Category: घूमघाम

  • मुस्ताङको छुसाङमा राताम्मे पहाडमा गुफाभित्र गुम्बा

    मुस्ताङको छुसाङमा राताम्मे पहाडमा गुफाभित्र गुम्बा

    रासस
    मुस्ताङ, ५ वैशाखः यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएका गुफाभित्र पनि गुम्बा छ । यो गुम्बामा प्रतिस्थापन गरिएको मूर्तिहरूको इतिहास बुझ्दा गुफाभित्र रहेको गुम्बा करिब एक हजार २०० भन्दा बढी पुरानो हो । जोमसोम हुँदै कागबेनी–कोरला सडकको नजिकै भिरालो सतहमा अवस्थित गुफाभित्रको गुम्बालाई ‘मिन्ची ल्हवङ’ गुम्बा भन्ने गरिएको छ । यो गुफाभित्रको धार्मिक बुद्धिस गुम्बा छुसाङगाउँका छ परिवारको स्वामित्वमा छ । यहाँ दैनिक साँझ छ परिवारका व्यक्तिले बर्सेनि आलोपालो गरी बत्ती बाल्ने र पूजाआजा गर्ने गर्दछन् ।

    कोरला सडकमार्गको माथि भिरालो सतहमा अवस्थित गुफा निकै जोखिमयुक्त स्थानमा अवस्थित छ । परापूर्व कालमा छुसाङ गाउँका पूर्खाहरूले यहाँ पहाड खोपेर गुम्बा प्रतिस्थापन गरेका स्थानीय बताउँछन् । यहाँको गुम्बा कति वर्ष पुरानो हो भन्ने तथ्य स्वयं गुम्बाको स्वामित्व बोकेका पछिल्ला पुस्तालाई यकिन जानकारी नभएको छ परिवारमध्येका स्थानीय श्याम गुरुङले जानकारी दिए । परापूर्वकालमा मनाङबाट आएका पूर्खाले आफ्नो देवतालाई साथै लिएर छुसाङ गाउँमा स्थानान्तरण भएको भन्ने विश्वास रहँदै आएको उनले बताए ।


    निकै कमजोर भूसतहमा अवस्थित गुफा आफैँमा जोखिम स्थानमा रहेको जनाउँदै स्थानीय गुरुङले पुरातात्विक र ऐतिहासिक महत्त्वको यस गुफा र भित्र रहेको गुम्बा संरक्षण गर्नुपर्ने अभिभारा यहाँका छ परिवारलाई रहेको बताए । उनका अनुसार वर्षौंदेखि यिनै छ परिवारका पुस्ताले गुफा र गुम्बा संरक्षण गर्दै आइरहेका छन् ।
    करिब एक सय मिटर अग्लो माटोको पहाडमा रहेको गुफामा भूक्षय र बाढीले क्षति पु¥याउन सक्ने जोखिम रहेकाले सरोकार भएका निकायले यसको संरक्षण गर्नुपर्नेमा स्थानीय गुरुङले जोड दिए ।

    भगवानको शक्तिले गुफा र गुफाभित्रको गुम्बामा हालसम्म कुनै असर नभएको उनले उल्लेख गरे । यस अनौठो गुफाभित्रको माथिल्लो तलामा गुम्बा प्रतिस्थापन गरिएको छ । गुम्बामा अधिकांश माटोद्वारा निर्मित बुद्धका विभिन्न स्वरुपका मूर्तिहरू ८०० वर्षभन्दा बढी पुराना रहेका स्थानीय गुरुङले जानकारी दिए । एउटा फ्रेम (चौघेरो) भित्र राखिएको हरिताराको ढुङ्गाको मूर्ति एक हजार २०० वर्ष पुरानो मानिएको उनले विश्वास व्यक्त गरे । उनका अनुसार गुम्बाभित्र एक दर्जन बुद्ध भगवान्का विभिन्न स्वरुपका मूर्ति प्रतिस्थापन भएका छन्

    “गुम्बामा चन्दा सङ्कलनका लागि बाकस राखिएको छ । गुफा र गुम्बा दर्शन गर्ने र विदेशी पर्यटकले स्वेच्छिक चन्दा दान गर्दछन्”, स्थानीय गुरुङले भने, “चन्दा बाकसमा जम्मा भएको रकम गुम्बाको संरक्षण र हिउँ पर्दा गुफाको छतमाथिको हिउँ पन्छाउन खर्च गरिन्छ ।” उनका अनुसार गुफाभित्रको मिन्ची ल्हवङ गुम्बाको ओढारभित्र वर्षौँ पुराना कलात्मक पेन्टिङहरू अवस्थित छन् । यसरी गुफाको भूगोलसँग मिल्दो माटोको रङ्गले गुफाको माथिल्लो तलाको भित्ता र सिलिङमा पेन्टिङ गरिएको उनले जानकारी दिए ।


    “गुफाको दोस्रो तलामाथिको एउटा कुनामा बुद्धका मूर्तिहरू छन् । यहाँ गुम्बा परिक्रममा गर्ने ठाउँ छ । गुफाभित्रको गुम्बालाई केही विदेश संस्थाका अनुसन्धानकर्ताले पनि अध्ययन पनि गरिसकेका छन्”, स्थानीय गुरुङले भने । गुम्बा संरक्षणका लागि विदेशीले प्राविधिक तथा आर्थिक सहयोग गरी गुम्बा मर्मतसम्भार कार्यमा सहयोग पु¥याएको स्थानीय उनले बताए । वर्षौं पुरानो गुम्बा र यहाँका मूर्तिहरू जीर्ण बन्दै जान थालेकाले यसको संरक्षण र मर्मतसम्भार गर्न सरोकार भएका निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए ।


    छुसाङको भिरालो पाखोमा अवस्थित गुम्बा, गुफाभित्रको पहिलो तला र दोस्रो तलामा उज्यालोका लागि झ्याल जस्ता केही प्वालहरू बनाइएको छन् । गुफाको भुइँतलाबाट माथि उक्लिन दुई वटा काठका भर्‍याङ राखिएको छ । भर्‍याङ चढेर गुफाको माथिल्लो तलामा पुग्न सकिन्छ । व्यक्तिगत रूपमा छ परिवारको स्वामित्वमा रहेकाले यस गुफा र गुम्बाको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको आयआर्जन वृद्धि हुने स्थानीय गुरुङले बताए । “यो हाम्रो गुफाभित्रको गुम्बा कुलदेवता जस्तै हो, पूर्खाहरूले पूजाआजा गर्ने थलो हो”, उनले भने, “त्यसैले हामीले यसलाई सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नुपर्छ । गुफा र गुम्बा पर्यटक लोभ्याउने खालको भएकाले पर्यटन प्रवर्द्धन गर्नु जरुरी छ ।”

    हालसम्म गुफा र गुम्बालाई प्रचारप्रसार नगरेकाले मुस्ताङका अधिकांश यहाँका गुम्बाबारे अनभिज्ञ रहेका स्थानीय गुरुङको भनाइ छ । कागबेनी–कोरला सडक नजिकै रहेको छुसाङस्थित अनौठो गुफाभित्रको मिन्ची ल्हवाङ गुम्बा ऐतिहासिक धरोहर र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य बन्नसक्ने स्थानीय गुरुङले बताए ।


    गुफासम्म जान मुख्य सडकबाट पैदल हिडेर पाँच मिनेटमा सहजै पुग्न सकिन्छ । गुफा र गुम्बाको आवश्यक प्रचारप्रसार हुन सकेमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका स्थानीयको आयआर्जन वृद्धि हुने स्थानीय बताउँछन् । यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह र अन्य सरोकार भएका निकायले पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका हुन् ।

  • बेनीको ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना अझै कार्यान्वयनमा आएन

    बेनीको ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना अझै कार्यान्वयनमा आएन

    म्याग्दी, ४ वैशाख । बेनी नगरपालिका–२ खबरामा प्रस्तावित ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा आउन सकेको छैन । बेनी नगरपालिकाले पछिल्लो तीन आर्थिक वर्षमा गौरवको योजनाको रुपमा बजेट बिनियोजन गरेको लभ्लिहिल पर्यटन पूर्वाधार योजना कार्यान्वयन हुन नसकेको हो । बजेट बिनियोजन भएपनि योजना कार्यान्वयनमा अलमल र ढिलाई हुँदा निराश बनेको खबराका बासिन्दा ध्रुबराज कार्कीले बताए ।


    “परिकल्पना गरिएको शाहासिक पिङको नक्साङ्कन र डिजाइन तयार पार्ने प्राविधिक जनशक्तिको अभाव, सामुदायिक वनको कार्ययोजनामा पर्यटन प्रर्वद्धनको कार्यक्रम समावेश गराउन भएको प्रक्रियागत ढिलाई र निर्माण तथा सञ्चालनको मोडालिटी स्पष्ट नहुँदा ढिलाई भएको हो,” उनले भने, डेढ देखि दुई महिनाको काम गर्न तीन वर्षसम्म अल्झीदा बजेट बिनियोजन र योजना छनौट हुँदा खुसी भएका खबराबासी निराश हुन थालेका छौ ।”

    लभ्लिहिल पर्यटन पूर्वाधार शिर्षकमा आर्थिक वर्ष २०८०–८१ मा रु. १५ लाख बिनियोजन गरेको बेनी नगरपालिकाले गत आर्थिक वर्षमा बिनियोजन गरेको रु. २५ लाख खर्च गर्न सकेन् भने यस वर्ष बिनियोजन भएको रु. २५ लाख पनि कार्यान्वयनमा ढिलाई भएको छ । पहिलो वर्षको बजेटबाट रु. छ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार र प्राविधिक अध्ययन गरिएको थियो । नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघ र खबराको सामुदायिक बन उपभोक्ताको साझेदारीमा ‘साहासिक पिङ’ बनाउने परिकल्पना सहित बजेट बिनियोजन भएको हो ।

    म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार गत वर्ष संघले परामर्शदाता परिचालन गरेर साहासिक पिङ बनाउने योजनाको नक्साङ्कन र लागत अनुमान तयार पारेपनि समय छोटो भएका र वन सम्बन्धी प्रक्रिया पुरा गर्न भएको ढिलाईले निर्माण गर्न नसकिएको बताए । “यस वर्ष योजना कार्यान्वयनको तयारी गरेको अवस्थामा म पारिवारिक कामले भारत जान परेपछि कार्यवाहक अध्यक्ष र पुर्व अध्यक्षहरुको नेतृत्वमा काम अघि बढाउन छलफल गरिरहेको छु,” उनले भने, “केही दिनमै निर्माण र सञ्चालनको मोडालिटीमा स्पष्ट भएर काम अघि बढाउने तयारीमा छौ ।”

    म्याग्दी हुदै सडक मार्ग भएर मुस्ताङ जाने आउने पर्यटकलाई बेनीमा भुलाउनका लागि लभ्लीहिललाई गन्तब्य बनाउन यसअघि प्रवासी म्याग्देली, उद्योग वाणिज्य संघ र नगरपालिकाको साझेदारीमा बेनी देखि लभ्लीहिल जोड्ने पदमार्ग निर्माण भएको थियो । प्रदेश सरकारको सहयोगमा डाडाको डिलमा तारजाली, पदमार्ग र पार्क निर्माण भएको छ । बेनी–२ का वडा अध्यक्ष यामबहादुर कार्कीले लभ्लिहिल पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा भएको ढिलाईका विषयमा नगरपालिकालाई दवाव र सहजिकरण तथा समन्वय गरिरहेको बताए । पहल गरेपनि अपेक्षित उपलब्धी हाँसिल नहुँदा यस वर्षपनि योजना कार्यान्वयन नहुने होकी भन्ने चिन्ता बढेको बताए ।
    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले यस वर्ष सामुदायिक वन समूहले कार्ययोजनामा समावेश गरेको, प्राबिधिक टोलीले सबै तयार गरिसकेकाले उद्योग वाणिज्य संघ र खबराबासीसँग समन्वय गरेर जति सक्दो छिटो योजना कार्यान्वयनमा लैजान पहल गरिरहेको बताए । बेनी बजारदेखि लभ्लिहिल जोड्ने सडक स्तरोन्नति योजनालाई निरन्तरता दिएको उनले बताए । प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. पाँच लाख बजेटको योजना भने उपभोक्ता समितिबाट कार्यान्वयन थालिएको छ ।

    बेनी बजारदेखि २० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने लभ्लीहिलबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत आठ हिमाल, बेनीबजार, नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकी नदी, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ ।लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीय नारायण कार्कीले बताए ।

    पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूह बनाएर दैनिकरुपमा युवापुस्ता पुग्न थालेपछि पूर्वाधारको आवश्यकता महशुस गरिएको हो । पछिल्लो समय तस्वीर खिचाउन र टिकटक बनाउन पनि यहाँ दैनिकजसो युवायुवतीको भीड लाग्ने गरेको छ ।

  • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    गोरखा, ३ वैशाखः तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छिन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनले बताइन् । श्रेष्ठ यसअघि विसं २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । दुई हप्ताको छोटो अवधिमा तीनपटक सगरमाथा आरोहण गरेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा उनको नामअङ्कित भएको थियो ।

    तेह्र दिनभित्रै तीनपटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा आफ्नो नाम अङ्कित गरिएको उनले जानकारी दिइन् । “पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी थिए, त्यसपछि २०८२ जेठ ४ गते पाँचौँ पटक आरोहण गरेँ”, श्रेष्ठले भनिन् । उनले आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण १, धौलागिरि र मनास्लु हिमाल पटक पटक गरी १४ पटक आरोहण गरेर विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिसकेकी छिन् । आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका–९ आरुटार निवासी हुन् ।

  • कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

    कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

    कर्णाली, ३ वैशाखः प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत गरे ।

    योग विज्ञानदेव संस्कृति विश्वविद्यालय हरिद्वारका पिएचडी शोधार्थी हरि उपाध्यायले आफ्नो प्रस्तुति राख्दै कर्णाली प्राकृतिक तथा आध्यात्मिक हिसाबले आरोग्य हबका रूपमा विकास गर्न सकिने आधार बलियो रहेको बता्ए । उनले भने, “जडीबुटी अर्थात् प्राकृतिक स्रोत, लोक चिकित्सा, योग ध्यान, सामुदायिक जीवन, पर्यावरणीय पक्ष, वैदिक पद्धति, आयुर्वेदक\प्राकृतिक चिकित्सा (सोवा रिग्पा) र खानपान तथा जीवनशैली आरोग्य हब बनाउन सकिने बलिया आठ आधार हुन् । यसका लागि कर्णालीलाई योग ध्यान आरोग्य केन्द्रित गन्तव्य बनाउने, परम्परागत र आधुनिक प्रणालीको समन्वय, स्थानीय स्रोत, संस्कृति र प्रकृतिमा आधारित विकास, दिगो पर्यटन र समग्र आरोग्यतामा योगदान पुर्याउनुपर्दछ ।”

    युवा वैज्ञानिक राजेन्द्र विष्टले जडीबुटी र लोक उपचार पद्धतिमार्फत समृद्धिको आधार तयार गरी कर्णालीलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने कार्यपत्र प्रस्तुत गरे । जडीबुटी केवल उपचार मात्र नभई मानिसलाई प्रकृतिसँग जोड्ने जीवन दर्शन भएको बताउँदै उनले योग ध्यान, जडीबुटी उपचार, अध्यात्मिक अभ्यास, स्वच्छ हावा, शान्त वातावरण, जैविक खानपानले पर्यटकलाई अद्वितीय अनुभव प्रदान गर्न सक्ने भएकाले यसलाई आरोग्य पर्यटनका रूपमा विकास गर्नुपर्ने सुझाव दिए ।


    वैज्ञानिक विष्टले भने, “कर्णालीका जडीबुटी, लोक उपचार र सोवा–रिक्पा भविष्यका सम्भावनाका स्रोत हुन् । परम्परागत ज्ञान र आधुनिक प्रविधिको समन्वयबाट दिगो विकास गर्न सकिन्छ । तसर्थ, कर्णाली केवल जडीबुटीको भण्डार मात्र होइन, नेपालको हरित अर्थतन्त्र (ग्रिन इकोनोमी) निर्माण गर्ने आधार भूमि हो । यसमा तीनै तहका सरकार र सम्बन्धित सरोकार भएकाहरूको समन्वय र सहकार्य दुवै आवश्यक छ ।”

    कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कार्यक्रममा प्रस्तुत सुझावका आधारमा नीति, योजना र कार्यक्रम निर्माण गरेर अगाडि बढ्ने बताए । उनले लुम्बिनी, सुदूरपश्चिम र कर्णालीको धार्मिक पर्यटकीय सडक निर्माणमा पहल गरिने जनाए ।

    मन्त्रालयका सचिव धोलकराज ढकालले आरोग्यताका सन्दर्भमा धेरै कुराको जानकारी भएको र प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नीतिसहित कार्यक्रम तथा बजेट तर्जुमा गर्न ध्यान दिने बताए । कर्णालीलाई ‘अग्र्यानिक’ प्रदेश बनाउने गरी यसअघि पनि नीति तथा कार्यक्रम ल्याइएको बताउँदै उनले अब आरोग्यको केन्द्र बनाउने गरी थप नीति अगाडि सारिने धारणा राखे ।


    अन्तरक्रिया कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राजयोग प्रतिष्ठान केन्द्र सुर्खेतका ब्रह्माकुमारी विष्णु, विश्व हिन्दू महासङ्घका परमानन्द रेग्मी, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सस्नेस (स्कुन)का शक्ति विक, सत्य साई केन्द्रका कृष्णमाया पोखरेल र महायोगी शिद्धबाबा अध्यात्मिक प्रतिष्ठानका केन्द्रीय सदस्य ललित भट्टराईले प्रकृति, अध्यात्म, पुरातत्व, संस्कृति, सभ्यता र धर्मको जननी कर्णालीमा सबैलाई आकर्षण गर्ने नीति र कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिए ।

  • नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

    नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

    मुस्ताङ, १ वैशाखः नयाँ वर्ष २०८३ सालको पहिलोदिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिरसमृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।
    हिउँदयामपछि चलायनमा भएको मुक्तिनाथ मन्दिरमा औसत दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरिएकामा आज मुक्तिनाथ मन्दिरमा साविकभन्दा दोब्बर धार्मिक तीर्थालुले दर्शन गरेको समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । नयाँ वर्ष भएकाले दिउँसो २ बजेपछि पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीडले परिसर खचाखच भरिएको उनको भनाइ छ ।

    यसैगरी नयाँ वर्षको उपलक्ष्यमा उल्लेख्य सङ्ख्यामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र स्थानीय नागरिक पनि मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए । मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थको समस्या देखिए पनि टाढाटाढाबाट दर्शनार्थी झत्तजन मुक्तिनाथको दर्शन गर्न आइपुगेको व्यवस्थापक भुसालको भनाइ छ । योसमय मुक्तिनाथ दर्शन गर्ने अनुकुल मौसम भएकाले मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको हो । आज बिहान ६ बजेदेखि मुक्तिनाथमा दर्शनार्थी ब्यापक चहलपहल देखिएको हो । दर्शनार्थीको ब्यापक उपस्थितीले मन्दिर परिसर र १०८ धारालगायतका स्थान पुरै दर्शनार्थीले भरिएको थियो । नयाँ वर्षको पहिलो दिन मुक्तिनाथको दर्शन गर्नाले वर्षभरीनै राम्रो हुने भएकाले भक्तजन मुक्तिनाथ मन्दिरको दर्शन गर्न ओइरिएका हुन् ।

    मन्दिरमा ब्यापक मात्रामा दर्शनार्थीले भरिएपछि समितिले भक्तजनलाई लाईनबद्ध हुने गरी मन्दिरको दर्शनकार्यमा सहजीकरण गरेको थियो । नयांँ वर्षमा मुक्तिनाथ दर्शन गर्न आएका सवारी साधनले मुक्तिनाथस्थित रानीपौवाका दुई वटा बसपार्क पुरै सवारी साधनले भरिएर सवारी पार्किङमा समस्या भएको थियो । योसँगै मुक्तिनाथ दर्शन गर्ना आएका पर्यटकका कारण मुस्ताङको जोमसोम, मार्फालगायत पर्यटकीय गाउँमा दर्शनार्थीको चहलपहल बाक्लिएको हो ।

  • पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    गण्डकी, १ वैशाखः नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन् ।नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका कारण पनि पोखरामा पर्यटकको आगमन बढाएको उनले बताए ।


    प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण चासो र चर्चा कमाएको पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुका साथै यसको प्रवर्द्धनमा निरन्तर गरिएका प्रयाससँगै पर्यटकको आगमन पनि बढ्दो क्रममा रहेको पर्यटन व्यवसायी बताउँछन् । पोखरा क्षेत्रमा कुल एक हजार २०० होटेल रहेकामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सकिने अध्यक्ष सुवेदीले बताए ।

  • पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता

    पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता

    काठमाडौँ, १ वैशाख । क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँस्थित नेपाली दूतावासले सहभागिता जनाएको छ । आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले छुट्टै स्टल स्थापना गरी नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा कलात्मकतालाई उजागर गर्ने विभिन्न पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री, परम्परागत कलाकृति र मौलिक नेपाली उत्पादनहरु प्रदर्शन गरेको थियो ।

    साथै, नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू समेटिएका प्रचारात्मक वृत्तचित्र तथा भिडियोहरू पनि प्रदर्शन गरिएको दूतावासले जनाएको छ । यस कार्यक्रमले क्यानडेली पर्यटकहरूमाझ नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

    सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

    सिरहा, १ वैशाखः सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिने दुर्लभ सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । लहान नगरपालिका–१२ र २२ मा फैलिएको करिब नौ बिघाको यस फूलबारीमा रहेको हारमको रूखमा आज बिहानैदेखि सुनाखरी फूल ढकमक्क फक्रिएको छ ।

    १४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट हजारौँको सङ्ख्यामा भक्तजनहरू आइपुगेका छन् ।

    मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार बिहान ४ः०० बजेदेखि नै मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ । तराईको पासवान समुदायका इष्टदेव मानिने राजा सलहेशको पूजा गर्दा मनले चिताएको पुग्ने, निःसन्तानहरुलाई सन्तान प्राप्ति हुने तथा विभिन्न रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ । भक्तजनको अत्यधिक चापलाई व्यवस्थापन गर्न मेला क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भीडभाड नियन्त्रणका लागि गस्ती बढाएका छन् भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सादा पोसाकका प्रहरी र ‘सिसीटिभी क्यामेरा’बाट समेत निगरानी भइरहेको छ ।

    अत्यधिक भीडका कारण यातायात र हिँडडुलमा असहजता नहोस् भन्नका लागि स्वयंसेवकहरूले सहयोग गरिरहेको मेला समितिका अध्यक्ष चौधरीले जानकारी दिए । सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरे पनि स्थानीयस्तरमा ठोस विकासका कामहरू हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।

    जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताका अनुसार, तीनै तहका सरकार र सम्बन्धित निकायले समन्वय गरी एकीकृत गुरुयोजना बनाएर अघि बढ्नु आवश्यक छ । यसो गर्नसकेमा यो ऐतिहासिकस्थललाई अझ आकर्षक र सुविधायुक्त धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सकिने उनको भनाइ छ । रासस

  • भक्तपुर थिमिः बिस्केट जात्राको रौनक

    भक्तपुर थिमिः बिस्केट जात्राको रौनक

    रासस
    भक्तपुर, १ वैशाखः भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

    पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रु नास हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ ।

    आजै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए । किम्वदन्तीअनुसार सिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको उनले जानकारी दिए । यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ः०० बजेदेखि नै भीड लागेको छ ।

    प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ः०० बजेदेखि नै तीनवटा खटसहितको खट जात्रा समेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुन मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।

    यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन् । धिमे बाजाका साथ खटलाई गुप्तेश्वर महादेव मनिदर परिसरमा विधिपूर्वक पूजा गरी सुरु भएको खट जात्रा सिरुटारदेखि बालकोटसम्मको टोल टोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिए । त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । लामबद्ध भक्तजनले पूजा गरेर खट यात्रा गरि जात्रा मनाएका छन् ।

    चैत मसान्तको दिन साँझबाट सुरु गरी रातभर सञ्चालन हुने चान्हेसियाअर्थात् रात्रिको जात्रा आज बिहान थिमिमा सम्पन्न भएको छ । मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरि बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो । चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइएन्छ ।

    जात्रामा थिमिको अधिकांश घरघरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हँुदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो । त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पु¥याएर पाँच पटक परिक्रमा गराए पछि सोही स्थानमा आ–आफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा हिजो साँझ सुरु भई आज बिहान ४ः०० बजे सम्पन्न भएको थियो ।

    त्यस्तै मध्यपुरथिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवं सिद्धिकाली जात्रा आज थिमिमा सम्पन्न गरेका छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमासमेत परिक्रमा गराइएको थियो ।

    बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितका देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको छ । त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमिको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याइ स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ । त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दूर चढाइ आआफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने परम्परा रहेको छ ।

  • नयाँवर्षमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

    नयाँवर्षमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

    रासस
    भक्तपुर, १ वैशाखः नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पयटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटबाट रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् ।

    पर्यटन व्यवसायमा विदेशी पर्यटकमात्रै नभई आन्तरिक पर्यटकको आगमनको बढ्दो चापले व्यवसायी उत्साहित भएका हुन् । नयाँवर्ष २०८३ को आगमनले भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म आन्तरिक तथा विदेशी पर्यटकले भरिएका छन् ।

    नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिभराउ भएका व्यावसायी बताउँछन् । विसं २०८२ को बिदाइ गर्दै २०८३ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटको आकर्षण थप बढाएका होटल व्यवसायी एवं होटल चौतारीको सञ्चालक बद्री माकले बताए ।


    अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपेको बताउँदै माकले भजे, “विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाँप निकै बढेको छ, अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।” सामान्यदेखि फाइभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि व्यवसायी थप होटल र कोठा थप्न उत्साहित भएका बताउँदै नगरकोट बेसक्याम्पका सञ्चालक अनुप केसीले नगरकोटमा थप होटल खुल्नेक्रम जारी रहेको उल्लेख गरे ।

    चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मज्जा लिन यहाँ पर्यटकको आगमन बढेको बताउँदै सञ्चालक केसीले व्यवसायी उत्साहित भएका बताए ।
    अर्का पर्यटन व्यवसायी एवं होटल ‘पिसफुल’ नगरकोटका सञ्चालक रामशङ्कर ध्वजुले नयाँ वर्षले पर्यटन व्यवसायीलाई उत्साह थपेको बताउदै यस वर्ष विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको जानकारी दिए ।

    विदेशीभन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएका व्यवसायी एवं होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछानेले बताए । उनले भने, “मैले होटल क्षेत्रमा काम गरेको २७ वर्ष भयो । पछिल्ला केही वर्षयता कोरोनाले थला पारेको व्यवसायलाई उठाएको छ, नयाँ होटल थपिँदै छन् ।” नगरकोटमा सामान्यदेखि सात स्टारसम्मका होटल सञ्चालनमा आएका नगरकोट नाल्दुम पर्यटन व्यवसायी समितिका अध्यक्ष नवीन लामाले जानकारी दिए । नगरकोट भ्रमण वर्ष २०८२ ले पनि पर्यटकको आगमन बढाएको उनको भनाइ छ ।

    केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटल नयाँ वर्षमा आन्तरिक पर्यटकले भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभरी नाचगान गरी नयाँवर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचो लागेको रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले बताए ।


    समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । पर्यटन व्यवसायी बकेले भने, “रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङ्टाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल हेर्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटल भरिएका छन्, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेपछि व्यवसायी उत्साहित भएका छन् ।”

    सहज पक्की सडकदेखि सूर्यविनायक(रानीकोट(आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटल, सूर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटोदूरीको सडक, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको भन्दै उनले कोरोना महामारी पछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटल खचाखच भएको बताए ।


    नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेले भने, “पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि त्यही मल्ल राजाहरुले रानीका लागि दरबार बनापछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको छ ।”

    नयाँ वर्ष आफ्नो होटल सात दिनअघिदेखि नै बुक भएको बताउँदै उनले यहाँको रानीकाट गढी, बाघ भैरवलगायत ऐतिहासिक पर्यटकीय क्षेत्र पनि घुम्न पाइने बताउँछन् । सूर्यविनाकबाट घ्याम्पेडाँडा हुँदै रानीकोट पुग्न सकिने यस क्षेत्रमा पर्यटकको आगमन बढेसँगै दर्जनभन्दा बढी नयाँ होटल थप भएका छन् ।
    ‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसायमा उत्साह थपेको बताए । घ्याम्पेडाँडामा अहिलेसम्मको बढी लागतमा निर्माण भएको होटलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको बताउँदै उनले नयाँ वर्षमा यहाँको होटल खचाखच भएको उल्लेख गरे ।

  • बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार

    गलकोट (बागलुङ), ३० चैतः यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ सुन्दर गाउँ बुढाथोक । लोकमार्ग कालोपत्रपछि बुढाथोक गाउँ चर्चामा आएको हो । हाल सो गाउँमा व्यवस्थित सामुदायिक घरबास सञ्चालन गरिएको छ । परम्परागत संरचनाका घरले भरिएको बुढाथोक गाउँमा हिजोआज आन्तरिक पर्यटक आउन थालेका छन् । यहाँका चार घर मिलेर बुढाथोक मगर नाखा सामुदायिक घरबास सञ्चालन गरेका हुन् । उनीहरूले खानाका परिकार पस्केर पाहुनालाई स्वागत गर्ने गरेका छन् । गत मङ्सिरदेखि सुरू गरिएको घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको छ ।
    पाँच महिनामा १२० पर्यटक घरबासमा बस्न आइसकेका छन् । लोकमार्गछेउमा परम्परागत चिटिक्क परेका घरले जोकोहीलाई लोभ्याउने गरेको छ । सामुदायिक घरबासका सञ्चालक बिमा बुढागरले घरबासमा एकरातमा २० जना पाहुना राख्ने क्षमता रहेको जानकारी दिए । घरबास स्थापनाका लागि बिवाइसी बागलुङअन्तर्गत दिगो पर्यटन प्रवर्द्धन परियोजनाले सहयोग गरेको छ । “समूहका विभिन्न महिलाहरूको सहभागितमा सामूहिक भोजन, स्वागत तथा कलासंस्कृति प्रदर्शन गरिन्छ”, बुढामगरले भने, “ढुङ्गाले छाएका पुराना घरमा स्थानीय खानाका परिकारसँगै आतिथ्यता हाम्रो प्रमुख आकर्षण हो ।”

    घरबासमा मकै, भट्ट, आटो, कोदो र फापरको ढिडो, रोटी, मार्सी चामलको भात, लोकल कुखुरा, खसी, भेडाको मासु, च्याउको सुकुटी र लोकल सिमीको दाल र आलुको परिकार पाइने गरेको छ । घरबासमा एकरात खान बस्न प्रति व्यक्ति एक हजार २०० मात्रै शुल्क तोकिएको छ ।

    यस गाउँको घरबास जिल्लाकै नमूना रहेको बागलुङको मालिकाबाट घरबासमा आउनुभएका पर्यटक मुक्तिराम सापकोटाले बताए । “घरबास सञ्चालकहरूको स्वागत तथा सत्कार, नितान्त परम्परागत घरमा गुन्द्रीमा बसेर स्थानीय परिकार खान पाइयो”, सापकोटाले भने, “घरबास भनेकै परम्परा, संस्कृति र खानाका परिकारको व्यवस्थापन हो, घरबासको विषयमा अझै प्रचारप्रसार आवश्यक छ ।”

  • २१ औँ फेवा नववर्ष महोत्सव सुरु

    २१ औँ फेवा नववर्ष महोत्सव सुरु

    गण्डकी, २९ चैतः होटेल सङ्घ पोखराको आयोजनामा आजदेखि पोखराको लेकसाइडमा २१औँ संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ सङ्घले बर्सेनि फेवा नववर्ष महोत्सव गर्दै आएको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो । तरेली सांस्कृतिक परिवारले स्वागत नृत्य प्रस्तुत गरेको थियो । महोत्सवमा आज साँझ सांस्कृति प्रस्तुति र पञ्चैबाजाको रमाइलो रहने तथा पप कन्सर्टका कार्यक्रम पनि समेटिएका छन् ।


    सोमबार खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पञ्चैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पञ्चैबाजा समूहले भाग लिएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पञ्चै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने उहाँले जानकारी दिनुभयो । पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने सङ्घले जनाएको छ ।

    महोत्सव उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फेवा महोत्सव निरन्तर र स्थायी रुपमा सञ्चालन हुँदै आउनु यसको सफलता भएको बताइन् । पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महोत्वपूर्ण सहर रहेको भन्दै उनले पर्यटनको राजधानीको उपमा समेत पाउनु पोखराका लागि सकारात्मक पक्ष भएको बताइन् ।


    महोत्सवमा प्रस्तुत कलात्मक झाँकी र प्रस्तुतिले नेपाली एकता झल्किएको उल्लेख गर्दै उनले पोखरालाई सुरक्षित र सुन्दर सहरको रूपमा निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिइन् । होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पोखराले आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा बढी जोड दिनुपर्ने बताए । पोखराका लागि आन्तरिक पर्यटक तथा भारतीय र चिनियाँ पर्यटकले ठूलो योगदान दिन सक्ने उनको भनाइ छ ।

    पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा भएको महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था छ । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेकाछन् । ई–सेवाबाट होटल बुक गर्दा १० प्रतिशतसम्म क्यासब्याक हुने अफर पनि ई(सेवाले अगाडि सारेको छ ।


    महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केबलकार लि, ई–सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् भने इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सव प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश छन् ।

  • चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

    चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

    काठमाडौँ, २८ चैतः सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको स्तनपान एवं शिशु हेरचाहकक्ष सञ्चालन आवश्यकताअनुसार स्तरोन्नति, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाहकक्ष सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

    विमानस्थलको सरसफाइ अन्तरराष्ट्रिय मापदण्डअनुरुप बनाउन, दैनिक सरसफाइ ‘लगबुक’ प्रणाली कायम गर्न, विश्व स्वास्थ्य सङ्गठन र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ । शौचालयमा महिला यात्रीका लागि निःशुल्क ‘स्यानिटरी प्याड’ व्यवस्था गर्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले दिएका निर्देशन कार्यान्वयन गरी मन्त्रालयमा सूचना प्रवाह गर्न निर्देशन दिइएको छ । आम नागरिक तथा यात्रीलाई पनि सरकारका तीन निर्देशन कार्यान्वयन भएनभएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारीलाई दिन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जारी गरेको निर्देशनमा जनाइएको छ ।

  • टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने

    टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने

    काठमाडौँ, २८ चैतः ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ । टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी नेवार समुदायको बाहुल्य रहेको टोखामा अगामी वैशाख १ गतेदेखि ४ गतेसम्म विस्केट जात्रा मनाउन लागिएको जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा समितिका सहसंयोजक गणेशमान श्रेष्ठले जात्रालाई व्यवस्थित र मर्यादित बनाउनका लागि शान्तिसुरक्षा, स्वयम्सेवक व्यवस्थापन, पार्किङ व्यवस्थापन, यातायात व्यवस्थापन, बाजागाजा व्यवस्थापन, रथजात्रा व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको जानकारी दिए ।


    चैत मसान्तबाटै सुरु हुने बिस्का जात्रा मुख्यतः चार दिने मनाइने गरिन्छ । भक्तजन मसान्तको बिहान शिवपुरीस्थित बागद्वार स्नान गर्न जान्छन् । बागद्वारबाट सोही दिन राति चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरमा आउने प्रचलन रहेको छ । सपनतीर्थ मन्दिर परिसरमा गौमुखी र बहुमुखी खोला थुनेर निर्माण गरिएको सिद्धपोखरीमा भक्तजनले नयाँ वर्ष सुरु हुँदै गर्दा वैशाख १ गते एकाबिहानै नुहाउने गर्दछन् ।

    मसान्तको दिन साँझ सपनविनायकको रथ, चण्डेश्वरीको रथ र मसानकालीको रथ ‘जाली द्यो’का रूपमा बाजागाजासहित जात्रा गरी इन्द्रायणी दाफा खलःले मूल नाइके बहाल गरी रथ आ–आफ्नो मन्दिरमा लैजान्छन् ।

    नयाँ वर्षकै दिन साँझ ६ बजे आ–आफ्नो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइने गरिएको छ । वैशाख २ गते बिहान तीन वटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर ११ बजे थलागः टोलमा लस्करै बिसाइन्छ ।

    सोही दिन अपराह्न ३ बजे जीवित गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याई सिन्दूरजात्रा गरी उठाइन्छ । सोही दिन साँझ गाउँ परिक्रमा गरी साँझ ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइन्छ । सोही रात भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ । आगामी वैशाख ३ गते बिहान ७ बजे तपलाक्षीःबाट सिन्दूरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गर्न लैजाने गर्दछन् । सोही दिन बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइन्छ ।

    सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिन्छ । मसानकालीको मन्दिर र गाउँको परिक्रममा गरी कोनेलाक्षीःमा बिसाइन्छ । सोही रात पनि भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

    जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान ६ः३० बजे सिन्दूरजात्रा गरी सारा बाजागाजासहित गाउँ परिक्रमा गर्न लगिन्छ र बिहान ११ बजेतिर गच्छे टोलमा बिसाइन्छ । सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सबै रथ कपडा बिच्छ्याइ गाउँ परिक्रममा गरी आ–आफ्नो देवी घरघरमा भित्र्याइन्छ । त्यसबाट जात्रा समापन हुन्छ । वैशाख ५ गते बिहान ६ः३० लिङ्गो ढाली जात्रा विर्सजन हुन्छ ।

    सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाभित्रका ऐतिहासिक पर्वलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताए । उनले टोखाको जात्रा व्यवस्थापनका लागि नगरपालिकाले वजेट विनियोजन गरेको उल्लेख गरे । टोखाले जात्राका अवसरमा एकदिन टोखा नगरपालिकाभर र दुई दिन जात्रा लाग्ने वडा नं २ र ३ मा विदा दिने गरेको छ ।

  • पूर्वाधार पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्योदय हेर्न आकर्षकस्थल

    पूर्वाधार पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्योदय हेर्न आकर्षकस्थल

    म्याग्दी, २८ चैतः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित पदमार्गको अभाव छ । प्रशस्त सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले सोवाङधुरी ओझेलमा परेको चिमखोलाका बासिन्दा तारा गर्बुजा पुनले बताए ।

    “चिमखोलादेखि सोवाङ धुरी जोड्ने दुई वर्षअघि पहिचान भएको पदमार्गमा आधारभूत पूर्वाधार निर्माण हुन नसक्दा पर्यटक भित्र्याउन समस्या भएको छ,” पोखरामा एक दशकदेखि पर्यटन ब्यवसाय गरिरहेका गर्बुजाले भने, “समुदाय तहबाट भएको प्रयासमा सरकारी निकायले साथ पाएमा सोवाङ धुरीलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्न सकिने थियो ।” म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालको फेददेखि चुचुरो सम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता हो ।

    सूर्योदयका साथै गुर्जा, धवलागिरी, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामिण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिने शुक्रबार सोवाङ पुगेर आउनुभएका चिमखोला समाज बेलायतका अध्यक्ष मोति तिलिजाले बताए । समाजको अगुवाइमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले २७ जनाको टोली सोवाङ धुरीको पदयात्रा गरी शुक्रबार चिमखोला फर्किएको छ । टोली बिहीबार चिमखोलाबाट सोवाङधुरीतर्फ गएको थियो । सोवाङ धुरीको प्रर्वद्धनका लागि ‘म्युजिक भिडियो’ पनि छायाङ्कन गरिएको छ । हिजोआज सोवाङ धुरी आसपासको क्षेत्र हिउँले सेताम्मे बनेको छ ।

    सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गल बसन्तयाममा विभिन्न रङका लालीगुराँस फुलेर मनमोह कबनेको छ । घोरल, मृगलगायत जनावर र पाँच औले, सेदक चिनीलगायत जडिवुटी अवलोकन गर्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लवले दुई वर्षअघि चिमखोलादेखि पात्लेखेत–जसलाङ–सिजिखोला– सिजिखर्क– थामखर्क– खोलाखर्क– सिसर्का– तल्लोमेला– उपल्लोमेला– आलेखर्क– नेपाने हँुदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका थिए ।

    सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोलादेखि हिड्न सक्ने एक दिन र विस्तारै हिडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलाबासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेशीका फाँटमा झर्ने गर्दथे ।

    नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर आश्रयस्थल भवन निर्माण गरेका छन् । सोवाङ धुरी घुम्न जाने पर्यटक र पाहुनालाई ओडारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयसस्थल निर्माण गरिएको हो । गर्बुजाको अगुवाईमा यसअघि सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पीङ गर्ने ठाउँ नजिकै ५००÷५०० लिटर क्षमताको दुई वटा ड्रम राख्नुभएको थियो । वडा कार्यालयले पनि थप दुई वटा ड्रम राखेका छन् ।

    हिउँ पग्लीएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ । वडा कार्यालयको प्रस्तावमा रघुगङ्गा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो ।

    होटल र रेष्टुरेष्ट नभएकाले वन्दोबस्तीका सामान सहित जानुपर्छ ।
    टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

  • बेनीमा ‘वडा पर्यटन परियोजना’ कार्यान्वयनमा

    बेनीमा ‘वडा पर्यटन परियोजना’ कार्यान्वयनमा

    म्याग्दी, २७ चैत । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि योजना छनोट गरी नगरपालिका, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने नीति लिएको बताए ।

    “म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार मुस्ताङस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धारका रूपमा परिचित छ”, उनले भने, “मुस्ताङ जाने र आउने पर्यटक तथा तीर्थयात्रीलाई बेनीबजार र आसपासका क्षेत्रमा भुलाउने, बसाइ लम्ब्याउने उद्देश्यले पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएका हौँ ।”

    बेनी–जोमसोम सडक भएर गत आर्थिक वर्षमा आठ लाख जना पर्यटक मुस्ताङ भ्रमणमा गएका थिए । सङ्घीय पर्यटन मन्त्रालयसँग वडा नं ५ को पछैमा उद्यान निर्माण गरेर हिन्दू धर्मग्रन्थ रामायणका पात्र रावणको २१ फिट अग्लो, १० वटा टाउको भएको, ढलोट धातुले बनेको र पित्तलको जलप लगाएको मूर्ति स्थापना गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा गलेश्वर बजार सौन्दर्यकरण परियोजनालाई निरन्तरता, लभ्लीहिल पर्यटन पूर्वाधार र बेनीमा शान्ति पार्क निर्माण योजना अघि बढाएको छ ।

    नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनामार्फत गलेश्वर शिवालय क्षेत्र विकास कोषसँग साझेदारी गरेर रु ४८ लाख ७४ हजारको लागतमा दुई ९५ मिटर दूरी सडकमा एक हजार ७१८ दशमलव पाँच घनमिटर स्लेट ढुङ्गा बिछ्याउने र ३० मिटर लामो नाली निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

    रु २५–२५ लाख बजेट विनियोजन भएको लभ्लीहिल पर्यटन प्रवर्द्धन र शान्ति पार्क निर्माण योजना कार्यान्वयनको चरणमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा रु एक करोड चार लाख बजेट विनियोजन भएको उपप्रमुख ज्योति लामिछानेले बताइन् । बेनीबजारको दायाँतर्फ रहेको कालीगण्डकी नदी किनारमा निर्माण भएको चक्रपथको वडा नं ८ को भूगोलभित्र सडकको डिलमा रेलिङ राखेर फुटपाथ बनाउने र सडक बत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । वडा नं ८ मा रहेको एक सय वर्ष पुरानो गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ ।

    कुन वडामा कस्तो परियोजना ?

    बेनी नगरपालिकाले पर्यटनसँग सम्बन्धित १० वटै वडाका योजनालाई छनोट गरी प्राथमिकीकरण गरेको छ । वडा नं १ रत्नेचौरको लामो झोलुङ्गे पुल, श्रीलक्ष्मीहरि मन्दिर र तोरीबारी हुँदै ज्यामरुककोट, बेलढुङ्गा जोड्ने पदमार्गलाई प्राथमिकतामा राखिएको छ । वडा नं २ मा रहेको लक्ष्मीहिलमा सार्वजनिक निजी साझेदारीअन्तर्गत ‘लिफ्ट ब्रिज’ बनाउन सम्भाव्यता अध्ययनका लागि निजी क्षेत्रसँग छलफल थालिएको नगरप्रमुख केसीले बताउनुभयो । यस वडामा रहेको ज्यामरुककोटको पुनर्निर्माण, पदमार्ग र गौश्वारामा समुदायको अगुवाइमा ३८ फिट अग्लो गोवर्द्धनको मूर्ति स्थापना भएको छ । गौश्वारा पर्यटन पूर्वाधारका लागि नगरपालिकाले यस वर्ष रु १५ लाख बजेट विनियोजन गरेको छ ।

    वडा नं ३ मा रहेको भकिम्लीको बेलढुङ्गालाई दृश्यावलोकनस्थलका रूपमा विकास, धार्मिकस्थल स्वर्गाश्रममा पर्यटन पूर्वाधार तयार तथा बाघखोरमा उद्यान निर्माण भएको छ । प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा–तातोपानी कुण्ड अवस्थित वडा नं ४ मा कुण्डको संरक्षणका साथै जलाशय बनाउने योजना निर्माणका लागि सङ्घीय ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा प्रस्ताव गरिएको छ ।

    वडा नं ५ मा रहेको पछै, जगन्नाथ, ढोलथान र केभहिल, वडा नं ६ मा रामशीला स्मारकस्थल र गुफा राममन्दिरलाई छनोट गरिएको छ । महारानीथान, लक्ष्मीनारायण, शिवालय, भगवती, मन्दिर रहेको बेनी नगरपालिका–७ र ८ को भूगोलमा पर्ने बराहपाखोमा ‘राउण्ड बेनी, भ्यू बेनी’ योजनाअनुसार पदमार्ग निर्माण योजनालाई निरन्तता दिएको छ ।

    वडा नं ८ मा रहेको जलेश्वर गुफा पुनर्निर्माण गरी शालग्राम सङ्ग्राहलय स्थापना र कोट भण्डार क्षेत्रमा टक्सार पुरातात्विक सांस्कृतिक सङ्ग्रहालय स्थापनाका गर्ने योजना रहेको छ । कालीगण्डकी शुद्धताका लागि बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाहस्थल निर्माण भएको थियो ।

    वडा नं ९ को गलेश्वरधामदेखि पुलाश्रम, घतानकोत, ढोल्ठान दरबार र जगन्नाथलाई समेटेर एकीकृत पर्यटन योजना कार्यान्वयनमा छ । वडा नं १० पात्लेखेतको सिद्धाश्रम, घारसुन्ना, राधाकृति मन्दिर, वाखेत घरबास सञ्चालन र टोड्केको पर्यटन विकासका योजनालाई प्राथमिकता दिइएको छ ।

    ‘समृद्ध पर्यटकीय बेनी नगर’ भन्ने अवधारणाअनुसार बेनीलाई पर्यटकीय, धार्मिक र आध्यात्मिक पर्यटनको केन्द्र बनाउने प्रयास गरिएको नगरप्रमुख केसीले बताए । उनका अनुसार बेनीस्थित कालीगण्डकी र म्याग्दी नदीमा ‘सिल्टेसन ड्याम’ निर्माण गरी ‘स्टिमर’ सञ्चालनको सम्भाव्यता अध्ययनको चरणमा रहेको छ ।

  • ‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

    ‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

    रासस
    भोजपुर, २६ चैतः वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ । यस पदमार्गका जङ्गल यतिबेला गुराँसका विभिन्न प्रजातिले ढाकिएका छन् । रातो, गुलाबी र सेतो गुराँसले बनाएका रङ्गीन दृश्यले पदयात्रामा निस्किएका पर्यटकलाई आनन्द दिइरहेको छ ।

    हरिया बनजङ्गलमाथि गुराँसको राताम्य रङ मिसिँदा देखिने दृश्यले जो कोहीलाई मोहित बनाउने गरेको छ । मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य मात्र नभई सांस्कृतिक र धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । किराँत समुदायको मौलिक संस्कार, परम्परा र ‘मुन्दुम’ ९धार्मिक ग्रन्थ०सँग जोडिएको यो क्षेत्रले किराँत सभ्यताको जीवनशैली झल्काउँछ ।

    पदमार्ग हुँदै यात्रा गर्दा स्थानीय समुदायको संस्कार, भाषा, वेशभूषा र परम्परागत जीवनशैली नजिकबाट अनुभव गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए । यिनै विशेषताका कारण पछिल्लो समय मुन्दुम पदमार्ग भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको उनले बताए । वसन्त ऋतु पदयात्राका लागि सबैभन्दा उपयुक्त समय भएकाले यतिबेला आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । पर्यटकलाई लक्षित गरेर चखेवामा चैत ३० देखि २०८३ वैशाख २ गतेसम्म रैथाने खाना महोत्सवसमेत आयोजना गरिएको उनको भनाइ छ ।

    “गुराँस, चापलगायत फूलसँगै मुन्दुम पदमार्गको सुन्दरता झन् बढेको छ,” अध्यक्ष बस्नेतले भने, “पर्यटकलाई लक्षित गरेर हामीले रैथाने खाना महोत्सव पनि आयोजना गरेका छौँ ।” गुराँस फुल्ने मौसममा प्रकृतिप्रेमी, फोटोग्राफर तथा साहसिक यात्राका पारखीहरू मुन्दुम पदमार्गतर्फ आकर्षित हुने गरेका छन् । यस पदमार्गअन्तर्गत पर्ने टेम्केडाँडा, साल्पा पोखरी, सिलिचुङ, मैयुङडाँडाजस्ता पर्यटकीय स्थलहरू यतिबेला झन् आकर्षक बनेका छन् । टेम्केडाँडा तथा मैयुङडाँडाबाट देखिने हिमाली दृश्य, साल्पा पोखरीको धार्मिक महत्व र सिलिचुङको शान्त वातावरणले पर्यटकलाई विशेष अनुभव प्रदान गर्ने गरेको छ ।

    स्थानीय होटल तथा ‘होमस्टे’ व्यवसायी विवेक कुलुङका अनुसार गुराँस फुल्ने याम सुरु भएसँगै पर्यटक आगमन बढ्न थालेको छ । पर्यटकको मागअनुसार बसोबास, खाना र मार्गदर्शन सेवा विस्तार गरिँदै आएको छ । मुन्दुम पदमार्गमा पछिल्लो समय पूर्वाधार विकासमा पनि सुधार हुँदै गएको छ । पदमार्ग चिन्हाङ्कन, विश्रामस्थल निर्माण, सूचना बोर्ड स्थापनालगायत कामले पर्यटकलाई सहजता प्रदान गरेको छ । स्थानीय तह, सङ्घीय सरकार, प्रदेश सरकार तथा पदमार्गमा आधारित पर्यटन परियोजना मिलेर संयुक्त रूपमा यस क्षेत्रको प्रवद्र्धनमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।


    प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको अद्वितीय सङ्गमका रूपमा मुन्दुम पदमार्ग क्षेत्र यतिबेला गुराँसले ढकमक्क ढाकिँदै झन् रमणीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । वसन्त ऋतुमा यहाँ पुग्ने जो कोही पर्यटकका लागि यो यात्रा अविस्मरणीय अनुभव बन्ने स्थानीयको भनाइ छ ।

  • पर्यटकको रोजाइमा तीनकुने पोखरी

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    फिक्कल (इलाम), २५ चैतः इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय चेतन आङथुपोले बताए ।

    “शनिबार र सार्वजनिक बिदाको दिन पोखरी घुम्न आउने पर्यटकको भीडभाड हुने गर्दछ”, उनले भने, “पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल बढेको छ ।” यसैबीच, तीनपोखरीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि ‘तीनकुने पर्यटन महोत्सव’ आयोजना हुँदैछ । स्थानीय ‘तीनकुने पोखरी सिमसार क्षेत्र’ को आयोजनामा तीनकुने पोखरीको खुला मैदानमा महोत्सव सञ्चालन हुन लागेको हो ।

    यही वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने आयोजक समिति संयोजक नगीन्द्र श्रेष्ठले बताए । ‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ मूल नारासाथ सञ्चालन हुने महोत्सवमा आदिवासी लिम्बू समुदायको च्याब्रुङ नाच (केःलाङ), राई समुदायको साकेला नाच, नेवार समुदायको लाखे नाच, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको सङ्गिनीलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेषभूषा प्रदर्शन गरिनेछ । स्थानीय कला, संस्कृति, हस्तकला सीप, स्थानीयद्वारा उत्पादित रैथाने खानपान प्रदर्शनीमा राखिने संयोजक श्रेष्ठले जानकारी दिए ।

    “यहाँका आदिवासी भूमिपुत्रहरुको मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने हाम्रो प्रयास हो । यसका लागि प्रत्येक दिन अलगअलग कार्यक्रम तय गरिएको छ”, संयोजक श्रेष्ठले भने, “मुख्य रुपमा स्थानीय क्षेत्रकै रैथाने उत्पादनलाई व्यवसाय तथा अर्थतन्त्रसँग जोड्न र युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न सहयोग गर्ने उद्देश्य हो ।” महोत्सवमा राजेशपायल राई, साहिल लिम्बू, पूजा लामा, पदम राई र एलिना चौहानको साथमा अन्य स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुती रहने आयोजक समितिका सचिव सेमन्ता खनालले जानकारी दिए ।


    चुलाचुली गाउँपालिका–२ मोरङ्गे झोडाको सामुदायिक वनमा करिब ६ बिगा क्षेत्रफलमा फैलिएको तीनकुने पोखरी सिमसार क्षेत्र पर्यावरण र पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण मानिन्छ । विसं २०५२ मा स्थानीय अगुवाले गहिरो खोल्सीलाई बाँध कसेर पानी सञ्चित गर्न थाले पनि २०७२ सालदेखि औपचारिक रुपमा पोखरी निर्माण गरेका थिए ।

    समुन्द्री सतहबाट करिब १८५ मिटर उचाईमा रहेकको तीनकुने पोखरी पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब साढे ५ किलोमिटर दुरीमा पर्दछ । झापाको केर्खा बजार–पाडाजुङ्गीबाट उत्तर नर्सरी हुँदै मोटरसाइकल, सफारी, अट्टो र साना, ठूलो सवारीसाधनमार्फत सजिलै तीनकुने पोखरी पुग्न सकिन्छ ।

    महोत्सवले तीनकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । स्थानीयवासीको सक्रियतामा यहाँ महोत्सव आयोजना गरिएको हो । यसबाट तीनकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेछ ।

  • भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

    भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

    मुस्ताङ, २४ चैतः हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत २० गतेसम्म यहाँ भ्रमणमा आएका पर्यटकमध्ये छ पुरुषसहित एक महिला पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन् । यसरी मृत्यु हुनेमा ४१ वष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको २२ भदौमा मुक्तिनाथमा लेक लागेर वेलगार्व, उदारखुर्द, कर्नाटक भारतका ७१ वर्षीय आन्नद माधवाराओ देशपाण्डेको मृत्यु भएको थियो । गत असोज २४ गते महालक्ष्मी नगरपालिका–४ इमाडोल ललितपुरका ७५ वर्षीय माधवप्रसाद शर्मा उप्रेतीको घरपझोङ–४ जोमसोममा लेक लागेर मृत्यु भएको थियो । यसैगरी कात्तिक ९ गते सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ५० वर्षीय जगतबहादुर तिमिल्सिनाको घरपझोङ–२ मार्फामा लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक महतले जानकारी दिए ।


    यस्तै, कात्तिक २२ गते ६१ वर्षीय भारतीय पर्यटकको घरपझोङ–३ स्थित एक होटलमा, पुस १२ गते ७४ वर्षीय भारतीय पर्यटक चन्द्रकान्त श्रपत तम्बोकरको मुक्तिनाथ रानीपौवामा लेक लागेर मृत्यु भएको थियो । यसैगरी, यही चैत १७ गते मेक्सिकोका ६७ वर्षीय फेडेरिको लोपेज क्याम्बाको थासाङ गाउँपालिका–१ टुकुचेस्थित पक्की पुल नजिक लेक लागेर मृत्यु भएको थियो भने चैत २० गते ठोरी गाउँपालिका–४ पर्साकी ४१ वर्षीय सरिता बुढाथोकीको मुक्तिनाथ मन्दिरमा लेक लागेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

  • फिजीमा क्रुज दुर्घटना, सबै यात्रु सुरक्षित

    फिजीमा क्रुज दुर्घटना, सबै यात्रु सुरक्षित

    मेलबर्न, २४ चैत (रासस–एपी) । फिजी नजिकै चट्टानमा अड्किएको एक क्रुज जहाजबाट सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएपछि सम्भावित ठूलो मानवीय दुर्घटना टरेको छ । जहाज सञ्चालक कम्पनीले सोमबार दिएको जानकारीअनुसार उक्त घटनामा कुनै पनि यात्रु घाइते भएका छैनन् । ब्लू लगुन क्रुजद्वारा सञ्चालित एमभी फिजी प्रिन्सेस शनिबार मोनुरिकी टापु नजिकै चट्टानमा अड्किएको थियो ।

    सो क्षेत्र हलिउड अभिनेता टम ह्याङ्क्स अभिनीत सन् २००० को चलचित्र ‘कास्ट अवे’ का कारण पनि परिचित मानिन्छ । प्रारम्भिक अनुसन्धानका आधारमा, जहाज लङ्गर हालेको अवस्थामा समुद्री अवस्था सामान्य रहे पनि अचानक आएको शक्तिशाली आँधीका कारण लङ्गर तानिँदै जहाज चट्टानतर्फ धकेलिएको र अन्ततः जमिनमा अड्किएको बताइएको छ ।

    आइतबार बिहान उज्यालो हुनासाथ उद्धार कार्य सुरु गरिएको थियो । करिब ५५.५२ मिटर लामो जहाज नजिकै डुङ्गा पु¥याएर ३० यात्रुलाई उनीहरूका सामानसहित सुरक्षित रूपमा बाहिर निकालिएको कम्पनीले जनाएको छ । उद्धारपछि सबै यात्रुलाई डेनारो टापुमा सारिएको छ, जहाँ उनीहरूको आवश्यक व्यवस्थापन गरिएको छ । घटनापछि सम्भावित वातावरणीय क्षति रोक्न पनि तत्काल कदम चालिएको छ । जहाजमा रहेको पम्प गर्न सकिने इन्धन र अन्य तेल पदार्थ सोमबारसम्म हटाइएको कम्पनीले जनाएको छ, जसले समुद्री प्रदूषणको जोखिम घटाएको छ ।

    उद्धार तथा प्राविधिक मूल्याङ्कनका लागि अस्ट्रेलियाका एक विशेषज्ञ आइतबारदेखि घटनास्थलमा खटिएका छन् र समग्र अवस्थाको निरीक्षण गरिरहेका छन् । यद्यपि, फिजीको समुद्री सुरक्षा प्राधिकरणले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । समग्रमा, आकस्मिक प्राकृतिक प्रभावका कारण भएको यो दुर्घटनामा मानवीय क्षति नभएकाले राहत महसुस गरिएको छ भने आगामी दिनमा यस्ता घटनाबाट बच्न थप सावधानी अपनाउने आवश्यकता औँल्याइएको छ ।

  • एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

    एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

    गण्डकी, २४ चैतः दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् ।

    सन् २०२५ को मार्च महिनाको तुलनामा यस वर्ष ११ हजार ६७९ पर्यटक बढको आयोजना प्रमुख डा रविन कडरियाले बताए । पछिल्लो समय यस क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भइरहेको उनको भनाइ छ । “नेपाल भित्रने विदेशी पर्यटकमध्ये ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको भ्रमणमा आउने गरेका तथ्याङ्कले देखाएको छ”, उनले भने । “यहाँ आउने दक्षिण एसियाली पर्यटकमा भारतीयको सङ्ख्या बढी छ ।”

    नेपालमा मार्चदेखि मेसम्मको महिनालाई दोस्रो मुख्य पर्यटकीययामका रूपमा लिइन्छ । नयाँ वर्ष आउन लागेको र वार्षिक परीक्षापछि शैक्षिक संस्थामा पनि बिदा हुने भएकाले यस याममा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्ने आयोजना प्रमुख डा कडरियाले बताए । पदयात्रा गर्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो याम उत्तम रहेको उनको भनाइ छ ।

    आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका छन् । यहाँको अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

    सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देशविदेशका यस क्षेत्र परिचित छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ ।

  • गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

    देवदह (रुपन्देही), २४ चैतः रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् । सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा उनीहरुले विमानस्थल सञ्चालन गर्न सङ्घीय सरकारसँग आग्रह गरे ।


    समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले विमानस्थल सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै भगवान् गौतमबुद्धको नामबाट निर्माण भएको विमानस्थल सञ्चालन भए देशमा आर्थिक गतिविधि चलायमान बन्दै जाने विश्वास व्यक्त गरे ।


    लुम्बिनीको विकास हुनु भनेको समग्र मुलुकको आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनु रहेको उनको भनाइ छ । “विमानस्थल नियमित सञ्चालन भए भैरहवाको मात्र विकास हुँदैन, यसले समग्र मुलुकको विकासमा टेवा पुर्‍याउँछ, विमानस्थल सञ्चालन भएपछि पर्यटकको आवागमन बढ्छ”, उनले भने । नगरप्रमुख खाँले विमानस्थल सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए ।


    नगर प्रवक्ता मुक्तिनाथ यादवले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नचल्दा यस क्षेत्रका उद्योगी–व्यवसायी धरासायी अवस्थामा पुगेको बताए । उनले विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न वर्तमान सरकारसँग आग्रह गरे । सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्षसमेत रहेका प्रवक्ता यादवले विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारकोतर्फबाट पहल गर्ने बताए ।

  • मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

    मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

    मुस्ताङ, २३, चैत्र स् यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ ।

    मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताए । “मुक्तिनाथ क्षेत्रमा यसअघि छ पटक सम्म हिउँ परेको भएपनि आज परेको हिमपात वजनदार छ, पछिल्लो तीन घण्टादेखि हिउँ परिरहेको छ,” उनले भने ।


    हिमपात भएपछि मुक्तिनाथ दर्शनका लागि आएका दर्शनार्थीहरुले सास्ती पाएका छन् । रानीपौवा बसपार्कदेखि मन्दिरसम्मको यात्रा गर्न हिमपातले अवरोध पु(याएको होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए ।

  • काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी

    काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी

    काठमाडौँ, २३ चैतः काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ । पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) तथा ट्राफिक नियम उल्लङ्घन पनि रहेको निष्कर्षपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान नै सञ्चालन गरेको हो ।

    उक्त अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी टोलीसहित आफैँ सडकमा खटिने गरेका छन् भने ‘कन्ट्रोल रुम’मा बसेको टोलीले कहाँ कुन नम्बरको सवारीसाधनले नियम उल्लङ्घन गरेको छ, सो विषयमा जानकारी दिने गरेको बताइएको छ । ट्राफिक प्रहरीले बिहान सबेरै सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी तथा दिउँसो र साँझतिर विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनका चालकहरूलाई केन्द्रित गरेर विभिन्न स्थानमा चेकजाँच सुरु गर्ने गरेको छ ।

    अहिले राजधानीका मुख्य चोक, व्यस्त सडक तथा दुर्घटना बढी हुने स्थानहरूमा ट्राफिक प्रहरी परिचालन गरी चालकहरूले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेका छन् वा छैनन् भन्ने परीक्षण गरिँदै आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर उक्त अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार एक जना चालकले सार्वजनिक सवारीसाधनमा दर्जनौँ यात्रुको जिम्मेवारी बोकेको हुन्छ, त्यसैले चालकको सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

    उनले भने, “एक जना चालकले दर्जनौँ यात्रु बोकेर यात्रा गराइरहेको हुन्छ । यदि त्यही चालकले मापसे वा लापसे गरेर सवारी चलायो भने दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिन्छ ? हाम्रो मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो । त्यसैले मापसे र लापसे गरेर सवारी चलाउने चालकविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ ।” ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत हालसम्म दर्जनौँ सार्वजनिक सवारीसाधनका चालकहरू मापसे र लापसे सेवन गरी सवारी चलाएको पाइएपछि कारबाहीमा परिसकेको जनाएको छ । पक्राउ परेका चालकहरूलाई ट्राफिक नियमअनुसार जरिवाना गर्नाका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

    यसैबीच, ट्राफिक प्रहरीले अबदेखि मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाउने, सडकका ‘डिभाइडर’मा ठोक्काएर सवारी चलाउने तथा यात्रुको ज्यान जोखिममा पार्ने चालकहरूको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी गरेको छ । लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति नियन्त्रण नगरेसम्म दुर्घटना न्यूनीकरण सम्भव नहुने भएकाले अब कडा कदम चाल्नुपर्ने अवस्था आएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारी बताए । उनले भने, “लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति अब सह्य हुँदैन । यस्तो अवस्थामा केवल जरिवाना काटेर मात्रै पुग्दैन, आवश्यक परे चालकको लाइसेन्स नै खारेज गराउने प्रक्रिया अघि बढाइन्छ ।”

    ट्राफिक प्रहरीले मापसे र लापसे विरुद्धको अभियानसँगै ट्राफिक नियम उल्लङ्न गर्ने सवारीसाधनका चालकहरूमाथि पनि कडाइ गर्न थालिएको र विशेषगरी ट्राफिक लाइटको पालना नगर्ने चालकहरूलाई निगरानीमा राखेर धमाधम कारबाही भइरहेको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार ट्राफिक लाइट उल्लङ्घन गरेर रातो बत्ती बल्दा पनि सवारी नरोकी अघि बढ्ने चालकहरूलाई विशेष निगरानीमा राखिएको प्रवक्ता सुवेदीले बताए । उनले भने, “रातो बत्ती बल्दा नरोकीकन सवारी चलाउने, दिउँसै मापसे गरेर गाडी वा बाइक चलाउने चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरेका छौँ । चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनका दर्जनौँ चालकहरू कारबाहीमा परेका छन् ।”

    ट्राफिक प्रहरी प्रमुख अधिकारीका अनुसार आगामी दिनहरूमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता चेकजाँच अभियानलाई निरन्तरता दिइनाका साथै चालकहरूलाई सचेतना कार्यक्रममार्फत ट्राफिक नियम पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा सुरक्षित यात्रा सुनिश्चित गर्न आग्रह गरिने छ ।

    मापसे गरी सवारीसाधन चलाउने १२ जना कारबाहीमा

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत आज बिहान गरेको सप्राइज चेकिङका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारीसाधन चलाउने १२ जना चालकलाई कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा गरिएको उक्त चेकिङका मापसे सेवन गरी सवारीसाधन चलाउने भाडा बस दुई, विद्यालय बस एक, भाडा मिनी ट्रक दुई, भाडा सुमो एक, भाडा माइक्रो एक, भाडा टेम्पो एक, पर्यटक भ्यान एक र निजी कार तीन वटा गरी १२ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए । उनले भने, “आज हामीले विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ १२ जना चालकलाई कारबाही गरेका छौँ, हाम्रो अभियान निरन्तर जारी छ ।” यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले लागूपदार्थ तथा मादकपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बरमा खबर गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबैमा आग्रह गरेको छ ।

  • ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    काठमाडौँ, २२ चैतः नेपाल आयाल निगमनले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ”, प्रवक्ता ठाकुरले भने, “अहिले निगमलाई प्रतिलिटरमा रु १२० घाटा भइरहेको छ । सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अति आवश्यकबाहेकका क्रियाकलापमा इन्धन खपत गर्नु भएन ।”

    पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट दिनप्रतिदिन बढ्दै गएपछि आजको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन बिदा दिने निर्णय गरेको हो । इन्धन खपत कम गर्न डिजेल तथा पेट्रोल प्रयोग गर्ने गाडीलाई विद्युतीय सवारी साधन परिवर्तन गर्न कानुनी सुधार गर्ने सरकारको निर्णयबारे सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


    निगमको तथ्याङ्कअनुसार देशभर हरेक दिन २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ । निगमका प्रवक्ता ठाकुर सरकारको यो निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न आगामी एक हप्ता कुर्न पर्ने बताउँछन् । “बजारको माग बुझ्न केही समय लाग्छ, तर यसको प्रभाव पक्कै देखिन्छ”, उनले भने, “धेरै विद्यालय निजी छन् । तिनले सवारीसाधनबाट ठूलो मात्रामा इन्धन खपत भइरहेको छ । साथै एसइई परीक्षा जारी रहेकाले सवारीसाधनको प्रयोग अझै उच्च छ । परीक्षा सकिएपछि खपतको यकिन तथ्याङ्क आउछ ।”

    तत्कालका लागि सरकारको निर्णय ठिक छ, पर्याप्त हैनः अर्थशास्त्री

    सरकारको यो निर्णय तत्कालका लागि आवश्यक भएको अर्थशास्त्रीहरुको राय छ । तर दीर्घकालीन समाधान छिट्टै खोज्नपर्ने उनीहरुको सुझाब छ । अर्थशास्त्री इसान खरेल यो निर्णयलाई अपरिहार्य मान्छन् । उनले तत्काल थप अन्य उपाय अपनाउन आवश्यकता आँैल्याए । “अहिलेको अवस्थामा गर्नैपर्ने हो, अरु विकल्प छैन”, उनले भने, “सरकारले इन्धनमा लिने कर केही प्रतिशत घटाउनुपर्छ । यसले उपभोक्तालाई राहत दिन्छ । तात्विक भिन्नता नदेखिन पनि सक्छ । थोरबहुत सहयोगी होला । थोरै भए पनि बचत होला ।”

    अर्थशास्त्री खरेलले सार्वजनिक यातायातलाई प्रोत्साहन, विद्युतीय सवारीसाधनको विस्तार र भारतसँगको सीमा मूल्य मिल्ने गरी अतिरिक्त लागत कटौती गर्नुपर्ने सुझाव दिए । अर्का अर्थशास्त्री डा सन्तोष अधिकारीले यो निर्णय तत्कालका लागि उचित भएको प्रतिक्रिया दिए । “अहिलेको अभावको सन्दर्भमा यो ठिकै छ । यसले इन्धनमा केही सहज होला”, उनले भने, “नेपालमा सरकारी बिदा पहिले नै धेरै छ । थप बिदाले अध्यापन र उत्पादकत्वमा नकारात्मक असर पार्नसक्छ ।”

  • माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

    माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

    मुस्ताङ, २२ चैत । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ ।
    हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो । यहाँ पछिल्लोपटक परेको हिमपातसँगै जारी यामको यो छैटौँपटक हिमपात भएको बताइएको छ ।

    माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र–३ स्याङवचेदेखि कोरलानाकासम्मको क्षेत्रमा हिमपातले पूरै डाँडाकाँडा सेताम्मे भइसकेका छन् । उहाँका अनुसार माथिल्लो मुस्ताङमा बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ परेको उल्लेख गरे ।


    स्वाङवचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा, घारा, ढी र सुर्खाङलगायत स्थानमा छैटौँपटक भारी हिमपात भएको हो । हिमपातका कारण स्थानीय जनजीवन प्रभावित बनेको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए । “शनिबार रातिदेखि परेको हिमपात अझै रोकिएको छैन, हिउँ पर्ने क्रम निरन्तर छ, अझै पनि हिउँ पर्ने क्रम साँझसम्म रहेमा दुई फिट बढी हिउँ जम्ने अवस्था छ”, उनले भने ।


    जारी यामको छैटौँपटकको हिमपातका कारण माथिल्लो मुस्ताङमा उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएर सेताम्मे बनेका छन् । हिमपातसँगै माथिल्लो मुस्ताङमा तापक्रम घट्दै गइरहेको छ । यसका कारण स्थानीय नागरिक तथा पशुपालन गर्ने किसानलाई हिउँले सास्ती पुर्याएको छ । माथिल्लो मुस्ताङमा बर्सेनि एक बाली खेती हुन्छ । त्यहाँका नागरिक हिउँदयामको जाडो छलेर गाउँ फर्किएपछि बर्खेबाली लगाउने प्रचलन छ । बर्खेखेती सुरु हुने बेला हिमपात भएकाले किसानलाई फाइदा पुग्ने बताइएको छ ।

    त्यसैगरी, यहाँको वारागुङ मुक्तिनाथ क्षेत्रमा शनिबार राति हिमपात भएको छ । वारागुङ मुक्तिक्षेत्र–१ स्थित खिङ्गा, झारकोट, पुडाक, छेङ्गुर र मुक्तिनाथलगायत स्थानमा भारी हिमपात भएको मुक्तिनाथका स्थानीय कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । हिमपातका कारण मुक्तिनाथ दर्शनार्थीलाई आशिंक रूपमा केही अप्ठ्यारो भए पनि हिमपातको सौन्दर्यताले पर्यटकमा उत्साह थपिएको उनको भनाइ छ ।

    त्यसैगरी माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रमा भारी वर्षा भएको छ । घरपझोङका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार स्याउको फूल फुल्ने बेलामा भारी वर्षा भएकाले स्याउखेतीमा असर पुर्याएको बताए । “स्याउ बोटमा फूल फुल्न थालिसकेको छ, स्याउका फूलमा परागसेचन हुने समय पनि हो, अधिकृत थकालीले भने, “यस्तो बेलामा हिमपात र वर्षा हुनु किसानका लागि राम्रो होइन ।”

    जलवायु परिवर्तनको असर हिमाली जिल्लामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पर्न थालेको जानकारहरू बताउँछन् । यसअघि मुस्ताङमा लगातर तीन वर्ष हिउँ पर्न सकेको थिएन । यस सिजनमा छपटकसम्म हिउँ पर्नु जलवायुको असर भएको विश्लेषण गरिएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुँदा कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात र कुनै वर्ष हिउँ नै नपर्नेजस्ता प्राकृतिक असर देखिन थालेका हुन् ।

  • प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’

    प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’

    युवराज विष्ट–रासस
    भोजपुर, २२ चैतः जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका(४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित रहँदा यसको वास्तविक पहिचान स्थापित हुनसकेको छैन ।

    स्थानीय जनश्रुतिअनुसार परापूर्वकालमा एक महिला सुत्केरी हुने क्रममा सोही स्थानमा अलप भएपछि उक्त शिलाको उत्पत्ति भएको मानिन्छ । यही किंवदन्तीका आधारमा यस स्थानलाई ‘शिला सुत्केरी’ नाम दिइएको स्थानीय गङ्गाबहादुर खड्काले बताउनुभयो । हाल पनि उक्त ढुङ्गामा महिला सुत्केरी हुँदै गरेकोजस्तो आकृति स्पष्ट देख्न सकिने स्थानीयको दाबी छ । जसले यस स्थललाई थप रहस्यमय र आकर्षक बनाएको छ ।

    स्थानीय खड्काका अनुसार ‘शिला सुत्केरी’ धार्मिक आस्था र विश्वाससँग जोडिएको एक अद्भुतस्थल हो । “यो ठाउँ साँच्चिकै आश्चर्यजनक छ । यहाँको शिलामा सुत्केरी हुँदाको आकृति स्पष्ट देख्न सकिन्छ । विवाहपछि लामो समय सन्तान नहुने दम्पतीले यहाँ पूजा तथा दर्शन गरे सन्तान प्राप्त हुने विश्वासका साथ टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन्”, उनले भने ।


    उनका अनुसार केही दशकअघिसम्म यहाँ नियमित रूपमा मेला तथा धार्मिक महोत्सव लाग्ने गर्दथ्यो । विशेषगरी बालाचतुर्दशीका अवसरमा स्थानीय तथा छिमेकी जिल्लाबाट समेत भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको थियो । तर पछिल्लो समय ती गतिविधि क्रमशः घट्दै गएर अहिले लगभग बन्दजस्तै भएको छ, जसका कारण यस क्षेत्रको चहलपहल पनि घट्दै गएको छ ।

    ‘शिला सुत्केरी’को धार्मिक तथा सांस्कृतिक महत्वलाई व्यवस्थित रूपमा उजागर गर्न सके यसलाई देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ख्डकाको भनाइ छ । यहाँको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र ऐतिहासिक पृष्ठभूमिले धार्मिक पर्यटन प्रवर्द्धनका लागि ठूलो सम्भावना बोकेको छ । यस क्षेत्रको संरक्षणका लागि स्थानीय तहले केही पहल भने गरेको छ ।

    हतुवागढी–४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार वडाले सीमित स्रोतसाधनका बाबजुद घेराबारालगायत आधारभूत संरक्षणका काम सम्पन्न भएका छन् । “यो हाम्रो क्षेत्रको महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदा हो”, उनले भने, “वडाले सकेसम्म संरक्षणका काम अघि बढाएको छ, तर दीर्घकालीन विकासका लागि थप स्रोत, योजना र समन्वय आवश्यक छ ।”

    शिला रहेको जग्गा निजी स्वामित्वमा रहेकाले यसको समग्र विकास र संरक्षणमा जटिलता देखिएको छ । जग्गा व्यवस्थापनको समस्या समाधान हुन नसक्दा ठूला योजना कार्यान्वयन हुन नसकेको स्थानीय तहको भनाइ छ । वडाध्यक्ष विष्टका अनुसार गत आर्थिक वर्षमा केन्द्र सरकारबाट प्राप्त करिब रु एक करोड बजेट सोही कारण कार्यान्वयन हुन नसकी फिर्ता गएको थियो ।

    “बजेट आए पनि जग्गासम्बन्धी समस्या समाधान नहुँदा काम अघि बढाउन सकिएन”, उनले भने, “यदि यो समस्या समाधान गर्न सकियो भने यहाँ पूर्वाधार विकास, मन्दिर निर्माण, पदमार्ग, विश्रामस्थललगायतका काम अघि बढाउन सकिन्छ ।”

    स्थानीय सरोकार भएकाहरूका अनुसार ‘शिला सुत्केरी’लाई संरक्षणसँगै प्रभावकारी प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिनेछ । यसका लागि सरकारी निकाय, स्थानीय तह, पर्यटन व्यवसायी तथा समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनीहरुको भनाइ छ ।

    स्थानीय मानबहादुर राईले यस स्थलको दीर्घकालीन संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धनका लागि स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताए । “यसको ऐतिहासिक र धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्याउन सकियो भने भोजपुरको पर्यटन विकासमा ठूलो योगदान पुग्नेछ”, उनले भने ।
    गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले ‘शिला सुत्केरी’ हतुवागढी क्षेत्रकै महत्त्वपूर्ण धार्मिकस्थल भएको उल्लेख गर्दै यसको विकासमा गाउँपालिकाले प्राथमिकता दिएको बताए ।

    जग्गा निजी स्वामित्वमा रहेकाले पटकपटक माथिल्लो निकायबाट प्राप्त भएको बजेट कार्यान्वयन गर्न नसकिएको उनले जानकारी दिए । “जग्गा निजी स्वामित्वमा रहेकाले विकासमा समस्या देखिएको छ”, अध्यक्ष राईले भने, “यसलाई सरकारी स्वामित्वमा ल्याउन जग्गाधनीसँग विभिन्न माध्यमबाट पटकपटक छलफल गरिए पनि सहमति हुनसकेको छैन ।

    सोही कारण संरक्षणका ठूला काम ठेक्कामार्फत अघि बढाउन सकिएको छैन । यो वर्ष पनि प्रदेश सरकारबाट प्राप्त करिब रु एक करोड बजेट कार्यान्वयन हुन नसक्ने अवस्थामा पुगेको छ ।” ‘शिला सुत्केरी’जस्तो ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थलको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनमा ध्यान दिन सके यो स्थान राष्ट्रियस्तरको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन स्थानीय जानकारहरूको भनाइ छ ।

  • अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

    अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

    नारायणगढ (चितवन), २२ चैतः मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस गर्न चितवनको रामपुरमा मौरीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा चैत २३ देखि २७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा दिगो कृषि, खाद्य सुरक्षा र जैविक विविधता संरक्षणमा मौरीको भूमिकाबारे केन्द्रित छलफल गरिने आयोजकले जनाएको छ ।

    मौरीपालनका आधुनिक अभ्यास, वैज्ञानिक अनुसन्धान तथा अन्तरराष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको सम्मेलनअन्तर्गत तीन दिन प्राविधिक सत्र सञ्चालन हुनेछन् भने बाँकी दुई दिन मौरीपालनसम्बन्धी क्षेत्रको अध्ययन भ्रमण तथा अवलोकन गराइनेछ । सम्मेलनले मौरी स्वास्थ्य, परागसेचन सेवा, मौरीजन्य उत्पादनको गुणस्तर अभिवृद्धि तथा बजार विस्तारका सम्भावनाबारे व्यावहारिक र नीतिगत बहस अघि बढाउने अपेक्षा गरिएको छ ।

    सम्मेलनबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा पुष्कर पालले शिक्षण, अनुसन्धान र प्रसार विश्वविद्यालयका मूल उद्देश्य रहेको उल्लेख गर्दै तिनलाई अन्तरराष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार विश्वका करिब ७० प्रतिशत अन्नबालीको परागसेचन मौरीमार्फत हुने गर्दछ भने करिब एकतिहाइ खाद्यान्न उत्पादन मौरीमा निर्भर छ ।

    “मौरी असुरक्षित हुनु भनेको अन्न असुरक्षित हुनु हो”, प्राडा पालले भने । उनले जलवायु परिवर्तन, मौसमीय असन्तुलन र तापक्रम वृद्धिका कारण मौरीपालन क्षेत्रमा चुनौती थपिँदै गएको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताए । कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले यस्ता सम्मेलनले नवीन प्रविधि, अनुसन्धान र अनुभव आदानप्रदानका लागि साझा मञ्च प्रदान गर्ने बताउँदै यसले कृषि विकासमा टेवा पुग्ने धारणा राखे ।


    आयोजक संस्थाका डीन प्राडा अर्जुनकुमार श्रेष्ठले नेपाल मौरीपालनका लागि उपयुक्त देश रहेको उल्लेख गर्दै यहाँ विभिन्न प्रजातिका मौरी पाइने जानकारी दिनुभयो । नेपाल मौरीपालनका लागि अत्यन्त उपयुक्त देश रहेको बताउँदै यहाँ एपिस सेरेना, एपिस मेलिफेरा, एपिस डोर्साटा, एपिस फ्लोरिया र एपिस लेबोरियोसा गरी पाँच प्रजाति पाइने जानकारी दिए ।

    प्राडा श्रेष्ठका अनुसार मौरीपालन क्षेत्रमा रोग तथा कीराको व्यवस्थापन, जलवायु परिवर्तन, परागसेचक जीवको घट्दो सङ्ख्या तथा बजार व्यवस्थापनजस्ता चुनौती विद्यमान छन् । उहाँले सम्मेलनले यस्ता समस्याको समाधान खोज्दै नीतिगत सुधारका लागि वैज्ञानिक आधार तयार गर्ने विश्वास व्यक्त गरे ।


    सम्मेलनमा २० भन्दा बढी देशका करिब दुई सय ५० राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धानकर्ता, मौरीपालक तथा नीतिनिर्माताको सहभागिता रहने उनले जानकारी दिए । कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल मौरीपालक महासङ्घको सहकार्यमा हुने यस सम्मेलनले मौरीपालन क्षेत्रलाई सुदृढ बनाउँदै दिगो कृषि प्रणाली र खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

    सम्मेलनमा मौरीपालन तथा परागसेचनसँग सम्बन्धित प्रमुख विषयमा केन्द्रित छलफल गरिने श्रेष्ठले बताए । जसअन्तर्गत मौरीजन्य उत्पादनको औषधीय गुण, अनुसन्धान, गुणस्तर तथा अन्तरराष्ट्रिय व्यापारका सम्भावना, परागसेचन सेवाको महत्व, मौरीका वनस्पति स्रोत, जलवायु परिवर्तनको प्रभाव तथा जैविक विविधता संरक्षणका विषय समेटिनेछन् ।

    त्यसैगरी मौरीको जीवविज्ञान, व्यवहार, रोग तथा किट व्यवस्थापन, मौरी स्वास्थ्य संरक्षण र नयाँ प्रविधिको प्रयोगबारे पनि चर्चा गरिनेछ । मौरीपालनको सामाजिक(आर्थिक महत्व, बजार प्रणाली, उद्यमशीलता, महिला तथा युवाको सहभागिता र नीतिगत संरचनाका विषयमा समेत बहस हुने जनाइएको छ ।

    सम्मेलनअन्तर्गत विभिन्न प्राविधिक सत्र, पोस्टर प्रस्तुति तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ । अनुसन्धानकर्ताहरूको प्रस्तुति, प्रदर्शनी मह चखाउने कार्यक्रम तथा ‘पोस्टकन्फरेन्स’ गतिविधिसमेत समावेश गरिने प्राडा श्रेष्ठले जानकारी दिए ।

  • सुदूरपश्चिम प्रदेशः पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

    सुदूरपश्चिम प्रदेशः पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

    सिद्धराज भट्ट–रासस
    सुदूरपश्चिम, २० चैतः प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो ।


    यो प्रदेश भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र ऐतिहासिक तथा धार्मिक धरोहरका दृष्टिले भरिपूर्ण मानिन्छ । यहाँ थुप्रै सुन्दर र मन लोभ्याउने ठाउँहरू भए पनि घुम्ने पर्यटक कम छन् । विभिन्न तहका सरकारबाट पर्यटन प्रवर्द्धनका लागि बनाइने योजनाको प्रभावकारी कार्यान्वयन नहुँदा पर्यटन प्रवर्द्धनमा ठोस काम हुन नसकेको विज्ञहरूको भनाइ छ ।

    बाह्य पर्यटकहरू टिकाउन पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पर्यटन व्यवसायीले बताउँछन् । नीतिगत अस्पष्टता, जटिल कानुनी प्रक्रियालगायतका कारण पनि पर्यटकीय क्षेत्रको प्रवर्द्धन एवं विकास हुन नसकिरहेको उहाँहरूको भनाइ छ । पर्यटन व्यवसायी शिवहरि पाण्डेले सुदूरपश्चिम प्रदेशमा प्राकृतिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि पर्यटनका गतिविधि बढ्न नसकिरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “धेरै गन्तव्यस्थलमा न्यूनतम पूर्वाधार पनि पुर्याउन सकिएको छैन । ब्रान्डिङ गरेर समयानुकूल प्रचारप्रसारको अभाव छ, तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्चिम पुग्न सक्ने ‘कनेक्टिभिटी’को समस्या हुँदा पनि गतिविधि अपेक्षित बढ्न सकेको छैन ।”

    बाटोको असुविधासँगै पर्यटकीय क्षेत्रमा उचित बसोबासको व्यवस्था नहुँदा र कतिपय पर्यटकीयस्थलको पहिचान हुन नसकेर पनि कहाँ घुम्ने भन्ने अन्योलता पर्यटकमा देखिने गरेको छ । पर्यटन आर्थिक गतिविधिमात्र नभई युवा रोजगारी, स्थानीय उत्पादनको बजार, संस्कृति संरक्षण र क्षेत्रीय विकाससँग जोडिएको विषय पनि हो ।

    सुदूरपश्चिम प्रदेशका अन्तरराष्ट्रिय सीमानाका हुँदै नेपाल घुम्न आउने अधिकांश पर्यटकको यस प्रदेशमा बसाइँ हुँदैन । अध्यागमन कार्यालय कैलालीको तथ्याङ्कअनुसार तेस्रो मुलुक भएर नेपाल भित्रिने पर्यटक काठमाडौँ, पोखरा, मनाङ, मुस्ताङ, कागबेनीलगायतका ठाउँमा जाने गरेका छन् ।

    प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन एकाइका प्रमुख डबल रावलले पर्यटक प्रवर्द्धनका लागि योजनाबद्ध काम भइरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा पर्यटकीय क्षेत्रको विकासमा रु ६० करोड बजेट विनियोजन भएको छ, केही योजना निर्माणको प्रक्रियामा गइसकेका छन् ।”

    मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा विभिन्न सीमानाकाबाट आन्तरिक, भारतीय र तेस्रो मुलुकका गरी दुई लाख ५९ हजार ६८३ पर्यटक भित्रिएका छन् । त्रिनगर, गड्डाचौकी, खक्रौला, चिसापानी, दार्चुलालगायतका ठाउँमा पर्यटन सूचना केन्द्र सञ्चालनमा छन् । सीमानाकाबाट भित्रिनेमध्ये अधिकांश विदेशी पर्यटक सुदूरपश्चिममा बसाइ नगरी पूर्वी नेपालतर्फ घुम्न जाने गरेका छन् ।

    रावलले भन्नुभयो, “सीमानाकाबाट भित्रिनेमध्ये कतिपय धार्मिक पर्यटकहरू भने प्रदेशका पहाडी जिल्लाका धार्मिकस्थलमा पुग्ने गरेका छन् ।” आव २०८२–८३ मा प्रदेश सरकारले ‘पर्यटन पूर्वाधारः समृद्ध प्रदेशको आधार’ भन्ने नीति लिएको छ । यसअन्तर्गत प्रदेशभरि धार्मिक सास्ंकृतिक, ऐतिहासिक, पुरातात्विक र सिमासार तथा तालतलैया क्षेत्रको संरक्षण र विकासका लागि ‘बाँकावीर पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालनमा छ ।

    धार्मिक पर्यटन सर्किट निर्माण, खप्तड बडिमालिका मल्लिकार्जुन, सिगासधाम, रामारोशनजस्ता पर्यटकीय क्षेत्रको विकास कार्यक्रम र केबुलकार स्थापनाका लागि अध्ययन गर्ने कार्यक्रम पनि छ । थुप्रै मठमन्दिर एवं देवस्थल रहेकाले सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रूपमा चिन्ने गरिन्छ । प्रदेशसँग जोडिएको महाकाली नदीपारिको भारतको उत्तराखण्ड क्षेत्रलाई पनि देवभूमि मानिन्छ ।

    प्रसिद्ध धार्मिकस्थल अछामको वैद्यनाथ धाममा रावणले तपस्या गरेको किंवदन्ती छ । शिव प्रकट भएर स्वयंले रावणको घाँटी काटेपछि वैद्य आएर घाँटी जोडिदिएको कथन छ । भगवान् शिवको नाम त्यतिबेला वैद्यनाथ धामले परिचित रहेको जानकारको भनाइ छ ।

    यो धामसहित खप्तड क्षेत्र, बडिमालिका, अपी–नाम्पा हिमाल, शुक्लाफाँटा, घोडाघोडी ताल, रामारोशन, बडीकेदार, परशुराम धाम, शैलेश्वरी, उग्रतारा मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलासैनी, गोदावरी धाम, शिवपुरी धाम, बेहडाबाबा धामजस्ता थुप्रै पर्यटकीय क्षेत्र छन् । यस्तै कर्णाली नदीमाथि बनेको एकखम्बे पुल, महाकाली नदीमाथिको झोलुङ्गे पुलजस्ता आकर्षक गन्तव्यस्थलले अन्तरराष्ट्रिय पर्यटकसमेत आकर्षित गर्न सक्ने क्षमता राख्छन् ।

    विभिन्न प्रजातिका गुलाबका फूलको अवलोकन गर्न सकिने ठाउँका रूपमा चर्चित टीकापुर उद्यान चर्चित छ । यो ठाउँमा तत्कालीन राजा महेन्द्रले विसं २०२८ मा एक महिना बसेर राजकाज चलाउनुभएको इतिहास छ । यस्तै रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी तालसहित सयौँ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जङ्गली धानलगायतले यो क्षेत्र आकर्षक मानिन्छ ।

    जिल्लाको चुरे पहाडी क्षेत्रमा राणाकालीन समयमा बनेकाको गर्बा दरबार पनि छ । यो दरबार भने संरक्षणको अभावमा खण्डहर बनिसकेको छ । कैलालीको मोहना नदी र पथरैया नदी डल्फिनको अवलोकनका लागि चर्चित छ । साउन, भदौ महिनामा यी नदीमा डल्फिनको अवलोकन गर्न सकिन्छ ।

    कञ्चनपुरमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्घे झुण्डका साथै अन्य जीवजन्तुको अवलोकन गर्न सकिन्छ । कञ्चनपुरमा शिवलिङ्गको स्वरुपमा प्राकृतिक रूपमा बनेको लिङ्गा, वेतकोट ताल, डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला छ । डडेलधुराको अजयमेरूकोट दरबारले एउटा छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कलात्मक शैलीमा निर्माण गरिएका नौला (खानेपानीको परम्परागत धारा), देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ ।

    बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने देखिन्छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।

    समुद्री सतहबाट दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जलाई अति दुर्लभ दलदले घाँसेमैदानका रूपमा लिने गरिए पनि प्रचारप्रसार सोहनुसार हुन नसकेको प्रमुख रावलले बताउनुभयो । धुपिसल्ला र लालीगुराँसको जङ्गलका बीचमा रहेको पाटन, रङ्गीविरङ्गी फूलहरू, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जङ्गल खप्तडका मन लोभ्याउने आकर्षण हुन् । यस्ता प्राकृतिक दृष्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौँ खोला, त्रिवेणी सीतापाइला मन्दिर, त्रिवेणीधाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थपेको छ ।

    बाजुराको बडिमालिका प्राकृतिक तथा धार्मिक दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा रहेकाले यसको प्रचारप्रसार र प्रवर्द्धनमा तीनै तहका सरकारले योजनाबद्ध काम गर्नुपर्नेमा प्रमुख रावलले जोड दिनुभयो । भगवान् शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ ।

    नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् । यहाँका सौन्दर्य विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्न विशेष समयको पर्खाइ गर्नुपर्ने हुन्छ । यो ठाउँ समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको छ ।

  • गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

    गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

    काठमाडौँ, १९ चैतः गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन् । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी आज साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन् । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्किएका हुन् ।

    अनुगमनका क्रममा उहाँले सेवाग्राहीलाई कुनै प्रकारको सास्ती नपर्ने गरी काम गर्न सुरक्षा निकाय र विमानस्थलका कर्मचारीलाई निर्देशन दिए । विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए । गृहमन्त्री गुरुङले यात्रुको गुनासो दोहोरिन नदिन सचेत गराए । उनले सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन निर्देशन दिए ।