Category: घूमघाम

  • सरकारी बन्दका कारण अमेरिकी हवाई यात्रा ‘सुस्त’

    सरकारी बन्दका कारण अमेरिकी हवाई यात्रा ‘सुस्त’

    वासिङ्टन, २४ कात्तिक (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकामा हवाई यात्रा छिट्टै थप ‘सुस्त हुन सक्ने’ अधिकारीहरूले आइतबार चेतावनी दिएका छन् ।
    संघीय निकायहरू अक्टोबर १ मा कोष समाप्त भएदेखि ठप्प बनेका छन् । यसको प्रभाव अमेरिकामा हजारौँ उडानहरू रद्द वा ढिलो भएका छन् र यात्रुहरूले सरकारी बन्दका कारण अराजकताको सामना गरिरहेका छन्। ट्रम्प प्रशासनले बिना तलब काम गर्ने एयर ट्राफिक कन्ट्रोलरहरूको तनाव कम गर्न सकियोस् भनी ४० विमानस्थलहरूमा उडानहरू कम गर्न आदेश दिएको छ ।

    विमानस्थलका महत्त्वपूर्ण कर्मचारीहरू लगायत धेरै सरकारी कर्मचारीहरू या त तलब बिना ड्युटीमा छन् वा घरमै बिदा दिइएका छन्, रिपब्लिकन र डेमोक्र्याटहरूबीचको उच्च–जोखिम राजनीतिक गतिरोध समाप्त हुने प्रतीक्षामा छन्। यातायात मन्त्री सीन डफीले फक्स न्यूजसँग भने, “विदाको समय सबैजना आफ्नो परिवारलाई भेट्न यात्रा गर्न चाहन्छन् त्यसैले हवाई सेवामा चाप बढेको छ तर सरकारी बन्दका कारण हवाई यात्रा ढिलो हुँदै गएका छन् ।”

    उनले भने, “हामी हवाई ट्राफिक नियन्त्रकहरू खोजीरहेका छौँ । तीमध्ये धेरै कम मात्र काममा आउँदैछन् । यसको अर्थ केही निश्चित उडान र अवतरणहरू मात्र हुनेछन्।” उनले भने, “यसले हवाई क्षेत्रमा ठूलो अवरोध निम्त्याउनेछ र धेरै यात्रसहरू यसबाट क्रोधित बन्नेछन्।” डफीले सीएनएनको ‘स्टेट अफ द युनियन’ शोसँग भने, “ मानिसहरू छुट्टीमा परिवारलाई भेट्न उडान गर्न खोज्छन् तर बन्दका कारण सेवा निकै प्रभावित हुँदै गइरहेको छ । “यदि सरकारी बन्द खुलेन र सेवा नियन्त्रण कायम रह्यो भने तिनीहरूमध्ये धेरैले हवाई सेवा पाउन सक्ने छैनन् किनकि धेरै उडानहरू उड्ने छैनन्,” डफीले भने ।

  • मनाङमा हराएका दुई भारतीय पर्यटक मृत भेटिए

    मनाङमा हराएका दुई भारतीय पर्यटक मृत भेटिए

    मनाङ, २४ कात्तिकः यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको टोलीले आइतबार मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।
    मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मिलेरेपा गुम्बा घुम्न गएका भारतीय नागरिक सम्पर्क विहीन भएका थिए । उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्लाई जानकारी गराएको थियो । “शव प्रदेश अस्पताल मनाङ ल्याइँदैछ । सोमबार त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाउँछौँ”, प्रजिअ पौड्यालले भने ।

  • फेवातालस्थित ताल बाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

    फेवातालस्थित ताल बाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

    ऋषिराम बराल/रासस

    लेखनाथ (कास्की), २३ कात्तिकः पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण थालनी गरिएको थियो । मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको जानकारी तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम पहारीले दिए । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय छ ।

    उहाँले फेवातालको मध्यभागको ढिस्कोमा मन्दिर रहेकै कारण मन्दिर ढल्कँदा झनै जोखिम सृजना भएकाले पुनर्निर्माण गर्नुपरेको बताए । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनर्निर्माणका लागि बाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागले पुनर्निर्माणका लागि काम अगाडि बढाएको हो ।
    भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा हटाइसकिएको थियो । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरेका थिए । पोखराको लेकसाइड आउने पर्यटकको मुख्य गन्तव्यका रूपमा फेवातालको मध्यभागमा अवस्थित तालवाराही मन्दिर रहने गर्छ ।

    पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । मन्दिर पुनर्निर्माण सम्पन्न गर्न रु एक करोड ८४ लाख लाग्ने जानकारी अध्यक्ष पहारीले दिए । प्यागोडा शैलीमै कालिगढ भक्तपुर र ललितपुरबाट मगाएर वर्तमान स्वरुपमै मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । मन्दिर पुनर्निर्माण गर्न पुरातत्व विभागले रु छ लाख दिएको छभने अन्य रकम तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिको कोषबाट र भक्तजनबाट सहयोग जुटाएर पुनर्निर्माण सम्पन्न गरिनेछ ।

    पुनर्निर्माण एक वर्षभित्र सक्ने भनिएको भए तापनि विविध कारणले पुनर्निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको छ । तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीका अनुसार आउँदो वैशाखभित्र सर्वसाधारण भक्तजनले दर्शन र पूजाआजा गर्न सक्नेगरी पुनर्निर्माण सक्नेगरी तयारी गरिएको छ । मुख्य काम मन्दिरको छानो छाउने र वरपरको रेलिङ निर्माण बाँकी छ ।

    कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाइ मन्दिर स्थापना गरेको बताइन्छ । यस मन्दिरको अस्तित्व १६६९ सालदेखि कायम रहिआएको छ । कतैकतै १४४७ सालदेखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहींँ मन्दिर स्थापना गरी वाराहीका रूपमा पुजिन थालिएको मन्दिरका पुजारी उमेश पहारीले सुनाए ।


    पर्यटकीय नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नैपर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ । यसकारण मन्दिरमा पर्यटकको घुइँचो लागिरहन्छ । माछापुच्छे हिमालको छायाँ फेवातालमा परेको मन्दिरबाट मनोरम दृश्य देख्नुका साथै पर्यटकीय गन्तव्य सराङकोट, पुम्दीकोट, कास्कीकोट दरबारलगायतका स्थान यहाँबाट देख्न सकिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्छ, पुजारी पहारीले भने ।
    यस्तो छ किंवदन्ती

    स्थानीय अग्रज ८० वर्षीय रमेशबहादुर भट्टराईका अनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती रहेको र एक दिन बेलुका एक वृद्ध जोगी बास माग्दै त्यस बस्तीमा आए, कसैले बास नदिएपछि उनी एक वृद्धाकामा पुगे । वृद्धाले बास बस्न दिइन् । तर खान भने ढुटोको रोटीमात्र भएको सुनाइन् । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते । घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भने, “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाईँ भने अग्लो ठाउँमा चाँडै जानु ।”

    जोगी हिँडेको केही समयमा आवाज आयो । आवाजसँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाँचिन् । फेरि एक दिन विशाल वर्षा आयो । वर्षापछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ ।

    फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको मध्यभागमा अवस्थित पुरानो मन्दिर तालवाराही भगवतीको पूजाआजाको प्रारम्भ १४६७ सालबाट भएको हो भने १८६८ सालबाट नित्य पूजाआजा सुरु भएको जानकारी मन्दिरका सूचना अधिकारी राजेन्द्र खत्रीले दिए ।


    सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले २०१७ सालमा सुरु गरेका थिए । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने २०५३ सालमा आएरमात्र भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जोकोहीलाई आनन्दित तुल्याउनुका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।

    कुल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण र गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ । तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताए ।

    तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उहाँले बताउनुभयो । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ ।

  • भगवान बुद्धका पवित्र अवशेष भुटानको यात्रामा

    भगवान बुद्धका पवित्र अवशेष भुटानको यात्रामा

    थिम्पू, २३ कात्तिक (रासस–एएनआई) । भारत र भुटानबीचको गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्धको प्रतीकस्वरूप भगवान बुद्धका पवित्र अवशेषहरू शनिबार भुटानको यात्रामा लागेका छन् । नयाँदिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित ती अवशेषहरूलाई भारतका केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री डा. वीरेन्द्र कुमारको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले भारतीय वायुसेनाको विमानमार्फत थिम्पू पु¥याएको हो ।

    नोभेम्बर ८ देखि १८ सम्म भुटानमा हुने सार्वजनिक प्रदर्शनी भुटानका चौथो राजा जिग्मे सिङ्गे वाङचुकको ७० औँ जन्मदिवसको अवसरमा आयोजना गरिएको ग्लोबल पिस प्रेयर फेस्टिभल (जिपिपिएफ) को प्रमुख अङ्ग हो । यसको उद्देश्य विश्व शान्ति र मानव कल्याणको सन्देश प्रवद्र्धन गर्नु रहेको छ । वज्रयान बौद्ध धर्मको एक मात्र आधिकारिक राष्ट्र भुटानले आफ्नो गहिरो आध्यात्मिक परम्पराको सम्मानका रूपमा यो घटनालाई अत्यन्त महत्त्वका साथ मनाउँदैछ । पवित्र अवशेषहरू भुटान सरकार र मठीय निकायको ऐतिहासिक केन्द्र ताशिचो जोङस्थित कुएनरी हलमा प्रदर्शित गरिनेछन् ।

    प्रदर्शनीसँगै गुरु पद्मसम्भवको जीवन, भगवान बुद्धका अवशेषहरूको उत्खनन र बुद्धका शिक्षाको अन्वेषण गर्ने गरी तीनवटा विशेष प्रदर्शनीहरू पनि आयोजना गरिने कार्यक्रम छ । यसअघि नोभेम्बर ४ मा भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा थिम्पूको चाङ्लिमिथाङ स्टेडियममा ग्लोबल पिस प्रेयर फेस्टिभल २०२५ सुरु भएको थियो । यो १३ दिने आध्यात्मिक महोत्सवमा विश्वभरका बौद्ध धर्मगुरु, अभ्यासकर्ताहरू र शान्ति समर्थकहरू एकत्रित भई करुणा, सद्भाव र विश्व शान्तिको सन्देश फैलाउने अभियानमा संलग्न छन् ।

    भुटानको शाही सरकारले आयोजना गरेको यस पर्वमा पवित्र अनुष्ठान, गैर–साम्प्रदायिक शान्ति प्रार्थना, बाजागुरु मन्त्रको सामूहिक पाठ, सार्वजनिक आशीर्वाद र कालचक्र सशक्तीकरणजस्ता धार्मिक कार्यक्रमहरू समावेश छन् । थेरवाद, महायान र वज्रयान परम्पराका प्रख्यात बौद्ध आचार्य, विद्वान र गुरुहरूले सहभागी हुँदै भुटानले विश्व शान्ति र सद्भावका लागि माया, दया र जागरूकताको रूपान्तरणकारी शक्ति प्रयोग गर्ने आफ्नो प्रतिबद्धता प्रदर्शन गरिरहेको छ ।

    यो चाड केन्द्रीय मठ निकायद्वारा कुएन्सेलफोद्राङमा सम्पन्न जब्जी धोचोग नामक पवित्र अनुष्ठानबाट सुरु भएको हो । यो दुर्लभ धार्मिक विधिले शरीर, वाणी र मनका नकारात्मक कर्महरूलाई शुद्ध पार्ने उद्देश्यले शान्तिपूर्ण प्रसाद र क्रोधित संरक्षण दुवैको संयोजन गर्दछ । चाङ्लिमिथाङ मैदानमा विभिन्न बौद्ध सम्प्रदायका प्रतिनिधिहरूले अङ्ग्रेजी, तिब्बती र जोङ्खासहित विविध भाषामा विश्व शान्तिका लागि प्रार्थना गर्नेछन् । प्रदर्शनी र अनुष्ठानका क्रममा शिक्षा, व्याख्या र अनुवादहरू पनि उपलब्ध गराइनेछन् ।

    कार्यक्रमका प्रमुख लामाहरूले भक्तजनहरूलाई सार्वजनिक आशीर्वाद दिनेछन् र त्यसपछि विश्व शान्तिका साझा आकांक्षामा एकताबद्ध हुने उद्देश्यले बाजागुरु मन्त्रको सामूहिक पाठ गरिनेछ, जसले श्रद्धा, ध्यान र करुणाको भावनालाई बलियो बनाउनेछ ।

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    रासस
    मुस्ताङ, २३ कात्तिकः एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो ।

    बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँदयाममा हिउँ पर्न थालेपछि बेँसीमा झारिने र बर्खायाममा हिउँ पग्लिन थालेपछि उच्च लेक तथा खर्कमा पुर्याएर याकचौँरीको व्यवस्थापन गर्ने गरिन्छ । मुस्ताङका पाँच स्थानीय तहका उच्च लेकमा पालिएका परम्परागत याकचौँरी कात्तिकदेखि जेठ महिनासम्म बेँसीमा स्थान्तरण गरिने गरिएको छ । यसरी हिउँदयाममा हिमपात र चिसो छल्न झारिएका याकचौँरीलाई गर्मी सुरु भएपछि वैशाखदेखि असोज मसान्तसम्म उच्च लेकमा राखिने गरिएको हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनले बताए ।


    हिउँदयाममा उच्च लेकमा हिउँले चरनक्षेत्र अभाव हुने याकचौँरीलाई घाँस, पानी र आहारा व्यवस्थापन गर्न समस्या हुने तथा गोठालालाई पनि हिमपात र चिसोले सास्ती पुर्याउने भएकाले उच्च लेक र खर्कका याकचौँरी क्रमशः बेँसी झारिने गरिएको हो । यसरी झारिएका याकचौँरी बर्खायाममा उच्च लेकका अस्थायी गोठमा लगेर पालन गरिन्छ । बर्खायाममा हिउँ पग्लिएर घाँस पलाउने र गोठालालाई याकचौँरी व्यवस्थापन गर्न सहज हुने भएकाले समुद्री सतहको चार हजार मिटरमाथिको उच्च लेकमा याकचौँरीपालन गर्ने गरिएको समितिका सचिव हिराचनको भनाइ छ ।

    मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मार्चे लेकका १० घरपरिवारका १० गोठका झण्डै एक हजार याकचौँरी हिमपात र जाडो छल्न बेँसी झारिएको समितिका सचिव हिराचनले उल्लेख गर्नुभयो । त्यसैगरी थासाङस्थित धवलागिरि आइफल रहेको मुलीखर्क लेकका आठ घरपरिवारका करिब पाँच सय याकचौँरी र थासाङ–१ र घरपझोङ–२ मा पर्ने बतासे लेकमा रहेका छ घरपरिवारका करिब सात सय याकचौँरी हिमपातसँगै जाडो छल्न बेँसी झारिएको समिति सचिव हिराचनको भनाइ छ ।

    यहाँको थासाङ–२ स्थित मार्चे लेकमा १०, मुलिखर्कमा आठ र बतासे लेकमा छवटा चौँरीगोठ रहेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए । मार्चे लेकमा थासाङ गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा घम्ती गोठ निर्माण भएको उनको भनाइ छ । थासाङ गाउँपालिकाअन्तर्गत कोवाङ, सौरु, खन्ती, लार्जुङ, नाउरिकोट, नाकुम, बोक्सी खोला, छाक्ताङ र ताक्लुङका पशुपालकहरूले परम्परागत रूपमा चौँरीपालन व्यवसाय अपनाउँदै आइरहेको वडाध्यक्ष शेरचनले उल्लेख गरे ।


    यहाँको घरपझोङ–४ जोमसोमका याकचौँरीपालक भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका करिब पाँच सय बढी चौँरी हिमपातका कारण ठिनी गाउँमाथिको लेकमा झारिएका छन् । समुद्री सतहको उच्चस्थानमा गोठ खडा गरी पालन गरिएका शेरचन र घर्तीका चौँरी नमुख लेकबाट तलको पारिलो स्थानमा झारिएको हो । भूपेन्द्रले हिउँदयाममा चौँरी रेखदेख गर्न समस्या हुने र उच्च लेकमा घाँस र खानेपानीको समस्या हुने भएकाले बेँसी झार्नुपरेको सुनाए । यहाँको घरपझोङ गाउँपालिकास्थित स्याङ, मार्फा र जोमसोमका गरी सात घरपरिवारले याकचौँरीपालन गरेका उनी बताउँछन् ।


    माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यामा एक र वडा–४ ध्येगाउँमा एक गरी दुई घरले करिब पाँच हाराहारीमा याकचौँरीपालन व्यवसाय गरेको ताङ्ग्याका कर्मा साङ्वो गुरुङले जानकारी दिए । बर्खायाममा उच्च लेकको कराङमा रहेका चौँरी हिमपातपछि थाक्से लेकको पारिलो स्थानमा राखिएको जानकारी दिए । त्यसैगरी लोघेकर–४ ध्येका चाँैरीपालक कुन्साङ रिनजीन गुरुङले पनि हिमपातपछि आफ्ना चौँरी बेँसी नजिकको लेकमा ल्याएर राखेको बताए ।


    त्यसैगरी माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका लोमान्थाङ र सम्जुङमा पनि चौँरीपालन गरिएको छ । पछिल्लो समय उच्च हिमाली क्षेत्रमा परम्परागत संस्कृतिका रूपमा व्यावसायिक याकचौँरीपालन जलवायु परिवर्तनका कारण सङ्कटमा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकको चरनक्षेत्रमा घाँस अभाव हुनु र हिमचितुवालगायत वन्यजन्तुको आक्रमणबाट याकचौँरीलगायत घरपालुवा पशुचौपायामा क्षति हुँदै जाने जोखिमका कारण यहाँको परम्परागत संस्कृतिका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

    यहाँका पालन गरिएका चौँरी तथा याकनाकपालनलाई जलवायुको सङ्कट थपिएको हो । भारी हिमपात, आंशिक हिमपात र कुनै याममा हिउँ नै नपर्ने प्राकृतिक घटनाका कारण जलवायुको प्रत्यक्ष र परोक्ष असर चौँरीपालनमा परेको छ । मुस्ताङका किसानले चौँरीको दूधबाट दही, घिउ र छुर्पीलगायतका परिकार निर्माण गर्छन्, चौरीको पुच्छर हिन्दू धर्मालम्बीहरूले पूजा कोठामा राख्ने भएको यो महँगो मूल्यमा बिक्री हुन्छ ।

    यहाँको घरपझोङ र थासाङका याकचौँरीपालकले बर्सेनि वैशाख र भदौमा याकचौँरीको आलो रगत निकालेर दोहोरो फाइदा निकाल्छन् । यहाँ वयस्क याकचौँरीलाई मासुका रूपमा समेत उपयोेग गरिने भएकाले एउटै जिउँदो याकको मूल्य रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म पर्छ ।
    तस्बिर सौजन्यः सन्दीप गुरुङ

  • ‘लाइटिङ’ प्रणालीमा समस्या आएपछि बन्द भएको हवाई उडान सञ्चालनमा

    ‘लाइटिङ’ प्रणालीमा समस्या आएपछि बन्द भएको हवाई उडान सञ्चालनमा

    काठमाडौँ, २२ कात्तिकः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘रनवे लाइटिङ’ प्रणालीमा प्राविधिक समस्या आएपछि बन्द भएका हवाई उडान अहिले सञ्चालन भएको छ । आज साँझ ५ः३० बजेदेखि धावनमार्ग ९रनवे० को ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा समस्या आएपछि बन्द भएका हवाई उडान अहिले नियमित सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले राससलाई जानकारी दिए ।

    उनले भने, “रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि हवाई उडान केही घण्टा बन्द भएको थियो । अहिले हामीले वैकल्पिक प्रविधि प्रयोग गरी लाइटिङ प्रणाली सुचारु गरेसँगै बन्द भएका हवाई उडान सुरु भएका छन् ।” बन्द भएका हवाई उडान सञ्चालन भएसँगै नेपाली वायुसेवाका आकाशमा ‘होल्ड’ गरिएका विमान अवतरण गरेका जनाउँदै अन्य डाइभर्ड भएका जहाजहरू पनि आउने क्रम जारी रहेका महाप्रबन्धक पाण्डेले बताए ।

  • चार घण्टादेखि त्रिभुवन विमानस्थल ठप्प, जहाजहरु धमाधम डाइभर्ट र रद्द

    चार घण्टादेखि त्रिभुवन विमानस्थल ठप्प, जहाजहरु धमाधम डाइभर्ट र रद्द

    २२ कात्तिक, काठमाडौं । धावनमार्गको लाइटिङ प्रणालीमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण ठप्प छ । विमानस्थल कार्यालयका अनुसार अहिले जहाजहरु धमाधम डाइभर्ट गरिएको छ । कतार एयरवेजलाई ढाका पठाइएको छ । कोरियन एयरको जहाज दिल्ली पठाइएको छ । फ्लाइ दुबई लखनउ डाइभर्ट गरिएको छ । दर्जनौं आन्तरिक उडान रद्द भएका छन् । अझै पनि समस्या समाधान भइसकेको छैन । आज रात्रिकालिन सबै उडान अनिश्चित बनेका छन् । आन्तरिक उडानका दर्जन बढी जहाज रद्द भएका छन् ।

  • नेपालगञ्ज विमानस्थलमा बन्यो अत्याधुनिक ‘टर्मिनल’ भवन

    नेपालगञ्ज विमानस्थलमा बन्यो अत्याधुनिक ‘टर्मिनल’ भवन

    नेपालगञ्ज, २२ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन निर्माण भएको छ । तोकिएको समयअघि निर्माण सकिएको उक्त भवन केही दिनमा नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गरिने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आज नेपालगञ्ज विमानस्थालमा निर्माण सम्पन्न भएको टर्मिनल भवनको निरीक्षण गर्दै यथाशीघ्र यो टर्मिनल भवन सञ्चालनमा आउने गरी काम भइरहेको जानकारी दिए । उनले पोखरा, भैरहवा र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा गुणस्तरीय भवन निर्माण भएको बताउँदै यसले रोजगारी वृद्धिमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे ।


    काठमाडौँपछिको ठूलो विमानस्थल मानिएको नेपालगञ्ज विमानस्थालबाट भारतको प्रमुख सहर दिल्ली, लखनउ उडान गर्ने उद्देश्य राखिएको उल्लेख गर्दै महानिर्देशक अधिकारीले उडानका सन्दर्भमा नेपाल र भारतबीच छलफल जारी रहेको बताए । “नेपालगञ्ज विमानस्थलको टर्मिनल भवनबाट अन्तरराष्ट्रिय विमानको उडान गर्न पनि सहज हुनेछ”, उनले भने । धनी मुलुकबाट नेपाल आएका पर्यटकले यहाँको विमानस्थल हेरेर गरिब देशमा आएको अनभूत गरे विमान तथा उडानको अन्तरराष्ट्रिय व्यापार टिकाउ हुन नसक्ने उल्लेख गर्दै उनले समयको मागअनुसार अत्याधुनिक टर्मिनल भवन निर्माण गरिएको बताए ।


    नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रबन्धक नलविक्रम थापाले म्याद सकिनुभन्दा करिब डेढ महिनाअघि निर्माण कम्पनीले काम पूरा गरेको जानकारी दिए । उनका अनुसार सो टर्मिनल भवनका लागि कुल लागत रु दुई अर्ब ९८ करोड रहेको छ । उनले भने, “काम एकदमै सन्तोषजनक छ, सबै काम गुणस्तरीय छन्, हाम्रा इन्जिनियरको प्रत्यक्ष निगरानीमा काम सम्पन्न भएको छ ।”

    शर्मा एण्ड कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक रमेश शर्माले करिब दुई महिनाअघि विमानस्थलको टर्मिनल भवनको निर्माण सकिएको उल्लेख गर्दै अन्तरराष्ट्रिय उडानसमेत गर्न मिल्नेगरी काम भएको बताए । नेपालमा निर्माण व्यवसायीले समयमा काम गर्न सक्दैनन् भन्ने भाष्य बनेको छ, त्यसलाई चिर्न सकिएको उनको भनाइ छ । अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले ‘पिकआवर’मा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिन सक्ने बताइएको छ । विसं २०७९ पुसदेखि काम सुरु गरेको निर्माण कम्पनीले तीन वर्ष अर्थात् आगामी पुसमा सक्नेगरी तीव्रता दिएको थियो । टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ ।

    पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु चेकजाँच काउन्टर १४, भिआइपी कक्ष तीन, बच्चाका लागि खेल्ने क्षेत्र (चिल्ड्रेन प्लेइङ एरिया) एक, भन्सार र क्वारेन्टिइन चेकजाँचका लागि अलगअलग कक्ष निर्माण गरिएका छन् । नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको व्यवस्थापनसमेत गरिएको छ ।

  • आन्दोलनमा आगजनी गरिएको चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबारबाट पुनः सञ्चालनमा

    आन्दोलनमा आगजनी गरिएको चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबारबाट पुनः सञ्चालनमा

    २१ कात्तिक, काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो। केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने छन्।


    गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो। त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो।


    चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यता प्रति आभार व्यक्त गरेका छन् । अध्यक्ष ढकालले सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई पुनः स्वागत गरे ।

    सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए । चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ।

  • अघिल्लो साताको हिमपातपछि छार्का भेरोलमा अलपत्र दुई पर्यटकको उद्धार

    अघिल्लो साताको हिमपातपछि छार्का भेरोलमा अलपत्र दुई पर्यटकको उद्धार

    मुस्ताङ, २० कात्तिकः मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो । पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
    यही कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका दुवै जना पहिलो दिन मुस्ताङ वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँमा बास बसेका थिए । त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उपल्लो डोल्पाको छार्का पुगेका थिए । प्रतिकूल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा रोकिएका जिसी र कुँवर छ दिनसम्म छार्कामा रोकिएका उनले बताए ।

    हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमापात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसँगै आएका रोकाया छार्का भेरोलबाट छुट्टिएका थिए । रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का भेरोलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गरे । उनका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का भेरोलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिए । पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताए । उनका अनुसार रोकायाले दिनुभएको जानकारी पश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो ।

  • धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

    धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण


    म्याग्दी, कात्तिक २० गते । मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ ।

    पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवद्र्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए । “गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो”, उनले भने, “केही वर्षअघिसम्म सुनसान तिनचुलेमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ ।”

    ताराखोला गाउँपालिकाको रु २० लाख बजेटबाट गत आर्थिक वर्षमा तिनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तिनचुलेतर्फ जाने २१० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो । स्थानीयले चन्दा सङ्कलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको रु सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र २०० मिटर पदमार्ग निर्माण भएको थियो । तिनचुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब रु तीन लाख सङ्कलन भएको थियो ।

    गण्डकी प्रदेश सरकारको रु ७५ लाख र तालाखोला गाउँपालिकाको रु १० लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हँुदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि दुई घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । यसैगरी, मङ्गला गाउँपालिका–५ देउरालीदेखि तिनचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार २०० मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र दुई वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ ।

    समुद्र सतहबाट दुई हजार ९२२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । तिनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । रासस

  • डब्ल्यूटीएम २०२५ : विश्‍वमञ्‍चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत

    डब्ल्यूटीएम २०२५ : विश्‍वमञ्‍चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत

    १९ कात्तिक, काठमाडौं । विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लण्डन २०२५ मा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावनाहरु प्रस्तुत गरेको छ । नोभेम्बर ४ देखि ६ तारिखसम्म लण्डनको एक्सेल लण्डनमा आयोजना भइरहेको यो मेला विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल मिडिया र सरोकारवालाहरूको सहभागीता रहेको छ । नेपालबाट नेपाल पर्यटन बोर्डको नेतृत्वमा २७ वटा पर्यटन व्यवसायिक कम्पनीहरू( टुर अपरेटर, होटल, एयरलाइन्स प्रतिनिधि, संरक्षण साझेदार तथा सामुदायिक पर्यटन उद्यमहरू सहभागी छन् ।


    नेपालले यस मञ्चमा आफ्नो सांस्कृतिक सम्पदा, हिमाली साहसिकता, बौद्ध एवं आध्यात्मिक यात्रा, ग्रामीण अनुभव र वन्यजन्तु संरक्षणको सफलताका कथाहरू प्रस्तुत गर्दै विश्व बजारमा लाइफटाइम एक्सपेरियन्स डेस्टिनेशन को रूपमा पुनःस्थापित गर्न लक्ष्य राखेको छ । नेपाल प्रतिनिधिमण्डलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरि प्रसाद मैनालीले गरेका छन् भने समग्र समन्वय र अन्तर्राष्ट्रिय प्रवर्द्धन अभियानको नेतृत्व नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले गरिरहेका छन् ।

    अध्यक्ष मैनालीले विश्व पर्यटन बजारमा देखिएका परिवर्तनशील प्रवृत्तिलाई सम्बोधन गर्दै भने, “नेपाल सुरक्षित, आकर्षक र विविध अनुभव प्रदान गर्ने गन्तव्य हो । डब्ल्यूटीएम लण्डनजस्तो विश्वस्तरीय मञ्चमा नेपालको सहभागिताले हाम्रो पर्यटन पहिचानलाई अझ सुदृढ बनाउनेछ र विश्व बजारमा नेपालको उपस्थितिलाई मजबुत पार्नेछ ।” अध्यक्ष मैनालीले नेपालले जिम्मेवार पर्यटनलाई आफ्नो मूल आधार मानेको उल्लेख गर्दै थपे, नयाँ सुरक्षा प्रोटोकल, वातावरणमैत्री नीतिहरू, र समुदाय आधारित संरक्षण कार्यक्रमहरूद्वारा नेपालले प्रत्येक आगन्तुकलाई स्थानीय समुदाय र वातावरणप्रति सकारात्मक योगदान गर्न प्रेरित गर्छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत जोशीले भने नेपाललाई जीवनभर सम्झनलायक गन्तव्यको रुपमा पुनर्स्थापित गर्ने बताएका छन् ।

    उनले भने, “हामी नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन का रूपमा विश्वमा स्थापित गर्न केन्द्रित छौं । डब्ल्यूटीएम लण्डनमा हाम्रो सहभागिताले आगन्तुक आगमन वृद्धि, अन्तर्राष्ट्रिय साझेदारी विस्तार र नेपालको पर्यटन अर्थतन्त्र सुदृढिकरणमा निर्णायक भूमिका खेल्नेछ ।” “डब्ल्यूटीएम लण्डन २०२५ मा हामी विश्वका यात्रुहरूलाई नेपाल पुनः खोज्न निम्तो दिन्छौं, सीईओ जोशीले थपे, यहाँ विशाल हिमाल, जीवन्त संस्कृति, अद्वितीय वन्यजन्तु र समर्पित समुदायहरू एकै ठाउँमा भेटिन्छन् । हाम्रो पुनरुत्थान सशक्त छ, संरक्षणप्रतिको प्रतिबद्धता अटल छ, र नेपाल यात्रुहरूका लागि पुनः खुला भइसकेको छ ।”


    डब्ल्यूटीएममा रहेको नेपाल पविलियन (स्टल नम्बर एन–१२–५११) “जहाँ प्रकृति, संस्कृती र संरक्षणमो मिलन हुन्छू भन्‍ने नारा दिएर पविलियनमा नेपालका विविध प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, धार्मिक एवं आध्यात्मिक स्थलहरू, साहसिक गतिविधिहरू, र सामुदायिक पर्यटनका पहलहरूका दृश्यात्मक र
    अन्तरक्रियात्मक प्रस्तुतीकरणहरू भइरहेका छन् ।


    यहाँ आगन्तुकहरूले नेपालका हिमाली गन्तव्यहरू, ग्रामीण पर्यटन मोडेल, वेलनेस र ध्यान यात्रा, तथा संरक्षणमा स्थानीय समुदायको सहभागिता सम्बन्धी सफलताका कथाहरू प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । बीटुबी (व्यापारिक भेटघाट) सत्र, नेटवर्किङ कार्यक्रम र अन्तर्राष्ट्रिय मिडिया तथा ट्राभल पार्टनरसँग सहकार्यको अवसर पनि यहाँ उपलब्ध हुने बोर्डले जनाएको छ ।

  • रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

    रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

    दोलखा, १७ कात्तिक । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरुपमा राखिएको छ ।

    उनीहरुको केहीबेरमा उद्धार गरिने प्रजिअ रिसालले बताए । डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि दुई ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका पाँच विदेशीसहित १५ आरोही टेन्ट टाँगेर बसेको स्थानमा सोमबार बिहान हिमपहिरो खसेको हो ।

    हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरुको अवस्था थाहा हुन नसकेको प्रजिअ रिसालले बताए । उद्धारका लागि नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली ना गाउँ गएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    गोरखा, १८ कात्तिकः गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए ।

    आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ । पाङबारीे हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए । फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ ।

    उनीहरुसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौँ पठाइएको उनले बताए ।

  • बाँकेमा अटोरिक्सा चलेपछि स्थानीयको आवागमन सहज

    बाँकेमा अटोरिक्सा चलेपछि स्थानीयको आवागमन सहज

    राँझा, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो ।
    नरैनापुर–६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार साँझ र बिहान यात्रुवाहक बस जाने÷आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटोरिक्साले अन्त्य गरेको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुरमा सञ्चालनमा ल्याइएको अटोरिक्साले स्थानीयवासीलाई सहज बनाएको उनको भनाइ छ ।

    सदरमुकाम नेपालगञ्जबाट नरैनापुर ४४ किलोमिटर टाढा पर्ने नरैनापुरमा यसअघि सवारीसाधनको सास्ती हुँदै आएको थियो । हिजोआज रिक्सा चढेर एक घण्टामा नेपालगञ्ज पुग्न सकिने नरैनापुर-५ जमुनीगाउँकी टीका बूढाथोकीले बताए । “रिक्सामा चढेपछि घामपानीले प्रभावित गर्दैन, समयको पनि बचत भएको छ । अहिले सजिलोसँगै गन्तव्यमा पुुग्न सकिन्छ”, उनले भने, “नरैनापुरमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई दैनिकी कामका लागि सदरमुकामसम्म पुग्न सहज भएको छ ।”

    नरैनापुर गाउँपालिकाभित्रका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयाका गाउँबस्तीसम्म आवागमनमा अटोरिक्साले सहज बनाएको छ । साइकल वा मोटरसाइकलजस्ता निजी सवारीसाधन नहुने सर्वसाधारणलाई गाउँपालिकाभित्रैका एक वडाबाट अर्को वडामा आउनजान अटोरिक्साले सुविधा पुगेको छ ।

    अटोरिक्सा सञ्चालनमा आएपछि बालबालिका, अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन् । महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन् । एक घण्टा पैदल हिँड्नुुपर्ने यात्रा १५÷२० मिनेटमा पुगिने बूढाथोकीले जानकारी दिए । अटोरिक्सा चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गर्दै आएको नरैनापुर–१ कटकुइँया निवासी अटोचालक जाकिर अलीले बताए । चार सिट क्षमताको अटोरिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुइँया बघौडादेखि नेपालगञ्जसम्मको प्रतिव्यक्ति रु २५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि रु २०० भाडा लिने गरेको उनको भनाइ छ।

  • निषेधित क्षेत्रमा पर्यटक लगेपछि एजेन्सी कारवाहीमा

    निषेधित क्षेत्रमा पर्यटक लगेपछि एजेन्सी कारवाहीमा

    १८ कात्तिक, काठमाडौं । अध्यागमन विभागले पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगावै निषेधित क्षेत्रमा विदेशी पर्यटक लैजाने ट्रेकिङ एजेन्सीलाई कारबाही गरेको छ। विभागले अध्यागमन ऐन, २०४९ बमोजिम पहिलोपटकका लागि मल्टिएड्भेन्चर प्रालिलाई ४० हजार रुपैयाँ जरिवाना तिराएर कारबाही गरेको हो। एजेन्सीले जर्मन नागरिक मार्टिन श्रामलाई ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा पदयात्रा गराएको थियो। नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट पदयात्रा अनुमति पत्र लिनुपर्ने कानुनी व्यवस्था छ। अध्यागमन नियमावली, २०५१ अनुसार पदयात्रा गर्न चाहने विदेशी नागरिकले ट्रेकिङ एजेन्सीमार्फत विभागमा निवेदन दिनुपर्ने व्यवस्था छ।

    तर मल्टिएड्भेञ्चर प्रालिले सो व्यवस्थाको उल्लङ्घन गर्दै २५ अक्टोबरदेखि १० दिनका लागि अनुमति लिएकोमा अनुमति अवधिभन्दा एक दिन अगावै विदेशी पर्यटक श्रामलाई निषेधित क्षेत्रमा पुर्‍याएको पाइएको विभागले जनाएको छ। कम्पनीको तर्फबाट ट्रेकिङ गाइड दाईला शेर्पा विदेशी नागरिकलाई लिएर पदयात्रामा गएका थिए। शेर्पामाथि समेत आवश्यक कारबाहीका लागि पर्यटन बोर्डमा पत्राचार गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिएका छन्।
    नेपाल सरकारले सुरक्षात्मक र सीमा संवेदनशीलताको कारण देखाउँदै देशका १५ जिल्लाभित्रका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। तीमध्ये माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनास्लु क्षेत्र, ताप्लेजुङको कञ्चनजंघा, दोलखाको गौरीशंकर–लामाबगर क्षेत्र, संखुवासभाको किमाथांका, गोरखाको छेकम्पार र चुञ्चेतलगायतका क्षेत्र छन्।

  • धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘ऋषिकेश’

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘ऋषिकेश’

    रासस
    तानसेन, १८ कात्तिकः यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्र (रिडी) मा रहेको ऋषिकेशलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालीगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको सङ्गम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् ।

    पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा हरिबोधनी एकादशीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा छ । यस वर्ष पनि ऋषिकेश भगवान्को रथयात्रा निकालिएको छ । देशका विभिन्न स्थानबाट आएका तीर्थयात्री, साधुसन्त र भक्तजनको यहाँ ठूलो उपस्थिति थियो । मन्दिरमा रथयात्राका दिनमात्रै करिब पाँच हजार भक्तजनले पूजाआजा गरेका छन् । अघिपछि पनि मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको पुजारी विवेक भट्टराईले बताए । उनका अनुसार ठूलो सङ्ख्यामा आएका भक्तजनले रथलाई रुरु क्षेत्रधामस्थित ऋषिकेश मन्दिर परिसरबाट रिडी बजार, ऋषिकेश क्षेत्र, अर्गली बजार क्षेत्रमा परिक्रमा गराई भगवान्को दर्शन पूजाआजा गरेका थिए ।

    रुरु क्षेत्रधामलाई ‘नेपालको चारधाम’मध्ये एक मानिन्छ । यहाँको धार्मिक महत्त्व विष्णु भगवान्को अवतार ऋषिकेशसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार रुरु क्षेत्रको रिडीमा स्नान गरी भगवान् ऋषिकेशको दर्शन गरे पापकर्म नाश भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिए ।


    यहाँ वर्षभरि तीर्थयात्रीको आगमन हुने गरेको छ । विशेषगरी माघेसङ्क्रान्ति र ऋषिकेश रथयात्राका अवसरमा हजारौँ सङ्ख्यामा भक्तजन जम्मा हुने गर्छन् । हालका वर्षमा रुरु क्षेत्रलाई धार्मिक पर्यटनस्थलका रूपमा विकास गर्न स्थानीय सरकार, धार्मिक गुठी संस्था र विभिन्न सङ्घसंस्थाले पहल गरेका छन् ।

    मन्दिर पुनःनिर्माण, तीर्थपथ सुधार, खानेपानी र सरसफाइजस्ता आधारभूत संरचना विस्तारसँगै रुरुक्षेत्र अहिले आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको स्थानीयवासी कमल खनालले बताउनुभयो । यो रथयात्रा केबल धार्मिक श्रद्धाको प्रतीक मात्र नभई सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ । ऋषिकेश भगवानको रथयात्राका लागि तानसेन नगरपालिकाले स्थानीय बिदासमेत दिने गरेको छ ।

  • दाउन्ने छिचोल्नै सकस

    दाउन्ने छिचोल्नै सकस

    १८ कात्तिक, त्रिवेणी । कावासोतीका दीप काफ्लेलाई आइतबार बर्दघाटबाट दाउन्ने पार गरी दुम्किबास निस्किन झण्डै १२ घण्टा लाग्यो । आइतबार दिनभरी निरन्तरको झरी र सडक मर्मतका कारणले उनी जस्ता कैयौँ यात्रुहरुले भोग्नु परेको समस्या हो यो । केही दिनअघिको झरीका कारण बाटो हिलो र चिप्लो हुँदा दाउन्नेको यात्रा निकै कष्टकर बनेको यात्रुहरुको गुनासो छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डको यात्रा सकसपूर्ण हुन थालेको लामो समय भइसक्यो ।

    नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएदेखि दाउन्नेबाहेकको अन्य क्षेत्रमा धेरै जसो काम सकिए पनि दाउन्ने खण्ड नसकिँदा यात्रा कष्टकर भएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट पश्चिम) दुई जिल्लाको सीमामा पर्ने दाउन्नेमा करिब १४ किलोमिटर खण्डमा यो समस्या छ । जसमध्ये पश्चिम खण्डमा ठूलो समस्या नभएपनि पूर्वी खण्डमा भने जीर्ण सडकका कारण यात्रा कष्टकर हुने गरेको यात्रु काफ्लेले सुनाए ।


    पानी परेको समयमा मात्रै नभइ अन्य समयमा समेत दाउन्ने खण्डमा कल्भर्ट निर्माण, ढलानलगायतका काम गर्दा बाटो एकतर्फी सञ्चालन गर्ने गरिएकाले दाउन्ने वारपार गर्न घण्टौँ लाग्ने गरेको छ । सडक विस्तार दाउन्ने खण्डमा सुस्ता हुँदा समेत यो खण्डमा यात्रा गर्न समस्या हुँदै आएको यात्रुहरुको भनाइ छ । सडक निर्माणका क्रममा कतिपय ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा छ ।

    मुख्यगरी विश्वकर्मा मन्दिर, घ्यूखोला, त्रिसठ्ठी मोडमा समस्या हुँदै आएको छ । एकतर्फ जीर्ण सडक अर्कोतर्फ उक्त खण्डमा बेलाबेलामा सवारी बिग्रिँदा सडक पूर्ण अवरोधजस्तै हुने गरेको यात्रुको गुनासो रहेको छ । पानी पर्दा सधैँजसो दाउन्नेको सडक चिप्लो भएर यातायात सञ्चालनमा समस्या हुने गरेको छ । अन्य समयमा समेत यात्रा उस्तै कष्टकर हुने गरेको छ । केही दिनअघि परेको झरीले सहज रूपमा यातायात सञ्चालन नहुँदा अहिले दाउन्ने क्षेत्रमा सवारीको ठूलो जाम लागेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, नवलपुरले सोमबार एक सूचना जारी गरी वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले दाउन्नेमा अहिले पनि बाटो चिप्लो हुँदा सवारी सहज रूपमा वारपार हुन नसकेको बताए । कतिपय स्थानमा सवारी बिग्रिएकाले समेत सडक एकतर्फी रूपमा सञ्चालन भएपनि अवस्था सहज नभएको उनले बताए ।

    “केही दिनदेखिको सवारीको चाप छ, बाटो चिप्लो हुँदा उकालोमा सवारी उक्लिन सकिरहेका छैनन्, ठाउँठाउँमा बिग्रिएका सवारीले समेत बाटो छेकेको छ, हामीले सहज बनाउने प्रयास गरिरहेका छौँ, सकभर अहिले यो बाटो भएर यात्रा गर्नेहरूले वैकल्पिक बाटो प्रयोग गरिदिनुहोला भन्ने अनुरोध छ”, प्रहरी उपरीक्षक खड्काले भने ।

  • पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

    पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

    गोरखा, १७ कात्तिक । मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला पर्यटक चार दिनसम्म भेटिएकी छैनन् । मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । ठाउँठाउँमा झरेको पहिराका कारण उद्धारकर्ता शुक्रबार र शनिबार घटनास्थलसम्म पुग्न सकेका थिएनन् । पहिरो पन्छाउँदै सो टोली आइतबार घटनास्थल पुगेको थियो । उनीसँगै पदयात्रामा गएका श्रीमान् र पथप्रदर्शकले भने भागेर ज्यान बचाएका थिए ।

  • हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता

    हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता

    दोलखा, १७ कात्तिक : गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् । हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन हुनसकेको छैन । आज बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि उद्धारमा ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए । हेलिकप्टर उडानका लागि रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएको शेर्पाको भनाइ छ ।

    हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनहरुको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाएपनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

  • हिमपहिरोमा परी इटालीमा पाँच जर्मन आरोहीको मृत्यु

    हिमपहिरोमा परी इटालीमा पाँच जर्मन आरोहीको मृत्यु

    रोम, १७ कात्तिक (रासस–सिन्ह्वा) । उत्तरी इटालीको आल्प्सस्थित माउन्ट ओर्टल्समा हिमपहिरोमा परी पाँच जर्मन स्की आरोहीको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जानकारी दिएका छन् । इटालीको एएनएसए समाचार एजेन्सीका अनुसार स्थानीय समयानुसार शनिबार अपराह्न ४ बजे दक्षिणी टायरोलको सिमा भर्टानाको उत्तरी ढलानमा हिमपहिरो जाँदा पाँच जना जर्मन पर्यटकहरूलाई हिउँले बगाएको हो ।

    शनिबार तीन जनाको शव फेला परेको थियो भने आइतबार बिहान दुई जनाको शव फेला परेको हो । अधिकारीहरूले यस क्षेत्रमा बढ्दो तापक्रमले हिउँको अवस्था अस्थिर बनाएको र हिमपहिरोको जोखिम बढाएको चेतावनी दिएका छन्। उनीहरूले पर्वतारोही र स्की उत्साहीहरूलाई मौसम र हिमपहिरोबाट सावधानी अपनाउन र उच्च जोखिम भएका हिमाली क्षेत्रहरूमा आरोहण नगर्न आग्रह गरे।

  • धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो

    धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो

    सन्तोष गौतम \रासस
    म्याग्दी, १७ कात्तिकः यहाँको धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा ९हाब्रे० भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । “एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,” जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले भने, “सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ ।”

    स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भए ÷नभएको स्थलगत अध्ययन गरेका थिए । स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र २०८१ को मङ्सिरमा मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए ।

    विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चका अनुसन्धानकर्ताले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । अनुसन्धानकर्ता लरिसा गौतमले यस क्षेत्रमा रेडपाण्डा देखाउन पर्यटक भित्र्याएर समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने जानकारी दिए ।
    “पर्यटकीय राजधानी पोखरादेखि नजिकै पर्ने जलजला क्षेत्रमा रेडपाण्डासँगै हिमाल, मनमोहक पहाडी भूगोलको अवलोकन गर्न पाउनु रेडपाण्डा पाइने अन्य ठाउँको भन्दा फरक विशेषता छ,” उनले भने, “रेडपाण्डासँग जोडेर खेलकुद प्रतियोगिता , घरवास र पदमार्ग सञ्चालन गर्न सकिन्छ ।”

    डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको एकीन गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको जानकारी दिए । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भूइँमा झर्ने बताइएको छ ।

    रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययन अनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । अनुुसन्धानकर्ताका अनुसार नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको बताइएको छ ।

    यसैबीच दातृ निकाय टोलेडोजुका आर्थिक सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरि –२ र ३ मा पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा संरक्षण कार्यक्रम लागू गरेको छ । समुद्री सतहबाट दुई हजार दुई सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्टापन्न वन्यजन्तुको सूचीमा राखेको छ । जैविक विविधता संरक्षण समाज नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले डिभिजन वन कार्यालय, ढोरपाटन सिकार आरक्ष र सम्बद्ध स्थानीय तहसँग समन्वय गरेर समुदायस्तरमा रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।


    “चोरीसिकारी, डढेलो, सडक विस्तार र मानवीय गतिविधिका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि र संरक्षणमा चुनौती देखिएको छ,” उनले भने, “समुदायस्तरमा रेडपाण्डाको महत्व बुझाएर संरक्षणको प्रयास गरेका हौँ ।” जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, युवा क्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, किसानलाई रेडपाण्डा संरक्षणमा परिचालन गरिने अध्यक्ष पौडेलले जानकारी दिए । “हेर्दा आकर्षक देखिने लज्जालु र अल्छी स्वभावको रेडपाण्डाको महत्व नबुझेर अनायासै मार्ने गरेको पाइन्छ,” उनले भने, “रेडपाण्डाको छाला महँगोमा बिक्री हुने भ्रमका कारण अनायासै चोरीशिकार गर्ने समस्या हटाउन सकेमा मात्रै पनि यसलाई जोगाउन सकिन्छ ।”

  • पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

    पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

    १७ कात्तिक, गण्डकी । होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ । पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवर्द्धनात्मक कार्यक्रममा निस्केको होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।


    आन्तरिक पर्यटनको प्रवर्द्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए । यसैबीच टोलीले लुम्बिनी प्रदेशको बुटवलमा यहाँका पर्यटन व्यवसायीसँग आज अन्तरक्रिया गरेको छ । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार एवम् पोखरा भ्रमण वर्ष २०२५ का सहसंयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचिमा सूचिकृत बेगनासताल, रुपाताललगायतका सात तालले पर्यटकीय सम्भावना बोकेको बताए ।


    पोखरासहित लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यमा आउन उहाँले बुटवलका पर्यटन व्यवसायीसँग आग्रह गरे । पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको उनको भनाइ थियो । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष कँडेलले पोखरा आएका पर्यटकलाई बुटवल पठाउने र बुटवल आएका पर्यटकलाई पोखरा पठाएर दुुवै क्षेत्र लाभान्वित बन्ने धारणा राखे ।


    होटल तथा रेष्टुरेन्ट एशोसिएसन रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले पोखरासँग रुपन्देही पर्यटकीय साझेदारीका लागि तयार रहेको बताउँदै आफूहरूले बुटवलमा आएका पर्यटकलाई पोखरा पठाउने गरेको बताए । रुपन्देही गौतमबुद्धको जन्मस्थलसँगै धेरै ऐतिहासिक महत्वका स्थलरहेको उनले बताए । पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले आपसी भाइचारासँगै साझेदारीले दुुवै गन्तव्य लाभान्वित हुने बताए ।


    होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महासचिव सुरेश लामिछानले तीन दिने प्रवद्र्धनात्मक कार्यक्रमका साथ सो टोली बर्दिया हुँदै सुर्खेतसम्म पुुगी पर्यटन सम्बद्ध व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरी पोखरा फर्कने जानकारी दिए । छलफलमा बुटवल क्षेत्रका पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको उपस्थिति थियो ।

  • एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

    एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

    काठमाडौँ, १६ कात्तिकः सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका छन् । भारतबाट अक्टोबर महिनामा मात्र १७ हजार २९८ पर्यटक नेपाल घुम्न आएका हुन् । यस्तै, अमेरिकाबाट १३ हजार २८६ र बेलायतबाट आठ हजार ७१८ पर्यटक नेपाल आएका छन् ।

    यसबाहेक छिमेकी मुलुक चीनबाट छ हजार ७५५ तथा जर्मनीबाट छ हजार ३६६ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कूल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१.६ प्रतिशत रहेको छ । युरोपेली मुलुकबाट मात्र ४० हजार ६० पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२।६ प्रतिशत पर्यटक आएका छन् । भारतसहित सार्क देशबाट २९ हजार ६० पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अन्य एसियाली देशबाट २३ हजार १२७ पर्यटक नेपाल आएका छन् । गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३.३ प्रतिशत बढी पर्यटक नेपाल घुम्न आएका हुन् ।

    सन् २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९१ पर्यटक नेपाल घुम्न आएका थिए । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ को १० महिनामा नौ लाख ४३ हजार ७१६ पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०२४ को १० महिनामा नौ लाख ४१ हजार २४ पर्यटक नेपाल घुम्न आएका थिए ।

  • तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

    तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

    १५ कात्तिक, काठमाडौं । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले उनीहरुको सफलतापूर्वक उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका पर्यटकहरूमा एक जनाको खुट्टामा चोट लागेका, एक जना नौ वर्षीय बालक, एक जना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन् । सबैको अक्सिजन लेभल कम रहेको बताइएको छ ।

    उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै नौ घण्टाको यात्रापछि सम्पन्न भएको हो । पर्वतीय उद्धार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ । पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    उक्त शिक्षालयमा यो आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू तालिम सञ्चालन गरिएको थियो । यस तालिमका क्रममा पर्वतीय उद्धार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले अश्विन महिनाको अन्तिम सातामा चुलु फार इस्ट ९६,०३८ मिटर० को सफल आरोहण गरेका थिए । यसले सशस्त्र प्रहरी बल्को माउन्टेन रेस्क्यूको क्षमता अभिवृद्धि गरेको छ र भविष्यमा यस्ता घटनाहरूमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको छ ।

    सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिने छ । हिमाली क्षेत्रमा भएका यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्वतयारीको महत्त्वलाई उजागर गरेको सशस्त्र प्रहरी बलको अनुभव रहेको छ ।

  • बुद्ध एयरले कोलकातामा थप्यो उडान

    बुद्ध एयरले कोलकातामा थप्यो उडान

    १५ कात्तिक, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ । बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ । नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ । कोलकाता नेपालको मूख्य व्यापारिक सम्बन्ध भएको शहर हो । यहाँको सामुन्द्रिक बन्दरगाह हुँदै नेपालमा धेरै सामान आउने गर्छ ।

  • भ्रमण भिसामा विदेश जाने प्रावधान खुकुलो बनाइयो, डलर बोक्नुपर्ने अनिवार्य नियम हट्यो

    भ्रमण भिसामा विदेश जाने प्रावधान खुकुलो बनाइयो, डलर बोक्नुपर्ने अनिवार्य नियम हट्यो

    १४ कात्तिक, काठमाडौं । सरकारले भिजिट भिसा सम्बन्धी मापदण्ड खुकुलो बनाएको छ । २०८० माघ १० देखि लागू भएको ६ बुँदे कडा मापदण्ड खारेज भएको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्ने सम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ ले अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्द्धनका लागि उक्त ६ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरेको थियो। सोहीअनुसार ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसा सम्बन्धी प्रावधानहरू खारेज गरिएको विभागले जनाएको छ ।


    भिजिट भिसा सम्बन्धी बनेको आयोगले पनि स्वार्थ चलखेल भयो यो ६ बुँदेलाई पुनरावलोकन गर्नू भन्ने सिफारिस गरेको थियो। त्यसको आधारमा पुनरावलोकन गरेको हो,’ महानिर्देशक रामचन्द्र तिवारीले भने। यही कात्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुरूप विभागले चार बुँदे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको हो।

    अब भिजिट भिसामा विदेश जान यी चार कागजात भए हुने विभागले व्यवस्था गरेको हो। अब कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी हुनेपर्ने प्रावधान राखिएको छ । साथै, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था भएको छ । प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट साथमा हुनुपर्ने छ । आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा समेत गर्नुपर्ने छ ।


    ुयो व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने भएकोले सबै नेपाली नागरिकहरूलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध गरिएको छ । सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यस सूचनालाई सबै नागरिकसम्म सम्प्रेषण र सुसूचित गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ,ु विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

    यसअघि दुईतर्फी हवाई टिकट अनिवार्य थियो । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएका एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र अनिवार्य थियो ।

    भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट– क्रेडिट कार्ड) अनिवार्य थियो । युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्नेछ र स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने समेत मापदण्डमा थियो । सो मापदण्ड खारेज भएको छ ।

  • मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

    मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

    रासस
    १४ कात्तिक, काठमाडौं । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड ४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फुगाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरू बिहीबार साँझ सम्पर्कविहीन भएको सूचना प्राप्त भएको बताए । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ–मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि ६ हजार मिटर उचाइमा पर्दछ। त्यहाँ भारी हिमपात भएकाले विदेशी पदयात्रीसहित १४ जनाको टोली सम्पर्कविहीन भएको उनले उल्लेख गरे ।

    यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ । सो धर्मशालामा खाने, बस्नेसहित अत्यावश्यक सामान व्यवस्थित रहेकाले सम्पर्कविहीन टोली त्यहाँ हुनसक्ने भन्दै प्रजिअ भुसालले धर्मशालामा उनीहरूलाई कुनै समस्या नपर्ने बताए ।

    हिमालय एडभेन्चर ट्राभल कम्पनीमार्फत सरिबुङ पासको पदयात्रामा निस्किएक सबै दुई साताअघि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले जानकारी दिए । मुस्ताङको दामोदरकुण्ड हुँदै सरिबुङ पास निस्किएका तीन अष्ट्रियन पर्यटकसहित नेपाली पदप्रदर्शकको टोली गत मङ्गलबारदेखि सम्पर्कमा नरहेको उनको भनाइ छ ।

    आज बिहान मात्रै फोन सम्पर्कमा आएका जनाउँदै मैनालीले स्पष्ट कुराकानी भने हुन नसकेको बताए । अक्टोबर २६ तारिखमा दामोदरकुण्डबाट सरिबुङ पासतर्फ हिँडेको जानकारी प्राप्त भएको बताउँदै उनले त्यसयता कुनै सम्पर्क नभएको उल्लेख गरे । ‘हामीलाई आज मात्रै पथप्रदर्शकले फोन सम्पर्क गरेका थिए, तर प्रतिकूल मौसम र सञ्चार अवरोधका कारण राम्ररी कुराकानी हुन सकेन’, व्यवस्थापक मैनालीले भने, ‘हामीले फोनको ‘ट्रयाकिङ’ गरेर स्थान पत्ता लगाउन गृह मन्त्रालयसँग अनुरोध गरेका छौँ।’

    सम्पर्कविहीन भएका पदयात्री रहेको स्थान पत्ता लगाउन सकेमा उद्धारका लागि हेलिकप्टर पठाउने तरी तयारी भएकोबारे गृहमन्त्रालयमा जानकारी गराइएको उनले उल्लेख गरे । सम्पर्कविहीन पदयात्री सरिबुङबाट मनाङको फुगाउँ हुँदै चाँमे निस्किने योजनामा रहेका व्यवस्थापक मैनालीले बताए ।

  • मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान

    मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान

    १३ कात्तिक, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् । सफल आरोहीहरुमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्ड छन् । समुद्री सतहदेखि ६ हजार १६९ मिटर अग्लो कोइकी हिमालको सफल आरोहणले मुगुम कार्मारोङवासी उत्साहित भएका छन्।


    ‘गाउँकै सामुन्ने रहेको यो हिमालको शिखरमा पहिलो पटक मान्छे पुगेको खबरले हामी हर्षित छौं। चोरी र याक चराउन फेदसम्म पुग्ने स्थानीय कसैले पनि यो हिमाल आरोहण गरेको सुनेका देखेका थिएनन्’, स्थानीय तुण्डुल तामाङले भने, ‘अब यस हिमालमा पनि आरोहणका लागि अरु आरोही आउँछन् भन्ने लागेको छ।’
    पहिलो पटक रिजन ट्रेक प्रालिको व्यवस्थापनमा चार जना अष्ट्रियाका, एकजना जर्मन आरोहीले आरोहण गरेको जनाइएको छ। मुगुम कार्मारोङ गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष कार्मा तामाङ भने, ‘कोइकी हिमालको सफल आरोहणले मुगु मात्र होइन, देशकै पर्यटनको सम्भावना थपिएको छ। अब यस क्षेत्रको प्रचारप्रसारमा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरुरी छ।’

    सो हिमालका सफल आरोही मध्येका २८ वर्षीय अष्ट्रियाका नागरिक सेन्द्रोकले भने, ‘मैले संसारका थुप्रै हिमाल आरोहण गरेको छु, तर कोइकी हिमालमा उभिँदा बेग्लै अनुभूति भयो । यो हिमाल सफा, शान्त र सुन्दर छ । कतै फोहर छैन, हावामा ताजगी छ । यस्तो प्राकृतिक शुद्धता मैले पहिलो पटक महसूस गर्दै थिएँ।’\


    उनले यहाँका स्थानीयको माया र आतिथ्यले आफू प्रभावित बनाएको र आफ्नो देश फर्केर साथीभाइलाई यो हिमाल चढ्न प्रेरित गर्ने बताए । “यो ठाउँको अझ प्रचार भयो भने, मजस्ता सयौँ विदेशी पर्यटक यहाँ आउनेछन्’, उनले भने । रिजन ट्रेक प्रालिका पथप्रदर्शक पासाङ शेर्पाका अनुसार, कोइकी हिमाल चढ्दा कुनै ठूला कठिनाई परेन । मौसम अनुकूल रह्यो, बाटो रमणीय थियो र दृश्य अद्भुत । अरू हिमालको तुलना गर्दा यहाँको यात्रा सहज र यादगार रह्यो। उनी भन्छ्न्, ‘विदेशी आरोही अत्यन्त उत्साहित थिए । उनीहरू फर्कँदा पनि बारम्बार यही कुरा भन्दै थिए हामी फेरि फर्कनेछौँ । कोइकी हिमाल पुग्ने बाटोमा कुनै कठिनाइ भोग्नु परेन।’


    पहिलो सफल आरोहणसँगै प्रचारप्रसारमा जोड दिएमा कोइकी हिमाल अब मुगुको पर्यटनको अर्को सम्भावना बन्ने पर्यटन व्यवसायी राजु कार्की बताउँछन् । ।


    यसरी पुग्न सकिन्छ कोइकी
    हवाई या स्थलमार्ग भएर नेपालगञ्ज जाने । नेपालगञ्जबाट रारा विमानस्थल करिब ३५ मिनेटको हवाई उडानमार्फत पुग्न सकिन्छ । रारा विमानस्थलबाट १५–२० मिनेटको जीप यात्रामा सदरमुकाम गमगढी पुगिन्छ । त्यसैगरी स्थलमार्ग भएर जानेका लागि नेपालगञ्ज वा कोहलपुरबाट बसमार्फत सुर्खेत, दैलेख, कालीकोट हुँदै पहिलो दिन मान्म वा नाग्मा त्यसपछि दोस्रो दिन बिहानै हिँडेर जुम्लाको गोठी ज्युला वा बुलबुले हुँदै दिउँसो गमगढी पुग्न सकिन्छ।


    त्यहाँ एक रात बास बसेर भोलिपल्ट बिहानै मुगुम कार्मारोङ गाउँपालिकाको छायल बजार, माग्री गाउँ र ढुङ्गेधारा बजार हुँदै जानुपर्छ । रिउस बगर वा पुलु बजार, लादेगाड, चिताई बगर हुँदै तेस्रो दिन साँझ मुगुम गाउँ पुगिन्छ। चौथो दिन बिहानै मुगुम गाउँको पाटन क्षेत्र हुँदै पाँचौँ दिन समुन्द्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको सो हिमालको आधारशिविर पुग्न सकिन्छ।

  • बिहीबारदेखि पुनः वर्षा र हिमपातको प्रक्षेपण, राजधानीदेखि पूर्वी भेग जोखिममा

    बिहीबारदेखि पुनः वर्षा र हिमपातको प्रक्षेपण, राजधानीदेखि पूर्वी भेग जोखिममा

    ११ कात्तिक, काठमाडौं । अरबसागरमा विकसित मौसमी प्रणालीले गत रातिदेखि भइरहेको वर्षा–हिमपात बुधबारदेखि रोकिने भएको छ । तर, विहीबार साँझदेखि बंगालको खाडीको चक्रवातको प्रभावले पुनः मौसम खराब हुने मौसमविद्‍ले जनाएका छन् । यो प्रणालीले गत असोजमा बाढीपहिरोले बढी क्षति पुर्‍याएको इलामसहितका जिल्ला उच्च जोखिममा रहेको मौसमविद्‍को भनाइ छ ।

    अरब सागरको प्रणालीको प्रभावले मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व लगायतका जिल्लाका उच्च क्षेत्रमा भारी हिमपात भएको छ । काठमाडौं उपत्यकासमेत बादल लागेर धुम्म भएको छ । मौसमविद् उज्जवल उपाध्यायका अनुसार आज रातिसम्म यसको प्रभाव घट्ने र भोलि बुधबार मौसममा सुधार आउने छ । ‘काठमाडौं लगायतका धेरै भूभागमा बुधबार वर्षा नहुने र केहीबेर घाम लाग्नाले न्यानो अनुभूति हुने,’ उपाध्यायले फेसबुकमा लेखेका छन् । उनका अनुसार बिहीबार बिहान पनि मौसम सफा नै रहने पूर्वानुमान छ ।

    तर हाल बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले विहीबार साँझदेखि बागमती, मधेश र कोशी प्रदेशका जिल्लामा वर्षा तथा हिमपात हुने पूर्वानुमान छ । यसको प्रभाव गण्डकीको पूर्वी भागमा समेत पर्ने प्रक्षेपण छ । ‘मोन्था नामक चक्रवात आँधि १३ गते (बिहीबार्र) साँझ सोझै पर्सा, बारा, रौतहट, सर्लाहीको बाटो हुँदै नेपाल प्रवेश गर्ने देखिन्छ जसले तराईका यी जिल्लाहरु सहित बाग्मतीमा पनि धेरै वर्षा गराउने छ,’ उपाध्यायले भने, ‘उत्तरमा त्रिशूली र दक्षिणमा नारायणी नदीको पूर्व भाग विहीबारको प्रणालीको इपिसेन्टर हो ।’

    यो प्रणाली पर्सा र सर्लाहीको बीच भागबाट नेपाल प्रवेश गर्ने र त्यसको बाटोमा पर्ने भागमा ठूलो पानी पार्ने पूर्वानुमान उनले गरे । ठ्याक्कै यसको उत्तरी क्षेत्रमा रहेका पहाडी तथा हिमाली क्षेत्रमा पनि भारी वर्षा र हिमपात हुने उनको प्रक्षेपण छ । यो प्रणाली ठूलो भएकाले त्रिशूली नदीदेखि कर्णाली नदीसम्मको क्षेत्रमा मध्यम असर र कर्णालीदेखि पश्चिमतिर न्यून असर पर्ने पूर्वानुमान छ ।

    यसको असर पूर्वमा बढी र पश्चिममा कम पर्ने देखिन्छ । बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला उच्च जोखिममा पर्ने अनुमान छ । उपाध्यायले भने, ‘यीमध्ये कुनै–कुनै जिल्लामा त दुई सय मिलिमिटरसम्म वर्षा हुनसक्छ ।’ गत असोजमा आएको बाढीपहिरोले इलाममा ३९ जनाको मृत्यु भएको थियो । वर्षा र पहिरोले पहिल्यै जमिन कमजोर भएकाले सानो पानीले पनि फेरि पहिरो जानसक्ने सम्भावना भएकाले इलामसहितका जिल्लामा उच्च सतर्कता र पूर्वतयारी आवश्यक रहेको मौसमविदहरु बताउँछन् ।

    रोल्वालिङ, सगरमाथा, मकालु–बरुण क्षेत्रमा पनि बिहीबार र शुक्रबारसम्म पदयात्रा स्थगित गर्न ठिक हुने सुझाव पनि मौसमविदले दिएका छन् । पहिरो गइरहने राजमार्ग क्षेत्रमा पनि सतर्कता अपनाउनुपर्ने सुझाव मौसमविदको छ । विहीबार मध्याह्नदेखि बीपी राजमार्ग र पृथ्वी राजमार्ग तथा काठमाडौं–हेटौंडा जोड्ने कुनै पनि सडकमा यात्रा नगर्दा राम्रो हुने उपाध्यायको सुझाव छ ।

    ‘काठमाडौं उपत्यका र वरपर ७० देखि ८० मिलिमिटरसम्म वर्षाको सम्भावना छ, यसले पहिरो गइरहने राजमार्ग क्षेत्रमा समस्या पार्न सक्छ,’ उनले भने । मौसमविद उपाध्यायका अनुसार काठमाडौं उपत्यकाको उच्च भेगमा हिउँ पर्ने सम्भावना भने छैन । ‘कात्तिक महिनाको यो प्रणालीले काठमाडौंका अग्ला डाँडामा हिउँ पार्दैन,’ मौसमविद उपाध्यायले भने ।