Category: घूमघाम

  • थाइ एयर एसियाले गर्यो भैरहवामा परिक्षण उडान, नियमित उडान हुँदै

    थाइ एयर एसियाले गर्यो भैरहवामा परिक्षण उडान, नियमित उडान हुँदै


    काठमाडौं । थाइ एअर एशियाले भैरहवा–बैंकक रुटमा परिक्षण उडान गरेको छ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाइ एअर एशियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ ।

    अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने बिमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार  बिहान ७ बजे  विमानस्थलमा  अवतरण गरेको  र  बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ । बिमानमा  चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए ।

    थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुनः उडान काठमाण्डौमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएको हो ।

    भैरहवाबाट बैंकक तर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ । एअर एसियाको यो बिमान बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ ।

  • बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई अब संग्रहालय बनाइने

    बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई अब संग्रहालय बनाइने

    काठमाडौं । बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरे । ‘संग्रहालयले हसिनाको कथित कुशासन र उनलाई सत्ताबाट हटाउनका लागि जनताले गरेको संघर्षका सम्झनाहरू जोगाउनेछ,’ युनुसले गणभवन दरबारको भ्रमणका क्रममा सोमबार भने ।

    पूर्वप्रधानमन्त्री हसिना ‘एन्टी–डिस्क्रिमिनेसन स्टुडेन्ट मुभमेन्ट’का कारण गत अगस्ट ५ मा देश छाडेर भागेकी थिइन् । उनको बहिर्गमनपछि ८४ वर्षीय युनुस देशको मुख्य सल्लाहकारमा नियुक्त भएका थिए । हसिनामाथि डेढ दशक लामो शासनकालमा राजनीतिक विपक्षीहरूलाई नजरबन्दमा राख्ने र गैरन्यायिक हत्यालगायतका व्यापक मानवअधिकार उल्लंघन गरेको आरोप छ । बंगलादेशको एक अदालतले उनलाई पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।

    हसिनालाई पतन गराउने आन्दोलनमाथि गरिएको चरम प्रहरी दमनका कारण कम्तीमा ७ सय जनाको ज्यान गएको थियो । अगष्ट ५ मा हसिना भागेसँगै सयौं आन्दोलनकारीले ‘दमनको प्रतीक’ भन्दै उनको निवासमा आक्रमण गरेका थिए । त्यसका साथै आन्दोलनकारीले हसिनाका बुबा तथा बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घरमा रहेको संग्रहालयमा पनि तोडफोड गरेका थिए । बंगलादेशबाट भागेपछि हसिना हालसम्म सार्वजनिक रूपमा देखिएकी छैनन् । ७७ वर्षीय हसिना अन्तिम पटक भारतको राजधानी नयाँदिल्ली नजिकैको सैन्य हवाई अखडामा पुगेको बताइएको थियो ।

  • तीन महिनामा साढे २१ लाख हवाई यात्रु

    तीन महिनामा साढे २१ लाख हवाई यात्रु

    काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा साढे २१ लाख यात्रुले हवाई यात्रा गरेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जुलाई २०२४ देखि सेप्टेम्बर २०२४ को बीचमा २१ लाख ७६ हजार १२६ यात्रुले आन्तरिक तथा बाह्य रुटमा यात्रा गरेका छन् । कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ तीन महिनामा ११ लाख ४० हजार २४२ जना यात्रुले काठमाडौं विमानस्थलबाट सेवा लिएका छन् ।

    यसमध्ये ५ लाख ४६ हजार १५६ जना काठमाडौं विमानस्थलमा अवतरण गरे । काठमाडौंबाट ५ लाख ९४ हजार ८६ जना यात्रु उडेको विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ । तीन महिनामा काठमाडौंमा ८ हजार ३३ वटा उडान–अवतरण भएका छन् । उता, आन्तरिकतर्फ तीन महिनामा १० लाख ३५ हजार ८८४ जनाले यात्रा गरेका छन् ।

    जसमध्ये ५ लाख १४ हजार ६३६ यात्रु काठमाडौं अवतरण गरेका छन् । ५ लाख २१ हजार २४८ जना यात्रु काठमाडौंबाट प्रस्थान गरेका छन् । तीन महिनामा कुल २२ हजार ८४६ उडानरअवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

  • पर्यटन प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबीच सहकार्य

    पर्यटन प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबीच सहकार्य

    काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपालका देश प्रतिनिधि क्षितु रिसालले बुधबार सहयोगका विषयमा सम्झौता गरेका हुन् ।

    बोर्डको आधिकारिक भाइबर प्लेटफर्मः अन्तर्गगत पर्यटन उद्योग, देशका पर्यटक र आम जनता र विश्वभरका नेपालीहरू बीच दैनिक सञ्चार र पर्यटन अद्यावधिकहरू सहित पर्यटन जानकारीको प्रसारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ । यस च्यानललाई नेपालको विभिन्न भागमा रहेका पर्यटकीय गन्तव्य, नयाँ उत्पादन, प्याकेज, गतिविधि र अनुभवका बारेमा नवीनतम समाचार र अपडेटहरू आदान प्रदान गर्न पनि प्रयोग गरिनेछ । साझेदारीको अवधिमा पर्यटन प्रवर्द्धन अभियान र स्टिकर प्याकहरू पनि सञ्चालन गरिनेछ ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख जोशीले भाइबरसँगको सहकायले नेपालको पर्यटन प्रवर्द्धन हुनेमा आशावादी रहेको बताए । ‘भाइबर धेरै लोकप्रिय प्लेटफर्म हो । यसले नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा अझ बढि ब्रान्ड भिजिबिलिटी बनाउनुका साथै हाम्रा उत्पादन र अनुभवहरूलाई विविधीकरण गर्न मद्दत गर्नेछ भन्नेमा हामी सकारात्मक छौं ।

    हामी पूरक र क्रस कटिङ सञ्चारका लागि ट्राभल ब्लगरहरू, सामग्री सिर्जनाकर्ताहरू, टुर अपरेटरहरू र यात्रुहरूको साथ एक गतिशील समूह सिर्जना गर्ने योजनामा छौं । डिजिटल एक्सचेन्ज र एआईको यो युगमा, हामीले हाम्रा दर्शकहरूलाई थप आकर्षक र व्यक्तिगत रूपमा पुग्न त्यस्ता लोकप्रिय च्यानलहरूको प्रयोग गर्नु महत्वपूर्ण हुनेछ ‘उनले भने ।

    एपीएसी, राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले राकुटेन भाइबर विगत केही वर्षदेखि नेपालको पर्यटन उद्योगलाई सहयोग गर्न प्रतिबद्ध रहको बताए । ‘नेपाल पर्यटन बोडसँगको साझेदारीले नेपाललाई घुम्नैपर्ने गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतामा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो’ उनले भनिन् ।

    आफ्नो प्लेटफर्म मार्फत देशको आश्चर्यजनक परिदृश्य र अद्वितीय अनुभवहरू प्रदर्शन गर्ने लक्ष्य राख्ने धारणा राखिन् । राकुटेन भाइबर नेपाली उपभोक्ताहरु माझ सबैभन्दा रुचाइएको सञ्चार एप हो र हालै विगत छ महिनामा नेपालका छ वटा बिभिन्न सरकारी निकायहरुसंग साझेदारी गरेको भाइवरले जानकारी दिएको छ ।

  • वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

    वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

    काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । उनको आइतबार बिहान अस्पतालमा निधन भएको हो । डेंगु संक्रमण भएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । परिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने भएको छ । साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा सक्रिय थिए ।

    ७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् । मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।

  • सरकारले आरोहणलाई खोल्यो थप ५७ हिमाल

    सरकारले आरोहणलाई खोल्यो थप ५७ हिमाल

    काठमाडौं । सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार नेपाल हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप ५७ हिमालमा आरोहण खोल्ने निर्णय भएको हो । यी हिमाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन तथा व्यवस्थापन गर्ने गरी खुला गरिएको हो । मन्त्रालय मातहत पर्यटन विभागले हिमाल व्यवस्थापन गर्दै आएको छ ।

    यसअघि गत असारमा पर्यटन विभागले ती हिमाल आरोहण खुला गर्न मन्त्रालयमा सिफारिस गरेको थियो । सिफारिस गरिएका हिमालमा ६ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका छन् । यसपालि पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका चुचुरो आरोहणका लागि खुला भएका हुन् । यसअघि नेपालमा ४ सय १९ हिमाल चुचुरा आरोहणमा खुला भइसकेका छन् । जसमा सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मिटर उचाइका सबै हिमाल पर्छन् ।

  • द्यौलागिरी हिमाल आरोहणका क्रममा पाँच रुसी आरोहीको निधन

    द्यौलागिरी हिमाल आरोहणका क्रममा पाँच रुसी आरोहीको निधन

    काठमाडौं । धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको निर्देशक गुरुङले बताए ।

    ‘आफूहरु फर्कने निर्णयमा पुगेको जानकारी उनीहरुले आफ्ना साथीलाई आधार शिविरमा गराएका रहेछन्,’ गुरुङले भने । तर, रातको ११ बजेपछि उनीहरुसँगको सम्पर्क टुटेको थियो । सोमबार दिनभर गरिएको खोजी अभियानपछि मंगलबार बिहान मात्र उनीलाई प्राणविहिन अवस्थामा फेला पारिएको हो ।

    उनीहरु रसियाका चर्चित र अनुभवी आरोही रहेको गुरुङले जानकारी दिए । यस वर्ष कुल १४ जना आरोही धवलागिरी हिमाल आरोहणका लागि गएका थिए । त्यसमध्ये दुई समूहमा ७(७ जना आरोही आरोहणमा लागेका थिए । त्यसमध्ये ६ जनाले आरोहण गर्न नसकिने भनी परित्याग गरेको जानकारी विभागमा गराइएको थियो । बाँकी ८ जनामध्ये दुई जनाले सफल आरोहण गरी आधार शिविरमा फर्किएका थिए ।

    बाँकी ६ जना आरोहणमा जाँदै गर्दा थप एक जनाले बीच बाटोबाटै आरोहण परित्याग गरेर आधार शिविरमा फर्किएका थिए । आरोहणको अठोट बोकेर अघि बढेका आरोहीहरुको निधन भएको हो । प्रतिकुल मौसमका कारण उनीहरुलाई आधार शिविरमा झार्न नसकिएको विभागले जनाएको छ । आइएएम ट्रेकिङबाट यस सिजनका लागि १४ जना रसियन आरोहीले अनुमति लिएका थिए ।

  • नेपाल एयरलाइन्सको भैरहवा उडानको टिकट एक रातमा सबै बिक्रि

    नेपाल एयरलाइन्सको भैरहवा उडानको टिकट एक रातमा सबै बिक्रि


    काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्रि भएको छ । नेवानिका प्रवक्ता रमेश पौडेलका अनुसार आज बिहान सबै टिकट बिक्रि भएको छ ।

    काठमाडौं भैरहवा रुटमा १५८ सिटनै बिक्रि भएको र भैरहवा काठमाडौं रुटका लागि भने टिकट बाकी रहेको उनले जानकारी दिए । फुलपातिको दिन नेवानिले १८५ सिटे न्यारोबडी जहाजले आन्तरिक उडान गर्दैछ ।

  • बाढी-पहिरोमा फसेका १६३ जना पर्यटकको उद्धार

    बाढी-पहिरोमा फसेका १६३ जना पर्यटकको उद्धार

    काठमाडौं । ११ र १२ असोजमा देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र १६३ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा उनीहरुको उद्धार गरिएको हो ।

    सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्व गरी पर्यटकहरुको उद्धार गरिरहेको बताएको छ । पर्यटक प्रहरी र सेल आफ्नै हटलाइन मार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरेको बताइएको छ ।

    साथै वेभसाइट मार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था र मौसमबारे जानकारी समिेत दिन थालिएको छ । खोजिका त्रलममा बाढी पहिरोमा हराइरहेका भनिएका सिङ्गापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला पारिएको छ । रामेछापबाट एक नेपाली र एक भारतीय पर्यटकको समेत उद्धार गरिएको छ ।

  • नेवानिले टिकट काटेर उड्न नपाएका यात्रुसँग थप शूल्क नलिने

    नेवानिले टिकट काटेर उड्न नपाएका यात्रुसँग थप शूल्क नलिने

    काठमाडौं । नेपाल एयरलाइन्सले शुक्रबार (२७ सेप्टेम्बर) देखि बुधबार (२ अक्टोबर) सम्म उड्ने गरी टिकट काटेर उड्न नपाएका अन्तर्राष्ट्रिय हवाई यात्रुसँग अतिरिक्त शुल्क नलिने भएको छ । अविरल वर्षा र बाढी पहिरोका कारण काठमाडौं आउन नपाएका यात्रुको सुविधालाई मध्यनजर गर्दै मिति परिवर्तन गर्दा थप शुल्क नलिन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको थियो ।

    सोही अनुसार यात्रुसँग थप शुल्क नदिने निर्णय भएको नेवानिका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार सो सुविधा ११ अक्टोबर (२६ असोज) सम्म उपयोग गरिसक्नु पर्ने समेत निर्णय भएको छ ।

  • शनिबारसम्म सबै आन्तरिक उडान स्थगित

    शनिबारसम्म सबै आन्तरिक उडान स्थगित

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।

    ‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ । आज आन्तरिक उडानहरु अधिकांश रद्द भएका छन् ।

  • आज विश्व पर्यटन दिवस, विश्वभर मनाइदै

    आज विश्व पर्यटन दिवस, विश्वभर मनाइदै

    काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

    ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिनेछ ।

    दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार दिवसलाई भव्य र सभ्य रूपमा मनाउनका लागि तीन तहका सरकारको सहकार्यमा निजी क्षेत्रका पर्यटन व्यवसायी, गैरसरकारी संस्था र समुदायको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

    मूल समारोह समितिले राष्ट्रिय नाचघरमा आयोजना गर्ने औपचारिक समारोहमा विभिन्न मन्त्री, सरकारी उच्च अधिकारी, विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहनेछ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिध्यतामा कार्यक्रम हुनेछ । पर्यटनसम्बद्ध विशिष्ट व्यक्तित्वहरूबाट शुभकामना आदनप्रदान गरिनेछ ।

    बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने कार्यक्रम छ । यस्तै बिहान ठमेलमा प्रभातफेरी गरिनेछ । उक्त कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ ।

    दिवसकै सन्दर्भमा प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा आज ‘ठमेल नखः’ महोत्सव हुँदैछ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । ठमेल पर्यटन विकास परिषद् र दी काठमाडौँ पोष्टको सहकार्यमा हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्धितीय संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताए । पर्यटन दिवसलाई लक्षित गरेर ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’को दोस्रो संस्करण काठमाडौँमा बिहीबार सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।

    विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ)ले सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । दिवसको उद्देश्य अन्तर्राष्ट्रिय समुदायको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मूल्यहरूलाई प्रभाव पार्न पर्यटनको महत्वबारे चेतना जगाउनु रहेको जानकार बताउँछन् ।

  • अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिक लैजान प्रतिवन्ध

    अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिक लैजान प्रतिवन्ध

    काठमाडौं । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरू भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ।

    ‘मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र उत्पादित फोहर आफैले लिएर आउन पर्यटकलाई आग्रह गरेका छौं,’ आयोजना प्रमुख डा रवीन कडरियाले भने, ‘पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ।’ स्थानीय होटल व्यवस्थापन समिति, आमा समूहलगायत क्लब परिचालन गरेर फोहर व्यवस्थापन गरिएको हो।

    संकलन भएको फोहरलाई पोखरामा ल्याई प्रशोधन गर्ने ‘एक्याप’को योजना छ। अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ। ‘एक्याप’भित्र पर्ने स्थानीय तहले पनि सरसफाइ अभियानलाई प्राथमिकता दिएका छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाभित्र प्लाष्टिक झोला लैजान प्रतिबन्ध लगाइएको छ। ‘एक्याप’ भित्रने पर्यटकलाई ‘मेटाकार्ड’मार्फत फोहर व्यवस्थापनसम्बन्धी सन्देश दिन थालिएको छ। घान्द्रुक, सिकलेस, धम्पुसलगायत सांस्कृतिक पहिचानका गाउँमा पनि सरसफाइ अभियान सुरु भएको ‘एक्याप’ले जनाएको छ।

    सात हजार छ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा छन्। अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ। बर्सेनि असोज–कात्तिक र चैत–वैशाखमा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ।

    अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमैडाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका प्रमुखस्थल हुन्। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्र्रा सकिने पर्यटक पथप्रदर्शक दिवस गुरुङले जानकारी दिए।

    अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए। तीमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन्। चार वर्षअघि अन्तर्राष्ट्रिय ‘ट्राभल साइट’ लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दश गन्तव्य सूचीमा समावेश गरेको थियो।
    राससको सहयोगमा

  • नारायणगढ–मुग्लिन सडक भास्सियो, एकतर्फी सञ्चालन

    नारायणगढ–मुग्लिन सडक भास्सियो, एकतर्फी सञ्चालन

    काठमाडौं । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए । । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ ।

  • त्रिभुवन विमानस्थलमा खादा\माला प्रयोग नगर्न प्राधिकरणको आग्रह

    त्रिभुवन विमानस्थलमा खादा\माला प्रयोग नगर्न प्राधिकरणको आग्रह

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनलमा खादा तथा माला देखिने गरी प्रयोग नगर्न आग्रह गरेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेको कार्यालयले जनाएको छ ।

    ‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको’, कार्यालयले सूचनामा भनेको छ । खादा, माला आफैंसँग लैजानै परे यात्रुले झोलाभित्र नदेखिने गरी राखेरमात्रै आउन पनि कार्यालयले अपिल गरेको छ ।

  • बुद्धको एक जहाजलाई दिइयो अवकाश

    बुद्धको एक जहाजलाई दिइयो अवकाश

    काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजलाई अवकास दिएको छ । अब यो जहाज उड्ने छैन । नेपालमा सन् २००८ सेप्टेम्बर १७ भित्राएर पहिलो पटक माउन्टेन फ्लाइट गरेको यो जहाजको अन्तिम उडान समेत माउन्टेन फ्लाइट नै गरियो । जसमा बैंकरहरु उडेका थिए । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरिएको हो । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरे ।

    यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ । ७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो । नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेको छ । ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ ।

  • नेपाल पर्यटन बोर्डका सीइओ जोशीले सम्हाले कार्यभार

    नेपाल पर्यटन बोर्डका सीइओ जोशीले सम्हाले कार्यभार

    काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) दीपकराज जोशीले पदभार ग्रहण गरेका छन् । दोस्रो कार्यकालका लागि उनले बोर्डको नेतृत्व सम्हालेका हुन् । उनले सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिने र युद्धस्तरमा काम गर्ने बताए । पदभार ग्रहणपछि उनले भने, ‘चुनौती धेरै छन्, यसैलाई अवसर मानेर काम गर्नेछु ।’ बोर्डको आन्तरिक व्यवस्थापनमा धेरै समस्या आइसकेको सुनेको भन्दै त्यसलाई सच्याउँदै आक्रामक पर्यटन प्रवर्द्धनमा बढी केन्द्रित हुनुपर्ने अवस्था रहेको उनले बताए ।

    होटलररिसोर्टमा निरन्तर लगानी बढे पनि त्यसका लागि आवश्यक पर्यटक आगमन नभएको भन्दै उनले यसमा धेरै काम गर्नुपर्ने देखिएको बताए । सरकार र निजी क्षेत्रबीच समन्वय गरी सार्वजनिक–निजी–साझेदारी मोडलको असली अभ्यासलाई पुनः सक्रिय गराउने उनले बताए । उनले आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृत्ति विकास लगायत कार्य प्राथमिकतामा रहने बताए ।

    कुनै पूर्वाग्रह नराखी काम गर्ने भन्दै उनले नयाँ परिवेशमा नयाँ सोच र चिन्तनका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए । बोर्ड कार्यकारी समितिको २० भदौमा बसेको बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।

  • नेपाल पर्यटन बोर्डको सीइओमा जोशी नियुक्त

    नेपाल पर्यटन बोर्डको सीइओमा जोशी नियुक्त

    काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् ।

    २० मध्ये तीन प्रतिस्पर्धीको सूचीमा जोशी परेका थिए । निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए । जोशीले रेग्मी सीईओ हुनुभन्दा अघि एक कार्यकाल सीईआको जिम्मेवारी पूरा गरेका थिए । जोशी चार वर्षका लागि सीईओ नियुक्त भएका हुन् ।


    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले जोशीको नाम दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।

  • चाइना साउदर्न पोखरा र भेरहवामा उडान गर्न इच्छुक

    चाइना साउदर्न पोखरा र भेरहवामा उडान गर्न इच्छुक

    काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नका प्रतिनिधिले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तार गर्न तयार रहेको जानकारी गराएका छन् । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग भेट्दै चाइना साउदर्नका प्रतिनिधिले यस्तो जानकारी गराएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ । एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डे समक्ष पोखरा र भैरहवामा उडान गर्न उत्साहित रहेको बताएका हुन् ।

    ४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको कम्पनीले अहिले काठमाडौंबाट चिनियाँ सहर ग्वान्झाओमा सिधा उडान गरिरहेको छ । प्रतिनिधिले पोखरा र भैरहवा उडानमा सरकारले लिएको नीतिगत सुधारको पहललाई प्रशंसा गरेको समेत मन्त्रालयले जनाएको छ ।

    चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने जानकारी गराएपछि मन्त्री पाण्डेले पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडानका लागि सरकारले स्वागत गर्ने बताए ।

    यसबाट द्विपक्षीय हित र आपसी सम्बन्ध विस्तारमा फाइदा पुग्ने उनको भनाइ छ । यस उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने उनको भनाइ छ ।
    मन्त्री पाण्डेले नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चाइना साउदर्न एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिन सक्ने बताए ।

  • तारा एअरले भोलि देखि पोखरा-जोमसोम उडान शुरु गर्दै

    तारा एअरले भोलि देखि पोखरा-जोमसोम उडान शुरु गर्दै

    १७ भदौ, काठमाडौं । प्रतिकुल मौसमसंगै बन्द भएको पोखरा-जोमसोम को नियमित उडान तारा एअरले भोलि  १८ गते मंगलबारबाट नियमित गर्ने भएको छ । पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय शुरु भएकोले उडान नियमित हुन लागेको हो ।

    जोमसोम को नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालकालागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको छ । तारा एअरको उडान पोखराको पुरानो एअरपोर्ट बाटै संचालन हुनेछ । 

    मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ । 

    यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप – लुक्ला- रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्बजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका लागि विभिन्न वायुसेवा कम्पनिहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन  । 

    यो सिजनका लागि तारा एअरको २ वटा ट्वीनअटर विमानले  रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाईट गर्ने तालिका राखेको छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्री बिसान गरि डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एअरले दिएको छ ।

    ताराले रामेछाप देखी लुक्लाको साथै काठमाडौं देखी लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिंदै आएको छ ।

  • गोसाइँकुण्डमा बिहानैबाट भक्तजनको भीड

    गोसाइँकुण्डमा बिहानैबाट भक्तजनको भीड

    काठमाडौं । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवम् पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ । सोमबार बिहान सबेरैदेखि कुण्डमा स्नानको एवम् पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

    जनैपूर्णिमाकोे दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् । भक्तजन स्नानका लागि निलाद्री पर्वत जानेक्रम जारी रहेको समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।

    लाङ्टाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले गोसाइँकुण्ड आएका तीर्थयात्रीलाई निकुञ्जद्वारा सहजीकरण भैराखेको बताए । तीर्थस्थलमा भक्तजनको चाप बढ्ने भएका कारण प्रहरी निरीक्षकको कमाण्डमा यथेष्ट सुरक्षा गस्ती परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले बताए ।

    लेक लागेका यात्रीलाई हिमालय उद्वार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर मार्फत् प्राथमिक उपचार गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बिरामी परी जोखिम अवस्था पुगेकालाई उद्वार टोली तयारी अवस्थामा राखिएको बताए ।


    तीर्थयात्रीका लागि एक सय ३० बस, तीन सय पाँच जिप, कार, भ्यान र चार सय २० मोटरसाइकल गोसाइँकुण्ड गाउँपालिका–६ ले व्यवस्थापन गरेको पार्किङभित्र रहेको प्रहरीले जनाएको छ ।

    यस्तै, यात्रुका लागि नपुग सवारीसाधन निजी क्षेत्रको यातायात व्यवस्था गर्ने चेम्बर अफ कमर्सले जनाएको छ । कमर्सका अध्यक्ष सञ्जीव अमात्यले यात्रीमाझ यातायात व्यवस्था थप मजबुत पार्न निजी क्षेत्रका बस, टाटासुमो तथा माइक्रो बसको व्यवस्था गरेका कारण यात्रामा समस्या नआउने बताए । रासस

  • गोदावरीमा विश्वकै ठूलो भैरवको मुखाकृतिसहित आर्ट भिलेज बन्दै

    गोदावरीमा विश्वकै ठूलो भैरवको मुखाकृतिसहित आर्ट भिलेज बन्दै

    काठमाडौं । ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृति) सहित ‘नेपाल आर्ट भिलेज’ निर्माण थालिएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले जानकारी दिए ।

    ख्वापाः लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिने छ । भवनको अगाडिपट्टि ख्वापाः र भवनभित्र कला संग्रहालय स्थापना हुनेछ । परियोजनाले यसलाई विश्वकै ठूलो भैरवको ख्वापाः निर्माण गरी गिनिज बुकमा नाम लेखाउने जनाएको छ ।

    कूल २ सय ३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १ सय ८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहने परियोजनाको भनाइ छ । प्रवक्ता महर्जनका अनुसार भवन परिसरमा गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति राखिने छ ।

    मुखाकृतिको ४२ फिटको उचाइमा भएको भैरवको आँखा (भैरव दृष्टि) बाट काठमाडौं उपत्यका र मनोरम हिमशृङ्खला समेत अवालेकन गर्न सकिने छ ।
    ख्वापाः परिसरमा विभिन्न समुदायका रैथाने परिकार उपलब्ध हुने भोजनस्थल तथा सभाकक्ष निर्माण गरिने बताइएको छ ।

    परम्परागत जीवनशैली झल्काउने देवीदेवताका मठमन्दिर, ढुङ्गेधारा, पोखरी र बगैँचा जस्ता भौतिक कलायुक्त सम्पदा, प्रदर्शनी कक्ष, सभागृह, रंगमञ्च, हेलिप्याड, पुरातन बस्ती, वृद्धाश्रम, विवाहमण्डप, योग केन्द्र, ९ब्यांक्वेट०, टेन्ट क्याम्प, साहसिक एवं मनोरञ्जनात्मक खेलकुद, स्विमिङपुल लगायत समेत सुविधा हुनेछ ।

    वरिष्ठ कलाकार स्वर्गीय राजकुमार शाक्यको नेतृत्वमा ख्वापाः निर्माण सुरु भएको थियो । हाल शाक्यका छोराहरू स्वरूप र सौरभ नेतृत्वको कलाकार टोलीले उक्त जिम्मेवारी लिएको छ ।

    प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा २०७४ सालमा जग्गा एकीकरण÷संकलन गरी सुरु भएको परियोजनाको २०७७ सालमा विधिवत् शिलान्यास गरिए पनि संस्थापक अध्यक्ष तथा प्रसिद्ध कलाकार राजकुमार शाक्यको निधनका कारण निर्माण प्रक्रिया केही समय सुस्ताएको थियो । हाल भैरव ख्वापाः निर्माण कार्य तीव्र गतिमा भइरहेको नेपाल आर्ट भिलेज प्रालिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए ।

    यो स्थान ललितपुर एकान्तकुनाबाट भैंसेपाटी–बुङ्गमति हुँदै १०.५ किलोमिटर, एकान्तकुनाबाट चुनिखेल हुँदै १३ किलोमिटर र सातदोबाटोबाट चापागाउँ हुँदै १५ किलोमिटरको दूरीमा छ । हाल त्यहाँ पुग्ने सडकमार्ग स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल भइरहेको र काम अघि बढाइएको जनाइएको छ ।

    ललितपुरबाट हेटौंडा जोड्ने कान्ति लोकपथको टिकाभैरवबाट तीन किलोमिटर दूरीमा पुग्न सकिन्छ । हाल यस क्षेत्रमा सडक र खानेपानीका लागि केन्द्र र प्रदेश सरकारबाट समेत बजेट विनियोजन गरिएको छ ।

  • जनैपूर्णिमा अघि पहिलो पटक गोसाइँकुण्डमा पुर्याइयो बिजुली

    जनैपूर्णिमा अघि पहिलो पटक गोसाइँकुण्डमा पुर्याइयो बिजुली

    काठमाडौं\रासस । भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्‍याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ । धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।

    विसं २०३८ मा जिल्लामा विद्युत् सेवा विस्तार भएपनि गोसाइँकुण्डमा पहिलो पटक शुक्रबार विद्युत् लाइन सञ्चालन गरिएको हो । नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जिप भट्टराईका अनुसार गणेश गौडा बुद्ध मन्दिर र गोसाइँकुण्डमा दुई सय भन्दाबढी बत्ती बालिसकिएको छ । यहाँ बिजुली पुर्‍याउन लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, गोसाइँकुण्ड गाउँपालिकालगायत सरोकार भएका निकाय तथा स्थानीयले सहयोग गरेका उनले बताए ।

    चन्दनबारीबाट कुण्डसम्म १४ किलोमिटर विद्युत् लाइन निर्माण गरी मेलालाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले बिजुली बत्ती पुर्‍याइएको प्रमुख भट्टराईले उल्लेख गरे । विद्युत् लाइन विस्तारसँगै खाना पकाउन तथा दैनिक कार्यमा सहजता अउनाका साथै वन पैदावारको व्यायभारमा शून्यता आई वन तथा वनस्पति संरक्षणमा सहयोग पुग्ने स्थानीयले बताएका छन् ।

    विद्युत् सेवा विस्तार भएसँगै तीर्थ जादाँ लेक लागेका यात्रुलाई शुक्रबारदेखि नै विद्युत्को सहायतबाट अक्सिजन दिन सुरू गरिएको गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घले जनाएको छ । सङ्घबाट खटाएका चिकित्सक टोलीले प्राथमिक उपचार सेवा प्रदान गरिरहेको बताउँदै शुक्रबार साँझसम्म एक सय ५० जना यात्रीलाई अक्सिजन दिइएको सङ्घका व्यवस्थापक प्रकाश खत्रीले जानकारी दिए ।

    शनिबार बिहान दुई हजार तीर्थयात्रीले सुलाद्री आरोहण गरिरहेका राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । तीर्थयात्रीको उपचारका लागि धुञ्चेको शिवमन्दिर चोकमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । साथै मिनि गोसाइँकुण्ड, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

    गोसाइँकुण्ड मेला भर्न आउने यात्रीको सुरक्षाका लागि एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन, बिरामी यात्रीको उद्धार गर्न उद्धार समूहको समेत व्यवस्था गरिएकाले निर्धक्कका साथ यात्रा गर्न सम्पुर्ण यात्रीलाई अनुरोध गरिएको प्रजिअ खनालले बताए ।

    गोरखनाथलाई गोसाइँकुण्डको पवित्र जलस्नान गराउन आवश्यक सुरक्षाका साथ गोरखनाथलाई शिरमा राखी आएका बाबाका समूह शनिबार बिहान सुलाद्री पर्वततर्फ प्रस्थान गरिसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए । भक्तजन आउने क्रम जारी रहेकाले ट्राफिक व्यवस्थापन पनि कडा परिएको उनले बताए ।

  • पर्यटकलाई भारततर्फका सबै नाका खुला

    पर्यटकलाई भारततर्फका सबै नाका खुला

    काठमाडौं । कोरोना महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ । अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबिचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जाने गरेकामा साउन १६ गतेदेखि भारतसँग जोडिएका सात वटै नाकाबाट पर्यटकले भारत प्रवेश पाइरहेको बताए ।


    महामारीका कारण भैरहवा र वीरगन्ज नाकामार्फत भारत प्रवेश गर्दै आएका पर्यटक अहिले भारतसँग जोडिएका सात वटै नाकाबाट सहज रूपमा प्रवेश पाइरहेको उनले बताए । “पर्यटकको आवागमनमा कुनै अवरोध नभएपछि नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा समेत बढोत्तरी हुने अपेक्षा लिएका छौँ,” उनले भने ।


    अध्यागमन विभागले चीनतर्फबाट समेत पर्यटक आवागमन सहज बनाउन मुस्ताङको कोरला र ताप्लेजुङको टिपताला नाकामा अध्यागमन कार्यालयको स्थापना गर्न लागेको उनले जानकारी दिए । हाल सञ्चालनमा रहेका तातोपानी, तिमुरबोटे र हिल्सा नाकाबाट पर्यटन आवागमनमा कुनै समस्या नरहेको उनले प्रस्ट पारे ।


    भारतीय पक्षले साउनको दोस्रो सातादेखि नै अध्यागमन सेवामा गरेको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएपछि अहिले झापादेखि कञ्चनपुरसम्मका नाकाबाट पर्यटक आवागमन सहज भएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार इलामको पशुपतिनगर नाकाबाट भारत जान भारततर्फ अध्यागमन कार्यालय नभएका कारणबाहेक भारतसित जोडिएका मुलुक अरू सबै नाकाबाट पर्यटक आवागमन सहज भइसकेको छ ।

    अहिले झापाको काकँडभित्ता, कैलालीको मोहना, कञ्चनपुरको गड्डाचौकी, बाँकेको जमुनाहा, भैरवाको बेलहिया, विराटनगर र वीरगन्ज नाकामा पर्यटक भारततर्फ जान थालेका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार नाका सहज भएयता काकँडभित्ता नाकाबाट ७८ जना तेस्रो मुलुकका पर्यटक भारततर्फ गएका छन् भने सो नाकाबाट ११४ जना नेपाल भित्रिएका छन् । त्यसै गरी कैलालीको मोहनाबाट एक जना भित्रिएका छन् भने वीरगन्ज नाकाबाट ३० जना बाहिरिनुका साथै ३७ जना पर्यटक नेपाल प्रवेश गरेका छन् ।

    त्यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट नौ जना तेस्रो मुलुकका पर्यटक बाहिरिनुका साथै १२ जना पर्यटक भित्रिएका छन् । भारतीय पक्षले कोरोनाका बेला सन् २०२१ डिसेम्बर २० तारिखदेखि पाँच वटा नाकामा तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा अवरोध गरेको थियो ।

  • हिमालय एयरलाइन्सले कुवेतमा पुनः नियमित उडान गर्ने

    हिमालय एयरलाइन्सले कुवेतमा पुनः नियमित उडान गर्ने

    काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले कुवेतमा काठमाडौंबाट सिधा उडान गर्ने भएको छ । २० अगस्ट २०२४ देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने कम्पनीले जनाएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको अधिक माग सम्बोधन गर्दै हिमालयले पुनः उडान सुरु गर्न लागेको बताएको छ । कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्टका रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ ।

    सुरुमा काठमाडौं–कुवेत–काठमाडौं हवाई मार्गमा सातामा एक उडान हुने भएको छ । मागका आधारमा उडान थप्ने योजना रहेको समेत कम्पनीले बताएको छ । काठमाडौं–कुवेत उडान काठमाडौंदेखि स्थानीय समय अनुसार बिहान ४ बजे उड्ने र स्थानीय समय अनुसार बिहान ३ : १५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने छ । कुवेत–काठमाडौं उडान कुवेतबाट स्थानीय समय बिहान ४ः १५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ः ५ मा काठमाडौं अवतरण गर्नेछ ।

  • काठमाडौं–भियतनाम सिधा चार्टर्ड उडान हुँदै

    काठमाडौं–भियतनाम सिधा चार्टर्ड उडान हुँदै

    काठमाडौं । सिधा उडान सम्पर्क नभए भियतनाम र नेपालबीच पर्यटक आदानप्रदान गर्ने उद्देश्यले दुइटा चार्टर उडान हुने भएका छन् । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले दशैंलगत्तै असोज ३० गते नेपालबाट कम्तीमा एक सय ५० पर्यटकलाई भियतनाम लैजाने भएको छ । त्यसै दिन भियतनामबाट १ सय ५० हाराहारी पर्यटक नेपाल आउने भएका छन् ।

    रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार, भियतनामबाट नेपाल आउने पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, स्वयम्भू र बौद्धनाथको अवलोकन गर्ने छन् । पराजुलीका अनुसार, नेपाल र भियतनामबीच सिधा उडान नभएकाले चार्टर उडानबाट पर्यटक ओहोरदोहोर हुन लागेका हुन् ।

    नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो । नेपालीले अन्य पूर्वी एशियाली मुलुक हुँदै भियतनाम भ्रमणमा जानुपर्ने भए महँगो पर्ने भएकाले सिधा उडानमार्फत यो टुर प्याकेज आयोजना गरिएको हो । रुप्सेले भियतनाम भ्रमणका लागि १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको छ । यसमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

    भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यहरुमा भ्रमण गराइने भनिएको छ । पहिलो दिन हानोई पुग्ने नेपालीलाई त्यहाँ थ्री स्टार होटलमा राखिनेछ भने दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइने भनिएको छ । भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बे मा क्रुज सफारी, चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौं दिन नेपाल फर्काइने छ ।

    कुल १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको टुर प्याकेज भए पनि एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा भ्रमण गर्न सकिने रुप्सेले विज्ञप्तिमार्फत जनाएको छ । यो प्याकेज १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था गरीएको छ ।

  • बेलायती राजदूत भन्छन् : नेपाल सधैका लागि राम्रो ठाँउ हो

    बेलायती राजदूत भन्छन् : नेपाल सधैका लागि राम्रो ठाँउ हो

    काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाल सधैंका लागि राम्रो ठाउँ रहेको बताएका छन् । मंगलबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भएको शिष्टाचार भेटमा राजदूत फेनले उक्त भनाइ राखेका हुन् । भेटमा राजदूत फेनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा राम्रो छवि भएको समेत बताए ।

    ‘नेपाल सधैंका लागि राम्रो ठाउँ हो,’ उनले भने, ‘काठमाडौंको संस्कृति र प्रकृति रचनात्मक सहरको प्रवर्द्धनका लागि राम्रो विषयवस्तु हुन् । यसमा हामी सँगै काम गर्न चाहन्छौं ।’ चलचित्र विधाबाट युवाहरुलाई प्राविधिक र सिर्जनात्मक क्षेत्रमा जोड्न सकिने र युवालाई स्वयंसेवकका रुपमा कार्यक्रममा सहभागी गराएर विकासका अन्तरपक्षमा अभ्यस्त गराउने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने उनले बताए ।

    महानगरकी उपप्रमुख डंगोलले महानगरले वुमन्स अफ द वर्ल्ड (वाउ) फेस्टिभल आयोजना गर्ने तयारी गरिरहेको जानकारी गराउँदै इन्द्रजात्रा अवलोकनका राजदूत फेनलाई निमन्त्रणा गरेको महानगरले जनाएको छ ।

    ‘रचनात्मक सहर सञ्जालमा काठमाडौंको विधा चलचित्र हो । यस विधाबाट सिर्जनामा काम गर्ने युवालाई सरकारका कार्यक्रमसँग सिधै जोड्न सकिन्छ,’ उपप्रमुख डंगोलले भनिन् । उपप्रमुख डंगोलले महानगरले गरिरहेको कामबारे जानकारी गराएकी थिइन् । उनले भेटमा बेलायतमा आयोजना भएको वुमन्स अफ वर्ल्ड फेस्टिभल कार्यक्रमले आपसी सम्बन्ध बलियो भएको समेत उल्लेख गरिन् ।

    भेटका क्रममा चलचित्र कार्यशाला, चलचित्र प्रदर्शनी, चलचित्र महोत्सव, चलचित्र शिखर सम्मेलन, चलचित्र शिक्षण, अनुशिक्षण र प्रशिक्षणलगायतका क्रियाकलापलाई आपसी आयोजनामा सञ्चालन गर्ने सकिने सम्भावित कार्यक्रमका रुपमा छलफल गरिएको महानगरले जनाएको छ ।

  • रात्रि बस नचलाउन सरकारले गरायो सचेत

    रात्रि बस नचलाउन सरकारले गरायो सचेत

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ।
    जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको हो।

    विभागले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ।

    विभागले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रूकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ।

    प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन सूचित गराएको छ।

    प्राधिकरणले उच्च जोखिमका जिल्लामा जुनसुकै बेला विपद् आउनसक्ने हुनाले खोज तथा उद्धारका लागि ती जिल्लाका तीन वटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहने, भारी वर्षाको अवधिभरि अत्यन्त जरूरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन आग्रह गरेको छ।

  • नेपाल एयरलाइन्स अष्ट्रेलिया उडानको तयारी

    नेपाल एयरलाइन्स अष्ट्रेलिया उडानको तयारी


    काठमाडौं । नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान सुरु गर्ने तयारी थालेको छ । सो बारे नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको छ ।

    अस्ट्रेलिया-नेपाल सीधा हवाई उडान गर्ने बिषयमा करिब ५ वर्षअघि दुईदेशका बीचमा आपसी सहमति भएको थियो । विशेष गरेर कोरोनाकालमा नेपाल एयरलाइन्सले आफ्नै विमान मार्फत आफ्ना नागरिकलाई अस्ट्रेलियाबाट उद्धार गरेर लगेपछि सिधा उडान हुने बिषयमा यहाँका नेपाली थप आशावादी बनेका थिए ।

    डेढ वर्षदेखि छलफलले थप तीब्रता पाएपछि अब आगामी दशैँबाट यहाँका नेपालीले आफ्नै जहाजबाट स्वदेश यात्रा गर्न पाउने सम्भावना बढेको छ । यसकालागि दुई देशका बिभिन्न तहका उड्डयन प्राधिकरण, नियमन निकाय तथा अन्य सम्बन्धित अधिकारीबीच लामो समयदेखि छलफल तथा गृहकार्य हुँदै आएको छ । पछिल्लो पटक नेपाल एयरलाइन्सका चार उच्च अधिकारीले सिड्नी आएर संवाद गरेका छन् ।

    नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ्ग निर्देशक टेकनिधि दहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड सदस्य किशोर प्रधान अष्ट्रेलिया पुगेका छन् ।

    उनीहरुले सो मुलुकको सिभिल एभिएसन सेफ्टी अथोरिटी (कासा), पूर्वाधार बिभाग, बिदेश मन्त्रालयका अधिकारी तथा गृहमन्त्रीका प्रतिनिधीसँग बिभिन्न छलफल समेत गरेका छन् ।

  • सञ्चालनमा आयो पाँचतारे हिल्टन होटेल

    सञ्चालनमा आयो पाँचतारे हिल्टन होटेल

    काठमाडौं । काठमाडौंको नक्सालमा पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमा आएको छ। शंकर समूहको लगानी रहेको यो होटल शुक्रबारदेखि सञ्चालनमा आएको हो। उक्त समूहले चेन होटल हिल्टन वल्डवाइड म्यानेज लिमिटेडसँग सम्झौता गरी हिल्टन काठमाडौं सिटी सेन्टरको होटल सञ्चालनमा ल्याएको हो।
    १० रोपनी क्षेत्रफलमा फैलिएको यो होटल १७ तलाको बनेको छ। होटलमा एक सय ७२ वटा कोठा छन्। होटलमा रूफ टप बार, ब्यांकेट हल, स्पा, अल डे डाइनिङ रेस्टुरेन्ट र स्विमिङ पुल रहेको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटर दुरीमा रहेको हिल्टन काठमाडौंबाट पर्यटकीय सहर ठमेलमा पनि सहजै पहुँच राख्न सकिने ब्राण्ड म्यानेजमेन्ट तथा हिल्टनका वरिष्ठ उपाध्यक्ष अलेक्जेण्डर जयारिचले बताए। होटलबाट नारायणहिटी संग्रहालय र दरबारमार्ग पनि नजिकै रहेकाले काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदामा पनि सहज पहुँच हुने उनको भनाइ छ। नेपालमा हिल्टनको परिचयात्मक आतिथ्यतालाई प्रवेश गराउँदै होटलले अतिथिका लागि विशेष अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    हिलटन इण्डियाका वरिष्ठ उपाध्यक्ष तथा कन्ट्रि हेड जुबिन सक्सेनाले सांस्कृतिक सम्पदा र उल्लेखनीय पर्यटन सम्भाव्यता बोकेको नेपाल जस्तो देशमा हिल्टन काठमाडौंको शुभारम्भ गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए। शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिल्टन ब्राण्डसँग जोडिएर काठमाडौंमा फस्टाउँदै गइरहेको पर्यटन उद्योगको आधारशिला बन्न र विश्वभरका अतिथिहरूलाई स्वागत गर्न तत्पर रहेको बताए।

    हिल्टन काठमाडौंमा ५ अनुपम डाइनिङ भेन्युहरू उपलब्ध छन्। जसमा स्थानीय परिकारका स्वादहरूदेखि अन्तर्राष्ट्रिय स्तरका स्वादहरूको मिश्रण छन्। भवनको पूर्वाधारमा जर्मन प्रविधिको भूकम्प प्रतिरोधात्मक उपकरणहरू जडान गरिएको छ। हिल्टन काठमाडौं एसिया प्यासिफिक क्षेत्रमा रहेका लगभग ९० वटा हिल्टन होटल एण्ड रिसोर्टहरूसँग जोडिएको छ।

    जसमा हालै सञ्चालनमा आएको हिल्टन सिंगापुर अर्चार्ड र हिल्टन सेगन पनि रहेका छन् भने सांघाई, हैदराबाद र कियोतोमा सञ्चालनको तयारीमा छन्। हिल्टन होटल्स एण्ड रिसोर्ट्सका बारेमा अन्य जानकारी स्टोरिज फ्रम हिल्टनबाट पढ्न सकिन्छ।