अमेरिका–इरानबीच युद्धविरामको प्रक्रिया जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

File : (260411) -- ISLAMABAD, April 11, 2026 (Xinhua) -- Pakistani Prime Minister Shehbaz Sharif (R) meets with Iranian Parliament Speaker Mohammad Bagher Ghalibaf in Islamabad, Pakistan, on April 11, 2026. (Xinhua)

इस्लामावाद, १ वैशाख, (रासस–एएफपी) । अमेरिका र इरानबीच गत सप्ताहन्तमा भएको शान्तिवार्तामा तत्काल उद्देश्य प्राप्त गर्न नसकिएको भएपनि युद्धविराम जारी रहेको र सहमतिमा पुग्ने प्रयास अझै भइरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार बताएका छन् । “युद्धविराम अझै जारी छ र विवाद समाधान हुन बाँकी रहेका मुद्दाहरू समाधान गर्न पूर्ण प्रयास भइरहेको छ,” शरीफले टेलिभिजनमार्फत संक्षिप्त टिप्पणी गर्दै भने ।

–समयसीमा सकिएको अमेरिकी भनाइ–

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमा नौसैनिक नाकाबन्दीका लागि तोकेको सोमबारको समयसीमा सकिएको छ । तेहरानसँग सप्ताहन्तमा भएको शान्ति वार्ता बिना कुनै सहमति सकिएपछि ट्रम्पले इन्धन ढुवानीका लागि रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ नाकाबन्दीको घोषणा गरेका थिए । अमेरिकी सेनाले सोमबार ग्रीनविच समयअनुसार सबै खाडी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने बताएको छ । इरानबाट नआएका र इरानतर्फ नजाने जहाजहरूलाई स्ट्रेट हुँदै आवतजावत गर्न अनुमति दिइने सेनाले बताएको छ ।

–वार्ताका लागि खुला रहन इरानसँग कतारको आग्रह–

कतारका प्रधानमन्त्रीद्वारा सोमबार इरानी विदेशमन्त्रीलाई इरान र संयुक्त राज्य अमेरिकाले मध्यस्थताको प्रयासमा सकारात्मक रूपमा संलग्न हुन आग्रह गर्दै समुद्री मार्गहरूलाई ‘मोलमोलाइ गर्ने औजार’ को रूपमा प्रयोग गर्न नहुने चेतावनी दिएका छन् । कतारको विदेश मन्त्रीको समेत जिम्मेवारी हेर्दै आउनुभएका शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब्बास अरागचीसँगको फोनमा जारी मध्यस्थताको प्रयासमा सबै पक्षले सकारात्मक प्रतिक्रिया दिनुपर्नेमा जोड दिए ।


विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनले समुद्री मार्गहरू खोल्नुपर्ने, नौवहनको स्वतन्त्रताको सुनिश्चितता गरिनुपर्ने र तिनीहरूलाई दबाब वा सौदाबाजीको उपकरणको रूपमा प्रयोग गर्न नहुने कुरामा जोड दिए ।