Category: घूमघाम

  • मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा

    मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा

    काठमाडौं । विश्वचर्चित टेलिभिजन प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपाल आएका छन् । उनी आइतबार काठमाडौं अवतरण गरेका हुन् । उनी सोमबार बिहान लुक्ला उडेका छन् । कीर्तिमानी आरोही तथा नेटफ्लिक्सको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ फेम्ड निर्मल पूर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडसनमार्फत उनी नेपाल आएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    लुक्लामा उनले स्काई डाइभिङ गर्ने छन् । बियर ग्रिल्स नेपालमा एक साता रहनेछन् । उनको साथमा परिवारका सदस्य रहेको बताइएको छ । ग्रिल्सले यसअघि सगरमाथा र आमादब्लम हिमाल चढिसकेका छन् । ग्रिल्स डिस्कभरी च्यानलको ‘म्यान भर्सेस वाइल्ड’ एड्भेन्चर शोका प्रस्तोता हुन् ।

  • ढोरपाटनमा शिकारको याम शुरु, अमेरिकी र रसियन शिकारीको आकर्षण

    ढोरपाटनमा शिकारको याम शुरु, अमेरिकी र रसियन शिकारीको आकर्षण

    काठमाडौं । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम शुरु भएको छ । असोज १५ देखि वैशाख १५ बीचको समयमा दुई सिजन शिकारको अनुमति दिइन्छ । कात्तिक÷मंसिरमा चल्ने पहिलो सिजनका लागि कुल ९ वटा नाउर र ७ वटा झारलको शिकार गर्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुमति दिएको छ । सोही अनुसार शिकारी पर्यटकहरु नेपाल आउने क्रम सुरु भएको व्यवसायीले बताएका छन् ।

    यसरी शिकार गर्न आउनेमा अमेरिकी र रसियन शिकारी धेरै हुने गरेका छन् । यूरोपमा स्पेनबाट बढी मात्रामा शिकारी नेपाल आउँछन् । नेपालमा शिकारी भित्राउन पाउने गरी अनुमति प्राप्त कम्पनी आधा दर्जनको संख्यामा मात्र छन् । विभागले शिकारका लागि बोलपत्र आह्वान गर्छ, यी कम्पनीहरुबीच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले क्रमशः शिकारको अनुमति पाउँछ ।

    सोही अनुसार कम्पनीहरुले शिकारी नेपालमा भित्राउँछन् । विभागले एक नाउरका लागि न्यूनतम डेढलाखसम्म मूल्य राखेर बोलपत्र निकाल्छ । तर, तीव्र प्रतिस्पर्धाका कारण यो सिजन एक नाउरका लागि १६ देखि २० लाख रुपैयाँसम्ममा टेन्डर परेको छ । ढोरपाटन शिकार आरक्षमा कुल ६ वटा ब्लक छन् । ब्लक अनुसार फरक फरक मूल्यमा प्रतिस्पर्धा हुन्छ । एक झारलको शिकार गर्न विभागले तोकेको न्यूनतम मूल्य ७५ हजार रुपैयाँ हो ।

    तर, यस वर्ष १ लाख ६० हजारदेखि ६ लाख रुपैयाँसम्ममा झारल शिकारको अनुमति जारी भएको छ । नेपालमा शिकार याम सुरु भएपछि पर्यटकको आगमन सुरु हुन्छ । सोही अनुसार कम्पनीहरुले प्याकेज बिक्री गर्छन् । प्रबन्ध निर्देशक पराजुलीका अनुसार यसरी आउने पर्यटक कम्तीमा दुई साता फिल्डमा बस्छन् । उनीहरुलाई आधार शिविरसम्म हेलिकप्टरमा लैजाने गरिन्छ ।

    त्यसअगाडि नेपाली सहयोगीहरु फिल्डमा खटिसकेका हुन्छन् । अनुगमनमा खटिने आरक्षका कर्मचारी समेत साथमा रहन्छ । सोही दौरान तोकिएका जनावरहरुको शिकार गरिन्छ । अनुमति प्राप्त कम्पनीले अभियान सम्पन्न भएपछि जनावरहरुको संरक्षणका लागि स्थानीय समुदायका लागि समेत निश्चित रकम दिएर मात्र फिर्ता हुन्छन् ।

  • भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता

    भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता

    नयाँ दिल्ली । भारतको उत्तराखण्डमा हिम पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको (द्रोपदीको डाँडा) २’मा हिम पहिरो गएको हो । हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको छ । २८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि जाने गर्छन् । हराइरहेका २८ जना पनि प्रशिक्षार्थी रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

  • मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु

    मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु

    काठमाडौं । उत्तरी गोरखाको मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । अघिल्लो साता दुई जनाको मृत्यु भएको थियो । आइतबार पुनः आधार शिविरमै हिउँ पहिरो आएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको हो । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, गोरखा अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना तत्काल नै सम्पर्कमा आएका थिए ।

    पहिरामा परेका शेर्पा भने वेपत्ता भएका थिए । उनको शव सोमबार दिउँसो भेटिएको छ । उनको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ । गत सोमबार हिमपहिरामा परी सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।

  • लुक्ला उडान रामेछापबाट शुरु

    लुक्ला उडान रामेछापबाट शुरु

    काठमाडौं । काठमाडौंबाट भइरहेको लुक्लाको हवाई उडान रामेछापमा सारिएको छ । काठमाडौं विमानस्थलको भिडभाडमा हुने व्यस्तता हटाउन १ अक्टोवरदेखि लागि हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । सोही अनुसार उडान सारिएको प्राधिकरणको भनाई छ । आज बिहानै समिट एयरले सो विमानस्थलबाट लुक्लाका लागि पहिलो उडान गरेको छ ।

    लुक्लामा समिटसँगै सीता र तारा एयरले समेत नियमित उडानका लागि तालिका स्वीकृत गराएका छन् । लुक्लामा बिहानको समयमा मात्र उडान हुन्छ । दिउँसो उच्च गतिमा चल्ने हावाका कारण इनरुटमा जोखिम हुने भएका कारण उडान हुँदैन । बिहानको समयमा काठमाडौंमा हुने हवाई चाप घटाउन यस्तो निर्णय लिएको प्राधिकरणको भनाई छ ।

  • वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण दशक मनाउने निर्णय

    वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण दशक मनाउने निर्णय

    काठमाडौं । नेपालमा वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित सरकारले नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय भएको हो । यसले कोभिडबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानमा समेत सहयोग गर्नेछ । नेपालले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको सचिव अधिकारीले जानकारी दिए ।

    सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । तर, कोभिडका कारण यो अभियान रोकिएको थियो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने उद्देश्य लिइएको छ । यसले पर्यटनको जीडीपीमा योगदान १५ प्रतिशत पु¥याउन समेत लक्ष्य लिएको छ ।

  • लामो दूरीको बसमा अग्रिम टिकट बुकिङ खुल्यो

    लामो दूरीको बसमा अग्रिम टिकट बुकिङ खुल्यो

    काठमाडौं । काठमाडौंको गोङ्गबु बसपार्कमा बसको अग्रिम टिकट बुकिङ खुलेको छ । काठमाडौंबाट लामो दूरीको बसमा यात्रा गर्नेहरुले आजबाट अग्रिम टिकट लिन सक्ने भएका छन् । बिहानैबाट टिकट बुक गर्नेको भिड लागेको छ ।

    यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा छ । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । देशका विभिन्न स्थानमा दशैं मनाउन जानेहरुले अग्रिम टिकट बुक गर्ने गर्छन् ।

  • राष्ट्रपति पोखरामा, आज दिनभर व्यस्त रहने

    राष्ट्रपति पोखरामा, आज दिनभर व्यस्त रहने

    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा पुगेकी छिन् । उनी मंगलबार भने विभिन्न कार्यक्रममा व्यस्त रहने छिन् । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा सोमबार उनलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरे । सोमबार राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसिन् ।

    उनी मंगलबार बिहान ८ः३० मा पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शनमा जाने कार्यक्रम छ । ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कार्यक्रम समेत तय भएको छ । त्यसपछि १ बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बन्ने छिन् । उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको समेत बताइएको छ ।

  • त्रिभुवन विमानस्थलको सेवा चुस्त पार्न पर्यटनमन्त्रीको निर्देशन

    त्रिभुवन विमानस्थलको सेवा चुस्त पार्न पर्यटनमन्त्रीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले विमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिनुका साथै यात्रुहरुलाई सहज हुने गरी व्यवस्थापन चुस्तदुरुस्त राख्न व्यवस्थापन पक्षलाई निर्देशन दिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले सेवा प्रवाह चुस्त दुरुस्त बनाउन निर्देशन दिएका हुन् । उनले विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै रनवे क्षेत्रको पनि निरीक्षण गरेका थिए ।


    निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले विमानस्थलको समग्र सुधार र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको भन्दै ७३ बुँदे कार्ययोजनामा समेत विमानस्थलको क्षमता विस्तार र आधुनिकीकरणको कामलाई समेटिएको बताए । विमानस्थलका अधिकारीहरुले कोरोना महामारीपछि विमानस्थल पुरानै लयमा फर्कन थालेको जानकारी दिएका थिए

  • १ जनवरी २०२३ बाट संचालनमा आउने भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    १ जनवरी २०२३ बाट संचालनमा आउने भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    काठमाडौं । पोखरामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सञ्चालनमा आउने भएको छ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति तय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    यो नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । चिनियाँ सरकारको सहुलीयतपूर्ण ऋणमा यो विमानस्थल निर्माण भएको हो । विमानस्थलको लागत २२ अर्ब रुपैयाँ रहेको छ । प्राधिकरणका अनुसार अब विमानस्थलको अगाडी रहेको सानो डाँडा कटान र फोहोर फाल्ने स्थानको व्यवस्थापनबाहेक भौतिक संरचना निर्माणको काम पुरा भएको छ ।

  • क्याथे प्यासिफिकले काठमाडौं उडान थाल्दै

    क्याथे प्यासिफिकले काठमाडौं उडान थाल्दै

    काठमाडौं । हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौं–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५, ९अक्टोबर (तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो ।
    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ ।

    प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताए । क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङ्कङ–काठमाडौं–हङ्कङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हङ्कङको ड्रयागन एयरलाइन्सअन्तर्गतकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्रयागन एयरलाइन्सले हङ्कङ–काठमाडौं गन्तव्यमा नियमति उडान भर्दै आएको थियो । हङ्कङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्रयागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो ।

    क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङ्कङको ध्वजाबाहक हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ । अहिले काठमाडौं–हङ्कङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ । नेपालीको बाहुल्यता रहेको हङ्कङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौंबाट हङ्कङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ । हाल क्याथेले हङ्कङ–काठमाडौंमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत असार १७ गते थाइल्याण्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् ।

  • नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि

    नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि

    काठमाडौं । नेपालमा कोरोना महामारीपछि अमेरिकाबाट उल्लेख्य पर्यटक आएको देखिएको छ । भारतपछि अमेरिकी पर्यटकको आगमन दोस्रो स्थानमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । पछिल्लो सात महिनाको तथ्यांक अनुसार अहिले पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२२ मा ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका छन् । यसमा १७ हजार २९९ जना भारतीय पर्यटक छन् ।

    दोस्रो स्थानमा रहेको अमेरिकाबाट एक महिनामा ५ हजार २२८ जना पर्यटक आएका छन् । जनवरीदेखि जुलाई सम्मको सात महिनामा भने कुल २ लाख ८५ हजार ३६३ जना पर्यटक नेपाल आएका छन् । कोभिड १९ महामारीपछि चीन सरकारले आफ्ना नागरिकलाई समेत विदेश भ्रमणमा कडाइ गरेको थियो । तर, पछिल्लो समय यस्तो कडाइ खुकुलो बन्दै गएपछि चिनियाँ पर्यटकको समेत आगमन बढ्न थालेको छ ।

    जुलाईमा मात्र चीनबाट १५ सय ९३ जना पर्यटक आएका छन् । यो कोभिड(१९ यता एक महिनामा आएका चिनियाँ नागरिकको सबैभन्दा ठूलो संख्या हो । यद्दपि यो संख्या साविकको जत्ति भने होइन । सन् २०१९ मा जुलाईमा १० हजार ८०८ जना चिनियाँ नागरिक आएका थिए । जुलाईमा भारतीयपछि अमेरिकाबाट बढी पयर्टक आएका छन् ।

    सन् २०२२ जुलाईमा बढी पर्यटक आएका ५ मुलुक

    भारत : १७ हजार २९९
    अमेरिका : ५ हजार २२८
    बेलायत : ३ हजार ९५३
    बंगलादेश : १ हजार ८७४
    चीन : १ हजार ५९३

  • हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-कुवेत उडान

    हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-कुवेत उडान

    काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान सुरू गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ। छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा आज बिहान ०९ः१७ बजे काठमाडौं अवतरण गरेको थियो। उडान उद्घाटन कार्यक्रममा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिको उपस्थिति रहेको थियो। एअरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौं उडान सञ्चालन गर्ने जनाएको छ।

    अरबी प्रायद्वीपको देश कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महत्वपूर्ण गन्तव्य हो। नेपाल र कुवेतबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहेकामा हिमालय एअरलाइन्सद्वारा काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको विश्वास छ।

    नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो। हिमालय एयरलाइन्स काठमाडौंलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको कम्पनीले जनाएको छ। कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले यात्रुलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै हिमालयको काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको सुरूआत पनि सोही भावनाअनुरुप रहेको बताए।

  • पर्यटन पुनरुत्थान कार्ययोजना : एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान

    पर्यटन पुनरुत्थान कार्ययोजना : एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान

    काठमाडौं । पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई आफ्नो प्रतिवेदन बुझाएको छ । १३ असारमा मन्त्री श्रेष्ठले पदभार ग्रहणका क्रममा नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका छन् ।

    समितिले सरोकारवालाहरुसँग छलफल तथा विगतमा गठन भएका विभिन्न समितिका प्रतिवेदनहरु अध्ययन गरी कार्ययोजना तयार गरेको जनाएको छ । प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले कार्ययोजनाले मन्त्रालयको कामलाई दिशानिर्देश गर्ने जानकारी गराए । कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने काम, तीन महिनामा गर्न सकिने काम, छ महिनाभित्र गर्न सकिने काम, एक वर्षभित्र गर्न सकिने काम र निरन्तर गर्नुपर्ने कामका ५१ वटा योजना समावेश गरिएको छ । कार्ययोजना कार्यन्वयन गर्ने निकाय र कार्यन्वयनका लागि सहयोगी संस्थाबारे पनि प्रतिवेदनमा उल्लेख छ ।

    पर्वतीय पर्यटन सुधारका लागि कानुन संशोधन गर्नुपर्ने, पर्यटकको नेपाल बसाई सुरक्षित बनाउन संकट व्यवस्थापन एकाइ स्थापना गर्ने, एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान’का लागि एनआरएनसँग सम्झौता गर्ने, काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण गर्ने, कोभिड(१९ पछि नेपाल सुरक्षित गन्तव्य रहेकोबारे बजारीकरण गर्ने कार्ययोजनामा उल्लेख छ । रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने, सगरमाथा सम्वाद पुनः सुरु गर्ने, अन्तर प्रदेश हवाई सेवा विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

    महत्वपुर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान चलाउने, पर्यटन डिजिटल नक्सा बनाउने लगायत बिषय पनि कार्ययोजनामा उल्लेख छ । मन्त्री श्रेष्ठले कार्ययोजना अनुसार काम अघि बढाउने प्रतिवद्धता जनाएका छन् । मन्त्रालयका सहसचिव होमप्रसाद लुइंटेलको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकण र नेपाल पर्यटन बोर्डका प्रतिनिधिका साथै तीन जना विज्ञ सम्मिलित समिति गठन गरिएको थियो ।

  • राजदूतहरुसँग पर्यटन मन्त्रीले भने : विदेशमा नेपालको पर्यटन प्रवर्द्धन गर्नुहोस

    राजदूतहरुसँग पर्यटन मन्त्रीले भने : विदेशमा नेपालको पर्यटन प्रवर्द्धन गर्नुहोस

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् । नवनियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताए । उनले विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने बताए ।

    सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास उनको छ । राजदुतावास, स्थायी नियोग, महावाणिज्य दुतावास तथा अवैतनिक बाणिज्य दुतावासहरुले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । राजदुतहरुले व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भुमिका खेल्नुपर्ने उनको भनाइ छ ।

    नेपालको हवाई उडानलाई ईयूको ‘सुरक्षा चासो’को सूचीबाट हटाउन पहल गर्ने उनले बताए । उनले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन आग्रह गरिएको जानकारी गराए ।

  • चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार

    चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार

    काठमाडौं । चन्द्रागिरि केवलकारमा आएको प्राविधिक समस्याका कारण बुधबार सयौं मानिस माथिल्लो स्टेशनमा रोकिएका छन् । बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेको प्रहरीले जनाएको छ । साँझसम्म पनि मानिसहरुले केबलकार चल्ने आशमा कुरेका थिए । तर, चल्न नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरेको हो ।

    टावर नं. ४ मा समस्या देखिएपछि दिउँसो पौने २ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासहित उनको परिवार पनि बीचमै अलपत्र परेको थियो । उनीहरुलाई उद्धार गर्न झण्डै आधा घन्टा लागेको थियो । तिम्सिना अलपत्र परेका बेला अन्य २८ केबलकार बीचमै रोकिएका थिए । त्यतिबेला १२० जनालाई तानेर उद्धार गरिएको थियो । गाडीमार्फत उनीहरुलाई तल्लो स्टेशनमा ओरालिएको छ ।

  • नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

    नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

    काठमाडौं । नेपालमा आउने पर्यटकमध्ये आधा पर्यटक भारतीय भएको तथ्यांकले देखाएको छ । सन् २०२२ को ६ महिना (जनवरी–जुन) मा कुल २ लाख ३७ हजार ६९६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा मात्र ४६ हजार ९५७ जना पर्यटक नेपाल आएका छन् । यसमध्ये भारतबाट मात्र २३ हजार २४८ जना आएका छन् । यो संख्या कुल आगमनको ४९.५ प्रतिशत हो । दोस्रो स्थानमा अमेरिका रहेको छ ।

    अमेरिकाबाट एक महिनामा ८ हजार ३५१ जना पर्यटक आएको देखिएको छ । बंगलादेशबाट २ हजार ५९ जना पर्यटक नेपाल आउँदा बेलायतबाट २ हजार २ जना पर्यटक आएका छन् । चीनबाट मात्र ४५१ जना नोपल भित्रिएको तथ्यांक छ । सन् २०१९ जुनमा ६१ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए । जुन २०२० मा ७६ र जुन २०२१ मा १ हजार १४३ जना पर्यटक नेपाल आएका थिए ।

  • सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर

    सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर

    काठमाडौं । अरनिको राजमार्ग हुँदै पुगिने चर्चित तातोपानी कुण्ड र त्यही बाटो हुँदै पुगिने तिब्बतस्थित खासा बजार नेपाल र नेपालीको लागि नौलो गन्तब्य होईन । त्यही अरनिको राजमार्गको नपत्याउने, भिरमा अपत्यारिलो संरचना बनेको छ । जसमा निर्माण भएर हालै मात्र संचालनमा आएको छ, सुबिधा सम्पन्न “ भोटेकोशी हेली रिसोर्ट” । त्यहाँ पुग्नेहरु नेपालको पर्यटन क्षेत्रको आठौ आश्चर्यका रुपमा यसलाई लिन्छन् । देश भित्र अवसर अभाबका कारण हरेक दिन ठुलो संख्यामा नेपाली वैदेशिक रोजगारी र अवसरको लागि पलायन हुँदै गर्दा भोटेकोशीको भिरमा फुलेको करोडौको लगानीको ४ तारे होटेलले पर्यटन क्षेत्रमा अपार सम्भाबना मुलुक भित्रै भित्र्याएको छ ।

    कोरोना महामारी कल्पना नै नगर्दा, हेली रिसोर्ट संचालकले महामारी सुरु हुनु भन्दा केही महिना अगाडी मात्र होटल निर्माण सुरु गरेका थिए । झन्डै ६० करोड लागतमा सम्पन्न गरिने होटलको पहिलो चरणको तयारी स्वरुप २५ वटा सुबिधा सम्पन्न रुम संचालनमा ल्याईएको हेली रिसोर्टलाई कुल ६० कोठा सहित टुँग्याउने लक्ष्य रहेको प्रवन्ध निर्देशक छिरिङ् शेर्पा बताउछन् ।

    भोटेकोशी भिरको सय रोपनी जग्गामा सुबिधा सम्पन्न क्यासिनो ब्ल्याक स्टोन स्पा, तातो पानी कुण्ड कै तातो पानीको स्विमिङ पुल, ट्राउट फिसिङ् मात्र होईन रिजोर्टले होटल पारीको भित्तोमा २०० फिटको प्रोजेक्टर स्क्रिनमा विश्व कप फुटबल जस्ता विश्व प्रसिद्ध् कार्यक्रमहरुलाई लाईभ प्रसारण गरेर होटलकै बरण्डाबाट हेर्न मिल्ने जस्ता महात्वाकांक्षी योजना सुरु गर्न लागेको छिरिङ् शेर्पाले जानकारी दिए । होटल निर्माणको अनुभब सुनाउदै छिरिङ् भन्छन् ‘भोटेकोशी क्षेत्रमा नै आमुल परिवर्तन स्थानिय रोजगारी र विकासलाई मध्यनजर गर्दै त्यहा होटल निर्माण गरेका हौ ।’ उनका अनुसार सम्पन्न शहरका होटलसँग प्रतिस्पर्धा गर्नु भन्दा भुकम्पले क्षतविक्षत भएको सिन्धुपाल्चोकको बिकासमा पनि टेवा पुर्याउने हेतुले भोटेकोशीको भिरमा यती ठुलो लगानी गरिएको हो ।

    कोरोनाले बढायो लागत
    अकस्मात विश्व ठप्प पार्ने कोरोना महामारी सुरु भयो । कोरोना महामारीका कारण लागत रकम ३० प्रतिशतले बढेको लगानीकर्ताहरुले जानकारी गराएका छन् । होटल फुल फेजमा सुरु भए पछि चाईनिज पर्यटकको लागि सजिलो गन्तब्य हुने र क्यासिनो चाईनिज पर्यटकले नै भरिने विश्वास उनको छ । पोखरास्थित फिसटेल एकेडेमीका संचालक चिनु रानाभाट लगायतका ब्यापारिहरुको सन्लग्नता रहेको हेली रिजोर्टमा हाल २५ वटै रुमहरु प्याक हुने गरेको व्यवस्थापनले जनाएको छ । अहिले हेली रिजोर्टमा २५ रुम साजिसजाउ फाईन डाईनिङ् रेस्टुरेण्ट र दुई वटा स्विमिङ पुल लबी संचालनमा आएका छन् ।

    हेलिकप्टर किनेर प्याकेज बिक्रि गर्ने लक्ष्य
    रिसोर्टले छिट्टै हेलिकप्टर खरिद गरेर फरक फरक प्याकेज बजारमा ल्याउने जनाएको छ । काठमाण्डौ–रिसोर्ट, गोसाईकुण्ड, कालीन्चोक प्याकेज बिक्री गर्ने लक्ष्य राखेको कम्पनीको भनाई छ । अर्को प्याकेजमा माउण्टेन फ्लाईट हुने छ । हेलिकप्टर सहितको प्याकेज खरिद गर्न नस्कने ग्राहकका लागि भने काठमाडौंबाट गाडीमा रिसोर्टसम्म ल्याउने र एक रात राखेर कालिन्चोक घुमाउने अर्क्रो प्याकेजको पनि तयारी गरेको छ ।

    होटलका बिशेषता

    होटलका थुप्रै विशेषतामध्ये रुम फरक छन । होटलमा सुत्ने रुम भन्दा भन्दा ठुला बाथरुम छन् र रुम भन्दा बाहिरको बरण्डा कोठा जत्रै क्षेत्रफलका छन । रुम बाहिर रहेको बरण्डामा बस्नेले बाहिरको भ्यु मज्जाले देख्ने तर बाहिरबाट बरण्डा भने देख्दै नदेख्ने, ईन्जिनीयरिङमा निर्माण गरिएको छ । जापानिज प्रविधीको नेचुरल हट वाटर ब्ल्याक स्टोन स्पा नेपालमा नै हेली रिसोर्टमा नौलो प्रयोग हुने व्यवस्थापनको दाबी छ । हट वाटर ब्ल्याक स्टोन स्पालाई थेरापिस्ट सहित संचालन गरिने होटल व्यवस्थापनले जनाएको छ ।

    होटलको बरण्डामा बसेर पारी पट्टीको भित्तामा रहेको बिशाल प्रोजेक्टर स्क्रिनमा टि भि हेर्न सकिने छ । भोटेकोशी नदीमा संचालित चर्चित बन्जी जम्पिङको ठ्याक्कै माथि संचालित रिसोर्टले होटलमा बस्न आउने ग्राहक लाई आफ्नै जग्गामा उत्पादन गरिएको अर्ग्यानिक तरकारी खुवाउने मात्र होईन होटल आफैले पालेर तयार पारेको लोकल कुखुरा, कालिज, खसी–बोका खुवाउने समेत तयारी गरेको छ । बसाई सुबिधा सम्पन्न रिसोर्टको तर खुवाई पुरै नेपाली स्टाईलको अर्ग्यानिक खुवाउने होटलको दाबी छ ।

    एनआरएन लक्षित प्याकेज

    देशमा आर्थिक संकट गहिरिदै जाँदा विदेशमा बस्ने नेपालीहरुलाई विभिन्न किसिमले आकर्शित गर्ने योजना होटल व्यवस्थापनले सुरु गर्ने जनाएको छ । दोश्रो र तेश्रो देशका पर्यटक भन्दा आफ्नै देशका लाखौं नेपालीलाई लक्षित गरी रिसोर्टले प्याकेल ल्याउने तयारी छ । वर्षौदेखि बाहिर रहेका नेपालीलाई स्वदेश फर्कदाँको पहिलो गन्तब्य भोटेकोशी हेली रिसोर्टलाई बनाउन चाहेको छिरिङ् शेर्पाले बताए ।

    उनका अनुसार विदेशबाट फर्किएका नेपालीले स्वदेशमा घुमघाम गर्ने क्रम बढेको छ । हामी एनआरएनहरुलाई होटलको वार्षिक सदस्यता कार्ड वितरणको तयारी गरिएको छ । ‘हामी मुल्यको आधारमा सिल्भर, गोल्ड र डाईमण्ड मेम्बरसिप वितरण गर्दै छौ । त्यो मेम्बरसिप लिएपछी विदेशबाट नेपाल आउँदा विमानस्थलमा पिक अप, ड्रप अपदेखी रिसोर्टमा ल्याउने र लाने, त्यो क्षेत्रमा घुमाउने अनी आफ्नै घरमा बसे जस्तो महसुस हुने गरी रिसोर्टमा राख्नेछौ,’ उनले भने ।

    उनका अनुसार मेम्बरसिप लिएपछी मेम्बरसिपको क्याटागोरीको आधारमा सदस्य र उनका परिवार, नातागोतालाई सेवा निःशूल्क दिइने भएको छ । ‘चर्चित तातोपानी कुण्ड धार्मिक पौराणिक हिसाबले पनि प्रख्यात छ । थुप्रै एनआरएन साथीहरुको आफ्ना माता पितालाई तातोपानी, कालिन्चोक दर्शन गराउने ईच्छा हुन्छ । त्यसका लागी पनि हामीले मेम्बरसिप सुरु गर्न लागेका हौ,’ उनले भने ।

    सेयर किन्ने अवसर
    होटल प्रशासनले संसारभर रहेका एनआरएन लाई १०, २० र ३० लाखको सेयर खरिदको लागि आह्वान समेत गरेको छ । होटल व्यवस्थापनका अनुसार अहिले बितरण गर्न लागिएको १० देखी १५ करोड सेयर संस्थापक हुनेछ । खरिद गरिएको सेयर दुई वर्षपछी फिर्ता लिन चाहेमा होटलले १० प्रतिशत दरमा ब्याज समेत थपेर फिर्ता दिने ग्यारेण्टी गरेको जनाएको छ । वर्षको २० वटा होटलका कोठा त्यस्ता सेयर होल्डरलाई निःशूल्क दिईने छ । त्यस्ता सेयर होल्डरले वर्षमा निःशुल्क प्राप्त गर्ने २० वटा कोठालाई आफु र आफ्ना परिवार आफन्तका लागि प्रायोग गर्न सक्ने छन् ।

    सम्पादक\प्रकाशक विजय राम पौडेलले होटल व्यवस्थापकसँग गरेको सम्वादका आधारमा तयार रिर्पोट

  • आन्तरिक उडान नियमित, वार्ता जारी राख्ने सहमती

    आन्तरिक उडान नियमित, वार्ता जारी राख्ने सहमती

    ८ असार, काठमाडौं । बुधबार बाट रोक्ने भनिएको आन्तरिक उडान नियमित भएको छ । बुधबारबाट उडान रोक्ने घोषणा गरेका वायुसेवा कम्पनीले आज ११ बजेपछि सबै उडान नियमित हुने बताएका हुन् । गृह सचिवको संयोजकत्वमा मंगलबार मध्यरातमा प्राधिकरणका पदाधिकारी र वायुसेवा संचालकहरुबीचको वार्तामा उडान नरोकी समस्या समाधानका उपाय खोज्ने सहमती जुटेकोसँगै उडान नियमित हुन लागेको हो ।

    उडान रोकेमा कानून अनुसार कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको थियो । मंगलबारको वार्तामा उडान नरोक्ने र मागका बारे छलफलका माध्यमबाट सम्बोधन गर्ने सहमती जुटेको हो । त्यसपछि कम्पनीहरु पछाडी हटेका छन् । सबै कम्पनीहरुले सूचना निकालेर उडान सूचारु हुने जानकारी गराएका छन् । काठमाडौंबाट दैनिक सयौं उडान गर्ने जहाज अब उपत्यका बाहिर राखेर बिहानी उडान गर्नुपर्ने भएको छ ।

  • बुधबारबाट कार्यालय समय परिवर्तन, यस्तो हुनेछ नयाँ प्रावधान

    बुधबारबाट कार्यालय समय परिवर्तन, यस्तो हुनेछ नयाँ प्रावधान

    काठमाडौं । सरकारले परीक्षणका लागि सुरु गरेको दुई दिने सार्वजनिक बिदा खारेज गरेपछि बुधबारबाट नयाँ कार्यालय समय कार्यान्वयनमा आउने भएको छ । भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण भएको हो । गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको जनाएको छ । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो।

    अब नेपाल राज्यभरका सवै सरकारी कार्यालयमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० देखि अपरान्ह ५ बजेसम्म कायम हुने छ। यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने छ। शुक्रबारको दिन कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ।

  • मनसुन शुरु भएसँगै चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी बन्द

    मनसुन शुरु भएसँगै चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी बन्द

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ। निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरू भएसँगै निकुञ्ज भित्रका कच्ची वन पथ बिग्रने, जंगलमा भएका स(साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरूद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो। ‘अर्को सूचना जारी नभए सम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको छ,’ उनले भने।

    निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ। योसँगै राप्ती नदीमा गरिने डुंगा सफारी बन्द गरिएको उनले जानकारी दिए। वर्षातको समयमा डुंगा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो। निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आवको वैशाखसम्म आठ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। सो समयमा एक लाख ५९ हजार ८८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए।

    उनीहरूमध्ये एक लाख ३६ हजार ५२२ नेपाली, १० हजार ९३४ सार्क मुलुकका र १२ हजार ४२५ अन्य मुलकका रहेको निकुञ्जले जनाएको छ। सोही अवधिमा निकुञ्जभित्र दुई करोड ४१ लाख ४० हजार पटक जंगलमा जिप सफारी गरिएको छ। निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जंगल सफारी रहेको छ । रासस

  • काठमाडौं–कुमिङ हवाई उडान, हिमालयले गर्यो परीक्षण उडान

    काठमाडौं–कुमिङ हवाई उडान, हिमालयले गर्यो परीक्षण उडान

    काठमाडौं । काठमाडौंदेखि चीनको दक्षिणी क्षेत्रमा पर्ने युन्नान प्रान्तस्थित कुमिङसम्म हवाई उडान प्रारम्भ भएको छ । नेपालस्थित चिनियाँ दूतावासले पहिलो काठमाडौ(कुमिङ उडान भएको जानकारी गराएको छ । बिहीबार दूतावासले ट्विटरमार्फत पहिलो काठमाडौं-कुमिङ उडान भएको जनाउँदै सो अवसरमा बधाईसमेत दिएको छ ।

    कोभिड १९ महामारीपछि नेपाल र चीनबीचको धेरै गन्तब्यको उडान रोकिएको छ । परीक्षणका लागि मंगलबार हिमालय एयरलाइन्सको एच९७८४ विमान त्रिभुवन विमानस्थलबाट चीनको कुमिङ पुगेर फर्किएको हो । अहिले चीनले आफ्ना नागरिकलाई अन्य मुलुक जान अनुमति नदिएका कारण एयरलाइन्सले सेवा बिस्तार गर्न पाएका छैनन् ।

  • एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक

    एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक

    काठमाडौं । नेपालमा मे २०२२ मा ५३ हजार ६०८ जना पर्यटक आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ७ हजार २७४ जना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा भारतपछि यो वर्ष अमेरिकाबाट पर्यटक आएका छन् । सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा भारतबाट मात्र २६ हजार ६६२ जना पर्यटक नेपाल आएका छन् । यो हवाई मार्ग प्रयोग गरेर आउने भारतीयको मात्र संख्या हो ।

    दोस्रो स्थानमा अमेरिकी नागरिकको संख्या धेरै छ । मे महिनामा अमेरिकाबाट मात्र ७ हजार २७४ जना पर्यटक नेपाल आएका छन् । तेस्रो स्थानमा बंगलादेश रहेको छ । यस मुलुकबाट ३ हजार २६८ जना नागरिक मे महिनामा नेपाल आएका छन् । बेलायतबाट २ हजार ४५१ जना पर्यटक नेपाल आएका छन् ।अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा नेपाल आएका ५३ हजार ६०८ जना नागरिकहरु संसारभरका १६९ वटा मुलुकका नागरिक हुन् ।

    यो सूचीमा युद्धरत मुलुक युक्रेनबाट ७१ र रसियाबाट ४८८ जना नागरिक नेपालको भ्रमणमा आएको देखिएको छ । एक महिनाको अवधिमा नेपालबाट ६१ हजार ३५० जना विदेशी नागरिकले देश छाडेका छन् । विभागका अनुसार मे महिनामा विभिन्न मुलुकमा रहेका ७४ हजार ६९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । यसै अवधिमा १ लाख १३ हजार ७१६ जना नेपालीले भने स्वदेश छाडेर विदेश उडेको अध्यागमन विभागले जनाएको छ

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, जजिरा र नेपाल एयरलाइन्स अवतरण

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, जजिरा र नेपाल एयरलाइन्स अवतरण

    भैरहवा । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । सोमबार कुवेतबाट आएको जजिरा एयरवेजको जहाज र नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट भैरहवा पुगेर अवतरण गरेका छन् । आज भैरहवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत आउँदैछन् । तर, उनी यो विमानस्थलमा भने अवतरण गर्ने छैनन् । हेलिकोप्टरमा आउने उनी सिधै लुम्बिनी जाने कार्यक्रम छ । काठमाडौं पछि नेपालमा ७ दशकपछि अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो ।

  • श्री एयरलाइन्सको जहाज जब सिंगल इन्जिनको सहारामा काठमाडौं डाइभर्ट भयो

    श्री एयरलाइन्सको जहाज जब सिंगल इन्जिनको सहारामा काठमाडौं डाइभर्ट भयो

    काठमाडौं । बुधबार श्री एयरलाइन्सको जहाजको इन्जिन आकासमै फेल हुँदा आकस्मिक अवतरण गर्नु परेको छ । काठमाडौंबाट धनगढीका लागि उढेको जहाजको इन्जिन फेल भएपछि बुधबार काठमाडौंमै डाइभर्ट गरिएको छ । जहाज काठमाडौंबाट २४ नटिकल माइल उडेपछि काठमाडौं फिर्ता भएको हो । जहाजमा ८७ जना मानिस थिए । उनहिरुलाई बुधबार नै अर्को उडानबाट धनगढी लगिएको छ । यो जहाज अब प्राविधिक जाँच पछि मात्र उड्न पाउने भएको छ ।

  • लुक्ला जान टिकट काटेका यात्रुलाई चुनावको दिन पनि नरोकिने

    लुक्ला जान टिकट काटेका यात्रुलाई चुनावको दिन पनि नरोकिने

    काठमाडौं । ३० वैशाखको दिन नेपालभर सार्वजनिक यातायात चल्ने छैनन् । जसले गर्दा आन्तरिक हवाई उडान समेत ठप्प हुने छ । यस दिन उद्धार उडान, मानवीय सहायताका उडान र सरकारको अनुमतिमा भने उडान हुनेछन् । समिट एयरका अनुसार यस दिन लुक्ला जान टिकट काटिसकेका यात्रुले उडान गर्न पाउने गरि व्यवस्था मिलाइएको छ ।

    सोहीकारण सम्बन्धित एजेन्सीले पर्यटकलाई होटेलबाट विमानस्थलसम्म लैजाने व्यवस्था मिलाउन कम्पनीले आग्रह समेत गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि भने उडान सूचारु हुनेछन् ।

  • निर्वाचनको दिन हवाई यात्रुको सेवामा सटल बस चल्ने, यी हुन रुट

    निर्वाचनको दिन हवाई यात्रुको सेवामा सटल बस चल्ने, यी हुन रुट

    काठमाडौं । बैशाख ३० का दिन पर्यटक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सेवाका लागि काठमाडौंमा सःशुल्क सटल बस चलाइने भएको छ । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा यस्तो सेवा सञ्चालन गरिने जनाएको छ । हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग र व्यवसायीको समन्वयमा यस्तो सुविधा दिन लागेको हो ।

    बस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म चल्ने छ । यस्तो बसको शूल्क ३ सय रुपैयाँ तोकिएको छ । बोर्डका अनुसार एयरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-होटल याक एण्ड यति-ठमेल चोक-लैनचौर चोक-शंकर होटल -एम्बासडर होटल -एयरपोर्ट हुँदै एक रुट तोकिएको छ ।

    एयरपोर्ट-होटल र्याडिशन-सांग्रिला होटल-नारायण गोपाल चोक-महाराजगंज चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्धारिका-एयरपोर्ट गुड्ने गरी अर्को रुट तय भएको छ ।

    एयरपोर्ट-तीनकुने चोक-होटल एभरेष्ट-माइतीघर चोक-होटल हिमालयन-होटल सोल्टी-ग्रान्ड होटल -एयरपोर्ट रुटमा समेत बस चल्ने छ । सटल बस सेवावापत तोकिएको शुल्क लाग्ने सेवा दिंदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने गरि तोकिएको छ ।

  • काठमाडौंबाट बनारस ९ जेठबाट नियमित उडान हुने

    काठमाडौंबाट बनारस ९ जेठबाट नियमित उडान हुने

    काठमाडौं । कोरोना महामारीपछि बन्द भएको काठमाडौं र बनारसबीच आगामी ९ जेठ (२३ मे)बाट पुनः सुरु हुने भएको छ । कम्पनीका अनुसार यो रुटमा सातामा दुई उडान गर्ने गरी बुद्ध एयरले उडानको उडानको मिति सार्वजनिक गरेको हो । काठमाडौं(बनारस(काठमाडौं रुटमा सोमबार र शुक्रबार उडान हुने गरी बुद्धले मिति सार्वजनिक गरेको छ । वनारसमा बुद्धले आफ्नो भगिनी संस्था बुद्ध होलिडेजमार्फत टूर प्याकेज बिक्री गर्छ ।

  • अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

    अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

    काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।

    केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराहीचोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लनचोकबाट स्टेसनसम्म लैजान बस पुग्नेछ । केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्न यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ्रेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेन चाहने पर्यटकलाई लक्षित गरि बस सेवा शुरु गरिएको कम्पनीले जनाएको छ ।

  • अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

    अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

    काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएयता अप्रिल २०२२ मा नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक अनुसार यो महिनामा ५८ हजार ३८४ पर्यटक नेपाल आएका छन् । यो ११ चैत २०७६ मा नेपालमा लकडाउन भएयताको सबैभन्दा उच्च संख्या हो । मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए ।

    बोर्डका अनुसार एक महिनाको अवधिमा भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक नेपाल आएका छन् । सन् २०२२ मा जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६ र अप्रिलमा ५८ हजार ३८४ जना पर्यटक नेपाल आएका हुन् । यो महिनामा चीनबाट २८१ जना र बंगलादेशबाट १५३७ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट ६ हजार ९५४ जना र बेलायतबाट ५ हजार २५२ जना पर्यटक नेपाल आएका छन् ।