Category: घूमघाम

  • पोखराको हट एयर बलुन सेप्टेम्बरबाट पुनः सञ्चालनमा आउँदै

    पोखराको हट एयर बलुन सेप्टेम्बरबाट पुनः सञ्चालनमा आउँदै

    काठमाडौं । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो ।

    बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्‍कोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

    विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुई वटा बेलुन उडाउने भएको छ । एक अमेरिकी र एक भियतनामी पाइलटले बेलुन उडाउने भएका छन् ।

    पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बादेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइने भएको छ । बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुने बादेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बेलुनमा उड्न सक्नेछन् ।

    हट एयर बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ । उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्म्को दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र समेत दिइन्छ । नेपाली पर्यटकले रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।

  • काठमाडौं विमानस्थलबाट २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

    काठमाडौं विमानस्थलबाट २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

    काठमाडौं । यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा २५ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । जनवरी २०२३ देखि जुलाई २०२३ सम्म २५ लाख १२ हजार ८१० जना हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन् । ७ महिनामा १३ लाख ६८ हजार ३३७ जना यात्रु नेपालबाट विदेश उडेका छन् । ११ लाख ४४ हजार ४७३ जना यात्रु नेपाल आएका छन् ।

    यो अवधिमा कुल १७ हजार ६२५ वटा उडानरअवतरण भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ८ हजार ८१३ वटा उडान भएका छन् । ८ हजार ८१२ वटा अवतरण यो अवधिमा भएको कार्यालयले जनाएको छ । यो अवधिमा १३ हजार ५३ टन कार्गो हवाईमार्गबाट ओसार–पसार भएको छ । ६ हजार ४१२ टन सामान नेपालबाट विदेश गएको छ । ६ हजार ६४१ टन कार्गो नेपाल भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्‍क छ ।

  • एक महिनामा अमेरिकाबाट आए ५ हजार ५६१ जना पर्यटक

    एक महिनामा अमेरिकाबाट आए ५ हजार ५६१ जना पर्यटक

    काठमाडौं । नेपालमा एक महिनाको अवधिमा ५ हजार ५६१ जना अमेरिकी पर्यटक भ्रमणमा आएका छन् । यो संख्या देश अनुसार तेस्रो हो । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२३ मा कुल ५७ हजार ७२६ जना पर्यटक नेपाल आएका छन् । त्यसमध्ये भारतीय मात्र २१ हजार ३५७ जना आएका छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक छन् । उनीहरुको संख्या ५ हजार ५९३ जना छन् ।

    अमेरिकी पर्यटकको संख्या ५ हजार ५६१ जना रहेको बोर्डले जनाएको छ । जुलाई २०२३ मा सार्क मुलुकबाट मात्र कुल पर्यटकको ५० प्रतिशत हाराहारी पर्यटक आगमन भएको तथ्यांकमा देखिएको छ । भारतबाट २१ हजार ३५७, बंगलादेशबाट २६ सय ९६ जना, भुटानबाट ८०७ जना, श्रीलंकाबाट ४८४ जना र पाकिस्तानबाट ३७२ जना पर्यटक यो महिनामा नेपाल भ्रमणमा आएका छन् ।

    एसियाका अन्य मुलुकमध्ये चीनपछि दक्षिण कोरियाबाट १३ सय ७५ जना पर्यटक आएका छन् । युरोपेली मुलुकमध्ये सबैभन्दा धेरै ३ हजार ६३० जना बेलायती पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट १ हजार १०२ जना नेपाल आउँदा क्यानडाबाट ६५३ जना नेपाल आएको तथ्यांक छ ।

    नेपालमा पछिल्लो सात महिनामा ५ लाख ३४ हजार २०७ जना पर्यटक आएका छन् । जुलाई २०२३ मा आएका ५७ हजार ७२६ पर्यटकसमेत जनवरीदेखि जुलाईसम्म यो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस जुलाईमा कोभिड–१९ भन्दा अगाडिकै हाराहारीमा पर्यटक आगमन भएको छ ।

    बोर्डका निर्देशक लामिछानेका अनुसार सन् २०१९ को जुलाईमा ५८ हजार ८११ जना पर्यटक नेपाल आएका थिए । त्यसयताका वर्षहरुलाई भने कोभिड–१९ ले नराम्रोसँग प्रभावित बनाएको थियो ।

  • बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध

    बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध

    काठमाडौं, १९ असार । बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध गरिएको छ । काठमाडौं महानगरपालिकालका मेयर बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन् । काठमाडौंको पहिचान नै यहाँका सम्पदा भएको भन्दै उनले विश्वलाई सानसँग देखाउन सक्ने यस्ता सम्पदामा अब सवारी साधन रोकिने जनाएका हुन् ।

    हजारौं पर्यटकले घुमफिर गर्ने यी क्षेत्रको मौलिकता, सौन्दर्य र परिसरको शान्त वातावरण कायम राख्न यस्तो निर्णय लिइएको उनले बताएका छन् । यस क्षेत्रमा सवारी साधन रोक्न माग भएपनि सरकारले निर्णय लिन सकेको थिएन ।

  • भैरहवामा खुल्यो नयाँ पाँचतारे होटल सिद्धार्थ भिलासा

    भैरहवामा खुल्यो नयाँ पाँचतारे होटल सिद्धार्थ भिलासा

    काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे होटल भैरहवामा सञ्चालनमा ल्याएको छ। २५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामिणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा पाँचतारे होटलसम्म आइपुगेको हो ।

    यसअघि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको यो ग्रुपले भैरहवामा पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो । भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा फैलिएको यो होटलमा सिद्धार्थले साढे २ अर्ब रुपैयाँ लगानी गरेको छ । सिद्धार्थ भिलासा लुम्बिनी प्रदेशको तेस्रो पाँच तारे होटल समेत बनेको छ ।

    होटलमा डिलक्स एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा छन् । ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेका अनुसार होटलमा क्यासिनोको समेत सुविधा छ । यहाँ नेपालकै ठूला सभा हल, ३ वटा सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट, स्वीमिङ पुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्ट सहितका पूर्वाधार रहेको ग्रुपका सीईओ कृष्ण न्यौपानेले जानकारी दिए ।

    क्यासिनोकै लागि मात्र १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको र सभा हल १२ सय जना क्षमताको रहेका उनले बताए । हाल पाँचतारे होटल सफ्ट लञ्च भएको आगामी असोजमा ग्राण्ड ओपेनिङ सहित पूर्णरुपमा सञ्चालनमा आउने न्यौपानेले जानकारी दिए । बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पाँच तारे होटलमा लगानी गरिएको न्यौपानेले बताए । होटलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसँग सम्बन्धित र बुद्धत्व झल्किने नामाकरण गरिएको उनले बताए ।

    ‘आन्तरिक र विदेशी पर्यटकमाझ बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको प्रचार गर्न पाँचतारे होटलका सबै पूर्वाधारमा बुद्धलाई जोडेका छौं’ न्यौपानेले भने । २०५४ सालमा कैलालीबाट सुरु भएको सिद्धार्थ ग्रुपले छिट्टै चितवनको सौराहामा सिद्धार्थ भिलासाको दोस्रो शाखा सञ्चालनमा ल्याउने उनले बताए । त्यसपछि सिद्धार्थ बैभव र सिद्धार्थ बाटिका गरी तीन स्तरका लक्जरी होटल सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।

    रेष्टुरेन्ट तर्फ सिद्धार्थ कटेजलाई ब्राण्डिङ र विस्तार गर्ने र कर्मचारी समेतको लगानीको एस क्याफेहरु सञ्चालन गर्ने न्यौपानेले बताए । ग्रुपले आईटी, कृषि क्षेत्र र हस्पिटालिटी शिक्षा क्षेत्रमा समेत लगानी गरेर व्यवसायलाई विस्तार गरिरहेको छ । सिद्धार्थ भिलासामा ३ सय जनासहित ग्रुपले हालसम्म १६ सय जनालाई रोजगारी दिएको छ । ग्रुपका अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र वृद्धि गर्न भारतसँगको हवाई रुट प्राप्तिमा सरकारले भारत सरकारसँग निरन्तर पहल गनुपर्ने माग गरे ।

  • काठमाडौं–बेइजिङ रुटमा हिमालयले थाल्यो नियमित उडान

    काठमाडौं–बेइजिङ रुटमा हिमालयले थाल्यो नियमित उडान

    काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ नियमित उडान सुरू गरेको छ। एयरलाइन्सले कोभिडले रोकिएको यो रूटको उडान गत शनिबारबाट नियमित थालेको जनाएको छ। यससँगै अब हरेक शनिबार एयरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं उडान गर्नेछ। चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरेका थिए।

    हिमालय एयरलाइन्सले सुरक्षित, भरपर्दो र आरामदायी हवाई यात्रा प्रदान गर्दै आएको छ र काठमाडौं–बेइजिङ–काठमाडौं रुटद्वारा एयरलाइन्सले आफ्नो सञ्जाल विस्तार गर्दै प्रमुख गन्तव्यहरूबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। ‘काठमाडौं र बेइजिङबीचको निर्धारित उडान सुरू गर्न पाउँदा हामी हर्षित छौं।

    यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोभिड–१९ को महामारीपछि यस रुटमा उडानहरू पुनः सुरू हुनु महत्वपूर्ण छ,’ एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने।

    यो उडान सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने एयरलाइन्सले बताएको छ। यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्नेछन्।

  • पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान

    पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो ।

    यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डल रहेको थियो । यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किएको हो । १ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।

  • पोखरा विमानस्थलमा पहिलो पटक विदेशी व्यवसायिक जहाज बस्दै

    पोखरा विमानस्थलमा पहिलो पटक विदेशी व्यवसायिक जहाज बस्दै

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाजले उडान तथा अवतरण गर्दैछ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । यो चार्टर्ड जहाज हो ।

    जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित १३० जना यात्रु रहने पर्यटन मन्त्रालयले जनाएको छ । जहाज ११ बजे काठमाडौं आउने छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनमा आएको हो । यहाँ हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको भएपनि पहिलो पटक ठूलो जहाज यात्रुसहित जान लागेको हो ।

  • पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु

    पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु

    काठमाडढौं । नेपालमा काम गर्ने पर्यटन मजदुरको पारिश्रमिक बढेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार अब पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुरले दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । टानका महासचिव विनोद सापकोटाका अनुसार बढेको पारिश्रमिक १ साउन २०८० देखि लागु हुने गरी निर्णय भएको छ ।

    विगतमा पदयात्रा क्षेत्र अनुसार फरक फरक पारिश्रमिक रहेको थियो । यसलाई अब समान दरमा रुपान्तरण गरिएको छ । पर्यटक मजदुरको पारिश्रमिक २०७५ मंसिरमा पछिल्लो पटक बढेको थियो । त्यसको ५ वर्षपछि पारिश्रमिक बढाउने निर्णय टानले गरेको हो । यसबीचमा श्रमिकसँग भएका सम्झौता, नेपाल सरकारले कायम गरेको दररेट र मूल्य वृद्धिसमेतको अवस्थालाई मध्यनजर गरी नयाँ पारिश्रमिक तोकिएको उनले बताए ।

    नयाँ पारिश्रमिक दर अनुसार पथ प्रदर्शक (गाइड)को प्रतिदिन पारिश्रमिक ३ हजार १०० रुपैयाँ पुगेको थियो । यसअघि अन्नपूर्णमा जाने गाइडको दर २ हजार १०० रुपैयाँ प्रतिदिन थियो । सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन २ हजार २६८ रुपैयाँ रहेको थियो ।

    अब सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार ८ सय पुगेको छ । यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार १६ रुपैयाँ र सगरमाथाको २ हजार १ सय रुपैयाँ प्रतिदिन तोकिएको थियो । सहयोगी श्रमिकरमजदुर (पोर्टर)को पारिश्रमिक अब २ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि उनीहरुको पारिश्रमिक अन्नपूर्णमा १ हजार ९३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा २ हजार १ सय रुपैयाँ रहेको थियो ।

  • हवाई इन्धनको मूल्य घटेपछि भाडा घट्ने

    हवाई इन्धनको मूल्य घटेपछि भाडा घट्ने

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य कटौती गरेसँगै हवाई भाडा पनि घट्ने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ (प्रतिकिलोलिटर ९२ सय डलर) घटाउने निर्णय भएको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको छ । यससँगै बुधबार हवाई भाडा घटाउने प्राधिकरणले जनाएको छ ।

  • पोखरामा हुने भयो चार्टर्ड उडान

    पोखरामा हुने भयो चार्टर्ड उडान

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ ।

    पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ का दिन उद्घाटन भएको हो । त्यसयता अहिलेसम्म आन्तरिक उडान मात्र भइरहेका थिए । प्राधिकरणका अनुसार सो दिन छेन्दुबाट पोखरा अवतरण गर्ने ए–३१९ जहाज पोखराबाट काठमाडौं आउने छ । सिचुवानले काठमाडौंबाट भने नियमित उडान गरिरहेको छ ।

  • भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा

    भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मङ्गलबार पहिलो पटक नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको हो । न्यारोबडी जहाज मङ्गलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो ।

    पहिलो पटक अवतरण भएको उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसअघि विमानस्थलमा परीक्षण उडान पनि निगमकै वाइडबडी जहाजबाट नै सुरु भएको थियो । २०७९ को जेठ २ गते कुवेतको जजिरा एयरको उडानसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो ।

    निगमको जहाज मलेसियाको क्वालालम्पुरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेको हो । निगमले सातामा २ वटा उडान क्वालालम्पुरबाट भैरहवा गर्न लागेको हो । निगमले मङ्गलवार र शनिबार गरी २ वटा उडान गर्ने छ भने निगमले काठमाडौँ–क्वालालम्पुर–गौतम बुद्ध विमानस्थल–काठमाडौँ उडान गर्न लागेको जनाएको छ । पहिलो उडानमा ९१ जना यात्रु मध्ये ३१ जना भैरहवा र ६० जना काठमाडौँ आएका छन् ।

    यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका जजिरा र हिमालय एयरलाइन्सले भने उडान बन्द गरिसकेका छन् । हिमालयले गौतम बुद्ध विमानस्थलबाट क्वालालम्पुर ४५ दिनसम्म नियमित उडान गरेको थियो । तर यात्रु नपाएको र उल्लेख्य मात्रामा नोक्सानी भएको भन्दै उडान बन्द गरेको थियो । हिमालयले भने कात्तिक २७ गतेबाट उडान सुरु गरेको थियो ।

  • जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला

    जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला

    काठमाडौं । सरकारले ५ वटा नयाँ हिमचुचुरोलाई पर्वतारोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुला भएका हुन् । मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यी चुचुरो जुगल गाउँपालिकामा पर्छन् ।

    सरकारले ६ हजार ५९१ मिटर अग्लो जुगल १, ६ हजार ५१८ मिटर अग्लो जुगल २, ६ हजार १८४ मिटर अग्लो जुगल ३, ५ हजार ९३६ मिटर अग्लो जुगल ४ र ५ हजार ९२२ मिटर अग्लो जुगल ५ लाई पर्वतारोहण प्रयोजनका लागि खुला गर्ने निर्णय गरेको जनाएको छ । सरकारले खुला गरिएका हिमालको विवरण राजपत्रमा प्रकाशित गरेसँगै यी हिमालमा अब व्यावसायिक आरोहणको बाटो खुलेको छ ।

    जुगल हिम शृङ्खलामा पर्ने ग्याल्जेन हिमाल (६ हजार १५१ मिटर) यसअघि २०१९ मै आरोहण भइसकेको चुचुरो हो । यी हिमालहरु काठमाडौंबाट नजिकका चुचुरो मानिन्छन् । तुलनात्मक रुपमा होचा यी हिमालहरु अग्लो हिमाल चढ्नु अगाडिको आरोहण अभ्यासका लागि उपयुक्त मानिन्छन् ।

    जुगल गाउँपालिका काठमाडौं उपत्यकाबाट ९० किलोमिटर उत्तरपूर्वमा पर्छ । जुगल हिम शृङ्खलामा ६ हजार मिटर भन्दा अग्ला ८ वटा चुचुरो रहेको बताइएको छ । पछिल्लो समय स्थानीय सरकारले समेत जुगललाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न प्रयास गरिरहेको छ ।

    नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको संख्या अब ४१९ पुगेको छ । सर्वोच्च शिखर सगरमाथासहित ४१४ वटा हिमाल यसअघि नै आरोहणको प्रयोजनका लागि खुला गरिएको छ । जसमध्ये २७ वटा हिमाल नेपाल पर्वतारोहण संघले व्यवस्थापन गरिरहेको छ । नेपालमा विश्वको सर्वोच्च टाकुरासहित १३१० वटा हिमाल रहेको पर्यटन विभागको तथ्यांक छ ।

  • हिल्साबाट कैलाश यात्रा खुला

    हिल्साबाट कैलाश यात्रा खुला

    काठमाडौं । कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको धार्मिक पर्यटकद्वारा दर्शन सुरु भएको छ । कोरोना महामारी भएपछि हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा आएसँगै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू नेपालजञ्ग हुँदै सिमकोट आउन सुरु भएको हो ।

    मानसरोवर कैलाशको दर्शनका लागि पहिलो दिन नेपालगञ्जबाट हवाई मार्ग हुँदै ३४ जना धार्मिक पर्यटकहरू सिमकोट आइपुगेका छन् जसमा चार जना भारतीय र बाँकी एनआरएन छन् । गत वैशाख १८ गतेबाट चीनले औपचारिक रूपमा हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा ल्याएको थियो । २०७६ सालको कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न पहिलो पटक धार्मिक पर्यटकहरू सिमकोट आइपुगेका हुन् ।

    जिल्लामा आइपुगेका पर्यटकमध्ये २४ जना हेलिकोप्टरबाट हिल्सातर्फ जाने छन् भने सिमकोटबाट हिल्सा माउण्टेन एयरको हेलिकोप्टरले छ सटल उडान भरेको थियो । सिमकोटमा बास बस्ने १० जना पर्यटकमध्ये चार जना भारतीय नागरिकहरूले सिमकोटबाट लिमीको लाप्चासम्म पैदल मार्ग हुँदै मानसरोवर कैलाशको दूरदर्शन गर्नेछन् भने बाँकी छ जना हेलिकोप्टरमार्फत हिल्सा जाने छन् । भारतीय पर्यटकहरूलाई हिल्सा नाकाबाट चीनको मानसरोवर कैलाश दर्शन नखुलाएको र जुन २५ तारिखपछि खुल्नेछ ।

    मानसरोवर कैलाशको दर्शनका लागि धार्मिक पर्यटकहरू आउन सुरु भएपछि सिमकोट र हिल्साका होटेल तथा पर्यटन व्यवसायी खुसी भएका छन् । कोरोनाको कारण नाका बन्द हुँदा पर्यटकहरू आउन बन्द भएपछि विशेष गरी हिल्सा र सिमकोटका होटेल व्यवसायी मर्कामा परेका थिए । २०७२ सालको भूकम्पपछि हिल्सा नाकाबाट ३० हजार बढी पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेका थिए ।

  • फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’ हुने, चार्टर्ड उडानको तयारी

    फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’ हुने, चार्टर्ड उडानको तयारी

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानको तयारी गरिएको छ । पोखरामा आयोजना हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’का लागि चीनबाट चार्टर्ड उडानबाट जहाज ल्याउन प्रयास भइरहेको आयोजकले जनाएको छ ।

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवम् होटल एसोसिएसन नेपाल ९हान० र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज ९नारा० सँगको सहकार्यमा ८–९ असारमा यस्तो फेस्टिभल हुँदैछ । फेस्टिभलमा सहभागी हुनेहरुलाई चार्टर्ड उडानबाट पोखरामा लैजाने प्रयास भइरहेको नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीले जानकारी दिए ।

    फेस्टिभलको तयारीका सम्बन्धमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ दूतावास, काठमाडौंका डेपुटी चिफ अफ मिसन ९डीसीएम० वाङ जिनले नेपाल र चीन बीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बनध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने बताए ।

    डीसीएम वाङ जिनले यस्तो बोट फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना हुँदै आइरहेको जानकारी दिँदै नेपालमा आयोजना गरिएको यो कार्यक्रम दक्षिण एसियामै पहिलो भएको बताए । उनले यो फेस्टिवल एसियन गेममा समेत सहभागी गराइने खेल रहेको जानकारी दिए ।

    बोर्डका कार्यकारी प्रमुख रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालकै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए । उनले यो कार्यक्रम एक पटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिने गरी अगाडि बढाउने सोच रहेको समेत जानकारी दिए

    । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको बताए । कार्यक्रमका अवसरमा फेस्टिभलको लोगो तथा प्रवर्द्धनात्मक भिडियो समेत अनावरण गरियो ।

    नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा गत २१ वैशाखमा नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

  • प्रधानमन्त्री आज बुटवल जाँदै, केवलकार उद्घाटन गर्ने

    प्रधानमन्त्री आज बुटवल जाँदै, केवलकार उद्घाटन गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीबार बुटवल जाने भएका छन् । बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड आज बिहान १० बजे हेलिकोप्टरबाट बुटवल आउन लागेका हुन् । गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको हो ।

    बुटवलमा पहिलो पटक केवलकार सञ्चालन भएको हो । बुटवलको वडा नं ३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउंपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा ४५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ ।

    स्थानीयको साथ र सहयोगले केबुलकार सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा ४५ प्रतिशत छुट गरिएको छ । केबलकारको गन्तव्य स्थान पाल्पाको वसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयाँ धार्मिक र पर्यटकीय गन्तव्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने कम्पनीको विश्वास छ ।

    बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको छ । बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । २.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा उत्कृष्ट मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला रहेका आयोजना प्रमुख गोकुल साउदले बताउनुभयो । टप स्टेसनमा भारतको गुवाहटीमा रहको कामाख्यादेवीको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको साउदले उल्लेख गर्नुभयो ।

    केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जिप लाइन निर्माणको क्रममा छन् ।

    केबलकार सञ्चालनमा आएसंगै टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल लगायतका संरचना निर्माण गरिने भएको छ । एक हजार दर कायम गरिएको टिकट शुल्कमा विद्यार्थीलाई ४५ प्रतिशत छुट गरिएको र ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ । यस्तै फरक क्षमता भएका नागरिकलाई दुईतर्फी टिकट शुल्क ३७५ मात्र कायम गरिएको छ ।

    उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ ।

  • करिम बेन्जिमा समेत साउदी क्लवमा अनुवन्धित

    करिम बेन्जिमा समेत साउदी क्लवमा अनुवन्धित

    काठमाडौं । फ्रान्सेली फरवार्ड करिम बेन्जिमा रियल मड्रिडबाट बाहिरिएपछि साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् । बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए । बालोन डीओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए ।

    बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन्। उनले रियलका लागि ३ सय ५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता पनि हुन् । रियलमा ४ सय ५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् ।

  • नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाइन्छ : प्रचण्ड

    नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाइन्छ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धात्मक बनाउन सरकारले सहयोग गर्ने बताएका छन् । राजधानीमा मङ्गलबारदेखि सुरु भएको चारदिने हिमालयन ट्राभल मार्ट उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाललाई पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्न पर्यटन पूर्वाधारमा लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    उनले भने, “आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको प्रवर्धन सरकारको मुख्य प्राथमिकतामा रहेको छ । नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रूपमा स्थापित गर्न यस्ता कार्यक्रमले हिमालय क्षेत्रको पर्यटकीय सम्भावनालाई थप प्रचारप्रसार तथा प्रवर्धन गर्न मद्दत पुग्दै आएको छ ।”


    पर्वतीय पर्यटन क्षेत्रको विकाससँगै नेपालको मौलिक संस्कृति, सांस्कृतिक विविधता, प्राकृतिक सौन्दर्य तथा सम्पदा क्षेत्रको प्रवर्धनमार्फत पर्यटकीय सम्भावना र गतिविधिलाई विश्व बजारमा चिनाउँदै लैजानुपर्ने उनले बताए । नेपाललाई योग र ध्यान केन्द्र बनाउन बजारीकरण र प्रवर्धन गर्न आवश्यक रहेकोमा उनको जोड थियो ।

    प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा हुँदै आएको ट्राभल मार्ट नेपालको पर्यटनलाई विश्व बजारमा प्रवर्धन गर्ने थलोका रूपमा सफल रहँदै आएको धारणा व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले यसबाट महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा समेत सहयोग पुग्ने बताए ।

    पाटा नेपाल च्याप्टर अध्यक्ष विभूति चन्द ठकुरीले मार्टमा सहभागी देश विदेशका विज्ञ पर्यटन व्यवसायीले पर्यटकीय सम्भावनाका विविध आयामबारे दिने प्रस्तुतीकरणले नेपाललाई विश्व बजारमा पहिचान गराउन प्रवर्धनात्मक गतिविधिमा बल पुग्ने बताए । उनले भने, “रिकनेक्टिङ, रिबिल्डिङ र रिइन्भिगोरेटिङ भन्ने मूल नारासाथ सुरु भएको मार्टमार्फत अन्तरदेशीय पर्यटन प्रवद्र्धन र सम्भावित बजारमा प्याकेज बिक्री वितरणमा उपयोगी हुने विश्वास लिएका छौँ ।”

    नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवर्धन गर्न मार्टले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । विश्व चर्चित ब्लगर्स, बायर्स र सञ्चारमाध्ययमको जमघटमार्फत नेपालको पर्यटन प्रवर्धनमा मेला कोसेढुङ्गा साबित हुने उनले बताए ।

    पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश बडालले यो संस्करणमा नेपालबाहेक २५ देशका झन्डै एक सय आगन्तुक आएको बताए । पर्यटन क्षेत्रका क्रेता र बिक्रेताहरू आउने नेपालकै सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम भएकाले कार्यक्रममा धेरैको चासो रहेको उनको भनाइ छ । मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ । जसमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाउँदै छन् ।

  • ४० भन्दा बढी देशका पर्यटन व्यवसायी नेपालमा

    ४० भन्दा बढी देशका पर्यटन व्यवसायी नेपालमा

    काठमाडौं । जुन ६ देखि ९ तारिकसम्म काठमाडौंमा हुन लागेको चौथो हिमालय ट्राभल मार्टका लागि ४० देशका होटल, ट्राभल तथा पर्यटन व्यावसायी नेपाल भ्रमणमा आएका छन् । प्यासिफिक एसियन ट्राभल एसोसियसन (पाटा) नेपालको आयोजनामा काठमाडौंको होटल याक एण्ड यतिमा हुन लागेको हिमालयन ट्राभल मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम र पाटा इन्टरनेशलको सहकार्यमा हुन लागेको मार्टमा ५० भन्दा बढी नेपाली पर्यटकीय केन्द्र, होटल तथा पर्यटकीय गतिविधि सम्वन्धी स्टलहरु राखिने छन् ।

    नेपालमा विदेशी पर्यटकहरु भित्राउन महत्वपूर्ण भूमिका खेल्ने उद्देश्यले आयोजना गर्न लागिएको हिमालय ट्राभल मार्टको पूर्वसन्धामा ट्राभल तथा पर्यटन व्यवासायीहरुलाई चितवनको वाइल्डलाइफ टुरिजम, पोखरा र काठमाडौं तथा भक्तपुर क्षेत्रका विभिन्न पर्यटकीय ठाँउहरुको अवलोकन भ्रमण गराइएको छ । यसलाई ‘गोल्डेन ट्रयाङ्गल फार्म ट्रिप’ नाम दिइएको छ ।

    चितवनको सौराहामा २२ देशका पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीहरुले दुई दिनसम्म बसेर यहाँको हस्पिटाली तथा निकुञ्ज र आसपासको क्षेत्रको भ्रमण गरी जानकारी लिएको पाटा नेपालका सदस्य हिम्मत पुरीले जानकारी दिए । ‘नेपालबाट जसरी विदेश घुम्ने बारेमा यहाँका पर्यटन तथा ट्राभल एजेन्सीहरुले प्रचारप्रसार गर्छन्, त्यसैगरी विदेशी एजेन्सीहरुले पनि नेपाल लैजान प्रचारप्रसार गरुन् भनेर मार्टको आयोजना गरिएको हो,’ पाटा नेपालका सदस्य पूरीले भने, ‘उनीहरूले यहाँका होटल, पर्यटकीय क्षेत्रका बारेमा जानकारी लिएर विदेशी पर्यटक नेपाल पठाउन भूमिका खेल्छन् ।’

    सीमा पार पर्यटनका लागि अनुभव साट्ने र नेपालका पर्यटकीय गन्तब्यहरूका बारेमा नजिकबाट विदेशी पर्यटन क्षेत्रका प्रतिनिधिलाई बुझाउने अवसरका रुपमा यसलाई लिइएको उनको भनाइ छ । सौराहामा चरा विज्ञ बासु विडारीले चितवन र यस आसपासका क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराहरुका बारेमा ट्राभल एजेन्सीका प्रतिनिधिहरू समक्ष प्रस्तुतीकरणसमेत दिएका थिए ।

  • कोभिड अगाडीकै अवस्थामा पुग्यो पर्यटक आगमन, अमेरिकी दोस्रो स्थानमा

    कोभिड अगाडीकै अवस्थामा पुग्यो पर्यटक आगमन, अमेरिकी दोस्रो स्थानमा

    काठमाडौं । सन् २०२३ को पहिलो ५ महिनाको अवधिमा ४ लाख ४ हजार २३१ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२३ मा मात्र ७७ हजार ७०३ जना पर्यटक आएका छन् । यो संख्या सन् २०१९ मा आएको पर्यटकको संख्या हाराहारी हो । सन् २०१९ मा ७८ हजार ३२९ जना पर्यटक मे महिनामा नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार कोभिड–१९ अगाडिकै हाराहारीमा अब पर्यटक आगमन पुग्न थालेका छन् ।

    कुन महिनामा कति पर्यटक ?

    जनवरी : ५५,०७४
    फेब्रुअरी : ७३,२५५
    मार्च : ९९,४२६
    अप्रिल : ९८,७७३
    मे : ७७,७०३
    भारतीय पहिलो, दोस्रोमा अमेरिकी, चिनियाँ तेस्रो

    सन् २०२३ को मे महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट ३६ हजार ५७५ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ८ हजार ५४५ जना पर्यटक नेपाल आएको तथ्यांक छ । चीन तेस्रो स्थानमा पुगेको छ । चीनबाट ४ हजार ६६७ जना पर्यटक नेपाल आएका छन् ।

    मे २०२३ मा कुन मुलुकबाट कति आए र ?

    भारत : ३६,५७५
    अमेरिका : ८,५४५
    चीन : ४,६६७
    संयुक्त अधिराज्य : २,९२७
    अष्ट्रेलिया : २,१८४
    बंगलादेश : २,१६४
    मलेसिया : १,३२१
    जर्मनी : १,१६५
    फ्रान्स : १,०९७
    दक्षिण कोरिया : १,०३९

  • फ्रान्सले किन रोक्यो छोटो दूरीका हवाई उडान ?

    फ्रान्सले किन रोक्यो छोटो दूरीका हवाई उडान ?

    काठमाडौं । युरोपेली देश फ्रान्सले विमानबाट हुने प्रदूषण घटाउन भन्दै छोटो दूरीको हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ । जस अनुसार रेलबाट साढे २ घन्टाभन्दा कम समयमा पुग्न सकिने ठाउँमा हवाइ यात्रा गर्न पाइने छैन । तर कनेक्टिङ फ्लाइटमा भने यो नियम लागू हुने छैन् । कार्वन उत्सर्जन कम गर्न भन्दै फ्रान्सको संसदले पारित गरेको छोटो हवाइ दूरीको यात्रामा प्रतिबन्ध लगाउने कानुन २ वर्षपछि कार्यान्वयन भएको हो ।

    फ्रान्सका परिवहन मन्त्री क्लेमेन्ट ब्यूनले कार्वन उत्सर्जन कम गर्नका लागि यो जरुरी र महत्वपूर्ण कदम रहेको बताए । ‘हामी हाम्रो जीवनमा कार्वनको उपयोग कम गर्न चाहन्छौं भने छोटो दूरीको हवाइ यात्रा ठीक होइन,’ उनले भने, ‘ यो प्रतिबन्धको उद्देश्य भनेको निजी जेटको उडान रोक्नु हो ।’ ब्यूनले हवाइ उडानमा प्रतिबन्ध भएका रुटमा यात्रुले चाहेका समयमा सार्वजनिक रेल वा बस पाउने गरी व्यवस्था मिलाइने पनि बताए ।

    वायु प्रदूषणबारे भएको एक अध्ययन प्रतिवेदन अनुसार व्यावसायिक उडानको तुलनामा निजी जेट विमानले १४ गुणा बढी प्रदूषण फैलाउँछन्, जबकी रेलको तुलनामा व्यावसायिक उडान भर्ने जहाजले ७७ गुणा बढी । पर्यावरणका लागि रेलको तुलनामा निजी जेट ५० गुणा ज्यादा खतरनाक हुन्छ ।

  • क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र

    क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र

    काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ । यो गौतमबुद्ध विमानस्थलबाट नेवानिले गर्न लागेको पहिलो नियमित तथा व्यावसायिक उडान हुने छ ।

    यस रुटमा २९ जेठ (१२ जुन)बाट निगमले सातामा एक उडानको तयारी गरेको छ । व्यावसायिक सम्भाव्यताका आधारमा निगमले यस रुटमा उडान बढाउने भएको छ । क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटको भाडा भने मात्र १२ हजार ३४६ रुपैयाँ तोकिएको छ । यसअघि सार्वजनिक यो रुटको भाडादर १४ हजार ७२० रुपैयाँ थियो । यस रुटमा यात्रुले ४५ किलो ब्यागेज निःशुल्क बोक्न सक्नेछन् ।

  • काठमाडौंमा पहिलो पटक सुरु भयो ‘हप अन हप अफ’ बस सेवा, सम्पदा घुम्ने

    काठमाडौंमा पहिलो पटक सुरु भयो ‘हप अन हप अफ’ बस सेवा, सम्पदा घुम्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा (हप अन हप अफ) सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा यस्तो सेवा थालेको हो ।

    विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने आजबाट सम्पदा घुम्ती बस सेवाको परीक्षण सञ्चालन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले ललितपुरबाट सम्पदा घुम्ती बस सेवा सुरु गरे ।

    बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन हुने अपेक्षा गरिएको बताए । उनले उपत्यकाको पर्यटन प्रवर्द्धनमा लागि यो एउटा सानो प्रयास भएको बनाउँदै यसको परीक्षण पश्चात सेवा विस्तार गरिने समेत जानकारी दिए ।

    मंगलबारदेखि सुरु भएको सम्पदा बसमा पर्यटनमन्त्री किरातीले पुल्चोकदेखि नारायणहिटी दरबार संग्रहालयसम्म यात्रा समेत गरेका थिए ।

    कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पर्यटन प्रवर्द्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने बताए । उनले सबैको समन्वय र सहकार्यमा यसलाई सफल बनाउनु पर्ने समेत बताए ।

    पर्यटन बोर्डका वरिष्ठ निर्देशक वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले उपत्यकाको पर्यटन प्रर्वद्धनका लागि बोर्डले साझासँग सहकार्यमा यो सेवा सुरु गरेको जानकारी दिँदै सम्पदा घुम्ती बस सेवाको सञ्चालनलाई सफल र प्रभावकारी बनाउन निजी क्षेत्रका संगठन र व्यवसायीहरुसँग समन्वय र सहकार्य आवश्यक भएको धारणा राखे ।

    साझा यातायातका कार्यबाहक अध्यक्ष सुशिल प्याकुरेलले सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालन हुने र यसको सफलताको आधारमा अरु बस थपिने जानकारी दिए ।

    पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस विहान ८ः०० बजे देखी बेलुकी ६ः०० बजे सम्म हुनेछ । जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक),महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग ,नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी , पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँदै बौद्ध पुग्ने छ ।

    फर्किदा तारागाँउ संग्रहालय, बौद्ध, चावहिल चोक,नारायण गोपाल चोक, गंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार ९कालीमाटी० कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुँदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हुँदै साझा यातायात, पुल्चोक आउने बोर्डले जानकारी दिएको छ ।

    यो रुटमा दिनमा ५ सय रुपैयाँ तिरेर दिनभर यात्रा गर्न सकिने गरी भाडादर प्रस्ताव गरिएको छ । भाडा स्वीकृत नभएसम्म सेवा निःशुल्क दिइने साझा यातायातले जनाएको छ । एक पटक टिकट काटेपछि सो दिन एक रुटमा उत्रिएर उक्त सम्पदा घुमफिर गरी पुनः सोही रुटमा आएको साझाको बस चढ्न सकिनेछ । नेपालमा पहिलो पटक यस्तो सेवा सुरु गरिएको हो ।

  • गोरखा र लमजुङ जोड्ने पदमार्ग बन्ने

    गोरखा र लमजुङ जोड्ने पदमार्ग बन्ने

    काठमाडौं । प्रख्यात चक्रीय अन्नपूर्ण र मनास्लु पदमार्गको झल्को दिने गरी लमजुङ र गोरखा जोड्ने पर्वतीय पदमार्ग निर्माण हुने भएको छ । यसलाई ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ नामकरण गरिएको छ । उत्तर–पूर्वी लमजुङ र उत्तर–पश्चिम गोरखाका उच्च पहाडी तथा हिमालको फेदसम्म पुग्ने गरी पदमार्ग निर्माण गर्न लागिएको हो ।

    पदमार्ग निर्माणका लागि लमजुङ तथा गोरखाका चार गाउँपालिका र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा लमजुङको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, गोरखाको अजिरकोट गाउँपालिका अध्यक्ष दीपक सापकोटा र टान गण्डकीका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ छन् ।

    स्थानीय तहमार्फत पदमार्गको भौतिक संरचना निर्माण तथा विभिन्न निकायमा समन्वय गर्न पर्यटकीय पथप्रदर्शकसमेत रहेका दोर्दी गाउँपालिका अध्यक्ष अधिकारीलाई संयोजक बनाइएको छ । स्थानीय तहले आगामी आर्थिक वर्षदेखि रकम विनियोजन गरेर यसको अध्ययन, रेखांकन र भौतिक संरचना निर्माण अघि बढाउनेछन् । पर्यटकलाई उक्त ठाउँमा पठाउन टानले सहयोग गर्नेछ ।

    यस क्षेत्रमा २ वटा पदमार्ग हुने अधिकारीले जनाए । उच्च क्षेत्रको पदमार्ग करिब २१ दिनको हुनेछ । यो पदमार्ग लमजुङको डोना ९ठुलागी०–मेमेपोखरी हुँदै गोरखाको रुबीनाला ९५००० मिटर० पास हुनेछ । यो यात्रामा जानेले बुद्ध र हिमालचुलीका बेस छुनेछन् । तल्लो क्षेत्रको पदमार्ग लमजुङको लिपे–बराहपोखरी क्षेत्र ९३२०० मिटर० सम्म पुग्नेछन् । यो यात्रा करिब १३ दिनको हुनेछ ।

    उनका अनुसार यो पदमार्गको प्रवर्द्धन गर्न बजेट विनियोजन हुनेछ । ‘यो मार्ग चक्रीय अन्नपूर्ण पदमार्गभन्दा अझ भिन्न बन्नेछ, जहाँ अहिलेसम्म पर्यटक पुगेका छैनन्,’ उनले भने, ‘पर्यटक नयाँ ठाउँमा सहभागी हुन रुचाउँछन् । पर्वतीय पदमार्ग पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्नेछ ।’

    टान उपाध्यक्ष गुरुङले ४५ वर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले लमजुङ र गोरखाको स्थानीय तहलाई जोडेर पर्वतीय पर्यटन प्रवर्द्धन गर्न छलफल अघि बढाएको बताए । पर्वतीय क्षेत्रमा पर्यटक जान रुचाए पनि बाटो नभएपछि हिमालको बेसक्याम्पसम्म पुग्ने पदमार्ग निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

    चक्रीय अन्नपूर्ण पदमार्गमा गाडी गुड्न थालेपछि पर्यटकले वैकल्पिक पदमार्गको खोजी गरेको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । ‘विदेशीलाई पदमार्गमा सवारी साधन गुडेको मन पर्दैन,’ उनले भने, ‘विकल्पमा वरपर धेरै पदमार्ग बनाइए पनि यही सडकमा जोडिने भएकाले पर्यटक कम हिँडे । अब, पर्वतीय पदमार्गमा पर्यटक हिँड्ने अपेक्षा छ,’ उनले भने ।

  • तालिवानसँगको लडाईमा दुबै खुट्टा गुमाएका भूतपूर्व सैनिकले चढे सगरमाथा

    तालिवानसँगको लडाईमा दुबै खुट्टा गुमाएका भूतपूर्व सैनिकले चढे सगरमाथा

    काठमाडौं । घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको समूहका जनसम्पर्क सदस्यले जानकारी दिएका छन्। यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन्। कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन्।

    आरोहणको जनसम्पर्क हेर्ने हिम विष्टका अनुसार मगरको टोलीले शुक्रवार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेको थियो। “यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छन्,” मगरले आरोहणपछि अभिव्यक्त गरेको कुरा विष्टले उद्धृत गरे। उक्त आरोहण दलको नेतृत्व कृष्ण थापाले गरेको जनाइएको छ।

    सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन्। ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए। उनले दुवै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए। सगरमाथातर्फ जानु अघि उनले बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘दुवै खुट्टा गुमाएपछि जीवन सकिएजस्तो लागेको थियो तर आँट गरे जस्तो सुकै कठिन काम पनि गर्न सकिँदो रहेछ।’

    “यो मेरो सफलता विश्वभरका अपाङ्ग व्यक्तिको सफलता हो, नेपालको सपना हो। नेपाल आमाको काखमा हुर्केको मैले जवानी बेलायतको लागि व्यतीत गरेँ, अब अलिक धेरै नेपाल आमाको सेवामा लाग्ने योजना छ,” उनले आगामी योजनाबारे बताएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साहसिक खेलमा समेत रुचि राख्ने उनले हालसम्म मोँ ब्लाँ, मेरा पिक, बेन नेभिस, किलिमन्जारो जस्ता हिमालहरू चढिसकेका छन्।

    दुवै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन्। चिनियाँ पर्वतारोही सिया बोयूले र न्यूजील्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए। उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन्। बुढा मगरले भनेका थिए, ूघुँडामाथिबाट नै खुट्टा नभएकामध्ये हालसम्म कसैले सगरमाथा चढ्ने प्रयास नै गरेका छैनन्। त्यसैले म पहिलो प्रयासकर्ता हो।ू विगतमा सरकारले लगाएको प्रतिबन्धका कारण आफ्नो तयारीमा केही ढिलाइ हुन गएको गुनासो गरेका उनले केही वर्षयता आरोहणबारे प्रशिक्षण लिँदै आएका थिए। पाँच वर्षअघि नै सगरमाथा चढ्ने योजना बनाएका मगरलाई कानुन बाधक बनेको थियो।

    पर्वतारोहण सम्बन्धी तत्कालीन नियमावलीका अनुसार ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखा देख्न नसक्ने व्यक्तिले’ हिमाल आरोहण गर्न नपाउने व्यवस्था गरेको थियो। तर पछि त्यो कानुनी वाधा हटेपछि उनलाई सगरमाथा आरोहणका लागि बाटो खुलेको थियो। नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने व्यवस्था अनुरूप अदालतले मार्ग प्रशस्त गरेपछि बुढामगरका लागि सगरमाथा आरोहणको बाटो खुलेको हो।

    सगरमाथा चढेपछि नेपालमा अपाङ्गता साक्षरतामा काम गर्ने उनको योजना रहेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको नेपालतर्फबाट आरोहण गर्नका लागि ४७८ जनालाई अनुमति दिइएको नेपाली अधिकारीहरूले बताएका छन्। अनुमति लिनेमध्ये सबैभन्दा बढी चीन र त्यसपछि अमेरिकाका पर्वतारोही छन्।

    BBC Nepali

  • बुटवलको लुम्बिनी केवलकार सञ्चालनको तयारी

    बुटवलको लुम्बिनी केवलकार सञ्चालनको तयारी

    काठमाडौं । बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ । २०७७ फागुन १ गते एक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणासहित शिलान्यास भएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एक वर्ष पछि सञ्चालनमा आउन लागेको हो । आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ ।

    बुटवलको गोलपार्कदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको लुम्बिनी केबलकार जेठको १० गते सञ्चालनमा आउने लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘जेठ १० गते केबलकार अपरेसनमा ल्याउने तयारी छ’, अध्यक्ष ढकालले भने, ‘केबलकार सञ्चालनसंगै टप स्टेशनमा बनेको कामाख्या मन्दिरमा एक हप्तासम्म पुजाआजा गर्ने कार्यक्रम छ ।’

    यसअघि वैशाखमा सञ्चालनमा ल्याउने भनिएपनि प्राविधिक काम सम्पन्न नभएकाले जेठको दोस्रो सातादेखि सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको आयोजना प्रमुख गोपाल साउदले जानकारी दिए । बुटवल उपमहानगरपालिका–३ बमघाटमा तल्लो र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा केबलकारको माथिल्लो तथा अन्तिम स्टेशन छ । केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, बाल उद्यान,जिपलाइन लगायत संरचना निर्माण हुने उनले बताए ।

    मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला रहेको केबलकारले दैनिक ६ हजार यात्रु ओसारपसार गर्न सक्ने उनले बताए । केवलकारको तल्लो स्टेशन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेकाले १० मिनेटको यात्रामै तराई, पहाड तथा हिमालको अनुभव तथा दृश्यावलोकन गर्न सकिने भएकाले पनि केबलकार सञ्चालन पछि यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको अध्यक्ष ढकालले बताए ।

    भारतीय सीमाबाट नजिक भएकाले गर्मी मौसममा शितलताका लागि र जाडो मौसममा न्यानोका लागि भारतको गोरखपुर, लखनउसम्मका पर्यटक आकर्षित हुने विश्वास रहेको अध्यक्ष ढकालले बताए । सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि बसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने ६.२७ हेक्टर वन क्षेत्र प्रयोगका लागि २५ वर्षका लागि भोगाधिकार दिएको छ ।

  • अमेरिकी सञ्चार नेटवर्क सीएनआईको घुम्न लायक स्थानको सूचीमा मुस्ताङ

    अमेरिकी सञ्चार नेटवर्क सीएनआईको घुम्न लायक स्थानको सूचीमा मुस्ताङ

    काठमाडौं । अमेरिकाको चर्चित मिडिया कम्पनी केबल न्युज नेटवर्क (सीएनएन) ले सन् २०२३ मा घुम्न लायक उत्कृष्ट ठाउँहरूको सूचीमा नेपालको मुस्ताङ उपत्यकालाई समेटेको छ । सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूची सार्वजनिक गर्दै सीएनएनले नेपालको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँलाई १६ औँ नम्बरमा राखेको छ ।

    एउटा फोटोसहित सीएनएनले हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो पदमार्गमा पदयात्राका लागि यो ठाउँ उत्कृष्ट रहेको उल्लेख गरेको छ । तिब्बतको नजिक रहेको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँ पुग्दा अनौठो अनुभूति हुने पनि सीएनएनले उल्लेख गरेको छ । सीएनएनले सन् २०२३ मा घुम्न लायक २३ ठाउँको पहिलो सूचीमा पश्चिमी अस्ट्रेलियाको एउटा पर्यटकीय क्षेत्रलाई राखेको छ ।

  • त्रिभुवन विमानस्थलमा राखिए आरक्षण सिट

    त्रिभुवन विमानस्थलमा राखिए आरक्षण सिट

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान टर्मिनलमा रिजर्भ सिट राखिएको छ । यी सिट जेष्ठ नागरिक, गर्भवती, बच्चा, फरक क्षमता भएका यात्रु र अशक्त यात्रुले मात्र प्रयोग गर्न पाउने गरी सिट तोकिएको हो ।

    विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले यसबारे जानकारी दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश यात्रामा जाने यात्रुले जहाज कुर्ने क्रममा यी सिटको प्रयोग गर्न सक्ने भएका छन् ।

  • सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति

    सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी यसअघिका नियुक्ति भने खारेज गर्ने निर्णय मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । कार्यविधि नबन्दै अघिल्लो सरकारले दुई दर्जन स्थानमा पर्यटन सद्‍भावना दूत तोकेको थियो ।

    यस्ता सद्‍भावना दूतहरु अवैतनिक हुने गर्छन् । तर, सरकारी नियुक्तिको लाभमा आफ्नो प्रतिष्ठा र व्यवसाय विस्तारमा धेरैजसो व्यक्ति सक्रिय हुने गरेको देखिन्छ । जसमा नेता र पार्टी निकटका व्यक्तिहरुलाई नियुक्तिमा प्राथमिकता दिने प्रचलन रहेको छ । अब भने मन्त्रालयले ‘सद्‍भावना दूत’ भन्ने स्थानमा ‘पर्यटन प्रवर्द्धक’ भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको छ ।

  • सिक्किममा हिमपहिरो, कम्तिमा ७ पर्यटकको मृत्यु

    सिक्किममा हिमपहिरो, कम्तिमा ७ पर्यटकको मृत्यु

    काठमाडौं । सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर कम्तीमा ७ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । नाथुला र गान्तोकबीचको क्षेत्रमा गएको हिमपहिरोमा कम्तीमा १२ जना घाइते छन् । २३ जनाको उद्दार भएको भारतीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णल महेन्द्र रावतले भारतीय सञ्चारमाध्यमहरुलाई बताएका छन् ।

    हिमपहिरोमा परेकाहरुको खोजी तथा उद्दार कार्यमा भारतीय सेनाको टोली खटिएको छ । सिक्किमको स्थानीय अनलाइन समाचार पोर्टल भ्वाइस अफ सिक्किमका अनुसार भारतीय समय अनुसार मध्याह्न १२ः२० बजे हिमपहिरो गएको थियो ।


    हिमपहिरोमा परेर कम्तीमा ५ देखि ६ वडा सवारीसाधन पुरिएको आशंका छ । मंगलबार साँझ ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमपहिरोमा पर्नेको खोजी तथा उद्दार कार्य जारी भएको बताउँदै प्रभावितलाई हरसम्भव सहायता प्रदान गर्ने बताएका छन् । गृहमन्त्री अमित शाह सिक्किमको अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।