Category: घूमघाम

  • प्रधानमन्त्रीले मागे पोखरा र भैरहवा विमानस्थल चलाउने योजना

    प्रधानमन्त्रीले मागे पोखरा र भैरहवा विमानस्थल चलाउने योजना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना मागेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्च अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या, समाधानका उपाय ल्याउन निर्देशन दिएका हुन्।

    छलफलमा प्रधानमन्त्री ओलीले निर्माण भएको लामो समयसम्म दुई विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौं विमानस्थलको क्षमताभन्दा बढी भएको विषयलाई गम्भीर रूपमा लिँदै त्यसका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे।

    प्रधानमन्त्री ओलीले दुवै विमानस्थल प्रभावकारी रूपमा सञ्चालनका लागि अध्यागमन लगायत अन्य सुविधा सञ्चालन गर्न, इन्धन भण्डारण विमानस्थल नजिक राख्न लागिएको भए अन्यत्र सार्न, हवाइ इन्धनको मूल्य घटाउन, मूल्य अभिवृद्धि कर र पर्यटन कर नलिने व्यवस्था गर्न, ग्राउण्ड ह्याण्डलिङ सेवा नियमअनुसार जुन निकायले पाउनुपर्ने हो त्यही निकायलाई दिन निर्देश गरे।

    छलफलपछि आगामी मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरू रहने कार्यदललाई विमानस्थल सञ्चालनको योजना ल्याउन जिम्मेवारी दिइएको छ।

    छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकार मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलगायत सहभागी थिए।

  • नेपालबाट विदेश घुम्ने जानेलाई दिने सटहीको सीमा बढ्यो

    नेपालबाट विदेश घुम्ने जानेलाई दिने सटहीको सीमा बढ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थलमार्गबाट भारत बाहेकका दक्षिण एसियाली मुलुक र चीनमा वैदेशिक भ्रमणमा जानेलाई भिसाका आधारमा दिइने डलर सटही सुविधा बढाएको छ । राष्ट्र बैंककले विदेशी विनियम कारोबार सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त सीमा बढाएको हो ।

    भारत बाहेकका दक्षिण एसियाली मुलुक र चीन भ्रमणमा जानेले अब एक पटकमा १ हजार अमेरिकी डलर र एक वर्षमा बढीमा दुई हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । यसअघि १ पटकमा ५०० र एक वर्षमा १ हजार डलरसम्मको सटही सुविधा रहेको थियो । भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी बापत दिने सटही सुविधा भने यथावत रहेको छ ।

    २ हजार ५०० डलर रहेको यस्तो सीमा एक वर्षमा दुई पटक मात्रै रहेकोमा अब भने दुई पटकको व्यवस्था हटेको छ । सार्वजनिक खरिद कानुन लागु हुने सार्वजनिक निकायहरूले सार्वजनिक खरिद कानुन बमोजिम विभिन्न प्रयोजनका लागि विदेशी मुद्राको सटही सुविधा माग गरेमा राष्ट्र बैंकले तोकका सर्तहरूको अधिनमा रही सटही सुविधा बैंकहरूले सोझै प्रदान गर्न सक्ने छन् ।

    यसअघि संवैधानिक निकाय, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र नेपाल सरकारको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका सार्वजनिक निकायहरूले यसरी सटही सुविधा पाउँदै आएका थिए ।

  • थाई एयरले थाइल्याण्डबाट भैरहवामा चार उडान गर्ने

    थाई एयरले थाइल्याण्डबाट भैरहवामा चार उडान गर्ने

    काठमाडौं । थाई एयर एसियाले थाइल्याण्डको बैंककबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको चार उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । थाई एयर एसियाले सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ ।

    थाई एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ देखि ३ बजेको उडान समयतालिका उपलब्ध गराउने भनिएको छ । भैरहवाको समयबारे थाई एयर एसियाले नै माग गरेअनुसार समय (स्लट) दिइने भएको छ । ५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स रहेको छ । यसअघि थाई एयर एसियाकै लगानीकर्ताहरूसमेत रहेको एयर एसिया भने नेपालबाट फर्किएको थियो ।

    नेपालमा बढी पर्यटक आउने आठौं मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए । ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्यांक छ । थाई एयर एसियाको उडानसँगै थाइल्यान्डबाट पर्यटन आवागमनमा वृद्धि हुने अनुमान प्राधिकरणको छ ।

  • जब लुम्बिनीबाट देखियो मनमोहक हिमाल…

    जब लुम्बिनीबाट देखियो मनमोहक हिमाल…

    काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छ भन्दा धेरैले नपत्याउन सक्छन् तर असार(साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ । अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन् ।

    श्रीलङ्काबाट बौद्ध तीर्थयात्री लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले हाम्रा लागि दुर्लभ मानिने हिमाली दृश्य प्रत्यक्षरूपमा देख्न पाएकामा खुसीको सीमा नरहेको धारणा व्यक्त गरे । उनले भगवान् बुद्धको जन्म हिमालयको काखमा भएको भन्ने भनाइ लुम्बिनी भ्रमणबाट पुष्टि भएको उल्लेख गर्दै कम्तीमा एक पटक लुम्बिनी भ्रमण गर्न समस्त बुद्धमार्गी एवम् प्रकृति प्रेमीसँग अनुरोध गरे ।


    वर्षातपछि छर्लङ्ग खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमशृङ्खला देख्दा जो कोही पनि लोभिने अवस्था छ । प्राय असार(साउन महिनामा पानी परेपछि मौसम सफा भएको समयमा लुम्बिनीबाट अन्नपूर्ण, धौलागिरिलगायत हिमालहरू देखिने गरेको मायादेवी मन्दिरमा वर्षौँदेखि पूजाआजा गर्दै आएका स्थानीय योगेन्द्रनाथ पाण्डे बताउँछन् ।


    बुद्ध जन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटन प्रवर्द्धनमा जोड्न सकिएको छैन भन्दै पर्यटनविद् एवम् लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले भने, “समग्र पक्षलाई समेटेर लुम्बिनीको प्रचार(प्रसार हुन सकेको छैन । भगवान् बुद्धलेसमेत आफ्नो घर हिमालको फेदी बाणगङ्गा नदी किनारमा रहेको बताउनुभएको सन्दर्भमा बुद्धसँग हिमाललाईसमेत जोडेर पर्यटन प्रवर्द्धन अभियानलाई सफल र सार्थक बनाउन सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।”

    तराईको समथर पुण्यभूमिमा अवस्थित मायादेवी र अशोक स्तम्भको छेउबाट हिमशृङ्खला देख्न पाउनु आफैँमा महत्त्वपूर्ण पक्ष हो । लुम्बिनीसहित तराईका अधिकांश जिल्लाबाट असार-साउनमा मौसम सफा भएको बेलामा मनमोहक हिमालसहित रमणीय दृश्य अवलोकन गर्न सकिने स्थानीयवासी बताउँछन् । रासस

  • एक महिनामा साढे ६४ हजार पर्यटक, अमेरिकी दोस्रोमा

    एक महिनामा साढे ६४ हजार पर्यटक, अमेरिकी दोस्रोमा

    काठमाडौं । २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा ६४ हजार ५९९ पर्यटक भित्रिएका हुन्।

    जुलाईमा सबैभन्दा बढी २१ हजार ४९१ भारतीय पर्यटक भित्रिएका छन्। त्यस्तै, अमेरिकाबाट ७ हजार ८४६, चीनबाट ६ हजार ८१९ पर्यटक आएका छन्।
    त्यस्तै, बेलायबाट ३ हजार ८०६, बंगलादेशबाट ३ हजार ४७०, अष्ट्रेलियाबाट एक हजार ९०१ र साउथ कोरियाबाट एक हजार ५३७ पर्यटक भित्रिएका छन्। यस वर्ष ७ महिनामा ६ लाख ४७ हजार जना पर्यटक नेपाल आएको तथ्यांकमा देखिएको छ ।

  • पेरिस ओलम्पिकको भब्य उद्घाटन

    पेरिस ओलम्पिकको भब्य उद्घाटन

    काठमाडौं । विश्व खेलकुदको महामेला ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन गरिएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरिएको हो । जसमा पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन गरियो ।


    उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि भए । उनी ८५ वटा बोटमा चढेर करिब ६ किलोमिटर लामो परेडमा सहभागि भए

    उद्घाटन समारोहमा हल्का वर्षा भएपनि त्यसले समारोहलाई खासै प्रभाव पार्न सकेन । फ्रान्सेली राष्ट्रपति माक्रोनले ३३औं समर ओलम्पिकको उद्घाटन भएको घोषणा गरे ।फ्रान्सेली जुडो खेलाडी टेड्डी रिनर र स्प्रिन्टर मारिए जोस पेरेकले ओलम्पिक फ्लेम बालेका थिए ।

    उद्घाटन समारोहमा चर्चित गायिक लेडी गागा, सेलियन डियोन लगायतले प्रस्तुती दिएका थिए । यस्तै फ्रेन्च फुटबल लेजेण्ड जिनेदिन जिदान, टेनिस स्टार राफायल नाडाल लगायत सहभागि थिए । पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा टेबलटेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोकेका थिए । उद्घाटन समारोहमा नेपाल, नामबिया र नाउरको खेलाडीहरु एउटै डुङ्गामा चढेका थिए ।

    श्यान्टु र मनितासहित पौडी खेलाडी एलेक्स शाह, ब्याडमिन्टनका प्रिन्स दाहाल नेपाली टोलीका सेफ दि मिसिन टंक लाल घिसिङ लगायत डुङ्गामा सयर गरेका थिए । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेका श्यान्टुले उद्घाटनको भोलीपल्ट शनिवार नै आफ्नो चुनौती पेश गर्दैछन् । यस्तै ब्याडमिन्टनका प्रिन्सको पहिलो खेल पनि शनिवारै छ ।

    पेरिस ओलम्पिकमा विश्वका १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै फुटबल, रग्बी सेभेन्ज, आर्चरी र ह्यान्डबलका प्रतिस्पर्धाहरु सुरु भइसकेका छन् ।

  • टाइम म्यागाजिनको १ सय सर्वोकृष्ट गन्तब्य भित्र नेपालको बर्दिया

    टाइम म्यागाजिनको १ सय सर्वोकृष्ट गन्तब्य भित्र नेपालको बर्दिया

    काठमाडौं । विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूची सार्वजनिक गरेको छ । जसमा नेपालको बर्दिया अटाउन सफल भएको छ । निकुन्जस्थित ‘बुरहान वाइल्डरनेस क्याम्प्स’लाई टाइमले हाइलाइट गरेको छ । टाइमले यो वर्षका लागि तयार पारेको उक्त सूचीमा कसैलाई पनि क्रमांक दिएको छैन ।

    भ्रमण गर्न र बस्नका लागि सर्वोत्कृष्ट १ सय ठाउँको सूचीमा बर्दियाको बुरहान वाइल्डरनेस क्याम्प्स पर्न सफल भएको छ । टाइमले यस्तो सूची प्रत्येक वर्ष प्रकाशन गर्दै आएको छ । एक शताब्दीदेखि अमेरिकाको न्युयोर्कबाट प्रकाशन हुँदै आएको साप्ताहिक म्यागाजिन टाइमको यस्तो सूची हेरेर संसारका करोडौं पर्यटक विभिन्न गन्तव्य भ्रमण गर्न जान्छन् ।

    ‘बुरहान वाइल्डरनेस क्याम्प्सले बर्दिया राष्ट्रिय निकुञ् प्रवेश नगरिकनै पर्यटकलाई बुसवाक, क्यानोइ ट्रिप, वाइल्डलाइफ ट्र्याकिङ र जंगल सफारीमा जीपको अगाडिको सिटमा बसेर हात्ती, एक सिंगे गैंडा, हरिणलगायत जनावर नजिकबाट देखाउने सुविधा उपलब्ध गराउँछ,’ टाइमले संरक्षणविद् मनोज गौतमलाई उद्धृत गर्दै आफ्नो सूचीमा लेखेको छ, ‘यी सबै जनावर देखिन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन तर पाटेबाघ देखिने सम्भावन भने उच्च रहन्छ, जसका लागि कम्तीमा तीन दिन त्यहाँ बस्नुपर्छ । यदि बाघ देखिएन भने पनि रातभरि बाघ कराएको भने सुन्न सकिन्छ ।’

    जेन गुडल इन्स्टिच्युट नेपालका पूर्वनिर्देशक समेत रहेका गौतमले बर्दिया निकुञ्जभन्दा बाहिर खाटा वाइल्डलाइफ करिडोरमा एक टुक्रा जग्गा किनेर उक्त वाइल्डरनेस क्याम्प्स सञ्चालन गरिरहेको टाइमले लेखेको छ । पर्यटनमा दिगो भविष्य निर्माण गर्ने उद्देश्य लिएर गौतमले खरिद गरेको जग्गामा बनाइएको वाइल्डरनेस क्याम्प्स कर्णाली नदीको दुई भंगालोको बीचमा रहेको छ ।

    टाइमका अनुसार गौतमको क्याम्प्सले जंगली जनाव संरक्षलाई उच्च प्राथमिकता दिएको छ । गौतमले सौर्य ऊर्जाबाट चल्ने एउटा ट्रिहाउस पनि बनाएका छन्, जुन वर्षा मौसम सकिएपछि सञ्चालन हुने गर्छ । त्यस्तै पर्यटक भएका बेलामात्र सफारी टेन्ट स्थापना गरिन्छ । पर्यटक आएपछि स्थानीय अर्गानिक खानेकुरा पस्किने गरिएको छ ।

    गौतमले रोजगारीका माध्यमबाट आदिवासी थारू संस्कृतिमा सहयोग गर्न नजिकै गाउँमा झिँगटीको छानो भएको लामो टहरा बनाएर पर्यटकलाई बास बसाउँदै आएका छन् । जहाँ मानव–बाघ द्वन्द्वमा जीवन जोगाउने समाधानका उपायबारे जानकारी गराइने टाइमले उल्लेख गरेको छ ।

    ‘संरक्षणको फाइदा स्थानीय समुदायलाई पुग्ने गरी काम गरिएको छ । बफर जोनमा जिम्मेवार पर्यटन विकास गर्दै जाने उद्देश्य छ,’ टाइमले गौतमलाई उद्धृत गर्दै लेखेको छ, ‘बर्दियाको जस्तै मोडेलमा देशका अन्य दुर्गम क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा पनि क्याम्प सञ्चालन गर्ने लक्ष्य छ ।’

    टाइमले तयार पारेको सूचीमा न्यु मेक्सिकोको सान्टा फेमा रहेको मोडर्न एल्डर एकेमडेमी, अन्टार्कटिकाको ह्वाइट डेजर्ट, केन्याको अन्गामा अम्बोसेली, इन्डोनेसियाको बाम्बु इन्डाह, पोर्चुगलको भर्मेल्हो होटल, अस्ट्रेलियाको सन र्‍यान्च, कतारको आवर ह्याबिट्यास रास अब्रोक, आइस्ल्यान्डको हाइल्यान्ड बेस, अमेरिकाको स्नो पिक लङ बिच क्याम्पफिल्ड लगायत छन् ।

    त्यसैगरी मलेसिया, इक्वेडर, मेक्सिको, अलास्का, थाइल्यान्ड, पेरिस, स्पेन, साउदी अरब, नर्वे, भुटान, लन्डन, नैरोबी, अस्ट्रिया, बोत्स्वाना, लस भेगास, अर्जेन्टिना, अल्बानिया, बहामास, नेदरल्यान्ड लगायत ठाउँ पनि यो सूचीमा परेका छन् ।

  • झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान

    झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान

    काठमाडौं । इन्टाग्राम रिल्समा राख्ने भिडियो बनाउने क्रममा भारतको महाराष्ट्रस्थित एक झरनामा युवतिको ज्यान गएको छ । महाराष्ट्रको रायगढ जिल्लास्थित कुम्भे झरनामा आफ्ना साथिहरुसँग घुम्न गएकी युवति अन्वी कामदारको चिप्लिएर ज्यान गएको हो । उनी मुम्बईकी बासिन्दा रहेको बताइएको छ । उनी ३ सय फिट गहिरो खोँचमा झरेकी थिइन् । उनी सोसल इन्फ्यूएन्सर समेत हुन् । इन्टामा उनको लाखौं फलोअर्स छन् ।

  • म्याग्दीमा तयार भयो नयाँ पदमार्ग

    म्याग्दीमा तयार भयो नयाँ पदमार्ग

    काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई किलोमिटरभन्दा बढी पदमार्ग, दुईवटा आश्रयस्थल, खानेपानी, दृश्यावलोकन स्थललगायत पूर्वाधार निर्माण गरेका हुन् ।

    प्रदेश सरकारको १३ लाख रुपैयाँ, गाउँपालिका र युएनडीपीको १२–१२ लाख रुपैयाँमा बजेटमा पदमार्ग, आश्रयस्थल, दृश्य अवलोकनस्थल र खानेपानीको पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिए ।

    पूर्वाधारबाट खोपारा भ्रमणमा आउने पर्यटक, खयर ताल जाने भक्तजन, तीर्थयात्रीहरुलाई सुविधा पुगेको छ । उद्योग तथा पर्यटन कार्यालयमार्फत विनियोजन भएको बजेटबाट खोपारादेखि खयरतर्फ जाने पदमार्गमा एक किलोमिटर २ सय मिटर माटो काटेर र दुई सय ४५ मिटर ढुंगा छापेको पदमार्ग निर्माण भएको कार्यालयका इन्जिनियर सुमन बोगटीले बताए । खानेपानी भण्डारण गर्न पाँचवटा ट्याकी राखिएको छ ।

    पैदलयात्रीलाई विश्राम गर्नका लागि १६ वटा फलामको बेञ्च राखिएको छ । लाकुशेको मुहानमा ट्यांकी बनाएर पदमार्ग र खोपाराको सामुदायिक लजमा खानेपानीको व्यवस्थापन गरिएको हो । युएनडीपी र अन्नपूर्ण गाउँपालिकाको साझेदारीको कार्यक्रममार्फत चमकी ओडार क्षेत्रको साँघुरो पैदलमार्गको डिलतर्फ ५३ मिटर फलामको रेलिङ राखिएको छ ।

    दुई सय ३६ मिटर ढुंगाको सिँढी, सात सय ९८ मिटर माटो काटेको पदमार्ग र दुई ठाउँमा आश्रयस्थल बनाइएको अन्नपूर्ण गाउँपालिका–५ का प्राविधिक रोहित बस्ताकोटीले बताए । राते र सुनौलोमा एकरएकवटा ट्रसले छाएको १० देखि १५ जना बास बस्न सक्ने आश्रयस्थल निर्माण भएको छ ।

    खोपाराको सामुदायिक लजको नयाँ भवनको डिलतर्फ पर्खाल बनाएर संरक्षण गरिएको छ । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोपारालाई केन्द्र बनाएर अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ ।

    सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइँ र यात्राअवधि लम्ब्याउन खोपारालाई वैकल्पिक गन्तव्य बनाउने उद्देश्यअनुसार पूर्वाधार विस्तार गरिएको अन्नपूर्ण–५ का वडाअध्यक्ष राजेश तिलिजा पुन बताए । खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्र पर्छ । घोडेपानी, शिख, पाउद्वार र नारच्याङबाट खोपारा जोड्ने पदमार्ग छन् । खोपारामा रहेको ६० जना क्षमताको लज समुदायले सञ्चालन गरेका हुन् ।

    सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन खोपारामा सुरु गरिएको सामुदायिक लजलाई पछिल्लो समय पर्यटन सहकारी संस्थामार्फत सञ्चालन गरिएको छ । खोपाराको विकासमा अगुवाइ गरिरहेका राजु पुनका अनुसार पूर्वाधार नहुँदा र पर्यटक नआउँदा खोपारा स्थानीयवासीको भैंसी गोठमा सीमित थियो ।

    गुराँसको जङ्गलको बीचमा पहाडको टाकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो । अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृश्य अवलोकन गर्न सकिन्छ । खोपाराको प्राकृतिक सौन्दर्यले यात्राको थकान र दुःख बिर्साउने पर्यटकरुको अनुभव छ ।

    पाउद्वारवासीले खोपारा र खयरभारानी थान जोड्ने पदमार्गमा एक करोड ६० लाख रुपैयाँभन्दा बढी चन्दा जुटाएर पूर्वाधार निर्माण गरेका छन् । जंगल, भिर र अप्ठ्यारो पहाडको बाटोमा आफ्ना दिवंगत भएका आफन्तको सम्झनामा १० किलोमिटरभन्दा बढी पदमार्ग, एक सयवटा चौतारी, तीनवटा धर्मशाला र १० ठाउँमा पानीका धारा बनाएका छन् ।

  • निगमले असारमा तिर्यो ४३ करोड किस्ता

    निगमले असारमा तिर्यो ४३ करोड किस्ता

    काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ता बापत असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो ।

    निगमका अनुसार ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ता बापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ३१ असारमा उक्त रकम भुक्तानी गरिएको छ । पछिल्लो व्यवस्थापन आएसँगै निगमले २०८१ असारसम्म ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको समेत जनाएको छ ।

    कोरोना महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो असर रहेको अवधिको ब्याजको हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन दुवै कोषसँग निगमले अनुरोध गरेको थियो । साथै किस्ता संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन समेत निगमले दुवै कोषलाई अनुरोध पत्र समेत पठाएको थियो । यस सम्बन्धमा छलफल समेत भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

  • जुम्लामा गरियो प्याराग्लाइडिङ  परीक्षण

    जुम्लामा गरियो प्याराग्लाइडिङ परीक्षण

    काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ ।

    पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलो पटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।


    ‘परीक्षण उडान सफल भएको छ’, अध्यक्ष बुढाले भने, ‘अब दुईजना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने छ ।’ पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ ।

    सो गाउँपालिकाका स्थानीयवासी टेकबहादुर भण्डारीले गुठीचौरमा पहिलोपटक आकाशमा प्याराग्लाडिङ देख्न पाउँदा निकै खुसी लागेको बताए । नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

    सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ ।

  • राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनमा खुला

    राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनमा खुला

    काठमाडौं । चितवनको ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले दियालो बंगला खुला गरेका हुन् । २०१९ सालमा निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो ।

    नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । भरतपुर वडा नम्बर १ मा रहेको यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ ।

    विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ । दियालो बंगला क्षेत्र ५२ बिघाको छ । बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारी थप पाँच बिघा जमिन छ । पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्‍याउने आशा व्यक्त गरे ।

    मन्त्री तामाङले पूर्वराजाहरुले पूर्व पश्चिम र राज्यको सबै ठाँउमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको बताए ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा दियालो बंगला सर्वसाधारणका लागि खुला गरेको जानकारी दिइन् । नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरुको विलासी जीवनशैली दियालो बंगला दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन् ।

  • ६ महिनामा भित्रिए ५ लाख ८३ हजार १६ पर्यटक

    ६ महिनामा भित्रिए ५ लाख ८३ हजार १६ पर्यटक

    काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् । जुन २०२४ मा मात्र ७६ हजार ७ सय ३६ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो वर्ष सबैभन्दा धेरै मार्चमा आगमन भएको थियो । यो महिना १ लाख २८ हजार १ सय ६७ पर्यटक आएकामा जुनमा घटेर ७६ हजारमा सीमित भएको छ ।

    जुन २०२३ मा भारतबाट ३८ हजार ८ सय ४५ पर्यटक आएकोमा जुन २०२४ मा ३७ हजार ८ सय ३५ भारतीय मात्र नेपाल भ्रमणमा आएका छन् । यस वर्ष जुन महिनामा चीनबाट ७ हजार ४ सय ९४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ मा पर्यटक आगमन १६ लाख पुर्‍याउने लक्ष्य लिएको छ । तर, ६ महिनासम्मको तथ्यांकले उक्त लक्ष्य भेट्न मुस्किल हुने देखिन्छ । ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल आएको देखिन्छ ।

    सरकारको लक्ष्य भेट्न २०२३ को तुलनामा ५८ प्रतिशत र २०१९ को तुलनामा ३४ प्रतिशत धेरै पर्यटक भित्रिनुपर्छ । जुन महिनामा अमेरिकाबाट आउने पर्यटक संख्या समेत ओरालो लागेको छ । जनमा अमेरिकाबाट ८ हजार २ सय ८१ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष यसै महिना ८ हजार ४ सय ७० नेपाल आएका थिए ।

    त्यस्तै बेलायतबाट १ हजार ९ सय ६९ आएका छन् । अघिल्लो वर्ष १ हजार ९ सय ९२ आएका थिए । बंगलादेशबाट आउने पर्यटक भने उल्लेख्य बढेका छन् । त्यहाँबाट ३ हजार ८ सय ५७ पर्यटक आएका छन् । जुन २०२३ मा २ हजार ४ सय २ मात्र आएका थिए ।

  • तनहुँको बन्दिपुरमा चल्यो केवलकार

    तनहुँको बन्दिपुरमा चल्यो केवलकार

    काठमाडौं । तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए । उनका अनुसार १ वैशाखबाटै केबलकार आंशिक रुपमा चलाइएको थियो । बिहीबारदेखि भने व्यावसायिक सञ्चालनमा ल्याइएको हो ।

    कम्पनीले करिब एक वर्ष अगाडिदेखि नै केबलकार जडान सम्पन्न गरी लोड परीक्षण भएको जनाएको छ । तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टीयूभी’ प्रमाणपत्र प्राप्त भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केबलकार सञ्चालनका लागि खुल्ला गरिएको हो,’ उनले भने ।

    केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने उनको भनाइ छ । बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकार चोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् ।

    दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्ने गरी केबलकार चलाइएको हो । बन्दीपुर नेपालको कान्छो केबलकार बनेको छ । यसअघि मनकामना, चन्द्रागिरि, पोखरा, बुटवल, दोलखा, नवलपरासीमा केबलकार सञ्चालनमा आइसकेको छ ।

  • सगरमाथा आरोहणका क्रममा यो सिजन ५ जनाको मृत्यु, ३ वेपत्ता

    सगरमाथा आरोहणका क्रममा यो सिजन ५ जनाको मृत्यु, ३ वेपत्ता

    काठमाडौं । जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको छ । पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो । मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन् । उनीहरूको १३ मेका दिन साउथ समिटमा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ रहेका छन् ।

    क्याम्प थर्डमा रोमानियाका नागरिक ४६ वर्षीय ग्याब्रियल भायोरेल तबराको २१ मेका दिन मृत्यु भएको छ । उनको टेन्टमा सुतिरहेको अवस्थामा मृत्यु भएको पाइएको छ । केन्याका नागरिक ४० वर्षीय जोसुआ चेरियट किरुईको समेत सोही दिन मृत्यु भएको विभागले जनाएको छ । उनको चुचुरो नजिकै शव भेटिएको छ । सोही दिन कास्कीका विनोदबाबु बस्ताकोटीको समेत ज्यान गएको छ । उनको साउथ कोल नजिकै ८२ सय मिटरमा ज्यान गएको हो ।

    विभागका अनुसार तीन जना आरोही र सहयोगी भने हराइरहेका छन् । २१ तारिखका दिन बेलायती नागरिक ४० वर्षीय ड्यानियम पौल हिलारी स्टेपबाट झरेको र सोही स्थानमा हराइरहेको विभागले जनाएको छ । उनको साथमा रहेका सहयोगी पासतेन्जी शेर्पा समेत हराइरहेका छन् ।

    केन्याली नागरिकको साथमा रहेका ङवाङ शेर्पा समेत चुचुरो नजिकबाट हराइरहेको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार बिहीबारसम्म कुल ५७० जना भन्दा बढी आरोही र सहयोगीहरुले सगरमाथाको सफल आरोहण गरेका छन् । बिहीबार मात्र ६५ जनाले चुचुरो चुम्न सफल भएका थिए ।

  • भीर मौरीको मह निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली नेपालमा

    भीर मौरीको मह निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली नेपालमा

    काठमाडौं । भीर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् । देख्दा आङ नै सिरिंग हुने अक्करे पहरामा भीर मह निकालिरहेको दृश्यको छायांकनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए । टोलीले डोरी (पर्‍याङ) मा झुन्डिएर भीर मौरीको मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेको वडाध्यक्ष विकले बताए ।

    लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भीर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए । भीर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा २ समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र गर्छन् । ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरि खर्चिनुपर्छ ।

    झण्डै पाँच सयदेखि १ हजार ५ सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताए । ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उनको भनाइ छ । ‘पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ’, उपाध्यक्ष पुनले भने ।

    RSS

  • सगरमाथामा केन्याली आरोहीको मृत्यु, नेपाली गाइड बेपत्ता

    सगरमाथामा केन्याली आरोहीको मृत्यु, नेपाली गाइड बेपत्ता

    काठमाडौं । विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार ‘एसएसटी एभरेस्ट एस्पिड २०२४ स्प्रिङ टिम २’ पर्वतारोहण दलका ४० वर्षीय आरोही सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्न गएका थिए ।

    उनी विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेका दिन आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए । उनीहरू १९ मेका दिन दोस्रो शिविरमा बसेर २० मेका दिन तेस्रो शिविर पुगेका थिए ।

    २१ मेका दिन चौथो शिविर पुगेका उनीहरू २२ मे बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए । आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरेरनगरेको यकिन नभएको समेत विभागले जनाएको छ । बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन गाइन परिचालन गरी क्याम्प २ माथि खोजतलास गरेको थियो । सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको हो । सहयोगी शेर्पाको भने अझै खोजी जारी रहेको र अवस्था समेत अज्ञात रहेको पर्यटन विभागले जनाएको छ ।

  • भियतनामबाट जहाज चार्टर्ड गरी एक साथ नेपाल आए २१८ लक्जरी पर्यटक

    भियतनामबाट जहाज चार्टर्ड गरी एक साथ नेपाल आए २१८ लक्जरी पर्यटक

    काठमाडौं । नेपालका गुम्बा र चैत्यहरुको अवलोकन गर्न चार्टर विमानमा काठमाडौं २ सय १८ जना भियतनामी पर्यटक काठमाडौं आएका छन् । उनीहरु एक साता नेपालमा बसेका हुन् । उनीहरु शनिबार स्वदेश फर्किँने कार्यक्रम छ । एक साताका लागि नेपाल आएका उनीहरुले ७ रात ८ दिन नेपालमा बिताएको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए ।

    पराजुलीका अनुसार, यी भियतनामी बौद्ध धर्मावलम्बीहरूले काठमाडौं उपत्यकका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गरे । ‘बिहीबार उनीहरु हेलेसी गएँ,’ पराजुलीले भने, ‘आज उताबाट फर्केर भोलि हिमालय एयरलायन्सको चार्टर विमानमा भियतनाम फर्किंदै छन् ।’


    ‘हृवाइट गुम्बा, फर्पिङ, स्वयम्भू, नमोबुद्ध र पाटनको भ्रमण अवलोकन गर्ने यी पर्यटकहरुले नेपाल बाट बुद्धको सन्देश बोकेर जाँदैछन् । त्यसैले यो समूहको भ्रमणलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छौं,’ रुप्सेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रुप्सेले यत्रो संख्यामा चार्टर विमानमार्फत पर्यटक आएको पहिलो भएको दाबी गरेको छ ।

  • नेपाली सेनाले सगरमाथा क्षेत्रबाट निकाल्यो २ मानव शव

    नेपाली सेनाले सगरमाथा क्षेत्रबाट निकाल्यो २ मानव शव

    काठमाडौं । नेपाली सेनाले ‘सफा हिमाल अभियान’अन्तर्गत सगरमाथाको क्याम्प ४ र ल्होत्से हिमालको शिखर नजिकबाट एक–एक गरी दुई जनाको शव काठमाडौं ल्याएको छ । लामो समयदेखि अलपत्र दुई शवलाई सफा हिमाल अभियानअन्तर्गत काठमाडौं ल्याइएको सैनिक प्रवक्ता गौरव केसीले बताए । उनका अनुसार बेस क्याम्पबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवै शवलाई त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । ‘पहिचान नखुल्ने भएकाले पोष्टमार्टम गरेर डीएनए संकलन लगायतका प्रक्रिया अघि बढाइने छ’, उनले भने, ‘यो वर्ष कम्तिमा ५ वटा शव हिमालबाट ल्याउने लक्ष्य छ ।’

    अभियानका क्रममा हालसम्म ८ हजार ६ सय २० केजी फोहोर संकलन गरेर तीमध्ये २५० किलो कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको केसीले बताए । उनका अनुसार यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर संकलन गर्ने योजना छ । नेपाली सेनाका सेनानी आदित्य कार्कीको नेतृत्वमा २ वैशाखबाट १२ सैनिक र एक शेर्पासहित १३ जनाको टोलीले हिमालबाट फोहोर संकलन गर्ने अभियान चलाइरहेको छ ।

  • रारामा खुल्ने भयो लक्जरी रिसोर्ट

    रारामा खुल्ने भयो लक्जरी रिसोर्ट

    काठमाडौं । स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन र नेपाली लगानीमा रिसोर्ट खुल्ने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् ।

    मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए ।

    समुद्र सतहदेखि ३,७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ । “यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रकृया लगभग अन्तिम चरणमा पुगेका छन् । यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रकृयालाई तीव्रता दिनेछौं र आगामि १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं” उनले भने ।

    उनले आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुने बताए । ८० रोपनी जमिनमा बन्ने उक्त होटलको लागत १ अर्ब १० करोड रुपैयाँ हुने बताएको छ । एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

  • हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य

    हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य

    काठमाडौं । नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने लक्ष्य राखेको छ । नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर संकलन गर्ने योजना रहेको जानकारी दिएको छ । सफा हिमाल अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले सफाइ अभियानमा सेनाका १२ दक्ष जनशक्ति परिचालन गरिने जानकारी दिए । उनीहरुमध्ये १० जनाले सगरमाथा आधार शिविरमाथि र दुई जनाले नाम्चेमा रहेर संयोजन गर्नेछन् ।

    फोहर संकलन सहजीकरणका लागि १८ शेर्पा सहयोगी परिचालन गरिने सेनाले जनाएको छ । सगरमाथाको आठ हजार मिटर उचाइसम्म पुगेर फोहर संकलन गरिने सफाइ अभियानका नेतृत्वकर्ता सेनानी अदित्य कार्कीले बताए । यही चैत २९ गतेदेखि सुरु हुने फोहर संकलन अभियान ५० दिनसम्म सञ्चालन हुने छ । सो अभियान २०८१ जेठ २३ गते विश्व वातावरण दिवसको दिन समापन हुने छ ।

    खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समितिको समन्वयमा सङ्कलित कुहिने फोहर नाम्चेमै र नकुहिने फोहर काठमाडौँ ल्याएर सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ । यस्तै मानव शव सगरमाथाको दोस्रो शिविरबाट हेलिकप्टरमा आधार शिविर ल्याइने र त्यहाँबाट लुक्ला लगेर शव पहिचान गरेर सम्बन्धितको जिम्मा लगाइने छ । विदेशीको शव भए गृह मन्त्रालयमार्फत प्रक्रिया पुर्‍याएर पठाउने व्यवस्था मिलाइने सेनाले जनाएको छ ।

    सन् २०२३ मा सफाइ हिमाल अभियानअन्तर्गत सेनाको टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमालको सफाइ गरेको थियो । ती हिमालबाट ३५ टन फोहर संकलन गरिएको थियो । सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको नेतृत्व नेपाली सेनाले गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायत स्थानीय निकाय तथा सरोकारवाला संस्थाको सहकार्यमा सञ्चालित सफाइ अभियानको पहिलो वर्ष सन् २०१९ मा नेपाली सेनाले विभिन्न हिमालबाट झण्डै ११ टन फोहर संकलन गरेको थियो ।

    कोभिड–१९ का कारण सन् २०२० को सफाइ अभियान भने रोकिएको थियो । सन् २०२१ मा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि र अमा दब्लम हिमालबाट २७ दशमलव ६ टन फोहर संकलन गरिएको थियो । त्यस्तै, सन् २०२२ मा सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालबाट करिब ३५ टन फोहर संकलन गरेको थियो ।

  • जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने

    जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने

    काठमाडौं । जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विशेष रुपमा मनाइने भएको छ । पाल सरकारले २८ चैत २०७९ मा सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गरेको थियो । यो हिमालको पहिलो आरोहणका लागि ३ नेपाली र ७ जना दक्षिण कोरियाली सहभागी टिम जाने भएको छ । टोली २४ चैतका दिन प्रस्थान गर्ने नेपाल पर्वतारोहण संघले जानकारी गराएको छ ।

    टोलीमा कोरियाली विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अमहोङ गिलले नेतृत्व गर्दैछन् । नेपालको तर्फबाट कीर्तिमानी आरोही तथा संघका प्रथम उपाध्यक्ष दावा याङजुम शेर्पाले नेतृत्व गर्ने भएका छन् । यो टोलीले १३ वैशाख २०८१ मा चुचुरो चढी काठमाडौं फर्कने योजना बनाएको छ । यो आरोहणलाई नेपाल सरकार, पर्यटन बोर्डले समेत सहयोग गर्ने भएका छन् । यसअघि सरकारले हिमाल आरोहणमा लाग्ने रोयल्टी दस्तुर मिनाहा गरेको थियो ।

    शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टोलीलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्दैछन् । हिमाल आरोहणसँगै ५० जना कोरियाली पदयात्री जुगल हिमाल क्षेत्रको पदयात्रामा जाने भएका छन् । यसले नेपालको पर्यटनमा समेत योगदान गर्ने भएको छ । १६ वैशाखका दिन टोलीलाई काठमाडौंमा सम्मान गरिने भएको छ ।

  • आइपीएल : चेन्नईको लगातार दोस्रो जित

    आइपीएल : चेन्नईको लगातार दोस्रो जित

    काठमाडौं । साविक विजेता तथा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले सानदार ब्याटिङ प्रदर्शनका साथ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । घरेलु टोली चेन्नईले मंगलबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हरायो । २०६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो ।

    गुजरातका साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ओपनर ऋद्धिमान शाह २१, शुभमन गिल ८, विजयशंकर १२ र डेविड मिलर २१ रनमा आउट भए । चेन्नईका दीपक चाहर, मुश्ताफिजुर रहमान र तुषार देशपाण्डेले दुई–दुई विकेट लिए । डर्याल मिचेल र मथिसा पाथिरानाले एक–एक विकेट लिए ।

    त्यसअघि चेपौकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो । चेन्नईका शिवम दुबेले २३ बलमा २ चौका र ५ छक्कासहित ५१ रन बनाए । रचिन रविन्द्र २० बलमा ६ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक सुरुवात दिलाएका थिए ।

    ऋतुराज गायकवाड ४६, अजिंक्या रहाणे १२, डर्याल मिचेल २४ र समिर रिज्वीले १४ रन जोडे । गुजरातका राशिद खानले २, साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १–१ विकेट लिए । आईपीएलमा आज राति सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

  • अमेरिका- बेलायतसहित तेस्रो मुलुकका पर्यटकले अब नेपालमा डिजिटल भुक्तानी गर्न पाउने

    अमेरिका- बेलायतसहित तेस्रो मुलुकका पर्यटकले अब नेपालमा डिजिटल भुक्तानी गर्न पाउने

    काठमाडौं । भारत बाहेक तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै ‘नेसनल पेमेन्ट स्वीच’ मार्फत विदशमा जारी भएको ‘क्यूआर कोड’ बाट हुने भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो ।

    ‘नेपाली व्यवसायीले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवत्र्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी विदेशमा जारी भएको क्यूआर कोडमार्फत नेसनल पेमेन्ट स्वीचका माध्यमबाट स्वीकार गर्न सकिने छ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा छ, ‘यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिम र सोको निराकरणन्यूनीकरणका उपाय सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक आफैंले विश्लेषण तथा व्यवस्थापन गर्नुपर्ने छ ।’

  • गुल्मीको रेसुङ्गा विमानस्थलमा अब साताको तीन उडान हुने

    गुल्मीको रेसुङ्गा विमानस्थलमा अब साताको तीन उडान हुने

    काठमाडौं । गुल्मीको रेसुंगा स्थित विमानस्थलमा अब साताको तीन उडान हुने भएकोछ । अहिले नेपाल एयरलाइन्सले सातोको दुई उडान गर्दै आएको छ । आगामी सोमबार ृचैत ५ गते देखि हप्तामा तीन पटक उडान हुने भएको हो । यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले हप्तामा तीन पटक उडान भर्ने सहमति भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । कठोर मिहेनत र पटक(पटकको छलफल पश्चात् आगामी सोमबारदेखि हप्तामा तीन पटक उडान भर्ने भएको उनले उल्लेख गरेका छन् ।


    निगमले आगामी सोमबारको टिकट खुला गरिसकेको छ । आम नागरिकले टिकटको अभावमा भोग्नु परेको दुख र समस्याको केही हदसम्म समाधान हुने भन्दै यात्रुको चाप हेरिसके पछि आवश्यकता अनुसार उडान थप गर्दै जाने विषयमा पनि छलफल प्रारम्भ गरिएको उनले बताए ।

    रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको छ । उडान हुने दिनमा मात्र प्रहरी पठाएर सुरक्षा दिने काम भइरहेको यस विमानस्थलमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर दीर्घकालीन रूपमा चौबीसै घण्टा विमानस्थलको सुरक्षा गर्नको लागि नेपाल प्रहरीको एक पोस्ट बस्ने भएको नगरप्रमुख पन्थीले बताए ।


    रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७ः४० बजे उडान गर्ने समय तालिका छ । काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार २८० रुपियाँ र यहाँदेखि काठमाडौँका लागि सात हजार ८० रुपियाँ भाडा दर कायम गरिएको छ ।

  • अष्ट्रेलियाली आरोही पेपरले बीना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने

    अष्ट्रेलियाली आरोही पेपरले बीना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने


    काठमाडौं । अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छिन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल अक्सिजनको प्रयोग नगरि आरोहण गर्ने लक्ष्य रहेको बताइन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औँ अग्लो आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण–१ को आरोहण गर्न लागेको बताइन् । सेभेन समिट ट्रेक्समार्फत अन्नपूर्ण–१ आरोहण गर्न लागेको उहाँले जानकारी दिइन् ।


    विना अक्सिजन हिमाल आरोहण गर्ने यात्राको शुरुवात भने उनले सन् २००७ मा नेपालको माउन्ट चोयु हिमालबाट गर्नुभएको थियो । अस्ट्रेलियाली पर्वतारोही पेपरले आफ्नो लक्ष्यअन्तर्गत विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये अहिलेसम्म दुई वटा हिमाल अक्सिजनको प्रयोग नगरि आरोहण गरी सकेकी छिन् ।
    सन् २०२३ को जुलाई १५ मा विश्वको १२ औँ अग्लो आठ हजार ५२ मिटरको ब्रोडपिक र विश्वको पाँचौँ अग्लो आठ हजार एक सय ६३ को मनास्लु हिमाल सन् २०२३ को सेप्टेम्बर २८ मा आरोहण गरिसकेको उनले जानकारी दिइन् ।

    ब्रोडपिक हिमाल विना अक्सिजन आरोहण गर्ने उनी पहिलो अस्ट्रेलियाली महिला हुन् । ४८ वर्षीया पेपरले महिलाहरूले सामना गरिरहेका चुनौतीहरूलाई जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् । उनले भनिन्, ‘आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा नै लक्ष्य हासिल गर्ने कुरामा विश्वस्त छु । मैले सम्पूर्ण जीवन यसमै लगाएको छु । शारीरिक, मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा आफैँलाई तालिम दिएको छु । यही सबै कुराले मलाई प्रेरित गरेको छ ।’

    हिमाल आरोहणमा एली पेपरको २३ वर्षको अनुभव रहेको छ । यो वसन्त ऋतृमा नेपालको अन्नपूर्ण–१ सहित तीन वटा हिमाल आरोहण गर्ने योजना रहेको उनले बताइन् । विश्वमा अहिलेसम्म छ जनाले मात्र अक्सिजनविना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेका छन् । त्यसमध्ये पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको मुख्य चुचुरोमा पुग्ने दुई जना पुरुष मात्र छन्, उनीहरूलाई १६ वर्ष लागेको थियो ।

    विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालअन्तर्गत सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनास्लु, नाङ्गा पर्वत, अन्नपूर्ण–१, गाशरब्रम–१, ब्रोडपिक, गाशरब्रम–२, शिशापाङ्मा पर्दछन् ।

  • राष्ट्रपतिले गरे पशुपतिनाथको दर्शन

    राष्ट्रपतिले गरे पशुपतिनाथको दर्शन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गरेका छन् । शुक्रबार शिवरात्रिको अवसरमा राष्ट्राध्यक्षको रुपमा उनले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गरेका हुन् । शिवरात्रिमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्ने प्रचलन रहेको छ।

    पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गरेका छन् । राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, कोषका सदस्य सचिवलगायतले स्वागत गरेका थिए ।

    महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा छ। पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लागि हजारौंको सङ्ख्यामा भक्तजन लामबद्ध छन्। महाशिवरात्रिको अवसरमा शुक्रबार बिहान ३ बजेदेखि चारवटै ढोका खुला राखिएको छ।

  • शिवरात्रीका दिन नेपालगन्जबाट कैलास पर्वतका लागि भए ६ माउन्टेन फ्लाइट

    शिवरात्रीका दिन नेपालगन्जबाट कैलास पर्वतका लागि भए ६ माउन्टेन फ्लाइट

    काठमाडौं । महाशिवरात्रिको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रीप टू टेम्पल्स सँगको समन्वयमा नेपालगञ्जबाट डेढ सय भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको हो। ट्राभल कम्पनीद्वारा श्री एयरलाइन्सको जहाज चार्टर्ड गरी चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आकाशबाटै गराइएको हो।

    माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ। कोभिड अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज रूटबाट मानसरोवर पुग्ने गरेका थिए।

    कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिसा नदिएपछि यो रूट सुनसान बनेको छ जसको सिधा असर सो रूटको पर्यटन व्यवसायमा परेको छ। यस अघि बाँकेको रूपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट जहाजमा सिमिकोट गएर एक रात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्स सम्म हेलिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्दथे।

    मानसरोवरको रूटको चहलपहल कम भएपछि नेपालगञ्जको पर्यटन सुस्ताएको समयमा उक्त कम्पनीले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरेको हो।

    कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रूपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए। माउन्टेन फ्लाइटकै लागि १५० जना भारतीय पर्यटक बिहीबार नेपालगञ्ज आएर होटल सिद्धार्थमा बसेका थिए। उनीहरूलाई श्री एयरलाइन्सको जहाजमा फ्लाइट गराइएको हो।

    यस अगाडि पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एयरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरूवात गरेको थियो। भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा पनि माउन्टेन फ्लाइट मार्फत कैलाश(मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान गराउने उद्देश्य रहेको मिश्राले बताए।

  • भरतपुर भ्रमण वर्षको सुभारम्भ आज, प्रधानमन्त्री चितवनमा

    भरतपुर भ्रमण वर्षको सुभारम्भ आज, प्रधानमन्त्री चितवनमा

    काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को सुभारम्भ आज हुने भएको छ । नारायणी नदी किनारमा भ्रमण वर्ष २०२४ को भब्य उद्घाटनको तयारी छ । सो प्रयोजनका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड चितवन पुगिसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण वर्ष २०२४ को उद्घाटन गर्नेछन् । कार्यक्रममा प्रधानमन्त्री दाहालसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ ।

    सरकार गठबन्धनका सहयात्री दलहरुमध्ये नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि कार्यक्रमा सहभागी हुने कार्यक्रम तय भएको छ । कार्यक्रमको उद्घाटनमा पूर्व प्रधानमन्त्रीहरुसहित ६ जना सांसद, प्रदेशका मुख्य मन्त्री तथा प्रमुखहरु पनि सहभागी हुने छन् ।

    दुई चरणमा सञ्चालन हुने उद्घाटन सत्रमा राष्ट्रिय स्तरका गायक गायीकाहरुको कला पनि प्रस्तुत गरिने जनाइएको छ । भने भरतपुर महानगरका ५० हजारबढी मानिस भ्रमणवर्ष उद्घाटनमा सहभागी गराउने महानगरले तयारी छ । उद्घाटन अघि बिहान ११ बजे भरतपुरका विभिन्न स्थानबाट र्‍यालीसहित मानिसहरुको सहभागिता रहने तालिका महानगरले सार्वजनिक गरेकोे छ ।

  • भरतपुर भ्रमण वर्षको उद्घाटन १८ फागुनमा हुँदै

    भरतपुर भ्रमण वर्षको उद्घाटन १८ फागुनमा हुँदै

    काठमाडौं । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते गर्ने तयारी गरेको जनाएको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर भरतपुर भ्रमण बर्षको बारेमा जानकारी गराउँदै करीव ५० हजार मानिसहरु उद्घाटन समारोहमा सहभागी हुने दावी गरेको छ । घुमौं भरतपुर भन्ने नाराका साथ शुभारम्भ गर्न लागिएको भ्रमण बर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने र उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्रीहरु, प्रदेश प्रमुखहरु, मुख्यमन्त्रीहरु, सांसदहरुसहितका विशिष्ट ब्यक्तिहरु उपस्थित हुने महानगरले जनाएको छ ।

    उद्घाटन समारोहमा राष्ट्रिय कलाकारहरू बद्री पंगेनी, राजु परियार, एलिना चौहान लगायतको प्रस्तुति रहनेछ भने, विभिन्न सांस्कृतिक झाँकीहरु प्रर्दशनी गरिने महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । महानगरपलिकाका २९ वटै वडाका वडाध्यक्षहरुको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न समाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुने नगर प्रमुख दाहालले जानकारी दिइन् ।

    भ्रमण बर्ष सफल बनाउन महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, सल्लाहकार समिती, विभिन्न ३० वटा उपसमितिहरु गठन गरिएको छ ।

    महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइ अवधि बृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले भ्रमण बर्ष आयोजना गरिएको जनाएको छ । भ्रमण बर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको नगर प्रमुख दाहालले बताइन् ।

    भरतपुर भ्रमण बर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा बर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुने महानगरका पर्यटन विज्ञ विश्व सुवेदीले बताए । भ्रमण बर्षमा करीव २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटकहरूले भरतपुर भ्रमण गर्ने अपेक्षा महानगरको छ । महानगरपालिकालका ७ बटा प्रमुख सहित २२ बटा पर्यटकीय गन्तब्यहरुको भ्रमण गर्न सकिने गरी प्रचारप्रसार गरिएको छ ।

    भरतपुरलाई चिनाउँदै यहाँ आर्थिक सम्भावनाको खोजी, लगानीको वातवरण निर्माण गर्न पनि भ्रमण बर्ष महत्वपूर्ण कोशेढुंगा हुने अपेक्षा राखिएको नगर प्रमुख दाहालले बताइन् । भ्रमण बर्षमा आउने पर्यटकलाई सेवा प्रदान गर्न महानगरपालिका भित्र होटलहरुमा ७ हजार ५ सय र सौराहादेखि गैंडाकोटसम्म १५ हजार वेड तयारी अवस्थामा राखिएको पर्यटन विज्ञ सुवेदीले बताए । भ्रमण बर्षमा आउने पाहुनाहरुलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा घोषणा गरेका छन् र यो क्रम जारी नै छ ।

    भ्रमण बर्ष भरी सञ्चालन गरिने विविध गतिविधीहरुले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको पर्यटन विज्ञ सुवेदीले बताए ।

    भ्रमण बर्ष अवधिभरि अन्तर्राष्ट्रिय सफारी मार्ट, जङ्गल फेस्टिबल, युवा सम्मेलन, अन्तर्राष्ट्रिय लगानी सम्मेलन, साहित्य कार्यक्रम, हेरिटेज, म्याराथन, सेमिनारहरूको आयोजना, राजदूत, लेखक, ब्लगरहरूको भ्रमण, ट्राभल एजेन्सी, टुर अपरेटरहरूको सम्मेलन, विज्ञ समूह सहितको कार्यशाला गोष्ठी, खेलकूद प्रतियोगिताहरू, पर्यटन तथा वातावरणसँग सम्बद्ध दिवसहरू, जातीय सांस्कृतिक कार्यक्रम, फुड फेस्टवल जस्ता क्रियाकलापहरु सञ्चालन हुने पर्यटन विज्ञ सुवेदीले बताए ।