Category: घूमघाम

  • कालिकोटमा उड्यो जहाज, सोमबार औपचारिक उद्घाटन

    कालिकोटमा उड्यो जहाज, सोमबार औपचारिक उद्घाटन

    काठमाडौं । कालीकोटको सुनथराली विमानस्थलमा सफल परीक्षण उडान गरिएको छ । आइतबार तारा एयरको ९एन–एकेएल जहाजले आइतबार बिहान पौने १० बजे नेपालगन्जबाट कालीकोटको सुनथरालीमा सफल अवतरण गरेको हो । यो विमानस्थलको सोमबार औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

    कुल ३०८ रोपनी क्षेत्रफलमा बनेको यो विमानस्थलको धावनमार्ग ६४० मिटर र चौडाई २० मिटर रहेको छ । ७ हजार फिट उचाईमा रहेको यो विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भएको लामो समय सम्म पनि जहाज नउडेपछि आलोचना भइरहेको थियो । कालीकोटमा २०४० को दशकबाटै विमानस्थल निर्माण थालिएको थियो ।

  • सगरमाथा क्षेत्रको भ्रमणमा आएको विदेशी नागरिकको मृत्यु

    सगरमाथा क्षेत्रको भ्रमणमा आएको विदेशी नागरिकको मृत्यु

    काठमाडौं । सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका ४२ वर्षीया एलिजाबेथ डायरो रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका उनको सोही स्थानमा मृत्यु भएको हो ।

    गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका एलिजाबेथको लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए । सोही दिन साँझ ५ बजेतिर होटलमै बेहोस भई ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए ।

    उनले भने, ‘माघ २४ गते विदेशी नागरिक लुक्लामा जहाजमार्फत ओर्लिएर त्यहाँबाट एभरेष्ट बेसक्याम्प जाने क्रममा गोरक्क्षेपको होटलमा बास बसेका रहेछन्, त्यही बेहोस भएर ढलेका उनको केही समयपछि नै मृत्यु भयो ।’ शव अल्टिच्युड हेलिकप्टरमार्फत लुक्ला ल्याई कानुनी प्रक्रिया पूरा गरी काठमाडौंको शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

  • पोखराको हट एयर बेलुन अब तीन गुणासम्म उचाईमा उड्ने

    पोखराको हट एयर बेलुन अब तीन गुणासम्म उचाईमा उड्ने

    काठमाडौं । हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साविकको तुलनामा तीन गुणा बढी हो । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपास दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपाल अध्यक्ष विक्रम बाडेले बताए ।

    पोखरा लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थल टावर फ्रिक्वेन्सी निरन्तर अनुगमन गरी उडान गर्न मन्त्रीस्तरको निर्णय अनुसार अनुमति प्रदान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोललाई उदद्धृत गर्दै कम्पनीले जनाएको छ ।

    उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुन उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययनपछि अनुमति प्राप्त गरेको बाडेले बताएका छन् । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । बेलुन आकारमा देखिने यसको ‘इनभेलप’ भित्र पंखाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ ।

    तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित हुन्छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्छन् । सूर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छ्न भने सूर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।

    उचाइमा उडान हुने भएकाले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ताचप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ । क्यामेरा÷मोबाइलबाट फोटो खिच्दा तल नझरोस् भनेर सावधानी अपनाउनुपर्छ ।

    सीमित उडान हुने भएकाले पहिले नै बुकिङ गरेर जाँदा राम्रो हुन्छ । आधा घन्टा उडान गर्न नेपालीले ९ जहार ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । ३ देखि ९ वर्षका बालबालिकालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क राष्ट्रका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क तोकिएको छ ।

  • मुस्ताङको सिन्तामणि विश्वकै उत्कृष्ट होटेल सूचीमा

    मुस्ताङको सिन्तामणि विश्वकै उत्कृष्ट होटेल सूचीमा

    काठमाडौं । अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका छन् । जसको पहिलो स्थानमा नेपालको सिन्तामणि परेको हो । स्थानीय ढुंगा प्रयोगबाट निर्मित यो रिसोर्ट दुई वर्षअघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । पदयात्रा, स्थानीय परिकार र संस्कृतिका कारण यो रिसोर्ट उत्कृष्ट सूचीमा परेको हो । यहाँ शताब्दिऔं पुराना बौद्ध गुम्बाको अनुभूति गर्न सकिन्छ ।

    हिमाली याकको मोमो, तिब्बती थुक्पा जस्ता परिकारको समेत नेशनल जियोग्राफिकले प्रशंसा गरेको छ । यो सूचीमा श्रीलंकाबाट कुरुलु बे र भुटानको इन्ड बियोन्ड पुनाखा रिभर लजसमेत परेका छन् । नेशनल जियोग्राफिकका सम्पादक, लेखक, फोटोग्राफर र अन्वेषकले यो सूची तयार पारेको यसको अनलाइन साइटले जनाएको छ ।

    नेपालको हिमालयको दुर्गम स्थानदेखि लक्स लन्डन क्र्यास प्याडसम्म मन पराइएका उत्कृष्ट होटलमा परेका छन्,’ नेशनल जियोग्राफिकले लेखेको छ । नेशनल जियोग्राफिक अमेरिकाबाट सन् १८८८ देखि निरन्तर प्रकाशित हुँदै आएको मासिक म्यागाजिन हो । यसको मासिक सर्कुलेसन १८ लाख प्रति छ ।

  • १७ दिनमा भारतीय सिमाबाट चिनियाँ सीमा पदयात्रा गरी पुग्ने गरी रुट सार्वजनिक

    १७ दिनमा भारतीय सिमाबाट चिनियाँ सीमा पदयात्रा गरी पुग्ने गरी रुट सार्वजनिक

    काठमाडौं । भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) तयार भएको छ । पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने गरी नयाँ ट्रेकिङ रुट सोमबार सार्वजनिक गरे । ‘नेपाल बोर्डर टु बोर्डर थ्रु हाइक’ नामकरण गरिएको यस नयाँ ट्रेकिङ रुटमा नेपालको होचो भाग तराईदेखि पहाडका विभिन्न ऐतिहासिक भू(भाग हुँदै उच्च हिमाली क्षेत्र रसुवाको चीन जोड्ने केरुङ नाकासम्मको भू(भाग समेटिएको छ ।

    आफ्नो ट्रेकिङ कम्पनी अर्थबाउन्ड एक्सपिडिसन प्रालि स्थापना भएको २५औं वर्षका अवसरमा पर्यटन व्यवसायी सिंखडाको समूहले यो ट्रेकिङ रुट खोजी गरेको हो । यो टोलीमा ६ देखि ८ पटकसम्म नेपाल भ्रमण गरेका अमेरिकी हाइकर माइक ओवेस्टर, स्वदेशी बाइकर्स चेतन राई र काजी शेर्पा सहभागी थिए । टोलीले कपिलवस्तु तौलिहवास्थित भारत सीमानाका खुनुवादेखि भगवान बुद्ध हिँडेको बाटो, रामापिथेकस पार्क, पाल्पा तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, सिसिङ हुँदै तनहुँ बन्दीपुर, त्यसपछि गोरखा, धादिङ, नुवाकोट र रसुवा हुँदै चीनको केरुङ नाकासम्म जोड्ने कुल ४ सय ४० किलोमिटर लामो ट्रेकिङ रुट १७ दिन लगाएर पूरा गरेको हो ।

    ६० मिटर उचाइको नेपालको तराईका भू–भागदेखि पहाडी क्षेत्रका धेरै जिल्लाका ऐतिहासिक एवम् पर्यटकीय गन्तव्यस्थल हुँदै ३ हजार ७ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रको रसुवा केरुङ नाका जोड्ने यो नयाँ ट्रेकिङ रुट ‘अफसिजन’ मा १२ महिना नै सञ्चालन गर्न सकिने सिंखडाले जानकारी दिए ।

    आफूअनुकूल विभिन्न खण्डमा पदयात्रा गर्न सकिने यो ट्रेकिङ रुटलाई व्यावसायिक रूपमा सञ्चालन गर्दा करिब २० दिनमा पूरा हुने उनी बताउँछन् । प्राकृतिक मनोरम दृश्यले धेरै मनोरञ्जन दिलाएर पर्यटक खुसी बनाउन सकिने अथाह सम्भावना भएको यस ट्रेकिङ रुटमा कम खर्चमा भ्रमण गराउन विभिन्न गाउँमा भएका होमस्टे र स–साना होटल तथा क्याम्प प्रयोग गर्न सकिने उनले बताए ।

    उनका अनुसार दुई वर्षको तयारीपछि यो ट्रेकिङ रुट खोजी गरिएको हो । ट्रेकिङ दौरान १७ दिनमा होमस्टे र साना होटलमात्र उपयोग गरिएको उनले बताए । भारत र चीनबाट नेपाल भएर आवतजावत गर्ने विदेशी पर्यटकलाई नेपालको संस्कृति र पर्यटनबारे जानकारी गराउन यो ट्रेकिङ रुट एकदमै उपयुक्त हुने दाबी गरिएको छ । उनका अनुसार २० दिनको लागि ३ हजार ५ सय अमेरिकी डलरमा यो ट्रेकिङ रुटको व्यावसायिक सञ्चालन सम्भव रहेको उनले बताए ।

  • चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

    चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन् । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धा–नुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो टिप्पणी गरेका छन् ।

    यसले पक्कै पनि द्विपक्षीय जनता–जनताबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने मन्त्री वाङको विश्वास छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले छिमेकी देशहरूसँगको कूटनीतिमा थाइल्याण्डलाई चीनले सधैं प्राथमिकताका रूपमा हेरेको बताएका छन् ।

    उनले एक चीन सिद्धान्तप्रति थाइल्यान्डको दृढ प्रतिबद्धता र विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलका लागि सक्रिय सहयोगको चीनले सदैव प्रशंसा गरेको बताए । आगामी वर्ष चीन–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै वाङले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले बदलिँदो अन्तर्राष्ट्रिय परिदृश्यको परीक्षालाई सामना गरेको र त्यसमा बलियो हुँदै गएको बताए । रासस, सिन्ह्वा

  • ‘द क्लिफ नेपाल’ले भारतको केरलामा समेत बिस्तार गर्यो विजनेश

    ‘द क्लिफ नेपाल’ले भारतको केरलामा समेत बिस्तार गर्यो विजनेश

    काठमाडौं । बाग्लुङ–कुश्मालाई साहसिक खेल स्थलको रूपमा स्थापित गरेको द क्लिफ नेपालले भारतको कम्पनीमा व्यवस्थापन सम्हालेको छ । द क्लिफ को व्यवस्थापनमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । योसँगै क्लिफ अन्तर्राष्ट्रियस्तरमा पहिलो पटक बन्जीको व्यवस्थापनमा संलग्न भएको हो ।

    केरलामा वाया नाडा कम्पनीले निर्माण गरेको बन्जी जम्प तथा अन्य साहसिक गतिविधि स्काई वाक, स्विङ, सुपरम्यान स्विङको व्यवस्थापन गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफले उपलब्ध गराउने अध्यक्ष राजु कार्कीको भनाइ छ । बन्जीको सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीसमेत भएकाले ुक्लिफु सँग सहकार्य गरेको भारतीय कम्पनीले जनाएको छ ।

    भारतीय रुपैयाँ झन्डै ४० करोड लगानीमा निर्माण भएको बन्जीसहितको एड्भेन्चर पार्कमा रहेको बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुनेछ । निर्माणाधीन बन्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बन्जी हुने अध्यक्ष कार्की बताउनुहुन्छ । यससँगै केरलाका तीन वटा ठाउँमा पनि बन्जी सञ्चालन गर्ने क्लिफको तयारी छ । मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा द क्लिफद्वारा सञ्चालित बन्जी देखेपछि भारतीय व्यवसायीले चासो राखेका थिए ।

  • अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै

    अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै

    काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाडौंको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव आयोजना भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ३१ डिसेम्बरका दिन बेलुका ठमेलमा सडक महोत्सव हुन लागेको हो । यसले कोरोनाबाट असर पुगेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ ।

    परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको पर्यटन क्षेत्रको विकासका लागि ठमेलमा रहेको सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । ‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ नाराकासाथ सडक महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम हुनेछ । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख ८० हजार जनाको सहभागिता रहने परिषद्को अनुमान छ ।

    ठमेल सडक महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापका बारेमा छलफल भइसकेको अध्यक्ष शर्माले जानकारी दिए । विगतको तुलनामा यसवर्ष ठमेलभित्रका हरेक चोकमा सीसी क्यामरा जडान गरिएकाले ढुक्क भएर ठमेलमा घुम्न र मनोरञ्जन लिन परिषद्ले सबैलाई आग्रह गरेको छ ।

    सडक महोत्सव सम्पन्न गर्न २२ लाख रुपैयाँको हाराहारीमा खर्च हुने परिषद्का अध्यक्ष शर्माले बताए । नेपाल आएका पर्यटकमध्ये झण्डै ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेको परिषद्ले जनाएको छ । ठमेलभित्र झण्डै दुई हजार व्यवसायी तथा घरधनी रहेका छन् । ठमेल पर्यटन विकास परिषद्का महासचिव राजीव पाण्डेले ठमेल क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि परिषद्ले विभिन्न निकायसँग छलफल गरिरहेको बताए ।

  • नेपाल र भियतनाम बीच दुई चार्टर्ड उडान हुने

    नेपाल र भियतनाम बीच दुई चार्टर्ड उडान हुने

    काठमाडौं । नेपाल र भियतनामबीच पर्यटक आउजाउका लागि थप दुई चार्टर्ड उडान हुने भएको छ । यसअघि आयोजक रुप्से होलिडेजले गत २१, २५ र २९ अक्टोबरमा हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज चार्टर गरी काठमाडौं–हनोइ–काठमाडौं रुटमा उडान गरेको थियो ।

    ती उडानमा भियतनामबाट २२५ जना र नेपालबाट भियतनाममा ३२८ जना पर्यटक भ्रमणमा गएको कम्पनीले जनाएको छ । पहिलो योजना सफल भएसँगै कम्पनीले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी सन् २०२४ मा थप दुई चार्टर्ड उडान गर्न लागेको जनाएको छ ।

    कम्पनीका अनुसार २०२४ को जनवरी ०५ र जनवरी १० मा थप दुई चार्टर उडान हुने भएको छ । यसअघिको उडानमा काठमाडौं–भियतनाम भ्रमणको प्याकेज मूल्य १ लाख २० हजार तोकिएको थियो । आगामी उडान भने ९९ हजार ९ सय ९९ रुपैयाँमा भियतनाम घुम्न पाउने गरी प्याकेज तोकिएको कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए ।

    उनका अनुसार यसमा दुई तर्फी हवाई टिकट, पाँच रात होटल र हलोङ्ग बे मा डे क्रुजसहित टुर प्याकेज समेत समेटिएको छ ।

    यसअघि सम्पन्न उडान सामान्य चार्टर्ड उडान मात्र नभएर नेपाल र भियतनामबीच एक साथ ठूलो संख्यामा पर्यटक आदान प्रदानको पहिलो अवसर भएको उनको भनाइ छ । यो भियतनाम र नेपालबीच पर्यटकीय सम्भाव्यताको सफल परीक्षण रहेको समेत उनले बताए । एक लाख २० हजार रुपैयाँ खर्चिएर नेपाली पयर्टकले भियतनामको हनोइको पाँच दिने भ्रमण गरेका थिए ।

    भियतनामबाट आएका पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनी र सौराहाको घुमघाम गरेका थिए । नेपाल र भियतनामबीच ३ घण्टाको सोझो उडान दूरी रहेको छ । ‘हामीलाई आर्थिक रुपमा यी उडान मुनाफा योग्य छैनन् । तर, हामीले देशको पर्यटन क्षेत्रको विकासका लागि यो जोखिम उठाएका थियौं,’ उनले भनेका छन्, ‘हामी यसमा अपेक्षाकृत सफल रह्यौं । नेपालको पर्यटकीय स्थानबारे भियतनामसम्म प्रवर्द्धन गर्‍यौं ।’ १५ प्रतिशत भन्दा बढी बुद्ध धर्मावलम्बी रहेको देश भियतनाममा लुम्बिनीमा बुद्ध जन्मेको प्रचार गरेको उनले बताए ।

  • नेपालले थप हिमाल आरोहणमा खुला गर्नुपर्छ : राष्ट्रपति

    नेपालले थप हिमाल आरोहणमा खुला गर्नुपर्छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्द्धनका लागि हिमाल आरोहणका लागि अनुमति दिन सरकारलाई सुझाव दिए ।

    उनले पर्वतीय पर्यटन क्षेत्रमा लागि थप काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए । ‘नेपालमा अनगिन्ती हिमाल छन्, जुन औपचारिक रुपमा आरोहणका लागि खुला गरिएको छैन । ती हिमालको आरोहणका अनुमति दिन र प्रवर्द्धन गर्न तत्काल पहल लिन जरुरी छ’, राष्ट्रपति पौडेलले भने, ‘म नेपाल सरकारलाई ती हिमालको व्यवस्थापन र प्रवर्द्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन पनि सुझाव दिन चाहन्छु ।’

    यस कार्यका लागि नेपाल पर्वतारोहण सङ्घ साझेदार हुन सक्ने राष्ट्रपति पौडेलको भनाइ छ । नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्ने दिएको जिम्मेवारी सङ्घले सफलतापूर्वक पूरा गरेको उनले उल्लेख गरे ।

    नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोरियो गुटेरेसले नेपालमा परेको जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता स्मरण गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक भएको बताए ।

  • एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक

    एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक

    काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन उत्साहजनकरुपमा बढेको छ। अक्टोबर महिनामा हवाई मार्गमार्फत १ लाख १७ हजार ३०६ विदेशी पर्यटक नेपाल आएका छन्। एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो ।

    यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । यो रेकर्ड यस वर्ष तोडिएको हो ।

    यसमा गैरआवासीय नेपालीको जमघट र सम्मेलनको प्रभाव समेत यस महिनामा परेको देखिएको छ । अक्टोबरमा सबैभन्दा धेरै भारतबाट पर्यटक आएका छन् । भारतबाट १८ हजार ४८० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    भारतपछि सबैभन्दा धेरै अमेरिकाबाट १४ हजार ८७९ पर्यटक नेपाल आएका छन् । यस्तै, तेस्रो मुलुक बेलायत रहेको छ । बेलायतबाट आठ हजार २१७ पर्यटक नेपाल आएका छन् ।

    चौथो स्थानमा रहेको चीनबाट ६ हजार ८८० पर्यटक नेपाल आएका छन् ।

    अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट पाँच हजार ९१६, फ्रान्सबाट पाँच हजार २७१, बंगलादेशबाट चार हजार २९२, श्रीलंकाबाट दुई हजार ५०७ र इटलीबाट दुई हजार ४६७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

    यसवर्ष १० महिनामा नेपाल भित्रिने पर्यटकको संख्या ८ लाख नाघेको छ। यो अवधिमा ८ लाख ९ हजार ६७८ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ। यो संख्या सन् २०१९ को १० महिनाको तुलनामा १०६ प्रतिशतले बढी हो।

  • प्रधानमन्त्री प्रचण्ड मुस्ताङ भ्रमणमा

    प्रधानमन्त्री प्रचण्ड मुस्ताङ भ्रमणमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्।

    ‘मुस्ताङमा प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ,’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कने छन्।

  • भियतनामबाट तीन चार्टर्ड उडानबाट पर्यटक नेपाल भ्रमणमा आउँदै

    भियतनामबाट तीन चार्टर्ड उडानबाट पर्यटक नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । नेपालको पर्यटन इतिहासमा पहिलो पटक भियतनामबाट एकै खेपमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् । तीन दिन जहाज चार्टर्ड गरी एकै पटक ठूलो संख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको यो भ्रमणको व्यवस्थापन गरिरहेको कम्पनी रुप्से होलिडेजले जानकारी दिएको छ ।

    कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकले आगामी सता नेपाल भ्रमण गर्ने भएका हुन् । आगामी अक्टुबर २१, २५ र २९ मा हिमालय एयरलाइन्सको एयरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट पर्यटक नेपाल आउने भएका हुन् ।

    यी पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनीलगायत स्थानको भ्रमण गर्ने कम्पनीले जनाएको छ । यो टोलीमा खर्चालु पर्यटकको ठूलो संख्या रहेको र यसले नेपाललाई खर्चालु पर्यटकको गन्तव्य बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको कम्पनीले जनाएको छ । भियतनाममा करिब १५ प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्बी छन् । केही पर्यटक नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगअभ्यासका लागि थप समय बस्ने समेत कम्पनीले जनाएको छ ।

    नेपाल–भियतनाम चार्टर उडान भईरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटक भियतनाम जाने कम्पनीले जनाएको छ । उडानका क्रममा एकतर्फी खाली रहने सिट बिक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रुपमा किफायती बनाउने प्रयास भइरहेको समेत रुप्से होलिडेजले जनाएको छ ।

    नेपालबाट भियतनाम जान चाहने पर्यटकका लगि रुप्से होलिडेजले एक लाख २० हजार रुपैंयाको विशेष टुर प्याकेज समेत सार्वजनिक गरेको छ । यो प्याकेजमा चार रात पाँच दिनको भियतनामको हनोईमा बसाई, विभिन्न आकर्षक गन्तब्यको घुमाई, एक दिने क्रुज, भिसा तथा दुईतर्फी हवाई टिकट सम्मिलित छ । तीन वटै चार्टर्ड उडानबाट उल्लेख्य संख्यामा नेपाली पर्यटकले भियतनाम भ्रमण गर्ने कम्पनीको छ ।

  • दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

    दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

    काठमाडौं । दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।

    बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिएइसकेका छन् । आज विहानैबाट काठमाडौंको नयाँ बसपार्कमा ठूलो भिड लागेको छ ।

  • अग्रिम टिकट बुकिङ २२ असोजबाट

    अग्रिम टिकट बुकिङ २२ असोजबाट

    काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए ।

    त्यस अगाडि व्यवस्थापनका सबै काम सकेर २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको उनले जानकारी दिए । हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न मन्त्री ज्वालाले निर्देशन दिएको मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ ।

  • दमाम उडेको नेवानिको जहाज किन पाकिस्तानमाथिबाट नेपाल फिर्ता आयो ?

    दमाम उडेको नेवानिको जहाज किन पाकिस्तानमाथिबाट नेपाल फिर्ता आयो ?

    काठमाडौं । काठमाडौंबाट साउदीको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज पाकिस्तानको आकासबाटै काठमाडौं फिर्ता भएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज त्यसको एक घण्टापछि काठमाडौं अवतरण गरेको हो ।

    सो जहाजमा रहेको अर्को जहाज कति नजिकमा छ भन्ने संकेत दिने प्रणालीमा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्काउनु परेको नेवानि स्रोतले जनाएको छ । पछिल्लो समय नेपाली आकासमा उड्ने जहाजहरुमा निरन्तर समस्या आइरहँदा नेपालको हवाई सुरक्षामाथि नै प्रश्न उठिरेको छ ।

  • एक महिनामा ९१ हजार पर्यटकले गरे नेपाल भ्रमण, अमेरिकी पर्यटक ७ हजार ३६४

    एक महिनामा ९१ हजार पर्यटकले गरे नेपाल भ्रमण, अमेरिकी पर्यटक ७ हजार ३६४

    काठमाडौं । एक महिनाको अवधिमा ९१ हजार जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका हुन् । यो सन् २०१९ कै हाराहारीमा हो । सो वर्ष सेप्टेम्बर महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए । सन् २०२० पछि भने कोभिड–१९ का कारण पर्यटक आगमन प्रभावित बन्न पुग्यो । सन् २०२० मा ५८४, सन् २०२१ मा ९,९०७, सन् २०२२ मा ५८,३१४ जना पर्यटक नेपाल आएका थिए ।

    एक महिनाको अवधिमा भारतीय पर्यटक नेपालमा सर्वाधिक संख्यामा आएको देखिएको छ । बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार ६९४ जना भारतीय नेपाल आएको तथ्यांकमा उल्लेख छ । चिनियाँ पर्यटक ८ हजार १७४ जना आएका छन् । अमेरिकी पर्यटक ७ हजार ३६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    बंगलादेशबाट ३ हजार ७१६, बेलायतबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार ११ जना, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार यस वर्षको ९ महिनाको अवधिमा झण्डै ७ लाख पर्यटक नेपाल आएका छन् । जनवरी देखि सेप्टर २०२३ को बीचमा ६ लाख ९२ हजार ३७२ जना पर्यटक नेपाल आएका छन् ।

  • शैलुङमा स्पार्क एड्भेञ्चरको टीम, टेण्टमा बास

    शैलुङमा स्पार्क एड्भेञ्चरको टीम, टेण्टमा बास

    काठमाडौं । स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ । दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले ‘स्पार्क एड्भेञ्चर(२०२३’ आयोजना गरेको हो । बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एड्भेञ्चरको उद्घाटन गरिएको छ। उद्घाटनपश्चात् २०० जनाभन्दा बढीको टोलीले शैलुङको यात्रा सुरू गरेको हो । सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्यटकीय क्षेत्र समेत हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ’हिल स्टेसन’ हो । प्रकृति र पर्यावरणको उत्तम संगम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाइ छ ।

    ‘यसपटक शैलुङको पर्यटन प्रवर्द्धन गर्नेछौं, यहाँको प्रकृति र विशेषताहरूलाई एक्स्प्लोर गर्न हामीले शैलुङलाई यसपटक छानेका हौ‌’ स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीले भने । प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचारप्रसारको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

    टोलीलाई रामेछापको दोरम्बामा जिल्लाका प्रशासनिक एवम् लब्ध–प्रतिष्ठित व्यक्तिहरूको साथमा स्थानीयले स्वागत गर्ने र त्यहाँको स्थानीय परिकारको स्वाद लिई शैलुङतर्फ प्रस्थान गर्ने आयोजकको भनाइ छ । शैलुङ पुगेपछि स्थानीय संस्कृतिअनुसार स्वागत गरिने कार्यसूची छ । टोली बिहीबार साँझ स्थानीय परिकारको खाना खाएर करिब ३५ मिनेट पैदलयात्रा गर्दै क्याम्पिङ टेन्टमा रात बिताउनेछ ।

    चौंरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा ’वाइल्ड स्टे विथ चौंरी’ राखिएको छ । कार्यक्रममा क्याप्टेन विजय लामा, निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्री लगायत कलाकार सहभागी छन् । कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार ११ देखि १३ असोजसम्म हुने तीनदिने कार्यक्रममा लोक गायक प्रेमराजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिसागर, डा। रन्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बास्तोला लगायतको सहभागिता छ ।

    कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी छन् । एड्भेञ्चरमा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादेसँगै चिकित्सक, विभिन्न दुतावासका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि लगायत फरक फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता छ ।

    यस किसिमको सहभागितामूलक पर्यटन प्रवर्द्धन कार्यक्रम नेपालमै पहिलोपटक भएको आयोजकको दाबी छ । साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

    गत वर्ष लमजुङको भुजुङमा भीर मौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेञ्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौंरी गोठलाई केन्द्रित गर्दै आयोजना गरिएको हो ।

  • वर्षायामपछि बन्द भएको हट एयर बलुन पुनः सञ्चालनमा

    वर्षायामपछि बन्द भएको हट एयर बलुन पुनः सञ्चालनमा

    काठमाडौं । वर्षासँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरदेखि उडानमा दुई वटा बेलुन प्रयोग गर्ने भएको छ । साहसिक खेल रूचाउने पर्यटकको मागअनुसार थप एक वटा सहित दुई वटा बेलुन उडान सुरू गरिएको अध्यक्ष बादेले बताए ।

    हट एयर बेलुनमा उडेर पर्यटकले पोखराको दृश्यावलोकन गर्छन् । पोखराको पामेमा सञ्चालित यसमा एकपटकको उडानका लागि आन्तरिक पर्यटकलाई ९ हजार ५०० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १०० अमेरिकी डलर र विदेशी पर्यटकका लागि १३० अमेरिकी डलर शुल्क तोकिएको छ ।

    करिब ६ हजार फिट माथिसम्म बेलुन सयरमार्फत उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव, सराङकोट मान्द्रे ढुंगाबाट उड्ने प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने उनले बताए ।

    कम्पनीले सेवा सञ्चालनका लागि अमेरिकी र भियतनामी गरी दुई पाइलट राखेको उनले जानकारी दिए । बिहान र बेलुका गरी दुई सिफ्टमा उडान हुन्छ। बिहान ५ देखि ९ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म उडान हुने गरेको छ ।

  • काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु

    काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु

    काठमाडौं । काठमाडौं–छिन्ताओ–काठमाडौं सिधा उडानमार्फत जोडिएका छन् । हिमालउ एयरलाइन्सले सातामा एक उडान गर्ने गरी आजबाट उडान थालेको हो।
    एयरलाइन्सकाअनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ः१५ मा छिन्ताओका लागि उडेको हो। जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ५ः२२ बजे अवतरण गरेको छ । उडानको अवधि ५ घण्टा ५० मिनेटको हुनेछ। पहिलो उडानमा एक सय जना यात्रु रहेका छन्। दुई देशबीच कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले उडान थालेको कम्पनीले बताएको छ।

    एयरलाइन्सका अध्यक्ष झोउ एनयोङले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान हिमालय एयरलाइन्सका लागि महत्वपूर्ण उपलब्धी हुने बताए। उनले छिन्ताओ चीनको महत्वपूर्ण व्यापारीक र वित्तीय केन्द्र रहेकाले एसियालाई युरोपसँग जोड्नेछ। दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा अत्यन्तै गौरवान्वित छौं, उनले भने।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडानले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्ने बताए। यस रूटबाट हिमालय एयरलाइन्सले धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु। यसै अवसरमा छिन्ताओवासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु, मन्त्री किरातीले भने।


    हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सुरू गरिएको रूटप्रति उत्साह व्यक्त गरे। उनकाअनुसार हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने हो।

  • पोखरा-जोमसोम उडान सोमबारबाट सूचारु

    पोखरा-जोमसोम उडान सोमबारबाट सूचारु

    काठमाडौं । प्रतिकुल मौसमका कारण बन्द भएको तारा एयरको पोखरा–जोमसोम उडान नियमित सञ्चालन हुने भएको छ। ताराले सोमबारदेखि नियमित उडान गर्न लागेको हो। जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्री बिसान गर्नेछ। हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ।

    तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाटै सञ्चालन हुनेछ। मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २ हजार ७३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ।

  • ११० दिनको ग्रेट हिमालयन ट्रेलको हाहसिक यात्रामा निस्कँदै स्ट्रेम्फेल्ज दम्पत्ति

    ११० दिनको ग्रेट हिमालयन ट्रेलको हाहसिक यात्रामा निस्कँदै स्ट्रेम्फेल्ज दम्पत्ति

    काठमाडौं । एकसाथ सगरमाथा आरोहण गर्दै कीर्तिमान राखेका स्लोभानियन आरोही दम्पती आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्ज अब नेपालको सबैभन्दा लामो ग्रेट हिमालयन ट्रेलको यात्रामा निस्कने भएका छन् । नेपाल पर्वतारोहण संघले उनीहरु एक असाधारण साहसिक पदयात्रामा निस्कन लागेको बताएको छ । १३ सेप्टेम्बर ९२७ भदौ०मा यात्रा सुरु गर्ने तयारीमा रहेका उनीहरुले कुल ११० दिनको पदयात्रा नेपालमा गर्ने भएका छन् । आन्द्रेज र मारिजा दुवै उमेरले ६६ वर्ष पुगेका छन् ।

    यो जोडीले सुदूरपूर्वी नेपालको ताप्लेजुङबाट ग्रेट हिमालयन ट्रेलको यात्रा प्रारम्भ गर्नेछ । पूर्वी ताप्लेजुङको कञ्चनजङ्‍घा नर्थ आधार शिविर ५,१४७ मिटरबाट सामान्यतया ग्रेट हिमालयन ट्रेलको यात्रा सुरु हुन्छ । पश्चिममा हुम्लाको हिल्सा (३,६४७ मिं)मा ग्रेट हिमालयन ट्रेलको यात्रा समाप्त हुन्छ । यो रुटको कुल लम्बाइ १७ सय किलोमिटर छ ।

    यस रुटभित्र नेपालका उत्कृष्ट पदयात्रा रुटहरु समेटिएका छन् । उच्च पहाडी तथा हिमाली ट्रेकिङ रुटहरु समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा विकास गरिएको हो । कतिपयले भने ग्रेट हिमालयन ट्रेलको यात्रा दार्चुला सम्म पुगेर अन्त्य गर्ने गर्छन् । संघका अनुसार यो जोडीले १३ सेप्टेम्बरबाट थालेको यात्रा १ जनवरी २०२४ मा सक्ने योजना बनाएका छन् ।

  • सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने

    सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने

    काठमाडौं । कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा आयोजना गरिने भएको छ । आगामी सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसलाई लक्षित गरी यहाँ सम्पदा यात्रा गर्न लागिएको हो । यो दिवसको मूल सन्देश पर्यटन र हरित लगानी रहेको छ । यही परिप्रेक्षमा कीर्तिपुरले उक्त सन्देशमा पर्यटन अगाडि बढाउन सक्षम भएको सन्देश दिन कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा १० असोजमा कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुने भएको हो ।

    काठमाडौं उपत्यकाका पर्यटकीय स्थानमध्ये कीर्तिपुरले विशिष्ट पहिचान बोकेको छ । साँझको समयमा कीर्तिपुरबाट उपत्यकाको मनमोहक दृश्य देखिन्छ । सोहीकारण कीर्तिपुरमा सन्ध्याकालीन पर्यटनको सम्भावनाको खोजी गर्न लागिएको हो । कीर्तिपुर नगरपालिकाले यस वर्षदेखि अभियानकै रुपमा सन्ध्याकालीन पर्यटन प्रवर्धन गरिरहेको छ ।

    साथै कीर्तिपुरको डिजिटल नक्सा तयार पार्ने काम समेत सुरु भएको छ । डिजिटल नक्साले कीर्तिपुरका आकर्षण, सम्पदा स्थल, होटल, रेस्टुरेन्ट, र अन्य चासोका बिन्दुको सही निर्देशन दिने छ । कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुरको डिजिटल प्रवर्धन र नक्सामा स्थान तथा रुट राख्ने अभियान समेत थालेको छ ।


    कीर्तिपुर नगरपालिकामा कीर्तिपुरका स्थानीय गाइड, पर्यटनका विद्यार्थी, स्थानीयको सहभागितामा म्यापिङ र डिजिटल प्रवर्धनविज्ञ सौरभ ढकालद्वारा प्रस्तुतीकरणका साथै स्थलगत नक्साङ्‍कन गरिएको छ । सहभागीहरुले गुगल म्यापलगायत नक्सा सम्बन्धित एप्सहरुमा फोटो, भिडियो राख्नुका साथै जानकारीहरु अपडेट गरेका थिए ।

    कीर्तिपुर स्वयंसेवक समाजका कार्यक्रम संयोजक रुपेन्द्र महर्जनका अनुसार म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य कीर्तिपुर नगरपालिकाको सहयोगमा नियमित रुपमा गरिने भएको छ । डिजिटल म्यापिङ एपहरूले प्रायः मौसम, ट्राफिक र स्थानीय घटनाहरू जस्ता कार्यक्रमहरूका वास्तविक–समय जानकारी प्रदान गर्दछ । यो तथ्यांकले पर्यटकलाई उनीहरूको गतिविधि बारेमा सूचित गरी निर्णय लिन र कीर्तिपुरमा उनीहरूको बसाइको समयमा सही जानकारी प्रदान गर्ने बताइएको छ ।

  • भुटान एयरको काठमाडौं उडान ३० भदौबाट सूचारु हुँदै

    भुटान एयरको काठमाडौं उडान ३० भदौबाट सूचारु हुँदै

    काठमाडौं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले ३० भदौदेखि काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यस्तो जानकारी दिएको हो ।

    नेपालमा साताको चार उडान हुने भएको छ । आइतबार, सोमबार, बुधबार, र शनिबार गरी साप्ताहिक रुपमा चार उडान हुने कम्पनीले जनाएको छ । पारो–काठमाडौं–दिल्ली रुटमा दुईतर्फी उडान हुँदैछ ।

    निर्धारित फ्लाइटहरु पुनः सुचारु गरेसँगै भुटान एयरलाइन्सले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंका उडानहरु पुनः सुरु हुने भएको कम्पनीको भनाइ छ ।

    ‘थन्डर ड्रागनको भूमि’ भनेर चिनिने भुटानले पर्यटन प्रवर्द्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ देखि भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौं उडानको सुरुवात गरेको थियो । भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले जस्तो सुकै चुनौतीपूर्ण समयमा पनि अब उडानहरु नियमित राखिने बताए ।

  • काठमाडौं विमानस्थलमा एकसाथ थपिए ५ सय ट्रली

    काठमाडौं विमानस्थलमा एकसाथ थपिए ५ सय ट्रली

    काठमाडौं ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै पटक ५ सय ट्रली थप गरिएको छ । ब्यागेज ट्रली धेरै बिग्रिएको र त्यसले दुर्घटना हुन सक्ने गुनासो यात्रुहरुबाट भएपछि नयाँ ट्रली खरिद गरिएको विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिएका छन् ।

    विमानस्थलमा अन्तर्राष्ट्रिय आगमनतर्फ पाँच सय नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको उनको भनाई छ । अब यात्रुको गुनासोको सम्बोधन हुने उनको भनाइ छ । पुुराना ट्रली मर्मत गरी अपुग भएको अवस्थामा प्रयोगमा ल्याइने उनको भनाइ छ ।

  • जोमसोम-पोखरा हवाइ सेवा पुनः सूचारु

    जोमसोम-पोखरा हवाइ सेवा पुनः सूचारु

    काठमाडौं । जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो। जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुई महिनापछि समिट एयरलायन्सले आइतबार तीनवटा उडान भरेको जानकारी दिए।

    ुमौसममा सुुधार र पर्यटकीय याम सुरू हुन लागेकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो, उनले भने, निजी क्षेत्रको यती एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ २५ गतेदेखि उडान गर्ने तयारी गरेको छ।

    आइतबार तीनवटा उडानमार्फत ५४ भारतीय, एक तेस्रो मुलुकका र दुईजना आन्तरिक पर्यटक मुस्ताङ भित्रिएका जोमसोम विमानस्थलले जनाएको छ। बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई उडान सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ।

    सडक अवरूद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो। हवाई सेवा सञ्चालन भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ। आर्थिक वर्ष २०७९–८० मा ७१ हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ। रासस

  • नेपाल एयरलाइन्सले भैरहवालाई अब बैलौरसँग पनि जोड्दै

    नेपाल एयरलाइन्सले भैरहवालाई अब बैलौरसँग पनि जोड्दै

    काठमाडौं । नेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ । एयरलाइन्सले २९ जेठदेखि हरेक मंगलबार काठमाडौं क्वालालम्पुर, भैरहवा काठमाडौं रुटमा उडान भरिरहेको छ ।

    १२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्लीका लागि पनि यात्रु लिएर आउने गरी टिकट बुकिङ खोलेको थियो । जसअनुसार हरेक मंगलबार हङकङ र दिल्लीका लागि पनि एयरलाइन्सले भैरहवाबाट टिकट बुकिङ खोलेको थियो । अब सोही रुटलाई विस्तार गर्दै भैरहवाबाट बैंगलौरका लागि पनि बुकिङ खुल्ला गरेको निगमले जनाएको छ ।

    नयाँ उडान तालिकाअनुसार हरेक मंगलबार बिहान ८ः १५ बजे भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । सो जहाजमा आएका यात्रुहरु हङकङ जाने भए सोही दिनको ११ बजेको उडानमा हङकङ पठाइने छ भने दिल्ली जाने यात्रुलाई १ बजेर २५ मिनेटको उडानमा दिल्ली पठाइने एयरलाइन्सले जनाएको छ ।

    यस्तै १ बजेर २५ मिनेटकै अर्को उडानमा बैंगलौरका लागि उडान गरिने एयरलाइनसका प्रवक्ता रमेश पौडेलले बताए । एयरलाइन्सले यात्रु चेकिङकै क्रममा गन्तव्यसम्मकै बोर्डिङ पास उपलब्ध गराउने र यात्रुहरुको लगेज सिधै गन्तव्य मुलुकमै पुग्ने पनि जनाएको छ । यात्रुहरुले नेपाल एयरलाइन्सको वेवसाइट वा ट्राभल एजेन्सीबाट टिकट काट्न सकिने पनि एयरलाइन्सले जनाएको छ ।

  • बेलायतमा किन रद्द भए एकसाथ हजारौं उडान ?

    बेलायतमा किन रद्द भए एकसाथ हजारौं उडान ?

    काठमाडौं । ब्रिटेनको एयर ट्राफिक कन्ट्रोलको सिस्टममा खराबी आएसँगै हजारौं उडान रद्द भएका छन् । यसको मारमा ठूलो संख्यामा यात्रु परेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।


    ब्रिटेनको एयर ट्राफिक कन्ट्रोल सम्हाल्ने नेट्सका अनुसार फ्लाइट्ससँग सम्बन्धित प्लानिङ गर्ने सिस्टम बिग्रिएर यो समस्या आएको हो । फ्लाइट्सको आउने जाने प्लानिङ बिना सिस्टम नै गर्नु परेपछि उडानहरु प्रभावित बनेका हुन् । जुन गतिमा मेसिनले काम गथ्र्यो, अब त्यो काम मानिसले गर्नु पर्दा उडान समयमाहुन सकेका छैनन् ।

    नेशनल एयर ट्राफिक सर्भिसले पनि अवतरण गर्ने विमानको संख्या घटाएको छ । समस्या केही घण्टामै समाधान गरेपनि असर भने भने केही समयसम्म रहने विमान कम्पनीहरुले बताएका छन् । कयौंको फ्लाइट डिले भएको छ भने कतिका रद्ध । यसले मानिसहरु बेलायत र बाहिर अड्किएका छन् ।

    बीबीसीका अनुसार अपरान्हका उडानहरु मध्यरातमा सारिएको छ । लण्डनको हिथ्रो विमानस्थलले सोमबार मध्यरातमा सूचना नै जारी मंगलबारको उडान तालिका हुनेहरुलाई एयरलाइन्स कम्पनीसँग सम्पर्क गरेर मात्र आउन भनिएको छ ।

  • सौराहामा सिद्धार्थको लक्जरी रिसोर्ट सञ्चालनको तयारी

    सौराहामा सिद्धार्थको लक्जरी रिसोर्ट सञ्चालनको तयारी

    काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनको तयारी गरेको छ । यो रिसोर्ट दशैं अगाडि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार स्थानीय व्यवसायी बासु ढुंगानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको हो ।

    रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामकरण गरिएका छन् । रिसोर्ट ४ बिघा क्षेत्रफलमा फैलिएको छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा ‘फिसिङ’ गर्न सक्ने भएका छन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिने भएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने भएको छ । रिसोर्टमा स्विमीङ पुल, मसाज सहितको स्पाको सुविधा रहेको छ । रिसोर्ट निर्माणमा करिब एक अर्ब लगानीको अनुमान गरिएको न्यौपानेले जानकारी दिए ।

    २५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू भएको सिद्धार्थको व्यवसाय अहिले बिस्तार भएर देशैभर फैलिएको छ । ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याइसकेको छ ।

  • थाइ एयरवेजले नेपालमा पुनः उडान थाल्दै

    थाइ एयरवेजले नेपालमा पुनः उडान थाल्दै

    काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले नेपालमा पुनः उडान थाल्ने भएको छ । कोभिड १९ पछि उडान बन्द गरेको यो कम्पनीले आगामी नोभेम्बरदेखि नेपाल उडान पुनः सुचारु गर्ने भएको छ । थाइ एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई आफ्नो जनरल सेल्स एजेण्ट (जीएसए) समेत नियुक्त गरेको छ । उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू भएको कम्पनीले जनाएको छ ।

    सम्झौता अनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसले थाइ एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवा उपलब्ध गराउने भएको छ । अब थाइ एयरवेज इन्टरनेसनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्ने भएको छ ।

    सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाइ एयरवेजले नेपाली उड्डयन इतिहासमा लामो समय उडान गरेको छ । थाइ एयरवेज इन्टरनेसनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पुनः सञ्चालनमा आउनु सुखदः भएको बताए ।

    थाइल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्य फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाइ एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्यालाई सहज हुने उनले बताए । अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाइ एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुने उनको भनाइ छ ।

    आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाइ एयरवेज इन्टरनेसनलको नेपालका लागि जीएसए नियुक्त भई काम गर्न पाउँदा हर्षित भएको बताए ।