अमेरिकी विशेष दूत गोरको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ, वैशाख १९ गते । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले नेपाल भ्रमण सम्पन्न गरेका छन् । भ्रमणका क्रममा उनले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय साझेदारीलाई सुदृढ बनाउने विषयमा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

विशेष दूत गोरले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा नेपालको प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसरको विस्तार र व्यापारिक सम्बन्ध प्रवर्द्धन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको दूतावासले जनाएको छ । नेपाली व्यवसायीसँग पनि व्यावसायिक सहकार्यका विषयमा सार्थक विचार विमर्श गरेका थिए ।


भ्रमणकै क्रममा विशेष दूत गोरले सगरमाथा आधार शिविरको अवलोकन गरे । त्यहाँ उनले सगरमाथा सफाइ अभियानमा संलग्न नेपाली संस्थाका योजनाबारे जानकारी लिनुका साथै अमेरिकी ड्रोन प्रविधिको उपयोगिताका बारेमा समेत बुझेका थिए । नयाँ ड्रोन प्रविधिको प्रयोगले सगरमाथा क्षेत्रमा सामग्री ढुवानीलाई सहज र छिटो बनाउने अपेक्षा गरिएको छ ।

विशेष दूत गोरले भने, “संयुक्त राज्य अमेरिका नवप्रवर्तनमा अग्रणी छ र नेपालमा अत्याधुनिक प्रविधि भित्र्याउन स्थानीय कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी प्रसन्न छौँ ।” उनले नेपालको नयाँ सरकारले दुई देशबीचको साझेदारीलाई थप बलियो बनाउने विश्वास समेत व्यक्त गरे । यसैगरी, विशेष दूत गोरले काठमाडौँस्थित न्हूः छेँ बहामा आयोजित एक विशेष समारोहमा सहभागिता जनाए ।

सो अवसरमा संयुक्त राज्य अमेरिकाबाट फिर्ता ल्याइएको अक्षोभ्य बुद्धको मूर्ति नेपाललाई हस्तान्तरण गरिएको थियो । अमेरिकाले नेपालबाट गैरकानुनी रूपमा बाहिर लगिएका धार्मिक तथा सांस्कृतिक सम्पदा फिर्ता गर्न सदैव प्रतिबद्ध रहेको उनले दोहोर्‍याए । उनले ऐतिहासिक भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गरी नेपालको समृद्ध संस्कृति र इतिहासको अनुभव लिएका थिए ।