Category: घूमघाम

  • महाकालीको चार लेन पुल पर्यटकीय गन्तब्य बन्दै

    महाकालीको चार लेन पुल पर्यटकीय गन्तब्य बन्दै

    १४ वैशाख, दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन् । पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

    पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका–१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताउनुभयो । “फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो÷भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो”, उनले भने, “साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ ।” पछिल्लो समय यहाँ फोटो र भिडियो बनाउनेकोे भीड लाग्ने गर्छ । स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट पनि पर्यटक आउने गरेका छन् ।

    पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी अमिर तिरुवा बताउँछन् । “यहाँ महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट पनि मानिस आउने गरेका छन्”, उनले भने, “पछिल्लो समय दोधारा चाँदनी झोलुङ्गे पुल जाने पर्यटक पनि यहाँ पुग्ने गरेका छन् ।” उनले यहाँ विभिन्न म्युजिक भिडियोसमेत छायाङ्कनका हुने गरेको बताए ।

    पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ । साँझका बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्बिर कैद गर्न सकिने भएकाले पनि साँझको समय फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । विसं २०७४ देखि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि पुलसँगै बन्ने अन्य संरचना निर्माणाधीन अवस्थामा छन् ।

    पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना छ । महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले पुलसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्न टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको जानकारी दिए ।

    “पुलको वारिपारि चारवटा पोखरी निर्माण हुन्छन्, त्यसमा टापु पनि छ, पर्यटकले बोटिङ गरेर त्यो टापुमा जान सक्छन् ।” उनले भने, “पोखरीसँगै हरियाली बनाउन पाँच हजार बिरुवा रोप्छौँ, यसले पर्यटक आकर्षित हुनेछन् ।” उनले पछिल्लो समय पुल अवलोकनका लागि दैनिक दुई–तीन सय जना पुग्ने गरेका बताए । महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन् । अहिले पोखरीका लागि बाँध बाँध्ने काम निर्माणाधीन अवस्थामा छ ।

  • कोशीमा पयटकीय चहलपहल बढ्दो, पर्यटन वर्षले ल्याउला बहार ?

    कोशीमा पयटकीय चहलपहल बढ्दो, पर्यटन वर्षले ल्याउला बहार ?

    १३ वैशाख, मोरङ । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो ।

    पर्यटकको चहलपहल बढ्दा पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित भएका छन् । भारतको विहार राज्यबाट इलामको कन्याम घुम्न आउनुभएका कम्लेश शर्मा भन्छन्, “नेपाल वास्तवमै स्वर्गको टुक्रा रहेछ सुनेकोभन्दा पनि धेरै राम्रो लाग्यो, साथीहरूसँग नेपाल घुम्न आएको दुई दिन भयो एक साता बसेर मात्र फर्कने योजना बनाएका छौँ ।”

    कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको हो । “हामी होटल व्यवसायी एकदमै खुसी छौँ, आशा छ पर्यटन वर्ष २०८२ ले कोरोना माहामारीपछि थलिएको होटल व्यवसाय अव चलायमान हुनेछ”, होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले भने ।

    यहाँ विशेषगरी भारतीय पर्यटक आउनेगरेका छन् । भन्सार पास भएर आइसकेका भारतीय पर्यटकलाई बढिमात्रामा चेकजाँचको झन्झट हुने गरेको गुनासो आइरहेकामा हाल पर्यटन वर्षलाई लक्षित गरेर सीमानाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँसेर सहज बनाउको अध्यक्ष लिम्बू बताउँछन् । कोशी प्रदेश सरकारले सीमानाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँस्न सुरू गरेको छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारीसाधनमा पर्यटन वर्षको स्टिकर टाँसेर अभियानको सुरूआत गरेका थिए । पर्यटकलाई सहज होस् भनेर यो अभियान सुरू गरेको प्रदेश सरकारले जनाएको छ । दैनिक १०० को हाराहारीमा भारतीय पर्यटकको सवारी भेडेटार आइरहेको बताउँदै अध्यक्ष लिम्बूले भेडेटार र आसपासमा १५ देखि २० हजार पर्यटकलाई राख्न सकिने व्यवस्थित होटल तथा होमस्टे रहेको उनको भनाइ छ ।

    गत सालभन्दा यो साल सुरुआती दिनमै आन्तरिक पर्यटकको चहलपल बढेको अनुमान गर्न सकिने धनकुटा साँगुरीगडी–६ नाम्जेका होमस्टे सञ्चालक नगेन्द्र मगरले बताए । अरू दिनभन्दा शुक्रबार र शनिबार पर्यटकको चाप बढी हुने यस ठाउँमा अरू दिनमा पनि पर्यटकको चाप बढ्न थालेको उनको भनाइ छ ।

    नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत १९ वटा घर आबद्ध रहेको र ती घरमा ९० देखि १०० जनासम्म राख्न सकिने उनको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटन गर्नेको सङ्ख्या बढेको बताउँदै घुम्नका लागि गाडी भाडामा जाने गरेको यातायात व्यवसायी मोरङ बेलबारी–९ का नगेन्द्र भट्टराईले बताए। कोशी प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन वर्ष २०८२ सञ्चालन गरिरहँदा प्रदेशको समग्र आर्थिक क्षेत्र चलायमान हुने र यो कार्यक्रम सफल बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउँछन् ।


    चैत २७ गते गुराँसको राजधानी मानिने तेह्रथुमको तीनजुरे मिल्केमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गरेका थिए । पर्यटन वर्षमा विशेषगरी धार्मीक, प्राकृतिक, सांस्कृतिक पर्यटक कोशी घुम्न आउने कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउँछन् । उनका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक यहाँ आउने गरेका छन् । पर्यटन वर्षमा पन्ध्र लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

  • ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञलाई बोर्डको आह्वान

    ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञलाई बोर्डको आह्वान

    १२ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले मे १६ देखि १८ २०२५ सम्म काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन आग्रह गरेका छन् । टर्कीको इस्तानबुलमा २१ देखि २३ अप्रिलसम्म आयोजित ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० वार्षिक सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै सीईओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन र दिगो भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञलाई सहभागी हुन आमन्त्रण गरेका हुन् ।

    आगामी सगरमाथा संवाद २०२५ प्रवर्द्धन गर्दै सम्मेलन क्रममा पर्यटन बोर्ड र पाटाबीच साझेदारी सम्झौता समेत भएको छ । जस अन्तर्गत ’टुरिज्म ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका संस्था सुदृढीकरणका कार्यक्रममा सहकार्य गरिने छ । त्यसैगरी सीईओ जोशीले वैश्विक पर्यटन समुदायलाई विशेष अपिल गर्दै जुन ३ देखि ५ सम्म काठमाडौंमै हुने ‘हिमालयन ट्राभल मार्ट’ मा पनि सहभागी हुन अन्तर्राष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीलाई आग्रह गरे ।
    यस मार्टमार्फत नेपालको विविध पर्यटन सम्पदा प्रवर्द्धन गर्नुका साथै विश्वव्यापी सहकार्य सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ ।

    ‘हिमालयन ट्राभल मार्ट केवल व्यापारिक भेला होइन, यो नेपालले दिन सक्ने अद्वितीय, अर्थपूर्ण र दिगो अनुभवहरूको उत्सव हुनेछ,’ जोशीले भने । ‘सदाका लागि ज्ञान, भविष्यका लागि दिगोपन’ भन्ने मूलनारा साथ सम्पन्न पाटाको वार्षिक सम्मेलनमा नेपालका तर्फबाट ‘दिगो भविष्य निर्माण’ विषयमा मन्तव्य दिँदै सीईओ जोशीले नेपालको इको–टुरिज्म मोडेल, समुदाय–आधारित पर्यटन अभ्यास र प्रमुख दिगो पहलबारे जानकारी गराएका हुन् ।

    उनले नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा आधारित पर्यटन विकासको दृष्टिकोण समेत प्रस्तुत गरे । त्यसैगरी सीईओ जोशी नेतृत्वको बोर्डको प्रतिनिधिमण्डलले ‘ग्लोबल सस्टेनेबल टुरिज्म काउन्सिल’ का सीईओ डा। र्‍यान्डी डब्र्यान्डसँगको छलफलमा गन्तव्य प्रमाणीकरण, सदस्यता, अनुसन्धान तथा क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य विस्तार गर्ने सहमति गरेको छ ।

    सम्मेलन अवधिभरि बोर्डको प्रतिनिधिमण्डलले पर्यटन विज्ञ, तथ्यांक वैज्ञानिक, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) विशेषज्ञ तथा वातावरणविद्सँग विभिन्न छलफल र बैठक गरेको छ । सम्मेलन क्रममा नेपालको पर्यटन क्षेत्रलाई दिगो, तथ्यमा आधारित र विश्वसनीय गन्तव्यका रूपमा पुनस्र्थापना गर्ने रणनीति सुदृढ गर्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

  • सगरमाथा आरोहणमा कडाई गरिँदै, ७ हजार मिटर भन्दा अग्लो हिमाल चढेपछि मात्र अनुमति

    सगरमाथा आरोहणमा कडाई गरिँदै, ७ हजार मिटर भन्दा अग्लो हिमाल चढेपछि मात्र अनुमति

    काठमाडौं । नेपालभित्र कम्तीमा ७ हजार मिटर उचाइको हिमाल आरोहण नगरी सिधै सगरमाथा आरोहणमा जान अब रोक लगाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘पर्यटन विधेयक २०८१’ मा यस्तो व्यवस्था गरिएको छ । जसले २०३५ सालको पर्यटन ऐन विस्थापित गर्ने छ । सरकारले ७ हजार मिटरभन्दा अग्लो नेपालको कुनै पनि हिमाल आरोहण गरेको अभिलेख पेस गरेपछि मात्र सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमतिपत्र जारी गर्ने उक्त विधेयकमा उल्लेख छ ।

    यसका साथै स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य गर्दै विधेयकमा स्वास्थ्य स्थिति सन्तोषजनक नदेखिए पर्वतारोहण गर्न वा पर्वतारोहण दलसँग जान अनुमति नदिइने प्रावधान समेत विधेयकमा समेटिएको छ । अहिले सगरमाथामा अन्धाधुन्ध अनुमति दिइएको भन्दै आलोचना हुने गरेको छ । नयाँ प्रावधान अनुसार पर्वतारोहण दलको सदस्य, सम्पर्क अधिकृत, सरदार, पर्वतारोहण पथप्रदर्शक र अन्य पर्वतारोही सहयोगीका लागि नेपाल सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पछिल्लो एक महिनाभित्र गरिएको स्वास्थ्य परीक्षण प्रमाणपत्र समेत पेस गर्नुपर्ने प्रावधान विधेयकमा छ ।

    विधेयकमा हिमालचुलीमा साहसिक पर्यटन गतिविधि गर्न भने अनुमति लिनुपर्ने भएको छ । हिमालचुलीबाट प्याराग्लाइडिङ, स्काई डाइभिङ, हेली स्किइङ, अल्ट्रालाइट वा यस्तै प्रकृतिका अन्य साहसिक पर्यटन क्रियाकलाप गर्न चाहे पर्वतारोहीले पर्यटन मन्त्रालय वा तोकिएको निकायबाट अनुमति लिर्नुपर्ने गरी सर्त राखिएको छ । एक पटक आरोहण अनुमति लिएको समूहले सोही वर्ष आरोहण नगरे दस्तुर फिर्ता नहुने समेत प्रावधान राखिएको छ । तर, काबु बाहिरको परिस्थितिमा भने सरकारले निर्णय गरेर समय सार्न सक्ने भएको छ । पर्वतारोहण दलले निर्धारित पर्वतारोहण मार्गमात्र प्रयोग गर्नुपर्ने भएको छ ।

  • १३ बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न

    १३ बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न

    ११ वैशाख, काठमाडौं । सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा आयोजना गरिएको हिमाली संवाद १३ बँुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा सम्पन्न हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको आवाज प्रस्फूटन गराउने विषयमा विभिन्न सुझाव दिइएको हो । सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट ९वाइएई०, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ९क्रिडाक०लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा संवाद सम्पन्न भएको सचिवालयले जनाएको छ ।

    सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायका अनुभव आदानप्रदान, बाल–संवेदनशील जलवायु समाधानका लागि वकालतलगायत विषय उजागर गरिएको वाइएईका अध्यक्ष सनोत अधिकारीले जानकारी दिए । घोषणापत्र तीन तहका सरकार, सगरमाथा संवाद सचिवालय र विश्व समुदायलाई हस्तान्तरण गर्दै ध्यानाकर्षण गरिने उनले बताए । संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज, विभिन्न सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारीतर्फका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि र नीति निर्माता, प्रदेश र सङ्घीय सरकारका प्रतिनिधि गरी एक सय ५० जनाको सहभागिता थियो ।

    घोषणापत्रमा हिमाली क्षेत्रका बालबालिका, युवा र समुदायमा जलवायु सङ्कटले पारेको असरलाई सम्बोधन गर्न सगरमाथा संवादमा यस विषयलाई प्राथमिकताका साथ छलफल गरी समाधानका उपायको खोजी गर्न माग गरिएको छ । त्यस्तै सगरमाथा संवादमा बालबालिकाहरूका आफ्ना भोगाइ, अनुभव र आवाज उठाउन विशेष सत्रको व्यवस्था गर्न आग्रहसहित सुझाव आएको वाइएईका कार्यक्रम संयोजक अञ्जु पोखरेलले जानकारी दिए । उनका अनुसार जलवायुसम्बन्धी शिक्षा र सचेतनालाई सबै समुदायमा सञ्चालन गर्न, जलवायु सङ्कटको समाधानका लागि सिमान्तकृत र सामाजिक रूपमा पछाडि पारिएका समुदायका जीवन्त भोगाइलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम लागू गर्न घोषणापत्रमा आग्रह गरिएको छ ।

    हिमाल बचाउन नेपालको प्रयास मात्र पर्याप्त नहुने भएकाले छिमेकी मुलुकदेखि समग्र विश्वसमुदायको सहकार्य र अन्तरराष्ट्रिय तहमा साझेदारी बढाउनका लागि पहल गर्न आग्रह गरिएको क्रिडाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिए । समुदायले भोगेका हानिनोक्सानीको क्षतिपूर्ति प्रदान गर्न सगरमाथा संवादमा यो मुद्दालाई प्राथमिकतामा राख्दै हानिनोक्सानी कोषमा समुदायको पहुँच सुनिश्चित गर्न आग्रह गरिएको उनले बताए ।


    हिमाली संवादले जलवायु परिवर्तनले तल्लोे तटीय क्षेत्रमा गम्भीर असर परेकाले उक्त क्षेत्रका समुदाय र बासिन्दामा पर्न गएको नकारात्मक असर सम्बोधन गर्नुपर्ने, पर्वतीय र सामुद्रिक अर्थतन्त्रलाई जोड्नुपर्ने, कर्णालीलगायत हिमाली क्षेत्रमा हुने परम्परागत रैथाने बालीको संरक्षण गर्न प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने, हिमाली क्षेत्रमा सञ्चालित जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न एकीकृत बस्ती विकास र अनुकूलनका असल अभ्यास प्रवर्द्धनका लागि सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिन सुझाव दिइएको छ ।

  • कतारी राजकुमारीको चिन्ता : हिमालहरूमा जीवन छैन

    कतारी राजकुमारीको चिन्ता : हिमालहरूमा जीवन छैन

    सुवास दर्नाल / रासस

    ११ वैशाख, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन् । सोलुखुम्बुको सानो तर जलवायु असरले गहिरो प्रभावमा परेको थामेमा गाउँ साथसाथै फाउन्डेसनद्वारा आयोजित हिमाली आरोही सम्मेलनलाई सम्बोधन गर्दै राजकुमारी थानीले भनिन्, “सगरमाथा जस्ता हिमालहरूमा हिउँ रित्तिदै जानु केवल नेपालका लागि मात्रै होइन, सम्पूर्ण विश्व समुदायका लागि खतरा हो ।”

    सन् २०१९ मा पहिलो पटक नेपाल आएकी र त्यसै वर्ष सफल सगरमाथा आरोहण गरेकी राजकुमारीले यस पटकका हिमालहरूमा जीवन छैने यात्रालाई निकै भिन्न अनुभवका रूपमा लिएकी छिन् । “पहिलोपटक आएँ, त्यसबेला हिमाल उज्यालो, आकर्षक र जीवन्त लाग्यो । अहिले फर्किंदा ती हिमालहरूमा जीवन छैन जस्तो अनुभूत गरेँ । हिउँ हराउँदै गएको छ, चट्टानहरू खुला र काला देखिएका छन् । मौसम परिवर्तन भएको छ । यो सबै परिवर्तन एकदमै गम्भीर छ”, राजकुमारी अलथानीले भनिन् ।

    हिमाली वातावरणमा आएको परिवर्तनको सबैभन्दा ठूलो असर थामेजस्ता बस्तीहरूले झेलिरहेका छन् । गएको वर्ष सगरमाथा क्षेत्रमा अवस्थित एक हिमताल फुट्दा आएको बाढीले थामे बस्तीमा व्यापक क्षति पु¥याएको थियो । त्यसबाट दर्जनौँ घर विस्थापित भए । विद्युत् संरचना ध्वस्त भयो । सडक सञ्जाल टुट्यो । बस्तीका बालबालिकाको शिक्षामा समेत बाधा पुग्यो । राजकुमारी थानीले यस्ता घटना जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको बताउँदै भनिन्, “यस्ता हिमाली बस्तीको पुनःनिर्माणमा केवल नेपाल सरकारको प्रयास मात्रै काफी हुँदैन । यो सङ्कटसँगै लड्न सम्पूर्ण अन्तरराष्ट्रिय समुदायले हातेमालो गर्नुपर्छ ।”

    बाढीपहिरो, हिमताल विस्फोट, र हिउँपहिरोजस्ता विपद्बाट बच्न पूर्वसूचना प्रणाली जडान गर्नुपर्नेमा राजकुमारीको विशेष जोड थियो । “हिमाली क्षेत्रहरू संवेदनशील छन् । यहाँ यस्ता प्रणाली भए यथासमयमा सूचना प्रवाह भएर जनजीवन जोगिन सक्छ । प्रविधिको सदुपयोग जरूरी छ ।” राजकुमारी थानीले सगरमाथा केवल नेपालको सम्पत्ति नभई सम्पूर्ण मानवजातिको साझा धरोहर भएको उल्लेख गरिन् ।

    “हामी जस्ता आरोहीहरूले सगरमाथा चढ्दा मात्र गौरवको कुरा मान्दैनौँ, हामी त्यसको रक्षा पनि हाम्रो कर्तव्य ठान्छौँ । अब हरेक विकास योजनामा हिमालको अस्तित्वलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, होइन भने भोलि सगरमाथा फोटोमा मात्र सीमित हुनेछ,” उनले चेतावनी दिइन् । राजकुमारीको भनाइलाई समर्थन गर्दै सम्मेलनमा सहभागी अन्य पर्यावरणविज्ञ, आरोही र स्थानीय प्रतिनिधिहरूले हिमालय संरक्षणका लागि वैश्विक सहकार्य आवश्यक भएकामा एकमत जनाए ।

    सम्मेलनमा नेपाल सरकार, स्थानीय निकाय, गैरसरकारी संस्था तथा विदेशी पर्वतारोहण समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । थामेमा आयोजित सम्मेलन केवल हिमाली आरोहीहरूको जमघट मात्रै थिएन, यो जलवायु चेतना, हिमाली सङ्कट र समाधानको विमर्शको थलो बन्यो ।

    सम्मेलनमा प्रस्तुत गरिएका तथ्याङ्कअनुसार सगरमाथा क्षेत्रको औसत तापक्रम हरेक दशकमा बढ्दै गएको छ । जसको प्रत्यक्ष असर हिमनदीमा परेको छ । राजकुमारी थानीको चेतावनी, अनुभव र भावनात्मक अपिलले सम्मेलनमा गहिरो प्रभाव पारेको थियो । उनको अन्तिम सन्देश थियो, “हिमाल हाम्रो शिर हो, हाम्रो आत्मा हो । यदि हिउँ हरायो भने हामीले पृथ्वीको भविष्य गुमाउँछौँ । सगरमाथा बचाउन हामी सबैको साझा दायित्व हो ।”

    उक्त सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश पनि सार्वजनिक गरिएको थियो । उनले सम्मेलनले सगरमाथा संवादको औपचारिक तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।प्रधानमन्त्री ओलीले वातावरणीय सङ्कटबारे जागरुकता फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । साथसाथै फाउन्डेसनले तिनै तहका सरकारसँगको समन्वयमा मङ्गलबार थामेमा आयोजना गरेको सम्मेलनलाई नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना हुने सगरमाथा संवादको पूर्वकार्यक्रमका रूपमा अपनत्व लिएको छ ।

  • संरक्षण कुर्दै ‘तराईको झरना’

    संरक्षण कुर्दै ‘तराईको झरना’

    ११ वैशाख, पथरी । तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ । मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ । यसपटक पनि गर्मी छल्न यहाँ आउनेहरू बढ्दैछन् तर यसको संरक्षणका लागि उचित पहल हुनसकेको छैन । जसकारण ‘कोलुङ्ग झरना’ ओझेलमा परिरहेको छ ।

    महेन्द्र राजमार्गबाट करिब एक घण्टामा पुग्न सकिने भए पनि बाटो नभएका कारण खोलाको बगरैबगर जानुपर्दा करिब चार घण्टा लाग्ने गरेको छ । त्यसैले पनि धेरैजसोले बाटोको समस्याले चाहेर पनि यहाँ जानसक्दैनन् । न त यसको उचित प्रचार हुनसकेको छ । तथापि थाहा पाएकाहरू यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन आइपुग्छन् । महेन्द्र राजमार्गबाट १७ किलोमिटरको दूरीमा रहेको झरनामा पौडी खेल्न, पिकनिक खान र गर्मी छल्न किशोरकिशोरी, युवालगायत आउने गरेका छन् ।

    यो झरना जिल्ला सदरमुकाम विराटनगरबाट ७० किलोमिटरको दूरीमा छ । महेन्द्र राजगमार्गमा पर्ने पथरीबजारबाट उत्तर जाँतेबजार हुँदै तेली खोलाको किनारै किनारको बाटोबाट यहाँ पुग्नुपर्ने हुन्छ । झरनामा आउने अधिकांशले फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने र त्यसैमा रमाउने गरेका छन्  । पर्यटकको सहजताका लागि आधारभूत संरचना बनाउन पनि कसैले ध्यान दिन सकेका छैनन् । स्वयम् मिक्लाजुङ्ग गाउँपालिकाले पनि यसतर्फ ध्यान दिएको छैन ।

    वडाअध्यक्ष मेघनाथ तामाङ भने नेपालकै होचो स्थानको झरना भएकाले यसको प्रवर्द्धनमा स्थानीय सरकार लागिपरेको दाबी गर्छन् । खोलाका कारण झरनासम्म बाटो पु¥याउन नसकेको र त्यसका लागि आफूहरूको बजेटले नधान्ने उनको भनाइ छ । ‘बाटो बनाउन तेली खोलाले समस्या बनाएको छ । खोला तीन–चारपटक ओहोरदोहोर नगरी झरनासम्म पुग्न सकिँदैन । वास्तवमा समस्या धेरै छ । यदि बाटोमात्रै बनाउन सकेको भए पनि धेरै पर्यटक यहाँ आउनसक्ने । यसका लागि सबैले पहल गर्नुपर्ने देखिन्छ”, वडाध्यक्ष तामाङले भने ।


    हुन त पूर्वपश्चिम राजमार्गको मङ्गलबारेबाट १३ किलोमिटरको दूरीमा सामालिङ्गसम्म यातायातका साधन पुग्ने गरेका छन् तर झरनासम्म पुग्न थप तीन किलोमिटर पैदल हिँड्नुपर्छ । यो समस्या समाधान भएमा धेरैले झरनाको आनन्द लिन सक्ने यहाँ पुगेका पथरीशनिश्चरेका विवेक गौतमको विश्वास छ । “माथिबाट बग्ने पानीको फोहराले गर्मीयाममा निकै शीतल दिन्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि हुन्छ तर पूर्वाधार नभएकाले धेरैले जान सकिरहेका छैनन् ।

    यसमा ध्यान दिन आवश्यक छ”, उनले भने । “यसलाई थप व्यवस्थित गर्न पाएको भए यही झरनामा हेर्न र रमाउन आउनेहरूकै कारणले यहाँका स्थानीयको आर्थिक विकास टेवा पुग्ने थियो ।” यो झरनाको दुई सय मिटरभन्दा लामो छ । सम्भावना भएर पनि संरक्षण र प्रवर्द्धनको अभावमा यो झरना ओझेलमा परिरहेको छ ।

  • बौद्ध अवशेषको दुर्लभ प्रदर्शनका लागि श्रीलङ्कालीहरू क्यान्डीमा भेला

    बौद्ध अवशेषको दुर्लभ प्रदर्शनका लागि श्रीलङ्कालीहरू क्यान्डीमा भेला

    ६ वैशाख, श्रीलंका । बहुमूल्य बौद्ध अवशेषको दुर्लभ प्रदर्शनको सुरुआतमा शुक्रबार दशौँ हजार तीर्थयात्री श्रीलङ्काको पवित्र सहर क्यान्डीमा भेला हुँदा ट्राफिक अव्यवस्था र सार्वजनिक विरोधलाई निम्तिएको छ । दाँतको मन्दिर बाहिर रातभरि क्याम्प गरेका भक्तजनहरूले सुरक्षा जाँचपछि उनीहरूलाई होल्डिङ क्षेत्रमा सीमित गरिएको र घण्टौँसम्म खाना र पानीबाट वञ्चित रहेको गुनासो गरे ।

    राष्ट्रपति अनुरा कुमार दिसानायकेले श्रीलङ्काका बौद्धहरूले बुद्धको बायाँ कुकुर दाँत भनेर विश्वास गर्ने वस्तुमा फूल चढाएर औपचारिक रूपमा प्रदर्शनीको सुरुआत गरे । प्रदर्शनी जनताका लागि खुल्नुभन्दा केही समयअघि नै दिसानायके कोलम्बोमा रहेका कूटनीतिज्ञहरूका साथ १६औँ शताब्दीको मन्दिरमा अतिथिका रूपमा आमन्त्रित रहेको उनको कार्यालयले जनाएको छ ।

    TOPSHOT – Devotees rest on the pavement under a scaffold to queue overnight at Sri Lank’s holiest Buddhist temple, the Temple of the Tooth, in the central pilgrim city of Kandy on April 18, 2025, ahead of an exposition of the sacred relics. The public display of what Buddhists believe to be a tooth relic of the Buddha is taking place after 16 years. (Photo by Ishara S. KODIKARA / AFP)

    मन्दिरभित्र प्रदर्शन गरिएका अवशेषहरू पार गर्न तीर्थयात्रीहरूलाई अनुमति दिन ढोका खोलिएपछि भागदौड रोक्न प्रहरी हतारिएको थियो । धेरै वृद्ध व्यक्तिहरू बेहोस भए र नजिकैका मानिसहरूले सहयोग गरे । मन्दिर परिसर बाहिर तीन दिशाबाट लाइनहरू झण्डै दुई किलोमिटरसम्म फैलिएका थिए र दशौँ हजार भक्तजनले अवशेषको एक झलक हेर्ने प्रयास गरिरहेका थिए । प्रहरीले १० दिने प्रदर्शनको अवधिमा दैनिक लगभग दुई लाख मानिसले क्यान्डी भ्रमण गर्ने अनुमान गरेको थियो तर स्थानीय अधिकारीहरूले भीडको अनुमान नराम्रोसँग कम गरेको बताए ।

    कोलम्बोबाट एक सय १५ किलोमिटर उत्तरपूर्वमा रहेको क्यान्डीमा पुग्ने मुख्य सडकहरू विशेष ट्राफिक व्यवस्था र तीर्थयात्रीहरूका लागि आरक्षित पार्किङ क्षेत्रहरू हुँदाहुँदै पनि लामो समयसम्म अवरुद्ध भएका थिए । सन् १९९८ मा तमिल पृथकतावादीहरूले गरेको आत्मघाती आक्रमणमा १६ जनाको ज्यान गएको मन्दिरमा करिब १० हजार प्रहरी अधिकारी तैनाथ गरिएको छ र सशस्त्र सेनाले सुरक्षा बलियो बनाएको छ ।

    क्यान्डीमा कक्षाहरू रद्द गरिएका छन् र सहरमा पठाइएका ठूलो सङ्ख्याका सुरक्षाकर्मीहरूलाई बस्नका लागि विद्यालयहरू प्रयोग गरिएका छन् । सन् २००९ मार्चमा अन्तिम पटक दाँतको अवशेष प्रदर्शन गर्दा दश लाखभन्दा बढी मानिसले युनेस्कोमा सूचीकृत मन्दिरको भ्रमण गरेको अनुमान गरिएको थियो ।

    सन् १९९८ को बम विस्फोटले मन्दिरको भित्ताहरू र झ्यालहरू नष्ट गरेको थियो, जसले स्थलको इतिहासमा धेरै पटक प्लास्टर गरिएका १८औँ शताब्दीका भित्ते चित्रहरू उजागर गरेको थियो । उजागर गरिएका भित्ते चित्रहरूको एक भाग मन्दिरको कडा सुरक्षा गरिएको सङ्ग्रहालयमा प्रदर्शित छ, जसले तिनीहरू सन् १७०७ र सन् १७३९ बीचको समयका हुन् भन्छ । यो अवधिमा क्यान्डी द्वीपमा शासन गर्ने राजतन्त्रको सिंहासन थियो ।

  • एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

    एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

    राष्ट्रिय समाचार समिति (रासस)

    ६ वैशाख, बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् ।

    गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउँछन् । शालिग्राम सङ्ग्रहालय चार वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक सङ्ग्रहालयमा आउने गरेको उनको भनाइ छ । ऋषि प्रपन्नचार्य भन्छन्, “सङ्ग्रहालयको विस्तारै प्रचार हुँदैछ, विगतको तुलनामा अहिले यहाँ पर्यटकको आगमन ठूलो सङ्ख्यामा बढेको छ, अझै बढ्दै जाने हामीहरुले आकलन गरेका छौँ, अहिले दक्षिण भारतबाट आउनेको सङ्ख्या अझ बढी छ, प्रचारप्रसार पनि हुँदै गएको छ, यहाँ घुम्न आएका सबै सङ्ग्रहालयमा पस्दैनन्, मन्दिर अवलोकन गरेर जाने गरेका छन् ।”

    त्रिशूल आकारमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । सङ्ग्रहालयमा ससाना शालिग्रामदेखि ३०० किलोसम्मको शालिग्राम छन् । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ । गैँडाकोटबाट घुम्न आउनुभएका तुल्सीराम सापकोटाले यसरी एकै ठाउँमा सवा लाख शालिग्राम अन्य कुनै ठाउँमा अवलोकन गर्न नपाइने बताए । पारिवारिक भ्रमणका क्रममा बागलुङ आएको सुनाउँदै सङ्ग्रहालय निकै आकर्षक रहेको उनको भनाइ छ ।

    सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शालिग्राम सङ्ग्रहालयको बारेमा धेरै फोटो भिडियो देखेको हुँदा घुम्न आएको सुनाए । नवलपरासीबाट घुम्न आएकी मेनुका पौडेलले शालिग्रामको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासले परिवारसहित दर्शन गर्न आएको सुनाइन् । ढोरपाटन, बागलुङ कालिका घुम्दै शालिग्रामको दर्शन गर्न पाएको उनको भनाइ छ । पौडेलले धेरै पहिला सामान्य खालको शालिग्राम दर्शन गरे पनि एकै ठाउँमा यति धेरै नदेखेको सुनाए ।

  • घोडेपानी–पुनहिल घुम्ने पर्यटक बढे

    घोडेपानी–पुनहिल घुम्ने पर्यटक बढे

    ३ वैशाख, काठमाडौं । अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या विसं २०८० को तुलनामा विसं २०८१ मा बढेको छ । पर्यटक प्रहरी चौकी घोडेपानीका अनुसार विसं २०८० मा ३१ हजार ४३९ जना पर्यटक आएकामा विसं २०८१ मा ३२ हजार ३५० आएका छन् ।

    चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक अरविन्द्र कडेलले अघिल्लो वर्षको तुलनामा विसं २०८१ मा ९११ जना बढी पर्यटक आएको जानकारी दिए । सबैभन्दा बढी कात्तिक महिनामा पाँच हजार ८१८ र त्यसपछि चैतमा पाँच हजार ६५८ जना पर्यटक आएका छन् । समुन्द्र सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।

    घोडेपानीमा बास बस्ने पर्यटकहरु एकाबिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । घोडेपानीमा साना ठूलागरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्नसक्ने क्षमता रहेको छ । पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु ४० लाख एक हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न नेपालीले रु ५० र विदेशीले रु १५० प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्छ ।

    पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । अनुकूल मौसम र याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायीसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्वध्यक्ष डमबहादुर पुनले बताए ।

    पोखरेबगर–चित्रे–घोडेपानी सडकको घोप्टेखर्कको पहिराका कारण यातायात अवरुद्ध हुँदा सार्वजनिक यातायातमार्फत घोडेपानी घुम्न आउने पर्यटकलाई समस्या भएको उनले बताए । अन्नपूर्ण चक्रीय पदमार्ग परिक्रमा गरी तातोपानी हुँदै कास्कीको वीरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै गरी चार वटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन ।

  • भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइदै

    भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइदै

    काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकका लागि सीमापार आवागमन सहज बनाउने विभिन्‍न प्रयास भइरहेको जनाएको छ । भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भएको ‘नेपाल फेस्टिभल’ अन्तर्गत ‘दिगो पर्यटन सुदृढीकरण स् धार्मिक, सम्पदागत र साहसिक पर्यटन प्रवर्द्धन’ शीर्षकको सत्रमा बोल्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भारतीय पर्यटक आवागमन सहजताका लागि भइरहेका प्रयासबारे जानकारी गराए । ‘हामीले भारतीय पर्यटक आवागमन सहजतामा विभिन्‍न प्रयास गरिरहेका छौं । यसका साथै धार्मिक तथा साहसिक पर्यटनक समेट्ने नेपालको समग्र दीर्घकालीन दृष्टिकोण र नीतिगत सुधारका काम पनि भइरहेका छन्,’ ऐरले भने ।

    भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार भएकाले बोर्डले सीमापार पर्यटन प्रवर्द्धनमा अझ सक्रिय भई सहकार्य विस्तार गर्ने लक्ष्य लिएको उनले बताए । कार्यक्रममा बोर्डका तर्फबाट वरिष्ठ निर्देशक ऐर र वरिष्ठ अधिकृत सागर उपाध्यायले प्रतिनिधित्व गरेका थिए । नेपाल र भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले वर्षको अन्तिम साता एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र दिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम उद्घाटन भारतका संस्कृतिमन्त्री गजेन्द्रसिंह शेखावत, नेपालका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौधरी र भारतका लागि नेपालका राजदूत डा। शंकरप्रसाद शर्माले संयुक्त रूपमा गरेका थिए ।

    तीन दिनसम्म चलेको कार्यक्रममा नेपाल–भारत सम्बन्ध, व्यापार सहकार्य तथा पर्यटनको भविष्य सम्बन्धी विविध समसामयिक विषयमा बहस तथा गोष्ठी आयोजना गरिएको थियो । उक्त सत्रमा नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल, भारतको पर्यटन मन्त्रालयका उपमहानिर्देशक डा. आरके सुमन, गोल्डेन एपका अध्यक्ष निरजसाह देव, एभरेस्ट चेम्बरका अध्यक्ष युवराज बराल तथा धुलिखेल माउन्टेन रिसोर्टकी प्रमुख कार्यकारी अधिकृत लीना खड्का श्रेष्ठ सहभागी थिए ।

    पर्यटन बोर्डको प्रदर्शनी कक्ष (पेभेलियन) ले नेपाली संस्कृति, प्रकृति, साहसिक यात्रा, अध्यात्मिक तथा वेलनेस पर्यटन जस्ता विषयवस्तु प्रस्तुत गरेको थियो । स्टलमार्फत विभिन्न प्रचार सामग्री, जानकारीमूलक पुस्तिका तथा नेपाली पहिचान झल्काउने सामग्री वितरण गरिएको थियो । कार्यक्रममा नेपाली परिकार प्रदर्शनीले भारतका आगन्तुकलाई नेपालको स्वाद चाख्ने अवसर प्रदान गरेको थियो ।

    साथै, नेपाली हस्तकला र स्थानीय उत्पादन प्रदर्शनीले नेपालको समृद्ध हस्तकला परम्परा उजागर गरेको थियो । यस किसिमका कार्यक्रममा दुई देशको संस्कृति र गन्तव्यहरूको प्रदर्शनीले दुई देशबीचको आपसी मित्रता र सांस्कृतिक आदान–प्रदान थप बलियो बनाउने बोर्डको विश्‍वास छ ।

  • बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु

    बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु

    १ वैशाख, नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जले आजदेखि जङ्गल सफारी सुरु गरेको छ । निकुञ्जको पश्चिम उत्तर क्षेत्र खडकवार, हात्तीसारबाट सुरु भएको जङ्गल सफारी तीन घण्टामा अगैयासम्म पुगेर सकिएको बाँके राष्ट्रिय निकुञ्जका रेञ्जर सुपुष्प रेग्मीले जानकारी दिए ।

    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउने विषय प्राथमिकतामा राखेर सफारी गरिएको बताए ।“यसको मुख्य उद्देश्य पर्यापर्यटनको विकास र निकुञ्जमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्दै जनतालाई पर्यापर्यटनसँग जोड्न खोजिएको हो”, उनले भने ।


    निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले जङ्गल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो ,बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गरिएको बताए । निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन जङ्गल सफारी कार्यक्रमले सघाउ पुग्ने उल्लेख गर्दै रेग्मीले वन सप्ताहअन्तर्गत मङ्गलबार पनि जङ्गल सफारीको कार्यक्रम रहेको बताए । सफारी कार्यक्रममा राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका लोकेन्द्र खत्री, नेचर गाइडलगायत सफारीमा सहभागी थिए ।

    विसं २०६७ मा बाघ संरक्षणका लागि स्थापना गरिएको सो निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको थियो । जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप निकुञ्जमा विभिन्न काम हुँदै आएका छन् ।

    करिब पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी जनावार र चराका विभिन्न प्रजाति पाइन्छन् । मुख्य गरेर बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति एक विशेषताका रुपमा देखिएको निकुञ्जको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटक पनि निकुञ्जमा आउन थालेका छन् ।

  • नगरकोट भ्रमण वर्ष भोलिदेखि

    नगरकोट भ्रमण वर्ष भोलिदेखि

    ३१ चैत, काठमाडौं । नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रचारप्रसार गर्ने उद्देश्यले भोलिदेखि ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुँदैछ । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ नगरकोटको ‘बतासेडाँडा’ मा हुनेछ ।

    भ्रमण वर्षभरि चल्ने र सो क्रममा एक लाख अन्तरराष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा नगरकोट भ्रमण वर्ष आयोजना गरिएको हो । भ्रमण वर्षको प्रवद्र्धकको रुपमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड छन् ।

    भ्रमण वर्ष सफल पार्न मण्डन देउपुरका नगरप्रमुख टोपबहादुर वाइबाको संयोजकत्वमा चाँगुनारायणका नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, शङ्खरापुरका नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, मण्डन देउपुरका उपप्रमुख विष्णुमणि नेपाल र चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत एक हजार १०१ सदस्यीय संयुक्त मूल आयोजक समिति र विभिन्न नौ वटा उपसमिति गठन भएका छन् ।

    नगरकोटसँग चारवटै नगरपालिकाको पर्यापर्यटन, कृषि पर्यटन, त्यस क्षेत्रका जातजाति, वेशभूषा, जात्रा, पर्व, सांस्कृतिक पहिचानलगायतको उजागर गर्र्दै होमस्टेको विस्तार गर्ने गरी भ्रमण वर्ष मनाइने चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले राससलाई जानकारी दिए ।

  • जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख अन्तिम साता

    जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख अन्तिम साता

    ३० चैत, जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो । खेलकुद पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकुद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ । क्लबका संरक्षक तथा ओलम्पियन हरिबहादुर रोकायको नेतृत्वमा प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । अन्तरराष्ट्रिय मापदण्डअनुसार दूरी ५१ किलोमिटर तोकिएको छ ।

    अध्यक्ष शाहीले भने, “दौडको रुट पनि परिवर्तन गरिएको छ । यसबाट जुम्लादेखि रारासम्मको पदयात्रा प्रवर्द्धनसमेत योगदान पुग्ने विश्वास छ ।”प्रतियोगिताका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयले सहयोग गरेको छ । माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिरहुँदै हुटुमा समापन हुने गरी तय गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । दौडमा सहभागी खेलाडीले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइएको छ । भवन क्लबका संरक्षक रोकायले प्रदान गरेको जग्गामा निर्माण गरिनेछ ।

    प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, पाँच किलोमिटर खुल्ला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १९ वर्ष मुनीका विद्यार्थीका लागि १० किलोमिटर दौडको व्यवस्था गरिएको छ । दौडमा स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय धावकको सहभागिता रहने छ । विगतमा बेलायत, नेदरल्याण्ड, भारत, इटाली र अमेरिकासमेतबाट समेत धावकले भाग लिएका थिए । दौड चन्दननाथ भैरवनाथको आँगन, खलङ्गा बजारको जुम्लाबाट शुरु भई मुगुको रारा तालको हुटुमा समापन हुने छ ।

    एकाउन्न किलोमिटर प्रतियोगितामा प्रथम हुने (महिला÷पुरुष) रु एक\एक लाख प्रदान गरिने छ । यस्तै (महिला र पुरुष) दोस्रो स्थान हासिल गर्नेलाई जनही रु ७५ हजार, तृतियलाई रु ५० हजार, चौथोलाई रु २० हजार पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला र पुरुष) रु पाँच हजार, दोस्रोलाई रु तीन हजार र तृतिय हुनेलाई रु तीन हजार प्रदान गरिने छ । विद्यालयस्तरीय १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला÷पुरुष) रु १० हजार, दोस्रो हुनेलाई रु ६ हजार र तृतिय हुनेलाई रु चार हजार पुरस्कार प्रदान गरिने छ ।

  • अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

    अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

    २६ चैत, म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

    सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए । अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए । आरोहण टोलीका दुईजना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन्भने अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।

    आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबुक’ मा लेखेका छन् । “सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो”, उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।”

    वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ । अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।

    गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

  • ६ किलो गाँजासहित थाइल्याण्डकी २७ वर्षिय युवती काठमाडौं विमानस्थलबाट पक्राउ

    ६ किलो गाँजासहित थाइल्याण्डकी २७ वर्षिय युवती काठमाडौं विमानस्थलबाट पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया कनोकवान पोंगसुवान छिन् । उनलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाईको छ ।

  • ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

    ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

    २६ चैत, फुङ्लिङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ ।

    गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइल पुग्न सफल भएको छ । चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका छन् । गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ पिक ९हिमाली०को पहिलोपटक सफल आरोहण गरेको थियो ।

    पवतारोही नादा शेर्पाको अगुवाइमा शार्फु–४ र शार्फु—५ पिकको सफ आरोहण भएको हो । शार्फु–१ देखि छवटा पिक रहेको छ । आरोहणका लागि सरकारले खुला गरेको छ । तर अन्य तीनवटा पिक भने आरोहण भएको छैन । अन्य पिकमा समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताए । उनले भने, “काठमाडौँ जानका लागि फुङ्लिङ आएको छु । काठमाडौँबाट अर्को पिक आरोहण गर्ने टोली लिएर आउने छु ।” जिल्लामा पर्वतारोण, साहसिक पर्यटकको सम्भावना रहेको शेर्पाले बताए । तर सरकारले यस क्षेत्रमा चासो नदेखाएकामा दुःख लागेको उनको गुनासो छ ।

    “जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष पर्यटन प्रवर्द्धनको नाम मेला महोत्सव आयोजना गरेर ठूलो धनराशि खर्च गर्दै आएको छ ।” तर यस्ता खालका मेला महोत्वसवले अन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन हुँदैन ।” विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कार्यक्रम गर्न आवश्यक रहेको शेर्पाले बताए । नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा पाँच हजारदेखि आठ हजार ५८६ मिटरसम्मका हिमाल÷पिक ४८ वटा आरोहणका लागि खुला गरको छ ।

    फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला क्षेत्रमा दुई र याङमा क्षेत्रमा चारवटा पिक आरोहणका लागि खुला गरिएको छ । पाँच हजार ७४० मिटरको लुम्बा सुम्बा पिक र छ हजार ५०० मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ । यस्तै याङमा क्षेत्रमा छ हजार ५४७ मिटर उचाइको नाङ्गामरी–१, छ हजार २०९ मिटर उचाइका नाङ्गामरी–२, छ हजार ८३९ मिटरको उचाइका ओहोमी गाङ्का र छ हजार २४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ ।

    सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आठ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा प्रमुख, आठ हजार ४७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजङ्घा, छ हजार १४८ मिटर उचाइको कोक्थाङ पिक, छ हजार ६८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ । त्यस्तै सात हजार ४१२ मिटर उचाइका काब्रु सेन्ट्रल र सात हजार ३१८ मिटर उचाइको काब्रु पिकसमेत आरोहणका लागि खुला गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल÷पिक आरोहणका लागि खुला गरिएको छ ।

    जिल्लाको प्रमुख विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ । यसको उचाइ आठ हजार ५८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो । तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो । कञ्नजङ्घा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उहाँहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ ।

    कञ्चनजङ्घाको पाँच प्रमुख चुचुरा रहेका छन् । कञ्चनजङ्घा मुख्य आठ हजार ५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ) आठ हजार ५०५ मिटर, कञ्चनजङ्घा मध्य आठ हजार ४८२ मिटर, कञ्चनजङ्घा दक्षिण आठ हजार ४९४ मिटर र काङबाचेन सात हजार ९०३ मिटर रहेको छ । सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ ।

    ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो । किरात धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ । कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।

    पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत छ हजार मिटर उचाइको हाराहरीको हिमाल÷पिक आरोहण गर्नका लागि पाँचदेखि छ जनाको समूहका लागि रु १५ लाख खर्च हुन्छ । “पाँच जनाको समूहमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छ । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक रु चार हजारदेखि छ हजारसम्म खर्च हुन्छ”, उनले भने । व्यक्तिगत आवश्यक सामग्री रु ६० हजारभन्दा बढी लाग्छ । हिमाल आरोहण गर्न पहिला प्रशिक्षण तथा टे«निङ लिनुपर्ने हुन्छ । आरोहण गर्ने साहस जोकोहीले गर्न सक्ने गुरुङले बताए ।


    जिल्लामा अवस्थित पाँच हजारदेखि सात हजारसम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रतिव्यक्ति रु पाँच लाखदेखि माथि खर्च हुने पदप्रर्दशक नादा शेर्पाको भनाइ छ । पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अद्भूत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ । हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको सङ्ख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ ।

    पथप्रदर्शक ९गाइड० र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी), आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइअनुसार फरक हुन्छ । पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीको बिमा गर्नुपर्छ । काठमाडौँबाट ताप्लेजुङको फुङ्लिङ, त्यसपछि पदयात्रा वा हेलिकप्टर भाडा, आवश्यक सामग्री ९गियर० खरिद वा भाडा, खाना र आवास, आधार शिविर र बाटोभरि होटल तथा टेन्टको व्यवस्थापनमा खर्च हुने छ ।

    हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौती र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्छ । आवश्यक सामग्री, उचित तालिम र अनुभवी गाइडका साथमा यात्रा गरे आरोहण सुरक्षित र सफल बन्ने पथप्रदर्शकको भनाइ छ ।

    हिमालको प्रवर्द्धन गर्न महोत्सव हुँदै

    ताप्लेजुङका दुई स्थानीय तहमा मात्र हिमाल रहेका छन् । फक्ताङ्लुङ गाउँपालिका ४३ वटा हिमाल र सिरिजङ्घा गाउँपालिकाका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । अहिले यी दुई पालिका हिमालको प्रवर्द्धन गर्न पर्यटन महत्वसको तयारीमा जुटेका छन् ।

    फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप गाउँमा कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाइमा कञ्चनजङ्घा हिमाल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा ‘प्लाटिनम जुब्ली’ २०८२ महोत्सव अन्तिम तयारी पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए । आउँदो वैशाख ५–७ गते फक्ताङ्लुङ गाउँपालिका–५ लेलेपमा महोत्सव हुने भएको हो । ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र, प्रकृतिको उपहार : संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ भन्ने नाराका साथ महत्सवको तयारी भइरहेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न सङ्घसंस्थाको सहकार्यमा गरिने जनाइएको छ । महोत्सवमा कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवर्द्धन, भलिबल प्रतियोगिताजस्ता गतिविधि समेटिने छन् । कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूका परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौँमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।

    सिरिजङ्घा गाउँपालिका हिमाल संरक्षण अभियानमा जुटेको छ । गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविरमा आगामी वैशाख १२ देखि १४ गतेसम्म पर्यटन सिरिजङ्घा महोत्सव आयोजना गरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि छलफल गर्ने योजना बनाएको छ । प्रवक्ता बमप्रसाद गौतमका अनुसार, महोत्सवमा हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन, अनुसन्धान र समाधानका उपायबारे छलफल गरिनेछ ।

    गाउँपालिकाले सङ्घीय सरकारको साझेदारीमा कञ्चनजङ्घा क्षेत्रमा साहसिक पदमार्ग निर्माण गरिरहेको छ । महोत्सवमा निर्माणाधीन पदमार्गको प्रचारप्रसार, स्थानीय कला, संस्कृति तथा परम्परालाई प्रवर्द्धन गरिने जनाएको छ । विशेष आकर्षणका रूपमा चार हजार ५०० मिटर उचाइको कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता आयोजना गरिने छ । चौँरी याक प्रदर्शन, साहित्य गोष्ठी, साइक्लिङ लगायत कार्यक्रम समिटिएको गाउँपालिकाले जनाएको छ ।

    महोत्सव सिरिजङ्घा गाउँपालिकाको नयाँ झोडेनी क्षेत्रमा आयोजना हुनेछ । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार, झोडेनी माछेवाबीचको दूरी कायम गरी म्याराथुन प्रतियोगिता सम्पन्न गरिने छ । सिरिजङ्घा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङका अनुसार, झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मका हिमशृङ्खला देख्न सकिन्छ । याक तथा चौँरीको अवलोकन, लालीगुराँसको दृश्य र हिमाली सौन्दर्य पर्यटक आकर्षणका मुख्य तत्व हुनेछन् ।

    ताप्लेजुङको साहसिक पर्यटनमा ठूलो सम्भावना भए पनि सरकारी चासोको कमीले विकास सुस्त देखिन्छ । यहाँको हिमाली सौन्दर्य, जैविक विविधता र सांस्कृतिक महत्त्वका कारण अन्तरराष्ट्रिय पर्वतारोही आकर्षित हुने वातावरण भए पनि पर्यटन प्रवर्द्धनका नाममा गरिने मेला महोत्सवले खासै प्रभाव पार्न सकेका छैनन् । आवश्यक पूर्वाधार विकास, पदमार्ग सुधार, हिमाल आरोहण सहज बनाउन कानुनी प्रक्रिया सरलीकरण गर्न सके ताप्लेजुङलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिन्छ । नयाँ पिकहरूमा मानव पाइला पर्नु, पर्वतारोहण सम्भावनाको उजागर हुनु र पर्यटन गतिविधि बढ्नु सकारात्मक सङ्केत हुन् । सरकारी सहयोग र स्थानीय समुदायको संलग्नता बढाउन सकियो भने ताप्लेजुङ विश्वको महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्ने पर्यटन व्यवसायीको भनाइ छ ।

    ताप्लेजुङका यी हिमालहरूको काखमा मानव पाइला पर्न थालेका छन् । पर्वतारोही, अनुसन्धानकर्ता र पर्यटकको चहलपहल बढ्दै गएको छ । अवलोकनका लागि मात्र नभई, नयाँ गन्तव्यका रूपमा यी हिमाली क्षेत्रलाई प्रचार गर्न थालिएको छ । स्थानीय पर्यटन प्रवर्द्धनका लागि नयाँ हिमालको पहिचान र आरोहण सम्भावनालाई उजागर गर्दै, ताप्लेजुङ अब साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ । हिमाली सौन्दर्य, संस्कृति र जैविक विविधताको सङ्गमका कारण यहाँको महत्त्व अझ बढ्दै गएको छ ।

    रासस

  • मनास्लु क्षेत्रको भ्रमणमा पुगेका बेलायती पर्यटकको मृत्यु

    मनास्लु क्षेत्रको भ्रमणमा पुगेका बेलायती पर्यटकको मृत्यु

    काठमाडौं । लार्के पास पार गर्न मनास्लु क्षेत्र पुगेका एक बेलायती पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका नागरिक ६१ वर्षीय थोम्सन आयन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

    डीएसपी सुवेदीका अनुसार लार्के पास गर्ने क्रममा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी एक्कासी ढलेको र सोही स्थानमा उनको मृत्यु भएको हो । घटना भएको स्थान पुग्न धर्मशाला (लार्के पासको रुटको अन्तिम बस्ती)बाट ३ घन्टाभन्दा बढी लाग्छ । पदयात्रा सिजनको समय सुरु भएको छ । अहिले लाखौं पर्यटक नेपाल आउने गर्छन् ।

  • पदयात्रामा गएका चिनियाँ नागरिक मृत फेला

    पदयात्रामा गएका चिनियाँ नागरिक मृत फेला

    काठमाडौं । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको छ । सशस्त्र प्रहरी बल कालिका गण पोखराको विशेष विपद् उद्धार टोलीले आज बिहान देउराली चुमरुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ उनको शव फेला पारेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए ।


    अन्नपूर्ण आधार शिविर (एविसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कने क्रममा पर्यटक बेपत्ता भएपछि उनको खोजीमा प्रहरी टोली खटिएको थियो । प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार उनको शव पोखरा ल्याउने तयारी भइरहेको छ । यही चैत ११ गते दिउँसो साढे १२ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरो गएको थियो ।

    बेसक्याम्पबाट फर्केका भारतीय पर्यटकले देउरालीमा गएको हिमपहिरामा एक जना पुरिएको सूचना प्रहरीलाई दिएका थिए । पर्यटक हराएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा फेला नपारेपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा यही चैत १६ गतदेखि प्रहरी टोली खटिएको थियो ।

  • पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु

    पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ । यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका छन् ।

    उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरे । यो जहाज आज पोखरामै बसेर भोलि ल्हासाका लागि उड्ने छ । हिमालयले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान गर्ने गरी उडान थालेको छ । यात्रु संख्या बढेसँगै यसलाई विस्तार गरिने कम्पनीको भनाइ छ । पोखरामा यसअघि चार्टर र नियमित चार्टर उडान भइरहेका थिए । नियमित उडान सुरु हुन सकेको थिएन । यो खडेरी तोकिएको छ ।

  • ढोरपाटनमा शिकार याम सुरु, कहाँबाट आउँछन् पर्यटक ?

    ढोरपाटनमा शिकार याम सुरु, कहाँबाट आउँछन् पर्यटक ?

    काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ। दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो। दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन्। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन्।

    फागुन २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिए। दोस्रो याम (फागुन–वैशाख)का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने छन्। अहिलेसम्म दुई नाउर मात्र सिकार भएको उनले बताए । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर र दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ।

    यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिए। उक्त नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गरेका हुन्। त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्ने अनुमति पाएका थिए। रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन सिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन्। ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन्। उक्त कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उनले जानकारी दिए।

    नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका छन्। यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउँछन्। ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका छन्। यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएको रेन्जर सुवेदीले जानकारी दिए।

    उनका अनुसार एउटा झारलको आठ लाख, नाउराको ६ लाख २५ हजार ५ सय तोकिएको छ। यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए। दोस्रो याममा एक करोड २६ लाख राजस्व सङ्कलन भएको उनले बताए। सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ। ढोरपाटनमा हरेक वर्ष दुई याममा सिकार खुला हुन्छ। पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) मा सिकार खुला हुन्छ। (रासस)

  • पोखरा–छेन्दु रुटमा नियमित व्यवसायिक चार्टर्ड उडान हुने

    पोखरा–छेन्दु रुटमा नियमित व्यवसायिक चार्टर्ड उडान हुने

    ४ चैत, काठमाडौं । मंगलबारबाट पोखरा–छेन्दु रुटमा अब नियमित उडान हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर्ड उडान हुने भएको हो । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने जानकारी गराएको छ । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान(प्रदान, र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुऱ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ।

    पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुहरूका लागि कम खर्चमा सहज पहुँचका साथै चिनियाँ पर्यटकहरूलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ, बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यो नयाँ हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको भिजिट नेपाल २०२५ र नेपाल सरकारले घोषणा गरेको पोखरा पर्यटन वर्ष अभियानलाई टेवा पुऱ्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

    हवाइ उडानबाट दुई देशका शहरहरू जोडिँदा आपसी मित्रता र सहकार्य थप बलियो हुने जनाइएको छ । छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत मंगलबार हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५का लागि जाने भएको छ। नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ शहरमा हुने विभिन्‍न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ।

    यी प्रयासहरुले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ, बोर्डको विज्ञप्तिमा उल्लेख छ। नेपाल पर्यटन बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। विज्ञप्तिमा थप भनिएको छ, यस नयाँ हवाई सम्पर्कले सांस्कृतिक आदान-प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने अपेक्षा गरिएका छ।

  • अमेरिकामा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन

    अमेरिकामा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन

    काठमाडौं । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यको प्रचार प्रसार गरिएको छ । अमेरिका कोलोराडोस्थित डेन्भरमा भएको ’ट्राभल एन्ड एडभेन्चर शो–२०२५’ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्‍वमै ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रस्तुत गरेको हो । ८–९ मार्चमा सम्पन्‍न एडभेन्चर शोमा पर्यटन बोर्डले विशेष कार्यक्रम आयोजना गर्दै नेपाललाई साहसिक र सुरक्षित पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको हो ।

    कार्यक्रममा बोर्डले सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधार शिविरसम्मको पदयात्रा निःशुल्क गराउने भएको छ । उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी छिन् । उनले मार्चदेखि मेसम्म नेपाल भ्रमण गरिसक्नुपर्ने छ । नेपाल भ्रमणका क्रममा लाग्‍ने खर्च बोर्डले बेहोर्ने छ ।

    यसले अमेरिकी बजारमा नेपालको पर्यटन प्रवर्द्धन र प्रचारका लागि थप मद्दत पुग्‍ने बोर्डको विश्वास छ । एडभेन्चर शोको आधिकारिक वेबसाइटमा नेपाललाई साहसिक यात्राको राजधानीका रूपमा उल्लेख गरिएको छ ।

    ‘विश्‍वका ८ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यसकारण पनि नेपाल पर्वतारोहीका लागि उत्कृष्ट गन्तव्य हो,’ उक्त वेबसाइटमा छ, ‘अद्भूत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेका लागि अनुपम अनुभव प्रदान गर्दछ ।’

    नेपाल पदयात्रा बाहेक पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, जिप–लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटन गतिविधिले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ ।

    कोरोना महामारीपछि नेपालमा पर्यटक भित्र्याउन पर्यटन बोर्डले संसारका विभिन्‍न देशमा पर्यटन प्रवर्द्धन, प्रचार र पर्यटन गतिविधिमा तीव्रता दिइरहेको छ ।

    एड्भेन्चर शोमा नेपालका ९ निजी पर्यटन व्यवसायीको सहभागिता थियो । नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

  • हिमालय एअरलाइन्सले पोखरा-ल्हासा उडान गर्ने निश्चित

    हिमालय एअरलाइन्सले पोखरा-ल्हासा उडान गर्ने निश्चित


    काठमाडौँ । नेपाल–हिमालय एअरलाइन्सले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । मार्च ३१, २०२५ देखि सुरु हुने यो नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ जुन एअरलाइन्स्का लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हुने कम्पनीको भनाइ छ ।
    काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्न लागेको हिमालयले जनाएको छ । योजनाअनुसार काठमाडौँ–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा बिहान ८ः३० बजे उडान भर्ने र सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ । त्यसैगरी, ल्हासा–पोखरा उडानले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा १३ः१५ बजे उडान भर्ने र सोही दिन नेपाली स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अवतरण गर्नेछ । यसै गरी, ऐतिहासिक पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ । त्यसैगरी, ल्हासा–काठमाडौँ उडानले ल्हासा गोङ्गर विमानस्थलबाट अप्रिल ०१, २०२५, मा स्थानीय समयअनुसार १२ः३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार १२ः०५ मा काठमाडौँ अवतरण गर्नेछ ।
    हिमालय एअरलाइन्स् आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको बताएको छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै सुस्त ग्रीष्मकालीन सिजनमा पनि पर्यटन बढ्ने अपेक्षा गरिएको छ ।
    हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु हुन लागेकोे रुटप्रति उत्साह व्यक्त गर्दै भने “हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो ।”

  • पशुपतिनाथ मन्दिर पुगे प्रधानमन्त्री

    पशुपतिनाथ मन्दिर पुगे प्रधानमन्त्री

    काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा निरीक्षण तथा आरतीमा सहभागीका लागि प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षण तथा सहभागी हुन पशुपतिनाथ आइपुगेका हुन् ।

    प्रधानमन्त्री ओली पशुपतिको आरतीमा पनि सहभागी भए । शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ । पशुपतिनाथमा बिहान २ बजेबाट चार वटै ढोका खोल्ने तयारी छ । शिवरात्री पर्व बुधबार मनाइंदैछ ।

  • पोखरामा सुरु भयो ‘नेपाल इन्डिया चाइना एक्स्पो’

    पोखरामा सुरु भयो ‘नेपाल इन्डिया चाइना एक्स्पो’

    काठमाडौं । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो ‘नाइस–२०२५’ (नेपाल इन्डिया चाइना एक्स्पो) सोमबारदेखि सुरु भएको छ ।
    नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा नाइस–२०२५ फागुन १२ देखि १४ सम्म पोखरामा चल्ने छ ।
    ८० अन्तर्राष्ट्रिय क्रेता, ७० विक्रेता र ७५ प्रदर्शक सहित ६ सयभन्दा बढी सहभागी हुने बोर्डले जनाएको छ ।

    एक्स्पो पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार तथा सरोकारवालाको संयोजनमा भइरहेको हो । तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन र आतिथ्य सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरूबीच व्यावसायिक अनुभवसँगै नेटवर्किङ र व्यापार अवसर प्रदान गर्ने समेत बोर्डले जनाएको छ ।

    नाइसले ट्राभल ट्रेड संगठनबीचको सम्पर्क, छलफल गर्न र तीन देशमा पर्यटकीय गतिविधि वृद्धि गर्न सँगै काम गर्ने प्रशस्त अवसर प्रदान गर्नुका साथै नेपाल भ्रमण गर्ने क्रेता र अन्तर्राष्ट्रिय प्रतिनिधिलाई प्रि–एक्स्पो गन्तव्य अनुभव यात्रा अवसर समेत दिएको बोर्डको भनाइ छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले नेपालमा पहिलो पटक आयोजना भइरहेको त्रिदेशीय पर्यटन एक्स्पो केवल एक कार्यक्रम मात्र नभई समग्र पर्यटन क्षेत्रका लागि गौरवको क्षण भएको बताए ।

    एक्स्पोले विश्वका दुई ठूला आउटबाउन्ड पर्यटन बजार भारत र चीनलाई नेपालमै एकत्रित गराउन सम्पूर्ण पर्यटन क्षेत्र एकजुट भएर अगाडि आएको उनले बताए । ‘नाइस फर माइस एन्ड मोर’ भन्ने नारासाथ आयोजना भएको एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रका रूपमा मात्र नभई माइस पर्यटन ९बैठक, सभासम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी० का लागि आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने भएको छ ।

    नाइसको दोस्रो दिन फेब्रुअरी २५ मा द नलेज फोरमले ‘भिसा डेस्टिनेसन इनसाइट्स ः सपोर्टिङ द टुरिज्म इकोसिस्टम टु सस्टेनेबल हस्पिटालिटी फ्रम कन्स्ट्रक्सन टु अपरेसन’ र अन्य महत्त्वपूर्ण विषयवस्तुमा पर्यटन विशेषज्ञसँग ज्ञान आदान प्रदान गराउने छ । फोरमबाट पर्यटन उद्यमी, विशेषज्ञ र साझेदारबीच छलफल, अनुभव आदान प्रदान गर्न, उत्पादित सेवा समकालीन बजारको ज्ञान हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने छ ।

    नाइसको तेस्रो दिन निर्धारित तालिका अनुसार बीटूबी एक्स्पो बिजनेस मिटिङ र नेटवर्किङका लागि बाटो खुल्ने जनाइएको छ । एक्स्पोको उद्देश्य दुई उदीयमान आर्थिक समृद्ध र पर्यटकीय हिसाबले शक्तिशाली देश भारत र चीनबाट बढिभन्दा बढी पर्यटक नेपाल भित्र्याउने रहेको छ । ती देशबाट अपार पर्यटन सम्भावना र एकीकृत व्यापार प्रवद्र्धनका लागि अवसर प्रदान गर्ने लक्ष्य लिइएको छ । यस कार्यक्रमले तीन देशबीच विशेषगरी पर्यटन, आतिथ्य र सम्बन्धित उद्योगका क्षेत्रमा व्यापारिक सञ्जाल र सहकार्य अभिवृद्धि गरी व्यापार सम्बन्धलाई थप सुदृढ गर्न मद्दत पुग्ने पर्यटन बोर्डले जनाएको छ ।

  • हाइकिङ जाँदा शिवपुरी निकुन्जमा अलपत्र परेका १० जनाको प्रहरीले गर्यो उद्धार

    हाइकिङ जाँदा शिवपुरी निकुन्जमा अलपत्र परेका १० जनाको प्रहरीले गर्यो उद्धार

    काठमाडौं । प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० जनाको उद्धार गरेको छ । प्रहरी प्रभाव बुढानीलकण्ठ, नेपाली सेनाको भवानी दल गण शिवपुरी र जिल्ला वन कार्यालयबाट खटिएको उद्दार टोलीले हराएका १० जनाको आज विहान उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।

    एसपी बोहोरका अनुसार भक्तपुरको सूर्यविनायक ६का १७ वर्षीय दर्शन सुवाल, दार्चुला घर भई भक्तपुरको लोकन्थली बस्‍ने १६ वर्षीय बिहानअभि धामी, कास्की घर भई सानो भर्‍याङ बस्‍ने १८ वर्षीय विविक श्रेष्ठ, बाँके घर भई बबरमहल बस्‍ने १७ वर्षीय विपिन आचार्य र मोरङ घर भई पेप्सीकोला बस्‍ने १७ वर्षीय विवश बुढाथोकीको उद्धार गरिएको हो ।

    यस्तै भक्तपुर ठिमी बस्‍ने १७ वर्षीय दीपविजय खनाल, तारकेश्वर बस्‍ने १७ वर्षीय चिन्तन तिवारी, सामाखुसी बस्‍ने १७ वर्षीय गौरव पराजुली , कीर्तिपुर बस्‍ने १७ वर्षीय भरत ओली र ललितपुर बस्‍ने १७ वर्षीय चिरात भट्टको सकुशल उद्धार गरिएको एसपी बोहोराले बताए । उद्धार गरिएका उनीहरूलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

  • प्रजातन्त्र दिवसको बिदामा स्काईवाक टावर माथि प्रधानमन्त्री

    प्रजातन्त्र दिवसको बिदामा स्काईवाक टावर माथि प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कमलादीस्थित स्काईवाक टावर अवलोकन भ्रमण गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा टावरको टुप्पोमा नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काइवाक टावर रहेको प्रतिक्रिया दिए । पत्नी राधिका शाक्य र आफ्ना सचिवालय सदस्य सहित सार्वजनिक बिदाको अवसर पारेर प्रधानमन्त्रीको भ्रमणले पर्यटन क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए ।

    त्यस अवसरमा उनले टावरको २२औं तलामा रहेको स्काई रेस्टुरेन्टमा खाजा खाएका थिए । कुल ७८।५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्न पाइन्छ । यसैलाई स्काइवाक भनिन्छ । सिसामाथि हिँडेर साहसिक मजा लिन काठमाडौंमा यो एकमात्र गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भएको छ ।

    खिम्ती–लामोसाँघु प्रसारण लाइन ईआरएस टावर प्रयोग गरी सञ्चालनमा

    कम्पनीका अनुसार स्काइवाक मार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । २५ तला अग्लो टावरमा २२ तलासम्म लिफ्टमा र बाँकी तीन तला सिँढीमार्फत जानुपर्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ । टावरको २५औं तला साहसिक तला हो । त्यहाँ पुगेपछि सिसा ओच्छ्याइएको भुइँमा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला आकासमा हिँडे जस्तो अनुभव हुन्छ ।

  • अब नेपाल एयरलाइन्सको टिकटमा जापान एयरलाइन्समार्फत विश्वभर यात्रा गर्न सकिने

    अब नेपाल एयरलाइन्सको टिकटमा जापान एयरलाइन्समार्फत विश्वभर यात्रा गर्न सकिने

    काठमाडौं । नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच द्विपक्षीय सम्झौता भएको छ । दुई कम्पनीबीचको आपसी सम्झौताले जापानबाट अन्य गन्तव्य जाने यात्रुलाई सहज हुने निगमले जनाएको छ । अहिले नेपाल एयरलाइन्सले काठमाडौंबाट जापानको नारितासम्म सिधा उडान गर्दै आएको छ ।
    यो सम्झौतासँगै नेवानि जहाजबाट नारिता पुगी छोटो र छिटो ‘कनेक्टिङ फ्लाइट’ मार्फत अमेरिकी तथा पश्चिमी मुलुक र कोरियाको यात्रा सहज हुने निगमले जनाएको छ ।

    सम्झौता अनुसार नेवानिको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइट मार्फत विश्वभरि यात्रु तथा ब्यागेज चेक–इन सुविधा लिन सहज हुने कम्पनीको भनाइ छ । यसले संसारभरिका यात्रुलाई नेपाल भ्रमणमा आउन समेत सहज हुने दुवै कम्पनीले जनाएका छन् । जापानसँगको सम्झौतासँगै यस्तो सम्झौता हुने एयरलाइन्स संख्या यात्रुतर्फ २५ र कार्गोमा २८ पुगेको छ ।

  • धरहरा चढ्ने समय १ घण्टा बढ्यो

    धरहरा चढ्ने समय १ घण्टा बढ्यो

    काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो । १४ माघसम्म ३स्१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४स्१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत एक करोड ५२ लाख राजस्व संकलन भएको छ ।

    ९ मंसिरदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट २४ माघसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको निर्देशक अर्यालले बताए । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको सङ्ख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उनले जानकारी दिए ।
    पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् ।

    धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति एक हजार शुल्क लिने गरिएको अर्यालले बताए । उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत ६ मंसिरको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।

    उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० र दुईपाङ्गे्र सवारीका लागि १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको निर्देशक अर्यालले जानकारी दिए ।