मलेखु (धादिङ), १ पुस स् माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो । त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४, लाइगाउँमा १०, नीलकण्ठ नगरपालिकाको धुवाकोट–९, खाल्टेमा सात, मर्स्याङछापमा पाँच, सुनौलाबजारमा आठ, खनियाबासको दार्खा १७, मार्पकमा चार, फुलखर्कमा ११, बुढाथुममा नौ र ज्वालामुखीको मैदीमा छ हल गोरु जुधाइएको आयोजकहरुले जानकारी दिएका छन् ।
जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व जोडिएको मूलपानीका शम्भु थापाले बताउनुभयो । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बतबीचको भोट सन्धी १९४९ सँग जोडिएको छ । बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका निम्ति माघे सङ्क्रान्तिका दिन गोरु जुधाएर थालनी गरिएको किम्बदन्ती रही आएको जानकारहरु बताउँछन् ।
बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढे गोरुहरू जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ । पहिला पहिला छिमेकीले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगिताका रुपमा गोरु जुधाइँदै आएको छ । कुन साँढे गोरु कुनसँग जुधाउने, उमेर र आकार निक्र्यौल गरिन्छ । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ ।
वर्खाभरि खेतबारी जोत्ने र हिउँदमा बलियो बनाएर पालेको गोरुलाई किसानले मनोरञ्जनका लागि झुधाउँदै आएकामा पछिल्लो वर्षहरुमा प्रतियोगिताको रुपमा जुधाउने गरिएको हो । मनोरञ्जन, भेटघाट र मित्रता नवीकरण गर्ने अवसरका रुपमा विकसित हुँदै आएको मैदीकी सुशीला विश्वकर्माले जानकारी दिइन् । ऐतिहासिक प्रमाण नभेटिए गोरु जुधाइ परम्परा १०० वर्षभन्दा पुरानो मानिन्छ । माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ ।
दमौली (तनहुँ), ३० पुसः माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मेलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै यस वर्ष तीन लाखले मेला भर्ने अनुमान गरिएको उल्लेख गरे ।
ज्योतिषीय गणना अनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति) भनिन्छ । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले धार्मिक पुण्य प्राप्ति हुने मान्यता र जनविश्वास रहिआएको बरालले बताए । साथै पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन पनि मकर सङ्क्रान्तिको दिन भएको विश्वास रहिआएको उनले उल्लेख गरे ।
मेलाअवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कदा देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको बरालले जानकारी दिए । नवलपुरतर्फका भक्तजनहरू हर्दीको कालीगण्डकीको पुल तरेर देवघाट आउन सक्छन् । साथै मुग्लिनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिँधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोही बाटोबाट फर्किने व्यवस्था मिलाइएको छ ।
चिवनतर्फबाट आउने सवारीसाधनको पार्किङका लागि साना सवारीसाधनलाई सीताराम संस्कृत माविको परिसरभित्र व्यवस्था मिलाइएको छ भने ठूला सवारीसाधन (बस, मिनीबस, माइक्रो) आदिका लागि दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) बाट उत्तर–पूर्वक्षेत्रमा रहेको बसपार्कमा पार्किङको व्यवस्था मिलाइएको बरालले जानकारी दिए । तनहुँतर्फ पैदल मार्गबाट प्रवेश गर्दा पुलको मुख, हरिहर चोक, हरिहर मन्दिर, गलेश्वर चोक हुँदै वेणीसङ्गम र फर्कदा वेणीसङ्गम, गलेश्वर आश्रम, गलेश्वर चोक, चक्रवर्ती मन्दिर, महेश सन्यास आश्रम, टाउन चोक, हरिहर चोक हुँदै पुलको मुख निस्कने मार्ग कायम गरिएको छ ।
देवघाट क्षेत्र विकास समितिले तीर्थयात्रीको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस् भन्ने उद्देश्यले तनहुँ, चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुखसँग समन्वय गरेको समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले जानकारी दिए । उक्त दिन तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।
तीर्थस्थलमा धुम्रपान, मांस, मदिरा एवं सुर्तीजन्यपदार्थ निषेध गरिएको छ । ती वस्तुहरू बिक्रीवितरण, ओसारपसार तथा सेवन नगरी सहयोग पु¥याउन समितिका अध्यक्ष डा लौडारीले आग्रह गरे । “वेणीमा स्नान गर्ने क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ”, उनले बताए । आज बिहान देवघाटधामका विभिन्न आश्रमका पीठाधीशहरूको उपस्थितिमा धार्मिक विधि अनुसार वेणीसङ्गममा लिङ््गो गाडेर मेलाको शुभारम्भ गरिने समितिले जनाएको छ ।
चितवन, २९ पुसः यहाँस्थित चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिविसी) भारतीय चेन होटल लड्र्स इन होटल एन्ड रिसोर्टले व्यवस्थापन गर्ने भएको छ । यस सम्बन्धमा सोमबार साँझ दुई कम्पनीबीच सम्झौता भएको हो । यसबाट नेपालको पर्यटन व्यवसाय थप प्रवद्र्धन हुने जनाइएको छ । भरतपुर महानगरपालिका–१० विमानस्थल अगाडि रहेको सिविसी जिल्लाका अग्रणी व्यवसायीहरुको साझेदारीमा निर्माण गरिएको थियो । सिविसीका कार्यकारी अध्यक्ष दिनुप बराल र रिसोर्टका एसोसिएट भाइस प्रेसिडेन्ट शैलेज एन टेरीबीच सोमबार साँझ सम्झौता भएको हो ।
सम्झौतासँगै लड्र्स सिविसी प्लाजाका नाममा होटल सञ्चालनमा आएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा टेरीले आफूहरुले भारतमा ७० , अमेरिकामा एक र नेपालमा योसहित तेस्रो होटलको व्यवस्थापन गरेको बताए । काठमाडौँ, नेपालगञ्जपछि भरतपुरमा आफूहरुले होटलको व्यवस्थापन सुरु गरेको बताए । यो आफ्नो समूहको ७४औँ होटल भएको भन्दै उनले नेपालको काठमाडौँमा थप एक र विराटनगरमा एक होटल व्यवस्थापन गर्न लागेको जानकारी दिए ।
यस वर्ष लड्र्स ग्रुपले विभिन्न देशमा गरी थप १५ होटलको व्यवस्थापनको तयारी गरेको छ । उनले चेनमा चल्ने भएकाले विश्वबजारमा बजारीकरण गरेर पाहुना ल्याउने काममा लाग्ने बताए । यो समूहले तीन तारेदेखि पाँच तारे होटलको व्यवस्थापन गर्दै आएको छ । ७४ होटलमा तीन हजारभन्दा बढी कोठा रहेको र वार्षिक सरदर ५० प्रतिशतभन्दा बढी भरिने गरेको उनले जानकारी दिए ।
सोही अवसरमा सिविसीका कार्यकारी अध्यक्ष बरालले होटल ‘लड्र्स’ सिबिसी प्लाजासँगै सपिङ स्टोर ‘सेल्सबेरी’ एउटै कम्प्लेक्समा सञ्चालनमा रहेको बताए । एक लाख सात हजार स्क्वायरफिटमा फैलिएको कम्प्लेकसमा यी सेवा सञ्चालन गरिएको उनले जानकारी दिए । उनका अनुसार दुई तला अन्डरग्राउन्डसहित ११ तला रहेको उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, छवटा तलामा होटल सञ्चालन गरिएको छ । उनले अन्तरराष्ट्रिय रुपमा ख्यातिप्राप्त विभिन्न देशमा चेन होटल सञ्चालन गरेका लड्र्ससँगको सहकार्यले व्यवसाय प्रवद्र्धन हुनेमा विश्वास व्यक्त गरे ।
होटलमा ६० कोठा छन् । तीमध्ये प्रेसिडेन्टियल एक, स्वीट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्ट्यान्डर्ड कोठा छन् । होटलमा ५०० क्षमताको सभा कक्ष, १०० क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीनवटा बैठक कक्ष रहेका छन् । रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ । भवनको माथिल्लो तलामा स्विमिङ पुल छ । सम्झौतासँगै होटलको खानामा १० प्रतिशत र कोठाहरुमा २५ प्रतिशत छुट गरिएको छ ।
संगीता राई–रासस धरान (सुनसरी), २८ पुसः ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा’ नाम दिइएको यस यात्राले ऐतिहासिक गढी र किल्लाको महत्व स्मरण गर्दै पूर्वी नेपालको एकीकरण अभियान उजागर गर्ने जनाइएको छ ।
ऐतिहासिक गढीको सम्बन्ध र भुमिकालाई जोड्दै आयोजना गरिएको यस कार्यक्रम महत्वपूर्ण रहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघाले बताए । “नेपाली सेनाले आयोजना गर्दै आएको यस कार्यक्रममा यस वर्ष धरान उपमहानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा हामी खुसी छौँ”, उनले भने, “इतिहासमा हाम्रा अग्रजले कहाँ कसरी लडे, कसरी किल्ला खडा गरे र ती किल्लाको महत्व तथा भुमिका के थियो भन्ने कुरा पुनः स्मरण गर्ने अवसर यो कार्यक्रमले दिएको छ ।”
संक्षिप्त इतिहास धरानस्थित विजयपुरगढी पूर्वी नेपालको रणनीतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण गढी मानिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गर्ने क्रममा विभिन्न स्थानमा गढी, किल्ला र पदमार्ग प्रयोगमा ल्याएका थिए । कोशी प्रदेशमा पनि यी मार्ग र किल्ला महत्वपूर्ण रणनीतिक केन्द्रका रूपमा प्रयोग भएको इतिहासमा उल्लेख छ ।
विशेषगरी पूर्वमा हतुवागढी–भोजपुर, साँगुरीगढी–धनकुटा, विजयपुरगढी–सुनसरी, हेदङ्गनागढी–संखुवासभा, चौदण्डिगढी–उदयपुर, चन्द्रगढी–झापा र गढीथुम्का–इलामजस्ता मुख्य गढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छन् । विजयपुरगढी क्षेत्र तत्कालीन मोरङ राज्यको राजधानी विजयपुरको रूपमा विसं १७२७ मा स्वतन्त्र भएको थियो । त्यसभन्दा पहिले यो क्षेत्र मकवानपुरको सेन राज्यको अधीनमा थियो । यहाँका पहिलो राजा इन्द्रसेन थिए र तत्कालिन समयमा लालकोट, माथिल्लोकोट, तल्लोकोट र साँगुरीगढीजस्ता बलिया किल्ला÷गढी यहाँ अवस्थित थिए । विजयपुर त्यतिबेला पूर्वीक्षेत्रको प्रशासन, व्यापार र सैनिक शक्ति केन्द्र थियो र यहाँबाट सिक्किमसम्मको प्रशासन सञ्चालन हुने गरेको थियो ।
नेपाल एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहले किरात राज्यमाथि आक्रमण गर्न सरदार रामकृष्ण कुँवरलाई खटाएका थिए । सन् १७७२ मा रामकृष्ण कुँवरले दूधकोशी नदी पार गरी किरात क्षेत्रका राजा कर्ण सेनमाथि विजय हासिल गरेका थिए । त्यसपछि विजयपुर क्षेत्र नेपालमा समाहित भयो र पूर्वीसीमासम्म गोर्खाली विजय अभियान अघि बढेको बताइन्छ ।
विजयपुरगढी–साँगुरीगढी पदयात्रा सेनाले बर्सेनी आयोजना गर्दै आएको छ । साँगुरीगढीको ऐतिहासिक स्थलसँगै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । “पुराना गढी र किल्लाको संरक्षण, पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनासँग मिलेर हामीले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ”, उनले भने, “यस वर्षको कार्यक्रम विशेषगरी धरान उपमहानगरपालिका–१४ मा रहेको विजयपुरगढी र साँगुरीगढीको ऐतिहासिक महत्वलाई जोडेर आयोजना गरिएको छ । गत वर्षसम्म साँगुरीगढी ‘रन’ कार्यक्रमको रूपमा मात्र सञ्चालन हुँदै आएको भए पनि यस वर्ष धरानको विजयपुरगढीदेखि साँगुरीगढीसम्मको पूर्ण दौड आयोजना गरिएको छ ।”
विजयपुरगढी र साँगुरीगढीबीचको ऐतिहासिक सम्बन्ध उजागर गर्दै, भविष्यमा यी स्थललाई पर्यटनका लागि प्रवद्र्धन गर्ने, गढी–किल्लाको संरक्षण सुनिश्चित गर्ने र स्थानीय ऐतिहासिक भूक्षेत्रको महत्व स्थापित गर्ने अवसर प्रदान हुने विश्वास लिइएको छ । पदयात्राले केवल ऐतिहासिकस्थलको स्मरण मात्र नभएर राष्ट्रिय एकता र देशप्रेम प्रवद्र्धन गर्ने काम गर्नुका साथै आगामी पुस्तामा इतिहासप्रतिको चेतना जगाउने सेनाको भनाइ छ ।
पदयात्राको अवसरमा विजयपुरगढी–साँगुरीगढी दौड आयोजना गरिएको थियो । जसमा पाँच किलोमिटर दौड (महिला र पुरुष) र १० किलोमिटर दौड (पुरुष÷महिला) विधा समावेश गरिएको थियो । १० किलोमिटर खुल्ला दौडमा पुरुष २३६ जना र महिला ४० जना साथै पाँच किलोमिटर दौडमा छात्र ८० जना र छात्रा ३८ जनाको सहभागिता रहेको थियो ।
दस किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश रु २५ हजार रु १५ हजार र रु १० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरियो भने पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुने महिला, पुरुषलाई क्रमशः रु १२ हजार, रु आठ हजार र रु पाँच हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट १० भित्र पर्ने अन्य सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
हरेक वर्ष सञ्चालन हुँदै आएको यस कार्यक्रममा नेपाली सेना, पूर्वीपृतना हेड क्वार्टर इटहरी, श्री नं २ वाहिनी अड्डा, श्री भीमदल गण, श्री भगवतीदल गण, विभिन्न गण, धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजना हुने गरेको छ । ऐतिहासिक निशान पदयात्रा आगामी पुस ३० गते धनकुटाको पाख्रिबासमा पुगेर समापन गरिने सेनाले जनाएको छ ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुखहर्कराज साम्पाङ्ग राई, श्री पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी श्री गौरवकुमार केसी, श्री नं २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री दिवाकर विक्रम राणा, सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, सुनसरी श्री भगवतीदल गणका प्रमुख सेनानी श्री राजन भूजु, धनकुटास्थित श्री भीमदल गणका गणपति गणेश थापालगायतको उपस्थिति थियो ।
दमौली (तनहुँ), २२ पुसः नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो ।
व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र शालिक रहेको पार्कमा मगर, दरै र कुमाल समुदायका नमुना घर निर्माण गरिएको महोत्सव संयोजक एवं महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिए । उनका अनुसार यी नमुना घरमार्फत जनजातिहरूको जीवनशैली, रहनसहन, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई उजागर गर्ने उद्देश्य राखिएको छ ।
जिल्लामा १३ भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहेपनि स्थानको अभावका कारण तीन समुदायका मात्रै नमुना घर निर्माण गरिएको उनले बताए । अध्यक्ष तामाङका अनुसार महोत्सव अवलोकन गर्न आउने सर्वसाधारण, विद्यार्थी तथा पर्यटकले नमुना घरभित्र प्रयोग हुने घरायसी सामग्री, भाँडाकुँडा, कृषि औजार, पहिरन, संस्कार तथा संस्कृति र रीतिरिवाजका बारेमा नजिकबाट बुझ्ने अवसर पाउनेछन् । यसले नयाँपुस्तामा आफ्नै संस्कृतिप्रतिको चेतना अभिवृद्धि हुनुका साथै लोपोन्मुख परम्पराको संरक्षणमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गरे ।
छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवमा नमुना घरसँगै सांस्कृतिक झाँकी, मौलिक नृत्य, जातीय पहिरन प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका कक्ष (स्टल), साङ्गीतिक कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । आदिवासी जनजातिको पहिचान, मौलिकता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवले तनहुँको सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको तामाङको भनाइ छ । उनले भने, “आधुनिकताको प्रभावले लोप हुँदै गएका हाम्रा मौलिक संस्कृति र परम्परालाई नयाँपुस्तासम्म पु¥याउन महोत्सव महत्वपूर्ण हुने विश्वास छ ।”
महोत्सवका लागि आवश्यक तयारी सुरु भइसकेको जनाउँदै उनले स्टल निर्माण, सांस्कृतिक मञ्च व्यवस्थापन, समुदायगत प्रदर्शनीस्थल तयार गर्ने काम तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिए । आयोजकका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । आगामी माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा रु १५ लाख बचत गरी सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको महोत्सवका संयोजक तामाङले जानकारी दिए ।
रासस गण्डकी, २१ पुसः पर्यटन राजधानी मानिएको पोखराका विभिन्न २४ वटा पर्यटकीय गन्तव्यलाई ‘क्युआर कोड’मा पढ्न र सुन्न पाइने भएको छ । पोखरा आउने पर्यटकलाई यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे जान्न र बुझ्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को संयोजनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) को दिगो पर्यटन परियोजनाको सहयोग र साराङ डिजिटलको प्राविधिक सहयोगमा यस्तो व्यवस्था गरिएको हो ।
यो व्यवस्थासँगै पोखराका रत्न मन्दिर, रुपा ताल, सराङकोट, काहुँडाँडा, हरिहर गुफा, भद्रकाली, शीतलादेवी, राम मन्दिर, रामघाट, कवि शिरोमणि लेखनाथ सङ्ग्रहालय, सीता गुफा, लक्ष्मीनारायण नारायणस्थान, श्री गणेश भद्रकाली मन्दिर, काहुँ धरहरा, अकलादेवी मन्दिर, शीतलादेवी मन्दिरलगायत गन्तव्यबारे ‘क्युआर कोड’ ‘स्क्यान’ गरेर पढ्न र सुन्न पाइने भएको छ ।
यसले पोखराका प्रमुख पर्यटकीय गन्तव्यबारे जान्न र बुझ्नका लागि यहाँ आउने पर्यटकलाई ठूलो सहयोग पुग्ने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार क्युआरमार्फत पर्यटकीय गन्तव्यका सम्बन्धमा अरेविक, चाइनिज, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, इटालियन, जापानी, कोरियन, रसियन र स्पेनिश गरी ११ भाषामा पढ्न पाइने छ ।
यसैगरी अङ्ग्रेजी, हिन्दी, चिनियाँ, फ्रान्सेली र नेपाली भाषामा पर्यटकीय गन्तव्यबारे जानकारी सुन्न पाइने व्यवस्था मिलाइएको छ । प्रत्येक गन्तव्यमा दुईवटा क्युआर कोडसहितको बोड राखिएको छ । बोर्डमा रहेको एउटा कोड स्क्यान गर्दा सम्बन्धित गन्तव्य र अर्को कोडमा पोखराका घुम्नै पर्ने अन्य गन्तव्यबारे जानकारी पाउन सकिने परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।
दमौली (तनहुँ), १८ पुस । बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ लाख ५० हजार पर्यटक भित्रिएका छन् । तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुरमा सन् २०२५ को अवसरमा छ लाख ५० हजार पर्यटक भित्रिएका हुन् । बन्दीपुर भ्रमण वर्ष सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षमा एक लाख तीन हजार विदेशीले भ्रमण गरेको जानकारी दिए ।
त्यस्तै भारतीय र आन्तरिक पाँच लाख ४७ हजार पर्यटक बन्दीपुर आएको गुरुङले बताए । गुरुङका अनुसार बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्वीटजरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएका छन् ।
बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि घोषणा गरिएको बन्दीपुर भ्रमण वर्षले यहाँको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको गुरुङको भनाइ छ । उनले भने, “बन्दीपुर भ्रमण वर्षका बारेमा देश तथा विदेशमा प्रचारप्रसार गर्न सफल भयाँै, जसले बाह्य र स्वदेशी पर्यटकलाई बन्दीपुरसम्म आकर्षित गर्न सकियो ।”
बन्दीपुर गाउँपालिकाको संरक्षकत्वमा घोषणा गरिएको बन्दीपुर भ्रमण वर्षका क्रममा विभिन्न कार्यक्रम गरिएको थियो । भ्रमण वर्षमा गाउँपालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिएको थियो । बन्दीपुर बजारमात्रै नभई गाउँगाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुर्याउने लक्ष्य लिइएको र लक्ष्य सफल भएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छवटै वडाका पर्यटकीयस्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ ।
भ्रमण वर्षका अवसरमा एक वर्षमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिएको थियो । खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।
गोरखा, १८ पुस । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप०ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ भरि १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । चौध हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४ र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।
एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनासलु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७२१ जनाले अनलाइनमार्फत अनुमति लिएका थिए । यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएको उनले जानकारी दिए । सन् २०२५ मा पर्यटन भित्रिएबापत रु तीन करोड ८५ लाख ८६ हजार संरक्षण क्षेत्र प्रवेश शुल्क सङ्कलन भएको एमक्याप प्रमुख शेरचन बताउँछन् । जसमध्ये सार्क राष्ट्रका पर्यटकबाट तीन लाख ४४ हजार र नेपाली पर्यटकबाट रु ४८ हजार सङ्कलन भएको छ । मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।
“पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनुपर्ने प्रावधान छ”, उनले भने, “यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ ।” नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु एक सय प्रवेश शुल्क तोकिएको उनी बताउँछन् । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरेको एमक्यापले सन् २०२५ बाट भने नेपाली पर्यटकहरूको विवरणसमेत राख्न सुरु गरेको उनले जानकारी दिए ।
मनास्लु क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्या बढिरहेको छ । एमक्याप प्रमुख सन्तोष शेरचन भन्छन् । “स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने होभने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्छ ।” मनासलुमा हरेक वर्ष उल्लेखनीय रूपमा पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।
एमक्यापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–८१ मा नौ हजार ७८२ जना, आव २०७९–८० मा सात हजार ७०५ र आव २०७८–७९ मा दुई हजार २८४ जना पर्यटकले मात्र पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए । बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जानु सुखद भएको एमक्याप प्रमुख शेरचनको भनाइ छ । सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ज्ञख्या २०७७–७८ मा सबैभन्दा कम अर्थात् जम्मा एक सय ९४ जना, आव २०७६–७७ मा पाँच हजार ३३८ र आव २०७५र७६ मा सात हजार ६५५ जना रहेको थियो ।
भक्तपुर, १७ पुसः आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् । विदेशी मात्र नभई आन्तरिक पर्यटकको बढ्दो चापले व्यवसायीहरू उत्साहित भएका हुन् । भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक भरिएका छन् ।
केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको संङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटलहरू आन्तरिक पर्यटकले भरिएका छन् । पर्यटन व्यवसायी एवं भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले रातभरि नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न यहाँ स्वदेशी पर्यटकको घुइँचो लागेको बताउनुभयो ।
समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलाको समेत अवलोकन गर्न सकिन्छ । पर्यटन व्यवसायी बकेले भने, “रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ«े, गौरीशङ्कर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटल भरिएका छन्, व्यवसायीहरु उत्साहित छौँ ।”
सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुट, सर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटो दूरीको सडकका कारण पनि रानीकोटमा पर्यटक आवागमन सहज भइरहेको छ । अङ्ग्रेजी नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेँ भन्छन्, “पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि मल्ल राजाहरूले रानीका लागि दरबार बनाएपछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो । यहाँबा देखिने हिमाल र सूर्योदयले १२ महिना पर्यटकको आकर्षण बढ्न थालेको छ, नयाँ वर्षमा त झन् खचाखच हुने गरेको छ ।”
‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथ पनि आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसायमा उत्साह थपेको बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षमा यहाँको होटल खचाखच भएको उनले बताए । रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले नयाँ वर्ष मात्रै नभई बिदाका दिनमा पनि यहाँ कोठा पाउन मुस्किल हुन थालेको बताए । पिकनिकदेखि एकरात बस्न आउने पारिवारिक जमघट, विभिन्न निकायका कार्यक्रमलगायत आन्तरिक पर्यटकको आगमन बढ्दै गएको उनले बताए ।
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिभराउ भएका छन् । २०२५ को बिदाइ गर्दै २०२६ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटका आकर्षण थप बढाएको होटल व्यवसायी एवं होटल चौतारीको सञ्चालक बद्री माक बताउँछन् । उनी भन्छन्, “विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाप पनि उस्तै छ । अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।”
पछिल्लो समय सामान्यदेखि फाईभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटककै चाप बढेपछि व्यवसायीहरू उत्साहित छन् । यहाँ थप होटल खुल्ने क्रम पनि जारी छ । होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजु चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन बढ्दा निकै खुसी थपेको बताउँछन् ।
यसपटक विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको उनले जानकारी दिए । होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने भन्छन्, न्नु“मैले होटल क्षेत्रमा काम गरेको २५ वर्ष भयो । कोरोनापछि होटल व्यवसाय अब त उठ्न सकिँदैन कि भन्ने लागेको थियो, तर नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि नै सबै होटल बुक हुन थालेका छन् । स्वदेशी पर्यटकको आगमन पनि बढ्दै गएको छ । यसले उत्साह थपिएको छ, अब केही हुन्छ भन्ने आशा जागेको छ ।”
धरान (सुनसरी), १६ पुसः सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि १३औँ भेडेटार खाना महोत्सव सुरु भएको छ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसन भेडेटारको आयोजनामा हुँदै खाना महोत्सव आगामी पुस १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरणमन्त्री षडानन्द मण्डलले गरे ।
महोत्सवमा अर्गानिक खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन तथा खानाका परिकार प्रदर्शनीमा राखिएको महोत्सवका आयोजक तथा होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।
महोत्सवमा आउने पर्यटकलाई भेडेटारका प्रमुख आकर्षण पर्यटकीयस्थल धरान उपमहानगरपालिका– ४ र साँगुरीगढी गाउँपालिका–६ को सीमामा रहेको स्काइ वाक, पाथीभरा मन्दिर, शङ्खेश्वर मन्दिर, नाम्जेको थुम्कीस्थित आत्माघर, सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरी गढी, नाम्जेको होमस्टे तथा ध्वजे डाँडालगायत स्थानको अवलोकन गराइने अध्यक्ष लिम्बूले बताए । महोत्सव ५० देखि ६० हजार पर्यटकले अवलोकन गर्ने र महोत्सवबाट दुई करोड रूपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ, १५ पुस । प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले चाबहिल, गौशाला तथा तिलगङ्गा क्षेत्रमा घुम्न गएका विदेशी पर्यटक तथा सर्वसाधारणलाई दुःख, हैरानी तथा अभद्र व्यवहार गर्ने १२ जनालाई आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।
नारायण ढुङ्गाना–रासस चितवन, १४ पुस । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, “यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु मात्रै बनेको छैन, हात्ती संरक्षणको सन्देश दिन र चितवनमा पर्यटक आगमन वृद्धि गर्न सफल भएको छ ।”
भीमकाय हात्तीका गतिविधि प्रस्तुत गरी चितवनको पर्यटन प्रवद्र्धन र वन्यजन्तु संरक्षणको प्रयास थालिएको २१ वर्ष पुगेको छ । सन् २००४ मा सुरु गर्दा हात्ती क्याराभान र ‘अन्तरराष्ट्रिय हात्ती दौड’ प्रतियोगिताका रुपमा आयोजना गरिएको थियो । कार्यक्रमले केही वर्षमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याति कमायो । पछिल्ला समयमा पशु अधिकारका कुरा उठेपछि अझै हात्तीमैत्री कार्यक्रम कसरी आयोजना गर्न सकिन्छ भनेर चिन्तन मनन हुँदै परिमार्जित रुपमा हात्ती महोत्सव आयोजना भइरहेको छ । यसपालि पुस ११ शुक्रबारदेखि सुरु भएको महोत्सव आइतवार सम्पन्न भएको छ ।
“यो चितवनकै पर्याय र सौराहाको ब्राण्ड भइसकेको कार्यक्रम हो”, क्षेत्रीय होटल संघ चितवनका पूर्व कोषाध्यक्ष तथा होटल सेभेनस्टारका सञ्चालक माधव दुवाडी भन्नुहुन्छ । उहाँले हात्ती महोत्सवकै कारण यो अफ सिजनमा सौरहामा २० देखि ३० प्रतिशतसम्म पर्यटक भित्र्याउन सफल भएको दावी उहाँले गर्नुभयो । अहिले क्रिसमको समय हो । अंग्रेजी नयाँ वर्ष संघारमा रहेको छ । यो समयमा आएका पर्यकटहरु क्रिसमस मनाउन आफ्नै देश फर्किन्छन् । विगतमा अहिले जस्तो नेपालमा आन्तरिक पर्यटकको चाप थिएन । पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक आएनन् भने सुनसान हुने गर्छ । अफ सिजनमा फर्किन लागेका पर्यटक रोकेर बसाई लम्ब्याउन र नयाँ पर्यटक बोलाउन यस्ता कार्यक्रम उपयुक्त मानिने पर्यटनविज्ञ विश्व सुवेदीको प्रतिक्रिया छ ।
सौराहामा रहेका हात्ती चितवनकै शान हो । यहाँ टाँगा, घोडाहरु लोप भइसके । हात्तीका गतिविधिले वन्यजन्तु पर्यटनमा ठूलो योगदान पुगेको हात्तीविज्ञ डा कमल गैरे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वन्यजन्तु पर्यटनका लागि हात्ती नभइ हुन्न, संरक्षणका लागि पनि हात्ती चाहिन्छ कुनै बाघ, गैंडा वस्तीमा आउँदा हात्ती नै प्रयोग गर्नुपर्छ, त्यसैले पर्यटनसँग हात्तीलाई नजिक्याउनु, सम्बन्ध विस्तार गर्नुले वन्यजन्तु पर्यटनमा महत्वपूर्ण टेवा पुग्छ र पुगेको पनि छ, यो हात्ती महोत्सव त्यसैको पर्याय हो ।”
चितवन हात्ती महोत्सव
चितवन, ११ पुस :
चितवनको सौरहामा क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनद्वारा शुक्रबार आयोजित १९औँ चितवन हात्ती महोत्सवमा र्याली गर्दै हात्तीहरू । तस्बिर : गोपाल दाहाल / रासस
यसरी सुरु भएको थियो हात्ती महोत्सव
क्रिसमसका समयमा सौराहामा पर्यटक शुन्य भए । विदेशी पर्यटक नआउँदा र आएका पर्यटक फर्किँदा सौराहा सुनसान हुन्थ्यो । सन् २००४ मा हात्ती दौडको सूरुवात गर्ने मध्यका एक क्षेत्रीय होटल संघ चितवनका तत्कालीन उपाध्यक्ष हरिभक्त घिमिरेका अनुसार कोरियामा बस्ने नवराज पन्तले हात्ती क्याराभानको प्रस्ताव गर्नुभएको थियो । पर्यटकका समूह घुमाउन ल्याउने हुँदा सौराहामा धेरै हात्ती देखेपछि उहाँले सो प्रस्ताव गर्नुभएको थियो ।
त्यसबेला क्षेत्रीय होटल संघका अध्यक्ष हुनुहुन्थ्यो घनश्याम श्रेष्ठ, उपाध्यक्ष हरिभक्त घिमिरे उहाँहरुसँगै अग्रज पर्यटन व्यवसायी गिरिधारी चौधरी, शङ्कर सैंजु, रामकुमार अर्यालबीच छलफल भयो र क्षेत्रीय होटल संघले कार्यक्रम गर्ने निष्कर्ष निकाल्यो । अनि हात्तीको क्याराभान ९लस्कर० र हात्ती दौड प्रतियोगिता आयोजना गरिएको घिमिरेले सुनाउनुभयो ।
सन् २००४ बाट प्रतियोगिता सुरु भयो । देश र विदेशका नाम चलेका पर्यटनसँगसम्बद्ध संस्था सहभागी भए । विश्वका पत्रकारको ध्यान तान्यो र कार्यक्रम विश्वव्यापी बन्यो । त्यसपछि व्यावसायी उत्साहित भए । कार्यक्रम देखाउँदा आन्तरिक र बाह्य पर्यटकको चाप राम्रो भएकाले अझै व्यवस्थित गर्दै जाने निधोमा व्यवसायीहरु पुगे ।
त्यसबेला मुख्य आकर्षण हात्ती दौड भए पनि टाँगा, गाडा, डुंगा दौडका कार्यक्रम हुन्थे । विभिन्न मुलुकका व्यवसायिक घरानाले स्पोन्सर गरेका हुन्थे । झण्डै एक दशक हात्ती दौड प्रतियोगिता राम्रै भयो । चितवनको ब्राण्ड बन्यो । विश्वकै एक मात्र कार्यक्रम बन्यो । जसले देश र विदेशका पर्यटकलाई तान्न पनि सफल भयो । अफ सिजनमा पर्यटक आगमन केही बढाएपछि दौडलाई अझै विकसित गरेर अन्य गतिविधि समावेश गर्न थालियो । सौराहाका व्यवसायीहरुलाई यो थप प्रेरणा भने पश्चिम चितवनको मेघौलीमा टाइगर टप्स होटलले आयोजना गर्ने अन्तरराष्ट्रिय हात्ती पोलोले पनि दिएको थियो । हात्तीमाथि चढेर पोलो स्टिकले भुँइमा रहेको पोलो बललाई पोष्टमा छिराएर खेलिने पोलो खेलमा देशी र विदेशी पर्यटकको बाक्लो चाप हुन्थ्यो ।
त्यस्तै चाप सौराहामा पनि भित्र्याउन गरिएको प्रयासमा व्यवसायी सफल भए । पछि टाइगरटप्स होटल निकुञ्जबाट हट्यो र विस्तारै विभिन्न जिल्लामा सारिएको पोलो बन्द भयो र सौराहामा आयोजना हुने हात्ती महोत्सव कार्यक्रममा पोलो पनि समावेश गरिएको थियो । हात्ती दौडलाई बृहत बनाउँदै जाने क्रममा हात्ती महोत्सवकै रुपमा आयोजना गर्न थालियो । त्यसमा हात्तीको वनभोज र हात्ती सुन्दरी प्रतियोगिता थपेसँगै थप आकर्षण भयो । क्रमैसँग अन्य यस्ता कार्यक्रम हुँदै आइरहेका छन् । गणेश भगवानका रुपमा यसपाली आज हात्तीको पूजा पनि गरिएको छ ।
हुन त वन्यजन्तु पर्यटनको उत्कृष्ट गन्तव्य हो चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु छ र चितवनको पर्यटक पनि छ । त्यसैले वन्यजन्तुका क्रियाकलाप, उनीहरुका आनीवानी, रहनसहन तथा मौलिक संस्कृति हेर्न पर्यटकहरु यहाँ लालायित हुन्छन् । पर्यटकहरु चितवन र सौराहा घुम्न आउनुको मुख्य चाह नै बाघ, गैंडा, हात्तीलगायत वन्यजन्तु अवलोकन हो । नेपालमा दुर्लभ एक सिंगे गैंडाको मुख्य वासस्थान पनि चितवन हो ।
महोत्सव हात्तीमैत्री
अहिले हात्ती तथा पर्यटक महोत्सव थप वन्यजन्तुमैत्री बनाउँदै आयोजना हुँदै आएको छ । हात्तीलाई दुःख दिएको भन्दै सन् २०१३ बाटै पशु अधिकारकर्मीहरुले हात्ती दौडको विरोध हुन थालेका थिए । त्यसपछि हात्तीहरुलाई यातना भयो, कुटियो दौडाइयो भनेपछि त्यसको केही वर्षपछि दौड स्थगित गरी हात्ती महोत्सव नाम दिएर हात्तीको वनभोज सुरु गरिएको थियो ।
हात्तीका छावाबीचको फुटबल सुरु गरियो । छावा बीचको फुटबल खुबै रोमाञ्चक भयो । जनावरले पनि मान्छेले जस्तै फुटबल खेल्न थाले । अजंगको हात्तीले मान्छेले झैँ गोलपोष्ट ताकेर फुटबल सुट गर्दा पर्यटकहरु लालायित भए । दर्शकले भरपुर मनोरञ्जन लिए । त्यसपछि ब्राण्ड नै छावाको फुटबल भयो । अनि हात्ती सुन्दरी प्रतियोगिता र हात्ती बनभोज सुरु भयो र अहिले पनि जारी छ ।
विभिन्न रङ र चकले छालामा कोर्दा असर गर्ने भन्दै पशु अधिकारकर्मीहरुले त्यसको पनि विरोध गरे । फूटबलको पनि विरोध भयो । फेरि उनीहरुसँग छलफल गरेर कार्यक्रमलाई थप हात्तीमैत्री बनाउने सहमति भयो । गत वर्ष सहमतिसँगै अनुगमनसमेत गरेर हात्ती महोत्सव आयोजना गरिएको थियो ।
थप हात्तीमैत्री कसरी गर्न सकिन्छ भनेर गत वर्ष सहमति नै गरेर हात्ती महोत्सव आयोजना गरिएको गत वर्षका संयोजक रामकुमार अर्याल स्मरण गर्नुहुन्छ । अनुगमन समिति नै बनाएर काम गरिएको उहाँले बताउनुभयो । विस्तारै यसपाली हात्तीका छावाको पेनाल्टी सुटआउट, सुन्दरी प्रतियोगिता, हात्ती वनभोज, हात्तीको पूजा गर्ने कार्यक्रमरु आयोजना भएका छन् । हात्ती पोलोको सांकेतिक रुप पनि प्रस्तुगरिएको थियो ।
अहिले हात्ती वनभोज पेनाल्टी सुटआउटको विरोध भइरहनुले गलत नियत जोडिएको दावी गर्नुहुन्छ क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनाल । उहाँ भन्नुहुन्छ, “अधिकारकर्मीहरुले वास्तविकता के हो, हात्तीको दिनचर्या के हो ? हात्तीको खाना के हो ? भनेर बुझ्नुपर्छ, उसलाई चलायमान पनि गराउनुपर्छ, एकै ठाउँमा बाँधेर मात्रै राख्न पनि हुन्न, आफ्नो परिवारको सदस्य बच्चादेखि पालेर राखेको हात्तीलाई हान्ने, घोच्ने भन्ने त कुरै आउँदैन ।”
कार्यक्रमकै कारण अहिले सौराहामा पर्यटकहरुको राम्रै उपस्थिति भएको हात्ती महोत्सव संयोजक गुणराज थपलिया बताउनुहुन्छ । “कुनै पनि क्रियाकलाप हात्तीमैत्री भन्दा बाहिर छैन, हामी व्यवसायीले करोडौँ लगानी गरेर आफ्नै सदस्य सरह पालिएको हात्तीलाई यातना दिने भन्ने कुरा कल्पना गर्नै सकिँदैन”, उहाँले भन्नुभयो, “आएका पर्यटकहरु हात्तीसँगै नजिक हुन, हात्तीका क्रियाकलाप हेर्न, तस्वीर लिन, हात्तीसँग रमाउन चाहन्छन्, पर्यटककै चाहनामा महोत्सव भइरहेको छ, तर विरोध हुनु विडम्बना र अर्थहीन छ ।”
हात्ती महोत्सवको विरोध गर्र्दै आउनुभएका पशु अधिकारकर्मी सुराजन श्रेष्ठ बाहिर देखिँदा रमाइलो देखिए पनि महोत्सवभन्दा पछाडि भने यातना दिने गरेको पाइएपछि हात्तीको अधिकारको लागि आवाज उठाएको बताउनुहुन्छ । सामाजिक सञ्जालमा उहाँले राख्न्नुभएको एक भिडियो सामाग्रीमा भन्नुभएको छ, “हात्ती भएर सौराहाको पर्यटकलाई सहयोग पुगेको छ, हात्तीको महत्व पनि ठूलो छ, हात्ती छ र सौराहामा पर्यटक छ भन्नेमा सहमत छु तर हात्तीलाई क्रुर व्यवहारले पर्यटन दिगो हुँदैन, त्यसैको विरोध हो हाम्रो ।”
उहाँहरुकै विरोधले हात्ती महोत्सवमा हात्तीको उपयोगका कार्यक्रमलाई परिमार्जन गर्दै थप हात्तीमैत्री बनाउँदै आइएको क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष दीपक भट्टराई बताउनुहुन्छ । ३० वर्षसम्म हात्तीको रेखदेख र उपचार गर्नुभएका हात्ती चिकित्सक तथा हात्तीविज्ञ डा कमल गैरे मान्छेलाई त व्यायाम चाहिन्छ, विहान मर्निङ वाक गर्नुपर्छ, हात्तीका लागि सामान्य खेल खेलाउनु उनीहरुको स्वास्थ्यका लागि राम्रै भएको प्रतिक्रिया दिनुहुन्छ । उहाँले भन्नुभयो, “यातना दिनुहुन्न सही कुरा हो, तर सौराहामा त्यसरी यातना दिएर हात्तीका गतिविधि देखाइएको मैले फेला पारेको छैन, अहिलेको अवस्थामा विरोध गर्नु भनेको वन्यजन्तु पर्यटक देख्न नसक्नेहरुको काम हो ।”
मनाङ, १३ पुस । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्रिय प्रकृति कोष (एनटिएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामेरा ट्रयापिङबाट हिउँ चितुवाको अवस्था, गणना र वन्यजन्तुको अनुगमन गरिने भएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथा सङ्कटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने नारफु, ङिस्याङ, खाङ्सार, तिलिचो, गुम्साङ, भिमथाङ आसपासका उच्च हिमाली भूभागमा गरिएको सर्वेक्षणले मनाङ हिउँ चितुवाको सम्भावित प्रमुख बासस्थानमध्ये एक रहेको विज्ञले पुष्टि गरेको उनले बताए ।
“हिउँ चितुवा हिमाली पारिस्थितिकीय प्रणालीको सूचक प्रजाति हो । यसको उपस्थिति सुरक्षित छभने उक्त क्षेत्रको सम्पूर्ण पारिस्थितिकीय प्रणाली सन्तुलन पनि राम्रो अवस्थामा रहेको मानिन्छ”, प्रमुख भुजेलले भने । मनाङको ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र हिउँ चितुवाको सम्भावित बासस्थानका रूपमा पहिचान गरिएको उनले बताए । उनका अनुसार क्यामेरा ट्रयाप, पदचिह्न, मल ९स्क्याट० सङ्कलन र स्थानीय गोठालाको अनुभवका आधारमा सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको छ ।
सर्वेक्षणमा संलग्न वन्यजन्तु तथा वातावरण विज्ञका अनुसार हिउँ चितुवाको संरक्षण केवल एउटा वन्यजन्तु जोगाउने विषयमात्र नभई सम्पूर्ण हिमाली पारिस्थितिकीय प्रणाली, स्थानीय जीविकोपार्जन र भविष्यको पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय हो । समुद्री सतहबाट करिब तीन हजार २०० मिटरदेखि पाँच हजार २०० मिटरभन्दा बढी उचाइका मनाङ ङिस्याङ उपत्यका, भीमथाङ उपत्यका र नारफु उपत्यकालाई तीन क्षेत्रमा विभाजन गरी अध्ययन गरिरहेको भुजेलले बताए ।
यी क्षेत्रमा अल्पाइन घाँसेमैदान, शङ्कुधारी वन प्याच, सुक्खा नदीक्षेत्र, रिजलाइन र जनावरका बाटो समावेश गरिएका छन् । हिउँ चितुवा र तिनीहरूको सिकारका लागि प्रमुख बासस्थान हुन् । यस क्षेत्रमा कुल १२९ क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । मनाङ ङिस्याङ उपत्यकामा ५७, भीमथाङ उपत्यकामा २९ र नारफु उपत्यकामा ४३ क्यामेरा जडान गरिएको छ । क्यामेराले हिमाली ब्वाँसाको अध्ययन गर्ने एक अन्तरराष्ट्रिय अनुसन्धानकर्तासँगको सहकार्यात्मक प्रयास पनि समावेश गरी सर्वेक्षण भइरहेका छ । अनुसन्धानकर्ताले २२ क्यामेरा र तथ्याङ्क आदानप्रदान गरिरहेको एक्यापले जनाएको छ ।
“हिउँचितुवा सुरक्षित छभने त्यसको अर्थ नाउर, झारलजस्ता सिकार प्रजाति, घाँसेमैदान र समग्र हिमाली वातावरण पनि सन्तुलित अवस्थामा छ भन्ने बुझिन्छ”, उहाँले भन्नुभयो । सन् २०२४ अक्टोबर १४ मा सुरु भएको अनुगमन अध्ययनले विगतमा हिउँ चितुवा विवरण अध्ययन ९छेत्री एटअल, २०१७० मा पहिचान गरेको वैज्ञानिकको रूपमा चयन गरिएका ग्रिड कोषलाई भीमथाङ उपत्यकासहित अन्नपूर्ण–मनास्लु क्षेत्र प्रमुख हिउँ चितुवा समेटेको छ ।
यस अध्ययनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र एक्यापले मनाङ ब्लकलाई १४ ग्रिड कोषमा विभाजन गरी प्रत्येकको मापन ५×५ वर्ग किलोमिटर रहेको जनाएको छ । निष्पक्ष र व्यवस्थित तथ्याङ्क सङ्कलन सुनिश्चित गर्न प्रत्येक ग्रिडभित्र अनियमित रूपमा क्यामेरा ट्रयापिङका लागि जडान गरिएको छ ।
मानव बस्ती र पूर्वाधारबाट टाढा जनावरका बाटो, रिजलाइन, वनक्षेत्र, पानीका स्रोत र ज्ञात वा शङ्कास्पद सिकारस्थलमा क्यामेरा ट्रयापिङ गरिएको एक्यापले जनाएको छ । हिउँ चितुवाको सङ्ख्या अनुमान र पारिस्थितिकीय प्रणालीको विश्लेषणलाई समर्थन गर्न प्रत्येक ग्रिड सेलभित्र सिकार प्रजातिको तथ्याङ्क रेकर्ड गरिरहेका छन् । क्यामेरा, ब्याट्री, मेमोरी कार्ड, पन्जा, सिलिका जेल, स्क्याट सङ्कलन ट्यूब र तथ्याङ्क रेकर्डिङ फारमलगायतका उपकरण जडान गरिएको छ ।
भुजेलले भने, “प्रारम्भिक सर्वेक्षणले यस क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब ५० भन्दा बढी अनुमान गरेको छ । सर्वेक्षण जारी रहेकाले अन्तिम तथ्याङ्क आउन बाँकी छ ।” हिमाली ब्वाँसो, रातो स्याल, नीलो भेडा, कस्तुरी मृग, पहेँलो घाँटी भएको मार्टेन्स, हिमाली सेरो, घोरल र चितुवा बिरालोजस्ता विविध वन्यजन्तु प्रजातिको जडान गरेको क्यामेराले रेकर्ड गरेको सर्वेक्षणकर्ताले जनाएको उहाँले जानकारी दिनुभयो । जसले स्वस्थ र सन्तुलित पहाडी पारिस्थितिक प्रणालीलाई प्रतिविम्बित गरेको छ ।
क्यामेरा ट्रयापिङ, स्क्याट सर्वेक्षण र सिकार मूल्याङ्कनमार्फत सङ्कलन गरिएको तथ्याङ्कले मानव वन्यजन्तु द्वन्द्व हटस्पट पहिचान गर्न महत्त्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ । यसमा सुधारिएको पशुपालन अभ्यास, सिकार न्यूनीकरण, मौसमी चरन व्यवस्थापन र सहअस्तित्वमा केन्द्रित सामुदायिक जागरूकताजस्ता कार्यक्रमले नागरिकमा सचेतना फैलिएको छ । जसले हिउँ चितुवाको संरक्षणमा टेवा पुगेकाले सङ्ख्या बढ्न सक्ने सर्वेक्षणकर्ताले अनुमान गरेको एक्यापले जनाएको छ ।
एनआरसिए, एनटिएनसी एक्याप मनाङका प्रकाश अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत गोपाल खनाल, एनटिएनसी एक्याप मनाङका ओमबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, यामबहादुर गुरुङ र भक्तसिं गुरुङको सहयोगमा सर्वेक्षण भइरहेको जनाइएको छ ।
नारायणगढ (चितवन) १३ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ ।
महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, पेनाल्टी सुटआउटलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि सम्पन्न भएका छन् । साथै स्वदेशी तथा विदेशी पर्यटकको मागलाई ध्यानमा राख्दै विश्वप्रसिद्ध हात्ती पोलोको झल्को पनि शनिबार महोत्सवस्थल बाघमारा चौरमा प्रस्तुत गरिएको थियो । महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार हात्ती पोलोका केही सामग्री उपलब्ध भएकाले पर्यटकहरूको माग र उत्साह बढाउन खेलको झल्को प्रस्तुत गरिएको हो । “खेल पूर्ण रूपमा सञ्चालन हुन नसके पनि यसको झल्को देखाउँदा दर्शक तथा पर्यटक निकै उत्साहित भए”, उनले भने ।
संयोजक थपलियाले महोत्सवको अन्तिम दिन आज हात्ती पूजन गरिने जानकारी दिँदै हात्तीलाई भगवान्का रूपमा मानी पूजा गर्न लागिएको बताउनुभयो । साथै आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको छ । “यसपटक हात्तीको वनभोज बफेट शैलीमा हुनेछ । हात्तीलाई मनपर्ने परिकारहरू राखिनेछन्, जसबाट हात्तीले आफूलाई मन लागेको जति खान पाउनेछन् । यसले हात्तीलाई रमाइलो महसुस गराउँछ”, उनले भने ।
हात्तीमाथि यातना गरिएको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उहाँले हात्ती पनि पीडा र खुसी महसुस गर्ने संवेदनशील जीव भएको उल्लेख गरे । हात्तीलाई कसरी पीडा हुन्छ र कसरी खुसी हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । महोत्सवमा हामीले कुनै पनि प्रकारका यातनाजन्य गतिविधि गरेका छैनौँ”, उनले भने ।
सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेको छ । महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी भएका छन् । आयोजक संस्थाले हरेक वर्ष यही समयमा महोत्सव आयोजना गर्दै आएको छ ।
चितवन, १२ पुस । सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ४० वर्षीया पुनमकलीले जितेकी छन् । चार वटा हात्तीलाई पछि पार्दै पुनमकलीले ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि जितेकी हुन् । होटल लेण्डमार्क पोखरासँग आबद्ध पुनमकलीले कुल ३०० पूर्णाङ्कमध्ये २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन् । महोत्सवका सह–आयोजक संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका व्यवस्थापक विनोद तिमिल्सेनाका अनुसार प्रतियोगितामा सेल्फीकली, चम्पाकली, पूजाकली र समृद्धिकली सहभागी थिए ।
प्रतियोगितामा होटल गौतम बर्दिवाससँग आबद्ध २० वर्षीया हात्ती सेल्फीकलीले २३५ अङ्क ल्याएर दोस्रो स्थान हासिल गरिन् भने हेरिटेज ट्राभल काठमाडौँसँग आबद्ध ३५ वर्षीया हात्ती चम्पाकलीले २२४ अङ्क प्राप्त गर्दै तेस्रो भइन् । यसैगरी, होटल श्रीनगर पाल्पासँग आबद्ध ४० वर्षीया पूजाकली चौथो र हिमालय सोसल जर्नीसँग आबद्ध २६ वर्षीया समृद्धिकलीले पाँचौँ स्थान हासिल गरिन् ।
क्षेत्रीय होटल सङ्घ नेपाल चितवनद्वारा शनिबार सौराहमा आयोजित १९औँ चितवन हात्ती महोत्सव प्रतियोगितामा पुनम कली बनिन् मिस हात्ती ‘सुन्दरी २०८२ ’। तस्बिरः चन्द्रकला क्षेत्री /रासस
राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर सडौलाका अनुसार प्रतियोगितामा हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, सुन्दरता, सजावटसँगै हात्ती र माउतेबीचको सम्बन्ध, हात्तीको स्वास्थ्य अवस्था तथा हेरचाहको स्तरको मूल्याङ्कन गरिन्छ । सोही आधारमा सुन्दरी हात्ती छनोट गरिने उनले जानकारी दिए । “विशेषगरी माउतेले दिएको आदेश हात्तीले कत्तिको पालना गरेको छ, माउते–हात्तीबीचको समन्वय, अनुशासनलगायत पक्षमा अङ्क प्रदान गरी अन्तिम निर्णय गरिन्छ”, डा सडौलाले भने ।
क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहासहित जिल्लाको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव आयोजना हुँदै आएको छ । महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । सौराहास्थित बाघमारा चौरमा जारी महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेको छ ।
चितवन १० पुस । देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । यही पुस ११ गते सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । देवघाट क्षेत्र बिकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । क्षेत्र विकास समितिले पुस ११ गते औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको जनाएको हो ।
क्षेत्र विकास समितिसँगै सहमति संस्था र नदीसँग हामीलगायतका संस्थाहरुसँगको सहकार्यमा प्लाष्टिकमुक्त घोषणा गर्न लागिएको हो । यसका लागि पवित्र तीर्थस्थल देवघाट क्षेत्रभित्र ३७ वटा फोहर फाल्ने डस्बिनहरु राखिएको छ । जसमा प्लाष्टिकजन्य सामग्री फाल्ने, पानीका बोटल फाल्ने र ब्लेट (पत्ती) फाल्ने छुट्टै राखिएको छ । देवघाट क्षेत्र विकास समितिको अगुवाइ र भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका एवं देवघाट गाउँपालिकाको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो ।
क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले अहिले प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेसँगै प्लाष्टिकमुक्त बनाउने अभियान सञ्चालन हुने जानकारी दिए । देवघाट क्षेत्र विकास समितिभित्रको पाँच हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको उनको भनाइ छ । फोहर व्यवस्थापनका लागि सबै एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । हरेक सभ्यतासँग नदी जोडिएकाले नदी सफाइमा सबै लाग्न जरुरी रहेको उनले बताए ।
सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा लाग्न आवश्यक रहेको बताए । देवघाटको दाहासंस्कार स्थलको फोहर व्यवस्थपानमा केही समस्या देखिएको भए पनि यसलाई व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उनले बताए । अहिले देवघाट क्षेत्रमा प्लाष्टिकमुक्त गर्न जनचेतना, झोला नियन्त्रण अभियानलगायका काम गरिएको उनको भनाई छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्र प्लाष्टिकमुक्त बनाउका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।
रासस वालिङ (स्याङ्जा), ८ पुस : स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो ।
रमणीय ठाउँ रहेकाले यस ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी पूर्वाधार निर्माण गर्ने काम भइरहेको वालिङ–१२ वडाध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिए । विभिन्न समयमा वडा, नगर, प्रदेश तथा सङ्घबाट यस ठाउँमा पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भइ काम भइरहेको उनले बताए । “गाउँका मानिसहरू सहरकेन्द्रित बसाइँ सर्ने दर दिनप्रतिदिन बढ्दै गएकाले गाउँका मानिसलाई गाउँमै राख्न र आम्दानीसित जोड्ने उद्देश्यसहित राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लगेका छौँ”, उनले भने ।यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि वडा, नगर, प्रदेश, सङ्घ तथा स्थानीयको व्यक्तिगत सहयोग तथा जनश्रमदानबाट भवन, प्रतीक्षालय, चौपारी निर्माण, ससाना बालबालिकादेखि सबैलाई हुने खालका पिङ, शौचालय निर्माण गरिएको छ ।
वडाध्यक्ष गुरुङका अनुसार राम्चेडाँडामा सरकारी बजेट र २०७९ सालदेखि हालसम्म स्थानीय समुदाय तथा सहयोगदाताको सहयोगसहित झण्डै रु ४५–५० लाख खर्च भइसकेको छ । राम्चेडाँडा पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्थान भए पनि प्रचारप्रसार अभावमा यो ठाउँ ओझेलमा परेको छ । यस ठाउँको प्रचारप्रसार गर्न सकेको खण्डमा अझै पर्यटक घुम्न तथा वनभोज खानका लागि यहाँ आउने थिए ।
यस ठाउँमा वनभोज खानका लागि विशेषगरी बिदाका दिनमा विद्यालय, सङ्घसंस्था, समूह तथा क्लबहरू आउने गरेका छन् । वनभोज खानका लागि आउनेहरूको सहजतालाई मध्यनजर गरी यहाँ खानेपानीका धारा, बिजुली बत्ती, पकाउनेदेखि लिएर खानेसम्मका सबै भाँडाकुँडा, ग्यास, दाउराको व्यवस्था स्थानीय भाउजु समूहले गरिदिने सृजना भाउजु समूहकी अध्यक्ष भागिमा गुरुङले बताइन् । उनका अनुसार यस ठाउँमा वनभोज खानका लागि टोलीटोली आउनुहुन्छ ।
कतिपयले आफैँ भाँडाकुँडा, ग्यास लिएर आउनुहुन्छ त कतिले भने यहीँ हाम्रै भाँडाकुँडा तथा ग्यास प्रयोग गर्नुहुन्छ । राम्चेडाँडा नजिकै गुरुङ समुदायको बस्ती रहेको छाप गाउँ छ । विशेषगरी दसैँतिहार, अन्य बिदा तथा शुक्रबार र शनिबारका दिनहरूमा वनभोज खाने र दृश्यावलोकनका लागि मानिसहरू जाने गरेका छन् । राम्चेडाँडामा कच्ची सडक पुगेकाले जीप तथा मोटरसाइकलमार्फत पुग्न सकिन्छ ।
केही दिनअघिमात्र राम्चेडाँडा पुग्नुभएका वालिङ–८ का जीवलाल काफ्लेले उक्त ठाउँ निकै आकर्षक र दृश्यावलोकनका लागि उपयुक्त रहेको बताए । “राम्चेडाँडा पुगेर आएकाहरूले त्यहाँका बारेमा भनेको सुनेको थिएँ”, उनले भने, “कहिले जाम्ला र देख्न पाइएला भन्ने थियो त्यहाँ गएपछि त साँच्चिकै राम्रो र आकर्षक लाग्यो ।” पछिल्लो समय राम्चेडाँडामा पूर्वाधार निर्माणसँगसँगै आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।
काभ्रेपलाञ्चोक, ८ पुस । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले झरनाको पुनर्निर्माण थालिएको छ । गत वर्षको बाढीपहिरोले झरनालाई क्षति पुर्याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो । प्राकृतिक सौन्दर्यता झल्किएको उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि केही वर्षअघि मात्रै बागमती प्रदेश सरकार, गाउँपालिका कार्यालयलगायत विभिन्न संस्थाको साझेदारीमा रु ३५ लाख लगानी गरी थप संरचना निर्माण गरिएको थियो ।
हाल गाउँपालिकाको रु १० लाख बजेटबाट पुनर्निर्माण थालिएको कार्यालयका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार पोखरी तथा भत्किएका संरचना निर्माण गरी पहिलेकै अवस्थामा ल्याउन ंथालिएको हो । यो झरनामा बाढीपहीरोले क्षति पुर्याए पनि पर्यटकको आकर्षण देखिएकाले चालु आर्थिक वर्षमा बजेट छुट्याएर पुनर्निर्माण गर्न थालेका हौँ ।
उक्त झरनामा यतिखेर पनि आन्तरिक पर्यटक दैनिक बढिरहेको वडाध्यक्ष तिमल्सिना बताउँछन् । उनका अनुसार उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेषगरी आजकाल बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ । चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम–फाइमराङ बीचको उक्त झरनामा बर्सेनि पर्यटक बढिरहेको बताइन्छ । यसअघि झरनाबाट झरेको पानीमा पौडी पोखरी, पोखरी वरपर घेराबार तीन तलामध्येको झरनाको दोस्रो तल्लासम्म अवलोकनका लागि सिँढी तथा घेराबार निर्माण गरिएको थियो ।
महाभारत पर्वत शृङ्खलाको जङ्गल–मुहान रहेको चिसो पानी बग्ने झरना तीन तला भई बगेका कारण नै तीनतले झरना नामकरण गरिएको हो । चिसो, कञ्चन, सङ्लो र शुद्ध पोखरीमा डुुबुल्की मार्दै स्नान गर्नु यहाँको अर्को आर्कषण बनेको थियो । झरना अवलोकन तथा केही दिन बिताउन चाहनेहरू काभ्रेपलाञ्चोककै बनेपा, धुलिखेल र पनौतीलगायत काठमाडौँ उपत्यकाबाट ट्राभल प्याकेज नै बनाएर आन्तरिक पर्यटक आउने गरेको तिमल्सिनाले बताए । झरनासम्म पुगेर खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सबैखाले पर्यटक लालायित हुने गरेको देखिन्छ ।
हाल तीनतले झरना जानेका लागि झरना नपुग्दै स्थलबाट केही वर होटल–लजको पनि व्यवस्था गरिएको छ । झरनाको अवलोकन, पौडीका साथै बाहिरी जिल्लाबाट आउनेहरूले स्थानीय मौलिक खानाको चासो राख्ने गरेकोसमेत स्थानीयको भनाइ छ । स्थानीय गाउँमा उत्पादित खुवा, मह, तरकारी तथा लोकल मकैको ढिँडो, गुन्द्रुकलगायत परम्परागत खानाको व्यापार बढेको स्थानीय व्यवसायी बताउँछन् । झरनासम्म पुग्न क्षेत्रअनुसार फरकफरक मार्गको प्रयोग गर्न सकिन्छ ।
काभ्रेको पनौती बसपार्कबाट करिब २५ किलोमिटर सडकयात्रा गर्नुपर्ने हुन्छ । जुन सडकको पनौती–ढुर्खक करिब १३ किलोमिटर सडक ग्राभेल तथा पक्की छभने त्यसपछि १२ किलोमिटर सडक उकालो–ओरालोमा गाडी तथा मोटरसाइकलमा यात्रा गर्न खासै कठिनाइ भने छैन । विशेषगरी लालीगुराँस फुल्ने मौसममा उक्त क्षेत्रले नयाँ यात्रुहरूलाई मोहनी नै लगाउने गर्छ ।
त्यसैगरी, झरना पुग्ने अर्को सडक ललितपुर जिल्लाबाट पनि छ । ललितपुरको दक्षिणी क्षेत्र गोट्टीखेलबाट चन्दनपुर, कालेश्वर हुँदै करिब १० किलोमिटर ओरालो यात्रापछि च्याम्राङ्गबेँसी पुगिन्छ । यो मार्ग पनि चन्दनपुरसम्मको पक्की सडक तथा त्यसपछिको कच्ची भएपछि बाटो खासै कठिन भने छैन । त्यसैगरी हिउँदको समयमा पनि बागमती प्रदेशको राजधानी हेटौँडासम्म पुग्ने बेथानचोक–फापरबारी सडक पनि यहीँ झरना नजिकबाटै पर्छ । पहाडी मनोरम दृश्यका साथमा झरनाको अवलोकन गर्दै स्वच्छ, सफा, कञ्चन र सङ्लो पानीले भरिएको पोखरीमा पौडीको मज्जा लिनेहरूको भीड नै झरनाको पहिचान बन्दै गएको छ ।
मनाङ, ८ पुसः जिल्लाको चामे गाउँपालिका ४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला परेको छ । योसँगै गाउँपालिकाले मौसम अनुकूल अवधिमा दोस्रो चरणको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको हो । सरोकार भएका निकायको सहभागितामा उक्त सर्वेक्षण गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।
सर्वेक्षणमा भूउपग्रह मापन, जलविज्ञान परीक्षण, वातावरणीय जोखिम मूल्याङ्कन तथा अध्ययन गर्ने तयारी गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । सर्वेक्षणपछि संरक्षण, विपद् न्यूनीकरण तथा स्थानीय समुदायसँगको समन्वयमा दीर्घकालीन व्यवस्थापनका योजना लागू गर्ने उद्देश्यले अध्ययन गरिने उनले बताए ।
प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावना भएकाले राष्ट्रियस्तरमै सर्वेक्षण प्रक्रिया अघि बढाइएको अध्यक्ष घलेले उल्लेख गरे । स्थानीयबासिन्दा तथा गोठालाले दिएका जानकारीका आधारमा चामे गाउँपालिका, नेपाल प्रहरी र स्थानीय प्रतिनिधि तथा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलसहितको संयुक्त टोलीले उक्त तालको सतह समुद्री सतहबाट करिब पाँच हजार २०० मिटरमा रहेको प्रारम्भिक अनुमान गरिएको अध्यक्ष घलेले बताए ।
“तालको विस्तृत अध्ययन आवश्यक छ । यदी सबैभन्दा अग्लो स्थानमा भएको पुष्टि भएमा विश्वमा प्रचारप्रसारका साथै दाबी गर्ने योजना बनाउनु पर्ने हुन्छ । यसलाई आधिकारिक रूपमा पुष्टि गर्ने तयारीमा हामीले कदम चाल्नेका छौँ”, अध्यक्ष घलेले भने । टोलीका अनुसार ताल अत्यन्तै दुर्गम क्षेत्रमा हिमाली भू–भागको बीचमा अवस्थित छ । पहुँचमार्ग कठोर, मौसम, उचाइ र जोखिमपूर्ण भौगोलिक संरचनाका कारण तालसम्म पुग्न कठिन भए पनि प्राप्त प्रारम्भिक विवरणले काजिनसारा ताललाई मनाङको मात्र नभई देशकै महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा प्रचारप्रसार गर्नुपर्ने उनले बताए ।
तालको उचाइ, क्षेत्रफल तथा गहिराइको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको गाउँपालिकाले जनाएको छ । काजिनसारा तालले मनाङको पर्यटन क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास पालिका अध्यक्ष घलेले व्यक्त गरे । उनका अनुसार तालसम्म सुरक्षित पदमार्ग निर्माण, आवतजावतका वैकल्पिक मार्ग पहिचान, पर्यटकमैत्री पूर्वाधार विकास तथा वातावरण संरक्षणलाई प्राथमिकता दिएर दीर्घकालीन योजना तयार पार्ने काम भइरहेको छ ।
अध्यक्ष घलेले सो क्षेत्र जैविक तथा भौगोलिक रूपमा संवेदनशील भएकाले योजनाबद्ध विकासमा पर्यावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य हुने बताए । “स्थानीय गोठाला सिङ्गरखर्क क्षेत्रका पहाड र चौरमा चौँरी, भेडाच्याङ्ग्रा चराउन जाँदा टाढाबाट निलो जलाशयको दृश्य देख्ने गरेको बताउँदै आएका थिए”, उनले भने, “उनीहरूको सूचनालाई आधार मानेर चामे गाउँपालिकाले विसं २०७८ मा सुरुआत गरेको अन्वेषणका क्रममा तालको लम्बाइ करिब एक किलोमिटर र चौडाइ करिब ६०० मिटर रहेको अनुमान गरिएको छ ।”
ताल मापन गर्ने उद्देश्यले तत्कालीन प्रमुख जिल्ला अधिकारी ढुङ्गेल हेलिकोप्टरमार्फत त्यसतर्फ सर्वेक्षणमा पुगेका थिए । अध्यक्ष घलेका अनुसार तालको गहिराइको मापन हालसम्म उपलब्ध भएको छैन । प्रारम्भिक प्रतिवेदनमा ताललाई हिम नदीको जलस्रोतबाट बनेको उच्च हिमाली ‘ग्लेसियर’ (हिउँ र बरफबाट बनेको नदी) का रूपमा उल्लेख गरिएको उनले जानकारी दिए ।
ताल अवस्थित क्षेत्र चारैतिर प्रसिद्ध हिमशृङ्खलाले घेरेको प्राकृतिक महत्त्वपूर्ण क्षेत्र हो । पूर्वमा मनास्लु हिमाल, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल, पश्चिममा दामोदर हिमाल र उत्तरतर्फ तिब्बतस्थित पेरी हिमाल पर्ने हुँदा दृश्यावलोकनका दृष्टिले काजिनसारा ताल अत्यन्त आकर्षक छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार यस ताललाई तिलिचो ताल, अन्नपूर्ण पदमार्ग तथा नार–फू क्षेत्रसँग समन्वय गरी पर्यटकीय सम्भावनाको रूपमा विकास गर्न सकिने देखिएको छ ।
हाल विश्वकै उच्च स्थानमा अवस्थित तिलिचो ताललाई चुनौती दिने तालका रूपमा काजिनसारा ताल रहेको छ । तिलिचो ताल (४,९१९ मिटर) भन्दा काजिनसारा ताल करिब ३०० मिटरमाथि रहेको प्रारम्भिक मापनले देखाएको छ । भौगोलिक उत्थान, हिमनदीको विस्तार तथा जलस्रोतको क्रमिक परिवर्तनका कारण विगतमा पहिचान गर्न नसकिएका उच्च हिमताल भेटिनु स्वाभाविक रहेको विज्ञहरूको भनाइ छ ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले नेपालकै अग्लो स्थानमा रहेको गाउँपालिका नार्पाभूमि भए पनि आधिकारिक रूपमा नापी विभागको अध्ययन टोलीले मापन नगरेको अवस्थामा काजिनसाराको विषयमा यसै भन्न नसकिने बताए । काजिनसारा विश्वकै अग्लो स्थानमा पर्ने तालको सूचीमा रहनु सबै मनाङीका लागि खुसी तथा गौरवको विषय बन्ने उनको भनाइ छ । यस तालको विषयमा अध्ययन तथा सर्वेक्षणमा सरकारको चासो हुनुपर्ने स्थानीयको भनाइ छ । यस तालको अध्ययन तथा सर्वेक्षण एवं मान्यताले पूर्ण भएमा नेपालले कजिनसारा ताल विश्वकै अग्लो स्थानमा अवस्थित भनेर दाबी गर्नुपर्ने देखिन्छ ।
रासस म्याग्दी, ७ पुसः पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङगल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रुपमा रमणीय, धार्मिक हिसाबले ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।
परापूर्वकालमा तपस्या गर्न ऋषिमुनीहरु आउने स्वर्गाश्रम आधुनिक समाजमा विपाशना, योग, ध्यान, घुमघाम र प्राकृतिक दृष्य अवलोकनका लागि पूर्वाधार बनेको छ । आधारभूत पूर्वाधार तयार भए पनि स्वर्गाश्रममा पर्याप्त पाहुना, भक्तजन र पर्यटक भित्र्याउन नसकिएको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो । “पछिल्लो एक दशकमा स्वर्गाश्रममा कच्ची सडक, पदमार्ग, खानेपानी, विद्युत्, सञ्चार सुविधा विस्तार, आश्रयस्थल भवन, घेराबार निर्माण भएको छ,” उहाँले भन्नुभयो “स्थानीयस्तरमा सीमित बनेको स्वर्गाश्रमको महत्वलाई उजागर गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ ।”
बेनी नगरपालिका, वडा कार्यालय, स्वर्गाश्रम क्षेत्र विकास समितिको साझेदारीमा त्यहाँ आधारभूत पूर्वाधार तयार गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो । आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि महायज्ञ आयोजना गरेर सहयोग जुटाइएको थियो । महायज्ञबाट सङ्कलित रकम र सरकारी निकायको सहयोगमा गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण भएको हो । बेनी नगरपालिकाको सहयोगमा स्वर्गाश्रम परिसरमा ढुङ्गा विछ्याउने, पदमार्ग र घेराबार निर्माण भएको वडा सदस्यसमेत रहेका स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताउनुभयो ।
उहाँका अनुसार समुद्रि सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वर्गाश्रममा दुई सय वर्षअघि ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ । “आश्रम नजिकैको गुफामा सप्तऋषिले तपस्या गरेको किंबदन्ती छ,” जिसीले भन्नुभयो “स्वर्गाश्रमको दर्शन गरेमा अन्य पाँच पवित्र तीर्थस्थलको दर्शन र मनोकामना पूरा हुने जनविश्वास छ ।”
फाट्टफुट्ट रुपमा नेपाल र भारतका विभिन्न ठाउँका तपस्वीहरु स्वर्गाश्रममा आउने गरेका छन् । हिमालको काँखमा शान्त वातावरणमा योग, ध्यान र विपाशनाका लागि स्वर्गाश्रम उपयुक्त भएको योगी बद्रीनाथले बताउनुभयो । “पहिले यहाँ तपस्विहरुले ओडारमा बस्नुपर्ने समस्या थियो,” उहाँले भन्नुभयो “पूर्वाधार निर्माण भएपछि सहज भएको छ ।”
अर्का योगी त्रीशक्तिनाथले यहाँ आउँदा कोलाहल र तनावबाट मुक्ति मिल्ने भएकाले स्वर्गाश्रम नाम रहन गएको बताउनुभयो । स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । गुर्जा, चुरेन, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ । नागबेनी परेर बगेको म्याग्दी नदी, जिल्ला सदरमुकाम बेनी बजार, पर्वतको मल्लाज, म्याग्दीको अर्थुङ्गे, पुलाचौर, कुहुँ, बरङ्जा, बाबियाचौर, भकिम्ली गाउँको दृष्य अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रमको फेदीमा रहेको बागखोरमा उद्यान छ । जहाँ हिमशृङ्खला अवलोकन गर्दै वनभोज खान सकिन्छ ।
हरेक वर्षको वैशाख १ गते स्वर्गाश्रमदेखि केहीमाथि म्याग्दी र बागलुङको सिमानामा रहेको बेलढुङ्गासम्म रथयात्रा गर्ने चलन छ । स्वर्गाश्रम र बेलढुङ्गाको एकीकृत पर्यटन विकासमा बागलुङको काठेखोलाको धम्जा र म्याग्दीको बेनी नगरपालिकाको भकिम्लीको वडा कार्यालय र सङ्घ संस्थाले साझेदारी गर्दै आएका छन् । स्वर्गाश्रमको महत्वलाई उजागर गर्ने उद्देश्यले आइतबार दोस्रो विश्व योग दिवसको अवसरमा यहाँ कार्यक्रम आयोजना गरिएको थियो । बेनी नगरपालिका–३ को कार्यालयको सहयोगमा नविन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा स्वर्गाश्रममा ध्यान दिवस मनाइएको हो ।
दिवसको अवसरमा योग, ध्यानको नमूना प्रदर्शन, प्रवचन र नृत्य प्रस्तुत गरिएको थियो । दिवस मनाउनका लागि बेनी, गलेश्वर, तातोपानी, बाबियाचौर र दरवाङका योगी तथा स्थानीयवासी स्वर्गाश्रममा भेला भएका थिए । बेनीदेखि भकिम्ली र काठेखोलाको धम्जा हुँदै स्वर्गाश्रम पुग्न सकिन्छ । बेनीदेखि एक घण्टा ३० मिनेट गाडीमा यात्रा गरेपछि स्वर्गाश्रम पुगिन्छ । त्यहाँ कच्ची सडक पुगेको छ । धम्जामा बेलढुङ्गा होमस्टे सञ्चालन भएको छ ।
भकिम्लीको भुकभुके र मुसुङका बासिन्दाले पनि स्वर्गाश्रम, बेलढुङ्गा घुम्न आउने पाहुनालाई घरमा खाने, बस्ने व्यवस्था मिलाएका छन् । भुकभुके र मुसुङमा होमस्टे सञ्चालनको तयारी भएको स्वर्गाश्रम क्षेत्र विकास समितिका कोषाध्यक्ष पूर्णमाया जिसीले बताउनुभयो । आफै बन्दोबस्तीका सामान ल्याएर आउने पाहुना र पर्यटकले स्वर्गाश्रम र बाघखोरको आश्रयस्थल भवनमा पकाएर खान सक्छन् ।
माधबि भट्ट (रासस) अमरगढी (डडेल्धुरा), ६ पुस । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।
आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले रु ९० लाख बजेट विनियोजन गरेको छ । गत वर्ष रु २५ लाखको लागतमा समैजीको मन्दिर निर्माण सम्पन्न भइसकेको र हाल शुभारम्भको तयारी भइरहेको उनले बताए । स्काई ब्रिजलाई पनि धार्मिक आस्थासँगै जोडेर विकास गरिएको उनको भनाइ छ ।
तालक्षेत्रमा ‘भ्यूटावर’ निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि तालसम्म जोड्ने पर्यटकीय सडक पनि विस्तार भइसकेको छ । आलिताल आफँैमा प्राकृतिक सौन्दर्यले भरिएको ताल हो र यसले पालिकाको पहिचान बोकेको छ । पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटक आउन थालेको बताउँदै ताल अझै विकासकै चरणमा रहेको पार्कीले बताए ।
गाउँपालिकाका प्राविधिक अशोक जोशीका अनुसार गाउँपालिकाको समन्वयमा उक्त बजेटबाट धार्मिक आस्थासँग जोडिएको स्काई ब्रिजमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसिसी पर्खाल, व्यवस्थित पार्क निर्माण र तालक्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम अघि बढाइने छ । साथै तालभन्दा करिब ५०० मिटर टाढा व्यवस्थित गाडी पार्किङस्थल निर्माण गर्ने र सोही स्थानमा वनभोजस्थल स्थापना गर्ने योजना रहेको पनि उनले बताए ।
तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले बताए । गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसार पनि गरिरहेको छ । अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक आउने गरेको आलिताल–३ का स्थानीय प्रविन मगरले बताए ।
महाभारत पर्वत शृङ्खलाको फेदमा सो ताल अवस्थित छ । धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करिब ४०० मिटर छ । यो तालको गहिराइ २२ मिटर छ । प्राकृतिक संरचना, हरियाली वन र हरियाली डाँडाले घेरिएको भूबनोटले आलिताललाई सौन्दर्य बनाएको छ । यो तालमा पुग्न बुडर (डोटी)– जोगबुढा (डडेल्धुरा) सडकमा पर्ने घुम्टीबजारबाट तीन किलोमिटरको दूरीमा रहेको छ ।
आलितालको उत्पत्तिबारे रोचक कथा प्रचलित छन् । स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असारमा धान रोपाइँ हुने गर्दथ्यो । किंवदन्तीअनुसार रोपाइँको अघिल्लो दिन एक महिलाले सपना देखिन् । सपनामा उहाँलाई चेतावनी दिइएको थियो । ‘भोलि खेतमा रोपाइँ गर्दा अनिष्ट हुनेछ, खेतम नजानु ।’ उनले यो कुरा आफ्ना परिवार र गाउँलेसँग भने, तर उनको भनाइलाई कसैले विश्वास गरेनन् । अर्को दिन हलगोरु र अन्य किसानसँग मिलेर खेतमा धान रोपाइँ गर्न गए ।
रोपाइँका क्रममा अचानक ठूलो वर्षा सुरु भयो । खेतमा विशाल राँगो र नाग प्रकट भए । पानीले खेत डुबायो । यसै घटनाले गर्दा उक्त स्थानमा पानी भरिन थाल्यो र विशाल ताल बनेको जनश्रुति छ । त्यसैले स्थानीयहरूले यो ताललाई ‘आलिताल’ भनेर चिनाउन थालेका हुन् । रोपाइँ गर्नेहरू सबै डुबेर मरे । एकजना महिलामात्र खाना बनाइरहनुभएको थियो उनी जीवित रहे । पछि शिव भगवान्ले उनलाई दर्शन दिएर देवी बनाई तालमा बसाइदिएको जनविश्वास छ । खेत (आली) भएको ठाउँमा ताल बनेकाले यसको नाम आलिताल रहन गएको बताइन्छ ।
जमुना वर्षा शर्मा–रासस पोखरा, ५ पुस । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ ।
दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरु पुतली जहाज पनि भन्छन् । कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात ‘पुतली जहाज’ ले लोभ्याइरहेको थियो । खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने यो साहसिक गतिविधिमा रुची राख्नेहरुको रोजाइमा पर्ने यो जहाजमा अहिले पर्यटकको कमी हुन थालेको छ ।
शुल्क महँगो भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठको बुझाइ छ । “पहिले धेरै राम्रो थियो तर अहिले शुल्क महँगो भयो, नागरिक उड्डयन प्राधिकरणले ‘टेक अफ’ र ‘ल्याण्डिङ’ को शुल्क बढाएपछि उडान शुल्क महँगो हुन ग¥यो, यसले व्यवसायमा ठूलो मार परेको छ ।”
केही वर्षअघिसम्म रु आठ हजार पाँच सयमा पर्यटकले आकाशमा उडेर आनन्द लिन पाउँथे भने अहिले यो शुल्क बढेर रु १७ हजार ५०० पुगेको छ । शुल्क दोब्बर हुँदा अल्ट्रालाइट गर्ने पर्यटक सङ्ख्या घटेको उनको भनाइ छ। ‘एड्भेञ्चरको माता’ को उपनाम पाएकी श्रेष्ठ नेपालमा साहसिक हवाई पर्यटनको परिकल्पनाकार मानिन्छन् । ‘एभिया क्लब नेपाल’ ले विसं २०५३ मा प्रबन्ध निर्देशक नताशा श्रेष्ठ र उनका रुसी साझेदारहरुले यसलाई नेपाल भित्र्याएका हुन् ।
पोखराको भूगोल अल्ट्रालाइटका अनुकूल मानिन्छ । पोखरामा अल्ट्रालाइट दक्षिण एसियामै पहिलो पटक सञ्चालनमा आएको हो । श्रेष्ठले नेपालमा यसको सम्भावना राम्रो रहेको उल्लेख गर्दै यसमार्फत विश्व बजारमा नेपाल चिनाउन र पर्यटन भित्र्याउन सकिने धारणा राखिन् । दक्ष जनशक्ति र राज्यको पर्यटनमैत्री नीतिको अभावले निजी क्षेत्रका व्यवसाय धरासायी हुँदै जानु र नयाँ लगानीमा सम्भावना कम हुँदै जाँदा पर्यटन क्षेत्रलाई असर गरेको उनको भनाइ छ । “सुरुमा पोखरामा यस्तो साहसिक खेल भित्र्याउँदा धेरैलाई अनौठो लागेको थियो, तर आज यो पोखराको पहिचान बनेको छ”, श्रेष्ठ भनिन्, “हामीले पोखराको पर्यटनलाई केवल ताल र गुफामा सीमित नराखी आकाशको उचाइसम्म पु¥याउन सफल भएका छौँ यसको प्रवर्द्धन विस्तार जरुरी छ । ”
उनका अनुसार सुरुवाती दिनहरूमा अल्ट्रालाइट उडाउन पूर्णरूपमा रुसी पाइलटहरूमा भर पर्नुपर्ने अवस्था थियो । एभिया क्लबले नै अनुभवी रुसी पाइलट ल्याएर यसको उडान सुरु गरेको हो । तर, अहिले नेपाली युवा पाइलटले नै उडान गर्न थालेका छन् । हाल पोखरा एभिया क्लब र पोखरा अल्ट्रालाइट प्रालिले मात्र यो सेवा प्रदान गरेको पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कुनै समय दिनको ४० उडान गर्दै आएका कम्पनिले अहिले दिनको चार वटा उडानमा सीमित हुनुपर्ने अवस्था आएको छ । पर्यटकलाई आकर्षित गर्ने गतिविधिमा राज्यले पर्यटनमैत्री नीति बनाएर सहजको वातावरण गराउन सके नीति क्षेत्रलाई राहत मिल्ने र पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ । कुनै समय साहासिक गतिविधिमा रुची राख्ने पर्यटकले रुचाएको अल्ट्रालाइट अहिले पर्यटकको अभाव र चर्को शुल्कले सुस्ताउनु दुर्भाग्य भएको उनको बुझाइ छ ।
केही वर्षअघि विदेशी साथिसँगै अल्ट्रालाइटको उडान भरेका पोखराका रामबजारका विकास गुरुगंले अहिले शुल्क बढी भएको गुनासो गरे । “अहिले शुल्क महँगो भयो, शुल्क घटाउने हो भने आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ”, उनले भने । उनले साहसिक खेलमा प्याराग्लाइडिङ अल्टालाइट आआफ्नै विशेषता रहेको सुनाए । गुरुङले भने, “विदेशी पर्यटकहरू त झन् पोखराको यो उडानलाई विश्वकै उत्कृष्टमध्ये एक मान्छन्, धेरै देशमा उडान भरेका मेरा एक जर्मनी साथिले पोखराको आकाश उडेपछि यहाँको सुन्दरताको निकै तारिफ गरेका थिए ।”
कास्की, ४ पुसः साइकल प्रयोगलाई बढावा दिने सन्देशसहित पोखरामा यही पुस ५ गते हुने ‘टुर द पोखरा’को आठौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा ‘स्वास्थ्य, वातावरण र पर्यटन’का लािग साइक्लिङको नारासहित साइकल सिटी पोखराले ‘टुर दी पोखरा’लाई निरन्तरता दिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रम पोखरा महानगरको ‘क्लिन सिटी र ग्रिन सिटी’को अवधारणाअनुसार हुन लागेको हो ।
‘टुर द पोखरा’साइकल ¥यालीका माध्यमबाट पोखरा र वरिपरिका पर्यटकीय गन्तव्य पहिचान गरी आमन्त्रित स्वदेशी एवं विदेशी साइकल यात्रीलाई भ्रमण गराई हरित क्रान्तिको सुरुआत गर्नु रहेको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । उनका अनुसार यस वर्ष नेपालका ३२ जिल्ला तथा विदेशबाट गरी ८६० जना साइक्लिष्टहरुले नाम दर्ता गराएका छन् । यसबाहेक स्थानीस्तरमा दता नभएका गरी एक हजार बढीको सहभागिता रहने विश्वास गरिएको छ ।
“छिमेकी मित्रराष्ट्र भारतसहित तेस्रो मुलुकबाट साइक्लिष्टको सहभागिता हुने निश्चित भएको छ । पर्यटकीय सहर पोखरामा हुने यस कार्यक्रमले पोखराको प्रवद्र्धनसहित साइकल प्रयोग र इन्धन बचाउने सन्देश प्रवाह गर्नेछ”, श्रेष्ठले भने । ‘टुर द पोखरा’ कार्यक्रमले साइकल संस्कृति बसाल्नुका साथै इन्धन बचाउन महत्वपूर्ण योगदान दिने विश्वास आयोजकको छ । कार्यक्रमबाट वातावरण स्वस्थ राख्नका लागि योगदान पुग्ने सचिव रामचन्द्र भट्टले बताए ।
उनले भने, “हामी धेरै सौखिन भयौँ, हिँडेरै पुग्ने वा साइकल चढ्दा हुने ठाउँमा मोटरसाइकल र कार चढ्न थाल्यौँ । यसले हाम्रो वातावरण प्रदूषित ग¥यो भने हाम्रो पैसा पनि विदेसियो, त्यसैले थोपा थोपा इन्धन बचाएर पैसा विदेश जानबाट जोगाउँदै वातावरण स्वस्थ राख्न योगदान गर्ने उद्देश्यले हामीले यो कार्यक्रमलाई बर्सेनि निरन्तरता दिएका छौँ”, भट्टले भने । साइकलयात्राको दूरी पोखराका विभिन्न स्थानसहित माछापुच्छ«े गाउँपालिकाको भुर्जुङखोलासम्म गरी ५१ किमी रहेको छ ।
धरान (सुनसरी), २८ मङ्सिरः पोखराको लेकसाइड क्षेत्रमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको छ । आगामी जनवरी १ तारिखमा रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल ९रेवान० पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड क्षेत्रमा करिब तीन दशमलव पाँच किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने आयोजकले आज इटहरीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । रेवान पोखराका संयोजक वसन्त गौतमका अनुसार ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको महोत्सवले खाना, संस्कृति र सङ्गीतको प्रवर्द्धनका साथै पोखराको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
एक समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन नेपाली पर्यटक भारतको गोवा र थाइल्याण्ड जाने प्रचलन रहेकामा पोखरा सडक महोत्सवले ‘अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य’का रूपमा पोखरालाई स्थापित गर्न सफल भएको उनले बताए । “हाल यो महोत्सव पोखराको पहिचान र पर्यटन प्रवर्द्धनका क्षेत्रमा ‘ब्रान्ड’का रूपमा अघि बढिरहेको छ”, उनले भने ।
विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला विभिन्न आन्दोलनजस्ता चुनौतीका बाबजुत पनि महोत्सव निरन्तर आयोजना हुँदै आएको संयोजक गौतमले बताए । उनले प्रत्येक सङ्कटपछि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःरुत्थान गर्न तथा ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखे ।
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईले महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउँदै स्थानीय कृषिउपज, हस्तकला तथा घरेलु सामग्रीको प्रवर्द्धन र बजारीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । क्रिसमस र नयाँ वर्षको अवसरमा विदेशी पर्यटकलाई नेपालमै आकर्षित गरी विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने उनको भनाइ छ ।
यस वर्ष पोखरा महानगरपालिकाद्वारा घोषणा गरिएको ‘पोखरा भ्रमण वर्ष २०२५’सँग सहकार्य गर्दै महोत्सव आयोजना हुन लागेको आयोजकले जनाएको छ । महोत्सवका प्रमुख आकर्षणमा नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकी र नृत्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारसहितका खानाको फुड फेस्टिभल (खाना महोत्सव), ख्यातिप्राप्त कलाकारद्वारा कला प्रस्तुत, लोकदोहोरी, फेवातालमा ‘बोट रेस’, ‘वेटर रेस’, रस्साकस्सी, पर्यटनसम्बन्धी ‘टक सो’, वृत्तचित्र तथा फोटो प्रदर्शनी रहेका संयोजक गौतमले जानकारी दिए ।
महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सहप्रायोजकमा बोटलर्स नेपाल (तराई) लिमिटेड, दि नेपाल डिस्टिलरी प्रालि, यति डिस्टिलरी प्रालि र नेपाल टेलिकम रहेका छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक रहेको आयोजकले जनाएको छ ।
काठमाडौँ, २९ मङ्सिरः मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाट पर्यटक बस गुड्न बाध्य भएका हुन् ।
विगत तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि विसं २०७५ असार १६ गतेदेखि उक्त बसलाई काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेको सडकबाट सञ्चालन गरिएको थियो । महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो ।
कान्तिपथबाट सोह्रखुट्टे सडकमा पर्यटक बसपार्क सरेको सात वर्ष बितिसक्दा पनि पर्यटक बसपार्कका लागि छुट्टै स्थान नहुँदा सडकबाटै पर्यटक बस गुड्न बाध्य भएका छन् । हाल पर्यटक बस काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् ।
सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ः०० बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बसलाई उपेक्षा गरेको बताउँछन् । “सरकारले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई उकास्ने भनिरहेको छ, तर पर्यटक बसका लागि पार्किङ गर्न छुट्टै बसपार्क नहुँदा समस्या परेको छ”, उनी भन्छन्। राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको भए पनि नेपालमा भने विकास नगरेको अध्यक्ष न्यौपाने बताउँछन् ।
कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् । उक्त सवारीसाधनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् ।
टिवानका पूर्वध्यक्ष एवं बाबा एड्भाञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनी पर्यटक बसको बसपार्क निर्माणका लागि टिवानले पहिलेदेखि नै सम्बन्धित निकायमा झकझक्याउँदै आए पनि हालसम्म बसपार्क निर्माण हुन नसकेको बताउँछन् । सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न नसकेको उनको भनाइ थियो । व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।
रासस म्याग्दी, २६ मङ्सिर । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको बाहुल्य बसोबास रहेको मुदी प्रकृति र संस्कृतिको सङ्गम हो । हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन सकिने मुदी पाहुना र पर्यटकको पर्खाइमा रहेको वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो ।
“संसारको सातौँ ९८१६७० मिटर अग्लो धवलागिरि हिमाल यही मुदीगाउँ समेटिएको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ”, उहाँले भन्नुभयो, “प्रचारप्रसारको कमीले ओझेलमा परेको मुदीमा पर्यटन पूर्वाधार निर्माण र विस्तारसँगै प्रवर्द्धनमा जुटेका छौँ ।” नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी विराट रजकका अनुसार एक वर्षअघि भएको अध्ययनका क्रममा मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका थिए ।
मुदीगाउँभित्रका गल्लीमा सरसफाइ, ढल व्यवस्थापन र ढुङ्गा बिछ्याएर चिटिक्क पारिएको छ । मुदीगाउँ र हिमाल अवलोकनका लागि वडा कार्यालय परिसरको डाडाँमा भ्यु प्वाइन्ट ९दृश्य अवलोकन०स्थल बनाइएको छ । भ्यु प्वाइन्ट वरपरको पदमार्गमा रेलिङ राखिएको छ । करिब ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने थलडाडाँबाट हिमालका अलावा छिमेकी बस्ती, नागबेली परेर बगेको म्याग्दी, गुर्जा र दरखोला र पहाडी भूगोलको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
समुद्री सतहदेखि दुई हजार ५०० मिटरमा अवस्थित मुदीका अधिकांश घर परम्परागत शैलीका ढुङ्गे छन् । मुदीका करिब दुई सय ५० मध्ये २० घरपरिवार दलित र तीन परिवार गुरुङका छन् । मगर समुदायको सांस्कृतिक पहिचान पुरख्र्यौली, मादले, मारुनी नाच, यानीमाया, सालैजो गीतले पाहुनालाई स्वागत गर्ने चलन छ ।
मुदीदेखि धवलागिरि चक्रीय र गुर्जा हिमाल पदयात्रामा जान सकिन्छ । यहाँको लेकमा वैशाख जेठमा यार्सागुम्बा र असोज कात्तिकमा च्याउ टिप्ने चलन छ । फिरन्ते शैलीमा घुम्ती गोठमा गाईभैँसीपालन गर्ने गोठालाको दिनचर्या र जीवनशैली अध्ययन गर्न सकिन्छ ।
म्याग्दी सदरमुकाम बेनीदेखि गाडीमा तीन घण्टा र मोटरसाइकलमा दुई घण्टा यात्रा गरेपछि मुदी पुगिन्छ । बेनीदेखि ४७ किलोमिटर दूरीमा रहेको मुदीका लागि आवतजावतका लागि जिप चल्छन् । मुदीमा पाहुना र पर्यटकलाई लक्षित गरेर घरबास सञ्चालन भएको छ । होमस्टेका सञ्चालक गौबहादुर राम्जालीले सडक यातायातको पहुँच, गाउँको फेदी भएर बग्ने गुर्जा र म्याग्दी नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेपछि पाहुना आउन थालेका बताउनुभयो ।
“पाहुनालाई घरायसी वातावरणमा खानेबस्ने व्यवस्था मिलाउनका लागि आठ–दश वर्षअघि बनाएर प्रयोगमा नआएको घरमा आधारभूत पूर्वाधार बनाएर होमस्टे चलाएको हो”, उहाँले भन्नुभयो, “लोकल कुखुरा, खसीबोकाको मासु, च्याउ, टुसाको तरकारी, सिमीको दाल, कोदो, फापरको ढिँडोको स्वाद चखाउने गरेको छु ।”
उक्त होमस्टेमा एक दिनमा २० देखि ३० जना सहजै बास बस्न सक्छन् । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मुदी, मुना क्षेत्रमा रेडपाण्डा, चिरकालिजजस्ता दुर्लभ वन्यजन्तु र पन्छी पाइने भएकाले पर्यापर्यटनको हिसाबले पनि सम्भावना देखिएको बताउनुभयो । मुदीको पर्यटन विकासका लागि पूर्वाधार निर्माणसँगै धवलागिरि आरोहण दिवस हिमाल भएको वडा मुदीमै मनाउन नेपाल पर्यटन बोर्ड र सम्बद्ध गैरसरकारी संस्थालाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
वासिङ्टन डीसी , २५ मङ्सिर (रासस–एएनआई) । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिदै यस्तो घोषणा गरेका जनाएको छ । घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर “अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस भन्ने शब्दहरूसहित राखिएको थियो, जसले कडा भिसा नियमन राष्ट्रिय सुरक्षा प्रयासहरूको केन्द्रबिन्दु हो भन्ने प्रशासनको तर्कलाई बलियो बनाएको छ ।
भिसा प्रणालीमा भएको कडाइलाई प्रष्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसा मध्ये आठ हजार भन्दा बढी विद्यार्थीहरूको रहेको खुलासा गर्नु भएको छ । असुरक्षित गाडी चलाउनु, चोरी र आक्रमण जस्ता अपराधहरूका कारणहरु पहिचान गरि गत वर्ष अधिकाशं भिसा रद्द गरेको अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । विभागको विगतका स्पष्टीकरणहरूमा भिसा म्याद सकिने र “आतङ्कवादलाई समर्थन लगाएतका कारणहरूले भिसा रद्द गरिएको जनाइएको छ ।
गाजा द्वन्द्वसँग सम्बन्धित विरोध प्रदर्शनमा भाग लिने अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि त्यस्तै गरी कडा छानविनमा परेको जनाइएको छ । यो कार्यले गत अगस्तमा उल्लिखित विभागको योजना अनुरुप भएको र वैध अमेरिकी भिसा भएका पाँच करोड पचास लाख भन्दा बढी विदेशीहरूका लागि “निरन्तर जाँच“ प्रणाली लागू गर्न र देशमा बस्ने व्यक्तिहरूलाई निगरानी गर्ने उद्देश्यलाई कार्यन्वयन गरेको जनाइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा, विदेश विभागले भिसा आवेदनहरूको समीक्षा र भिसा भएकाहरुको अनुगमनका लागि आफ्नो मापदण्ड विस्तार गरेको छ । प्रशासनले “एच–१बी” आवेदकहरूको जाँच पनि बढाएको छ, जुन विशेष विदेशी प्रतिभा खोज्ने अमेरिकी रोजगारदाताहरूका लागि एक प्रमुख कार्यक्रम हो । विस्तारित भिसा रद्द, तीव्र जाँच र फराकिलो छानविनले आप्रवासन नियन्त्रणलाई कडा बनाइ आप्रवासीहरु विचमा भएको उल्लङ्घनलाई थप चुस्त दुरुस्त बनाउने प्रशासनको व्यापक दबाबलाई चित्रण गर्दछ ।
गलकोट (बागलुङ), २५ मङ्सिरः एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । दरबार संरक्षण अभियानमा लागिरहनुभएका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र यहाँ खाने तथा बासोबासको व्यवस्थापनसमेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।
द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरुपमा फर्काइएको छ । दरबारका झ्यालढोका पुरानै स्वरुपमा बनाइएका छन् भने रङरोगन र मर्मतपछि चिटिक्क बनाइएको छ । दरबार क्षेत्रमै तीन वर्षदेखि रेष्टुराँ सञ्चालनमा ल्याइएको छ । दरबार क्षेत्रमा रहेको पुरानो घर र गोठलाई मौलिक रूपमा पुनर्निर्माण गरी रेष्टुराँ सञ्चालनमा ल्याइएको हो ।
गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको दरबार संरक्षणसँगै पर्यटक आर्कषण गर्ने प्रमुख माध्यम बनेको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेश बम मल्लले बताउनुभयो । उहाँले पुर्खाको नासोलाई संरक्षण गरेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गर्दा गत वर्ष मात्र २० हजारले दरबार अवलोकन गरेको बताउनुभयो । दरबारमा तस्बिर खिच्न, भिडियो बनाउन, अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको मल्लले जानकारी दिनुभयो ।
मल्लसहितका चार युवाले रु ५० लाख लगानीमा यहाँ रेष्टुराँ सञ्चालनमा ल्याउनुभएको छ । दरबार परिसरमा माछापोखरी बनाएर विभिन्न प्रजातिका माछा पाल्न थालिएको छ । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ललाई दिइएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा सोही दरबारमै मारिनुभएको थियो ।
विसं २०५९ वैशाखमा भएको हत्यापछि मल्ल परिवार त्यहाँबाट विस्थापित भएर काठमाडौँमा बस्न थालेपछि दरबार जीर्ण बनेको थियो । पछिल्लो समय नाति मन्जेशले दरबारको संरक्षण गरेपछि पर्यटकहरू आउने क्रम क्रमशः बढिरहेको छ । राससबाट
काठमाडौँ, २५ मङ्सिरः हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछन् ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् । द्रुत गतिमा हिमनदी पग्लिएका छन् । विश्व तापक्रम बढ्ने क्रम जारी रहे अरु हिमनदी हराउने छन् ।
यसैगरी विश्वको एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदीहरूको पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा छन् । यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।
मुस्ताङ, २२ मङ्सिर । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो ।
बायोकोर्स नेपाल र एक्याप मिलेर यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्चलेंकमा हिउँ चितुवाको सङ्ख्या एकीन गर्न, हिउँ चितुवाको आहारा प्रजातीको अवस्था र मानव र हिउँ चितुवा बीचको द्वन्द्वको अवस्था पहिल्याउन र जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले हिउँ चितुवाको अध्ययन अनुसन्धान गर्न क्यामेरा ट्ययापिङ सुरु गरिएको बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार गत हप्तादेखि यहाँको वारागुङ मुक्तिक्षेत्रको झोङ,पुडाक, छेङ्गुर,थोरङ्फेदी, फल्याक,धार्काजुङ र मुस्ताङ—डोल्पा सडकको उच्चलेंकमा १५ थान क्यामेरा जडान गरिएको छ ।
आजदेखि यहाँको घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ,मार्फा र चिमाङ गाउँको उच्चलेंकमा थप क्यामेरा हिउँ चितुवा ट्यापिङका लागि थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । यहाँका उच्चलेंकमा हिउँ चितुवाको विस्तृत अध्ययन अनुसन्धानका गर्न बायोकोसका प्रतिनिधि बायोलोजिस्ट गुरुङ र असिस्टेन प्रवीन लामा क्यामेरा जडानकार्यमा खटिएका छन् । यसैगरी एक्याप जोमसोमबाट प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली खटिएका छन् । बायोकोस र एक्यापका प्राविधिक टोलीले यहाँका उच्चलेंकमा हिउँ चितुवाको सम्भावित बासस्थान क्षेत्रमा पुगेर क्यामेरा जडान गरेका हुुुन ।
यहाँका सम्भावित हिउँ चितुवा बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्ययापिङ क्यामेरा दुई महिनासम्म लेंकमा राखिने छन् । हिउँद याममा हिउँ चितुवाको सङ्ख्या एकीन गर्न र हिउँ चितुवाको गतिविधि थाहा पाउँन क्यामेरा जडान गरिएको हो । कायोकोसका प्रतिनिधि बोलोलोजिस्ट गुरुङले दुई महिनापछि उच्चलेंकमा राखिएका क्यामेराको डाटा सर्वेक्षण गरिने जानकारी दिए ।
“ दुई महिनापछि क्यामेरा झिकेर ल्याउँछाँै, सफ्वेयर अपडेट गरी हिउँ चितुवाको विस्तृत विवरण सङ्कलन हुन्छ, प्रतिनिधि गुरुङले भने, ‘ क्यामेरामा कैंद भएका डाटा सबै एक्यापलाईनै हस्तान्तरण हुन्छ, हामीले हिउँ चितुवाको एकीन मात्रै गछौंँ ” बायोकोस नेपालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको विभिन्न क्षेत्रमा हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्यापिङ लगायतका कार्य गर्दैआईरहेको प्रतिनिधि गुरुङको भनाइ छ ।
मुख्य रुपमा नाउन अध्ययनका लागि कार्य गरिने भए पनि बायोकार्सले त्यसको साथसाथैमा हिउँ चितुवाकोसमेत अध्ययन गर्ने गरेको जनाएको छ । सन् २०२२ देखि लगातार मनाङमा चार वर्षसम्म निरन्तर हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्ययापिङ गर्ने गरिएकोमा यसपालि मुस्ताङमा यसप्रकारको कार्यक्रम पहिलो भएको बायोलोजिस्ट गुरुङले जानकारी दिए ।
यसैगरी माथिल्लो मुस्ताङमा पनि एक हिउँ चितुवासम्बन्धी विद्यावारिधि विद्यार्थीले क्यामेरा ट्ययापिङमार्फत हिउँको अध्ययन सुरु गरेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए । मुस्ताङमा पटक पटक हिउँ चितुवा अध्ययनका लागि क्यामेरा ट्ययापिङ लगायतका काम भए पनि हालसम्म कतिको सङ्ख्यामा हिउँ चितुवा छन् भन्ने तथ्य एकीन हुन सकिरहेको छैन ।
पछिल्लो समय मुस्ताङमा हिउँ चितुवा र मानव बीचको द्वन्द्व बढेको देखिन्छ । हिउँ चितुवा उच्चलेंक छाडेर सडक र बस्तीमा झर्ने र यहाँका पशुपालकको गोठमै पसेर पशुचौपाया लगायतलाई क्षति पु¥याउने घटना दोहोरिरहेका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण उच्चलेंकमा चरनक्षेत्रमा घाँस पलाउन छाडेको र पानीका स्रोत सुक्दै जान थालेपछि हिउँ चितुवाको आहारा नाउर खोला र बस्तीसम्म झर्ने गरेको पाइएको छ ।
हिउँ चितुवा नाउर लगायतका आहारा पछ््याउँदै खोला र बस्तीमा झर्दा मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेको हो । यहाँ हिउँ चितुवाको संरक्षण र मानव बीचको सहअस्तित्व निर्माण गर्नसमेत चुनौती बढदै गईरहेको छ । यसैगरी कम उचाइको क्षेत्रमा रहने चितुवा (कमन लियापार्ट) पनि तापक्रम वृद्धि हुँदै जाँदा माथिमाथि बासस्थान सार्ने लगायतका घटना पनि देखिन थालेका छन् ।