Category: घूमघाम

  • हुम्लाबाट कैलाश यात्रा सुरु, चार दिनमा भित्रिए १६९ तीर्थालु

    हुम्लाबाट कैलाश यात्रा सुरु, चार दिनमा भित्रिए १६९ तीर्थालु

    अदानचुली (हुम्ला), ३ जेठः वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ ।
    सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन् ।

    हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा १६९ तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो । उहाँका अनुसार वैशाख ३० गतेदेखि आउन सुरु गरेका यात्रीमध्ये चार दिनमा भारतीय १४७ र अन्य देशका २२ यात्री सिमकोटमा आएका हुन् ।

    प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट आइपुगेका छन् । आज आएका २३ जनामा कैलाश मानसरोवर जाने परमिट नभएका कारण सिमकोटमै बस्नुपरेको हो । गत चैत २१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण परमिट आउन ढिलाइ भएपछि २३ भारतीय तीर्थयात्री सिमकोटमै बस्ने भएका छन् ।

    मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आवागमन सुरु भएको चार दिनको सङ्ख्या हेर्दा सो सङ्ख्या बढ्ने विश्वास गरिएको छ । विसं २०७२ को महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटक आउन सुरु भएको थियो ।

    बीचमा कोरोना अवधिमा हिल्सानाका बन्द हुँदा पर्यटक आउन बन्द भएको थियो । गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष चार महिनामा ६ हजार ५०० भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिकयात्रा गरेका थिए । यस वर्ष गत वैशाख ३० गते पहिलोपटक तीर्थयात्री सिमकोट आइपुगेका थिए । रासस

  • मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला

    मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला

    कास्की, २ जेठः मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन् । हराएका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको थियो । सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायीसहितको टोली खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित ठूलो पहाडमुनि खोँचमा शव फेला पारेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए । उनका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा उद्धार टोली खोज्दै जाँदा भिरबाट धेरै तल कपडा देखेपछि तीन घण्टा लगाएर तल झरेको थियो ।

    अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकिएको बताए । “अप्ठ्यारो भूगोलका कारणले मानिसले बोकेर माथि ल्याउन सकिने अवस्था छैन । हेलिकप्टरबाट उद्धारका लागि प्रशासन, प्रहरी र गाउँपालिकालाई जानकारी गराएका थियौँ । चार घण्टासम्म कुर्दासमेत हेलिकप्टर नआएपछि हामी पुनः हाइक्याम्प फर्किएका छौँ,” तामाङले भने ।


    मर्दीको लोक्याम्पमा बास बसेर भोलिपल्ट समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित मर्दीको भ्युपोइन्ट पुगेका उनी ‘टिसप’मा आफ्नो झोला राखेर ‘केही बेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै’ निस्किएका थिए । भिक्षु साँझसम्म नफर्किएपछि भोलिपल्ट स्थानीयले खोजी गरेका थिए । दुई दिनसम्म खोजी गर्दा पनि हराएका व्यक्ति फेला परेका थिएनन् । शनिबार सुरक्षाकर्मी पुगेपछि स्थानीयसहितले पुनः खोजी अघि बढाएका थिए ।

  • लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    नवीन पौडेल–रासस
    काठमाडौँ, २ जेठः हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेको यो गाउँ परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ ।

    कच्ची सडक पार गर्दै जिपमार्फत गाउँ पुग्दा बाटोभरि देखिने हरिया पहाड, खोल्साखोल्सी र ग्रामीण जीवनशैलीले जो–कोही यात्रुलाई मोहित गराउँछ । गाउँ छिर्नासाथ ढुङ्गाले छाएका घर, आँगनकै छेवैमा सुकाइएका मकैका झुत्ता, फूलबारी र परम्परागत पहिरनमा देखिने स्थानीयले आगन्तुकलाई स्वागत गरिरहेका भेटिन्छन् ।

    क्व्होलासोथार गाउँपालिका उपप्रमुख यमिमाया गुरुङका अनुसार भुजुङमा हाल ३६२ घरधुरी छन् भने ३३ घरमा होमस्टे सञ्चालनमा छन् । “भुजुङ पर्यटकको रोजाइमा पर्न थालेको छ”, उनले भने, “विशेषगरी गुरुङ संस्कृति, मौलिक परिकार र प्राकृतिक जीवनशैली अनुभव गर्न आउने पर्यटकको सङ्ख्या बढिरहेको छ ।” गुरुङका अनुसार घरबास कार्यक्रमले गाउँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । घरबास (होमस्टे)बाट प्रत्यक्ष लाभ लिने घरधुरी मात्रै होइन, छिमेकीसमेत कृषि उत्पादन, स्थानीय परिकार, हस्तकला तथा अन्य सेवामार्फत लाभान्वित भइरहेका छन् ।

    गाउँमा अधिकांश खाद्यान्न अर्गानिक उत्पादन हुने गरेको छ । खेतबारी घर नजिकै रहेकाले होमस्टेमा बस्ने पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार पस्किने गरिएको छ । स्थानीयको मुख्य पेसा कृषि र वैदेशिक रोजगारी भए पनि पछिल्ला वर्षमा पर्यटन व्यवसाय आयआर्जनको महत्वपूर्ण आधार बन्दै गएको उपप्रमुख गुरुङले बताउनुभयो । गाउँपालिकाले भुजुङको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, जनचेतना तथा स्थानीयको क्षमता अभिवृद्धिमा सहकार्य गरिरहेको उहाँको भनाइ छ ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि भुजुङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्दै आएको स्थानीय बताउँछन् । सरसफाइ अभियान, पर्यावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत गाउँलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीका अनुसार आयोजनाले यस क्षेत्रको जैविक विविधता संरक्षणसँगै स्थानीयको जीविकोपार्जन सुधारका लागि काम गर्दै आएको छ । “पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउने प्रयास भइरहेको छ”, उनले भने । आयोजनाले लघुजलविद्युत् सञ्चालन, चियाबारी व्यवस्थापन तथा सरसफाइ अभियानमा स्थानीयलाई सहयोग गर्दै आएको छ । “गाउँलेसँग हातेमालो गरेर वातावरण संरक्षण र पर्यटन विकासमा सँगसँगै काम गरिरहेका छौँ”, रेग्मीले भने ।
    स्थानीयवासी गाउँ छाडेर बाहिर बसाइँ सर्नेक्रम अन्यत्रभन्दा कम रहेको पनि यहाँको विशेषता हो । गाउँमै कृषि, पर्यटन र अन्य साना व्यवसायबाट आयआर्जनको अवसर बढ्दै गएपछि अधिकांश स्थानीय आफ्नै ठाउँमा सक्रिय देखिन्छन । भुजुङका होमस्टे सञ्चालक हुमकुमारी गुरुङले पाहुनालाई गाउँकै उत्पादनबाट तयार गरिएका परिकार खुवाउने गरिएको बताइन् । “ढिँडो, कोदोको रोटी, लोकल कुखुरा, माछा, खसी, गाउँकै सागपात, निगुरो र अचार पाहुनाले मन पराउनुहुन्छ”, उनी थप्छिन्, “स्थानीय स्वाद र आत्मीय व्यवहारकै कारण धेरै पाहुना फेरिफेरि आउनुहुन्छ ।”

    भुजुङ केबल प्राकृतिक सौन्दर्यका कारण मात्र चर्चित छैन, यो गाउँ गुरुङ संस्कृतिको जीवित सङ्ग्रहालयका रूपमा पनि परिचित छ । यहाँ स्थानीय लोपोन्मुख सांस्कृतिक नृत्य अझै जोगाइएका छन् । विशेष अवसर र पर्यटकीय मौसममा स्थानीय युवा तथा अग्रज मिलेर सांस्कृतिक प्रस्तुति देखाउने गर्छन् । स्थानीय लालीगुराँस युवा क्लबका अध्यक्ष नौराजगुरुङका अनुसार असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखमा पर्यटकको चाप बढी हुन्छ । “सिजनमा घरबास भरिभराउ हुन्छ”, गुरुङ भन्छिन्, “विदेशीभन्दा आन्तरिक पर्यटक अहिले बढी आउन थालेका छन ।”

    भुजुङ पुगेका पर्यटकलाई गाउँको शान्त वातावरण, गुरुङ संस्कृति र आतिथ्यले आकर्षित गर्ने गरेको छ । काठमाडौँबाट घुम्न आउनुभएका सरस्वती गोतामेले गाउँमा पुग्दा आफूले पुरानो नेपाली जीवनशैली नजिकबाट अनुभव गर्न पाएको अनुभव सुनाइन् । “यहाँको वातावरण निकै शान्त र स्वच्छ छ, सहरको भीडभाडबाट टाढा केही दिन बस्नका लागि भुजुङ उत्कृष्ट गन्तव्य रहेछ”, उनले थपिन् । व्यवस्थित सडक हुने हो भने यहाँ पर्यटकको चाप बढ्ने उनको धारणा छ ।

    गाउँमा कृषिकर्म पनि चलिरहेको छ । गाउँमा प्रायः सबै मानिस व्यस्त रहेन गरेका छन् । कोही खेतबारीमा गोडमेल गर्दै गरेका त कोही हस्तकलाका सामग्री बुन्ने काममा समेत व्यस्त देखिन्छन् । बाँस, निगालो र ऊनबाट बनाइने सामग्रीले गाउँको मौलिकता झल्काउँछ । गाउँमा पर्यटन प्रवद्र्धनसँगै सडक, सञ्चार र खानेपानीजस्ता पूर्वाधार विस्तार हुँदै गए पनि स्थानीयले मौलिकता जोगाउन प्रयास भने गरेका छन् ।

    प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिको जीवन्त अभ्यास, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण भुजुङ अहिले लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । सहरको कोलाहलबाट केही समय टाढा रहेर गाउँको मौलिक जीवन अनुभव गर्न चाहनेका लागि भुजुङ आकर्षक रोजाइ बनेको छ ।

  • माल्दिभ्समा स्कुबा दुर्घटना, इटालीका पाँच नागरिकको मृत्यु

    माल्दिभ्समा स्कुबा दुर्घटना, इटालीका पाँच नागरिकको मृत्यु

    रोम, १ जेठ, रासस–एएफपी । इटालीको विदेश मन्त्रालयले बिहीबार माल्दिभ्समा ‘स्कुबा डाइभिङ’ का क्रममा भएको दुर्घटनामा पाँच इटालेलीको मृत्यु भएको जनाएको छ । स्कुबा डाइभिङ यात्राका क्रममा भएको दुर्घटनामा परी मालदिभ्सको भाभु अटोलमा इटालीका पाँच नागरिकको मृत्यु भएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, “गोताखोरले पानीको सतहदेखि करिब ५० मिटरको गहिराइमा पानीमुनि रहेका केही गुफाबारे जानकारी सङ्कलन गरिरहेका समय मृत्यु भएको विश्वास गरिएको छ।”

  • नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    म्याग्दी, १ जेठ स् म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको छ ।

    गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको रु २७ लाख बजेटमा उपभोक्ता समितिमार्फत भिरालो पाखाको उकालोमा पाँच सय मिटरभन्दा बढी रेलिङसहितको पदमार्ग निर्माण भएको नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए । “आर्थिक वर्ष २०७९र८० देखि सुरु भएको पदमार्ग निर्माणले यसपालि पूर्णता पाएको हो”, उनले भने, “सुरुको वर्ष रु १० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले यस वर्ष रु पाँच लाख छुट्याएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ मा रु सात लाख र २०८१र८२ मा रु पाँच लाख विनियोजन गरेको थियो ।”

    उपभोक्ताले विनियोजित बजेटको १० प्रतिशतबराबरको श्रमदान गरेर पदमार्ग बनाएका वडाध्यक्ष फगामीले बताए । एक दशमलव पाँच मिटर फराकिलो पदमार्गको डिलतर्फ रेलिङ राखिएको छ भने अधिकांश ठाउँमा ढलान गरेर पक्की बनाइएको छ । उकालो बाटोमा व्यवस्थित पदमार्ग नहुँदा चिप्लिएर लड्ने र दुर्घटनाको जोखिम थियो । पहाडको बीच भागमा रहेको थुम्कामा झरना अवलोकनस्थल बनाउन अन्नपूर्ण गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु २० लाख बजेट कार्यान्वयनमा समस्या भएको छ ।

    इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण योजना कार्यान्वयन गर्न नसकिएको वडाध्यक्ष फगामीले बताए । झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको छ । छ–सात वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो । हाल दैनिक एक सय जना स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकन गर्न आउने स्थानीय टकबहादुर पुनले बताए ।


    अन्य समयको तुलनामा बिदाको दिन पर्यटक बढी आउने गर्छन् । परिवार, सहकारी, विद्यालय, कलेज र विभिन्न सङ्घसंस्थाबाट सामूहिक भ्रमणमा आउने गरेका हुन् । नारच्याङ झरना सुन्दर, आकर्षक र मनमोहक रहेको अवलोकनमा पुगेकी पोखराकी रसिला पराजुलीले बताइन् । यो झरनाको उचाइ तीन सय मिटरभन्दा बढी छ । यहाँ इन्द्रेणीको पनि दृश्य देख्न सकिन्छ । पर्यटकले झरनासँगै तस्बिर, भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने भएकाले प्रचारप्रसारमा सहयोग पुगेको छ ।

    समुदायले नारच्याङ गाउँदेखि झरनासम्म पुग्ने कच्ची पदमार्ग, दृश्यावलोकनस्थल र घेराबार निर्माण गरेका छन् । झरनाको नजिकै रहेको भूमे देवताको थान नारच्याङवासीको धार्मिकस्थल हो । सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ । बेनी–जोमसोम सडकको नागढुङ्गादेखि पाँच मिनेट सवारीसाधन र ३० मिनेट पैदल हिँडेर झरनामा पुग्न सकिन्छ । झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सातवटा घरमा घरबास होमस्टे सञ्चालन भएको छ ।
    (((

  • मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    गोरखा, ३१ वैशाख । मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ । विश्वको आठौँ र नेपालको सातौँ यो हिमाल यस अवधिमा तीन हजार ६४३ आरोहिले आरोहण गरेका छन् । प्रथम पटक सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १६३ मिटर अग्लो मनास्लुमा मानवस्पर्श गर्न सफल भएका थिए । सन् १९७३ अप्रिल २२ मा पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ ।

    मनास्लु हिमाल आरोहण गर्न थालेको ७० वर्ष पुगेको अवसरमा हालै गोरखा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्वतारोहण सङ्घ, मनास्लु संरक्षण क्षेत्र आयोजनासँगको सहकार्यमा चुमनुब्री गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरियो ।

    सो अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गाउँपालिकाका प्रमुख निमा लामालगायतले प्रथम आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी र नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गर्नुभयो । साथै मनास्लुको काखमा अवस्थित चुमनुब्री–१ सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा र अन्य आरोहीहरु नाङ्स्याल छेदेन र डिकी लामालाई सम्मान गरियो । पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको थ्री डी फोटो लोकार्पण गरियो ।

  • विभिन्न हिमालमा पाँच जनाको मृत्यु

    विभिन्न हिमालमा पाँच जनाको मृत्यु

    काठमाडौँ, ३० वैशाख । सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ । पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले आज विज्ञप्ति जारी गरी सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा र मकालु हिमालमा पाँच आरोही तथा गाइडको मृत्यु भएको जानकारी दिए । विभागका अनुसार यही वैशाख २० गतेदेखि हालसम्म पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन नेपाली र दुई विदेशी छन् ।

    सगरमाथा क्षेत्रमा निधन हुनेमा सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पा, विजय घिमिरे र फुर गेल्जेन शेर्पा छन् । लाक्पा सेभेन समिट, घिमिरे ट्याग नेपाल, फुर गेल्जेन काइटु एक्सपिडिसनमा आबद्ध थिए । यस्तै, चेक रिपब्लिकका आरोही डेभिड रुभिनेक र अमेरिकी नागरिक जोहानेसेन शेलीको पनि मृत्यु भएको छ । आइएएम ट्रेकिङ कम्पनीमार्फत गएका डेभिडको मकालु दुई र सेभेन समिटमार्फत गएका जोहानेसेनको मकालुमा निधन भएको विभागले जनाएको छ ।

  • पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा

    पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा

    काठमाडौँ, वैशाख २९ गते । अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ ।
    आज यहाँ आयोजित छलफलमा हालसम्म होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार ५४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएका विभागले जानकारी दिएको हो ।

    प्रणालीमा ९४ वटा होटेल मात्र आबद्ध भएका पनि जानकारी दिइयो । यसैगरी प्रणालीमार्फत करिब एक लाख २५ हजार यात्रुको अभिलेख सङ्कलन भएको जनाइएको छ । उक्त प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौँका तारे होटेल र मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकमा लागू भएको छ ।

    विदेशी नागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको गतिविधिको अनुगमन तथा अपराध नियन्त्रण, मुलुक पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रणाली लागू गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । सबै होटेल सङ्घ र एसोसिएसनसँग नजोडिएका कारण प्रणालीमा आबद्ध हुने होटलको सङ्ख्या कम भएको, प्रणालीसम्बन्धी सचेतनाको कमी र साना होटल प्रणालीमा आबद्ध हुन नसकेका विषयमा पनि गम्भीर छलफल भएको उनले बताए ।
    आजको छलफलमा होटेलको अनुगमन गर्ने पर्यटन विभाग र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सेवाप्रदायकका अनुगमनकारी निकायले अनुगमनमा तीव्रता दिने निर्णय भएको प्रवक्ता ढकालले जानकारी दिए । “होटेललगायत अन्य प्रकृतिका सेवा प्रदायकहरुलाई प्रणालीमा आबद्ध गर्न विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ”, उनले भने, “यो प्रणाली राष्ट्रिय सुरक्षाको विषय पनि भएकाले यस प्रणालीमा सबैलाई आबद्ध हुन विभागले अन्य उपायको खोजी गरिरहेको छ ।”

    छलफलमा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोसिएसन नेपाल, होटल व्यवसायी महासङ्घ, पर्यटक प्रहरीलगायत निकायको सहभागिता रहेको थियो । त्यस क्रममा आन्तरिक राजस्व विभाग, पर्यटन विभागबाट होटेललाई प्रवाह हुने सेवासँग प्रणालीलाई आबद्ध गर्ने र प्रणालीमा आबद्ध भएका होटेलको सूची अध्यागमनको नेपाली पोर्टमा राखी भिसा आवेदन गर्दाकै बखत होटल छनोट गर्ने व्यवस्था लागू गर्नेलगायत विकल्पमा समेत छलफल भइरहेको जानकारी दिइयो ।

  • काठमाडौं अवतरणका क्रममा टर्किस एयरमा देखियो आगो

    काठमाडौं अवतरणका क्रममा टर्किस एयरमा देखियो आगो

    २८ वैशाख, काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो देखिएको छ । आगो दमकल प्रयोग गरी निभाइएको छ ।
    विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको छ ।

    सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । इस्तानबुलबाट काठमाडौं आएको जहाजमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो । उक्त विमान धावनमार्गमै रोकिएपछि अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ।

  • पर्यटन व्यवसायी लक्षित आठौं चिनियाँ भाषाको प्रशिक्षण सोमबारदेखि सुरु हुने

    पर्यटन व्यवसायी लक्षित आठौं चिनियाँ भाषाको प्रशिक्षण सोमबारदेखि सुरु हुने

    २५ वैशाख, काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरुलाई लक्षित गर्दै आठौं चिनियाँ भाषा कक्षाहरु आगामी सोमबारदेखि सञ्‍चालन हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन तथा चिनयाँ भाषा कक्षाको उद्घाटन समारोहमार्फत् नेपाल–चीनबीच पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने र नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित “नेपाली पर्यटन व्यवसायीहरूका लागि आठौं चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम” सञ्‍चालन हुने जानकारी गराइएको छ ।

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहकार्यमा सञ्चालन हुने छ महिने चिनियाँ भाषा प्रशिक्षणमा करिब ८० जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारी सहभागी हुने भएका छन् । प्रशिक्षण कक्षाहरु यही वैशाख २८ गते सोमबार बेलुका ५ देखि ७ बजेसम्म कक्षाहरु सञ्‍चालन हुनेछन् ।

    कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐर, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का प्रमुख हरिश्चन्द्र साह, चिनियाँ सांस्कृतिक केन्द्रका प्रमुख लिउ चाङपिङ ९ीष्भ श्जबलउष्लन० लगायत नेपाल पर्यटन बोर्डका पदाधिकारीहरु, पर्यटन क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्रालयका सचिव निरौलाले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनताबीचको पुल भएको उल्लेख गर्दै चिनियाँ भाषाको ज्ञानले विश्वकै ठूलो पर्यटन बजारसँग नेपाललाई जोड्ने बताए । “नेपाल भ्रमण गर्न चिनियाँ मित्रहरूलाई हार्दिक अनुरोध गर्दछु । पर्यटन विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनमा भाषाको योगदान अत्यन्त महत्वपूर्ण हुन्छ,” उनले भने ।

    नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक भएको उल्लेख गर्दै चिनियाँ पर्यटकहरूको प्रमुख रोजाइको गन्तव्य बनेको बताए । उनले अप्रिल महिनामा मात्रै ११ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आएको जानकारी दिँदै काठमाडौं उपत्यकाका विश्व सम्पदा स्थल, लुम्बिनी र हिमाली पदयात्राले चिनियाँ पर्यटकलाई आकर्षित गरिरहेको बताए । “चिनियाँ भाषा तालिम कार्यक्रम चीन–नेपाल जनस्तरीय आदानप्रदानको महत्वपूर्ण कार्यक्रम बनेको छ,” उनले भने, “यसले भविष्यमा चिनियाँ पर्यटकलाई नेपालको संस्कृति, जीवनशैली र सम्पदाका कथाहरू अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सहयोग गर्नेछ ।”

    नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले चिनियाँ भाषा प्रशिक्षणले पर्यटन क्षेत्रका जनशक्तिलाई व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे । उनले चीन नेपालका लागि महत्वपूर्ण पर्यटन साझेदार रहेको उल्लेख गर्दै चिनियाँ भाषाको ज्ञानले पर्यटक सेवा र आतिथ्य क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताए । “भाषाले संस्कृतिको अवरोध हटाएर अवसरको ढोका खोल्छ,” उनले भने, “यस भाषा प्रशिक्षणले नेपाल–चीन जनस्तरीय सम्बन्धलाई अझ बलियो बनाउँदै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”

    नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का प्रमुख हरिश्चन्द्र साहले सन् २०१६ देखि सुरु भएको प्रशिक्षण कार्यक्रमको आठौं संस्करणसम्म आइपुग्दा २८० भन्दा बढी पर्यटन व्यवसायीले चिनियाँ भाषा प्रशिक्षण प्राप्त गरिसकेको जानकारी दिए । उनले प्रशिक्षणले पर्यटन उद्योग विकाससँगै दुई देशबीचको मित्रतालाई अझ मजबुत बनाएको बताए ।

    “यो कार्यक्रम भाषा सिकाउने मात्र नभई नेपाल र चीनबीच आदानप्रदान र मित्रताको पुल निर्माण गर्ने अभियान हो,” उनले भने, “चिनियाँ भाषामा दक्षता नेपाली पर्यटन व्यवसायीका लागि आवश्यक सीप बन्दै गएको छ ।” चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमको अवधिभर सहभागीहरूले चिनियाँ भाषाको आधारभूत ज्ञानदेखि पर्यटक मार्गदर्शन, संवाद तथा व्यवहारिक प्रयोगसम्मका विषयमा प्रशिक्षण लिनेछन् ।

  • अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    ब्रसेल्स, वैशाख २४ । जलवायु परिवर्तनका कारण तीव्ररूपमा पग्लिदै गएको अन्टार्कटिकातर्फ आकर्षण बढेसँगै त्यहाँको नाजुक वातावरणमा प्रदूषण, रोग र पारिस्थितिकीय क्षतिको जोखिम पनि उल्लेखनीय रूपमा बढ्दै गएकोमा विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । पृथ्वीको सबैभन्दा दुर्गम र संवेदनशील भूभाग मानिने यो महाद्वीपमा ‘अन्तिम अवसर’ को सोचले पर्यटकको चाप तीव्र गतिमा बढिरहेको छ ।

    हालसम्म पर्यटक सङ्ख्या तुलनात्मकरूपमा कम देखिए पनि वृद्धि दर असाधारण छ । महँगो लागत र लामो यात्रा समयका बाबजुद पछिल्ला वर्षमा अन्टार्कटिकामा जानेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ, जसले वैज्ञानिक र वातावरणविद्लाई सतर्क बनाएको छ ।

    सन् २०२४ मा मात्र ८० हजारभन्दा बढी पर्यटकले महाद्वीपमा अवतरण गरेका थिए भने करिब ३६ हजारले जहाजमै बसेर अवलोकन गरेका थिए । विगत तीन दशकमा पर्यटन गतिविधि दस गुणाले बढेको तथ्याङ्कले देखाउँछ र आगामी दशकमा यो सङ्ख्या तीनदेखि चार गुणासम्म बढ्न सक्ने अनुमान गरिएको छ ।

    अन्टार्कटिकाको सबैभन्दा बढी भ्रमण गरिने क्षेत्र प्रायद्वीप हो । यो विश्वकै सबैभन्दा तीव्र तापक्रम वृद्धि हुने क्षेत्रमध्ये एक मानिन्छ । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सन् २००२ देखि २०२० सम्म हरेक वर्ष औसत १४९ अर्ब मेट्रिक टन बरफ पग्लिएको थियो, जसले यहाँको वातावरणीय असन्तुलन झन् तीव्र बनाएको छ ।

    पर्यटनसँगै स्वास्थ्य जोखिम पनि सतहमा देखिन थालेका छन् । हालै डच क्रूज जहाज एमभी होन्डियसमा दुर्लभ हान्ता भाइरसको घातक प्रकोप देखिएपछि विश्वव्यापी ध्यान आकर्षित भएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०का अनुसार उक्त जहाज अप्रिल १ मा अर्जेन्टिनाको उशुइयाबाट प्रस्थान गरी अन्टार्कटिका र वरपरका टापुहरूमा पुगेको थियो । सङ्गठनले जहाजमा मानव–देखि–मानव सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार पहिलो सङ्क्रमित व्यक्ति यात्रा अघि नै सङ्क्रमित भएको हुन सक्छ ।

    यसअघि पनि क्रूज जहाजमा रोगको जोखिम देखिँदै आएको छ । नोरोभाइरस जस्ता सङ्क्रमण सङ्कुचित स्थानमा छिटो फैलिने भएकाले जोखिम उच्च रहन्छ । सन् २०२० मा डायमन्ड प्रिन्सेस जहाजमा कोभिड–१९ फैलिँदा त्यस्तो यात्रा कति जोखिमपूर्ण हुन सक्छ भन्ने उदाहरण देखिएको थियो । हान्ता भाइरस सामान्यतया सङ्क्रमित मुसा वा घरमुसा जस्ता जनावरको फोहोरबाट सर्ने भए पनि यस घटनाले नयाँ चिन्ता थपेको छ ।

    पर्यावरणीय दृष्टिले पनि जोखिम बढ्दो छ । प्रवासी चराबाट एभियन फ्लू अन्टार्कटिकासम्म पुगेको तथ्य अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पुष्टि गरिसकेको छ । यस्तो अवस्थाले पर्यटकको गतिविधि अझ कडाइका साथ नियमन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

    अन्टार्कटिका टुर अपरेटरको अन्तर्राष्ट्रिय सङ्घलगायत संस्थाले पर्यटकका लागि कडा स्वच्छता र आचरण सम्बन्धी नियम लागु गरेका छन् । भ्रमणका क्रममा जनावरबाट दूरी कायम राख्ने, जमिनमा अनावश्यक सम्पर्क नगर्ने तथा जुत्ता र उपकरण पूर्णरूपमा सफा राख्ने निर्देश दिइन्छ । यात्रु र चालक दलले जुत्ता र सामग्रीमा टाँसिन सक्ने सूक्ष्म जीव, बिउ वा फोहोर हटाउन विशेष सरसफाइ उपकरण प्रयोग गर्ने गरेका छन् ।

    विज्ञहरूका अनुसार केही पर्यटक ‘अन्तिम अवसर पर्यटन’ को मनोवृत्तिका साथ त्यहाँ पुग्ने गर्छन्, जसले पग्लिँदै गएको दृश्यलाई प्रत्यक्ष हेर्ने चाहना राख्छन् । तर यही प्रवृत्तिले दीर्घकालीनरूपमा वातावरणमा थप दबाब सिर्जना गर्ने खतरा बढाएको छ । अन्टार्कटिका सन् १९५९ को अन्टार्कटिक सन्धिअनुसार शान्तिपूर्ण र वैज्ञानिक प्रयोजनका लागि मात्र प्रयोग गरिने क्षेत्र हो ।

    सन्धिले कुनै पनि भ्रमणले वातावरण वा वैज्ञानिक तथा सौन्दर्य मूल्यमा नकारात्मक असर पार्न नहुने स्पष्ट व्यवस्था गरेको छ । यद्यपि, पर्यटन तीव्ररूपमा बढ्दै जाँदा पुराना नियम पर्याप्त नहुने चिन्ता पनि व्यक्त हुन थालेको छ । वातावरणविद्ले अन्टार्कटिकालाई विश्वका अन्य संवेदनशील पारिस्थितिकीय क्षेत्र सरह कडाइका साथ नियमन गर्न आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार अहिलेको वृद्धि दरलाई बेवास्ता गरिए भविष्यमा यो अमूल्य भूभाग गम्भीर क्षतिको सामना गर्न सक्छ । रासस-एपी

  • अन्तुपोखरीको कथा भैंसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    अन्तुपोखरीको कथा भैंसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    रासस
    २२ वैशाख, इलाम । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन । वरिपरि घर थिएन । जङ्गल पनि थिएन । तर, दिउँसै रात परेजस्तो सुनसान हुन्थ्यो । त्यो बेला दिउँसै रातपर्ने अन्तु पोखरी आसपासमा अहिले मध्यरातसम्म उज्यालै हुन्छ ।

    ‘हामी केटाकेटी हुँदा २०–२२ भैँसी चराएको । अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत, छिरुवातिरका भैँसी चराउन र पानी खुवाउन यहाँ ल्याइन्थ्यो’, स्थानीय खगराज घिमिरेले भने, ‘दुई बजेपछि अन्धकार हुने । मान्छे हिँड्नै डराउँथे । भैँसी चराउनेहरु ढाप पोखरी ९अन्तु पोखरीको पुरानो नाम० मा पानी खुवाएर बेलैमा भैँसीलाई गोठ फर्काउँथे ।’

    त्योबेला काशीनाथ घिमिरे ९खगराजका बुवा०, तारानिधि घिमिरे, तीलविक्रम नेम्वाङ लगायतका सीमित घर थिए । त्यो पनि पोखरीभन्दा निकै परपर । सडक संरचना थिएन । गोरेटो बाटो थियो । तर, अहिले त्यही ठाउँ विश्वमै नाम चलेको पर्यटकीय गन्तव्य भएको छ ।

    पर्यटक डुङ्गा सयर गर्न र फिसिङ गर्न दिनहुँ आठ सयदेखि दुई हजारसम्म आउँछन् । साँझदेखि ‘स्पिकर’ बज्छ । मध्यरातसम्म म्युजिकमा झुम्छन् । खानु, पिउनु, नाज–गान गर्नु, क्याम फाएर गर्नु अन्तुको संस्कार भएको छ ।

    चरन क्षेत्रबाट पर्यटकीय गन्तव्यसम्मको परिवर्तन २०४० सालदेखि सुरु हुन्छ । त्यतिबेला कृष्णप्रसाद भट्टराई जिल्ला पञ्चायत सभापति थिए । जिल्ला पञ्चायतले रु २० हजार दिएपछि पोखरी संरक्षण अभियान सुरु भयो । पोखरी संरक्षणमा स्थानीय पनि जुटे ।

    ‘पोखरीको पूर्व र पश्चिमतर्फ पर्खाल लगाइयो । पानी जमाइयो । सरसफाइ गरियो’, खगराजले भने, ‘विसं २०५९ मङ्सिर २७ गते जिल्ला प्रशासन कार्यालयमा अन्तु पर्यटन विकास केन्द्र संस्था दर्ता भयो । त्यही संस्थाको नेतृत्वमा २०६२\६३ सालतिर नेपाल सरकारले रु ५५ हजार र पछि रु एक लाख ७० हजार बजेट दियो । त्यसले पर्खाल लगाउने र पानी जमाउने थप काम भएको थियो ।’

    पचासको दशकयता स्थानीय यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन कस्सिएर लागेका थिए । पोखरी बनेपछि स्थानीय मिलेर सुरुमा भारतको मिरिकबाट भाडामा डुङ्गा ल्याए । पछि कोलकता गएर दुई डुङ्गा किनेर ल्याएपछि सञ्चालन भयो ।

    विसं २०६२\६३ तिर तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले परेवा उडाएर पोखरीमा डुङ्गा सञ्चालन सुरु गर्नुभएको हो । त्यतिबेला डुङ्गा समितिले सञ्चालन गरेको थियो । अहिले नगरपालिकाले लगानी बढाएर पालिका मातहत सञ्चालन गर्छ । र, राम्रो आम्दानी गरिरहेको छ ।

    सङ्घीयतापछि स्थानीय सरकारको नजर अन्तुमा पर्‍यो । नगरपालिकाले अन्तुपोखरी र अन्तुडाँडाको पूर्वाधार विकास, संरक्षण र सौन्दर्यीकरणमा करिब रु पाँच करोड खर्च गरिसकेको पूर्वप्रमुख रणबहादुर राईले बताए ।

    ‘पोखरी वरिपरि हिँड्न नसकिने अवस्था थियो । हिलैहिलो । यहाँ आउने पर्यटक हिलोको पीरले पोखरी पस्न मन गदैनथे । खासै चहलपहल थिएन’, पूर्व प्रमुख राईले भने, ‘वरिपरि ट्रयाक बनाइयो । बत्ती लगाउने काम भयो । अहिले एकीकृत बस्तिको रुपमा काम अघि बढेको छ । विसं २०७४ मा हामी जनप्रतिनिधि भएर आउँदा खरले छाएका कटेज, होमस्टे अलि–अलि थिए । अहिले ठूलठूला होटल बनेका छन् । अन्तुमा हामीले करिब रु पाँच करोड खर्चेर पर्यटकीय ‘हब’ बनाएका हौं ।’

    पोखरीभन्दा माथि अन्तुडाँडा छ । जहाँबाट झुल्केघाम हेरिन्छ । अन्तुपोखरी र अन्तुडाँडा पर्यटकका लागि पर्याय हुन् । २०७४ सालमा अन्तुडाँडासम्म पुग्ने बाटो थिएन । ‘छिपिटारदेखि अन्तु भन्ने थियो । तर, सडक डिभिजन कार्यालयले भञ्ज्याङ (पोखरीभन्दा तलको ठाउँ)सम्म सडक लगेपछि छोडेर पैसा फिर्ता गर्न लागेको थियो । स्थानीय सरकारमा हामी गएपछि सडक नभई भ्यू टावर पुग्न सकिँदैन भनेर बाटो माथि पु¥याउने काम गर्‍यौं’, उनले भने, ‘अन्तु डाँडाको टावर अव्यवस्थित थियो । सङ्घीय र स्थानीय सरकारको समन्वयमा व्यवस्थित बनाइयो । खेल मैदानबाट डाँडा पुग्ने बाटो हिलाम्मे थियो । सोलिङरग्राभेल गरियो । अहिले पर्यटक सजिलै माथि पुग्छन् ।’

    अन्तुका अधिकांश क्षेत्रमा बत्तीको व्यवस्था गरिएको छ । त्यो बेला पर्यटकले टिकट काटेको आम्दानी एक वर्षमा रु एक लाख मात्र हुन्थ्यो । तर फोहरमैला धेरै । ‘आन्तरिक राजस्व बढाउन नगरपालिकाले आफ्नै कर्मचारी राखेर वार्षिक रु ५६ लाखसम्म राजस्व उठाउने काम गर्‍यो । पर्यटनसम्बन्धी मेला लगाइयो । प्रचारप्रसारको काम व्यापक भयो’, प्रमुख राईले भने ।

    हाल सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले ‘ब्युटिफिकेशन’को काम गरिरहेको छ । अहिले सघनले चाहिँ ब्युटिफिकेशनको काम, दुई नम्बर गेटबाट आउने बाटो ढलाइ, फुट ट्रायल बनाउने काम, घेराबारा बनाउने काम र रोड विस्तारको काम गरिरहेको आयोजनाका सब–इन्जिनियर प्रकाश चापागाईंले बताए ।

    अन्तु घुम्न आउने पर्यटक अहिले अन्तुपोखरीको सेरोफेरोमा घण्टौँ बिताउन थालेको व्यवसायी बताउँछन् । अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरे अहिले पर्यटक आउने ‘फ्लो’ बढेको बताउँछन् ।

    ‘दिनमा ८०० देखि दुई हजारसम्म पर्यटक आउँछन् ।अन्तु पर्यटन व्यवसायी सङ्घमा होटल कटेज र होमस्टे गरेर ११० वटा छन् । सामुदायिक होमस्टे ५० वटा छन् । नियमित सेवा दिने ३५ वटा छन्’, उनले थपे, ‘पर्यटन व्यवसायी सङ्घअन्तर्गतका होटलमा ३१० जना प्रत्यक्ष रोजगार छन् ।

    चियाबारीका थुम्काभित्रका सुन्दर कटेज, होमस्टे, बोटिङ, सिजनेवल फिसिङ, घोडचढी, यहाँका प्रमुख आकर्षण हुन् । हाल अन्तु पोखरीमा चार वटा डुङ्गा सञ्चालन हुन्छ । एउटा डुङ्गामा चार जना बस्छन् । एक जनाले एकपटक पोखरी परिक्रमा गरेको रु ५० तिर्नुपर्छ ।

    यो आम्दानी नगरपालिकाको हो । दिनभर डुङ्गा खाली बस्न पाउँदैनन् । सूर्योदय–सूर्यास्त दृश्यावलोकनका लागि अन्तुडाँडा चर्चित छ । अघिल्लो दिन आएर अन्तुपोखरी डुलघुम गर्ने, रातिसम्म नाचगान गर्ने र भोलिपल्ट बिहानै उठेर अन्तु डाँडामा झुल्केघाम हेर्ने पर्यटकको समय कार्यतालिका हुन्छ ।

    मेची राजमार्गको कन्यामस्थित छिपिटारबाट अन्तुको बाटो छुट्टिन्छ । त्यहाँबाट करिब ११ किलोमिटरमा रहेको अन्तुपोखरीमा अवलोकन गर्न लायक वस्तु धेरै छन् । सडक कालोपत्रे भएको छ । जिप, कार, भ्यान र मोटरसाइकलमा कन्यामबाट अन्तु जान सकिन्छ ।

    अन्तुको झुल्केघामको याम भदौ अन्तिममा सुरु हुन्छ । मौसम खुले पुस–माघ र वैशाखसम्म यो सिजन रहन्छ । अन्तुबाट देखिने सूर्योदय चित्ताकर्षक मानिन्छ । यहाँबाट सूर्योदय हेर्न बर्सेनि सयौं स्वदेशी र विदेशी आउँछन् । ग्रामीण पर्यटनमा पूर्वको खचाखच रहने पर्यटकीय क्षेत्र भएको छ अन्तु ।

    अन्तुबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देखिन्छ । यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायत बजार वरिपरि झैँ लाग्छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ ।

    भारतको पश्चिम बङ्गालका सयौँ पर्यटक वर्षेनी यहाँ आउँछन्, दुई–चार रात बिताउँछन् र जान्छन् । तराई क्षेत्रमा गर्मी बढेकाबेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको घुइँचो नै लाग्छ । नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बङ्गालबाट बढी पर्यटक आउँछन् । कतिपय स्कुलका विद्यार्थी समूहसमेत अध्ययन भ्रमणमा यहाँ आउने गरेका छन् ।

    सूर्योदय नगरपालिकाले पर्यटनबाट नै आर्थिक समृद्धि खोजिरहेको कार्यवहाक नगरप्रमुख दुर्गा कुमार बरालले बताए । ‘अन्तु र कन्याम मात्र होइन यहाँका हरेक वडा हरेक गाउँ पर्यटकीय छन् । कृषिउपज, जडीबुटी, लोपन्मुख रेडपाण्डा, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थानले सूर्योदय पर्यटकीय ठाउँ हो । कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरेको छ । अन्तु र कन्याम हाम्रा प्रमुख गन्तव्य हुन् । तर, अन्य ठाउँलाई समेत पर्यटनमा विकास गर्दै लैजान्छौँ । हाम्रो आर्थिक समृद्धिको प्रमुख आधार नै पर्यटन हो’, उनले भने ।

  • एटलान्टिक महासागरमा पानीजहाज भित्र ३ को मृत्यु, हान्ता भाइरस पुष्टि

    एटलान्टिक महासागरमा पानीजहाज भित्र ३ को मृत्यु, हान्ता भाइरस पुष्टि

    २१ वैशाख, काठमाडौं । एटलान्टिक महासागरमा सञ्चालित एक पानीजहाजमा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये कम्तीमा एक जनामा मुसाबाट सर्ने दुर्लभ रोग ‘हान्ताभाइरस’ पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार अर्जेन्टिनाको उशुआयाबाट केप भर्डेतर्फ गइरहेको एमभी होन्डियस क्रुज जहाजमा हान्ताभाइरसको सम्भावित प्रकोपबारे अनुसन्धान भइरहेको छ । आइतबार सार्वजनिक वक्तव्यमा डब्लूएचओले एक जनामा संक्रमण पुष्टि भएको र थप कम्तीमा पाँच जना यात्रुमा संक्रमणको आशंका गरिएको जनाएको छ ।

    ‘६ जना प्रभावितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने एक जना दक्षिण अफ्रिकामा सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्,’ वक्तव्यमा उल्लेख छ । डब्लूएचओका अनुसार थप प्रयोगशाला परीक्षण तथा महामारीसम्बन्धी अनुसन्धान जारी छ । यात्रु र चालक दललाई आवश्यक स्वास्थ्य सेवा तथा सहयोग उपलब्ध गराइँदैछ भने भाइरसको जिन सिक्वेन्सिङ पनि भइरहेको छ । साथै, लक्षण देखिएका अन्य दुई यात्रुलाई उद्धार गर्न देशहरूबीच समन्वय गरिरहेको जनाएको छ ।

    हान्ताभाइरस संक्रमित मुसाको दिसा वा पिसाबमार्फत मानिसमा सर्ने दुर्लभ रोग हो । गम्भीर अवस्थामा यसले रगत बग्ने ज्वरो (हेमोरेजिक फिभर) निम्त्याउन सक्छ र ज्यानसमेत जान सक्छ।

    दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले आइतबार यसअघि ‘गम्भीर तीव्र श्वासप्रश्वास सम्बन्धी रोग’को प्रकोप भएको र कम्तीमा दुई जनाको मृत्यु भएको जनाएको थियो । तेस्रो व्यक्ति जोहानेसबर्गमा आईसीयूमा उपचाररत रहेको समाचार संस्था एएफपीले जनाएको छ । मन्त्रालयका प्रवक्ता फोस्टर मोहालेका अनुसार जोहानेसबर्गमा उपचाररत बिरामीमा हान्ताभाइरस पुष्टि भएको छ ।

    पहिलो पटक लक्षण देखिएका ७० वर्षीय पुरुषको जहाजमै मृत्यु भएको थियो । उनको शव हाल दक्षिण एटलान्टिकस्थित बेलायती क्षेत्र सेन्ट हेलेना टापुमा राखिएको छ । उनकी ६९ वर्षीया श्रीमती पनि बिरामी परेपछि दक्षिण अफ्रिका लगिएको थियो, जहाँ उनको जोहानेसबर्गस्थित अस्पतालमा मृत्यु भएको मोहालेले जानकारी दिएका छन् । मृतकहरूको राष्ट्रियता हालसम्म पुष्टि नभएको जनाइएको छ । तर आईसीयूमा रहेका बिरामी ६९ वर्षीय बेलायती नागरिक भएको एएफपीले जनाएको छ ।

  • ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ सुरु

    ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ सुरु

    १८ वैशाख, काठमाडौं । पहाडकी रानी भनेर परिचित बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ शुक्रबारदेखि सुरु भएको छ । ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र स्थानीय समुदायसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित आयोजित चार दिने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गरेकी छन् ।

    औपचारिक उद्घान अघि बन्दीपुर बजार क्षेत्रमा गण्डकी प्रदेशका ११ जिल्लाका १९ वटा होमस्टेहरूको सहभागितामा र्‍याली आयोजना गरिएको थियो । स्थानीय कला, संस्कृति र पर्यटनको पहिचान झल्काउने झाँकीसहितको र्‍यालीपछि औपचारिक कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटन व्यवसायी, विभिन्न सरोकारवाला निकाय, सञ्चारकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

    औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिमालले बन्दीपुरमा आयोजित पर्यटन मार्टले स्थानीय कला, संस्कृति प्रवर्द्धन गर्नुका साथै रोजगारी र आयआर्जन बढाउने विश्वास व्यक्त गरिन् । ‘नेपालमा संघीयता कार्यान्वयनसँगै विकासको विकेन्द्रीकरण भएको छ । स्थानीय सरकारले आफ्नो गाउँ निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन् । गाउँ बलियो बने मात्र समग्र समृद्धिको आधार तयार हुन्छ’ उनले भनिन्, ‘गाउँ बलियो बनाउने प्रमुख आधार नै पर्यटन हो । स्थानीय समुदायलाई पर्यटनसँग जोड्न आवश्यक छ ।’ उनले स्थानीय रोजगारी सिर्जना गर्नका लागि पर्यटन महत्त्वपूर्ण साधन भएको बताइन् ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ_ दीपकराज जोशीले पछिल्लो समय समुदायसँग जोडिने पर्यटन प्रवृत्ति विश्वभर बढ्दो क्रममा रहेको उल्लेख गर्दै त्यसबाट लाभ लिन नेपालले तयारी बढाउनुपर्ने धारणा राखे । ‘नयाँ अनुभूति गर्ने र समुदायसँगै इन्गेज हुने ट्रेन्ड बढिरहेको छ । यसका लागि हामीले पर्यटन चेतना विस्तार गर्ने, खोज गर्ने र पर्यटन अभ्यासका कामलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘हाम्रा परम्परागत सिप, ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता छ ।’

    नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्टले पर्यटन बोर्डले सधै ग्रामीण पर्यटनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । ‘ग्रामीण पर्यटन नै नेपालको वास्तविक पहिचान हो, यसलाई अझ सशक्त बनाउन यस्ता कार्यक्रम आवश्यक छन्,’ उनले भने । बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले गाउँका कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मार्ट आयोजना गरिएको स्पष्ट पारेका छन् । ‘बन्दीपुरको थुम्का पर्यटनलाई थप प्रवर्द्धन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘होमस्टेसम्म पर्यटक पुर्‍याउन र ग्रामीण पर्यटन सर्किट जोड्न ‘गाउँ सफारी’ले पनि उल्लेखनीय भूमिका खेलेको छ ।’

    कार्यक्रममा आगामी वर्ष ‘गाउँ पर्यटन मार्ट’ गोरखामा आयोजना गरिने घोषणा गर्दै बन्दीपुर गाउँपालिकाले गोरखा नगरपालिकालाई औपचारिक रूपमा फ्ल्याग हस्तान्तरण गरेको छ । फ्ल्याग ग्रहणपछि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले आगामी संस्करण सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    ‘ऐतिहासिक गोरखा अहिले केही ओझेलमा परेको छ, गाउँ पर्यटन मार्टले यसलाई पुनः उजागर गर्न सहयोग गर्नेछ,’ उनले भने, ‘एक पटक गोरखा आएर घुम्न सबैलाई आग्रह गर्दछु ।’

    गाउँ पर्यटन प्रवर्द्धन मञ्च, गण्डकी अध्यक्ष शोभा सापकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरिन् । कार्यक्रमले ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास आयोजकको छ। चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम वैशाख १६ र १७ गते तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ मा रहेको रुम्सी सामुदायिक होमस्टे र रामकोट सामुदायिक होमस्टेलगायतका क्षेत्रमा परिचयात्मक भ्रमण गरिएको थियो । नेपालमा पहिलो पटक सफारी मार्फत् ग्रामीण क्षेत्रको अवलोकन भ्रमण गराइएको थियो । स्थानीय पर्यटन व्यवसायी वसन्त पौडलको संयोजकत्वको टोलीले पहिलो दिन आगन्तुकहरूको स्वागतसँगै स्थानीय होमस्टेहरूको अवलोकन गराएका थिए ।

    त्यसैगरी दोस्रो दिन बन्दीपुरका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण र सांस्कृतिक साँझ आयोजना गरिएको थियो । शुक्रबार औपचारिक उद्घाटनसँगै ‘बीटुबी’ बैठक तथा नेटवर्किङ सत्र सञ्चालन गरिएको छ । जसबाट पर्यटन व्यवसाय विस्तार र सहकार्यका नयाँ सम्भावनाका ढोका खोल्‍ने अपेक्षा गरिएको छ । त्यसैगरी कार्यक्रम शनिबार समापन गरिनेछ ।

  • नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

    नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

    १६ वैशाख, काठमाडौं । पछिल्लो समय पश्‍चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ । सोही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।

    नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) ले नयाँ दिल्लीमा भारतका लागि नेपाली राजदूतावाससँगको सहकार्यमा ‘नेपाल डेस्टिनेशन वेडिङ एन्ड ओटीएज कनेक्ट’ कार्यक्रम आयोजना गरेको हो । वैशाख १५ र १६ मा आयोजित दुईदिने कार्यक्रममा नेपाल र भारतका पर्यटन तथा वेडिङ इन्डस्ट्रीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    यस कार्यक्रममार्फत नेपाललाई सांस्कृतिक समृद्धि, प्राकृतिक सौन्दर्य र परम्परागत वैवाहिक संस्कारको अद्वितीय संयोजन भएको ‘ड्रिम वेडिङ डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने प्रयास गरिएको छ । कार्यक्रममा २१ नेपाली प्रतिष्ठित कम्पनीहरू र ४५ वटा भारतीय वेडिङ प्लानरहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा सहभागी बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले जानकारी दिएका छन् ।

    वरिष्ठ अधिकृत रेग्मीका अनुसार नेपाली प्रतिनिधिहरुले नेपालमा वैवाहिक समारोहका लागि आवश्यक उच्चस्तरीय होटल, रिसोर्ट तथा सेवाहरूबारे प्रस्तुती र प्रचारप्रसार गरेका छन् । त् बी–टु–बी बैठक, प्रस्तुति, नेटवर्किङ र छलफलमार्फत नेपाल–भारतबीच वैवाहिक पर्यटन सहकार्य विस्तार गर्ने आधार तयार गरेको उनले जनाएका छन् ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक राज जोशीले वैवाहिक पर्यटन नेपालको लागि उच्च सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै भने, “नेपालमा वैवाहिक पर्यटनको अपार सम्भावना छ, जहाँ विलासी रिसोर्टदेखि प्राकृतिक तथा सांस्कृतिक सम्पदासम्मका विविध गन्तव्य उपलब्ध छन् ।” पर्यटन बोर्डका यस किसिमका प्रयासहरूले पर्यटक संख्या वृद्धि मात्र होइन, उच्च मूल्य ९हाइ–भ्यालु० पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनुका साथै समग्र अर्थतन्त्र र अन्य सहायक क्षेत्रहरूमा सकारात्मक प्रभाव पार्ने सीईओ जोशीको विश्‍वास छ ।

    कार्यक्रममा होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले नेपाल र भारतबीचको सहकार्यले वैवाहिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी इन्डियन वेडिङ प्लानर एसोसिएसनका अध्यक्ष निरज धवनले भारतीय बजारमा डेस्टिनेशन वेडिङप्रतिको बढ्दो आकर्षणले नेपालका लागि ठूलो अवसर सिर्जना गरेको धारणा व्यक्त गरेका छन् । त्यसैगरी नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा। सुरेन्द्र थापाले नेपाल–भारतबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै यस्तो कार्यक्रमले द्विपक्षीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतम र वरिष्ठ अधिकृत रोविन रेग्मीको सहभागिता रहेको थियो । जसमा बोर्डको तर्फबाट निर्देशक गौतमले बढ्दो वैवाहिक पर्यटन क्षेत्र उल्लेख गर्दै पूर्वीय सभ्यतामा विवाहको दर्शनले बोकेको सांस्कृतिक महत्वबारे जानकारी गराएका छन् । उनले नेपालले भारतजस्तो सांस्कृतिक रूपमा समृद्ध बजारका लागि उत्कृष्ट वैवाहिक गन्तव्य सिर्जना गर्न सक्ने क्षमता रहेकोसमेत उल्लेख गरेका छन् । “हाम्रा आकर्षक गन्तव्यहरू, आतिथ्य सत्कार र जीवन्त संस्कृतिसहित हामी भारतीय वेडिङ प्लानर तथा उनीहरूका ग्राहकहरूलाई नेपालको अद्भुत अनुभव दिलाउन तयार छौं,” उनले भने ।

    नेपाल पर्यटन बोर्डको पछिल्ला तथ्यांक हेर्ने हो भने पनि भारत नेपालको प्रमुख पर्यटन स्रोत बजारको रूपमा रहेको छ । सन् २०२५ को पर्यटक आगमनको तथ्यांक अनुसार नेपाल आउने कुल पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् २ लाख ९२ हजार ४३८ भारतीय रहेका छन् । सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५१ पर्यटक नेपाल भित्रिएका थिए ।

    भारतीय बजारलाई लक्षित गरी वैवाहिक पर्यटन प्रवर्द्धन गर्न सके उच्च खर्च गर्ने पर्यटक भित्र्याउने तथा वर्षभरि पर्यटन गतिविधि सन्तुलित बनाउने विश्वास गरिएको बोर्डका वरिष्ठ अधिकृत रेग्मीको विश्‍वास छ । कार्यक्रमले नेपाललाई केवल पर्यटन गन्तव्य मात्र नभई सांस्कृतिक अनुभव, विलासी सेवा र अविस्मरणीय वैवाहिक अनुभव प्रदान गर्ने केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

  • काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’

    काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’

    काठमाडौँ, वैशाख १६ गते । यस वर्ष २५७० औँ बुद्ध जयन्तीका अवसरमा काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ सुरु गरिएको छ । महासिद्ध स्यान्चुरी फर युनिभर्सल पिसले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूबाट आजदेखि सुरु गरिएको यात्रा यही वैशाख १८ गते बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा पुगेर सम्पन्न हुनेछ । नेपाल पर्यटन बोर्डले समन्वयमा विश्व शान्तिको पवित्र भूमि लुम्बिनीबाट शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यसहित सुरु भएको यात्रामा १०८ जना साइकल यात्री सहभागी छन् ।

    सहभागीरू बुद्ध जयन्तीको दिन लुम्बिनीमा हुने विशेष समारोहमा मायादेवी मन्दिरमा पूजा, बोधिवृक्ष अगाडि ध्यान, विश्वशान्तिका लागि विशेष प्रार्थना तथा दीप प्रज्वलनमा सहभागी हुनेछन् । यात्रामा सहभागीले विश्वशान्ति तथा मानव कल्याणका लागि प्रार्थना, शान्ति, करुणा र चेतनाको सन्देश प्रवाह गर्ने आयोजक संस्थाका संरक्षक एवं बौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेले जानकारी दिनुभयो ।

    त्यस अवसरमा विगत चार दशकदेखि विश्वभर शान्ति र बौद्ध शिक्षाको प्रचार–प्रसारमा सक्रिय रिन्पोछेद्वारा लिखित पुस्तक ‘टू पाथ टू पर्फेक्ट फ्रिडम’को सार्वजनिकीकरण गरिने जनाइएको छ । यात्रा अवधिभर ‘गोइङ ग्रिन’ अवधारणाअनुसार कार्बन उत्सर्जन घटाउने तथा पर्यावरण संरक्षणबारे जनचेतना फैलाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । रासस

  • पर्यटन विभागले सगरमाथा आधार शिविरमा खोल्यो फिल्ड कार्यालय

    पर्यटन विभागले सगरमाथा आधार शिविरमा खोल्यो फिल्ड कार्यालय

    १५ वैशाख, काठमाडौं । पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । जारी ऋतुको आरोहण नियमन, सहजीकरण र समन्वयका लागि विभागले यस्तो कार्यालय हरेक वर्ष खोल्ने गर्छ । अहिले सगरमाथा आधार शिविरमा ६ सय हाराहारी आरोही पुगेका छन् । साथै उनीहरुका शेर्पा गाइड, सहयोगी कर्मचारी र नियमनकारी निकायका कर्मचारीसहित ठूलो संख्यामा आधार शिविर पुगेका छन् ।

  • लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

    लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

    मुस्ताङ, वैशाख १३ गते । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आज जोमसोममा लेक लागेर मृत्यु भएको हो । भारतबाट भानु मठ्ठीसहित २४ जनाको टोली मुक्तिनाथ दर्शनका लागि जोमसोम आइपुगेको थियो । मुस्ताङको घरपझोङ गाउँपालिका९(४ जोमसोमस्थित होटल प्राइड अगाडि गाडीबाट ओर्लिने क्रममा मठ्ठीलाई लेँक लागेर अचानक श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय पर्यटक मठ्ठीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पुर्‍याएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका उनले जानकारी दिए । योसँगै मुस्ताङमा चालु आवको भदौदेखि हालसम्म पाँच विदेशी पर्यटकसहित आठ जनाको हाइ अल्टिच्युडका कारण लेँक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार भारतीय पर्यटक चार, मेक्सिकोका एक र तीन जना नेपाली पर्यटकको लेँक लागेर मृत्यु भएको हो । रासस

  • आरोहण अनुमतिबाट एक अर्ब माथि रोयल्टी संकलन

    आरोहण अनुमतिबाट एक अर्ब माथि रोयल्टी संकलन

    काठमाडौँ, वैशाख १३ गते । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण अनुमतिबाट एक अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि शनिबारसम्म जारी भएका ३० हिमाल आरोहण अनुमतिबाट एक अर्ब दुई करोड ८८ लाख ९३ हजार २३६ रुपियाँ राजस्व सङ्कलन भएको हो ।

    विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्तयामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीसँगै यस वर्ष राजस्व सङ्कलनमा समेत बढेको छ । उनका अनुसार शनिबारसम्म १११ समूहका ७०१ पुरुष र ३४३ महिना गरी ९४४ आरोहीले हिमाल चढ्ने अनुमति लिएका छन् । यो सिजनमा पर्वतारोहणका लागि विशेष आकर्षण रहने सगरमाथा आरोहणका लागि सबैभन्दा बढी राजस्व सङ्कलन सगरमाथाबाट ८९ करोड तीन लाख ९३ हजार ९२५ रुपियाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।


    सगरमाथा आरोहण गर्न मात्रै यो सिजनमा ४१ समूहका ३१३ पुरुष र ९७ महिला गरी ४१० आरोहीले अनुमति लिएको उनले बताए । विभागले गत फागुन १७ देखि यो यामका लागि आरोहण अनुमति खुला गरेकोमा शुक्रबारसम्म नेपालसहित ७६ देशका आरोहीले अनुमति लिएका हुन् । जसमध्ये सगरमाथा आरोहणका लागि अनुमति लिएका नेपालसहित ५४ देशका आरोही सगरमाथा आधार शिविरमा आरोहणको बाटो खुल्ने प्रतीक्षामा छन् ।

    यस याममा हिमाल आरोहण गर्न सबैभन्दा बढी चीनबाट १२७, अमेरिकाबाट एक सय, भारतबाट ७१, जर्मनीबाट ६५, बेलायतबाट ६४, रुसबाट ६० जनाले अनुमति लिएका छन् । सरकारले २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ देखि नयाँ शुल्क कायम गरेपछि शरदयामदेखि आरोहण शुल्कमा बढोत्तरी भएको हो ।

    विगतका शरद ऋतुमा साढे सात करोडको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकोमा १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु भएपछि यस वर्षको उक्त याममा राजस्व तेब्बरले बढेर साढे २५ करोडभन्दा बढी रुपियाँ सरकारी कोषमा दाखिला भएको थियो ।

  • बिपी राजमार्ग बन्द : यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

    बिपी राजमार्ग बन्द : यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

    बनेपा, वैशाख १२ गते । काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बिपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रवीन विष्टले रोशी खोलाको माथिल्लो क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि राजमार्ग बन्द गरिएको जानकारी दिए ।

    उनले मौसममा सुधार नभएसम्म र प्रहरीले अर्को सूचना जारी नगरेसम्म राजमार्ग बन्द रहने बताए । प्रहरीले राजमार्गको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। गत वर्ष असोज दोस्रो साताको बाढीका कारण बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक खण्डमा ठुलो क्षति पुगेको थियो।

    बाढीले क्षति पुर्‍याएको उक्त सडकको पुनर्निर्माण कार्य जारी रहे पनि तत्कालका लागि रोशी खोलाको किनारबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ। वर्षा हुनेबित्तिकै खोलामा पानीको सतह बढ्ने र डाइभर्सन बगाउने जोखिम रहने भएकाले सुरक्षाका लागि राजमार्ग बन्द गरिँदै आइएको छ।

  • छायाँनाथ अल्ट्रा रेस जेठमा

    छायाँनाथ अल्ट्रा रेस जेठमा

    काठमाडौँ, वैशाख १० गते । मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ प्रतियोगिता आयोजना हुने भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा आगामी जेठ ३ गते पुलुमा छायँनाथ अल्ट्रारेस आयोजना गर्न लागिएको हो ।

    किम्रिबाट सुरु हुने अल्ट्रारेस छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन हुनेछ । प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गर्नेछ । प्रतियोगिता ३० किलोमिटर अल्ट्रारेसमा महिला तथा पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।

    यस्तै स्थानीयका लागि पाँच किलोमिटरको छुट्टै फन रन विधा छुट्याइएको छ । प्रतियोगितामा सहभागी हुन अनलाइन तथा अफलाइन दुवै माध्यमबाट निशुल्क गर्न सकिने जनाइएको छ । प्रतियोगिताका विजेता खेलाडीले नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्रे लामाले बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    प्रतियोगिताको महिला तथा पुरुषतर्फका उपाधि विजेता खेलाडीले दुई लाख रुपियाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रोले एक लाख ५० हजार, तेस्रो हुने खेलाडीले एक लाख, चौथोले ७५ हजार र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।

    यसैगरी स्थानीयतर्फका विजेता खेलाडीलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुने खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि करिब ९८ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । छायाँनाथ धाम प्राकृतिक सौन्दर्य, हिमाली भू–परिवेश र धार्मिक आस्थाको संगमका रूपमा परिचित भए पनि पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावले यसको सम्भावना उजागर हुन नसकेको अवस्थामा खेलकुदका माध्यमबाट यस क्षेत्रको प्रचार गर्ने गर्ने अभियानले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष लामाले बताए ।

  • वैशाख १५ देखि काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ हुने

    वैशाख १५ देखि काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ हुने

    १० वैशाख, काठमाडौं । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनी ‘पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार यही वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंबाट लुम्बिनीसम्म साइकल यात्रा हुने भएको हो । साइकल यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहने जनाइएको छ । शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देशलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्यसहित आयोजना हुँदै आएको यो अभियान सन् २०१२ देखि निरन्तर सञ्चालनमा छ ।

    सामाजिक उद्यमी तथा अशोका फेलो मेघ आलेको अवधारणामा सुरु भएको यस अभियानलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित अभियानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ‘शान्ति केन्द्र’का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ । नेपाल भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको संस्थापक आलेले जानकारी दिए । यस अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको छ ।

    यस वर्षको संस्करण विशेषगरी युवाहरूको सक्रिय सहभागितामा केन्द्रित रहनेछ । डिजिटल युगमा युवाको संलग्नतालाई शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण भविष्यका लागि आवाज उठाउने मञ्चका रूपमा यस अभियानलाई विकास गर्ने लक्ष्य राखिएको छ । यात्राका विभिन्न चरणहरूमा स्थानीय समुदायको पनि सहभागिता रहने जनाइएको छ ।

    पत्रकार सम्मलेनमा बोल्दै संस्थापक आलेले भने, ‘विश्वव्यापी रूपमा रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावजस्ता घटनाले बढाएको अस्थिरताको सन्दर्भमा यस किसिमका शान्ति अभियानहरूको महत्त्व अझ बढेको छ ।’ अभियानले भविष्यमा शान्ति क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारिएको छ ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यस किसिमका कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्न थप मद्दत पुग्‍ने विश्‍वास व्यक्त गरेका छन् । उनले यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहभागीहरूको संख्या बढाउन सकिएको अवस्थामा यो अभियान थप बलियो हुने र पर्यटन प्रबर्द्धनमा पनि टेवा पुग्‍ने उनले बताए ।

    त्यसैगरी बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप प्रकाश कार्कीले पछिल्लो समय बढ्दो विश्‍वव्यापी द्वन्द्व र युद्धरत पक्षलाई नेपालको लुम्बिनीमा बोलाएर शान्ति संवाद गराउन सकिएको अवस्थामा यसको महत्त्व थप बढ्ने विचार व्यक्त गरेका छन् । ‘टुर डे लुम्बिनी–पेडल फर पिस’ अभियानले साइकल यात्रामार्फत शान्ति, सहअस्तित्व र विश्वव्यापी ऐक्यबद्धताको सन्देश प्रवाह गर्दै आएको छ ।

  • यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    वासुदेव पौडेल / रासस

    गण्डकी, ६ वैशाखः अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै अहोरात्र एकसाथ विभिन्न काम गरिरहेको छ ।

    विभागमा महानिर्देशक महानिर्देशक ई मित्र बरालले जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रुपाताल संरक्षणमा गुरुयोजना कार्यान्वयन गरिराखेको जानकारी दिए । उनले भने, “पर्यावणीय संरक्षण, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले काम भइराखेको छ ।”

    अहिले जारी काम सम्पन्न भएसँगै दिनमा पटकपटक रुप फेरिनै भएका कारण रुपाताल नामकरण गरिएको रुपातालको समग्र रुप नै फेरिने लागेको छ ।
    सात तालको बगैँचा सिमसार सूचीमा सूचीकृत तालहरूमध्येको एक रुपातालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको सफलतासँगै यसको समग्र रुप फेरिने अवस्थामा पुगेको हो । यसअघि रुपाताल संरक्षण एकीकृत विकास परियोजना नाममा रहेको यो परियोजना अहिले भने सिँचाइ तथा जलस्रोत व्यस्थापन आयोजनाअन्तर्गत छ ।

    रुपाकोट, हंसपुरको सिरान र माझठाना साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ को केही भागले छोएको यो ताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा पर्न थालेपछि गुरुयोजनासहित संरक्षणका कामहरू थालिएको हो । आयोजनाका लागि विस्तृत योजना प्रतिवेदन तयार गरी त्यसअनुरुप काम निरन्तर अघि बढिरहेको जलस्रोत तथा सिँचाइ विभाग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।


    उनले अनुुसार परियोजना सम्पन्न भएसँगै रुपा तालको स्वरुप नै परिवर्तन हुनेछ । २०७५÷०७६ देखि काम थालिएको थियो । चरणबद्ध अघि बढ्ने आयोजनाको रु चार अर्ब ५२ करोड लागत रहेकामा हालसम्म दुई अर्ब ७० करोडको काम गरिएको छ । स्वीकृत गुरुयोजनाअनुुसार यो आयोजना २०८५\०८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल १२२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हालको निर्माणाधीन बाँध सम्पन्न भएसँगै क्षेत्रफल बढेर १८३ हेक्टर क्षेत्रफल हुनेछ । परियोजनाअन्तर्गत बाँध निर्माण ठेक्का सम्झौता भएर काम अघि बढिसकेको छ । बाँध निर्माणका लागि कूल रु २९ करोडको ठेक्का सम्झौता भएकोमा कालिका नयाँ बाटो जेभिले निर्माण गरिरहेको छ ।

    बाँध निर्माण कार्य २०८३ भदौ २३ सम्म सक्ने समयावधि निर्धारण गरिएको छ । निर्माण सम्झौता अनुसार तालमा ५९० मिटर माटाको बाँध रहनेछ भने ४५ मिटर कङ्क्रिट बाँध रहनेछ । बाँध निर्माणको काम ७० प्रतिशत सकिएको आयोजना प्रमुले श्रेष्ठले जानकारी दिए । बाँध निर्माण कार्य सकिएसँगै हाल रहेको तालको गहिराइ तीन मिटरबाट बढेर सात मिटर हुनेछ । यस आयोजनाअन्तर्गत रुपातालको बायाँतर्फ ७.८ किलोमिटर पक्की सडक गत आर्थिक वर्षमा नै सम्पन्न भइसकेको छ ।

    त्यस्तै परियोजनाअन्तर्गत नै हालको लम्बाइ दुई किलोमिटर रहेको ताल फैलिएर ३.६ किलोमिटर हुनेछ । तालमा रहेको आठ लाख घनमिटर माटो निकालेर त्यसलाई व्यवस्थित गर्नै काम भइरहेको छ । यसका लागि रु ४० करोड विनियोजन भई काम भइरहेको र सम्झौताअनुसार आगामी फागुन २० सम्म सक्ने लक्ष्य राखिएको छ । यसको निर्माण कार्य उमा एण्ड कम्पनीमार्फत भइरहेको छ । आयोजनाअन्तर्गत नै तालको बीचमा टापु बनाएर त्यहाँ मन्दिर बनाउने योजना छ । एक सय ४० मिटर लम्बाइ र ९५ मिटर चौडाइमा रहने उक्त टापुमा आकर्षक मन्दिर बनाउन लागिएको हो । त्यस्तै तालको दायाँ किनारामा पाँच किलोमिटर दूरीको इको ट्रेल निर्माण गरिनेछ ।

    बाँकी काम गर्नका लागि ३१७ रुख काट्नुपर्नेछ । यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन पनि भइसकेको छ । त्यस्तै भोगाधिकारका लागि एक हेक्टर जग्गा लिन बाँकी छ । वातावारणीय प्रभाव मूल्याङ्कन (इआइए) अनुुसार ३१७ रुख काट्न स्वीकृति भए पनि फिल्ड भेरिफिकेशन गर्दा १२८ वटा मात्रै रुख हटाउनुुपर्ने देखिएको जानकारी दिँदै श्रेष्ठले १० प्रतिशत तलमाथि भएमा पुनः पुरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकोले त्यसका लागि वनबाट स्वीकृति आउनुुपर्ने प्रावधान रहेको उनले जानकारी दिए ।

    आयोजनाकै लागि एक हजार २०० रोपनी अधिग्रहण गर्नुुपर्नेमा यसअघि ९११ रोपनी अधिग्रहण भइसकेको छ । त्यसका लागि रु एक अर्ब रुपमा मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ । बाँकी थप १२६ रोपनी अधिग्रहण गर्नुपनेर््मा त्यसका लागि नयाँ दररेट कायम हुनुपर्ने भए पनि जिल्ला दररेट कायम भइनसकेको कारण उक्त कार्य पनि प्रभावित बनेको छ । यी सबै काम सम्पन्न भएसँगै तालको क्षेत्रफलसँगै थप चार मिटर गहिराइ पनि बढ्ने जनाइएको छ ।

    रुपातालको एकीकृत विकास आयोजनासँगै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले गण्डकी प्रदेश भित्रका विभिन्न ५० भन्दा बढी आयोजना हेदै आएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । हालै सिँचाइ दिवस एवं ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजनाबाट सम्पादित कार्यप्रगति एवं समुदायमा पु¥याएको समग्र प्रभाव मूल्याङ्कनका आधारमा उत्कृष्ट आयोजनाका रुपमा पुरस्कृत समेत भएको उनले बताए ।


    सूर्यको किरणसँगै रुपातालमा पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको यहाँका बूढापाकाको तर्क छ । पछिल्ला वर्षमा सौन्दर्य ह्रासका अतिरिक्त बढ्दो अतिक्रमणले तालको आकार पनि खुम्चँदै गएका अवस्थामा परियोजना सम्पन्न भएसँगै यसले तालको संरक्षण हुने विश्वास लिइएको छ ।

    विगतमा अतिक्रमणमा पर्दै आएको ताललाई संरक्षण गर्न रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका तर्फबाट सम्बन्धित निकायहरूमा निरन्तर ध्यान आकृष्ट गर्दै आइएको सहकारीका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए । रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक सयौँ पर्यटक रुपाताल पुग्ने गरेका छन् ।

    सार्वजनिक बिदाका दिनका साथै अधिकांश शनिबारका दिन रुपाताल किनारमा माछा खान जानेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । प्रेमी–पे्रमिकाको भेटघाटका लागि पनि पछिल्लो समयमा आकर्षणको केन्द्र बन्दै गएको यो तालमा स्विमिङ र फिसिङका लागि पनि पर्यटक पुग्ने गरेका छन् । आयोजनाका लक्षित कामहरूले समग्र तालको रुपमा परिवर्तन आउने उनले बताए ।

    मोती उत्पादनको परीक्षण

    रुपा तालमा मोती उत्पादनको परीक्षण पनि थालिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोती उत्पादनका लागि परीक्षण बढाइएको सहकारीका अध्यक्ष थापाले जानकारी द्रिए । मोती उत्पादन परीक्षण समफल भएमा यस ताललाई मोती उत्पादनका माध्यमबाट पनि उपयोग गर्न सकिने उनको भनाइ छ ।

    तालमाथि झोलुुङ्गे पुल

    रुपाताल किनारका जङ्गललाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो । प्राणी उद्यान केन्द्र पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ ढकालले जानकारी दिए । आयोजना अन्तर्गत ताल किनारमा बनाउने भनिएको फुट ट्रयाकले यहाँको सौन्दर्यतालाई अझै उजागर गर्ने उनको भनाइ छ । केन्द्रमा अवलोकन गर्न आउने पर्यटकले रुपातालको मनोरम दृश्यसँगै यहाँ राखिएका चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।

    उहाँका अनुुसार रुपाताल आसपासका क्षेत्रको जङ्गलमा ३६१ प्रजातिका वनस्पति, १७५ प्रजातिका जडीबुटी पाइनुका साथै बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् । यस क्षेत्रमा एकसय ३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छ ।

    रुपामाथि राखिएको झोलुङ्गे पुल यहाँको अर्को आकर्षण हो । दुई सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि यो पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पोखरा महानगरपालिका–३१ र रुपा गाउँपालिका–६ जोड्ने गरी पुल निर्माण गरिएको हो । पछिल्ला समयमा तालमाथिको झोलुङ्गे पुल हेर्न र टिकटक तथा भिडियो बनाउन आउने क्रम पनि बढीरहेको छ ।

    रुपातालमा सञ्चालत आयोजनाका काम सबै सम्पन्न भएसँगै यसको रुपमा नै आमूल परिवर्तन आउने ढकालले बताए । तालको रुपमा परिवर्तनसँगै रुपाताल यस क्षेत्रकै विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुने उनले बताए ।

    चरा पर्यटन गन्तव्य

    रुपाताल चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । यस तालमा धेरै प्रजातिका विदेशी चरा चीन, साइबेरियालगायतका देशबाट आउने गरेका छन् । विशेषगरी हिउँदको समयमा साइबेरियालगायत स्थानबाट विभिन्न प्रजातिका चराहरु रुपातालमा आउने गरेको पोखरा पन्छी समाजका निवर्तमान अध्यक्ष मनशान्त घिमिरेले बताए । रुपातालसहित लेखनाथका तालहरू चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्यका रुपमा रहेको उनको भनाइ छ ।

  • पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

    पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

    काठमाडौँ, ६ वैशाखः विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम भइरहेको छ । हरेक १२र१२ वर्षमा मन्दिरको कलेवर फेर्ने गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिए ।

    वैशाख १८ गतेसम्म कलेवर फेरी सक्ने गरी काम भइरहेको उनले बताए । जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको मूर्तिमा सूँढ छैन । कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा जयवागेश्वरीको निर्माण सम्पन्न भएको इतिहास छ । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्वार गरिएको थियो । यस्तै, विसं २०७२ वैशाख १२ को भूकम्पमा धेरै क्षति भएपछि मन्दिर पुनःनिर्माण गरिएको थियो ।

    जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मी मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरी मै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।

    जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी सन्देश मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउँछन् । यस बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी र नौ ढोकालगायत संरचना रहेको उनको भनाइ छ। गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी रहेको र लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको जानकारहरू बताउँछन् । मल्लकालमा भने हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहास छ ।

  • वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलो दिन नौ जनाद्वारा आरोहण

    वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलो दिन नौ जनाद्वारा आरोहण

    रासस
    म्याग्दी, ६ वैशाखः धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ । इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालुु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् । चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विटजरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका इमेजिन नेपालले जनाएको छ ।

    शनिबार दिउँसो ११ः४० बजे धौलागिरिको चुचुरोमा पुुगेको आरोहण टोली सकुशल रुपमा तेस्रो आधार शिविरमा फर्किएको आरोहण टोलीको नेतृत्व गरेका फुुर ग्याल्जेन शेर्पाले बताउनुभयो । शेर्पाहरुको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरुको सहयोगमा आरोही चुचुरोमा पुगेका हुन् । पर्यटन विभागका अनुसार वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु एक करोड २५ लाख ६० हजार ८५० सलामी दस्तुर (शुल्क) प्राप्त भएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताइन् । गत शरद्याममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए ।

    छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धौलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुगेका थिए ।

  • नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

    नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

    रासस
    कञ्चनपुर, ६ वैशाखः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन, जहाँ बिहानको सुरुआत चराचुरुङ्गीको मधुर स्वरबाट हुन्छ । खुला मैदानमा निलगाई र चितल निस्फिक्री चरिरहेका देखिन्छन् । कहिलेकाहीँ मयूरको नृत्यले वातावरण झन् रमाइलो बनाइदिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको यो वन क्षेत्र प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण छ । यति धेरै सम्भावना हुँदाहुँदै पनि स्पष्ट योजना, पूर्वाधार र लगानीको अभावमा यो क्षेत्र ओझेलमा परेको छ ।

    करिब ४८ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन प्राकृतिक स्रोत, जैविक विविधता र सांस्कृतिक सम्पदाले समृद्ध छ । साल, सिसम, खयर, असनाजस्ता बहुमूल्य वनस्पतिले ढाकिएको यो वन चित्तल, निलगाई, मयूर, वनकुखुरा, बाँदरजस्ता वन्यजन्तुको सुरक्षित बासस्थानका रूपमा रहेको छ । स्थानीयका उपभोक्ताका अनुसार सामुदायिक वनमा कहिलेकाहीँ चितुवा र पाटेबाघ पनि देखापर्ने गर्दछन् । जसले वनको जैविक महत्वलाई अझ उच्च बनाएको छ ।

    वनको समथर भूभाग, हरियाली मैदान, नजिकै बग्ने स्याली नदी र सिमसार क्षेत्रले यसलाई प्राकृतिक रूपमा नै पर्यटकीय गन्तव्य बनाएको छ । यहाँको शान्त वातावरण, चिसो हावा र हरियालीले आन्तरिक पर्यटकका लागि उत्कृष्ट विश्रामस्थल बन्न सक्ने सम्भावना बोकेको छ । सामुदायिक वनका पूर्वअध्यक्ष जयबहादुर ऐरका अनुसार यो क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्न सकियो भने शुक्लाफाँटा क्षेत्रकै एक महत्त्वपूर्ण पर्यटकीय केन्द्र बन्न सक्छ । प्रकृति, वन्यजन्तु र संस्कृति तीनै कुरा एउटै ठाउँमा भेटिने भएकाले यो ठाउँको महत्व धेरै छ । आवश्यक पूर्वाधार विकास नहुँदा यसको सम्भावना प्रयोग हुनसकेको छैन ।

    नागेश्वर वनको अर्को विशेषता भनेको यहाँ बसोबास गर्ने राना तथा चौधरी थारू समुदाय हो । थारू समुदायको मौलिक जीवनशैली, परम्परागत घर, विशिष्ट खानपान र सांस्कृतिक नृत्यले यस क्षेत्रलाई सांस्कृतिक पर्यटनका लागि पनि आकर्षक बनाएको छ । पर्यटकलाई स्थानीय जीवनशैलीसँग जोड्ने होमस्टे अवधारणासमेत यहाँ सहजै लागू गर्न सकिने देखिन्छ ।

    स्थानीय धनबहादुर चौधरी भन्छन्, “यति सुन्दर ठाउँ भएर पनि न त प्रचारप्रसार भएको छ, न आवश्यक पूर्वाधार बनेको छ ।” उनका अनुसार योजना अभावकै कारण वन क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुनसकेको छैन । पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको यस वनमा सहज पहुँच भए पनि व्यवस्थित प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, सूचना बोर्ड, भ्यूटावरजस्ता आधारभूत संरचना अभावमा पर्यटक आकर्षित गर्न नसकेको चौधरीको भनाइ छ ।

    वन संरक्षणकर्मी कृष्णबहादुर ऐरका अनुसार यदि वन क्षेत्रमा पदमार्ग निर्माण, बर्ड वाचिङ टावर, सिमसार व्यवस्थापन, थारू सांस्कृतिक सङ्ग्रहालय र होमस्टेजस्ता पूर्वाधार विकास गर्न सकियो भने यसलाई ‘शुक्लाफाँटा उद्यान’का रूपमा विकास गर्न सकिन्छ । सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार नागेश्वर वनलाई नजिकै रहेको हिरापुरको कृष्णसार संरक्षण क्षेत्र, तारा ताल र अन्य पर्यटकीयस्थलसँग जोडेर एकीकृत पर्यटन सर्किट निर्माण गर्न सकिन्छ । “यसले पर्यटकलाई एकै ठाउँमा धेरै अनुभव दिनेछ”, उनले भने ।


    यस किसिमको विकासले स्थानीयस्तरमा रोजगारी सृजना गर्ने, सामुदायिक वनको आम्दानी बढाउने र स्थानीय उत्पादन तथा हस्तकलालाई बजार उपलब्ध गराउने उनी बताउँछन् । जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ । नगरपालिकाको वडा नं ६ का अध्यक्ष दानबहादुर ऐरले नागेश्वर वनको प्राकृतिक सुन्दरता र सम्भावनालाई उजागर गर्दै यसलाई योजनाबद्ध रूपमा विकास गर्न सके शुक्लाफाँटा क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताए ।

    “स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच समन्वय हुनसके यो सम्भावना वास्तविकतामा बदल्न धेरै समय लाग्दैन”, उनले भने । “सामुदायिक वन उपभोक्ता समितिले पनि यस क्षेत्रलाई पर्यटकीय उद्यानका रूपमा विकास गर्न आवश्यक बजेट, प्राविधिक सहयोग र योजना स्वीकृतिका लागि सम्बन्धित निकायसँग पहल गर्नुपर्छ, त्यसमा हामी पनि सहयोग गर्छौँ” उनले भने ।

  • अन्नपूर्णमा आरोहण सुरु

    अन्नपूर्णमा आरोहण सुरु

    म्याग्दी, ६ वैशाखः अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वातारोही शनिबार अन्नपूूर्णको चुुचुरो चुमेका हुन् ।

    सेभेन समिटका अनुुसार आरोहण गर्नेहरूमा क्यानडाका चाल्र्स पेज, रुसका भालेरिय बाबानोभ, भ्लादिमिर अफानासेभ, युरी कुग्लोभ र अजरवैजानका इस्फार्ली असुुर्ली रहेका छन् । नेपाली लाक्पासहित छेवाङ, दावा नर्बुु, पासाङ दुुङपा, छाङुुबा, तारामान र पासाङ शेर्पाले पनि शनिबार नै अन्नपूूर्णको सफल आरोहण गर्नुभएको कम्पनीले जनाएको छ ।

    त्यसैगरी, शनिबार विहान १०ः१५ बजे नेदरल्यान्ड र अष्टे««लियाका दुई आरोहीसँगै एक शेर्पाले सफलतापूर्वक आरोहण गरेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए । “अन्नपूर्ण हिमालमा यसपटकको पहिलो आरोही टोलीले सफलतापूर्वक आरोहण गरेका छन्”, उनले भने, “आरोहण टोलीसँगै बेसक्याम्पसम्म घुम्न जानेको चहलपहल सुरु भएको छ”, अभियान्ता गुरुङले भने ।


    यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट चार समूहका २७ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु एक करोड २० लाख ४९ हजार १७५ राजस्व प्राप्त भएको विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताइन् । अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । गत वर्षको वसन्तयाममा अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए ।

    अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकहरूको आधार शिविरमा चहलपहल छ । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ सालमा सरएडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

  • विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

    विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

    कीर्तिपुर (काठमाडौँ), ५ वैशाख । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र स्वस्थ्य जीवन शैलीको प्रशंसा गर्दै दक्षिणकाली नगरपालिका–३ मा आज पैदलयात्रा गरेका छन् । पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ गराइएको हो ।

    यात्रामा काठमाडौँस्थित राजदूतहरू, कूटनीतिक समुदायका अन्य सदस्य तथा सरकारका उच्च पदाधिकारीले नेपालले विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न खोजेको आरोग्य र स्वस्थ जीवनशैलीको समर्थन गर्न आफूहरूले प्रतिबद्धता जनाएको उनीहरुको प्रतिक्रिया थियो ।


    सहभागी कूटनीतिज्ञहरूलाई बिहान हात्तीवन रिसोर्टमा भेला गराई योग र पूर्वीय दर्शनमा आधारित ध्यानबारे जानकारी दिइएको थियो । उनीहरुलाई जीवन विज्ञानका प्रशिक्षक प्रतीक शर्माले आसन, प्राणायाम र ध्यानका केही विधिबारे प्रशिक्षण दिए

    त्यसपछि सहभागी सबै कूटनीतिज्ञलाई हात्तीवन रिसोर्ट क्षेत्रबाट चम्पादेवीतर्फ जाने मार्गमा करिब दुई घण्टाको पदयात्रा गराइएको थियो । कूटनीतिज्ञलाई स्वागत गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल १५ लाई अन्तररष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख गरे ।


    साथै, उनले नेपाललाई विश्वकै उत्कृष्ट ‘आरोग्य पर्यटकीय गन्तव्य’ का रूपमा विकास गर्ने नेपाल सरकारको नीति रहेको समेत बताए । नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले आरोग्य पर्यटन रणनीति तयार गरेको जानकारी दिँदै उनले आगामी सन् २०२७ लाई नेपाली आरोग्य पर्यटन वर्षका रूपमा मनाउने त्यसका लागि आवश्यक लगानी भित्र्याउने तयारीमा सरकार रहेको जानकारी गराए । नेपालले विश्वका विभिन्न देशमा रहेका दूतावास कूटनीतिक नियोग र गैरआवासीय नेपालीको सञ्जाल प्रयोग गर्नेसमेत उनले बताए ।


    नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहकले उपत्यकाका कै प्राकृतिक डाँडामा गरिएको यात्रा सामान्य हिँडाइ वा शारीरिक अभ्यास मात्र नभई मानसिक शान्तिसमेत दिने किसिमको भएको बताए । नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का प्रतिनिधि जाको डु टोइटले नेपाली प्राकृतिक थलोमा नेपाली गीत सुन्दै हिँड्दा आफूले आरोग्य लाभ गरिरहेको प्रतिक्रिया दिए । आफ्नो देश दक्षिण अफ्रिकमा यहाँजस्ता उच्च हिमाल नभए पनि तर प्राकृतिक सम्पदाहरूले एकअर्को देशलाई जोड्नसक्ने धारणा उनको थियो ।

    नेपालका लागि राष्ट्रसङ्घीय विकास नियोग प्रतिनिधि क्योको योकोसुकाले सप्ताहन्तमा अत्यन्त स्वच्छ हावा युक्त हात्तिवन चम्पादेवी पदमार्गको पैदलयात्रा, योग र ध्यानले आफूलाई उत्साहित बनाएको बताए । आफ्ना आफन्त देशवासीलाई नेपाल प्राकृतिक र सांस्कृति सम्पदा मात्र नभई योग ध्यानमार्फत आत्मसन्तुष्टि प्राप्तिका लागि घुम्नैपर्ने मुलुक भएको सन्देश पु¥याउने बताए ।


    नेपालका लागि बेलायती राजदूत रोर्वट फेनले अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा नेपालले यसरी पदयात्रा आयोजना गर्दा आफूलाई खुसी लागेको बताए । आरोग्य दिवसमा तय गरिएको नारामध्ये लामो पैदलयात्राले श्वासप्रश्वासलाई अझ लामो समय स्वस्थ्य राख्छ भन्ने कुराले आफू प्रभावित भएको बताए ।


    बेलायतमा नेपाल पहिल्यै लोकप्रिय भएको बताउँदै बेलायतीहरूमा नेपालबारे जान्न चाहने र नेपाली भौगोलिक र सांस्कृतिक विविधताप्रति मोहित भएको बताए । रासससँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालको आरोग्य पर्यटनका माध्यमबाट नेपाली ‘सप्ट पावर’ कूटनीतिलाई अगाडि बढाउन खोजेको बताउँदै पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा आयोजित १३ देशका राजदूतहरूले महत्त्व दिनु कूटनीतिक हिसाबले महत्त्वपूर्ण भएको बताए । “नेपाललाई योग ध्यानजस्ता प्राकृतिक स्वास्थ्यलाभका पद्धतिहरूमार्फत विश्वकै उत्कृष्ट आरोग्य गन्तव्य बनाउने लक्ष्य सरकारको छ”, उनको भनाइ थियो ।

  • गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

    गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

    गुल्मी, ५ वैशाखः गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुङ्गा–काठमाडौँको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए । नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौँबाट रेसुङ्गाका लागि रु १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौँका लागि रु १० हजार ७०२ निर्धारण गरिएको उनले जानकारी दिए । निगमले यसअघि काठमाडौँबाट रेसुङ्गाका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको थियो ।

    विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुङ्गा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा रु तीन हजार ४०२ मूल्य वृद्धि गरिएकोे स्टेसन प्रमुख थापाले जानकारी दिए । उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ । वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ ।

    नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँ–रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ । काठमाडौँबाट आइतबार बिहान ८ः०५ बजे र रेसुङ्गाबाट बिहान ९ः०५ बजे र मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँबाट बिहान ६ः१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए । दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ ।

    गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् । सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो ।

  • प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

    प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

    सुर्खेत, ५ वैशाखः सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार भएको हो । चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू दृश्यले जो कोहीलाई केही क्षण भए पनि आनन्द दिलाउँछ ।

    खुला आकाशमा स्वतन्त्र रूपमा उड्ने अनुभूति लिन पनि पर्यटकहरु केही वर्षयता यहाँ आउन थालेका छन् । शिक्षण पेसामा आबद्ध रमेश विष्ट यस परिवर्तनका साक्षी मात्र होइनन्, सक्रिय सहभागी पनि छन् । उनी भन्छन्, “छोटो समयमै यहाँको प्याराग्लाइडिङले सबै वर्गका मानिसलाई आकर्षित गरेको छ ।”

    सुर्खेतमा प्याराग्लाइडिङ विस्तार हुँदै जाँदा यसको दायरा विस्तार हुँदै गएको छ । व्यवसायी, विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर सबै पेसाका मानिस प्याराग्लाइडिङमा सहभागी हुन थालेका छन् । अब यो खेल सीमित समुदायका लागि मात्र नभएर सर्वसाधारणको पहुँचमा आएको छ । व्यवस्थापनमा गरिएको सुधार, सुरक्षा मापदण्डको पालना र प्रशिक्षित पाइलटको उपलब्धताले यो व्यवसायप्रति थप विश्वास बढाएको छ ।

    पाँच वर्ष जापान बसाइ सकेर फर्किनुभएका ‘सेन्से’ उपनामले परिचित स्थानीय एक युवाले जीवनमै पहिलोपटक प्याराग्लाइडिङ अनुभव लिन सुर्खेत आइपुगेको बताए । उनका लागि यो केवल मनोरञ्जन होइन, स्वदेशको प्रकृति र पर्यटनको सम्भावनासँग पुनः जोडिने अवसर पनि हो । उनले भने, “उडानअघि हल्का डर भए पनि पछि मज्जा भयो ।”

    जीवन र रमेशझैँ प्याराग्लाइडिङ अनुभव बटुल्न पहिलोपटक आउनुभएकी निरु चौधरीको अनुभव पनि खासै फरक छैन । “मैले प्याराग्लाइडिङ गरेको धेरै भिडियोहरु देखेकी थिएँ । पोखरा गएर गर्नलाई आर्थिक रुपले र समयको व्यस्तताले सम्भव थिएन । तर यहाँ दूरीले पनि नजिक भएकाले आएकी हुँु”, उनले भने । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित बयलकाँडा क्षेत्रमा निमार्ण गरिएको प्याराग्लाइडिङ गर्ने स्थान विस्तारै व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्दै लगेको वेलकम प्याराग्लाइडिङ कम्पनीका सञ्चालकको भनाइ छ । ‘कर्णाली समृद्धि २०८२’ को सन्दर्भसँगै यहाँ सस्तो र सुलभ दरमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिएको सञ्चालक कम्पनीले जनाएको छ । जसले आन्तरिक पर्यटनलाई चलायमान बनाएको छ ।

    यस अभियानको नेतृत्व अनुभवी प्रशिक्षक देशवीर जिमीले गरिरहेका छन् । जसले करिब १६ वर्षदेखि यस क्षेत्रमा निरन्तर काम गर्दै आएका छन् । उनको नेतृत्वमा सञ्चालन भइरहेको ‘वेलकम प्याराग्लाइडिङ’ कम्पनीमार्फत चार जना दक्ष पाइलटले दैनिक रूपमा व्यावसायिक उडान गरिरहेका छन् । समुद्र सतहदेखि करिब एक हजार ५०० मिटर उचाइमा रहेको बयलकाँडा प्राकृतिक रूपमा प्याराग्लाइडिङका लागि उपयुक्तस्थल मानिन्छ । यहाँको हावाको सन्तुलित बहावले उडानलाई सुरक्षित र सहज बनाउने गरेको जिमीको भनाइ छ । जीमीका अनुसार बयलकाँडाबाट उडान भरेपछि वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल अगाडिको खुला फाँटमा सुरक्षित अवतरणको व्यवस्था गरिएको छ ।

    प्याराग्लाइडिङको सम्पूर्ण अनुभव तीन चरणमा विभाजित हुने उनी बताउनुहुन्छ । टेकअफ, फ्लाइङ र ल्यान्डिङ । केही मिनेटको यो उडानले सहभागीलाई जीवनभर सम्झिने अनुभव दिन्छ । प्याराग्लाइडिङ फस्टाउँदै एपछि स्थानीय व्यवसायमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ । होटल, रेष्टुराँ, यातायात र गाइड सेवामा संलग्न व्यक्तिहरूको आम्दानी बढ्न थालेको छ ।

    यसै सन्दर्भमा आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चक्रप्रसाद ढुङ्गानाले कर्णाली प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा सुर्खेतमा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ गतिविधिले महत्त्वपूर्ण योगदान पु(याएको बताए । उनका अनुसार प्याराग्लाइडिङले प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ । सुर्खेतको आकाशमा उडिरहेका प्याराग्लाइडिङ केवल साहसिक खेलको विस्तार मात्र होइन, यो त कर्णालीको पर्यटन विकासमा सम्भावनाको सङ्केत पनि हो ।