Category: घूमघाम

  • पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    रासस
    २९ जेठ, भरतपुर । यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई समेटेर पर्यटन विकास गर्न वैकुण्ठधाम क्षेत्र व्यवस्थापन समितिले अग्रसरता देखाएको छ ।

    वैकुण्ठ तालभन्दा माथि करिब डेढ घण्टाको पैदल यात्रापछि पुगिने धनलक्ष्मी झरना स्थानीयस्तरमै नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको वैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताए । तालदेखि झरनासम्म पुग्नका लागि आधा बाटोसम्म सिँढी निर्माण भइसकेको छभने बाँकी सिँढी आगामी वर्ष पूरा गरिने योजना रहेको उनले जानकारी दिए ।

    “बजेटको अभावका कारण सोचेअनुसार काम गर्न सकिएको छैन, झरना पुग्ने बाटो मात्रै बनाउन सके पनि धेरै पर्यटक लैजान सकिने थियो”, परियारले भने ।
    माडी नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडीको यस क्षेत्रमा विसं २०२०\२२ तिरबाट बस्ती बस्न थालेको हो । सोही समयदेखि वैकुण्ठ ताल वरपर मेला गर्ने र बाल चतुर्दशीमा शत् बीउ छर्ने परम्परा सुरु भएको हो । त्यस अवसरमा माडी मात्रै नभई चितवन, छिमेकी जिल्ला र भारतीय सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् । अधिकारीले यहाँ आए धन प्राप्त गर्ने चाहना पूरा हुने किंवदन्ती भएकाले झरनालाई धनलक्ष्मी झरनाको नाम दिइएको बताए ।


    भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ, यो ठाउँ । खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर पक्की सडक छ । गाडीबाट झरेपछि लगभग २० मिनेट उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ । त्यहाँबाट डेढ घण्टाको यात्रामा झरना पुग्न सकिन्छ । “अचेल धार्मिक कारण र घुमफिरका लागि पनि मान्छेहरू झरना भएको ठाउँमा आउने गर्छन्”, वडाध्यक्ष अधिकारीले भने, “सिँढीसहितको पूर्वाधार निर्माण गर्न सके अझै धेरै पर्यटक यहाँ ल्याउन सकिन्छ । हाल झरनासँगै वैकुण्ठधाम क्षेत्रका नै पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न थालिएको छ ।”

    वैकुण्ठधाम क्षेत्रभित्र पर्ने वैकुण्ठताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भिर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हुन् । यिनै सम्पदाका कारण माडी पर्यटकहरूको चासोको केन्द्र बन्न थालेको उनको भनाइ छ । साथै कान्तिपुर सामूहिक खेती, ‘फार्म स्टे’ र अयोध्या मार्गजस्ता योजनाहरूले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाएको अधिकारीले बताए ।


    वैकुण्ठ क्षेत्रलाई एकीकृत रुपमा विकास गर्ने योजना बनेपछि धनलक्ष्मी छहरासम्म पर्यटक पु¥याउने गरी काम अगाडि बढाउन लागिएको नगर उपप्रमुख खेमप्रसाद महतोले बताए । “झर्नाप्रति आकर्षण बढ्दै छ । जङ्गलभित्रै रहेकाले धेरैले जानकारीसमेत पाएका छैनन् । यसको प्रचार गर्न र पूर्वाधार निर्माण गरे भविष्यमा महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्नसक्छ । त्यसैले अब आवश्यक बजेटको व्यवस्था गरेर काम गर्छौं”, उनले भने ।


    माडी भौगोलिक हिसाबले निकै आकर्षक छ, तर दर्जनौँ खहरे खोला र तीन तर्फबाट चितवन निकुञ्जसँग जोडिएका कारण जङ्गली जनावरले स्थानीयलाई दुःख दिने गरेका छन् । निकुञ्जका बाघ, गैँडा देखाएर अन्यत्र पर्यटन फस्टाए पनि माडीमा यसबाट लाभ लिनेभन्दा क्षति बेहोर्ने परिरहेको गुनासा छन् । झर्ना, ताल र धार्मिक क्षेत्रहरू रहेको यस क्षेत्रको विकासका लागि सोहीअनुसार योजना बनाइएको नगर उपप्रमुख महतोले बताए ।

  • गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    २८ जेठ, दमौली । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौँ तथा चितवनबाट गाडीमा दुई÷तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्‍याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरु देखिन्छन् ।

    त्यसो त यो र्‍याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्‍याफ्टिङका लागि आउनेहरुको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् । “र्‍याफ्टिङका लागि यो अनुकूल समय हो, वर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन”, उनले भने, “पारिवारिक साहसिक गतिविधि भएकाले र्‍याफ्टिङ गर्नेहरु बढेका छन् ।” बिदाका दिन आउने, र्‍याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरु बढेको उनको भनाइ छ ।

    उनका अनुसार त्रिशूलीमा खासगरी काठमाडौँ, चितवन, पोखरालगायतका सहरबाट मानिसहरु आउने गरेका छन् । “कतिपय मानिसहरु काठमाडौँ–चितवन–पोखराको यात्राका क्रममा पनि र्‍याफ्टिङ गरेर जानेहरु हुन्छन्, त्यसबाहेक काठमाडौँ र चितवनबाट प्याकेजमा र्‍याफ्टिङलगायतका गतिविधिका लागि आउने छन्, उनले भने, यहाँ आउनेहरु गर्मी छल्ने मात्रै नभइ नदीमाथि स्काइ साइकलिङलगायतका गतिविधिका लागि पनि आउने गरेको उनको बुझाइ छ ।

    त्रिशूली नदीमा र्‍याफ्टिङ निकै सहज भएकाले काठमाडौँबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्‍याफ्टिङ गर्न सक्छन् । “र्‍याफ्टिङ सबै उमेर समूहका लागि हो”, सञ्चालक कँडेलले भने । र्‍याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी आफैँमा र्‍याफ्टिङका लागि प्रमुख गन्तव्य हो । परिवार तथा साथीहरुको समूहमा नदीमा र्‍याफ्टिङ गर्दा र्‍यापिड (पानीको भङ्गालो) मा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनको अनुभव छ । काठमाडौँबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले त्रिशूली र्‍याफ्टिङको प्रमुख गन्तव्य बनेको छ ।

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    २७ जेठ, पोखरा । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपालमात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो ।


    पोखरा महानगरपालिका–१७ विरौटास्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको गुठी जग्गा मानव सेवा फउण्डेसनद्वारा गत वैशाखको १६ गतेदेखि आयोजना गरिएको कोटिहोमको नजिक पर्ने छोरेपाटनस्थित पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा विगतको तुलनामा अहिले आन्तरिक तथा बाह्य पर्यटनको आगमन करिब १० प्रतिशतले वृद्धि भएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिए ।


    उनका अनुसार गत आर्थिक वर्षको चैत १७ गतदेखि जेठ २६ गतेसम्म ९३ हजार ७१६ पर्यटकले मन्दिरको अवलोकन गरेकामा चालु आवको सोही अवधिमा एक लाख एक हजार १४४ जनाले टिकट काटेर गुफाको अवलोकन गरेका छन् । पोखरा बाहिरबाट कोटिहोममा आउने भक्तजन अधिकांश गुफामा अवस्थित महादेवको दर्शन र मनोहर पातले छाँगो (डेभिजफल्स)को मनोरम दृष्यावलोकनमा आउने गरेकाले पर्यटकको सङ्ख्यामा वृद्धि भएको अध्यक्ष बाँस्तोलाले बताए ।


    विगतको तुलनामा यस अवधिमा सात हजार ४२८ बढीले गुफाको अवलोकन गरेका जनाउँदै उनले भने, “गुफामा पर्यटकको सङ्ख्यामा वृद्धि हुनु कोटिहोमको प्रभाव हो । यस अवधिमा भारतीय पर्यटकको पनि आकर्षण बढेको छ ।” जमिनको सतहबाट करिब १०० मिटर चट्टानबाट रसाएका पानीका थोपाले स्नान गर्दै केही तल झरेपछि गुफाभित्र फराकिलो स्थानमा अवस्थित महादेवको दर्शन गर्न पाइन्छ । शिव भगवान्लाई दाँहिने पार्दै १०० मिटरको दूरीभित्र पुगेपछि खुला ठाउँ छ ।

    अध्यक्ष बाँस्तोलाले भने, “पत्रे चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थ राजमार्गको प्राकृतिक पुलमुनिबाट सिँधा उभिएर देखिने पातले छाँगोसँगै तलाउमा देखिने झरनाको प्रतिविम्बले पर्यटकलाई मनमोहक बनाउने गरेको छ भने कोटिहोमले गुफाको प्रचारप्रसार गरी पर्यटन प्रवरद्धनमा सहयोग पु¥याएको छ ।” गुफाभित्र अवस्थित महादेवको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ दर्शणार्थी पटकपटक यहाँ आउने गरका उनले बताए । उनका अनुसार गुफा २०५० सालमा पत्ता लागेपछि प्रचारप्रसारमा भएको हो ।

    कोटिहोमका माध्यमबाट गुप्तेश्वर गुफासँगै रहेको पातले छाँगो, तालबाराही, विन्ध्यवासिनी भन्दिर, पुम्दीकोट शिव मूर्तिलगायत धार्मिक तथा फेवाताल, सराङकोट, शान्तिस्तूपालगायत विभिन्न पर्यटकीयस्थलसहित पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको पर्यटन व्यवसायीको भनाइ छ । विश्व शान्तिको कामनासहित पोखरालाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथद्वारका रूपमा परिचित गराउँदै गण्डकी प्रदेशका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठमन्दिरको महत्वलाई विश्वभर परिचित गराउने लक्ष्य रहेका मानवसेवा फाउण्डेसन नेपालका अध्यक्ष एवं महायज्ञ सङ्कल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजले जानकारी दिए ।


    उनका अनुसार कोटिहोमका माध्यमबाट धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिस्तरमा पु¥याउँदै पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ वैदिक ज्ञान, धर्म परम्परालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै वैज्ञानिक, सामाजिक र आध्यात्मिक पक्षको उजागर गर्न सहयोग पुगेको छ ।

    मन्दिरको २९ रोपनी १२ आनासहित आसपासका झण्डै ८० रोपनी जग्गाभित्र १०० कुण्ड निर्माण गरिएको छ । त्यसमा आचार्य, ब्राह्मणसहित ३०० जनाले जौ, तिल, चामल, घ्यू र अन्य द्रव्य मिश्रित चरु तयार गरी गत वैशाख १७ गतेदेखि सुरु गरिएको कोटिहोमको हवन आज सम्पन्न भएको महायज्ञ सङ्कल्पकर्ता महाराजले जानकारी दिए । डेढ महिनासम्म सञ्चालन भएको कोटिहोममा लाखौँ भक्तजनले सहभागिता जनाउनुका साथै १० करोडभन्दा बढी रकम सङ्कलन भएको कोटिहोम सहइञ्चार्ज युवक लामिछानेले जानकारी दिए ।


    पोखरा–१७ शीतापाइलास्थित भागवत् मञ्जली राधिका दासीलाई सदाशिव सिद्देश्वर हरिहर मन्दिर व्यवस्थापन समितिले कोटिहोम वाचिका भागवत् मञ्जली राधिका दासी र मानव सेवा फाउण्डेशसनका अध्यक्ष एवं महायज्ञ सङ्कल्पकर्ता महाराजलाई सम्मान गरेको छ । विरौटास्थित कोटिहोमका लागि गुठी जग्गा उपलब्ध गराएको मन्दिर व्यवस्थापन समितिले कोटिहोमका माध्यमबाट पौराणिक मन्दिरको उजागर गर्न महत्त्वपूर्ण सहयोग पुगेको भन्दै एक कार्यक्रमका बीच सम्मानपत्रले सम्मान गरेको हो ।

    मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले उनीहरुलाई सम्मान गर्नुभएको हो । सो अवसरमा तीन जना पण्डितद्वारा सङ्गीतको लयमा महाआरतीसमेत प्रस्तुत गरिएको थियो । उक्त मन्दिर परिसरमा निर्माण गरिएको मुख्य कुण्डमा विधिपूर्वक हमन सञ्चालन भएको थियो । विसं १८६४ मा मन्दिरको पूजा सञ्चालनका लागि व्यवस्था गरिएको राजगुठीसहितको लालमोहर अहिले पनि सुरक्षित रहेको अध्यक्ष शर्माले राससलाई जानकारी दिए ।

  • मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

    मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

    २७ जेठ, मुस्ताङ । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो धर्मशालाको स्तरोन्नति सुरु गरिएको छ । राणा शासनको समय कालखण्डमा तत्कालीन राजा रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले मुक्तिनाथ दर्शन गर्ने क्रममा त्यहाँ धर्मशाला निर्माण गरेका थिए ।

    रानी सुवर्णप्रभाले परिवारको सुख, शान्तिको कामना गर्दै मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थी भक्तजनलाई खान र बस्नको असुविधा नहोस् भन्ने उद्देश्यले धर्मशाला स्थापना गरेका थिए । रानीद्वारा धर्मशाला निर्माण गरिएकाले उक्त धर्मशालालाई रानीपौवा धर्मशाला नामकरण गरिएको मुक्तिनाथ रानीपौवा धर्मशाला रेखदेख तथा व्यवस्थापनमा खटिनुभएका स्वामी भरत कोइरालाले बताए ।


    उनका अनुसार प्राचीन शैलीमा ढुङ्गा र माटोले निर्माण गरिएको दुईतले रानीपौवा धर्मशालामा २१ वटा भक्तजन बासबस्ने कोठा छन् । “धर्मशाला पुरानो र जीर्ण हुँदै गएपछि यहाँ बास बस्ने भक्तजन, साधुसन्त र पुजारीलाई समस्या पर्दै आइरहेको थियो । भक्तजनको समस्यालाई मध्यनजर गर्दै जगद्गुरु स्वामी कमलनयनाचार्यको पहलमा धर्मशालाका मर्मत सुरु गरिएको हो”, उनले भने ।

    मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र पुरातत्व विभागको लागत साझेदारीमा रु ७४ लाख बजेटमार्फत मुक्तिनाथ धर्मशाला मर्मत सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि रमेश गुरुङले जानकारी दिए । उनका अनुसार धर्मशालाको साविक सौन्दर्यता नबिग्रिने गरी स्तरोन्नति भइरहेको छ ।

    धर्मशालाको लिपपोत, रङरोगन, शौचालय र बाथरुम, झ्यालढोका मर्मत गर्नुका साथै धर्मशालाको छतमाथि काठको फलेक बिछ्याएर अलकत्रा राखी वातावरणमैत्री प्लास्टिकसहित सख्खर माटो बिछ्याउने काम भइरहेको गुरुङले उल्लेख गरे ।


    “धार्मिक पुण्यकार्यको ठेक्का लिएको हुँ, नाफाभन्दा पनि बजेट अनुसारको गुणस्तर कायम गर्ने पक्षमा छौँ”, उनले भने, “सम्झौताअनुसार सतप्रतिशत हुनेगरी काम गरिरहेका छौँ । यो मुक्तिनाथको दर्शनार्थीका लागि भएकाले सेवा गर्ने मौका पनि हो ।” व्यवस्थापनमा खटिनुभएका स्वामी कोइरालाले रानीपौवा धर्मशाला पुरानो र जीर्ण हुँदा तीर्थयात्रा, साधुसन्त र पुजारीलाई खान र बस्न समस्या भएपछि स्तरोन्नतिको पहल थालिएको बताए ।


    “धर्मशालाको छत माथिबाट पानी चुहिने गथ्र्यो, शौचालय र बाथरुमसमेत जीर्ण थिए”, उनले भने, “सम्झौताअनुसार ठेकेदारले रङरोगन र मर्मतको काम तीव्र गतिमा गरिरहेका छन् । मर्मतपछि यहाँ आउनेलाई भक्तजनलाई बास बस्न सहज हुनेछ ।” धर्मशाला मर्मतको काम दुई सातादेखि भइरहेको स्वामी कोइरालाले जानकारी दिए । “असार मसान्तसम्म सम्पन्न काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । अहिले रङरोगन, भित्ता लिपपोत र छतलाई स्तरोन्नति गरिरहेको छ”, उनले भने ।


    रानीपौवा धर्मशाला रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले निर्माण गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुुवेदीले जानकारी दिए । “मुक्तिनाथ क्षेत्रको छ रोपनी १२ आना क्षेत्रफलमा रानीले प्राचीन शैलीमा भक्तजनको आवास र भोजनको प्रबन्ध मिलाउन धर्मशाला स्थापना गर्नुभएको हो”, उनले भने ।


    यहाँ बाह्य धार्मिक पर्यटकका साथै म्याग्दी, पर्वत, स्याङ्जालगायत जिल्लाबाट भक्तजन आउने पुजारी सुवेदीले उल्लेख गरे । मुक्तिनाथ र धर्मशालाका लागि खाद्यान्नलगायत अन्नबाली उत्पादन गर्न रानी सुवर्णप्रभाकै पालामा सदावर्त गुठी स्थापना भएको उनले बताए । यसरी गुठीको जग्गा सदावर्त गुठीले रानीपौवा धर्मशालामा चढाउने गरेको उनले बताए ।

  • भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

    भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

    २५ जेठ, भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो । रामप्रसादराई–८ का वडाध्यक्ष बाचकुमार राईका अनु्सार यस क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले रु सात लाख लागतमा करिब आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो ।

    यहाँ वडा र नेपाल जलवायु अनुकूलन कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणको थालनी गरिएको छ । यो स्थानलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको छ । यो क्षेत्र प्राकृतिक हिसाब निकै सुन्दर भएकाले यो क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।

    यो पदमार्गलाई विस्तार गरेर आमचोक गाउँपालिकामा रहेको ग्रेट मुन्दुम पदमार्गसम्म पुरयाउने लक्ष्य रहेको अध्यक्ष राईले बताए । पदमार्ग निर्माणको काम दुई खण्डमा भइरहेको छ । दोस्रो खण्डअन्तर्गत भञ्याङ शङ्खेश्वरीमा पनि पदमार्ग निर्माण गरिएको छ । शङ्खेश्वरीमा निर्माण भइरहेको पदमार्गलाई पनि भावी दिनमा यो पदमार्गसँग जोड्ने सोच रहेको उनको भनाइ छ ।

    यहाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढ्ने स्थानीयवासी दिककुमार जोगीले बताए । यो क्षेत्रमा गुराँस राम्रो फुल्ने भएकाले आन्तरिक पर्यटक आउने उहाँको भनाइ छ । यो पदमार्गको आसपासमा धेरै नै गुराँस पाइने उनले बताए । “यो धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण हुनसकेको थिएन, अहिले पदमार्ग निर्माणको थालनीपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसले यहाँको विकासमा टेवा पुग्ने आशा लिएका छौँ”, उनले भने ।

  • साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

    साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

    एजेन्सी
    २३ जेठ, काठमाडौं । विश्वभरका मुस्लिमहरूले ईद अल–अधा बिदाको सुरुआत मनाउँदै गर्दा तीर्थयात्रीहरूले शुक्रबार हजको अन्तिम प्रमुख अनुष्ठान– ‘शैतानको ढुङ्गा प्रहार’ –गरिरहेका थिए । बिहान सुरु हुनुअघि देखिनै तीर्थयात्रामा भाग लिने १६ लाखभन्दा बढी मुस्लिमले पवित्र सहर मक्काको बाहिरी भागमा रहेको मिना उपत्यकामा शैतानको प्रतीक तीनवटा कङ्क्रिटको पर्खालमा प्रत्येकमा सातवटा ढुङ्गा हाने । छाया र चिसो तापक्रमको फाइदा उठाउँदै तीर्थयात्रीहरू बिहानै अघिनै मिनाको फराकिलो तम्बू सहरमा आफ्नो शिविर र आवासबाट बाहिर निस्केका थिए ।

    यस अनुष्ठानले अब्राहामले तीनवटा स्थानमा शैतानलाई ढुङ्गा हानेर मारेको सम्झना गराउँछ जहाँ शैतानले उसलाई आफ्नो छोरालाई बलिदान गर्ने परमेश्वरको आदेश पालन गर्नबाट रोक्न खोजेको भनिएको छ । “मिनामा हाम्रो अनुभव सजिलो र सरल थियो । हामी भित्र प्रवेश गर्‍यौँ र पाँच मिनेटभित्रै हामीले ‘जमारत’ मा शैतानलाई ढुङ्गा हान्ने काम पूरा गर्‍यौँ”, इजिप्टका ३४ वर्षीय वाएल अहमद अब्देल कादरले बिहानै अनुष्ठान गरेपछि भने ।

    गिनीकी तीर्थयात्री होवाकिताले मक्कामा ईद मनाउने सम्भावनाले उहाँलाई खुशीले भरिदिएको बताए । “जब मैले ढुङ्गा हानेँ मैले सहज महसुस गरेँ । मलाई साँच्चै गर्व लाग्यो”, उनले भने । एक दिनअघि तीर्थयात्रीहरू मक्का नजिकैको ७० मिटर (२३० फिट) अग्लो चट्टानी उचाइमा प्रार्थना गर्दै र कुरानका पदहरू पढ्दै अराफात पर्वतमा भेला भएका थिए । अराफात पर्वतमा पैगम्बर मोहम्मदले आफ्नो अन्तिम उपदेश दिनुभएको थियो भन्ने विश्वास गरिन्छ ।

    Muslims offer Eid al-Adha prayers at the Moscow Cathedral Mosque during celebrations in Moscow, Russia, Friday, June 6, 2025. (AP Photo/Alexander Zemlianichenko)

    धेरैले तीव्र गर्मी भए पनि पर्वतमा आरोहण गरे । यद्यपि तीर्थयात्रीहरूलाई स्थानीय समयानुसार बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म भित्र बस्न भनिएको आधिकारिक चेतावनीपछि दिउँसोमा सङ्ख्या घटेको थियो । यस वर्षको हजमा अधिकारीहरूले अवैध तीर्थयात्रीहरूमाथि व्यापक कारबाहीका साथसाथै गर्मी कम गर्ने प्रयासहरू कार्यान्वयन गरेको देखियो । जसको परिणामस्वरूप मक्का र वरपरका पवित्र स्थलहरूमा उल्लेखनीय रूपमा पातलो भीड र भारी सुरक्षा उपस्थिति थियो ।

    गत वर्षको हजको घातक पुनरावृत्ति रोक्ने उद्देश्यले यी उपायहरू अपनाइएको थियो । गत वर्ष ५१ दशमलव आठ डिग्री सेल्सियस (एक सय २५ डिग्री फरेनहाइट) तापक्रममा एक हजार तीन सय एक जनाको मृत्यु भएको थियो । साउदी अधिकारीहरूका अनुसार ती मृत्युमध्ये अधिकांश ती तीर्थयात्रीहरूका थिए जो अवैध रूपमा मक्कामा छिरेका थिए र तीर्थयात्रीहरूलाई सुरक्षित राख्न र मरुभूमिको तीव्र गर्मीबाट जोगाउने उद्देश्यले गरिएको आवास र अन्य सेवाहरूको पहुँच नभएका थिए ।

    This aerial picture shows Muslim worshippers offering Eid al-Adha special prayers at the Baiturrahman grand mosque in Banda Aceh on June 6, 2025. (Photo by CHAIDEER MAHYUDDIN / AFP)

    यो हज सिजनले २०२०–२०२२ को कोभिड प्रतिबन्धका वर्षहरू बाहेक तीन दशकभन्दा बढीमा सबैभन्दा कम तीर्थयात्रीहरूको सङ्ख्या रेकर्ड गरेको छ ।आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष १८ लाख मुस्लिमले हजमा भाग लिएका थिए । हज अनुमतिहरू देशहरूलाई कोटाको आधारमा बाँडफाँट गरिन्छ र लटरी प्रणालीद्वारा व्यक्तिहरूलाई वितरण गरिन्छ । तर जसले अनुमति प्राप्त गरेको हुन्छ, तीमध्ये केही मानिस उच्च लागतका कारण बिना अनुमति हज यात्राका लागि प्रेरित हुन्छन् । यद्यपि समातिएमा गिरफ्तारी र निर्वासनको जोखिम उठाउँछन् ।

    मिना उपत्यकामा ढुङ्गा हान्ने अनुष्ठान सन् २०१५ मा घातक भागदौडको दृश्य थियो । सबैभन्दा घातक हज प्रकोपमध्ये त्यसबेला भएको घटनामा दुई हजार तीन सय जनाको मृत्यु भएको थियो । साउदी अरबले हज र वर्षका अन्य समयमा गरिने सानो तीर्थयात्रा उमराहबाट बर्सेनि अर्बौं डलर कमाउँछ । मक्का र मदिनाका दुई पवित्र मस्जिदका संरक्षकका रूपमा चिनिने साउदी राजाका लागि पनि तीर्थयात्रा प्रतिष्ठाको स्रोत हो । हजको अन्त्य ईद अल–अधाको सुरुआतसँग मिल्छ । ईद अल–अधा सामान्यतया बाख्रा, भेडा, गाई, गोरु वा ऊँट जस्ता जनावरको वधद्वारा मनाइने वार्षिक भोजको बिदा हो ।

  • कैलाश मानसरोवर दूरदर्शन सुरु

    कैलाश मानसरोवर दूरदर्शन सुरु

    २२ जेठ, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने सम्भावना भए पनि उचित व्यवस्थापनको अभावमा हाल आन्तरिक पर्यटक मात्रै यहाँ पुग्ने गरेको उनको भनाइ छ ।

    कैलाश मानसरोवर दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्म राम्रो समय मानिन्छ । हिउँदयामको छ महिनासम्म भारी हिमपात हुने हुँदा हिल्सा, न्यालु, यारी नारालगायत क्षेत्रमा जाने बाटोसमेत बन्द हुने गरेको छ । हिउँ पन्छाएर बाटो खुलेसँगै लिमी भ्यालीमा विस्तारै चहलपहल बढ्दै गएको वडाध्यक्ष पाल्जोर तामाङले बताए । “लिमीको लोलुङबाट कैलाश मानसरोवर प्रस्ट देख्न सकिन्छ । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलोमिटर दूरीमा पर्छ । सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट हिल्साभन्दा अझ सहज रूपमा आवतजावत गर्न सकिनेछ”, उनले भने

    कैलाश मानसरोवर दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्म राम्रो समय मानिन्छ । हिउँदयामको छ महिनासम्म भारी हिमपात हुने हुँदा हिल्सा, न्यालु, यारी नारालगायत क्षेत्रमा जाने बाटोसमेत बन्द हुने गरेको छ । हिउँ पन्छाएर बाटो खुलेसँगै लिमी भ्यालीमा विस्तारै चहलपहल बढ्दै गएको वडाध्यक्ष पाल्जोर तामाङले बताए । “लिमीको लोलुङबाट कैलाश मानसरोवर प्रस्ट देख्न सकिन्छ । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलोमिटर दूरीमा पर्छ । सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट हिल्साभन्दा अझ सहज रूपमा आवतजावत गर्न सकिनेछ”, उनले भने ।


    हुम्लाको सदरमुकाम सिमकोटबाट गाडीमा एक दिनको यात्रामा लिमी भ्याली पुगिन्छ भने पैदलमार्गबाट भने चार दिन लाग्ने गरेको छ । लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटरफ्रुप ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ । नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने ठाउँ भए पनि यसको प्रचारप्रसार नहुँदा पर्यटकको चहलपह बढ्न सकेको छैन ।

  • अन्नपूर्ण आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’

    अन्नपूर्ण आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’

    रासस
    २१ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल ९८०९१ मिटर० आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मङ्गलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारहरुको टोलीले साङ्गीतिक प्रस्तुति दिएका हुन् ।

    अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण सङ्गीत समूहले आधार शिविरमा नेपाली सङ्गीतको झल्को दिने साङ्गीतिक प्रस्तुति दिएका हुन् । हार्मोनियम, बाँसुरी, गीतारलगायतका नेपाली बाध्यबाधनका साधनको सङ्गीतमा फ्रान्सेली कलाकारहरुले राखेको साङुगीतिक प्रस्तुतिले आधार शिविरमा पुगेका आन्तरिक पर्यटक रमाएको अन्नपूर्ण हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङले बताए ।

    “अन्नपूर्ण आधार शिविरमा पहिलो पटक यसप्रकारको साङ्गीतिक कार्यक्रम आयोजना गरिएको हो, फ्रान्सेली कलाकारहरुको समूहले राखेको यो प्रस्तुतिले आगामी दिनमा हामीलाई आधार शिविरमा साङ्गीतिक प्रस्तुतिका कार्यक्रम आयोजना गर्न प्रेरित गरेको छ”, अन्नपूर्ण पदमार्गका अभियन्ता समेत रहनुभएका गुरुङले भने ।
    कलाकारहरुले नेपालीपन झल्कने सङ्गीत प्रस्तुत गर्नुका साथै फ्रान्समा प्रचलित नृत्य समेत प्रस्तुत गरेका थिए । अन्नपूर्ण हिमालको काखमा रहेको मनोरम पञ्चकुण्ड ताल परिसरमा प्रस्तुत सङ्गीतमा नेपाली र विदेशी पर्यटकहरुले रुचिका साथ अवलोकन गरेका थिए । हीरक जयन्तीको अवसरमा आयोजित पदयात्राको नेतृत्व गर्दै आधार शिविर पुगेका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सङ्गीतको माध्ययमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा सघाउ पुग्ने बताए ।


    अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा आयोजित हीरक महोत्सवको अवसरमा आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गरिएको छ । साथै आधार शिविरदेखि नारच्याङ गाउँसम्मको करिब ३६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिताका साथै मौलिक नाचलगायतका कार्यक्रम सम्पन्न गरिएको छ ।

  • पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री

    पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री

    म्याग्दी २० जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए ।

    “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,” प्रधानमन्त्री ओलीले भने, “अन्नपूूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ ।”

    प्रधानमन्त्री ओलीले म्याग्दी हुदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको बताए । कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागिपरेको बताए । पचहत्तर वर्षअघि फान्सका मौरिस हर्जोगको टोलीले अन्नपूूर्ण आरोहण गरेर नेपालको पर्वतारोहणको सम्भावनाको ढोका खोलिदिएको स्मरण गर्दै उनले पर्वतीय पर्यटनको विकासमा शेर्पा समुदायले गरेको योगदानको प्रशंसा गरे ।

    प्रधानमन्त्रीले भने, “मौरिसले लेखेको अन्नपूूर्ण पुस्तकले नेपाल र यहाँका हिमाललाई विश्वमा चिनाउन योगदान गरेको छ ।” सन् १९५० जुन ३ मा आरोही हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण आरोहण गरेका हुन् । हीरक महोत्सव समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजा उपस्थित थिए ।

  • अन्नपूर्ण क्षेत्रमा प्रधानमन्त्री

    अन्नपूर्ण क्षेत्रमा प्रधानमन्त्री

    २० जेठ, म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ पुगेका छन् । अन्नपूर्ण हिमाल आरोहण भएको ७५ औं वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

    महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरुको सालिक अनावरण गरिएको छ ।
    प्रधानमन्त्री ओलीका साथमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत रहेका थिए । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

    आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए ।


    आरोहण भएको ७५ वर्षपछि अन्नपूर्ण हिमाल भएकै ठाउँमा मनाउन लागिएको हीरक जयन्तीको सबै तयारी पूरा भएको उनले जानकारी दिए । यसअघि काठमाडाँै, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । यही जेठ १७ गतेदेखि मनाउन सुरु गरिएको अन्नपूर्ण आरोहण महोत्सव जेठ २२ गते पोखरामा समापन गर्ने कार्यक्रम छ ।

  • पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

    पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

    १८ जेठ, पोखरा । पोखरा पर्यटन परिषद्ले पर्यटक सवारी साधनहरूलाई निर्वाध रुपमा सञ्चालन गराउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारीले आज विज्ञप्ति जारी गर्दै पर्यटन राजधानी पोखरा र गण्डकी प्रदेशमा हालै पर्यटक सवारी साधनहरुको संञ्चालनका क्रममा भएको अवरोधहरूप्रति ध्यानाकर्षण गराउँदै बन्द हड्तालमा पनि पर्यटक सवारीसाधनहरुलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण सृजना गर्न सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति र सबै पक्षसँग आग्रह गरे ।

    यस्ता अवरोधहरूले गण्डकी प्रदेशको समग्र पर्यटन व्यवसायमा असर पार्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुमा नकरात्मक सन्देश प्रवाह हुने खतरा बढ्ने भन्दै विज्ञप्तिमा पर्यटन क्षेत्र नेपालको समृद्धिको मुख्य आधारमध्ये एक भएको र यसलाई व्यवस्थित एवं सुरक्षित बनाउनु सरोकारवालाहरुको साझा दायित्व भएको भनिएको छ । बन्द नै समाधान नभएको भन्दै परिषदले सबै सरोकारवाला निकायहरू प्रति गम्भिर ध्यानाकर्षण सहित शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । यातायात व्यवसायीले अहिले गण्डकी प्रदेशमा यातायात प्रभावित बनाएका छन् ।

  • जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव यसरी मनाईँदै

    जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव यसरी मनाईँदै

    १८ जेठ, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको छ । आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल अवस्थित अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशविन्दु नारच्याङ बेँसीमा स्वागत गरेर हिरक महोत्सव शुभारम्भ गरिएको छ । आजदेखि सुरु हुने पदयात्रा टोलीमा सहभागी हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग छोरा फ्रान्सका माथिएस हर्जोगलगायत १४ विदेशी, पर्यटन व्यवसायी, पत्रकारको टोलीलाई अन्नपूर्ण–४ वडा कार्यालय, अन्नपूर्ण, जनजागरण युवा क्लब र सिर्जनशील आमा समूहले स्वागत गरेका थिए ।

    माथिएस हर्गोजसँग आएका फ्रान्सका कलाकारहरूले प्रथम आरोहीको सम्मानमा सङ्गीत प्रस्तुत गरेका थिए । उनीहरुले यही जेठ १९ गते साँझ अन्नपूर्ण आधार शिविरमा पनि साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम छ । प्रथम आरोही मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना पाहुना सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आउनुभएको अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिए ।
    उनका अनुसार नारच्याङ बेँसीबाट हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै यही जेठ १९ गते चार हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्ने मौरिस हर्जोग पदमार्गको पदयात्रा टोलीमा करिब दुई सय जना सहभागी छन् । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा जेठ २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक महोत्सव मनाइने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।


    “आरोहणको ७५ वर्षपछि पहिलोपटक सम्बन्धित भूगोलमा महोत्सव मनाउन पाएकामा हर्षित भएका छौँ”, पदयात्रा टोलीलाई स्वागत गर्दै उनले भने, “हर्जोगको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तरराष्ट्रियकरण भएकाले हीरक महोत्सव आयोजना गरिएको हो ।”
    यसअघि काठमाडाँै र पोखरामा कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण–४ नारच्याङको भूगोलमा पर्छ ।


    आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

    महोत्सवको अवसरमा जेठ १९ र २० गते अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुख्र्यौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आधार शिविरमा राखिएका आरोहीका सालिक अनावरण, सङ्ग्रहालय र मौरिस हर्जोग पदमार्गको उद्घाटन, नारच्याङ बेँसीमा मूल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।

    जेठ २० गते हुने आधार शिविरबाट नारच्याङसम्म म्याराथन दौड प्रतियोगितामा म्याग्दीका ४२ जना धावकले नाम दर्ता गराएका छन् । २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ । २२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्जोगले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’को विमोचन गर्ने कार्यक्रम तय भएको छ ।

    अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक भएर महोत्सव गर्न लागिएको हो । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ ।

    पदमार्गको प्रचारप्रसार गर्न प्रवेश विन्दुमा पर्ने नारच्याङमा २०७७ सालमा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ ।

  • खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

    खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

    १६ जेठ, सोलुखुम्बु । पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको असोजदेखि यही जेठ ४ गतेको अवधिमा खुम्बु क्षेत्रमा उक्त सङ्ख्यामा विदेशी पर्यटकको मृत्यु भएको हो । लुक्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनुसार मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर, मुटुसम्बन्धी समस्या र मौसमको प्रतिकूलता देखिएको छ ।

    मृत्यु हुने पर्यटकहरु जापान, अष्ट्रेलिया, भारत र सिङ्गापुरका दुई÷दुई जना, रोमानिया, चीन, बेल्जियम, मलेसिया र फिलिपिन्सका एक÷एक जना छन् । उनीहरूको उमेर समूह ३० देखि ६५ वर्ष छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक मनोवत कुँवरका अनुसार मृत्यु भएकामध्ये छ जनाको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो ।

    जसमा सगरमाथा आरोहणका क्रममा फिलिपिन्स र भारतका एक÷एक आरोहीले ज्यान गुमाएका छन् भने ल्होत्सेमा भारत र रोमानियाका आरोहीले ज्यान गुमाएका छन् । मेरा पिकमा एक जना बेल्जियमका नागरिक र आमादब्लम आरोहणका क्रममा एक अष्ट्रेलियन नागरिकले ज्यान गुमाए । खुम्बु क्षेत्र विश्वभरका पर्यटकको सपनाको गन्तव्य हो ।

    सगरमाथा मात्र नभई यहाँका सम्पूर्ण हिमाली भूभाग, ल्होत्से, नुप्त्से, आमादब्लम, थामसेर्कु, खाङ्तेका, चोयुजस्ता हिमशृङ्खलाहरूले यो क्षेत्र मनमोह छ । यहाँका गाउँघर, शेर्पा समुदायको संस्कृति, उनीहरूको धार्मिक आस्था र हिमाली जीवनशैलीले पनि पर्यटकलाई आकर्षित गर्छ । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्र युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत छ ।

    जसका कारण हरेक वर्ष हजारौँ पर्यटकले खुम्बु क्षेत्र भ्रमण गर्छन् । तर खुम्बु क्षेत्रमा जोखिम पनि उत्तिकै छ । लेक लाग्ने, चिसो मौसम, अक्सिजनको कमी, हिमपहिरो र स्वास्थ्यसम्बन्धी अन्य समस्याले पर्यटकहरुले ज्यान गुमाउने सगरमाथा आरोही विजय विश्वकर्माले बताए । उनले भने, “हिमाल घुम्नु जति आनन्द छ त्यतिकै चुनौती पनि छ, यही सिजनमा सगरमाथा आरोहण गर्दा म आफँै पनि दुर्घटनामा परँे, सगरमाथाको तेस्रो शिविर माथिबाट खसेको आइसको डल्लाले लागेर मेरो टाउकामा आठ टाँका लगाउनुप¥यो ।”

    पर्यटन व्यवसायीहरूले प्रत्येक पर्यटकीय याम सुरु हुनुअघि स्वास्थ्य परीक्षण, उचाइमा हिँड्न आवश्यक तालिम र सचेतना कार्यक्रम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । पर्यटकका लागि आवश्यक पूर्वतयारी, स्वास्थ्य परीक्षण, पथप्रदर्शकको भूमिका, आवश्यक पूर्वाधारको उपलब्धता, हेलिकप्टर उद्धार प्रणालीको मजबुतीकरण, मौसम पूर्वानुमानको सही जानकारी र जोखिम न्यूनीकरणका उपायहरू थप मजबुत बनाउनुपर्ने स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् ।
    यस क्षेत्रमा आउने पर्यटकहरू प्रायः ‘हाइ अल्टिच्यूड’ कै कारण समस्यामा पर्ने गरेको कान्छो सगरमाथा आरोही तेम्बा छिरी शेर्पा बताउँछन् । पर्यटकका लागि अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था, वातावरणीय सचेतना र स्थानीय प्रशासनको प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

  • अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

    अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

    १६ जेठ, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा यही जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका परिवारका सदस्यहरूसहित १४ जना विदेशी पाहुना नेपाल आएका हुन् । काठमाडौँमा बिहीबार आएका उनीहरू आज पोखरा र शनिबार नाच्याङमा आइपुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

    “प्रथम आरोही मौरिसका छोरा माथिएस, नाति इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना पाहुना सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आउनुभएको हो”, उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने हीरक जयन्तीका सम्पूर्ण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।”

    फ्रान्सेली पर्वतारोही मौरिस र लुइस लाचेनले अक्सिजनबिनै सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा जेठ १७ देखि २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक जयन्ती मनाउन लागिएको हो । यसअघि अन्नपूर्ण आरोहण दिनको अवसरमा सरकारी तवरबाट पोखरा र काठमाडौँमा समारोह आयोजना हुँदै आएका थिए ।

    आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

    हीरक महोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन दौड प्रतियोगिताको उद्घाटनसँगै मूल समारोहमा सहभागी हुन प्रधानमन्त्री आउने निश्चित भएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए । उनका अनुसार, प्रधानमन्त्रीले आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावारण गर्नुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्राहलय र नारच्याङबाट आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

    अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा हीरक जयन्ती मनाउन लागिएको हो । अन्नपूर्ण हीरक जयन्तीका अवसरमा ३० किलोमिटर लामो दूरीको म्याराथन दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिनेछ ।

    उक्त अवसरमा आधार शिविरमा शिलाखेलमा आरोहीहरूको अभिलेख राख्ने तयारी गरिएको अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताए । नारच्याङमा हुने मूल समारोहमा अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा पुख्र्यौली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य प्रस्तुतिसँगै अन्नपूर्ण हिमालका विदेशी तथा नेपाली आरोही र यस हिमालको प्रचारप्रसारमा योगदान दिने व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरणलगायतका कार्यक्रमलाई समावेश गरिएको आयोजकले जनाएको छ ।

    त्यसैगरी हीरक महोत्सवकै अवसरमा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उहाँका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गर्ने र हर्गोजले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’को विमोचन गर्ने कार्यक्रमसमेत तय भएको छ ।

  • अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै

    अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै

    रासस
    १५ जेठ, काठमाडौ । आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तरराष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो ।

    यस वर्ष पनि सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाउने कार्यक्रम तय गरेको छ । दिवस मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तरराष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ । रासससँग कुराकानी गर्दै पर्यटनमन्त्री पाण्डेले अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई भव्य रूपमा सम्पन्न गर्न सबै सरोकार भएका निकायसँग समन्वय र सहकार्य गरिएको बताए । उनले जेठ १५ गते गणतन्त्र दिवस र संसद्मा बजेट वक्तव्य पनि रहेकाले उपयुक्त कार्यक्रमसँग नजुध्नेगरी कार्यक्रम मिलाइएको जानकारी दिए ।

    बिहान प्रभातफेरी गरिने तथा गणतन्त्र दिवस र दिउँसो बजेट वक्तव्य कार्यक्रम सकिएपछि ‘सगरमाथा समिटर्स समिट’को आयोजना गरिनेछ । दिवसका अवसरमा आज बिहान कर्मचारी सञ्चयकोष ठमेलबाट विभिन्न झाँकीसहित प्रभातफेरी प्रारम्भ भई वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत हुनेछ । दिउँसो ‘सगरमाथा समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिनेछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कीर्तिमानी आरोहीका अनुभव आदान–प्रदानका साथै साहसिक पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे बहस हुनेछ । दिवसकै अवसरमा विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रका पर्यटन व्यवसायी एवं सरोकार भएकाहरूसँगको सहकार्यमा प्रत्येक वर्ष सगरमाथा दिवस मनाउँदै आएको छ ।

    नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले पहिलो सगरमाथा आरोहीको स्मरण गर्दै हरेक वर्ष अन्तरराष्ट्रिय सगरमाथा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको बताए । हिलारीको परिवार तथा विभिन्न मुलुकका आरोही अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउन नेपाल आउने उनले जानकारी दिए । “लुक्ला विमानस्थललाई तेञ्जिङ हिलारी विमानस्थलको नामाकरण गरिएको छ । सगरमाथा विश्वको सम्पदा र सम्पत्ति भएकाले यसलाई जलवायु परिवर्तनको जोखिमबाट जोगाउन सबै गम्भीर हुनुपर्ने आवश्यकता छ”, अध्यक्ष शेर्पाले भने, “पछिल्लो समय विश्वव्यापी तापमानका कारण हिमालको हिउँ पग्लेर कालापत्थर देखिन थालेको भन्दै सगरमाथा र हिमाल संरक्षणबारे चिन्तन गर्ने बेला आएको छ ।”

    एक तथ्याङ्कअनुसार नेपालमा पाँच हजार ८०० मिटर माथिका एक हजार ७९२ हिमाल रहेका छन् । आठ हजार मिटरभन्दा माथिका आठ हिमाल नेपालमा छन् । यी सबैमध्ये ४६१ मात्रै आरोहणका लागि खुला गरिएका छन् । यस वर्ष पनि दिवसका अवसरमा कीर्तिमानी आरोहीहरू र पर्वतीय पर्यटन व्यवसायीहरूलाई सम्मान गरिने पर्यटन विभागले जनाएको छ । दिवसको आयोजनाले भावी पुस्तालाई हिमाल आरोहणको सपनाहरू पछ्याउँदै भावी परिदृश्यहरूको सम्मान र संरक्षण गर्नसमेत प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।

  • आरोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

    आरोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

    १३ जेठ, काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन् ।

    अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ । यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ ।

  • मनास्लु भ्रमणमा पुगे हालसम्मकै बढी पर्यटक

    मनास्लु भ्रमणमा पुगे हालसम्मकै बढी पर्यटक

    रासस
    १३ जेठ, गोरखा । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२, आव २०७९/८० मा सात हजार ७०५ र आव २०७८/७९ मा दुई हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

    उनका अनुसार बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । एमक्यापले आव २०८१/८२ मा १२ हजार ५०० पर्यटक भित्र्याउने लक्ष्य राखेकामा ९८ दशमलव शून्य सात प्रतिशत लक्ष्य प्राप्त भएको जनाउँदै उहाँले चालु आवमा लक्ष्यभन्दा बढी पर्यटन भित्रिने अनुमान गरिएको बताए । “कोभिडपछि पर्यटकको आगमन न्यून थियोे”, आयोजना प्रमुख शेरचनले भने, “आव २०७७/७८ मा सबैभन्दा कम अर्थात् एक सय ९४ जना पर्यटकमात्र सो क्षेत्रमा पुगेका थिए ।” सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या आव २०७६/७७ मा पाँच हजार ३३८ र २०७५/७६ मा सात हजार ६५५ रहेको थियो ।

    मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था गरिएको एमक्यापका प्रमुख शेरचनले जानकारी दिए । उनका अनुसार पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनसक्ने व्यवस्था गरिएको छ ।

    “यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने छ”, प्रमुख शेरचनले भने, निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक साताको अनुमति दिने गर्छ ।

    उक्त अवधिभर चुमभ्यालीका लागि पर्यटकीयसिजनमा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेमौसममा २५ डलर मात्र बुझाउनु पर्ने एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए । उनका अनुसार नुब्री भ्यालीका लागि सिजनमा प्रतिव्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक साताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउनुपर्ने हुन्छ । मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाको सातवटा वडा पर्छ ।

    साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये साविकका सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रूपमा चिनिन्छन् भने चुम्चेत र छेकम्पार चुम उपत्यकाका रूपमा चिनिन्छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुला गरिएको हो ।

  • अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    रासस
    १३ जेठ, कास्की । अन्नपूर्ण प्रथम हिमाल ९८,०९१ मिटर० आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष हीरक महोत्सव मनाइने भएको छ । अन्नपूर्ण (नर्थ)को आधार शिविरमा पहिलोपटक कार्यक्रम गर्न लागिएको हो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागी थिए ।

    नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हीरक महोत्सव मनाउन लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

    आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हीरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । “हामीले पहिलोपटक आरोहण भएको सम्बन्धित स्थानमा पुगेर कार्यक्रम गर्दैछौँ । यसबाट नेपालको पर्वतीय पर्यटनको थप प्रवर्द्धन हुनेछ”, उनले भने ।

    महोत्सवमा फ्रान्सलगायत युरोप–अमेरिकालगायत देशका १२ राजदूतलाई समेत निमन्त्रणा गरिएको लामिछानेले जानकारी दिए । नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १७ देखि १९ गतेसम्म पदयात्रा गरिने छ । पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तिको सहभागिता हुने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


    मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उहाँका परिवारसहित १४ सदस्यीय टोली नेपाल आइपुगेको छ । आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौडसमेत आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले बताए ।

    उनका अनुसार आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ । आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिस हर्जोग पदमार्ग’ नामकराण गरिएको छ । उक्त पदमार्गका साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिए ।

  • हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

    हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

    १२ जेठ, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौँ संस्करण यही जेठ २० देखि २२ सम्म काठमाडौँमा आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा आयोजना हुने एचटीएमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । एचटीएममा १०० भन्दा बढी अन्तरराष्ट्रिय पाहुनासहित नेपालका सार्वजनिक तथा निजी क्षेत्रमा आवद्ध पर्यटनकर्मी तथा सरोकार भएका गरी ३० भन्दा बढी मुलुकबाट करिब ७०० प्रतिनिधिले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

    एचटीएमका संयोजक एवं पाटाका महासचिव नरेन्द्र देव भट्टले अन्तरराष्ट्रिय स्रोत बजारहरूमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले पर्यटन मेला आयोजना गरिएको बताए । उनले यस पटक पाटा नेपाल च्याप्टरको ५० औँ वार्षिकोत्सव तथा अन्नपूर्ण हिमाल आरोहणको ७५औँ वर्ष पूरा भएको अवसरमा हुने मार्टले विशेष महत्व राख्ने बताए ।

    सन् २०१७ देखि प्रत्येक वर्ष जुन महिनामा आयोजना हुदैँ आएको एचटीएम नेपालको प्रमुख अन्तरराष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तर्दृष्टिलाई बढावा दिने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ ।

    पाटाका अध्यक्ष खेम लकाईले एचटीएमलाई विश्वस्तरीय पर्यटन कार्यक्रममा रूपान्तरण गर्न सबै साझेदारको समर्थन र सहकार्य आवश्यक रहेको भन्दै यसको माध्यमबाट पर्यटनको दिगो विकासका लागि निरन्त प्रवर्द्धनात्मक कार्यलाई प्राथमिकता दिन सकिने विश्वास व्यक्त गरे । नेपाललाई विश्वसामु ‘नेपालः हिमालयको प्रवेशद्वार’ साहसिक, सदावहार र सवल केन्द्रको रूपमा स्थापित गर्ने दृष्टिकोण र उद्देश्यका साथ यस मार्टले पर्यटन व्यवसाय प्रवर्द्धन, समसामयिक संवाद र प्रगतिशील सम्बन्ध तथा साझेदारी विस्तारमा उल्लेख्य योगदान पुर्याउदै आएको पाटा नेपालले जनाएको छ ।

    यस संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले यस वर्ष एचटीएमलाई ज्ञानमूलक संवाद र सम्मेलन गन्तव्य प्रवर्द्धन तथा क्रेता बिक्रेताबीच फलदायी व्यापार आदनप्रदान र सम्बन्ध विस्तारलाई थप प्रभावकारी बनाउने पक्षमा केन्द्रीत गरिएको जानकारी दिए । सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ता र विचारकले आध्यात्मिक, साहसिक र लक्जरी पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनको लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् ।

    बीटुबी कार्यक्रमअन्तर्गत यसवर्ष एचटीएमले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ भन्दा बढी बिक्रेता सहभागी हुने पाटा नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • फाप्लु–काठमाडौँ सातामा चार दिन उडान हुने

    फाप्लु–काठमाडौँ सातामा चार दिन उडान हुने

    १२ जेठ, सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ ।

    नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो । प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सञ्चालन सम्भव भएको हो । यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन ।

    नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो । सल्लेरीका व्यवसायी महेश अधिकारीले भने, “जहाज नियमित आउन थालेपछि काठमाडौँ जानआउन ‘बिपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तर यो सेवा निरन्तर र भरपर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन ।”

    विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो । पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए ।

  • संरक्षण अभावमा हिमाली जिल्लाका लुलु गाई

    संरक्षण अभावमा हिमाली जिल्लाका लुलु गाई

    १२ जेठ, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो । पारिस्थितिक प्रणाली ९इको सिस्टम¬०मा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ । जुरो नभएको स्थानीय गाईका जातमध्ये लुलु गाई एक हो । अन्य गाईभन्दा हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने लुलु गाई कद केही होचो हुन्छ । यो समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइदेखि माथिको उच्चस्थानमा पालन गर्ने गरिएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं पशु चिकित्सक डा लालमणि अर्यालले मुस्ताङमा सदियाँै वर्षदेखि परम्परा र संस्कृतिको रुपमा पालन गर्दैआइरहेको लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको जानकारी दिए । मुस्ताङमा दश वर्षअघि करिब १० हजार बढी लुुलु गाई रहेकोमा पछिल्लो समय मुस्ताङका पाँचौँ पालिकामा गरी करिब छ हजारको सङ्ख्यामा लुलु गाईपालन गरिएको उनले बताए ।

    “मुस्ताङमा लुलु गाईपालन बर्सेनि घट्दो अवस्थामा छ, यसको संरक्षणमा स्थानीय कृषकले खासै चासो दिएको पाइएन”, पशु चिकित्सक डा अर्यालले थपे, “दूध उत्पादन कम हुने र अन्य वैकल्पिक अवसरले गर्दा लुलु गार्ई संरक्षणतर्फ कसैको ध्यान पुगेको छैन ।”

    मुस्ताङका कृषकले अन्नबाली उत्पादनका लागि मल चाहिने भएको र थोरै मात्रामा दूध उत्पादन गर्न सकिने भएकै कारण लुुलु गाई पाल्ने गरिएको हो । अन्य गाईको तुलनामा लुलु गाईले निकै कम मात्रामा दूध उत्पादन गर्ने भएकाले कृषकले लुलु गाईपालनमा बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशु शाखा प्रमुख आइतलाल थकालीले बताए । “कृषकहरु लुलु गाई जोगाउनु पर्नेतर्फ संवेदनशील भएको पाइँदैन, यो निकै चिन्ताको विषय बनेको छ”, पशुु शाखा प्रमुख थकालीले भने, “गाउँपालिकाले पनि लुलु गाई संरक्षण गर्न कृषकलाई प्रोत्साहन गर्नेलगायतमा सहयोग गर्ने गरेको छ ।”

    मुस्ताङका कृषकले पालन गर्ने लुलु गाई हिमाली परम्परा र संस्कृतिको जैविक आयामको रुपमा लिने गरिन्छ । तर, यहाँको जैविक विविधता र संस्कृतिमा असर पुगेजस्तै हिमाली क्षेत्रमा पालन गरिने लुलु गाई लोप हुने खतरा बढेको पशु शाखा प्रमुख थकालीको भनाइ छ । जिल्लामा विस्थापित हुने अवस्था रहेको लुलु गाईपालन व्यवसाय केवल कृषि प्रयोजनमा मात्रै उपयोग भएको देखिन्छ । पछिल्लो समय सडक सञ्जाल र प्रविधिको विकास हुन थालेसँगै मुस्ताङका कृषकले विस्तारै लुलु गाई पाल्न छाडिसकेका छन् । मुस्ताङमा विद्यमान अवस्थामा पालन गरिएका लुलु गाईलाई पनि कृषकले आवश्यक रुपमा संरक्षण गर्न छाडिसकेको घरपझोङका किसान अजित थकालीले बताए ।

    “अन्य बस्तुभाउभन्दा लुलु गाईलाई कृषकले बेवास्ता गर्न थाले, जथाभावी छाडिदिने गर्न थाले”, उनले भने, “कोही कृषि र होटल चलाउन थालेपछि कृषकले लुलु गाई पाल्न छाडेका हुन् ।” पहिला पहिला एउटै घरमा १०÷१२ वटासम्म लुलु गाई पाल्ने गरिएकोमा अचेल एक घरमा एउटा लुलु गाई पनि नहुने गरेको कृषक थकालीको भनाइ छ । कृषि र पर्यटनको विकाससँगै लुलु गाईतर्फ संरक्षण गर्नपर्छ भन्ने मान्यता राख्न छोडेको कृषक थकाली सुनाए ।


    लुलु गाईले बिहान र बेलुकी गरी बढीमा एक लिटरसम्म दूध उत्पादन गर्ने गर्छ । कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरु लोपोन्मुख हुन थालेका हुन् । त्यस्तै कृषकले लुलुगाई पाठापाठीको संरक्षण नगर्दा कुकुर र हिउँ चितुवाले खाइदिने गर्दा समेत मुस्ताङमा लुलु गाई संरक्षणमा चुनौती बनेको हो ।

    जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा उच्च लेक र खर्कमा पानीको मुहान सुक्दै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेकाले लुलु गाईहरु कृषकले बेवास्ता गरी छाडा रुपमा सडक र गल्लीमा छोड्ने प्रचलन रहेको छ । आफैँ आहारा व्यवस्थापन गर्ने क्षमता भए पनि लुलु गाईले आहार व्यवस्थापन गर्न नसक्दा गाउँबस्ती र सडकमा मिल्काएका कागज र अरुले फ्याकेका खानेकुरा खाएर आहार पूर्ति गर्ने गरेको पाइएको छ ।

  • २४ वर्षदेखि न्यायको पखाईमा छन् शुक्लाफाँटा आरक्ष विस्थापित

    २४ वर्षदेखि न्यायको पखाईमा छन् शुक्लाफाँटा आरक्ष विस्थापित

    रासस
    ११ जेठ, दोधारा चाँदनी । हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा २०५८ मङ्सिर १२ गते उनी त्यहाँबाट विस्थापित भए । आरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएपछि भण्डारीले पुनःस्थापनाको पर्खाइमा करिब चार\पाँच वर्ष सडकमै बिताए । राज्यबाट व्यवस्थापन हुन नसकेपछि २०६४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढक्का शिविरमा उनी लगायतका ६ सय विस्थापित बसोबास गर्दै आएका छन् ।


    “सरकारले हाम्रो व्यवस्थापन नगरेपछि जङ्गलको किनारमा खाली ठाउँ देखेपछि यहाँ बसेका छौँ” आरक्षपीडित भण्डारीले भने, “सरकारले ३३ आयोग गठन गरे पनि हाम्रो व्यवस्थापन हुनसकेको छैन, २४ वर्ष बितिसक्यो ।” भण्डारीका अनुसार शिविरमा हाल ६ सय चार परिवारको बसोबास छ । “हामी यहाँ झुपडी बनाएर जर्बजस्ती बसेका हौँ, जङ्गली हात्ती आउँछ । घर भत्काउँछ, पुनः झुपडी बनाउन निकुञ्जले रोक्छ”, उनले दुखेको गर्दै भने, “बिजुली बत्ती, खानेपानी, शौचालय केही सुविधा छैन, सोलार पनि निकुञ्जले लगाउन दिँदैन ।”

    उनले २४ वर्षदेखि ढक्का शिविरका बासिन्दा अँध्यारोमा बस्न बाध्य रहेको बताए । जसले गर्दा बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । “राज्यबाट केही सुविधा मिलेको छैन, हाम्रा बालबालिकाले खोप र भिटाभिनसमेत पाएका छैनन्”, भण्डारीले भने, “हाम्रो भोट मात्र चल्छ, अरु केही चल्दैन आधारभूत सेवाबाट वञ्चित भएका छौँ ।” उहाँले उक्त स्थानमा गहँु थ्रेसिङ र खनजोतका लागि पनि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यता रहेको बताए ।


    सरकारले आरक्ष विस्थापितको समस्या समाधानका लागि विभिन्न समयमा ३३ आयोग गठन गरेको छ तर पनि विस्थापितको समस्या समाधान हुनसकेको छैन । जिल्लाका विभिन्न स्थानबाट विस्थापित भएका छ सय चार परिवार दुई दशकदेखि ढक्का शिविरमा कष्टकर जीवन बिताइरहेका छन् । पिपलाडी–१ बाट विस्थापित भएर शिविरमा बस्दै आएका मोतिलाल डगौरा सरकारले सट्टाभर्ना दिने आश्वासन दिए पनि हालसम्म नदिएको बताउँछन् ।

    “विस्थापित हुने बेला जग्गाधनी पुर्जा थिएन, सट्टाभर्ना पाइएन”, उनले भने, “हाम्रो व्यवस्थापनका लागि सरकारले पटकपटक आयोग गठन गर्यो, ती आयोगले समस्या समाधान गर्नुको साटो विस्थापितको सङ्ख्या थपघट गर्ने काम मात्र गरेको छ ।” उनले सरकारले छानबिन गरेर वास्तविक पीडितको व्यवस्थापन गर्नुपर्ने बताउँछन् । “राज्यले हाम्रो पीडा बुझेन, हामी भोट बैंक मात्र भयौँ”, उनले भने, “निर्वाचनका बेला मात्र नेताहरू आउँछन्, हामी व्यवस्थापन गर्छु भन्छन् अहिलेसम्म आश्वासन मात्र पाएका छौँ ।”

    हालसम्म ३३ आयोग गठन हुँदा पनि विस्थापितको समस्या समाधान हुनसकेको छैन । विसं २०५८ मा द्वन्द्वका बेला सरकारले तत्कालीन शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्दा विस्थापित पीडित अझै पनि जङ्गल, खोला नदी छेउछाउमा झुपडी बनाएर बस्दै आएका छन् । निकुञ्जको ‘कोर एरिया’मा रहेको ढक्कालगायत जिल्लाका विभिन्न स्थानका १७ शिविरमा विस्थापित बसोबास गरिरहेका छन् ।

    निकुञ्जभित्रको ढक्का शिविरमा छ सय चार, तारापुर एक सय ८० र लल्लरेडाँडामा १३ परिवारको बसोबास छ । त्यसैगरी कृष्णपुर नगरपालिकाको बाणी, सिसमघारी र मालुबेला, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटा, बनहरा र वैशाखा, बेदकोट नगरपालिकाको सुडासँगै पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाका शिविरमा गरी दुई हजार ४७३ परिवार विस्थापित छन् ।

    त्यतिबेला विस्थापित भएकालाई भीमदत्त नगरपालिका–१४ र १६ को नयाँ कटान, बेदकोट नगरपालिका–१० र शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटामा पुनःस्थापना गरिएको थियो । पुनःस्थापना हुन नसकेकाहरू अहिले निकुञ्जभित्रै र बाहिर बसोबास गरिरहेका छन् । निकुञ्जभित्र बसोबास गरिरहेकाहरू पनि जङ्गलमै खनजोत गरेर खेतीपाती गरिरहेका छन् । जङ्गलमा वन्यजन्तुदेखि सर्प र कीराको डरैडरमा बाँच्नुपरेको विस्थापित बताउँछन् ।

    लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ढक्का शिविरमा थुप्रै समस्या रहे पनि समाधान गर्न नसकिएको बताए । “हामीले शिविरमा उज्यालोका लागि सोलार जडान गर्ने तयारी गरेका थियौँ, तर निकुञ्जले अनुमति दिएन”, उनले भने, “त्यहाँ हामीले चाहेर पनि केही गर्न सक्दैनाँै ।” उक्त शिविर निकुञ्जको कोर एरियामा भएका कारण त्यहाँ निकुञ्ज प्रशासनले विद्युत्, खानेपानीलगायत सेवा विस्तारमा रोक लगाउने गरेको छ । एक सय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको तत्कालीन आरक्षको पूर्वी क्षेत्र विस्तार गरेर तीन सय पाँच वर्गकिलोमिटर बनाइएको थियो । राजनीतिक दलहरूले चुनावका बेला मुद्दा उठाउने र कार्यकर्ता भर्तीका लागि आयोग गठन गर्ने गरेको विस्थापितको आरोप छ ।

  • लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

    लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

    रासस
    ११ जेठ, मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियौं वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ । उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ ।

    उपल्लो मुस्ताङको लोछोदिन समुदायका गुरुङ र विष्ट समुदायका मानिस एकै थलोमा भेला भएर तिजी पर्वलाई हर्ष र उल्लासका साथ मनाउने प्रचलन छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग तथा लोमान्थाङस्थित छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङस्थित मुस्ताङ सांस्कृतिक राजाको दरबार परिसरमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व ‘तिजी’ शुभारम्भ गरिएको हो । तिजीलाई तिब्बती भाषामा ‘तेन्जी’ पर्व भन्ने गरिन्छ ।

    तिजी पर्वका बेलामा उपल्लो मुस्ताङका स्थानीय नागरिकले आफ्नो आर्थिक हैसियतअनुसार खानपान गर्ने, नयाँ मौलिक वेशभूषासहितको लुगा र गरगहना लगाउने गर्छन् । तिजी पर्व अवधिभर गुम्बा र छोर्तेनमा गएर सामूहिक पूजाआजा गर्ने धार्मिक चलन छ । उपल्लो मुस्ताङमा तिजी पर्व तीनसम्म मनाइने प्रचलन रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

    “तिजी पर्व एक किसिमको धार्मिक पूजा नै हो, तर यो धार्मिक पूजालाई लोछोदिन समुदायले पर्वका रूपमा विस्तार गरेको हो”, उनले भने, “उपल्लो मुस्ताङको लोछोदिन समुदायलाई कसैबाट आक्रमण नहोस्, शान्ति स्थापना होस्, सबैको भलो होस् भन्ने उद्देश्यले तिजी पूजाको रूपमा यो पर्व चल्दै आइरहेको हो ।”

    तिजी पर्वमा उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस लोमान्थाङस्थित तिजी पर्वमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने धार्मिक प्रचलन रहेको अध्यक्ष विष्टको भनाइ छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङको धार्मिक तथा ऐतिहासिक पर्व तिजी उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरका रूपमा रहेको बताए । यो पर्वले उपल्लो मुस्ताङको समृद्धि, विकास र शान्ति स्थापना गर्न तथा उपल्लो मुस्ताङका नागरिकलाई भावानात्मक रूपमा एकताबद्ध गर्न तिजी पर्वले महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको उल्लेख गरे ।

    तिजी पर्व आठौँ शताब्दीदेखि धर्मगुरु पद्मसम्भवको पालादेखि सुरु भएको लोमान्थाङस्थित लोमान्थाङ छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले बताए । गुरु पद्मसम्भवको पालादेखि सुरु भएको तिजी पर्व उपल्लो मुस्ताङमा पन्ध्राँै शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालादेखि सुरु भएको छोदे गुम्बाका लामा गुरुङको भनाइ छ ।

    पछिल्लो अवस्थामा उपल्लो मुस्ताङमा तिजी पर्व चल्दै गर्दा विभिन्न काखखण्डमा तिजी पर्व रोकिँदै र सुरु हुँदै आएकामा सन् १९६३ देखि नियमित रूपमा उपल्लो मुस्ताङमा तिजी सञ्चालन हुँदै आइरहेको छोदे गुम्बाका लामा गुरुङले जनाउनुभयो । त्यसो त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरना सङ्क्रमणको जोखिमका कारण सन् २०२० देखि तीन वर्ष उपल्लो मुस्ताङमा तिजी पर्व रोकिएको लामा गुरुङले उल्लेख गरे ।


    लोमान्थाङमा ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक पर्व तिजी तीन दिनसम्म नियमित रुपमा सञ्चालन हुने गर्छ । त्यस अवधिमा तीन दिनसम्म बिहान ६ः०० देखि १२ बजेसम्म त्यहाँको गुम्बामा लामाद्वारा बज्रकिलया देवता र महाकाल देवताको पूजापाठ गर्ने गरिन्छ । यसरी पूजापाठ गर्दा उपल्लो मुस्ताङलाई कसैले कुदृष्टि नलगाओस्, विश्व भातृत्व र शान्ति कायम होस्, रोगब्याधी र अनष्टि नहोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपद्को सामाना गर्न नपरोस्, सबै लोछोदिन समुदायमा सुख, शान्ति समृद्धि छाओस् भन्ने कामना गर्दै छोदे गुम्बाका लामाहरूले सामूहिक पूजा गर्ने प्रचलन रहेको लामा झ्यम्पा घ्याचो गुरुङले जानकारी दिए ।


    यसैगरी तिजी पर्वको तीन दिनसम्म बिहानको धार्मिक पूजापाठपछि लोमान्थाङस्थित मुस्ताङी सांस्कृतिक राजाको दरबार परिसर अगाडि छोदे गुम्बाका लामाबाट बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने गरिन्छ । यो प्रक्रिया तीन दिनसम्म नियमित चल्ने लामा गुरुङले सुनाए । तिजी पर्वको अवसरमा लोमान्थाङको ऐतिहासिक दरबार अगाडि छोदे गुम्बाका लामाले ५४ प्रकारका बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने चलन रहेको छ ।

  • गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

    गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

    रासस
    १० जेठ, पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ । गण्डकी प्रदेशभित्र होमस्टे सञ्चालन गरिरहेका २७ होमस्टेसँगै कोशी प्रदेश र बन्दीपुरबाट पर्यटन सम्बद्ध प्रतिनिधि मार्टमा सहभागी छन् ।

    मार्टमा सहभागी होमस्टेका तर्फबाट आआफ्ना होमस्टेमा दिइने सेवा, प्याकेज तथा आकर्षणबारे जानकारी गराइएको छभने गाउँ पर्यटन सम्बद्ध विभिन्न विषयमा छलफल सत्रहरू सञ्चालन भएका छन् । होमस्टे मार्टको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गाउँ पर्यटनको विकास सरकारको प्राथमिकतामा रहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।


    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले होमस्टे केवल गाउँमै सीमित भएर चल्न नसक्ने बताउँदै सहरका मानिस गाउँ पुग्नैपर्नेमा जोड दिए । गाउँ र सहरलाई पर्यटकीय रुपमा जोड्न मार्ट सञ्चालन गरिएको उनको भनाइ छ । मार्टका क्रममा सञ्चार, उद्योग व्यवसाय र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरूबाट छुट्टाछुट्टै छलफल तथा विचार विमर्श गरिने जनाइएको छ ।

    भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले गाउँ पर्यटनको विकाससँगै होमस्टे व्यवसायलाई प्रभावकारी बनाउन मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरेक गाउँहरू पर्यटकीय सम्भावनायुक्त हुने बताउँदै गाउँ पर्यटनको विकासका माध्यमबाट तिनीहरूको पर्यटकीय सम्भावना उजागर गर्न सकिने बताए । मार्ट भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

  • अठारौँ गणतन्त्र दिवसमा राससमा हिमालका तस्बिर

    अठारौँ गणतन्त्र दिवसमा राससमा हिमालका तस्बिर

    १० जेठ, काठमाडौं । गणतन्त्र दिवस–२०८२ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले ‘पर्वतीय पर्यटनः हाम्रो पहिचान’ विषयमा केन्द्रित रहेर आइतबारदेखि तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा हुने प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका १०० वटा तस्बिर समेटिएका छन् । प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार बिहान संयुक्त रुपमा शुभारम्भ गर्ने कार्यक्रम रहेको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिए ।
    जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले व्यर्होर्नु परेका समस्याप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले हालै यहाँ सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रमलाई जोडेर रासस समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमालसम्बन्धी तस्बिर प्रदर्शनीमा राखिनेछ । ग्राहकहरुको मागलाई दृष्टिगत गरी राससले आफ्ना उत्पादनमा विविधता थपिरहेको सन्दर्भमा प्रदर्शनीले राससका समाचार र तस्बिरलाई अझ समृद्ध बनाउन सहयोग गर्ने विश्वास महाप्रबन्धक सिद्धराज राईले व्यक्त गरे । राससले गत वर्ष भौतिक पूर्वाधार निर्माण र त्यसअघि मुलुकको सांस्कृतिक विविधतासम्बन्धी प्रदर्शनी गरेको थियो ।


    जलवायु परिवर्तनबाट मानव सभ्यतामा आएको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ आवाज उठाइरहेका अवस्थामा हिमालको संरक्षणका लागि बहस र पैरवी गर्न प्रदर्शनीबाट योगदान पुग्नेमा रासस विश्वस्त छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खलाको प्रवद्र्धनबाट वैदेशिक आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रको विकासले अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    विश्वका आठ हजार मिटरभन्दा उच्च १४ वटा हिमशिखरमध्ये आठ वटा नेपालमा छन् । मुलुकमा आठ हजार मिटर माथिका सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरि हिमशृङ्खला छन् । सात हजार मिटरमाथि का ९० र छ हजार मिटरमाथिका एक हजार ३१० गरी एक हजार ७९२ वटा हिमाल छन् ।

  • पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

    पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

    हरि जिज्ञासु/रासस

    १० जेठ, सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गरेका उनी ६१ वर्षका भए । पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसकेका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ ।
    भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका उनलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय लाग्छ । उहाँ विगत सम्झँदै भन्छन्, “हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन । पुराना घरहरू थिए । पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे । शेर्पा युवाहरू कोही भारी बोक्थे, अङ्ग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे ।”

    पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन् । कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उनीसँग छ । उनी सम्झँदै भन्छन्, “जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ । जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ । त्यो समयमा प्रायः शेर्पा समुदायका युवाहरू देखिन्थे । तर अहिले शेर्पा युवाहरू अलि कम देखिन्छन् ।”

    पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण सङ्घको भनाइ छ । छिटपुट शेर्पा युवाहरूले पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य देखेपनि वर्षौँ पर्वतारोहण पेसामा लागेका अनुभवी शेर्पाहरूका सन्तान यो पेसामा नदेखिएको पर्वतारोहण पेसामा आबद्धहरू बताउँछन् ।

    नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङका अनुसार सोलुखुम्बु जिल्लाबाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता देखिन्छ । उनी भन्छन्, “हाल सोलुखुम्बुपछि सङ्खुवासभा जिल्लाबाट धेरै पर्वतारोहण पथप्रदर्शकको रूपमा सहभागी भएको देखिन्छ । त्यसपछि खोटाङ, ओखलढुङ्गालगायत जिल्लाबाट पनि सहभागिता छ ।”

    काठमाडौँ,४ जेठः माउन्टेन फ्लाइटबाट आइतबार बिहान देखिएको सगरमाथा आसपास हिमश्रङ्खलाको दृश्य । तस्बिरः हरिराम भेटुवाल\रासस

    सङ्घका अनुसार नेपालमा ४६१ हिमाल आरोहणका लागि खुला गरिएको छ । करिब १५० बढी हिमाल आरोहण हुनै बाँकी छ । कतिपय हिमालहरू अझै अध्ययनको क्रममा छन् । सञ्चार अधिकृत गुरूङ भन्नुहुन्छ, “पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको आकर्षण घट्दै गए पनि अन्य समुदायका युवाहरूको आकर्षण बढ्दो छ । भविष्यमा पर्यटकहरूको सङ्ख्या बढ्यो भने पर्वतारोहण पथप्रदर्शक जनशक्ति कम हुन सक्छ । हालसम्म चिन्ता छैन । तर, हिमाल चढ्नु जटिल पेसा भएकाले यस पेसाप्रति आकर्षण घट्छ कि भन्ने चिन्ता हो ।”

    शेर्पा संस्कृति र शेर्पा समुदायको हिमालसँग जोडिएको सम्बन्ध केन्द्रित अध्ययन अनुसन्धान गर्दै आउनुभएका ६४ वर्षीय लाक्पा सोनाम शेर्पा पहिलेको तुलनामा पछिल्लो समय हिमाल आरोहण पेसामा शेर्पा युवाहरूको आकर्षण घट्दो क्रममा रहेको स्वीकार गर्छन् । हालसम्म शेर्पाहरू हिमाल आरोहण पेसामा सक्रिय रहेका र आउने पुस्ता यस पेसामा रहन्छन् वा रहँदैनन् भन्ने टुङ्गो नरहेको हिमालयन उद्धार सङ्घका कार्यकारी प्रमुख गोविन्द बस्याल बताउँछन् । नी भन्छन्, “हालसम्म हिमाल आरोहण पेसामा शेर्पा समुदायको बाहुल्यता छ । यस पेसामा आबद्ध शेर्पाका छोराछोरी कोही काठमाडौँमा आएर पढ्ने र कोही विदेशमा अध्ययन गर्ने भएकाले बाबुबाजेको पेसामा उनीहरू फर्कन्छन् भन्ने निश्चित छैन ।”

    खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारमा शेर्पा सङ्ग्रहालय सञ्चालन गर्नुभएका लाक्पा सोनामका अनुसार शेर्पाहरूले यो पेसा छोड्दैमा भविष्यमा समस्या नहुन सक्छ । शेर्पा युवाहरूले हिमाल चढ्न छाडे अन्य समुदायका युवाहरूले चढ्ने उहाँको अनुमान छ । बरू जलवायु परिवर्तनको कारण सगरमाथा रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता रहेको उनी बताउँछन् । “बर्सेनि सगरमाथामा हिउँ कम हुँदै गएको छ । सगरमाथा पत्थरमा परिणत भयो भने सगरमाथा को चढ्छ ?”, उनी प्रश्न गर्छन् ।

    file


    हालसम्म आठ पटक सगरमाथा आरोहण गर्नुभएका ५१ वर्षीय निमा शेर्पा पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको कमी भएको बताउँछन् । उनी भन्छन्, “हाम्रो पुस्ताका शेर्पाहरूले हाल गाइडको काम धानिरहेका छाँै । हिमाल चढ्ने पेसा जोखिमयुक्त भएको कारण पछि आउने पढेलेखेका पुस्ताले यस पेसालाई अँगाल्दैनन् कि भन्ने चिन्ता छ । हाल पर्वतारोहणमा अनुभवी र उमेरले परिपक्व शेर्पाहरू धेरै भेटिन्छन्, पछिल्लो पुस्ताका शेर्पाहरू कम भेटिन्छन् ।”

    सोलुखुम्बुको दूधकोसी गाउँपालिका–९ का तार्के शेर्पा उमेरले ५८ वर्ष पुगे । कलिलो उमेरदेखिनै भारी बोकेर सगरमाथा क्षेत्रमा ओहोरदोहोर गरिरहेका उनको पनि सगरमाथा क्षेत्रसँगको गहिरो सम्बन्ध छ । आठ पटक सगरमाथा आरोहण गरिसक्नुभएका तार्केले सगरमाथा आरोहण गर्न छाडेको तीन वर्ष बितिसक्यो । आठ हजार मिटरमुनिका हिमालमा अझै उनी आरोहण दलको नेतृत्व गरिरहेका छन् । हिमाल आरोहणमा शेर्पा युवाहरूको कमी हुँदै आएको उनको स्वीकारोक्ति छ ।

    “पढेलेखेका केही युवाहरू व्यवसायमा लागेका छन् भने, केही युवाहरू अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि पुगेका छन्”, उनले भने, “पछिल्ला पुस्ताका शेर्पा युवाहरू पेसामा सक्रिय देखिँदैन । निरन्तर आम्दानीको स्रोत नभएको र हिमाल चढ्नेहरूका लागि सरकारबाट सेवा सुविधा नभएका कारण पनि यो पेसाबाट शेर्पाहरू विस्थापित भएको हुनुपर्छ ।”

    खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारका ओङछु शेर्पाका अनुसार पहिले प्रत्येक परिवारको कान्छो छोराबाहेक अरू छोराहरूले सगरमाथा आरोहण गर्थे । ओङछु शेर्पा आफू परिवारको एक्लो छोरा भएको कारण ट्रेकिङ गाइडको काम सम्म गरेको तर हिमाल आरोहण नगरेको बताउँछन् । उनी भन्छन्, “हाल गाउँमा युवाहरू त्यति भेटिँदैनन् । सबै विदेशिएका छन् । खुम्बु क्षेत्रका पाङबोचे, थामे, खुम्बुलगायतका गाउँका केही शेर्पा युवाहरू हिमाल चढ्ने पेसा अँगाले पनि नाम्चे बजारका युवाहरू खासै छैनन् ।”

    तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि सगरमाथा आरोहणको बाटो खुलेको हो । विश्वभरबाट पर्यटकहरू सगरमाथा आरोहण तथा त्यस क्षेत्रको अवलोकनका लागि आउन थालेपछि खुम्बु क्षेत्रका स्थानीयले भारी बोकेर आर्थिक आयआर्जन गर्ने अवसर पाएका थिए ।

    सगरमाथा आधार शिविर पुग्नका लागि काठमाडौँबाट खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्केसम्म यातायात सुविधा छ भने, काठमाडौँ र रामेछापबाट लुक्लासम्म हवाई सुविधा छ । लुक्लादेखि सगरमाथा आधार शिविरतर्फ पैदलयात्रामार्फत पुग्न सकिन्छ । बाटोमा सुविधा सम्पन्न होटलहरू छन् । हाल लुक्ला र सुर्केबाट खच्चड र मान्छेमार्फत सामान ढुवानी गरिन्छ । नेपालमा हिमाल चढ्ने समुदायको रूपमा शेर्पा समुदायलाई चिनिन्छ । कुनै समय सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रका हरेक युवाहरू सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे । हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो देखिएको हो ।

  • पर्यटक पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

    पर्यटक पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

    अञ्जली थापा/रासस

    ९ जेठ, हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैनन् । हरियालीबीच यहाँको वस्ती अत्यन्तै सुन्दर छ । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले यस गाउँलाई टाढैबाट देख्न सकिन्छ ।

    नेपालकोे ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छभने यतिबेला गाउँलेहरू पर्यटकको पर्खाइमा बसिरहेका छन् । थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेकोे कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ ।

    नगरपालिकाको तथ्याङ्कानुसार ३८औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको बताइएको छ ।

    ‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरूका अनुसार सय होइन होइन, हजार वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्याएको स्थानीय बताउँछन् ।

    नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ । त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै त मात्र ३० किलोमिटर पार गर्दा ‘कुञ्छाल’ पुग्न सकिन्छ । फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो ५५ किलोमिटर दूरीमा यो स्थान रहेको छ ।

    लिच्छविकालीन राजा अंशु बर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो देखिने स्थानीय बताउँछन् । यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहेको देखिएता पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीहरूको मात्र बसाइ रहेको छ ।

    नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि रहेका छन् । यस बस्तीमा एक अनौठो चलन छ । यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ । कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो ।

    एक सय ७३ घरपरिवार भएको ‘कुञ्छाल’ यस गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको गाउँका अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताए । उनका अनुसार गाउँमा पुर्खाले नै बनाएको संरचना यथावत भएका कारण यसलाई बिग्रन नदिनेमा गोपालवंशदेखि रहेको र तीन सय वर्ष पुराना हुन् भन्ने प्रशस्त प्रमाण भेटिने उनको दाबी छ ।

    उनी भन्छन्, “हामीले बोल्ने नेवारी भाषा काठमाडौँमा बोलिने भाषाभन्दा फरक छ ।” । “शब्द, लवजमा नै धेरै फरक छ, हाम्रो भाषालाई प्राचीन नेपालमण्डलभित्रका भाषाभन्दा हुन्छ ।” उनका अनुसार नेपाल भाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न धरैजना आउने गर्छन् ।

    त्यसैगरी, यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरूषसरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताउइन् । थाहा आन्दोलनमा प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको उनी सम्झन्छन् । तत्कालीन जनयुद्धमा छोरी गुमाएकी उनलाई अहिलेको परिवर्तनमा आफ्नो परिवारले रगत बगाएकामा पनि निकै गर्व महसुस हुने गरेको बताउँछिन् ।

    उनका अनुसार तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको सुनाउँछिन् । उनका अनुसार यहाँ पुरूषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाहरूले पनि पुरूषसरह खेतीपातीको काम गर्छन् । यहाँ आउने पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने उनको भनाइ छ ।

    थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौँको केन्द्र हनुमानढोका दरबारसँग रहेको जानकारी दिए । यस नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन पनि रहेको उनी बताउँछन् ।

    उनी भन्छन्, “कुञ्छाललाई एउटा जीवित सङ्ग्रहालयका रूपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरूपलाई नै निरन्तरता दिने र यहाँको मौलिक स्वरूप, परम्परागत पेसा नै यहाँका स्थानीयको समृद्धिको आधार बनाउन हामीले जोड दिइरहेका छौँ ।” मकवानपुरको पहाडी भेग अझ काठमाडौँ उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगरप्रमुख विष्टले जानकारी दिए ।


    नगरप्रमुख विष्टका अनुसार पुरानो बस्ती कुञ्छालका बासिन्दा असाध्यै मेहनती छन् । कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत रहेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैँले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ । महिला–पुरूषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो । बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ । पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ ।

    थाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि राजधानी काठमाडौँबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हँुदै करिब तीन घण्टामा पुग्न सकिन्छ । टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्न कुञ्छाल गाउँबाट वा नजिकैको सरस्वती बजारबाट सुरू गर्न सकिन्छ ।

    बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा भ्रमण, कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ ।

    वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन यही रूटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हँुदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकनपश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रूपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट पैदल जङ्गल सफारीसँगै पैदलमार्गमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ ।

    वाराही मन्दिरबाट उकालो हिँडेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर रहेको छ । वाराही डाँडाबाट पुनः जङ्गल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । स्थानीयहरूको आत्मीय व्यवहार र स्वागतसहितको पैदलयात्रासँगै केही दिनको भ्रमण र बस्नका लागि पनि थाहानगरको बज्रवाराहीमा होटलको राम्रो व्यवस्था भएको तथा कुञ्छालमै रहेका होमस्टेमा पनि बस्न सकिन्छ ।

  • उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य

    उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य

    रासस
    ९ जेठ, चितवन । जिल्लाको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । गर्मी छल्न र सूर्योदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन् । इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीमा ३५ परिवार छन् । ती मध्ये १० घरमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । विसं२०७५ देखि घरबास सुरु गरिएको हो । सिराइचुली होमस्टेका सञ्चालक गणेशबहादुर थापाका अनुसार घरबास नै आफूहरुको आम्दानीको प्रमुख स्रात हो ।

    सुरुमा यहाँ आएका पाहुनालाई बास बस्न पनि समस्या भएपछि यहाँका स्थानीयले आफ्नै घरमा राख्ने गरेको भए पनि पछि घरबासको अवधारणा अघि सारिएको थापाले बताए । हाल दैनिक ६० देखि ७० जनाले यस क्षेत्रको अवलोकन गर्ने गरेका छन् । गाउँमा एक सय ५० जना पाहुनासम्म राख्न मिल्ने व्यवस्था गरिएको अर्का घरबास सञ्चालक बिलबहादुर थापामगर बताउँछन् । उनले भने, “यहाँ पर्यटक आउने समय फागुन–चैतदेखि असोजसम्म हो । ”

    जिल्लाको पुरानो सदरमुकाम गढी भएकाले यसलाई संरक्षण गर्न सकेमा यहाँको विकासमा अझै टेवा पुग्ने उनले बताए । चेपाङ, गुरुङ र मगर जातिको बाहुल्यता रहेको यस क्षेत्रमा स्थानीय उत्पादनले पाहुनाको स्वागत गरिन्छ । घरबासको कमाइले छोराछोरी पढाउने र घरखर्च चलाउन पुगेको अर्का घरबास सञ्चालक मङ्गलबहादुर थापामगर बताउँछन् । आफ्नो आयआर्जनको अर्को माध्यम नभएपछि घरबास र खेतीपातीमा रमाएको उनी बताउँछन् ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उपरदाङ्गढीमा सञ्चालनमा रहेका घरबासलाई प्रवर्द्धनका काम गर्दै आएको बताए । घरबास सञ्चालकलाई विभिन्न तालिम दिएको बताउँदै स्थानीय उत्पादन र प्राङ्गारिक खानालाई प्रोत्साहन गरिएको जानकारी दिए । गढीमा इच्छाकामना गाउँपालिकाले ऐतिहासिक किल्ला, कोतघर, धारालगायत संरचना निर्माण गरिरहेको छ । कोतघर रु एक करोड ३५ लाख खर्च गरेर बनाइएको छ ।

  • भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

    भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

    ८ जेठ, चितवन । भरतपुर विमानस्थलमा ठूला जहाजको उडानलाई निरन्तरता दिने प्रयास भइरहेको छ । विभिन्न एयरलाइन्सले बेलोबलामा ठूला जहाज उडान गरेपनि नियमित गरेका छैनन् । केही महिनाअघि तामझामका साथ श्री एयरलाइन्सले परीक्षण गरेर ८० सिटे जहाज उडान सुरु गरेको थियो । तर, अहिले बन्द भएको छ । सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयास सुरु गरेको हो । हाल ४७ सिटको एटिआर–४२ बाट उडान भर्दै आएको बुद्ध एयरले आज ७२ सिट क्षमताको एटिआर–७२ बाट परीक्षण उडान गरेको छ ।

    भरतपुर विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार २०० मिटर छ । एटिआर ७२ जहाजलाई सहज उडान र अवतरणका लागि कम्तीमा एक हजार ५०० मिटर धावनमार्ग आवश्यक पर्छ । एटिआर–७२ जहाजको अवतरणपछि क्याप्टेन प्रमोद थापाले सहज रुपमा उडान र अवतरण गर्न सकिएको बताउनुभयो । जहाजमा सँगै रहेका नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको निर्देशनअनुसार आफूहरुले जहाज उडान र अवतरण गरेको प्रतिक्रिया उनले दिए ।

    सोही अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशक देवचन्द्रलाल कर्णले आजको परीक्षण उडानको सम्पूर्ण विवरण अध्ययन गरी निर्णयमा पुगिने बताए । सम्भावना रहेमा दुई महिना भित्रमा नियमित उडान गर्न सकिने उनको भनाइ छ ।


    द्धएयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार हाल दैनिक सात उडान काठमाडौँ–भरतपुर र एउटा भरतपुर–पोखरा एटिआर–४२ बाट उडान हुँदै आएको छ । धावनमार्गसँगै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने योजना धेरै अघिदेखि गरिएपनि सार्थकता पाउन सकेको छैन ।

  • गलकोटमा चियाको व्यावसायिक उत्पादन सुरु

    गलकोटमा चियाको व्यावसायिक उत्पादन सुरु

    ८ जेठ, बागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् । यहाँ समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका थिए ।

    रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल १६२ रोपनी जग्गामा चियाखेती भइरहेको छ । गत वर्ष नमूनाका रूपमा परम्परागत शैलीबाट चिया उत्पादन गरे पनि यस पटक स्थानीयले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन्भने ७० रोपनी जग्गामा लगाइएको चिया टिप्न थालिएको छ । थप सय रोपनी जग्गामा चियाका बोटहरू हुर्किरहेका छन् ।

    पाँच वर्षमै चियाका बोटले पूर्ण रूपमै उत्पादन दिन थालेकाले हाल हप्तामा एक दिन चिया टिप्न थालिएको छ । चिया टिप्नेक्रम मङ्सिरसम्म जारी रहने छ । जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर थापाले ३५ रोपनी विद्यालयको जग्गामा चियाखेती गरिरहेको जानकारी दिए । रेशमा चियाको सुरुआत विद्यालयकै जग्गाबाट भएको बताउँदै उनले दाउरा बिक्री गर्ने पाखो हाल चिया बगान भएको बताए ।


    रेशमा साना किसान सहकारी संस्थाको अगुवाइमा चियाखेती विस्तार भइरहेको थापाले बताए । उनका अनुसार विद्यालयले चियाका बिरुवासमेत उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ । हाल उक्त सहकारीको ६७ रोपनी, स्थानीय नागरिकको ६० रोपनी तथा विद्यालयको ३५ रोपनी गरी १६२ रोपनी जग्गामा चियाखेती विस्तार गरिएको छ । जसमध्ये पहिलो चरणमा लगाइएको विद्यालय र स्थानीयको ७० रोपनी जग्गामा मात्रै चिया उत्पादन भइरहेको र अन्य स्थानका चियाका बिरुवा हुर्कंदै गरेको सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले जानकारी दिए ।
    काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले एक वर्षभित्रै चियाको निर्यात हुनेगरी चिया टिप्न थालिएको र चिया उत्पादन गर्ने उपकरणसमेत रु १८ लाख लागतमा स्थानीयले रकम सङ्कलन गरी खरिद गरेको जानकारी दिए । “सुरुमा ताराखोलाबाट बिरुवा लिएर रोपेका थियौं,, पछि सहकारीकै अगुवाइमा बिरुवा उत्पादन गरेका हौँ । सुरुमा गण्डकी प्रदेशको मुख्यमन्त्री नमूना कृषि कार्यक्रममार्फत किसानलाई चिया खेतीमा अग्रसरता दिलायो”, उनले भन, “गत वर्ष परीक्षणका रूपमा हातले ग्रिन चिया उत्पादन गरेका थियौँ, तर व्यावसायिकता थिएन, हाल चियाको उत्पादनसमेत बढ्दो छ । आफैँ चिया बनाउने उपकरणले चिया उत्पादनमा व्यावसायिकता ल्याउन सहज भएको हो । ग्रिन चिया किलोकै दुई हजारभन्दा बढीमा बिक्री गर्न सकिन्छ, यहाँको विद्यालय, सहकारी र स्थानीयलाई झाडी फाँडेर लगाएको चियाले आयआर्जनमा सघाउनेछ ।”

    पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती विस्तार गर्न थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताए ।
    रासस