Category: घूमघाम

  • उडान खुल्ने प्रतीक्षामा काठमाडौं विमानस्थलमा अलपत्र यात्री

    उडान खुल्ने प्रतीक्षामा काठमाडौं विमानस्थलमा अलपत्र यात्री

    मधु शाही–रासस
    काठमाडौँ, १७ फागुनः बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै थिए । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उनी समयमै विमानस्थल पुगेका थिए । तर उनी कतार जाने भने पाएनन् । विमानस्थल आएपछि उनलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो । उनी आइतबार दिउँसो विमानस्थलमा अलपत्र अवस्थामा भेटिए ।

    रासससँगको कुराकानीमा आफूले बर्दियाबाट आउँदा काठमाडौँसम्म आउनका लागि भाडा र खानाका लागि मात्रै पैसा बोकेको सुनाए । उनीसँग अहिले होटलमा बस्न र खानाका लागि पैसा छैन । “हिजो विमानस्थलमै सुतेर राति बिताएँ, अब कहिले उडान हुन्छ थाहा छैन”, उनले भने ।


    पुनको जस्तै अवस्था कैलालीकी सरला विकको पनि छ । रोजगारीका लागि साउदी अरब जान शनिबार विमानस्थल पुगेकी उनी आइतबारसम्म यही छिन् । हवाई उडान कहिले हुन्छ भन्दै बेलाबेलामा निगमका कर्मचारीलाई सोध्छिन् । तर जवाफ चित्तबुझ्दो आउँदैन । निगमका कर्मचारी केही सोध्नुपरे एयरलाइन्सको कार्यालय न्युरोड जान सुझाव दिन्छन् । विक दोस्रो पटक साउदी अरब जाँदै थिएन् । दुई महिनाअघि बिदामा घर आएकी उनी अब काठमाडौँबाट कैलाली फर्कने हो भने फेरि साउदी अरब जान नपाइएला भन्ने चिन्ता पनि छ ।

    पुन र विकजस्ता हजारौँ नेपाली यतिबेला विमानस्थलको चक्कर काटिरहेका छन् । उनीहरु जाने मुलुकमा नेपालबाट हवाइजहाजले उडान भरेको छैन । अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण सुरु गरेपछिको असर नेपाली श्रमिकमा देखिएको हो । खासगरी खाडीमुलुकमा रोजगार गर्न जाने नेपाली बढी प्रभावित भएका छन् ।

    अमेरिका र इजराइलले इरानमा गरेको आक्रमणका कारण युएई, साउदी अरब, कतार, कुवेतलगायत मुलुकका विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । जसकारण विदेश उड्न भनेर आएका नेपाली यात्र अलपत्रमा परेका हुन् । अलपत्र पर्नेमा मोरङका दिलीपप्रसाद राजवंशी पनि छन् । दुबईको आबुधावीमा श्रमिकका रुपमा कार्यरत उनी तीन महिनाको बिदा मनाएर आइतबार दुबई फर्कने तालिका थियो । दुबईस्थित कम्पनीको मालिकको फोन गर्दा आइतबार बिदाको दिन परेकाले उठेन ।

    कम्पनीले दुबहीबाट नै टिकट काटिदिएको थियो । यसबारेमा अब के हुन्छ भन्ने कुनै आधिकारिक जानकारी प्राप्त गरेका छैनन् । “दुबईको विमानस्थल बन्द छ, मात्रै भन्छन्, तर अब के गर्ने ? टिकट कसरी रिफण्ड हुन्छ ? र सस्तोमा पाएको टिकट त्यही मूल्यमा पाइन्छ कि पाइँदैन ? कतै महङ्गोमा पर्ने पो हो कि ?”, उनले भने । उनले आफूलगायत खाडीमुलुक जाने नेपाली यात्रु सही र आधिकारिक सूचना नपाउँदा अलमलमा पर्नुपरेको बताए ।


    दुबई जान विमानस्थल आउनुभएका गणेश मिश्रले पनि जहाँ टिकट काटेको त्यही जानु भनेर सोधपुछ कक्षका कर्मचारीले जवाफ दिएको बताए । आफू अलपत्र र बेवारिसे जस्तै भएको उनले बताए । धनुषाका एमडी रोजेन्दावले आफू कतार जान विमानस्थलमा दुई दिनअघिदेखि नै आइरहेको बताए । “घर फर्किन पनि सकेको छैन, होटलमा बस्न खर्च पनि छैन, हवाई उडान कहिले खुल्छ भन्ने पनि निश्चित छैन”, उनले भने ।


    नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले इरान–अमेरिका तनाव बढेपछि विभिन्न मुलुकका विमान सञ्चालनमा रोक लगाइएकाले उक्त अवस्था समान्य नहुँदासम्म उडान नहुने बताइन् । यद्यपि यात्रुहरुले टिकट रिफन्ड गर्नुपर्ने अवस्था आएमा कार्यालयमै सम्पर्क गर्न आग्रहसमेत गरे । “विमानस्थलमा सबै काम गर्न सम्भव नहुने भएकाले कार्यालयमै सम्पर्क गर्न भनेका हौँ”, उनले भने, “यात्रुहरुको सहजताका लागि निगमको काम विमानस्थलमै गर्न भने त्यति सम्भव छैन ।”

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले केही देशका विमानस्थल अनिश्चित रुपमा बन्द भएकाले यात्रुलाई निश्चित सूचना दिन नसकिएको बताए । यद्यपि विमान कम्पनीहरुले यात्रुलाई उडान खुल्नु तीनदेखि चार घण्टाअघि फोन गरेर सूचना दिनुपर्ने भनी सूचना प्रकाशित गरिएको उनले जानकारी दिए ।

  • जाडो छल्न आएका चरा फर्किन थाले

    जाडो छल्न आएका चरा फर्किन थाले

    चितवन, १५ फागुनः जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा जाडो छल्न आउने गर्दछन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कन थालेका हुन् । फेब्रुअरीको अन्तिम साताबाट फर्किन थालेका ती चरा मार्च अन्तिमसम्म सबै गईसक्ने नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीले बताए ।


    यहाँ मङ्गोलिया, रुस, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायत देशबाट चरा आउने गर्दछन् । जाडो छल्न आउने ती चरा कालीगण्डकीको खोच हुँदै चितवनसम्म आइपुगेका थिए । जाडो छल्न हाँस प्रजातिका क¥याङकुरुङ, चखेवा, सुइरोपुच्छे«, मालक, खडखडे, बिजुला, गैरीसहित बाज, चिललगायत चरा यहाँ आउने गर्दछन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाजसमेत आउने गरेको अध्यक्ष बिडारीले बताए ।


    यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा आएर बस्ने गर्दछन् । नेपाल बाहिरदेखि आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा रमाउने गर्दछन् । नेपालमा १५० प्रजातिका चरा जाडो छल्न आगन्तुक रूपमा आउने गर्दछन् । यी चरा ६ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने अध्यक्ष बिडारीले जानकारी दिए । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको विज्ञ बताउँछन् ।

    नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्तम वासस्थानका रूपमा लिइन्छ । निकुञ्ज हुँदै बग्ने राप्ती, रिउसँगै नारायणी नदी र निकुञ्जभित्रका तालतलैया र वन क्षेत्रमा आगन्तुक चरा रमाउने गर्छन् । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पन्छीको राम्रो विचरण क्षेत्र हुन् । नेपालमा ९०२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्र ६५२ प्रजातिका चरा पाइन्छन् ।

    यससँगै गर्मी मौसममा आउने चरा आउन थालेका छन् । अध्यक्ष बिडारीका अनुसार भारत हुँदै आउने ती चरा नेपाल छिर्न थालेका छन् । उनले भने, “जाडो छल्न आएका चरा फर्किन थालेका छन् भने गर्मीमा आउने चरा आउन थालेका छन् ।” गर्मीमा आउने चराले यही बच्चा कोरलेर जाडो सुरु भएसँगै फर्किने गर्दछन् ।

  • धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

    धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

    भोजपुर, १४ फागुनः धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित म¥याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ । यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् ।

    धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको यस स्थानमा योजनाबद्ध रूपमा संरचना निर्माण गरेको हो । प्रतिष्ठानका सचिव सोमनाथ शर्माले तीन वटै धर्मावलम्बीले एकैस्थानमा आफ्ना धार्मिक परम्परा, संस्कार र अभ्यासलाई निरन्तरता दिन संरचना निर्माण गरिएको बताए ।


    हिन्दू धर्मावलम्बीका लागि आकर्षक शैलीमा मन्दिर, किरात समुदायका लागि सांस्कृतिक पहिचान झल्कने मानखिम घर तथा बौद्ध धर्मावलम्बीका लागि शान्तिको प्रतीक स्तूपा निर्माण गर्नुका साथै धार्मिक ज्ञान आदान–प्रदानलाई संस्थागत बनाउन पाठशाला सञ्चालनमा ल्याइएको जानकारी दिए । हाल उक्त पाठशालामा ७२ जना प्रशिक्षार्थी अध्ययनरत छन् । उनीहरूले तीनै धर्मसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान हासिल गरिरहेका छन् ।

    “यसका अतिरिक्त गौशाला, बहुउद्देश्यीय सभाहल, भोजनालय, अतिथि गृह, योगशालालगायतका संरचनाहरू निर्माण गरिएका छन् । यहाँ नियमित रूपमा ध्यान, योग, सत्सङ्ग, प्रवचन, भजन–कीर्तन तथा धार्मिक–सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्”, सचिव शर्माले बताए । “विशेष पर्व–उत्सवका अवसरमा तीनै धर्मका अनुयायीहरू एकैस्थानमा भेला भएर कार्यक्रम आयोजना गर्ने परम्परा बसाल्ने प्रयास भइरहेको छ । यसले स्थानीयस्तरमा आध्यात्मिक चेतना अभिवृद्धि हुनाका साथै सामाजिक एकता अझ सुदृढ बन्ने हाम्रो विश्वास छ ।”

    विसं २०७७ देखि सुरु गरिएको निर्माण कार्यमा हालसम्म सङ्घीय र प्रदेश सरकार तथा जिल्लाका नौवटै स्थानीय तह तथा विभिन्न सङ्घ–संस्थाको सहयोगमा करिब रु आठ करोड बराबरको लगानी प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । चरणबद्ध रूपमा संरचना विस्तार गर्ने योजनाअनुसार हाल भारतीय दूतावासको करिब रु चार करोड र गाउँपालिकाको रु एक करोड लागत साझेदारीमा विद्यालय भवन निर्माण भइरहेको छ ।

    समाजसेवी डा लोचन कार्कीले यस क्षेत्रलाई धार्मिक तथा ‘दिव्यभूमि’का रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो परिवारले करिब ३० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको बताए । “त्रि–धार्मिक स्थलको स्थापनाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । धार्मिक सहअस्तित्वको सन्देश दिने यस्तो संरचनाले देश–विदेशबाट पर्यटक भित्र्याउन मद्दत पुग्नेछ”, उनले भने ।


    बौद्ध धर्मका जानकार (लोचावा) पुण्यप्रसाद सुवेदीले आफ्नै पहल तथा विभिन्न दाताको सहयोगमा बौद्ध स्तूपा निर्माण गरिदिएको बताए । हाल काठमाडौँमा बसोबास गर्दै आए पनि जन्मभूमिप्रति गहिरो माया राख्दै स्तूपा निर्माण गरिएको उनले उल्लेख गरे । सुवेदीले धार्मिक संरचनाले स्थानीय युवापुस्तालाई आफ्नो मौलिक पहिचान र आध्यात्मिक मूल्यमान्यतासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


    धर्मगुरु प्राडा गुरुप्रसाद सुवेदीले यस क्षेत्रलाई भविष्यमा धार्मिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने बताए । यहाँ धार्मिक ग्रन्थ अध्ययन, अन्तरधार्मिक संवाद, खोज, अनुसन्धान कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ । प्रतिष्ठानले आगामी दिनमा प्राकृतिक चिकित्सा केन्द्र, सांस्कृतिक सङ्ग्रहालय तथा ध्यान–आश्रमसमेत स्थापना गर्ने लक्ष्य राखेको छ । यसले धार्मिक आस्था मात्र नभएर स्वास्थ्य, संस्कृति र पर्यटन क्षेत्रको विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

    स्थानीयवासीका अनुसार त्रि–धार्मिकस्थलको निर्माणले अरुण क्षेत्रलाई नयाँ पहिचान दिएको छ । यो स्थान विविधतामा एकता र धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । यसलाई आगामी दिनमा राष्ट्रियस्तरमै नमूना परियोजनाका रूपमा चिनिने विश्वास गरिएको छ ।

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

    दोधारा चाँदनी (कञ्चनपुर), १३ फागुन : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ । निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

    “प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्ज कर्मचारीसमेत खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय गरिएको छ”, उनले भने, “२३ गतेदेखि बाघ गणनाका लागि शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरिने छन् ।”

    राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्स नामकरण गरिएको क्षेत्रलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघ विचरण गर्ने सम्भावित क्षेत्रको पहिचान गरेर हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिनेछ ।

    सन् २०२२ को गणनामा यस कम्प्लेक्समा ३६ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । क्यामेरामा कैद भएका १६ पोथी र १२ भालेसहित २८ र विश्लेषणका आधारमा आठ गरी ३६ वयस्क बाघ रहेको सार्वजनिक गरिएको थियो ।


    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सानो क्षेत्रफल रहेको भए पनि बाघको आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले यहाँ बाघको सङ्ख्या बढेको संरक्षण अधिकृतहरू बताउँछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रति वर्गकिलोमिटर रहेको छ । वन्यजन्तु र दुर्लभ वनस्पतिको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

  • गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र

    गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र

    गुल्मी, १० फागुनः यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । नेपाल वायु निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मङ्गलबार र शनिबार गरी सातामा तीन पटकमात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।


    नेपाल वायुसेवा निगमका हाल तीन मात्र ट्वीनअटर जहाज रहेको र उक्त जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यसअघिको नियमित तालिकामा परिवर्तन गरेको उनले बताए । वर्षातको समय, खराब मौसम र बाक्लो हुस्सुका कारणबाहेक पछिल्लो तीन महिना रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई उडान हुँदै आइरहेको छ ।

    रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलदेखि बिहान ७ः३० बजे उडान गर्दै आइरहेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गर्दछ ।

    जिल्लामा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । अठार घण्टा लामो यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका नागरिकले आकाशमार्गबाट ४५ मिनेटमै सहज रूपमा गुल्मीबाट राजधानी आवतजावत गर्न सहज बनेको छ ।

    जिल्लामा हवाई सेवा लिने नागरिकको चाप पछिल्लो समयमा बढ्दै गएको छ । तर यात्रुहरूको चाप बढे पनि उडान सङ्ख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यस क्षेत्रका नागरिक समस्यामा परेका छन् । जिल्लामा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई उडान सेवा सुरुआत गरेको थियो ।

  • प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

    प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

    लुम्बिनी, ९ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गरेकी छिन् ।

    निर्वाचन तयारीबारे सम्बद्ध निकायहरुसँग जानकारी लिने सिलसिलामा रुपन्देहीको भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी आएकी हुन् । प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका गतिविधिबारे जानकारी गराए ।

  • धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

    धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

    म्याग्दी, ९ फागुनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु १० लाख बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास पुनले फागुन पहिलो सातासम्म गरेकदेखि गुन्थली भिर, देउराली डाडा, ठूलोखानी, भित्रे वन, ठुलो घैरा भ¥याङ हुँदै भिरखर्कसम्म पदमार्ग निर्माण भइसकेको जानकारी दिए ।


    प्राविधिक नक्साअनुसार तीन किलोमिटर पदमार्ग निर्माण सकिएको र थप एक किलोमिटर निर्माणाधिन रहेको उहाँले बताउनुभयो । दोवाका करिब २० जना स्थानीयबासी पदमार्ग निर्माणका लागि जङ्गलमै बास बसेर काम गरिरहेका छन् । वस्तिदेखि टाढा रहेको ठाउँमा घरबाट जान, आउन टाढा हुने भएकाले निर्माणस्थलमै त्रिपालको गोठ बनाएर बास बसेका हुन् ।

    चालु आर्थिक वर्षको बजेटबाट खोलाखर्कसम्म पदमार्गले जोडिने उपभोक्ता समितिले जनाएको छ । परापुर्व कालमा दोवा बासीले घुम्ती पशुगोठ लेक बेशी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्गको रूपमा विकास गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडा अध्यक्ष दिलिप गर्बुजाले बताए ।


    बेनी–जोमसोम सडक निर्माणपछि १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुदेखि सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्गमा नजिकका बस्तिहरूबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ । मगर समुदायको बाहूल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडा अध्यक्ष गर्बुजाले बताए ।

  • मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

    मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

    भोजपुर, ९ फागुनः मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनानुदिन बढ्दो छ । अग्ला पहाडी डाँडाकाँडा, चम्किला हिमश्रृङ्खला र तराईका समथर फाँटको मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकको रोजाइँमा पर्न थालेको हो। यात्रा क्रममा किराँत समुदायको संस्कार–संस्कृति झल्काउने संरचना, विशाल घाँसे मैदान, स्थानीय गोठालाले पालेका चौँरी र भेडीगोठले यात्रालाई अझ रोमाञ्चक बनाउने गर्छ ।

    टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग सहज र सुरक्षित गन्तव्यका रूपमा विकास भइरहेको छ । पर्यटकको सुरक्षित यात्राका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएको उनले बताए । साथै पदमार्गको थप विस्तार कार्यसमेत जारी रहेको जानकारी दिए । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङ प्राकृतिक रूपमा सुन्दर क्षेत्र भएकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको बताइन् । पर्यटकलाई लक्षित गर्दै पदमार्ग आसपास धारा, विश्रामस्थललगायत संरचना निर्माण गरिएको छ ।

    पर्यटकलाई पदमार्गको विशेषता, भौगोलिक अवस्था, भ्रमणयोग्यस्थल, लाग्ने समय, आवास व्यवस्था तथा सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्यले पर्यटन सूचना केन्द्र भवनसमेत स्थापना गरिएको छ । यस क्षेत्रमा किराँत राई, शेर्पा, तामाङलगायत समुदायको सांस्कृतिक पहिचान झल्कने परिकारका साथै गोठालाले उत्पादन गर्ने अर्गानिक खाद्य सामग्रीको स्वाद लिन सकिन्छ । विविध वनस्पति र जडीबुटीले पनि पर्यटकको ध्यान तान्ने गरेका छन् । नेपालका प्रमुख हिमाल एकै स्थानबाट अवलोकन गर्न सकिने विशेषताका कारण पनि यो पदमार्ग परिचित बन्दै गएको छ ।

    मध्यम खालको उकालो–ओरालो हुँदै फैलिएको यस पदमार्गबाट चारपाटे, नुप्से, सगरमाथा, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । किराँत राई समुदायको धार्मिक–सांस्कृतिक ग्रन्थ ‘मुन्दुम’सँग जोडिएकाले यस पदमार्गको नामकरण सोही आधारमा गरिएको हो । पूर्वी नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको संगमस्थलका रूपमा मुन्दुम पदमार्गले अब नयाँ पहिचान बनाउँदै गएको छ।

  • स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा

    स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा

    स्टकहोम, ६ फागुन (रासस–एएफपी) । बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि पानीमुनि गाडिएको १७औँ शताब्दीको स्विडेनी नौसैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखा परेको छ । लामो समयसम्म लुकेको इतिहास एकाएक उजागर हुँदा समुद्री पुरातत्त्वविद्हरूले यसलाई महत्त्वपूर्ण खोजका रूपमा लिएका छन् ।

    क्यास्टेलहोलमेन टापु आसपास पानीको सतह घटेसँगै जहाजको राम्रोसँग जोगिएको पतवारका काठका भागहरू फेब्रुअरीको सुरुदेखि नै बाहिर देखिन थालेका हुन् । ती काठका संरचनाले जहाजको कङ्कालजस्तै स्पष्ट रूपरेखा प्रस्तुत गरेका छन्, जसले १७औँ शताब्दीको जहाज निर्माण प्रविधिबारे महत्त्वपूर्ण सङ्केत दिन सक्छ ।

    स्टकहोमस्थित व्राक – भग्नावशेष सङ्ग्रहालयका समुद्री पुरातत्वविद् जिम ह्यान्सोनले उक्त भग्नावशेष स्विडेनको नौसेनाले जानाजानी डुबाएको बताए । उनका अनुसार नौसैनिक सेवाबाट अवकाश पाएपछि सन् १६४० आसपास उक्त जहाजलाई क्यास्टेलहोलमेन टापुमा निर्माण गरिएको नयाँ पुलको जगका रूपमा प्रयोग गर्न डुबाइएको थियो । पुरातत्वविद्हरूले हालसम्म जहाजको ठोस पहिचान गर्न सकेका छैनन् । सो क्षेत्रमा पुल निर्माणका लागि एउटै पङ्क्तिमा डुबाइएका पाँचवटा समान भग्नावशेषमध्ये यो एउटा भएको विश्वास गरिएको छ । ती सबै १६औँ शताब्दीको अन्त्यदेखि १७औँ शताब्दीको सुरुतिरका मानिन्छन् ।

    ह्यान्सोनका अनुसार त्यतिबेला नयाँ काठ प्रयोग गर्नुको सट्टा पूरै जहाजको हुललाई नै आधारका रूपमा प्रयोग गर्नु व्यावहारिक उपाय मानिन्थ्यो । “ओक काठ अत्यन्त बलियो हुन्छ, त्यसैले पुलको जग बनाउन जहाजकै संरचना उपयोग गरिन्थ्यो”, उनले भने । उनले थप स्पष्ट पार्दै बाल्टिक क्षेत्रमा काठ नष्ट गर्ने समुद्री कीराहरू नहुने भएकाले त्यहाँ डुबाइएका काठका संरचना सयौँ वर्षसम्म सुरक्षित रहन सक्ने बताए । यही कारणले चार सय वर्षपछि पनि जहाजका भागहरू राम्रो अवस्थामा देखिएको उनको भनाइ छ ।

    यसअघि सन् २०१३ मा पनि जहाजका केही भाग सतहमा देखिएका थिए । तर यसपटक बाल्टिक सागरको जलस्तर झण्डै एक सय वर्षयताकै सबैभन्दा न्यून विन्दुमा पुगेपछि भग्नावशेष पहिलेभन्दा धेरै स्पष्ट रूपमा देखिएको हो । ह्यान्सोनले उत्तरी क्षेत्रमा लामो समयदेखि उच्च वायुदबाव कायम रहँदा बाल्टिक सागरको पानी उत्तर सागर र एटलान्टिकतर्फ धकेलिएको जानकारी दिए ।

    यही प्राकृतिक अवस्थाले जलस्तर घटाउन भूमिका खेलेको उनको विश्लेषण छ ।
    बाल्टिक सागरको तल्लो भागमा रहेका स्विडेनी नौसैनिक जहाजका थुप्रै भग्नावशेष पहिचान गरी सही मिति निर्धारण गर्ने उद्देश्यले ‘द लस्ट नेभी’ नामक अनुसन्धान कार्यक्रम सञ्चालनमा रहेको छ । यस नयाँ अवलोकनले उक्त कार्यक्रमलाई थप गति दिने अपेक्षा गरिएको छ ।

  • पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

    पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

    कास्की, ५ फागुनः कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ । उद्यानमा धम्पुस ब्रेकन भगिनि सम्बन्ध स्थापनाको स्मारक राखिएको छ । ढुङ्गैढुङ्गाले बनेको यस स्मारकले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेछ । दुई रोपनी जमिनमा रहेको उद्यानबाट उत्तरतर्फ लहरै ठडिएका हिमशृङ्खला तथा हेमजा र पोखरा बजारको दृश्यावलोकन गर्न सकिन्छ ।

    धम्पुस समाज युकेको लगानी र अग्रसरतामा उद्यान निर्माण गरिएको हो । उद्यान निर्माणका लागि समाजको रु २६ लाख र स्थानीय सरकार तथा व्यक्तिगत सहयोग गरी रु ४० लाख खर्च भएको धम्पुस समाज युकेका संरक्षक मेजर खुशीमान गुरुङले जानकारी दिए । उनले भने, “धम्पुस आफैँमा पर्यटकीय गाउँ हो । यहाँ आउने पर्यटकलाई थप आकर्षण बढाउने उद्देश्यले हामीले पार्क बनाएका हौँ ।”

    धम्पुस र बेलायतको ब्रेकन सहरबीचको भगिनी सम्बन्ध स्थापनाको सातौँ वर्ष पुगेको छ । सोही अवसरमा हालै उद्यान औपचारिक उद्घाटन गरेर खुला गरिएको हो । धम्पुसबाट उत्तरतर्फ आँखै अगाडि देखिने अन्नपूर्णलगायतका हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको छ । उद्यान निर्माणपछि थप पर्यटक आगमन बढ्ने विश्वास गरिएको माछापुच्छ«–७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले बताए ।
    वडाध्यक्ष भण्डारीले भने, “पार्क निर्माणले धम्पुसको पर्यटनमा नयाँ आयाम थपिएको छ ।

    यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुनेछ भने धम्पुस र ब्रेकनको सम्बन्धलाई पनि थप प्रगाढ बनाउने छ ।” पोखरादेखि २० किमी दूरीमा धम्पुस गाउँ पुगिन्छ । पोखरा–बाग्लुङ राजमार्गको घट्टेखोलाबाट धम्पुस जान सकिन्छ । धम्पुस विश्वप्रख्यात मर्र्दी हिमाल पदयात्राको प्रवेशद्धार पनि हो । धम्पुस हुँदै वार्षिक हजारौँ पर्यटकले मर्दीको पदयात्रा गर्ने गर्दछन् ।

  • पर्यटन बोर्ड र जापानको वाकायामाबीच दिगो पर्यटन सहकार्यमा समझदारी

    पर्यटन बोर्ड र जापानको वाकायामाबीच दिगो पर्यटन सहकार्यमा समझदारी

    काठमाडौँ, ४ फागुनः नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । आज भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवद्र्धन, ज्ञान आदान–प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरे ।


    यस समझदारीले संयुक्त पर्यटन प्रवद्र्धन तथा मार्केटिङ, पर्यटनसम्बन्धी सूचना र उत्कृष्ट अभ्यासको आदानप्रदान, विज्ञ तथा अधिकारीहरूको भ्रमण आदानप्रदान, सञ्चार तथा जनसम्पर्क सहकार्य र सांस्कृतिक रूपमा सम्मानजनक तथा दिगो पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले जापानदेखि गभर्नर नेतृत्वको टोलीको नेपाल भ्रमण स्वागतयोग्य कदम रहेको उल्लेख गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका सन्दर्भमा भएको यो सहकार्य दिगो र उत्तरदायी पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

    “दुवै देशले सांस्कृतिक विषयलाई उच्च महत्व दिएका छन् । ७० वर्षे कूटनीतिक सम्बन्धको सन्दर्भमा भएको यो सहकार्यले दिगो पर्यटनलाई बलियो आधार प्रदान गर्नेछ”, उनले भने । त्यसैगरी मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल–जापानबीचको दीर्घकालीन सम्बन्ध स्मरण गर्दै यस समझदारीलाई पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गर्नुभयो । “नेपाल र जापानबीच लामो समयदेखिको सम्बन्ध छ । हिमालयको देश तथा भगवान् बुद्धको जन्मस्थल नेपालका लागि बजार विविधीकरणका लागि यो समझदारी यो उपयुक्त समय हो”, उनले भने।

    वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । “इतिहास र संस्कृतिले समृद्ध नेपालसँग समझदारी गर्न पाउँदा हामी खुसी छौँ । यस समझदारीले नेपाल र वाकायामाबीच पर्यटन प्रवर्द्धन थप सुदृढ हुने विश्वास लिएको छु”, उनले भने,
    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जापानलाई नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एकका रूपमा उल्लेख गर्दै पछिल्लो समय जापानी पर्यटक आगमनमा करिब आठ प्रतिशत वृद्धि भएको जानकारी दिए ।

    समझदारी हस्ताक्षरको मितिदेखि लागू भई आपसी समझदारीका आधारमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ । सहकार्यसम्बन्धी गतिविधिको समन्वयका लागि दुवै पक्षले सम्पर्क विन्दु तोक्ने तथा खर्च आ–आफ्नै रूपमा व्यहोर्ने व्यवस्था गरिएको छ । कानुनी रूपमा बाध्यकारी नभए पनि पारस्परिक सद्भाव र विश्वासमा आधारित यो समझदारीले सात दशक लामो नेपाल–जापान सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

  • चीनले क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति लागू गर्ने

    चीनले क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति लागू गर्ने

    बेइजिङ, ४ फागुन (रासस–एएफपी) । चीनले क्यानडा र बेलायतका साधारण राहधानीधारक नागरिकलाई लक्षित गरी भिसा मुक्त नीति लागु गर्ने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता आइतबार भने, “सीमापारबाट चीनको यात्रालाई थप सहज बनाउन चीनले सन् २०२६ फेब्रुअरी १७ देखि क्यानडा र बेलायतका साधारण राहदानी धारकहरूलाई भिसा–मुक्त नीति विस्तार गर्ने निर्णय गरेको छ।”

    प्रवक्ताका अनुसार यस निर्णयले दुई युरोपेली मुलुकका साधारण राहदानी बाहकलाई व्यापार, पर्यटन, परिवार र साथीको भ्रमण, आदानप्रदान र पारवहन प्रयोजनका लागि चीन प्रवेश गर्न भिसामा छुट दिन र ३० दिनसम्म चीनमा रहन अनुमति दिनेछ । “यो नीति सन् २०२६ डिसेम्बर ३१ सम्मका लागि लागू हुनेछ,” प्रवक्ताले भने ।

  • महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

    महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

    काठमाडौँ, २ फागुनः महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो । शोभायात्रामा स्वदेशी तथा विदेशबाट आउनुभएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो ।

    पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो । शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो । महाशिवरात्रि भोलि हो । कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढङ्गले दर्शन गर्नसक्ने व्यवस्था गरिएको सरसफाइलगायत आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

  • पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अब अनलाइनबाटै टिकट

    पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अब अनलाइनबाटै टिकट

    ललितपुर, १ फागुन । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

    पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले हाल अनलाइन टिकट बुकिङ प्रणाली परीक्षण चरणमा रहेको जानकारी दिए । उनका अनुसार अहिले सङ्ग्रहालय परिसरमा रहेका दुईवटा काउन्टरमार्फत टिकट वितरण हुँदै आएको छ भने टिकट शुल्क क्यूआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था पहिले नै सुरु भइसकेको छ ।

    “हालसम्म भौतिक काउन्टरबाट टिकट काट्नुपर्ने बाध्यता थियो”, प्रमुख लाखेले भने, “अब घरबाटै अनलाइन माध्यम प्रयोग गरी टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेपछि पर्यटकहरूका लागि अझ सहज हुनेछ । हामी यो प्रणाली छिट्टै औपचारिक रूपमा सुरु गर्ने तयारीमा छौँ, अहिले परीक्षण भइरहेको छ ।”
    अनलाइन टिकट प्रणाली सञ्चालनमा आएपछि लामो लाइनमा बस्नुपर्ने झन्झट हट्ने, समयको बचत हुने तथा पर्यटक व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास सङ्ग्रहालय प्रशासनले लिएको छ । विशेषगरी पर्यटकको चाप बढी हुने सिजनमा यसले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

    पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कुल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

  • नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    बेइजिङ, २९ माघ (रासस–एपी) । चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड सुरु भएको छ, जसलाई संसारकै सबैभन्दा ठूलो मानव आवागमन मानिन्छ । सरकारले ४० दिनको यात्राअवधिमा करिब नौ अर्ब ५० करोड यात्राहरू हुने अनुमान गरेको छ । यो हालसम्मकै उच्च सङ्ख्या हो ।


    सिचुआन प्रान्तको राजधानी चेङ्दु घर भएका लिउ झिक्वान बेइजिङबाट करिब दुई हजार किलोमिटर टाढा निर्माण क्षेत्रमा काम गर्छन् । उनी घर फर्किन ३० घण्टाभन्दा लामो रेल यात्रा गर्न तयारीमा छन् । उच्च गतिको रेलले नौ घण्टामै पुगिए पनि खर्च दोब्बरभन्दा बढी लाग्ने भएकाले उनले सस्तो ढिलो रेल रोजेको बताए । अर्थतन्त्र कमजोर हुँदा कमाइ कठिन भएको उनको भनाइ छ ।

    चीनमा ‘चुन्युन’ नामले चिनिने यो यात्रा अवधिमा करोडौँ कामदारहरू आफ्ना परिवारसँग चाड मनाउन गृहनगर फर्किन्छन् । सरकारी तथ्याङ्कअनुसार करिब ५४ करोड रेलमार्फत् र ९५ करोड हवाई यात्राहरू हुने अपेक्षा गरिएको छ । बाँकी यात्राहरू सडकमार्फत् गरिनेछन् । लामो कार्यसमय र सीमित वार्षिक बिदाका बीच चन्द्र नयाँ वर्ष धेरैका लागि अमूल्य अवसर हो । बेइजिङका रेल स्टेसनहरूमा यात्रुहरू ठूला झोला र सुटकेससहित रेलको प्रतीक्षामा देखिएका छन् । कतिपय यात्रुहरूले स्टेशनमा उपलब्ध निःशुल्क तातो पानी प्रयोग गरेर ‘इन्स्ट्यान्ट नूडल्स’ खाएर समय बिताइरहेका छन् ।

    बेइजिङमा हालै पूर्णकालिक काम सुरु गरेकी टियान डुओफूले फेब्रुअरी १५ देखि सुरु हुने नौ दिने बिदाको प्रतीक्षा गरिरहेकी छिन् । काम सुरु गरेपछि लामो बिदा दुर्लभ भएको र परिवारसँग भेटघाट कम हुँदै गएको महसुस भएको उनले बताइन् । उनका अनुसार वसन्त महोत्सव परिवारसँग पुनर्मिलनको महत्त्वपूर्ण समय हो । हेनान प्रान्त घर भई बेइजिङमा बिहानको खाजा स्टल सञ्चालन गर्दै आएकी टियान युन्सियाले पनि नयाँ वर्ष परिवारसँगै मनाउन घर जान चाहेको बताइन् । उनका अनुसार घर फर्कन नसके चाडपर्वको वास्तविक अनुभूति गर्न नसकिने हुन्छ ।

  • हिमालयन ह्वाइटवाटर च्यालेञ्ज फागुन १४ देखि

    हिमालयन ह्वाइटवाटर च्यालेञ्ज फागुन १४ देखि

    काठमाडौँ, २८ माघः आगामी फागुन १४ देखि १६ गतेसम्म ‘२४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज, २०२६ तथा ‘५०औँ अन्तरराष्ट्रिय ह्वाइटवाटर र्‍याफ्टिङ र कायाकिङ महोत्सव’ त्रिशूली नदीमा आयोजना हुने भएको छ । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज ९नारा० ले नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना गर्ने भएको हो । अजा यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा ३० अन्तरराष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुने जानकारी दिइयो ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले बोर्ड लामो समयदेखि ह्वाइटवाटर शृङ्खलासँग जोडिँदै आएको उल्लेख गर्दै विगतका शृङ्खलामा देखिएका कमजोरी सच्याउँदै यसपटक नदीजन्य साहसिक खेललाई नेपालको सशक्त पर्यटन छविका रूपमा स्थापित गर्ने तयारी गरिएको जानकारी दिए । “सगरमाथा र हिमाललाई मात्र होइन, र्‍याफ्टिङ, कायाकिङ र कनोइङजस्ता नदीमा आधारित साहसिक गतिविधिलाई पनि अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुपर्नेछ”, ऐरले भने, “यसका लागि हाम्रा नदीहरुको संरक्षणमा पनि जोड दिन आवश्यक छ ।”

    बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि जलविद्युत् आयोजना र नदीजन्य उत्खननका कारण नदीमा हुने साहसिक खेल गतिविधिमा असर परिरहेको बताए । उनले सरकारले जलविद्युत् आयोजना निर्माण र पर्यटनका लागि नदी पहिचान गरी र्‍याफ्टिङलगायतका साहसिक खेल गतिविधि गर्नुपर्नेमा जोड दिए । नाराका अध्यक्ष कमलबहादुर ठकुरीले २४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज र महोत्सव केबल प्रतियोगिता मात्र नभएर नेपालको ५०औँ जलयात्रा इतिहासको उत्सव भएको बताए ।
    महोत्सवअन्तर्गत कायाकिङतर्फ दुई र र्‍याफ्टिङतर्फ एक गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । जसमा पहिलो दिन १०० भन्दाबढी कायकरबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो दिन नकआउट चरणमा खेल खेलाइनेछ । साथै तेस्रो दिन ¥याफ्ट सेसन सञ्चालन हुनेछ । कार्यक्रममा र्‍याफ्टिङको व्यावसायिक सुरुआत गर्ने हिमालयन रिभर एक्सप्लोरेशनका संस्थापकलाई विशेष सम्मान गरिनेसमेत आयोजकले जनाएको छ ।

    नेपालमा र्‍याफ्टिङको इतिहास सन् १९६० को दशकबाट सुरु भएको मानिन्छ । सन् १९६४ मा फ्रान्सेली टोलीले त्रिशूली र १९६५ मा सर एडमण्ड हिलारीको टोलीले सुनकोसीमा गरेको जलयात्रा महत्वपूर्ण कोशेढुङ्गा बनेका थिए । सन् १९७५ मा हिमालयन रिभर एक्सपोलेशनमार्फत व्यावसायिक र्‍याफ्टिङ औपचारिक रूपमा सुरु भएको थियो । नाराको स्थापना विसं २०४६ मा स्थापना भएको हो ।

  • ‘राउण्ड फेवा, भ्युफेवा’ पदमार्ग प्रवर्द्धन

    ‘राउण्ड फेवा, भ्युफेवा’ पदमार्ग प्रवर्द्धन

    गण्डकी, २७ माघः हाइकर्स क्लब नेपालले पोखरा र आसपासका गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यका साथ विगत सात वर्षयता सञ्चालन गर्दै आएको हाइकिङको ६७औँ शृङ्खला फेवाताल किनाराको पदमार्ग ‘राउण्ड फेवा, भ्युफेवा’ मा सरसफाइसहित सम्पन्न गरेको छ । हरेक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङको यो शृङ्खला फेवातालको किनारस्थित रानिवनभित्रको पदमार्ग ‘राउन्ड फेवाः भ्यु फेवा’को सरसफाइसहित सम्पन्न गरिएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।

    हाइकिङका माध्यमबाट विभिन्न गन्तव्यको प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ आदि कार्य गरिँदै आइएको उनले बताए । उनका अनुसार हाइकिङका क्रममा पदमार्ग क्षेत्रमा रहेको प्लाष्टिकजन्य फोहर चार बोरा सङ्कलन गर्दै त्यसको व्यवस्थापन गरिएको थियो । पोखरामा विभिन्न सेवा पेसा र व्यवसायमा आबद्ध व्यक्तिहरू हरेक महिनाको तेस्रो शनिबार हाइकर्स क्लब नेपालले सञ्चालन गर्दै आएको हाइकिङमा सहभागी बन्ने गरेका छन् ।

  • लुम्बिनीमा लापरबाही -शान्तिको जन्मभूमिमा शासनको असफलता

    लुम्बिनीमा लापरबाही -शान्तिको जन्मभूमिमा शासनको असफलता


    कुमार न्यौपाने
    हाल : न्युयोर्क

    लुम्बिनी– भगवान गौतम बुद्धको जन्मभूमि, करुणा, अहिंसा र शान्तिको विश्वव्यापी केन्द्र । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यो पवित्र भूमि सम्पूर्ण मानव सभ्यताको साझा धरोहर हो । तर, आज यही लुम्बिनी व्यवस्थापकीय असक्षमता, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र अदूरदर्शी सोंचको ज्वलन्त उदाहरण बनेको छ । शान्तिको सन्देश बोकेको भूमि आफैं अराजकता, अव्यवस्था र उपेक्षाको दलदलमा फस्नु राष्ट्रकै लागि लाजमर्दो अवस्था हो ।

    गुरुयोजना कागजी शोभामा सीमित
    लुम्बिनीको विकासका लागि दशकौं अघि नै विभिन्न गुरुयोजना तयार गरिएका थिए । जापानी वास्तुकार केन्जो ताङ्गेले परिकल्पना गरेको गुरुयोजना आज पनि भाषण र प्रतिवेदनमा मात्र सीमित छ । व्यवहारमा भने योजनाविहीन सडक, जथाभावी भवन, असन्तुलित संरचना र अधुरा परियोजनाले लुम्बिनीको मौलिक स्वरुपलाई कुरुप बनाइरहेका छन् । गुरुयोजना पालना नगर्ने प्रवृत्ति स्वयं राज्यकै नियतप्रति गम्भीर प्रश्न खडा गर्छ ।

    लुम्बिनी विकास कोष : पहुँचको अखडा
    लुम्बिनी विकास कोष लुम्बिनीको संरक्षण र विकासको प्रमुख निकाय हो । तर, दुर्भाग्यवश, यो संस्था दीर्घकालीन दृष्टिकोणभन्दा बढी राजनीतिक भागबण्डा, पहुँच र स्वार्थको अखडा जस्तै बनेको छ । कोषमा नेतृत्व परिवर्तनसँगै नीति परिवर्तन हुने, निर्णयहरु व्यक्तिविशेषको इच्छामा निर्भर हुने र पारदर्शिताको घोर अभाव देखिन्छ । बजेट खर्चको स्पष्ट विवरण सार्वजनिक नहुनु र अनुगमन कमजोर हुनुले भ्रष्टाचारको आशंकालाई अझ बलियो बनाएको छ ।

    राजनीतिक हस्तक्षेप र नेतृत्वविहीनता
    लुम्बिनीलाई राजनीतिक प्रभावबाट मुक्त राखिनुपर्नेमा यहाँ राजनीति नै प्रमुख बाधक बनेको छ । सरकार फेरिँदा योजना फेरिने, पदाधिकारी फेरिँदा प्राथमिकता फेरिने अवस्थाले लुम्बिनीलाई स्थायित्वविहीन बनाएको छ । नेतृत्वले शान्ति र धरोहरभन्दा पनि तत्कालीन लाभ र देखावटी उद्घाटनलाई प्राथमिकता दिएको देखिन्छ ।

    पर्यटकमैत्री पूर्वाधारको लज्जास्पद अवस्था
    विश्वका विभिन्न मुलुकबाट आउने हजारौं पर्यटक लुम्बिनी पुगेपछि निराश फर्किने यथार्थ लुकाउन सकिँदैन । आधारभूत शौचालयको अभाव, फोहोर व्यवस्थापनको कमजोरी, अस्पष्ट सूचना प्रणाली, अव्यवस्थित यातायात र अपाङ्गमैत्री पूर्वाधारको न्यूनता लुम्बिनीको वास्तविकता हो । बुद्धको जन्मस्थलजस्तो विश्वस्तरीय गन्तव्यमा यस्तो अवस्था हुनु राज्यको गम्भीर असफलता हो ।

    धार्मिक सहिष्णुताको नाममा अव्यवस्थित विस्तार
    लुम्बिनीमा विभिन्न देशका विहार र गुम्बाहरु निर्माण हुनु अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक हुन सक्छ । तर, यसको व्यवस्थापन स्पष्ट मापदण्डविना हुँदा कतिपय संरचनाहरु आपसमा असन्तुलित, सौन्दर्यहीन र गुरुयोजनाविपरीत बनेका छन् । धार्मिक सहिष्णुताको नाममा नियमनहीन विस्तारले लुम्बिनीलाई आध्यात्मिक केन्द्रभन्दा पनि अव्यवस्थित संरचनाको संग्रहालय बनाउने खतरा बढाएको छ ।

    लेखक

    वातावरणीय विनाश र शान्ति क्षेत्रको अपमान
    लुम्बिनी शान्ति क्षेत्र घोषणा गरिएको भए पनि यहाँ ध्वनि प्रदूषण, प्लास्टिक फोहोर, अव्यवस्थित पसल र सवारीसाधनको चाप बढ्दै गएको छ । चनाचटपटे र तीन पाङ्ग्रे सवारीसाधनको चकचकीले लुम्बिनीको सौन्दर्य धूमिल भएको छ । तालतलैयाहरु प्लास्टिकमय देखिन्छ । हरियाली र जैविक विविधताको संरक्षणमा राज्यको ध्यान नगएको स्पष्ट देखिन्छ । शान्तिको भूमि आफैं अशान्त र प्रदूषित बन्दै जानु विडम्बनाको पराकाष्ठा हो ।

    स्थानीय समुदायको निरन्तर उपेक्षा
    लुम्बिनी वरपर बसोवास गर्ने स्थानीय बासिन्दा विकासका नाममा विस्थापन र अवसरविहीनताको सिकार बनेका छन् । पर्यटनबाट लाभान्वित हुनुपर्ने स्थानीय युवाहरु बेरोजगार छन्, स्थानीय संस्कृति र सीप ओझेलमा परेका छन् । स्थानीय सहभागिताबिनाको विकास दीर्घकालीन हुन सक्दैन भन्ने तथ्य लुम्बिनीमा बारम्बार बेवास्ता गरिएको छ ।

    उत्तरदायित्वहीनता र कमजोर अनुगमन
    सबैभन्दा गम्भीर समस्या उत्तरदायित्वको अभाव हो । गल्ती कसले ग¥यो भन्ने प्रश्नको उत्तर कसैसँग छैन । अनुगमन निकाय कमजोर छन्, प्रतिवेदनहरु दराजमै थन्किन्छन्, र दोषीमाथि कारबाही हुँदैन । यसले अव्यवस्थापनलाई संस्थागत रुप दिएको छ ।

    चेतना कि केवल आलोचना ?
    अब लुम्बिनीका लागि केवल भाषण र सम्मेलन पर्याप्त छैनन् । गुरुयोजनाको कडाइका साथ कार्यान्वयन, लुम्बिनी विकास कोषको पुनर्संरचना, पूर्ण पारदर्शिता, राजनीतिक हस्तक्षेपको अन्त्य, स्थानीय समुदायको निर्णायक सहभागिता र वातावरणमैत्री विकास अपरिहार्य छ । लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन मोडेलका रुपमा विकास नगरेसम्म यसको गरिमा पुनःस्थापित हुन सक्दैन ।
    पर्यटकमा सचेतना ल्याउन अत्यावश्यक छ, स्थानीयवासीहरुको मत लिने हो भने विशेषगरी दक्षिणी सीमापारिका पर्यटकहरुले लुम्बिनीमा गर्ने गतिविधिहरु (खुला सौच, फोहोर फाल्ने, हो–हल्ला गर्ने) निकै आलोच्य रहेको पाइएको छ ।

    विश्व सम्पदाको संरक्षण हेतु राज्यले कडा नियम बनाई पालना गराउन ढिलो भइसक्यो । अर्को बिर्सनै नहुने पाटोमा भारतीय ट्राभल एजेन्टहरुले विना अनुमति तेस्रो देशका पर्यटकहरु लुम्बिनीमा निर्वाध घुमाउने गतिविधिले नेपालको कानुन, अधिकार र पर्यटन व्यवसायको धज्जी उडाएको पाइन्छ ।

    शान्तिको भूमि, राज्यको परीक्षा
    लुम्बिनी नेपालको मात्र होइन, सम्पूर्ण विश्वको साझा सम्पत्ति हो । यसको अव्यवस्थापनले नेपाल राज्यको क्षमता, नियत र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । यदि अब पनि सुधारका ठोस कदम चालिएनन् भने लुम्बिनी इतिहासमा शान्तिको प्रतीक होइन, राज्य असफलताको उदाहरणका रुपमा दर्ज हुनेछ । शान्तिको जन्मभूमिलाई बचाउने कि नबचाउने, यो अब राज्यको मात्र होइन, सम्पूर्ण समाजको साझा परीक्षा हो ।

  • आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    दार्चुला, २२ माघः कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन । प्रत्येक पाइला जोखिमसँग जोडिएको छ । चिप्लो जमिन, हिमपहिरोको सम्भावना र शून्य नजिकैको तापक्रमबीच पनि उहाँहरूको कदम रोकिँदैन् । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरूस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म पूरै हिउँले ढाकिएको छ ।

    चारैतिर सेताम्य पहाड, चिसोले जमेको आँगन र बरफले ढाकिएका छानाबीच सुरक्षाकर्मीको दैनिकी चलिरहेको छ । यस क्षेत्रको तापक्रम माइनस ६ डिग्रीदेखि २३ डिग्री सेल्सियससम्म रहने गरेको छ । हाल गुल्म वरपर करिब डेढ फिट हिउँ जमेको छ । गाउँ पूरै सुनसान छ । बादल लाग्ने वित्तिकै हिउँपर्छ ।

    वरिपरि अग्ला पहाड, टाढा टल्किँदै गरेका हिमालका चुचुरा र चिसो हावाले ठोकिरहेको हुन्छ । यो कुनै साहसिक यात्राको दृश्य होइन, यो हिमाली सीमामा खटिएका सुरक्षाकर्मीको दैनिकी हो । सशस्त्र प्रहरी यसरी चिसोमा ज्यानको प्रवाह नगरी सीमा सुरक्षार्थ खटिएका छन् । चिसो र हिमपातसँगै एक महिनादेखि पानी ल्याउने पाइप पूर्णरूपमा बरफ बनेका छन् ।

    पाइपमा पानी आउनै छोडेपछि टिङ्कर खोलाको पानी प्रयोग गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० का गुल्मपति फनिन्द्र शाहीले बताए । पाइपमा पानी बरफ भएपछि त्यहीँ खोलाको पानी पिइरहेका छौँ । गुल्मबाट खोला नजिकै छ । चिसोमा कि खोलाको पानी ल्याएर उमालेर खानु कि हिउँ पग्लाएर खानुबाहेक अर्को विकल्प पनि छैन । गुल्मभित्र आगो तापेर शरीर न्यानो बनाउनु यहाँको नियमित काम हो । तापक्रम शून्यभन्दा तल झर्दा हातखुट्टा सुन्निने अवस्था आउँछ । त्यसबीच पनि सशस्त्रको सीमा क्षेत्रको गस्ती रोकिएको छैन ।

    प्रहरी नायब उपरीक्षक फनिन्द्र शाही र सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र चैसिरको नेतृत्वमा सुरक्षाकर्मी दिनहुँ जोखिम मोलेर सीमा क्षेत्रमा निगरानी गर्ने गर्छन् । उपरीक्षक शाही भन्छन्, “यो संवेदनशील क्षेत्र हो । हामी त्रिदेशीय सीमाको सुरक्षामा खटिएका छौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा यही क्षेत्रमा पर्छन् । नेपाल–चीन सीमा स्तम्भ नम्बर १ पनि यही छ ।”

    राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्ने बेला चिसोमा नियमित ड्युटी हुनु सामान्य जस्तै लाग्छ ।छाङ्रूजस्तो दुर्गम हिमाली क्षेत्रमा सडक यातायात र पूर्वाधारको अभाव अझै ठूलो चुनौती बनेको छ । स्थानीय मात्र होइन, यहाँ खटिएका सुरक्षाकर्मी पनि आधारभूत सुविधाबाट बञ्चित छन् । रासन ल्याउनसमेत भारतीय परनिर्भरता अझै छ । नेपालतिर सडक बनेको छैन् । नेपाली सेनाले दार्चुला–टिङ्कर सडकअन्तर्गत ब्याँस–४ तुसरपानीदेखि छाङ्गरु जोड्ने गरी सडक निर्माण गरिरहेको छ । नेपालतर्फबाट अहिले सडक निर्माणको काम दुम्लिङमाथि पुगेको छ ।

    भारतीय क्षेत्रमा सडक भए पनि हिमपातका कारण हाल अवरुद्ध छ । भारतले कालापानी लिपुलेकसम्मै सडक विस्तार गरेको छ । अहिले एक महिनादेखि यो क्षेत्रमा हिमपात र बरफका कारण नियमित यातायात अवरुद्ध भएको हो । भारतीय सुरक्षाकर्मीका लागि भने हेलिकप्टरमार्फत नियमित रूपमा राशन ढुवानी हुने गर्छ । कालापानी क्षेत्रमा दैनिक दुई वटा हेलिकप्टरले सामग्री पु¥याउने गरिएको छ ।

    उनीहरूको ब्यारेकमा हिटर, न्यानो कपडा र मौसमअनुसारको सुविधा उपलब्ध छ, तर नेपालतर्फ सडक छैन । पैदलमार्ग सञ्चालनमा आए पनि अहिले हिमपातका कारण बन्द छ ।हिउँ पर्नुअघि ओसारिएको राशनमै सशस्त्र प्रहरी निर्भर छन् । सामान्य आवतजावत गर्न पनि बाटो नहुँदा त्यसको मारमा सुरक्षाकर्मी परेका छन् । “बुदी दोपाखेसम्म पुग्न नियमित हिउँ पन्छ््याउँदै बाटो खुलाउने प्रयास गरिरहेका छौँ,” डिएसपी शाहीले भने।

    सशस्त्र प्रहरीले छाङ्रूबाट गागा क्षेत्रतर्फ निरन्तर गस्ती गर्दै आएको छ । हिउँ कम भएको बेला कालापानी मुहानसम्म पनि नियमित गस्ती हुने गथ्र्यो तर अहिले बाक्लो हिउँ जमेका कारण माथिल्लो क्षेत्रमा पुग्न सम्भव छैन । नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीको सम्बन्ध सौहार्दरुपमा चलेको छ । केन्द्रमा कालापानी लिपुलेकबारे चर्को नारा लागे पनि सीमामा बस्ने सुरक्षाकर्मी एक आसपमा सीमा अपराधका सूचना आदानप्रदान र नियमित भेटघाट हुनेगर्छ ।

    गत महिना टिङ्करमा रहेको सशस्त्र प्रहरीको बिओपी छाङरूमा झारिएको थियो । टिङ्कर क्षेत्रमा छाङरूभन्दा दोब्बर हिमपात हुने भएकाले सुरक्षाकर्मीलाई तल सारिएको हो । उक्त बिओपीले चीनसँगको सीमा क्षेत्रमा गस्ती गर्दै आएको थियो । एक वर्षअघि मात्रै टिङकरमा बिओपी स्थापना भएको थियो ।

    मङ्सिर लागेसँगै टिङ्कर गाउँ पूर्ण रूपमा सुनसान छ । टिङ्कर चीनसँग सीमा जोडिएको अन्तिम गाउँ हो । यहाँबाट नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पर्दछ । छाङरुमा भने केही परिवारको बसोबास अझै छ । वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार गाउँको रेखदेखका लागि राइसिंह ऐतवाललाई चौकीदारको जिम्मेवारी दिइएको छ ।

    चोरी–तस्करी जस्ता घटना नहोउन् भनेर वडाले उनलाई छ महिनासम्म मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराएर राखेको छ । भारतसँग सीमा जोडिएको यो गाउँ कालापानीभन्दा करिब १० किलोमिटर तल पर्छ । यति हिउँले ढाकिएको अवस्थामासमेत सुरक्षाकर्मीको मनोवल कमजोर भएको छैन । बरफले ढाकिएको गुल्मभित्र आगो ताप्दै सीमाको रक्षा गर्नु उहाँहरूका लागि कर्तव्य मात्र होइन, गर्वको विषय बनेको छ ।

    डिएसपी शाही भन्छन्, “यो राष्ट्रले दिएको जिम्मेवारी हो । हामी महिनामा कम्तीमा दुई पटक काउन्टरपार्ट बैठक पनि बस्छौँ ।” २०७७ जेठ ७ गते सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर चुच्चे नक्शा जारी गरेको थियो । त्यसपछि असार २९ गते मन्त्रिपरिषद् बैठकले गुल्म स्थापना गर्ने निर्णय ग¥यो । असोज ९ गते विधिवत् रूपमा छाङरूमा ५० नम्बर गुल्म स्थापना गरिएको हो । भौगोलिक विकटता र कठोर मौसमका कारण यो हिमाली क्षेत्र राज्यका लागि सधैँ चुनौतीपूर्ण र संवेदनशील रहँदै आएको छ ।

    तराईको फाँटदेखि हिमालसम्म सशस्त्रको पहरा

    दार्चुलाको लेकम गाउँपालिका–३ लालीदेखि भारत–चीन सीमा जोडिएको व्यास गाउँपालिका–१ सम्म सशस्त्र प्रहरी बलले पछिल्लो समय गस्ती र सुरक्षा उपस्थिति विस्तार गरेको छ । २०७७ सालसम्म सदरमुकाम खलङ्गामा सीमित रहेको सशस्त्र प्रहरी अहिले लेकमको लालीदेखि ब्यासको टिङ्करसम्म फैलिएको छ । चुच्चे नक्शा प्रकाशनसँगै सीमा क्षेत्रमा युनिट थप गरिएको हो ।

    सरकारले खलङ्गामा ४४ नम्बर गण स्थापना गरी त्यहाँ रहेको ५० नम्बर गुल्मलाई ब्यासको छाङरू–गागा क्षेत्रमा सारिएको थियो । दार्चुलामा नेपाल–भारत जोडिएका १० वटा सीमा नाका छन् । महाकाली नगरपालिका–४ खलङ्गा, वडा नं ९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जोलजिवी, वडा नं ६ बाकु, लेकम गाउँपालिका–३ लालीमा नेपाल र भारत जोड्ने सिमा नाका छ ।

    यसैगरी, व्यास गाउँपालिका–१ सितापुल, वडा नं २ माल, वडा नं ४ सुन्सेरा मलघट्टे, वडा नं ५ तिगरम र वडा नं ६ बडुगाउँमा दुई देश जोड्ने सिमानाका छन् । यीमध्ये ब्यास गाउँपालिका–१ सितापुलमा महाकाली नदीमा काठेपुल राखिएको छ भने बाँकी सबै स्थानमा झोलुङ्गे पुल बनाइएको छ ।चीनसँग जोडिएको टिङ्कर भञ्ज्याङ लक्षित गरी ब्यास–१ छियालेकमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको छ ।

    ४४ नम्बर गणका गणपति गुणराज न्यौपानेका अनुसार भारतसँगका १० नाका र चीनसँगको टिङ्कर नाका कभर हुने गरी सुरक्षा युनिट परिचालन गरिएको उनले बताए । सीमा क्षेत्र हाल जोलजिवीमा प्रस्तावित सीमा सुरक्षा गुल्म सञ्चालनमा छ भने दत्तु र लालीमा बिओपी स्थापना भइसकेका छन् । छाङरूस्थित ५० नम्बर गुल्मअन्तर्गत टिङ्कर छियालेक र राप्लाको दुम्लिङ बिओपी सञ्चालनमा छन् । सशस्त्र प्रहरीका अनुसार दार्चुलामा भारतसँग १९८ किलोमिटर र चीनसँग ७५ किलोमिटर लामो सीमारेखा रहेको छ ।

  • लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

    लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान


    गण्डकी, २० माघ : पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ ।लेकसाइड आएका पर्यटकहरू पूर्ण रूपमा सुरक्षित महसुस गरी यस क्षेत्रमा आवतजावत गर्न सकुन् भन्ने उद्देश्यका साथ सरोकारवाला निकायसँग समन्वय एवं साझेदारी बढाउँदै अभियान सुरु गरिएको हो । लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री एवं पूर्ण सुरक्षित बनाउने लक्ष्यका साथ परिषद्ले यहाँस्थित वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि, पर्यटन व्यवसायसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको समन्वयमा छलफल गरी अभियानलाई अघि बढाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो ।

    लेकसाइड क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि नहुन् भन्ने उद्देश्यका साथ यस क्षेत्रमा पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि एवं पर्यटन व्यवसायी र सरोकारवाला पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि रहनुुभएको ह्वाटस् एप गु्रप तयार गरिएको छ । अवाञ्छित गतिविधि भए गरेको कोही कसैले देख्नासाथ ग्रुप वा सम्बन्धित निकायमा खबर गरी त्यस्ता गतिविधि रोक्न पहलकदमी गरिने गरिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिनुभयो ।

    परिषद्का्े अगुवाइमा सरोकारवाला निकायका प्रतिनिधिसहित विशेष गरी बेलुकाको समयमा स्थलगत अनुुगमन पनि गर्ने गरिएको उहाँले बताउनुभयो । लेकसाइडमा आउने पर्यटकका लागि खाद्य स्वच्छतासमेतलाई ध्यान दिँदै खुला रूपमा सडकपेटी वा साइकलमा गरिने व्यापारले पर्यटकको आवतजावतमा समेत असर परेको हुँदा यस्ता गतिविधिलाई नियन्त्रण गर्न थालिएको छ । स्थलगत अनुुगमनका क्रममा पहिलो चरणमा सम्बन्धित व्यक्तिहरूलाई सचेत गराइएको बताउँदै परिषद्का अध्यक्ष पहारीले यसपछि पनि त्यस्तो क्रममा निरन्तरता पाइए थप कानुुनी कारबाहीका लागि सम्बन्धित निकायमा जिम्मा लगाइने बताउनुभयो । लेकसाइड क्षेत्रका विभिन्न स्थानमा यहाँको स्वच्छता र पर्यटनमैत्री वातावरणका लागि क्युआरकोडमार्फत अपनाउनुुपर्ने नियम आदिबारे पनि जानकारी गराउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

  • अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

    अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

    रासस
    मुस्ताङ, १५ माघः भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी भर्खरै सडक खुलाउने पहल भएको छ ।

    वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितिमा अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्ने काम सुरु गरिएको छ । यसका लागि आयोजनाको डोजर कागबेनी–मुक्तिनाथ सडकको बाक्लो हिउँ पन्छाउन त्यसतर्फ पुगिसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।


    कागबेनी–मुक्तिनाथ सडकखण्ड गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयको क्षेत्रअधिकार भित्र रहे पनि कोरला सडक आयोजनाले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीको समस्यालाई मध्यनजर गरी आयोजनाले सडकको हिउँ पन्छाउन डोजर पठाइसकेको आयोजना प्रमुख शर्माको भनाइ छ ।

    मङ्गलबारको भारी हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छाउन डोजर परिचालन गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । स्थानीय प्रशासन र गाउँपालिकाको समन्वयमा सडकको डोजरले कागबेनीको पहिलो मोडदेखि सडकको हिउँ पन्छाउन सुरु गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ । कागबेनीदेखि मुक्तिनाथ रानीपौवा बसपार्कसम्म सडकमा बाक्लो हिउँ जमेकाले साँझसम्ममा सडकको हिउँ पन्छाएर यातायात सहज पारिने वडाध्यक्ष गुरुङले बताए । अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छाउने कार्य भर्खरै सुरु भएको उनको भनाइ छ ।

    यसअघि भारी हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्न यहाँस्थित सशस्त्र प्रहरी बल नेपालको टोली बुधबार बिहान खटिएको भए पनि हिमपात नरोकिएका कारण हिउँ पन्छाउन कार्यलाई स्थगित गरेको थियो । आज जिल्लास्थित सुरक्षाकर्मीहरुको जनशक्तिले अवरुद्ध सडकको हिउँ पन्छाउन निकै समय लाग्ने भएकाले सडक विभागको डोजर परिचालन गरिएको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।


    भारी हिमपातका कारण मुक्तिनाथ सडक अवरुद्ध हुँदा सयौँ दर्शनार्थी भक्तजन बुधबार बिहानदेखि कागबेनीमा अलपत्र परेका थिए । हिउँ पन्छाएर सडक खुल्ने आशामा बसेका मुक्तिनाथ जाने दर्शनार्थी बुधबारदेखि कागबेनीमै रोकिएका छन् । कतिपय दर्शनार्थी घोडा चढेर मुक्तिनाथ पुगेका छन् । हिमपातका कारण कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध मुक्तिनाथ मन्दिरसमेत सुनसान बनेको छ । दर्शनार्थी उपस्थित हुन नसकेपछि मुक्तिनाथ मन्दिरको दैनिक क्रियाकलाप नियमित पूजापाठमै सीमित हुन पुगेको छ ।

  • नेपालमा हिमपातको सुन्दर दृष्य (६ तस्वीरमा)

    नेपालमा हिमपातको सुन्दर दृष्य (६ तस्वीरमा)

    १४ माघ, काठमाडौं । नेपालमा आज रातीबाटै उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले मौसम अदलीबदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्ने सम्भावना छ । काठमाडौं उपत्यका आज बिहानैबाट धुम्म छ । हिमाली भेगमा हिमपातका केही सुन्दर दृष्य यस्ता छन्….

    हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपास क्षेत्र । तस्बिर : दाने बोहरा / रासस
    हिमपातपछि हिउँले सेताम्मे देखिएका मुस्ताङको घरपझोङ-४ जोमसोमस्थित आसपासका क्षेत्र । यो सिजनमा माथिल्लो मुस्ताङमा तीन पटक र तल्लो मुस्ताङमा दुई पटक हिमपात भएको हो ।हिमपातसँगै स्थानीयको जनजिवन प्रभावित बनेको छ । तस्बिर : सुन्दरकुमार थकाली\रासस
    हिमपातपछि हिउँले सेताम्मे देखिएका मुस्ताङको घरपझोङ-४ जोमसोमस्थित आसपासका क्षेत्र । यो सिजनमा माथिल्लो मुस्ताङमा तीन पटक र तल्लो मुस्ताङमा दुई पटक हिमपात भएको हो ।हिमपातसँगै स्थानीयको जनजिवन प्रभावित बनेको छ । तस्बिर : सुन्दरकुमार थकाली\रासस
    हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपास क्षेत्र । तस्बिर : दाने बोहरा / रासस
  • न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन

    न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन

    काठमाडौँ, १३ माघः नेपाल पर्यटन बोर्ड (एनटिबी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त कार्यक्रम २४–२५ जनवरी २०२६ मा जेकब के जाभिट्स कन्भेन्सन सेन्टर, न्युयोर्कमा सम्पन्न भएको हो । नेपालका लागि अमेरिका एक महत्त्वपूर्ण स्रोत बजार रहँदै आएको छ ।

    सन् २०२५ मा एक लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा रहेको छ । यही पृष्ठभूमिमा उत्तर अमेरिकी बजारमा लक्षित निरन्तर प्रचार–प्रसार कार्यक्रमअन्तर्गत नेपाल पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)सँगको सहकार्यमा उक्त अन्तरराष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको हो ।

    कार्यक्रममा एसियन हेरिटेज ट्रेक्स एन्ड ट्राभल्स, एक्सप्लोर भ्याकेसन, फ्रेन्ड्स एडभेन्चर टिम ट्रेकिङ एन्ड माउन्टेनियरिङ, हिमालयन ग्लेसियर एडभेन्चर एन्ड ट्राभल कम्पनी, नेपाल भिजन ट्रेक्स एन्ड एक्सपेडिसन्स तथा टच कैलाश ट्राभल्स एन्ड टुर्स गरी छ वटा नेपाली पर्यटन कम्पनीहरूले नेपालको विविध पर्यटन आकर्षण, साहसिक यात्रा, पर्वतारोहण र ट्रेकिङ सम्भावनाबारे जानकारी प्रस्तुत गरेका थिए ।

    दुईदिने कार्यक्रममा सहभागी अमेरिकी पर्यटन व्यवसायी तथा यात्रुहरूले नेपालको साहसिक पर्यटन उत्पादनप्रति विशेष चासो देखाएका थिए । विशेषगरी पर्वतारोहण र ट्रेकिङसम्बन्धी गतिविधिमा उल्लेखनीय रुचि देखिनुले नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न सहयोग पुगेको नेपाल पर्यटन बोर्डको विश्वास छ । साथै, यस सहभागिताले अमेरिकी पर्यटन व्यवसायीसँग पर्यटन सहकार्य विस्तार गर्नुका साथै ‘डेस्टिनेसन नेपाल’ को पहिचान मजबुत बनाउने उद्देश्य पूरा गर्न मद्दत पुगेको जनाइएको छ ।

    कार्यक्रमको पहिलो दिन २४ जनवरीमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधीराम भण्डारीले नेपालको प्याभिलियन अवलोकन गरी सहभागी कम्पनीहरूसँग अन्तक्र्रिया गरेका थिए । सो अवसरमा विशेषगरी पूर्वी तटीय अमेरिकी राज्यहरूमा नेपाल प्रवर्द्धनका सम्भावित सहकार्य क्षेत्रहरूबारे छलफल भएको थियो । नेपाल पर्यटन बोर्डका तर्फबाट उदय भट्टराई र प्रदीप बस्नेतले उक्त कार्यक्रममा प्रतिनिधित्व गरेका थिए ।

  • ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

    ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

    गलकोट (बागलुङ), १३ माघः बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुनेगरी तीव्र गतिमा निर्माण भइरहेको हो ।

    यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको थियो ।

    ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो । रु २५ करोडको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख गरिएको छ । गत वर्ष पहिलो चरणअन्तर्गत रु ७० लाखको र चालु आवमा दोस्रो चरणअन्तर्गत रु दुई करोड ५० लाखको काम भइरहेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार अहिले ब्लु हिलमा निर्माण गर्ने २० फिट शिवको मूर्ति राख्नका लागि आवश्यक दुईतला पक्की भवन बनाउने काम भइरहेको छ ।

    डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ । यस वर्ष रु दुई करोड ५० लाखको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ काम गरिरहेको छ । प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

    पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाएर काम अघि बढाएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ–९ का वडाध्यक्ष थापाले जानकारी दिए ।

    “नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स–साना पूर्वाधार पछि बन्दछन्”, उनले भने, “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।”

    ब्लु हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न रु २४ करोड ५६ लाख २२ हजारको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको गियो । यस क्षेत्रमा वनभोजस्थल, ध्यानकेन्द्र, दृश्य अवलोकनस्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख छ ।

    दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पु¥याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपाकिलाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउँदै ब्लु हिलमा थामिनसक्नु धार्मिक पर्यटक भित्रने उनले बताए ।


    “नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउनेगरी पक्की संरचना निर्माणले गति लिएको छ । अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ”, नगरप्रमुख श्रेष्ठले भने, “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेगरी नामकरण गरेका छौँ । मौसम खुलेको समयमा यहाँ आउने जो–कोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छे«, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ ।”

    समुन्द्री सतहबाट करिब दुई हजार २०० मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लु हिलले चर्चा पाउन थालेको छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।

  • बेइजिङ–अबुधाबी सिधा उडान सुरु

    बेइजिङ–अबुधाबी सिधा उडान सुरु

    बेइजिङ, १२ माघ (रासस–एएफपी) । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बीचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइनद्वारा संचालित दुई राजधानीहरू बीचको पहिलो सीधा सम्पर्क हो। बोकेर एयर चाइनाको बोइङ ७८७ विमानले २७८ यात्रु लिएर गरेको पहिलो उडान शनिबार राति अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

    प्रत्येक हप्ता चार ‘राउन्ड ट्रिप’ गर्नेगरी स्थापित यो मार्ग सन् २०२६ मा एयर चाइनाको पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा हो। मार्गको सुरुवातले चीन र युएई बीचको उड्डयन नेटवर्कलाई अझ बढाउँछ र यसले दुई देशहरू बीचको मानव आदानप्रदान, आर्थिक र व्यापार सहयोग र सांस्कृतिक अन्तरक्रियाको लागि अधिक कुशल र सुविधाजनक हवाई मार्ग प्रदान गर्दछ।

    एयर चाइनाका एक अधिकारीले यात्रुलाई सुरक्षित, आरामदायी र सुखद यात्रा अनुभव प्रदान गर्न एयरलाइन्सले पूर्ण तयारी गरेको बताए । विमान कम्पनी स्रोतका अनुसार यो मार्गको सुरुवातले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को रूपरेखा अन्तर्गत दुई देशबीचको व्यावहारिक सहकार्यलाई नयाँ गति दिनेछ।

  • लुम्बिनीका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

    लुम्बिनीका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

    देवदह (रुपन्देही), १२ माघः रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो । मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब १०० झण्डा राखिएको हो । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई यहाँ प्रवेश गरेको अनुभूति होस् भन्ने उद्देश्यले झण्डा राखिएको कार्यक्रम संयोजक तथा स्थानीयवासी अर्जुनकुमार गिरीले बताए । ‘नेपाल आएका छौँ’ भन्ने पर्यटकलाई जानकारी दिन यो कार्य अगाडि बढाइएको उनको भनाइ छ ।

    यसले बेलहिया नाकाको सौन्दर्यकरणका लागि पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे । राष्ट्रियता झल्काउन झण्डा आवश्यक रहेको उनले बताए । आफूहरुले गरेको यो कार्यले नेपालभरी सन्देश पुग्ने गिरीले बताए । झण्डाहरु नेपाल भन्सार एजेण्ट सङ्घ, रुपन्देहीले उपलब्ध गराएको उनले जानकारी दिए । बेलहिया गाउँ समाजले ‘हाम्रो बेलहिया, राम्रो बेलहिया’ नाराका साथ नाका क्षेत्रको सौन्दर्यकरण थालेको छ ।

    यसक्रममा सरसफाईसँगै पार्किङ व्यवस्थापनमा पनि जोड दिइएको कार्यक्रम संयोजक गिरीले बताउनुभयो । बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले ‘सफासुग्घर र हराभरा बेलहिया’ बनाउने अभियानमा रहेको बताए । “नेपाल प्रवेश गरेपछि त्यो कुरा पर्यटकलाई भान होस्, भन्ने हाम्रो प्रमुख उद्देश्य हो ”उनले भने, “सरकारले मात्र गरेर हुँदैन । सङ्घ–संस्थाले पनि काम गर्नुपर्छ । देशप्रति नागरिकको पनि दायित्व छ । यो देशलाई चिनाउन हामी सबै लाग्नुपर्छ ।” नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहिया नाका हो ।

  • चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

    चितवन, १२ माघः चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ । उनले भने, “आज देखि क्यामेरा उठाउने काम सुरु भएको छ । दुई देखि तीन दिनमा क्यामेरा उठाउने काम सकिने छ ।” उनका अनुसार तालिम दिएका १५० गणकहरू गणनामा खटिएका छन् ।

    दोस्रो भागमा १३ क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताए । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हँुदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । ती क्यामेरा निकाल्न थालिएको हो ।


    सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको थियो । एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गाणना गरिएको हो । मगरका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ । तेस्रो भाग अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा रखिने छ । दोस्रो भागमा राखिएका क्यामेरा उठाएर ती क्षेत्रमा राखिने उनले जानकारी दिनुभयो ।

    चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

    तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभागमा पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरेका छन् ।

    गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिनुभयो । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उनले भने, बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले बताए ।

    उनका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।

  • ‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ

    ‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ

    वालिङ (स्याङ्जा), १२ माघः पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ गाउँमा पक्की घर बन्नेक्रम बढ्दै गएपछि पुराना र लोप हुनलागेका वस्तुको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवस्थलमा लोपोन्मुख घुमाउने (कुडुले) घर निर्माण गरेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।

    “पुरानो पुस्ता गोल घरकाबारेमा जानकार हुनुहुन्छ, कतिपय बस्नुभएकै पनि होला” उनले भने, “समयको विकास र आधुनिकतासँगै पछिल्ला पुस्ताले यसप्रकारका घर देखेका छैनन्, हाम्रो परम्पराको संरक्षण र जगेर्ना गर्दै नयाँ पुस्तालाई पुरानो कला संस्कृति तथा परम्पराकाबारेमा जानकारी दिनका लागि गोल घर निर्माण गरेका हौँ ।”

    बाँस, खर, काठ, माटोको प्रयोग गरेर बनाइएको उक्त गोल घर नवौँ वालिङ महोत्सवको मुख्य आकर्षणकोरुपमा रहने भएको हो । खरले छाएका घर हराउँदै गएका बेला एकदमै पुरानो गाउँले परिवेशलाई झल्काउने उद्देश्यसहित गोल घर निर्माण गरिएको उनले बताए । गाउँ गाउँमा पुरानो गोल घर हराएर गएकाले महोत्सवस्थलमा आउने दर्शकहरुको अवलोकनका लागि गोल घर (कुडुले) घर निर्माण गरिएको वालिङ उद्योग वाणिज्य सङ्घका सहकोषाध्यक्ष एवम् गोलघर निर्माण उपसमितिका संयोजक केशव पराजुलीले बताए । खरले छाएको गोलघर दुई तलाको रहने छ । घरको छानो र पाली खरैखरले छाएको छ ।

    “कुडुले घरभित्र विशेष गरी हाम्रा पुराना पुस्ताले प्रयोग गर्दै आएका सामग्री राखिने छ” उनले भने, “घरमा पुरानो जीवनशैलीलाई झल्को दिने खालका जातो, ढिकी, हलो जुवा, ठेको, छानामा फर्सी, कुभिण्डोलगायतका सामग्री राखेर सजाइने छ ।” घरको भित्तोलाई रातो र सेतो माटोले लपक्क लिपेर आकर्षक बनाइएको छ ।

    घरभित्र, पिँढी तथा आँगनमा गोबर माटोले लिपिएको छ । वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवलाई लक्षित गरेर निर्माण गरेको गोल घरलाई महोत्सवपछि पनि संरक्षण गरेर राख्ने जनाएको छ । विसं २०६३ बाट प्रत्येक दुई÷दुईवर्षमा वालिङ महोत्सव हुँदै आएको छ । यो नवौँ संस्करणको महोत्सव माघ १४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको हो । महोत्सवको तयारी पूरा भएको छ ।

  • पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

    पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

    रसुवा, २ माघ । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक एवं बाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमण गरेका हुन् ।

    यसमा पाँच हजार ८८४ विदेशी र २६ हजार ७८७ पर्यटक रहेका छन् । चालु आर्थिक वर्षमा यो सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई रु तीन हजार र नेपालीलाई रु एक सयका दरले प्रवेश शुल्क लाग्ने व्यवस्था रहेको स्पष्ट गर्दै निकुञ्जका अभिलेखकर्ता केशव ढडारीले पछिल्लो छ महिनामा रु दुई करोड ३९ लाख ८८ हजार ६६० राजस्व सङ्कलन भएको जानकारी दिए ।

    काठमाडौँ उपत्यकाबाट नजिक रहेको हिमाली जिल्ला रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै विशेषगरी गोसाईंकुण्ड तथा लाङ्टाङ र स्याफ्रु क्षेत्रमा चहलपहल बढी स्थानीय होटल व्यवसायी, किसान, कामदारसहित समग्रपक्ष लाभान्वित भएको जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् । रासस

  • रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

    रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

    तानसेन (पाल्पा), २ माघः पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहनैदेखि घुइँचो लागेको हो । रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा स्नान गरी ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्यलाभ प्राप्त हुनुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले माघे सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने गरेको रुरु सञ्चार प्रालिका अध्यक्ष चुरामणी तिमिल्सेनाले उल्लेख गरे ।


    माघे सङ्क्रान्तिको अवसरमा परम्परादेखि कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माइली र कान्छी सङ्क्रान्तिका रूपमा धार्मिक मेला लाग्दै आएको उनले जानकारी दिए । नेपालका चारधाममध्ये एक रुरु धाममा देशभित्रका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेका अध्यक्ष तिमिल्सेनाले बताए । माघे सङ्क्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले नजानेर गरेका पाप नाश हुने, मृत्यु पछि स्वर्गमा बास हुने जनविश्वास रहेकाले श्रद्धालुहरू यहाँ आउने गरेका तिमिल्सेनाले विश्वास व्यक्त गरे ।


    मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्जातर्फ जान तीनमुखे पुल निर्माण भएको छ । पाल्पा, गुल्मी र स्याङ्जातर्फ जाने तीनमुखे पुलमा पनि भक्तजनको बाक्लो उपस्थिति रहेको रुरु सञ्चार प्रालिका अध्यक्ष तिमिल्सेनाले बताए । “कालीगण्डकी जलविद्युत् आयोजना मिर्मिमा पानी थुनिएकाले यहाँ नदी सानो छ । स्नान गर्न र ऋषिकेशव दर्शन गर्न आउने भक्तजनलाई तीनमुखे पुलले सहज बनाएको छ”, उनले भने । पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा स्याङ्जा र गुल्मीबाट मेला भर्न आउने दर्शनार्थी पूजा गर्न घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पर्यटक आकर्षित गर्न यस वर्ष युवाहरूले रिडी खोलालाई थुनेर ताल निर्माण गरेका छन् ।

    धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयोलगायत घरेलु सामग्रीका साथै हुम्ला, जुम्लाको ओखरको घाँजीलगायत सामग्री बिक्रीका लागि राखिएका रुरु सञ्चार प्रालिका अध्यक्ष तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार पाल्पा तथा गुल्मीको थोर्गासहित आसपासका किसानले गुँड, खुदो, चाकुका साथै स्थानीय उत्पादनका दुई सयभन्दा बढी कक्ष राखिएका छन् ।