अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी

File : (260527) -- HUZHOU, May 27, 2026 (Xinhua) -- A drone photo shows staff members of State Grid Huzhou power supply company conducting inspection on the photovoltaic lines and equipment at a photovoltaic power station in Changxing County of Huzhou City, east China's Zhejiang Province, May 27, 2026. In recent years, State Grid Huzhou power supply company has been constantly promoting the upgrading of the county-level power grids, advancing the integration of renewable energy sources into power grids, and endeavoring to construct a safer, greener and smarter power grid. (Xinhua/Xu Yu)

वासिङ्टन, २७ जेठ (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनियाँ सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तिनलाई समेटिएको अद्यावधिक सूची सार्वजनिक गरेको छ । यस कदमले हालै सुधारको सङ्केत देखिएको अमेरिका–चीन सम्बन्धमा पुनः तनाव बढ्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार सार्वजनिक गरेको सूचीमा चीनका चर्चित प्रविधि कम्पनीहरू अलिबाबा, बाइडू, टेनसेन्ट, विद्युतीय सवारी निर्माता बीवाइडी तथा अन्य कम्पनीहरूलाई समावेश गरेको छ । पेन्टागनका अनुसार यी कम्पनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिनियाँ सैन्य क्षमतासँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशङ्का गरिएको छ ।

यो सूची अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेपछि सार्वजनिक गरिएको हो । उक्त भेटमा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेका थिए । त्यसपछि ट्रम्पले सीलाई आगामी सेप्टेम्बरमा वासिङ्टन भ्रमणको निमन्त्रणा पनि दिएका थिए ।
यद्यपि पेन्टागनको पछिल्लो निर्णयले विश्वका दुई ठूला अर्थतन्त्रबीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण गरिएको छ । रक्षा मन्त्रालयले यसअघि फेब्रुअरीमा यस्तै सूची संक्षिप्त रूपमा सार्वजनिक गरे पनि केही समयपछि कुनै स्पष्ट कारण नदिई फिर्ता लिएको थियो । सोमबार सार्वजनिक गरिएको नयाँ सूची अधिकांश रूपमा फेब्रुअरीको संस्करणसँग मिल्दोजुल्दो छ । तर त्यसबेला सूचीबाट हटाइएका दुई प्रमुख मेमोरी चिप उत्पादक कम्पनीलाई पुनः समावेश गरिएको छ । ती कम्पनीहरू चाङ्सिन मेमोरी टेक्नोलोजी र याङ्जे मेमोरी टेक्नोलोजी हुन् ।

अमेरिकी संसद्को चीनसम्बन्धी विशेष समितिका रिपब्लिकन अध्यक्ष प्रतिनिधि जोन मुलेनारले यो सूचीलाई अमेरिकी व्यवसाय, सरकारी निकाय र सर्वसाधारणका लागि चेतावनीका रूपमा व्याख्या गरे । उनले अमेरिकी कम्पनीहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिम भएका यस्ता संस्थासँगको व्यापारिक सम्बन्ध पुनर्विचार गर्न आग्रह गरे ।


सूचीमा समावेश गरिएका कम्पनीहरूमध्ये अलिबाबा, बाइडू र टेनसेन्ट चीनका कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा अग्रणी मानिन्छन् । टेनसेन्ट यसअघि नै अमेरिकी निगरानी सूचीमा परिसकेको थियो । यद्यपि यी कम्पनीहरूलाई सूचीमा राखिए पनि तत्काल कडा कानूनी प्रतिबन्ध भने लाग्ने छैन । तर विश्लेषकहरूका अनुसार यस्तो सूचीलाई भविष्यमा थप कडा प्रतिबन्ध, लगानी नियन्त्रण वा अन्य दण्डात्मक उपायहरूको पूर्वसङ्केतका रूपमा हेरिन्छ ।

नयाँ सूचीमा औषधि अनुसन्धान कम्पनी वुक्सी एपटेक तथा मानव आकारका रोबोट विकास गर्ने स्टार्टअप कम्पनी युनिट्रीलाई पनि समावेश गरिएको छ । अमेरिकाले चीनका संवेदनशील प्रविधि, कृत्रिम बौद्धिकता र उच्च प्रविधियुक्त उद्योगहरूमा सैन्य सम्बन्ध रहेको आशङ्का बढ्दै गएको सन्दर्भमा यस्तो कदम चालेको जनाएको छ ।