको आवाज सडक र सदनमा उस्तै गरी गड्गडाउँथ्यो । भ्रष्टाचारीहरुको दोहोलो काढ्ने क्षमता राख्ने रुदानेको अगाडी भ्रष्ट, बेइमानहरु टिक्न सक्दैनथे । थाहा अभियानलाई अघि बढाउदै लेखिएका उनका कृतिहरु निकै छन, ति मध्ये एक चर्चित भनाई यस्तो पनि छ ।
    “बुद्धले थाहा पाएर बुद्ध बने
    क्राइष्टले थाहा पाएर क्राइष्ट बने ।
    संसारका सबै मानिसहरु थाहाका उपज हुन
    सप्रेको देश थाहा पाएर सप्रे विग्रेका देश भ्रममा परेर विग्रे ।
    भ्रमैभ्रममा वाँचेर बिग्रेको यो देशको एउटा नागरीक तपाई थाहा पाउँनुस, देश सप्रिन थालिहाल्छ ।”
    आफुलाई चिन, आफ्ना कमिकमजोरी बुझ, आफैंलाई थाहा पाउ अनि मात्रै तिमीले परिवार, समाज र देश बनाउन सक्छौ । नत्र तिम्रो जिवन व्यर्थ छ । उनि यसै भन्थे । आफ्नो काम आफैं गर !
    दुई बच्चाका बाबु रुदानेले विवाहका लागी असामान्य समय पौष महिना रोजे, भोजभतेरले सामाजिक न्यायमा विचलन ल्याउने भन्दै आफैले भोजको अन्त्य गरे । देश र समाज नै उनको पहिलो प्रथमिकता थियो, परिवारसंगसंगै हिड्न या समय दिन नसक्दा पारिवारुक सम्बन्ध उति प्रिय बनेन । तथापि नयाँ प्रयोगहरुमा बिश्वास गर्ने रुदाने कहिले चुनाव लड्थे, जित्थे/हार्थे, कहिले बाख्रा पालन गर्थे, कहिले महिनौं एकान्तमा हराउँथे । जनजनमा श्रुति झैं बनेका उनका कयौं गतिविधिहरु निकै चाखलाग्दा हुने गर्थे ।
    ति मध्ये एक समय नारायणी नदिमा हामफाली आत्मदाह गरे या हराए भनि व्यापक चर्चा चलेको केही महिनापछि दार्शनिकको भेषमा प्रकट भई शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरणको विषयमा गाँउगाँउ डुली नागरीकहरुलाई प्रशिक्षण गर्ने, एक घर एक श्रम भनि कुनैपनि बिकास निर्माणको काममा सबैलाई सहभागीता गराउँथे, गाँउगाँउ महिनौं डुल्दा सामान्य गरिव जनताले पकाएको खानेकुरा खाई उब्रेको छ भने त्यही मागी खान्थे र छिडिमा सुत्थे जस्ता कथाहरु प्रसस्तै छन । उनको अति सामान्य जिवनयापनले हरेक मानिसमा एक अलग छाप छोड्न सफल भएको थियो । एक सम्भ्रान्त परिवारका सदस्य भएतापनि समाज र सत्य, निष्ठा राजनीतिको लागी सबै सुखसुविधा त्यागेको उनको पाइलैपिच्छेको व्यवहारले देखिन्थ्यो ।
    प्रायः सबैलाई तँ भनि सम्बोधन गर्ने रुदानेलाई यही आरोप थियो कि उनी निकै रुखो र बहुलठ्ठी मानिस हुन । जहिले पनि जनताको प्यारो नेता भएर वाँचेका नेता रुदाने कस्को आँखामा अटाउन सक्दैन थिए र कसले अनेक आरोप लगाउँथे होला, सामान्य रुपमा नै अनुमान गर्न सकिन्छ । प्रारम्भमा कम्युनिष्ट पार्टिको सदस्य लिएका रुदाने केही समयपछि नै पार्टी परित्याग गरी एक्लो अभियानमा हिडेको देखिन्छ । कुरा एक र काम अनेक गर्नेहरु कम्युनिष्ट हुन सक्दैन भन्ने रुदाने विचारमा कहिले विपी जस्ता देखिन्थे, कहिले चे जस्ता । जे भएपनि उनको द्येय नै अशिक्षाले व्याप्त समाजमा शिक्षा र प्रत्येक नागरिक आफै जागरुक नभै समाज परिवर्तन हुन सक्दैन र बेइमानी नेताहरुले अशिक्षा र सोझोपनको फाइदा लिइरहन्छन, जनता चुसिरहन्छन भन्ने थियो ।

    उनको यो विचार त्यो बेला पनि सान्दर्भिक थियो, आज पनि छ र भोली पनि उत्तिकै रहिरहने छ । उनको बिषयमा बन्न लागेको चलचित्रले साच्चिकै उनको गहन विचार पर्गेलोस, नागरिकलाई फेरी जागरुक बनाओस र राजनीतिक बिकारहरुलाई पखालोस् ।

  • बृहत् रुपमा मनाऔं महान चाड- बडा दशैं

    बृहत् रुपमा मनाऔं महान चाड- बडा दशैं

    सुपेन्द्र बस्नेत, बोष्टन

    दशैं आयो, खाउँला पिउँला ।
    कहाँ पाउँला – चोरी ल्याउला ।
    धत्त पापि म त छुट्टै बसौंला ।।

    निकै महत्पूर्ण सन्देश बोकेका यि हरफहरुमा भाखा हालेर बाल्यकालमा खुबै खेलिन्थ्यो। नेपालीहरुको महान चाड बडा दशैं नजिकिन थालेपछि यो निकै प्राथमिकताका साथ गुन्जिने गर्दथ्यो। जो आजसम्म पनि प्राथमिकताका साथ स्मरण गरिने गरिन्छ।र, निरन्तर गुन्जिनै रहेको छ।
    वर्षा ऋतु समाप्ति पछि जब सरद ऋतुको आगम हुन्छ। तब, बिहानी पख हल्का हुस्सु लाग्न थालेर चिसोको अनुभूति हुन्छ।दिउसो पारिलो घाम लागेर घमाइलो र आकाश खुलेर रमाइलो देखिन थाल्छ। गाइने किरा(फिरफिरे)हरुको आगमन, झ्याकिरीहरुको झ्याउ झ्याउ, बिहानी पख चराको चिरबिर, बत्तिमा पुतलीहरुको आकर्षण आदि इत्यादिले नेपालीहरुको महान चाड बडा दशैं आएको सन्देश दिन्छ।
    यतिबेला स्वदेशमा रहने नेपालीलाई मात्र हैन, विदेशमा रहने नेपालीहरुलाई पनि नेपालीहरुको महान चाड ‘बडा दशैं’ ले मज्जाले छोइसकेको छ।हिन्दु धार्मिकग्रन्थ अनुसार, रामले रावरणको र महादुर्गा भवानीले महिसासुर राक्षसको बध गरेको खुशीयालीको महाउत्सव हो यो बडा दशैं।जसलाई असत्य माथि सत्यले विजय प्राप्त गरेको महत्वपूर्ण क्षणका रुपमा स्मरण, चर्चा, चित्रण र पूजन गर्ने गरिन्छ। यस अर्थमा धार्मिक दृष्टिकोणले बडा दशैंको मूल मर्म शक्ति र सत्यको पूजा, अर्चना, साधना र आराधन हो। सामाजिक, साँस्कृतिक ,परम्परा, चालचलन र रहनसहनका दृष्टिकोणले बडा दशैंलाई पारिवारिक मिलन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, एकता, पहिचान र मनोरञ्जनको एक महान महोत्सवको रुपमा चित्रण र व्याख्या पनि गर्न गरिन्छ।तर, मुलत: बडा दशैंको मूल मर्म धार्मिक क्रियाकलाप, आस्था र विश्वासमा नै केन्द्रिकृत रहेको छ। हिजोआज यस महान पर्वलाई ‘विजयादशमी’ भनेर सम्बोधन गर्ने, चिन्ने, चिनाउने, व्याख्या गर्ने र सोही अनुसार मनाउने गरेको पाइन्छ। खास गरी सामाजिक सञ्जालहरु र सञ्चार माध्यमहरुमा जानेर वा नजानेर यस महान चाडलाई ‘बडा दशैं’ को सट्टा प्राथमिकताका साथ ‘विजयादशमी’ मात्र भनेर सम्बोधन गर्दै शुभकामना आदानप्रदान गरिरहेको देखिन्छ।जसले नजानिदो ढंगले बृहत महिमा, गरिमा र महत्व बोकेको चाडलाई संकुचित र कुन्ठित गरिरहेको छ।अझ भनौं चाडको मूल मर्मलाई नै ओझेलमा पारिरहेको छ। हिन्दु धार्मिक पात्रो अनुसार सोह्र श्राद्ध (भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथि समाप्त भएर नौरथा प्रारम्भ भएसंगै बडा दशैं शुभारम्भ हु्न्छ।मुलत: जमरा राख्ने दिन घटस्थापनादेखि टिका लगाउने दिन दशमीसम्मको दश दिनलाई बिषेश मानिन्छ। यद्यपि, पूर्णिमाको दिनसम्म दशैंको टिका लगाएर हर्षोल्लास मनाउने चलन छ।
    हिन्दु धर्मग्रन्थ अनुसार आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात घटस्थापनादेखि नवमीसम्मको हरेक दिन नवदुर्गाको भिन्न भिन्न स्वरुपले दशैंको क्षेत्र बृहद रहेको पुष्टि गर्दछ।
    धार्मिकग्रन्थका अनुसार महिसासुर लगायतका दानवहरुको बध गर्ने अभियानका क्रममा नौं रुप धारण गरेको विश्वास गरिन्छ। त्यसैले दुर्गालाई नवदुर्गाका नामले पनि पुकारिने गरिन्छ। यसरी धार्मिक ग्रन्थ अनुसार हरेक दिन(नौ दिन) र असत्य माथि सत्यको विजय प्राप्त भएको दशमीको दिन, जसलाई विजयादशमी भनेर पुकारिन्छ, सहितलाई समेटेर संयुक्त रुपमा ‘बडा दशैं’ भनेर सम्बोधन गरिनु पर्दछ। नकि ‘विजयादशमी’ मात्र । तब मात्र यो बृहत चाडको यथार्थ मर्म, महत्व, गरिमा र महिमा दर्शाउन र बचाउन सकिन्छ । जसलाई पुष्टि गर्न नवदुर्गाको नौं रुप, त्यसको शक्ति, भूमिका र महत्वलाई यसरी उल्लेख गरिएको पाइन्छ ।

    १) शैलपुत्री – हिमालय पर्वतकी पुत्रीको रुपमा उत्पन्न ६ वटा हात भएकी नवदुर्गाको पहिलो रुपलाई शैलपुत्री भन्ने गरिन्छ। जसको हातहरु शंख, चक्र, गधा, पध्म, त्रिशुल र डम्बरुले सुशोभित भएका हुन्छन्। महिसासुर सहित दानवहरुले देवगण माथि अति नै अत्याचार गरेपछि दानवहरुको नष्ट गरेर देवगणको रक्षा गर्ने महाअभियान सफल पार्न आफ्नो रुपधारण गरेकी नवदुर्गाको पहिलो रुप हो यो। सोही अनुसार यस दिन उनको पूजा, अर्चना र साधना गर्ने गरिन्छ।
    २) ब्रम्हचारिणी – नवदुर्गाको दोस्रो रुपलाई ब्रम्हचारिणी भनिन्छ। यो पाँचवटा हात भएकी ब्रम्हचारिणी शंख, चक्र, गधा, पध्म, जपमाला तथा अमृतले भरिएको अमृतघडाले सुशोभित रुप हो। जो उनको ध्यान जपको रुप हो। शास्त्र अनुसार, नव दुर्गा महिसासुरको वध गर्नु उचित हो वा होइन ? भन्ने यकिन गर्नका लागि आत्मज्ञान प्राप्त गर्न यो रुप धारण गरी ध्यान जपमा लिन भएकी विश्वास गरिदै आइएको छ।

    ३) चन्द्रघण्टा – चार हातमा शंख, चक्र, गधा र पध्म बोकेकी र मस्तकमा घण्टा आकारको अर्ध चन्द्र रहेको नव दुर्गाको तेश्रो रुप चन्द्रघण्टा हो।शास्त्र अनुसार, घण्टालाई सञ्चार र चन्द्रलाई फैलाउनुको रुपमा अर्थ्याइएको पाइन्छ। यस दिन सोही अनुसार दुर्गाको पूजा, अर्चना, आराधन र प्रार्थना गर्ने गरिन्छ।

    ४) कुष्माण्डा – दुर्गा भगवतीको चौथो रुप कुष्माण्ड हो। महिसासुरको बध गर्ने अभियान अन्तरगत ब्रम्हाण्ड उत्पन्न गर्नका लागि उनले यो रुप धारण गरेको मान्यता रहेको छ। आफ्नो मुस्कानबाट ब्रम्हाण्ड उत्पन्न गरेकी हुनाले यिनलाई कुष्माण्डा भनिएको हो। देवीले महिसासुरलाई यस रुपले आफ्नो बसमा ल्याएकी थिइन्। जसलाई शक्तिशालिनी तथा शान्तिदायनी रुप पनि भन्ने गरिएको छ। नवरात्रको यस दिनलाई शक्ति पूजाको विशेष दिन पनि मानिन्छ ।

    ५) स्कन्दमाता – देवताका सेनापति स्कन्द कुमारकी माताको रुपलाई स्कन्दमाता भनिन्छ।दुर्गाले यस रुप धारण गरेर सत्यका लागि असत्यका विरुद्ध लड्न सेना तयार पारेको कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।

    ६. कात्ययानी –दुर्गाको छैटौं रुपलाई कात्ययानी भनिन्छ। कात्ययानले घोर तपश्या गरेर दुर्गालाई छोरीको रुपमा प्राप्त गरेकाले यस रुपलाई कात्ययानी भनिएको पाइन्छ। महिसासुरले आफ्नो मृत्यु जल, थल र वायु कहि पनि हुन नसकोस् ।र, कुनै पनि हतियारबाट नहोस् भनि बिष्णुबाट बरदान पाएका थिए। जसले गर्दा उनको बध गर्न असम्भव झै थियो। यस्तो निकै गम्भीर अवस्थालाई दुर्गामाताले यही रुपमा गहन चिन्तन मनन गरेर उसको बध गर्ने सही उपाय पहिचान गरेको विश्वास गरिन्छ ।

    ७) कालरात्री – यो दुर्गाको सातौं रुप हो। यो रुपमा दुर्गाको दाँयापट्टि ५ र बाँयापट्टि ४ हात रहेका छन्। उनको यस रुपको बाँया हातमा मुसल र दण्ड र दाँया हातमा त्रिशुल र तरवार सुशुजित छन्। देवीको यस अद्भुत शक्तिको कालरात्री स्वरुपलाई विनाशिनी पनि भनिन्छ । देवीले यस रुपमा महिसासुरलाई आफ्नो काखमा राखेर नङको सहायतामा पेट चिरेर बध गरेकी थिइन्। जसलाई असत्य माथि सत्यको विजय भएको विश्वास गरिन्छ। यसै विश्वासका कारण देवीको असत्यमाथि सत्यको विजय अभियान सफल भएको दिन भन्दै देवीको पूजनीय कर्मको सम्मान स्वरुप बली दिने प्रचलन चलिआएको मानिन्छ। जस अनुसार सप्तमीदेखि महाअष्टमीको दिनसम्म राँगा, बोका, भाले, हाँस, भेडाहरुको बली दिने प्रचलन छ। हिंसा गर्न नचाहनेहरुले भने घिरौँला, लौंका जस्ता तरकारीका कैडालाई पशुको स्वरुप दिएर बली दिने प्रचलन पनि छ।अहिंसावादीहरुले भने नवदुर्गालाई कदर स्वरुप नरिवल चडाउने गरेको पाइन्छ।

    ८) महागौरी – धर्मशास्त्रले नवदुर्गाले महिसासुरको बध गर्ने महाअभियानमा सफलता प्राप्त गरिसकेपछि आफ्नो आठौं रुपमा सबै बस्त्र तथा पहिरण सेतो धारण गरेको बताएको छ। शास्त्र अनुसार यस रुपमा उनले महिसासुर लगायतका दानवहरुको शरिर कुहाउने र उनीहरुलाई शान्ति दिलाउने काम फत्ते गरेको विश्वास गरिन्छ ।

    ९) सिद्धिधात्री – नव दुर्गाको अन्तिम रुप सिद्धिधात्री हो। यस रुपमा देवी दुर्गा बाँया हातमा अमृतघडा र दाँया हातमा स्वस्तिक तथा कमल र लिएकी छिन्। देवीले यस रुपमा यस अणिमा, महिमा, गरिमा, लधिमा, प्राप्ति, प्राकम्प, इशित्व र वशित्व नाम भएका आष्ट सिद्धि दिन सक्ने विश्वास गरिन्छ। नवमीको दिन शक्तिपीठ तथा देवीको पूजा, अर्चना, साधना र आराधना गर्नाले देवीको शक्ति र सिद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यहि विश्वासका आधारमा हिन्दु धर्मावलम्वीहरुले यस दिन माता नवदूर्गा भवानीको पूजा, अर्चना, साधना र आराधना गर्ने गर्दछन्।

    बडा दशैंको दशौं दिन (जसलाई ‘विजयादशमी’ भन्ने गरिन्छ) लाई विजयोत्सवको मुख्य दिन मानिन्छ । यो दिन देवताले दानव माथि अर्थात सत्यले असत्यमाथि विजय प्राप्त गरेको विजयोत्सव मनाउने हर्षोल्लासको दिन हो। यो दिन नव दुर्गा दानवी शक्तिमाथि र भगवान रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा हर्षोल्लासका साथ खुसीयाली मनाउदै नव दुर्गा भवानी र भगवान श्री रामको पूजा, अर्चना, आराधन, साधना र प्रार्थना गर्दै विजयको प्रसाद ग्रहण गर्ने गरिन्छ।जस अनुसार, निधारमा विजयको प्रतिक रातो अबिरमा मुछिएको अक्षताको टिका र घटस्थापनाका दिन अर्थात नव दुर्गाले महिसारसुरलाई बध गर्ने अभियान फत्ते गर्न पहिलो रुप धारण गरेको दिन राखिएको जमरा शिरमा लगाउने चलन छ। यो नेपाली पात्रो अनुसार हरेक वर्ष आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिमा पर्दछ। यस दिन एक आपसमा उत्तरोत्तर प्रगति उन्नति, आरोग्य र दिर्घायुको कामनासहित शुभकामना आदानप्रदान गर्नुका साथै आफन्तजन, नातेदार, नाता कुटुम्ब, गुरु, मान्यवरहरुको हातबाट टिका तथा जमरा, दक्षिणा ग्रहण गर्दै अमुल्य गआशिर्वाद लिने प्रचलन चलिआएको छ।

    बडा दशैंमा टिका लगाउदा पुरुषलाई दिने आशिर्वाद यस प्रकार रहेको छ :

    “आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
    ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
    दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
    विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।”

    यसको अर्थ हो :-

    द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु होस्। दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस्।दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस्।हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता होस्।विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कृति वा प्रशिद्धि होस् ।

    महिलालाई दिइने आशिर्वाद यस प्रकार रहेको छ :

    “जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
    दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।”

    यसको अर्थ हो:-

    जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु।भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु।कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु।दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु। क्षमाकी देवीले जस्तै क्षमा दिनु।शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्यको संकल्प लिनु।

    बडा दशैंको बृहत गरिमा, महिमा र महत्वका कारण टिका, जमरा, प्रसाद, आशिर्वाद र दक्षिणा ग्रहण गर्ने कार्य, पूर्णिमाको दिनसम्म गर्ने गरिन्छ। वर्ष दिनमा एक पटक विषेश र भव्य रुपमा मनाइने यस महान चाडलाई थप रौनक र हर्षोल्लासमय बनाउन शक्तिपीठहरुको दर्शन तथा पूजा आराधन गर्नुका साथै आफन्तजनहरुसंग भेटघाट गर्ने,
    नयाँ नयाँ बस्त्रहरु लगाउने, मिष्ठान्न भोजन गर्ने गराउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती, चोक चौतारो, मठमन्दिर सरसफाइ तथा रंगरोघन गर्ने, पिङ खेल्ने, चङ्गा उडाउने, जस्ता क्रियाकलापहरु पनि गरिन्छ।यस अर्थमा ‘बडा दशैं’ धार्मिक ,साँस्कृतिक, सामाजिक , पारिवारिक , शैक्षिक, ज्ञान, पहिचान, परम्पार, रितिरिवाज, एकता, उत्सव आदिका दृष्टिले बहुआयामिक महान चाड हो।

    यसरी घटस्थापनादेखि नवमीसम्म नव दुर्गाको नौं रुपको पूजा, अर्चना, आराधना, प्रार्थना र उपासना गर्ने र दशमीका दिन टिका, जमरा, प्रसाद, दक्षिणा र आशिर्वाद ग्रहण गर्दै हर्षोल्लासका साथ बृहत रुपमा मनाइने चाड भएकाले यो चाडलाई केबल ‘विजयादशमी’ मात्र नभनेर महान चाड ”बडा दशैं” कै नामले पुकारेर चाडको मूल मर्म अनुसार बृहत् रुपमा मनाउदै धार्मिक विधि र परम्पराको अनुसरण गर्ने, प्रचारप्रसार गर्ने, शुभकामना आदानप्रदान गर्ने, चर्चा परिचर्चा गर्ने, प्रवर्धन गर्ने र संरक्षण गर्ने गर्नु अपरिहार्य छ। नेपाल र नेपालीको सक्कली पहिचान पनि हो। यसर्थ, यस महान शुभ घडिमा सबैलाई यही नै अपिल गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! असत्य माथि सत्यको विजय प्राप्त गर्न आवश्यक शक्ति मिलोस् ! नव दुर्गा भवानीले सबैको कल्याण गरुन् !

  • हेर्दाहेर्दै फोहोरी बनेको न्युयोर्क सहर

    हेर्दाहेर्दै फोहोरी बनेको न्युयोर्क सहर

    कुमार न्यौपाने, न्युयोर्क

    बार्षिक ३.३ मिलीयन टन फोहोर उत्सर्जन गर्ने न्युर्योक सहरले उक्त फोहोर व्यवस्थापनको लागी बर्षेनी झण्डै ५०० मिलीयन डलर खर्च गर्छ । प्रत्येक दिन बेलुका १३ हजार टन फोहोर सडक छेउ थुपार्ने यो सहरले हालसालै फोहोर उठाउन गर्ने खर्चमा १०६ मिलीयन कटौति गरेपछि सहरको ६०% प्रतिशत फोहोरको व्यवस्थापनमा अन्यौलता छाएको छ । एउटा प्रख्यात पत्रिका लेख्छ, New York City is the greatest in the World-for trash. २०३० सम्ममा ल्याण्डफिल्स साइट नै नचाहिने गरी फोहोर व्यस्थापन गर्ने महत्वाकांक्षी परियोजना ल्याउने भन्ने योजना बुनेको सहरको आजको अवस्था हेर्दा कतै हाम्रो सुन्दर मेयरका सय दिनको सय योजना झैं लाग्न थालेको छ ।


    विश्वव्यापि रुपमा आफैंद्वारा उत्सर्जित फोहोरले जलवायू परीवर्तनमा पारेको प्रभावले अकल्पनीय परिणाम भोग्ने दिशातिर मानिसहरु पुग्दैछन । यो गम्भिर र गहन कुरा हो, पृथ्वी नै कसरी यतिविधि फोहोर भयो भन्दै खोज्ने हो भने हाम्रो गाँउघर, खोला खोल्साहरुमा फालिएका चाउचाउका खोलहरु, प्लास्टिकका बोतलहरु जिम्मेवार छन तर मात्रा र असरको हिसावले भने हजारौं गुणा जिम्मेवार ठुला खरबौं डलर कमाउने उद्योगहरु छन । अरबौं अरव पोल्टामा हाल्ने समाज र मानिसहरु मध्ये एक अमेरीकी, यसैको एक हिस्सामा पर्ने न्युयोर्कबासीहरुको नै शब्द पैंचो मागेर भन्ने हो भने न्युयोर्कको मेयर कामै नलाग्ने भए । त्यसो सुन्दै गर्दा काठमाण्डौंको मेयर बिद्यासुन्दरका सय दिनका सय योजनाको याद आयो । काठमाडौं र बिद्यासुन्दरसंग दाँज्न खोजेको त हैन तर यो सहरलाई मैले देखेदेखिको मात्रै कुरा गर्ने हो भने सफा र स्वच्छताको अवस्था निकै खस्केको छ ।

    एक दिन न्युयोर्क सहरको म्यानह्याटनको झण्डै मध्यतिर पर्ने युनियन स्क्वायर पार्कको बेन्चमा बस्दै गर्दा एक रैथाने न्युर्योकेलीले लोखर्केलाई बदम दिदै गरेकी बृद्घालाई फत्फताउँदै कराएको शब्दहरु पनि याद आयो । तिनी भन्दैथिए, के तिमीले यो लोखर्केलाई बदम ख्वाउदैछौ भन्ठानेको ? तिमीले त यो सहर चलाउने भ्रष्ट मानिसहरु र प्लेग फैलाउने मुसाहरुलाई सपोर्ट गर्दैछौ । यति भन्दै तर्कदै गर्दा ति बदम छर्दै गर्ने बृद्घाले कति बुझिन र मैले कति बुझें । त्यो बेला यस्तो भनाई सुन्दै गर्दा अप्रिय लागेको भएतापनि आज आएर ति व्यक्तिको भनाई साँचो हुदै गइरहेको न्युर्योक सहरको सव वे ट्रेन स्टेसनहरुमा देखिने मुसाका बथानहरु, बोतल र प्लास्टिकको थुप्रो र जमेका पानीमा भन्किएका झिङ्गा र लामखुट्टेहरुले देखाउन थालेका छन । कयौं सुकिला मानिसहरुले फोहोरका पोकाहरु फोहोर हाल्ने भाँडा आफ्नै अगाडि हुँदाहुँदै छेउमा फाल्दै लम्केको दृष्यहरु दैनन्दिन देखिन्छन ।


    न्युर्योक सहरको मुटु मानिने टाइम्स स्क्वायर्स र वरपरको दृष्यहरुले दिनरात ननिदाउने विश्वको उत्कृष्ट सहर भनेर चिनिएको यो सहर किन “गार्बेजको सहर” बन्दैछ । स्थानीय पत्रपत्रिकाहरुको हेडलाइनले भन्न थालेको छ ‘फोहोरको डङ्गुरको सहर अव हाम्रो रहर’ । यसले के भन्दैछ भने न्युर्योकको सान मानिने म्यानह्याटनको केन्द्र यस्तो फोहोरी बन्दैछ भने कसैको आँखामा नपरेका सहरका अन्य भागहरुको हालत कस्तो होला ? यसो भन्दै गर्दा सहरको सबै ठाँउ यही हालतमा छ भन्ने होइन तर अधिकांश भागमा यस्ता दृष्यहरु सामान्य हुन थालेका छन । कुनै बेला यही अमेरीकाको कुनै ठाँउ बिशेषको सरसफाइ र स्वच्छताको उत्कृष्ट व्यवस्थापन देखेर दङ्ग पर्दै राम्रा भावनाहरु पोखेको थिंए तर आज केही समयदेखि बसोवास गर्दै आइरहेको सहर देख्दा देख्दै नियमकानुन नमान्ने, असहिष्णु, जथाभावि फोहोर फाल्ने, ध्वनि प्रदुषण (एम्बुलेन्स र दमकलका चर्को स्वरहरु, उश्रृङ्गखलरुपमा हाँकेर ध्वनि आतंक मच्चाउने डर्ट मोटरसाइकलहरु, पुराना ट्रेनका लिकहरुबाट निस्कने कर्कश आवाजहरु, बाटो थर्काउदै अन्य यात्रुहरु वा पैदलयात्रीहरुको सातो जाने गरी गीत बजाउँदै हुइकिने गाडीहरु) गर्ने सहरको रुपमा अघि बढिरहेको पाइन्छ । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको ख्याल राख्नुपर्छ नत्र दण्डित हुनुपर्छ भन्ने न्यायका सिद्घान्तहरु यतैतिरबाट सापटी मागी पढेको सम्झना आउँछ । मेरो अधिकार र मैले जे गरेपनि हुन्छ भन्ने म बादिहरुको संख्यामा बढोत्तरीको कारणपनि यी र यस्ता अफ्ठ्याराहरु झेल्न सर्वसाधारणहरु बाध्य छन ।


    नगरपालिकाका कर्मचारीको आन्दोलन होस वा डम्पिङ्गसाइटको अव्यवस्थापन, जुनसुकै कारणहरु भएतापनि काठमाडौंको दिर्घरोगको रुपमा रहेको फोहोर व्यवस्थापन हामीले जीवनपर्यन्त देख्न भोग्न पर्ने देखिन्छ । बिभिन्न देशको उदाहारण दिइ अनेक बहानामा स्थायी समाधानहरु (मल वा मोहोर बनाउने कुरा) पन्छ्याउने काम सरकारी निकायहरुबाट नै भइरहेको छ । कयौं पल्ट फोहोरको थुप्रो छिचोल्दै हिंडनुपरेको सम्झना ताजै छ । कयौं नियम मिचेका घटनाहरु, कर्मचारीहरुले गर्नुपर्ने कर्तव्यबाट च्युत भएका अनुभवहरु छंदैछ, त्यस्तो बेला सोच्ने गरिन्थ्यो कि कुनै धनि देशमा यस्तो हुँदो हो त कस्तो सजायँ पाउथ्यो होला, कति जरिवाना तिर्न पर्थ्यो होला ! सुसासनले कसरी कठघरामा उभ्याउथ्यो होला । आज लाग्दैछ यी सबै एउटा मापदण्ड मात्रै हुन । नियम सबैले पालना गर्नु नै पर्छ भन्ने पनि लाग्न छोड्दैछ । यदि सबैले कडाइका साथ पालना गर्नैपर्ने हो भने न्युर्योक सहरको फोहोर उठाउने एउटा समय छ, कसरी फोहोर उठाउने भन्ने नियम र मान्यता पनि छ तर सधैं हामी के हेर्न बाध्य छौं भने तोकिएको समयमा फोहोर उठेको हुदैन, फोहोर थुपारेको ठाँउबाट पुर्णरुपमा फोहोर उठाइएको हुन्न र फोहोर फाल्नेले पनि फोहोर हाल्ने नियमीत झोलामा पोको नपारी जथाभावी छरपष्टरुपमा फालिएको देखिन्छ । यी दृष्यहरुले म जस्तो काठमाडौंको फोहोरदेखि आजित भएर धनि देशहरुमा कस्तो राम्रो व्यवस्थापन हुन्छ भन्दै आफ्नालाई गाली गर्ने मनहरुलाई झन बढी निचोरेको पाउँछु । फरक यत्ति हो कि यँहाका भित्ताहरुमा यहाँ फोहोर फाल्ने कुकुर अथवा गधा हुन भन्ने बाक्यहरु पढ्न पर्दैन ।
    यति भन्दाभन्दै यो सहरले सहर सफा राख्नको लागी कयौं उपायहरु नअपनाएको भने होइन । फोहोरको वर्गिकरण गरी फोहोर जम्मा पार्ने प्रणाली । सड्ने, नसड्ने र फेरी प्रयोग गर्न सकिने (रिसाइकल) भिन्दाभिन्दै राख्नु भनेर फोहोर हाल्ने भाँडाहरु प्रसस्त रुपमा राखिएको देखिन्छ । कुनै पनि घरभित्र भान्छाका फोहोरहरु भिन्नै जम्मा गर्ने गरी व्यवस्थापन गरेको हुन्छ । सर्सर्ति हेर्दा यो नै राम्रो उपाय हो तर त्यसको पालना भयो कि भएन भन्ने सबैभन्दा महत्वपुर्ण मानिन्छ । सबैभन्दा समस्या नै यहिनेर छ । अधिकांसले फोहोर छुट्टयाएर नराख्ने, फोहोर उचित ठाँउमा नपु¥याउने र पुगेपनि राखिएको भाँडामा नहाल्ने, फोहोर उचित समयमा नउठ्ने र फोहोर उठाउने कर्मचारीहरुले त्यहाँ भएको फोहोर वा छरिएका फोहोरहरु सफासंग नउठाउने आदत नै यस सहर फोहोर देखिनुको मुख्य कारणहरु हुन ।
    अर्को समस्या छ शौचालयको ।


    सहरको जनसंख्या र आकारलाई हर्ने हो भने सार्वजनिक शौचालय निकै न्युन देखिन्छ । पार्क, सार्वजनिक स्थल वा पर्यटकीय स्थानहरुमा पर्याप्त सर्वसुलभ शौचालय नभएको कारण सहरबासी लगायत पर्यटकहरुले निकै सकस भोग्न परेको कुराहरु विभिन्न समाचार र सामाजिक संजालहरुमा समेत पढ्न पाइन्छ । कल्पना भन्दा पनि बाहिर लाग्ने तर बाटो हिंड्दा यदाकदा सडककै कुनाकप्चेराहरुमा निर्वाध पिसाव गरिरहेको दृष्यहरु सामान्य जस्तो लाग्न थालेको छ । पर्यटकहरुको समस्या एकातिर छदैछ त्यहि पर्यटकहरु बोकी सहरलाई चलायमान बनाउने ट्याक्सी, उवर र लिफ्ट गरी झण्डै एकलाखको संख्यामा रहेको सवारी साधनका चालकहरुको प्रमुख गुनासो नै सार्वजनिक शौचालयको पहुच नहुनु हो । यसको बिकल्पको रुपमा मानिसहरु बाध्य भई अस्वाभाविक रुपमा दिसापिसाव गर्न बाध्य भइरहेका छन । सहर झनै दुर्गन्धित बन्दैछ ।
    यो सहर वरपर फोहोरलाई जम्मा गरी बिभिन्न प्रयोजनमा प्रयोग गर्न मिल्ने बस्तु बनाउने थुप्रै प्रशोधन केन्द्रहरु छन । तर ति पर्याप्त छैनन । फोहोर जम्मा गरी प्रशोधनको लागी न्युर्योकबाट पेन्सलभेनिया, ओहायो र साउथ क्यारोलीनासम्म पुर्याउनको लागी सयौं मिलीयन डलर बजेट खर्च पनि गरीरहेको छ तर समस्या ज्युँ को त्युँ किन छ त ! त्यस्ता फोहोर प्रसोधनपछि उत्पादन हुने मिथेन लगायत अन्य रसायनिक पदार्थको व्यवस्थापन नहुँदा विशेष गरी पानी प्रदुषित हुदै गएको पाइन्छ । सहरमा विभिन्न प्रयोजनको लागी प्रयोग भएको पानीलाई फिल्टर गरी पुनः प्रयोग गर्नमिल्ने बनाउने प्लान्टहरु प्रसस्त छन । तर फिल्टर गरीएको पानीको बिकार बस्तुहरुको बिसर्जन फेरी त्यही न्युर्योक सहर भइ बग्ने नदिहरु मै हुने गरेकोले बिशेषगरी इष्टरिभरको पानीको प्रदुषण स्तर निकै खराब छ, उस्तै उस्तै छ हडसनको पानी । समुन्द्रसंग प्रत्यक्ष जोडिएका नदिहरु भएकोले कतै बगाएर लैजान्छ भन्ने बिकल्पले पनि काम गरेको देखिदैन । अर्को तर्फ सहरबासीलाई जाडोको बेला घर तातो पार्न प्रयोग गरीने ग्यास र बिद्युत उत्पादन गर्ने नदिकनारका ठुला ठुला प्लान्टहरुबाट बिसर्जित रसायनिक पदार्थहरु र गर्मीको बेला प्रयोगमा आउने वातानुकुलीत मेसीनहरुबाट उत्सर्जन हुने ग्यास र रसायन मिसीएको पानी पनि त्यही नदिहरु मै निर्वाधरुपले फालिनुले नदिको पानी निकै प्रदुषित छ । यी र यस्तै समस्याहरुको समाधानको लागी न्युर्योक सहर वरपरको पानी र जैविकतालाई पुर्नजिवन दिन कै लागी ‘बिलीयन ओएस्टर रेस्टोरेसन प्रोजेक्ट’ संचालनमा ल्याएको बर्षौं भएतापनि खासै प्रगति नभएको देखिन्छ । बागमतीमा अरबौं खर्च भइसक्दा पनि फोहोर उत्तिकै हुनुमा जसरी बागमतीमा मिसाइएका ढलहरु र नदि किनारका कलकारखाना प्रमुखरुपमा दोषि छन त्यस्तै जति ठुलो प्रोजेक्टसहरु भएपनि नदिको पानीमा बिसर्जित पदार्थहरुको पुर्ण रोक नभएसम्म पानी सफा गर्ने मनसाय पुरा हुने देखिन्न । उत्सर्जीत चिजबस्तु वा पदार्थहरु्को बिर्सजन त हुनै पर्छ । बिसर्जनले फेरी उही मानिसहरुलाइ नै पिरोल्छ भने त्यस्तो पदार्थहरुको किन उत्सर्जन गरिएको होला ? सायद यी प्रश्नहरुको पुर्णरुपमा चित्तबुझ्दो उत्तर कोहीसंग पनि नहुन सक्छ ।


    न्युर्योक भन्दा तिन दोब्वर जनसंख्या भएको टोकियोको फोहोर व्यवस्थापनको उत्कृष्ट उदाहारण न्युर्योकदेखि काठमाण्डौंसम्म सबैका लागी उपर्युक्त हुने देखिन्छ । टोकियोमा प्रयोग भएको फोहोरलाई पुन प्रयोग गर्नमिल्ने सामग्री बनाउने आधुनिक प्रविधिले फोहोरबाट निर्मित सामग्रीहरुबाट सहरलाइ नै आवश्यक पर्ने निर्माण सामग्रीहरु, साजसज्जा र ठुलाठुला पार्कहरु र हरियाली टापुहरु निर्माणमा उल्लेखनिय योगदान गरेको पाइन्छ । आज चिन, कोरीया, सिगांपुर, थाइल्याण्ड र कयौं युरोपेली मुलुकहरु लगायतका दर्जनौं देशहरुले सोही रिसाइकल प्रबिधि र फोहोर नष्ट गर्ने Incinerator प्रविधि अपनाउन थालेका छन । विश्वका उत्कृष्ट प्रमुख सहरहरु आधुनिक प्रविधिको प्रयोगमा न्युर्योक भन्दा अगाडि देखिएका छन । उनिहरुले सहरको फोहोर व्यवस्थापनमा “Pay as you throw” भन्ने नीति अपनाएको पाइन्छ । जसले सहरको फोहोरको व्यवस्थापनमा न्युर्योकले खर्च गर्ने परम्परागत करको पैसा भन्दा भिन्नै कोषको व्यवस्था गरी फोहोर उत्सर्जन गर्नेहरुलाई नै जागरुक र जिम्मेवार बनाएको पाइन्छ । आजको बिज्ञान र प्रविधिले सकिन्छ भने यस्ता सहरहरुको फोहोरको उचित व्यवस्थापन गरौं हैन भने व्यवस्थापन गर्नै नसकिने अजंगका सहरहरु निर्माणको के औचित्य !

  • ज्ञान सनातन : पार्वणश्राद्ध के हो ?

    ज्ञान सनातन : पार्वणश्राद्ध के हो ?

    सुरेशराज पौडेल
    उप्रा वाल्मीकि विद्यापीठ

    सनातन वैदिक धर्म प्राचीन ऋषिमहर्षिद्वारा संस्कार गरिएको उत्कृष्ट धर्म हो । मानिस जन्मेपछि मर्दछ । जीवन रहेसम्म राम्रा काम गरेमा पूण्य र नराम्रो गरे पाप भोग्नुपर्दछ भन्ने पुराण र स्मृतिहरूमा उल्लेख पाइन्छ । मानिस जन्मँदा होस् या मर्दा विधिपूर्वक संस्कार गरिन्छ । असल संस्कार गरेर मात्र मनिस सुसंस्कृत हुने गर्दछ जुन कुरा आजीवन उसमा रहनुपर्छ ।
    मानिस मरेपछि पनि और्ध्वदेहिक क्रिया (दहनदेखि सपिण्डीकरण) तेह्रौं दिनमा उत्तरपाथेय श्राद्ध सम्पन्न भएपछि वर्षदिनसम्मका मासिक श्राद्धहरू गरेर वर्ष दिनको वार्षिक श्राद्ध पूरा भएपछि पूर्णरूपमा प्रेतत्त्व निवृत्त भई मृतकले पितृलोकको यात्रा गर्दछ र आफ्ना पूर्व पितृहरूसँग गएर बस्न पाउँछ त्यसरी पितृपद प्राप्त गरेका पितृहरूले मात्र कर्ताले प्रदान गरेका कव्यवस्तुको भोग गर्न पाउँछ्न् र त्यही परम्परामा प्रत्येक मरेतिथिमा (क्षयाह) र पर्वमा श्राद्ध गरेर दिवंगत पितृहरूलाई खुसी पारिन्छ ।

    श्राद्ध के हो ?

    आफ्ना दिवंगत पितृहरूको सम्झनामा श्रद्धापूर्वक अन्न, जल, फूल, वस्त्रलगायतका विशिष्ट वस्तुहरू उचित समयमा सत्पात्रमा प्रदान गर्नु नै श्राद्ध हो । जसमा संस्कार गरिएका शुद्ध सात्त्विक व्यञ्जन, पक्वान्न, दूध, दही, घ्यु, फलफूल आदि वस्तुहरू पितृहरूको सम्झना गर्दै ब्राह्मणलाई दान गरिन्छ ।
    संस्कृतव्यञ्जनाद्यं च पयोदधिघृतान्वितम् ।श्रद्धया दीयते यस्मात् श्राद्धं तेन प्रकीर्तितम् ।।

    महामहोपाध्याय श्रीरुद्रधर पण्डितका अनुसार वेदोक्त मन्त्रद्वारा पात्रालम्भनपूर्वक ( तयार पारिएका विविध खाद्यपदार्थलाई छोएर )
    पित्रादि देवताहरूको उद्देश्यका लागि द्रव्यत्याग विशेष कर्म नै श्राद्ध हो ।

    श्राद्धं नाम वेदबोधितपात्रालम्भनपूर्वकप्रमीतपित्रादि उद्देश्यको द्रव्यत्यागविशेष : इति। (श्राद्धविवेक)

    पार्वणश्राद्ध

    पर्वणि यत् क्रियते तत् पार्वणम् अर्थात् औँसी वा पर्वको दिनमा गरिने श्राद्ध जसमा पिता, पितामह, प्रपितामह तथा मातामह, प्रमातामह,बृद्धप्रमातामह सपत्निकलाई पिण्ड दिइन्छ । यसमा पर्व भनेर चतुर्दशी, अष्टमी,औँसी र पूर्णिमा वा संक्रान्तिलाई लिइएको छ । महालय श्राद्धका छ वटा भेद रहेका छन् । तिथिनिर्णयअनुसार आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्म १६ दिन गरिने, आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म १५ दिन गरिने,पञ्चमी देखि चतुर्दशीलाई छोडेर औंसीसम्म दस दिन गरिने, अष्टमीदेखि चतुर्दशीलाई छोडेर औंसीसम्म सात दिन गरिने, दशमीदेखि चतुर्दशीलाई छोडेर औंसीसम्म पाँचदिन गरिने, चतुर्दशीलाई छोडेर मृततिथि एक मात्र तिथिका दिन गरिने गरी महालय श्राद्धका छ भेद बताइएको पाइन्छ । त्यसैगरी एकपार्वणक, द्विपार्वणक र त्रिपार्वणक गरी पार्वणश्राद्धका अन्य तीन भेदको पनि उल्लेख गरिएको छ । पितृहरूको मरण तिथिमा गरिने प्रतिसांवत्सरिक एकपार्वण, औँसी आदि ९६ श्राद्ध र नित्य श्राद्धहरू महालय अन्वष्टभिन्न श्राद्धहरू द्विपार्वणक, यिनीहरूमा सपत्निक पित्रादि तीनपुस्ता र सपत्निक मतामहादि तीनपुस्तासहित अन्वष्टका त्रिपार्णणक श्राद्ध हुन्छन्।

    यावच्च कन्यातुलयोःक्रमादास्ते दिवाकरः।
    शून्यं प्रेतपुरं तावत् वृश्चिकं यावदागतः।।(नि.सि.तृ. प.)

    कन्या र तुला राशिमा सूर्य रहेको महालयमा सम्पूर्ण पितृहरू कर्ताका पितालाई अघि लगाई पितृलोक नै शून्य पारी आ आफ्ना तिथिका दिन सन्ततिहरूले पिण्डपानी दिन्छ्न् भनी बडो खुसी र उल्लाससाथ सन्ततिहरू बसेका घरवरपर तर्पण र पिण्डको आश गरेर घुमिरहन्छन् जब दुई दिनअगाडि कर्ताले पवित्र भएर ब्राह्मण निमन्त्रणा गर्दछ तिनै ब्राह्मणका शरीरमा प्रवेश गरी पितृहरू श्राद्धभूमिमा पुगी कर्ताले दिएको तर्पणको जल र पिण्ड प्राप्त गरेर तृप्त हुन्छ्न् र आशीर्वाद दिएर विदा हुन्छ्न् ।

    आयु : प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च ।
    प्रयच्छ्न्तु तथा राज्यं पितर: श्राद्धतर्पिता: ।।( मार्कण्डेयपुराण)

    अर्थात् पितृहरू तृप्त भई खुसी भए भने आयु , असल सन्तान, ऐश्वर्य, विद्या, स्वर्ग , मोक्ष , सुख , र उचित भूमि प्रदान गर्दछन् भन्ने शास्त्रीय मान्यता रहेको छ ।
    पर्व श्राद्ध अर्थात् पार्वण (सोह्र श्राद्ध, महालय श्राद्ध) श्राद्धमा विश्वेदेवको महत्वपूर्ण स्थान छ । दक्षकी पुत्री विश्वाका गर्भबाट उत्पन्न दश देवताको एक गण नै विश्वेदेवहरू हुन् । भिन्न भिन्न श्राद्धमा यिनको भिन्न भिन्न नामले पूजा हुन्छ ।

    पुरुरवाद्रवौ चैव पार्वणे समुदाहृतौ । (निर्णयसिन्धु) पार्वणश्राद्धमा पुरुरव र आद्रव नाम गरेका विश्वेदेवको पूजा गरिन्छ । वसु,रुद्र र आदित्य पितृश्राद्धका देवता हुन् (वसुरुद्रादितिसुता पितरः श्राद्धदेवताः) भनी याज्ञवल्क्यस्मृतिमा उल्लेख गरिएको छ ।

    चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा लोकप्रचलनको भाषामा सोह्र श्राद्ध भनिन्छ। किनभने एक पक्षमा १५ तिथि हुने भए पनि तिथिको घडीपला घटबढ हँदा भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसीसम्मका १६ तिथिको समूहलाई महालय भनिन्छ । यही महालयमा गरिने श्राद्ध भएकाले यस श्राद्धलाई महालय श्राद्ध र बोलचालको भाषामा सोह्र श्राद्ध भनिएको हो। विशेषत: कन्यायां अर्क:, कन्या राशिमा (आश्विन महिनामा सूर्य प्रवेश गरेको) सूर्य संक्रमण भएको आश्विन कृष्ण पक्षमा गरिने श्राद्ध नै महालय श्राद्ध हो ।कन्या राशिले युक्त पक्ष अत्यन्त पूण्य मानिएको छ । य कन्यकान्वित पक्ष सोत्यन्तं पूण्यमुच्यते । । आफ्ना पितादेखि माथिका तीन पुरुष अर्थात् पितृ, पितामह, प्रपितामह (बुवा, हजुरबुवा बुढाहजुरबुवा ) र मावलीतर्फका मातामह , प्रमातामह र वृद्धप्रमातामह (हजुरबुवा बुढाहजुरबुवा र जिजुबुवा ) को उदेश्य गरेर गरिने श्राद्ध पार्वण श्राद्ध हो । (त्रिपुरुषोद्देशेन यत्कृयते तत्पार्वणम्)
    त्रीनुद्दिश्य तु यत्तद्धि पार्वणं मुनयी विदु : । (कालमाधवीय शातातपको वचन)
    यसैगरी देवतालाई स्वाहापूर्वक वस्तु अर्पण गरिन्छ भने पितृलाई स्वधाको वचन प्रयोग गरिन्छ । यसैगरी देवकार्यमा भावको प्रधानता हुन्छ भने पितृकार्यमा वचनको प्रधानता रहने गर्दछ । त्यसैले पितृकार्यका निम्ति वचनमा विशेष ख्याल राख्नुपर्ने शास्त्रीय मान्यता छ ।

    अक्ष्ययासनयोः षष्ठी द्वितीयावाहने तथा ।
    अन्नदाने चतुर्थी स्यात् शेषा सम्बुद्धयस्मृता ।।

    अर्थात् पितृलाई अक्षयोदक र आसन प्रदान गर्दा षष्ठी विभक्तिको प्रयोग गर्नु पर्दछ । यसैगरी पितृलाई आवाहन गर्दा द्वितीया विभक्तिको प्रयोग गर्नुपर्दछ । अन्नदान अर्थात् सिदा दान गर्दा चतुर्थी विभक्तिको प्रयोग गरिन्छ भने अन्य कार्यमा सम्बोधनको प्रयोग गर्नुपर्ने शास्त्रमा बताइएको छ ।

    श्राद्धाधिकारी

    जुन व्यक्तिको मरण हुन्छ उसका मरणपछिका प्रत्येक एकोदिष्ट र पार्वणश्राद्ध औरस ( सवर्ण विवाहित स्त्रीको पुत्र) पुत्रले सत्कार र समन्त्रक गर्नुपर्दछ ।
    मातु : पितु : प्रकुर्वीत संस्थितस्यौरस : सुत : (नि.सि.तृ.प. पृ.५७० )पुत्रेषु विद्यमानेषु नान्यं वै कारयेत् स्वधाम् । (धर्मसिन्धु तृ.प.उ.) औरसपुत्रका अभावमा, नाति,पनाति,पुत्रिकापुत्र(छोरीको छोरो) पत्नी, दाजुभाइ, भतिज, पिता, माता, बुहारी, बहिनी, भान्जा, सपिण्ड दाजुभाइ, सगोत्र दाजुभाइ,समानोदक दाजुभाइ,सवर्ण सगोत्रमध्ये पहिलाका अभावमा क्रमशः पछिपछिका कर्तालाई श्राद्ध गर्ने अधिकार हुन्छ भनिएको छ ।

    श्राद्धकर्ता र ब्राह्मण

    अक्रोधनै: शौचपरै: सततं ब्रह्मवादिभि: ।
    भवितव्यं भवद्भिश्च मया मया च श्राद्धकर्मभिः

    कुनै पनि देव र पितृकार्यमा धार्मिक नियम र अनुशासनको पालना मुख्य मानिन्छ । आचारमा रहेर गरिएको कार्य सफल पनि हुन्छ श्राद्धमा पनि नियमको महत्त्वपूर्ण भूमिका रहन्छ ।श्राद्ध कर्ता आफ्ना पितृको श्राद्धभन्दा अगिल्लो दिन नङ् कपालदारी काटेर स्नान गरेर एकभक्त बस्नुपर्दछ ।भूमिमा सुत्नु , सत्य बोल्नु अभक्ष वस्तु भक्षण नगर्नु , तेल नघस्नु , र शौचाचारमारमा रहनु, क्रोध नगर्नु ब्रह्मवादी बन्नु, ब्रह्मचर्यमा रहनुपर्दछ । कुन उपायले पितृहरूलाई तृप्त पार्न सकिन्छ भनेर चिन्तन गर्नुपर्दछ । श्राद्धमा कस्ता ब्राह्मण पुज्ने वा कस्ता ब्राह्मणलाई दान दिने भन्ने कुरा पनि बुझ्न जरुरी छ । शास्त्रमा विशिष्ट गुण भएका ब्राह्मणहरू श्राद्धमा बोलाई श्राद्ध गराउनुपर्ने र दान गर्नुपर्ने उल्लेख छ।

    अग्र्य : सर्वेषु वेदेषु श्रोत्रियो ब्रह्मविद्युवा
    वेदार्थविज्ज्येष्टसामा त्रिमधुस्त्रिसुपर्णक : ।।
    स्वस्रीयऋत्विग्जामातातृयाज्यश्वशुरमातुला :
    त्रिणाचिकेतदौहित्रशिष्यसंबन्धिबान्धवा : ।।
    कर्मनिष्ठास्तपोनिष्ठा : पञ्चाग्निर्ब्रह्मचारिण :
    पितृमातृपराश्चैव ब्राह्मणा : श्राद्धसंपद : ।। (याज्ञवल्क्यस्मृति : आचाराध्याय२१९- २२१

    श्राद्धकाल

    मानव जीवनमा समयको महत्त्वपूर्ण भूमिका छ ।गर्भाधानदेखि अन्त्य क्रियासम्मका हाम्रा हरेक कर्महरूमा आ-आफ्नो महत्त्व रहन्छ ।कुनै पनि कार्य गर्दा समयको सुक्ष्मदेखि स्थुल अवस्थाको ख्याल गरेर गरिएको कर्मले नै सार्थकता दिन्छ । हाम्रा ऋषिमहर्षिहरूले शास्त्रमा श्राद्ध गर्ने कालको उचित किसिमले वर्णन गरेका छन् । त्यसैले कुन श्राद्ध कुन समयमा गर्ने भन्ने कुरा स्मृतिहरूमा स्पष्ट उल्लेख पाइन्छ ।
    आमश्राद्ध र वृद्धिश्राद्ध पूर्वाह्ण वा प्रात : कालमा , एकोदिष्ट र सपिण्डीकरण श्राद्ध मध्याह्न कालमा अनि पार्वणश्राद्ध (सोह्र श्राद्ध) अपराह्ण कालमा गर्नुपर्ने कुरा शास्त्रीय मान्यता छ । त्यसैले एकोदिष्ट मध्याह्नमा गर्नुपर्ने र पार्वण अपराह्णमा नै गर्नुपर्ने देखिन्छ । आमश्राद्धं तु पूर्वाह्ने एकोदिष्टं तु मध्यत : ।
    पार्वणं चापराह्ने तु प्रातर्वृद्धिनिमित्तकम् । (हारित )
    पूर्वाह्ने मातृकं श्राद्धमपराह्ने तु पैतृकम् ।
    एकोदिष्टं तु मध्याह्ने प्रातर्वृद्धिनिमित्तकम् ।( कात्यायन परिशिष्ट )
    महालयश्राद्धस्य षोडशदिन करणासंभवे कार्तिकदर्शे कार्यम् ।( प्रयोगपारिजात )
    तत्राप्यसंभवे वृश्चिकसंक्रान्ते : प्रागेव कर्तव्यम् । (प्रमाणभाष्कर )
    आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न सकिएन भने गाईतिहारे औंसीमा पितृश्राद्ध गर्ने विधान रहेको पाइन्छ । यदि यो समयमा पनि अबरुद्ध भएमा मङ्सिर संक्रान्तिसम्ममा तिथि र योग जुराएर गर्नुपर्दछ ।

    निष्कर्ष;

    त्यसैले देवता दिन्छन् पितृ हर्छन् भन्ने हाम्रो समाजमा प्रचलित भनाइ पनि छ । तसर्थ आफ्नो क्षमताअनुसार आफ्ना दिवंगत पितृहरूलाई खुसी पार्नु प्रत्येक सन्ततिहरूको परम कर्तव्य हो । आफ्ना पूर्वजहरूको योगदानको सम्झना गर्दै र हामीलाई सत्कर्मपथमा हिँडाउन प्रत्यक्ष र परोक्ष रूपमा गरेको सत्प्रेरणाको सम्मान गर्दै यथा काल, वस्तु, मनवचन र कर्मले श्रद्धापूर्वक पार्वणश्राद्ध अवश्य गर्नुपर्दछ । “श्रद्धया दीयते यत् तच्छ्राद्धम्” विना श्रद्धा श्राद्ध हुँदैन ।श्रद्धा नराखी गरिएको कर्मको कुनै फल हुँदैन ।

  • विश्व तापमान वृद्धिदर १.५ प्रतिशत भित्रै राख्न नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री

    विश्व तापमान वृद्धिदर १.५ प्रतिशत भित्रै राख्न नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वकोे प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा उनले विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न त्यहीरुपमा अन्तर्राष्ट्रिय प्रतिबद्धताको समेत आवश्कता रहेको उनले बताए ।

    प्रधानमन्त्री देउवाले जलविद्युत्, वनक्षेत्रलगायतका अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पु(याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पारे । राष्ट्रिय समाचार समितिका अनुसार सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाल पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका उच्च जोखिम रहेको र यसबाट हुने हानि तथा नोक्सानीको अन्तर्राष्ट्रियरुपमा सम्बोधन हुनुपर्ने बताए ।

    कोप–२६ का प्राथमिकता, जलवायु वित्त र अनुकूलनलगायत विषयमा छलफल गर्नुका साथै उनले अनुकूलन कार्यक्रममा नेपाललाई थप सहयोगको खाँचो औँल्याए । प्रधानमन्त्री देउवाले कोभिड–१९ का सन्दर्भमा बेलायतले नेपाललाई ‘रेडलिष्ट’मा राखेको सम्बन्धमा सूचीबाट हटाउन समेत आग्रह गरे ।

    प्रधानमन्त्री देउवाले कोभिड–१९ का सन्दर्भमा बेलायतले नेपाललाई ‘रेडलिष्ट’मा राखेको सम्बन्धमा सूचीबाट हटाउन समेत आग्रह गरे ।

    जवाफमा राजदूत ओफ्लाहेर्टीले ‘रेडलिष्ट’ बाट हटाउने सम्बन्धमा बेलायत सरकारको छुट्टै निकायले बेलाबेला विभिन्न विषयको विश्लेषण गरी पुनरावलोकन गरिरहेको जानकारी गराएका छन् । उनले कोप–२६ का सन्दर्भमा नेपालको वस्तुस्थिति, तयारीलगायत विषयमा चासो राख्नुका साथै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर १ देखि २ सम्म आयोजना गर्ने ‘ग्लोबल लिडर समिट’ र अन्य सम्मेलनमा नेपालको सक्रिय सहभागिताको अपेक्षा समेत गरेका थिए ।

    कोप–२६ आगामी कात्तिक १४ देखि २६ गतेसम्म (अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म) संयुक्त अधिराज्यको ग्लास्गोमा हुँदैछ । प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डले कोप–२६ मा सहभागिता जनाउने गरी वन तथा वातावरण मन्त्रालयले तयारी गरिरहेको छ ।

  • साइनाई प्रायद्वीपमाथिको खिचातानि

    साइनाई प्रायद्वीपमाथिको खिचातानि

    कुमार न्यौपाने, न्युयोर्क

    अमेरिकीहरु मध्येपनि न्युयोर्कबासीले साइनाई वा माउन्ट साइनाई सुन्ने बित्तिकै एक सुबिधा सम्पन्न अस्पताल भनिहाल्छन । झट्ट सुन्दा माउन्ट फुजी जस्तै लाग्ने यो नाउँ जापानीज हो कि जस्तो पनि लाग्छ । तर इजरायलीहरुमा पनि जुइसहरुले न्युयोर्कमा आफुहरुलाई उपचारको मामलामा तत्कालीन समयको राज्य र समाजले अन्याय गरेको ठानेर स्थापना गरेको अस्पताल हो ‘माउन्ट साइनाई’ । यो त अस्पतालसंग जोडिएको बिषय भयो, तर साइनाई पर्वत र साइनाई प्रायद्घिप बाइबलकालको कथासंग जोडिएको ठाँउ (प्राचिन र हाल इजिप्टको सिमाना भित्र पर्ने सबैभन्दा अग्लो भु­भाग) हो, जहाँ मोसेस गुरुले दश कमाण्डमेन्ट् (मन्त्रहरु) प्राप्त गरेको ठाँउ भनेर बाईबलको कथनले भन्छ, त्यसैले जुइसहरु यो भु­भाग वा पर्वतलाई आफ्नो धर्म र संस्कारसंग जोडिएको पबित्र भूमी मान्दछन् । त्यसैले होला, यो भूभाग भौगोलिक रुपमा इजिप्टको भएतापनि इजराइलीहरुले न्युर्योकमा यो नाँउलाई आफ्नो पहिचान बनाएका छन ।
    उत्तर अफ्रिकी मुलुक इजिप्टको एसियामा पर्ने उच्च पर्वतीय भु­भाग साइनाई प्रायद्वीप इजरायलीहरुका लागि धार्मिक आस्था संगसंगै किन राजनीतिक र सामरिक रुपमा महत्वपुर्ण छ भन्ने कुरा अहम हो । प्राचिन इजिप्ट, रोमन, अट्टोमान, बेलायत र इजराइलको कब्जामा रहदै हुदै पुर्ववर्ति मुलुकमै गाभिन पुगेको भूभागको नाउँ किन न्युयोर्कमा र जुईस समाजमा चर्चित छ भनि हेर्दा धर्म र धार्मिक आस्था बलियो देखिन्छ । यस भु­भागलाई थुप्रै मुलुकहरुले सयौं बर्षसम्म कब्जा गरे तर सबैभन्दा कम समय कब्जा गर्ने इजराइलको नै यस नाउँमा किन प्रभुत्व भयो ? पक्कै पनि त्यो थियो धार्मिक आस्था… बाईबल, मोसेस र साईनाइ प्रायद्घिप ।
    इजिप्टको नासेरले स्वेज नहरलाई राष्ट्रियकरण गरेपछि उत्पन्न विवाद र संघर्षमा बेलायत, फ्रान्सलाई नजिकबाट सैनिक सहयोग गर्ने इजरायलको सेनाले ६ दिने युद्घ मै इजिप्टलाई हराई प्रायजसो प्रायद्घिपमा कब्जा गर्छ । प्रायद्घिप पट्टिको नहरको भाग र महत्वपुर्ण भुभाग इजराइलको हातमा गएतापनि इजिप्ट अन्ततः सन्धि मार्फत युद्घमा गुमाएको सम्पुर्ण भूभाग फिर्ता लिन सक्षम हुन्छ । युद्घको तत्काल अन्त्य भएतापनि इजराइल र इजिप्टलाई स्वेज नहर, भु­मध्यसागर र लाल सागरको पानीमा कसरी आफ्नो प्रभुत्व राख्ने भन्ने चाहानाले सधैं पच्छ्याइरहेको देखिन्छ । एकले प्राचिन कालदेखिको भोगको हिसाव निकाल्छ भने अर्कोले हाम्रो धार्मिक पवित्र भूमी भन्छ । बास्तवमा साइनाई प्रायद्घिपको अधिपत्यको मुल कुरा धार्मिक आस्था संगसंगै स्वेज नहर, नहर मार्फत हुने व्यापार र त्यस क्षेत्रमा आफ्नो शक्ति स्थापीत कसरी गर्न सकिन्छ भन्ने होड नै हो । इजराइल भु­मध्यसागरलाई कसरी मृतसागरमा जोड्ने र अर्को नयाँ नहर मार्फत अकावाको खाडी हुदै लालसागर छिर्न र हिन्दमहासागरमा आर्लने बाटो खोज्दैछ । यो बाटो भनेको स्वेज नहरको बिकल्प हो जसले त्यस भेगको पानीमा इजिप्टको एकल प्रभुत्वलाई धावा बोल्छ । इजिप्टसंगको इजरायली बेमेलको गुह्य कुरा यसै साइनाई प्रायद्घिपको माउन्ट साइनाई क्षेत्र (जुन स्वेजनहरसंग पनि जोडिन्छ) र यस क्षेत्रमा रहेको खनिजहरु पनि हुन ।
    विश्वमा विगतका केही सताब्दी जमिनको लागि संर्घष भयो, त्यसपछि सुन लगायतका धातुहरु, तेल, प्राकृतिक ग्याँस (हालसम्म कायमै छ) र केही दशकदेखिको संघर्ष सामुन्द्रिक पानी, नहर (जलमार्ग) हरुमा भयो, हुदैछ र जलवायु परिवर्तनसंगै पानीको चक्रीय प्रणालीमा आएको उतारचढावले स्वच्छ पिउने पानी नै अबको चरम संर्घषको युग हुने देखिन्छ । यसरी हेर्दा पृथ्वीको भु­भागको दुइतिहाई भागमा पानी भएतापनि बिभिन्न तहमा पानी मै यत्रो संर्घष भइरहेको छ र हुदैछ ।
    यी त भए प्रायद्घिपमा प्रत्यक्ष देखिएका र दावी गरीएका देशहरुको खरो स्थिति र कारणहरु । तर साईनाइ प्रायद्घिपमा पछिल्लो समय आँखा गाड्ने तेश्रो पक्ष पनि छ, त्यो हो आई एस आई, इस्लामिक ब्रदरहुड आदि । एकातिर इजिप्टको मुख्य भु­भागबाट स्वेज नहरले छुट्ट्याएको यस प्रायद्घिपसंग इजिप्टको सस्ंथापन पक्षको विगतको कमजोर उपस्थिति र प्रायद्घिप बिवादपछिको शान्ती सम्झौता अनुसार सन्तुलनमा आएको इजरायल एक हिसावले थन्किएको मौका छोपि विश्वमा इस्लामको बलियो धार्मिक राज्य बनाउन उग्ररुपमा आइरहेको आई एस आईको इराक, अफगानिस्तान र सिरीयामाथिको प्रयासपछि यस त्रिकोणीय भुभागमा आँखा गडेको छ । यसै मौकामा यस त्रिभुज आकारको भूमीमा त्रिपक्षीय द्घन्द देख्न सकिन्छ । इस्लामिक उग्रवादीको उपद्रो र हस्तक्षेपलाई तह लगाउन इजिप्ट उक्त प्रायद्घिपमा सैनिक संख्या र ट्याङ्करहरु थप्न खोज्छ तर स् गर्न इजरायलको चर्को बिरोध खप्नु परिरहेको छ । साइनाई प्रायद्घिपको बिवाद समाधानको लागि गरिएको शान्ति सम्झौताले इजिप्टलाई त्यहाँ थप सैन्यकरण गर्न रोक्छ । तर यी दुई देशको बिवाद र सन्धिको प्रावधानहरुले गर्दा आई एस आईले बीचमा खेल्दै आफ्नो प्रभाव बढाउदै लगेको देखिन्छ । स्पष्टरुपमा भन्दा सन्धिले दुबै देशहरुलाई सैनिक गतिविधि गर्न रोकेको छ ।
    नेपाल र भारतको बिषयवस्तु दुरुस्तै नभएपनि आफ्नो भूभाग प्रतिको बेवास्ता र कमजोर उपस्थितिले कालापानीको बिषय चोटिलो बन्दै गएको छ । देशको छिमेकीहरुको चरित्रहरुको कुरा गर्दा यथेस्ठ प्रमाण हुदाहुँदै पनि नेपाल कालापानीको भूमीबाट पाखा लागिरहेको अवस्था देखिएको छ । कुनै समयको अफ्ठ्यारो परिस्थिति बुझि मित्र ठानेर आफ्नो भूमी नै अरुलाई दिंदा अथवा राष्ट्रको सिमानासंग खेलाची गर्दाको पाठ नेपालले कालापानीबाट सिक्दैछ । चीनसंगको युद्घ, नेपालसंगको मित्रता तर आज चीनसंगको सहकार्यमा उ बेलाको मित्र नेपालको सहयोगलाई दुत्कार्दै त्यही मित्रको भूमी हस्तक्षेप गर्नपछि नपर्ने छिमेकीहरु खोज्न टाठा जानै पर्दैन । यस्तै यस्तै घटनाहरु र बिवादहरुले विश्वका अधिकांस देशहरुबीच बैमनस्यता कायमै छ । युरोप, अमेरिकीहरु भने केही दशकदेखि भूभाग हडप्ने युद्घभन्दा अर्थको लडाईं लड्न उद्दत छ । आजको बिश्वमा जोसंग पैसा छ, उसैको प्रभुत्व देखिन्छ । मध्यपुर्व, दक्षिण एसियाका देशहरु भने अझैपनि भु­भागलाई महत्व दिइरहेका छन । विश्वको दोश्रो आर्थिक शक्ति चीनको पहिलो प्राथमिकता अर्थ नै भएतापनि भारतसंगको भुमी बिवाद भने छिट्टै टुङ्गयाउने पक्षमा देखिदैन । तिव्वत, हङ्गकङ्ग, मकाउ हुदै ताइवानसंगै दक्षिण चीन सागर र बिस्तारै हिन्दमहासागरमा पुगेको चीन आर्थिक, सामाजिक र सामरिक हिसावले सबल बन्दै सबै आफ्नो पक्षमा पार्ने दाउमा छ ।
    मानव आफुलाई जैविक प्राणी हुँ भन्ने सत्यलाई मान्न तयार छैन जस्तो लाग्दैछ । आफुलाई सच्याई, आफैद्वारा सिर्जीत प्रदुषण रोक्न र जलवायु परिवर्तनले भविष्यमा पार्ने पिउने पानीको चरम समस्यासंग जुध्नुको सट्टा मंगल र शनिग्रहतिर पानी खोज्दै भौतारिंदै हिंड्नु मुर्खता सिवाय के होला र ?
    न्युयोर्कको माउन्ट साइनाई अस्पतालदेखि साइनाई प्रायद्घिप हुदै भारत, पाकिस्तानको कश्मीर र चिनको उइघुर इलाकाहरु पुग्दासम्मका बिषयहरु कतै न कतैबाट धर्म संगसंगै जोडिएको छ । हाल मेरो छिमेकमा रहेको माउन्ट साइनाई अस्पताल जुन परिस्थितिमा स्थापना भएतापनि आज गोरो, कालो, यो जात, त्यो धर्म नभनि मानवको उपचारमा तल्लिन छ, त्यसरी नै साइनाई प्रायद्वीप लगायतका तमाम सिमानाहरुको मामलो मिलोस । बिभिन्न धर्महरुको उद्गम उद्देश्यहरुलाई हेर्ने हो भने सबै स्वच्छ र चोखो पाउछौं । धर्म त एक उत्तम संस्कार न हो, यसलाई धमिल्याइ आफ्नो स्वार्थसिद्घ गर्नेहरु प्रति सबै सधैं सजग रहौं ।

  • कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?

    कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?

    सरोज सिग्देल, अमेरिका

    निरन्तर नयाँ किर्तिमान बनाउँदै आएको शेयर बजारमा नेपाल राष्ट्र बैंकले एक जनाले तीन तथा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो राखेर शेयरमा नै लगानी गर्न १२ करोड भन्दा बढी ऋण लिन नपाउने व्यवस्था मौद्रिक नीतिमा गरेपछि अहिले लगानीकर्ताहरु दोधारको अवस्थामा छन् l केही साता अगाडि भाद्र ९ गते बुधबार नेप्से सूचक ३१९८.१९ बिन्दुलाई चुम्दै नयाँ कृतिमान बनाएको थियो भने लगानि कर्ताहरूको उच्च मनोबल र उत्साहित हुँदा कारोबार रकम २१ अर्ब ३१ करोड रुपैयाँभन्दा माथि पुगेको थियो जुन रकमले कीर्तिमानी कारोबार रकम २१ अर्ब ५३ करोड रुपैयाँ लागि पछ्याइ रहेको थियो । बुलिस बजारमा कीर्तिमान कायम गर्नु स्वभाविक नै हो तर बजार एकोहोरो हिसाबले बढ्दै जानु भन्दा केही करेक्सनहरु हुँदैअघि बढ्ने बढ्ने क्रम सुरक्षित र स्थायी हुने हुनाले करेक्सनको अनुमान गरिएको थियो। कारोबार रकमका साथै नेप्से परिसुचकमा आएको निरन्तर वृद्धिका कारण अबको शेयर बजार कुन तरिकाले अगाडि बढ्ला र आफुले कस्तो रणनीति अवलम्बन गर्ने भन्ने विषयमा योजनाहरु बनाइरहेका थिए ।
    यसैबीच नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आयो र बजार ठूलो करेक्सनमा गयो l केही समय अगाडि मात्रै नेपाल धितोपत्र बोर्डले पनि जोखिमपूर्ण लगानि भन्दै ५१ कम्पनीहरूको नाम सार्वजनिक पश्चातको करेक्सनबाट नयाँ कृतिमान बनाउने क्रममा सचेत लगानीकर्ताहरुले आफ्नो मुनाफा सुरक्षित गरिसकेकाले करेक्सनको प्रतिक्षामा पनि थिए l तत्पश्चात बजारमा निकै उतार चढाव आउँदा एकै दिनमा १०० अङ्कसम्म बढ्ने अथवा घट्ने अवस्था पनि सृजना भयो र बजारको दिशाप्रति प्रश्नवाचक चिन्ह सुरु हुन थाल्यो । राष्ट्र बैँकले पनि अहिले लगानीयोग्य रकम (तरलता) को अभावका कारण ब्याजदर बढ्न सक्ने सम्भावना व्यक्त गरे सँगै बजारमा डेड क्याट बाउन्स भएकै त हैन भने चिन्ता चिन्ता पनि व्यक्त गर्न थालिएको छ l

    राष्ट्र बैंकले मूल्य बृद्धि, आर्थिक बृद्धि, लगानीयोग्य रकम (तरलता)को स्थितिलगायत हेरेर नै आर्थिक वर्षको मौद्रिक नीति ल्याउने गर्दछ l कतिपय जलविद्युत कम्पनी र विकास बैंकहरुको शेयर त १५० देखि २०० प्रतिशतसम्म बढेको थियो l सन् २०१२ देखि २०१६ को बजारलाई हेर्ने हो भने तीन महिनामा २० प्रतिशत सम्मको करेक्सन भएको हुनाले अहिले बजारमा आत्तिहाल्नु पर्ने अवस्था छैन l पछिल्लो १ वर्ष देखि १० प्रतिशत सम्मको पनि ‘करेक्सन’ नदेखिएको र करेक्सन भए पनि ‘रिकोभर’ छिटो छिटो भइहाल्ने कारणले अत्याधिक हौसिएका लगानीकर्ताहरुले २-३ महिनामा नै कमाउँछु भन्नका लागि बजारमा लगानि गर्दा सोच्नु पर्ने बेला आएको छ । अबको समय शेयर बजारमा छोटो समयको लागि लगानी गर्नु केही जोखिम (रिक्स) हो कि भन्ने पाठ पनि सिकाएको छ।

    राष्ट्र बैंकले सीमित व्यक्तिको हातबाट ४० लाखभन्दा धेरै लगानीकर्ताको हातमा पुर्याउन लिएको सकारात्मक कदम हो जसले बजारमा स्थायित्व ल्याउनमा मद्दत गर्दछ l
    यदि तपाई लामो समयका लागि लगानि गर्ने हो भने त त्यसका लागि चिन्ता गर्नु पर्ने अवस्था छैन किनकि हामी ‘बुल’ मार्केट मै छौं। करेक्सनको फाइदा लिँदै ‘हाइ बिट स्टक’ बाट ‘लो बिट स्टक’ मा सिफ्ट गर्ने सबैभन्दा उपयुक्त समय हो । बुल बजारमा कम्पनीहरुको शेयर मूल्य उच्च विन्दुमा रहने हुनाले आम लगानीकर्ताले सकेसम्म मजबुत वित्तीय सूचकहरु भएका, लाभांश क्षमता राम्रो भएको, विगतको नाफा, भविष्यमा व्यापार विस्तारको सम्भावना अनि सञ्चालक र व्यवस्थापन पक्षलाई समेत ख्याल गर्दै अघि बढ्नुपर्ने हुन्छ अझै इपीएस, पीई, नेटवर्थ, रिजर्भ जस्ता महत्वपूर्ण सूचकहरु पनि हेर्ने गर्नुपर्छ ।

    अब बजारले खरिदको मौका दिँदैछ तसर्थ बजारमा लगानी सुरक्षा, शेयरको सस्तो भाउ र औसत प्रतिफलको हिसाब गर्दा बाणिज्य बैंकहरुको सेयरमा लगानि अहिले सबैभन्दा सुरक्षित देखिएको छ । पर्याप्त लगानि, जोखिम ब्यवस्थापनको बन्दोबस्ति, राष्ट्र बैंकको कडा नियमन, संस्थागत सुशासन, बलियो जगेडा कोष जस्ता सूचकहरु हेर्र्दा अहिले बाणिज्य बैंकको सेयरमा लगानि गर्नु उपयुक्त छ ।

    बैंक तथा बित्तिय समूह लगानीका फाइदाहरु :
    १) कम मूल्य भएकाले धेरै शेयर कित्ता किन्न सकिन्छ ।
    २) बैंकहरुले गरेका प्रगतिको कारणले लाभको प्रतिशत बढ्दै जानसक्छ ।
    ३) बाणिज्य बैंकहरूले मर्ज वा एक्विजिशनमा गर्दा राम्रो स्वाप अनुपात पाउँदा नसोचको फाईदा पाउन ।
    ४) औसत १८० दिने मूल्य अनुसार धेरै कर्जा (७० प्रतिशतसम्म) प्राप्त हुन्छ ।
    ५) बजारमा गिरावट आयो भने पनि ठूलो अन्तरले मूल्य झरेर बैंकबाट माार्जिन कल आउने संभावना कम हुन्छ सकिन्छ ।
    ६) बैंकबाट लिएको कर्जाको ब्याज तिर्ने रकम सेयर वापत प्राप्त हुने लाभांशले नै धान्न सक्दछ ।
    ७) वाणिज्य बैंकमा शेयरहरु खेलाडीको खेलाडीको सूचीमा नपर्ने हुँदा पम्प एण्ड डम्पको जोखिम कम रहन्छ ।
    ८) समस्याको संकेत देखिएमा राष्ट्र बैंकले व्यवस्थापनआफ्नो जिम्मामा लिने गर्दछ ।
    ९) तुलनात्मक रुपमा सफल र लामो इतिहास भएको क्षेत्र हो ।
    १०) गत वर्षको लाभांस पनि सुरक्षित गर्ने अवसर हो l

    शेयरबजार गतिशील रहने हुँदा सधै एकै खालको अवस्था रहदैन, अहिले सेयरको मूल्य तिब्र गतिमा उतारचढाव भइरहेकोले जोखिम ब्यवस्थापन र नाफा सुरक्षित गर्न चुक्यो भने हात्ती आयो हात्ती आयो फुस्सा होला । शेयर बजारमा शेयरको मूल्य कुन बेलासम्म बढ्छ र घट्न थाल्छ भन्ने कुरा कुनै पूर्वानुमान गर्न सकिन्न। त्यो अनिश्चियको भूमरीमा फस्नु भन्दा पहिले नै आफु निस्केर सुरक्षित कम्पनीमा लगानी सार्ने नै सफल लगानिकर्ता हो । अहिले बजारबाट ठूलो रकम बाहिर निस्कने संभावना देखिदैछ एउटा क्षेत्रको कम्पनीबाट अर्को क्षेत्रको कम्पनीमा लगानि घुमिरहेको यही चक्रमा नै लगानीकर्ताले सुझबुझ पूर्ण लगानि गर्नुपर्छ । क्युमुलेटिभ एडी लाइन हिजोभन्दा ६ जुन र ५ सेप्टेम्बर, २०२१ को -३७२ को लेभलभन्दा माथि रहेको छ। क्युमुलेटिभ एडी लाइन र भोल्युमको विश्लेषण गर्दा नेप्सेले आफ्नो डाउनसाइड मोमेन्टमको संकेत गर्छ।

    अन्त्यमा: सस्तो मूल्यका शेयरबाट प्रवेश गर्न चाहने र नयाँ लगानीकर्ताको प्रबेशले खराब कम्पनीहरुको सेयर मूल्य पनि उच्च रुपले बढेका छन् । जगेडा कोष रित्ता र निस्क्रिय कर्जा अनुपात उच्च भएका, ऋणात्मक नेटवर्थका कम्पनीहरुको सेयर मूल्य पनि आकासिएर गएका छन् । बजारमा हकप्रदको हल्लाले प्रभाव पार्दा खराब वित्तीय अवस्था भएका कम्पनी र पानी नै नभएको हाईड्रोहरुमा झुम्मिने क्रम बढेको हो । मैले बुझ्न नसकेको कुरा यस्ता कम्पनीहरुको शेयर धितो राखेर न बैंकबाट कर्जा लिन सकिन्छ न त लाभांशको नै आधार हुन्छ । बजार घट्यो भने सबैभन्दा पहिला र धेरै घट्ने कम्पनी पनि यिनै हुन् ? तसर्थ सोचेर विचार गरेर दीर्घकालीन फाइदा दिन सक्ने कम्पनि पछ्याउने लगानीकर्ताहरु नै लामो समयसम्म बजारमा टिकी रहन्छन् र स्थापित पनि हुन्छन् ।

  • महान् पर्व तीज र यसको महत्व

    महान् पर्व तीज र यसको महत्व

    सुरेशराज पौडेल
    (उप. प्राध्यापक)
    वाल्मीकि विद्यापीठ , काठमाडौं

    हाम्रा वैदिक सनातन धर्ममा विभिन्न धार्मिक अनुशासनका कुराहरु सिकाइएको छ । नैतिक मूल्य सदाचार ,सद्विचार , जप, तप , योग ध्यान , इन्द्रिय निग्रह खानपान व्रत, उत्सव उपासन, पूजापाठजस्ता मानव जीवनमा आवश्यक पर्ने आत्मिक र सामाजिक ज्ञानको प्रवाह हाम्रा शास्त्र र धर्मले दिएका छन् । वर्षभरि पर्ने विभिन्न चाड, व्रत, उत्सव, उपसना र उपवास हाम्रा प्राण हुन् । साथै यी कुराहरु हाम्रो संस्कृति बनेर जनजन र मनमनमा रहेका छन् । नेपाल र भारतलगायत जुन जुन ठाउँमा नेपालीहरुको बासेबास रहेको छ ती ती ठाउँमा सनातन धर्म र संस्कार पुगेको छ । सबै सनातन धर्मावलम्बीहरुले उल्लासका साथ यी पर्वहरु मनाउँदै आएका छन् । यिनै तमाम हाम्रा धर्म र संस्कारहरूमध्येको एक महत्वपूर्ण चाडका रुपमा प्रचलित तिज नारीप्रधान चाड हो । प्रत्येक वर्षको वर्षा ऋतुमा पर्ने भाद्र शुक्ल द्वितीया देखि पञ्चमीसम्मका ४ दिनलाई तिजपर्वका रुपमा धुमधामसँग मनाइन्छ । तिज के हो र यसको महत्व के हो भन्ने विषयमा यो लेखमा छोटो र सान्दर्भिक विवेचना गरिन्छ ।

    तिज भन्नाले नारीहरुले आफ्नो सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्मपराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने भाद्र शुक्ल तृतीयालाई बुझिन्छ । यस दिनलाई हरितालिका पनि भनिन्छ । तथापि नेपाली समाजमा दर खाने दिन अर्थात् भाद्र शुक्ल द्वितीयादेखि पञ्चमी सम्मका दिनलाई बोलिचालीमा तिज भनेर बुझिन्छ । तिजको पहिलो दिन अर्थात द्वितीयाका दिन आधारात पछि नारीहरुले आफ्नो माइतीघर र आफन्त इष्टमिमत्रहरुका घरमा गई उनीहरुले पकाएको , आत्मीय प्रेमले भरिपूर्ण भएको मीठो खाना अर्थात दर खाने चलन छ । दर भन्नाले विशेष प्रकारको दरिलो र आडिलो खाना भन्ने बुझिन्छ । यस खानामा घ्यू राखेर बनाएको लट्टे, खिर, ढकनि र विभिन्न तरकारीहरु पर्दछन् । भोलिपल्ट अर्थात तृतीयाका दिनभर उपवास बस्नुपर्ने भएकोले अघिल्लो रात त्यस्तै आडिलो खाना वा दर खाने गरिन्छ । यसरी दर खाएपछि भोली दिनभर केही पनि खाना पर्दैन र अघिल्लो दिन खाएको खानाका कारणबाट शरीरमा हुन सक्ने अफ्ठ्यारोलाई व्रतका प्रभावले शरीरलाई आाराम पनि हुन जान्छ । दर खाने दिनमा टाढा वा नजिक भएका आफ्ना दिदी बहिनी , फुपू , सानिआमा, ठुलीआमालाई बोलाएर माइतीघरको भान्सामा हाँस्दै रमाउँदै दर खाइन्छ र आँगनमा आएर गीतका भाकामा आफूले भोगेको पीडालाई अभिव्यक्त गरिन्छ । यस्ता गीतलाई तिज गीत भनिन्छ । यस पर्वले टाढिएका मनलाई आफन्तसँग जोड्ने गर्दछ र साामजिक प्राणी भई दुःख सुखमा बाँच्न सिकाउँछ । त्यसैले यो चाडलाई सामाजिक सद्भावको र मिलनको चाडका रुपमा लिन सकिन्छ ।

    सकेसम्म हस्ता नक्षत्रले युक्त चतुर्थी वा चतुर्थी तिथिले जतिखेर तृतीया स्पर्श गरेको हुन्छ त्यही भाद्र शुक्ल तृतीयालाई हरितालिका वा तिज भनिन्छ ।त्यसदिनमा विहान सबेरै उठेर सबै दिदीबहिनी एक आपसमा शिवपार्वतीको गुणगान गर्दै नदी किनार , खोला , कुवा , धारा आदिमा गएर दतिवनले दात माझेर, अमलाको बोक्रा, माटो र खरानी दलेर स्नान गर्ने गर्दछन् । त्यसपछि घरमा आई नयाँ तथा सौभाग्य झल्किने राता कपडा, सिन्दूर, चुरा, पोते पहिरेर शिव मन्दिर, खुल्ला चौर, नदी किनार वा अन्य मन्दिर र पवित्र स्थानमा गएर यज्ञमण्डप निर्माण गरेर बालुवाको गौरीसहित शिवलिङ्ग बनाएर आफ्नो कूल परम्पराअनुसार गृहसूत्रका विधिले प्राणप्रतिष्ठा गरेर सङ्कल्पपूर्वक यथाशक्य सङ्कलन गरिएका सामग्रीहरूले श्रद्धापूर्वक पूजा गरिन्छ । पूजापश्चात नाचगान गरेर रातभर जाग्राम बसिन्छ । यसरी व्रत बसेर पूजा गर्नाले आफ्नो पतिको आयु र आरोग्य बढ्छ । साथै आफ्ना सन्ततिको प्रगति र उन्नति हुन्छ र आफ्नो पनि सम्वृद्धि बढ्दछ भन्ने विश्वास गरिन्छ । यस दिन महिलाहरू दिनभर निराहार बस्छन् र चतुर्थीले छोएको तृतीयाको पवित्र समयमा पूजा गरेपछि आफ्नो पतिबाट आशीर्वाद लिन्छन् ।

    हरितालिका तिजको व्रतको बारेमा पौराणिक कथा सुन्ने चलन छ । तृतीयाकै दिन गौरी र शिवको पूजा गरेपछि हरितालिका व्रतकथा श्रवण गरिन्छ । जसअनुसार भगवानले शिवलाई आफ्नी प्राण प्यारी पार्वतीले कुन दान , व्रत र धर्म गर्नाले अनादिअनन्त हजुरजस्तो परममेश्वरलाई पाएँ त्यो सबै बिस्तारपूर्वक सुन्न चाहन्छु भन्दा शिवजी स्वय‌ंले पार्वतीलाई सबै वृतान्त सुनाउनुहुन्छ । हिमालय पर्वतको छोरीका रुपमा जन्मिएकी पार्वतीले अघिल्लो जन्ममा दक्षप्रजापतिकी छोरी सतीदेवीको रुप धारण गरेर जन्मे पनि आफ्ना पिता दक्षले शिवको निन्दा गरेको सुनेर यज्ञ कुण्डमा शिव शिव भन्दै हामफालेर प्राण त्याग गरेकी थिइन् । त्यस जन्ममा शिवसँग यथायोग्य काल सतीले जिउन पाइनन् । अर्को जन्म शिवकै अर्धाङ्गिनी भएर जन्मन पाऊँ भन्ने उनको अन्तिम इच्छा थियो । सोही अनुसार हिमालय पर्वत र मेनकाका गर्भबाट उनको जन्म भएको थियो । बालककालदेखि नै शिवलाई नै पति पाऊँ भनी पार्वतीले घोर तपस्या गरेकी थिइन् । त्यसैले दिव्य बाह्र वर्षसम्म अधोमुख गरी धुवाँ पान गरेर तपस्या गरिन् । ६४ वर्षसम्म सुकेको घाँस पात खाएर तपस्या गरिन् । यस्तो देखेर हिमालय पर्वत अत्यन्त दुःखी भए । यी कन्या म कसलाई दिऊँ भन्ने सोचेको बखतमा भगवान् विष्णुले नारदलाई पार्वती विवाह गर्ने कुरा लिएर आएपछि हिमालय अत्यन्त खुसी भए र भने, “भगवान् वासुदेव स्वयं मेरो पुत्री हात माग्न आउनुहुन्छ भने छोरी दिन तयार छु ।” यो कुरा नारदले भगवान् विष्णुलाई सुनाए ।

    योग्यं योग्याय दातव्यं कन्यारत्नमिदं त्वया ।।
    वसुदेव समाेनास्ति व्रह्मविष्णुशिवादिषु ।।

    (भविष्योत्तर पुराण)

    पिता हिमालयका कुरा सुनेर आफ्ना पितामातालाई पनि थाहै नदिई हिंस्रक सिंह , बाघहरू भएको अनकन्टार वनमा लुकिन् । आफ्ना साथीहरुले किन यस्तो गरेकी भनेर सोध्दा मैले अघिल्लो जन्ममा नै आउने जन्ममा शिवलाई पति पाऊँ भनेर संकल्प गरेकी थिएँ । अहिले मेरा मातापिताले भगवान् विष्णुलाई विवाह गरेर दिने कुरा गरेकाले म लुक्न आएकी हुँ भनेपछि साथीहरुले सबै कुरा बुझेर हामी तिमीलाई कसैले पनि नदेख्ने र नभेट्ने ठाउँमा लगेर लुकाउँछौँ भनी लुकाउन लगे । सखी अर्थात् आलिहरुले हरित अर्थात् हरण गरेर लगेका अवस्थामा पार्वतीले व्रत गरी शिवको पूजा गरेको हुनाले यसै दिनलाई हरितालिका भनिएको हो र आज सम्म पनि यस दिनलाई हरितालिका तिज भनेर व्रत उपासना र शिवको पूजा गर्ने गरिन्छ ।

    नामस्य व्रतराजस्य श्रृणु देवि ! यथाभवम् ।
    आलिभिर्हरिता यस्मात्तस्मात्त्सा हरितालिका ।।

    (भविष्येत्तोरपुराण हरितालिका व्रत कथा ५२)

    यो पर्व आविवाहित नारीहरुले असल पति पाउनका लागि व्रत गर्नुपर्छ भन्ने बुझिन्छ भने विवाहित महिलाहरू आफ्ना पतिको दयालु स्वभाव र लामो तथा आफ्ना सन्ततिको उत्तरोत्तर प्रगति र दीर्घ आयु होओस् भन्ने कामनाले व्रत गर्दछन् । यसले पति र पत्नीबीचको सुमधुर सम्बन्ध कायम गर्दछ साथै सन्ततिहरू असल मार्गमा हिँड्दछन् भन्ने मान्यताले महिलाहरु यो व्रत र उपासना गर्ने गर्दछन् । तिज वा हरितालिका व्रत आफैमा अत्यन्त शुद्ध पवित्र चाड हो। आजकाल यस चाडलाई मानिसहरुले नै भड्किलो बनाएको देखिन्छ । र तिजलाइ बदनाम गर्ने काम पनि भइरहेका छन् । हिन्दु धर्ममा रहेको तिज त्यसमाथि कतिपय धर्म विरोधी चरित्र भएका मानिसहरूले यो चाडलाई बहिष्कार गर्ने र नकारात्मक भाव फैलाउने गरेको देखिन्छ । पुरुषका निम्ति महिला व्रत किन बस्नु भन्नेजस्ता कुराहरू आजकल बजारमा सुनिन्छन् । यसरी शास्त्रीय महत्वको तिज र हरितालिकाको गीतलाई नबुझ्नेहरूलाई एक पटक शास्त्र पढ्न पनि अनुरोध गरिन्छ । आफ्नो पति पत्नीबीच सुमधुर सम्वन्ध कायम राख्न पतिले आफ्नी पत्नीलाई पनि सदा खुसी राख्नु , मिष्ठान्न भोजन , मीठो बोली, सत्कार सम्मान गर्नु , गाली नगर्नु, अलंकार आदिले सदा भरिपूर्ण बनाउनु साथै पत्नीले युक्त भएर हरितालिकाको व्रत र पूजा गर्दा पतिलाई अझै राम्रो हुने कुरा शास्त्रहरूमा वर्णन गरिएको छ ।

    आलापैः सरसैः नित्यं तोषयेत् तां शपेन्न च ।
    भोजनाच्छादनैर्वस्त्रं भूषणाद्यैः निजस्त्रीयाम् ।।
    (स्कन्दपुराण)

    भने सदाचारले युक्त कुलीन घरानकी छोरी विवाहित भएर आफ्नो पतिको घरमा गएर पनि सोही किसिमका आचरणहरू गर्दछिन् । पत्नी नै घरकी देवी, घरकी संरक्षक र सिर्जना भर्ने शक्ति भएकोले आफ्नो पतिलाई आरोग्य , सदाचारी र ऐश्वर्यवान् बनाउन नारीको ठूलो भूमिका हुन्छ । त्यसैले जमाना फेरियो भन्दैमा घर बिगार्ने काम गर्नुहुँदैन । आफूलाई पति र पत्नीप्रति श्रद्धा छ भने पतिका गोडाको जल खानु अनुचित होइन, यसले समाज र घर बिगार्दैन । समाजमा नचाहिने कुरा गरेर महिलालाई उचालेर पुरुषभन्दा के कम भन्ने मानिसहरूबाट सिकेर समाज आज बडो दुर्दशामा पुगेको छ । पति, पत्नीको वशमा छैनन् , पत्नी पतिको वशमा छैनन् जसले गर्दा समाजमा विकृतिको भयानक जालो फैलिँदै गएको कुरा आजकाल प्रत्येक दिन सामाजिक सञ्जाल र सञ्चार मामध्यमबाट सुनिँदै र देखिँदै आइएको छ ।
    यसरी तिज हाम्रो परमपरागत पौराणिक र सांस्कृतिक पर्व भएकाले शास्त्रले बताएअनुसार विधिपूर्वक यसको उपसना र व्रत गर्नाले घर, समाज र राष्ट्रलाई राम्रो असर छाड्न सक्छ । यो पर्वमा धुमधाम खर्च गर, देखावटी गर, नभएको पनि जसरी तसरी मनाऊ भनेर शास्त्रले भनेको छैन । श्रद्धा , आस्था र विश्वास नै यस चाडको मौलिक तत्त्व हो । यस पर्वलाई श्रद्धा र विश्वासले युक्त भएर व्रत, उपासना र पूजा गर्नुपर्दछ भन्ने मूल आशय हो ।

  • पारसलाई प्रधानमन्त्रीले भने : धन्यवाद

    पारसलाई प्रधानमन्त्रीले भने : धन्यवाद

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान पारस खडकालाई आगामी यात्राका लागि शुभकामना दिएका छन् । दुई दशकसम्म नेपाली क्रिकेटको बिकासमा पूर्ब कप्तान खडकाले गरेको योगदानप्रति धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आगामी यात्राका लागि शुभकामना दिएका हुन् ।

    प्रधानमन्त्री देउवासँग भेट गर्न पारस शनिबार बालुवाटार पुगेका थिए । पारसले नेपाली क्रिकेटको बिकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् । प्रधानमन्त्री देउवाले नेपाली क्रिकेटको बिकासका लागि हरसम्भब प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरेको कप्तान खडकाले जानकारी गराएका छन् । पारसले गत् साता मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

    सन्यासको घोषणापछि आयोजित पत्रकार भेटघाटमा पारसले क्रिकेट बिकासका लागि आफू नेपाल क्रिकेट संघमा आउने इच्छा ब्यक्त गरेका थिए । प्रधानमन्त्री देउवाले पूर्ब कप्तान खडकालाई आगामी यात्राका लागि शुभकामना दिएका हुन् । पारससँगको भेटपछि प्रधानमन्त्री देउवाले समेत आफ्नो ट्वीटरमा भेटघाटको तस्विर सार्वजनिक गरेका छन् ।

  • समयले ल्याएको पठन पाठन विधिको विज्ञान

    समयले ल्याएको पठन पाठन विधिको विज्ञान

    – डा. बद्री पोख्रेल
    अध्यक्ष, जयतु संस्कृतम्, नेपाल

    सिक्ने सिकाउने परम्परा अर्थात अध्ययन अध्यापन मानव सभ्यतासंग जोडिएको विषय हो । बालक जन्मेदेखि नै हरेक क्षण केही न केही सिकिरहेको हुन्छ भने हामी उसलाई केही न केही सिकाइरहेका हुन्छौं । सिक्ने विषय र सिकाउने प्रविधिमा भने धेरै उतार चढाव आएको पाइन्छ । पढेर कहिल्यै पनि सकिन्न भन्ने विश्वास वनिसकेको छ । तर पनि हामी सिक्न र सिकाउन तड्पिरहेका हुन्छौं । बालकहरू विहानैदेखि गरुङ्गा झोला वोकेर दौडिरहेका हुन्छन् भने अविभावक र शिक्षकहरू सकेसम्म नयाँ नयाँ विषय सिकाएर वच्चा र विद्यार्थीहरूलाई जान्ने वनाउन उत्सुक हुन्छौं ।
    सिक्ने विषय के हो ? यो जिज्ञासा स्वयंमा अमूर्त र अस्पष्ट छ । सिकेर कुनै पनि विषयको टुङ्गोमा पुग्न सकिन्न भन्ने जगजाहेर हुदाहुँदै पनि शिक्षक र अभिविभावक धेरै सिकाउन व्यग्र देखिन्छन् भने विद्यार्थीहरू उनीहरुकै निर्देशन मानेर गरुङ्गा झोला बोकी ज्ञान–सागर तर्ने अन्तहीन यात्रामा जुटेका हुन्छन् । कसले कति सिकाउन सक्छ र कसले कति सिक्न सक्छ– को अस्वस्थ प्रतिस्पर्धामा सिङ्गो शिक्षा क्षेत्र उत्रने गरेको यथार्थ अहिलेको संसारको शिक्षण परिपाटीले देखाएको छ । तर अल्वर्ट आइन्टाइन जस्ता विश्व विख्यात शिक्षाविद् एवं वैज्ञानिक भन्छन् – म कहिल्यै पनि विद्यार्थीलाई सिकाउँदिन तर विद्यार्थीले सिक्ने वातावरण वनाइदिन सधैं प्रयास गर्छु ।
    उपाधि र ज्ञान गुरुकेन्द्रीत कि विद्यालय केन्द्रीत स्कूल, कलेज, विश्वविद्यालय, प्रशिक्षण केन्द्रहरुले दिने उपाधि र ज्ञानार्जन नितान्त भिन्न विषय हुन् । तर हाम्रो समाजमा त्यसलाई एकाकार गर्ने ढंगबाट यी दुई भिन्न विषयलाई वुझिने गरेको छ । कुनै एउटा विद्यार्थी वा एउटै पुस्तकले पनि संसारमा नयाँ प्रणाली र गति दिनसक्ने भएकाले उपाधि र ज्ञानका विषयमा अस्पष्टता रहने गरेको वुझिन्छ । इतिहास अध्ययनगर्ने र केलाउने हो भने प्राच्य शिक्षा परम्परामा गुरु केन्द्रित प्रणाली प्रमुख भएको पाइन्छ । ब्रह्मचर्यमा रहेर गुरुको सान्निध्य वा गुरुकुलमा वसेका विद्यार्थीहरू गुरु केन्द्रित (टीचर सेन्टर्ड० अध्ययन प्रणालीमा आवद्ध हुन्थे । ‘गुरुर्बह्मा गुरुर्विष्णु’ को आदर्श अवलम्वनगर्ने त्यो प्रणालीमा गुरु र गुरुको शिक्षण अभ्यासभन्दा वाहिर जाने सम्भावना हुँदैनथ्यो । कोही गइहालेछ भने उसले आश्रम छोड्नुपर्थ्यो । यसैले अनुशासन, विद्याको गहिराई, नीति र नैतिकताको आर्जन, गुरु, समाज र अविभावक प्रतिको श्रद्धा त्यसवेलाका शिक्षाका देन वा उपलब्धि थिए ।
    भारतीय उपमहाद्वीपमा अंग्रेजी शिक्षा
    भारतीय उपमहाद्वीपमा आधुनिक पाश्चात्य शिक्षाको सुरुवातको इतिहास हेर्दा भारतमा अंग्रेजको शासनहुँदा वेलायतको रसदपानीमा भारतीय शिक्षाप्रणाली वुझ्न आएका मैकालेले दक्षिण एशियामा पश्चिमी शिक्षाको वीजारोपण गरेका थिए । त्यसवेला वेलायतको साम्राज्य लगभग विश्वव्यापी नै थियो । सूर्यास्त नहुने देश भनेर वेलायतलाई बुझिन्थ्यो । त्यसवेलाको विश्वव्यापी पकडलाई वेलायतले अंग्रेजी शिक्षाप्रणालीमा लर्ड मेकाले जस्ता इमान्दार अनुयायीका माध्यमबाट फैलाउन सफल भयो । फलतः भारत (अहिलेको पाकिस्तान, वाङ्लादेश, म्यान्मार, भूटान, श्रीलंका) भर वेलायतमा वोलिने अंग्रेजी भाषाको प्रचार तीव्र भयो । एकातिर औरङ्गजेव लगायतका मुसलमानहरू सनातन वैदिक हिन्दु शास्त्रका कट्टर विरोधी थिए भने अर्कातिर दक्षिणपूर्वी एशियामा वेलायती अंग्रेजी शिक्षण प्रविधिको व्यापकता बढ्दो थियो । त्यत्ति नै समय र विषय पढाउने अंग्रेजी शिक्षकले पाउने पारिश्रमिकको एक चौथाई पनि भारतीय संस्कृति र संस्कृत पढाउने गुरुले पाउँदैनथे । नयाँ रोजगारी दिनुपर्दा पनि अंग्रेजी पढेकालाई ग्राह्यता दिने गरेकाले प्राचीन संस्कृत र सांस्कृतिक गुरुकुलीय पठन पाठन प्रणालीमा राम्रोसंग धक्का लाग्यो । पूर्वीय दर्शन र सनातन हिन्दुशास्त्रलाई उछित्तो खन्न मुसलमानहरूको समेत आड मिलिरहेकाले त्यसवेलाका भारतका प्रचलित गुरुकुलीय संस्कृत अध्ययन अध्यापनमा अवरोध सिर्जना भयो । संस्कृतका पुस्तक जलाउने, संस्कृत पठन पाठनगर्नेहरुलाई तिरस्कृतगर्ने, उनीहरूको आजीविका नै वन्द गरिदिने जस्ता औपनिवेशिक धर्महरु फैलिए पछि र रोजगारीमा प्रभाव पर्नथाले पछि गुरुकुलीय गुरुकेन्द्रीत पठनपाठन पद्धतिमा वादल लाग्यो । गुरुकूलहरु नै क्रमशः बन्द हुन थाले ।
    त्यसैवेलादेखि गुरुकेन्द्रित प्रणालीबाट विद्यार्थी केन्द्रित अध्ययन प्रणालीवारे वकालत हुन थाल्यो । ज्ञान स्वस्फूर्त हुन्छ, विद्या गुरुले दिने भएपनि ज्ञान विद्यार्थीले नै लिने भएकाले प्रणालीको छनौटको अधिकार विद्यार्थीलाई नै दिनुपर्ने तर्क अघिसार्न थालियो । ‘निम्न क्षमताका शिक्षक गफ गर्छ, असल शिक्षकले वताउँछ, त्यो भन्दा योग्य शिक्षकले ज्ञान प्रदर्शन गर्दछ र सबैभन्दा उत्कृष्ट शिक्षकले विद्या आर्जनको निमित्त प्रोत्साहित गर्छ’ भन्ने विद्वान् अर्थर वार्डको भनाइ अनुसार असल शिक्षकले अध्ययनको वातावरण सम्भव वनाई दिन्छ तर शिक्षा विषयक छनौटका वस्तुहरु विषयवस्तु, प्रणाली, घण्टा, विद्यालय, शिक्षक आदिको निर्णय विद्यार्थीले नै गर्छन् भन्ने पद्धतिको स्थापना गरियो । ग्यालिलियोले भन्नुभए अनुसार ‘कसैलाई पनि केही सिकाउन सकिदैन, तर गुरुले विद्यार्थीमा रहेको क्षमतालाई उजागर मात्र गरिदिन्छन्’ । त्यही सोच, प्रणाली र पद्धतिलेगर्दा गुरुकेन्द्रित अध्ययन अध्यापन विद्यार्थी केन्द्रितमा गएर अडियो । गुरुकुलीय शिक्षापद्धतिमा झन धक्का पुग्यो ।
    शिक्षा प्रणाली विषयक वहस
    विद्या, शिक्षा र ज्ञानका वीचमा सामिप्य र पृथक्ता धेरै छन् । शिक्षा प्रणाली गुरु केन्द्रित र विद्यार्थी केन्द्रित कुन ठीक हो भन्ने वहसको पनि लामो इतिहास छ । यद्यपि गुरुकेन्द्रित वा विद्यार्थी केन्द्रित कुन प्रणाली उपयुक्त हो भन्ने विषयमा छलफल गर्ने यो सानो लेखको उद्देश्य होइन । यसलेखमा आधुनिक शिक्षा प्रणालीका विषय र अध्यययन अध्यापन पद्धति एवं मानव समाजले शिक्षा आर्जनमा गरेको समय, श्रोत र उपलब्धिवारे भने केही चर्चा गर्ने प्रयास गरिएको छ । आधुनिक गुरुकेन्द्रित प्रणालीबाट विद्यार्थी केन्द्रित प्रणाली शिक्षामा अवलम्वन गरिदै आएको विषयलाई आधुनिक शास्त्रीय मतबाट हेर्ने हो भने ह्युमेन रिसोर्स डेमेलोप्मेन्टमा उपयोग गरिएका म्याचिङ मोडेलले समयको माग र आवश्यकता अनुसार वस्तु (जनशक्ति वा अन्य) उत्पादन हुन्छ भन्छ भने हर्वर्ड मोडेलका अनुसार ‘वस्तु उपयोग गर्नेको माग अनुसार उत्पादन अघि बढाउनु पर्दछ’ । शिक्षा पद्धतिको छनौटमा पनि यो सिद्धान्त लागु हुँदैन भन्न सकिदैन ।
    यद्यपि विद्यालय, शिक्षक र ज्ञानका वीचमा निकै ठूलो भिन्नता छ । विद्यालय शिक्षाले रोजगारी, आय आर्जन, परिवार पालन, आर्थिक सम्प्रभुता जस्ता विषयलाई लक्षित गरेको हुन्छ भने मानवीय ज्ञानले मानवीय मूल्य, मान्यता, संस्कार, आचरण, आचार, व्यवहारलाई लक्ष गरेको हुन्छ । भौतिक जगतको लागि विद्यालय शिक्षाबाट पाइने उपलब्धि धेरै नै महत्वपूर्ण हुन्छ, तरपनि समग्र मानवत्वको विकासमा मानवीय ज्ञानको भूमिका वढी ओजिलो हुन्छ । ‘ज्ञानीले गरेर देखाउने कुरालाई विद्यार्थीले शिक्षाको माध्यमबाट ग्रहणगर्छ’ भन्ने अरिष्टोटलको भनाईले पनि ज्ञानको गहिराइलाई विद्यालय शिक्षाको सतही ज्वारभाटाले भेट्टाउन सक्तैन भन्ने स्पष्टपार्छ । यद्यपि ज्ञान र विद्या एक अर्कामा आवद्ध हुन्छन् । ज्ञान वा शिक्षा आर्जनको अर्को पाटो त्यै ज्ञान वा शिक्षा आर्जनगर्ने माध्यम पनि हो । श्रुति परम्परामा गुरुले उच्चारण गरेका शब्द, लय, ध्वनिहरु विद्यार्थीले लिन सक्नुपथ्र्यो । ह्रस्व वा दीर्घ उच्चारण गरेर अर्थ फरक पर्ने विषयलाई राम्ररी वुझ्नु पथ्र्यो । त्यो पद्धति नै पछि चित्रलेखन, शंकेत प्रणालीका रूपमा विकसित भएका थिए । ताल, स्वर, हात मुख गोडाको शंकेतका माध्यमबाट शिक्षा दिने र लिने हुन थाल्यो । पछि त्यो प्रणाली पनि भित्ते लेखन, थाम वा दलिनमा लेख्ने हुँदै व्लाक वोर्ड, ह्वाइट वोर्ड आदिमा अवतरित भयो । त्यसैका विकसित रूप रंगीन कलम र रंगीन चित्र हुँदै मल्टी कलरका रूपमा फैलियो । त्यसपछि कम्प्युटर युग आयो । पावर प्वाइन्ट, एक्सेल, फोटो आदिका माध्यमबाट विद्याको विनिमय हुन थाल्यो । विद्यादानको ठाँउलाई ‘कमाउँ र फाइदा लिउँ’ ले ओगट्यो ।
    कोरोनाकालको नयाँ अनुभव
    कारोना भाइरसले अहिले विश्व आक्रान्तहुन थालेको दुई वर्ष हुन थालिसकेको छ । यसवीचमा शिक्षापद्धतिमा र शिक्षाप्रणालीमा चुनौतीहरु थपिएका छन् । विद्यालयमा विद्यार्थीहरु पठाउन अभिभावकहरु तयार छैनन् र उनीहरु आफ्ना बालबालिकाहरुलाई शिक्षाबाट विमुख गराउन पनि चाहदैनन् । कम्प्युटर शिक्षाको माध्यम पनि संसारमा सबैतिर सरल र सुलभ छैन । विशेषतः अल्पविकसित देशहरुमा यो समस्या झन भयावह बन्दै गएको छ । अनलाइन कक्षा सञ्चालन गरेपनि विद्यार्थी र शिक्षकका वीचमा सामीप्य नहुनाले गर्दा लजालु र प्रविधिमा अदक्ष विद्यार्थी सिकाइमा ठगिने अवस्था भएको छ ।
    विद्यार्थी केन्द्रित पद्धतिको अवलम्वनले जरो गाडेपछि अध्यापन पद्धतिमा पनि पृथक्ता अनुभव हुन थाल्यो । विद्यार्थीलाई पढाउनु भन्दा गराउनु, देखाउनु, लगाउनु, जिम्मेवार वनाउनु तिर पाठन प्रणाली केन्द्रित हुन थाल्यो । सिर्जनात्मक सिकाइ, श्रव्यदृश्य, बौद्धिक कसरत, अतिरिक्त कक्षा र कक्षा वाहिरका सिकाइ, भूमिका, खेल पढाइमा उत्प्रेरणाको वातावरण (ष्टिमुलेटिङ्ग, टिचिङ्ग इन्भायोरेन्मेन्ट) जस्ता शिक्षणविधिहरू विकसित हुन थाले । ती विधिहरु पनि सहभागिता, प्रदर्शन, रिसाइटेशन, स्मरण वा यिनीहरूकै एक अर्का वीचको समायोजन जस्ता तरिकाबाट प्रयोगमा ल्याउन थालियो । जे भए पनि विद्यार्थीले सिक्ने र शिक्षकले सिकाउने कुरामा दुविधा छैन । तर सिक्ने र सिकाउने प्रणालीमा भने श्रुति परम्पराको युगदेखि कम्प्युटर युगसम्म आइपुग्दा निकैनै भिन्न्नता महसूस भैसकेको छ । फलतः गुरु केन्द्रित सिकाइ र विद्यार्थी केन्द्रित सिकाइका पक्ष विक्षहरू सतहमा छर्लङ्ग छन् । गुरुकेन्द्रित अवस्थाको अनुशासन, नैतिकता, मर्यादा, विश्वासलाई विद्यार्थी केन्द्रित प्रणालीबाट भोग्नु परेका अविश्वास, हत्या, कुण्ठा, अनुशासन हीनताले आत्मसात गरेका विषयलाई भने ज्ञान र शिक्षाका विज्ञहरूले जरैदेखि वुझेर उचित कदम चालिहाल्नु आवश्यक भएको छ ।
    उपसंहार असल कुरा असल नै हुन्छ, चाहे त्यो पश्चिमी होस् वा पूर्वीय । अनुशासनहीन वनेर गुरुलाई गाली गलौच गर्ने, विद्यालयमा गुण्डागर्दी गर्ने, उपाधि पाइसकेपछि पनि सिलेवसले अपेक्षा गरेको शीप र दक्षता आर्जन नहुने, विदेशी विश्वविद्यालयहरुमा भर्ना गराउँन सकिने पाठ्यक्रमलाई प्रोत्साहन गरेर मौलिक संस्कृतिको उपेक्षा गराउने कुरा दीर्घकालमा पीडादायी हुन्छ । यस्तै विद्यार्थीको रुचि र क्षमताको वास्ता नगरेर लाद्ने र वाध्यपार्ने किसिमका पाठ्यक्रम र विधि पनि हितकारी हुँदैनन् ।

  • न्युजविकले समातेको पेरेस्त्रोइका र मदन भण्डारीले उचालेको जबज

    न्युजविकले समातेको पेरेस्त्रोइका र मदन भण्डारीले उचालेको जबज

    पुरुषोत्तम लम्साल [email protected]

    आजको बसाई गत हप्ता विश्वसन्देशको यही कुनोमा ‘न्युजविकले नेपालमा किन जन्मायो मार्क्स ?’ शीर्षककै निरन्तरता हो । न्युजविकले प्रकाशन गरेको मदन भण्डारीको सरप्राइजिंग अन्तर्वार्तालाई लिएर नेपाली वामपन्थले मच्चाउने वा मच्चाइरहने हौवा र हल्लालाई न्युजविककै ‘ब्राण्ड’मा टेकेर उक्त विचार केलाइएको थियो । प्रकाशनको आकार र स्थानले स्वार्थ र प्राथमिकता पनि निर्धारण गर्दछ भन्ने मान्यतालाई सञ्चारविज्ञानको कोणबाट केलाउने बोल्डिंगको मतअनुसार हेर्दा पनि मदन भण्डारीको उक्त अन्तर्वार्ता कुनै संयोगभन्दा नियोजित (प्लान्ड पनि र प्लान्टेड पनि) कन्टेन्ट रहेको दावी गर्न सकिन्छ । मदन भण्डारीको त्यति ठूलो अतिरञ्जना (अस्वाभाविक बढाईचढाई) गर्ने न्युजविकले उनको निधन (१५ मे, १९९३) भएको एक हप्तापछि (२७ मे, १९९३) छापिंदा कुनै ‘बाल’ दिएन । यस्तो अवस्थामा प्रकाशनको कभरेजको कन्ट्युनिटी र फ्रिक्वेन्सी अध्ययन गर्नेहरुले न्युजविकले छापेको मदन भण्डारीको अन्तर्वार्ताभित्र पर्याप्त सूचना र स्वार्थ मात्र देख्छन् वा भेट्छन् । मदन भण्डारीलाई माक्र्स बनाएर दक्षिण एसियाको वाम ध्रुवमा घुएँत्रो हानेको न्युजविकभित्र आजको मितिसम्म पनि मदन भण्डारीको बिस्तृत अर्काइभ भने छैन वा भेटिदैन ।

    रुसी धूरीको जयगान;

    शक्तिशाली देशहरुका मुख्य प्रकाशन सत्ताको आँखा र कान दुबै हुन् र हुन्छन् भनेर पहिल्यै भनिएको छ । यस्तो अवस्थामा ‘सबै कम्युनिष्ट जासुस र सबै कम्युनिष्ट राष्ट्रिय सुरक्षाका लागि खतरा’ देख्ने अमेरिकी चरित्रलाई नै आधार नीति मान्ने न्युजविकले मदन भण्डारीको देवत्वकरण गर्नु नेपाली वामपन्थका लागि अस्वाभाविक उपलब्धी होला तर तात्कालीन रुसी मामिलामा केन्द्रित रहेर अध्ययन गर्नेका लागि उक्त अन्तर्वार्ता अचम्म लाग्दैन । किनकि, देश र विश्वका लागि नयाँ विचार भन्दै रुसमा मिखायल गोर्वाचोभले पेरेस्त्रोइका घोषणा गर्दा अमेरिकी सञ्चार माध्यमहरुले गोर्वाचोभलाई ‘पुनर्जागरण र पुनसंरचनाका आर्किटेक्ट’ घोषणा गरेकै हुन् । ‘साम्यवादी विचारको पुनव्र्याख्या गर्न पेरेस्त्रोइकालाई लचक दृष्टिकोणसहितको मियो’ स्वीकार गर्ने न्यूजविकले नेपालमा मदन भण्डारीको विचार र कार्यक्रमलाई पनि समान ब्याख्यासहित विश्लेषण गरेको देखिन्छ । किनकि, अन्तर्वार्ता मदन भण्डारीलाई पश्चिमा लोकतन्त्रको आधारभुत शर्तहरुमाथि प्रतिवद्धता (कमिटमेन्ट) व्यक्त गर्ने वा गराउने वा गरेको शैलीमा मात्र प्रकाशन भएको देखिन्छ ।

    लक्ष्य के हो ? खुल्लापनसहितको उदार प्रजातन्त्र

    मार्ग के हो ? जनताबाट चुनिएर वा निर्वाचनबाट ।
    गोर्भाचोभ निर्देशित सामाजिक खुल्लापन सम्बन्धि ग्लासनोस्तको अवधारणा र मदन भण्डारीकृत भनिएको जनताको बहुदलीय जनवादको अवधारणामा तात्विक भिन्नता भेटिंदैन । राजनीति, सँस्कृति, बौद्धिकता, सञ्चारमा राज्यको नियन्त्रण संकुचित बनाउँदै पक्षपोषण गरिने उदारताको ग्लासनोस्तको आत्मा जबजमा दुध र पानी जसरी घोलिएको छ भने असीको दशकदेखि नै गोर्वाचोभलार्य उचाल्दै आएको न्युजविकले मदन भण्डारीलाई स्थान दिनु उल्का खस्नु होइन । किनकि, न्यजविकको अर्काइभमा वाक तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना स्वतन्त्रता, नागरिकलाई सार्वजनिक बहसको अनुमति, उपभोक्तवादको प्रवर्धन, गुणस्तरीय जीवनको वकालतमा जहाँजहाँ गोर्वाचोभ उभिएका छन् त्यहाँत्यहाँ न्युजविकको जोडदार समर्थन भेटिन्छ । अब अमेरिका र पश्चिम युरोपले घनिभुत विचार मान्दै आएको ‘प्रगतिशील उमेदवारहरुमार्फत पार्टीको कायाकल्प बदल्ने’ घोषणासहित ‘संस्थागत तथा नीतिगत सुधारको योजना गरी मतको रक्षा र मतपत्रको सुरक्षा’समेत गर्ने लाइन स्पष्ट गरिदिएपछि न्युजविकले खोजेको स्थानीय पात्रमा मदन भण्डारीबाहेक अरु को हुनसक्थ्यो ? ‘स्थानीयमा बहुदलीयता र केन्द्रमा बहुदलीयता’लाई धार र धारा बनाएपछि ठ्याक्कै कित्ताकाट भएको नेपाली वामपन्थमा न्युजविकले खोजेको र पछ्याएको सबैभन्दा योग्य उमेदवार नै मदन भण्डारी थिए मिडियाको कोणबाट ।

    ‘निश्चित मुद्दामाथि यथासक्य सार्वजनिक चर्चा र जनतासम्म सूचना प्रवाह गर्ने अभिभारा’को ग्लासनोस्तको मर्मलाई मदन भण्डारीले टनकमुर मुद्दामा सफलतापूर्वक लागू गरेको देखिन्छ । क्षेत्रीय तथा स्थानीय संगठनमा समेत चुनावको कार्यक्रम लागू भएपछि पार्टी निर्देशित परिवर्तन र पार्टीको प्रजातान्त्रिकरण हुनु र देखिनु स्वभाविक हुन्छ । सामाजिक वा राष्ट्रिय संरचनाहरुबाट पार्टीको सर्वोच्चता अस्वीकार हुँदा मात्र पश्चिमा सञ्चारले लोकतन्त्र र लोकतान्त्रिक देख्ने हो । त्यसैले २०४६ सालको जनआन्दोलनअघि जसरी नेपालको वामपन्थी ध्रुवीकरणको कित्ताकाट भएको थियो, त्यही बिन्दुबाट नेपालको राजनीतिमा मदन भण्डारीको आक्रामक उदय र शान्त अवसान भएको भेटिन्छ । आक्रमक उदय किनभने प्रतिबन्धित राजनीतिमा मदन भण्डारीको छवी निर्माण भइसकेको भेटिदैन । २०४४ सालदेखि सोभियत संघलाई हेर्ने तात्कालीन मालेको दृष्टिकोणमा जसै ठोस र स्पष्ट परिवर्तन आउँछ र माओ विचारधारालाई परित्याग गरेर सोभियत संघलाई समाजवादी मान्यता प्रदान गरिन्छ, त्यहाँबाट मदन भण्डारीको राजनीतिक दौडले गति लिएको भेटिन्छ । (त्यो बेला मोहन विक्रमको मसालबाट फुटेर मोहन बैद्यले नेतृत्व लिएको मशाल जसको नेतृत्व सेक्टर काण्डपछि प्रचण्डको पोल्टामा गयो, निर्मल लामाको चौथो महाधिवेशन वा चौम र रुपलाल विश्वकर्माको सर्वहारा श्रमिक संगठन देखि भारतबाट फुत्तै आएर जनआन्दोलन संघर्ष समितिको बाटो हुँदै पञ्चायतविरोधी आन्दोलनमा जोडिएका बाबुराम भट्टराईहरु चीनियाँ धारको नेतृत्व गर्ने समूहमा पर्दथे भने मनमोहन अघिकारीदेखि साहाना प्रधान हुँदै मदन भण्डारी, झलनाथ खनाल, माधवकुमार नेपाललगायतले रुसी धारको कित्ता सम्हाल्थे । नेपाली वामपन्थमा चिनियाँ धार र रुसी धारबीचको घर्षणको अलग पाटो छ जहाँ एउटा धार कमजोर हुँदा अर्को धार फँडा फिजाउँदै जाग्छ र यस्तो घर्षणको निश्चित आवृत्ति रहेको भेटिन्छ । यसबारे अलग्गै लेखमा चर्चा गरौंला)
    र, चानचुन चार वर्षको सार्वजनिक राजनीतिमा मदन भण्डारीले वायुको वेगमा राजनीतिको पखेटा फिंजाएको देखिन्छ । यसलाई पुष्टि गर्न मदन भण्डारीको अन्तर्राष्ट्रिय दौड (भेटघाट र संवादको तीब्रता) देखि निधन हुनु साता दिन अघिमात्रको कोलकाता सम्मेलनसम्म हेर्दा हुन्छ । चालिस वर्षको उमेरमा निर्माण भएको मदन भण्डारीको त्यो करिस्म्याटिक एवम् चामत्कारिक राजनीतिक व्यक्तित्वको निर्माणमा न्युजविकको हेडलाइन ‘कहीं न कहीं’ सहायक रह्यो ।

    तर त्यहाँसम्म पुग्नुअघि पुष्पलाल समूहबाट मदन भण्डारीको विद्रोह (मुक्ति मोर्चा), अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्रदेखि २०३४ को एकता, मालेको उदय, २०३९ सालको पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रताबारेको बहस, नेकपा मनमोहनसँगको अलाइन्सदेखि नेकपा माक्र्सवादीसँगको एकतासम्मको यात्रा केलाउनपर्ने हुन्छ । विखण्डित वामपन्थीलाई सम्बोधन गर्ने कार्यक्रमबारे मदन भण्डारीको सार्वजनिक विचारहरुको सापेक्षतामा अध्ययन गर्नपर्ने हुन्छ । किनकि, विचार र व्यक्तित्वलाई न्युजविकले गर्ने मूल्यांकनका पाँचवटा आधारबारे हामीले अघिल्लो अंकमा केही उल्लेख गरेका छौं ।

    सर्वहारा सत्ताबाट सामाजिक लोकतन्त्र र बहुदलीय प्रतिष्पर्धा र कार्यक्रममा सिफ्ट भएपछि, सामाजिक संस्थाको निर्माण र त्यसमा मध्यमर्बीय कार्यकर्ताको परिचालनमा लगानी र लगानीको खोजी भएपछि शक्तिशाली मिडियाले प्रवद्र्धन योजनाको उपयोग गर्नु अचम्म होइन । मिराज अफ डेमोक्रेसीमा जोनाथन स्टिल ‘असीको दशकको रुस, गोर्वाचोभ र नब्बेको दशकको यल्तसीन जस्तै पात्र, नीति र कार्यक्रममा पश्चिमले आफ्नो साधन, स्रोत र शक्ति खन्याएको’ देख्दछन् । रुसमा खुश्चेभकालीन ‘शान्ति र सहअस्तित्व’को सिद्धान्तमा प्रतिवद्ध भइसकेपछि र ‘पूँजीवादका सबै पक्षलाई एकमुष्ठ अस्वीकार गर्नहुँदैन’ भन्ने विचारलाई संस्थागत स्वरुप र प्रक्रियाबाटै सफलतापूर्वक क्रियान्वयन गरिसकेपछि मदन भण्डारी न्यूजविकका लागि नेपाली माक्र्स हुनु अनौठो होइन । किनकि, न्युजविकले गर्ने माक्र्सको परिभाषाले सार्वभौमिकता बोक्दैन । र, न्युजविक नै ध्रुवसत्य कहीं पनि होइन ।

    मदन भण्डारीको बैचारिक घुम्ती ‘टर्न’लाई केलाउन यहाँ सम्भव छैन । तर नेपालको कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद (माधवकुमार नेपालको दावी अनुसार अगाडिको जनता शब्द मदन भण्डारीको कार्यक्रममा थिएन) नामको कार्यक्रमसम्म पुग्न चाँहि पुष्पलाल, पहिलो पर्चा, बैधानिक राजतन्त्रको कार्यक्रम, केशरजंग रायमाझीको माक्र्सवादको सिर्जनात्मक प्रयोगदेखि मदन भण्डारीको माक्र्सवादको सापेक्षतामा प्रयोगसम्म चाहार्नपर्ने हुन्छ । गणतन्त्रको लाइन कहाँबाट उठ्यो र कहाँ पुगेर झुक्यो भन्ने केलाएको बखत मदन भण्डारीको राजनीतिक उठान र वैठानबारे अझ थप केलाउन सकिन्छ । हामीले चिलीमा एलेण्डेको उदयको सापेक्षतामा जसरी नेपालमा नेकपा एमालेको उदयका घटना र परिघटना जोड्छौं, त्यसैगरि कहिल्यै फेक कम्ब्याट वा फाल्सा कोन्फ्रन्टोसियनका कथाहरुलाई केलाउने प्रयत्न गरेका छैनौं । समाजवादी अभियान रोक्न, सोभियत धुरीमा हलचल पैदान गर्न, राजनीतिक अस्थीरतालाई आफू अनुकूल प्रयोग गर्न प्रजातान्त्रिक सरकारहरुको बाटोबाटै के सम्म हुन्छ भनेर सेञ्चुरी अफ रेभोल्युसनमा गिल्बर्टले केलाए जसरी केही केलाएनौं । हामीले खराब निर्देशकको हातमा कथा सुम्पिएर असल चलचित्रको अपेक्षा त गरेका थिएनौं ? खराब कथाका कारण नायकको जीवन्त अभिनय नै खेर गएको त थिएन ? माक्र्सवादको विलास र क्रान्तिका रोमान्सको घेराबाट बाहिर निस्किएर सत्य खोज्ने यत्न पो हामीले कहिल्यै गर्यौ र ?

  • न्यूजविकले नेपालमा किन जन्मायो मार्क्स ?

    न्यूजविकले नेपालमा किन जन्मायो मार्क्स ?

    पुरुषोत्तम लम्साल
    [email protected]

    प्रसिद्ध अमेरिकी अखबार वाशिंगटन पोष्ट कम्पनीको सहप्रकाशन न्युजविकले १९९१ मे २७ मा नेपालमा कार्ल मार्क्स जीवित छन् (इन नेपाल, कार्ल माक्र्स लाइभ्स) शीर्षक दिएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का तात्कालीन महासभिव मदन भण्डारीको एउटा अन्तर्वार्ता प्रकाशन गर्यो । न्युजविकमा प्राथमिकतासाथ छापिएको त्यो नै नेपालका राजनीतिककर्मीको पहिलो अन्तर्वार्ता थियो । झन् त्यसमा प्रयुक्त विचारोत्तेजक, सनसनिपूर्ण शीर्षक अर्को अचम्म थियो । त्यसैले आज पनि मदन भण्डारीको नामको ब्यापार गर्नेहरु कि उक्त अन्तर्वार्ताको ‘कटिंग स्लिप’ देखाउँछन् कि उदाहरण दिन्छन् । एमालेका सामान्य कार्यकर्ताले मात्र होइन हिजोका र आजका एमाले सबैका लागि न्युजविकको त्यो अन्तर्वार्ता अजम्बरी बुटी जस्तै उल्लेख गर्नैपर्ने, भन्नै पर्ने विषय बनेको छ । अझ बढी, हिजो तिनै मदन भण्डारीले सैद्धान्तिक जलप लगाइदिएको जनताको बहुदलीय जनवाद (जबज) र भण्डारीले नेतृत्व गरेको राजनीतिक कार्यक्रमप्रति तीखो र तुच्छ व्याख्या र टिप्पणी गर्ने स्वघोषित क्रान्तिकारीका लागि अहिले त्यो अन्तर्वार्ता उधुम महान लागेको पनि देख्न र सुन्न पाइन्छ ।

    अन्तर्वार्तामा जम्मा १२ वटा सालाखाला र औसत प्रश्न छन् । सोभियत संघ त ढल्यो तपाईहरु कसरी सफल हुनुहुन्छ ? भन्ने आशयको पहिलो प्रश्नदेखि संसारका विभिन्न देशमा कम्युनिष्ट शाषकहरुविरुद्ध जनता उठिरहेको बेलामा यहाँ पनि (नेपालमा) उठ्यो भने के हुन्छ भन्ने अन्तिम प्रश्न छ । प्रश्नोत्तरमा कहीं पनि मार्क्सवादी सौन्दर्य चेतनाबारे, लेनिनवादबारे, माओवादबारे विमर्श छैन । उत्तर कोरिया र चीनलाई पुस्तकसँग जोडेर छोटा दुई प्रश्न छन् । पार्टीमा बैदेशिक सहयोग र लगानीको आशंकाबारे दुई, भूमिसुधार, बैदेशिक लगानि र धर्म एवम् जातीबारे एकएक प्रश्न छन् । उत्तरहरु सिधा र स्पष्ट छन् । ब्यवहारधर्मीले दिने सिधा र स्पष्ट जवाफमा मदन भण्डारी जमेका छन् । पहिलो उत्तरबाटै मदन भण्डारीले प्रजातन्त्र र निर्वाचन प्रक्रिया एवम् प्रणालीमा प्रतिवद्धता जनाएका छन् र अन्तिम जवाफमा यदि ‘जनता हामीविरुद्ध जुटे भने पनि राज्यशक्तिको प्रयोग नगर्ने’ प्रतिवद्धता झैं उत्तर छ ।

    त्यो बेलामा पनि न्युजविकसँग विश्वका दुई करोड पाठक रहेको देखिन्छ (न्युजविक हिस्ट्री) । एउटा पत्रिका सरदर ६ जनाले पढ्दा न्युजविकसँग त्यतिबेला दुई करोड पाठक रहेको प्रकाशनको दावी देखिएको रहेछ । अतएवः नेपालमा पञ्चायतविरुद्ध भएको जनआन्दोलनपछि निर्माण भएको ‘लेफ्ट पावर’लाई अन्तर्राष्ट्रिय प्रकाशनको मञ्चले ‘सेन्सेसनल’ बनाएर प्रस्तुत गर्नुलाई ठूलै चमत्कारको रुपमा व्याख्या भएको होला भनेर अहिलेका लागि मानौं । सञ्चार संस्थानको नीतिबारे जान्न नचाहने भएपछि यसमा बहस ब्यर्थ हुन्छ । किनकि, खुट्टामा ठोक्किए मात्र ढुंगा हुन्छ शिर झुकाएपछि देवता त भइहाल्छ ।

    यसको अर्थ मदन भण्डारीको अन्तर्वार्तालाई लिएर न्युजविकले कम्युनिष्ट वा राजनीतिको साम्यवादी धार वा वामपन्थीलाई कसरी हेर्दथ्यो भनेर बुझ्न नै हामीले खोजेनौं । न्यूजविकलाई वाशिंगटनले कसरी हेर्दथ्यो वा त्यसमा प्रकाशित सामाग्री (कन्टेन्ट) लाई कसरी मूल्यांकन गर्दथ्यो र त्यो मूल्यांकन गर्ने अलग्गै संयन्त्र पनि थियो कि थिएन भनेर हामीले खोजी नै गरेनौं । हो न हो नेपालमा कार्ल माक्र्स नै जन्मिएका रहेछन् भनेर आज पनि उस्तै प्रचार छ जसरी हिजोका दिनमा थियो । नेपालमा माक्र्स जन्मिएका थिए कि जन्माइएका थिए भनेर न अरुसँग प्रश्न सोध्यौं न आफैंलाई सोध्यौं ।

    तात्कालीन रुसी राष्ट्रपति मिखायल गोर्वाचोभको विगतलाई न्युजविकले कसरी, कुन तस्वीरबाट, कुन कोणबाट साथ, समर्थन र सहयोग गर्दथ्यो भनेर केलाउने अध्ययनहरु पनि छन् । सोभयित संघ मामिलामै मात्र न्यूजविकमा प्रकाशित झण्डै एक हजार सामाग्री (तस्वीरसमेत), त्यसको बिवरण र त्यसले ग्रहण गरेका सन्देश केलाएर विद्याबारिधीकै शोधहरु भएका छन् । यस्ता शोध तथा अनुसन्धानहरु रुसी सन्दर्भमा मात्र होइन पूर्वी एसिया, दक्षिण एसिया र मध्य एसियाका सन्दर्भमा पनि भएका छन् । र, आश्चर्य न्यूजविकले मदन भण्डारीको देवत्वकरण गराईदिएको छ र आजका एमालेजन त्यसैले खैंजडी बजाइरहेका छन् ।

    निश्चय नै सञ्चार सामाग्रीमा प्रदर्शन र आशय (लेटेन्ट र मेनिफेस्ट) को नापतौल गर्नु सहज र सरल काम होइन । यसको अर्थ रुप र आशय केलायउनै हुँदैन वा त्यो कोणलाई बर्जित नै गर्नपर्दछ भन्ने पनि नहुन सक्दछ । यसैले अमेरिकामा जिम्मी कार्टर, रोनाल्ड रेगन र जर्ज बुशसम्मको राष्ट्रपति कार्यकालमा न्युजविकले प्रतिनिधित्व गर्ने अमेरिकी स्वार्थ र दृष्टिकोण भने महत्वपूर्ण हुनसक्दछ । पत्रकारितालाई अमेरिकी प्रकाशनले कसरी अनअफिसियल अब्जरभर बनाउँदछ भनेर केलाउनेका लागि यो विचारणीय सन्दर्भ हुनसक्दछ । प्रकाशित सामाग्रीलाई स्वार्थ समूहले कसरी सतर्कताको विश्लेषण (अटेन्सन एनालिसिस) र इन्टेन्सन एलालिसिस (नियतको विश्लेषण) गर्दछन् भनेर बुझ्नका लागि पनि न्यूजविकमा प्रकाशित मदन भण्डारीको अन्तर्वार्ता एउटा नमूना हुनसक्दछ ।

    ‘द इफेक्ट अफ द गोर्वाचोभ एरा अन न्यूजविक कभरेज’का शोधकर्ता रुथ विन्चेस्टरले ७ वर्ष (सन् १९८५ देखि १९९१) न्यूजविकमा प्रकाशित शीर्षक, शब्द, तस्वीर र, कटलाइनमार्फत कसरी वाशिंगटनको कान ठाडो पार्दथ्यो भनेर केलाएका छन् । विन्चेस्टरले दावीसहित प्रस्तुत गरेको तथ्यले के भन्दछ भने ‘सोभियत संघ विघटनताक अमेरिकी राष्ट्रपति जर्ज बुशको कार्यकालमा सोभियत – चिनियाँ धूरीको सूचनाको मुख्य स्रोत नै न्युजविक थियो ।’ उनी भन्दछन् ‘न्युजविकलाई वाशिंगटनले आँखाको रुपमा मात्र होइन मुद्दाको तर्जुमा गर्ने हतियारको रुपमा समेत हेर्दथ्यो ।’

    अखबारी विषयवस्तुका विख्यात शोधकर्ता बोल्डिंगको मत मान्ने हो भने ‘समाचारको आकार र स्थानले स्वार्थ र प्राथमिकता निर्धारण गर्दछ ।’ न्युजविकमा मदन भण्डारीको अन्तर्वार्ता छापियो मात्र भनेर हावामा जुंगामा ताउ लगाउने नेपाली समूहले बोल्डिंगको उक्त मतलाई कहिल्यै केलाएको पाइदैन । प्रोपोगाण्डा म्यागेजिन भनेर चिनिएको अमेरिकन इलुस्ट्रेटेडले कसरी बैदेशिक सम्बनधबारे मुद्दा स्थापित गराउँदथ्यो र प्रशासनले कसरी त्यसलाई कि सोर्स बनाउँदथ्यो भनेर भएका अध्ययन पनि मदन भण्डारीको अन्तर्वार्ताको सन्दर्भमा टिप्नलायक सन्दर्भ हुनसक्दछ । न्युजविकमै प्रकाशित सामाग्री (विषयवस्तु) बारे अध्ययन गरेका एवीनले ‘बाक्लो नंग्रा भएको रुसी मयुर’ कसरी फरकफरक भुगोलमा फैलिरहेको छ भनेर दिएको दक्षिण एसियाको सन्दर्भ (एविन, १९८८) को कडी जोड्दा पनि न्युजविकले सतर्कता र नियत दुबैलाई ध्यानमा राखेर नेपाली वामपन्थको गोर्वाचोभकरणमा यथासक्य भूमिका खेलेको दावी गर्न सकिन्छ । यही प्रसंगमा ‘अमेरिकी मिडिया बिदेश मामिलामा शक्तिशाली छैनन् र सरकारद्वारा नियन्त्रित पनि छैनन तर तिनीहरुले फरक कोणबाट कसरी राष्ट्रिय स्वार्थमा आफ्नो प्रभावशाली भूमिका निभाइरहेका हुन्छन् (बेरी, १९९०) भनेर लामो बहस भएको भेटिन्छ ।

    न्युजविकले अमेरिकी बिदेश नीतिको अनुकूलतामा बैदेशिक सम्बन्धलाई (राजनीतिक दलहरुको सम्बन्धसमेत) मैत्रीपूर्ण र शत्रुतापूर्ण, शान्तिपूर्ण र आक्रामक, प्रगतिशील र यथास्थिति, स्थीर र अस्थीर, खुल्ला र सङ्कीर्ण बर्गीकरणमा रहेर सूचना र सतर्कता दुबैमा आँखा र कानको भूमिका निभाएको दावीलार्य निश्चित बिन्दूमा रहेर तर्कशास्त्रको घोलमा डुबाउने हो भने मदन भण्डारीको अन्तर्वार्ता र विषयवस्तुको सेन्सेटाइजेसन (अतिरञ्जनाकरण) बाट हामीले शिक्षा लिनपर्ने ठाउँहरु प्रशस्त भेटिन्छन् । किनकि, उमेर, विचार, प्रभाव र विस्तारमा मदन भण्डारी आँधीको गतिमा दौडिएका वामपन्थी घोडा थिए । अभिव्यक्ति, नेतृत्व, संगठन र अन्तर्राष्ट्रिय सीमामा समेत मदन भण्डारीको आयतनले देशीय परिधी काट्दै थियो । र, त्यो बेलामा न्युजविकको बाटो र माइकल लेट्विनको रेकर्डरबाट मदन भण्डारीले नीति, कार्यक्रमबारे प्रतिवद्धतापूर्ण सन्देश अमेरिकी धुरीलाई दिएका थिए ।

    ठीक त्यही बेला न्यूयोर्क टाइम्स, वाशिंगटन पोष्ट, न्युजविक र एबीसी न्युज जस्ता प्रभावशाली अमेरिकी सञ्चार माध्यममा प्रकाशन प्रशारण भएका एसियाली विषयवस्तुबारे अध्ययन गरेपछि एउटा निश्कर्ष आएको रहेछ ‘जहाँ सङ्कट, विकास र सत्ता सबैमा मिडियामा अमेरिकी नीतिकै पक्षपोषण हुने रहेछ (लेन्ट र राव, १९८९) ।’ उनीहरुको निश्कर्ष ‘अमेरिकाको आन्तरिक तथा बाह्य नीतिको सापेक्षताभन्दा बापहर नगएका समाचारहरको योगफल नै दुईतिहाई भन्दा बढी (लेन्ट र राव, १९८९, पृष्ठ २२)’ रहेको भेटिन्छ ।

    यति भनिसकेपछि न्युजविकले प्रकाशन गरेको मदन भण्डारीको अन्तवार्ताको पृष्ठभूमिसँग के के घटना र सन्दर्भहरु जोडिन्छन् भनेर तपाईमा चासो पलाउला । मदन भण्डारीले आफ्नै मौलिकतामा प्रतिपादन र विकास गरेको भनिएको जनताको बहुदलीय जनवादको पृष्ठभूमिमा के के अन्तर्राष्ट्रिय कडी ठोक्किन आउने रहेछन् भन्ने जिज्ञासा पनि रहला । सामाजिक खुल्लापनको अवधारणा र जबजको अवधारणामा के के तात्विक भिन्नता रहेछन् र त्यसलाई न्युजविकले कसरी प्रवर्धन गरेको रहेछ भन्ने पनि प्रश्न होला । माथिका तीन सवालका लागि तपाईले आगामी हप्ता “विश्वसन्देश साप्ताहिक” को यही कुनो पल्टाउनपर्नेछ । फेरि भेटौंला ।

  • मान्छे मरेर जाँदा के लैजान्छन् ? के छाड्छन् ?

    मान्छे मरेर जाँदा के लैजान्छन् ? के छाड्छन् ?

    योगेश आदी, न्युयोर्क

    ब्रमाण्डमा २ प्रमुख सत्य छन् । जन्म र मृत्यु । जन्ममा उत्सव र मृत्युमा शोक मनाउँछन् । आफ्नो जन्मको कुरा गरिरहन्छन् तर आफ्नो मृत्युको कुरा गर्न समेत डराउँछन् । किनकि जीवन र जीवनका सपनाहरु प्यारा हुन्छन् । जीवनमा मनले चाहेका सपनाहरु कति पुरा हुन्छन् कति अधुरै रहन्छन् । जीवनका संकल्प र सपनाका चर्चा गर्दा संसार जित्ने सपना देख्ने अलेक्जेन्डरको जीवनि मननीय लाग्छ ।

    ग्रिकका राजा अलेक्जेण्डर द ग्रेटले ३२ वर्षको उमेरमा नै सर्वाधिक बलियो शैन्य शक्ति कायम गरे । चर्चा संसारभर चल्यो तर युवावस्थामा नै मृत्युवरण गरे । उनको लास गिर्जाघर लैजादैं गर्दा उनको दाहिने हत्केला कफनबाट बाहिर निस्केको थियो । देख्नेहरुले लख काटे ।
    “मान्छेले मरेर जाँदा केही लैजादैन, अलेक्जेण्जर पनि खाली हात गए” धेरैले त्यही सोचे । किनकि तात्कालिन समयमा उनले संसारभरका राजाहरु मध्येमा ‘द ग्रेट’को उपमा समेत पाइसकेका थिए । उनका लागि असम्भव केही थिएन । यसर्थ धेरैले उस्तै सोचे । तर सबैले गलत सोचिरहेका थिए । किनकि उनीसँग सुन्दर सपनाका फहरिस्ते थियो, स्वर्णीम कल्पना थियो । आफुसँग जोडिएका सुमधुर संकल्पहरु थिए । ति सम्पूर्ण सपना, कल्पना र संकल्पहरु उनी मर्दा अधुरा नै अवस्थामा आफुसँगै लिएर मरेका थिए । जुन कहिल्यै पुरा भएन । आत्मा तृप्त थिएन । उनका अधुरा निजी संकल्पहरु उनको आफ्ना सपना थिए । अरुले पुरा गरेर उनका आत्मा कसरी तृप्त हुन सक्छ र ?

    त्यसैले मान्छे मरेर जाँदा अधुरा सपनाहरु पनि सँगै लिएर जान्छन् । पुनर्जन्म, आत्मा र मृतात्माको स्वस्तिशान्तिको पूजा अर्चना गर्नेहरुले सायद अधुरा सपनाको सानिध्य गर्छन् । चन्द्रमामा वस्ति बसाउने योजनाकार वैज्ञानिक पनि घर फर्कदा बाटोमा पर्ने पुर्खाको चिहानमा ढोग्छन् । अदृष्य शक्तिमा श्रद्धा राख्छन् । नदेखिएका जीवनका पाटाहरुको महत्व कहाँ छैन ? वास्तवमा मानव जीवनमा देखिएका भन्दा नदेखिएका चिजले कालान्तरमा पछ्याइ रहदो रहेछ । मनको कुनामा सजाइएका चाहनाहरुको दैनिक चर्चा गरिदैन तर त्यही चाहनामा नै आत्माको प्यास मेट्ने ताकत हुन्छ । तसर्थ; मनको कुनामा दबिएका इच्छा र चाहना पुरा गर्ने जीवित रहँदा नै हो । अन्यथा मरेर जाँदा सबै अधुरा चाहना सँगै लिएर जानुपर्ने अवस्था आउँछ ।

    मान्छेले मरेर जाँदा छाड्ने भनेको प्रयोग गरेका बस्तुहरु र दोश्रोसँग जोडिएका भावना हुन् । एकाधले यश र कृति छाडेर जान्छन् । ऋग्वेदले मृत्युपछिको मानव अस्तित्वलाई ३ भागमा बिभाजन गरेको छ; परमात्मा, आत्मा र प्रकृति । मान्छे मरेपछि ऊ पुन: प्रकृतिमा मिसिन्छ । तर आत्मा भने शक्तिको भण्डारमा रहिरहन्छन् । शक्ति भण्डारमा त्यही अधुरा चाहना नै भट्किने हो । यसर्थ; यो जीवनकालमा बनाएका साना ठुला सपनाहरु यै जीवनकालमा साकार पार्ने यत्न गरौं । पुनर्जन्ममा विश्वास गर्नेहरुका लागि अर्को जन्मका लागि नयाँ सपनाहरु तयार रहने छन् । जीवनमा मान्छेसँग अन्योन्याश्रित जोडिने उसको कर्म हो । कर्म अनुसार नै उसको भाग तयार हुन्छ । कर्म यस जन्मको भोगको लागि गरिनु पर्दछ । त्यागेर जाने त भोग गरिसकेका वस्तुहरु हुन् ।

    भौतिक चिजबिजहरु ईच्छा, चाहना र सपना पुरा गर्ने साधन हुन् । साध्य मनशान्ति हो । भौतिक संसारको सास नै मन हो । नदेखिएका, नदेखाइएका चिजले नै पर्दा अगाडिका वस्तु नचाइ रहेको हुन्छ । मन गतिशिल हुन्छ । अवस्था अनुसार बदलिन सक्छ ।
    मान्छेले निश्चित उमेर समुह पार गर्दै गर्दा थुप्रै देखिने आदतहरु थप्दै, त्याग्दै जान्छन् । नदेखिने कैयन गुण अवगुण पनि थप्छन्, गुमाउँछन् । बाँचुन्जेल महत्व राख्ने मुर्त वस्तुसँग मानिस प्रत्यक्ष जोडिन्छन् भने अमुर्त बस्तुसँग मनले सम्वन्ध जोडेको हुन्छ । मनले साँचेका, ठानेका र मानेका सपना पुरा गर्ने जीवित रहँदा नै हो । नत्र मरेर जाँदा सँगै लिएर जानुको विकल्प रहदैन ।

  • माँ हार्दिक श्रद्धाञ्जली !

    माँ हार्दिक श्रद्धाञ्जली !

    प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’
    कीर्तिपुर

    आमाले अन्तिम पटक पृथ्वीलाई उज्यालो छरेर निभ्दा, झमक्क साँझ भइसकेको थियो । आमालाई दागवत्ति दिएर पशुपतिबाट कीर्तिपुर फर्केको यात्रा मेरो लागि निकै कष्टकर थियो । म त्यो संसारमा एक्लै बाँच्न फर्किरहेको थिएँ, जुन संसारमा म आमासँग साढे तीन दशक भन्दा बढी सँगसँगै बाँचिरहेको थिएँ । यात्राभरी जिन्दगीले चुनौति गर्यो, अब के तँ एक्लै बाँच्न सक्छस् ? जिन्दगीको चुनौतिलाई सामना गर्ने ल्याकत नभएर होला, रत्नपार्कमा पुग्दा, अँध्यारोमै वान वेतिर छिरेछु । आर्यघाटले दया गरी फर्काएको मलाई, ट्राफिकहरुले पनि सप्रेम जिन्दगीको दिशामा फर्काइदियो । आमा बिनाको पहिलो पाइला नै मेरो गलत बाटोमा परेको थियो । यसरी पटक पटक बाटो बिराएको त्यो साँझ आमालाई खुब सम्झेँ ।
    आमालाई दागबत्ती दिएर घर आएपछि, मभित्र आएको पहिलो चिन्तन थियो । यो कस्तो संस्कार हो, जन्म दिएकै आमालाई जलाउनु पर्ने, पोल्नुपर्ने, खरानी गर्नुपर्ने । संसारको सबैभन्दा प्रिय ब्यक्तिलाई आफ्नै हातले नष्ट गर्नुपर्ने । पोलिसके पछि अन्त्यमा, एक अँजुली खरानी हात पर्ने, त्यो पनि खोलाको लहरलाई ‘लैजा’ भनेर सुम्पेर रित्तिनु पर्ने । फकिर जस्तो आफ्नै हत्केलालाई हेरेर खुब रोएँ । त्यो सुन्य सुन्य हत्केला एकक्षणको लागि विश्वबिद्यालय भयो र जीवनको पाठ मज्जैले पढाइ दियो ।
    आमाको मृत्युपछि पहिलो पटक आमाको कोठामा प्रवेश गरेँ । आमाको ओछ्यान सुन्य थियो । सिरक भित्तातिर आमा जस्तै गुटमुटिएर पल्टिरहेको थियो । भित्तामा झुण्ड्याएको आमाको तस्विर मलाई हेर्दै निकै रोएको आभास भयो । मैले पनि तस्विरको बुँदसँगै आफ्ना बुँदहरु मिसाइदिए । बाहिर आकास पनि दर्किरहेको थियो । यो झरीको त्रिवेणीमा म निकै भिजेको थिएँ । आमालाई सम्झिरहेँ, सम्झिरहेँ । सम्झेँ, यस्तै जेठको झरी परेको साँझ एक रेडियोमा दिएको साहित्यिक अन्तर्वार्ता, जस्मा मलाई एउटा प्रश्न सोधिएको थियो, आमा के हो ? मैले जवाफ दिएको थिएँ – आमाको बारेमा ब्याख्या गर्नु पर्दा म मौन नै हुन्छु । मेरो मौनतालाई तपाईले जे बुझ्नुहुन्छ त्यही आमा हो । आमाको यो भन्दा सुन्दर ब्याख्या अरु छैन । यदि तपाईको ओठ दुधले नुहाएको छ भने तपाईले आमालाई देवीको रुपमा बुझ्नु हुनेछ भने तपाईको ओठ पानीले नुहाएको हो भने तपाईले आमालाई सामान्य नारीको रुपमा लिनु हुनेछ ।
    अन्तर्वार्तामा सही नै भनेछु जस्तो लाग्यो, अपरिभाषित आमाका धेरै महानताहरु यही साँझमा भेटाएँ । आमाको धेरै याद आयो, यादसँगै आँखा रसाउँदै आयो ।
    चौवालीस वर्षको उमेरमै आमा बिधवा हुनुभयो । जिम्मेवारीमा थियो, सात सन्तान । आधारको रुपमा रहेको थियो, एक काख । सबैभन्दा सानो भएकोले त्यो काख मैले नै ओगटेँ । आमाको छातिबाट सबै सन्तानको जीवन सुरुवात भए पनि अन्तिम पटक छातिको तातो मैले नै पाएकोले म आमाको अलि नजिकै थिएँ, आमाका अरु सन्तान भन्दा र अन्त्यसम्म पनि नजिक नै भएँ ।
    बुबा बित्नु हुँदा, आमाको अवशेष जवानिलाई हेरेर एक काकाले भन्नु भएको थियो रे, मेरी बुहारी, बुहारी भएर बस्दैन ।
    आमाले त्यो बेला खोइ कहाँबाट कुन शक्ति निकालेर, सबै इच्छा मार्नुभयो र एउटा बिशाल अँगालो फैलाएर सात सन्तानलाई बेरिदिनु भयो । त्यही बेला, आमाले बुबाको उन्नाचास उमेर पनि थपेर, त्रियानब्बे उमेरले परिपक्व हुनुभयो । श्रीमती बिना बाँच्नै नसक्ने श्रीमानहरुलाई देखाइदियो कि श्रीमान बिना पनि श्रीमतीहरु बाँच्न सक्छन् । आमाको लागि सन्तान नै सबथोक भयो ।
    आमाको जीवन भन्ने हो भने संघर्ष नै संघर्षको एक चक्र थियो । सुन्दरजलको एउटा गाउँमा आमाको जन्म भयो । सानैदेखि डोको बोकेर जङ्गलमा घाँस दाउरा लिन जानु पर्थ्यो । कहिलेकाँही घाँससँगै डोकोमा हरियो सर्प पनि लुटपुटिन्थे । घाँस टिप्न जाँदा एकदिन एउटा उडन्ते सर्पले झण्डै मारेको कथा सुनाउनु हुन्थ्यो । डोकोले छोपेर बाँचेको तर एक बृद्धालाई टाउकैमा टोकेर मारेको घटना बारम्वार सुनाउनु हुन्थ्यो । भन्ने हो भने हामी आमाले सुनाउनु भएको यस्तै यस्तै कथामा हुर्कियौँ । यस्तै यस्तै संघर्षका किस्ता–किस्तामा, बीस वर्षको कलिलो उमेरमै आमाको बिहावारी भयो । कीर्तिपुरको एक गाउँमा । एक गाउँबाट अर्को गाउँमा सरेर आए पनि निधार त्यही बोकेर आउनु भएको थियो । हत्कोलाका रेखाहरु उहीँ थिए । डोको छुटे तर दुखको पोको छुटेन । सन्तानहरु थपिँदै गए । एक, दुई, तीन …..। सातौ सन्तान भएको केही वर्षमा पिताजीको निधन भयो । काजक्रिया गर्नको लागि आमासँग सुको पैसा थिएन । भएको गहना पनि बेचेर आमाले काजक्रिया गर्नुभयो । आमाको त्यो सेतो संसारलाई सम्झिँदा आज पनि आँखाबाट आँसु तर्किन्छ । त्यो दुखलाई हेरेर नै हामी सबै सन्तानले अठोट गरेका थियौँ, हामी सबै मिलेर भोली आमालाई सुख दिनुपर्छ ।
    सबै सन्तान बडा भए । सबै आआफ्नो ठाउँमा चरित्रवान, शिक्षित र सफल भए । आमाको जीवनमा सुखको दिन पनि आयो । जे होस्, आमाको चार दिनमा, तीन दिन दुखमा बिते पनि बाँकी अन्तिम एक दिन हामीले हँसायौ नै जस्तो लाग्छ, यसैमा सन्तुष्टी जाग्छ । आमाको लागि जे किनेर दिए पनि हामीले काल किन्न सकिनौँ । आमा बिरामी हुनुभयो र सदाको लागि सतहत्तरको उमेरमा यो संसारबाट बिदा लिनुभयो । आमाले जीवनको पनि अनुभव दियो र मृत्युको पनि एक चाङ्ग अनुभव थमाएर गयो ।
    आज आएर मलाई लाग्छ, मृत्यु संयोगहरुको श्रृखला हो । आमा हस्पिटलमा हुनुहुन्थ्यो । श्रीमती कुरुवामा थिइन् । एक सपना देखेँ आमा परेलीभरी आमा उमारेर मलाई हेरिरहनु भएको थियो । सेकेन्ड भन्दा कमको वा त्यो बराबरको त्यो हेराइले मेरो बिपना सारै भारी भयो । सायद त्यो बिदाइको आभास थियो वा अरु केही । मृत्युअगाडि यस्ता संयोगहरु जोडिएर आउँदो रहेछ । किलामा झुन्डिएको सेतो कमिज अरु दिन अनुशासनमै रहने, त्यो दिनमै भुइँमा खस्नु, दुधसँग भात मुछेर खानै लाग्दा आमाको मृत्युको खबर लिएर फोन बज्नु, पिताको नाम बुद्ध थियो र मेरी आमा बुद्धपूर्णिमाकै दिन अस्ताएको कुरा सुनायो भने सायद बिज्ञानले आश्चर्य मानेर जिब्रो टोक्नेछ । तर वास्तवमा भएको त्यही थियो ।
    जिउँदा हुँदा, बिपनाभरि देखेको आमालाई अचेल म सपनामा खासै देख्दिनँ । सुत्नुअघि जति सम्झे पनि सपना खाली नै हुन्छ । जिउँदो हुञ्जेल अथाह प्रेम थियो । खोई, मृत्युपछि चटक्कै माया मार्नुभयो । यसरी बुझेँ, जीवनभरि सत्यमै बाँच्नु भएकी आमाले झुटो सपनामा आएर फटयाइँ गर्न चाहनु भएन । बिपनामा रोएर थाकेका आाँखाहरु सपनामा बिसौनी होस्, चौतारी नै होस् भन्ने शुभेक्षा राख्नु भयो ।
    यो जिन्दगी आमाको पाठेघरबाट सुरु भएर, पाठेघरमै अन्त्य हुने भए कति जाति हुथ्यो । आमाको शरीरभित्रै कतै न कतै त समाधिस्थ हुन पाउँथ्यो । तर यो भौतिक संसारमा त एक मुठी खरानी पनि गुमाउनु पर्ने अवस्था छ । आखिर के रहेछ त यो संसारमा आफ्नो भन्नु ? न आमाको शरीर आफ्नो वशमा छ, न आफ्नो शरीर नै ।


    म त्यो बेला धेरै दुखेँ, जव छोरीले आमाको पलङ्गमा पुगेर सिरक ओल्टाइ पल्टाइ हेरी । सिरक मौन थियो । अहिले यतिबेला आमाको तस्विर हेर्दैछु र यो स्वीकार्न अझै पनि गाह्रो छ कि आमा भौतिक रुपमा हुनुहुन्न । आमाको रितो कोठामा पाँच वर्षकी छोरीले बोलाउँदै जानु, खोज्नु, बिछयौना छाम्नु, सिरक पल्टाउनु यो भन्दा दुखदायी पीडा अरु के होला । आमाको मृत्यु भएको छ भनेर भन्न पनि नसकिने, तर आमा दुईचार दिनमा आउनु हुन्छ भनेर झुटो कुरा बोल्न पनि नसक्ने यो भन्दा ठूलो विडम्बना अर्को के हुन्छ ? आकासमा भगवानको एक अदृष्य छाप्रो छ भनेर हुन्छ कि पिलपिल धर्तितिर घोप्टिएर बस्ने ताराहरुलाई देखाएर हुन्छ, आमाको अस्तित्वको कुरा गर्छु । यसरी छोरीको आँसु पुछे पनि, आफैभित्र उम्लिने ‘अव आमा फर्केर आउनु हुन्न’को चेतना भने त्यो बेला निकै भारी लाग्छ । त्यो बेला छोरीको आँसु सुकाएर आफू रसाएँ कि जस्तो लाग्छ । जे होस्, आमालाई हार्दिक श्रद्धाञ्जली ! जहाँ रहनु, सुखी रहनु । भोली मेरो यात्रा पनि त्यहीँ हो । त्यो यात्रामा चालेको पहिलो पाइलामै हजुरसित भेट होस्, भगवानसित मेरो यही बिन्ति छ ।

  • दोन मोन्तेरो !

    दोन मोन्तेरो !

    अच्युत सिग्देल, न्युयोर्क

    दोन मोन्तेरो स्पेनको प्रख्यात रेष्टुरेन्टका मालिक थिए। चेन रेष्टुरा ज़्यादै लोकप्रिय थियो। “सबै मानव जातिलाई सम्मान गर, सबैलाई सेवा देउ” भन्ने उनको मुलमन्त्र थियो। “रैतिदेखि रँकसम्म रोगीदेखि भोगीसम्म” सबैको बराबर ईज्जत दिनु उनको रेष्टुराँको नारा थियो।
    उत्तम सेवा र गुणस्तरीय खानाले प्रसिद्धि कमाएको उनको रेष्टुराँ ज्यादै व्यस्त थियो। कामको चापाचापमा उनलाई आफ्नो स्वास्थ्यको बारेमा ध्यानदिने फुर्सद पनि थिएन।

    मेसिन त बेला बेलामा मर्मत गर्नु पर्छ मान्छेको शरिरको त के कुरा ? उनलाई हल्का छातीको भित्र पट्टी दुख्न सुरू भएर चर्किदै गईरहेको थियो। भरे जँचाउन जाउँला, भोली जाऔला भन्दाभन्दै एक दिन स्वास फेर्न नै नसकेपछि अस्पताल जचाउन गए। डाक्टरले उनलाई लङ क्यान्सर भएको नतिजा आएको बताए। उनको अनुहार पहेलो भयो। डाक्टरले लामो स्वास फेर्दै उनीसँग पॉच छ महिना मात्र बॉकि रहेको कुरा बताए। सँसार जित्ने उद्देश्य लिएर सफलताको सगरमाथा चढ्दै गरेको मान्छेलाई नियतिले धोका दियो। लाग्यो उनलाई आफ्नै भरोसाको दैवले पनि ढाँट्यो।

    उनले गहिरो स्वाश लिए। ऑखा अगाडि आफ्नो बिगत चलचित्र बनेर घुमिरह्यो। आफू छँदै आफूले गरेको कामको मुल्यॉकन र पारख गर्ने अठोट गरे उनले। यतिकै त के मर्नु र हौ। मर्नु अगाडि एउटा गतिलो निर्णय लिनुपर्ने भान भयो उनलाई। आफूले आफैलाई जोख्न र के पाएको र के गुमाएको परिक्षण गर्ने अठोट गरे।

    एक दिन भेष र हुलिया बदलेर उनले आफूलाई घरबार बिहिन मागन्तेको स्वरूपमा ढाले। लवज फेरे, मैला लुगा लगाएर आफ्नो रेष्टुरेन्टको भ्रमणमा निस्किए।

    पहिलो रेस्टुराको गेटमा नपुग्दै गेटपालेले उनलाई रोके। तिमी जस्ता होमलेस भिखारी यो रेष्टुरामा आउन मनाही छ। दोन मोन्तेरो अवाक् भए । मेनेजरलाई भेट्न अनुरोध गरे। मेनेजर उनको नजिक नै आएन अचकाली गाली दिएर उनलाई त्यहॉबाट भगाइयो।

    उनी दोश्रो रेष्टुरामा गए । त्यहाँको सेफले उनलाई तिमी पछाडीको ढोकावाट आए हिजोको बासी पाउरोटी दिन्छु। त्यो पनि तिमीलाई ज़िन्दगीको सबैभन्दा ठूलो गिफ्ट हुनेछ। यो रेष्टुरामा खान त तिमी नुहाएर नयॉ कपडा लगाएर आए पनि पाउने छैनौ भने। यो उच्च घरानीया र खानदानीहरूको ठाउँ हो। तिमी यो रेष्टुराको वरिपरीनै नपर्नु भन्दै उनलाई भगाईयो।

    दोन मोन्तेरो जहॉ जहॉ गए उनको रेष्टूरामा उनलाई नराम्रो गाली र अपहेलना खानु पऱ्यो। उनले सबैलाई लेक्चर दिदै तालिममा सिकाएको “सबैलाई सेवा र सम्मान गर” कही कतै लागू नभएको आफ्नै ऑखाले देखे। मानवता मरेको देखेर उनको ऑखाबाट ऑसु आयो। घडीको सुई झै नरोईकन लगातार घोटिई रहँदा उनको मानवता र मानव सेवा पनि मेसिनरी भै सकेको उसलाई भान भयो। सम्भ्रान्तको वाहीवाहीको घेरामा उनको कम्पनीले मानवीय सेवा र सत्कारको सानो ख़्यालसम्म नगरेको उनलाई भान भयो। जुन धरातलमा टेकेर उनी सफल भएका थिए। त्यही भासिएको महसुस हुँदै गयो उनलाई ।

    सडक छेउको बेन्चमा बसेर चराचुरूङी र लोखर्कै हेरिरहे । आफूले तालिम दिएको स्टाफबाट यस्तो हर्कतको अपेक्षा थिएन उनलाई। हात समाएर काम सिकाएका भान्सेहरूले व्यवसायिक मर्मलाई भूलेकोमा स्तव्ध बन्दै गए उनी । नजिकै बगैचाबाट ओईलिएको एउटा गुलाबको फूल टिपे। सुगन्ध र सौन्दर्य बिनाको फूलसँगै दॉजे उनले आफूलाई। गतिशील जीवनरूपि रेलले ट्याक छोडेपछिको सम्भावित दुर्घटनाले अत्यास दिलाए जस्तो भयो उनलाई। चिटचिट पसिना आयो। ऑखाको कोश रसाएर आयो । एक थोपा ऑशु थपक्क चुंहियो उनको हातको गुलाबमा। नजिकै रहेको चर्चको ढोकामा फूल चढाएर भने ईश्वर यो सुन्दर शृष्टीको राम्रा रचनाहरूमा पनि कति धेरै कैफ़ियत किन लुकेको हुन्छ हँ?

    उनको दिमागमा सहरको सबैभन्दा चलेको अर्को एक रेष्टुरा जहॉ आफ्नो सबैभन्दा नजिकको मित्रवत कर्मचारी थिए। जहॉ हलिउड र फ्रान्सका ठूला ठूला सिनेमा सुटिङ हुन्थ्यो। एक सुन्दर रेष्टुराँका सजावटमा ठूलो लगानि भएको थियो। जसको मेनेजर रोजारीयोलाई सम्झिए। उसकोमा त कम्पनीको मूल्यमान्यता बॉकी रहेको कुरामा उनलाई विस्वास थियो। उनी रोजरियोले चलाउने रेष्टुराँमा गए। उनी कतै नरोकिई सिधै रोजारियो बसेको बारमा गएर सामुन्ने कुर्सीमा बसे। रोजारियोले उनलाई तलदेखि माथीसम्म हेर्यो । दोन मोन्तेरोलाई लाग्यो रोजारियोले उनलाई चिने होला भनेर।

    रोजारियोले झ्यालतिर हेर्दै उनलाई तिमी ग़लत ठाउँमा आएछौ भन्यो। दोन मोन्तेरोले अनुनय विनय गरे । म पनि रेष्टूरा मालिक थिएँ। स्टक व्यापारमा सबै चौपट भयो। म बरबाद भएँ । मलाई कमसेकम एउटा ब्रेड भएपनि दिनुस। मैले एक हप्तादेखि खान पाएको छैन। मलाई बचाउनुस म ज़िन्दगीभर तपाईको गुण भुल्ने छैन। अहमताले भरिएको रोजारियो पग्लिएन। उसले दोनलाई खिस्याउँदै भन्यो; “व्यापार गर्न दिमाग चाहिन्छ। दिमाग नहुनेहरू तिमी जस्तै भिखारी हुन्छन्। मेरो साहुजी पनि बेफाल्तुको कन्जुस थियो। स्वॉठ थियो। कुनै जुक्ति र तरिका नै थिएन। यो सबै मैले गर्दा भएको हो । मेरो मालिक एक दुई महिनामा क्यान्सरले मर्दैछ । त्यसपछि यो सारा चेन रेष्टुरा मेरै नाममा हुनेछ। म जतिको योग्य रेष्टुरेन्ट व्यापारी अर्को जन्मने नै छैन। तिमी जस्तो भिखारीको यो रेष्टुरामा कुनै स्थान छैन। तिमी बाहिर निस्किहाल”। उसले पालेलाई आदेशदियो “यस्ता भिखारीहरूलाई मेरो रेष्टुराको आसपास आउन नदिनु”। मोन्तेरोको ऑखा भरि ऑसु भरियो।

    दोन मोन्तेरो भाव विव्हल भए। अन्तिममा सहर बाहिर पट्टी एकान्तमा रहेको एउटा भिलेज रिजोर्ट टाईपको सुन्दर रेष्टुरा भ्रमण गर्ने निधो गरे। सायद त्यस दिनको लागि त्यो उनको अन्तिम रेष्टुराँ भ्रमण थियो। उनको मनमा कुनै आशा बॉकि थिएन। मनमनै हदैसम्मको नराम्रो व्यवहार सहन उनले आफूलाई तयार पारे । उनले गेटपालेलाई देखे गेटपालेले नरम भएर अभिवादन गर्यो। मोन्तेरोले सबै ठाउँमा जस्तै व्यथा यहॉपनि बताए। गेटपालेले म्यानेजर बोलाई दिए । म्यानेजर आएर परिचय मागे उनको व्यथा सोधे। एक छिन मोन्तेरोलाई त्यही रोकिन भन्दै म्यानेजर भित्र पसे। मोन्तेरोलाई पटक्कै विश्वास थिएन। उनलाई यहॉ खाना मिल्छ तर उनले सोचेजस्तो भएन म्यानेजरले उनलाई भित्र लगे ठूलो डाईनिङ टेवलमा विभिन्न प्रकारको डिस राखिएको थियो। क्यानडल लाईट सजिएको सुन्दर टेवल तर्फ ईशारा गर्दै मेनेजर म्याटियोले दोन मोन्तेरोलाई बस्न अनुरोध गरे।

    यी सबै तिमी र मेरोलागि हो । ल सुरू गर। म पनि तिमी जस्तै बेरोज़गार भएको थिएँ। बाटोमा माग्दै हिड्थे । एकदिन यो रेष्टुरा मालिकसँग मेरो भेटभयो । उनले मलाई भेटभरी खाना दिएर यहि रेष्टुरामा कामपनि दिए। म अहिले म्यानेजर भएको छु। यो समय गतिशील छ । समयले एकै झड्कामा कस्लाई कहॉ पुर्याउँछ थाहा छैन। त्यसैले तिमी हरेस नखाउ सफा भएर भोलिदेखि काम गर्न आउ म तिमीलाई काममा राख्ने छु। ईमान्दारी साथ काम गर। तिम्रो सबै ऋण चुक्ता हुनेछ । म तिमीलाई काम सिकाउँछु। दोन मोन्तेरोको ऑखामा खुसीको ऑशु टल्कियो । खाना खाएर उनी नमस्ते गरेर बिंदा भए। मेनेजरले ढोकासम्म छोडिदिए।

    भोलीपल्ट दोन मोन्तेरोले सबै ब्रान्च मेनेजरको मिटिङ डाके । उनी त्यही ड्रेसमा थिए। मिटिङ स्थानमा उनलाई देखेर सबैले नाक खुम्च्याए। सभाहलना सबैको उपस्थितिपछि एकाएक आफ्नो गेटअप फ्याकेर आफ्नो असली रूप देखाए। सबै म्यानेजरहरूको होस उड्यो। म्याटियो बाहेक सबैको जागीर चैट भयो । उनले आफूलाई क्यान्सर भएको धेरै दिन नबॉच्ने भएकोले सही उत्तराधिकारी खोज्न यो सबै गरेको बताए। उनीसँग समय थिएन, राम्रो उत्तराधिकारीको खोजीमा थिए। म्याटियोलाई उनले आफ्नो वील (वारिस) हस्तान्तरण गरे। सबै श्री सम्पति र रेष्टुराहरू म्याटियोको हुने भयो। रोजारियो लगायतका म्यानेजरहरू सबै बेरोज़गार भए। दोन मोन्तेरोलाई मर्नुपूर्व एक गतिलो निर्णय लिन पाएकोमा गौरव महसुस भयो। तथास्तु !

  • स्वधर्म, सत्कर्म र ब्रम्हज्ञान

    स्वधर्म, सत्कर्म र ब्रम्हज्ञान

    अच्युत सिग्देल, न्युयोर्क

    ब्राम्हणको कुलमा जन्मदैमा ब्राम्हण हुदैन। गुरू द्रोणाचार्यको गुरूकुलमा कौरव, पाण्डवसँगै उनका सुपुत्र अस्वत्थामा पनि शिक्षा लिन्थे। बिशिष्ट शिष्य बिध्यावारिधि वा एक्सीलेन्सी भने अर्जुनले मात्र पाए।

    एकदिन धनुर्विद्याको परिक्षा थियो। सबैलाई धनुषवाण बोकाएर गुरू द्रोणाचार्यले एकान्त जंगल भित्रको ठूलो पीपलको रूख भए ठाउँतिर लिएर गए । रूखमा निशानाको लागी चराहरू बनाईएको थियो। द्रोणाचार्यले आफ्ना शिष्यहरूलाई सम्झाए; “तिमीहरूलाई एक एक वाण दिईनेछ। चराको आखॉमा तारो हानेर चरा खसाल्नु पर्नेछ। ल लाईनबद्द भएर धनुषबॉण सिधा गर“ । सबैले आ-आफ्नो धनुषवाण लिएर पोजिसन तयार गरे। गुरूले एक एक गर्दै सबैलाई सोधे; “तिमीहरूले के देख्यौ” ?

    पालैपालो सबैले जवाफ थिए। युधिष्ठिरले भने – ‘मैले चरा र पीपलको बोट देखें’। दुर्योधनले कड्कदै भनें – ‘दाजु ! यस्तो जँगलमा एउटा रूख र चरामात्र देख्नुभयो ? यहॉ हेर्नुस् धेरै रूखहरूको बीचमा एउटा ठूलो पीपलको बिशाल बृक्ष छ। त्यसको धेरै हॉगामा चराहरू छन्। छिटो आज्ञा पाउँ गुरूदेव, म एकै पटकमा खसाली दिन्छु’। प्राय: सबैको उत्तर एउटै थियो। अन्तिममा द्रोणाचार्यले अर्जुनलाई सोध्नुभयो; “अर्जुन तिमीले के देख्यौ” ? अर्जुनले उत्तर दिए । “गुरुदेव मैले त चराको ऑखा मात्र देखें”। द्रोणाचार्यले पुन: प्रश्न गर्नुभयो; “अर्जुन भन चराको रंग कस्तो छ?” अर्जुनले भनें “गुरूदेव मैले चराको रंग देखेको छैन”।

    गरू द्रोणाचार्यले सबैलाई रोक्दै भन्नुभयो; “हेर शिष्यहरू तिमीहरू सबै निपुर्ण छौ। मलाई थाहा छ, तिमीहरू सबैले चरा खसाल्न सक्छौ। मात्र फरक यो हो कि- अर्जुन आफ्नो कामप्रति पुरा लगाव राख्छन । मन केन्द्रित छ । उनी सर्वश्रेष्ठ शिष्य हुन। यो परि़क्षा बौद्धिकताको थियो । उनी अव्वल प्रमाणीत भए”।

    दुर्योधन मुर्मुरिए, क्रोधित बने। अश्वस्थामालाई जलन भयो। उनले बाबुलाई भनें; “बुबा म हजुरको आफ्नै छोरा र पूर्णकालिक शिष्य। अव्वल शिष्यको पदवि मैले पाउनु पर्छ । यो मेरो हक़ हो”। द्रोणाचार्यले जवाफ दिए; “शिक्षा, राजनीति र व्यापारमा जो सर्वज्ञान सम्पन्न छ। दक्षता प्रमाणीत हुन्छ । उ नै सही हकदार हुन्छ। बाउ छोराको नातामा अवस्य अर्जुन भन्दा तिमी मसँग नजिक छौ तर दिक्षामा उ नै सबैभन्दा दक्ष हो । त्यसैले मैले सबै युद्द यन्त्रहरूको शिक्षा, दिक्षा अर्जुनलाई दिनु पर्छ”।

    वर्तमान समयमा सम्पूर्ण आणविक हतियारको रिमोट अमेरिकाले आफ्नो नियन्त्रणमा राखे जस्तै द्रोणाचार्यले सम्पुर्ण हतियारको कौंशल अर्जुनलाई दिए । जसरी द्रोणाचार्यले एक असल गुरूको सही धर्म निवारण गरे त्यसै धृतराष्ट्रले कुल धर्म निभाई दिएको भए महाभारत हुने थिएन।
    संसारका सबै बतण्डहरु स्वधर्म र मर्यादा कायम नराख्दा भएका छन् । जर्मनीले मानवीय धर्म निभाएको भए न त विश्व युद्द हुन्थे । गलतलाई रोक्न सकेको भए न त गणेशमान बिवादित हुनुहुन्थ्यो नत कृष्ण प्रसादमाथि अन्तरघात हुन्थ्यो। समाजका असंगतिहरु गलतलाई नजरअन्दाज गर्दा भएका छन् ।

    केपी ओलीका छोराहरू अस्वत्थामा बनेर द्रोणाचार्यलाई परिवन्दमा पारेको देख्दा होस् वा पौत्र – पुत्री प्रेममा धृतराष्ट्र बनेका प्रचण्डलाई हेर्दा होस। जो सुकै कुलमा जन्मेपनि ब्रह्मज्ञान बिनाको खोटी दिमागलाई ब्राम्हण पद दिए मृतात्माले मन, बचन र कर्मलाई अपवित्र बनाई नै रहने छ। देश अस्थिरता तर्फ गईरहने छ।

    तसर्थ; जो जुन काममा निपुर्ण छ उसलाई त्यो काम दिऔ। महावीर पुन आविष्कारको ब्राम्मण हुन। उनको ब्रह्म मन मस्तिष्कमा आविष्कार छ। उनी आविस्कार र प्रयोगका ब्रम्हज्ञानि हुन । डा केसी मानव सेवाका ब्राम्हण हुन। सन्दुक ऑखा उपचारका ब्राम्हण हुन। भगवान कोईराला मुटू रोगका ब्राम्हण हुन। के उनीहरूको सन्तानले सोही पेशामा ब्रम्हज्ञान पाउने छन् ? अवस्य छैनन्। यसकारण कुनै पनि ब्राम्हण पुत्र मात्रै ब्राम्हण हुदैनन् ।
    तथास्तु !

  • संस्कृत के हो ? योग कहाँबाट आयो ?

    संस्कृत के हो ? योग कहाँबाट आयो ?

    डा. बद्री पोख्रेल
    (केन्द्रीय अध्यक्ष)
    जयतु संस्कृतम्, नेपाल

    आजभोलि कसैकसैले संस्कृत के हो ? किन संस्कृत पढ्ने ? संस्कृत भित्र के जान्नुपर्ने कुरा छन् ? भनि सकारात्मक सोचकासाथ अनभिज्ञता प्रकटगरी जिज्ञासा राखेको सुनिन्छ । यद्यपि संस्कृतको आलोचना गर्ने, मृत भाषा भन्ने, बाहुनको विद्या र पुरोहित्याईंको विद्या भनेर आलोचनागर्नेहरुको संख्या पनि त्यत्तिकै छ । बुझेर वा नबुझेर वा कुनै पनि स्वार्थमा लागेर अनाहकमा संस्कृतका सम्बन्धमा प्रश्नगर्नेहरु पनि धेरै हुन्छन् । ती सवै किसिमका जिज्ञासुहरुको निमित्त चित्तबुझ्दो जवाफ दिएर संस्कृतको महत्ता र उपादेयतालाई स्पष्टगर्नु जरुरी भएको छ । त्यसपछि मात्र संस्कृत र योगको सम्बन्धमा गरेको चर्चा सार्थक हुन जान्छ । यद्यपि यतिखेरको यो लेखको अहं प्रश्न संस्कृत र योगका सम्बन्धमा सामान्य चर्चागरी आम जिज्ञासुहरुमा भएको जिज्ञासा शान्तगर्न प्रयासगर्नु मात्र हो ।
    संस्कृत र योगको वारेमा चर्चागर्नृु अगाडि संस्कृत के हो बुझ्नु आवश्यक हुन्छ । सामान्यतः संस्कृतलाई दुई पाटाबाट बुझ्नुपर्ने हुन्छ – १. ज्ञान भण्डार र, २. प्राचीन भाषा । ब्रह्माण्डमा भएका सवै शास्त्र, विद्या, कला, सिद्धान्त, ज्ञान विज्ञान संस्कृतमा भएकाले यसलाई ज्ञान भण्डार भनिएको हो । योग यसै संस्कृतको विशालताभित्र पर्ने एउटा पाटो हो । साथै, संस्कृत संसारकै प्राचीन भाषा समेत भएकाले संस्कृत भन्ने वित्तिकै यी दुवै पाटोबाट हेर्न र बुझ्न पर्ने हुन्छ । संस्कृतमा १ खर्व २ अर्व ७८ करोड ५० लाख शब्दसागर छन् भन्ने उल्लेखहुनुले नै यसको समृद्धिलाई अजागर गरेको छ ।
    ▪️ संस्कृत के हो, असंस्कृत के हो ?
    संस्कार गरिएको कुनै पनि वस्तु, (दृश्य) र सोच (अदृश्य) संस्कृत हो । कुनै पनि वस्तु वा ज्ञानलाई मानवोपयोगी वनाउन आवश्यक सवै गुण र विशेषता भएको वनाए पछि नै त्यो वस्तु संस्कार गरिएको हुन्छ । संस्कृत वस्तु र सोचले जहिले पनि विश्वबन्धुत्व, भाइचारा, मित्रता, सद्भाव, सहयोग, सदाचारको पाठ सिकाउँदछ । त्याग, सहयोग मिठो वोली, सवैमाथि सम्मान, सहृदयता सिकाउने विद्या संस्कृत नै हो । आमा वाबु, गुरु, बुढो, अशक्त, रोगी, भोको नाङ्गोको सम्मान आदर र उचित व्यवस्थापन गर्नुपर्छ भनेर सिकाउने विद्या संस्कृत नै हो । म मात्र धन कमाउँ, म मात्र ठूलो वनूँ, अशक्त रोगी दुर्बलहरुलाई जित्न सिकुँ भनेर संस्कृतले कहिल्यै पनि भन्दैन । अहिले संसारमा धेरै मानिसलाई धन कमाउनु परेको, अरुलाइृ दवाएर भएपनि आफैं ठूलो बन्नु परेको, धन कमाउनलाई भ्रष्ट आचार, दुराचार, वदमासी, ठगी पनि गर्न पछिनपर्ने संस्कार विकास भएको अवस्थामा संस्कृतले त्यस्तो कामलाई कहिल्यै पनि साथ र सहयोग गर्दैन । जालझेल, रुखो वचन, फट्याँइको वकालत संस्कृतले गर्दैन । त्यसैले गर्दा आजभोलि केही वदमास, धूर्त, जालझेली र असंस्कृत कामगरेर फाइदालिने हरुले संस्कृतको महत्वको सट्टा उपेक्षा र आलोचना गर्नथालेको सुनिन्छ र पाइन्छ ।
    बुढो भएपछि वावु आमाको सेवागर्नु पर्ने अवस्थामा वृद्धाश्रममा वस्नुपर्ने वनाउने, घरमै वसेको अवस्थामा पनि उचित आदर र सेवा नगर्ने, श्रीमती र श्रीमानका वीचमा झैझगडा परिरहने, विवाह सम्बन्ध कायम राखिरहन सधैं त्रसित हुनुपर्ने र सम्बन्ध विच्छेदको पीडा सहनुपर्ने, विषाक्त भोजनको कुलतले शरीर दुर्बल र रोगी भइरहने, मदिरापानले सम्पत्ति र शरीरको नाश गरिरहने, सम्पत्ति आर्जनको लागि सधैं मानसिक उल्झन, उत्पीडन भोगिरहनुपर्ने जस्ता व्यवहार प्रशस्तै बढ्न थालेका छन् । यसरी समाजको लागि दुख, पीडा दिने, समाजमा अनास्था फैलाउने, सनातन संस्कृतिमा विरोध, दुविधा र आशंका पैदा गरिदिने काम संस्कृत नभएर असंस्कृत हो । समाजमा कायम रहदै र बढ्दै आएको सनातन संस्कृत शिक्षा पद्धति, संस्कृत कार्य व्यवस्था, संस्कृत आचरणमा आएको असंस्कृत काँडालाई हटाउने औषधी भएको विद्या पनि संस्कृत नै हो ।
    – संस्कृत भित्र अनन्त ज्ञानराशी विद्यमान छ । संस्कृतमा भएको ज्ञानराशीलाई मुख्यतः निम्न अनुसार हेर्न र बुझ्न सकिन्छ –
    क. ज्ञान विज्ञान –
    ज्ञान विज्ञानको दृष्टिले हेर्दा संसारकै धनी र समृद्ध वाङ्मय (सवै किसिमका ज्ञानविज्ञानका शास्त्र र सिद्धान्तहरुको समष्टि) भएको विद्या संस्कृत नै हो । हजारौ वर्ष अगाडि लेखिएको वेद संस्कृतमै छ भने उपनिषद, पुराण, रामायण महाभारत जस्ता विश्वविख्यात प्राचीन ग्रन्थहरु संस्कृतमै लेखिएका छन् । आदिम मानव सभ्यतालाई परिस्कृत वनाउने ज्ञानविज्ञान संस्कृृतमै छ । ज्ञान र विज्ञानका विषयहरु कुनै पनि काल, भूगोल, वर्ण, जाति भन्दा माथि हुन्छन् र सर्वकालजयी हुन्छन् । नैतिक शिक्षा, समाज शिक्षा, धर्म शिक्षा, राजनीति, अर्थनीति, कला एवं विज्ञान भित्रका जीव विज्ञान, गणित, आयुर्वेद, ज्योतिष, योग आदि संस्कृतकै ज्ञानराशी हुन् । नारद पुराण, ब्रह्माण्ड पुराण, भागवत पुराण आदिको अध्ययनले यसको पुष्टि गर्दछ ।
    ख. दर्शन –
    संस्कृतमा भएको अर्को अथाह ज्ञानराशी भित्रपर्ने विषय दर्शन हो । ‘म’ भन्ने शारीरिक पिण्ड र यसलाई सञ्चालनगर्ने तत्वका वीचको भिन्नतालाई दर्शनले नै उजागर गर्दछ । दर्शन पनि दुई भागमा विभाजित छ – आस्तिक र नास्तिक । आस्तिक दर्शनले वेदको ज्ञानलाई अनुमोदन गर्दछ र ईश्वरीय सत्तालाई स्वीकार गर्दछ । नास्तिक दर्शन पूर्वीय दर्शनको पर्खाल भित्र पर्ने भए पनि प्रत्यक्ष प्रमाणलाई मात्र स्वीकार्ने भएकाले ईश्वरीय अदृश्य शक्तिलाई प्रमाण मान्दैन । आस्तिक दर्शन मूलतः ६ वटा (न्याय, मीमांसा, वैशेषिक, सांख्य, योग र वेदान्त) र नास्तिक दर्शन ३ वटा (बुद्ध, जैन र चार्वाक) मानिन्छन् ।
    ग. साहित्य –
    संस्कृतको अर्को महत्वपूर्ण सम्पत्ति यसभित्रको साहित्य हो । कथा, आख्यान, नाटक, उपन्यास, महाकाव्य आदिका रूपमा रहेको संस्कृत साहित्य अत्यन्त उत्कृष्ट, आह्लादकारी, मर्मस्पर्शी, मनोविनोदी मानिन्छ । कालिदास, भारवि, माघ, दण्डी आदि प्रसिद्ध साहित्य सर्जकहरुले संस्कृत साहित्यलाई विश्वकै उत्कृष्ट साहित्यका रुपमा स्थापनागर्न सकेको पाइन्छ । रामायण, महाभारत, पुराण आदि संस्कृतका साहित्य ग्रन्थ हुन् ।
    घ. कर्मकाण्ड –
    संस्कृतको अर्को महत्वपूर्ण सम्पत्ति यस भित्रको कर्मकाण्डीय ज्ञानराशी हो । वेदमा आधारित धर्मशास्त्रीय संस्कार र ती संस्कारको पालनाविधिको अभिलेख, निर्देशन, प्रक्रिया र फल विवरण समेत उल्लेख भएको कर्मकाण्डीय ज्ञानले नै सनातन हिन्दु संस्कृतिको संरक्षण र पालन भएको छ । कर्मकाण्डको अनुशरणले नै संस्कृतको संरक्षण हुन सकेको छ । हिन्दु दर्शनले वताएका जन्म, विवाह, मृत्यु आदि षोडश संस्कारको उल्लेख कर्मकाण्डमा नै भएको छ । हरेक सामाज र देशले आ–आफ्नो संस्कृतिको संरक्षणगरी मानवीय पहिचान दिनुपर्ने सोच र मान्यतालाई मननगर्दा हिन्दु संस्कृति संरक्षणगर्ने कर्मकाण्डीय ज्ञानप्रवाह भएको संस्कृतको महत्व नेपालीहरुको पहिचानसंग पनि गासिएको विषय हो ।

    संस्कृतमा भएका यिनै ज्ञानराशीको कारणले अहिले संस्कृतको महत्व बोधगरेर यसको विकासमा पश्चिमी विद्वानहरु नै लागिपरेको पाइन्छ । युरोप अमेरिकाका विश्वविद्यालयहरुमा खुलेका संस्कृत अध्ययन अध्यापनका छुट्टै विभाग, केन्द्र र संस्थानहरुले यसलाई प्रमाणित गरेका छन् । हिन्दुत्व, आर्यु संस्कृति र मानवीय मूल्यको सम्वर्धनमा लाग्न प्रेरणादिने वेद, उपनिषद, पुराण आदिको उद्गम थलो हिमालयको देश नेपाल भए पनि हालका वर्षहरुमा यसको उचित संरक्षण र प्रवर्धन हुन नसकेकाले सम्बद्ध विद्वानहरुमा चिन्ता भैरहेको समयमा पश्चिमा जगतमा भएको संस्कृतको प्रचार प्रसार र अनुसन्धानले संस्कृतको जीवन्तता र महत्वलाई थप उजागर गर्न सकेको छ ।
    ▪️ योग
    योग संस्कृतको ज्ञानभण्डार भित्र पर्ने अर्को सम्पत्ति हो । योगले मानिसमा भएको शारीरिक र मानसिक शक्तिलाई एकत्रित र एकाकार गरेर कार्यगर्न सक्ने वनाउँदछ । महर्षि पतञ्जलिले प्रतिपादन गरेको अष्टाङ्गयोगबाट अहिले सम्म धेरै किसिमका योगको विकास भैसकेको छ । विक्रम योग, हठ योग, विन्यास योग आदि योगका शाखाहरु पतञ्जलिको योग सूत्रमा वताएको अष्टाङ्ग योग (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि) कै धरातलमा फैलिएका हुन् । भगवान श्रीकृष्णले गीतामा वताउँनु भएको ज्ञान योग, कर्म योग हाल प्रचलनमा आएको राज योग पनि अष्टाङ्ग योगकै महत्वमा रहेर गरिएका व्याख्या र शाखा हुन् । जुनसुकै देशमा गएर योगको अभ्यासगर्दा पनि आसनहरुको नाम संस्कृतमै उच्चारण गरिनुले योग संस्कृतकै ज्ञानराशी भित्रपर्ने विषय भएको कुरालाई छर्लङ्ग वनाउँदछ । आजको विश्वलाई पूर्वीय दर्शनले दिएको उपहार योग पनि हो । यसैले संस्कृतमा रहेको योगको ध्यान, धारणा र अनुगमन आज विश्वभर भइरहेको छ । आधुनिक औषधी विज्ञानले पनि विहान उठेर योगगर्नुपर्ने कुरालाई स्वीकारिसकेको छ ।
    वस्तुमा भएको उपयोगिता शक्तिकै कारणले मूल्य सिर्जना हुने र माग वढी भएको वस्तुको मूल्य माग वृद्धिकै अनुपातमा वृद्धि हुँदैजाने आधुनिक अर्थशास्त्रीय सिद्धान्त अनुसार पनि योगको मूल्य र महत्वमा भएको वृद्धिलाई बुझ्न सकिन्छ ।
    अन्तमा, संस्कृत ज्ञान र भाषा दुवै दृष्टिबाट व्यावहारिक, श्रेष्ठ र उपयोगी छ । अहिले आएर योगको माध्यमबाट यसको महत्व अझ छिटो फैलिएको अनुभव भएको छ । सवैले संस्कृतमा भएको ज्ञानराशीलाई बुझेर अनुगमनगर्न सकेमा समाजबाट असंस्कृत सोच र चिन्तनलाई परास्तगर्न सकिन्छ ।

  • माधव नेपाल प्रचण्डको पुच्छर बनेको र कांग्रेस प्रचण्डपथमा हिँडेको एमाले अध्यक्ष ओलीको आरोप

    माधव नेपाल प्रचण्डको पुच्छर बनेको र कांग्रेस प्रचण्डपथमा हिँडेको एमाले अध्यक्ष ओलीको आरोप

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध तुच्छ टिप्पणी गरेका छन् । ७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले माधवकुमार नेपाललाई प्रचण्डको एक मामुली कार्यक्रता मात्र भएको आरोप लगाए । उनले नेपाल प्रचण्डको पुच्छर मात्र भएको समेत टिप्पणी गरे ।

    लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै उनले नेपालविरुद्ध विषवमन गरेका हुन् । हालै नेपालले आफुलाई ओलीले प्रधानमन्त्रीको प्रस्ताव आएको बताएकोतर्फ इंिगत गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो मान्छेलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले नटोकेको बताए । उनले प्रचण्डलाई मान्छे मारेर आएको भन्दै आलोचना गरे ।

    तर, उनले विगतमा प्रचण्डका विश्वासिला केही कार्यक्रतालाई भने काखी च्यापेका छन् । उनले नेपाली कांग्रेसलाई भने प्रचण्डपथमा लागेको आरोप लगाए । उनको यो आरोपलाई भने कांग्रेसले अशोभनीय टिप्पणी भनेको छ । विगतमा स्वास्थ्य मिल्दा प्रचण्डसँग टासिएको सन्दर्भ सम्झाउँदै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्रीले अशोभनीय अभिव्यक्ति दिएको बताए । उनले सर्वोच्च अदालततर्फ समेत आलोचना गर्न भ्याएका छन् ।

  • एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु

    एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु

    काठमाडौं । एमाले नेता बेदुराम भुसालले आफु स्वतन्त्र सांसदको रुपमा बस्न चाहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । उनी नेकपा विभाजन नहुँदै निर्वाचन भएकाले आफ्नो दल अहिले अस्तित्वमा नरहेको बताएका छन् । पार्टी विभाजन भएपछि एमाले र त्यसमा पनि माधव नेपाल पक्षमा रहेका उनी राष्ट्रियसभाका सदस्य हुन् ।

    भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाएर स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहेको र निर्वाचन समेत स्वतन्त्र रुपमा लड्ने बताएका हुन् । उनले आफ्नो पार्टी नै अहिले नरहेको भन्दै कुनै पनि पार्टीमा लेबी नकाट्न समेत सचिवालयलाई आग्रह गरेका छन् । माओवादी केन्द्र र एमालेको एकताबाट नेकपा बनेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनसहितका विवादका बीच सर्वोच्चले यो पार्टीको एकतालाई मान्यता दिएन ।

    सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएको उनले बताएका छन् । उनले पत्रमा नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा काम गरेको र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहने बताएका हुन् ।

  • लडाई केपी ओलीविरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध हो : विपक्षी दल

    लडाई केपी ओलीविरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध हो : विपक्षी दल

    काठमाडौं । विपक्षी दलका नेताहरुले वर्तमान लडाई केपी ओली व्यक्तिविरुद्ध नभई त्यस प्रकारको प्रवृत्ति विरुद्ध भएको बताएका छन । शनिबार विपक्षी दलका नेताहरुले पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिक्रिया दिएका छन् । सो अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्यादेवी भण्डारीले राष्ट्रपतिभन्दा बढी प्रधानमन्त्री केपी ओलीको दलीय कार्यकर्ता भएर काम गरेको आरोप लगाए । संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा देउवाले संसद्को कुनै पनि सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरे प्रधानमन्त्री नियुक्त गर्नुपर्ने राष्ट्रपतिको कर्तव्य भएको उल्लेख गरे । संविधानको अन्तिम व्याख्या अदालतले मात्र गर्न सक्ने भन्दै उनले अदालतले संविधानको व्याख्या मात्र नभई रक्षा समेत गर्ने विश्वास व्यक्त गरे ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रजातान्त्रिक छलफल नै मन नपराउने व्यक्ति भएको बताए । ओलीकै कारण नेकपामा पार्टीभित्र अन्तर सङ्घर्ष चर्किएको उनले बताए । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूको लडाइ केपी ओली व्यक्तिसँग नभएको स्पष्ट पारे । उनले केपी ओली प्रवृत्ति विरुद्ध लडाई भएको बताए ।

    पत्रकार सम्मेलनमा नेताहरुले आफुहरु एक रहेको स्पष्ट संकेत गरे । ओलीले चाल्ने कुनै पनि षडयन्त्रले यो गठबन्धन प्रभावित नहुने उनीहरुको सन्देश थियो । संसद विघटन विरुद्धको मुद्दा अहिले अदालतमा विचाराधिन अवस्थामा रहेको छ । देउवालाई सबै दलको सहमतिमै प्रधानमन्त्रीको प्रस्ताव गरिएको भन्दै नेताहरुले यो संविधानको रक्षाका लागि महत्वपूर्ण रहेको बताए ।

  • प्रधानमन्त्रीविरुद्ध कांग्रेस प्रदेश सांसद नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्ति, फिर्ता लिन पार्टीको निर्देशन

    प्रधानमन्त्रीविरुद्ध कांग्रेस प्रदेश सांसद नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्ति, फिर्ता लिन पार्टीको निर्देशन

    काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएसँगै व्यापक आलोचना शुरु भएको छ । उनले मुलुकमा केपी शर्मा ओलीको मनोमानी बढी भएको भन्दै नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको आपत्तीजनक अभिव्यक्ति दिएका छन् । गोड्से महात्मा गान्धीको हत्या गर्ने व्यक्ति हुन् ।

    वैद्यले नेपालमा त्यस्तो व्यक्ति चाहिएको र नभए आफै त्यसका लागि तयार रहेको आपत्तिजनक शब्द बोलेका छन् । शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले यस्तो बोलेका हुन् ।

    वैद्यले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’

    वैद्यको अभिव्यक्तिबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भएसँगै उनलाई पार्टीले अभिव्यक्ति आत्मआलोचनासहित सच्याउन निर्देशन दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयम गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका हुन् ।

    उनले भनेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’ उनी काठमाडौं क्षेत्र नं ४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद हुन् ।

  • व्यापक विरोधपछि राजेन्द्र महतोले सच्याए अभिव्यक्ति

    व्यापक विरोधपछि राजेन्द्र महतोले सच्याए अभिव्यक्ति

    काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतो नेपालमा बहुल राष्ट्रिय राज्य हुनुपर्ने बताएपछि देशभर व्यापक विरोध भइरहेको छ । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै उनको समेत आलोचना भइरहेको छ । यसै सन्दर्भमा महताले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै आफ्नो बोली सच्याएका हुन् ।

    मन्त्री भएपछि शुक्रबार राती सिंहदरबारमा कार्यभार सम्हाल्न पुगेका उनले बहुल राज्यको विषय बोलेसँगै आलोचना शुरु भएको हो । शनिबार राती मन्त्री महतोले एक प्रेस विज्ञप्ति निकालेका छन् ।

    जसमा उनले आफ्नो भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको बताएका छन् । उनले बहुल राज्य नभएसम्म अधिकार र पहिचानको निम्ति आन्दोलन जारी राख्ने बताएका थिए । महतोले संविधानमा आफूहरूका असंतुष्टी रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने उल्लेख गरेका छन् ।

  • गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले

    गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कमदले मुलुकलाई अँध्यारो सुरुङतर्फ लग्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेकी छिन् । यो कदमको गगन थापाले कडा आलोचना गरेका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्नु पनि सबैलाई आग्रह गरेका छन् ।

    प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद् कहिल्यै मन नपरेको भन्दै उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद् विघटन, पुनःस्थापित संसद्को अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५)को आव्हान,अनुकुल नभएपछि फेरि विघटन(कस्तो सेटिङ) प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद् र संविधानको हुर्मत लिनु थियो । लिए ।’

    उनी थप भन्छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण१नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।/

  • प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल

    प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको भत्र्सना गरेका छन् । उनले शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै षडयन्त्रकारीहरुको उक्सावट र चाहनामा फेरी पनि संसदको चिरहरण गरिएको बताएका छन् ।

    उनले प्रतिगमन दोहोरिएको भन्दै संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देह्यले भएको कथित चुनाव उद्घोष जालझेल भएको समेत बताएका छन् । शीतल निवासबाट यस व्यवस्थाकै कु गर्ने प्रयास भएको भन्दै नेता नेपालले यो प्रतिगमन भाग २ भएको उल्लेख गरे । यसको डटेर सामना गर्न समेत उनले सबैसँग आह्वान गरेका छन् ।