काठमाडौं । भैरहवाबाट यात्रु बोकेर काठमाडौँ उड्नै लाग्दा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएको छ । ल्याण्डिङ गियरमा समस्या आएपछि जहाज अकस्मात रोक्नु परेको र सो क्रममा जहाजका पांग्रा पड्किएको बताइएको छ । विमान ठूलो दुर्घटनाबाट बचेको हो । जहाजमा ७० जना सवार थिए । त्यस क्रममा रनवेमा गुडिरहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो ।
जहाजमा मसस्या आएपछि रोकिएका कारण विमानस्थल अवरुद्ध भएको थियो । घटना दिउँसो २ बजेको हो । त्यसपछि जहाज हटाएर शुरुमा उडान र त्यसपछि अवतरण समेत खुला गरिएको थियो । जहाजलाई अहिले ट्याक्सी वेमा राखिएको र प्राविधिक जाँच शुरु भएको कम्पनीले जनाएको छ । यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याइएको छ ।
काठमाडौं । काठमाडौं–नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमले अहिले काठमाडौं–नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने उनले जानकारी गराइन् ।
यात्रु चाप एवम मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेकोका कारण उडान संख्या थप्न लागिएको उनको भनाइ छ । जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं-नारिता यात्रु बोक्न परेको हुनाले भाडादर समेत मंहगो भएको नेपाल एयरलाइन्सको भनाइ छ ।
काठमाडौैं-नारिता सेक्टरमा करसहित विजनेस क्लासमा रु. १ लाख ५२ हजार र इकोनोमी क्लासमा रु. १ लाख १९ हजार ७०० भाडादर कायम गरिएको छ । यसरी तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरु बिक्री वितरण गरेको गुनासो प्राप्त भएको भन्दै खड्काले कसैले तोकिएको मूल्यभन्दा बढी मूल्य लिई विक्री वितरण गरेको पाइएमा नियमानुसार कारवाही हुने समेत चेतावनी दिएको छ ।
कसैले बढी भाडा असुलेको पाइएमा यात्रु महानुभावहरुलाई प्रमाणसहित निगममा उजुरी गर्न समेत अनुरोध गरेको छ । काठमाडौं-नारिता सेक्टरमा सिट संख्या बढाउन नेपाल स्थित जापानी राजदुतावासलाई अनुरोध गरिसकिएको समेत निगमले जनाएको छ । नारिताबाट काठमाडौं उड्ने समयमा भने जहाज पूर्ण क्षमतामा उड्ने गरेको छ । जसले गर्दा नेपाल आउने यात्रुलाई भाडा समेत केही कम पर्छ ।
काठमाडौं । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन ९पाटा० नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो ।
‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने तयारी भएको पाटा नेपाल च्याप्टरले जनाएको छ । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत सेफ साहसहितको टोलीलाई नेपाल बोलाएर मौलिक खाना संस्कृति र गन्तव्य प्रवद्र्धनमा सहभागि गराइने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले जानकारी दिए ।
उनका अनुसार बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफलाई नेपाल भ्रमण गराई गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाले गरेको पहलले महामारीपछिको पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने छ । पाटाका सिइओसहितका पदाधिकारी, पर्यटन सम्बद्ध क्षेत्रका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, सेफ एशोसिएशन र हस्पिटालिटीका विद्यार्थीले विमानस्थलमा सेफ साहसहितको टोलीलाई भव्य स्वागत गर्ने कार्यक्रम छ ।
नेपालको संस्कृति झल्कने पहिरनमा पञ्चेबाजासहित सेफ टोलीलाई स्वागत गर्नेछन् । सेफ साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र नेपालका विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनमा सहभागी हुनेछन् । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ । पाटा नेपालका अनुसार मास्टर सेफ टोली आज काठमाडौँ आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ ।
निर्धारित कार्यक्रम तालिका अनुसार सेफ टोली ८ तारिख पोखरा जानेछ भने ९ तारिखमा काठमाडौँ फर्केर १० तारिखमा जनकपुर जाने र त्यहाँ आयोजना हुने ‘मिथिला खाना तथा रेसिपी’ विषयक कार्यक्रममा सहभागी हुनेछ । उक्त टोली ११ तारिखका दिन काठमाडौँमा आयोजना हुने पाटा नेपाल च्याप्टरको ४५ औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा सहभागी हुनेछन् ।
१२ तारिखमा काठमाडौँमा ‘फाइनडाइनिङ’ कार्यक्रममा सहभागी भई १३ तारिखमा लुक्ला जाने र सगरमाथा आधार शिविर कालापत्थर भ्रमणको कार्यक्रम छ । उक्त टोली लुक्लाबाट फर्केपछि १५ तारिखमा बर्दिया जानेछ । बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टरशेफद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हंटिङ कार्यक्रम आयोजना गरिनेछ । १७ तारिखकमा सेफ एशोसिएशनको कुकिङ प्रतियोगितामा सहभागी भएर सेफ टोली फर्किनेछ ।
काठमाडौं । अमेरिकाले पाकिस्तानमा बढ्दो राजनीतिक अस्थिरताका बीच यात्रामा पुनर्विचार गर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । सो मुलुकको तर्फबाट ट्राभल एडभाइजरी जारी गर्दै आतंकवादी हमला तथा अपहरणका घटना घटेको भन्दै यात्रामा विचार गर्न भनिएको हो । पाकिस्तानमा पनि बलूचिस्तान र खैबर पख्तूनख्वा प्रान्तलाई बढी संवदनशिल मानिएको छ ।
अमेरिकाले आफ्नो नागरिकलाई आतंकवादी गतिविधि भइरहेका र सशस्त्र संघर्ष जारी रहेको इलाकामा सकेसम्म नजान भनेको हो । आतंकी संगठनले पाकिस्तानमा लगातार आक्रमणको योजना बनाइरहेको सूचना प्राप्त भएसँगै अमेरिकाको तर्फबाट यस्तो सूचना जारी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । पछिल्लो समय पाकिस्तानमा राजनीतिक अस्थिरताले द्धन्द्ध बढेको छ ।
हामीलाई कसैले घर कहाँ भनेर सोध्यो भने हामी फुर्तिसंग भनि दिन्छौं – काठमाडौं । काठमाडौंको कुनै अनकन्टार गाऊँमा घर भए पनि काठमाडौंको मुटुमै जन्मिए जसरी भन्छौं “काठमाडौं” । तर त्यही काठमाडौं वरीपरीका अधिकांस ठाउँहरु कता पर्छन्, कस्तो छ भनेर हामीले न त सुनेका नै छौं न त गएका नै छौं ।
गत एक डेढ वर्षदेखि सायद काम नभएर बढी फुर्सदिलो भएर हो कि अथवा घुम्न हिड्ने साथी समूह मिलेर हो कि, यसो साथीहरुसंग कुरा गर्यो घरबाट निक्ली हाल्यो गर्न अनुकुल मिलेर काठमाडौंका विभिन्न स्थानहरु जुन हाम्रो वासस्थानदेखि एक दुई घन्टाको ड्राइभिंगमा जान थालियो ।
यसरी घुम्न हिड्ने हाम्रो २–३ समूह वनेको छ । १ समूहमा हामी ५ जना हुन्छौं अर्को समुहमा हामी त्यो ५ जनामा अर्को ५ जना थपिएर १० जनाको समुह छौं र तेस्रो समूह त्यो १० जनामा अर्को १२ देखि १४ जना थपिएर २२–२४ जनाको समूह वन्छौं र हामी कहिले ५ जनाको कहिले १० जनाको कहिले २२–२४ जना मिलेर विभिन्न स्थानमा घुम्न जाने गर्छौं ।
यही घुम्न जाने क्रममा २०७८ साल फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको दिन म, श्रीमती इन्दिरा, नारायणी जोशी, तारा जोशी, पूर्णचन्द्र जोशी, पुरु चालिसे, सुधा चालिसे, रामेश्वर ढुङ्गाना र उषा ढुङ्गाना ललितपुर जिल्लाको लेले स्थित पाथिभरा देवी, टिका भैरब र वज्रवाराही पुग्यौं । माथि भनिए झैं म काठमाण्डौंको आरुबारीमा जन्मेको मान्छे, उमेरले साठी नाघिसकेको, आजसम्म लेले र टिकाभैरब पुगेको रहेनछु, भला वज्रवाराही कसो एउटा विहेको जन्तिमा पुगेको रहेछु ।
ललितपुर जिल्लाको मध्य भागमा पर्ने सानो उपत्यका लेले, पाटनबाट करिब १२–१३ किलोमिटरको दुरीमा रहेको लेलेमा धेरै नै ऐतिहासिक सम्पदाहरु रहेको छ । लेलेमा रहेको सरस्वती कुण्डमा श्रीपञ्चमीको दिन ललितपुर मात्र नभएर काठमाण्डौं, भक्तपुर र त्यो भन्दा पनि टाढा टाढाबाट सरस्वती पूजा गर्न आउँछन् । त्यसैगरी त्यो सरस्वती कुण्डमा उमेर पुगेका तर बोल्न नथालेका बच्चाहरुलाई कुण्डमा पुजा गरेर त्यहाँको जल खान दिएमा बोल्न थाल्छन् भन्ने मान्यता पनि रहेको छ । लेलेबाट करिब ९५ किलोमिटरमै हेटौंडा पुग्न सकिन्छ ।
भन्न त लेले क्षेत्रलाई इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणी धाम पनि भनिन्छ । चारैतिर हरिया डाँडा, विचमा गाउँले बस्ती जहाँ खाद्यान्न र तरकारी राम्रो उब्जनी हुन्छ । लिच्छवी र मल्लकालीन पुरानो नेवार बस्ति भएको लेलेको महत्वपूर्ण सम्पदाको रुपमा सरस्वती कुण्ड रहकोछ ।
लेलेको बारेमा प्राचिन विभिन्न किम्वदन्तीहरु भेटिन्छ । जस अनुसार देवताका गुरु वृहस्पतिले कालो तीलको थुप्रो लगाएर भगवान शिवको तपस्या गरे रे । तपस्याको तेश्रो दिन संक्रान्तीमा त्यो तिलको थुप्रो ढुंगामा परिणत भई भगवान शिवले दर्शन दिदै भने ल मेरो मात्र हैन सरस्वतीको पनि आराधना गर्नु । भगवान शिवको उक्त भनाई अनुसार वृहस्पतिले सरस्वतीको पनि तपस्या आराधना गर्न थाले । वृहस्पतिको आराधनापछि सरस्वती प्रसन्न भएर जलको रुपमा प्रकट भइन् र वृहस्पतिले सो जल पिए । जल पिएकोले सरस्वती वृहस्पतिको कण्ठमा बस्न गईन । त्यस अघि सरस्वती दैत्य गुरु शुक्राचार्यको कण्ठमा बस्ने गरेकी थिइन् । आफ्नो कण्ठ छाडी वृहस्पतिको कण्ठमा सरस्वती बस्न गएकोले शुक्राचार्य रिसाएर सरस्वतीलाई “तिमीले जलको रुपमा यही कुण्डमा बस्नु परोस् भनि श्राप दिए। आफुले श्राप पाएपछि सरस्वतीले रिसाएर शुक्राचार्यलाई “तिमीले पनि शुक्रकिटको रुपमा संसार सृष्टि गर्न सगाउनू परोस्” भनेर श्राप दिइन् ।”
यही किम्वदन्ति र अन्य जनश्रुति अनूसार सरस्वतीको श्राप पाएर शुक्राचार्य पहेंलो पानीमा परिणत भइ त्यहां अर्को कुण्ड वन्यो र त्यो कुण्डलाई त्यही वेलादेखि ज्ञानकुण्डको रुपमा पूजा अर्चना गर्न थालियो । तिलको थुप्रोबाट ढुंगाको रुपमा शिवजी उत्पत्ति भएकोले तिलेश्वर महादेव भनियो भने जलको रुपमा सरस्वती उत्पन्न भएकोले सरस्वती कुण्ड भनियो । यो कुण्ड नजिक सरस्वतीका साथै गणेश, कुमार, नव दुर्गाहरुको मूर्ति छन् । तिलेश्वर महादेव र सरस्वती कुण्डसंगै उत्तरपट्टी पशुपतिनाथको मन्दिर छ । भनिन्छ काठमाण्डौंमा रहेका आराध्यदेव पशुपतिनाथ भन्दा यो मन्दिर अझ पुरानो हो, जुन विक्रम संवत् ५२६ मा नै स्थापना गरिएको थियो ।
‘यहांबाट करिब ६ किलोमिटर पर २ हजार मिटर अग्लो भन्ज्याङ्ग पर्छ जस्लाई नल्लु भन्ज्याङ्ग भनिन्छ र त्यही पाथिभरा देवीको मन्दिर छ । त्यो भन्ज्याङ्गबाट हेर्दा माथि माथि हिउँ टलक्क टल्किएर झलमल्ल देखिएको हिमाल, तल तल कचौरा रुपी काठमाडौं उपत्यकाको आकृति, अनि चारैतिर फनक्क घुमेर हेर्दा हरिया डाँडा र ती डाँडालाई नयाँ दुलहीले सिउंदो भरी हालेको सिन्दुर झैं झपक्क ढाकेको राताम्मे लालि गुराँस । हो यो दृष्य हो महाभारत श्रंखलामा पर्ने छैन दक्षिणी ललितपुरको एक भाग नल्लु भन्ज्याङ्ग र त्यही नजिकको लामिडाँडाबाट देखिने दृष्य ।
हामी यी दृष्यहरु भ्याएसम्म मोवाइलको क्यामेरामा भित्र्याउँदै र नभ्याएको जती आँखाभित्र सजाउँदै पाथिभरा देवीको दर्शन गर्न पुग्यौं । हुन त पाथिभरा देवीको खास मन्दिर त पुर्वि नेपालको ताप्लेजुंग जिल्लामा पर्छ । पाथीभरा देवीलाई आधीकाली, महामाया, महारुद्री जस्ता नाउँबाट पनि सम्बोधन गरिन्छ । वर्षैपिच्छे हजारौं तिर्थयात्री सारो कठिनाईसँग पाथीभरा पुग्ने गर्छन् । दरो ईच्छा श्क्तिको अभावमा ताप्लेजुंगस्थित पाथीभरा देवी जान नसक्नेहरुलाई पाथीभरा देवीको दशन गर्न सरल होस भनि ललितपुर नल्लुवासीहरुले नल्लुको टुप्पोमा २०६७ सालमा पाथीभरा देवीको स्थापना गरे ।
लेले स्थित पाथिभरा देबी
ताप्लेजुंगमा हामीले दर्शन गरेको जस्तै पाथीभरा देवीको मूर्ति त्यहाँपनि देखियो । सपक्क पारेर रातो धोती लगाएकी गलामा हरियो पोतेमा उनेको तिलहरी र मोतिको माला लगाएर, टम्म चुरा लगाएर सजिएकी र सुनौलो मुहार कान्तिले धपक्क बलेको अनुहार आशिर्वादको रुपमा ठडिएको एक हात अर्को हातमा शंख अनि अरु हातमा विभिन्न हतियार सहित सिंहमाथि चढेकी देवीको मूर्ति अहिल्यै वोलिहाल्छकि जस्तो भान हुन्छ । यस्तै पाथी भराको मूर्ति भक्तपुरको गुण्डुमा पनि स्थापना गरिएको छ रे, तर हामी अहिलेसम्म पुगेका छैनौं ।
हामी सवैजना पाथिभरा देवीको दर्शन गरेर बज्रवाराहीको दर्शन गर्न ओरालो झर्यौं । बज्रवाराहीको मन्दिर एउटा शक्तिपीठको रुपमा हिन्दु धर्मावलम्बीहरुले पूज्ने गर्छन् । चारवटा बाराही मन्दिर मध्ये वज्रवाराही पनि एक हो भने बाँकी ३ वटामा नीलवाराही, स्वेतवाराही र धुम्वाराही मन्दिर पर्दछन् । यी देवीहरुलाई तान्त्रीक देवी पनि भन्ने गरिन्छ र यिनीहरुको नित्य पूजा पनि तान्त्रिक विधीबाटै गुभाजुहरुबाट गरिन्छ । बज्रवाराहीलाई आठ र मात्रिका कै जसरी पूजा गरिन्छ भने अष्ट भैरवको रुपमा पनि पुजिन्छ ।
वज्रवाराहीको अहिले भैरहेको मन्दिर सत्रौं शताब्दीमा वनेको हो जुन पुरानो देखिन्छ र मन्दिरको ढोकाको दायाँबायाँ २ वटा ठुलो कलात्मक ढुंगाबाट वनेका सिंहको मुर्ति देखिन्छन् ती सिंह वज्रवाराहीको संरक्षक हुन् भन्ने मान्यता पाइन्छ । वज्रवाराहीको पहिलेको संरचना चाहिं विक्रम संवत् ७८४ मा श्री निवास मल्लले वनाएका थिए भनिन्छ । जनश्रुती अनूसार वज्रवाराही देवी हाल मन्दिर भएको ठाउँमा जहाँ पहिला ठूलो पोखरी थियो, त्यहाँ प्रकट भएकी थिइन् भन्ने विश्वास गरिन्छ ।
वज्रवाराही मन्दिर भएको ठाउँ चारैतिर वाक्लो जंगलले घेरिएको छ र त्यो ठाउँ विभिन्न जातका चराहरु हेर्नका लागि पनि प्रख्यात छ । त्यो ठाउँ अहिले सम्म प्राकृतिक सौन्दर्यताले घेरिएको छ, जहाँ भूमाफियाहरुले विनास गर्न पाएका छैनन् ।
साँच्चै भन्ने हो भने त्यो वज्रवाराही मन्दिर क्षेत्र धार्मिक कारणले मात्र नभएर प्राकृतिक सौन्दर्य र मनमोहक वातावरणको कारणले पनि प्रख्यात भएको र त्यहाँ विदामा पिकनिक मनाउन आउनेहरुका लागि यथेष्ट स्थान छ भने हिन्दू धर्म संस्कृति अनुसार गरिने विवाह पनि त्यहाँ हुने गर्दछ । यो पंतिकार स्वयं २ चोटी त्यस जंगलमा जन्ती गएका छ ।
त्यसैगरी वज्रवाराही मन्दिरमा गाईं भैंसी पाल्ने कृषक हुन् या सामान्य व्यक्तिहरु हुन् आफ्नो घरमा पालेको गाईं भैंसी पहिलो पल्ट व्याएपछि त्यो दुध लगेर बज्रवाराही मन्दिरमा चढाउने गर्छन् । यसरी त्यहाँ दूध चढाएपछि आफ्नो गोठमा कहिल्यै दुनो गाई भैंसीको अभाव हुंदैन भन्ने जनश्रुती पाइन्छ र त्यहाँ सिसीमा दूध लिएर चढाउनेको भिड देख्न सकिन्छ ।
नेपालमा भएका अधिकांश मन्दिर भन्दा वज्रवाराही मन्दिर अलिकति फरक शैलीको देखिन्छ । किनकि हाम्रा धेरै जसो मन्दिरहरुमा मन्दिरको टुप्पामा गजुर हालिएको हुन्छन तर वज्रवाराही मन्दिरमा गजुर हालेको देखिंदैन । जनश्रुती अनुसार मन्दिरमा राख्नका लागि पाटनमा गजुर वनाइएका थियो । जुन दिन गजुर राख्ने भनिएको थियो । त्यस्को अघिल्लो रात मन्दिरको पूजारीले एउटा डरलाग्दो सपना देखे । सपनामा जो व्यक्ति गजुर राख्न जान्छ उ आगोले जलेर मर्छ । जव पुजारीले आफ्नो यो सपना सवैलाई वताउँछन् त्यसपछि सबैको सल्लाहमा मन्दिरमा गजुर राख्ने विचार त्यागेर विना गजुुर नै मन्दिर बनाइयो । दुर्गा कवचमा वाराही देवीको धेरै ठाउँमा उल्लेख गरिएको कारण पनि हिन्दू धर्मावलम्बीहरुका लागि वज्रवाराही देवीको पूजा अर्चनाको ठूलो महत्व हुन्छ भनेर त्यहाँका पुजारी पनि बताउँछन् ।
जे होस् अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा राष्ट्रले दिएको राष्ट्रिय विदामा हामिले लेले स्थित पाथीभरा देवी, टिका भैरब र वज्रवाराही देवीको दर्शन गरेर आफुहरुले बोकर गएको खाना त्यो मनोरम स्थानमा बसेर खाइवरी मनभित्र सकुञ्जेलका प्राकृतिक दृष्यहरु संगालेर घरतर्फ फर्कियौं ।
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी भन्दा अगाडी भारतीयपछि चिनियाँ पर्यटक बढी घुमफिरमा जाने गर्थे । कोरोनाका कारण चीनले आफ्ना नागरिकलाई घुमफिरमा खुला गरेका छैन । सोहीकारण यो स्थान अहिले अमेरिकाले लिएको छ । नेपालमा मार्च महिनामा भारतीयपछि अमेरिकी नागरिक बढी संख्यामा आएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार मार्च २०२२ मा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यसमध्ये भारतबाट मात्र यो महिनामा १५,०१३ जना पर्यटक नेपाल आएका छन् ।
अमेरिकाबाट ४,८९६, बेलायतबाट ४,०२९, बंगलादेशबाट २,१५२ र जर्मनीबाट १,८१७ जना पर्यटक आएको देखिएको छ । सन् २०२२ यता पर्यटक आगमनमा केही सुधार देखिएको छ । तथ्यांक अनुसार जनवरीमा १६,९७५ पर्यटक आएका थिए । फेब्रुअरीमा यसमा सुधाई भई १९,७६६ पुगेको थियो । मार्चमा कोरोना भाइरस शुरु भएयताको दुई वर्षको अवधिकै सबैभन्दा धेरै (एक महिनामा) ४२,००६ पर्यटक नेपाल आएका छन् ।
काठमाडौं । आजबाट नेपाली रेलमा यात्रुले यात्रा गर्न पाउने भएका छन् । जयनगर–जनकपुर खण्डमा चल्ने रेलको शनिबार औपचारिक सञ्चालन गरिन लागेको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने छन् । नेपाल रेलवे कम्पनीका अनुसार शनिबार १२ बजेर २० मिनेटमा दुवै प्रधानमन्त्रीले भर्चुअल रुपमा नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर रेलको उद्घाटन गर्नेछन् । त्यसका लागि नेपालतर्फको सम्पूर्ण तयारी पूरा गरिएको छ ।
उद्घाटनपछि जयनगरबाट कुर्थाका लागि रेल गुड्ने छ । रेल नियमित रुपमा सञ्चालनमा आएपछि नेपालबाट भारत जान चाहने यात्रु र भारतबाट नेपाल आउने यात्रुका लागि पहिचान खुल्ने परिचय पत्र अनिवार्य लिएर हिँड्न सक्ने छन् । भारतबाट नेपाल आउने यात्रुले पनि आफ्नो पहिचान खुल्ने परिचय पत्र बोक्नु पर्ने छ । नपालको भूमिसम्म जान भने कुनै परिचय पत्र आवश्यक पर्दैन ।
दिनको दुईपटक जयनगरबाट रेल खुल्ने छ र कुर्थासम्मको ३५ किमि दूरीसम्म पुग्ने छ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्छन् । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको छ ।
काठमाडौं । इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिपछि यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा बढाउन दवाव दिएका थिए । सोही अनुसार सरकारले सार्वजनिक गाडीको भाडा बढाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा भाडा बढाउन स्वीकृत गरेको हो । अहिले कायम भएको दरमा १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
बढेको भाडाको विस्तृत विवरण आउँदो आइतवार प्रकाशन गर्ने तयारी छ । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक गाडीमा मात्रै भाडा बढेको विभागले जनाएको छ । लोकल रुटको भाडा भने यथावत् नै छ । अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्यसअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।
काठमाडौं । सरकारले तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेसँगै नेपाली रेलमा यात्रु बोक्ने बाटो खुलेको छ । सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्गमा यात्रुसहितको रेल सेवा सञ्चालन गर्न सकिने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश जारी गरेकी हुन् । कानुन नहुँदा रेलले औपचारिक रुपमा उद्घाटन भएर कहिलेदेखि यात्रु बोक्छ भन्ने निश्चित थिएन ।
२२ वैशाख, २०७८ र १५ मंसिर २०७८ मा पनि सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन सुरु भएको ६० दिनभित्र पास नभएकाले अध्यादेश निष्क्रिय भएका हुन् । रेल्वे कम्पनीका अनुसार टिकट छाप्नेदेखि रेल सञ्चालनका लागि भारतीय कम्पनी कोंकण रेल्वेसँग सम्झौता गर्नेसम्मका सबै काम भइसकेका छन् । भारतले ५ कात्तिक २०७८मा सीमापार विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको थियो । भारतले सन् २०१४ बाट रेलमार्ग बन्द गरेर यसअघिको न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो ।
नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको छ । ३४ किलोमिटरको जनकपुर(जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर(जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।
काठमाडौं । नेपालबाट भिजिट भिसामा विदेश जाने र अलपत्र पर्ने प्रवृत्ति बढेपछि सरकारले यसमा कडाई गरिरहेको छ । तर, कडा प्रावधान लादिएको भन्दै अधिकारकर्मीले सरकारको आलोचना समेत गरिरहेका छन् । यसै सन्दर्भमा भिजिट भिसामा विदेश जाने नेपालीलाई लक्षित गरि सरकारले नयाँ प्रावधान सार्वजनिक गरेको छ । यसमा कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था भने तत्काल लागू नहुने भएको छ। भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय खोज्न गठित कार्यदलले यस्तो व्यवस्था ल्याउन सिफारिस गरेको छ । तर, सो व्यवस्था तत्काल भने लागु हुने छैन ।
नयाँ प्रावधान अनुसार भिजिट भिसामा जाने नेपालीले कम्तीमा पाँच लाख रुपैयाँ कर योग्य आय भएर कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ। यी दुबै रकम विदेश जाने व्यक्तिको नाममा हुनुपर्छ । खाडी मुलुक भन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू समेत विदेश यात्रामा जान सक्ने छन् । न्यूनतम २ वर्ष भन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिलाई समेत यात्रामा रोक लगाइने छैन ।
न्यूनतम माध्यमिक तहको (कक्षा १२) औपचारिक शिक्षा वा सो सरहको प्राविधिकरव्यावसायिक सीप दक्षता भई आधिकारिक निकायबाट प्रमाणिकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ, प्राविधिक, व्यक्तिलाई समेत नरोकिने गृहले जनाएको छ । अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तराष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्ति यो सूचिमा परेका छन् ।
आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति (एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती) र वैदेशिक रोजगारमा रहेकाहरूको नातेदार समेतलाई जान पाउने सूचिमा राखिएको छ । गन्तव्य मुलुकमा रहेको राजदूतावास वा नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्ति र सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिलाई समेत रोकिने छैन ।
अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरू नेपालमा सामान आयात(निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरू र व्यवसायिक कम्पनी र फर्मका सञ्चालक वा व्यवसायीलाई समेत जान रोकिने छैन ।
काठमाडौं । नेपाल एयरलाइन्सले कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएका भारतका दुई गन्तब्यमा पुनः उडान सूचारु गर्ने भएको छ । निगमले बिहीबार सूचना निकाल्दै यी दुई रुटमा उडान पुनः सुचारु गर्ने जानकारी गराएको हो । नेपाल एयरलाइन्सले १३ चैतदेखि भारतको मुम्बईमा नियमित उडान पुनः सुरु गर्ने भएको हो ।
नेवानिले यो रुटमा साताको तीन वटा उडान गर्ने भएको छ । काठमाडौं–मुम्बई–काठमाडौं रुटमा बुधबार, शुक्रबार र आइतबार जहाज उड्नेछ । उता, बैंलौरमा भने १५ चैतबाट नियमित उडान हुने भएको छ । यो रुटमा शनिबार, मंगलबार र बिहीबार उडानको तालीका राखिएको छ ।
काठमाडौं । विदेशबाट नेपाल आउन सरकारले सहज प्रावधान बनाएको छ । अब स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड वा पिसिआर नेगेटिभ रिपोर्ट देखाए पुग्ने भएको छ । मन्त्रिपरिषद्को सो निर्णय सरकारी निकायहरुले बिहीबार सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय सरोकारवाला मन्त्रालयहरुलाई पठाएको हो । निर्णयअनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने छन् ।
नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् । यससँगै यात्रा व्यवस्थापन सम्बन्धी यसअघि लागु गरिएका सबै निर्णय खारेज गर्ने निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ ।
हवाई मार्ग वा स्थलमार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकताअनुसार परीक्षण गर्ने, थप कडाई गर्ने वा नगर्ने निर्णय अब कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाटै हुने भएको छ । नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको लागि गन्तब्य मुलुकको कोभिड १९ स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनु पर्ने छ । यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयले पाएको छ । निर्णय अनुसार युक्रेन द्वन्द्वका कारण स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा प्राथमिकताका साथ सहजीकरण गरिने भएको छ ।
पीसीआर परीक्षण नभएका वा सीसीएमसी फारम नभरेको र खोप समेत नलगाएको भए पनि उनीहरुलाई छुट्टै स्वास्थ्य कक्ष स्थापना गरि सहजिकरण गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको हो । उनीहरुको एन्टिजेन परीक्षण गरी यात्रुलाई होम क्वारेन्टिन पठाउने र पोजेटिभ आएका यात्रुलाई संस्थागत आइसोलेसनमा पठाउने निर्णय समेत भएको हो ।
काठमाढौं । रात्रिकालिन व्यवसाय संचालन गरिरहेका व्यवसायीलाई राहत पुग्ने गरि सरकारले निर्णय लिएको छ । अब रात्रिकालीन व्यवसायमा लगाइएको समयको सीमा हटेको छ । यसअघि रातको ९ बजेपछि व्यवसाय बन्द गर्न प्रहरी आउने गरेको थियो । गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न सकिने निर्णय गरेको छ । रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले एक कार्यदल बनाएका थिए ।
शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठन भएको कार्यदलको सिफारिसका आधारमा मन्त्रालयले अब रात्रिकालिन व्यवसाय बन्द गर्न प्रहरी नपठाउने निर्णय गरेको हो । यद्दपी व्यवसायलाई सुरक्षित र मर्यादित बनाउने दायित्व भने सम्बन्धित व्यवसायीकै हुने छ । त्यसका लागि प्रहरी समेत खटिने छ । खासगरी ठमेललगायतका पर्यटकीय क्षेत्रमा रात्रिकालिन व्यवसाय निरन्तर संचालनको माग लामो समयदेखि उठेको थियो ।
काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौंबाट दिल्लीमा अब दैनिक दुई उडान गर्ने भएको छ । नेवानिको यो सबैभन्दा नाफामा चलेको रुट समेत हो । भारत सरकारले सबै अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै नेवानिले समेत उडान बिस्तारको निर्णय गरेको हो । नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडानको घोषणा गरेको हो ।
अहिले दैनिक एक उडान भइरहेको छ । भारतबाट अहिले भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपाल र भारतका नागरिकले एक अर्का मुलुकमा भिसा बीना नै यात्रा गर्न सक्ने भएकाले यो रुटमा हवाई कम्पनीले सहजै यात्रु पाउँछन् ।
काठमाडौं । साउदी अरब जाने र फर्कने यात्रुले अब नेपाल एयरलाइन्सको सेवा पाउने भएका छन् । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा उडान अनुमति पाएको छ । सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
‘साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ । निगमले अप्रिल २०२२ देखि नै व्यवसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने समेत जनाएको छ ।
काठमाडौं । दुई पर्यटकीय गन्तब्य पोखरा र जनकपुर सिधा हवाई सम्पर्कमा जोडिएका छन् । शनिबारदेखि जनकपुरधाम–पोखराबीच हवाइ यातायात सुरू भएको छ । मधेश र गण्डकी प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन एक–एकपटक उडान हुने जानकारी दिए ।
गण्डकी प्रदेशको राजधानी पोखरा र मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित १८ सदस्यीय टोली मधेस प्रदेशको भ्रमणमा आएका छन् । तीनदिने मधेस प्रदेशको भ्रमणमा आएका गण्डकीका मुख्यमन्त्री नेपालीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरणमन्त्री शुत्रधन महतोले स्वागत गरेका थिए ।
भ्रमण टोलीमा मुख्यमन्त्री पोखरेलसहित अर्थमन्त्री रामजीप्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, गण्डकी प्रदेशका मुख्यसचिव रविलाल पन्थ, पर्यटन उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेललगायत सहभागी रहेका छन् ।
काठमाडौं । भिजिट भिसामा खाडी मुलुक जान कडाई गर्न सरकारले गठन गरेको कार्यदलले सिफारिस गरेको छ । भिजिट भिसााका कारण सिर्जना भएको समस्याबारे अध्ययन गर्न बनाएको कार्यदलले भिजिट भिसासम्बन्धी मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गर्न भनेको हो । भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरु अलपत्र पर्न थालेपछि गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा बनेको कार्यदलले कार्यविधि परिमार्जन गरेर भिजिट भिसामा पठाउन सक्रिय व्यक्ति तथा संस्थाहरुको गतिविधिलाई निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालेको छ ।
बुधबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाइएको प्रतिवेदनमा वैदेशिक रोजगारीका लागि अनुमति लिएका वैदेशिक रोजगार व्यवसायी संस्थाहरुले प्रलोभन देखाएर श्रम अनुमतिविना भिजिट भिसामा पठाउने गरेको निचोड निकाल्दै त्यस्ता संस्था तथा व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने भनिएको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाई श्रम अनुमति नलिई भिजिट भिसा वा अन्य तरिकाले व्यक्तिहरुलाई विदेश पठाएको पाइए, त्यस्ता संस्था तथा सञ्चालकहरुलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोेजिमको कारबाही गरी रोजगरीका लागि भिजिट भिसामा विदेश पठाउने कार्यलाई निरुत्साहित गर्नुपर्ने सुझाव समेत दिइएको छ ।
भिजिट भिसा लिएर रोजगारीका लागि विदेश जानसक्ने शंकास्पद व्यक्तिले पेश गर्ने कागजातको आधिकारिता सुनिश्चितता गर्न स्वीकृत तथा प्रमाणिकरण गर्ने संस्था, निकाय र पदाधिकारीको विवरण पनि वेवसाइटबाट भेरिफिकेसन गर्ने व्यवस्था गर्नुपर्ने भनिएको छ । खाडी मुलुक, मलेसिया तथा जोखिम भएका अन्य मुलुकमा जाने यात्रुको विवरण सम्बन्धित कूटनीतिक नियोग तथा अध्यागमन विभागमा तोकिए बमोजिम सफ्वेयर प्रणाली वा अनलाइनमाध्यममा दर्ता गर्नुपर्ने पनि सिफारिसमा भनिएको छ ।
‘खाडी मुलुक, मलेसिया तथा जोखिम भएका मुलुकहरुमा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकहरुका मापदण्ड बमोजिमका आवश्यक कागजात अपलोड गरी विमानस्थल जानुपूर्व प्रस्थान अनुमति पाउने वा नपाउने जानकारी प्रणालीबाटै पाउने सफ्टवेयर वा एप्स निर्माण गरी अध्यागमन विभागले कार्यान्वयनमा ल्याउनुपर्नेछ,’ कार्यदलको निष्कर्षमा भनिएको छ, ‘पर्यटक भिसामा जाने यात्रुले बैंकबाट विदेशी मुद्रा सटही गरेको विवरण अध्यागमन विभागबाट सञ्चालमा रहेको नेपाली पोर्ट सफ्टवेयरसँग आबद्ध गर्नुपर्नेछ ।’
पोखरेल नेतृत्वको कार्यदलले विदेशमा आफन्तले बोलाउँदा वा भिजिट भिसा प्रयोजनमा भट्न जाने विषयलाई श्रीमानश्रीमती, बाबुआमा, दाजुभाइ, सासुससुरा र छोराछोरीमा मात्र सीमित गर्न भनेको छ । नागरिकताबाट नाता खुल्नेको हकमा प्रमाणीकरण आवश्यक नपर्ने पनि भनिएको छ । नाता प्रमाणित आवश्यक पर्ने हकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित भएको र त्यसको प्रति सम्बन्धित स्थानीय तहले अध्यागमन कार्यालयबाट हेर्नसक्ने गरी सूचना प्रणालीमा अपलोड गरेको हुनुपर्ने व्यवस्था गर्नुपर्ने भनिएको छ ।
आफन्त भेटघाटका लागि विदेश भ्रमणमा जानेबाहेक अन्यका लागि कम्तिमा १० लाख रुपैयाँ बराबरको करयोग्य आय हुनुपर्ने प्रावधान राख्नुपर्ने कार्यदलले निष्कर्ष निकालेको छ । त्यसको ५० प्रतिशत रकम बैंकमा आफ्नै नाममा मौज्दात भएको हुनुपर्ने पनि भनिएको छ । सुझावमा भनिएको छ, ‘त्यसका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय गरी अध्यागमन विभागले व्यवस्था गर्नुपर्नेछ ।’
११ फागुन, काठमाडौं । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान सुरु भएको छ । इलाम नगरपालिकासँगको सम्झौता अनुसार तारा एयरले काठमाडौं(इलाम नियमित उडान थालेको छ । तारा एअरको नाइन एनएलओ टुइनअटर जहाज बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको हो ।
तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले बताए । उनले विमानस्थल निरन्तर उडानका लागि प्रतिवद्ध रहेको समेत बताए । रिमालले कमर्सियल फ्लाइटलाई निरन्तरता दिने समेत बताए । इलामवासीको साथ र सहयोग भए निरन्तर उडान गर्न सकिने समेत उनले बताए ।
तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा मात्र उडान सफल भएको बताए । उनले आगामी दिनमा निरन्तर उडान भर्न अध्ययन भइरहेको र इलामवासीले सहयोग गरेर निरन्तर उडानलाई सहजता प्रदान गर्ने विश्वास रहेको बताए । उनले अबका दिनमा सो विमानस्थलमा आइतबार र बिहीबार दुई दिनका लागि उडान तालिका बनाएको जानकारी दिए ।
पहिलो व्यवसायिक उडानमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाईं, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एअरका प्राविधिक टोली गरी १४ जना सहभागी भए ।
काठमाडौं । नेपालमा पर्यटक आकर्षित गर्न प्याकेज घोषणा गरिने भएको छ । यस क्रममा हवाईजहाज र होटेलमा सहुलियत दिने गरि तयारी शुरु भएको छ । विदेशी नागरिकलाई लिइने डलर फेयर हटाउने र होटेलमा २० प्रतिशतसम्म छूट दिइने भएको छ । विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरि यसबारे काम थालेको बताएको छ । मंगलबार समितिले अहिलेसम्म गरेका प्रयासबारे विवरण सार्वजनिक गर्दै सो जानकारी गराएको छ ।
पर्यटकलाई होटलमा २० प्रतिशत छुट दिने निर्णय गरिएको छ । पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपाल (हान) ले संस्थागत निर्णय गरी २० प्रतिशतसम्म होटलको कोठा भाडामा पर्यटकहरुलाई छुट दिने निर्णय गरेको जानकारी मन्त्रालयलाई गराएको छ । विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिन पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिले आन्तरिक वायुसेवा कम्पनीलाई अनुरोध गरेको थियो ।
बुद्ध एअर र यती एअरलाइन्सले छुट दिने प्रतिवद्धतासहित सूचना जारी गरेका छन् । पर्यटन उद्योगको पुनरुत्थान, नयाँ सम्भावनाको खोजि, पहिचान तथा प्रवद्र्धन गर्न तथा यस क्षेत्रमा लगानीको वातावरण तयार गरी रोजगारी सिर्जनाका लागि सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री प्रेम आलेको अध्यक्षतामा २ माघमा निर्देशक समिति गठन भएको थियो ।
मन्त्रालयका अनुसार कोभिड १९ संक्रमण घट्दो क्रममा रहेको अवस्थालाई मध्यनजर गरी नेपाल सरकार मन्त्रिपरिषदबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८ लाई परिमार्जन गरी यात्रा सम्वन्धी मापदण्डलाई थप सरलिकरण गर्न सीसीएमसीसीलाई सिफारिस गरिएको छ ।
निर्देशक समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह सुझाव बमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्न राजाराम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्रविधिक समिति समेत गठन गरिएको छ । पर्यटन क्षेत्र पुनरुत्थान प्रविधिक समितिको २४ माघको निर्णय अनुसार पर्यटन उद्योग सम्बन्धी सात वटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाब दिन छुट्टाछुट्टै कार्य समूह तथा प्रदेश स्तरबाट सल्लाह सुझाब लिन मधेश, गण्डकी, लुम्विनी र सुदुरपश्चिम प्रदेशहरुको प्रदेश प्रतिनिधि समेत तोक्ने निर्णय गरेको छ ।
आगामी १ महिनाभित्र पर्यटन क्षेत्रका सरोकारवालहरु समावेश गरी एक बृहत अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरिने र अन्तरक्रियाबाट प्राप्त सुझाव समेत समावेश गरी प्रर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गरिने समेत बताइएको छ ।
पोखरा । बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छिन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले सोमबार बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेको राससले लेखेको छ । पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएका उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गरेको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिए ।
उनका अनुसार पोलिटले सोमबार बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गरेकी हुन् । पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भनिन् , ‘सोमबारको बिहान निकै रमाइलो भयो । माछापुच्छ्रेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।’
कोभिड–१९ का कारणले विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल लुज हुँदै र कोरोना सङ्क्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको सङ्ख्या बढ्ने विश्वाससमेत व्यक्त गरिन् । उनले भनिन्, ‘नेपाल भूबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ । कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ ।’
उनले नेपालमा धेरै सुन्दर ठाउँहरू रहेको यसको प्रवर्द्धनको आवश्यक रहेको बताइन् । उनले पर्यटकलाई साइकल रुटका बारेमा जानकारी दिन सके र साइकल मैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवद्र्धन हुँदै जाने विश्वास व्यक्त गरिन् । सो अवसरमा उनले नेपाल बिट्रिसको कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताइन् । उनले बिट्रिसहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताइन् ।
मेलवर्न । कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपछि अस्ट्रेलियाले प्रवेश अनुमति खुला गरेको छ । बीबीसीका अनुसार सोमवार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ। पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ।
कोरोनाभाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागु गरेको थियो। खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारन्टीनमा बस्नुपर्ने छैन। तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ। मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ।
अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन्। सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेका थिए। परिवार सदस्यलाई छुट्ट्याएको र व्यवसायमा प्रभाव पारेका कारण अस्ट्रेलियामा लागु गरिएको कडा नियमको आलोचना भएको थियो। तर उक्त नियमले खोप उपलब्ध हुनुअघि कैयौँ मानिसको ज्यान जानबाट जोगाएको जस पनि दिइएको छ। अस्ट्रेलियामा कोभिडका कारण हालसम्म झन्डै ४,९०० जनाको मृत्यु भएको छ।
काठमाडौं । नेपालको चौथो केबुलकार परियोजनाका रुपमा पोखरामा केवलकार तयार भएको छ । पोखराको फेवाताल किनारबाट सराङकोट डाँडासम्म जान सकिने गरि केबुलकार बनेको हो । केबुलकारमा शुक्रबारबाट टिकट काटेर चढ्न सकिने छ । अन्नपूर्ण केबुलकार प्रालिले केबुलकार बनाएको हो । सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’मा कुल १७ वटा गोन्डुला रहेको छ ।
एक गोन्डुलामा एक पटकमा ८ जनाले यात्रा गर्न सक्छन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म केबुलकार चढ्न सकिने छ । केबुलकारमा फेवातालको किनारबाट झन्डै नौ मिनेटमा सराङकोट पुग्न सकिने भएको छ । प्रतिव्यक्ति टिकट सात सय रुपैयाँ तोकिएको छ । आयोजनामा २ अर्ब रुपैयाँ लगानी भएको छ ।
काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढी सिधा हवाई उडान हुने भएको छ । बुद्ध एयरले सिधा उडानको घोषणा गरेको हो । कम्पनीका नुसार आगामी १७ फागुनबाट यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका लागि भने आइतबार, बुधबार र शुक्रबार उडान हुने गरी तोकिएको छ । पछिल्लो समय बुद्धले क्षेत्रीय उडानलाई प्राथमिकता दिएको छ । पोखराबाट साढे ११ बजे उड्ने जहाज धनगढीबाट भने १२ः४० मा पोखराका लागि उड्ने छ । बुद्धले अहिले पोखराबाट सिमरा, नेपालगञ्ज, भैरहवामा सिधा उडान गरिरहेको छ ।
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशले नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँग सहकार्य गर्दै फागुन १ देखि सुदूरपश्चिमका खप्तड, बडिमालिका लगायत क्षेत्रमा टुर प्याकेज सार्वजनिक गरेको छ । नाटाका सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्टले शुक्रबार भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै खप्तड, बडिमालिकालगायत पर्यटकीय गन्तव्य यति बेला हिउँले सेताम्मे रहेकाले उक्त क्षेत्रको भ्रमण गर्ने चाहना भएका तथा समय अभावका कारण जान नसक्नेहरूका लागि यस्तो कार्यक्रम ल्याइएको जानकारी दिए ।
१० दिनमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने नाटा सुदूरपश्चिमको लक्ष्य छ । प्याकेजमा खप्तड घुम्न चाहनेलाई दिपायल विमानस्थल, झिग्राना धनगढी, महेन्द्रनगर र साँफेबगरबाट हेलिकोप्टरले लैजाने र ल्याउनेछ । घुमफिरमा जाने यात्रुहरूले स्थानका हिसाबले प्रतिव्यक्ति १२ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ । सुदूरपश्चिम प्रदेश भारतका विभिन्न सहरसँग जोडिएकाले यस कार्यक्रममा भारतीय पर्यटकसमेत सहभागी हुने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए ।
कोभिडले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन कार्यक्रम सहयोगी हुने बोर्डका सदस्य कृष्ण शाहको भनाइ छ । कार्यक्रमले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले बताए । नाफाभन्दा पनि सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि लागत मूल्यमै आफ्नो कम्पनीले टुर प्याकेज ल्याएको माउन्टेन हेलिकोप्टरका महाप्रबन्धक दिलबहादुर ओलीले जानकारी दिए ।
काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएपछि यस विमानस्थलबाट ५ वटा जहाज राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको छ ।
उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा जहाज राखी राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । योजना अनुसार पोखराबाट कम्पनीले भारतको विभिन्न गन्तव्यहरुमध्ये सुरुवातमा नयाँदिल्ली, देहरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।
पोखराबाट धौलागिरिदेखि सगरमाथासम्म हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य सहरहरुसँग आवश्यकता अनुसार दैनिक सिधा उडान गर्ने समेत घोषणा कम्पनीले गरेको छ । पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने भन्दै यसलाई सच्याउन समेत कम्पनीले माग गरेको छ ।
हाल निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वरपश्चिम ‘रन–वे’को पश्चिम ‘रन–वे’ लाई मात्र अन्त्यसम्म ‘टयाक्सी–वे’ ले जोडिएको छ । पश्चिममा ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ । तर पूर्वको रनवेलाई ‘टयाक्सी–वे’ले जोडिएको छैन ।
यसैकारण विमानहरु उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव छ । यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडान हुने भन्दै सच्याउन समेत माग गरेको छ । बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत आधा रनवेसम्म मात्र भएको ‘टयाक्सी–वे’लाई पूर्वको ‘रनवे’को अन्त्यसम्म तुरुन्तै जोड्न आग्रह गरेको हो ।
काठमाडौं । कोरोना भाइरसको संक्रमण ओरालो लागेसँगै काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली हटेको छ । यो नियम सोमबारदेखि लागु हुने छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।
कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यको पूर्ण रुपमा पालना गर्नुपर्ने निर्णय समेत भएको छ । सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने छ । घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोपकार्ड (मोबाइलमा भए पनि हुने) राख्नु पर्ने भएको छ ।
सरकारी कार्यालय र व्यवसायिक स्थलहरुमा मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ । मास्क नलगाइ आएमा व्यवस्थापकले पाँच सय रुपैयाँ लिई मास्क उपलब्ध गराउन सक्ने छन् । मास्क नलगाउनेलाई भने कार्यालय वा पसलमा प्रवेश दिइने छैन ।
काठमाडौं । नेपालबाट विदेश यात्रा गर्ने नेपाली नागरिकले साविकमा हराएको वा चोरी भएको भनी राहदानी विभागमा जानकारी गराएको राहदानी भेटिएमा त्यस्तो राहदानी बोकेर यात्रा नगर्न सरकारले सचेत गराएको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना निकालेर यस्तो आह्वान गरेको हो । एक जना व्यक्तिसँग एउटा मात्र राहदानी हुने भन्दै एक भन्दा बढी राहदानी हुनु गैरकानूनी मानिने भन्दै अध्यागमनको भनाई छ ।
यसरी कुनै व्यक्तिले यात्रा गरेको भेटिएमा जफत गर्न समेत मातहतका कार्यालयलाई निर्देशन दिएको छ । सूचनामा भनिएको छ, ‘विगतमा राहदानी हराएको वा चोरी भएको कारण देखाई नयाँ प्राप्त गरिसकेका नागरिकको साविकको राहदानी अरु कसैले दुरुपयोग नगरोस भनी सबै राहदानी हराएको जानकारी प्राप्त भइसकेपछि सम्बन्धित निकायमार्फत इन्टरपोलाई समेत जानकारी गराउने गरिन्छ ।’
सोही कारण हराएको वा चोरी भएको भनी राहदानी विभागलाई जानकारी गराइसकिएका राहदानी पुनः फेला परेमा त्यसका आधारमा यात्रा नगर्न विभागले अनुरोध गरेको छ । हराएको वा चोरी भएको भनि अभिलेखमा जनाइएका नेपाली राहदानीको विवरण विदेशस्थित अध्यागमन विन्दु तथा सुरक्षा निकायबाट समेत चेकजाँच हुने भन्दै त्यस्ता राहदानी साथमा राख्दा कानूनी झण्झट आउनेतर्फ समेत अध्यागमनले सचेत गराएको छ ।
काठमाडौं । नेपाल र भारतबीच उडान संख्या थप गर्न बाटो खुलेको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एक/एक उडान गरिरहेका छन् । दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्या थप हुन लागेको छ । नेपालले भारत सरकारलाई उडान संख्या थप गर्न पठाएको प्रस्तावमा भारत सरकारले यसैसाता सहमति दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर बबल स्कीमका शर्त कायम राख्दै उडान संख्या थप गर्ने सहमति जुटेको छ । भारत सरकारले ३१ फेब्रुअरीसम्म यो स्किम कायम राखेको छ ।
भारतले ओमिक्रोनको फैलावटसँगै जनवरी २०२२ भर एयर बबल स्कीममा शुरुवातमा दिएका उडान अनुमति मात्र कायम राखी अन्य उडान अनुमति रोकेको थियो । सोही अनुसार दुबै मुलुकका ध्वजाबाहक कम्पनीले दैनिक एक/एक उडान गर्दै आएका छन् ।
अब निजी कम्पनीले समेत नेपाल र भारतमा उडान गर्न सक्ने भएका हुन् । भारतको निजी लगानीको भिस्तारा एयरले नेपालमा १६ फेब्रुअरी (४ फागुन)बाट दिल्ली-काठमाडौं-दिल्ली रुटमा उडान गर्ने गरि मिति तोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतबाट तीन वटा कम्पनीले उडानका लागि नेपालसँग अनुमति मागेका छन् । यसमा एयर इण्डिया, भिस्तारासहित इण्डिगो एयर रहेको छ । एयर इण्डिया र भिस्ताराले दैनिक एक/एक र इण्डिगो एयरले दैनिक दुई उडानको अनुमति मागेका छन् । यो भारतीय कम्पनीले नेपालमा पाउने अनुमति संख्या साताको २८ उडान बराबर हो । नेपालबाट भारतमा नेपाल एयरलाइन्सले उडान गरिरहेको छ । तोकिएको उडान संख्या भित्र अब नेपाल एयरलाइन्सले समेत उडान थप गर्न सक्ने छ । विगतमा नेपाल एयरलाइन्सले मुम्बई र बैलौंरमा उडान गरिरहेको थियो ।
एयर बबल स्कीम अनुसार एक अर्का मुलुकका नागरिकले तोकिएको कोभिड प्रोटोकलका प्रावधान पुरा गरि यात्रा गर्न सक्छन् । यी उडानमा तेस्रो मुलुकका पर्यटकलाई भने यात्राको अनुमति छैन । तर, कुटनीतिक नियोग र सम्बन्धित मुलुकले अनुमति दिएका तेस्रो मुलुकका नागरिकले भने यात्रा गर्न सक्छन् । ३१ फेब्रुअरीसम्म निजी कम्पनीले समेत यसै प्रावधान भित्र रहेर उडान गर्नुपर्नेछ ।
काठमाडौं । सरकारले १० माघबाट खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान लगाएको रोकको निर्णयमा परिमार्जन गरेको छ । अब तोकिएको व्यक्तिले भिजिट भिसामा जान पाउने निर्णय भएको छ । गृह मन्त्रालयले सूचनामा संशोधन गरि भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णय परिवर्तन गरेको हो । सरकारले खाडी राष्ट्रबाहेक कम्तिमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भिजिट भिसाको अनुमति दिने भएको छ ।
गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार विरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिइने भएको छ । वैदेशिक रोजगारी व्यवसाय प्रबद्र्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि जान दिइने छ ।
वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य आय भई आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउने छन् । नेपालमा सामान आयात–निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा दिइने छ ।
काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीचमा पनि नेपालमा खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन् । अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै सो जानकारी गराएको छ । विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका नागरिकले खोपको पूर्ण मात्रा लगाएकालाई अनअराइभल भिसा सुविधा दिने कार्य निरन्तर जारी राख्नेछ ।
विदेशी पर्यटकले खोपको मात्रा पूरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट, नेपालमा होटल बुकिङ गरेको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भएका त्यसको अनुमतिको प्रतिलिपि समेत पेश गरेमा नेपाल प्रवेश विन्दुमै भिसा पाउने छन् । उनीहरुले यात्रा अगाडी सीसीएमसीसीको अनलाइन अराभइल फारम भने भर्नुपर्नेछ ।
अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट समेत भिसा पाउन सकिन्छ । खोप नलगाएका तथा नेपाल आउनुपर्ने विदेशीहरुले समेत नेपाली नियोगबाटै भिसा लिनुपर्ने हुन्छ । उनीहरुले अनअराइभल भिसा पाउँदैनन् । खोप नलगाएका विदेशी नागरिकको नेपालस्थित अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरिने छ । यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा आइसोलेसन वा अस्पतालमा बस्नु पर्नेछ ।
नेगेटिभ आएमा भने पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्छ । अध्यागमनमा एन्टिजेन सम्भव नभएमा होटेल प्रवेश गर्नु अगाडि परीक्षण गर्नुपर्छ । ५ दिन होटेल क्वारेन्टिनमा बसेका विदेशी छैटौं दिनमा कोभिड १९ परीक्षण गरी आफ्नो उद्देश्य अनुसार भ्रमणमा जान सक्नेछन् । खोपको मात्रा पुरा गरेका पर्यटकले समेत होटेलमा चेक इन गरेको २४ घण्टाभित्र एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ रिजल्ट आएपछि भ्रमणमा जान सक्नेछन् ।
होटेल बाहिर रहेका पर्यटकले प्रत्येक ७२ घण्टामा एन्टिजेट परीक्षण गर्नुपर्ने भएको छ । कोभिड १९ को परीक्षण र आइसोलेसनमा लाग्ने खर्च र बीमा लगायतका अन्य खर्च विदेशी नागरिक स्वयमले बेहोर्नुपर्छ । विदेशी नागरिक नेपालमा रहँदा भने नेपाल सरकारले तोकेका मापदण्डहरु पालना गर्नुपर्नेछ ।
नेपाली र गैरआवासीय नेपालीको हकमा के हुन्छ ?
खोपको मात्रा पूरा गरेको १४ दिन पुरा भएका नेपाली र गैरआवासीय नेपालीले ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ प्रमाणपत्र बोकेर आएमा सहर्ज घरमा जान दिइन्छ । तर, उनीहरुमा समेत लक्षण देखिएको अवस्थामा भने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्छ । उनीहरुले ५ दिन होम वा होटेल क्वारेन्टिनमा बस्ने गरी मात्र प्रवेश अनुमति पाउने छन् । खोपको मात्रा पुरा नगरेका नेपाली र गैरआवासीय नेपालीको हकमा भने एन्टिजेट परीक्षण गरि नेगेटिभ आएमा मात्र गन्तब्यमा जान दिइने भएको छ । पोजेटिभ आएमा आइसोलेसनमा जानु पर्नेछ । विदेशी कुटनीतिक नियोगको हकमा समेत यस्तै प्रावधान लागू हुने छ ।