Category: घूमघाम

  • गोसाइँकुण्डको जमेको पानीमाथि किन लगाइयो हिड्न प्रतिवन्ध

    गोसाइँकुण्डको जमेको पानीमाथि किन लगाइयो हिड्न प्रतिवन्ध

    काठमाडौं । रसुवाको गोसाइँकुण्डलगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ। पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका तालतलैयमामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताए ।

    पवित्र धार्मिकस्थलका रुपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यस किसिमको कदम चाल्नुपरेको सो पालिकाले स्पष्ट गरेको छ । विशेषगरी मङ्सिर, पुस र माघ महिनामा गोसाइँकुण्ड तलाउ जमेको मौका छोपी धार्मिक महत्वको पवित्र कुण्डमाथि हिँड्नेक्रम बढ्न थालेपछि स्थानीय होटल व्यवसायी समेतको अनुरोधमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ ।

    स्थलगत पैदलयात्रा तथा हेलिकोप्टरबाट गोसाइँकुण्ड क्षेत्र पुग्ने अधिकांश भक्तजन जमेको पानीमाथि हिँडी नाचेर फोटो खिच्ने थालेपछि धार्मिक आस्था जोगाउन र सम्भावित दुर्घटनाबाट बचाउन सर्वसाधारणको ध्यानाकर्षण गरिएको स्थानीयको भनाइ छ । पण्डित तथा पुरोतिहरूले देवताका पनि देवता महादेव भगवान् शिव विराजमान रहेको स्थानमा पुण्य कमाउन जाने भक्तजनसहित अन्य सर्वसाधारण कुण्डमाथि हिँड्नु धार्मिक दृष्टिले शुभकार्य नरहेको उल्लेख गर्दै जानअन्जानमा यसरी कुण्डमाथि हिँडिसकेकाले घर नजिकको जलाशयमा गई महादेवको प्रतीक स्थापना गरेर क्षमापूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताए ।

    एकातर्फ जमेको बरफ फुटेमा मानिस पानीमा फस्नसक्ने डर र अर्कोतर्फ बरफमुनि गोसाइँकुण्ड शिवजी रहेकाले सो कुण्डमाथि टेक्दा महापाप लाग्ने समेत स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान तथा पूजाआजाका लागि बाह्रै महिना भक्तजन पुग्ने गर्दछन्।

  • गौतमबुद्ध विमानस्थलमा बढ्यो चहलपहल

    गौतमबुद्ध विमानस्थलमा बढ्यो चहलपहल

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार ४ सय ५२ यात्रुले सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार बिहीबार जजिरा एयरवेजबाट १ सय २ यात्रु भैरहवा आएका छन् भने सोही जहाजमा १ सय ४९ जना उडेका छन् । त्यस्तै थाई एयर एसियाबाट १ सय २८ यात्रु उडेको उनले बताए ।

    दुबईबाट आएको फ्लाइ दुबईबाट ४४ यात्रु भैरहवा अवतरण गरेका छन् भने २९ जना भैरहवाबाट उडेका छन् । महानिर्देशक तिवारीले यो विमानस्थलमा पुनः उडानले गति लिन थालेको समेत बताए । यो विमानस्थलमा हिउँदमा भने धेरै उडान कटौती भएका थिए । प्रतिकूल मौसमले कम भिजिबिलिटी हुँदा उडान नियमित हुन नसकेका हुन् ।

  • पाथिभरामा केवलकार बनाउने विषयमा उत्पन्न विवादमा वार्ता गर्न टोली गठन

    पाथिभरामा केवलकार बनाउने विषयमा उत्पन्न विवादमा वार्ता गर्न टोली गठन

    काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।

    टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने उल्लेख छ । साथै मन्त्रालयले आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग अपिल गरेको छ ।

  • भ्रमणको उद्देश्यले वर्षमा पौने तीन लाख नेपाली विदेश उडे

    भ्रमणको उद्देश्यले वर्षमा पौने तीन लाख नेपाली विदेश उडे

    काठमाडौं । एक वर्षमा भ्रमणका लागि विदेशिने नेपालीको संख्या पनि झण्डै तीन लाख नजिक पुगेको छ । अध्यागमन विभागका अनुसार सन् २०२४ मा विदेश घुमफिरमा २ लाख ७४ हजार ४२८ जना नेपाली गएका छन् । जसमध्ये १ लाख ५९ हजार ४३ पुरुष र १ लाख १५ हजार ३५६ जना महिला छन् ।

    यो अघिल्लो वर्ष सन् २०२३ को तुलनामा धेरै हो । सो वर्ष २ लाख ४ हजार ५१८ जना नेपाली विदेश घुमफिरमा गएका थिए । सन् २०२४ मा कुल १७ लाख ७४ हजार २२५ जना नेपाली नागरिक विभिन्न प्रयोजनमा विदेश गएका छन् । विभागले सन् २०२३ बाट प्रयोजनगत रूपमा नेपालीहरुको विदेश यात्राबारे विवरण सार्वजनिक गर्न थालेको हो ।


    नेपालीको प्रमुख गन्तब्य भारत र थाइल्याण्ड छन् । यसबाहेक खाडीमुलुकहरु समेत रहेका छन् । मलेसिया, इण्डोनेसिया, भियतनाम र श्रीलंकामा पनि नेपालीको जाने क्रम बढेको पाइन्छ । एक वर्षको अवधिमा बिजनेस प्रयोजनमा भने २० हजार १०१ जना नेपाली विदेश उडेको पाइएको छ । जसमा १७ हजार ४०५ पुरुष र २ हजार ६९५ महिला छन् । यो संख्या गत वर्षको तुलनामा बढी हो ।

    सन् २०२३ मा १८ हजार ९६४ जना बिजनेस प्रयोजनमा विदेश यात्रा गरेका थिए । सन् २०२४ मा विभिन्न तालिम, सेमिनार र सम्मेलनमा भाग लिन भने २४ हजार २६२ नेपाली विदेश उडेको पाइएको छ । जसमा १७ हजार १६६ पुरुष र ७ हजार ८९ महिला छन् । यो अवधिमा आधिकारिक भ्रमणमा विदेश उड्नेहरू भने १३ हजार २९३ जना छन् । जसमा १० हजार १०१ पुरुष र ३ हजार १९१ महिला रहेको तथ्यांकमा देखिन्छ ।

    आधिकारिक भ्रमणमा विदेश जानेको संख्या यसवर्ष केही कम भएको छ । सन् २०२३ मा १६ हजार १११ यस्तो प्रयोजनमा विदेश उडेका थिए । पर्यटनसहित सेवा क्षेत्रको आय पछिल्लो समय ऋणात्मक देखिन्छ । नेपालमा आउने पर्यटकभन्दा नेपालीले विदेश भ्रमणमा बढी खर्च गर्दा सो देखिने गर्छ । सन् २०२४ मा विदेशबाट नेपाल भ्रमणमा आएका पर्यटकको संख्या भने साढे ११ लाख हाराहारी रहेको छ ।

  • पोखरा र भैरहवाबाट विदेश उड्दा विमानस्थल सेवा शुल्क नलाग्ने, ३ हजार भाडा घट्ने

    पोखरा र भैरहवाबाट विदेश उड्दा विमानस्थल सेवा शुल्क नलाग्ने, ३ हजार भाडा घट्ने

    काठमाडौं । सरकारले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान टिकटमा समावेश हुँदै आएको विमानस्थल सेवा शुल्क खारेज गरेको छ । यस्तो शुल्क प्रतियात्रु ३ हजार रुपैयाँ बराबर छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार भदौ २०८३ सम्मका लागि विमानस्थल सेवा शुल्क पूर्णरूपमा छुट दिने निर्णय भएको हो ।

    योसँगै यी विमानस्थलबाट हुने उडानमा अब प्रतिटिकट कम्तीमा ३ हजार रुपैयाँ घट्ने छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्कबापत प्रतिटिकट ३ हजार बराबर शुल्क लगाउँदै आएको छ। यो शुल्क काठमाडौं विमानस्थलबाट विदेश उड्नेका हकमा भने यथावत छ । सरकारले नयाँ विमानस्थलमा वायुसेवा कम्पनी र यात्रु आकर्षित गर्न यस्तो निर्णय गरेको जनाएको छ ।

  • नेपाल भित्रियो ‘मेगाट्रोल’, द क्लिफमा सञ्चालनमा आउने

    नेपाल भित्रियो ‘मेगाट्रोल’, द क्लिफमा सञ्चालनमा आउने

    काठमाडौं । साहसिक पर्यटनका लागि प्रख्यात कुश्मास्थित द क्लिफमा अब विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने भएको छ । मेगाट्रोल एक साहसिक गतिविधि हो । जसले जिपलाइन र रोलरकोस्टरको ‘ब्लेन्डेड’ अनुभव दिन्छ । २ सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १ हजार २ सय २८ मिटर छ । यसमा एक पटकमा तीन जनासम्म खेल्न सकिने कम्पनीले जनाएको छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ ।

    द क्लिफले विश्वकै दोस्रो अग्लो बन्जी जम्प, स्विङ, स्काई साइक्लिङ लगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्ट समेत चलाइरहेको छ । अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागिएको अध्यक्ष कार्कीले बताए । एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल करिब दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको उनले जानकारी दिए । अहिले यसको परीक्षणको काम जारी छ । उनका अनुसार कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिन्छ ।

  • फ्लाई दुबईले भैरहवामा २९ पुसबाट पुनः उडान थाल्ने

    फ्लाई दुबईले भैरहवामा २९ पुसबाट पुनः उडान थाल्ने

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको फ्लाई दुबईले २९ पुसदेखि पुनः उडान थाल्ने भएको छ । विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार १५ डिसेम्बरदेखि फ्लाई दुबईले यहाँ उडान रोकेको थियो । बाक्लो हुस्सुका कारण विमानस्थलमा नियमित उडान प्रभावित बनेको छ ।

    एक महिनाका लागि स्थगित उडान १५ जनवरी ९२९ पुस० देखि पुनः थाल्ने तिवारीले बताए । गौतमबुद्ध विमानस्थलमा एकसाथ आधा दर्जन कम्पनीले उडान थालेका थिए । तर, हिउँदयाम लागेसँगै उनीहरूले उडान रोकेका छन् ।

  • यात्रुले फेरि खोले जहाजको ‘इमर्जेन्सी’ ढोका, अब १ लाख जरिवाना तिराइने

    यात्रुले फेरि खोले जहाजको ‘इमर्जेन्सी’ ढोका, अब १ लाख जरिवाना तिराइने

    काठमाडौं । बुधबार पोखराबाट काठमाडौंका लागि उड्ने क्रममा बुद्ध एयरको जहाजमा यात्रारत एक यात्रुले आपतकालीन ९इमर्जेन्सी० ढोका खोलेका छन् ।
    उडान नम्बर ६१८ को उडान तयारी क्रममा ती यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेको कम्पनीले जनाएको छ । प्राविधिक टोलीको परीक्षणपछि करिब ३ घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौंका लागि उक्त जहाज उडाइएको थियो ।

    यसअघि १० अक्टोबरका दिन काठमाडौंबाट जनकपुरका लागि बिहान ६ः०५ मा उडेको बुद्ध एयरकै जहाज जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । जनकपुरको मौसम सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेका थिए ।

    उक्त घटनापछि चालक दलले जहाज पार्किङ–वेमै फर्काएका थिए । जहाजको प्राविधिक जाँचका लागि काठमाडौंबाट टेक्निकल टिम गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजेमात्र जहाज जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका प्रभावित बनेको थियो । अनाहकमा इमर्जेन्सी ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाउने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने सर्तमा १ लाख जरिवाना तिराइएको बुद्ध एयरले जनाएको छ ।

    इमर्जेन्सी ढोका प्रयोगबारे वायुसेवा कम्पनीका परिचारिकाले उडानअघि विस्तृत रूपमा यात्रुलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थामा बाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ । हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।

    बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ । वायुसेवा कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउन सक्ने प्रावधान छ । बुद्धले अनाकहमा इमर्जेन्सी ढोका खोल्ने यात्रुबाट अब क्षतिपूर्ति रकम १ लाख रुपैयाँ तिराइ सोही गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने जनाएको छ ।


    माथिका दुई घटनामा तिराइएको क्षतिपूर्ति जनकपुरमा महागंगा आरती–गंगासागर र पोखरामा वृद्धाश्रमलाई हस्तान्तरण गरिएको बुद्ध एयरले जनाएको छ ।

  • अन्नपूर्ण पदयात्रामा अहिलेसम्मकै धेरै पर्यटक

    अन्नपूर्ण पदयात्रामा अहिलेसम्मकै धेरै पर्यटक

    काठमाडौं । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो ।

    यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए।

    गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले बताए । ‘अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ’, उनले भने, ‘गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका छन्।’ अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।

    अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ।

    कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।
    रासस

  • नेपालमा आउने पर्यटकमध्ये अमेरिकी दोस्रो स्थानमा

    नेपालमा आउने पर्यटकमध्ये अमेरिकी दोस्रो स्थानमा

    काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ११ लाख ४७ हजार ५६७ जना पर्यटक भित्रिएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ । नेपाल आउने पर्यटकको सूचीको पहिलो नम्बरमा भारतीय छन् । भारतबाट ३ लाख १७ हजार ७ सय ७२ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा रहेको अमेरिकाबाट १ लाख ११ हजार २१६ पर्यटक आएका छन् ।

    चीनबाट १ लाख १ हजार ८७९ जना पर्यटक आएको तथ्यांक छ । नेपालमा वार्षिक १० लाख पर्यटक आगमन २०१९ मै नाघेको हो । त्यसपछिका दुई वर्ष २०२० र २०२१ कोभिड महामारीले प्रभावित भयो । त्यसपछि संसारभरि तीव्र गतिले आगमन सुधार भए पनि नेपालको गति सुस्त भयो । जुन गति २०२४ मा समेत विस्तार हुन सकेन ।२०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए । २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ र २०२३ मा १० लाख १४ हजार ८ सय ८२ आएको तथ्यांकमा छ ।

  • बन्दिपुर भ्रमण वर्ष २०२५ घोषणा

    बन्दिपुर भ्रमण वर्ष २०२५ घोषणा

    काठमाडौं । पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ ।
    पर्यटन प्रवर्द्धन मार्फत बन्दीपुरमा नयाँ पर्यटन गन्तव्य पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरिएको काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

    भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय समेत गठन गरेको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार सचिवालयमा होटल संघ, रेस्टुरेन्ट तथा बार एसोसिएसन ९रेबान० पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघ लगायतको प्रतिनिधित्व छ ।

    ‘प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण एव विकास गर्दै जिम्मेवार पर्यटन क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमन संख्या वार्षिक २ लाख पुर्‍याउने उद्देश्य सहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो,’ अध्यक्ष थापाले भने । सचिवालय संयोजक गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटक संख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ ।

    ‘भ्रमण वर्षमा वार्षिक १ लाख आन्तरिक र १ लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाएका छौं,’ उनले भने, ‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक ८ लाख पर्यटक बन्दीपुर ल्याउने लक्ष्य छ ।’

    गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ ३ दिन पु¥याइने छ । साथै, विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक ३ हजार रुपैयाँ पुर्‍याइने छ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार होमस्टे (घरबास) साथै समग्र गाउँपालिकामा १ सय २० होटल र १२ होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक १ हजार ७ सय अट्ने क्षमता छ । यसका लागि आवश्यक पूर्वाधार निर्माण, नयाँ गन्तव्य पहिचान, विकास र प्रवर्द्धन गरिने छ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सिर्जना, होटल तथा रेस्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ ।

    ‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किट प्रवर्द्धन गरिने छ भने विद्यमान पर्यटन केन्द्र र उपजका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्य पहिचान, विकास र प्रवर्द्धन गरिने छ,’ उनले भने । भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षण सहित याम अनुसार प्याकेज तयार गरिने छ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटन सर्किट प्रवर्द्धन हुने अपेक्षा रहेको पर्यटन विज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले बताए ।

    भ्रमण वर्षमा पर्यटक आकर्षित गर्न पर्यटकको उमेर र रुचि अनुसार प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔं गाउँमै रमाऔं’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाको लक्ष्य छ । भ्रमण वर्ष सफल पार्न कूल ४ करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाबाट अपेक्षा गरिएको प्रतिबद्धता समेत राखिएको छ । साथै, नेपाल सरकारको बन्दीपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ ।

  • नेपाली कप्तान मगरको टीमले भारतमा जित्यो प्रो कबड्डी लिगको उपाधि

    नेपाली कप्तान मगरको टीमले भारतमा जित्यो प्रो कबड्डी लिगको उपाधि

    काठमाडौं । नेपाल राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान घनश्याम रोका मगरले भारतको प्रो कबड्डी लिगको उपाधि जितेका छन् । घनश्यामको टीम हरियाणा स्टिलर्सले आईतबार पटना पाईरेट्सलाई ३२–२३ ले पराजित गर्दै ११औं संस्करणको उपाधि जितेको हो ।

    विश्वकै चर्चित प्रो कबड्डी लिगको ११ औं सिजनका लागि नेपालका कप्तान घनश्यामलाई स्टिलर्सले रिटेन गरेको थियो । उनले यस सिजन २ खेल खेल्दै ३ अंक जोडे । फाइनलमा भने उनले खेलेनन् । घनश्यामले गत सिजन पनि हरियाणा स्टिलर्सबाटै खेलेका थिए । भारतले कबड्डी लीगमा ठूलो फड्को मारेको छ ।

  • कैलालीको चिसापानीमा केवलकार निर्माण सुरु

    कैलालीको चिसापानीमा केवलकार निर्माण सुरु

    काठमाडौं । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गरेकी छिन् ।

    शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् । परराष्ट्र मन्त्री डा. देउवाले भनिन्, “सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरु विकासप्रेमी पनि छन् । हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।”

    यस आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन सबैमा अपिल पनि मन्त्री डा. देउवाले गरेकी छिन् । उनले यो आयोजना समयमै सम्पन्न गर्न तथा आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर यो क्षेत्रमा पर्यटन लगायतका पूर्वाधारहरुमा बढी भन्दा बढी लगानी गर्न पनि आग्रह गरिन् ।

    “काठमाडौँको चन्द्रागिरि देखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरु निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरुको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार प्रोजेक्ट समयमै सम्पन्न होस् भनी कामना गर्दछु,” उनले भनिन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आज निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए ।

    उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे । “सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधारहरु निकै कम छन् । यस्ता पूर्वाधारका थप आयोजनाहरु लिएर हाम्रो क्षेत्रमा आउनुहोस् । हामी तपाईहरुलाई स्वागत गर्दछौँ,” उनले भने । उनले वन विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गरे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने बताए ।


    उनले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हर सम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढी भन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरुलाई आग्रह पनि गरे । जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको बताए । उनले भने, “पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ ।”


    उनले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुने बताए । अध्यक्ष ढकालले केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाइ जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए । यसको शिलान्यास र अवको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दलहरु र नेपाल सरकारका निकायहरुको सहयोग अन्य केवकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।


    लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।

  • हुम्लासहित कर्णालीमा हिमपात

    हुम्लासहित कर्णालीमा हिमपात

    काठमाडौं । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो। शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए। यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ।

    यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ। शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ। हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ। हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।

  • हुम्लामा हिमपातले जनजीवन प्रभावित

    हुम्लामा हिमपातले जनजीवन प्रभावित

    काठमाडौं । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा पनि हिमपात भएको जानकारी दिए । सदरमुकामा दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।

    चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

    (राससबाट)

  • पोखरामा हट एयर बलुन महोत्सव आजबाट

    पोखरामा हट एयर बलुन महोत्सव आजबाट

    काठमाडौं । पर्यटकीय नगरी पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक महोत्सव आयोजना गरेको हो । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने छ । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । यो महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

    ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने छ । महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ । महोत्सव अवधिभरि पोखराका स्थानीय सांगीतिक ब्यान्डका साथै दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि हुनेछन् ।

    नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा करिज्म्याटिक डिजिटल सोलुसनले महोत्सव व्यवस्थापन गरेको छ । महोत्सवको संयुक्त आयोजकमा पोखरा पर्यटन परिषद् पनि छ । कार्यक्रमको ब्रान्ड एम्बेसडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।

  • पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’, नेपालसहित ५० देशमा एकसाथ आयोजना

    पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’, नेपालसहित ५० देशमा एकसाथ आयोजना

    काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’ आयोजना हुने भएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल हुन लागेको हो । १४ देखि १५ पुस ९२९–३० डिसेम्बर २०२४० सम्म आयोजना हुन लागेको ड्रागन बोट फेस्टिभलमा नेपालका ११, चीन ८ र सिंगापुरका एक गरी २० समूह सहभागी हुने आयोजकले जनाएको छ ।

    २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ ।

    ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक २०२३ मा ड्रागन बोट फेस्टिभल सफलतापूर्वक आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० देशमा आयोजना गर्ने गरेको छ । प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाका साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा छ ।

    चिनियाँले मनाउने यस पर्वलाई २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेन्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेस्टिभल आयोजना हुन्छ ।

    चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा छ । यो चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिन्छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यो चाड मनाउँछन् । चिनियाँ भाषामा ‘डुआन्यु जी’ भनिने ड्रागन बोट फेस्टिभल चीनका चार ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिका रूपमा लिइन्छ ।

    चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि हो । २०१९ मा चीनबाट १ लाख ६९ हजार ५ सय ३४ र २०२३ मा ६० हजार ८ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०२४ जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८ सय ४८ चिनीयाँ पर्यटक नेपाल आएका थिए ।

  • उड्डयन प्राधिकरण टुक्राउने विधेयक संसदमा प्रस्तुत गर्न स्वीकृति

    उड्डयन प्राधिकरण टुक्राउने विधेयक संसदमा प्रस्तुत गर्न स्वीकृति

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा विभाजन गर्ने दुई विधेयक संघीय संसदमा पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार ५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

    योसँगै अब नेपाल हवाई सेवा प्राधिकरण स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्राप्त भएको छ । यसैगरी नेपाल नागरिक उड्डयनसँग सम्बन्धित कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ समेत संघीय संसदमा पेस गर्न स्वीकृति प्राप्त भएको छ ।

    प्राधिकरणलाई नियमनकारी र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै संस्था बनाउने सम्बन्धमा लामो समयदेखि बहस जारी छ । अन्तर्राष्ट्रिय नियामक निकायबाट समेत यस सम्बन्धमा चासो व्यक्त हुने गरेको छ । तर, प्राधिकरण नेतृत्व र अधिकतम कर्मचारी भने यसको विरोधमा रहँदा सरकारले घोषणा अनुसार काम गर्न सकेको छैन ।

  • पर्यटक आगमन १० लाख नाघ्यो

    पर्यटक आगमन १० लाख नाघ्यो

    १६ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटक संख्या १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डका अनुसारसन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले कम हो । त्यसबेला २४ हजार ४ सय ४३ जना आएका थिए ।
    प्रमुख बजार अमेरिकाबाट १० हजार ९ सय ८१ आएका छन्, तर यो पनि गत वर्ष नोभेम्बरको दाँजोमा ४.२ प्रतिशतले कम हो । बेलायतबाट ६ हजार ६ सय ११ आएका छन् । चीनबाट ९ हजार ४ सय ५८ आएका छन् । चिनियाँ गत वर्ष नोभेम्बरको तुलनामा साढे २४ प्रतिशतले बढेका हुन् ।
    त्यस्तै अस्ट्रेलियाबाट ४ हजार ८ सय २९ जना आएका छन् । यो गत वर्ष सोही अवधिको दाँजोमा साढे ४ प्रतिशतले कम हो । गत नोभेम्बरमा बंगलादेशबाट ५ हजार १ सय ४८ र श्रीलंकाबाट ४ हजार ३ सय ९५ जना आएका थिए ।
    बोर्डका अनुसार गत नोभेम्बरमा सार्क राष्ट्रबाट ३१ हजार १ सय ६७, अन्य एसियाली देशबाट २४ हजार ८ सय ९७, युरोपबाट २६ हजार १ सय ५५ र मध्यपूर्वबाट १ हजार ४ सय ८८ पर्यटक नेपाल आइपुगेका थिए । २०२३ नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० आएका थिए । २०२४ नोभेम्बरमा ५.४ प्रतिशतले बढेका छन् ।
    २०२४ जनवरीमा ७९ हजार १ सय, फेब्रुअरी ९७ हजार ४ सय २६, मार्च १ लाख २८ हजार १ सय ६७, अप्रिल १ लाख ११ हजार ३ सय ७६, मे ९० हजार २ सय ११, जुन ७६ हजार ७ सय ३६, जुलाई ६४ हजार ५ सय ९९, अगस्ट ७२ हजार ७ सय १९, सेप्टेम्बर ९६ हजार ३ सय ५ र अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

  • नेपाल एयरलाइन्सले माथिल्लो दरको टिकट नबेच्ने

    नेपाल एयरलाइन्सले माथिल्लो दरको टिकट नबेच्ने

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इकोनोमी क्लासको माथिल्लो भाडा दरका टिकट नबच्ने घोषणा गरेको छ । निगमले आइतबार विज्ञप्ति जारी गरी आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरका उडानमा इकोनामी क्लातर्फ माथिल्लो भाडा दरका टिकट नबेच्ने घोषणा गरेको हो ।

    ‘हामीले इकोनोमी क्लासमा माथिल्लो भाडा दरका टिकट नबेची त्यसभन्दा तलको भाडा दरमा मात्र टिकट बेच्ने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘यसबाट यात्रुलाई सहज हुने विश्वास छ ।’ निगमले उपलब्ध गराएको भाडा दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइए नियमानुसार कडा कारबाही गर्न सप्रमाण जानकारी गराउन आग्रह गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३ कात्तिकदेखि विभिन्न निर्माणका काम जारी रहेका कारण दैनिक १० घण्टा उडान बन्द हुँदै आएको छ । यही मौकामा हवाई टिकटमा ठगी र कालोबजारी भइरहेको गुनासो यात्रुबाट आएपछि सरकारले सबै अन्तर्राष्ट्रिय वायुसेवालाई हवाई भाडा पुनरावलोकन गर्न आग्रह गर्दै आएको छ ।

  • भारतीय सेनाध्यक्षले गरे मुक्तिनाथमा पूजाअर्चना

    भारतीय सेनाध्यक्षले गरे मुक्तिनाथमा पूजाअर्चना

    काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । मुस्ताङमा रहेको मुक्तिनाथमा उनले पूजाअर्चनासमेत गरे । त्यस्तै द्विवेदीले आजै पोखरामा रहेको पश्चिम पृतना हेडक्वार्टरको पनि भ्रमण गरेका छन् । उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत गरेका थिए ।

  • आजबाट धराहरा चढ्न शूल्क लाग्ने, कसलाई कति ?

    आजबाट धराहरा चढ्न शूल्क लाग्ने, कसलाई कति ?

    काठमाडौं । आजबाट धरहरा चढ्दा र पार्किङ गर्दा पैसा लाग्ने भएको छ । यसअघि संविधान दिवसका दिन देखि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्ने छ ।

    विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको थियो । शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो ।

    त्यस्तै धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशमात्रै गर्नेहरुलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।

  • विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट

    विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट


    काठमाडौं । विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि परिक्षणका रूपमा निशुल्क धरहरा खुला गरिएकाे थियाे । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएकाे हाे । प्रतिव्यक्ति २ सय रूपैया शुल्क ताेकिएकाे छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने साे रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएकाे छ ।
    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहिबार बसेकाे मन्त्रीपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ।
    सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १हजार रुपैयाँ शुल्क तोकिएको छ।
    त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ।
    त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा १ हजार रुपैयाँ तोकिएको छ।

  • हिमालय एयरलाइन्सले माथिल्लो तहको भाडा नलिने

    हिमालय एयरलाइन्सले माथिल्लो तहको भाडा नलिने

    काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने घोषणा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मका उडानमा उच्च हवाई भाडा लिएको गुनासोप्रति ध्यानाकर्षण भएको भन्दै हिमालयले उच्चतम श्रेणीको भाडादरमा टिकट नबेच्ने घोषणा शुक्रबार गरेको हो ।

    कम्पनीका अनुसार ‘वाई’ क्लास भाडा नर्मल इकोनोमी क्लासकोे उच्चतम श्रेणीको भाडादर हो । यात्रुलाई सहज भाडादर उपलब्ध गराउन ६ मंसिरदेखि उच्चतम श्रेणीको भाडादरमा टिकट नबेच्ने निर्णय भएको हो । हिमालयले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न तथा विदेश यात्रा गर्ने सर्वसाधारणका लागि उचित भाडा उपलब्ध गराउन आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडादर कायम गरेको जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन तथा नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एयरलाइन्सको सहमतिमा २५ कात्तिकदेखि अर्को सूचना जारी नहुन्जेल सबै ‘ग्रुप टीबीए’ (सामूहिक खरिद) बुकिङ निलम्बन गरिसकिएको छ । हिमालयले सबै ट्राभल एजेन्सीलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गरिसकेको जनाएको छ । त्यस्तै ट्राभल एजेन्सीलाइ सातामा कम्तीमा दुई पटक इमेल पठाइरहेको र कसैले कालोबजारी गरेको भेटिए कानुनी कारबाही गरिने कम्पनीको भनाइ छ ।

  • नेपाल एयरलाइन्सले घटायो टिकट मूल्य

    नेपाल एयरलाइन्सले घटायो टिकट मूल्य

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन थालेको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो । निगमले बिहीबार विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन विशेष निर्देशन दिएपछि सबै सेक्टरमा भाडादरमा छुट दिन थालिएको निगमको भनाइ छ ।

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि हवाई भाडा अत्यधिक बढेको गुनासोपछि भाडामा छुट दिइएको हो,’ पौडेलले भने, ‘निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइए कडा कारबाहीका लागि सप्रमाण जानकारी गराउन आग्रह गर्छौं ।’

    निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ देखि २२ नोभेम्बर २०२४ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।

  • नेपालीले तीन महिनामा विदेश घुमफिरमा गरे साढे २३ अर्ब खर्च

    नेपालीले तीन महिनामा विदेश घुमफिरमा गरे साढे २३ अर्ब खर्च

    काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गर्ने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

    यसमध्ये शिक्षामा ३२ अर्ब १८ करोड रुपैयाँ विदेशिएको हो । बाँकी रकम नेपालीले घुमफिर प्रयोजनमा विदेश लगेका हुन् । जुन २३ अर्ब ६० करोड रुपैयाँ देखिन्छ । यस अवधिमा भ्रमण आय १७ अर्ब ७२ करोड रुपैयाँ छ । अर्थात्, यो विदेशी नागरिकले नेपालमा गरेको खर्च हो ।

    यस प्रकार तीन महिनामा विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्चमाथि रहेको देखिएको छ । राष्ट्र बैंकका अनुसार तीन महिनामा भ्रमण आय सामान्य मात्र बढेको छ । अघिल्लो आव पहिलो तीन महिनामा भ्रमण आय १७ अर्ब १३ करोड थियो । भ्रमण व्यय भने उकालो लागेको छ । अघिल्लो वर्ष यसै अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रुपैयाँमात्र थियो । जसमध्ये शिक्षामा ३२ अर्ब ९२ करोड विदेशिएको थियो । शिक्षामा विदेशिने रकम अघिल्लो आवको तुलनामा केही घटेको देखिन्छ ।

  • कतार एयरवेजले थाल्यो भैरहवामा नियमित उडान

    कतार एयरवेजले थाल्यो भैरहवामा नियमित उडान

    काठमाडौं । कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ । मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार यो जहाजमा ३३ यात्रुमध्ये एक जना भैरहवा झरेका छन् भने बाँकी ३२ जना काठमाडौं आउने छन् । योसँगै कतार एयरवेजले दोहा–भैरहवा–काठमाडौं रुटमा दैनिक उडान सुरुवात गरेको हो ।

  • कतार एयरवेजले पनि अब भैरहवामा दैनिक उडान गर्ने

    कतार एयरवेजले पनि अब भैरहवामा दैनिक उडान गर्ने

    काठमाडौं । कतार एयरवेजले मंगलबारदेखि दोहाबाट भैरहवामा दैनिक उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको छ ।

    दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ । भैरहवामा उडान गर्ने कतार अब पाँचौ कम्पनी बनेको छ । यसअघि नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।

  • यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

    यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

    काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे तोकिएको छ । यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरिएको यती एयरलाइन्सले जानकारी दिएको छ । यो रुटमा यसअघि बुद्ध एयरले नियमित उडान गर्दै आएको छ ।

  • फ्लाइ दुबईले भैरहवाबाट थाल्यो दैनिक उडान

    फ्लाइ दुबईले भैरहवाबाट थाल्यो दैनिक उडान

    काठमाडौं । फ्लाइ दुबईले भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान थालेको छ । कम्पनीको जहाज शनिबार अपरान्ह यो विमानस्थलमा अवतरण गरेको छ । शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज अवतरण भएको हो । दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा अवतरण गरेको थियो ।

    यस उडानबाट आएका १० यात्रु भैरहवामा ओर्लिएका छन् । बाँकी १४९ जना यात्रु लिएर यो जहाज अब काठमाडौं आएका छन् । भैरहवाबाट शनिबार राति नै नेपाल वायु सेवा निगमले पनि उडान गर्दैछ । फ्लाई दुबईले अब भैरहवामा दुबईबाट नियमित दैनिक एक उडान गर्ने भएको छ ।